परिशिष्ट एक: सत्यता के हो

एउटा भजन गाऔँ: सारा सृष्टि परमेश्‍वरको प्रभुत्वमा आउनै पर्छ।

१  परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि हुकुम चलाउनुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीवजन्तु, वनस्पति, मानवजाति, पहाडपर्वत र नदीनाला, अनि तालतलैयालगायत परमेश्‍वरका सबै सृष्टि—सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले आदेश दिनुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो।

२  परमेश्‍वरले नै सबै थोकलाई आज्ञा दिनुहुन्छ, र सबै कुरालाई व्यवस्थित र श्रेणीबद्ध गर्नुहुन्छ, र हरेकलाई परमेश्‍वरका चाहनाअनुसार तिनको प्रकारअनुसार वर्गीकरण गर्नुहुन्छ, र प्रत्येकलाई आफ्‍नो स्थानमा राख्नुहुन्छ। जति नै ठूलो भए पनि कुनै पनि चीजले परमेश्‍वरलाई उछिन्‍न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छन्, र कुनैले पनि परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने वा परमेश्‍वरबाट कुनै माग गर्ने आँट गर्दैन। त्यसकारण, सृजित प्राणीका रूपमा मानिसले पनि मानिसको कर्तव्य पूरा गर्नैपर्छ। चाहे ऊ सबै थोकका प्रभु वा हेरचाहकर्ता भए तापनि, सबै थोकमाझ मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ अझै परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानव मात्र हो; ऊ सानो मानवबाहेक अरू केही होइन, र ऊ सानो मानव, सृजित प्राणीभन्दा बढी अरू केही होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

“सारा सृष्टि परमेश्‍वरको प्रभुत्वमा आउनै पर्छ” भन्ने भजनमा भएको सत्यता के हो? कुन हरफ सत्यता हो? (सबै हरफ सत्यता हुन्।) अन्तिम हरफले के भन्छ? (“सबै थोकमाझ मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ अझै परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानव मात्र हो; ऊ सानो मानवबाहेक अरू केही होइन, र ऊ सानो मानव, सृजित प्राणीभन्दा बढी अरू केही होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन।”) मानिस परमेश्‍वरभन्दा माथि कहिल्यै हुन सक्दैन, सृजित प्राणी परमेश्‍वरभन्दा माथि कहिल्यै हुन सक्दैन; परमेश्‍वरबाहेक सबै कुरा सृजित प्राणी हुन्। मानिस परमेश्‍वरभन्दा माथि कहिल्यै हुन सक्दैन; यही नै सत्यता हो। के यो सत्यता परिवर्तन हुन सक्छ? के यो समयका अन्त्यमा परिवर्तन हुनेछ? (हुनेछैन।) यो नै सत्यता हो। सत्यता के हो भनेर मलाई कसले बताउन सक्छ? (सत्यता भनेको मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड हो।) हामीले “सत्यता के हो” भन्ने शीर्षकबारे दुईपटक सङ्गति गरेका छौँ, त्यसैले मापदण्ड के हो भन्नेबारे कुरा गरौँ। यहाँ महत्त्वपूर्ण कुरा मापदण्ड हो। (मापदण्ड भनेको मानक, सही सिद्धान्त, कानुन, र नियम हो। मापदण्डको आधार परमेश्‍वरको वचन हो।) अरू कसले थप बताउन चाहन्छ? (मापदण्ड सबैभन्दा मानक, सबैभन्दा सही सिद्धान्त, कानुन र नियम हो, जसलाई परमेश्‍वरका वचनबाट लिइन्छ।) यहाँ “सबैभन्दा” भन्ने शब्द थपिएको छ, तर के यो “सबैभन्दा” शब्द आवश्यक छ? “सबैभन्दा” शब्द थप्नु र नथप्नुमा के फरक छ? “सबैभन्दा” पछि दोस्रो सबैभन्दा, तेस्रो सबैभन्दा इत्यादि आउँछ। तँलाई “सबैभन्दा” थप्नेबारे के लाग्छ? (त्यो उपयुक्त होइन, किनभने सत्यता नै एक मात्र मानक हो। “सबैभन्दा” थपेपछि त्यसले अरू कुरा त्योभन्दा दोस्रो दर्जाको र तेस्रो दर्जाको हो भन्ने एक प्रकारको सापेक्षतालाई देखाउँछ।) के यो व्याख्या सही हो? (हो।) यसले केही अर्थ राख्छ। यदि तिमीहरूसँग “सत्यता के हो” भन्ने कुराको परिभाषाबारे सही दृष्टिकोण र बुझाइ छ, अनि तिमीहरूले परमेश्‍वर नै सत्यता हुनुहुन्छ भनेर स्पष्टसँग बुझ्छौ भने, “सबैभन्दा” शब्द थप्नुपर्छ कि पर्दैन, त्यो थप्नु सही हो कि होइन, त्यो थप्दा के फरक पर्छ, त्यो नथप्नुको अर्थ के हो, र तिमीहरूले त्यो थप्नुको अर्थ के हो भनेर बुझ्न सक्छौ। अब, “सबैभन्दा” नथप्नु नै सही हो भन्ने कुरा पुष्टि भएको छ। यो शब्द थप्ने व्यक्तिले के गल्ती गरेको छ? उसले के सोच्यो भने, परमेश्‍वरको जुनै पक्ष व्याख्या गरिए पनि, “सबैभन्दा” शब्द थप्नुपर्छ। उसले यो तुलना गर्दा कहाँ गल्ती गर्‍यो? परमेश्‍वरका कुन कथनहरू, कुन सत्यता खण्डन भएका छन्? (सृजित प्राणी परमेश्‍वरभन्दा माथि कहिल्यै हुन सक्दैन; “सबैभन्दा” शब्द थप्नुले सृजित प्राणी र परमेश्‍वरबीच दोस्रो र तेस्रो दर्जाहरू छन् भन्ने दर्शाएको देखिन्छ।) के यो सही हो? (हो।) यसले केही अर्थ राख्छ; यसलाई त्यसरी व्याख्या गर्न सकिन्छ। के अगाडि “सबैभन्दा” शब्द थप्नु गलत हो भनेर पुष्टि गर्ने अरू कुनै कथनहरू छन्? (मलाई केही याद आयो, त्यो के हो भने, सत्यता परमेश्‍वरबाट मात्र आउन सक्छ, परमेश्‍वर मात्र सत्यता हुनुहुन्छ, त्यसैले दोस्रो सबैभन्दा, तेस्रो सबैभन्दा इत्यादि तुलनात्मक अभिव्यक्तिहरू हुन सक्दैन।) यो पनि सही हो। (सत्यता भनेको मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड हो। कानुन, नियम, र मापदण्डहरू परमेश्‍वरबाट मात्र आउन सक्छन्, र मानिसहरूसँग आफ्नो कार्यका लागि मापदण्ड वा नियम हुँदैन, न त तिनीहरूले आफ्ना लागि नियम बनाउन नै सक्छन्, त्यसैले “सबैभन्दा” शब्द थप्नु आवश्यक छैन।) यो व्याख्या अलि व्यावहारिक छ। अरू केही? (परमेश्‍वरको अख्तियार र परमेश्‍वरको सार अद्वितीय छन्। परमेश्‍वरको सार नै सत्यता हो, र यससँग कुनै कुराको तुलना हुन सक्दैन। “सबैभन्दा” शब्द थप्दा सत्यता अब अद्वितीय रहेन भन्नेजस्तो देखिन्छ।) यो कथन कस्तो छ? (राम्रो।) त्यसमा के राम्रो छ? (त्यसले परमेश्‍वर अद्वितीय हुनुहुन्छ भनेर औँल्याउँछ।) “अद्वितीय”—तिमीहरू सबैले यो शब्द बिर्स्यौ। परमेश्‍वर अद्वितीय हुनुहुन्छ। के परमेश्‍वरले बोलेको हरेक वाक्यमा, साथै मानिसका निम्ति परमेश्‍वरको हरेक मागमा व्यक्त मापदण्ड मानवजातिमाझ पाउन सकिन्छ? (सकिँदैन।) के मानवजातिको ज्ञान, पारम्परिक संस्कृति, वा सोचमा यी कुराहरू हुन्छन्? (हुँदैनन्।) के तिनीहरूले सत्यता सिर्जना गर्न सक्छन्? अहँ, सक्दैनन्। तसर्थ, “सबैभन्दा” शब्द थप्नुले दोस्रो र तेस्रो दर्जाहरूलाई दर्शाउँछ, उँचो, निचो र अझ निचो भनेर भिन्नता छुट्याउँछ, अनि कामकुराहरूलाई पहिलो तह, दोस्रो तह, तेस्रो तह… मा विभाजन गर्छ। त्यसको अर्थ सबै सही कुराहरू निश्चित क्रममा मापदण्ड बन्न सक्छन्। के त्यसलाई यसरी बुझ्न सकिन्छ? (सकिन्छ।) त्यसोभए, “सबैभन्दा” शब्द थप्नुमा के समस्या छ? त्यसले परमेश्‍वरका वचन, परमेश्‍वरको सत्यतालाई सापेक्षिक कुरा, उहाँले मानिसहरूमाझ सृष्टि गरेको ज्ञान, दर्शन, अन्य सही कुराभन्दा तुलनात्मक रूपले मात्र उच्च कुरामा परिणत गर्छ। यसले सत्यतालाई दर्जाहरूमा विभाजन गर्छ। परिणामस्वरूप, भ्रष्ट मानिसहरूमाझ हुने सही कुराहरू पनि सत्यता बन्छन्। त्यसबाहेक, यस्ता कुराहरू मानिसको कार्य र आत्मआचरणका निम्ति मापदण्ड पनि बन्छन्—केवल तुलनात्मक रूपले तल्लो तहमा। उदाहरणका लागि, मानिसहरू सभ्य हुनु, शिष्ट बन्नु, मानव दयालुपन र उनीहरूमा जन्मजातै हुने केही असल कुरा सबै मापदण्ड बन्छन्—यसले ती के बनेका हुन्छन् भनेर इङ्गित गर्छ? (सत्यता।) ती सत्यता बनेका हुन्छन्। हेर्, “सबैभन्दा” शब्द थप्नुले यस मापदण्डको प्रकृति परिवर्तन गर्छ। मापदण्डको प्रकृति परिवर्तन भएपछि, के परमेश्‍वरको परिभाषा पनि परिवर्तन हुन्छ? (हुन्छ।) परमेश्‍वरको परिभाषा के बन्छ? यस परिभाषामा, परमेश्‍वर अद्वितीय हुनुहुन्न; परमेश्‍वरको अख्तियार, शक्ति र सार अद्वितीय हुँदैनन्। परमेश्‍वर मानवजातिमाझ शक्ति र अख्तियारसहितको सबैभन्दा उच्च दर्जाको भूमिका मात्र बन्नुहुन्छ। मानवजातिमाझ क्षमता र प्रतिष्ठासहितको कुनै पनि व्यक्तिलाई परमेश्‍वर बराबर मान्न र उहाँसित तुलना गर्न सकिन्छ, ऊ केवल उहाँजति उच्च वा महान् हुँदैन। मानवजातिमाझका तुलनात्मक रूपले सकारात्मक ती व्यक्तित्व र अगुवाहरूलाई दर्जामा ठिक परमेश्‍वरपछाडि राख्न सकिन्छ, तिनीहरूले दोस्रो, तेस्रो, चौथो कमान सम्हाल्न सक्छन्…, र परमेश्‍वरचाहिँ सबैभन्दा उच्च कमानमा हुनुहुन्छ। के यस्तो अर्थ्याइले परमेश्‍वरको पहिचान र सारलाई पूर्ण रूपमा परिवर्तन गर्दैन र? “सबैभन्दा” भन्ने केवल एउटा शब्दले परमेश्‍वरको सारलाई पूर्ण रूपमा परिवर्तन गर्छ। के यो समस्या हो? (हो।) त्यसैले, “सबैभन्दा” भन्ने शब्द नथपी, यी शब्दहरू कुन तरिकाले सही हुन्छन्? (तिनले तथ्य बताउँछन्।) यो तथ्य के हो? (त्यो के हो भने, परमेश्‍वर सत्यता, सिद्धान्त, मानक, र मापदण्ड हुनुहुन्छ।) त्यो के हो भने, परमेश्‍वर नै यी सबै मापदण्डको स्रोत हुनुहुन्छ। भ्रष्ट मानवहरूमाझ, सृजित प्राणीहरूमाझ यस्तो मापदण्ड हुँदैन। यी मापदण्डहरू व्यक्त गर्नुहुने एक मात्र स्रोत परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वरमा मात्र यो सार छ। सबै सकारात्मक कुराको वास्तविकता र मापदण्डको स्रोत परमेश्‍वर मात्र हुनुहुन्छ। यदि कुनै व्यक्तिलाई मानिसको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका सिद्धान्तहरूबारे केही थाहा छ, मापदण्डबारे केही थाहा छ, र उसले केही सत्यता बुझ्छ भने, के ऊ परमेश्‍वर बन्न सक्छ? (सक्दैन।) के ऊ सत्यताको स्रोत हो? के ऊ सबै सत्यता व्यक्त गर्ने व्यक्ति हो? (होइन।) त्यसोभए, के उसलाई परमेश्‍वर भन्न सकिन्छ? सकिँदैन। सारगत भिन्नता यही हो। के तैँले बुझिस्? (बुझेँ।) मैले अहिले “सत्यता के हो” भन्ने शीर्षकबारे दुईपल्ट कुरा गरिसकेको भए पनि, तिमीहरूका उत्तरमा अझै यस्तो ठूलो त्रुटि छ, जसले परमेश्‍वरलाई सृजित प्राणीहरूमध्येको एकमा परिणत गर्छ, सृजित प्राणीहरूलाई परमेश्‍वर बराबर बनाउँछ, ती दुईबीचको सम्बन्धलाई समान बनाउँछ। यसले त्यो मामिलाको प्रकृतिलाई परिवर्तन गर्छ, जुन परमेश्‍वरलाई इन्कार गर्नुसरह हो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, मानवहरू सृजित प्राणी हुन्—यी दुई समान दर्जाका भूमिकाहरू होइनन्। तर तैँले “सबैभन्दा” भन्ने शब्द थप्दा के हुन्छ? ती दुई सार र दर्जामा समान हुन्छन्, केवल श्रेष्ठता वा हीनताका हिसाबले फरक हुन्छन्। मैले तिमीहरूलाई यसबारे विस्तृत रूपमा सोध्दा, तिमीहरूले मनमनै सोच्यौ, “के यो हामीलाई कम आँक्नु होइन र? हामी सबै शिक्षित मानिस हौँ, कसरी यी थोरै शब्द बिर्सन सक्छौँ र? हामी यसबारे आफ्नो नोटसमेत नहेरी सजिलै बोल्न सक्छौँ।” तिमीहरूले आफ्नो मुख खोल्नेबित्तिकै समस्या खुलासा भएको थियो। मैले बोलेपछि तिमीहरूले त्यो धेरैपटक पढ्यौ, तैपनि सही तरिकाले दोहोऱ्याउन सकेनौ। यसको कारण के हो? तिमीहरू यस सन्दर्भमा अझै सत्यता बुझ्दैनौ। कसैले “सबैभन्दा” भन्ने शब्द थप्यो र सोच्यो, “तिमीहरू कसैले ‘सबैभन्दा’ थपेनौ; तिमीहरूमा परमेश्‍वरप्रति त्यति धेरै आस्था छैन, हैन? मलाई हेर त, मैले ‘सबैभन्दा’ शब्द थपेँ। त्यसले म शिक्षित छु भन्ने देखाउँछ—म कलेज पढेको समय खेर गएन!” उसले “सबैभन्दा” थपेपछि, तिमीहरूमध्ये धेरैजसोले समस्या याद गरेनौ। तिमीहरूमध्ये थोरैलाई मात्र केही गडबड छ भन्ने लाग्यो, तर किन भनेर बताउन सकेनौ। अरूले त्यो व्याख्या गरेपछि, तिमीहरूले त्यो सिद्धान्तमा बुझ्यौ, र तिमीहरूलाई त्यो व्याख्या सही रहेछ भन्ने थाहा भयो। तर के तिमीहरूले त्यसलाई सत्यताका सन्दर्भमा बुझ्यौ? (बुझेनौँ।) मैले “सबैभन्दा” थप्नु किन गलत हो भन्नेबारे सङ्गति गरेँ, र तिमीहरूले त्यो बुझ्यौ, तर के तिमीहरूले त्यस समस्याको सार साँच्चै बुझ्यौ? (अहँ, बुझेनौँ।) तिमीहरूले त्यो प्रस्टसँग देखेनौ। त्यसो किन? (हामी सत्यता बुझ्दैनौँ।) अनि तिमीहरू किन सत्यता बुझ्दैनौ? के तिमीहरूले मैले भनेको कुरा बुझेनौ? यदि तिमीहरूले बुझ्यौ भने, सत्यताचाहिँ कसरी अझै बुझ्न सक्दैनौ? “परमेश्‍वर स्वयम् अद्वितीय” भन्ने शीर्षकमा कतिवटा अध्याय छन्? तिमीहरूले ती कतिपटक पढेका छौ? के तिमीहरू साँच्चै यी वचनहरू बुझ्छौ? (अहँ, बुझ्दैनौँ।) तिमीहरू बुझ्दैनौ, त्यसैले आज तिमीहरूले आफूलाई मूर्ख बनाएका छौ। यी शब्दहरूले तिमीहरूलाई प्रकट गरेका छन्। के त्यो सही होइन? (हो।) के तिमीहरूले यसबाट कुनै कुरा सिकेका छौ? के तिमीहरू फेरि यस्तो कुनै कुरा आइपर्दा आफ्नो कथित चतुऱ्याइँअनुसार कार्य गर्नेछौ? तिमीहरूले त्यसो गर्ने आँट गर्नेछैनौ, होइन र? यदि व्यक्तिले सत्यता बुझेन भने, जतिसुकै शिक्षा वा ज्ञान भए पनि, त्यो बेकार हुनेछ। यदि तँ अशिक्षित होस् र यो शब्द प्रयोग गर्न जान्दैनस् भने, सायद “सबैभन्दा” शब्द थप्नेथिइनस्, र यो समस्या खडा हुन्थेन होला। तैँले कम्तीमा पनि यो गल्ती गर्नेथिइनस् र आफूलाई मूर्ख बनाउनेथिइनस्। तर तँ शिक्षित भएकाले अनि तैँले निश्चित शब्दहरूको अर्थ र प्रयोग बुझ्ने हुनाले, ती परमेश्‍वरमा लागू गरिस्। परिणामस्वरूप, तैँले समस्या खडा गरेको, चतुऱ्याइँलाई भद्दापनमा परिणत गरेको छस्। यदि तैँले त्यो व्यक्तिमा लागु गरिस् भने, त्यो व्यक्तिपूजा र चापलूसी मात्र हुन्छ, जुन धेरैभन्दा धेरै घिनलाग्दो कुरा मात्र हो। तर यदि तैँले त्यो परमेश्‍वरमा लागु गरिस् भने, समस्या गम्भीर बन्छ। त्यो परमेश्‍वरलाई इन्कार गर्ने, उहाँको प्रतिरोध गर्ने र उहाँलाई निन्दा गर्ने शब्द बन्छ। सत्यता नभएका भ्रष्ट मानवहरूले यो गल्ती गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ। भविष्यमा, लापरवाहीसाथ क्रियाविशेषण वा विशेषण नथप्न सावधान बन्। किन? किनभने परमेश्‍वरको पहिचान, सार, वचन र स्वभावसँग सम्बन्धित कुराहरू नै भ्रष्ट मानिसहरूमा सबैभन्दा कमी हुने, अनि तिनीहरूको बुझाइ सबैभन्दा सतही र सबैभन्दा दुर्लभ हुने क्षेत्र हुन्। तसर्थ, सत्यता नबुझ्ने मानिसहरू जथाभाबी काम नगर्न होसियार हुनैपर्छ; विवेकी हुनु राम्रो हो।

अ. “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने विचारको विश्लेषण

कतिपय मानिसले भर्खरै सत्यताको परिभाषा र अवधारणालाई व्याख्या गरे। तिमीहरू सत्यताको परिभाषा र अवधारणा बुझ्छौ, तर के तिमीहरू सत्यता के हो भनेर साँच्चै बुझ्छौ? मैले यसबारे तिमीहरूलाई जाँच्नुपर्छ। म तिमीहरूलाई कसरी जाँच्नेछु? म तिमीहरूलाई जाँच्न तिमीहरूको सामर्थ्य प्रयोग गर्नेछु। अनि तिमीहरूको सामर्थ्य के हो? तिमीहरू सिकाइ, शब्द र शब्दावलीसँग परिचित छौ; हरेक समूहका मानिसहरूले सिक्ने संसारसँग व्यवहार गर्ने विभिन्न दर्शन र पद्धतिहरूसँग परिचित छौ; अनि मानव पारम्परिक संस्कृति, साथै तिनका धारणा र कल्पनाहरूसँग परिचित छौ। तिमीहरू सबै नस्ल, जाति र राष्ट्रका मानिसहरू जिउने विभिन्न नियम र धारणाहरूसँग पनि परिचित छौ। के यी कुरा तिमीहरूको सामर्थ्य होइनन् र? यीमध्ये केही निश्चित टुक्का हुन्, केही उखान हुन् र केहीचाहिँ भनाइ हुन्; कतिपय चाहिँ जनसाधारणले प्रचलित रूपमा प्रयोग गर्ने बुझ्न सजिलो बोलचालका भाषा हुन्। आफूलाई सोध, मानिसहरूले बारम्बार गहन सोच र दृष्टिकोण राख्ने र तिनलाई टुक्कामा परिणत गर्ने कुरा के हुन्? पहिला केही भनाइ, टुक्का र नियम, साथै संसारसँग व्यवहार गर्ने मानिसहरूको शैली र तिनीहरूका पारम्परिक धारणालाई विश्लेषण गरौँ, ताकि हामीले ठ्याक्कै सत्यता भनेको के हो भनेर बुझ्न सकौँ। हामी वास्तवमा सत्यता भनेको के हो भनेर नकारात्मक दृष्टिकोणबाट छलफल गर्नेछौँ। के यो राम्रो शैली हो? (हो।) त्यसोभए, सुरु गर्न एउटा बताऊ। (न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।) के यो कथन सही छ? (छैन।) “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।” पहिले यसबारे सङ्गति गर्न सुरु गरौँ। अघि बढ र यस भनाइको अर्थ व्याख्या गर। (यसको अर्थ तपाईँले जसलाई रोजगारी दिनुहुन्छ तिनीहरूलाई अविश्वास नगरी भरोसा गर्नुपर्छ भन्ने हो। यदि तपाईँ कसैलाई भरोसा गर्नुहुन्न भने, उसलाई रोजगारी नदिनुहोस्।) यो शाब्दिक अर्थ्याइ हो। पहिले, मलाई बता त, संसारका धेरैजसो मानिस यस भनाइसँग सहमत छन् कि असहमत? (सहमत।) तिनीहरू यस भनाइसँग सहमत छन्। यस समाजका धेरैजसो मानिस “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ अरूलाई रोजगारी दिने सिद्धान्तका रूपमा पालन गर्छन् भनेर भन्नु जायज हो, र तिनीहरूले मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा यस सिद्धान्तलाई पालन गर्छन्। त्यसोभए, यस भनाइको कुनै पक्ष सही छ? (छैन।) त्यसोभए, धेरैजसो गैरविश्‍वासीले यस भनाइलाई किन सही ठान्छन् अनि पूर्ण रूपमा स्विकार्छन् र लागु गर्छन्? तिनीहरू कुन प्रेरणाले त्यसो गर्छन्? तिनीहरू किन त्यसो भन्छन्? कतिपय मानिसहरू भन्छन्: “यदि तिमीले कसैलाई रोजगारी दिँदैछौ भने, उसलाई शङ्का गर्न मिल्दैन; तिमीले उसलाई भरोसा गर्नैपर्छ। तिमीले ऊसित यो काम फत्ते गर्ने प्रतिभा र चरित्र छ, अनि ऊ तँप्रति बफादार रहनेछ भनेर भरोसा गर्नैपर्छ। यदि तिमी उसलाई शङ्का गर्छौ भने, उसलाई रोजगारी नदेऊ। भनाइ नै छ, ‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ यो भनाइ सही हो।” वास्तवमा, यो भनाइ बहकाउने दुष्ट शब्दबाहेक अरू केही होइन। यो कहाँबाट आउँछ? यसको आशय के हो? यसको योजना के हो? (परमेश्‍वर, पछिल्लो सङ्गतिमा कतिपय मानिसले अरूले उनीहरूका काममा हस्तक्षेप नगरून् भन्ने चाहे भने, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भनेर भन्नेछन् भनी उल्लेख गरेको मलाई याद छ। तिनीहरूले त्यसो भन्नुको मतलब हो, “तपाईँले मलाई यो जागिर दिनुभएको र मलाई प्रयोग गरिरहनुभएको हुनाले, तपाईँले मेरो काममा हस्तक्षेप गर्नु हुँदैन—तपाईँले मैले गर्ने काममा हात हाल्नु हुँदैन।”) यो भनाइ प्रयोग गर्ने मानिसहरूमा कस्तो स्वभाव हुन्छ? (ख्रीष्टविरोधीको स्वभाव, जो स्वेच्छाचारी हुन्छ र नियमकानुनको धज्जी उडाउँछ।) वास्तवमा तिनीहरूमा यही स्वभाव हुन्छ। यो भनाइ प्रयोग गर्ने वा सोच्नेहरू रोजगारी दिनेहरू हुन् कि रोजगारी पाउनेहरू? यस भनाइले सबैभन्दा बढी कसलाई फाइदा गर्छ? (रोजगारी पाउनेहरूलाई।) रोजगारी पाउनेहरूलाई यस भनाइबाट कसरी फाइदा हुन्छ? यदि तिनीहरूले आफ्नो रोजगारदातालाई बारम्बार यही भनाइमा जोड दिइरहे भने, तिनीहरूले उसमा निश्‍चित प्रकारको सोच हालिरहेका हुन्छन्; त्यसमा कुरा मनमा हालिदिने वा सिकाउने प्रकृति हुन्छ। यो त रोजगारदातालाई यसो भन्नुसरह हो: तपाईँले कसैलाई रोजगारी दिनुभएपछि, ऊ तपाईँप्रति बफादार हुनेछ भनेर भरोसा गर्नैपर्छ। उसले काम राम्रोसँग गर्नेछ, ऊसित यो दक्षता छ भनेर तपाईँले भरोसा गर्नैपर्छ। तपाईँले उसलाई पटक्कै शङ्का गर्नु हुँदैन, किनभने उसलाई शङ्का गर्नु भनेको तपाईंकै खती हुनु हो। यदि तपाईँ सधैँ दोधारमा हुनुहुन्छ, यदि तपाईँ सधैँ उसका ठाउँमा अरू कसैलाई राख्न खोज्नुहुन्छ भने, यसले तपाईँप्रतिको उसको बफादारीलाई असर गर्न सक्छ। यो कुरा सुनेर, के रोजगारदाता यस भनाइद्वारा सजिलै प्रभावित हुन्छ वा बहकिन्छ? (हुन्छ।) अनि रोजगारदाता प्रभावित भइसकेपछि वा बहकिसकेपछि, रोजगारी पाउनेलाई फाइदा हुनेछ। मानौँ कि रोजगारदाताले यस्तो सोचाइलाई स्विकार्छ, र आफूले रोजगारी दिएको व्यक्तिबारे कुनै शङ्का वा आशङ्का पाल्दैन; उसले त्यस व्यक्तिले गरेको काम, त्यो व्यक्ति ऊप्रति बफादार भए-नभएको, वा त्यो व्यक्तिसँग यी कुराहरू गर्ने क्षमता भए-नभएको बारेमा सुपरिवेक्षण वा सोधपुछ गर्दैन। त्यो अवस्थामा, रोजगारी पाउने व्यक्ति रोजगारदाताको सुपरिवेक्षण र रेखदेखबाट बच्न सक्छ र पछि उसले आफ्नो रोजगारदाताको इच्छा पूरा नगरी आफूलाई जे मन लाग्यो त्यही गर्छ। मलाई बता त, जब कुनै कामदारले यो भनाइ प्रयोग गर्छ, तब के ऊसँग आफ्नो रोजगारदाताप्रति पूर्ण रूपमा बफादार हुने चरित्र साँच्चै हुन्छ? के उसलाई सुपरिवेक्षण गर्नै पर्दैन? (त्यसो होइन।) हामी किन त्यसो भन्छौँ? प्राचीन समयदेखि वर्तमान समयसम्म सर्वमान्य तथ्य के छ भने, मानवजाति गहन रूपले भ्रष्ट छन्, तिनीहरूमा भ्रष्ट स्वभावहरू छन्, र तिनीहरू निकै धूर्त र छली छन्; इमानदार मानिस कोही छैन र मूर्खहरूले समेत झूट बोल्छन्। यसले गर्दा अरू मानिसलाई रोजगारी दिने सन्दर्भमा धेरै कठिनाइ हुन्छ, अनि भरोसायोग्य व्यक्ति भेट्टाउनु प्रायः असम्भव हुन्छ, झन् पूर्ण रूपले भर पर्न सकिने व्यक्ति भेट्टाउने त कुरै भएन। तुलनात्मक रूपले रोजगारी दिन सकिने केही मानिसहरू भेट्टाउनु नै धेरैभन्दा धेरै आशा गर्न सकिने कुरा हो। भरोसायोग्य मानिस नै नभएपछि, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्नु, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिनु” कसरी सम्भव हुन्छ? त्यो सम्भव हुँदैन, किनभने भरपर्दो कोही हुँदैन। त्यसोभए, तुलनात्मक रूपले रोजगारी दिन सकिनेहरूलाई हामीले कसरी प्रयोग गर्नुपर्छ? हामी सुपरिवेक्षण र निर्देशनमार्फत मात्र त्यो गर्न सक्छौँ। गैरविश्‍वासीहरूले आफूलाई केही मात्रामा आश्‍वस्तताको प्रत्याभूति गर्न सूचनाकर्ता र गुप्तचर पठाएर आफूले रोजगारी दिएको व्यक्तिको कामको निगरानी गर्छन्। यसरी, प्राचीन समयका मानिसहरूले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्दै आफूलाई भ्रममा पारिरहेका थिए। “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्ने यो भनाइ प्रतिपादन गर्ने व्यक्तिले वास्तवमा आफूमा चाहिँ यो भनाइ लागु गरेन। यदि उसले साँच्चै लागु गरेको भए, ऊ विचारहीन व्यक्ति, केवल धोका खाने र ठगिने पहिलो दर्जाको मूर्ख मात्र हुनेथियो। के यो तथ्य होइन? “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइमा सबैभन्दा ठूलो कमी कहाँ छ भन्नेबारे कुरा गरौँ। “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्नु, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिनु” को जग के हो? त्यो पक्कै पनि रोजगारी पाउने व्यक्ति पूर्ण रूपले भरपर्दो, बफादार र जिम्मेवार होओस् भन्ने हुनुपर्छ। रोजगारदाताले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भनाइ लागु गर्नका निम्ति कामदार यस्तो व्यक्ति हो भन्ने कुराको शतप्रतिशत सुनिश्चितता हुनैपर्छ। हिजोआज, यस्तो भरोसायोग्य व्यक्ति भेट्टाउन सकिँदैन; तिनीहरू लगभग अस्तित्वमा छैनन्, जसले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने यो भनाइलाई बकबास बनाउँछ। यदि तैँले भरहीन व्यक्ति छानिस् र त्यस व्यक्तिबारे आफ्नो शङ्कालाई दबाउन “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ लागु गरिस् भने, के तैँले आफूलाई भ्रममा पारिरहेको हुँदैनस् र? तैँले रोजगारी दिएको व्यक्तिलाई शङ्का गर्दैनस् भन्दैमा, के ऊ भरपर्दो हुन र बफादारीपूर्ण र जिम्मेवार ढङ्गले कामकुरा गर्न सक्षम हुन्छ? वास्तवमा, तैँले शङ्का गरे पनि नगरे पनि, उसले आफू जस्तो व्यक्ति हो त्यहीअनुसार व्यवहार गर्न जारी राख्नेछ। यदि ऊ छली व्यक्ति हो भने, उसले छली कामकुरा गरिरहनेछ; यदि ऊ निष्कपट व्यक्ति हो भने, उसले निष्कपट कामकुरा गरिरहनेछ। यो तैँले ऊबारे शङ्का गर्छस् कि गर्दैनस् भन्ने कुरामा भर पर्ने कुरा होइन। उदाहरणका लागि, मानिलिऊँ, तैँले कुनै छली व्यक्तिलाई रोजगारी दिइस्। तँलाई हृदयमा यो व्यक्ति छली हो भन्ने थाहा छ, तैपनि तँ उसलाई यसो भन्छस्, “म तिमीलाई शङ्का गर्दिनँ, त्यसैले, अघि बढ र आत्मविश्‍वासका साथ आफ्नो काम गर”; त्यसपछि के त्यो व्यक्ति तैँले उसलाई शङ्का गर्दैनस् भन्दैमा छलकपटविना कामकुरा गर्ने निष्कपट व्यक्ति बन्नेछ? के त्यो सम्भव छ? त्यसको विपरीत, यदि तैँले कुनै निष्कपट व्यक्तिलाई रोजगारी दिइस् भने, के ऊ तैँले उसलाई शङ्का गरेका र नबुझेका कारण छली व्यक्तिमा परिणत हुनेछ? अहँ, हुनेछैन। तसर्थ, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ मूर्ख व्यक्तिले मनोशान्तिका लागि गर्ने विशुद्ध प्रयास हो, त्यो आफैलाई धोका दिने बकवास कुरा हो। मानवजातिको भ्रष्टता कुन हदसम्म हुन्छ? हैसियत र शक्तिको पछ्याइले बाबु र छोरा, साथै दाजुभाइलाई एकअर्काविरुद्ध खडा हुने र मारामार गर्ने तुल्याएको छ; त्यसले आमा र छोरीलाई एकाअर्कालाई घृणा गर्ने तुल्याएको छ। कसले कसलाई भरोसा गर्न सक्छ र? पूर्ण रूपले भर पर्न सकिने कुनै व्यक्ति छैन, तुलनात्मक रूपले रोजगारी दिन सकिने व्यक्तिहरू मात्र छन्। तैँले जसलाई रोजगारी दिए पनि, गल्ती हुनबाट रोक्ने एउटै मात्र तरिका भनेको उसलाई निगरानी वा सुपरिवेक्षण गर्नु हो। त्यसैले, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्नु, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिनु” त आफूलाई भ्रममा पार्ने भनाइ हो। त्यो बकबास, भ्रम हो, र यो पटक्कै मान्य छैन। परमेश्‍वरले किन आखिरी दिनहरूमा मानवजातिलाई स्वच्छ पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ? किनभने मानवजातिलाई गहन रूपले भ्रष्ट पारिएको छ। परमेश्‍वरप्रति साँचो रूपले समर्पित हुने कोही छैन, र परमेश्‍वरका निम्ति प्रयोगयोग्य कोही छैन। त्यसैले, परमेश्‍वरले बारम्बार मानिसहरू इमानदार होऊन् भन्ने माग गर्नुहुन्छ। किनभने मानवजाति अति छली हुन्छन्, तिनीहरू शैतानको भ्रष्ट स्वभावले भरिएका हुन्छन् र तिनीहरूमा शैतानको प्रकृति हुन्छ। तिनीहरू आफूलाई पाप र दुष्टता गर्नबाट रोक्नै सक्दैनन्, अनि तिनीहरूले कुनै पनि स्थान र कुनै पनि समयमा परमेश्‍वरलाई प्रतिरोध गर्न र धोका दिन सक्छन्। भ्रष्ट मानवहरूमध्ये प्रयोग गर्न सकिने वा भरपर्दो व्यक्ति कोही छैन। मानवजातिमध्येबाट कुनै व्यक्तिलाई छनौट गरेर प्रयोग गर्नु वास्तवमै गाह्रो छ! सर्वप्रथम, मानिसहरूले कसैलाई साँचो रूपमा बुझ्नु असम्भव छ; दोस्रो, मानिसहरूले अरूलाई छर्लङ्ग देख्न सक्दैनन्; तेस्रो, विशेष परिस्थितिहरूमा, मानिसहरूले अरूलाई नियन्त्रण वा व्यवस्थापन गर्न झनै असम्भव छ। यस पृष्ठभूमिमा, प्रयोग गर्न कसैलाई खोज्नु सबैभन्दा कठिन कुरा हो। तसर्थ, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ एकदमै त्रुटिपूर्ण छ र अलिकति पनि व्यावहारिक छैन। यस भनाइका आधारमा कसैलाई छनौट गरेर प्रयोग गर्नु भनेको धोकामा पर्नु मात्र हो। यस भनाइलाई सही र सत्यता मान्ने जोकोही सबैभन्दा मूर्ख मानिस हो। के यस भनाइले अरूलाई प्रयोग गर्नेसम्बन्धी कठिनाइ साँच्चै हल गर्न सक्छ? पटक्कै सक्दैन। त्यो त आफैलाई छल गर्दै वा भ्रममा पार्दै आफूलाई सान्त्वना दिने तरिका मात्र हो।

हाम्रो सङ्गतिको यस मोडमा, के तिमीहरूले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ सही हो कि होइन भनेर आधारभूत बुझाइ प्राप्त गरेका छौ? के यो भनाइ सत्यता हो? (होइन।) त्यसोभए यो के हो? (शैतानको दर्शन।) अझ तोकेरै भन्दा, यस भनाइले अरूको सुपरिवेक्षण वा निरीक्षणबाट उम्कने वा त्यसबाट मुक्त हुन चाहने व्यक्तिका लागि बहानाको काम गर्छ; यो सबै दुष्ट मानिसहरूले आफ्नो स्वार्थ जोगाउन र उद्देश्य पूरा गर्नका लागि फैलाउने गुप्त रणनीति पनि हो। यो भनाइ आफूलाई जे मन लाग्यो त्यही गर्ने भित्री मनसाय राख्नेहरूका लागि बहानाबाजी हो। यो त यस्ता मानिसहरूले नैतिक इन्साफ, र विवेकको सुपरिवेक्षण, निरीक्षण र निन्दाबाट न्यायोचित ढङ्गले उम्कनका लागि फैलाउने भ्रम पनि हो। तथापि, अहिले कतिपय मानिस व्यावहारिक र सही हुन “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइलाई विश्‍वास गर्छन्। के यस्ता मानिसहरूमा सुझबुझ हुन्छ? के तिनीहरू सत्यता बुझ्छन्? के यस्ता मानिसहरूको सोच र दृष्टिकोण समस्याजनक हुन्छ? यदि मण्डलीभित्रकै कसैले यो भनाइ फैलाउँछ भने, उसले त्यो कुनै मनसाय राखेर गर्छ, उसले अरूलाई बहकाउने प्रयास गरिरहेको हुन्छ। उसले आफूबारे अरूका शङ्का वा उपशङ्काहरू हटाउन “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ प्रयोग गर्न खोजिरहेको हुन्छ। परोक्ष रूपमा, यसको अर्थ ऊ आफूले काम गर्न सक्छ, आफू प्रयोग गरिन सक्ने व्यक्ति हो भनेर अरूले भरोसा गरेको चाहन्छ। के यो उसको आशय र उद्देश्य होइन र? त्यही हुनुपर्छ। तिनीहरूले मनमनै सोच्छन्, “तिमीहरू मलाई कहिल्यै भरोसा गर्दैनौ र सधैँ शङ्का गर्छौ। कुनै मोडमा तिमीहरूले सायद ममा कुनै सानोतिनो समस्या भेट्टाउनेछौ र मलाई बरखास्त गर्नेछौ। यदि यो कुरा मेरा मनमा सधैँ रह्यो भने, मैले कसरी काम गर्ने?” त्यसैले तिनीहरू यो दृष्टिकोण फैलाउँछन् ताकि परमेश्‍वरको घरले तिनीहरूलाई शङ्का नगरी भरोसा गरोस् र स्वतन्त्र रूपले काम गर्न छोडिदेओस्, यसरी तिनीहरूको उद्देश्य पूरा हुन्छ। यदि कसैले साँचो रूपमा सत्यता पछ्याइरहेको छ भने, उसले परमेश्‍वरको घरले उसको कामको सुपरिवेक्षण गरेको देख्दा त्यसलाई उचित रूपमा लिनुपर्छ, यो आफ्नै सुरक्षाका लागि हो, र अझ महत्त्वपूर्ण कुरा त, त्यो परमेश्‍वरको घरको कामप्रति जिम्मेवार हुनु पनि हो भनेर जान्नुपर्छ। तिनीहरूले आफ्नो भ्रष्टता प्रकट गर्न सक्ने भए पनि, परमेश्‍वरलाई आफ्नो छानबिन र सुरक्षा गरिमाग्न प्रार्थना गर्न सक्छन्, वा आफूले दुष्टता गरेमा उहाँको दण्ड स्विकार्ने कसम खान सक्छन्। के यसले तिनीहरूलाई मनोशान्ति दिनेछैन र? मानिसहरूलाई बहकाउन र आफ्नो उद्देश्य पूरा गर्न किन भ्रम फैलाउनु? कतिपय अगुवा र कामदारहरू सधैँ परमेश्‍वरका चुनिएका मानिसहरूको सुपरिवेक्षण वा तिनीहरूको कामबारे जान्न माथिल्ला अगुवा र कामदारहरूले गर्ने प्रयासको प्रतिरोध गर्ने मनोवृत्ति राख्छन्। तिनीहरू के सोच्छन्? “‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ तिमीहरू किन सधैँ मलाई सुपरिवेक्षण गरिरहन्छौ? यदि तिमीहरू मलाई भरोसा गर्दैनौ भने किन प्रयोग गर्छौ?” यदि तैँले तिनीहरूको कामबारे सोधिस् वा त्यसको प्रगतिबारे सोधपुछ गरिस् र त्यसपछि तिनीहरूको व्यक्तिगत स्थितिबारे सोधिस् भने, तिनीहरू झनै रक्षात्मक बन्नेछन्: “यो काम मलाई सुम्पिइएको छ; यो मेरो कार्यक्षेत्रभित्र पर्छ। तिमीहरू किन मेरो काममा हस्तक्षेप गरिरहेका छौ?” तिनीहरूले सिधै भन्ने आँट नगरे पनि, यसरी पेच हान्नेछन्, “भनाइ नै छ, ‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ तिमी किन यस्तो शङ्कालु व्यक्ति भएको?” तिनीहरूले तँलाई निन्दा गर्ने र नाम दिनेसमेत गर्नेछन्। अनि यदि तैँले सत्यता बुझिनस् र तँमा सुझबुझ छैन भने के हुन्छ? तिनीहरूले पेच हानेको सुनेपछि, तैँले भन्नेछस्, “के म शङ्कालु छु र? त्यसोभए म गलत छु। म छली हुँ! तिमीले ठिक भन्यौ: न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।” के तँ यसरी बहकिएको हुँदैनस् र? के “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ सत्यतासँग मिल्दो छ? छैन, त्यो बकबास हो! यी दुष्ट मानिसहरू अन्तर्घाती र छली हुन्छन्; तिनीहरू अन्योलमा परेका मानिसहरूलाई बहकाउन यस भनाइलाई सत्यताका रूपमा प्रस्तुत गर्छन्। यो भनाइ सुनेपछि अन्योलमा परेको व्यक्ति साँच्चै बहकिन्छ, अनि ऊ रनभुल्ल हुन्छ, र सोच्छ, “उसको कुरा सही हो, मैले यस व्यक्तिलाई अन्याय गरेको छु। उसले आफैँ भन्यो त: ‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ मैले कसरी उसलाई शङ्का गर्न सकेँ? यसरी काम गर्न सकिँदैन। मैले उसलाई उसको काममा खोजीनिती नगरी हौसला दिनैपर्छ। मैले उसलाई प्रयोग गरिरहेको हुनाले, उसलाई भरोसा गर्नुपर्छ र नियन्त्रण नगरी स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ। मैले उसलाई काम गर्ने ठाउँ दिनुपर्छ। ऊसँग यो काम गर्ने क्षमता छ। अनि उसमा त्यो क्षमता छैन भने पनि, पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ!” यो कस्तो प्रकारको तर्क हो? के यसमध्ये कुनै सत्यतासँग मेल खान्छ? (खाँदैन।) यी शब्दहरू सबै सही लाग्छन्। “हामीले अरूलाई बाँध्न मिल्दैन।” “मानिसहरूले केही गर्न सक्दैनन्; सबै कुरा गर्ने त पवित्र आत्मा नै हुनुहुन्छ। पवित्र आत्माले सबथोक छानबिन गर्नुहुन्छ। परमेश्‍वरले पूर्ण रूपमा रेखदेख गर्नुहुने हुनाले हामीले शङ्का गर्नु पर्दैन।” तर यी कस्ता शब्दहरू हुन्? के ती शब्द बोल्ने मानिसहरू भ्रमित होइनन् र? तिनीहरू यति पनि छर्लङ्गै देख्न सक्दैनन् र एउटै वाक्यले बहकिन्छन्। धेरैजसो मानिस “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्‍ने भनाइलाई सत्यताका रूपमा लिन्छन्, अनि यसद्वारा बहकिन्छन् र बन्धनमा पर्छन् भनेर भन्दा अत्युक्ति हुँदैन। मानिसहरूलाई छनौट वा प्रयोग गर्दा तिनीहरू यसको बाधा र प्रभावमा पर्छन्, र यसैलाई आफ्ना कार्यहरू नियन्त्रण गर्न समेत दिन्छन्। फलस्वरूप, धेरै अगुवा र कामदारहरूले मण्डलीको कामको जाँच गर्दा र मानिसहरूलाई बढुवा र प्रयोग गर्दा सधैँ कठिनाइ र आशङ्काहरू महसुस गर्छन्। अन्त्यमा, तिनीहरूले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्‍ने शब्‍दहरूद्वारा आफूलाई सान्त्वना दिन मात्र सक्छन्। जब तिनीहरू कामको जाँच वा सोधपुछ गर्छन्, तब यस्तो सोच्छन्, “‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई भरोसा गर्नुपर्छ, आखिर पवित्र आत्‍माले नै मानिसहरूको छानबिन गर्नुहुन्छ, त्यसकारण मैले सधैँ शङ्का गरेर अरूको सुपरिवेक्षण गर्नु हुँदैन।” तिनीहरू यो वाक्यांशद्वारा प्रभावित भएका हुन्छन्, होइन र? यो वाक्यांशको प्रभावबाट आउने परिणामहरू के-के हुन्? सर्वप्रथम, यदि कुनै व्यक्ति “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने यस दृष्टिकोणसँग सहमत हुन्छ भने, के उसले अरूको काम निरीक्षण र निर्देशन गर्नेछ? के उसले मानिसहरूको काममा सुपरिवेक्षण र अनुगमन गर्नेछ? यदि यस व्यक्तिले आफूले प्रयोग गर्ने सबैलाई भरोसा गर्छ अनि तिनीहरूलाई तिनीहरूको काममा कहिल्यै निरीक्षण वा निर्देशन गर्दैन, अनि तिनीहरूलाई कहिल्यै सुपरिवेक्षण गर्दैन भने, के उसले बफादारीका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छ? के उसले दक्षतापूर्वक मण्डलीका काम अघि बढाउन र परमेश्‍वरको आज्ञा पूरा गर्न सक्छ? के ऊ परमेश्‍वरको आज्ञाप्रति बफादार भइरहेको हुन्छ? दोस्रो, यो परमेश्‍वरको वचन र आफ्‍नो कर्तव्य पालन गर्न नसक्‍नु मात्रै होइन, यो त शैतानको युक्ति र संसारसँग व्यवहार गर्ने शैतानी दर्शनलाई सत्यताका रूपमा लिएर त्यसैलाई पछ्याउनु र अभ्यास गर्नु पनि हो। तैँले शैतानको आज्ञापालन गरिरहेको र शैतानी दर्शनअनुसार जिइरहेको हुन्छस्, होइन र? तँ परमेश्‍वरमा समर्पित हुने व्यक्ति होइनस्, झन् परमेश्‍वरका वचनहरू पालना गर्ने व्यक्ति हुनु त परको कुरा हो। तँ हदैको बदमास होस्। परमेश्‍वरका वचनहरूलाई पन्छाएर शैतानी वाक्यांशलाई स्विकार्दै त्यसैलाई सत्यताका रूपमा अभ्यास गर्नु सत्यता र परमेश्‍वरलाई धोका दिनु हो! तँ परमेश्‍वरको घरमा काम गर्छस्, तैपनि तेरो कामका सिद्धान्तहरू शैतानी तर्क र संसारसँग व्यवहार गर्ने दर्शन हुन्; तँ कस्तो व्यक्ति होस्? यो त परमेश्‍वरलाई विश्‍वासघात गर्ने र परमेश्‍वरलाई अत्यन्तै लज्‍जित पार्ने व्यक्ति हो। यो कार्यको सार के हो? खुलेआम परमेश्‍वरलाई निन्दा गर्नु र खुलेआम सत्यतालाई इन्कार गर्नु। के यसको सार त्यही होइन र? (हो।) तैँले परमेश्‍वरको इच्‍छा नपछ्याउनेबाहेक, शैतानको एउटा दुष्ट भनाइ र संसारसँग व्यवहार गर्ने दर्शनहरूलाई मण्डलीमा व्याप्त हुन दिइरहेको हुन्छस्। यसो गरेर, मण्डलीभित्र तँ शैतानको मतियार बन्छस् र शैतानलाई मण्डलीभित्र त्यसका क्रियाकलाप गर्न सघाउँछस्, अनि मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँछस्। यस समस्याको सार निकै गम्‍भीर छ, होइन र?

हिजोआज, धेरैजसो अगुवा र कामदारहरू आफ्ना हृदयमा शैतानको विष पाल्छन् र अझै शैतानी दर्शनअनुसार जिउँछन्, अनि परमेश्‍वरका थोरै वचनले मात्र तिनीहरूका हृदयमा प्रभुत्व जमाउँछन्। धेरै अगुवा र कामदारहरूको काम समस्याजनक हुन्छ—वास्तवमा तिनीहरूलाई हृदयमा कतिपय मानिस काम गर्न सक्दैनन् र समस्याहरू निश्चित रूपले खडा हुन्छन् भन्ने थाहा भए पनि, तिनीहरू कामको प्रबन्ध गरेपछि कहिल्यै कामको निरीक्षण वा सुपरिवेक्षण गर्दैनन्। तथापि, तिनीहरू यो समस्या कसरी समाधान गर्ने भन्ने थाहा नभएर “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” दृष्टिकोण मात्र अपनाउँछन् र झारा टार्छन्, तिनीहरूले मनोशान्तिसमेत पाउँछन्। यसले गर्दा कतिपय मानिसले वास्तविक काम गर्न सक्दैनन्, अनि तिनीहरू सामान्य मामलाहरूमै झारा टार्दै व्यस्त रहन्छन्। परिणामस्वरूप, तिनीहरूले मण्डलीको काम लथालिङ्ग पार्छन्, र कतिपय ठाउँमा त परमेश्‍वरलाई चढाएको भेटीसमेत चोरी हुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले यो हेर्न नसकेर माथिलाई मामिलाको रिपोर्ट गर्छन्। यो थाहा पाएर झूटो अगुवा अक्क न बक्क हुन्छ र उसलाई विपत्ति आउनै लागेको झैँ लाग्छ। त्यसपछि माथिले उसलाई सोध्नुहुन्छ: “तिमीले किन कामको निरीक्षण गरेनौ? तिमीले किन गलत व्यक्ति प्रयोग गऱ्यौ?” जवाफमा झूटो अगुवाले भन्छ: “मलाई व्यक्तिको सारबारे ज्ञान छैन, त्यसैले म त केवल ‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने’ सिद्धान्त पालन गर्छु। मैले गलत व्यक्ति प्रयोग गरेर यस्तो विपत्ति निम्त्याउँछु भनेर कहिल्यै अपेक्षा गरेको थिइनँ।” के तिमीहरू “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्‍ने दृष्टिकोण सही छ भनेर विश्‍वास गर्छौ? के यो वाक्यांश सत्यता हो? परमेश्‍वरको घरको काममा र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा उसले किन यो वाक्यांश प्रयोग गर्छ? यसमा के समस्या छ? “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ अवश्य नै गैरविश्‍वासीका शब्‍दहरू, शैतानबाट आएका शब्दहरू हुन्—त्यसोभए उसले किन तिनलाई सत्यताका रूपमा लिन्छ? उसले यी शब्दहरू सही हुन् कि गलत हुन् भनेर किन भन्‍न सक्दैन? यी स्पष्ट रूपमै मान्छेका शब्‍दहरू, भ्रष्ट मानवजातिका शब्‍दहरू हुन्, ती सत्यता हुँदै होइनन्, ती परमेश्‍वरका वचनहरूको पूर्ण विपरीत छन्, र तिनलाई मानिसका कार्यहरू, आत्मआचरण, र परमेश्‍वरको आराधनाको मापदण्डका रूपमा लिनु हुँदैन। त्यसोभए, यो वाक्यांशलाई कसरी लिनुपर्छ? यदि तैँले साँच्‍चै नै खुट्ट्याउन सक्छस् भने, तैँले तेरो अभ्यासको सिद्धान्तका रूपमा यसको सट्टा कस्तो सत्यता सिद्धान्त प्रयोग गर्नुपर्छ? त्यो “आफ्‍नो सारा हृदय, सारा प्राण र सारा मनले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नु” भन्‍ने हुनुपर्छ। सारा हृदय, सारा प्राण, र सारा मनले काम गर्नु भनेको कोहीद्वारा नियन्त्रित नहुनु हो; यो एउटै हृदय र मनको हुनु हो, त्योबाहेक अरू केही होइन। यो तेरो जिम्‍मेवारी र कर्तव्य हो, र यसलाई तैँले राम्ररी पूरा गर्नुपर्छ, किनभने यसो गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित कुरा हो। तैँले जस्तोसुकै समस्याहरू सामना गरे पनि, सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। तिनलाई जसरी सम्‍हाल्‍नुपर्ने हो, त्यसरी सम्‍हाल्; यदि काटछाँट गर्नु परे पनि गर्, र बर्खास्त गर्नु परे पनि गर्। सङ्क्षेपमा भन्दा, परमेश्‍वरका वचनहरू र सत्यताअनुसार काम गर्। के सिद्धान्त यही होइन र? के यो “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्‍ने वाक्यांशको ठिक उल्टो छैन र? न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने भन्नुको अर्थ के हो? यसको अर्थ यदि तैँले कुनै व्यक्तिलाई रोजगारी दिइस् भने, तैँले ऊमाथि शङ्का गर्नु हुँदैन, उसलाई लगाम लगाउन छोड्नुपर्छ, उसको सुपरिवेक्षण गर्नु हुँदैन, र उसलाई जसरी मन लाग्छ त्यसरी काम गर्न दिनुपर्छ; र यदि तँलाई त्यस व्यक्तिप्रति शङ्का लाग्छ भने, तैँले उसलाई काममा लगाउनु हुँदैन। के यसको अर्थ यही होइन र? यो अत्यन्तै गलत छ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ। हरेक व्यक्तिमा शैतानी स्वभाव हुन्छ, र उसले परमेश्‍वरलाई विश्‍वासघात गर्न र उहाँको प्रतिरोध गर्न सक्छ। कोही पनि भरपर्दो हुँदैन भन्दा हुन्छ। यदि कुनै व्यक्तिले हदैसम्म कसम खाए पनि, यसको कुनै अर्थ हुँदैन, किनभने मानिसहरू आफ्नो भ्रष्ट स्वभावद्वारा बाँधिएका हुन्छन् र आफूलाई नियन्त्रण गर्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरको न्याय र सजाय स्वीकार गरेपछि मात्र आफ्‍नो भ्रष्ट स्वभावको समस्या समाधान गर्न, र परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँलाई धोका दिने समस्या पूर्ण रूपमा समाधान गर्न सक्छन्—मानिसहरूका पापहरूको जड समाधान गर्न सक्छन्। परमेश्‍वरको न्याय र शुद्धीकरण अनुभव गरेर मुक्ति हासिल नगरेकाहरू भरपर्दो हुँदैनन्। तिनीहरू भरोसा गर्न लायक हुँदैनन्। त्यसकारण, तैँले जब कसैलाई प्रयोग गर्छस्, तब उसलाई सुपरिवेक्षण गर्ने र निर्देशन दिने गर्नैपर्छ। साथै, तैँले तिनीहरूलाई काटछाँट गर्ने, र बारम्‍बार सत्यतामा सङ्गति दिने गर्नैपर्छ, अनि यसरी मात्रै तैँले तिनीहरूलाई निरन्तर प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर स्पष्ट देख्‍न सक्‍नेछस्। यदि कतिपय मानिसले सत्यता स्विकार्न, काटछाँट स्विकार्न, बफादारीपूर्वक कर्तव्य निर्वाह गर्न, र जीवनमा निरन्तर प्रगति गर्न सक्छन् भने, तिनीहरू मात्रै प्रयोग गर्न योग्य मानिस हुन्छन्। साँचो रूपमा प्रयोग गर्नयोग्य मानिसहरूले पवित्र आत्माको कामको पुष्टि पाएका हुन्छन्। पवित्र आत्माको काम नभएका मानिसहरू भरपर्दा हुँदैनन्; तिनीहरू श्रमिक र भाडामा ल्याइएका मानिस हुन्। अगुवा र कामदारहरू चयन गर्ने सन्दर्भमा भन्नुपर्दा, तिनीहरूलाई तुलनात्मक रूपले उच्च अनुपातमा, कम्तीमा पनि आधाभन्दा धेरै हटाइन्छन् भने सानो अल्पसङ्ख्या मात्र प्रयोग गर्नयोग्य वा प्रयोग गर्न मिल्ने हुन्छन्—यो वास्तविकता हो। कतिपय मण्डली अगुवाहरू कहिल्यै अरूको कामको सुपरिवेक्षण वा जाँच गर्दैनन्, र आफूले सङ्गति सकाएपछि वा कामको प्रबन्ध मिलाएपछि कामप्रति ध्यान दिँदैनन्। बरु, तिनीहरू “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” वाक्यांशअनुसार चल्छन्, र मनमनै “बाँकी कुरा परमेश्‍वरलाई गर्न देऊ” समेत भन्छन्। त्यसपछि तिनीहरू आराम र सहजतामा लिप्त हुन थाल्छन्, मामिलाबारे सोधपुछ गर्दैनन् र त्यसलाई बेवास्ता गर्छन्। के तिनीहरूले यसरी काम गरेर झारा टारिरहेका हुँदैनन् र? के तिनीहरूमा कुनै जिम्मेवारी बोध हुन्छ? के यस्ता मानिसहरू झूटा अगुवा होइनन् र? परमेश्‍वर मानिसहरूले आफ्नो कर्तव्य सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण मनले, र सम्पूर्ण बलले गरून् भन्ने माग गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूबाट जे माग गर्नुहुन्छ—त्यो नै सत्यता हो। यदि अगुवा र कामदारहरूले काम गर्दा वा आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरका वचन पालन नगरी दियाबलस र शैतानका वचन पालन गर्छन् भने, के यो परमेश्‍वरलाई प्रतिरोध र विश्‍वासघात गर्नुको प्रकटीकरण होइन र? परमेश्‍वरको घरले अगुवा र कामदारहरू चयन गर्दा सत्यता स्विकार्न सक्ने, विवेक र समझ भएका, अनि राम्रो क्षमताका र कामको जिम्मेवारी लिन सक्ने मानिसहरूलाई मात्र किन रोज्नुपर्छ? किनभने मानवजाति गहिरो रूपमा भ्रष्ट हुन्छ र प्रयोग गर्न सकिने लगभग कोही हुँदैन। कुनै व्यक्तिले वर्षौँसम्म प्रशिक्षण लिएको र संवर्धन पाएको छैन भने, उसले कामकुरा एकदमै अदक्ष ढङ्गले गर्छ र उसलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न धेरै गाह्रो हुन्छ, अनि प्रयोग गर्नयोग्य बन्नुअघि उसलाई अनेक पटक न्याय, सजाय र काटछाँट गर्नुपर्ने हुन्छ। प्रशिक्षणका क्रममा धेरैजसो मानिस खुलासा भएर हटाइन्छन्, अनि अगुवा र कामदारहरू निकै उच्च दरमा हटाइन्छन्। किन यस्तो गरिन्छ? किनभने शैतानले मानवजातिलाई एकदमै गहिरो रूपमा भ्रष्ट पारेको छ। धेरैजसो मानिस सत्यतालाई प्रेम गर्दैनन्, न त विवेक र समझको मानक नै पूरा गर्छन्। त्यसैले, तिनीहरूमध्ये धेरैजसो प्रयोग गर्नयोग्य हुँदैनन्। तिनीहरूले केही कर्तव्य निर्वाह गर्न सक्नका लागि धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्नैपर्छ र अलिकति सत्यता बुझ्नैपर्छ। भ्रष्ट मानवजातिको वास्तविकता यही हो। त्यसैले, यसका आधारमा हामी के निष्कर्षमा पुग्न सक्छौँ भने, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने वाक्यांश पूर्ण रूपमा गलत छ र यसको बिलकुलै कुनै व्यावहारिक महत्त्व छैन। हामी “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ झूटो शिक्षा र भ्रम हो भनेर निश्चितताका साथ भन्न सक्छौँ; यो दुष्ट भनाइ, शैतानी दर्शन हो, र यस्तो चित्रण शतप्रतिशत उचित हो। परमेश्‍वरले “भ्रष्ट मानवजातिलाई भरोसा गर्न सकिन्छ” भन्ने अर्थ लाग्ने कुरा कहिल्यै भन्नुभएको छैन। उहाँले सधैँ मानिसहरू इमानदार होऊन् भन्ने माग गर्नुभएको छ, जसले सारा मानवजातिमाझ एकदमै थोरै मानिस मात्र इमानदार छन्, सबै जनाले झूट बोल्न र छल गर्न सक्छन्, अनि सबैमा छली स्वभाव छ भनेर प्रमाणित गर्छ। त्यसबाहेक, भ्रष्ट मानवजातिले परमेश्‍वरलाई विश्‍वासघात गर्ने शतप्रतिशत सम्भावना छ भनेर उहाँले भन्नुभएको छ। परमेश्‍वरले कुनै व्यक्तिलाई प्रयोग गर्नुभए पनि, त्यो व्यक्ति वर्षौँसम्म काटछाँटबाट गुज्रनैपर्छ, र प्रयोग गरिँदै गर्दासमेत, उसले शुद्ध हुन धेरै वर्षसम्म न्याय र सजाय भोग्नैपर्छ। अब मलाई बताओ त, के साँच्चै कोही भरपर्दो व्यक्ति छ? छ भन्ने आँट कसैले गर्दैन। अनि कसैले आँट नगर्नुले के प्रमाणित गर्छ? त्यसले सबै मानिस भरपर्दा छैनन् भन्ने प्रमाणित गर्छ। त्यसैले, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” वाक्यांशमै फर्कौँ। यो कुन रूपमा गलत छ? त्यसबारे हास्यास्पद कुरा के छ? के यो प्रस्ट छैन र? यदि कसैले अझै यो भनाइ कुनै पनि रूपमा सही वा प्रयोग गर्नयोग्य छ भन्ने ठान्छ भने, ऊ सत्यता नभएको र निश्चय नै बेतुके व्यक्ति हो। आज, तिमीहरू यस वाक्यांशमा भएको समस्या देख्न र यो भ्रम हो भनेर निर्धारण गर्न सक्छौ, अनि यो तिमीहरूले परमेश्‍वरको काम अनुभव गरेकाले, र तिमीहरू भ्रष्ट मानवजातिको सारलाई अझ स्पष्टसित देख्न र त्यसबारे अझ प्रस्ट अन्तर्ज्ञान प्राप्त गर्न सक्ने भएकाले गर्दा नै हो। यसैकारणले गर्दा मात्र तिमीहरू यो शैतानी वाक्यांश, यो झूटो शिक्षा र भ्रम पूर्णतः त्याग्न सक्छौ। यदि परमेश्‍वरको मुक्तिको काम नभएको भए, तिमीहरू पनि यो शैतानी भनाइद्वारा बहकिनेथियौ, र तिमीहरूले त्यसलाई मानक उक्ति वा आदर्श वाक्यका रूपमा समेत प्रयोग गर्नेथियौ। त्यो कति दयनीय कुरा हुनेथियो—तिमीहरूमा सत्यता वास्तविकता पटक्कै हुनेथिएन।

“न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने वाक्यांश धेरैजसो मानिसले पहिले सुनेको कुरा हो। तिमीहरूलाई यो वाक्यांश सही लाग्छ कि गलत? (गलत।) यदि तिमीहरूलाई यो गलत लाग्ने भए, त्यसले किन अझै तिमीहरूलाई वास्तविक जीवनमा प्रभाव पार्न सक्छ? तिमीहरूलाई यस्ता कुराहरू आइपर्दा, यो दृष्टिकोण पैदा हुनेछ। त्यसले तँलाई केही हदसम्म बाधा दिनेछ, र त्यसले तँलाई बाधा दिएपछि तेरो काम प्रभावित हुनेछ। त्यसैले, यदि तँलाई यो गलत लाग्छ र तैँले यो गलत हो भनेर निर्धारण गरिसकेको छस् भने, तँ किन अझै त्यसद्वारा प्रभावित हुन्छस् र किन आफ्नो मनलाई शान्ति दिन अझै त्यो प्रयोग गर्छस्? (किनभने मानिसहरू सत्यता बुझ्दैनन्, तिनीहरू परमेश्‍वरका वचनअनुसार अभ्यास गर्नयोग्य हुँदैनन्, त्यसैले तिनीहरूले संसारसँग व्यवहार गर्ने शैतानको दर्शनलाई अभ्यासका लागि आफ्नो सिद्धान्त वा मापदण्डका रूपमा लिनेछन्।) यो एउटा कारण हो। अरू कारण पनि छन्? (किनभने यो वाक्यांश मानिसहरूको दैहिक रुचिसँग तुलनात्मक रूपले मेल खान्छ, अनि तिनीहरूले सत्यता नबुझ्दा स्वाभाविक रूपले यो वाक्यांशअनुसार कार्य गर्नेछन्।) मानिसहरू सत्यता नबुझ्दा मात्र यस्तो हुने होइनन्, तिनीहरू सत्यता बुझ्दासमेत सत्यताअनुसार अभ्यास गर्न सक्षम नहुन सक्छन्। यो वाक्यांश “मानिसहरूको दैहिक रुचिसँग तुलनात्मक रूपले मेल खानु” सही कुरा हो। मानिसहरूले सत्यता अभ्यास गर्नुभन्दा आफ्ना दैहिक रुचिहरू जोगाउन धूर्त चाल वा संसारसँग व्यवहार गर्ने शैतानी दर्शन पछ्याउँछन्। त्यसबाहेक, तिनीहरूसँग यसो गर्ने आधार हुन्छ। त्यो आधार के हो? त्यो के हो भने, यस वाक्यांशलाई जनमानसले सही भनेर व्यापक रूपमा स्विकार्छन्। तिनीहरूले यस वाक्यांशअनुसार कामकुरा गर्दा, अरू सबैका अगाडि तिनीहरूको कार्य मान्य हुन सक्छ र तिनीहरू आलोचनामुक्त हुन सक्छन्। नैतिक दृष्टिकोणबाट वा कानुनी दृष्टिकोणबाट हेरे पनि, वा पारम्परिक धारणाको दृष्टिकोणबाट हेरे पनि, यो मान्य दृष्टिकोण र अभ्यास हो। त्यसैले, जब तँ सत्यता अभ्यास गर्न इच्छुक हुँदैनस् वा जब तैँले त्यो बुझ्दैनस्, तब तैँले बरु परमेश्‍वरलाई चिढ्याउँछस्, सत्यता उल्लङ्घन गर्छस्, र पछि हटेर नैतिक सीमा उल्लङ्घन नहुने स्थानमा जान्छस्। अनि यो स्थान के हो? त्यो तैँले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” सीमा हो। पछि हटेर यस स्थानमा जाँदा र यो वाक्यांशअनुसार कार्य गर्दा, तँलाई मनोशान्ति मिल्नेछ। त्यसले किन तँलाई मनोशान्ति दिन्छ? किनभने अरू सबैले पनि यसरी नै सोच्छन्। त्यसबाहेक, तेरो हृदयले सबै अपराधी हुँदा कानुन लागु गर्न सकिन्न भन्ने धारणा पनि पाल्छ, र तैँले सोच्छस्, “सबैले यसरी नै सोच्छन्। मैले यस वाक्यांशअनुसार अभ्यास गरेँ भने, परमेश्‍वरले मलाई निन्दा गरे पनि केही फरक पर्नेछैन, किनभने जे भए पनि म परमेश्‍वरलाई देख्न सक्दिनँ वा पवित्र आत्मालाई छुन सक्दिनँ। कम्तीमा अरूका नजरमा, म मानव गुण भएको, अलिकति विवेक भएको व्यक्ति ठहरिनेछु।” तैँले यी “मानव गुण” का खातिर, मानिसहरूलाई तँप्रति शत्रुताको नजरविना हेर्न लगाउनका लागि सत्यतालाई विश्‍वासघात गर्न रोज्छस्। त्यसपछि सबै जनाले तँलाई राम्रो ठान्नेछन्, तेरो आलोचना हुनेछैन, अनि तैँले आरामदायी जीवन जिउनेछस् र मनोशान्ति पाउनेछस्—तैँले खोज्ने भनेको मनोशान्ति हो। के यो मनोशान्ति सत्यताप्रति व्यक्तिको प्रेमको प्रकटीकरण हो? (अहँ, होइन।) त्यसोभए, यो कस्तो स्वभाव हो? के यसमा छलीपन हुन्छ? हो, त्यसमा छलीपन हुन्छ। तैँले त्यसबारे केही विचार गरेको छस्, र तँलाई “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने वाक्यांश सही होइन, त्यो सत्यता होइन भन्ने थाहा छ। त्यसोभए, तँ गतिरोधको स्थितिमा पुग्दा, किन अझै सत्यता रोज्दैनस्, बरु मानिसहरूले सबैभन्दा बढी ग्रहण गर्ने पारम्परिक संस्कृतिबाट लिइएको दार्शनिक वाक्यांश पालन गर्छस्? तँ किन यसलाई रोज्छस्? यो मानिसहरूको जटिल सोचहरूसित सम्बन्धित छ, र जटिल सोचहरू आएपछि, त्यसमा कस्तो स्वभाव समावेश हुन्छ? (दुष्टता।) दुष्टताबाहेक यसमा अर्को पक्ष पनि सक्रिय हुन्छ। तैँले यो वाक्यांश सही हो भनेर पूर्ण रूपमा मान्दैनस्, तैपनि अझै त्यो पालन गर्न सक्छस् र आफूलाई त्यसको बहकाउ र नियन्त्रणमा पर्न दिन्छस्। यहाँ एउटा कुरा निश्चित छ: तँ सत्यताप्रति वितृष्ण छस्, र तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। के यही स्वभाव होइन र? (हो, यही स्वभाव हो।) यति चाहिँ निश्चित छ। मानिसहरू कामकुरा गर्दा धेरै दृष्टिकोणहरूद्वारा प्रभावित हुन्छन्, अनि वास्तवमा तैँले यस्ता दृष्टिकोणहरू सही हुन् भनेर हृदयमा अवश्यै विश्‍वास गर्छस् भन्ने नभए पनि, तँ ती पालन गर्न र त्यसमा टाँसिइरहन सक्छस्, जुन निश्चित स्वभावद्वारा धकेलिएको हुन्छ। तैँले यी दृष्टिकोणहरू गलत हुन् भन्ने विश्‍वास गरे पनि, तँ अझै तीद्वारा प्रभावित र ढलपल हुन अनि तिनको चालबाजीमा पर्न सक्छस्। यो दुष्ट स्वभाव हो। उदाहरणका लागि, कतिपय मानिसहरू लागु औषधी प्रयोग गर्छन् वा जुवा खेल्छन्, तर साथसाथै ती नराम्रो कुरा हुन् पनि भन्छन्, र अरूलाई ती कुरा नगर्न सुझावसमेत दिन्छन् ताकि उनीहरूले सबथोक नगुमाऊन्। तिनीहरू यस्ता कुरा गलत हुन्, नकारात्मक कुरा हुन् भनेर विश्‍वास गर्छन्, तर के तिनीहरूले तिनलाई त्याग्न र छोड्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले कहिल्यै आफूलाई रोक्न सक्नेछैनन्, र तिनीहरू खुल्लमखुल्ला यसोसमेत भन्छन्, “जुवा पनि पैसा कमाउने एउटा माध्यम हो, त्यसैले यो पेशा बन्न सक्छ।” के तिनीहरूले केवल त्यसलाई सुन्दरीकरण गरिरहेका छैनन् र? वास्तवमा, तिनीहरू मनमनै सोच्छन्, “यो कस्तो पेशा हो? मैले आफ्नो सबै बहुमूल्य थोक बन्धकी राखेको छु र त्यसबाट आएको सबै पैसा गुमाएको छु। आखिरमा, कुनै पनि जुवाडेले सामान्य जीवन जिउन सक्दैन।” त्यसोभए, तिनीहरू किन अझै पनि त्यसलाई सुन्दरीकरण गर्छन्? किनभने तिनीहरूले त्यो छोड्न सक्दैनन्। अनि तिनीहरूले किन छोड्न सक्दैनन्? किनभने त्यो तिनीहरूको प्रकृतिमै हुन्छ; त्यसले त्यहाँ जरा गाडिसकेको हुन्छ। तिनीहरूलाई यो कुरा चाहिन्छ र तिनीहरू त्यसविरुद्ध विद्रोह गर्न सक्दैनन्—त्यो तिनीहरूको प्रकृति नै हो। हामीले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने वाक्यांशबारे लगभग पर्याप्त रूपमै सङ्गति गरेका छौँ। के कुनै व्यक्ति उसमा यस्तो दृष्टिकोण स्विकार्ने क्षणिक आवेग आएका कारण यस वाक्यांशद्वारा प्रभावित हुन्छ, कि शैतानले लापरवाहीपूर्ण क्षणको फाइदा उठाएर यस व्यक्तिमा यस्तो दृष्टिकोण हालिदिएर त्यहीअनुसार काम गर्न लगाएकाले त्यसरी प्रभावित हुन्छ? (त्यस्तो होइन।) यो व्यक्तिको भ्रष्ट प्रकृतिसँग सम्बन्धित कुरा हो; उसले यस्तो मार्ग रोज्छ किनभने यो कुरा उसको प्रकृतिमै हुन्छ। तैँले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने यस वाक्यांशलाई यसरी चिरफार गरेर अब त्यसलाई आधारभूत रूपमा बुझेको छस्। यस वाक्यांशलाई संसारसँग व्यवहार गर्ने शैतानको दर्शनका रूपमा चित्रण गरिन्छ—यो कुनै हालतमा सत्यता होइन। के यसको सत्यतासँग कुनै सम्बन्ध छ? (छैन।) यसको सत्यतासँग पटक्कै कुनै सम्बन्ध छैन, र परमेश्‍वरले यसलाई निन्दा गर्नुहुन्छ। यो सत्यता होइन; यो परमेश्‍वरबाट नभई शैतानबाट आउँछ। निश्चितताका साथ भन्न सकिन्छ कि यस वाक्यांशको सत्यतासँग वा परमेश्‍वरका विश्‍वासीहरूले कसरी कार्य गर्नुपर्छ, कसरी आफूलाई आचरणमा ढाल्नुपर्छ र परमेश्‍वरलाई कसरी उपासना गर्नुपर्छ भन्ने कुराको मापदण्डसँग पटक्कै सम्बन्ध छैन। यस वाक्यांशलाई पूर्ण रूपमा निन्दा गरिएको छ। यस वाक्यांशका भ्रामक गुणहरू तुलनात्मक रूपले निकै प्रस्ट छन्, जसले तिमीहरूलाई त्यो सही हो कि होइन भनेर चिन्न सजिलो बनाएको छ।

आ. “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने विचारको चिरफार

अर्को भनाइ “झिँगटोमा सुतेर पित्त चाट्नु” बारे कुरा गरौँ। यसको अर्थ के हो भनेर कसले बताउन सक्छ? (“झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने भनाइमा झिँगटोले दाउरालाई, र पित्तले पित्तथैलीलाई जनाउँछ। यसले युवे राज्यको राजा गोउजियानले कसरी हरेक दिन दाउराको थाकमाथि सुतेर पित्तथैली चाट्ने गर्थ्यो, अनि ऊ कसरी बदला लिन, आफ्नो पराजयको सङ्घारबाट आफूलाई पुनः उठाउन र आफ्नो राज्य पुनर्स्थापित गर्न चाहन्थ्यो भनेर बताउँछ।) तैँले यस भनाइको पृष्ठभूमि बताइस्, यसै कथाबाट यो भनाइ आएको हो। सामान्यतया कुनै भनाइलाई व्याख्या गर्दा, त्यसको पृष्ठभूमि व्याख्या गर्नुबाहेक, त्यस भनाइको विस्तृत अर्थको—वर्तमान समयमा मानिसहरूले यसलाई प्रयोग गर्दा यो केको अलङ्कार हुन्छ भन्ने कुराको व्याख्या गर्नुपर्छ। यसलाई फेरि व्याख्या गर्। (यो आफ्नो उद्देश्य र इच्छा पूरा गर्न घुँडा धसेर काम गर्ने अनि कडा सङ्घर्ष र परिश्रम गर्ने व्यक्तिको अलङ्कार हो।) त्यसोभए, यस सन्दर्भमा “झिँगटो” र “पित्तथैली” लाई कसरी व्याख्या गर्नुपर्छ? तैँले अर्थका यी दुई पक्षलाई व्याख्या गरिनस्। यी शब्दहरूलाई हेर्दा, “झिँगटो” ले एक प्रकारको काँडेदार दाउरालाई जनाउँछ; ऊ काँडेदार दाउराको थाकमा सुत्थ्यो, त्यसपछि आफूलाई आफ्नो परिस्थिति र बेइज्जतीको बारम्बार स्मरण गराउँथ्यो, अनि आफूलाई आफूले काँध लिएको मिसनको बारम्बार स्मरण गराउँथ्यो। त्यसबाहेक, उसले छतमा एउटा पित्तथैली झुण्डाएर दिनैपिच्छे चाट्ने गर्थ्यो। मानिसहरूले पित्तथैली चाट्दा कस्तो स्वाद पाउँछन्? (तितो।) त्यो एकदमै तितो हुनेथ्यो! उसले यो अनुभूति आफूलाई आफ्नो घृणा नभुल्न, आफ्नो मिसन नभुल्न, र आफ्नो इच्छा नभुल्न याद दिलाउनका लागि प्रयोग गऱ्यो। उसको इच्छा के थियो? आफ्नो राज्य पुनः स्थापित गर्ने ठूलो कार्य। सामान्यतया झिँगटोमा सुतेर पित्त चाट्नु केको अलङ्कार हो? यो सामान्यतया दुर्भाग्यपूर्ण परिस्थितिमा भएको, तर आफ्नो मिसन र इच्छा नभुल्ने, अनि आफ्ना चाहना, आकाङ्क्षा र मिसनका लागि मूल्य चुकाउन सक्ने व्यक्तिको अलङ्कार हो। यसको अर्थ लगभग यही हो। सांसारिक मानिसहरूका दृष्टिमा, “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने भनाइ सकारात्मक भनाइ हो कि नकारात्मक? (सकारात्मक।) यसलाई किन सकारात्मक भनाइ ठानिन्छ? यसले मानिसहरूलाई आइपर्ने कष्टका बीचमा आफ्नो घृणा नभुल्न, आफ्नो बेइज्जती नभुल्न उत्प्रेरित गर्छ, र कडा परिश्रम गर्न र अझ दह्रिलो बन्न लागिपर्न लगाउँछ। यो तुलनात्मक रूपले प्रेरणादायी भनाइ हो। सांसारिक मानिसहरूका दृष्टिमा, यो निस्सन्देह सकारात्मक भनाइ हो। यदि मानिसहरूले यस भनाइअनुसार कार्य गरे भने, तिनीहरूले गर्ने कुरा, कामकुरा गर्ने तिनीहरूको उत्प्रेरणा, तिनीहरूले काम गर्ने तरिका र तिनीहरूले पालन गर्ने सिद्धान्तहरू निस्सन्देह सही र सकारात्मक हुन्छन्। यसो भन्दा, यस भनाइमा मूलतः केही गलत छैन, त्यसोभए हामीले यस भनाइलाई अघि सारेर के चिरफार गर्न चाहेका हौँ त? हामीले भन्न चाहेको के हो? (हामी यो भनाइ सत्यताविपरीत जाने तरिकाहरूलाई चिरफार गर्न चाहन्छौँ।) ठीक भनिस्, हामी यो सत्यता हो कि होइन भनेर खुट्ट्याउन चाहन्छौँ। यो भनाइ एकदमै “सही” भएकाले, हामीले यो ठ्याक्कै कुन तरिकाले “सही” छ भनेर चिरफार र प्रमाणित गर्नलायक छ। त्यसपछि, हामीले यसको सही परिभाषा पाउनेछौँ, र यो वास्तवमै सत्यता हो कि होइन भनेर हेर्न सक्छौँ। हामीले हासिल गर्न चाहेको अन्तिम परिणाम यही हो। “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने भनाइ विशेष परिस्थितिमा मानिसहरूले पालन गर्ने अस्तित्वको नियम हो। पहिला निश्चित होऔँ—के यो भनाइ सत्यता हो? (होइन।) यो सत्यता हो कि होइन भनेर सुरु नगरौँ। मानिसहरूले देख्न सक्ने यसको शाब्दिक अर्थलाई हेर्दा, यस भनाइको नकारात्मक अर्थ छैन। त्यसोभए, यसमा कस्तो सकारात्मक अर्थ छ त? यसले मानिसहरूलाई उत्प्रेरित गर्न सक्छ, सङ्कल्प दिन सक्छ, सङ्घर्ष गरिरहने, पछि नहट्ने, हतोत्साहित नहुने, र डरपोक नबन्ने बनाउन सक्छ। यसको सकारात्मक प्रयोग भएको पक्ष छ। तथापि, मानिसहरूले कुन परिस्थितिहरूमा यस भनाइमा भएका आत्मआचरण र कार्यका सिद्धान्तहरू पालन गर्नु आवश्यक छ? यस भनाइले पालन गर्ने सिद्धान्तहरू र परमेश्‍वरप्रतिको विश्‍वासबीच कुनै सम्बन्ध छ? त्यसको सत्यता अभ्याससँग कुनै सम्बन्ध छ? त्यसको आफ्नो कर्तव्य निर्वाह गर्नुसित कुनै सम्बन्ध छ? त्यसको परमेश्‍वरको मार्ग पछ्याउनुसित कुनै सम्बन्ध छ? (छैन।) तिमीहरू यति चाँडै निष्कर्षमा पुग्यौ? तिमीहरूलाई सम्बन्ध छैन भनेर कसरी थाहा भयो? (परमेश्‍वरका वचनले त्यो बताउँदैनन्।) त्यसो भन्नु अत्यन्तै सरल र गैरजिम्मेवार कुरा हो। जब तँ बुझ्दैनस् र “जे होस्, यो परमेश्‍वरका वचनमा छैन र मलाई यस भनाइको अर्थ थाहा छैन, त्यसैले म यो सुन्नेछैनँ। यसले जे मन लाग्यो त्यही भन्न सक्छ, तर म त्यो विश्‍वास गर्नेछैनँ” भनी भन्छस्, तब यसो भन्नु गैरजिम्मेवार कुरा हुन्छ। तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। तैँले यसलाई गम्भीरतापूर्वक लिइसकेपछि, राम्ररी बुझेपछि र यसबारे साँचो सुझबुझ प्राप्त गरेपछि, यस भनाइलाई कहिल्यै सत्यता ठान्नेछैनस्। अहिले, म तँलाई यस भनाइको सहीपन इन्कार गर्न लगाइरहेको छैनँ; बरु, म तँलाई यो भनाइ सत्यता होइन भनेर बुझ्न लगाइरहेको छु, अनि तैँले बुझ्नुपर्ने सत्यता के हो र उही परिस्थितिहरूमा कसरी सत्यता पालन गर्नुपर्छ भनेर देखाइरहेको छु। कुरा बुझिस्? त्यसोभए, तैँले के बुझिस्, मलाई बता। (झिँगटोमा सुतेर पित्त चाट्नु भन्ने भनाइ दुर्भाग्यको बेला मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ भन्नेबारे हो, तर परमेश्‍वरका घरमा “दुर्भाग्य” शब्द अस्तित्वमा छैन। परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्नु वा तिनीहरूको परीक्षा लिनु त्यो सब उहाँले तिनीहरूलाई सिद्ध पार्ने प्रक्रियाकै पाटो हो—यो दुर्भाग्य होइन। यस भनाइले मानिसहरूलाई यस समयमा तिनीहरूले भोगेको कष्ट सम्झनैपर्छ र गुमेको कुरा भविष्यमा प्राप्त गर्नैपर्छ भनेर बताउँछ। यो भनाइ परमेश्‍वरका घरमा मान्य हुँदैन। म एउटा उदाहरण दिनेछु, जुन अलि अनुचित छ: बर्खास्त भएपछि “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने भनाइ आफूलाई उत्प्रेरित गर्न प्रयोग गर्छन्, र भन्छन्, “म युवे राज्यका राजा गोउजियानबाट सिक्नेछु, र झिँगटोमा सुतेर पित्त चाट्नेछु। मैले मेरो पुरानो पद फेरि पाउने र म फेरि अगुवा बन्ने समय आउनेछ। तिमीहरूले त्यो देख्नेछौ! अहिले तिमीहरू मेरो आलोचना गर्छौ, म यस सन्दर्भमा नराम्रो छु र म त्यस सन्दर्भमा नराम्रो छु भन्छौ। एक दिन म फेरि आफूले गुमाएको कुरा प्राप्त गर्नेछु र तिमीहरूलाई म को हुँ देखाउनेछु। मैले अहिले भोगेको अपमान पखालिने समय अवश्य नै आउनेछ!”) यो एकदमै राम्रो उदाहरण हो। के तिमीहरूले यसबाट अन्तर्दृष्टि पायौ? के तिमीहरू कहिल्यै झिँगटोमा सुतेर पित्त चाट्ने चाहना राख्छौ? के तिमीहरू गुमाएको कुरा फेरि पाउनेबारे कहिल्यै सोच्छौ? (सोच्छौँ। मानिसहरूले मेरो दृष्टिकोण इन्कार गर्दा ममा यस्तो सोच आउँछ। उदाहरणका लागि, जब म दाजुभाइ-दिदीबहिनीहरूसँग केही कुराबारे छलफल गरिरहेको हुन्छु र उनीहरूले मैले अघि सारेको दृष्टिकोणमा प्रश्न गर्छन्, तब मलाई मनमा अवज्ञा गरूँ भन्ने लाग्छ, र सोच्छु, “मैले कुनै दिन राम्रो काम गरेर तिमीहरूलाई देखाउनैपर्छ।” त्यसपछि, म गएर कामको त्यो क्षेत्र सिक्न कडा मेहनत गर्छु, तर यो गलत मानसिकता हो।) यो सत्यता स्विकार्ने सत्यता खोज्ने, वा सत्यता अभ्यास गर्ने मनोवृत्ति होइन, तर अवज्ञा गर्ने र अरूलाई केही प्रमाणित गरेर देखाउन चाहने मनोवृत्ति हो—यो हार नस्विकार्ने मनोवृत्ति हो। यस्तो मनोवृत्तिलाई मानवजातिमाझ सकारात्मक मानिन्छ। कहिल्यै हार नस्विकार्नु एक प्रकारको असल स्वभाव हो, र यसको अर्थ व्यक्तिमा दृढता छ भन्ने हुन्छ, त्यसोभए यो सत्यता अभ्यास गर्नु होइन भनेर किन भनिन्छ? किनभने कामकुरा गर्दा तिनीहरूको मनोवृत्ति अनि तिनीहरूले गर्ने कुरापछाडिका सिद्धान्त र उत्प्रेरणा सत्यतामा आधारित हुँदैनन्; बरु ती त परम्परागत संस्कृतिको भनाइ “झिँगटोमा सुतेर पित्त चाट्नु” मा आधारित हुन्छन्। कसैले यो व्यक्ति एकदमै प्रभावशाली छ भनेर भन्न सके पनि, अनि उसको जित्न चाहने र हार नस्विकार्ने मानसिकता र मनोवृत्तिले संसारका मानिसहरूबाट आदर बटुले पनि, सत्यतासामु यस्तो मानसिकता र चित्तप्रकृति के हो? ती अति सूक्ष्म र अत्यन्तै भद्दा कुरा हुन्; परमेश्‍वर तिनलाई घृणा गर्नुहुन्छ। अरू कसैसँग बताउने केही छ? (मैले कर्तव्य निर्वाह गर्दा, म कामको त्यस क्षेत्रसित परिचित नभएकाले, मलाई लाग्छ मानिसहरू मलाई गम्भीरतापूर्वक लिँदैनन्। त्यसैले, हृदयमा चुपचाप आफूलाई यसरी झकझकाउँछु, “मैले कामको यस क्षेत्र राम्ररी अध्ययन गर्नुपर्छ र तिमीहरूलाई म वास्तवमा सक्षम छु भनेर देखाउनुपर्छ।” कहिलेकाहीँ, मानिसहरूले मेरा कर्तव्यमा कमीकमजोरी औँल्याइदिँदा, म परिवर्तन गर्न प्रयास लगाउँछु; म कष्ट सहन्छु र काम सिक्न मूल्य चुकाउँछु, अनि आफूले जति नै धेरै कष्ट भोगे पनि, म त्यो सहन्छु, तर मैले आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भनेर खोजी गरिरहेको छैनँ; बरु, म अरूलाई मेरो मान गर्न लगाउन सक्ने र अरूबाट आदर पाउन सक्ने दिन आओस् भन्ने चाहन्छु। ममा झिँगटोमा सुतेर पित्त चाट्ने एक प्रकारको स्थिति पनि छ।) तिमीहरू सबैले बताएको कुराबाट मैले एउटा समस्या याद गरेँ। तिमीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छौ, आफ्नो परिवार र करियर त्यागेका छौ, अनि धेरै कष्ट भोगेका छौ, तैपनि एकदमै थोरै फल पाएका छौ। तिमीहरू कष्ट सहन र आफ्ना कर्तव्यमा आफूलाई समर्पित गर्न पनि सक्षम छौ, अनि मूल्य चुकाउन सक्छौ, तर किन सत्यतामा कहिल्यै प्रगति गर्दैनौ? तिमीहरूले बुझ्ने सत्यता कसरी यति थोरै र यति सतही छ? त्यसको कारण के हो भने, तिमीहरू सत्यतामा जोड दिँदैनौ। तिमीहरू सधैँ झिँगटोमा सुतेर पित्त चाट्न चाहन्छौ, अनि तिमीहरूको हृदय आफूलाई साबित गर्ने उत्प्रेरणाले भरिएको हुन्छ। झिँगटोमा सुतेर पित्त चाट्नु एउटा “ठूलो घाउ” हो—के तँलाई यो राम्रो कुरा हो भन्ने लाग्छ? झिँगटोमा सुतेर पित्त चाट्नुको अन्तिम परिणाम के हुन्छ? जब कुनै व्यक्तिले ऊ सक्षम र योग्य छ, अरूभन्दा कम छैन र कोहीसित हार्न सक्दैन भनेर प्रमाणित गर्न चाहन्छ, तब उसले झिँगटोमा सुतेर पित्त चाट्नेछ। अर्को शब्दमा भन्नुपर्दा, उसले “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ।” त्यसोभए, झिँगटोमा सुतेर पित्त चाट्नु भन्ने भनाइ कसरी प्रकट हुन्छ? यो प्रकट हुने पहिलो तरिका भनेको हार नस्विकार्नु हो। दोस्रो तरिका भनेको अपमान सहनु र गह्रौँ बोझ बोक्नु हो। तैँले अरूसँग तर्क गर्न, तिनीहरूलाई खण्डन गर्न, वा आफ्नो बचाउ गर्न कुनै पनि शब्दहरू प्रयोग गर्दैनस् होला, तर गोप्य रूपले प्रयास लगाउँछस्। कस्तो प्रयास? त्यो तैँले चुकाउने मूल्य हुन सक्छ: राती अबेरसम्म काम गर्नु, बिहान सबेरै उठ्नु, वा अरूले रमाइलो गर्दा परमेश्‍वरका वचन पढ्नु र आफ्नो कामको क्षेत्रबारे सिक्नु, थप प्रयास गर्नु। के यो कष्ट भोग्नु हो? यसलाई झिँगटोमा सुतेर पित्त चाट्नु भनिन्छ। यो प्रकट हुने तेस्रो तरिका के हो? यो मानिसहरूमा एक प्रकारको ठूलो महत्त्वाकाङ्क्षा हुँदा, र ठूलो महत्त्वाकाङ्क्षाका कारण आफ्नो समस्याबारे गुनासो नगर्दा प्रकट हुन्छ। तिनीहरू आफूले तय गरेका र प्राप्त गर्न चाहेका उद्देश्यहरू, अनि सङ्घर्ष गर्ने यो इच्छा कायम राख्न चाहन्छन्। सङ्घर्ष गर्ने यो इच्छा के हो? उदाहरणका लागि, यदि तँ अगुवा बन्न वा कुनै काम पूरा गर्न चाहन्छस् भने, भित्री रूपमा तैँले सधैँ यो मनस्थिति कायम राख्नैपर्छ; तैँले आफ्नो सङ्कल्प, मिसन, महत्त्वाकाङ्क्षा र आकाङ्क्षा कहिल्यै बिर्सनै हुँदैन। तँ यसलाई एक वाक्यमा कसरी व्याख्या गर्छस्? (केही गर्ने आफ्नो सुरुको उत्प्रेरणा नबिर्सनू।) केही गर्ने आफ्नो सुरुको उत्प्रेरणा नबिर्सनु सही कुरा हो, तर पर्याप्त रूपमा दह्रिलो भने होइन। (आफ्नो हृदयमा ठूलो महत्त्वाकाङ्क्षा राख्नू।) त्यो झनै राम्रो हो। यसमा अलिकति त्यो भावना छ। तैँले कसरी यी शब्दहरू अझ सही र सटीक तरिकाले भन्न सक्छस्? (सङ्घर्ष गर्ने इच्छा र महत्त्वाकाङ्क्षाहरू।) तैँले यसलाई कसरी पूर्ण शब्दमा भन्नेछस्? धेरै युद्ध लडेपछि धेरै क्षति हुन्छ, तर जति लामो लडाइँ लडिन्छ, उति नै साहसी होइन्छ। यो लडाइँ गर्दा “कहिल्यै हार नमान्ने” इच्छा हो। यो त कतिपय मानिसले यसो भनेझैँ हो, “के तिमी बर्खास्त भएपछि हतोत्साहित भयौ? म धेरै पटक बर्खास्त भएको छु तर कहिल्यै हतोत्साहित भएको छैनँ। म केही कुरामा असफल हुँदा, फेरि खडा भइहाल्छु। हामीमा सङ्घर्ष गर्ने इच्छा हुनुपर्छ!” तिनीहरूको दृष्टिकोणबाट हेर्दा, यो सङ्घर्ष गर्ने इच्छा सकारात्मक कुरा हो। तिनीहरू मानिसहरूमा महत्त्वाकाङ्क्षा, आकाङ्क्षा, र लडाइँ गर्ने इच्छा हुँदा त्यो गलत कुरा हो भनेर सोच्दैनन्। तिनीहरूले अहङ्कारी भ्रष्ट स्वभावबाट उत्पन्न हुने कामना र उन्मत्त महत्त्वाकाङ्क्षालाई कसरी लिन्छन्? तिनीहरू त्यसलाई सकारात्मक कुरा ठान्छन्। त्यसैले तिनीहरू आफूले जुन उद्देश्यका लागि लडाइँ गरिरहेको छु र आफूलाई जुन उद्देश्य ठीक लागेको छ त्यो प्राप्त गर्न झिँगटोमा सुतेर पित्त चाट्ने कष्ट भोग्न सक्नु नै गर्नुपर्ने सही कुरा हो, मानिसहरू त्यसलाई राम्रो मान्छन्, र यो सत्यता हुनुपर्छ भन्ने सोच्छन्। झिँगटोमा सुतेर पित्त चाट्नुका तीन प्रकटीकरण यिनै हुन्। के यी तीन प्रकटीकरणले झिँगटोमा सुतेर पित्त चाट्नु भन्ने भनाइमा रहेको अर्थ व्याख्या गर्न सक्छन्? (हो, सक्छन्।) त्यसोभए, म यी तीन प्रकटीकरणबारे विस्तृत रूपमा सङ्गति गर्नेछु।

क. हार नस्विकार्नु

सुरुमा झिँगटोमाथि सुतेर पित्त चाट्नु भन्ने भनाइको पहिलो प्रकटीकरणबारे कुरा गरौँ: हार नस्विकार्नु। हार नस्विकार्नु भनेको के हो? मानिसहरूमा हार नस्विकार्ने मानसिकता छ भनेर प्रमाणित गर्ने कस्ता प्रकटीकरणहरू तिनीहरूमा सामान्यतया हुन्छन्? हार नस्विकार्नु कस्तो स्वभाव हो? (अहङ्कार र हठीपन।) त्यसमा अहङ्कार र हठका दुई स्पष्ट स्वभाव हुन्छन्। अरू के हुन्छ? (जित्न चाहनु।) के यो स्वभाव हो? यो प्रकटीकरण हो। अहिले हामी स्वभावबारे कुरा गरिरहेका छौँ। (सत्यताप्रति वितृष्ण हुनु।) सत्यताप्रति वितृष्ण हुनुको अर्थ निश्चय नै सत्यता नस्विकार्नु हो। उदाहरणका लागि, यदि कुनै अगुवा वा कामदारले तैँले गरिरहेको कुराले सिद्धान्त उल्लङ्घन गर्छ र परमेश्‍वरको घरको काममा ढिलाइ गराउँछ भनेर भन्यो, र उसले तँलाई बर्खास्त गर्न चाह्यो भने, तँ सोच्छस्, “हत्तेरी! मलाई आफूले गरिरहेको कुरा गलत हो भन्ने लाग्दैन। यदि तिमी मलाई बर्खास्त गर्न चाहन्छौ भने गर। यदि तिमी मलाई यो गर्न दिँदैनौ भने म गर्नेछैन। म समर्पित हुनेछु!” यो समर्पणभित्रै हार स्विकार्न नमान्ने मनोवृत्ति छ। यो एउटा स्वभाव हो। यस स्वभावमा अहङ्कार, हठ र सत्यताप्रति वितृष्ण हुनुबाहेक अरू के छ? के त्यसमा परमेश्‍वरसँग होड गर्न चाहने स्वभाव छ? (छ।) त्यसोभए यो कस्तो स्वभाव हो? यो क्रूरता हो। तिमीहरू यस्तो क्रूर स्वभाव चिन्नसमेत सक्दैनौ। किन म यो क्रूर हुन्छ भनेर भन्छु? (किनभने तिनीहरू परमेश्‍वरसँग होड गर्न चाहन्छन्।) सत्यतासँग होड गर्न खोज्नुलाई क्रूर भनिन्छ—यो अत्यन्तै क्रूर हुन्छ! यदि तिनीहरू क्रूर नभएका भए, तिनीहरूले सत्यतासँग होड गर्न खोज्नेथिएनन्, र परमेश्‍वरसँग होड गर्न वा उहाँसँग प्रतिस्पर्धा गर्न खोज्नेथिएनन्। यो क्रूर स्वभाव हो। हार नस्विकार्नुभित्र अहङ्कार, हठीपन, सत्यताप्रतिको वितृष्णा र क्रूरता हुन्छ। यससित सम्बन्धित स्पष्ट स्वभावहरू यिनै हुन्। हार नस्विकार्ने स्वभाव कसरी प्रकट हुन्छ? यसमा के-कस्ता मानसिकता समावेश हुन्छन्? हार नस्विकार्ने मानिसहरू कसरी सोच्छन्? तिनीहरूको मनोवृत्ति के-कस्तो हुन्छ? तिनीहरू आफूलाई बर्खास्तीजस्ता कुराहरू आइपर्दा के भन्छन्, के सोच्छन्, र के प्रकट गर्छन्? सबैभन्दा सामान्य प्रकटीकरण त्यतिबेला हुन्छ, जब तिनीहरू कर्तव्य निर्वाह गर्छन् र माथिले तिनीहरू यस कर्तव्य निर्वाह गर्न योग्य छैनन् भन्ने देखेर तिनीहरूलाई बर्खास्त गर्नुहुन्छ, र तिनीहरू हृदयमा यस्तो विचार गर्छन्, “म तपाईँको बराबर छैनँ। म तपाईँसँग तर्क गर्नेछैनँ। ममा प्रतिभा छ। सक्‍कली सुन अन्तमा चम्किन्छ, अनि म जहाँ गए पनि प्रतिभावान व्यक्ति हुँ! माथिले मेरा लागि जेजस्तो बन्दोबस्त गर्नुभए पनि म त्यो सहनेछु र अहिले ती कुरा सुन्नेछु।” तिनीहरू परमेश्‍वरसामु आएर प्रार्थना पनि गर्छन्, “परमेश्‍वर, बिन्ती छ मलाई गुनासो गर्नबाट जोगाउनुहोस्। बिन्ती छ मेरो जिब्रो नियन्त्रण गर्नुहोस् र मलाई तपाईँको आलोचना वा निन्दा गर्न नदिनुहोस्, र मलाई समर्पित हुन सक्ने बनाउनुहोस।” तर त्यसपछि तिनीहरू फेरि विचार गर्छन्, “म समर्पित हुन सक्दिनँ। यो सबैभन्दा गाह्रो पक्ष हो। म यो तथ्य स्विकार्न सक्दिनँ। म के गरूँ? यी माथिका बन्दोबस्त हुन्; मैले गर्न सक्ने केही छैन। म एकदमै प्रतिभावान छु, तर किन म आफ्नो प्रतिभा परमेश्‍वरका घरमा कहिल्यै प्रयोग गर्न सक्दिनँ? यस्तो लाग्छ, मैले अझै परमेश्‍वरको वचन मनग्गे पढेको छैनँ। अबउसो मैले परमेश्‍वरका वचन अझ धेरै पढ्नैपर्छ!” तिनीहरू हार मान्दैनन् र आफू अरूभन्दा कम नभएको, आफूले अलि कम समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको मात्र हो र यसको परिपूर्ति गर्न सकिन्छ भन्ने सोच्छन्। त्यसैले, तिनीहरू परमेश्‍वरका वचन पढ्न र प्रवचनहरू सुन्नमा प्रयास लगाउँछन्। तिनीहरू हरेक दिन नयाँ भजन सिक्छन् र परमेश्‍वरका वचनको एक अध्याय पढ्छन्, अनि प्रचार अभ्यास गर्छन्। तिनीहरू क्रमिक रूपमा परमेश्‍वरका वचनसँग झन्-झन् परिचित हुँदै जान्छन्, तिनीहरूले धेरै आत्मिक धर्मसिद्धान्त प्रचार गर्न सक्छन्, र भेलाहरूमा सङ्गति दिन सक्छन्। के यहाँ हार नस्विकार्ने कुनै हुटहुटी छ? (छ।) यो कस्तो हुटहुटी हो? (दुष्ट हुटहुटी।) यो समस्याजनक कुरा हो! यसलाई चिरफार गर्नेबित्तिकै तिमीहरू किन तुरुन्तै यसलाई दुष्ट हुटहुटी भनेर चित्रण गर्छौ? के यी असल कुरा होइनन् र? तिनीहरूको आत्मिक जीवन सामान्य हुन्छ; तिनीहरू सांसारिक कुराहरूमा सहभागी हुँदैनन्; तिनीहरू अरूको चियोचर्चो गर्दैनन्; तिनीहरू परमेश्‍वरका वचनका धेरै अध्याय कण्ठाग्र भन्न र याद गरेर धेरै भजनहरू गाउन सक्छन्। तिनीहरू “विशिष्ट” हुन्! त्यसोभए किन तिमीहरू यसलाई दुष्ट हुटहुटी भन्छौ? (तिनीहरूको आशय नै आफू सक्षम छु र अरूभन्दा कम छैनँ भनेर प्रमाणित गर्नु हो।) यसलाई हार नस्विकार्नु भनिन्छ। के तिनीहरूले हार नस्विकारेर आफूलाई साँच्चै बुझिरहेका र आफ्ना समस्याहरू स्विकारिरहेका हुन्छन्? (हुँदैनन्।) के तिनीहरूले आफ्नो भ्रष्टता र अहङ्कारी स्वभाव चिनिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए तिनीहरूले हार नस्विकारेर के साबित गरिरहेका हुन्छन्? तिनीहरू आफू सक्षम र श्रेष्ठ छु भनेर साबित गर्न चाहन्छन्; तिनीहरू आफू अरूभन्दा राम्रो छु भनेर साबित गर्न चाहन्छन्, अनि अन्त्यमा आफूलाई बर्खास्त गर्नु गल्ती थियो भनेर साबित गर्छन्। तिनीहरूको हुटहुटी यस दिशामा लक्षित हुन्छ। के यो हार नस्विकार्नु हो? (हो।) हार नस्विकार्ने यही मनोवृत्तिले कष्ट सहने, मूल्य चुकाउने, अपमान सहने र गह्रौँ बोझ बोक्‍ने तिनीहरूका कार्यहरू उत्पन्न गरायो। यसो हेर्दा, तिनीहरू धेरै प्रयास लगाउँछन्, तिनीहरूले कष्ट सहन र मूल्य चुकाउन, अनि अन्त्यमा आफ्नो उद्देश्य हासिल गर्न सक्छन् जस्तो देखिन्छ, तर परमेश्‍वर किन खुसी हुनुहुन्न? उहाँ किन तिनीहरूलाई निन्दा गर्नुहुन्छ? किनभने परमेश्‍वर मानिसहरूको भित्री हृदय छानबीन गर्नुहुन्छ र हरेक व्यक्तिलाई सत्यताअनुसार मूल्याङ्कन गर्नुहुन्छ। परमेश्‍वर कसरी हरेक व्यक्तिको व्यवहार, अभिप्राय, प्रकटीकरण, र स्वभावको मूल्याङ्कन गर्नुहुन्छ? यी सबै कुरा सत्यताअनुसार मूल्याङ्कन गरिन्छन्। त्यसोभए, परमेश्‍वर कसरी यस मामिलालाई मूल्याङ्कन र परिभाषित गर्नुहुन्छ? तैँले जति नै कष्ट भोगे पनि र जति नै धेरै मूल्य चुकाए पनि, आखिर तँ सत्यतातर्फ लागिपर्दैनस्; तेरो अभिप्राय सत्यताप्रति समर्पित हुने वा सत्यता स्विकार्ने हुँदैन; बरु तँ परमेश्‍वर र परमेश्‍वरको घरले तँलाई चित्रित गरेको र सम्हालेको तरिका गलत थियो भनेर प्रमाणित गर्न कष्ट सहने र मूल्य चुकाउने आफ्नो विधि प्रयोग गर्छस्। यसले के इङ्गित गर्छ? तँ आफू कहिल्यै गलत नभएको र भ्रष्ट स्वभाव नभएको व्यक्ति होस् भनेर साबित गर्न चाहन्छस्। तँ परमेश्‍वरको घरले तँलाई सम्हालेको तरिका सत्यताअनुरूप थिएन, अनि कहिलेकाहीँ सत्यता र परमेश्‍वरका वचन गलत हुन्छन् भनेर साबित गर्न चाहन्छस्। उदाहरणका लागि, तेरो सन्दर्भमा त्रुटि र समस्या भएको थियो, अनि तेरो मामलाले परमेश्‍वरका वचन सत्यता होइनन् र तँ समर्पित हुनु पर्दैन भनेर साबित गर्छ। के परिणाम यही नै होइन र? (हो।) परमेश्‍वर यस्तो परिणामलाई अनुमोदन गर्नुहुन्छ कि निन्दा? (उहाँ त्यसलाई निन्दा गर्नुहुन्छ।) परमेश्‍वर त्यसलाई निन्दा गर्नुहुन्छ।

के मानिसहरूमा हुने यो हार नस्विकार्ने मनोवृत्ति सत्यताअनुरूप छ? (छैन।) यदि हामी यो मनोवृत्ति सत्यताअनुरूप छैन, र यो सत्यताबाट कोसौँ टाढा छ भनेर भन्छौँ भने, के त्यो भनाइ सही हुनेछ? हुनेछैन, किनभने त्यो मनोवृत्ति सत्यतासँग पटक्कै सम्बन्धित छैन। संसारमा र सारा मानवजातिमाझ हार नस्विकार्ने यस मनोवृत्तिको प्रशंसा हुन्छ कि निन्दा? (यसको प्रशंसा हुन्छ।) कस्तो परिवेशमा यसको प्रशंसा हुन्छ? (कार्यस्थल र विद्यालयमा।) उदाहरणका लागि, यदि कुनै विद्यार्थीले परीक्षामा साठी प्रतिशत अङ्क पाउँछ, र भन्छ, “म हार स्विकार्नेछैनँ। अर्कोपटक म नब्बे प्रतिशत अङ्क ल्याउनेछु!” अनि उसले नब्बे प्रतिशत ल्याएपछि, अर्को पल्ट सय प्रतिशत ल्याउन चाहन्छ। अन्त्यमा उसले त्यो पनि प्राप्त गर्छ, अनि उसका आमाबुबाले यो बच्चा महत्त्वाकाङ्क्षी छ र यसको भविष्य उज्ज्वल छ भन्ने सोच्छन्। अर्को परिवेश—अनि सबैभन्दा सामान्य परिवेश—प्रतिस्पर्धाहरूमा हुन्छ। कतिपय टोली प्रतिस्पर्धामा हार्छन् र लाजले तिनीहरूलाई अनुहार देखाइ नसक्नु हुन्छ, तर तिनीहरू हार स्विकार्दैनन्। यस्तो मानसिकता र हार नस्विकार्ने मनोवृत्तिका कारण, तिनीहरू निकै कडा परिश्रम गर्छन् र अझ कडा तालिम लिन्छन्, अनि अर्को प्रतिस्पर्धामा तिनीहरूले अर्को टोलीलाई हराउँछन् र उनीहरूलाई लज्जित पार्छन्। यस समाजमा र मानवजातिमाझ हार नस्विकार्नु एक प्रकारको मानसिकता हो। मानसिकता भनेको के हो? (यो मानिसहरूलाई मनोवैज्ञानिक रूपमा साथ दिने सोचाइको तरिका हो।) सही भनिस्। यो मानिसहरूलाई सधैँ साहसी भई अघि बढ्न, पराजित नहुन, हतोत्साहित नहुन, पछि नहट्न अनि आफ्ना आकाङ्क्षा र उद्देश्य हासिल गर्न साथ दिने प्रेरक शक्ति हो। यसलाई हार नस्विकार्नु भनिन्छ। यो हार नस्विकार्ने एक प्रकारको मानसिकता हो। मानिसहरू यदि आफूमा यो मानसिकता, यो “मनोभाव” छैन भने, जीवनको कुनै अर्थ हुँदैन भन्ने सोच्छन्। तिनीहरू जीवनमा के कुरामा भर पर्छन्? तिनीहरूको जीवन एक प्रकारको मानसिकतामा भर पर्छ। यो मानसिकता कहाँबाट आउँछ? यो मानिसहरूका धारणा र कल्पना, साथै तिनीहरूको भ्रष्ट स्वभावबाट आउँछ। यो अव्यावहारिक हुन्छ, र मानिसहरूले यो प्राप्त गर्न सक्दैनन्। परमेश्‍वरले मानवजाति सृष्टि गरेको समयदेखि अहिलेसम्म जति नै वर्ष बितेको भए पनि, यहाँ जीवित प्राणीहरू जिउने व्यवस्था, मानवजाति जिउने व्यवस्था, अनि स्वर्ग, पृथ्वी, यावत् थोक र ब्रह्माण्ड सञ्चालन हुने व्यवस्था इत्यादि जस्ता एकदमै धेरै सकारात्मक कुरा छन्। मानिसहरूको सोच र शिक्षाको तहअनुसार, तिनीहरूले यो सबैबीच पालन गर्न, आफूले कसरी कार्य गर्ने र आफूलाई आचरणमा ढाल्ने भन्ने बारेका सिद्धान्त र प्रेरक शक्ति, वा यसका आधारका रूपमा लिन कुनै व्यवस्था खोज्न सक्नुपर्छ। तथापि, मानिसहरू सही दिशामा प्रयास लगाउँदैनन्—तिनीहरू आफ्नो बल कुन दिशामा लगाउँछन्? तिनीहरू आफ्नो बल गलत दिशामा लगाउँछन्, अर्थात् तिनीहरू कामकुरा विकास हुने व्यवस्था उल्लङ्घन गर्छन्, अनि तिनीहरू सबै कुराको चक्रको व्यवस्था उल्लङ्घन गर्छन्—तिनीहरू सधैँ परमेश्‍वरले निर्धारित गरेका यी प्राकृतिक व्यवस्थाहरू नष्ट गर्न, अनि खुसी सिर्जना गर्नका लागि मानव पद्धति र माध्यमहरू प्रयोग गर्न चाहन्छन्। तिनीहरूलाई खुसी कसरी पाइन्छ, त्यसमा के रहस्य छ, वा त्यसको स्रोत के हो भन्ने थाहा हुँदैन; तिनीहरू यो स्रोत खोज्दैनन्। बरु, तिनीहरू खुसी सिर्जना गर्न मानव शैली प्रयोग गर्ने प्रयास गर्छन्, र सधैँ चमत्कारहरू सिर्जना गर्न पनि चाहन्छन्। तिनीहरू यी सबै कुराको सामान्य व्यवस्था परिवर्तन गर्न मानव शैली प्रयोग गर्ने प्रयास गर्छन्, र त्यसपछि आफूले चाहेका खुसी र उद्देश्यहरू हासिल गर्छन्। यो सब असामान्य कुरा हो। मानिसहरू यस्ता कुराका लागि जसरी लडे पनि, आफैमा भर परेर लड्नुको अन्तिम नतिजा के हुन्छ? परमेश्‍वरले मानवजातिलाई व्यवस्थापन गर्न दिएको यो संसार अहिले क्षतिग्रस्त भएको छ। अहिले यो क्षतिग्रस्त भएकाले को सबैभन्दा बढी पीडित भएको छ? (मानिस।) मानवजाति सबैभन्दा बढी पीडित भएको छ। मानिसहरूले संसारलाई यस हदसम्म दुरुपयोग गरेका छन्, तैपनि तिनीहरू अझै कहिल्यै हार मान्नेछैनँ भनी दाबी गर्छन्। के तिनीहरूका दिमागमा केही गडबडी छैन र? कहिल्यै हार नमान्नुले अन्त्यमा कस्तो नतिजा ल्याउँछ? विनाशकारी विपत्ति। यो एक वा दुई प्रतिस्पर्धा हार्ने वा अनुहार देखाइ नसक्नु हुने कुरा मात्र होइन। तिनीहरूले आफ्नो सम्भाव्यता नष्ट गरेका र आफ्नो उम्कने बाटो बन्द गरेका हुन्छन्—तिनीहरूले आफूलाई नष्ट गरेका हुन्छन्! हार नस्विकार्नुबाट आउने कुरा यही हो।

अहिले हामी शैतानको क्रूर र अहङ्कारी स्वभावको ठेट प्रकटीकरण, अर्थात् कहिल्यै हार नमान्नुलाई चिरफार गरिरहेका छौँ। कहिल्यै हार नमान्नु एउटा मानसिकता हो। हामी यसको आलोचना गर्छौँ, खुलासा गर्छौँ, र निन्दा गर्छौँ, तर यदि तैँले यसलाई मानवजातिमाझ निन्दा गरिस् भने, के मानिसहरूले यो स्विकार्नेछन्? (स्विकार्नेछैनन्।) किन? (किनभने सबै मानिस यस वाक्यांशको प्रशंसा गर्छन्।) तिनीहरू यस मानसिकतालाई बढावा दिन्छन्। यदि कुनै व्यक्तिमा हार नस्विकार्ने र कहिल्यै हार नमान्ने मानसिकता अलिकति पनि छैन भने, अरूले उसलाई दम नभएको भन्छन्। यदि हामीले यी कुराहरूलाई बढावा दिएनौँ भने, के हामी कमजोर हुन्छौँ? (अहँ, हुँदैनौँ।) मानिसहरू भन्छन्, “तिमी कसरी कमजोर होइनौ? तिमी मनोबलसाथ जीवन जिउँदैनौ। तिमी जिउनुको के अर्थ?” के यो कथन साँचो हो? पहिला यसलाई चिरफार गरौँ: हार नस्विकार्नु कस्तो मनोवृत्ति हो? के सामान्य समझ भएका मानिसहरूमा यो मनोवृत्ति हुनुपर्छ? वास्तवमा, यदि मानिसहरूमा सामान्य समझ छ भने, तिनीहरूमा यो मानसिकता हुनु हुँदैन। यो मानसिकता राख्नु गलत हो। कुनै व्यक्तिले समझदार व्यक्ति हुन वास्तविकताको सामना गर्नैपर्छ। यसरी, हार नस्विकार्नु स्पष्टतः समझको कमी हुनु हो; यसको अर्थ तिनीहरूका दिमागमा केही गडबडी छ, र यो मनोवृत्ति अवश्य नै गलत हो। परमेश्‍वरका विश्वासीहरूका सन्दर्भमा ठ्याक्कै भन्नुपर्दा, तिनीहरूमा यो मानसिकता हुनु हुँदैन किनभने हार नस्विकार्नुमा अहङ्कारी स्वभाव अन्तर्निहित हुन्छ। मानिसहरूमा अहङ्कारी स्वभाव हुँदा के तिनीहरूलाई सत्यता स्विकार्न सजिलो हुन्छ? (हुँदैन।) यो समस्या हो। यदि तँ अहङ्कारी स्वभावलाई सत्यता पछ्याउने जगका रूपमा प्रयोग गर्छस् भने, तैँले के पछ्याइरहेको हुन्छस्? तैँले निश्चय नै सत्यता पछ्याइरहेको हुँदैनस्, किनभने यो पछ्याइ अन्तर्निहित रूपमै सकारात्मक हुँदैन, अनि तैँले प्राप्त गर्ने कुरा निश्चय नै सत्यता हुनेछैन; त्यो निश्चय नै मानिसहरूले कल्पना गरेको एक प्रकारको “मानसिकता” हुनेछ। यदि मानिसहरूले यस्तो मानसिकतालाई सत्यताका रूपमा लिन्छन् भने, तिनीहरू पथभ्रष्ट भएका हुन्छन्। त्यसैले, हामीले हार नस्विकार्ने मानसिकता सच्च्याउने हो भने, के भन्नेथियौँ? हामीले मानिसहरूले सत्यता सिद्धान्तअनुसार नै वास्तविक समस्या सामना गर्नुपर्छ र कामकुरा गर्नुपर्छ, तिनीहरूमा हार नस्विकार्ने मनोवृत्ति हुनु हुँदैन भनेर भन्नेथियौँ। यदि तिनीहरू हार स्विकार्दैनन् भने, तिनीहरूले कोसामु स्वीकार नगरिरहेका हुन्छन्? (परमेश्‍वरसामु।) तिनीहरूले सत्यतासामु स्वीकार नगरिरहेका हुन्छन्। अझ तोकेरै भन्नुपर्दा, तिनीहरूले मामलाका साँचो तथ्यहरूसामु स्वीकार नगरिरहेका हुन्छन्, तिनीहरूले आफूले केही गलत गरेको छु र आफू प्रकट भएको छु भनेर स्वीकार गरिरहेका हुँदैनन्, अनि तिनीहरूले आफूमा अहङ्कारी स्वभाव छ भनेर स्वीकार गरिरहेका हुँदैनन्। यी कुराहरू साँचो हुन्। त्यसैले, कसरी तँ यी मानिसहरूलाई खण्डन गर्न सक्छस्? तिनीहरूको प्रतिवाद गर्ने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरूलाई सबैभन्दा लज्जास्पद लाग्ने कुरा प्रयोग गर्नु हो। आजको संसारमा मानवजातिलाई सबैभन्दा लज्जास्पद लाग्ने कुरा के हो? विज्ञान। विज्ञानले मानवजातिलाई के दिएको छ? (विपत्ति।) मानवजातिले सबैभन्दा बढी प्रशंसा र गर्व गर्ने कुरा विज्ञानले तिनीहरूमाथि अभूतपूर्व विपत्ति ल्याएको छ। अहिले तिमीहरूले यो छनक पाएका हुनाले, कसरी यी मानिसहरूलाई लज्जित पार्न सक्ने गरी खण्डन गर्नुपर्छ त? तिमीहरूलाई के लाग्छ, के शैतानजस्ताहरूलाई लज्जित पार्नुपर्छ? (पार्नुपर्छ।) यदि तैँले तिनीहरूलाई लज्जित पारिनस् भने, तिनीहरूले सत्यतालाई सधैँ तुच्छ ठान्नेछन्, परमेश्‍वरमा विश्वास गर्नेहरूलाई भेदभाव गर्नेछन्, र परमेश्‍वरमा विश्वास गर्नेहरूले आफू कमजोर भएकाले मात्र परमेश्‍वरमा विश्वास गर्छन् भनी सोच्नेछन्। तिमीहरूले कसरी तिनीहरूको खण्डन गर्नुपर्छ? (यसो भनेर: “तिमी केवल साधारण व्यक्ति हौ। तिमीमा त्यस्तो के छ, जसले तिमीलाई हार स्विकार्नु नपर्ने बनाउँछ? केले तिमीलाई नस्विकार्नु सही लाग्ने बनाउँछ? कतिपय मानिस वैज्ञानिक भए पनि, के भो त? तिनीहरूले जति नै उच्च वैज्ञानिक प्रविधि विकास गरे पनि, के भो त? के वैज्ञानिकहरूले अहिले विज्ञानले मानवजातिमाथि ल्याएका सबै विपत्ति समाधान गर्न सक्छन्?”) तिनीहरूको खण्डन गर्ने सही तरिका यही हो। त्यसबारे सोच्, के यो तिनीहरूको खण्डन गर्ने राम्रो तरिका हो? तँ भन्छस्, “मानवजाति वर्तमान समयसम्म जिएको छ, तर मानिसहरूलाई आफ्ना पूर्खा को हुन् भन्नेसमेत थाहा छैनभने तिनीहरूले कसरी नस्विकार्न सक्छन्? तिमीलाई आफू कहाँबाट आएको हो भन्नेसमेत थाहा छैन भने तिमी के कारण धृष्टता देखाउँछौ? तिमी आफूलाई सृष्टि गर्ने परमेश्‍वरलाई समेत मान्दैनौ भने तिमीले कसरी हार नस्विकार्न सक्छौ? परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो, र यो एकदमै महिमित कुरा हो, तर तिमी त्यो मान्दैनौ वा स्विकार्दैनौ; बरु तिमी मानिसहरू पशुबाट विकास हुँदै आएका हुन् भन्ने विश्वास र मान्यतामा जिद् कस्छौ। तिमी कति तुच्छ छौ? परमेश्‍वर एकदमै शक्तिशाली र उच्च हुनुहुन्छ; उहाँ भन्नुहुन्छ, तिम्रो सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ, तर तिमी आफू उहाँको सृजित प्राणी हो भन्ने स्विकार्दैनौ। तिमी कति नीच छौ?” उसले कस्तो तिखो जवाफ दिनेछ? “मानिसहरू बाँदरबाट विकसित भएर आएका हुन्, तैपनि हामी उच्च तहका प्राणी हौँ।” “त्यसोभए, के तिमी अझै जनावर र पशु होइनौ र? हामी आफू जनावर हौँ भनेर मान्दैनौँ। हामी मानिस हौँ, हामी परमेश्‍वरद्वारा सृजित मानव हौँ। परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्नुभयो र उहाँ तँ व्यक्ति होस् भनेर स्विकार्नुहुन्छ, तर तिमी व्यक्ति हुन चाहँदैनौ। तिमी मानिसहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको तथ्य जिद्दी गर्दै इन्कार गर्छौ। तिमी पशु हुन नै जिद् कस्छौ। तिमी जिउनुको के अर्थ? के तिमी जिउन योग्य छौ?” के यी शब्दहरूमा तागत छ? (छ।) हामी यसरी नै यी मानिसहरूको खण्डन गर्छौँ। तिनीहरूले त्यो माने पनि वा नमाने पनि, वा स्विकारे पनि वा नस्विकारे पनि, यी तथ्य नै हुन्। म अर्को बुँदाबारे कुरा गर्नेछु। मानिसहरू कहिल्यै हार स्विकार्दैनन्, तिनीहरू आफू एकदमै सक्षम छु, आफूसँग उच्च प्रविधि र सबै प्रकारको बुद्धि छ भन्ने सोच्छन्, तर तिनीहरू प्रकृतिसँग कस्तो व्यवहार गर्छन्? तिनीहरू यससँग निरन्तर लडाइँ गर्छन् र सधैँ त्यसलाई वशमा राख्न चाहन्छन्। तिनीहरू प्रकृतिको व्यवस्था कसरी पालन गर्ने भनी पटक्कै बुझ्दैनन्। मानवजातिको व्यवस्थापनले अन्त्यमा प्रकृतिलाई के गरेको छ? के यो सब ज्ञानी र विज्ञान बुझ्ने मानिसहरूले व्यवस्थापन गरेका होइनन् र? के तँ हार स्विकार्न अस्वीकार गर्दैनस् र? के तँ सक्षम व्यक्ति होइनस् र? के तँलाई परमेश्‍वरको सार्वभौमिकता चाहिँदैन र? मानवजाति र प्रकृति हजारौँ वर्षदेखि सह-अस्तित्वमा रहँदै आएका छन्, तैपनि अविश्वसनीय रूपमा मानवजातिले अझै पनि प्रकृतिलाई व्यवस्थापन गर्न जान्दैन। मानवजातिले यस हदसम्म प्रकृतिलाई अत्यधिक विकास गर्छ, अत्यधिक उपभोग गर्छ, र गम्भीर रूपले प्रदूषित पार्छ कि आज प्राकृतिक स्रोतसाधनहरू झन्-झन् अपुग हुँदै गइरहेका छन्। त्यसबाहेक, न त तिनीहरूले पिउने पानी, न त तिनीहरूले खाने खानेकुरा, न त तिनीहरूले सास लिने हावा नै विषमुक्त छन्। परमेश्‍वरले सुरुमा प्रकृति सृष्टि गर्नुहुँदा, सबै जीवित प्राणी, खानेकुरा, हावा र पानी स्वच्छ र विषमुक्त थिए, तर उहाँले मानवजातिलाई प्रकृतिको व्यवस्थापन गर्न दिनुभएपछि, यी सबै कुरा विषाक्त भए। यी कुराहरूको “आनन्द” उठाउनुपर्ने त मानिसहरूले नै हो। त्यसोभए, मानिसहरू कसरी हार स्विकार्न सक्दैनन्? परमेश्‍वरले मानवजातिका लागि यस्तो सुन्दर संसार सृष्टि गर्नुभयो र तिनीहरूलाई त्यो व्यवस्थापन गर्न दिनुभयो, तर तिनीहरूले यसलाई कसरी व्यवस्थापन गरे? के तिनीहरूलाई यसको व्यवस्थापन गर्न आउँछ? मानवजातिले यसलाई पूर्ण रूपमा लथालिङ्ग हुने हदसम्म दुरुपयोग गऱ्यो—सागर, पर्वत, जमिन, हावा, र आकासमा ओजोन तहलाई समेत छोडिएन; ती सबै ध्वस्त पारिएका छन्। आखिर यो सबै कुराका प्रतिकूल परिणामहरू कसले भोग्नेछ? (मानिसहरूले।) त्यो मानवजातिले नै भोग्नेछ। मानिसहरू हुनसम्मको मूर्ख छन्, तैपनि तिनीहरू आफूलाई महान् ठान्छन् र हार स्विकार्दैनन्! तिनीहरू किन स्विकार्दैनन्? यदि मानवजातिलाई यसरी नै कामकुरा व्यवस्थापन गर्न दिइयो भने, के प्रकृति सुरुकै अवस्थामा पुनर्स्थापित हुनेछ? कहिल्यै हुनेछैन। यदि मानवजाति हार नस्विकार्ने यस मानसिकतामा भर पऱ्यो भने, तिनीहरूको व्यवस्थापनअन्तर्गत संसार र प्रकृति झन्-झन् खराब, डरलाग्दो र फोहोर मात्र हुँदै जानेछन्। अन्तिम परिणाम के हुनेछ? मानवजाति आफूले बरबाद गरेको यस पर्यावरणमा मर्नेछ। त्यसोभए, अन्त्यमा कसले यो सब परिवर्तन गर्न सक्छ? परमेश्‍वरले सक्नुहुन्छ। यदि मानिसहरू यसो गर्न सक्षम छन् भने, तिनीहरूमध्ये एक जना अघि सरेर संसारको वर्तमान हालतलाई बदल्ने प्रयास गर्न सक्छ, तर के यो जिम्मेवारी लिन आँट गर्ने कोही छ? (छैन।) त्यसोभए, मानिसहरू किन हार स्विकार्दैनन्? मानिसहरू आफूले पिउने पानीको सुरक्षासमेत गर्न सक्दैनन्। प्रकृतिलाई सिंह वा बाघले ध्वस्त पारेको होइन, झन् चराचुरुङ्गी, माछा वा किराफट्याङ्ग्राले ध्वस्त पार्नु त परको कुरा हो; बरु यसलाई ध्वस्त र नष्ट पार्ने त मानिसहरू स्वयम् हुन्। मानिसहरूले जे रोपे अन्त्यमा त्यसैको कटनी गर्नुपर्छ। के अहिले परिस्थितिहरूलाई बदल्ने कुनै उपाय छ त? यसलाई बदल्न सकिँदैन। निश्चित रूपमा के भन्न सकिन्छ भने, यदि परमेश्‍वर यी सब कुरा गर्न नआउनुभएको भए, सबै मानवजाति जिउने पर्यावरण झन्-झन् खराब, र झन्-झन् डरलाग्दो हुँदै मात्र जानेथियो; यो सुध्रिनेथिएन। परमेश्‍वरले मात्र यो सब बदल्न सक्नुहुन्छ। के मानवजातिले हार नस्विकार्नु ठिकै हो? के तैँले यो पर्यावरण बदल्न सक्छस्? तँलाई राम्रो पर्यावरण दिइएको थियो, तर तैँले यसलाई ध्वस्त पार्न मात्र सक्छस्; तँ यसको सुरक्षा गर्दैनस्। सम्पूर्ण संसारको खाद्य चक्र के हो? के मानवजातिले यो बुझ्छ? अहँ, तिनीहरू बुझ्दैनन्। उदाहरणका लागि, ब्वाँसो क्रूर जनावर हो। यदि मानवजातिले सबै ब्वाँसोहरू मारेको भए, आफूले प्रकृतिलाई जितेको ठान्नेथियो। यस्तो सङ्कल्प, यस्तो मनोबल, र चुनौती सामना गर्ने यो मानसिकता लिएर मानवजातिले ठूला सङ्ख्यामा ब्वाँसोहरूको सिकार गर्न थाल्छ। तिनीहरूले घाँसेमैदान क्षेत्रका धेरैजसो ब्वाँसो मारेपछि, आफूले प्रकृतिलाई जितेको र ब्वाँसोको प्रजातिलाई जितेको ठान्छन्। साथसाथै, तिनीहरू ब्वाँसोको छाला आफ्ना घरमा झुन्ड्याउँछन्, ब्वाँसोको छालाबाट बनेको लुगा लगाउँछन्, ब्वाँसोको छालाबाट बनेको टोपी ओढ्छन्, अनि ब्वाँसोको छाउराको छाला आफ्नो चुपीको टुप्पामा लगाउँछन्। तिनीहरू फोटो खिच्छन् र सारा संसारलाई बताउँछन्, “हामीले मानवजातिमाथि खतरा भएको यस प्रजाति अर्थात् ब्वाँसोलाई जित्यौँ!” के तिनीहरूको आत्मसन्तुष्टि अलि असामयिक भएन र? यसो हेर्दा, ब्वाँसोहरू कम हुँदा बाहिरी रूपमा मानिस र अन्य केही जीवित प्राणीहरूको जीवन खतरामा नपर्नेजस्तो देखिन्छ, तर त्यसपछि कस्ता नतिजाहरू आउनेछन्? मानवजातिले यसको ठूलो मूल्य चुकाउनैपर्छ। तिनीहरूले कस्तो मूल्य चुकाउनैपर्छ? जब ठूला सङ्ख्यामा ब्वाँसोहरू मारिन्छन्, तब ब्वाँसोको सङ्ख्या घट्दै जान्छ। यसलगत्तै, ब्वाँसोले खाने खरायो, मुसो, र घाँसेमैदानका अरू सबै जनावरको सङ्ख्या अत्यधिक मात्रामा बढ्न थाल्छ। यी जनावरहरूको सङ्ख्या अत्यधिक हुँदा, पहिलो नतिजा के हुन्छ? (घाँस सखाप हुन्छ।) त्यहाँ घाँस झन्-झन् कम हुँदै जान्छ। घाँस कम हुँदा, हरियाली जमिन झन्-झन् नाङ्गिदै जान्छ। यी जनावरहरूको सङ्ख्या अत्यधिक हुँदा, तिनीहरूलाई खानका लागि धेरै मात्रामा घाँस चाहिन्छ, अनि घाँस उम्रने दर र शाकाहारी जनावरहरूको सङ्ख्याको अनुपात मिल्दैन। यिनीहरूको अनुपात नमिल्दा के हुन्छ? (मरुभूमिकरण।) हो, मरुभूमिकरण हुन्छ। हरियाली जमिन नाङ्गिदै जाँदा, त्यो बालुवामा परिणत हुन थाल्छ र क्रमिक रूपमा बलौटे क्षेत्र बन्छ। धेरैजसो वनस्पतिले बालुवामा जरा गाड्दैनन् वा प्रजनन गर्दैनन्, त्यसैले बलौटे जमिन चाँड-चाँडो बढ्दै जान्छ र झन्-झन् फैलिँदै जान्छ, अनि अन्त्यमा सम्पूर्ण घाँसेमैदान मरुभूमि बन्छ। यसपछि, मरुभूमिले मानिसहरू बस्ने क्षेत्रलाई अतिक्रमण गर्न थाल्नेछ, र मानिसहरूलाई सुरुमा कस्तो लाग्नेछ? तिनीहरूलाई मरुभूमिको क्षेत्र बढेको देख्दा डर नलाग्ला, तर जब बालुवाको आँधी आउने समय आउँछ, तब मानवजातिलाई कस्तो हानि हुनेछ? सुरुमा वरिपरि धुलो उड्नेछ। त्यसपछि, जब बतासे याम आउँछ, तब मानिसहरूले अति धेरै बालुवा उडेकाले गर्दा आँखा खोल्नसमेत सक्नेछैनन्। तिनीहरूको शरीर बालुवै बालुवाले ढाकिन्छ, र तिनीहरूको मुखभरि बालुवा पस्छ। चरम अवस्थामा त घर, गाईवस्तु, वा मरुभूमि नजिकका मानिसहरूलाई बालुवाले स्वात्तै पुर्छ। के मानिसहरूले बालुवालाई रोक्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले त्यसलाई रोक्न सक्दैनन्, त्यसैले तिनीहरू झन्-झन् पछि हटेर भित्री भूभागतिर सर्दै जानुपर्ने हुन्छ। अन्त्यमा, घाँसेमैदान झन्-झन् सानो हुँदै जानेछ भने मरुभूमि झन्-झन् ठूलो हुँदै जानेछ, अनि मानवजाति जिउन सक्ने ठाउँ झन्-झन् साँघुरिदै जानेछ। त्यसोभए, मानिसहरू जिउने पर्यावरण राम्रो भएको हुनेछ कि खराब? (खराब।) तिनीहरूले भोग्नुपर्ने यो परिणाम कसरी आयो? त्यसको सुरुवात केले गर्‍यो? (ब्वाँसो मारेकाले।) तिनीहरूले ब्वाँसो मारेपछि त्यो सुरु भयो। त्यो यस्तो सानो साधारण कुरा थियो। यदि मानिसहरूले यो व्यवस्था कसरी पालन गर्ने र यसको सुरक्षा कसरी गर्ने भनी बुझेनन् भने, अन्त्यमा कस्ता परिणामहरू आउनेछन्? बालुवाले मानिसहरूलाई सखाप पार्नेछ। के यो विनाशकारी विपत्ति होइन र? ब्वाँसो मार्नु एक प्रकारको व्यवहार हो, तर यसभित्र रहेको मुख्य स्वभाव के हो? यस स्वभावको सार के हो? के कुराले तिनीहरूलाई यसो गर्न उत्प्रेरित गर्छ? मानिसहरूमा कस्तो सोच्ने तरिकाहरू हुन्छन् जसले यस्तो व्यवहार उत्पन्न गराउँछन्? (प्रकृतिलाई वशमा राख्न चाहने।) ठिक भनिस्, तिनीहरू त्यसलाई वशमा राख्न चाहन्छन्। मानिसहरूका सोचाइमा ब्वाँसोहरू मानवजातिका प्राकृतिक शत्रु हुन्। ब्वाँसोहरू मानवजातिका लागि खतरा हुन् र तिनले सधैँ मान्छे खान्छन्। ब्वाँसोहरू राम्रो कुरा होइनन्। मानवजातिले यसरी ब्वाँसोलाई बदनाम गर्छ, त्यसपछि तिनलाई वशमा पार्ने र सखाप पार्ने कोसिस गर्छ ताकि तीमध्ये एउटा पनि बाँकी नरहोस्। त्यसपछि, मानवजाति आराम र ढुक्कले जिउन सक्छ, अनि तिनीहरूमाथि कुनै खतरा हुनेछैन। यही उत्प्रेरणाका आधारमा मानिसहरूले ब्वाँसो मार्न थाल्छन्। यसको पछि केको हात हुन्छ? यसको पछि हार नस्विकार्ने मानसिकताको हात हुन्छ। मानवजातिले ब्वाँसोलाई कसरी उचित रूपमा व्यवस्थापन वा नियन्त्रण गर्ने भनी जान्दैन, बरु सधैँ तिनलाई मारेर सखाप पार्न चाहन्छ। तिनीहरू यो व्यवस्थालाई उल्ट्याएर अर्को व्यवस्थामा परिणत गर्न चाहन्छन्। परिणाम के हुन्छ? मानिसहरूलाई बालुवाले पुर्छ। परिणाम यही हुन्छ, होइन र? (हो।) परिणाम यही हुन्छ। परमेश्‍वरले सृष्टि गरेको सम्पूर्ण मानवजाति र सम्पूर्ण संसारमध्ये, यस ग्रहको एउटा सानो कुनामा—जुन परमेश्‍वरका नजरमा बदामको दानाभन्दा ठूलो नहुन सक्छ—यो सानो घटना घट्यो, तर मानिसहरू त्यो स्पष्टसित देख्नसमेत सक्दैनन्। तिनीहरू अझै प्रकृतिसँग प्रतिस्पर्धा गर्छन्, परमेश्‍वरसँग प्रतिस्पर्धा गर्छन्, र हार स्विकार्दैनन्! हार नस्विकार्नुले कस्तो नतिजा ल्याउँछ? (विनाश।) तिनीहरूले आफ्नो विनाश आफै ल्याइरहेका हुन्छन्! यो वास्तविकता अहिले पनि छँदै छ। यो नतिजा आएपछि, मानवजातिले त्यसलाई कसरी सुल्झाउनुपर्छ? (तिनीहरूले सुल्झाउन सक्दैनन्।) तिनीहरूले त्यो सुल्झाउन सक्दैनन्। कतिपय सामाजिक सङ्गठन र जनहितका क्रियाकलापहरू सञ्चालन गर्ने असल हृदयका मानिसहरू खडा भएर सन्तुलित पारिस्थितिकीतन्त्र कायम राख्न मानिसहरूलाई आह्वान गर्छन्। यसो गर्ने तिनीहरूको उत्प्रेरणा र कारण ठिक हो, अनि तिनीहरू जेका लागि आह्वान गरिरहेका छन्, त्यो पनि ठिक हो। के कसैले प्रतिक्रिया जनाउँछ? (जनाउँदैन।) सरकारले पनि पाइला चाल्दैन—यस मामलालाई कसैले वास्ता गर्दैन। मानिसहरूलाई यस मामलाको कारण थाहा छ, तर तिनीहरूले यसलाई दर्शकका रूपमा अलिकति जाँचेपछि, कुरा त्यतिमै सकिन्छ। तिनीहरू पहिलेजस्तै अझै ब्वाँसो मार्छन्। कसैले भन्छ, “यदि तिमीले यसरी ब्वाँसो मारिरह्यौ भने, एक दिन तिमीलाई बालुवामा दफन गरिनेछ,” तर तिनीहरू यस्तो जवाफ दिन्छन्, “त्यसोभए मलाई दफन गरिनेछ। म मात्र दफन हुने होइन। डराउनुपर्ने के छ र?” यो कस्तो स्वभाव हो? भावशून्यता र सोचाइको कमी; तिनीहरूमा मानवता हुँदैन। मर्न कसलाई डर लाग्दैन र? त्यसोभए तिनीहरूले कसरी यस्तो हल्का कुरा भन्न सक्छन्? तिनीहरू यस्तो कुरा होला भनेर विश्वास गर्दैनन्। तिनीहरू सोच्छन्, “पृथ्वी विशाल छ। यहाँ मरुभूमिबाहेक पर्वत र जङ्गलहरू छन्। के ती सब यति चाँडै नष्ट हुन सक्छन्? अझै प्रशस्त समय छ! हामीले केही ब्वाँसो मात्र माऱ्यौँ र कतिपय ठाउँ मरुभूमिमा परिणत भए, र तिमीलाई यस्तो डर लाग्यो? यदि तिनलाई मार्नुपर्छ भने हामीले तिनलाई मार्नैपर्छ।” के यो मूर्खतापूर्ण कुरा होइन र? तिनीहरूले केही ब्वाँसा मारे, र त्यसको केवल बीस-तीस वर्षपछि नै हरियाली घाँसेमैदानको एक भाग पूर्ण रूपले परिवर्तन भयो। यदि मानिसहरूले यस जमिनमा केही घाँसका बिऊ छर्ने वा मरुभूमिमा उम्रन उपयुक्त बिरूवाहरू रोप्ने हो भने—यदि तिनीहरूले यस पर्यावरणलाई बदल्न सकेका भए, मानवजातिले आफ्नो गल्तीको क्षतिपूर्ति गरिरहेको हुनेथ्यो र अति ढिलो भएको हुनेथिएन, तर के त्यो वास्तविकतामा त्यति सरल हुन्छ र? परमेश्‍वरले स्थापित गरेको व्यवस्था सर्वोत्तम र सबैभन्दा उपयुक्त हो। मानिसहरूले जमिनको अस्तित्व जोगाउन, अनि हरेक प्राणी निकै राम्ररी मिलेर बस्दै अनि आपसी नियन्त्रणमुखी र सहजीवी दुवै तरिकाले सहअस्तित्वमा रहँदै यी जनावर, वनस्पति, र मानवजाति यहाँ निरन्तर जिउन सकून् भनेर यो व्यवस्था पालन गर्नैपर्छ। यदि यसको एक भाग नष्ट भयो भने, तैँले दस वर्षको अन्तरालमा कुनै नतिजा नदेख्लास्, तर बीस वर्षपछि जब तैँले साँच्चै नतिजाहरू बोध गर्छस्, तब कसैले त्यसलाई सच्च्याउन सक्नेछैन। यसको तात्पर्य के हो? यसको तात्पर्य के हो भने, यदि परमेश्‍वरले ठूला परिवर्तनहरू गर्नुभएन भने, त्यस बिन्दुबाट मानवजाति जिउने परिवेश झन्-झन् खराब मात्र हुँदै जानेछ; त्यो राम्रो दिशामा विकास हुनेछैन। नतिजा यस्तो हुनेछ। यस नतिजाको स्रोत के हो? मानवजातिले प्रशंसा गर्ने हार नस्विकार्ने मानसिकता नै यसको स्रोत हो, जुन झिँगटोमा सुतेर पित्त चाट्नुको पहिलो प्रकटीकरण हो। मानिसहरूका नजरमा, झिँगटोमा सुतेर पित्त चाट्नु “ठूलो” र “पवित्र” भनाइ हो, तर यसले उत्पन्न गर्ने विचारले मानवजातिमा पार्ने पहिलो प्रभाव भनेको तिनीहरूमाथि त्यस्ता ठूला प्रतिकूल परिणामहरू ल्याउनु हो। मानिसहरू सोच्छन्, “के प्राकृतिक संसारमा व्यवस्था छैन र? मलाई त खासै महत्त्वको लाग्दैन। के मानिसहरू यो पवित्र छ र यसलाई नष्ट गर्नु हुँदैन भनेर भन्दैनन् र? तर म यसलाई नष्ट गर्दै छु, र हामी जे हुन्छ त्यो हेरौँला!” आज मानवजातिले “आनन्द उठाइरहेको” प्रतिकूल परिणाम तिनीहरूले हेर्न चाहने अन्तिम कुरा हो। “जे हुन्छ हेरौँला” को नतिजा यस्तै हुन्छ; यसलाई मानवजातिले हेरून् भनी तिनीहरूको अघि राखिन्छ। हरेकले “अन्तिम समय” का दृश्यहरू देखेको छ। के तिनीहरूले जे पाउनुपर्थ्यो त्यही पाएनन् र? तिनीहरूले नै आफूमाथि यो कुरा ल्याएको हो।

झिँगटोमा सुतेर पित्त चाट्नुको पहिलो प्रकटीकरण हार नस्विकार्नु हो। मानिसहरूले कस्ता नतिजाहरू भोग्नैपर्छ? विनाशकारी विपत्ति; तिनीहरूले आफ्ना कार्यका प्रतिकूल परिणामहरू भोगिरहेका हुन्छन्—बोलचालका भाषामा भन्नुपर्दा, तिनीहरूले आफूले मागेको कुरा पाइरहेका हुन्छन्, र पाउनुपर्ने कुरा पाइरहेका हुन्छन्! अहिले तँलाई यो वाक्यांश वास्तवमा सही हो कि होइन र यो सत्यता हो कि होइन भनेर थाहा छ, होइन र? के यो वाक्यांश सत्यता हो? (होइन।) यो सत्यता होइन। मानिलिऊँ गैरविश्वासीहरूले फेरि भन्छन्, “हामीसँग हाम्रो आत्मआचरणमा केही आत्मबल र साहस हुनुपर्छ!” तँ यसबारे विचार गर्छस् र भन्छस्, “त्यो एकदमै साँचो हो। विश्वासीका हैसियतले हामी सधैँ समर्पणबारे कुरा गर्छौँ। के त्यसमा स्वायत्तताको निकै कमी छैन र? के त्यो अति कमजोर छैन र? हामीमा मनोबल छैन।” के तँ यस्तो सोच्छस्? यदि तैँले आज मैले भनेका कुरा स्विकारिस् भने, यस्तो कहिल्यै सोच्नेछैनस्। त्यसको विपरीत तैँले भन्नेछस्, “मानवजाति असफल हुने निश्चित छ। परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नु अचम्म होइन। मानवजातिले समझदारीपूर्ण कुरा गर्ने मोड पार गरिसकेको छ।” तैँले त्यस्तो विचार स्विकार्नेछैनस्। तँसँग उपयुक्त प्रत्युत्तर नभए पनि, वा यी मानिसहरूसँग तर्क गर्नु उपयुक्त नभए पनि, तँलाई हृदयमा तिनीहरूको दृष्टिकोण पटक्कै सत्यता होइन भन्ने थाहा छ। मानिसहरूले यस्तो विचारलाई जति नै सकारात्मक रूपमा हेरे पनि, र यस संसारमा मानिसहरूले जति नै यसको वकालत गरे पनि वा यसबारे कुरा गरे पनि, तँ त्यसको प्रभावमा पर्नेछैनस्। त्यसको विपरीत, तैँले त्यसलाई त्याग्नेछस् र घृणा गर्नेछस्। मैले झिँगटोमा सुतेर पित्त चाट्नुको पहिलो प्रकटीकरणबारे सङ्गति सकाएको छु। मैले सुरुमा सत्यताबारे सङ्गति दिँदै थिएँ, म कसरी विषयबाट बाहिरिएँ? मलाई यस्तो लाग्छ: यदि तैँले मेरो सङ्गतिबाट लिने कुरा परिभाषा वा अवधारणामा सीमित छ भने, तैँले यस विचारका सही र गलत पक्षहरू के हुन् भनेर कहिल्यै बुझ्नेछैनस्। तँ अन्योलमा मात्रै पर्नेछस्—तँलाई कहिलेकाहीँ यस्तो विचार सही लाग्नेछ; तँलाई कहिलेकाहीँ यस्तो विचार गलत लाग्नेछ, तर त्यसमा के गलत छ वा के सही छ भनेर तँ प्रस्ट हुनेछैनस्। साथै, तैँले बारम्बार यस “सिद्धान्त” अनुसार अभ्यास गर्नेछस्, र तँ सधैँ भ्रमित हुनेछस्। यदि तैँले स्पष्टसँग बुझ्न सकिनस् भने, यस्तो विचार त्याग्न सक्नेछैनस्। यदि तैँले त्यो त्याग्न सकिनस् भने, के तैँले सत्यतालाई पूर्ण रूपमा अभ्यास गर्न सक्छस्? के तँ परमेश्‍वरका वचनलाई सत्यताका रूपमा पूर्ण रूपमा आराधना गर्न र पछ्याउन सक्छस्? अहँ, पूर्ण रूपमा त सक्दैनस्। तैँले तुलनात्मक रूपमा वा कहिलेकाहीँ परमेश्‍वरका वचन सही हुन् वा परमेश्‍वरका वचन सधैँ सही हुन्छन् भनेर सोच्न मात्र सक्नेछस्, अनि यसलाई धर्मसिद्धान्तका सन्दर्भमा पालन गर्छस्। तर यदि तँ अझै यो तथाकथित ज्ञान र साँचो लाग्ने तर वास्तवमा झूटा यी शब्दहरूद्वारा प्रभावित र बाधित हुन्छस् भने, तेरा लागि परमेश्‍वरका वचन पूर्ण सत्यता नभई सधैँ तुलनात्मक रूपले सही हुनेछ।

ख. अपमान सहनु र गह्रौँ बोझ बोक्नु

झिँगटोमा सुतेर पित्त चाट्नुको दोस्रो प्रकटीकरण अपमान सहनु र गह्रौँ बोझ बोक्नु हो। अपमान सहनु र गह्रौँ बोझ बोक्नु पनि सांसारिक मानिसहरूले वकालत गर्ने कुराहरूप्रतिको एक प्रकारको सोचाइ, मानसिकता, र मनोवृत्ति हो। समाज र संसारमा, यो एउटा सोच्ने तरिका हो जुन तुलनात्मक रूपले सकारात्मक हुन्छ, र जसलाई मानवजातिले तुलनात्मक रूपले आशावादी, अग्रगामी, र सकारात्मक ठान्दछ। त्यसोभए हामीले चिरफार गर्न चाहेको कुरा के हो? अपमान सहनु र गह्रौँ बोझ बोक्नुमा के खराबी छ? यो किन सत्यता होइन? यसको मूलतः सत्यतासँग कुनै सम्बन्ध छैन। मैले यसको सत्यतासँग कुनै सम्बन्ध छैन भन्नुको मतलब के हो? मेरो भन्नुको मतलब के हो भने, यदि तँ सत्यता अभ्यास गर्न चाहन्छस् भने, तैँले त्यो पूर्ण रूपमा परमेश्‍वरका वचनका सिद्धान्तअनुसार, र परमेश्‍वरले माग गर्ने मानक र विस्तृत नियमअनुसार नै गर्नुपर्छ। तैँले कामकुरा गर्नुप्रतिका मनोवृत्ति र दृष्टिकोण, अनि मानिसका तथाकथित विचारधारा, मानसिकता, र निष्ठाको पद्धति र माध्यमलाई छ्यासमिस पार्नु हुँदैन। परमेश्‍वरका वचन सत्यता हुन्, र तिनको यी कुराहरूसँग कुनै सम्बन्ध छैन। त्यसोभए अपमान सहनु र गह्रौँ बोझ बोक्नु किन खराब हो? म किन यो सत्यता होइन भनेर भन्छु? के यो चिरफार गर्नयोग्य छैन? (छ।) सुरुमा यस वाक्यांशको शाब्दिक अर्थ व्याख्या गरौँ; त्यसपछि बुझ्न सजिलो हुनेछ। अपमान सहनु र गह्रौँ बोझ बोक्नु भनेको आफ्नो जिम्मेवारी, बोझ, वा आफूले लिने र स्विकार्ने मिसनका खातिर सबै लाज, पीडा, र बेइज्जती सहन सक्नु हो। यस वाक्यांशको आधारभूत अर्थ यही हो। त्यसोभए, कसैले सामान्यतया कस्तो परिवेश र परिस्थितिमा यो वाक्यांश प्रयोग गर्छ? यदि कसैले कुनै व्यक्तिले अपमान सहँदै छ र गह्रौँ बोझ बोक्दै छ भनेर भन्छ भने, के त्यो व्यक्ति अहिले उसको मिसन पूरा भएको, र आफूले हासिल गर्न चाहेको उद्देश्य पूरा गरेको परिस्थितिमा हुन्छ? (हुँदैन।) त्यसैले, सामान्यतया जब कसैले अपमान सहनु र गह्रौँ बोझ बोक्नुबारे कुरा गर्छ, तब उसले हैसियत र प्रभामण्डल फिटिक्कै नभएको, शक्ति त झनै नभएको कुनै महत्त्वहीन व्यक्तिलाई उल्लेख गरिरहेको हुन्छ। ऊ यस्तो परिस्थितिमा हुन्छ, तैपनि उसले अझै आफ्नो जिम्मेवारी बोक्नुपर्छ, आफूले पूरा गर्नुपर्ने मिसन काँध लिनुपर्छ, हतोत्साहित हुनु हुँदैन, सम्झौता गर्नु हुँदैन, र हार मान्नु हुँदैन। के यो पनि एक प्रकारको मानसिकता होइन र? यो मानसिकताको जोड केमा हुन्छ? “सहनु” र “बोक्नु” मा हुन्छ। “सहनु” भनेको धैर्यवान् हुनु र केही कुरा सहनु हो। केही कुरा सहनुका साथै, उसले गह्रौँ बोझ र जिम्मेवारी लिनैपर्छ र उठाउनैपर्छ, सबैका आशामा खरो उत्रन सक्नैपर्छ, अनि आफूलाई यो कार्यभार सुम्पने व्यक्तिलाई निराश तुल्याउनै हुँदैन। यो कस्तो मानसिकता हो? (दृढता।) त्यसको अर्थमा यो तत्त्व हुन्छ, तर यो सबैभन्दा आधारभूत र सतही तहको अर्थ हो। त्यसमा अरू के हुन्छ? यसलाई यसरी विश्लेषण गरौँ। “अपमान सहनु” मा “अपमान” को अर्थ के हो? (बेइज्जती र लाज।) त्यो भनेको यस व्यक्तिलाई वरपरका सबैले लज्जित पार्नु र उसलाई बेइज्जती भोगेको महसुस गराउनु हो। विशेष गरी कुन व्यवहारहरूले मानिसहरूलाई लज्जित पार्छन् र बेइज्जती भोगेको महसुस गराउँछन्? (तिनीहरूलाई उपहास गर्नु, बदनाम गर्नु, र तिखो व्यङ्ग्य हान्नुले।) ठिक भनिस्, तिनीहरूलाई उपहास र बदनाम गर्नु, साथै तिनीहरूको खिल्ली उडाउनु, तिनीहरूसँग खेलबाड गर्नु, र तिनीहरूलाई तिखो व्यङ्ग्य हान्नु। त्यसोभए, “गह्रौँ बोझ बोक्नु” मा “गह्रौँ बोझ” को अर्थ के हो? (जिम्मेवारी र कार्यभार।) जिम्मेवारी र कार्यभारमा के समावेश हुन्छन्? त्यसमा एक प्रकारको मिसन र गह्रौँ भार समावेश हुन्छन्—यो गह्रौँ भार अरू मानिसहरूले कसैलाई सुम्पेको भार हुन सक्छ, वा यो कसैले प्राप्त गर्न सङ्घर्ष गरिरहेको उद्देश्य, वा आफूले सोचेको मिसन हुन सक्छ। मानिसहरू आफूले कस्ता मिसनहरू लिइरहेको ठान्छन्? (पुर्खाको नाम राख्ने, र अरूभन्दा असल बन्ने।) (सबैभन्दा उत्कृष्ट हुनु।) यी सबै उदाहरण हुन्। यी मूलतः मानिसहरूका आफ्नै महत्त्वाकाङ्क्षाहरू हुन्। यी उद्देश्यहरू हासिल गर्न र साकार पार्नका निम्ति, तिनीहरू आफ्ना वर्तमान परिस्थितिहरूमा आफू वरपरका मानिसहरूबाट हुने बेइज्जत्ती, उपहास, बदनामी, तिखो व्यङ्ग्य, र खिसीटिउरीसमेत सहन सक्छन्। तिनीहरूलाई यो सब सहन केले प्रेरित गर्छ? उदाहरणका लागि, सेनाको वरिष्ठ जर्नेल बन्ने महत्त्वाकाङ्क्षा भएको कुनै व्यक्ति छ। उसले शक्ति हासिल गर्नुअघि, हुल्याहाहरूको एउटा समूहले उसलाई यसो भन्दै लज्जित गर्छ, “तँ? सेनाको जर्नेल अरे? अहिले तँसँग घोडाधरि छैन—तँ कसरी जर्नेल हुन सक्छस्? यदि तँ जर्नेल हुन चाहन्छस् भने, पहिला मेरो टाँगमुनिबाट छिर्!” तिनीहरू छेउछाउका सबै मानिस गलल हाँस्छन्। उसले एकछिन सोच्छ, “सेनाको जर्नेल हुन चाहनुमा कुनै खराबी छैन। तिनीहरू किन मलाई खिसी गर्छन् र मेरो खिल्ली उडाउँछन्? तर म लापरवाह हुनु हुँदैन र मैले अहिले आफ्नो क्षमता देखाउनु हुँदैन। आज भइरहेको कुरालाई विचार गर्दा, यदि मैले तिनीहरूले भनेझैँ नगरे पिटाइ खानेछु, र कुरा बिग्रियो भने ज्यानै गुमाउन सक्छु। त्यसपछि म कसरी जर्नेल हुन सक्छु र? आफ्ना आकाङ्क्षाका खातिर हुल्याहाको टाँगमुनिबाट छिर्नु केही पनि होइन। म अझै म नै हुँ, होइन र?” यस स्थितिमा, ऊ घुँडा मारेर दुईटै हातले भुईँमा टेक्छ र त्यो हुल्याहाको टाँगमुनिबाट कुकुरजस्तो बामे सर्दै छिर्छ। बामे सर्दै गर्दा, उसलाई हृदयमा यो सहन गाह्रो हुन्छ र उसको हृदयमा पीडा हुन्छ, मानौँ मुटुमा छुरा रोपिएको छ—उसको हृदयमा घृणा जाग्छ! ऊ सोच्छ, “म साँच्चै जर्नेल बनेको दिन, तँलाई टुक्रा-टुक्रा पार्नेछु!” ऊ मनमा यस्तै सोच्छ, तर बाहिर भने उसले त्यो सहनैपर्छ—उसले अरूलाई आफूले भित्र के सोचिरहेको छु भनेर थाहा दिनु हुँदैन। ऊ हुल्याहाको टाँगमुनिबाट छिरेपछि, हुल्याहाहरूको समूह सन्तुष्ट हुन्छ अनि तिनीहरूले उसलाई एक लात हान्छन् र छोडिदिन्छन्। ऊ खडा हुन्छ, आफ्नो जिउबाट फोहोर टकटकाउँछ, र यसोसमेत भन्छ, “राम्रो लात हान्यौ। अबदेखि म तिमीलाई ‘मालिक’ भन्नेछु।” उसले मनमा सोच्ने र बाहिर देखाउने कुरा बिलकुलै फरक हुन्छन्। उसले कसरी यसो गर्न सक्छ? उसको एउटै मात्र उद्देश्य छ: “म निरन्तर जिउनुपर्छ। म यो सब सहँदै छु ताकि एक दिन म जर्नेल, र अरूभन्दा उत्कृष्ट बन्न सकूँ। आज यो कष्ट र अपमान सहनु सार्थक छ। भोलि मैले अझ कडा परिश्रम गर्नैपर्छ, र आफ्नो उद्देश्य हासिल गर्न लागिपर्न कडा प्रयास गर्नैपर्छ। मलाई जेजस्तो कठिनाइ आइपरे पनि र मैले जति नै कष्ट र बेइज्जती भोगे पनि, म जर्नेल बन्नैपर्छ! म जर्नेल बनेपछि मैले गर्नुपर्ने पहिलो कुरा भनेको यस मूर्खलाई मार्नु र त्यसको टाँगमुनिबाट छिराएर मलाई अपमानित गरेको क्षतिपूर्ति लिनु हो!” भविष्यमा ऊ जर्नेल बने पनि वा नबने पनि, त्यस क्षणमा “सहनशीलता” नै उसको सर्वोच्च सिद्धान्त हो। के यसमा कुनै रणनीति वा गोप्य चालहरू अन्तर्निहित छन्? (छन्।) त्यसमा गोप्य चालहरू छन्। ऊ आफूले अरू केही गर्न नसक्ने हुनाले सहन्छ; त्यो केका लागि? त्यो उसले एक दिन यो सब बेइज्जतीको क्षतिपूर्ति लिन सक्नका लागि हो। उसको सहनशीलता “सास भइन्जेल आस हुन्छ” र “बदला लिन भलाद्मीलाई कहिल्यै ढिला हुँदैन” जस्ता भनाइहरूमा आधारित हुन्छ—यी सबै चाल हुन्। यी चालहरूले नै उसलाई हुल्याहाको टाँगमुनिबाट छिर्नुपर्ने अपमान सहन प्रेरित गरेका हुन्। यस मोडबाट उसको हृदयमा जर्नेल बन्ने चाहना झनै ठूलो र तीव्र बन्छ; उसले पटक्कै हार मान्नेछैन। त्यसोभए, उसले केका लागि बदनामी र अपमान सहेको थियो? के त्यो न्यायवान् उद्देश्य वा साँचो मर्यादा कायम राख्नका लागि थियो? उसले त्यो आफ्नै उन्मत्त महत्त्वाकाङ्क्षाका खातिर गरेको थियो। त्यसोभए यो सकारात्मक हो कि नकारात्मक? (नकारात्मक।) यस तहको अर्थलाई मूल्याङ्कन गर्दा, यो “सहनशीलता” पूर्णतया व्यक्तिगत रुचि, चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाद्वारा प्रेरित थियो। के यस सहनशीलताभित्र सत्यता छ? (छैन।) यदि त्यसमा सत्यता छैन भने, के त्यसमा सामान्य मानवता हुन्छ? (हुँदैन।) यो न्यायवान् हुँदैन, न त सोझो नै हुन्छ, झन् त्रुटिरहित हुनु त परको कुरा हो; बरु, यो त चाहना, गोप्य चाल र धूर्त युक्तिले टनाटन भरिएको हुन्छ—यो सकारात्मक हुँदैन।

यस दुष्ट मानवजातिभित्रै वकालत गरिने अपमान सहने र गह्रौँ बोझ बोक्ने सोचाइ र मानसिकता मूलतः मैले अहिले भर्खरै बताएको कथाजस्तै हो, जसमा यदि कुनै व्यक्तिले ठुला कुराहरू हासिल गर्न चाहन्छ भने, ऊ औसत व्यक्तिले सहन नसक्ने कुरा सहन सक्षम हुनैपर्छ। यस सहनशीलताले मुख्यतः केलाई जनाउँछ? (लाज सहनुलाई।) होइन। यस सहनशीलताले मानिसहरूलाई जिउन लगाउने कुराहरू साँचो हुन् कि झूटा? (झूटा।) यो महत्त्वपूर्ण बुँदा हो। मानिसहरूले तिनीहरूका आकाङ्क्षा र उन्मत्त महत्त्वाकाङ्क्षाका खातिर जिउने कुरा, बोल्ने शब्द, र देखाउने व्यवहार सबै नक्कली हुन्, ती सब स्वेच्छाले गरिँदैन; यी सबै कुराहरू यी सबै चाहना, स्वार्थ, र मानिसहरूका तथाकथित महत्त्वाकाङ्क्षा र उद्देश्यहरूको पूर्वसर्तद्वारा प्रेरित हुन्छन्। मानिसहरू जिउने यी कुराहरू सबै अस्थायी उपाय हुन्; ती फिटिक्कै इमानदार वा साँचो होइनन्; फिटिक्कै उदाङ्गो, खुल्ला वा खुलस्त हुँदैनन्; ती सबै अस्थायी उपाय हुन्। के यी सब छली षड्यन्त्र होइनन् र? अस्थायी उपाय भनेको मानिसहरूले यसरी कुनै कुरा अस्थायी रूपमा सहनु; अस्थायी रूपमा मिठो बोली बोल्नु, फकाइ-फुस्ल्याइ गर्नु र छल्नु; आफ्नो साँचो पहिचान, मानसिकता, सोच, दृष्टिकोण र घृणासमेत केही समय ढाकछोप गर्नु, र अर्को व्यक्तिलाई त्यो हेर्न नदिनु हो। बरु, तिनीहरू अर्को व्यक्तिलाई आफ्नो कमजोर र असक्त, दुर्बल र डरपोक पक्ष हेर्न दिन चाहन्छन्। तिनीहरू आफ्नो साँचो मुहार पूर्ण रूपले ढाक्छन्—तिनीहरू केका लागि यसो गर्छन्? तिनीहरू एक दिन ठूलो अभियान पहल गर्न, अरूभन्दा उत्कृष्ट बन्न, अरूलाई नियन्त्रण गर्न, र अरूमाथि प्रभुत्व जमाउन सकौँ भन्नका लागि यसो गर्छन्। मानिसहरूले “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांश अभ्यास र प्रकट गर्दा के देखिन्छ? के यसो गर्ने मानिसहरूमा इमानदार मनोवृत्ति हुन्छ? के तिनीहरू आफूलाई साँचो अर्थमा बुझ्छन्, र आफ्ना लागि आत्म-ग्लानि गर्छन्? (त्यसो गर्दैनन्।) उदाहरणका लागि, अरूले भन्छन्, “तिमीजस्तो व्यक्ति जर्नेल हुन चाहने?” तिनीहरूले विचार गरेर भन्छन्, “म त्यो गर्न सक्दिनँ। म जर्नेल हुनेछैनँ। मैले ठट्टा मात्र गरेको।” तिनीहरूले भन्ने शब्दहरू साँचो हुन् कि झूटा? (झूटा।) तिनीहरू हृदयमा के सोचिरहेका हुन्छन्? “मजस्तो व्यक्ति मात्र जर्नेल बन्न सक्छ!” तिनीहरू हृदयमा यस्तो सोच्छन्, तर के तिनीहरूले यो जोरले भन्नु ठीक हुन्छ? (हुँदैन।) किन हुँदैन? तिनीहरू पिटाइ खानबाट जोगिन र आफ्नो वास्तविक क्षमता लुकाउन यसो भन्छन्, “मैले ठट्टा मात्र गरेको। म यत्तिको आँटिलो छैनँ कि वास्तवमै जर्नेल बन्न चाहूँ। बरु तिमी पो वरिष्ठ जर्नेलजस्ता छौ—तिमी भविष्यका प्रधान सेनापति हौ। त्यो त जर्नेलभन्दा पनि ठुलो हो!” के यी शब्दहरू साँचो हुन्? (होइनन्।) तिनीहरूका साँचो शब्दहरू कहाँ छन्? (तिनीहरूका हृदयमा।) ठिक हो, तिनीहरू आफ्ना साँचो शब्दहरू हृदयमा राख्छन् र जोरले भन्दैनन्। किन तिनीहरू ती जोरले भन्दैनन्? तिनीहरू त्यसो गरेमा पिटाइ खाइनेछ भनेर डराउँछन्, त्यसैले ती भन्दैनन्, र ती प्रकट गर्दैनन्; तिनीहरू कसैलाई थाहा पाउन दिँदैनन्, आफ्नो वास्तविक क्षमता सदाका लागि लुकाउँछन्। आफ्नो वास्तविक क्षमता लुकाउनुको अर्थ के हो? यसको अर्थ कुनै व्यक्तिले अरू मानिसलाई आफ्नो साँचो क्षमता जान्न दिँदैन; उसले अरू मानिसलाई ऊप्रति प्रतिरक्षात्मक हुन र उसको हितविपरीत कार्य गर्नबाट रोक्न त्यो क्षमता लुकाउँछ र त्यो मुखबाट खुस्किन दिँदैन। के यो पनि झिँगटोमा सुतेर पित्त चाट्नुको साँचो अर्थ होइन र? (हो।) झिँगटोमा सुतेर पित्त चाट्नु; अपमान सहनु र गह्रौँ बोझ बोक्नु; आफ्नो उद्देश्य, चाहना, र घृणा कहिल्यै नबिर्सनु; अनि मानिसहरूलाई आफ्नो साँचो रूप र वास्तविक क्षमता कहिल्यै जान्न नदिनु। मानिसहरूका समूहमा हुँदा, कतिपय सक्षम मानिसहरू त्यति धेरै कुरा गर्दैनन्; तिनीहरू चुपचाप बस्छन् र कम बोल्छन्, अनि तिनीहरूले केही भनिहाले पनि, आफूले सोचिरहेको आधा कुरा मात्र प्रकट गर्छन्। तिनीहरू के भन्न चाहन्छन् भनेर जान्न वा बुझ्न नसकेर अरू मानिसहरू सधैँ अरकच्च पर्छन्, र सोच्छन्, “तिनीहरू किन यस्तो नबुझिने तरिकाले कुरा गर्छन्? हृदयबाट कुनै कुरा भन्न किन त्यस्तो गाह्रो? के भएको हो?” वास्तवमा, तिनीहरूका हृदयमा तिनीहरूले व्यक्त नगरिरहेका सोचहरू हुन्छन्, र यसमै भ्रष्ट स्वभाव हुन्छ। अरू चाहिँ यसरी बोल्दैनन्, तर तिनीहरूले कामकुरा गर्दा सधैँ आफ्नो वास्तविक क्षमता लुकाउँछन्। तिनीहरूले आफ्नो वास्तविक क्षमता लुकाउनुको उद्देश्य के हो? तिनीहरू योग्य मानिसहरूले वा दुर्जेय व्यक्तिहरूले त्यो देखे भने, ईर्ष्या गर्नेछन्, तिनीहरूप्रति निशाना साँध्नेछन् र तिनीहरूलाई हानि गर्नेछन् भनेर डराउँछन्। के समूहमा सधैँ अरूको प्रशंसा गर्ने, सधैँ अरूको गुणगान गाउने, र सधैँ अरू सबै आफूभन्दा राम्रा छन् भन्ने मानिसहरू सबैभन्दा कुटिल प्रकारका मानिस हुँदैनन् र? (हुन्छन्।) तँलाई तिनीहरू वास्तवमा भित्री रूपमा कस्ता हुन्छन् भन्ने कहिल्यै थाहा हुँदैन। बाहिरबाट हेर्दा, तँ तिनीहरूले त्यसबारे कुरा नगरेको देख्छस्, त्यसैले तँ तिनीहरूसँग उन्मत्त महत्त्वाकाङ्क्षा छैन भन्ने सोच्छस्, तर वास्तवमा तँ गलत छस्। कतिपय यस्ता मानिस अपमान सहने र गह्रौँ बोझ बोक्ने मानिस हुन्छन्। यो त चलचित्र जस्तो हो जसमा प्रायः यस्ता दृश्यहरू हुन्छन्—कतिपय मानिस घरबाहिर हुँदा बारम्बार असल कामकुराहरू गर्छन्, तिनीहरू पुरानो र फाटेको लुगा लगाउँछन्, अनि समूहमा हुँदा तिनीहरूलाई सधैँ हेपिन्छ; तिनीहरू अरूका अगाडि यस्ता हुन्छन्। तर, तिनीहरू घर पुगेपछि एउटा गोप्य कोठामा जान्छन्। गोप्य कोठाको भित्तामा एउटा नक्सा हुन्छ, र तिनीहरूले नक्साका अस्सी प्रतिशत स्थानमाथि निगरानी गर्न सूचकहरू लगाइसकेका हुन्छन्। तैपनि, तिनीहरूसँग बारम्बार अन्तरक्रिया गर्ने मानिसहरू तिनीहरूलाई अझै गिज्याउने गर्छन् र तिनीहरूको यो उन्मत्त महत्त्वाकाङ्क्षाबारे उनीहरूलाई केही थाहा हुँदैन। एक दिन जब नक्सामा भएका सबै स्थानहरू तिनीहरूको नियन्त्रणमा आउँछन् र तिनीहरूको उद्देश्य पूर्ण रूपमा साकार हुन्छ, तब तिनीहरूलाई गिज्याउने मानिसहरू पूर्ण रूपले जिल्ल पर्छन् र भन्छन्, “यो व्यक्ति त दियाबलस पो निस्क्यो—उसको महत्त्वाकाङ्क्षा हदभन्दा ज्यादा रहेछ! उसले धेरै वर्षसम्म नाटक गरेको रहेछ। ऊ वास्तवमा को हो भनेर कसैले छर्लङ्ग देखेन।” तिनीहरू भन्छन्, “मैले त अपमान सहेँ र गह्रौँ बोझ बोकेँ। यदि मैले त्यसरी नसहेको भए र तिमीहरूलाई नबहकाएको भए, यदि मैले तिमीहरूलाई सबै कुरा बताएको भए, के मैले यस्तो ठूलो कुरा हासिल गर्न सकेको हुनेथिएँ र?” दुष्ट मानिसहरू र अत्यधिक महत्त्वाकाङ्क्षा भएकाहरूका साझा विशेषताहरू के-के हुन्? एउटा पक्ष के हो भने, तिनीहरूको ताकत र दृढता सामान्य मानिसहरूको भन्दा धेरै हुन्छ। साथै, तिनीहरूका गोप्य चालहरू सामान्य मानिसहरूको भन्दा अधिक हुन्छन्, अनि यदि औसत व्यक्तिले तिनीहरूसँग अन्तरक्रिया गऱ्यो भने, ऊ ठगिन्छ। ठगिनुको अर्थ के हो? त्यसको अर्थ, कसैले पनि तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैन। तिनीहरूले देख्न सक्ने भनेको तिनीहरूले बाहिर भन्ने र गर्ने कुरा मात्र हुन्। तैँले तिनीहरू मनभित्र के सोच्छन् भनेर तिनीहरूले गर्ने र भन्ने कुराबाट कुनै भेउ पाउन सक्छु भनेर नसोच्। के यो तिनीहरूद्वारा ठगिनु होइन र? ताकत र दृढता आफैमा सकारात्मक शब्दहरू हुन्, तर तिनीहरूको गोप्य चालले तिनीहरूको ताकत र दृढतालाई नकारात्मक बनाएको हो। साथै, तिनीहरूमा सामान्य मानिसहरूको भन्दा निकै धेरै चाहना र उन्मत्त महत्त्वाकाङ्क्षा हुन्छन्। औसत व्यक्तिमा कामना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू हुन्छन्, तर उसलाई आफूले कुनै कुरा हासिल गर्न सकिदैन भन्ने लाग्दा ऊ हार मान्छ र त्यो कष्ट भोग्न चाहँदैन। त्यसबाहेक, ऊ जोसँग लड्न चाहन्छ त्यो कुरा खुलस्त बताउँछ; ऊसँग गोप्य चालहरू हुँदैनन्। तर, यस्तो प्रकारका दुष्ट मानिसहरूमा अत्यधिक महत्त्वाकाङ्क्षाहरू हुन्छन्, र तिनीहरू सधैँ गोप्य चाल र छली षड्यन्त्रहरू बुन्छन्। तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू कहिल्यै त्याग्नेछैनन्; तिनीहरूले अन्त्यसम्मै—मृत्युसम्मै लडाइँ गर्नेछन्।

पाठ्यपुस्तकहरूमा युये राज्यको राजा गाउजियानले कसरी झिँगटोमा सुतेर पित्त चाट्यो भन्ने कथा बताइएको हुन्छ। आमाबुबाले पनि आफ्ना बच्चाहरूलाई यसबारे सिकाउँछन्। यो कथा सुन्ने कतिपय बच्चाहरू सोच्छन्, “औसत व्यक्ति हुनु नै राम्रो हो। मानिसहरूले यस्तो अत्यधिक महत्त्वाकाङ्क्षा राख्नु के आवश्यक छ र? कसले झिँगटोमा सुतेर पित्त चाट्न आफै कष्ट भोग्न सक्छ? त्यो सामान्य मानिसहरूले सहन सक्ने कष्ट होइन।” उन्मत्त महत्त्वाकाङ्क्षा भएका मानिसहरूमा मात्र त्यस्तो कष्ट भोग्ने सङ्कल्प हुन्छ; त्यसमा गोप्य चाल अन्तर्निहित हुन्छ। तथापि, मानवजाति यस्तो मानसिकताको वकालत गर्छ। उदाहरणका लागि, यस्तो वाक्यांश छ, “मानिसहरूले जति नै कष्ट र बेइज्जती भोगे पनि, तिनीहरूको परिस्थिति जति नै भयानक भए पनि, तिनीहरूले तिनीहरूका महत्त्वाकाङ्क्षाहरू कहिल्यै बिर्सनु हुँदैन।” यस समाजले मानिसहरूलाई आफ्नो खुसी र उद्देश्यका लागि सङ्घर्ष गर्न उत्साहित र उत्प्रेरित गराउन झिँगटोमा सुतेर पित्त चाट्नु, अनि अपमान सहनु र गह्रौँ बोझ बोक्नुजस्ता विचारहरूको वकालत गर्छ, त्यसोभए हामी त्यसलाई किन गलत भनेर आलोचना गर्छौँ? सबै मानवजाति शैतानद्वारा भ्रष्ट तुल्याइएको छ। के मानवजातिको कुनै सदस्यको उद्देश्य सत्यतातर्फ, र सही दिशातर्फ लक्षित छ? (छैन।) तसर्थ, मानवजातिले जति धेरै झिँगटोमा सुतेर पित्त चाट्छ, र जति धेरै अपमान सहन्छ र गह्रौँ बोझ बोक्छ, शैतानका शक्तिहरू उति नै धेरै उद्दण्ड बन्नेछन्, मानवजातिका युद्ध र हत्याहरू त्यति नै धेरै हुनेछन्, मानवजाति त्यति नै धेरै दुष्ट बन्नेछ, र समाज त्यति नै धेरै अँध्यारो बन्नेछ। त्यसको विपरीत, यदि तैँले स्वर्गका बन्दोबस्तहरू पालन गर्न सकिस् र आफूलाई सबै कुराको प्राकृतिक व्यवस्थाअनुरूप बनाउन सकिस् भने, यदि तैँले कामकुरा जस्ताका तस्तै स्विकार्न, यस व्यवस्थालाई सम्मान गर्न, र स्वर्गका बन्दोबस्तहरू पर्खन सकिस् भने, तैँले अपमान सहनु र गह्रौँ बोझ बोक्नुपर्दैन। तँ जाग्नुपर्छ र होसमा आउनुपर्छ। परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सक्नु सही हो। यसबाहेक, मानिसहरूले आफूले गर्ने हरकुरामा कम्तीमा पनि त्यो आफ्नो विवेकअनुसार गर्न सक्नुपर्छ, र त्योभन्दा अझ, परमेश्‍वरले मानवजातिका लागि तय गरेका व्यवस्थाहरूअनुसार गर्न सक्नुपर्छ। त्यसपछि, के मानिसहरूले अझै मुकुण्डो लगाउनु र गह्रौँ बोझ बोक्नुपर्छ? (पर्दैन।) अहँ, तिनीहरूले त्यसो गर्नुपर्दैन। के तिमीहरूले यस सङ्गतिद्वारा अपमान सहनु र गह्रौँ बोझ बोक्नु ठ्याक्कै कस्तो व्यवहार हो भनेर बुझ्यौ? अपमान सहनु र गह्रौँ बोझ बोक्नुको उद्देश्य सकारात्मक हो कि नकारात्मक? (नकारात्मक।) यदि कसैले कुनै व्यक्तिले अगुवा बन्नका निम्ति अपमान सहन्छ र गह्रौँ बोझ बोक्छ भनेर भन्ने हो भने, वा कुनै व्यक्तिले आफूलाई परमेश्‍वरले दिएको कार्यभार पूरा गरेर इनाम पाउन अपमान सहन्छ र गह्रौँ बोझ बोक्छ भनेर भन्ने हो भने, वा कुनै व्यक्तिले सिद्ध पारिन खोज्न अपमान सहन्छ र गह्रौँ बोझ बोक्छ भनेर भन्ने हो भने—के यी शब्दहरू मान्य हुन्छन्? (अहँ, हुँदैनन्।) अपमान सहनु र गह्रौँ बोझ बोक्नु पूर्णतया शैतानी दर्शन हो; यसमा कुनै सत्यता छैन, र तैँले यी शब्दहरू सुन्नेबित्तिकै ती विकृत छन् भन्ने स्पष्ट हुन्छ। कुनै व्यक्तिले परमेश्‍वरका बन्दोबस्तहरू पर्खन र उहाँको सार्वभौमिकताप्रति समर्पित हुन अपमान सहन्छ र गह्रौँ बोझ बोक्छ भनेर कसैले भन्छ भने, के यसो भन्नु सही हो? (होइन।) यो कसरी सही होइन? ती दुई एकअर्कासँग मेल खाँदैनन्—परमेश्‍वरलाई तैँले अपमान सहनुपर्ने आवश्यकता पर्दैन, न त उहाँलाई तैँले बेइज्जती भोग्नुपर्ने नै आवश्यकता पर्छ। यहाँ बताइएझैँ अपमान सहनु र गह्रौँ बोझ बोक्नुबीच, अनि मानिसहरूले परमेश्‍वरमा विश्वास गर्नु र उहाँप्रति समर्पित हुनुबीच के-कस्तो सारभूत भिन्नता छ? (अपमान सहनु र गह्रौँ बोझ बोक्नु परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू फाल्ने प्रयास हो।) अपमान सहनु र गह्रौँ बोझ बोक्नुको अर्थ हो, मानिसहरूमा तिनीहरूले पछ्याउने तिनीहरूकै योजना, महत्त्वाकाङ्क्षा, चाहना र उद्देश्यहरू हुन्छन्। के यी कुरा परमेश्‍वरले मानिसहरूबाट माग गर्ने मानक, र परमेश्‍वरले मानिसहरूलाई पछ्याउन दिने उद्देश्यअनुरूप हुन्छन्? (हुँदैनन्।) अहँ, ती हुँदैनन्। मानिसहरूले अपमान सहेर र गह्रौँ बोझ बोकेर आफ्ना लागि के प्राप्त गर्ने लक्ष्य राख्छन्? तिनीहरू आफ्नो स्वार्थ प्राप्त गर्ने लक्ष्य राख्छन्, र त्यसको परमेश्‍वरले मान्छेका लागि योजनाबद्ध गर्ने र सार्वभौमिकता राख्नुहुने भवितव्यसँग कुनै सम्बन्ध हुँदैन।

अपमान सहनु र गह्रौँ बोझ बोक्नु भन्ने भनाइ अभ्यास गर्ने जोकसैको एउटा आशय र उद्देश्य हुन्छ। उदाहरणका लागि, एक नवीन कलेज स्नातक इन्टर्नशीप गर्न पहिलोपटक कुनै कम्पनीमा पुग्दा, वरिष्ठ कर्मचारीहरूले भन्छन्, “यहाँ आउने कलेज स्नातकहरूले तीन वर्षसम्म कफी पुर्‍याउने काम गर्नुपर्छ।” उसले मनमनै सोच्छ, “म कलेज स्नातक भए पनि तिमीसामु झुक्दिनँ!” ऊ मनमनै यस्तो सोच्छ, तर त्यो सबैले थाहा पाउनेगरी व्यक्त गर्ने आँट गर्दैन। बाहिर चाहिँ उसले झूटो मुस्कान दिनैपर्छ; उसले हरेक दिन नियमहरू पालन गर्नैपर्छ, लुरुक्क पर्नैपर्छ, झुक्नैपर्छ र जीहजुरी गर्नैपर्छ, र अरूले उसमा गल्तीहरू भेट्टाउँदा त्यो सहनैपर्छ। उसले यो सहनुको उद्देश्य के हो? त्यसको उद्देश्य उसले कुनै दिन विजयको फुङ्कार लगाउन, प्रबन्धक वा हाकिमको सचिव बन्न, र आफूलाई खिस्याउनेहरूलाई कुल्चन सक्नका लागि हो। ऊ यही सोच्दैन र? कतिपय मानिसहरू भन्छन्, “उसले सोच्नुपर्ने त्यसरी नै हो र उसले गर्नुपर्ने त्यही हो। नत्र, उसले जीवनभरि मानिसहरूबाट दुर्व्यवहार भोग्नेछ। त्यसरी कसले कष्ट भोग्न चाहन्छ? साथै, यदि मानिसहरूमा महत्त्वाकाङ्क्षा छैनन् भने, तिनीहरूले कसरी काम चलाउन सक्छन्? मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ—जीवन यसरी नै चल्छ। जुन सिपाही जनरल बन्‍न चाहँदैन, ऊ असल सिपाही नै होइन।” यी शब्दहरू तिनीहरूको आदर्श वाक्य बन्छन्, तर यो सब शैतानी तर्क हो। तिनीहरूले आफ्नो उद्देश्य पूरा गर्न यसरी सहनैपर्छ—दिनदिनै, वर्षैपिच्छे, सबैप्रति शिष्ट हुनैपर्छ र सबैलाई आदर गर्नैपर्छ। एक दिन, हाकिमले उसलाई भन्छ, “यी तीन वर्ष तिम्रो कार्यसम्पादन राम्रो भएको छ। अर्को हप्तादेखि तिमी विक्रेता बन्नेछौ।” यो सुनेर ऊ मनमा बेखुस हुन्छ: “मैले विक्रेता बन्नकै लागि तीन वर्ष परिश्रम गरेको रहेछु! मलाई त म बिक्री कार्यकारी निर्देशक बन्नेछु भन्ने लागेको थियो!” तर उसले बढुवाका लागि धन्यवाद भन्नैपर्छ। ऊ अझै आफ्नो लक्ष्यमा पुगेको छैन, त्यसैले उसले सहिरहनैपर्छ। उसले अपमान सहिरहन्छ र गह्रौँ बोझ बोकिरहन्छ, पिउँदै र झुटो मुस्कान छर्दै कष्टकर रूपमा हाकिमको पछिपछि लाग्छ, अनि उसले दस वर्षसम्म यसरी सहेपछि बल्ल आफ्नो उद्देश्य हासिल गरेको हुन्छ। एक दिन, हाकिमले उसलाई बताउँछ, “तिमीले आफ्नो काम राम्रोसँग गरेका छौ। म तिमीलाई सहायकमा बढुवा गर्नेछु।” यो सुनेर ऊ मनमनै एकदमै खुसी हुन्छ—उसले अन्त्यमा त्यो हासिल गरेको छ! यो कस्तो परिणाम हो? उसका नजरमा अब ऊ अरू सबै जनाभन्दा श्रेष्ठ हो। के उसले यो सब स्वेच्छाले गरेको होइन र? (होइन।) उसले यो सब कसका लागि गरेको हो? (आफ्नै लागि।) आफ्नै लागि। त्यसमा सकारात्मक वा अपनाउनुपर्ने कुनै कुरा छैन, झन् प्रशंसा गर्न र गुणगान गाउनयोग्य कुरा हुनु त परै जाओस्। तर आजको समाजमा यस्तै मानसिकताको वकालत गरिन्छ—अपमान सहनु र गह्रौँ बोझ बोक्नु, टाँगमुनि पुच्छर लुकाएर लुरुक्क पर्नु। तसर्थ, मानिसहरूले वकालत गर्ने यो “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांश कस्तो हो? (खराब वाक्यांश।) यो कसरी खराब हो? मानिसहरू आफ्नै आशय र उत्प्रेरणाका कारण, अनि आफ्ना चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू पूरा गर्न अपमान सहन्छन् र गह्रौँ बोझ बोक्छन्। त्यो सही उद्देश्यका लागि होइन। त्यसैले, म भन्छु, तीमध्ये कुनै पनि अपनाउनयोग्य छैन, अनि तीमध्ये कुनै पनि प्रशंसा वा सराहना गर्नयोग्य छैन, अनि निश्चित रूपले सम्झनयोग्य छैन। प्राचीन समयमा राजमहलमा घटेको घटनालाई फेरि हेरौँ। एउटा सम्राट मरेको हुन्छ। साम्राज्ञीले आफ्नो छोरा सानै छ र यदि उसले सिंहासनमा बस्नुपरेमा राजसभा नियन्त्रण गर्न पटक्कै सक्नेछैन भन्ने देख्छे, त्यसैले उसले आफ्नो छोराले सम्राटका रूपमा वास्तवमै शासन गरोस् भनी सुनिश्चित गर्न अपमान सहन्छे र गह्रौँ बोझ बोक्छे अनि पूर्व सम्राटको भाइसँग विवाह गर्छे, र ती दुई जनाले सँगै उसको छोराको सिंहासनको दाबीलाई आड दिन्छन्। उसले अपमान सहनु र गह्रौँ बोझ बोक्नुको उद्देश्य के थियो? त्यसको उद्देश्य उसको छोराका निम्ति सम्राटको पद थियो। उसको छोराको सम्राटको पद सुरक्षित भएपछि, उसको हैसियत विधवा साम्राज्ञी हुनेथियो। यसलाई अपमान सहनु र गह्रौँ बोझ बोक्नु भनिन्छ। उसले कस्तो अपमान सहिरहेकी थिई? ऊ पवित्र रहिन; सम्राट मर्नेबित्तिकै उसले आफ्नो देवरसँग विवाह गरी, जसले गर्दा उसको बदनाम भयो। मानिसहरूले उसको पिठ्यूँपछाडि आलोचना र निन्दा गरे, अनि इतिहासका पुस्तकहरूमा समेत उसको सकारात्मक मूल्याङ्कन भएको छैन। के उसले वास्ता गरी? वास्तवमा उसले आफ्नो देवरसँग विवाह गर्नअघि आइपर्ने परिणामबारे सोचेकी थिई, त्यसोभए, किन उसले अझै त्यसो गरी? आफ्नो छोराका लागि सम्राटको पद र आफ्ना लागि विधवा साम्राज्ञीको हैसियत जोगाउनका निम्ति। त्यही कारणले मात्र उसले यस्तो बदनामी सही र स्वेच्छाले यो कष्ट भोगी। यसलाई अपमान सहनु र गह्रौँ बोझ बोक्नु भनिन्छ। उसले यो सब बेइज्जती सहेर के पाई? उसले झनै ठूलो लाभ पाई। उसले अपमान सहनु र गह्रौँ बोझ बोक्नुको उद्देश्य यही थियो। उसले यो ठुलो लाभ पाएपछि, त्यो सब बदनामीको कुनै अर्थ रहेन। उसले यो सब बदनामीको सट्टा आफू र आफ्नो छोराका लागि शक्ति र हैसियत प्राप्त गरी। त्यसोभए, उसले अपमान सहनु र गह्रौँ बोझ बोक्नु सकारात्मक थियो कि नकारात्मक? (नकारात्मक।) उसको व्यवहारलाई मात्र हेर्दा, उसले आफूलाई त्याग्न सकी, अनि उसको छोराको दृष्टिकोणबाट हेर्दा, उसले सहेको बेइज्जती र कष्टको निस्वार्थ पक्ष थियो, त्यसैले मानिसहरूले उसलाई प्रशंसा गर्दै भन्नुपर्छ, “कति महान् आमा!” तर उसका चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू, अनि उसको साँचो उद्देश्यलाई हेर्दा, मानिसहरूले उसको आलोचना गर्नुपर्छ; उसका कार्यहरू निन्दा गर्नलायक छन्।

के परमेश्‍वरमा विश्वास गर्ने मानिसहरूले अपमान सहनु र गह्रौँ बोझ बोक्नु आवश्यक छ? (छैन।) यदि मानिसहरूले परमेश्‍वरका वचनहरू स्विकार्छन् अनि उहाँको न्याय, सजाय, काटछाँट, परीक्षा र शोधन स्विकार्छन्, अनि मानिसहरूप्रति उहाँको श्राप र निन्दासमेत स्विकार्छन् भने, के तिनीहरूले अपमान सहनु र गह्रौँ बोझ बोक्नु आवश्यक छ? (छैन।) यो निश्चित छ। विश्वासीहरूका सन्दर्भमा “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांश प्रयोग गर्नुको कुनै औचित्य छैन र यसको निन्दा गरिन्छ। यस सन्दर्भमा यो वाक्यांश प्रयोग गर्नु किन गलत हो? यस सन्दर्भमा यो व्यवहार सही होइन भनेर कसरी प्रमाणित हुन्छ? मुखले र धर्मसिद्धान्तअनुसार मात्र यो वाक्यांश गलत छ भनेर मानिलिनु स्वीकार्य हुँदैन; तैँले त्यो कस्ता सत्यताहरूसँग सम्बन्धित छ भनेर जान्नैपर्छ। पहिले, तँ के सोच्थिस् भने, मानिसहरूले परमेश्‍वरद्वारा सिद्ध पारिने र मुक्ति दिइने कुरा स्विकार्नका निम्ति अपमान सहनु र गह्रौँ बोझ बोक्नु, झिँगटोमा सुतेर पित्त चाट्नु, युये राज्यका राजा गाउजियानको मानसिकता अपनाउनु, अनि कहिल्यै हार नमान्नु आवश्यक छ—तँ लट्ठक नै थिइस् र तँमा सत्यता बुझ्ने क्षमता थिएन। अहिले, मेरो सङ्गतिपछि तँ सोच्छस्, “यो वाक्यांश राम्रो छैन। पहिले, म सधैँ यो वाक्यांश प्रयोग गर्ने गर्थेँ—कसरी म यति मूर्ख हुन सकेको?” तँ सत्यता बुझ्दैनस् र आफ्नो बुझ्ने क्षमता कमजोर छ भनेर तैँले देख्न सक्छस्। तैँले यो वाक्यांशमा के गलत छ भनेर बुझ्नैपर्छ। तँ त्यसमा के गलत छ भनेर साँच्चै बुझ्न सक्ने भएपछि, तैँले यस वाक्यांशलाई राम्ररी बुझ्नेछस्। यदि तैँले त्यस वाक्यांशको आंशिक भाग मात्र प्रस्ट रूपमा देख्छस्, जहाँ तैँले त्यसको नकारात्मक पक्ष स्पष्टसित देख्छस्, तर मानिसहरूले सकारात्मक ठान्ने पक्ष स्पष्टसित देख्दैनस् भने, त्यसको अर्थ तैँले अझै सत्यता बुझेको छैनस्। मैले भर्खरै सङ्गति गरेको कुरा सुनेपछि, के तिमीहरूले यी कुराहरूलाई मेरा यी पद्धतिअनुसार चिरफार र विश्लेषण गर्न सक्नेछौ? परमेश्‍वरका घरमा अपमान सहनु र गह्रौँ बोझ बोक्नुको अभ्यास किन आवश्यक छैन? म किन यो पद्धति र मानसिकतालाई परमेश्‍वरको घरले निन्दा गर्छ र यो सत्यताअनुरूप छैन भनेर भन्छु? (परमेश्‍वर, मेरो बुझाइ के हो भने, परमेश्‍वरको घरमा परमेश्‍वरका वचनको न्याय र सजाय स्विकार्नु अनि बर्खास्त गरिनु वा निन्दित हुनुसमेत अपमान सहनुमा पर्दैन। बरु, यो त मानिसहरूलाई मुक्ति दिन परमेश्‍वरको काम गर्ने तरिका हो, र यसको उद्देश्य हामीहरूलाई सत्यता पछ्याउने सही मार्गमा डोर्‍याउनु हो। यसको अपमान सहनु र गह्रौँ बोझ बोक्नुसँग बिलकुलै सम्बन्ध छैन। यदि मानिसहरूले सही तरिकाले बुझ्न सके भने, तिनीहरूलाई यो परमेश्‍वरको प्रेम र उत्थान हो, अनि परमेश्‍वरको न्याय र सजाय स्विकार्नु उहाँको ठूलो हेरचाह र सुरक्षा, अनि मानिसहरूका लागि उहाँको मुक्ति हो भनेर थाहा हुनेछ।) के यो कथन सही छ? (सही छ।) यदि तैँले न्याय र सजायलाई स्पष्टसँग देख्न सकिनस् भने, तेरो हृदयमा विरोध र गुनासो उत्पन्न हुनेछन्, अनि तैँले “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने शैतानी दर्शनको वाक्यांश अभ्यास गर्नेछस्, र मनमनै सोच्नेछस्, “होइन, मैले अपमान सहनैपर्छ र गह्रौँ बोझ बोक्नैपर्छ, अनि युये राज्यका राजा गाउजियानको मानसिकता अपनाउनैपर्छ।” त्यसपछि, तैँले आफूलाई अघि बढ्नमा प्रोत्साहित र उत्प्रेरित गर्न “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने शब्दहरूलाई आफ्नो टेबलको माथि कुँद्नेछस्, अनि त्यसलाई आफ्नो आदर्श वाक्य बनाउनेछस्। के त्यसले समस्या निम्त्याउँदैन र? निस्सन्देह, आजको सङ्गतिपछि तिमीहरूले निश्चित रूपमा यसो गर्नेछैनौ, तर के तिमीहरू मैले चिरफार नगरेको “आफ्नो बत्ती लुकाएर अँध्यारोमा सामर्थ्य बटुल्नु” भन्नेजस्ता अरू वाक्यांशहरूलाई आफ्नो आदर्श वाक्य बनाउनेछौ? यसको प्रकृति उस्तै छैन र? यी कुराहरू परम्परागत चिनियाँ संस्कृतिका हिस्सा हुन्। के यी कुराहरू शैतानका विष हुन्? ती सबै शैतानका विष हुन्; ती सबै संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरू हुन्।

विगतमा, मैले मुख्यभूमि चीनका मण्डलीहरूमा भर्खरै काम थालेको समयमा काम गर्दै गर्दा, परमेश्‍वरको घरले कतिपय दाजुभाइ-दिदीबहिनीको साक्षरता सुधार्न बन्दोबस्त मिलायो। त्यतिबेला परिस्थिति कस्तो थियो? त्यहाँ कतिपय मानिस पाका उमेरका थिए र कतिपय मानिस अझ विकट क्षेत्रमा बस्थे। उनीहरूको शैक्षिक स्तर तुलनात्मक रूपले कम थियो र उनीहरू राम्ररी पढ्न सक्दैनथे। उदाहरणका लागि, परमेश्‍वरका वचनहरूले “कम क्षमता,” “परमेश्‍वरको स्वभाव,” “परमेश्‍वरको अभिप्राय,” र अन्य निश्चित शब्दहरूबारे कुरा गर्छन्, तर उनीहरू तिनको अर्थ बुझ्दैनथे वा जान्दैनथे। पछि, परमेश्‍वरको घरले दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूले फुर्सदका समयमा आफ्नो साक्षरता सुधार्न सक्छन्, र कम्तीमा पनि केही निश्चित वाक्यांश, शब्दावली र संज्ञाको अर्थ जान्नुपर्छ भनेर बतायो। नत्र, उनीहरूले परमेश्‍वरका वचन पढ्दा, शब्द र वाक्यांशहरूको अर्थसमेत बुझ्नेथिएनन्, त्यसैले उनीहरूले कसरी परमेश्‍वरका वचनहरू बुझ्न सक्नेथिए र? अनि यदि उनीहरूले परमेश्‍वरका वचन बुझ्न नसकेका भए, कसरी सत्यता अभ्यास गर्न सक्नेथिए र? यसपछि, दाजुभाइ-दिदीबहिनीहरूले यी कुरा सिक्न धेरै प्रयास गर्न थाले। यो राम्रो कुरा हो, तर विकृत बुझाइ भएका कतिपय मानिसले परिस्थितिको अनुचित लाभ उठाए। भेलाहरूका समयमा, कतिपय अगुवा आफ्नो साक्षरता सुधार्नुको महत्त्व, दाजुभाइ-दिदीबहिनीहरू कसरी साक्षर हुनुपर्छ, साक्षरताको फाइदा, र उनीहरू साक्षर भएनन् भने के हुनेछ भन्नेबारे मात्रै कुरा गर्थे। तिनीहरू यस्ता अनेक धर्मसिद्धान्तबारे कुरा गर्थे। यी कुरा सत्यता होइनन्, र तीबारे अति धेरै कुरा गर्नु आवश्यक छैन। कसैले यी कुरा भन्नेबित्तिकै, मानिसहरूले ती बुझ्न सक्छन्; तीबारे भेलाहरूमा सङ्गति गर्नु पर्दैन मानौँ ती सत्यता हुन्। कतिपय अगुवाले भेलाहरूमा ती कुरा सत्यता भएझैँ गरी तीबारे सङ्गति गर्न धेरै समय खर्च मात्र नगरी नयाँ युक्ति पनि निकाले, दाजुभाइ-दिदीबहिनीहरूलाई विशेष गरी बिरलै प्रयोग गरिने शब्दहरूबारे जाँच गरे। यदि दाजुभाइ-दिदीबहिनीहरूले उत्तर दिन नसकेमा, त्यसले अगुवाहरूलाई अत्यन्तै शिक्षित देखाउनेथिएन र? त्यस दौरान वास्तविक काम नगर्ने कतिपय झुटा अगुवाहरू थिए—तिनीहरू जीवन अनुभव, सत्यता, वा परमेश्‍वरका वचनबारे सङ्गति गर्दैनथे, बरु साक्षरताबारे मात्र सङ्गति गर्थे। यसलाई के भनिन्छ? यसलाई आफूले गर्नुपर्ने काम नगर्नु भनिन्छ। के यो समस्या होइन र? (हो।) म किन यस समस्याबारे कुरा गर्दै छु? तिमीहरूलाई यसको के काम? के तिमीहरू यस्तो कुरा गर्न सक्छौ? यस्तो कार्य गर्ने मनसाय राख्ने कोही छ? यदि तिमीहरू यस्तो काम गर्छौ भने, तिमीहरू साँच्चै भ्रमित मानिस हौ! मैले यी टुक्काहरूबारे कुरा गरेको देख्ने कतिपय मानिस हुन्छन्, र तिनीहरू काम गर्न तत्पर हुन्छन् अनि यसो भन्दै आफूलाई तयार पार्न थाल्छन्, “सत्यतामा सङ्गति गर्नु त यस्तो सजिलो रहेछ। टुक्काहरूबारे मात्र सङ्गति गरे पुग्छ। तपाईं टुक्काहरूबारे सङ्गति गर्न सक्नुहुन्छ, र म चाहिँ दुई भागका चुट्किला, ठेट बोली, भनाइ र उखानहरूबारे सङ्गति गर्नेछु।” के यो आफ्नो उचित काम नगर्नु होइन र? (हो।) यिनीहरू कस्ता मानिस हुन्? के तिनीहरूमा आत्मिक बुझाइ हुन्छ? (हुँदैन।) तिनीहरूमा आत्मिक बुझाइ हुँदैन, र तिनीहरू सत्यता बुझ्दैनन्। तिनीहरू के सोच्छन्? “तपाईं केही काम नहुँदा बसेर फतरफतर बोलिरहनुहुन्छ र हामीलाई केही टुक्काहरू सुनाएर धोका दिनुहुन्छ। यदि मैले तपाईंका विधिहरू पछ्याएको भए, म पनि सङ्गति गर्न सक्थेँ!” आत्मिक बुझाइ नहुने मानिसहरू मामिलालाई बाहिरबाट मात्र हेर्छन् र अन्धाधुन्ध मेरो अनुकरण गर्छन्। यी अगुवाहरूलाई यो व्यवहार अनुकरण गरेकामा बर्खास्त गर्नुपर्छ, र तिनीहरूले गरेजस्तो गर्ने जोकोहीलाई पनि बर्खास्त गर्नुपर्छ। म किन यसबारे बोलिरहेको छु? तिमीहरू यस व्यवहारमा संलग्न हुनुअघि नै म तिमीहरूको ध्यान त्यसतिर तान्दै छु, ताकि तिमीहरू गलत मार्गमा नलाग। म यी कुराहरूबारे कुरा गर्न सक्छु, तर यदि तैँले तीबारे कुरा गरिस् भने बुझ्ने तरिकाले कुरा गर्न सक्छस्? तैँले सक्दैनस्। त्यसोभए, म किन यी भनाइ र टुक्काहरूबारे कुरा गर्छु? म कुन सर्तमा तीबारे कुरा गर्छु? जब मानिसहरूले सत्यताको अवधारणा र परिभाषा बुझ्छन्, र त्यसपछि यदि मैले त्यस आधारमा झन् गहिरिएर मानिसहरूले सत्यता ठान्ने अझ धेरै कुराको चिरफार गरेँ भने, मानिसहरूले यो बुझ्न सक्दैनन्; तिनीहरूलाई आफूले त्यसबारे कसरी चिन्तन गर्नुपर्छ भनेर थाहा हुँदैन, र आफूले त्यसलाई अरू कस्ता कुराहरूसँग जोड्नुपर्छ भनेर थाहा हुँदैन। किनभने तिमीहरू बुझ्दैनौ, त्यसैले मैले तिमीहरूलाई टुक्काबारे केही कथा बताएँ। यो आवश्यक थियो। सत्यताका सन्दर्भमा, कतिपय मानिस आफू विश्वविद्यालय तहमा भएको ठान्छन्, र किन आफूले अझै यो प्राथमिक विद्यालयको पाठ्यक्रम फेरि पढिरहेका छन् भनेर सोच्छन्। तिनीहरू यो प्राथमिक कक्षा होइन, यो त पहिल्यै विश्वविद्यालय कक्षा हो भनेर बुझ्न सक्दैनन्। तिमीहरू अझसम्म विश्वविद्यालय पुगेका छैनौ, यो सारा समय प्राथमिक विद्यालयमै अड्केर बसेका छौ, तर तिमीहरू आफू विश्वविद्यालय पुगिसकेको सोच्छौ, र निराधार आत्म-सन्तुष्टि मान्छौ। दुर्भाग्यवश, यो भावना गलत हो; यो गलत भावना हो—तिमीहरू विश्वविद्यालयसम्म पुग्नबाट अझै धेरै टाढा छौ। तसर्थ, म तिमीहरूलाई फेरि सम्झाउँछु: मैले भर्खरै बताएका कुराहरू नगर। आफूले बुझेका कुरामा इमानदारीसाथ सङ्गति गर, र यदि बुझेका छैनौ भने, वाहियात कुरा नगर। सत्यतामा सङ्गति गर्नु भनेको फतरफतर गर्नु होइन; तैँले फतरफतर गरेको सुनेर खेर फाल्ने समय कसैसँग पनि छैन। अन्धाधुन्ध मेरो अनुकरण नगर्, र युये राज्यका राजा गाउजियान वा आधुनिक इतिहास वा प्राचीन इतिहासबारे कुरा नगर्, किनभने मैले झिँगटोमा सुतेर पित्त चाट्नेबारे कुरा गरेको छु। ती कुराबारे कुरा गरेर के काम? के मानिसहरू ती कुरा सुन्न इच्छुक हुन्छन्? मानिसहरू सुन्न इच्छुक भए पनि, ती कुराहरू सत्यता होइनन्।

मैले भर्खरै परमेश्‍वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने मानिसहरूले कसरी अपमान सहनु र गह्रौँ बोझ बोक्नु पर्दैन, झन् अपमान सहन र गह्रौँ बोझ बोक्न अभ्यास गर्नु त परको कुरा हो भन्नेबारे कुरा गरेँ। व्यक्तिले किन यस्तो “राम्रो” वाक्यांश र “उच्च” मानसिकता अभ्यास गर्न सक्दैन? समस्या कहाँ छ? व्यक्तिले किन अपमान सहने र गह्रौँ बोझ बोक्ने मानसिकता राख्न सक्दैन? धर्मसिद्धान्तका सन्दर्भमा भन्नुपर्दा, अपमान सहनु र गह्रौँ बोझ बोक्नु सत्यता नभएकाले त्यस्तो हुन्छ; यो वाक्यांश परमेश्‍वरले बोल्नुभएको थिएन; यो मानवजातिबाट परमेश्‍वरले गर्नुहुने माग होइन, न त उहाँले उहाँलाई पछ्याउनेहरूलाई दिनुभएको कार्य सिद्धान्त नै हो। म किन यो वाक्यांश सत्यता होइन र अभ्यासको सिद्धान्त होइन भनेर भन्छु? सर्वप्रथम, अपमान सहनु र गह्रौँ बोझ बोक्नुमा “अपमान” शब्दलाई हेरौँ। “अपमान” ले केलाई जनाउँछ? यसले अनादर र लज्जित पारिनुलाई जनाउँछ। त्यसोभए, जब मानिसहरू परमेश्‍वरमा विश्वास गर्छन् र परमेश्‍वर तिनीहरूको भाग्यमाथि सार्वभौम हुनुहुन्छ, तब के तिनीहरू परमेश्‍वरप्रति समर्पित भएर अपमानित भइरहेका हुन्छन्? के तिनीहरूले अनादर सहिरहेका हुन्छन्? (हुँदैनन्।) के मानिसहरूले सहनुपर्छ र यसो भन्नुपर्छ, “मैले परमेश्‍वरप्रति समर्पित हुन आफ्नो हृदयको आगो दबाउनैपर्छ, आफ्नो हृदयको रिस दबाउनैपर्छ, आफ्नो हृदयको गुनासो दबाउनैपर्छ, र हृदयको नसुल्झिएको भावना दबाउनैपर्छ। मैले त्यो सहनुपर्छ र आवाज निकाल्नु हुँदैन। मेरा लागि त यी सबै कुरा अपमान हुन्, त्यसैले म ती दबाउनेछु”? के तिनीहरूले यसो गरेर सत्यता अभ्यास गरिरहेका छन्? (हुँदैनन्।) तिनीहरूले के अभ्यास गरिरहेका हुन्छन्? विद्रोहीपन, झूटोपन, र ढोँग। सत्यता अभ्यास गर्न अनि सत्यताप्रति र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन, तैँले पहिला गर्नैपर्ने कुरा भनेको कुनै पनि प्रकारको पीडा सहनु होइन, र तैँले कुनै पनि प्रकारको अपमान सहनु आवश्यक छैन। के तेरा लागि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त अनि तँबाट उहाँले गर्ने मागहरू अपमान हुन्? (होइनन्।) उहाँले तँलाई अपमान गरिरहनुभएको छैन। परमेश्‍वरले तेरो खुलासा गरेर, तँलाई न्याय गरेर, सजाय दिएर, जाँचेर, र शोधन गरेर तँलाई अपमान गरिरहनुभएको हुँदैन। बरु, उहाँले तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू खुलासा गर्नुहुँदा, साथसाथै तँलाई आफूलाई बुझ्न, ती हटाउन र तीविरुद्ध विद्रोह गर्न, र त्यसपछि परमेश्‍वरको मागअनुसार काम गर्न लगाइरहनुभएको हुन्छ। यसले के परिणाम ल्याउँछ? तँ परमेश्‍वरमा समर्पित हुन, सत्यता बुझ्न, परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति बन्न, अनि परमेश्‍वरले अनुमोदन गर्ने व्यक्ति बन्न सक्नेछस्। तसर्थ, के तैँले यी कुराहरू हासिल गर्दाको क्रम र समयावधिमा भोग्ने कुनै पनि कुराहरू अपमान हुन्? के कुनै कुराहरू छन्, जसमा परमेश्‍वरले तँलाई अपमान गरिरहनुभएको छ? (छैनन्।) उदाहरणका लागि, जब परमेश्‍वरले तेरो खुलासा गर्नुहुन्छ, जब उहाँले तेरो अहङ्कार, दुष्टता, छलीपन, हठिपन, वा क्रूरताको खुलासा गर्नुहुन्छ, तब के यीमध्ये कुनै पनि तथ्य होइनन्? (त्यसो होइन।) ती सबै तथ्य हुन्। परमेश्‍वरले जुनै प्रकारका वचनहरूद्वारा तेरो खुलासा गर्नुभए पनि, उहाँले तँलाई जुनै प्रकारका वचनहरू भन्नुभए पनि, ती सबै तथ्य हुन्। मानिसहरूले यो चिन्न सके पनि वा नसके पनि, र मानिसहरूले जति नै बुझ्न र स्विकार्न सके पनि, यी सबै कुरा तथ्य हुन्। ती आधारहीन छैनन्, न त ती बढाइचढाइ गरिएका नै हुन्, अनि ती निश्चित रूपले तँलाई झुटो आरोप लगाउनका लागि होइनन्। त्यसोभए, के यी कुराहरूको उद्देश्य तेरो अपमान गर्नु हो? (होइन।) तिनको उद्देश्य तेरो अपमान गर्ने नभएको मात्र होइन, तिनको उद्देश्य दुष्ट मानिसहरूका मार्गमा नहिँड्न र शैतानलाई नपछ्याउनका लागि सम्झाउनु र चेतावनी दिनु हो, तिनको उद्देश्य तँलाई जीवनमा सही मार्गमा हिँड्न लगाउनु हो। यी कुराहरूले तँमा ल्याउने परिणाम र पार्ने प्रभाव सकारात्मक हुन्छ। परमेश्‍वरका यी कार्यहरूको प्रकृति पूर्ण रूपले उचित हुन्छ। उहाँले तँलाई मुक्ति दिन यी कुराहरू गरिरहनुभएको छ, र ती पूर्ण रूपले सत्यताअनुरूप छन्। यो नै मानिसहरूले भोग्नुपर्ने कष्ट, र तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न, र साँचो सृजित प्राणी बन्न भोग्नैपर्ने कष्ट हो। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति भनेको यस कष्टलाई अनादरका रूपमा सहनु नभई यसलाई सक्रिय रूपले स्विकार्नु हो। यो कष्ट अपमान होइन, यो उपहास होइन, अनि मानिसहरूलाई छेड हान्नु होइन, झन् परमेश्‍वरले मानिसहरूलाई जिस्काउनु त हुँदै होइन। यो पूर्णतया मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले, तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने हुनाले, र सत्यतालाई प्रेम नगर्ने हुनाले नै उत्पन्न हुन्छ। यो पीडा परमेश्‍वरका वचन र मानिसहरूबाट परमेश्‍वरले गर्ने मागका कारण तिनीहरूमा उत्पन्न हुन्छ, त्यसोभए के परमेश्‍वरले मानिसहरूलाई जानाजानी दिने वा तिनीहरूलाई अतिरिक्त रूपमा दिने, अनि मानिसहरूले भोग्नुनपर्ने यस पीडाको कुनै पक्ष छ? त्यस्तो केही छैन। त्यसविपरीत, यदि मानिसहरूले यो पीडा अति थोरै भोगे भने, तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सक्दैनन्। मानिसहरूका विद्रोही स्वभावहरू जति नै गम्भीर भए पनि, र परमेश्‍वरले मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुँदा, तिनीहरूले त्यसलाई जति नै मान्न र स्विकार्न सके पनि, आखिरमा परमेश्‍वरले मानिसहरूलाई दिने कुरा अपमान होइन, र मानिसहरूले भोग्ने कुरा अनादर होइन। बरु, यो मानिसहरूले भोग्नुपर्ने कुरा हो; यो शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएको व्यक्तिले भोग्नुपर्ने पीडा हो; मानिसहरूले यो पीडा भोग्नुपर्छ। म किन तिनीहरूले यो भोग्नुपर्छ भनेर भन्छु? किनभने मानिसहरू परमेश्‍वरप्रति अति गहन रूपले विद्रोही छन् र तिनीहरू शैतान बनेका छन्। यदि मानिसहरू यी भ्रष्ट स्वभावहरू फाल्न र परमेश्‍वरको मुक्ति स्विकार्न चाहन्छन् भने, तिनीहरूले यो कष्ट भोग्नैपर्छ। यो एकदमै सही र उचित हो; यो मानिसहरू हिँड्नैपर्ने मार्ग हो, र यो तिनीहरूले भोग्नैपर्ने कष्ट हो। तिनीहरूलाई यो कष्ट परमेश्‍वरले दिइरहनुभएको होइन। यो त चिसो पानी पिएपछि पेट बिग्रनुझैँ हो। यसमा कसलाई दोष दिने? चिसो पानीलाई? (होइन।) कसले तँमाथि यो कष्ट ल्यायो? (हामी आफैले।) यो तैँले आफूमाथि आफैले ल्याएको होस्। मानिसहरूले भोग्ने यो परिणाम र यो प्रक्रिया तिनीहरूको आफ्नै कर्मको फल हो; यसमा उल्लेख गर्नुपर्ने अनादर वा अपमान केही छैन। कतिपय मानिसहरू त्यसलाई यसरी बुझ्दैनन्; तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू के सोच्छन्? “परमेश्‍वरको घरले मलाई अगुवा हुन दियो; यसले मलाई त्यस पदका लागि अघि सार्‍यो, र मैले अगुवाका रूपमा आफ्नो काम खुसीसाथ पूरा गरेको छु। परमेश्‍वरको घरले मलाई आफ्नो काम राम्ररी नगरेकोमा र गल्तीहरू गरेकोमा बरखास्त गर्छ भनेर मैले कहिल्यै सोचेको थिइनँ। म के बनेको छु? के ममा अझै निष्ठा र मर्यादा छ? के ममा अझै कुनै मानव स्वतन्त्रता छ? के ममा अझै स्वायत्तता छ?” तिनीहरू के सोच्छन् भने, मानिसहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति यस मामिलामा बिना कुनै विकल्प समर्पित हुनु हुँदैन, र यदि मानिसहरू पूर्ण रूपमा समर्पित भए भने, तिनीहरू मूर्ख र मर्यादाविनाका मानिस हुन्छन्, अनि तिनीहरू अति कमजोर र दुःखी रूपमा जिउँछन्। तसर्थ, यस्तो व्यक्ति मानिसहरूले न्याय, सजाय र काटछाँट स्विकार्दा “कुनै व्यक्ति होचो छानामुनि उभिँदा, उससँग टाउको निहुर्याउने बाहेक अरू कुनै विकल्प हुँदैन” भन्ने भनाइझैँ अपमान भोग्नैपर्छ भन्ने सोच्छ। हेर् त, यहाँ अर्को शैतानी दर्शन छ। यो चिरपरिचित वाक्यांशले तिनीहरूलाई निहुरिन लगाउँछ। तिनीहरू के सोचिरहेका हुन्छन्? के तिनीहरू स्वेच्छाले समर्पित भइरहेका हुन्छन्, कि अपमान सहिरहेका र गह्रौँ बोझ बोकिरहेका हुन्छन्? (अपमान सहिरहेका र गह्रौँ बोझ बोकिरहेका हुन्छन्।) तिनीहरू आफूले अपमान सहिरहेको र गह्रौँ बोझ बोकिरहेको सोच्छन्। तिनीहरू स्वेच्छाले समर्पित भइरहेका हुँदैनन्। तिनीहरूको समर्पण स्वेच्छिक हुँदैन, र त्यो शुद्ध हुँदैन। बरु, तिनीहरूसित समर्पित हुनुको विकल्प हुँदैन। त्यसैले, तिनीहरू यो विकल्पहीनतालाई एक प्रकारको अपमान ठान्छन्। यस्ता व्यक्तिले यसरी सोच्न सक्ने हुनाले, के तिनीहरूले परमेश्‍वरका वचनहरूप्रति समर्पित हुनुलाई सत्यताको अभ्यास ठान्छन्? ठान्दैनन्। उसले समर्पित हुनुलाई सत्यता ठान्दैन। बरु, उसले अपमान सहनु र गह्रौँ बोझ बोक्नुलाई सत्यता ठान्छ। के यी कुराहरूको प्रकृति फरक हुँदैन र? (हुन्छ।) स्वेच्छाले समर्पित हुने मानिसहरू अनि अपमान सहने र गह्रौँ बोझ बोक्नेहरू दुवै समर्पित हुने भए पनि, अनि तिनीहरू कसैले समस्या खडा नगर्ने वा प्रतिरोध नगर्ने भए पनि, र यसो हेर्दा तिनीहरू आज्ञाकारी, शिष्ट, र असल देखिए पनि, यी कुराहरू फरक प्रकृतिका नै हुन्छन्। सच्चा रूपले समर्पित हुने मानिसहरू समर्पित हुनुलाई आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्वका रूपमा लिन्छन्; तिनीहरू यसलाई आफ्नो परम कर्तव्य र सत्यताका रूपमा लिन्छन्। सच्चा रूपले समर्पित नहुनेहरूले बाहिरी रूपमा प्रतिरोध नगरे पनि, हृदयमा आफूले अपमान सहिरहेको र गह्रौँ बोझ बोकिरहेको सोच्छन्, अनि तिनीहरूका नजरमा अपमान सहनु र गह्रौँ बोझ बोक्नु नै सर्वोच्च सत्यता हो। तिनीहरू अपमान सहनुलाई सत्यता अभ्यास गर्नु ठान्छन्, अनि समर्पित हुनुलाई के ठान्छन्? तिनीहरू त्यसलाई सत्यता अभ्यास गर्नु नठानी अपमान सहनु ठान्छन्। के यो त उल्टो भएन र? यसलाई के भनिन्छ? (तिनीहरू यसलाई उल्टो रूपमा लिन्छन्।) तिनीहरू यसलाई उल्टो रूपमा लिन्छन्। तिनीहरू सत्यतालाई संसारसँग व्यवहार गर्ने दर्शनका रूपमा लिन्छन्; तिनीहरू धर्मसिद्धान्त र संसारसँग व्यवहार गर्ने मानिसको दर्शनलाई सत्यताका रूपमा लिन्छन्। के यो कालोलाई सेतो र सेतोलाई कालो बनाउनु होइन र? (हो।) यो त कालोलाई सेतो र सेतोलाई कालो बनाउनु हो। त्यसोभए यो समस्या कसरी समाधान गर्नुपर्छ? मानिसहरूले आफूले भोग्ने यो कष्ट अपमान होइन, न त यो कसैले तिनीहरूलाई अपमान गर्ने प्रयास गरिरहेको नै हो भनेर बुझ्नैपर्छ। त्यसोभए मानिसहरू केले गर्दा कष्ट भोग्छन्? (मानिसहरूको भ्रष्ट स्वभावले गर्दा।) ठिक भनिस्। यदि तँमा भ्रष्ट स्वभावहरू नभएका भए, र तैँले सत्यता बुझेको भए, तँ परमेश्‍वरमा समर्पित हुन सकेको, परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति पूर्णतया समर्पित हुन सकेको, अनि परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सकेको भए, तैँले यो कष्ट भोग्नुपर्ने थिएन। तसर्थ, यो अपमान अस्तित्वमा छैन। तैँले कुरा बुझिस्, होइन त?

कष्ट र अपमानबीच कुन चाहिँ सकारात्मक हो? के यी दुईबीच कुनै भिन्नता छ? (छ।) कष्टचाहिँ सकारात्मक हो। यदि तँ स्वेच्छाले न्याय, सजाय काटछाँट स्विकार्छस्, र यो कष्ट स्वेच्छाले भोग्छस् भने, तैँले यस कष्टको व्याख्या यसरी गर्नेछस्, “मैले यो कष्ट भोग्नुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि, मैले त्यो बुझिनँ भने पनि र यो मलाई हृदयमा स्विकार्न गाह्रो भए पनि, साथै म नकारात्मक र कमजोर भए पनि, उहाँले गर्ने हरकुरा सही हुन्छ। ममा भ्रष्ट स्वभाव छ र मैले परमेश्‍वरसँग बहस गर्नु हुँदैन। यो मलाई हृदयमा स्विकार्न जति नै गाह्रो भए पनि, यो मेरा आफ्नै गल्तीहरूले गर्दा आएको हो। परमेश्‍वर गलत हुनुहुन्न; परमेश्‍वरले गर्ने हरकुरा सही हुन्छ। म कष्ट भोग्न लायक छु। कसले मलाई भ्रष्ट स्वभाव राख्न लगायो? कसले मलाई परमेश्‍वरको प्रतिरोध गर्न लगायो? कसले मलाई दुष्टता गर्न लगायो? परमेश्‍वर मलाई ती कुराहरू दिनुहुन्न, ती मेरो आफ्नै प्रकृतिद्वारा उक्साइएका हुन्छन्। मैले यो कष्ट भोग्नुपर्छ।” त्यसोभए, के मानिसहरूले यो कष्ट भोग्नु सकारात्मक कुरा हो? (हो।) यदि मानिसहरूले यसलाई सकारात्मक तरिकाले र परमेश्‍वरबाट आएको भनी बुझे भने, यो कष्ट सकारात्मक हो। तथापि, मानिलिऊँ तिनीहरू भन्छन् “म समर्पित हुन सक्छु, तर म समर्पित हुने भए पनि, मैले अझै आफ्नो तर्कलाई स्पष्टसित व्याख्या गर्नैपर्छ, र आफूले मनमा सोच्ने र गर्ने कुरा अरूलाई प्रस्ट रूपमा बताउनैपर्छ। म यस्तो डरपोक र भ्रमित तरिकाले मात्र समर्पित हुन मिल्दैन। नत्र, म मनमा कुराहरू गुम्साएर राखेकाले मर्नेछु।” तिनीहरू सधैँ कामकुरालाई स्पष्ट र खुल्ला रूपमा व्याख्या गर्न, भित्री-बाहिरी सबै कुरा स्पष्टसित व्याख्या गर्न, तिनीहरूका तर्कबारे, तिनीहरूले सोच्ने कुराबारे, तिनीहरूले कसरी मूल्य चुकाउँछन् भन्नेबारे र तिनीहरू कति सही छन् भन्नेबारे कुरा गर्न चाहन्छन्। तिनीहरू परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति हुन—आफूलाई सही साबित गर्न, आफ्नो बचाउ गर्न, वा आफ्नै तर्कबारे कुरा गर्नबाट आफूलाई रोक्न इच्छुक हुँदैनन्। तिनीहरू त्यस्तो व्यवहार गर्न इच्छुक हुँदैनन्। त्यस्तो अवस्थामा, तिनीहरू समर्पणलाई के ठान्छन्? तिनीहरू यसलाई अनादर सहनु ठान्छन्। तिनीहरू भित्र के सोच्छन्? “मैले परमेश्‍वरलाई मलाई अनुमोदन गर्न लगाउन र म समर्पित भएको छु भनेर भन्न लगाउन यो सब अनादर सहनैपर्छ।” के वास्तवमै यस्तो अपमान हुन्छ? यदि यस्तो बिलकुलै हुँदैन भने, तिनीहरू किन यो “अपमान” हटाउन कामकुरालाई अझै स्पष्ट र खुल्ला रूपमा व्याख्या गर्छन्? यो साँचो समर्पण होइन। तैँले कामकुरा गर्ने आशय सही भए पनि, परमेश्‍वर यसरी परिस्थितिहरू योजनाबद्ध गर्न चाहनुहुन्छ। तैँले आफ्नो बचाउ गर्नुपर्दैन; तैँले बहस गर्नुपर्दैन। अय्यूबले तैँले भन्दा राम्ररी कामकुरा गर्थ्यो कि गर्दैनथ्यो? (उसले राम्ररी कामकुरा गर्थ्यो।) अय्यूबको परीक्षा लिँदा, यदि उसले बहस र आफ्नो बचाउ गरेको भए, के परमेश्‍वरले सुन्नुहुनेथ्यो? अहँ, उहाँले सुन्नुहुनेथिएन। यो तथ्य हो। के अय्यूबलाई परमेश्‍वर मानिसहरूले गर्ने आफ्ना बचावहरू सुन्नुहुन्न भन्ने थाहा थियो? अय्यूबलाई थाहा थिएन, तर उसले आफ्नो बचाव गरेन। उसको कद यस्तो थियो; ऊ साँचो रूपमा समर्पित थियो। परमेश्‍वरले अय्यूबलाई त्यसरी व्यवहार गर्नुपर्ने त्यस्तो के खराब कुरा उसले गरेको थियो? उसले कुनै खराब कुरा गरेको थिएन। परमेश्‍वरले अय्यूब उहाँको डर मान्छ र दुष्टताबाट अलग बस्छ, र ऊ सिद्ध व्यक्ति हो भनेर भन्नुभयो। “अपमान” का सन्दर्भमा भन्नुपर्दा, परमेश्‍वरले अय्यूबलाई ती अनादरहरू भोग्न लगाउनु हुँदैनथ्यो, उसलाई शैतानका हातमा सुम्पनु हुँदैनथ्यो अनि शैतानलाई उसलाई जाँचेर उसका सबै सम्पत्ति खोस्न दिनु हुँदैनथ्यो। यसलाई समर्पित नहुने मानिसहरूको तर्कको हिसाबले हेर्दा, अय्यूबले कष्ट र ठूलो अनादर भोग्यो, अनि उसले ती परीक्षाहरू पाउँदा परमेश्‍वरबाट पछि अझ धेरै आशिष् पाउन अपमान सहिरहेको र गह्रौँ बोझ बोकिरहेको थियो। वास्तवमा के यो साँचो थियो? (थिएन।) के अय्यूबले यसरी सोचेको र अभ्यास गरेको थियो? (थिएन।) उसले कसरी अभ्यास गऱ्यो? उसले यी परीक्षाहरूलाई कसरी सम्हाल्यो? उसले सहनुपरेन, न त उसलाई अनादर भोगिरहेको छु भन्ने नै लाग्यो। उसले के सोच्यो? (परमेश्‍वरले दिनुभयो र उहाँले नै लिनुभयो।) ठिक भनिस्। मानिसहरू परमेश्‍वरबाट आउँछन्। परमेश्‍वरले तँलाई जीवन र सास दिनुभयो। तँ सम्पूर्ण रूपले परमेश्‍वरबाट आएको होस्, त्यसोभए के तैँले प्राप्त गर्ने सबै कुरा परमेश्‍वरले तँलाई दिएका कुरा होइनन् र? तैँले घमण्ड गर्नुपर्ने कुरा के छ? सबै कुरा परमेश्‍वरले दिनुहुन्छ, त्यसैले यदि परमेश्‍वरले त्यो लान चाहनुहुन्छ भने, तैँले तर्क गर्नुपर्ने के कारण छ? उहाँले तँलाई केही कुरा दिनुहुँदा, तँ खुसी हुन्छस्, अनि उहाँले तँलाई कुनै कुरा नदिँदा, तँ बेखुस हुन्छस्, परमेश्‍वरबारे गुनासो गर्छस्, परमेश्‍वरबाट त्यो कुरा माग्छस्, र परमेश्‍वरसँग लडाइँ गर्छस्। परमेश्‍वरले तँलाई केही कुरा दिनुहुन्छ वा दिनुहुन्न भन्ने कुरा उहाँमै निर्भर हुन्छ; त्यसमा मानिसहरूले तर्क गर्नुपर्ने केही कारण छैन। के अय्यूबले यस्तै व्यवहार गऱ्यो? (हजुर।) अय्यूबले यस्तै व्यवहार गऱ्यो। के उसको हृदयमा अन्यायको बोध भयो? (भएन।) अहँ, भएन। यसलाई बाहिरबाट हेर्दा, अय्यूबसित अन्यायविरुद्ध आवाज उठाउने, आफूलाई सही साबित गर्न तर्क-वितर्क गर्ने, आफ्नो बचाउ गर्ने, परमेश्‍वरविरुद्ध उभिने, र परमेश्‍वरलाई सबै कुरा स्पष्ट र खुल्ला रूपमा व्याख्या गर्ने पर्याप्त कारण थियो। यी कुराहरू गर्न सबैभन्दा लायक ऊ नै थियो, तर के उसले त्यसो गऱ्यो? अहँ, उसले गरेन। उसले एक शब्द पनि भनेन, केवल केही कामकुरा गऱ्यो: उसले आफ्‍नो खास्टो च्यात्यो, आफ्‍नो कपाल खौऱ्यो, भुईँमा लम्पसार पऱ्यो र आराधना गऱ्यो। यी श्रृङ्खलाबद्ध कार्यहरूले मानिसहरूलाई उसलाई केका रूपमा हेर्ने तुल्याए? परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, अनि सिद्ध व्यक्ति। सिद्ध व्यक्तिको परिभाषा के हो? परमेश्‍वरले गर्ने कुराको कुनै आलोचना नगर्ने, बरु त्यसको प्रशंसा गर्ने र त्यसप्रति समर्पित हुने, अनि आफूले जति नै ठूलो कष्ट भोगे पनि “मैले अन्याय भोगेको छु। यो अपमान हो” भन्दैन। उसले जति नै ठूलो कष्ट भोगे पनि, कहिल्यै यस्तो एक शब्द प्रदर्शन गर्दैन, वा यस्तो एक शब्द भन्दैन। यसलाई के भनिन्छ? गैरविश्वासीहरू यसलाई “आफूलाई त्याग्नु” भन्छन्। यहाँ तर्क कहाँ छ? के कुरा यही हो? (होइन।) “आफूलाई त्याग्नु” भनेको मानसिक रोग र बकवास हो। अय्यूबलाई जति नै ठूलो वा जति नै पीडादायी मामला आइपरे पनि, उसले कहिल्यै परमेश्‍वरसँग बहस गरेन वा उहाँसँग लडाइँ गरेन; ऊ केवल समर्पित भयो। ऊ समर्पित हुनुको सुरुवाती कारण के थियो? परमेश्‍वरको डर। उसको समर्पित हुने क्षमता परमेश्‍वरसम्बन्धी उसको बुझाइबाट आएको हो। उसले सबथोक परमेश्‍वरबाट आउँछ, र परमेश्‍वरले गर्ने हरथोक सही हुन्छ भनेर विश्वास गऱ्यो।

बर्खास्त गरिएका कतिपय टोली अगुवा र सुपरिवेक्षकहरू निरन्तर रुन्छन्, रिस पोखाउँछन्, र भावुक बन्छन्। तिनीहरूलाई आफूले अन्याय भोगेको छु भन्ने लाग्छ, तिनीहरू परमेश्‍वर धर्मी हुनुहुन्न भनेर गुनासो गर्छन्, अनि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको खुलासा र रिपोर्ट गरेर तिनीहरूलाई अन्याय गरेका छन् भन्ने सोच्छन्, र भन्छन्, “तिमीहरूमा विवेक छैन। म तिमीहरूलाई राम्रो गर्थेँ, तर तिमीहरूले मलाई यसरी गुन तिर्यौ! परमेश्‍वर धर्मी हुनुहुन्न। मैले यस्तो ठूलो अन्याय भोगेको छु, तैपनि परमेश्‍वरले मलाई सुरक्षा दिनुभएन; तिनीहरूले मलाई त्यतिकै कठोरतासाथ बर्खास्त गरे। तिमीहरू सबै मलाई तुच्छ ठान्छौ, र परमेश्‍वर पनि मलाई तुच्छ ठान्नुहुन्छ!” तिनीहरू आफूलाई एकदमै अन्यायपूर्ण व्यवहार गरिएको छ भन्ने सोच्छन् र रिस पोखाउँछन्। मलाई बता त, के यस्तो व्यक्ति समर्पित हुन सक्छ? मैले देखेअनुसार यो सजिलो छैन। त्यसोभए, तिनीहरू सक्किएका होइनन् र? तँ केका लागि रिस पोखाउँछस्? यदि तँ यो स्विकार्न सक्छस् भने, स्विकार्। यदि तँ सत्यता स्विकार्न सक्दैनस्, र सत्यताप्रति समर्पित हुन सक्दैनस् भने, परमेश्‍वरको घरबाट निस्केर जा! परमेश्‍वरमा विश्वास नगर्—कसैले तँलाई बाध्य पारिरहेको छैन। तँलाई कस्तो अन्याय भएको छ? तँ केका लागि रिस पोखाउँछस्? यो परमेश्‍वरको घर हो। यदि तँसँग हिम्मत छ भने, गएर समाजमा रिस पोख्, अनि रिस पोखाउन शैतान र दियाबलस राजाहरू खोज्न जा। परमेश्‍वरको घरमा रिस नपोख्। तँ टोली अगुवाबाट बर्खास्त भइस् भने त्यो के ठूलो कुरा हो र? तँ टोली अगुवा होइनस् भने पनि अझै जिउन सक्छस् त, सक्दैनस् र? यदि तँ टोली अगुवा होइनस् भने, के तैँले परमेश्‍वरमा विश्वास गर्नेछैनस्? अय्यूबले यस्तो ठूलो कष्ट भोग्यो, तर उसले के भन्यो? उसले एक शब्द पनि गुनासो गरेन, र यसो भन्दै परमेश्‍वरको प्रशंसासमेत गऱ्यो: “यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। के उसले प्रशस्त इनाम र लाभ पाएका कारण यहोवाको नामको प्रशंसा गरेको थियो? होइन। उसले त्यसरी नै बुझ्यो, र त्यसरी नै अभ्यास गऱ्यो। के यसको सम्बन्ध व्यक्तिको चरित्रसित पनि छैन र? (छ।) कतिपय मानिसको चरित्र नीच हुन्छ, र तिनीहरूलाई अलिकति अन्याय हुँदा, तिनीहरू आफूलाई अत्यन्तै अन्यायपूर्ण व्यवहार गरिएको छ, र संसारका सबै मानिसले त्यसबारे दोषी महसुस गर्नुपर्छ र तिनीहरूसँग माफी माग्नुपर्छ भन्ने सोच्छन्। यी मानिसहरूले साह्रै दुःख दिन्छन्! तँ “अनादर” शब्दलाई कसरी व्याख्या गर्छस्? अनादर भोग्नु गैरविश्वासीहरूका लागि सामान्य घटना हो, तर परमेश्‍वरको घरमा यसलाई फरक तरिकाले भनिन्छ: सत्यता प्राप्त गर्नका निम्ति कष्ट र अनादर भोग्नु मानिसहरूले भोग्नुपर्ने कष्ट हो। सत्यता बुझ्ने मानिसहरूलाई काँटछाँट गरिए पनि वा बर्खास्त गरिए पनि, तिनीहरू यसलाई अनादर ठान्दैनन्। तिनीहरू आफू कष्ट भोग्न लायक छु, र मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले तिनीहरू यसप्रति समर्पित हुन सक्दैनन्, तर त्यो अनादर होइन भन्ने सोच्छन्। कसले चाहिँ साँच्चै अनादर भोग्छ? अनादर भोग्ने त परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वर मानवजातिलाई मुक्ति दिनुहुन्छ, तर मानिसहरू बुझ्दैनन्। हेर्, परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रबाट निकालेपछि तिनीहरूले मूर्तिपूजा गरे। तिनीहरूले खानका लागि आफूसँग केही नहुँदा, परमेश्‍वरबारे गुनासो गरे, र परमेश्‍वरले तिनीहरूलाई मन्ना र अन्य खानेकुरा पठाउनुपऱ्यो। केही राम्रा दिनहरू बितेपछि तिनीहरूले परमेश्‍वरलाई वास्ता गरेनन्, तर आफूलाई कठिनाइहरू आइपरेपछि फेरि उहाँलाई खोजे। के तिमीहरू उहाँले ठूलो अनादर भोग्नुभयो भनेर भन्दैनौ र? देहधारी परमेश्‍वरलाई युगहरूले इन्कार गर्दा के उहाँले ठूलो अनादर भोग्नुहुन्न र? मानिसहरू केही होइनन्, र केही कुरामा सक्षम छैनन्। तिनीहरू परमेश्‍वरले दिने धेरै अनुग्रहको आनन्द लिन्छन्, र परमेश्‍वरले प्रदान गर्ने धेरै सत्यताको आनन्द लिन्छन्, तर आफूले पाउनुपर्ने अलिकति कष्ट भोग्दा, तिनीहरूलाई त्यो एकदमै अन्यायपूर्ण लाग्छ। मानिसहरू कस्तो अन्याय भोग्छन्? कतिपय मानिसमा सामान्यतया निकै दृढता हुन्छ, तर जब तिनीहरूले अलि कष्ट भोग्छन्—जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई काटछाँट गर्छन्, वा कसैले तिनीहरूलाई अप्रिय कुरा भन्छन्, वा तिनीहरूलाई कसैले साथ दिँदैन वा चापलूसी गर्दैन—तब तिनीहरू दबाइएको महसुस गर्छन्, आफूले ठूलो कष्ट भोगेको, र आफूलाई अन्याय भएको महसुस गर्छन्, र यस्तो गुनासो गर्छन्, “तिमीहरू सबैले मलाई तुच्छ ठान्छौ, र कसैले मलाई वास्ता गर्दैन। दुर्व्यवहार भोग्नु त मेरो भाग्यमै रहेछ!” तँ केका लागि रिस पोखाउँदै छस्? ती कुराहरू भनेर के फाइदा? के ती शब्दहरूमध्ये कुनै सत्यताअनुरूप छन्? (छैनन्।) त्यसोभए यसले के अर्थ राख्छ—के यो अपमान हो? तँ आफूले भोग्नुपर्ने कष्ट प्रस्टसित देख्न सक्दैनस्, र त्यो स्विकार्दैनस्। तैँले यतिका धेरै प्रवचन सुनेको छस्, तर मानिसहरूले कसरी सत्यता अभ्यास गर्नुपर्छ र तिनीहरू कसरी समर्पित हुनुपर्छ भनेर बुझ्दैनस्। तँलाई यसको केही पनि थाहा छैन, र तँ अझै आफूले एक प्रकारको ठूलो अनादर भोगेको छु भन्ने सोच्छस्। के तैँले अनुचित व्यवहार गरिरहेको छैनस् र? परमेश्‍वरको मुक्ति स्विकार्ने मानिसहरूका लागि के यो अपमानको अस्तित्व छ? (छैन।) कहिलेकाहीँ दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अवश्य नै अन्यायपूर्ण व्यवहार गर्ने भए पनि, तैँले त्यो कसरी अनुभव गर्नुपर्छ? उदाहरणका लागि, कुनै ठाउँमा पचास डलरको नोट लडिरहेको छ, र तँ त्यसको छेउछाउबाट हिँडेपछि त्यो गायब हुन्छ अनि सबैले त्यो तैँले नै लगेको होस् भनेर शङ्का गर्छन्। तैँले के गर्नेथिइस्? तँलाई मनमा दुःख लाग्नेथ्यो र तँ हतासिनेथिइस्: “म गरिब भए पनि मेरो नैतिकता अझै मरेको छैन। म अझै आफ्नो मर्यादाको ख्याल गर्छु। मैले कहिल्यै अरू कसैको कुनै कुरा लिएको छैनँ। मेरो हात एकदमै सफा छ। तिमीहरू सधैँ मलाई तुच्छ ठान्छौ, र यस्तो हुँदा मलाई नै सबैभन्दा पहिला शङ्का गर्छौ। परमेश्‍वरले मेरो पक्षबाट कुरा स्पष्ट पार्नुभएको छैन। यस्तो लाग्छ, उहाँले पनि मलाई मन पराउनुहुन्न!” तँ रिस पोखाउँछस्। के यो अपमान हो? (होइन।) त्यसोभए, तैँले यस परिस्थितिमा के गर्नुपर्छ? यदि तैँले त्यो लिएको भए, लिएको स्वीकार गर् र फेरि कहिल्यै कुनै कुरा नलिने कसम खा। यदि तैँले नलिएको भए, यसो भन्, “मैले त्यो लिएको छैनँ। परमेश्‍वरले मानिसहरूको गहनतम हृदय नियाल्नुहुन्छ। जसले त्यो पैसा लिएको हो, उसलाई त्यो थाहा छ, र परमेश्‍वरलाई पनि त्यो थाहा छ। म अरू एक शब्द बोल्दिनँ।” तैँले यसो भन्नुपर्दैन, “तिमीहरू मलाई तुच्छ ठान्छौ। तिमीहरू सबै मलाई हैरान पार्न चाहन्छौ।” ती कुराहरू भन्नुको के फाइदा? के त्यस्ता धेरै कुराहरू भन्नु राम्रो हो? (होइन।) किन होइन? यदि तैँले त्यस्ता धेरै कुरा भनिस् भने, त्यसले एउटा तथ्य प्रमाणित गर्छ: परमेश्‍वर तेरो हृदयमा हुनुहुन्न; तँ परमेश्‍वरमा विश्वास गर्दैनस्, र तँमा परमेश्‍वरप्रति साँचो विश्वास छैन। तैँले साँचो कुरा बताएपछि, परमेश्‍वरलाई थाहा हुन्छ। उहाँले मानिसहरूको गहनतम हृदय नियाल्नुहुन्छ, र मानिसहरूले भन्ने र गर्ने हरकुराको छानबिन गर्नुहुन्छ। अन्य मानिसहरू त्यसलाई कसरी हेर्न चाहन्छन्, त्यो तिनीहरूमा भर पर्छ। तँलाई परमेश्‍वर यी सबै कुरा जान्नुहुन्छ, र धेरै कुरा भन्नु आवश्यक छैन भन्ने विश्वास हुन्छ। के तँ व्यथित हुनुपर्छ? अहँ, पर्दैन। यस मामिलाको के नै महत्त्व छ र? तँलाई परमेश्‍वरमा विश्वास गरेकोमा बदनाम र आलोचना गरिँदा, आफूले अन्याय भोगेको महसुस हुन्छ, तर के तँ यसबारे स्पष्टसित कुरा गर्न सक्छस्? तैँले एकचित्त भई तिनीहरूविरुद्ध आफ्नो बचाउ गरेर उचित मामलामा ढिलाइ गरिरहेको हुन्छस्। यो व्यर्थको कुरा हो, होइन र? तिनीहरूसँग बहस गर्नुको के फाइदा? यो सत्यता अभ्यास गर्नु होइन।

मानिसहरूले परमेश्‍वरको मुक्ति अनुभव गर्ने क्रममा धेरै कष्ट भोग्छन्। के मानिसहरूले भोग्ने कष्ट अनादर हो? (होइन।) निश्चय नै होइन। म किन त्यसो भन्छु? (किनभने मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्, मानिसहरूले यो कष्ट भोग्नुपर्छ।) मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्—यो त्यसको पाटो हो। त्यसबाहेक, तैँले सत्यताको जुन पक्ष बुझ्दैनस् र तँभित्रको जुन पाटो अझै नकारात्मक छ, तैँले त्यसलाई अघि सारेर त्यसबारे सङ्गति गर्न सक्छस्। तैँले त्यसलाई मनमा कैद गरिराख्नु पर्दैन। सङ्गतिको उद्देश्य के हो? (समस्या समाधान गर्नु।) सत्यता खोज्नु, सत्यता बुझ्नु, र भित्र भएका समस्याहरू समाधान गर्नु। तैँले तिनलाई मनमा कैद गरिराख्नु पर्दैन। तैँले अनादर भोग्नुपर्दैन। तैँले यसो भन्दै सहनुपर्दैन, “म बुझ्दिनँ, तैपनि मलाई अझै समर्पण गर्न लगाइँदै छ। मैले समर्पण गर्नुअघि बुझ्नैपर्छ।” यदि तैँले बुझिनस् भने, सङ्गति गर्न सक्छस्। सत्यताको खोजी गर्नु सही मार्ग हो। यो गलत होइन। कतिपय कुराबारे सङ्गति गर्दा र तिनलाई स्पष्टसित व्याख्या गर्दा, मानिसहरूले के गर्ने भनी थाहा पाउनेछन्। तैँले सत्यता खोजी गर्ने मनोवृत्ति राख्नुपर्छ, र सत्यता खोजेर समस्या समाधान गर्नुपर्छ। यदि तँ सत्यता बुझ्दैनस् र समर्पित हुने अभ्यास मात्र गर्छस् भने, अन्त्यमा तैँले अझै आफ्नो समस्या समाधान गर्न सक्नेछैनस्। तसर्थ, तँ समर्पित हुन आवश्यक भए पनि, तैँले भ्रमित वा सिद्धान्तहीन तरिकाले समर्पित हुनुपर्दैन। तथापि, समर्पणभित्र सबैभन्दा आधारभूत सिद्धान्त हुन्छ, जुन के हो भने, तँ आफूले नबुझ्दा पहिला समर्पित हुनुपर्छ, तँमा समर्पित हृदय, र समर्पित मनोवृत्ति हुनुपर्छ। मानिसहरूमा हुनुपर्ने चेतना यही हो। यो हासिल गरेपछि, बिस्तारै खोजी गर्। यसरी, तँ परमेश्‍वरको स्वभावलाई चिढ्याउनदेखि जोगिन सक्छस्, अनि सुरक्षित हुन र अन्त्यसम्म पुग्न सक्छस्। के परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्न, निन्दा गर्न, अनि न्याय गर्न र सराप्नसमेत प्रयोग गर्ने सबै शब्दहरू मानिसहरूलाई अपमान गर्नका लागि हुन्? (होइनन्।) के मानिसहरूलाई यो सब सहन एकदमै ठूलो धैर्य चाहिन्छ? (चाहिँदैन।) अहँ, तिनीहरूलाई त्यो चाहिँदैन। त्यसविपरीत, मानिसहरूलाई यो सब स्विकार्न अत्यधिक विश्वास चाहिन्छ। तैँले यो स्विकारेर मात्र शैतानको भ्रष्ट प्रकृति ठ्याक्कै के हो, मानिसहरूको भ्रष्ट सार ठ्याक्कै के हो, परमेश्‍वरप्रतिको मानिसहरूको शत्रुताको स्रोत ठ्याक्कै के हो, अनि मानिसहरू किन परमेश्‍वरसँग मिल्दैनन् भनेर साँचो रूपमा बुझ्न सक्छस्। तैँले यी समस्याहरू समाधान गर्न सक्नुअघि परमेश्‍वरका वचनमा सत्यताको खोजी गर्नैपर्छ। यदि तैँले सत्यता स्वीकार गरिनस् भने, र परमेश्‍वरका वचनले जति नै स्पष्टसँग कामकुराबारे बताए पनि, तँ त्यो स्विकार्दैनस् भने, तैँले ती समस्याहरू कहिल्यै समाधान गर्नेछैनस्। तैँले “परमेश्‍वरका वचनले हाम्रो अपमान गर्दैनन्; हाम्रो खुलासा मात्र गर्छन्, र ती हाम्रै भलाइका लागि हुन्” भनेर बुझिस् भने पनि, यसलाई धर्मसिद्धान्तका रूपमा मात्र स्विकार्छस्; तैँले परमेश्‍वरले भन्ने हरकुराको साँचो अर्थ, वा यो कस्तो परिणाम हासिल गर्नका लागि हो भनेर कहिल्यै बुझ्नेछैनस्। तैँले परमेश्‍वरले कुरा गर्ने गरेको सत्यता ठ्याक्कै के हो भनेर पनि कहिल्यै बुझ्नेछैनस्। यसरी सङ्गति गरेपछि, के यसले निश्चित हदसम्म मानिसहरूलाई काटछाँट स्विकार्नुप्रति, बर्खास्त स्विकार्नुप्रति, अनि मानिसहरूका धारणासँग मेल नखाने परमेश्‍वरले गर्ने काम, प्रबन्ध र सार्वभौमिकताप्रति सक्रिय र सकारात्मक मनोवृत्ति राख्न लगाउन सक्दैन र? (सक्छ।) कम्तीमा पनि, मानिसहरूले परमेश्‍वरले गर्ने हरकुरा सही हुन्छ, आफूले यसलाई नकारात्मक तरिकामा बुझ्नु हुँदैन, र आफूले पहिला राख्नुपर्ने मनोवृत्ति भनेको सक्रिय रूपले त्यो स्विकार्नु, त्यसप्रति समर्पित हुनु र त्यससँग सहकार्य गर्नु हो भनेर सोच्नेछन्। परमेश्‍वरले मानिसहरूप्रति गर्ने हरकुराका लागि तिनीहरूलाई बलियो धैर्य चाहिँदैन। त्यसको अर्थ, तैँले यो सब सहनुपर्दैन। तैँले के गर्नुपर्छ? तैँले गर्नुपर्ने भनेको स्विकार्नु, खोजी गर्नु, र समर्पित हुनु हो। गैरविश्वासीहरूले प्रयोग गर्ने “अपमान सहनु” भन्ने शब्द मानिसहरूप्रति स्पष्टतः दुर्व्यवहारपूर्ण हुन्छ। परमेश्‍वरले गर्ने कुनै कुरामा तैँले अपमान सहनु आवश्यक छैन। तैँले धैर्य, प्रेम, विनम्रता, साथै समर्पण, स्वीकार, इमानदारी, खुल्लापन, र खोजी अभ्यास गर्न सक्छस्; यी कुराहरू तुलनात्मक रूपले सकारात्मक हुन्छन्। त्यसैले, गैरविश्वासीहरूले भनिरहेको कुरापछाडिको तर्क के हो? त्यो शैतानी दर्शन, र शैतानी झुट हो। सङ्क्षेपमा भन्नुपर्दा, अपमान सहनु भनेको परमेश्‍वरमा विश्वास गर्नेहरूले पालन गर्नुपर्ने सिद्धान्त होइन। त्यो सत्यता होइन; त्यो शैतानी कुरा हो। अपमान सहनु भनेको मानिसहरूले गरून् भनी परमेश्‍वरले माग गर्ने कुरा होइन, किनभने यहाँ अपमानको कुनै अस्तित्व छैन। मानिसहरूप्रति परमेश्‍वरका सबै कार्य प्रेम, मुक्ति, तिनीहरूको हेरचाह र सुरक्षाका कार्य हुन्। परमेश्‍वरले भन्ने कुराहरू, र उहाँले मानिसहरूमा गर्ने काम सबै सकारात्मक हुन्छन् र ती सबै सत्यता हुन्। तीमध्ये अलिकति पनि शैतानका कुराजस्ता होइनन्, अनि त्यसमा शैतानका कुनै पनि पद्धति र माध्यमहरू हुँदैनन्। परमेश्‍वरका वचन स्वीकार गरेर मात्र मानिसहरू शुद्ध हुन र तिनीहरूले मुक्ति पाउन सक्छन्।

शैतानले चर्चा गर्ने गरेको “अपमान सहने” कार्य मानिसहरूमा कुन-कुन तरिकामा प्रकट हुन्छ? त्यो मानिसहरूमा हानि, दुर्व्यवहार, विध्वंस र कुल्चिमिल्ची गर्नुका रूपमा प्रकट हुन्छ। सङ्क्षेपमा, त्यसले तँमाथि विपत्ति ल्याउँछ। तैँले कष्ट वा अपमान जे भोगेको भए पनि, छोटकरीमा भन्दा, शैतानले मानिसहरूलाई भोगाउने कुराहरूबाट अन्त्यमा तिनीहरूले प्राप्त गर्ने कुरा निश्चय नै सत्यता होइन। मानिसहरूले के प्राप्त गर्छन्? पीडा। शैतानले मानिसहरूमा अनगिन्ती प्रकारका अपमान र उपहास, साथै दुर्व्यवहार र भ्रष्टता निम्त्याउँछ। त्यसोभए, त्यसले मानिसहरूमा के हासिल गर्छ र तिनीहरूलाई के महसुस गराउँछ? त्यसले मानिसहरूलाई गुनासो सहन र आफूलाई जोगाउन सम्झौता गर्न लगाउँछ, अनि तिनीहरूलाई भित्र विकृत बन्ने समेत तुल्याउँछ। मानिसहरूले यो सबलाई सम्हाल्न र व्यवहार गर्न सबै प्रकारका तरकिब र पद्धति प्रयोग गर्न सिक्छन्, अनि मानिसहरूलाई चिप्लो घस्न, नाटक गर्न र झुट बोल्न सिक्छन्। जब मानिसहरू यी सबै कुरा प्रकट गर्छन् र देखाउँछन्, तब तिनीहरूको हृदय इच्छुक, खुसी, र शान्त हुन्छ कि रिसाएको र पीडामा हुन्छ? (रिसाएको र पीडामा हुन्छ।) मानिसहरूले यस संसारमा अझ बढी अपमान सहँदा तिनीहरूको हृदयको रिस बढ्छ कि घट्छ? (बढ्छ।) त्यसोभए, मानिसहरूले मानवजातिलाई झन्-झन् धेरै शत्रुवत् तरिकाले हेर्छन् कि झन्-झन् प्रेमिलो तरिकाले हेर्छन्? (शत्रुवत् तरिकाले।) मानिसहरू मानवजातिलाई झन्-झन् धेरै शत्रुवत् तरिकाले हेर्छन् र आफूले देख्ने जति सबैलाई घृणा गर्छन्। मानिसहरू जवान छँदा र भर्खरै समाजमा प्रवेश गरेको बेला, सबथोक निकै राम्रो देख्छन्, र एकदमै सहजतासाथ मानिसहरूलाई भरोसा गर्छन्। जब तिनीहरू तीसका दशकमा लाग्छन्, तब मानिसहरूलाई त्यति भरोसा गर्न छोड्छन्। जब तिनीहरू चालिसका दशकमा लाग्छन्, तब धेरैजसो मानिसहरूलाई भरोसा गर्दैनन्, र जब तिनीहरू पचासका दशकमा पुग्छन्, तब तिनीहरूको हृदय घृणाले भरिएको हुन्छ अनि तिनीहरू आफ्नो व्यवहार बदलेर अरूलाई हानि गर्ने झुकाव राख्छन्। मानिसहरू घृणाले भरिनुअघि के सहन्छन्? त्यो सबै अपमान र पीडा हो। तँसँग अरूमा हुने क्षमता र शक्ति नहुँदा, जब अरूले तँ केही होस् भनेर भन्छन्, तब तैँले तुरुन्तै मानिहाल्नुपर्छ, अनि जब तिनीहरूले तँलाई सराप्छन्, तैँले सुन्नैपर्छ। तैँले गर्न सक्ने केही छैन, तर तँ मनमा के सोच्छस्? “मसँग शक्ति भएको दिन, म तँलाई आफ्नै हातले मार्नेछु र तेरो तीन पुस्तालाई सखाप पार्नेछु!” तेरो हृदयको घृणा झन्-झन् बढ्दै जान्छ। अपमान सहनु र गह्रौँ बोझ बोक्नुले भ्रष्ट मानवजातिमाथि ल्याउने नतिजा यही हो। मानिसहरू सोच्छन्, समाजले प्रशंसा गर्ने र बढावा दिने गरेको अपमान सहने र गह्रौँ बोझ बोक्ने काम सकारात्मक कुरा हो, अनि त्यो एक प्रकारको मानसिकता र सोच्ने तरिका हो, जसले मानिसहरूलाई कडा परिश्रम गर्न र अझ बलियो बन्नका लागि लागिपर्न सक्षम बनाउँछ। त्यसोभए, यसले किन अन्त्यमा मानिसहरूमा रिस र घृणा पैदा गर्छ? (किनभने यो सत्यता होइन।) सही भनिस्। त्यो सत्यता नभएकाले त्यसले यो प्रतिकूल परिणाम ल्याउँछ। समाज र गिरोहहरूमा के कुराले पुस्तौँपुस्तासम्मको रिसराग र बदलाको भावनाले गरिने हत्या उत्पन्न गराउँछ? (मानिसहरूले अपमान भोगेपछि तिनीहरूका हृदयको घृणा बढेर जान्छ र तिनीहरू बदलाको भावनाले हत्या गर्छन्।) ठिक भनिस्, बदलाको भावनाले गरिने हत्या त्यसरी नै उत्पन्न हुन्छ। पुस्ता दर पुस्ता, मानिसहरू मानवजाति विपत्तिले नष्ट नहुञ्जेल एकअर्कालाई क्रूरतापूर्वक हत्या गर्छन्। नतिजा यही हुन्छ। मानवजाति शैतानको दर्शन र तर्कअनुसार जिएको छ अनि शैतानको सत्ताअन्तर्गत वर्तमान समयसम्म क्रमिक रूपमा विकास हुँदै आएको छ। मानिसहरूबीचको सम्बन्ध झन्-झन् टेढो हुँदै गएको छ, झन्-झन् टाढिँदै छ, झन्-झन् बढी भरोसा टुट्दै जाँदै छ, र झन्-झन् चिसिँदै छ। अहिले त्यो कुन मोडमा पुगेको छ? अहिले त्यो एकअर्कासँग कुनै सम्बन्ध नभएका दुई मानिसको हृदय आपसी घृणा र आपसी शत्रुताले भरिएको मोडमा पुगेको छ। विगतमा, छिमेकीहरू बारम्बार सम्पर्कमा रहिरहन्थे र एकअर्कासँग प्रायः भलाकुसारी गर्थे, तर अहिले, कुनै व्यक्ति मरेको पाँच-छ दिन भइसकेको हुन सक्छ, तर उसको छिमेकीलाई अत्तोपत्तो हुँदैन; कसैले पनि ऊबारे ध्यान दिँदैन। परिस्थिति कसरी यस मोडमा पुग्यो? त्यो आपसी घृणाका कारण यस मोडमा पुगेको हो। तँ अरूले तँप्रति वैरभाव राखून् भन्ने चाहँदैनस्, तर त्यो सँगसँगै तँचाहिँ अरूप्रति वैरभाव राख्छस्—यो एउटा दुष्चक्र हो। यो शैतानका नियमले मानवजातिमाथि ल्याएको प्रतिकूल परिणाम र विपत्ति हो। मानिसहरूले हृदयमा अरूप्रति राख्ने दृष्टिकोण र छाप झन्-झन् धेरै प्रतिकूल बन्दै गइरहेका छन्, त्यसैले तिनीहरू अपमान सहन र गह्रौँ बोझ बोक्नमा झन्-झन् खप्पिस बन्छन् अनि तिनीहरूका हृदयमा रिस र घृणा बढ्दै गएर अन्त्यमा तिनीहरू यसो भन्छन्, “तिनीहरू सबै मरेका भए र एक जना पनि जीवित नभएका भए राम्रो हुनेथ्यो!” के सबैको हृदय यस्तो घृणाले भरिएको हुँदैन र? तिनीहरू यो संसार जतिसक्दो चाँडो नष्ट होस् भन्ने चाहन्छन्: “सबै मानिसहरू चरम रूपमा खराब हुन्छन्। तिनीहरू नष्ट हुन लायक छन्!” तँ अरू मानिसहरू भित्री रूपमै खराब छन् भनेर भन्छस्, तर तँ नि? के तँ साँच्चै परिवर्तन भएको हुन सक्छ? के तैँले मुक्ति पाइसकेको हुन सक्छ? तैँले चरम रूपमा खराब भएकामा घृणा गरिरहँदा, तँ तिनीहरूभन्दा असल हुनुपर्छ। यदि तँ संसारका मानिसहरू जत्तिकै खराब छस् भने, तँमा समझ छैन। जब समझ भएको व्यक्तिले मानवजाति चरम रूपमा खराब छ भन्ने देख्छ, तब उसले परमेश्‍वरलाई सन्तुष्ट पार्न सत्यता पछ्याउनुपर्छ र मानव रूपमा जिउनुपर्छ—यो नै उपयुक्त कुरा हो। यसरी, परमेश्‍वरले यो दुष्ट मानवजातिलाई नष्ट गर्नुहुँदा, तिनीहरू जोगिनेछन्।

के तिमीहरू यो दुष्ट मानवजातिलाई घृणा गर्छौ? (गर्छौँ।) परमेश्‍वरमा विश्वास गर्ने धेरैजसो मानिसमा केही मानवता र समझ हुन्छ; तिनीहरूको हृदय झनै दयालु हुन्छ, तिनीहरू ज्योतिको तृष्णा गर्छन्, र परमेश्‍वर र सत्यताले शक्ति हातमा लिऊन् भन्ने तृष्णा गर्छन्। तिनीहरू दुष्ट र अनुचित कुराहरू मन पराउँदैनन्। तिनीहरू मानवजातिका लागि आशा, प्रेम र सहनशीलताले भरिएको हुनुपर्ने हो भने तिनीहरूले कसरी मानवजातिलाई घृणा गर्न सक्छन्? कतिपय मानिसहरू भन्छन्, “म स्कूलमा छँदाको समयबारे फर्केर सोच्दा, शिक्षकले मलाई हैरान पार्थ्यो, तर मैले त्यसबारे बोल्ने आँट गरिनँ; मैले त्यो सहनुपऱ्यो। त्यसैले, मैले मेहनतसाथ पढेर भविष्यमा विश्वविद्यालय जाने मन बनाएँ। म तिमीहरू सबैलाई मेरो खुबी देखाउनेछु, र त्यसपछि मचाहिँ तिमीहरूलाई हैरान पार्नेछु!” कतिपय मानिसहरू भन्छन्, “मैले जागिर खाँदाको समयबारे फर्केर सोच्दा, कम्पनीका शक्तिशाली मानिसहरूले सधैँ मलाई हैरान पार्थे, र म सोच्थेँ, ‘पख, म उपलब्धिहरू हासिल गरेर तिमीहरूलाई उछिन्नेछु। त्यसपछि म तिमीहरूको जीवन दुःखमय बनाइदिनेछु!’” अरू चाहिँ यसो भन्छन्, “मैले व्यापार गर्दाको समयलाई सम्झँदा, विक्रेता प्रबन्धकले मलाई जहिले पनि ठगी गर्थ्यो, र म सोच्थेँ, ‘मैले धेरै सम्पत्ति कमाएपछि म तँलाई ठिक पार्नेछु!’” कसैको पनि जीवन सजिलो हुँदैन, र सबैले कुनै न कुनै बेला हेपाइ खाएका हुन्छन्—तिनीहरूले मनमा घृणा गर्ने र हिसाब चुक्ता गर्नुपर्ने कतिपय मानिस हुन्छन्। संसार यस्तो भएको छ; यो घृणा र शत्रुताले भरिएको छ। मानिसहरूको एकअर्काप्रतिको शत्रुता अति चरम छ, तिनीहरू सामञ्जस्यपूर्वक मिलेर बस्न सक्दैनन् र तिनीहरूको सम्बन्ध सौहार्दपूर्ण छैन। यो संसार चाँडै समाप्त हुनेछ; यो अन्तिम घडीमा पुगेको छ। सबै जनासँग आफूले विगतमा कसैको, कतै न कतै हेपाइ खाएको, वा विगतमा कुनै कम्पनी, सङ्गठन, वा मानिसहरूको समूहका अरू कसैले हेपेको, तुच्छ ठानेको, छल गरेको र हानि गरेको आफ्नै दुःखलाग्दा कथाहरू हुन्छन्। यी कुराहरू चारैतिर हुने गर्छन्। यसले के प्रमाणित गर्छ? यसले अब मानवजातिमाझ नोआजस्ता कुनै मानिस छैन भन्ने प्रमाणित गर्छ। कुरा त्यही होइन त? (हो।) सबैको हृदय दुष्टताले भरिएको हुन्छ, अनि सत्यता, सकारात्मक कुरा र इन्साफप्रति शत्रुताले भरिएको हुन्छ। मानिसहरू मुक्ति पाउन नसक्ने भइसकेका छन्। मानिसहरूलाई मुक्ति दिन सक्ने कुनै व्यक्ति, शिक्षा र सिद्धान्त छैन—सत्य तथ्य यही हो। कतिपय मानिस अझै यस्तो आशा गर्छन्: “विश्वयुद्ध कहिले हुनेछ? युद्धपछि, मर्नलायक सबै जना मर्नेछन्, र बाँकी रहेका मानिसहरूले नयाँ सुरुवात गर्न सक्छन्। नयाँ युग सुरु हुनेछ, र नयाँ देश स्थापित हुनेछ।” के यो सम्भव छ? अहँ, छैन। कतिपय मानिस सबै प्रकारका विभिन्न धर्ममा आशा राख्छन्, तर अहिले प्रत्येक धर्म अस्ताउँदो स्थितिमा छ र ती सबैले अन्तिम सास लिइरहेका छन्। हरेक धर्म भित्रैदेखि कुहिएको हुन्छ र त्यसले कुख्याति कमाएको हुन्छ। मैले यी शब्दहरू भन्नुको मतलब के हो? त्यसको मतलब मानिसहरूलाई एउटा तथ्य बुझाउनु हो: यदि परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन वचनहरू र सत्यता प्रयोग नगर्नुभएको भए, मानवहरूभित्रको घृणा र क्रूर स्वभाव झन्-झन् खराब, र झन्-झन् व्याप्त मात्र हुँदै जानेथिए। अन्त्यमा, मानवजातिका लागि एक मात्र सम्भावना भनेको मानिसहरूले एकअर्कालाई क्रूरतापूर्वक मारेर आत्म-विनाश गर्नु हुनेथ्यो। वर्तमान समयमा, धेरै मानिस यो दुष्ट मानवजातिबाट अलग भई हिमाल र जङ्गलमा, वा मानव जीवनको कुनै नामोनिशान नभएका ठाउँमा गएर एक्लै जिउन चाहन्छन्। यसको परिणाम के हुन्छ? मानवजातिको सङ्ख्या बढ्न छोड्नेछ र अर्को पुस्ता हुनेछैन। वर्तमान पुस्तापछि मानवजाति विलुप्त हुनेछ—कुनै शाखासन्तान हुनेछैन। परमेश्‍वरप्रति मानवजातिको प्रतिरोध अति चरम छ, जसले उहाँको क्रोध जगाइसकेको छ। तिनीहरू चाँडै समाप्त हुनेछन्। किन धेरै मानिस विवाह गर्दैनन्? किनभने तिनीहरू छलमा परिन्छ भनेर डराउँछन्, अब कुनै असल मानिस छ भनेर विश्वास गर्दैनन्, र विवाहप्रति पूरै वैरभाव राख्छन्। यसको दोष कसलाई दिनुपर्छ? त्यसको दोष अति गहन रूपले भ्रष्ट भएका मानिसहरूलाई दे, त्यसको दोष शैतान र दियाबलसहरूलाई दे, र त्यसको दोष स्वेच्छाले भ्रष्टता स्विकार्ने मानिसहरूलाई दे। तँ अरूलाई घृणा गर्छस्, तर के तँ साँच्चै तिनीहरूभन्दा राम्रो छस्? तँमा सत्यता छैन, र तैँले अरूलाई व्यर्थैमा घृणा गर्छस्। यदि मानिसहरूमा सत्यता छैन र तिनीहरू सत्यता बुझ्दैनन् भने, अन्त्यमा तिनीहरू बन्द गल्लीमा पुग्नेछन् अनि विपत्तिमा परेर नष्ट हुनेछन्। तिनीहरूको अन्त्य यही नै हुनेछ। यदि परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुभएन भने, भ्रष्ट मानवजातिमाझ सत्यता बुझ्ने कोही हुनेछैन।

“अपमान” भनेको ठ्याक्कै के हो? के विश्वासीहरूले अपमान सहनुपर्छ? के यो “अपमान” अस्तित्वमा छ? (अहँ, यो अस्तित्वमा छैन।) यो अस्तित्वमा छैन, त्यसोभए के यो समस्या समाधान भएको छैन? तैँले अर्कोपटक कसैले यसो भनेको सुन्छस्: “तैँले विश्वासीका हैसियतमा सिक्नैपर्ने पहिलो कुरा भनेको सहनु हो। जे भए पनि, तैँले त्यो सहनैपर्छ र भित्र दबाउनैपर्छ।” के तैँले तिनीहरूले यी शब्दहरू भनेको सुन्दा तिनीहरूलाई केही कुरा भन्नुपर्छ? (पर्छ।) तैँले के भन्नुपर्छ? तँ भन्छस्: “तँ केका लागि सहँदै छस्? यदि तँ साँच्चै अपमान सहँदै छस् भने, तँ निकै दयनीय छस्, र यसले तँ सत्यता बुझ्दैनस् भन्ने देखाउँछ। यदि तैँले सत्यता बुझेको भए, यो अपमान अस्तित्वमा हुनेथिएन, अनि तैँले परमेश्‍वरद्वारा तेरा लागि योजनाबद्ध गरिएका सबै परिस्थिति स्वेच्छाले र खुसीसाथ स्विकार्नेथिइस्। यो मानिसहरूले भोग्नुपर्ने कष्ट हो, कुनै अपमान होइन। यो त परमेश्‍वरले तँलाई उच्च पारिरहनुभएको हो। हामीले यो कष्ट भोग्न सक्ने तथ्यले के प्रमाणित गर्छ भने, परमेश्‍वरले अझै पनि हामीलाई मौका दिइरहनुभएको छ र मुक्ति पाउन सक्ने बनाइरहनुभएको छ। यदि हामीले कष्ट सहने अवसरसमेत नपाएका वा हामी त्यसको योग्य नभएका भए, हामीले मुक्ति पाउने मौका पाउनेथिएनौँ। यो अपमान होइन; तँ त्यसबारे स्पष्ट हुनैपर्छ, र तैँले आफूले भनिरहेको कुरा वास्तवमै सही हो कि होइन भनेर हेर्नुपर्छ। यो अपमान अस्तित्वमा छैन—हामी भ्रष्ट मानिस हौँ र यो कष्ट भोग्न लायक छौँ। तँ बिमारी परेको बेला, औषधि लिँदा र शल्यक्रिया गर्दा अलिकति कष्ट त हुन्छ नै। के तैँले आफ्नो रोग निको पार्न भोग्ने कष्टलाई अपमान भन्न मिल्छ? त्यो अपमान होइन; त्यो त तँलाई निको पार्न गरिन्छ। परमेश्‍वरप्रतिको हाम्रो विश्वास अनि न्याय र सजायको अनुभव हाम्रो भ्रष्ट स्वभाव फाल्न, अनि मानव रूपमा जिउन, परमेश्‍वरको मागअनुसार जिउन, परमेश्‍वरप्रति समर्पित हुन, उहाँको आराधना गर्न, र अझ राम्रोसँग र अझ मर्यादासाथ जिउनका लागि हुन्। हामी आफ्ना भ्रष्ट स्वभावका कारण यो कष्ट भोग्न लायक छौँ। यो कष्ट भोगाइ सत्यता र जीवन पाउनका लागि हो। हामीले यसलाई अपमान भनेर अर्थ्याउन मिल्दैन। हामीले यसलाई आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व, अनि हिँड्नुपर्ने मार्गका रूपमा स्विकार्नुपर्छ। यो त परमेश्‍वरले उच्च पार्नुभएको हो, र हामीलाई उच्च पार्नुभएकोमा र उहाँले दिने मौकाका लागि हामीले परमेश्‍वरको प्रशंसा गर्नैपर्छ। हामीले गरेका सबै कुरा र हामीले व्यवहार गरेको तरिकाका आधारमा, हामी यो कष्ट भोग्नयोग्य छैनौँ, र हामी संसारका मानिसहरूजस्तै नष्ट पारिनुपर्छ। यदि हामी आफूले भोग्नुपर्ने कष्ट र परमेश्‍वरले हामीलाई दिएका यो सब अनुग्रहलाई अपमान ठान्छौँ भने, हामीमा विवेकको एकदमै कमी छ र हामीले परमेश्‍वरको हृदयमा चोट पुऱ्याइरहेका हुन्छौँ! हामी परमेश्‍वरको मुक्ति पाउनयोग्य छैनौँ।” कुरा यही होइन त? (हो।) धर्मसिद्धान्तको यो पक्ष एकदमै सरल छ। के व्यक्तिले त्यो कसैले नबताईकनै बुझ्न सक्नुपर्दैन र? यसरी अन्तर्दृष्टि पाएर र यी कुराहरू बुझेर, मानिसहरूको हृदय अझ धेरै ढुक्क हुनेछ, र तिनीहरूले आफूमाथि परिस्थितिहरू आइपर्दा अनुचित रूपमा व्यवहार गर्नेछैनन्। कतिपय मानिसलाई हृदयमा यो नै सत्यता हो र आफूले त्यो स्विकार्नैपर्छ भन्ने स्पष्टसँग थाहा हुन्छ, तर जब तिनीहरू बोल्छन्, तब अझै यो एकदमै अन्यायपूर्ण छ भनेर भन्छन्, परमेश्‍वरको आलोचना गर्ने शब्दहरू मुखबाट ननिस्कुञ्जेल बोलेको बोलेकै गर्छन्। यस्ता कुराहरू नगर्। तँलाई परिस्थितिहरू आइपर्दा, सत्यता खोजी गर्। यो नै पहिलो महत्त्वपूर्ण कुरा हो; त्यसलाई कहिल्यै अनदेखा नगर्। यदि तँ परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ भनेर मानिलिन्छस् भने, तैँले परमेश्‍वरले खडा गर्नुहुने कुनै पनि परिस्थितिलाई मानिसको काम ठान्नु हुँदैन। बरु, तैँले परमेश्‍वरले खडा गर्नुहुने हरेक परिस्थितिलाई आफ्नो स्वभाव परिवर्तन गर्ने र सत्यता स्विकार्ने मौका ठान्नुपर्छ।

मैले “अपमान” को अर्थबारे सङ्गति सकाएको छु। अब, म “गह्रौँ बोझ बोक्नु” को अर्थ के हो भन्ने अर्को भागबारे सङ्गति गर्नेछु। हामीले भर्खरै मानिसहरूले बोक्ने गह्रौँ बोझ कसरी मानिसहरूका हृदयमा हुने चाहना र उन्मत्त महत्त्वाकाङ्क्षा, अर्थात् तिनीहरूले हासिल गर्न आशा गर्ने उद्देश्य हो भन्नेबारे कुरा गऱ्यौँ। परमेश्‍वरका विश्वासीहरूलाई परमेश्‍वरद्वारा मुक्ति दिइने र तिनीहरूले परमेश्‍वरको अगुवाइ स्विकार्ने सन्दर्भमा भन्नुपर्दा, के तिनीहरूले अपमान सहनु र गह्रौँ बोझ बोक्नु आवश्यक छ? अहिले भर्खरै, मैले “अपमान सहनु” भन्ने वाक्यांशको परमेश्‍वरको घरमा कुनै औचित्य छैन भनेर भनेको थिएँ। तैँले अपमान सहनु आवश्यक छैन; तैँले आफूले एकदमै धेरै कष्ट भोगिरहेको महसुस गर्नुपर्दैन; तेरो हृदयले अन्यायपूर्ण व्यवहार गरिएको महसुस गर्नुपर्दैन; र तैँले आफू अत्यन्तै श्रेष्ठ भएझैँ गरी परमेश्‍वरलाई सन्तुष्ट पार्न यो सब अपमान सहनुपर्दैन। तैँले यी कुराहरू गर्नुपर्दैन। त्यसोभए गह्रौँ बोझ बोक्नुको अर्थ के हो? यदि कसैले परमेश्‍वर मानिसहरूलाई अझ ठूला जिम्मेवारी र मिसनहरू लिन अनि अझ ठूला आशिष् र राम्रो गन्तव्य प्राप्त गर्न सकून् भनी यो सब कष्ट भोग्न लगाउनुहुन्छ भनेर भन्यो भने, के त्यो कथन उचित र तर्कसङ्गत हुनेछ? (अहँ, त्यो उचित हुँदैन।) त्यो उचित हुँदैन। त्यसोभए हामीले त्यसलाई कसरी चित्रण गर्नुपर्छ? परमेश्‍वर मानिसहरूलाई मुक्ति पाउन अनि उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न दिनुहुन्छ, र अझ राम्ररी जिउने बनाउनुहुन्छ। परमेश्‍वरले वास्तवमा यो मानिसहरूका खातिर गर्नुहुन्छ कि आफ्नै खातिर? (मानिसहरूका खातिर।) अवश्य नै यो मानिसहरूका खातिर गर्नुहुन्छ। मानिसहरू सबैभन्दा ठूला लाभार्थी हुन्। त्यसैले, म यो परमेश्‍वरले यसबाट के पाउनुहुन्छ भन्ने कुरासँग सम्बन्धित छैन भनेर भन्छु, झन् मानिसहरूले यो कष्ट भोगेर कति आशिष् प्राप्त गर्न सक्छन् भन्ने कुरासँग सम्बन्धित हुनु त परको कुरा हो। तैँले सहनुपर्दैन, र तैँले यस्तो खालका “ठूला महत्त्वाकाङ्क्षाहरू” राख्नुपर्दैन, न त तैँले कामकुरालाई यसरी त्याग्नु नै पर्छ। वास्तवमा, तैँले कुनै कुरा त्यागेको छैनस्, न त कुनै कुरा फालेको नै छस्। त्यसविपरीत, अन्त्यमा मानिसहरूले नै सबैभन्दा धेरै प्राप्त गरेका छन्। एउटा कारण त, मानिसहरूले आत्मआचरणका विभिन्न खालका सबै मापदण्ड बुझेका छन्। साथै, मानिसहरू परमेश्‍वरले स्थापित गरेका यो सम्पूर्ण व्यवस्था र यी सबै नियम पालन गर्न, र व्यवस्थित ढङ्गले जिउन सक्षम छन्। मानिसहरू अहिले जिइरहेको तरिकाको तुलनामा यो जिउने तरिका कस्तो छ? (यो अझ राम्रो छ।) त्यो त मानिसहरू अहिले जिइरहेको तरिकाभन्दा राम्रो छ। त्यसोभए, यी दुई जिउने तरिकामध्ये कुन चाहिँ अझ धेरै आशिषित, साँचो सृजित प्राणीको जिउने तरिकासँग अझ धेरै मिल्ने, र त्योभन्दा पनि, मानवजातिमा हुनुपर्ने जीवन हो? (पहिलो चाहिँ।) अवश्य नै, त्यो पहिलो चाहिँ हो। तैँले यो कष्ट भोगेपछि, परमेश्‍वरका अभिप्रायहरू बुझ्छस्, र त्यससँगै धेरै सत्यता बुझ्छस्, अनि सत्यताको बुझाइलाई जगका रूपमा लिएपछि, आफूलाई आचरणमा ढाल्ने तरिका सिक्छस्, र तेरो मानवताभित्र जीवनका रूपमा काम गर्ने सत्यता हुन्छ। के यसले तँलाई मूल्यवान् बनाउँछ? सुरुमा मानिसहरूसँग कुनै सत्यता हुँदै हुँदैन। तिनीहरू केवल व्यर्थका नीच व्यक्ति हुन्छन् जो कमिलाभन्दा कमसल हुन्छन् र जिउन योग्य हुँदैनन्, तर अहिले तैँले सत्यता बुझेको छस्, अनि तँ सत्यताअनुसार बोल्छस् र कार्य गर्छस्। परमेश्‍वरले तँलाई जे गर्न लगाउनुभए पनि, तैँले त्यो मान्न सक्छस्, अनि त्यसलाई ठ्याक्कै भनेबमोजिम पूरा गर्न सक्छस्, अनि परमेश्‍वरले तेरा लागि जे बन्दोबस्तहरू मिलाउनुभए पनि, तँ तीप्रति समर्पित हुन सक्छस्। त्यसोभए, के तैँले अझै परमेश्‍वरको आलोचना गर्नेछस्? के तैँले सक्रिय रूपमा उहाँविरुद्ध विद्रोह गर्नेछस्? यदि कसैले तँलाई परमेश्‍वरविरुद्ध विद्रोह गर्न उक्सायो भने, के तँ त्यो गर्नेछस्? (अहँ।) यदि कसैले तँलाई बहकाउन परमेश्‍वरबारे झुट बोल्यो भने, के तँ त्यो पत्याउनेछस्? (अहँ, पत्याउनेछैनँ।) अहँ, तैँले पत्याउनेछैनस्। त्यसैले, तैँले व्यक्तिपरक अर्थमा होस् कि वस्तुपरक अर्थमा, परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछैनस्। यस्ता मानिसहरू पूर्णतया परमेश्‍वरको प्रभुत्वमा जिउँछन्। त्यसोभए, के अहिले यस्ता मानवहरूले अझै पनि मानिसहरूको पीडा सहनुपर्छ? के तिनीहरूका हृदयमा अझै घृणा र पीडा छ? के तिनीहरूका हृदयमा दुःखलाग्दा र पीडादायी कुराहरू छन्? (छैनन्।) त्यसमा यो पीडा छैन। यस्ता मानिसहरू आफूले गर्ने हरकुरामा सिद्धान्तनिष्ठ हुन्छन् र जथाभावी गर्दैनन्। साथै, परिस्थितिहरू आइपर्दा, परमेश्‍वरसँग सार्वभौम अख्तियार हुन्छ, र शैतानले तँलाई हानि गर्न सक्दैन; तँ साँचो व्यक्तिका रूपमा जिउँछस्। के परमेश्‍वरले यस्ता मानिसहरूलाई नष्ट गर्नुहुनेछ? के यस्ता मानिसहरूले आफैलाई नष्ट गर्नेछन्? (गर्नेछैनन्।) अहँ, गर्नेछैनन्। तिनीहरू आजका भ्रष्ट मानिसहरूका तुलनामा पूर्णतया फरक प्रकारका मानिस हुन्। आजकलका मानिसहरूको हृदय घृणा र पीडाले भरिएको छ। तिनीहरूले कुनै पनि समय वा ठाउँमा आत्महत्या गर्न सक्छन्, लडाइँ गर्न र मान्छे मार्न सक्छन्, अनि खराब कुराहरू गर्न सक्छन्, र यसरी मानव संसारमा विपत्ति ल्याउँछन्। जबकि, परमेश्वराबाट मुक्ति पाउने र जीवनका रूपमा सत्यता प्राप्त गरेकाहरू लडाइँ वा घृणा नगरी शान्तिसँग सहअस्तित्वमा रहन सक्छन्। तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन, अनि परमेश्‍वरले भन्ने हरेक शब्दप्रति एकताबद्ध हृदय र प्रयाससाथ समर्पित हुन सक्छन्। यी मानिसहरू सबै परमेश्‍वरको वचनमा जिउँछन्, र एकै दिशामा कडा परिश्रम गर्छन्। परमेश्‍वरको इच्छालाई अघि बढाउनका खातिर—तैँले सत्यता बुझ्दा, उसले सत्यता बुझ्दा, उनले सत्यता बुझ्दा, र तिनीहरूले सत्यता बुझ्दा—के तिनीहरूले एकसाथ हुँदा अझै फरक-फरक दृष्टिकोण राख्न सक्छन्? (सक्दैनन्।) यसरी, तिनीहरू सबै जना परमेश्‍वरसामु जिउने, उहाँका वचनमा जिउने, सत्यताअनुसार जिउने, र मानिसहरूको हृदय मिल्ने बिन्दुमा पुग्न सक्छन्। यसरी, के मानिसहरूबीच अझै काटमार र लडाइँ हुन सक्छ? (सक्दैन।) सक्दैन। के मानिसहरूले अझै पीडा सहनुपर्छ? त्यहाँ पीडा हुँदैन। यस्ता मानिसहरू कुनै लडाइँ वा हत्याविनाको आशिषित् जीवन जिउँछन्। त्यसोभए, मानिसहरूले कसरी परमेश्‍वरले तिनीहरूलाई सुम्पेका सबै कुराको व्यवस्थापन गर्नुपर्छ? (तिनीहरू शान्तिपूर्ण सहअस्तित्वमा रहनुपर्छ।) त्यसको एउटा पाटो के हो भने, तिनीहरू शान्तिपूर्ण सहअस्तित्वमा रहनुपर्छ। अर्को पाटो हो, तिनीहरूले परमेश्‍वरले स्थापित गरेका व्यवस्था र नियमअनुसार सबथोक व्यवस्थापन गर्नुपर्छ। त्यसको अर्थ, यो सम्पूर्ण व्यवस्था र यी सबै नियम अनि जीवित कुराहरू मानवजातिको स्वामित्वमा हुन्छन्, मानवजातिद्वारा प्रयोग गरिन्छन्, र ती कुराले मानवजातिलाई लाभ पुऱ्याउँछन्। यस्तो प्रकारको मानवजाति कति राम्रो हुन्छ! त्यतिबेला, मानवजातिको जिउने परिवेश मानवहरूलाई व्यवस्थापन गर्न दिइन्छ। परमेश्‍वरले मानिसहरूका खातिर यस संसारका लागि व्यवस्था र नियमहरू स्थापित गर्नुहुन्छ, र त्यसपछि परमेश्‍वरले त्यसमा हस्तक्षेप गर्नुहुनेछैन। यदि तैँले कुनै दिन ब्वाँसोले खरायो खाइरहेको देखिस् भने, के गर्नेछस्? तैँले ब्वाँसोलाई त्यो खान दिनैपर्छ। तैँले ब्वाँसोलाई खरायो खानबाट रोकेर घाँस खान लाउन मिल्दैन। तैँले कस्तो गल्ती गरिरहेको हुनेछस्? (तँ वस्तुहरूको प्राकृतिक व्यवस्थाविरुद्ध गइरहेको हुनेछस्।) तँ वस्तुहरूको प्राकृतिक व्यवस्थाविरुद्ध गइरहेको हुनेछस्। खरायोले घाँस खान्छ र ब्वाँसोले मासु खान्छ, त्यसैले तैँले तिनको अन्तर्निहित प्रकृतिलाई आदर गर्नैपर्छ र तिनलाई स्वतन्त्र रूपमा विकसित हुन दिनैपर्छ। तिनीहरूको क्रियाकलाप र जीवनशैलीमा कृत्रिम, अतिरिक्त तरिकाले हस्तक्षेप गर्नु आवश्यक छैन। तैँले यी कुराहरूको व्यवस्थापन गर्नुपर्दैन; परमेश्‍वरले यी कुराहरूलाई जसरी स्थापित गर्नुपर्ने हो, त्यसरी स्थापित गरिसक्नुभएको छ। यदि केही ठाउँमा धेरै पानी पर्छ र उपयुक्त हावापानी छैन भने, पशुहरू अन्यत्र सरेर जानैपर्छ। तँ भन्छस्, “हामीले यो ठाउँलाई ठिक गर्नैपर्छ। यहाँ किन जहिले पनि यति धेरै पानी पर्छ? पशुहरूलाई सधैँ बसाइँसराइ गर्दा पक्कै पनि थकाइ लाग्छ होला!” के यो फेरि मूर्खता होइन? (हो।) यो कसरी मूर्खता हो? के यो हावापानी परमेश्‍वरले स्थापित गर्नुभएको होइन र? (हो।) परमेश्‍वरले यो हावापानी स्थापित गर्नुभयो र यी पशुहरूलाई यस क्षेत्रमा रहन दिनुभयो। के तिनीहरूको बसाइँसराइ परमेश्‍वरले स्थापित गर्नुभएको होइन र? (हो।) त्यसोभए, तँ किन यसका बीचमा आउन चाहन्छस्? तँ किन असल अभिप्रायहरू राखेर अन्धाधुन्ध कार्य गर्दैछस्? बसाइँसराइ गर्नुको राम्रो पक्ष के हो? पशुहरूको ठूलो बगाल कुनै क्षेत्रमा छ महिना रहँदा, त्यहाँको घाँस सबै खाइसकिएको हुन्छ। यदि पानी परेन र ती त्यहाँबाट जान चाहेनन् भने, के हुन्छ? सधैँ पानी परिरहनुपर्ने हुन्छ। जमिन भिजेपछि, ती त्यहाँ रहन सक्दैनन् र घाँस वर्षाको पानीमा चुर्लुम्मै डुब्छ, त्यसैले तिनले त्यो ठाउँ छोड्नैपर्छ। यो बसाइँसराइले तिनको शरीरलाई तन्दुरुस्त बनाउँछ र घाँसलाई फेरि पलाउने मौका दिन्छ। तिनले अर्को ठाउँमा धेरैजसो घाँस खाइसकेपछि, त्यहाँ हिउँ पर्ने समय हुनेछ, र भन्ने हो भने, तिनको फेरि त्यहाँबाट बास उठ्नेछ, र ती चाँडै ठाउँ सरेर जानैपर्छ। ती फर्केर फेरि आफ्नो पुरानै ठाउँमा जान्छन्। त्यहाँ पानी परेको हुँदैन, घाँस बढेको हुन्छ र तिनले त्यहाँ फेरि घाँस खान पाउँछन्। यसरी, यो पारिस्थितिकी प्रणालीले प्राकृतिक तवरमा निरन्तर सन्तुलन कायम राख्छ। कतिपय मानिस भन्छन्, “नीलगाईहरू सधैँ सिंहको शिकार बन्छन्—कठै, ती दयनीय जनावर! के हामी नीलगाईलाई अलि चलाक बनाउन सक्दैनौँ?” तँ किन असल अभिप्रायहरू राखेर अन्धाधुन्ध कार्य गर्छस्? के तैँले आफूलाई दयालु देखाउन खोजिरहेको होस्? तेरो भलाइ हदभन्दा बाहिर जान्छ। यदि नीलगाईहरू धूर्त भएका भए, सिंहहरू भोकै रहनेथिए। के तँ सिंहहरू भोकै भएको हेर्न सक्छस्? अरू मानिसहरू यसो भन्छन्, “सिंहहरू खराब हुन्छन्। तिनले मृग र जेब्रालाई दार्छन्। त्यो अत्यन्तै रक्तरंजित र क्रूर हुन्छ!” यदि तैँले सिंहलाई नामेट पारिस् भने, जेब्रा र मृगको सङ्ख्या अत्यधिक धेरै हुनेछ। अन्तिम परिणाम के हुनेछ? सबै घाँस खाएर सकिनेछ, र घाँसे मैदान मरुभूमिमा परिणत हुनेछ। के तँ त्यो सहन सक्नेछस्? के तँ अझै यी असल अभिप्रायहरू राखेर कार्य गर्नेछस्? त्यसोभए, तैँले के गर्नुपर्छ? तिनीहरूलाई स्वतन्त्र रूपमा विकसित हुन दे। जनावरहरूलाई यस्तै हुन्छ। परमेश्‍वरले धेरैअघि यो सम्पूर्ण व्यवस्था स्थापित गर्नुभएको थियो र तैँले त्यो चाहे पनि वा नचाहे पनि स्विकार्नैपर्छ; हरकुरा जसरी व्यवस्थित गरिएको छ, त्यसरी नै अगाडि बढ्नैपर्छ। यदि तँ प्राकृतिक व्यवस्थाविरुद्ध गइस् भने, जीवन कायम रहन सक्दैन। तैँले यी सबै नियम बुझेपछि, ती नियमहरूलाई आदर गर्नेछस् र यी कुराहरूलाई ती नियमअनुसार हेर्नेछस्। त्यसपछि, तैँले सबथोकमाथि परमेश्‍वरको सार्वभौमिकता रहेको बुद्धि देख्नेछस्। त्यसबाहेक, यी सबै नियमहरू जीवनमा अन्तर्निहित हुन्छन्। यो कसरी भएको हो? (त्यो परमेश्‍वरद्वारा निर्धारित गरिएको हो।) त्यो परमेश्‍वरद्वारा निर्धारित गरिएको हो। परमेश्‍वरले यसरी नै त्यसको बन्दोबस्त गर्नुभयो। मानिसहरू विज्ञान, जीव विज्ञान, अध्ययनका सबै प्रकारका क्षेत्रको अनुसन्धान गर्छन्। तिनीहरूले धेरै वर्ष अनुसन्धान गरेका छन्, तर सरल धर्मसिद्धान्त र व्यवस्था मात्र बुझ्छन्; कसैले पनि यस धर्मसिद्धान्त र घटनामा परमेश्‍वरको सार्वभौमिकता वा बुद्धि देख्दैन। किन यो सारा पारिस्थितिकी प्रणाली र खाद्य चक्र यति जटिल र अद्भुत उत्पन्न भयो? मानवहरू यस संसारमा मानिसहरूलाई केवल कुनै घटना स्पष्ट पार्छन् वा कुनै तथ्य घोषणा गर्छन्, तर त्यो सब परमेश्‍वरबाट आएको भनेर स्पष्टसित सारांशीकृत गर्न वा छर्लङ्ग देख्न कसैले पनि सक्दैन—त्यो आफै आएको होइन। यदि हामी त्यो आफै आएको हो भन्ने भनाइसँग सहमत हुन्छौँ भने, किन कसैले यतिका वर्षमा बाँदर मानव बनेको कहिल्यै देखेको छैन त? यी सब नियम परमेश्‍वरले स्थापित गर्नुभएको हो। के तिनको बाँदर मानवमा परिणत हुनुसँग कुनै सम्बन्ध छ? (छैन।) त्यस्तो केही छैन। परमेश्‍वरले यी सबै नियमहरू र यो सम्पूर्ण व्यवस्था स्थापित गर्नुभयो। यदि मानिसहरू भाग्यमानी भएर बाँकी रहे भने, त्यो बेला तिनीहरूले यो सम्पूर्ण व्यवस्था र यी सबै नियमलाई आदर गर्ने, कायम राख्ने र व्यवस्थापन गर्ने मात्र होइन, त्योभन्दा महत्त्वपूर्ण, तिनीहरू यो सम्पूर्ण व्यवस्था र यी सबै नियमको सबैभन्दा ठूलो लाभार्थी पनि बन्नेछन्। परमेश्‍वरले यो सब मानवताका लागि तयार पार्नुभयो, र मानिसहरूका लागि स्थापित गर्नुभयो—मानिसहरूका आनन्दका लागि सबै कुरा तम्तयार छन्। सबै कुरामध्ये सृजित प्राणीहरू अर्थात् मानिसहरू सबैभन्दा आशिषित् हुन्। मानिसहरूसँग भाषा छ, सोचाइ छ, तिनीहरू परमेश्‍वरको स्वर सुन्न सक्छन्, परमेश्‍वरका वचन बुझ्न सक्छन्, तिनीहरूसँग परमेश्‍वरसित कुराकानी गर्ने भाषा छ, र तिनीहरू परमेश्‍वरका वचन बुझ्न सबैभन्दा दक्ष छन्। तिनीहरू कसरी सबैभन्दा आशिषित् छन् भने, परमेश्‍वरले तिनीहरूलाई सबैभन्दा ठूलो पूँजी दिनुभएको छ, जसद्वारा तिनीहरू मुक्ति प्राप्त गर्न र उहाँसामु आउन सक्छन्। अन्ततः परमेश्‍वरले गरेका सबै कुरा, अनि उहाँले स्थापित गरेको यो सम्पूर्ण व्यवस्था र यी सब नियमहरूलाई मानिसहरूले व्यवस्थापन गर्नुपर्नेछ, र कायम राख्नुपर्नेछ। यो सम्पूर्ण व्यवस्था र यी सबै नियमको अनुसन्धान गर्ने, तिनलाई तहसनहस पार्ने, बर्बाद गर्ने र बङ्ग्याउने काम मात्र गर्ने मानिसहरूलाई नामेट पार्नुपर्छ। मानिसहरूले एकदमै धेरै कष्ट भोगेका छन्। के मानिसहरूले आफ्ना हृदयमा विश्वास गर्ने, अनि पछ्याउने र तृष्णा गर्ने त्यो सुन्दर गन्तव्य वास्तवमै अस्तित्वमा छ? वास्तवमा त्यो अस्तित्वमा छैन। त्यो त मानिसहरूको चाहना र उन्मत्त महत्त्वाकाङ्क्षा मात्र हो, अनि त्यो परमेश्‍वरले मानिसहरूलाई दिन चाहने कुराभन्दा फरक हो। ती दुई फरक-फरक कुराहरू हुन् र तिनको एकअर्कासँग कुनै सम्बन्ध छैन। त्यसैले मानिसहरूमा अपमान सहनु र गह्रौँ बोझ बोक्नु को एक भाग “गह्रौँ बोझ बोक्नु” को अस्तित्व छैन। मैले यो अस्तित्वमा छैन भन्नुको अर्थ के हो? त्यसको अर्थ हो, तैँले विश्वास गर्ने सुन्दर गन्तव्य, र आफ्नो हृदयको गहिराइमा रहेका चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाभित्र रहेका हासिल गर्न चाहेका कुराहरू अस्तित्वमा छँदै छैनन्। तैँले जति नै धेरै कष्ट भोगे पनि वा जति नै धेरै अपमान सहे पनि, अन्त्यमा तैँले तृष्णा गर्ने गन्तव्य, तैँले हासिल गर्न चाहेका कुराहरू, तैँले बन्न चाहेको व्यक्ति, र तैँले आशिष् पाउन चाहेको हद मान्य छैन। ती परमेश्‍वरले तँलाई दिन चाहने कुराहरू होइनन्। यहाँ अरू कस्तो समस्या छ? अपमान सहनु र गह्रौँ बोझ बोक्नु भनेको मानिसहरूले अपमान सहेर आफ्नो वास्तविक क्षमता लुकाउनु, र त्यसपछि आफ्ना उद्देश्यहरू हासिल गर्न अनादर भोग्नु हो। यी उद्देश्यहरू के हुन्? ती मानिसहरूको हृदयको गहिराइका आकाङ्क्षा र कामनाहरूसमेत हुन्। त्यसोभए, जब विश्वासीहरूले कष्ट भोग्छन्, के त्यो कुनै चाहना पूरा गर्नका लागि हो त? (होइन।) त्यसोभए, त्यो केका लागि हो त? विश्वासीहरूले कष्ट भोग्दा, तिनीहरूले पछ्याउन र हासिल गर्न चाहने उद्देश्य सकारात्मक हुन्छ कि नकारात्मक? (सकारात्मक।) के त्यो चाहनासित सम्बन्धित हुन्छ? (हुँदैन।) त्यसोभए, यो सकारात्मक उद्देश्य के हो? (आफ्नो भ्रष्ट स्वभाव फाल्नु, साँचो व्यक्ति बन्नु, र अझ राम्रोसँग जिउन सक्नु।) आफ्नो भ्रष्ट स्वभाव फाल्नु, साँचो व्यक्ति बन्नु, र अझ राम्रोसँग जिउन सक्नु। अरू के? मुक्ति पाउने व्यक्ति बन्नु, र फेरि परमेश्‍वरविरुद्ध विद्रोह नगर्नु। के तिमीहरू अय्यूब र पत्रुसजस्तो व्यक्ति बन्न चाहन्छौ? (चाहन्छौँ।) त्यसोभए, के यो उद्देश्य होइन र? (हो।) के यो उद्देश्य चाहनासँग सम्बन्धित छ? (छैन।) यो उद्देश्य उचित पछ्याइ हो, र परमेश्‍वरले मानिसहरूलाई दिनुभएको उद्देश्य र मार्ग हो। यो उचित छ। त्यसैले म तैँले पछ्याइको यो उचित उद्देश्यका कारण कष्ट भोग्नु भनेको अपमान सहनु होइन भनेर भन्छु। बरु, त्यो त मानिसहरूले पछ्याउनुपर्ने कुरा, र हिँड्नुपर्ने मार्ग हो। के हृदयको गहिराइमा आफूलाई अपमान सहने व्यक्ति ठान्ने ती मानिसहरू यस मार्गमा हिँड्न सक्छन्? तिनीहरू सक्दैनन्, न त तिनीहरूले यो उद्देश्य पूरा गर्न नै सक्छन्।

अहिले त्यसलाई हेर्दा, के “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांश सत्यता हो? (होइन।) यो सत्यता होइन, र यो मानिसहरूले कसरी कार्य गर्नुपर्छ, आफूलाई कसरी आचरणमा ढाल्नुपर्छ, वा कसरी परमेश्‍वरको आराधना गर्नुपर्छ भन्ने मापदण्ड होइन। के मानिसहरूले परमेश्‍वरबाट मुक्ति पाउनका निम्ति अपमान सहन र गह्रौँ बोझ बोक्न आवश्यक छ? (छैन।) कुनै व्यक्तिले अपमान सहेर र गह्रौँ बोझ बोकेर मुक्ति प्राप्त गऱ्यो भनी भन्नु सही हो कि गलत? (गलत।) यो कसरी गलत हो? अपमान सहनु र गह्रौँ बोझ बोक्नु सत्यता अभ्यास गर्नु होइन, त्यसैले तिनीहरूले कसरी मुक्ति प्राप्त गर्न सक्छन्? त्यो त कुनै व्यक्तिले मान्छे माऱ्यो, आगजनी गऱ्यो र धेरै खराब कुरा गऱ्यो, र अन्त्यमा ऊ “मानिसहरूले प्रेम गर्ने अगुवा” बन्यो भन्नुझैँ हो। के त्यो यसो भन्नुझैँ होइन र? (हो।) त्यसको अर्थ यही हो। ऊ अवश्य नै दुष्टताको मार्गमा छ, तैपनि सकारात्मक व्यक्ति बन्यो। यो विरोधाभास हो। यदि कसैले कुनै व्यक्तिले अपमान सह्यो र गह्रौँ बोझ बोक्यो, र अन्त्यमा ऊ परमेश्‍वरसँग मिल्दो बन्यो, वा कुनै व्यक्तिले अपमान सह्यो र गह्रौँ बोझ बोक्यो, अनि अन्त्यमा परीक्षाका क्रममा ऊ दृढ रह्यो, वा कुनै व्यक्तिले अपमान सह्यो र गह्रौँ बोझ बोक्यो, अनि अन्त्यमा परमेश्‍वरको आज्ञा पूरा गऱ्यो भनेर भनेमा—यीमध्ये कुन-कुन चाहिँ कथनहरू सही हुन्? (कुनै पनि होइनन्।) ती कुनै पनि सही होइनन्। के कसैले सारा गाउँभरि सुसमाचार प्रचार गर्दा अपमान सह्यो र गह्रौँ बोझ बोक्यो भनेर भन्नु सही हो? (होइन।) म कतिपय मानिस यस्तो सोच्दै अनिश्चित भएको देख्छु, “के यो सही हो? मलाई लाग्छ, त्यो कथन सही हो, होइन र? धेरै पटक मानिसहरूले सुसमाचार प्रचार गर्दा र परमेश्‍वरको गवाही दिँदा अपमान सहनुपर्छ र गह्रौँ बोझ बोक्नुपर्छ।” यस प्रसङ्गमा यो वाक्यांश प्रयोग गर्नु सही हो, होइन र? (अहँ, त्यो सही होइन।) किन होइन? मलाई बता। (किनभने अपमान सहेर र गह्रौँ बोझ बोकेर प्राप्त गरेको परिणाम सकारात्मक हुँदैन।) के यो सही प्रयोग हो? यो वाक्यांश कसरी गलत हो भनेर विश्लेषण गर्। त्यसलाई चिरफार गर्। “तिनीहरूले सुसमाचार प्रचार गर्दा अपमान सहेर र गह्रौँ बोझ बोकेर धेरै मानिसलाई विश्वासमा ल्याए, धेरै फल फलाए, र परमेश्‍वरको नामको घोषणा गरे।” के तँलाई यो कथन सही हो कि होइन भन्ने थाहा छैन? यदि हामी त्यसलाई आज हामीले सङ्गति गरेको हरेक कथनअनुरूप लागु गर्छौँ भने, यस परिस्थितिमा यो वाक्यांश प्रयोग गर्नु बेठिक हुनेछ, तर सुसमाचार प्रचार गर्दा कतिपय मानिसलाई कसरी सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले पिट्छन् वा गाली गर्छन र ढोकैबाट फर्काउँछन् भन्नेबारे एक कदम अघि बढेर सोच्दा, के यो अपमान सहनु हो भनेर मान्न सकिन्छ? (सकिँदैन।) त्यसोभए यो के हो? (विश्वासीहरूले सुसमाचार प्रचार गर्दा भोग्नैपर्ने कष्ट हो।) ठीक भनिस्। यो मानिसहरूले भोग्नैपर्ने कष्ट हो। यो तिनीहरूको जिम्मेवारी, दायित्व, र परमेश्‍वरले मानिसहरूलाई दिएको आज्ञा हो। यो प्रसव पीडा जस्तै हो—के यो भोग्नैपर्ने कष्ट होइन र? (हो।) यदि कुनै स्त्रीले आफ्नो बच्चालाई “मैले तँलाई संसारमा ल्याउन अपमान सहेँ र गह्रौँ बोझ बोकेँ” भनेर भन्छे भने, के त्यसो भन्नु सही हुन्छ? (हुँदैन।) उसले कष्ट भोगेकै हो, त्यसोभए त्यसो भन्नु किन गलत हो? किनभने यो उसले भोग्नैपर्ने कष्ट हो। उदाहरणका लागि, यदि ब्वाँसोले खरायो पक्रनअघि धेरै समय सिकार गऱ्यो, र “मैले खरायो खान अपमान सहेँ र गह्रौँ बोझ बोकेँ” भनेर भन्यो भने, के त्यो सही हुनेथियो? (हुनेथिएन।) त्यस ब्वाँसोले खरायो खान त्यसको बदलामा केही त्याग गर्नैपर्छ। खरायो ब्वाँसोको सिकार बन्न त्यतिकै कुरेर बसिरहेको हुँदैन। कुन चाहिँ काम त्यस्तो सजिलो हुन्छ र? काम जे भए पनि, व्यक्तिले सधैँ निश्चित त्याग गर्नैपर्छ। यो अपमान सहनु र गह्रौँ बोझ बोक्नु होइन। अहिले भर्खरै, हामीले “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांशलाई केका रूपमा राम्रोसँग वर्गीकरण गरेका छौँ? (नकारात्मक।) हामीले त्यसलाई नकारात्मक र होच्याउने वाक्यांशका रूपमा वर्गीकरण गरेका छौँ, र त्यसलाई शैतानको तर्क र संसारसँग व्यवहार गर्ने शैतानको दर्शनका रूपमा वर्गीकरण गरेका छौँ। यसको परमेश्‍वरप्रतिको विश्वास र सकारात्मक कुराहरूसँग कुनै सम्बन्ध छैन। यदि कसैले “मैले धेरै वर्षदेखि सुसमाचार प्रचार गर्दै आएको छु। मैले साँच्चै अपमान सहेको छु र गह्रौँ बोझ बोकेको छु!” भनेर भन्छ भने, यो उचित होइन। सुसमाचार प्रचार गर्नु तेरो जिम्मेवारी र यो तैँले भोग्नुपर्ने कष्ट हो। तैँले सुसमाचार प्रचार नगरे पनि, जिएर नै कष्ट भोग्नेछैनस् र? यो त मानिसहरूले भोग्नुपर्ने कष्ट हो; यो उचित हो। “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांश मूलतः परमेश्‍वरको घरबाट उन्मूलन भइसकेको छ। यदि कसैले यो वाक्यांश फेरि उल्लेख गर्छ भने, तैँले त्यसलाई कसरी अर्थ्याउनेछस्? यदि कसैले “मैले यहूदा नबन्नका लागि जेलमा अपमान सहेँ र गह्रौँ बोझ बोकेँ!” भनेर भन्छ भने, के यो कथन सही हो? (होइन।) किन होइन? “यहूदा नबन्नका लागि” भन्ने वाक्यांश एकदमै न्यायोचित उद्देश्य र भन्नुपर्ने न्यायोचित कुरा हो, त्यसोभए त्यो कसरी अपमान सहनु र गह्रौँ बोझ बोक्नु हुन सक्दैन? (विश्वासी यहूदा हुनु हुँदैन।) ठिक भनिस्। कुनै विश्वासी यहूदा हुनु कसरी उचित हो र? यहूदा नहुनु भनेको अपमान सहनु र गह्रौँ बोझ बोक्नु हो भनेर भन्नु हास्यास्पद कुरा होइन र? परमेश्‍वरको गवाही दिनु नै तेरो मिसन हो। सृजित प्राणीहरू यही गवाहीमा र यही अडानमा दृढ रहनुपर्छ। शैतान मानिसहरूको प्रशंसा पाउनयोग्य छैन। मानिसहरूले आराधना त परमेश्‍वरकै गर्नुपर्छ, अनि उहाँको आराधना गर्नु एकदमै स्वाभाविक र न्यायसङ्गत कुरा हो। शैतानले तँलाई त्यसको इच्छाअनुसार चलाउन खोज्दा, तँ परमेश्‍वरप्रति आफ्नो गवाहीमा दृढ हुनुपर्छ, तैँले आफ्नो जीवन त्याग्नुपर्छ, र यहूदा हुनु हुँदैन। यो अपमान सहनु र गह्रौँ बोझ बोक्नु होइन। मैले अहिले यो वाक्यांश स्पष्टसँग व्याख्या गरेको छु। यदि कसैले फेरि आफूले कसरी अपमान सहेको र गह्रौँ बोझ बोकेको छु भनेर भन्छ भने, तैँले त्यो मामला कसरी सम्हाल्नुपर्छ? तैँले तिनीहरूलाई आज मैले प्रचार गरेको प्रवचन सुन्न दिइस् भने, तिनीहरूले बुझ्नेछन्। त्यो नै सबैभन्दा सजिलो तरिका हो।

ग. लड्न कहिल्यै हार नमान्ने इच्छा

झिँगटोमा सुतेर पित्त चाट्नुको तेस्रो प्रकटीकरण लड्न कहिल्यै हार नमान्ने इच्छा हो। लड्न कहिल्यै हार नमान्नु कस्तो स्वभाव हो? अहङ्कारी स्वभाव। मानिसहरू कसरी कहिल्यै असफल नहुन सक्छन्? मानिसहरूले कसरी कहिल्यै कुनै कुरा गलत नगर्न, कहिल्यै कुनै गलत कुरा नभन्न, वा कहिल्यै कुनै गल्ती नगर्न सक्छन्? तैँले यसो भनेर स्विकार्नैपर्छ: “म साधारण व्यक्ति हुँ, र म सामान्य व्यक्ति हुँ। ममा कमी र कमीकमजोरीहरू छन्। कहिलेकाहीँ म गलत कुरा गर्छु र कहिलेकाहीँ गलत कुरा भन्छु। म गलत कुरा गर्न र गलत मार्ग पछ्याउन सक्छु। म साधारण व्यक्ति हुँ।” त्यसोभए, कहिल्यै हार नमान्नुको अर्थ के हो? यसको अर्थ कुनै व्यक्ति असफल हुँदा, उसलाई रोकावट आइपर्दा, वा ऊ तर्केर गलत मार्गमा हिँड्दा उसले त्यो नस्विकार्नु हो। ऊ अटेर भई त्यसमा लागिरहन्छ। ऊ असफल हुन्छ तर निरुत्साहित हुँदैन, असफल हुन्छ तर आफ्नो गल्ती स्विकार्दैन। उसलाई जति जना मानिसले हप्काए वा निन्दा गरे पनि, ऊ पछि फर्कँदैन। ऊ लड्न, काम गर्न अनि आफ्नै दिशा र उद्देश्य पछ्याउन ढिपी गर्छ, र त्यसको मूल्यबारे केही सोच्दैन। यो नै त्यसले जनाउने मानसिकता हो। के यो मानिसहरूलाई एकत्रित गर्ने निकै राम्रो मानसिकता होइन र? सामान्यतया कस्ता परिस्थितिहरूमा “कहिल्यै हार नमान्नु” भन्ने भनाइ प्रयोग गरिन्छ? हरेक प्रकारका परिस्थितिमा। जहाँ-जहाँ भ्रष्ट मानवहरू अस्तित्वमा हुन्छन्, त्यहाँ-त्यहाँ यो वाक्यांश अस्तित्वमा हुन्छ; यो मानसिकता अस्तित्वमा हुन्छ। त्यसोभए, शैतानका मानिसहरूले केका लागि यो भनाइ सोचेका हुन्? ताकि मानिसहरूले आफूलाई कहिल्यै नबुझून्, आफ्ना गल्तीहरू कहिल्यै नचिनून्, र आफ्ना गल्तीहरू कहिल्यै नस्विकारून्। मानिसहरूले आफ्नो कमजोर, दुर्बल र अयोग्य पक्ष नदेखून् भनेर मात्र नभई, बरु आफ्नो सक्षम, शक्तिशाली र दह्रिलो पक्ष देखून, आफूलाई कम नठानून् तर योग्य ठानून् भन्नाका लागि बनाएका हुन्। यदि तँ आफूलाई सक्षम ठान्छस् भने, सक्षम नै हुन्छस्; यदि तँ आफू सफल हुन सक्छु, असफल हुनेछैनँ, र हिरामध्ये कोहिनुर बन्न सक्छु भनी सोच्छस् भने, त्यही हुनेछस्। यदि तँमा त्यो अठोट र सङ्कल्प छ, त्यो कामना र उन्मत्त महत्त्वाकाङ्क्षा छ भने, तैँले त्यो सब हासिल गर्न सक्छस्। मानिसहरू महत्त्वहीन छैनन्; तिनीहरू शक्तिशाली छन्। गैरविश्‍वासीहरूको यस्तो भनाइ छ: “तिम्रो मञ्च तिम्रो हृदय जत्तिकै ठूलो छ।” कतिपय मानिसलाई यो भनाइ सुन्नासाथ मन पर्छ: “वाह, म दस क्यारेटको हिरा चाहन्छु, के त्यसको अर्थ मैले त्यो पाउनेछु? म मर्सिडेज बेन्ज चाहन्छु, के त्यसको अर्थ मैले त्यो पाउनेछु?” के तैँले पाउने कुरा तेरो हृदयको चाहनाको विशालतासँग मेल खान्छ? (खाँदैन।) यो भनाइ भ्रम हो। स्पष्टसित भन्नुपर्दा, “कहिल्यै हार नमान्नु” भन्ने वाक्यांशलाई विश्‍वास गर्ने र स्विकार्नेहरूको अहङ्कारको कुनै सीमा हुँदैन। परमेश्‍वरका कुन वचनहरू यी मानिसहरूको सोच्ने तरिकासँग सिधै बाझिन्छन्? परमेश्‍वर मानिसहरूले आफूलाई बुझून, र आफूलाई व्यावहारिक तरिकामा आचरणमा ढालून् भन्ने माग गर्नुहुन्छ। मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्; तिनीहरूमा कमीकमजोरी र परमेश्‍वरको प्रतिरोध गर्ने स्वभाव हुन्छ। मानिसहरूमाझ कोही पनि सिद्ध छैनन्; कोही पनि सिद्ध हुँदैन; तिनीहरू सामान्य मानिस मात्रै हुन्। परमेश्‍वरले मानिसहरूलाई आफूलाई कसरी आचरणमा ढाल्न चेतावनी दिनुभयो? (शिष्ट शैलीले आचरणमा ढाल्न।) आफूलाई शिष्ट शैलीले आचरणमा ढाल्न, र व्यावहारिक तरिकामा सृजित प्राणीका रूपमा आफ्ना स्थानमा दृढ रहन। के परमेश्‍वरले कहिल्यै मानिसहरूले कहिल्यै हार नमानून् भनेर माग गर्नुभएको छ? (छैन।) अहँ, छैन। त्यसोभए मानिसहरूले गलत मार्ग पछ्याउनु, वा भ्रष्ट स्वभाव प्रकट गर्नुबारे परमेश्‍वर के भन्नुहुन्छ? (उहाँ त्यसलाई मानिलिनू र स्विकार्नू भन्नुहुन्छ।) त्यसलाई मानिलिनू र स्विकार्नू, त्यसपछि त्यसलाई बुझ्नू, आफूलाई बदल्न सक्षम हुनु, र सत्यता अभ्यास हासिल गर्न सक्षम हुनू भन्नुहुन्छ। त्यसको विपरीत, कहिल्यै हार नमान्नु भनेको मानिसहरूले आफ्ना समस्याहरू नबुझ्नु, आफ्ना गल्तीहरू नबुझ्नु, आफ्ना गल्तीहरू नस्विकार्नु, कुनै हालतमा आफूलाई नबदल्नु, र कुनै हालतमा पश्चात्ताप नगर्नु हो, झन् परमेश्‍वरको सार्वभौमिकता वा बन्दोबस्तहरू स्विकार्नु त परको कुरा हो। तिनीहरूले मानिसहरूको भाग्य ठ्याक्कै के हो, वा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू के हुन् भनेर खोजी नगर्ने मात्र होइनन्—तिनीहरूले यी कुराहरूको खोजी नगर्ने मात्र होइनन्, तर बरु आफ्नो भाग्य पनि आफ्नै हातमा लिन्छन्; तिनीहरू अन्तिम निर्णय गर्न चाहन्छन्। साथै, परमेश्‍वर मानिसहरूले आफूलाई बुझून्, आफूलाई सही तरिकाले मूल्याङ्कन र आँकलन गरून्, अनि आफूले राम्ररी गर्न सक्ने जुनसुकै कुरा व्यावहारिक र शिष्ट ढङ्गमा अनि आफ्नो सारा हृदय, मन, र प्राणले गरून् भन्ने माग गर्नुहुन्छ, जबकि शैतानले मानिसहरूलाई आफ्नो अहङ्कारी स्वभावको पूर्ण प्रयोग गर्न, र आफ्नो अहङ्कारी स्वभावलाई खुल्ला छोड्न लगाउँछ। त्यसले मानिसहरूलाई महामानव हुन, महान् हुन र महाशक्ति प्राप्त गर्नसमेत लगाउँछ—त्यसले मानिसहरूलाई हुनै नसक्ने कुरा हुन लगाउँछ। तसर्थ, शैतानको दर्शन के हो? त्यो के हो भने, तँ गलत भए पनि, तँ गलत होइनस्, अनि यदि तँमा हार नस्विकार्ने मानसिकता छ भने, र यदि तँमा कहिल्यै हार नमान्ने मानसिकता छ भने, ढिलो-चाँडो कुनै दिन तँ हिरामध्ये कोहिनूर बन्नेछस्, अनि ढिलो-चाँडो कुनै दिन तेरा इच्छा र उद्देश्यहरू साकार हुनेछन्। त्यसोभए, के कुनै अर्थमा कहिल्यै हार नमान्नु भनेको तैँले कुनै कुरा हासिल गर्न कुनै पनि उपायहरू प्रयोग गर्छस् भन्ने हुन्छ? तैँले आफ्ना उद्देश्यहरू हासिल गर्नका लागि आफू असफल हुन सक्छु भनेर स्विकार्नै हुँदैन, तैँले आफूलाई सामान्य व्यक्ति पटक्कै ठान्नु हुँदैन, र तैँले गलत मार्ग पछ्याउन सक्छस् भनेर ठान्नै हुँदैन। यसबाहेक, तैँले आफ्ना कामना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू साकार पार्न हरप्रकारको तरिका वा गोप्य युक्ति बेइमानीपूर्वक प्रयोग गर्नैपर्छ। के कहिल्यै हार नमान्नुबारे कुनै कुरा छ, जसमा मानिसहरूले आफ्नो भाग्यलाई प्रतीक्षा र समर्पण गर्ने मनोवृत्तिले लिन्छन्? (छैन।) अहँ छैन। मानिसहरू आफ्नो भाग्य पूर्ण रूपले आफ्नै हातमा लिने अड्डी कस्छन्; तिनीहरू आफ्नै भाग्य नियन्त्रण गर्न चाहन्छन्। तिनीहरूले जुनै मार्ग लिए पनि, तिनीहरू आशिषित् भए पनि वा तिनीहरूको जीवनशैली जस्तो प्रकारको हुने भए पनि, तिनीहरूले हरकुरामा अन्तिम निर्णय गर्नैपर्छ। गैरविश्वासीहरूको यस्तो भनाइ छ: “अवसर तयार व्यक्तिको पक्षधर हुन्छ।” यो कस्तो भनाइ हो? धेरै वर्ष तयारी गर्ने मानिसहरू धेरै हुन्छन्, जसले आफ्नो सारा जीवन तयारी गरेर बिताउँछन्, तर कहिल्यै अवसर नपाई मर्छन्। अवसर कसरी आउँछ? (परमेश्‍वरबाट आउँछ।) यदि परमेश्‍वरले तेरा लागि अवसर तयार पार्नुभएन भने, के तैँले जति नै तयारी गरे पनि, त्यो कुनै काम लाग्छ? (लाग्दैन।) यदि परमेश्‍वरले तँलाई कुनै अवसर दिने योजना बनाउनुभएन र त्यो भाग्यमै छैन भने, तैँले जति नै वर्ष तयारी गरे पनि, त्यो के काम लाग्छ? के तैँले यतिका वर्ष तयारी गरेका कारण परमेश्‍वरले तँलाई दया देखाएर अवसर दिनुहुनेछ? के परमेश्‍वरले यसो गर्नुहुनेछ? (गर्नुहुनेछैन।) यदि परमेश्‍वरले तेरा लागि अवसर तयार पार्नुभएको छ भने, त्यो मिल्नेछ, अनि यदि परमेश्‍वरले तेरा लागि अवसर तयार पार्नुभएको छैन भने, तैँले त्यो पाउनेछैनस्। के कहिल्यै हार नमान्नु कुनै काम लाग्छ? (लाग्दैन।) कतिपय मानिस भन्छन्, “म कहिल्यै हार मान्दिनँ। म आफ्नो भाग्य आफ्नै हातमा लिन्छु!” तिनीहरूका शब्दहरू उग्र हुन्छन्, तर तिनीहरूले त्यो हासिल गर्न सक्नु नसक्नु तिनीहरूका हातमा हुँदैन। उदाहरणका लागि, कुनै स्त्री छोरो चाहन्छे। उसले केही बच्चा जन्माउँछे, तर ती सबै छोरी जन्मन्छन्। अरू मानिसले उसलाई अब थप छोराछोरी नजन्माउनू, र छोरो जन्माउनु उसको भाग्यमै छैन भनेर भन्छन्, तर ऊ हार मान्दिन, र भन्छे, “म त्यो विश्‍वास गर्दिनँ। म कहिल्यै हार मान्नेछैनँ!” उसको दसौँ बच्चा पनि छोरी जन्मेपछि, ऊ बल्ल हार मान्छे: “यस्तो लाग्छ, छोरो जन्माउनु मेरो भाग्यमै छैन।” के ऊ अझै हार मान्दिन? के उसमा अझै आत्मविश्‍वास छ? के ऊ अझै बच्चा जन्माउने आँट गर्छे? अहँ, ऊ आँट गर्दिन। अन्य कुनै व्यक्तिले व्यापार गर्दा, दुई वर्षमा पाँच लाख डलर कमाउने योजना बनाउँछ। सुरुमा, ऊ आफूले सुरुको छ महिनासम्म केही नकमाउँदा यसो भन्छ, “केही छैन। सुरुको छ महिनामा एक पैसा पनि नकमाउँदा केही बिग्रँदैन। म पछिल्ला छ महिनामा अवश्य नै पैसा कमाउनेछु।” एक वर्षभन्दा बढी समय बितेर गए पनि उसले एक पैसा कमाएको हुँदैन, ऊ अझै हार मान्दैन: “म कहिल्यै हार मान्दिनँ। म सबै कुरा मानिसका हातमा छ भन्ने विश्‍वास गर्छु—मसँग प्रचुर अवसरहरू छन्!” दुई वर्ष बितिसक्दा, उसले पचास हजार पनि कमाएको छैन, झन् पाँच लाख कमाउनु त परको कुरा हो। उसलाई आफूसँग पर्याप्त समय र अनुभव थिएन भन्ने लाग्छ, त्यसैले ऊ थप दुई वर्ष अध्ययन गर्छ। चार वर्ष बितिसकेपछि, उसले पाँच लाख नकमाएको मात्र होइन, लगभग आफ्नो सबै सावाँसमेत गुमाएको हुन्छ तर अझै हार मान्दैन: “मेरो भाग्यमै पैसा कमाउनु लेखेको छ। म कसरी पाँच लाख डलर कमाउन सक्दिनँ र?” लगभग दस वर्ष बितिसकेपछि, के ऊसँग अझै पाँच लाख कमाउने उद्देश्य हुनेछ? यदि तैँले फेरि उसलाई यो वर्ष कति कमाउने योजना छ भनेर सोधिस् भने, उसले भन्छ, “आ, खान-लाउन पुगे भइहाल्यो।” के ऊ अझै कहिल्यै हार मान्दैन? ऊ असफल भएको छ, होइन र? कसरी ऊ असफल भएको छ? के उसको कमाउने लक्ष्य अति उच्च भएकाले ऊ असफल भएको हो? के कारण त्यही हो? होइन। चाहे त्यो मानिसहरूको सम्पत्ति, छोराछोरी, तिनीहरूले जीवनमा भोग्ने कष्ट होस्, वा तिनीहरू जहिले र जहाँ जाऊन्, त्यो कुनै पनि निर्णय गर्न सक्दैनन्। कतिपय मानिस सार्वजनिक प्रशासनमा प्रवेश गर्न चाहन्छन्, तर तिनीहरूले कहिल्यै अवसर पाउँदैनन्—के यसका लागि क्षमता नहुनुलाई दोष दिन मिल्छ? तिनीहरू सक्षम हुन्छन्, चलाक हुन्छन्, र मानिसहरूलाई चिप्लो घस्न जान्दछन्, त्यसोभए तिनीहरूलाई सरकारी अधिकारी हुन कि यति गाह्रो हुन्छ? तिनीहरू जत्तिका सक्षम नभएका धेरै मानिस अधिकारी बनेका छन्, अनि तिनीहरूले तुच्छ ठान्ने धेरै मानिस अधिकारी बनेका छन्। यी मानिसहरू बोल्नमा सिपालु हुन्छन्, तिनीहरूमा साँचो प्रतिभा हुन्छ, र तिनीहरूले ठोस शिक्षा पाएका हुन्छन्, त्यसैले यदि तिनीहरू सरकारी अधिकारी बन्न चाहन्छन् भने, त्यो किन यति गाह्रो हुन्छ? जवान छँदा, तिनीहरूले कहिल्यै हार मानेनन्, तर वृद्ध भएपछि पनि औसत कारिन्दा नै रहँदा, तिनीहरूले अन्त्यमा हार माने र भने, “मान्छेको भाग्य स्वर्गले निर्धारण गर्छ। यदि भाग्यमा छ भने त्यो पाइन्छ। यदि भाग्यमा छैन भने, प्रयास गरेर त्यो प्राप्त गर्न सकिँदैन।” तिनीहरूले आफूलाई आफ्नो भाग्यको हातमा छाडेका हुन्छन्, हुँदैनन् त? तिनीहरूको कहिल्यै हार नमान्ने मानसिकता के भयो? मानिसहरू तथ्यसामु अपमानित हुन्छन्।

कहिल्यै हार नमान्ने मानसिकताले मानिसहरूमा के ल्याउँछ? त्यसले तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षालाई उर्वर बनाउँछ। यसले मानिसहरूमा सकारात्मक प्रभाव वा मार्गदर्शन ल्याउँदैन; बरु, त्यसले तिनीहरूमा एक प्रकारको नकारात्मक, प्रतिकूल प्रभाव ल्याउँछ। मानिसहरूलाई ब्रह्माण्डमा आफ्नो स्थानबारे आफैलाई केही थाहा हुँदैन, स्वर्गले तिनीहरूका लागि योजना गरेको भाग्यबारे केही थाहा हुँदैन, र परमेश्‍वरका सार्वभौमिकता वा बन्दोबस्तहरूबारे केही थाहा हुँदैन। त्यसमाथि, तिनीहरूले यो तथाकथित मानसिक सहारा प्राप्त गरेका हुन्छन्। मानिसहरू बहकिन मात्र सक्ने परिस्थितिमा हुँदा अन्त्यमा के हुन्छ? तिनीहरू व्यर्थमा धेरै कामकुरा गर्छन्, र धेरै बेकारका काम गर्छन्। आफ्नो उद्देश्य हासिल गर्न, मानिसहरूको शरीर र मनले ठूलो क्षति र आघात भोग्छ, र तिनीहरूले निश्चय नै आफ्ना चाहना, उन्मत्त महत्त्वाकाङ्क्षा र उद्देश्यहरू पूरा गर्न ज्यादै दुष्टता पनि गरेका हुन्छन्। यस दुष्टताले मानिसहरूलाई अर्को जुनीमा कस्तो परिणाम ल्याउनेछ? यसले दण्ड मात्र निम्त्याउनेछ। भ्रष्ट स्वभावले मानिसहरूमा कामना र उन्मत्त महत्त्वाकाङ्क्षा ल्याउँछ। के मानिसहरूलाई तिनीहरूका कामना र उन्मत्त महत्त्वाकाङ्क्षाले गर्न लगाउने कुराहरूमध्ये कुनै वैध हुन्छन्? के यी कुनै कुराहरू सत्यताअनुरूप हुन्छन्? (हुँदैनन्।) यी कुराहरू के हुन्? ती दुष्टताका कार्यहरू मात्र हुन्। यस दुष्टतामा केके पर्छन्? अरूप्रति धूर्त हुनु, अरूलाई छलकपट गर्नु, अरूलाई हानि गर्नु, र अरूलाई छल गर्नु। मानिसहरू अरूप्रति अत्यन्तै ऋणी बन्छन्, र अर्को जुनीमा पशुका रूपमा पुनर्जन्म लिन सक्छन्। तिनीहरू जोप्रति सबैभन्दा धेरै ऋणी हुन्छन्, तिनीहरूले जसलाई सबैभन्दा धेरै छल गर्छन्, र तिनीहरूले जसलाई सबैभन्दा बढी धोका दिन्छन्, तिनीहरू उसकै घरमा बोल्न नसक्ने र मानिसहरूको आदेश मान्नुपर्ने पशुका रूपमा जिउनेछन्। तिनीहरूले व्यक्तिका रूपमा पुनर्जन्म लिए पनि अनन्त कष्टको जीवन भोग्नेछन्; तिनीहरूले आफूले गरेको कुराको मूल्य चुकाउनैपर्छ। त्यसको नतिजाअनुरूप आउने प्रतिकूल परिणाम यही हो। यदि तिनीहरू “कहिल्यै हार नमान्नु” भन्ने भनाइद्वारा निर्देशित नभएका भए, तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाले पोषण पाउनेथिएनन्, अनि यदि मानिसहरूका महत्त्वाकाङ्क्षा र चाहना दुई वा तीन वर्षमा साकार नभएका भए, मानिसहरूले सम्भवतः ती त्याग्नेथिए, तर शैतानले आगोमा घिउ थप्नेबित्तिकै, तिनीहरूका चाहनाहरू झन्-झन् बढ्दै जान्छन्। यो बढ्ने काम आफैमा समस्या होइन, तर त्यसले तिनीहरूलाई दुष्ट मार्गमा पाइला चाल्न लगाउँछ। जब कुनै व्यक्तिले दुष्ट मार्गमा पाइला चाल्छ, तब के उसले असल कामकुरा गर्न सक्छ? के उसले मानवीय कामकुरा गर्न सक्छ? अहँ, सक्दैन। उसले आफ्नो उद्देश्य र लक्ष्यहरू पूरा गर्न कुनै पनि उपाय प्रयोग गर्नेछ, आफ्नो लक्ष्य पूरा नहुन्जेल नबिसाउने कसम खानेछ, र कुनै पनि प्रकारको खराब कुरा गर्न सक्छ। हेर् त, के छोराछोरीले सम्पत्ति पाउनका निम्ति आफ्ना आमाबुबालाई मार्ने घटनाहरू हुँदैनन् र? (हुन्छन्।) मानिसहरूले आफ्नो स्वार्थका खातिर आफ्नै हातले साथीसँगी र प्रियजनलाई मार्ने एकदमै धेरै घटनाहरू हुन्छन्। दुई व्यक्तिले एउटै फाइदाजनक अवसर पाएर त्यसका लागि एक-आपसमा लडाइँ गर्नुपर्दा, तिनीहरू त्यो प्राप्त गर्न आफूले सक्ने कुनै पनि माध्यम प्रयोग गर्छन्। सबैभन्दा महत्त्वपूर्ण क्षणमा तिनीहरूको विश्‍वास के-कस्तो हुन्छ? “म कहिल्यै हार मान्दिनँ। यसपटक म असफल हुनै मिल्दैन। यदि मैले यो अवसर गुमाएँ भने, बाँकी जीवनभरि यस्तो राम्रो अवसर फेरि कहिल्यै नपाउन सक्छु। त्यसैले, मैले यसपटक जित्नैपर्छ। मैले जसरी पनि यो अवसर प्राप्त गर्नैपर्छ। मेरो बाटो जसले रोके पनि, म कुनै कृपा नदेखाई उसलाई मारिदिनेछु!” अन्त्यमा के हुन्छ? उसले त्यो अर्को व्यक्तिलाई मार्छ। उसले आफ्नो उद्देश्य र चाहना पूरा गर्‍यो होला, तर दुष्टता पनि गरेको छ, अनि त्यसले विपत्ति ल्याएको छ। उसको हृदय जीवनभर अशान्त रहन सक्छ, हृदयमा दोषी महसुस हुन सक्छ, वा त्यसबारे केही अत्तोपत्तो नहुन सक्छ। तथापि, वास्तविकता के हो भने उसले त्यो पटक्कै नबुझ्नुको अर्थ परमेश्‍वरले यस मामलालाई परिभाषित गर्नुभएको छैन भन्ने होइन। परमेश्‍वरसँग यसलाई सम्हाल्ने तरिका छ। यस व्यक्तिले जीवनमा उद्देश्य प्राप्त गर्‍यो होला, उसले त्यो हत्यायो होला, तर अर्को जुनीमा आफूले यस जुनीमा गरेको सम्भवतः दुष्ट कार्यको पीडादायी मूल्य चुकाउनुपर्नेछ। उसले त्यसको मूल्य एक जुनी, वा दुई जुनी, तीन जुनी वा अनन्तसम्म चुकाउनुपर्ने हुन सक्छ। यो मूल्य अत्यन्तै भयानक हुन्छ! त्यसोभए, यो परिणाम कसरी आयो? त्यो एउटा वाक्यांश, एउटा विश्‍वासले ल्याएको हो। यो व्यक्तिले त्यो अवसर पाउन चाहन्छ। ऊ हार स्विकार्दैन, ऊ हार मान्दैन, र उसले आफूलाई असफल हुन दिँदैन। ऊ त्यो अवसर च्याप्पै समात्न चाहन्छ। परिणामस्वरूप, त्यसले विपत्ति पैदा गर्छ। विपत्ति पैदा भइसकेपछि, मूल्य चुकाउन र नतिजाको क्षतिपूर्ति गर्न एक वा दुई वर्षले पुग्नेछैन। के यो अति महँगो मूल्य होइन र? मानिसको आयु अस्सीदेखि नब्बे वर्षसम्मको हुन्छ, र छोटोमा पचासदेखि साठी वर्षसम्मको हुन्छ। तैँले व्यक्तिगत लाभ, हैसियत, पैसा वा अन्य भौतिक कुराहरू प्राप्त गरेको छस् भने पनि, यी कुराहरू सचेत रूपमा बीस वा तीस वर्षसम्म उपभोग गर्नेछस्। तथापि, उपभोग गर्ने यी बीस वा तीस वर्षका लागि तैँले आफ्नो हरेक जीवनमा, बाँकी अनन्तकालभरि मूल्य चुकाउनुपर्ने हुन सक्छ। के यो मूल्य अति महँगो होइन र? (हो।) परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूले सत्यता बुझ्दैनन्, न त तिनीहरूलाई परमेश्‍वर यी सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर नै थाहा हुन्छ। त्यसैले, तिनीहरूले निश्चित धारणा वा शैतानी तर्कका वशमा परेर आफ्नो स्वार्थी चाहना, स्वार्थका लागि क्षणिक अन्धो चाहनाका खातिर मूर्खतापूर्ण कुराहरू गर्न सक्छन्, जसले गर्दा तिनीहरूलाई अनन्तकालसम्म पछुतो हुन्छ। “अनन्त” को अर्थ यस जीवनको बीस वा तीस वर्ष होइन, बरु तिनीहरूले यो जीवनलगायत हरेक जीवनमा कष्ट भोग्नैपर्छ भन्ने हो। परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूले यी कुराहरू बुझ्नेछैनन्, र यदि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले सत्यता बुझ्दैनन् वा परमेश्‍वरलाई जान्दैनन् भने, यी कुराहरू पनि बुझ्नेछैनन्। कतिपय मानिसहरू प्रस्ट देखिने दुष्ट कुराहरू गर्दैनन्। तैँले तिनीहरूलाई बाहिरबाट हेर्दा, तिनीहरूले मानिसहरू मार्ने वा आगो लगाउने गर्दैनन्, अनि खुल्लमखुल्ला अरू मानिसहरूलाई पासो थाप्दैनन्, तर तिनीहरूसँग धेरै गोप्य तरकिब हुन्छन्। परमेश्‍वरका नजरमा यो दुष्टता र प्रस्ट दुष्टताको चरित्र उही हुन्छ। मैले तिनको चरित्र उही हुन्छ भन्नुको अर्थ के हो? त्यसको अर्थ परमेश्‍वरका नजरमा, उहाँले यस्ता कुराहरूको निन्दा गर्न प्रयोग गर्ने सिद्धान्तहरू उही हुन्छन्। उहाँ ती कुरालाई निन्दा गर्न उही विधि र उही सत्यता प्रयोग गर्नुहुन्छ। ती मानिसहरूले गरेका यी सबै कुरा परमेश्‍वरद्वारा निन्दित हुन्छन्, चाहे तिनीहरूले ती जुनै प्रेरणाले गरेका हुन्, र चाहे तिनीहरूले ती परमेश्‍वरका घरमा गरेका हुन् वा बाहिर संसारमा नै गरेका किन नहुन्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् तर अझै यी कुराहरू गर्छस् भने, के परमेश्‍वरले अन्त्यमा तँलाई दिने परिणाम गैरविश्‍वासीहरूको भन्दा कुनै फरक हुनेछ? मलाई बता, के तैँले परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेको छस् र केही वर्षदेखि मण्डलीका लागि सेवा प्रदान गरेको छस् भन्दैमा उहाँले तँप्रति नरम भएर आफ्नो धर्मी स्वभाव परिवर्तन गर्नुहुनेछ? के तिमीहरूलाई यो सम्भव छ भन्ने लाग्छ? यो बिलकुलै सम्भव छैन। मैले यसो भन्नुको अर्थ के हो? यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले गर्ने दुष्टता दुष्टता नै हुन्छ, र तैँले सत्यता बुझेपछि पनि, तैँले गर्ने दुष्टता दुष्टता नै हुन्छ। परमेश्‍वरको दृष्टिकोणमा, यो सब दुष्टता हो। यी दुई प्रकारका दुष्टता आपसमा समान हुन्। यी दुईबीच कुनै भिन्नता छैन। कुनै कुरा सत्यताअनुरूप छैन भने, त्यो दुष्टता हो। परमेश्‍वरको दृष्टिकोणमा, ती दुईका चरित्रमा कुनै भिन्नता हुँदैन। ती दुवै दुष्टता भएकाले, मानिसहरूले दुवै मामलामा आफूले गरेको दुष्टताको मूल्य चुकाउनैपर्छ—तिनीहरूले मूल्य चुकाउनैपर्छ। यो परमेश्‍वरको धर्मी स्वभाव हो। तैँले त्यसलाई शङ्का गरे पनि वा विश्‍वास गरे पनि, परमेश्‍वर यही गर्नुहुन्छ, र उहाँ कामकुरालाई यसरी नै परिभाषित गर्नुहुन्छ। मैले यसो भन्नुको मतलब के हो? म तिमीहरू सबैलाई एउटा तथ्य बताउन चाहन्छु: तैँले यस्तो ठान्नु हुँदैन, “परमेश्‍वरले मलाई रोज्नुभयो, त्यसैले मैले उहाँका नजरमा निगाह पाएको छु। म धेरै सत्यताहरू बुझ्छु। यदि मैले सानो दुष्टता गरेँ भने, परमेश्‍वरले त्यसलाई त्यसरी चित्रण वा त्यसको निन्दा गर्नुहुनेछैन। म आफूलाई जे मन लाग्छ त्यो गर्न सक्छु। म सत्यता अभ्यास गर्नका लागि कष्ट भोगेको बहाना बनाएर आफ्नो हातमा परेको दुष्टता सम्पन्न गर्न सक्छु। त्यसपछि परमेश्‍वरले त्यसलाई निन्दा गर्नुहुनेछैन, गर्नुहुनेछ त?” तँ गलत छस्। दुष्टतालाई निन्दा गर्ने परमेश्‍वरका सिद्धान्तहरू उही हुन्छन्। त्यो जुनै परिवेश वा मानिसहरूको जुनै समूहमा घटित भए पनि, त्यसले फरक पार्दैन। परमेश्‍वरले फरक-फरक जातिहरूबीच भिन्नता छुट्याउनुहुन्न, न त आफूले चुनेका र नचुनेकाहरूबीच नै भिन्नता छुट्याउनुहुन्छ। चाहे तिनीहरू गैरविश्‍वासी हुन् वा विश्‍वासी, परमेश्‍वरले तिनीहरूलाई एउटै नजरले हेर्नुहुन्छ। के तिमीहरूले बुझ्यौ? (हजुर, बुझ्यौँ।)

“कहिल्यै हार नमान्नु” भन्ने भनाइ मानिसहरूले आफू शैतानी स्वभावद्वारा निर्देशित हुँदा भन्ने कुरा हो, र यो शैतानी संसारले वकालत गर्ने मानसिकता हो। हामी यस मानसिकतालाई केका रूपमा हेर्छौँ? (मानसिक रोगका रूपमा।) यो जिउन र कामकुरा गर्नका लागि मानिसहरूमा हुने एक प्रकारको सोचाइ र सिद्धान्त हो, जसलाई मानसिक रोग लागेका मानिसहरूले वकालत गर्छन्। यसले मानिसहरूलाई आफ्नै‍ कामना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि हरसम्भव उपायहरू प्रयोग गर्न, जस्तोसुकै परिस्थिति भए पनि कहिल्यै निरुत्साहित नहुन, “दृढ रहो र कहिल्यै नत्याग” भन्ने सिद्धान्तअनुसार कामकुरालाई पछ्याउन, अनि आफ्ना चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू उचित छन् कि छैनन् भनेर विश्लेषण नगर्न उक्साउँछ र उत्प्रेरित गर्छ; तिनीहरूमा यो मानसिकता छ भने, त्यो प्रशंसायोग्य हुन्छ। यदि कुनै व्यक्तिले मानवजातिलाई लाभ पुग्ने केही कुरा अनुसन्धान गरेको, कहिल्यै हार नमानेको, असफलताद्वारा निरुत्साहित नभएको, सकारात्मक दिशामा प्रगति गरिरहेको, र मानिसहरूले भविष्यमा अझ राम्रो जीवन जिउन सकून् भनी अनुसन्धान गरिरहेको भए, यो केही मात्रामा प्रशंसनीय हुनेथियो। तथापि, के मानवजातिले यस संसारमा पछ्याउने लक्ष्य यही हो? कसले निस्वार्थ भावले मानवजातिको भलाइका लागि यस्ता कुराहरू गर्छ? कसैले गर्दैन। कतिपय मानिसले बाहिरी रूपमा मानवजातिका लागि राम्रो गरेका नाममा कामकुरा गरे पनि, त्यसको पछाडि तिनीहरूले आफ्नै ख्याति र व्यावसायिक उपलब्धिका लागि त्यो गरिरहेका हुन्छन्, ताकि तिनीहरूको नाम इतिहासमा लेखियोस्। तिनीहरूका उद्देश्यहरू यिनै हुन्, र यीमध्ये कुनै पनि उद्देश्य उचित छैनन्। यी कुराबाहेक, कहिल्यै हार नमान्ने मानसिकताले मानिसहरूलाई के गर्न निर्देशित गर्छ? सर्वप्रथम, कहिल्यै हार नमान्ने मानसिकताले मानिसहरूको सीमा र नैसर्गिक प्रवृत्तिलाई चुनौती दिन्छ। उदाहरणका लागि, खेलमैदानमा एक व्यक्तिले तीन पल्टनबाजी लगाउँछ र उसको मुटुले त्यो सहन सक्दैन, तर ऊ भन्छ, “म कहिल्यै हार मान्दिनँ। मैले आफ्नो सीमा र गिनिज वर्ल्ड रेकर्डलाई चुनौती दिनैपर्छ। म दस पल्टनबाजी लगाउनेछु!” परिणामस्वरूप, आठौँ पल्टनबाजी लगाएपछि ऊ मर्छ। यदि यस मानसिकताले उसलाई यसो गर्न उत्प्रेरित नगरेको भए के हुन्थ्यो? (उसले त्यो आफ्नो क्षमताअनुसार गर्नेथियो।) ठिक भनिस्। परमेश्‍वर मानिसहरूले के गरून् भन्ने माग गर्नुहुन्छ? परमेश्‍वर मानिसहरू सामान्य मानवतामा जिऊन् भन्ने माग गर्नुहुन्छ, र मानिसहरूलाई कमजोरी राख्न अनुमति दिनुहुन्छ। मानिसहरूको नैसर्गिक प्रवृत्ति र अङ्गहरूले सहन सक्ने सीमा हुन्छ। मानिसहरू आफूले कुन स्तर हासिल गर्न सक्छु भनेर स्पष्ट हुनुपर्छ। के त्यो व्यक्ति उसले लगातार दस पल्टनबाजी लगाउँदा के नतिजा हुन्छ भन्नेबारे स्पष्ट थियो? ऊ यसबारे स्पष्ट थिएन, र उसले त्यो अन्धाधुन्ध गरेको र आफ्नो सीमालाई चुनौती दिएको थियो, त्यसोभए, उसको मृत्यु हुनुमा कसको दोष थियो? (उसैको दोष थियो।) त्यस व्यक्तिले दस पल्टनबाजी लगाउने प्रयास गर्नुको स्रोत शैतानले सधैँ उसलाई यसो भन्दै उत्प्रेरित गरिरहनु थियो, “तैँले कहिल्यै हार मान्नै हुँदैन। पाँच पल्टनबाजी लगाएपछि हार मान्नु दयनीय कुरा हो। तैँले आठ पल्टनबाजी लगाउनुपर्छ!” उसले सोच्यो, “आठले पनि पुग्दैन। म दस पल्टनबाजी लगाउनेछु!” परिणामस्वरूप, आठौँ पल्टनबाजी लगाएपछि उसको मुटुको धड्कन रोकियो र सास चल्न छोड्यो। के उसलाई शैतानले खेलाएको थिएन र? अवश्य नै, हामी यसलाई उदाहरणका रूपमा मात्र प्रयोग गरिरहेका छौँ; बिस पल्टनबाजी लगाउँदा पनि कुनै समस्या नहुने कुनै व्यक्ति हुन सक्छ। जब मानिसहरूमा लडाइँ गर्न यो कहिल्यै हार नमान्ने इच्छा हुन्छ, तब तिनीहरू बारम्बार लडाइँ गर्छन् र आफ्नो ज्यान फाल्न पुग्छन्। यदि तिनीहरूले आफ्नो ज्यान फाल्छन् तर कुनै दुष्टता गरेका हुँदैनन् भने त्यो अलि राम्रो परिदृश्य हो। त्यसो हो भने तिनीहरूले अर्को जुनीमा व्यक्तिका रूपमा पुनर्जन्म पाउने मौका पाउन सक्छन्, र फेरि व्यक्ति बन्दा कस्तो हुन्छ भन्ने कुराको स्वाद पाउन सक्छन्। तर, कतिपय मानिसहरूले ठूलो दुष्टता गरेका हुन्छन् र त्यसले विपत्ति पैदा गरेको हुन्छ, त्यसैले तिनीहरूले कैयौँ जुनीसम्म त्यसको भयानक मूल्य चुकाउनैपर्छ; तिनीहरूले त्यसको क्षतिपूर्ति गरिरहनैपर्छ, र हरेक जुनीमा कष्ट भोग्नैपर्छ। यदि तिनीहरूले यस जुनीमा त्यो सबको क्षतिपूर्ति गर्दैनन् भने, अर्को जुनी छँदै छ, र तिनीहरूलाई त्यो सबको क्षतिपूर्ति गर्न कति जुनी लाग्नेछ भन्ने कुरा अज्ञात छ। परिणाम यही हो।

कतिपय मानिस सुसमाचार प्रचार गर्न असफल हुँदा त्यो स्विकार्न मान्दैनन्, र भन्छन्, “म कहिल्यै हार मान्दिनँ। मैले यसपाली कसैलाई विश्‍वासमा ल्याइनँ—म असफल भएँ। अर्कोपटक म असफल हुन मिल्दैन। म अवश्य नै परमेश्‍वरको गवाही हुनैपर्छ, र विजयी हुने बालक बन्नैपर्छ!” मानिसहरूमा यो सङ्कल्प हुनु राम्रो हो, तर तिनीहरूले “कहिल्यै हार नमान्नु” भन्ने शब्दहरू भन्न सक्ने तथ्यचाहिँ के हो नि? यो कस्तो स्वभाव हो? के यो प्रधान स्वर्गदूतको स्वभाव होइन र? के परमेश्‍वरले तिनीहरूलाई यसरी गवाही दिन लगाउनुभएको हो? के तिनीहरू सत्यता बुझ्छन्? के तिनीहरूले जे गरिरहेका छन् त्यो परमेश्‍वरको गवाही दिनु हो? तिनीहरूले परमेश्‍वरको बेइज्जत गरिरहेका छन्। तिमीहरूलाई यिनीहरू कस्ता मानिस हुन् भन्ने लाग्छ? (लट्ठक।) तिनीहरू लट्ठक हुन्। तिनीहरू सत्यता बुझ्दैनन्, तैपनि परमेश्‍वरको गवाही दिन्छौँ भनेर भन्छन्—यदि तिनीहरूले परमेश्‍वरलाई बेइज्जत नगरेका भए त्यो नै पर्याप्त हुनेथियो। “कहिल्यै हार नमान्नु” कस्ता प्रकारका शब्दहरू हुन्? यी शब्दहरूको अर्थ के हो? तिनको अर्थ कहिल्यै हार नस्विकार्नु हो। वास्तवमा, यी मानिसहरू असफल भएका हुन्छन्, तर आफूले असफलता नस्विकारेर मानसिक विजय हासिल गरेको छु भन्ने सोच्छन्। सबै गैरविश्‍वासी मानिसहरूले धेरै असफलता भोगेपछि पनि निरन्तर सङ्घर्ष गर्ने, र आफूलाई जति धेरै रोकावट आइपऱ्यो त्यति नै धेरै साहसी हुँदै जाने मानसिकतालाई उच्च सम्मान गर्छन्। यदि तैँले यस्तो मानसिकता राख्ने गर्थिस् र उद्देश्य हासिल गर्नका लागि सङ्घर्ष गर्न यस्तो मानसिकतामा भर पर्ने गर्थिस् भने, के यो लज्जास्पद कुरा होइन र? “कहिल्यै हार नमान्नु” भन्ने शब्दहरूले मुख्यतः मानिसहरूको भ्रष्ट स्वभावका कुन पक्षहरू देखाउँछन्? यी शब्दहरूले मानिसहरूको सारका कुन पक्षहरूको प्रतिनिधित्व गर्न सक्छन्? के यस्ता आत्मसमर्पण गर्नुभन्दा बरु मर्ने र हार स्विकार्नुअघि बरु मर्ने यस्ता मानिसहरू अहङ्कारी र समझहीन होइनन् र? मानिसहरू यस हदसम्म अहङ्कारी हुन सक्ने, र हार स्विकार्नुभन्दा बरु मर्ने तथ्य समझ नहुने समस्या मात्र होइन; तिनीहरूमा अपराध गर्न उद्धत मानिसमाझैँ बुद्धिको पनि अलि कमी हुन्छ। कतिपय मानिस भन्छन्, “के तिनीहरू जवान र लापरवाह भएकाले यस्तो हुन्छ?” एउटा सम्बन्ध त छ। समाजमा एउटा लोकप्रिय भनाइ छ: “जित्नका लागि तिमीले सबथोक दाउमा राख्नैपर्छ।” यसले त रिसाहा युवाजस्तो जवान मानिसहरूको सबथोक दाउमा राख्ने मानसिकतालाई प्रतिनिधित्व गर्छ। “यदि तँ आफ्नो जीवन जोखिममा पार्न इच्छुक छस् भने, तैँले कुनै पनि कुरा हासिल गर्न सक्छस्”—कहिल्यै हार नमान्ने मानसिकता यही हो। के वृद्ध मानिसहरूसँग यस्तो जोस हुन्छ? तिनीहरूसँग पनि हुन्छ। हेर् त, सबै राजनीतिक वृत्त व्यावहारिक रूपमा वयस्क र वरिष्ठहरू मिलेर बनेका हुन्छन्—प्रतिद्वन्द्व उग्र हुन्छ! मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरू सबैमा धेरथोर मात्रामा यस्तो मानसिकता हुन्छ। तिनीहरू वृद्ध वा जवान हुनुसँग यसको त्यति सम्बन्ध हुँदैन, तर त्यो सिधै तिनीहरूको स्वभावसँग जोडिएको हुन्छ। यदि तैँले परमेश्‍वरमा विश्‍वास गरिस् र सत्यता बुझिस् भने, यस मामिलालाई स्पष्टसँग देख्नेछस्, र यस्तो मानसिकता सत्यता सिद्धान्तहरूअनुरूप छैन र त्यो भ्रष्ट स्वभाव हो भनेर थाहा पाउनेछस्। यदि तँ सत्यता बुझ्दैनस् भने, यो मामला प्रस्टसित बुझ्न सक्नेछैनस् र सोच्नेछस्, “लड्ने इच्छा हुनु राम्रो हो; यो उचित हो। मानिसमा अलिकति लड्ने इच्छा छैन भने तिनीहरू कसरी जिउन सक्छन्? यदि तिनीहरूमा अलिकति लड्ने इच्छा छैन भने, तिनीहरूसित जिउने कुनै जोस बाँकी हुनेछैन। त्यसपछि जिउनुको के अर्थ रहन्छ? तिनीहरू हरेक प्रतिकूल परिस्थितिप्रति झुक्छन्—त्यो कति कमजोर र डरपोक हुनु हो!” सबै मानिसहरू आफू जीवित रहुञ्जेल इज्जतको लागि लड्नैपर्छ भन्ने सोच्छन्। तिनीहरू इज्जतको लागि कसरी लड्छन्? “लडाइँ” भन्ने शब्दलाई जोड दिएर। तिनीहरूलाई जुनै परिस्थिति आइलागे पनि, तिनीहरू लडाइँ गरेर आफ्ना लक्ष्यहरू पूरा गर्ने कोसिस गर्छन्। कहिल्यै हार नमान्ने मानसिकता “लडाइँ” शब्दबाट आउँछ। नास्तिकहरूले सबैभन्दा बढी श्रद्धा गर्ने कुरा लडाइँ गर्ने जोस हो। तिनीहरू स्वर्गसँग लडाइँ गर्छन्; तिनीहरू पृथ्वीसँग लडाइँ गर्छन्; तिनीहरू अरू मानिसहरूसँग लडाइँ गर्छन्—तिनीहरूलाई सबैभन्दा बढी खुसी पार्ने कुरा यही हो। तिनीहरू व्यक्ति लडाइँ गर्न जति धेरै सक्षम छ, ऊ उति नै धेरै बहादुर हुन्छ भन्ने विश्‍वास गर्छन्—बहादुरहरू लडाइँ गर्ने इच्छाले भरिएका हुन्छन्। कहिल्यै हार नमान्ने मानसिकता यहीँनेर नै उत्पन्न भएको हो; लडाइँको चुरो कुरो यही नै हो। शैतानका खालका हरप्रकारका पिशाचहरूले कहिल्यै सत्यता स्विकारेका हुँदैनन्, त्यसोभए, तिनीहरू के-कस्ता कुराअनुसार जिउँछन्? तिनीहरू लडाइँ गर्ने शैतानी दर्शनअनुसार जिउँछन्। तिनीहरू हरेक दिन लडाइँ गर्दै जिउँछन्। तिनीहरू जे काम गरे पनि तिनीहरू सधैँ लडेर जित्ने प्रयास गर्छन् र जितको धाक लगाउँछन्। तिनीहरू आफूले गर्ने हरकुरामा इज्जतको लागि लड्ने कोसिस गर्छन्—के तिनीहरू त्यो हासिल गर्न सक्छन् त? तिनीहरू ठ्याक्कै केका लागि प्रतिस्पर्धा र लडाइँ गरिरहेका हुन्छन्? तिनीहरूको सबै लडाइँ प्रसिद्धि, प्राप्ति र हैसियतका लागि हुन्छ; तिनीहरूका सबै लडाइँ आफ्नो स्वार्थका लागि हुन्छ। तिनीहरू किन लडिरहेका हुन्छन्? नायक भएको नाटक गर्न र उच्च सम्मानित कहलाइनका लागि। तर, तिनीहरूको लडाइँ मृत्युमै टुङ्गिनुपर्छ, र तिनीहरू दण्डित हुनैपर्छ। यसमा कुनै सन्देह छैन। जहाँ शैतान र पिशाचहरू हुन्छन्, त्यहाँ लडाइँ हुन्छ नै; अन्त्यमा तिनीहरू नष्ट हुँदा, लडाइँ पनि टुङ्गिनेछ। शैतान र पिशाचहरूको परिणाम यही हुनेछ।

के लड्न कहिल्यै हार नमान्ने इच्छा भएको मानसिकतालाई संवर्धन गर्नुपर्छ र बढावा दिनुपर्छ? (पर्दैन।) त्यसोभए मानिसहरूले यसलाई कसरी लिनुपर्छ? (मानिसहरूले यसलाई त्याग्नुपर्छ।) मानिसहरूले यसलाई खुट्ट्याउनुपर्छ, निन्दा गर्नुपर्छ, र त्याग्नुपर्छ। यो वाक्यांश सत्यता होइन, र यो मानिसहरूले पालन गर्नुपर्ने मापदण्ड होइन, झन् मानवजातिका लागि परमेश्‍वरको माग हुनु त परको कुरा हो। यसको परमेश्‍वरका वचनहरूसँग, र मानिसहरूका लागि परमेश्‍वरको मागसँग कुनै सम्बन्ध छैन। परमेश्‍वर मानिसहरूबाट के माग गर्नुहुन्छ? परमेश्‍वरलाई तैँले लड्दा कहिल्यै हार नमान्ने इच्छाको खाँचो पर्दैन। परमेश्‍वर मानिसहरूले आफ्नो भ्रष्ट सार बुझून्, आफू कस्तो व्यक्ति, कस्तो प्रकारको व्यक्ति हो, आफूमा केको कमी छ, आफ्नो क्षमता धेरै छ कि थोरै छ, आफ्नो बुझ्‍ने क्षमता कस्तो छ, आफू परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने व्यक्ति हो कि होइन र आफू सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चिनून् भन्ने चाहनुहुन्छ। परमेश्‍वर तैँले आफूलाई यिनै तरिकाले सटिक रूपमा चिनेको, त्यसपछि तैँले आफ्नो कद र क्षमताअनुसार आफूले सक्ने कुरा सक्दो गरेको चाहनुहुन्छ। के यसमा “लड्नु” को अर्थ छ? (छैन।) तैँले लड्नुपर्दैन। कतिपय मानिस भन्छन्: “के म आफ्नो भ्रष्ट स्वभावसँग लड्न सक्दिनँ?” के तेरो भ्रष्ट स्वभावलाई लडेर जित्न सकिन्छ? के यसलाई लडेर परिवर्तन गर्न सकिन्छ? (सकिँदैन।) अहँ, यसलाई परिवर्तन गर्न सकिँदैन। कतिपय मानिस भन्छन्, “के म शैतानका दुष्ट शक्तिहरूसँग लड्न सक्छु? के म ख्रीष्टविरोधीहरूसँग लड्न सक्छु? के म दुष्ट मानिसहरू, दुष्ट स्वभाव भएका मानिसहरू, अनि अवरोध र बाधा पुऱ्याउने मानिसहरूसँग लड्न सक्छु?” यो निश्चय नै सही होइन। यो किन सही होइन? लड्नु आफैमा सत्यता अभ्यास गर्नु होइन। परमेश्‍वरको वचनले कतिबेला “ख्रीष्टविरोधीहरूसँग लड्,” “फरिसीहरूसँग लड्,” “पाखण्डीहरूसँग लड्,” वा “आफ्नो भ्रष्ट स्वभावसँग लड्” भन्यो? के परमेश्‍वरले यी कुराहरू भन्नुभएको छ? (भन्नुभएको छैन।) त्यसको विपरीत, यस शैतानी संसारमा जमिनदारहरूविरुद्ध, सत्तामा हुनेहरूविरुद्ध, र बुद्धिजीवीहरूविरुद्ध लडाइँ हुन्छ, साथै जनमानसबीच लडाइँ हुन्छ, भाले जुधाइ, कुकुर लडाइँ र गोरू जुधाइ इत्यादि हुन्छ। जे भए पनि, यी कुनै पनि कुराहरू राम्रा होइनन्। लडाइँ एउटा तरकिब हो जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्छ र जीवित कुराहरूमाथि विपत्ति ल्याउँछ। त्यसले मानवजातिलाई शान्तिपूर्वक सह-अस्तित्वमा जिउन दिँदैन। बरु, त्यसले मानिसहरूबीच मतभेद र घृणा पैदा गर्छ, त्यसपछि त्यसले मानिसहरूलाई आपसमा लड्न र एकअर्काको हत्या गर्न लगाउँछ, जबकि आफू भने छेउमा बसेर मनोरञ्जन र झैझगडा हेर्छ। यो शैतानी व्यवहार भएको हुनाले, यदि मण्डली र परमेश्‍वरको घरमा लड्नुसँग सम्बन्धित कतिपय व्यवहार, घटना, वा मामिला उत्पन्न भयो भने, तिमीहरू यी कुरालाई कसरी हेर्छौ? तिमीहरू समर्थन र अनुमोदन देखाउँछौ, वा त्यसलाई रोक्छौ? (त्यसलाई रोक्छौँ।) तिमीहरूले त्यसलाई रोक्नुपर्छ, तिनीहरूलाई स्पष्टसँग कामकुरा बताउनुपर्छ, तिनीहरूलाई बुझाउनुपर्छ, र तिनीहरूलाई तिनीहरूले सत्यताअनुसार, सिद्धान्तअनुरूप कामकुरा गर्नैपर्छ, र परमेश्‍वरका वचनहरूसँग पूर्ण रूपले मेल खाने गरी कार्य गर्नैपर्छ भनेर बताउनुपर्छ। तिमीहरू तिनीहरूलाई काटछाँट पनि गर्न सक्छौ, तर तिनीहरूलाई काटछाँट गर्नु, हप्की लगाउनु, र ताडनासमेत दिनु लड्नु होइन। लड्नुले केलाई जनाउँछ? लड्नु भनेको कुनै मामिलाबारे साँचो कुरा के हो र के होइन भनेर आवेगमा आई अरू मानिससँग विवाद गर्नु, मानिसहरूसँग तर्क गर्नु र समझहीन हुनु, रिस पोखाउनु, गोप्य षड्यन्त्र र छली युक्तिहरूसमेत प्रयोग गर्नु, वा कुनै व्यक्तिलाई उसले आत्मसमर्पण नगरून्जेल परास्त गर्न, हराउन र बारम्बार यातना दिन मानिसका चाल, तौरतरिका र माध्यमहरू प्रयोग गर्नु हो। यसलाई लड्नु भनिन्छ। लड्नु पूर्णतया आवेगपूर्ण व्यवहार र कार्य हो, अनि यो कामकुरा गर्ने पूर्णतया शैतानी प्रकारको व्यवहार, विधि र माध्यम पनि हो। यसको सत्यतासँग कुनै सम्बन्ध छैन। कतिपय मानिस भन्छन्, “परमेश्‍वरका चुनिएका मानिसहरू खडा भएर झूटा अगुवा, ख्रीष्टविरोधी, फरिसी र दुष्ट व्यक्तिजस्ता मानिसहरूसँग लड्नु कसरी गलत हो र? के तिनीहरूले आत्मसमर्पण नगरून्जेल वा तिनीहरू ननिकालिऊञ्जेलसम्‍म तिनीहरूसँग लड्नु राम्रो कुरा होइन र? के त्यसपछि परमेश्‍वरको घर शान्त हुनेछैन र? के त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो मण्डली जीवन शान्तिपूर्वक बिताउन सक्नेछैनन् र? हामीलाई किन यी मानिसहरूसँग लड्न दिँइदैन?” के यी मानिसहरूसँग लड्नु सही हो? सर्वप्रथम, एउटा कुरा निश्चित छ, र त्यो के हो भने, लड्नु गलत कुरा हो। त्यो किन गलत हो? परमेश्‍वर दुष्ट मानिसहरूलाई दण्ड दिनुहुन्छ र निन्दा गर्नुहुन्छ, त्यसैले मानिसहरू तिनीहरूसँग लड्छन् भने, त्यसले के फरक पार्छ र? गर्नका लागि अरू कुनै राम्रो काम नहुँदा मानिसहरूले तिनीहरूलाई अपमान गर्नु, दण्डित गर्नु र यातना दिनु, तिनीहरूमाथि चिच्याउनु, भुइँमा दबाउनु र आलोचना गर्नु कसरी गलत हो र? परमेश्‍वरले प्रशासनिक आदेशहरू जारी गर्नुहुन्छ, र ती आदेशहरूमा लड्नुसित सम्बन्धित सर्तहरू हुँदैनन्। परमेश्‍वर केवल प्रशासनिक आदेशहरू तोक्नुहुन्छ, जसभित्र हर प्रकारको व्यक्तिलाई सम्हाल्ने विधि र सिद्धान्तहरू हुन्छन्। ती आदेशहरूले मानिसहरूलाई कस्ता मानिसलाई निष्कासित गर्नुपर्छ, कस्ता मानिसलाई निकाल्नुपर्छ, कस्ता मानिसलाई बर्खास्त गर्नुपर्छ, कस्ता मानिसलाई संवर्धन गर्नुपर्छ, कस्ता मानिसलाई प्रयोग गर्नुपर्छ, कस्ता मानिसलाई प्रयोग गर्नु हुँदैन, कस्ता मानिसलाई मुक्ति दिन सकिन्छ, र कस्ता मानिसलाई मुक्ति दिन सकिँदैन भनेर बताउँछन्। परमेश्‍वर मानिसहरूलाई सिद्धान्तहरू मात्र बताउनुहुन्छ। तसर्थ, मानिसको हैसियतले तिमीहरूले परमेश्‍वरका यी वचनहरूलाई कसरी अर्थ्याउनुपर्छ? परमेश्‍वरका यी सबै वचन सत्यता हुन्। सत्यता के हो? सत्यता भनेको परमेश्‍वरले कुनै पनि कुरा गर्नुहुँदा वा कुनै पनि प्रकारको व्यक्तिसँग व्यवहार गर्नुहुँदा, तिनीहरू दुष्ट कुराहरू गरेर परमेश्‍वरको घरको काम र हितमा अत्यन्तै हानि पुऱ्याएको दुष्ट व्यक्ति भए पनि, उहाँले तिनीहरूलाई सम्हाल्न अझै आफ्ना विधिहरू प्रयोग गर्नु हो; उहाँले तिनीहरूलाई सम्हाल्न कुनै शैतानी वा आवेगपूर्ण विधि पटक्कै प्रयोग गर्नुहुनेछैन। यसलाई के भनिन्छ? यसलाई मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नु भनिन्छ। के यस निष्पक्षताभित्र लडाइँ हुन्छ? हुँदैन। के यो सत्यता हो? (हो।) यो व्यक्ति जति नै आवेगी, जति नै शैतानी, र जति नै दुष्ट भए पनि, हामी परमेश्‍वरका वचनलाई उसलाई सम्हाल्न प्रयोग गर्ने सर्वोच्च निर्देशन, र सही सिद्धान्त मान्छौँ। हामी उसलाई भर्त्सना गर्दैनौँ, वा आवेगमा आएर ऊविरुद्ध हूल बाँधेर जाइलाग्दैनौँ; हामी त्यस्तो काम बिलकुलै गर्दैनौँ। यसैलाई नै मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्नु भनिन्छ, र परमेश्‍वरले मानिसहरूलाई दिएका सिद्धान्तहरू यिनै हुन्।

पूर्वी संसारमा “लड्दा कहिल्यै हार नमान्ने इच्छा” भन्ने निश्चित वाक्यांश छ। पश्चिमी संसारमा पनि त्यस्तै अर्थ लाग्ने कुनै वाक्यांश हुन सक्छ। तिनीहरू शैतानद्वारा भ्रष्ट पारिऊन्जेल र शैतानको शक्तिका अधीनमा रहुन्जेल, हरव्यक्तिमा शैतानी स्वभाव हुन्छ, ऊ एकदमै अहङ्कारी र आत्मधर्मी हुन्छ, र कसैसँग झुक्दैन। मानिसहरू यस्तो स्वभावद्वारा प्रेरित हुँदा, तिनीहरूमा निश्चित रूपले कहिल्यै हार नमान्ने मानसिकता र सोच्ने तरिका उत्पन्न हुनेछ। मानिसहरू मानवजातिले प्रचारप्रसार गर्ने यस्तो सोचाइ र मानसिकतालाई उचित, सकारात्मक, अनि आफूलाई आफ्ना मार्गमा अघि बढ्दा र जिउन जारी राख्दा मानिसहरूलाई सहयोग गर्नका लागि पर्याप्त कुरा ठान्छन्। तिनीहरूले यो तथाकथित मानसिकता र सोचाइ जति नै उचित भएको ठाने पनि, र तिनीहरूले यसलाई जति नै उचित भने पनि, हामी सबैमा यसबारे सुझबुझ हुनैपर्छ। सारा मानवजातिभरि सत्यताले प्रभुत्व जमाएको एउटा जाति पनि छैन। कुनै जातिले जति नै उच्च, प्राचीन, वा रहस्यमय विचार वा परम्परागत संस्कृति पैदा गरेको भए पनि, वा शिक्षा प्राप्त गरेको भए पनि, वा त्यसमा ज्ञान भए पनि, एउटा कुरा निश्चित छ: यी कुनै पनि कुराहरू सत्यता होइनन्, वा तिनको सत्यतासँग कुनै सम्बन्ध छैन। कतिपय मानिस भन्छन्, “परम्परागत संस्कृतिमा भएका कतिपय नैतिक शिक्षा, वा सही र गलत, ठिक र बेठिक, कालो र सेतो मापन गर्ने धारणाहरू सत्यताको निकै नजिक रहेजस्तो देखिन्छन्।” ती कुराहरू सत्यताको नजिक रहेजस्तो लाग्ने तथ्यले ती अर्थमा नजिक छन् भन्ने सङ्केत गर्दैन। भ्रष्ट मानवजातिका भनाइहरू शैतानबाट आउँछन्, ती कहिल्यै सत्यता हुँदैनन्, जबकि परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। त्यसैले, मानवजातिका शब्दहरू परमेश्‍वरका वचनसँग जति नै नजिक भएजस्तो देखिए पनि, ती सत्यता होइनन् र सत्यता बन्न सक्दैनन्; यसमा कुनै शङ्का छैन। ती शब्दचयन र अभिव्यक्तिमा मात्र नजिक हुन्छन्, तर वास्तवमा, यी परम्परागत धारणाहरू परमेश्‍वरको वचनका सत्यताहरूसँग मेल खाँदैनन्। यी शब्दहरूको शाब्दिक अर्थमा केही निकटता हुन सक्ने भए पनि, तिनीहरूको स्रोत एउटै हुँदैन। परमेश्‍वरका वचनहरू सृष्टिकर्ताबाट आउँछन्, जबकि परम्परागत संस्कृतिका शब्द, विचार र दृष्टिकोणहरू शैतान र पिशाचहरूबाट आउँछन्। कतिपय मानिस भन्छन्, “परम्परागत संस्कृतिका विचार, दृष्टिकोण, र प्रसिद्ध भनाइहरूलाई सर्वत्र सकारात्मक कुराका रूपमा स्विकारिन्छ; ती झूट र भ्रम भए पनि, मानिसहरूले सयौँ—हजारौँ—वर्षसम्म कायम राखेमा, के ती सत्यता बन्न सक्छन्?” कदापि सक्दैनन्। यस्तो दृष्टिकोण बाँदरहरू विकसित भएर मानिस बनेका हुन् भन्ने भनाइ जत्तिकै हास्यास्पद छ। परम्परागत संस्कृति कहिल्यै सत्यता बन्न सक्नेछैन। संस्कृति संस्कृति नै हो, र त्यो जति नै उच्च भए पनि, त्यो त भ्रष्ट मानवजातिले उत्पन्न गरेको तुलनात्मक रूपले सकारात्मक कुरा मात्र हो। तर सकारात्मक हुनु सत्यता हुनुबराबर होइन, सकारात्मक हुँदैमा त्यो मापदण्ड बन्दैन; त्यो केवल तुलनात्मक रूपले सकारात्मक कुरा हो, त्योभन्दा बढी केही होइन। त्यसोभए, के अब हामीलाई यो “सकारात्मकता” पछाडि परम्परागत संस्कृतिले मानवजातिमाथि पार्ने प्रभाव असल छ कि खराब छ भन्ने कुरा स्पष्ट छ? निस्सन्देह, त्यसले मानवजातिमाथि खराब र नकारात्मक प्रभाव पार्छ।

आज हामीले “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्नु न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिनु” भन्ने भनाइलाई चिरफार गऱ्यौँ। यो संसारसँग व्यवहार गर्ने एक प्रकारको दर्शन हो। हामीले ऐतिहासिक पृष्ठभूमि बोकेको “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने प्रसिद्ध टुक्कालाई पनि चिरफार गऱ्यौँ। के तिमीहरूलाई संसारसँग व्यवहार गर्ने मानवजातिका परम्परागत संस्कृति र दर्शनहरूबारे नयाँ बुझाइ दिन यी दुई वाक्यांश नै पर्याप्त छैनन् र? संसारसँग व्यवहार गर्ने परम्परागत संस्कृति र दर्शनहरूको सार ठ्याक्कै के हो? पहिलो, तिमीहरू यी कुराहरू पटक्कै सकारात्मक होइनन् भनेर निश्चित हुन सक्छौ। ती मानिसहरूको भ्रष्ट स्वभावबाट उत्पन्न हुन्छन्—तिनको स्रोत शैतान हो। तिनले मानवजातिका लागि के ल्याउँछन्? तिनले मानवजातिलाई बहकाउँछन्, भ्रष्ट पार्छन्, अनि बन्धनमा पार्छन् र नियन्त्रित गर्छन्। यो निश्चित छ र यसमा कुनै सन्देह छैन। तिनले मानवजातिका लागि ल्याउने हरकुरा नकारात्मक प्रभाव र नकारात्मक असर हो, त्यसोभए के ती सत्यता हुन्? (होइनन्।) ती सत्यता होइनन्, तैपनि मानवजाति तिनलाई सत्यताका रूपमा पवित्र मान्छन्। यो के भएको हो? मानिसहरू बहकिएका छन्। मानिसहरूले परमेश्‍वरबाट मुक्ति नपाएका हुनाले, तिनीहरू सत्यता नबुझ्ने हुनाले, र तिनीहरूले यस्ता वाक्यांश र मामिलाहरूबारे परमेश्‍वरले भन्नुपर्ने सही कुराहरू नसुनेका हुनाले, तिनीहरू अन्ततः आफ्ना धारणाअनुसार आफूले तुलनात्मक रूपमा सही, असल र आफ्नो इच्छासँग मिल्दो ठान्ने विचार र दृष्टिकोण स्विकार्छन्। यी कुराहरू पहिला तिनीहरूका हृदयमा पसेका हुन्छन् र त्यहाँ हाबी भएका हुन्छन्, त्यसैले मानिसहरू तिनमा सयौँ-हजारौँ वर्षसम्म टाँसिइरहन्छन्। यी परम्परागत संस्कृति, जो शैतानी दर्शन हुन्, तिनले धेरै अगाडिदेखि नै मानिसहरूका हृदयमा जरा गाढेका हुन्छन्, मानिसहरूको पुस्ता दर पुस्तालाई बहकाएका र प्रभाव पारेका हुन्छन्। यदि तिमीहरू सत्यता स्विकार्दैनौ भने, यी दर्शनहरूले तिमीहरूलाई निरन्तर बहकाउनेछन् र प्रभाव पार्नेछन्। आज मैले “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्नु न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिनु” र “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने वाक्यांशहरूबारे चिरफार र सङ्गति गरेँ। यी वाक्यांशहरूमध्ये एउटा भनाइ हो भने अर्को चाहिँ टुक्का हो। हामी यी दुई वाक्यांशमा सारा संसारमा शैतानी संस्कृति भनेको ठ्याक्कै के हो भनेर बुझ्न सक्छौँ: त्यो विधर्म र भ्रमहरूले बनेको हुन्छ, जसले मानिसहरूलाई बहकाउँछ, भ्रष्ट पार्छ, अहित र हानि गर्छ। यदि मानवजातिले शैतानका यी दर्शनहरू पालना गरेमा, मानिसहरू आफ्नो जीवन जिउँदै गर्दा झन्-झनै भ्रष्ट र दुष्ट मात्र हुनेछन्; तिनीहरूले एकअर्कालाई काटमार गर्नेछन्, तिनीहरू आपसमा लड्नेछन्, र त्यसको अन्त्य हुनेछैन। मानिसहरूबीच भरोसा हुनेछैन, मैत्रीपूर्ण सहअस्तित्व र आपसी प्रेम हुनेछैन। सङ्क्षेपमा भन्दा, यस संस्कृतिले मानवजातिमाथि प्रतिकूल परिणामहरू मात्र ल्याउँछ। त्यसले यी तथाकथित विचार र मानसिकताहरूको मार्गदर्शनमा मानवजातिलाई निरन्तर दुष्टता गर्ने तुल्याउँछ, निरन्तर परमेश्‍वरको प्रतिरोध गर्छ, मानिसहरूको नैतिक सीमिततालाई निरन्तर चुनौति दिन्छ, र आफ्नो उद्देश्य पूरा गर्न कुनै पनि माध्यम प्रयोग गर्छ। अन्त्यमा, तिनीहरूले विनाशको मार्ग पछ्याएर दण्ड पाउनेछन्। मानव संस्कृतिको सार यही हो। भनाइहरूका सन्दर्भमा भन्नुपर्दा, तीबारे तिमीहरूको दृष्टिकोण के हो? कतिपय मानिसले भन्लान्, “ती कुरा मानवजातिले समर्थन गर्ने सच्चा विचार होइनन्। उच्च समाजका तुलनात्मक रूपले उच्च स्तरको अन्तर्दृष्टि हुने मानिसहरू ती पालन गर्दैनन्।” अहिले भर्खरै, हामीले उच्च समाजका मानिसहरू सहमत हुने टुक्का, “झिँगटोमा सुतेर पित्त चाट्नु” लाई चिरफार गऱ्यौँ। के यो टुक्का उच्च स्तरको हो? (होइन।) यो उच्च स्तरको होइन, तर यो टुक्का, यी विचार र मानसिकताहरूलाई निश्चय नै उच्च शिक्षा लिइरहेका प्रत्येकले र मानव समाजको प्रत्येक उच्चस्तरीय क्षेत्रले प्रशंसा र समर्थन गर्छन्। यो मानव संस्कृति हो। मानवजातिलाई परम्परागत संस्कृतिका यी पक्षहरूद्वारा सिकाइएको छ, भावशून्य र भ्रष्ट पारिएको छ। अनि अन्तिम परिणाम के हुन्छ? परम्परागत संस्कृतिले मानवजातिलाई बहकाउँछ, बाँध्छ, र बन्धनमा राख्छ, अनि एक प्रकारको मानसिकता र सिद्धान्त स्वाभाविक रूपमा उत्पन्न हुन्छ, जसलाई मानवजातिले समर्थन गर्छ र फैलाउँछ, व्यापक रूपमा प्रसार गर्छ र मानिसहरूलाई स्विकार्न लगाउँछ। अन्त्यमा, त्यसले सबैको हृदय कब्जा गर्छ, सबैलाई यस्तो मानसिकता र विचारको समर्थन गर्न लगाउँछ, र सबै जना यस विचारद्वारा भ्रष्ट पारिन्छन्। मानिसहरू निश्चित हदसम्म भ्रष्ट पारिँदा, तिनीहरूमा सही वा गलतबारे कुनै धारणा रहँदैन; तिनीहरू त्यसउप्रान्त न्याय के हो र दुष्टता के हो भनेर खुट्ट्याउन चाहँदैनन्, न त तिनीहरू अबदेखि सकारात्मक कुरा के हुन् र नकारात्मक कुरा के हुन् भनेर खुट्ट्याउन नै इच्छुक हुन्छन्। तिनीहरू आफू वास्तवमा मानव हो कि होइन भनेर अस्पष्ट हुने दिनसमेत आउँछ, अनि आफू पुरुष हो कि स्त्री हो भनेर थाहा नपाउने विकृत मानिसहरू धेरै हुन्छन्। यस्तो मानवजाति विनाशबाट कति टाढा छ? नोआको समयका मानिसहरूको तुलनामा अहिलेको मानवजातिको कस्तो छ? के तिनीहरू झनै दुष्ट छैनन् र? तिनीहरू दुष्टताको पराकाष्ठामै पुगिसकेका छन्, र तिनीहरू यति दुष्ट छन् कि तिनीहरूका कतिपय कुरा तिमीहरू सुन्न सक्दैनौ—त्यो सुनेपछि तिमीहरूलाई घिन लाग्छ। सबै मानिस निश्चित हदसम्म विकृत हुन्छन्। बाहिरबाट हेर्दा, मानिसहरूको शरीर मानवको जस्तो देखिन्छ, तर तिनीहरूले हृदयमा सोच्ने कुराहरू वास्तवमा मानिसहरूले सोच्नुपर्ने कुरा हुँदैनन्; तिनीहरू सबै विकृत हुन्छन् र आफूलाई बदल्न सक्दैनन्। मैले तिनीहरू आफूलाई परिवर्तन गर्न सक्दैनन् भन्नुको अर्थ के हो? मैले त्यसो भन्नुको अर्थ के हो भने, सायद एक वा दुई सय वर्षअघि अझ धेरै मानिसहरू परमेश्‍वर बोल्नुभएको र उहाँले वाणीहरू व्यक्त गर्नुभएको सुन्न इच्छुक हुनेथिए। तिनीहरू यस संसारमा न्याय, साथै धार्मिकता र निष्पक्षता छ भनेर भरोसा गर्थे। मानिसहरू यस्तो तथ्य स्विकार्न इच्छुक थिए, र तिनीहरू त्यो साकार होस् भन्ने उत्कट चाह गर्थे। त्योभन्दा पनि, तिनीहरू कुनै दिन अन्धकार र दुष्टताको प्रभावबाट मानवजातिलाई मुक्ति दिन सक्ने मुक्तिदाता आउनुहुनेछ भन्ने आशा गर्थे। तथापि, एक वा दुई सय वर्षपछि यस्ता मानिसहरू झन्-झन् कम छन्। परमेश्‍वरको वचन बुझ्न सक्ने मानिसहरू कति छन्? सत्यता स्विकार्न सक्ने मानिस कति छन्? धेरै मानिसले परमेश्‍वरको अनुग्रह पाए पनि, के भो र? उहाँलाई साँचो रूपमा पछ्याउने मानिसहरूको सङ्ख्या झन्-झन् घट्दै गइरहेको छ। भन्नुको अर्थ, मानवजातिमाझ परमेश्‍वरको वचन सुनेपछि प्रोत्साहित हुने, सकारात्मक कुराहरूलाई प्रेम गर्न सक्ने, ज्योतिको तृष्णा गर्ने, न्यायको तृष्णा गर्ने, अनि परमेश्‍वरको राज्यको आगमन, निष्पक्षता र धार्मिकताको तृष्णा गर्ने मानिसहरू झन्-झन् कम छन्। यसले के देखाउँछ? यसले शैतानका दर्शन, नियम, विचार, र तथाकथित मानसिकताहरूले सारा मानवजातिलाई बहकाएको छ र भ्रष्ट पारेको छ भनेर देखाउँछ। तिनीहरू कुन हदसम्म बहकाइएका र भ्रष्ट पारिएका छन्? सबै मानिसले शैतानका भ्रम र दुष्ट भनाइहरूलाई सत्यताका रूपमा स्विकारेका छन्; तिनीहरू सबै शैतानको आराधना गर्छन् र शैतानलाई पछ्याउँछन्। तिनीहरू परमेश्‍वर अर्थात् सृष्टिकर्ताका वचनहरू बुझ्दैनन्। सृष्टिकर्ताले जे भन्नुभए पनि, उहाँले जति भन्नुभए पनि, अनि उहाँका वचनहरू जति नै प्रस्ट र व्यावहारिक भए पनि, कसैले बुझ्दैन; कसैले बोध गर्दैन। तिनीहरू सबै भावशून्य र मन्द बुद्धिका छन्, अनि तिनीहरूको सोचाइ र दिमाग छ्यासमिस भएका छन्। ती कसरी छ्यासमिस भए? तिनलाई छ्यासमिस पार्ने शैतान हो। शैतानले मानिसहरूलाई पूर्ण रूपमा भ्रष्ट पारेको छ। आजका समाजमा सबै प्रकारका फरक-फरक विचार, विचारधारा, र कथन हुन्छन्। मानिसहरू आफूले चुन्ने कुरामै विश्वास गर्छन्, र आफूले चुन्ने कुरालाई नै पछ्याउँछन्। कसैले पनि तिनीहरूलाई के गर्ने भनेर बताउन सक्दैन, न त तिनीहरूले उनीहरूलाई के गर्ने भनेर बताउन नै सक्छन्। त्यो यस हदसम्म हुन्छ। त्यसैले, तिमीहरूले परमेश्‍वरमा विश्वास गर्ने छनौट गर्न सक्नु आशिष् हो। आज, तिमीहरू परमेश्‍वरले भनिरहनुभएको कुरा बुझ्न सक्छौ, तिमीहरूमा अलिकति विवेकको बोध छ, तिमीहरू परमेश्‍वरले भन्ने कुरालाई विश्वास गर्छौ, परमेश्‍वरको राज्यको आगमनको, अनि ज्योति, न्याय, निष्पक्षता, र धार्मिकताका राज्यमा जिउने तृष्णा गर्छौ। के तिमीहरूमा यस्तो इमानदारी बिरलै हुन्छ? तिमीहरूले त्यो कसरी प्राप्त गर्‍यौ? परमेश्‍वरको सुरक्षा र तँलाई स्पष्टता प्रदान गर्नका निम्ति तँमा पवित्र आत्माले काम गर्नुमार्फत तैँले परमेश्‍वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन सकेको हो। यदि परमेश्‍वरले तँमा काम नगर्नुभएको भए, के तँ अहिले यहाँ विश्वासीका रूपमा हुन सक्नेथिइस् र? के तँ अहिले जसरी बदलेको छस्, त्यसरी नै बदलिन सक्थिस्? हेर् त, अहिले ती गैरविश्वासीहरूमा अझै पनि मानव स्वरूप छ त? तैँले अहिले धेरै सत्यता नबुझ्लास्, र धेरै मामिलामा तेरो दृष्टिकोण अझै ठ्याक्कै गैरविश्वासीहरूको जस्तै छ—तिनीहरू जे सोच्छन्, तँ पनि त्यही सोच्छस्। तैँले कहिलेकाहीँ तिनीहरूका कतिपय दृष्टिकोण नस्विकारे पनि, तँमा सुझबुझ छैन, र तँसँग हिँड्ने अर्को मार्ग छैन। तैँले सत्यता बुझ्ने दिन आउँदा, तिनीहरूको दृष्टिकोण गलत र दुष्ट रहेछ भनेर खुट्ट्याउन सक्नेछस्, अनि तेरो हृदयले तिनलाई इन्कार गर्न सक्नेछ। त्यसपछि, तैँले तिनीहरूको पिशाची रूप स्पष्टसँग देख्नेछस्। तैँले तिनीहरू मानव नभई जीवित दियाबलस हुन् भनेर देख्नेछस्। तिनीहरू मानव भेसमा हुन्छन्, तर मानवीय कुराहरू गर्दैनन्। कुरा यही हो भनेर तँ कसरी भन्न सक्छस्? तिनीहरूले प्रचारप्रसार गर्ने शब्दहरू सबै सुन्नमा निकै राम्रो र मानिसहरूलाई बहकाउन सक्ने हुन्छन्, तर तिनीहरूले गर्ने र पूरा गर्ने कुरा एकदमै दुष्ट र कुरूप हुन्छ, र त्यो स्पष्टतः निर्लज्ज र अनुचित हुन्छ। तिनीहरू टाँसिरहने तथाकथित विचार र मानसिकताहरू एकदमै दुष्ट र प्रतिक्रियावादी हुन्छन्, परमेश्‍वरको वचन र सत्यताको पूर्णतया विपरीत हुन्छन्, अनि परमेश्‍वरका वचन र सत्यताको ठिक उल्टा हुन्छन्, तैपनि यी मानिसहरू यी झूटा तर्क र विधर्महरूलाई सत्यताका रूपमा लिन्छन् र सशक्त ढङ्गले तिनको प्रचारप्रसार गर्छन्, मानवजातिलाई बहकाउन र भ्रष्ट पार्न जोरदार र सार्वजनिक रूपमा बढवा दिन्छन्, ताकि तिनीहरूले आफ्ना विभिन्न नीच र निर्लज्ज अपराध र कुरूप अनुहार ढाकछोप गर्न सकून्। यसबाट तैँले तिनीहरू सबै पिशाच, साथै तर्क गर्न नसकिने पशु र अशुद्ध आत्मा हुन् भन्ने कुरा स्पष्टसँग देख्न सक्छस्। तँ तिनीहरूसँग समझदारीपूर्ण कुरा गर्न र असल वा साँचो वचन बोल्न सक्दैनस्। तैँले स्पष्टताको यो हद देख्न सक्ने समय आउँदा, मानवजाति अत्यन्तै गहन रूपमा भ्रष्ट भएको छ; तँ अरू मानिसजस्तै भ्रष्ट छस्; अहिले वर्तमान समयमा परमेश्‍वरमा विश्वास गर्दा र केही सत्यता बुझ्दा मात्र तँ केही मानव स्वरूपमा जिउन, दियाबलस् र शैतानको प्रभावबाट मुक्त हुन, र तिनलाई खुट्ट्याउन, घृणा गर्न, र त्याग्न सक्छस्; परमेश्‍वरको मुक्तिविना तँ ठिक तिनीहरूजस्तै हुनेछस्—तिमीहरूबीच कुनै भिन्नता हुनेछैन—अनि तैँले कुनै पनि प्रकारको दुष्टता वा दुष्ट कुरा गर्न सक्नेछस् भनेर जान्नेछस्। अहिले तैँले सत्यता पछ्याइरहेको छस्, सत्यतामा धेरै काम र मेहनत लगाइरहेको छस्, अभ्यासलाई महत्त्व दिइरहेको छस्, र सत्यतालाई आफ्नै वास्तविकतामा परिणत गरिरहेको छस्। जब तँ सत्यता बुझ्छस्, सत्यता अभ्यास गर्न सक्छस्, परमेश्‍वरका वचनका वास्तविकतामा जिउन सक्छस्, र वास्तविक अनुभवात्मक गवाही दिन सक्छस्, तब तेरो हृदय खुसी र शान्त हुनेछ, तेरो मानसिकता र स्थिति झन्-झन् धेरै सामान्य हुनेछ, परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्-झन् नजिक र झन्-झन् सामान्य हुनेछ, अनि तेरा दिनहरू झन्-झनै राम्रा हुनेछन्। यदि तँ सत्यता अभ्यास गर्दैनस्, सधैँ शैतानी दर्शनहरूअनुसार जिउँछस्, र सधैँ परमेश्‍वरलाई गलत बुझ्छस् र उहाँलाई शङ्का गर्छस् भने, तेरो हृदय परमेश्‍वरबाट झन्-झनै टाढिनेछ, परमेश्‍वरप्रतिको तेरो विश्वास व्यर्थ जानेछ, र तैँले केही प्राप्त गर्नेछैनस्। तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएको भए पनि, धेरै शब्द र धर्मसिद्धान्त बुझे पनि, अनि गैरविश्वासीहरूका विभिन्न भ्रामक सोच र दृष्टिकोणहरू नस्विकारे पनि, त्यो व्यर्थ हुन्छ। किनभने तँ सत्यता बुझ्दैनस् अनि केही शब्द र धर्मसिद्धान्तबारे मात्र कुरा गर्न सक्छस्, र तँ अझै सत्यता अभ्यास गर्न सक्दैनस्। ती कुराहरू पहिला तेरा हृदयमा पसेकाले र त्यहाँ प्रबल भएकाले, तँमाथि अझै हाबी भएकाले, तँ यी कुराअनुसार मात्र जिउन सक्छस्। तैँले जे गर्न चाहे पनि, र तँमाथि जे-जस्तो परिस्थिति आइपरे पनि, आफूलाई यी शैतानी दर्शनहरूद्वारा नियन्त्रित हुनबाट जोगाउन सक्नेछैनस्। त्यसैले, यदि यी शैतानी दर्शनहरू तेरो हृदयमाथि हाबी छन् भने, तैँले सत्यता अभ्यास गर्न सक्नेछैनस्। कतिपय मानिस भन्छन्, “म सत्यता अभ्यास गर्दिनँ, न त शैतानलाई नै पछ्याउँछु।” के यो सम्भव छ? त्यहाँ कुनै मध्य मार्ग छैन। तैँले सत्यता स्विकारेर, सत्यता बुझेर, र त्यसपछि आफ्ना हृदयमा पहिला प्रवेश गरेका र त्यहाँ हाबी भएका ती शैतानी कुराहरू हटाएर मात्र सत्यताअनुसार कामकुरा गर्न पुग्न सक्छस्। सत्यता र परमेश्‍वरको वचन तेरा हृदयमाथि हाबी हुँदा, तैँले स्वाभाविक रूपमा आफूले भन्ने र गर्ने कुरामा सत्यता अभ्यास गर्न सक्नेछस्।

मानिसहरूले शैतानको तर्क र सोच, अनि तिनीहरूको जिउने तरिकालाई नियन्त्रण गर्ने मानसिक आधारहरूलाई केका रूपमा लिन्छन्? मनोवैज्ञानिक पोषण? प्राणका निम्ति तागतिलो झोल? वास्तवमा, यी मानिसहरूलाई भ्रष्ट पार्ने कुरा हुन्, र यदि कसैले “ती खाएमा” ऊ मर्नेछ। यदि मानिसहरूले यी कुराहरू निरन्तर रूपमा स्विकारेमा र आफूभित्र शैतानी कुराहरू थुपारेमा, त्यसले के जनाउँछ? त्यसले तिनीहरूले अझै आफ्नो सुरुको भ्रष्ट स्वभाव फालेका छैनन्, र त्यसमाथि तिनीहरू शैतानबाट नयाँ भ्रष्टता स्विकार्न अघि सरेका छन् भन्ने जनाउँछ। यसको अर्थ तिनीहरूका लागि कुरा समाप्त हुनु हो। तिनीहरूले मुक्ति पाउन नसक्नु अवश्यम्भावी छ। तैँले यी कुराहरूलाई निरन्तर खुट्ट्याउनुपर्छ र इन्कार गर्नुपर्छ, साथै तिनलाई निरन्तर फाल्नुपर्छ, यी कुराहरूअनुसार जिउनु हुँदैन, र परमेश्‍वरका वचनहरू स्विकार्नुपर्छ। यसो भन्ने मानिसहरू छन्, “म यी कुरा स्विकार्नेछैनँ। परमेश्‍वरका वचन आफै ममा प्रवेश गर्नेछन्।” यो सम्भव छैन। तैँले सक्रिय रूपमा सत्यता खोज्नैपर्छ र सत्यता स्विकार्नैपर्छ, अनि सत्यता बुझ्ने प्रक्रियामार्फत स्वाभाविक रूपमा झूटा तर्क र विधर्महरूबारे सुझबुझ पाउनेछस्, अनि तिनलाई बिस्तारै त्याग्नेछस्। यसरी, परमेश्‍वरको वचन बिस्तारै कामकुरा गर्ने तेरो सिद्धान्त बन्नेछ, र तैँले कामकुरा गर्दा ती गर्ने कुन तरिका परमेश्‍वरका अभिप्रायअनुरूप हुन्छ भनेर जान्नेछस्, तैँले एकदमै स्वाभाविक रूपमा सत्यता अभ्यास गर्नेछस्, अनि तेरो भ्रष्ट स्वभावको यो पक्ष परिवर्तन भएको हुनेछ। तिमीहरूलाई यो गर्न गाह्रो हुन्छ भन्ने लाग्छ कि हुँदैन भन्ने लाग्छ? त्यो वास्तवमा गाह्रो हुँदैन। त्यसबारे गाह्रो कुरा भनेको मानिसहरूले त्यो अभ्यास नगर्नु मात्र हो। कतिपय मानिस सोच्छन्, “यो एकदमै गाह्रो हुन्छ—स्वर्ग उक्लनुभन्दा गाह्रो! के यो त माछालाई जमिनमा जिउन बाध्य पार्नु होइन र? के यो मलाई कठिन स्थितिमा हाल्नु होइन र?” के कुरा त्यही हो? होइन, कुरा त्यो होइन। तैँले यी मामिलालाई सही ढङ्गले लिनैपर्छ र तँमा यी मामिलाबारे सही सुझबुझ हुनैपर्छ। आज मैले केही शैतानी भ्रमहरूलाई मात्र सङ्गति र चिरफार गर्न यति लामो समय बिताएको छु, तर के मानिसहरूभित्र यी केही कुरा मात्र बटुलिएका हुन्छन्? (होइन।) यीभन्दा अझ धेरै नै हुन्छन्! पछि, म यी विषयहरूमा क्रमिक रूपमा सङ्गति गर्नेछु। पहिले, मैले यस पक्षमा सङ्गति गरेको थिइनँ, त्यसोभए के तिमीहरूले कहिल्यै यी विषयबारे आफै मनन गऱ्यौ? तिमीहरूले गरेनौ। तिमीहरूले तिनमा मनन गऱ्यौ भने, केही परिणाम पाउनेछौ त? यदि तिमीहरूले सत्यतामा केही प्रयास लगाउन सकेका भए, शैतानी भ्रमहरूलाई केही मात्रामा खुट्ट्याउनेथियौ, अनि तिमीहरू अहिलेजस्तो पूर्णतया अज्ञानी हुनेथिएनौ। के यी विषयहरूबारे आजको मेरो सङ्गति अचानक गरिए जस्तो देखिन्छ? के यसो भन्ने कोही छ, “के हामीले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउनेबारे सङ्गति गरिरहेका छैनौँ र? हामी कसरी अचानक यी विषयहरूमा सङ्गति गरिरहेका छौँ?” यी सबै मामिला शैतानको भ्रष्ट स्वभावसँग सम्बन्धित छन्। यी सबै मामिला मानिसहरूले शैतानको भ्रष्ट स्वभाव खुट्ट्याउनुसँग पनि सम्बन्धित छन्, र सही रूपले सत्यता बुझ्ने मानिसहरूको क्षमताका लागि लाभदायी छन्। कम्तीमा पनि, सङ्गति गरेपछि मानिसहरूलाई “यो ठूलो वाक्यांश त सत्यता रहेनछ” भन्ने थाहा हुनेछ। यस मोडदेखि “झिँगटोमा सुतेर पित्त चाट्नु” र “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्नु न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिनु” जस्ता भ्रमहरू तेरो हृदयबाट हट्छन् होला। तिमीहरूमध्ये कतिपयले तिनलाई अहिले नै हटाउन नसकौला, तर कम्तीमा पनि तँलाई यी वाक्यांशहरू सत्यता होइनन् भन्ने थाहा छ, र तैँले अर्को पाली कसैले यी वाक्यांशहरू भनेको सुन्दा, तँलाई ती वाक्यांशहरूले बहकाइरहेका छन् भनेर थाहा हुनेछ, अनि तैँले ती स्विकार्नेछैनस्। तिमीहरूको हृदयलाई ती वाक्यांशहरू केही हदसम्म सही छन्, र ती अझै पनि गर्नका लागि सही कुरा हुन् भन्ने लागे पनि, तँ यसो पनि सोच्छस्, “परमेश्‍वरले यी वाक्यांशहरू सत्यता होइनन् भनेर भन्नुभएको छ। म ती वाक्यांशअनुसार कार्य गर्न सक्दिनँ।” के यो तेरा लागि लाभदायी छैन र? (छ।) मैले यी कुराहरू भन्नुको उद्देश्य के हो? म किन यी वाक्यांशहरूलाई यसरी चिरफार गर्दै छु? विश्वासीहरू सधैँ भन्छन्, “हामीले सत्यता अभ्यास गर्नैपर्छ। परमेश्‍वरका सबै वचन सत्यता हुन्। परमेश्‍वरका सबै वचन सकारात्मक कुरा हुन्, र हामीले अभ्यास गर्नुपर्ने कुरा हुन्।” एक दिन तँलाई काटछाँट गरिन्छ, अनि “झिँगटोमा सुतेर पित्त चाट्नु” र “स्वर्गले कुनै व्यक्तिलाई ठूलो जिम्मेवारी सुम्पन लाग्दा, उसको हृदयले पहिला पीडा भोग्नैपर्छ” भन्ने वाक्यांशहरू तेरो हृदयमा पैदा हुन्छन्। के यी सत्यता हुन्? के त्यो ठट्टा होइन र? यदि तँलाई परमेश्‍वरको गवाही दिन लगाइएको भए, तैँले त्यो कसरी गर्नेथिइस्? तँ भन्छस्, “विश्वासीहरूले अपमान सहनैपर्छ र गह्रौँ बोझ बोक्नैपर्छ, झिँगटोमा सुतेर पित्त चाट्नैपर्छ, अनि उनीहरूमा लड्दा कहिल्यै हार नमान्नु भन्ने मानसिकता हुनैपर्छ।” के यो परमेश्‍वरको गवाही दिनु हो? (होइन।) तैँले शैतानी तर्कलाई परमेश्‍वरका वचन र सत्यता ठानेर अनि त्यसको गवाही दिएर, परमेश्‍वरको गवाही उचित रूपमा नदिएको मात्र हुँदैनस्, तर तँ शैतानका लागि हाँसोको पात्र पनि बनेको हुन्छस् र तैँले परमेश्‍वरलाई अपमान गरेको हुन्छस्। तँ यो के गरिरहेको छस्? यदि परमेश्‍वरले तँलाई यसका लागि निन्दा गर्ने हो भने, तैँले त्यसलाई अन्याय ठान्नेथिइस् र भन्नेथिइस्, “म अनजान छु। म बुझ्दिनँ। परमेश्‍वरले यसबारे मसँग कहिल्यै सङ्गति गर्नुभएको छैन।” यदि परमेश्‍वरले तँलाई निन्दा गर्नुभएन, तर तेरा कार्यहरूको प्रकृति एकदमै गम्भीर छ भने, उहाँले यसबारे के गर्नुपर्छ? के तँलाई एकातिर पन्छाउनुपर्छ? (होइन।) केही गर्नुपर्दैन। मेरा सन्दर्भमा भन्नुपर्दा, म तिमीहरूलाई सत्यता भनेको ठ्याक्कै के हो, तिमीहरूले असल र सही ठान्ने वाक्यांशहरू सत्यतासँग सम्बन्धित छन् कि छैनन्, अनि ती सत्यता हुन् कि होइनन् भनेर तिमीहरूको बुझाइको स्तरअनुसार र मैले तिमीहरूलाई बताउन सक्ने कुराअनुसार सम्भव भएसम्म बुझ्न लगाउनेछु र सम्भव भएसम्म जान्न लगाउनेछु। मैले तिमीहरूलाई यी कुराहरू बुझाउनैपर्छ। यदि तँ यी कुराहरू जानेपछि पनि उही तरिकाले सोच्छस्, र तँ अझै जिद्दी हुन्छस् भने, परमेश्‍वरले तँलाई एकातिर पन्छाउनुहुनेछैन, न त तँलाई बेवास्ता नै गर्नुहुनेछ। तँ निन्दाको हकदार हुनेछस्, र परमेश्‍वरले कार्य गर्नुहुनेछ। परमेश्‍वरले किन यसो गर्नुहुनेछ? तैँले यी कुराहरू नबुझेर यसरी व्यवहार गरिस् भने, परमेश्‍वरले यसलाई तँ मूर्ख र अज्ञानी बनेको रूपमा लिनुहुनेछ, तर यदि तैँले यी कुराहरू जानेर पनि यसरी व्यवहार गरिस् भने, तैँले जानाजानी गलत गरिरहेको हुन्छस्, र परमेश्‍वरले यसलाई सिद्धान्तअनुसार सम्हाल्नैपर्ने हुन्छ।

डिसेम्बर १९, २०१९

अघिल्लो:  विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन)

अर्को:  विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग एक)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger