विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग छ)

इ. परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नु

आज हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूसम्बन्धी “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन्” भन्ने दसौँ विषयवस्तुबारे सङ्गति जारी राख्नेछौँ, र तिनीहरू परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्ने तेस्रो भागमा केन्द्रित हुनेछौँ। यस अघिको भेलामा, हामीले यस भागका दुई पक्षहरू सङ्गति गर्‍यौँ। ती दुई के-के थिए? (पहिलो ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्छन् र अर्थ्याउँछन् भन्ने थियो। अर्कोचाहिँ ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाँदा परमेश्‍वरका वचनहरूलाई नकार्छन् भन्ने थियो।) दुवै पक्षहरू ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नेसित सम्बन्धित छन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्‍ने कुरा धेरै तरिकाले प्रस्ट छ; यो तिनीहरूको सार, परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति, र परमेश्‍वरसँग सम्बन्धित सारा पक्षहरूलाई तिनीहरूले कसरी व्यवहार गर्छन् भन्नेसित जोडिएको छ। परमेश्‍वरका वचनहरूमा विस्तृत विषयवस्तु समेटिन्छन्, त्यसैले ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई घृणा गर्नु भनेको उहाँका वचनहरूप्रतिको तिनीहरूको सरल मनोवृत्ति होइन। तिनीहरूले उहाँका वचनहरूलाई तिरस्कार गर्नुका कारणहरू एक होइन, बहुआयामी छन्। यस अघिको भेलामा, हामीले ख्रीष्टविरोधीहरू कसरी परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्नेबारे दुई विशिष्ट प्रकटीकरणहरू सङ्गति गर्‍यौँ। आज, हामी अर्को प्रकटीकरणबारे सङ्गति गर्नेछौँ।

ग. ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी खोजीनिती गर्छन्

ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन्—के तिनीहरू परमेश्‍वरले भन्नुभएको कुरामा, परमेश्‍वरले बोल्नुभएको सारा विषयवस्तुमा, साँचो विश्‍वास राख्छन्? (राख्दैनन्।) यसको वास्तविक प्रमाण छ। तिनीहरू साँचो रूपमा विश्‍वास गर्दैनन्, त्यसैले परमेश्‍वरले बोल्नुभएका सारा वचनहरू वास्तविकतासँग मिल्छन् कि मिल्दैनन्, ती पूरा हुन सक्छन् कि सक्दैनन्, वा ती तथ्यपूर्ण छन् कि छैनन् भन्नेप्रति तिनीहरूको मनोवृत्ति के हुन्छ? के तिनीहरू साँचो रूपमा विश्‍वास गर्छन्, कि शङ्का गर्छन् र हृदयभित्र हिचकिचाउँदै नियाल्छन्? तिनीहरूले दृढ रूपमा शङ्का गरिरहेका र हिचकिचाउँदै हृदयभित्र नियालिरहेका हुन्छन्। आज, हामी ख्रीष्टविरोधीहरूको यही प्रकटीकरणबारे सङ्गति गर्नेछौँ: तिनीहरू परमेश्‍वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी खोजीनिती गर्छन्। “खोजीनिती गर्नु” को अर्थ के हो? “खोजीनिती गर्नु” भन्ने वाक्यांश किन प्रयोग गरिन्छ? (परमेश्‍वर, खोजीनिती गर्नुको अर्थ गोप्य रूपमा नियाल्नु, चियाउनु हो।) यो व्याख्या मूलतः सही छ। अब सबैले “खोजीनिती गर्नु” को अर्थ बुझेका छन्; यसको अर्थ हेर्नु र हिचकिचाउँदै गोप्य तरिकाले नियाल्नु, अरूले थाहा नपाउनेगरी सुटुक्क हेर्नु, छायामा रहेर काम गर्नु, र खुला रूपमा वा अरूले देखिनेगरी काम नगर्नु हो; यो एउटा तुच्छ चाल हो। प्रस्टै छ, कि यस्तो चाल चल्ने व्यक्तिले सार्वजनिक रूपमा नभई गोप्य रूपमा त्यसो गरिरहेको हुन्छ। त्यसोभए, यी प्रकटीकरण र व्याख्याहरूमार्फत, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्दा त्यो कस्तो व्यवहार हो? (सत्यतालाई घृणा गर्ने।) त्यो सत्यतालाई घृणा गर्नु हो भनेर के कुराबाट प्रस्ट हुन्छ? ख्रीष्टविरोधीहरू किन परमेश्‍वरका वचनहरू केवल प्रस्ट, जायज, र सार्वजनिक रूपमा पढ्न सक्दैनन्? तिनीहरू किन खोजीनिती गर्छन्? के खोजीनिती गर्नु साँच्चिकै एक प्रकारको कार्य हो? त्यसको व्याख्यामार्फत प्रस्ट हुन्छ कि खोजीनिती गर्नु भनेको खुलेर गर्ने काम होइन; यो बाहिरी स्वरूप, हाउभाउ, वा कार्यहरूमार्फत खुट्ट्याउन सकिने कुरा होइन। बरु, यी सारा विचारहरू त लुकेका, हृदयभित्र राखिएका, अरूले बोध गर्न नसक्‍ने खालका हुन्छन्, र तिनीहरूले के सोचिरहेका छन् भनेर तिनीहरूका हाउभाउ र कार्यहरूबाट खुट्ट्याउन कठिन हुन्छ—यसलाई खोजीनिती गर्नु भनिन्छ। यो परमेश्‍वरका वचनहरूप्रतिको त्यस्तो मनोवृत्ति हो जुन सार्वजनिक रूपमा खुलस्त देखा पर्न सक्दैन; यो प्रस्टसितै गलत मनोवृत्ति हो। यो परमेश्‍वरका वचनहरूलाई तेस्रो पक्षको दृष्टिकोणबाट, शत्रुवत्‌ दृष्टिकोणबाट, र हिचकिचाहटपूर्ण अवलोकन, छानबिन, शङ्का र प्रतिरोधको दृष्टिकोणबाट हेर्ने मनोवृत्ति हो। यी व्यवहारहरूमार्फत, के ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू पूरा हुनेछन् कि हुनेछैनन् भनी खोजीनिती गर्नु, परमेश्‍वरका वचनहरूलाई घृणा गर्नुको प्रकटीकरण हो जुन गम्भीर प्रकृतिको हुन्छ भन्न मिल्छ? (मिल्छ।) ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू पूरा हुनेछन् कि हुनेछैनन् भनी खोजीनिती गर्नुले तिनीहरूको स्वभाव र परमेश्‍वरका वचनहरूप्रति तिनीहरूको साँचो मनोवृत्ति प्रतिबिम्बित गर्छ, जुन तिनीहरूका हृदय, सोच र गोप्य रायहरूमा प्रकाश हुन्छ।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका कुन वचनहरू खोजीनिती गर्छन्? तिनीहरूका विचारमा, परमेश्‍वरका कुन वचनहरू तिनीहरूका गोप्य, गहन छानबिन र विश्‍लेषणलायक छन्? भन्नुको मतलब, परमेश्‍वरले बोल्नुभएका कुन विशिष्ट विषयवस्तुहरूप्रति ख्रीष्टविरोधीहरूले विशेष चासो राख्छन्, जबकि उही समयमा तिनलाई हृदयमा शङ्का गरिरहेका र हिचकिचाउँदै नियालिरहेका हुन्छन्? ख्रीष्टविरोधीहरू आफ्नो हृदयमा परमेश्‍वरका कुन वचनहरू खोजीनिती गर्नका लागि समय र ऊर्जा खर्चन लायक भएको विश्‍वास गर्छन्? (परमेश्‍वरका केही अगमवाणीहरू, रहस्यहरू, र मानिसहरूका भविष्य, नियति र गन्तव्यसँग सम्बन्धित वचनहरू।) अगमवाणीहरू, गन्तव्यहरू, रहस्यहरू—यी धेरैजसो मानिसहरूले चासो राख्ने र ख्रीष्टविरोधीहरूले त झनै हृदयको गहिराइबाट कहिल्यै त्याग्न नसक्ने कुराहरू हुन्। विशेषतः परमेश्‍वरका कुन वचनहरूबारे ख्रीष्टविरोधीहरूले बढी चासो राख्छन् र हृदयमा प्राय: खोजीनिती गर्छन्? त्यसमा यी वचनहरू पूरा हुनेछन् कि छैनन्, यी साकार हुनेछन् कि छैनन्, तिनीहरूले यी तथ्यका रूपमा वास्तवमै हासिल भएको देख्नेछन् कि छैनन् भन्ने कुराहरू संलग्न हुने भएकोले, ख्रीष्टविरोधीहरूले चासो राख्ने कुरा भनेको निश्चय नै परमेश्‍वरले मानवजातिलाई गर्नुभएका प्रतिज्ञाहरू हुन्, होइन र? (हो।) साथै, परमेश्‍वरले मानिसहरूलाई श्राप र दण्ड दिनुहुने, दुष्ट मानिसहरूलाई दण्डित गर्नुहुने, परमेश्‍वरका वचनहरूविरुद्ध जाने सबैलाई दण्डित गर्नुहुने कुरासँग सम्बन्धित वचनहरू हुन्। अनि, त्यसपछि आउँछन् विपत्तिहरूका अगमवाणीहरू—के यो पनि ख्रीष्टविरोधीहरूको चासोको क्षेत्र होइन र? (हो।) अरू के छन्? (परमेश्‍वर कहिले पृथ्वीबाट बिदा हुनुहुनेछ भन्नेबारेका वचनहरू।) परमेश्‍वर कहिले पृथ्वीबाट बिदा हुनुहुनेछ, परमेश्‍वर कहिले महिमित हुनुहुनेछ, परमेश्‍वरको महान्‌ काम कहिले पूरा हुनेछ, परमेश्‍वरले कहिले यो मानवजातिको अन्त्य गर्नुहुनेछ, होइन त? (हो।) जम्मा कतिवटा विषयवस्तुहरू छन्? (चारवटा।) पहिलो हो, मानिसका लागि परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌का वचनहरू। दोस्रो हो, मानिसका लागि परमेश्‍वरका श्राप र दण्डका वचनहरू। तेस्रो हो, विपत्तिहरूको अगमवाणी गर्ने परमेश्‍वरका वचनहरू। चौथो हो, उहाँ पृथ्वीबाट कहिले जानुहुनेछ र उहाँको महान्‌ काम कहिले पूरा हुनेछ भन्नेबारेका परमेश्‍वरका वचनहरू। अर्को सबैभन्दा महत्त्वपूर्ण विषयवस्तु, ख्रीष्टविरोधीहरूले खोजीनिती गर्न विशेष चासो राख्ने परमेश्‍वरका वचनहरूको अर्को वर्ग पनि छ, र त्यो हो, परमेश्‍वरको स्वभाव, पहिचान र सारबारेका उहाँका वचनहरू। यो अन्तिमको किन थप्नुपर्छ? ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू पूरा हुनेछन् भनेर विश्‍वास गर्दैनन्; तिनीहरू प्रायः परमेश्‍वरका वचनहरूको खोजीनिती गर्छन्, त्यसोभए मुख्यगरी के कुराले तिनीहरूमा शङ्का उब्जाउँछ, जसले तिनीहरूलाई परमेश्‍वरका वचनहरूको खोजीनिती गर्नमा डोऱ्याउँछ? तिनीहरूको मुख्य अविश्‍वास परमेश्‍वरमाथि हुन्छ। आधारभूत रूपमा, ख्रीष्टविरोधीहरू अविश्‍वासीहरू हुन्, तिनीहरू दियाबलसहरू हुन्; तिनीहरू परमेश्‍वरको अस्तित्वमा शङ्का गर्छन्, यो संसारमा परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्दैनन्, न त परमेश्‍वरले गर्नुहुने सबै कुरामा नै विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू परमेश्‍वरको स्वभाव, पहिचान र सारबारे पूर्ण रूपमा शङ्कालु हुन्छन्। तिनीहरूको शङ्का कारण, तिनीहरूले के गर्नेछन्? यदि तिनीहरूले परमेश्‍वरको पहिचान र सारबारे शङ्का गर्न सक्छन् भने, के तिनीहरूले परमेश्‍वरको स्वभाव, पहिचान र सार संलग्न गर्ने वचनहरूलाई बोध नगरी वा प्रतिक्रिया नजनाई केवल पढ्ने काम मात्र गर्नेछन् त? के तिनीहरूले यी वचनहरूलाई दृढतासाथ विश्‍वास गर्न र स्विकार्न सक्छन् त? (सक्दैनन्।) उदाहरणका लागि, यदि कसैले सधैँ आफू धर्मसन्तान हुँ भनी शङ्का गर्छ भने, के उसले उसका आमाबुबा उसका साक्खे आमाबुबा हुन् भनेर विश्‍वास गर्न सक्छ त? के उसले उसका आमाबुबाको प्रेम, सुरक्षा, र उसको भविष्यका लागि गरिएका सारा त्यागहरू साँचो हुन् भनी विश्‍वास गर्न सक्छ त? (सक्दैन।) जब उसले यो सबै कुरामा शङ्का र अविश्‍वास गर्छ, तब के उसले गोप्य रूपमा केही काम गर्नेछैन र? उदाहरणका लागि, उसका आमाबुबाले उसको जन्मबारे कुराकानी गरिरहेका छन् कि भनी हेर्न कहिलेकाहीँ उसले लुकेर उनीहरूको कुरा सुन्न सक्छ। उसले सामान्यतया राम्रोसित ध्यान दिनेछ र ऊ कहाँ जन्मिएको थियो, उसलाई कसले जन्मायो, र जन्मिँदा उसको तौल कति थियो भन्नेबारे आमाबुबालाई निरन्तर प्रश्‍न गर्नेछ—उसले सधैँ यी कुराहरूबारे सोधिरहेको हुनेछ। यदि उसका आमाबुबाले उसलाई हिर्काए वा ताडना दिए भने, उसका शङ्काहरू झन् गहन मात्र बन्नेछन्। उसका आमाबुबाले जे गरे पनि, ऊ सधैँ सावधान रहँदै शङ्का गरिरहेको हुनेछ। उसका आमाबुबाले उसलाई चाहे जति राम्रो व्यवहार गरे पनि, उसले आफ्नो हृदयको सतर्कता त्याग्न सक्दैन। त्यसैले, के यो सबै सतर्कता, यी सबै भित्री गतिविधि, सोच र मनोवृत्तिहरू गोप्य रूपमा भइरहेका हुँदैनन् र? उसलाई आफ्ना आमाबुबा उसका साक्खे आमाबुबा हुन् कि होइनन् भन्ने शङ्का लागिसकेपछि, उसले पर्दापछाडि केही न केही अवश्यै गर्नेछ। त्यसकारण, ख्रीष्टविरोधीहरूमा अविश्‍वासीहरूको सार हुने भएकोले, तिनीहरूले परमेश्‍वरको स्वभाव, पहिचान र सारलाई निश्‍चय नै विश्‍वास गर्ने, मान्ने वा स्विकार्ने गर्दैनन्। यो अविश्‍वास, अमान्यता, र अस्वीकारको मनोवृत्ति बोकेर, के तिनीहरूले हृदयमा परमेश्‍वरको स्वभाव, पहिचान र सारबारेका वचनहरूलाई साँच्चिकै विश्‍वास र स्वीकार गर्छन् त? अवश्यै गर्दैनन्। जबसम्म त्यसमा परमेश्‍वरको स्वभाव, पहिचान र सारबारे वचनहरू संलग्न हुन्छन्, तबसम्‍म तिनीहरूले हृदयमा शङ्का, प्रतिरोध, र हिचकिचाहटपूर्ण अवलोकन पाल्छन्। अब हामी अहिलेलाई यस पक्षबारे विस्तारमा कुरा नगरौँ।

भर्खरै छलफल गरिएका, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू खोजीनिती गर्नुका पाँच प्रकटीकरणहरू निकै व्यापक र प्रतिनिधिमूलक छन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूको विशेष विषयवस्तु र केन्द्रीय कुराबारे खोजीनिती गर्छन्। जीवन प्रवेशसँग सम्बन्धित धेरै वचनहरूका सन्दर्भमा, परमेश्‍वरले जुन वचनहरूमा मानिसहरूलाई सान्त्वना दिने, केही रहस्यहरू व्याख्या गर्ने वा मानिसको भ्रष्ट स्वभाव खुलासा गर्ने, आदि कामहरू गर्नुहुन्छ, के ख्रीष्टविरोधीहरूले यी वचनहरूबारे वास्ता गर्छन्? (गर्दैनन्।) तिनीहरूका लागि यी वचनहरू महत्त्वहीन हुन्छन्। किन? किनभने ख्रीष्टविरोधीहरू सत्यतालाई प्रेम गर्दैनन्, परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरू परमेश्‍वरको न्याय र सजाय वा परमेश्‍वरको मुक्ति स्विकार्ने अभिप्राय राख्दैनन्। तिनीहरूसँग यस्ता कुनै योजनाहरू हुँदैनन्, र त्यसैले तिनीहरू मानव स्वभावका परिवर्तनहरू र जीवन प्रवेशसँग सम्बन्धित वचनहरू महत्त्वहीन छन्, पढ्न, विचार गर्न, वा हृदयमा राख्न योग्य छैनन् भन्ठान्छन्। तिनीहरू यी वचनहरूमा कुनै रुचि राख्दैनन्। तिनीहरू सोच्छन्, “हाम्रा भविष्य र नियतिसँग ती वचनहरूको के सम्बन्ध छ? हाम्रो गन्तव्यसँग तिनको के सम्बन्ध छ? ती वचनहरू मामुली मामलाहरूबारे छन्, पढ्न वा सुन्नलायक छैनन्। यदि कोही साँच्चिकै उदास छ, र अरू कुनै समाधान उपलब्ध छैन भने, उसले केवल अस्थायी रूपमा ती वचनहरू पढेर हृदयको खोक्रोपन भर्न, वा केही अत्यन्तै चुनौतीपूर्ण अवरोधहरूबाट पार पाउन र केही अदम्य कठिनाइहरू समाधान गर्न सक्छ—त्यति त हो। ती वचनहरूले व्यक्तिको स्वभाव परिवर्तन गर्न सक्छन् भन्नु, त्यो कसरी त्यति सरल हुन सक्छ र?” तिनीहरूमा मूलतः आफ्नो स्वभाव परिवर्तन गर्ने कुनै अभिप्राय हुँदैन, र परमेश्‍वरका वचनहरूलाई जीवन, मार्ग र सत्यताका रूपमा स्विकार्ने कुनै योजना हुँदैन। तिनीहरूले चाहने त तिनीहरूका भविष्य र गन्तव्य, साथै शक्ति हो। त्यसैले, तिनीहरू यस्ता वचनहरूलाई गम्भीरतापूर्वक लिँदैनन्, न त तिनलाई हृदयमै लिन्छन्। ख्रीष्टविरोधीहरूको दृष्टिकोणबाट, यसको आशय के हो भने, यी वचनहरू तिनीहरूको छानबिनयोग्य छँदै छैनन्, र यी सत्यता हुन् कि होइनन् र यिनले मानिसहरूलाई बदल्न सक्छन् कि सक्दैनन् भनी विश्‍लेषण र अनुसन्धान गर्ने समय दिनलायक त झनै छैनन्। ख्रीष्टविरोधीहरूका लागि, तिनीहरूको नियति र गन्तव्य, तिनीहरूको आफ्नो पहिचान, हैसियत, सारा व्यक्तिगत रुचि, आदि इत्यादिसँग सम्बन्धित जुनसुकै वचनहरू महत्त्वपूर्ण हुन्छन्, यी वचनहरू सबैभन्दा महत्त्वपूर्ण हुन्छन्। कति मानिसहरू यसो भन्छन्: “ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूका यी खण्डहरू अत्यन्तै महत्त्वपूर्ण ठान्ने र यिनलाई त्यस्तो ध्यान दिने हुनाले, तिनीहरू परमेश्‍वरका वचनहरूबारे नचाहिँदो खोजीनिती गरिरहेका छन् भनेर कसरी भन्न मिल्छ? के यो अलि गलत आरोप होइन र? के यो अलि अकल्पनीय र नसुहाउँदो कुरा होइन र?” (होइन। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू निश्‍चय नै पूरा हुनेछन् र हासिल हुनेछन् भनेर विश्‍वास गर्दैनन्, तिनीहरू परमेश्‍वरले जे भन्नुहुन्छ त्यो निकै गम्भीरतापूर्वक भन्नुहुन्छ, र उहाँ जे भन्नुहुन्छ त्यो भएरै छाड्नेछ भन्ने कुरा विश्‍वास गर्दैनन्। तिनीहरू विश्‍वास गर्ने र मान्‍ने मानसिकता बोकेर परमेश्‍वरका वचनहरू पढ्दैनन्, बरु परमेश्‍वरका वचनहरू वास्तवमै पूरा हुन सक्छन् कि सक्दैनन् भनी नियालिरहेका हुन्छन्।) के कुरा यही हो त? (हो।) ख्रीष्टविरोधीहरूले यी वचनहरूलाई महत्त्व दिन्छन् किनकि यिनले तिनीहरूका चाहनाहरू पूरा गर्न सक्छन्। त्यसमाथि, यदि यी वचनहरू पूरा भएमा, यसबाट तिनीहरूका महत्त्वाकाङ्क्षाहरू पूरा हुनेथिए। यदि तिनीहरूले यी वचनहरू बोध गर्छन् र यी वचनहरूलाई नै पक्रिबस्‍छन् भने, यी वचनहरू पूरा भएपछि, तिनीहरूले सही बाजी थापेका हुनेछन्, र परमेश्‍वरलाई पछ्याउनु तिनीहरूका लागि सही कदम साबित हुनेछ। तर, तिनीहरूले यी वचनहरूलाई महत्त्व दिनुको अर्थ तिनीहरूले भित्री गहिराइबाटै यी वचनहरूलाई परमेश्‍वरबाट आएको सत्यताका रूपमा स्विकार्न सक्छन् भन्ने होइन, न त यिनलाई हृदयमा तिनीहरूले परमेश्‍वरका वचनहरूका रूपमा स्विकार्छन् नै भन्न सकिन्छ। त्यसको उल्टो, तिनीहरूले यी वचनहरूलाई महत्त्व दिइरहँदा, हृदयमा यीबारे शङ्का पाल्छन्, र हिचकिचाउँदै यिनलाई नियालिरहेका मात्र हुन्छन्। के पनि भन्न सकिन्छ भने, यी वचनहरू तिनीहरूका लागि जुनसुकै क्षण, समय र स्थानमा परमेश्‍वर र परमेश्‍वरको कामको यो चरण नकार्ने प्रमाण र गलचेप बन्न सक्छन्। तिनीहरू परमेश्‍वरको कामको हरेक चरणमा र परमेश्‍वरले मानिसहरूलाई अगुवाइ गर्नुभएको हरअवधिमा यी वचनहरू साकार भइरहेका र वास्तविकता बनिरहेका छन् कि छैनन् भनी लगातार अनि गहिरिएर नियालिरहेका हुन्छन्। प्रस्ट रूपमा, ख्रीष्टविरोधीहरू सधैँ परमेश्‍वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भन्ने कुरामा केन्द्रित हुन्छन्। यस अवधिमा, तिनीहरूको परमेश्‍वरप्रतिको शत्रुवत्‌ मनोवृत्ति, परमेश्‍वरको प्रतिरोध, र परमेश्‍वरको छानबिन र विश्‍लेषण गर्ने मनोवृत्ति कहिल्यै बदलिएको हुँदैन। तिनीहरू परमेश्‍वरप्रति शत्रुवत्‌ हुन्छन् र उहाँको छानबिन गर्छन्, र हृदयमा सधैँ परमेश्‍वरको हरेक कार्य र वचनको खोजीनिती गर्छन्; र सँगसँगै, तिनीहरू परमेश्‍वर र परमेश्‍वरको कामको निन्दा गर्ने प्रयास पनि गर्छन्। के यो परमेश्‍वरको प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरूको एकनासे प्रकटीकरण होइन र? (हो।) ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूबाट, परमेश्‍वरका वचनहरूप्रति कुनै स्वीकृतिको सङ्केत देखिन्छ? समर्पणताको कुनै सङ्केत देखिन्छ? परमेश्‍वरलाई परमेश्‍वरका रूपमा व्यवहार गर्ने कुनै सङ्केत देखिन्छ? (देखिँदैन।) अब यसपछि, हामी यी विषयवस्तुहरूबारे पालैपालो सङ्गति गर्नेछौँ।

१. मानिसको लागि परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌का वचनहरूबारे खोजीनिती गर्नु

पहिलो विषयवस्तु ख्रीष्टविरोधीहरू परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌का वचनहरूबारे खोजीनिती गर्छन् भन्ने हो। परमेश्‍वरले उहाँको काम सुरु गरेर बोल्नुभएदेखि, उहाँले मानवजाति, उहाँका चुनिएका मानिसहरू, र उहाँका वचनहरू सुन्नेहरूलाई उहाँले मानिसहरूलाई कुन आशिष् र अनुग्रह दिनुहुनेछ, उहाँले मानिसहरूलाई कस्ता आशिष्‌हरूको प्रतिज्ञा गर्नुहुन्छ, आदि इत्यादिबारे धेरै कुरा बताउनुभएको छ। विभिन्न समयावधि, अवसर, वा सन्दर्भमा, परमेश्‍वरले उहाँका अनुयायीहरूलाई आशिष् र प्रतिज्ञाहरूबारे बताउनुहुन्छ, उनीहरूलाई यदि उनीहरूले निश्‍चित कुराहरू हासिल गरे भने, परमेश्‍वरले उनीहरूलाई निश्‍चित तरिकाले आशिष् दिनुहुने, र उनीहरूले निश्‍चित आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्ने, आदि इत्यादि कुराहरू बताउनुहुन्छ। परमेश्‍वरले जुनसुकै अवधिमा यी वचनहरू बोल्नुभएको भए पनि वा चाहे जसलाई यस्ता प्रतिज्ञाहरू गर्नुभएको भए पनि, यी वचनहरू कुनै निश्‍चित सन्दर्भ र वातावरणमा बोलिएका थिए। त्यसमाथि, परमेश्‍वरले मानिसहरूलाई प्रदान गर्नुहुने प्रतिज्ञा र आशिष्‌हरू उनीहरूका सकारात्मक प्रकटीकरणहरूसँग सम्बन्धित छन्, जस्तै सत्यता पछ्याउनु, स्वभाव परिवर्तन गर्नु, र परमेश्‍वरप्रतिको साँचो समर्पणता। परोक्ष रूपमा, मानिसहरूप्रतिका परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू ससर्त हुन्छन्। यी अवस्थाहरूमा, मानिसहरूको अन्तिम निर्णय चल्दैन, न त मानव धारणा र कल्पनाहरूअनुसार नै ती निर्धारित हुन्छन्; तिनको निर्धारण त परमेश्‍वरका मानक र मागहरूअनुसार हुन्छ, जसमा निश्‍चित सिद्धान्त र नियमहरू संलग्न हुन्छन्। परमेश्‍वरका वचनहरू फरक-फरक मानिसहरूमा कसरी पूरा, साकार, र हासिल हुन्छन् भन्ने सम्बन्धमा, यो परमेश्‍वरद्वारा जथाभाबी रूपमा कदापि गरिएको हुँदैन—बरु, त्यसको एउटा आधार हुन्छ। फरक-फरक मानिसहरूले गरेको एउटै कार्यप्रति पनि परमेश्‍वरले फरक-फरक व्यवहारहरू गर्न सक्नुहुन्छ। उदाहरणका लागि, दुई मानिसहरू हुन सक्छन् जसले एक-एकवटा मण्डली अगुवाइ गर्छन्; एउटाले बारम्बार अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छ र प्राय: अनुशासन भोग्छ, जसकारण उसको कदमा तीव्र वृद्धि हुन्छ। यसको विपरीत, अर्को व्यक्ति तुलनात्मक रूपमा बोधो र ढिलो प्रतिक्रिया जनाउने हुन सक्छ, जसकारण उसको प्रगति ढिलो हुन्छ। मानव दृष्टिकोणले हेर्दा, एउटै काम गर्ने र उस्तै व्यवहार देखाउने यी दुई मानिसहरूले परमेश्‍वरबाट उही आशिष्‌ र व्यवहार पाउनुपर्छ। तर, आफ्नो कर्तव्य पूरा गर्दा र आफ्नो जीवनमा उनीहरूले अनुभव गर्ने र हासिल गर्ने जीवन प्रवेश, वा उनीहरूले प्राप्त गर्ने बाहिरी अनुग्रहका सन्दर्भमा “निश्‍चित भिन्नताहरू” हुनेछन्। यी “निश्‍चित भिन्नताहरू” अवश्यै, अपरिहार्य होइनन्। त्यसोभए, मानिसहरूले परमेश्‍वरबाट प्राप्त गर्ने यी तथाकथित आशिष्‌हरू र भिन्न व्यवहारहरू, वा अन्तर्दृष्टि, ज्योति, र अन्य लाभहरू परमेश्‍वरले कसरी बाँडफाँड गर्नुहुन्छ? परमेश्‍वरका फरक-फरक मानिसहरूसित व्यवहार गर्ने फरक-फरक तरिकाहरू छन्। कति मानिसहरू अल्छी, दम्भी, प्रतिस्पर्धी, र ईर्ष्यालु हुन्छन्, र तिनीहरू सतहमा आफूलाई समर्पित गर्न र केही कठिनाइहरू सहन इच्छुक देखिए पनि, तिनीहरू सत्यता स्विकार्न वा अभ्यास गर्न सक्दै सक्दैनन्। अर्कोतिर, कति मानिसहरू लगनशील हुन्छन्; तिनीहरूमा पनि उस्तै भ्रष्ट स्वभावहरू भए पनि, तिनीहरू तुलनात्मक रूपमा इमानदार र नम्र हुन्छन्। तिनीहरू सत्यता स्विकार्न र काटछाँट स्विकार्न सक्छन्। तिनीहरू परमेश्‍वरले भन्नुभएको सबथोक र परमेश्‍वरले तिनीहरूका लागि खडा गर्नुभएको हरेक वातावरणलाई हार्दिक रूपमा स्विकार्छन् र बुझ्छन्, साथै त्यसप्रति सच्‍चाइसाथ व्यवहार गर्छन्। तसर्थ, बाहिरी रूपमा, दुई मानिसहरूले एउटै काम गरिरहेका हुन सक्छन् र कामको मात्रा पनि उस्तै होला, तर परमेश्‍वरले तिनीहरूका फरक-फरक स्वभाव र पछ्याइहरूका आधारमा फरक-फरक आशिष्‌, र फरक-फरक अन्तर्दृष्टि र ज्योति प्रदान गर्नुहुनेछ। बाहिरबाट हेर्दा, अन्तर्दृष्टि र ज्योति प्राप्त गर्ने व्यक्तिले बढी कष्ट भोगेको र प्राय: ताडना सहेको देखिन सक्छ, तर उसको प्राप्ति पनि अझ बढी हुन्छ। यसविपरीत, बोधो र मन्द बुद्धिवाला व्यक्तिले ज्यादै कम ताडना भोग्छ, ज्यादै कम कष्ट भोग्छ, र त्यसकारण उसको जीवन वृद्धि पनि अझ ढिलो हुन्छ र उसले कमै मात्र प्राप्त गर्छ। मूल रूपमा, कुन व्यक्तिले चाहिँ साँच्चिकै परमेश्‍वरका आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्छ? (धेरै कष्ट भोग्ने र प्राय: ताडना पाउने व्यक्तिले।) जुन व्यक्तिले परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू प्राप्त गर्छ उसले ताडना भोग्ने, बारम्बार बाधाहरू सामना गर्ने, भ्रष्टता प्रकाश गर्ने, र उसको खुलासा हुने जस्तो देखिन सक्छ, तर उसले प्राय: परमेश्‍वरको अन्तर्दृष्टि र ज्योति प्राप्त गरिरहेको हुन्छ। अर्कोतिर, जुन व्यक्तिले ताडना भोग्दैन, उसले सहज, हर्षपूर्ण, र स्वतन्त्र जीवन जिउँछ। ऊ अल्छी हुँदा, उसले ताडना भोग्दैन; ऊ ईर्ष्यालु हुँदा, उसले ताडना भोग्दैन; ऊ आफ्नो काममा गैरजिम्मेवार हुँदा, उसले ताडना भोग्दैन—ऊ हैसियतका लाभहरूमा समेत लिप्त हुन्छ र अत्यन्तै सन्तुष्टिपूर्वक जिउँछ। आत्मिक बुझाइ भएका, विशुद्ध रूपमा कामकुराहरू बुझ्ने, र सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानिसहरू कसलाई रुचाउँछन्? उनीहरू ताडना सहने, प्राय: बाधाहरू सामना गर्ने, साथै अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्ने व्यक्तिलाई रुचाउँछन्; उनीहरू यस्तो व्यक्ति परमेश्‍वरद्वारा साँच्चिकै आशिषित् हुन्छ भन्‍ने मान्छन्। जो सत्यता पछ्याउँछन् उनीहरू यस्तै व्यक्ति हुन चाहन्छन्। उनीहरू बारम्बार परमेश्‍वरको अनुशासन र ताडना भोग्नु परे पनि, निरन्तर परमेश्‍वरसामु जिउन इच्छुक हुन्छन्। उनीहरू यो विश्‍वास गर्छन् कि, यो परमेश्‍वरको आशिष् हो र यो साँच्चिकै परमेश्‍वरको प्रतिज्ञा हो। यी अनुभव र लाभहरू पाउनुले, परमेश्‍वरले भन्नुभएका आशिष् र प्रतिज्ञाहरू अस्तित्वमा छन् भन्ने पुष्टि गर्छ। तर ख्रीष्टविरोधीहरू यसलाई कसरी हेर्छन्? ख्रीष्टविरोधीहरू परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरूलाई कुनै व्यक्तिले कति सत्यता बुझ्छ, वा उसले कति सत्यता प्राप्त गरेको छ, वा उसले कतिवटा सकारात्मक लाभहरू प्राप्त गरेको छ भन्ने आधारमा मापन गर्दैनन्। बरु, तिनीहरू त दैहिक लाभ र भौतिक रुचिहरूका आधारमा कति प्राप्त गरिएको छ भनेर मापन गर्छन्। तिमीहरूलाई ख्रीष्टविरोधीहरूले कुन व्यक्तिको ईर्ष्या गर्छ जस्तो लाग्छ? (ताडना नभोग्ने व्यक्तिको।) ख्रीष्टविरोधीहरू त्यो व्यक्तिको ईर्ष्या गर्छन् जो अल्छी र अबफादार छ, जसले कुनै पनि ताडना भोग्दैन र हैसियतका लाभहरूको आनन्द उठाउँछ। ख्रीष्टविरोधीहरूले यस्ता व्यक्तिहरूको ईर्ष्या गर्नुले विभिन्‍न कुराहरूलाई हेर्ने तिनीहरूको तरिकामा समस्या छ भन्ने प्रमाणित गर्छ; यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ।

ख्रीष्टविरोधीहरूले मानिसका लागि परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌का वचनहरू पूरा हुन्छन् हुँदैनन् भनेर कसरी खोजीनिती गर्छन्? जब परमेश्‍वरका वचनहरूले उहाँले कसलाई आशिष् दिनुहुन्छ, उहाँका प्रतिज्ञाहरू कसले पाउँछ, र कसले परमेश्‍वरबाट प्रतिज्ञाहरू पाउन सक्छ भनेर उल्लेख गर्छन्, तब ख्रीष्टविरोधीहरूले यसलाई कसरी नियाल्छन्? तिनीहरू यसो भन्छन्, “जो मानिसहरूले परमेश्‍वरका निम्ति मूल्य तिर्छन्, उनीहरूले अन्तर्दृष्टि र ज्योति पाउँछन्, परमेश्‍वरको ताडना र मार्गदर्शन पाउँछन्, र त्यसैलाई आशिष्‌हरू पाएको मानिन्छ? ताडना पाउनु परमेश्‍वरको आशिष् हो? मूर्खहरूले मात्र त्यस्तो सोच्नेथिए! के त्यो घाटा बेहोर्नु होइन र? के त्यो आफ्नो छवि बिगार्नु होइन र? अनि के त्यसैलाई परमेश्‍वरका आशिष्‌हरू मानिन्छ? के त्यसरी नै परमेश्‍वरका वचनहरू वास्तविक बन्‍ने र साकार हुने हुन्? यदि त्यसो हो भने, म त्यस्तो व्यक्ति बन्न चाहन्नँ, म कष्ट पछ्याउन र मूल्य तिर्न चाहन्नँ। म परमेश्‍वरको यस्तो काम गर्ने शैली स्विकार्दिनँ; यो कस्तो खालको सत्यता हो? त्यसलाई कसरी मानिसहरूलाई मुक्ति दिएको मान्न सकिन्छ?” तिनीहरूको हृदयमा विरोध उत्पन्न हुन्छ; परमेश्‍वरले मानिसहरूलाई आशिष् दिने र अगुवाइ गर्ने यो तरिका तिनीहरू स्विकार्दैनन्, परमेश्‍वरले मानिसहरूलाई जीवन प्रदान गर्ने यो शैली, र परमेश्‍वरले मानिसहरूमा सत्यता ढाल्ने यो तरिका तिनीहरू स्विकार्दैनन्। निश्चय नै, ख्रीष्टविरोधीहरू वरिपरि त्यस्ता मानिसहरू पनि हुन सक्छन्, जसका व्यापारहरू परमेश्‍वरमा विश्‍वास गरेदेखि फस्टाएका छन्, जसले धेरै पैसा कमाएर गाडी र घरहरू किनेका छन्, र जसका भौतिक जीवनहरूमा सुधार आएको छ, जो सम्पन्न बनेका छन्। यो देखेपछि, ख्रीष्टविरोधीहरू सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गरेपछि, उनीहरूले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरेका छन् र परमेश्‍वरको अनुग्रहको आनन्द उठाएका छन्। यी तथ्यहरूबाट, मानिसका लागि परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू यस्ता मानिसहरूमा साकार हुँदा रहेछन्; परमेश्‍वरका वचनहरू पूरा भएका छन् जस्तो देखिन्छ। परमेश्‍वरका वचनहरूमा अख्तियार हुँदो रहेछ; परमेश्‍वरको कामको यो चरण स्विकार्नु सही हो, अनि व्यक्तिले ठूला आशिष्‌हरू प्राप्त गर्न सक्छ, सबथोक सहज रूपमा अघि बढ्नेछ, र व्यक्तिले परमेश्‍वरबाट अनुग्रह प्राप्त गर्न सक्छ।” यस्ता तथ्यहरू देखेपछि, ख्रीष्टविरोधीहरूको हृदयमा परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरूप्रति अल्पकालिक रूपमा अलिकति स्वीकार र विश्‍वास हुन्छ। यो मान्यता र विश्‍वास अवश्य नै, कोष्ठकमा “थप प्रमाणीकरण गर्नुपर्ने” भन्ने नोटसहित आउनुपर्छ। दैनिक जीवनमा, ख्रीष्टविरोधीहरू परमेश्‍वरका आशिष् र प्रतिज्ञाहरू धेरै मानिसहरूमा पूरा र साकार हुँदै छन् भनी पुष्टि गर्न निरन्तर रूपले नियाल्ने, विभिन्न प्रमाणहरू सङ्कलन गर्ने गर्छन्। नियाल्ने क्रममा, यी ख्रीष्टविरोधीहरू यो प्रमाण सङ्कलन गर्दै, कुन-कुन मानिसहरूले परमेश्‍वरका आशिष् र प्रतिज्ञाहरू पाएका छन्, यी मानिसहरूले के गरेका छन्, परमेश्‍वरप्रति उनीहरूका मनोवृत्तिहरू कस्ता छन्, उनीहरू कसरी परमेश्‍वरलाई पछ्याउँछन्, र उनीहरूका दृष्टिकोणहरू के-कस्ता छन् भनी बुझ्ने कोसिस गरिरहेका हुन्छन्। निरन्तर नियाल्ने र प्रमाण बटुल्ने यस अवधिमा, ख्रीष्टविरोधीहरू अवश्यै परमेश्‍वरका आशिष् र प्रतिज्ञाहरू पाएका मानिसहरूका व्यवहार, कार्य, र दृष्टिकोणहरू नक्कल गर्ने प्रयास पनि गर्छन्। यदि तिनीहरू आफैले पनि केही भौतिक आशिष्‌, व्यवहार, र आनन्द प्राप्त गरेमा, तिनीहरूले भित्री रूपमा यस्तो स्वीकार गर्छन्: “परमेश्‍वरका आशिष् र प्रतिज्ञाहरू खोक्रा वचन होइनन्; ती साकार हुन सक्छन्। यी परमेश्‍वर वास्तवमै परमेश्‍वर हुन् जस्तो छ, उनीसँग साँच्चिकै केही क्षमता छ। उनले मानिसहरूलाई आशिष् र प्रतिज्ञाहरू प्रदान गर्न सक्छन्, र केही लाभहरू ल्याउन, र निश्‍चित स्वार्थका लागि तिनीहरूका केही आवश्यकताहरू पूरा गर्न सक्छन्। लाग्छ, मैले उनलाई विश्‍वास गर्न र पछ्याउन जारी राख्नुपर्छ; म पछि पर्न वा सुस्ताउन मिल्दैन।” ख्रीष्टविरोधीहरू सुरुदेखि अन्त्यसम्मै हिचकिचाउँदै नियालिरहेका हुन्छन्। तर तिनीहरूले त्यसो गर्दा कसैले थाहा पाउँछ? के तिनीहरूले सबैलाई “म परमेश्‍वरका यी आशिष् र प्रतिज्ञाहरूमा विश्‍वास गर्दिनँ” भन्दै खुलस्त रूपमा हिचकिचाउँदै नियाल्ने गर्छन् त? (गर्दैनन्।) सतहमा हेर्दा, तैँले खुट्ट्याउन सक्दैनस्। तैँले तिनीहरूलाई अरू सबैले जस्तै आफ्नो जागिर, विवाह, परिवार, आदि इत्यादि त्यागेको, र अरू सबैसँग आफ्नो कर्तव्य पूरा गरिरहेको, बिहान सबेरै उठेको र राती अबेर सुतेको, कठिनाइ सहेको र मूल्य तिरेको, अरूकै श्रेणीमाझ देख्छस्। तिनीहरू बाधा दिने शब्दहरू वा नकारात्मक शब्दहरू बोल्दैनन्, आलोचनाहरू व्यक्त गर्दैनन्, खराब कामहरू गर्दैनन्, र बाधाहरू सिर्जना गर्दैनन्। तर, अझै पनि एउटा कुराचाहिँ हुन्छ: बाहिरबाट हेर्दा तिनीहरूले जतिसुकै गोप्य तरिकाले कार्य गरेको देखिए पनि, तिनीहरूको व्यवहारमा तिनीहरूका भित्री दृष्टिकोण र सोचाइहरू हाबी हुन्छन् र तिनले प्रभाव पार्छन्। भित्र गहिराइमा, तिनीहरूको हिचकिचाहटपूर्ण अवलोकन र परमेश्‍वरका वचनहरूको खोजीनिती परमेश्‍वरबाट लुक्न सक्दैन। त्यसोभए ख्रीष्टविरोधीहरूका कुन पक्षहरू मानिसहरूबाट लुकाउन सकिए पनि परमेश्‍वरबाट लुक्न सक्दैनन्? मानिसहरू अरूको व्यवहार मात्र देख्छन्, अरूले जे प्रकाश गर्छन् त्यही मात्र देख्छन्—अर्कोतिर, परमेश्‍वरले यी कुराहरू मात्र नहेरी, सबैभन्दा महत्त्वपूर्ण रूपमा, मानिसहरूका हृदय र भित्री सोचाइहरू नियाल्नुहुन्छ। व्यक्तिका व्यवहार र प्रकटीकरणहरू तुलनात्मक रूपले सतही हुन्छन्, तर व्यक्तिको हृदयको गहिराइ अबोध्य क्षेत्र हो, जुनभित्र उसका गहन सोच र उसको प्रकृतिका धेरै तत्त्वहरू लुकेका हुन्छन्। जब ख्रीष्टविरोधीहरू उहाँका प्रतिज्ञा र आशिष्‌हरूजस्ता परमेश्‍वरका वचनहरू खोजीनिती गर्छन्, बाहिरी रूपमा त तिनीहरूले आफ्नो समय अर्पण गर्लान् र भौतिक मूल्य पनि तिर्लान्, तर तिनीहरूको हृदय परमेश्‍वरप्रति पूर्ण रूपमा अर्पित हुँदैन। परमेश्‍वरप्रति पूर्ण रूपमा हृदय अर्पण नगर्ने तिनीहरूका ठोस प्रकटीकरणहरू के-के हुन्? तिनीहरूले चाहे जे गरे पनि वा जस्तो कर्तव्य निर्वाह गरे पनि, तिनीहरू त्यसमा आफ्नो सारा ऊर्जा लगाउँदैनन् र पूर्ण रूपमा समर्पित भएर त्यो काम गर्दैनन्, बरु देखिने गल्तीहरू नहोस् र समग्र प्रक्रिया सही होस् भनी सुनिश्‍चित गर्ने उद्देश्य मात्र राख्छन्। तिनीहरूले किन यसो गर्न सक्छन्? तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूको सबैभन्दा भित्री सत्त्वमा, तिनीहरूले एउटा विचार पालेका हुन्छन्: “परमेश्‍वरका वचनहरू पूरा हुनु वा नहुनुले परमेश्‍वरले मलाई मुक्ति दिन सक्छन् कि सक्दैनन्, र उनी वास्तवमै मेरो परमेश्‍वर हुन् कि होइनन् भन्‍ने कुरा निर्धारण गर्छ। यदि यो प्रश्‍नको जवाफ आएन भने, परमेश्‍वरको पहिचान र सारको वास्तविकतामाथि पनि प्रश्‍नलायक हुन्छ।” गहिराइमा यस्ता सोचहरू बोकेर, के तिनीहरूले अझै पनि परमेश्‍वरप्रति साँचो हृदय राख्न सक्छन्? तिनीहरूका हृदयका यी गहिरो रूपमा स्थापित सोचहरूले तिनीहरूलाई बाधा पुर्‍याउँछन्, र लगातार रूपमा तिनीहरूलाई चेतावनी दिन्छन्: तेरो साँचो हृदय परमेश्‍वरलाई नदे, पूर्ण रूपमा समर्पित नहो, जे गरे पनि झारा टार्ने काम मात्र गर्, र मूर्ख नबन्; परमेश्‍वरबाट केही कुरा लुका, आफू उम्किने बाटो राख्, र यो अझै अपरिचित परमेश्‍वरलाई आफ्नो जीवन वा सबैभन्दा महत्त्वपूर्ण कुराहरूको जिम्मा नदे। तिनीहरू हृदयमा यसरी नै सोच्छन्। के तिमीहरूले यो याद गरेका छौ? (छैनौँ।) यी ख्रीष्टविरोधीहरू, भेलाहरूमा र अरूसँगका अन्तरक्रियाहरूमा, बाहिरी रूपले दयालु हुन सक्छन्, र तिनीहरू सामान्य सम्बन्धहरू राख्‍न, र आफ्ना केही अन्तर्ज्ञान, बुझाइ, र अनुभवहरूबारे सङ्गति गर्न सक्छन् र तिनीहरू कुनै विश्‍वासीमा हुनुपर्ने बाहिरी, सतही, आधारभूत व्यवहार र प्रकटीकरणहरू प्रस्तुत गर्न सक्छन्; तर, तिनीहरूमा परमेश्‍वरको डर र उहाँप्रतिको निष्कपटतामा कुनै वृद्धि वा सुधार हुँदैन। यी मानिसहरूले चाहे जसरी मूल्य तिरे पनि वा तिनीहरूले परमेश्‍वरको घरमा जति वर्ष कर्तव्य पूरा गरे पनि, एउटा कुराचाहिँ निश्‍चित छ: तिनीहरूको जीवन वृद्धि हुँदैन—तिनीहरूसँग जीवन नै हुँदैन। यो जीवन नै नहुने कुरा कुन क्षेत्रहरूमा प्रकट हुन्छ? परिस्थितिहरू सामना गर्नुपर्दा, तिनीहरूले सिद्धान्तहरू बिलकुलै खोज्दैनन्; तिनीहरू काम जारी रहुन्जेल सन्तुष्ट हुन्छन्, परमेश्‍वरले बोल्नुभएका सिद्धान्तहरूलाई कहिल्यै आफ्नो अभ्यासको मानक रूपमा लिँदैनन्, देखावटी रूपमा मात्र अरू मानिसहरूको सुपरिवेक्षण, निरीक्षण र अगुवाइ स्विकार्छन्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनन्। यसको मतलब तिनीहरू परमेश्‍वरका प्रतिज्ञा र आशिष् कसका लागि साँच्चै वास्तविकता भइरहेका छन्, ती कुन समूहका मानिसहरूको लागि ती साकार भइरहेका छन् भनी सुनिश्‍चित नभएसम्म, र परमेश्‍वरले मानिसलाई दिनुहुने प्रतिज्ञा र आशिष्‌हरू तिनीहरू आफैले साँच्चिकै प्राप्त गर्न सक्ने पुष्टि नहुन्जेल, तिनीहरूका कार्यका सिद्धान्त र विधिहरू, साथै परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति बदलिनेछैन। एक अर्थमा, तिनीहरू लगातार आफैलाई सम्झाइरहेका हुन्छन्, र सँगसँगै भित्री रूपमा परमेश्‍वरसँग बहस गर्ने योजना पनि रचिरहेका हुन्छन्। परमेश्‍वरसँगको तिनीहरूको तर्क के कुरामा केन्द्रित हुन्छ? तिनीहरू सोच्छन्: “तिम्रा प्रतिज्ञा र आशिष्‌हरू साकार भएका छैनन्। मैले ती साकार भएको देखेको छैन, र तिमी कसरी काम गर्छौ भनेर म देख्न सक्दिनँ, त्यसैले म तिम्रो पहिचान पुष्टि गर्न सक्दिनँ। यदि म तिम्रो पहिचान नै पुष्टि गर्न सक्दिनँ भने, म कसरी तिम्रा यी वचनहरूलाई सत्यता, अर्थात् परमेश्‍वरका वचन मान्न सक्छु त?” के तिनीहरू भित्री रूपमा यो मामलाबारे परमेश्‍वरसित विवाद गरिरहेका छैनन् र? तिनीहरू भन्छन्, “यदि तिमीले मानिसहरूलाई प्रदान गर्ने प्रतिज्ञा गरेका आशिष्‌हरू र तिमीले मानिसहरूलाई गर्ने प्रतिज्ञाका विभिन्न विषयवस्तुहरू मैले पुष्टि गर्न सक्दिनँ भने, मसँग तिमीमाथिको आस्था शतप्रतिशत हुन सक्दैन। त्यसमा सधैँ केही न केही दूषणहरू हुनेछन्, र म पूर्ण रूपले विश्‍वास गर्न सक्दिनँ।” यही नै ख्रीष्टविरोधीहरूको मनोवृत्ति हो। के यस्तो मनोवृत्ति डरलाग्दो हुन्छ? (हुन्छ।) यस्तो मनोवृत्तिको प्रकृति “अण्डा नफुट्दै चल्ला नगन्नु।” भन्ने गैरविश्‍वासीहरूको भनाइसँग कता-कता मिल्छ। तिनीहरू भन्छन्: “तिमी परमेश्‍वर हौ, तिमीसँग तिम्रा प्रतिज्ञा र आशिष्‌हरूलाई साकार पार्ने शक्ति हुनुपर्छ। यदि तिमीले भनेको कुरा साकार हुन सक्दैन भने, र तिमीलाई विश्‍वास गर्ने मानिसहरूले ठूला आशिष्‌हरूको आनन्द उठाउन सक्दैनन्, महिमा, धन, र सम्मानको आनन्द उठाउन सक्दैनन्, अनुग्रहको आनन्द उठाउन सक्दैनन्, र तिम्रो शरण पाउन सक्दैनन् भने, मानिसहरूले तिमीलाई किन पछ्याउने?” ख्रीष्टविरोधीहरूका नजरमा, र तिनीहरूका सोचविचारमा, परमेश्‍वरलाई पछ्याउनुका केही फाइदाहरू हुनैपर्छ; फाइदा नहुने भए तिनीहरू हलचल पनि गर्नेछैनन्। यदि प्रसिद्धि, लाभ, वा हैसियतको आनन्द उठाउन सकिँदैन भने, यदि तिनीहरूले गर्ने कुनै पनि काम वा निर्वाह गर्ने कुनै पनि कर्तव्यले अरूको प्रशंसा दिलाउँदैन भने, परमेश्‍वरमा विश्‍वास गर्नु र कर्तव्यहरू पूरा गर्नुको कुनै अर्थ रहँदैन। तिनीहरूले प्राप्त गर्नैपर्ने पहिलो लाभ परमेश्‍वरका वचनहरूमा भनिएका प्रतिज्ञा र आशिष्‌हरू हुन्, र तिनीहरूले मण्डलीभित्र प्रसिद्धि, लाभ र हैसियतको आनन्द पनि उठाउनैपर्छ। ख्रीष्टविरोधीहरू कसैले परमेश्‍वरमा विश्‍वास गर्दा, ऊ अरूभन्दा श्रेष्ठ हुनैपर्छ, उसले प्रशंसा पाउनैपर्छ, ऊ विशेष हुनैपर्छ—कम्तीमा पनि, परमेश्‍वरका विश्‍वासीहरूले यी कुराहरूको आनन्द उठाउनैपर्छ भन्ठान्छन्। नत्र भने, तिनीहरूले विश्‍वास गरिरहेको यो परमेश्‍वर नै साँचो परमेश्‍वर हो कि होइन भन्नेबारे केही प्रश्‍न उठ्छ। के ख्रीष्टविरोधीहरूको तर्क तिनीहरूले “परमेश्‍वरमा विश्‍वास गर्नेहरूले परमेश्‍वरका आशिष्‌ र अनुग्रहको आनन्द उठाउनैपर्छ” भन्ने शब्दहरूलाई सत्यताका रूपमा लिन्छन् भन्ने होइन र? ती शब्दहरूलाई विश्‍लेषण गर् त: के ती सत्यता हुन्? (होइनन्।) अब ती शब्दहरू सत्यता होइनन्, ती भ्रम हुन्, ती शैतानका तर्क हुन्, र सत्यतासँग तिनको कुनै सम्बन्ध छैन भन्ने प्रस्ट भयो। के परमेश्‍वरले कहिल्यै “यदि मानिसहरूले ममाथि विश्‍वास गर्छन् भने, तिनीहरू निश्‍चित रूपमा आशिषित् हुनेछन्, र कहिल्यै प्रतिकूलता भोग्नेछैनन्” भनेर भन्नुभएको छ? परमेश्‍वरका वचनहरूको कुन हरफले यसबारे कुरा गर्छ? परमेश्‍वरले कहिल्यै यस्ता वचनहरू बोल्नुभएको वा यसो गर्नुभएको छैन। आशिष् र प्रतिकूलताहरू सम्बन्धमा, एउटा सत्यता खोज्नुपर्छ। मानिसहरूले पालना गर्नुपर्ने बुद्धिमानी भनाइ के हो? अय्यूबले भन्यो, “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। के यी शब्दहरू सत्यता हुन्? यी मानिसका शब्दहरू हुन्; यी कुनै रूपमा सत्यतासँग मिल्ने भए पनि यिनलाई सत्यताको उचाइमा राख्न मिल्दैन। यी कुन रूपमा सत्यतासित मिल्छन्? मानिसहरूले आशिष् पाउनु वा प्रतिकूलता भोग्नु सबै परमेश्‍वरकै हातमा हुन्छ, त्यो सबै परमेश्‍वरको सार्वभौमिकतामा पर्छ। यो सत्यता हो। के ख्रीष्टविरोधीहरू यो विश्‍वास गर्छन्? अहँ, गर्दैनन्। तिनीहरू यो कुरा मान्दैनन्। तिनीहरू किन यो कुरा विश्‍वास गर्दैनन् वा मान्दैनन्? (तिनीहरू आशिषित् हुनकै निम्ति परमेश्‍वरमा विश्‍वास गर्छन्—तिनीहरू आशिषित् हुन मात्र चाहन्छन्।) (किनकि तिनीहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरूले देहगत स्वार्थहरू मात्र पछ्याउँछन्।) ख्रीष्टविरोधीहरू, आफ्नो विश्‍वासमा, आशिषित् हुने चाहना मात्र राख्छन्, तर प्रतिकूलता भोग्न चाहँदैनन्। जब तिनीहरूले आशिष्, लाभ, अनुग्रह, र बढी भौतिक आनन्द र ठूला फाइदाहरू प्राप्त गरेको व्यक्ति देख्छन्, तब तिनीहरू यो परमेश्‍वरले गर्नुभएको हो भनी विश्‍वास गर्छन्; अनि यदि तिनीहरूले यस्ता भौतिक आशिष्‌हरू प्राप्त गरेनन् भने, यो परमेश्‍वरको काम नै होइन भन्ने विश्‍वास गर्छन्। यसको आशय हो: “यदि तिमी साँच्चिकै परमेश्‍वर हौ भने, तिमीले मानिसहरूलाई आशिष् मात्र दिनुपर्छ; तिमीले मानिसहरूको प्रतिकूलता हटाएर तिनीहरूलाई कष्ट भोग्न दिनु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तिमीमाथि विश्‍वास गर्नुको महत्त्व र अर्थ रहन्छ। यदि तिमीलाई पछ्याएपछि पनि मानिसहरू अझै प्रतिकूलताले ग्रसित हुन्छन् भने, र यदि अझै तिनीहरूले कष्ट भोग्छन् भने, तिमीमा विश्‍वास गर्नुको के अर्थ?” तिनीहरू यावत्‌ थोक र घटनाहरू परमेश्‍वरका हातमा हुन्छन्, र यावत्‌ थोकमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनेर मान्दैनन्। अनि, तिनीहरू यो कुरा किन मान्दैनन्? किनकि ख्रीष्टविरोधीहरू प्रतिकूलता भोग्न डराउँछन्। तिनीहरू लाभ प्राप्त गर्न, फाइदा लिन, आशिष्‌हरूको आनन्द उठाउन मात्र चाहन्छन्; तिनीहरू परमेश्‍वरको सार्वभौमिकता वा योजनाबद्ध कार्य स्वीकार नगर्न, र परमेश्‍वरबाट केवल लाभहरू प्राप्त गर्न चाहन्छन्। यो ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणास्पद दृष्टिकोण हो। यो परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरूजस्ता उहाँका वचनहरूबारे ख्रीष्टविरोधीहरूले देखाउने प्रकटीकरणको शृङ्खला हो। समग्रमा, यी प्रकटीकरणहरूमा मूलतः ख्रीष्टविरोधीहरूको पछ्याइपछाडि रहेका तिनीहरूका दृष्टिकोणहरू, साथै परमेश्‍वरले मानिसहरूका निम्ति गर्नुहुने यसप्रकारको कामप्रतिका तिनीहरूका दृष्टिकोण, मूल्याङ्कन, र बुझाइहरू संलग्न हुन्छन्। बाहिरी रूपमा तिनीहरूले परमेश्‍वरका वचनहरूको खुलेरै अपमान वा विरोध नगरे पनि, भित्र गहिराइमा, परमेश्‍वरका यस्ता वचनहरूप्रति र परमेश्‍वरको यसप्रकारको काम गर्ने विधिप्रति तिनीहरूको प्रतिक्रिया जनाउने शैली अपमान, शङ्का, निन्दा, र चयनशीलताकै हुन्छ। जब परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरूसम्बन्धी वचनहरू केही मानिसहरूमा पूरा हुन्छन्, तब तिनीहरूले परमेश्‍वरको शक्तिको प्रशंसा गर्छन् र उहाँको नाउँ र उहाँको प्रेमको गुणगान गर्छन्। तर, जब परमेश्‍वरले गर्नुहुने कुरा ती प्रतिज्ञा र आशिष्‌हरूसम्बन्धी तिनीहरूका धारणा र कल्पनाहरूसँग मिल्दैन, तब ख्रीष्टविरोधीहरूले हृदयमा तुरुन्तै परमेश्‍वरको अस्तित्व नकार्छन्, साथै परमेश्‍वरले गर्नुहुने सबथोक सही हुन्छ भन्‍ने तथ्य पनि नकार्छन्, र परमेश्‍वरको सार्वभौमिकता र उहाँले मानव नियति योजनाबद्ध र प्रबन्ध गर्नुहुन्छ भन्‍ने तथ्यलाई त झनै बढी नकार्छन्। ख्रीष्टविरोधीहरूका यी सारा प्रकटीकरणहरू बाहिरी रूपमा प्रकट नहुन सक्छ, र तिनीहरूले खुलस्त भाषा प्रयोग गरेर आफ्ना दृष्टिकोणहरू पनि नफैलाउलान्, तर तिनीहरूले हृदयमा जुन दृष्टिकोणद्वारा परमेश्‍वरका यी वचनहरूलाई हिचकिचाहटपूर्वक नियाल्ने र खोजीनिती गर्ने गर्छन् त्यो बदलिँदैन। जीवन प्रवेशसम्बन्धी मामलाहरूबारे वा मानिसहरूलाई कसरी मुक्ति दिन सकिन्छ भन्नेबारे अरूले जे-जसरी सङ्गति गरे पनि, परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरूजस्ता उहाँका वचनहरू पूरा हुनेछन् कि छैनन् र ती कसरी साकार हुनेछन् भनेर खोजीनिती गर्ने ख्रीष्टविरोधीहरूको मानसिकता र मनोवृत्ति पाखा लाग्‍नेछैन। परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू साकार हुँदा, ख्रीष्टविरोधीहरूले उल्लाससाथ ताली बजाउन र जयजयकार गर्न र परमेश्‍वरको शक्तिको प्रशंसा गर्न सक्छन्। तर परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू साकार नहुँदा वा तिनीहरूका धारणाहरूअनुसार पूरा नहुँदा, तुरुन्तै तिनीहरूले हृदयमा परमेश्‍वरलाई गोप्य रूपमा सराप्छन् र गाली गर्छन्, र उहाँको नाउँको अपमान गर्छन्। त्यसकारण, दैनिक जीवनमा, सबथोक शान्तिपूर्ण र समस्यारहित हुँदा पनि, कतिपय मानिसहरूको स्थिति बेकाबु रूपमा तलमाथि भइरहन्छ। तिनीहरू खुसी हुँदा पुलकित हुन सक्छन्, तर दुःखी हुँदा तिनीहरू नारकीय उदासीमा डुब्न सक्छन्। तिनीहरूका मुड चञ्चल र अप्रत्याशित हुन सक्छन्, जसले के भइरहेको छ भन्नेबारे अरूलाई अचम्मित पार्छ। तिनीहरू खुसी हुँदा यसो भन्छन्, “परमेश्‍वर साँच्चिकै परमेश्‍वर नै हुन्। परमेश्‍वर अत्यन्तै महान् छन्, परमेश्‍वरको अख्तियार साँच्चै अस्तित्वमा छ, परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै प्रेम गर्छन्!” तर तिनीहरू बेखुसी हुँदा, तिनीहरूलाई “परमेश्‍वर” शब्द उच्चारण गर्नसमेत निकै गाह्रो हुन्छ। जुन व्यक्तिले चर्को स्वरमा परमेश्‍वरको नाउँको प्रशंसा गर्छ, त्यही व्यक्तिले नै हृदयमा परमेश्‍वरलाई अपमान गर्ने, नकार्ने, ईश्वरनिन्दा गर्ने, गाली गर्ने, र सराप्ने पनि गर्छ। ऊ आफ्नो कर्तव्य पूरा गर्नहेतु बिहान सबेरै उठ्छ र राती अबेर सुत्छ, अरू धैरैजसोले तिर्न नसक्ने मूल्य तिर्छ, तर आफ्ना कर्तव्यहरूमार्फत कुण्ठा पोख्ने, परमेश्‍वरको घरका हितहरूलाई विश्वासघात गर्ने, जानाजानी कामलाई बाधा दिने, र आफ्ना कर्तव्यहरू र कामलाई जानाजान बेवास्ता गर्ने रूपमा सम्हाल्ने व्यक्ति पनि उही हुन्छ। बाहिरबाट हेर्दा, यो उही व्यक्ति हो, तर उसका व्यवहार र स्वभावहरूलाई मूल्याङ्कन गर्दा, यस्ता विपरीत प्रकटीकरणहरूले त्यसमा दुई फरक मानिसहरू संलग्न भएझैँ देखाउँछ। यसले एउटा समस्या देखाउँछ। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूबाट, तिनीहरूले मूलतः परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा वा परमेश्‍वरका वचनहरूका रूपमा स्विकार्दैनन् भन्ने कुरा प्रस्ट हुन्छ। ख्रीष्टविरोधीहरूको सारको आधारमा, अझ भन्‍ने हो भने, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई कहिल्यै सत्यताका रूपमा लिनेछैनन्, न त जीवनभर पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरूको रूपमै लिनेछन्। परमेश्‍वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भन्नेबारे ख्रीष्टविरोधीहरूले खोजीनिती गर्नेसम्बन्धी पहिलो विषयवस्तु यही हो—तिनीहरू परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌का वचनहरूबारे खोजीनिती गर्छन्। ख्रीष्टविरोधीहरूका नजरमा, परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू तिनीहरूले यो जुनीमा पाउने भौतिक व्यवहार, आत्मिक व्यवहार, जिउने वातावरण, र तिनीहरूले यो जुनीमा आनन्द उठाउने यस्तै अन्य कुराहरूसँग अविभाज्य रूपमा जोडिएका हुन्छन्, यसैकारण तिनीहरू यस पक्षलाई विशेष ध्यान दिन्छन्। तिनीहरू परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌का वचनहरू पूरा हुनुलाई परमेश्‍वरको शक्तिको हद र परमेश्‍वरको पहिचानको आधिकारिकता मापन गर्ने मानकका रूपमा प्रयोग गर्छन्। तिनीहरू यसबारे गोप्य रूपमा मनन गर्छन् र सोच्छन्—खोजीनिती गर्नुको अर्थ नै यही हो। ख्रीष्टविरोधीहरू जीवन प्रवेशबारे परमेश्‍वरले बोल्नुभएका विभिन्न सत्यताहरूबारे कुनै चासो देखाउँदैनन्। तर, परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌का वचनहरू उल्लेख हुनेबित्तिकै, तिनीहरूका आँखा लालचले बल्छन्, र तिनीहरूको चाहना जाग्न थाल्छ। सतहमा, तिनीहरू “हामी निःसर्त परमेश्‍वरप्रति समर्पित हुनुपर्छ, हामीले परमेश्‍वरका मागहरूअनुसार कर्तव्य पूरा गर्नुपर्छ” भन्छन्, तर तिनीहरूका नजरहरू वास्तवमा कहाँ केन्द्रित हुन्छन्? तिनीहरू परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌का उहाँका वचनहरूमा केन्द्रित हुन्छन्। अनि, यी कुराहरूमा केन्द्रित भइसकेपछि, तिनीहरू यिनलाई छोड्दै छोड्दैनन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌का वचनहरूप्रति यसरी नै व्यवहार गर्छन्।

२. मानिसका लागि परमेश्‍वरका श्राप र दण्डका वचनहरूबारे खोजीनिती गर्नु

दोस्रो विषयवस्तु ख्रीष्टविरोधीहरूले मानिसका लागि परमेश्‍वरका श्राप र दण्डका वचनहरूबारे खोजीनिती गर्छन् भन्ने हो। ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूमा उल्लेखित श्राप र दण्डप्रति पहिलो विषयवस्तुप्रति जस्तै दृष्टिकोण र अडान राख्छन्। तिनीहरूले कसरी यस्ता वचनहरूबारे खोजीनिती गर्छन्? जब तिनीहरूले परमेश्‍वरका वचनहरूले कस्ता प्रकारका मानिसहरूलाई श्राप दिन खोजेका हुन् र कस्ता प्रकारका मानिसहरूलाई दण्ड दिन खोजेका हुन्, त्यस्ता मानिसहरूलाई श्राप दिन परमेश्‍वरले कस्ता वचनहरू बोल्‍नुभएको छ, परमेश्‍वरले त्यस्ता मानिसहरूलाई दण्डित गर्न कस्तो शैली प्रयोग गर्नुहुन्छ, साथै परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई श्राप दिन कस्ता विधि र वचनहरू प्रयोग गर्नुहुन्छ भनेर देख्छन्, तब तिनीहरूले आफ्नो दैनिक जीवनमा नियाल्न थाल्छन्, र परमेश्‍वरका यी वचनहरू कसरी साकार हुन्छन्, र यी वचनहरू अहिलेसम्म साकार भएका छन् कि छैनन् भनी हेर्छन्। उदाहरणका लागि, एउटा मण्डली अगुवा छ जसले परमेश्‍वरको घरका रकमहरू हिनामिना गर्छ, मनमानी रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई सताउँछ र दमन गर्छ, मण्डलीमा तानासाही र बेपरवाह तरिकाले कार्य गर्छ, बिनासिद्धान्त कार्य गर्छ, परमेश्‍वरका अभिप्रायहरू खोजी गर्दैन, र अरूसित सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्दैन। परमेश्‍वरका वचनहरूले यस्तो व्यक्तिका लागि श्राप र दण्डहरू हुन्छन् भनेर भन्छन्। अनि, यसो नियाल्छ: “परमेश्‍वरले यस्ता मानिसहरूलाई प्रेम गर्दैनन्, उनले तिनीहरूलाई तिरस्कार गर्छन्। तर उनले यस व्यक्तिलाई कसरी तिरस्कार गरिरहेका छन्? यो व्यक्ति हरदिन निकै आरामपूर्वक जिउँछ र हप्काइ नखाई दाजुभाइ-दिदीबहिनीहरूलाई दमन गर्छ; दाजुभाइ-दिदीबहिनीहरूले त्यसलाई सहनु नै पर्छ। त्यसोभए परमेश्‍वरका यी वचनहरू कसरी पूरा भइरहेका छन् त? यी कसरी पूरा हुन सक्छन् भनी म बुझ्दिनँ; सायद परमेश्‍वरले यस्ता मानिसहरूलाई सराप्छन् भन्नु एउटा भनाइ मात्र हो। परमेश्‍वरका वचनहरूमा अख्तियार हुनुपर्छ, साथै परमेश्‍वरले बोलेपछि, मानिसहरूलाई हृदयमा असहजता र दोष महसुस हुनुपर्छ। मैले नियालेर उसलाई हृदयमा असहज महसुस भइरहेको छ कि छैन भनी बुझ्न आवश्यक छ, मैले ऊसित कुराकानी गरेर उसको मनको कुरा बुझ्न आवश्यक छ।” त्यसैले, ख्रीष्टविरोधीले त्यो व्यक्तिलाई सोध्छ, “अचेल तिमीलाई कस्तो अनुभव भइरहेको छ?” “धेरै राम्रो। परमेश्‍वरले हामीलाई अगुवाइ गरिरहेका छन्। मण्डली जीवन नराम्रो छैन, दाजुभाइ-दिदीबहिनीहरू सबैजना सही मार्गमा प्रवेश गरेका छन्, उनीहरू सबै परमेश्‍वरका वचनहरू पढ्न रुचाउँछन् र सुसमाचारको काम पनि राम्रैसँग अघि बढिरहेको छ।” “काम सहज रूपमा अघि नबढ्दा, के तिमीलाई निराश महसुस हुँदैन? के तिमी नकारात्मक हुँदैनौ? के परमेश्‍वरले तिमीलाई ताडना दिन्छन्? के तिमीलाई भित्री रूपमा दोषी महसुस हुन्छ?” “हुँदैन, यति राम्ररी काम सम्पन्न हुँदा, मैले किन दोषी महसुस गर्नु? यदि केही भइरहेको छ भने, परमेश्‍वरले मलाई आशिष् दिइरहेका छन्।” ख्रीष्टविरोधीले सोच्छ, “परमेश्‍वरले यस्तो व्यक्तिलाई श्राप दिएका छैनन्, त्यसैले दुष्ट मानिसहरूलाई श्राप दिने, परमेश्‍वरको प्रतिरोध गर्नेहरूलाई श्राप दिनेबारे परमेश्‍वरले बोलेका वचनहरू साकार भएका छैनन्! यो अगुवाले परमेश्‍वरको प्रतिरोध गर्ने र मण्डलीको काममा अवरोध पुर्‍याउने त्यस्ता प्रस्ट कार्यहरू गरेको छ; परमेश्‍वरका श्रापहरू ऊमाथि आएका हुनुपर्थ्यो। त्यो किन भएको छैन? मानिसहरूलाई श्राप दिने परमेश्‍वरका वचनहरू साकार हुन सक्छन् कि सक्दैनन्, त्यो भन्न गाह्रो छ, त्यसैले म नियाल्न जारी राख्नेछु।” परमेश्‍वरका वचनहरूमा एउटा वाक्यांश छ: “प्रतिरोधले मृत्युमा पुर्‍याउँछ!” ख्रीष्टविरोधीहरूका नजरमा, परमेश्‍वरको प्रतिरोध गर्ने मानिसहरू धेरै छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले पहिलोपटक परमेश्‍वरको कामको यो चरणमा आएर सत्यता नबुझ्दा, परमेश्‍वरविरुद्ध केही ईश्वरनिन्दात्मक र बदनामीपूर्ण शब्दहरू बोल्थे, र परमेश्‍वरको कामको यो चरण अस्वीकार गर्थे। ख्रीष्टविरोधीले मनमनै सोच्छ, “के यी परमेश्‍वरको प्रतिरोध गर्ने मानिसहरू होइनन् र? यदि हुन् भने, परमेश्‍वरका वचनहरूअनुसार त प्रतिरोधले मृत्युमा पुर्‍याउँछ। तर यतिका धेरै वर्षपछि पनि यीमध्ये कुनै पनि मानिसहरू नमरेको देखिन्छ; परमेश्‍वरका वचनहरू पूरा भएका छैनन्! यिनीहरू नमरे पनि, कम्तीमा, यी मानिसहरूका हात भाँचिएका वा खुट्टा काटिएका हुनुपर्थ्यो, वा तिनीहरूले घरमा केही सङ्कट भोग्नुपर्थ्यो, जस्तै परिवारको कुनै सदस्यको मृत्यु, वा तिनीहरूको घर ढलेको, वा गाडी दुर्घटनामा परेको हुनुपर्थ्यो। यी कुनै पनि दुर्भाग्य घटेका छैन भने कसरी प्रतिरोधले मृत्युमा पुर्‍याउँछ भन्न मिल्छ त? हुन सक्छ, हाम्रो बुझ्ने क्षमता कमजोर छ र हामीलाई अझै पनि परमेश्‍वरका वचनहरू कसरी पूरा हुन्छन् र साकार हुन्छन् भन्ने कुरा थाहा छैन। मानिसहरूलाई परमेश्‍वरका वचनहरू पूरा हुनेछन् कि छैनन्, थाहै हुँदैन; यो भन्न गाह्रो छ।” त्यो ख्रीष्टविरोधीले, यी देखिने तथ्यहरू र उसको आफ्नै मानसिक विश्लेषणमार्फत, साथै उसको “पृथक्” दृष्टिकोणबाट, परमेश्‍वरका यी वचनहरू पूरा हुन्छन् कि हुँदैनन् र यी वचनहरू कसरी पूरा हुन्छन् भनी हेर्छ। उसले यस मामलाबारे सधैँ एउटा ठूलो प्रश्‍नचिन्ह उठाउँछ; उसलाई यस मामलाको अन्तिम परिणाम के हुन्छ, यी घटनाहरूलाई कसरी व्याख्या गर्ने, वा यी कुराहरूलाई कसरी बुझ्ने भन्ने कुरा थाहै हुँदैन। उसले अवश्यै, प्राय: यसबारे प्रार्थना गर्छ: “हे परमेश्‍वर, कृपया मलाई अन्तर्दृष्टि देऊ, तिमीले कसरी मानिसहरूलाई श्राप र दण्ड दिन्छौ र तिम्रा वचनहरू कसरी पूरा हुन्छन् भनी मलाई बुझाऊ, ताकि ममा तिम्रो डर मान्ने हृदयको विकास हुन सकोस्, ताकि म तिमीसँग डराऊँ र तिम्रो प्रतिरोध गर्ने कामहरू नगरूँ।” के यो प्रार्थना उपयोगी छ? के परमेश्‍वरले सुन्नुहुनेछ? (सुन्नुहुनेछैन।) परमेश्‍वरले त्यसलाई वास्तासमेत गर्नुहुन्न; उहाँले यी प्रार्थनाहरूलाई झिँगा र किराहरूको अर्थहीन भुनभुनाइझैँ ठान्नुहुन्छ। परमेश्‍वरले किन यस्ता प्रार्थनाहरू सुन्नुहुन्न? किनभने ख्रीष्टविरोधीले उच्चारण गर्ने हरेक वाक्य परीक्षा, उक्साहट, बदनामी, र ईश्वरनिन्दाले भरिएको हुन्छ। यस्तो व्यक्तिलाई, परमेश्‍वरले खुलस्त रूपले ढाल्नुभएको वा निन्दा नगर्नुभएको भए पनि, उसले गर्ने सबथोक, उसका सोचाइ, दृष्टिकोण, र अडान परमेश्‍वरका नजरमा निन्दित हुन्छन्। ख्रीष्टविरोधीका यी प्रकटीकरणहरू सबै उसको हृदयमा लुकेका हुन्छन्; उसले गोप्य रूपमा यी काम गर्छ र सुटुक्क यी कुराहरूबारे खोजीनिती गर्छ। परमेश्‍वरले अवश्यै उहाँको हृदयमा उसलाई निन्दा गर्ने र सराप्ने पनि गर्नुहुन्छ।

मानिसका लागि परमेश्‍वरका श्राप र दण्डका वचनहरू सम्बन्धमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू तिनलाई विश्‍वास गर्दैनन् वा बुझ्दैनन्; तिनीहरू प्राय: छानबिन र विश्‍लेषण गर्छन्: “यी वचनहरू ठ्याक्कै कसरी पूरा हुन्छन्? के यी साँच्चिकै पूरा हुन सक्छन्? यी कसका लागि पूरा हुनेछन्? के परमेश्‍वरद्वारा श्रापित र दण्डित हुनेहरूले साँच्चिकै श्राप र दण्ड प्राप्त गर्छन्? के यो मानव आँखाले देख्‍‍न सकिन्छ? के परमेश्‍वरले त्यो सबै मानव आँखाले देख्न सक्ने बनाउनुपर्दैन र?” तिनीहरू लगातार हृदयमा यी मामलाहरूबारे मनन गर्छन्, र यिनलाई आफ्नो दैनिक जीवनका ठूला र महत्त्वपूर्ण मामलाका रूपमा लिन्छन्। तिनीहरू समय वा अवसर मिल्नेबित्तिकै यीबारे मनन गर्छन्। वातावरण सही भएर यस्ता घटनाहरू घटेसम्म, वा यस्ता विषयहरू संलग्न भएसम्म, तिनीहरूका अडान र दृष्टिकोणहरू प्रस्ट रूपले प्रकाश हुन्छन्। तिनीहरू परमेश्‍वरका यी वचनहरूलाई छानबिन र बदनाम गरिरहेका हुन्छन्, यी वचनहरूलाई मानव दृष्टिकोणबाट र मानव तरिकाले बुझ्ने कोसिस गरिरहेका हुन्छन्, साथै यी वचनहरू साकार हुन सक्छन् कि सक्दैनन्, यी दैनिक जीवनमा पूरा भएका छन् कि छैनन् र यिनले व्यावहारिक प्रभाव पारेका छन् छैनन् भनेर पनि जाँच्छन्। तिनीहरू किन यसो गर्छन्? तिनीहरू किन अझै पनि हृदयमा यी कुराबारे घोत्लिन र अथक रूपमा मनन गर्न सक्छन्? किनकि परमेश्‍वरले जतिसुकै सत्यताहरू व्यक्त गर्नुभए पनि, ख्रीष्टविरोधीहरूका हृदयमा ती परमेश्‍वरको पहिचान र सार प्रमाणित गर्न पर्याप्त हुँदैनन्। परमेश्‍वरका वचनहरू पूरा हुनु-नहुनु र वास्तविकता बन्नु-नबन्नुले मात्र परमेश्‍वरको पहिचान र सार प्रमाणित गर्न सक्छन्। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरका वचनहरू साकार हुन्छन् कि हुँदैनन् र पूरा हुन्छन् कि हुँदैनन् भन्ने कुरा मात्र परमेश्‍वरको पहिचान र सार जाँच्ने तिनीहरूको एउटै मापदण्ड हो। त्यसैगरी, मानिसप्रतिका परमेश्‍वरका श्राप र दण्डका वचनहरू पूरा हुन्छन् हुँदैनन् भन्ने कुरा पनि परमेश्‍वरको पहिचान र सार जाँच्ने तिनीहरूको मापदण्ड बनेको छ। यो नै परमेश्‍वरलाई मापन गर्ने ख्रीष्टविरोधीहरूको सबैभन्दा महत्त्वपूर्ण सोच र दृष्टिकोण हो। ख्रीष्टविरोधीहरू मानव दृष्टिकोण र बुझाइका विधिहरू प्रयोग गरेर, अनि मानव बौद्धिकतामा भर परेर, मानिसहरूप्रतिका परमेश्‍वरका श्राप र दण्डका वचनहरू जाँच्ने र मूल्याङ्कन गर्ने गर्छन्। जति जे गर्दा पनि, तिनीहरूले तथ्यहरू देख्न नसक्दा र आफूले हेर्न चाहेको नजारा देख्न नसक्दा, तिनीहरू हृदयमा बारम्बार परमेश्‍वरको पहिचान र सार नकार्छन्। तिनीहरूले जति कम देख्न सक्छन्, त्यति नै तीव्र रूपमा परमेश्‍वरलाई नकार्छन्, र त्यति नै बढी आफूले गरेको लगानी र समर्पण सार्थक बनेका छन् कि छैनन् भनेर शङ्का गर्छन्। तर, जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरमा परमेश्‍वरलाई बदनाम गर्ने वा परमेश्‍वरको घरको काममा बाधा दिने, वा परमेश्‍वरको ईश्वरनिन्दा र प्रतिरोध गर्ने केही दुष्ट मानिसहरूले, फरकफरक हदमा दण्ड वा श्राप पाइरहेका देख्छन्, र यी मानिसहरूको परिणाम देख्छन्, तब तिनीहरूले परमेश्‍वरप्रति विस्मयी भय राख्छन्, र एक्कासि यस्तो अनुभूति गर्छन्, “परमेश्‍वर साँच्चिकै भयङ्कर छन्। उनले जे भन्छन् त्यो पूरा हुन्छ। त्यो व्यक्ति पहिले ठिकै थिई तर अचानक मरी, किनकि हिजो मात्र उसले परमेश्‍वरलाई गाली गरिरहेकी थिई! अर्को, त्यो गोरुजतिकै बलियो व्यक्ति, अचानक बिरामी पर्‍यो किनकि उसले परमेश्‍वरको घरको काममा उल्लेखनीय क्षतिहरू पुर्‍यायो र त्यो कुरा मान्नसमेत मानेन, र यसकारण उसले परमेश्‍वरको श्राप पायो। अर्को कुनै व्यक्तिले, कुनै कुकर्म गरेको र मण्डलीमा केही दुष्ट कार्यहरू गरेको कारण, उसको परिवारलाई दुर्भाग्यहरू आइलाग्यो, र त्यसबेलादेखि, उसको घरमा कुनै शान्ति छैन। अर्को व्यक्ति, जो परमेश्‍वरबारे सधैँ ईश्वरनिन्दात्मक रूपमा बोल्थ्यो, ऊ अहिले पागल बनेको छ, र ऊ आफू परमेश्‍वर भएको दाबी गर्छ। यो त पिशाचहरू लाग्नु हो; परमेश्‍वरले उसलाई शैतानकहाँ सुम्पिदिए, र फोहोरी पिशाचहरूको वासस्थानमा राखिदिए। उसलाई दुष्टात्माहरूको नियन्त्रणमा पारेर कष्ट भोग्ने तुल्याउनु मानवहरूले गर्न सक्ने कुरै होइन; यस्तो गर्ने अख्तियार त परमेश्‍वरसित मात्र छ। परमेश्‍वरले सबैमाथि सार्वभौम शासन चलाउँछन्—उनले त्यस व्यक्तिलाई दुष्टात्माहरूलाई सुम्पिदिए, अनि तिनीहरूले उसलाई आफ्नो नियन्त्रणमा लिए, र उसको दिमाग खुस्काइदिए र उसको लाजको बोध हटाइदिए, उसलाई बाटोमा नाङ्गै कुद्‍ने बनाइदिए। हेर, यी मानिसहरू के भए, तिनीहरूले के-कस्ता दण्ड र श्रापहरू भोगे; तिनीहरू सबैले यो के गरे?” सारांश गरेपछि, एकछिन त ख्रीष्टविरोधीहरूको धड्कन नै रोकिन्छ: “यी मानिसहरूमा परमेश्‍वरलाई खुलेआम गाली गर्ने, परमेश्‍वरलाई खुलेआम ईश्वरनिन्दा र आलोचना गरेका, साथै जानाजान परमेश्‍वरको घरमा बाधा र अवरोध सिर्जना गर्नेहरू पर्छन्। परमेश्‍वरविरुद्ध लागेर केही पनि राम्रो नहुने देखिन्छ! परमेश्‍वर साँच्चिकै भयङ्कर छन्! यदि तिमीले अरू मानिसहरूलाई चिढ्यायौ भने, तिनीहरूले तिमीलाई खासै केही गर्न सक्दैनन्, तर यदि तिमीले परमेश्‍वरलाई चिढ्यायौ भने, त्यो गम्भीर कुरा हो। तिमी आफ्नो व्यवहारप्रति जिम्मेवार हुनुपर्छ; त्यसको मूल्य धेरै ठूलो पर्छ! कम्तीमा पनि, तिमी पागल हुन सक्छौ, र परमेश्‍वरले तिमीलाई फोहोरी पिशाचहरूको हातमा सुम्पिनेछन्, जसको अर्थ निश्‍चय नै नरक जानु हो; सबैभन्दा नराम्रो भएमा त परमेश्‍वरले यो जुनीमा तिम्रो दैहिक अस्तित्व नै समाप्त पार्नेछन्, तिमीलाई नष्ट पार्नेछन्, र भनिरहनै पर्दैन कि आउँदो संसारमा पनि, तिम्रो कुनै गन्तव्य हुनेछैन, तिमी राज्यमा प्रवेश गर्न सक्नेछैनौ, र तिमीले आशिष्‌हरू प्राप्त गर्नेछैनौ। तिनीहरूले परमेश्‍वरको प्रतिरोध गरेका विभिन्न तरिका मूल्याङ्कन गर्दा, म अझ बढी सावधान हुनुपर्छ र मैले आफ्नो लागि केही सिद्धान्तहरू बनाउनुपर्छ। पहिलो कुरा, मैले परमेश्‍वरलाई खुलेआम गाली गर्नु हुँदैन; यदि गाली गर्नैपर्‍यो भने, मैले हृदयमा चुपचाप गर्नुपर्छ। दोस्रो कुरा, ममा परमेश्‍वर हुने चाहना र महत्त्वाकाङ्क्षा भए पनि, मैले त्यो कुरा प्रकाश गर्न वा अरूलाई थाहा दिन हुँदैन। तेस्रो कुरा, मैले आफ्ना व्यवहार र चालढाल काबुमा राख्‍नुपर्छ, अवरोधहरू सिर्जना गर्ने केही पनि गर्नु हुँदैन। यदि मैले परमेश्‍वरको घरलाई क्षति पुर्‍याएँ र परमेश्‍वरलाई रिस उठाएँ भने, त्यो त अत्यन्तै नराम्रो हुनेथियो! हल्का अवस्थामा, मैले आफ्नो जीवन गुमाउन सक्‍नेछु; अलि बढी गम्भीर अवस्थामा त, म श्रापित नै हुनेछु र अतल कुण्डमा खस्नेछु, अनि त्यो नै मेरो अन्त्य हुनेछ।” जब ख्रीष्टविरोधीहरूले यी कुराहरू भइरहेको देख्छन्, तिनीहरूलाई परमेश्‍वरका वचनहरू पूरा भएको, साथै परमेश्‍वर अत्यन्तै महान् र भयङ्कर हुनुभएको अनुभूति हुन्छ। तिनीहरूले यी घटनाहरूमार्फत परमेश्‍वरको महान्‌ता र भयङ्करता महसुस गर्छन् र चिन्छन्। के यी सबै ख्रीष्टविरोधीहरूको हृदयका सोच्ने प्रक्रियाहरू, साथै तिनीहरूले यी कुराहरू देखेपछि सारांश निकालेका कार्य सिद्धान्तहरू, तिनीहरूका भित्री संसारका गतिविधिहरू होइनन् र? तिनीहरूले हृदयभित्र परमेश्‍वरप्रति गर्ने सारा कुराहरूलाई नै खोतलखातल गर्नु भनेर भनिन्छ।

ख्रीष्टविरोधीहरू खुलेआम “परमेश्‍वरले मानिसहरूलाई सराप्नुहुन्न, परमेश्‍वरका वचनहरू पूरा भएका छैनन्” भनेर भन्दैनन्, न त तिनीहरू खुलेआम “परमेश्‍वरले फलानो-ढिस्कानोलाई दण्ड दिनुभएको छ, परमेश्‍वरले फलानो-ढिस्कानोलाई सराप्नुभएको छ। परमेश्‍वरका वचनहरू पूरा भएका छन्, परमेश्‍वर साँच्चिकै महान् हुनुहुन्छ” भनेर नै भन्छन्। त्यसको साटो, तिनीहरूले हृदयको गहिराइमा यी कुराहरूबारे षड्यन्त्र, योजना र चिन्तन गर्छन्। तिनीहरूले चिन्तन गर्नुको उद्देश्य के हो? तिनीहरू परमेश्‍वरका वचनहरू पूरा भएमा के गर्ने, र परमेश्‍वरका वचनहरू पूरा नभएमा वा साकार नभएमा के गर्ने भन्नेबारे सोच्छन्। तिनीहरूले खोतलखातल गर्नुको उद्देश्य परमेश्‍वरका कार्यहरू बुझ्नु होइन, परमेश्‍वरको स्वभाव बुझ्नु होइन, र सत्यता प्राप्त गर्नु र मानकअनुरूपको सृजित प्राणी हुनु त झनै होइन—बरु, त्यसको उद्देश्य त मानव विधि र रणनीतिहरू प्रयोग गरेर यी सारा मामलाहरू सम्हाल्नु, परमेश्‍वरका श्राप र दण्ड सामना गर्नु हो। ख्रीष्टविरोधीहरूले आफ्ना हृदयमा षड्यन्त्र रच्ने कुरा यही हो। के परमेश्‍वरका वचनहरूप्रतिको यो शृङ्खलाबद्ध सोचाइले तिनीहरू परमेश्‍वरप्रति शत्रुवत्‌ छन् भन्ने कुरा प्रमाणित गर्न सक्छ? के त्यसले तिनीहरूले निरन्तर परमेश्‍वरलाई बदनाम र ईश्वरनिन्दा गर्दै आएका छन् भन्ने कुरा प्रमाणित गर्न सक्छ? (सक्छ।) अवश्यै सक्छ! ख्रीष्टविरोधीहरूले गर्ने यही हो। यदि परमेश्‍वरका वचनहरू पूरा भए भने, तिनीहरूसँग जबाफी उपायहरू तयार हुन्छन्; यदि उहाँका वचनहरू पूरा भएनन् भने, तिनीहरूसँग त्यसका पनि जबाफी उपायहरू हुन्छन्—परमेश्‍वरका वचनहरू पूरा हुने वा नहुने आधारमा तिनीहरूका जबाफी उपायहरू परिवर्तन हुन्छन्। यदि परमेश्‍वरका वचनहरू पूरा भएमा, ख्रीष्टविरोधीहरूले उचित तरिकाले आफूलाई आचरणमा ढाल्छन्, सजग रूपमा परमेश्‍वरको घरभित्रका कार्यहरूमा संलग्न हुन्छन्, गुपचुप बस्छन्, धृष्ट वा अभद्र बन्दैनन्, बरु कुनै गलत काम नहोस् भनेर सावधान रहन्छन्। यदि परमेश्‍वरका वचनहरू पूरा भएनन् भने, तिनीहरूले निर्लज्ज रूपमा जथाभाबी झाराटारुवा कार्य गर्नेछन्। जे भए पनि, तिनीहरूका नजरमा परमेश्‍वरका वचनहरू पूरा हुने वा नहुने जे देखिए पनि, तिनीहरूका हृदयले परमेश्‍वरलाई साँच्चिकै कहिल्यै परमेश्‍वरका रूपमा मान्नेछैन, तिनीहरूका हृदय पूर्ण रूपमा कहिल्यै परमेश्‍वरलाई दिन सकिँदैन। तिनीहरूका कर्तव्य र कार्यहरू हृदयदेखि गरिँदैनन्, बरु षड्यन्त्र, चाल, र ढोँग प्रयोग गरेर, छल, लुकाइ र गोप्यताका साथ गरिन्छन्। तिनीहरूले हृदयका गहिराइमा सोच्ने, मनन गर्ने, र शङ्का गर्ने कुरा अरूलाई वा परमेश्‍वरलाई कहिल्यै खुल्लमखुल्ला भन्दैनन्। त्यसको साटो, तिनीहरू जिद्दी गर्दै आफ्नै सोचविचारलाई सत्यता मान्छन्, कार्यान्वयन र अभ्यास गर्ने सही र असल दिशा र लक्ष्य मान्छन्। ख्रीष्टविरोधीहरूका नजरमा, मानिसप्रतिका परमेश्‍वरका श्राप र दण्डका वचनहरू पूरा हुनु वा नहुनु निकै महत्त्वपूर्ण कुरा हो, किनभने त्यसले नै तिनीहरूले दैनिक जीवनमा गर्ने कार्य र व्यवहार, तिनीहरूले कामप्रति गर्ने व्यवहार, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूप्रति गर्ने व्यवहार निर्धारण गर्छ; यसले नै तिनीहरूले कस्ता व्यवहारहरू प्रकाश गर्छन्, साथै तिनीहरूमा कस्ता कार्य र प्रकटीकरणहरू हुन्छन् भन्ने कुरा पनि निर्धारण गर्छ। जब परमेश्‍वरका वचनहरू पूरा हुन्छन्, तब ख्रीष्टविरोधीहरूले उचित तरिकाले र निष्कपट रूपमा आफूलाई आचरणमा ढाल्छन्, आफ्ना गतिविधिहरू नियन्त्रणमा राख्छन्, बाधा वा अवरोधहरू सिर्जना गर्ने कुनै पनि कार्य नगर्ने कोसिस गर्छन् र अवरोध वा बाधा दिने, परमेश्‍वरका वचनहरूलाई बदनाम गर्ने, वा उहाँको कामलाई बदनाम गर्ने शब्दहरू नबोल्ने कोसिस गर्छन्। यदि परमेश्‍वरका यी वचनहरू पूरा भएनन् भने, तिनीहरू निसङ्कोच परमेश्‍वरको कामको आलोचना र निन्दा गर्ने छुट महसुस गर्छन्। यसरी, ख्रीष्टविरोधीहरू हृदयका गहिराइमा निरन्तर परमेश्‍वरको विरोध गर्छन् र उहाँविरुद्ध कोलाहल मच्चाउँछन्—के तिनीहरूलाई प्रकाश नगर्न र नहटाउन सम्भव हुनेथियो त? तिनीहरूको यो मनोवृत्ति, स्वभाव, र सार परमेश्‍वरको साँचो शत्रु हुन्। ख्रीष्टविरोधीहरूले आफूले चाहेको जे पनि गर्न नसक्ने भए पनि, तिनीहरू आफूले सोच्ने, योजना गर्ने, मनन गर्ने कुरा, वा तिनीहरूको हृदयका गहिराइमा भएका दृष्टिकोणहरू बिलकुलै लुकाउँदैनन्, किनकि तिनीहरू परमेश्‍वरदेखि डराउँदैनन्। तिनीहरू परमेश्‍वरदेखि नडराउनुको कारण के हो? तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, न त तिनीहरू परमेश्‍वरले मानिसको सबैभन्दा भित्री हृदयलाई नियाल्नुहुन्छ भनेर नै विश्‍वास गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको तर्कमा, बाँच्नका लागि तिनीहरूलाई लागेको सबैभन्दा उत्कृष्ट रणनीति यो हो: “म जे गर्छु र जस्तो व्यवहार गर्छु, अर्थात् अरूले जे देख्छन्, त्यो म कस्तो व्यक्ति हुँ भनी मापन गर्ने मानक बन्न सक्छ। तर म हृदयमा के सोच्छु, म कसरी योजना र अभिप्राय बनाउँछु, मेरो भित्री संसार कस्तो छ, मैले परमेश्‍वरलाई झूटो निन्दा र ईश्वरनिन्दा, परमेश्‍वरको आलोचना गरिरहेको छु कि विश्‍वास र प्रशंसा गरिरहेको छु—यदि मैले त्यो कुरा भनिनँ भने, तिमीहरू कसैले थाहा पाउनेछैनौ। मलाई निन्दा गरेर त हेर! यदि मैले बोलिनँ भने, तिमीहरू कसैले पनि म हृदयमा के सोच्छु वा योजना बनाउँछु, वा परमेश्‍वरप्रति मेरो मनोवृत्ति र दृष्टिकोण के छ भनेर थाहा पाउने आशासमेत गर्न सक्दैनौ, र मलाई कसैले पनि कुनै पापको आरोप लगाउन सक्दैन।” ख्रीष्टविरोधीहरूको योजना यही हो। तिनीहरू यो नै मानिसहरूमाझ जिउँदा र काम गर्दाको सर्वोच्च आचरण सिद्धान्त हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूको व्यवहार गलत नभएसम्म र तिनीहरूका कार्यहरूमा कुनै त्रुटिहरू नभएसम्म, तिनीहरूले हृदयमा सोच्ने कुरामा कसैले हस्तक्षेप गर्न सक्दैन। के ख्रीष्टविरोधीहरू अत्यन्तै चलाख छैनन् र? (छैनन्।) तिनीहरू कसरी चलाख छैनन्? तिनीहरू अत्यन्तै राम्रो तरिकाले आफ्नो भेष बदल्छन्। तिनीहरूले प्रार्थना गर्दा, बाटो छेउ बसेर गर्छन्, र तिनीहरूले अरूसामु बोल्ने शब्दहरू सबै सही हुन्छन्, त्यसमा कुनै त्रुटि भेटिँदैन। तिनीहरू जति लामो समय विश्‍वास गर्छन्, त्यति नै बढी आत्मिक बन्छन्। तिनीहरूले हृदयमा साँच्चिकै के सोच्छन्, तिनीहरूले त्यो कुरा गोप्य रूपमा आफ्नो परिवारलाई मात्र भन्छन्, र कतिपयले त आफ्नो परिवारलाई समेत भन्दैनन्, त्यसैले तिनीहरूलाई कसैले छर्लङ्ग देख्न सक्दैन। तर तिनीहरूले एउटा कुरा बिर्सन्छन्: मानवहरूले तिनीहरूलाई छर्लङ्ग देख्‍न सके पनि वा नसके पनि के काम? त्यो महत्त्वहीन कुरा हो; कुनै पनि मानवले अर्को व्यक्तिको भाग्य निर्धारण गर्न सक्दैन। मानवहरूले तिनीहरूलाई छर्लङ्ग देख्‍न सक्नु वा नसक्नुले फरक पार्दैन; यो असान्दर्भिक कुरा हो र यसले केही पनि निर्धारण गर्दैन। महत्त्वपूर्ण कुरा त परमेश्‍वरले मानिसहरूको बाहिरी व्यवहार मात्र हेर्नुहुन्न, बरु उहाँले त तिनीहरूको हृदयको गहिराइलाई समेत नियाल्नुहुन्छ। ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरले मानिसको भित्री हृदयलाई नियाल्नुहुन्छ भनेर विश्‍वास नलाग्ने र थाहा नहुने भएकै कारण, तिनीहरू मूर्खतापूर्वक र बेतुके रूपमा यस्तो सोच्छन्, “म हृदयमा जे सोच्छु त्यसमा कसैले हस्तक्षेप गर्न सक्दैन, न त मानवले सक्छन् न त परमेश्‍वरले नै।” परमेश्‍वरले मानिसको सबैभन्दा भित्री हृदयलाई नियाल्न सक्नुहुन्छ, त्यसैले तेरा सोचाइहरू परमेश्‍वरसँग भएको तेरो परिभाषासँग सम्बन्धित हुन्छन्। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको बाहिरी व्यवहारका आधारमा मात्र नभई, अझ महत्त्वपूर्ण रूपले, तिनीहरूको भित्री सोचाइका आधारमा निन्दा गर्नुहुन्छ। ख्रीष्टविरोधीहरू यही कुरामा मूर्ख हुन्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरूबारे खोतलखातल गरिरहँदा एउटा महत्त्वपूर्ण कुरा बिर्सन्छन्: परमेश्‍वरले तिनीहरूका सोचाइलाई पनि गोप्य रूपमा नियालिरहनुभएको हुन्छ। तिनीहरू परमेश्‍वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी खोतलखातल गर्छन्, र आफूले परमेश्‍वरका वचनहरू र उहाँको अस्तित्वलाई नकार्नुपर्ने निष्कर्षमा पुग्छन्। परमेश्‍वरले तिनीहरूलाई गोप्य रूपमा नियाल्नुहुन्छ, र परमेश्‍वर र परमेश्‍वरका वचनहरूप्रति तिनीहरूले हृदयको गहिराइमा राख्ने मनोवृत्ति देख्नुहुन्छ; उहाँले तिनीहरूले परमेश्‍वरलाई बदनाम र ईश्वरनिन्दा गरेको, परमेश्‍वरलाई इन्कार र निन्दा गरेको सबै प्रमाण देख्नुहुन्छ, साथै उहाँले यी सारा सोच र दृष्टिकोणहरूका नियन्त्रणअन्तर्गत पैदा हुने बाहिरी व्यवहारलाई पनि नियाल्नुहुन्छ। तिनीहरूका सोच र व्यवहारका आधारमा, परमेश्‍वरले अन्ततः यस्तो व्यक्ति के हो भनी निर्धारण गर्नुहुन्छ? ख्रीष्टविरोधी, परमेश्‍वरको शत्रु, जसले कहिल्यै मुक्ति पाउन सक्दैन। नतिजा यही हो। के ख्रीष्टविरोधीहरू चलाख हुन्छन्? तिनीहरू चलाख हुनु त टाढाको कुरा हो; तिनीहरूले आफूलाई बरबादीमा डोर्‍याएका हुन्छन्। तिनीहरू आफूमा सोच्ने विशेष क्षमता भएको, आफ्नो सोचाइ निकै तर्कपूर्ण भएको, र आफू षड्यन्त्र रच्नमा निकै माहिर रहेको विश्‍वास गर्छन्। षड्यन्त्र रचेपछि, तिनीहरूसँग विविध अनपेक्षित घटनाहरू र परमेश्‍वरले गर्नुहुने सबै प्रकारका कामप्रति सधैँ उत्कृष्ट नतिजा र लाभहरू निकाल्ने जबाफी उपाय र विधिहरू हुन्छ। तिनीहरू प्रायः आत्मसन्तुष्ट महसुस गर्छन् र आफ्नै प्रशंसा गर्छन्, र आफ्ना क्षमता र सीपहरूको कदर गर्छन्। तिनीहरू आफू संसारकै सबैभन्दा अक्कलमन्द भएको विश्‍वास गर्छन्: तिनीहरूले परमेश्‍वरका वचनहरूको स्रोत के हो, ती कोप्रति लक्षित छन्, परमेश्‍वरका वचनहरूपछाडिको प्रसङ्ग के हो, परमेश्‍वरका वचनहरू पूरा भएपछि तिनीहरूले कस्तो मनोवृत्ति अपनाउनुपर्छ, र यदि परमेश्‍वरका वचनहरू पूरा भएनन् भने तिनीहरूले कस्ता जवाफी उपायहरू प्रयोग गर्नुपर्छ भन्ने कुरा बुझ्न सक्छन्। तिनीहरू अत्यन्तै चलाख र सिद्ध भएकोमा, औसत व्यक्तिभन्दा बुद्धिमान् भएकोमा प्रायः आफैलाई बधाई दिन्छन्। तिनीहरू केका लागि आफूलाई बधाई दिइरहेका हुन्छन्? तिनीहरू परमेश्‍वरको छानबिन गर्नु, विश्‍लेषण गर्नु, साथै हृदयको गहिराइमा उहाँसित जोरी खोज्नु र परमेश्‍वरका वचनहरूबारे खोतलखातल गर्नु निकै रोमाञ्चक भएको र त्यसले तिनीहरूलाई ठूलो उपलब्धि बोध प्रदान गर्छ भन्ने महसुस गर्छन्। त्यसकारण, तिनीहरू आफू त्यस्तो मानिस भएकोमा आफूलाई साँच्चिकै प्रशंसा गर्छन् र बधाई दिन्छन्। के ख्रीष्टविरोधीहरू मूर्ख होइनन् र? अरू मानिसहरूसित जोरी खोज्दा त्यसले तँलाई तिमीहरूमध्ये को श्रेष्ठ छ भनी निर्धारण गर्न वास्तवमै मद्दत गर्न सक्ला, साथै त्यसले तँलाई तेरो आफ्नै फाइदा र अस्तित्वको बोधसमेत महसुस गराउन सक्छ। तर जब तैँले परमेश्‍वरसित जोरी खोज्छस्, परमेश्‍वरका वचनहरूको, परमेश्‍वरका कार्यहरूको, र परमेश्‍वरले गर्नुहुने सबथोकको खोतलखातल गर्छस् भने, त्यसलाई के भनिन्छ? अनि त्यसका परिणामहरू के हुन्छन्? यो काल खोज्नु हो! तैँले चलचित्रका कलाकार, गायक, सेलिब्रेटी, महान् हस्तीहरू—जोकसैलाई खोतलखातल गर्न सक्छस्, तर तैँले कदापि खोतलखातल गर्न नहुने भनेको परमेश्‍वरको हो। यदि गर्छस् भने, तैँले खोजीनितीको गलत निशाना चुनिरहेको छस्। आजको विकसित सूचनाको संसार र विभिन्न सामग्रीहरूले सूचना प्रवाहमा सहजीकरण गरिरहेको अवस्थामा, अर्को व्यक्तिको अत्तोपत्तो, उसका सोच र दृष्टिकोण, साथै उसको दैनिक जीवनबारे खोजीनिती गर्नुलाई लाजमर्दो नमानिएला। तर, परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने, परमेश्‍वरका वचनहरूलाई हातमा लिने र हरदिन तिनै वचनहरू खाने-पिउने व्यक्तिले परमेश्‍वरका सबै कार्यहरू, परमेश्‍वरका सारा वचनहरू, र परमेश्‍वरको सम्पूर्ण कामलाई हृदयको गहिराइबाट निरन्तर खोतलखातल गर्नु, यो एउटा उद्दण्ड अवज्ञा हो! मानवसँग भ्रष्ट स्वभावहरू हुन्छन्; जब तैँले परमेश्‍वरसामु आफ्नो भ्रष्टता प्रकाश गर्छस्, तब परमेश्‍वरले तैँले बुझ् र जान् भनेर तँलाई सत्यता प्रदान गर्न सक्नुहुन्छ, र रूपान्तरण हुनका लागि तँलाई समय दिनुहुन्छ। परमेश्‍वरले मानिसहरूका भ्रष्टता, अपराध, र पापहरू माफ गर्न सक्नुहुन्छ र तिनलाई याद राख्नुहुनेछैन। परमेश्‍वरले माफ गर्न र सहनै नसक्ने एउटै कुरा भनेको ख्रीष्टविरोधीहरूमा कुनै पनि प्रकारको समर्पणको हृदय नहुनु, तिनीहरूले सधैँ परमेश्‍वरको छानबिन गर्नु, साथै तिनीहरूले सबै समय र स्थानमा निरन्तर परमेश्‍वरको काम र परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्नु हो। तँ के गर्न खोजिरहेको छस्? के तँ परमेश्‍वरको सहीपन जाँच्न चाहन्छस्? तँलाई तैँले कसका लागि जाँचपडताल गरिरहेको छस् जस्तो लाग्छ? तँ परमेश्‍वरले किन यी कामकुरा गर्नुहुन्छ भन्ने कुराको स्रोत र मनसायको विश्‍लेषण गर्न चाहन्छस्? तैँले आफूलाई को ठान्छस्? यति हुँदाहुँदै पनि, तैँले आफूलाई बाह्य व्यक्ति ठान्दैनस्? के परमेश्‍वर तेरो खोजीनितीको पात्र बन्न सक्नुहुन्छ? के परमेश्‍वर तेरो छानबिनको पात्र बन्न सक्नुहुन्छ? तैँले परमेश्‍वरको छानबिन स्विकार्नु, उहाँको मार्गदर्शन, न्याय, सजाय र उहाँद्वारा गरिने काटछाँट स्विकार्नु, अनि स्वभाव परिवर्तनसँग सम्बन्धित त्यस्ता सबै सकारात्मक अभ्यासहरू स्विकार्नु—यी वैध कुराहरू हुन्। कहिलेकाहीँ तैँले परमेश्‍वरलाई गलत बुझ्दा, तँ कमजोर र नकारात्मक हुँदा, साथै परमेश्‍वरबारे गुनासो गर्दासमेत, परमेश्‍वरले तँविरुद्ध ईख लिएर बस्नुहुन्न, न त उहाँले तँलाई निन्दा नै गर्नुहुन्छ। तर एउटा कुरा छ: तँ सधैँ परमश्‍वरबारे खोजीनिती गरिरहेको, सधैँ परमेश्‍वरका वचनहरू र कामको सहीपन खुट्ट्याउने कोसिस गरिरहेको हुन्छस्—परमेश्‍वरले यो कुरालाई कदापि माफ गर्नुहुने वा सहनुहुनेछैन; यो परमेश्‍वरको स्वभाव हो। साँच्चिकै भ्रष्ट मानवहरू पशु होइनन्; तिनीहरूले यसरी परमेश्‍वरको विरोध गर्दैनन्, तिनीहरूले न त यस्ता दृष्टिकोण र मनोवृत्तिहरू राख्छन्, न त परमेश्‍वरलाई यसरी व्यवहार नै गर्छन्। एउटा मात्र कुरा, एउटा मात्र भूमिका छ, जुन निर्लज्जतापूर्वक र सार्वजनिक रूपमा परमेश्‍वरविरुद्ध उभिन सक्छ, र त्यो हो, शैतान। परमेश्‍वरले मानवहरूका अपराध र भ्रष्टता याद राख्नुहुन्न, तर शैतानले परमेश्‍वरविरुद्ध गरेको विरोध, घम्साघम्सी, ईश्वरनिन्दा, र बदनामीलाई परमेश्‍वरले कहिल्यै माफ गर्नुहुनेछैन। परमेश्‍वरले भ्रष्ट मानवहरूलाई मात्र मुक्ति दिनुहुन्छ, न कि शैतानलाई। प्रकृति नबदलिने र ख्रीष्टविरोधी सार भएका ख्रीष्टविरोधीहरूले शैतानको प्रतिनिधित्व गर्न सक्छन्, शैतानको सट्टामा परमेश्‍वरविरुद्ध उभिन्छन् र परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्छन्। तिनीहरूप्रति परमेश्‍वरको मनोवृत्ति के हुन्छ? श्राप दिने र निन्दा गर्ने हुन्छ। ख्रीष्टविरोधीहरू यस तरिकाले कार्य नगरी बस्नै सक्दैनन्, र तिनीहरू काल खोजिरहेका हुन्छन्।

३. विपत्तिहरूको अगमवाणी गर्ने परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्नु

हामीले भर्खरै, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू पूरा हुन्छ कि हुँदैन भनी खोजीनिती गर्नेसम्बन्धी दुई विषयवस्तुहरू सङ्गति गर्‍यौँ: एउटा विषयवस्तु परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌का वचनहरूबारे थियो, र अर्को विषयवस्तु मानिसहरूका लागि परमेश्‍वरका श्राप र दण्डका वचनहरू थियो। अब, तेस्रो विषयवस्तु, अर्थात् विपत्तिहरूको अगमवाणी गर्ने परमेश्‍वरका वचनहरूलाई हेरौँ। यसप्रकारका वचनहरूप्रति पनि ख्रीष्टविरोधीहरूको मनोवृत्ति, यसअघिका दुई विषयवस्तुहरूको सरह छ: तिनीहरू यी वचनहरू पूरा हुने दिनबारे जिज्ञासु हुन्छन्, र यसबारे छानबिन गर्न, बुझ्न, साथै ती पूरा भएको दिन हेर्न र तथ्यहरू बाहिर आएको प्रत्यक्ष देख्‍न चाहन्छन्। यस्ता वचनहरूप्रति व्यवहार गर्ने क्रममा, ख्रीष्टविरोधीहरू हृदयका गहिराइमा षड्यन्त्र पनि रच्छन्, जबाफी उपायहरूबारे मनन गर्छन् र विभिन्न शङ्काहरू उब्जाउँछन्। तिनीहरूले सोहीअनुरूपका जबाफी उपायहरू विकास गर्नका निम्ति यस्ता वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी हेर्छन् र जाँच्छन्। जब ख्रीष्टविरोधीहरूले यी वचनहरूले विपत्तिहरूको अगमवाणी गरेको पढ्छन्, तब तिनीहरूका हृदयहरू विपत्तिहरू पूरा हुने दिनको अपेक्षाले भरिन्छन्, र तिनीहरू विभिन्न कल्पनाहरूले भरिन्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पूरा हुने आशा गर्छन् र विपत्तिहरूको आगमनले तिनीहरूका क्षितिजहरू फैलाउने, तिनीहरूका चाहना र कामनाहरू पूरा गर्ने पनि आशा गर्छन्। किन यस्तो आशा गर्छन्? किनभने परमेश्‍वरले अगमवाणी गर्नुभएका सबै विपत्तिहरू परमेश्‍वरको महान् काम पूरा हुनु, परमेश्‍वर महिमित हुनुहुने दिन, सन्तहरू उठाइ लगिनु, मानवजाति अद्‌भुत गन्तव्यमा प्रवेश गर्नु, आदि इत्यादि कुराहरूसँग सम्बन्धित छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू विपत्तिहरूको अगमवाणी गर्ने परमेश्‍वरका वचनहरूको यो पक्षबारे अपेक्षा र जिज्ञासाले झनै बढी भरिएका हुन्छन्। पहिला दुई विषयवस्तुहरूका तुलनामा, ख्रीष्टविरोधीहरू यस्ता वचनहरूमा झनै बढी चासो राख्छन्। यदि कसैले भूकम्प, महामारी, कीटसङ्क्रमण, बाढी, भूक्षय, वा अन्य प्राकृतिक प्रकोपहरू जस्ता प्रकोप निम्त्याउन सक्छ भने, हृदयमा ख्रीष्टविरोधीहरू त्यो जन अत्यन्तै शक्तिशाली छ, ऊसँग ठूलो क्षमता छ, र ऊ तिनीहरूले पछ्याउन, आराधना गर्न र भरोसा गर्न लायक छ भन्‍ने विश्‍वास गर्छन्। तसर्थ, त्यसरी नै, ख्रीष्टविरोधीहरू विपत्तिहरूसम्बन्धी परमेश्‍वरका अगमवाणीजस्ता वचनहरू पूरा हुनु वा नहुनुलाई परमेश्‍वर वास्तवमै परमेश्‍वर हुनुहुन्छ कि हुन्‍न भनी मापन गर्ने मानक पनि मान्छन्। यही दृष्टिकोण सही, मान्य र बुद्धिमानी कदम हो भन्ने विश्‍वास गर्दै, तिनीहरू हृदयमा यस्ता तार्किक सोच, विचार, र दृष्टिकोणलाई जस्ताको तस्तै अपनाउँछन्। तसर्थ, तिनीहरूले परमेश्‍वरलाई पछ्याउन थालेको दिनदेखि, तिनीहरूले परमेश्‍वरका वचनहरूले विपत्तिहरूको अगमवाणी गरेको देखेको क्षणदेखि, ख्रीष्टविरोधीहरूको हृदयमा यही कुरा हाबी हुँदै आएको हुन्छ। तिनीहरू परमेश्‍वरका वचनहरूमा के भनिएको छ भन्नेबारे चासो राख्छन्—आखिरी दिनहरू कहिले आउँछन्, परमेश्‍वरको महान् काम कहिले पूरा हुन्छ, परमेश्‍वरले मानवजातिलाई कसरी सजाय दिनुहुनेछ, मानवजातिलाई दण्डित गर्न र नष्ट पार्न परमेश्‍वरले कस्ता विपत्तिहरू ल्याउनुहुनेछ, मानवजातिलाई विपत्तिहरूमा पार्न परमेश्‍वरले कस्तो विधि प्रयोग गर्नुहुनेछ, र कसरी परमेश्‍वरलाई पछ्याउने र उहाँको अनुमोदन पाएकाहरू मात्र यस्ता विपत्तिहरूबाट पन्छिन र उम्किन सक्षम हुनेछन्, र उनीहरूले मात्र यस्ता विपत्तिहरूको यातना भोग्नुपर्नेछैन। ख्रीष्टविरोधीहरू विपत्तिहरूको अगमवाणी गर्ने परमेश्‍वरका वचनहरूलाई निकै महत्त्वपूर्ण ठान्छन्, तिनलाई हृदयमा विश्‍लेषण गर्छन् र दिमागमा कण्ठ पारेर वाचन गर्छन्। तिनीहरूले विपत्तिहरूसँग सम्बन्धित हरशब्द सम्झिन्छन्, साथै विपत्तिहरूसम्बन्धी परमेश्‍वरका अगमवाणीहरू कहिले र कसरी साकार हुनेछन् भनेर मनन पनि गर्छन्। तिनीहरूले यदि यी अगमवाणीहरू साकार भए भने तिनीहरूलाई के हुनेछ, र यदि ती साकार भएनन् भने तिनीहरूले के गर्नेछन् भनी मनन गर्छन्। यी अगमवाणीहरू देखेदेखि, ख्रीष्टविरोधीहरूले परमेश्‍वरमाथिको विश्‍वासमा केही लागिपर्न मिल्ने कुरा, दिशा र लक्ष्य भेट्टाएजस्तो हुन्छ। विपत्तिहरू आइपर्ने प्रतीक्षा गरिरहँदा, तिनीहरूले आफूलाई हरेक रूपमा तयार पनि राख्छन्। विपत्तिहरू आइपर्दा परमेश्‍वरबाट सुरक्षा पाउन तिनीहरूले आफ्नो जागिर र परिवार छाडेर सुसमाचार प्रचार गर्छन्। त्यो सँगसँगै, विपत्तिहरू आइपर्दा बाँच्नका निम्ति, तिनीहरू प्राय: नम्र रूपले परमेश्‍वरलाई प्रार्थना गर्छन्, परमेश्‍वरका वचनहरू चाँडै पूरा हुनेछन्, परमेश्‍वरले हासिल गर्ने अभिप्राय राख्नुभएका सारा कुराहरू चाँडै हासिल हुनेछन्, परमेश्‍वरले चाँडै महिमा पाएर विश्रामको आनन्द उठाउनुहुनेछ, र तिनीहरूले चाँडै स्वर्गको राज्यका आशिष्‌हरू प्राप्त गर्न सक्नेछन् भन्ने आशा गर्छन्। ख्रीष्टविरोधीहरूका यी सबै दृष्टिकोणहरू, र तिनीहरूले प्रायः उच्चारण गर्ने शब्द र प्रार्थनाहरूबाट हेर्दा, ख्रीष्टविरोधीहरूले उत्सुकतापूर्वक परमेश्‍वरको महान् काम पूरा हुने र परमेश्‍वरले चाँडै विश्राम गर्नुहुने प्रतीक्षा गरिरहेका हुन्छन् भन्ने देखिन्छ। तर, मानिसहरूलाई के थाहा हुँदैन भने, यी आशाहरू पछाडि ख्रीष्टविरोधीहरूका अनिष्टकारी अभिप्रायहरू हुन्छन्। तिनीहरू यस्ता प्रार्थना र झूटा भेषहरूमार्फत विपत्तिहरूबाट पन्छिन र परमेश्‍वरलाई आफ्नो शरण बनाउन सकौँ भन्ने आशा गर्छन्। यो सबै तयारी गरिरहँदा, तिनीहरू विपत्तिहरू छिटो आउनेछन् र विपत्तिहरूको अगमवाणी गर्ने परमेश्‍वरका वचनहरू चाँडै पूरा हुनेछन् भन्ने आशा पनि गर्छन्। तिनीहरू आफूले सहन सक्ने सीमाभित्र रहेर मूल्य तिर्न, आफूलाई समर्पित गर्न, कष्ट भोग्न, र पहिलेझैँ सहिरहन जारी राख्छन्, सबैले देख्ने गरी राम्ररी कार्यसम्पादन गर्न दिमाग खियाउँछन्। तिनीहरू सुसमाचार प्रचार गर्न तिनीहरूले कति ठूलो मूल्य तिरेका छन्, कति धेरै विभेद र सतावट सहेका छन्, र यो दिनको प्रतीक्षामा तिनीहरूले ठूलो मूल्य तिरेका छन् भनेर सबैले मानून् भन्ने चाहन्छन्। तिनीहरू तिनीहरूले सहेका कष्ट र तिरेको मूल्य देखेर, परमेश्‍वरले कुनै पनि विपत्ति आइपर्दा तिनीहरूलाई बचाउनुहुनेछ भन्ने आशा गर्छन्। त्यो सँगसँगै, तिनीहरू आफूले तिरेको मूल्यका कारण, विपत्तिहरू आएपछि राम्रो गन्तव्य र आशिष् पाउने गरी भाग्यशाली हुने आशा गर्छन्। भित्री रूपमा, ख्रीष्टविरोधीहरू मौन रूपमा अरूले थाहा नपाउनेगरी यो सब षड्यन्त्र गर्छन्। अन्त्यमा, कुनै दिन, कुनै सानो घटनाका कारण ख्रीष्टविरोधीहरूले झट्का अनुभव गर्छन्, र तिनीहरूका कार्य र व्यवहारहरू निन्दित भएझैँ लाग्छन्। यसको मतलब तिनीहरूका आशा र मनोकल्पनाहरू टुट्नै लागेका हुन्छन्, र तिनीहरूका कामनाहरू पूरा नहुने अवस्थामा पुग्छन्। यस क्षणमा, ख्रीष्टविरोधीहरूको हृदयका गहिराइमा पैदा हुने पहिलो सोच के हुन्छ? “मैले यति धेरै दिएको छु, यति कष्ट भोगेको छु, यति धेरै दिन सहेको छु, यति धेरै वर्ष विश्‍वास गरेको छु, तैपनि मैले विपत्तिहरूको अगमवाणी गर्ने परमेश्‍वरको कुनै पनि वचन पूरा भएको देखेको छैनँ। के परमेश्‍वरले वास्तवमै विपत्तिहरू ल्याउनुहुनेछ त? के हामीले जे कुराका लागि सधैँ प्रार्थना र प्रतीक्षा गरेका छौँ, त्यो कुरा परमेश्‍वरले पूरा गर्नेछन् त? परमेश्‍वर ठ्याक्कै कहाँ छन्? के उनले वास्तवमा हामीलाई मुक्ति दिनेछन् कि छैनन्? के परमेश्‍वरले चर्चा गरेका विपत्तिहरू अस्तित्वमा समेत छन्? यदि ती अस्तित्वमा छैनन् भने, हामी सबैजना यहाँबाट निस्किहाल्नुपर्छ। यो परमेश्‍वरमा विश्‍वास गर्न सकिँदैन, यहाँ कुनै परमेश्‍वर छैन!” यो नै ख्रीष्टविरोधीहरूको सीमा हो। कुनै सानो झट्का लागेमा नै, सायद अरू कसैले अनजानमा भनेको निन्दा र खुलासा गर्ने शब्दले नै, तिनीहरूको कमजोरीमा प्रहार गर्छ, र त्यसपछि तिनीहरूको रिसको पारो फुट्छ, र तिनीहरू उप्रान्त रोकिन वा ढोँग गर्न सक्दैनन्। तिनीहरूले गर्ने पहिलो कुरा परमेश्‍वरका वचनहरूप्रति झनक्कै रिस पोख्‍नु र यसो भन्‍नु हो: “यदि तिम्रा वचनहरू पूरा हुँदैनन् भने, यदि तिमीले भनेका विपत्तिहरू देखा पर्दैनन् भने, म अबदेखि तिमीमाथि विश्‍वास गर्नेछैनँ। मूल रूपमा मैले विपत्तिहरूको अगमवाणी गर्ने यी वचनहरूका कारण मात्र सुसमाचार प्रचार गरेको, मूल्य तिरेको, र आफ्नो कर्तव्य पूरा गरेको हुँ। यी वचनहरू नभएका भए, म तिमीमाथि बिलकुलै विश्‍वास गर्नेथिइनँ! यी वचनहरूकै कारण, आउन लागेका विपत्तिहरूकै कारण, मैले तिमी परमेश्‍वर हौ भनेर विश्‍वास गरेको हुँ। तर अब, यति धेरै कष्ट भोगेपछि पनि, तिमीले भनेका विपत्तिहरू आएका छैनन्। गैरविश्‍वासीहरूमाझ दुष्टता गर्नेहरू धेरै छन्, तैपनि तीमध्ये कोही पनि दण्डित भएका छैनन्—तीमध्ये कोही पनि विपत्तिहरूमा परेको छैन। तिनीहरू अझै पनि पाप गरेरै जिउँछन्, आफ्ना जीवनको आनन्द लिन्छन्, जबकि मचाहिँ वर्षौँदेखि त्यागहरू गर्दै, विपत्तिहरूको अगमवाणी गर्ने तिम्रा वचनहरू पूरा हुने दिन कुर्दैआएको छु। तर तिमीले के गरेका छौ, परमेश्‍वर? तिमीले कहिल्यै हाम्रो उत्साहपूर्ण अपेक्षाबारे ख्याल गरेर कुनै चिन्ह वा अचम्मका कार्यहरू देखाएका छैनौ, हामीलाई देखाउन, हाम्रो आस्था बलियो पार्न, हाम्रो बफादारी मजबुत बनाउन, कहिल्यै कुनै विपत्ति ल्याएका छैनौ। तिमी किन यस्ता कामहरू गर्दैनौ? के तिमी परमेश्‍वर होइनौ र? के यो दुष्ट संसार र यो दुष्ट मानवजातिलाई दण्डित गर्नहेतु विपत्तिहरू ल्याउन त्यति धेरै गाह्रो छ? हामी त केवल यी कुराहरूको पूर्तिमार्फत आफ्नो आस्था बलियो पार्न चाहन्छौँ, तर तिमी कार्य नै गर्दैनौ। यदि तिमीले कार्य गरेनौ भने, हामी अबदेखि परमेश्‍वरमा विश्‍वास गर्नै सक्दैनौँ; हामीले केही पनि प्राप्त गर्न सक्नेछैनौँ, अनि परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ हुँदैन। अबदेखि विश्‍वास गर्नुपर्ने, कर्तव्य पूरा गर्नुपर्ने, सुसमाचार प्रचार गर्नुपर्ने कुनै आवश्यकता छैन।” सानो झट्का लागेपछि, जीवनमा अलिकति प्रतिकूलता वा असन्तुष्टि सामना गरेपछि, ख्रीष्टविरोधीहरूका साँचो रङ्ग र सबैभन्दा भित्री सोचहरू जुनसुकै बेला र जहाँसुकै उदाङ्गो हुन सक्छन्, जुन निकै डरलाग्दो हुन्छ। विपत्तिहरू कहिले आउनेछन्, विपत्तिको अगमवाणी गर्ने परमेश्‍वरका वचनहरू पूरा हुनेछन् कि छैनन्, यी कसरी र कहिले पूरा हुनेछन्, यी सबै परमेश्‍वरद्वारा निर्धारित हुन्छन्। जब परमेश्‍वरले मानिसहरूलाई यी कुराहरूबारे बताउनुहुन्छ, त्यसको उद्देश्य उनीहरूलाई इज्‍जत दिनु, मानवका रूपमा व्यवहार गर्नु हो—त्यसको उद्देश्य परमेश्‍वरविरुद्ध गलचेप पाउन र उहाँको आलोचना गर्न मानिसहरूले यी वचनहरू प्रयोग गरून् भन्‍ने होइन। ख्रीष्टविरोधीहरू परमेश्‍वरले यी वचनहरू बोल्नुभएकाले उहाँले मानिसहरूलाई तिनीहरूका जीवनकालमा यी वचनहरू पूरा भएको हेर्न दिनुपर्छ; नत्र, परमेश्‍वरका वचनहरू शून्य हुनेछन् भन्ने गलत विश्‍वास राख्छन्। जुन परमेश्‍वरका वचनहरू शून्य बन्न सक्छन् तिनलाई परमेश्‍वर मान्नु हुँदैन, तिनी परमेश्‍वर हुनलायक हुँदैनन्, र तिनीहरूको परमेश्‍वर हुनलायक हुँदैनन्; यो नै ख्रीष्टविरोधीहरूको तर्क हो।

सुरुदेखि अन्त्यसम्‍मै, ख्रीष्टविरोधीहरू परमेश्‍वरका विपत्तिहरू अगमवाणी गर्ने यी वचनहरूलाई दुरुपयोग मात्र गर्न चाहन्थे। यी वचनहरूले तिनीहरूलाई प्रेरित गरे, जसले गर्दा तिनीहरूमा असल मानव व्यवहारहरू र तिनीहरूका सारा त्यागहरू, अनि देहगत कष्टहरू विपत्तिहरूबाट जोगिने आशिष् पाउनुसँग साटासाट गर्न प्रयोग गर्नेबारे विचार विकसित हुन पुग्यो। सुरुदेखि अन्त्यसम्म, तिनीहरूको एउटै मात्र उद्देश्य विपत्तिहरूबाट जोगिने र आशिष्‌हरू प्राप्त गर्ने थियो। तिनीहरूले यी वचनहरू व्यक्त गर्ने एउटै उहाँलाई साँचो रूपमा कहिल्यै परमेश्‍वर मानेनन्। सुरुदेखि अन्त्यसम्म, ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्ने माध्यमका रूपमा निरन्तर परमेश्‍वरको जाँच र मापन गर्दै, सधैँ परमेश्‍वरको विरोधमा उभिएका छन्। यदि परमेश्‍वरका वचनहरू पूरा हुन्छन् र तिनका क्षितिजहरू फैलिन्छन्, तिनीहरूका रुचि, दृष्टिकोण, र खाँचोअनुरूप ती पूरा हुन्छन् भने, तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वर मान्छन्। तर यदि ती तिनीहरूका चाहना, दृष्टिकोण, र खाँचोहरूविपरीत भए भने, ती वचनहरू बोल्नुहुने एउटै उहाँलाई पनि तिनीहरूले परमेश्‍वर मान्दैनन्। यो नै ख्रीष्टविरोधीहरूले बोक्ने दृष्टिकोण हो। प्रस्टै छ कि, भित्री रूपमा, तिनीहरूले कहिल्यै परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भनेर मानेका छैनन्, न त तिनीहरूले परमेश्‍वर यावत्‌ थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यलाई नै पहिचान गरेका छन्। सङ्घर्षका शृङ्खलाहरू भोगेपछि, धैर्यपूर्वक सहँदै, र सोचहरूको अनेक अन्तर्द्वन्द्व भोग्दै, ख्रीष्टविरोधीहरूले एउटा पाठ सिके: “व्यक्तिले परमेश्‍वरका वचनहरूलाई हल्कासित सीमित गर्नु हुँदैन, न त परमेश्‍वरका वचनहरू पूरा हुनुलाई हल्कासित र बिनागम्भीरता उनको पहिचान र सार मापन गर्ने मानकका रूपमा प्रयोग गर्न नै मिल्छ। हामी पर्याप्त रूपमा निखारिएका छैनौँ र हामीले अझै सहन जारी राख्नु, आफ्नो दिमाग फराकिलो पार्नु आवश्यक छ। भनाइ नै छ नि, ‘प्रधानमन्त्रीको हृदय डुङ्गा खियाउनका निम्ति पर्याप्त छ’; ‘सास भइन्जेल आस हुन्छ।’ यी वचनहरू पूरा नभएर के हुन्छ र? यो ठूलो कुरै होइन। मैले यतिका वर्ष यो सबै थेगेको छु; सायद यदि मैले थप केही वर्ष सहेँ भने, परमेश्‍वरका वचनहरू पूरा हुनेछन्, र मैले केही प्राप्त गर्नेछु। म अझै केही समय सहनेछु, म अर्को दाउ राख्नेछु। म रिसाएर हुँदैन; नत्र, यसअघिका मेरा सारा प्रयासहरू खेर गएका हुनेछन्, र मैले सहेको सबै कष्ट व्यर्थै हुनेछ। त्यो त ठुलो घाटा हुनेछ! यदि अहिले मैले आफ्ना विचारहरू उदाङ्गो पार्ने, परमेश्‍वरलाई नकार्न, प्रश्‍न गर्न, र दोष लगाउन उभिने हो भने, त्यो चलाखीपूर्ण कदम हुनेछैन। मैले मूल्य तिर्न, कठिनाइ सहन, र सहिरहन जारी राख्नैपर्छ। ‘जसले अन्त्यसम्‍मै सहन्छ उसलाई मुक्ति दिइनेछ’ भन्ने कुरा बिर्सनु हुँदैन। यो भनाइ सधैँ साँचो हुन्छ र सर्वोच्च सत्यताका रूपमा नै रहन्छ। मैले यो भनाइमा अडिग रहेर यसलाई मेरो हृदयमा निरन्तर राख्न जरुरी छ।” केही समयको नकारात्मकता र मौनतापछि, अन्ततः ख्रीष्टविरोधीहरू फेरि पनि “उभिए।”

परमेश्‍वरको घरमा कर्तव्यहरू पूरा गर्ने क्रममा, ख्रीष्टविरोधीहरूले विभिन्न भूमिकाहरूमा सेवा गर्दै गर्दा हरप्रकारका काम वहन गर्छन्। बाहिरी रूपमा कुनै परिवर्तन नभएझैँ देखिन्छ, तर ख्रीष्टविरोधीहरूले जति लामो समय परमेश्‍वरमा विश्‍वास गर्छन्, र जति लामो समय उहाँलाई पछ्याउँछन्, त्यति नै तिनीहरूले भित्री रूपमा विपत्तिहरूको अगमवाणी गर्ने परमेश्‍वरका वचनहरूका अत्यन्तै लेखाजोखा राख्छन्। किन यस्तो गर्छन्? तिनीहरूले जति लामो समय परमेश्‍वरमा विश्‍वास गरेका छन्, यसले तिनीहरूले बढी बलिदान गरेका छन्, बढी त्याग गरेका छन्, र तिनीहरूसँग बाह्य संसारमा फर्कने बाटो कम हुन्छ भन्ने सङ्केत गर्छ। त्यसकारण, विपत्तिहरूको अगमवाणी गर्ने यी वचनहरूका सन्दर्भमा, ख्रीष्टविरोधीहरू अचेतन रूपमै र झन्झन् बढी यस्तो सोच्छन्, “म यो सबै साँचो होस् भन्ने आशा गर्छु। यो सबै पूरा हुनैपर्छ।” तिनीहरू यो “हुनैपर्छ” र यो दृढ विश्‍वासलाई परमेश्‍वरमाथिको तिनीहरूको साँचो आस्थाका रूपमा लिन्छन्। यो तथाकथित साँचो आस्थाले तिनीहरूलाई कर्तव्य पूरा गर्न, कष्ट भोग्न र मूल्य तिर्न, अनि सहन र अझ धेरै सहन प्रेरित गर्छ, ठ्याक्‍कै त्यसरी नै जसरी गैरविश्‍वासीहरूले भन्ने गर्छन्: “जित्नका लागि तिमीले सबथोक दाउमा राख्नैपर्छ।” यस्तो विश्‍वास राखिरहँदा, ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू पूरा हुने दिनबारे खोजीनिती गरिरहेका हुन्छन्। अन्ततः, त्यो दिन आइपुग्छ—प्रकोप र सङ्कटहरू यो संसारका विभिन्न कुनाहरूमा, विभिन्न देशहरूमा र विभिन्न जातीय समूहहरूमाझ निरन्तर देखा पर्छन्। यी ठूला साना प्रकोपहरूले धेरैका ज्यान लिन्छन्, धेरै मानिसहरूका जिउने वातावरणहरू बदल्दिन्छन्, पर्यावरणीय वातावरणहरू परिवर्तन गर्दिन्छन्, समाजका धेरै संरचना र जीवनशैलीहरू, आदि इत्यादि कुराहरू रूपान्तरित गर्दिन्छन्। तर, जे भए पनि, ख्रीष्टविरोधीहरूका नजरमा, परमेश्‍वरका वचनहरू अझै पनि थोरै हदसम्म पूरा भइरहेका हुन्छन्, जुन तिनीहरूको हृदयको गहिराइमा सबैभन्दा सन्तोषजनक हुने कुरा हो। तिनीहरू यतिका वर्षपछि, तिनीहरूले सहेको वा प्रतीक्षा गरेको व्यर्थमा नगएको, र तिनीहरूले अन्ततः परमेश्‍वरका वचनहरू पूरा भइरहेको दिन र चरण देखेको महसुस गर्छन्। तर तिनीहरूलाई लाग्छ कि तिनीहरू निरुत्साहित हुन वा तिनीहरूले हार मान्न हुँदैन; तिनीहरूले सहन र प्रतीक्षा गर्न जारी राख्नु आवश्यक छ। ख्रीष्टविरोधीहरूले जति सहे पनि वा जति प्रतीक्षा गरे पनि, तिनीहरूलाई के कुराले भित्री रूपमा सबैभन्दा बढी चिन्तित तुल्याउँछ? “भोकमरी, महामारी, र भूकम्पका अगमवाणी पूरा भएका छन्, तर महाविपत्तिहरूका अगमवाणी कहिले पूरा हुनेछन्?” एकातिर, ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूको एउटा पक्ष बिस्तारै र क्रमिक रूपमा पूरा हुँदै छ भन्ने विश्‍वास गर्छन् भने, अर्कोतिर, तिनीहरू यस्तो शङ्का गर्छन्: “के यी प्रकोपहरू प्राकृतिक प्रकोप मात्रै होइनन् र? प्रकोपहरू त इतिहासभरि नै निरन्तर रूपमा घटिरहेका छन्। के यी प्रकोपहरू देखा पर्नु परमेश्‍वरका वचनहरू पूरा हुनु हो? यदि होइन भने, ती के हुन्? मैले यस्तो सोच्नु हुँदैन; परमेश्‍वरको विश्‍वासीले परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्नुपर्छ। तर के परमेश्‍वरका वचनहरू त्यति सजिलै पूरा हुन्छन्? परमेश्‍वरले त्यो कसरी गरे? उनले त्यो गरेको मैले किन देखिनँ? मलाई किन त्यसबारे थाहा छैन? यदि त्यो परमेश्‍वरले गरेका हुन् भने, उनका विश्‍वासीहरूले देख्नुपर्छ, परमेश्‍वरले तिनीहरूलाई दर्शनहरू दिनुपर्छ। तर हामीले न त परमेश्‍वरका हात देखेका छौँ, न परमेश्‍वरको सोर नै सुनेका छौँ। त्यसोभए, के यी घटनाहरू संयोग मात्र हुन सक्छन्? मैले यस्तो सोच्नु हुँदैन; यस्ता सोचाइले मलाई कमजोर पार्न सक्छन्। मैले अझै पनि यो सबै परमेश्‍वरका वचनहरू पूरा हुनु हो भनेर विश्‍वास गर्नुपर्छ; म यसलाई परमेश्‍वरको सार्वभौमिकताका रूपमा, परमेश्‍वरका वचनहरू पूरा भएको रूपमा लिनेछु, न कि संयोगका रूपमा। यसरी, मेरो हृदयले बढी सहजता महसुस गर्छ।” तिनीहरू यस तरिकाले सोच्नु निकै चलाखीपूर्ण हो र तिनीहरूले परिस्थितिलाई राम्रोसँग विश्‍लेषण गरेका छन् भन्‍ने महसुस गर्छन्, परमेश्‍वरलाई शङ्का नगरी आफ्नो आस्थालाई स्थिर बनाउन सकेका, साथै आफ्नो हृदयका ठूला असहजता र कामनाहरूलाई साम्य पारेका छन् भन्ने पनि महसुस गर्छन्। अस्थायी त्याग र सम्झौताहरू गर्दा, ख्रीष्टविरोधीहरू महाविपत्तिहरूको आगमनको प्रतीक्षा गर्छन्। “महाविपत्तिहरू कहिले आउने हुन्? ती विपत्तिहरू आउँदा, सन्तहरूलाई हावामा माथि उचालिनेछ, तर त्यो ठ्याक्कै कहाँ हुनेछ? यो कसरी हुनेछ? के तिनीहरू उडेर जानेछन् कि परमेश्‍वरको हातद्वारा उचालिनेछन्? महाविपत्तिहरू आउँदा, के मानिसहरूसँग अझै पनि तिनीहरूको भौतिक शरीर हुनेछ? के तिनीहरूले अझै पनि अहिलेका वस्‍त्रहरू लगाउनेछन्? के सारा गैरविश्‍वासीहरू मर्नेछन्? त्यो कस्तो स्थिति वा अवस्था हुनेछ? मानवहरूका लागि त्यो अकल्पनीय छ। अहिलेका लागि मैले त्यसबारे नसोचेकै बेस। म परमेश्‍वरका वचनहरू अवश्यै पूरा हुनेछन् भनेर मात्र विश्‍वास गर्नेछु। तर के ती साँच्चिकै पूरा हुन सक्छन्? त्यो दिन कहिले आउने हो?” तिनीहरू भित्री रूपमा आफूलाई यी प्रश्‍नहरू सोधिरहन्छन्, बारम्बार शङ्काहरू उब्जाइरहन्छन्। यी विपत्तिहरू तिनीहरूका भविष्य र नियतिसँग निकट रूपमा सम्बन्धित र घनिष्ठ रूपमा जोडिएका हुनाले ख्रीष्टविरोधीहरू यस्तो विश्‍वास गर्छन्: “म महाविपत्तिहरू कहिले आउनेछन् भन्नेबारे अगमवाणी पूरा हुने सम्बन्धमा निरन्तर सतर्क रहनैपर्छ, मैले हरसमय त्यसलाई मनमा राखिरहनैपर्छ ताकि मैले आफ्नो मौका नगुमाऊँ र म आशिष्‌हरू प्राप्त गर्न असफल नहोऊँ।” त्यसोभए, तिनीहरूको दृष्टिकोण चाहिँ के हो? “मैले व्यापक रूपमा सुसमाचार प्रचार गर्नुपर्छ, लगनका साथ आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, अवरोध र बाधाहरू सिर्जना गर्नु वा गल्तीहरू गर्नु हुँदैन, र अरूका नजरमा पर्ने काम गर्नु हुँदैन, घमण्डी हुनुहुँदैन। मैले गल्तीहरू नगरेसम्म र म मण्डलीबाट निष्कासित नभएसम्म, त्यो पर्याप्त हुन्छ। म अवश्यै शरणसम्म पुग्न सक्नेछु; यो परमेश्‍वरको प्रतिज्ञा हो—त्यसलाई कसले खोस्न सक्छ र?” जब सानातिना प्रकोपहरू बिस्तारै आउन थाल्छन्, र सम्पूर्ण मानवजाति प्रकोपहरूमा पर्छ, तब ख्रीष्टविरोधीहरूलाई भित्री रूपमा शान्ति र केही हदको बेचैनमुक्तता मिल्छ। त्यो सँगसँगै, तिनीहरू महामहाविपत्तिहरू आउने र सन्तहरूलाई माथि उचालिने दिनको प्रतीक्षामा हुन्छन्। जेजस्तो भए पनि, ख्रीष्टविरोधीहरू विपत्तिहरूको अगमवाणी गर्ने परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्न जारी राख्छन्। परमेश्‍वरको विचारमा, यस्तो खोजीनिती, शैतानले गर्ने खोजीनितीसरह हो। उहाँले यसलाई परमेश्‍वरको सहीपनप्रतिको शङ्का, इन्कार, बदनामी, र विश्‍लेषणका रूपमा हेर्नुहुन्छ। यो परमेश्‍वरको पहिचानमाथि प्रश्‍न उठाउनु, परमेश्‍वरको अख्तियार र सर्वशक्तिमान्‌तालाई शङ्का गर्नु, र परमेश्‍वरको भरोसायोग्यतालाई शङ्का गर्नु हो। परमेश्‍वरले यस्ता कुरा हुन दिनुहुन्न, न त उहाँले यस्ता मानिसहरूलाई अस्तित्वमा रहन नै दिनुहुन्छ, र उहाँले निश्‍चय नै यस्ता मानिसहरूलाई मुक्ति दिनुहुनेछैन। ख्रीष्टविरोधीहरू गोप्य रूपमा अनि हृदयमा हिसाबकिताब गरेर रचिएका आफ्ना जबाफी उपायहरू सबैभन्दा चलाखीपूर्ण र सबैभन्दा गोप्य रहेको भन्ठान्छन्। तर तिनीहरूलाई थाहै हुँदैन कि परमेश्‍वरले तिनीहरूका सबै सोचहरू देख्नुहुन्छ र तिनीहरूलाई निन्दा गर्नुहुन्छ। परमेश्‍वरले यसो भन्नुहुन्छ: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। परमेश्‍वरले यी मानिसहरूलाई हृदयमा चुपचाप यसो भन्नुहुन्छ: दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ। तिमीहरू मेरा कार्यहरूबारे खोतलखातल गर्छौ, मेरा वचनहरूबारे खोतलखातल गर्छौ। यस्ता मानिसहरूलाई कहिल्यै मुक्ति दिन सकिँदैन। ख्रीष्टविरोधीहरूले विपत्तिहरू अगमवाणी गर्ने परमेश्‍वरका वचनहरू पूरा हुनु वा नहुनुलाई तिनीहरूले पछ्याउने लक्ष्यका रूपमा र परमेश्‍वरको सहीपन जाँच्ने मानकका रूपमा हेर्नु डरलाग्दो कुरा हो; यो एउटा दुष्ट कार्य पनि हो।

परमेश्‍वरका वचनहरूका निश्‍चित पक्षहरू पूरा हुनेछन् कि हुनेछैनन्, यी कसरी पूरा हुन्छन्, र यी कहिले र कहाँ पूरा हुन्छन् भन्ने सम्बन्धमा, परमेश्‍वरका आफ्नै तरिकाहरू छन्। परमेश्‍वरको अनुग्रहले मात्र मानवलाई परमेश्‍वरबाट यी वचनहरू सुन्ने ठूलो सौभाग्य दिन्छ। परमेश्‍वरले यी वचनहरू बोल्‍नुको उद्देश्य मानवजातिले यिनलाई प्रयोग गरेर परमेश्‍वरलाई बाँध्न, परमेश्‍वरको सहीपन जाँच्न, वा परमेश्‍वरको पहिचान पुष्टि गर्नका लागि होइन। परमेश्‍वरले यस्ता कामकुरा गर्न लाग्नुभएको छ भनेर मानवजातिलाई बताउन मात्र उहाँले यी वचनहरू बोल्नुहुन्छ, तर परमेश्‍वरले कहिल्यै कसैलाई “म यो काम यो तरिकाले, यी मानिसहरूलाई, यो समयमा, र यो शैलीमा गर्छु।” भनेर भन्नुभएको छैन। परमेश्‍वरले मानवजातिलाई नभन्नुभएका कुरामा, एउटा प्रस्ट सङ्केत छ: मानवजातिले जान्नु आवश्यक छैन, न त तिनीहरू जान्न योग्य नै छन्। त्यसकारण, यदि मानवले सधैँ यी मामलाहरूबारे खोजीनिती गर्ने कोसिस गर्छन्, सधैँ भित्री कुरा खोतल्छन्, परमेश्‍वरविरुद्ध गलचेप प्राप्त गर्न, र उहाँलाई आलोचना र निन्दा गर्न सधैँ यी मामलाहरू प्रयोग गर्न चाहन्छन् भने, जब यी घटनाहरू घट्छन्, तब थाहै नपाइकन मानवजाति परमेश्‍वरका विरोधमा उभिरहेका हुनेछन्। जब तँ परमेश्‍वरका विरोधमा उभिन्छस्, परमेश्‍वरले त्यसउप्रान्त तँलाई मानवजातिका रूपमा हेर्नुहुनेछैन। त्यसोभए तँ के हुन्छस्? परमेश्‍वरका नजरमा, तँ शैतान, शत्रु र दियाबलस हुन्छस्। यो मानिसको उल्लङ्घन नसहने परमेश्‍वरको स्वभावको पक्ष हो। यदि मानिसहरूले यो कुरा बुझ्दैनन् र परमेश्‍वरले अगमवाणी गर्नुभएका वचनहरूलाई बारम्बार विवादको विषय बनाउँछन्, र परमेश्‍वरविरुद्ध गलचेप हासिल गर्ने कोसिस गर्छन् भने, सुन्, यो काल खोज्नु हो। मानिसहरूले सधैँ आफू को हुँ र आफूले परमेश्‍वरलाई र परमेश्‍वरसम्बन्धी सबथोकलाई कस्तो शैली, कस्तो समझ, र कस्तो दृष्टिकोणबाट व्यवहार गर्नुपर्छ भनी जान्नुपर्छ। मानिसहरूले सृजित प्राणीका रूपमा आफ्नो पहिचान र स्थान गुमाएपछि, तिनीहरूको सार बदलिन्छ। यदि तँ कुनै जन्तु बनिस् भने, परमेश्‍वरले तँलाई बेवास्ता गर्न सक्नुहुन्छ, किनकि तँ एक नगण्य चिज हुनेथिइस्। तर यदि तँ दियाबलस र शैतान बनिस् भने, तँ खतरामा हुनेथिइस्। दियाबलस र शैतान बन्नु भनेको परमेश्‍वरको शत्रु बन्नु हो, त्यसपछि तँसँग मुक्ति पाउने आशा कहिल्यै हुनेछैन। त्यसकारण, म यहाँ भएका सबैलाई भन्न चाहन्छु: परमेश्‍वरका कार्यबारे खोतलखातल नगर्नू, परमेश्‍वरका वचनहरूबारे खोतलखातल नगर्नू, परमेश्‍वरको कामबारे खोतलखातल नगर्नू, र परमेश्‍वरसँग सम्बन्धित कुनै पनि चिजबारे खोतलखातल नगर्नू। तँ एक मानव होस्, एक सृजित प्राणी होस्, त्यसकारण परमेश्‍वरको सहीपनलाई विश्‍लेषण नगर्। परमेश्‍वरलाई तेरो विश्‍लेषण र छानबिन, अनि तेरो खोतलखातलको पात्र नठान्। तँ सृजित प्राणी, एउटा मानव होस्, त्यसैले परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरले जे भन्नुहुन्छ तैँले त्यसैलाई स्विकार्नुपर्छ। परमेश्‍वरले तँलाई जे बताउनुहुन्छ, तैँले त्यसलाई स्विकार्नुपर्छ। जहाँसम्म परमेश्‍वरले तँलाई नबताउनुहुने कुराहरू छन्, ती रहस्य र अगमवाणीहरू समावेश गर्ने मामलाहरू, अनि परमेश्‍वरको पहिचानसम्बन्धी मामलाहरू, ती सम्बन्धमा एउटा कुराचाहिँ निश्‍चित छ: तैँले यी कुराहरू जान्नु आवश्यक छैन। यी कुराहरू जानेर तँलाई तेरो जीवन प्रवेशमा फाइदा हुनेछैन। तैँले जति बुझ्न सक्छस् त्यति स्विकार्। यी कुराहरूलाई तेरो स्वभाव परिवर्तनको पछ्याइमा र मुक्तिको पछ्याइमा बाधक बन्न नदे। यो नै सही मार्ग हो। यदि व्यक्ति परमेश्‍वरका विरोधमा उभिन्छ र परमेश्‍वरसम्बन्धी कुराहरूबारे खोतलखातल गरिरहन्छ भने, र यदि ऊ अड्डी कसेर बदलिन अस्वीकार गर्छ, जिद्दीपूर्वक अडिग रहन्छ, परमेश्‍वरलाई यस्तै शैलीमा र यस्तै मनोवृत्तिका साथ व्यवहार गर्छ भने, उसले मुक्ति पाउने आशा निकै कम हुन्छ। ख्रीष्टविरोधीहरू विपत्तिहरूको अगमवाणी गर्ने परमेश्‍वरका वचनहरूबारे खोतलखातल गर्छन्—यस विषयवस्तुबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याऔँ। अनि अर्को विषयवस्तुमा जाऔँ।

४. उहाँ पृथ्वीबाट कहिले जानुहुनेछ र उहाँको महान् काम कहिले पूरा हुनेछ भन्नेबारेका परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्नु

चौथो विषयवस्तु ख्रीष्टविरोधीहरूले उहाँ पृथ्वीबाट कहिले जानुहुनेछ र उहाँको महान् काम कहिले पूरा हुनेछ भन्नेबारेका परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्छन् भन्ने हो। परमेश्‍वरका वचनहरूमा यसबारे त्यति धेरै कुरा छैन। यी सीमित वचनहरूमध्येमा, यदि विषयवस्तु मानिसहरूको विशेष चासोको शीर्षक हो भने, यी वचनहरू जतिसुकै अप्रकट वा छोपिएका भए पनि तिनीहरूले भेट्टाइछोड्नेछन्। यी वचनहरू भेट्टाइसकेपछि, तिनीहरूले कलमले चिह्न लगाउनेछन्, र पढ्नुपर्ने महत्त्वपूर्ण वचनका रूपमा लिनेछन्। मौका मिल्नेबित्तिकै तिनीहरूले आफैलाई चेतावनी र ढाडस दिन यी वचनहरू बाँडेर पढ्नेछन्। ख्रीष्टविरोधीहरूको ठूलो चासो अवश्य नै परमेश्‍वर कहिले धर्तीबाट जानुहुनेछ र उहाँको महान् काम कहिले सम्पन्न हुनेछ भन्नेबारे खासै हुँदैन, तिनीहरूको ठूलो चासो त ती तथ्यहरूबारे हुन्छ जुन परमेश्‍वरले यी वचनहरूपछाडि हासिल गर्न चाहनुहुन्छ। ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा सबैभन्दा बढी आशा गर्ने भनेको व्यक्तिगत रूपमा आफ्नै जीवनकालमा परमेश्‍वर धर्तीबाट जानुहुने भव्य दृश्यको साक्षी बन्नु हो। यस्तो भएमा, यसको अर्थ तिनीहरूले पछ्याएको परमेश्‍वर सही परमेश्‍वर हुनुहुन्छ, र तिनीहरूले गलत परमेश्‍वरलाई चुनेका छैनन्, न त पछ्याउनलाई गलत पात्र नै छानेका छन् भन्‍ने हुनेछ। यी कुराहरू पुष्टि भएपछि, तिनीहरू आफूले आशिष् पाउने सम्भावनाहरू निकै बढ्ने विश्‍वास गर्छन्। यसअलावा, यदि तिनीहरू आफ्नै जीवनकालमा परमेश्‍वर धर्तीबाट जानुभएको दृश्य र परमेश्‍वरको महान् काम सम्पन्न भएको दृश्यको साक्षी हुन सक्छन् भने, त्यसको अर्थ तिनीहरूको आस्था झनै बढी दृढ बन्नेछ, र तिनीहरूले कुनै संशयहरूबिना परमेश्‍वरलाई पछ्याउनेछन् भन्ने हुन्छ। यो दृश्य देख्नुको अर्थ परमेश्‍वरबारे तिनीहरूका पहिलेका संशय र अबोधताहरू, साथै तिनीहरूले अरूबाट सामना गरेका बदनामी, आलोचना, र इन्कारहरू सबैलाई पछाडि छोडिनेछ, र ती कुराहरूले अबउप्रान्त तिनीहरूलाई बाधा दिनेछैनन्। एकातिर, ख्रीष्टविरोधीहरू यस दिनको आगमनको प्रतीक्षामा हुन्छन्, र अर्कोतिर, तिनीहरू परमेश्‍वरले अहिले धर्तीमा के गरिरहनुभएको छ, उहाँको काम सम्पन्न हुन लागेको छ छैन, उहाँले बोल्नुपर्ने वचनहरू सकिन लागेका छन् छैनन्, उहाँलाई पछ्याउने मानिसहरूमा साँचो बफादारी छ छैन, र तिनीहरू पूर्ण तुल्याइएका छन् छैनन् भनेर हेरिरहेका हुन्छन्। अहिले ख्रीष्टलाई पछ्याइरहेका मानिसहरूलाई नियाल्दा, ख्रीष्टविरोधीहरूले धेरैजसो मानिसहरूमा कमजोर आस्था रहेको, उनीहरूले कर्तव्य निर्वाह गर्दा गल्तीहरू गर्ने गरेको, र धेरैले कर्तव्य निर्वाह गर्ने क्रममा भ्रष्ट स्वभावहरू प्रकट गरेको कारण उनीहरू बारम्बार काटछाँटमा पर्ने गरेको देख्छन्। कतिलाई त “ख” समूहहरूमा पठाइने, एक्ल्याइने, वा निष्कासित गरिनेसमेत गरिएको हुन्छ। यी सङ्केतहरूबाट तिनीहरूलाई लाग्छ, “परमेश्‍वरको महान् काम सम्पन्न हुने दिन अझै धेरै टाढा देखिन्छ, जुन निकै निराशाजनक कुरा हो! तर अधैर्य भएर कसैले के गर्न सक्छ र? त्यसले के समस्या समाधान गर्न सक्छ र?” ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्ने र सत्यता नस्विकार्ने हुनाले, र तिनीहरूमा आत्मिक बुझाइ नहुने, र तिनीहरू सत्यता नबुझ्ने हुनाले, तिनीहरूले परमेश्‍वरको कामले मानिसहरूमाथि पार्ने प्रभाव सामान्य हो कि होइन भनी मापन गर्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरले मानिसहरूमाथि गर्नुभएको कामबाट वास्तवमै कुनै नतिजा हासिल भएको छ छैन; परमेश्‍वरका वचनहरूले मानिसहरूलाई साँच्चिकै मुक्ति दिन र रूपान्तरण गर्न सक्छ सक्दैन; यी वचनहरू स्विकार्ने क्रममा मानिसहरूमा परिवर्तन आएको छ छैन, उनीहरूले साँच्चिकै केही प्राप्त गरेका, वा परमेश्‍वरको अनुमोदन पाएका छन् छैनन्; यी मानिसहरू स्वर्गको राज्य प्रवेश गर्न र आशिष्‌हरू प्राप्त गर्न सक्छन् सक्दैनन् भनी बुझ्न सक्दैनन्—र तिनीहरू आफ्नै आँखाले देखेका तथ्यहरू बुझ्न वा व्याख्या गर्न सक्दैनन्। तिनीहरूले देख्ने र मनमा सोच्‍ने हरेक घटना धमिलो, र प्रस्ट पार्न नसकिने हुन्छ। “यी मामलाहरू धमिला र छर्लङ्गै देख्न कठिन, र बुझ्न अप्ठ्यारा छन्। के परमेश्‍वर धर्तीबाट जानुहुने र परमेश्‍वरको महान् काम सम्पन्न हुने घटनाहरू साँच्चिकै हुन्छन् त? के ती साँच्चिकै पूरा हुन सक्छन् त?” एकातिर, ख्रीष्टविरोधीहरू तिनीहरूले पछ्याउने परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ भनेर आफूलाई जबरजस्ती विश्‍वास गराउँछन्, तर त्यो सँगसँगै, तिनीहरू शङ्का गर्न बाध्य हुन्छन्: “के उनी परमेश्‍वर हुन्? उनी मानव हुन्, होइन र? यस तरिकाले सोच्नु राम्रो होइन। धेरैजसो मानिसहरू उनी परमेश्‍वर हुन् भनी विश्‍वास गर्छन्, त्यसैले मैले पनि विश्‍वास गर्नुपर्छ। तर अहँ, म यो कुरा विश्‍वास गर्नै सक्दिनँ! मैले कसरी भन्न सक्छु कि उनी परमेश्‍वर हुन्? के उनले परमेश्‍वरको महान् काम सम्पन्न गर्न सक्छन्? के उनले परमेश्‍वरको काम गर्न सक्छन्? के उनले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छन्? के उनले परमेश्‍वरको योजना पूरा गर्न सक्छन्? के उनले मानवजातिलाई मुक्ति दिन सक्छन्? के उनले मानिसहरूलाई सुन्दर गन्तव्यमा पुर्‍याउन सक्छन्?” यी सबै र अरू यस्तै सोचाइहरू ख्रीष्टविरोधीहरूको हृदयमा समाधान गर्नै नसकिने, अटुट तालाहरू बन्छन्। तिनीहरू सोच्छन्, “म के गरूँ? अझै, सर्वोच्च सिद्धान्त बाँकी नै छ: पर्खनू र सहनू; जसले अन्त्यसम्‍मै सहन्छ उसलाई मुक्ति दिइनेछ। मैले सत्यता नपछ्याए पनि, मसँग मेरा आफ्नै नियमहरू छन्। यदि अरूले छाडेर जाँदैनन् भने, म जानेछैन। यदि अरूले पछ्याउँछन् भने, म पनि पछ्याउनेछु। म बहावसँगै बग्नेछु। यदि सबैले उनी परमेश्‍वर हुन् भन्छन् भने, म उनलाई परमेश्‍वर भन्नेछु। यदि सबैले विश्‍वास गर्न छाड्छन् र परमेश्‍वरलाई अस्वीकार गर्छन् भने, म पनि त्यसै गर्नेछु। सबै अपराधी हुँदा कानुन लागु गर्न सकिन्न, हैन त?” जब तिनीहरूले परमेश्‍वरको कामको फैलावट चरमोत्कर्षमा पुगेको देख्छन्, तिनीहरू गोप्य रूपमा हृदयमा रमाउँछन्: “भाग्यवश, मलाई सबैभन्दा बढी शङ्का लाग्दा र कमजोर महसुस हुँदा, मैले छोडेर गइनँ। अहिले मेरो आस्थाले के दिएको छ, हेर। त्यो दिन आउनै लागेको छ, र झन्झन् धेरै मानिसहरू परमेश्‍वरलाई पछ्याइरहेका छन्। विशेषगरी विदेशमा, विभिन्न देशका मानिसहरूले साँचो मार्ग अनुसन्धान गरिरहेका छन्, र विश्‍वासीहरूको सङ्ख्या बढ्दो छ। परमेश्‍वरको घरले धेरैभन्दा धेरै भिडियो, चलचित्र, भजन, र गवाहीहरू निर्माण गरेर अझ बढी ध्यानाकर्षण गरिरहेको छ। कुनै पनि मानवले यस्ता नतिजाहरू दिन सक्दैन; परमेश्‍वरको कामले मात्र दिन सक्छ। यो साधारण व्यक्ति ख्रीष्ट, अर्थात् परमेश्‍वर नै हुने अत्यधिक सम्भावना छ। उनी ख्रीष्ट, अर्थात् परमेश्‍वर भएकोले, उनका वचनहरू अवश्यै पूरा हुनेछन्। यदि उनका वचनहरू पूरा भएनन् भने, उनी परमेश्‍वर होइनन्। युक्तिसङ्गत तर्कअनुसार यो विवेचनाको प्रक्रियाले अर्थ राख्छ, यो सही छ। यदि उनी परमेश्‍वर हुन् भने, कुनै न कुनै दिन उनी धर्तीबाट जानेछन्; यदि उनी परमेश्‍वर हुन् भने, उनले आफ्नो महान् काम सम्पन्न गर्नेछन्। यी सबै सङ्केतहरूको आधारमा भन्नुपर्दा, परमेश्‍वरलाई पछ्याउने मण्डलीका मानिसहरू सकारात्मक दिशामा र राम्रो लक्ष्यतर्फ अघि बढिरहेका छन्। सबथोक आदर्शमयी नै छ, यो सबै निकै सकारात्मक छ। सांसारिक प्रवृत्तिहरू पछ्याउनुभन्दा यो राम्रो हो; तिनलाई पछ्याएर कुनै आशा हुन्‍न, यसले दुर्व्यवहार र अन्ततः विनाश मात्र निम्त्याउँछ। यदि कसैले परमेश्‍वरमा विश्‍वास गर्छ, र उसले उनी धर्तीबाट गएको र उनको महान् काम सम्पन्न भएको देख्न सक्छ, र परमेश्‍वरको महिमाको भागीदार बन्न पाउँछ भने—त्यो कति सम्मानको कुरो हुनेथ्यो!” यसबारे सोचेर, तिनीहरूलाई लाग्छ: “म कसरी यति स्मार्ट भएँ? मैले यो मार्ग रोजेँ; ममा उच्च बौद्धिकता र बलियो बुद्धि भएझैँ लाग्छ।” तिनीहरू यसको श्रेय परमेश्‍वरको अनुग्रहलाई दिँदैनन्, आफ्नै बौद्धिकता, आफ्नै चातुर्यलाई दिन्छन्। कस्तो हास्यास्पद विचार!

ख्रीष्टविरोधीहरू सोच्छन्, “परमेश्‍वर धर्तीबाट जाने र परमेश्‍वरको महान् काम सम्पन्न हुने मामला भनेको परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू, उनका श्राप र दण्ड, साथै विपत्तिहरूबारे उनका अगमवाणीहरूजस्ता मामलाहरूभन्दा फरक हो—यो मामलामा हतार गर्न मिल्दैन; त्यो दिन आउने प्रतीक्षा गर्नलाई मानिसहरूमा सहनशीलता १२/१० र धैर्यता २०/१० हुनुपर्छ। किनकि जब त्यो दिन आइपुग्छ, तब सबथोक पूरा हुनेछ। यदि मैले अहिले नै सहन सकिनँ भने, एक्लोपना सहन, र यो दुःख खप्न सकिनँ भने, त्यो दिन आउँदा म छोडिनेछु। अब यो नै अन्तिम समय हो; यति धेरै दुःख भोगेपछि, अझै थप अलिकति नसहनु मेरो मूर्खता हुनेछ!” त्यसैले, ख्रीष्टविरोधीहरूको लागि, त्यो दिनको आगमन हेर्ने एउटै मात्र उपाय छ: आज्ञाकारी र धैर्यतापूर्वक पर्खनू, हतार नगर्नू, र सहन सिक्नू। तिनीहरू सोच्छन्, “मैले दाउ थापेकोले, मैले सहन सिक्नुपर्छ, किनकि यो सहनशीलता कुनै सानोतिनो मामला होइन। यदि मैले अन्त्यसम्मै सहेँ भने, यो मामला पूरा भएपछि, मैले जे प्राप्त गर्छु त्यो ठूलो आशिष् हुनेछ! यदि मैले यो अवधिमा सहिनँ भने, मैले ठूलो सङ्कट सामना गर्नेछु। यस मामलाबाट दुइटामध्ये एउटा कुरा हुन्छ; यसले कि त ठूलो आशिष् कि त ठूलो सङ्कट ल्याउन सक्छ।” देखिस् त, ख्रीष्टविरोधीहरू मूर्ख छैनन्, छन त? तिनीहरूमा आत्मिक बुझाइ हुँदैन र तिनीहरू सत्यतामा विश्‍वास गर्दैनन्, र तिनीहरू अविश्‍वासी हुन्—तर तिनीहरूले कसरी यो मामलालाई यति सही तरिकाले र मिहिन रूपमा विश्‍लेषण गर्न सक्छन्? के यस्तो विश्‍लेषण उपयुक्त हुन्छ? (हुँदैन।) ल भन् त, के मानिसहरूमा परमेश्‍वरका वचनहरूप्रति यस्तो “गम्भीर” मनोवृत्ति हुनुपर्छ? कति मानिसहरू भन्छन्: “यो एउटा ठूलो मामला हो, यो व्यक्तिका सम्भाव्यता र नियति संलग्न हुन्छ, र यो परमेश्‍वरको महान् काम सम्पन्न हुनुसँग सम्बन्धित छ। यसलाई हल्का रूपमा लिन मिल्दैन। मानिसहरूले परमेश्‍वर धर्तीबाट जाने वर्ष र महिनाको ठ्याक्कै हिसाब गर्नैपर्छ। यसअलावा, परमेश्‍वरका वचनहरूमा खुलासा गरिएको परमेश्‍वरको प्रस्थानका विधि र दृश्य विश्‍लेषण गर्नैपर्छ। यदि यसलाई गम्भीर रूपमा लिइएन र राम्रोसँग विश्‍लेषण गरिएन भने, यस्तो राम्रो चिज गुमाउँदा अनन्त पछुतो हुनेछ; यस्तो घटना फेरि कहिल्यै देखिनेछैन। विशेषगरी जब परमेश्‍वरको महान् काम सम्पन्न हुन्छ, र परमेश्‍वर महिमित हुने दिन र क्षण आइपुग्छ, तब मानिसहरूले झनै बढी थाहा पाउनुपर्छ।” यो कुरामा कसैले सोध्छ, “यदि परमेश्‍वरले भन्नुभएन भने हामीले कसरी थाहा पाउन सक्छौँ?” “यूहन्नाले ‘प्रकाशको पुस्तक’ मा गरे जस्तै तिमीले परमेश्‍वरलाई सपनामा त्यो कुरा तिमीलाई प्रकट गर्दिनुहोस् भनेर प्रार्थना गर्नुपर्छ। यदि तिमीले कुनै दर्शन प्राप्त गर्‍यौ, आफ्नो सपना वा दर्शनमा परमेश्‍वरको महान् काम सम्पन्न भएको देख्यौ भने, यसले तुरुन्तै तिम्रो आस्थालाई पूर्ण रूपले बलियो पार्नेछ। तिम्रो धैर्यता, तिम्रो प्रतीक्षा, कुनै औपचारिकता वा तिमीले गर्ने कुनै कुरा मात्र हुनेछैन; त्यसको साटो, तिमीले हृदयको गहिराइदेखि यसरी नै इच्छापूर्वक पर्खनेछौ र सहनेछौ। त्यो अत्यन्तै गजबको हुनेछ!” के यो विधि स्वीकार्य छ? (छैन।)

मानवजातिलाई जतिसुकै वर्षसम्म देहधारी परमेश्‍वरको आवश्यकता परे पनि, अन्त्यमा कुनै दिन आउनेछ जब देहमा उहाँको काम पूरा हुनेछ। भन्नुको मतलब, यस व्यक्तिले अन्ततः मानवजातिलाई छोडेर जानुहुनेछ; यो समयको कुरा मात्र हो। परमेश्‍वरको छ-हजार-वर्षे व्यवस्थापन योजनाको काम अन्त्यमा आउँदै छ। जहाँसम्म यो अन्त्य दस वर्ष, बीस वर्ष, पचास वर्ष, असी वर्ष, वा एक सय वर्ष वा कति वर्षको हुनेछ भन्‍ने कुरा छ, हामीले त्यसलाई खोतलिरहनु आवश्यक छैन। यो त बस परमेश्‍वरको बोल्ने तरिका मात्र हो। यो परमेश्‍वरको बोल्ने तरिका हो भन्नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरको “अन्त्य” भन्ने अवधारणा वास्तवमा कति वर्षको हुन्छ भन्ने हो—समयबारे परमेश्‍वरको अवधारणा पक्कै पनि मानिसहरूको भन्दा फरक हुन्छ। के यो ठ्याक्कै कति वर्षको हुन्छ भनेर छानबिन गर्नु हाम्रो लागि उपयोगी हुन्छ त? अहँ, हुँदैन। किन हुँदैन? किनकि यो सबै परमेश्‍वरको हातमा हुन्छ, यो मानवले मागेर पाउन सक्ने कुरै होइन, न त यो मानिसहरूले थाहा पाएपछि तिनीहरूले परमेश्‍वरलाई सीमित पार्न प्रयोग गर्न सक्ने चिज नै हो। परमेश्‍वरले आफूलाई जे इच्छा लाग्छ त्यही गर्नुहुन्छ। परमेश्‍वरका अनुयायीहरूले गर्नुपर्ने एउटै मात्र काम भनेको सत्यता पछ्याउनु, राम्रोसँग कर्तव्य निभाउनु, जीवन प्राप्त गर्नु, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग हिँड्नु, र साँच्चिकै मानकअनुरूपको सृजित प्राणी बन्नु हो। यसरी, परमेश्‍वरको महान् काम वास्तवमै पूर्ण रूपमा सम्पन्न हुनेछ, र परमेश्‍वरले विश्राम लिनुहुनेछ। परमेश्‍वरले विश्राम लिनुको अर्थ के हो? त्यसको अर्थ मानवजातिले विश्राम लिनेछन् भन्ने हो। मानवजातिले विश्रामस्थल भेट्टाएपछि, परमेश्‍वरले विश्राम लिन सक्नुहुन्छ। परमेश्‍वरको विश्राम नै मानवजातिको विश्राम हो। जब मानवजातिको सामान्य जियाइ वातावरण र सुव्यवस्था हुन्छ, यसले परमेश्‍वरलाई विश्राम दिन्छ। जहाँसम्‍म मानवजातिले कहिले यस्तो जियाइ वातावरण पाउनेछन्, तिनीहरू यो चरणमा कहिले पुग्नेछन्, साथै परमेश्‍वरले उहाँको महान् काम कहिले सम्पन्न गर्नुहुनेछ र उहाँ आफ्नो विश्रामस्थलमा प्रवेश गर्नुहुनेछ भन्ने कुरा छ, यी सबै परमेश्‍वरको योजनाभित्रै पर्छन्; उहाँको समयतालिका हुन्छ। परमेश्‍वरको योजनाको यो समयतालिका कुन युगमा, कुन वर्ष, महिना, घन्टा, र मिनेटमा पर्छ, त्यो परमेश्‍वर स्वयम्‌लाई मात्र थाहा हुन्छ। मानवले त्यो जान्नु आवश्यक छैन, र तँलाई भनेर पनि केही काम छैन। तँलाई वर्ष, महिना, घन्टा र मिनेट ठ्याक्कै भने पनि, के त्यो तेरो जीवन बन्न सक्छ र? के त्यो जीवन हो र? त्यसले जीवनलाई प्रतिस्थापित गर्न सक्दैन। सृष्टि गरिएका प्राणीहरूले गर्नुपर्ने एउटै काम भनेको परमेश्‍वरका वचनहरू सुन्ने, परमेश्‍वरका वचनहरू स्विकार्ने, र परमेश्‍वरका वचनहरूप्रति समर्पित हुने, अनि परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मानिसहरू बन्ने हो। तर सधैँ परमेश्‍वरका वचनहरूको सूक्ष्मजाँच गर्न, परमेश्‍वरका वचनहरू पूरा हुन्छन् हुँदैनन् भनी खोजीनिती गर्न, परमेश्‍वरका वचनहरूको सहीपन जाँच्न, विश्‍लेषण गर्न, र छानबिन गर्न चाहनु—सृष्टि गरिएका प्राणीहरूले गर्नुपर्ने काम यी होइनन्। जो यस मार्गमा हिँड्न र यी काम गर्न जिद् कस्छन्, तिनीहरू परमेश्‍वरले चाहनुभएका सृष्टि गरिएका प्राणीहरू होइनन् भन्ने प्रस्टै छ। तिनीहरू उहाँका मापदण्डहरूअनुसार कार्य गर्दैनन्, मानिसहरूको लागि परमेश्‍वरले तोक्नुभएका नियम र प्रावधानहरूअनुसार जिउँदैनन्। परमेश्‍वरको नजरमा, तिनीहरू परमेश्‍वरका शत्रु हुन्; तिनीहरू दियाबलस र शैतान हुन्, परमेश्‍वरको मुक्तिका पात्र होइनन्। त्यसकारण, परमेश्‍वर धर्तीबाट कहिले जानुहुनेछ, उहाँको महान् काम कहिले सम्पन्न हुनेछ, र परमेश्‍वर महिमित हुनुहुने दिन कहिले आउँछ भन्ने सन्दर्भमा, परमेश्‍वरका यी वचनहरू र यस मामलाप्रति मानवजातिको सही दृष्टिकोण के हुनुपर्छ? व्यक्तिले परमेश्‍वरले भन्नुभएका यी कुराहरू अवश्यै पूरा हुनेछन् भनी विश्‍वास गर्नुपर्छ, र त्यो सँगसँगै, परमेश्‍वरको महान् काम सम्पन्न हुने, परमेश्‍वरको राज्य आउने, परमेश्‍वर महिमित भई असङ्ख्य मानिसहरूसामु देखा पर्नुहुने, र परमेश्‍वरले चाँडै विश्राम लिनुहुने आशा पनि राख्नुपर्छ। सृष्टि गरिएका मानवहरू, अर्थात् परमेश्‍वरलाई पछ्याउनेहरूले आशा र प्रार्थना गर्नुपर्ने कुरा यही हो। यसो गर्नु उचित कुरा हो, यो खोजीनिती गर्नु होइन। तर सधैँ परमेश्‍वरका वचनहरू पूरा हुनु नहुनुलाई परमेश्‍वरलाई धम्क्याउने, परमेश्‍वरसँग सर्तहरू राख्ने अनुकूल परिस्थितिको रूपमा प्रयोग गर्नुलाई खोजीनिती गर्नु भनिन्छ र यो परमेश्‍वरका शत्रुहरूले गर्ने काम हो; परमेश्‍वरका वचनहरू पूरा हुन्छन् हुँदैनन् भन्ने आधारमा सधैँ मूल्य तिर्ने नतिर्ने, सबथोक त्याग्ने नत्याग्ने, र कर्तव्य निर्वाह गर्ने नगर्ने भनी निर्णय गर्नु पनि शत्रुहरूले गर्ने काम नै हो। सृष्टि गरिएका साँचा प्राणीहरूले परमेश्‍वरका वचनहरू, परमेश्‍वरको पहिचान, र परमेश्‍वरले जे भन्नुहुन्छ त्यसको जुनसुकै अंशलाई पनि सृष्टि गरिएका प्राणीहरूको दृष्टिकोणबाट हेर्नुपर्छ, न कि शैतान, दुष्ट दियाबलसहरू, वा परमेश्‍वरका शत्रुहरूको दृष्टिकोणबाट।

५. परमेश्‍वरको स्वभाव, पहिचान र सारबारे उहाँका वचनहरू खोजीनिती गर्नु

हामीले सङ्गति गर्ने अर्को विषयवस्तुमा परमेश्‍वरको स्वभाव, पहिचान र सारबारे उहाँका वचनहरू संलग्न छन्। यी वचनहरूले ठूलो दायरा समेट्छन्; परमेश्‍वरका वचनहरूको धेरैजसो विषयवस्तुमा उहाँको स्वभाव, पहिचान, र सार नै समावेश हुन्छन्। एकातिर, परमेश्‍वरको वाणीका शैली र भाव, साथै विषयवस्तुले, मानिसहरूलाई परमेश्‍वरको स्वभाव, पहिचान र सार देख्ने तुल्याउँछन्। अर्कोतिर, परमेश्‍वरसित प्रस्ट वचनहरू छन्, जसमार्फत उहाँले मानवजातिलाई उहाँको स्वभाव, पहिचान र सार बताउनुहुन्छ र खुलाउनुहुन्छ। विषयवस्तुका यी दुई भागहरूका सन्दर्भमा, एकातिर, परमेश्‍वरका वचनहरूका हरफहरू, परमेश्‍वरका वचनहरूको विषयवस्तु, परमेश्‍वरका वचनहरूको प्रकृति, साथै परमेश्‍वरको भाव र उहाँको वाणीका श्रोताहरूबाट, व्यक्तिले परमेश्‍वरको स्वभाव, पहिचान र सार देख्न सक्छ। अर्कोतिर, परमेश्‍वरले उहाँसँग कस्तो स्वभाव छ, उहाँसँग कस्तो पहिचान र सार छ भनी मानिसहरूलाई प्रस्ट वचनहरूमार्फत बताउनुहुन्छ। विषयवस्तुका यी दुई भागहरूलाई ख्रीष्टविरोधीहरूले मूलतः बेवास्ता गर्छन्; तिनीहरूले यी कुराहरूबाट परमेश्‍वरको स्वभाव, पहिचान र सार बुझ्नेछैनन्, र तिनीहरूले निश्‍चय नै परमेश्‍वरसँग सम्बन्धित यो सबै कुरामा विश्‍वास गर्नेछैनन्। तिनीहरू अविश्‍वासी भएकाले तिनीहरू परमेश्‍वरको मुखबाट बोलिएका वचनहरूले परमेश्‍वरको पहिचान र सार प्रतिनिधित्‍व गर्न सक्छन् भनी विश्‍वास गर्दैनन्। तर, तिनीहरूले नकार्नै नसक्ने एउटा कुरा छ: परमेश्‍वरका वचनहरूले मानिसहरूलाई परमेश्‍वरसँग कस्तो प्रकारको स्वभाव छ, परमेश्‍वरसँग कस्तो प्रकारको पहिचान छ, र उहाँको सार कस्तो छ भनी प्रस्ट रूपले खुलाएका छन्—उहाँका वचनहरूको यो पाटोलाई तिनीहरूले नकार्न सक्दैनन्। तर तिनीहरूले यसलाई नकार्न सक्दैनन् भन्दैमा, के त्यसको अर्थ तिनीहरूले साँचो रूपमा स्विकार्छन् र मान्छन् भन्ने हुन्छ त? तिनीहरूले यी वचनहरूलाई मान्दैनन्। बरु त्यसको उल्टो, परमेश्‍वरको स्वभावसम्बन्धी विषयवस्तु—परमेश्‍वरले चर्चा गर्नुहुने उहाँको धार्मिकता, पवित्रता, प्रेम, अख्तियार, साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ तीसम्बन्धी अन्य गुणहरूका सन्दर्भमा, ख्रीष्टविरोधीहरूले अवहेलना, बेवास्ता र उपेक्षा देखाउनुबाहेक, यी वचनहरूलाई खोजीनिती गर्ने दृष्टिकोणबाट पनि हेर्छन्। उदाहरणका लागि, जब परमेश्‍वरले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्नुहुन्छ, तब ख्रीष्टविरोधीले छानबिन गर्न थाल्नेछ: “तिमी धर्मी रे? संसारमा आफू धर्मी भएको दाबी गर्ने आँट गर्ने कोही पनि छैन। तिमीले त्यसो भन्ने आँट गर्छौ भने, जाँचौँ न त। तिमी कुन-कुन रूपमा धर्मी छौ? तिम्रा कुन-कुन कार्यहरू धर्मी रहेका छन्? म आश्‍वस्त हुन मान्दिनँ! यदि यो भनाइ साँच्चिकै साकार भयो भने, यदि तिमीले साँच्चिकै मलाई विश्‍वस्त पार्ने कुनै धर्मी कार्य गर्‍यौ भने, तिमी धर्मी छौ भनेर म स्विकार्नेछु। तर यदि तिम्रो कार्यले मलाई विश्‍वस्त पारेन भने, मैले सिधा कुरा गरेकोमा मलाई दोष नदिनू। म तिमीसँग धर्मी स्वभाव छ भनेर कदापि स्विकार्नेछैनँ!” अन्ततः, तिनीहरूले प्रतीक्षा गर्दैआएको दिन आइपुग्छ: कुनै निश्‍चित अगुवाले, ठूलो मूल्य तिरेको र धेरै कष्ट भोगेको भए पनि, उसलाई अन्ततः झूटो अगुवाका रूपमा चित्रण गरियो र उसलाई बरखास्त गरियो किनकि उसले वास्तविक काम गर्न सकेन। बर्खास्त भएपछि, ऊ नकारात्मक बन्यो, उसले गलतफहमीहरू विकास गर्यो, गुनासो गर्यो, र धेरै आक्रोशपूर्ण र आलोचनात्मक कुराहरू बोल्यो। जब यो मामला ख्रीष्टविरोधीको कानमा पुग्छ र उसले यो देख्छ, तब ख्रीष्टविरोधीले भन्छ, “यदि तिमीजस्तो व्यक्तिसमेत बरखास्त हुन सक्छ भने, मजस्ता मानिसहरूका लागि त अवस्था झनै खराब हुन सक्छ। यदि तिमीसँग नै मुक्ति पाउने आशा छैन भने, यदि तिमी परमेश्‍वरका अभिप्रायहरूअनुरूप छैनौ भने, कोचाहिँ हुन सक्छ? अरू कसलाई चाहिँ परमेश्‍वरले मान्न सक्नुहुन्छ?” एकातिर, ख्रीष्टविरोधीले झूटो अगुवाको प्रतिरक्षा गर्छ र उसका लागि इन्साफ माग्छ; अर्कोतिर, ऊ त्यस झूटो अगुवाले जारी गरेका आक्रोशपूर्ण र आलोचनात्मक वचनहरूलाई पनि स्विकारिरहेको हुन्छ। त्यो सँगसँगै, ऊ हृदयमा गोप्य रूपमा परमेश्‍वरसित जोरी पनि खोजिरहेको हुन्छ: “के परमेश्‍वर धर्मी छन्? त्यसोभए जुन व्यक्तिले मण्डलीको कामका लागि कष्ट भोगेको र मूल्य तिरेको छ उसलाई किन बरखास्त गरेको? यो व्यक्ति तिमीप्रति सबैभन्दा बफादार छ। मैले ऊभन्दा बफादार अरू कोही देखेको छैनँ; मैले अरू कोही देखेको छैनँ जसले योभन्दा धेरै कष्ट भोगेको र बढी मूल्य तिरेको होस्। ऊ बिहान सबेरै उठ्छ र राति अबेर सुत्छ, रोग सहन्छ, आफ्नो परिवारप्रतिको भावनालाई पाखा लगाउँछ, देहसुख र देहका भविष्यलाई पाखा लगाउँछ, र आफ्नो ज्यानको बाजी थापेर तिम्रा लागि काम गर्छ। उसलाई पहिले जेलमा पनि थुनियो, तर उसले विश्‍वासघात गरेन। र तैपनि तिमी उसलाई यति सजिलै बरखास्त गर्छौ, उसलाई यति सजिलै प्रकाश गर्छौ—के तिमी साँच्चिकै धर्मी छौ? तिम्रो धार्मिकताको प्रमाण कहाँ छ? मैले किन देख्न नसकेको?” अन्ततः, ख्रीष्टविरोधीले परमेश्‍वरको कामविरुद्ध गलचेप भेटेको छ, जसमार्फत उसले परमेश्‍वरको स्वभावको धार्मिकतामाथि प्रश्‍न उठाउँछ। उसले मनमनै सोच्छ, “यदि परमेश्‍वर धर्मी छन् भने, धेरैजसो मानिसहरूले धान्न सक्नेछैनन्; यदि परमेश्‍वर धर्मी छन् भने, मानिसहरू साँच्चिकै होसियार हुनुपर्छ, र जीवन निकै कठिन बन्नेछ। आज, अन्ततः परमेश्‍वरको कामविरुद्ध गलचेप भेट्टाएपछि, म परमेश्‍वर धर्मी छैनन् भनी प्रमाणित गर्न सक्छु, जसले परिस्थितिहरू सहज बनाउँछ।” योसँगै, ऊ हृदयमा गोप्य तरिकाले रमाउँछ।

परमेश्‍वरका चुनिएका मानिसहरूले, परमेश्‍वरलाई पछ्याउँदा, सधैँ ठूलो रातो अजिङ्गरबाट दमन, गिरफ्तारी, र क्रूर सतावट भोगेका छन्। चारैतिरका मण्डलीहरूमा, प्रायजसो गिरफ्तारी र सतावटमा परिरहने परमेश्‍वरका चुनिएका मानिसहरू छन्। बारम्बार, कतिपयले ठेस खान्छन् वा परमेश्‍वरलाई विश्‍वासघात गर्छन् र फलस्वरूप मण्डली छाडेर जान्छन्। तर, गिरफ्तारी र सतावटमा परे पनि आफ्नो गवाहीमा दृढ रहनेहरू पनि धेरै छन्। ठूलो रातो अजिङ्गरको सेवालाई प्रयोग गरेर, परमेश्‍वरले आशिष्‌हरू खोज्दै परमेश्‍वरको घरमा घुसपैठ गर्ने ती अविश्‍वासीहरूलाई प्रकाश गर्नुहुन्छ, जबकि त्यो सँगसँगै उहाँले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने चुनिएका मानिसहरूलाई पनि सिद्ध पार्नुहुन्छ। यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि हो। तर ख्रीष्टविरोधीहरूले यस मामलालाई कसरी हेर्छन्? तिनीहरू सधैँ परमेश्‍वरप्रति शङ्कालु हुन्छन्: “परमेश्‍वरले उनका चुनिएका मानिसहरूलाई किन ठूलो रातो अजिङ्गरको गिरफ्तारी र सतावटबाट मुक्ति दिँदैनन्?” तिनीहरू देहधारी परमेश्‍वरलाई शङ्का गर्छन्, हृदयमा परमेश्‍वरबारे सधैँ धारणाहरू बोकिरहेका हुन्छन्: “परमेश्‍वरका चुनिएका मानिसहरूले किन यस्ता कुटाइ र यातना सहनुपर्छ? त्यो उनीहरूको आस्थाका कारण हो, किनकि उनीहरू यहूदा बन्न अनिच्छुक हुन्छन्। तर उनीहरूले यातना भोगिरहँदा परमेश्‍वर कहाँ हुन्छन्? परमेश्‍वरले उनीहरूलाई किन बचाउँदैनन्? के परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्दैनन्? परमेश्‍वरको प्रेम कहाँ छ? के यो परमेश्‍वरले उनीमाथि विश्‍वास गर्नेहरूलाई शैतानहरू र दुष्ट पिशाचहरूबाट यति नराम्ररी अपमानित हुन र अत्यन्तै धेरै यातना भोग्‍न दिन सक्‍ने भएर हो? के परमेश्‍वरको प्रेम यही हो? मानिसहरूप्रति परमेश्‍वरको सुरक्षा ठ्याक्कै कहाँ छ? म किन त्यो देख्न सक्दिनँ? म अझ बढी होसियार हुनुपर्ने देखिन्छ। परमेश्‍वरले मानिसहरूलाई परीक्षा वा खतराबाट सुरक्षा दिन नसक्ने मात्र होइन—त्यसको उल्टो, व्यक्तिले जति धेरै पछ्याउँछ, जति धेरै सङ्कल्प राख्छ, र परमेश्‍वरलाई जति बढी अनुसरण गर्छ, त्यति नै उसले परीक्षाहरू सामना गर्छ, र त्यति नै बढी उसले पीडा र उत्पीडन भोग्ने सम्भावना हुन्छ। परमेश्‍वरले यसरी नै कार्य गर्ने हुनाले, मसँग पनि मेरा जवाफी उपायहरू छन्। यी मानिसहरूले यस्तो व्यवहार भोग्छन् किनकि उनीहरूले त्यागहरू गरे; यदि मैले यस्तो मूल्य तिरिनँ, यदि मैले यस तरिकाले पछ्याइनँ भने, के म यी परीक्षाहरूबाट जोगिनेछैनँ र? यी परीक्षाहरू नहुँदा, के म यस्तो कष्टबाट जोगिनेछैनँ र? यस्तो कष्ट नभोगेपछि, के म सहजतामा जिउनेछैनँ र? यदि यति हुँदाहुँदै पनि मैले आशिष्‌हरू पाउँछु भने, मैले किन मूर्ख बनेर मेरो देहलाई अनेकथरीका उत्पीडन र पीडा सहन दिनु र? परमेश्‍वर मानिसहरूलाई प्रेम गर्छु भनेर भन्छन्, तर म परमेश्‍वरको यस तरिकाको प्रेम स्विकार्न सक्दिनँ! तिमीहरू सबैले यसलाई जसरी मन लाग्छ, त्यसरी व्याख्या गर्न सक्छौ; त्यो मेरो चासोको विषय होइन, म यसलाई स्विकार्नेछैनँ। म अरूको नजरबाट टाढै बस्नुपर्छ, अलि पन्छिनुपर्छ, म होसियार र सावधान हुनुपर्छ; म आफूलाई परमेश्‍वरको हातमा पर्न र उनको अह्रावटको काम गर्न दिन्नँ।” ख्रीष्टविरोधीहरूले हृदयमा यी कुराहरू बोक्छन्, र यी सबै गलतफहमी, विरोध, आलोचना, र परमेश्‍वरविरुद्धको प्रतिरोध हुन्। तिनीहरूसँग परमेश्‍वरको कामबारे केही पनि ज्ञान हुँदैन। परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्दै गर्दा, परमेश्‍वरको स्वभाव, पहिचान र सारबारे खोजीनिती गर्दा, तिनीहरू यस्ता निष्कर्षहरूमा पुग्छन्। ख्रीष्टविरोधीहरूले यी कुराहरूलाई हृदयका गहिराइमा लुकाउँछन्, र आफैलाई चेतावनी दिन्छन्: “सतर्कता नै सुरक्षाको आधार हो; अरूका नजरमा नपर्नु नै उत्तम हुन्छ; थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ; र टुप्‍पोमा एक्लै भइन्छ! जहिलेसुकै होस्, कहिल्यै थुतुनो ननिकाल, कहिल्यै धेरै शिखरमा नपुग; जति उचाइमा पुग्छौ, त्यति नै नराम्ररी बजारिन्छौ।” तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्, र उहाँको स्वभाव धर्मी र पवित्र छ भनेर विश्‍वास गर्दैनन्। तिनीहरूले यी सबै कुराहरूलाई मानव धारणा वा कल्पनाले हेर्छन्, र परमेश्‍वरको स्वभाव, पहिचान र सारलाई सीमाङ्कन गर्न शैतानको तर्क र सोच उपयोग गर्दै, तिनीहरूले परमेश्‍वरको कामलाई पनि मानव दृष्टिकोण, मानव सोच र मानव धूर्तताद्वारा नै हेर्छन्। स्पष्ट रूपमा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको स्वभाव, पहिचान र सार नस्विकार्ने र नमान्‍ने मात्र होइन; त्यसको उल्टो, तिनीहरू त परमेश्‍वरप्रतिका धारणा, प्रतिरोध, र विद्रोहले भरिएका हुन्छन्, र तिनीहरूमा उहाँबारे अलिकति पनि वास्तविक ज्ञान हुँदैन। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको प्रेमसम्‍बन्धी ख्रीष्टविरोधीहरूको परिभाषा भनेको प्रश्‍नवाचक चिन्‍ह—सन्देह मात्रै हुन्छ, र तिनीहरू यसप्रति शङ्‍काग्रस्त, र इन्कार र लाञ्छनाले भरिपूर्ण हुन्छन्; त्यसो भए, उहाँको पहिचान के हो त? परमेश्‍वरको स्वभावले उहाँको पहिचान प्रतिनिधित्व गर्छ; परमेश्‍वरको स्वभावबारे तिनीहरूको सोच यस्तो भएको हुँदा, परमेश्‍वरको पहिचानसम्बन्धी तिनीहरूको सोच स्वस्पष्ट छ—यो प्रत्यक्ष इन्कार हो। ख्रीष्टविरोधीहरूको सार यही हो।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूको, र उहाँका कार्यहरूको जुन भाग लिए पनि, चाहे ती यावत्‌ थोकहरूमा हुने वा चाहे विशिष्ट व्यक्तिहरूमा हुने परमेश्‍वरका कार्यहरू हुन्, तिनलाई सत्यताका रूपमा र स्वीकारको शैलीले लिनको साटो, तिनलाई तर्क गर्न र मूल्याङ्कन गर्नका लागि सधैँ मानव दृष्टिकोणहरू र शैतानको तर्क, साथै ज्ञान र तर्कका विधिहरू प्रयोग गर्छन्। त्यसकारण, परमेश्‍वरको स्वभाव, पहिचान र सारसम्बन्धी वचनहरूका सन्दर्भमा, र परमेश्‍वर देहधारी हुनुभएको देह र परमेश्‍वरका आत्माका सन्दर्भमा, ख्रीष्टविरोधीहरूको विधि वास्तवमा उही हुन्छ, कुनै भिन्नता हुँदैन। तिनीहरू सामान्यतया, परमेश्‍वर स्वयम्‌सम्बन्धी सबथोक, सृष्टिकर्तासम्बन्धी सबथोकबारे खोजीनिती गर्छन्, र त्यसपछि अनुमान, छानबिन, र विश्‍लेषण गर्छन्, जसले अन्ततः इन्कार र लाञ्छनाको निष्कर्षमा डोऱ्याउँछ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका यी वचनहरूलाई जुन कोणबाट वा जस्तो तरिकाले हेरे पनि, तिनीहरूले किन अन्त्यमा सधैँ दोषी ठहराउने र लाञ्छनाकै निष्कर्षहरू निकाल्छन्? तिनीहरू किन यस्ता निष्कर्षहरूमा पुग्छन्? के साँच्चै सृजित मानवजातिमाझ परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा लिन सक्ने कोही नभएको हुन सक्छ? के यो अपरिहार्य परिणाम हो? के यो परमेश्‍वरका कारणले भएको हो? (होइन।) त्यसोभए ठ्याक्कै कारण के हो त? (किनभने मानिसहरूमा परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति हुन्छ।) परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति सबैमा हुन्छ। यी वचनहरू पढेपछि, कतिपय मानिसहरूले तिनलाई सत्यताका रूपमा चिन्न र परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो स्विकार्न सक्छन्, जबकि अरूले तिनलाई इन्कार्न, दोषी ठहराउन र लाञ्छना लगाउन सक्छन्, यसको कारण के हो? यसले प्रस्ट रूपमा एउटा समस्या देखाउँछ, र यसले मानिसहरूभित्रको सार फरकफरक हुन्छ भन्ने जनाउँछ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई व्यवहार गर्दा, मूल रूपमा र व्यक्तिपरक रूपमा तिनलाई साँच्चिकै स्विकार्दैनन्। तिनीहरू प्रतिरोध र जाँच बोकेर आउँछन्: “तिमी आफूलाई परमेश्‍वर भन्छौ, त्यसोभए मलाई देखाऊ, तिमी कुन रूपमा परमेश्‍वरसमान छौ? तिमी आफूमा परमेश्‍वरको स्वभाव र ईश्‍वरत्व छ भन्छौ, म हेर्न चाहन्छु कि तिम्रा कुन वचनहरूले तिमीमा ईश्‍वरत्व र परमेश्‍वरको स्वभाव भएको पुष्टि गर्छन्, तिम्रा कुन कार्यहरूले तिमीमा परमेश्‍वरको पहिचान र सार भएको पुष्टि गर्छन्। के तिमीले चिन्ह र चमत्कारहरू प्रदर्शन गरेका छौ, वा बिरामीलाई निको पार्ने र भूतहरू धपाउने काम गरेका छौ? के तिमीले कसैलाई श्राप दिएर ऊ तुरुन्तै मरेको छ? के तिमीले कसैलाई मृत्युबाट बौराएका छौ? तिमीले ठ्याक्कै के गरेका छौ जसले तिमीसँग परमेश्‍वरको स्वभाव, पहिचान र सार भएको पुष्टि गर्न सक्छ?” ख्रीष्टविरोधीहरू सधैँ यी कुराहरू, सत्यता, मार्ग, र जीवनभन्दा बाहिरका कुराहरू हेर्न चाहन्छन्, परमेश्‍वरको पहिचान पुष्टि गर्न, तिनीहरूले पछ्याउने एउटै उहाँ परमेश्‍वर हुनुहुन्छ भनी पुष्टि गर्न यी कुराहरू प्रयोग गरिरहन्छन्। यो सुरुवाती बिन्दु नै गलत छ। परमेश्‍वरको पहिचान र सारको प्रतिनिधित्व गर्न सक्ने सबैभन्दा आधारभूत कुरा के हो? (परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ।) यो नै सबैभन्दा आधारभूत कुरा हो। ख्रीष्टविरोधीहरू किन यो सबैभन्दा आधारभूत कुरासमेत बुझ्न सक्दैनन्? हामीले छलफल गर्नुपर्ने विषय यही हो। ख्रीष्टविरोधीहरू सत्यता र सकारात्मक कुराहरूलाई तिरस्कार गर्छन्; तिनीहरू सत्यता र सारा सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन्; तिनीहरू सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्छन्। परमेश्‍वरका सारा वचनहरूमा, तिनीहरूले कुन वचनहरू सत्यता वा सकारात्मक कुरा हुन् भनी देख्दैनन्। के तिनीहरूका पैशाचिक आँखाले यो कुरा देख्न सक्छन्? के तिनीहरूले नदेखीकनै यसलाई मान्न सक्छन्? तिनीहरूले यी वचनहरूलाई सत्यता मान्न नसक्नुको अर्थ यो हुन्छ कि तिनीहरूले परमेश्‍वरको पहिचान र सारलाई मान्न सक्दैनन्। यो निश्‍चित छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको स्वभाव, पहिचान र सारबारेका उहाँका वचनहरूसँग व्यवहार गर्दा परमेश्‍वरका अरू वचनहरूलाई हेर्ने शैली नै प्रयोग गर्छन्, र त्यसरी नै आफ्नो मनमा लेखाजोखा, षड्यन्त्र र मनन गर्छन्। यदि परमेश्‍वरले परमेश्‍वरका पहिचानमा बोल्‍नुभएको कुनै कुरा तुरुन्तै पूरा भयो भने, तिनीहरूको मनोवृत्ति तुरुन्तै बदलिन्छ; यदि परमेश्‍वरले, परमेश्‍वरका रूपमा तिनीहरूलाई गलचेप दिलाउन सक्‍ने कुनै कुरा भन्नुभयो वा गर्नुभयो भने, तिनीहरूसँग पनि सुहाउँदो जबाफी उपाय हुन्छ, र तिनीहरूको मनोवृत्ति फेरि तुरुन्तै बदलिन्छ। परमेश्‍वरलाई निन्दा गर्ने पनि तिनीहरू नै हुन्, र परमेश्‍वर परमेश्‍वरजस्तो हुनुहुन्छ भन्ने पनि तिनीहरू नै हुन्। तिनीहरूका दृष्टिकोणमा, परमेश्‍वरसित परमेश्‍वरको स्वभाव, पहिचान र सार छ कि छैन भन्ने सन्दर्भमा, तिनीहरू पूर्णतया आफ्नै आँखाले देखेको कुरा र आफ्नै मानसिक विश्‍लेषणका आधारमा यसबारे निष्कर्षमा पुग्छन्।

विगत एकदुई वर्षमा, मण्डलीले केही अनुभवात्मक गवाही भिडियोहरू बनाएको छ। विभिन्न मानिसहरूले विविध अनुभवात्मक गवाहीहरू दिएका छन्, जसले गर्दा अस्थिर जग भएका कतिपय मानिसहरूलाई र थोरबहुत सन्देह बोकेकाहरूलाई केही जग स्थापित गर्न मदत मिल्यो। ख्रीष्टविरोधीहरूलाई पनि, यसले स्थिरता दिने केही भूमिका अवश्यै खेल्यो। यी गवाही दिने व्यक्तिहरू विभिन्न उमेर समूहका, विभिन्न सामाजिक वर्गका, र कतिपय त विभिन्न देश र जात-जातिका समेत छन्। उनीहरूले दिएका अनुभवात्मक गवाहीहरूबाट, यो प्रस्ट हुन्छ कि उनीहरूमा परमेश्‍वरका वचनहरूमार्फत परिवर्तनहरू आए, उनीहरूले सत्यता र जीवन प्राप्त गरे, अनि परमेश्‍वरका वचनहरू स्विकारेर, परमेश्‍वरको कामको यो चरण स्विकारेर, धेरै सत्यताहरू बुझे, परमेश्‍वर देहधारी हुनुभएको देहसँग परमेश्‍वरको पहिचान र सार छ भनी पुष्टि गरे। यी अनुभवात्मक गवाहीहरू सुनेपछि, ख्रीष्टविरोधीहरू पनि, अवश्यै भित्री रूपमा अलिक सुटुक्क प्रसन्न भए: “धन्‍न, मैले सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गरिनँ। धन्‍न, मैले परमेश्‍वरलाई नकार्न हतार गरिनँ। धेरै मानिसहरूका गवाहीहरू मूल्याङ्कन गर्दा, यो बाटो सही देखिन्छ। यी ख्रीष्ट, अर्थात् यी साधारण व्यक्ति, आखिरमा परमेश्‍वर नै हुन सक्छन्। सायद मेरो दाउ सही ठाउँमा पर्‍यो। यदि म यही मार्ग हिँडिरहेँ भने, र यदि अझ धेरै मानिसहरूले यस व्यक्तिबारे गवाही दिए भने, यदि अझ धेरै मानिसहरू यस व्यक्तिसामु आए भने, र यदि अझ धेरै मानिसहरूले यस व्यक्तिको पहिचान र सार पुष्टि गरे भने, मैले आशिष्‌हरू प्राप्त गर्ने आशा र अवसर झन्झन् बढ्नेछ।” हिचकिचाहटपूर्वक नियाल्दै, ख्रीष्टविरोधीहरू अझै निरन्तर रूपले आफूलाई यसरी हौसला र प्रेरणा दिइरहेका हुन्छन्: “हतार नगर्। धैर्यवान् हो। तैँले बस सहनुपर्छ। जसले अन्त्यसम्‍मै सहन्छ उसलाई मुक्ति दिइनेछ। अहिलेका विभिन्न सङ्केतहरू, अहिले मण्डलीको आकार र गति मूल्याङ्कन गर्दा, धेरैभन्दा धेरै मानिसहरू उठेर यी परमेश्‍वरबारे गवाही दिन सक्षम छन्, यसले यो सही मार्ग हो भन्ने पुष्टि गर्छ। त्यसैले, म अलग देखिन र यसलाई नकार्न हतार गर्दै, किन मूर्ख बन्‍ने? त्यसो नगर्, मूर्ख नबन्। अझै तीनदेखि पाँच वर्षसम्म पर्खी। यदि अझै धेरै मानिसहरू, बढी प्रतिष्ठित र ज्ञानवान् मानिसहरू, अर्थात् सामाजिक हैसियत भएका मानिसहरूले यस साधारण व्यक्तिलाई ख्रीष्टका रूपमा प्रमाणित गर्ने अझ बलियो प्रमाण दिएमा, वा यदि सांसारिक ख्याति र हैसियत भएका अझ धेरै मानिसहरू मण्डलीमा आबद्ध भएमा, र यदि मण्डलीको आकार अझै विश्‍वव्यापी रूपमा विस्तार भएमा, के मैले त्यसपछि केही प्राप्त गर्नेछैनँ र? के त्यसपछि मैले ठूलो लाभ प्राप्त गरेको हुनेछैनँ र? यदि मण्डलीसँग शक्ति हुन्छ भने, के मसँग पनि शक्ति हुनेछैनँ र? मैले छोड्न त कदापि हुँदैन! यदि यो सबै सही हो भने, यदि यी व्यक्ति साँच्चिकै परमेश्‍वर हुन् भने, र यदि अहिले मैले उनलाई इन्कार वा अस्वीकार गरेँ भने, मैले यी सारा आशिष्‌हरू गुमाउनेछु। मैले यस व्यक्तिमाथि सबै दाउ लगाउनैपर्छ। उनी पहिचान र सारले को हुन्, उनको स्वभावले कसलाई जनाउँछ, मलाई त्यसबारे वास्ता छैन। मलाई चासो लाग्ने कुरा त धेरैभन्दा धेरै मानिसहरूले उनलाई पछ्याइरहेका छन् कि छैनन्, मण्डलीको शक्ति र आकार बढिरहेका छन् कि छैनन् भन्ने हो। यदि त्यो राम्रो दिशामा अघि बढ्यो र सामान्य परिस्थितिहरूमा झन् ठूलो बन्न सक्यो भने, मैले आफ्नो भविष्यबारे चिन्ता लिनुपर्दैन। यदि उनी साँच्चिकै बाइबलमा अगमवाणी गरिए झैँ परमेश्‍वर देहधारी हुनुभएको देह नै हुन् भने, म अत्यन्तै आशिषित्, अत्यन्तै लाभान्वित हुनेछु।” ख्रीष्टविरोधीहरूले हरेकपटक यसबारे सोच्दा, तिनीहरूलाई हृदयमा केही सान्त्वना र हर्ष मिल्छ: “त्यो गजब होइन र? परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास नगरे पनि, मैले अझै पनि आशिष्‌हरू प्राप्त गर्न सक्छु। परमेश्‍वरका सारा कार्यहरू धर्मी छन् भनेर विश्‍वास नगरे पनि, म अझै दृढ रहन सक्छु। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन सक्छन् भनेर विश्‍वास नगरे पनि, म अझै पनि बाँच्न सक्छु। परमेश्‍वरले मानिसहरूको सबैभन्दा भित्री हृदय नियाल्छन् भनेर विश्‍वास नगरे पनि, म अझै पनि मण्डलीमा सामान्य रूपमा कर्तव्य पूरा गर्न सक्छु। म परमेश्‍वरको सर्वशक्तिमान्‌ता र अख्तियारमा विश्‍वास गर्दिनँ, म परमेश्‍वरले गर्ने सबथोक अर्थपूर्ण हुन्छ भनेर विश्‍वास गर्दिनँ, र म परमेश्‍वरले यावत्‌ थोकमाथि र सारा मानवजातिको भाग्यमाथि सार्वभौम शासन गर्छन् भनेर विश्‍वास गर्दिनँ—म यी कुनै कुरामा विश्‍वास गर्दिनँ, तर के भो त? म परमेश्‍वरको पहिचान र सारमा विश्‍वास गर्दिनँ, तैपनि मण्डलीमा अल्याङटल्याङ गर्न सक्छु। के परमेश्‍वर धर्मी छैनन् र? म बस यसरी नै अल्याङटल्याङ गरिरहनेछु, म मण्डलीमा यसरी नै आलटाल गरिरहनेछु, बस सहिरहनेछु। मलाई कसले के गर्न सक्छ र? के मैले अझै पनि अन्त्यसम्म सहन र निश्‍चित रूपमा मुक्ति प्राप्त गर्न सक्दिनँ र?” तिमीहरूलाई के लाग्छ, के ख्रीष्टविरोधीहरूको मनोकामना पूरा हुन सक्छ? (सक्दैन।) जब तिनीहरूले साँच्चिकै परमेश्‍वरको धर्मी स्वभाव देख्ने दिन आउँछ, तब तिनीहरू कहाँ हुनेछन्? जब तिनीहरूलाई साँचो रूपमा परमेश्‍वरको पहिचान र सारलाई मान्न, र परमेश्‍वर धर्मी हुनुहुन्छ भनी हेक्का गर्न लगाइन्छ, जब तिनीहरूलाई परमेश्‍वर वास्तवमै धर्मी हुनुहुन्छ भनेर देखाइन्छ, तब तिनीहरूले कहाँ हुनुपर्छ? के तिनीहरूलाई साँच्चिकै मुक्ति दिन सकिन्छ? के तिनीहरूको सहनशीलता साँच्चिकै प्रभावकारी हुन सक्छ? के तिनीहरूले साँच्चिकै अल्याङटल्याङ गर्न सक्छन्? के तिनीहरूको सहनशीलता, तिनीहरूका सम्झौताहरू, तिनीहरूको अटल कठिनाइ सहन, र तिनीहरूको चतुर बौद्धिकताले, परमेश्‍वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी खोजीनिती गर्ने तिनीहरूको दुष्ट कार्यलाई साँच्चिकै काट्न सक्छन्? के तिनीहरूका मनोकामना, जवाफी उपायहरू, षड्यन्त्र, युक्ति र तिनीहरूले हृदयमा योजना गरेका सबथोक, साथै तिनीहरूले परमेश्‍वरसित सम्बन्धित कुराहरूबारे गर्ने गरेको खोजीनितीले, साँच्चिकै तिनीहरूको सत्यताको पछ्याइलाई प्रतिस्थापित गर्न सक्छन्? के यी कुराहरूले तिनीहरूलाई मुक्ति पाउन सक्षम तुल्याउन सक्छन्? (सक्दैनन्।) त्यसोभए, यी प्रकटीकरणहरूलाई मूल्याङ्कन गर्दा, अत्यन्तै चतुर रहेका र कुनै पनि त्रुटि नछोडी, सारा मामलाहरू सम्हाल्ने, सबथोक अत्यन्तै गोप्य रूपमा गर्ने ती ख्रीष्टविरोधीहरू किन अन्ततः यस्तो अवस्थामा पुग्छन्? यसको एउटै कारण छ: तिनीहरू परमेश्‍वरका वचनहरूलाई सिधै सामना गर्दैनन्, परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा स्विकार्दैनन्, परमेश्‍वरका वचनहरूमा समर्पित हुँदैनन्, बरु त्यसको साटो परमेश्‍वरका वचनहरूबारे खोजीनिती गर्छन्। अन्ततः ख्रीष्टविरोधीहरू यस्तो अवस्थामा पुग्नुको कारण यही हो। तिमीहरू सबैले यो कुरा बुझ्यौ नि, होइन? मैले तिमीहरूलाई कसरी व्यवहार गर्ने वा परमेश्‍वरका वचनहरूलाई कुन रूपमा लिने भनेर नबताए पनि, यी तथ्यहरू बोलेपश्‍चात, र ख्रीष्टविरोधीहरूका दृष्टिकोणहरू र परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति चिरफार गरेपश्‍चात, तिमीहरू सबैले परमेश्‍वरका वचनहरूप्रति राखिने कस्तो मनोवृत्ति अनि परमेश्‍वरका वचनहरू बुझ्‍ने कस्तो मनोवृत्ति सबैभन्दा सही हुन् र सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति हुन्, साथै यी मनोवृत्तिहरू राख्नु नै सृजित प्राणीले गर्नुपर्ने काम हो भनेर थाहा पाएका छौ।

अगष्ट २२, २०२०

अघिल्लो:  विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग पाँच)

अर्को:  विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग सात)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

खोजी गर्ने बाकसमा खोजी गर्ने विषय प्रविष्ट गर्नुहोस्।

Connect with us on Messenger
विषयवस्तु
सेटिङ्ग
पुस्तकहरू
खोजी
भिडियोहरू