विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग दुई)
आज, हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको पन्ध्रौँ विषयवस्तु: तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन्—भन्नेबारे सङ्गति जारी राख्नेछौँ। हामीले यसअघिको सङ्गतिको क्रममा यो विषयलाई दुई भागमा विभाजन गर्यौँ। पहिलो भाग परमेश्वरको अस्तित्वमा ख्रीष्टविरोधीहरूको अविश्वासका विभिन्न प्रकटीकरणहरू हो, जसलाई हामीले थप दुई विषयवस्तुमा विभाजन गर्यौँ: पहिलो, ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचान र सार इन्कार गर्नु; दोस्रो, ख्रीष्टविरोधीहरूले यावत् थोकमाथिको परमेश्वरको सार्वभौमिकता इन्कार गर्नु। पछिल्लोपटक, हामीले मूलतः ख्रीष्टविरोधीहरूले कसरी परमेश्वरको सार वा उहाँको स्वभावलाई मान्दैनन्, र ख्रीष्टविरोधीहरूले कसरी परमेश्वरले गर्ने सबै कुरा सत्यता हो र त्यसले उहाँको पहिचानलाई प्रतिनिधित्व गर्छ भन्ने कुरालाई मान्दैनन्, र ख्रीष्टविरोधीहरूले कसरी परमेश्वरले गर्ने सबथोकपछाडिका अर्थ र सत्यता निश्चय नै स्विकार्दैनन् भन्नेबारे सङ्गति गर्यौँ। ख्रीष्टविरोधीहरू शैतानको आराधना गर्छन्, शैतानलाई परमेश्वर मान्छन्, र शैतानका सारा भनाइ र दृष्टिकोणहरूलाई परमेश्वरको पहिचान, सार र उहाँले गर्ने सबथोकको मापन गर्ने आधार र मानकका रूपमा प्रयोग गर्छन्। त्यसकारण, तिनीहरू हृदयमा बारम्बार शैतानको कार्यलाई उच्च पार्छन् र आराधना गर्छन्, तिनीहरू शैतानका कार्यहरूको गुणगान र प्रशंसा गाउँछन्, र तिनीहरू परमेश्वरको पहिचान र सारको स्थान लिन शैतानलाई प्रयोग गर्छन्। अझ नराम्रो कुरा, शैतानले गर्ने सबथोक अनुमोदन गरेर त्यसका आधारमा तिनीहरूले हर मोडमा परमेश्वरका वचनहरू र कामबारे प्रश्न उठाउँछन् र धारणा र रायहरू बनाउँछन्, र अन्ततः उहाँका वचनहरू र कामलाई निन्दा गर्छन्। त्यसकारण, परमेश्वरलाई पछ्याउने क्रममा, ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरूलाई आफ्नो जीवन, सत्यता, वा जीवनको दिशा र लक्ष्यका रूपमा स्विकार्दैनन्। बरु, तिनीहरू हर मोडमा परमेश्वरको विरोध गर्छन्, र तिनीहरूका धारणा र कल्पनाहरू, शैतानका तर्क र सोचहरू, साथै शैतानका स्वभाव र विधिहरूद्वारा परमेश्वरको पहिचान र सार मापन गर्छन्। परमेश्वरलाई पछ्याउने क्रममा, तिनीहरू निरन्तर परमेश्वरलाई शङ्का, सन्देह र निगरानी गर्छन्, तिनीहरू सधैँ उहाँलाई आलोचना गर्छन्, र हृदयमा उहाँलाई हेला, निन्दा र इन्कार गर्छन्। ख्रीष्टविरोधीहरूले गर्ने यी सारा कामकुरा र तिनीहरूका विभिन्न प्रकटीकरणहरूले तिनीहरू परमेश्वरका अनुयायी, साँचो विश्वासी, वा सत्यता र सकारात्मक कुरा प्रेम गर्ने मानिसहरू होइनन्, बरु तिनीहरू त सत्यता र परमेश्वरका शत्रुहरू हुन् भन्ने कुरा वास्तवमै प्रमाणित गर्छन्। जब यी मानिसहरू परमेश्वरको घर, अर्थात् मण्डलीमा आउँछन्, तिनीहरू परमेश्वरको मुक्ति प्राप्त गर्न वा परमेश्वरसामु आउन र उहाँका वचनहरूलाई जीवनका रूपमा स्विकार्न आएका हुँदैनन्। त्यसोभए, तिनीहरू के गर्न आएका हुन्छन् त? जब यी मानिसहरू परमेश्वरको घरमा आउँछन्, पहिलो कुरा, तिनीहरू, कम्तीमा आफ्नो जिज्ञासालाई सन्तुष्ट पार्न खोजिरहेका हुन्छन्; दोस्रो कुरा, तिनीहरू यो लहर पछ्याउने इच्छा राख्छन्; र तेस्रो कुरा, तिनीहरू आशिष्हरू चाहन्छन्। तिनीहरूका अभिप्राय र उद्देश्यहरू यिनै हुन्, त्यत्ति हो। ख्रीष्टविरोधीहरूको प्रकृति सारका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू कहिल्यै परमेश्वरका वचनहरूलाई जीवनको रूपमा स्विकार्ने अभिप्राय राख्दैनन्, कहिल्यै परमेश्वरका वचनहरूलाई अभ्यासका सिद्धान्तहरू वा आफ्नो जीवनका दिशा र लक्ष्यका रूपमा लिने योजना गर्दैनन्, र कहिल्यै आफ्नै विचारहरू बदल्ने वा त्याग्ने, वा आफ्नै धारणाहरू रूपान्तरण गर्ने वा त्याग्ने, पूर्ण रूपमा पश्चात्ताप गर्न परमेश्वरसामु आउने, र उहाँसामु लम्पसार परेर उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्विकार्ने योजना गर्दैनन्। तिनीहरूसित यस्ता कुनै अभिप्रायहरू हुँदैनन्। तिनीहरू आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका निम्ति तिनीहरू कति महान्, कति सक्षम, कति शक्तिशाली, वरदानयुक्त, र प्रतिभाशाली छन्, तिनीहरू कसरी परमेश्वरको घरको खम्बा र मेरुदण्ड बन्न सक्छन्, र आदि इत्यादि भन्दै परमेश्वरसामु धाक-रवाफ देखाइरहन्छन्, र यसमार्फत परमेश्वरको घरमा उच्च मानिने, परमेश्वरद्वारा चिनिने, र परमेश्वरको घरमा बढुवा प्राप्त गर्ने लक्ष्य हासिल गर्ने उद्देश्य राख्छन्। त्यति मात्र होइन, तिनीहरू “यो जीवनमा सय गुणा र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्ने” आफ्नो महत्त्वाकाङ्क्षा, चाहना र योजना पनि पूरा गर्न चाहन्छन्। के तिनीहरूले कहिल्यै यी महत्त्वाकाङ्क्षा, चाहना र योजनाहरू त्यागेका हुन्छन्? के तिनीहरूले व्यक्तिपरक रूपमा यी समस्याहरू बुझ्न, त्याग्न, र समाधान गर्न सक्छन्? तिनीहरू कहिल्यै यसो गर्ने योजना गर्दैनन्। परमेश्वरका वचनहरूले चाहे जे भने पनि वा जे खुलासा गरे पनि, उहाँका वचनहरूलाई तिनीहरूले आफूसित जोड्न सके पनि, तिनीहरूलाई तिनीहरूका योजना, सोच, र अभिप्रायहरू परमेश्वरका वचनहरूविपरीत छन् र तीअनुरूप छैनन्, ती सत्यता सिद्धान्तहरूविपरीत जान्छन् र ती ख्रीष्टविरोधीहरूको स्वभावका प्रकटीकरणहरू हुन् भन्ने थाहा भए पनि, तिनीहरू अझै आफ्नै विचार, महत्त्वाकाङ्क्षा र चाहनाहरूमा अडिग रहन्छन्, र तिनीहरूसित आफूलाई बदल्ने, आफ्ना विचारहरू सुल्ट्याउने, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्ने, र परमेश्वरको खुलासा, न्याय, सजाय, र काटछाँट स्विकार्न उहाँसामु आउने कुनै योजना हुँदैनन्। यी मानिसहरू हृदयमा हठी मात्र हुँदैनन्, अहङ्कारी र अभिमानी पनि हुन्छन्—तिनीहरू पूर्ण रूपमा असमझ हुने गरी अहङ्कारी हुन्छन्। त्यो सँगसँगै, तिनीहरू हृदयको गहिराइमा परमेश्वरले बोल्नुभएका हरेक वचनप्रति गहन रूपमा वितृष्ण हुन्छन् र तिनलाई घृणा गर्छन्; तिनीहरू परमेश्वरले गर्नुहुने भ्रष्ट मानवजातिको प्रकृति सारको खुलासा, र विभिन्न भ्रष्ट स्वभावहरूको खुलासालाई घृणा गर्छन्। तिनीहरू बिना कारण परमेश्वर र सत्यतालाई घृणा गर्छन्, सत्यता पछ्याउने र परमेश्वरले प्रेम गर्नुहुनेहरूलाई समेत घृणा गर्छन्। यसले ख्रीष्टविरोधीहरूको स्वभाव वास्तवमै दुष्ट हुन्छ भनेर पूर्ण रूपमा देखाउँछ। परमेश्वर र सत्यताप्रति तिनीहरूका अकारण घृणा, शत्रुता, विरोध, आलोचना, र इन्कारले पनि ख्रीष्टविरोधीहरूमा वास्तवमै क्रूर स्वभाव हुन्छ भन्ने देखाउँछ।
ख्रीष्टविरोधीहरूका विभिन्न स्वभावहरू भ्रष्ट मानवजातिमा हुने स्वभावका ठेट उदाहरणहरू हुन्, र ख्रीष्टविरोधीहरूका विभिन्न स्वभावहरूको गम्भीरता कुनै पनि साधारण भ्रष्ट तुल्याइएको व्यक्तिको भन्दा बढी हुन्छ। परमेश्वरले चाहे जति गहन वा ठोस रूपमा मानवजातिका भ्रष्ट स्वभावहरू खुलासा गर्नुभए नि, ख्रीष्टविरोधीहरूले यसलाई इन्कार र अस्वीकार गर्छन्, यसलाई सत्यता वा परमेश्वरको कामका रूपमा स्विकार्दैनन्। तिनीहरू पर्याप्त मात्रामा दुष्ट, निर्मम, दुर्जन, अनिष्टकर र द्वेषपूर्ण हुनु नै अन्ततः अडिग रूपमा खडा हुने, र यो समाज र दुष्ट प्रवृत्तिहरूमाझ अन्त्यसम्मै पृथक् देखिने र आफ्नो स्थान कायम राख्ने एउटै उपाय हो भनेर मात्र मान्छन् र विश्वास गर्ने गर्छन्। यो ख्रीष्टविरोधीहरूको तर्क हो। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्वरको धर्मी र पवित्र सारप्रति, परमेश्वरको विश्वसनीयता र सर्वशक्तिमान्ताप्रति, साथै यस्तै अन्य सकारात्मक कुराहरूप्रति शत्रुता र घृणा पाल्छन्। मानिसहरूले परमेश्वरको पहिचान, सार र उहाँको सारा कामबारे चाहे जसरी गवाही दिए पनि, र जति नै ठोस र साँचो रूपमा त्यसो गरे पनि, ख्रीष्टविरोधीहरूले स्विकार्दैनन्, तिनीहरूले यो परमेश्वरको काम हो, यसभित्र खोज्नुपर्ने सत्यता हुन्छ, वा यो परमेश्वरबारे ज्ञानको मानवजातिको सबैभन्दा राम्रो शैक्षिक सामग्री र गवाही हो भनेर मान्दैनन्। यस विपरीत, ख्रीष्टविरोधीहरू शैतानले जानीजानी वा अनजानमै गर्ने हरेक सानो कामको प्रशंसामा लम्पसार पर्छन्। शैतानले गर्ने कामकुराहरूलाई मानवजातिमाझ कुलीन वा नीच मानिए पनि, ख्रीष्टविरोधीहरूले यी कुरालाई एकैरूपमा स्वीकार, विश्वास, आराधना, र अनुसरण गर्छन्। तर एउटा कुराबाट चाहिँ ख्रीष्टविरोधीहरूलाई छटपटी हुन्छ: बुद्धले मानिसहरूलाई शुद्ध भूमिमा पुर्याउन सक्छु भनेको छ, र ख्रीष्टविरोधीहरू सोच्छन्: “यो शुद्ध भूमि स्वर्गको राज्य र परमेश्वरले भनेको स्वर्गभन्दा निकृष्ट भएझैँ देखिन्छ—यो खासै आदर्शमयी छैन। शैतान शक्तिशाली छ, र त्यसले मानिसहरूलाई असीमित लाभहरू दिन सक्ने, र तिनीहरूका सारा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न सक्ने भए पनि, त्यसले गर्न नसक्ने कुरा भनेको मानिसहरूलाई प्रतिज्ञा दिने, र स्वर्गको राज्य प्रवेश गरेर अनन्त जीवन प्राप्त गर्न सक्षम तुल्याउने हो। शैतानले यस्तो दाबी गर्ने आँट गर्दैन, न त त्यसले यस्तो कुरा हासिल गर्न नै सक्छ।” हृदयको गहिराइमा, ख्रीष्टविरोधीहरूले यो असोचनीय, र साथसाथै, सबैभन्दा पछुताउनुपर्ने कुरा हो भन्ने महसुस गर्छन्। त्यसकारण, अनिच्छापूर्वक परमेश्वरलाई पछ्याउँदा, तिनीहरू झन् ठूला आशिष्हरू कसरी प्राप्त गर्ने, र तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरू कसले पूरा गर्न सक्छ भन्नेबारे अझै तानाबाना बुन्छन्। तिनीहरूले हिसाब गरेको गर्यै गर्छन्, र अन्ततः तिनीहरूसँग परमेश्वरको घरमै रहने सम्झौता गर्नुको विकल्पै हुँदैन। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूका आधारमा हेर्दा, परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति र दृष्टिकोण के हुन्छ? के तिनीहरूमा अलिकति पनि साँचो विश्वास हुन्छ त? के तिनीहरूमा परमेश्वरमाथिको साँचो आस्था हुन्छ त? के तिनीहरूले परमेश्वरका कार्यहरूलाई अलिकति पनि मान्यता दिन्छन् त? के तिनीहरूले परमेश्वरका वचनहरू सत्यता, जीवन र मार्ग हुन् भन्ने तथ्यलाई हृदयबाटै “आमेन” भन्न सक्छन् त? परमेश्वरले मानवजातिमाझ यस्तो महान् काम गर्नुभएको छ—के ख्रीष्टविरोधीहरूले परमेश्वरको महान् शक्ति र धर्मी स्वभावलाई हृदयको गहिराइबाटै प्रशंसा गर्न सक्छन् त? (सक्दैनन्।) यसको ठ्याक्कै कारण के हो भने, ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचान, सार र उहाँको सारा काम इन्कार्ने भएरै तिनीहरूले उहाँलाई पछ्याउने क्रममा निरन्तर आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गर्छन्, साथै मानिसहरूको निगाह र हृदय जित्ने कोसिस गर्छन्, र मानिसहरूको हृदय नियन्त्रणमा राख्ने र थुन्नेसमेत कोसिस गर्छन्, अनि परमेश्वरका चुनिएका जनहरूका लागि उहाँसित प्रतिस्पर्धा गर्छन्। यी सबै प्रकटीकरणहरूले यो प्रमाणित गर्छन् कि ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्वरको पहिचान र सारलाई मान्दैनन्, वा मानवजाति र यावत् थोक सृष्टिकर्ताको सार्वभौमिकताअन्तर्गत पर्छन् भनेर मान्दैनन्। परमेश्वरको अस्तित्वका सम्बन्धमा ख्रीष्टविरोधीहरूमा हुने विचार, प्रकटीकरण र खुलासाहरूबारे यसअघि हामीले चिरफार गरेको कुरा यही हो। परमेश्वरको अस्तित्व सम्बन्धमा ख्रीष्टविरोधीहरूसँग यी विचार र प्रकटीकरणहरू हुने हुनाले, ख्रीष्ट, देहधारी परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ त? के तिनीहरूले साँच्चिकै उहाँलाई विश्वास गर्न, मान्न, पछ्याउन र उहाँमा समर्पित हुन सक्छन्? (सक्दैनन्।) परमेश्वरको अस्तित्वप्रति ख्रीष्टविरोधीहरूको व्यवहार हेर्दा, तिनीहरूले परमेश्वरको आत्माप्रति यस्तो मनोवृत्ति पाल्छन्, त्यसैले परमेश्वरको देहधारी देहप्रति तिनीहरूको मनोवृत्ति उहाँको आत्माप्रतिभन्दा बढी घृणित हुन्छ, र त्यसका झनै प्रस्ट र गम्भीर प्रकटीकरणहरू हुन्छन् भनेर भन्ने पर्दैन।
आ. ख्रीष्टविरोधीहरूले ख्रीष्टको सार इन्कार गर्छन्
आज, हामी ख्रीष्टविरोधीहरूले, ख्रीष्ट अर्थात् परमेश्वरको देहधारी देहलाई कस्तो व्यवहार गर्छन् भन्नेबारे, परमेश्वरको अस्तित्वमाथि तिनीहरूको अविश्वासमा आधारित भएर, सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन् भन्ने कुरा व्यापक रूपमा मानिएको तथ्य हो। यो सबै सङ्गति, खुलासा, र चिरफारपश्चात्, के तिमीहरूले ख्रीष्टविरोधीहरूका स्वभाव र प्रकटीकरणहरूबारे केही ठोस बुझाइ प्राप्त गरेका छौ? तिनीहरूले देहधारी परमेश्वरले गरेको काम, वा परमेश्वर देह बनेको तथ्य स्विकारे वा नस्विकारे पनि, वास्तवमा, तिनीहरूले परमेश्वरको अस्तित्वलाई इन्कार गर्छन्। त्यसैले, तिनीहरू ठ्याक्कै कस्ता मानिसहरू हुन्? ठ्याक्कै भन्नुपर्दा, तिनीहरू अवसरवादी अविश्वासीहरू हुन्, तिनीहरू फरिसीहरू हुन्। तिनीहरूमध्ये कतिपय त प्रस्ट रूपमै दुष्ट देखिन्छन्, जबकि अरूचाहिँ परिष्कृत, सम्मानजनक, र आदर्शमयी व्यवहारसहित नम्र देखिन्छन्—तिनीहरू खाँटी फरिसीहरू हुन्। यी दुई दुष्ट देखिनेहरू र भक्त देखिने तर दुष्ट नदेखिनेहरू, यी दुई थरीका मानिसहरूको कुरा आउँछ, यदि तिनीहरूले मूलभूत रूपमा परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन् भने, के हामीले तिनीहरू अविश्वासी हुन् भन्न मिल्छ? (मिल्छ।) आज हामी अविश्वासीहरूमा ख्रीष्टप्रति के-कस्ता विचार र मनोवृत्तिहरू हुन्छन्, तिनीहरूले ख्रीष्टका विभिन्न पक्षहरूप्रति कस्ता प्रकटीकरणहरू देखाउँछन्, र हामीले यी प्रकटीकरणहरूमार्फत ख्रीष्टविरोधीहरूको सार कसरी बुझ्न सक्छौँ भन्नेबारे सङ्गति गरिरहेका छौँ।
क. ख्रीष्टविरोधीहरू ख्रीष्टको उत्पत्तिलाई कसरी लिन्छन्
जब ख्रीष्टको कुरा आउँछ, जो विशेष पहिचान भएको एक साधारण व्यक्ति हुनुहुन्छ, मानिसहरूले प्राय: केके कुरामा सबैभन्दा बढी चासो राख्छन्? सर्वप्रथम, के धेरै मानिसहरूले उहाँको उत्पत्तिबारे चासो राख्दैनन् र? त्यही नै मानिसहरूको ध्यानको केन्द्रबिन्दु हुन्छ। त्यसैले, पहिला ख्रीष्टविरोधीहरूले ख्रीष्टको उत्पत्तिलाई कसरी लिन्छन् भन्नेबारे सङ्गति गरौँ। यसबारे सङ्गति गर्नुअघि, परमेश्वर देहधारी बन्नुहुँदा उहाँले उहाँको देहको उत्पत्तिका विभिन्न पक्षहरूको कसरी योजना गर्नुभयो भन्नेबारे कुरा गरौँ। सबैलाई थाहै छ, अनुग्रहको युगको अवधिमा, ख्रीष्टलाई पवित्र आत्माले गर्भाधान गर्नुभएको र एउटी कुमारीले जन्माएको हो। उहाँ अत्यन्तै साधारण, सामान्य परिवारमा जन्मिनुभएको थियो, जसलाई आजको दिनमा सर्वसाधारणको घर भनिनेथ्यो। उहाँ कुनै धनी, आधिकारिक, वा प्रतिष्ठित ठूलो परिवारमा जन्मिनुभएको थिएन—उहाँ त गोठमा जन्मिनुभएको थियो, जुन निकै असोचनीय र सबैको कल्पनाभन्दा बाहिरको कुरा थियो। परमेश्वरको पहिलो देहधारी देहको उत्पत्तिको हरेक पक्ष हेर्दा, देहधारी परमेश्वर जन्मिनुभएको परिवार निकै साधारण थियो। उहाँकी आमा, मरियम पनि साधारण नै थिइन्, र कुनै विशिष्ट व्यक्ति थिइनन्, र उनमा निश्चय नै कुनै विशेष शक्ति, वा असाधारण र अद्वितीय प्रतिभाहरू थिएनन्। तर, उनी कुनै अविश्वासी वा गैरविश्वासी नभएर परमेश्वरकी अनुयायी थिइन् भन्ने कुरा याद गर्नलायक छ। यो निकै महत्त्वपूर्ण कुरा हो। मरियमका श्रीमान् यूसुफ सिकर्मी थिए। सिकर्मी भनेको एकप्रकारको शिल्पकार हो, र उनको आय औसत थियो, तर उनी धनी थिएनन् र उनीसँग खर्च गर्ने धेरै पैसा थिएन। यद्यपि, उनी अत्यन्तै गरिबचाहिँ थिएनन्, र उनले आफ्नो परिवारका सारा आधारभूत आवश्यकताहरू पूरा गर्न सक्थे। प्रभु येशू यस्तो परिवारमा जन्मिनुभएको थियो; आजको दिनको आय र जीवनयापनका मानकहरूका आधारमा भन्ने हो भने, उहाँको परिवारलाई बल्लबल्ल मध्यम वर्गीय कहलिन सकिन्थ्यो। के यस्तो परिवारलाई मानवजातिमाझ कुलीन मानिनेथियो कि निम्न स्तरीय? (निम्न स्तरीय।) त्यसकारण, प्रभु येशू जुन परिवारमा जन्मिनुभएको थियो, त्यो चर्चित, धनी, वा प्रतिष्ठित छँदै थिएन, र आजकाल उच्च वर्गीय मानिनेजस्तो त झनै थिएन। धनी वा उच्च हैसियत भएका परिवारका छोराछोरीहरू बाहिर जाँदा, मानिसहरू प्रायः तिनीहरूलाई घेर्छन्, र तिनीहरूको वरपर झुम्मिन्छन्, तर प्रभु येशूको परिवार त्यसको उल्टो थियो। उहाँ विलासी जीवन अवस्था वा उल्लेखनीय हैसियतबिनाको परिवारमा जन्मिनुभएको थियो। त्यो नजरअन्दाज गरिने र मानिसहरूले बेवास्ता गर्ने निकै साधारण परिवार थियो, र कोही पनि उनीहरूको प्रशंसा गाउने र उनीहरूको वरपर झुम्मिने गर्दैनथे। त्यो समयको त्यस्तो पृष्ठभूमि र सामाजिक वातावरणमा, के ख्रीष्ट उच्च शिक्षा प्राप्त गर्ने वा उपल्लो समाजका विभिन्न जीवनशैली, सोचविचार, दृष्टिकोण आदि इत्यादिद्वारा प्रभावित र सङ्क्रमित हुने अवस्थामा हुनुहुन्थ्यो त? प्रस्ट रूपले नै हुनुहुन्थेन। उहाँले सामान्य शिक्षा प्राप्त गर्नुभयो, घरमै धर्मशास्त्रहरू पढ्नुभयो, उहाँका आमाबुबाको मुखबाट कथाहरू सुन्नुभयो, र उनीहरूसँगै मण्डली सेवाहरूमा सहभागी हुनुभयो। सबै हिसाबमा, प्रभु येशूको उत्पत्ति र उहाँ हुर्कनुभएको परिवेश प्रतिष्ठित, वा मानिसहरूले कल्पना गरेजस्तो कुलीन थिएनन्। उहाँ जुन वातावरणमा हुर्किनुभयो, त्यो कुनै साधारण व्यक्तिकै जस्तो थियो। उहाँको दैनिक जीवन सरल र साधारण थियो, उहाँका जीवन अवस्थाहरू औसत व्यक्तिकै जस्ता थिए, ती विशेष थिएनन्, र उहाँसँग समाजका माथिल्लो तहका विशेष र श्रेष्ठतर जीवन अवस्थाहरू थिएनन्। पहिलो देहधारी परमेश्वर जन्मिनुभएको परिवेश, र उहाँ हुर्किनुभएको वातावरण यही थियो।
यस पटक देहधारी परमेश्वरको लिङ्ग पछिल्लो पटक भन्दा पूरै फरक भए पनि, उहाँको पारिवारिक पृष्ठभूमि उस्तै गरी साधारण, र उल्लेखनीय हैसियतबिनाकै छ। कतिपयले सोध्छन्, “कति साधारण?” अहिलेको युगमा, साधारण भन्नुको अर्थ सामान्य जीवन वातावरण हो। ख्रीष्ट एक श्रमिकको परिवारमा जन्मिनुभयो, जुन परिवार जीविकोपार्जनका लागि ज्यालामा निर्भर हुन्छ, जसले आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न सक्छ, तर धनीहरूजतिकै सम्पन्न हुँदैन। ख्रीष्टको साधारण मानिसहरूसँग उठबस थियो, र उहाँले साधारण मानिसहरूकै जीवन जिउनुभयो; उहाँ यस्तै वातावरणमा जिउनुभएको थियो, त्यसमा विशेष कुरा केही थिएन। सामान्यतया, के श्रमिक परिवारका छोराछोरीहरू कलात्मक सीप सिक्ने अवस्थामा हुन्छन् र? के तिनीहरूसँग उच्च समाजमा प्रचलित विभिन्न विचारहरूसित परिचित हुने अवसर हुन्छ र? (हुँदैन।) तिनीहरू विभिन्न सीपहरू सिक्ने अवस्थामा नहुने मात्र नभई, अझ बढी, तिनीहरूसँग उच्च समाजका मानिस, घटना, र कामकुराहरूसित अन्तरक्रिया गर्ने अवसरहरूसमेत हुँदैन। यो दृष्टिकोणबाट हेर्दा, यसपटक देहधारी परमेश्वर निकै साधारण परिवारमा जन्मिनुभएको छ। उहाँका आमाबुबा सम्मानित तरिकाले दिन कटाउने मानिसहरू हुन्, उनीहरूको जीविका उनीहरूका काम र जागिरमा निर्भर छ, र उनीहरूका जीवन अवस्थाहरू औसत छन्। यस्ता अवस्थाहरू आधुनिक समाजमा सबैभन्दा आम छन्। गैरविश्वासीहरूको दृष्टिकोणबाट हेर्दा, ख्रीष्टको जन्म वातावरणमा कुनै श्रेष्ठतर परिस्थितिहरू थिएनन्, र उहाँको पारिवारिक पृष्ठभूमि वा जीवनको गुणस्तरमा घमण्ड गर्नलायक केही थिएन। कतिपय प्रसिद्ध मानिसहरू विद्वत्तापूर्ण परिवारमा जन्मेका छन्; तिनीहरूका पुर्खाहरू सबै शिक्षक र वरिष्ठ बुद्धिजीवी थिए। तिनीहरू यही वातावरणमा, यससँगैको विद्वत्तापूर्ण परिवारको शैली र चालढालसँगै हुर्किए। के परमेश्वरले उहाँको देहधारी देहका लागि त्यस्तै पारिवारिक पृष्ठभूमि रोज्नुभयो त? रोज्नुभएन। यस पटक पनि देहधारी परमेश्वरको विशिष्ट पारिवारिक पृष्ठभूमि र नामी सामाजिक हैसियत छैन, र उहाँसित श्रेष्ठतर जीवन वातावरण हुनु त झन् परै जाओस्—उहाँको परिवार अत्यन्तै साधारण परिवार हो। देहधारी परमेश्वरले किन यस्तो परिवार, जीवन वातावरण, र हुर्किने पृष्ठभूमि रोज्नुभयो भन्नेबारे अहिले नै छलफल गरी नहालौँ; हामी अहिलेका लागि यसको महत्त्वबारे कुरा गर्नेछैनौँ। ल भन् त, के कतिपय मानिसहरू ख्रीष्ट विश्वविद्यालय जानुभयो कि भएन भन्नेबारे चासो राख्दैनन् र? म तिमीहरूलाई सत्य कुरा भन्नेछु: कलेजको प्रवेश परीक्षा दिनुअघि नै म विद्यालय जान छोडेँ र मैले १७ वर्षको उमेरमै घर छोडेँ। त्यसोभए, के म विश्वविद्यालय गएँ त? (जानुभएन।) तिमीहरूका लागि यो खबर नराम्रो हो कि राम्रो हो? (मलाई लाग्छ, यो जानेर केही फरक पर्दैन, यो परमेश्वरलाई पछ्याउनुसँग असान्दर्भिक छ।) त्यो सही दृष्टिकोण हो। मैले यसअघि यो कुरा कहिल्यै उल्लेख गरेको छैन, मैले यो कुरा लुकाउन वा ढाकछोप गर्न चाहेर होइन, बरु यो भन्नु जरुरी नभएर मैले भनिनँ, किनभने यस्ता कुराहरू परमेश्वरलाई जान्नु र पछ्याउनुसँग पूरै असान्दर्भिक छन्। देहधारी परमेश्वरको जन्मको पृष्ठभूमि, उहाँको पारिवारिक वातावरण, र उहाँ हुर्कनुभएको वातावरणले परमेश्वर वा देहधारी परमेश्वरलाई चिन्नमा कुनै प्रभाव पार्दैनन्, र यससँग यी कुराहरूको वास्तवमै कुनै सम्बन्ध हुँदैन, तैपनि किन म यहाँ यी मामलाहरू सम्बोधन गरिरहेको छु त? यो कुरा आज हामीले चिरफार गरिरहेको ख्रीष्टविरोधीहरूको ख्रीष्टसम्बन्धी एउटा विचारसँग जोडिएको छ। परमेश्वरले उहाँको देहधारी देहका लागि कुनै नामी हैसियत, कुलीन पहिचान, वा विशिष्ट परिवार र सामाजिक पृष्ठभूमि रोज्नुभएन, र उहाँले आफ्नो हुर्काइका लागि श्रेष्ठतर, निस्फिक्री, सम्पन्न, विलासी वातावरण त झनै रोज्नुभएन। परमेश्वरले उच्च शिक्षा लिन सक्ने वा उपल्लो समाजको सम्पर्कमा आउने पारिवारिक पृष्ठभूमि पनि रोज्नुभएन। परमेश्वर देहधारी बन्नुहुँदा उहाँले रोज्नुभएका यी पक्षहरूलाई ख्याल गर्दा, के यी कुराहरूले ख्रीष्ट जुन काम गर्न आउनुभएको थियो, त्यसमा कुनै प्रभाव पार्थे र? (पार्थेनन्।) उहाँको पछिल्लो कामको प्रक्रिया, प्रकृति, र नतिजाहरू हेर्दा, यी पक्षहरूले परमेश्वरको कामका योजना, कदम, वा नतिजाहरूमा कुनै पनि तरिकाले असर गर्दैनन्, बरु त्यस विपरीत, उहाँको रोजाइका यी पक्षहरूको एउटा निश्चित फाइदा छ, जुन के हो भने, उहाँले यस्तो वातावरणमा जन्मिन रोज्नु परमेश्वरका चुनिएका मानिसहरूको मुक्तिका लागि झनै लाभदायक छ, किनभने तिनीहरूमध्येका ९९ प्रतिशत मानिसहरू त्यस्तै पृष्ठभूमिबाट आउँछन्। यो देहधारी परमेश्वरको उत्पत्तिको महत्त्वको एउटा पक्ष हो, जुन मानिसहरूले बुझ्नुपर्छ।
भर्खरै, मैले ख्रीष्टको जन्मको पृष्ठभूमि र वातावरणबारे सरल, फराकिलो रूपमा कुरा गरेँ, ताकि तिमीहरूलाई यसबारे सामान्य बुझाइ मिलोस्। अब, ख्रीष्टविरोधीहरूले देहधारी परमेश्वरको उत्पत्तिलाई कसरी लिन्छन् भन्ने कुरालाई चिरफार गरौँ। पहिलो कुरा त, ख्रीष्टविरोधीहरूले ख्रीष्टको जन्मको वातावरण र पृष्ठभूमिलाई गुप्त रूपले तिरस्कार गर्छन् र त्यसप्रति अवज्ञा महसुस गर्छन्। तिनीहरूले किन यसलाई तिरस्कार गर्छन् र त्यसप्रति अवज्ञा महसुस गर्छन्? किनभने तिनीहरूले आफूभित्र सोच र धारणाहरू पालेका हुन्छन्। यसबारे तिनीहरूको दृष्टिकोण के हुन्छ? “परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँ सबैमाथि सर्वोच्च हुनुहुन्छ, उहाँ स्वर्गभन्दा माथि, साथै मानवजाति र अन्य सारा सृजित प्राणीहरूभन्दा माथि हुनुहुन्छ। यदि उहाँ परमेश्वर हुनुहुन्छ भने, उहाँ मानवजातिमाझ सबैभन्दा उच्च स्थानमा उठ्नुपर्छ।” तिनीहरूले उहाँ सबैभन्दा उच्च स्थानमा उठ्नुपर्छ भन्नुको मतलब के हो? तिनीहरूको मतलब उहाँ सबै जनाभन्दा उत्कृष्ट हुनुपर्छ, उहाँ एक विशिष्ट, ठूलो कुलीन परिवारमा जन्मिनुपर्छ, र उहाँलाई कुनै कुराको कमी हुनु हुँदैन; उहाँ धनी परिवारमा जन्मिनुपर्छ, उहाँसँग पूर्ण शक्ति, साथै अख्तियार र प्रभाव हुनुपर्छ, र उहाँ निकै धनी र अरबपति हुनुपर्छ। साथ साथै, उहाँ अत्यन्तै शिक्षित, यो संसारमा मानवले सिक्नुपर्ने सबथोक सिकेको हुनुपर्छ। उदाहरणका लागि, कुनै युवराजझैँ, उहाँले एकल शिक्षा प्राप्त गर्नुपर्छ, कुलीन विद्यालय जानुपर्छ, र माथिल्लो वर्गको जीवन जिउनुपर्छ। उहाँ कुनै साधारण परिवारको बच्चा हुनु हुँदैन। ख्रीष्ट देहधारी देह हुनुभएकाले, उहाँको शिक्षा अरू सबैको भन्दा बढी हुनुपर्छ, र उहाँको पाठ्यसामग्री साधारण मानिसहरूको भन्दा बेग्लै हुनुपर्छ। तिनीहरू सोच्छन् कि ख्रीष्ट राजाका रूपमा शासन गर्न आउनुहुने भएकाले उहाँले शासनकला, साथै मानवजातिलाई शासन र नियन्त्रण कसरी गर्ने भनी सिक्नुपर्छ, छत्तीस युक्तिहरू अध्ययन गर्नुपर्छ, साथै धेरै भाषाहरू र केही कलात्मक सीपहरू सिक्नुपर्छ, ताकि यी कुराहरूलाई उहाँको भावी काममा उपयोग गर्न सकियोस्, र भविष्यमा उहाँले हर प्रकारका मानिसहरूलाई शासन गर्न सक्नुहोस्। तिनीहरूका लागि, यस्तो ख्रीष्ट मात्र कुलीन, महान्, र मानिसहरूलाई मुक्ति दिन सक्षम हुनुहुनेछ, किनभने उहाँसँग पर्याप्त ज्ञान र प्रतिभाहरू हुनेछन्, र मानिसहरूलाई नियन्त्रण गर्न तिनीहरूको मन पढ्न सक्ने पर्याप्त क्षमता हुनेछ। ख्रीष्टविरोधीहरूले देहधारी परमेश्वरको देहको उत्पत्तिबारे यस्ता धारणाहरू पाल्छन् र देहधारी परमेश्वरलाई स्विकार्दै गर्दा तिनीहरू यी धारणाहरूमा अडिन्छन्। सर्वप्रथम, तिनीहरूले आफ्ना धारणाहरू पन्छाउँदैनन् र परमेश्वरले फेरि सुरुदेखि गर्नुहुने कामलाई हृदयको गहिराइबाट बुझ्न वा बोध गर्न पुग्दैनन्। तिनीहरू आफ्नै धारणा र विचारहरू नकार्ने, वा आफूले पालेका भ्रमहरू बुझ्ने गर्दैनन्, र तिनीहरू ख्रीष्ट र परमेश्वरको देहधारी देहलाई जान्न र ख्रीष्टले भन्नुहुने र गर्नुहुने सबथोकलाई सत्यतामा समर्पित हुने मनोवृत्ति र सिद्धान्तका साथ स्विकार्न पुग्दैनन्। बरु, तिनीहरू ख्रीष्टले भन्नुहुने सबथोकलाई आफ्नै धारणा र विचारहरूद्वारा मापन गर्छन्। “ख्रीष्टको यो भनाइ तर्कसङ्गत छैन; त्यो नराम्रो शब्दमा भनिएको छ; यसमा व्याकरणीय त्रुटि छ; ख्रीष्ट त्यति शिक्षित हुनुहुन्न भनेर भन्न सकिन्छ। के उहाँ सामान्य व्यक्तिझैँ बोलिरहनुभएको छैन र? ख्रीष्टले कसरी यसरी बोल्न सक्नुहुन्छ? यो उहाँको गल्ती होइन। वास्तवमा, उहाँ पनि विशिष्ट हुन, अरूबाट सम्मान पाउन चाहनुहुन्छ, तर त्यो सम्भव छँदै छैन—उहाँ राम्रो परिवारबाट आउनुभएको होइन। उहाँका आमाबुबा साधारण मानिस मात्र थिए, र उनीहरू जेजस्ता थिए, त्यसले उहाँलाई पनि त्यस्तै प्रकारको व्यक्ति बन्न प्रभावित गरेको छ। परमेश्वरले कसरी यसो गर्न सक्नुहुन्थ्यो र? ख्रीष्टका वचनहरू र शैली किन त्यति शिष्ट र कुलीन देखिँदैनन्? किन उहाँसँग समाजका विद्वान् र परिष्कृत बुद्धिजीवीहरूको जस्तो, समाजको माथिल्लो वर्गका राजकुमारी र राजकुमारहरूको जस्तो बोली र हाउभाउ छैनन्? किन ख्रीष्टका वचन र कार्यहरू उहाँको पहिचानसित अत्यन्तै नमिल्दो देखिन्छन्?” ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई हेर्दा, उहाँका सारा वचन र कामलाई हेर्दा, र उहाँले मानिसहरूलाई गर्ने व्यवहार, र उहाँको बोली र हाउभाउलाई हेर्दा, यस्तो विचार र अवलोकनकारी दृष्टिकोण पाल्छन्, अनि तिनीहरूको हृदयमा अपरिहार्य रूपमै धारणाहरू पैदा हुन्छन्। तिनीहरू ख्रीष्टप्रति समर्पित नहुने मात्र होइन, तिनीहरूले उहाँका वचनहरूप्रति सही व्यवहार गर्नसमेत सक्दैनन्। तिनीहरू यसो भन्छन्, “के यस्तो साधारण व्यक्ति, यस्तो सामान्य व्यक्ति मेरो मुक्तिदाता हुन सक्छ र? के उनले मलाई आशिष् दिन सक्छन् र? के मैले उनीबाट कुनै लाभहरू प्राप्त गर्न सक्छु र? के मेरा इच्छा र आकाङ्क्षाहरू पूरा हुन सक्छन् र? यी व्यक्ति यति साधारण छन्, उनी त हेयको दृष्टिले हेरिन लायक छन्।” ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई जति बढी साधारण र औसत ठान्छन्, र ख्रीष्टलाई जति बढी अति सामान्य सोच्छन्, त्यति नै बढी तिनीहरूले आफूलाई उच्च र कुलीन ठान्छन्। सँगसँगै, कतिपय ख्रीष्टविरोधीहरूले त यस्तो तुलनासमेत गर्छन्, “तिमी सानै छौ र पोसाक लाउन वा मानिसहरूसित कुराकानी गर्न जान्दैनौ। तिमी मानिसहरूबाट कुरा धुत्न जान्दैनौ। तिमी किन यति सिधा छौ? तिमीले भनेको कुनै पनि कुरा कसरी परमेश्वरसित मिल्दोजुल्दो हुन्छ र? तिमीले भनेको कुनै पनि कुराले कसरी तिमी परमेश्वर हौ भन्ने जनाउँछ र? तिम्रा कार्य, बोली, व्यवहार, हाउभाउ, र लवाइ कसरी परमेश्वरसित मिल्दोजुल्दो छन् र? मलाई त तिमी यी कुनै पनि हिसाबमा परमेश्वरसँग मिल्दोजुल्दो छौ जस्तो लाग्दैन। ख्रीष्ट त उच्च शिक्षाप्राप्त, बाइबलबारे सबै कुरा थाहा भएको, र कुशल वक्ता हुनुपर्छ, तर तिमी त सधैँ एउटै कुरा दोहोर्याउँछौ र कहिलेकाहीँ अनुचित वचनहरूसमेत प्रयोग गर्छौ।” धेरै वर्षसम्म ख्रीष्टलाई पछ्याएपछि, ख्रीष्टविरोधीहरूले हृदयमा परमेश्वरका वचनहरू र सत्यता नस्विकारेका मात्र हुँदैनन्, तिनीहरूले त ख्रीष्ट परमेश्वरको देहधारी देह हुनुहुन्छ भन्ने तथ्य पनि स्विकारेका हुँदैनन्। यो तिनीहरूले ख्रीष्टलाई आफ्नो मुक्तिदाताका रूपमा नस्विकार्नु बराबर हो। यसको साटो, तिनीहरूले हृदयमा परमेश्वरको देहधारी देह, अर्थात् यो साधारण व्यक्तिलाई झनै बढी तिरस्कार गर्छन्। तिनीहरूले ख्रीष्टमा कुनै पनि विशेष कुरा नदेख्ने हुनाले, उहाँको उत्पत्ति निकै सामान्य र साधारण भएकाले, र उहाँले समाज वा मानवजातिमाझ तिनीहरूलाई कुनै लाभ दिन वा तिनीहरूलाई कुनै फाइदाको आनन्द उठाउन सक्षम तुल्याउन नसक्ने देखिने हुनाले, तिनीहरू जथाभाबी र खुलेआम उहाँको आलोचना गर्न थाल्छन्, “के तिमी केवल फलानो-ढिस्कानो परिवारको बच्चा होइनौ र? त्यसोभए मैले तिम्रो आलोचना गर्दा के बिग्रिन्छ? तिमीले मलाई के गर्न सक्छौ? यदि तिम्रो परिवार विख्यात भएको भए वा तिम्रा आमाबुबा आधिकारिक पदमा भएका भए, मलाई तिम्रो डर लाग्न सक्थ्यो। तिमी यस्तै हौ भने त, म तिमीदेखि किन डराउनु र? त्यसकारण, तिमी ख्रीष्ट, परमेश्वरले गवाही दिनुभएको देहधारी देह नै भए पनि, मलाई तिम्रो डर लाग्दैन! म अझै पनि तिम्रो पिठ्यूँपछाडि तिम्रो आलोचना गर्नेछु, र निर्बाध रूपमा तिमीबारे टिप्पणी गर्नेछु। मौका पाउनेबित्तिकै म तिम्रो परिवार र जन्मस्थलबारे अध्ययन गर्नेछु।” ख्रीष्टविरोधीहरूलाई किचलो गर्न सबैभन्दा मनपर्ने कुराहरू यिनै हुन्। तिनीहरू कहिल्यै सत्यता खोज्दैनन्, र तिनीहरूका धारणा र कल्पनाहरूसित नमिल्ने जुनसुकै कुरालाई तिनीहरूले बारम्बार आलोचना र प्रतिरोध गर्छन्। यी मानिसहरूलाई ख्रीष्टले जे व्यक्त गर्नुहुन्छ त्यो सत्यता हो भनेर राम्ररी थाहा छ, त्यसोभए तिनीहरूले किन सत्यता पछ्याउँदैनन्? तिनीहरू साँच्चिकै असमझ छन्!
ख्रीष्टविरोधीहरूले शक्ति र हैसियतलाई अत्यन्तै आराधना गर्छन्। यदि ख्रीष्ट कुनै सम्पन्न, शक्तिशाली परिवारबाट आउनुभएको भए, तिनीहरूले केही भन्ने आँट गर्नेथिएनन्। तर यदि उहाँ शक्तिबिनाको एक साधारण परिवारबाट आउनुभएको भए, तिनीहरू उहाँदेखि पटक्कै डराउनेथिएनन्, तिनीहरूलाई आफूले परमेश्वर, ख्रीष्टलाई सजिलै अध्ययन र आलोचना गर्न मिल्छ भन्ने लाग्नेथियो, र तिनीहरू यसबारे पूर्णतया निस्फिक्री रहनेथिए। यदि तिनीहरूले यो व्यक्ति परमेश्वरको देहधारी देह हो भनेर साँच्चै मान्न र विश्वास गर्ने भए, के तिनीहरूले यसरी व्यवहार गर्न सक्थे त? के परमेश्वरको अलिकति भए पनि डर मान्ने हृदय भएको कसैले यसो गर्नेथ्यो होला त? के उसले आफूलाई रोक्नेथिएन र? (रोक्नेथियो।) कस्ता मानिसहरूले यसरी व्यवहार गर्न सक्छन्? के यो ख्रीष्टविरोधीहरूको व्यवहार होइन र? (हो।) यदि तैँले ख्रीष्टको सार भनेको परमेश्वर स्वयम् हो र तैँले पछ्याउने व्यक्ति परमेश्वर हुनुहुन्छ भनेर मान्छस् भने, तैँले ख्रीष्टसँग सम्बन्धित सबथोकलाई कसरी हेर्नुपर्छ? के मानिसहरूसित सिद्धान्तहरू हुनुपर्दैन र? (हुनुपर्छ।) त्यसोभए तिनीहरू किन कुनै संशयबिना यी सिद्धान्तहरू उल्लङ्घन गर्ने आँट गर्छन् त? के यो ख्रीष्टप्रति शत्रुताको प्रकटीकरण होइन र? ख्रीष्ट एक साधारण परिवारमा जन्मिनुभएकोले, ख्रीष्टविरोधीहरू उहाँसित असन्तुष्ट महसुस गर्दै गर्दा उहाँका परिवार र पारिवारिक सदस्यहरूप्रति पनि शत्रुता पाल्छन्। अनि तिनीहरूमा यो शत्रुता उत्पन्न हुँदै गर्दा, तिनीहरू त्यहीँ रोकिने वा विश्राम लिने गर्दैनन्, बरु तिनीहरू ख्रीष्टको घर वरपर डुलिरहन्छन् र अवसर पाउनेबित्तिकै सोधपुछ गरिहाल्छन्, मानौँ तिनीहरू कुनै जायज पेसामा संलग्न छन्: “के ख्रीष्ट फर्किआएका छन्? के ख्रीष्ट देखा परेदेखि परिवारको जीवनको कुनै पक्ष परिवर्तन भएको छ?” तिनीहरूले हरेक अवसरमा यी मामलाहरूमा नाक घुसाउँछन्। के यस्ता मानिसहरू तिरस्कारयोग्य हुँदैनन् र? के तिनीहरू घिनलाग्दा हुँदैनन् र? के तिनीहरू घृणास्पद हुँदैनन् र? तिनीहरू अत्यन्तै घृणास्पद र घिनलाग्दा हुन्छन्! परमेश्वरमाथि तिनीहरूको आस्था कस्तो छ भन्ने कुरा अहिलेका लागि थाती राखौँ, र यति मात्र ख्याल गरौँ: यस्ता कामकुराहरू गर्न र यस्ता घिनलाग्दा सोचहरू पाल्न सक्ने मानिसहरूको चरित्र कस्तो हुन्छ होला? तिनीहरू पक्कै पनि निकृष्ट चरित्रको हुनुपर्छ। तिनीहरू सबै निम्नस्तरीय, घृणास्पद र हदैसम्म घिनलाग्दा हुन्छन्! यदि तँ ख्रीष्टमा विश्वास गर्दैनस् भने, तैँले मलाई प्रस्ट रूपमा भने हुन्छ, “तिमी त परमेश्वरजस्तो देखिँदैनौ; तिमी त एक व्यक्ति मात्र हौ। मैले तिम्रो पिठ्यूँपछाडि तिम्रो आलोचना गरेको छु—तिमीले त्यसबारे के गर्न सक्छौ? मैले तिमीलाई इन्कार गरेको छु—तिमीले त्यसबारे के गर्न सक्छौ?” यदि तँ विश्वास गर्दैनस् भने, म तँलाई जबरजस्ती गर्नेछैनँ, र तैँले विश्वास गर्नुपर्छ भनेर कसैले करकाप गर्नेछैन। तर तँ गोप्य रूपमा यी तुच्छ कार्यहरूमा संलग्न हुनु आवश्यक छैन। तिनले के उद्देश्य पूरा गर्छन्? के तिनले तँलाई तेरो आस्था बढाउन मदत गर्न सक्छन्? के तिनले तेरो जीवनमा प्रगति गराउन मदत गर्छन्, कि तँलाई परमेश्वरबारे अझ बढी बुझ्न मदत गर्छन्? तिनले यी कुनै पनि उद्देश्य पूरा गर्दैनन्, तब किन ती कुरामा संलग्न हुन्छस्? कम्तीमा पनि, यस्ता कार्यहरूमा संलग्न हुनेहरूको मानवता अत्यन्तै निकृष्ट हुन्छ; तिनीहरू ख्रीष्टको सारमा विश्वास गर्ने वा उहाँको पहिचानलाई मान्ने गर्दैनन्। यदि तँलाई विश्वास लाग्दैन भने विश्वास नगर्। गइहाल्! किन परमेश्वरको घरमा आफ्नो बसाइ लम्ब्याउँछस्? परमेश्वरमा विश्वास नगर्नु तैपनि आशिष्हरू चाहनु र महत्त्वाकाङ्क्षा र चाहनाहरू पाल्नु—यो नै ख्रीष्टविरोधीहरूको नीचता हो। यस्ता मानिसहरू अत्यन्तै घृणास्पद हुने भएकाले यस्ता “असाधारण” कार्यहरू गर्न सक्षम हुन्छन्। म २० वर्ष घरबाट टाढा थिएँ, र यी मानिसहरूले २० वर्षसम्मै त्यो घरको “राम्रो हेरचाह गरे”; म ३० वर्षसम्म टाढा थिए, र तिनीहरूले ३० वर्षसम्मै त्यसको “हेरचाह गरे।” मलाई तिनीहरू किन यति “दयालु” र फुर्सदिला छन् भनेर अचम्म लाग्यो। मैले यो प्रश्नको जवाफ भेट्टाएँ, र त्यो के हो भने, तिनीहरू अन्त्यसम्मै परमेश्वरको विरोध गर्न चाहन्छन्। तिनीहरू परमेश्वरको सार वा उहाँले गर्नुभएको सबथोकमा विश्वास गर्दैनन्। सतहमा, तिनीहरू जिज्ञासु र उत्सुक देखिन्छन्, तर सारमा, तिनीहरू निगरानी गरिरहेका र गलचेपहरू खोजिरहेका हुन्छन्, भित्री रूपमा तिनीहरू शत्रुवत्, अनि इन्कार्ने र निन्दा गर्ने हुन्छन्। यी मानिसहरू किन अझै पनि विश्वास गर्छन्? तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको के अर्थ छ? तिनीहरू विश्वास गर्न छाडेर यहाँबाट तुरुन्तै निस्किनुपर्छ! परमेश्वरको घरलाई यस्ता मानिसहरू चाहिँदैन। तिनीहरूले आफैलाई लज्जित तुल्याउनु हुँदैन! के तिमीहरूले पनि यस्तै परिस्थिति र अवस्थाहरूमा यस्तै गर्नेथियौ? यदि यसो गर्न सक्नेथियौ भने, तिमीहरू पनि अन्त्यसम्मै परमेश्वरको विरोध गर्न दृढ रहने, नमरेसम्म नथाक्ने, र परमेश्वर, उहाँको सार, र उहाँको पहिचानलाई इन्कार्न उहाँविरुद्ध गलचेपहरू र प्रमाण खोज्ने कोसिस गरिरहेका ख्रीष्टविरोधीहरूको समूहजस्तै छौ।
परमेश्वरले चाहे जे गर्नुभए पनि, उहाँ कहिल्यै गलत हुनुहुन्न। उहाँ चाहे कुनै सामान्य, साधारण वा चाहे कुनै प्रतिष्ठित वातावरण र पृष्ठभूमिमा जन्मिनुभएको भए पनि, यसमा कुनै त्रुटि हुन्थेन, र त्यसमा मानिसहरूले उहाँविरुद्ध गलचेप निकाल्ने कुनै ठाउँ रहनेथिएन। यदि तैँले परमेश्वर ख्रीष्ट हुनुहुन्न वा उहाँमा परमेश्वरको सार छैन भनी प्रमाणित गर्न परमेश्वरको देहधारी देहमा कुनै त्रुटि वा प्रमाण खोज्ने कोसिस गर्छस् भने, म तँलाई भन्छु, तैँले कोसिस गर्ने कष्ट नगरे हुन्छ, र विश्वास गर्ने कष्ट पनि नगरे हुन्छ। बस यहाँबाट गइहाल्—के तँ त्यसपछि त्यो कष्टबाट जोगिनेछैनस् र? तेरो आफ्नै जीवन किन यति गाह्रो बनाउँछस्? ख्रीष्टलाई दोष लगाउन, इन्कार्न वा निन्दा गर्नका लागि उहाँमा त्रुटि वा प्रमाण खोज्ने कोसिस गर्नु तेरो मान्य पेसा, कर्तव्य वा जिम्मेवारी होइन। ख्रीष्ट जस्तोसुकै परिवारमा जन्मिनुभएको भए पनि, जस्तोसुकै वातावरणमा हुर्किनुभएको भए पनि, वा उहाँसँग जस्तोसुकै मानवता भए पनि, यो परमेश्वर स्वयम्, सृष्टिकर्ताको छनौट थियो, र कसैसँग यसको कुनै सरोकार छैन। परमेश्वरले जे गर्नुहुन्छ त्यो सही नै हुन्छ, त्यो नै सत्यता हो, र त्यो मानवजातिका निम्ति गरिन्छ। यदि परमेश्वर एउटा साधारण परिवारमा नजन्मिएर कुनै दरबारमा जन्मिनुभएको भए, के तँ, साधारण आम मानिस, समाजको तल्लो स्तरको तुच्छ व्यक्तिले, अझै पनि परमेश्वरसित अन्तरक्रिया गर्ने मौका पाउनेथिइस् र? तैँले त्यो अवसर पाउनेथिइनस्। त्यसैले, के परमेश्वरले यसरी जन्मिन र हुर्किन रोज्नुमा कुनै त्रुटि छ र? यो त संसारमा कतै नपाइने प्रेम हो, र यो नै सबैभन्दा सकारात्मक कुरा हो। तर, ख्रीष्टविरोधीहरू परमेश्वरले गर्नुभएको सबैभन्दा सकारात्मक कुरालाई पनि उहाँलाई सजिलै हेप्न र खेलाउन सकिन्छ भन्ने सङ्केतका रूपमा हेर्छन्, र निरन्तर उहाँको निगरानी गर्न र उहाँविरुद्ध प्रयोग गर्न गलचेपहरू खोज्न चाहन्छन्। तैँले केको निगरानी गरिरहेको छस्? यदि तँ ख्रीष्टको चरित्र र मानवतामा भरोसा गर्नसमेत सक्दैनस्, तैपनि तैँले उहाँलाई परमेश्वरका रूपमा पछ्याउँछस् भने, के तैँले आफ्नै गालामा थप्पड हानिरहेको हुँदैनस् र? के तैँले आफैलाई अप्ठ्यारोमा पारिरहेको हुँदैनस् र? यस्तो खेल किन खेल्छस्? के यो रमाइलो हुन्छ? अनि त्यसपछि, मैले थाहा पाएँ कि सर्वशक्तिमान् परमेश्वरलाई पछि गएर मात्र स्विकार्ने धेरैजसो मानिसहरूले यो मामलालाई सही तरिकाले लिन सक्ने रहेछन्। मसित कुराकानी गर्दा केही व्यक्तिहरू उत्सुक थिए, तर मैले यस्ता मानिसहरूलाई पन्छाएँ र बेवास्ता गरेँ। यदि तैँले सत्यता स्विकार्न सक्छस् भने, हामी एउटै परिवार हौँ। यदि सक्दैनस् र तँ सधैँ मेरा व्यक्तिगत जानकारीबारे सोधपुछ गर्ने कोसिस गरिरहन्छस् भने, गइहाल्। म तँलाई चिन्दिनँ; हामी परिवार होइनौँ, शत्रु हौँ। यदि, परमेश्वरका यति धेरै वचनहरू सुनेपछि, अनि यति धेरै वर्षसम्म उहाँको काम र रखवारी पाएपछि पनि मानिसहरूले परमेश्वरको देहधारी देहबारे यस्ता सोचहरू पाल्छन् र तिनलाई कार्यान्वयनसमेत गर्छन् भने, यो भन्नैपर्ने हुन्छ कि यस्ता मानिसहरूमा परमेश्वरप्रति वैरी स्वभाव छ। तिनीहरू परमेश्वरका जन्मजात शत्रुहरू हुन्, र तिनीहरू सकारात्मक कुराहरू स्विकार्न असक्षम हुन्छन्।
दुई हजार वर्षअघि, पावल प्रभु येशूलाई पागलझैँ गरी सताउँदै, आलोचना र निन्दा गर्दै उहाँको प्रतिरोध गर्न हदैसम्म गयो। किन? किनकि प्रभु येशू एक साधारण परिवारमा जन्मिनुभएको थियो, उहाँ एक सर्वसाधारण हुनुहुन्थ्यो, र उहाँले शास्त्री र फरिसीहरूको तथाकथित शिक्षा, असर वा प्रभावमा पर्नुभएको थिएन। पावलका नजरमा, यस्तो व्यक्ति ख्रीष्ट कहलिन लायक थिएन। किन थिएन? किनकि उहाँको पहिचान विनम्र थियो, ठूलो सामाजिक प्रतिष्ठा थिएन, र उहाँ मानव समाजमा तल्लो वर्गको सदस्य हुनुहुन्थ्यो, र त्यसकारण ख्रीष्ट वा जिउँदो परमेश्वरको पुत्र कहलिन लायक हुनुहुन्थेन। यसैले गर्दा, पावलले प्रभु येशूको प्रतिरोध गर्न हरप्रयास गर्ने आँट गर्थ्यो, उहाँलाई निन्दा र प्रतिरोध गर्न, उहाँको काम बिगार्न, र उहाँका अनुयायीहरूलाई गिरफ्तार गर्न आफ्नो प्रभाव, करिश्मा, र सरकार प्रयोग गर्थ्यो। पावलले प्रभु येशूको प्रतिरोध गर्दै गर्दा, उसले परमेश्वरको कामको प्रतिरक्षा गरिरहेको, उसका कार्यहरू न्यायोचित भएको, र उसले न्यायोचित शक्तिको प्रतिनिधित्व गरिरहेको ठान्थ्यो। उसले आफूले परमेश्वरको नभई एक साधारण व्यक्तिको प्रतिरोध गर्दै छु भन्ने सोच्थ्यो। यस्तो ठ्याक्कै किन भयो भने, उसले ख्रीष्टको जन्म निम्नस्तरीय रहेको र भव्य नरहेको ठानेकाले, उसले ख्रीष्टलाई स्वेच्छाचारी र बेपर्वाह तरिकाले आलोचना र निन्दा गर्ने आँट गर्थ्यो, र उसलाई हृदयमा आफ्ना कार्यहरूबारे निकै शान्ति र ढुक्क महसुस हुन्थ्यो। ऊ कस्तो प्रकारको प्राणी थियो? उसले प्रभु येशू परमेश्वरको देहधारी देह हुनुहुन्छ भनेर थाहा नपाएको भए पनि वा उहाँका प्रवचन र वचनहरू परमेश्वरबाट आएका हुन् भनेर नजानेको भए पनि, के यस्तो साधारण व्यक्ति उसको चौतर्फी आक्रमणको हकदार थियो त? के उहाँ यस्तो दुर्भावनापूर्ण आक्रमणको हकदार हुनुहुन्थ्यो त? के उहाँ पावलले अरूलाई धोका दिन र मानिसहरूका लागि उहाँसित होड गर्न अफवाह र झूट रच्नुको हकदार हुनुहुन्थ्यो त? के पावलका झूटहरू आधारहीन थिएनन् र? के प्रभु येशूका कुनै पनि कार्यले पावलका स्वार्थ वा हैसियतमा असर पारेका थिए त? थिएनन्। प्रभु येशूले तल्ला सामाजिक वर्गहरूमाझ प्रचार गर्नुभयो र प्रवचनहरू दिनुभयो, र सँगसँगै, निकै मानिसहरूले उहाँलाई पछ्याए। यो पावलजस्तो व्यक्तिको जिउने वातावरणभन्दा पूर्णतः फरक संसार थियो, त्यसोभए पावलले प्रभु येशूलाई किन सतायो त? यो त उसको ख्रीष्टविरोधी सार काममा लागेको हो। उसलाई लाग्यो, “तिम्रा प्रवचनहरू जति नै भव्य, सही, वा स्वीकृत भए पनि, यदि मैले तिमी ख्रीष्ट होइनौँ भनेँ भने, तिमी ख्रीष्ट हुँदैनौ। यदि मलाई तिमी मन परेन भने, म तिमीलाई सताउनेछु, जथाभाबी आरोप लाउनेछु, र तिमीलाई मूल्य तिराउनेछु।” ख्रीष्टसँग भएको उहाँको सामान्य मानवताभित्रका यी कुराहरूले पावलका मागहरू पूरा गर्दैनथे, र यी कुराहरू पावलका धारणा र कल्पनाहरूअनूरूप गरिँदैनथे वा हुँदैनथे, त्यसैले पावलजस्ता ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा उहाँको आलोचना, इन्कार, र निन्दा गर्न सक्थे। अन्त्यमा के भयो? प्रभु येशूले ढाल्नुभए पछि, अन्ततः पावलले स्विकार्यो, “तपाईं को हुनुहुन्छ, प्रभु?” त्यसपछि प्रभु येशूले भन्नुभयो, “म येशू हुँ, जसलाई तैँले प्रतिरोध गर्छस्।” त्यसपश्चात, पावलले उप्रान्त येशूलाई उहाँको साधारण उत्पत्तिका कारण साधारण व्यक्ति वा ख्रीष्टजस्तो नभएको ठान्न छोड्यो। किन? किनकि प्रभु येशूको ज्योतिले मानिसहरूलाई अन्धो पार्न सक्थ्यो, उहाँसित अख्तियार थियो, र उहाँका वचनहरूले मानिसहरूलाई ढाल्न सक्थे, र तिनीहरूको आत्मालाई ढाल्न सक्थे। पावलले मनमनै सोच्यो, “के यी येशू भनिने व्यक्ति वास्तवमै परमेश्वर हुन सक्छन्? के उनी जिउँदो परमेश्वरका पुत्र हुन सक्छन्? उनले मानिसहरूलाई ढाल्न सक्छन्, त्यसकारण उनी परमेश्वर नै हुनुपर्छ। तर यसमा बस एउटै कुरा छ—मानिसहरूलाई ढाल्ने त ख्रीष्ट भनिने यो साधारण व्यक्तिले होइन, परमेश्वरको आत्माले हो। त्यसकारण, जेसुकै भए पनि, जबसम्म तिमीलाई येशू भनिन्छ, तबसम्म म तिमीलाई आराधना गर्न झुक्नेछैनँ। म स्वर्गको परमेश्वरको, परमेश्वरको आत्माको मात्र आराधना गर्छु।” ढालिएपछि, पावलको मनमा एउटा विचार आयो। ऊ ढालिनु नराम्रो कुरा भए पनि, त्यसले उसलाई ख्रीष्ट भनिने व्यक्तिको विशेष पहिचान छ, र ख्रीष्ट बन्नु निकै सम्मानको कुरा हो, र जो ख्रीष्ट बन्छ ऊ जिउँदो परमेश्वरको पुत्र बन्न, परमेश्वरसित नजिकिन, र परमेश्वरसँगको सम्बन्ध बदल्न सक्छ, जसले त्यो साधारण व्यक्तिलाई विशेष बनाउँछ, र त्यो साधारण व्यक्तिको पहिचानलाई परमेश्वरको पुत्रको पहिचानमा रूपान्तरित गर्छ भन्ने महसुस गरायो। उसले सोच्यो, “तिमी, येशू, जिउँदो परमेश्वरको पुत्र भए पनि, त्यसमा त्यस्तो प्रभावशाली कुरा के छ र? तिम्रा बुबा एक गरिब सिकर्मी थिए, र तिम्री आमा एक सामान्य गृहिणी थिइन्। तिमी सामान्य मानिसहरूमाझ हुर्कियौ, र तिम्रो परिवारको सामाजिक हैसियत निम्नस्तरको थियो, अनि तिमी आफैमा कुनै विशेष क्षमताहरू छैनन्। के तिमीले कहिल्यै कुनै मन्दिरमा प्रचार गरेका छौ र? के शास्त्री र फरिसीहरूले तिमीलाई मान्यता दिन्छन्? तिमीले के-कस्तो शिक्षा पाएका छौ? के तिम्रा आमाबुबासँग उच्चस्तरको ज्ञान छ? तिमीसित यीमध्ये कुनै पनि कुराहरू छैनन्, तैपनि तिमी जिउँदो परमेश्वरको पुत्र हौ। त्यसोभए त, मसित यस्तो उच्चस्तरको ज्ञान भएकाले, र मैले उच्च समाजका मानिसहरूसित अन्तरक्रिया गर्ने भएकाले, अनि मेरा आमाबुबा अत्यन्तै बौद्धिक, शिक्षित भएका र उनीहरू कुनै निश्चित पृष्ठभूमिबाट आएका हुनाले, के मलाई पो ख्रीष्ट बन्न सजिलो हुनेथिएन र?” उसको तात्पर्य के थियो? “यदि येशूजस्तो कुनै व्यक्ति ख्रीष्ट बन्न सक्छ भने, अत्यन्तै असाधारण, मोहक, ज्ञानवान्, र उच्च सामाजिक हैसियत भएका कारण, म पावल ख्रीष्ट बन्न अर्थात् जिउँदो परमेश्वरको पुत्र बन्न अझ बढी सक्षम छैन र? जब येशू जीवित थिए, उनले केवल प्रचार गरे, धर्मशास्त्रहरू पढे, पश्चात्तापको मार्ग फैलाए, जताततै हिँडे, मानिसहरूको रोग निको पारे, पिशाचहरू धपाए, र थुप्रै चिन्ह र चमत्कारहरू देखाए। त्यति त हो, होइन र? त्यसपछि, उनी जिउँदो परमेश्वरको पुत्र बने र स्वर्गतिर उक्लिए। त्यो कति कठिन हुन सक्छ र? म, पावल, ज्ञानले भरिपूर्ण छु, र मसित कुलीन सामाजिक हैसियत र पहिचान छ। यदि म येशूझैँ मानिसहरूमाझ अझ धेरै हिँडेँ भने, मैले आफ्नो ख्याति बढाएँ, धेरै अनुयायीहरू बनाएँ, र धेरै मानिसहरूलाई लाभ पुर्याएँ भने, अनि यदि मैले कठिनाइहरू सहन, मूल्य तिर्न, आफ्नो सामाजिक हैसियत घटाउन, अझ धेरै प्रवचनहरू प्रचार गर्न, अझ बढी काम गर्न, र अझ धेरै मानिसहरू प्राप्त गर्न सकेँ भने, के त्यसपछि मेरो पहिचान बदलिनेछैन र? के म मानिसको पुत्रबाट परमेश्वरको पुत्रमा परिणत हुनेछैनँ र? के परमेश्वरको पुत्र ख्रीष्ट हुँदैन र? ख्रीष्ट हुनुमा त्यस्तो गाह्रो कुरा के छ र? के ख्रीष्ट मानिसबाट जन्मिएको मानिसको पुत्र होइनन् र? येशू ख्रीष्ट बन्न सक्छन् भने, म पावलचाहिँ किन ख्रीष्ट बन्न सक्दिनँ र? यो अत्यन्तै सजिलो छ! येशूले जे गरे, म त्यही गर्नेछु; उनले जे भने, म त्यही भन्नेछु; उनी मानिसहरूमाझ जसरी हिँडे, म पनि त्यसरी नै हिँड्नेछु। के त्यसपछि मसँग येशूसरहको पहिचान र हैसियत हुनेछैन र? के मैले येशूले झैँ परमेश्वरद्वारा अनुमोदित हुने सर्तहरू पूरा गर्नेछैनँ र?” त्यसकारण, पावलका पत्रहरूबाट येशूको पहिचानबारे उसको बुझाइ र बोध के थियो भनेर देख्न गाह्रो छैन। उसले प्रभु येशू एक साधारण व्यक्ति हुनुहुन्थ्यो, जो काम र मूल्य चुकाइमार्फत, र विशेषगरी क्रूसमा टाँगिएपछि, स्वर्गमा हुनुहुने पिताको अनुमोदन प्राप्त गरेर जिउँदो परमेश्वरको पुत्र बन्नुभयो—उहाँको पहिचान पछि बदलियो भन्ने विश्वास गर्थ्यो। यसर्थ, पावलजस्ता मानिसहरूले मनमा कहिल्यै येशूलाई धर्तीमा परमेश्वरले पहिरनुभएको देहका रूपमा, मानवजातिमाझको परमेश्वरको देहधारी देहका रूपमा मान्दैनन्। तिनीहरूले कहिल्यै ख्रीष्टको सार मान्दैनन्।
आजका ख्रीष्टविरोधीहरू पावलजस्तै छन्। पहिलो कुरा त, तिनीहरूका सोच, महत्त्वाकाङ्क्षा, र विधिहरू, साथै अर्को एउटा कुरा—मूर्खताको साझा गुण—एउटै हुन्छन्। तिनीहरूको मूर्खता कहाँबाट आउँछ? यो तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूबाट आउँछ। जब ख्रीष्टविरोधीहरूले परमेश्वरको देहधारी देहलाई हेर्छन्, तिनीहरूले जुनसुकै कोणबाट हेरे पनि, ख्रीष्टमा परमेश्वरको सार देख्न असफल हुन्छन्। तिनीहरूले जसरी हेरे पनि, यसबाट सत्यता प्राप्त गर्न वा परमेश्वरको स्वभाव बुझ्न सक्दैनन्। तिनीहरूले जसरी हेरे पनि, तिनीहरू सधैँ ख्रीष्ट एक साधारण व्यक्ति हुन् भन्ने विश्वास गर्छन्। तिनीहरू सोच्छन् कि यदि ख्रीष्ट सबैले देख्नेगरी स्वर्गबाट सिधै ओर्लेका भए, उनी साधारण हुनेथिएनन्; तिनीहरू सोच्छन् कि यदि ख्रीष्टको कुनै उत्पत्ति वा पृष्ठभूमि बिलकुलै नभएको भए, र उनी मानिसहरूमाझ अचानक देखा परेका भए, त्यो अत्यन्तै असामान्य र असाधारण हुनेथ्यो! मानिसहरूले बुझ्नै नसक्ने, असाधारण कुराहरूले नै ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा, चाहना, र जिज्ञासाहरू सन्तुष्ट पार्छन्। तिनीहरू सत्यता व्यक्त गर्न सक्ने र तिनीहरूलाई जीवन प्रदान गर्न सक्ने साधारण व्यक्तिभन्दा बरु त्यस्तै ख्रीष्टलाई पछ्याउन तयार हुन्छन्। ठ्याक्कै भन्नुपर्दा, ख्रीष्ट मान्छेबाट जन्मिनुभएको, र उहाँ साँच्चिकै एक साधारण व्यक्ति—पर्याप्त ध्यान नखिच्ने वा स्वर्ग र पृथ्वी हल्लिने तरिकाले नबोल्ने एक सामान्य व्यवहारिक व्यक्ति—हुनुभएकाले नै ख्रीष्टविरोधीहरूले उहाँलाई केही बेर नियालेपछि ख्रीष्टले गर्नुहुने कामकुराबारे थप विशेष केही पनि नभएको विश्वास गर्छन्। तिनीहरूले केही ढाँचाहरूको सारांश निकालेपछि, ख्रीष्टको अनुकरण गर्न थाल्छन्। तिनीहरूले उहाँको लवज, बोल्ने शैली, र स्वरको लयको अनुकरण गर्छन्। कतिले त उहाँले प्रयोग गर्ने विशेष शब्दहरूसमेतको अनुकरण गर्छन्, र उहाँका सासका आवाज र खोकीहरूसमेतको नक्कल गर्छन्। कतिपय मानिसहरू सोध्छन्, “के यो अनुकरण अज्ञानताका कारण गरिएको हो?” होइन। यसको कारण के हो त? जब ख्रीष्टविरोधीहरूले ख्रीष्टजस्तो साधारण व्यक्तिलाई देख्छन्, जो केही साधारण वचनहरू मात्र बोल्नुहुन्छ, र जसका अति धेरै अनुयायीहरू छन् र जसमा अति धेरै मानिसहरू समर्पित हुन्छन्, तब के यो मामलाबारे तिनीहरूको हृदयको गहिराइमा केही सोचहरू उत्पन्न हुँदैनन् र? के तिनीहरू परमेश्वरका लागि रमाउने, उहाँका लागि खुसी महसुस गर्ने, र उहाँको प्रशंसा गर्ने गर्छन्, कि तिनीहरूले क्रुद्धता, रुष्टता, शत्रुता, ईर्ष्या, र डाहा महसुस गर्छन्? (ईर्ष्या र डाहा।) तिनीहरू सोच्छन्, “तिमी कसरी परमेश्वर बन्यौ? म किन परमेश्वर होइनँ? तिमी कति वटा भाषाहरू बोल्न सक्छौ? के तिमी चिन्ह र आश्चर्यकर्महरू गर्न सक्छौ? तिमी मानिसहरूलाई के ल्याइदिन सक्छौ? तिमीमा के-कस्ता वरदान र प्रतिभाहरू छन्? तिमीसँग कस्ता क्षमताहरू छन्? तिमीले कसरी यति धेरै मानिसहरूलाई आफ्नो पछाडि लाग्ने बनायौ? यदि तिम्रा क्षमताहरूले नै यति धेरै मानिसहरूलाई तिम्रो पछाडि लाग्ने बनाएको हो भने, मेरा क्षमताहरूका कारण त, अझ धेरै मानिसहरूले मलाई पछ्याउनेछन्।” त्यसकारण, ख्रीष्टविरोधीहरू यो कुरामा आफ्नो प्रयत्न केन्द्रित गर्न चाहन्छन्। त्यसकारण, तिनीहरू ख्रीष्ट बन्नु भनेको हासिल गर्न सकिने सपना हो भन्ने पावलको विचारसँग पूर्ण रूपमा सहमत हुन्छन्।
जब परमेश्वरले मानिसहरूलाई कर्तव्यनिष्ठ मानव र कर्तव्यनिष्ठ सृजित प्राणी बन्न भन्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूले यी वचनहरूप्रति अत्यन्तै तिरस्कार महसुस गर्छन्, र यसो भन्छन्, “परमेश्वरले भन्नुहुने सबथोक राम्रो र सही हो, तर हामीलाई ख्रीष्ट बन्ने अनुमति नदिनुचाहिँ गलत हो। किन मानिसहरू ख्रीष्ट बन्न सक्दैनन्? के ख्रीष्ट भनेको बस परमेश्वरको जीवन भएको व्यक्ति होइन र? त्यसकारण, यदि हामी परमेश्वरका वचनहरू स्विकार्छौँ, उहाँको मलजल र रखवारी प्राप्त गर्छौँ, र हामीसँग परमेश्वरको जीवन छ भने, के हामी पनि ख्रीष्ट बन्न सक्दैनौँ र? तिमी मानवबाट जन्मिएका एक साधारण व्यक्ति हौ, र हामी पनि त्यही हौँ। तिमी केका आधारमा ख्रीष्ट बन्न सक्छौ, तर हामी सक्दैनौँ? के तिमी जीवनमा पछि ख्रीष्ट बनेका होइनौ र? यदि हामीले कष्ट भोग्छौँ र मूल्य तिर्छौँ, परमेश्वरका वचनहरू अझ धेरै पढ्छौँ, हामीसँग परमेश्वरको जीवन हुन्छ, हामी परमेश्वरले बोल्ने वचनहरू नै बोल्छौँ, परमेश्वरले जे गर्न चाहन्छन् त्यही गर्छौँ, र परमेश्वरको अनुकरण गर्छौँ भने, के हामी पनि ख्रीष्ट बन्न सक्दैनौँ र? त्यसमा त्यस्तो कठिन कुरा के छ र?” ख्रीष्टविरोधीहरू ख्रीष्टलाई पछ्याउन र ख्रीष्टका साधारण अनुयायी बन्न, वा सृष्टिकर्ताको प्रभुत्वमा रहने सृजित प्राणी बन्नुपर्दा खुसी हुँदैनन्। तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरूले तिनीहरूलाई यस्तो आग्रह गर्छन्: “कुनै साधारण व्यक्ति नबन्। हरमोडमा ख्रीष्टलाई पछ्याउनु र पालन गर्नु भनेको अयोग्यताको प्रकटीकरण हो। ख्रीष्टका वचनहरू र परमेश्वरका प्रतिज्ञाहरूभन्दा बाहिर, तैँले अझै उच्च पछ्याइहरू राख्नुपर्छ, जस्तै परमेश्वरको पुत्र, ज्येष्ठ पुत्र, ख्रीष्ट स्वयम् बन्न लागिपर्ने, परमेश्वरद्वारा धेरै प्रयोग गरिन लागिपर्ने, वा परमेश्वरको राज्यको खम्बा बन्न लागिपर्ने। ती कति ठूला र प्रेरणादायी लक्ष्यहरू हुन्!” तिमीहरूलाई यी विचारहरू कस्ता लाग्छन्? के ती प्रवर्द्धन गर्नलायक छन्? के ती सामान्य मानिसहरूसँग हुनुपर्ने कुरा हुन्? (होइनन्।) ख्रीष्टविरोधीहरूमा ख्रीष्टको पहिचान र सारबारे ठ्याक्कै यस्तो बुझाइ भएकाले नै तिनीहरूले ख्रीष्टलाई प्रतिरोध, आलोचना, परीक्षा, अस्वीकार र निन्दा गर्ने आफ्ना शब्द र कार्यहरूलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू सोच्छन्, “कुनै व्यक्तिको आलोचना गर्नुमा त्यस्तो डरलाग्दो कुरा के हुन्छ र? तिमी एउटा व्यक्ति मात्र हौ, होइनौ र? तिमी आफू एक व्यक्ति भएको मान्छौ भने, मैले तिम्रो आलोचना, मूल्याङ्कन, वा निन्दा गर्नुमा के गलत छ र? मैले तिम्रो निगरानी र अध्ययन गर्नुमा के गलत छ र? यी कुराहरू गर्नु त मेरो स्वतन्त्रताको कुरा हो!” तिनीहरूले यसलाई परमेश्वरको प्रतिरोध वा विरोध गरेको रूपमा हेर्दैनन्, जुन निकै खतरनाक दृष्टिकोण हो। तसर्थ, धेरै ख्रीष्टविरोधीहरूले २०-३० वर्षसम्मै यसरी ख्रीष्टको विरोध गरेका छन्, हृदयमा सधैँ उहाँसँग प्रतिस्पर्धा गरेका छन्। म तँलाई सत्य कुरा भन्नेछु—तैँले जे गर्छस् त्यो तेरो स्वतन्त्रता हो, तर परमेश्वरको अनुयायीका रूपमा, यदि तँ परमेश्वरको देहधारी देहलाई यति स्वेच्छाचारी रूपले व्यवहार गर्छस् भने, एउटा कुरा निश्चित छ: तैँले कुनै व्यक्तिलाई दुःख दिइरहेको छैनस्, तैँले खुलेआम परमेश्वरविरुद्ध होहल्ला मच्चाइरहेको छस् र आफूलाई परमेश्वरविरुद्ध उभ्याइरहेको छस्—तँ परमेश्वरविरुद्ध खडा भइरहेको छस्। परमेश्वरको सार, स्वभाव, कार्यहरू, र विशेषगरी परमेश्वरको देहधारी देहलाई छुने जुनसुकै कुरा प्रशासनिक आदेशहरूसँग सम्बन्धित हुन्छ। यदि तैँले ख्रीष्टलाई यति स्वेच्छाचारी रूपमा व्यवहार गर्छस्, अनि यति स्वेच्छाचारी रूपमा उहाँको आलोचना र निन्दा गर्छस् भने, सुन्, तेरो परिणाम तय भइसकेको छ। परमेश्वरले तँलाई मुक्ति दिनुहुनेछ भन्ने अपेक्षा नगर्। परमेश्वरले त्यस्तो व्यक्तिलाई मुक्ति दिन सक्नुहुन्न, जो खुलेआम उहाँविरुद्ध होहल्ला मच्चाउँछ र स्वेच्छाचारी रूपमा आफूलाई उहाँविरुद्ध उभ्याउँछ। त्यस्तो व्यक्ति परमेश्वरको शत्रु हो, ऊ शैतान र दियाबलस हो, र परमेश्वरले उसलाई मुक्ति दिनुहुनेछैन। चाँडो गर् र तँलाई जसले मुक्ति दिन सक्छ जस्तो लाग्छ उसैकहाँ जा। परमेश्वरको घरले तँलाई रोक्नेछैन, त्यसका ढोकाहरू खुला छन्। यदि तँलाई पावलले तँलाई मुक्ति दिन सक्छ जस्तो लाग्छ भने, ऊकहाँ जा; यदि पास्टरले मुक्ति दिन सक्छ जस्तो लाग्छ भने, उसैकहाँ जा। तर एउटा कुराचाहिँ निश्चित छ: परमेश्वरले तँलाई मुक्ति दिनुहुनेछैन। तैँले जे गर्छस् त्यो तेरो स्वतन्त्रता हो, तर परमेश्वरले तँलाई मुक्ति दिनु-नदिनु उहाँको स्वतन्त्रता हो, र अन्तिम निर्णय उहाँकै हुन्छ। के परमेश्वरसित यो शक्ति छ? के उहाँमा यो मर्यादा छ? (छ।) देहधारी परमेश्वर मानिसहरूमाझ जिउनुहुन्छ, उहाँले आफू ख्रीष्ट भएको गवाही दिनुहुन्छ, र उहाँ आखिरी दिनहरूको काम गर्न आउनुहुन्छ। कतिपय मानिसहरूले परमेश्वरको सार चिन्छन् र सम्पूर्ण हृदयले उहाँलाई पछ्याउँछन्, र तिनीहरू उहाँलाई परमेश्वरको रूपमा व्यवहार गर्छन् र उहाँप्रति समर्पित हुन्छन्। अन्यले चाहिँ अन्त्यसम्मै जिद्दीपूर्वक उहाँको प्रतिरोध गर्न चाहन्छन्: “जतिसुकै मानिसहरूले तिमी ख्रीष्ट हौ भनेर विश्वास गरे पनि, म विश्वास गर्नेछैनँ। तिमीले जे भने पनि, म तिमीलाई सम्पूर्ण हृदयले परमेश्वर मान्नेछैनँ। मैले परमेश्वरले साँच्चिकै तिमीसित बोलेको र तिम्रो गवाही दिएको देखेपछि मात्र, स्वर्गको परमेश्वरले व्यक्तिगत रूपमा मलाई मेघगर्जनको आवाजमा ‘यो मेरो देहधारी देह, मेरो प्रिय, मेरो प्यारो पुत्र हो’ भनेपछि मात्र म तिमीलाई परमेश्वरको रूपमा मान्ने र स्विकार्नेछु। म आफैले स्वर्गको परमेश्वरले तिमीसित बोलेको र तिम्रो गवाही दिएको सुनेपछि र देखेपछि मात्र म तिमीलाई स्विकार्नेछु, नत्र यो असम्भव छ!” के यस्ता मानिसहरू ख्रीष्टविरोधीहरू होइनन् र? जब त्यो दिन साँच्चिकै आउँछ, तब तिनीहरूले ख्रीष्टलाई परमेश्वरका रूपमा माने नै भने पनि, त्यो तिनीहरूको दण्ड भोग्ने दिन नै हुनेछ। तिनीहरूले परमेश्वरको प्रतिरोध गरे, उहाँविरुद्ध होहल्ला गरे, र तिनीहरू हरमोडमा उहाँप्रति शत्रुवत् रहे—के यस्ता कार्यहरू यति सजिलै क्षमा दिन सकिन्छ र? (सकिँदैन।) त्यसकारण, यहाँ एउटा साँचो भनाइ छ, र त्यो के हो भने, परमेश्वरले हरेक व्यक्तिलाई उसका कार्यहरूअनुसार इनाम वा सजाय दिनुहुनेछ। यी मानिसहरूले प्रतिशोध मात्र सामना गर्नेछैनन्, परमेश्वरले तिनीहरूसित व्यक्तिगत रूपमा बोल्नुभएको पनि तिनीहरूले कहिल्यै सुन्नेछैनन्। के तिनीहरू यसलायक छन् र? परमेश्वरले मानवहरूमाझ आफ्नो गवाही दिने, मानवहरू र साँचो सृजित प्राणीहरूसामु देखा पर्ने इच्छा गर्नुहुन्छ, र यसरी उहाँले उहाँको वास्तविक सत्व प्रकट गर्ने, र वचनहरू बोल्ने र व्यक्त गर्ने गर्नुहुन्छ। उहाँ दियाबलसहरूसामु देखा पर्ने वा तिनीहरूसित वचनहरू बोल्ने वा व्यक्त गर्ने गर्नुहुन्न। त्यसकारण, ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्वरको वास्तविक व्यक्तित्व देख्ने वा आफ्नै कानले उहाँका वचन र वाणीहरू सुन्ने मौका पाउनेछैनन्। तिनीहरूसित यो मौका कहिल्यै हुनेछैन। अनि भविष्यमा के तिनीहरूलाई कठिनाइ हुनेछ? (हुनेछ।) किन? ख्रीष्टविरोधीहरू, यी निर्लज्ज प्राणीहरू हरमोडमा परमेश्वरको विरोध गर्छन् र उहाँविरुद्ध होहल्ला गर्छन्, साथै तिनीहरू उहाँले गर्नुहुने सबथोकलाई तिरस्कार, निन्दा, र उपहाससमेत गर्छन्। त्यसैले, परमेश्वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई दयालु व्यवहार गरेर क्षमा गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई आशिष् दिनुहुनेछ? के उहाँले तिनीहरूलाई आफ्नो प्रतिज्ञा दिनुहुनेछ? के उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ? व्यावहारिक रूपमा भन्नुपर्दा, के त्यस्ता मानिसहरूले परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सक्छन्? यो जुनीमा त, तिनीहरूले परमेश्वरको अन्तर्दृष्टि र ज्योति, वा उहाँको ताडना र अनुशासन, वा तिनीहरूको जीवनका लागि उहाँको आपूर्ति प्राप्त गर्नेछैनन्। तिनीहरूलाई मुक्ति दिइनेछैन, र आउँदो संसारमा, तिनीहरूले सदासर्वदा आफ्ना दुष्ट कार्यहरूको ठूलो मूल्य तिर्नेछन्। तिनीहरूको परिणाम यही हो। ख्रीष्टविरोधीहरूको परिणाम पावलको सरह हुनेछ।
ख. ख्रीष्टविरोधीहरू ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिन्छन्
हामीले भर्खरै, ख्रीष्टविरोधीहरूले ख्रीष्टको सार इन्कार गर्नुको पहिलो प्रकटीकरण, जुन ख्रीष्टविरोधीहरूले ख्रीष्टको उत्पत्तिलाई कसरी लिन्छन्, तिनीहरूले कस्ता विचार र बुझाइहरू पाल्छन्, र तिनीहरूले कस्ता कार्यहरू गर्छन् भन्नेबारे सङ्गति र चिरफार गर्यौँ। हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरू चिरफार गर्यौँ, ताकि यस्ता मानिसहरूको सार पहिचान गर्न सकियोस्। ख्रीष्टको अर्को पक्ष—उहाँको सामान्यता र व्यावहारिकता सम्बन्धमा, ख्रीष्टविरोधीहरूले कस्ता विचारहरू बोक्छन्, कस्ता कार्यहरू गर्छन्, र कस्ता स्वभाव र सारहरू देखाउँछन्? अब, हामी ख्रीष्टविरोधीहरूले ख्रीष्टको सार इन्कार गर्नुको दोस्रो प्रकटीकरण चिरफार गर्नेछौँ, त्यो हो: ख्रीष्टविरोधीहरू ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिन्छन्। सामान्यता र व्यावहारिकताको कुरा आउँदा, धेरैजसो मानिसहरूसित निश्चित विचार र बुझाइहरू हुनुपर्छ। उदाहरणका लागि, तीन दिनसम्म पानी नपिउँदा वा खाना नखाँदा पनि भोक वा तिर्खा नलाग्नु, बरु वास्तवमै शारीरिक रूपमा पहिलेभन्दा झन् बलियो र ऊर्जाशील महसुस हुनु—के यो सामान्यता र व्यावहारिकतामा पर्छ? सामान्य मानिसहरू चार-पाँच किलोमिटर हिँडेपछि थकित महसुस गर्छन्; यदि ख्रीष्टले ४० किलोमिटर हिँडेर पनि थकित महसुस गर्नुहुन्न, र उहाँका खुट्टा दुख्दैनन्, र उहाँ वायुभन्दा हलुङ्गो हुनुहुन्छ, र अझ बढी ऊर्जाशील महसुस गर्नुहुन्छ भने, के यसलाई सामान्य र व्यावहारिक मान्न सकिन्छ? यदि ख्रीष्ट चिसोमा बस्नुभए पनि उहाँलाई चिसो लाग्दैन, र उहाँ जस्तोसुकै परिस्थितिहरूमा पनि कहिल्यै बिरामी पर्नुहुन्न भने, यदि उहाँका आँखाहरूले आफूले सामना गर्ने प्रकाशभन्दा दर्जनौँ गुणा बलिष्ठ प्रकाश झल्काउन सक्छन्, र उहाँले चाहे जति लामो समय कम्प्युटर हेर्नुभए पनि उहाँका आँखाहरू थकित हुँदैनन् वा देख्ने शक्ति घट्दैन भने, यदि उहाँले सूर्यको प्रकाशलाई चाहे जति लामो समयसम्म हेरे पनि उहाँलाई त्यो तेज लाग्दैन, र रातमा हिँड्दा उहाँलाई अरूलाई जस्तो बत्ती आवश्यक पर्दैन, र दिन बित्दै जाँदा उहाँका आँखाहरू झन् चम्किला बन्छन् भने—के यी कुरा सामान्यता र व्यावहारिकता मानिन्छन्? यी कुनै पनि कुरा त्यस्ता मानिँदैनन्, यो त सामान्य ज्ञानको कुरा हो जुन मानिसहरूसित प्राय: ठोक्किरहन्छ। सामान्यता र व्यावहारिकता भन्नुको अर्थ लामो समय पानी नपिएपछि तिर्खा लाग्नु, धेरै बोलेपछि थकित महसुस हुनु, धेरै हिँडेपछि खुट्टा दुख्नु, साथै दुःखद र हृदयविदारक खबर सुन्दा दुःखी महसुस हुनु र आँसु झार्नु हो—सामान्यता र व्यावहारिकता यही हो। त्यसोभए, सामान्यता र व्यावहारिकताको ठ्याक्कै सही परिभाषा के हो त? जुन कुरा देहका सामान्य खाँचो र नैसर्गिक प्रवृत्तिहरूसँग मिल्छ, र यो दायराभन्दा बाहिर जाँदैन त्यो नै सामान्यता र व्यावहारिकताको परिभाषा हो। जुन कुरा सामान्य मानवताका सामर्थ्यहरू र दायरासँग, सामान्य मानवताका चेतनासँग, र सामान्य मानवताका खुसी, रिस, दुःख, र आनन्दजस्ता संवेगहरूसँग मिल्छ, त्यो नै सामान्यता र व्यावहारिकताको दायराभित्र पर्छ। ख्रीष्ट भनेको पृथ्वीमा परमेश्वरले पहिरनुभएको देह हो; उहाँसँग, कुनै पनि सामान्य व्यक्तिको जस्तै, सामान्य बोली र व्यवहार, सामान्य जीवनचर्या र समयतालिका हुन्छ। यदि उहाँ तीन दिन र तीन रात सुत्नुभएन भने, उहाँलाई निन्द्रा लाग्नेछ, र उभिँदाखेरि पनि सुत्न मन लाग्नेछ; यदि उहाँले दिनभरि खानुभएन भने, उहाँलाई भोक लाग्नेछ; र यदि उहाँ लामो समयसम्म हिँड्नुभयो भने, उहाँ थकित हुनुहुनेछ, र उहाँले चाँडै विश्राम लिनेभन्दा बढी अरू केही चाहनुहुनेछैन। उदाहरणका लागि, तिमीहरूसित तीन-चार घण्टा भेला र सङ्गति गरेपछि मलाई पनि थकान महसुस हुन्छ, र मैले पनि विश्राम लिनुपर्छ। यो नै देहको सामान्यता र व्यावहारिकता हो, यो देहका विशेषताहरूसँग र सामान्य मानवताका विभिन्न प्रकटीकरणहरू र नैसर्गिक प्रवृत्तिहरूसँग पूर्णतया मिल्दो हुन्छ, यो बिलकुलै अलौकिक होइन। त्यसकारण, यस्तो देहमा मानवताका थुप्रै प्रकटीकरण र प्रकाशहरू हुन्छन्, साथै यो देहको मानवताका बाह्य जीवनशैली र जीवनचर्या हरेक साधारण, सामान्य व्यक्तिले प्रदर्शन र प्रकट गर्ने कुराभन्दा फरक हुँदैनन्, ती ठ्याक्कै उही हुन्छन्। परमेश्वरले मानवजाति सृष्टि गर्नुभयो, र परमेश्वरको देहधारी देहका विशेषताहरू र सामान्य व्यावहारिक जीवन नैसर्गिक प्रवृत्तिहरू मानवजातिकै सरह हुन्छन्, उहाँ पटक्कै अलौकिक हुनुहुन्न। मानवहरू पर्खालबाट वा बन्द ढोकाबाट छिर्न सक्दैनन्, देहधारी परमेश्वर पनि सक्नुहुन्न। कति मानिसहरू भन्छन्, “के तिमी देहधारी परमेश्वर होइनौ र? के तिमी ख्रीष्ट होइनौ र? के तिमीसँग परमेश्वरको सार छैन र? के तिमी बन्द ढोकाले साँच्चिकै सीमित हुन सक्छौ? तिमी त बन्द ढोकाबाट छिर्न सक्नुपर्ने हो। मानिसहरू पाँच किलोमिटर हिँडेपछि थकित महसुस गर्छन्, तर तिमीलाई त ४० किलोमिटर हिँडेपछि पनि थकित महसुस हुनु हुँदैन; मानिसहरू दिनमा तीन छाक खाना खान्छन्, तर तिमी ३० दिनसम्म नखाइबस्न सक्नुपर्छ, खाऊँ-खाऊँ लाग्दा मात्र खाएर, खाऊँ-खाऊँ नलाग्दा नखाएर पनि, भेलाहरूमा प्रचार गर्न, र अरूभन्दा बढी जोसले जिउन सक्षम हुनुपर्छ। बिरामी पर्नु मानव जीवनको एउटा पाटो हो, तर तिमी बिरामी पर्नु हुँदैन। तिमी ख्रीष्ट भएकोले, तिमीमा एउटा पाटो हुनुपर्छ जुन साधारण मानिसहरूको भन्दा फरक होस्, त्यसपछि मात्र तिमी ख्रीष्ट भनिन लायक हुनेछौ, यसले मात्र तिमीसँग परमेश्वरको सार भएको प्रमाणित गर्नेछ।” के यो सही हो त? (होइन।) यो कसरी गलत हो? यी मानव धारणा र कल्पनाहरू हुन्, सत्यता होइनन्।
परमेश्वरको देहधारी देह सामान्य र व्यावहारिक हुन्छ—उहाँको सामान्य मानवताले गर्ने सारा गतिविधिहरू, साथै उहाँको दैनिक जीवन, बोली, र व्यवहार, सबै सकारात्मक कुराका वास्तविकताहरू हुन्। परमेश्वरले मानवजातिको सृष्टि गर्नुभएदेखि, उहाँले तिनीहरूलाई यी सामान्य, व्यावहारिक नैसर्गिक प्रवृत्तिहरू प्रदान गर्नुभयो; त्यसकारण, परमेश्वरको देहधारी देहले पनि यी व्यवस्थाहरू कहिल्यै उल्लङ्घन गर्नेछैन। ख्रीष्टका सामान्यता र व्यावहारिकता सकारात्मक कुराहरू हुनुको कारण र आधार यही हो। परमेश्वरले मानवजाति सृष्टि गर्नुभयो, र तिनीहरूका सारा प्रकटीकरण र नैसर्गिक प्रवृत्तिहरू ठ्याक्कै उहाँकै चाहनाहरूअनुसार बनाउनुभयो। परमेश्वरले मानिसलाई यी नैसर्गिक प्रवृत्तिहरू दिनुभयो, र मानिसका दैनिक जीवनका नियमहरू यिनै हुन्—के परमेश्वरले उहाँको देहधारी देहलाई सामान्यता र व्यावहारिकताका यी नियमहरू उल्लङ्घन गर्न लगाउनुहुनेथियो र? प्रस्ट रूपले नै, परमेश्वरले मान्नुहुनेथिएन। परमेश्वरले मानवजाति सृष्टि गर्नुभयो, र देहधारी देहको सार पनि परमेश्वर हो—ती एउटै स्रोतबाट आउँछन्, त्यसकारण तिनीहरूका कार्यहरूका सिद्धान्त र उद्देश्यहरू पनि एउटै हुन्छन्। ख्रीष्टको सामान्यता र व्यावहारिकताको प्रकटीकरणका कारण, उहाँ सर्वसाधारणका नजरमा अत्यन्तै साधारण व्यक्ति झैँ, स्वतः देखिनुहुन्छ। धेरै कुराहरूमा, उहाँसँग मानिसहरूले कल्पना गरेझैँ पूर्वज्ञान र दूरदृष्टिका शक्तिहरू हुँदैनन्, र उहाँले मानिसहरूले कल्पना गरेझैँ, वस्तुहरू गायब पार्न वा प्रकट गराउन सक्नुहुन्न, उहाँ मानिसहरूले कल्पना गरेझैँ, साधारण मानिसहरूभन्दा माथि उठ्न, देहका क्षमता र नैसर्गिक प्रवृत्तिहरूपार जान, वा मानवको सामान्य सोचाइपार गएर कुनै पनि व्यक्तिले गर्न नसक्ने कामकुराहरू गर्न त झनै सक्नुहुन्न। यी कल्पनाहरूको विपरीत, मानिसको नाङ्गो आँखाले, यो साधारण व्यक्तिले उहाँको कामको सुरुवातदेखि हालसम्म परमेश्वरको एउटा सङ्केत पनि प्रकाश वा प्रकट गर्नुभएको देखेको छैन। उहाँको बोली र कामबाहेक, मान्छेको नाङ्गो आँखाले, उहाँको कुनै पनि सामान्य मानव गतिविधिहरूमा परमेश्वरको कुनै सङ्केत वा परमेश्वरको पहिचान र सारका प्रकटीकरणहरू देख्न सक्दैन। मानिसहरूले उहाँलाई चाहे जसरी हेरे पनि, तिनीहरूका लागि उहाँ सधैँ एक साधारण व्यक्तिझैँ देखिनुहुन्छ। किन त? यसको एउटै कारण छ: मानिसले जे देख्छ त्यो सही हो; परमेश्वरको देहधारी देह साँच्चिकै एक सामान्य, व्यावहारिक व्यक्ति, एक सामान्य र व्यावहारिक देह हुनुहुन्छ। बाहिरी रूपमा यतिको सामान्य र व्यावहारिक देहले अरू मानिसहरूलेझैँ ठूलो रातो अजिङ्गरको सतावट र खेदो अनुभव गर्नुहुन्छ, र आफ्नो टाउको राख्ने वा बिसाउने ठाउँ कतै पाउनुहुन्न। यो कुरामा, उहाँ अरू कुनै मानवभन्दा फरक हुनुहुन्न, र उहाँ अपवाद हुनुहुन्न। यस्तो सतावट अनुभव गरिरहँदा, उहाँ जहाँ सकिन्छ आफूलाई त्यहीँ लुकाउनु पनि हुन्छ; उहाँ आफूलाई अदृश्य बनाउन वा भागेर भूमिगत हुन सक्नुहुन्न, उहाँसँग यी खतराहरूबाट पन्छिने अलौकिक शक्ति छैन। उहाँले गर्न सक्ने भनेकै ती कुराहरूबारे पहिल्यै जानकारी प्राप्त गर्ने, र चाँडो गरेर उम्कने मात्र हो। खतरनाक अवस्थाहरू सामना गर्नुपर्दा, मानिसहरू आत्तिन्छन् र डराउँछन्, के तिमीहरूलाई ख्रीष्ट पनि डराउनुहुन्छ जस्तो लाग्छ? के तिमीहरूलाई उहाँ पनि आत्तिनुहुन्छ जस्तो लाग्छ? (लाग्छ।) ठिक भन्यौ; तिमीहरूलाई कसरी थाहा भयो? (त्यो अवस्थामा जुनसुकै सामान्य व्यक्ति पनि आत्तिनेथियो।) ठिक भन्यौ। तिमीहरूले यो कुरा निकै राम्रोसँग बताएका छौ। तिमीहरू सामान्यता र व्यावहारिकतालाई साँच्चिकै बुझ्छौ, तिमीहरूले यसलाई पूर्ण रूपमा बुझेका छौ। ख्रीष्ट पनि यी परिस्थितिहरूमा आत्तिनु र डराउनुहुनेछ, तर के उहाँले कायरता देखाउनुहुनेछ? के उहाँ सत्ताधारी पार्टीदेखि आतङ्कित हुनुहुनेछ? के उहाँले त्योसँग सम्झौता गर्नुहुनेछ? गर्नुहुनेछैन। उहाँले घबराहट र डर मात्र महसुस गर्नुहुनेछ, र पिशाचहरूको यो गुफाबाट चाँडो उम्कने इच्छा गर्नुहुनेछ। यी सबै ख्रीष्टको सामान्यता र व्यावहारिकताका प्रकटीकरणहरू हुन्। अवश्य नै, ख्रीष्टको सामान्यता र व्यावहारिकताका केही अझै धेरै प्रकटीकरणहरू छन्, जस्तै कहिलेकाहीँ बिर्सने हुनु, लामो समय नदेखेपछि मानिसहरूको नाम बिर्सनु, आदि इत्यादि। सामान्यता र व्यावहारिकता भनेका एक सामान्य, साधारण व्यक्तिका विशेषता, नैसर्गिक प्रवृत्ति, चिन्ह र सङ्केतहरू मात्र हुन्। ठ्याक्कै भन्नुपर्दा, ख्रीष्टसँग सामान्य र व्यावहारिक मानवता, जीवन बचाउने नैसर्गिक प्रवृत्ति, र देहका सारा विशेषताहरू भएकै कारण उहाँ सामान्य रूपमा बोल्न र काम गर्न, मानिसहरूसित सामान्य तवरले अन्तरक्रिया गर्न, र मानिसहरूलाई सामान्य र व्यावहारिक तरिकाले अगुवाइ गर्न, साथै मानिसहरूलाई आफ्नो कर्तव्यभित्र पर्ने काम सामान्य र व्यावहारिक तरिकाले गर्न मार्गदर्शन र मदत गर्न पनि सक्नुहुन्छ। ख्रीष्टको सामान्यता र व्यावहारिकताकै कारण सम्पूर्ण सृजित मानवहरूले परमेश्वरको कामको व्यावहारिकता अझ बढी महसुस गर्छन्, यो कामबाट लाभ प्राप्त गर्छन्, र यसबाट अझ ठोस र फाइदाजनक लाभहरू हासिल गर्छन्। ख्रीष्टको सामान्यता र व्यावहारिकता सामान्य मानवताका सङ्केतहरू हुन्, उहाँको देहधारी देहलाई सारा सामान्य काम, गतिविधिहरू, र मानव जीवनमा संलग्न हुनका लागि ती जरुरी हुन्छन्, र ती परमेश्वरलाई पछ्याउने सबैलाई अझ बढी आवश्यक पर्ने कुरा हुन्। तर, ख्रीष्टविरोधीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई यसरी बुझ्दैनन्। ख्रीष्टविरोधीहरू ख्रीष्ट सामान्य र व्यावहारिक अनि मानिसहरूसँग अति मिल्दो हुनुभएकाले उहाँ एक साधारण व्यक्ति मात्र हुनुहुन्छ भन्ने ठान्छन्—जसको मतलब उहाँ परमेश्वरको पुत्र, मानिसहरूमाझ परमेश्वरको मूर्तरूप, वा ख्रीष्ट भनिन लायक हुनुहुन्न, किनभने उहाँ अत्यन्तै सामान्य र व्यावहारिक हुनुहुन्छ, यतिसम्म व्यावहारिक कि मानिसहरूले उहाँमा परमेश्वरको कुनै सङ्केत वा सार नै देख्न सक्दैनन्। ख्रीष्टविरोधीहरू भन्छन्, “के यस्तो परमेश्वरले मानिसहरूलाई मुक्ति दिन सक्छन् र? के यस्तो परमेश्वर ख्रीष्ट भनिन लायक हुन्छन् र? यी परमेश्वर परमेश्वरजस्तो पटक्कै छैनन्! उनीसँग परमेश्वरबारे मानिसका धारणाहरूका धेरै तत्त्वहरू छैनन्: पहिलो, अलौकिक, असाधारण, र रहस्यमय हुनु; दोस्रो, महाशक्ति, र भयङ्कर शक्तिहरू देखाउने क्षमता हुनु; तेस्रो, परमेश्वरको जस्तो रूप, परमेश्वरको पहिचान, मर्यादा, सार, आदि इत्यादि हुनु। यदि उनमा यी कुनै पनि तत्त्वहरू देख्न सकिन्न भने, उनी कसरी परमेश्वर हुन सक्छन्? के उनले ती केही वचनहरू बोल्नु र त्यति काम गर्नुको अर्थ उनी परमेश्वर हुन् भन्ने हुन्छ त? त्यसो हो भने त, परमेश्वर बन्न अति सजिलो छ, होइन र? कुनै साधारण र सामान्य देह कसरी परमेश्वर हुन सक्छ र?” यो ख्रीष्टविरोधीहरूले कहिल्यै स्विकार्न नसक्ने कुरा हो।
मूलभूमि चीनमा ठूलो रातो अजिङ्गरको सतावट अनुभव गर्दै गर्दा, म र मेरा केही दाजुभाइ-दिदीबहिनीहरू, जहाँ गए पनि प्राय: लुक्नुपर्थ्यो, हामीसँग कुनै व्यक्तिगत स्वतन्त्रता थिएन। कहिलेकाहीँ, खतराको समाचार सुनेपछि, हामी तुरुन्तै भाग्नुपर्ने हुन्थ्यो। यी परिस्थितिहरूमा, मसँग भएका कोही पनि मानिसहरू कमजोर बनेनन्। त्यसको कारण के थियो? के तिनीहरू मूर्ख थिए? के तिनीहरू सिधा-साधा थिए? होइन, त्यसको कारण के थियो भने, तिनीहरूले देहधारी परमेश्वरको सार दह्रिलो गरी चिनेका थिए। तिनीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकताबारे कुनै धारणा वा निन्दाहरू नबोकेका मात्र होइनन्, तर तिनीहरूले यी गुणहरूप्रति विचारशीलता र बुझ पनि देखाए, साथै तिनलाई सही तरिकाले बोध पनि गरे। ख्रीष्टले जस्तोसुकै कष्ट सहनुभए पनि, तिनीहरूले पनि उहाँसँगै कष्ट सहे, अनि ख्रीष्टले जस्तोसुकै सतावट र खेदो भोग्नुभए पनि, तिनीहरूले अझै पनि उहाँलाई पछ्याए, कुनै गुनासो गरेनन्, यी परिस्थितिहरूका कारण कहिल्यै कमजोर बनेनन्। म केही निश्चित ठाउँहरू गएपछि मात्र, म खतरनाक वातावरणहरूबाट बच्न हतारमा भागेको, र म बस्न सक्ने अरू कुनै ठाउँ नहुन सक्छ, मैले आराम गर्ने ठाउँ अरू कतै नभेटाउन सक्छु भन्ने थाहा पाएर, मनमनै यस्तो सोच्ने व्यक्तिहरू भेटिए: “उफ्! तिमी ख्रीष्ट, देहधारी परमेश्वर, भएको दाबी गर्छौ, तैपनि हेर त, तिमी कति दयनीय स्थितिमा छौ। तिमी कसरी ख्रीष्ट हुन योग्य छौ? तिमी कुनचाहिँ रूपमा परमेश्वरजस्तो देखिन्छौ? के तिमी अरूलाई मुक्ति दिन सक्छु भन्ठान्छौ? तिमीले त चाँडो गरेर पहिले आफूलाई मुक्ति दिनुपर्छ! के तिमीलाई पछ्याउँदा आशिष्हरू पाइन सक्छ त? त्यो असम्भव देखिन्छ! यदि तिम्रा वचनहरूले अरूलाई मुक्ति दिन सक्छन् भने, तिनले तिमीलाई किन मुक्ति दिन सक्दैनन्? अहिले हेर त, तिमीसँग त टाउको राख्ने ठाउँसमेत छैन, र तिमीले हामी मानवहरूबाट, शक्तिशाली मानिसहरूबाट मद्दत खोज्नुपर्छ। यदि तिमी परमेश्वर हौ भने, तिमी यति दयनीय हुनु हुँदैन। यदि तिमी परमेश्वरको देहधारी देह हौ भने, तिमी घर भन्ने ठाउँविहीन हुनु हुँदैन!” त्यसकारण, यस्ता मानिसहरूले यो मामला कहिल्यै बुझ्न सक्दैनन्। यदि कुनै दिन तिनीहरूले राज्यको सुसमाचार विदेशमा फैलाइँदै गरेको, विभिन्न देशका धेरै मानिसहरूले त्यसलाई स्विकारेको देखेमा, र तिनीहरूले ठूलो रातो अजिङ्गरको पतन भएको, परमेश्वरका अनुयायीहरूले आफ्ना शिर उच्च राखेको, उनीहरू उप्रान्त सतावटमा पर्न छाडेको, साथै तिनीहरूले शासन र शक्ति चलाइरहेको र कसैले पनि उनीहरूलाई हेप्ने आँट नगरेको देखेमा, तिनीहरूले निश्चय नै आफ्नो ठेट मनोवृत्ति पूर्ण रूपमा बदल्नेथिए, र परमेश्वरले देहमा शासन गर्नुभएको कुराबारे उप्रान्त धारणाहरू पाल्न छाड्नेथिए। यस्तो आकस्मिक परिवर्तन किन हुनेथ्यो? यी व्यक्तिहरू आफ्ना आँखाले जे देख्छन् त्यसैमा मात्र भर पर्छन्; तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन्, उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, वा उहाँले भन्नुभएको सबथोक पूरा हुनेछ भनेर विश्वास गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गर्छन् त? तिनीहरूले केमा विश्वास गर्छन्? (शक्तिमा।) के ख्रीष्टसँग शक्ति छ? भ्रष्ट तुल्याइएका मानवजातिमाझ ख्रीष्टको कुनै शक्ति छैन। कतिपय मानिसहरू यसो भन्छन्, “के परमेश्वरसित अख्तियार हुँदैन र? यदि ख्रीष्टको सार परमेश्वर हो भने, उनीसँग किन परमेश्वरको अख्तियार छैन? अख्तियार भनेको शक्तिभन्दा धेरै ठूलो हुन्छ, त्यसकारण के उनीसँग शक्ति पनि हुनुपर्दैन र?” देहधारी परमेश्वरको कामको उद्देश्य के हो? देहधारी परमेश्वरको जिम्मेवारी के हो? के त्यो शक्ति प्रदर्शन गर्नु भन्ने हो त? (होइन।) त्यसकारण, कुनै पनि सामान्य व्यक्तिझैँ उहाँले यो संसारबाट इन्कार, बेइज्जत, बदनामी, र शत्रुता भोग्नुहुन्छ—ख्रीष्टले यी सबै कुराहरू सहनैपर्छ, उहाँले ती कुराहरूबाट छुट पाउनुहुन्न।
जो सच्चा रूपले सत्यता पछ्याउँछन्, तिनीहरूमा ख्रीष्टको सामान्यता र व्यावहारिकताबारे कुनै धारणाहरू नहुने मात्र होइन—बरु यसको ठीक विपरीत, तिनीहरूले यी गुणहरूमा परमेश्वरको प्रेमिलोपन अझ बढी पनि देख्छन्, र तीमार्फत परमेश्वरको साँचो सार र सृष्टिकर्ताको साँचो सारबारे अझ राम्रो बुझाइ प्राप्त गर्छन्। अनि परमेश्वरबारे तिनीहरूको बुझाइ अझै गहन, अझै व्यावहारिक, अझै साँचो, र अझै सही बन्छ। यसको विपरीत, ख्रीष्टविरोधीहरू भने उहाँको सारा सामान्यता र व्यावहारिकताका कारण यस्तो ख्रीष्टलाई पछ्याउन प्राय: अनिच्छुक महसुस गर्छन्, किनभने तिनीहरूले सोच्छन् कि उहाँमा अलौकिक क्षमताहरू नै छैनन् र उहाँ साधारण मानिसहरूभन्दा वरिष्ठ हुनुहुन्न, र त्यसमाथि उहाँले मानवजातिका जस्तै जियाइ वातावरणहरूसमेत अनुभव गर्नुहुन्छ। ख्रीष्टविरोधीहरू खुसीसाथ यो सबै कुरा स्विकार्न, र यसबाट परमेश्वरको स्वभाव बुझ्न असक्षम मात्र हुँदैनन्, तिनीहरू त यसलाई निन्दा गर्ने र यसबाट सावधान रहने, र यसबारे झनै बढी आरोपहरू लगाउनेसमेत गर्छन्। उदाहरणका लागि, जब कसैले सिद्धान्तविपरीत केही काम गर्छ, तब यदि मैले त्यसबारे सोधिनँ र कसैले मलाई त्यसबारे बताएन भने, मैले त्यसबारे थाहा पाउनेछैनँ—के यो सामान्यता र व्यावहारिकताको दायराभित्रै पर्ने एउटा प्रकटीकरण होइन र? (हो।) जो-जोसँग सही बुझाइ र सामान्य मानवता हुन्छ, तिनीहरूले त्यो मामलाबारे मलाई प्रस्ट रूपमा र पूर्ण रूपमा बुझाउनेछन्, र त्यसपछि मलाई जसरी उचित लाग्छ त्यसरी त्यो कुरा सम्हाल्न दिनेछन्। ख्रीष्टविरोधीहरूले भने ठ्याक्कै उल्टो गर्छन्; तिनीहरू आफ्नो आँखाले मलाई नियाल्छन्, र मबाट कुराहरू धुत्ने उपाय लाउँदै मलाई जाँच्छन्। त्यसपछि तिनीहरूले मनमनै सोच्छन्, “तिमीलाई यो मामलाबारे थाहा नभएकोले, यसलाई सम्हाल्न सजिलो भयो—तिमीलाई यो कुरा थाहा भएको भए, मसित तिमीलाई सम्हाल्ने एउटा योजना थियो, र तिमीलाई थाहा नभएको भए, तिमीलाई सम्हाल्ने मसित अर्को योजना छँदै थियो; कुनै ठूलो मामलालाई म सानो बनाइदिनेथिएँ, र त्यसलाई घटाएर शून्यतामा झार्नेथिएँ, तिमीलाई बिलकुलै थाहा दिन्नथिएँ, र यो मामला यतिकै बिलाउन दिनेथिएँ—तिमीलाई यो मामलाबारे थाहा नभएकोले, भविष्यमा तिमीले यसबारे जान्नुपर्ने वा थाहा पाउनुपर्नेछैन। म यसको जिम्मा सम्हाल्छु। जब तिमीले कुनै दिन यसबारे थाहा पाउँछौ, त्यो मैले चाहेझैँ घटित भइसकेको हुनेछ, अनि त्यसबेला तिमीले मलाई के नै गर्न सक्नेछौ र?” कुन मानिसहरूले ख्रीष्टलाई यसरी व्यवहार गर्छन्? के तिनीहरू असल मानिसहरू हुन्? के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन्? के तिनीहरूसँग मानवता र निष्ठा हुन्छ? (हुँदैन।) केही अगुवाहरू थिए, जसले केही निश्चित कामकुराहरू गरे; तिनीहरूले मण्डलीमा जथाभाबी ढङ्गले व्यक्तिहरूलाई प्रवर्द्धन गरे, भेटीहरू फजुलमा उडाए, र अति धेरै जथाभाबी खरिदहरू गरे, अनि जतिसुकै पैसा खर्च भए पनि, वा जस्तोसुकै उल्लेखनीय समस्याहरू देखा परे पनि, तिनीहरूले त्यसबारे एक शब्द बोलेनन्। म त्यहाँ धेरैपटक गएँ, तर तिनीहरूले मसँग ती कुराहरूबारे कहिल्यै परामर्श लिने वा सोध्ने गरेनन्, तिनीहरूले केवल आफैले निर्णयहरू गरे; तिनीहरूले मलाई कुनै जाँचपडताल समेत गर्न दिएनन्, र मैले तिनीहरूबाट जानकारी कोट्याइरहनुपरेको थियो। तिनीहरू मलाई कुनै बाह्य व्यक्ति झैँ व्यवहार गरे: “तिमी यहाँ आएकोले, हामी तिमीलाई रिपोर्ट मात्र गर्नेछौँ र तिमीले देख्न मिल्ने कुराहरूबारे मात्र बताउनेछौँ। जहाँसम्म हामीले तिम्रो पिठ्यूँपछाडि गरेका कामकुराहरू छन्, तिमीले ती कुनै पनि कुराबारे पत्ता लगाउनेबारे नसोचेकै राम्रो हुनेछ। हामी तिमीलाई हस्तक्षेप वा सोधपुछ गर्न दिनेछैनौँ।” म जतिपटक त्यहाँ गए पनि, तिनीहरूले मलाई कहिल्यै सोधपुछ गर्न दिएनन्। मैले प्रश्नहरू सोध्न थाल्छु भन्ने डरले, तिनीहरूले छलकपट गर्दै, जानाजान झूटा र कर्णप्रिय शब्दहरू प्रयोग गरेर सत्यता लुकाए। तिनीहरूले मिलेमतो गरे, सहमतिमा पुगे, र एकअर्कासँग अर्थपूर्ण रूपमा हेराहेर गरे; तिनीहरूले एकताबद्ध मोर्चा कायम राखे, र एकअर्काका समस्याहरू रिपोर्ट गरेनन्, र एकअर्कालाई ढाकछोप गरे। जब मैले तिनीहरूले मेरो पिठ्यूँपछाडि गरिरहेका कामकुराबारे थाहा पाएँ र तिनीहरूलाई जिम्मेवार बनाउन चाहेँ, तब तिनीहरूले एकअर्कालाई ढाकछोप गर्न जारी राखे, को जिम्मेवार छ भनेर भनेनन्, लाटोझैँ व्यवहार गरे, र मसित शब्दखेल खेले। तिनीहरूले के त्रुटि गरे? तिनीहरूले सोचे, “यो साधारण व्यक्ति—ख्रीष्टसँग सामान्य, सरल सोचाइ, अनि साधारण र सामान्य मानवताबाहेक, गर्व गर्नलायक केही छैन, र कुनै अलौकिक शक्ति छैन। त्यस्तो भएकोले, हामी पिठ्यूँपछाडि केही सानातिना चलखेल गर्न सक्छौँ, र सहज रूपमा आफ्नै उद्यममा लाग्न सक्छौँ। मण्डलीको पैसा हाम्रो नियन्त्रणमा छ, त्यसकारण हामी जे चाहन्छौँ त्यही किन्छौँ। हामीलाई कुनै हस्ताक्षर आवश्यक पर्दा हामीले त्यो माग्नु पर्दै पर्दैन, हामीले खरिद गरिएका सामानहरूको समीक्षा नगरी, स्वेच्छाचारी रूपमा हस्ताक्षर गर्न, र त्यत्तिकै पैसा खर्च गर्न सक्छौँ। के ख्रीष्ट भनेको परमेश्वर होइन र? के तिमीले यी कुराहरू तह लाउन सक्छौ? हामी आफूलाई जे मन लाग्छ त्यही गर्नेछौँ; तिमी वरपर हुँदाबाहेक, बाँकी समय त सबै हाम्रै अधिकारक्षेत्र हो!” तिनीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिए? के तिनीहरूले उहाँलाई सजिलै हेप्न सकिने व्यक्तिका रूपमा लिएनन् र? तिनीहरूले यसो सोचे, “तिमीसँग सामान्य मानवता हुन्जेल, हामी तिमीलाई हेप्न डराउँदैनौँ। यदि तिमीसित अलौकिक मानवता छैन भने, हामी तिमीसँग डराउँदैनौँ।” तिनीहरू कस्ता प्रकारका मानिसहरू थिए? यदि तिनीहरूको मानवताका आधारमा मूल्याङ्कन गर्ने हो भने, के तिनीहरू असल मानिस मानिनेथिए? के तिनीहरू नैतिकता र मानवता भएका मानिस मानिनेथिए? के तिनीहरू आदर्शमयी निष्ठा भएका मानिस मानिनेथिए? तिनीहरू साँच्चिकै के थिए? के तिनीहरू बदमासहरूको हूल थिएनन् र? ती मानिसहरूले परमेश्वरको घरमा काम गर्दा कसको प्रतिनिधित्व गर्थे? तिनीहरूले त मानिसको प्रतिनिधित्व समेत गर्थेनन्, तिनीहरू शैतानको प्रतिनिधित्व गर्थे। तिनीहरूले शैतानका निम्ति कामकुरा गरे, तिनीहरू त्यसका नोकर र मतियार थिए; तिनीहरू त्यहाँ परमेश्वरको घरको कामलाई बाधा दिन र नष्ट गर्न आएका थिए, तिनीहरूले कर्तव्य निर्वाह गरिरहेका थिएनन्, बरु दुष्ट्याइँ गरिरहेका थिए। शैतानका ती मतियारहरूको समूह कसरी परमेश्वरका चुनिएका मानिसहरूलाई पक्रने, सताउने, र दुर्व्यवहार गर्ने ठूलो रातो अजिङ्गरभन्दा फरक थिए र? ठूलो रातो अजिङ्गरले परमेश्वरको देहधारी देह एक साधारण व्यक्ति मात्र हुनुहुन्छ, उहाँ बिलकुलै डरलाग्दो हुनुहुन्न भन्ने देख्छ, त्यसैले त्यसले स्वेच्छाचारी रूपमा उहाँलाई पक्रने कोसिस गर्छ, र उहाँलाई पक्रेपछि, त्यसले उहाँलाई मार्ने कोसिस गर्नेछ। के शैतानका यी मतियारहरू, यी ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई त्यस्तै व्यवहार गरेनन् र? के तिनीहरूको सार उस्तै छैन र? (छ।) तिनीहरूले आफ्नो विश्वासमा ख्रीष्टलाई के माने? के तिनीहरूले उहाँलाई परमेश्वर मानेर विश्वास गरे कि मानव मानेर? यदि तिनीहरूले ख्रीष्टलाई परमेश्वर मानेका भए, के तिनीहरूले उहाँलाई यसरी व्यवहार गर्नेथिए त? (गर्ने थिएनन्।) यसको एउटै मात्र व्याख्या छ: तिनीहरूले ख्रीष्टलाई मानव मानेर हेर्थे, तिनीहरूले यतिकै आलोचना गर्न, झुक्याउन, खेलबाड गर्न, उपहास गर्न, र जस्तो मन लाग्यो त्यस्तो व्यवहार गर्न सक्ने व्यक्तिका रूपमा हेर्थे; यसको मतलब तिनीहरू निकै दुस्साहसी थिए। यदि हामीले त्यस्ता दुस्साहसी मानिसहरूलाई वर्गीकृत गर्ने हो भने, के तिनीहरूलाई सृजित प्राणी, परमेश्वरका चुनिएका मानिस, उहाँका अनुयायी, उहाँद्वारा सिद्ध पार्न सकिने मानिस, र उहाँद्वारा मुक्ति दिन सकिने मानिसहरूको वर्ग र समूहमा राख्न मिल्छ? (मिल्दैन।) त्यस्ता रद्दीहरूलाई कता राखिनुपर्छ? शैतानको गुटमा। यस समूहका मानिसहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिन्छ। तिनीहरूले “मामला जे भए पनि, मैले तिमीबाट खोजी नगरुन्जेल वा यसबारे तिमीलाई जानकारी नगराउन्जेल, तिमीलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन, र तिमीले यसबारे कहिल्यै थाहा पाउनेछैनौ” भन्ने सोच्दै, ख्रीष्टलाई एक साधारण व्यक्तिझैँ व्यवहार गरे, मनोमानी र जथाभाबी रूपमा कार्य गरे अनि आफ्नो प्रभावको दायराभित्रको पूर्ण शक्ति चलाए। मलाई भन् त, के ख्रीष्टसँग तिनीहरूलाई तह लगाउने गर्ने अधिकार छ? (छ।) त्यसो गर्ने उचित तरिका के हुनेथियो? (तिनीहरूलाई मण्डलीबाट निष्कासित गर्ने।) ख्रीष्टविरोधी र शैतानहरूलाई यसरी नै तह लगाउनुपर्छ; तिनीहरूप्रति उदारता देखाउनै हुँदैन। जब त्यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गर्छन्, तब परमेश्वरले चाहे जे गर्नुभए पनि, उहाँले मानिसहरूलाई चाहे जसरी सत्यता आपूर्ति गर्नुभए पनि, वा उहाँले जे काम गर्नुभए पनि, तिनीहरूले त्यसप्रति ध्यानै दिँदैनन्। यदि तिनीहरूमा शक्तिको कमी छ भने, तिनीहरू त्यो प्राप्त गर्ने उपायहरू सोच्छन्, र शक्तिमा पुगिसकेपछि, ख्रीष्टसँग समान स्तरमा उभिन, उहाँसँग संसार विभाजित गर्न, को श्रेष्ठ छ भनी प्रतिस्पर्धा गर्न र उहाँसित हैसियतका लागि लड्न खोज्छन्। तिनीहरूको प्रभाव क्षेत्रभित्र, तिनीहरू यसो भन्दै ख्रीष्टलाई चुनौती दिन चाहन्छन्, “तिम्रो र मेरोबीच, कसको कुरामा बढी दम छ, म हेर्न चाहन्छु। यो मण्डली मेरो अधिकारक्षेत्र हो; म मण्डलीको पैसा जसरी मन लाग्छ त्यसरी खर्च गर्नेछु, मलाई जे चाहना छ त्यही किन्नेछु, र मलाई जसरी मन लाग्छ त्यसरी मामलाहरू सम्हाल्नेछु। म जसलाई निकम्मा ठान्छु, ऊ निकम्मा नै हो। म जसलाई चाहन्छु, उसैलाई प्रयोग गर्नेछु, र मैले प्रयोग गर्न रोजेका मानिसहरूलाई छुने अनुमति कसैलाई छैन। यदि कसैले छोयो भने, म त्यो मामला कहिल्यै छोड्नेछैनँ—परमेश्वरले उनको चाहना हो भने पनि, म स्विकार्नेछैनँ!” के यो काल निम्त्याउनु होइन र?
यदि मानिसहरूले परमेश्वरको प्रेमिलोपनलाई अझ धेरै बुझ्छन् र देहधारी परमेश्वरको सामान्य र व्यावहारिक मानवतामार्फत परमेश्वरको व्यावहारिकता र सारबारे अझ प्रस्ट र सही बुझाइ हासिल गर्छन् भने, तिनीहरू सत्यता पछ्याउने र मानवता बोकेका मानिसहरू हुन्। तर कतिपय मानिसहरू ख्रीष्टको सामान्य, व्यावहारिक पाटोका कारण उहाँलाई परमेश्वर मान्दैनन्। तिनीहरू उहाँसामु बढी ढिठो र दुस्साहसी भएर प्रस्तुत हुन्छन्, तिनीहरू स्वतन्त्र रूपमा कार्य गर्न थप हिम्मतिलो हुन्छन्, र ख्रीष्टलाई नाघ्ने र परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने सोचहरूले अझ धेरै ग्रसित हुन्छन्। तिनीहरू ख्रीष्टलाई तिरस्कार गर्न र उहाँसँग प्रतिस्पर्धा गर्न आफूसँग पुँजी भएको, र ख्रीष्टलाई मानव मान्ने प्रमाण भएको महसुस गर्छन्। तिनीहरूले यो प्रमाण प्राप्त गरेपछि, ख्रीष्टसँग डराउनु नपर्ने, र स्वतन्त्र रूपमा उहाँको आलोचना गर्न, अनौपचारिक रूपमा उहाँसित कुराकानी र हाँस-खेल गर्न र आफूलाई उहाँसँग समान स्तरमा राख्न, साथै उहाँसित आफ्ना घरायसी मामला र व्यक्तिगत चिन्ताका कुराहरू छलफल गर्न सकिने सोच्छन्। कतिले त यस्तोसमेत भन्छन्, “मैले मेरा भित्री सोच, कमजोरी, र भ्रष्ट स्वभावहरू तिमीलाई भनेको छु, त्यसकारण मलाई तिम्रो स्थितिबारे भन। मैले तिमीलाई परमेश्वरमा विश्वास गर्नुअघि र पछिका मेरा अनुभवहरूबारे बताएको छु, र मैले कसरी परमेश्वरको काम स्विकारेँ भन्नेबारे बताएको छु, त्यसैले मलाई तिम्रा अनुभवहरू सुनाऊ।” तिनीहरू के गर्ने प्रयास गरिरहेका छन्? के तिनीहरूले देहधारी परमेश्वरलाई अत्यन्तै साधारण र सामान्य देख्ने, र उहाँलाई परिवारको सदस्य, मित्र, साथी, वा छिमेकीका रूपमा हेर्न चाहने गर्दैनन् र? ख्रीष्ट जतिसुकै सामान्य र व्यावहारिक हुनुभए पनि, उहाँको सार कहिल्यै परिवर्तन हुनेछैन। उहाँको उमेर चाहे जति भए पनि, उहाँ जहाँ जन्मिनुभएको भए पनि, वा उहाँका योग्यता र अनुभव तँसँगको तुलनामा जस्तो भए पनि, उहाँ उच्च वा नगण्य जस्तोसुकै देखिनुभए नि, कहिल्यै नबिर्सी कि उहाँ सधैँ तँभन्दा फरक नै हुनुहुनेछ। यस्तो किन हुन्छ? उहाँ बाहिरी रूपमा सामान्य र व्यावहारिक देहमा जिउने परमेश्वर हुनुहुन्छ; उहाँको सार सदैव तेरोभन्दा फरक हुन्छ; उहाँको सार सर्वोच्च परमेश्वरको सार हो, जो सदा र सदैव सारा मानवजातिभन्दा माथि हुनुहुन्छ। यो कुरा नबिर्सी। सतहमा, उहाँ एक साधारण र सामान्य व्यक्तिझैँ देखिनुहुन्छ, उहाँलाई ख्रीष्ट भनिन्छ, र उहाँसित ख्रीष्टको पहिचान छ, तर यदि तैँले आफ्नो विश्वासमा उहाँलाई एक मानव मान्छस्, र उहाँलाई एक साधारण व्यक्ति, भ्रष्ट मानवजातिको एउटा सदस्यका रूपमा हेर्छस् भने, तँ खतरामा छस्। ख्रीष्टको पहिचान र सार कहिल्यै बदलिँदैनन्, उहाँको सार भनेको परमेश्वरको सार हो, र उहाँसित सधैँ परमेश्वरको पहिचान हुन्छ। उहाँ एक सामान्य, व्यावहारिक देहको आवरणमा जिउनुको अर्थ उहाँ भ्रष्ट मानवजातिको एउटा सदस्य हुनुहुन्छ भन्ने होइन, न त त्यसको अर्थ मानवले उहाँलाई आफूअनुकूल चालबाजी गर्न र नियन्त्रणमा राख्न सक्छन्, वा तिनीहरू उहाँसित बराबर हुन र शक्तिका लागि उहाँसित होड गर्न सक्छन् भन्ने नै हो। मानिसहरूले उहाँलाई मानवको रूपमा हेरुन्जेल, र मानव उपाय र दृष्टिकोणहरू प्रयोग गरेर उहाँको मापन गरुन्जेल, र उहाँलाई एक साथी, दौँतरी, सहकर्मी, वा उच्च अधिकारीमा परिणत गर्ने कोसिस गरुन्जेल, तिनीहरूले आफूलाई खतरनाक स्थानमा राखिरहेका हुन्छन्। यो किन खतरनाक छ? यदि तैँले ख्रीष्टलाई एक साधारण, सामान्य मानवका रूपमा हेरिस् भने, तेरा भ्रष्ट स्वभावहरू देखिन थाल्नेछन्। तैँले ख्रीष्टलाई मानव ठान्न थालेको क्षणदेखि, तेरा दुष्ट कार्यहरू खुलासा हुन थाल्नेछन्। के यो खतरनाक पाटो होइन र? मानिसहरूले ख्रीष्टलाई मानवको रूपमा हेरुन्जेल, र उहाँ सामान्य र व्यावहारिक हुनुहुन्छ, उहाँलाई झुक्याउन सजिलो छ, र उहाँ मानवजातिजस्तै हुनुहुन्छ भन्ने ठानुन्जेल, तिनीहरू परमेश्वरसँग डराउनेछैनन्, र यो बेला तिनीहरूको परमेश्वरसँगको सम्बन्ध बदलिन्छ। यो सम्बन्ध केमा परिणत हुन्छ? तिनीहरूको सम्बन्ध उप्रान्त कुनै सृजित प्राणी र सृष्टिकर्ताको हुँदैन, कुनै अनुयायी र ख्रीष्टको हुँदैन, साथै यो मुक्तिको पात्र र परमेश्वरको पनि हुँदैन, बरु यो त शैतान र यावत् थोकमाथिको सार्वभौमको सम्बन्ध बन्छ। मानिसहरू परमेश्वरको विरोधमा उभिन्छन्, र उहाँका शत्रु बन्छन्। जब तैँले ख्रीष्टलाई मानवका रूपमा हेर्छस्, तब तैँले परमेश्वरसामु तेरो पहिचान, र परमेश्वरका नजरमा तेरो मूल्यसमेत बदल्छस्; तैँले तेरो आत्मरति, विद्रोहीपन, दुष्टता, र अहङ्कारले आफ्ना सम्भाव्यताहरू र नियति पूर्ण रूपमा नष्ट गर्छस्। परमेश्वरले तँ एक सृजित प्राणी, ख्रीष्टको अनुयायी, र परमेश्वरको मुक्ति स्विकारेको व्यक्ति भएको आधारमा मात्र तँलाई अनुमोदन, मार्गदर्शन र जीवन प्रदान गर्नुहुनेछ र मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ। अन्यथा, परमेश्वरसँगको तेरो सम्बन्ध परिवर्तन हुनेछ। जब मानिसहरूले परमेश्वर, ख्रीष्टलाई एक व्यक्ति ठान्छन्, तब के तिनीहरूले ठट्टा गरिरहेका हुँदैनन् र? मानिसहरूले प्रायजसो यसलाई समस्याका रूपमा हेर्दैनन्, तिनीहरूले सोच्छन्, “ख्रीष्टले उनी एक साधारण र सामान्य व्यक्ति हुन् भनेका छन्, त्यसोभए उनलाई एक व्यक्तिका रूपमा लिँदा के बिग्रिन्छ र?” वास्तवमा, यसमा केही पनि गलत छैन, तर यसका गम्भीर परिणामहरू हुन्छन्। ख्रीष्टलाई एक व्यक्तिलाई झैँ व्यवहार गर्दा, तेरा लागि धेरै फाइदाहरू हुन्छन्। एकातिर, यसले तेरो हैसियत माथि उठाउँछ, अर्कोतिर, यसले तँ र परमेश्वरबीचको दूरी घटाउँछ, र त्यसबाहेक, तँ परमेश्वरको उपस्थितिमा अति अल्पभाषी हुनेछैनस्, तँलाई आराम र स्वतन्त्र महसुस हुनेछ। तँसित तेरो मानव अधिकार, स्वतन्त्रता, र तेरो अस्तित्वको मूल्यबोध हुनेछ, र तैँले तेरो आफ्नै उपस्थितिको आभास महसुस गर्नेछस्—के त्यो राम्रो होइन र? कुनै वास्तविक व्यक्तिलाई यसरी व्यवहार गर्दा केही गलत हुँदैन, यसले तँसित मर्यादा र निष्ठा छ भन्ने देखाउँछ। मानिस सजिलै झुक्नु हुँदैन; मानिसहरूले हल्का रूपमा कुनै पनि व्यक्तिसामु घुँडा टेक्ने, आत्मसमर्पण गर्ने, वा आफ्नो निकृष्टता स्विकार्ने गर्नु हुँदैन—के मानव अस्तित्वका नियमहरू र मानिसका व्यवहारका नियमहरू यिनै होइनन् र? धेरैले ख्रीष्टसँगका अन्तरक्रियाहरूमा यी व्यवस्था र व्यवहारका नियमहरू लागु गर्छन्। यसले समस्या निम्त्याउँछ, र यसले परमेश्वरको स्वभाव चिढ्याउने सम्भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने, सारा मानवजातिको वर्ण जे भए पनि, तिनीहरूको प्रकृति सार एउटै हुन्छ। ख्रीष्ट मात्र मानवजातिभन्दा फरक हुनुहुन्छ। ख्रीष्टमा सामान्यता र व्यावहारिकताको प्रकटीकरण भए पनि, र उहाँसँग सामान्य र व्यावहारिक मानवका जीवनशैली र जीवनचर्या भए पनि, उहाँको सार कुनै पनि भ्रष्ट तुल्याइएको मानवको जस्तो हुँदैन। ठ्याक्कै यही कारणले, उहाँ आफ्ना अनुयायीहरूबाट आफूले चाहेको तरिकामा व्यवहार गर्ने माग गर्न योग्य हुनुहुन्छ। ख्रीष्टबाहेक, अरू कुनै पनि व्यक्ति मानिसहरूसँग यी विधि र मानकहरू प्रयोग गरेर मागहरू गर्न योग्य हुँदैन। किन? किनकि ख्रीष्टको सार भनेको परमेश्वर स्वयम् हो, र किनकि ख्रीष्ट, यो साधारण, सामान्य व्यक्ति, परमेश्वरले पहिरनुभएको सामान्य देह र मानवहरूमाझ परमेश्वरको देहधारण हुनुहुन्छ। यसैलाई मात्र आधार बनाएर, ख्रीष्टलाई एक व्यक्तिका रूपमा हेर्नु गलत हो, उहाँ व्यक्तिझैँ व्यवहार गर्नु झनै गलत हो, र उहाँलाई झुक्याउनु, उहाँसित खेलबाड गर्नु, र उहाँविरुद्ध लड्नु झनै नराम्रो कुरा हो। ख्रीष्टविरोधीहरू, सत्यतालाई घृणा गर्ने दुष्ट व्यक्तिहरूको यो गिरोह, सदासर्वदा यो उल्लेखनीय समस्या र स्पष्ट गल्तीबारे बेखबर रहन्छन्। यस्तो किन हुन्छ? किनकि तिनीहरूको प्रकृति सार भनेको ख्रीष्टविरोधीको सार हो। तिनीहरू आत्मिक क्षेत्रमा परमेश्वरसित लड्छन्, उहाँसित हैसियतका निम्ति होड गर्छन्, उहाँलाई कहिल्यै पनि परमेश्वर भनेर सम्बोधन गर्ने वा त्यही रूपमा व्यवहार गर्ने गर्दैनन्। परमेश्वरका घरमा, तिनीहरूले यही व्यवहार दोहोर्याउँछन्, र ख्रीष्टलाई उही शैलीमा व्यवहार गर्छन्। तिनीहरूको पुर्खाले परमेश्वरलाई यसरी व्यवहार गर्यो, त्यसकारण तिनीहरूले यसरी व्यवहार गर्नबाट आफूलाई रोक्न नसक्नु कुनै आश्चर्य होइन। तिनीहरूले यसरी नै व्यवहार गर्नबाट आफूलाई रोक्न नसकेकाले र तिनीहरूको स्वभाव सार निर्धारित भएकोले, के यस्ता मानिसहरूले अझै पनि परमेश्वरको मुक्ति पाउन सक्छन् त? के तिनीहरू परमेश्वरको घरबाट निकालिने र निष्कासित हुनेछैनन् र? के तिनीहरू परमेश्वरका चुनिएका सारा मानिसहरूद्वारा अस्वीकृत हुनेछैनन् र? (हुनेछन्।) के परमेश्वरको घरले यस्ता व्यक्तिहरूलाई निन्दा गर्ने, निकाल्ने र हटाउने कार्यबारे तिमीहरूसँग अझै पनि धारणाहरू छन्? (छैनन्।) के तिनीहरू दयालायक छन्? (छैनन्।) तिनीहरू किन दयालायक छैनन्? तिनीहरू घृणा र तिरस्कार गरिनलायक छन्, त्यसकारण तिनीहरू दयालायक छैनन्।
ग. ख्रीष्टविरोधीहरू ख्रीष्टको नम्रता र गुप्ततालाई कसरी लिन्छन्
ख्रीष्टविरोधीहरू ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिन्छन् भन्ने कुरा विभिन्न तरिकाले प्रकट हुन्छ, र हामीले भर्खरै केही विशिष्ट उदाहरणहरू खुलासा गरेका छौँ। हामी यस पक्षबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याउनेछौँ। ख्रीष्टको अर्को पक्ष—उहाँको नम्रता र गुप्तता—का सन्दर्भमा ख्रीष्टविरोधीहरूले अझै पनि आफ्ना अद्वितीय स्वभाव सार देखाउँछन्, साथै तिनीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकताप्रतिको व्यवहारमा जस्तै उही सारगत प्रकटीकरण र दृष्टिकोणहरू राख्छन्। तिनीहरूले अझै पनि यी कुराहरू परमेश्वरबाट स्विकार्न, वा तिनलाई सकारात्मक कुराका रूपमा स्विकार्न सक्दैनन्, बरु तिनीहरूले तिनलाई तिरस्कार गर्छन्, तिनको उपहास र निन्दासमेत गर्छन्, र त्यसपछि तिनलाई इन्कार गर्छन्। यो तीन भागको शृङ्खला हो: सर्वप्रथम, तिनीहरूले नियाल्छन्, त्यसपछि निन्दा गर्छन्, र अन्त्यमा इन्कार गर्छन्। यी सबै ख्रीष्टविरोधीहरूका बानी परेका कार्यहरू हुन्; यो ख्रीष्टविरोधीहरूको सारद्वारा निर्धारित हुन्छ। नम्रता र गुप्तता भनेको के हो? यसको शाब्दिक अर्थ बुझ्न कठिन नहुनुपर्ने हो—यसको अर्थ देखावट गर्न मन नपराउनु, शान नदेखाउनु, ध्यान आकर्षित नगर्नु, र अज्ञात रहनु हो। यो देहधारी परमेश्वरको स्वभाव र परमेश्वरको अन्तर्निहित व्यक्तित्वसँग सम्बन्धित छ। देखिने कुराहरूका आधारमा भन्नुपर्दा, मानिसहरूलाई यो याद गर्न कठिन नहुनुपर्ने हो: ख्रीष्टसँग कुनै महत्त्वाकाङ्क्षा छैन, उहाँ शक्ति हत्याउने प्रयास गर्नुहुन्न, उहाँसित शक्तिको कुनै चाहना छैन, उहाँ मानिसहरूको हृदयलाई बन्दी बनाउनुहुन्न, न त उहाँले दिमाग पढ्ने कला नै अध्ययन गर्नुहुन्छ; ख्रीष्टले केवल सरल, सिधा, र प्रस्ट रूपमा बोल्नुहुन्छ, मानिसहरूका वास्तविक विचारहरू खुलाउन जासुसी शब्द वा चालहरू कहिल्यै प्रयोग गर्नुहुन्न। यदि मानिसहरूले केही भन्ने चाहना गर्छन् भने, तिनीहरूले भन्न सक्छन्; यदि चाहना गर्दैनन् भने, उहाँले तिनीहरूलाई जबरजस्ती गर्नुहुन्न। ख्रीष्टले मानिसहरूका भ्रष्ट स्वभाव र विभिन्न स्थितिहरू खुलासा गर्नुहुँदा, उहाँले सिधा रूपमा बोल्नुहुन्छ र तिनलाई प्रस्ट रूपमा औँल्याउनुहुन्छ; त्यसमाथि, कामकुरा सम्हाल्ने ख्रीष्टको तरिका अत्यन्तै सरल छ। मसँग अन्तरक्रिया गरिसकेकाहरूमा यो छाप परेको हुनुपर्छ, र यसो भन्ने गरेको हुनुपर्छ, “तपाईँ अलिक सिधा हुनुहुन्छ, संसारसँग व्यवहार गर्ने कुनै रणनीतिहरू विहीन हुनुहुन्छ। हैसियत हुँदा पनि, तपाईँले कुनै पनि समूहमा श्रेष्ठताको आभास गरेजस्तो देखिनुहुन्न।” यो भनाइ वास्तवमै सही हो; म चर्चाको विषय बन्नमा वा अरूसामु आफ्नो प्रसिद्धि बढाउनमा आनन्द लिँदिनँ। यदि मसँग साँच्चिकै यो हैसियत नभएको र परमेश्वरले मलाई गवाही नदिनुभएको भए, मेरो अन्तर्निहित व्यक्तित्व भनेको भिडहरूको पछाडि बस्नु, आफू देखिन नचाहनु, आफूसँग केही विशेष सीपहरू भए पनि अरूले थाहा दिन नचाहनु हो, किनकि यदि मानिसहरूले थाहा पाएमा, तिनीहरू मेरो पछि लागिरहनेछन्, जुन सम्हाल्न समस्या र कठिनाइ हुन्छ। त्यसकारण, म चाहे जहाँ गए नि, मानिसहरूले मेरो पछि लागिरहन थाल्नेबित्तिकै, म तिनीहरूलाई पठाउने उपायहरू खोज्छु, आवश्यक पर्दा मामलाहरूबारे छलफल गर्छु, र आवश्यक नपर्दा, तिनीहरूले जे गर्नुपर्ने हो त्यो गर्न तिनीहरूलाई तुरुन्तै आआफ्नो उचित ठाउँमा फिर्ता पठाउँछु। भ्रष्ट तुल्याइएका मानिसहरूलाई यो कुरा अबोध्य हुन्छ, “हामी मानवहरू तपाईँलाई कति धेरै प्रेम गर्छौँ र कति धेरै साथ दिन्छौँ! हामी तपाईँप्रति निकै मोहित छौँ! तपाईँ किन हाम्रो यो स्नेह स्विकार्नुहुन्न?” यो कस्तो कुरा हो? मैले जे भन्नुपर्ने हो तँलाई भनिसकेको छु, दिनुपर्ने निर्देशन दिइसकेको छु, त्यसकारण गएर आफ्नो काम गर्, मेरो वरपर नझुम्मी, म त्यसलाई भाउ दिन्नँ। मानिसहरू आफ्नो दृष्टिकोणमा यसो सोच्छन्, “परमेश्वर, यस्तो महान् काम गर्नुभएपछि, के तपाईँ प्रायः आत्मसन्तुष्ट पनि महसुस गर्नुहुन्न र? यतिका धेरै अनुयायीहरू भएपछि, के तपाईँलाई सधैँ श्रेष्ठता पनि महसुस हुँदैन र? के तपाईँलाई सधैँ विशेष व्यवहारको आनन्द उठाउने इच्छा हुँदैन र?” म भन्छु मैले कहिल्यै त्यस्तो महसुस गरेको छैन; म कहिल्यै यति धेरै अनुयायीहरू छन् भनेर सचेत हुँदिनँ, म श्रेष्ठता महसुस गर्दिनँ, र मलाई मेरो हैसियत कति उच्च छ भन्ने कुनै आभास हुँदैन। ल भन् त, यदि कुनै सामान्य व्यक्ति यस्तो पदमा भएको भए, ऊ दैनिक रूपमा साधारणतया कति उल्लसित हुन्थ्यो होला? के उसलाई के खाने वा के लाउने भनेर थाहै नहुने हुन्थेन र? दिनभरि उसको खुट्टा भुइँमै हुनेथिएन, होइन र? के ऊ सधैँ मानिसहरूले उसको पछि लागिरहून् भन्ने आशामा हुन्थेन र? (हुनेथ्यो।) विशेषगरी, केही क्षमता भएकाहरू सधैँ बैठकहरू राख्ने, र भाषणहरू दिँदा ध्यान र वाहवाहीको अनुभूतिमा रमाउने उपायहरू खोज्नेथिए, र यो मासु खानु र रक्सी पिउनुभन्दा बढी रमाइलो हुन्छ भनी सोच्नेथिए। मलाई अचम्म लाग्छ, मलाई किन त्यस्तो अनुभूति हुँदैन? मलाई किन त्यो राम्रो कुरा हो भन्ने अनुभूति हुँदैन? म किन त्यसलाई भाउ दिन्नँ? विश्वको साङ्गीतिक परिदृश्यमा, अलिकति क्षमता भएकाहरू, विशेषगरी गाउन र नाच्न सक्नेहरू देवी, देवता, सङ्गीतका राजा, सङ्गीतकी रानी, र सङ्गीतका पिता, माता, र हजुरबासमेत कहलिन्छन्। यी राम्रा उपाधिहरू होइनन्। त्यसमाथि, कतिपय मानिसहरू “साओ[क] वाङ” वा “साओ लि” भनेर बोलाइँदा, यसले तिनीहरूको वरिष्ठता घटाउँछ भन्ने सोचेर, असन्तुष्ट हुन्छन्, त्यसकारण तिनीहरूले आफ्नो वरिष्ठताको स्तर बदल्ने, भविष्यमा मानिसहरूले तिनीहरूलाई राजा वा रानी भनेर बोलाउन लगाउने उपायहरू खोज्छन्। यो भ्रष्ट तुल्याइएको मानवजाति हो। कतिपय मानिसहरू, परमेश्वरमा विश्वास गर्न थालेपछि, विश्वासीहरू गैरविश्वासी जतिकै धृष्ट हुनु हुँदैन, तिनीहरूलाई परमेश्वर, राजा, वा रानी भनेर बोलाइनु हुँदैन, तिनीहरू पृष्ठभूमिमा रहने र नम्र हुनुपर्छ भन्छन्। तिनीहरू आफूलाई सिधै नम्र भन्नु अलि तुच्छ हुने, यो पर्याप्त मात्रामा सानो वा निचो नभएको ठान्छन्, त्यसकारण तिनीहरूले आफूलाई अति सानो, सूक्ष्म, धूलो, जाबो भन्छन्, र कतिले त बालुवाको कण र अति सूक्ष्म कणिकासमेत भन्छन्। तिनीहरू सत्यतामा जोड दिँदैनन्, बरु तुच्छताबारे सोच्छन्, र साना झार, टुसा, र माटो, हिलो, गोबर, आदिसमेतका नामहरू राख्छन्। यी प्रत्येक नामहरू अघिल्लाभन्दा झन् अभद्र र तुच्छ हुन्छन्, तर के तिनले केही बदल्न सक्छन् र? म यस्ता नामका मानिसहरू पनि निकै अहङ्कारी, खराब, र कति त दुष्ट मानिसहरू समेत रहेको देख्छु। यस्ता नामले बोलाइनेहरू अझ साना र विनम्र बनेका हुँदैनन्, बरु धृष्ट, दुष्ट र दुर्भावपूर्ण नै रहन्छन्।
परमेश्वर पृथ्वीमा काम गर्न पहिलोपटक देहधारी बन्नुहुँदा, उहाँको काम सरल र छोटो थियो, तर मानवजातिको मुक्तिका लागि त्यो एक अपरिहार्य र महत्त्वपूर्ण कामको चरण थियो। तथापि, प्रभु येशूलाई क्रूसमा टाँगिएपछि, उहाँ जीवनमा फर्केर स्वर्गमा आरोहण गर्नुभयो, र मानवजातिसामु फेरि देखा पर्नुभएन। उहाँ किन मानवजातिसामु फेरि देखा पर्नुभएन? यो परमेश्वरको नम्रता र गुप्तता हो। सामान्य मानव तर्कअनुसार, परमेश्वर देह बन्नुभयो र साढे तेत्तिस वर्ष कष्ट भोग्नुभयो, मानवजातिको इन्कार, बदनामी, निन्दा, दुर्व्यवहार, आदि इत्यादि सहनुभयो, अनि क्रूसमा टाँगिएर जीवनमा फर्कनुभएपछि उहाँ आफ्नो विजय र महिमाका फलहरूको आनन्द उठाउन मानिसहरूमाझ फर्कनुपर्थ्यो। उहाँले थप साढे तेत्तिस वर्ष वा त्योभन्दा बढी जिउनुपर्थ्यो, र उहाँ मानवजातिबाट प्राप्त हुने आराधना र आदरपूर्ण हेराइ, साथै आफूले पाउनयोग्य हैसियत र व्यवहारमा रमाउनुपर्थ्यो। तर, परमेश्वरले त्यसो गर्नुभएन। कामको यस चरणमा, परमेश्वर कुनै समारोहबिना चुपचाप र मौन रूपमा आउनुभयो, र मानवले आफूसँग अलिकति क्षमता हुनेबित्तिकै आफ्नो उपस्थिति जमाउन खोज्ने मानिसहरूझैँ परमेश्वरले “म आएँ, म परमेश्वर स्वयम् हुँ!” भनेर उद्घोष गर्न चाहनुहुनेथिएन! परमेश्वरले आफ्ना लागि यस्तो एउटा शब्द पनि बोल्नुभएन बरु उहाँ एउटा गोठमा चुपचाप जन्मिनुभयो। परमेश्वरको आराधना गर्न आएका तीन बुद्धिमान् मानिसहरूबाहेक, प्रभु येशू ख्रीष्टको बाँकी जीवन कठिनाइ र कष्टले भरिएको थियो, जुन उहाँको क्रूसीकरणपछि मात्र समाप्त भयो। परमेश्वरले महिमा प्राप्त गर्नुभयो र मानिसका पापहरू क्षमा गर्नुभयो—त्यसको मतलब उहाँले मानवजातिको लागि एउटा महान् कार्य गर्नुभयो, किनकि उहाँले मानिसहरूलाई पापबाट र दुःखको सागरबाट उम्कन मदत गर्नुभयो, र उहाँ मानवजातिको उद्धारकर्ता हुनुहुन्छ। त्यसकारण, परमेश्वरले मानवजातिले गर्ने आराधना, प्रशंसा, र ढोगाइको आनन्द उठाउनुपर्थ्यो भन्नु तर्कसङ्गत नै हुन्छ। तर परमेश्वर आवाज नै ननिकाली, चुपचाप र मौन रूपमा बिदा हुनुभयो। विगत दुई हजार वर्षमा, परमेश्वरको काम सधैँ फैलिँदै आएको छ। यो फैलाइको प्रक्रिया कठिनाइ, रक्तपात, र सम्पूर्ण मानवजातिले गर्ने निन्दा र बदनामीले भरिएको छ। तर, परमेश्वरप्रति मानवजातिको मनोवृत्ति चाहे जे भए नि, उहाँले सत्यता व्यक्त गर्न जारी राख्नुभएको छ र मानिसलाई मुक्ति दिने उहाँको काम गर्न कहिल्यै छोड्नुभएको छैन। त्यसमाथि, यी दुई हजार वर्षको अवधिमा, परमेश्वरले आफ्नो उद्घोष गर्न, र प्रभु येशू उहाँको देहधारी देह हुनुहुन्छ र मानवजातिले उहाँलाई आराधना गर्नु र स्विकार्नुपर्छ भनेर बताउन कहिल्यै प्रस्ट वचनहरू प्रयोग गर्नुभएको छैन। परमेश्वरले केवल सबैभन्दा सरल विधि प्रयोग गर्नुहुन्छ, र स्वर्गको राज्यको सुसमाचार सबै देश र ठाउँहरूमा प्रचार गर्न आफ्ना सेवकहरूलाई पठाउनुहुन्छ, अझ धेरै मानिसहरूले पश्चात्ताप गर्ने, परमेश्वरसामु आउने, र उहाँको मुक्ति स्विकार्ने, र यसरी आफ्ना पापहरूका लागि क्षमा प्राप्त गर्ने तुल्याउनुहुन्छ। परमेश्वरले उहाँ नै आउँदै गरेको मसीह हुनुहुन्छ भनेर भन्नका लागि कहिल्यै कुनै अनावश्यक वचनहरू प्रयोग गर्नुभएको छैन; बरु, उहाँले तथ्यहरूमार्फत प्रमाणित गर्नुभएको छ कि उहाँले गर्नुभएको सारा काम परमेश्वर स्वयम्को काम हो, प्रभु येशूको मुक्ति परमेश्वर स्वयम्को मुक्ति हो, प्रभु येशूले सारा मानवजातिलाई छुटकारा दिनुभएको हो, र उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ। हालको देहधारणमा, परमेश्वर उस्तै शैली र स्वरूपमा मानिसहरूमाझ आउनुभएको छ। परमेश्वर देह बनेर आउनु भनेको मानवजातिका लागि ठूलो आशिष्, अत्यन्तै दुर्लभ अवसर, र त्योभन्दा पनि बढी, मानवजातिको सौभाग्य हो। तर परमेश्वर स्वयम्का लागि चाहिँ यसको अर्थ के हुन्छ त? यो सबैभन्दा पीडादायी कुरा हो। के तिमीहरूले यो कुरा बुझ्न सक्छौ? परमेश्वरको सार भनेको परमेश्वर हो। परमेश्वरको पहिचान भएका परमेश्वरसित अन्तर्निहित रूपमै अहङ्कार हुँदैन, बरु उहाँ विश्वासयोग्य, पवित्र, र धर्मी हुनुहुन्छ। मानवजातिमाझ आएर, उहाँले मानिसका विभिन्न भ्रष्ट स्वभावहरू सामना गर्नुपर्छ, यसको अर्थ उहाँ जसलाई मुक्ति दिने चाहना गर्नुहुन्छ ती सारा मानिसहरू उहाँलाई घृणित र घिनलाग्दा लाग्नेहरू हुन्। परमेश्वरसित अहङ्कारी स्वभाव, दुष्टता र छलीपन हुँदैन, उहाँ सकारात्मक कुराहरूलाई प्रेम गर्नुहुन्छ, उहाँ धर्मी र पवित्र हुनुहुन्छ, तर उहाँले जे सामना गर्नुहुन्छ, ठ्याक्कै भन्नुपर्दा त्यो उहाँको सारको विपरीत र विरोधी मानिसहरूको एउटा समूह हुन्छ। परमेश्वरले सबैभन्दा बढी के दिनुहुन्छ? उहाँको प्रेम, धैर्यता, कृपा, र सहनशीलता। परमेश्वरको प्रेम, कृपा, र सहनशीलता उहाँका नम्रता र गुप्तता हुन्। भ्रष्ट मानवजातिले यसो सोच्छ, “परमेश्वरले यस्तो महान् काम गर्नुहुन्छ, यस्तो ठूलो महिमा प्राप्त गर्नुहुन्छ, र उहाँ यति धेरै कुराहरूमाथि सार्वभौम हुनुहुन्छ, त्यसोभए उहाँले किन आफ्नो घोषणा वा उद्घोष गर्नुहुन्न त?” मानिसहरूका लागि, यो चुट्की बजाउनुझैँ सजिलो देखिन्छ; तिनीहरूले कुनै असल कार्य गर्दा तिनीहरूको त्यसको दश गुणा बढाइचढाइ गर्छन्, अलिकति असल काम गर्दा पनि तिनीहरूले त्यसलाई दुईतीन गुणा बढाएर भन्छन्, र त्यसलाई असीमित रूपमा ठूलो बनाउँछन्, र जति विस्तृतताका साथ त्यसो गरियो त्यति राम्रो हो भन्ने सोच्छन्। तर यी कुराहरू परमेश्वरको सारमा छैनन्। परमेश्वरले चाहे जे गर्नुभए पनि, त्यसमा मान्छेका कुनै पनि तथाकथित “लेनदेनहरू” हुँदैन; परमेश्वर कुनै पनि कुरा लिन चाहनुहुन्न, उहाँ मानिसहरूले भन्ने गरेको “पारिश्रमिक खोज्ने” काम गर्नुहुन्न। परमेश्वरसित भ्रष्ट मानवजातिले गरे झैँ, हैसियतको चाहना गर्नुहुन्न, उहाँ यसो भन्नुहुन्न, “म परमेश्वर हुँ; म जे चाहन्छु त्यही गर्छु, र मैले चाहे जे गरे पनि, तिमीहरूले मेरो असलपन सम्झनैपर्छ, मैले गर्ने कामकुरालाई हृदयमा लिएर सधैँ मलाई सम्झनैपर्छ।” परमेश्वरसँग ठ्याक्कै यसप्रकारको सारको अभाव हुन्छ; उहाँमा कुनै महत्त्वाकाङ्क्षा हुँदैन, उहाँमा भ्रष्ट मानवजातिको अहङ्कारी स्वभाव हुँदैन, र उहाँ आफ्नो उद्घोष गर्नुहुन्न। कतिपयले भन्छन्, “यदि तपाईँले आफ्नो उद्घोष गर्नुहुन्न भने, मानिसहरूले तपाईँ परमेश्वर हुनुहुन्छ भनेर कसरी थाहा पाउन सक्छन्? तिनीहरूले तपाईँसँग परमेश्वरको हैसियत छ भनेर कसरी देख्न सक्छन्?” यो आवश्यक छैन; परमेश्वरको सारले हासिल गर्न सक्ने कुरा नै यही हो। परमेश्वरसित परमेश्वरको सार हुन्छ; उहाँ जतिसुकै नम्र र गोप्य हुनुभए पनि, उहाँले जति नै गोप्य तरिकाले काम गर्नुभए पनि, मानवजातिलाई उहाँले चाहे जसरी कृपा र सहनशीलता देखाउनुभए पनि, मानिसहरूमाथि उहाँका वचन, काम, कार्य, आदि इत्यादिको अन्तिम प्रभाव भनेको निश्चय नै सृजित प्राणीहरूले सृष्टिकर्ताको सार्वभौमिकता स्विकार्नु, सृष्टिकर्तासामु झुक्नु र उहाँको आराधना गर्नु, साथै तिनीहरू स्वेच्छाले सृष्टिकर्ताको सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुनु हो। यो परमेश्वरको सारद्वारा निर्धारित हुन्छ। अनि ख्रीष्टविरोधीहरूले हासिल गर्न नसक्ने कुरा पनि ठ्याक्कै यही हो। तिनीहरूमा महत्त्वाकाङ्क्षा र चाहनाहरू, साथै अहङ्कारी, क्रूर, र दुष्ट स्वभावहरू हुन्छन्, तिनीहरूसँग सत्यता हुँदैन, तैपनि तिनीहरू मानिसहरूलाई कब्जा र नियन्त्रण गर्न, अनि तिनीहरूमा समर्पित हुन र तिनीहरूको आराधना गर्न लगाउन चाहन्छन्। ख्रीष्टविरोधीहरूको सारका आधारमा मूल्याङ्कन गर्दा, के तिनीहरू दुष्ट छैनन् र? ख्रीष्टविरोधीहरू परमेश्वरसित उहाँका चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गर्छन्, तर के परमेश्वरले तिनीहरूसित प्रतिस्पर्धा गर्नुहुन्छ र? के परमेश्वरमा यस्तो सार छ र? के परमेश्वरले प्रतिस्पर्धा गरेर सृजित प्राणीहरूको आराधना र समर्पण प्राप्त गर्नुहुन्छ र? (गर्नुहुन्न।) उहाँले त्यो कसरी प्राप्त गर्नुहुन्छ त? सृजित प्राणीहरू परमेश्वरद्वारा बनाइएका हुन्; मानवजातिलाई के चाहिन्छ, उसमा के हुनुपर्छ, र मानवजाति कसरी जिउनुपर्छ भनेर सृष्टिकर्तालाई मात्र थाहा हुन्छ। उदाहरणका लागि, मानौँ कुनै व्यक्तिले एउटा मेसिन बनाउँछ रे। त्यसका खोट र त्रुटिहरू, अनि त्यसलाई सुल्झाउने तरिका त्यो आविष्कारकलाई मात्र थाहा हुन्छ, त्यो मेसिनको नक्कल बनाउने जोसुकैलाई थाहा हुँदैन। यसैगरी, मानवजातिलाई परमेश्वरले सृष्टि गर्नुभएको हो; मानिसहरूलाई के चाहिन्छ भनेर परमेश्वरलाई मात्र थाहा हुन्छ, परमेश्वरले मात्र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ, र परमेश्वरले मात्र भ्रष्ट तुल्याइएका मानवलाई साँचो मानवमा रूपान्तरित गर्न सक्नुहुन्छ। परमेश्वरले यो सबै उहाँको अख्तियारद्वारा गर्नुहुन्न, स्वघोषणाद्वारा, स्वस्पष्टीकरणद्वारा, वा मानिसहरूलाई दमन गरेर, भ्रममा पारेर, वा नियन्त्रणमा राखेर गर्नुहुन्न; परमेश्वरले यी उपाय र विधिहरू प्रयोग गर्नुहुन्न, यी त शैतान र ख्रीष्टविरोधीहरूले मात्र प्रयोग गर्छन्।
यति धेरै सङ्गतिपछि, परमेश्वरको नम्रता र गुप्तताबारे तिमीहरूले के बुझेका छौ? परमेश्वरको नम्रता र गुप्तता भनेको के हो? के गुप्तता भनेको उहाँको पहिचान जानाजानी लुकाउनु, उहाँको सार जानाजान लुकाउनु र साँचो परिस्थिति जानाजान लुकाउनु हो? (होइन।) के नम्रता कृत्रिम रूपले स्वाङ पारिने कुरा हो? के यो आत्मसंयम हो? के यो ढोँग हो? (होइन।) कति मानिसहरू भन्छन्, “तपाईँ देहधारी परमेश्वर हुनुहुन्छ, यस्तो आदर्शवान् हैसियत भएको व्यक्तिले कसरी यति साधारण कपडाहरू लाउन मिल्छ?” म भन्छु, म एक साधारण जीवन जिइरहेको, साधारण व्यक्ति मात्र हुँ; मेरो सबथोक साधारण छ, त्यसकारण मैले किन साधारण कपडाहरू लाउन मिल्दैन? कतिपयले यसो भन्छन्, “तपाईँ ख्रीष्ट, देहधारी परमेश्वर हुनुहुन्छ। तपाईँको हैसियत आदर्शवान् छ—आफ्नो अवमूल्यन नगर्नुस्।” म भन्छु, कस्तो अवमूल्यन? म आफूलाई अधिमूल्यन वा अवमूल्यन गर्दिनँ; म जो हुँ त्यही हुँ, मैले जे गर्नुपर्ने हो म त्यही गर्छु, र मैले भन्नुपर्ने जे हो त्यही भन्छु—त्यसमा के गलत छ र? न त अधिमूल्यन न अवमूल्यन गर्नु नै सही हो; अधिमूल्यन गर्नु भनेको अहङ्कार हो, अवमूल्यन गर्नु भनेको ढोँग र छल हो। कतिपयले यसो भन्छन्, “देहधारी परमेश्वरको हाउभाउ त कुनै सेलिब्रेटीको जस्तो हुनुपर्छ, र तपाईँको बोली र व्यवहार सुरुचिपूर्ण हुनुपर्छ। समाजका शक्तिशाली महिलाहरूका कपाल, पहिरन, र मेकअप हेर्नुस् त, हैसियत भएका मानिसहरू तिनै हुन्, मानिसहरूले उच्च मान्ने तिनीहरूलाई नै हो!” म भन्छु, हैसियत भनेको के हो? मानिसहरूले मलाई उच्च माने पनि या नमाने पनि के फरक पर्छ र? मलाई यसको कुनै मतलब छैन; यदि तैँले मलाई उच्च मान्छस् भने, मलाई घिन र वाकवाकी लाग्छ। तैँले मलाई कदापि उच्च मान्नु हुँदैन। अरूले यसो भन्छन्, “समाजका ती महिला उद्यमीहरूलाई हेर्नुस् त, उनीहरू अत्यन्तै कुलीन र सुशिष्ट पहिरन लगाउँछन्। झट्ट हेर्दै, उनीहरू शक्तिशाली र कुलीन व्यक्तित्वहरू हुन् भन्ने देखिन्छ—तपाईँ किन उनीहरूबाट सिक्नुहुन्न?” मैले किन मलाई मनै नपर्ने कुरा सिक्ने? म मेरो उमेर सुहाउँदो कपडा लगाउँछु, मैले किन नौटङ्की गर्ने? मैले किन अरूबाट सिक्ने? म म नै हुँ, मैले कसको लागि नौटङ्की गर्ने? के त्यो छल होइन र? ल भन् त, देहधारी परमेश्वरको पहिचानसँग मिल्नका लागि उहाँको रूप, हुलिया, बोली, र व्यवहार कस्तो हुनुपर्छ? के तिमीहरूसित यसका मानकहरू छन्? तिमीहरूसँग पक्कै हुनुपर्छ, नत्र त तिमीहरूले ख्रीष्टलाई यसरी हेर्नेथिएनौ। मसित मेरा मानकहरू छन्—के मेरा मानकहरू सत्यता सिद्धान्तहरूको दायराभन्दा बाहिर जान्छन्? (जाँदैनन्।) किन केही मानिसहरू म के लगाउँछु वा के खान्छु भन्नेबारे सधैँ धारणाहरू राख्छन्, मेरो बारे निरन्तर निर्क्योल गर्छन् र फैसला गर्छन्—के त्यो घिनलाग्दो कुरा होइन र? किन तिनीहरू मलाई यस तरिकाले हेर्छन्? तिनीहरूका नजरमा, ख्रीष्टले जे गर्नुहुन्छ त्यो गलत हुन्छ, त्यो सबै नकारात्मक हुन्छ, त्यसमा सधैँ केही न केही गडबड भइरहेको हुन्छ। तिनीहरू कति दुष्ट होलान् त! यी विभिन्न पहिचानहरू, र परमेश्वरका विभिन्न दृष्टिकोणहरूबाट—परमेश्वरको आत्मा, परमेश्वर स्वयम्को सारदेखि, देहधारी परमेश्वरको मानवतासम्म—मूल्याङ्कन गर्दा, परमेश्वरको सारभित्र कुनै अहङ्कार वा कुनै शैतानी महत्त्वाकाङ्क्षा र चाहना छैन, र त्यसमा मान्छेको तथाकथित हैसियतप्रतिको हुटहुटी त झनै छैन। परमेश्वर स्वयम्को सारबाहेक, परमेश्वरसित जे छ, चाहे यो परमेश्वरको आत्मा होस् वा उहाँको देहधारी देह, यसको सबैभन्दा प्रमुख विशेषता भनेको उहाँको नम्रता र गुप्तता हो। यो नम्रता नक्कली होइन, यो गुप्तता जानाजानी तर्किनु होइन; यो परमेश्वरको सार हो, यो परमेश्वर स्वयम् हो। चाहे परमेश्वर आत्मिक क्षेत्रमा हुनुहोस् वा मानव रूपमा देहधारी हुनुहोस्, उहाँको सार बदलिँदैन। यदि कसैले यसको आधारमा देहधारी ख्रीष्टसँग परमेश्वरको सार छ भन्ने देख्न सक्दैन भने, ऊ कस्तो प्रकारको व्यक्ति हो? ऊ आत्मिक बुझाइ नभएको, एक अविश्वासी हो। मानिसहरूले परमेश्वरको नम्रता र गुप्तताको सार हेरेमा, तिनीहरूले सोच्छन्: “परमेश्वरसित त्यस्तो ठूलो अख्तियार छजस्तो देखिँदैन। परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ भनेर भन्नु त्यति विश्वसनीय देखिँदैन, परमेश्वर शक्तिमान् हुनुहुन्छ भन्नुचाहिँ बढी उचित हुन्छ। उहाँसँग त्यति ठूलो अख्तियार नभएकोले, उहाँले कसरी मानवजातिमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ? उहाँले कहिल्यै परमेश्वरको हैसियत र पहिचान नदेखाउनुहुने हुनाले, के उहाँले शैतानलाई पराजित गर्न सक्नुहुन्छ? परमेश्वरसित बुद्धि छ भनिन्छ—के बुद्धिले नै सबथोक निर्क्योल गर्न सक्छ? कुनचाहिँ ठूलो हो, बुद्धि कि सर्वशक्तिमान्ता? के बुद्धिले सर्वशक्तिमान्तालाई डगमगाउन सक्छ? के बुद्धिले सर्वशक्तिमान्तामाथि प्रभाव पार्न सक्छ?” मानिसहरू यसबारे मनन गर्छन् तर यसलाई छर्लङ्ग देख्न वा यसलाई बुझ्न सक्दैनन्। कतिपय मानिसहरूले हृदयमा केही शङ्काहरू पाल्छन्, तर त्यसपछि तिनलाई बिस्तारै पचाउँछन्, निरन्तर खोजी गरिरहन्छन् र आफ्ना अनुभवहरूमार्फत यो मामला बुझ्ने कोसिस गरिरहन्छन्, अनि तिनीहरूले अनजानमा केही अनुभूतिजनक ज्ञान हासिल गर्छन्। ख्रीष्टविरोधीहरूले मात्र परमेश्वरको सारका यी सारा पक्षहरू, यी सारा प्रकटीकरणहरू, र उहाँका सबै कार्यहरूबारे शङ्का गरेपछि, यो परमेश्वरको नम्रता र गुप्तता हो, परमेश्वरको प्रेमिलो कुरा यही हो, भन्ने कुरा नबुझ्ने मात्र नभई, उल्टै परमेश्वरबारे थप शङ्का गर्ने र परमेश्वरलाई अझ गम्भीर निन्दा गर्ने गर्छन्। तिनीहरूले सबथोकमाथि परमेश्वरको सार्वभौमिकता छ, परमेश्वरले शैतानलाई पराजित गर्न सक्नुहुन्छ, परमेश्वरले मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ, र परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजना सफलतापूर्वक पूरा हुन सक्छ भन्ने कुरामा शङ्का गर्छन्, र त्यो भन्दा पनि बढी, तिनीहरूले परमेश्वर उहाँको महिमासाथ असङ्ख्य मानिसहरूसामु प्रकट हुनुहुनेछ भन्ने कुरामा शङ्का गर्छन्। यी कुराहरूबारे शङ्का गरेपछि, तिनीहरूले के गर्छन् त? तिनीहरूले यी कुराहरू इन्कार गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू भन्ने गर्छन्, “ख्रीष्टको नम्रता र गुप्तताको कुनै अर्थ छैन, ती प्रशंसा वा गुणगान गर्न लायक छैनन्, र ती परमेश्वरको सार होइनन्। यस्ता नम्रता र गुप्तता परमेश्वरसँग हुने कुराहरू होइनन्; ख्रीष्टका नम्रता र गोप्यता उनको अयोग्यताका प्रकटीकरणहरू हुन्। संसारमा, यदि कोहीसँग अलिकति हैसियत भएसम्म, उसलाई राजा, अमिर, वा सम्राट् घोषित गरिन्छ। ख्रीष्टले उनको राज्य स्थापित गरेका छन् र उनीसँग अत्यन्तै धेरै अनुयायीहरू छन्, र सँगसँगै सुसमाचारको काम तीव्र गतिमा फैलिरहेको छ—के यसको अर्थ ख्रीष्टको शक्ति बढ्दो छ भन्ने होइन र? तर उनका कार्यहरूका आधारमा मूल्याङ्कन गर्दा, उनी आफ्नो शक्ति बढाउन, वा यस्तो शक्ति धारण गर्न चाहँदैनन्। यस्तो लाग्छ, मानौँ उनीसँग यो शक्ति धारण गर्ने, ख्रीष्टको राज्य धारण गर्ने क्षमता नै छैन। त्यसैले, के मैले उनलाई पछ्याएर आशिष्हरू प्राप्त गर्न सक्छु त? के म अबको युगको मालिक बन्न सक्छु त? के म असङ्ख्य देश र मानिसहरूमाथि शासन गर्न सक्छु त? के उनले यो पुरानो संसार, यो भ्रष्ट मानवजातिलाई नष्ट गर्न सक्छन् त? ख्रीष्टको साधारण हुलिया हेर्दा, उनले कसरी महान् काम हासिल गर्न सक्छन् त?” ख्रीष्टविरोधीहरूको हृदयमा यस्ता शङ्काहरू सधैँ उब्जिरहन्छन्। ख्रीष्टको नम्रता र गुप्तता त्यस्ता कुराहरू हुन् जुन सारा भ्रष्ट तुल्याइएका मानिसहरूले, विशेषगरी ख्रीष्टविरोधीहरूले, स्विकार्न, अनुमोदन गर्न, वा देख्न सक्दैनन्; ख्रीष्टविरोधीहरूले परमेश्वरको नम्रता र गोप्यतालाई परमेश्वरको पहिचान र सारबारे तिनीहरूले गर्ने शङ्काको प्रमाणका रूपमा, परमेश्वरको अख्तियार इन्कार्ने प्रमाण र गलचेपका रूपमा लिन्छन्, यसरी तिनीहरूले परमेश्वरको पहिचान र सार, अनि ख्रीष्टको सार इन्कार्छन्। ख्रीष्टको सार इन्कारेपछि, ख्रीष्टविरोधीहरूले आफ्नो क्षेत्राधिकारभित्रका परमेश्वरका चुनिएका मानिसहरूविरुद्ध कुनै कृपा, उदारता, र डरबिना कार्य गर्न थाल्छन्, तर साथसाथै तिनीहरूले आफ्ना क्षमता, सीप, वा महत्त्वाकाङ्क्षाहरूलाई कति पनि इन्कार वा शङ्का गर्दैनन्। तिनीहरूको प्रभावको दायराभित्र, तिनीहरूले कार्य गर्न सक्ने दायराभित्र, ख्रीष्टविरोधीहरूले आफ्ना पन्जाहरू फिँजाउँछन्, आफूले नियन्त्रण गर्न सक्नेहरूलाई नियन्त्रण गर्छन्, र बहकाउन सकिनेहरूलाई बहकाउँछन्; तिनीहरूले ख्रीष्ट र परमेश्वरलाई पूरै बेवास्ता गर्छन्, र परमेश्वर, ख्रीष्ट, र परमेश्वरको घरसँगको आफ्नो सम्बन्ध पूर्ण रूपमा विच्छेद गर्छन्।
ख्रीष्टविरोधीहरूले ख्रीष्टको नम्रता र गुप्ततालाई कसरी लिन्छन् भन्ने यो विषयवस्तु सम्बन्धमा हामी मूलतः केबारे सङ्गति गरिरहेका छौँ? मानिसहरूले बुझ्नुपर्ने—परमेश्वरको नम्रता र गुप्तता—ख्रीष्टविरोधीहरूका नजरमा तिनीहरूले गर्न चाहेको मनपरी कामकुरा गर्न र परमेश्वरको घरमा स्वतन्त्र राज्य स्थापित गर्नका लागि सबैभन्दा लाभदायक अवस्थाहरू हुन्। परमेश्वर देहमा लुक्नुभएको हुन्छ, र आखिरी दिनहरूको कामको यो चरण रूपमा अनुग्रहको युगको भन्दा फरक छ। परमेश्वरले यो चरणमा चमत्कार र अचम्मका कामहरू नगर्नुभए पनि, उहाँले योभन्दा अत्यन्तै धेरै वचनहरू, अनगिन्ती धेरै वचनहरू बोल्नुभएको छ। परमेश्वरले चाहे जसरी काम गर्नुभए पनि, उहाँ देहधारी रहुन्जेल, उहाँले आफ्नो काम गर्दा त्योसँगै ठूलो अपमान पनि आउँछ। ईश्वरीय सार भएको यस्तो परमेश्वरले मात्र, साधारण व्यक्ति बनेर आफ्नो काम गर्न, साँच्चिकै आफूलाई नम्र र गुप्त राख्न सक्नुहुन्छ, किनकि उहाँसित नम्रता र गुप्तताको सार हुन्छ। तर यसविपरीत, शैतानले किमार्थ यसो गर्न सक्दैन। शैतानले मानिसहरूमाझ काम गर्न कस्तो देह धारण गर्नेथियो? सर्वप्रथम त, त्यसको हुलिया भव्य हुनेथियो, र त्यो क्रूर, छली, र दुष्ट हुनेथियो; त्यसपछि, मानिसहरूसित खेलबाड र चालबाजी गर्न विभिन्न रणनीति र विधिहरू, साथै विभिन्न छलपूर्ण चालहरूमा त्यो निपुण हुनुपर्छ, र त्यो पर्याप्त मात्रामा निर्दयी र दुर्भावपूर्ण हुनुपर्छ। त्यो लगातार मानिसहरूमाझ देखिनुपर्छ, र कसैलाई त्यसलाई नचिन्ला कि भन्ने डरले चारैतिर चर्चामा रहनुपर्छ, र त्यसले सधैँ आफ्नो प्रसिद्धि बढाउने र आफूलाई प्रवर्द्धन गर्ने कोसिस गर्नुपर्छ। जब मानिसहरूले अन्ततः त्यसलाई राजा वा सम्राट् भन्छन्, तब त्यो सन्तुष्ट हुनेछ। परमेश्वरले शैतानको ठ्याक्कै उल्टो गर्नुहुन्छ। परमेश्वर धैर्यता अभ्यास गरिरहनुहुन्छ र लुकिरहनुहुन्छ, र यसो गर्दै गर्दा, उहाँले सृष्टिकर्ताको कृपा र प्रेमिलो दयालुपन प्रयोग गरेर मानिसहरूमा उहाँका वचनहरू र उहाँको जीवन ढाल्नुहुन्छ, ताकि मानिसहरूले सत्यता बुझ्न, मुक्ति पाउन सकून्, र ताकि तिनीहरू सामान्य मानवता र सामान्य मानव जीवनसहितका साँचो सृजित प्राणी बनून्। परमेश्वरले जे गर्नुहुन्छ मानवजातिका लागि त्यो अमूल्य भए पनि, परमेश्वरले त्यसलाई आफ्नै जिम्मेवारी मान्नुहुन्छ। त्यसकारण, उहाँ आफै देह बन्नुभयो र उहाँले एक आमा वा बुबाले झैँ अथक रूपमा मानिसहरूलाई आपूर्ति गर्ने, मदत गर्ने, साथ दिने, अन्तर्दृष्टि दिने, र ज्योति दिने गर्नुहुन्छ। अनि अवश्य नै, उहाँले मानिसहरूलाई सजाय दिने, न्याय गर्ने, र ताडना दिने, र अनुशासनमा राख्ने पनि गर्नुहुन्छ, र यसरी तिनीहरू दिनप्रतिदिन परिवर्तन भएको, तिनीहरूले दिनप्रतिदिन सामान्य मण्डली जीवन जिएको, र दिनप्रतिदिन तिनीहरू जीवनमा बढेको हेर्नुहुन्छ। तसर्थ, परमेश्वरले जे गर्नुहुन्छ त्यो सबै, सकारात्मक कुराहरूको वास्तविकता हो। मानवजातिमाझ, मानिसहरू परमेश्वरले चुकाउनुभएको मूल्य, उहाँको महान् शक्ति, र उहाँको महिमाको प्रशंसा गर्छन्, तर परमेश्वरका वचनहरूमा, उहाँले मानिसहरूलाई कहिलेचाहिँ “मैले मानवजातिका लागि यो र त्यो गरेको छु, मैले धेरै त्याग गरेको छु; मानिसहरूले मेरो प्रशंसा र गुणगान गर्नैपर्छ” भनेर भन्नुभएको छ र? के परमेश्वरले मानवजातिबाट यस्ता मागहरू गर्नुहुन्छ? गर्नुहुन्न। यो परमेश्वर स्वयम् हुनुहुन्छ। परमेश्वरले मानिसहरूसित लेनदेन गर्न यसो भन्दै, कहिल्यै सर्तहरू प्रयोग गर्नुभएको छैन, “मैले ख्रीष्टलाई तिमीहरूमाझ राखेको छु, तिमीहरूले उहाँलाई राम्रो व्यवहार गर्नुपर्छ, उहाँका वचनहरू सुन्नुपर्छ, उहाँमा समर्पित हुनुपर्छ, र उहाँलाई पछ्याउनुपर्छ। तिमीहरूले बाधा वा अवरोधहरू सिर्जना नगर्नू, उहाँले तिमीहरूलाई जे गर्न भन्नुहुन्छ त्यही गर्नू, जसरी गर्न भन्नुहुन्छ त्यसरी नै गर्नू, अनि जब सबथोक सम्पन्न हुन्छ, तब तिमीहरू सबैले श्रेय पाउनेछौ।” के परमेश्वरले कहिल्यै यस्तो कुरा भन्नुभएको छ र? के परमेश्वरको अभिप्राय यही हो र? होइन। बरु यसको उल्टो, मानिसहरूलाई प्रलोभन, बन्धन, र नियन्त्रणमा पार्न र मानिसहरूको सबथोकको मालिक बन्न, र मानिसहरूलाई परमेश्वर छोडेर आफूसामु आउने तुल्याउन, सधैँ विभिन्न माध्यमहरू उपयोग गर्न खोज्ने त ख्रीष्टविरोधीहरू हुन्। आफूले केही सानो कृत्य गर्नेबित्तिकै चारैतिर उद्घोष र घोषणा गर्ने ख्रीष्टविरोधीहरू हुन्। ख्रीष्टविरोधीहरूले परमेश्वरको नम्रता र गुप्ततालाई बुझ्न, स्विकार्न, प्रशंसा गर्न, वा त्यसको गुणगान गर्न नसक्ने मात्र होइन, उल्टै तिनीहरूले यी कुराहरूको तिरस्कार र ईशनिन्दासमेत गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव सारद्वारा निर्धारित हुन्छ।
आज हामीले ख्रीष्टविरोधीहरूले कसरी ख्रीष्टको सार इन्कार गर्छन् भन्ने कुराका तीनवटा प्रकटीकरणहरूबारे सङ्गति गरेका छौँ। यसबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याऔँ। के तिमीहरूसँग केही प्रश्नहरू छन्? (छैन।) त्यसोभए ठिक छ, अलबिदा!
नोभेम्बर २१, २०२०
फूटनोटहरू:
क. चिनियाँभाषीहरूले आफूभन्दा सानो व्यक्तिको थरअगाडि “साओ” राख्छन्।