५. परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो हो, तर मलाई लाग्छ सबै धर्मले मानिसहरूलाई असल मानिस हुन सिकाउँछन्। त्यसैले मानिसहरूले जुनै धर्ममा विश्‍वास गरे पनि, त्यसले केही फरक पर्दैन, जबसम्म तिनीहरू इमानदार हुन्छन् र कुनै दुष्ट काम गर्दैनन्, तबसम्‍म परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछ?

परमेश्वरका सान्दर्भिक वचनहरू:

अहिले, तिमीहरूमा परमेश्‍वरप्रति विश्‍वासको अवधारणासम्बन्धी कस्ता ज्ञान र मूल्याङ्कन छन्? ती कुरा कसरी तिमीहरू धर्ममा छँदा परमेश्‍वरप्रति आस्थाको बुझाइभन्दा फरक छन्? अहिले, के तिमीहरूले धर्ममा आस्था राख्नु र परमेश्‍वरमा आस्था राख्नु भनेको के हो भनेर साँच्‍चै बुझेका छौ? धर्ममा आस्था राख्नु र परमेश्‍वरमा विश्‍वास गर्नुबीच कुनै भिन्‍नता छ? केमा भिन्‍नता छ? के तिमीहरू यी प्रश्‍नहरूका गहिराइमा पुगेका छौ? सामान्यतया कस्तो प्रकारको व्यक्ति धर्मको विश्‍वासी हो? तिनीहरूको ध्यान केमा हुन्छ? धर्ममा विश्‍वास गर्नुलाई कसरी परिभाषित गरिनुपर्छ? धर्ममा विश्‍वास गर्नु भनेको परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्नु हो, र धर्मका विश्‍वासीहरूले आफ्‍ना व्यवहारमा निश्‍चित परिवर्तन ल्याउँछन्: तिनीहरूले मानिसहरूलाई हिर्काउने वा गाली गर्ने गर्दैनन्, तिनीहरूले मानिसहरूलाई हानि गर्ने खराब काम गर्दैनन्, र तिनीहरूले विभिन्‍न अपराध गर्ने वा कानुन तोड्ने गर्दैनन्। सेवाका दिनमा, तिनीहरू मण्डलीमा जान्छन्। यिनीहरू धर्मका विश्‍वासीहरू हुन्। यसको मतलब राम्रो व्यवहार गर्नु र नियमित सेवा-सङ्गतिमा जानु नै कुनै व्यक्तिले धर्ममा विश्‍वास गर्छ भन्‍ने कुराको प्रमाण हो। जब कसैले धर्ममा विश्‍वास गर्छ, तब उसले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छ, र तिनीहरू सोच्छन्, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको असल व्यक्ति बन्‍नु हो; पाप वा खराब काम गरेनन् भने, तिनीहरू मृत्युपछि स्वर्ग जान सक्नेछन् र तिनीहरूको परिणाम राम्रो हुनेछ। तिनीहरूको आस्थाले तिनीहरूलाई आत्मिक स्तरको भरणपोषण प्रदान गर्छ। त्यसकारण, धर्ममा गरिने विश्‍वासलाई यसरी पनि परिभाषित गर्न सकिन्छ: धर्ममा विश्‍वास गर्नु भनेको परमेश्‍वर हुनुहुन्छ भनेर हृदयले स्वीकार गर्नु; मरेपछि स्वर्ग जान सकिनेछ भन्‍ने कुरामा विश्‍वास गर्नु; हृदयमा आत्मिक आड पाउनु; व्यवहारमा अलि परिवर्तन हुनु; अनि असल व्यक्ति बन्‍नु हो। कुरा त्यति नै हो। तिनीहरूले विश्‍वास गरेका परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्‍न, उहाँले सत्यता व्यक्त गर्न सक्नुहुन्छ कि सक्नुहुन्‍न, उहाँले तिनीहरूलाई के गर्न लगाउनुहुन्छ भन्‍ने विषयमा, तिनीहरूलाई केही पनि थाहा हुँदैन। तिनीहरूले यी सबै कुरा बाइबलका शिक्षाको आधारमा अनुमान र कल्‍पना गरेका हुन्छन्। धर्ममा विश्‍वास गर्नु भनेको यही हो। धर्ममा विश्‍वास गर्नु भनेको मुख्य रूपमा व्यवहारगत परिवर्तन र आत्मिक भरणपोषणको खोजी गर्नु हो। तर यस्ता मानिसहरूले हिँड्ने मार्ग—आशिष्‌हरूको पछि लाग्‍ने मार्ग—परिवर्तन भएको हुँदैन। परमेश्‍वरप्रतिको आस्थासम्‍बन्धी तिनीहरूको गलत दृष्टिकोण, धारणा र कल्‍पनाहरू परिवर्तन भएको हुँदैन। तिनीहरूको अस्तित्वको जग, र तिनीहरूले आफ्ना जीवनमा पछ्याउने लक्ष्य र दिशा परम्‍परागत संस्कृतिका विचार र दृष्टिकोणहरूमा आधारित हुन्छन्, र ती अलिकति पनि परिवर्तन भएका हुँदैनन्। धर्ममा विश्‍वास गर्ने हरेकको स्थिति यस्तै हुन्छ। त्यसो भए, परमेश्‍वरमा विश्‍वास गर्नु चाहिँ के हो त? परमेश्‍वरमाथिको विश्‍वासबारे परमेश्‍वरको परिभाषा कस्तो छ? (परमेश्‍वरका सार्वभौमिकतामा विश्‍वास गर्नु।) परमेश्‍वरको अस्तित्व र उहाँका सार्वभौमिकतामा विश्‍वास गर्नु—सबैभन्दा आधारभूत कुरा यही हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका वचनहरूमा चासो राख्नु, र परमेश्‍वरका वचनहरूले भनेबमोजिम अस्तित्वमा रहनु, जिउनु, आफ्‍नो कर्तव्य निभाउनु, र सामान्य मानवताका सबै क्रियाकलापहरूमा सहभागी हुनु हो। यसको आशय के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरले भन्‍नुभएको काम गर्नु, र उहाँले भनेअनुसार जिउनु हो; परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरको मार्ग पछ्याउनु हो। के परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको जीवनको लक्ष्य र दिशा धर्ममा विश्‍वास गर्ने मानिसहरूको भन्दा पूर्ण रूपमा फरक हुँदैनन् र? परमेश्‍वरमा आस्था राख्ने कार्यमा कुन-कुन कुराहरू सामेल हुन्छन्? त्यसमा मानिसहरू परमेश्‍वरका वचनहरू सुन्‍न, सत्यता स्विकार्न, भ्रष्ट स्वभावहरू फाल्न, सबथोक त्यागेर परमेश्‍वरलाई पछ्याउन, अनि आफ्ना कर्तव्यमा वफादार हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुराहरू सामेल छन्। यी कुराहरूको तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरासित प्रत्यक्ष परस्पर सम्बन्ध हुन्छ। अब तिमीहरूलाई परमेश्‍वरमा आस्था राख्नुको परिभाषा थाहा छ; त्यसोभए, परमेश्‍वरप्रतिको आस्थालाई कसरी अभ्यास गर्नुपर्छ? परमेश्‍वर आफ्ना विश्‍वासीहरूप्रति कस्तो माग गर्नुहुन्छ? (तिनीहरू इमानदार बनेको, र सत्यता, स्वभाव परिवर्तन र परमेश्‍वरसम्बन्धी ज्ञानको पछि लागेको माग गर्नुहुन्छ।) मानिसको बाहिरी व्यवहारका लागि परमेश्‍वरका कस्ता मागहरू छन्? (उहाँ मानिसहरू भक्त बनेको, दुराचारी नबनेको, अनि सामान्य मानवतामा जिएको माग गर्नुहुन्छ।) मानिसहरूमा सन्तको आधारभूत शालीनता हुनुपर्छ र तिनीहरू सामान्य मानवतामा जिउनुपर्छ। त्यसोभए, सामान्य मानवता पाउन व्यक्तिमा के हुनैपर्छ? यो कुरा व्यक्तिले विश्‍वासीका रूपमा अभ्यास गर्नैपर्ने धेरै सत्यताहरूसँग सम्बन्धित छ। यी सबै सत्यता वास्तविकताहरू भएमा मात्र व्यक्तिले सामान्य मानवता प्राप्त गर्छ। यदि कुनै व्यक्तिले सत्यता अभ्यास गर्दैन भने के उसले परमेश्‍वरमा विश्‍वास गर्छ? सत्यता अभ्यास नगर्नुका परिणामहरू के-के हुन्? मानिसले मुक्ति प्राप्त गर्न परमेश्‍वरमा ठ्याक्कै कसरी विश्‍वास गर्नुपर्छ, अनि कसरी परमेश्‍वरप्रति समर्पित हुनुपर्छ र उहाँलाई आराधना गर्नुपर्छ? यी सबै कुरा परमेश्‍वरका वचन र थुप्रै सत्यताहरू अभ्यास गर्नुसित सम्बन्धित छन्। त्यसकारण, व्यक्तिले परमेश्‍वरका वचनहरू र उहाँका मापदण्डहरूअनुसार नै परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, अनि, मानिसहरूले उहाँका मापदण्डहरूअनुसार अभ्यास गर्नुपर्छ; यो मात्रै परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु हो—यो उक्त मामिलाको गुदीसम्मै पुग्छ। सत्यता अभ्यास गर्नु, परमेश्‍वरका वचनहरू पालना गर्नु, र परमेश्‍वरका वचनहरूअनुसार जिउनु: मानव जीवनको सही मार्ग यही हो; परमेश्‍वरमाथिको विश्‍वास मानव जीवनको मार्गसँग सम्‍बन्धित छ। परमेश्‍वरमाथिको विश्‍वास कैयौँ सत्यताहरूसँग सम्‍बन्धित छ, र परमेश्‍वरलाई पछ्याउनेहरूले यी सत्यताहरू बुझ्‍नैपर्छ। तिनीहरूले सत्यता बुझेनन् र स्विकारेनन् भने परमेश्‍वरलाई कसरी पछ्याउन सक्थे र? धर्ममा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्ने, र परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नेभन्दा बढी केही गर्दैनन्—तर तिनीहरूले यी सत्यताहरू बुझ्दैनन्, न त स्वीकार नै गर्छन्, त्यसकारण धर्ममा विश्‍वास गर्नेहरू परमेश्‍वरलाई पछ्याउने मानिसहरू होइनन्। धर्ममा विश्‍वास गर्नका लागि, बाहिरी रूपमा असल व्यवहार गर्दा, संयमित हुँदा र प्रावधानहरू पालन गर्दा अनि आत्मिक भरणपोषण हुँदा भइहाल्छ। यदि व्यक्तिले असल व्यवहार गर्छ र ऊसित एक मानसिक आड र आफ्नो आत्माको भरणपोषण छ भने के उनीहरूको जीवनको मार्ग परिवर्तन हुन्छ? (हुँदैन।) कतिपय मानिस भन्छन्, धर्ममा विश्‍वास गर्नु र परमेश्‍वरमा आस्था राख्नु एउटै कुरा हो। त्यसोभए के ती मानिसहरू परमेश्‍वरलाई पछ्याउँछन्? के तिनीहरू परमेश्‍वरलाई उहाँका मापदण्डहरूअनुसार विश्‍वास गर्छन्? के तिनीहरूले सत्यता स्वीकार गरेका छन्? यदि कुनै व्यक्तिले यीमध्ये कुनै पनि कुरा गर्दैन भने, ऊ परमेश्‍वरको विश्‍वासी वा अनुयायी होइन। व्यक्तिमा धर्मप्रतिको विश्‍वास प्रकट हुने सबैभन्दा प्रस्ट तरिका परमेश्‍वरको वर्तमान काम र उहाँले व्यक्त गर्ने सत्यता स्वीकार नगर्नु हो। धर्मका विश्‍वासीहरूको विशेषता यही हो; तिनीहरू परमेश्‍वरका अनुयायी बिलकुलै होइनन्। धर्मप्रतिको विश्‍वास व्यवहार परिवर्तन र आत्मिक भरणपोषणको खोजी मात्र हो; त्यसमा कुनै सत्यता हुँदैन। त्यसकारण, धर्मका विश्‍वासीहरू आफ्नो जीवन स्वभावमा परिवर्तन हुँदैनन्, न त सत्यता अभ्यास नै गर्नेछन् न परमेश्‍वरका वचनहरू सुन्‍न र उहाँप्रति समर्पित हुन नै सक्नेछन्। यसले तिनीहरूमा परमेश्‍वरबारे साँचो ज्ञान पनि हुनेछैन भन्‍ने निर्धारण गर्छ। जब कुनै व्यक्तिले धर्ममा विश्‍वास गर्छ, तब उसको व्यवहार जति नै राम्रो भए पनि, उसले जति अडिग भएर परमेश्‍वरलाई स्विकारे पनि, अनि उहाँप्रतिको उसको आस्थाको मत जति नै उच्च भए पनि, ऊ परमेश्‍वरको अनुयायी होइन। त्यसोभए, उसले कसलाई पछ्याउँछ? ऊ अझै शैतानलाई नै पछ्याउँछ। उसले जिउने, पछ्याउने, लालसा गर्ने, र अभ्यास गर्ने कुराको आधार के हो? उसको अस्तित्व केमा निर्भर हुन्छ? परमेश्‍वरको वचनका सत्यतामा त पक्कै होइन। ऊ शैतानको भ्रष्ट स्वभावअनुसार जिइरहन्छ, शैतानको तर्क र दर्शनअनुसार व्यवहार गर्छ। उसले भन्‍ने सबै झूटा हुन्छन्, त्यसमा अलिकति पनि सत्यता हुँदैन। उसको शैतानी स्वभावमा कुनै परिवर्तन आएको हुँदैन, र उसले अझै शैतानलाई नै पछ्याउँछ। उसको जीवनप्रतिको दृष्टिकोण, मूल्यमान्यता, संसारसँगको व्यवहार, र आचारणका सिद्धान्तहरू सबै शैतानको प्रकृतिका प्रकाशहरू हुन्। उसको बाहिरी व्यवहार मात्र अलिकति परिवर्तन भएको हुन्छ, तर उसको जीवन मार्ग, जिउने तरिका, र कामकुराबारे दृष्टिकोण बिलकुलै परिवर्तन भएका हुँदैनन्। यदि कुनै व्यक्ति परमेश्‍वरको साँचो विश्‍वासी हो भने, केही वर्षको दौरान उसमा के परिवर्तन हुन सक्ला? (जीवन र मूल्यमान्यताबारे उसको दृष्टिकोण परिवर्तन हुनेछ।) उसको अस्तित्वको जग नै परिवर्तन हुनेछ। यदि उसको अस्तित्वको जग परिवर्तन भयो भने, उसको जीवनको आधार के हुनेछ? (उसको जीवन परमेश्‍वरका वचनहरू र सत्यतामा आधारित हुनेछ।) त्यसोभए, के अहिले तिमीहरू हरेक दिन आफ्ना बोली र काममा परमेश्‍वरका वचनहरूबमोजिम जिइरहेका छौ? उदाहरणका लागि, तँ बिलकुलै ढाँट्दैनस्: किन त्यस्तो? तैँले त्यसो गर्नुको आधार के हो? (व्यक्ति इमानदार बन्‍नुपर्ने परमेश्‍वरको मापदण्ड।) जब तँ झूट बोल्न र छल गर्न छोड्छस्, तब त्यो परमेश्‍वरका वचनहरू, इमानदार व्यक्ति बन्‍नुपर्ने मापदण्ड, र सत्यतामा आधारित हुन्छ। अनि त्यसपछि तँ हिँडिरहेको जीवन मार्ग फरक हुँदैन र?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा विश्‍वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको आस्थाको अर्थ के हो, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन तिनीहरूले ठ्याक्कै कस्तो व्यवहार गर्नुपर्छ भनी बुझ्दछन्। किनभने, मानिसहरूलाई “परमेश्‍वर” शब्द र “परमेश्‍वरको कार्य” जस्ता वाक्यांश थाहा भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिन्नु, र अझ उहाँको कार्यको बारेमा त नजान्नु हो। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँमाथिको विश्‍वासमा अलमलिनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिँदैनन्, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा नै पूर्ण रूपमा यसो भएको हुन्छ। यसरी, तिनीहरू परमेश्‍वरका मागहरू पूरा गर्नबाट धेरै टाढा हुन्छन्। अर्को शब्दमा भन्‍नुपर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँको कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, तिनीहरूले उहाँका अभिप्रायहरू पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्‍वरमाथिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। एक कदम अघि बढेर भन्नुपर्दा, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो आस्थाको अर्थ निम्नानुसार हुन्छ: परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावहरूलाई फाल्छ, परमेश्‍वर का अभिप्रायहरू पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरमाथिको आस्था” भन्न सकिन्छ। तापनि मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई प्रायजसो एउटा निकै साधारण र सानोतिनो कुराको रूपमा हेर्छन्। जब मानिसहरूले यस तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब त्यसको अर्थ गुम्छ, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। जसले आजको दिनसम्म वचनहरूअनुसार परमेश्‍वरमा र खोक्रा धर्मसिद्धान्तमा विश्‍वास गर्छन् तिनीहरूलाई आफूमा परमेश्‍वरमाथिको विश्‍वासको सारको अभाव छ, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन् भनेर थाहा हुँदैन। तैपनि तिनीहरू आफूलाई शान्ति र पर्याप्त अनुग्रहले आशिषित् गर्नुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गर्छन्। हामी आफ्नो हृदयलाई शान्त पारौँ र कडा रूपले सोचौँ: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट धेरै अनुग्रह पाउनु बाहेक अरू केही होइन भन्‍ने हुनसक्छ? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँका अभिप्रायहरू पूरा गर्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

कतिपय मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने कुरालाई निकै सरल ढङ्गले हेर्छन्। तिनीहरू सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको भेलाहरूमा सहभागी हुनु, प्रार्थना गर्नु, प्रवचन सुन्नु, सङ्गति गर्नु, परमेश्‍वरको भजन र स्तुति गर्नु, अनि केही कर्तव्यपालन गर्नु हो। के परमेश्‍वरमा विश्‍वास भनेको यही नै होइन?” अहिले, तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए तापनि, परमेश्‍वरमा विश्‍वास गर्नुको महत्त्वबारे अझै पूर्ण रूपमा बुझेका छैनौ। वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ यति गहन छ कि कुनै व्यक्तिको अनुभव एकदमै छिपछिपे छ भने, उसले यसलाई बोध गर्नै सक्दैन। जब उसले अन्तसम्म नै अनुभव गर्दछ, तब ऊभित्र रहेका सैतानको स्वभाव र सैतानी विषहरू धोइएर रूपान्तरण हुनुपर्छ। मानिसहरूले आफूलाई धेरै सत्यताहरूले सुसज्जित गर्नुपर्छ, मानिसबाट परमेश्‍वरले चाहनुभएका मापदण्डहरू पूरा गर्नुपर्छ र साँचो रूपमा परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्षम हुनुपर्छ। तब मात्र तिनीहरूले वास्तवमै मुक्ति पाउनेछन्। यदि तँ अझै पनि पहिले धर्मको हिस्सा हुँदाको जस्तै छस् भने, केही शब्द र धर्मसिद्धान्त पाठ गर्नु र केही नारा फलाक्नु, केही असल व्यवहार र काम गर्नु, र कम्तीमा स्पष्ट देखिने निश्चित पापपूर्ण कुराहरूबाट बच्नु मात्रले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सही मार्ग प्रवेश गरेको छस् भनेर देखाउँदैन। प्रावधानहरू पछ्याउँदैमा तँ सही मार्गमा छस् भन्‍ने हुन्छ र? के यसको अर्थ तैँले सही छनोट गरिस् भन्‍ने हुन्छ र? यदि तेरो प्रकृतिभित्र भएका कुराहरू परिवर्तन हुँदैनन् भने, तैँलै अझै पनि परमेश्‍वरको प्रतिरोध गर्न र अन्तमा उहाँलाई चिढ्याउन सक्छस्। यो सबभन्दा ठुलो समस्या हो। यदि तैँले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा रहेको यो समस्या समाधान गर्दैनस् भने, के तैँले साँचो रूपमा मुक्ति पाएको छस् भनेर भन्न सकिन्छ?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सही मार्ग चुन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

व्यवहारमा मात्र भएका परिवर्तनहरू अस्थिर हुन्छन्; यदि मानिसहरूको जीवनका स्वभावहरूमा कुनै परिवर्तन भएन भने, उनीहरूले आफ्नो साँचो रङ्ग देखाउनेछन्। यस्तो किन हुन्छ भने व्यवहारमा आएको परिवर्तनको स्रोत उत्साहमा हुन्छ, र त्यसमा त्यस समय पवित्र आत्माले गर्नुभएको केही काम थपिँदा, थोरै समयको लागि तिनीहरूलाई उत्साहित हुन वा दया देखाउन धेरै सजिलो हुन्छ। जसरी गैरविश्‍वासीहरू भन्छन्, “एउटा असल कामकुरा गर्न सजिलो हुन्छ; जीवनभरि असल कामकुराहरू गर्नचाहिँ गाह्रो हुन्छ।” मानिसहरूले किन आफ्‍नो जीवनभरि नै असल कामकुरा गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; व्यक्तिको प्रकृति जस्तो हुन्छ, उसले प्रकट गर्ने व्यवहार पनि त्यस्तै हुन्छ, र प्राकृतिक रूपमा जे प्रकट हुन्छ त्यसले जीवनको साथै त्यस व्यक्तिको प्रकृतिको पनि प्रतिनिधित्व गर्दछ। नक्कली चीजहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूका स्वभावहरूलाई परिवर्तन गर्नु, उनीहरूलाई नयाँ मानिसहरूका रूपमा फेरि जन्माउनु भन्‍ने हुन्छ। परमेश्‍वरले मान्छेलाई गर्ने न्याय, सजाय, परीक्षा, र शोधन सबैले उसको स्वभाव परिवर्तन गर्न मदत गर्छन् ताकि उसले परमेश्‍वरप्रति पूर्ण समर्पणता र बफादारी हासिल गर्न, र सामान्य रूपमा उहाँको आराधना गर्न सकोस्। यो परमेश्‍वरको कामको लक्ष्य हो। असल व्यवहार गर्नु नै परमेश्‍वरको अधीनमा बस्नु होइन, यो ख्रीष्टसँग मिल्दोजुल्दो हुनु हो भन्‍ने कुरा त परै जाओस्। व्यवहारमा परिवर्तनहरू हुने कुरा सिद्धान्तमा आधारित हुन्छ र उत्साहको कारण जन्मेका हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुने त परै जाओस्। कहिलेकाहीँ यस्तो समय पनि हुन्छ जब मानिसहरूले गर्ने काम पवित्र आत्माद्वारा अन्तर्दृष्टि र अगुवाइ पाएको हुन्छ, तापनि त्यो तिनीहरूको जीवनको प्रकाश हुँदैन। तिनीहरू अझै पनि सत्यता वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले उनीहरू परमेश्‍वरप्रति समर्पित हुन्छन् वा उनीहरूले सत्यताको अभ्यास गरेका छन् भन्‍ने प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभावका परिवर्तनहरू प्रतिनिधित्व गर्दैनन् र त्यस्ता परिवर्तनलाई जीवनका प्रकाशहरू भनेर भन्‍न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, लगभग हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, धर्मका प्रमुखहरू वा अगुवाहरूको अगुवाइमा अस्तित्वमा रहँदैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, समाजमा पुरानो कुरालाई नयाँ कुराले प्रतिस्थापन गर्ने काम, प्राकृतिक विज्ञानको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। कुनै धार्मिक प्रमुख निश्‍चित धर्मको अगुवा मात्रै हो, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। कुनै धार्मिक प्रमुखले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सिर्जित प्राणीहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुख भनेको अगुवा मात्रै हो, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैन। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सृजित प्राणीहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनैपर्छ। मानिसको हैसियत जति नै उच्‍च भए तापनि, त्यस मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्‍याउन सक्दैन, र कसैले पनि सब थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न सक्दैन। यहोवा स्वयम्‌ले मानवजाति सृष्टि गर्नुभयो र हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुभयो, अनि जब अन्त्यको समय आउँछ, तब उहाँले यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्दै आफ्‍नो काम अझै आफै गर्नुहुनेछ—परमेश्‍वरबाहेक कसैले पनि यो काम गर्न सक्दैन। सुरुदेखि अहिलेसम्‍म गरिएका कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्‍वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्‍वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्‍वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्। संसारको सृष्टि गर्न नसक्नेले यसलाई अन्त्यमा पुर्‍याउन पनि सक्नेछैन, जबकी संसार सृष्टि गर्नुहुनेले अवश्य नै यसलाई अन्त्य गर्न सक्‍नुहुनेछ। त्यसकारण, यदि कुनै व्यक्तिले युगलाई अन्त्य गर्न सक्दैन र मानिसलाई उसको मस्तिष्क विकास गर्न र उसको चरित्र शोधन गर्न मात्रै सहायता गर्न सक्छ भने, ऊ अवश्य नै परमेश्‍वर हुन सक्दैन, र अवश्य नै मानवजातिका प्रभु बन्‍न सक्‍नेछैन। उसले त्यस्तो महान् काम गर्न सक्‍नेछैन; त्यस्तो कार्य गर्न सक्‍ने एउटै मात्र हुनुहुन्छ, र यो काम गर्न नसक्‍ने सबै अवश्य नै शत्रुहरू हुन्, परमेश्‍वर होइनन्। यदि दुष्ट धर्म हो भने, यो परमेश्‍वरसँग मेल खाँदैन, र परमेश्‍वरसँग मेल नखाने कुरा परमेश्‍वरको शत्रु हो। सबै काम यही एउटै साँचो परमेश्‍वरले गर्नुहुन्छ, र सारा ब्रह्माण्डमाथि यही एउटै परमेश्‍वरले हुकुम चलाउनुहुन्छ। उहाँको इस्राएलमा भए पनि चीनमा भए पनि, त्यो कार्य आत्माले वा देहले गरे पनि, सबै परमेश्‍वर स्वयम्‌ले नै गर्नुहुन्छ, र अरू कसैले यसलाई गर्न सक्दैन। उहाँ स्पष्ट रूपमा सारा मानवजातिका परमेश्‍वर हुनुभएकाले नै उहाँ कुनै पनि सर्तहरूद्वारा नबाँधिइकन स्वतन्त्र रूपमा काम गर्नुहुन्छ। यो सबै दर्शनहरूमा सबैभन्‍दा महान् हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

अघिल्लो:  ४. यदि हामी परमेश्‍वरमा विश्‍वास गर्दैनौं, र असल कामहरू गर्ने र कुनै दुष्ट काम नगर्ने सद्‍गुणी मात्र छौं भने, के हामी परमेश्‍वरद्वारा मुक्ति पाउन सक्छौं?

अर्को:  ६. म परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छु, तर म अझै जवान छु, मैले मेरो परिवार र मेरो जीवनचर्याका लागि कडा मेहनत गर्नुपर्छ, र मैले गर्न चाहेका कुराहरू अझ पनि धेरै छन्। यदि बुढेसकालसम्म पर्खेँ र परमेश्‍वरमा विश्‍वास गर्ने समय पाएँ भने के अझै पनि म मुक्ति पाउनेछु?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger