सत्यता कसरी पछ्याउने (१७)

पछिल्लो पटक, हामीले मानवबाट पुनर्जन्म भएका मानिसहरूका प्रकटीकरणहरू र विशेषताहरूका बारेमा सङ्गति गर्‍यौँ—अर्थात्, तिनीहरूमा विवेक र समझ हुन्छ, र तिनीहरूले सही र गलत छुट्याउन सक्छन् र के सही हो र के गलत हो भनी जान्न सक्छन्। आज, हामी पछिल्लो पटकको विषयको सङ्गतिलाई जारी राख्नेछौँ। त्यसभन्दा पहिले, म तिमीहरूलाई एउटा कथा सुनाउँछु। केही वर्षअघि, मैले एउटा घटनाबारे सुनेको थिएँ। एउटी राम्री युवतीले स्क्रिन टेस्ट दिइरहेकी थिइन्, र कसैले त्यतिकै यसो भनिदियो, “तिम्रो खुट्टा त अलि मोटा रहेछन्!” ती युवतीले मनमनै सोचिन्, “तिमीले मेरो खुट्टा मोटो छ भन्नुको अर्थ म मोटी छु भन्नु नै होइन र? यदि म मोटी भएँ भने के म क्यामेरामा राम्री देखिन्छु होला त? के त्यो लाजमर्दो हुनेछैन र?” त्यसैले, उनले आफ्नो खुट्टालाई कसरी कम मोटो बनाउने भनेर सोच्न थालिन्, ताकि उनी क्यामेरामा दुब्ली र राम्री देखिऊन्। यो लक्ष्य हासिल गर्न, उनले सबै किसिमका जानकारीहरू खोज्नमा आफूलाई तल्लीन बनाइन् र तौल घटाउन विभिन्न विधिहरू अपनाइन्, जस्तै पूरा खानाको सट्टा केवल डाइट फुडहरू खाने वा हरेक दिन फलफूल र तरकारीहरू मात्रै खाने—छोटकरीमा, उनले तौल घटाउन मद्दत गर्ने जे पनि खाइन्। उनले कफी पिउनु तौल घटाउने छिटो र प्रभावकारी तरिका हो भन्‍ने सुनेकी थिइन्, त्यसैले कहिलेकाहीँ उनी कफी मात्रै पिउँथिन्। कतिपय मानिसहरूले कम सुत्दा छिटो तौल घट्छ भने, त्यसैले उनी दिनमा दुई-तीन घण्टा मात्रै सुत्थिन्। धेरै झन्झट र प्रयासपछि, उनले साँच्चै परिणामहरू देखिन्। उनको तौल घट्यो, उनको शरीर दुब्लो भयो, र उनका खुट्टाहरू पातला भए। उनी हेर्दा आकर्षक र प्रस्तुतयोग्य देखिइन्, तर शारीरिक रूपमा उनमा केही खराब प्रतिक्रियाहरू देखिन थाले। के-कस्ता खराब प्रतिक्रियाहरू? उनलाई अक्सर चक्कर लाग्ने र टाउको भारी हुने हुन्थ्यो, र दिनको समयमा आफ्नो कर्तव्य पूरा गर्दा उनी सधैँ झुम्म भइरहन्थिन्। उनी उभिँदा लरबराउँथिन्, र बस्दा शरीरभरि कमजोर महसुस गर्थिन्। उनलाई एक दिन कटाउन पनि मुस्किल हुन्थ्यो, र उनले चरम शारीरिक पीडा महसुस गर्थिन्। के धेरैजसो मानिसहरू ती युवतीको हालको अवस्थाबारे, र उनी अझै जीवित र सकुशल छिन् कि छैनन् भनी जान्न उत्सुक छन्? के तिमीहरू तौल घटाउनेबारे उनको अनुभव र विचारहरू के रहेछन् भनी सुन्न चाहन्छौ? (चाहँदैनौँ।) यस संसारमा जिउँदा, मानिसहरूलाई सही तरिकाले र नियमित रूपमा कसरी जिउने, आफूले सामना गर्ने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने थाहा हुँदैन। जब तिनीहरूले कुनै टिप्पणी सुन्छन् वा कुनै घटना अनुभव गर्छन्, तब तिनीहरू साँच्चै सही र सम्मानजनक तरिकाले जिउन सक्‍ने गरी त्यसलाई व्यवहार गर्ने कुन तरिका उपयुक्त हुन्छ र त्यसले तिनीहरूलाई हानिबाट जोगाउन सक्छ भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। गैरविश्‍वासीहरूको त कुरै छोडौँ, धेरैजसो विश्‍वासीहरूलाई पनि यी कुराहरू थाहा हुँदैन। बाहिरी संसारबाट आउने जानकारी र समाचार, साथै विभिन्न विचार, दृष्टिकोण, विधर्म र भ्रामक कुराहरूको सामना गर्दा, मानिसहरूसँग तिनलाई खुट्ट्याउने क्षमता नै हुँदैन र तिनलाई पन्छाउने कुनै पनि क्षमता हुँदैन। अवश्य पनि, तिनीहरूसँग सही विचार र दृष्टिकोणहरू पनि हुँदैनन्, सकारात्मक दृष्टिकोणबाट तिनलाई सही तरिकाले व्यवहार गर्ने क्षमता हुनु त परै जाओस्। त्यसकारण, मानिसहरू अत्यन्तै दयनीय रूपमा जिउँछन्। मैले भर्खरै उल्लेख गरेकी युवतीलाई नै लिऊँ। मलाई भन्, के उसको जीवन थकाइलाग्दो छ? के यो दयनीय छ? (दयनीय छ।) यो किन दयनीय छ? यसरी काम गर्दा उसले कहाँ गल्ती गरी? के सबै मानिसहरू सुन्दर हुन र राम्रो देखिने गरी जिउन खोज्दैनन् र? के अरूले तँलाई मन पराऊन् र भेट्दा प्रशंसा र सराहना गरून् भनेर चाहनु गलत हो? तिमीहरू यस विषयलाई कसरी हेर्छौ? (उसले बाहिरी सुन्दरता र प्रशंसा पाउनका लागि जे गरी, त्यसले आफ्नै शरीरलाई हानि गरिरहेको थियो। किनभने उसले परमेश्‍वरले स्थापित गर्नुभएका नियमहरूलाई पछ्याइन, अन्ततः त्यसले उसका सबै शारीरिक कार्यप्रणालीहरूमा हानि पुर्‍यायो। उनलाई चक्कर लाग्ने र टाउको भारी हुने समस्या उनले आफैमाथि ल्याएका परिणामहरू थिए। मलाई लाग्छ यो व्यक्ति अलमल्ल परेकी छे।) कुरा यही होइन र? (हो।) मानिसहरू आफ्नै अलिकति मानवीय बुद्धि, चलाखी, र विचारहरू लिएर जन्मेका हुन्छन्। त्यसपछि तिनीहरूले केही ज्ञान प्राप्त गर्छन्, केही सीपहरू हासिल गर्छन्, र असल व्यक्तिजस्तो कसरी देखिने भनेर अलिकति सिक्छन्। के यी कुराहरू बाहिरी संसारबाट आउने विभिन्न विचार, दृष्टिकोण, विधर्म र भ्रामक कुराहरू, र विभिन्न मानिस, घटना, र कामकुराहरूलाई सामना गर्नका लागि पर्याप्त छन्? के तिनले तँलाई यी कुराहरूलाई सही तरिकाले सामना गर्न सक्षम तुल्याउन सक्छन्? (सक्दैनन्।) अवश्य नै सक्दैनन्। मानिसहरूले सत्यता नबुझ्दा तिनीहरू यसरी नै दयनीय र दुःखद हुन्छन्; यसले अन्ततः श्रृङ्खलाबद्ध भयानक परिणामहरू निम्त्याउँछ। तिनीहरूसँग बाहिरी संसारका कुनै पनि विधर्म र भ्रामक कुरा वा विचार र दृष्टिकोणहरूप्रति कुनै खुट्ट्याउने क्षमता हुँदैन, न त तिनीहरूले सामना गर्ने मानिस, घटना, र कामकुराहरूको हकमा तिनीहरूसँग सही विचार र दृष्टिकोणहरू नै हुन्छन्। जब तिनीहरूमाथि परिस्थितिहरू आइपर्छन्, तब तिनीहरू अलमल्ल हुन्छन् र तिनीहरूको मूर्खता अनगिन्ती तरिकामा देखिन्छ। जब तिनीहरूमाथि केही पनि आइपरेको हुँदैन, तब तिनीहरूले केही धर्मसिद्धान्तहरू बुझेजस्ता र तिनीहरू केही हदसम्म मानिसजस्तो भएका देखिन्छन्, तर जब तिनीहरूमाथि परिस्थितिहरू आइपर्छन्, तब कुरा फरक हुन्छ—तिनीहरूको हृदयमा भएका विकृत, कुरूप, बेतुकका विचार र दृष्टिकोणहरू प्रकट हुन्छन्। जब यो साँच्चै आफूलाई आचरणमा ढाल्ने कुरा, अस्तित्वको, वा जीवनको कुनै निश्चित विचार वा दृष्टिकोणको कुरा आउँछ, तब मानिसहरू यति अज्ञानी र मूर्ख हुन्छन्, र तिनीहरूका मनोवृत्ति र दृष्टिकोणहरू यति बेतुकका हुन्छन्। त्यसैले, धेरै मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, धेरै वर्षदेखि प्रवचनहरू सुनेका छन्, र आफ्ना कर्तव्यहरू पनि निर्वाह गरिरहेका छन्, र तिनीहरूले कहिल्यै जानाजानी अवरोध वा बाधा उत्पन्न गर्ने कुनै काम गरेका छैनन्, न त तिनीहरूले जानाजानी परमेश्‍वरको विरोध गर्ने वा निन्दा गर्ने कुनै शब्दहरू बोलेका नै छन्—बाहिरी रूपमा, तिनीहरूमा कुनै दोष भेट्टाउन सकिँदैन, तर जब तिनीहरूले बाहिरी संसारका विभिन्न त्रुटिपूर्ण विचार र दृष्टिकोणहरूको, विशेष गरी केही तुलनात्मक रूपमा लोकप्रिय विचारहरूको सामना गर्छन्, तब तिनीहरूको हृदयको गहिराइमा तीप्रति वाक्‍क महसुस हुँदैनन्, न त तिनीहरूले तिनको प्रतिरोध वा अस्वीकार नै गर्छन्, बरु तिनीहरूले स्नेह र अनुमोदन महसुस गर्छन्, र उपयुक्त वातावरण वा अवसर आउनेबित्तिकै, तिनीहरूले अनजानमा यी कुराहरूलाई स्वीकार गर्नेछन् र तिनलाई आफ्नै जीवनमा लागू गर्नेछन्। के पहिले उल्लेख गरिएकी युवती अत्यन्तै स्पष्ट उदाहरण होइन र? (हो।) के यो दुष्ट प्रवृत्तिहरूलाई पछ्याउने एउटा तरिका हो? (हो।) उनले तिनलाई पछ्याइनन् मात्र—उनले तिनलाई अत्यन्तै राम्ररी लागू पनि गरिन्। के आजको संसारले कामुक, आकर्षक, दुब्लो, र सुन्दर शरीर हुनुपर्छ भनेर वकालत गर्दैन र? यी विचारहरू हरेक उद्योगमा, मानिसहरूको हरेक समूहमा, र विश्‍वासी मानिसहरूका बीचमा समेत लोकप्रिय छन्। परमप्रभुमा विश्‍वास गर्ने केही वृद्ध महिलाहरू थिए, र औसतमा ६० वर्षभन्दा माथिका भए पनि, तिनीहरूले अझै पनि को राम्रो देखिन्छ भनी एक-अर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए। तिनीहरूले आफ्नो छेउकी एउटी युवतीलाई सोधे, “हामीमध्ये को यो पहिरनमा सबैभन्दा राम्रो देखिएको छ जस्तो तिमीलाई लाग्छ?” ती युवतीले जवाफ दिइन्, “तपाईंहरू सबै दिदीहरू यसमा सुन्दर देखिनुभएको छ!” साठीको दशकमा भए पनि, तिनीहरूलाई “दिदीहरू” भन्नुपर्थ्यो; तिनीहरूलाई “आन्टी” भनिएको मन पर्दैनथियो र तिनीहरू खुसी हुँदैनथे। तिनीहरूको पिठ्युँ पछाडि, ती युवतीले अरूलाई भनिन्, “उहाँहरू साठी वर्षभन्दा माथिको हुनुहुन्छ; उहाँहरू अझै योभन्दा कति राम्रो देखिन सक्नुहुन्छ र?” तर यी वृद्ध महिलाहरूको समूह अझै पनि यस कुरामा रमाइरहेका थिए। के तिनीहरूमा कुनै लाज थियो? (थिएन।) तिनीहरूले परमप्रभुमा यति धेरै वर्षदेखि विश्‍वास गरेका थिए, तैपनि अझै पनि तिनीहरूले ती कुराहरूमा ध्यान केन्द्रित गर्थे। के तिनीहरूको मानवता असामान्य छैन र? जब मानिसहरूसँग विवेक र समझ हुँदैन, तब तिनीहरूले धेरै बेतुकका कुराहरू, मानिसहरूले घृणित र नीच ठान्ने धेरै कुराहरू, र तिनीहरूको नीच चरित्र प्रकट गर्ने धेरै कुराहरू गर्न सक्छन्। धेरै मानिसहरूसँग दुष्ट प्रवृत्तिहरूका कुराहरूप्रति कुनै खुट्ट्याउने क्षमता किन हुँदैन, र तिनलाई रोक्ने कुनै पनि क्षमता किन हुँदैन, र फलस्वरूप तिनीहरू किन भ्रमित हुन्छन् र तीद्वारा बहकिन्छन्? किनभने तिनीहरूले सत्यता पछ्याउँदैनन् र सत्यताको एक अंश पनि बुझ्दैनन्। तिनीहरूमाथि जे आइपरे पनि, तिनीहरूले त्यसलाई छर्लङ्गै देख्न सक्दैनन्, र तिनीहरूले प्रलोभनको सामना गर्नेबित्तिकै, तिनीहरू प्रकट हुन्छन् र त्यसमा फस्छन्। आज समाजका सबै तहहरूमा के सिकाइँदै छ र के लोकप्रिय छ भनेर हेर। एक रेडियो रिपोर्टरले एउटा सानो केटाको अन्तर्वार्ता लियो र उसलाई सोध्यो, “तिम्रो मनपर्ने बालगीत कुन हो?” त्यो केटाले आफ्नो टाउको कन्यायो र भन्यो, “‘चन्द्रमाले मेरो हृदयको प्रतिनिधित्व गर्छ।’” यो सुन्‍ने मानिसहरू हाँस्ने कि रुने भनी अलमल्ल परे। तिनीहरू किन हाँस्ने कि रुने भनी अलमल्ल परे? के यो बालगीत हो? (होइन, यो प्रेमगीत हो।) यो प्रेमगीत हो, तर त्यो बच्चाले गल्तीले यसलाई बालगीत ठान्यो। यस घटनाबाट, हामी समाजमा के लोकप्रिय छ भन्‍ने कुरा देख्न सक्छौँ। यो त समाजका दुष्ट प्रवृत्तिहरूको एउटा घटना हो, र वृद्ध र बालबालिका दुवै यी प्रवृत्तिहरूद्वारा गहन रूपमा हानिमा परेका छन् र तिनीहरू यी कुरामा गहिरो रूपमा फसेका छन्। परमेश्‍वरलाई पछ्याउनेहरूमध्ये, आश्चर्यजनक रूपमा यी प्रवृत्तिहरूलाई पछ्याउनेहरू, र यी प्रवृत्तिहरूले वकालत गर्ने विचारहरूलाई आफूमा लागू गर्नेहरू पनि धेरै छन्। अनि अन्त्यमा के हुन्छ? यसले राम्रो परिणामहरू ल्याउँछ कि खराब? (खराब परिणामहरू।) यसले खराब परिणामहरू ल्याउँछ—दुष्ट प्रवृत्तिहरूलाई पछ्याउँदा यही हुन्छ। मानिसहरू आफ्नो देहको यौन इच्छामा, दैहिक भावनाहरूमा, र खानपिन र रमाइलोमा, भोगविलासको नशामा डुबेका छन्। तिनीहरूसँग सही विचार वा दृष्टिकोणहरू छैनन्, र जीवनको सामना गर्नलाई अस्तित्वप्रति कुनै सही मनोवृत्ति छैन। तिनीहरू कुनै चेतनाविना यस अवस्थामा जिउँछन् र यसको प्रतिरोध गर्न शक्तिहीन हुन्छन्। अन्त्यमा, तिनीहरू आफूलाई निकाल्न नसक्ने गरी झन्-झन् गहिराइमा डुब्न मात्रै सक्छन्। अनि अन्तिम परिणाम के हुन्छ? तिनीहरू पूर्ण रूपमा शैतानद्वारा निलिन्छन्, र त्यसको भोजन बन्छन्।

मानवजातिका बीचमा जिउने हरेकका लागि, यदि तँलाई सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनेर कसरी खुट्ट्याउने भन्‍ने थाहा छैन भने, यो अराजक संसारमा, यो जटिल मानव संसारमा, तँलाई जीवनका सही विचार र दृष्टिकोणहरूलाई दृढतापूर्वक पक्रिराख्न धेरै गाह्रो हुनेछ, र तँलाई आफूले चाहेको जीवनको सही मार्गमा दृढ रहन धेरै गाह्रो हुनेछ; कुनै निश्चित शब्द सुनेर वा कुनै निश्चित घटनाको सामना गरेर तँ कहिले अनजानमा दुष्ट प्रवृत्तिहरूद्वारा बगाइन्छस् भन्‍ने तँलाई कहिल्यै थाहा हुनेछैन। यदि मानिसहरूसँग सही र गलत खुट्ट्याउने क्षमता छैन भने, तिनीहरूले आफ्नो जीवनलाई समेत राम्ररी व्यवस्थापन गर्न सक्दैनन्, अस्तित्वको मार्गमा सामना गरिने सही र गलतका विभिन्न प्रमुख समस्याहरूको त कुरै छोडौँ, जुन कुराहरूको सामना गर्न तिनीहरूलाई अझ गाह्रो हुन्छ। यदि मानिसहरूले सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भन्‍ने बुझ्दैनन् भने, तिनीहरूले आफ्नो जीवन कसरी व्यवस्थापन गर्ने भन्‍ने कुरा जान्नेछैनन् र तिनीहरूसँग जीवनको सही मार्ग हुनेछैन। यदि तिनीहरूले स्वस्थ जीवनयापनबारे विभिन्न किसिमका जानकारीहरू देखे भने, तिनीहरूले तिनलाई कसरी खुट्ट्याउने वा कुनलाई स्वीकार गर्ने र कुनलाई अस्वीकार गर्ने, सही, सकारात्मक अभिव्यक्तिहरूलाई कसरी ग्रहण गर्ने, वा गलत अभिव्यक्तिहरूलाई कसरी अस्वीकार गर्ने भनी जान्नेछैनन्। यस्ता मानिसहरूले आफ्नै शारीरिक स्वास्थ्यको रक्षा समेत गर्न सक्दैनन् भनेर भन्न सकिन्छ। कतिपय मानिसहरू एउटा चरमताबाट अर्कोमा चरमता जान्छन्, जबकि अरू भने निरन्तर एउटै चरमतामा जिउँछन्। उदाहरणका लागि, कतिपय मानिसहरूले यस्तो सुन्छन्: “धेरै फलफूल खानु स्वस्थकर हुन्छ। यसले भिटामिनहरू प्रदान गर्न सक्छ, र छालालाई नरम र चिल्लो बनाउन सक्छ, जसले गर्दा तिमीलाई सबैले मन पराउँछन्।” त्यसैले, तिनीहरूले यो कुरामा विश्‍वास गर्छन् र आफूले भेट्टाउन सक्ने सबै फलफूल खान थाल्छन्, र असामान्य प्रकारको खानपानका बानीहरू अपनाउँछन्। केही समयपछि, तिनीहरूलाई निरन्तर अस्वस्थ महसुस हुन्छ, र अस्पतालमा जाँच गराउँदा तिनीहरूको रगतमा सुगरको मात्रा बढेको देखिन्छ। तिनीहरू अलमल्ल पर्छन्: “म सामान्यतया निकै स्वस्थकर खानेकुरा खान्छु, र पनि मेरो रगतमा सुगरको मात्रा किन बढ्यो? अरूले त धेरै फलफूल खाँदा भिटामिनहरू पाइन्छ भनेका थिए, त्यसोभए यो भनाइलाई पछ्याएर धेरै फलफूल खाँदा म कसरी गलत हुन सक्छु र?” डाक्टरले भन्छन्, “फलफूलमा भिटामिनहरू हुन्छन्, तर यसमा सुगरको मात्रा बढी हुन्छ। यसले मुख्य खानाको स्थान लिन सक्दैन र यसलाई मुख्य खानाको रूपमा खानु हुँदैन। तपाईंले यसलाई ठिक्क मात्रामा वा थोरै मात्रामा खान सक्‍नुहुन्छ। यदि तपाईंले यसलाई पटक्कै नखाए पनि, तपाईंलाई कुनै पोषक तत्त्वको कमी हुनेछैन, किनभने अन्न र तरकारीहरूमा यी सबै पोषक तत्त्वहरू पहिले नै हुन्छन्।” डाक्टरको भनाइ उपयुक्त छ। के यसले तिनीहरूको जीवनशैली समस्याग्रस्त छ भन्‍ने सङ्केत गर्दैन र? (हो।) कतिपय मानिसहरूले गर्ने गल्ती ठ्याक्कै यही हुन्छ। के तँलाई यो उनीहरूले गर्नुपर्ने गल्ती हो जस्तो लाग्छ? (लाग्दैन।) कतिपय मानिसहरूले भन्छन्, “मेरो रगतमा सुगरको मात्रा बढेको भए पनि, मैले परमेश्‍वरको बारेमा गुनासो गरेको छैन।” तिमीहरूलाई यो भनाइबारे के लाग्छ? के यो समझरहित छैन र? परमेश्‍वरसँग तेरो रगतमा सुगरको मात्रा बढ्ने कुराको कुनै सम्बन्ध हुन्छ र? के यो तैँले आफैमाथि ल्याएको कुरा होइन र? तँ अविवेकी ढङ्गले र सिद्धान्तहरू नपछ्याई खान्छस्। तँलाई फलफूल मीठो लाग्छ त्यसैले तँ त्यो खान छोड्दैनस्, वा तँलाई मासु मीठो लाग्छ त्यसैले तँ कुनै तरकारी खाँदैनस्, र कुनै संयम देखाउँदैनस्, र फलस्वरूप, तँलाई रोगहरू लाग्छन्। के यो आफैले निम्त्याएको होइन र? के तँलाई परमेश्‍वरको बारेमा गुनासो नगर्दा, तँ कुलीन देखिन्छस् जस्तो, तैँले परमेश्‍वरलाई प्रेम गर्छस् जस्तो, तँ शुद्ध छस् जस्तो लाग्छ? वास्तवमा, कतिपय रोगहरू आफैले निम्त्याइएका हुन्छन् र परमेश्‍वरसँग तिनको कुनै सम्बन्ध हुँदैन, र ती तेरो आफ्नै मूर्खता र अज्ञानताले गर्दा आएका हुन्छन्। कतिपय मानिसहरूले यसो पनि भन्छन्, “अण्डा, मासु, र दुग्धजन्य पदार्थहरू पौष्टिक हुन्छन् र तिनले तेरो प्रोटिनको आवश्यकता पूर्ति गर्न सक्छन्। चामल र पीठोमा थोरै पोषणगत मूल्य हुन्छ, त्यसैले व्यक्तिले धेरै मासु, अण्डा, र दुग्धजन्य पदार्थहरू खानुपर्छ।” यो सुनेपछि, कतिपय मानिसहरूले भन्छन्, “मलाई त मासु खान मन पर्छ। मासु पौष्टिक हुन्छ भनेर भनिएको हुनाले, म यो धेरै खानेछु। अरूले दिनमा ४ आउन्स खान्छन्, तर म प्रति छाक आधा पाउ खानेछु, दिनमा कम्तीमा दुई छाक!” तिनीहरू यसरी कुनै संयमविना खान्छन्, झन्-झन् धेरै खान्छन्, र अरूको भन्दा दैनिक दुई वा तीन गुणा खाना खान्छन्, साथै राति अबेर खाजा पनि खान्छन्। समय बित्दै जाँदा, तिनीहरूको पेटको क्षमता बढ्न थाल्छ, र पेटको क्षमता जति ठूलो हुन्छ, भोक त्यति नै बढी हुन्छ। अन्त्यमा के हुन्छ? तिनीहरूले बिरामी हुने गरी खान्छन्, तिनीहरू मोटा हुन्छन्, र तिनीहरूले सधैँ निद्रालु र झुम्म महसुस गर्छन्। तिनीहरूसँग जाँचका लागि अस्पताल जानु बाहेक कुनै विकल्प हुँदैन, र तिनीहरूलाई उच्च रक्तचाप, उच्च रक्त सुगर, र उच्च रक्त लिपिड भएको परिणामहरूले देखाउँछन्। तिनीहरूले सोच्छन्, “के मैले हरेक दिन दुई-चार गाँस बढी मासु खाएको मात्रै होइन र? के तिनीहरूले धेरै मासु खानु शरीरको लागि राम्रो हुन्छ र यसले व्यक्तिलाई कुपोषणबाट बचाउँछ भनेका थिएनन् र? त्यसोभए मैले कहाँ गल्ती गरेँ? मेरो रक्तचाप किन उच्च भयो? मेरो यो बुढो देहको हेरचाह गर्न कति गाह्रो! मैले एक-दुई गाँस बढी मासु खान पनि हुँदैन!” तैँले प्रति छाक आधा पाउ मासु खान्छस्—के त्यो साँच्चै दुई-चार गाँस बढी मात्रै हो त? अनि तँ सामान्यतया धेरै बस्छस् र व्यायाम गर्दैनस्, तैपनि तँ यति धेरै खान्छस्। अन्त्यमा, तँलाई स्वास्थ्य समस्याहरू हुन्छन्, र तँलाई आफ्नो मुटुमा असहज महसुस हुन थाल्छ। तिनीहरूले यस्तो समेत सोच्छन्, “यो त परमेश्‍वरले मलाई शोधन गरिरहनुभएको हो। यो केही पनि होइन, म समय बित्दै जाँदा ठीक हुनेछु। म परमेश्‍वरको बारेमा गुनासो गर्नेछैनँ!” तँसँग परमेश्‍वरको बारेमा गुनासो गर्ने के अधिकार हुन्थ्यो र? तेरो बिमार परमेश्‍वरले तँलाई शोधन गर्ने तरिका हो, कि यो तँ आफैले निम्त्याएको हो? तँ मासु खाएर मोटाउँछस् र बिरामी हुन्छस् र यो परमेश्‍वरले तँलाई शोधन गरिरहनुभएको हो, र परमेश्‍वरले तेरो विश्‍वासको जाँच गरिरहनुभएको हो भन्‍ने सोच्छस्। के परमेश्‍वरले तँलाई यसरी शोधन गर्नुहुन्थ्यो होला र? (गर्नुहुनेथिएन।) त्यसोभए केले गर्दा यो परिणाम आयो? (यो मानवीय मूर्खताले गर्दा आएको हो।) मानिसहरूसँग आफैमा कुनै खुट्ट्याउने क्षमता हुँदैन, तिनीहरूले आफ्नो जीवन कसरी व्यवस्थापन गर्ने भनी जान्दैनन्, सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी बुझ्दैनन्, आफ्नो शारीरिक जीवनलाई कसरी सही तरिकाले व्यवहार गर्ने भनी जान्दैनन्, परमेश्‍वरले मानिसहरूका लागि स्थापित गर्नुभएका अस्तित्वका नियमहरू कसरी पालन गर्ने भनी जान्दैनन्, र विभिन्न अन्तर्निहित शारीरिक अवस्थाहरूका नियमहरू कसरी पछ्याउने भनी जान्दैनन्। तिनीहरू सधैँ मूर्ख र बेतुकका अभ्यासहरूमा संलग्न हुन्छन्, सधैँ परमेश्‍वरको बारेमा धारणाहरू र कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरूमा प्रशस्त कुइच्छाहरू हुन्छन्। अन्त्यमा के हुन्छ? तिनीहरूले सधैँ घुमाउरो बाटोहरू लिन्छन्, सधैँ गल्तीहरू गर्छन्, र निरन्तर परमेश्‍वरलाई गलत बुझ्छन्। के यो अत्यन्तै समस्याग्रस्त कुरा होइन र? (हो।)

देहमा र भौतिक संसारमा जिउँदा, मानिसहरू धेरै जानकारी, धेरै विचार र दृष्टिकोणहरू, साथै धेरै फरक-फरक मानिस, घटना, र कामकुराहरूको सम्पर्कमा आउनेछन्। यदि तिनीहरूले विभिन्न मानिस, घटना, र कामकुराहरू सकारात्मक हुन् कि नकारात्मक हुन् भनेर कसरी खुट्ट्याउने भनेर जान्दैनन्, के स्वीकार गर्ने र के अस्वीकार गर्ने भनी कसरी छनौट गर्ने भनेर जान्दैनन्, सकारात्मक कुराहरूलाई कसरी दृढतापूर्वक पक्रिराख्ने भनेर जान्दैनन् र ती किन सही छन् भनेर जान्दैनन्, र नकारात्मक कुराहरूलाई कसरी अस्वीकार गर्ने भनेर जान्दैनन्—तिनीहरूलाई यी कुराहरूको नकारात्मक गुणबारे त झन् थाहै छैन—भने के यसरी जिउनु अत्यन्तै खतरनाक कुरा होइन र? (हो।) तिनीहरू कुनै पनि बेला आफ्नो ज्यान गुमाउने जोखिममा हुन्छन् भन्दा कुनै अतिशयोक्ति हुँदैन। मानिसहरूले आफ्नो शारीरिक जीवन र स्वास्थ्यजस्ता सरल कुराहरूलाई समेत राम्ररी व्यवस्थापन गर्न सक्दैनन्; तिनीहरूका लागि अरूले चिन्ता गरिदिनुपर्छ, तिनीहरूलाई परमेश्‍वरले सुरक्षा दिनुपर्छ र हेरचाह गर्नुपर्छ, नत्र तिनीहरूले कि त एउटा दिशामा धेरै टाढा गएर वा कि त अर्को दिशामा धेरै टाढा गएर गल्ती गरिरहनेछन्। कतिपय महिलाहरूले समाजका दुष्ट प्रवृत्तिहरूका विचारहरूलाई स्वीकार गरेर, परिणामहरूको कुनै वास्ता नगरी, आफूलाई सुन्दर बनाउने तरिकाहरूका लागि आफ्नो दिमाग खियाउँछन्। कतिपयले मनपरी परम्परागत चिनियाँ औषधि लिन्छन्, कतिपयले मनपरी पश्चिमी औषधि लिन्छन्, कतिपयले अविवेकपूर्ण रूपमा टनिकहरू लिन्छन्, र कोही अविवेकपूर्ण रूपमा कुनै निश्चित खानेकुरा खान्छन्। फलस्वरूप, तिनीहरूलाई पेटको समस्या हुन्छ, र तिनीहरू दिनभरि सुस्केरा हाल्दै र बिरामी र कमजोर देखिँदै बिताउँछन्। तिनीहरू आफूलाई सुन्दर बनाउन असफल मात्रै हुँदैनन्, तर तिनीहरू हेर्दा घिनलाग्दा समेत बन्छन्। कतिपय मानिसहरूको छाला निकै राम्रो हुन्छ तर तिनीहरू अझै पनि सन्तुष्ट हुँदैनन्, र तिनीहरू सबै किसिमका सौन्दर्य प्रसाधनहरूले आफूलाई पोत्न जिद्दी गर्छन्। कुनै बेला, तिनीहरूले कमसल गुणस्तरका सौन्दर्य प्रसाधनहरू प्रयोग गर्छन् र अन्ततः कुरूप बन्छन्, तिनीहरूको अनुहार दागैदाग र असमान रङ्गको हुन्छ, र हेर्दा डरलाग्दो बन्छ। कतिपय मानिसहरूले सौन्दर्य उपचार र प्लास्टिक सर्जरी दुवै गराउँछन्—तिनीहरूमध्ये कतिपयले आफ्नो नाकको डाँडी उठाउने प्रयास गर्छन् र त्यो उठाउन असफल मात्रै हुँदैनन्, बरु त्यसलाई बिगार्छन्, र कतिले चिउँडो भर्छन् र त्यो पनि बिग्रन्छ, र तिनीहरू हाँस्दा वा हाई गर्दा हाँसउठ्दो देखिन्छन्, जसले गर्दा तिनीहरू जहिल्यै पनि त्यसो गर्न डराउँछन्—यो कति दुःखद कुरा हो, यो जिउने कस्तो थकाइलाग्दो तरिका हो! के तिनीहरूले यसो गरेर आफ्नो लागि समस्या सिर्जना गरिरहेका हुँदैनन् र? कतिपय महिलाहरू आफ्नो उचाइप्रति असन्तुष्ट भएर, आफ्नो तल्लो खुट्टा भाँच्छन् र त्यसपछि त्यसलाई पुनः जोडेर लम्ब्याउँछन्, तर प्रक्रिया बिग्रन्छ, र त्यसले पहिलेका तिनीहरूका एकदमै ठीक खुट्टाहरूलाई अपाङ्ग बनाउँछ। के त्यो दुःखद कुरा होइन र? (हो।) सबै किसिमका प्रतिकूल परिणामहरू आएका छन्—यस्ता मानिसहरूको कहिल्यै राम्रो हुँदैन। दुष्ट प्रवृत्तिहरूले वकालत गर्ने कुनै पनि विचार वा दृष्टिकोण भ्रामक र दुष्ट हुन्छ, यो साँच्चै अत्यन्तै हानिकारक हुन्छ। तिनीहरूले वकालत गर्ने स्वादिष्ट भोजन र सौन्दर्य अभ्यासहरू साँच्चै राम्रा हुँदैनन्; ती सबै दुष्ट किसिमका हुन्छन्, र तिनले अन्ततः मानिसहरूलाई हानि पुर्‍याउँछन् र पासोमा पार्छन्। यो हानि भोग्न यी अज्ञानी महिलाहरू इच्छुक हुन्छन्, र तिनीहरूसँग यी दुष्ट विचार र दृष्टिकोणहरूलाई रोक्ने क्षमता हुँदैन। तिनीहरूलाई जे खान भनिन्छ त्यही खान्छन् र जे गर्न भनिन्छ त्यही गर्छन्, र त्यसलाई अलिकति पनि खुट्ट्याउँदैनन्, केवल अन्धाधुन्ध रूपमा पछ्याउँछन्। तिनीहरू कत्ति आज्ञाकारी हुन्छन्! अनि अन्त्यमा के हुन्छ? तिनीहरूमध्ये कसैलाई पनि राम्रो परिणाम पाउन मुस्किल हुन्छ। यदि तिनीहरू बीचमै आफ्नो गल्ती थाहा पाएर आफ्नो हानि कम गर्न समयमै फर्केनन् भने, यदि तिनीहरूले यी दुष्ट प्रवृत्तिहरूलाई पछ्याइरहे र यी दुष्ट विचार र दृष्टिकोणहरूलाई स्वीकार गरिरहे भने, तिनीहरू अन्ततः झन्-झन् पतित हुनेछन्, झन्-झन् असल र खराब छुट्याउन नसक्ने हुनेछन्, र आफ्नो स्वरूपमा झन्-झन् दियाबलसहरूजस्तै हुनेछन्, र तिनीहरूमा मानवीय स्वरूप नै रहँदैन। उनान्सय प्रतिशत मानिसहरूसँग सकारात्मक र नकारात्मक कुराहरूप्रति कुनै खुट्ट्याउने क्षमता हुँदैन, र तिनीहरूले स्वेच्छाले दुष्ट प्रवृत्तिहरूलाई स्वीकार गर्छन् भनेर भन्न सकिन्छ। महिलाहरूले सँगै लुगा किन्दा के भन्छन् त्यो हेर्। कतिले भन्छन्, “यो तिमीलाई सुहाउँदैन; यसले तिम्रो अनुहार गोरो देखाउँदैन वा तिम्रो शरीरको बनावट देखाउँदैन। यसले कसैको ध्यान खिच्दैन। मलाई लाग्छ त्योचाहिँ सेक्सी देखिन्छ र त्यसले ध्यान खिच्नेछ!” अरूले भन्छन्, “यो मोहक छैन। तिमीले अलिकति छाला देखाउनुपर्छ, तिमी सेक्सी र हेर्दा सुन्दर हुनुपर्छ—त्यतिले मात्रै हुन्छ। यदि तिमी सधैँ यति सोझी र शालीन भयौ भने, कसैले पनि तिमीलाई मन पराउनेछैन।” कतिपय आमाहरू त आफ्ना छोरीहरूलाई अभिनेत्री बन्न समेत जिद्दी गर्छन्। छोरीले भन्छे, “मनोरञ्जन उद्योग कस्तो अस्तव्यस्त छ! म अभिनेत्री बन्न चाहन्नँ।” त्यसपछि उसकी आमाले उसलाई हप्काउँछे: “के तँसँग कुनै महत्त्वाकाङ्क्षा छैन? तेरो उचाइ, रूप, र छालाले गर्दा, तँमा यति राम्रो प्राकृतिक अवस्था छ! यदि तैँले अभिनेत्रीको रूपमा पैसा कमाइनस् भने, हामीले के खाने? तैँले प्रसिद्ध हुन र पैसा कमाउन सक्छस् भने, तँ जोसुकैसँग सुते पनि हुन्छ। नत्र, तैँले आफ्नो राम्रो रूप खेर फाल्नेछस्! हामीले तँलाई यो उमेरसम्म हुर्कायौँ, र तेरो बुबा र मैले तेरो सफलतामा रमाउने दिन पर्खिरहेका छौँ! यदि हामीलाई त्यति पनि दिइनस् भने, हामीले तँलाई जन्माउनुको के फाइदा?” के आमाबुबाले आफ्ना छोराछोरीलाई यसरी शिक्षा दिनु सही हुन्छ? (हुँदैन।) छोराछोरीलाई यसरी शिक्षा दिँदा के परिणामहरू हुन्छन्? (छोराछोरीलाई हानि हुन्छ।) एक दिन, जब यस्तो बच्चाले कुराहरू बुझ्छ, र उसले धेरै दुःख र पीडा भोगेको हुन्छ, तब उसले अवश्य नै आफ्नी आमालाई घृणा गर्न र रिस गर्न थाल्छे, र यसो भन्छे: “यो सबै तपाईंको दोष हो! तपाईंले मलाई सही मार्गमा मार्गदर्शन गर्नुभएन! मैले अभिनय गर्दिनँ भनेको थिएँ, तर तपाईंले जिद्दी गर्नुभयो। अहिले मलाई हेर्नुहोस् त—म लगभग चालीस वर्षकी भएँ, मैले अझै श्रीमान् भेट्टाउन सकेकी छैनँ, र मलाई कसैले चाहँदैन। मलाई पछ्याउनेहरू केवल खेलबाड गरिरहेका थिए र उनीहरूले मसँग विवाह गर्ने कहिल्यै अभिप्राय राखेका थिएनन्। के मेरो पूरै जीवन बरबाद भएन र?” छोराछोरीले यति धेरै दुःख भोग्छन्, र आमाबुबा नै दोषी र समस्याको जड छन्। तिनीहरूले आफ्ना छोराछोरीमाथि हानि ल्याएका छन्।

यदि परमेश्‍वरमा विश्‍वास गर्नेहरू दुष्ट प्रवृत्तिहरूबाट आफूलाई छुटाउन नसक्नुमा गैरविश्‍वासीहरूजस्तै छन् भने, यसले एउटा समस्यालाई सङ्केत गर्छ। यदि तँसँग कुनै पनि दुष्टताका प्रवृत्तिहरू, कुनै पनि दुष्ट, नकारात्मक कथनहरू, वा मानिसहरू संलग्न हुने विभिन्‍न अभ्यासहरूप्रति, ती जुनसुकै भए पनि, तीप्रति कुनै खुट्ट्याउने क्षमता छैन भने, र तैँले तिनलाई पछ्याउँछस् र जानाजानी आफैले तिनलाई प्रयोग गरेर हेर्छस् भने, परमेश्‍वरको नजरमा, यी सबै लाजका चिन्हहरू हुन्। परमेश्‍वरले के भन्नुहुनेछ? उहाँले के भन्नुहुनेछ भने व्यक्तिको रूपमा, तँसँग सही र गलत छुट्याउने क्षमता छैन, तँसँग सकारात्मक कुराहरू स्वीकार गर्ने वास्तविकता छैन, र त्योभन्दा पनि बढी, तँ नकारात्मक कुराहरूलाई इन्कार गर्ने कार्य र अभ्यासहरूमा संलग्न भएको छैनस्। उहाँले के भन्नुहुनेछ भने, तँ मानिस होइनस्, र तैँले मानव विवेक र समझ हुनुको आधारभूत सर्त पूरा गर्दैनस्। उहाँले के भन्नुहुनेछ भने, तँ मानिस होइनस्, र राज्यले तँलाई स्वीकार गर्नेछैन। यदि तँ मानिस होइनस् भने, तैँले सत्यता स्वीकार गर्नु असम्भव छ, किनभने तेरो हृदयमा, तैँले आफ्नो मनले स्वीकार गर्न चाहेका कुराहरू शैतानबाट आउने सबै दुष्ट कुराहरू हुन्, र तेरो हृदयले सकारात्मक कुराहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्छ, विरोध गर्छ, र इन्कार गर्छ; तैँले ती कुराहरूप्रति कहिल्यै स्वीकार गर्ने मनोवृत्ति राखेको छैनस्। त्यसकारण, परमेश्‍वरले के भन्‍नुहुन्छ भने तँ मानिस होइनस्, तँसँग मानवता छैन। परमेश्‍वरले मानवता नभएका मानिसहरूलाई चाहनुहुन्न। “यदि परमेश्‍वरले मलाई स्वीकार गर्नुहुन्न भने, म परमेश्‍वरलाई मनाउन र मप्रतिको उहाँको मनोवृत्ति परिवर्तन गर्न अलिक बढी दुःख भोग्नेछु र अलिक बढी मोल चुकाउनेछु” भन्‍ने नसोच्। परमेश्‍वरले चाहनुहुने कुरा कुनै निश्चित तरिकाले काम गर्नु होइन; परमेश्‍वरले चाहनुहुने कुरा भनेको तेरो हृदयको गहिराइबाट सत्यतालाई स्वीकार गर्ने मनोवृत्ति, साथै सत्यतालाई स्वीकार गर्ने वास्तविकता र सत्यताको अभ्यास गरेको प्रमाण हो। तँ साँच्चै मानवता भएको व्यक्ति हुनुपर्छ—यो मानवता बहाना गरिने कुरा होइन। यदि तँसँग साँच्चै सामान्य मानवताका केही चिन्हहरू छन् भने, अर्थात्, यदि तँसँग सही र गलत छुट्याउने धेरै प्रकटीकरणहरू छन् भने, यदि तथ्यहरूले तँ सकारात्मक कुराहरूलाई प्रेम गर्छस् भन्‍ने देखाउँछन् भने, र यदि तैँले सकारात्मक कुराहरू स्वीकार गरेका र नकारात्मक कुराहरू इन्कार गरेका उदाहरणहरू छन् भने, र तँमा सत्यतालाई जिउनुको प्रकटीकरण छ भनेर देख्न सकिन्छ भने, परमेश्‍वरले तँसँग मानवता छ भनेर भन्नुहुनेछ र तँलाई मानिस भन्नुहुनेछ। यदि तैँले “मसँग पनि मानवता छ, म सकारात्मक र नकारात्मक कुराहरू खुट्ट्याउन सक्छु” भनेर भन्छस्, तर तँसँग सत्यता वास्तविकता जिउनुको प्रकटीकरण छैन, र तेरा शब्दहरूलाई प्रमाणले समर्थन गर्दैनन् भने, यो समस्याग्रस्त कुरा हो। “परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै कुराहरू सकारात्मक कुराहरू र सत्यताहरू हुन्, र शैतानले भन्ने र गर्ने सबै कुराहरू दुष्ट, सबै नकारात्मक कुराहरू हुन्; परमेश्‍वरबाट आउने सबै कुराहरू सकारात्मक कुराहरू हुन्, शैतानबाट आउने सबै कुराहरू नकारात्मक कुराहरू हुन्, र समाजका मानिसहरूबाट आउने सबै कुराहरू दुष्ट, नकारात्मक कुराहरू हुन्” भनेर धर्मसिद्धान्तको रूपमा स्वीकार गर्छस्—अर्थात्, धर्मसिद्धान्तको रूपमा तैँले कुनै समस्याविना सही तरिकाले बोल्छस्, र तैँले भनेका कुरामा कुनै गल्ती भेट्टाउन सकिँदैन—तर जब तैँले वास्तविक परिस्थितिहरूको सामना गर्छस्, तब तैँले कहिल्यै सकारात्मक कुराहरू स्वीकार गर्दैनस्, तँ कहिल्यै सकारात्मक कुराहरूमा दृढ रहँदैनस्, र सकारात्मक कुराहरूका नियम र विधानहरू पालन गर्दैनस्। यसले तँ सही र गलत छुट्याउन नसक्ने व्यक्ति होस् भन्‍ने प्रमाणित गर्छ। मानिसहरूलाई आफूमा यी प्रकटीकरणहरू छन् कि छैनन् भन्‍ने कुरा हृदयमा स्पष्ट थाहा हुन्छ। जब तैँले कुनै दुष्ट, नकारात्मक विचार वा दृष्टिकोण सुन्छस्, वा कुनै दुष्ट प्रवृत्तिको बारेमा जानकारी सुन्छस्, तब तेरो मनोवृत्ति के हुन्छ? तेरा विचार र दृष्टिकोणहरू के-के हुन्छन्? तेरो झुकाव के हुन्छ? तँ त्यसप्रति सहमत हुन्छस् कि तँ त्यसबाट विकर्षित हुन्छस्? तैँले त्यसलाई आफ्नो हृदयमा राख्ने र आवश्यक पर्दा प्रयोग गर्ने योजना बनाउँछस्, कि तँलाई त्यसप्रति वितृष्णा हुन्छ र तँ त्यसलाई आफ्नो हृदयमा दोषी ठहराउँछस्, र त्यसलाई स्वीकार गर्न पूर्ण रूपमा मान्दैनस्? तेरो हृदयमा, तेरो मनोवृत्ति वास्तवमा के हो भन्‍ने कुरा तँलाई थाहा हुनुपर्छ। यदि कसैले थाहा छैन भन्छ भने, के ऊसँग हृदय हुन्छ र? आफ्नै मनोवृत्तिबारे समेत स्पष्ट नहुनु—के यो सामान्य व्यक्ति हो त? यदि तँलाई तँ राम्रो छैनस् भन्‍ने आफ्नो हृदयमा थाहा छ, र तँलाई विभिन्‍न दुष्ट प्रवृत्तिहरू र दुष्ट कथनहरूमा धेरै रुचि छ भन्‍ने तँलाई थाहा छ, र तँ सधैँ तिनलाई पछ्याउन र तिनमा सहभागी हुन चाहन्छस्, तर परमेश्‍वरको घरका विभिन्‍न सत्यता सिद्धान्तहरू र परमेश्‍वरमाथिको तेरो विश्वासका कारण तेरो आफ्नै घमण्डले गर्दा तँ आफूलाई अलिकति रोक्न बाध्य भएको महसुस मात्रै गर्छस्, जब कि वास्तवमा, तेरो हृदयको गहिराइमा, तँ सकारात्मक कुराहरूबाट विकर्षित हुन्छस् र तिनलाई इन्कार गर्छस् भने, तैँले सकारात्मक कुराहरू मन पर्छ र दुष्ट प्रवृत्तिहरू मन पर्दैन भनेर दाबी गरे पनि, त्यो तेरो साँचो भावनाहरूको विरुद्धमा जानु हो। एउटा उदाहरण यसप्रकार छ। कतिपय व्यक्तिहरूले भन्छन्, “धेरै मासु खानु राम्रो होइन, यो अस्वस्थकर हुन्छ। थोरै मात्रामा मासु खानुपर्छ, र धेरै भात, गहुँमा आधारित खानेकुरा, र तरकारीहरू खानुपर्छ।” कतिपय मानिसहरूले यो स्वीकार गर्न सक्छन्। तिनीहरूलाई कम मासु खानु आफ्नो इच्छाविपरीत जानु हो भन्‍ने लाग्दैन; यसले तिनीहरूलाई दुःखी वा साँच्चै पीडित महसुस गराउँदैन। बरु, तिनीहरूले सोच्छन्, “यसो गर्नु सही कुरा हो। केही समयसम्म यसको अनुभव गरेपछि, मलाई यो मेरो शरीरका लागि राम्रो हो भन्‍ने लागेको छ। मेरो समग्र मानसिक अवस्था सुधारिएको छ, र म पहिलेभन्दा शारीरिक रूपमा स्वस्थ छु। यसरी खानपान गर्नु उत्तम हो!” तर, कतिपय मानिसहरूको स्वीकृति तिनीहरूको इच्छाविपरीत हुन्छ। तिनीहरूले धेरै अघिदेखि नै मानसिकता बनाइसकेका हुन्छन्: “धेरै मासु खानुमा के अस्वस्थकर छ र? धेरै तरकारी खाँदैमा स्वस्थ भइन्छ भन्‍ने हुँदैन। जसरी हेरे पनि, मासु नै स्वादिलो र रुचिकर हुन्छ! यदि मासु छैन भने केही तरकारी खानु ठीकै छ—भोकै बस्नुभन्दा त त्यो राम्रो हो—तर यदि मासु छ भने, धेरै खानुपर्छ। तिमीहरू सबै मूर्ख हौ, तिमीहरू सबैले नाटक गरिरहेका छौ। नाटक नगर्ने त म मात्रै हुँ। तिमीहरूमध्ये कोही पनि म जस्तो सच्चा छैनौ। म त जे सोच्छु त्यही भन्छु। मासु त स्वादिलो नै हुन्छ!” हरेक छाकमा, तिनीहरूले अत्यन्तै थोरै तरकारी खान्छन्, तर मासु भने निकै धेरै खान्छन्। मलाई भन्, के तिनीहरूले आफ्नो हृदयमा सकारात्मक कथनहरूलाई स्विकार्छन्? (स्विकार्दैनन्।) तिनीहरूले तिनलाई स्विकार्दैनन्, न त तिनीहरू तिनलाई अभ्यास गर्न सक्षम नै हुन्छन्। तिनीहरूले आफ्नो हृदयमा तिनलाई पूर्ण रूपमा तिरस्कार गर्छन्। तिनीहरूले यसो भन्छन्, “यी कथनहरू कसरी सकारात्मक हुन सक्छन्? मलाई किन ती सकारात्मक छन् जस्तो लाग्दैन? तिनमा के राम्रो छ? मैले धेरै मासु खाँदा के गलत भयो र? म मरेको छैनँ त, अनि तिमीहरूमध्ये कोही पनि मभन्दा राम्ररी बाँचिरहेका छैनौ!” तिनीहरूले तथ्यहरू स्विकार्दैनन् र धेरै मासु खानु आफ्नो स्वास्थ्यको लागि खराब हो भन्‍ने मान्दैनन्। तिनीहरूले सही कथनहरू समेत स्वीकार्न सक्दैनन्, भने तिनीहरूले तथ्यहरू कसरी स्विकार्लान् त? त्यो त झनै असम्भव हुनेथियो। यस्ता मानिसहरूका लागि, सकारात्मक कुराहरू स्वीकार्ने कार्य तिनीहरूको इच्छाको एकदमै विपरीत हुन्छ। तिनीहरूलाई यसो गर्न अत्यन्तै पीडादायी र गाह्रो लाग्छ। यसले तिनीहरूको मानवतामा समस्या छ, र तिनीहरूले आफ्नो हृदयमा सत्यतालाई प्रेम गर्दैनन् भन्‍ने देखाउँछ। कतिपय मानिसहरूले सकारात्मक रहेका सही शब्दहरू सुन्छन्, तब तिनलाई सजिलै स्वीकार्न सक्छन्, र यसो भन्छन्, “म यसबारे चिन्तित थिएँ र यसलाई कसरी सम्हाल्ने भन्‍ने मलाई थाहा थिएन, मसँग अभ्यासको कुनै मार्ग थिएन। खुसीको कुरा, तिमीले यसमा ज्योति दियौ। तिमीले भनेको सुन्नेबित्तिकै, मैले त यस विषयमा यो धारणा सही छ, दृष्टिकोण शुद्ध, वस्तुगत, र व्यावहारिक छ, र यो मानवताअनुरूप छ भन्‍ने महसुस गरेँ।” यो सुनेपछि, तिनीहरूले तुरुन्तै यसलाई व्यवहारमा लागू गर्न सक्छन्। तिनीहरू कहिलेकाहीँ आत्म-भोगमा लिप्त र हठी हुने भए पनि, तिनीहरू छिट्टै सही मार्गमा फर्कन्छन्। तिनीहरूले सकारात्मक कामहरू गर्नका लागि तिनीहरूलाई अरूले हेर्नु वा नियन्त्रणमा राख्नु आवश्यक पर्दैन, र तिनीहरूलाई त्यसो गर्नु आफ्नो इच्छाविपरीत जानु हो जस्तो लाग्दैन, न त यसले तिनीहरूलाई कष्ट नै दिन्छ। यो भेडाले घाँस खान मन पराएजस्तै हो। यदि तैँले भेडालाई मासु दिइस् भने, त्यसले त्यो खानेछैन, तर यदि तैँले त्यसलाई घाँस दिइस् भने, त्यसले त्यो स्वाद मानेर खानेछ, किनभने त्यो शाकाहारी हो, र त्यसलाई भित्री रूपमा चाहिने कुरा घाँस नै हो। तर ब्वाँसाहरू फरक हुन्छन्। तिनीहरूले खानका लागि मासु नै खोज्छन्; तिनीहरू घाँस खाँदैनन्, र तिनीहरूलाई मासुजस्तो रुचिकर अरू केही पनि लाग्दैन। यी तिनीहरूको प्रकृतिका स्वाभाविक प्रकटीकरणहरू हुन्, जसलाई कसैले परिवर्तन गर्न सक्दैन। यो तिनीहरूले पछि प्राप्त गर्ने कुरा होइन, न त यो तिनीहरूलाई सिकाइएको कुरा नै हुन्छ। भेडाहरू घाँस खान जन्मेका हुन्, र ब्वाँसाहरू मासु खान जन्मेका हुन्। कसैले पनि भेडालाई मासु खाने जनावर बन्न वा ब्वाँसालाई घाँस खाने जनावर बन्न सिकाउन सक्दैन। यो तिनीहरूको सारको प्रकटीकरण हो। तँलाई के चाहिन्छ र तैँले के मन पराउँछस् भन्‍ने कुरा तेरो मानवताले निर्धारण गर्ने कुरा हो। यदि तेरो मानवतामा सकारात्मक कुराहरूको आवश्यकता छैन भने, तैँले सकारात्मक कुराहरूलाई प्रेम गर्नेछैनस्। यदि तँलाई नकारात्मक कुराहरू मन पर्छ भने, यसको अर्थ तेरो हृदयलाई नकारात्मक कुराहरू चाहिन्छ भन्‍ने हो। यसलाई तेरो प्रकृति सारले निर्धारण गर्छ, यो कुरा तँलाई अरूले सिकाउनु आवश्यक पर्दैन। यदि कसैले तँलाई फर्काउनलाई मद्दत गर्न चाहन्छ र तँसँग केही सत्यता सिद्धान्तहरूमा सङ्गति गर्छ भने, तैँले आफ्नो इज्जतको ख्याल गरेर वा लाजबाट बच्न चाहेकोले त्यसलाई अस्थायी रूपमा स्वीकार गर्न सक्लास्, र मौखिक रूपमा आफ्नो सहमति व्यक्त गर्न सक्लास्, तर तैँले पर्दा पछाडि कसरी सोच्छस् र अभ्यास गर्छस् भन्‍ने कुरा पूर्ण रूपमा तेरो प्रकृतिले निर्धारण गर्ने कुरा हो। तैँले यसमा देखावटी गर्न सक्दैनस्, र तेरा आमाबुबाले पनि तँलाई परिवर्तन गर्न सक्दैनन्। तेरो मानवतामा सकारात्मक कुराहरूलाई प्रेम गर्ने र नकारात्मक कुराहरूलाई घृणा गर्ने तत्त्व छ कि छैन भन्‍ने कुराबारे कसैले पनि निर्णय गर्न सक्दैन; केवल तेरो आफ्नै सारले मात्रै यसको निर्णय गर्छ। के यो कुरा अब स्पष्ट भयो? (भयो।) त्यसकारण, व्यक्तिले सही र गलत खुट्ट्याउन सक्छ कि सक्दैन भन्‍ने कुराले उसको मानवताको बारेमा धेरै कुरा बताउँछ। यदि तेरो सही र गलतको खुट्ट्याइ स्वाभाविक प्रकटीकरण हो भने, तँ केही सकारात्मक कुराहरूमा विशेष रुचि राख्न जन्मेको होस्। कसैले सही कुरा भन्दा तँ सुन्न धेरै इच्छुक हुन्छस्, र तैँले अझै धेरै सुनेर अझै धेरै कुरा सिक्‍न सकूँ, र कम घुमाउरो बाटो लिनु परोस् वा घुमाउरो बाटो लिनु नै नपरोस् भनेर तिनीहरूले अझ धेरै भनिदिए हुन्थ्यो भन्‍ने चाहन्छस्। अनि जब तैँले केही दुष्ट, नकारात्मक कुराहरूको सामना गर्छस्, तब तँ आफ्नो हृदयमा विकर्षित हुन्छस्, र तैँले तिनलाई बेवास्ता गर्छस् र तँ तिनमा संलग्न हुन अनिच्छुक हुन्छस्—तैँले तिनको बारेमा सुन्न समेत चाहँदैनस्। तँ आफैलाई यसको कारण थाहा हुँदैन; तैँले आफूलाई नकारात्मक कुराहरू मन पराउन लगाउन सक्दैनस्, तर कसैले सही कुरा भन्दा तँ सुन्न धेरै इच्छुक हुन्छस्, र कसैले तेरो उपहास गरे पनि, तँलाई वास्ता लाग्दैन—तँलाई यो प्रेरणा कहाँबाट आउँछ भन्‍ने थाहा हुँदैन। कतिपय मानिसहरूले तेरो यो इमानदार प्रेरणा देख्छन् र तँलाई मूर्ख ठानेर तेरो हेला र उपहास गर्छन्, तर तँ असहमत हुन्छस्। तैँले सोच्छस्, “जबसम्म कसैले भनेको कुरा सही हुन्छ भने, म त्यो स्विकार्छु। त्यसमा गाह्रो कुरा के छ र?” यो मानवताको स्वाभाविक प्रकटीकरण हो। तेरो मानवतामा सकारात्मक कुराहरूलाई प्रेम गर्ने र नकारात्मक कुराहरूप्रति वितृष्णा गर्ने यो स्वाभाविक भावना हुनु सामान्य मानवताको एउटा विशेषता र प्रकटीकरण हो। जब तँसँग यो भावना र यस प्रकारको मानवता हुन्छ, तब मात्रै तँ सोझो र दयालु हुन सक्छस्, र तैँले सही अडान र हैसियतबाट भन्नुपर्ने कुरा भन्न र गर्नुपर्ने काम गर्न सक्छस्। जब तँसँग सही र गलत खुट्ट्याउने मानवताको पक्ष हुन्छ, तब तँसँग सत्यता स्वीकार गर्न र परमेश्‍वरबाट आउने सत्यता सिद्धान्तहरू समावेश भएका विभिन्‍न स्पष्ट कथनहरू स्वीकार गर्नलाई आधारभूत सर्त हुन्छ। यदि तँसँग सही र गलत खुट्ट्याउने मानवताको पक्ष छैन भने, तेरो मानवताका विवेक र समझ अनुपस्थित हुन्छन्, र तँसँग सत्यता स्वीकार गर्न, परमेश्‍वरका वचनहरू स्वीकार गर्न, र परमेश्‍वरबाट आउने सबै सकारात्मक मार्गदर्शन र सही मार्गहरू स्वीकार गर्नलाई चाहिने आधारभूत सर्त हुँदैन। तँसँग सत्यता स्वीकार गर्न र सकारात्मक कुराहरू स्वीकार गर्नलाई चाहिने आधारभूत सर्त समेत हुँदैन, त्यसैले तँ समर्पित हुन सक्छस् भन्‍ने उल्लेख गर्नु भनेको बेतुकको, दिवास्वप्न मात्र हो।

यदि कसैले सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भन्‍ने जान्दैन भने, तैपनि उसले “मसँग विवेक छ, र म धेरै सोझो र दयालु छु” भनेर भन्छ भने, के यसले आत्म-सचेतनाको अभाव हुनुलाई देखाउँदैन र? तेरो सोझोपन कहाँबाट आउँछ? तेरो दिमाग नकारात्मक कुराहरूले मात्रै भरिएको छ—तँ सोझो छस् भनी प्रमाणित गर्न तैँले के कुराको प्रयोग गर्न सक्छस्? तेरो प्रमाण कहाँ छ? कुन आधारमा तैँले आफूलाई सोझो व्यक्ति हुँ भनी भन्छस्? अनि तैँले आफ्नो तथाकथित दयालाई कसरी व्यवहारमा लागू गर्न सक्छस्? तँभित्र दुष्ट, नकारात्मक विचार र दृष्टिकोणबाहेक केही पनि छैन। के तँ दयालु हुन सक्छस्? तैँले मानिसहरूलाई नफसाउनु वा हानि नगर्नु नै ठूलो कुरा हुनेछ। कतिपय मानिसहरूले, आफूसँग मानवता छ र आफू सोझो र दयालु छु भनी प्रमाणित गर्न, आफ्नो नाम झेङ वाङ, झेङ झाङ, झेङ झोउ, झेङ गाङ[क] राख्छन्—नामहरू निश्‍चय नै “सोझो” सुनिने भए तापनि, के त्यसको अर्थ व्यक्ति साँच्चै सोझो छ भन्‍ने हुन्छ र? साँचो सोझोपन कहाँबाट आउँछ? यो त मानवताबाट आउँछ। जब कुनै व्यक्तिको मानवतामा सही र गलत खुट्ट्याउने क्षमता वा आधारभूत सर्तहरू हुन्छन्, तब मात्रै ऊ सोझो हुन सक्छ। यदि तँलाई सकारात्मक कुराहरू के हुन् भन्‍ने समेत थाहा छैन, वा यदि तैँले सकारात्मक कुराहरूलाई प्रेम नै गर्दैनस् र तैँले एउटै पनि सकारात्मक कुरा वा सकारात्मक विचार र दृष्टिकोण स्वीकार गरेको छैनस्, तैपनि तैँले आफू सोझो भएको दाबी गर्छस् भने, के यो निर्लज्ज हुनु होइन र? कुन आधारमा तैँले आफू सोझो भएको दाबी गर्छस्? कतिले भन्छन्, “मेरो संसारलाई हेर्ने दृष्टिकोण, मूल्यमान्यता, र जीवनप्रतिको दृष्टिकोण सबै सही छन्।” के सत्यतासँग यसको कुनै सम्बन्ध हुन्छ र? के संसारलाई हेर्ने दृष्टिकोण, मूल्यमान्यता, र जीवनप्रतिको दृष्टिकोण सही हुनुको अर्थ व्यक्तिसँग सत्यता छ भन्‍ने हुन्छ र? अरूले भन्छन्, “मसँग ‘सकारात्मक ऊर्जा’ छ। मैले भन्ने र गर्ने कुराहरू व्यावहारिक हुन्छन् र तिनले मानिसहरूलाई आत्मिक रूपमा वृद्धि गर्छन्। म कहिल्यै मानिसहरूलाई होच्याउने कुराहरू भन्दिनँ, म कहिल्यै कुनै निराशाजनक कुरा भन्दिनँ, र म मानिसहरूलाई लाजमा पार्ने वा तिनीहरूलाई नकारात्मक र कमजोर महसुस गराउने, वा तिनीहरूलाई निरुत्साहित गर्ने कुराहरू भन्दिनँ। मैले भन्ने सबै कुराले मानिसहरूलाई प्रोत्साहन, उत्प्रेरणा, वा प्रेरणा दिन्छ। के यो ‘सकारात्मक ऊर्जा’ को रूपमा गन्ती हुन्छ? यो शब्द, ‘सकारात्मक ऊर्जा’ अहिले समाजमा धेरै लोकप्रिय छ। ‘सकारात्मक ऊर्जाले भरिपूर्ण हुनु’ कस्तो भव्य, फेसनदार र उत्कृष्ट विचार हो!” अरूले भन्छन्, “हेर, म कसरी धर्मी आत्माले भरिएको छु। जब म त्यहाँ उभिन्छु, म एक सिपाहीजस्तो देखिन्छु—मेरा आँखाहरू चम्किला छन् र मेरो हेराइ तीखो छ, म चञ्चल छैनँ। ती स्थानीय गुन्डाहरू, घृणित खलनायकहरू, र दुष्ट मानिसहरूले त मेरो नजिक आउने आँट नै गर्दैनन्। जब तिनीहरू मेरो अगाडि हुन्छन्, तिनीहरूको साँचो रङ्ग प्रकट हुन्छ, तिनीहरूले आफ्नो कायरता देखाउँछन्, र तिनीहरू नीच देखिन्छन्। जब औसत व्यक्ति मेरो वरिपरि हुन्छ, उसले राम्रो आनीबानी देखाउनुपर्छ र उसले अविवेकी कार्य गर्ने आँट गर्दैन। हेर् त, मेरो यो धर्मी आत्माले दुष्टतालाई दबाउन सक्छ!” के यो सोझो हुनु हो? (होइन।) समाजमा धनीलाई लुटेर गरिबलाई मद्दत गर्ने, इन्साफपूर्ण अभियानका लागि बहादुरीसाथ काम गर्ने, दयालु र परोपकारी हुने, र सङ्कटमा परेकाहरूलाई बचाएर नायक बन्‍ने कार्य लोकप्रिय छ। कतिपय मानिसहरूले, यी कामहरू गरेपछि, आफूलाई नायक ठान्छन्, र अरू धेरै जना यी नायकहरूको अगाडि झुक्छन्। अरूले भन्छन्, “म कहिल्यै मानिसहरूको फाइदा उठाउँदिनँ, म धर्मी आत्माले भरिएको छु, म दृढतापूर्वक सोझो र निष्पक्ष छु, र म सही र गलत छुट्याउन सक्छु। जब दुई जना मानिसहरू झगडा गर्छन् र मलाई विवाद मिलाइदिनुहोस् भनी भन्छन्, तब म दुवै पक्षलाई बराबर सजाय दिन्छु र कुनै पक्षपात देखाउँदिनँ। म भरिएको यो धर्मी आत्मालाई हेर, सबैले मेरो प्रशंसा गर्छन्!” के यसलाई सोझो हुनु मानिन्छ? (मानिँदैन।) “संसारलाई हेर्ने दृष्टिकोण, मूल्यमान्यता, र जीवनप्रतिको दृष्टिकोण सही हुनु” र “सकारात्मक ऊर्जा” जस्ता यसअघि उल्लेख गरिएका विचारहरू लोकप्रिय चिनियाँ भनाइहरू भए तापनि, यो अन्तिम—दयालु र परोपकारी हुनु, पुण्य कमाउनु र असल कामहरू गर्नु, र इन्साफपूर्ण उद्देश्यका लागि बहादुरीसाथ काम गर्नु—भन्‍ने भनाइहरूलाई सम्भवतः सबै देशहरूमा र सबै मानिसहरूमाझ विश्वव्यापी रूपमा सम्मान गरिन्छ। त्यसकारण मानिसहरूले यसलाई धर्मी आत्मा, सोझोपन भन्‍ने ठान्छन्। परमेश्‍वरमा विश्वास गर्ने अधिकांशले समेत यो धेरै सोझो कुरा हो भन्‍ने सोच्छन्, र यसो भन्छन्, “हाम्रो राष्ट्रिय नायक, फलानोलाई हेर त। उसले राष्ट्रको धर्मी र महान् उद्देश्यका लागि आफ्नो जीवन त्याग्यो, राष्ट्रको रक्षा गर्न बङ्कर उडाउन आफूलाई बलिदान दियो। ऊ धर्मी आत्माले भरिएको थियो। मानवता हुनुको अर्थ यही हो!” अहिले यसलाई हेर्दा, के यो दृष्टिकोण सही छ त? (छैन।) यो कसरी गलत छ? मानिसहरूले सोझो ठान्ने वा मानिसहरूले सम्मान गर्ने यी प्रकारका सोझोपनलाई असल र तुलनात्मक रूपमा सकारात्मक कुराहरूप्रतिको मानवीय चाहनामा आधारित मापदण्डहरूद्वारा मूल्याङ्कन गरिन्छ। मानिसहरूका दैहिक धारणाहरू र कल्पनाहरूका कारणले गर्दा, र तिनीहरूले सकारात्मक कुराहरू के हुन् भनी नबुझ्ने हुनाले, तिनीहरूले अरूका लागि आफ्नो हित त्याग गर्न सक्ने र असल व्यवहारमा संलग्न हुनेहरूलाई—वा अरूलाई सक्रिय रूपमा नफसाउने वा हानि नगर्ने, अरूलाई कुनै खतरा नपुर्याउने, र कुनै पनि खराब परिणामहरू नल्याउनेहरूलाई—असल मानिसहरूको रूपमा मान्छन्, र तिनीहरूले उनीहरूलाई सम्मान गर्छन् र सोझो भनी चित्रण गर्छन्। “सोझो” को यो परिभाषा मानिसहरूको सोझोपनसम्बन्धी धारणाहरूमा, साथै दुष्ट प्रवृत्तिहरू र दुष्ट मानवजातिप्रतिको तिनीहरूको घृणा, र अद्भुत कुराहरूप्रतिको तिनीहरूको चाहनामा आधारित छ। मानव जातिका अधिकांश मानिसहरूले अरूलाई दमन गर्ने, धम्क्याउने, फसाउने, र हानि गर्ने हुनाले, र यो संसार यति दुष्ट, अन्धकार भएको, र निष्पक्षता वा धार्मिकताको कुनै नामोनिसान नभएको हुनाले, जब यस्ता नायकहरू वा तथाकथित असल सामरीहरू र असल काम गर्नेहरू देखा पर्छन्, तब मानिसहरूले उनीहरूलाई सम्मान गर्ने गर्छन्, र उनीहरूलाई सम्भव भएसम्मका सबैभन्दा उत्तम शब्दहरूले परिभाषित गर्छन्। के यो परिभाषाका यी सिद्धान्तहरू सही छन्? (छैनन्।) परिभाषाका सिद्धान्त र आधार नै आफैमा गलत छन्। उदाहरणका लागि, एउटा समूहमा कसैलाई अरू धेरैले धम्क्याउँछन्, तर त्यहाँ एक निश्चित व्यक्ति छ जसले उसलाई धम्क्याउँदैन। धम्की खाइरहेको व्यक्तिले भन्छ, “मलाई धम्की नदिने व्यक्ति असल व्यक्ति हो।” के यो अभिव्यक्ति सही छ? (छैन।) के यो तार्किक छ? (छैन।) मलाई भन्, यसमा के गलत छ? (सायद उसलाई धम्की नदिने व्यक्तिले उसलाई अप्रिय नठानेकाले मात्र हो, वा वस्तुगत अवस्था र परिस्थितिहरू उपयुक्त नभएकोले त्यस व्यक्तिले उसलाई धम्की दिएन। यसको अर्थ यो व्यक्ति असल व्यक्ति नै हो भन्‍नेचाहिँ हुँदैन।) तिनीहरूको यो दृष्टिकोणमा तार्किक त्रुटि छ। तँलाई धम्की दिने मानिसहरू खराब मानिसहरू हुन्, त्यसैले तँलाई धम्की नदिने मानिसहरू असल मानिसहरू हुनुपर्छ भन्‍ने विचार एउटा तार्किक त्रुटि हो, होइन र? (हो।) अरूलाई धम्की दिने अधिकांश मानिसहरू असल मानिसहरू होइनन्, तर अरूलाई धम्की दिनुको अर्थ के हो भनी परिभाषित गर्ने तेरो मापदण्ड निश्‍चय नै सही नहुन सक्छ, त्यसैले तँलाई धम्की दिने मानिसहरू खराब मानिसहरू हुन् भन्‍ने तेरो परिभाषा पनि निश्‍चय नै सही नहुन सक्छ, र तँलाई धम्की नदिने मानिसहरू असल मानिसहरू नै हुनुपर्छ भनेर भन्नु पनि सही होइन। कसैले तँलाई धम्की नदिनुका पछाडि धेरै परिदृश्यहरू हुन सक्छन्। सायद तिनीहरू तँलाई वास्ता गर्न चाहँदैनन्, त्यसैले तिनीहरूले तँलाई धम्की दिने झन्झट गर्दैनन्। सायद तिनीहरूले तँलाई चिन्दैनन्, त्यसैले तिनीहरूले तँलाई धम्की दिन सक्दैनन्। सायद तिनीहरूलाई तँ तिनीहरूभन्दा बढी शक्तिशाली छस् भन्‍ने लाग्छ, त्यसैले तिनीहरूले तँलाई धम्की दिने आँट गर्दैनन्। यस्ता धेरै सम्भावित परिदृश्यहरू छन्। तिनीहरूलाई असल व्यक्ति भनी परिभाषित गर्ने तेरो आधार तिनीहरूले तँलाई धम्की दिएनन् भन्‍ने जगमा बनेको छ, त्यसैले यो परिभाषाको आधार नै गलत छ। कसैलाई असल व्यक्ति भनी परिभाषित गर्ने साँचो आधार के हो? यदि यो व्यक्तिले सकारात्मक कुराहरूलाई प्रेम गर्छ, अरूलाई निष्पक्षका साथ र सिद्धान्तहरूमा आधारित भएर व्यवहार गर्छ, र उसले काम गर्ने तरिकामा पनि सिद्धान्तहरू छन् भने, उसले कहिलेकाहीँ तँसँग ठाडो बोल्दा, कठोर स्वरमा बोल्दा, वा तेरो आलोचना गर्दा पनि, उसले तँलाई धम्की दिइरहेको चाहिँ हुँदैन। उसले सिद्धान्तहरूअनुसार काम गरिरहेको हुन्छ र तथ्यहरूका आधारमा मामिलाहरूको मूल्याङ्कन गरिरहेको हुन्छ। यसरी, ऊ साँच्चै असल व्यक्ति हो, र ऊ मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्षम हुन्छ। तर कतिपय मानिसहरू यस्ता हुँदैनन्। जब तिनीहरूले तँसँग हैसियत छ र तँ शक्तिशाली छस् भन्‍ने देख्छन्, तब तिनीहरूले तेरो चापलुसी गर्छन्। जब तिनीहरूले तँसँग कुनै हैसियत छैन र तँ कमजोर छस् भन्‍ने देख्छन्, तब तिनीहरूले तँलाई धम्की दिन्छन्, तँलाई कुल्चन्छन्, र बोल्दा सधैँ तँलाई चोट पुर्‍याउँछन्। यदि तैँले कुनै सही काम गरिस् भने, तिनीहरूले तँसँग डाहा गर्छन्। यदि तैँले केही गलत काम गरिस् भने, तिनीहरूले तेरो उपहास गर्छन् र तँलाई होच्याउँछन्। यस्ता मानिसहरू खराब मानिसहरू हुन्। यदि तैँले सकारात्मक कुराहरू र सत्यता सिद्धान्तहरूका आधारमा असल र खराब मापन गरिस् भने, तैँले कुराहरू मापन गर्ने तेरा मापदण्डहरू र तेरा मापनका परिणामहरू सही हुनेछन्। संसार र समाजमा सकारात्मक र नकारात्मक कुराहरूको मूल्याङ्कन वा परिभाषा आफैमा उल्टो छ। समाजका अधिकांश मानिसहरूले आफूले प्रेम गर्ने नेताहरू, प्रसिद्ध व्यक्तिहरू, वा स्टारहरूलाई आदर्श मान्छन्। यी प्रसिद्ध व्यक्तिहरू, स्टारहरू, र नेताहरूले जे भने पनि, तिनीहरूले त्यो सही हो भन्‍ने सोच्छन्, र कसैले पनि त्यस कुरालाई खुलासा वा विरोध गर्दैन। ती मानिसहरूले साधारण मानिसहरूमाथि जतिसुकै प्रभुत्व जमाए पनि र उनीहरूलाई कुल्चे पनि, गरिबहरूलाई भेदभाव वा शोषण गरे पनि, वा मानिसहरूको जीवनलाई मूल्यहीन भएझैँ गरी जथाभाबी नष्ट गरे पनि, कोही पनि तिनीहरूको विरोध वा प्रदर्शन गर्नलाई उठ्दैन। यदि तिनीहरूले राजनीतिक अङ्क प्राप्त गर्न केही असल कामहरू गरे भने, धेरैले तिनीहरूको प्रशंसा गाउनेछन् र तिनीहरूलाई उचाल्नेछन्। यदि इन्साफका लागि लड्ने व्यक्ति देखा पर्‍यो र उसले शैतानी शासन, वा प्रसिद्ध व्यक्तिहरू र महान् व्यक्तित्वहरूलाई खुलासा गर्‍यो भने, जनसमूहले उनीहरूलाई सामूहिक रूपमा आक्रमण गर्नेछ, र उनीहरूलाई हटाउन र उनीहरूलाई बेपत्ता पार्न मरिहत्ते गर्नेछ। यसले के देखाउँछ? समाजले सबै कुरा गैर-इन्साफपूर्ण, विकृत तरिकाले गर्छ; यसले सही र गलतलाई उल्ट्याउँछ। भ्रष्ट मानवजातिले असल र खराब, र सकारात्मक र नकारात्मकलाई परिभाषित गर्ने मापदण्डहरू सबै गलत छन्, त्यसैले तिनीहरूले निकाल्ने निष्कर्षहरू पनि अव्यावहारिक हुन्छन्।

एउटा उदाहरण हेरौँ। घरमा पसेर लुटपाट गर्नेहरू हुन्छन्—धनीहरूलाई लुटेर गरिबहरूलाई मदत गर्ने। तिनीहरूले धनीहरूको सम्पत्ति लुटेपछि, आम मानिसहरूलाई सहायता प्रदान गर्छन्। जब आम मानिसहरूले यसबाट लाभ उठाउँछन् र फाइदा लिन्छन्, तब तिनीहरू खुसी हुन्छन्, र तिनीहरूले यी मानिसहरूलाई नायक र धर्मी मानिसहरू भनेर प्रशंसा गर्छन्। तर यदि तैँले यी तथाकथित धर्मी मानिसहरूले गरेका कामहरूको विश्लेषण गरिस् भने, के तिनीहरू साँच्चै धर्मी हुन्छन् त? कतिपय धनी मानिसहरूले लगनशील व्यवस्थापन र प्रयासद्वारा आफ्नो धन आर्जन गरेका हुन्छन्, र कतिपयले त कैयौँ पुस्ताको व्यवस्थापन र प्रयासपछि मात्र आफ्नो धन सञ्चय गरेका हुन्छन्। तैँले कुन अधिकारले तिनीहरूको चीजहरू लुट्छस्? तैँले तिनीहरूको निजी सम्पत्ति लुटेको हुन्छस्—त्यो गलत हो। यदि तँ सक्षम छस् भने, आफै गएर पैसा कमा। तैँले कमाएको पैसा गरिबहरूलाई सहायता गर्न प्रयोग गर्नु—त्यसलाई पो परोपकारी काम मान्न सकिन्छ। तर तैँले धनीहरूको सम्पत्ति लुट्छस्, अरूको चीजलाई आफ्नो बनाएर लिन्छस्, र त्यसपछि गरिबहरूलाई सहायता गर्छस्। गरिबहरूको नजरमा, यसलाई धर्मी मानिन्छ। के यो एकदमै हास्यास्पद दृष्टिकोण होइन र? गरिब र आम मानिसहरूले यस्ता मानिसहरूलाई नायकको रूपमा सम्मान गर्छन्, र यी “नायकहरू” ले यो उपाधि र यो सम्मानलाई यो तिनीहरूले पाउनुपर्ने कुरा नै हो भनेझैँ उपभोग गर्छन्। के यो निर्लज्ज हुनु होइन र? के यो एकदमै हास्यास्पद कुरा होइन र? (हो।) तिनीहरू आफैसँग पैसा कमाउने क्षमता हुँदैन, र तिनीहरूले धनीहरूप्रति रिस पालेका हुन्छन्, त्यसैले तिनीहरूले धनीहरूको धन लुट्न र आम मानिसहरूलाई बाँड्नका लागि हिंसा प्रयोग गर्छन्, ताकि आम मानिसहरूले तिनीहरूको प्रशंसा गरून्। वास्तवमा, तिनीहरूले लिने चीजहरू तिनीहरूले आफ्नै श्रमले कमाएका हुँदै हुँदैनन्, र गरिबहरूले उपभोग गर्ने कुराहरू यी लुटेराहरूका होइनन्, तर धनीहरूका हुन्। त्यसोभए, यी चीजहरू तिनीहरूको हातबाट हस्तान्तरण भएकोले मात्रै पनि, आम मानिसहरू र गरिबहरूले तिनीहरूप्रति किन गहिरो कृतज्ञता व्यक्त गर्नुपर्ने? अनि के आम मानिसहरूले यी चीजहरू निश्चिन्त विवेकले उपभोग गर्नु सही हुन्छ त? के यी कुराहरू तैँले पाउनुपर्ने कुरा हुन्? के तैँले ती तेरो आफ्नै श्रमले कमाएको हुन्छस्? तँ नकमाएका लुटेका कुराहरू निश्चिन्त विवेकले उपभोग गर्छस्, र तँलाई धनीहरूलाई लुट्नुपर्छ, र तैँले लुटेका कुराहरू उपभोग गर्नुपर्छ भन्‍ने समेत लाग्छ। तैँले यी चीजहरू सित्तैँमा र कुनै मूल्य नतिरी पाउँछस्, र तँ तिनलाई निश्चिन्त विवेकले उपभोग गर्छस्। के यो निर्लज्ज हुनु होइन र? (हो।) यी तथाकथित नायकहरूले मानिसहरूबाट यो प्रशंसा र यो सम्मानको उपभोग गर्छन्। तिनीहरूले आफ्नो अभिमान पूरा गर्न यी कामहरू गर्छन्। मानिसहरूले जति धेरै तिनीहरूको प्रशंसा र पूजा गर्छन्, तिनीहरू त्यति नै उन्मत्त हुन्छन्, र तिनीहरूले महलहरू समेत लुट्छन्, भित्रको खजाना चोर्छन्, त्यसलाई बेच्छन्, र त्यसपछि त्यो पैसा गरिबहरूको आँगनमा छरिदिन्छन्। तिनीहरूले गरिबहरूलाई सहायता गर्ने तरिका भनेको धनीहरूलाई लुट्नु हो। के यो एकदमै हास्यास्पद कुरा होइन र? (हो।) अरूको सम्पत्ति लुट्नुले कानुन उल्लङ्घन गर्छ कि गर्दैन भन्‍ने कुरालाई छोडिदिऊँ, नैतिकता र मानवताको हिसाबमा पनि, यो त अस्वीकार्य नै छ, र यो तथाकथित धार्मिकता होइन। तिनीहरूले लुटेका ती चीजहरू तिनीहरूले पाउनुपर्ने चीजहरू हुँदै होइनन्। ती नीच, घिनलाग्दो, शङ्कास्पद, गैरकानुनी, र अनुचित माध्यमहरूबाट प्राप्त गरिएका चीजहरू हुन्। तिनीहरूले तिनलाई केही पैसामा साट्छन् र त्यसपछि सुरुमा मदत नै नचाहिने वा तिनीहरूले मदत गर्नुपर्छ भनी सोचेका मानिसहरूलाई सहायता गर्छन्, त्यसपछि तिनीहरूले यी मानिसहरूबाट प्रशंसा पाउँछन्, र तिनीहरूले यो सम्मानको उपभोग गर्छन्। के यो निर्लज्ज हुनु होइन र? तैपनि तिनीहरूले आफूप्रति निकै गर्व गर्छन् र आफूलाई धनीहरूबाट लुटेर गरिबहरूलाई मदत गर्ने नायक भन्छन्। यस्ता मानिसहरू समाजमा निकै लोकप्रिय हुन्छन्। प्राचीन समयमा, यस्ता केही तथाकथित “नायकहरू” थिए, र तिनीहरूका कथाहरू आजसम्म पनि प्रचलनमा छन्। के यो हास्यास्पद कुरा होइन र? (हो।) सम्पूर्ण मानवजातिमध्ये, सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी साँच्चै बुझ्नेहरू थोरै मात्र छन्। मानिसहरूले यी कुराहरू खुट्ट्याउन सक्दैनन्। आम मानिसहरूले “नायकहरू” ले लुटेका चीजहरू कति दिनसम्म उपभोग गर्न सक्छन् र? के त्यो तैँले पाउनुपर्ने कुरा हो? के त्यो तैँले कमाएको हो? त्यो न त तैँले कमाएको हो न त तैँले पाउनुपर्ने कुरा नै हो—त्यसलाई त अयोग्य लाभ स्वीकार्नु भनेर भनिन्छ। के तैँले यी चीजहरू उपभोग गर्नु सम्मानजनक कुरा हो? तँ गरिब छस् किनभने तँ अल्छी छस् वा असक्षम छस्। विवेक र समझ भएको व्यक्ति खान र लाउन पाएकोमा सन्तुष्ट हुनुपर्छ, र उसले आफूले कमाउन सक्ने कुरा मात्रै उपभोग गर्नुपर्छ। परमेश्‍वरले तँलाई गुजारा गर्ने माध्यम दिनुहुन्छ, त्यसैले तँ सन्तुष्ट हुनुपर्छ। यदि तैँले धनी, धेरै चीजहरू भएको, सम्पन्न व्यक्तिलाई देखिस्, र तँ सधैँ उसँग भएको कुराको बराबर हिस्सा चाहन्छस् भने, के यो तर्कसङ्गत हुन्छ? यो विचार आफैमा तर्कसङ्गत छैन। शैतानले समाजलाई नियन्त्रण गर्छ र त्यसमाथि शक्ति राख्छ, त्यसैले अवश्य पनि त्यहाँ कुनै निष्पक्षता छैन। समाजमा, गरिबहरू धेरै छन् भने धनीहरू थोरै छन्—यसको कारण जेसुकै भए पनि, तथ्य के हो भने, कोही मानिसहरू धनी छन् र कोही गरिब छन्। समाज यस्तै छ—तँ सक्षम भए पनि धनी नहुन सक्छस्, र तँ असक्षम भए पनि वास्तवमा धनी व्यक्तिको जीवन जिउन सक्ने हुन सक्छस्। कसैले पनि यी कुराहरूलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैन, तर जेसुकै भए पनि, यसमा परमेश्‍वरको नियोजन पनि हुन्छ। अरूबाट लुटिएका चीजहरू तेरा होइनन्, र तैँले ती प्राप्त गरे पनि, ती तेरा हुँदैनन्, र ढिलो-चाँडो तैँले ती गुमाउनेछस्। वीरता र इन्साफको बहानामा घरमा पसेर लुटपाट गर्ने, र धनीहरूलाई लुटेर गरिबहरूलाई मदत गर्नेहरूलाई हेर्। तिनीहरूले पर्दा पछाडि सबै प्रकारका दुष्ट कार्यहरू गर्छन्, जस्तै खानपिन, वेश्यावृत्ति, र जुवातास खेल्ने, र लागुऔषध दुरुपयोग गर्ने, कतिपयले त हत्या वा बलात्कार समेत गर्छन्। त्यसपछि, धनीहरूलाई लुटेर गरिबहरूलाई मदत गर्ने केही कामहरू गरेको भरमा, तिनीहरूलाई आम मानिसहरूले नायकको रूपमा सम्मान गर्छन्। के यो नीच पात्रहरू फस्टाउनुको अवस्था होइन र? आम मानिसहरू—घृणित प्रकारका, निम्न वर्गका, र तुच्छ मानिसहरू—जब तिनीहरूले थोरै लाभ पाउँछन् तब खुसी हुन्छन्, र जस तिनीहरूलाई लाभ प्रदान गर्छ उसैको प्रशंसा गर्छन्। अनि ती “नायकहरू” नि? आम मानिसहरूले तिनीहरूलाई केही सम्मान दिन्छन् र इनाम दिन्छन्, र तिनीहरूलाई नायकको रूपमा मान्छन्, र त्यसैले तिनीहरूले यो सम्मानको मुकुट हो, तिनीहरू साँच्चै नायक हुन्, र तिनीहरू अद्वितीय छन् भन्‍ने सोच्छन्। त्यसैले, तिनीहरूले लुट्न जारी राख्छन्, र फलस्वरूप, जब तिनीहरूले राजमहल लुट्छन् तब तिनीहरू एउटै गोलीद्वारा मारिन्छन्। तिनीहरूले साँच्चै आफूमा ठूलो क्षमता छ र आफू महामानव हुँ, आफू असाधारण र उत्कृष्ट छु भन्‍ने सोचेका थिए, तर वास्तवमा, तिनीहरूसँग एउटा गोली छल्ने क्षमता समेत थिएन, र अन्त्यमा तिनीहरूले आफ्नो ज्यान गुमाए। के यो पाउनुपर्ने कुरा नै थिएन र? (हो।) लुट्ने कार्य आफैमा सम्मानजनक छैन। यो तुच्छ कार्य हो। आम मानिसहरूको प्रशंसा पाउन, राम्रो प्रतिष्ठा पाउन, थोरै सम्मान पाउन लुटपाटमा भर पर्नु—यो कस्तो घृणित कुरा हो। अन्त्यमा, तिनीहरूले आफैलाई प्रशंसा समेत गर्छन्: “आम मानिसहरूले गुजारा गर्न सक्दैनन्, र मानिसहरू अत्यन्तै कठिन परिस्थितिमा छन्, यो सबै अधिकारीहरूको कारणले हो। हेर, ममा कति धेरै धार्मिकताको आत्मा छ; म निम्न-वर्गीय आम मानिसहरूप्रति करुणा राख्छु!” के यस्ता मानिसहरू धर्मी हुन्छन्? (हुँदैनन्।) आम मानिसहरूले पनि बाङ्गो मुखले बोल्छन्, र तिनीहरूले थोरै लाभ पाउँदा मुस्कुराउँछन्। यदि तिनीहरूले तँबाट कुनै किसिमको फाइदा पाएनन् भने, तँ जस्तोसुकै कठिन परिस्थितिमा परे पनि, तिनीहरूले तँलाई वास्ता गर्नेछैनन्। तर यदि तैँले तिनीहरूलाई निगाह देखाइस्, र तिनीहरूलाई केही ठोस कुरा प्रदान गरिस् भने, तिनीहरू खुसी हुनेछन् र तिनीहरूले भन्नेछन्, “तपाईं त कस्तो असल मान्छे! ठूलो परोपकारी व्यक्ति!” तिनीहरूले धेरै मीठा-मीठा कुराहरू गर्छन्, तर तिनीहरूले भनेको एउटै शब्द पनि साँचो हुँदैन। तिनीहरूले सही शब्दहरू समेत बोल्न सक्दैनन्। तिनीहरू कसरी धर्मी हुन सक्छन् र? वास्तवमा, तिनीहरूले भन्ने सबै कुरा छली हुन्छ।

कतिपय मानिसहरू आफूलाई धार्मिकताको भावनाले भरिएको, विवेक र मानवता भएको व्यक्ति ठान्छन्। तर के तिनीहरूको यो धार्मिक भावना उल्लेख गर्न लायक पनि हुन्छ र? यसबाहेक, यो पटक्कै धार्मिकताको भावना होइन; यो एक प्रकारको धार्मिकता हो जुन तिनीहरूले आफ्नो लागि मनगढन्ते रूपमा कल्पना गरेका हुन्छन्, र परमेश्‍वरले बोल्नुहुने सकारात्मक कुराहरू वा कुनै पनि सत्यता सिद्धान्तहरूसँग त्यसको कुनै सम्बन्ध हुँदैन। यी धार्मिकता होइनन्; यी त कुतर्क, विधर्म, र भ्रमहरू हुन्। के भन्न सकिन्छ भने, तिनीहरूले प्रवर्द्धन गर्ने भनाइहरू, जस्तै सकारात्मक ऊर्जा, संसारलाई हेर्ने सही दृष्टिकोण, मूल्य, र जीवन दृष्टिकोण, र अद्वितीय, तीक्ष्ण अन्तर्दृष्टिलाई हेर्दा ती धर्मी र सही देखिन्छन्, तर वास्तवमा ती त्यस्ता हुँदैनन्। स्पष्ट रूपमा भन्दा, ती सबै हानिकारक प्रवृत्ति र दुष्ट प्रभावहरू, कुतर्क र विधर्महरू हुन्; ती सबै नकारात्मक कुराहरू हुन्, र ती सबै विधर्म र भ्रमहरू हुन् जुन सकारात्मक कुराहरूको ठीक विपरीत हुन्छन्। त्यसकारण, यदि तँ गैरविश्वासीहरूका यी भनाइहरूसँग सहमत हुन्छस् र सधैँ आफ्नो हृदयमा यी दृष्टिकोणहरूमा टाँसिन्छस् भने, यसले के प्रमाणित गर्छ भने गैरविश्वासीहरू जस्तै तँ पनि धर्मी व्यक्ति होइनस्, र तेरो मानवतामा कुनै धार्मिकता छैन। तँ आफूलाई धर्मी व्यक्तिको रूपमा प्रस्तुत गर्न चाहन्छस्, जसरी शैतानले आफूलाई ज्योतिको दूतको रूपमा प्रस्तुत गर्ने प्रयास गर्छ। शैतानले केही मीठा-मीठा कुराहरू भन्छ, र आफूलाई परमेश्‍वर, एक धर्मी व्यक्ति, र कुनै सकारात्मक कुराको रूपमा प्रस्तुत गर्न चाहन्छ। तैँले पनि आफू जुन कुरा होइनस् त्यही कुराको रूपमा आफूलाई प्रस्तुत गरिरहेको हुन्छस्; तँ सधैँ के भन्छस् भने, तँसँग संसारलाई हेर्ने सही दृष्टिकोण, मूल्य, र जीवन दृष्टिकोण छ, तँसँग सकारात्मक ऊर्जा र धार्मिक भावना छ, तँ एक नायक, तीक्ष्ण र अद्वितीय अन्तर्दृष्टि भएको व्यक्ति होस्, वा तँ धर्मी छस् र तैँले डर मान्‍नुपर्ने कुनै कुरा छैन, तँ जहाँ गए पनि, मानिसहरूसँग बोल्दा र व्यवहार गर्दा तँ आफूसँगै धार्मिक भावना बोकेर हिँड्छस्—तँ सधैँ आफूलाई यसरी प्रस्तुत गर्छस्। अँ, म त भन्छु तँ अलिकति विवेक समेत नभएको व्यक्ति होस्, जसले आफूलाई धार्मिकताको भावना भएको, धर्मी भएको, र मानवता भएको व्यक्तिको रूपमा प्रस्तुत गर्न चाहन्छ। तैँले यी कुराहरूको बहाना गरिरहेको छस् भनेपछि, त्यसको अर्थ तँसँग ती कुरा छैनन्—नत्र, के तँलाई तिनको बारेमा बहाना गर्न आवश्यक पर्थ्यो र? यदि तँसँग साँच्चै मानवता भएको भए, तँलाई त्यस कुराको बहाना गर्न आवश्यक पर्ने थिएन, न त तैँले तथाकथित “संसारलाई हेर्ने सही दृष्टिकोण, मूल्य, र जीवन दृष्टिकोण,” “सकारात्मक ऊर्जा,” “धार्मिक भावना हुनु,” र “वीरताको भावना हुनु” जस्ता भनाइहरूलाई स्वीकार गर्न सक्थिस्; तैँले यी नकारात्मक कुराहरूलाई स्वीकार गर्ने थिइनस्—आजसम्म यति धेरै प्रवचनहरू सुनिसकेपछि, तँसँग यी कुराहरूको खुट्ट्याउने क्षमता हुनुपर्ने हो भन्‍ने कुरा स्वतः स्पष्ट छ। यदि तँसँग मानवता भएको भए, तैँले धेरै अघि नै यी नकारात्मक कुराहरूलाई अस्वीकार गरिसकेको हुनेथिइस्। यदि कसैले वास्तवमा यी भनाइहरू र तर्कहरू अघि सारेको भए, तँसँग खुट्ट्याउने क्षमता नभए पनि, तैँले तिनलाई आफ्नो हृदयको गहिराइबाट स्वीकार गर्नेथिइनस्। ती कुराहरू अत्यन्तै झूटा छन्, तथाकथित समाजशास्त्री, शिक्षाविद्, र विचारकहरू, तथाकथित प्रसिद्ध व्यक्तिहरू र महान् व्यक्तित्वहरू, र संसारका ती पिशाचहरू र दियाबलस राजाहरूले वकालत गरेका कुराहरू, सबै मानिसहरूलाई बहाना गर्न लगाउने कुराहरू थिए भनेर तैँले सोच्नेथिइस्। यो त समाजमा लोकप्रिय रहेको यो भनाइ जस्तै हो, “यदि सबैले थोरै-थोरै प्रेम दियो भने, संसार सुन्दर बन्‍नेछ।” हेर् त, दुष्ट दियाबलसहरूले सबैले थोरै प्रेम दिनुपर्छ भन्छन्, अर्को शब्दमा, आम मानिसहरू सबैले प्रेम दिनुपर्छ, सबैले दुष्ट दियाबलसहरूलाई प्रेम गर्नुपर्छ, सबैले आज्ञाकारी भई आफ्नो पार्टीको कुरा सुन्नुपर्छ र पालना गर्नुपर्छ, र भाँडभैलो मच्चाउनु हुँदैन वा देश र आफ्नो पार्टीका लागि समस्या खडा गर्नु हुँदैन, त्यसपछि संसारमा शान्ति हुनेछ। वास्तवमा, आम मानिसहरू कहिले भाँडभैलो मच्चाउनेहरू हुन्छन् र? स्पष्ट रूपमा, अशान्ति फैलाउने र शक्ति र लाभका लागि प्रतिस्पर्धा गर्ने त दियाबलसहरू पो हुन्। मानवजातिलाई शैतानले भ्रमित र भ्रष्ट पारेको छ; तिनीहरू सबैले दियाबलसहरू र शैतानलाई पछ्याउँछन्, र तिनीहरू सबै परमेश्‍वरबाट टाढा बस्छन् र उहाँको विरोध गर्छन्। त्यसोभए, के यो समाजले शान्ति पाउन सक्छ? मलाई भन्, के “यदि सबैले थोरै-थोरै प्रेम दियो भने, संसार सुन्दर बन्‍नेछ” भन्‍ने भनाइ ठोस छ? यी सबै बच्चाहरूलाई धोका दिने शब्दहरू हुन्। यदि तँसँग यी शब्दहरूलाई खुट्ट्याउने क्षमता छैन, र तँ “संसारको लागि अझै आशा छ, यो मानव जातिमा खराब मानिसहरूभन्दा असल मानिसहरू धेरै छन्, संसार भविष्यमा एक सुन्दर ठाउँ बन्नेछ, र यो मानवजाति एक सुन्दर भविष्यतिर अघि बढ्नेछ” भन्‍ने विश्‍वास गर्छस् भने, तेरा विचार र दृष्टिकोणहरू आम जनताका भन्दा फरक छैनन्, र तँ केवल गैर-मानव होस्। गैर-मानवहरूको एउटा विशेषता के हो भने तिनीहरू आफ्‍नो भेष बदल्न निकै मन पराउँछन्, तिनीहरूले आफ्नो बाहिरी रूपलाई लुकाएर मीठा-मीठा, आलङ्कारिक, कपटी भनाइहरू प्रयोग गर्छन्, जबकि तिनीहरूको हृदयको गहिराइ निकै फोहोर र अन्धकार हुन्छ, र तिनीहरूका घृणित, घिनलाग्दा युक्तिहरू एकपछि अर्को गर्दै आउँछन्। तिनीहरूलाई निष्पक्षता र धार्मिकताप्रति पटक्कै प्रेम हुँदैन; तिनीहरूलाई केवल युक्तिहरू प्रयोग गर्न मन पर्छ। तिनीहरूले धेरै मीठा-मीठा कुराहरू भन्छन्; तिनीहरूले आफ्नो मुस्कान पछाडि छुरा लुकाउँछन् र कल्पना गर्न सकिने हरेक दुष्ट कार्य गर्छन्। यस्ता मानिसहरू मानवता विहीन हुन्छन्। मानवता विहीन हुनेहरूका प्रकटीकरणहरू यिनै हुन्। के यो धार्मिकताको प्रकटीकरण हो? (होइन।) यी मानिसहरू धर्मी होइनन् भने, के तँलाई तिनीहरू दयालु हुन सक्छन् भन्‍ने लाग्छ? (लाग्दैन।) दयालु हुनुको त कुरै छोड, यदि तिनीहरूले एउटा दुष्ट कार्य मात्रै पनि घटाए भने पनि त्यो समेत उत्सवको कारण हुनेथियो, पृथ्वीमा भएका सबैको लागि आशिष्‌को कुरा हुनेथियो। तैपनि तिनीहरूले आफूलाई धर्मी भन्छन्! त्यो त तिनीहरूले आफ्नै प्रशंसा गाएको मात्रै हो! तिनीहरूलाई सकारात्मक कुराहरू के हुन् भन्‍ने समेत थाहा हुँदैन, र सकारात्मक कुराहरूको बारेमा सुनेपछि पनि, तिनीहरूको हृदयमा तिनीहरूलाई ती कुरा मन पर्दैन र तिनीहरू ती कुराप्रति विकर्षित र घृणित समेत हुन्छन्। तैपनि तिनीहरू अझै पनि आफू धर्मी र दयालु छु भनेर भन्छन्। तिनीहरूले कसलाई मूर्ख बनाइरहेका हुन्छन्? मानवजातिको तथाकथित धार्मिकता, दया, र समझ सकारात्मक कुराहरूमा आधारित छैनन्, न त ती सत्यता मापदण्डहरूमा आधारित नै छन्। यसरी, मानवजातिले परिभाषित गरेअनुसारको मानिसहरूको धार्मिकता, दया, चेतना, र विवेक र समझ सबै गलत छन्, सत्यतामा तिनको कुनै आधार छैन, र ती सबै कुतर्क र विधर्महरू हुन्।

यदि कुनै व्यक्तिसँग विवेक र समझ छ भने, पहिलो कुरा, ऊ सही र गलत खुट्ट्याउन सक्ने व्यक्ति हो। दोस्रो कुरा, उसलाई के सही हो र के गलत हो भन्‍ने थाहा हुन्छ। हामी पहिले सही र गलत खुट्ट्याउने बारेमा कुरा गरौँ। आफैलाई जाँच्, अनि त्यसपछि तेरा आमाबुबा र तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई जाँच्—के तिमीहरूमध्ये कोही सही र गलत खुट्ट्याउन सक्ने मानिसहरू छौ? के तँ त्यस्तो व्यक्ति होस्? यदि तँ सही र गलत खुट्ट्याउन सक्ने व्यक्ति होस् भने, भविष्यमा तैँले सत्यतालाई गर्ने स्वीकार र त्यसमाथिको तेरो समर्पणता एक स्वाभाविक कुरा हुनेछ। केही प्रयास गरेर, केही कठिनाइ सहेर, र थोरै मूल्य चुकाएर, तैँले यो हासिल गर्न सक्नेछस्—तब, तेरो मुक्तिको लागि आशा हुन्छ। यदि तँ सही र गलत खुट्ट्याउन सक्ने व्यक्ति होइनस्, र विगतमा तँलाई सत्यताप्रति वितृष्णा थियो, तैँले स्वीकार गर्न सक्दैनथिइस् र तँ त्यो अभ्यास गर्न अनिच्छुक थिइस्, र सत्यतालाई स्वीकार गर्ने र अभ्यास गर्ने कुरा उल्लेख हुँदा तँलाई अत्यन्तै रिस उठ्थ्यो र तैँले आफ्नो टाउकोलाई पेचमा कसिएको छ जस्तो, पीडादायी र स्वतन्त्रता विहीन महसुस गर्थिस् भने, भविष्यमा पनि तँलाई सत्यतालाई स्वीकार गर्ने र अभ्यास गर्ने बारेमा त्यस्तै महसुस हुनेछ; तैँले सत्यतालाई स्वीकार गर्नेछैनस्। तैँले सत्यतालाई स्वीकार गर्न नसक्नु र त्यसप्रतिको तेरो वितृष्णा तँ छोटो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेकोले होइन, न त परमेश्‍वरले तँलाई ताडना नदिनुभएकोले वा तेरो लागि जिम्मेवारी नलिनुभएकोले नै हो। साँचो मूल कारणहरू यी होइनन्। साँचो मूल कारण के हो? तँसँग सही र गलत खुट्ट्याउने क्षमता, यो आधारभूत सर्त छैन, त्यसैले भविष्यमा पनि तँ सत्यतालाई स्वीकार गर्न असक्षम हुनेछस्, र तैँले सत्यतामा समर्पणता हासिल गर्न सक्नेछैनस्। कतिपय मानिसहरूले यसो भन्छन्, “यदि म सत्यतालाई स्वीकार गर्न वा त्यसमा समर्पित हुन सक्दिनँ भने, के मैले अझै पनि मुक्ति पाउन सक्छु?” अनि तिमीहरूले के भन्छौ—के तिनीहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) मेरो जवाफ हो, “यसै भनेर भन्न धेरै गाह्रो छ।” किन भन्न धेरै गाह्रो छ? मैले अहिले यति धेरै कुरा भनिसकेको र यति धेरै प्रकटीकरणहरू सूचीबद्ध गरिसकेको हुनाले, तैँले आफूलाई ती कुराहरूसँग तुलना गर्न सक्छस् कि सक्दैनस् वा आफैमा ती कुरालाई चिन्न सक्छस् कि सक्दैनस् भन्‍ने निश्चित छैन। यसबाहेक, तैँले मैले बोलेका यी मामिलाहरू र सत्यताका यी पक्षहरूलाई बुझ्न सक्छस् कि सक्दैनस् भन्‍ने पनि निश्चित छैन। त्यसकारण, मैले तिमीहरूलाई तिमीहरूले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भनेर नभने पनि, तिमीहरू प्रत्येकले सत्यता र सकारात्मक कुराहरूप्रतिको आफ्नो मनोवृत्तिको आधारमा यो कुरा पत्ता लगाउन सक्छौ। मैले तिमीहरूलाई यति स्पष्ट र यति सोझै भन्नु आवश्यक छैन; तिमीहरू प्रत्येकको हृदयमा तिमीहरूलाई पहिले नै यो कुरा थाहा छ।

अब हामीले सही र गलत खुट्ट्याउने बारेमा सङ्गति गरिसकेका हुनाले, यसपछि के सही हो र के गलत हो भनी जान्ने बारेमा कुरा गर्नुपर्छ, होइन र? (हो।) के सही हो र के गलत हो भनी जान्नु पक्कै पनि सही र गलत खुट्ट्याउनुभन्दा फरक छ; नत्र, तिनलाई छुट्टाछुट्टै छलफल गर्न आवश्यक नै हुने थिएन। मानवताको दृष्टिकोणबाट भन्दा, के सही हो र के गलत हो भनी जान्नुको अर्थ, व्यक्तिले कुन दृष्टिकोण र कुन शब्दहरू सही छन्, र कुन गलत छन् भनी जान्नुपर्छ भन्‍ने हो। जे सही छ त्यसलाई समर्थन गर्नुपर्छ, र जे गलत छ त्यसलाई त्याग्नुपर्छ। सामान्य मानिसहरूको दिमागमा, के सही हो र के गलत हो भनी खुट्ट्याउनका लागि केही विचार, दृष्टिकोण, र आधारहरू हुन्छन्। तिनीहरू जे सही छ त्यसमा लागिरहनेछन्, र तिनीहरूले जे गलत छ त्यसको विरोध वा त्यसलाई अस्वीकार समेत गर्नेछन्। यदि व्यक्तिले यति पनि गर्न सक्दैन भने, यसले उसको मानवतामा केही कुराको कमी छ भन्‍ने देखाउँछ; यस्ता मानिसहरू मानवता विहीन हुन्छन् भनेर पनि अवश्य नै भन्न सकिन्छ। एक व्यक्तिको रूपमा, यदि तैँले तँसँग मानवता छ भनी भन्छस्, तर तँलाई के सही हो र के गलत हो भन्‍ने समेत थाहा छैन भने, तब तैँले आफूलाई कसरी आचरणमा ढाल्न सक्छस्? तैँले आफूलाई कसरी सही तरिकाले आचरणमा ढाल्न सक्छस्? तैँले मानवताभित्र रहेर हरेक शब्द कसरी बोल्न र हरेक कार्य कसरी गर्न सक्छस्? यदि तँलाई के सही हो र के गलत हो भन्‍ने थाहा छैन भने, तेरो हरेक शब्द र कार्य मानवताभित्र रहेर बोलिएको र गरिएको हुँदैन। मानवताभित्र रहेर कार्य नगर्नु वा नबोल्नुको अर्थ के हो? यसको अर्थ हो, तैँले यी शब्दहरू र यी कामहरू तर्कसंगत रूपमा, मानवतामा हुनुपर्ने सही विचार र दृष्टिकोणको आधारमा बोल्दैनस् र गर्दैनस्—तँ मानवताभित्र रहेर नबोल्नु वा कार्य नगर्नुको अर्थ यही हो। कतिपय मानिसहरूले यसो भन्छन्, “यदि व्यक्तिले आफ्नो मानवताभित्र रहेर बोल्दैन वा कार्य गर्दैन भने, उसले कुन आधारमा बोल्छ र कार्य गर्छ त?” मोटामोटी रूपमा भन्दा दुई वटा आधारहरू छन्। एउटा हो पिशाची प्रकृतिभित्र रहेर बोल्नु र कार्य गर्नु, शैतानी स्वभावद्वारा जिउनु। सत्यता बुझ्ने मानिसहरूले के देख्न सक्छन् भने यी मानिसहरूका शब्द र कार्यहरूमा रहेका विचार, दृष्टिकोण, र मनोवृत्तिहरू दियाबलसहरूका जस्तै हुन्छन्, र यी कुराहरूले मानिसहरूलाई भ्रमित पार्छन्, हानि गर्छन्, जाँच्छन्, र बहकाउँछन्, र ती सकारात्मक हुँदैनन्। यो एउटा आधार हो: आफ्नो पिशाची प्रकृतिभित्र रहेर बोल्नु र कार्य गर्नु। अर्को हो पशुको रूपमा बोल्नु र कार्य गर्नु, र पशुहरू त झन् मानवता विहीन हुन्छन्। मानवता विहीन हुनुको अर्थ विवेक वा समझविना बोल्नु र कार्य गर्नु हो; यो यति सरल छ। पशुहरूले बोल्ने शब्दहरू अस्तव्यस्त, मूर्ख, कुटिल शब्दहरूको थुप्रो हुन्छन्; तिनीहरूले भन्ने कुरा सबै विकृत धर्मसिद्धान्तहरू हुन्छन्। हेर् त, तिनीहरूले बोल्ने शब्दहरू जनावरहरूको विचार र दृष्टिकोण जस्तै हुन्छन्—ती कुटिल र मूर्ख, बुद्धिहीन र अस्तव्यस्त हुन्छन्। तिनीहरूको कुरा सुनेपछि, हाँस्नु कि रुनु भन्‍ने तँलाई थाहा हुँदैन, र तैँले भन्छस्, “उसले कसरी त्यसो भन्न सक्यो? ऊ त तीन वा पाँच वर्षको बच्चा जस्तो, ठाउँ-ठेगान नभएको र केही थाहा नभएको जस्तो छ त। यी त वयस्कले बोल्नुपर्ने शब्दहरू होइनन्! उसका शब्दहरू मान्य हुँदैनन्, ती हाँसउठ्दा हुन्छन्—ती मानिसहरूका अगाडि भन्न पनि लाजमर्दा हुन्छन्!” त्यो त एउटा जनावर, एउटा पशु बोलिरहेको हो। तिनीहरूले पशुको प्रकृतिभित्र रहेर बोलिरहेका र कार्य गरिरहेका हुन्छन्, जससँग कुनै बोध हुँदैन, न कुनै तर्कसंगतता हुन्छ, विवेक र समझ त झन् हुँदै हुँदैन। अर्थात्, तिनीहरूको बोली अत्यन्तै अतार्किक हुन्छ, त्यसको पछाडि कुनै तर्क हुँदैन। तैँले तिनीहरूले भन्ने कुराहरू कहाँबाट आउँछन् भनेर जान्दैनस्, र तिनीहरूको कुरा सुनेपछि, तँ पूर्ण रूपमा अन्योलमा पर्छस् र अलमल्ल हुन्छस्। तैँले तिनीहरूका शब्दहरू र तिनीहरूले सुनाएका कुराहरू जति धेरै सुन्छस्, त्यो तँलाई त्यति नै धेरै अस्तव्यस्त लाग्छ, र तँसँग तिनलाई बुझ्ने कुनै उपाय हुँदैन। जब तिनीहरू बोल्छन्, तिनीहरूले सधैँ एउटै कुरा दोहोऱ्याई-तेहेऱ्याई भन्छन्, बकबकाइरहन्छन्, र एउटै कुरामा किचकिच गरिरहन्छन् र अन्त्यमा त्यसलाई कसरी टुङ्ग्याउने भनेर अझै पनि जान्दैनन्। यो त एक पशु, एक जनावरले बोलिरहेको हो। यस्ता मानिसहरूको एउटा विशेषता हुन्छ, त्यो के हो भने तिनीहरूले जे गरे पनि, जे भने पनि, तिनीहरूमा जुनसुकै विचार वा दृष्टिकोण भए पनि, वा तिनीहरूले जुनसुकै विचार वा दृष्टिकोण ग्रहण गरे पनि, त्यो सही हो कि गलत हो भन्‍ने तिनीहरू आफैलाई समेत थाहा हुँदैन। यो तिनीहरूको मानवताको एउटा विशेषता हो। तिनीहरूको मानवताको विशेषता के हो भनेर अन्ततः निर्धारण गरिन्छ भने यस्ता मानिसहरूमा कुनै मानवता हुँदैन, अर्थात्, तिनीहरूमा कुनै विवेक र समझ हुँदैन। तिनीहरूलाई के सही हो र के गलत हो भन्‍ने समेत थाहा हुँदैन, त्यसोभए के तँलाई तिनीहरूले विवेकद्वारा बोल्न र काम गर्न सक्छन् भन्‍ने लाग्छ? यदि तिनीहरूलाई के सही हो र के गलत हो भन्‍ने थाहा छैन भने के तिनीहरूमा सामान्य व्यक्तिको विवेक र समझ हुन सक्छ? यदि तिनीहरूले के सही हो र के गलत हो भनी खुट्ट्याउन सक्दैनन् भने के तिनीहरूमा सामान्य व्यक्तिको सोचाइ हुन सक्छ? तिनीहरूमा कहिल्यै त्यो कुरा हुनेछैन। सामान्य मानिसहरूले यस्तो व्यक्तिसँग संचार गर्न सक्दैनन्। म किन यसो भन्छु? के यो तँ मायालु नभएकोले हो? होइन, यसको कारण के हुन्छ भने तँसँग कुनै साझा आधार हुँदैन, तिनीहरूसँग तेरो कुनै विचार वा दृष्टिकोण मिल्दैन। तिनीहरूसँग कुराकानी गर्नु भनेको जनावरसँग, दियाबलससँग कुराकानी गर्नु जस्तै हो; यो असम्भव छ। मलाई भन्, यदि तैँले दियाबलसहरू र शैतानहरूसँग सत्यताको बारेमा कुरा गरिस् भने, के तैँले तिनीहरूलाई बुझाउन सक्छस्? यदि तैँले दियाबलसहरू र शैतानहरूलाई, “तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ। परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभयो। सृजित प्राणीहरूको रूपमा, मानिसहरूले परमेश्‍वरको आराधना गर्नु मात्र सही र उचित हो” भनेर भनिस् भने, तिनीहरूले के भन्नेछन्? “परमेश्‍वरको आराधना गर्ने? म त मानिसहरूले मेरो आराधना गरून् भन्‍ने पो चाहन्छु! परमेश्‍वरको आराधना गरेबापत मैले कति पैसा पाउँछु? यदि पैसा पाउँछु भने म गर्छु।” यी कस्ता शब्दहरू हुन्? के तँ दियाबलसहरूसँग कुराकानी गर्न सक्छस्? (सक्दिनँ।) जनावरहरूको बारेमा नि, के तँ तिनीहरूसँग कुराकानी गर्न सक्छस्? (हामी तिनीहरूसँग पनि कुराकानी गर्न सक्दैनौँ।) हेर् त, कतिपय जनावरहरूले खाँदा आफ्नो खानाको अत्यन्तै सुरक्षा गर्छन्। आफ्नो खाना खाइसकेपछि, तिनीहरूले अरू जनावरहरूको खाना समेत खोस्न खोज्छन्। यदि तैँले तिनीहरूलाई, “खानाको लागि झगडा नगर्, आफ्‍नै मात्र खा” भनिस् भने, के तिनीहरूले यो कुरा बुझ्न सक्छन्? (सक्दैनन्।) खुवाउने समय भएपछि, तिनीहरूले अझै पनि एक-अर्काको खाना खोस्नेछन्, र एक-अर्कासँग झगडा गर्न र टोक्न समेत थाल्नेछन्। तैँले तिनीहरूसँग कुराकानी गर्नै सक्दैनस्। तिनीहरूलाई सुरक्षा दिन र तिनीहरूलाई खानाको लागि झगडा गर्नबाट रोक्नका लागि, तैँले उपायहरू अपनाउनुपर्छ र तिनीहरूलाई कडाइका साथ व्यवस्थापन गर्नुपर्छ, र खाने समय हुँदा तिनीहरूलाई छुट्टाछुट्टै खुवाउनुपर्छ। तिनीहरूलाई व्यवस्थापन गर्ने सही तरिका यही मात्र हो। किन? किनभने तिनीहरू जनावरहरू हुन्, तिनीहरूमा कुनै तर्कशक्ति हुँदैन, र आत्मनियन्त्रण त झन् हुँदै हुँदैन, र तिनीहरूले आफूले गरेको काम सही हो कि गलत हो भनी मूल्याङ्कन गर्न सक्दैनन्, त्यसैले तैँले भनेको कुरा जतिसुकै सही भए पनि र जतिसुकै मान्य भए पनि, र त्यो तिनीहरूका लागि जतिसुकै लाभदायक भए पनि, तिनीहरूले त्यो बुझ्नेछैनन्। जनावरहरूबाट पुनर्जन्म लिएका मानिसहरू पनि यस्तै हुन्छन्। सत्यतामा जतिसुकै स्पष्ट रूपमा सङ्गति गरिए पनि, तिनीहरूले त्यो बुझ्दैनन्, त्यसैले तिनीहरूले कहिल्यै सही सिद्धान्तहरूअनुसार काम गर्दैनन्। तिनीहरूले केही गलत गरे पनि, तिनीहरूले त्यो गलत हो भन्‍ने सोच्दैनन्, र तिनीहरू त्यसमा लागिरहनेछन्, र जीवनभर त्यसो गर्नेछन्। के तिनीहरू पशुहरू होइनन् र? मानव भाषा बुझ्न नसक्ने यस्ता मानिसहरू जनावरहरू जस्तै हुन्छन्—जनावरभन्दा बिरलै असल हुन्छन्।

अब हामी पशु र पैशाचिक प्रकृतिको बारेमा कुरा नगरौँ, तर के सही हो र के गलत हो भनेर जान्ने मानवताको पक्षमा मात्रै ध्यान केन्द्रित गरौँ। के सही हो र के गलत हो भनी जान्नु मानवता भएको व्यक्तिमा हुनुपर्ने एउटा प्रकटीकरण हो, तर वास्तवमा, धेरै मानिसहरूमा यसको कमी हुन्छ। मानिसहरूले प्रायजसो कुटिल तर्क व्यक्त गर्छन्, कुटिल कुराहरू बोल्छन्, र भ्रामक कामहरू समेत गर्छन्, र ती कुरा निकै हठीपनका साथ गर्छन्, अनि तिनीहरूले आफ्नो कुटिल तर्क अरूकहाँ समेत फैलाउन सक्छन्, र सार्न सक्छन्। तिनीहरूले व्यक्त गर्ने तर्क गम्भीर रूपमा कुटिल हुन्छ र तैपनि तिनीहरूले त्यो अरूलाई सार्छन्, जसले गर्दा तिनीहरूले आफूलाई मात्र होइन तर अरूलाई पनि हानि गर्छन्। उदाहरणका लागि, यदि तिनीहरूलाई भात खान मन पर्दैन भने, तिनीहरूले भन्छन्, “भातमा पौष्टिकता हुँदैन। हामीले चाउचाउ, मःम, र पाउरोटी खानुपर्छ।” तिनीहरूले भातमा पौष्टिकता हुँदैन भन्छन्। के यो कथन सही छ? (छैन।) के तँ पोषणविद् होस्? के तैँले यसको परीक्षण गरेको छस्? भातमा पौष्टिकता हुँदैन भन्नुको पछाडि तेरो आधार के हो? उदाहरणका लागि, कतिपय ठाउँहरूमा गहुँ होइन तर धान मात्रै उब्जनी गरिन्छ, र त्यहाँका मानिसहरूले जीवनभर भात खान्छन् र राम्रैसँग जिउँछन्, र धेरै जना त लामो आयुसम्‍म बाँच्छन्। तर आफ्नो स्वादको आधारमा, कुटिल तर्क व्यक्त गर्ने मानिसहरूले “भातमा पौष्टिकता हुँदैन” भन्न सक्छन्, यहाँसम्म कि तिनीहरूले यसलाई सही तर्क भएजस्तो गरी भन्छन्। के यो वास्तवमा सही तर्क हो? (होइन।) यो कथन सत्यताअनुरूप छ कि छैन भन्ने कुरालाई छोडिदिऊँ—यो त सही तर्क समेत होइन। तिनीहरूले यस्तो कुटिल तर्क कसरी व्यक्त गर्न सक्छन्? के तिनीहरू मानव हुन्? (होइनन्।) यो कथन स्पष्ट रूपमा त्रुटिपूर्ण छ; यो स्पष्ट रूपमा स्वार्थी चाहनाहरू र पूर्वाग्रहको कारणले बोलिएको अभिव्यक्ति हो, यो कुटिल तरिकाले बोल्ने व्यक्तिको अभिव्यक्ति हो। यो सही हो कि होइन भनी तिनीहरू आफैलाई समेत थाहा हुँदैन, तैपनि तिनीहरूले यसलाई निकै खुल्लमखुल्ला घोषणा गर्छन्, र जताततै घोषणा गर्छन्। कतिपय मानिसहरूलाई भात खान मन पर्छ र गहुँबाट बनेका खानेकुराहरू मन पर्दैन। जब तिनीहरूले कसैलाई गहुँबाट बनेका खानेकुराहरू खाइरहेको देख्छन्, तब तिनीहरूले भन्छन्, “गहुँबाट बनेका खानेकुराहरूमा पौष्टिकता हुँदैन, भातमा पौष्टिकता हुन्छ। गहुँबाट बनेका खानेकुराहरू खाने मानिसहरू बेकम्मा हुन्छन्, जबकि भात खाने मानिसहरू कुलीन हुन्छन्!” तिनीहरूले सबै प्रकारका मानिसहरूलाई नाप्नका लागि यस सिद्धान्तलाई आधारको रूपमा प्रयोग गर्छन्। यदि तँलाई गहुँबाट बनेका खानेकुराहरू खान मन पर्छ भने, तिनीहरूले तँलाई नीच र तिनीहरूजस्तो कुलीन नभएको ठान्छन्। यो अभिव्यक्ति यति स्पष्ट रूपमा गलत छ, तैपनि तिनीहरूले कुनै न कुनै प्रकारले यसलाई खुट्ट्याउन सक्दैनन् र यही कुरा जताततै समेत बोल्छन्। मलाई भन्, के त्यस्ता मानिसहरूमा मानवता हुन्छ? (हुँदैन।) जब तिनीहरूलाई भात खान मन पर्न छोड्छ र गहुँबाट बनेका खानेकुराहरू मन पर्न थाल्छ, तब तिनीहरूले भन्छन्, “भातमा पौष्टिकता हुँदैन, गहुँबाट बनेका खानेकुराहरूमा चाहिँ हुन्छ। हेर्नुहोस् त, प्रायजसो गहुँबाट बनेका खानेकुराहरू खाने मानिसहरू कति हट्टाकट्टा हुन्छन्; हामीले धेरै चाउचाउ र मःम खानुपर्छ! भात त चिसो खानेकुरा हो, यो शरीरको लागि राम्रो हुँदैन!” के यो अभिव्यक्ति सही छ? (छैन।) के यो पूर्वाग्रह होइन र? (हो।) यो पूर्वाग्रह हो; यो तथ्य होइन। तिनीहरूले यो कुरा कुन आधारमा भन्छन्? तिनीहरूको आफ्नै प्राथमिकता र पूर्वाग्रहको आधारमा, तिनीहरूको भ्रामक विचार र दृष्टिकोणको आधारमा। तर तिनीहरूलाई यो गलत हो भन्‍ने थाहा हुँदैन, र तिनीहरूले यसलाई सही भएजस्तो गरी भन्छन् र घोषणा गर्छन्। यदि कसैले फरक विचार उठायो भने, तिनीहरूले प्रतिवाद गर्छन्, र अझै पनि आफ्नो भ्रामक दृष्टिकोणमा लागिरहन्छन्। के यो के सही हो र के गलत हो भन्ने बारेको अज्ञानता होइन र? (हो।) तिनीहरूलाई यस्तो सरल कुरामा समेत के सही हो र के गलत हो भन्‍ने थाहा हुँदैन—मलाई भन्, के तिनीहरूको विवेकले काम गर्न सक्छ? के तिनीहरू धर्मी हुन सक्छन्? एक धर्मी व्यक्तिले इन्साफलाई कायम राख्न र सिद्धान्तहरूलाई कायम राख्न के सही हो र के गलत हो भनी जान्नैपर्छ; त्यसपछि मात्रै उसले कायम राख्ने कुरा सही हुन्छ। यदि कुनै व्यक्तिले के सही हो र के गलत हो भनी जान्दैन र ऊ हठीपूर्वक एउटा त्रुटिपूर्ण अभिव्यक्ति वा एउटा त्रुटिपूर्ण विचार र दृष्टिकोणमा टाँसिन्छ भने, के उसको तथाकथित धार्मिकता साँचो धार्मिकता हुन्छ? यो धार्मिकता हुँदैन; यो विकृति, हास्यास्पदता, र कुटिल तर्क हो। त्यसोभए, मलाई भन्, के त्यस्ता मानिसहरूको विवेक अस्तित्वमा हुन्छ? (हुँदैन।) तिनीहरूसँग विवेक भन्ने कुरा नै हुँदैन। कतिपय मानिसहरू, जब तिनीहरूमाथि केही आइपर्छ र तिनीहरूभित्र स्वार्थी चाहनाहरू उत्पन्न हुन्छन्, तब तिनीहरूले आफ्नो हृदयमा त्यो महसुस गर्न सक्छन् र आफ्नो चेतनाद्वारा आफू नियन्त्रित हुन सक्छन्। तिनीहरूलाई स्वार्थी चाहनाहरू गलत हुन् भन्‍ने थाहा हुन्छ, त्यसैले तिनीहरूले देहविरुद्ध विद्रोह गर्न र तिनलाई त्याग्न सक्छन्। तर कतिपय मानिसहरू फरक हुन्छन्; विशेष गरी, के सही हो र के गलत हो भनी नजान्ने र कुटिल तर्क व्यक्त गर्ने झुकाव भएकाहरू मूर्खतापूर्वक र हठीपूर्वक त्रुटिपूर्ण दृष्टिकोणहरूमा लागिरहन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू नाच्न सिपालु हुँदैनन्; जब तिनीहरू नाच्छन्, तिनीहरूको शरीरको तालमेल मिल्दैन, तिनीहरूमा सन्तुलनको कुनै बोध हुँदैन, र तिनीहरूले ताल समात्न सक्दैनन्, र सधैँ आफूलाई मूर्ख बनाउँछन्। त्यसैले तिनीहरूले भन्छन्, “नाच्न मन नपराउने मानिसहरू स्थिर व्यक्तिहरू हुन्। नाच्न मन पराउने मानिसहरू सबै अस्थिर हुन्छन्, तिनीहरूको व्यक्तित्व खराब हुन्छ र तिनीहरू उच्छृङ्खल हुन्छन्। यदि तिमीले यस्तो व्यक्तिसँग विवाह गर्यौ भने, तिम्रो जीवन पक्कै पनि अस्थिर हुनेछ।” के यो अभिव्यक्ति सही छ? (छैन।) यो किन गलत छ? (नाच्न मन पराउनुको स्थिर हुनु वा नहुनुसँग कुनै सम्बन्ध हुँदैन।) तिनीहरूले यो कुरा स्वार्थ, ईर्ष्या, वा निन्दा गर्ने प्रयासबाट भन्छन् कि भन्दैनन् भन्ने कुरामा प्रवेश नगरी भन्दा, तिनीहरूको अभिप्राय जेसुकै भए पनि, के तिनीहरूका शब्दहरू वस्तुगत तथ्यहरूसँग मेल खान्छन्? के नाच्न सक्ने र नाच्न सिपालु भएका मानिसहरू अस्थिर नै हुन्छन् भन्‍ने हुन्छ र? के त्यस्ता शब्दहरू यी मानिसहरूको मानवताको सारमा आधारित हुन्छन्? के तिनीहरू अस्थिर हुन्छन् भन्ने कुरा तथ्य हो? (होइन।) यसबाहेक, स्थिर हुनुले केलाई जनाउँछ? के स्थिर हुनुको अर्थ ऊ एक असल व्यक्ति हो भन्ने हुन्छ र? के स्थिर हुनु धर्मी र दयालु हुनुको, मानवता हुनुको प्रकटीकरण हो? बढीमा, यो उसको मानवताको एउटा असल गुण वा एउटा सबल पक्ष हो; यसले कसैमा सामान्य मानवता छ भन्‍ने सङ्केत गर्न सक्दैन। तिनीहरूले आफ्नो दृष्टिकोणलाई सही तर्क भएजस्तो गरी, सही कथन भएजस्तो गरी बोल्छन्। के यो कुटिल तर्क व्यक्त गर्नु होइन र? (हो।) तिनीहरूले ती शब्दहरू उच्चारण गर्न सक्नुले नै तिनीहरूले के बोलिरहेका छन् सो सही हो कि गलत हो भन्‍ने तिनीहरूलाई थाहा छैन भन्ने कुरा प्रमाणित गर्छ। मलाई भन्, के त्यस्ता मानिसहरूमा मानवता हुन्छ? (हुँदैन।) के तिनीहरू धेरै झमेलामय हुँदैनन् र? (हुन्छन्।) यदि ऊ सामान्य मानवता भएको व्यक्ति भएको भए, राम्ररी नाच्ने कसैप्रति उसलाई ईर्ष्या लागे पनि, उसले बढीमा यसो भन्थ्यो होला, “हेर त, नाच्दा तिनीहरूको हातखुट्टा कति फुर्तिला हुन्छन्। मलाई पनि नाच्न मन छ, तर मसँग यो वरदान, यो सामर्थ्य छैन; म नाच्न सिपालु छैनँ। तिनीहरूले राम्ररी नाच्न सकेकोमा मलाई साँच्चै ईर्ष्या लाग्छ! यदि तिनीहरूका पाखुरा र खुट्टाहरू मेरै भएका भए कस्तो हुन्थ्यो होला!” यसरी भन्दा यो अझै पनि मुस्किलले स्वीकार्य हुन्छ; यसलाई सादा रूपमा सत्य बोल्नु भनेर भनिन्छ। बढीमा, यसमा भ्रष्ट स्वभावको केही कुरा हुन्छ, तर यो अस्वस्थ मानवता हुनुको प्रकटीकरण होइन। तर, कुटिल तर्क व्यक्त गर्ने समस्याचाहिँ गम्भीर हो। तिनीहरूले भन्छन्, “नाच्ने मानिसहरू सबै अस्थिर र तुच्छ हुन्छन्। तिनीहरू ठूला कामहरू गर्न सक्ने मानिसहरू होइनन् भनेर एकै झलक हेरेर भन्‍न सकिन्छ।” तिनीहरूले यी शब्दहरू भन्न सक्नुले तिनीहरूको मानवतामा ठूलो समस्या छ भन्‍ने कुरालाई खुलासा गर्छ। के ठूलो समस्या? तिनीहरूको मानवतामा के सही हो र के गलत हो भनी जान्‍नलाई चाहिने आधारभूत तत्त्वको कमी हुन्छ। तिनीहरूले गलत कुरा, विकृत कुरा, र कुटिल कुरालाई सही तर्क र सही शब्दहरूजस्तो गरी भन्न सक्छन्। तिनीहरूमा मानवता छैन भन्‍ने देखाउनलाई यो नै पर्याप्त हुन्छ। तिनीहरूले आफ्नो विवेकद्वारा नियन्त्रित नभई जे मन लाग्यो त्यही भन्छन्। तिनीहरूले यस्ता कुटिल तर्कलाई यति खुल्लमखुल्ला तरिकाले, यति औचित्यको भावनाका साथ व्यक्त गर्न समेत सक्छन्, जबकि तिनीहरूलाई यी शब्दहरूको प्रकृति के हो वा ती कुरा भन्दा त्यसको परिणाम के हुनेछ भन्‍ने समेत थाहा हुँदैन। यो मानवता नहुनुको प्रकटीकरण हो। मानवता नभएका मानिसहरूले प्रायजसो खुल्लमखुल्ला यस्ता त्रुटिपूर्ण कुराहरू र हास्यास्पद कुराहरू बोल्छन्। यो तिनीहरूको स्वाभाविक प्रकाश हो। तिनीहरूले एक-दुई वटा मामिलामा मात्रै यी कुराहरू बोल्दैनन्—तिनीहरूले सबै मामिलाहरूमा यसरी नै बोल्छन्, र कुनै प्रकारको भ्रामक विचार र दृष्टिकोणहरू व्यक्त गर्छन्, अनि आफ्नो हृदयमा ती त्यस्तै हुन् भन्‍ने विश्वास गर्छन्। तिनीहरूले कहिल्यै सही वा सकारात्मक अभिव्यक्तिहरू स्वीकार गर्दैनन्, न त तिनीहरूले कहिल्यै सही वा सकारात्मक अभिव्यक्तिहरू खोज्छन्, बरु तिनीहरू यसरी नै बोल्न र यसरी नै आचरण देखाउनमा लागिरहन्छन्। त्यसैले, त्यस्ता व्यक्तिहरू अवश्य नै मानवता नभएका मानिसहरू हुन्। तिनीहरूले यसरी नै बोल्न जिद्दी गर्छन्, जसले एउटा समस्या, एउटा तथ्यलाई पूर्ण रूपमा खुलासा गर्छ: तिनीहरूलाई के सही हो र के गलत हो भन्‍ने थाहा हुँदैन, र तिनीहरूले सबै विधर्म र भ्रमहरू सही हुन् भन्‍ने सोच्छन्। यदि तैँले तिनीहरूलाई, “के गलत हो?” भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “यी कथनहरूको विपरीत जे छ त्यो सायद गलत हो।” अनि यदि तैँले तिनीहरूलाई अझ, “सत्यता सिद्धान्तहरूअनुरूप हुने, वस्तुगत तथ्यहरूअनुरूप हुने ती शब्दहरूको बारेमा के भन्छौ? के ती सही हुन्?” भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “के मतलब र? ती सही हुन् कि होइनन् भन्‍ने कसलाई थाहा छ र? जे होस्, मैले बोल्ने कुराहरू सही नै हुन्छन्!” के सही हो र के गलत हो भनी नजान्नु—के यो साँच्चै विवेक र समझ भएको व्यक्तिमा हुनुपर्ने प्रकटीकरण हो? (होइन।) जवाफ एकदमै स्पष्ट छ: यो पक्कै पनि होइन।

व्यापार गर्न मन पराउने कुनै एक जनाले गैरविश्‍वासीहरूबाट केही लुगाहरू क्लियरन्समा किन्थ्यो र त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूलाई बेच्थ्यो, र त्यसबाट केही नाफा कमाउँथ्यो। पछि, अरू कसैले गर्मीमा लगाउनका लागि केही रेयन, गज, र अन्य त्यस्तै कपडाहरू किन्यो र तिनलाई गोदाममा भण्डार गर्‍यो। मैले भनेँ, “तिनलाई त्यहाँ राख्नु उपयुक्त हुँदैन। यदि तिनलाई त्यहाँ धेरै लामो समयसम्म राखियो भने, तिनलाई मुसाले काट्न सक्छ वा आर्द्र मौसमको कारणले ढुसी पर्न सक्छ, जुन साह्रै दुःखको कुरा हुनेछ। यदि हामीले ती कपडाहरू दाजुभाइ-दिदीबहिनीहरूलाई लगाउन दिन लुगा बनायौँ भने हामीले त्यसको चिन्ता लिनु पर्दैन, होइन र?” पछि, मैले यो काम व्यवस्थित गर्न थालेँ। हामीले यो गरिरहेको बेला, लुगा बेच्ने व्यक्ति आपत्ति जनाउन खडा भयो: “हुँदैन, हामीले यसो गर्नु हुँदैन! कालो कपडाले ताप सोस्छ। दाजुभाइ-दिदीबहिनीहरूले प्रायजसो घाममा काम गर्छन्; यदि तिनीहरूले कालो लुगा लगाए भने तिनीहरूलाई धेरै गर्मी हुनेछ। यदि दाजुभाइ-दिदीबहिनीहरू गर्मीको कारणले बिरामी परे वा तिनीहरूलाई लू लाग्यो भने कसले जिम्मेवारी लिन्छ?” के यो कुरा सही सुनिन्छ? तिमीहरूलाई थाहा छैन, होइन र? यहाँ एउटा वस्तुगत तथ्य छ: यी कपडाहरू धेरै पातला र हावा छिर्ने खालका थिए, ती लगाउँदा निकै शीतल हुन्थ्यो। कालो कपडा लगाउँदा अलिकति बढी गर्मी भए पनि, लुगा अलि खुकुलो बनाइयो भने त्यसले मानिसहरूलाई कसै-कसैले दाबी गरे जस्तै गर्मीको कारण बिरामी पार्ने थिएन। यसबाहेक, यी कपडाहरू सबै काला पनि थिएनन्; कतिपय उज्यालो रङका थिए। वास्तवमा, यो कुरा भन्ने व्यक्तिको भित्री उद्देश्य थियो। मैले किन यसो भनेँ? यदि तँलाई सन्दर्भ थाहा छैन भने, तैँले साँच्चै उसले दाजुभाइ-दिदीबहिनीहरूको ख्याल गरिरहेको थियो भन्‍ने सोच्न सक्छस्। तर यदि तँलाई सन्दर्भ थाहा भएको भए, तैँले उसले यो कुरा भन्नुमा उसको एउटा एजेन्डा थियो भन्‍ने थाहा पाउनेथिइस्। यदि दाजुभाइ-दिदीबहिनीहरूले रेयनबाट बनेका ती शीतल लुगाहरू लगाउने हो भने, उसले किनेका लुगाहरू बेच्न सक्नेथिएन; दाजुभाइ-दिदीबहिनीहरूले ती किन्नेथिएनन्। उसले किनेका लुगाहरू सबै सडक पसल र क्लियरन्स बिक्रीका थिए, र ती कमसल गुणस्तरका थिए; ती लगाउँदा तँ भिखारीजस्तो देखिन्थिस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, उसको मूल्य सस्तो थिएन। अब तिमीहरूलाई सन्दर्भ थाहा भएकोले, के तिमीहरूले उसले भनेको कुरा सही थियो कि थिएन भनेर केही बोध गर्न सक्छौ? (सक्छौँ।) उसले किन यसो भन्यो? (ऊ आफ्नो सामान नबिक्ला कि भनेर डराएको थियो।) उसले आफूसँग स्वार्थी मनसाय छ भनेन; उसले दाजुभाइ-दिदीबहिनीहरूको ख्याल गर्ने र तिनीहरू गर्मीले बिरामी पर्लान् कि भनी चिन्ता गर्ने बहाना प्रयोग गरेर ती लुगाहरू बनाउने काममा अवरोध गर्‍यो, र यो काम रोक्यो। अर्को एउटा वस्तुगत तथ्य पनि छ, त्यो के हो भने ऊ आफैले गर्मीको तापमा कालो जिन्स र कालो लुगा लगाउँथ्यो र उसले कहिल्यै गर्मी भएको महसुस गरेको कुरा भनेन। के भइरहेको थियो त? उसले भनेको कुरा तथ्यहरूसँग मेल खाएन! हामीले दाजुभाइदिदीबहिनीहरूका लागि रेयन कपडाबाट केही लुगा बनाउन चाहन्थ्यौँ, र उसले भन्यो, “हुँदैन, कालो कपडा धेरै तातो हुन्छ, यसले दाजुभाइदिदीबहिनीहरूलाई गर्मीले बिरामी पार्छ।” उसले लगाएको कालो जिन्स रेयनभन्दा धेरै बाक्लो थियो, त्यसोभए उसलाई किन गर्मी महसुस भएन? त्यसोभए, के उसको कालो लुगा धेरै तातो हुन्छ र त्यसले दाजुभाइदिदीबहिनीहरूलाई गर्मीले बिरामी पार्छ भन्ने कथन सही थियो? के उसले यो कुरा इमानदारीसाथ भनेको थियो? ऊ इमानदार थिएन; ऊ आफ्नो वास्तविक भावनाको विरुद्धमा गइरहेको थियो। त्यसोभए, उसले भनेको कुरा सही थियो कि थिएन? के यो तथ्यहरूसँग मेल खान्थ्यो? (यो तथ्यहरूसँग मेल खाँदैनथियो।) त्यसोभए उसले यो किन भन्यो? यो मामिला उसको व्यापारसँग बाझिएकोले नै उसले यसो भनेको थियो। ऊ भित्रबाट चिन्तित थियो तर उसले सीधै भन्न सकेन, त्यसैले उसले यो मामिलालाई बिथोल्न, आफ्नो स्वार्थको रक्षा गर्ने आफ्नो लक्ष्य हासिल गर्न यी शब्दहरू मात्रै प्रयोग गर्न सक्यो। यो काम मैले व्यवस्थित गरेको थिएँ, र उसले यसरी खुल्लमखुल्ला अवरोध गर्‍यो। यदि मैले व्यवस्थित गरेको कुरामा उसको कुनै आपत्ति थियो भने, उसले त्यो कुरा सीधै मकहाँ ल्याउन सक्थ्यो, तर उसले त्यसो गरेन। बाहिरी रूपमा उसले ठूलो अभिनय गर्‍यो, र उसको कुनै आपत्ति नै नभएजस्तो देखियो, तर पर्दा पछाडि उसले काममा भाँजो हाल्यो, र अलिकति पनि पछि हटेन। उसले के भन्यो? “दाजुभाइदिदीबहिनीहरू सबैसँग लगाउने लुगा छन्, र तिनीहरूले राम्रैसँग लगाएका छन्। के यति धेरै मानिसहरू प्रयोग गरेर र यति धेरै प्रयास गरेर यी लुगाहरू बनाउन आवश्यक छ र?” उसले मेरो अगाडि एक शब्द पनि बोलेन; उसले पर्दा पछाडि यसरी नै काममा भाँजो हाल्यो। जब उसले यी शब्दहरू बोल्यो, के उसलाई आफ्नो हृदयमा ती सही छन् कि छैनन् भन्‍ने थाहा थियो? यदि उसले यो कुरा कुनै साधारण व्यक्तिप्रति गरेको भए, र यो सही हो कि गलत हो भनी आफ्नो हृदयमा थाहा हुँदाहुँदै पनि, केवल लोभले अन्धो भएर र व्यक्तिगत मनसाय र लक्ष्यहरूद्वारा प्रेरित भएर मात्रै यो गरेको भए, यो उसको चरित्रको समस्या मात्रै हुनेथियो। तर उसले यो कार्यद्वारा मलाई नै निशाना बनाइरहेको थियो, र उसले काममा भाँजो हाल्न यी कुराहरू भनेपछि, उसलाई ती सही छन् कि गलत छन् भन्‍ने थाहा थिएन, उसको हृदयमा यसबारे कुनै चेतना थिएन, न त उसले कुनै आत्म-धिक्कार नै महसुस गर्‍यो, र उसलाई आफ्नो कार्यको प्रकृति थाहा थिएन। यो कस्तो प्रकारको व्यक्ति हो? के उसमा मानवता छ? (छैन।) उसले यस्तो गम्भीर कार्य गर्‍यो तर आफ्नो हृदयमा केही पनि महसुस गरेन। मलाई भन्, के उसमा विवेक थियो? (थिएन।) उसमा विवेक थिएन, र यो स्पष्ट रूपमा देखिन्छ। यदि यो व्यक्ति उचित मामिलाहरूमा ध्यान दिने, परमेश्‍वरको घरमा दाजुभाइदिदीबहिनीहरूका लागि केही लाभदायक काम गर्ने एक साधारण व्यक्ति भए पनि, तैँले त्यस कामलाई समर्थन गर्नुपर्छ र त्यसमा भाँजो हाल्नु हुँदैन—सबैले यसलाई सम्पन्न गर्न सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्नुपर्छ। मैले सुरु गरेको यो कामको त कुरै छोडौँ; तैपनि उसले अझै पनि पर्दा पछाडि यसमा भाँजो हाल्ने आँट गर्‍यो, र आफ्नो पैशाचिक पञ्जा फैलाउने आँट गर्‍यो। यसको प्रकृति धेरै गम्भीर छ! उसले काममा भाँजो हालेपछि, उसले अझै पनि केही नभएजस्तो गरी एक असल व्यक्ति भएको नाटक गर्‍यो। मलाई भन्, के उसमा अलिकति पनि विवेक थियो? उसले आफूले परमेश्‍वरमा विश्वास गर्छु भनेर दाबी समेत गर्थ्यो। के यो परमेश्‍वरमा विश्वास गर्ने व्यक्तिमा हुनुपर्ने स्वरूप हो? के यो परमेश्‍वरमा विश्वास गर्ने व्यक्तिमा हुनुपर्ने विवेक र मानवता हो? उसले आफूले कसमा विश्वास गर्छु भन्‍ने समेत जानेको थिएन, र उसले सही र गलतबीच खुट्ट्याउन सकेन। उसले कुन कर्तव्य पूरा गर्न सक्थ्यो? यस्तो व्यक्तिले अझै पनि आशिष्‌ पाउने आशा गर्छ—के यो त ठट्टा होइन र? यदि उसले मेरो बारेमा टिप्पणी गरेर मलाई व्यक्तिगत रूपमा निशाना बनाएको भए, र मैले उसले जानाजानी मण्डलीको काममा बाधा र अवरोध गरिरहेको छैन, र उसको कर्तव्य प्रदर्शन स्वीकार्य छ भनी देखेको भए, मैले त्यसलाई केही समयका लागि सहनेथिएँ र उसलाई अवलोकन गरिरहनेथिएँ। तर मैले परमेश्‍वरको घर र परमेश्‍वरका चुनिएका मानिसहरूका लागि गर्नुपर्ने केही काम गरिरहेको थिएँ, सबैका लागि लाभदायक हुने केही काम गरिरहेको थिएँ, र ऊ बाधा दिन र त्यसमा भाँजो हाल्न बाहिर आयो, र मलाई अगाडि बढ्नबाट रोक्यो। मलाई भन्, के म ऊप्रति नरम बन्नुपर्छ? यदि ऊ सानो कदको र केही नजान्ने व्यक्ति भएको, तर उसको कर्तव्य प्रदर्शनले सामान्यतया फल फलाउने गरेको भए, मैले त्यस कुरालाई सहन सक्थेँ र उसलाई पश्‍चात्ताप गर्ने मौका दिन सक्थेँ। यदि ऊ पश्‍चात्ताप गर्न इच्छुक भएको भए र परमेश्‍वरको घरका लागि सेवा गर्न इच्छुक भएको भए, मैले उसलाई क्षमा दिन सक्थेँ र उसलाई निराकरण गर्नेथिइनँ। यदि उसलाई आफ्नो लागि के राम्रो हो भन्‍ने थाहा नभएको भए र उसले विधर्म र भ्रमहरू फैलाउन जारी राखेको भए, र बाधा दिन र भाँजो हाल्न जारी राखेको भए, म ऊप्रति कुनै शिष्टाचार देखाउनेथिइनँ, र सिद्धान्तहरूअनुसार उसलाई निराकरण गर्नेथिएँ। दुष्ट मानिसहरूसँग गर्न सकिने कुरा भनेको तिनीहरूलाई सिद्धान्तहरूअनुसार निराकरण गर्नु मात्रै हो। जब मण्डलीमा बाधा दिने सबै प्रकारका हानिकारक कीराहरूलाई सफा गरिन्छ, तब मण्डली धेरै शान्तिपूर्ण हुनेछ। जब यी गैर-मानवहरूलाई निराकरण गरिन्छ, तब यो धेरै शान्तिपूर्ण हुनेछ! सुँगुर, गाईवस्तु, घोडा जस्ता चौपाया घरभित्र राख्न उपयुक्त हुँदैनन्। यदि तिनीहरूलाई राखियो भने, परिणाम के हुनेछ? निश्चित रूपमा, यसले घरलाई दुर्गन्धित ठाउँ, अराजकताको ठाउँ बनाउनेछ। यदि तैँले यो सहन सक्छु भन्छस् भने, म तँ कति दिनसम्म सहन सक्छस् भनी हेर्न चाहन्छु। घरभित्र राख्न उपयुक्त नभएका कुराहरूलाई बाहिर निकाल्नुपर्छ। तिनीहरू जहाँ बस्न उपयुक्त छन् त्यहीँ बस्नुपर्छ, र यसरी समस्या समाधान हुन्छ। सहन गर्नु समाधान होइन; समस्या समाधान गर्नु मात्रै समाधान हो, होइन र? (हो।) तैँले यी अमानवहरूसँग जतिसुकै स्पष्ट रूपमा सङ्गति गरे पनि, तिनीहरूले त्यसको कुनै पनि कुरा अभ्यासमा लागू गर्दैनन्। तिनीहरूले दश वा बीस वर्षसम्म परमेश्‍वरमा विश्वास गरेका भए तापनि, जब तिनीहरूमाथि कुराहरू आइपर्छन्, तब तिनीहरू अझै पनि गैरविश्‍वासीहरूजस्तै हुन्छन्; तिनीहरूले सत्यतालाई पटक्कै स्वीकार वा अभ्यास गर्दैनन्, तिनीहरूसँग कुनै जीवन प्रवेश हुँदैन, र जब तिनीहरूमाथि कुराहरू आइपर्छन्, तब तिनीहरूले बाधा दिन्छन् र चीजहरू बिगार्छन्। जब यस्ता मानिसहरूले आफ्नो वास्तविक रङ्ग देखाइसकेका हुँदैनन्, तब तिनीहरूले अनिच्छापूर्वक केही सेवा गर्छन्। तर तिनीहरूको वास्तविक रङ्ग प्रकट भएपछि, तिनीहरूलाई तुरुन्तै सफा गरिनुपर्छ—तिनीहरूलाई कुनै शिष्टाचार नदेखाऊ। यदि तैँले त्यसो गरिस् भने, तँ साँच्चै मानवता भएका, सत्यता पछ्याउने, र आफ्नो कर्तव्य पूरा गर्नमा समर्पित भएकाहरूप्रति क्रूर भइरहेको हुन्छस्।

मानवताविहीन मानिसहरूको एउटा स्पष्ट विशेषता के हुन्छ भने तिनीहरूले काम गर्दा र बोल्दा के सही हो र के गलत हो भन्‍ने जान्दैनन्; तिनीहरूले सधैँ कुटिल तर्क व्यक्त गर्छन्। हामी तिनीहरूले के सही हो र के गलत हो भन्‍ने जान्दैनन् भनेर भन्छौँ, तैपनि तिनीहरूले कहिल्यै सही कुरा बोल्दैनन् वा गर्दैनन्। तिनीहरूले गलत कुराहरू मात्रै बोल्छन्; जतिसुकै गलत भए पनि तिनीहरूले जे पनि भन्न सक्छन्। उदाहरणका लागि, एक पटक यस्तो एक व्यक्ति थियो जसले आफूलाई फिट नहुने एउटा लुगा किन्यो, र उसले अरू कसैको लुगा राम्रोसँग फिट भएको देख्यो, त्यसैले ऊ रिसायो र भन्यो, “यो मलाई फिट हुँदैन—तिम्रो लुगा तिमीलाई कसरी यति राम्रोसँग फिट भयो?” उसले अरू कसैको लुगा पनि तिनीहरूलाई फिट नहोस् भन्‍ने अत्यन्तै चाहन्थ्यो—त्यसपछि चाहिँ ऊ खुसी हुनेथियो। ऊ यस्ता कुराहरू भन्न समेत सक्षम थियो—के यो कुटिल तर्क होइन र? (हो।) यदि ऊ राती सुत्न सकेन र उसले तँलाई निकै आरामले सुतिरहेको देख्यो भने, ऊ दुःखी हुन्थ्यो र उसले भन्थ्यो, “म सुत्न सक्दिनँ, र पनि तिमी कसरी सुत्न सक्छौ? यो उचित छैन! तिमी यति आरामले सुतिरहेका छौ, के यो तिमीले आफ्‍नो कर्तव्य पूरा गर्दा बोझको कुनै महसुस नगरेकोले हो? मैले यो कुरा मण्डली अगुवालाई, माथिलाई रिपोर्ट गर्नुपर्छ!” के यो कुटिल तर्क होइन र? (हो।) मैले ठट्टा गरिरहेको छैन, मानवता नभएका र के सही हो र के गलत हो भनी नजान्नेहरूले ठीक यसरी नै बोल्छन्। म किन उसले के सही हो र के गलत हो भनी जानेको थिएन भनी भन्छु? उसले यो कुरा मलाई रिपोर्ट गर्‍यो। जब मैले उसले भनेको कुरा सुनेँ, तब मैले सोचेँ, “यो व्यक्तिले भनिरहेको कुरामा केही गडबड छ; यो सही तर्क होइन! यो मानवता भएको व्यक्तिले भन्‍ने कुरा होइन। ऊ पटक्कै जवान छैन, र उसले दश वर्षभन्दा बढी समयदेखि परमेश्‍वरमा विश्वास गरेको छ, तैपनि उसले आफूले भनिरहेको कुरा सही हो कि गलत हो भनेर समेत जान्दैन; उसले त्यस व्यक्तिलाई रिपोर्ट गर्ने कार्यलाई सही तर्क समेत ठान्छ। यो मान्छे सही र गलत छुट्याउन असक्षम मात्रै होइन—उसलाई के सही हो र के गलत हो भन्‍ने समेत थाहा छैन। यो मान्छे राम्रो छैन।” यदि उसले यो मामिला तिमीहरूलाई सुनाएको भए, तिमीहरूले साँच्चै यो खुट्ट्याउन सक्दैनथियौ होला, र तिमीहरूमध्ये कतिपय त उसले भनेको कुरामा फस्न सक्थ्यौ, र उसको तर्क सही हो भनेर विश्वास गर्न सक्थ्यौ होला। अब मैले यसलाई यसरी वर्णन गरिसकेपछि, के तिमीहरूले यो सही हो कि गलत हो भनेर भन्न सक्छौ? (सक्छौँ।) के त्यस्ता मानिसहरू कुटिल र हास्यास्पद हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले आफूले के भनिरहेका छन् सो सही हो कि गलत हो भनी जान्दैनन्, तैपनि तिनीहरूले अझै पनि त्यो कुरा भन्छन्। तिनीहरूले स्पष्ट रूपमा गलत अभिव्यक्ति, विचार, र दृष्टिकोणहरूलाई व्यक्त गर्नु पर्ने र सुनाउनु पर्ने सकारात्मक विचार र दृष्टिकोणको रूपमा लिइरहेका हुन्छन्। यो त सही के हो र गलत के हो भनेर नजान्नु हो। तिनीहरूले अज्ञानताको बहाना गरिरहेका हुँदैनन्, न त तिनीहरूले मानिसहरूलाई भ्रमित पार्न, केटाकेटीहरूलाई मूर्ख बनाउन यी शब्दहरू प्रयोग गरिरहेका हुन्छन्—तिनीहरूलाई के सही हो र के गलत हो भन्‍ने थाहा हुँदैन भन्‍ने कुरा स्पष्ट हुन्छ। यसरी, म तिनीहरूमा मानवता छैन भनेर भन्छु। तिनीहरूले यस्तो आधारभूत कुरामा समेत के सही हो र के गलत हो भनी छुट्याउन सक्दैनन्—के तिनीहरूसँग साँचो समझ हुन्छ? के तिनीहरू अझै पनि धर्मी मानिसहरू हुन सक्छन्? तिनीहरूले गलत कुराहरूलाई सही भएजस्तो गरी भन्छन्, जुन कालोलाई सेतो भन्नु बराबर हो। के तिनीहरू आफ्नो कार्यमा अझै पनि धर्मी हुन सक्छन्? के तिनीहरूले मानिसहरूसँग निष्पक्ष रूपमा व्यवहार गर्न सक्छन्? तिनीहरूले मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सक्दैनन्, त्यसोभए के तिनीहरूले मानिसहरूलाई हानि गरिरहेका हुँदैनन् र? (हुन्छन्।) के त्यो दयालु हुनु हो? (होइन।) सायद तिनीहरू दुष्ट मानिसहरू हुन चाहँदैनन्, र तिनीहरू अरूप्रति मित्रवत् हुन पनि चाहन्छन्, तर तिनीहरूलाई के सही हो र के गलत हो भन्‍ने समेत थाहा हुँदैन, तिनीहरूले कालो र सेतो समेत छुट्याउन सक्दैनन्, त्यसोभए तिनीहरू अरूप्रति कसरी मित्रवत् हुन सक्थे र? यो तिनीहरूको पहुँचभन्दा बाहिरको कुरा हो। जब कसैको विवेक र समझ सही हुन्छ, र कसैमा खुट्ट्याउने क्षमता हुन्छ र उसले अभ्यासका सही सिद्धान्तहरू छनौट गर्न सक्छ, तब मात्रै ऊ दयालु हुन सक्छ। यदि तैँले आफू धर्मी र दयालु छु भन्छस् भने, यसका प्रकटीकरणहरू कहाँ छन्? यदि तँलाई के सही हो र के गलत हो भन्‍ने समेत थाहा छैन भने, तँ कसरी धर्मी र दयालु हुन सक्छस्? आफूलाई धोका नदे! होइन र? आफूलाई र अरूलाई धोका दिनु भनेको यही हो। त्यस्ता मानिसहरूले आफूलाई विशेष रूपमा प्रशंसा पनि गर्छन्, र तिनीहरूले आफ्नो चरित्र धर्मी छ, आफू दयालु छु र आफू अख्तियारसँग डराउँदिनँ भन्‍ने सोच्छन्, र जब तिनीहरूले कसैले केही गलत गरेको देख्छन्, तब तिनीहरूले तुरुन्तै उसको आलोचना गर्न सक्छन् भन्‍ने सोच्छन्। यस्तो आलोचनाको लागि तेरो आधार के हुन्छ? यदि तैँले तिनीहरूको आलोचना आफ्नो गलत विचार र दृष्टिकोणको आधारमा गरिस् भने, तैँले असल मानिसहरूलाई सास्ती दिनेछस्, र परमेश्‍वरको घरका सत्यता सिद्धान्तहरूलाई बङ्ग्याउनेछस्। के त्यो त मानिसहरूलाई भ्रमित पार्नु होइन र? यदि यस्तो व्यक्तिले मण्डलीमा शक्ति हातमा लियो भने, त्यसको अर्थ शैतानले शक्ति हातमा लिइरहेको छ भन्ने हुन्छ। यदि शैतानले शक्ति हातमा लिन्छ भने, के धेरैजसो मानिसहरूले लाभ उठाउँछन् कि कष्ट भोग्छन्? (तिनीहरूले कष्ट भोग्छन्।) धेरैजसो मानिसहरूलाई गम्भीर रूपमा हानि हुनेछ र तिनीहरूसँग जिउने कुनै उपाय हुनेछैन।

हामीले छलफल गर्दै आएका विषयहरू सबै मानिसहरूको दैनिक जीवनका केही सामान्य प्रकटीकरणहरूसँग सम्बन्धित छन्। यी विषयहरू छलफल भएको सुनेपछि तिमीहरूलाई कस्तो महसुस हुन्छ? के सत्यतासँग यी विषयहरूको कुनै सम्बन्ध छ? के तिमीहरू सुन्न इच्छुक छौ? (छौँ।) के यो कुरा काट्नु मात्रै हो त? के यो मानिसहरूको पिठ्यूँ पछाडि तिनीहरूको आलोचना गर्नु हो? (होइन, यो त मानिसहरूलाई कसरी खुट्ट्याउने भनी सिक्न हामीलाई मद्दत गर्नका लागि हो।) अब तिमीहरूले यी सङ्गतिहरू सुनिसकेपछि, के तिमीहरू मानिसहरूलाई खुट्ट्याउन सक्षम भएका छौ? (मलाई त म पहिलेभन्दा मानिसहरूलाई अलिक राम्ररी खुट्ट्याउन सक्छु जस्तो लाग्छ।) अब तिमीहरूले मानिसहरूलाई केही हदसम्म खुट्ट्याउन सक्नुपर्छ। अब मैले यसरी सत्यतामा सङ्गति गरिसकेको र उदाहरणहरूबारे छलफल गरिसकेको हुनाले, यदि तिमीहरू अझै पनि मानिसहरूलाई खुट्ट्याउन सक्दैनौ भने, तिमीहरूको क्षमता साह्रै कमजोर छ र सत्यता तिमीहरूको पहुँचभन्दा बाहिर छ। अवश्य पनि, यस्ता मानिसहरू पक्कै पनि छन्। तिनीहरूले जसरी सुने पनि, बुझ्दैनन्, र यस्तो समेत सोच्छन्, “तपाईंले बताइरहनुभएका कुराहरू सबै दैनिक जीवनका मामिलाहरू मात्रै हुन्—म त सुन्दिनँ! म त तेस्रो स्वर्गका गहन सत्यताहरू सुन्न चाहन्छु। तपाईंले सङ्गति गरिरहनुभएको कुरा सत्यता होइन, यो सबै कुरा काट्नु मात्रै हो। म त सुन्दिनँ!” यदि तँ साँच्चै सुन्न चाहँदैनस् भने, तैँले नसुने पनि हुन्छ। तर हामीले छलफल गरिरहेका विषयहरू सबै आवश्यक छन्। जसले तिनमा भएको सत्यता बुझ्न सक्छ उसले मानिसहरूलाई खुट्ट्याउन सक्नेछ। यदि तैँले साँच्चै बुझ्न सक्छस् भने, तँ एक आशिषित व्यक्ति होस्। यदि तैँले जतिसुकै सुने पनि बुझ्न सक्दैनस्, र जति धेरै सुन्छस्, त्यति नै धेरै अलमल्ल पर्छस् र त्यसले तेरो टाउको त्यति नै धेरै दुखाउँछ भने, यो प्रकटीकरण तेरो लागि राम्रो सङ्केत वा राम्रो लक्षण होइन।

भर्खरै हामीले मानवतामा रहेको सही के हो र गलत के हो भनी जान्ने विशेषताको बारेमा कुरा गर्‍यौँ। मानिसहरूले सही के हो र गलत के हो भनी नजान्‍नुका विभिन्न प्रकटीकरणहरू धेरै हुन्छन्। यदि मानिसहरूले सही के हो र गलत के हो भनी जानेको भए, त्यो राम्रो हुनेथियो, र हामीले यस विषयमा कुरा गर्नुपर्ने थिएन। तर धेरै मानिसहरूले सही के हो र गलत के हो भनी जान्दैनन्, त्यसैले यस प्रकारको व्यक्तिले किन सही के हो र गलत के हो भनी जान्दैन, उसले यति स्पष्ट रूपमा सही वा गलत रहेका कुराहरूलाई किन खुट्ट्याउन सक्दैन भनी खुट्ट्याउनका लागि केही उदाहरणहरू उठाउनु उचित हुन्छ। यस प्रकारको व्यक्तिले वास्तवमा यस्ता बेतुका शब्दहरू बोल्न र यस्ता हास्यास्पद कुराहरू गर्न सक्छ—यहाँ वास्तवमा के भइरहेको हुन्छ? यो सङ्गति गर्न र खुट्ट्याउन लायक कुरा हो। सही के हो र गलत के हो भनी जान्नु मानवतामा हुनुपर्ने एउटा अवस्था हो। सही के हो र गलत के हो भनी नजान्नु कुनै व्यक्तिमा देखा पर्न नहुने कुरा हो। यदि कसैले साँच्चै सही के हो र गलत के हो भनी जान्दैन भने, त्यो निकै दुःखको कुरा हो; यसको अर्थ उसमा कुनै व्यक्तिमा हुनुपर्ने अवस्थाहरू छैनन् भन्‍ने हुन्छ। हामीले भर्खरै केही निश्‍चित उदाहरण र प्रकटीकरणहरूबारे कुरा गर्‍यौँ, र कतिपय मानिसहरूका लागि, तिनीहरूले स्पष्ट रूपमा सही के हो र गलत के हो भनी जान्दैनन् भन्‍ने कुरा साँचो नै हो। यदि कसैले मानिसहरूलाई केही अनुचित, उत्तेजक कुराहरू वा केही भ्रामक शब्दहरू मात्रै भनिरहेको छ, वा मानिसहरूका अघि केही कुटिल तर्क व्यक्त गरिरहेको छ भने, सङ्गति गर्न र खुट्ट्याउनका लागि यस कुरालाई विशेष रूपमा उठाउन आवश्यक छैन, किनभने ती प्रकटीकरणहरू साधारण भ्रष्ट मानवहरूप्रति लक्षित हुन्छन्। तर कतिपय मानिसहरूको सही के हो र गलत के हो भनी नजान्ने प्रकटीकरण परमेश्‍वर, सत्यता, र सकारात्मक कुराहरूप्रति लक्षित हुन्छ। सही के हो र गलत के हो भनी नजान्ने यस प्रकारको व्यक्तिको हकमा भन्दा, यदि मैले सङ्गति गर्न केही उदाहरणहरू उठाइनँ भने, सबैले अझै पनि तिनीहरूलाई खुट्ट्याउन सक्दैनन् होला, र तिनीहरूले यस प्रकारको समस्याको सार र गम्भीरतालाई छर्लङ्गै देख्नेछैनन्। त्यसैले मैले यसबारे कुरा गर्नु आवश्यक छ। धेरै कुराहरू भएका छन्—यदि तिनमा सत्यता समावेश छ भने, मैले जे हो त्यही भन्नुपर्छ, मानिसहरूलाई सत्यता बुझ्न र खुट्ट्याउने क्षमता प्राप्त गर्न मद्दत गर्नका लागि यी नकारात्मक उदाहरणहरू उठाउनुपर्छ, र सबैलाई तीबाट पाठ सिक्न दिनुपर्छ। यदि कुनै मामिलामा कुनै निश्चित व्यक्ति समावेश छ भने, संलग्न भएकाहरूले लाज मान्नु हुँदैन। यदि तँलाई अहिले लाज लाग्छ भने, तैँले त्यति बेला ती कामहरू गर्नुहुँदैनथियो। कतिपय मानिसहरू सही के हो र गलत के हो भन्‍ने कुरा कति गम्भीर हदसम्म जान्दैनन्? तिनीहरूले गर्ने कामहरू—जुन सही के हो र गलत के हो भनी नजानेको कारणले हुन्छ, र जुन निकै गम्भीर प्रकृतिका हुन्छन्—कुनै व्यक्तिप्रति लक्षित गरिएको हुँदैन, तर मप्रति लक्षित हुन्छ। म मण्डलीका अधिकांश मानिसहरूसँग परिचित छैन र तिनीहरूलाई चिन्दिनँ, र केही अगुवा र कामदारहरू छन् जसलाई मैले एक वा दुई पटक मात्रै भेटेको छु, तर म मानिसहरूसँग आमनेसामने बसेर बिरलै एक-एक गरी हृदय खोलेर कुराकानी गर्छु, किनभने मसँग त्यति धेरै फुर्सदको समय हुँदैन। यी मानिसहरूमध्ये कतिपयसँग म राम्रैसँग मिल्न सक्छु, तर कतिपयसँग कुराकानी गर्न असम्भव हुन्छ। यस्तो किन हुन्छ? अब हामी केही उदाहरणहरू हेरौँ।

एक शरद ऋतुमा, फार्ममा रोपिएका आलुहरू खनिए, र खाना पकाउने जिम्मा पाएको व्यक्तिले फार्ममा गएर एक टोकरी आलु लिएर आयो। सबैभन्दा माथिका आलुहरू लगभग मुट्ठी जत्रो आकारका देखिन्थे, जुन ठीकै देखिन्थे। तर, यसभन्दा तलका आलुहरू सबै साना थिए, र केही त कुहिएका थिए। म त छक्क परेँ। “तिनीहरूले हामीलाई यस्ता आलु कसरी दिन सके? के यस्ता आलुहरू जनावरलाई खुवाउन प्रयोग गर्नु पर्दैन र? के फार्मको मान्छेले गल्तीले यस्तो पोको पारेको हो?” यदि यो साँच्चै गल्तीले भएको भए, माथिका आलुहरू किन राम्रा र सामान्य थिए, जबकि तलका आलुहरू साना वा कुहिएका थिए? यो घटनाले ममा गहिरो छाप छोड्यो। बाहिरी रूपमा, आलु पोको पार्ने व्यक्तिको आँखा डेडो थिएन र उसको रूप सामान्य नै थियो। मैले उसलाई एक-दुई पटक देखेको थिएँ र ऊसँग केही शब्दहरू साटासाट गरेको थिएँ, तर हाम्रो कुनै वास्तविक अन्तरक्रिया भएको थिएन। मैले उसलाई चिन्दिनँ भन्दा पनि हुन्छ, त्यसैले आलोचना, हप्की, वा काटछाँटको त कुनै प्रश्न नै थिएन। त्यसोभए यो व्यक्तिले मलाई यस्ता साना र कुहिएका आलुहरू दिएर किन यस्तो व्यवहार गर्‍यो? यदि उसलाई ती आलुहरू मेरो लागि हो भन्‍ने थाहा थिएन भने, उसले किन राम्रा आलुहरू माथि र कुहिएका आलुहरू तल राख्यो? उसलाई स्पष्ट रूपमा थाहा थियो। त्यसोभए, ती मेरो लागि हो भनी थाहा पाएर पनि, उसले किन कुहिएका आलुहरू हाल्यो? के ऊ त्यति बेला बेहोस अवस्थामा थियो? वा कुनै दियाबलसले उसका हातहरू नियन्त्रण गर्‍यो? वा उसलाई दुष्ट आत्मा लागेको थियो? यस्तो हुने त्यति सम्भव छैन। यदि उसलाई साँच्चै दुष्ट आत्मा लागेको भए, ऊ मानसिक रूपमा विक्षिप्त हुनेथियो र उसले मेरा लागि आलुहरू नै ल्याउनेथिएन। त्यसोभए यदि उसलाई दुष्ट आत्मा लागेको थिएन भने, निकै सामान्य देखिने यो व्यक्तिले किन यस्तो काम गर्‍यो? के उसलाई यो काम गर्नु धोकाको कार्य हो भन्‍ने थाहा थिएन? यदि उसको हृदयमा मेरो लागि घृणा थियो भने, ऊ यहाँ आफ्नो कर्तव्य गर्नुको सट्टा परमेश्‍वरको घर छोडेर जानुपर्थ्यो। यसबाहेक, यदि उसले मेरो लागि घृणा नै बोकेको थियो भने, त्यसको कारण के थियो? मलाई घृणा गर्ने के कारण थियो? यदि हामीले यसलाई मानवताको हिसाबले हेर्‍यौँ भने, पहिलो, मैले उसलाई केही पटक मात्रै देखेको थिएँ; ऊ कस्तो थियो भन्‍ने मलाई थाहा थिएन। र दोस्रो, मैले ऊसँग कहिल्यै कुनै वास्तविक सम्पर्क वा सङ्गत गरेको थिइनँ। मलाई ऊ जमिनमा काम गर्छ भन्‍ने मात्रै थाहा थियो। त्यसोभए उसले मसँग किन यस्तो व्यवहार गर्‍यो? एउटा मात्रै सम्भावना छ: उसले मेरो बारेमा निकै बलियो धारणाहरू राखेको थियो र मेरो विरुद्धमा ऊसँग ठूलो पूर्वाग्रह भएको, वा कसैले उसलाई उक्साएको भए मात्रै उसले यस्तो काम गर्न सक्थ्यो। त्यो व्यक्तिले यस्तो काम गर्न सक्यो, उसले यो काम गर्न आँट गर्‍यो—के तिमीहरूलाई यो अकल्पनीय लाग्दैन? यदि तैँले एक साधारण व्यक्तिसँग व्यवहार गरिरहेको भए पनि, के तैँले यस्तो काम गर्न सक्थिस् र? यदि तैँले सुपरमार्केट चलाइरहेको भए पनि, तैँले मानिसहरूलाई छल्न र ठग्न सक्दैनथिइस्; तँ आफ्ना ग्राहकहरूलाई कायम राख्न भरोसायोग्य हुनुपर्थ्यो र तैँले आफ्नो बाटो बन्द गर्नुहुँदैनथियो। अझ महत्त्वपूर्ण कुरा त, अहिले तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको छस्, र यस्तो काम गर्नु, विशेष गरी मसँग यस्तो काम गर्नु—मलाई भन्, के यो न्यायोचित हो त? (होइन।) त्यसोभए यस्तो व्यक्तिको प्रकृति के हो? उसले यो काम गर्दा सही के हो र गलत के हो भनी जानेको थियो? उसमा अलिकति पनि चेतना थिएन। यदि उसमा साँच्चै चेतना भएको भए, जब उसले कुहिएका आलुहरू उठाउन लागेको थियो, तब उसले सोच्नेथियो, “होइन, मैले कुहिएका आलुहरू लिन सक्दिनँ, मैले केही राम्रा आलुहरू लिनुपर्छ। के सबैले राम्रो खाना खानु पर्दैन र?” अनि ती मेरो लागि खानलाई थिए भन्‍ने कुरा त छँदै छ—कुहिएका आलुहरू लिने सोच उसको मनमा आउनु समेत हुँदैनथियो, त्यसलाई व्यवहारमा लागू गर्ने कुरा त परै जाओस्। अब, के यसको जवाफ एकदमै स्पष्ट छैन र? ऊ यो काम गर्न किन सक्षम भयो? किनभने यस्ता मानिसहरू चाहे दियाबलसहरूबाट पुनर्जन्म भएका हुन् वा पशुहरूबाट, तिनीहरूले आफ्‍नो मानवतामा सही के हो र गलत के हो भनी बुझ्दैनन्। तिनीहरूको मानवतामा, सही कार्य र विचारहरू के हुन् र गलत कार्य र विचारहरू के हुन् भनी छुट्याउन वा जाँच्न सक्ने कुनै पनि कुरा हुँदैन। यदि तिनीहरू जनावर वा दियाबलसहरूबाट पुनर्जन्म भएका होइनन् भने, तिनीहरू जिउँदो लासहरू हुन्। त्यसोभए यस्तो व्यक्तिले परमेश्‍वरमा विश्वास गर्नुको अर्थ के हो र? तिनीहरूले भन्छन्, “मैले विश्वास गर्ने त परमेश्‍वरमा हो। तिमी त एउटा व्यक्ति मात्रै हौ, तिमीले मलाई के गर्न सक्छौ र?” के यी शब्दहरूमा कुनै समझ छ? के यो परमेश्‍वरमाथिको साँचो विश्वास हो? के परमेश्‍वरलाई यसरी व्यवहार गर्नु परमेश्‍वरको अभिप्रायअनुसार हुन्छ? परमेश्‍वरले यस्तो प्रकारको विश्वास चाहनुहुन्न। सायद तिनीहरूले यसो पनि भन्लान्, “परमेश्‍वरले मलाई चाहनुहुन्छ कि चाहनुहुन्न भन्‍ने कुरा तिमीले भन्ने कुरा होइन!” म त भन्छु, “तैँले भनिरहेको कुरा सही छैन। यदि मैले बोलेका वचनहरू परमेश्‍वरका वचनहरू हुन् भने, तैँले मलाई यसरी व्यवहार गर्ने कार्यमा समस्या छ। तेरो परिणाम परमेश्‍वरका वचनहरूद्वारा निर्धारण हुन्छ।” तिनीहरूले भन्छन्, “म तेस्रो स्वर्गमा गएर तिम्रो बारेमा रिपोर्ट गर्छु!” म भन्छु, “यदि तँ साँच्चै तेस्रो स्वर्गमा जान सक्छस् भने, तुरुन्तै गइहाल्।” मलाई भन्, के यस्ता मानिसहरू डरलाग्दा हुँदैनन् र? यस्तो व्यक्तिसँग संगत गर्न को इच्छुक हुन्छ होला र? अहिलेका लागि उसले कसलाई निशाना बनाइरहेको थियो भन्‍ने कुरामा नजाऔँ। यदि उसले मलाई होइन, तर कुनै व्यक्तिलाई निशाना बनाइरहेको थियो भने, के उसको कार्य विवेकको मानकअनुरूप हुनेथियो? (थिएन।) उसले मप्रति यस्तो काम गर्न सक्नु कस्तो प्रकारको समस्या हो? उसले मप्रति समेत यस्तो काम गर्न सक्ने भएकोले, के उसले एक साधारण व्यक्तिलाई पनि यस्तो गर्न सक्थ्यो? यो मामिलालाई कसरी मूल्याङ्कन गर्नुपर्छ? यो व्यक्तिले यस्तो काम गर्न सक्यो भन्‍ने कुरामा म धेरै छक्क परेँ। उसले किन यसो गर्न सक्यो? यदि उसले यो काम एक साधारण व्यक्तिलाई गरेको भए, मसँग उसको लागि पनि एउटा चित्रण हुनेथियो। उसले त्यसो गर्नु गलत थियो। अरूलाई यसो गर्नु सही हो जबकि मलाई यसो गर्नु गलत हो भन्‍ने होइन—यस प्रकारको कथन निष्पक्ष हुँदैन र यो ठोस कुरा हुँदैन। यदि उसले मलाई यसो गर्न सक्यो भने, उसले अरूलाई, जोकोहीलाई पनि यसो गर्न सक्छ। यसको कारण के हो? यो गहिरो रूपमा सोच्न लायकको कुरा हो। उसले आफू परमेश्‍वरमा विश्वास गर्छु र परमेश्‍वरको घरको सदस्य हुँ भन्थ्यो, र पनि उसले मलाई किन यस्तो व्यवहार गर्न सक्यो? उसले यस्तो नीच काम कसरी गर्न सक्यो? उसले यति बुझ्न नसकिने काम कसरी गर्न सक्यो? उसले आफूलाई धेरै दयालु ठान्थ्यो, र पनि उसले अरूलाई खानको लागि कुहिएका आलुहरू कसरी दिन सक्यो? उसले ती आफै किन खाएन? ती कुहिएका आलुहरू, साना आलुहरू, र नबढेका आलुहरू जनावरहरूलाई खुवाउनका लागि हुन्, र पनि उसले ती मानिसहरूलाई किन खान दियो? मैले उसलाई सत्यताद्वारा मापन नगरेर, केवल नैतिक दृष्टिकोणबाट हेर्दा पनि उसका कार्यहरू स्वीकार्य थिएनन्, त्यसैले म ऊ गैर-मानव हो भनेर भन्छु। के यो चित्रण सही छ? के यो निष्पक्ष छ? (यो सही र निष्पक्ष छ।) उसले यस्तो स्पष्ट रूपमा गलत काम गर्‍यो र अझै पनि थाहा पाएन, र उसले सहज समेत महसुस गर्‍यो, र उसको हृदयमा अलिकति पनि आत्म-धिक्कार थिएन। यस्तो किन हुन्छ? ऊसँग कुनै विवेक थिएन, ऊसँग आत्मा समेत थिएन; दियाबलस वा पशुजस्तै ऊसँग कुनै चेतना थिएन। ऊ मानव थिएन, त्यसैले, ऊसँग कुनै विवेक थिएन। उसले सही के हो र गलत के हो भनी जान्दैनथियो, र उसले जतिसुकै गम्भीर गल्ती गरे पनि उसले सधैँ आफ्ना कार्यहरू पूर्ण रूपमा न्यायोचित छन् भन्‍ने महसुस गर्थ्यो, र उसले आफ्ना गल्तीहरू कहिल्यै स्वीकार गर्दैनथियो, त्यसरी नै काम गरिरहन जिद्दी गर्थ्यो। जब अरूले उसको चित्रण गर्थे, र उसले गरेको काम गलत छ भनी भन्थ्यो, उसले अझै पनि आफू निकै सही छु भन्‍ने सोच्थ्यो र अन्यायमा परेको महसुस गर्थ्यो। म भन्छु, त्यो तँलाई अन्याय गर्नु पटक्‍कै होइन। यो त तथ्यहरूलाई नबुझिकनै तँलाई निन्दा गर्नु वा तँसँग मानवता छैन भनी चित्रण गर्नु होइन। बरु, यस्ता गम्भीर तथ्यहरू सबैले देख्ने गरी छर्लङ्ग हुँदा, कसले अझै पनि तँसँग मानवता छ भन्न सक्थ्यो र? यी तथ्यहरू प्रमाणको रूपमा हुँदा, कसैले पनि यसलाई इन्कार गर्न सक्दैनथियो। म तँसँग मानवता छ, तँ दयालु र धर्मी छस् भनेर भन्न चाहन्थेँ, तर तैँले गरेको कामको प्रकृति निकै नीच छ; यो शैतानले परमेश्‍वरको उपहास गरेकै प्रकृतिजस्तै हो, यो शैतानले परमेश्‍वरलाई संसारका धन र महिमा देखाएर उहाँलाई यसो भनेर कालोलाई सेतो बनाएजस्तै हो, “यदि तपाईंले लम्‍पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु।” संसारका सबै कुरा र यावत् थोक, परमेश्‍वरले नै सृष्टि गर्नुभएको थियो। परमेश्‍वरले अस्तित्वमा भएका सबै कुरा र यावत् थोक सृष्टि गर्नुभयो; परमेश्‍वरले यी सबैको आनन्द लिनुपर्छ, तैँले होइन, तँ त्यसो गर्न योग्य छैनस्। तैँले जे आनन्द लिन्छस् त्यो परमेश्‍वरले तँलाई दिनुभएको हो। तैँले परमेश्‍वरको आराधना गर्नुपर्छ, परमेश्‍वरले तेरो आराधना गर्ने होइन। यो मान्छेले यस्तो स्पष्ट र सरल अवधारणा समेत बुझेन, र केही आलुहरू पाउनका लागि मात्रै मैले उसको मुड जाँच्नुपर्छ र ऊ खुसी छ कि छैन भनी हेर्नुपर्छ भन्नेसम्म सोच्यो। यदि ऊ खराब मुडमा थियो भने उसले मलाई केही कुहिएका आलुहरू दिन्थ्यो, मानौँ उसले कुनै भिखारीसँग व्यवहार गरिरहेको छ। मैले ऊबाट दुर्व्यवहार सहनुपर्ने थियो—के त्यो सम्भव छ? के मैले त्यो सहन सक्थेँ? (सक्‍नुहुन्‍नथियो।) यस्तो व्यक्तिलाई कसरी निराकरण गर्नुपर्छ? (उसलाई तुरुन्तै सफा गरिनुपर्छ।) यस्तो व्यक्तिलाई प्रशासनिक आदेशद्वारा निराकरण गरिनुपर्छ। अनि यो साँच्चै नै यस्तो प्रकारको एउटै मात्र घटना भने होइन। कतिपयले भन्छन्, “के योभन्दा पनि गम्भीर घटनाहरू छन्?” अवश्य पनि छन्, नत्र म किन मानिसहरू एक-अर्काभन्दा फरक हुन्छन् भनी भन्थेँ र? यदि परमेश्‍वरमा विश्वास गर्ने सबैले परमेश्‍वरको आराधना गर्न सक्थे भने, हरेकलाई आफ्नो प्रकारअनुसार वर्गीकरण गरिनु आवश्यक हुनेथिएन। धेरै मानिसहरूले इमानदारीपूर्वक परमेश्‍वरमा विश्वास नगर्ने हुनाले, र मण्डलीको काममा बाधा दिने दुष्ट मानिसहरू र अलमल्ल मानिसहरू, अर्थात् कुनै पनि खराब काम गर्न सक्‍ने खालका मानिसहरू पनि हुने हुनाले, मण्डलीको काम अन्त्यतर्फ आउँदै गर्दा, सबै जना प्रकट हुन्छन् र आफ्नो प्रकारअनुसार वर्गीकरण गरिन्छन्।

अब हामी अर्को उदाहरणको बारेमा कुरा गरौँ। फार्ममा मकै पाकेको थियो, र कुनै व्यक्तिले मेरा लागि केही मकै ल्याउन लागेको थियो। नजिकैको एक व्यक्तिले उसलाई भन्यो, “त्यो मकैमाथि मूसा घिस्रेको छ, त्यो नलैजाऊ!” उसले एकछिन सोच्यो र भन्यो, “मूसा घिस्रेर के भयो त? के त्यो अझै खान योग्य छैन र? मैले लगेँ भने पनि ठीकै हुन्छ!” त्यो मकैमाथि मूसा घिस्रेको थियो र त्यो मानिसहरूले खानको लागि उपयुक्त छैन भन्‍ने उसलाई स्पष्ट रूपमा थाहा थियो, तैपनि उसले त्यो ल्याएर मलाई दिन जिद्दी गर्‍यो। यो कस्तो प्रकृति हो? के यस्तो व्यक्तिमा मानवता हुन्छ? (हुँदैन।) त्यसोभए यो कस्तो प्रकारको व्यक्ति हो? (मानव होइन, तर दियाबलस हो।) मलाई भन्, के ऊ मूसा घिस्रेको मकै आफ्ना आमाबुबा वा बच्चालाई खान दिन सहमत हुन्थ्यो? (हुँदैनथियो।) किन हुँदैनथियो? (त्यो सफा छैन, त्यो खाँदा स्वास्थ्यको लागि खराब हुन्छ भन्‍ने उसलाई थाहा थियो। ऊ आफ्नो परिवारलाई त्यो खान दिन इच्छुक हुनेथिएन।) उसले त्यो आफ्नो परिवारलाई दिन सक्दैन भन्‍ने उसलाई थाहा थियो, तैपनि उसले मलाई त्यो ल्याएर दिन जिद्दी गर्‍यो, र अरूले उसलाई रोक्न सकेनन्। त्यसोभए के उसलाई यो सही हो कि गलत हो भन्‍ने थाहा थियो? (थिएन।) वास्तवमा, उसलाई आफ्नो हृदयमा यो गलत हो भन्‍ने थाहा थियो। त्यसोभए उसले किन अझै पनि त्यो मकै मलाई ल्याएर दिन चाहन्थ्यो? के म उसको शत्रु हुँ? के मैले उसलाई सास्ती दिएको वा हानि गरेको थिएँ? थिइनँ, मैले यीमध्ये कुनै पनि काम गरेको थिइनँ। म ऊसँग परिचित थिइनँ, तैपनि उसले मलाई मूसा घिस्रेको मकै ल्याएर दिन जिद्दी गर्‍यो। मलाई भन्, यो कस्तो प्रकृति हो? यो वास्तवमा परमेश्‍वरमा विश्वास गर्ने कुनै व्यक्तिले गरेको काम थियो। यसले साँच्चै तेरो आँखा खोल्दिन्छ र तेरो दृष्टिकोण फराकिलो बनाउँछ, यसले साँच्चै तँलाई खुट्ट्याउने क्षमता प्रदान गर्छ, र यो विशाल संसारमा साँच्चै विचित्रताको कुनै अन्त छैन भन्‍ने कुरा तँलाई देखाउँछ। मलाई भन्, जब उसले मेरो लागि त्यो मकै तयार गर्‍यो, के उसको हृदयमा कुनै चेतना थियो? के उसलाई आफूले गरिरहेको काम गलत हो, उसले केही राम्रो मकै, कम्तीमा पनि मूसा नघिस्रेको मकै ल्याउनुपर्छ भन्‍ने थाहा थियो? के उसले यसरी सोच्यो? (उसमा कुनै चेतना थिएन।) यस्ता कुराहरूको हकमा उसमा कुनै चेतना थिएन। यदि यस्तो दूषित मकै उसको आमा वा उसको बच्चालाई ल्याइदिइएको भए, उसमा चेतना हुनेथियो। ऊसँग मानवतामा हुनुपर्ने विवेकको चेतना थिएन, त्यसोभए के ऊसँग मानवता थियो? ऊ कस्तो प्रकारको प्राणी थियो? (मानवचाहिँ होइन।) हेर् त, परमेश्‍वरमाथिको उसको विश्‍वासमा, उसले आफ्नो कर्तव्य पूरा गर्थ्यो, उसले कष्ट भोग्यो र मूल्य चुकाउँथ्यो, उसले शारीरिक श्रम गर्न सक्थ्यो, र उसले भेलाहरूमा सहभागिता जनाउँथ्यो र परमेश्‍वरका वचनहरू पढ्थ्यो, तर ऊ मप्रति किन यति अमित्र भयो? ऊ मबाट किन यति विकर्षित थियो? मैले ऊसँग कहिल्यै एक-दुई शब्दभन्दा बढी कुराकानी गरेको थिइनँ, त्यसोभए मैले कुन हिसाबमा उसको चित्त दुखाएको थिएँ र? मैले सम्पर्क गरेका केही मानिसहरू निकै राम्रा छन्, र तिनीहरू मप्रति निकै मित्रवत् छन्। सबै जना ऊजस्ता छैनन्। तर मैले उसलाई चिढ्याएको थिइनँ, न त मैले उसलाई हानि नै गरेको थिएँ, त्यसोभए उसले मलाई किन यति धेरै घृणा गर्‍यो? यसको जवाफ तिमीहरूको हृदयमा छ। उसले मलाई मात्रै घृणा गरेको थिएन; उसले सबैसँग यस्तै व्यवहार गर्छ। ऊ ठीक यस्तै प्रकारको प्राणी हो। यदि उसले व्यापार गर्ने हो भने, उसले पक्कै पनि छल्ने र ठग्नेथियो, र सबै प्रकारका खराब कामहरू गर्नेथियो। मानिसहरूसँगको उसको अन्तरक्रियामा ऊसँग विवेकको कुनै सीमा र कुनै सिद्धान्त हुँदैन; उसको हृदय यी अँध्यारा कुराहरूले भरिएको हुन्छ। के कुरा एकदमै स्पष्ट छ भने मानिसहरूसँग व्यवहार गर्ने सन्दर्भमा यो उसको निरन्तरको तरिका र सिद्धान्त थियो; परिस्थितिहरूलाई सम्हाल्ने उसको माध्यम र शैली यही थियो। कतिपय मानिसहरूले यसो भन्छन्, “उसले यो काम गर्न सक्नुको अर्थ उसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गरेन भन्‍ने हो।” के यो कथन सही छ? (छैन।) यो किन गलत छ? यदि तैँले मलाई एक साधारण व्यक्तिलाई जस्तै व्यवहार गरिरहेको भए पनि, तैँले मलाई यसो गर्नुहुँदैनथियो। यदि तैँले नैतिकताको मात्रै पालना गरिरहेको भए पनि, तैँले यसो गर्नुहुँदैनथियो। यदि खानामा साँच्चै मूसा घिस्रेको छ वा त्यसलाई कुनै जनावरले टोकेको छ र त्यसमा ब्याक्टेरिया छ भने, त्यो सुपरमार्केटमा समेत बेच्न सकिँदैन। यदि कसैले त्यो खायो र उसलाई केही भयो भने के हुन्छ? अरूलाई थाहा भए पनि नभए पनि, यो कुरा तेरो विवेकलाई सही लाग्नेथिएन। तँलाई त्यो कुरा थाहा भएकोले, तैँले मानिसहरूलाई त्यो खान दिनु हुँदैन। यसमा व्यक्तिको प्रकृति समावेश हुन्छ, र यसमा आत्मआचरणको सिद्धान्त समावेश हुन्छ। तँसँग आत्मआचरणको सबैभन्दा आधारभूत नैतिक मानकहरू समेत छैन, तैपनि तँ आफूलाई मानव ठान्छस्। तँ मानव नै होइनस्। जसले जनावरलाई खुवाउँछ र हुर्काउँछ त्यस जनावरलाई त्यस व्यक्तिको रक्षा गर्नुपर्छ भन्‍ने थाहा हुन्छ। उदाहरणको लागि, एउटा कुकुरलाई हेर्—यदि तैँले त्यसलाई सधैँ खुवाइस् भने, त्यसले तँप्रति राम्रो व्यवहार गर्छ। यदि कुनै अपरिचित व्यक्ति घरमा आएर केही लिन चाह्यो भने, त्यसले उसलाई रोक्नेछ र हरेक मोडमा तेरो रक्षा गर्नेछ। एउटा कुकुर समेत आफ्नो मालिकप्रति बफादार हुन सक्छ र त्यसले उसको रक्षा गर्न सक्छ, र पनि त्यो व्यक्ति कसरी यो स्तरमा पुग्न असफल भयो? के ऊ कुकुरभन्दा पनि खराब छैन र? (छ।) यदि तैँले ऊ दियाबलस हो भनिस् भने, उसले साँच्चै यस कुरालाई स्वीकार गर्न नमान्‍न सक्छ। त्यसैले अब हामी यसलाई वस्तुगत रूपमा भनौँ: यस्तो व्यक्तिमा कुनै मानवता हुँदैन, किनभने उसले यस्तो हास्यास्पद काम, यस्तो नैतिक रूपमा भ्रष्ट काम गरेको छ, तैपनि ऊसँग विवेकको कुनै चेतना छैन, र उसले कहिल्यै पछुतो पनि गर्दैन र यसबारे दुःखी महसुस गर्दैन। यदि कसैले एक साधारण व्यक्तिलाई यसरी व्यवहार गर्यो पनि, ऊसँग विवेकको चेतना हुनुपर्छ, उसले भित्रबाट दुःखी महसुस गर्नुपर्छ, र उसले आफूले गरिरहेको काम गलत हो भनेर जान्‍नुपर्छ र ऊ रोकिनुपर्छ। उसले मलाई यसरी व्यवहार गरेको कुराको हकमा त यो झनै बढी लागू हुन्छ, जुन झनै अनुचित कुरा हो। अवश्य पनि, उसले मलाई यसरी व्यवहार गरेको कारणले मलाई चोट लागेको होइन। मेरो हृदय त्यति सजिलै चोट लाग्ने खालको छैन। मैले त केवल उसले परिस्थितिहरूलाई सम्हाल्ने सिद्धान्त निकै घृणित थियो भनी देखेको हुँ। यसले विवेकको मानक पूरा नगरेको मात्रै होइन, तर यो निकै नीच र निकै घिनलाग्दो पनि थियो। यो व्यक्तिमा अलिकति पनि मानवता थिएन! उसले यस्तो गलत कार्यलाई यस्तो आफूलाई सही साबित गर्ने तरिकाले, खुला रूपमा गर्‍यो, र कसैले पनि उसलाई रोक्न सकेन। मैले ऊसँग मानवता छैन भन्नु भनेको उसलाई अलिकति पनि अन्याय गर्नु होइन, किनभने मानवता नभएकाहरूले गर्ने काम ठीक यस्तै प्रकारको—मानवताविहीन कार्य—हो। यो उसको सार र उसको पहिचानसँग निकै मिल्दोजुल्दो छ। यदि कसैले उपयुक्त रूपमा काम गर्छ, र ऊसँग मानवता र विवेक छ भने, ऊसँग मानवता छैन भन्नु भनेको उसलाई अन्याय गर्नु हो। तर यदि उसले साँच्चै मानवताविहीन कार्यहरू गर्छ भने, ऊसँग मानवता छैन भनेर भन्दा यो उसको सारसँग निकै मेल खान्छ। यसो भन्नु उसलाई अन्याय गर्नु होइन, होइन त? (हो।) जब कतिपय मानिसहरूले मैले यी वचनहरू भनेको सुन्छन्, तब तिनीहरूको मनमा कुरा खेल्छ र तिनीहरूले भन्छन्, “तपाईं सधैँ यी कुराहरूको बारेमा कुरा गर्नुहुन्छ र यसले हाम्रो बेइज्जत गर्छ। कसले गल्ती गर्दैन र?” के यसरी सोच्नु सही हो? (होइन।) सबैले गल्ती गर्छन्, तर गल्तीहरूको प्रकृति साँच्चै फरक हुन्छ। धेरै गल्तीहरूमा मानवताका समस्याहरू समावेश हुन्छन्, र धेरै गल्तीहरूमा व्यक्तिको प्रकृति सार समावेश हुन्छ। केही गल्तीहरू व्यक्तिको भ्रष्ट स्वभावका प्रकाशहरू मात्रै हुन् र त्यसको अर्थ व्यक्तिको सारमा समस्या छ भन्‍ने हुँदैन।

अर्को एउटा उदाहरणको बारेमा कुरा गरौँ। एक दिन, म एउटा फार्ममा गएँ, र संयोगले त्यहाँका मानिसहरू नास्पाती टिपिरहेका रहेछन्। कसैले मेरो लागि केही नास्पातीहरू ल्याइदियो। एकै नजरमा मैले ती नास्पातीहरू निकै हरिया र त्यति नपाकेका देखेँ, तर मैले नास्पाती टिप्ने व्यक्तिले चहकिलो पहेँलो नास्पाती समातेर खाँदै गरेको देखेँ, र उसले खाँदै यसो भन्यो, “कति गुलियो, यो नास्पाती त कति मीठो!” उसले पाकेका नास्पातीहरू आफूले खानको लागि राख्यो, र मेरो लागि टिपिएका त लगभग सबै काँचै थिए। नास्पाती पाकेको थियो कि थिएन भन्ने कुरालाई एकातिर पन्छाएर हेर्दा, नास्पाती टिप्ने व्यक्ति मूर्ख थिएन। उसले दिनदिनै ती नास्पातीका रूखहरूको छेउमा समय बिताउँथ्यो, र कुन पाकेको छ र कुन छैन भन्‍ने उसलाई थाहा थियो। म संयोगले त्यहाँ गएँ, र उसले रूखबाट नपाकेका नास्पातीहरू टिपेर मलाई दियो। वास्तवमा, मलाई काँचो फलफूल वा चिसो प्रकृतिको फलफूल खान मन पर्दैन, र म विशेष गरी नपाकेको फलफूल खान सक्दिनँ, किनभने यसले मेरो पेट खराब हुन्छ। तर उसले मलाई नपाकेका नास्पातीहरू दियो, जबकि उसले एउटा पाकेको नास्पाती निकाल्यो र एक गाँस टोक्यो। यो घटनाले ममा गहिरो छाप छोड्यो। उसले नपाकेका र पाकेका नास्पातीहरूबीचको भिन्नता छुट्याउन सक्छ भन्‍ने मलाई थाहा थियो। उसले अरू मूर्ख छन् र तिनीहरूले पत्ता लगाउन सक्दैनन् भन्‍ने मानिलियो, र यस्तो सोच्यो, “मैले तिमीलाई नपाकेको नास्पाती दिनु नै पर्याप्त छ। मैले तिमीलाई धेरै वटा नास्पाती दिइरहेको छु। नास्पाती पाकेको छ कि छैन भन्‍ने तिमीलाई थाहा छैन, तिमीसँग त्यो ज्ञान छैन! तिमीले सत्यता स्पष्ट र तार्किक रूपमा प्रचार गर्न सक्ने भए तापनि, मैले तिम्रा लागि यति धेरै नपाकेका नास्पातीहरू टिपिदिएपछि तिमीले पक्कै पनि अझै म असल छु र मैले तिमीलाई राम्रो व्यवहार गरिरहेको छु भनी सोच्छौ।” यो काम गर्ने व्यक्तिले अरू मूर्ख छन्, र विशेष गरी मलाई मूर्ख भन्‍ने सोच्यो। उसले यो मूर्ख काम गर्दा के उसको हृदयमा कुनै चेतना थियो? (थिएन।) उसमा कुनै चेतना थिएन। उसले आफूले अरूलाई मूर्ख बनाएको र आफू धेरै चलाख भएको छु भन्‍ने सोच्यो। के ऊ चलाख थियो? (थिएन।) यदि ऊ साँच्चै चलाख भएको भए, ऊ कसरी यस्तो नितान्त मूर्खतापूर्ण काम गरेर पनि अझै चेतनाविहीन हुन सक्थ्यो र? यसले ऊ चलाख थिएन, र त्यसको सट्टा ऊ सानो सोचको थियो भन्‍ने प्रमाणित गर्‍यो। उसले नपाकेका नास्पातीहरू टिपेर मलाई खान दियो, जबकि उसले आफैचाहिँ एउटा पाकेको नास्पाती समातेर खायो। के यो कार्य हास्यास्पद देखिँदैनथियो र? मैले त्यसलाई वास्ता गरिनँ, तर उसले जे गर्‍यो त्यसले ममा गहिरो छाप छोड्यो। यो व्यक्तिले मलाई यसो गर्न सक्नु—के यस कार्यको प्रकृति निकै गम्भीर छैन र? यस मामिलामा उसको दृष्टिकोण, कुराहरूलाई सम्हाल्ने सिद्धान्त, र शैलीको हिसाबमा, उसको मानवता कस्तो थियो? के उसले जे गर्‍यो त्यो गलत छ, मानिसहरूलाई यसरी व्यवहार गर्नु गलत थियो भन्‍ने उसलाई थाहा थियो? (उसलाई यो कुरा थाहा थिएन।) उसले आफूलाई धेरै चलाख ठान्थ्यो। “हेर म कति बाठो छु, मैले तिमीलाई नपाकेका नास्पातीहरू दिएँ र तिमीले पत्ता लगाउन समेत सकेनौ! मैले सबै पाकेकाहरू आफ्नै लागि राखेँ, र तिमीले एउटा पनि पाकेको खान पाउनेछैनौ! यदि तिमी फेरि आयौ भने, म तिमीलाई अझै पनि पाकेकाहरू टिपेर दिनेछैन, म तिमीलाई काँचो मात्रै दिनेछु!” जाबो नास्पाती टिप्ने कार्यले मात्रै पनि उसको खुलासा गर्‍यो। के यो व्यक्ति केही न कामको व्यक्ति होइन र? (हो।) ऊ केही न कामको व्यक्ति हो र उसले सही के हो र गलत के हो भन्‍ने जान्दैन। मलाई भन्, यो कस्तो प्रकारको मानवता हो? मेरो विचारमा, ऊ एउटा पशु हो, र ऊसँग मानिसको स्वरूप मात्रै छ, जब कि वास्तविकतामा, ऊ मानिस कहलाइन लायक छैन। उसले गरेको काम र उसले गरेको यो गल्ती नितान्त तुच्छ थियो, कुनै पशुले गर्ने जस्तो। मानिसहरूले सधैँ मानव उच्च वर्गको पशु हो भन्छन्, तर मैले देखेअनुसार, धेरै मानिसहरू त पशुभन्दा पनि खराब हुन्छन्! उसले जे गर्‍यो, त्यसबाट मात्रै हेर्दा पनि, उसको कार्यका सिद्धान्त र शैलीबाट हेर्दा पनि, उसमा मानवता नहुनुको साथै, ऊ आफ्नो मालिकप्रति एउटा रक्षक कुकुरजति बफादार पनि थिएन। हाम्रो घरमा एउटा कुकुर छ। एक पटक, त्यसले सुँगुरको कान खाइरहेको थियो, र मैले त्यसलाई जिस्काउँदै भनेँ, “तैँले त निकै मज्जाले खाइरहेको छस्, होइन र? मलाई एक गाँस किन दिँदैनस्?” त्यसले सुँगुरको कान तल राख्यो र मेरो अगाडि सारिदियो, मानौँ यसो भन्दै थियो, “लौ खानुहोस्।” कुकुरको लागि मासु र हड्डीहरू सबैभन्दा स्वादिष्ट कुराहरू हुन्। त्यसको छाउराले मागेको भए पनि, त्यसले सुँगुरको कान दिनेथिएन, तर मैले खान्छु भनेँ, र त्यसले तुरुन्तै मलाई दियो। हेर् त, जब तैँले कुकुर पाल्छस्, तब तैँले त्यसबाट कुकुरहरूलाई के कुराले यति माया लाग्दो बनाउँछ भन्‍ने कुरा देख्न सक्छस्। तैँले त्यसको हेरचाह गर्छस् र त्यसलाई राम्रो व्यवहार गर्छस्, र त्यसको लागि, तँ त्यसको परिवार बन्छस्। यदि तैँले त्यससँग भएको सबैभन्दा राम्रो कुरा मागिस् भने, त्यसले तँलाई दिनेछ। तँप्रति त्यसको स्नेह हुन्छ। मानिसहरू यस्तो गर्न असक्षम छन्—त्यसकारण तिनीहरू कसरी उच्च वर्गका पशुहरू भए त? शैतानहरूले मानिसहरू उच्च वर्गका पशु हुन् भनेर भन्छन्। यो सरासर भ्रम हो, यो कुतर्क र विधर्म हो। यदि कुनै व्यक्तिमा मानवता छैन भने, यो शैतानी संसारमा जिउँदा, उसले कुनै पनि दुष्ट कार्य गर्न सक्छ—ऊ जति दुष्ट हुन सक्छ त्यति नै दुष्ट, जति नीच हुन सक्छ त्यति नै नीच, जति कुरूप हुन सक्छ त्यति नै कुरूप, र जति घृणास्पद हुन सक्छ त्यति नै घृणास्पद हुन सक्छ। यदि उसमा विवेकको कार्यगत गुण छैन र सही के हो र गलत के हो भनेर उसले जान्दैन भने, उसले कुनै पनि दुष्ट कार्य गर्न सक्छ, र कुनै पनि गलत शब्द, कुतर्क, र विधर्महरू आफ्नो मुखबाट निकाल्‍न सक्छ। मानिसहरू पशुभन्दा डरलाग्दा हुन्छन्। पशुहरू वास्तवमा डरलाग्दा हुँदैनन्; तिनीहरू धेरै सरल, अत्यन्तै शुद्ध, र अत्यन्तै सोझा हुन्छन्। मैले पालेको सानो कुकुर, जब त्यो सानो थियो र त्यसले सुँगुरको कान खाइरहेको थियो, मलाई देख्नेबित्तिकै यति खुसी भयो कि त्यसले आफ्नो टाउको हल्लाउन र पुच्छर हल्लाउन थाल्यो। मलाई कसरी खुसी पार्ने भन्‍ने त्यसलाई थाहा थियो। तर यदि मैले त्यसलाई जिस्काएँ र त्यसको खाना मागेँ भने, त्यसले मलाई दिँदैनथियो, र त्यो तुरुन्तै लुक्थ्यो र खाइसकेपछि मात्र बाहिर आउँथ्यो। दुई-तीन वर्षको भएदेखि, त्यसले फरक व्यवहार गरेको छ, त्यो अहिले समझदार भएको छ। जब म त्यसलाई मन पर्ने कुरा माग्छु, त्यसले मलाई दिन्छ। त्यसले मलाई दिँदा त्यसले सच्चा व्यवहार गरिरहेको हुन्छ, त्यसले मबाट कुनै माग गर्दैन वा मप्रति कुनै भित्री उद्देश्य राख्दैन। अनि जब त्यसले मलाई त्यो दिँदैन, तब पनि त्यो सच्चा भइरहेको हुन्छ, त्यसले मप्रति कुनै द्वेष राख्दैन। चाहे त्यसले मलाई देओस् वा नदेओस्, त्यो सच्चा कार्य नै हुन्छ। यी त्यसका अन्तर्निहित गुण र नैसर्गिक प्रवृत्तिहरू हुन्। पशुहरूमा भ्रष्ट स्वभावहरू हुँदैनन्। तिनीहरूमा शैतानले प्रशोधन गरेको कुनै पनि कुरा हुँदैन, र तिनीहरूका प्रकटीकरणहरू सबै प्राकृतिक, र अत्यन्तै प्रत्यक्ष र सरल हुन्छन्। तैँले तिनीहरूका अभिप्रायहरू अनुमान गरिरहनु आवश्यक पर्दैन, र तँ तिनीहरूबाट सतर्क रहनु आवश्यक पर्दैन। यदि कुनै पशुले तँलाई केही दिन्छ भने, त्यसले तँलाई दिइरहेको हुन्छ, र यदि दिँदैन भने, दिँदैन। यदि त्यो खुसी छ भने, खुसी छ, र छैन भने, छैन। त्यो आफ्नो संवेगद्वारा नियन्त्रित हुनेछैन, र त्यसले तँप्रति खराब अभिप्राय राख्नेछैन। मानिसहरू फरक हुन्छन्। मानिसहरू डरलाग्दा हुन्छन्। मानव छाला ओढेर पनि यदि तिनीहरूमा विवेक वा समझ छैन भने, तिनीहरू सम्भवतः पशुभन्दा असल हुन सक्दैनन्, तर तिनीहरू जति हदसम्‍म खराब हुन सक्छन् त्यति नै खराब हुन सक्छन्। तिनीहरू कति खराब हुन सक्छन्? यति खराब कि तैँले आफूले जीवित पिशाच देखेको महसुस गर्नेछस्, र यस कुराले तँलाई यो त अकल्पनीय नै छ भन्‍ने महसुस गराउँछ, तेरो विवेकलाई स्तब्ध पार्छ, तेरो हृदयको गहिराइमा प्रहार गर्छ र सास्ती दिन्छ। जब म यी कुराहरू महसुस गर्छु, तब म भित्रभित्रै सुस्केरा हाल्छु, र यस्तो सोच्छु: “के यस्तो कुरा मानिसले गर्नुपर्ने कुरा हो? मानिसहरू कसरी यति खराब हुन सक्छन्? उसले परमेश्‍वरमा विश्वास गर्छ, र पनि उसले कसरी यी कामहरू गर्न सक्छ?” व्यक्तिले आफ्नो विवेक र समझ गुमाएपछि, ऊ जति हदसम्‍म खराब हुन सक्छ त्यति नै खराब हुन सक्छ। ऊ अहिले जति खराब छ त्यति मात्रै हुन सक्ने होइन, तर ऊ अझै बढी खराब हुन सक्छ, र ऊ निरन्तर पतन हुन सक्छ। मानिसहरूले सही के हो र गलत के हो भनी नजान्नु नै मानवजातिको पतनको सुरुवात हो, मानवजातिको अधोगतिको सुरुवात हो।

यदि कसैले सही के हो र गलत के हो भनी जान्दैन भने, ऊसँग विवेक वा समझ हुँदैन, र यसरी ऊसँग मानवता हुँदैन, र सम्भवतः ऊसँग पिशाची प्रकृति हुन्छ। त्यसपछि उसले जे प्रकट गरे पनि वा उसले आफ्नो जीवनकालमा जे जिए पनि, छोटकरीमा, उसले छुटकारा पाउनेछैन, कहिल्यै छुटकारा पाउनेछैन। यदि कसैमा विवेक र समझ छैन भने—स्पष्ट रूपमा भन्नुपर्दा, मानवता छैन भने—ऊ सुधार्नै नसकिने हुन्छ र उसले छुटकारा पाउन सक्दैन। यो कुरा साँच्चै यस्तै हो। यदि उसले सही के हो र गलत के हो भनेर समेत जान्दैन भने, उसले विवेक र समझअनुरूपको कुनै पनि काम कसरी गर्न सक्छ र? त्यस्तो सुझाव दिनु नै बेतुकको कुरा हुनेछ। कतिपय मानिसहरूले डाहा र द्वन्द्व गर्ने झुकाव राख्छन्। यदि यो अरू मानिसहरूसँगको द्वन्द्व हो भने, तैँले यसको प्रकृति धेरै गम्भीर छैन भन्‍ने सोच्न सक्छस्, तर कतिपय मानिसहरू मसँग द्वन्द्वमा उत्रन्छन्। त्यसोभए, यी “परमेश्‍वरमा विश्वास गर्नेहरूले” वास्तवमा कसमा विश्वास गर्छन् त? तिनीहरू मसँग द्वन्द्वमा हुन सक्नुले त यो समस्यालाई गम्भीर बनाउँछ। कतिपय मानिसहरूले मैले तिनीहरूको कुनै समस्या औँल्याउँदा कहिल्यै बिर्सँदैनन्, त्यसपछि तिनीहरूले केही कमजोरी समातेर बदला लिन कुन विधि प्रयोग गर्न सकिन्छ भनेर सोच्छन्। उदाहरणका लागि, मैले एक पटक यस्तो व्यक्तिलाई भनेँ, “तैँले सधैँ यति धेरै खाना पकाउँछस्, ठिक्क मात्रामा किन बनाउँदैनस्?” उसले यसबारे सोच्यो: “तिमीले त मलाई कति खाना बनाउने भन्‍ने राम्रोसँग थाहा छैन भनेर भन्छौ। के यसले म चलाख छैन, म असल छैन भन्‍ने तात्पर्य दिँदैन र? त्यसोभए तिमीले नै एक छाक पकाऊ न त!” मैले पकाएपछि र अलिकति उब्रेपछि, उसले बाहिर त केही भनेन, तर भित्रभित्रै उसले सोच्यो, “तिमीले पनि ठिक्क मात्रामा पकाउन सक्दैनौ, होइन र? मैले तिमीसँग बदला लिने मौका पाएँ। तिमीले मेरो समस्याको खुलासा गर्यौ, त्यसैले म पनि तिम्रो खुलासा गर्नेछु!” उसले सधैँ मलाई निसाना बनाउने तरिकाहरू खोजिरहेको हुन्थ्यो। कतिपय मानिसहरूले यसो भन्छन्, “के तपाईंलाई निसाना बनाउने जोसुकैप्रति पनि तपाईंले मनमा इबी राख्नुहुन्छ? त्यसोभए अरूलाई निसाना बनाउनु ठीक रहेछ, तर तपाईंलाई निसाना बनाउँदा चाहिँ किन ठीक भएन?” के तिनीहरूले त्यसो भन्नु सही हुन्छ? (हुँदैन।) अर्को घटनामा, मैले कसैलाई टेबुल मिलाउन भनेँ, र उसले भन्यो, “त्यो भताभुङ्ग गर्ने म होइन!” मैले भनेँ, “त्यो तँ नभए पनि, तैँले त्यसलाई मिलाउन त सक्छस् नि।” उसले भन्यो, “मैले मिलाए पनि, त्यो भताभुङ्ग गर्ने म होइनँ भन्‍ने त मैले स्पष्ट पार्नुपर्यो नि।” मैले उसलाई दराजका सामानहरू मिलाउन भनेँ, र उसले भन्यो, “त्यहाँका सामानहरू मैले किनेको होइन!” मैले भनेँ, “ती किन्ने तँ होइनस्, तर के तैँले तिनलाई मिलाउन सक्दैनस् र? मैले केही कुरा भन्दा, त्यसको किन यति महत्त्व हुँदैन? तैँले ती मिलाउनुभन्दा पहिले ती कसले किन्यो भनी पत्ता लगाउनैपर्छ त?” के उसले जे भनिरहेको थियो त्यो सही हो कि गलत हो भनी जानेको थियो? उसले कुतर्क व्यक्त गरिरहेको थियो, होइन र? (हो।) मैले उसले कुतर्क व्यक्त गरिरहेको छ भनेँ, तर ऊ हृदयमा असन्तुष्ट नै रह्यो, र मेरो विशेष हैसियतको अर्थ अरूले मैले जे भने पनि सहनुपर्छ, मानौँ मैले आफ्नो धाक जमाइरहेको छु भन्‍ने सोच्यो। के उसको सोचाइ सही थियो? (थिएन।) पछि, मैले के देखेँ भने, उसले सत्यतालाई पटक्कै स्वीकार गर्दैन, र मैले जे भने पनि, उसले त्यसलाई आफ्नो हृदयमा स्वीकार गर्दैन, त्यसैले मैले उसमाथि मेरो सास खेर फालिनँ—उसले जे चाह्यो त्यही गर्न सक्थ्यो, र म उसलाई क्षमा दिनेथिएँ र सहनेथिएँ। मसँग यो पहिचान र हैसियत भए पनि, मेरो कुरा नसुन्ने र मेरो विरोध गर्ने धेरै मानिसहरू छन्। मैले व्यक्तिगत रूपमा धेरै भाइ र दिदीबहिनीहरूलाई देखेको छु जसले मप्रति अनादर गर्छन्। मप्रति अवज्ञाकारी र रिसाउने धेरै मानिसहरू छन्, हृदयमा मसँग डाहा गर्ने र मलाई घृणा गर्ने धेरै मानिसहरू छन्, मलाई हेला गर्ने र तुच्छ ठान्ने धेरै मानिसहरू छन्, मेरो पिठ्यूँ पछाडि मेरो आलोचना गर्ने धेरै मानिसहरू छन्, र खुल्लमखुल्ला मेरो खिल्ली उडाउने र गिल्ला गर्ने धेरै मानिसहरू छन्। मैले तिनीहरूलाई कस्तो व्यवहार गरेको छु? मेरो लगभग तीस वर्षको काममा, मैले एक जना व्यक्तिसँग पनि बदला लिएको छैन। मैले कसैलाई पनि घृणा गरेको छैन, न त मेरो पहिचान खुलेआम प्रकट नभएको बेला मप्रति अनादर गरेकोले मैले आफ्नो हैसियत ग्रहण गरेपछि तिनीहरूलाई सास्ती नै दिएको छु। मैले एक पटक पनि यस्तो काम गरेको छैन। यसबाहेक, यी मानिसहरूले मप्रति केही अशिष्ट वा चोट पुऱ्याउने कामहरू गरेका छन्, र मैले तिनीहरूलाई कहिल्यै जवाफदेही बनाएको छैन। तर, मैले सबैलाई खुट्ट्याउने क्षमता प्राप्त गर्न मद्दत गर्नका लागि सत्यतासँग सम्बन्धित गराएर यी प्रकारका समस्याहरूमा सङ्गति गर्नुपर्छ—यो सबैका लागि लाभदायक हुन्छ। तर धेरै मानिसहरूसँग यी मानिसहरूले गरेका कामहरूका बारेमा कुनै खुट्ट्याउने क्षमता छैन। तिनीहरूले यस्ता कुराहरूलाई गम्भीर रूपमा लिँदैनन्, मानौँ ती उल्लेख गर्न लायक नै छैनन्। के यो समस्या होइन र? त्यसैले सबैलाई खुट्ट्याउने क्षमता प्राप्त गर्न मद्दत गर्नका लागि यस्ता मामिलाहरूमा सङ्गति गर्नु अत्यावश्यक छ। तैँले परमेश्‍वरमा विश्वास गर्छु भनेकोले, म तँलाई विश्‍वासीको रूपमा व्यवहार गर्छु। तैँले गरिरहेको कर्तव्यको आधारमा म तँसँग मागहरू गर्छु, त्यसकारण के तैँले त्यो कुरा गर्नु पर्दैन र? के तँमा समर्पणता हुनु पर्दैन र? (पर्छ।) मसँग यो पहिचान छ, र मैले तँसँग यो पहिचान र हैसियत लिएर मागहरू गरिरहेको छु, त्यसैले तैँले मैले भनेको कुरालाई एक सृजित प्राणीको मनोवृत्तिले लिनुपर्छ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको छस्; तैँले कुनै अन्य टिप्पणी गर्नु हुँदैन, तैँले कुतर्क बोल्नु हुँदैन, र तैँले मेरो खण्डन गर्नु हुँदैन। एक सृजित प्राणीको रूपमा तँमा हुनुपर्ने न्यूनतम समझ र मानवताको प्रकटीकरण यही हो। तर यो व्यक्तिमा यस्तो मनोवृत्तिको कमी मात्रै थिएन, तर उसले कुतर्क पनि प्रयोग गर्‍यो। के उसलाई के सही हो र के गलत हो भन्‍ने थाहा थियो? थिएन। सही के हो र गलत के हो भनी नजान्ने मानिसहरू मानवताविहीन हुन्छन्, होइन र? (हो।) तिनीहरूमा मानवता हुँदैन भनेर निश्चितताका साथ भन्न सकिन्छ। यदि एक साधारण व्यक्तिले तँलाई टेबुल मिलाउन र दराज व्यवस्थित गर्न भन्छ, र तँ त्यो गर्न चाहँदैनस् वा तँलाई अर्को व्यक्ति एक साधारण व्यक्ति हो र ऊसँग तँलाई त्यसो गर्न लगाउने अधिकार छैन भन्‍ने लाग्छ भने, तैँले त्यो नगर्ने छनौट गर्न सक्छस्। तर तैँले भनेका दुई कुराहरू “त्यो भताभुङ्ग गर्ने म होइन!” र “दराजका सामानहरू मैले किनेको होइन!”—के यो विवेक र समझ भएको व्यक्तिले भन्ने कुरा हो? के यो अहङ्कारपूर्वक अविवेकी हुनु होइन र? (हो।) जब एक साधारण व्यक्तिले तँसँग यसरी बोल्छ तब तैँले अवज्ञाकारी व्यवहार गर्छस्, तर अहिले तँसँग बोल्ने म हुँ, र तैँले अझै पनि मसँग कुतर्क गर्ने र कपटपूर्ण तर्कले आफ्नो बचाउ गर्ने आँट गर्छस्। तैँले यसरी कुतर्क गर्न सक्नुले तेरो चरित्रबारे के भन्छ? तैँले भनिस्, “त्यो भताभुङ्ग गर्ने म होइन” जसको अर्थ यो हो, “जसले भताभुङ्ग गर्‍यो उसैले मिलाउनुपर्छ; जे होस्, मचाहिँ गर्दिनँ!” तैँले गर्नुपर्ने काम गर्न इन्कार गरिस्, र तैँले कुतर्क समेत गरिस्। के सामान्य मानवता भएको व्यक्तिले यसरी कुराहरूलाई सम्हाल्नुपर्छ? यदि यो काम तैँले गर्नुपर्ने काम हो भने, के तैँले यसो भन्नु हुँदैन होइन र? तैँले यसो भन्न सक्नुको अर्थ, के तैँले सही के हो र गलत के हो भनी जान्दैनस् भन्ने हुँदैन र? यो कामलाई इन्कार गर्न र नगर्नका लागि, तैँले आफ्नो व्यक्तिगत रिस समेत पोखिस्, र तैँले भताभुङ्ग गर्ने व्यक्ति तँ होइनस्, न त सामान किन्ने व्यक्ति नै होस्, त्यसैले तैँले त्यो मिलाउँदिन भनेर भनिस्। तैँले बहानाहरू बनाइस् र त्यो काम नगर्नका लागि कुतर्क प्रयोग गरिस्। के तेरो तर्क अत्यन्तै कुटिल छैन र? तैँले यस्तो कुटिल तर्क आफ्नो मुखबाट निकाल्‍न सकिस् र तैँले त्यसो निर्लज्ज आत्मविश्वास र हेपाहा प्रवृत्तिसहित गरिस्। यस्तो व्यक्तिले सही के हो र गलत के हो भनी जान्दैन, जान्दछ र? ऊसँग मानवता हुँदैन, हुन्छ र? (हुँदैन।) मैले तँलाई यसरी चित्रण गर्नुको कारण मसँग यो पहिचान र हैसियत भएकोले र तैँले मलाई निसाना बनाएकोले चाहिँ होइन। यदि अरू कसैले तँलाई यसो गर्न भनेको भए र तैँले इन्कार गरेर तर्क गर्ने प्रयास गरेको भए पनि, एक दर्शकको रूपमा, म तँलाई यसरी नै मूल्याङ्कन गर्नेथिएँ, किनभने तैँले भनेको कुरा मानवता अनुरूप छैन, यो गलत छ, यो कुतर्क हो, यो विधर्म र भ्रम हो। तैँले यो गलत हो भनी सोचिनस्, र तैँले यसलाई सही तर्कको रूपमा समेत लिइस्; यो नै तेरो मानवताभित्र के छ भन्‍ने कुरा देखाउन पर्याप्त छ। तैँले त्यसलाई त्यतिखेर रोक्न सकिनस् र मुखबाट फुस्काइहालिस्। यो एक स्वाभाविक प्रकटीकरण हो, र एक स्वाभाविक प्रकटीकरणले व्यक्तिको मानवता र सारलाई प्रतिनिधित्व गर्छ। म किन यसले व्यक्तिको सारलाई प्रतिनिधित्व गर्छ भनेर भन्छु? तँमा यस्ता विचार र दृष्टिकोणहरू हुनु कुनै अस्थायी कुरा होइन, र ती मैले भनेको कुनै कुराले उत्प्रेरित भएका होइनन्; बरु, यी विचार र दृष्टिकोणहरू तैँले लामो समयदेखि, दिन र महिनादेखि सोचिरहेको कुरा हो—यसबाहेक, कतिपय कुराहरू तेरो रुचिअनुसार नभएकोले, तैँले धारणाहरू विकास गरिस्, तेरो हृदय असन्तुष्टि र अवज्ञाले फुल्यो। तेरो नियन्त्रण एक क्षणको लागि गुम्यो र तेरो हृदयका कुराहरू खुलासा भए। केको खुलासा भयो? तँमा विवेक र समझ छैन, र तेरो मानवता निकै दुष्ट, निकै डरलाग्दो छ। यदि तैँले माथि उल्लिखित व्यक्तिलाई सत्यता स्वीकार गर्न भनेको भए, उसले त्यो गर्न सक्दैनथियो। यदि तैँले उसलाई उसको भ्रष्ट स्वभावहरू चिन्नू भनेको भए, त्यो उसको लागि झनै असम्भव हुनेथियो। मानवता नभएको व्यक्ति पशुको स्तरमा हुन्छ। मैले उसलाई यसरी चित्रण गर्नुको कारण उसले संयोगवश मप्रति केही गलत गर्‍यो वा मलाई केही भ्रामक कुरा भन्यो भनेर होइन; यो केवल उसले गरेको कामको प्रकृति यस्तै भएकोले हो। उसलाई यसरी चित्रण गर्नु अनुचित वा अन्यायपूर्ण कार्य होइन। यदि उसले यी शब्दहरूले अरू कसैलाई निसाना बनाएको भए पनि, मैले देखेको भए म उसलाई यसरी नै मूल्याङ्कन गर्नेथिएँ। यो एक वस्तुगत, निष्पक्ष कथन हो। उसले यस्ता बेतुकका कुराहरू भन्न सक्यो, यस्तो बेतुकको तर्क उच्चारण गर्न सक्यो, र उसले त्यसो गर्नु एक स्वाभाविक प्रकटीकरण थियो। मलाई भन्, के यो उसको प्रकृति सारको खुलासा होइन र? के यो उसको साँचो मानवताको खुलासा होइन र? यसले उसको खुलासा गरेको छ। यसले के खुलासा गरेको छ? यसले ऊसँग मानवता छैन भन्‍ने कुराको खुलासा गरेको छ। मानवता नभएका मानिसहरूले सही के हो र गलत के हो भनी जान्दैनन्, र तिनीहरूले कुनै पनि कुतर्क र विधर्म निकाल्न सक्छन्, र यी कुराहरू यस्तो निर्लज्ज आत्मविश्वाससहित भन्छन्। तिनीहरूले बोलिसकेपछि, तिनीहरूले आफ्ना शब्दहरू गलत छन् भनी कहिल्यै जान्दैनन्, र तिनीहरूले आफ्ना शब्दहरूमा के गलत थियो भनी कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले कहिल्यै आत्म-चिन्तन गर्दैनन् वा काटछाँट स्वीकार गर्दैनन्, र अन्त्यमा, तिनीहरूले के भन्छन्? “मैले त्यो जानाजानी भनेको होइन। के त्यो मैले रिसको झोकमा फुस्काएको मात्रै होइन र?” के त्यो जानाजानी हुनु आवश्यक छ र? तैँले त्यसलाई स्वाभाविक रूपमा खुलासा गरिसकेको छस्, र तेरो मानवता कस्तो छ भनी पहिले नै खुलासा भइसकेको छ। तैँले नसोचीकन त्यो भन्न सक्नुले यी शब्दहरू तेरो हृदयमा लामो समयदेखि बसेका छन्, र जब तैँले यस प्रकारको वातावरणको सामना गर्छस्, तब ती स्वाभाविक रूपमा प्रकट हुन्छन् भन्‍ने कुरालाई प्रमाणित गर्छ। यसले पूर्ण रूपमा तेरो चरित्रलाई प्रतिनिधित्व गर्न सक्छ। यदि तैँले त्यो भन्नुअघि सोचेको भए, त्यो साँचो नहुन पनि सक्थ्यो, र त्यो बहाना समेत हुन सक्थ्यो, जबकि यसले तेरो चरित्रलाई अझ बढी खुलासा गर्छ। मानवता नभएका मानिसहरूले सही के हो र गलत के हो भनी जान्दैनन्, र तिनीहरूले सहीलाई गलत र गलतलाई सही समेत बनाउँछन्, र कुतर्कलाई सही तर्क हो जसरी व्यक्त गर्छन्। तैँले तिनीहरूलाई जतिसुकै तथ्यहरू प्रस्तुत गरे पनि र तर्क गरे पनि, तिनीहरूले आफूले गलत गरेको कुरा स्वीकार नै गर्दैनन्। “म कसरी गलत हुन सक्छु? गलत त तिमीहरू पो हो त! तिमीहरूले मलाई हेला गर्छौ, तिमीहरूले म नम्र छु, मसँग कुनै वरदान छैन, र समाजमा मेरो कुनै प्रभाव वा हैसियत छैन भनी देख्छौ, अनि मलाई हेप्छौ!” तिनीहरूले एक झुप्पो कुतर्क र विधर्महरू बोल्छन्, तर आफूले गरेका गलत कामहरू र आफूले बोलेका कुतर्कको प्रकृति कहिल्यै भन्दैनन्। तिनीहरूले जतिसुकै गलत कामहरू गरे पनि, तिनीहरूले ती स्वीकार गर्दैनन्। के सामान्य मानवता भएको व्यक्तिमा यस्तो प्रकारको प्रकटीकरण हुन्छ? हामीले विवेक र समझ निकै स्वस्थ भएका मानिसहरूको बारेमा उल्लेख गर्न समेत आवश्यक छैन—थोरै विवेक र समझ भएको जोकोहीले पनि मानिसहरूले आफ्नो जीवनकालमा धेरै गल्तीहरू गर्छन् भन्‍ने निश्चित रूपमा महसुस गर्नेछ। विशेष गरी, कतिपय मानिसहरूले आफूले भन्‍न वा गर्न नहुने केही कुराहरू भन्छन् वा गर्छन्, त्यसपछि आफ्नो सम्पूर्ण जीवनभरि पछुतो र दुःखित महसुस गर्छन्, र आफ्नो विवेकमा आत्म-आरोप र आत्म-निन्दा महसुस गर्छन्। जब तिनीहरू अझ बढी संवेदनशीलता र परिपक्वताको उमेरमा पुग्छन्, तब तिनीहरूले कुन शब्दहरू भन्नुपर्छ र कुन कामहरू गर्नुपर्छ, र कुन शब्दहरू भन्नु हुँदैन र कुन कामहरू गर्नु हुँदैन भनी झन्-झन् बढी जान्दछन्। तिनीहरूको विवेक र समझले तिनीहरूको व्यवहार र विचारहरूलाई निरन्तर नियमन गर्नेछन्। विशेष गरी यदि कुनै व्यक्तिले सत्यता स्वीकार गर्न सक्छ भने, उसले केही सत्यताहरू स्वीकार गरेपछि, उसको विवेक र समझ सकारात्मक दिशामा विकसित हुनेछ, र उसले पहिले भनेका गलत शब्दहरू, उसले पहिले व्यक्त गरेका भ्रामक दृष्टिकोणहरू, र उसले पहिले गरेका गलत कामहरू, बिस्तारै-बिस्तारै, उसको दिमागमा देखा परिरहनेछन्। उसले निरन्तर तिनलाई आत्म-चिन्तन गर्नेछ, सोच्नेछ, र मनन गर्नेछ, त्यसपछि परमेश्‍वरका वचनहरू खोज्नेछ र आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्नेछ, र उसले आफू एक साधारण व्यक्ति मात्रै हुँ, आफूले धेरै गल्तीहरू गरेको छु र धेरै गलत शब्दहरू बोलेको छु, आफूमा धेरै भ्रामक विचार र दृष्टिकोणहरू छन्, र आफूले विगतमा धेरै मूर्ख, अज्ञानी, र बेवकूफ कामहरू, र मानिसहरूले घृणित ठान्ने कामहरू गरेको छु भनी झन्-झन् बढी महसुस गर्नेछ। यसलाई परमेश्‍वरका वचनहरू र सत्यताको स्तरबाट नहेरीकन, र केवल एक व्यक्तिले धेरै वर्षको अनुभवबाट प्राप्त गरेको बुझाइको आधारमा हेर्दा पनि, उसले आफ्नो मानवतामा रहेका यी समस्याहरू, र यी गल्ती र अपराधहरूलाई निरन्तर समीक्षा गर्न सक्छ। यो सामान्य कुरा हो, र यी अनुभव र लाभहरू हुन् जुन मानवता भएको र सही के हो र गलत के हो भनी जान्ने व्यक्तिले अन्ततः एक निश्चित उमेरमा पुगेपछि र केही सत्यताहरू स्वीकार गरेपछि प्राप्त गर्नुपर्छ। तर सही के हो र गलत के हो भनी नजान्नेहरू, साठी वा सत्तरी वर्षको भए पनि, त्यस्तै मूर्ख, अज्ञानी, हठी मानिसहरू नै रहन्छन्, र तिनीहरू परिवर्तन हुनेछैनन्। यदि तैँले यस्ता मानिसहरू परिवर्तन हुने अपेक्षा गर्छस् भने, तैँले सुँगुर उडोस् भनी अपेक्षा गरेजस्तै हो। यो कुरा कहिल्यै हुनेछैन। यस्ता मानिसहरू कहिल्यै परिवर्तन हुनेछैनन्, किनभने तिनीहरूले सही के हो र गलत के हो भनेर समेत जान्दैनन्। यदि तैँले सही के हो र गलत के हो भनी नजान्ने व्यक्तिलाई सत्यता स्वीकार गर्न भनिस् भने, त्यो तिनीहरूका लागि परिस्थितिहरू कठिन बनाउनु हुनेछ, किनभने यो तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हो, र तिनीहरूलाई सत्यता के हो भन्‍ने थाहा हुँदैन। तिनीहरूका लागि सत्यता स्वीकार गर्न असम्भव हुन्छ। यो रङ नचिन्ने व्यक्तिलाई चित्र बनाउन लगाएजस्तै हुनेछ। के उसले सामान्य रङ भएको चित्र बनाउन सक्छ र? (सक्दैन।) यदि तैँले बेसुरा व्यक्तिलाई गाउन भनिस् भने, उसले सधैँ बेसुरमा गाउनेछ। उसले जतिसुकै गाए पनि, उसले सुरमा गाउन सक्दैन, तैपनि उसले अझै पनि आफ्नो गायन सुरमा छ र अरू नै बेसुरमा छन् भन्‍ने सोच्छ। उसको मापनको मानक सही छैन, त्यसैले उसले सही के हो र गलत के हो भनी कहिल्यै जान्नेछैन। अब बुझिस्? (बुझेँ।)

यो सङ्गति गरिएको विषयवस्तुले मानिसहरूलाई कुन तथ्य बताउँछ? यसले तिनीहरूलाई के बताउँछ भने, मानवताविहीन मानिसहरूमा विवेक र समझ, यो आधारभूत अवस्थाको कमी हुने भएकाले, तिनीहरूमा आफ्नो मानवतालाई मापन गर्ने र नियमन गर्ने आधारभूत मानक हुँदैन। फलस्वरूप, विवेक र समझ भएकाहरूलाई तिनीहरूका प्रकटीकरणहरू निकै अनौठो लाग्छ। तिनीहरूले सधैँ कुतर्क र विधर्महरू व्यक्त गरिरहेका हुन्छन्, र आधारहीन दृष्टिकोणहरू व्यक्त गरिरहेका हुन्छन्। के भइरहेको छ भन्‍ने कुरा तैँले बुझ्न सक्दैनस्। तैँले अब जवाफ भेट्टाएको छस्, होइन र? (हो।) यदि यस प्रकारको व्यक्ति यस्तो अवस्थामा पुग्छ जहाँ तिनीहरूसँग घुलमेल हुनु नै असम्भव हुन्छ, तब तैँले तिनीहरूसँग उप्रान्त सङ्गत गर्नु हुँदैन। यदि तिनीहरू अझै यस अवस्थामा पुगेका छैनन् र तँ अझै पनि तिनीहरूसँग कामचलाउ रूपमा घुलमेल हुन सक्छस् भने, दिक्क लाग्नबाट बच्न तिनीहरूसँग सकेसम्म थोरै बोल्ने र कुराकानी गर्ने प्रयास गर्। अहिले, कामको सबै क्षेत्रमा ठूलो कार्यभार छ, र ऊर्जा चाहिने धेरै कामहरू छन्। कतिपय मानिसहरूले आफू धेरै व्यस्त भएको र यी विधर्म र भ्रमहरूसँग अल्झने समय नभएको महसुस गर्छन्। यो दृष्टिकोण पनि गलत छ, किनभने यो खुट्ट्याउने क्षमता प्राप्त गर्नका लागि अनुकूल हुँदैन। जब तैँले कुनै विधर्म वा भ्रम सुन्छस् र तँलाई त्यसमा केही गडबड छ जस्तो लाग्छ, तब तैँले त्यसलाई टिपोट गर्नुपर्छ। त्यसपछि, सत्यता खोज् यसरी तैँले त्यसलाई स्पष्ट रूपमा खुट्ट्याउन सक्छस् र यो भ्रममा वास्तवमा के गलत छ भनी जान्न सक्छस्। यदि तैँले यसरी तालिम र अभ्यास गरिस् भने, तैँले खुट्ट्याउने क्षमता प्राप्त गर्नेछस्। तर यस प्रकारको व्यक्तिको हकमा, उसको दृष्टिकोण सच्याउन उसँग सत्यता सङ्गति गर्नु आवश्यक छैन, किनभने उसले त्यो बुझ्न नै सक्दैन। यो रूखबाट अण्डा खसेको देखेर अण्डा रूखमा फल्छ होला भन्ने व्यक्तिजस्तै हो। वास्तवमा, रूखमा एउटा कुखुरीले अण्डा पारिरहेको थियो। उसले कुखुरी देखेन, केवल अण्डा खसेको देख्यो, त्यसैले ऊ यो निष्कर्षमा पुग्यो। तैँले उसलाई जे भने पनि, उसले बुझ्दैन, र अण्डा रूखमा फल्छ भनेर जिद्दी गर्छ। के यो मूर्खता होइन र? (हो।) के तैँले यस्तो व्यक्तिलाई सम्झाउन सक्छस्? (सक्दिनँ।) यदि तैँले उसलाई सम्झाउन सक्दैनस् भने, उप्रान्त केही नभन्। आफ्नो सास खेर नफाल्। यी वर्षहरूमा, मैले धेरै बेतुकका मानिसहरू देखेको छु। यीमध्ये अधिकांश मानिसहरू निकै उत्साही हुन्छन्; तिनीहरूले केही कर्तव्य पूरा गर्न सक्छन्, र तिनीहरू गहन रूपमा छली वा दुष्ट हुँदैनन्। त्यसैले म तिनीहरूलाई यत्तिकै केही भन्छु, र परिणाम के हुन्छ? यदि मैले सत्यताका केही शब्दहरू भनेँ भने, त्यो तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन्छ। यदि मैले बाहिरी मामिलाहरूको बारेमा कुरा गरेँ भने, तिनीहरूले सुन्न सक्दैनन्। त्यसैले म उप्रान्त यी मानिसहरूलाई केही भन्न चाहन्नँ, किनभने तिनीहरूसँग कुरा गर्दा यो निकै थकाइलाग्दो हुन्छ, र मसँग गर्नुपर्ने धेरै काम छ, छलफल गर्नुपर्ने धेरै उचित विषयहरू छन्। मैले सबै उचित विषयहरू समेत पूरा गर्न सक्दिनँ, त्यसोभए मसँग यी मानिसहरूसँग अल्झने मन कसरी हुन सक्छ र? अब सत्यतामा यस हदसम्म सङ्गति गरिएको हुनाले, धेरै कुराहरू स्पष्ट भएका छन्, साँचो तथ्यहरू प्रकाशमा आएका छन्, र विभिन्न प्रकारका मानिसहरूलाई साँच्चै आफ्नो प्रकारअनुसार वर्गीकरण गरिनेछ। यस प्रकारको बेतुकको व्यक्तिको हकमा, यस्ताहरूलाई वर्गीकरण हुन दिए मात्रै पनि पुग्छ। हामीसँग तिनीहरूसँग तर्क गर्ने वा तिनीहरूको भ्रामक दृष्टिकोणहरू सच्याउने समय छैन, होइन र? (हो।) त्यसोभए आजका लागि हाम्रो सङ्गति यहीँ अन्त्य गरौँ। बिदा!

मार्च १६, २०२४

फूटनोटहरू:

क. मूल चिनियाँ पाठमा, “झेङ” नामले नैतिक धार्मिकताको भावार्थ बोकेको छ।

अघिल्लो:  सत्यता कसरी पछ्याउने (१६)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger