सत्यता कसरी पछ्याउने (४)
पछिल्लो भेलामा, हामीले “सत्यता कसरी पछ्याउने” भन्ने विषयका बारेमा सङ्गतिलाई जारी राखेका थियौँ। उक्त सङ्गतिको मुख्य विषयवस्तु के थियो? हामीले मानिसहरूको अन्तर्निहित अवस्था र तिनीहरूको भ्रष्ट स्वभावका बीचमा रहेका भिन्नताहरूका बारेमा सङ्गति गर्यौँ, र हामीले यी दुई पक्षहरूका बारेमा पनि विशिष्ट रूपमा सङ्गति गर्यौँ। सङ्गतिमार्फत, के तिमीहरूलाई परमेश्वरले गर्न चाहनुभएको कामका बारेमा र मानिसहरूलाई मुक्ति दिँदा परिवर्तन गर्न चाहनुभएको मानिसका पक्षहरूका बारेमा निश्चित बुझाइ प्राप्त भएको छ? (छ। परमेश्वरको पछिल्लो सङ्गतिमार्फत, मैले के बुझेँ भने परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्न चाहनुहुने कुरा भनेको मानिसहरूको भ्रष्ट स्वभाव हो।) मानिसहरूलाई मुक्ति दिँदा, परमेश्वर तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावबाट मुक्त गर्ने अभिप्राय राख्नुहुन्छ; उहाँ तिनीहरूको अन्तर्निहित अवस्थाहरू परिवर्तन गर्ने अभिप्राय राख्नुहुन्न, होइन र? (हो।) परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई सत्यता आपूर्ति गर्नुहुन्छ, साथै कामका विभिन्न विधिहरू प्रयोग गर्नुहुन्छ—यी सबै मानिसहरूको भ्रष्ट स्वभावलाई लक्षित गरिएको हुन्छ। आफ्नो काममार्फत, परमेश्वरले मानिसहरूलाई अस्तित्वका लागि तिनीहरू भर पर्ने स्वभावहरूलाई त्याग्न सहयोग गर्नुहुन्छ, जुन कुरालाई शैतानले भ्रष्ट तुल्याएको हुन्छ। यसरी, परमेश्वरका वचनहरू र सत्यता मानिसहरूमा लागू हुन्छन्, र ती तिनीहरूको जीवन बन्छन्। परमेश्वरको कामले हासिल गर्ने उद्देश्य राख्ने अन्तिम परिणाम यही हो। यस पक्षको सङ्गतिबाट तिमीहरूले के बुझ्यौ? कुन विषयवस्तुले तिमीहरूमा सबैभन्दा गहन प्रभाव पार्यो? यसबारे एकछिन सोच। (परमेश्वरको पछिल्लो सङ्गतिले मलाई मेरो भ्रमपूर्ण दृष्टिकोणलाई सुधार्न मद्दत गर्यो। विगतमा, म परमेश्वरले मानिसहरूको अन्तर्निहित क्षमता, सक्षमता र व्यक्तित्वलाई परिवर्तन गर्नुहुन्छ भन्ने सोच्थेँ, तर परमेश्वरको सङ्गतिमार्फत, मैले परमेश्वरले अलौकिक काम गर्नुहुन्न रहेछ भन्ने बुझेँ। परमेश्वरको काम भनेको मानिसहरूको भ्रष्ट स्वभाव र तिनीहरूका विभिन्न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूलाई परिवर्तन गर्नु हो, जुन शैतानका कुराहरू हुन्। परमेश्वरका वचनहरूको अभ्यास गरेर, मानिसहरूको सामान्य मानवता पुनर्स्थापित हुन्छ, र तिनीहरूको विवेक र समझ झन्-झन् सामान्य बन्दै जान्छ। यसको साथै, मैले सत्यता पछ्याउनुको महत्त्व पनि बुझेँ। सत्यता पछ्याएर र सत्यताको अभ्यास गरेर मात्रै हाम्रो भ्रष्ट स्वभावलाई समाधान गर्न सकिन्छ; जब परमेश्वरका वचनहरू हाम्रो जीवन बन्छन्, तब हामीले परमेश्वरबाट मुक्ति प्राप्त गर्छौँ। परमेश्वरको सङ्गतिका यी दुई पक्षहरूले मलाई तुलनात्मक रूपमा गहिरोप्रभाव पारेका छन्।) पछिल्लो सङ्गतिको विषयवस्तु दर्शनहरूसम्बन्धी सत्यतासँग सम्बन्धित थियो; यसमा परमेश्वरको कामका केही विशिष्ट पक्षहरू, परमेश्वरको कामका उद्देश्यहरू, र यसले हासिल गर्न चाहने परिणामहरू समावेश थिए। सङ्गति गरिएको विषयवस्तुको आधारमा हेर्दा, केही विशिष्ट प्रश्नहरू उठे। यी प्रश्नहरूमा दैनिक जीवनका कुन-कुन प्रकटीकरणहरूलाई व्यक्तिको अन्तर्निहित अवस्थाको रूपमा लिइन्छ, कुन-कुन प्रकटीकरणहरूले व्यक्तिको चरित्र वा उसको मानवता सारलाई प्रतिविम्बित गर्छन्—अर्थात्, हामीले प्रायजसो व्यक्तिको मानवता असल छ कि खराब छ भन्ने कुराका केही प्रकटीकरणहरू भनेर उल्लेख गर्ने कुराहरू—र कुन-कुन प्रकटीकरणहरू भ्रष्ट स्वभावका प्रकटीकरण हुन् भन्ने कुराहरू समावेश हुन्छन्। यी विशिष्ट प्रश्नहरू हुन्, होइनन् र? हामीले यस विषयमा यसभन्दा पहिले सङ्गति गर्दा केही उदाहरणहरू प्रदान गरे पनि, ती त्यति लक्षित वा तोकिएर नै भनिएका थिएनन्। आज, हामी मानिसहरूले प्रकट गर्ने अन्तर्निहित अवस्थाहरू, तिनीहरूको चरित्रसँग सम्बन्धित प्रकटीकरणहरू, र भ्रष्ट स्वभावको वर्गमा पर्ने प्रकटीकरणहरूका बीचमा भिन्नता छुट्याउनका लागि यस विषयमा विशिष्ट रूपमा सङ्गति गर्नेछौँ, र यी तीन वटा पक्षहरूका विशिष्ट प्रकटीकरणहरूलाई छुट्याउनेछौँ। यसरी, मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने असङ्ख्य समस्याहरूलाई परमेश्वरका वचनहरू र सत्यताको आधारमा यी तीन पक्षहरूसँग कसरी जोड्नुपर्छ भन्ने कुरा अझै स्पष्ट हुनेछ। यसमा मानिसहरूका कुन-कुन प्रकटीकरणहरू सामान्य मानवताको अन्तर्निहित पक्षहरू हुन् जसलाई निराकरण वा नियन्त्रण गर्नु पर्दैन; कुन-कुन पक्षहरू मानिसहरूको मानवतामा रहेका समस्याहरूका प्रकटीकरण हुन्, र तिनीहरूले सत्यताको खोजी गरेर यी कुराहरूलाई कसरी परिवर्तन र सुधार गर्नुपर्छ, वा तिनलाई कसरी समाधान गर्नुपर्छ; र कुन-कुन प्रकटीकरणहरू भ्रष्ट स्वभावका वर्गमा पर्छन्, र मानिसहरूले यी स्वभावहरूको सारलाई कसरी बुझ्नुपर्छ र सत्यतालाई स्वीकार र अभ्यास गरेर तिनलाई कसरी समाधान गर्नुपर्छ र त्याग्नुपर्छ भन्ने कुरा समावेश हुन्छ। यी सबैका विशिष्ट प्रकटीकरणहरू हुन्छन्, र अवश्य नै, अभ्यासका निश्चित मार्गहरू समावेश हुन्छन्। मानिसहरूका फरक-फरक प्रकटीकरणअनुसार, हामी अभ्यासका सिद्धान्त र मार्गहरूका बारेमा सङ्गति गर्नेछौँ ताकि मानिसहरूले यी समस्याहरूको सामना कसरी गर्ने र तिनलाई कसरी समाधान गर्ने भन्ने कुरा बुझ्न सकून्, र मानिसहरूमा विभिन्न समस्याहरूका बारेमा अझै ठोस मनोवृत्ति र अभ्यासका मार्गहरू हुन सकून्। के यसरी सङ्गति गर्नु राम्रो हो जस्तो सुनिन्छ? (सुनिन्छ।)
हामीले यसभन्दा पहिले अन्तर्निहित अवस्था, मानवता, र भ्रष्ट स्वभावका तीन वटा समस्याहरूका बारेमा दुई पटक सङ्गति गरेका छौँ। हामीले मानिसहरूका प्रकटीकरण र प्रकाशहरू यी तीन वटामध्ये कुन-कुन समस्याहरूमा पर्छन् भनेर निसानाबद्ध रूपमा तोकेर व्याख्या नगरे पनि, हामीले हरेक समस्याका बारेमा सङ्गति गर्दा केही उदाहरणहरू प्रदान गर्यौँ। अघिल्ला सङ्गतिहरूमा, यी तीन वटा समस्याहरूको कुरा उठाउँदा, हामीले यी समस्याहरूको सार वा संलग्न अभ्यासका मार्ग र सिद्धान्तहरूका बारेमा पनि सङ्गति गरेका थियौँ। अब, मैले भर्खरै उल्लेख गरेका तीन वटा समस्याहरूका सम्बन्धमा, म सबैले सुरुमा अन्तर्निहित अवस्थाहरूले के जनाउँछन् भन्नेबारे छलफल गरून् भन्ने चाहन्छु। तिमीहरू सबैले सुरुमा आधारभूत अवधारणा प्राप्त गर्न यसबारे मोटामोटी रूपमा सङ्गति गर्न सक्छौ। (परमेश्वर, के अन्तर्निहित अवस्थाहरूले व्यक्तिको क्षमता, सक्षमता, अन्तर्निहित व्यक्तित्व, र नैसर्गिक प्रवृत्तिलाई जनाउँछन्?) हामीले यस विषयवस्तुका बारेमा पहिले सङ्गति गरिसकेका छौँ, त्यसकारण तिमीहरू सबै यससँग परिचित हुनुपर्छ। अरू पनि छन्? के सामर्थ्य र रूपलाई अन्तर्निहित अवस्था मानिन्छन्? (मानिन्छन्।) व्यक्तिको पारिवारिक पृष्ठभूमिलाई नि? (हो, यसलाई पनि मानिन्छ।) अनि यसमा जीवनशैलीका दिनचर्या र बानीबेहोराहरू पनि पर्छन्, होइन र? अरू केही छ? (रुचि र सोखहरू पनि पर्छन्।) रुचि र सोख अनि सामर्थ्यहरूका बीचमा थोरै भिन्नता हुन्छ। रुचि र सोखहरू थप्दा यसले थप विशिष्टता प्रस्तुत गर्छ। हामी तिनलाई क्रमबद्ध रूपमा सूचीकृत गरौँ: पहिलो पारिवारिक पृष्ठभूमि हो। दोस्रो रूप हो। तेस्रो व्यक्तित्व हो। चौथो नैसर्गिक प्रवृत्ति हो। पाँचौँ क्षमता हो। छैटौँ सामर्थ्य हो। सातौँ रुचि र सोखहरू हो। आठौँ सक्षमताहरू हो। अनि त्यसपछि जीवनशैलीका बानीबेहोरा र जीवनशैलीका दिनचर्याहरू। यी अन्तिम दुई वटा समान छन् तर तिनका केही विशिष्ट भिन्नताहरू छन्। यिनलाई जोड्दा जम्मा दश वटा हुन्छन्। पढेर सुनाओ। (एक: पारिवारिक पृष्ठभूमि। दुई: रूप। तीन: व्यक्तित्व। चार: नैसर्गिक प्रवृत्ति। पाँच: क्षमता। छ: सामर्थ्य। सात: रुचि र सोखहरू। आठ: सक्षमताहरू। नौ: जीवनशैलीका बानीबेहोराहरू। दश: जीवनशैलीका दिनचर्याहरू।) यी सबै मानिसहरूका अन्तर्निहित अवस्था हुन्। के हामीले अन्तर्निहित अवस्थाहरूका बारेमा पनि निश्चित रूपमा सङ्गति गर्नु पर्दैन र? सङ्गति नगरी, के तिमीहरू आफैले उचित रूपमा भिन्नता छुट्याउन सक्छौ? (सक्दैनौँ।) तिमीहरूले कुन-कुन अवस्थामा भिन्नता छुट्याउन सक्दैनौ? (कहिलेकहीँ जब हामीले कसैमा निश्चित प्रकटीकरणहरू देख्छौँ, तब हामी ती त्यो व्यक्तिको व्यक्तित्व वा नैसर्गित प्रवृत्तिको प्रतिविम्ब हुन् कि भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन् भनेर भन्न सक्दैनौँ।) (अनि, जीवनशैलीका बानीबेहोरा र जीवनशैलीका दिनचर्याहरू—मैले यी कुराहरू त व्यक्तिले पाएका जियाइ अवस्था र पृष्ठभूमिका आधारमा निर्माण भएका हुन्छन् भन्ने सोच्थेँ; ती अन्तर्निहित अवस्थाहरू हुन सक्छन् भन्ने मलाई थाहा थिएन।) हेर् त, जब हामी एउटा मुख्य विषयवस्तुभित्रका केही विस्तृत र निश्चित विषयवस्तुहरूलाई विभाजन गरेर हेर्छौँ, तब झट्ट हेर्दा, तँलाई यी विशिष्ट कुराहरू थाहा छ जस्तो देखिन्छ, तर वास्तविक जीवनमा, तँ ती कुरामा अलि झुक्किन्छस्; तिनलाई कसरी छुट्याउने भन्ने बारेमा तँ अझै खासै स्पष्ट छैनस्, होइन र? (हो।) हामीले अझै पनि यस विषयमा केही विशिष्ट सङ्गति गर्नुपर्छ।
हामीले भर्खरै उल्लेख गरेका तीन वटा पक्षहरू—अन्तर्निहित अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू—का सम्बन्धमा हामी अन्तर्निहित अवस्थाहरूका केही विशिष्ट विषयवस्तुहरूलाई सूचीकृत गरौँ र तिनलाई एक-एक गरेर विस्तृत रूपमा सङ्गति गरौँ। हामी मानवता र भ्रष्ट स्वभावहरूलाई सूचीकृत गर्नेछैनौँ। अन्तर्निहित अवस्थाहरूका विशिष्ट विषयवस्तु र प्रकटीकरणहरूका बारेमा सङ्गति गर्ने क्रममा, हामी मानवताका केही प्रकटीकरणहरू र भ्रष्ट स्वभावका प्रकाशहरूका बारेमा पनि कुरा गर्नेछौँ। जब हामी यिनका बारेमा सङ्गति गर्छौँ, तब तिमीहरूले ती परिवर्तन गर्नु नपर्ने अन्तर्निहित अवस्थाहरूमा पर्छन्, कि सत्यताको खोजीमार्फत समाधान गर्नुपर्ने मानिसहरूको चरित्र वा भ्रष्ट स्वभावमा पर्छन् भनेर छुट्याउन र फरक पत्ता लगाउन सक्नेछौ। विशिष्ट उदाहरण र समस्याहरू प्रयोग गरेर विशिष्ट सङ्गतिमा संलग्न भएपछि, भिन्नताहरू अझै स्पष्ट हुनेछन्, होइन र? (हो।) उदाहरणका लागि, कतिपय मानिसहरू गरिब परिवारबाट आएका हुन्छन् र तिनीहरू आर्थिक रूपमा कमजोर हुन्छन्। तिनीहरू कुण्ठित परिस्थितिमा जिउँछन्; तिनीहरूसँग सधैँ अत्यन्तै कम पैसा हुन्छ र तिनीहरूले हरेक खर्चको हिसाबकिताब र योजना गर्नुपर्छ। पैसा खर्च गर्ने मामलामा तिनीहरू एक-एक पैसाले पुर्याउनु भन्ने शैली अपनाउँछन्। तिनीहरू त्यस्ता परिवारमा र त्यस्ता परिस्थितिहरूमा जन्मेका हुन्छन्। हामीले सङ्गति गरेका तीन वटा पक्षहरूमध्ये यो कुन पक्षअन्तर्गत पर्छ? यो अन्तर्निहित अवस्था हो कि, मानवता हो कि भ्रष्ट स्वभाव हो? यो तिनीहरूको पारिवारिक पृष्ठभूमिको एउटा पक्ष हो, जुन अन्तर्निहित अवस्था हो, होइन र? (हो।) यो पारिवारिक पृष्ठभूमि असल हो कि खराब हो? (मानवको दृष्टिकोणबाट हेर्दा, यो खराब हो।) तिनीहरूलाई हातमुख जोड्न धौ-धौ हुन्छ, तिनीहरूको परिवार दरिद्र हुन्छ, तिनीहरूको आर्थिक अवस्था सम्पन्न वा समृद्ध हुँदैन—यी कुराहरू तिनीहरूको पारिवारिक पृष्ठभूमिसँग सम्बन्धित समस्या हुन्। यस्तो व्यक्ति गरिब परिवारमा जन्मेको, उसले कहिल्यै पनि चौरासी व्यञ्जन नखाएको, ब्रान्डको लुगा कहिल्यै नलगाएको, विभिन्न विलासिता कहिल्यै अनुभव नगरेको, र ऊ कहिल्यै पनि कुनै उच्च स्तरीय वा कुनै पनि धनी व्यक्ति वा प्रसिद्ध व्यक्तिको सम्पर्कमा नआएको भए पनि, ऊसँग विवेक र समझ हुन्छ। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले कहिल्यै पनि फाइदा लिँदैनन्। जब तिनीहरूले कसैले असल कुराहरू उपभोग गरिरहेको देख्छन् वा कुनै धनी व्यक्तिलाई देख्छन्, तब तिनीहरूलाई डाहा हुने भए पनि, तिनीहरूले अरूको सम्पत्ति चोर्छु वा हत्याउँछु भनेर कहिल्यै सोच्दैनन्। यस्तो व्यक्तिको प्रकटीकरण कुन पक्षसँग सम्बन्धित हुन्छ? (तिनीहरूको चरित्रसँग, तिनीहरूको मानवतासँग।) यो तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ। यस पक्षमा तिनीहरूको मानवताको प्रकटीकरण असल हुन्छ कि खराब हुन्छ? (तिनीहरूको मानवता असल र सीधा हुन्छ।) यसलाई अझै पनि सीधा ठहराउन सकिँदैन; यसको अर्थ तिनीहरूले स-साना लाभहरूमा फाइदा लिँदैनन् र धनीलाई चापलुसी गर्दैनन् भन्ने मात्रै हुन्छ। तिनीहरूले त्यस्ता मामलाहरूलाई सही रूपमा लिन सक्छन्। यस्तो व्यक्तिको मानवता कस्तो हुन्छ? (तिनीहरूको मानवता तुलनात्मक रूपमा राम्रो हुन्छ।) यो वस्तुगत अभिव्यक्ति हो; तिनीहरूको मानवता तुलनात्मक रूपमा राम्रो हुन्छ, जसको अर्थ तिनीहरूको चरित्रको हिसाबमा, तिनीहरूमा तुलनात्मक रूपमा अलिक निष्ठा र इज्जत हुन्छ। तिनीहरूको पारिवारिक पृष्ठभूमि कमजोर भए पनि र कुलीन नभए पनि, तिनीहरू गरिबलाई घृणा गर्ने र धनीलाई रुचाउने गर्दैनन्, न त तिनीहरूले अरूबाट फाइदा नै लिन्छन्। अर्को प्रकारको व्यक्ति हुन्छ: तिनीहरू धनी परिवारमा जन्मेका हुन्छन्, वा गैरविश्वासीहरूले भने जस्तै, “मुखमा चाँदीको चम्चा लिएर जन्मेका हुन्छन्।” तिनीहरूले कहिल्यै पनि खानेकुरा वा लुगाफाटोको चिन्ता गर्नु परेको हुँदैन, र सबै कुरा तिनीहरूका लागि सजिलै उपलब्ध हुन्छ; तिनीहरूले जे खान चाहे पनि उपलब्ध हुन्छ। तिनीहरूको पारिवारिक अवस्था विशेष रूपमा राम्रो हुन्छ, र तिनीहरूका आमाबुबाले तिनीहरूलाई निकै राम्रो व्यवहार गर्छन्। यो कुन पक्षसँग सम्बन्धित छ? (यो पनि तिनीहरूको पारिवारिक पृष्ठभूमिसँग नै सम्बन्धित छ।) व्यक्तिको पारिवारिक पृष्ठभूमि एउटा अन्तर्निहित अवस्था हो। यस्तो व्यक्तिको पारिवारिक पृष्ठभूमि निकै राम्रो भएको, आर्थिक अवस्था राम्रो भएको र उसलाई खान-लाउनको चिन्ता नहुने, र उसले राम्रा कुराहरू देखेको र संसारमा पाइने कुराहरू अनुभव गरेको हुने भए पनि, अरूसँग अन्तरक्रिया गर्दा, यदि उसले आफूभन्दा असल र सक्षम, वा कुनै क्षेत्रमा उल्लेखनीय रूपमा उत्कृष्ट व्यक्ति, वा मानिसहरूमाझ प्रतिष्ठा भएको व्यक्तिलाई देख्यो भने, उसलाई डाहा लाग्छ र उसले दिमाग खियाएर त्यस व्यक्तिलाई हेला गर्ने उपायहरू खोज्छ। यी प्रकटीकरणहरू कुन पक्षसँग सम्बन्धित छन्? (मलाई लाग्छ ती भ्रष्ट स्वभाव र मानवता दुवैसँग सम्बन्धित छन्।) ठीक भनिस्। यी प्रकटीकरणहरू तिनीहरूको मानवता र तिनीहरूको भ्रष्ट स्वभाव दुवैसँग सम्बन्धित छन्। जब यस्तो व्यक्तिले आफूभन्दा राम्रो व्यक्तिलाई देख्छ, तब उसलाई डाहा र घृणा लाग्छ, र ऊ उसलाई दमन गर्न, सताउन, र बहिष्कार गर्न चाहन्छ; ऊ त्यस व्यक्तिलाई उछिन्न चाहन्छ। यदि उसले यी विचारहरू मात्रै बोक्छ तर तिनलाई लागू गर्दैन भने, ऊ खराब मानवता भएको व्यक्ति हो—के उसको मानवता दुष्ट हुन्छ? (हुन्छ।) यदि, यो दुष्ट मानवताका आधारमा, उसले आफूभन्दा असल व्यक्तिलाई देख्दा अवज्ञा महसुस गर्छ, पिठ्युँ पछाडि उसको आलोचना गर्छ, र उसलाई दबाउनका लागि गोप्य कदमहरू चाल्छ भने, यी भ्रष्ट स्वभावका विशिष्ट प्रकटीकरणहरू हुन्। यो भ्रष्ट स्वभावको सार के हो? यो आक्रमकता हो। यी प्रकटीकरणहरू मानवता र भ्रष्ट स्वभाव दुवैसँग सम्बन्धित हुन्छन्। यस्तो व्यक्तिको पारिवारिक अवस्था राम्रो भए पनि र उसले राम्ररी खान-लाउन पाए पनि, साथै तैँले ऊसँग अन्तर्ज्ञान र अरूप्रति सहनशीलता हुन्छ भन्ने अपेक्षा गरे पनि, मानिसहरूसँग अन्तरक्रिया गर्दा, ऊ सधैँ तिनीहरूबाट फाइदा लिन चाहन्छ र सधैँ अत्यन्तै षड्यन्त्रकारी हुन्छ। अरूसँग कुनै ठाउँमा जाँदा, ऊ कसले बढी पैसा खर्च गर्यो र यात्राको खर्च कसले गर्यो भनेर नाटीकुटी गर्छ, र थप एक पैसा पनि खर्च गर्न चाहँदैन। अरूसँग काम गर्दा, ऊ सधैँ काम कसले बढी गर्यो र कसले कम गर्यो भनेर हिसाबकिताब गर्छ, र ऊ सधैँ सुस्ताउने उपायहरू सोचिरहेको हुन्छ। यो कुन पक्षसँग सम्बन्धित छ? (यो उसको मानवतासँग सम्बन्धित छ।) मानवताको कुन पक्षसँग? (स्वार्थीपन र नीचता।) स्वार्थीपन र नीचता, अरूबाट फाइदा लिन मन पराउनु, निष्ठा र इज्जत नहुनु—यो उसको चरित्रसँग सम्बन्धित कुरा हो। मानिसहरूसँग अन्तरक्रिया गर्दा, ऊ षड्यन्त्र रच्छ र अरूबाट फाइदा लिन मन पराउँछ, चाहे प्राप्त हुने फाइदा एक पैसा मात्रै किन नहोस्, र ऊ सधैँ फाइदा प्राप्त गर्ने हरेक अवसरको खोजीमा हुन्छ। चाहे त्यो सार्वजनिक स्रोतबाट होस् वा निजी स्रोतबाट होस्, अथवा जवानबाट होस् वा वृद्धबाट होस्, उसले सबैबाट फाइदा लिन्छ। चाहे त्यो जोसुकै भए पनि, ऊ पछि हट्दैन, र अवसर आउनेबित्तिकै उसले फाइदा लिइहाल्छ। ऊ अरूसँग अन्तरक्रिया गर्दा अति कडिकडाउ र षड्यन्त्र गर्छ। उदाहरणका लागि, पछिल्लो पटक तैँले उसलाई एउटा निगाह मागेको थिइस्, र अहिले उसलाई तँ ऊप्रति ऋणी छस् भन्ने लाग्छ। उसले तँलाई यो निगाह फिर्ता गराउनका लागि सक्दो प्रयास गर्नेछ, र यो उसले तँलाई दिएको भन्दा पनि ठूलो निगाह हुनुपर्छ; त्यसपछि मात्रै उसलाई यो उचित कारोबार हो भन्ने लाग्छ। के यो अत्यन्तै षड्यन्त्रकारी हुनु होइन र? (हो।) यो अत्यन्तै षड्यन्त्रकारी हुनु हो, अरूलाई विशेष रूपमा कडिकडाउ गर्नु हो, र अत्यन्तै षड्यन्त्रकारी हुनु हो। उसलाई खान-लाउनमा कुनै कमी नभए पनि, र अरूका तुलनामा सबै पक्षमा उसको जीवन राम्रो भए पनि, जब उसले कसैसँग आफूले पहिले नदेखेको कुनै चीज देख्छ, तब ऊ यसलाई अलिकति प्रयोग गरेर हेर्न चाहन्छ। उसलाई अरूसँग जे छ त्यो हुनैपर्छ भन्ने लाग्छ। यदि ऊसँग त्यो कुरा भएन भने, उसलाई हृदयमा असहज र असन्तुलित महसुस हुन्छ, यहाँसम्म कि उसको भोक-निद्रा नै हराउँछ; आफूसँग यो कुरा भएपछि मात्रै उसलाई सन्तुष्टि मिल्छ। यो कस्तो समस्या हो? (यो अझै पनि मानवताकै समस्या हो।) यी विशिष्ट प्रकटीकरणहरू उसको मानवताका समस्याहरू हुन्, उसका अन्तर्निहित अवस्थाहरू होइनन्। अन्तर्निहित अवस्थाहरूले उसको पारिवारिक पृष्ठभूमि र उसले आनन्द लिन सक्ने पारिवारिक परिस्थितिहरूलाई मात्रै जनाउँछन्, जबकि आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने उसको तरिका उसको मानवतासँग सम्बन्धित हुन्छ। उसका प्रकाश र प्रकटीकरणहरू, जस्तै उसले आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने तरिकाप्रतिको उसको मनोवृत्ति, विधि, र उत्प्रेरणाहरू उसको चरित्रको समस्यासँग सम्बन्धित हुन्छ; यो अझै पनि भ्रष्ट स्वभावको स्तरमा पुगेको हुँदैन। ऊ स्वार्थी, कडिकडाउ गर्ने, अत्यन्तै हिसाब-किताब गर्ने, षड्यन्त्रकारी, र अरूबाट फाइदा लिन मन पराउने हुन्छ—के यी असल मानवताका प्रकटीकरण हुन् कि खराब मानवताका? (यी खराब मानवताका प्रकटीकरणहरू हुन्।) यी सबै नीच चरित्र र खराब मानवताका प्रकटीकरण हुन्। के खराब मानवताका यी प्रकटीकरणहरूलाई अरूले देख्न र महसुस गर्न सक्छन्? (सक्छन्।)
कतिपय मानिसहरूको अनुहारको बनावट निकै राम्रो हुन्छ र तिनीहरू जीवन्त र आकर्षक देखिने ठूला, चहकिला, र बुद्धिमानी देखिने आँखा लिएर जन्मेका हुन्छन्। बाल्यकालदेखि नै तिनीहरू निकै प्रिय हुन्छन्। यो कुन पक्षअन्तर्गत पर्छ? (यो तिनीहरूको रूपसँग सम्बन्धित हुन्छ।) रूप अन्तर्निहित अवस्थाहरूमा पर्छ, होइन र? (हो।) ठूला आँखा हुनु र अनुहारको बनावट राम्रो हुनु, अन्तर्निहित रूपमा नै सुन्दर रूपको फाइदा हुनु—के यो भ्रष्ट स्वभावको पक्ष हो? (होइन।) के यो मानवताका समस्याहरूसँग सम्बन्धित कुरा हो? (अहँ, होइन।) यो मानवता वा भ्रष्ट स्वभावसँग सम्बन्धित कुरा होइन, त्यसकारण केही पनि परिवर्तन हुनु पर्दैन। अन्तर्निहित अवस्थाहरू जन्मजात हुन्छन्; तिनीहरू यस्तो रूप लिएर नै जन्मेका हुन्छन्, र तिनीहरूले कुनै कृत्रिम सुधार वा परिवर्तन गरेका हुँदैनन्। तिनीहरू यस्तै हुन्। तिनीहरू प्राकृतिक रूपमा सुन्दर भए पनि, दैनिक जीवनका जटिल समस्याहरूलाई सम्हाल्दा तिनीहरू सधैँ अलमल्ल हुन्छन् र तिनलाई सम्हाल्न जान्दैनन्। तिनीहरूमा मानिस, घटना, र कामकुराहरूका बारेमा समझशक्तिको पनि कमी हुन्छ। तिनीहरूले कोसँग सङ्गत गर्दा हुन्छ र तिनीहरू कोबाट टाढा बस्नुपर्छ भन्ने बारेमा तिनीहरू अस्पष्ट हुन्छन्। तिनीहरूलाई दुष्ट को हो र कोसँग सङ्गत गर्दा समस्या आउन सक्छ भन्ने थाहा हुँदैन। बीस-बाइस् वर्षको उमेरमा तिनीहरूलाई यी कुराहरू थाहा हुँदैन, र तीस-चालीस वर्षको उमेरमा, केही जीवन अनुभव पाए पनि, तिनीहरूलाई अझै पनि यो कुरा थाहा हुँदैन। तिनीहरूको आँखा ठूला र आकर्षक भए पनि, तिनीहरूको मन निकै अलमल्ल हुन्छ। यो कस्तो समस्या हो? (के यो तिनीहरूको अन्तर्निहित क्षमताको समस्या हो?) तिनीहरूको अन्तर्निहित क्षमता त्यति राम्रो हुँदैन। तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा र परिस्थितिहरूलाई सम्हाल्दा कहिल्यै पनि सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, र तिनीहरूले विभिन्न प्रकारका मानिसहरूको वास्तविकता छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरूलाई अरूले प्रायः धोका दिन्छन्, ठग्छन्, र खेलौना बनाउँछन्। यस्तो व्यक्तिको क्षमता कस्तो हुन्छ? (तिनीहरूको क्षमता तुलनात्मक रूपमा कमजोर हुन्छ।) तिनीहरूको क्षमता राम्रो हुँदैन। आकर्षक आँखा हुँदैमा बुद्धिमानी दिमाग हुन्छ भन्ने हुँदैन। अन्तर्निहित अवस्थाको हिसाबले तिनीहरूको रूप राम्रो भए पनि, तिनीहरूको क्षमता त्यति राम्रो हुँदैन। तर एउटा कुरा के हो भने: स्कुले जीवनमा, तिनीहरू पाठ्यपुस्तकको ज्ञान प्राप्त गर्नमा उत्कृष्ट हुन्छन्; तिनीहरूले साहित्य चाँडै याद गर्न सक्छन् र गणित, भौतिक विज्ञान, र रसायन विज्ञान, वा कुनै नयाँ भाषा सिक्दा, तिनीहरूले उक्त विषय चाँडै बुझ्छन्। तिनीहरूले सहजै विश्वविद्यालयमा प्रवेश गरेका, स्नातकोत्तर पूरा गरेका, र विद्यावारिधि हासिल गरेका हुन्छन्। यो के अन्तर्गत पर्छ? के यो तिनीहरूको राम्रो क्षमतामा पर्न सक्छ? (सक्दैन।) त्यसोभए, यो के अन्तर्गत पर्छ? (यो तिनीहरूको सबल पक्षअन्तर्गत पर्छ, जुन तिनीहरूको अन्तर्निहित अवस्था हो।) ठ्याक्कै मिलाइस्। यस्तो व्यक्ति अध्ययन गर्नमा, ज्ञान प्राप्त गर्नमा, र शैक्षिक विषयहरूमा उत्कृष्ट हुन्छ। तिनीहरूले पाठ्यपुस्तकका ज्ञान र सैद्धान्तिक र प्रावधानहरूमा आधारित कुराहरू, जस्तै पेसागत सीप र प्रविधि वा गणित, भौतिक विज्ञान, र रसायनशास्त्रका सूत्र र नियमहरूसँग सम्बन्धित पक्षहरू चाँडै बुझ्छन्, र तिनलाई राम्ररी याद गर्छन्। यस्तो व्यक्ति यी कुराहरू सिक्न सिपालु हुन्छ र ऊसँग ती कुराहरूको निश्चित सीप हुन्छ। तिनीहरूले ती कुराहरू एक झलकमै बुझ्न सक्छन्, साथै तिनीहरू परीक्षामा र प्रश्नहरूको उत्तर दिनमा विशेष रूपमा उत्कृष्ट हुन्छन्; प्रश्नहरूको उत्तर दिनुपर्दा तिनीहरूले त्यो काम सजिलै गर्छन्—तिनीहरूले आफ्ना बलिया पक्षहरूलाई सबैभन्दा राम्ररी प्रयोग गर्न सक्ने ठाउँ यही हो। यस्तो व्यक्ति ज्ञानको सागरमा सहजताका साथ पौडन सक्छ भनेर भन्न सकिन्छ। के यी प्रकटीकरणहरूले तिनीहरूको क्षमतालाई प्रतिनिधित्व गर्छन्? (गर्दैनन्।) तिनले तिनीहरूसँग निश्चित सामर्थ्य छ भन्ने कुरालाई मात्रै प्रतिनिधित्व गर्छन्। यस्तो व्यक्तिले ज्ञानको क्षेत्रमा विशेष रूपमा उत्कृष्ट प्रस्तुति देखाउँछ, जसले गर्दा मानिसहरूले यस क्षेत्रमा उसको सामर्थ्य उल्लेखनीय छ भन्ने कुरा देख्न सक्छन्। तिनीहरूमा यो सामर्थ्य भएकोले, र तिनीहरूले निश्चित उपलब्धिहरू हासिल गरेका हुनाले—स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेका हुनाले, साथै उच्च स्तरको शिक्षा प्राप्त गरेका हुनाले—अरू मानिसहरूमाझ, तिनीहरूले आफूलाई ज्ञानवान्, विद्वान, र उच्च स्तरका बुद्धिजीवीका रूपमा हेर्छन्। तिनीहरूले जति धेरै पुस्तकहरू पढ्छन्, त्यति नै धेरै तिनीहरू आफू प्रसिद्ध व्यक्ति, श्रेष्ठ व्यक्ति भएको, र अरू सबै जना साधारण, ज्ञानविनाका, आफ्नो मन बुझ्न वा यसलाई छर्लङ्गै देख्न नसक्ने, र तिनीहरूसँग स्तर नमिल्ने मानिसहरू भएको ठान्छन्। फलस्वरूप, तिनीहरू प्रायः आफू अरूभन्दा श्रेष्ठ छु भन्ने महसुस गर्छन् र आफूलाई उत्कृष्ट र असाधारण ठान्छन्। यो कस्तो प्रकटीकरण हो? (भ्रष्ट स्वभाव।) भ्रष्ट स्वभावको कुन पक्ष हो? (अहङ्कार।) तिनीहरूको अहङ्कारी भ्रष्ट स्वभावले गर्दा तिनीहरूले उच्च स्तरको शिक्षा प्राप्त गरेपछि आमजनता र सबै किसिमका मानिसहरूलाई अझै बढी हेला गर्छन्। तिनीहरूको उच्च शैक्षिक उपाधि र डिप्लोमाका कारण, परमेश्वरमा विश्वास गरेपछि, तिनीहरू सधैँ मण्डलीमा अन्तिम निर्णय गर्न चाहन्छन् र अगुवा बन्ने आकाङ्क्षा राख्छन्। हरेक पटक निर्वाचन हुँदा, तिनीहरूले निर्वाचित हुने आशा गर्छन्। यदि तिनीहरू निर्वाचित भएनन् भने, तिनीहरू नकारात्मक बन्छन् र निराश भएर हरेस खान्छन्। अगुवा र कामदारहरूले जे भने पनि, तिनीहरू त्यो कुरा सुन्न चाहँदैनन् र प्रतिरोध गर्न चाहन्छन्। तिनीहरूलाई जुनसुकै कर्तव्य दिइए पनि, तिनीहरूलाई यो कामप्रति घृणा लाग्छ र तिनीहरू पर्दा पछाडि आलोचना गर्छन्। तिनीहरू हृदयमा यस्तो सोच्छन्, “तँसँग त्यति धेरै ज्ञान छैन। तेरा शब्दहरूमा तर्कको कमी छ। हृदयको गहिराइमा म तँलाई मण्डली अगुवाका निचो देख्छु। म तेरोसामु हार स्विकार्दिनँ! तँ मभन्दा राम्रो छस् भन्ने नसोच्। तुलना गरौँ न—को योग्य छ, हेरौँ। परमेश्वरका वचनहरू कसले बढी पढ्न सक्छ र कसले ठूलो बुझाइ बाँड्न सक्छ हेरौँ। यदि तेरो सङ्गति मेरो जति राम्रो छैन भने, म तेरोसामु हार स्विकार्दिनँ! तँ अगुवाका रूपमा निर्वाचित भएको भए पनि, तैँले मलाई अह्राउने सबै कुरा मैले सुन्नु, लागू गर्नु, वा पालना गर्नु पर्दैन!” यो कस्तो प्रकटीकरण हो? (भ्रष्ट स्वभाव।) यो भ्रष्ट स्वभावको विशिष्ट प्रकटीकरण हो। के यो मानवतासँग सम्बन्धित छ? यस्तो व्यक्तिमा प्राकृतिक सामर्थ्य हुने भएकोले र यस जगका आधारमा, उसले व्यापक रूपमा अध्ययन गर्ने, धेरै ज्ञान प्राप्त गर्ने, र सामाजिक हैसियत प्राप्त गर्ने हुनाले, उसलाई अरूभन्दा श्रेष्ठ, अद्वितीय छु भन्ने महसुस हुन्छ, र ऊ अरू सबै जनाभन्दा माथि रहेर बोल्न र अरूलाई आफ्नो प्रभुत्वमा राखेर काम गर्न चाहन्छ; मानिसहरूका बीचमा ऊ सधैँ अगुवाइ गर्ने व्यक्ति बन्न, र अरूले उसको कुरा सुनुन् भन्ने चाहन्छ—के यस्तो व्यक्तिको विवेक र समझमा समस्या हुन्छ? (हो, हुन्छ।) यो कस्तो समस्या हो? तिनीहरूको सामर्थ्यले गर्दा तिनीहरूलाई अध्ययन गरेर उच्च स्तरको शिक्षा प्राप्त गर्न निकै सजिलो बनेको हुन्छ। के यो सामर्थ्य आफैमा समस्या हो? के सामर्थ्य आफैमा भ्रष्ट स्वभावको पक्ष हो? के यो खराब मानवताको प्रकटीकरण हो? (होइन।) तर, तिनीहरूमा यो सामर्थ्य हुने हुनाले, तिनीहरूले धेरै ज्ञान हासिल गरेका हुन्छन् र उच्च स्तरको शिक्षा प्राप्त गरेका हुन्छन्, जुन हैसियत सम्बन्धी समाजको मूल्याङ्कन र परिभाषा अनुरूप हुन्छ। यसले गर्दा तिनीहरूले के विश्वास गर्छन् भने मण्डलीमा अन्तिम निर्णय गर्ने अधिकार तिनीहरूकै हुनुपर्छ, मानिसहरूको कुनै पनि समूहमा आफू कुलीन हुनुपर्छ, र आफू अरू सबै जनाभन्दा माथि हुनुपर्छ। के त्यस्तो मानवतामा कुनै समझ हुन्छ? के त्यस्तो मानवता असल हुन्छ? (तिनीहरूको मानवता असल हुँदैन।) तिनीहरूको मानवता कुन हिसाबमा असल हुँदैन? (तिनीहरूमा समझ र विवेक हुँदैन; तिनीहरू सधैँ अरूभन्दा माथि हुन चाहन्छन्।) सधैँ अरूभन्दा माथि हुन चाहनु आंशिक रूपमा भ्रष्ट स्वभावका कारणले गर्दा हो। अर्को हिसाबमा, मानवताको दृष्टिकोणबाट हेर्दा, के यो अलिक लाजमर्दो कुरा होइन र? (हो।) परमेश्वरको घर समाज होइन। के परमेश्वरको घरले अगुवाहरू निर्वाचित गर्दा शैक्षिक योग्यताको तुलना गर्छ? (गर्दैन।) परमेश्वरको घरले अगुवाहरूको निर्वाचनलाई केमा आधारित गर्छ? यो सत्यता सिद्धान्तहरूमा आधारित हुन्छ, होइन र? (हो।) परमेश्वरका घरमा, अगुवाहरूको निर्वाचन सत्यता सिद्धान्तहरूमा आधारित हुन्छ, कोसँग उच्च शैक्षिक योग्यता छ भन्ने कुरामा होइन। के तिनीहरूलाई अगुवाहरू निर्वाचित गर्ने सिद्धान्तहरू थाहा हुन्छ? थाहा हुन्छ, तर तिनीहरू यी सिद्धान्तहरूलाई केवल प्रशासकीय अभिव्यक्ति र प्रतिपादित सिद्धान्त ठान्छन्, र तिनलाई दैनिक जीवनमा अभ्यास वा लागू गर्न जान्दैनन्। तिनीहरू उच्च शैक्षिक योग्यता भएका मानिसहरूमा मात्रै राम्रो क्षमता हुन्छ, तिनीहरूले मात्र सत्यता बुझ्न र अरूलाई अगुवाइ गर्न सक्छन् भन्ने विचार निरन्तर फैलाउँछन्। तिनीहरूसँग उच्च शैक्षिक योग्यता, केही ज्ञान, र सामाजिक हैसियत हुने हुनाले, परमेश्वरको घरले समाजकै जस्तो तरिकाले काम गर्छ भन्ने सोचेर, तिनीहरू आफ्नो ज्ञान र उच्च शैक्षिक योग्यतालाई पूँजीका रूपमा प्रयोग गरेर परमेश्वरका घरमा अन्तिम निर्णय गर्ने प्रयास गर्छन्। तिनीहरू परमेश्वरको घरका अगुवाहरूलाई निर्वाचित गर्ने सम्बन्धी सिद्धान्तहरूलाई मानिसहरूलाई हेर्ने र कामकुराहरूलाई सम्हाल्ने आफ्नै तरिका र सामाजिक स्थान र हैसियत सम्बन्धी आफ्नै शैली, दृष्टिकोण, र हेराइहरूद्वारा प्रतिस्थापन गर्न चाहन्छन्। के यो समझको कमी हुनु होइन र? (हो।) समझको कमीलाई अर्को तरिकाले कसरी व्याख्या गर्न सकिन्छ? (निर्लज्ज हुनु।) सरल भाषामा भन्दा, यो निर्लज्जता हो; यसलाई अर्को तरिकामा यस्तो व्यक्तिको चेतना अत्यन्तै कमजोर हुन्छ भनेर भन्न सकिन्छ। हेर् त, तिनीहरूले तथाकथित उच्च शिक्षा प्राप्त गरेका र धेरै पुस्तकहरू पढेका भए पनि, तीमध्ये कुनै पनि पुस्तक वा कुनै पनि गुरु वा शिक्षकले तिनीहरूलाई समझदार हुनका लागि कसरी व्यवहार गर्ने भनेर कहिल्यै सिकाएको हुँदैन। बरु पुस्तकहरूबाट धेरै कुरा सिकेपछि, तिनीहरूलाई आफूले पूँजी प्राप्त गरेको छु र आफू साधारण मानिसहरूभन्दा श्रेष्ठ छु भन्ने लाग्छ। तिनीहरूको सामर्थ्य नकारात्मक कुरा नभए पनि र यो अन्तर्निहित अवस्था भए पनि, यो सामर्थ्यले सजिलै कुनै निश्चित परिणाम ल्याउन सक्छ—यसले गर्दा तिनीहरू अहङ्कारी र अभिमानी बन्छन्, तिनीहरूले आफ्नो समझ गुमाउँछन्, र तिनीहरू दुस्साहसी रूपमा लज्जाहीन र लाजमर्दो बन्छन्। धेरै पुस्तकहरू पढेका र धेरै ज्ञान लिएका भए पनि, तिनीहरूले “लाज” भन्ने शब्दको अर्थ बुझेका हुँदैनन्। त्यसकारण, केही शैक्षिक योग्यता प्राप्त गरेपछि, तिनीहरूले यसलाई जताततै धाक लगाउने पूँजीका रूपमा प्रयोग गर्छन्, र यसलाई प्रयोग गरेर परमेश्वरका घरमा हैसियत प्राप्त गर्न र अन्तिम निर्णय गर्न चाहन्छन्। तिनीहरू सोच्छन्, “मसँग उच्च शैक्षिक योग्यता छ र म कुराहरू चाँडो सिक्छु, यसको मतलब मसँग राम्रो क्षमता छ। यति मात्र होइन, मसँग गहिरो ज्ञान छ, मैले धेरै संसार देखेको छु, र म छिटो सोच्न सक्छु, त्यसकारण म अरूलाई अगुवाइ गर्न योग्य छु।” यसको तात्पर्य के हो भने तिनीहरूको ज्ञान र सामर्थ्य नै सत्यता हुन्। यी सबै समझको कमीका प्रकटीकरण हुन्। के समझ नभएको यस्तो व्यक्तिमा निष्ठा हुन्छ? के तिनीहरूसँग इज्जत हुन्छ? (हुँदैन।) निष्ठा र इज्जत नहुनु—के यो असल मानवताको प्रकटीकरण हो कि घृणित र नीच मानवताको प्रकटीकरण हो? (यो घृणित मानवताको प्रकटीकरण हो।) त्यस्ता मानिसहरूमा असल मानवता हुँदैन। तिनीहरू आफ्नो शैक्षिक योग्यता, सामाजिक हैसियत, व्यक्तिगत मूल्य, र स्थानलाई सबैभन्दा प्रिय ठान्छन्। यी कुराहरूलाई आफ्नो पूँजीका रूपमा लिँदै तिनीहरू अत्यन्तै अहङ्कारी र अभिमानी हुन्छन्, र अन्तिम निर्णय गर्न चाहन्छन्। यो घृणित मानवताको एउटा प्रकटीकरण हो। यो समस्यामा दुइटा पक्षहरू समावेश छन्: एउटा तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ र अर्को तिनीहरूको भ्रष्ट स्वभावसँग सम्बन्धित हुन्छ। समस्याहरूप्रतिको तिनीहरूको दृष्टिकोण र समस्याहरूलाई सम्हाल्ने तिनीहरूको मनोवृत्ति र दृष्टिकोण तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छन्। यस्तो मानवताले गर्दा तिनीहरूले विशिष्ट कार्य, प्रकटीकरण, र प्रकाशहरू विकास गर्छन्, जुन भ्रष्ट स्वभावका अभिव्यक्तिहरू हुन्।
कतिपय मानिसहरू स्वाभाविक रूपमै बोल्न मन नपराउने हुन्छन्; सानै उमेरदेखि नै, तिनीहरूलाई धेरै बोल्न मन पर्दैन। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरू सरल र थोरै शब्दमा बोल्छन्, र जब तिनीहरूका जीवनमा धेरै कुराहरू आइपर्छन्, तब तिनीहरूसँग धेरै विचार हुँदैन, न त तिनीहरूसँग विचार व्यक्त गर्ने धेरै भाषा नै हुन्छ। तिनीहरूले आफ्नो कुरा व्यक्त गरे पनि, यो अत्यन्तै सरल हुन्छ। यो कस्तो समस्या हो? (यो तिनीहरूको व्यक्तित्व सम्बन्धी समस्या हो।) यो तिनीहरूको व्यक्तित्वको समस्या हो, जुन तिनीहरूको अन्तर्निहित अवस्थाको पाटो हो। तिनीहरूको व्यक्तित्व स्वाभाविक रूपमा नै मौन किसिमको हुन्छ। तिनीहरू सरल भाषा प्रयोग गर्छन्, तिनीहरूमा त्यति जटिल विचारहरू हुँदैनन्, र अरूसँग अन्तरक्रिया गर्दा तिनीहरू बोल्न अनिच्छुक हुन्छन्। भेलाहरूमा सत्यतामा सङ्गति गरिँदा, तिनीहरू अरूले बोलेको मात्रै सुन्छन्, र अरूले बोलिसकेपछि तिनीहरूले एउटा सामान्य प्रतिक्रिया दिन सके त्यो नै निकै राम्रो मानिन्छ। यदि तैँले तिनीहरूलाई “यसबारे तिम्रो बुझाइ के छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्नेछन्, “मेरो बुझाइ पनि तिम्रो जस्तै छ।” यदि तैँले तिनीहरूलाई ठ्याक्कै भन्न लगाइस् भने, तिनीहरूले “मलाई पनि तिमीलाई जस्तै लाग्छ” भन्नेछन्, त्यसपछि तिनीहरूसँग भन्नलाई अरू केही हुँदैन। यो तिनीहरूको व्यक्तित्व मात्रै हो; यदि तैँले तिनीहरूलाई थप कुरा भन्न लगाइस् भने, तिनीहरूले भन्ने केही हुँदैन। यो तिनीहरूको अन्तर्निहित अवस्थाको पाटो हो। अर्को प्रकारको व्यक्ति पनि हुन्छ, जो बाहिरी रूपमा धेरै नबोल्ने र प्रायः चुपचाप बस्ने देखिए पनि, पर्दापछाडि गफका बारेमा सोध्न मन पराउँछ, र यस्ता कुरा भन्छ: “फलानो दाजुभाइ वा दिदीबहिनी कुन पाष्टरीय क्षेत्रको हो? उसले परमेश्वरमा विश्वास गरेको आठ वर्ष भएको छ भन्ने सुनेको थिएँ—के ऊ कहिल्यै अगुवा बनेको छ? उसको उमेर कति भयो? के उसको सम्बन्धविच्छेद भएको र उसको एउटा बच्चा भएको कुरा साँचो हो?” यो कस्तो प्रकटीकरण हो? झट्ट हेर्दा, तिनीहरू त्यति धेरै बोल्दैनन् र सार्वजनिक स्थानमा बोल्न मन पराउँदैनन्। तिनीहरूको भाषा त्यति सम्पन्न हुँदैन, र अरूसँग सामान्य रूपमा कुराकानी गर्नका लागि तिनीहरूसँग शब्दको कमी हुन्छ। तर, अर्को हिसाबमा, तिनीहरूले भन्ने धेरै कुरा हुन्छ र सधैँ अरूका बारेमा सोधपुछ गर्न मन पराउँछन्, र यस्ता कुराहरू भन्छन्: “के त्यो व्यक्तिले दुवै आँखाको आइलिड शल्यक्रिया गराएकी थिई? उसको छाला अत्यन्तै सफा छ—के ऊ प्रायजसो ब्यूटी सैलून जान्छे?” वा “म फलानोले सधैँ सबैभन्दा अत्याधुनिक कम्प्युटर प्रयोग गर्ने गरेको, र उसका लुगाहरू सबै नामी ब्रान्डका र निकै महँगा हुने गरेको देख्छु। के उसको परिवार सम्पन्न छ? उसको परिवारले कस्तो व्यवसाय गर्छ? के उसको बुबा पदाधिकारी हो?” यी प्रकटीकरणहरूमा के-कस्ता समस्याहरू समावेश हुन्छन्? (तिनमा तिनीहरूको मानवताका समस्याहरू समावेश हुन्छन्।) अफवाहबारे सोध्न मन पराउनु, सानातिना व्यक्तिगत मामलाहरूबारे जानकारी सङ्कलन गर्नु, र अरू मानिसका मामलाहरूका बारेमा कुरा गर्न रुचाउनु—यी कुराहरू व्यक्तिको मानवतासँग सम्बन्धित प्रकटीकरण हुन्। के यी प्रकटीकरणहरू राम्रा हुन्? (होइनन्।) ती कुन-कुन तरिकाले राम्रा होइनन्? तिनमा मानवताका के-कस्ता समस्याहरूसँग समावेश हुन्छन्? तिनीहरूले कसैलाई हानि गरेका वा सताएका त छैनन्, न त तिनीहरूले अरूका हितलाई नै हानि गरेका छन्, तर पनि किन यी प्रकटीकरणहरूलाई खराब मानिन्छ? (तिनीहरू सधैँ अरू मानिसका मामलाहरूका बारेमा जान्न चाहन्छन्, र अरूका पिठ्युँ पछाडि तिनीहरूका मामलाहरूबारे निरन्तर चियोचर्चो गर्छन्। तिनीहरूको मानवताको समझमा समस्या छ।) यो तिनीहरूको मानवताको समझसँग सम्बन्धित छ। उदाहरणका लागि, यदि तिनीहरूले “फलानो ब्रदर तपाईं कति वर्षको हुनुहुन्छ?” भनेर निष्कपट र सीधा रूपमा सोधे भने, के यो मानवताको सामान्य प्रकटीकरण हुनेछ? (हो।) के यसरी सोध्नु खुलस्त र इमानदार तरिका होइन र? के यो उचित होइन र? (हो।) त्यसोभए किन कतिपय मानिसहरूले सम्बन्धित व्यक्तिहरूलाई सिधै प्रश्नहरू सोध्दैनन् वा कुराहरू भन्दैनन्? तिनीहरू किन अरूको पिठ्युँ पछाडि गोप्य चालहरू चाल्छन्? यदि कुनै विषयका बारेमा व्यक्तिगत रूपमा सोध्न वा छलफल गर्न सकिन्छ भने, यस्तो कुरा खुलस्त उठाउनुपर्छ। किन अरूको पिठ्युँ पछाडि गोप्य कुराहरू कानेखुसी गर्ने? के यसमा आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने निश्चित मनोवृत्ति र विधि समावेश हुँदैन र? के यो मनोवृत्ति र विधि राम्रो छ? (छैन।) यो मनोवृत्ति र विधिलाई किन राम्रो मानिँदैन? के गोप्य रूपमा कुराहरूका बारेमा सोधपुछ गर्न मन पराउने यी मानिसहरू अरूको गोपनीयता खोतल्न र मानिसहरूका पिठ्युँ पछाडि तिनीहरूलाई छानबिन गर्न रमाइलो मान्छन्? (हो।) तिनीहरू किन मानिसहरूलाई पिठ्युँ पछाडिबाट छानबिन गर्न मन पराउँछन्? यदि तिनीहरूसँग प्रश्नहरू छन् भने, तिनीहरूले किन सिधै सोध्दैनन्? के आमने-सामने भएर सोध्नमा कठिनाइ हुन्छ? तिनीहरूलाई सिधै सोध्नु सजिलो छैन वा सम्भव छैन भन्ने लाग्छ, त्यसकारण तिनीहरू अरूको पिठ्युँ पछाडि सोधपुछ गर्छन्। के तिनीहरूले यसरी व्यवहार गर्नुको कारण यही होइन र? (हो।) वास्तवमा, कतिपय कुरा सिधै सोध्न सकिन्छ, जस्तै कसैलाई यस्ता प्रश्नहरू सोध्न सकिन्छ: “तपाईंले परमेश्वरमा विश्वास गर्नुभएको कति वर्ष भयो? के तपाईंले कलेज पढ्नुभएको छ? तपाईंको शैक्षिक स्तर कति हो? तपाईं कति वर्षको हुनुभयो?” यी सबै कुरा आमने-सामने सोध्न सकिन्छ। यदि कतिपय मानिसहरू तँलाई बताउन अनिच्छुक छन् भने, नसोध्, र तिनीहरूको पिठ्युँ पछाडि पनि सोधपुछ नगर्। यदि तँलाई तिनीहरू तँसँग निश्चित कुराहरू बाँड्न तयार हुन्छन् भन्ने लाग्छ भने, वा यदि तिमीहरू एकअर्कालाई चिन्छौ र तिनीहरूले कुरा गर्नका लागि तँमा पर्याप्त भरोसा गर्छन् भने, तैँले तिनीहरूलाई सिधै सोध्न सक्छस्। किन तिनीहरूको पिठ्युँ पछाडि कुरा घुमाएर सोधपुछ गर्ने? के त्यसो गर्नु साँच्चिकै जरुरी छ? के त्यो निकै नीच देखिँदैन र? यी मानिसहरू अर्को व्यक्तिले नबताउला भन्ने डरले सिधै सोध्ने आँट गर्दैनन्। तर तिनीहरूलाई यी कुराका बारेमा जान्ने र पत्ता लगाउने ठूलो चाहना हुन्छ। यदि तिनीहरूले पत्ता लगाएनन् भने, तिनीहरूलाई असहज महसुस हुनेछ, तर जानकारी प्राप्त भएपछि तिनीहरूलाई भित्री रूपमा सहज महसुस हुन्छ, मानौँ तिनीहरूले बहुमूल्य सम्पत्ति प्राप्त गरेका छन्। तिनीहरू कस्ता प्रकारका मानिस हुन्? अरूका निजी मामलाहरू वा व्यक्तिगत जानकारीहरूका बारेमा सोधपुछ गर्दा र बुझ्दा आनन्द लिनु—यस्ता मानिसहरूमा अरूको कुरा काट्ने र आलोचना गर्ने प्रवृत्ति हुन्छ, होइन र? (हो।) यदि तँलाई अर्को व्यक्ति तेरा प्रश्नहरूको जबाफ दिन तयार हुनेछ भन्ने विश्वास लाग्छ भने, तैँले सिधै उसलाई यी कुराहरू सोधेर तिनका बारेमा पत्ता लगाउन सक्छस्। यदि अर्को व्यक्तिलाई तेरा केही प्रश्नहरू आवश्यकताभन्दा बढी छन् र तैँले सोध्नुपर्ने सीमाभन्दा बाहिर छन् भन्ने लाग्छ, र उसले तँलाई जबाफ दिन इन्कार गर्छ भने, त्यो ठीकै हो। यदि तिनीहरू तँलाई जबाफ दिन चाहँदैनन् वा तैँले निश्चित कुराहरू थाहा पाएको चाहँदैनन् भने, तिनीहरूको पिठ्युँ पछाडि पनि सोधपुछ नगर्। यदि तँ अरू कसैको जानकारी वा निजी मामलाहरू जान्न जिद्दी गर्छस् भने, एकातिर, तिनीहरूले तँलाई शङ्काको नजरले हेर्न थाल्छन्: “तिमी किन यी कुराहरू जान्न चाहन्छौ? तिमी किन मेरो पिठ्युँ पछाडि मेरा बारेमा थाहा पाउन खोज्दै छौ? के तिमी मलाई नियन्त्रण गर्न, कष्ट दिन, वा धोका दिन खोजिरहेको छौ?” त्यो एउटा पक्ष हो। अर्कोतिर, तँलाई अरूका बारेमा जान्नुपर्ने के जरुरी छ र? तँसँग तिनीहरूका बारेमा कुराहरू जान्ने के अधिकार छ? के तँ सबैका बारेमा जानकारी सङ्कलन गर्न चाहन्छस्? तँलाई सबथोकबारे जान्नुपर्ने—के तँ जानकारी सङ्कलन गर्ने विज्ञ होस्? के यो तेरो काम हो? परमेश्वरको घरले कसैलाई यस्तो आज्ञा दिएको छैन। यदि तैँले निरन्तर अरूका निजी मामलाहरूका बारेमा सोधपुछ गर्ने, तिनीहरूले तँलाई थाहा दिन नचाहने कुराहरूका बारेमा सोधपुछ गर्ने प्रयास गरिस् भने, तिनीहरूले तँप्रति अत्यन्तै झिजो मान्नेछन्। अरूलाई झिजो लाग्ने व्यक्तिको मानवता कस्तो हुन्छ? कम्तीमा पनि, यो व्यक्ति निर्लज्ज हुन्छ। गैरविश्वासीहरू त्यस्तो व्यक्तिलाई के भन्छन्? दुस्साहसी बदमास। तिनीहरूको मानवता नीच हुन्छ, तिनीहरूसँग इज्जत हुँदैन, र तिनीहरू सबै कुरा बारे सोधपुछ गर्न चाहन्छन्, यसरी आफूलाई अनुचित तरिकाले आचरणमा ढाल्छन्। के तिनीहरू यस्तै हुँदैनन् र? (हुन्छन्।) यस्तो व्यक्तिको मानवता असल हुन्छ कि खराब? (तिनीहरूको मानवता खराब हुन्छ।) तिनीहरूको मानवता कम्तीमा पनि राम्रो चाहिँ हुँदैन। यो असल मानवता नहुनुको वर्गभित्र पर्ने एउटा प्रकटीकरण हो—अनुचित रूपमा व्यवहार गर्नु र सधैँ कपटी चालहरू चाल्नु। झट्ट हेर्दा, तिनीहरू तँप्रति भद्र, आदरपूर्ण, र शिष्ट देखिन्छन्, आफ्नो आचरणमा सुशील र उचित देखिन्छन्। तर, तेरो पिठ्युँपछाडि, तिनीहरू कपटी चालहरू चाल्छन्, तेरो उमेर, पारिवारिक पृष्ठभूमि, र तेरा अरू पक्षहरूबारे सोधपुछ गर्छन्, खुला रूपमा छलफल गर्दैनन् वा तँलाई सिधै सोध्दैनन्। अरूसँग अन्तरक्रिया र कुराकानी गर्दा, तिनीहरू स्पष्टसित वा सिधा कुरा गर्दैनन्; बरु, सधैँ मानिसहरूको पिठ्युँपछाडि कपटी चालहरू चाल्छन्, र देखाउनै नमिल्ने कामकुरा गर्छन्। तिनीहरू निरन्तर अरूका निजी मामलाहरू र अरूले के सोचिरहेका छन् भनेर सोचविचार गर्छन्, सधैँ त्यस्ता मामलाहरूबारे नै सोचिरहेका हुन्छन्। यस्तो व्यक्तिको मानवता राम्रो हुँदैन, र कुनै पनि समूहमा, त्यस्ता मानिसहरूलाई सबैले मन पराउँदैनन्। मानिसहरूले तँलाई व्यक्तिगत कुराहरू थाहा दिन चाहँदैनन् वा तिनीहरूले तँबाट केही कुरा लुकाइरहेका हुन्छन् भन्ने होइन; कुरा के हो भने तेरो मानवता र आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने तेरो तरिकाले गर्दा चाहिँ अरूले तँलाई मन पराउँदैनन्। मानिसहरूले तँलाई मन नपराउनुको कारण के हो भने तैँले आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने तेरो विधि अलिक घटिया छ; तैँले प्रयोग गर्ने दाउपेचहरू उचित र इमानदार नभई नीच र फोहोरी हुन्छन्। कतिपय मानिसलाई अरूसँग आमने-सामने अन्तरक्रिया गर्दा कुनै समस्या हुँदैन जस्तो देखिन्छ, तर उनीहरूको पिठ्युँपछाडि, सधैँ गुपचुप तरिकाले काम गर्छन्। जब अरू टाढा जान्छन्, तब तिनीहरू तुरुन्तै उनीहरूको कम्प्युटर खोल्छन् र उनीहरूले कोसँग कुराकानी गरिरहेका छन्, केबारे कुरा गरेका छन्, उनीहरूले आफ्नो डायरीमा के लेखेका छन्, र उनीहरूसँग के-कस्ता अन्तर्ज्ञानहरू छन् भनेर हेर्छन्। कहिलेकाहीँ, यदि कसैको कम्प्युटरमा पासवर्ड राखेको छ भने, तिनीहरू यसो भन्दै फकाएर लिने प्रयास गर्छन्, “के तिमीले आफ्नो कम्प्युटरको पासवर्ड फेरेको हो? मैले भर्खरै मेरो पासवर्ड फेरेर १२३४५६७ राखेँ, सायद तिमीले पनि तिम्रो पासवर्ड फेर्नुपर्छ।” यसो भन्नुको उद्देश्य के हो? “म तिमीलाई मेरो पासवर्ड बताउँदै छु—तिमीले पनि मलाई आफ्नो पासवर्ड बताउनुपर्छ, ताकि मैले तिम्रो कम्प्युटर जाँच गर्ने मौका पाउन सकूँ।” कतिपय मानिस अरू नभएको बेला उनीहरूको झोला र सामानहरू खोतल्ने आँटसमेत गर्छन्। उदाहरणका लागि, यदि तिनीहरूले कसैले नयाँ हेडफोन लगाएको देखे र त्यसमा आवाज कस्तो सुनिन्छ भनेर जान्न चाहे भने, तिनीहरूले त्यो व्यक्ति त्यहाँ नहुँदा हेडफोन लिएर सुन्ने आँट गर्न सक्छन्। यदि तैँले खुला रूपमा त्यस व्यक्तिको हेडफोन सापट मागिस्, र ऊ दिन सहमत भयो भने, तैँले त्यसलाई प्रयोग गरेर हेर्ने अधिकार पाउँछस्। यदि ऊ सहमत भएन भने, तैँले त्यो प्रयोग गरेर हेर्नु हुँदैन। के यसलाई सम्हाल्ने उचित तरिका त्यही होइन र? अरू सहमत भए पनि नभए पनि, तैँले खुला रूपमा तिनीहरूकै अगाडि कामकुरा सम्हाल्नुपर्छ, तिनीहरूको पिठ्युँपछाडि होइन। यस्तो व्यक्तिले त्यसो गर्नै सक्दैन—तिनीहरूले सधैँ कपटी चालहरू चाल्छन्। कुन हदसम्म? तँ टाढा जानेबित्तिकै, तिनीहरू तुरुन्तै तेरा सामानहरू खोतल्छन्, तैँले आफ्नो आत्मिक भक्तिका नोटहरूमा के लेखेको छस् भनेर जाँच गर्छन् र कुनै कुरा छुट्ला भन्ने डरले तुरुन्तै त्यो सार्छन्। झट्ट हेर्दा, तिनीहरू सत्यताको तृष्णा गर्छन्जस्तो देखिन्छ, तर पर्दापछाडि तिनीहरूका कार्यहरू फोहोरी हुन्छन्। तैँले नयाँ कम्प्युटर किनेको देख्दा, तिनीहरूलाई डाहा लाग्छ। बाहिरी रूपमा, तिनीहरू नयाँ कम्प्युटर राम्रो छ र छिटो चल्छ भनेर भन्छन्, तर भित्री रूपमा यस्तो सोच्छन्, “छिटो? कुनै दिन यो बिग्री जाओस्!” एक दिन, तैँले नयाँ कम्प्युटरले राम्ररी काम गरिरहेको छैन र त्यो ढिलो चल्छ भनेर भनिस् भने, तिनीहरू मनमनै दङ्ग पर्छन्: “नयाँ चलाइस् होइन? खुच्चिङ! मैले त अझै चलाउन पाएकै छैन, त्यसैले तैँले पनि चलाउन नपाएकै राम्रो!” तिनीहरूको मन नीच, फोहोरी विचारहरूले भरिएको हुन्छ, जुन भन्नै मिल्दैन। कतिपय मानिसले कसैसँग एउटा राम्रो लुगा देख्छन् र आफू पनि त्यो लगाएर हेर्न चाहन्छन्। तर सिधै सोध्नुको सट्टा, तिनीहरू त्यो व्यक्ति नहुँदा थाहा नपाउने गरी त्यो लगाएर हेर्ने मौका मात्र पर्खिन्छन्। तिनीहरू ऐनामा आफूलाई हेर्छन् र राम्रो देखिन्छ भन्ने सोच्छन्, तर त्यो व्यक्ति फर्केर आउँदै गरेको पाइलाको आवाज सुनेपछि, त्योलुगा तुरुन्तै खोल्छन् र त्यसको ठाउँमा राख्छन्। यस्तो व्यक्तिका कपटी चालहरू र परिस्थितिहरू सम्हाल्ने उसको तरिकामा भ्रष्ट स्वभाव समावेश नहुने भए पनि वा त्यो भ्रष्ट स्वभाव जत्तिको गम्भीर नहुने भए पनि, आफूलाई आचरणा ढाल्ने र परिस्थितिहरू सम्हाल्ने उसको मनोवृत्ति र मानिसहरूलाई व्यवहार गर्ने उसको तरिका निकै मन नपर्दो र घृणित हुन्छ, र यसले केही हदसम्म अरूको सामान्य जीवनमा असर गर्छ। त्यसकारण, यस्तो व्यक्तिमा उसको मानवतासम्बन्धी गम्भीर समस्याहरू हुन्छन् भनेर भन्न सकिन्छ। कति गम्भीर? तिनीहरू अनुचित तरिकाले आफूलाई आचरणमा ढाल्छन्, पर्दापछाडि धेरै कपटी चालहरू चाल्छन्, र समस्याहरू सम्हाल्ने तिनीहरूको तरिका घटिया र फोहोरी हुन्छ। तिनीहरू सधैँ कुरा लुकाउँछन्; तिनीहरू कहिल्यै खुलस्त कामकुरा गर्दैनन्, र सधैँ मानिसहरूको पिठ्युँपछाडि कामकुरा गर्छन्। जब अरू हुँदैनन्, अरूले ध्यान दिइरहेका हुँदैनन्, वा जब तिनीहरूले के गरिरहेका छन् भनेर कसैले देख्न वा पत्ता लगाउन सक्दैनन्, तब तिनीहरू गुपचुप तरिकाले कामकुरा गर्छन्। यस्तो व्यक्तिको मानवता असल हुँदैन। तिनीहरू सधैँ अँध्यारो कुनामा जिउँछन्, अँध्यारो वातावरणले ढाकिएका हुन्छन्, र ज्योति वा अरू मानिसको सामना गर्न सक्दैनन्। तिनीहरूको मानवता नीच र फोहोरी हुन्छ। के तिनीहरूको नीच मानवताका यी प्रकटीकरणहरू नैसर्गिक हुन्? (होइनन्।) तिनीहरूलाई अरूको अगाडि कामकुरा गर्न लाज लाग्छ; तिनीहरू ती अरूको पिठ्युँपछाडि गर्न रुचाउँछन्, र अरूको पिठ्युँपछाडि काम गर्दा, तिनीहरू पटक्कै संयमता देखाउँदैनन्। के तिनीहरूको व्यक्तित्वसँग यसको कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) यदि तैँले यी कपटी चालहरू वा तिनीहरूले आफ्नो मानवतामा प्रकट गर्ने र जिउने कुराहरू भ्रष्ट स्वभावहरूको निश्चित पक्षसँग सम्बन्धित छन् भनेर भनिस् भने, त्यो सही हुनेछैन। तर, तिनीहरूको कपटी चालहरू निरन्तर रहन्छन्। झट्ट हेर्दा, तिनीहरूले कुनै ठूलो गल्ती गरेका छैनन् जस्तो देखिन्छ, र मण्डलीले तिनीहरूलाई कर्तव्य अह्राउँदा, तिनीहरू प्रायजसो यसमा आफ्नो हृदय लगाउँछन् र आज्ञाकारी हुन्छन्; बाहिरबाट त तिनीहरू निकै उचित देखिन्छन्। तर पर्दापछाडि, कथा बेग्लै हुन्छ—मुसोजस्तै, कसैले नहेर्नेबित्तिकै, तिनीहरू कपटी चालहरू चाल्न र कामकुरा गर्न थाल्छन्। के यी मानिसहरू ठ्याक्कै मुसाजस्तै हुँदैनन् र? सोच् त—यदि तिनीहरूको मानवता र तिनीहरूले अरूसँग अन्तरक्रिया गर्ने र कामकुरा सम्हाल्ने तरिका यही हो भने, यदि तिनीहरूको मानवताको नैतिक चरित्र यस्तै हो र तिनीहरूमा यस्तो मानवता सार छ भने, तिनीहरूले परमेश्वर र सत्यतालाई कस्तो व्यवहार गर्छन्? के तिनीहरू परमेश्वर र सत्यतालाई पनि मानिसलाई जस्तै व्यवहार गर्छन्? (गर्छन्।) तिनीहरू पर्दापछाडि कपटी चालहरू पनि चाल्छन्, होइन र? तिनीहरू अगुवा र कामदारहरूको सुपरिवेक्षणबाट जोगिन सम्भव भएको हरेक तरिका प्रयोग गरिहेर्छन्, तिनीहरूको अगाडि एक तरिकाले र तिनीहरूको पिठ्युँपछाडि अर्को तरिकाले काम गर्छन्। तिनीहरू परमेश्वरको छानबिन स्वीकार गर्दैनन्, न त हृदयको गहिराइमा सत्यतालाई नै स्वीकार गर्छन्। परमेश्वरका वचनहरूले जे भने पनि, तिनीहरू तिनलाई आफ्नै तरिकाले लिन्छन्, केही कपटी चालहरू चाल्छन् र देखाउनका लागि केही कामकुरा गर्छन्, ताकि बाहिरी रूपमा कसैले पनि कुनै समस्या वा गलत कार्यहरू देख्न नसकून्। बाहिरी रूपमा, तिनीहरूले केही पनि गलत नगरेको र सत्यता अभ्यास गरिरहेको देखिन्छ, तर पर्दापछाडि, तिनीहरूले पहिले नै कपटी चालहरू चालिसकेका हुन्छन्, र कसैले थाहा नपाई पहिले नै गुप्तमा गल्तीहरू गरिसकेका हुन्छन्। तिनीहरू परमेश्वरको छानबिनमा विश्वास गर्दैनन् वा त्यसलाई स्वीकार गर्दैनन्, त्यसकारण, तिनीहरू सत्यता स्वीकार गर्दैनन्। यसमा के समावेश हुन्छ? यसमा भ्रष्ट स्वभावहरू समावेश हुन्छन्। जब तिनीहरू परमेश्वर, सत्यता, र आफ्नो कर्तव्यलाई यस्तो मानवताद्वारा र अरूसँग अन्तरक्रिया गर्ने र कामकुरा सम्हाल्ने यस्तो तरिकाद्वारा लिन्छन्, तब तिनीहरूले प्रकट गर्ने तिनीहरूको मानवताका विशिष्ट प्रकटीकरणहरूमा भ्रष्ट स्वभावहरू समावेश हुन्छन्। यी भ्रष्ट स्वभावहरूमा के समावेश हुन्छ? कम्तीमा पनि, तिनमा छल समावेश हुन्छ। यदि तिनीहरूको कार्य झनै गुप्त र छली छ भने, त्यसमा के समावेश हुन्छ? (त्यो दुष्टतासम्म पुग्छ।) त्यसमा तिनीहरूको भ्रष्ट स्वभावभित्रको छलीपन र दुष्टपन समावेश हुन्छ। यसअतिरिक्त, तिनीहरू आफ्नो हृदयको गहिराइमा सधैँ सत्यता र परमेश्वरको छानबिनबारे शङ्का पाल्छन्। यो तिनीहरूमा गहिरोसित गडिएको हुन्छ। तिनीहरू सोच्छन्, “मैले पर्दापछाडि गर्ने कुरा कसैलाई थाहा हुँदैन। मैले परमेश्वरलाई कहीँ देखेको छैनँ, त्यसकारण परमेश्वरलाई पनि अवश्य नै थाहा हुँदैन—मलाई मात्रै थाहा हुन्छ।” के यसमा पनि भ्रष्ट स्वभाव समावेश हुँदैन र? यो भ्रष्ट स्वभावहरूको कुन पक्षसँग सम्बन्धित छ? (के यो हठीपन हो? तिनीहरूमा हठी स्वभाव हुन्छ नै। त्यसोभए, के यी विचारहरूको सार सत्यताप्रतिको वितृष्णा हो? (हो।) सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति प्रतिरोध र विरोधको मनोवृत्ति हो। हठी हुनेबाहेक, तिनीहरू सत्यताप्रति विशेष रूपमा वितृष्ण राख्छन्, जसले गर्दा यो गम्भीर समस्या बन्छ। यसमा भ्रष्ट स्वभाव समावेश भएपछि, यो खराब मानवता मात्रै रहँदैन, अझै गम्भीर बन्छ। यसमा परमेश्वरविरुद्ध विद्रोह, परमेश्वरप्रति विरोध, र सत्यताविरुद्ध जाने सार समावेश हुन्छन्। यसमा परमेश्वर र सत्यताप्रतिको व्यक्तिको मनोवृत्ति समावेश हुन्छ। यसमा भ्रष्ट स्वभाव समावेश भएपछि, यसमा सत्यता सिद्धान्तहरू र सत्यताद्वारा भ्रष्ट स्वभावहरूलाई समाधान गर्नुपर्ने आवश्यकता समावेश हुन्छ।
कतिपय मानिसहरू स्वाभाविक रूपमा नै अग्ला हुन्छन् र तिनीहरूको जिउडाल सुन्दर हुन्छ, यसका साथै, तिनीहरूमा मिलेका, सफा, र परिष्कृत शारीरिक विशेषताहरू हुन्छन् जसलाई अरूले मन पराउँछन्। तिनीहरूले जेसुकै लगाए पनि, मानिसहरूले यसो भन्दै प्रशंसा गर्छन्, “तिनीहरू साँच्चै नै पत्रिकाका विज्ञापनमा छापिने मानिस जस्तै छन्—कति राम्रो, कति सुन्दर, कति आकर्षक!” यो तिनीहरूको अन्तर्निहित अवस्था, तिनीहरूको मानवता, कि तिनीहरूको भ्रष्ट स्वभावअन्तर्गत पर्छ? (यो तिनीहरूको प्राकृतिक रूप हो।) तिनीहरू सुन्दर रूप लिएरै जन्मिएका हुन्। तिनीहरू प्राकृतिक रूपमा नै आकर्षक भएकाले र तिनीहरूको जिउडाल राम्रो हुने भएकोले, सानैदेखि नै, तिनीहरूलाई अग्रजहरूले प्रशंसा गर्थे, सहपाठीहरूले डाहा गर्थे, र आमाबुबाले विशेष रूपमा माया गर्थे। हरेक दिन, तिनीहरूलाई आमाबुबाले लुगा लगाइदिन्थे, र तिनीहरू तीन वा पाँच वर्षका हुनुभन्दा पहिले, एक दिन तिनीहरूलाई फुच्चीलाई जस्तो लुगा लगाइदिइन्थ्यो, र भोलिपल्ट फुच्चेलाई जस्तो। छोटकरीमा भन्दा, तिनीहरूलाई बहुमूल्य सानो खेलौनालाई जस्तै माया गरिन्थ्यो। तिनीहरू ठूलो हुँदै जाँदा, तिनीहरूलाई राम्रा देखिन निकै मन पर्छ। आधुनिक र सुविधा सम्पन्न जियाइ वातावरणमा हुर्केका हुनाले, तिनीहरूले राम्रो लुगा लगाउने बानी विकास गर्छन्। विशेष गरी विभिन्न फेसन ज्ञानहरू प्राप्त गरेपछि, तिनीहरू रङ, साइज, र स्टायल मिलाउन रमाइलो मान्न थाल्छन्; तिनीहरूले विशेष रूपमा आकर्षक लुगा लगाउँछन्, र परिष्कृत व्यवहार देखाउँछन्। साधारण टी-शर्ट र जिन्स समेत तिनीहरूले लाउँदा फरक देखिन्छ, र मिल्दो रङ्गका जुत्ता लगाउँदा, तिनीहरूको शैली अझै आकर्षक हुन्छ—तिनीहरू पूर्ण रूपमा सुशोभित र अत्यन्तै सुन्दर हुन्छन्। तिनीहरूलाई देख्दा मात्रै पनि आँखालाई शीतल हुन्छ। जब तिनीहरू सार्वजनिक स्थलमा वा बाटोमा देखा पर्छन् तब तिनीहरूले अवश्य नै धेरैलाई आकर्षित गर्छन्। तिनीहरू सुन्दरता लिएर जन्मेका हुनाले र तिनीहरूसँग यो अन्तर्निहित अवस्था हुने भएकोले, साथै तिनीहरूले राम्ररी लुगा लगाउन जानेका हुने भएकाले, तिनीहरूले जस्तो लुगा लगाए पनि विशेष रूपमा परिष्कृत व्यवहार देखाउने भएकाले, समलिङ्गी र विपरीत लिङ्गी दुवैले तिनीहरूसँग अन्तरक्रिया र सङ्गत गर्न विशेष रूपमा मन पराउँछन्। मानिसहरू तिनीहरूसँग नजिक बसेर कुरा गर्न र गफ गर्न, र तिनीहरूसँग नजिकबाट अन्तरक्रिया गर्न आतुर हुन्छन्, ताकि तिनीहरूको सुन्दरताले तिनीहरूलाई आनन्द दिन सकोस्। के यो तिनीहरूको गल्ती हो? (होइन।) तिनीहरूको अनुकूल अन्तर्निहित अवस्थाको कारण, मानिसहरू तिनीहरूसँग हुन सक्ने कुनै पनि समस्या, त्रुटि, वा कमीकमजोरीप्रति सधैँ सहनशील हुन्छन्। त्यसकारण, तिनीहरू जहाँ गए पनि, तिनीहरूलाई अत्यन्तै राम्रो स्वागत गरिन्छ र तिनीहरू लोकप्रिय हुन्छन्। तिनीहरूले केही अप्रिय कुरा भने पनि, त्यो सुन्दा अरूलाई रमाइलो नै लाग्छ। तिनीहरू रिसाउँदा वा घमन्ड गर्दा, मानिसहरू नराम्रो मान्दैनन् वा चिढिदैनन्—यहाँसम्म कि तिनीहरू त्यसलाई तिनीहरूबाट आएको इनाम जस्तै ठान्छन्। यी अनुभवहरू थुप्रिँदै जाँदा, तिनीहरूको अन्तर्निहित अवस्थाले तिनीहरूलाई श्रेष्ठताको अनुभूति दिन्छ। तिनीहरू यस्तो सोच्न थाल्छन्, “मसँग सुन्दरता, परिष्कृत आनीबानी भएकोले, र मैले राम्रो लुगा लगाउने भएकोले म जहाँ गए पनि लोकप्रिय हुन सक्छु—यो अद्भुत कुरा हो! यो समाज, यो मानवजातिले यसलाई साँच्चै नै महत्त्व दिन्छ। मेरा आमाबुबाले मलाई दिनुभएको यो अन्तर्निहित अवस्था नै मेरो पूँजी हो जस्तो देखिन्छ। जागिर खोज्न सजिलो भएको छ, र परीक्षाको बेला, यदि मैले कसैको उत्तरपुस्तिकाबाट चोर्न चाहेँ भने, मैले उसलाई एक नजर हेर्नेबित्तिकै उसले मलाई दिइहाल्नेछ।” विपरीत लिङ्गी धेरै मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, र समान लिङ्गी मानिसहरूका बीचमा, तिनीहरूलाई राम्रो व्यवहार गर्ने र निरन्तर तिनीहरूको सुन्दरता र सुन्दर रूपको प्रशंसा गर्ने मानिसहरू पनि धेरै हुन्छन्। समय बित्दै जाँदा, यसले तिनीहरूलाई यो फाइदाबाट अझ बढी आनन्द लिन लगाउँछ। यो फाइदाले तिनीहरूलाई धेरै सहजता, धेरै लाभ, र धेरै विशेष व्यवहार दिन्छ, जसले गर्दा तिनीहरूले धेरै कुराको आनन्द लिन पाउँछन्। त्यसकारण, यस्तो वातावरणमा, तिनीहरूले आफ्ना लागि निश्चित मागहरू विकास गर्छन्। तिनीहरू मेकअप नलगाई घरबाट बाहिर जाँदैनन्, र यदि तिनीहरूलाई डन्डीफोर समेत आयो भने, तिनीहरू अरूका अगाडि देखा पर्ने आँट गर्दैनन्। तिनीहरू आफ्नो आहारप्रति सतर्क हुन्छन्, मसालेदार खाना र सोया सस खाँदैनन्, र मनमनै चिन्ता गर्छन्: “यो डन्डीफोर कहिले हराउने होला? म यसलाई निचोर्न सक्दिनँ—मलाई दाग बस्छ कि भन्ने डर लाग्छ। तर यदि मैले निचोरिनँ भने, के मलाई कुनै बेला आदर गर्ने विपरीत लिङ्गी मानिसहरूले यो कुरा देखेर म अब आकर्षक नरहेको, तिनीहरूको सपनाको व्यक्ति नरहेको सोच्नेछन्? के तिनीहरू मप्रति उदासीन हुन थाल्नेछन्? म के गरूँ? मेरो विचारमा म डन्डीफोर हटेपछि मात्रै बाहिर जानुपर्छ। मैले मानिसहरूलाई मेरो यस्तो अवस्था बिलकुलै देखाउनु हुँदैन; यसले तिनीहरूका मनमा रहेको मेरो सिद्ध छविलाई बरबाद गर्नेछ।” कतिपय मानिसहरूलाई आफ्नो लुगाको रङ, साइज, र शैली पूर्ण रूपमा मिलेको हुनुपर्छ। बाहिर जानुभन्दा पहिले, तिनीहरूले हरेक कोणबाट आफूलाई ऐनामा जाँच्नुपर्छ, र कतिपयले घाममा वा कृत्रिम बत्तीको उज्यालोमा तिनीहरू राम्रा देखिन्छन् भन्ने पक्का गर्न सेल्फी समेत लिन्छन्, ताकि तिनीहरूको छाला, रूपरङ, कपालको बनावट, लुगा, र व्यवहार जस्ता पक्षहरू देख्दा आकर्षक लागून् र तिनले अरूको मन जितून्, त्यसपछि मात्रै तिनीहरू बाहिर जान तयार छु भन्ने महसुस गर्छन्। कर्तव्य निर्वाह गर्न थालेपछि पनि, तिनीहरूले यो जीवनशैलीलाई अझै कायम राख्छन्। यदि विशेष परिस्थितिहरूका कारण तिनीहरूले त्यो दिन नुहाएका छैनन् र कुनै विपरीत लिङ्गी तिनीहरूको नजिक आयो भने, तिनीहरू तुरुन्तै त्यस व्यक्तिबाट पन्छिन्छन्। तिनीहरूलाई यदि तिनीहरूले नुहाएका छैनन् भने, तिनीहरू देखिन लायक हुँदैनन् भन्ने लाग्छ। तिनीहरूले आफ्नो रूप र आनीबानीमा धेरै मागहरू राख्ने हुनाले, यसले तिनीहरूको दैनिक जीवनलाई असर गर्छ। यदि तिनीहरू त्यस्तो ठाउँमा जानुपर्यो जहाँ नुहाउन सकिँदैन भने, तिनीहरूलाई पिर लाग्छ र धेरै कष्ट हुन्छ, र तिनीहरू राम्ररी खान वा सुत्न सक्दैनन्। तिनीहरू सोच्छन्, “मैले नुहाउन पाइनँ भने के गर्ने होला? म ननुहाई कहिल्यै पनि तीन दिनभन्दा बढी बसेको छैनँ। यदि म गन्हाउन थालेँ भने, के मानिसहरूले मलाई हेयका नजरले हेर्नेछन्? मेरो छवि उप्रान्त सिद्ध रहनेछैन, होइन र? म उप्रान्त अरूको सपनाको व्यक्ति हुनेछैनँ, होइन र? म के गरूँ?” यदि तिनीहरू त्यस्तो ठाउँमा पुगे जहाँ जिउने अवस्था नाजुक छ र पर्याप्त रूपमा पोषणयुक्त वा सन्तुलित खाना खान पाइँदैन भने, तिनीहरू चिन्ता गर्न थाल्छन्: “के यसले मेरो छालालाई असर गर्नेछ? के मेरो छाला खस्रो वा बूढो हुनेछ? के मेरो छाला चाउरी पर्नेछ? म यो ठाउँमा बस्न सक्दिनँ—म यहाँबाट निस्कनुपर्छ!” तिनीहरूको अन्तर्निहित अवस्थाले ल्याउने श्रेष्ठताको बोधले तिनीहरूको जीवनलाई विशेष रूपमा जटिल बनाउँछ, जसले गर्दा तिनीहरू विशेष रूपमा थकाइलाग्दो र संयमित रूपमा जिउँछन्। तिनीहरू अरूले तिनीहरूबारे के भन्लान्, विशेष गरी अरूले तिनीहरूको लुगा, आनीबानी, र चालढाललाई कसरी मूल्याङ्कन गर्छन् भनेर अत्यन्तै चिन्तित हुन्छन्, तिनीहरू अरूले तिनीहरूलाई कसरी लिन्छन् भन्नेबारे धेरै वास्ता गर्छन्—यो कति हदसम्म पुग्छ? यहाँसम्म कि यसले तिनीहरूको सामान्य जीवन, काम, र कर्तव्य निर्वाहलाई असर गर्छ। तिनीहरूको रूपबाट आउने श्रेष्ठताको भावनाले तिनीहरूलाई अत्यन्तै सतही तुल्याएको हुन्छ, तिनीहरूको रूपप्रति अत्यन्तै चिन्तित तुल्याएको हुन्छ, र अरूले तिनीहरूलाई कसरी लिन्छन् भन्ने कुराप्रति अत्यन्तै चिन्तित तुल्याएको हुन्छ। यो कस्तो समस्या हो? के यी सबै प्रकटीकरणहरू दैनिक जीवनका समस्याहरूलाई सम्हाल्ने सही मनोवृत्ति हुन्? (होइनन्।) के यी तिनीहरूले आफ्नो दैनिक जीवनको अवधिमा विकास गरेका विकृत दृष्टिकोणहरू हुन्? (हुन्।) त्यसोभए, यी प्रकटीकरणहरू केसँग सम्बन्धित छन्? (ती तिनीहरूको मानवतासँग सम्बन्धित छन्।) यो तिनीहरूको मानवताको कुन पक्षसँग सम्बन्धित छ? तिनीहरूले जसरी आफूलाई आचरणमा ढाल्छन् त्यसमा के समस्या छ? के यो सतहीपन हो? (हो।) सतहीपन तिनीहरूको मानवताभित्रकै एउटा समस्या हो। अरू के छ? आडम्बर, अरूले तिनीहरूलाई कसरी बुझ्छन् भन्नेबारे चिन्ता, अरूका नजरमा सबैभन्दा सिद्ध व्यक्ति बन्ने चाहना, र कुनै निश्चित कमजोरी र कठिनाइ सहन नसक्ने अवस्था। यसका साथै, स्वार्थ पनि हुन्छ। आफ्नो छवि कायम राख्नका लागि, तिनीहरूले सबैलाई तिनीहरूको प्रतीक्षा गर्न र सेवा गर्न लगाउँछन्, जबकि आफू चाहिँ अलिकति पनि कठिनाइ सहन मान्दैनन्। तिनीहरूको प्राकृतिक रूपले ल्याउने श्रेष्ठताको भावनाले गर्दा तिनीहरू सबै नै तिनीहरूको वरिपरि घुम्नुपर्छ भन्ने चाहन्छन्। तिनीहरूको दैनिक जीवनको मुख्य ध्यान र तिनीहरूले हासिल गर्न चाहने उद्देश्य भनेको आफ्नो बाहिरी रूपलाई कायम राख्नु हो। उदाहरणका लागि, एकपटक, फोटो खिच्ने क्रममा, मुस्कुराउँदा कसैले तिनीहरूका दाँतमा सागको टुक्रा अड्किएको देख्छ। त्यो क्षणदेखि तिनीहरूले हरियो साग खान छोड्छन्। यदि त्यो नै एकमात्र विकल्प हो र तिनीहरूसँग त्यो खाने बाहेक अरू कुनै उपाय छैन भने पनि, तिनीहरूले खाना खाएपछि तुरुन्तै मुख धुन्छन् र तिनीहरू ऐनामा हेरेर दाँतमा केही अड्किएको छैन भन्ने पक्का भएपछि मात्र बाहिर गएर अरूलाई हेर्ने आँट गर्छन्। के यो तिनीहरूको मानवताको समस्या हो? (हो।) दैनिक जीवनका यी आम समस्याहरू मानवताको दायराभित्र पर्छन् र ती भ्रष्ट स्वभावका स्तरमा पुगेका हुँदैनन्। तिनीहरूले सामना गर्ने समस्याहरू सबै मानव जीवनका पक्षहरूसँग मात्रै सम्बन्धित हुन्छन्—तिनीहरू आफ्नो शारीरिक रूप र भित्री मागहरूमा ध्यान दिएर आफ्नो सुन्दरता र अरूबाट धेरै ध्यान पाउने अवस्थालाई कायम राख्ने प्रयास गर्छन्। तिनीहरूले जे गरे पनि—चाहे त्यो खाने होस्, लुगा लगाउने होस्, वा कठिनाइ भोग्ने र मूल्य चुकाउने कुरा होस्—यी समस्याहरूलाई सम्हाल्दा, तिनीहरूको दृष्टिकोण र मनोवृत्ति सबै तिनीहरूको बाहिरी छविलाई कायम राख्नमा केन्द्रित हुन्छ ताकि तिनीहरू हेर्दा सधैँ मनमोहक देखिऊन्, जसले गर्दा अरूमा तिनीहरूको राम्रो छाप परोस् र तिनीहरूले धेरै ध्यान आकर्षित गरून्। के यो तिनीहरूको मानवतासँग सम्बन्धित छ? (छ।) यी सबै प्रकटीकरणहरू तिनीहरूको मानवतासँग सम्बन्धित छन्—तिनले तिनीहरूको मानवता अत्यन्तै सतही छ भन्ने देखाउँछन्।
अर्को प्रकारको व्यक्ति पनि छ, जसले विपरीत लिङ्गका मानिसहरू वरिपरि हुँदा आफ्नो प्रदर्शन गर्न सक्दो गर्छ, अझै कामुक देखिन विशेष प्रकारको लुगा लगाउने र मेकअप गर्ने प्रयास गर्छ। उदाहरणका लागि, तिनीहरू विशेष रूपमा परिचित रहेका दाजुभाइ-दिदीबहिनीहरूसँग हुँदा तिनीहरूको व्यवहार र रूप सामान्य नै हुन्छ, तर तिनीहरूको आफ्नै उमेर समूहको विपरीत लिङ्गको व्यक्ति देखा पर्नेबित्तिकै, तिनीहरू भित्री रूपमा उत्साहित हुन्छन् र विशेष वस्त्र लगाउन र रूप धारण गर्न बाध्य हुन्छन्। कतिपय महिलाहरू ओठ अझ चम्काउन तुरुन्तै लिप्स्टिक लगाउँछन्, आँखीभौँ मिलाउँछन्, र समय मिल्यो भने, अनुहारमा केही लाली लगाउँछन्। सामान्यतया, तिनीहरू कपाल पछाडि बाँध्छन्, तर तिनीहरूले आफूलाई मन पर्ने वा आकर्षक लाग्ने विपरीत लिङ्गको व्यक्तिलाई भेटेपछि, कपाल काँधसम्म छोडेर आफ्नो आकर्षकता बढाउँछन्। यस बीच, कतिपय पुरुषहरूले आफ्नो कपाल चम्किलो बनाउँछन्, यसलाई काटेर कोरियाली, हङकङेली, वा पश्चिमी शैलीको बनाउँछन्, दारी काट्छन्, चश्मा लगाउँछन्, राम्रा लुगा लगाउँछन्, र परिस्थितिले दियो भने केही अत्तर छर्कन्छन्, र यो सबै विपरीत लिङ्गको व्यक्तिलाई आकर्षित गर्नका लागि गर्छन्। विपरीत लिङ्गका मानिसहरूसँग कुरा गर्दा, तिनीहरूले बारम्बार धाक देखाउनका लागि केही सुन्दर शब्दहरू बोल्छन्, र यसको उद्देश्य आफ्नो सांस्कृतिक परिष्कार, कोमलता, बुद्धि, र हास्यबोध प्रदर्शन गर्नु हो। तिनीहरूले यी सबै कार्यहरू जानाजान गर्छन्—तिनीहरूले विपरीत लिङ्गको व्यक्तिलाई आकर्षित गर्नका लागि मात्रै यसो गर्छन्। कतिपय मानिसहरू, आफूलाई मन पर्ने विपरीत लिङ्गको व्यक्ति, वा उस्तै उमेरको विपरीत लिङ्गको व्यक्तिका छेउमा हुँदा, अझै जीवन्त व्यवहार गर्छन्, अझै बढी बोल्छन्, र आफ्नो कुरा अझै राम्ररी व्यक्त गर्छन्, र तिनीहरूको आँखा अझै जीवन्त हुन्छ, र त्यो निन्याउरो र बोधो हुन छोड्छ, र तिनीहरूको अनुहारको हाउभाउ पनि निकै फरक हुन्छ। यहाँ के भइरहेको छ? विपरीत लिङ्गीलाई देख्दा तिनीहरू किन विशेष रूपमा प्रभावित भएको र अप्राकृतिक देखिन्छन्? विपरीत लिङ्गका सदस्यहरूको पहिलो पटक भेट हुँदा, तिनीहरू प्रायः अलिक लजाउँछन्, तर केही भेटपछि, तिनीहरू अझै परिचित हुन्छन्, र अझै प्राकृतिक रूपमा व्यवहार गर्छन्। तर, कतिपय मानिसहरू विपरीत लिङ्गीलाई देख्दा विशेष रूपमा जीवन्त र उत्साहित हुन्छन्। यो कस्तो समस्या हो? (यो कामुकतासँग सम्बन्धित छ, जुन भ्रष्ट स्वभावको स्तरसम्म पुग्छ।) यो कस्तो किसिमको भ्रष्ट स्वभाव हो? (दुष्टता।) के तिनीहरूको मानवतामा समस्या हुँदैन र? (हुन्छ।) कडाइका साथ भन्दा, यो त्यस्ता मानिसहरूको मानवताको समस्या हो। यहाँ तिनीहरूको मानवताको कुन पक्ष समस्याग्रस्त छ? यो विपरीत लिङ्गीसँगको अन्तरक्रिया सम्बन्धी समस्या हो। गैरविश्वासीहरूले यसलाई कसरी व्याख्या गर्छन्? तिनीहरू यसलाई “दृष्टिकोणको समस्या” भनेर भन्छन्, होइन र? (हो।) यदि यसमा भ्रष्ट स्वभाव संलग्न छ भने, यसलाई दुष्टता भनेर सारांशित गर्नु मनासिब हुन्छ; तर अझै उचित रूपमा भन्दा, यो विपरीत लिङ्गीसँगको अन्तरक्रियाप्रति व्यक्तिको दृष्टिकोणको समस्या हो, जुन व्यक्तिको मानवतासँग सम्बन्धित हुन्छ। विपरीत लिङ्गीलाई भेट्दा, कतिपय मानिसहरू विशेष रूपमा जीवन्त हुन्छन्, र विशेष रूपमा सकारात्मक र सक्रिय बन्छन्। यी “विशेष रूपमा” ले प्रकट गर्ने कुरा व्यक्तिको मानवतासँग सम्बन्धित दृष्टिकोणको समस्या हो। यो दृष्टिकोण सामान्य हो कि असामान्य? (असामान्य।) त्यसोभए, के यसलाई दुष्ट भनेर व्याख्या गर्न सकिन्छ? के यो दुष्ट छ भनेर भन्नु उचित हुन्छ? के यो अलिक तुच्छ छ भनेर भन्नु ठीक हुन्छ? (हुन्छ।) त्यस्ता मानिसहरू अलिक तुच्छ हुन्छन्। जहाँ तिनीहरूलाई मन पर्ने विपरीत लिङ्गी व्यक्ति हुन्छ, तिनीहरू त्यो व्यक्तिको समूहप्रति आकर्षित हुन्छन्, त्यस व्यक्तिका छेउमा बस्न जिद्दी गर्छन्, र शारीरिक स्पर्श गर्छन् र प्यासी नजरले हेर्छन्। यसले तिनीहरूको चरित्रको समस्यालाई प्रतिविम्बित गर्छ—तिनीहरू छाडा, नराम्रो व्यवहार गर्ने, र तुच्छ हुन्छन्। यदि कुनै व्यक्ति बनावटी छ भने, ऊ समान लिङ्गीसँग हुँदा होस् वा विपरीत लिङ्गीसँग हुँदा होस् उसको प्रकटीकरण उस्तै हुनुपर्छ—ऊ राम्रो देखिन, र अरूले मन पराऊन्, आदर गरून्, र कदर गरून् भन्ने मात्रै चाहन्छ। यो उसको मानवतामा बनावटी हुनुको समस्या हो। तर, यदि उसको आशय विपरीत लिङ्गीलाई आकर्षित गर्नु र जिस्क्याउनु हो भने, यो विपरीत लिङ्गीसँगको अन्तरक्रियाप्रति उसको दृष्टिकोणको समस्या बन्छ। यदि कुनै व्यक्ति अत्यन्तै बनावटी छ र यसले उसको सामान्य जीवनमा असर गर्छ भने, यो उसको मानवताको एउटा पक्षमा भएको त्रुटि वा समस्या मात्रै हो। तर यदि कसैले विशेष रूपमा विपरीत लिङ्गका मानिसहरूलाई आकर्षित गर्नका लागि, कामुक, आकर्षक देखिने, र अरूको ध्यान तान्ने उद्देश्यले लुगा लगाउँछ भने, त्यो दुष्ट, नीच हो, र त्यसले खराब दृष्टिकोणको सङ्केत गर्छ। कतिपय मानिसहरू जति धेरै मानिसहरू उपस्थित छन् त्यति नै नीच बन्छन्, सधैँ विपरीत लिङ्गीसँग सम्पर्क खोजिरहन्छन् र तिनीहरूका अगाडि आफ्नो प्रदर्शन गर्छन्। गैरविश्वासीहरूमाझ जे चलेको छ तिनीहरूले त्यस्तै लुगा लगाउँछन्। विशेष गरी भेलाहरूमा सहभागी हुँदा वा क्यामेराको अगाडि देखा पर्दा, जति धेरै विपरीत लिङ्गी सदस्यहरू छन्, तिनीहरू त्यति नै धेरै सिँगारिन चाहन्छन्। कतिपय महिलाहरू बाहुला नभएको छोटो लुगा लगाउँछन्, कपाल खुला छोड्छन्, चहकिलो लिपस्टिक लगाउँछन्, र लाली पाउडर घस्छन्। कतिपयले त नाकको आकार मिलाउने, आँखामा गाजल लगाउने, र सबै किसिमका गहना लगाउने काम समेत गर्छन्। तिनीहरू विपरीत लिङ्गीलाई आकर्षित गर्ने शैलीमा लुगा लगाउँछन्। यो बनावटी हुनुभन्दा अझै गम्भीर कुरा हो। यदि बनावटीपन व्यक्तिको मानवताको एउटा पक्षमा हुने कमीकमजोरी वा त्रुटि हो, र यो सानो समस्या हो भने, विपरीत लिङ्गी सम्बन्धहरूका दुष्ट र खराब पक्षहरू प्रमुख समस्या हुन्। बनावटी व्यक्ति कामुक क्रियाकलापहरूमा संलग्न हुन्छ नै भन्न नसकिएला, तर दुष्ट र नीच दुवै मानिसहरूमध्ये, नब्बे प्रतिशतभन्दा बढी मानिसहरू कामुक क्रियाकलापहरूमा संलग्न हुने सम्भावना हुन्छ। म किन यसो भन्दै छु? यदि कुनै व्यक्तिले विपरीत लिङ्गीसँगको अन्तरक्रियालाई ठूलो महत्त्व दिन्छ, र विपरीत लिङ्गका मानिसहरूका अगाडि प्रदर्शन गर्न र आफूलाई देखाउन विशेष मन पराउँछ भने, त्यस्तो व्यक्तिले विपरीत लिङ्गी मानिसहरूलाई प्रेममा फसाउने सम्भावना निकै हुन्छ। विपरीत लिङ्गी मानिसहरूलाई तिनीहरूमा प्रेममा फसाउनुको उद्देश्य के हो? यो अनुचित सम्बन्धहरूमा संलग्न हुनु हो। यदि तिनीहरूले कोही विपरीत लिङ्गीलाई सजिलैसँग कामुकतामा लोभ्याउन सक्छन् भने, के यसले विपरीत लिङ्गीसँगको सम्बन्धलाई तिनीहरूले अत्यन्तै हल्का रूपमा लिन्छन् भन्ने जनाउँदैन र? (जनाउँछ।) त्यस्ता मानिसहरूसँग कुनै इज्जत हुँदैन; तिनीहरूले अरूलाई सजिलै जिस्क्याउँछन् र यौन प्रस्ताव राख्ने अग्रसरता समेत लिन्छन्। तिनीहरूले जति धेरै मानिसहरूलाई जिस्क्याउँछन्, तिनीहरू त्यति नै खुसी हुन्छन्, र तिनीहरूले मन पराएका छन् भने कसैलाई कहिल्यै इन्कार गर्दैनन्। यो कस्तो व्यक्ति हो? तिनीहरूमा रहेका भ्रष्ट स्वभावहरूलाई अहिलेका लागि थाती राख्दा, के यस्तो मानवता असल हुन्छ? (हुँदैन।) तिनीहरूको मानवताका अरू पक्षहरूमा तिनीहरूसँग जे-जस्ता सबल वा दुर्बल पक्षहरू भए पनि, यदि विपरीत लिङ्गीसँगको अन्तरक्रियाप्रतिको दृष्टिकोणमा तिनीहरू विशेष रूपमा हल्का, लापरवाह, र भोगी छन् भने, तिनीहरूको मानवता असल छैन भन्ने कुरा देखाउन यो नै पर्याप्त हुन्छ। यदि तिनीहरूले कुनै पनि समय वा स्थानमा गल्ती गर्न वा सीमा पार गर्न सक्छन् भने, के यो गम्भीर समस्या होइन र? (हो।) के त्यस्तो व्यक्ति भरपर्दो हुन्छ? (हुँदैन।) तिनीहरूको अविश्वसनीयताको जड के हो? यो तिनीहरूको दुष्ट प्रकृतिमा हुन्छ। तिनीहरूले कुनै पनि समय र स्थानमा कामुक कुरा सोच्न सक्छन्, र कुनै पनि समय र स्थानमा विपरीत लिङ्गीलाई कामुकताको प्रलोभनमा पार्न सक्छन्—तिनीहरूको मन यी विचारहरूले मात्रै ओगटेको हुन्छ। यदि वातावरण वा परिस्थितिहरूले साथ दिएन, वा राम्ररी लुगा लगाउनका लागि तिनीहरूसँग पर्याप्त समय छैन भने पनि, तिनीहरूले अझै उपाय भेट्छन्; तिनीहरू कामुक नजरले हेर्छन् र आफ्नो रूप वा हाउभाउ प्रदर्शन गर्छन्, र अरूलाई लोभ्याउन प्यासी नजरले हेर्छन्। त्यस्ता मानिसहरू व्यर्थ हुन्छन्; तिनीहरू भर नै हुँदैन! तिनीहरू लापरवाह, लम्पट, र हल्का रूपमा लिने हुन्छन्, र कुनै पनि समय र स्थानमा तिनीहरूले अरूलाई फकाएर पाप र अपराध गराउन सक्छन्; त्यस्ता मानिसहरूको मानवतामा कुनै लाजको बोध हुँदैन, तिनीहरूलाई छुटकारा दिनै सकिँदैन। के त्यस्ता मानिसहरू डरलाग्दा हुन्छन्? (हुन्छन्।) अनि तिनीहरूले यी लाजमर्दा कुरा हुन् भन्ने सोच्दैनन्; वरपर जतिसुकै मानिसहरू भए पनि, तिनीहरूले खुला रूपमा यसरी लुगा लगाउँछन् र प्रदर्शन गर्छन्, यसरी भोगी व्यवहार गर्छन् र अरूलाई यसरी मोहित पार्छन्। अरूलाई त के भइरहेको छ भन्ने समेत थाहा हुँदैन—तिनीहरू अझै पनि आफ्नो सामान्य काममा, गफगाफ, वा कुराकानीमा केन्द्रित हुँदा, यी व्यक्तिहरूले पहिले नै कामुक नजरले हेर्दै कसैलाई जिस्काउन थालिसकेका हुन्छन्। त्यस्ता मानिसहरू कति घृणित र डरलाग्दा हुन्छन् हेर त! तिनीहरूमा कुनै लाज हुँदैन, हुन्छ र? लाजविनाका मानिसहरू निरन्तर अपराध गर्छन्, र तिनीहरूको अन्तिम परिणाम के हुन्छ? (तिनीहरू नरकमा दण्डित हुनेछन्।) परमेश्वरका वचनहरूले के भन्छन्? “अपराधले मानिसलाई नरकमा पुर्याउँछ।” त्यसकारण, यदि तेरो मानवताका समस्याहरू अत्यन्तै गम्भीर छन् भने, तँ ठूलो खतरामा हुन्छस्। यदि कुनै हिसाबले व्यक्तिको कमजोर मानवतामा खराबी छ भने, यसलाई सुधार गर्ने अवसरहरू हुन सक्छन्। तर, यदि स्वाभाविक रूपमा नै तिनीहरूमा कुनै लाजको बोध नभएकोले, र तिनीहरूले कुनै पनि समय र स्थानमा अरूलाई फकाउन सक्ने हुनाले, तिनीहरूको मानवताको कुनै पक्ष कमजोर छ र—तिनीहरूले स्पष्ट रूपमा भ्रष्ट स्वभाव प्रकट गरेका छैनन् भने पनि—तिनीहरूले अझै पनि गम्भीर परिणामहरू ल्याउने गम्भीर अपराधहरू गर्न सक्छन् भने, त्यस्ता मानिसहरूको आनीबानीमा कुनै सीमा हुँदैन, तिनीहरूको चरित्र विशेष रूपमा खराब हुन्छ, र तिनीहरूले केही अपराधहरू गरे भने, यसले तिनीहरूलाई बरबाद पार्न सक्छ। मानवताका समस्याहरूका सम्बन्धमा तिनीहरूले अघि बढ्ने आफ्नै मार्ग अवरुद्ध गरेका हुन्छन्। किनभने तिनीहरूको मानवता यति कमजोर हुन्छ र तिनीहरूले यति धेरै अपराध गरेका हुन्छन् कि तिनीहरूलाई नरकमा पठाउनका लागि त्यो नै काफी हुन्छ, र तिनीहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा हिँड्ने कुनै अवसर नपाई तिनीहरूका लागि सबै कुरा समाप्त भएको हुनेछ। लाजको बोधको कमी हुनु व्यक्तिको मानवतासँग सम्बन्धित अत्यन्तै गम्भीर समस्या हो। कडाइका साथ भन्दा, यो भ्रष्ट स्वभावको स्तरसम्म पुग्दैन; यो व्यक्तिले आफ्नो आनीबानी प्रस्तुत गर्दा र निश्चित मामलाहरूलाई सम्हाल्दा अपनाउने तरिका, अर्थात् मनोवृत्ति मात्रै हो। यो मनोवृत्ति तिनीहरूको मानवतासँग सम्बन्धित हुन्छ र यसले अपराधहरू गर्ने अवस्था ल्याउन सक्छ, जसले गर्दा समस्या गम्भीर हुन्छ।
कतिपय मानिसहरू नाच्न मन पराउँछन् र नृत्यका चालहरू निकै चाँडो सिक्छन्। शिक्षकले तीन पटक देखाएपछि, तिनीहरू नृत्यको लय र चालहरूमा आधारभूत रूपमा पोख्त हुन्छन् र तिनीहरूले यसलाई जस्ताको तस्तै प्रस्तुत गर्न सक्छन्। तिनीहरू पनि निकै राम्रो नाच्छन् र तिनीहरूले अवार्डहरू जितेका हुन्छन्, अनि तिनीहरू सायद नृत्य शिक्षक वा कलाकारका रूपमा नृत्यसँग सम्बन्धित करियर पछ्याउने आशा गर्छन्। यो कुन पक्षसँग सम्बन्धित छ? (यो तिनीहरूका रुचि र सोखहरूसँग सम्बन्धित हुन्छ।) यो तिनीहरूको सामर्थ्य हो; यो तिनीहरूको रुचि र सोख हो। तिनीहरूले नृत्य निकै चाँडो सिक्छन्, यसले तिनीहरू नाच्न निकै सिपालु छन् भन्ने देखाउँछ; तिनीहरूले स्वाभाविक रूपमै यस्तो कुरा सटीक रूपमा बुझ्छन् र सजिलै सिक्छन्। यो एउटा सामर्थ्य हो, होइन र? (हो।) यस सम्बन्धमा तिनीहरूमा एउटा सामर्थ्य हुन्छ। नृत्य सिकेपछि, तिनीहरू पनि नाच्न रमाइलो मान्छन्, तिनीहरूलाई नाच्न उत्कट इच्छा हुन्छ; यति मात्र होइन, तिनीहरूले भविष्यमा नृत्यसँग सम्बन्धित करियर पछ्याउने योजना बनाउँछन्, र नृत्यलाई तिनीहरूको भावी जीवन र भावी यात्रामा सँगसँगै लिएर हिँड्ने अभिप्राय राख्छन्—यो तिनीहरूका रुचि सोखहरूसँग सम्बन्धित कुरा हो। नृत्य तिनीहरूको सामर्थ्य र तिनीहरूको चासो र रुचि दुवै हो—यो तिनीहरूको अन्तर्निहित अवस्था हो। कतिपय मानिसहरूमा यो अन्तर्निहित अवस्था हुन्छ, र तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, तिनीहरूलाई नृत्य भिडियोहरू हेर्न पनि मन पर्छ। त्यसकारण, तिनीहरू आफूले सिकेको कुरालाई आफ्नो कर्तव्य निर्वाह गर्दा प्रयोग गर्न सकिन्छ र यो परमेश्वरका घरमा उपयोगी हुन सक्छ, र परमेश्वरले सम्झनुहुने गरी आफ्ना असल कार्यहरू तयार गर्न सकिन्छ भन्ने आशाले परमेश्वरका घरमा नाच्ने कर्तव्य लिन्छन्। तिनीहरूको नृत्यको जग बलियो हुन्छ, र तिनीहरूले विभिन्न प्रकारका नृत्य पनि चाँडै सिक्छन्। परमेश्वरको घरका मागहरू अनुसार नृत्य कार्यक्रमहरू बनाउने क्रममा, तिनीहरू केही पनि नलुकाई आफूले सिकेको सबै कुरा अरूलाई सिकाउन तयार हुन्छन्। तिनीहरूले अरूले भन्दा धेरै प्रकारका नृत्य सिकेका भए पनि र तिनीहरू आफ्नो पेसामा अरूभन्दा निपुण भए पनि, तिनीहरू स्वाङ पार्दैनन्। तिनीहरू अरूसँग मैत्रीपूर्ण रूपमा मिलेर बस्छन् र आफूले सिकेको कुरा दाजुभाइ-दिदीबहिनीहरूलाई अत्यन्तै धैर्यका साथ सिकाउँछन्। यो केको प्रकटीकरण हो? (यो तिनीहरूको मानवताको प्रकटीकरण हो।) तिनीहरूको मानवता असल हुन्छ कि हुँदैन? (तिनीहरूको मानवता असल हुन्छ।) यो कुन-कुन तरिकाले असल हुन्छ? (तिनीहरूले आफूलाई थाहा भएको सबै कुरा नलुकाई अरूलाई सिकाउन सक्छन्, जसले गर्दा अरूले पनि तिनीहरूले प्राप्त गरेको कुरा प्राप्त गर्न सक्छन्—यो असल मानवता हो।) तिनीहरूले आफूले सिकेको सबै कुरा नलुकाई अरूलाई सिकाउन सक्छन्। तिनीहरूसँग अरू के-कस्ता गुणहरू हुन्छन्? तिनीहरूले साँच्चै धाक देखाउँदैनन्। यस्तो व्यक्तिको मानवता राम्रो हुन्छ। नृत्यमा तिनीहरूको सामर्थ्य हुने हुनाले, तिनीहरूले परमेश्वरका घरमा नृत्यसँग सम्बन्धित कर्तव्य लिन्छन्। तर केही समयपछि, कामका आवश्यकताका कारण, परमेश्वरको घरले तिनीहरूलाई अरू उपयुक्त काम गर्ने बन्दोबस्त गर्छ। तिनीहरूले मनमनै सोच्छन्, “के मैले नृत्य सिक्दै बिताएको बिस वर्ष खेर गएको छ? अहिले मलाई नृत्यसँग असम्बन्धित काम गर्न लगाइएको हुनाले, म निकै असन्तुष्ट छु! मलाई टोली अगुवा वा सुपरिवेक्षक बनाउनुको सट्टा किन आफ्नो सामर्थ्य र विशेषज्ञता प्रयोग गर्न दिइँदैन? यो मेरो सामर्थ्य होइन, र यो काम कसरी गर्ने मलाई थाहा छैन। यो मैले कहिल्यै अपेक्षा नगरेको कुरा हो।” तिनीहरूले बाहिरी रूपमा “यो सबै परमेश्वरका बन्दोबस्तहरूको पाटो हो, र म समर्पित हुन तयार छु” भने पनि, वास्तवमा, अगुवाहरूले जे भने पनि, तिनीहरू यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छन् र यसलाई मनमा लिँदैनन्। तिनीहरू सोच्छन्, “तिमी मानिसहरूमा पेसागत ज्ञानको कमी छ र पनि तिमीहरू हामीलाई अगुवाइ गर्न आउँछौ। तिमीहरूले गर्ने भनेकै धर्मसिद्धान्तका बारेमा कुरा गर्ने हो। तिमीहरू मभन्दा राम्रा छँदै छैनौ!” यो केको प्रकटीकरण हो? (भित्री अवज्ञा।) यो कस्तो समस्या हो? के यो भ्रष्ट स्वभावको प्रकाश हो? (हो।) तिनीहरूको मानवता सामान्यतया स्वीकार्य भए पनि—तिनीहरू अरूसँग सहकार्य गर्न, दयालु हुन, र असल व्यक्ति बन्न, बाधा र अवरोध नदिन वा दुष्कर्म र समस्या पैदा नगर्न तयार भए पनि—र तिनीहरूको व्यक्तिपरक चाहनाका हिसाबमा, तिनीहरू परमेश्वरको घरका बन्दोबस्तहरूमा समर्पित हुन र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न तयार भए पनि, जब तिनीहरूको हैसियतको कुरा आउँछ, वा तिनीहरूका आफ्नै धारणा र चाहनाहरूसँग नमिल्ने मामलाहरूको कुरा आउँछ, तब के तिनीहरूसँग समर्पण हुन्छ? के तिनीहरूले सत्यताको खोजी गर्ने कुनै प्रकटीकरण देखाउँछन्? (देखाउँदैनन्।) त्यसोभए, तिनीहरूले के प्रकट गर्छन्? (तिनीहरूले प्रकट गर्ने भनेको प्रतिरोध, गुनासो, र परमेश्वरको घरका बन्दोबस्तहरूप्रति समर्पणको कमी हो।) ठीक भन्यौ। त्यसोभए, यी प्रकटीकरणहरूलाई कस्तो समस्याका रूपमा सारांशीकृत गर्न सकिन्छ? (भ्रष्ट स्वभाव।) बाहिरी रूपमा तिनीहरूको मानवता दयालु देखिने र तिनीहरूले अगुवाहरूलाई खुलस्त विरोध नगर्ने, नचिच्याउने, वा आलोचना नगर्ने भए पनि, यी कुराहरूप्रतिको तिनीहरूको मनोवृत्ति तिनीहरूको भ्रष्ट स्वभावको प्रकाश हो। तिनीहरूले कस्तो प्रकारको भ्रष्ट स्वभाव प्रकाश गर्छन्? (अहङ्कारी स्वभाव।) ठीक भन्यौ, अहङ्कार। तिनीहरूले आफू निश्चित क्षेत्रमा दक्ष छु र तिनीहरूको मानवता निकै राम्रो छ भन्ने सोच्छन्, त्यसकारण तिनीहरूले मण्डली अगुवाहरूका बन्दोबस्तहरूमा समर्पित हुन इन्कार गर्नका लागि यसलाई पूँजीका रूपमा प्रयोग गर्छन्। तिनीहरू सत्यताको खोजी गर्दैनन् र आफूलाई रुचि भएको कर्तव्य निर्वाह गर्न चाहन्छन्। मण्डलीले तिनीहरूलाई उचित कर्तव्यमा खटाउँदा पनि तिनीहरूले यसलाई स्विकार्न सक्दैनन्, र यदि कुनै कुरा तिनीहरूका धारणा र कल्पनाहरू अनुरूप छैन भने, यो परमेश्वरको घरको बन्दोबस्त भए पनि, तिनीहरू समर्पित हुन मान्दैनन्। यी विद्रोहीपन र अहङ्कारी स्वभावका प्रकटीकरणहरू हुन्। तिनीहरूले प्रदर्शन गर्ने यी श्रृंखलाबद्ध प्रकटीकरणहरूलाई हेर: तिनीहरूको अन्तर्निहित अवस्थाका सामर्थ्यदेखि, तिनीहरूको मानवता, र अन्तिममा तिनीहरूको भ्रष्ट स्वभावसम्म—तिनीहरूका प्रकटीकरणहरूले यी तीन वटा फरक-फरक पक्षहरूलाई समेट्छन्। तिनीहरूको अन्तर्निहित अवस्थाका सामर्थ्यहरू तिनीहरूले जन्मिँदै लिएर आएका कुरा हुन्, र त्यसमा आलोचना गर्नुपर्ने केही पनि छैन। तिनीहरू जे कुरामा दक्ष भए पनि, यसको अर्थ तिनीहरूमा भ्रष्ट स्वभाव छैन भन्ने हुँदैन, न त यसले तिनीहरूको चरित्र असल छ कि खराब छ भन्ने कुरालाई नै देखाउन सक्छ। तर, निश्चित अन्तर्निहित अवस्थाहरूले पैदा गरेको श्रेष्ठताको बोध, वा सांसारिक सार्वजनिक विचारले तिनीहरूमा लादेको स्थान र चरित्रचित्रणले तिनीहरूको मानवतालाई विकृत पार्न सक्छ। यो विकृत पार्नुको अर्थ के हो? यसको अर्थ व्यक्तिमा अरूले तुलनात्मक रूपले सकारात्मक रूपमा हेर्ने केही अन्तर्निहित अवस्थाहरू हुने हुनाले, र उसले समाजका कतिपय मानिसहरूको आदर र सम्मान प्राप्त गर्ने हुनाले, उसले आफ्नै मूल्य र स्थानका बारेमा गलत चरित्रचित्रण विकास गर्छ। तिनीहरूले आफू निकै असल छु, आफू अरूभन्दा श्रेष्ठ छु भन्ने सोच्छन्, र मानिसहरूलाई हेयका नजरले थाल्छन्, सधैँ आफू सही छु र आफ्ना सबै कुरा असल छन् भन्ने विश्वास गर्छन्, र तिनीहरू अरूले तिनीहरूको कुरा सुनून् र तिनीहरूलाई पछ्याऊन् भन्ने चाहन्छन्। त्यस्तो अवस्थामा, कामकुराबारे तिनीहरूको दृष्टिकोण र अडान सबै गलत हुन्छन्। यी गलत दृष्टिकोण र अडानहरू लिएर, व्यक्तिले संसार र दुष्ट मानवजातिलाई पछ्याउनेछ। दुष्ट मानवजाति र दुष्ट संसारलाई पछ्याउनुको तात्पर्य के हो? यसको तात्पर्य के हो भने तँ यो दुष्ट संसार र दुष्ट मानवजातिबाट आउने भ्रमपूर्ण विचार र दृष्टिकोणहरू अनुसार जिउनेछस्, र तैँले सबै कुरालाई छुट्याउन र चित्रण गर्न यी भ्रमपूर्ण विचार, दृष्टिकोण, र भनाइहरू प्रयोग गर्नेछस्। उदाहरणका लागि, मानौँ तँ निकै सुन्दर छस्, तेरो राम्रो जीउडाल छ र तँ राम्रो देखिन्छस्—यी अन्तर्निहित अवस्थाहरू हुन्, जुन परमेश्वरले दिनुभएको हुन्छ। यसमा केही गलत छैन; यो एउटा तथ्य मात्रै हो। तर, यो समाज र यो दुष्ट मानवजातिले यसलाई दिने गलत स्थानको कारण, यो तथ्यले तँलाई अहङ्कारी र भोगी, बनावटी, र घमन्डी बनाउन सक्छ। भन्नुको अर्थ, अन्तर्निहित, श्रेष्ठ अवस्थाहरू हुने, र यो समाज र मानवजातिका विभिन्न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूले प्रभाव पार्ने, परीक्षा गर्ने, र आकार दिने हुनाले, तेरो मानवता विकृत बन्छ। “विकृत” ले केलाई जनाउँछ? तँसँग यी अन्तर्निहित अवस्थाहरू हुनु आफैमा पूर्णतया सामान्य कुरा हो—सुन्दर हुनु कुनै असाधारण कुरा होइन; यसको अर्थ तैँले सत्यता बुझ्छस् भन्ने हुँदैन, न त यसको अर्थ तँ कुलीन छस् भन्ने नै हुन्छ। यसको अर्थ तँ राम्रो देखिन्छस्, प्रस्तुत गर्न लायक देखिन्छस्, र मानिसहरू तँलाई अलिक बढी हेर्न इच्छुक हुन सक्छन् भन्ने मात्रै हुन्छ; तँ अरूका नजरमा झिजो लाग्दो वा अप्रिय छैनस्, कुरा यति हो। तर, सुन्दरता, आकर्षकता, र स्तरीय र महँगो ग्ल्यामर सम्बन्धी विचारहरूलाई आदर्श ठानिने सामाजिक वातावरणमा, यो प्रवृत्तिले तँलाई चरम स्थितितर्फ धकेल्छ, जसले गर्दा तेरो मानवता घमन्डी, भोगी, र बनावटी बन्छ। सुन्दर रूप हुनु एउटा अन्तर्निहित अवस्था हो। परमेश्वरले यो अन्तर्निहित अवस्था तँलाई घमन्डी, भोगी, वा बनावटी बनाउनका लागि दिनुभएको होइन, बरु उहाँ तैँले यसलाई सामान्य रूपमा हेरेको चाहनुहुन्छ: “मलाई यो अन्तर्निहित अवस्था, यो रूप दिनुभएकोमा परमेश्वरलाई धन्यवाद। यो परमेश्वरको अनुग्रह र वरदान हो। म परमेश्वरप्रति कृतज्ञ हुनुपर्छ। मसँग घमण्ड गर्ने केही कारण छैन।” यस्तो अन्तर्निहित अवस्था भएको व्यक्तिले परमेश्वरका शिक्षाहरू अनुसार मानिस र कामकुरालाई हेर्नुपर्छ र आफ्नो आनीबानी र व्यवहार प्रस्तुत गर्नुपर्छ। तर, समाज र शैतानका विभिन्न विचार र दृष्टिकोणहरूलाई स्वीकार गरेपछि, तिनीहरूले सुन्दरता र आकर्षकतालाई पूँजीका रूपमा हेर्न थाल्छन्। त्यसपछि तिनीहरूले हरेक समूहका हरेक व्यक्तिबाट निगाह पाउन यो पूँजीको प्रयोग गर्छन्, र आफूले चाहेको कुरा प्राप्त गर्न यो अन्तर्निहित र आधारभूत अवस्थाको सक्दो फाइदा लिन्छन्। कतिपयले यो अन्तर्निहित अवस्थालाई कानुन तोड्ने, नैतिक सीमाहरू उल्लङ्घन गर्ने, वा मानवताको विरुद्धमा जाने कामकुरा गर्न समेत प्रयोग गर्छन्। व्यक्तिको मानवतामा केही विकृत र चरम कुराहरू हुनुको कारण भनेको समाज र दुष्ट मानवजातिका केही विधर्म, भ्रम, र गलत सार्वजनिक विचारहरूको बढ्दो प्रभाव हो। मानिसहरूमा अन्तर्निहित रूपमा सत्यता र खुट्ट्याउने क्षमता नहुने हुनाले, तिनीहरूले स्वाभाविक रूपमा नै समाज र दुष्ट मानवजातिबाट आएका यी सार्वजनिक विचार, भनाइ, र प्रतिपादित सिद्धान्तहरूलाई स्वीकार गर्छन्। तिनीहरूले यी नकारात्मक कुराहरूलाई सही हुन् जस्तै गरी लिन्छन्, साथै यी भ्रमपूर्ण र दुष्ट विचार र दृष्टिकोणहरूको मार्गदर्शनमा, तिनीहरूको विवेक र समझ उन्नत वा शुद्ध हुनुको सट्टा विकृत हुन्छन् र बिग्रिन्छन्। यदि यो समाजले सुन्दर पुरुष र सुन्दर महिलाहरूलाई प्रशंसा वा तारिफ गर्दैनथियो, र तेरो परीक्षा गर्ने वा तँलाई आकार दिने कुनै बाहिरी विचारहरू थिएनन् भने—यदि, तँ जहाँ गए पनि, कसैले पनि तेरो सुन्दर रूपका लागि तँलाई प्रशंसा गरेन, तँलाई विशेष व्यवहार गरेन, वा परीक्षा वा दबाबमा पारेर विभिन्न कुराहरू गर्न लगाएन भने—तैँले देख्नेथिइस् कि प्राकृतिक रूपमा सुन्दर रूप हुनु पूर्णतया सामान्य कुरा हो र घमण्ड गर्नलायक कुरा होइन। यसको अर्थ तैँले आफ्नो अन्तर्निहित र आधारभूत अवस्थाका आधारमा आफूले गर्नुपर्ने कुराहरू गर्नेथिइस्, र तँसँग यस्तो उत्कृष्ट अन्तर्निहित अवस्था भएकोले नै गर्न नहुने कुराहरू गर्नेथिइनस् भन्ने हुन्छ। तर, बाहिरी वातावरणको परीक्षा र भ्रष्टताको कारण, तैँले प्राकृतिक रूपमै सुन्दर हुनु असाधारण कुरा हो र यसले तँलाई अरूभन्दा राम्रो बनाउँछ भन्ने विश्वास गर्छस्। तँसँग कुनै आत्म-संयमता नहुने हुनाले, तैँले आफ्नो आकर्षक रूपलाई प्रयोग गरेर अरूला प्रलोभनमा पार्छस्, विवेक र समझको बन्धन तोड्छस् र आत्म-व्यवहारका सीमाहरू पार गर्छस्। फरक-फरक वातावरणमा, तैँले आफ्नो श्रेष्ठ अन्तर्निहित अवस्थाको फाइदा उठाएर अनि आफूले चाहेका फाइदाहरू प्राप्त गर्नका लागि विभिन्न युक्तिहरू प्रयोग गर्दै विभिन्न भ्रष्ट स्वभावहरू प्रकट गर्न सक्छस्। अन्तर्निहित अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका बीचमा रहेको सम्बन्ध यही हो। कहिलेकहीँ, यी तीन पक्षहरूका बीचमा कुनै निश्चित सम्बन्ध हुन्छ, र अवश्य नै, कहिलेकहीँ पहिलो दुइटा वा अन्तिम दुइटा पक्षहरूका बीचमा एउटा जरुरी सम्बन्ध हुन्छ। बुझ्यौ? (अब अलिक बढी बुझ्यौँ।) तिमीहरूले कम्तीमा पनि के कुरा जान्नुपर्छ? कुनै पनि अन्तर्निहित अवस्था आफैमा गलत हुँदैन; यो त व्यक्तिको मानवताको एउटा आधारभूत अवस्था मात्रै हो। मानिसहरूको मानवताको कुरा गर्नुपर्दा त्यो असल वा खराब, सकारात्मक वा नकारात्मक हुन्छ। त्यसोभए, भ्रष्ट स्वभाव कसरी पैदा हुन्छ? यो तब पैदा हुन्छ जब आफ्नो भित्री र अन्तर्निहित अवस्थाका आधारमा शैतानका विभिन्न विचार र दर्शनहरूले व्यक्तिको मगज भरिएको हुन्छ, र यो मानसिकताले गर्दा विभिन्न गलत दृष्टिकोणहरू निर्माण हुन्छन्, त्यसपछि ती कुरा व्यक्तिले बाँच्नका लागि भरोसा गर्ने एक प्रकारको जीवन सार बन्छन्। भ्रष्ट स्वभाव भनेको यही हो।
भर्खरै, हामीले अन्तर्निहित अवस्था, मानवता, र भ्रष्ट स्वभावका फरक-फरक प्रकटीकरणहरूका बारेमा सङ्गति गर्यौँ। हामीले दश वटा अन्तर्निहित अवस्थालाई सूचीकृत गर्यौँ, र हामीले मानवतासँग सम्बन्धित विभिन्न प्रकटीकरणहरूका बारेमा पनि सङ्गति गर्यौँ। अब, हामी यसलाई सारांशित गरौँ: हामीले सङ्गति गरेका मानवताका फरक-फरक प्रकटीकरणहरू के-के हुन्? (मानवताको हिसाबले भन्नुपर्दा, असल मानवताका प्रकटीकरण र खराब मानवताका प्रकटीकरणहरू हुन्छन्। परमेश्वरले भर्खरै केही उदाहरणहरू दिनुभयो। कतिपय मानिसहरूमा स्वाभाविक रूपमा निश्चित क्षेत्रमा कुनै विशेष सामर्थ्य हुन्छ र तिनीहरू कुनै निश्चित प्राविधिक पेसामा दक्ष हुन्छन्, र तिनीहरूले केही नलुकाई अरूलाई सिकाउन सक्छन्। कतिपय त्यस्ता मानिसहरू पनि हुन्छन् जसले अरूबाट फाइदा लिँदैनन्। यी तुलनात्मक रूपमा असल मानवताका प्रकटीकरणहरू हुन्। परमेश्वरले खराब मानवताका प्रकटीकरणहरूका उदाहरणहरू पनि प्रदान गर्नुभयो। उदाहरणका लागि, नीच र फोहोरी मानवता हुनु, र अरूको पिठ्यूँ पछाडि अफवाह फैलाउनका लागि निरन्तर चियोचर्चो गर्न मन पराउनु; अनि विपरीत लिङ्गीसँगको अन्तरक्रियामा व्यक्तिको दृष्टिकोणका हिसाबमा भन्दा, त्यसलाई हल्का रूपमा लिनु, र इज्जत र निष्ठा नहुनु; अनि स्वार्थी, नीच हुनु, र अरूबाट फाइदा लिन मन पराउनु, साथै अलिकति पनि विवेक वा समझविना अरूसँगको अन्तरक्रियामा अति षड्यन्त्रकारी हुनु—यी सबै खराब मानवताका प्रकटीकरणहरू हुन्।) खराब मानवताका प्रकटीकरणहरूमध्ये, सबैभन्दा खराब के हो? तिमीहरूलाई कुन प्रकारको व्यक्ति सबैभन्दा अप्रिय लाग्छ? (कुनै लाजको बोध नभएका र विपरीत लिङ्गीसँग अन्तरक्रिया गर्दा त्यसलाई अत्यन्तै हल्का रूपमा लिने मानिसहरू।) लापरवाह, लम्पट, र लाजको बोध नभएको। यसलाई अलि सभ्य तरिकाले भन्दा, यी मानिसहरूलाई “लाज भन्ने नै थाहा हुँदैन”। सरल भाषामा भन्दा, तिनीहरू “निर्लज्ज” हुन्छन्, वा अझै सटीक रूपमा भन्दा, “साह्रै गतिछाडा” हुन्छन्। त्यस्ता मानिसहरूलाई कसैले पनि मन पराउँदैन।
कतिपय मानिसहरू खुर्सानी खाने चलन भएको ठाउँमा जन्मेका हुन्छन्; सायद मौसमको कारण, वा तिनीहरूको परिवारमा खुर्सानी खाने बानी भएकोले र तिनीहरूलाई त्यो खान मन पर्ने भएकोले, तिनीहरूले त्यो हरेक दिन खान्छन्, र तिनीहरूको दैनिक आहारमा प्रायजसो पिरो धेरै हालिएको हुन्छ। यो स्पष्ट रूपमा नै एक अन्तर्निहित अवस्था हो। यो अन्तर्निहित अवस्थाहरूमध्ये कुन हो? (जीवनशैलीको बानी।) तिनीहरूको जीवनशैलीको बानी के हो भने तिनीहरूले आफ्नो दैनिक आहारमा पिरो नखाई बस्न सक्दैनन्; तिनीहरूले खाने सबै कुरामा पिरो स्वाद हुनैपर्छ। यो रुचि कति हदसम्म पुग्छ? तिनीहरूले गुलियो खानामा समेत पिरो हाल्छन्, बर्गर र पिज्जामा पिरो हालेर खान्छन्, र चिया र कफीमा समेत खुर्सानी हाल्छन्—तिनीहरूले पिरो खाना यो हदसम्म खान्छन्। यो जीवनशैलीको बानी हो। यसमा सही वा गलत भन्ने हुन्छ? (हुँदैन।) पिरो खानाको रुचि व्यक्तिको जिउने वातावरण र जीवनशैलीका बानीहरूले पैदा गर्छन्; यसमा सही वा गलत भन्ने नै हुँदैन। कतिपय मानिसहरू अति मात्रामा पिरो खाना खान्छन्; यदि पिरो खाना छैन भने, तिनीहरूले खाना नै खाँदैनन्। तैँले यसलाई स्विकार्न सके पनि नसके पनि, तिनीहरूले पिरो खाना खान जिद्दी गर्छन्, र कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। छोटकरीमा भन्दा, खुर्सानी खान मन पराउनु जीवनशैलीको बानी हो, यसमा कुनै समस्या छैन, र यो सत्यतासँग सम्बन्धित छैन। कतिपय मानिसहरू भन्छन्, “यो जीवनशैलीको बानी अत्यन्तै चरम छ; के यसलाई नकारात्मक कुरा मान्नुपर्छ? के यसलाई आलोचना वा नियमन गर्नुपर्छ? के हामीले केही स्वास्थ्य ज्ञान प्रवर्धन गर्नुपर्छ, र खाने र जीवनशैलीका बानीहरूका सिद्धान्तहरूमा स्वास्थ्यलाई प्राथमिकता दिइनुपर्छ भन्ने विचार फैलाउनुपर्छ?” के तैँले खुर्सानी र पिरो खाना खानु अस्वस्थकर हो भनेर निश्चितताका साथ भन्न सक्छस्? तिनीहरूले धेरै वर्षदेखि, कैयौँ पुस्तादेखि यसरी नै खाँदै आएका हुन्छन्, र तिनीहरू निकै स्वस्थ हुन्छन्। विशेषगरी, कतिपय ठाउँका मानिसहरूले यति धेरै खुर्सानी खान्छन् कि अरूलाई यो स्विकार्नै गाह्रो हुन्छ। जब मानिसहरूले तिनीहरूको खाना कति पिरो छ भन्ने देख्छन्, तब तिनीहरूलाई असहज लाग्छ, तैपनि यी व्यक्तिहरू बलिया, स्वस्थ, र निकै सुगठित हुन्छन्, र तिनीहरूमा शारीरिक काम गर्ने तागत सहनशक्ति हुन्छ। यसले खुर्सानी खाँदा त्यसले कुनै हानि गर्दैन र स्वास्थ्यलाई असर गर्दैन भन्ने कुरा प्रमाणित गर्छ; अनि तिनीहरूको पिरो आहार पनि स्वास्थ्य सिद्धान्तहरू अनुरूप हुन्छ जस्तो देखिन्छ। खुर्सानी खान मन पराउनु अन्तर्निहित जीवनशैलीको बानी हो। अरूलाई यो मन परे पनि नपरे पनि वा अरूले यसलाई स्वीकार गर्न सके पनि नसके पनि, कुनै व्यक्तिले यसबाट आनन्द लिन्छ र यसले अरूको जीवन वा आहारमा असर गर्दैन भने, यसलाई कायम राख्न सकिन्छ। यसमा कुनै सही वा गलत भन्ने हुँदैन; यो कुनै ठूलो समस्या होइन, र परमेश्वरको घरले यसबारे कुनै राय बनाउँदैन। कतिपय मानिसहरू भन्छन्, “खुर्सानी खानु पेटका लागि राम्रो होइन।” यदि तँलाई यो पेटका लागि राम्रो होइन भन्ने चिन्ता लाग्छ भने, तैँले ती नखाँदा भैगो नि। यदि अरूले लामो समयदेखि पिरो खाना खाँदै आएका छन् र तिनीहरूलाई पेट दुख्यो भने, तिनीहरूले आफै यो कुरा महसुस गर्नेछन् र आफै निर्णय गर्नेछन्। त्यसकारण, हरेकको आ-आफ्नै स्वाद हुन्छ—तिनीहरूलाई गुलियो, अमिलो, तीतो, वा पिरो के मन पर्छ, यो व्यक्तिगत मामला हो। तैँले जसरी खाए पनि वा जति हदसम्म खाए पनि, तैँले अप्ठ्यारो मान्नु पर्दैन। अवस्था र वातावरणले साथ दिउन्जेल, तैँले सबै चिन्ताहरूलाई छोडेर कुनै हिचकिचाहटविना खान सक्छस्। मलाई लाग्छ, यस सम्बन्धमा यो वा त्यो खानुपर्छ भन्ने हुँदैन। यदि यसका बारेमा कसैले केही भन्न चाहन्छ भने, तैँले यसो भनेर प्रतिक्रिया दिन सक्छस्, “यो मेरो स्वतन्त्रता हो, यो मेरो अधिकार हो, र तिमीले हस्तक्षेप गर्नु पर्दैन। मैले खानामा खुर्सानी खाए पनि, त्यो तिम्रो सरोकारको विषय होइन। यसले मेरो पेटमा हानि गर्छ कि गर्दैन भन्ने कुरा मेरो आफ्नै जिम्मेवारी हो, तिम्रो होइन।” के यसरी बोल्नु ठीक हो? (हो।) त्यो तेरो आफ्नै मामला हो; यो अरूको सरोकारको विषय होइन, र मेरो सरोकारको विषय पनि होइन। मैले किन यसो भनेँ? किनभने यो मामला सत्यतासँग सम्बन्धित छैन, भ्रष्ट स्वभावसँग सम्बन्धित छैन, र यो मानिसहरूलाई मुक्ति दिँदा परमेश्वरले समाधान गर्न चाहनुहुने समस्यामा पर्दैन। त्यसकारण, जीवनशैलीका बानीहरूका हकमा, हामीले तिनलाई बेवास्ता गर्न सक्छौँ। यो सकारात्मक कुरा होइन, तर यो नकारात्मक कुरा पनि होइन—यो कतिपय मानिसहरूमा हुने रुचि मात्रै हो।
अतिथिसेवा गर्ने कतिपय मानिसहरूलाई खुर्सानी खान मन पर्छ, र तिनीहरू दिनको तीनै छाक पिरो खाना खान चाहन्छन्। त्यसकारण, खाना पकाउँदा, तिनीहरूले हरेक छाकमा पिरो खाना तयार गर्छन्। खुर्सानी कहिल्यै नखाएका कतिपय मानिसहरूलाई यो सहन गाह्रो हुन्छ र तिनीहरूले यसको सट्टा पिरो नहालिएको खाना बनाउन सुझाव दिन्छन्। तर, खाना पकाउने व्यक्ति यो कुरालाई स्वीकार गर्न अनिच्छुक हुन्छ र भन्छ, “त्यसरी हुँदैन। मलाई पिरो खाना खाने बानी परेको छ; यदि मैले पिरो बनाइनँ भने, मलाई त्यो मीठो लाग्दैन। तपाईंले पिरो खाना खाने अभ्यास गर्नुपर्छ; केही समयसम्म खाएपछि, तपाईंलाई बानी पर्छ र पिरोको डर लाग्दैन।” यहाँ के समस्या छ? (तिनीहरूको मानवतामा समस्या छ।) तिनीहरूको मानवतामा कस्तो समस्या छ? (तिनीहरूले अरूमाथि जबरजस्ती गरिरहेका छन्।) अरूमाथि जबरजस्ती गर्नु राम्रो होइन। के यो अरूलाई तिनीहरूले जे गर्न चाहेका छैनन् त्यो गर्न बाध्य पार्नु होइन र? त्यस्ता मानिसहरू आफूलाई मन पर्ने कुरा नै सबैभन्दा राम्रो हो, र अरूले यसलाई स्विकार्नैपर्छ भन्ने विश्वास गर्दै आफूले गर्ने सबै कुराको केन्द्रमा आफूलाई नै राख्ने प्रयास गर्छन्। यदि तिनीहरूलाई कुनै कुरा मन पर्छ भने, तिनीहरूले अरूलाई पनि त्यो कुरा मन पराउन लगाउने प्रयास गर्छन्; सबैले तिनीहरूलाई सन्तुष्ट पार्नु नै पर्छ। के यो स्वार्थी र नीच कुरा होइन र? तिनीहरूले अरूमाथि जबरजस्ती गर्ने मात्र नभई यसमा अलिकति दुर्भावना पनि हुन्छ। के यस्तो व्यक्तिको मानवता असल हुन्छ? (हुँदैन।) कमजोर मानवता भएका मानिसहरूले अरूलाई फाइदा दिन सक्दैनन्; तिनीहरूले चोट मात्रै पुर्याउन सक्छन्, र गम्भीर अवस्थामा, तिनीहरूले हानि समेत गर्न सक्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी र नीच हुन्छन्, र तिनीहरू अनुचित रूपमा अभद्र पनि हुन्छन्। यदि कुनै व्यक्तिमा समझ छ भने, उसले यसो भन्न सक्छ, “मलाई पिरो खाना खान मन पर्छ, तर कतिपय मानिसहरूलाई मन पर्दैन। त्यसकारण जब म खाना पकाउँछु, तब मैले आफ्नो बारेमा मात्रै सोच्नु हुँदैन। मैले पिरो र पिरोरहित दुवै खाना बनाउनुपर्छ, ताकि म र अरू सबै जना सन्तुष्ट हुन सकौँ। आफ्नो कर्तव्य निर्वाह गर्दा मैले पालना गर्ने सिद्धान्त भनेको सबैलाई सन्तुष्ट पार्नु हो, सबैले राम्ररी खान पाएका छन् भन्ने कुरालाई सुनिश्चित गर्नु हो, र आफूमा मात्रै ध्यान नदिनु हो। मैले सिद्धान्तहरू अनुसार यो कर्तव्य राम्ररी पूरा गर्नैपर्छ।” यस्तो व्यक्ति तिमीहरूलाई कस्तो लाग्छ? (तिनीहरूको मानवता तुलनात्मक रूपमा असल हुन्छ।) यो कुन-कुन हिसाबमा असल हुन्छ? (तिनीहरूले अरूको वास्ता र हेरचाह गर्न जानेका हुन्छन्। तिनीहरूले आफूलाई मात्र सन्तुष्ट पार्छन् भन्ने होइन।) तिनीहरू तुलनात्मक रूपमा दयालु हुन्छन्, होइन त? असल मानवतामा दया समावेश हुन्छ—अरूका बारेमा सोचविचार गर्नु र तिनीहरूको हेरचाह गर्नु। के यसमा व्यक्तिको मानवता संलग्न हुन्छ? (हुन्छ।) व्यक्तिको उमेर, लिङ्ग, वा स्वभाव जेसुकै भए पनि, यदि उसमा राम्रो मानवता छ भने, उसको वरिपरिका मानिसहरू र ऊसँग अन्तरक्रिया गर्नेहरूलाई फाइदा हुनेछ। अझै विशिष्ट रूपमा भन्दा, कतिपय मानिसहरूले तिनीहरूबाट साथ र सहयोग प्राप्त गर्नेछन्, जबकि अरूलाई दैनिक जीवनमा तिनीहरूले हेरचाह गर्नेछन्। यो असल मानवताको एउटा प्रकटीकरण हो।
यस्ता मानिसहरू पनि हुन्छन् जो पिरो खाना यति धेरै मन पराउँछन् कि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर जाँदा पनि खाने समयमा पिरो खानेकुरा पाउने ठाउँ नै खोज्छन्। यदि तिनीहरूले एक छाक पिरो नहालेको खाना खाएमा, तिनीहरूलाई भित्री रूपमा असहज महसुस हुन्छ: “यहाँ पिरो खाना खान नपाउँदा, आफ्नो कर्तव्य निर्वाह गर्न मनै लाग्दैन। म घर जान चाहन्छु, जहाँ म प्रत्येक छाक मज्जाले पिरो खाना खान पाउँछु—मलाई चाहिने त त्यो पो हो त! खुर्सानीविना त केहीको स्वाद हुँदैन; सुँगुरको भुटेको मासुमा पनि स्वाद हुँदैन। म के गरूँ?” त्यसकारण, तिनीहरूले खुर्सानी खान पाइने ठाउँहरू खोजिरहन्छन्। पछि, तिनीहरूले विशेषगरी पिरो खाना पाइने रेस्टुराँका बारेमा थाहा पाउँछन्, तर त्यहाँ पुग्न गाडीमा एक घण्टाभन्दा बढी लाग्छ। तिनीहरू भन्छन्, “त्यो जति नै टाढा भए पनि, म जानुपर्छ! यदि आज मैले पिरो चिज खाइनँ भने, म आफ्नो कर्तव्य निर्वाह गर्नेछैनँ। यदि मैले पिरो खान पाइनँ भने, मलाई सहज हुनेछैन, र म दिन कटाउनै सक्दिनँ!” कसैले तिनीहरूलाई भन्छ, “यतिखेर बाहिरको वातावरण खतरनाक छ, र यो क्षेत्र निकै अस्तव्यस्त छ! हामी त्यहाँ खान नजाऊँ।” तर तिनीहरूले कुरा सुन्दैनन्, र भन्छन्, “डराउनुपर्ने कुरा के छ र? खानु नै महत्त्वपूर्ण कुरा हो! के तिमी पनि प्रायः बाहिर जाँदैनौ र? नडराऊ, केही पनि हुनेछैन—परमेश्वरले हाम्रो रक्षा गर्नुहुनेछ!” खाना खाएपछि, तिनीहरू सन्तुष्ट हुन्छन्। तिनीहरूले आफूले तृष्णा गरेको खुर्सानी र स्वादिष्ठ खाना खान पाए भने, सबै कुरा ठीकठाक हुन्छ, र तिनीहरू यति खुसी हुन्छन् कि सुत्दा पनि मुस्कुराउन छोड्दैनन्। यो कस्तो मानवता हो? (स्वार्थी र नीच मानवता।) स्वार्थी र नीच हुनुका साथै, अर्को विशेषता पनि छ: तिनीहरूले कुनै काम गर्न चाहँदा वस्तुगत वातावरण वा अवस्थाहरूलाई विचार गर्दैनन्। तिनीहरूले आफ्नै चाहना र रुचिहरूलाई पूरा गर्न सक्छन् भने, त्यो नै महत्त्वपूर्ण हुन्छ। तिनीहरू आफूले खान चाहेको चिज एकपटक चाख्नका लागि जुनसुकै मूल्य तिर्न तयार हुन्छन्—हदैसम्म जानु परे पनि, तिनीहरूले आफ्नो लक्ष्य हासिल गर्नका लागि जे गर्नुपर्छ त्यो गर्छन्। के यो स्वार्थी र नीच हुनु मात्रै हो? के यो स्वेच्छाचारिता पनि होइन र? (हो।) यो चरम स्वेच्छाचारिता हो! तिनीहरूसँग हुने जोकोहीले तिनीहरूको स्वेच्छाचारिताको मूल्य चुकाउनुपर्छ र यसको कारण गुनासो सहनुपर्छ। तिनीहरूले जे भन्यो त्यही हुनुपर्छ, र तिनीहरूले जे गर्न चाहन्छन् त्यही हुन्छ। आज, तिनीहरूको मुड खराब छ, त्यसकारण तिनीहरू खाना खान चाहँदैनन्। तिनीहरूले किन खाइरहेका छैनन् भनेर सोधियो भने, तिनीहरू यसो भन्छन्, “आज मलाई रिस उठेको छ, मेरो मुड खराब छ, त्यसकारण मलाई खान मन छैन।” साँझमा, जब विश्रामको समय आउँछ, तब तिनीहरू सुत्न पनि जाँदैनन्, निद्रा लागेन र आफ्नो भावना व्यक्त गर्न गीत गाउन चाहन्छु भन्छन्। कसैले तिनीहरूलाई यसो भन्दै मनाउने प्रयास गर्छ, “तिमीले गीत गायौ भने अरूको निद्रा बिग्रिनेछ।” तिनीहरूले यस्तो जबाफ दिन्छन्, “अहिले म खराब मुडमा छु। म गाउन चाहन्छु। तिमीहरू निदाउन सक्नु वा नसक्नु मेरो सरोकारको विषय होइन। म खराब मुडमा छु, तैपनि कसैले पनि मलाई सान्त्वना दिइरहेको वा वास्ता गरिरहेको छैन—तिमीहरू सबै अत्यन्तै स्वार्थी छौ!” के यो स्वेच्छाचारी हुनु होइन र? तिनीहरू अत्यन्तै स्वेच्छाचारी हुन्छन्; तिनीहरूले आफूलाई ठीक ठाउँमा राख्दैनन्, र जे मन लाग्यो त्यही गर्छन्। जब तिनीहरू खुसी हुन्छन्, तब अरूले भनेको कुनै कुरामा तिनीहरूलाई झिजो लाग्दैन, र तिनीहरूले यसो समेत भन्छन्, “म फराकिलो सोचाइ भएको व्यक्ति हुँ। मलाई सानो कुरालाई ठूलो बनाउन मन पर्दैन।” तर जब तिनीहरू खुसी हुँदैनन्, तब सबैले अत्यन्तै होसियार भएर बोल्नुपर्छ, ताकि तिनीहरू निराश नहोऊन्, किनभने तिनीहरूलाई निराश पारिएमा ठूलो समस्या आउन सक्छ। तिनीहरूले रिसको झोँक देखाउन, सामानहरू तोड्न सक्छन्, र खाना खान समेत इन्कार गर्न सक्छन्। अझै गम्भीर अवस्थामा, तिनीहरूले आफ्नो कर्तव्य त्याग्न, काम रोक्न र घर जान चाहन सक्छन्, र सँगसँगै यसो भन्न सक्छन्, “तिमीहरू कसैले पनि मलाई राम्रो व्यवहार गर्दैनौ; तिमीहरू सबैले मलाई हेप्छौ। संसारमा असल मानिसहरू छैनन्!” के यो स्वेच्छाचारी हुनु होइन र? (हो।) के स्वेच्छाचारिता व्यक्तिको मानवताभित्रको समस्या हो? (हो।) तिनीहरू अत्यन्तै स्वेच्छाचारी हुन्छन्—सबैले तिनीहरूको इच्छा पूरा गरिदिनुपर्छ, र यदि तिनीहरूले भने जस्तो भएन भने, तिनीहरू तुरुन्तै शत्रुवत् बन्छन्, र तिनीहरूको आक्रामक रिस बल्झिन्छ। कोही पनि तिनीहरूका विरुद्धमा जानु हुँदैन, र सबैले तिनीहरूलाई मनाउनुपर्छ। तिनीहरू अब जवान नरहे पनि, तिनीहरूको मानवता बच्चाको जस्तै अपरिपक्व नै हुन्छ। तिनीहरूले आफ्नो कर्तव्य जहाँ निर्वाह गरे पनि, तिनीहरूले कहिल्यै पनि सार्वजनिक नियमहरू पालना गर्दैनन्। जब तिनीहरू खुसी हुन्छन् र कुरा गर्न चाहन्छन्, तब सबैले सुन्नुपर्छ, र यदि कसैले सुनेन भने, तिनीहरूले त्यस व्यक्तिका विरुद्धमा ईख राख्छन्। तिनीहरूसँग बोल्दा तैँले मुस्कुराउनुपर्छ; यदि तैँले कुनै भाव देखाइनस् र तँ सुन्न त्यति इच्छुक देखिनस् भने, तिनीहरू रिसाउँछन् र झोँक्किन्छन्। मण्डलीमा, तिनीहरूले जे मन लाग्यो त्यो गर्छन्, जहिले मन लाग्यो तहिले गर्छन्, अरूको सामान्य जीवनको दिनचर्यामा यसले कस्तो असर पार्छ भन्ने कुरालाई प्रवाह गर्दैनन्। तिनीहरूलाई सहज महसुस भयो र तिनीहरू राम्रो मुडमा छन् भने, तिनीहरूलाई त्यो नै महत्त्वपूर्ण हुन्छ, र अरूले कुनै आपत्ति जनाउन पाउँदैनन्। यदि कसैले घृणा वा बेखुसी देखाउन आपत्ति जनायो भने, यसले तिनीहरूलाई चिढ्याउँछ, र तिनीहरूले यो कुरा छोड्दैनन्। यस्ता कतिपय मानिसहरू जवान हुन्छन्, र तिनीहरूमा अपरिपक्व मानवता हुन्छ, तर अरू चालीस, पचास, वा सत्तरी वा असीका दशकमा हुन्छन्, र बुढेसकालमा पनि तिनीहरूमा अझै यस्तो मानवता हुन्छ, र तिनीहरू विशेष रूपमा स्वेच्छाचारी हुन्छन्। वातावरण वा अवस्थाहरूले साथ दिए पनि नदिए पनि, तिनीहरू आफूले चाहेको कुरा गर्छन्। उदाहरणका लागि, तिनीहरू त्यस्तो ठाउँमा पुग्छन् जहाँ नुहाउने अवस्था हुँदैन, तर तिनीहरूले यसो भन्दै नुहाउन जिद्दी गर्छन्, “घरमा त म हरेक दिन नुहाउँछु; म ननुहाइ बस्न सक्दिनँ।” तर, यो ठाउँमा उचित अवस्था हुँदैन; हप्तामा एक पटक नुहाउनु समेत गाह्रो हुन्छ। त्यसोभए तैँले के गर्नेथिइस्? सामान्य मानवता भएको व्यक्तिले यो परिस्थितिलाई कसरी लिने र सम्हाल्ने भन्ने जानेको हुन्छ। यदि मौसम आर्द्र र धुम्मिएको छ भने, सुत्न सकूँ भनेर एक बाटा पानी लिएर राती जिऊ पुछपाछ गरे पुग्छ—यो सहन सकिने कठिनाइ हो। यो सहनु असम्भव छैन। तर, यस्तो व्यक्तिले यसलाई सम्हाल्न सक्दैन; यदि उसले नुहाएन भने, ऊ सुत्न सक्दैन, खान सक्दैन, र यहाँसम्म उसलाई बाँच्न सकिँदैन जस्तो महसुस हुन्छ, मानौँ उसले ठूलो अपमान सहिरहेको छ। तिनीहरू कति स्वेच्छाचारी हुन्छन्? तिनीहरू यति स्वेच्छाचारी हुन्छन् कि तिनीहरू सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, सामान्य रूपमा अरूसँग अन्तरक्रिया गर्न वा मिलेर बस्न सक्दैनन्, र सामान्य व्यक्तिले जस्तो जिउन समेत सक्दैनन्। अरूका नजरमा, यस्तो व्यक्तिमा मानसिक असन्तुलन छ जस्तो देखिन्छ। यदि कसैसँग तिनीहरूको सम्बन्ध राम्रो छ भने, तिनीहरू छुट्टिन सक्दैनन्, मानौँ तिनीहरू एउटै व्यक्ति हुन्। तर यदि कुनै व्यक्तिसँग तिनीहरूको सम्बन्ध खराब छ वा कसैले तिनीहरूलाई कहिल्यै चिढ्याएको छ भने, तिनीहरू त्यो व्यक्तिसँग जिन्दगीभरि नबोली बस्न सक्छन्। उसलाई देख्दा, तिनीहरूले आँखा तर्छन्, र तुरुन्तै अँध्यारो मुख लगाउँछन्, मानौँ तिनीहरूले अत्यन्तै चरम रूपमा शत्रुको सामना गरिरहेका छन्। के यस्तो व्यक्तिको मानवता सामान्य हुन्छ? (हुँदैन।) यस्तो व्यक्ति अत्यन्तै स्वेच्छाचारी हुन्छ, र उसको मानवता सामान्य हुँदैन। “सामान्य हुँदैन” भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूमा सामान्य मानवता हुँदैन। के त्यस्ता मानिसहरूले अरूसँग सामान्य अन्तरक्रिया र सहकार्य गर्न सक्छन्? के तिनीहरू मानिसहरूका बीचमा सामान्य रूपमा जिउन सक्छन्? के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्न चाहन्छन् भने—चाहे त्यो तिनीहरूले खाना खाने होस्, राम्रो व्यवहार पाउने होस्, वा आफूले गर्न चाहेको कुनै कुरा गर्ने होस्—त्यो पूरा हुनैपर्छ। होइन भने, आकाश खस्दै छ, तिनीहरूको संसार सकिँदै छ जस्तो हुन्छ। तिनीहरू व्याकुल हुन्छन् र अरूका बारेमा, वातावरणका बारेमा, र यसो भन्दै परमेश्वरका बारेमा समेत गुनासो गर्न थाल्छन्, “मलाई यति धेरै कष्टमा पारेर परमेश्वरले मेरा लागि कस्तो वातावरण मिलाउनुभएको हो? अरूले किन त्यस्ता वातावरणहरूको सामना गरेका र यसरी कष्ट भोगेका छैनन्? किन मैले नै कष्ट भोगिरहेको छु? परमेश्वर पक्षपाती हुनुहुन्छ!” हेर् त, तिनीहरूको पैशाचिक प्रकृति देखा परेको छ, होइन त? के यस्तो मानवता मापदण्ड अनुरूप हुन्छ? (हुँदैन।) त्यस्ता मानिसहरूलाई निराकरण गर्नुपर्छ। यस्तो व्यक्तिलाई कसरी निराकरण गर्नुपर्छ? (तिनीहरूलाई कुनै साधारण मण्डलीमा पठाउनुपर्छ।) यदि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नै नसक्ने अवस्थामा पुग्छन्, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा बाधा र अवरोध मात्र सिर्जना गर्छन्, जसले गर्दा तिनीहरूलाई हेर्ने सबैलाई तिनीहरूप्रति घिन र झिजो लाग्छ, र अरू तिनीहरूसँग मिलेर बस्न सक्दैनन् भने, तिनीहरूलाई तुरुन्तै लखेट्नुपर्छ—यस्तो व्यक्ति कुकुरको गन्हाउने गुहुजस्तै हो। स्वेच्छाचारितामा स्वार्थी, नीच, र अनुचित रूपमा अभद्र व्यवहार पनि समावेश हुन्छ। कहिलेकहीँ यसमा अत्यन्तै हिसाब-किताब गर्ने, कठोर, साथै क्रूर र दुर्भावपूर्ण व्यवहार समेत समावेश हुन्छ। जब यस्तो व्यक्तिले केही समयसम्म आफ्नो कर्तव्य निर्वाह गर्छ, तब सबैलाई गहन रूपमा हानि हुन्छ, र उसलाई हेर्ने जोकोही त्रसित हुन्छ। यदि तैँले तिनीहरूबाट जोगिने र तिनीहरूलाई नचिढ्याउने प्रयास गरिस् भने पनि तिनीहरूले भन्नलाई केही कुरा पाउनेछन्: “तपाईं केबाट लुकिरहनुभएको छ, चोरबाट? मैले तपाईंलाई कसरी चिढ्याएँ जसले गर्दा तपाईं मबाट टाढा बस्नुहुन्छ?” तर यदि तैँले तिनीहरूकहाँ गएर केही कुरा भन्ने प्रयास गरिस् भने, तिनीहरू अझै पनि तँसँग सामान्य कुराकानीमा संलग्न हुनेछैनन्। तिनीहरूमा सामान्य मानवता हुँदैन, र तिनीहरूसँग अन्तरक्रिया गर्नेहरूले मौखिक रूपमा मात्रै चोट भोग्दैनन् बरु तिनीहरूको निष्ठामा, भावनामा, र शारीरिक रूपमा समेत चोट पुग्छ। त्यस्ता मानिसहरू साँच्चै नै घृणित हुन्छन्! के तिनीहरूलाई खराब मानवता भएको व्यक्ति भनेर वर्गीकरण गर्नु उचित हुन्छ? (हुन्छ।) यस्तो व्यक्तिमा खराब मानवता हुन्छ र ऊ स्वेच्छाचारी हुन्छ। स्वेच्छाचारी व्यक्तिले अरूलाई सुधार गर्न नसक्ने मात्र नभई तिनीहरूलाई ऊप्रति झिजो र घृणा लाग्ने समेत तुल्याउँछ, र ऊ कसैसँग मिलेर बस्न सक्दैन। ल भन् त, के स्वेच्छाचारी व्यक्तिले सत्यतालाई स्वीकार गर्न सक्छ? (सक्दैन।) त्यसोभए तिनीहरूमा भित्री रूपमा कस्तो स्वभाव हुन्छ? (हठीपन।) तिनीहरूको हठीपन प्रस्ट देखिन्छ, तर अर्को कुरा पनि छ—त्यो के हो? (सत्यताप्रति वितृष्ण हुनु।) ठीक भनिस्। हठी र सत्यताप्रति वितृष्ण हुने भ्रष्ट स्वभावहरू हुनु—यी स्वेच्छाचारी मानिसहरूका दुई वटा विशेषता हुन्। यस्तो व्यक्ति स्वेच्छाचारी मात्र नभई स्वार्थी र अनुचित रूपमा अभद्र पनि हुन्छ। तिनीहरूको अनुचित अभद्रतामा अरूलाई अनुचित र स्वेच्छाचारी ढङ्गले दिक्क पार्ने तत्व समावेश हुन्छ। जब तैँले तिनीहरूसँग अन्तरक्रिया गर्छस्, तब दयापूर्वक बोलेर हुँदैन—तिनीहरूले तँसँग गोप्य मनसायहरू छन् भन्ने सोच्छन्। यदि तैँले कडा रूपमा बोलिस् भने, तिनीहरू तैँले तिनीहरूलाई हेपिरहेको छस् भन्ने सोच्छन्, तर तिनीहरूको स्वेच्छाचारिताले अरूलाई हानि गरेपछि पनि तिनीहरूले यसो भन्नेछन्, “मेरो उद्देश्य तिमीलाई चोट पुर्याउने थिएन। यदि तिमीलाई चोट पुग्यो भने, म माफी चाहन्छु।” यी शब्दहरू मिठा सुनिने भए पनि, जब चोट पुगेको व्यक्तिले उसलाई क्षमा दिँदैन र आलोचना समेत गर्छ, तब स्वेच्छाचारी व्यक्ति रिसाउँछ र उसले भन्छ, “तिमीले यो कुरा छोड्नै सक्दैनौ—के तिमीले मेरो माफीको फाइदा मात्रै लिइरहेको छैनौ र? के तिमीलाई मैले माफी मागेँ भन्दैमा मलाई सजिलै हेप्न सकिन्छ भन्ने लाग्छ? अनि अहिले तिमी मेरा कमीकमजोरीहरू औँल्याइरहेको छौ! के ममा कमीकमजोरीहरू छन्? के तिमी तिनलाई औँल्याउन योग्य छौ?” के यो सत्यतालाई स्वीकार नगरेको अवस्था होइन र? (हो।) यसमा तिनीहरूको भ्रष्ट स्वभाव संलग्न हुन्छ। तिनीहरूको मानवतामा रहेका यी विशेषताहरू स्वाभाविक रूपमा नै भ्रष्ट स्वभावका निश्चित विशेषताहरूमा पनि प्रकट हुन्छन्—ती जोडिएका हुन्छन्। यस किसिमका मानिसहरूमा हुने भ्रष्ट स्वभावका विशेषताहरूमा हठीपन, सत्यताप्रति वितृष्णा, र अलिकति क्रूरता समावेश हुन्छ। यी पक्षहरू तिनीहरूको भ्रष्ट स्वभावका विशेषता हुन्।
अन्तर्निहित अवस्थाहरूमा थप एउटा पक्ष समावेश हुन्छ, जुन मानव नैसर्गिक प्रवृत्ति हो। उदाहरणका लागि, कतिपय मानिसले परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीका सरकारले परमेश्वरका चुनिएका मानिसहरूलाई गरेको उन्मत्त दमन, पक्राउ, र निर्दयी व्यवहार देख्छन्, र तिनीहरू डराउँछन्, हडबडाउँछन्, डरपोक, र भयभीत हुन्छन्। कहिलेकाहीँ, तिनीहरूको खुट्टा कमजोर समेत हुन्छ, र तिनीहरू लगातार शौचालय जान चाहन्छन्। यो केको प्रकटीकरण हो? (नैसर्गिक प्रवृत्तिको।) यो नैसर्गिक प्रतिक्रिया हो। सामान्य मानवताभित्र, जब निश्चित भयानक घटनाहरू, मानिसहरूको आफ्नै जीवनसँग सम्बन्धित परिस्थितिहरू, वा तिनीहरूलाई खतरामा पार्न सक्ने मामलाहरूको कुरा आउँछ, तब चाहे त्यो जानकारी सुन्दा होस् वा वास्तविकता सामना गर्दा होस्, तिनीहरूसँग केही नैसर्गिक प्रतिक्रिया हुनेछन्, र तिनीहरू डरपोक र भयभीत हुनेछन्। यसका साथै, तिनीहरूको शरीरले स्वाभाविक रूपमा नै केही सामान्य प्रतिक्रिया देखाउनेछन्, जस्तै अत्यासिनु, मांसपेशी बटारिनु, केही समयका लागि कान नसुन्नु वा आँखा नदेख्नु, साथै मुख सुक्नु हुनु, खुट्टा कमजोर हुनु, अत्यधिक पसिना आउनु, पिसाब वा दिसा नरोकिनु। के यी प्रतिक्रियाहरू देखापर्ने सम्भावना हुन्छ? (हुन्छ।) यी प्रतिक्रियाहरू, चाहे स्नायु प्रणालीद्वारा नियन्त्रित होऊन् वा अरू कुनै कारणले पैदा होऊन्, जे भए पनि, ती बाहिरी कारकले देहमा गराउने प्रतिक्रिया हुन्, र यी प्रतिक्रियाहरूलाई समग्रमा नैसर्गिक प्रवृत्ति भनिन्छ। शरीरको सहनशक्तिको सीमा हुन्छ; त्यसले व्यक्तिको साहसका सीमाहरू पार गरेपछि, यसले केही नैसर्गिक प्रतिक्रियाहरू देखाउनेछ। अरूले यी प्रतिक्रियाहरूलाई कमजोरीका रूपमा देख्लान्, वा ती हास्यास्पद, दयनीय, वा सहानुभूति पाउन लायक देखिएलान्, तर यी कुरा व्यक्तिको अन्तर्निहित नैसर्गिक प्रवृत्तिका प्रकटीकरण हुन् जसलाई नकार्न सकिँदैन। खतराको सामना गर्दा, टाउकोमा हात राखेर रुने, आँसु झार्ने, वा ठूलो सोरले चिच्याउने मानिसहरू पनि हुन्छन्; अरू चाहिँ अँध्यारो कुनामा कुचुक्क परेर लुक्लान्—यस्ता सबै प्रतिक्रिया नैसर्गिक प्रतिक्रिया हुन्। यी नैसर्गिक प्रतिक्रियाहरू, चाहे त्यो रुने होस्, हाँस्ने होस्, वा अत्यन्तै डराएर अपमानजनक कुरा गर्नु होस्—के यिनमा कुनै सही वा गलत भन्ने हुन्छ? (हुँदैन।) त्यसोभए, सरकारले विश्वासीहरूलाई पक्राउ गरेको सुन्दा डर मान्नेहरूका हकमा भन्दा, के हामी यी मानिसहरू कायर हुन् र तिनीहरूमा मानवता छैन भनेर भन्न सक्छौँ? (सक्दैनौँ।) के “परमेश्वरमा विश्वास गर्न आस्था हुनुपर्छ; डराउनु हुँदैन!” भन्ने अभिव्यक्ति सही हो? (होइन।) “यो कमजोरी, कायरता र अयोग्यताको प्रकटीकरण हो। यसले परमेश्वरमाथि आस्था नभएको देखाउँछ, र तिनीहरू परमेश्वरमा भर पर्न जान्दैनन् भन्ने देखाउँछ। त्यस्तो व्यक्ति विजेता होइन!” के हामीले यसो भन्न मिल्छ? (मिल्दैन।) किन मिल्दैन? (यो त कसैले बाहिरी परिस्थितिहरू सामना गर्दा देखापर्ने शारीरिक प्रतिक्रिया मात्रै हो।) यो सामान्य शारीरिक प्रतिक्रिया हो, भ्रष्ट स्वभावद्वारा उत्प्रेरित प्रकटीकरण होइन। यसको अर्थ जब त्यस्ता परिस्थितिहरूमा मानिसहरूसँग यी प्रकटीकरण र प्रकाशहरू हुन्छन्, तब त्यो कुनै भ्रष्ट स्वभावको प्रभावको कारण गर्दा होइन, न त त्यो तिनीहरूको मानवतामा कुनै विचार वा दृष्टिकोण हाबी भएर नै हो। यी प्रतिक्रियाहरू तैँले पूर्वकल्पना गर्ने कुरा होइनन्; त्यस्ता परिस्थितिहरू सामना गर्दा, तँमा अचानक उन्मत्त विचारहरू आउने, त्यसपछि, यसबारे अझ बढी सोच्दा, तँ आत्तिने, तेरो शरीर ऐँठन पर्ने, वा तैँले आफ्नो पिसाब वा दिसा रोक्नसमेत नसक्ने होइन। यी प्रतिक्रियाहरूपछाडिको कारण त्यो होइन। बरु, त्यो त यी घटनाहरू वा यो समाचारबारे सुनेपछि, जानीबुझी विचार नगरी, कुनै मानसिक छानबिन वा प्रशोधन नगरी, तेरो शरीरले अत्यन्तै स्वाभाविक रूपमा केही नैसर्गिक शारीरिक प्रतिक्रिया पैदा गर्ने हुनाले गर्दा हुन्छ। त्यसकारण, यस्तो प्राकृतिक प्रतिक्रिया देहको नैसर्गिक प्रवृत्तिले पैदा गर्छ। यसमा सही वा गलत भन्ने हुँदैन, सबलता र दुर्बलताबीच कुनै भिन्नता हुँदैन, र निश्चित रूपमा सकारात्मक र नकारात्मकबीच कुनै भिन्नता हुँदैन। कतिपय मानिस भन्छन्, “सरकारले जसरी पक्राउ कारबाही अघि बढाए पनि, मलाई डर लाग्दैन!” म त भन्छु, त्यसोभए त्यसले गर्दा तँ मूर्ख हुन्छस्। जब ठूलो रातो अजिङ्गरले तँलाई यातना दिन्छ, तब तँ डराउँछस् कि डराउँदैनस् हेरौँ न—त्यो बेला, तँ नचिच्याई बस्नु असम्भव हुनेछ। पीडा चरम अवस्थामा पुगेपछि तैँले के सोच्नेछस्? “म बरु मर्न चाहन्छु। यदि म मरेँ भने, स्वतन्त्र हुनेछु, र उप्रान्त मलाई पीडा हुनेछैन।” यी सबै देहका नैसर्गिक प्रतिक्रिया हुन्, र यीमध्ये कुनै पनि समस्या होइन। कतिपय मानिसले यसो भन्लान्, “म डराउँदिनँ; यदि कसैले मलाई हिर्कायो भने, म पनि उसलाई हिर्काउनेछु, र जित्न सकिनँ भने, भागिहाल्नेछु।” तर जब तँ भाग्छस् र कसैले तँलाई बन्दुक ताक्छ, तब तेरो खुट्टा कमजोर हुनेछ, तेरो हृदय डरपोक हुनेछ, र तैँले “म डराउँदिनँ” भनेर चिच्याउन छोड्नेछस्। जब तेरो जीवन जोखिममा हुन्छ, तब तँलाई पनि मर्नदेखि डर लाग्नेछ—यो तेरो नैसर्गिक प्रतिक्रिया हो। यी नैसर्गिक प्रतिक्रियाहरू भएका हुनाले, व्यक्तिमा जस्तोसुकै प्रकटीकरणहरू भए पनि वा मानव कमजोरीका जुनसुकै प्रकाशहरू भए पनि, यसलाई गलत मानिँदैन, न त यो लाजमर्दो कुरा नै हो, र परमेश्वर यसलाई निन्दा गर्नुहुन्न। स्वाभाविक रूपमा, तैँले यी प्रतिक्रियाहरूलाई रोक्ने प्रयास गर्नु हुँदैन, र देख्नेहरूले पनि तिनलाई गिल्ला गर्नु हुँदैन, किनभने सबै जना उस्तै हुन्छन्—सबै जना देह र रगतले बनेका हुन्छन्। देह र रगतका नैसर्गिक प्रतिक्रियाहरू यस्तै हुन्छन्; तँ यस्तै छस्, तिनीहरू यस्तै छन्, सबै जना यस्तै हुन्छन्। यो त कुनै व्यक्तिले ब्वाँसोको सामना गर्नुजस्तै हो; उसको पहिलो नैसर्गिक प्रतिक्रिया के हुन्छ? “भाग्! जति सक्दो छिटो भाग्!” अनि भाग्ने क्रममा, ऊ ब्वाँसोले उसलाई भेट्न लागेको छ कि छैन भनेर हेर्छ, र चिन्ता गर्छ: “यदि यसले मलाई भेट्यो भने के गर्ने? यदि यसले मेरो घाँटी ङ्याक्यो भने के गर्ने—के म मर्नेछु? मसँग बन्दुक वा फलामको लाठी मात्रै भएको भए पनि हुन्थ्यो।” भाग्दै गर्दा उसले यी कुराहरू मात्र सोच्छ। तर तैँले जेसुकै सोचे पनि, तेरो पहिलो नैसर्गिक प्रतिक्रिया अवश्य नै यसको खेदाइबाट चाँडै उम्कनु, जति सक्दो छिटो र जति सक्दो टाढा भाग्नु, यसले पक्रेर खानबाट जोगिनु हो। यी सबै नैसर्गिक प्रतिक्रिया हुन्। तेरो नैसर्गिक प्रतिक्रिया के हो? यो आफूलाई बचाउने, आफ्नो जीवनको रक्षा गर्ने, र आफ्नो जीवन खतरामा छैन भनेर सुनिश्चित गर्ने कुरा हो। हेर्नेलाई यी नैसर्गिक प्रतिक्रियाहरू कायर, असहनीय, वा लाजमर्दा देखिए पनि, वास्तवमा ती लाजमर्दा होइनन्, किनभने ती देह र रगतले बनेका मानिसहरूका सामान्य प्रकटीकरण हुन्; ती प्राकृतिक प्रकटीकरण हुन्। नैसर्गिक प्रतिक्रिया भनेको प्राकृतिक प्रकाश मात्रै हो, र यसमा लाजमर्दो कुरा केही छैन। उदाहरणका लागि, चुट्किला सुनेपछि तँ हाँस्नेछस्। तेरो मुखमा खाना वा पानी छ भने पनि, तँ हाँस्नेछस्, किनभने यो नैसर्गिक प्रतिक्रिया हो। नैसर्गिक प्रतिक्रिया परमेश्वरले दिएको, अन्तर्निहित कार्य हो, जुन अवस्थाहरू सही हुँदा प्राकृतिक रूपमा हनेछ र पैदा हुनेछ। त्यसकारण, जब नैसर्गिक प्रतिक्रियाहरूको कुरा आउँछ, तब ती प्राकृतिक प्रकाश हुन्। ती कमजोरीका प्रकाश वा मानवताको त्रुटि हुन सक्छन्, वा ती तेरो देहको प्राकृतिक प्रकटीकरणका प्रकाश हुन सक्छन्। जेसुकै भए पनि, यो नैसर्गिक प्रतिक्रिया भएको हुनाले, यसमा सही वा गलत भन्ने हुँदैन। यदि तँलाई लाज लाग्छ भने, यसले तँमा अन्तर्ज्ञानको कमी छ र तेरो मानवता निकै सतही छ भन्ने देखाउँछ—तँ अरूमा राम्रो छाप छोड्न चाहन्छस्। यदि तँ आफ्ना नैसर्गिक प्रतिक्रियाहरूलाई रोक्ने प्रयास गर्छस् भने, यसले तँ मूर्ख छस् र तेरो समझमा समस्या छ भन्ने प्रमाणित गर्छ। विशेष खतरनाक वातावरण र परिस्थितिहरूमा, तँलाई यति डर लाग्यो कि तैँले आफ्नो पाइन्ट भिजाइस् भने पनि, तैँले यसलाई लाजमर्दो कुराका रूपमा लिनु हुँदैन। वास्तवमा, यो सामान्य मानवताको प्रकटीकरण हो। त्यस्ता परिस्थितिहरूमा जोसुकै व्यक्तिमा यी प्रकटीकरणहरू देखिन्छन्—प्रसिद्ध वा महान् मानिसहरू पनि यसको अपवाद हुँदैनन्। कठोर परिस्थितिहरूमा, कोही पनि महामानव हुँदैन—तँ साधारण व्यक्ति मात्रै होस्, तँमा असाधारण केही छैन, र घमण्ड गर्नुपर्ने कुनै कुरा छैन। यदि तँ यति डराइस् कि तैँले आफ्नो पाइन्ट नै भिजाइस्, र अरूले थाहा पाए भने पनि, यो लाजमर्दो कुरा होइन, किनभने यसरी, मानिसहरूले तँलाई मान गर्नेछैनन् वा आदर्श ठान्नेछैनन्, र कम्तीमा पनि, तँ सुरक्षित हुनेछस्। अब त प्रस्ट भयो होला नि? नैसर्गिक मानव प्रतिक्रियाहरू अत्यन्तै सामान्य र प्राकृतिक हुन्छन्। उदाहरणका लागि, जब तेरो कपाल फोहर भएर तेरो कपाल चिलाउँछ, तब तँ नैसर्गिक रूपमा कन्याउँछस्। पछि तेरा नङ फोहोरले भरिए पनि र मानिसहरूले तँ अशोभनीय वा फोहोरी रहेछस् भन्ने सोचे पनि, तैँले के नै गर्न सक्छस् र? तेरो कपाल फोहो र हुँदा, त्यहाँ मैला हुनेछ, किनभने तँ देह र रगतले बनेको होस्, र तँ धूलोबाट बनेको होस्, र तैँले यो तथ्य स्वीकार गर्नुपर्छ। यो अवस्थाले तँलाई तेरो कपाल फोहोर छ र यसलाई धुनुपर्छ भनेर मात्रै भनिरहेको हुन्छ। कपाल चिलाउँदा कन्याउनु नैसर्गिक प्रतिक्रिया हो। नैसर्गिक प्रतिक्रिया एक प्राकृतिक, सामान्य प्रतिक्रिया, परमेश्वरले सृष्टि गरेका अन्तर्निहित अवस्था र स्नायु प्रणालीअन्तर्गत पर्ने सामान्य प्रकटीकरण हो। कहिलेकाहीँ प्रकटीकरणहरूले तँलाई लज्जित, अनुचित, वा अमर्यादित भएको महसुस गराउन सक्ने भए पनि, तैँले तिनलाई परिवर्तन गर्ने वा रोक्ने प्रयास गर्नु हुँदैन। एक हिसाबमा, त्यसो गर्दा यसले तँलाई मानव नैसर्गिक प्रवृत्तिहरूलाई सही रूपमा लिन मद्दत गर्छ; अर्को हिसाबमा, तैँले आफूलाई कसरी आचरणमा ढाल्छस् त्यसका लागि पनि यो सुधारात्मक र फाइदाजनक हुन्छ। तैँले यो पक्षबारे निश्चित बुझाइ र चेतना प्राप्त गरेपछि, अरूसँग अन्तरक्रिया र व्यवहार गर्दा, यदि मानव दैहिक नैसर्गिक प्रवृत्तिका निश्चित पक्षहरू प्राकृतिक रूपमा प्रकट हुन्छन् र प्रकाश हुन्छन् भने, तैँले जानाजानी तिनलाई ढाकछोप गर्नु पर्दैन। अनि यदि कहिलेकाहीँ, साँच्चै नै लाजमर्दो परिस्थिति पैदा भयो भने, यसलाई व्याख्या गर्नु, रूप बदल्नु वा देखावटी रूप धारण गर्नु पर्दैन, किनभने यो सामान्य मानवताको प्रकटीकरण हो, र यो नैसर्गिक मानव प्रतिक्रिया पनि हो—यो सबै सामान्य व्यक्तिले स्वीकार गर्न सक्ने कुराभित्र पर्छ। उदाहरणका लागि, जब मानिसहरू गेडागुडी खान्छन्, तब तिनीहरूको शरीरले स्वाभाविक रूपमा केही ग्याँस पैदा गर्छ, र नैसर्गिक रूपमा तिनीहरूले डकार्छन् वा पाद्छन्। यो अत्यन्तै प्राकृतिक कुरा हो। युवायुवतीहरूलाई प्रायजसो त्यस्ता प्रकटीकरणहरू लाजमर्दा कुरा हुन् भन्ने लाग्छ, तर वास्तवमा यसमा लाजमर्दो कुरा केही छैन। यो त शरीरको सामान्य स्वस्फूर्त प्रतिक्रिया मात्रै हो, र कसरी आफूलाई आचरणमा ढाल्ने वा कसरी व्यवहार गर्ने भन्ने सिद्धान्तहरूसँग यसको कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसहरूले यो कुरा नबुझ्ने भए पनि वा तिनीहरू यसप्रति असन्तुष्ट हुन सक्ने भए पनि, यो अवश्य नै व्यक्तिको आनीबानीमा कुनै सीमा नभएको, उसको हुर्काइ नराम्रो भएको, ऊ छाडा, स्वेच्छाचारी, स्वार्थी भएको, वा उसको मानवता खराब वा दुष्ट भएको स्तरमा पुग्दैन—यसलाई यति हदसम्म बढाउनु पर्दैन। यो समस्या आनीबानीसँग सम्बन्धित हुँदैन, र भ्रष्ट स्वभावसँग यसको अवश्य नै कुनै सम्बन्ध हुँदैन। यस मामलालाई अत्यधिक बढाइचढाइ गर्न आवश्यक छैन। यी कुराहरूलाई सही रूपमा लिनुपर्छ।
कतिपय मानिसहरू अल्पविकसित देश वा वातावरणमा, वा कमजोर अवस्था भएका परिवारमा जन्मेका हुनाले आफ्नो जीवनका कुराहरूका बारेमा त्यति धेरै ध्यान दिँदैनन्। तिनीहरू खाद्य स्वच्छताबारे सतर्क नहुन सक्छन्, तिनीहरूले लामो समयसम्म नधोई एउटै लुगा लगाउन सक्छन्, र तिनीहरूलाई लुगामा पसिना गन्हाएको समेत थाहा नहुन सक्छ। यो कस्तो प्रकटीकरण हो? (यो व्यक्तिको जीवनशैलीका बानीहरूको प्रकटीकरण हो।) यो जीवनशैलीका बानीहरूको मामला हो; यो स्वच्छतामा त्यति ध्यान नदिनु हो। कतिपय मानिसहरू मुख धुँदा पनि र खुट्टा धुँदा पनि एउटै तौलिया प्रयोग गर्छन्, त्यसपछि दिउँसो बाहिर काम गर्न जाँदा पसिना पुछ्न यसैको प्रयोग गर्छन्। कहिलेकाहीँ, यदि तिनीहरूले कसैलाई चोट लागेको देखेमा, घाउ छोप्न समेत त्यही तौलिया प्रयोग गर्छन्। तिनीहरूले स्वच्छताप्रति पटक्कै चासो देखाउँदैनन्। यो कस्तो समस्या हो? तिनीहरू जन्मिएको परिवारका अवस्थाहरूसँग यसको एउटा निश्चित सम्बन्ध हुन्छ। कतिपय मानिसहरू जिउने अवस्था राम्रो भएका परिवारबाट आएका हुन्छन्, जहाँ हरेक व्यक्तिको धेरै वटा तौलिया अनि नुहाउँदा प्रयोग गरिने तौलियाहरू हुन्छन्, साथै मुख पुछ्ने र खुट्टा पुछ्ने छुट्टाछुट्टै हुन्छन्। तिनीहरूले हरेक दिन नुहाउँछन् र मुख धुन्छन्, र तौलिया र नुहाउने तौलिया पनि दैनिक रूपमा धुन्छन्, त्यसकारण तिनीहरू सरसफाइमा विशेष ध्यान दिने जस्ता देखिन्छन्। त्यस्ता बानी कसरी विकास हुन्छ? ती कुराहरू परिवारमा एउटा निश्चित आर्थिक जग र आर्थिक अवस्थाहरू हुनुका परिणाम हुन्, जसले यी परिष्कृत जीवनशैलीका बानीहरू विकास हुन्छन्। यसले गर्दा व्यक्ति स्वच्छतामा अत्यन्तै ध्यान दिने र आदरणीय देखिन्छ। झट्ट हेर्दा, तिनीहरू सरसफाइमा ध्यान दिने देखिन्छन्, तर वास्तवमा, यो सबैको पछाडि अन्तर्निहित अवस्थाहरू हुन्छन् जसले यो निम्त्याएको हुन्छ। त्यसोभए, किन कतिपय मानिसहरूले यी कुराहरूप्रति ध्यान दिँदैनन्? कतिपय मानिसहरूमा स्वाभाविक रूपमै त्यस्ता कुराहरूलाई त्यति ध्यान दिने प्रवृत्ति हुँदैन, र तिनीहरूसँग स्रोतसाधन भए पनि, तिनीहरूले यी कुराहरूलाई त्यति गम्भीरतापूर्वक लिँदैनन्—यो ठूलो समस्या होइन। अरूका हकमा, यो तिनीहरूको पारिवारिक अवस्था र वातावरणको कारणले गर्दा हुन्छ। सात-आठ जनाको परिवारमा, सबैले मुख र खुट्टा धोएपछि एउटै तौलिया पालैपालो प्रयोग गर्न सक्छन्। कतिपय मानिसहरू खुट्टा समेत नधोई सुत्छन् र पनि राम्ररी निदाउँछन्। यसले तिनीहरूको दैनिक जीवन वा तिनीहरूको आनीबानीमा असर गर्दैन। सरसफाइमा ध्यान दिनेहरूले यसो भन्न सक्छन्, “तर तिम्रा खुट्टामा कीटाणुहरू हुन्छन्—तिम्रा खुट्टा कति फोहर छ!” जसप्रति अरूले यस्तो प्रतिक्रिया दिन सक्छन्, “खुट्टा फोहर छैनन्; ती दिनभरि ढाकिएका हुन्छन् र बाहिरी संसारको सम्पर्कमा आउँदैनन्, त्यसकारण कुनै कीटाणुहरू छैनन्, खुट्टामा थोरै पसिना आएको मात्र हो। मानिसहरूले खुट्टाको पसिना फोहोरी हुन्छ भन्ने सोच्छन्, तर वास्तवमा त्यस्तो हुँदैन। कतिपय ठाउँमा, खानेकुरा उत्पादन गर्न समेत खुट्टाको प्रयोग गरिन्छ। कसलाई थाहा, बजारमा किनेको खानेकुरा मानिसहरूको खुट्टाले आटा मुछेर बनाइएको पनि हुन सक्छ। तिमीले त्यो कुरा देख्न सक्दैनौ, र त्यो खान्छौ—तैपनि तिमी आफूलाई सरसफाइमा अत्यन्तै ध्यान दिने व्यक्ति ठान्छौ!” कुनै व्यक्तिले ध्यान दिन्छ या दिँदैन, यो सबै अन्तर्निहित अवस्थाहरूले आकार दिएका जीवनशैलीका बानी वा जिउने तरिका हो। तिनीहरूले कस्तो बानी देखाउँछन् भन्ने कुरासँग यसको कुनै सम्बन्ध हुँदैन। त्यसोभए, व्यक्तिका व्यवहारमा कस्ता प्रकारका प्रकटीकरणहरू समावेश हुन्छन्? उदाहरणका लागि, कुनै खतरनाक परिस्थितिको सामना गर्दा, ठूलो रातो अजिङ्गरले खेदो गर्दा, सबैलाई तनाव हुन्छ र डर लाग्छ, र तिनीहरूले केही स्वस्फूर्त प्रतिक्रियाहरू देखाउनेछन्। तर, कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “अहिले हामी सबै जति नै तनावग्रस्त र भयभीत भए पनि, हामीले शान्त भएर परिस्थितिजन्य समस्याहरूलाई समाधान गर्नुपर्छ। हामीले सुरुमा अगुवा र कामदारहरू, साथै अरू क्षेत्रबाट आएका दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्नुपर्छ, ताकि उनीहरू तुरुन्तै निस्केर जान सकून्।” तर अरूले फरक तरिकाले सोच्न सक्छन्: “उनीहरूलाई रक्षा गर्ने? मलाई चाहिँ कसले गर्छ? यदि अन्त्यमा म उम्कन सकिनँ भने के गर्ने? पहिले म भाग्नुपर्छ! जो पहिले भाग्छ उसलाई पक्राउ गरिनेछैन, र उसलाई दण्ड वा यातना दिइनेछैन।” हेर् त, खतराको सामना गर्दा, सबैको स्वस्फूर्त प्रतिक्रिया डर नै भए पनि, कतिपय मानिसहरू अरूको सुरक्षालाई प्राथमिकता दिन्छन् र आफ्नो जीवनको सुरक्षालाई पृष्ठभागमा राख्छन्—त्यस्ता मानिसहरूले प्रेम र दया देखाउँछन्। तर अरू मानिसहरू सुरुमा आफ्नै बारेमा सोच्छन्, र अरूका बारेमा नसोची भाग्छन्—यो स्वार्थ हो। वास्तवमा, तिनीहरूको मानवताको विवेकको अर्थमा, के यो पछिल्लो समूहलाई तिनीहरूले सुरुमा अगुवा र कामदारहरू र अरू क्षेत्रबाट आएका दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्नुपर्छ भन्ने थाहा हुन्छ? तर्कको हिसाबले, के तिनीहरूले यो कुरा बुझ्छन्? (बुझ्छन्।) जब सबैले यो तर्कलाई समान रूपमा बुझ्छन् र स्वस्फूर्त प्रतिक्रियाहरू देखाउँछन्, तब मानिसहरूको प्रकटीकरणमा भिन्नता हुन्छ। यसले व्यक्तिहरू बीचको मानवतामा रहेका भिन्नताहरूलाई प्रतिविम्बित गर्छ। कतिपय मानिसहरू स्वार्थी र नीच हुन्छन्, जसले आफ्नो मात्रै ख्याल गर्छन् र अरूलाई बेवास्ता गर्छन्, जबकि अरू दयालु हृदयका हुन्छन्, अरूप्रति निःस्वार्थ र विचारशील हुन सक्छन्, अरूको सुरक्षालाई प्राथमिकता दिन्छन् र स्वार्थी रूपमा काम गर्दैनन्। के यसले फरक-फरक प्रकारका मानवतालाई प्रतिविम्बित गर्छ? (हो।) यसले भिन्नतालाई प्रस्ट पार्छ। त्यसोभए, दुई प्रकारका मानवता भएका यस्ता मानिसहरूमध्ये, कुन प्रकारको व्यक्तिले सत्यतालाई स्वीकार गर्न र आफ्नो भ्रष्ट स्वभावलाई फाल्न सक्छ? (असल मानवता भएको व्यक्तिले सत्यतालाई स्वीकार गर्न र सजिलै आफ्नो भ्रष्ट स्वभावलाई फाल्न सक्छ।) स्वार्थी मानिसहरूले सक्छन् कि सक्दैनन्? (तिनीहरूलाई सत्यता अभ्यास गर्न सजिलो हुँदैन; तिनीहरूले सत्यता बुझे पनि अभ्यास गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न गाह्रो हुन्छ।) ठीक भनिस्। त्यसकारण, सबैले भ्रष्ट स्वभाव प्रकट गर्न सक्ने भए पनि, यदि मानिसहरूको मानवता फरक छ भने, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्छन् कि सक्दैनन् भन्ने कुरा पनि त्यहीअनुसार फरक हुनेछ। जब मानिसहरूमा फरक-फरक प्रकारको मानवता हुन्छ, तब तिनीहरूले एउटै परिस्थितिमा फरक-फरक मनोवृत्ति र दृष्टिकोणले प्रतिक्रिया दिन्छन्। कुनै व्यक्तिले अन्तिममा सत्यता र सकारात्मक कुराहरूलाई स्वीकार गर्न सक्छ कि सक्दैन, ऊ सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छ कि सक्दैन, र उसले आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्छ कि सक्दैन भन्ने कुरालाई यसैले निर्धारित गर्छ। व्यक्तिको मानवता अति महत्त्वपूर्ण हुन्छ, होइन र? खतराको सामना गर्दा, हरेकले केही न केही स्वस्फूर्त प्रतिक्रियाहरू देखाउँछन्—तिनीहरू सबै डराउँछन्, आत्तिन्छन्, र आतङ्कित हुन्छन्, तिनीहरू अनिश्चित हुन्छन्, मृत्युको डर मान्छन्, र भाग्न चाहन्छन्। यस्तो नाजुक अवस्थामा, असल र दयालु मानवता भएको व्यक्तिले सुरुमा अगुवा र कामदारहरू, साथै अरू क्षेत्रबाट आएका दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्ने बारेमा सोच्नेछ—उसले सुरुमा अरूको सुरक्षाबारे सोच्छ। तिनीहरूमा पनि डर, भय, त्रासजस्ता स्वस्फूर्त प्रतिक्रियाहरू हुने भए पनि, र तिनीहरूमा पनि प्राकृतिक रूपमा आत्म-रक्षा गर्ने नैसर्गिक प्रवृत्ति पनि भए पनि, तिनीहरूले सुरुमा आफ्नो नभई अरूकोई सुरक्षा गर्ने तरिकाले परिस्थितिलाई सम्हाल्छन्। दयालु मानवता भएको व्यक्तिले यसरी नै आफ्नो आनीबानी प्रस्तुत गर्छ। अनि स्वार्थी व्यक्तिले आफ्नो आनीबानी कसरी प्रस्तुत गर्छ? तिनीहरूले अरूका बारेमा सोच्लान् तर अरूलाई सुरक्षा दिँदैनन्—तिनीहरूले सुरुमा आफ्नै रक्षा गर्छन्। त्यसकारण, दयालु मानवता भएका, अरूप्रति सहानुभूति जनाउन र तिनीहरूलाई सुरक्षा दिन सक्ने मानिसहरूले सत्यतालाई स्वीकार गर्ने सम्भावना हुन्छ। तिनीहरूको मानवताको विवेक र समझ सत्यतालाई स्वीकार गर्न र आफ्नो भ्रष्ट स्वभावलाई फाल्नका लागि आवश्यक सर्तहरू अनुरूप हुन्छ। स्वार्थी प्रकारको व्यक्तिले सत्यता बुझे पनि यसलाई न त स्वीकार गर्छ न अभ्यास गर्छ। खतराको सामना गर्दा, तिनीहरूको मानवताले आत्म-रक्षा र स्वार्थ प्रकट गर्छ। त्यसकारण तिनीहरूले प्रकट गर्ने यस मानवताका आधारमा हेर्दा, तिनीहरूमा सत्यतालाई स्वीकार गर्न र आफ्नो भ्रष्ट स्वभावलाई फाल्नका लागि आवश्यक आधारभूत सर्तहरू हुँदैनन् भन्ने कुरा स्पष्ट हुन्छ। यसको अर्थ सत्यता अभ्यास गर्नुपर्ने अवस्थामा, तिनीहरूको विवेक र समझले काम गर्न छोड्छ। तिनीहरूले आफ्नो विवेक र समझविपरीत काम गर्छन्। तिनीहरू सत्यताको खोजी गर्ने र आफूले गर्नुपर्ने न्यायोचित कामकुरा गर्नतिर लाग्दैनन्, बरु आफ्नो विवेक र समझका विरुद्धमा जाने, र यहाँसम्म कि नैतिक इन्साफ र सत्यताका विरुद्धमा जान्छन्, र यसरी आफ्नो रक्षा गर्न र आफ्ना सबै हितहरूको रक्षा गर्नका लागि आफ्ना स्वार्थी चाहना र हितका आवश्यकताहरूलाई पूर्ण रूपमा पूर्ति गर्नतिर लाग्छन्। त्यसकारण, यस्तो व्यक्तिलाई सत्यता पछ्याउने मार्ग वा मुक्तिको मार्ग पछ्याउन सजिलो हुनेछैन। यसको तात्पर्य के हो भने तिनीहरूको भ्रष्ट स्वभावलाई फाल्न निकै गाह्रो हुन्छ। यसलाई अलिक बुद्धिमानी रूपमा भन्नुपर्दा, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्दैनन् भनेर भन्नुको सट्टा, हामी तिनीहरूलाई त्यसो गर्न निकै गाह्रो हुन्छ भन्नेछौँ। त्यसकारण, अहिले समस्यालाई हेर्दा, के व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव फाल्न र मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा पूर्ण रूपमा उसका अन्तर्निहित अवस्थाहरूमा निर्भर हुन्छ? (हुँदैन।) यो के कुरामा निर्भर हुन्छ? (उसको मानवतामा।) यो उसको चरित्रमा, र उसले विभिन्न मानिस, घटना, र कामकुराको सामना गर्दा उसको मानवताको विवेक र समझले काम गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। अर्को शब्दमा भन्दा, यो परिस्थितिहरू आइपर्दा उसले आफ्नो विवेक र समझअनुसार काम गर्छ कि गर्दैन भन्ने कुरामा निर्भर हुन्छ। यदि कुनै व्यक्तिले आफ्नो विवेक र समझको निर्देशनमा काम गर्छ भने, उसले सकारात्मक कुराहरू र सत्यता रोज्नेछ। तर, यदि उसले आफ्नो विवेक र समझका विरुद्धमा काम गर्छ भने, उसले जति धेरै सत्यता बुझे पनि वा उसको क्षमता उच्च भए पनि न्यून भए पनि, ऊ नैतिक इन्साफका विरुद्धमा जानेछ, सत्यता सिद्धान्तहरूका विरुद्धमा जानेछ, र उसले आफ्नो मानवता समेत गुमाउनेछ। यसले तँलाई के प्रस्ट पार्छ? के मानवता अति महत्त्वपूर्ण छ? (छ।) यदि कुनै व्यक्तिले, परिस्थिति जस्तोसुकै भए पनि, आफ्नो हितसँग सम्बन्धित काम गर्दा आफ्नो विवेक र समझका विरुद्धमा र नैतिक इन्साफका विरुद्धमा काम गर्यो भने, उसले आफ्नो मानवता गुमाउनेछ। उसले आफ्ना हितहरूलाई सुरक्षित गर्न र रक्षा गर्न जे पनि गर्नेछ। त्यसकारण, कुनै परिस्थितिको सामना गर्नुपर्दा, ऊ आफ्नो विवेक र समझअनुसार काम गर्नतिर लाग्दैन। बरु, ऊ आफ्नै हितहरूका खातिर तिनका विरुद्धमा जान्छ, र उसले आफ्ना लक्ष्यहरू हासिल गर्न आफ्नो निष्ठा र इज्जत त्याग्नेछ। यस दृष्टिकोणबाट हेर्दा, यस्तो व्यक्तिले सामान्यतया जति नै राम्रो व्यवहार गरे पनि, उसले आफ्नै हितहरू बाहेक केही पनि पछ्याउँदैन—उसको भ्रष्ट स्वभावलाई फाल्न निकै गाह्रो हुन्छ। उसले सत्यतालाई स्वीकार गर्दैन—त्यो क्षण जति धेरै महत्त्वपूर्ण छ, र उसले वास्तविकताको जति धेरै सामना गर्छ, त्यति नै ऊ आफ्नो विवेक, समझ, र सत्यताका विरुद्धमा जान खोज्छ; र त्यो क्षण जति महत्त्वपूर्ण छ, उसले सत्यताप्रति वितृष्ण हुने आफ्नो भ्रष्ट स्वभाव र आफ्नो स्वार्थी र नीच मानवता त्यति नै प्रकट गर्छ। त्यसकारण, यस्तो व्यक्तिलाई, आफ्नो भ्रष्ट स्वभाव त्याग्न निकै गाह्रो हुन्छ। के व्यक्तिको मानवता भ्रष्ट स्वभावलाई फाल्ने एक आधारभूत सर्त हो भन्ने कुरा अब प्रस्ट भयो? व्यक्तिमा कस्तो मानवता छ भन्ने कुराले उसले अन्तिममा आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्छ कि सक्दैन, ऊ अन्तिममा सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छ कि सक्दैन, र उसले अन्तिममा मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरालाई निर्धारित गर्छ।
कतिपय मानिसहरू स्वाभाविक रूपमा नै मौन बस्ने गर्छन्, र तिनीहरूमा कोमल र सहनशील व्यक्तित्व हुन्छ। तिनीहरू बिरलै सानो कुरालाई ठूलो बनाउँछन् वा अरूसँग विवाद गर्छन्, न त तिनीहरू होहल्ला नै मच्चाउँछन्। तिनीहरूको बोलीवचन धाक लगाउने किसिमको हुँदैन, र तिनीहरूको आवाज नरम हुन्छ। बाहिरी रूपमा, तिनीहरू विशेष रूपमा कोमल देखिन्छन्, र तिनीहरूले विधिवत् रूपमा र हतार नगरी काम गर्छन्। कतिपय मानिसहरू लज्जालु पनि हुन्छन्, जो अरूसँग धेरै मौखिक कुराकानी गर्न मन पराउँदैनन् र मानिसहरूसँग धेरै अन्तरक्रिया गर्न अनिच्छुक हुन्छन्। तिनीहरू जहाँ गए पनि, तिनीहरू उपस्थित छन् भन्ने कुराको लगभग कुनै बोध हुँदैन। यी प्रकटीकरणहरू कस्तो समस्यासँग सम्बन्धित छन्? (यो तिनीहरूको व्यक्तित्वसँग सम्बन्धित समस्या हो।) यो तिनीहरूको जन्मजात व्यक्तित्वको समस्या हो। यी मानिसहरूमा बाहिरी रूपमा यस्तो व्यक्तित्व हुन्छ, र भित्री रूपमा तिनीहरूको विचार पनि अत्यन्तै सरल हुन्छ। तिनीहरू अरूसँग तुलनात्मक रूपमा राम्रो व्यवहार गर्छन्, अरूसँग तुलनात्मक रूपमा निष्पक्ष रूपमा अन्तरक्रिया गर्छन्, अरूबाट फाइदा लिँदैनन्, र अरूबाट निगाह वा सहयोग प्राप्त गरेपछि त्यसको ऋण तिर्छन्, र तिनीहरू हृदयमा अरूको दयालाई पनि याद गरेर राख्छन्। बाहिरी रूपमा यी मानिसहरूमा असल मानवता छ जस्तो देखिन्छ: तिनीहरू मानिस र पशु दुवैका लागि हानिरहित हुन्छन्; तिनीहरू सहनशील हुन्छन्, अरूप्रति संवेदनशील हुन्छन्, र अरूसँग कामकुराका बारेमा धाक लगाउँदैनन्; तिनीहरू विवादमा फस्दैनन्, न त तिनीहरूले अरूका बारेमा कुरा नै काट्छन्; तिनीहरूले मानिसहरूको पिठ्यूँ पछाडि तिनीहरूको आलोचना गर्दैनन्, र कहिल्यै पनि सक्रिय रूपमा अरूलाई आक्रमण वा हानि गर्दैनन्; जब कुनै व्यक्ति कठिनाइमा हुन्छ, तब तिनीहरूले सकेको खण्डमा सहयोग गर्न कहिल्यै पनि इन्कार गर्दैनन्, र बदलामा केही पनि माग्दैनन्। धेरैजसो मानिसहरूले यी व्यक्तिहरू निकै मिलनसार हुन्छन् भनेर भन्नेछन्। त्यसोभए, के यी मानिसहरूमा बाहिरी रूपमा असल मानवता भए जस्तो देखिन्छ? (हो।) तर एक पटक, परमेश्वरको घरले तिनीहरूलाई कामकुरा कस्तो चलिरहेको छ भनेर सोध्छ: “तिमीहरूका मण्डली अगुवाहरूको काम कस्तो छ? दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूका बारेमा के सोच्छन्? के यस अवधिमा सुसमाचारका कामले कुनै परिणामहरू ल्याएको छ? के कसैले मण्डलीका काममा बाधा वा अवरोध ल्याएको छ?” तिनीहरू यसका बारेमा ध्यानपूर्वक विचार गर्छन्: “तिनीहरू किन मलाई यसका बारेमा सोधिरहेका छन्? तिनीहरू के भन्न खोजिरहेका छन्? के तिनीहरू अगुवाहरूले राम्रो गरिरहेका छैनन् भनेर मैले भन्नुपर्छ भन्ने तात्पर्य दिइरहेका छन्? के तिनीहरू हाम्रा अगुवाहरूलाई बर्खास्त गर्न खोजिरहेका छन्? तिनीहरू मबाट कुरा धुत्ने र पुष्टि प्राप्त गर्ने प्रयास गरिरहेका छन्। खैर, म केही भन्नेछैनँ। यदि कुनै दिन अगुवाहरूलाई बर्खास्त गरियो, र मैले तिनीहरूका समस्याका बारेमा रिपोर्ट गरेको छु भन्ने तिनीहरूले थाहा पाए भने, के तिनीहरूले मप्रति ईख राख्नेछैनन् र?” त्यसकारण तिनीहरूले जवाफ दिन्छन्, “अगुवाहरूले आजभोलि निकै राम्रो काम गरिरहेका छन्; मैले कुनै समस्या देखेको छैनँ।” तिनीहरूले यति मात्रै भन्छन्। तिनीहरूलाई फेरि “तिमीले साँच्चै कुनै समस्याहरू देखेका छैनौ?” भनेर सोधियो भने, तिनीहरूले जवाफ दिन्छन्, “तपाईंले फलानो-फलानो सिस्टरलाई सोध्दा राम्रो हुन्छ, किनभने ऊ अगुवाहरूसँग बारम्बार अन्तरक्रिया गरिरहेकी हुन्छे। तिनीहरू प्रायजसो सँगै बस्छन् र उसले तिनीहरूलाई राम्ररी चिनेकी छे। मलाई तिनीहरूका बारेमा त्यति राम्ररी थाहा छैन।” तर वास्तवमा, तिनीहरूले मनमनै सोच्छन्: “मलाई थाहा भए पनि, मैले केही पनि भन्न सक्दिनँ। यदि मैले बोलेँ र पछि अगुवाहरूलाई बर्खास्त गरियो भने, के तिनीहरूले मप्रति ईख राख्नेछैनन् र? तिनीहरूलाई बर्खास्त गरिएन भने पनि, यदि मैले तिनीहरूका बारेमा नराम्रो कुरा भनेको छु भन्ने तिनीहरूले थाहा पाए भने, के तिनीहरूले मलाई दुःख दिनेछैनन् र? के तिनीहरूले मलाई कष्ट दिन सक्छन्? के मेरो कर्तव्य खोसिनेछ? मैले केही पनि भन्नु हुँदैन!” यो कस्तो प्रकटीकरण हो? (यो छलको प्रकटीकरण हो।) अनि यो कस्तो समस्यासँग सम्बन्धित छ? भ्रष्ट स्वभाव। यस्तो व्यक्ति बाहिरी रूपमा स्वाभाविक रूपमा नै राम्रो व्यक्तित्व र असल मानवता भएको देखिन्छ, तर जब अरूलाई मूल्याङ्कन गर्ने वा समस्याहरूका बारेमा रिपोर्ट गर्ने कुरा आउँछ, तब उसले आफूलाई थाहा छैन भनेर दाबी गर्छ, र उसले विश्वास गरेको थोरै समय मात्रै भएको छ र सत्यता बुझेको छैन, र ऊ यस्ता कुराहरूलाई पारदर्शी रूपमा देख्न नसक्ने गरी मूर्ख छ भनेर भन्छ। उसले जसका समस्याहरू देखे पनि, यसका बारेमा कहिल्यै रिपोर्ट गर्दैन वा बोल्दैन। जब कसैले अगुवाहरूको पिठ्यूँ पछाडि आलोचना गर्छ वा झाराटारुवा रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छ, तब उसले यो नदेखेको वा यसबारे थाहा नभएको बहाना गर्छ र कहिल्यै पनि कुनै कुराको रिपोर्ट गर्दैन। अगुवाहरूले “तिमीले त फलानोसँग धेरै समय बिताएका छौ; तिनीहरूले कर्तव्य निर्वाह गर्दा सामान्यतया यो कस्तो हुन्छ? के तिनीहरूले कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्?” भनेर सोध्दा तिनीहरूले यस्तो जवाफ दिन्छन्, “अँ, ऊ सबेरै उठ्ने र राती निकै ढिलो सुत्ने गरेको देख्छु।” वास्तवमा, यो व्यक्तिले प्रायजसो गैरविश्वासी संसारका भिडियोहरू हेर्छ र आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउँदैन भन्ने कुरा तिनीहरूले धेरै पहिले नै देखेका हुन्छन्, तर तिनीहरू सत्यता बोल्दैनन्; तिनीहरू सधैँ सबैसँग सतही सद्भाव कायम राख्छन्। बाहिरी रूपमा, तिनीहरूको अन्तर्निहित व्यक्तित्व ठीक देखिन्छ, र तिनीहरूको मानवता पनि राम्रो देखिन्छ, तर असल मानवताको यो रूपमुनि के लुकेको हुन्छ? तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस हुन्; तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस हुन् जो कसैलाई चिढ्याउँदैनन्, कसैलाई कहिल्यै हानि गर्दैनन्, अरूबाट कहिल्यै फाइदा लिँदैनन्, र शत्रुहरू बनाउँदैनन्। आफ्नो आनीबानी प्रस्तुत गर्ने तिनीहरूको सिद्धान्त के हो? (कसैलाई नचिढ्याउने।) तिनीहरू कसैलाई चिढ्याउँदैनन्, कसैलाई हानि गर्दैनन्, र आफ्नो रक्षा मात्रै गर्न खोज्छन्। के यो धूर्त हुनु हो? (हो।) कसैले तिनीहरूसँग “हामीले आफ्नो कर्तव्य निर्वाह गर्दै सबैभन्दा बढी समय सँगै बिताएका छौँ। ममा देखिएका कुनै पनि समस्याहरू कृपया औँल्याइदिनुहोस्। म यसलाई स्विकार्ने र परिवर्तन हुने प्रतिज्ञा गर्छु। यस विषयमा अभ्यासका सिद्धान्तहरूका बारेमा मसँग पनि सङ्गति गर्नुहोस्” भनेर इमानदारीका साथ सङ्गति गर्दा पनि—अर्को व्यक्ति यति इमानदार हुँदा पनि, तिनीहरूले अझै पनि सत्यता बोल्दैनन्। बरु, तिनीहरूले बेइमानी रूपमा यसो भन्छन्, “तपाईं मभन्दा निकै असल हुनुहुन्छ। वास्तवमा, तपाईंहरू कसैले पनि यो थाहा पाउनुभएको छैन, तर म साँच्चै कमजोर छु। म नकारात्मक बन्छु, र म विद्रोही पनि छु।” अरूले तिनीहरूलाई जति नै इमानदारीका साथ अनुरोध गरे पनि, तिनीहरूले केही भन्दैनन्। तिनीहरूले कसैलाई चिढ्याउन पूर्ण रूपमा इन्कार गर्छन् र कहिल्यै एउटा पनि साँचो अभिव्यक्ति दिँदैनन्। तिनीहरूले आफ्नो हृदयमा सबै कुरा लुकाएर राख्छन् र कसैलाई सत्यता बताउँदैनन्। यसबाट के देख्न सकिन्छ भने तिनीहरूमा कुनै विचार हुँदैन भन्ने होइन, किनभने तिनीहरू रोबोट होइनन्, र तिनीहरू शून्यतामा जिउँदैनन्। तिनीहरूसँग फरक-फरक मानिस र मामलाहरूका बारेमा विचारहरू हुन्छन्, तर तिनीहरूले ती कुरा कहिल्यै व्यक्त गर्दैनन् वा कसैलाई ती कुरा बताउँदैनन् वा सुनाउँदैनन्। तिनीहरू सबै कुरा मनमा लुकाएर राख्छन्, किनभने तिनीहरू एक हिसाबमा अरूले तिनीहरूको वास्तविकता नदेखून् भन्ने चाहन्छन्, र अर्को हिसाबमा तिनीहरू कसैलाई चिढ्याउन चाहँदैनन्। त्यसोभए, आफ्नो आनीबानी प्रस्तुत गर्ने तिनीहरूको सिद्धान्त के हो? के तिनीहरूसँग कुनै सिद्धान्त हुँदैन? (हो।) तिनीहरूसँग कुनै सिद्धान्त हुँदैन। तिनीहरू कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् वा सिद्धान्तहरू पालना गर्दैनन्। तिनीहरू आफ्नो बचाउ र रक्षा गर्ने कार्यमा मात्रै ध्यान दिन्छन्। तिनीहरूलाई चोट पुग्दैन भने, परमेश्वरले के अपेक्षा गर्नुहुन्छ भन्ने कुरालाई तिनीहरूले वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो आनीबानी कसरी प्रस्तुत गर्छन् त्यसमा तिनीहरूसँग कुनै सिद्धान्त वा सीमा हुँदैन, र तिनीहरूले कसैलाई चिढ्याउँदैनन्—तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस मात्रै हुन्। त्यसकारण, अरूका नजरमा, तिनीहरूलाई असल मानिसका रूपमा पनि हेरिन्छ किनभने तिनीहरूसँग अन्तरक्रिया गर्नेहरूले प्रायजसो तिनीहरूको सहयोग प्राप्त गर्छन्, र अरूले तिनीहरूलाई कुनै कुरा माग्दा, तिनीहरूले कहिल्यै पनि इन्कार गर्दैनन्, जसले गर्दा मानिसहरूले तिनीहरू असल मानिस हुन् भन्ने ठान्छन्। तर, यदि तैँले तिनीहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने सिद्धान्तहरूलाई नजिकबाट जाँचिस् भने, तैँले तिनीहरूसँग आनीबानी प्रस्तुत गर्ने कुनै सिद्धान्त नभएको पाउनेछस्। जब भ्रष्ट स्वभावहरूसँग सम्बन्धित समस्याहरूको कुरा आउँछ, तब के तिनीहरूले तिनलाई समाधान गर्न सत्यताको खोजी गर्नेछन्? के तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नेछन्? (गर्नेछैनन्।) उत्तर अवश्य नै गर्नेछैनन् भन्ने हुन्छ। यी मानिसहरू आफूसँग असल मानवता र दयालु हृदय छ भन्ने विश्वास गर्दै आफ्नै व्यक्तिपरक बुझाइलाई पक्रिराख्छन्। तिनीहरू आफूले अरूप्रति कहिल्यै पनि खराब अभिप्राय नराख्ने, वा कम्तीमा पनि, अरूलाई सक्रिय रूपमा हानि नगर्ने वा तिनीहरूका हितहरूमा हानि नगर्ने सोच्छन्। जब अरूसँग कुनै अनुरोध वा आवश्यकता हुन्छ, तब तिनीहरूले सधैँ प्रतिक्रिया दिन्छन्। तिनीहरूको बुझाइमा, तिनीहरू कसैलाई नचिढ्याउनु वा हानि नगर्नुले नै तिनीहरूलाई असल मानिसहरू बनाउने विश्वास गर्छन्। कुनै शत्रु नबनाउँदा, तिनीहरू आफू कुनै खतरनाक परिस्थितिमा परिनेछैन, र कसैले पनि तिनीहरूलाई शत्रुका रूपमा हेर्नेछैनन् भन्ने सोच्छन्। यसरी, तिनीहरूलाई चोट पुग्नेछैन र तिनीहरू सुरक्षित नै रहनेछन्। यस्ता मानिसहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने तरिकाको उद्देश्य के हुन्छ? तिनीहरूको एउटै उद्देश्य भनेको आत्म-सुरक्षा हो; तिनीहरूका लागि आफूले सबैभन्दा सहज र सुरक्षित आश्रय र आराम क्षेत्र ठानेको स्थानमा बस्नु नै पर्याप्त हुन्छ। तिनीहरू आफ्नो आनीबानी प्रस्तुत गर्ने तरिका वा आफ्नो आनीबानीको दिशाका सिद्धान्त र सीमाहरू परिवर्तन गर्ने कुनै अभिप्राय राख्दैनन्, र तिनीहरूले अवश्य नै आफ्नो भ्रष्ट स्वभाव त्याग्ने कुनै अभिप्राय राख्दैनन्। यिनीहरू मान्छे खुसी पारिहिँड्ने र समस्याबाट जोगिने मानिस हुन्। अरूले सत्यता सिद्धान्तहरूका बारेमा वा आफ्नो आनीबानी कसरी प्रस्तुत गर्ने भन्ने कुराका सीमा र सिद्धान्तहरूका बारेमा जसरी सङ्गति गरे पनि, तिनीहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने तरिका परिवर्तन गर्दैनन्। त्यसोभए, के यी मानिसहरूमा असल मानवता हुन्छ? (हुँदैन।) के यी मानिसहरूले सत्यतालाई स्वीकार गर्न वा सिद्धान्तहरू पालना गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले किन सत्यता सिद्धान्तहरू पालना गर्न सक्दैनन्? किनभने तिनीहरूका विचारमा, तिनीहरूको आनीबानी प्रस्तुत गर्ने मानक भनेको मान्छे खुसी पारिहिँड्ने मानिस बन्नु नै हो। राय राख्नु वा अडान लिनुपर्ने कुनै पनि मामलाको हकमा, तिनीहरू चुप बस्छन्, उदासीन मनोवृत्ति कायम राख्छन्, र त्यो कुरासँग तिनीहरूको कुनै सम्बन्ध छैन भन्ने जस्तो गरी बेफिक्री र अलग बसेर त्यसबाट हात झिक्छन्। फलस्वरूप, तिनीहरूले आफ्नो आनीबानी र व्यवहार कसरी प्रस्तुत गर्छन्, त्यसमा विशेष कुरा केही हुँदैन; तिनीहरू चिप्ले माछा जस्तै हुन्। तिनीहरूलाई आफ्नो वरिपरिका मानिस र घटनाहरूका बारेमा वास्ता हुँदैन। कुनै पनि वातावरणमा रहेका वा कुनै पनि व्यक्तिसँगका मामलाहरू जति नै महत्त्वपूर्ण भए पनि, तिनीहरूलाई तिनका बारेमा वास्ता गर्ने, सोधपुछ गर्ने, वा जान्ने कुनै चासो हुँदैन। तिनीहरू यदि यो कुरा तिनीहरूसँग सम्बन्धित छैन भने तिनीहरूले चिन्ता गर्नु पर्दैन भन्ने विश्वास गर्छन्। यसका लागि एउटा भनाइ छ, यस भनाइले के भन्छ? “योग्यता नखोज, बरु आरोपबाट बच।” यो मान्छे खुसी पारिहिँड्ने मानिसहरूले आफ्नो आनीबानी प्रस्तुत गर्न प्रयोग गर्ने सिद्धान्त पनि हो। त्यस्ता मानिसहरूको भ्रष्ट स्वभावका विशेषताहरू के-के हुन्? छल, दुष्टता, हठीपन, सत्यतालाई स्वीकार गर्न नमान्ने—तिनीहरूमा भ्रष्ट स्वभावका लगभग सबै विशेषताहरू हुन्छन्। बाहिरी रूपमा, तिनीहरूले दुष्कर्म गर्दैनन् र बिरलै अपराधहरू गर्छन् होला, तर यदि तैँले तिनीहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने सिद्धान्त र तरिकाहरूलाई अवलोकन गरिस् भने, सबैभन्दा उल्लेखनीय विशेषता के हो भने तिनीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरू पालना गर्दैनन् र तिनीहरूले आफ्नो आनीबानी प्रस्तुत गर्ने तरिकामा कुनै सीमा हुँदैन। कसैले तिनीहरूलाई अपमान गर्दा वा तिनीहरूको इज्जतमा चोट पुर्याउँदा पनि, तिनीहरूले यसलाई सहेर हाँसोमै उडाउन सक्छन्, र आफ्ना भित्री विचारहरू कहिल्यै प्रकाश वा प्रकट गर्दैनन्। बाहिरी रूपमा, तिनीहरू अत्यन्तै सहनशील, दयालु मानवता भएका देखिन्छन्, र तिनीहरूले आक्रमण गर्ने वा बदला लिने कुनै अभिप्राय देखाउँदैनन्। तर, तिनीहरूमा कुनै विचार हुँदैनन् भन्ने होइन—तिनीहरू तैँले के गरेको छस् भन्ने कुरा याद गर्छन्, र सही समयमा, तिनीहरू बाहिर आएर आफ्नो सुरक्षा र बचाउ गर्नेछन्, र तैँले पत्ता समेत लगाउन नसक्ने किसिमको निश्चित प्रतिप्रहार गर्नेछन्। तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गरिरहेका हुँदैनन्; तिनीहरूले आफ्नो आनीबानी कसरी प्रस्तुत गर्छन् भन्ने कुराका सिद्धान्त र सीमाहरू आफ्नै हित, सुरक्षा, र प्रतिष्ठाको रक्षा गर्नका लागि मात्रै हुन्छन्। यस्ता मानिसहरूलाई दुष्ट, हठी, छली, र सत्यताप्रति वितृष्ण भनेर व्याख्या गर्नु सही हुन्छ। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “तिनीहरूले अरूका हितहरूमा हानि गरेका वा कुनै दुष्टता गरेका छैनन्, त्यसकारण तिनीहरूमा यी भ्रष्ट स्वभावहरू छन् भनेर कसरी भन्न सकिन्छ? तपाईं केका आधारमा यसो भनिरहनुभएको छ?” यो तिनीहरूले मानिस र परिस्थितिहरूलाई कसरी हेर्छन् र तिनीहरूले आफ्नो आनीबानी र व्यवहार कसरी प्रस्तुत गर्छन् भन्ने सम्बन्धमा तिनीहरूका विचार, दृष्टिकोण, र मनोवृत्तिहरूमा आधारित हुन्छ। के तिमीहरूले यो कुरा याद गरेका छौ? (अहिले देख्यौँ।) तैँले यो कुरा किन पहिले नै देख्न सकिनस्? तिनीहरूले तँलाई बहकाएका छन् भन्ने बारेमा के भन्छस्? (हामीलाई तिनीहरूले आफ्नो बोलीवचन र व्यवहारमा, र तिनीहरूले अरूसँग कसरी अन्तरक्रिया र सहकार्य गर्छन् भन्ने कुरामा निकै सहज व्यवहार गर्छन् भन्ने लाग्थ्यो, र तिनीहरूले कसैलाई चोट पुर्याउँदैनथिए, त्यसकारण हामीले तिनीहरूमा असल मानवता छ भन्ने अनुमान गर्थ्यौँ। हामीलाई तिनीहरूको बाहिरी आवरणले भ्रमित पारेको हो।) कुनै व्यक्तिमा बाहिरी रूपमा कोमल व्यक्तित्व छ र उसले मानिसहरूलाई कहिल्यै आक्रमण गर्दैन र पशुहरूलाई चोट पुर्याउँदैन भन्दैमा उसमा असल मानवता छ भन्ने हुँदैन। मानवताका कस्ता प्रकाशहरूले साँच्चै नै असल मानवतालाई प्रतिनिधित्व गर्छन्? (एउटा कुरा, अरूलाई हानि नगर्नु वा तिनीहरूबाट फाइदा नलिनु हो। यसका साथै, जब खतरा उत्पन्न हुन्छ, तब आफ्नो सुरक्षाको ख्याल नगरी, हरेक परिस्थितिमा परमेश्वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दिन सक्ने गरी अगुवा र कामदारहरू, साथै सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्ने बारेमा नै पहिले विचार गर्नु हो। यी सबै असल मानवताका प्रकटीकरणहरू हुन्।) दयालु हृदय भएको, प्रेमिलो, धैर्यवान् र सहनशील, अरूप्रति आदर गर्ने, अरूको ख्याल गर्न तयार हुने, मानिसहरूबाट फाइदा नलिने, तुलनात्मक रूपमा सीधा, साथै नम्र, सानो भएर बस्ने, र अत्याचारी नबन्ने: मानवताका यी गुणहरू हुनु, सत्यता सिद्धान्तहरू पालना गर्ने र परमेश्वरको घरका हितहरूको रक्षा गर्ने क्षमता हुनु—यो असल मानवता हो। यदि कुनै व्यक्तिमा बाहिरी रूपमा सहनशीलता, धैर्य, दया, अरूको फाइदा नलिने, अरूप्रति संवेदनशीलता, अरूको हेरचाह गर्ने जस्ता मानवताका गुणहरू छन्, तर जब परमेश्वरको घरका हितहरूको कुरा आउँछ, तब उसले सजिलै त्यसलाई अरूको हातमा सुम्पिदिन्छ र सक्रिय रूपमा त्यसलाई धोका समेत दिन्छ भने, के उसमा राम्रो मानवता हुन्छ? (हुँदैन।) यसको अर्थ तिनीहरूको मानवता राम्रो छैन भन्ने हुन्छ। असल मानवतालाई कसरी मापन गरिन्छ? न्यूनतम आवश्यक कुरा के हो? (कम्तीमा पनि, परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्नु।) परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्नु; त्यसपछि, यस जगमा रहेर, अरूसँग सद्भावपूर्ण रूपमा सहकार्य गर्न सक्नु, दयालु र सहनशील हुनु, अरूबाट फाइदा नलिनु, र धैर्यवान् हुन र अरूका कमजोरीहरू बुझ्न सक्नु, अरूप्रति संवेदनशील हनु, प्रेमिलो बन्न सक्नु, अरूलाई सहयोग गर्न र साथ दिन सक्नु, र कमजोरहरूको हेरचाह गर्नु, इत्यादि—यी सबै असल मानवताका विशेषताहरू हुन्। यसको विपरीत, स्वार्थीपन, नीचता, लोभ, अरूसँग कठोर बन्नु र हदभन्दा बढी षड्यन्त्रकारी बन्नु, मानिसहरूको कुरा काट्न र तिनीहरूलाई दमन गर्न मन पराउनु, स्वेच्छाचारी, घमण्डी, विशेष रूपमा सतही, दुष्ट, लम्पट, निर्दयी बन्नु, र लाजको बोध नहुनु—यी कस्ता प्रकारका प्रकटीकरणहरू हुन्? (यी खराब मानवताका प्रकटीकरणहरू हुन्।) के यी प्रकटीकरणहरू भएको व्यक्तिले अझै पनि परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्छ? (सक्दैन।) परमेश्वरको घरका हितहरूको रक्षा गर्ने क्षमता साथै असल मानवताका प्रकटीकरणहरू हुनु—साँचो रूपमा असल मानवता भनेको यही हो।
कतिपय मानिसहरू बाहिरी रूपमा अत्यन्तै दयालु देखिन्छन्; तिनीहरू अरूसँग धैर्यवान् र सहनशील हुन सक्छन्, र तिनीहरूसँग असल मानवताका सबै विशेषताहरू हुन्छन्। तर जब मण्डलीको काम, परमेश्वरका भेटीहरू, वा परमेश्वरको घरका हितहरूको कुरा आउँछ, तब तिनीहरूले यी सबै कुरामा धोका दिन सक्छन्। के तिमीहरू यस्तो व्यक्तिमा असल मानवता हुन्छ भनेर भन्छौ? (भन्दैनौँ।) उदाहरणका लागि, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका लागि सामान किन्दा, कतिपय मानिसहरू राम्रो गुणस्तरका, सस्तो मूल्यका, र व्यावहारिक सामानहरू छनौट गर्छन्। तर भेटी खर्च गरेर सामान किन्ने कुरामा, तिनीहरूले महँगा सामानहरू रोज्छन्। त्यो ट्र्याक्टर मात्रै भए पनि, तिनीहरूले नेभिगेसन सहितको ट्र्याक्टर किन्न चाहन्छन्। तिनीहरूले जे किन्न लागेका भए पनि, तिनीहरू सधैँ सबैभन्दा राम्रो, सबैभन्दा महँगो, र उच्च प्रविधिका सामानहरू लिन्छन्, र सस्तो चीजबारे विचार गर्न मान्दैनन्। सामान्यतया, तिनीहरू अरूसँग सामान्य रूपमा मिलेर बसेका देखिन्छन्; तिनीहरू मानिसहरूबाट फाइदा लिँदैनन्, निकै सहनशील हुन्छन्, र सबै तरिकाले अरूसँग राम्रो व्यवहार गर्छन्। तर भेटीहरू खर्च गर्ने क्रममा, तिनीहरूको निर्दयी पक्ष देखा पर्छ, र तिनीहरूको अनिष्टकर अनुहार देखिन्छ। के तिनीहरूलाई असल मानवता भएको मान्न सकिन्छ? (सकिँदैन।) के तिनीहरूको असल मानवता साँच्चै नै सच्चा हुन्छ? यो बाहिरी ढोँग र कृत्रिमता मात्रै हो, यो सबै देखावटी रूप हो। जब परमेश्वरको घरका हितहरूसँग सम्बन्धित मामलाहरूको कुरा आउँछ, विशेष गरी भेटीहरू खर्च गर्ने मामलाको कुरा आउँछ, तब तिनीहरूको लोभ देखा पर्छ, र तिनीहरूको अनिष्टकर अनुहार, दुष्ट रूप, र उग्र चालढाल प्रकट हुन्छन्। के यो असल मानवता हो? (होइन।) उदाहरणका लागि, कसैले “वचन देहमा देखा पर्नुहुन्छ” नामक पुस्तकको प्रतिलिपि अधिकारका लागि आवेदन दिइरहेको छ, र उसले भन्छ: “यदि हामीले संस्थाका रूपमा मण्डलीको नाममा आवेदन दियौँ भने, धेरै पैसा जोगिन्छ। तर यदि हामीले देहधारी ख्रीष्टका नाममा आवेदन दियौँ भने, खर्च बढी लाग्नेछ। हामीले यसमा पैसा बचत गर्नुपर्छ; भेटी लापरवाही रूपमा खर्च गर्नु हुँदैन!” के यो अभिव्यक्ति सही छ? के त्यस्तो महत्त्वपूर्ण मामला सम्हाल्ने कार्यमा तिनीहरूसँग सिद्धान्तहरू हुन्छन्? यी वचनहरू कसले व्यक्त गर्नुभएको थियो, परमेश्वरले कि मण्डलीले? (ती परमेश्वरले व्यक्त गर्नुभएको हो।) त्यसोभए प्रतिलिपि अधिकार कसको हुनुपर्छ? यसको स्वामित्व परमेश्वरलाई दिनु उचित हो कि मण्डलीलाई? (यो परमेश्वरलाई दिनु बढी उचित हुन्छ।) यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यस्तो महत्त्वपूर्ण मामलामा पैसा बचत गर्नमा ध्यान दिँदा कस्ता परिणामहरू आउँछन्? के-कस्ता समस्याहरू उत्पन्न हुन सक्छन्? परिणामहरू अकल्पनीय हुन सक्छन्! यदि तैँले परमेश्वरको घरका हितहरूलाई बेवास्ता गरिस् र पैसा बचत गर्ने बारेमा मात्रै सोचिस् भने, तँ कस्तो व्यक्ति होस्? त्यस्ता मानिसहरूमा विवेक वा मानवता हुन्छ? (तिनीहरूमा कुनै मानवता हुँदैन।) त्यस्ता मानिसहरू बाहिरी रूपमा जति नै दयालु वा सहनशील देखिए पनि, के तिनीहरूमा साँच्चै नै मानवता हुन्छ? (हुँदैन।) मण्डलीमा, खानपान, र दैनिक आवश्यकताहरूका सबै सामानहरूको खर्च पूर्ण रूपमा परमेश्वरका भेटीहरूद्वारा बेहोरिन्छ। के मैले यी खर्चहरूका बारेमा कहिल्यै तिमीहरूलाई किचकिच गरेको छु? यति मात्र हो कि तिमीहरूले खेर फाल्न चाहिँ हुँदैन, तर के मैले कहिल्यै तिमीहरूको सामान्य खर्चको छानबिन गरेको छु? (गर्नुभएको छैन।) सबै पक्षमा, मैले तिमीहरूका बारेमा ध्यान दिएको छु र तिमीहरूको खर्चको कहिल्यै छानबिन गरेको छैनँ, तैपनि तिमीहरू फनक्क फर्केर झारा टार्ने काम गर्छौ। के यो मानवताको कमी होइन र? (हजुर, हो।) मानवताविनाको व्यक्ति मानिसहरूप्रति जति नै दयालु वा सहनशील देखिए पनि, यो त देखावटी रूप मात्रै हो। विवेक र समझ साँच्चै नै प्रयोग हुनुपर्ने क्षणमा, तिनीहरू मानवतारहित मानिसका रूपमा प्रकट हुन्छन्। के तिनीहरू मानव नै हुन्? (होइनन्।) तिनीहरूलाई मानव भन्न मिल्दैन। किनमेल गर्दा, म पनि सामानहरू कहिले छुटमा पाइन्छन् र ती किन्ने उचित तरिकाहरू के हुन् भनेर विचार गर्दै होशियारीका साथ र मितव्ययी रूपमा किनमेल गर्छु, र यदि कुनै वस्तु व्यावहारिक, उपयुक्त, र उचित मूल्यको छ भने, म त्यो किन्छु। तर म लापरवाही रूपमा किन्दिनँ, र अनुचित खरिदमा पैसा खर्च गर्दिनँ। तर, कतिपय कुरामा खर्च गर्नैपर्ने हुन्छ, र ती अवस्थामा, म सिद्धान्तहरू अनुसार खर्च गर्छु। म आफ्नै खाना, लुगा, र दैनिक आवश्यकताहरूमा पनि मितव्ययीता अपनाउने प्रयास गर्छु। यो आफूलाई जे मन लाग्यो त्यही किन्ने कुरा होइन; मैले खरिद गर्दा ध्यानपूर्वक विचार गरेर गर्नुपर्छ। हेर् त, म सरल, उचित, र सभ्य लुगा लगाउँछु। म खर्च गर्दा सिद्धान्तहरू पछ्याउँछु: म आवश्यक र व्यावहारिक कुरा किन्छु, र त्यस बाहेकको कुरा किन्दिनँ। पैसा फजुलमा उडाउने वा बरबाद गर्ने काम नगर्; खर्च गर्न नहुने पैसा खर्च नगर्; बचत गर्नुपर्ने ठाउँमा बचत गर्, र अनावश्यक खर्चबाट टाढा बस्—सिद्धान्तहरू यिनै हुन्। तर, जब मानवताविनाका कतिपय मानिसहरूले परमेश्वरका भेटीहरू खर्च गर्ने अवसर देख्छन्, तब तिनीहरूको आँखा बल्छ। यदि यो मानिसहरूको गाँस, बास, कपास वा यातायातमा खर्च गर्ने कुरासँग सम्बन्धित छ भने, तिनीहरूले हतार-हतार कदम चाल्छन्। विशेष गरी अरूका लागि लुगा किन्ने वा जीविकोपार्जनका खर्चहरू बाँड्ने कार्यमा, तिनीहरू अत्यन्तै उत्साहित र निकै उदार बन्छन्। तिनीहरू हृदयमा सोच्छन्, “खैर, मेरो पैसा खर्च हुने होइन। परमेश्वरकै पैसा खर्च हुने हो, र यसले मेरो प्रतिष्ठामा सहयोग गर्छ, त्यसकारण किन खर्च नगर्ने?” त्यसकारण तिनीहरूले अवसरको फाइदा उठाएर पैसाको खोलो बगाउँछन्। हृदयमा, तिनीहरूले दुष्ट अभिप्रायहरू राख्छन्, र परमेश्वरको घरलाई हानि गर्ने बाहेक केही चाहँदैनन्! तर यदि यो तिनीहरूको आफ्नै पैसा थियो भने, तिनीहरूले सबै कुराको हिसाबकिताब गर्नेथिए, र आवश्यकभन्दा बढी एक पैसा पनि खर्च गर्न मान्दैनथिए। तिनीहरू सामान्यतया जति नै दयालु देखिए पनि, त्यस्ता मानिसहरूमा असल मानवता हुँदैन। मेरो दृष्टिकोणमा, परमेश्वरका भेटीहरूप्रतिको तिनीहरूको मनोवृत्तिले धेरै कुरा बताउँछ। तिनीहरूले भेटीहरू फजुलमा उडाउन सक्छन् र तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन भन्ने तथ्यले, कम्तीमा पनि, तिनीहरू दयालु हुँदैनन्, तिनीहरू नीच हुन्छन्, र तिनीहरूमा कमजोर मानवता हुन्छ भन्ने देखाउँछ। कुरा यही होइन र? (हजुर, हो।)
व्यक्तिको अन्तर्निहित अवस्था, मानवता, र भ्रष्ट स्वभावसँग सम्बन्धित धेरै प्रकटीकरणहरू हुन्छन्। आज हामीले तीमध्ये केहीलाई सरसर्ती हेरेका छौँ; अरू प्रकटीकरणहरू पनि हुन सक्छन्, जुन कुरालाई हामी भविष्यका सङ्गतिकाहरूमा समावेश गर्न सक्छौँ। आजका लागि हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ। बिदा!
सेप्टेम्बर २३, २०२३