८०. बर्खास्त गरिएपछिको चिन्तन

अप्रिल २०२१ मा, म मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्दै थिएँ। सुरुमा यो कर्तव्य सुरु गर्दा, ममा बोझको बोध थियो र मैले सिद्धान्तहरूमा मेहनत गर्न ध्यान दिएँ। आफूले नबुझेका समस्याहरू सामना गर्दा प्रार्थना र खोजी गरेँ, अक्सर आफ्ना ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्थेँ। बिस्तारै, मैले केही सिद्धान्तहरू बुझ्न थालेँ र मेरो कामले नतिजा दिन थाल्यो। केही महिनापछि, साँचो मार्गको खोजी र अनुसन्धान गर्ने मानिसहरूको सङ्ख्या बढ्दै जाँदा, धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरे। यी नयाँ विश्‍वासीहरूलाई जतिसक्दो चाँडो मलजल गर्न सकियोस् भनेर, अगुवाले मलाई थप तीनवटा समूह हेर्ने जिम्मा दिइन्। त्यति धेरै नयाँ विश्‍वासीहरू थपिएको देख्दा मलाई चित्त बुझेन, र सोचेँ: “मैले अहिले मलजल गरिरहेका नयाँ विश्‍वासीका समूहहरूमा चिन्ता गर्नुपर्ने कुरा पहिल्यै धेरै छन्, उनीहरूमा धेरै धारणाहरू छन्, समाधान गर्नुपर्ने धेरै समस्या र कठिनाइहरू छन्। कहिलेकाहीँ उनीहरूसँग बारम्बार सङ्गति गरेपछि मात्र नतिजा हासिल हुन्छ। अब यति धेरै विश्‍वासीहरू थपिएका छन्, उनीहरू सबैलाई राम्ररी मलजल गरेर साँचो मार्गमा जग बसाल्न सकून् भन्नका लागि कति धेरै समय र मेहनत लाग्नेछ! यो त साह्रै झन्झटिलो काम हो। यस्तै भइरह्यो भने मेरो शरीरले कसरी धान्न सक्ला? मेरो स्वास्थ्यस्थिति त यत्तिकै पनि राम्रो छैन! थकाइले बिरामी परेँ भने त म साँच्चै समस्यामा पर्नेछु।” मलाई थाहा थियो, सुपरिवेक्षकले लामो समयदेखि नयाँ विश्‍वासीहरूलाई मलजल गर्दै आएकी थिइन् र यस कामको सिद्धान्तहरूमा उनको राम्रो पकड थियो, त्यसैले मैले आफैलाई भनेँ, “भविष्यमा, अझ जटिल समस्याहरूका लागि, मैले समाधान गर्न सुपरिवेक्षकलाई नै भन्नुपर्छ। त्यसो हुँदा मैले परमेश्‍वरका वचनहरू खोज्न र नयाँ विश्‍वासीहरूसँग त्यसमा सङ्गति गर्न मेहनत गर्नुपर्दैन। यसो गर्दा समस्या छिटो समाधान हुनुका साथै मैले केही आराम पाउनेछु, अनि समय र मेहनतको पनि बचत हुनेछ। के यो दुवैतिर फाइदाजनक थिएन र?” त्यसैले त्यसबेलादेखि, जब-जब मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा कठिनाइ वा स्पष्टसँग बुझ्न नसक्ने समस्याहरूको सामना गरेँ, मैले सत्यता सिद्धान्तहरू खोजिनँ, बरु समस्याहरू सीधै सुपरिवेक्षकलाई सुम्पिदिएँ र उनलाई नै सङ्गति गरेर समाधान गर्न लगाएँ।

एक पटक भेलामा, सुपरिवेक्षकले मलाई खुलासा गरिन्: “आजकाल तिमीलाई के भइरहेको छ? तिमी आफ्नो कर्तव्यमा मन लगाएकी छैनौ। हरेक पटक नयाँ विश्‍वासीले कुनै समस्या वा कठिनाइको सामना गर्दा, तिमी त्यसलाई समाधान गर्न सत्यता खोज्दैनौ, बरु मलाई नै त्यसमा सङ्गति गर्न लगाउँछौ। यसरी, तिमीले शारीरिक रूपमा कष्ट भोग्नु नपर्ला, तर के तिमीले सत्यता प्राप्त गर्न सक्छौ? यदि तिमीले कुनै बोझको बोधविना आफ्नो कर्तव्य गर्‍यौ, र देहको सुखसुविधाको लालसा गरिरह्यौ भने, पवित्र आत्माको काम सजिलै गुम्नेछ, र ढिलो चाँडो तिमी खुलासा भई हटाइनेछौ। तिमीले ध्यान दिएर आफूमाथि चिन्तन गर्नैपर्छ!” सुपरिवेक्षकका कुरा सुनेर, म दुःखी र पश्चात्तापी भएँ, मलाई यसरी अघि बढिरहनु साँच्चै खतरनाक हो भन्‍ने भयो। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेर मलाई आत्मचिन्तन र आत्मबुझाइमा मार्गदर्शन गर्नुहोस् भनेँ।

एक दिन, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निभाए पनि, तिनीहरू यसमा अदक्ष हुन्छन्, तिनीहरूले यसको जिम्मेवारी थेग्नै सक्दैनन्, र तिनीहरू कुनै व्यक्तिले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्‍मेवारीहरू पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानव भनिन लायक हुन्छन् र? बुद्धु, मानसिक रूपले अदक्ष, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्ना कर्तव्य र जिम्‍मेवारीहरू पूरा गर्नु नपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्ति सधैँ छट्टु र सुस्ताइरहेको हुन्छ, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने तिनीहरू उचित मानव हुने इच्छा गर्दैनन्। परमेश्‍वरले तिनीहरूलाई मानव बन्‍ने मौका दिनुभयो, र उहाँले तिमीहरूलाई क्षमता र वरदान दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्‍नो कर्तव्य पूरा गर्नमा प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, हरेक मोडमा आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण, कठिन वा सरल जेजस्तो भए पनि, तिनीहरू सधैँ झाराटारुवा र छट्टु अनि सुस्त हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरू आफ्‍नो जिम्‍मेवारी अरू मानिसहरूको काँधमा थुपार्न चाहन्छन्, कुनै जिम्‍मेवारी वहन गर्दैनन्, अनि आफ्ना परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र? समाजमा, जिउनका लागि कसले पो आफ्‍नै भर पर्नु पर्दैन र? व्यक्ति ठूलो भएपछि, उसले आफ्‍नो ज्यान आफै पाल्‍नुपर्छ। तिनीहरूका आमाबुबाले आफ्‍नो जिम्‍मेवारी पूरा गरिसकेका हुन्छन्। तिनीहरूका आमाबुबाले तिनीहरूलाई सहयोग गर्ने इच्छा गरे पनि, तिनीहरूलाई त्यो कुरामा अप्ठ्यारो लाग्‍नुपर्छ। तिनीहरूले आफ्ना आमाबुबाले तिनीहरूलाई हुर्काउने आफ्‍नो मिसन पूरा गरेका छन् तिनीहरू सक्षम वयस्क हुन्, र आफू आत्मनिर्भर भई बाँच्‍न सक्‍नुपर्छ भन्‍ने कुरा बुझ्न सक्‍नुपर्छ। के वयस्कमा कम्तीमा पनि यतिको समझ हुनुपर्दैन र? यदि कसैमा साँच्चै समझ छ भने, उसले आफ्‍ना आमाबुबासँग हात पसारिरहने सम्भावना नहुन सक्छ; तिनीहरूलाई अरू हाँस्लान्, र आफ्नो इज्जत जाला भन्‍ने डर हुनेछ। त्यसोभए, सहजतालाई मन पराउने र कामलाई घृणा गर्ने मानिसहरूमा समझ हुन्छ? (हुँदैन।) तिनीहरू सधैँ सित्तैमा केही पाउन चाहन्छन्; तिनीहरू कहिल्यै कुनै जिम्‍मेवारी पूरा गर्न चाहँदैनन्, आकासबाट मिठाइ झरेर तिनीहरूको मुखमा परोस् भन्‍ने कामना गर्छन्; तिनीहरू कामै नगरी दिनमा तीनपटक खान चाहन्छन्, बस कसैले भात पस्केर देओस्, र मिठो-मिठो खान र पिउन चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र? अनि परजीवी मानिसहरूमा विवेक र समझ हुन्छ त? के तिनीहरूमा सत्यनिष्ठा र मर्यादा हुन्छ त? कदापि हुँदैन। तिनीहरू केही न कामका भातमाराहरू, विवेक वा समझविनाका पशुहरू हुन्। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरको घरमा रहन लायक हुँदैनन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनअनुसार आत्मचिन्तन गर्दा, मैले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति अत्यन्तै तिरस्कारपूर्ण र झाराटारुवा भएको देखेँ। मैले गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू समेत पूरा गर्न सकिनँ। म साँच्चै नै बेकम्मा भन्दा फरक थिइनँ। हरेक पटक मेरो कामको बोझ बढ्दा र मैले कष्ट भोगेर मूल्य चुकाउनु पर्दा, मेरो पहिले आफ्नो देहलाई विचार गर्थेँ। म सोच्थेँ, मलजल गर्नुपर्ने नयाँ विश्‍वासीहरू धेरै भएकाले, सम्हाल्नुपर्ने र समाधान गर्नुपर्ने समस्याहरू पनि धेरै हुनेछन्। यदि मैले हरेक नयाँ विश्‍वासीसँग धैर्यतापूर्वक सङ्गति गर्ने र समर्थन गर्नुपर्‍यो भने, मैले धेरै चिन्ता लिनुपर्नेछ र आफैलाई थकाउनेछु। म कष्ट भोग्न र थकाइले बिरामी पर्न डराउँथेँ, त्यसैले मैले छलकपट गर्न र झारा टार्न थालेँ। अलिकति जटिल समस्या सामना गर्ने बित्तिकै, म त्यसलाई सीधै सुपरिवेक्षकमाथि हालिदिन्थेँ, त्यसलाई समाधान गर्न सत्यता खोज्न मेहनत गर्दिनथेँ। म साँच्चै स्वार्थी र छली थिएँ! मैले केवल आफ्नो आराम र शरीरलाई थकान नहोस् भन्‍ने कुराको मात्र वास्ता गरेँ। मैले अरू मानिसहरूको काम र कठिनाइहरूबारे पटक्कै सोचिनँ, न त मेरो व्यवहारले अरूलाई उनीहरूको कर्तव्य पूरा गर्न ढिलाइ पो गराउँछ कि भनेर नै सोचेँ। यद्यपि यसरी मेरो देह आराममा थियो र धेरै कष्ट भोग्नु परेन, तर सत्यता नखोजेको कारण मेरो जीवनमा प्रगति भएन, अनि अन्तमा मैले के नै प्राप्त गर्न सक्थेँ र? के मैले आफैलाई हानि पुर्‍याइरहेकी थिइनँ र? परमेश्‍वरले भन्नुहुन्छ कि अल्छी र छली मानिसहरू बेकम्मा हुन्, र के बेकम्माहरू परमेश्‍वरद्वारा तिरस्कृत हुने र हटाइने हुँदैनन् र? यो सोचेर, मलाई केही पछुतो र भय लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति बदल्न र लगनशीलतासाथ कर्तव्य पूरा गर्न चाहेको बताएँ।

त्यसपछि, जब म नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा कठिनाइहरूको सामना गर्थेँ, म सचेत रूपमा प्रार्थना गरेर परमेश्‍वरमा भरोसा राख्थेँ, सत्यता खोज्थेँ, र धैर्यतापूर्वक उनीहरूका कठिनाइहरू समाधान गर्न सङ्गति गर्थेँ, अरूमाथि ती समस्या हाल्दिनथेँ। तर केही नयाँ विश्‍वासीहरूमा बलिया धार्मिक धारणाहरू थिए, कहिलेकाहीँ उनीहरूले ती धारणालाई यति दृढतापूर्वक समात्थे कि उनीहरूलाई त्यो छोड्न लगाउन मैले धेरै पटक सङ्गति गर्नुपर्थ्यो। केही समयपछि, यसले मलाई चिन्ता गराउन र मेरो धेरै ऊर्जा लिन थाल्यो। यस बिन्दुमा, म केही हदसम्म व्याकुल भएँ र मनमनै सोचेँ, “यदि यस्तै भइरह्यो भने, नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गर्न मैले कति मेहनत गर्नुपर्ला? यो त साह्रै थकाइलाग्दो छ। बरु उनीहरूका धारणालाई ध्यानमा राखेर, सम्बन्धित परमेश्‍वरका वचनहरू खोजेर उनीहरूलाई पठाइदिन्छु र उनीहरूलाई आफै पढ्न लगाउँछु, अनि केही नबुझेमा म पछि सङ्गति गरिदिन्छु। यसले मेरा केही चिन्ताहरू हटाउनेछ।” तर मैले यसो गर्दा मलाई अलिकति असहज महसुस भयो। “मैले उनीहरूसँग आमनेसामने यति विस्तृत रूपमा सङ्गति गर्दा त उनीहरूलाई आफ्ना धारणाहरू त्याग्न गाह्रो हुन्छ,” मैले आफैलाई भनेँ। “यदि मैले उनीहरूलाई सबै कुरा आफै पढ्न छोडिदिएँ भने, उनीहरूले कसरी बुझ्लान् र? आ, जे सुकै होस्। समस्या उत्पन्न भएपछि मात्र सङ्गति गर्नेछु।” ठीक त्यसरी नै, मैले धेरै नसोची त्यसलाई छोडिदिएँ। केही समयपछि, केही नयाँ विश्‍वासीहरू आफ्ना धार्मिक धारणाहरू तुरुन्तै समाधान नभएका कारण भेलामा आउन चाहेनन्, र कोही त पास्टर र एल्डरहरूद्वारा भ्रमित र बाधित भएर विश्‍वासबाटै हटेर गए। यस्तो भइरहेको देख्दा, मलाई अलिकति दोषी महसुस भयो, तर फेरि सोचेँ: “यो सबै मेरो मात्र जिम्मेवारी होइन। मैले उनीहरूलाई पढ्नका लागि सम्बन्धित परमेश्‍वरका वचनहरू पठाएकी थिएँ; तर यी नयाँ विश्‍वासीहरू अत्यन्तै अहङ्कारी र आत्म-धर्मी छन्। उनीहरू सधैँ हठीपूर्वक आफ्नै धारणाहरूमा अडिग रहन्छन् र सत्यता स्वीकार गर्दैनन्, त्यसैले मैले उनीहरूलाई मद्दत गर्न केही गर्न सक्दिनँ।” म आफ्नो कर्तव्य पूरा गर्दा निरन्तर अल्छी र झाराटारुवा भएकीले, मलाई परमेश्‍वरले मबाट आफ्नो मुहार लुकाउनुभएको जस्तो लाग्यो, र मेरा विचारहरू झन् झन् धमिलो हुँदै गए। मैले धेरै समस्याहरूको समाधान देख्न सकिनँ, र नयाँ विश्‍वासीहरूसँगको मेरो सङ्गति नीरस र उराठलाग्दो थियो। मेरो कर्तव्य पूरा गर्नु श्रमसाध्य बन्यो र नतिजाहरू झन् झन् खराब हुँदै गए। पछि, सुपरिवेक्षकले मेरो स्थिति नबदलिएको र यसले मेरो कर्तव्यलाई गम्भीर रूपमा असर गरिरहेको देखेर, उनले मलाई कर्तव्य गर्न रोकेर बरु आत्मचिन्तन गर्न आत्मिक भक्ति अभ्यास गर्न भनिन्। यो खबर सुन्दा म लत्रक परेँ, र मेरा आँखाबाट आँसु अनियन्त्रित रूपमा बग्न थाल्यो। मलाई राम्ररी थाहा थियो, यो परिणाम मेरो देहप्रति अत्यन्तै ध्यान दिने र कर्तव्य पूरा गर्दा निरन्तर झारा टार्ने बानीले थियो। मलाई लाग्यो कि म सकिएँ। परमेश्‍वरको काम अन्त्यतिर आइपुग्दा मलाई मेरो कर्तव्यबाट निलम्बित गरिएको थियो। के म हटाइएकी होइन र? ती केही दिनहरू कष्टदायी थिए र म राम्ररी खान वा सुत्न सकिनँ। मेरो पीडाको बीचमा, म घुँडा टेकेर परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रार्थना गरेँ: “हे परमेश्‍वर, मलाई थाहा छ मैले गरेका कामहरूले तपाईंमा मप्रति घृणा र तिरस्कार उत्पन्न गराउँछ, तर म पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र आफूलाई अझ राम्रोसँग बुझ्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरू आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍ने पटक्कै इच्छा गर्दैनन्, समस्यामा पर्नेबित्तिकै गुनासो गर्छन् र मूल्य चुकाउन मान्दैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? यो झाराटारुवा मनोवृत्ति हो। यदि तँ झारा टार्ने तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छस्, र त्यसलाई अपमानजनक मनोवृत्तिले हेर्छस् भने, त्यसको नतिजा के हुनेछ? तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍ने भए पनि, कर्तव्य निर्वाह गर्दा तेरो कार्यप्रदर्शन नराम्रो हुनेछ—तेरो कार्यप्रदर्शन मापदण्डको स्तरमा पुग्‍नेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिसँग परमेश्‍वर निकै असन्तुष्ट हुनुहुनेछ। यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र यसमा आफ्‍नो सारा हृदय र मन लगाउन सकेको भए, यदि तैँले यसरी सहकार्य गर्न सकेको भए, परमेश्‍वरले पहिले नै तेरो लागि सबै कुरा तयार गरिदिनुभएको हुन्थ्यो, ताकि तैँले मामिलाहरू सम्हाल्दै गर्दा ती सबै उचित ठाउँमा पर्नेथ्यो, र राम्रो नतिजा प्राप्त हुनेथ्यो। तैँले त्यति भयङ्कर ऊर्जा लगाउनु पर्दैन; जब तैँले सहकार्य गर्न आफूले सक्दो प्रयास गर्थिस्, परमेश्‍वरले पहिले नै सबै कुराको बन्दोबस्त गरिसक्‍नुभएको हुनेथ्यो। यदि तँ धूर्त छस् र सुस्ताउँछस् भने, यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनस् र सधैँ गलत मार्गमा जान्छस् भने, परमेश्‍वरले तँमाथि कार्य गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्‍वरले यसो भन्‍नुहुनेछ, ‘तेरो कामै छैन; म तँलाई प्रयोग गर्न सक्दिनँ। जा, पाखा लाग्। तँलाई चलाक हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन र आरामसाथ व्यवहार गर्न मन पर्छ, होइन त? ठिकै छ, सधैँभरी आरामसाथ व्यवहार गर्!’ परमेश्‍वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हानि हो कि लाभ हो? (हार।) यो ठूलो हानि हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले बुझेँ परमेश्‍वरले मानिसहरूबाट धेरै माग गर्नुहुन्न; उहाँ केवल तिनीहरूले आफ्नो कर्तव्य तनमनले र आफ्नो क्षमताले भ्याएसम्म पूरा गरून् भन्‍ने चाहनुहुन्छ। जबसम्म तिनीहरूले आफ्नो क्षमताअनुसार कर्तव्य पूरा गर्छन्, तिनीहरू परमेश्‍वरद्वारा अनुमोदित हुनेछन्। तर जो मानिसहरू आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झारा टार्छन्—जो छली र मौकापरस्त हुन्छन्, र फुर्सद र आराम खोज्छन् आफूले गर्नुपर्ने र गर्न सक्ने काम गर्नुको सट्टा—त्यस्ता मानिसहरू परमेश्‍वरद्वारा तिरस्कृत हुन्छन् र उहाँद्वारा मुक्ति पाउनेछैनन्। परमेश्‍वरका वचनहरू मनन गर्दै र आफ्ना कार्यहरूलाई फर्केर हेर्दा, के म परमेश्‍वरले तिरस्कार गर्नुहुने त्यस्तै व्यक्ति थिइनँ र? मण्डलीले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामको जिम्मा दिनु मेरो लागि सम्मानको कुरा थियो। परमेश्‍वरको राज्यको सुसमाचार फैलिरहेको यो महत्त्वपूर्ण समयमा यस्तो महत्त्वपूर्ण कर्तव्य पूरा गर्न पाउनु कति अर्थपूर्ण थियो! तर म कदर नगर्ने, आफ्नो कर्तव्यमा झारा टार्ने, र निरन्तर आरामको लालसा गर्ने भएकी थिएँ। थोरै मेहनत र त्यागले मैले नयाँ विश्‍वासीहरूलाई राम्रोसँग मलजल गर्न सक्थेँ, तर म त्यो अलिकति थप कष्ट भोग्न चाहन्नथेँ। नयाँ विश्‍वासीहरूले आफै परमेश्‍वरका वचन पढ्दा उनीहरूको बुझाइ सीमित हुन्छ भन्‍ने राम्ररी थाहा भए तापनि, म अझै पनि उनीहरूसँग सङ्गति गर्न चाहन्नथेँ। परिणाम स्वरूप, केही नयाँ विश्‍वासीहरू आफ्ना धार्मिक धारणाहरू समाधान नभएका कारण भेलामा आउन चाहेनन्, र कोही त पास्टर र एल्डरहरूद्वारा भ्रमित र बाधित भएर विश्‍वासबाटै हटेर गए। तथ्यहरू खुलासा भएपछि मात्र मैले बुझेँ मैले आफ्नो कर्तव्य पटक्कै पूरा गरिरहेकी थिइनँ, बरु मण्डलीको काममा बाधा र अवरोध गरिरहेकी थिएँ। त्यतिबेला, मैले आफूलाई पटक्कै चिनेकी थिइनँ। बरु, मैले जिम्मेवारी पन्छाएँ र समस्याहरू नयाँ विश्‍वासीहरूमाथि नै थोपरिदिएँ। म कति गैरजिम्मेवार थिएँ! यसले परमेश्‍वरलाई मप्रति घृणा र तिरस्कार उत्पन्न नगराएर कसरी सक्थ्यो र? मण्डलीले मलाई आफ्ना जिम्मेवारीहरू पूरा गर्दै नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गर्न सकूँ, जसबाट उनीहरूले जतिसक्दो चाँडो साँचो मार्गमा दह्रिलो जग बसाल्न र परमेश्‍वरको मुक्ति स्वीकार गर्न सकुन् भनेर यस्तो महत्त्वपूर्ण काम सुम्पेको थियो। तर म अल्छी, छली बनेकी थिएँ, र लुक्ने, फुर्सदको जीवन बिताउने र सकेसम्म कम काम गर्ने कुरामा मात्र केन्द्रित थिएँ। मैले परमेश्‍वरको अभिप्रायलाई अलिकति पनि विचार गरिनँ, र आफ्नो कर्तव्यसमेत पूरा गर्न सकिनँ। ममा कसरी विवेक र समझको यतिबिघ्न कमी हुन सक्यो? कुकुरहरूलाई समेत आफ्नो मालिकप्रति कसरी बफादार हुने र घरको रखवाली गर्ने भन्‍ने थाहा हुन्छ, जबकि म परमेश्‍वरको प्रचुर आपूर्तिको आनन्द उठाइरहेकी थिएँ तर पनि आफ्नै जिम्मेवारीहरू पूरा गर्न सकिनँ। के म मानव कहलाइन लायक पनि थिएँ र? परमेश्‍वरको स्वभाव धर्मी र चिढ्याउन नसकिने हुन्छ। म बर्खास्त हुनु र मेरो कर्तव्य रोकिनु सबै मेरै गल्तीले थियो। मैले आफ्नो कर्तव्य पूरा गरेर सत्यता प्राप्त गर्ने मौका खेर फालेकी थिएँ।

पछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनको अर्को एउटा खण्ड पढेँ, जसमा भनिएको छ: “मानिसहरूले आफ्नो प्रकृतिको बारेमा बुझाइ प्राप्त गर्नको लागि आफ्‍नो प्रकृतिले नै प्रिय ठान्‍ने कुराहरू पत्ता लगाउनेबाहेक आफ्नो प्रकृतिसित सम्बन्धित महत्त्वपूर्ण धरै पक्षहरू पनि पत्ता लगाउनु आवश्यक हुन्छ। उदाहरणको लागि, विभिन्‍न कुराहरूप्रति मानिसहरूका दृष्टिकोणहरू, जीवनमा मानिसहरूले लिने तरिका र उद्देश्यहरू, जीवनको विषयमा मानिसहरूका मूल्य-मान्यताहरू र जीवनका दृष्टिकोणहरू, साथै सत्यतासँग सम्बन्धित सबै कुराप्रतिका दृष्टिकोण र विचारहरू। यी सबै कुरा मानिसको प्राणको गहिराइमा हुन्छन् र स्वभावको रूपान्तरणसित तिनको प्रत्यक्ष सम्बन्ध हुन्छ। त्यसो भए, भ्रष्ट मानवजातिको जीवनप्रतिको दृष्टिकोण कस्तो हुन्छ? यो यस्तो हुन्छ भनेर भन्‍न सकिन्छ: ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ मानिसहरू सबै आफ्नै निम्ति जिउँछन्; अझ खुलस्तसँग भन्‍नुपर्दा, उनीहरू देहका लागि बाँचिरहेका हुन्छन्। उनीहरू पेट भर्नका निम्ति मात्र बाँचिरहेका हुन्छन्। यस्तो अस्तित्व जनावरको भन्दा कसरी भिन्‍न हुन्छ र? यस प्रकारले जिउनुको कुनै महत्त्व हुँदैन, न त कुनै अर्थ नै हुन्छ। व्यक्तिको जीवनप्रतिको दृष्टिकोण, तँ संसारमा जिउनका निम्ति कुन कुरामा भर पर्छस्, तँ केका निम्ति जिउँछस्, र तँ कसरी जिउँछस् भन्‍ने कुरामा निर्भर हुन्छ—यी सबै कुराहरू मानव प्रकृतिको सारसँग सम्बन्धित हुन्छन्। मानिसहरूको प्रकृति चिरफार गरेर, तैँले सबै मानिसहरूले परमेश्‍वरको प्रतिरोध गर्छन् भन्‍ने पत्ता लगाउँछस्। उनीहरू सबै दियाबलसहरू हुन् र साँचो रूपमा असल व्यक्ति कोही पनि छैन। मानिसहरूको प्रकृतिलाई विश्‍लेषण गरेर मात्र तैँले मानिसको भ्रष्टता र सारलाई वास्तविक रूपमा बुझ्न सक्छस्, मानिसहरू वास्तवमा कसको अधीनमा छन्, मानिसहरूमा वास्तवमा के कुरा कमी छ, तिनीहरू कुन कुराद्वारा सुसज्जित हुनुपर्छ र मानिसको स्वरूपमा तिनीहरू कसरी जिउनुपर्छ सो बुझ्न सक्छस्। व्यक्तिको प्रकृतिलाई साँचो रूपमा विश्‍लेषण गर्नु सजिलो हुँदैन, र परमेश्‍वरका वचनहरूको अनुभव नगरी वा साँचो अनुभवहरू प्राप्त नगरी यो काम गर्न सकिँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ)। परमेश्‍वरका वचन पढेपछि मलाई के महसुस भयो भने “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ” र “जीवनको गाडी जता कुद्छ कुद्‍न देऊ” जस्ता शैतानी दर्शन र नियमहरूले मलाई गहिरो गरी विषाक्त बनाएका रहेछन्। यी नियमअनुसार जिउँदा म अत्यन्तै स्वार्थी, नीच, धोकेबाज र छली बनेकी थिएँ। मैले जेसुकै गरे पनि, मैले आफ्नै शारीरिक हितलाई मात्र विचार गरेँ, आरामको लालसा गरेँ, श्रमलाई घृणा गरेँ, र आफ्नो कर्तव्य पूरा गर्दा बोझ वा जिम्मेवारीको कुनै बोध गरिनँ। म कुनै लक्ष्य र दिशाविना दिनहुँ जिइरहेकी थिएँ, मेरो जीवनको अलिकति पनि मूल्य र अर्थ थिएन। परमेश्‍वरमा विश्‍वास गर्नुअघिको कुरा सम्झँदा, मैले देहलाई धेरै महत्त्व दिन्थेँ र आरामको लालसा गर्थेँ। मैले जे गरे पनि, सकेसम्म सधैँ झारा टार्ने किसिमले गर्थेँ, आफ्नै शारीरिक हित पूरा गर्न जे पनि गर्थेँ, र नीच अनि दयनीय जीवन बिताउँथेँ। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि, म यिनै भ्रामक दृष्टिकोणद्वारा जिउँदै थिएँ। जब-जब कर्तव्यहरूको अतिबोझ पर्थ्यो, र मैले कष्ट भोग्नु र मूल्य चुकाउनुपर्ने हुन्थ्यो, म शारीरिक परिश्रमदेखि डराउँथेँ र निरन्तर रूपमा कठिन र मानसिक रूपमा थकाउने कामहरू अरूमाथि पन्छाउन खोज्थेँ। म आवश्यकभन्दा बढी चिन्ता वा समस्यामा पर्न चाहन्नथेँ। म कर्तव्यमा लापरवाह भएकाले, नयाँ विश्‍वासीहरूका समस्याहरू तुरुन्तै समाधान भएनन्, जसले गर्दा तिनीहरूमध्ये केही भेलामा आउन अनिच्छुक भए, र फलस्वरूप यसले मलजलको कामलाई बाधा र अवरोध पुऱ्यायो। मलाई के महसुस भयो भने म शैतानी दर्शन र नियमहरूअनुसार जिइरहेकी रहेछु, ममा विवेक र समझको पूर्णतया अभाव रहेछ। म स्वार्थी, नीच थिएँ, र केवल आफ्नो मात्र वास्ता गर्थेँ। नयाँ विश्‍वासीहरूका कठिनाइहरू समाधान हुन सक्छन् कि सक्दैनन्, वा तिनीहरूले आफ्नो जीवन प्रवेशमा हानि भोगेका छन् कि छैनन् भन्‍ने कुरा मैले विचारसमेत गरिनँ। म आराममा रमाउने स्थितिमा जिइरहेकी थिएँ, थाहै नपाई परमेश्‍वरको विरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्दै थिएँ। त्यो कति खतरनाक थियो! यस बिन्दुमा, मैले परमेश्‍वरको वचनको यो खण्ड सम्झेँ, जसमा भनिएको छ: “परमेश्‍वरले मानिसहरूलाई तिनीहरूले बोक्‍नै नसक्‍ने भार दिनुहुन्‍न। यदि तैँले सय पाउन्ड भारी बोक्‍न सक्छस् भने, परमेश्‍वरले अवश्यै तँलाई सय पाउन्डभन्दा गह्रौँ भारी बोक्‍न दिनुहुनेछैन। उहाँले तँलाई कुनै दबाब दिनुहुनेछैन। परमेश्‍वरले सबैलाई यसरी नै व्यवहार गर्नुहुन्छ। अनि तँ कुनै पनि कुरा—कुनै पनि व्यक्ति वा कुनै पनि सोच र विचारको रोकटोकमा पर्नेछैनस्। तँ स्वतन्त्र हुन्छस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१५))। परमेश्‍वरले मानिसहरूलाई दिनुहुने बोझहरू सबै तिनीहरूले बहन गर्न सक्ने कुराहरू हुन्, र थोरै प्रयासले नै हासिल गर्न सकिन्छ। कहिलेकाहीँ सधैँको भन्दा धेरै नयाँ विश्‍वासीहरूलाई मलजल गर्नुपर्ने हुन सक्छ, जसले गर्दा समस्या र कठिनाइहरू पनि थपिन सक्छन्, र तिनलाई समाधान गर्न सत्यता खोज्न र सङ्गति गर्न थप समय र ऊर्जा लाग्न सक्छ, तर थोरै थप मेहनत र त्यागले म सम्हाल्न सक्छु। यसले मलाई पटक्कै थला पार्ने वा थकाइले बिरामी बनाउनेछैन। भेलाहरूमा, मेरा ब्रदर-सिस्टरहरूले अक्सर यस तथ्यमा सङ्गति गर्नुहुन्छ कि हाम्रो कर्तव्य पूरा गर्नु हाम्रो लागि सत्यता बुझ्ने राम्रो अवसर हो। हामीले आफ्नो कर्तव्य पूरा गर्दा विभिन्न समस्या र कठिनाइहरूको सामना गर्छौं, तर सत्यता खोजेर हामी तिनीहरूबाट पाठ सिक्न सक्छौँ र बिस्तारै केही सत्यताहरू बुझ्न सक्छौँ, र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छौँ। तर मलाई सधैँ लाग्थ्यो, त्यसरी आफ्नो कर्तव्य पूरा गर्नु धेरै थकाइलाग्दो थियो, र म थकाइले बिरामी पर्नेछु भनेर चिन्तितसमेत हुन्थेँ, यो सबै किनभने मैले आरामको धेरै लालसा गर्थेँ र कष्ट भोग्ने कुनै इच्छाशक्ति थिएन। त्यसैले मैले आफ्नो कर्तव्य गर्दा गुनासो र गनगन गर्थेँ, आफ्नो कामलाई बेवास्ता गर्थेँ र आफ्नै जिम्मेवारीहरूसमेत पूरा गर्न असफल हुन्थेँ। अन्ततः मैले के बुझेँ भने शैतानी दर्शनहरूअनुसार जिउनु मेरो जीवनको बर्बादी मात्र हुनेछ र अन्तमा यसले मलाई हानि र सर्वनाश मात्र गर्नेछ। यो महसुसले मलाई केही डर लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईंको अन्तर्दृष्टि र मार्गदर्शनका लागि धन्यवाद, जसले म आफूलाई अलिकति राम्रोसँग बुझ्न र शैतानी दर्शनहरूअनुसार जिउँदा हुने हानि र परिणामहरू स्पष्ट रूपमा देख्न सक्षम बनाएको छ। मैले तपाईंको धर्मी स्वभावलाई चिढ्याउन सकिँदैन भन्‍ने पनि बुझेकी छु। हे परमेश्‍वर, म पश्चात्ताप गर्न चाहन्छु। अबदेखि म आफ्नो कर्तव्य दृढतापूर्वक पूरा गर्नेछु। म अबउप्रान्त आफ्नो कर्तव्यमा झारा टार्नेछैन र तपाईंलाई दुखित बनाउने छैन।”

पछि, मैले परमेश्‍वरका वचनको अर्को एउटा खण्ड पढेँ जसले मलाई गहिरो रूपमा छोयो। परमेश्‍वरका वचनहरूले भन्छन्: “परमेश्‍वरले भन्‍नुभएको एकएक शब्द र वाक्यांश ढुङ्गाको पाटीमा कुँदिएका शब्दजस्तै नोआको हृदयमा अङ्कित भएका थिए। बाहिरी संसारमा जे-जस्ता परिवर्तनहरू भए पनि, उनका वरपरका मानिसहरूले खिसीटिउरी गरे पनि, जस्तोसुकै दुःखकष्ट आइपरे पनि वा जस्तोसुकै समस्याको सामना गर्नुपरे पनि, उनी यो सम्पूर्ण समयभरि परमेश्‍वरद्वारा सुम्पिइएको काममा कहिल्यै निराश नभई वा लत्तो छोड्ने सोच नराखी लागिरहे। परमेश्‍वरका वचनहरू नोआको हृदयमा अङ्कित भएका थिए, र ती उनको जीवनका वास्तविकता बनेका थिए। नोआले ठूलो जहाज निर्माणको लागि चाहिने सबै सामग्री तयार गरे अनि परमेश्‍वरले निर्माण गर्न आज्ञा दिनुभएको त्यो ठूलो जहाजका स्वरूप र विशेषताहरू नोआले सावधानीसाथ चलाएको हथौडा र छिनोको प्रहारमार्फत बिस्तारै आकारमा आउन थाले। हुरीबतास र वर्षाभरि, अनि मानिसहरूको खिल्ली वा निन्दाको बाबजुद पनि, नोआको जीवन वर्षौंवर्ष यही तरिकामा अघि बढ्यो। नोआसित कहिल्यै अर्को एक शब्द पनि नबोली, परमेश्‍वरले गोप्य रूपमा उनको हरेक कार्य हेर्नुभयो, र नोआको व्यवहारले उहाँको हृदय छोयो। तर नोआले यो कुरा न त थाहा पाए, न त महसुस नै गरे; उनले सुरुदेखि अन्त्यसम्म केवल त्यो ठूलो जहाज निर्माण गरे, र परमेश्‍वरका वचनप्रति अटल विश्‍वासका साथ सबै प्रकारका जीवित प्राणीलाई एकट्ठा गरे। नोआले पालन गर्नुपर्ने र पूरा गर्नुपर्ने त्योभन्दा उच्‍च निर्देशन उनको हृदयमा अरू थिएन: परमेश्‍वरका वचनहरू उनको जीवनभरिका निर्देशन र लक्ष्य थिए। त्यसैले, परमेश्‍वरले उनलाई जेसुकै भन्‍नुभए पनि, जेसुकै गर्न अह्राउनुभए पनि, जेसुकै गर्न आज्ञा दिनुभए पनि, नोआले त्यस कुरालाई पूर्ण रूपमा स्वीकार गरे, र त्यसलाई हृदयमा राखे; उनले यसलाई आफ्‍नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठाने, र त्यहीअनुसार सम्हाले। उनले त्यो कुरा नबिर्सने र त्यसलाई मनमा राख्‍ने मात्र गरेनन्, उनले त त्यसलाई आफ्नो दैनिक जीवनमा समेत कार्यान्वयन गरे, आफ्नो जीवन प्रयोग गरेर परमेश्‍वरको आज्ञा सिविकारे र कार्यान्वयन गरे। यसरी, फलेकमाथि फलेक जोड्दै त्यो ठूलो जहाजको निर्माण भयो। नोआको हरेक चाल, उनको हरेक दिन परमेश्‍वरका वचनहरू र आज्ञाप्रति समर्पित थियो। नोआले महत्त्वपूर्ण कार्य गरिरहेको जस्तो देखिँदैनथ्यो, तर परमेश्‍वरको नजरमा, नोआले गरेका सबै काम, उनले केही हासिल गर्न चालेको हरेक कदम, उनको हातले गरेको हरेक परिश्रमसमेत—ती सबै नै अनमोल र स्मरणयोग्य थिए, र यस मानिसजातिद्वारा अनुकरण गरिन लायक थिए। नोआ परमेश्‍वरले सुम्पनुभएको काममै लागिरहे। परमेश्‍वरले बोल्नुभएको हरेक वचन साँचो हो भन्‍ने कुरामा नोआको अटल विश्‍वास थियो; यसमा उनलाई कुनै शङ्का थिएन। परिणामस्वरूप, त्यो ठूलो जहाजको निर्माणकार्य पूरा भयो र हरप्रकारका जीवित प्राणी त्यसभित्र जिउन सक्षम भए(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक))। नोआले परमेश्‍वरको आज्ञाप्रति देखाएको मनोवृत्तिले मलाई धेरै नै छोयो। उनले पूर्ण रूपमा आज्ञाकारी र समर्पित भएर, र उनले पूर्ण रूपमा आज्ञाकारी र समर्पित भए, देहका सबै सुखहरूलाई पछाडि छाडेर परमेश्‍वरको आज्ञा पूरा गरे। जहाज बनाउनु कठिन भए तापनि, नोआको परमेश्‍वरमाथि विश्‍वास थियो र उनी कष्ट भोग्न डराएनन्। हरेक कठिनाइ र अभावको सामना गर्दै उनी लागिरहे, अन्ततः परमेश्‍वरको आज्ञा पूरा गरे र उहाँको स्वीकृति पाए। नोआसँग आफूलाई तुलना गर्दा, मैले आफूमा मानवताको कमी रहेछ, म आफ्नो कर्तव्यप्रति निष्ठाहीन र अनाज्ञाकारी, अनि अल्छी र छली रहेछु भन्‍ने महसुस गरेँ। मैले आफ्नो कर्तव्यलाई अनिवार्य जिम्मेवारीको रूपमा लिएर त्यसलाई राम्रोसँग गर्ने सक्दो प्रयास गर्नुको सट्टा खालि देहको सुखको मात्र लालसा गरेँ। यदि यस्तै भइरह्यो भने, मेरो देह आराममा त हुन्थ्यो, कष्ट र थकाइबाट मुक्त हुन्थ्यो, तर मैले सत्यता पाउने थिइनँ। सत्यविना, के म हिँड्ने लासजस्तो हुने थिइनँ र? यसरी जिउनुको के अर्थ हुन्छ र? मेरो कर्तव्यप्रतिको मेरो मनोवृत्ति यति तिरस्कारपूर्ण थियो, र मैले मण्डलीको काममा पुऱ्याएको हानिको क्षतिपूर्ति गर्ने कुनै उपाय थिएन भन्‍ने कुरा महसुस गर्दा, म पछुतो र ग्लानिले भरिएँ। मैले गोप्य रूपमा मनमनै निधो गरेँ कि म अबउप्रान्त देहलाई छुट दिन सक्दिनँ। मैले नोआको उदाहरण पछ्याएर तनमनले आफ्नो कर्तव्य गर्नुपर्छ र मैले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, परमेश्‍वरको हृदयलाई सान्त्वना दिनु मेरो व्यक्तिगत जिम्मेवारी बनाउनुपर्छ।

एक महिनापछि, अगुवाले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम पुनः सुरु गर्न लगाउने निर्णय गरिन्। म कृतज्ञ थिएँ र यस पटक म आफ्नो कर्तव्य निश्चित रूपमा राम्रोसँग गर्नेछु र भ्रष्ट स्वभावको आधारमा काम गर्न छोड्नेछु भनी सङ्कल्प गरेँ। म फेरि पुरानै बानीमा फर्किन्छु कि भनेर चिन्तित थिएँ, त्यसैले मैले अक्सर परमेश्‍वरलाई प्रार्थना गर्थेँ, उहाँलाई मार्गदर्शन गर्न र मेरो छानबिन गर्न बिन्ती गर्थेँ, र आफ्नो कर्तव्य लगनशीलतासाथ गर्नुपर्छ भनेर बारम्बार आफूलाई सम्झाउँथेँ। त्यसपछि, हरेक पटक नयाँ विश्‍वासीहरूसँग भेला हुँदा, म उनीहरूका समस्या र कठिनाइहरूको आधारमा धैर्यतापूर्वक उनीहरूसँग सङ्गति गर्थेँ, उनीहरूलाई सत्यता बुझ्न र उनीहरूका धार्मिक धारणाहरू समाधान गर्न मद्दत गर्थेँ। कहिलेकाहीँ बारम्बार सङ्गति गर्दा पनि नतिजा नआउँदा, उनीहरूलाई बुझाउन के भन्न सक्छु भनेर म विचार गर्थेँ। बिस्तारै, मेरो कामले नतिजा दिन थाल्यो, जसले मलाई धेरै नै ढुक्क र शान्ति महसुस गरायो।

बर्खास्त हुनुले मलाई मेरो आफ्नै शैतानी प्रकृति अझ राम्रोसँग बुझ्न सक्षम बनायो, र मेरो कर्तव्य गर्नेप्रतिको मनोवृत्ति परिवर्तन गऱ्यो। मैले स्पष्ट रूपमा के देखेँ भने आफ्नो कर्तव्यप्रति झारा टार्नु र सत्यता नखोज्नुको परिणाम अनन्त विनाश र सर्वनाश हो, र मेरो हृदयमा उहाँप्रति केही डर थियो। यो सबै परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शनको कारण थियो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ७९. मेरो परिवारको विनाशको कारण को हो?

अर्को:  ८१. अब म आफ्नो कर्तव्यबारे नाटीकुटी गर्दिनँ

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger