८२. प्रतिकूल परिस्थितिमा डटिरहनु
मे २०२२ मा, विभिन्न गाउँका सदस्यहरूले सर्वशक्तिमान परमेश्वरको आखिरी दिनहरूको कामलाई स्विकारे। तर केही समयपछि नै, धेरै नयाँ विश्वासी भेलाहरूमा आउन छोडे। यसबारे सोधखोज गरेपछि सशस्त्र सिपाहीहरूले रात्रि गस्ती गरिरहेको छ र भेलाहरू गर्ने जोकोहीलाई पक्राउ गर्नेछ भन्ने हामीले थाहा पायौँ। अन्य क्षेत्रमा, केही ब्रदर-सिस्टर आस्थाको कारण जरिवाना, पक्राउ र थुनामा परिसकेका थिए। ती गाउँका नयाँ विश्वासी यति डराएका थिए कि भेलामा जाने आँट गर्न सकेनन्। त्यसपछि हाम्रो अगुवाले नयाँ विश्वासीलाई सहयोग गर्न इसा र मलाई खटाइन्। त्यो बेला, इसा र मैले नयाँ विश्वासीलाई छुट्टाछुट्टै मलजल गरिरहेका थियौँ।
एक रात म घर फर्कनुभन्दा अघि इसाले अचानक मलाई फोन गरेर घरबेटी सिस्टर जरिवानामा पर्नुपर्ला वा जेल जानुपर्ला भनेर डराइरहेकी छिन्, र हामीलाई घर छोड्नु भन्दैछिन् भनेर सुनाइन्। मैले सोचेँ, “यति राति अर्को घरबेटी कहाँ खोज्ने होला?” पछि, हामीले सिस्टर यानालाई सम्पर्क गर्यौँ, तर, याना र उनको छोराले पक्राउ परिन्छ भन्ने डरले हामीलाई राख्न मानेनन्, त्यसैले, हामी मध्यरातमा बेघर भएका थियौँ। मलाई निकै दुःख लाग्यो, अन्यायमा परेजस्तो भयो। त्यो रात पानी परिरहेको थियो, इसा र मलाई कहाँ जाने नै थाहा भएन, हामी त्यो ठाउँ छोड्न चाहन्थ्यौँ, तर अझैपनि मलजल र सहयोग चाहिने धेरै नयाँ विश्वासी थिए। हामी छोडेर गयौँ र नयाँ विश्वासीले मलजल पाएनन् भने उनीहरू आफै बलियोसँग खडा हुने सम्भावना कम हुनेथ्यो, र हामी आफ्नो जिम्मेवारीबाट भागिरहेको हुनेथ्यो। यो महसुस गरी मैले बस्ने र कसैले हामीलाई घरमा बस्न देला कि भनी खोज्ने निर्णय गरेँ। पछि, एक नयाँ विश्वासी हामीलाई उनको घरमा बस्न दिन तयार भए, तर हामी त्यहाँ एक रात मात्र बस्न सक्थ्यौँ। त्यो बेला, म यो सोचेर रोएँ, “म त्यहाँ एक रात मात्र बस्न पाउँछु र फेरि बेघर हुनेछु। म काम गर्न चाहन्छु, तर ठूला बाधा आइरा छन्; हामी यो क्षेत्रसँग परिचित छैनौँ, हामीले सुसमाचार फैलाइरहेको सरकारले थाहा पाएमा पक्राउ गरेर सताउनेछ।” म निरुत्साहित भई छोडेर जान चाहेँ। मेरो सुपरभाइजरले मैले छोड्न चाहेको कुरा सुनिन्, र उनले भनिन्, “नयाँ विश्वासीहरूले सत्यता बुझ्दैनन्, कायरता र डरमा जिउँछन्—तिनीहरूलाई मलजल र सहयोगको खाँचो छ। हामीले नयाँ विश्वासीलाई छोड्न हुँदैन, बस्ने कुनै उपाय भेटिन्छ कि हेर्नुहोस्। हामीले परमेश्वरमा भर गर्न सिक्नुपर्छ, उहाँले तपाईंका लागि ठाउँ मिलाउनुहुनेछ।” उनको सल्लाहले मलाई यो कठिन घडीमा परमेश्वरमाथि झनै भर पर्नुपर्छ भन्ने महसुस गरायो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरी हाम्रा लागि बाटो खोलिदिन बिन्ती गरेँ। पछि, हाम्रो ग्रुप च्याटमा केही मेसेज पढ्दै गर्दा, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “परमेश्वरले नोआलाई ठूलो जहाज बनाउने काम सुम्पनुभएदेखि, ‘परमेश्वरले कहिले संसार नष्ट गर्दै हुनुहुन्छ? उहाँले त्यसो गर्ने सङ्केत मलाई कहिले दिँदै हुनुहुन्छ?’ भनेर उनले एक पल पनि सोचेनन्। नोआले यस्ता कुरामा चिन्तन गर्नुभन्दा परमेश्वरले उनलाई भन्नुभएको प्रत्येक कुरालाई हृदयमा लिए र त्यसपछि प्रत्येकलाई कार्यान्वयन गरे। परमेश्वरले सुम्पनुभएको कुरा स्वीकार गरेपछि, नोआले अलिकति पनि लापरवाही नगरी परमेश्वरले भन्नुभएको ठूलो जहाज निर्माण गर्न थाले, मानौँ यो उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। दिनहरू बिते, वर्षहरू बिते, आज भोलि बन्यो, यो वर्ष अर्को वर्ष भयो। परमेश्वरले नोआलाई कहिल्यै निरीक्षण गर्नुभएन, र हौसला दिनुभएन, तर यो सम्पूर्ण समयभरि नोआ परमेश्वरले सुम्पनुभएको महत्त्वपूर्ण काममा लागिरहे। परमेश्वरले भन्नुभएको एकएक शब्द र वाक्यांश ढुङ्गाको पाटीमा कुँदिएका शब्दजस्तै नोआको हृदयमा अङ्कित भएका थिए। बाहिरी संसारमा जे-जस्ता परिवर्तनहरू भए पनि, उनका वरपरका मानिसहरूले खिसीटिउरी गरे पनि, जस्तोसुकै दुःखकष्ट आइपरे पनि वा जस्तोसुकै समस्याको सामना गर्नुपरे पनि, उनी यो सम्पूर्ण समयभरि परमेश्वरद्वारा सुम्पिइएको काममा कहिल्यै निराश नभई वा लत्तो छोड्ने सोच नराखी लागिरहे। परमेश्वरका वचनहरू नोआको हृदयमा अङ्कित भएका थिए, र ती उनको जीवनका वास्तविकता बनेका थिए। नोआले ठूलो जहाज निर्माणको लागि चाहिने सबै सामग्री तयार गरे अनि परमेश्वरले निर्माण गर्न आज्ञा दिनुभएको त्यो ठूलो जहाजका स्वरूप र विशेषताहरू नोआले सावधानीसाथ चलाएको हथौडा र छिनोको प्रहारमार्फत बिस्तारै आकारमा आउन थाले। हुरीबतास र वर्षाभरि, अनि मानिसहरूको खिल्ली वा निन्दाको बाबजुद पनि, नोआको जीवन वर्षौंवर्ष यही तरिकामा अघि बढ्यो। नोआसित कहिल्यै अर्को एक शब्द पनि नबोली, परमेश्वरले गोप्य रूपमा उनको हरेक कार्य हेर्नुभयो, र नोआको व्यवहारले उहाँको हृदय छोयो। तर नोआले यो कुरा न त थाहा पाए, न त महसुस नै गरे; उनले सुरुदेखि अन्त्यसम्म केवल त्यो ठूलो जहाज निर्माण गरे, र परमेश्वरका वचनप्रति अटल विश्वासका साथ सबै प्रकारका जीवित प्राणीलाई एकट्ठा गरे। नोआले पालन गर्नुपर्ने र पूरा गर्नुपर्ने त्योभन्दा उच्च निर्देशन उनको हृदयमा अरू थिएन: परमेश्वरका वचनहरू उनको जीवनभरिका निर्देशन र लक्ष्य थिए। त्यसैले, परमेश्वरले उनलाई जेसुकै भन्नुभए पनि, जेसुकै गर्न अह्राउनुभए पनि, जेसुकै गर्न आज्ञा दिनुभए पनि, नोआले त्यस कुरालाई पूर्ण रूपमा स्वीकार गरे, र त्यसलाई हृदयमा राखे; उनले यसलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठाने, र त्यहीअनुसार सम्हाले। उनले त्यो कुरा नबिर्सने र त्यसलाई मनमा राख्ने मात्र गरेनन्, उनले त त्यसलाई आफ्नो दैनिक जीवनमा समेत कार्यान्वयन गरे, आफ्नो जीवन प्रयोग गरेर परमेश्वरको आज्ञा सिविकारे र कार्यान्वयन गरे। यसरी, फलेकमाथि फलेक जोड्दै त्यो ठूलो जहाजको निर्माण भयो। नोआको हरेक चाल, उनको हरेक दिन परमेश्वरका वचनहरू र आज्ञाप्रति समर्पित थियो। नोआले महत्त्वपूर्ण कार्य गरिरहेको जस्तो देखिँदैनथ्यो, तर परमेश्वरको नजरमा, नोआले गरेका सबै काम, उनले केही हासिल गर्न चालेको हरेक कदम, उनको हातले गरेको हरेक परिश्रमसमेत—ती सबै नै अनमोल र स्मरणयोग्य थिए, र यस मानिसजातिद्वारा अनुकरण गरिन लायक थिए। नोआ परमेश्वरले सुम्पनुभएको काममै लागिरहे। परमेश्वरले बोल्नुभएको हरेक वचन साँचो हो भन्ने कुरामा नोआको अटल विश्वास थियो; यसमा उनलाई कुनै शङ्का थिएन। परिणामस्वरूप, त्यो ठूलो जहाजको निर्माणकार्य पूरा भयो र हरप्रकारका जीवित प्राणी त्यसभित्र जिउन सक्षम भए” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक))। नोआले परमेश्वरका वचन सुने, र उहाँका वचन र आज्ञालाई आफ्नो हृदय नजिक राखे; जहाज पूरा गर्नुलाई जीवनको सबभन्दा महत्त्वपूर्ण पक्ष र सबभन्दा ठूलो जिम्मेवारी मान्दथे। दिनदिनै, वर्षौं वर्ष लगाएर कष्ट, थकान, कठिन अवस्था, खराब मौसम, अरूले गरेका बदनामी, उपहास र परित्यागका बाबजुद पनि, उनी परमेश्वरले दिनुभएको आज्ञामा डटिरहे, छोड्नेबारे कहिल्यै सोचेनन्। उनीभित्र परमेश्वरको डर मान्ने हृदय भएकाले आज्ञा पछ्याइरहे, परमेश्वरको प्रत्येक वचन उनको हृदयमा खोपिएको थियो। नोआको व्यवहारसँग मेरो आफ्नै व्यवहार जाँचेर हेर्दा, म सधैँ मेरो कर्तव्य सहज होस्, कहिल्यै कठिन अवस्था नआओस् भन्ने चाहन्थेँ। तर मेरो कर्तव्यमा कठिनाइ आउँदा, बस्ने ठाउँ कतै नहुँदा र पक्राउ पर्ने जोखिम हुँदा, म सधैँ पछि हट्न चाहेँ, कष्ट उठाउन र मूल्य चुकाउनबाट पर बसेँ। मैले परमेश्वरको अभिप्रायलाई ख्याल नै गरेकी रहेनछु, र वास्तवमा परमेश्वरलाई सन्तुष्ट पार्न चाहेकी नै थिइनँ। नोआको अनुभव मेरा लागि निकै प्रेरणादायी थियो, यसले मलाई लज्जाबोध पनि गरायो। मैले अब आफ्नो देहलाई ध्यान दिन चाहिनँ, बसेर नयाँ विश्वासीलाई सहयोग गर्ने निर्णय गरेँ। कसैले मलाई घरमा राखेनन् भनेपनि म खेतमा सुत्नेथिएँ, तर सुसमाचार फैलाउन र नयाँ विश्वासीलाई मलजल गर्न लागिरहने थिएँ।
पछि, इसा र मैले नेविन नामको नयाँ विश्वासीलाई भेट्यौँ, र उनको खेतमा रहेको गोठमा बास माग्यौँ। नेविन र उनका आमाबुबा सबैले हुन्छ भने। यो परमेश्वरले हाम्रा लागि ढोका खोल्नु भएको थियो। त्यसपछि, मैले गाउँका सबै नयाँ विश्वासीलाई भेलामा बोलाएर सङ्गति गरेँ: “परमेश्वरले मानिसलाई मुक्ति दिने काम गर्नुहुँदा शैतानले बाधा दिन खोजिरहन्छ। मान्छेको आस्था र प्रेमलाई सिद्ध बनाउन, मानिसलाई खुलासा गरी हटाउन र तिनको आस्था जाँच्नका लागि परमेश्वरले शैतानलाई बाधा दिन र सताउन अनुमति दिनुहुन्छ, हामी विश्वासी सत्यता र जीवनलाई पछ्याउन चाहन्छौँ भने कष्टबाट पछि हट्न हुँदैन। सतावटका कारण हामीले घरहरूमा भेला गर्न सक्दैनौँ, हामी पहाडमा भेला गर्नुपरेको छ। यस्ता परिस्थतिगत कठिनाइ भएपनि हामीले भोगिरहेको यो कष्ट अर्थपूर्ण छ। शैतानको शासन ढलोस्, सतावट रोकियोस् अनि परमेश्वरमा विश्वास गर्छु भनी पर्खिने हो भने, परमेश्वरको काम सक्किसकेको हुनेछ, हामीले मुक्तिको मौका गुमाउनेछौँ। हामीले सुसमाचार किन फैलाउने? किनभने यी आखिरी दिनहरू हुन् र यो मानिसको मुक्तिका लागि परमेश्वरको कामको अन्तिम चरण हो। यो पटक चुक्यौँ भने हामीले कहिल्यै मुक्ति पाउने छैनौँ। भविष्यमा विपत्तिहरू झन् गम्भीर र असहनीय हुनेछन्।” हामीले त्यो बेला निकै सङ्गति गर्यौँ, र पछि केही नयाँ विश्वासीले भने, “हामीले यी विपत्तिबाट आफूलाई रक्षा गर्न सक्दैनौँ, सरकार वा अरू कसैले पनि हामीलाई बचाउन सक्दैन। केवल परमेश्वरले बचाउन सक्नुहुन्छ, त्यसैले हामीले परमेश्वरमा विश्वास गरी भेलाहरूमा उपस्थिति हुनैपर्छ।” अन्य केही नयाँ विश्वासीले भने, “सरकारले हामीलाई पक्राउ वा जरिवाना गर्छ भनेर डराउनुहुँदैन, सबथोक परमेश्वरको हातमा छ, हामीले भेला गरिरहनुपर्छ।” त्यसपछि, हामीले देहधारणको सत्यता र न्यायको कामबारे सङ्गति गर्यौँ। अर्को दश दिनसम्म मलजल गरेपछि, तिनीहरू सबै भेलामा नियमित उपस्थित हुनसक्ने भए।
करिब अर्को दश दिनपछि प्रहरीले अर्को रात्री गस्तीको आदेश दियो। नेविन फस्नेछु भनेर डराए र हामीलाई अब गोठमा नबस्नु भने। यो परिस्थितिमा मैले गुनासो नगरी बस्न सकिनँ। हामीले मलजल र सहयोग गर्नुपर्ने धेरै नयाँ विश्वासी थिए, हाम्रो काममा धेरै कठिनाइ थिए, र हामीसँग बस्ने ठाउँ पनि थिएन। मलाई निक्कै नरमाइलो लाग्यो र नयाँ विश्वासीका समस्या हल गर्न मन लागिरहेको थिएन। पछि एक सिस्टरले मलाई परमेश्वरका वचनको एउटा खण्ड पठाइन्: “किनभने कुनै एक व्यक्तिले परमेश्वरले सुम्पिनुभएको कुरालाई स्वीकार गर्दा त्यसका कामहरू असल वा खराब के छन् र त्यस व्यक्तिले समर्पण गरेको छ छैन र त्यस व्यक्तिले अभिप्रायहरू पूरा गरेको छ छैन र तिनीहरूले गरेको काम मापदण्डअनुरूप छ छैन भन्ने कुराको निर्णय गर्नको निम्ति परमेश्वरसँग मापदण्ड छ। परमेश्वरले मानिसको हृदयको वास्ता राख्नुहुन्छ, तिनीहरूको सतही कामहरूलाई होइन। कसैले जुनसुकै तवरले काम गरे पनि, जबसम्म तिनीहरूले केही न केही गर्छन्, परमेश्वरले त्यसलाई आशिष् दिनुपर्छ भन्ने छैन। परमेश्वरको बारेमा मानिसहरूमा यही गलत बुझाइ छ। परमेश्वरले कुनै कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्न तर उहाँले मानिसको हृदय कस्तो छ र यी कुराहरूको विकास क्रममा मानिसको मनोवृत्ति कस्तो छ भन्ने कुरामा पनि उहाँले जोड दिनुहुन्छ र उहाँले तिनीहरूको समर्पण, ध्यान र तिनीहरूको हृदयमा परमेश्वरलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन भनेर हेर्नुहुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १)। परमेश्वरका वचन पढेपछि, मैले आत्मचिन्तन गरेँ: मैले पहिलो पटक नयाँ विश्वासीलाई सहयोग गर्न थाल्दा मलाई आफ्नो कर्तव्य निर्वाह गर्दैछु, यो सहज हुनुपर्छ, र नयाँ विश्वासीले मलाई बुझ्नेछन्, बास दिनेछन् र मेरो रक्षा गर्नेछन् भन्ने लाग्थ्यो। मैले सतावट भोग्दा कसैले मलाई बास दिन खोजेनन्, र हाम्रो काममा कैयौँ समस्या आए, मैले केवल आफूले भोगेको कठिन परिस्थिति र नयाँ विश्वासी सत्यताका लागि उत्सुक नरहेकोबारे गुनासो गरेँ। मलाई काम निकै कठिन लाग्यो र घर जान चाहन्थेँ। कष्ट उठाउने र मूल्य चुकाउने कुरामा म समर्पित हुन चाहिनँ। मैले केवल आफ्नो देहको हितबारे सोचेँ र परमेश्वरको अभिप्रायलाई बिलकुलै ख्याल गरिनँ। यो कुरा सम्झेपछि, मलाई निकै लाज लाग्यो। पछि, एउटा सिस्टरले यो सम्झौटो पठाइन्: “कष्ट उठाउने र मूल्य चुकाउने कुरामा तपाईं किन समर्पित हुन सक्नुभएन? किन सधैँ आफ्नै देहको हितलाई ख्याल गर्नुभयो? यस्तो कुन भ्रष्ट स्वभावले गरायो?” सिस्टरका यी प्रश्नहरूमा म निरन्तर घोत्लिरहेँ।
पछि, मैले परमेश्वरका वचनको यो खण्ड भेटें: “अब, के तेरा धारणाहरूसँग नमिल्ने कुराहरू आइपर्दा त्यसले तेरो कर्तव्यपालनमा असर पार्न सक्छ? उदाहरणको लागि, कार्यव्यस्तता आउन सक्छ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मानिसहरूले केही कठिनाइ सहनुपर्ने र अलिअलि मूल्य चुकाउनुपर्ने हुन्छ; त्यसपछि कतिपय मानिसहरूले दिमागमा धारणाहरू विकास गर्छन् र तिनीहरूमा प्रतिरोध उत्पन्न हुन्छ, अनि तिनीहरू नकारात्मक बनेर आफ्नो कार्यमा सुस्ताउन सक्छन्। कहिलेकाहीँ काममा व्यस्तता हुँदैन, र मानिसहरूलाई कर्तव्य निर्वाह गर्न सजिलो बन्छ, र त्यसपछि कतिपय मानिसहरू खुसी महसुस गर्छन् र यस्तो सोच्छन्, ‘मेरो कर्तव्य निभाउन सधैँ यति सजिलो हुने भए त गज्जब हुनेथ्यो।’ तिनीहरू कस्ता खालका मानिसहरू हुन्? तिनीहरू अल्छी व्यक्तिहरू हुन् जो दैहिक आरामको लोभ गर्छन्। के यस्ता मानिसहरू आफ्नो कर्तव्यनिर्वाहमा बफादार हुन्छन्? (हुँदैनन्।) यस्ता मानिसहरू परमेश्वरप्रति समर्पित हुन इच्छुक भएको दाबी गर्छन्, तर तिनीहरूको समर्पणमा सर्तहरू हुन्छन्—तिनीहरू समर्पित हुनको लागि परिस्थिति तिनीहरूको आफ्नै धारणासँग मिल्नुपर्छ र त्यसले तिनीहरूलाई कुनै कठिनाइ भोगाउनु हुँदैन। यदि तिनीहरूले प्रतिकूलता सामना गरेर कठिनाइ सहनुपर्यो भने, तिनीहरूले गुनासै गुनासो गर्छन् र परमेश्वरविरुद्ध विद्रोह र विरोधसमेत गर्छन्। तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन्। जब परमेश्वरका कार्यहरू तिनीहरूका धारणा र चाहनाहरूसित मिल्छन्, र तिनीहरूले कठिनाइ सहनुपर्ने वा मूल्य चुकाउनुपर्ने हुँदैन, तब तिनीहरू समर्पित हुन सक्छन्। तर यदि परमेश्वरको काम तिनीहरूका धारणा र रुचिहरूसँग मिल्दैन, र त्यसको लागि तिनीहरूले कठिनाइ सहनुपर्ने वा मूल्य चुकाउनुपर्ने हुन्छ भने, तिनीहरू समर्पित हुन सक्दैनन्। तिनीहरूले खुल्लमखुल्ला विरोध नगरे पनि, हृदयमा तिनीहरू प्रतिरोधी र रिसाएका हुन्छन्। तिनीहरू आफूले ठूलो कठिनाइ सहिरहेको ठान्छन् र हृदयमा गुनासो पाल्छन्। यो कस्तो समस्या हो? यसले तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भन्ने देखाउँछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनबाट मैले जानेँ, कतिपय मानिस आफ्नो कर्तव्यमा सबथोक सहज भइदिओस् भन्ने चाहन्छन्। तर कठिनाइ आउने बित्तिकै, र मूल्य चुकाउनुपर्ने भएपछि प्रतिरोधी हुन थाल्छन् र गुनासो गर्छन्। यस्ता मानिस आलसी हुन्छन्, देहको सुख-सुविधाको लालची हुन्छन्, कर्तव्यप्रति निष्ठावान हुँदैनन्, परमेश्वरको अभिप्रायलाई अलिकति नि ख्याल गर्दैनन्, र सत्यतालाई प्रेम गर्दैनन्। म पनि त्यस्तै थिएँ भन्ने बुझेँ। म केवल सहज कर्तव्य, अनि काम सहज रूपमा चलिरहोस् भन्ने चाहन्थेँ। म कष्ट उठाउन वा मूल्य चुकाउन इच्छुक थिइनँ। सतावट भोग्दा, नयाँ विश्वासीले पक्राउ पर्ने डरले हामीलाई घरमा बास दिने वा भेला हुने आँट नगर्दा, बस्ने ठाउँ नभएर देहले कष्ट भोग्दा, नयाँ विश्वासी खोजेर परमेश्वरका वचनमा सङ्गति र सहयोग गर्न मूल्य चुकाउनुपर्दा, मैले सतावटमा भोग्नु कति कठिन थियो, नयाँ विश्वासी कति कायर थिए भनी गुनासो गरेँ, र म आफ्नो कर्तव्य छोडेर जान चाहन्थेँ। कठिनाइहरू आउने बित्तिकै मैले आफ्नो देहको हितबारे सोच्न थाल्थेँ, ममा निष्ठा र समर्पण छँदै थिएन। परमेश्वरले यो परिस्थिति हुन दिनुभयो, मैले सत्यता खोजूँ र यो अनुभवबाट पाठ सिकूँ भन्ने उहाँको चाह थियो, तर मैले जीवन प्रवेशलाई महत्त्व दिइनँ, सधैँ देहको सहजता खोजेँ, कर्तव्यलाई आफ्नै प्राथमिकताका आधारमा हेरेँ। म सत्यतालाई प्रेम गर्ने व्यक्ति थिइनँ।
मलाई गहिरो प्रभाव पार्ने अर्को एउटा खण्ड थियो। परमेश्वर भन्नुहुन्छ: “आज, मैले भन्ने वचनहरूमा तँ विश्वास गर्दैनस्, र तिनलाई तैँले ध्यानै दिँदैनस्; जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसको सम्पूर्णता देख्नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समय तँ अक्क न बक्क हुनेछस्। आशिष्हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? आज, परमेश्वरको कार्यको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट अपेक्षा गरिएका मापदण्डहरू र तँलाई जिउन आग्रह गरिएका कुराहरू अतिरिक्त होइनन्। काम धेरै छन्, र सत्यता पनि धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के परमेश्वरको सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के परमेश्वरको सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो विश्वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? … म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्वरको सामना गर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनबाट मैले बुझेँ, परमेश्वरले आफ्ना वचन व्यक्त गर्नुहुन्छ, मानिसलाई मलजल र आपूर्ति गर्नुहुन्छ, हामीलाई कर्तव्य निर्वाह गर्ने मौका दिनुहुन्छ, यसबाट हामीले कर्तव्यमा सत्यता पछ्याउनेछौँ, प्राप्त गर्नेछौँ, स्वभाव परिवर्तन हासिल गर्नेछौँ र मुक्ति पाउनेछौँ भन्ने आशा गर्नुहुन्छ। यो परमेश्वरले दिनुहुने उत्थान र अनुग्रह हो। सत्यतालाई प्रेम गर्नेहरूले यस्तो अवसरलाई कदर गर्छन्। कर्तव्यको दौरान सत्यता पछ्याउँछन् र प्राप्त गर्छन्। तर मैले भने सत्यतालाई प्रेम गरिनँ, कर्तव्यमा कठिनाइ आउँदा, प्रतिरोधी हुन्थेँ र आफ्नो परिस्थितिबारे गुनासो गर्थें। मलाई लाग्थ्यो, यो सबै थकाइलाग्दो र कठिन छ, म कष्ट भोग्न वा मूल्य चुकाउन तयार थिइनँ, मात्र पछि हट्न चाहन्थेँ। सत्यता पछ्याउने मेरो आलस र अनिच्छालाई हेर्दा, मैले परमेश्वरलाई अन्तसम्म पछ्याए पनि, मैले सत्यता प्राप्त गर्ने वा स्वभाव रूपान्तरण हासिल गर्ने थिइनँ, र अन्तमा हटाइने र दण्डित हुने थिएँ। मैले देहको ख्याल गर्न छोड्नुपर्थ्यो, योविरुद्ध विद्रोह अनि कर्तव्य राम्रोसँग गर्नुपर्थ्यो। मैले बुझेँ, यी नयाँ विश्वासी कायर र डरपोक थिए, किनभने तिनीहरू भर्खरै आस्थामा प्रवेश गरेका थिए, साँचो मार्गमा जरा गाडिसकेका थिएनन् र सत्यता बुझ्दैनथे। मैले मूल्य चुकाएर, केही कष्ट भोगेर मलजल र सहयोग गरिनँ भने यी नयाँ विश्वासी आफै बलियोसँग खडा हुन सक्दैनथे र मैले अपराध गरेको ठहर्ने थियो। हामीलाई बास दिने परिवार भए वा नभए पनि, हामीले कष्ट भोगे वा नभोगे पनि, म आफ्नो कर्तव्यमा डटिरहन र जिम्मेवारी पूरा गर्न इच्छुक थिएँ। त्यो दिन, नेविनकी आमा खेतमा म भएठाउँ आएर भनिन्, “सेनाले गस्ती गर्न थाल्दै छ, तिमी बाहिरको मान्छे, गाउँमा आवतजावत गरिरहनुपर्ने तिनीहरूसँग तिम्रो जम्काभेट होला कि भन्ने चिन्ता छ।” मैले उनलाई यसो भन्दै सङ्गति गरेँ, “जब परमेश्वरले सदोमलाई नष्ट गर्न तयार हुनुभयो, सदोमवासीले परमेश्वरले त्यहाँ पठाएका दुई स्वर्गदूतलाई हानि गर्न चाहे। ती दुई स्वर्गदूतलाई आफ्नो घरमा बास दिएकाले लोत बाँचे। परमेश्वरले अहिले मानवजातिलाई मुक्ति दिने कामको अन्तिम चरण गर्दै हुनुहुन्छ। विश्वासीहरूलाई सताउने यी मानिस सदोमवासी झैँ दुष्ट हुन्। चिन्तित हुनु सामान्य कुरा हो, तर हामीमा आस्था हुनुपर्छ। सेनाले हामीलाई भेट्ने नभेट्ने परमेश्वरको हातमा छ। हामीले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, उहाँले आफ्नो कामको सुरक्षा स्वयम् गर्नुहुन्छ। तपाईंले हामीलाई बास दिनुभएन र हामी जानु नै पर्ने भयो भने, हामी तपाईंलाई मलजल गर्न सक्ने छैनौँ। हामीले यहाँ सुसमाचार प्रचार गर्दा हामीलाई बास दिनुभयो भने त्यो तपाईंको राम्रो कर्म हुनेछ र परमेश्वरले यसलाई याद राख्नुहुनेछ।” मेरो सङ्गतिपछि उनको डर हरायो र निकै खुसी देखिइन्। त्यसपछि, उनले हाम्रो राम्रो ख्याल गरिन् र मैले त्यहाँ बसेर नयाँ विश्वासीसँग सङ्गति गर्न र दिनरात भेला आयोजना गर्न सकेँ। केही सत्यता बुझेपछि, नयाँ विश्वासीहरूले आफ्ना साथी र आफन्तलाई सुसमाचार सुन्न बोलाए। दुई महिनामै १२० गाउँलेले परमेश्वरको आखिरी दिनहरूको काम स्विकारे। यी सबै नयाँ विश्वासी भेलामा आउन थालेको देखेर मलाई निकै खुसी लाग्यो। यो कठिन प्रक्रिया रहेको, र मलाई कष्ट भएको भए पनि, आफ्नो कर्तव्य पूरा गरेको बोधले मेरो मनमा शान्ति छायो। परमेश्वरको मार्गदर्शनको साक्षी बनेर मैले आस्था पाएँ।
पछि, हाम्रो सुपरभाइजरले हामीलाई अर्कै गाउँमा नयाँ विश्वासीलाई सहयोग गर्न खटाइन्। हामी सबभन्दा पहिले नयाँ विश्वासी ब्रदर जोनको घरमा गयौँ। जोन आफ्नो कर्तव्यमा निकै सक्रिय थिए, सबै नयाँ विश्वासीलाई भेलामा ल्याउन सक्थे, तर पछि पक्राउ पर्ने डरले उनी भेलामा आउन छोडे। हामीले पहिले जोनलाई र त्यसपछि उनीमार्फत अन्य विश्वासीलाई सहयोग गर्न चाहन्थ्यौँ, तर जोनले हामीसँग कुराकानी गर्न चाहेनन्। उनकी श्रीमतीले भनिन्, “हाम्रो गाउँको एउटा बैठकमा, उनीहरूले प्रवचन नसुन्नु वा परमेश्वरमा विश्वास नगर्नु भनेका छन्। सेनाले राति गस्ती गर्छ र कसैले सुनिरहेको भेट्यो भने पक्राउ गर्नेछ। उनीहरूले हामीलाई प्रवचन सुन्न मनाही गरेका छन्, पक्राउ गर्लान् भन्ने डर लाग्छ; र हामी निकै व्यस्त पनि छौँ, सुन्ने समय छैन।” यति भनेर उनले हामीलाई बेवास्ता गर्न थालिन्। यो नयाँ विश्वासीले हामीलाई बोल्न पनि नदिएको, बेवास्ता गरेको देखेर, मलाई काम गर्न साँच्चै गाह्रो हुनेछ जस्तो लाग्यो। गाउँसम्म जानु र फर्कनु लामो र थकाइलाग्दो हुन्थ्यो, त्यसैले मैले नयाँ विश्वासीलाई सहयोग गर्न छोडेँ र अरू नै काम गरिरहेँ। केही समयपछि सुपरभाइजरले मलाई फेरि स्मरण गराइन्, र भनिन् नयाँ विश्वासी दिउँसो व्यस्त हुनेछन्, त्यसैले राति जान सकिन्छ। मैले मनमनै सोचेँ, “तिनीहरू हामीलाई बेवास्ता गर्छन्, कुरा सुन्न चाहँदैनन्; म गएँ भने पनि के गर्ने भन्ने मलाई थाहा हुनेछैन। त्यहाँ पुग्न लामो यात्रा गर्नुपर्छ, र राति त झन् गाह्रो हुनेछ।” त्यसैले म जान चाहिनँ। त्यसपछि, मलाई त्यहाँ जान नखोजेर नयाँ विश्वासीप्रतिको जिम्मेवारीबाट म भागिरहेकी छु भन्ने महसुस भयो। झुटा अगुवाले कसरी काम गर्छन् भन्नेबारे परमेश्वरले प्रकाश पारेको कुरा सम्झेँ। परमेश्वरका वचनले भन्छन्: “मानौँ एउटा काम एक व्यक्तिले एक महिनामा पूरा गर्न सक्छ रे। यदि यो काम गर्न छ महिना लाग्यो भने, के बाँकी पाँच महिनाको खर्च घाटा होइन र? म सुसमाचार प्रचार कार्यको एउटा उदाहरण दिन्छु। मानौँ रे, कुनै व्यक्ति साँचो मार्गको अनुसन्धान गर्न तयार छ र उसलाई एक महिनाभित्रै विश्वासमा ल्याउन सकिन्छ, र त्यसपछि ऊ मण्डलीमा प्रवेश गर्छ र निरन्तर मलजल र भरणपोषण प्राप्त गर्छ, र छ महिनाभित्र उसले जग बसाल्न सक्छ। तर यो मामलाप्रति यदि सुसमाचार प्रचार गर्ने व्यक्तिको मनोवृत्ति बेवास्ता गर्ने र झारा टार्ने मनोवृत्ति हुन्छ, र अगुवा र कामदारहरूले पनि आफ्नो जिम्मेवारी बेवास्ता गर्छन्, र त्यो व्यक्तिलाई विश्वासमा ल्याउन आधा वर्ष लाग्छ भने, के यो आधा वर्ष त्यो व्यक्तिको जीवनको घाटा हुनेछैन र? यदि तिनीहरूले ठूलाठूला विपत्तिहरू सामना गरे तर तिनीहरूले अझै पनि साँचो मार्गको जग बसालेका छैनन् भने, तिनीहरू खतरामा हुनेछन्, अनि के ती मानिसहरूले उनीहरूलाई निराश तुल्याएका हुँदैनन् र? यस्तो घाटा पैसा वा भौतिक कुराहरूद्वारा मापन गर्न सकिँदैन। ती मानिसहरूले त्यो व्यक्तिको सत्यता बुझाइमा छ महिना ढिलाइ गराएका हुनेछन्; तिनीहरूले उसलाई जग बसाल्न र कर्तव्य निभाउन थाल्नमा छ महिना ढिलाइ गराएका हुनेछन्। यसको जिम्मेवारी कसले लिनेछ? के अगुवा र कामदारहरूले यसको जिम्मेवारी लिन सक्छन्? कसैले पनि कसैको जीवन रोक्ने कार्यको जिम्मेवारी लिन सक्दैन। अनि, कसैले पनि यो जिम्मेवारी लिन नसक्ने हुनाले, अगुवा र कामदारहरूले के गर्नु उचित हुन्छ त? बस चार शब्दहरू: यसमा आफ्नो सक्दो गर्। के गर्नको लागि आफ्नो सक्दो गर्ने? आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्नो आँखाले देख्न सक्ने, आफ्नो मनले कल्पना गर्न सक्ने, र आफ्नो क्षमताले हासिल गर्न सक्ने सबै कुरा गर्न। यही नै आफ्नो सक्दो गर्नु हो, यही नै बफादार र जिम्मेवार हुनु हो, र यही नै अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। परमेश्वरको वचनबाट कसैले जुनसुकै काम गरेपनि, एक महिनामा सकिने कामलाई छ महिना लगाइयो भने त्यो निकै ठूलो क्षति हो भन्ने जानेँ। जस्तै, सुसमाचार फैलाउने कुरामा, कोही साँचो मार्ग अनुसन्धान गर्न इच्छुक छ भने, तिनलाई एक महिनामा आस्थामा ल्याउन सकिन्छ, सुसमाचार प्रचारकले जिम्मेवारी पूरा गरेमा परमेश्वरको घरमा समयमै प्रवेश गराउन सकिन्छ। यसबाट उनीहरूले चाडैं सत्यता बुझ्न र साँचो मार्गमा जरा गाढ्न सक्नेछन्। हामीले आफ्नो कर्तव्यमा मूल्य चुकाउँदैनौँ भने, हामीले लापरवाह र झारा टारुवा मनोवृत्ति राख्छौँ भने, र यो व्यक्तिलाई आस्थामा ल्याउन छ महिना लगाउँछौँ भने यो उनीहरूकै जीवनका लागि ठूलो क्षति हुनेछ। विपत्तिहरू आए र यी मानिसले परमेश्वरको कामलाई अझै स्वीकार गरेका छैनन्, अनि मलजल र सत्यताको आपूर्ति नपाई मरे भने, यस्तो मरणको जिम्मेवारी कसैले उठाउन सक्दैन। अतः, यसका लागि हामीले कर्तव्यमा ढिलाइ गर्नुहुन्न, र जिम्मेवारी पूरा गर्न सक्दो गर्नुपर्छ, ताकि विवेक सफा रहोस्। नयाँ विश्वासीलाई सहयोग र सुसमाचार प्रचार गरिरहेको बेला, म मूल्य चुकाउन तयार थिइनँ र मैले कष्ट भोग्न पनि चाहिनँ। मलाई त्यो गाउँमा नयाँ विश्वासीलाई सहयोग गर्ने र सुसमाचार फैलाउने काममा खटाइँदा, कठिनाइ र लामो यात्रा झेल्नुपर्दा मैले आफ्नो देहको ख्याल गर्दै जान अनिच्छा देखाएँ, दिनदिनै आलटाल गरेँ। नयाँ विश्वासी डरपोक, भयभीत थिए र सरकारले सताउँछ भनेर भेलामा जाने आँट गर्दैनथे; तिनलाई सत्यता बुझाउन र बाधाबाट उम्कने मौका दिन मलजल र सहयोगको निकै खाँचो थियो। यदि परमेश्वरको काम समाप्त हुने बिन्दुमा आइपुग्यो, र यी मानिसहरू अँध्यारो शक्तिबाट उम्केका छैनन्, र भेला भई परमेश्वरका वचन सुन्दैनन् भने, तिनीहरूले सत्यता बुझ्ने छैनन्, परमेश्वरको मुक्ति पाउने छैनन्, र विपत्तिमा परी नष्ट हुनेछन्। त्यसमाथि, त्यो गाउँमा परमेश्वरको आवाज सुन्न बाँकी थुप्रै थिए। अरूले पनि मैले जस्तै देहको ख्याल गरेर कठिन घडीमा सुसमाचार फैलाउन छोडिदिए भने, ती मानिसले परमेश्वरको आवाज सुन्ने छैनन् र परमेश्वरको मुक्ति पाउने छैनन्। मैले आलटाल गर्न छोडेर मेरा चिन्तालाई पाखा लगाउनुपर्थ्यो। जुनसुकै परिस्थिति आएपनि, त्यसलाई छिचोल्दै जिम्मेवारी पूरा गर्नुपर्थ्यो।
पछि मैले परमेश्वरका वचनको अर्को खण्ड सम्झेँ: “सृजित प्राणीका रूपमा, उमेर, लिङ्ग जे भए पनि, वा व्यक्ति जति नै जवान भए पनि वा वृद्ध भए पनि, सुसमाचार प्रचार गर्नु भनेको परमेश्वरलाई पछ्याउने व्यक्तिका रूपमा, हरेकले स्वीकार गर्नुपर्ने मिसन र जिम्मेवारी हो। यदि यो मिसन तँमा आइपर्छ र यसले तँबाट समर्पित गर्ने, मूल्य चुकाउने, वा आफ्नो जीवन समेत बलिदान दिने माग गर्छ भने, तैँले के गर्नुपर्छ? तैँले यसलाई स्वीकार गर्न कर्तव्यनिष्ठ हुनुपर्छ। सत्यता यही हो, र तैँले बुझ्नुपर्ने कुरा यही हो। यो सरल धर्मसिद्धान्त होइन—यो सत्यता हो। मैले किन यो सत्यता हो भनेर भनेँ? किनभने समय जसरी सुकै परिवर्तन भए पनि, दशकहरू जसरी बितेर गए पनि, वा ठाउँ र स्थानहरू जसरी परिवर्तन भए पनि, सुसमाचार प्रचार गर्ने र परमेश्वरको गवाही दिने कार्य सधैँ सकारात्मक कुरा नै हुनेछ। यसको अर्थ र मूल्य कहिल्यै परिवर्तन हुनेछैन: यसलाई समय वा भौगोलिक स्थानमा आउने परिवर्तनले पटक्कै असर गर्नेछैन। सुसमाचार प्रचार गर्नु र परमेश्वरको गवाही दिनु अनन्त कुरा हो, र सृजित प्राणीका रूपमा, तैँले यसलाई स्वीकार र अभ्यास गर्नुपर्छ। अनन्त सत्यता यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्वरका वचनले मलाई गहिरोसँग छोयो। परमेश्वरको अनुग्रहका कारण मैले उहाँको आवाज सुन्न सकेँ। सुसमाचार फैलाउनु र नयाँ विश्वासीलाई मलजल गर्नु मेरो कर्तव्य थियो र मैले यो काम पूरा गर्नु थियो। कष्ट उठाउनुपर्ने र मूल्य चुकाउनुपर्ने भए मैले निशर्त स्विकार्नु पर्थ्यो। मैले जस्तोसुकै कठिनाइ र परिस्थिति सामना गरेपनि, म समर्पित भई आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो। यो बुझेर म एकलै त्यो गाउँ गएँ। निस्कँदा साँझ परिसकेको र पानी पर्न थालेको थियो। बाटोमा हिंड्दै गर्दा परमेश्वरलाई प्रार्थना गरेँ। पछि, बाटोमा मैले एकजना वृद्ध महिला भेटेँ। मैले उनलाई उनकै गाउँ गइरहेको भनेँ र हामी अघिपछि गरेर गयौँ। गाउँ पुगेपछि मैले ती वृद्ध महिलालाई फेरि देखिनँ। रात भइसकेको थियो। त्यहाँको बाटो, र कहाँ जाने थाहा थिएन, त्यसैले बाटोको छेउमा बसेँ। निकै छटपट भइरहेको थियो, रात्रि गस्तीसँग भेट भयो भने के भन्ने भनेर चिन्ता लागिरहेको थियो, त्यसैले हृदयमा परमेश्वरलाई पुकारिरहेँ। त्यही बेला, खेतको कामबाट एक महिला फर्किरहेकी थिइन् र मलाई एक्लै बसेको देखेर सोधिन्, “त्यहाँ बसेर के गरिरहनुभएको? आउनुस्, मेरो घर जाऊँ।” म पछिपछि लागेर उनको घर गएँ, र मैले उनलाई सुसमाचार सुनाएँ, उनले स्वीकार गरिन्। पछि, उनले अरूलाई पनि सुन्न बोलाइन्। मैले सुसमाचार सुनाइरहेको भन्ने थाहा पाएर केही मानिस मलाई भेट्न आए र उनीहरूको घरमै गएर सुसमाचार सुनाउन अनुरोध गरे। मैले सर्वशक्तिमान परमेश्वरको आखिरी दिनहरूको कामको गवाही दिएँ, र यसबारे सुनेर उनीहरू निकै आनन्दित भए। केहीले भने, “सर्वशक्तिमान परमेश्वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, उहाँहरू एउटै परमेश्वर हुनुहुन्छ। हामीले सर्वशक्तिमान परमेश्वरका वचन सुनिरहनुपर्छ।” अरूले भने, “सरकारले हामीलाई सताए पनि, हामी सुनिरहनेछौँ।” केही नयाँ विश्वासी भेलामा निकै उत्साहित देखिन्थे, उनीहरू दिन-रात आउँथे, भेला भएर प्रवचन सुन्न निकै तृष्णा र चाह गर्थे। म निकै छक्क परेकी थिएँ। विगतमा, म सधैँ देहको ख्याल गर्थें, कष्ट उठाउन र मूल्य चुकाउन इच्छुक हुन्नथिएँ, तर जब स्थिति सुधारेर सहकार्य गर्न इच्छुक भएँ, तब परमेश्वरले गर्ने काम मेरो कल्पनाभन्दा बाहिर रहेको पाएँ। उक्त महिलाको माध्यमबाट हामीले धेरैलाई सुसमाचार सुनाउन सक्नु परमेश्वरले आफ्नो काम गरिरहनुभएको सङ्केत थियो। यसबाट मैले परमेश्वरको अख्तियार देखेँ र सुसमाचार सुनाइरहने मेरो सङ्कल्प झन् बलियो भयो। एक महिनामा, हामीले गाउँभरि सुसमाचार फैलाइसकेका थियौँ। पहिले पक्राउ परिन्छ भनी डराएका झन्डै सबै नयाँ विश्वासी फेरि भेला हुन थाले। सामान्यतया ८० भन्दा बढी गाउँले भेला भइरहेका थिए र हामीले मण्डली सुरु गर्न सक्यौँ। परमेश्वरलाई धन्यवाद!
यस अनुभवको माध्यमबाट, कर्तव्यप्रति व्यक्तिको मनोवृत्ति निकै महत्त्वपूर्ण हुन्छ भन्ने जानेँ। हामी परमेश्वरको अभिप्रायमा समर्पित भई त्यसको ख्याल गऱ्यौँ भने जस्तोसुकै कठिन काम भए पनि, हामीले इमानदार भई सहकार्य गर्दासम्म परमेश्वरको स्पष्ट मार्गदर्शन देख्न सक्नेछौँ। भ्रष्टता प्रकट गरे नि, नकारात्मक भए नि र छोड्न चाहे नि, परमेश्वरका वचनको मार्गदर्शन र आपूर्ति पाएर मैले सुसमाचार फैलाउने काम छोडिनँ र ममा पछुतो रहेन। यो सबै परमेश्वरको सुरक्षाले भएको थियो। यो अनुभवबाट मैले आस्था पाएँ र जीवनमा प्रगति गरेँ। परमेश्वरलाई धन्यवाद!