व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू

परमेश्‍वरमा विश्‍वास गर्नेहरूले उहाँको वचन र मापदण्डअनुसार विश्‍वासका मार्गमा हिँड्नैपर्छ। विश्‍वासीहरू सत्यताअनुसार चल्नैपर्छ। यदि मानिसहरूसँग सत्यता छैन र तिनीहरू शैतानका दर्शनअनुसार जिउँछन् भने अन्त्यमा तिनीहरूले सकारात्मक परिणाम वा समाप्ति हासिल गर्दैनन्। केवल परमेश्‍वरको वचन अनन्त, अपरिवर्तनीय सत्यता हो। यदि कुनै विश्‍वासी परमेश्‍वरको वचनअनुसार जिउँदैन वा सत्यताअनुसार चल्दैन भने, ऊ संसारका मानिसहरूभन्दा पनि अन्धो, आशाहीन अन्धो हुन्छ। बाहिरी संसारमा कुनै निश्चित क्षेत्रमा केही सफलता हासिल गर्ने र प्रसिद्ध हुने धेरै मानिसहरू प्रसिद्धि र लाभको सपना देख्छन्, र तिनीहरू आफूलाई उच्च ठान्न थाल्छन्। वास्तवमा, अरू मानिसबाट तैँले पाउने सराहना, प्रशंसा, समर्थन, र मान्यता अस्थायी सम्मान मात्र हुन्। तिनले जीवनको प्रतिनिधित्व गर्दैनन् न त तिनको अर्थ व्यक्ति सही मार्गमा हिँडिरहेको छ भन्‍ने नै हो। ती अस्थायी सम्मान र महिमाबाहेक अरू केही होइनन्। यी महिमाहरू के हुन्? ती वास्तविक हुन् कि खोक्रा? (खोक्रा हुन्।) ती उल्का पिण्डजस्तै हुन्, ती एकछिन झल्ल हुन्छन् र हराउँछन्। मानिसहरू त्यस्ता महिमा, सम्मान, तारिफ, यश र प्रशंसा प्राप्त गरेपछि पनि वास्तविक जीवनमा फर्किनु नै पर्छ र पहिलेको जस्तो जिउनु नै पर्छ। केही मानिसहरू यो कुरा देख्न सक्दैनन् र यी कुराहरू सधैँभरि आफूसँग नै रहून् भन्‍ने चाहन्छन्, जुन अवास्तविक हो। मानिसहरू यस प्रकारको वातावरण र माहौलमा जिउन चाहनुको कारण यसले तिनीहरूलाई दिलाउने अनुभूति हो; तिनीहरू यो अनुभूति सधैँभरि पाउन चाहन्छन्। यदि तिनीहरूले यो पाउन सकेनन् भने गलत मार्ग लिन थाल्छन्। कतिपयले आफूलाई मदहोस पार्न रक्सी पिउने र लागूपदार्थको दुरुपयोगजस्ता विभिन्न तरिका अपनाउँछन्: शैतानका संसारमा जिउने मानिसहरू प्रसिद्धि र लाभलाई यसरी लिन्छन्। कुनै व्यक्ति प्रसिद्ध भएपछि र केही महिमा प्राप्त गरेपछि, दिशा गुमाउने जोखिममा पुग्छ, र कसरी व्यवहार गर्नुपर्छ भनेर जान्दैन, न त के गर्नुपर्छ भन्‍ने नै जान्दछ। ऊ सपनामा महल सजाउँछ र विपनामा फर्कन सक्दैन—यो खतरनाक कुरा हो। के तिमीहरू कहिल्यै यस्तो स्थितिमा पुगेका छौ वा त्यस्तो व्यवहार देखाएका छौ? (छौँ।) यसको कारण के हो? मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले: तिनीहरू अति घमण्डी, अति अहङ्कारी छन्, तिनीहरू प्रलोभन वा प्रशंसालाई रोक्न सक्दैनन्, सत्यताको पछि लाग्दैनन् वा यसलाई बुझ्दैनन्। तिनीहरू आफूले सानो उपलब्धि वा महिमा पाएकैमा आफूलाई बेजोड ठान्छन्। तिनीहरू आफू महान् व्यक्ति वा महामानव बनिसकेको सोच्छन्। तिनीहरू यी सबै प्रसिद्धि, लाभ र महिमा हुँदा पनि आफूलाई उच्च नठान्नु अपराध हो भन्‍ने सोच्छन्। सत्यता नबुझ्‍ने मानिसहरूले कुनै पनि समय वा ठाउँमा आफूलाई उच्‍च ठान्‍ने सम्भावना हुन्छ—र जब तिनीहरू आफूलाई अत्यन्तै उच्‍च ठान्‍न थाल्छन्, तब के तिनीहरूलाई पहिलेकै अवस्थामा फर्कन सजिलो हुन्छ? (हुँदैन।) थोरै समझ भएका मानिसहरू विनाकारण आफूलाई उच्‍च ठान्‍ने गर्दैनन्। जब तिनीहरूले कुनै कुरा हासिल गर्नुपर्ने बाँकी नै हुन्छ, प्रदान गर्नका लागि आफूसँग केही हुँदैन, र समूहको कसैले तिनीहरूलाई ध्यान दिँदैन, तब तिनीहरूले चाहे पनि आफूलाई उच्‍च ठान्दैनन्। तिनीहरू थोरै अहङ्कारी र आत्मकेन्द्रित हुन सक्छन्, वा आफूलाई अलि प्रतिभाशाली, र अरूभन्दा उत्तम ठान्लान्, तर तिनीहरूले आफूलाई उच्‍च ठान्‍ने सम्भावना हुँदैन। कस्ता परिस्‍थितिमा मानिसहरू आफूलाई उच्‍च ठान्छन्? जब अरू मानिसहरूले तिनीहरूलाई कतिपय उपलब्धिका लागि प्रशंसा गर्छन्। तिनीहरूले आफूलाई अरूभन्दा उत्तम भएको, अरू मानिसहरू साधारण र उल्‍लेख गर्न लायक नभएको, आफू मात्र हैसियतसहितको मानिस भएको, अरू मानिसजस्तो एउटै वर्ग वा स्तरमा आफू नभएको, अरूभन्दा आफू धेरै उच्‍च भएको ठान्छन्। यसरी तिनीहरू आफूलाई माथि उठाउँछन्। अनि तिनीहरूले आफूलाई त्यसरी उच्‍च ठान्‍नु स्वाभाविकै हो भन्‍ने सोच्छन्। तिनीहरू यसलाई कसरी लिन्छन्? तिनीहरूले के विश्‍वास गर्छन् भने “मसँग बेजोड सामर्थ्य, क्षमता, र दिमाग छ, अनि म सत्यताको पछि लाग्‍न तयार छु। मैले अहिले केही उपलब्धि प्राप्त गरेको छु—मैले नाम कमाएको छु, र मेरो प्रतिष्ठा र योग्यता अरूको भन्दा उच्‍च छ। त्यसकारण म अवश्य नै भीडभन्दा अलग र सबैले आदर गर्ने व्यक्ति हुँ, त्यसकारण मैले आफूलाई उच्‍च ठान्‍नु उचित हो।” तिनीहरूले मनमा यस्तै विचार गर्छन्, र अन्त्यमा तिनीहरूले आफूलाई उच्‍च ठान्‍नुपर्छ भन्‍ने कुरा स्वाभाविक कुरा र सामान्य अपेक्षा बन्छ। तिनीहरूले यसलाई निर्विवाद सही र तर्कसङ्गत ठान्छन्। यदि तिनीहरूले आफूलाई उच्‍च ठानेनन् भने तिनीहरूलाई असन्तुलित महसुस हुन्छ मानौँ तिनीहरू आफैलाई होच्याइरहेका छन्, अरूको अनुमोदन पाउने गरी जिइरहेका छैनन्। त्यसकारण तिनीहरू आफूलाई उच्‍च ठान्‍नु स्वाभाविक ठान्छन्। आफूलाई यति उच्च ठान्नुका परिणामहरू केके हुन्? (तिनीहरू उप्रान्त अरूसँग राम्ररी मिलेर काम गर्दैनन्, र कामकुरा आफ्नै तरिकाले गर्न चाहन्छन्।) यो त तिनीहरूको व्यवहारको एउटा पक्ष हो। अरू केके छन्? (तिनीहरू अब समझदार छैनन्, तिनीहरू अबउसो आफ्नो कामका क्षेत्रमा उन्नति गर्न खोज्दैनन्, र तिनीहरू पहिले नै आफूले दिनुपर्ने कुराहरूमा नै अति भर पर्छन्।) (तिनीहरू आफूलाई मन नपर्ने परिस्थितिहरू स्विकार्न इन्कार गर्छन्।) किन तिनीहरू स्विकार्न इन्कार गर्छन्? के तिनीहरू पहिले स्विकार्न सक्थे? (तिनीहरूसँग पहिले अहङ्कारी हुने स्रोतसाधन थिएन, र तिनीहरू आफूलाई रोक्न र दबाउन समर्थ थिए, त्यसैले तिनीहरूले केही हदसम्म स्विकार्न सके। तर अब तिनीहरू आफूसँग स्रोतसाधन र योग्यता छन् अनि आफू अरूभन्दा फरक छु भन्‍ने महसुस गर्छन्, त्यसैले तिनीहरू आफ्नै हैकम जमाउन सक्छौँ भन्‍ने ठान्छन् र आज्ञा मान्न इन्कार गर्छन्।) तिनीहरूलाई आफू पहिलेको भन्दा फरक, हैसियतसहितको, प्रसिद्ध र सजिलै अरूको कुरा मान्नु हुँदैन भन्‍ने लाग्छ। यदि तिनीहरूले त्यसो गरेमा, यो तिनीहरूको हैसियत सुहाउँदो हुनेथिएन, र तिनीहरू आफ्नो नामअनुसार जिइरहेका हुनेथिएनन्। तिनीहरूलाई आफूसँग “हुँदैन” भन्न पाउने र अरूको कुरा मान्न इन्कार गर्ने अधिकार छ भन्‍ने लाग्छ। तिनीहरूले अरू केके व्यवहार प्रदर्शन गर्छन्? (यदि तिनीहरूको मामिला गम्भीर भयो भने, तिनीहरू पावल जस्तै समेत बन्लान् र भन्लान्, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८) अनि आफू सृष्टि गरिएको प्राणी हो भन्‍ने बिर्सेर परमेश्‍वरलाई सर्तहरू राख्न थाल्छन्।) तिनीहरू आफू को हो भन्‍ने बिर्सन्छन्। के तिमीहरू कुनै व्यक्तिले आफूलाई उच्च ठान्नु राम्रो हो भन्‍ने लाग्छ? (लाग्दैन।) लाग्दैन, त्यसोभए मानिसहरू किन आफूलाई उच्च ठान्छन्? (तिनीहरूभित्रको शैतानी स्वभावको कारणले।) शैतानी स्वभाव आउँछै आउँछ, र यो पक्कै नै समस्याको जड हो। अन्य कारणहरू केके छन्? अब हामी व्यावहारिक कारणहरूबारे कुरा गरौँ। (मानिसहरूले आफ्ना उपलब्धिहरूमा अत्यधिक जोड दिन्छन्, तिनलाई जीवनकै रूपमा लिन्छन्। यसरी, तिनीहरू सधैँ आफ्नो सफलतामा रमाइरहेका हुन्छन्, र आत्मसन्तुष्ट हुन पुग्छन्, जसबाट उम्कन सक्दैनन्।) यही नै कुराको चुरो हो। यसको सम्बन्ध मानिसहरू आफ्ना हृदयमा के कुराको पछि लाग्छन्, के आकाङ्क्षा राख्छन् भन्‍ने कुराको साथै तिनीहरूले रोज्ने बाटोसँग छ। धेरै मानिसहरू के विश्‍वास गर्छन् भने आफूले निश्चित नियमित कार्यहरू र प्राविधिक दक्षता चाहिने निश्चित कर्तव्यहरू गर्न सक्यो भने आफूसँग कद हुन्छ। तिनीहरूको काम जति दक्ष, असाधारण र पूर्ण हुन्छ, त्यति नै यसले तिनीहरूसँग वास्तविकता छ, तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन् र उहाँप्रति समर्पित छन् भनी प्रमाणित गर्छ। तिनीहरू यसलाई आफ्नो जीवन मान्छन्। त्यसरी नै, तिनीहरू पक्कै यसलाई कदर गर्छन् र आफ्नो जीवन लक्ष्यका रूपमा पछ्याउँछन्, तर तिनीहरूको लक्ष्य र दिशा गलत छन्, र तिनीहरूको मार्ग पनि गलत छ। यसबाहेक यसको जडलाई विचार गर्दा, जीवनबारे मानिसहरूको बुझाइ, सत्यता पछ्याइ, र सत्यता वास्तविकता हुनुको अर्थमा विचलनहरू हुन्छन्। मानिसहरूको बुझाइमा विचलन आउँदा, तिनीहरूको ज्ञान र कुनै कुराको अन्तिम अनुमानमा पनि विचलन हुन्छै हुन्छ। यदि तेरो बुझाइमा विचलनहरू छन् भने, तैँले पछ्याउने कुरामा पनि विचलन हुन्छै हुन्छ। परिणामस्वरूप, तैँले रोज्ने मार्ग समस्याग्रस्त हुन्छ, र तेरो जीवनको दिशा र लक्ष्यहरूमा पनि विचलनहरू हुनेछन्।

सबैलाई थाहा छ, व्यक्तिले आफ्ना कर्तव्यमा निश्चित नतिजाहरू प्राप्त गर्न सक्षम भएकाले मात्र आफूलाई उच्च ठान्नु राम्रो कुरा होइन। त्यसोभए किन मानिसहरू अझै पनि आफूलाई उच्च ठान्ने झुकाव राख्छन्? त्यसको एउटा कारण त मानिसको अहङ्कार र सतहीपन हो। के अन्य कारणहरू छन्? (मानिसहरूले आफूलाई यी नतिजाहरू प्राप्त गर्न डोर्‍याउने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने नबुझेकाले यसो हुन्छ। तिनीहरू आफूलाई सबै श्रेयको हकदार र तिनीहरूसँग स्रोतसाधन छ भन्‍ने सोच्छन्, त्यसैले तिनीहरू आफूलाई उच्च ठान्छन्। वास्तवमा, परमेश्‍वरको कार्यविना मानिसहरू केही गर्न सक्दैनन्, साथै तिनीहरूले यो कुरा देख्न सक्दैनन्।) यो कथन सही छ, र यो यस विषयको केन्द्रबिन्दु पनि हो। यदि मानिसहरू परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरूसँग तिनीहरूलाई अन्तर्दृष्टि दिने पवित्र आत्मा हुनुहुन्न भने, सधैँ आफूलाई जे पनि गर्न सक्ने ठान्नेछन्। त्यसैले, यदि तिनीहरूसँग स्रोतसाधन भयो भने तिनीहरू अहङ्कारी बन्न र आफूलाई उच्च ठान्न सक्छन्। के तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्‍वरको अगुवाइ र पवित्र आत्‍माको अन्तर्दृष्टि महसुस गर्न सक्छौ? (सक्छौँ।) यदि तिमीहरू पवित्र आत्‍माको काम महसुस गर्न सक्छौ, तर अझै पनि आफूलाई उच्‍च ठान्छौ र आफूसँग वास्तविकता छ भन्‍ने सोच्छौ भने यहाँ के भइरहेको छ? (जब हाम्रो कर्तव्यले केही फल फलाउँछ, तब हामी परमेश्‍वरले आधा मात्रै श्रेय पाउनुहुन्छ, र आधा श्रेय हाम्रो हुन्छ भन्‍ने सोच्छौँ। हामी हाम्रो सहकार्यलाई असीमित रूपमा ठूलो पार्छौँ, हाम्रो सहकार्यभन्दा अरू केही पनि महत्त्वपूर्ण छैन, र योबिना परमेश्‍वरको अन्तर्दृष्टि सम्‍भव हुनेथिएन भन्‍ने सोच्छौँ।) त्यसोभए, परमेश्‍वरले किन तँलाई अन्तर्दृष्टि दिनुभयो? के परमेश्‍वरले अरूलाई पनि अन्तर्दृष्टि दिन सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) जब परमेश्‍वरले कसैलाई अन्तर्दृष्टि दिनुहुन्छ, तब त्यो परमेश्‍वरको अनुग्रहद्वारा हुन्छ। अनि तैँले आफ्‍नो पक्षबाट पूरा गरेको त्यो थोरै सहकार्य के हो? के यसका लागि तैँले श्रेय पाउनुपर्छ, कि यो तेरो कर्तव्य र जिम्‍मेवारी हो? (यो हाम्रो कर्तव्य र जिम्‍मेवारी हो।) जब तँ यसलाई आफ्नो कर्तव्य र जिम्‍मेवारीका रूपमा पहिचान गर्छस्, तब तँसँग सही मनस्थिति हुन्छ र तैँले यसको श्रेय लिन खोज्नेबारे सोच्नेछैनस्। यदि तँ सधैँ “यो मेरो योगदान हो। के मेरो सहकार्यविना परमेश्‍वरको अन्तर्दृष्टि सम्‍भव हुनेथ्यो? यस कामका लागि मानिसको सहकार्य आवश्यक हुन्छ; धेरैजसो भाग हाम्रो सहकार्यले नै पूरा हुन्छ” भन्‍ने सोच्छस् भने, तँ गलत छस्। पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि नदिनुभएको भए, र कसैले पनि तँलाई सत्यता सिद्धान्तहरूबारे सङ्गति नगरेको भए, तैँले कसरी सहकार्य गर्न सक्थिस्? परमेश्‍वरले के गराउन चाहनुहुन्छ भन्‍ने कुरा तैँले जान्‍नेथिइनस्, न त तँलाई अभ्यासको मार्ग नै थाहा हुनेथ्यो। तैँले परमेश्‍वरमा समर्पित हुन र परमेश्‍वरका काममा सहकार्य गर्न चाहे पनि, कसरी गर्ने तँलाई थाहा हुनेथिएनन। के तेरो यो “सहकार्य” खोक्रो शब्‍द मात्र होइन र? साँचो सहकार्यविना, तैँले आफ्‍नै विचारहरूअनुसार मात्रै काम गरिरहेको हुन्छस्—त्यस्तो अवस्थामा, के तैँले पूरा गर्ने कर्तव्य मापदण्डअनुरूप हुन सक्थ्यो? बिलकुलै सक्दैनथ्यो, जसले हालको समस्यालाई सङ्केत गर्छ। त्यो समस्या के हो? कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे तापनि, उसले नतिजा हासिल गर्छ कि गर्दैन, मापदण्डअनुसार कर्तव्य निर्वाह गर्छ कि गर्दैन, र परमेश्‍वरको स्वीकृति प्राप्त गर्छ कि गर्दैन भन्‍ने कुरा परमेश्‍वरका कार्यहरूमा निर्भर हुन्छ। तैँले तेरा जिम्मेवारी र कर्तव्यहरू पूरा गरिस् भने पनि, यदि परमेश्‍वरले कार्य गर्नुहुन्‍न, उहाँले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्‍न भने, तँलाई तेरो मार्ग, तेरो दिशा वा तेरा लक्ष्यहरू थाहा हुनेछैन। आखिर त्यसबाट के आउँछ? तैँले हर समय मेहनत गरेपछि, आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गरेको हुनेछैनस्, न त सत्यता र जीवन नै प्राप्त गरेको हुनेछस्—त्यो सब व्यर्थ भएको हुनेछ। त्यसैले, तैँले मापदण्डअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नु, दाजुभाइ र दिदीबहिनीहरूलाई सुधार गर्नु र परमेश्‍वरको स्वीकृति प्राप्त गर्नु पुरै परमेश्‍वरमै निर्भर हुन्छ! मानिसहरूले ती कुरा मात्र गर्न सक्छन् जुन गर्न तिनीहरू सक्षम छन्, जुन कुरा तिनीहरूले गर्नुपर्छ र जुन कुरा तिनीहरूका अन्तर्निहित क्षमताभित्र छ—योभन्दा बढी होइन। त्यसपछि आखिरमा तैँले आफ्नो कर्तव्य प्रभावकारी शैलीमा निर्वाह गर्ने कुरा परमेश्‍वरका वचनहरूको मार्गदर्शन र पवित्र आत्माको अन्तर्दृष्टि अनि अगुवाइमा निर्भर हुन्छ, त्यसपछि मात्र तैँले सत्यता बुझ्न र परमेश्‍वरले प्रदान गरेको मार्ग र उहाँले तय गरेको सिद्धान्तअनुसार उहाँको आज्ञा पूरा गर्न सक्छस्। यो त परमेश्‍वरको अनुग्रह र आशिष्‌ हो, अनि यदि मानिसहरूले यसलाई देख्‍न सक्दैनन् भने, तिनीहरू अन्धा हुन्। परमेश्‍वरको घरले जुनै प्रकारको काम गरे पनि त्यसको नतिजा कस्तो हुनुपर्छ? यसको एउटा पाटो परमेश्‍वरको गवाही दिनु र परमेश्‍वरको सुसमाचार फैलाउनु हुनुपर्छ भने अर्को पाटो चाहिँ दाजुभाइ-दिदीबहिनीहरूलाई सुधार्नु र फाइदा पुर्‍याउनु हुनुपर्छ। परमेश्‍वरको घरको कामले दुवै क्षेत्रमा नतिजा हासिल गर्नुपर्छ। तैँले जुनै कर्तव्य निर्वाह गरे पनि के तैँले परमेश्‍वरको मार्गदर्शनबिना नतिजाहरू हासिल गर्न सक्छस्? बिलकुलै सक्दैनस्। परमेश्‍वरको मार्गदर्शनविना तैँले गर्ने कुरा मूलतः बेकार हुन्छ भनेर भन्न सकिन्छ। वर्षौंको दौडान, तिमीहरूले आफ्नो कर्तव्यहरू पूरा गर्दै जाँदा जति धेरै यी कर्तव्यह पूरा गर्छौ, उति धेरै तिमीहरू परमेश्‍वरका मापदण्डहरू नजिक पुगेका हुन्छौ, त्यति धेरै उहाँका अभिप्रायहरू बुझेका हुन्छौँ, र त्यति नै धेरै सिद्धान्तहरूलाई बुझेका हुन्छौ। यो सब कसरी हासिल हुन्छ? (परमेश्‍वरको मार्गदर्शनद्वारा।) परमेश्‍वरको मार्गदर्शन र पवित्र आत्माको अन्तर्दृष्टिविना, मानिसहरूले वास्तवमा के “योगदान” दिन सक्छन् र? तिनीहरूको एउटा “योगदान” भनेको मानव कल्पनाहरू हुन्। कहिलेकाहीँ, मानिसहरू आफ्नो कल्पनाअनुसार कर्तव्यहरू पूरा गर्छन् त्यसो गरेर परमेश्‍वरको गवाही दिन सक्छु भन्‍ने सोच्छन्। तर, परिणाम उल्टो हुन्छ। तिनीहरूले गर्ने कुराले परमेश्‍वरको गवाही दिने इच्छित प्रभाव प्राप्त गर्न नसक्ने मात्र होइन, तर त्यो कुरा अवास्तविक र अव्यावहारिक, मानव कल्पना र बनावटी कुराको उपजजस्तो मात्र देखिन्छ, जसले अन्ततः परमेश्‍वरको अनादर गर्दछ। यसको अर्को पाटो मानव धारणा हो। मानिसहरू आफ्नो धारणाअनुसार कार्य गर्न मन पराउँछन् र आफ्नो धारणा सत्यतासँग मेल खान्छ भन्‍ने ठान्छन्। जब तिनीहरू आफ्नो धारणाअनुसार काम गर्छन्, तब तिनीहरू अरूबाट अनुमोदन पाइन्छ र परमेश्‍वरलाई महिमित गरिरहेको होइन्छ भन्‍ने सोच्छन्। फलस्वरूप, तिनीहरूले आफ्नो धारणाका आधारमा धेरै कुरा गर्छन्, र तिनीहरूले परमेश्‍वरको गवाही दिने इच्छित नतिजा हासिल गर्न नसक्ने मात्र होइन; तर तिनीहरूले अरूलाई यी धारणाहरू सत्यताका रूपमा स्वीकार गर्न बहकाउँछन्। यसले तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुन मात्र रोक्दैन, तर परमेश्‍वरप्रति गलतफहमी, शङ्का, भर्त्सना र ईशनिन्दा गर्न लगाउँछ। यी त आफ्नै धारणाका आधारमा कार्य गर्नु र यी धारणाहरू फैलाउनुका परिणाम हुन्। जब मानिसहरूमा सत्यताको बुझाइ हुँदैन, तब तिनीहरू आफ्ना कार्यहरू कल्पना र धारणाहरूमा भर परेर गर्छन्। कल्पना र धारणाबाहेक, मानिसहरूले “योगदान” गर्ने अर्को पक्ष भनेको मानव ज्ञान हो। तिनीहरूले विभिन्न क्षेत्रहरूमा एकपछि अर्को प्रचुर ज्ञान प्राप्त गरिसकेपछि, यो ज्ञानलाई परमेश्‍वरका मापदण्डहरू मूल्याङ्कन गर्न, सत्यता के हो भनी कल्पना गर्न र कसरी आफ्नो कर्तव्य निभाएर परमेश्‍वरको अभिप्राय पूरा गर्ने भनी निर्धारण गर्न प्रयोग गर्छन्। यस्ता कार्यहरूको नतिजा के हुन्छ? ती नतिजाहरू पक्कै पनि परमेश्‍वरको अभिप्रायसँग बाझिन्छ, किनभने मानव ज्ञान सत्यतासँग बाझिन्छ र यसको विपरीत हुन्छ। जब मानिसहरू मानवीय ज्ञानको आधारमा आफ्ना कर्तव्य पूरा गर्छन्, तब त्यसले मण्डलीमा कस्तो अवस्था सिर्जना गर्छ? मानिसहरूले ज्ञानको पूजा गर्न थाल्नेछन् र कसले धेरै जान्दछ, कसले धेरै पुस्तकहरू पढेको छ वा कसको उच्च शैक्षिक योग्यताहरू छन् भनेर हेर्न एक अर्कासँग तुलना गर्न थाल्नेछन्। तिनीहरूले तुलना गर्न मन पराउने कुरा यीनै हुन्। जब मण्डलीभित्र यस्तो अवस्था उत्पन्न हुन्छ, तब के यसले परमेश्‍वरको सेवा गर्न र गवाही दिन मानव ज्ञान प्रयोग गर्ने मानिसहरूसँग कुनै सरोकार राख्छ? पक्कै पनि सरोकार राख्छ। आफ्नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको गवाही दिन ज्ञान प्रयोग गर्दा कस्ता परिणामहरू हुन्छन्? यसले सत्यतालाई प्रेम गर्नेभन्दा मानव ज्ञानलाई प्राथमिकता दिन लगाउँछ, मानिसहरूलाई मानव ज्ञानको पछि लाग्ने मार्गतिर मोड्छ। यो गलत हो र यसले व्यक्तिलाई साँचो मार्गबाट पूर्ण रूपमा विचलित गराउँछ। परमेश्‍वरको गवाही दिने र उहाँको सेवा गर्ने कुरामा यी कुराहरू गर्न मानिसहरूले कल्पना, धारणा, वा मानव ज्ञान प्रयोग गरे पनि, यी कुनै पनि तरिकाले परमेश्‍वरलाई चिन्न र उहाँमा समर्पित हुन मानिसहरूलाई मद्दत गर्ने इच्छित नतिजा प्राप्त गर्न सक्दैन। बरु, तिनले मानिसहरूलाई परमेश्‍वरतर्फ फर्कन सजिलै रोक्न सक्छन्। तसर्थ, कल्पना, धारणा, वा मानव ज्ञान प्रयोग गरेर परमेश्‍वरलाई गवाही दिनु भनेको परमेश्‍वरविरुद्ध एक प्रकारको प्रतिरोध हो। यसले परमेश्‍वरको काममा अवरोध र बाधा पुर्‍याउँछ अनि उहाँ यस्ता कार्यहरूलाई अनुमोदन गर्नुहुन्न।

मानव कल्पना, धारणा र ज्ञान सबै त वैचारिक क्षेत्रका पक्षहरू हुन्। मानवीय कार्यहरू आधारित हुने एउटा कुरा भनेको उसको आफ्नै विचार र दृष्टिकोण हो भने अर्कोचाहिँ उसको भ्रष्ट स्वभाव हो, जसले महत्त्वपूर्ण भूमिका खेल्छ। यदि मानिसहरू सत्यता बुझ्दैनन्, आफूलाई चिन्दैनन्, सत्यता स्वीकार गर्दैनन्, सत्यता अभ्यास गर्दैनन्, अनि परमेश्‍वर र सत्यताप्रति समर्पित हुन सक्दैनन् भने केको आधारमा आफ्नो कर्तव्य निर्वाह गर्छन्? तिनीहरू आफ्नो अहङ्कार, छल, दुष्टता, उग्रपन, र जिद्दीपनका आधारमा कार्य गरिरहेका हुन्छन्, ती सबै तिनीहरूको भ्रष्ट स्वभावका पक्षहरू हुन्। तिनीहरूले यी भ्रष्ट स्वभावका आधारमा आफ्नो कर्तव्य निर्वाह गर्दाको परिणाम केके हुन्छन्? (मानिसहरूले अरूसँग मिलेर सहकार्य गर्न सक्दैनन् र मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउन पनि सक्छन्।) यी परिणामहरू थाहा हुनुपर्छ। सबैले आफ्नो इच्छाअनुसार गर्छन्, सत्यता अभ्यास गर्दैन। प्रत्येक व्यक्तिले आ-आफ्नो कामकुरा गर्छ, एक्लाएक्लै कार्य गर्छ, अनि अवरोध र बाधा ल्याउँछ। राम्रोसँग गर्न सकिने काम अस्तव्यस्त र अव्यवस्थित हुन्छ। यो त गैरविश्‍वासीहरूमाझ गरिने कुराहरूभन्दा कुनै फरक हुँदैन। शैतानका खेमामा, चाहे समाजमा होस् वा सरकारी वृत्तमा, कस्तो वातावरण प्रचलित छ? कुन अभ्यासहरू लोकप्रिय छन्? तिमीहरूले यीबारे केही बुझेको हुनुपर्छ। तिनीहरूका कार्यहरूका सिद्धान्त र दिशानिर्देशन केके हुन्? प्रत्येक आफ्नै लागि एउटा कानुन हो; प्रत्येक आफ्नै बाटोमा लाग्छ। तिनीहरू आफ्नै हितमा काम गर्छन् र आफ्नै रोजाइअनुसार गर्छन्। जोसँग अधिकार हुन्छ त्यसैले अन्तिम निर्णय लिन्छ। तिनीहरूले अरूबारे क्षणिक विचारसमेत गर्दैनन्। तिनीहरू केवल आफ्नो इच्छाअनुसार गर्छन्, प्रसिद्धि, प्राप्ति र हैसियतका लागि लागिपर्छन्, अनि पूर्णतया आफ्नो प्राथमिकताअनुसार कार्य गर्छन्। तिनीहरूले शक्ति प्राप्त गर्नेबित्तिकै यो शक्ति तुरुन्तै अरूमाथि प्रयोग गर्छन्। यदि तैँले तिनीहरूलाई चिढाइस् भने, तिनीहरूले तँलाई निकै दुःख दिन खोज्छन्, र तैँले तिनीहरूलाई उपहार दिनेबाहेक केही गर्न सक्दैनस्। तिनीहरू बिच्छीजस्तै भयानक हुन्छन्, कानुन, सरकारी नियम उल्लङ्घन गर्न र अपराधसमेत गर्न इच्छुक हुन्छन्। यी सबै कुरा तिनीहरू गर्न सक्छन्। शैतानका खेमामा यस्तै अन्धकार र दुष्टता हुन्छ। अब, परमेश्‍वर मानवजातिलाई मुक्ति दिन, मानिसहरूलाई सत्यता स्वीकार गर्न, सत्यता बुझ्न र शैतानको बन्धन र शक्तिबाट मुक्त हुन सहयोग गर्नका लागि आउनुभएको छ। यदि तिमीहरू सत्यता स्वीकार गर्दैनौ र सत्यता अभ्यास गर्दैनौ भने, के तिमीहरू अझै पनि शैतानको शक्तिमा जिइरहेका छैनौ र? त्यस अवस्थामा, तिमीहरूको वर्तमान दियाबलसहरू र दियाबलस शैतानको स्थितिबीच के भिन्नता रह्यो र? तिमीहरू पनि गैरविश्‍वासीहरूले जस्तै होड गर्नेछौ। तिमीहरू त्यसरी नै लड्नेछौ जसरी गैरविश्‍वासीहरू लड्छन्। बिहानदेखि रातिसम्म, तिमीहरू षड्यन्त्र गर्छौ, चाल चल्छौ, ईर्ष्या गर्छौ र विवादमा मुछिन्छौ। यो समस्याको जड के हो? यो त मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले र तिनीहरू यी भ्रष्ट स्वभावअनुसार जिउनाले गर्दा हो। भ्रष्ट स्वभावको शासन शैतानको शासन हो; भ्रष्ट भएको मानवता शैतानी स्वभावभित्र बास गर्दछ, र यसबाट केही पनि अछुत छैन। त्यसकारण, तैँले शक्ति र प्राप्तिको संघर्षमा होमिनका लागि आफूलाई हदै राम्रो, हदै नम्र, वा हदै इमानदार ठान्नु हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् र परमेश्‍वरद्वारा डोरिएको छैनस् भने, तँ पक्कै पनि अछुत छैनस्, र तैँले कुनै पनि हालतमा तेरो निस्कपटता वा दयाको कारण वा तेरो युवास्थाको कारण आफूलाई प्रसिद्धि र प्राप्तिको संघर्षमा होमिनबाट आफूलाई जोगाउन सक्दैनस्। वास्तवमा, तैँले पनि मौका पाइस् र परिस्थितिले दियो भने प्रसिद्धि, प्राप्ति र हैसियत खोज्नेछस्। ख्याति र प्राप्तिको लालच गर्नु भनेको मान्छेमा देखिने खास व्यवहार हो, जसमा शैतानको दुष्ट प्रकृति हुन्छ। यसबाट कोही अछुत छैन। सबै भ्रष्ट मानवजाति ख्याति, प्राप्ति र हैसियतका लागि जिउँछन्, यी कुराका लागि संघर्ष गर्न जुनै मूल्य पनि चुकाउँछन्। शैतानको शक्तिअन्तर्गत जिउने सबैका हकमा पनि यही कुरा लागू हुन्छ। त्यसकारण, सत्यता स्वीकार नगर्ने वा नबुझ्‍ने, सिद्धान्तअनुसार काम नगर्ने व्यक्ति शैतानी स्वभावमा जिउने मान्छे हो। शैतानी स्वभावले तेरा सोचहरू काबुमा पारिसकेको र तेरो व्यवहार नियन्त्रण गरिसकेको छ; शैतानले तँलाई पूर्ण रूपमा आफ्‍नो नियन्त्रण र बन्धनमा पारेको छ, र यदि तैँले सत्यता स्विकारेर शैतानका विरुद्धमा विद्रोह गर्दैनस् भने, तँ उम्‍कन सक्‍नेछैनस्। अब, तैँले परमेश्‍वरका घरमा आफ्नो कर्तव्य पूरा गर्दा, तँ केही हदसम्म समर्पित छस्, हृदयमा अलि दृढता छ केही हदसम्म गम्भीर छस्, तँमा केही जिम्मेवारी बोध छ, आफ्नो हैसियतप्रतिको चासोलाई पन्छाउन सक्छस्, प्रायः प्रतिस्पर्धाको प्रतिरोध गर्न सक्षम छस्, अरूसामु झुक्न सक्छस्, अरूसँग मिलेर सहकार्य गर्न सक्छस्, र आफूले नबुझ्ने कुराहरू भेट्टाउँदा खोजी गर्न र पर्खन सक्छस्। तैँले यो मनोवृत्ति र व्यवहार कसरी प्राप्त गरिस्? यो प्रत्यक्ष रूपमा परमेश्‍वरको प्रबन्ध, मार्गदर्शन र मलजलसँग सम्बन्धित छ। यी सबै परमेश्‍वरले बोलेका असङ्ख्य वचनहरूको नतिजा हुन्। अन्यथा, कुनै व्यक्तिमा राम्रो क्षमता भए पनि, उसले सत्यता पत्ता लगाउन वा बुझ्न सक्दैन। यदि परमेश्‍वर यी सत्यताहरू व्यक्त गर्न नआउनुभएको भए, मानिसहरू सत्यता खोज्न कहाँ जानेथिए? बाल्यकालदेखि मानिसहरू शिक्षा प्राप्त गर्छन् र धेरै वर्षसम्म विद्यालय जान्छन्, तर के तिनीहरूले सत्यता सिकेका छन्? बिलकुलै छैनन्। मानिसहरूले सेलिब्रेटी र महान् व्यक्तित्वहरूको प्रशंसा गर्छन्, र सांस्कृतिक ज्ञानको गुणगान गाउँछन्, तर के तिनीहरूले सत्यता सिकेका छन्? तिनीहरूले सिकेका छैनन्। तिनीहरूले चाङका चाङ किताबहरू पढे पनि, सत्यता सिकेका छैनन्। वास्तवमा, संसारमा सत्यता छँदै छैन। परमेश्‍वर आएर सत्यता र अनन्त जीवनको मार्ग ल्याउनुभएपछि मात्र अनि मानिसहरूले धेरै वर्षसम्म परमेश्‍वरको वचन पढिसकेपछि अन्ततः सत्यता पत्ता लगाउँछन्। त्यसपछि मात्र तिनीहरूले सत्यताको मूल्य र महत्त्व बुझ्छन्। यस मोडमा, मानिसहरू के स्वीकार गर्छन् भने विगतमा तिनीहरूका बोली, कार्य र व्यवहारहरू कल्पना, धारणा र मानव ज्ञानमा आधारित थिए। यी कुराबाहेक, तिनीहरू आफ्ना भ्रष्ट स्वभावद्वारा चल्थे। मानिसहरूको हृदयभरिका यी धारणा, मानव ज्ञान र कल्पनाहरू सत्यता होइनन्। त्यसकारण, मानिसहरू शैतानको भ्रष्ट स्वभावका विभिन्न पक्षअनुसार जिउने झुकाव राख्छन्। तिनीहरू मानव स्वरूपमा जिउन सक्दैनन् वा चाहेर पनि झूट नबोल्न सक्दैनन्, र तिनीहरूलाई केही मात्रामा राम्रा काम गर्न पनि गाह्रो हुन्छ। शैतानको स्वभावअनुसार जीउनेहरूले स्वभाविकतः शैतानको छवि प्रकट गर्छन्। तिनीहरूको बोली, कार्य र व्यवहार सबै शैतानको स्वभावबाट प्रभावित हुन्छन्, र तिनीहरूमध्ये कोही पनि यसबाट उम्कन सक्दैन। यदि तिमीहरूले यो कुरा बुझ्न सक्यौ भने, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिमीहरूले निश्चित परिणामहरू प्राप्त गरे पनि, केही योगदान दिए पनि, राम्रो व्यवहार देखाए पनि वा निश्चित परिवर्तनहरू अनुभव गरे पनि, तिमीहरूमा कस्तो मनस्थिति हुनुपर्छ? (परमेश्‍वरप्रति धन्यवाद प्रकट गर्ने मानस्थिति।) तिमीहरूले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। सबै महिमा परमेश्‍वरको हो। यो परमेश्‍वरले नै गर्नुभएको हो, र मानिसहरूले घमण्ड गर्ने कुनै कुरा छैन। प्रत्येक व्यक्तिमा फरक-फरक योग्यता हुन्छ। उदाहरणका लागि, केही मानिसहरू स्वाभाविक रूपमा संगीतको धुन र लयमा भावुक बन्छन् भने अन्य मानिस नृत्यमा उत्कृष्ट हुन्छन्। मानिसहरूमा प्राकृतिक प्रतिभाहरू भए तापनि, ती सबै परमेश्‍वरले दिनुभएको हो, र मानिसहरूले घमण्ड गर्ने कुरा केही छैन। तिनीहरूले पक्कै पनि यी जन्मजात प्रतिभाहरू आफ्ना आमाबुबाबाट पाएका होइनन्, किनभने आमाबुबासँग नै यी प्रतिभाहरू नहुन सक्छ, र यदि छ नै भने पनि, तिनीहरूले आफ्ना प्रतिभाहरू छोराछोरीलाई दिन सक्दैनन्; आमाबुबाले छोराछोरीलाई यी प्रतिभा सिकाउन सक्दैनन्। त्यसकारण, मानिसहरूसँग हुने प्रतिभा र खुबीहरूको तिनीहरूका आमाबुबासँग कुनै सम्बन्ध हुँदैन। अवश्य नै, यी प्रतिभाहरू सिकेर प्राप्त गर्न सकिने कुरा होइनन्। मानिसहरूले जन्मँदै लिएर आएका खुबी र क्षमताहरू परमेश्‍वरले दिनुभएको हो। ती त धेरैपहिले नै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको थियो। यदि परमेश्‍वरले तँलाई मूर्ख बनाउनुभएको हो भने, तेरा मूर्खतामा अर्थ लुकेको छ; यदि उहाँले तँलाई तेज दिमागवाला बनाउनुभएको छ भने, तेरो तेज दिमागको पनि अर्थ छ। परमेश्‍वरले तँलाई जुनसुकै प्रतिभा दिनुभए पनि, तेरा सबल पक्षहरू जेसुकै भए पनि, तेरो बौद्धिक स्तर जेजस्तो भए पनि, परमेश्‍वरका लागि ती सबैको उद्देश्य हुन्छ। यी सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तैँले जीवनमा खेल्‍ने भूमिका र तैँले पूरा गर्ने कर्तव्य परमेश्‍वरले धेरै पहिले नै पूर्वनिर्धारित गर्नुभएको हो। कतिपय मानिसहरू आफूमा नभएको सबल पक्ष अरूमा देख्छन् र तिनीहरू असन्तुष्ट हुन्छन्। तिनीहरू अझै धेरै सिकेर, अझै धेरै खोजेर, अनि अझै धेरै लगनशील भएर परिस्थिति बदल्न चाहन्छन्। तर तिनीहरूको लगनशीलताले हासिल गर्न सक्‍ने कुराको सीमा हुन्छ, र तिनीहरूले यी प्रतिभा र विशेषज्ञता भएकाहरूलाई उछिन्‍न सक्दैनन्। तैँले जति नै संघर्ष गरे पनि यो व्यर्थ हुन्छ। तँ के बन्‍नेछस् भन्‍ने कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र यसलाई कसैले पनि केही गरी परिवर्तन गर्न सक्दैन। तँ जुन कुरामा सिपालु छस्, तैँले त्यही कुरामा प्रयास गर्नुपर्छ। तँ जुन कर्तव्यका लागि उपयुक्त छस्, तैँले त्यही कर्तव्य निर्वाह गर्नुपर्छ। तेरो सीपको क्षेत्रबाहिर आफूलाई जबरजस्ती लैजाने प्रयास नगर् र अरूको डाहा नगर्। हरेकको आ-आफ्‍नै कार्य हुन्छ। तैँले सधैँ अरूको स्थान लिने र आफूलाई प्रदर्शन गर्ने इच्छा गर्दै सबै कुरा राम्ररी गर्न सक्छु वा तँ अरूभन्दा सिद्ध वा असल छस् भनेर नसोच्। यो भ्रष्ट स्वभाव हो। आफूले कुनै पनि काम राम्ररी गर्न सक्दिनँ, र आफूसँग कुनै सीपै छैन भनेर सोच्ने मानिसहरू पनि हुन्छन्। यदि त्यस्तो अवस्था छ भने, तँ व्यावहारिक तरिकामा सुन्‍ने र समर्पित हुने व्यक्ति बन्‍नुपर्छ। आफूले गर्न सक्‍ने काम गर् र आफ्‍नो सारा शक्तिले राम्रोसित गर्। त्यही नै पर्याप्त छ। परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। सधैँभरी अरू सबैलाई उछिन्‍ने, हरेक कुरा अरूले भन्दा राम्रोसित गर्ने, र हरप्रकारले भीडभन्दा राम्रो देखिने बारेमा नसोच्। त्यो कस्तो स्वभाव हो? (अहङ्कारी स्वभाव।) मानिसहरूमा सधैँ अहङ्कारी स्वभाव हुन्छ, र तिनीहरूले सत्यतामा लागिपर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहे पनि, तिनीहरू चुक्छन्। मानिसहरू अहङ्कारी स्वभावद्वारा नियन्त्रित हुँदा पथभ्रष्ट हुने सबैभन्दा बढी सम्भावना हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरू सधैँ परमेश्‍वरका मापदण्डहरूको सट्टा आफ्नो असल मनसाय व्यक्त गरेर आडम्बर गर्न चाहन्छन्। के परमेश्‍वर असल मनसायको त्यस्तो अभिव्यक्तिलाई अनुमोदन गर्नुहुन्छ? परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्नका लागि तैँले उहाँका मापदण्डहरू पालन गर्नैपर्छ र आफ्नो कर्तव्य पूरा गर्न परमेश्‍वरको प्रबन्धहरू पालन गर्नैपर्छ। असल मनसाय व्यक्त गर्ने मानिसहरूले परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्दैनन् बरु सधैँ नयाँ चालहरू चल्ने प्रयास गर्छन् र भव्य लाग्ने बोली बोल्छन्। परमेश्‍वरले तँलाई यसरी ख्याल गर्नू भनी भन्‍नुहुन्‍न। कतिपयले यसलाई तिनीहरू प्रतिस्पर्धात्मक बन्‍ने कुरा हो भन्छन्। प्रतिस्पर्धात्मक हुनु आफैमा नकारात्मक कुरा हो। यो शैतानको अहङ्कारी स्वभावको प्रकटीकरण—प्रस्फुटीकरण—हो। जब तँसित यस्तो स्वभाव हुन्छ, तब तैँले सधैँ अरूलाई होच्याउने प्रयास गरिरहेको हुन्छस्, सधैँ तिनीहरूलाई उछिन्‍ने कोसिस गरिरहेको हुन्छस्, सधैँ चाल चलिरहेको हुन्छस्, सधैँ अरूबाट लिने कोसिस गरिरहेको हुन्छस्। तँ असाध्यै ईर्ष्यालु बन्छस्, तँ कसैसँग झुक्दैनस्, र आफूलाई भीडमा विशिष्ट देखाउने कोसिस गरिरहेको हुन्छस्। यसले समस्या नित्याउँछ; शैतानले यसरी कार्य गर्छ। यदि तँ साँचो अर्थमा परमेश्‍वरको सृष्टि गरिएको स्वीकारयोग्य प्राणी बन्‍न चाहन्छस् भने, आफ्ना सपनाहरूको पछि नलाग्। आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि आफू जे हो त्योभन्दा श्रेष्ठ र सक्षम बन्‍ने प्रयास गर्नु खराब कुरा हो। तैँले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सिक्नुपर्छ, र तँ एउटा मानवले ओगट्नुपर्ने ठाउँमा दृढतापूर्वक उभिनुपर्छ; यो मात्र समझको प्रदर्शन हो।

तिमीहरूको चालचलनका सिद्धान्तहरू केके हुन्? तिमीहरूले आफ्नो स्थानअनुसार चालचलन देखाउनुपर्छ, आफ्ना लागि सही स्थान खोज्‍नुपर्छ, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; यस्तो व्यक्ति मात्र समझ भएको व्यक्ति हो। उदाहरणका रूपमा, कतिपय मानिसहरू निश्‍चित व्यावसायिक सीप भएका सिद्धान्तहरू बुझेका हुन्छन्, र तिनीहरूले त्यो जिम्मेवारी वहन गरी त्यस क्षेत्रमा अन्तिम जाँच गर्नुपर्छ; विचार र अन्तर्दृष्टिहरू प्रदान गर्न सक्ने, अरूलाई उत्प्रेरित गरेर कर्तव्य अझ राम्ररी निभाउन मदत गर्ने मानिसहरू पनि हुन्छन्—त्यसोभए तिनीहरूले विचारहरू प्रदान गर्नुपर्छ। यदि तैँले आफ्नो निम्ति सही स्थान भेट्टाउनर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गर्न सकिस् भने, आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछस्—तैँले आफ्‍नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्नु भनेको यही हो। सुरुमा तैँले विचार मात्र प्रदान गर्लास्, तर यदि अरू केही दिने प्रयास गरिस् र त्यसो गर्न सक्दो कोसिस गर्न थालिस्, तैपनि सकिनस्; र त्यसपछि अरूले ती कुराद दिँदा, तँलाई अप्ठ्यारो लाग्छ, र तँ सुन्न चाहँदैनस्, र तेरो हृदयमा पीडा हुन्छ र तँ विवश हुन्छस्, र परमेश्‍वरबारे गुनासो गर्छस् र परमेश्‍वर अधर्मी हुनुहुन्छ भनी भन्छस् भने—त्यो महत्त्वाकाङ्क्षा हो। व्यक्तिमा महत्त्वाकाङ्क्षा उत्पन्न गर्ने स्वभाव के हो? अहङ्कारी स्वभावले महत्त्वाकाङ्क्षा उत्पन्न गर्दछ। यी अवस्थाहरू निश्चय नै कुनै पनि समय तिमीहरूमा पैदा हुन सक्छन्, र यदि तिमीहरूले ती समाधान गर्न सत्यता खोजी गर्दैनौ, र तिमीहरूमा जीवन प्रवेश छैन, र यस सन्दर्भमा परिवर्तन हुन सक्दैनौ भने, तिमीहरूले कर्तव्यहरू निर्वाह गर्ने योग्यता र शुद्धताको स्तर झर्ने छ, अनि परिणामहरू पनि त्यति राम्रा हुने छैनन्। यो चित्तबुझ्दो कर्तव्य निर्वाह होइन र यसको अर्थ परमेश्‍वरले तिमीहरूबाट महिमा प्राप्त गर्नुभएको छैन। परमेश्‍वरले हरेक व्यक्तिलाई फरक-फरक सबलता र प्रतिभा दिनुभएको छ। कतिपय मानिससँग दुई वा तीन क्षेत्रमा सबलताहरू हुन्छन्, कति जनासँग एउटा क्षेत्रमा सबलता हुन्छ, र कसैमा एउटै पनि सबलता हुँदैन—यदि तिमीहरूले यी विषयहरूलाई सही तरिकाले लिन सक्यौ भने, तिमीहरूमा सुझबुझ छ। सुझबुझ भएको व्यक्तिले आफ्नो स्थान पत्ता लगाउन सक्छ, र आफ्नो स्थानअनुसार चल्न र राम्रोसँग आफ्नो कर्तव्य निभाउन सक्छ। आफ्‍नो स्थान कहिल्यै पनि पत्ता लगाउन नसक्‍ने व्यक्तिमा सधैँ महत्त्वाकाङ्क्षा हुन्छ। ऊ सधैँ हृदयमा हैसियत र लाभलाई पछ्याउँछ। ऊ आफूसँग भएको कुरामा कहिल्यै सन्तुष्ट हुँदैन। उसले अझै धेरै लाभ प्राप्त गर्न जतिसक्दो धेरै कुरा लिने प्रयास गर्छ; उसले सधैँ आफ्‍ना अत्यधिक इच्छाहरू पूरा गर्ने आशा गर्छ। उसले आफूसँग प्रतिभा र राम्रो क्षमता छ भने, आफूले परमेश्‍वरको अझै धेरै अनुग्रह पाउनुपर्छ, र आफूमा केही मात्रामा अत्यधिक इच्‍छा हुनु गलत होइन भन्‍ने सोच्छ। के यस्तो व्यक्तिमा सुझबुझ हुन्छ? के सधैँ अत्यधिक इच्‍छा राख्नु लाजमर्दो कुरा होइन र? विवेक र समझ भएका मानिसहरूलाई यो लाजमर्दो कुरा हो भन्‍ने लाग्न सक्छ। सत्यता बुझ्‍ने मानिसहरूले कहिल्यै पनि यी मूर्ख कुराहरू गर्ने छैनन्। यदि तँ परमेश्‍वरको प्रेमको ऋण तिर्न इमानदारीपूर्वक आफ्‍नो कर्तव्य निभाउन चाहन्छस् भने, यो अत्यधिक इच्‍छा होइन। यो सामान्य मानवताको विवेक र समझअनुरूप छ। यसले परमेश्‍वरलाई खुसी तुल्याउँछ। यदि तँ साँच्‍चै आफ्‍नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, तैँले पहिले आफ्ना लागि सही स्थान खोज्नैपर्छ, र त्यसपछि तैँले जे गर्न सक्छस् त्यो तेरो सारा हृदयले, तेरो सारा मनले, तेरो सारा शक्तिले र आफूले सके जति गर्। यसले मानक पूरा गर्छ, र यस्तो कर्तव्य निर्वाहमा केही शुद्धता हुन्छ। वास्तविक सृजित प्राणीले गर्नुपर्ने कुरा यही हो। पहिले, तैँले सृष्टिको गरिएको वास्तविक प्राणी भनेको के हो त्यो बुझ्नैपर्छ: सामान्य सृजित प्राणी महामानव होइन, तर पृथ्वीमा व्यावहारिक तवरमा जिउने व्यक्ति हो; ऊ बिलकुलै असाधारण र अलिकति पनि विलक्षण हुँदैन, तर कुनै पनि सामान्य व्यक्तिजस्तै हुन्छ। यदि तँ सधैँ अरूलाई उछिन्न, अरूभन्दा माथि हुन चाहन्छस् भने तँ शैतानको अहङ्कारी स्वभावद्वारा नियन्त्रित छस्, र यो तेरो महत्त्वाकाङ्क्षाको कारण भएको भ्रम हो। वास्तवमा, तैँले यो कुरा हासिल गर्न सक्दैनस्, र तैँले त्यसो गर्नु असम्भव छ। परमेश्‍वरले तँलाई यस्तो प्रतिभा वा सीप दिनुभएन, न त यस्तो सार नै दिनुभयो। नबिर्सी, तँ मानवजातिको सामान्य सदस्य होस्, अरूभन्दा फिटिक्कै फरक छैनस्; यति मात्र हो,तेरो रूपरङ्ग, परिवार, र जन्मको पृष्ठभूमि मात्र फरक होला, अनि तेरो सबलता र प्रतिभामा केही भिन्नता होला। तर यो कुरा नबिर्सी: तँ जति नै बेजोड भए पनि, यो त यी स-साना तरिकामा मात्र हो, र तेरो भ्रष्ट स्वभाव अरूकै जस्तो छ। तेरोमा हुनुपर्ने मनोवृत्ति र तैँले आफ्नो कर्तव्य निर्वाहमा पालन गर्नैपर्ने सिद्धान्तहरू अरूकै जस्ता छन्। मानिसहरू आफ्ना शक्ति र प्रतिभामा मात्र फरक हुन्छन्। मण्डलीमा केही मानिसले गितार बजाउन सक्छन्, केहीले सारङ्गी बजाउन सक्छन्, र केहीले मादल बजाउन सक्छन्। यदि यीमध्ये कुनै क्षेत्रमा तेरो रुचि छ भने तैँले सिक्न सक्छस्। यो जुनसुकै विशेष सीप वा प्रविधिको भए पनि, तँलाई सिक्न रमाइलो लाग्छ र तँ चतुर छस् भने, तैँले सिक्न सक्छस्। तैँले नयाँ सीप सिकिसकेपछि, यसलाई थप कर्तव्य निर्वाह गर्न प्रयोग गर्न सक्छस्, यसरी मानिसलाई खुसी पार्ने मात्र होइन, परमेश्‍वरलाई पनि खुसी पार्न सक्छस्। धेरै सीपहरू हासिल गर्नु र परमेश्‍वरको घरको काममा थप योगदान पुऱ्याउनु सबैभन्दा आशिषित कुरा हो। व्यक्ति जवान छँदा र राम्रो स्मरणशक्ति भएको बेला नयाँ कुराहरू सिक्नुमा कुनै खराबी छैन। यसमा फाइदा मात्रै छ, हानि छैन। यो कर्तव्य निर्वाह र परमेश्‍वरको घरको कामका लागि फाइदाजनक छ। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा विभिन्न नयाँ कुराहरू सिक्नमा ध्यान केन्द्रित गर्नु भनेको व्यक्ति लगनशील र जिम्मेदार हुनु हो; ऊ ती मानिसहरूभन्दा राम्रो हो जो आफ्नो कामप्रति प्रतिबद्ध छैनन्। तर, यदि तैँले केही समयदेखि केही कुरा सिकिरहेको छस् र अझै पनि केही बुझेको छैनस् भने, यसले त्यो क्षेत्रमा तेरो क्षमता छैन भन्‍ने सङ्केत गर्छ। जस्तै केही मानिसहरू राम्रो नृत्य गर्न सक्छन् तर बेसुरा गाउँछन् वा ताल न सुरको हुन्छ, यो जन्मजात कुरा हो र परिवर्तन गर्न सकिँदैन। यस्तो अवस्थालाई सही मनोवृत्तिका साथ सम्हाल्नुपर्छ। यदि तँ नृत्य गर्न सक्छस् भने, राम्रोसँग नृत्य गर्। यदि तँमा परमेश्‍वरको प्रशंसा गर्ने हृदय छ भने, तैँले बेसुरा गाए पनि परमेश्‍वर आपत्ति जनाउनुहुन्न। तेरो हृदय हर्षित छ भने, त्यो पर्याप्त हो। तेरा व्यक्तिगत सबलताहरू जुनै क्षेत्रमा भए पनि, यदि तैँले तिनलाई सदुपयोग गर्छस् भने, त्यो राम्रो कुरा हो। तैँले सावधानीपूर्वक निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्, अनि आफ्नो स्थानअनुसार चल्नु भनेको त्यही हो।

कुनै व्यक्तिले आफूलाई सिद्ध, वा विख्यात, कुलीन, वा अरूभन्दा फरक नसोचोस्; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग्ग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्‍ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा माथि, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूको शक्तिलाई आफ्नोभन्दा बढी हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा राम्रा विचार, सुझाव, र दृष्टिकोण राख्‍न नदिनु, र आफूभन्दा अरू राम्रो भएको थाहा पाउँदा नकारात्मक बन्‍नु, बोल्न नचाहनु, दुःखी र उदास बन्नु, र खिन्‍न हुनु—यी सबै अहङ्कारी स्वभावले गराउँछ। अहङ्कारी स्वभावले तँलाई तेरो प्रतिष्ठाको रक्षा गर्ने, अरूले सच्चाइदिँदा त्यो स्वीकार गर्न नसक्ने, आफ्ना कमीकमजोरीहरू सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरू स्वीकार गर्न नसक्ने बनाउँछ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तँलाई बन्धनमा परेको महसुस हुन सक्छ, यहाँसम्‍म कि तँ आफ्नो कर्तव्य गर्ने इच्छा गर्दैनस् र तँ लापरवाह बन्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहार र अभ्यासहरू उत्पन्न गराउन सक्छ। यदि तिमीहरू अलि-अलि गर्दै यी सबै कुरा अझै गहिरो गरी खोतल्न, सफलता हासिल गर्न, र ती कुरा बुझ्न सक्छौ भने; र यदि त्यसपछि तिमीहरूले बिस्तारै यी सोचहरूविरुद्ध विद्रोह गर्न, यी गलत धारणा, दृष्टिकोण, र व्यवहारहरूविरुद्ध विद्रोह गर्न सक्यौ, र तीद्वारा बन्धनमा पर्दैनौ भने; र यदि, तेरो कर्तव्य पूरा गर्दा तँ आफ्नो निम्ति सही स्थान भेट्टाउन सक्छस् र सिद्धान्तहरूअनुसार कार्य गर्न, र तैँले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य गर्छस् भने; समय बित्दै जाँदा, तिमीहरू आफ्ना कर्तव्यहरू अझ राम्रोसँग पूरा गर्न सक्ने छौ। यसले सत्यता वास्तविकतामा प्रवेश गराउँछ। यदि तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सकिस् भने, तँमा मानव स्वरूप देखा पर्नेछ, र मानिसहरूले भन्‍नेछन्, “यो व्यक्तिले आफ्नो स्थानअनुसार व्यवहार गर्छ, र उसले व्यवहार्य तरिकाले आफ्नो कर्तव्य पूरा गरिरहेको छ। ऊ आफ्नो कर्तव्य पूरा गर्न स्वाभाविकता, झोँकीपन, वा भ्रष्ट, शैतानी स्वभावमा भर पर्दैन। ऊ संयमका साथ काम गर्छ, उसमा परमेश्‍वरको डर मान्ने हृदय छ, उसमा सत्यताप्रति प्रेम छ, र उसको व्यवहार र अभिव्यक्तिले उसले आफ्नो देहसुख र प्राथमिकताहरूविरुद्ध विद्रोह गरेको छ भन्‍ने खुलासा गर्छन्।” यसरी चल्नु कति राम्रो कुरा हो! अरूले तेरा कमीकमजोरीहरूको कुरा गर्दा, तँ तिनलाई स्वीकार गर्न मात्र सक्षम हुँदैनस्, तर तँ आशावादी हुन्छस्, तेरा कमीकमजोरी र दोषहरूलाई संयमताको साथ सामना गर्छस्। तेरो मनस्थिति अति सामान्य हुन्छ, ज्यादतीहरूदेखि मुक्त, रिसाहापनबाट मुक्त हुन्छ। के मानव स्वरूप हुनु भनेको यही होइन र? त्यस्ता मानिसहरूमा मात्र समझ हुन्छ।

जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम पाटो प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। शैतानी शासनका सदस्यहरूलाई नै लिऊँ: तिनीहरूले गोप्यमा जति नै लडाइँ, झगडा, वा हत्या गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न दिँदैन। तिनीहरू मानिसहरूले आफ्नो पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई ढाकछोप गर्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र दोषरहित छन् भनी भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर त्यसको शासनलाई बलियो बनाउने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा यस्तो शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र हृदयमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्‍ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। भ्रष्ट स्वभावलाई चिन्नु सबैभन्दा गाह्रो कुरा हो: आफ्नो गल्ती र कमीकमजोरीहरू चिन्न सजिलो छ, तर आफ्नो भ्रष्ट स्वभाव चिन्न सजिलो छैन। आफूलाई नचिन्ने मानिसहरूले आफ्नो भ्रष्ट स्थितिहरूबारे कहिल्यै कुरा गर्दैनन्—तिनीहरू सधैँ आफू ठिक छु भनी सोच्छन्। र थाहै नपाई तिनीहरू देखावटी गर्न थाल्छन्: “मैले विश्‍वास गरेको यत्तिका वर्षमा, धेरै सतावट र धेरै कठिनाइ भोगेको छु। के तपाईंहरूलाई थाहा छ, मैले यो सबै कसरी पार गरेँ?” के यो अहङ्कारी स्वभाव हो? तिनीहरू के कारण आफ्नो प्रदर्शन गर्छन्? (मानिसहरूलाई उसको आदर गर्न लगाउन।) मानिसहरूलाई उसको आदर गर्न लगाउनुको उसको मनसाय के हो? (यस्ता मानिसहरूका मनमा उसले हैसियत पाउन।) जब कसैका मनमा तैँले हैसियत पाउँछस्, तब ऊ तेरो सङ्गतमा हुँदा, उसले तेरो श्रद्धा गर्छ, र विशेष गरी तँसित बोल्दा ऊ शिष्ट बन्छ। उसले सधैँ तेरो मान गर्छ, उसले सधैँ सबै कुरामा तँलाई प्राथमिकता दिन्छ, ऊ तेरोसामु झुक्छ, अनि उसले तेरो चापलुसी गर्छ र आज्ञा मान्छ। सबै कुरामा, तिनीहरू तँलाई खोज्छन् र तँलाई निर्णयहरू गर्न दिन्छन्। र तँलाई यसबाट आनन्द अनुभूति हुन्छ—तँलाई आफू अरू जो कोहीभन्दा बलियो र राम्रो लाग्छ। यो अनुभूति सबैलाई मन पर्छ। यो कसैको हृदयमा हैसियत हुनुको अनुभूति हो; मानिसहरू यसमा लिप्त हुन चाहन्छन्। यही कारण मानिसहरु हैसियतका लागि होड गर्छन्, र सबैले अरूका हृदयमा हैसियत पाउन, अरूबाट सम्मान र आराधना प्राप्त गर्न चाहन्छन्। यदि तिनीहरूले यसबाट त्यस्तो आनन्द पाउन सकेनन् भने, तिनीहरू हैसियतको पछि लाग्दैनन्। उदाहरणका लागि, यदि कसैका मनमा तेरो हैसियत छैन भने, तिनीहरू तेरो समान स्तरमा रहने छन्, तँलाई आफू समान व्यवहार गर्ने छन्। तिनीहरूले आवश्यक पर्दा तेरो खण्डन गर्ने छन्, तिनीहरू तँप्रति शिष्ट हुने छैनन् वा तेरो सम्मान गर्ने छैनन्, र तैँले बोलीसक्नुअघि नै त्यहाँबाट हिँड्लान्। के तँलाई अप्ठ्यारो लाग्नेछ? मानिसहरूले यस्तो व्यवहार गर्दा तँलाई मन पर्दैन; तिनीहरूले तँलाई चापलुसी गरेको, तेरो मान गरेको, र हरेक क्षण तेरो आराधना गरेको तँलाई मन पर्छ। तँ सबै कुराको केन्द्र बनेको, सबथोक तेरो वरिपरि घुमेको, र सबैले तेरो कुरा सुनेको, तेरो मान गरेको, र तेरो निर्देशन पालन गरेको तँलाई मन पर्छ। के यो राजाजस्तै शासन गर्ने, शक्ति प्राप्त गर्ने चाहना होइन र? तेरो बोली र काम हैसियतको पछ्याइ र प्राप्तिद्वारा प्रेरित हुन्छन्, र तँ यसका लागि अरूसँग लडाइँ, खोसाखोस र प्रतिस्पर्धा गर्छस्। तेरो लक्ष्य पद कब्जा गर्नु, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई तेरो कुरा सुन्न, तेरो समर्थन र आराधना गर्न लगाउनु हो। तैँले त्यो ओहोदा लिइसकेपछि, शक्ति प्राप्त गरेको हुन्छस् अनि हैसियत, अरूको प्रशंसा, र त्यो पदसँगै आउने अन्य सबै सुविधाहरूको लाभ उठाउन सक्छस्। मानिसहरू सधैँ भेष बदल्छन्, अरूको अगाडि प्रदर्शन गर्छन्, आडम्बर गर्छन्, स्वाङ पार्छन्, र आफू सिद्ध छु भनी अरूलाई सोच्न लगाउन आफूलाई सुशोभित पार्छन्। यसमा तिनीहरूको लक्ष्य नै हैसियत प्राप्त गर्नु हो, ताकि तिनीहरूले हैसियतका फाइदाहरूको आनन्द लिन सकून्। यदि तँ यो विश्‍वास गर्दैनस् भने, यसबारे ध्यानपूर्वक विचार गर्: तँ किन सधैँ मानिसहरूलाई तेरो आदर गर्न लगाउन चाहन्छस्? तँ तिनीहरूलाई तेरो आराधना र मान गर्न लगाउन चाहन्छस्, ताकि तैँले अन्ततः शक्ति लिन र हैसियतका फाइदाहरूको आनन्द लिन सक्। तैँले यति बेस्सरी खोजेको हैसियतबाट धेरै फाइदा पाउने छस्, र अरूले ठ्याक्कै यी नै फाइदाहरूको ईर्ष्या र चाह गर्छन्। जब मानिसहरूले हैसियतले दिने धेरै फाइदाहरूको स्वाद पाउँछन्, यसको तिनीहरूलाई नशा लाग्छ, र तिनीहरू त्यो विलासी जीवनमा लिप्त हुन्छन्। मानिसहरू यो जीवन मात्र खेरो गएको छैन भन्‍ने सोच्छन्। भ्रष्ट मानव यी कुरामा लिप्त भएर रमाउँछ। तसर्थ, व्यक्तिले निश्चित पद प्राप्त गरेर यसबाट प्राप्त हुने विभिन्न लाभहरू पाउन थालेपछि यी पापमय मोजमज्जाको निरन्तर तीव्र लालसा गर्छ, ती कहिल्यै नत्याग्ने हदसम्म पुग्छ। मुख्यतः प्रसिद्धि र हैसियतको पछ्याइ निश्चित पदबाट प्राप्त हुने फाइदाहरूमा रमाउने, राजाझैँ शासन गर्ने, परमेश्‍वरका चुनिएका मानिसहरूमाथि नियन्त्रण जमाउने, सबै कुरामा प्रभुत्व जमाउने र आफ्नो हैसियतका फाइदाहरूमा विलासी जीवन जिउन र पापमय मोजमज्जामा लिप्त हुन सक्ने स्वतन्त्र राज्य स्थापना गर्ने इच्छाले प्रेरित हुन्छ। शैतानले मानिसहरूलाई धोका दिन, छल गर्न र मूर्ख बनाउन र तिनीहरूमा झूटो छाप छोड्न सबै प्रकारका तरिकाहरू प्रयोग गर्छ। यसले मानिसहरूलाई त्यसको प्रशंसा गर्न र त्योसँग डराउन लगाउन डर-धम्कीसमेत प्रयोग गर्छ, यसको अन्तिम लक्ष्य तिनीहरूलाई त्यसप्रति समर्पित हुन र त्यसको आराधना गर्न लगाउनु हो। यही कुराले शैतानलाई खुसी तुल्याउँछ; त्यसको लक्ष्य मानिसहरूलाई जित्न परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने पनि हो। त्यसैले, जब तिमीहरू अन्य मानिसमाझ हैसियत र प्रतिष्ठाका लागि लड्छौ, तिमीहरू केका लागि लडिरहेका हन्छौ? के यो साँच्चै प्रसिद्धिका लागि हो? होइन। तँ वास्तवमा त्यो प्रसिद्धिले तँलाई दिने फाइदाहरूका लागि लडिरहेको हुन्छस्। यदि तँ सधैँ ती लाभहरू पाउन चाहन्छस् भने, तिनका लागि लड्नुपर्ने हुन्छ। तर यदि तैँले ती लाभहरूलाई महत्त्व दिँदैनस् र “मानिसहरूले मलाई व्यवहार गर्ने तरिकाले केही फरक पार्दैन। म त साधारण व्यक्ति हुँ। म यस्तो राम्रो व्यवहारको योग्य छैनँ, न त म व्यक्तिको आराधना गर्न नै चाहन्छु। मैले साँच्चै आराधना गर्नुपर्ने र डराउनुपर्ने त परमेश्‍वर मात्र हुनुहुन्छ। उहाँ मात्र मेरा परमेश्‍वर र प्रभु हुनुहुन्छ। कुनै व्यक्ति जतिसुकै असल किन नहोस्, उसको क्षमता जति नै धेरै किन नहोस्, उसको प्रतिभा जति नै विशाल किन नहोस्, उसको छवि जति नै सानदार वा सिद्ध किन नहोस्, ऊ मेरो श्रद्धाको वस्तु होइन किनभने ऊ सत्यता होइन। ऊ सृष्टिकर्ता होइन; ऊ मुक्तिदाता होइन, र उसले योजनाबद्ध गर्न वा मानिसको भाग्यमामाथि सार्वभौम शासन गर्न सक्दैन। ऊ मेरो आराधनाको वस्तु होइन। कुनै पनि मानव व्यक्ति मेरो आराधनाको योग्य छैन,” भनेर भन्छस् भने, के यो सत्यताअनुरूप हुँदैन र? यसको विपरीत, यदि तँ अरूको आराधना गर्दैनस् भने, र तिनीहरूले तँलाई आराधना गर्न थाले भने, तैँले तिनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? तैँले तिनीहरूलाई त्यसो गर्न रोक्ने उपाय खोज्नैपर्छ, र तिनीहरूलाई यस्तो मानसिकताबाट मुक्त हुन मद्दत गर्नैपर्छ। तैँले तिनीहरूलाई तेरो साँचो रूप देखाउने मार्ग खोज्नैपर्छ, र तिनीहरूलाई तेरो कुरूपता र साँचो प्रकृति हेर्न दिनैपर्छ। मुख्य कुरा भनेको तेरा क्षमता जति राम्रो भए पनि, तँ जति नै उच्च शिक्षित भए पनि, तँ जति नै ज्ञानी, वा जति नै बुद्धिमानी भए पनि, तँ केवल साधारण व्यक्ति होस् भनेर मानिसहरूलाई बुझ्न लगाउनु हो। तँ कसैको प्रशंसा वा आराधनाको वस्तु होइन। सर्वप्रथम, तँ आफ्ना स्थानमा दृढ रहनैपर्छ, र गल्तीहरू गरेपछि वा आफूलाई लज्जित पारेपछि पटक्कै पछि हट्नु हुँदैन। गल्ती गरेपछि वा आफूलाई लज्जित पारेपछि, यदि तैँले यसलाई स्वीकार गर्न नसक्ने मात्र होइन, तर यसलाई लुकाउन वा सेतो पोत्न छलको प्रयोग पनि गर्छस् भने, तेरो गल्ती दोबर-तेबरह हुन्छ र तँ झनै कुरूप देखिन्छस्। तेरो महत्त्वाकाङ्क्षा अझ स्पष्ट हुन्छ। भ्रष्ट मानवजाति आफ्‍नो वास्तविकता लुकाउन सिपालु हुन्छन्। तिनीहरूले जे काम गरे पनि वा जस्तो भ्रष्टता प्रकट गरे पनि, आफ्‍नो वास्तविकता सधैँ लुकाउनैपर्छ। यदि कुनै गलत कुरा हुन्छ वा तिनीहरूले गलत काम गरे भने, तिनीहरू अरूलाई दोष लगाउन चाहन्छन्। तिनीहरू असल कुराहरूको श्रेय आफै लिन चाहन्छन्, र खराब कुराको दोष अरूलाई दिन चाहन्छन्। के वास्तविक जीवनमा यस्ता धेरै देखावटीपन हुँदैनन् र? एकदमै धेरै हुन्छन्। गल्ती गर्नु वा देखावटी रूप धारण गर्नु: यीमध्ये कुन चाहिँ स्वभावसँग सम्बन्धित छ? देखावटी रूप धारण गर्नु स्वभावसित सम्बन्धित कुरा हो, यसमा घमण्डी स्वभाव, दुष्टता र छलीपन सामेल छन्; र परमेश्‍वरले यसलाई विशेष रूपमा तुच्छ ठान्‍नुहुन्छ। वास्तवमा, जब तैँले आफ्‍नो वास्तविक रूप लुकाउँछस्, तब के भइरहेको छ भनेर सबैले बुझ्छन्, तर तँ अरूले देख्दैनन् भन्‍ने सोच्छस्, र इज्‍जत बचाउन र तैँले केही पनि गलत गरेको छैनस् भनेर सबैलाई सोच्‍ने बनाउन तैँले सक्दो तर्क गर्छस् र आफूलाई निर्दोष साबित गर्ने प्रयास गर्छस्। के यो मूर्खता होइन र? अरूले यसबारेमा के सोच्छन्? तिनीहरूलाई कस्तो अनुभव हुन्छ? दिक्क र तुच्छ लाग्छ। यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही प्रकारले लिन सक्छस्, र सबैलाई यसबारे कुराकानी र टीकाटिप्पणी गर्न दिन्छस् र त्यसबाट असल-खराब छुट्याउन सक्छस्, अनि यसबारेमा खुलस्त हुन र यसलाई चिरफार गर्न सक्छस् भने, तेरो बारेमा सबैको विचार के हुनेछ? तिनीहरूले तँ इमान्दार व्यक्ति होस् भन्‍नेछन् किनकि तेरो हृदय परमेश्‍वरका लागि खुला छ। तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय देख्न सक्नेछन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गर्छस् भने, मानिसहरूले तँलाई आदर गर्नेछैनन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनी भन्‍नेछन्। यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गर्दैनस् भने, यदि तँ आफ्नो गल्ती स्वीकार्न सक्छस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भनी भन्‍नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा दोष र कमी-कमजोरी हुन्छ। अनि वास्तवमा, सबैसित उही भ्रष्ट स्वभाव हुन्छ। तैँले आफैलाई अरूभन्दा धेरै महान्, सिद्ध, र दयालु नसोच्; त्यसो गर्नु बिलकुलै अनुचित छ। मानिसहरूको भ्रष्ट स्वभाव अनि सार र तिनीहरूको भ्रष्टताको साँचो अनुहारबारे तँलाई स्पष्ट भएपछि, तँ तेरा आफ्नै गल्तीहरूलाई ढाकछोप गर्ने कोसिस गर्नेछैनस्, न त अरू मान्छेले गल्ती गर्दा तँ तिनीहरूप्रति नराम्रो विचार नै पाल्नेछस्, तैँले यी दुवै कुरालाई सही प्रकारले सामना गर्न सक्‍नेछस्। तब मात्र तँ समझदार हुने छस् र मूर्ख कुराहरू गर्ने छैनस्, र यसले तँलाई बुद्धिमान् बनाउने छ। बुद्धि नभएकाहरू मूर्ख मानिसहरू हुन् र तिनीहरू पर्दापछाडि गोप्य कुरा गर्दै, सधैँ आफ्ना ससाना गल्तीहरूमा अल्झिरहन्छन्। यो हेर्दै घिन लाग्छ। वास्तवमा, तैँले जे गरिरहेको हुन्छस् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तँ अझै निर्लज्ज बनी देखावटी गर्छस्। अरूलाई, यो जोकरको काम जस्तो लाग्छ। के यो मूर्खता होइन? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूसँग कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू आफ्नो अहम् कहिल्यै छोड्दैनन्, तिनीहरू अरू सबैभन्दा फरक छन्, र अरूभन्दा बढी इज्‍जतदार छन् भनी सोच्छन्, यो अहङ्कार र आत्मधर्मीपन हो, यो मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक बुझाइ हुँदैन, हुन्छ त? जुन विषयहरूमा तँ मूर्ख र निर्बुद्धि हुन्छस् ती त्यस्ता विषयहरू हुन् जसका बारेमा तँसित कुनै आत्मिक समझ हुँदैन, र तैँले सजिलैसँग सत्यतालाई बुझ्दैनस्। कुराको वास्तविकता यही हो।

भ्रष्ट स्वभाव रातारात परिवर्तन हुँदैन। सबै मामिलामा आफूलाई निरन्तर आत्मचिन्तन र जाँच गर्नैपर्छ। परमेश्‍वरको वचनका प्रकाशमा आफ्ना कार्य र व्यवहारहरू जाँच्नैपर्छ, आफैलाई बुझ्ने प्रयास गर्नैपर्छ, र सत्यता अभ्यास गर्ने बाटो खोज्नैपर्छ। भ्रष्ट स्वभाव हटाउने तरिका यही हो। दैनिक जीवनमा प्रकट हुने भ्रष्ट स्वभावबारे चिन्तन र खोजबिन गर्न, सत्यता बुझाइको आधारमा चिरफार गर्न र खुट्ट्याउन, अनि क्रमिक रूपमा सफलता हासिल गर्न जरुरी छ, जसले गर्दा सत्यता अभ्यास गर्न र आफ्ना सबै कार्यलाई सत्यताअनुरूप बनाउन सकिन्छ। यस्तो पछ्याइ, अभ्यास र स्वबुझाइद्वारा, भ्रष्टताका यी प्रकाशहरू कम हुन थाल्छन्, र अन्ततः स्वभाव परिवर्तन हुने छ भन्‍ने आशा पलाउँछ। यो नै मार्ग हो। स्वभाव परिवर्तन जीवन वृद्धिको कुरा हो। व्यक्तिले सत्यता बुझेर यसको अभ्यास गर्नैपर्छ। सत्यता अभ्यास गरेर मात्र भ्रष्ट स्वभावको समस्या हल गर्न सकिन्छ। यदि कुनै भ्रष्ट स्वभाव निरन्तर प्रकट भइरहन्छ, हरेक कार्य र बोलीमा समेत प्रकट भइरहन्छ भने, यसको अर्थ स्वभाव परिवर्तन भएको छैन। भ्रष्ट स्वभावसँग सम्बन्धित कुनै पनि मामिलालाई गम्भीरतापूर्वक विश्लेषण र खोजबिन गर्नुपर्छ। भ्रष्ट स्वभावको मूल कारण पत्ता लगाएर समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्ने एकमात्र तरिका यही हो। तैँले यो मार्ग फेला पारिसकेपछि तेरो स्वभाव परिवर्तन हुने आशा पलाउँछ। यी खोक्रा कुरा होइनन्; ती त वास्तविक जीवनसँग सान्दर्भिक छन्। मुख्य कुरा भनेको व्यक्तिविशेषहरू सत्यता वास्तविकताहरूमा पूर्ण हृदयले र लगनशील भई चल्न सक्छन् कि सक्दैनन् र सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् भने, बिस्तारै आफ्नो भ्रष्ट स्वभाव फाल्न थाल्न सक्छन्। त्यसपछि तिनीहरू परमेश्‍वरको मापदण्ड र आफ्नो स्थानअनुसार चल्न सक्छन्—अर्का शब्दमा भन्नुपर्दा, तिनीहरू आफूलाई आफ्नो स्थानअनुसार आचरणमा ढाल्न सक्छन्। तिनीहरूले आफ्नो ठाउँ पत्ता लगाएर, सृष्टि गरिएको प्राणीका रूपमा आफ्ना भूमिकामा दृढ बनेर, अनि साँच्चै परमेश्‍वरको आराधना गर्ने र उहाँप्रति समर्पित हुने व्यक्ति बनेर, परमेश्‍वरबाट अनुमोदन पाउनेछन्।

फेब्रुवरी २०, २०२०

अघिल्लो:  आफ्‍नो कर्तव्य राम्ररी निभाउनका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ

अर्को:  सत्य बुझ्नेहरूले मात्र आत्मिक कुराहरू बुझ्छन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger