आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ

के अब तिमीहरूसँग आफूलाई चिन्ने, जीवन प्रवेश गर्ने, र परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्ने तरिका छ? के तिमीहरूसँग लक्ष्य वा दिशा छ? तिमीहरूसँग केही विचार हुनुपर्छ, किनकि हामीले इमानदार व्यक्ति बन्ने, आफूलाई चिन्ने, कसरी परमेश्‍वरको वचन खाने र पिउने, समस्या समाधान गर्न कसरी सत्यता सङ्गति गर्नुपर्छ, आफ्नो कर्तव्य निर्वाह गर्दा कसरी मिलेर सहकार्य गर्नुपर्छ, कसरी दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कासँग सामान्य सम्बन्ध स्थापित गर्नुपर्छ भन्‍ने इत्यादि विषयहरूमा निकै सङ्गति गरिसकेका छौँ। अब तिमीहरू परमेश्‍वरप्रति विश्‍वाससम्बन्धी सत्यताका सबै पक्षमा अझ बढी स्पष्ट छौ, तिमीहरूसँग केही व्यावहारिक ज्ञान छ र तिमीहरू पहिलेजस्तो छैनौ—जतिबेला तिमीहरू जुनै पक्षबारे सोधे पनि अस्पष्ट थियौ—के तिमीहरूलाई पहिलेभन्दा निकै राम्रो महसुस हुँदैन र? (अहिले मलाई झन्-झन् स्पष्ट भएझैँ लाग्छ।) “झन्-झन् स्पष्ट” हुनु ठिक हो। वास्तवमा, व्यक्तिले सत्यताको जुन पक्षको अभ्यास गरे पनि, चाहे यो इमानदार व्यक्ति बन्न होस्, वा आफूलाई परमेश्‍वरमा समर्पित हुन तालिम दिनलाई होस्, वा कसरी मित्रवत् रूपमा आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूसँग सहभागी हुन सकिन्छ भन्‍नेबारे होस्, वा सामान्य मानवतामा कसरी जिउनेबारे होस्, वा अरू यहीजस्तै कुरा होस्, तैँले सत्यताको जुनसुकै पक्षमा प्रवेश गर्न खोजे पनि, तैँले आत्मज्ञानको सवाललाई छोएर सुरू गर्नुपर्छ। के इमानदार व्यक्ति बन्नु आफूलाई चिन्‍नुसँग सम्‍बन्धित कुरा होइन र? तैँले आफ्‍नै छलीपन र बेइमानीलाई नचिनेसम्‍म तैँले इमानदारीको अभ्यास गर्नेछैनस्। जब तँलाई आफू परमेश्‍वरमा समर्पित हुन असफल भएको थाहा हुन्छ, तब मात्र तैँले उहाँप्रतिको समर्पण अभ्यास गर्न सक्नेछस्, वा उहाँमा समर्पित हुनको लागि आफूले गर्नुपर्ने कुराको खोजी गर्नेछस्। यदि तैँले आफूलाई चिनेको छैनस् भने, इमानदार व्यक्ति बन्ने, परमेश्‍वरमा समर्पित हुने, वा मुक्ति पाउने तेरा इच्छाहरू सबै खोक्रा हुन्। किनकि मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, र तिनीहरूलाई सत्यताको कुनै पनि पक्ष अभ्यास गर्न सहज हुँदैन, किनभने तिनीहरूको अभ्यास आफ्नो भ्रष्ट स्वभावद्वारा सधैँ कलङ्कित र बाधित हुन्छ। जब तँ सत्यताको कुनै पनि पक्ष अभ्यास गर्छस्, तब तेरो भ्रष्ट स्वभाव निश्चित रूपले आफै प्रकट हुनेछ र त्यसले इमानदार बन्ने तेरो प्रयासलाई रोक्‍नेछ, परमेश्‍वरप्रतिको तेरो समर्पणमा बाधा दिनेछ, र तेरा दाजुभाइ-दिदीबहिनीहरूप्रतिको तेरो धैर्य र सहनशीलतालाई रोकिदिनेछ। यदि तँ ती भ्रष्ट स्वभावहरूबारे चिन्तन गर्दैनस्, तिनलाई खोतलेर पत्ता लगाउँदैनस् र चिरफार गर्दैनस्, वा पहिचान गर्दैनस्, बरु सत्यता अभ्यास गर्न आफ्ना धारणा र कल्पनाहरूमा भर पर्छस् भने, तैँले केवल प्रावधानहरू मात्र पालना गरिरहेको हुनेछस्, किनकि तँ सत्यता बुझ्दैनस् र तँलाई कुनचाहिँ सत्यता सिद्धान्त पालना गर्ने भन्‍ने थाहा हुँदैन। त्यसकारण, व्यक्तिले सत्यताको जुन पक्षको अभ्यास गरिरहेको भए पनि, वा जे गरिरहेको भए पनि, तिनीहरूले सुरुमा चिन्तन गर्नुपर्छ र आफूलाई चिन्‍नुपर्छ। आफैलाई चिन्‍नु भनेको आफ्नो हरेक वचन र कर्मलाई, आफ्नो हरेक कार्यलाई चिन्‍नु हो; यो आफ्ना सोच र विचारहरूलाई, आफ्ना अभिप्राय र आफ्ना धारणा र कल्‍पनाहरूलाई जान्‍नु हो। तँलाई दुनियाँसित व्यवहार गर्ने शैतानको दर्शन अनि शैतानका विभिन्न विषका साथै परम्परागत सांस्कृतिक ज्ञान पनि थाहा हुनैपर्छ। तैँले सत्यता खोजी गरेर यी कुराहरू स्पष्टसँग खुट्याउनैपर्छ। त्यसरी, तैँले सत्यता बुझ्नेछस् र आफूलाई साँच्चै चिन्नेछस्। परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि एउटा व्यक्ति धेरै वटा असल व्यवहारहरूमा संलग्‍न भएको हुनसक्‍ने भए पनि, उसले अझै पनि धेरै कुराहरू स्पष्ट रूपमा देख्‍न सक्दैन, सत्यतालाई बुझ्‍न सक्‍ने त कुरै नगरे हुन्छ—तैपनि, तिनीहरूका धेरै वटा असल व्यवहारहरूका कारण, तिनीहरूलाई तिनीहरू पहिले नै सत्यता अभ्यास गरिरहेका छन्, परमेश्‍वरमा समर्पित भइसकेका छन्, र उहाँका अभिप्रायहरू पहिले नै धेरै पूरा गरिसकेका छन् भन्‍ने लाग्छ। जब तँलाई केही आइपर्दैन, तब तँलाई जे भनिएको छ तँ त्यही गर्न सक्छस्; तँलाई कुनै पनि कर्तव्य पूरा गर्नेबारेमा कुनै फिक्री हुँदैन, र तैँले कुनै विरोध गर्दैनस्। जब तँलाई सुसमाचार प्रचार गर्न भनिन्छ, तँ गुनासो गर्दैनस् र यो कष्ट सहन सक्छस्, र जब तँलाई यताउता दगुर्न र काम गर्न लगाइन्छ, वा कुनै तोकिएको काम गर्न लगाइन्छ, तैँले त्यो काम गर्छस्। यसकारण, तँलाई लाग्छ कि परमेश्‍वरमा समर्पित हुने र सत्यतालाई साँचो रूपमा पछ्याउने तँ नै होस्। तैपनि, यदि तँलाई गहन रूपमा, “के तँ इमानदार व्यक्ति होस्? के तँ साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति होस्? के तँ त्यो व्यक्ति होस् जसको स्वभाव परिवर्तन भएको छ?” भन्दै प्रश्‍न गर्ने हो भने—यदि हरेक व्यक्तिलाई परमेश्‍वरका वचनहरू सत्यतासँग तुलना गर्न अघि सारियो भने—सायद कोही पनि मापदण्डअनुसारको छैनन, र कुनै पनि व्यक्ति सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम हुनेछैन भनेर भन्न सकिन्छ। त्यसैले, भ्रष्ट मानवजाति सबैले आत्मचिन्तन गर्नैपर्छ। तिनीहरूले आफू जिउने स्वभाव र आफ्ना सबै काम र कार्यहरूका आधार हुने शैतानी दर्शन, तर्क, विधर्म र झुटा तर्कहरूबारे चिन्तन गर्नैपर्छ। तिनीहरूले आफूले भ्रष्ट स्वभाव प्रकट गर्नुको मूलजड, आफूले मनमानी ढङ्गमा कार्य गर्नुको सार, र आफू केमा र कसका लागि जिउँछन् भन्‍ने कुरामा चिन्तन गर्नैपर्छ। यदि यो कुरालाई सत्यतासँग तुलना गरेर हेर्ने हो भने, सबै मानिसहरू दोषी ठहरिनेछन्। यसको कारण के हो? मानवजाति गम्भीर रूपमा भ्रष्ट हुनु नै यसको कारण हो। मानिसहरू सत्यता बुझ्दैनन्, र तिनीहरू सबै आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरूमा अलिकति पनि आत्मज्ञान हुँदैन, तिनीहरू सधैँ आफ्नो धारणा र कल्पनाहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्छन्, कर्तव्यहरू आफ्नै रुचि र तरिकाअनुसार निर्वाह गर्छन्, र परमेश्‍वरको सेवा कसरी गर्ने भनेर धार्मिक सिद्धान्तहरू पछ्याउँछन्। त्यसमाथि, तिनीहरू अझै आफू विश्‍वासले भरिपूर्ण छु, आफ्ना कार्यहरू उचित छन् भनेर सोच्छन्, र आखिरमा तिनीहरूलाई आफूले धेरै पाएको छु भन्‍ने लाग्छ। तिनीहरूले पत्तै नपाई के सोच्न पुग्छन् भने तिनीहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार काम गरी नै रहेका छन्, तिनलाई पूर्ण रूपमा पूरा गरेका छन्, र तिनीहरूले पहिले नै परमेश्‍वरका मागहरू पूरा गरिसकेका छन् र उहाँको इच्‍छालाई पछ्याइरहेका छन्। यदि तँलाई यस्तै लाग्छ, वा यदि तँलाई परमेश्‍वरमाथिको तेरो धेरै वर्षको विश्‍वासमा, तैँले केही प्राप्तिहरू हासिल गरेको छस् भन्‍ने लाग्छ भने, तैँले आफैलाई सावधानीपूर्वक जाँच्न परमेश्‍वरको अघि अझ धेरै फर्किआउनैपर्छ। तैँले परमेश्वरसामु आफ्ना सबै कामकुरा पूर्णतया उहाँका अभिप्रायहरूअनुसार भएका छन् कि छैनन् भनी बुझ्न आफूले यत्तिका वर्षदेखि हिँडेको मार्गलाई हेर्नुपर्छ। आफ्नो कुन व्यवहार परमेश्‍वरको विरोधमा थियो, कुनचाहिँ उहाँप्रति समर्पित थियो, आफ्ना कार्यहरूले परमेश्‍वरका मागहरू पूरा गरेका र सन्तुष्ट पारेका छन् छैनन् भनी जाँच्। तैँले यी सबै कुरा स्पष्ट पार्नुपर्छ, किनभने त्यसपछि मात्र तैँले आत्म-सचेतना प्राप्त गर्नेछस्।

आत्मचिन्तन गर्नु र आफैलाई चिन्‍नुको चाबी यो हो: तैँले कुनै निश्‍चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्‍ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्छस् वा निश्‍चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तैँले आफैलाई ती क्षेत्रहरूमा चिन्नु र तँमा कुनै अशुद्धताहरू छन् कि भनेर, साथै तँभित्र भएका कुन-कुन कुराहरूले परमेश्‍वरको अभिप्रायहरू पूरा गर्न सक्दैनन् सो जान्नका लागि ती क्षेत्रहरूलाई अझ गहन रूपमा बुझ्‍नु त्यति नै उचित हुन्छ। उदाहरणका रूपमा हामी पावललाई लिऔँ। पावल विशेष रूपले जाने-बुझेको व्यक्ति थियो, उसले प्रचार गर्दा र काम गर्दा, धेरै दुःख भोग्यो, र धेरै मानिस विशेष गरी उनको खुट्टै पर्थे। फलस्वरूप, धेरै काम पूरा गरेपछि, उसलाई उसको निम्ति एउटा मुकुट राखिएको हुनेछ भन्‍ने लाग्यो। यसले उसलाई गलत बाटोतर्फ झन्-झन् टाढा पुऱ्यायो र अन्त्यमा ऊ परमेश्‍वरद्वारा दण्डित भयो। यदि, त्यस समयमा उसले आफ्नै बारेमा चिन्तन र चिरफार गरेको भए, उसले जसरी सोच्यो त्यसरी सोच्ने थिएन। अर्को शब्दमा भन्दा, पावलले प्रभु येशूका वचनहरूमा सत्यता खोजी गर्न ध्यान दिएको थिएन; उसले केवल आफ्नै धारणा र कल्पनाहरूमा विश्‍वास गरेको थियो। उसले केही असल कुराहरू गर्दैमा र केही असल व्यवहारहरू देखाउँदैमा परमेश्‍वरले उसलाई अनुमोदन गर्नुहुनेछ र उसलाई इनाम दिनुहुनेछ भनी उसले सोचेको थियो। अन्त्यमा, उसको आफ्नै धारणा र कल्पनाले उसको हृदयलाई दृष्टिहीन बनायो र उसको भ्रष्टताको सत्यता छोपिदियो। तर मानिसहरूले यो कुरा पत्ता लगाउन सकेनन्, र तिनीहरूलाई यी कुराहरूबारे कुनै ज्ञान थिएन, त्यसैले परमेश्‍वरले यो कुरा पर्दाफास गर्नुभन्दा पहिले, तिनीहरूले पावललाई हासिल गर्नुपर्ने एउटा मापदण्ड र जिउने उदाहरणको रूपमा लिए, र उसलाई तिनीहरूले आफूले बन्‍न खोजेको र चाहेको आदर्श ठाने। पावलको मामिला परमेश्‍वरका चुनिएका हरेक मानिसहरूका निम्ति एउटा चेतावनी हो। विशेष गरी परमेश्‍वरलाई पछ्याउने हामीहरूले जब आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छौँ र परमेश्‍वरको सेवा गर्ने क्रममा, हामी परमेश्‍वरप्रति अर्पित रहेको र हामीले परमेश्‍वरलाई प्रेम गर्ने गरेको महसुस गर्छौँ, र यस्तो समयमा, हामीले आफ्‍नो बारेमा मनन गर्नुपर्छ र हामीले लिएको मार्गको सन्दर्भमा हामीले आफूलाई अझै बढी बुझ्‍नुपर्छ, जुन अत्यावश्यक कुरा हो। यस्तो किन हुन्छ भने, तैँले जुन कुरालाई असल ठान्छस्, तैँले त्यसैलाई सही निर्धारित गर्छस्, र तैँले त्यसमा शङ्का नगर्ने, यसबारेमा मनन नगर्ने, वा यसमा परमेश्‍वरको विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर चिरफार गर्ने गर्दैनस्। उदाहरणका लागि, आफैलाई अत्यन्तै दयालु हृदय भएको ठान्‍ने कतिपय मानिसहरू पनि छन्। उनीहरू कहिल्यै अरूलाई घृणा र हानि गर्दैनन्, र उनीहरू सधैँ ती भाइ वा बहिनीलाई सहयोगको हात बढाउँछन्, जसको परिवार खाँचोमा परेको हुन्छ, ताकि तिनीहरूको समस्या अनसुल्झा नरहोस्; उनीहरूमा ठूलो दया-भाव हुन्छ, र सबैलाई सहायता गर्न उनीहरूको शक्तिले भ्याइञ्जेल सबै कुरा गर्छन्। तैपनि तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिँदैनन्, र तिनीहरूमा कुनै जीवन प्रवेश हुँदैन। त्यस्तो सहायताको परिणाम के हुन्छ? उनीहरूले आफ्नो जीवनलाई थाती राख्छन्, तैपनि आफैसँग अत्यन्तै खुसी भएका हुन्छन्, र उनीहरूले गर्ने सबै कुरामा अत्यन्त सन्तुष्ट हुन्छन्। यसबाहेक, उनीहरू आफूले गरेका सबै कुराहरूमध्ये कुनै कुरा पनि सत्यताविपरीत हुँदैन, र ती कुराले पक्कै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छन्, र आफूहरू परमेश्‍वरका साँचो विश्‍वासीहरू हौँ भन्‍ने विश्‍वास गर्दै यस कुराप्रति ठूलो गर्व गर्छन्। उनीहरू आफ्नो प्राकृतिक दयालुपनलाई पूँजीका रूपमा हेर्छन्, र उनीहरूले त्यसो गर्नेबित्तिकै, त्यसलाई सत्यताका रूपमा मानिलिन्छन्। वास्तवमा, उनीहरूले गर्ने सबै कुरा मानव भलाइ हो। उनीहरूले सत्यता अभ्यास गर्दै गर्दैनन्, किनकि उनीहरूले जे गर्छन् मानिसका सामु गर्छन्, परमेश्‍वरको सामु गर्दैनन्, र उनीहरूले परमेश्‍वरका मागहरू र सत्यताअनुरूप अभ्यास गर्ने कुरा त परै जाओस्। त्यसकारण, तिनीहरूका सबै कार्य व्यर्थ हुन्छन्। उनीहरूले गर्ने कुनै पनि कुरा सत्यताको अभ्यास वा परमेश्‍वरका वचनहरूको अभ्यास हुँदैन, झन् उहाँको इच्छा पछ्याउने कार्य हुनु त परै जाओस्; बरु, उनीहरूले अरूलाई सहायता गर्न मानवीय दया र असल व्यवहारको प्रयोग गर्छन्। सारांशमा, उनीहरूले गर्ने सबैकुरामा परमेश्‍वरका अभिप्रायहरू खोज्दैनन्, न त उनीहरूले उहाँका मागहरूअनुसार नै काम गर्छन्। परमेश्‍वरले मानिसको यस प्रकारको असल व्यवहारलाई अनुमोदन गर्नुहुन्‍न; परमेश्‍वरका लागि त्यो दोषी ठहराइनु हो र त्यो उहाँको सम्झनाको योग्य हुँदैन।

हरेक व्यक्तिले आफूलाई चिन्नु महत्त्वपूर्ण हुन्छ किनकि यसले कुनै व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्छ कि सक्दैन र मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने महत्त्वपूर्ण मामिलालाई प्रत्यक्ष असर गर्छ। यसलाई सामान्य कुरा नठान्। आफूलाई चिन्नु भनेको आफ्नो कार्य वा अभ्यासलाई बुझ्नु होइन, तर आफ्नो समस्याको सार जान्नु हो; आफ्नो विद्रोहीपनको जड र त्यसको सार जान्नु हो, आफूले सत्यता अभ्यास गर्न नसक्नुको कारण जान्नु हो, र आफूले सत्यता अभ्यास गर्दा उत्पन्न हुने र आफूलाई बाधा पुऱ्याउने कुराहरूलाई बुझ्नु हो। यी कुरा आफूलाई चिन्ने सबैभन्दा महत्त्वपूर्ण केही पक्ष हुन्। उदाहरणका लागि, चिनियाँ परम्परागत संस्कृतिको सधाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूको परम्परागत धारणाहरूमा आफ्‍ना आमाबुबाप्रति भक्तिभाव हुनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। छोराछोरीको धर्म पालन नगर्ने जोसुकै अबफादार सन्तान हो। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएका हुन्छन्, र लगभग हरेक परिवारमा, साथै हरेक स्कूल र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छ। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले “आमाबुबाप्रतिको भक्ति कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि मैले यस कुराको पालना गरिनँ भने, म असल व्यक्ति बन्‍नेछैन—म अबफादार सन्तान हुनेछु, अनि मलाई समाजले निन्दा गर्नेछ। म विवेक नभएको व्यक्ति हुनेछु,” भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के परमेश्‍वरले व्यक्तिले आफ्‍ना आमाबुबाप्रति भक्तिभाव देखाउनुपर्छ भनेर माग भन्‍नुभएको छ? के यो परमेश्‍वरका विश्‍वासीहरूले बुझ्‍नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्‍वरले केही सिद्धान्तहरूबारे मात्रै सङ्गति गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्‍वर मानिसबाट यही माग गर्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्‍याउँछ भन्‍ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति वितृष्णा राख्ने, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्‍वरले पनि उनीहरूलाई घिनाउनुहुन्छ र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घिनाउन सक्छस्? उनीहरूले परमेश्‍वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्‍चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्‍नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्‍वरले माग गर्नुभएअनुसार, परमेश्‍वरले प्रेम गर्नुे कुरालाई प्रेम गर्नूपर्छ, र परमेश्‍वरले घृणा गर्ने कुरालाई घृणा गर्नूपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?” “जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छन्, उनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।” यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: “परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।” यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्। यदि कुनै व्यक्ति परमेश्‍वरलाई इन्कार र विरोध गर्ने व्यक्ति हो, र ऊ परमेश्‍वरद्वारा श्रापित भएको छ, तर ऊ तेरो आमा वा बुबा, वा आफन्त हो, र तैँले बुझ्न सकेसम्म ऊ दुष्ट व्यक्ति जस्तो देखिँदैन, र उसले तँलाई राम्रो व्यवहार गर्छ भने, त्यो व्यक्तिलाई घृणा गर्न तँलाई गाह्रो पर्न सक्छ, र तँ ऊसित निकटतम सम्पर्कमै रहिरहन सक्छस्, र ऊसँगको तेरो सम्बन्ध नबदलिन सक्छ। परमेश्‍वरले त्यस्ता व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ भन्‍ने सुनेर तँ विचलित हुनेछस्, र तँ परमेश्‍वरको पक्षमा उभिन र तिनीहरूलाई निर्दयतापूर्वक अस्वीकार गर्न सक्‍नेछैनस्। तँ सधैँ भावनाको बन्धनमा हुन्छस्, र तँ तिनीहरूलाई पूर्ण रूपमा त्याग्‍न सक्दैनस्। यसको कारण के हो? तेरो भावना अत्यन्तै प्रगाढ भएको हुनाले यस्तो हुन्छ, र यसले तँलाई सत्यता अभ्यास गर्नबाट रोक्छ। त्यस व्यक्तिले तँसँग राम्रो व्यवहार गर्छ, त्यसकारण तैँले उसलाई घृणा गर्नै सक्दैनस्। उसले तँलाई चोट पुर्‍याएको छ भने मात्रै तैँले उसलाई घृणा गर्न सक्छस्। के त्यो घृणा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ? यसको साथै, तँ परम्‍परागत धारणाहरूको बन्धनमा हुन्छस्, र तिनीहरू तेरा बुबाआमा वा आफन्त हुन्, त्यसकारण तैँले तिनीहरूलाई घृणा गरिस् भने, तँलाई समाजले गाली गर्नेछ र जनमतले तेरो निन्दा गर्नेछ र आमाबुबाप्रति भक्तिभाव नराख्ने, विवेक नभएको, र मानवसमेत बन्‍न नसकेको भनी दोष लाउनेछ भन्‍ने सोच्छस्। तँलाई आफू दैवद्वारा दोषी ठहरिएर दण्डित हुनेछु भन्‍ने लाग्छ। तैँले तिनीहरूलाई घृणा गर्न चाहिस् नै भने पनि तेरो विवेकले तँलाई त्यसो गर्न दिँदैन। किन तेरो विवेकले यसरी काम गर्छ? किनकि तँभित्र तँ बालकै छँदादेखि तेरो परिवारको विरासतद्वारा, तैँले आमाबुबाबाट पाएको शिक्षाद्वारा, र परम्परागत संस्कृतिको सिकाइद्वारा एउटा सोच्ने तरिकाको बीजारोपण भएको हुन्छ। यसरी सोच्ने तरिकाले तेरो हृदयमा निकै गहिरो जरा गाडेको हुन्छ, र यसले गर्दा तँ पितृभक्ति पूर्णतया प्राकृतिक र उचित कुरा हो, र आफ्‍ना पितापुर्खाबाट आएका जुनसुकै कुरा पनि सधैँ असल हुन्छ भन्‍ने गलत विश्‍वास गर्छस्। तैँले सुरुमा यही कुरा सिकेको थिइस् र यही नै तँमा हाबी रहन्छ, जसले तेरो आस्थामा र सत्यता स्वीकार गर्ने कार्यमा ठूलो रोकावट र बाधा पैदा गर्छ, र तँ परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न, अनि परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्न असमर्थ हुन्छस्। वास्तवमा, तेरो जीवन परमेश्‍वरबाट आएको हो, तेरा आमाबुबाबाट होइन भन्‍ने कुरा तँलाई हृदयमा थाहा हुन्छ, र तैँले तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास नगर्ने मात्र होइन, परमेश्‍वरको विरोधसमेत गर्छन्, र परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ भन्‍ने कुरा जान्दछस् र तँ परमेश्‍वरमा समर्पित हुनुपर्छ, उहाँको पक्षमा उभिनुपर्छ भन्‍ने तँलाई थाहा छ, तर तैँले तिनीहरूलाई चाहेर पनि घृणा गर्न सक्दैनस्। तँ त्यो भावनात्मक अवरोध पार गर्न सक्दैनस्, तँ आफ्नो हृदय कठोर बनाउन सक्दैनस्, र तँ सत्यता अभ्यास गर्न सक्दैनस्। यसको मूल कारण के हो? शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न नसक्‍ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्‍वरका वचनहरू स्विकार्न नसक्‍ने तुल्याइएको छ। तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र बाधा पैदा गर्छन्, र तँलाई सत्यता र परमेश्‍वरका मागहरूको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्‍ने बनाउँछन्। केही समयसम्‍म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्‍परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्‍वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउने बारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी कुराहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्‍ने सोचिरहेको हुन्छस्। समाजले गरेको निन्दा सहन नसकेर, तँ सत्यता र परमेश्‍वरका वचनहरू त्याग्‍न रोज्छस्, आफूलाई नैतिकताका परम्‍परागत धारणाहरू र शैतानको प्रभावमा सुम्पन्छस्, परमेश्वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँछस्। मलाई भन् त, के मानिस दयनीय छैन र? के उसलाई परमेश्‍वरको मुक्ति चाहिएको छैन र? कतिपय मानिसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, तर छोराछोरीले पालन गर्नुपर्ने धर्मको मामिलाबारे अझै पनि अन्तर्ज्ञान पाएका हुँदैनन्। तिनीहरूले वास्तवमै सत्यता बुझ्दैनन्। तिनीहरू यी सांसारिक सम्बन्धहरूको पर्खाल कहिल्यै नाघ्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आस्था नै हुन्छ, झन् सङ्कल्प हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्दैनन्। केही मानिस यसलाई छल्लङ्गै देख्न सक्छन्, र तिनीहरूलाई वास्तवमा यसो भन्न सजिलो हुँदैन, “मेरा आमाबुबा परमेश्‍वरमा विश्‍वास गर्नुहुन्न, र उहाँहरू मलाई विश्‍वास गर्न रोक्नुहुन्छ। उहाँहरू दियाबलस हुनुहुन्छ।” एउटा गैरविश्‍वासीले पनि परमेश्‍वर हुनुहुन्छ, वा उहाँले स्वर्ग र पृथ्वी अनि सबै थोक सृष्टि गर्नुभयो, वा मानिसलाई उहाँले सृष्टि गर्नुभएको हो भनी विश्‍वास गर्दैन। यहाँ त यस्तो भन्‍ने मानिसहरू पनि छन्, “मान्छेलाई उसका आमाबुबाले जीवन दिन्छन् र उसले उनीहरूलाई सम्मान गर्नुपर्छ।” यस्तो विचार वा दृष्टिकोण कहाँबाट आउँछ? के यो शैतानबाट आउँछ? हजारौँ वर्षदेखि परम्परागत संस्कृतिले मानिसलाई यसरी नै शिक्षा दिँदै र भ्रममा पार्दै आएको छ, र उसलाई परमेश्‍वरको सृष्टि र सार्वभौमिकता अस्वीकार गर्ने तुल्याएको छ। शैतानको बहकाउ र नियन्त्रण नभएको भए, मानवजातिले परमेश्‍वरको कामबारे अनुसन्धान गर्नेथिए र उहाँका वचनहरू पढ्नेथिए, अनि तिनीहरूलाई आफू परमेश्‍वरद्वारा सृष्टि गरिएको हो, र आफ्नो जीवन परमेश्‍वरले दिनुभएको हो; आफूसँग भएका सबै कुरा परमेश्‍वरले दिनुभएको हो, र आफू परमेश्‍वरप्रति आभारी हुनुपर्छ भन्‍ने थाहा हुनेथियो। कसैले हाम्रो भलो गर्छ भने हामीले त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ—विशेष गरी यो कुरा हाम्रा आमाबुबामा लागू हुन्छ जसले हामीलाई जन्माएर हुर्काउनुभयो; यो सबै परमेश्‍वरले नै बन्दोबस्त गर्नुहुन्छ। सबैमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ; मानिस त सेवाको औजार मात्र हो। यदि कसैले परमेश्‍वरप्रति समर्पित हुन आफ्ना आमाबुबा, वा आफ्नो पति (वा पत्नी) र छोरोछोरीलाई छेउ लगाउन सक्छ भने, त्यो व्यक्ति दह्रिलो हुनेछ र ऊसँग परमेश्‍वरसामु अझ बढी इन्साफको बोध हुनेछ। तर मानिसहरूलाई राष्ट्रिय शिक्षा र परम्परागत सांस्कृतिक विचार, धारणा र नैतिक कथनको बन्धन तोड्न सजिलो हुँदैन, किनकि यी शैतानी विष र दर्शनहरूले मानिसको हृदयमा धेरै समयदेखि जरा गाडेका छन्, जसले गर्दा परमेश्‍वरको वचन सुन्न र उहाँमा समर्पित हुनबाट रोक्ने सबै प्रकारको भ्रष्ट स्वभाव उत्पन्न भएका छन्। भ्रष्ट मानिसको हृदयको गहिराइमा सत्यता अभ्यास गर्ने र परमेश्‍वरको इच्छा पछ्याउने आधारभूत इच्छाको कमी हुन्छ। त्यसैले, मानिसहरू परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्छन्; तिनीहरूले उहाँलाई कुनै पनि बेला धोका दिन र त्याग्न सक्छन्। यदि कुनै व्यक्तिमा भ्रष्ट स्वभाव अनि शैतानी विष र दर्शनहरू छन् भने, के उसले सत्यता स्विकार्न सक्छ? के ऊ परमेश्‍वरप्रति समर्पित हुन सक्छ? वास्तवमा यो एकदमै कठिन हुन्छ। यदि यो परमेश्‍वर स्वयम्‌को न्यायको काम नहुँदो हो त, गम्भीर रूपले भ्रष्ट मानवजातिले मुक्ति पाउन सक्थेनन्, र तिनीहरू आफ्नो सबै शैतानी स्वभावबाट शुद्ध हुन सक्थेनन्। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि र तिनीहरू उहाँलाई पछ्याउन इच्छुक भए पनि, परमेश्‍वरको कुरा सुन्न र उहाँमा समर्पित हुन सक्दैनन्, किनकि मानिसहरूलाई सत्यता स्विकार्न अति धेरै प्रयास चाहिन्छ। तसर्थ, सत्यता पछ्याउनुअघि आफूलाई चिन्ने र आफ्नो भ्रष्ट स्वभाव हटाउने बाटो पछ्याउनैपर्छ। त्यसपछि मात्र सत्यता स्विकार्न सजिलो हुनेछ। आफूलाई चिन्नु निश्चय नै सजिलो कुरा होइन; सत्यता स्विकार्नेहरूले मात्र आफूलाई चिन्न सक्छन्। त्यसैले आफूलाई चिन्नु एकदमै महत्त्वपूर्ण छ, र यो तिमीहरूले अदेखा गर्नै नहुने कुरा हो।

मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले तिनीहरूलाई सत्यता स्विकार्न एकदमै कठिन हुन्छ, र आफूलाई चिन्न झनै कठिन हुन्छ। यदि तिनीहरू मुक्ति चाहन्छन् भने, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव र प्रकृति सारलाई चिन्नैपर्छ। त्यसपछि मात्र तिनीहरूले साँचो रूपमा सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिस शब्द र धर्मसिद्धान्तहरू बोल्न सकेकामै सन्तुष्ट हुन्छन्, र आफूले सत्यता बुझ्छु भन्‍ने सोच्छन्। यो ठूलो गल्ती हो, किनकि आफूलाई नचिन्नेहरूले सत्यता बुझ्दैनन्। त्यसैले, मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा सत्यता बुझ्न र प्राप्त गर्न आफूलाई चिन्नमा ध्यान दिनैपर्छ। हामी जहिले वा जहाँ भए पनि, र जस्तोसुकै वातावरणमा भए पनि, यदि आफूलाई चिन्न, आफ्नो भ्रष्ट स्वभावलाई उदाङ्गो पार्न र चिरफार गर्न अनि आफूलाई चिन्नुलाई पहिलो प्राथमिकता दिन सक्छौँ भने पक्कै केही पाउनेछौँ, र बिस्तारै आफूलाई गहिरिएर बुझ्दै जानेछौँ। त्यससँगै, हामी सत्यता अभ्यास गर्नेछौँ, परमेश्‍वरलाई प्रेम गर्ने र उहाँमा समर्पित हुने अभ्यास गर्नेछौँ, र झन्-झन् धेरै सत्यता बुझ्दै जानेछौँ। त्यसपछि स्वभावतः सत्यता हाम्रो जीवन बन्नेछ। तर यदि तँ आफूलाई चिन्‍न प्रवेश गर्दैनस् भने, तैँले सत्यता अभ्यास गर्छु भन्नु गलत हुन्छ किनकि तँ हर तरिकाको सतही घटनाद्वारा अन्धो तुल्याइएको हुन्छस्। तँलाई आफ्नो स्वभाव सुध्रिएको छ, आफूमा पहिलेभन्दा बढी विवेक र समझ छ, आफू पहिलेभन्दा बढी कोमल, अरूप्रति अझ विचारशील र सहनशील, मानिसहरूसँग अझ बढी धैर्यवान् र क्षमाशील भएको छु भन्‍ने लाग्छ, अनि परिणामस्वरूप तँ आफू सामान्य मानवतामा जिइरहेको छु अनि आफू एकदमै राम्रो र सिद्ध व्यक्ति हुँ भन्ठान्छस्। तर परमेश्‍वरको नजरमा, तँ अझै पनि उहाँद्वारा माग गरिएका मानकहरूमा धेरै पछि पर्छस्, अनि साँचो रूपले उहाँमा समर्पित हुन र उहाँलाई आराधना गर्नबाट कोसौँ टाढा छस्। यसले देखाउँछ कि तैँले सत्यता प्राप्त गरेको छैनस्, तँमा अलिकति पनि वास्तविकता छैन, र तँ मुक्तिको मानक पूरा गर्नदेखि अझै टाढा छस्। मानिसहरूले परमेश्‍वरका मागहरू पूरा गर्न कुन सत्यताहरू धारण गर्नुपर्छ भनेर बुझ्नैपर्छ। मानिसहरू अझै पनि बाहिरी असल व्यवहार र सत्यताको अभ्यासबीच भिन्नता छुट्याउन सक्दैनन्। अहिले मानिसमा हुने कुरा भनेको उसको बाहिरी व्यवहारमा थोरै परिवर्तन मात्र हो। आजभोलि, धेरैजसो मानिस बारम्बार भेला हुन्छन् र प्रवचन सुन्छन्, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर बस्न र सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छन्। तिनीहरू झगडा गर्दैनन्, र एकअर्कासँग सहनशील र धैर्यवान् हुन सक्छन्, र आफ्नो कर्तव्य निर्वाहमा पहिलेभन्दा होसियार हुन्छन्। तर तिनीहरूको सत्यता बुझाइ अति सतही हुन्छ, कति मामिलाहरूबारे तिनीहरूका सोच र दृष्टिकोण अझै पनि सत्यतादेखि टाढा वा सत्यताविपरीत हुन्छन्, र तिनीहरूका कतिपय दृष्टिकोण त परमेश्‍वरविरोधी समेत हुन्छन्। मानिसहरूले अझसम्म सत्यता प्राप्त गरेका छैनन् भनी दर्साउन यो काफी छ। त्यसैले हामीले आफूलाई बुझ्ने हरेक पक्षमा सत्यता खोज्नुपर्छ र आफूलाई अझ गहन रूपले चिन्ने प्रयास गर्नुपर्छ। यस सङ्गतिबाट, के तिमीहरूलाई आफूलाई चिन्न एकदमै महत्त्वपूर्ण छ भन्‍ने लाग्छ? भर्खरै मैले तिमीहरूलाई आफ्ना आमाबुबाहरूप्रति छोराछोरीले पूरा गर्नुपर्ने धर्मको उदाहरण दिएँ। यो सबैले सामना गर्नुपर्ने महत्त्वपूर्ण कुरा हो। यदि तिमीहरू सत्यता बुझ्न अनि परम्परागत विचार र धारणाहरूबाट निक्लिन सक्दैनौ भने, तिमीहरूलाई सबै कुरा छोड्न र साँच्चिकै परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न कठिन हुनेछ। यस्ता धेरै मानिस छन् जसले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन् तर एउटा कर्तव्य पनि निर्वाह गरेका छैनन्। तिनीहरूको हृदयमा द्वन्द्व चलिरहेको अनजान समय भइसकेको छ। तिनीहरूले साँच्चै कहिले सत्यता बुझ्न अनि आफ्नो देहगत स्नेह र परम्परागत विचार तथा धारणाको नियन्त्रण र जन्जिरबाट निस्कन अनि “परमेश्‍वरले प्रेम गर्ने कुरालाई प्रेम गर्ने, र परमेश्‍वरले घृणा गर्ने कुरालाई घृणा गर्ने” मोडमा पुग्न सक्नेछन् भन्‍ने कुरा अनिश्चित छ। यो कुरा हासिल गर्न सजिलो छैन। परिवारको सारलाई छर्लङ्ग देख्नु र आफ्ना देहगत सम्बन्धहरूको बन्धनलाई त्याग्नु परमेश्‍वरलाई पछ्याउनेहरूका लागि कठिन बाधा हो। आफ्नो पारिवारिक र देहगत स्नेहको जन्जिर तोड्ने र परम्परागत संस्कृतिका सोचबाट मुक्त हुने पनि प्रक्रिया छ—यसका लागि परमेश्‍वरले वातावरणहरू खडा गरिदिनुपर्छ जसमा हामीले सत्यतामा प्रवेश गर्ने अभ्यास गर्न सक्छौँ। विशेष गरी हाम्रा प्रियजनहरूको कुरा आउँदा, हामीले उनीहरूको साँचो रूप र उनीहरूको हरेक प्रकृति सार स्पष्टसित देख्न झन् महत्त्वपूर्ण छ। त्यससँगै, हामीले सत्यताको आधारमा आफूले प्रकट गरेका भ्रष्ट स्वभाव अनि हाम्रो हृदयमा अझै रहिरहेका शैतानी झुटो शिक्षा र झुटा तर्कहरूबारे चिन्तन गर्नुपर्छ। यसका लागि परमेश्‍वरले हामीलाई प्रकट गर्न विभिन्‍न वातावरणहरू खडा गर्नुपर्छ ताकि हामीले उहाँको प्रतिरोध गर्ने वा उहाँसँग नमिल्ने कस्ता कुराहरू हाम्रो हृदयमा अझै छन् भनेर जान्न सकौँ र त्यसपछि ती समाधान गर्न सत्यता खोज्न सकौँ। हाम्रो भ्रष्टता र कद प्रकट गर्न परमेश्वरले हामीलाई उपयुक्त वातावरण बन्दोबस्त गरिदिनुपर्छ। तर हामीले परमेश्‍वरसँग सक्रिय र सकारात्मक रूपमा सहकार्य पनि गर्नैपर्छ, र उहाँको वचनअनुसार आफूबाट माग गर्नुपर्छ, अनि तब मात्र हामी उहाँद्वारा पूर्ण पारिन सक्छौँ। तर परमेश्‍वरले कार्य गर्नुअघि हामीले आफूलाई मानसिक रूपमा तयार पार्नुपर्छ। पहिलो कुरा, हामीले मानिसभित्र हुने शैतानी विषहरू चिन्नुपर्छ अनि परम्परागत संस्कृतिका विचार र धारणाहरूले मानिसलाई बहकाउँछन् र भ्रष्ट पार्छन् भनेर बुझ्नुपर्छ। हामीले यी शैतानी कुराहरू—जुन हामी विरासतमा पाउँछौँ, जुन शिक्षा र समाजबाट आउँछन्—यी कुराहरूले कति चरम रूपमा परमेश्‍वरको विरोध गर्छन् र यी कुराहरू कतिसम्म सत्यताविरुद्ध जान्छन् भनेर बुझ्नैपर्छ। तिमीहरूले यी कुराहरू छर्लङ्ग देखेपछि मात्र साँच्चै सत्यता बुझ्छौ भनेर भन्न सकिन्छ।

भर्खर मैले आफ्ना आमाबुबालाई कसरी व्यवहार गर्नुपर्छ भन्‍नेबारे बताएँ। यो कुरा जीवनको ठूलो मामिला हो भन्न सकिन्छ र यो हरेक व्यक्तिले सामना गर्नैपर्ने महत्त्वपूर्ण मामिला पनि हो। यो अकाट्य छ। अब हामी आफ्ना सन्तानलाई कसरी व्यवहार गर्ने भन्‍ने विषयमा सङ्गति गर्नेछौँ। आफ्ना सन्तान र आमाबुबालाई कसरी व्यवहार गर्ने भन्‍ने कुरा आउँदा, तैँले उनीहरूलाई व्यवहार गर्ने तरिकाले कुनै फरक पार्दैन, बरु तेरो दृष्टिकोणले, तैँले उनीहरूसँग जुन दृष्टिकोण र मनोवृत्तिले व्यवहार गर्छस् त्यसले फरक पार्छ। यो हामीले आफ्नो हृदयमा बुझ्नुपर्ने कुरा हो। हरेक व्यक्तिले सन्तान हुनेबित्तिकै उनीहरूले कस्तो किसिमको शिक्षा पाउनुपर्छ, उनीहरू कस्तो कलेज जानुपर्छ, र त्यसपछि उनीहरूले कसरी राम्रो जागिर पाउन सक्छन् भनी योजना बनाउन थाल्छ ताकि उनीहरूले समाजमा खुट्टा टेकाउने ठाउँ र कुनै तहको हैसियत पाऊन्। सबै मानिसलाई यो विश्‍वास हुन्छ कि यस जीवनमा व्यक्तिले ज्ञान र उच्च डिग्री हासिल गर्नैपर्छ—उसको नजरमा, जागिर पाउने र समाजमा जीविकोपार्जन सुरक्षित गर्ने यही मात्र तरिका हो, यसो गर्दा आफूले भविष्यमा गाँस, बास, कपास, र यातायातजस्ता आधारभूत आवश्यकताहरूबारे चिन्ता गर्नुपर्दैन। त्यसैले, मानिसले आफ्ना सन्तानलाई कसरी व्यवहार गर्ने भन्‍ने कुरा आउँदा, हरेक आमाबुबा आफ्ना सन्तानले उच्च शिक्षा प्राप्त गरोस् भन्‍ने आशा गर्छन्। उनीहरू आफ्ना सन्तान एक दिन संसारमा अघि बढ्न सक्नेछन् र समाजमा आफ्नो स्थान बनाउनेछन्, तिनीहरूको आम्दानी धेरै र स्थिर हुनेछ, अनि तिनीहरूले प्रतिष्ठा र हैसियत कमाउनेछन् भन्‍ने आशा साँच्छन्। यसरी मात्र उनीहरूका पितापुर्खाको सम्मान हुनेछ भनी उनीहरू सोच्छन्। सबै मानिसहरूले यो विचार पालेर राख्छन्। “मेरा छोराछोरी सुनजस्तै बहुमूल्य बनून्”—के यो दृष्टिकोण सही हो? सबैले आफ्ना छोरा वा छोरी प्रतिष्ठित विश्‍वविद्यालयमा गएर उच्च शिक्षा लिऊन् भन्‍ने चाहन्छन्। उनीहरूलाई लाग्छ, ती सन्तान उच्च डिग्री हासिल गरिसकेपछि संसारमा अघि बढ्न सक्छन्। सबै मानिस आफ्नो हृदयमा ज्ञानको पूजा गर्छन् र “किताबको अघि सबै कुरा फिका हुन्छ” भनी विश्‍वास गर्छन्; त्यसबाहेक, उनीहरू आजभोलि समाजमा प्रतिस्पर्धा निकै जोरदार छ, र कुनै व्यक्तिसँग शैक्षिक योग्यता छैन भने उसलाई हातमुख जोड्न पनि धौधौ पर्छ भन्‍ने सोच्छन्। हरेक व्यक्तिले राख्ने विचार र दृष्टिकोण यही हो—मानौँ उच्च डिग्री लिएमा उसको भावी जीविकोपार्जन र भविष्य सुरक्षित हुनेछन्। त्यसैले मानिसहरूले आफ्ना छोराछोरीका लागि गर्ने मागको सन्दर्भमा भन्नुपर्दा, उनीहरू उच्च शिक्षा संस्थानमा भर्ना हुनु र उच्च शिक्षा पाउनुलाई सबैभन्दा बढी प्राथमिकता दिन्छन्। वास्तवमा, मानिसहरूले पाउने त्यो सबै शिक्षा, सबै ज्ञान, र सबै विचार परमेश्‍वर र सत्यताविरुद्ध हुन्छन्, र परमेश्‍वर ती कुरालाई घृणा र निन्दा गर्नुहुन्छ। यसले मानिसको दृष्टिकोण गलत र बेतुके हुन्छन् भन्‍ने कुरा साबित गर्छ। मानिसहरूले के बुझ्नुपर्छ भने, यदि तिनीहरूले यस किसिमको शिक्षा पाए भने, केही उपयोगी बौद्धिक ज्ञान हासिल गर्नेबाहेक, तिनीहरूमा शैतानका कैयौँ विष, विचार, सिद्धान्त, झूटो शिक्षा र भ्रमहरू पनि हालिनेछ, अनि तिनीहरूले यसको परिणाम के हुनेछ भनी बुझ्नुपर्छ। मानिसहरूले यसबारे पहिले सोचेकै हुँदैनन्, र यस मामिलालाई प्रस्टसँग देख्न सक्दैनन्। तिनीहरूलाई आफ्नो सन्तान उच्च शिक्षा संस्थानमा भर्ना भए भने उनीहरूको भविष्य उज्ज्वल हुनेछ र आफ्नो पुर्खाको सम्मान हुनेछ भन्‍ने मात्र लाग्छ। परिणामस्वरूप, जब एक दिन तेरो सन्तान घर आउँछ, अनि तँ उसँग परमेश्‍वरप्रतिको विश्‍वासबारे कुरा गर्छस्, तब उसलाई त्यसप्रति वितृष्णा जाग्छ, र जब तँ उसँग सत्यता सङ्गति गर्छस्, तब उसले तँलाई मूर्ख भन्‍नेछ, तेरो खिल्ली उडाउनेछ, र तेरा शब्दहरूलाई तिरस्कार गर्नेछ। त्यति बेला, तँलाई आफूले आफ्नो सन्तानलाई उच्च शिक्षा हासिल गराउन उच्च शिक्षा संस्थानमा पठाएर गलत बाटो रोजेछु भन्‍ने थाहा हुनेछ। तर त्यतिन्जेल पश्चाताप गर्न अति ढिलो भइसकेको हुनेछ। यदि कुनै व्यक्तिले शैतानको दर्शन र दृष्टिकोण स्विकार्छ, र यी कुराले उसमा जरा गाड्छन्, र यी कुरा फुल्छन् र फल्छन् भने, त्यो क्यान्सरको ट्युमर पलाएझैँ हो—यी कुरालाई रातारात हटाउन वा परिवर्तन गर्न सकिँदैन। त्यो बेला, त्यस व्यक्तिलाई सत्यता स्विकार्न कठिन हुन्छ, र उसले कुनै हालतमा मुक्ति पाउँदैन। यो त उसलाई शैतानले विष दिएर मार्नु बराबर हो। मैले कसैले यस्तो भनेको सुनेको छैनँ: “मेरो बच्चालाई स्कूलमा पढ्न मात्र सिकाउनू ताकि उसले परमेश्‍वरको वचन भनेको के हो भनेर बुझ्न सकोस्। त्यसपछि म उसलाई पूरा हृदयले परमेश्‍वरमा विश्‍वास गर्न र कुनै उपयोगी पेशाबारे अलिकति सिक्न डोऱ्याउनेछु ताकि भविष्यमा उसले राम्रो काम पाउन र आफ्नो जीवन स्थिर बनाउन सकोस्। त्यसपछि, म ढुक्क हुन सक्छु। यदि ऊ उच्च क्षमताको भयो भने, उसमा असल मानवता भयो भने, र उसले परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न सक्यो भने बेस हुनेथ्यो। यदि उसले कर्तव्य निर्वाह गर्न सक्दैन भने, मण्डलीबाहिर जागिर खानु काफी हुन्छ, ताकि उसले आफ्नो परिवारलाई पालनपोषण गर्न सकोस्। सबैभन्दा बढी, म उसले परमेश्‍वरको घरमा उहाँको सत्यता पाएको र ऊ समाजद्वारा दूषित वा प्रभावित नभएको चाहन्छु।” मानिसहरूमा आफ्ना सन्तानलाई परमेश्‍वरसामु ल्याउने विश्‍वास हुँदैन; तिनीहरू सधैँ यदि आफ्नो सन्तानले उच्च शिक्षा लिएन भने उसको भविष्य राम्रो हुनेछैन भनेर चिन्ता गर्छन्। अर्को शब्दमा भन्नुपर्दा, आफ्नो सन्तानको सन्दर्भमा त एक व्यक्ति पनि आफ्नो सन्तानले परमेश्‍वरको वचन स्विकार्न सकोस् अनि आफूलाई सत्यता र परमेश्‍वरको मापदण्डअनुसार आफूलाई आचरणमा ढाल्न सकोस् भनी उसलाई परमेश्‍वरसामु ल्याउन इच्छुक हुँदैन। मानिसहरू यसो गर्न अनिच्छुक हुन्छन्, र यसो गर्ने साहस गर्दैनन्। उनीहरू यदि आफूले यस्तो व्यवहार गरेमा, आफ्नो सन्तानले जीवन धान्ने माध्यम वा यस समाजमा भावी आशा पाउँदैन भनी डराउँछन्। यस दृष्टिकोणले के पुष्टि गर्छ? यसले शैतानद्वारा गम्भीर रूपमा भ्रष्ट पारिएका मानिसहरूलाई सत्यता वा परमेश्‍वरप्रतिको विश्‍वासमा कुनै रुचि हुँदैन भन्‍ने पुष्टि गर्छ। उनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, त्यो आशिष् पाउनका लागि मात्र हुन्छ। उनीहरू सत्यता पछ्याउँदैनन् किनकि उनीहरू आफ्नो हृदयमा भौतिक कुरा, पैसा र शैतानको प्रभावलाई पूजा गर्छन्। तँमा यसो भन्‍ने विश्‍वास छैन: “यदि कसैले संसारको चलन त्याग्छ र परमेश्‍वरमा भर पर्छ भने उहाँले उसलाई बाँच्न सकोस् भनी निस्किने बाटो दिनुहुनेछ।” तँमा यो विश्‍वास छैन। ज्ञानलाई आराधना गर्ने तेरो गलत दृष्टिकोणले तेरो हृदयमा जरा गाडेको छ। यसले तेरो हरेक शब्द र कार्यलाई नियन्त्रण गर्छ, त्यसैले तँ परमेश्‍वरको कार्य स्विकार्न र त्यसप्रति समर्पित हुन सक्दैनस्, झन् परमेश्‍वरले व्यक्त गर्ने सत्यता स्विकार्नु त परको कुरा हो। म यो किन भन्छु? किनकि यस विचार र दृष्टिकोणले परमेश्‍वरप्रति शत्रुवत हुन्छ, परमेश्‍वरलाई धोका दिन्छ, परमेश्‍वरलाई अस्वीकार गर्छ, र यो सत्यतासँग मेल खाँदैन। जब कुनै व्यक्तिले सत्यता बुझ्छ, उसले यो समस्यालाई छर्लङ्ग देख्न सक्छ, र आफूमा परमेश्‍वरविपरीत धेरै कुरा—परमेश्‍वरले मूलतः घृणा गर्ने कुराहरू—रहेछन् भनी थाहा पाउँछ। यी सबै परिणाम परमेश्‍वरको काम अनुभव गरेर हासिल भएका हुन्। परमेश्‍वरको वचनको खुलासाविना र परमेश्‍वरको वचनको न्याय र सजायविना त मानिसहरूले आफूलाई पवित्र पारिसकिएको छ, आफू परमेश्‍वरप्रतिको प्रेमले भरिएको छु, र परमेश्‍वरमा केही वर्ष विश्‍वास गरेर र आफ्नो व्यवहारमा केही परिवर्तन गरेर उहाँप्रतिको आफ्नो विश्‍वास बलियो भएको छ भनी सोच्नेथिए। तर अहिले तिनीहरू सत्यता बुझ्छन्, त्यसैले अचानक यस्तो बोध गर्छन्: “मानिसहरूमा यी भ्रष्ट कुराहरू किन अझै छन्? किन मैले ती पहिले चिन्न सकिनँ? मानिसहरू अति अनजान छन्!” यस बेला, तिनीहरूले परमेश्‍वरद्वारा गरिने मानिसको भ्रष्टताको खुलासा एकदमै ठूलो र एकदमै आवश्यक छ भनेर सिक्नेछन्, अनि यदि परमेश्‍वरले तिनीहरूको भ्रष्टताको खुलासा र न्याय नगर्नुभएको भए, तिनीहरूले कहिल्यै त्यसलाई चिन्न सक्नेथिएनन्। मानिसहरू सबै नाटक गर्न र भेष बदल्न सिपालु हुन्छन्। तिनीहरू निकै मजाले भेष बदल्न वा आफूलाई लुकाउन र झकिझकाउ पार्न सक्छन्, तर तिनीहरूले प्रकट गर्ने भ्रष्ट स्वभाव र तिनीहरूको मनमा गहिरो जरा गाडेका विचारहरूले परमेश्‍वरको प्रतिरोध गर्छन्, र ती कुराप्रति परमेश्‍वर घिनाउनुहुन्छ र तिनलाई तिरस्कार गर्नुहुन्छ। यी कुराहरूलाई नै परमेश्‍वर खुलासा गर्न चाहनुहुन्छ र यी कुराहरू नै मानिसहरूलाई थाहा हुनुपर्छ। तर मानिसहरू प्रायः सोच्छन्, “हाम्रो बोलीको हिसाबमा, हामीले परमेश्‍वरको विरोध हुने कुनै शब्द बोलेका छैनौँ, र हामीमा समझ छ। हाम्रो व्यवहारको हिसाबमा, हामीले कुनै कुरा सीमा नाघेर गरेका छैनौँ, हामी आफ्नो कर्तव्य एकदमै उपयुक्त ढङ्गले निर्वाह गर्ने मोडमा पुगिसक्यौँ। हामीमा स्पष्ट समस्याहरू छैनन्, त्यसैले हामीले आफूबारे अझै के जान्नुपर्छ र? के हामीले आफूबारे पनि जान्नुपर्छ र?” के यो दृष्टिकोण तथ्यसँग मेल खान्छ? यदि मेल खान्छ भने, किन मानिसहरू अझै पनि सधैँ आफ्नो पाप परमेश्‍वरलाई कबुल गर्छन्? किन मानिसहरू अझै पनि आफ्नो भ्रष्ट स्वभाव बारम्बार प्रकट गर्छन् र अझै अपराधसमेत गर्छन्? त्यसैले, तैँले एक तरिकामा जति आफूलाई राम्रो ठान्छस्, तैँले त्यस तरिकामा सत्यता खोज्नु, चिन्तन गर्नु र आफूलाई चिन्नु त्यति नै सार्थक हुन्छ। यसरी मात्र तँ आफ्नो भ्रष्ट स्वभावलाई साँच्चै चिन्न सक्छस्, र तँ शुद्ध पारिन, र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छस्। परमेश्‍वरको काम अनुभव गर्नुको परिणाम यही हो।

धेरै मानिस आमाबुबालाई श्रद्धा गर्दा परमेश्‍वर प्रसन्न हुनुहुन्छ र उहाँबाट आशिष् पाइन्छ भनी विश्‍वास गर्छन्। तिनीहरू आफ्ना आमाबुबालाई श्रद्धा गर्नु भनेको पक्कै परमेश्‍वरलाई मन पर्ने कुरा हो भन्‍ने सोच्छन्, किनकि आमाबुबाप्रतिको श्रद्धा पूर्णतया प्राकृतिक र उचित हो, अनि यसले व्यक्तिमा विवेक छ, र उसले आफू कहाँबाट आएको हो भनी बिर्सेको छैन भन्‍ने कुरा पुष्टि गर्छ भनी तिनीहरू विश्‍वास गर्छन्। परम्परागत धारणाअनुसार, यस्तो व्यक्तिलाई असल र आमाबुबाको श्रद्धा गर्ने सन्तान मानिन्छ। आमाबुबाको श्रद्धा गर्ने सन्तानलाई सबैले स्याबासी दिन्छन्। मानिसहरू र आफ्ना आमाबुबाले पनि उसलाई माया गर्छन्। त्यसैले तँ स्वभावतः परमेश्‍वरले पनि तँलाई मन पराउनैपर्छ भन्‍ने ठान्छस्, र यस्तो चाहना राख्दै सोच्छस्: “परमेश्‍वरले आफ्ना आमाबुबाप्रति श्रद्धा देखाउनेहरूलाई मन पराउनैपर्छ—उहाँ तिनीहरूलाई पक्कै मन पराउनुहुन्छ!” त्यसैले तँ आफ्नो कर्तव्य निर्वाह गर्न छोडेर आफ्ना आमाबुबाप्रति श्रद्धा देखाउन घर फर्कन्छस्। यसो गर्दा, तँ झन्-झन् उत्प्रेरित हुन्छस्, र यो जायज र उचित छ, अनि आफूले सत्यता अभ्यास गरिरहेको छु भनेर झन्-झन् विश्‍वस्त हुँदै जान्छस्। अनजानमै, तैँले परमेश्‍वरलाई सन्तुष्ट पारिसकेको छु र आफूसँग परमेश्‍वरको अनुमोदन, उहाँको प्रसन्नता, र उहाँको मान्यता पाउने पुँजी छ भन्‍ने विश्‍वास गर्न थाल्छस्। जब परमेश्‍वर तैँले उहाँको विरोध गरिरहेको छस् र उहाँलाई धोका दिइरहेको छस् भनेर भन्नुहुन्छ, वा जब उहाँ तँ पटक्कै बद्लिएको छैनस् भनेर भन्नुहुन्छ, तब तँ उहाँको प्रतिरोध गर्छस् र उहाँलाई गलत ठहर्‍याउँछस्। तँ उहाँ गलत हुनुहुन्छ भनी दाबी गर्दै उहाँका वचनहरू अस्वीकार गर्छस्। यो कस्तो किसिमको समस्या हो? जब परमेश्‍वर तँ असल छस् भन्नुहुन्छ र तँलाई अनुमोदन गर्नुहुन्छ, तब त्यो स्विकार्छस्। तर जब परमेश्‍वर तँ उहाँको अवज्ञा र विरोध गरिरहेको छस् भनी खुलासा गर्नुहुन्छ, तब तँ त्यो मान्दैनस् र अस्वीकार गर्छस्, परमेश्‍वरको प्रतिरोध गर्छस् र उहाँलाई गलतसमेत ठहर्‍याउँछस्। यो कस्तो किसिमको स्वभाव हो? मानिसहरू अहङ्कारी, अभिमानी र आत्मधर्मी हुन्छन् भन्‍ने स्पष्ट छ। सामान्यतः मानिसहरू परमेश्‍वरको वचन सत्यता हो भनी स्विकार्न सक्षम भएजस्ता लाग्छन्, र सबै मानिस आफू परमेश्‍वरप्रति समर्पित छु भन्‍ने ठान्छन्, तर जब परमेश्‍वर तिनीहरूको न्याय गर्नुहुन्छ र तिनीहरूको भ्रष्ट स्वभाव खुलासा गर्नुहुन्छ, तब तिनीहरूमध्ये कसैले पनि उहाँका वचनहरूलाई ध्यान दिँदैनन्, र हरेकपटक आफूले केही गर्दा आफ्ना कार्यहरूलाई उहाँको वचनसँग तुलना गर्दैनन्। बरु तिनीहरू केवल अलिकति बोल्छन् र कुरा गर्छन्, अनि कुरा त्यतिमै सकिन्छ, वा तिनीहरू भेलामा परमेश्‍वरको वचनका केही हरफ कन्ठाग्र भन्छन्, तीबारे अलिअलि सङ्गति गर्छन्, अनि तिनीहरूको काम सकिन्छ। वास्तविक परिस्थितिमा, तैँले कामकुरा गर्दा परमेश्‍वरको वचनअनुसार पटक्कै अभ्यास गर्दैनस्। त्यसोभए, तैँले परमेश्‍वरको वचन पढ्नु र त्यसमा सङ्गति गर्नुको के अर्थ छ? तँ आफूलाई केही आइपर्दा, परमेश्‍वरको वचन अभ्यास गर्दैनस्, र परमेश्‍वरको वचनअनुसार जिउँदैनस्, त्यसोभए तँ किन परमेश्‍वरको वचन पढ्छस्? के यो औपचारिकता मात्र होइन र? के तँ यसरी सत्यता बुझ्न सक्छस्? के तँ सत्यता प्राप्त गर्न सक्छस्? परमेश्‍वरमा यसरी विश्‍वास गर्नु अर्थहीन छ। धेरै मानिस परमेश्‍वरको थोरथोरै वचन पढ्छन्, यसको शाब्दिक अर्थ बुझ्छन्, अनि केही शब्द र धर्मसिद्धान्तहरू बोलेर आफूले सत्यता बुझेको र आफूसँग सत्यता वास्तविकता भएको भन्‍ठान्छन्। कोही कोही भन्छन्, “म परमेश्‍वरको वचनमा सङ्गति गरिरहेको छु, त्यसैले यो कसरी शब्द र धर्मसिद्धान्तहरू मात्र हुन सक्छ?” तँलाई परमेश्‍वरको वचनको सार थाहा छैन, तँ उहाँको वचन अभ्यास गर्दैनस्, र निश्चित रूपमा तँमा त्यसको अनुभवात्मक ज्ञान छैन, त्यसैले तैँले त्यसबारे सङ्गति गर्दा शब्द र धर्मसिद्धान्तहरू बोलिरहेको हुन्छस्। अवश्य नै, परमेश्‍वरको वचन सत्यता हो, तर तँ त्यसलाई साँचो रूपमा बुझ्दैनस् वा अभ्यास गर्दैनस्, त्यसैले तैँले बुझ्ने कुरा भनेको धर्मसिद्धान्त मात्र हो। के तिमीहरू यो बुझ्न सक्छौ? के यी शब्दहरू सुनेर तिमीहरूको मन पोलिरहेको छ? के तिमीहरू यसो भन्‍नेछौ, “यदि मैले मेरा आमाबुबालाई सम्मान गरिनँ भने के त्यो ठूलो अपराध होइन र? मानिसबाट परमेश्‍वरले माग गर्ने मापदण्डले तिनीहरूको भावनालाई बेवास्ता गर्दैन र?” ल भन् त, के परमेश्‍वरले मानिसबाट माग गर्ने मापदण्डहरू उच्च छन्? वास्तवमा, ती उच्च छैनन्—मानिसको विवेक र समझको आधारमा ती त मानिसले पूरा गर्न सक्ने मापदण्ड हुन्। मानव स्नेहको प्रभावले गर्दा र परम्परागत संस्कृतिले मानिसहरूको हृदयमा बलियो, अचल जरा गाडिसकेको हुनाले तिनीहरूलाई परमेश्‍वरको माग अति उच्च, र आफ्नो पहुँचबाहिर छ भन्‍ने लाग्छ। यो सत्यता नबुझेको कारण भएको हो। यदि तँ साँच्चै सत्यता बुझ्छस् र यस मामिलाको साँचो प्रकृतिलाई छर्लङ्ग देख्छस् भने तैँले यो समस्यालाई सही तरिकाले लिन र सम्हाल्न सक्नेछस्। हजारौँ वर्षदेखि मानिसहरू परम्परागत संस्कृतिद्वारा प्रभावित हुँदै आएका छन्। संसारसँग व्यवहार गर्नेसम्बन्धी शैतानका दर्शन र नियमहरूले मानिसहरूका हृदयमा जरा गाडिसकेका छन्। तँ यी विचारहरूअनुसार जिउँछस्, त्यसोभए तँ वास्तवमा केअनुसार जिएको छस्? के तँ सामान्य मानवत्वअनुसार जिएको छस्? के तँ वास्तविक जीवनअनुसार जिएको छस्? तैँले यस मामिलालाई बुझ्नु र चिरफार गर्नु तेरा लागि सार्थक हुन्छ। तैँले परम्परागत संस्कृति र शैतानको दर्शन र दृष्टिकोणबाट आफूले के प्राप्त गरेको छु, अनि ती कुरा साँच्चै सत्यता हुन् कि होइनन्, र तीबाट तँलाई के प्राप्त हुन्छ भन्‍नेबारे चिन्तन गर्नुपर्छ। त्यसपछि तैँले यी मामिलामा सङ्गति गर्नुपर्छ र तिनलाई परमेश्‍वरका वचनअनुसार चिरफार गर्नुपर्छ। यदि तैँले यसो गरिस् भने, तँलाई सत्यता पत्ता लगाउन सजिलो हुनेछ। तैँले सत्यता र परमेश्‍वरको अभिप्राय बुझेपछि, मानिसप्रति परमेश्‍वरका मापदण्डहरू सबै मान्छेको विवेक र समझले पूरा गर्न सक्ने कुरा रहेछन् भनेर देख्नेछस्। स्वभावतः, तैँले परमेश्‍वर मानिसबाट अति धेरै माग गर्नुहुन्छ भनी गुनासो गर्न छोड्नेछस्। बरु, तैँले भन्‍नेछस्, “हामी सिद्धान्तहरू बुझ्छौँ; हामीसँग अभ्यासको मार्ग छ, र हामी यी कुराहरू कसरी सम्हाल्ने भनी जान्दछौँ।” यसरी अलिअलि गर्दै, तँ परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्नेछस्। सत्यता बुझ्ने प्रक्रिया यही हो।

सत्यता वास्तविकतामा प्रवेश गर्दा, आफूलाई चिन्नु अत्यन्तै महत्त्वपूर्ण छ। आफूलाई चिन्नु भनेको हाम्रो विचार र दृष्टिकोणका कुन कुराहरू आधारभूत रूपमा सत्यतासँग मेल खाँदैनन्, र भ्रष्ट स्वभावमा पर्छन्, र परमेश्‍वरविरोधी छन् भनेर जान्नु हो। अहङ्कार, आत्मधार्मिकता, झुटोपन र छलीपनजस्ता मानिसका भ्रष्ट स्वभावहरू बुझ्न सजिलो छ। तैँले सत्यताबारे दुईचारपटक सङ्गति गरेर नै वा बारम्बार सङ्गति गरेर वा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई तेरो अवस्था औँल्याइदिन लगाएर ती स्वभावहरूलाई अलिअलि बुझ्दै जान सक्छस्। त्यसबाहेक, अहङ्कार र छलीपन सबै व्यक्तिमा हुन्छ, केवल त्यसको मात्रा मात्र फरक हुन्छ, त्यसैले यी स्वभावबारे जान्न तुलनात्मक रूपमा सजिलो हुन्छ। तर व्यक्तिको विचार र दृष्टिकोण सत्यतासँग मेल खान्छ कि खाँदैन भनेर छुट्याउन कठिन हुन्छ, र कसैको भ्रष्ट स्वभाव चिन्नुजस्तो सजिलो पनि हुँदैन। जब व्यक्तिको व्यवहार वा बाहिरी अभ्यासहरू अलिकति परिवर्तन हुन्छ, तब उसलाई आफू परिवर्तन भएको छु भन्‍ने लाग्छ, तर वास्तवमा यो व्यवहार परिवर्तन मात्र हो, र यसको अर्थ उसले विभिन्‍न कुराहरूलाई हेर्ने दृष्टिकोण साँच्चै परिवर्तन भएको छ भन्‍ने होइन। मानिसहरूको हृदयको गहिराइमा, अझै धेरै धारणा र कल्पना, विभिन्न सोच, दृष्टिकोण, र परम्परागत संस्कृतिका विषहरू र परमेश्‍वरप्रति शत्रुवत हुने धेरै कुरा हुन्छन्। यी कुराहरू ऊभित्र लुकेका हुन्छन्, उजागर गरिएका हुँदैनन्। यी कुरा उसको भ्रष्ट स्वभाव प्रकटीकरणका स्रोत हुन्, र यी मानिसको प्रकृति सारबाट आउँछन्। त्यही भएर, जब परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्‍ने कुनै कुरा गर्नुहुन्छ, तब तँ प्रतिरोधी हुन्छस् र अवज्ञा गर्छस्। परमेश्‍वरले किन त्यसरी काम गर्नुभयो सो तैँले बुझ्‍नेछैनस्, र परमेश्‍वरले गर्नुहुने सबै कुरामा सत्यता हुन्छ भन्‍ने तँलाई थाहा भए पनि र तँ समर्पित हुन चाहे पनि, तैँले आफूलाई त्यसो गर्न नसक्‍ने अवस्थामा पाउनेछस्। तँ किन समर्पित हुन असक्षम हुन्छस्? तेरो प्रतिरोध र अवज्ञाको कारण के हो? यो हुन्छ किनकि, मानिसका विचार र दृष्टिकोणहरूभित्र धेरै कुरा हुन्छन् जुन परमेश्‍वरप्रति शत्रुवत् हुन्छन्, र ती उहाँले जुन सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ तीप्रति र उहाँको सारप्रति शत्रुवत् हुन्छन्। मानिसले यी कुराहरूको ज्ञान पाउन कठिन छ। मैले यी वचनमाथि सङ्गति गरेको हुनाले, तिमीहरूले केही अन्तर्दृष्टि पाउन र केही मात्रामा बुझ्न सक्नुपर्ने हो। मानिलिऊँ केही आइपर्दा तिमीहरू परमेश्‍वरबारे धारणाहरू राख्छौ र यस्तो सोच्छौ, “यो परमेश्‍वरको काम हुनै सक्दैन, किनकि उहाँको काम हुँदो हो त उहाँले यसरी गर्नुहुनेथिएन, वा यसरी बोल्नुहुनेथिएन। परमेश्‍वरले गर्ने सबै कुरा नै प्रेम हो, र मानिसलाई त्यो स्विकार्न सजिलो हुन्छ,” तर त्यसपछि मानिलिऊँ तँ यस्तो सोच्छस्, “यसरी सोच्नु गलत हो। परमेश्‍वरले पहिला मानिसहरूले जहाँ बुझ्न सक्दैनन् त्यहाँ सत्यता खोजी गर्नुपर्छ भनेर भन्नुभएको छ। मैले आत्मचिन्तन गर्नुपर्छ, किनकि मलाई आफ्नो हृदयमा भएका धारणा र कल्पनाहरूले नै चलाइरहेका हुन्छन्, परमेश्‍वरको काम सीमित गर्न लगाइरहेका हुन्छन्। मैले उहाँलाई गलत ठान्नु हुँदैन”—आत्मचिन्तन गर्ने यो सही तरिका हो। जब तँ परमेश्‍वरको काम वा वचन आफ्नो धारणाअनुरूप नभएको देख्छस्, तब नै तैँले आत्मचिन्तन गर्नुपर्छ, तुरन्तै परमेश्‍वरको वचनमा सत्यता खोज्नुपर्छ, आफूलाई ती वचनहरूसँग दाँज्नुपर्छ र त्यसपछि तीअनुसार अभ्यास गर्नुपर्छ। के यो अघि बढ्ने तरिका होइन र?

भर्खर हामीले आफ्ना आमाबुबालाई कसरी व्यवहार गर्नुपर्छ भन्‍नेबारे सङ्गति गऱ्यौँ। तिमीहरूमध्ये धेरैलाई आफ्ना आमाबुबाप्रति निकै ऋणी महसुस हुन्छ, किनकि उनीहरूले तिमीहरूका निम्ति जीवनभर कष्ट भोगेका छन्, र तिमीहरूलाई प्रगाढ माया देखाएका र ख्याल गरेका छन्। यदि कुनै दिन उनीहरू बिरामी परे भने तेरो अन्तस्करण खलबलिन्छ, र तँलाई दोषी महसुस हुन्छ। तँलाई अचानक लाग्छ कि, छोराछोरीको धर्म निभाउन, उनीहरूलाई सान्त्वना दिन र उनीहरूको बुढेसकाल खुसीसाथ बितेको सुनिश्चित गर्न तँ उनीहरूसँग बस्नुपर्छ। तँ यो गर्नु त आफू उनीहरूको सन्तान हुनुको जिम्मेवारी र दायित्व हो भन्‍ने सोच्छस्। तैँले यो दायित्व पूरा गर्दागर्दै यदि परमेश्‍वरले तँबाट कुनै कुरा माग्नुहुन्छ वा अप्रत्याशित तेरो जाँच लिनुहुन्छ भने, उहाँको अभिप्राय तैँले त्यो दायित्व लिनु हुँदैन, बरु सिद्धान्तका रूपमा परमेश्‍वरमा विश्‍वास राख्नुपर्छ, आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ, र सत्यतालाई पछ्याउनुपर्छ भन्‍ने हो। यदि परमेश्‍वरले तँलाई त्यसरी आफ्नो आमाबुबाप्रति छोराछोरीको धर्म पूरा नगर्नू वा उनीहरूलाई व्यवहार नगर्नू भनेर सिधै भन्नुभएको भए तँलाई कस्तो लाग्नेथियो? तैँले यस मामिलालाई परम्परागत धारणाको नजरबाट हेर्ने थिइस्, आफ्नो हृदयमा परमेश्‍वरबारे गुनासो गर्ने थिइस्, र उहाँले तेरो भावनाको कदर नगरी त्यस्तो गर्नुभयो, र यसले गर्दा तैँले निभाउनुपर्ने छोराछोरीको धर्म पूरा हुँदैन भनेर सोच्ने थिइस्। तँ आफूले छोराछोरीले निभाउनुपर्ने धर्म, मानवता र विवेकले भरिपूर्ण भएर कार्य गरिरहेको छस्, तर परमेश्‍वर तँलाई तेरो विवेक वा छोराछोरीले निभाउनुपर्ने धर्मअनुसारले कार्य गर्न दिनुहुन्न भनेर सोच्‍नेछस्। त्यसपछि तँ परमेश्‍वरको प्रतिरोध, विरोध र उहाँविरुद्ध विद्रोह गर्नेछस्, अनि सत्यता स्विकार्नेछैनस्। म यो सब मानिसहरूलाई तिनीहरूको विद्रोही प्रकृतिको जड र सार मुख्य रूपमा तिनीहरूको विचार र दृष्टिकोणहरूबाट आउँछन् भनेर बुझाउन भनिरहेको छु। ती विचार र दृष्टिकोण तिनीहरूले परिवार र समाज, साथै परम्परागत संस्कृतिबाट पाउने शिक्षाबाट सिर्जित हुन्छन्। ती कुराहरू पारिवारिक रीतिरिवाज, वा समाज र औपचारिक शिक्षाको प्रभावबाट अलिअलि गर्दै मानिसको हृदयमा गडेपछि, मानिसहरू तीअनुसार जिउन थाल्छन्। तिनीहरू अनजानमै यो विश्‍वास गर्न थाल्छन् कि यो परम्परागत संस्कृति सही, दोषरहित छ, यसको आलोचना गर्न मिल्दैन, र परम्परागत संस्कृतिको मागअनुसार कार्य गरेमा मात्र आफू वास्तविक मानिस बन्न सकिन्छ। तिनीहरूलाई आफूले त्यसो नगरे आफू विवेकहीन, मानवताविपरीत र मानवताविहीन भएको महसुस हुनेछ र तिनीहरू यो कुरा स्विकार्न सक्दैनन्। के यी मानव विचार र दृष्टिकोणहरू सत्यताभन्दा धेरै टाढा छैनन् र? मानव विचार र दृष्टिकोणमा हुने कुरा र मानिसहरूले पछ्याउने लक्ष्यहरू सबै संसारतिर लक्षित हुन्छन्, शैतानतिर लक्षित हुन्छन्। परमेश्‍वरले मानिसले सत्यता पछ्याऊन् भनेर दिनुहुने मापदण्डहरू परमेश्‍वरतिर लक्षित हुन्छन्, ज्योतितिर लक्षित हुन्छन्। यी दुई भिन्न दिशा, दुई भिन्न लक्ष्य हुन्। परमेश्‍वरले मानिसलाई दिनुभएका लक्ष्य, र मानिसप्रतिका उहाँका मापदण्डअनुसार कार्य गर् अनि तेरो मानवता अझ बढी सामान्य हुनेछ, तैँले अझ धेरै मानव रूप प्राप्त गर्नेछस्, र तँ परमेश्‍वरको अझ बढी निकट हुनेछस्। यदि तँ परम्परागत संस्कृतिको विचार र दृष्टिकोणअनुसार कार्य गर्छस् भने, तैँले झन्-झन् आफ्नो विवेक र समझ गुमाउनेछस्, तँ अझै बढी झुटो र नक्कली बन्नेछस्, अझ बढी संसारका चलन पछ्याउनेछस्, र दुष्ट शक्तिको हिस्सा बन्नेछस्। त्यसपछि, तँ पूर्ण रूपमा अन्धकारमा, शैतानको सत्तामा जिउनेछस्। तैँले पूर्ण रूपमा सत्यता उल्लङ्घन गरेको र परमेश्‍वरलाई धोका दिएको हुनेछस्।

यस वास्तविक समाजमा जिउने मानिसहरू शैतानद्वारा गहिरोसित भ्रष्ट पारिएका हुन्छन्। तिनीहरू शिक्षित भए पनि वा नभए पनि, तिनीहरूको विचार र दृष्टिकोणमा परम्परागत संस्कृतिको धेरै कुरा गडेका हुन्छन्। विशेषतः महिलाहरूले आफ्ना श्रीमान्‌को ख्याल गरेको र आफ्ना सन्तानको पालनपोषण गरेको, उनीहरू असल श्रीमती र स्नेही आमा बनेको, आफ्नो सारा जीवन आफ्ना श्रीमान्‌ र सन्तानलाई समर्पित गरेको अनि उनीहरूका लागि जिएको, परिवारले तीन छाक खाने निश्चित गरेको, धोइधाइ, सरसफाइ र अरू सबै घरायसी कामकुरा गरेको अपेक्षा गरिन्छ। यो नै असल श्रीमती र स्नेही आमा हुनुको स्वीकार्य स्तर हो। हरेक महिलाले पनि कामकुरा यसरी नै गरिनुपर्छ, र यदि आफूले त्यसो नगरे आफू असल नारी होइँदैन, र आफूले विवेकअनुसार काम नगरेको र नैतिकताको स्तर उल्लङ्घन गरेको हुन्छ भनेर सोच्छे। यी नैतिक स्तरहरू उल्लङ्घन गर्दा केहीलाई आफ्नो विवेकले घोच्नसम्म घोच्छ; तिनीहरूलाई आफूले श्रीमान्‌ र सन्तानलाई निराश बनाएको, आफू असल नारी नभएको भन्‍ने लाग्नेछ। तर तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि, उहाँका धेरै वचनहरू पढेपछि, केही सत्यता बुझेपछि, र केही मामिलालाई प्रष्टसित बुझेपछि, यस्तो सोच्नेछेस्, “म सृजित प्राणी हुँ र मैले आफ्नो कर्तव्य यसरी नै निर्वाह गर्नुपर्छ, र आफूलाई परमेश्‍वरमा समर्पित गर्नुपर्छ।” यस बेला, असल श्रीमती र स्नेही आमा हुनु, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुबीच कुनै द्वन्द्व छ? यदि तँ असल श्रीमती र स्नेही आमा हुन चाहन्छेस् भने, तैँले पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनस्, तर यदि तँ पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह चाहन्छेस् भने, तँ असल श्रीमती र स्नेही आमा बन्न सक्दिनस्। अब के गर्छेस्? यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन र मण्डलीको कामका लागि जिम्मेवार बन्‍न, र परमेश्‍वरप्रति अर्पित हुन रोज्छस् भने, तैँले असल श्रीमती र स्नेही आमा हुन छोड्नैपर्ने हुन्छ। अब तँ के सोच्नेछेस्? तेरो मनमा कस्तो किसिमको विसङ्गति पैदा हुनेछ? के तँ आफूले आफ्नो सन्तान र श्रीमान्‌लाई निराश बनाएको महसुस गर्नेछेस्? यो दोषीपन र असहजताको बोध कहाँबाट आउँछ? के तँ आफूले सृजित प्राणीको कर्तव्य पूरा नगर्दा, परमेश्‍वरलाई निराश बनाएको महसुस गर्छेस्? तँमा दोषीपनको बोध हुँदैन र तैँले दोषी महसुस गर्दैनस् किनकि तेरो मनमष्तिष्कमा सत्यताको नामनिसान केही छैन। त्यसैले, तँ के बुझ्छेस्? परम्परागत संस्कृति अनि असल श्रीमती र स्नेही आमा बन्‍नुपर्ने कुरा। त्यसैले तेरो दिमागमा “यदि म असल श्रीमती र स्नेही आमा होइन भने, असल वा सुशील नारी होइन” भन्‍ने धारणा पलाउँछ। त्यसपछि तँ यो धारणाद्वारा बाँधिनेछेस् र जकडिनेछेस्, अनि तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि र आफ्नो कर्तव्य निर्वाह गरेपछि पनि तँ यस्ता धारणाहरूद्वारा त्यसरी नै बाँधिएको र जकडिएको हुनेछेस्। जब आफ्नो कर्तव्य निर्वाह गर्ने अनि असल श्रीमती र स्नेही आमा बन्नेकुराबीच द्वन्द्व हुन्छ, तब सायद तैँले मन नपरी-नपरी आफ्नो कर्तव्य निभाउन छनौट गर्छेस्, परमेश्‍वरप्रति थोरै अर्पण देखाउँछेस्, तैपनि तेरो हृदयमा अझै पनि असहजपन र दोषी भावना हुनेछ। तसर्थ, जब तँसँग कर्तव्य निर्वाह गर्ने क्रममा अलिअलि खालि समय हुन्छ, तब तँ आफ्ना सन्तान र श्रीमान्‌को हेरचाह गर्ने मौका खोज्नेछेस्, उनीहरूका लागि झन् बढी गर्न चाहनेछेस्, र अझ बढी कष्ट भोग्नुपरे पनि मनको शान्ति मिलेसम्म यसो गर्नु ठिकै हुन्छ भनी सोच्नेछेस्। के यो असल श्रीमती र स्नेही आमा बन्ने परम्परागत संस्कृतिको विचार र सिद्धान्तले ल्याएको कुरा होइन र? अब तैँले दुइटा डुङ्गामा खुट्टा हालेकी छस्, अर्थात् तँ आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न पनि चाहन्छेस् अनि असल श्रीमती र स्नेही आमा बन्न पनि चाहन्छेस्। तर परमेश्‍वरसामु हाम्रो एउटा मात्र जिम्मेवारी र दायित्व, एउटा मात्र मिशन छ: सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्नु। के तैँले यो कर्तव्य राम्रोसँग पूरा गरेकी छस्? तँ किन फेरि मार्गबाट तर्किस्? के तँलाई हृदयमा साँच्चै दोषी र ग्लानि महसुस हुँदैन? किनकि तेरो हृदयमा सत्यताले अझै पनि जग बसालेको छैन, र त्यसमा सत्यताले अझै शासन गर्दैन, त्यसैले तँ आफ्नो कर्तव्य निर्वाह गर्दा बाटो बिराउन सक्छस्। अहिले तँ आफ्नो कर्तव्य पूरा गर्न सक्षम भए पनि, वास्तवमा अझै सत्यताका मानक र परमेश्‍वरका मागहरूभन्दा धेरै टाढा छस्। के तँ यो तथ्य अहिले स्पष्टसँग देख्न सक्छेस्? परमेश्‍वरले “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” भनेर भन्नुहुँदा, यसको अर्थ के हुन्छ? यसको अर्थ सबैलाई यो कुरा बोध गराउनु हो: हाम्रो जीवन र आत्मा सबै परमेश्‍वरबाट आउँछन्; र ती उहाँद्वारा सृष्टि गरिएका थिए—ती हाम्रा बुबाआमाबाट आउँदैनन्, र प्रकृतिबाट त झन् ती पक्कै आउँदैनन्, ती त हामीलाई परमेश्‍वरले दिनुभएको हो; यति मात्र हो कि हाम्रो देहको जन्म हाम्रा बुबाआमाबाट भएको हुन्छ, र हाम्रा छोराछोरी हामीबाट जन्मन्छन्, तर हाम्रा छोराछोरीको भाग्य पूर्ण रूपमा परमेश्‍वरको हातमा हुन्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्‍वरले नै तोक्‍नुभएको हो, र यो उहाँको अनुग्रह हो। तसर्थ, तैँले अरू कसैप्रतिको दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले सृजित प्राणीका रूपमा आफूले परमेश्‍वरप्रति पूरा गर्नुपर्ने कर्तव्य मात्र पूरा गर्नुपर्छ। मानिसहरूले अरू सबै कुराभन्दा माथि राखेर गर्नैपर्ने, मानिसहरूले आफ्नो जीवनमा सबैभन्दा पूरा गर्नैपर्ने मुख्य कुरा र प्रमुख मामला यही हो। यदि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दिनस् भने, तँ मानकअनुरूपको सृजित प्राणी होइनस्। अरूको नजरमा, तँ सायद असल श्रीमती र स्नेही आमा, उत्तम गृहिणी, आमाबुबाभक्त छोरी, र समाजको सज्जन सदस्य होलिस्, तर परमेश्‍वरसामु, तँ उहाँविरुद्ध विद्रोह गर्ने, आफ्‍नो दायित्व वा कर्तव्य पूरा गर्दै नगरेकी, र परमेश्‍वरको आज्ञा स्विकारेकी तर त्यसलाई पूरा नगरेकी, र आधाउधीमै हार मान्ने व्यक्ति हुन्छेस्। के यस्तो व्यक्तिले परमेश्‍वरको अनुमोदन पाउन सक्छ? यस्ता मानिसहरू रद्दी हुन्छन्। तँ जतिसुकै सिद्ध श्रीमती र आमा भए पनि, वा तेरो सामाजिक नैतिकताको स्तर जति नै उच्च भए पनि, वा तैँले अरूबाट जति नै अनुमोदन पाए पनि, त्यसको अर्थ तैँले सत्यता अभ्यास गरिरहेकी हुन्छेस् भन्‍ने हुँदैन, झन् परमेश्‍वरमा समर्पित भइरहेको हुनु त परै जाओस्। यदि तँ सत्यताप्रति वितृष्ण हुन्छेस् र त्यसलाई स्विकार्न मान्दिनस् भने, यसले तँमा विवेक वा समझ छैन, सामान्य मानवता छैन, र तँ हृदयमा परमेश्‍वर हुँदै नभएको व्यक्ति होस् भन्‍ने साबित गर्छ। के यस्तो खाले व्यक्ति परमेश्‍वरका मागहरूभन्दा एकदमै धेरै टाढा हुँदैन र? सत्यता नपछ्याउने व्यक्तिहरू यस्ता हुन्छन्, सधैँ परम्परागत संस्कृतिको विचार र सिद्धान्तअनुसार जिउँछन्, सधैँ समाजका चलन पछ्याइरहन्छन्, तर सत्यता स्विकार्दैनन् र परमेश्‍वरमा समर्पित हुन सक्दैनन्। के यस्ता मानिसहरू दरिद्र र दयनीय हुँदैनन् र? के तिनीहरू मूर्ख र अज्ञानी होइनन् र? के असल श्रीमती र स्नेही आमा बन्नु, असल र अति प्रिय नारी बन्नु भनेको घमण्ड र गर्व गर्नलायक कुरा हो र?

मानिसहरूले आफ्नो हृदयमा राखिराख्ने सबै कुरा सत्यताविपरीत र परमेश्‍वरविरोधी हुन्छन्। यसमा हामीले सकारात्मक, असल, र सामान्यतया सही ठान्ने कुराहरू पर्छन्। हामी यी कुराहरूलाई सत्यता, मानव आवश्यकता र मानिसहरू प्रवेश गर्नुपर्ने कुराको रूपमा समेत हेर्छौँ। तर परमेश्‍वरको नजरमा यी त घृणित कुराहरू हुन्। मानिसहरूले सही मान्ने दृष्टिकोणहरू वा मानिसले सकारात्मक ठान्ने कुराहरू परमेश्‍वरद्वारा व्यक्त सत्यतादेखि कति टाढा छन्? वास्तवमै टाढा छन्—दूरी असीमित छ। त्यसैले हामीले आफूलाई चिन्नैपर्छ, अनि हामीले पाएको औपचारिक शिक्षादेखि लिएर हाम्रो पछ्याइ र रुचि, हाम्रो विचार र दृष्टिकोणदेखि लिएर हामीले छान्ने र हिँड्ने मार्गसम्मका सबै कुरा भित्रैदेखि खनेर उदाङ्गो पार्न र चिरफार गर्नलायक छन्। तीमध्ये कतिपय त आफ्नो परिवारबाट विरासतमा आउँछन्; कतिपयचाहिँ स्कुलको शिक्षाबाट आउँछन्; कतिपय कुरा सामाजिक वातावरणको प्रभाव र अभ्यस्तताबाट आउँछन्; कतिपय भने किताबबाट सिकिन्छन्; र कतिपय चाहिँ आफ्नो कल्पना र धारणाबाट आउँछन्। यी सबैभन्दा डरलाग्दा कुरा हुन् किनकि यी हाम्रो मनमाथि हाबी हुन्छन्, र यी कुराले हाम्रा कार्यहरूको आशय, अभिप्राय र लक्ष्यहरूलाई नियन्त्रण गर्छन्। साथै यिनले हाम्रो बोली र कार्यलाई पनि अधीन र नियन्त्रण गर्छन्। यदि हामी यी कुराहरू खोतल्दैनौँ र इन्कार गर्दैनौँ भने, हामीले परमेश्‍वरका वचनहरूलाई पूर्ण रूपमा कहिल्यै पनि स्वीकार गर्नेछैनौँ, र हामी उहाँका मागहरूलाई पूर्ण रूपमा कहिल्यै स्वीकार गर्नेछैनौँ र कहिल्यै तिनलाई अभ्यास गर्नेछैनौँ। यदि तैँले आफ्‍नै विचार र दृष्टिकोणहरू, र तैँले सही ठानेका कुराहरूलाई आफूभित्र आश्रय दिन्छस् भने, तैँले परमेश्‍वरका वचनहरूलाई कहिल्यै पूर्ण रूपमा स्वीकार गर्नेछैनस्, न त तैँले तिनलाई तिनको मूल रूपमा नै अभ्यास गर्नेछस्; तैँले निश्चय नै परमेश्‍वरका वचनहरूलाई आफ्नो हृदयमा केलाइकुलाइ गर्नेछस्, र तिनलाई आफ्नो धारणाअनुरूप बनाएपछि मात्र अभ्यास गर्नेछस्। तैँले यसरी नै कार्य गर्नेछस्, र तैँले यसरी नै अरूलाई आफ्नै तौरतरिकातर्फ डोर्‍याउँदै “सहयोग” गर्नेछस्। तैँले परमेश्‍वरको वचन अभ्यास गरिरहेजस्तो देखिनेछ, तर तैँले मानिसको मिसावटी कुरा अभ्यास गरिरहेको हुनेछस्। तँलाई यो थाहा हुनेछैन, र तैँले आफूले सत्यता अभ्यास गरिरहेको छु, सत्यता वास्तविकतामा प्रवेश गरेको छु, र सत्यता प्राप्त गरिसकेको छु भनी सोच्नेछस्। के यो अहङ्कार र आत्मधर्मीपन होइन र? के यस्तो अवस्था डरलाग्दो होइन र? यदि मानिसहरू सत्यता अभ्यास गर्दा होसियार भएनन् भने विचलन आउनेछ। यदि व्यक्ति परमेश्‍वरको वचन अभ्यास गर्न सधैँ आफ्नो कल्पनामा भर पर्छ भने, उसले सत्यता अभ्यास नगरिरहेको हुने मात्र होइन, ऊ त परमेश्‍वरप्रति समर्पित हुन पनि सक्दैन। यदि कसैले सत्यता वास्तविकतामा प्रवेश गर्न चाहन्छ भने, उसले आफूमा कुन धारणा र कल्पनाहरू छन्, अनि आफ्ना कुन विचारहरू सत्यतासँग मेल खाँदैनन् भनेर चिन्तन गर्नैपर्छ। यी कुराहरू चिरफार गर्दा, यीबारे राम्ररी बताउन वा यिनलाई स्पष्ट पार्न एक-दुइटा शब्द काफी हुँदैन। स्वभावतः जीवनमा यस्ता अरू धेरै मामिला हुन्छन्। विगतमा सङ्कलन गरिएका एक सयभन्दा बढी शैतानका विषहरूजस्तै—तैँले शब्द र वाक्यांशहरू त बुझेको होलास्, तर आफूलाई तीसँग दाँजेर कसरी मापन गरेको छस्? के तैँले ती कुरामाथि चिन्तन गरेको छस्? के तँमा पनि यी विषहरू छैनन् र? तैँले कस्तो विचार गर्छस् के त्यसलाई तिनले पनि प्रतिबिम्‍बित गर्दैनन् र? जब तैँले कुनै कामकुराहरू गरिरहेको हुन्छस्, के तँ पनि ती विषहरूको आधारमा कार्य गर्दैनस् र? तैँले आफ्‍ना व्यक्तिगत अनुभवहरूमा गहिरिएर खोजी गर्नैपर्छ, र तिनलाई ती वचनहरूद्वारा मापन गर्नुपर्छ। यदि तिमीहरू शैतानका विषहरू खुलासा गर्ने परमेश्‍वरका वचनहरू सरसरी मात्र पढ्छौ, ती सरर्र मात्र हेर्छौ, वा तीबारे केवल सोच्छौ, अनि ती कुरा वास्तवमा विष हुन्, तिनले वास्तवमा मानिसलाई भ्रष्ट पार्छन् र हानि गर्छन् भनी मानिलिन्छौ, र त्यसपछि परमेश्‍वरको वचनलाई एकातिर पन्छाउँछौ भने, तिमीहरूले कुनै हालतमा पनि आफ्नो भ्रष्ट स्वभाव हटाउनेछैनौ। धेरै मानिस परमेश्‍वरको वचन पढ्छन्, तर तिनलाई वास्तविकतासँग जोड्न सक्दैनन्। तिनीहरू केवल वचनहरू पढ्छन् र शब्दहरूलाई सरर्र हेर्छन्, र तिनीहरूले शाब्दिक अर्थ बुझे भने आफूले परमेश्‍वरको वचन बुझेको छु, वा अझ सत्यता नै बुझेको छु भन्‍ने ठान्छन्। तर तिनीहरू कहिल्यै आफ्नो भ्रष्ट स्वभावबारे चिन्तन गर्दैनन्, र जब तिनीहरूलाई आफूले भ्रष्ट स्वभाव प्रकट गरिरहेको रहेछु भन्‍ने थाहा हुन्छ, तब त्यो समाधान गर्न सत्यता खोज्दैनन्। तिनीहरू परमेश्‍वरको वचनले खुलासा गरेका सबै अवस्था वास्तविक हुन् र ती भ्रष्ट स्वभाव व्यक्त भएका अवस्था हुन् भनी स्विकारेर नै सन्तुष्ट हुन्छन्, र त्यतिमै रोकिन्छन्। के परमेश्‍वरको वचन यसरी पढ्ने व्यक्तिले आफूलाई साँच्चै चिन्न सक्छ? के उसले आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्छ? बिलकुलै सक्दैन। परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिस यसरी नै विश्‍वास गर्छन्, र परिणामस्वरूप, तिनीहरूले दश-बीस वर्ष विश्‍वास गरेपछि पनि आफ्नो स्वभावमा कुनै परिवर्तन देख्दैनन्। यसको मूल कारण तिनीहरूले परमेश्‍वरको वचनमा प्रयास नलगाउनु अनि सत्यता स्विकार्न र आफ्नो हृदयबाट सत्यताप्रति समर्पित हुन नसक्नु हो। तिनीहरू आफ्नो अभ्यासमा केवल प्रावधानहरू पालना गर्छन् र केवल ठूलो दुष्टता गर्नदेखि जोगिन्छन्, र यति गरेर आफूले सत्यता अभ्यास गरिरहेको छु भन्‍ने ठान्छन्। के तिनीहरूको अभ्यासमा विचलन छैन र? के सत्यता अभ्यास गर्न त्यति सहज हुन्छ र? मानिसहरू जीवित प्राणी हुन् र तिनीहरू सबैमा विचार हुन्छ; विशेष गरी मानिसहरू सबैको हृदयमा भ्रष्ट स्वभाव गढेर बसेको हुन्छ, र सबैमा शैतानी प्रकृतिको प्रभुत्वबाट आएका विचार र दृष्टिकोण हुन्छन्। यी सबै विचार र दृष्टिकोण शैतानी स्वभावका प्रकटीकरणहरू हुन्। यदि मानिसहरूले यी कुरालाई परमेश्‍वरको वचनको सत्यताको आधारमा चिरफार गर्न र चिन्न सक्दैनन् भने, तिनीहरूले कुनै हालतमा पनि आफ्नो भ्रष्ट सार चिन्दैनन् र तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न सकिँदैन। सत्यता नस्विकार्नेहरू किन यति अहङ्कारी, आत्मधर्मी र उद्दण्ड हुन्छन्? किनभने तिनीहरू सबैमा विभिन्न कुराबारे फरक विचार र दृष्टिकोण हुन्छन्, र तिनीहरूसँग आफूलाई डोऱ्याउने विचार र सिद्धान्त हुन्छन्, त्यसैले तिनीहरूलाई आफू सही छु भन्‍ने लाग्छ, तिनीहरू अरूलाई तुच्छ ठान्छन्, अनि तिनीहरू अहङ्कारी, आत्मधर्मी र उद्दण्ड हुन्छन्। अरूले तिनीहरूसँग सत्यताबारे जसरी सङ्गति गरे पनि, तिनीहरू त्यो स्विकार्न अनिच्छुक हुन्छन्—तिनीहरू निरन्तर आफूभित्रका विचार र दृष्टिकोणअनुसार जिइरहन्छन्, किनकि ती तिनीहरूको जीवन बनिसकेका हुन्छन्। खासमा तैँले गर्ने सबै कुरामा तेरो मनमा कुनै न कुनै विचार वा दृष्टिकोण हुन्छ, जसले तँलाई त्यो कसरी गर्ने र कुन दिशामा गर्ने भनेर अरनखटन गर्छ। यदि तँलाई यसबारे थाहा छैन भने, तैँले बारम्बार आत्मचिन्तन गर्नुपर्छ, र त्यसपछि तैँले आफ्नो कस्ता विचार र दृष्टिकोणहरूले तेरो कामकुरालाई नियन्त्रण गरिरहेका छन् भनेर थाहा पाउनेछस्। निश्चय नै, यदि तैँले अहिले आफ्नो विचार र दृष्टिकोण जाँच्‍ने हो भने, तैले त्यसमा परमेश्‍वरविरोधी कुनै कुरा छैन, आफू इमानदार र निष्ठावान्‌ छु, स्वेच्छाले आफ्नो कर्तव्य निभाउँछु, र यी कुराहरू त्याग्न र आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छु भनेर महसुस गर्नेथिइस्। यी सबै पक्षमा तँलाई आफूले ठिकै गरिरहेको छु भन्‍ने लाग्ने थियो। तर जब परमेश्‍वर तँसँग साँच्चै गम्भीर बन्नुहुन्छ, जब उहाँले तँलाई तेरो धारणासँग नमिल्ने, तँलाई गर्न इच्छा नलाग्ने कुरा गर्न लगाउनुहुन्छ, तब तैँले त्यसलाई कसरी लिनेछस्? त्यस बेला खुला नहरबाट बग्ने पानीझैँ तेरो विचार, दृष्टिकोण, र भ्रष्ट स्वभाव पर्दाफास हुनेछन्—तैँले जति चाहे पनि त्यसलाई नियन्त्रण गर्न सक्‍नेछैनस्। यसले तँलाई सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन रोक्नेछ। तँ भन्‍नेछस्, “मैले किन आफैलाई नियन्त्रण गर्न सक्दिनँ? म परमेश्‍वरलाई विरोध गर्न चाहन्नँ, तर म किन यसो गरिरहेको छु? म परमेश्‍वरको आलोचना गर्न चाहन्नँ, र उहाँका कार्यहरूबारे धारणाहरू राख्‍न चाहन्नँ—तर म किन उहाँको आलोचना गरिरहेको छु? ममा अझै पनि किन यस्ता धारणाहरू छन्?” यस समयमा, तैँले आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्‍नुपर्छ, र आफूभित्र भएका परमेश्‍वरको प्रतिरोध गर्ने, वा उहाँले अहिले गरिरहनुभएको कामको विरोधी र त्यसको उल्टो हुने कुरा के हुन् भनी जाँच्नुपर्छ। यदि तैँले यी कुराहरूलाई जाँच्न र परमेश्‍वरको वचनको सत्यताअनुसार समाधान गर्न सकिस् भने, तैँले जीवन प्रगति गर्नेछस् र तँ सत्यता बुझ्ने व्यक्ति बन्नेछस्।

चीनलाई नास्तिक राजनीतिक पार्टीले शासन गर्छ र चिनियाँ मानिसहरूलाई नास्तिकवाद र क्रम विकासको शिक्षा दिइन्छ, जसमा “सबै कुरा प्रकृतिबाट आउँछन्” र “मानवजाति बाँदरबाट आएका हुन्” भन्‍नेजस्ता लोकप्रिय भनाइहरू छन्। परमेश्‍वरमा विश्‍वास गरेपछि र उहाँको वचनरू पढेपछि, तँलाई मानवलगायत स्वर्ग र पृथ्वी अनि यावत् थोक परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् भनेर थाहा हुन्छ, र सबै जनाले हृदयमा परमेश्‍वरको वचन साँचो हो भनेर महसुस गर्न सक्छन्। सारा प्रकृति परमेश्‍वरको सृष्टि हो, र यदि परमेश्‍वरले सृष्टि नगर्नुभएको भए कुनै कुरा पनि अस्तित्वमा आउने थिएन। मानिसहरू बाँदरबाट आएका हुन् भन्नु एकदमै अमान्य कुरा हो, किनकि मानव इतिहासभरि कसैले कहिल्यै पनि बाँदर मानिस बनेको देखेको छैन। यसको कुनै प्रमाण छैन, र तसर्थ यो सब शैतानको झुट र छल हो। सत्यता बुझ्नेहरूले शैतानका दुष्ट शब्दहरू, विधर्महरू र भ्रमहरू इन्कार गर्छन् र निस्सन्देह नै बाइबल र परमेश्‍वरको वचनलाई विश्‍वास गर्छन्। तर सत्यतालाई प्रेम नगर्नेहरूलाई परमेश्‍वरको वचन सत्यता हो भनी पूर्ण रूपले स्विकार्न असम्भव हुन्छ। कतिपयले अचम्‍मित हुँदै प्रश्‍न गर्न सक्छन्, “मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, तर कसरी? किन मैले यो देखेको छैन? म आफूले नदेखेको कुरा विश्‍वास गर्दिनँ।” परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास आफ्नै आँखाले देख्न सक्ने कुरामा आधारित हुन्छ। यो आस्था हुनु होइन। मानिस परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरले मानिसलाई अहिलेसम्म क्रमिक रूपमा अगुवाइ गर्दै आउनुभएको छ, र सधैँ मानिसको नियतिमाथि सार्वभौमिकता राख्नुभएको छ। यो तथ्य हो। आखिरी दिनहरूमा, परमेश्‍वरले यी सबै रहस्य खुलासा गर्नुभएको छ, मानिस पुनर्जन्म र देहान्तरण हुन्छ, अनि मानव जीवन र आत्मा परमेश्‍वरले दिनुभएको हो र परमेश्‍वरबाटै आउँछन् भनेर भन्नुभएको छ। यो सत्यता हो। तर जब तँ सत्यताको यो पक्ष देख्छस्, तैँले परमेश्‍वरका यी वचनहरू नस्विकार्ने भएकोले, तिनलाई आफ्नो विचार र दृष्टिकोणसँग दाँज्छस्: “मानिस बाँदरबाट नभई परमेश्‍वरबाट आएको हुनाले, मानिस परमेश्‍वरबाट कसरी आयो त? उहाँले मानिसलाई कसरी जीवन दिनुभयो?” यदि तैँले परमेश्‍वरलाई बुझ्दैनस् भने, परमेश्‍वरसँग एकै सास वा एउटै शब्दले मानिस सृष्टि गर्ने शक्ति, बुद्धि वा अख्तियार हुनु असम्भव छ भनी सोच्नेछस्। तँ यो वास्तविकता हो, वा सत्यता हो भनेर विश्‍वास गर्दैनस्। तँ आफूलाई शङ्का लाग्दा, परमेश्‍वरका यी वचनहरूको प्रतिरोध गर्छस्, तिनमा विश्‍वास लाग्दैन भन्छस्, तर खासमा तेरो हृदय प्रतिरोधको स्थिति र मनोवृत्तिमा हुन्छ। परमेश्‍वरले यी वचनहरू बोल्नुहुँदा, तँ ती सुन्न अनिच्छुक हुन्छस्, तैँले हृदयमा विकर्षित महसुस गर्छस्, र परमेश्‍वरको वचनलाई आमेन भन्‍न सक्दैनस्। वास्तवमा तथ्य हेर्ने हो भने, हामीले परमेश्‍वरले कसरी वा कहिले मानिस बनाउनुभयो, त्यो कसले देख्यो, वा कसैले यसको गवाही दिन सक्छ कि सक्दैन भनेर अनुसन्धान गर्न आवश्यक छैन। मानिसहरूले यसको अध्ययन गर्न जरुरी छैन। जब मानिसहरू सच्चा रूपले सत्यता बुझ्छन् र परमेश्‍वरका कार्यहरू चिन्दछन्, तब तिनीहरूले आफै गवाही दिन सक्नेछन्। तिनीहरूले अहिले ध्यान दिनुपर्ने मुख्य मुद्दा के हो? परमेश्‍वरको काम चिन्नु हो। परमेश्‍वरले सुरुवातदेखि अन्त्यसम्म मानिसलाई व्यवस्थित गर्ने र मानवजातिमाझ मानिसलाई मुक्ति दिने आफ्नो काम गरिरहनुभएको छ। सुरुवातदेखि अन्त्यसम्म, एउटै परमेश्‍वर हुनुहुन्छ जो काम गरिरहनुभएको छ, बोलिरहनुभएको छ, र मानवजातिलाई सिकाइरहनुभएको र डोऱ्याइरहनुभएको छ। यो परमेश्‍वर साँच्चै हुनुहुन्छ। परमेश्‍वरले अहिले अत्यन्तै धेरै वचन बोल्नुभएको छ, हामीले उहाँलाई आमनेसामने देखिसकेका छौँ, उहाँले बोल्नुभएको सुनेका छौँ, उहाँको काम अनुभव गरेका छौँ, उहाँका वचनहरू खाएका र पिएका छौँ, र उहाँका वचनहरूलाई आफ्नो जीवन बनाउन आफूभित्र स्विकारेका छौँ। यी वचनहरूले हामीलाई निरन्तर डोऱ्याइरहेका र परिवर्तन गरिरहेका छन्। यो परमेश्‍वर वास्तवमै हुनुहुन्छ। तसर्थ, परमेश्‍वरले भन्नुभएझैँ हामीले मानवजातिको सृष्टि परमेश्‍वरले गर्नुभएको हो, र परमेश्‍वरले सुरुमा आदम र हव्वा सृष्टि गर्नुभयो भनेर विश्‍वास गर्नुपर्छ। तैँले यो परमेश्‍वरको अस्तित्व छ भनी विश्‍वास गर्ने भएकोले र तँ अहिले उहाँसामु आएकोले, के तँलाई अझै पनि यहोवाले गर्नुभएको काम यही परमेश्‍वरको काम हो भन्‍ने पुष्टि चाहिन्छ? यदि यो कसैले पुष्टि गर्न सक्दैन र कसैले देख्दैन भने, के तँ यसमा विश्‍वास गर्नेछैनस्? अथवा अनुग्रहको युगको कामको सम्बन्धमा, के तँ आफूले येशूलाई कहिल्यै नदेखेकोले उहाँ देहधारी परमेश्‍वर हुनुहुन्थ्यो भनी विश्‍वास गर्दैनस्? यदि तैँले व्यक्तिगत रूपमा वर्तमान परमेश्‍वरले बोल्नुभएको, काम गर्नुभएको वा देहधारण गर्नुभएको नदेखेको भए, के तँ यी कुरा विश्‍वास गर्ने थिइनस्? यदि तैँले यी कुराहरू नदेखेको भए वा यी कुराको पुष्टि गर्न कोही गवाही नभएको भए, के तैँले ती सबै कुरा विश्‍वास गर्ने थिइनस्? यो त मानिसमा हुने हास्यास्पद गलत दृष्टिकोणको कारण हुन्छ। यो निकै धेरै मानिसले गर्ने गल्ती हो। तिनीहरूले सबै कुरा व्यक्तिगत रूपमा हेर्नुपर्छ, र यदि हेरेनन् भने त्यो विश्‍वास गर्दैनन्। यो गलत हो। यदि व्यक्तिले साँचो रूपमा परमेश्‍वरलाई चिन्छ, तथ्यहरू नदेखीकन समेत उहाँको वचनमा विश्‍वास गर्न सक्छ, र उहाँको वचनको पुष्टि गर्न सक्छ भने मात्र, ऊ सत्यता बुझ्ने र साँचो विश्‍वास भएको व्यक्ति हुन्छ। अब हामीले परमेश्‍वरका यी वचनहरू देखिसकेका र उहाँको आवाज सुनिसकेका छौँ, हामीलाई साँचो विश्‍वास दिलाउन र त्यसैले हामीलाई उहाँलाई पछ्याउन र उहाँबाट आउने हरेक शब्द र सबै काममा विश्‍वास गराउन यो काफी छ। हामीले यी कुरा विश्लेषण वा अनुसन्धान गरिरहनुपर्ने कुनै आवश्यकता छैन। के मानिसहरूसँग हुनुपर्ने समझ यस्तै होइन र? परमेश्‍वरले मानवजाति सृष्टि गर्नुहुँदा, त्यो देख्ने कोही थिएन, तर अहिले परमेश्‍वर सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन, आफ्नो काम व्यावहारिक रूपमा गर्न, मण्डलीमाझ हिँड्न र मानवजातिमाझ काम गर्न देहधारी हुनुभएको छ। के धेरै मानिसले यो देखेका छैनन् र? सबैले यो देख्न सक्दैनन्, तर तँ यसमा विश्‍वास गर्छस्। किन तँ यसमा विश्‍वास गर्छस्? तँलाई परमेश्‍वरको वचन सत्यता हो र यही नै साँचो मार्ग र परमेश्‍वरको काम हो भन्‍ने लागेकोले, तँ यसमा विश्‍वास गर्छस् होइन र? के तँ अझै यसो भन्न सक्छस्, “परमेश्‍वरको कामको यस चरणमा, मैले उहाँले बोल्नुभएको सुनेँ, र उहाँका वचनहरू पनि देखेँ। यो साँचो हो, यी वचनहरू परमेश्‍वरबाट आएका हुन्। तर प्रभु येशूको क्रूसीकरण कामको सम्बन्धमा, मैले उहाँको किलाका डोबहरू स्पर्श गरिनँ, त्यसैले उहाँ क्रूसमा टाँगिनुभएको थियो भन्‍ने कुरालाई विश्‍वास गर्दिनँ। मैले व्यवस्थाको युगमा यहोवा परमेश्‍वरले गरेको काम देखिनँ, र उहाँले व्यवस्थाहरू घोषणा गर्नुहुँदा मैले सुनिनँ। ती घोषणा मोशाले मात्र सुने र मोशाका पाँच पुस्तक लेखे, तर मलाई उनले ती कसरी लेखे त्यो थाहा छैन”? के यी कुराहरू भन्‍ने मानिसहरू सामान्य मनस्थितिका हुन् र? तिनीहरू अविश्‍वासी हुन् र परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिस होइनन्। ठ्याक्‍कै यस्तै कुरा इस्राएलीहरूले पनि भनेका थिए, “के यहोवा साँच्‍चै मोशामार्फत मात्र बोल्‍नुभएको छ र? के ऊहाँ हामीमार्फत बोल्‍नुभएको छैन र?” (गन्ती १२:२)। यसमा तिनीहरूले यसो भन्न खोजेका थिए: “हामी मोशाको कुरा सुन्नेछैनौँ, हामीले यो कुरा सिधै यहोवा परमेश्‍वरबाट नै सुन्नुपर्छ।” अनुग्रहको युगमा पनि मानिसहरूले यस्तै भनेका थिए, तिनीहरूले व्यक्तिगत रूपमा आफ्नै आँखाले नदेखेकाले, येशू क्रूसमा टाँगिनुभएको थियो वा उहाँ मृत अवस्थाबाट ब्युँतनुभएको थियो भनेर विश्‍वास गरेनन्। त्यति बेला थोमा नामको चेलाले येशूको किलाका डोबहरू छुन्छु भनी जिद्दी गरेको थियो। अनि प्रभु येशूले उसलाई के भन्नुभयो? (“थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्” (यूहन्‍ना २०:२९)।) “तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।” खासमा यसको अर्थ के हो? के तिनीहरूले साँच्चै केही नदेखेका हुन्? वास्तवमा, येशूले भनेका सबै कुरा र उहाँले गरेका सबै कामले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने पुष्टि गरिसकेको थियो, त्यसैले मानिसहरूले त्यो विश्‍वास गर्नुपर्थ्यो। येशूले अझ बढी चिन्ह र चमत्कार देखाउनु वा अझ बढी वचनहरू बोल्नु आवश्यक थिएन, र मानिसहरूले विश्‍वास गर्न उहाँको किलाका डोबहरू छुन आवश्यक थिएन। साँचो विश्‍वास देखेको कुरामा मात्र भर पर्दैन, बरु विश्‍वास त आत्मिक पुष्टिद्वारा अन्त्यसम्म कायम रहन्छ र त्यसमा कहिल्यै कुनै शङ्का हुँदैन। थोमा देखेको कुरामा मात्र विश्‍वास गर्ने अविश्‍वासी थियो। थोमाजस्तो नबन्।

थोमाजस्ता मानिसहरूको भाग मण्डलीमा पक्कै हुन्छ। तिनीहरू परमेश्‍वरको देहधारणबारे शङ्का गरिरहन्छन्, र परमेश्‍वरले पृथ्वी छोड्नुहोला, तेस्रो स्वर्गमा फर्कनुहोला, अनि परमेश्‍वरको साँचो रूप देखेर बल्ल विश्‍वास गर्नुपर्ला भनी कुरिरहन्छन्। तिनीहरू परमेश्‍वरले देहमा सत्यता व्यक्त गर्नु भनेको उहाँ देखा पर्नुभएको र उहाँले आफ्नो काम गर्नुभएको हो भनेर विश्‍वास गर्दैनन्। यस्तो व्यक्तिले वास्तवमै परमेश्‍वरको आत्मिक शरीर देख्‍ने बेलासम्म त सबै कुरा अति ढिलो भइसकेको हुनेछ, र तिनीहरूलाई त्यहीबेला परमेश्‍वरले निन्दा गर्नुहुनेछ। प्रभु येशूले भन्‍नुभयो: “थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।” यी वचनहरूको अर्थ के हो भने, उसलाई प्रभु येशूले निन्दा गरिसक्नुभएको थियो र ऊ एक अविश्‍वासी हो भनेर भनिसक्‍नुभएको थियो। यदि तँ साँचो रूपमा प्रभुमा र उहाँले भनेका सबै कुरामा विश्‍वास गर्छस् भने तँ आशिषित् हुनेछस्। यदि तैँले प्रभुलाई पछ्याएको धेरै समय भएको छ, तर उहाँको पुनरुत्थान क्षमतामा, वा उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनस् भने तँमा साँचो विश्‍वास छैन र तैँले आशिष् पाउन सक्नेछैनस्। विश्‍वासद्वारा मात्र आशिष् पाउन सकिन्छ, र यदि तँ विश्‍वास गर्दैनस् भने, तैँले आशिष् पाउनेछैनस्। के परमेश्‍वर तँसामु प्रकट हुनुभयो, र उहाँले तँलाई उहाँ देख्ने तुल्याउनुभयो, र तँलाई व्यक्तिगत रूपमा विश्‍वस्त पार्नुभयो भने मात्र, तैँले कुनै पनि कुरा विश्‍वास गर्न सक्ने हो? मानव भएर तँ कसरी परमेश्‍वरलाई तँकहाँ व्यक्तिगत रूपमा देखा पर्नुहोस् भनी अनुरोध गर्न योग्य छस्? तँ कसरी उहाँलाई तँजस्तो भ्रष्ट मानवसँग व्यक्तिगत रूपमा बोल्न लगाउन योग्य छस्? त्यसबाहेक, कुन कुराले तँलाई तैँले विश्‍वास गर्नुअघि परमेश्‍वरलाई सबै कुरा स्पष्ट बताउन बाध्य पार्न योग्य बनाउँछ? यदि तँसँग समझ छ भने, परमेश्‍वरले व्यक्त गरेका यी वचनहरू पढेपछि नै विश्‍वास गर्नेछस्। यदि तँ साँचो रूपमा विश्‍वास गर्छस् भने, उहाँले भन्‍ने वा गर्ने कुराले केही फरक पर्दैन। बरु, यी वचनहरू सत्यता हुन् भन्‍ने देखेपछि, तँ ती वचन परमेश्‍वरद्वारा भनिएका हुन् र उहाँले ती कुराहरू गर्नुभएको हो भनेर शतप्रतिशत विश्‍वस्त हुनेछस्, अनि तँ उहाँलाई अन्त्यसम्म पछ्याउन तयार भइसको हुनेछस्। तैँले शङ्का गर्नु पर्दैन। शङ्कै-शङ्का गर्ने मानिसहरू अति छली हुन्छन्। तिनीहरू बस परमेश्‍वरमा विश्‍वास गर्नै सक्दैनन्। तिनीहरू सधैँ ती रहस्यहरू बुझ्ने प्रयास गरिरहन्छन् र तिनलाई विस्तृत रूपमा बुझिसकेपछि मात्र विश्‍वास गर्नेछन्। तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने पूर्वसर्त भनेको यी प्रश्नहरूको स्पष्ट जवाफ पाउनु हो: देहधारी परमेश्‍वर कसरी आउनुभयो? उहाँ कहिले आउनुभयो? उहाँ जानुअघि कति समय बस्नुहुनेछ? उहाँ यहाँबाट गएपछि कहाँ जानुहुन्छ? उहाँको जाने प्रक्रिया के हो? देहधारी परमेश्‍वरले कसरी काम गर्नुहुन्छ, र उहाँ कसरी जानुहुन्छ? … तिनीहरू केही रहस्य बुझ्न चाहन्छन्; तिनीहरू सत्यता खोजी गर्न होइन, ती रहस्य अनुसन्धान गर्न यहाँ आएका हुन्। तिनीहरू आफूले यी रहस्यहरू बुझ्न नसकुञ्जेल परमेश्‍वरमा विश्‍वास गर्न सकिनेछैन भन्‍ने सोच्छन्; यस्तो लाग्छ, मानौँ तिनीहरूको विश्‍वासमा अवरोध आइपरेको छ। त्यस्ता मानिसहरूमा यो दृष्टिकोण हुनु समस्याजनक कुरा हो। तिनीहरूलाई रहस्यहरू अनुसन्धान गर्ने चाहना भइसकेपछि, तिनीहरू सत्यता वा परमेश्‍वरको वचनलाई ध्यान दिने कष्ट उठाउँदैनन्। के यस्ता मानिसहरूले आफूलाई चिन्न सक्लान्? आफूलाई चिन्नु तिनीहरूका लागि सहज हुँदैन। यो निश्चित खालको व्यक्तिलाई निन्दा गर्नु होइन। यदि कुनै व्यक्तिले सत्यता स्विकार्दैन र परमेश्‍वरको वचनमा विश्‍वास गर्दैन भने, ऊसँग साँचो विश्वास हुँदैन। उसले केवल केही वचन, रहस्य, मामुली कुरा, वा मानिसहरूले याद नगरेका समस्याहरू केलाउनमा मात्र ध्यान दिनेछ। तर के पनि सम्भव छ भने, एक दिन परमेश्‍वरले उसलाई अन्तर्दृष्टि दिनुहुनेछ, वा उसलाई उसका दाजुभाइ-दिदीबहिनीहरूले सत्यताबारे नियमित सङ्गति गरेर सहयोग गर्नेछन् र ऊ सुल्टिनेछ। यो भएको दिन, उसले आफ्नो पहिलेका दृष्टिकोणहरू अति हास्यास्पद रहेछन्, र आफू अति अहङ्कारी थिएछु अनि आफूलाई अति उच्च ठान्थेछु भनेर महसुस गर्नेछ, र ऊ लज्जित हुनेछ। साँचो विश्‍वास गर्नेहरूले परमेश्‍वरले जे भन्नुभए पनि कुनै शङ्काविना त्यो विश्‍वास गर्नेछन् र जब तिनीहरूसँग केही अनुभव हुन्छ र जब तिनीहरूले परमेश्‍वरका वचनहरू सबै पूरा र पूर्ति भएको देख्छन्, तब तिनीहरूको विश्‍वास झन् बलियो हुनेछ। यस्तो खाले मानिस आत्मिक बुझाइ भएको, सत्यतामा विश्‍वास गर्ने र त्यसलाई स्विकार्न सक्ने, अनि साँचो विश्‍वास भएको व्यक्ति हो।

वसन्त, २००८

अघिल्लो:  आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

अर्को:  साँचो समर्पणद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger