अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२६)
विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, अनि त्यसपछि निकाला वा निष्कासन गर्ने (भाग पाँच)
मण्डलीको सफाइको कामप्रति अगुवा र कामदारहरूमा हुनुपर्ने मनोवृत्ति
यस वर्ष, हामीले निरन्तर अगुवा र कामदारहरूका जिम्मेवारीहरू, र संलग्न सबै प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गरिरहेका छौँ। सङ्गतिका विषयहरू झन्-झन् विस्तृत र विशिष्ट बनेका छन्, जसमा सबै प्रकारका मानिसहरूका विभिन्न समस्याहरू समावेश छन्, र यी मानिसहरूका विशिष्ट प्रकटीकरणहरू र तिनीहरूलाई विभाजन गर्नुपर्ने वर्गहरूका बारेमा गरिएको सङ्गति पनि अत्यन्तै विशिष्ट र स्पष्ट भएको छ। यी विस्तृत समस्याहरूका बारेमा जति विशिष्ट र स्पष्ट रूपमा सङ्गति गरिन्छ, यसले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि त्यति नै सकारात्मक सहयोग र मार्गदर्शन प्रदान गर्नुपर्छ, र अगुवा र कामदारहरूलाई काम गर्न र आफ्नो कर्तव्य पूरा गर्नका लागि त्यति नै बढी मार्गदर्शन र सहयोग प्रदान गर्नुपर्छ। तर, सङ्गति जसरी गरिए पनि, सङ्गति जति नै विशिष्ट भए पनि, कतिपय अगुवा र कामदारहरू मण्डलीका विभिन्न प्रकारका मानिस र समस्यालाई कसरी सम्हाल्ने र हटाउने भन्ने बारेमा अझै स्पष्ट हुँदैनन्। सबै प्रकारका मानिसहरूका समस्याहरूका बारेमा स्पष्ट रूपमा सङ्गति गरिन्छ, तैपनि कतिपय अगुवा र कामदारहरूले विभिन्न प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउने र व्यवहार गर्ने भन्ने कुरा बुझ्न सक्दैनन्। तिनीहरूले अझै पनि सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्दैनन्, न त तिनीहरूले मण्डलीका विभिन्न प्रकारका मानिस र समस्यालाई सम्हाल्न सत्यताको प्रयोग नै गर्न सक्छन्। यसको कारण के हो? त्यस्ता मानिसहरूमा सत्यता वास्तविकताको कमी हुन्छ। सबै प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा सङ्गतिमार्फत, व्यक्तिले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्ने र नगर्ने, सत्यता पछ्याउने र नपछ्याउने, आज्ञाकारी र समर्पित हुने, र बाधा र अवरोध ल्याउनेहरूलाई आधारभूत रूपमा खुट्ट्याउनुपर्छ र तिनीहरूका लागि उचित बन्दोबस्तहरू गर्नुपर्छ। तर, मण्डलीका सबै प्रकारका मानिसहरूको परिस्थितिलाई हेर्दा, स्पष्टतः दुष्ट मानिसहरू मात्रै निकालिएका छन्; धेरै अविश्वासीहरूलाई राम्रोसँग निकालिएको छैन। मण्डलीलाई पखाल्ने काममा, अगुवा र कामदारहरूले यसलाई निष्क्रिय रूपमा लिनु, मान्छे खुसी पारिहिँड्ने व्यक्ति जस्तो व्यवहार गर्नु, वा स्पष्टतः दुष्ट मानिसहरूलाई पखालेपछि सबै कुरा साम्य र ठीक भएको छ भनी सोच्नुको सट्टा दुष्ट मानिसहरू र अविश्वासीहरूलाई जति सक्दो चाँडो पखाल्ने परमेश्वरको काममा सहकार्य गर्नुपर्छ। अगुवा र कामदारहरूले हरेक समूहको कामलाई सक्रिय रूपमा निरीक्षण गर्नुपर्छ, हरेक समूहका सदस्यहरूका परिस्थितिहरू, त्यहाँ सङ्ख्या बढाउनलाई मात्रै कुनै अविश्वासीहरू छन् कि छैनन् वा मण्डलीको काममा बाधा दिन नकारात्मकता र धारणाहरू फैलाउने अविश्वासीहरू छन् कि छैनन् भनेर जाँच गर्नुपर्छ, र पत्ता लगाएपछि, यी मानिसहरूलाई पूर्ण रूपमा खुलासा गर्नुपर्छ र निकाल्नुपर्छ। यो अगुवा र कामदारहरूले गर्नुपर्ने काम हो; तिनीहरू निष्क्रिय हुनु हुँदैन, तिनीहरूले कार्य गर्न माथिका आदेश र अनुरोध पर्खिरहनु हुँदैन, न त तिनीहरूले सबै दाजुभाइ-दिदीबहिनीहरूले भनेपछि थोरै काम मात्रै नै गर्नुपर्छ। अगुवा र कामदारहरू आफ्नो काममा परमेश्वरका अभिप्रायहरूप्रति विचारशील हुनुपुर्छ र उहाँप्रति इमानदार हुनुपर्छ। तिनीहरूको लागि काम गर्ने सबभन्दा राम्रो शैली भनेको सक्रिय भई समस्याहरू पहिचान र समाधान गर्नु हो। तिनीहरू, विशेषगरी आफूसँग आधारका रूपमा अहिलेका यी वचनहरू र सङ्गति हुँदा, निष्क्रिय रहनु हुँदै हुँदैन। तिनीहरूले सत्यता सङ्गति गरेर वास्तविक समस्या र कठिनाइहरू पूर्ण रूपमा समाधान गर्न पहल गर्नुपर्छ, र आफ्नो काम जसरी गर्नुपर्ने हो ठ्याक्कै त्यसरी नै गर्नुपर्छ। तिनीहरूले कार्यप्रगतिबारे तुरुन्तै र पूर्वसक्रिय रूपमा फलोअप गर्नुपर्छ; तिनीहरूले सधैँ माथिको आदेश र अनुरोध पर्खेर मात्र अनिच्छापूर्वक कामकारबाही गर्न मिल्दैन। यदि अगुवा र कामदारहरू सधैँ नकारात्मक र निष्क्रिय रहन्छन् र वास्तविक काम गर्दैनन् भने, तिनीहरू अगुवा र कामदारका रूपमा सेवा गर्न लायक हुँदैनन्, र तिनीहरूलाई बर्खास्त गरेर अर्को काम दिइनुपर्छ। अहिले आफ्नो काममा निष्क्रिय बन्ने अगुवा र सेवकहरू धेरै छन्। तिनीहरू माथिबाट आदेश र दबाब आएपछि मात्र अलि काम गर्छन्; नत्र, तिनीहरू सुस्ताउँछन् र बिलम्ब गर्छन्। कतिपय मण्डलीको काम निकै अव्यवस्थित भएको हुन्छ, त्यहाँ कर्तव्य निभाउने कतिपय मानिसहरू अत्यन्तै सुस्त र झाराटारुवा हुन्छन्, र तिनीहरूले कुनै परिणाम दिँदैनन्। यी समस्याहरू पहिल्यै अत्यन्तै गम्भीर र भयानक प्रकृतिका भइसकेका हुन्छन्, तर ती मण्डलीका अगुवा र कामदारहरूले कर्मचारी र अधिपतिझैँ व्यवहार गर्छन्। तिनीहरूले कुनै व्यावहारिक काम गर्न मात्र होइन, समस्याहरू पहिचान वा समाधान गर्नसमेत सक्दैनन्। यसले मण्डलीको काम ठप्प पार्छ र गतिरोध उत्पन्न हुन्छ। जहाँ मण्डलीको काम भयानक रूपमा भताभुङ्ग भएको हुन्छ र त्यहाँ व्यवस्थितपनको कुनै छनक हुँदैन, तब अवश्य नै त्यहाँ झूटो अगुवा वा ख्रीष्टविरोधीले शक्ति लिएको हुन्छ। झूटो अगुवाले शक्ति लिएको हरेक मण्डलीमा, मण्डलीको सबै काम भताभुङ्ग र पूर्ण भद्रगोलको अवस्थामा हुन्छ—त्यसमा कुनै शङ्का छैन। उदाहरणका लागि, अमेरिकी मण्डलीहरूका धेरै समस्याहरू मैले आफ्नै कान वा आँखाले पत्ता लगाएँ। मैले देखेका धेरैजसो समस्याहरू ठाउँको-ठाउँ समाधान गरिए; अरू केही समस्याहरू, मैले अमेरिकी मण्डलीका अगुवाहरूलाई समाधान गर्न लगाएँ। तर, अगुवा र कामदारहरूले अधिकांश काम निकै निष्क्रिय रूपमा गर्छन्, पुनःजाँचको कार्य ज्यादै सुस्त र त्यसको प्रभावकारिता अत्यन्तै न्यून हुन्छ, तिनीहरूका अधिकांश दैनिक कार्यहरू माथिको आदेश र आग्रहपछि मात्र अघि बढ्छन्। माथिले कामको प्रबन्ध गरेपछि, तिनीहरू केही समय व्यस्त हुनेछन्, तर त्यो काम पूरा गरिसकेपछि, अब के गर्ने भनेर तिनीहरूलाई थाहै हुँदैन किनकि तिनीहरू आफूले कस्ता कर्तव्यहरू गर्नुपर्छ भन्ने नै बुझ्दैनन्। अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै गर्नुपर्ने कामको बारेमा तिनीहरूलाई कहिल्यै स्पष्ट थाहा हुँदैन; तिनीहरूका नजरमा, गरिनुपर्ने काम केही पनि हुँदैन। यदि मान्छेलाई पूरा गरिनुपर्ने कामको बारेमा थाहा छैन भने, त्यहाँ के भइरहेको हुन्छ? (तिनीहरूले बोझ लिइरहेका हुँदैनन्।) सटीक रूपमा भन्दा, तिनीहरूले बोझ लिँदैनन्; तिनीहरू निकै अल्छी पनि हुन्छन् चैन-आरामको लोभ गर्छन्, सम्भव भए जति धेरै पटक विश्राम लिन्छन्, र कुनै पनि अतिरिक्त कामहरू पन्छाउने कोसिस गर्छन्। यी अल्छी मानिसहरूले प्राय यस्तो सोच्ने गर्छन्, “मैले किन यति धेरै चिन्ता गर्ने? धेरै चिन्ता गर्दा छिटो बूढो मात्र भइन्छ। त्यस्तो काम गरेर, यति धेरै भौँतारिएर, अनि आफूलाई त्यति थकाएर मलाई कसरी फाइदा हुन्छ? अत्यधिक थकानले म बिरामी भएँ भने के हुन्छ? मसँग उपचार गर्ने पैसा छैन। अनि म बूढो भएपछि कसले मेरो हेरचाह गर्छ?” यी अल्छी मानिसहरू यति निष्क्रिय र पछौटे हुन्छन्। तिनीहरूमा थोरै सत्यता पनि हुँदैन, र तिनीहरूले कुनै पनि कुरा स्पष्ट देख्न सक्दैनन्। तिनीहरू भ्रमित मानिसहरू हुन्, होइन र? तिनीहरू सबै अन्योलमा छन्, तिनीहरू सत्यताप्रति बेखबर छन् र तिनीहरूलाई यसमा कुनै चासो हुँदैन, अनि तिनीहरूलाई कसरी मुक्ति दिन सकिन्छ र? मानिसहरू किन जिउँदो लासझैँ सधैँ अनुशासनहीन र अल्छी हुन्छन्? यो तिनीहरूको प्रकृतिको मामिलासँग जोडिएको छ। मानव प्रकृतिमा एक प्रकारको आलस्य हुन्छ। मानिसहरूले जुनसुकै काम गरिरहेको भए पनि, तिनीहरूलाई निरीक्षण र प्रोत्साहन गर्ने कोही न कोही व्यक्ति सधैँ चाहिन्छ। कहिलेकाहीँ मानिसहरूले देहको वास्ता गर्छन्, भौतिक सहजताको तृष्णा गर्छन्, र सधैँ आफ्नो लागि केही कुरा जोगाइराख्छन्—यी मानिसहरू दुष्ट अभिप्राय र धूर्त योजनाहरूले भरिपूर्ण हुन्छन्; यिनीहरू साँच्चै काम नलाग्ने मानिसहरू हुन्। तिनीहरूले जुनै महत्त्वपूर्ण कर्तव्य निभाइरहेका भए पनि, सधैँ आफूले सक्नेभन्दा कम नै गर्छन्। यो गैरजिम्मेवार र अबफादारी हो। आज मैले तिमीहरूलाई काममा निष्क्रिय नहुन यी कुराहरू बताएको छु। म जे भन्छु तिमीहरूले त्यसलाई पालना गर्न सक्नैपर्छ। यदि म विभिन्न मण्डलीहरूमा गएको भए वा मैले तिमीहरूले धेरै काम गरेका छौ, तिमीहरूले अत्यन्तै प्रभावकारी रूपमा काम गरेका छौ, र काम अत्यन्तै द्रुत गतिमा अघि बढिरहेको छ, यो सन्तोषजनक स्तरमा पुगेको छ, र सबैले आफ्नो सक्दो प्रयास गरेका छन् भन्ने थाहा पाएको भए, म निकै खुसी हुनेथिएँ। यदि म विभिन्न मण्डलीहरूमा गएँ र मैले सबै पक्षहरूमा कामको प्रगति सुस्त भइरहेको छ भन्ने देखेँ, र यसले तिमीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गरेका छैनौ र सुसमाचार प्रचारको सामान्य गतिसँग आफ्नो गति मिलाएका छैनौ भन्ने कुरालाई प्रमाणित गर्ने हो भने, तिमीहरूलाई मेरो मुड कस्तो हुनेथ्यो भन्ने लाग्छ? के म अझै पनि तिमीहरूलाई देख्दा खुसी हुनेथिएँ? (अहँ।) म हुनेथिइनँ। यो काम तिमीहरूलाई सुम्पिएको छ, र मैले भन्नुपर्ने सबै कुरा भनिसकेको छु; तिमीहरूलाई अभ्यासका विशिष्ट सिद्धान्तहरू र मार्ग पनि बताइएको छ। तैपनि, तिमीहरू कुनै कदम चाल्दैनौ, काम गर्दैनौ, र मैले व्यक्तिगत रूपमा तिमीहरूको सुपरिवेक्षण र तिमीहरूलाई प्रेरित गर्न, तिमीहरूलाई काटछाँट गर्न वा काम गर्न आदेश समेत दिन पर्खिरहेका हुन्छौ। यहाँ समस्या के हो? के यसलाई चिरफार गर्नु पर्दैन र? जब तिमीहरूले स्पष्ट रूपमा नै गर्नुपर्ने काम गरिरहेका हुँदैनौ र यसलाई वहन गर्न सक्दैनौ—के म तिमीहरूप्रति राम्रो मनोवृत्ति राख्न सक्छु? (सक्नुहुन्न।) म किन तिमीहरूप्रति राम्रो मनोवृत्ति राख्न सक्दिनँ? (हामी आफ्नो कर्तव्य पूरा गर्दा अत्यन्तै गैरजिम्मेवार हुन्छौँ।) किनभने तिमीहरूले आफ्नो सारा हृदय र बलले आफ्नो कर्तव्य पूरा गरिरहेका हुँदैनौ, बरु झाराटारुवा तरिकाले मात्रै पूरा गरिरहेका हुन्छौ। आफ्नो कर्तव्यमा बफादार व्यक्तिले कम्तीमा पनि आफ्नो सबै सामर्थ्य लगाउनुपर्छ, तर तिमीहरूले यो कुरासमेत हासिल गर्न सक्दैनौ; तिमीहरू धेरै पछाडि पर्छौ! तिमीहरूको क्षमता अपर्याप्त छ भन्ने होइन; तिमीहरूको मानसिकता गलत छ र तिमीहरू गैरजिम्मेवार छौ। तिमीहरूको हृदयमा केही बेतुक कुराहरू छन्, जसले तिमीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नबाट रोक्छन्। यसको साथै, मान्छे खुसी पारिहिँड्ने मानसिकताले तिमीहरूलाई मण्डलीलाई पखाल्ने काम गर्नबाट रोक्छ। के तिमीहरूलाई मण्डलीलाई पखाल्नुको महत्त्व के हो भन्ने थाहा छ? परमेश्वरले किन मण्डलीलाई पखाल्न चाहनुहुन्छ? मण्डलीलाई नपखाल्नुका परिणामहरू के-के हुन्? तिमीहरू सबै यी कुराहरूका बारेमा अस्पष्ट छौ र तिमीहरूले सत्यताको खोजी गर्दैनौ, जसले तिमीहरूले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्दैनौ भन्ने कुरालाई प्रमाणित गर्छ। तिमीहरू आफ्नो पदको सामान्य र नियमित काम गर्न मात्रै इच्छुक हुन्छौ र विशेष कामहरू, विशेष गरी अरूलाई चिढ्याउन सक्ने कामहरूबाट टाढा बस्छौ। तिमीहरू सबै यी कामहरू अरू कसैलाई सुम्पन मन पराउँछौ। के तिमीहरू यसरी नै सोच्दैनौ र? के यो समाधान गर्नुपर्ने समस्या होइन र? तिमीहरू सधैँ यसो भन्छौ, “मेरो क्षमता कमजोर छ, सत्यतासम्बन्धी मेरो बुझाइ सीमित छ, र मसँग कामको पर्याप्त अनुभव छैन। म कहिल्यै मण्डली अगुवा भएको छैनँ, न त मैले मण्डलीलाई पखाल्ने काम नै गरेको छु।” के यो बहाना बनाउनु होइन र? मण्डलीलाई पखाल्ने कामबारे अत्यन्तै स्पष्ट रूपमा सङ्गति गरिएको छ। ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र अविश्वासीहरूलाई पखाल्नु अत्यन्तै सरल कुरा हो। के ती केही सिद्धान्तहरू साँच्चै बुझ्न गाह्रो छ? यदि त्यस्ता सरल समस्याहरूलाई स्पष्ट रूपमा व्याख्या गरियो र मानिसहरूले अझै पनि बुझेनन् भने, त्यसले के सङ्केत गर्छ? यसले के सङ्केत गर्छ भने, कि त मानव भाषा बुझ्नका लागि तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ, कि त तिनीहरू उचित कामहरूमा ध्यान नदिने बदमासहरू मात्रै हुन्। अगुवा र कामदारहरूका बीचमा, पक्कै पनि कमजोर क्षमता भएका कतिपय मानिसहरू हुन्छन्, र पक्कै पनि वास्तविक काममा संलग्न नहुने तर मान्छे खुसी पारिहिँड्ने व्यक्तिहरू हुन्छन्; उचित कामहरूलाई बेवास्ता गर्ने र लापरवाह रूपमा दुष्कर्म गर्ने केही बदमासहरू पनि अवश्य नै हुन्छन्—यी सबै परिस्थितिहरू अस्तित्वमा हुन्छन्। पहिलो, उचित कामहरूलाई बेवास्ता गर्ने यी बदमासहरूलाई पखाल्नुपर्छ। वास्तविक काम गर्न सक्ने जोकोहीलाई प्रयोग गर्नुपर्छ, अगुवाका रूपमा रहेर मान्छे खुसी पारिहिँड्ने व्यक्तिहरूलाई अवश्य नै बर्खास्त गर्नुपर्छ, र मानव भाषा बुझ्न र केही वास्तविक काम गर्न सक्ने कमजोर क्षमता भएका मानिसहरूलाई राख्नुपर्छ। यी समस्याहरूलाई यसरी समाधान गर्नुपर्छ। यदि परमेश्वरले सङ्गति गर्नुभएपछि, तैँले अगुवा र कामदारहरूले समाधान गर्नुपर्ने मण्डलीको कामका समस्याहरू स्पष्ट रूपमा देख्न सक्छस् भने, तैँले थप ढिलाइ नगरी तिनलाई तुरुन्तै समाधान गर्नुपर्छ। तैँले माथिले व्यक्तिगत रूपमा कामहरू सुम्पने वा आदेशहरू जारी गर्ने कुराको प्रतीक्षा नगरी कार्य गर्नका लागि अग्रसरता लिन सक्नुपर्छ। जस्तोसुकै समस्याहरू पैदा भए पनि, तिनले काममा असर गर्नुभन्दा पहिले तिनलाई समाधान गर्नुपर्छ। माथिले समस्याहरूको अनुसन्धान गर्न थाल्नुभन्दा पहिले नै, तैँले समस्याहरूबारे तेरो बुझाइ र तिनका समाधानहरू, तिनलाई सम्हाल्ने सिद्धान्तहरू, र तिनलाई सम्हाल्नुका परिणामहरूका बारेमा रिपोर्ट गरिसकेको हुनुपर्छ। त्यो कति राम्रो कुरा हुनेथ्यो! के त्यसपछि पनि माथि तँप्रति असन्तुष्ट हुन सक्छन्? अगुवा वा कामदारका रूपमा, यदि तँ निरन्तर कामलाई आफ्नो जिम्मेवारीको दायराभित् देख्न असफल हुन्छस्, वा तँमा केही सचेतना वा विचारहरू भए पनि तैँले ढिलाइ गरिरहन्छस् र कुनै कदम चल्दैनस्, सधैँ माथिले तेरा लागि कामहरूको प्रबन्ध गरिदिने प्रतीक्षा गर्छस् भने, के यो कर्तव्यलाई बेवास्ता गर्नु होइन र? (हो।) यो एउटा गम्भीर जिम्मेवारी विमुखता हो! कर्तव्यलाई कसरी लिने भनेर अगुवा र कामदारको भूमिका सँगै आउने मनोवृत्ति र जिम्मेवारीलाई तैँले गुमाइसकेको हुन्छस्। अगुवा र कामदारहरूले आफ्नो काममा माथिका मापदण्डहरूलाई नजिकबाट पालन गर्नुपर्छ; माथिले जुन कुरामा सङ्गति गर्छन्, तैँले त्यसैलाई कार्यान्वयन गर्नुपर्छ, त्यो कुरा बुझिसकेपछि तुरुन्तै काम गर्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ। सत्यतासाथ समस्याहरू समाधान गर्नु अगुवा र कामदारहरूको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हो, र तैँले कुनै पनि काम गर्नुभन्दा पहिले माथिले कामको प्रबन्ध गर्ने कुराको निष्क्रिय रूपमा प्रतीक्षा गर्नु हुँदैन। यदि तँ सधैँ निष्क्रिय रूपमा प्रतीक्षा गरिरहेको हुन्छस् भने, तँ अगुवा वा कामदार बन्न योग्य छैनस्, तैँले यो कामको बोझ उठाउन सक्दैनस्, र जिम्मेवारी स्वीकार गर्नु र राजीनामा दिनु नै एक मात्र उचित कुरा हुनेछ।
परमेश्वरमा विश्वास गर्ने तीन प्रकारका मानिसहरूका प्रकटीकरण र परिणामहरू
१. श्रमिकहरू
अगुवा र कामदारहरूका जम्मा पन्ध्र वटा जिम्मेवारीहरू छन्, र हामीले चौधौँ जिम्मेवारीसम्म सङ्गति गरिसकेका छौँ। अगुवा र कामदारहरूले समाधान गर्नुपर्ने मण्डलीभित्रका समस्याहरू, साथै यी समस्याहरूमा संलग्न सबै प्रकारका मानिसहरूका समस्याहरूका बारेमा लगभग ८० देखि ९० प्रतिशतसम्म सङ्गति गरिएको छ। यी सबै अगुवा र कामदारहरूले लिनुपर्ने कामहरू र तिनीहरूले समाधान गर्नुपर्ने समस्याहरू हुन्। यसमा धेरै समस्याहरू समावेश हुन्छन्। एक हिसाबमा, यसले अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूलाई छुन्छ; अर्को हिसाबमा, यो मण्डलीका सबै प्रकारका मानिसहरूका विभिन्न समस्याहरूसँग पनि सम्बन्धित हुन्छ। यस अवधिमा हाम्रो सङ्गतिको विषयवस्तु अगुवा र कामदारहरूका जिम्मेवारीहरू र झूटा अगुवाहरूको खुलासा भए पनि, हामीले यस विषयवस्तुले छुने विभिन्न प्रकारका मानिसहरूका समस्याहरू—र विभिन्न प्रकारका मानिसहरूको स्थिति र सारका बारेमा पनि धेरै सङ्गति गरेका छौँ। अवश्य नै, मण्डलीमा परमेश्वरलाई पछ्याउने सबै प्रकारका मानिसहरूमा यो विशिष्ट विषयवस्तुले फरक-फरक प्रभाव पार्छ। तिनीहरूमध्ये, यस्तो व्यक्ति पनि हुन्छ, जसले यो सबै सङ्गति सुनेपछि पनि, अझै यस्तो मनोवृत्ति राख्छ, “मसँग असल मानवता छ, म परमेश्वरमा साँचो रूपमा विश्वास गर्छु, म परमेश्वरमाथिको आस्थामा कुराहरू त्याग्न तयार छु, र म आफ्नो कर्तव्य पूरा गर्नका लागि मूल्य चुकाउन र कष्ट भोग्न तयार छु।” तिनीहरूले यस अवधिमा सङ्गति गरिएका सबै प्रकारका मानिसहरूका विभिन्न स्थिति, विभिन्न स्थितिहरूमा संलग्न सत्यता, वा मानिसहरूले बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूका बारेमा वास्ता गर्दैनन्। के यो पनि एक प्रकारको व्यक्ति होइन र? के यस्तो व्यक्ति निकै प्रतिनिधिमूलक हुँदैन र? (हुन्छ।) यस्तो व्यक्तिले सधैँ निश्चित दृष्टिकोण राख्छ। यो दृष्टिकोण मुख्य रूपमा केबाट बनेको हुन्छ? मैले भर्खरै उल्लेख गरेका तीन वटा बुँदाहरू: पहिलो, तिनीहरू आफ्नो मानवता खराब छैन, र यो असल छ भन्ने समेत विश्वास गर्छन्। दोस्रो, तिनीहरू आफूले साँच्चै नै परमेश्वरमा विश्वास गरेको छु भन्ने सोच्छन्, जसको अर्थ तिनीहरू साँच्चै नै परमेश्वरको अस्तित्व र यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्छन्, मानव नियति परमेश्वरको नियन्त्रणमा छ, यो परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्छ भन्ने विश्वास गर्छन् भन्ने हुन्छ, जुन “परमेश्वरमा साँचो रूपमा विश्वास गर्नु” भन्ने शब्दको व्यापक अर्थ हो। तेस्रो, तिनीहरू आफूले परमेश्वरमाथिको आफ्नो विश्वासमा कुराहरू त्याग्न र आफ्नो कर्तव्य पूरा गर्नका लागि कष्ट भोग्न र मूल्य चुकाउन सक्छु भन्ने विश्वास गर्छन्। यी तीन बुँदाहरू परमेश्वरमाथिको आफ्नो विश्वासमा यी मानिसहरूले पालन गर्ने सबैभन्दा आधारभूत, प्राथमिक, र केन्द्रीय तत्त्वहरू हुन् भनेर भन्न सकिन्छ। अवश्य नै, यी कुराहरूलाई परमेश्वरमा विश्वास गर्ने तिनीहरूको पूँजी, साथै तिनीहरूले पछ्याउने उद्देश्यहरू, र कार्य गर्ने तिनीहरूको उत्प्रेरणा र दिशाका रूपमा पनि लिन सकिन्छ। तिनीहरू के विश्वास गर्छन् भने, यी तीन वटा बुँदाहरू प्राप्त गर्दा तिनीहरूले मुक्ति पाउनुका तीन वटा आधारभूत सर्तहरू पूरा गर्न सक्छन्, जसले तिनीहरूलाई परमेश्वरले प्रेम गर्नुहुने र स्वीकार गर्नुहुने मानिस बनाउँछ। यो एउटा गम्भीर गल्ती हो; यी तीन बुँदाहरू आफूसँग हुनुले थोरै मानवतालाई मात्रै सङ्केत गर्छ। के थोरै मानवता मात्रै भएर परमेश्वरको अनुमोदन पाउन सकिन्छ? बिलकुलै सकिँदैन; परमेश्वर उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्नेहरूलाई अनुमोदन गर्नुहुन्छ। यी तीन बुँदाहरूले सत्यता वास्तविकताको मापदण्ड पूरा गर्दैनन्; ती त श्रमिक बन्ने तीन वटा मापदण्डहरू मात्रै हुन्। यसपछि, म तिमीहरूलाई स्पष्ट रूपमा बुझाउनका लागि यी तीन बुँदाका विवरणहरूमा सङ्गति गर्नेछु। पहिलो बुँदा भनेको असल मानवता हुनु हो। तिनीहरू दुष्कर्म नगर्नु, बाधा र अवरोध पैदा नगर्नु, र परमेश्वरको घरका हितहरूलाई हानि नगर्नु नै पर्याप्त हुन्छ, र यसको अर्थ तिनीहरूले परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न र सिद्धान्तहरू अनुसार काम गर्न सक्छन् भन्ने हो भन्ने विश्वास गर्छन्। दोस्रो बुँदा “परमेश्वरमा साँचो रूपमा विश्वास गर्नु” हो। तिनीहरूका लागि, तिनीहरूले “परमेश्वरमा साँचो रूपमा विश्वास गर्नु” भनेर जुन कुरालाई भन्छन्, त्यसको अर्थ परमेश्वरको अस्तित्व वा यावत् थोकमाथि उहाँको सार्वभौमिकताको तथ्यलाई कहिल्यै शङ्का नगर्नु, र मानव नियति परमेश्वरको हातमा छ, र यसले तिनीहरूलाई परमेश्वरलाई अन्त्यसम्म पछ्याउन सहयोग गर्नेछ भन्ने हो। तिनीहरू के विश्वास गर्छन् भने, तिनीहरूले परमेश्वरमा साँचो रूपमा विश्वास गरेसम्म उहाँको अनुमोदन प्राप्त गर्नेछन्। त्यसकारण, परमेश्वरले जसरी नेतृत्व गर्नुभए पनि वा व्यवहार गर्नुभए पनि, वा तिनीहरूले जुनसुकै समस्याहरूको सामना गरे पनि, तिनीहरूले भन्छन्, “परमेश्वरलाई प्रेम गर, परमेश्वरलाई पछ्याऊ, परमेश्वरमा समर्पित होऊ।” समस्याहरू समाधान गर्ने तिनीहरूको विधि अत्यन्तै सरल छ; के त्यस्ता सामान्यीकृत शब्दहरूले कुनै पनि समस्या समाधान गर्न सक्छन्? तेस्रो बुँदा भनेको परमेश्वरमाथिको आफ्नो विश्वासमा कुराहरू त्याग्न सक्नु, र आफ्नो कर्तव्य पूरा गर्नका लागि कष्ट भोग्न भोग्न र मूल्य चुकाउन सक्नु हो। तिनीहरूले यसलाई कसरी अभ्यास गर्छन्? तिनीहरूले परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने हुनाले, जब मण्डलीको काममा आवश्यकता हुन्छ वा जब तिनीहरूले परमेश्वरका जरुरी अभिप्रायहरू महसुस गर्छन्, तब तिनीहरूले सक्रिय रूपमा आफ्नो परिवार, वैवाहिक जीवन, र करियरलाई त्याग्न, आफ्ना सांसारिक सम्भाव्यताहरूलाई पन्छाउन, र कहिल्यै पछुतो नगरी दृढसङ्कल्पसाथ परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। परमेश्वरको घरले तिनीहरूका लागि जुनसुकै कर्तव्यको प्रबन्ध गरे पनि, तिनीहरूले कष्ट भोग्न र मूल्य चुकाउन सक्छन्, चाहे यसको अर्थ थोरै खानु र थोरै सुत्नु नै किन नहोस्। जिउने अवस्था जति नै कठिन भए पनि, वा केही प्रतिकूल वातावरणमा पनि, तिनीहरू अझै पनि आफ्नो कर्तव्य पूरा गर्नमा लागिरहन सक्छन्। यी तीन बुँदाहरू बाहेक, सत्यतासँग सम्बन्धित अरू सबै पक्षहरूको अभ्यास तिनीहरूका लागि तिनीहरूसँग सम्बन्धित छैन जस्तो देखिन्छ। तिनीहरू आफूलाई राम्रो वा सही लागेको कुरा गर्छन्। परमेश्वरले मानिसलाई बताउनुभएका विभिन्न अभ्यासका सिद्धान्तहरू, साथै परमेश्वरले खुलासा गर्नुभएका मानिसहरूका विभिन्न भ्रष्ट स्वभावहरूका स्थिति, प्रकटीकरण, र सारका हकमा भन्दा, तिनीहरूलाई थोरै कुरा थाहा हुनु वा पटक्कै थाहा नहुनु ठीकै हुन्छ भन्ने लाग्छ; तिनीहरूलाई आफ्नो भ्रष्टता जाँच्न र आफ्ना कमीकमजोरीहरूलाई पूर्ति गर्नका लागि विभिन्न सिद्धान्तहरू विशिष्ट रूपमा र सावधानीपूर्वक खोजी गर्नु आवश्यक छैन, वा अरूले आफ्ना विभिन्न अनुभवात्मक गवाहीबारे गरेको सङ्गति सुन्न, त्यसपछि आत्म-रूपान्तरण हासिल गर्न, इत्यादि कुराहरू गर्नका लागि प्रायः भेलाहरूमा सहभागी हुनु आवश्यक छैन भन्ने लाग्छ। तिनीहरूले परमेश्वरमा यसरी विश्वास गर्नु अत्यन्तै समस्याजनक हुन्छ, र यो अनावश्यक छ भन्ने महसुस गर्छन्। तिनीहरूले परमेश्वरमाथिको आस्था र स्वभाव परिवर्तनबारे सतही बुझाइ, साथै परमेश्वरको कामबारे विभिन्न धारणा र कल्पनाहरू लिएर परमेश्वरलाई पछ्याउँछन् र आफ्नो कर्तव्य पूरा गर्छन्। के यस्तो व्यक्ति नमुना व्यक्ति होइन र? (हो।) तिनीहरूले आफ्ना लागि सबैभन्दा आधारभूत मापदण्ड तय गर्छन्, र परमेश्वरमा विश्वास गर्ने कार्यप्रति तिनीहरूमा सबैभन्दा आधारभूत मनोवृत्ति हुन्छ। यसबाहेक, तिनीहरू सत्यता, परमेश्वरको न्याय र खुलासा, काटछाँट, साथै मानिसहरूका विभिन्न भ्रष्ट स्वभाव र विभिन्न स्थिति, प्रकटीकरण, इत्यादि कुराहरूलाई बेवास्ता गर्छन्। तिनीहरू यी समस्याहरूका बारेमा कहिल्यै चिन्तन-मनन गर्दैनन्। अर्थात्, यी मानिसहरू आफूलाई असल मानवता भएको, असल, र परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने मानिस ठान्छन्; अनि मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ भनेर स्वीकार गरिरहँदा, तिनीहरू परमेश्वरले खुलासा गर्नुभएका मानिसहरूका विभिन्न भ्रष्ट स्वभावका विशिष्ट स्थिति र प्रकटीकरणहरूलाई बेवास्ता गर्छन्, र यी कुराहरूको अनुसन्धान गर्न कुनै प्रयास गर्दैनन्। के यो एक प्रकारको व्यक्ति होइन र? के परमेश्वरमाथिको आफ्नो आस्थामा यस्तो व्यक्तिका दृष्टिकोण र विशिष्ट प्रकटीकरणहरू प्रतिनिधिमूलक हुँदैनन् र? (हुन्छन्।) परमेश्वरमा विश्वास गर्नेबारे यी मानिसहरूका दृष्टिकोणहरू, मुक्ति पाउनेबारे तिनीहरूको बुझाइ, र मानिसहरूका विभिन्न भ्रष्ट स्वभावलाई खुलासा गर्ने परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्तिलाई विचार गर्दा, यी मानिसहरूलाई कुन वर्गमा राख्नुपर्छ? (अन्योलग्रस्त विश्वास भएका, सत्यता नपछ्याउने मानिसहरू।) यो सतही रूप मात्रै हो; यी मानिसहरूलाई साँच्चै कसरी वर्गीकृत गर्नुपर्छ? के मण्डलीमा त्यस्ता मानिसहरू धेरै हुन्छन्? (हुन्छन्।) जब विशिष्ट समस्याहरूका बारेमा छलफल गरिन्छ र सम्बन्धित सत्यताहरूमा सङ्गति गरिन्छ, तब तिनीहरूलाई निद्रा लाग्छ, तिनीहरू झपक्क हुन्छन्, वा तिनीहरू अन्योलमा पर्छन्, र कुनै चासो देखाउँदैनन्। यदि तिनीहरूलाई कुनै काम वा कार्य सुम्पिइएको छ भने, तिनीहरूले कष्ट वा थकाइको परवाह नगरी आफ्नो पाखुरा सुर्केर काममा लागिपर्छन्। तिनीहरू परमेश्वरमा विश्वास गर्नु यस्तो काम गर्नु जस्तै हुने भएको भए राम्रो हुनेथ्यो भन्ने सोच्छन्—त्यसपछि तिनीहरू उत्प्रेरित हुनेथिए। जब कष्ट भोग्ने, मूल्य चुकाउने, र काममा मेहनत गर्ने समय आउँछ, तब तिनीहरूले साँचो तत्परता देखाउँछन्। तर के यो साँचो तत्परता र जोश बफादार हुनु सरह हो? के यो सत्यता सिद्धान्तहरू बुझेपछि व्यक्तिमा हुनुपर्ने प्रकटीकरण हो? (होइन।) मेरो सङ्गतिबाट, के तिमीहरू यी मानिसहरूलाई कुन वर्गमा वर्गीकृत गर्नुपर्छ भन्ने कुरा देख्न सक्छौ? (श्रमिकहरू।) ठीक भन्यौ। यी मानिसहरू श्रमिकहरू हुन्, र श्रमिकहरूले परमेश्वरमा यसरी नै विश्वास गर्छन्।
हामीले ख्रीष्टविरोधीहरूको प्रकृति, सार, र विभिन्न प्रकटीकरणहरूका बारेमा, साथै ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर वास्तवमा ख्रीष्टविरोधीहरू नभएका मानिसहरूका विभिन्न प्रकटीकरणहरूका बारेमा सङ्गति गरेर सुरु गर्यौँ। अहिले, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूले छुने विभिन्न प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गरिरहेका छौँ। सङ्गति गरिएका विषयहरू ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूका बारेमा रहेका भए पनि, हरेक विषयले छुने विशिष्ट समस्या र प्रकटीकरणहरू भ्रष्ट मानवजातिका भ्रष्ट स्वभावहरू, साथै भ्रष्ट स्वभावहरूको प्रभुत्वमा पैदा हुने विभिन्न स्थिति र प्रकटीकरणहरूसँग सम्बन्धित छन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरू अल्पसङ्ख्यक मात्रै हुने भए पनि, तिनीहरूको स्वभाव, साथै तिनीहरूका विभिन्न स्थिति र प्रकटीकरणहरू हरेक व्यक्तिमा फरक-फरक हदसम्म हुन्छन्। अहिले यी समस्याहरूमा यति विस्तृत रूपमा सङ्गति गरिएको हुनाले, सत्यता पछ्याउनेहरूसँग सत्यता पछ्याउने, सत्यता अभ्यास गर्ने, सत्यता सिद्धान्तहरू बुझ्ने, र सत्यता वास्तविकतामा प्रवेश गर्ने थप मार्ग र दिशा, र अझै स्पष्ट उद्देश्यहरू हुनेछन्। यो तिनीहरूका लागि राम्रो कुरा हो र हर्षको कारण हो। अर्को शब्दमा भन्दा, तिनीहरू परमेश्वरमाथिको आफ्नो आस्थामा नयाँ कोसेढुङ्गोतर्फ अघि बढिरहेका हुन्छन्। तिनीहरू उप्रान्त प्रावधान, धार्मिक कर्मकाण्डहरू, वा शब्द र धर्मसिद्धान्तहरू, र नाराहरूअन्तर्गत जिउँदैनन्। बरु, तिनीहरूसँग अभ्यासका लागि अझै ठोस दिशा र उद्देश्यहरू हुन्छन्, र अवश्य नै पछ्याउनुपर्ने अझै निश्चित सिद्धान्तहरू हुन्छन्। निश्चित परिस्थितिहरूमा कसरी अभ्यास गर्ने र सम्बन्धित सत्यता सिद्धान्तहरू के-के हुन्, वा मानिसहरूमा के-कस्ता स्थिति र भ्रष्टताहरू हुन्छन् र तिनलाई कसरी व्यवहार गर्नुपर्छ, साथै तिनलाई समाधान गर्न कसरी सत्यताको खोजी गर्ने भन्ने कुरा—ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूका बारेमा सङ्गति गरिएका मुख्य दुई वटा विषयहरूले प्रायजसो यी विषयवस्तुहरूलाई छुन्छन्। सत्यता पछ्याउनेहरूका हकमा भन्दा, सत्यतामा जति विशिष्ट रूपमा सङ्गति गरिन्छ, तिनीहरूसँग अभ्यासको मार्ग त्यति नै हुन्छ। सत्यतामा जति विशिष्ट रूपमा सङ्गति गरिन्छ, मानिसहरूको हृदय त्यति नै उज्यालो र स्पष्ट बन्छ, तिनीहरूले आफूलाई त्यति नै चिन्न र बुझ्न सक्छन्, र तिनीहरू अब केमा प्रवेश गर्नुपर्छ र तिनीहरूले अब के-कस्ता समस्याहरू समाधान गर्नुपर्छ भन्ने बारेमा त्यति नै सचेत हुन्छन्। अहिले श्रमिकहरूका रूपमा उल्लेख गरिएका मानिसहरूका हकमा भन्दा, हामीले मानवजातिको भ्रष्ट स्वभावले पैदा गर्ने विभिन्न स्थितिहरू र समाधान गरिनुपर्ने भ्रष्टताका विभिन्न समस्याहरूका बारेमा व्यापक रूपमा सङ्गति गरेपछि पनि, तिनीहरू अझै पनि अचल नै रहन्छन्। अचल रहनु भनेको के हो? यसको अर्थ तिनीहरू अझै पनि सत्यताको पछ्याइ र परमेश्वरले बताउनुभएको मुक्तिको मार्गबारे स्पष्ट छैनन् र तिनलाई बुझ्न सक्दैनन् भन्ने हुन्छ। अझै गम्भीर रूपमा भन्दा, यति धेरै अत्यावश्यक प्रकटीकरण र समस्याहरूका बारेमा सङ्गति गरिसकेपछि पनि, तिनीहरू अझै पनि यस्तो सोच्छन्, “मसँग असल मानवता छ, म परमेश्वरमा साँचो रूपमा विश्वास गर्छु, म परमेश्वरमाथिको आस्थामा कुराहरू त्याग्न तयार छु, र म आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउन र कष्ट भोग्न तयार छु; यो नै पर्याप्त हुन्छ।” परिस्थितिहरूको सामना गर्दा, तिनीहरू न त आफूलाई जाँच्छन् न त परमेश्वरका वचनहरूसँग आफूलाई तुलना गर्छन्, बरु आफ्नो मानव भलाइ वा आफूसँग भएको थोरै विवेक र समझका आधारमा मात्रै समस्याहरू समाधान गर्ने प्रयास गर्छन्। अवश्य नै, कतिपय मानिसहरू संयम र धैर्यतामा भर पर्छन्, र बारम्बार कष्ट भोगिरहन्छन् जबकि अरू संसारसँग व्यवहार गर्ने दर्शनहरूमा भर पर्छन्, जसले गर्दा ठूला समस्याहरू सानातिना देखिन्छन्, अनि त्यसपछि सानातिना समस्याहरू समस्याग्रस्त देखिँदैनन्। तिनीहरूले पछ्याउने उद्देश्य यस्तो हुन्छ: “परमेश्वरको काम समाप्त हुने दिनसम्म, यदि म अझै पनि मण्डलीमा आफ्नो कर्तव्य पूरा गरिरहेको हुन्छु, र मलाई निकालिएको हुँदैन भने, त्यो नै पर्याप्त हुन्छ। मसँग आफूबारे साँचो बुझाइ भए पनि वा नए पनि, मेरा भ्रष्ट स्वभाव समाधान भएका भए पनि वा नभए पनि, मसँग परमेश्वरप्रति साँचो समर्पण भए पनि वा नभए पनि, म परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति भए पनि वा नभए पनि—ती सानातिना समस्याहरू हुन्, जो उल्लेख गर्न लायक छैनन्। तपाईँ सबै कुरालाई ठूलो बनाउनुहुन्छ, सत्यतामा यति विस्तृत रूपमा सङ्गति गर्नुहुन्छ, सङ्गतिका लागि स-साना समस्याहरूसमेत निरन्तर उठाउनुहुन्छ, हामीलाई सधैँ खट्ट्याउन लगाउनुहुन्छ; म सत्यताबारे यी सङ्गतिहरू सुन्न इच्छुक नै छैन, मलाई पटक्कै रुचि छैन। जब परमेश्वरको दिन आउँछ, तब हामी सीधै राज्यमा प्रवेश गर्न पायौँ भने कति राम्रो हुनेथियो! हरेकको धैर्यका सीमाहरू हुन्छन् भन्ने कुरा साँचो भए पनि, त्यस्ता मानिसहरूको धैर्य असीमित हुन्छ। किन? किनभने तिनीहरूले आफूसँग असल मानवता छ, तिनीहरू परमेश्वरमा साँचो रूपमा विश्वास गर्छन्, तिनीहरूसँग परमेश्वरका विश्वासीहरूका रूपमा कुराहरू त्याग्ने क्षमता छ, र आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउने र कठिनाइ भोग्ने इच्छा छ भन्ने विश्वास गर्छन्; कुनै कुराको सामना गर्दा, तिनीहरूसँग आफ्नै समाधान हुन्छ, र अन्ततः तिनीहरू अझै पनि आफ्नो कर्तव्य दृढतापूर्वक पूरा गर्न र दह्रिलो गरी खडा हुन सक्छन्। तर, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्नमा जसरी डटिरहे पनि, वा तिनीहरूले अन्त्यसम्म जुनसुकै माध्यमद्वारा कष्ट सहे पनि, तिनीहरूको उत्प्रेरणा जेसुकै भए पनि, एउटा कुरा निश्चित हुन्छ: तिनीहरूसँग परमेश्वरप्रति साँचो समर्पणता हुँदैन, र तिनीहरू कहिल्यै आफ्नो भ्रष्ट स्वभाव बुझ्दैनन्। अझै सटीक रूपमा भन्दा, यी मानिसहरू आफूसँग भ्रष्टता छ भन्ने कुरालाई स्वीकार गर्दैनन्, न त तिनीहरू परमेश्वरले खुलासा गर्नुभएका मानिसहरूका भ्रष्ट स्वभावबाट पैदा हुने विभिन्न स्थिति र समस्याहरूलाई नै स्वीकार गर्छन्। तिनीहरूले कहिलेकाहीँ यी स्थिति र समस्याहरूसँग आफूलाई तुलना गरे पनि, तिनीहरूले यसलाई उदासीन ढङ्गले लिन्छन् र भन्छन्, “सबै जना समान रूपमा भ्रष्ट हुन्छन्। सबैको प्रकृति सार दियाबलसहरू र शैतानको सार हो; हामी सबै परमेश्वरका शत्रुहरू हौँ। यो कसैले पनि परिवर्तन गर्न नसक्ने तथ्य हो। तर व्यक्ति आफ्नो कर्तव्य पूरा गर्नमा लागिरहेसम्म, परमेश्वरले अवश्य नै अनुमोदन गर्नुहुनेछ, र अन्त्यसम्म लागिहनेहरू नै विजेताहरू हुनेछन्।” तिनीहरूको दृष्टिकोणलाई विश्लेषण गर्दा, तिनीहरू परमेश्वरमाथिको आफ्नो विश्वासमा निकै दह्रिला हुन्छन्, तर अनुभवात्मक गवाही बाँड्ने कुरामा, तिनीहरू चुपचाप बस्छन्, र एक शब्द पनि बोल्न सक्दैनन्। भेलाहरूमा सत्यतामा सङ्गति गर्ने बेलामा, तिनीहरूलाई निद्रा लाग्छ र तिनीहरू यो कुरा ग्रहण गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई “तपाईँ हरेक दिन आफ्नो कर्तव्यमा परमेश्वरका वचनहरू कसरी अनुभव गर्नुहुन्छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “मण्डलीले मेरा लागि जे गर्न प्रबन्ध गर्छ, म त्यही गर्छु। के यसका लागि अनुभव गर्नु आवश्यक हुन्छ र?” तिनीहरू बुझ्दैनन् जस्तो देखिन्छ। त्यसपछि यदि तैँले तिनीहरूलाई “के तपाईँको कुनै भ्रष्टता प्रकट भइरहेको छ? तपाईँ आफूलाई कसरी बुझ्नुहुन्छ?” भनेर सोधिस् भने तिनीहरूले भन्छन्, “म त केवल परमेश्वरमा समर्पित हुन्छु र परमेश्वरलाई प्रेम गर्छु; यसमा के-कस्ता समस्याहरू हुन सक्छन् र?” तिनीहरूको सोचाइ त्यति सरल हुन्छ। तिनीहरूको दृष्टिकोण यही हो: “परमेश्वरमा विश्वास गर्ने कार्य यस्तै हुनुपर्छ। किन यति धेरै सानातिना समस्याहरूको झन्झट गर्नु? तपाईँहरूले परिस्थितिलाई अत्यन्तै जटिल बनाइरहनुभएको छ!” त्यसकारण, तिनीहरूले सत्यता सिद्धान्तहरू कहिल्यै नखोजी, बरु असल अभिप्राय र जोशका साथ काम गर्दै आफ्नो कर्तव्य पूरा गर्छन् र कामहरू सम्पन्न गर्छन्। अझै सटीक रूपमा भन्दा, तिनीहरूले यस्तो सोच्दै विवेक र समझको प्रभुत्वमा रहेर कार्य गर्छन्: “मैले धेरै हदसम्म कष्ट भोगिसकेको छु र मूल्य चुकाइसकेको छु; मैले धेरै हदसम्मसत्यताको अभ्यास गरिसकेको छु र परमेश्वरलाई सन्तुष्ट पारिसकेको छु; मबाट थप माग नगर्नुहोस्। म अहिले जस्तो छु, ठीकै छु, म असल व्यक्ति हुँ, र म परमेश्वरमा साँचो रूपमा विश्वास गर्छु।” अवश्य नै, कहिलेकाहीँ यी मानिसहरूले मनको कुरा नपोखाई बस्नै सक्दैनन्, त्यसपछि तिनीहरूको साँचो रङ खुलासा हुन्छ। तिनीहरूले धेरै शब्द र धर्मसिद्धान्तहरू फलाक्न सक्छन्, तर तिनीहरूमा कुनै वास्तविक कद हुँदैन; अर्को शब्दमा भन्दा, तिनीहरूमा कुनै जीवन हुँदैन। जीवन नहुनुले विशेष गरी केलाई जनाउँछ? (तिनीहरूसँग कुनै सत्यता हुँदैन।) सत्यता नहुने अवस्था कसरी आउँछ? (तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, न त यसलाई पछ्याउँछन् नै।) यो तिनीहरू सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्ने कुरासँग समेत सम्बन्धित हुँदैन; सटीक रूपमा भन्दा, तिनीहरू सत्यतालाई स्वीकार नै गर्दैनन्। कतिपयले यसो भन्न सक्छन्, “तपाईँ कसरी तिनीहरू सत्यतालाई स्वीकार गर्दैनन् भनेर भन्न सक्नुहुन्छ? तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न धेरै कष्ट भोग्छन् र ठूलो मूल्य चुकाउँछन्, बिहानदेखि साँझसम्म हरेक दिन परिश्रम गर्छन्; तिनीहरूसँग कुनै सत्यता छैन भनेर तपाईँ कसरी भन्न सक्नुहुन्छ?” के यसो भन्नु तिनीहरूलाई अन्याय गर्नु हो? तर यदि तैँले यी मानिसहरूलाई हेरिस् भने, तिनीहरूको कष्ट भोग्ने र मूल्य चुकाउने कार्यको पछाडि, के तिनीहरूले गर्ने सबै कुरा सत्यता सिद्धान्तहरूको दायराभित्र पर्छ? के तिनीहरूले आफूले गर्ने सबै कुरामा सिद्धान्तहरू खोज्छन्? के तिनीहरू परमेश्वरको डर मान्ने हृदय लिएर परमेश्वरको अघि आउँछन्, र परमेश्वरका वचनहरू र परमेश्वरको घरले माग गरेका सिद्धान्तहरू अनुसार कामकुरा गर्छन्? गर्दैनन्; तिनीहरू केवल मानव कार्य, मानव संयम अनुसार चल्छन्। तिनीहरूले सत्यतालाई स्वीकार नगर्नुको मुख्य प्रकटीकरण के हो? त्यो के हो भने, तिनीहरूले कुनै काम गर्नुभन्दा पहिले, कहिल्यै सक्रिय रूपमा सत्यताको खोजी गर्दैनन्, न त तिनीहरूले सत्यताका सिद्धान्तहरू के हुन् भनेर कहिल्यै गम्भीरताका साथ मनन गरेर परमेश्वरका वचनहरू अनुसार कडाइका साथ अभ्यास नै गर्छन्। के तिनीहरूमा त्यस्ता विचार र मनोवृत्तिहरू हुन्छन्? परमेश्वरले खुलासा गर्नुभएका मानवजातिको भ्रष्ट स्वभावका विभिन्न प्रकटीकरणहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? के तिनीहरूले यी वचनहरूलाई स्वीकार गर्छन्? के तिनीहरू यी वचनहरू तथ्यगत छन् भनेर स्वीकार गर्छन्? के तिनीहरू यी विशिष्ट प्रकटीकरणहरू भ्रष्टताका प्रकटीकरणहरू हुन् भनेर स्वीकार गर्छन्? तिनीहरूले सहमतिमा शिर हल्लाउन वा बाहिरी रूपमा यसलाई स्वीकार गर्न सक्छन्, तर हृदयमा, तिनीहरू यसलाई स्वीकार गर्दैनन्; तिनीहरू यसलाई बेवास्ता गर्छन्। यसलाई बेवास्ता गर्नु भनेको के हो? विशिष्ट रूपमा भन्दा, यसको अर्थ स्वीकार नगर्नु, कुनै स्पष्ट मनोवृत्ति नहुनु, र कुनै स्पष्ट प्रतिरोध वा विरोध नहुनु, तर परमेश्वरले बोल्नुभएका यी वचनहरूप्रति उदासीन व्यवहार गर्ने मनोवृत्ति अपनाउनु हो। “उदासीन व्यवहार” भन्नु अलिक अमूर्त हुन्छ विशिष्ट रूपमा भन्दा, यसको अर्थ तिनीहरूले यस्तो सोच्नु हो, “तपाईँ मानिसहरूलाई अहङ्कारी र छली भनेर भन्नुहुन्छ, तर कोचाहिँ छली हुँदैन र? कोसँग अलिकति चलाकी हुँदैन र? कसले केही अहङ्कार वा घमण्ड देखाउँदैन र? यो कुन ठूलो कुरा भयो र? व्यक्तिले कठिनाइ भोग्न र मूल्य चुकाउन सकेसम्म, त्यो नै पर्याप्त हुन्छ।” के यो अस्वीकारको मनोवृत्ति र विशिष्ट प्रकटीकरण होइन र? (हो।) यो सत्यतालाई स्वीकार गर्नु होइन। परमेश्वरको न्याय र खुलासाका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति बेवास्ता र अस्वीकारको मनोवृत्ति हुन्छ। त्यसकारण, जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दिने मूल्याङ्कन र सम्झौटोको, र तिनीहरूका भ्रष्ट स्वभावका बारेमा दाजुभाइ-दिदीबहिनीहरूले प्रदान गर्ने सङ्केत र सहयोगको समेत कुरा आउँछ, के तिनीहरूले यी कुराहरूलाई स्वीकार गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए मलाई भन, तिनीहरूको विशिष्ट प्रकटीकरणहरू के-के हुन्? तिनीहरू किन यी कुराहरूलाई स्वीकार गर्न सक्दैनन्? यसो भन्नुको तेरो प्रमाण कहाँ छ? उदाहरणका लागि, जब तैँले तिनीहरूलाई “तपाईँले यस्तो लापरवाह तरिकाले आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन; यो झाराटारुवा तरिका हो” भनेर भन्छस्, तब तिनीहरूका कुन-कुन प्रकटीकरणहरूले तिनीहरू सत्यतालाई स्वीकार गर्दैनन् भन्ने प्रमाणित गर्छ? (तिनीहरूले यसो भन्नेथिए, “मैले यसमा आफ्नो हृदय लगाइसकेको छु। मैले कष्ट भोगिसकेको छु र मूल्य चुकाइसकेको छु। म झाराटारुवा भइरहेको छु भनेर कसरी भन्न सक्नुहुन्छ?”) यो त तिनीहरूले आफूलाई सही ठहर्याउनु हो। के तिनीहरूले कहिलेकहीँ बहानाहरू खोज्छन्? तिनीहरूले हृदयमा यसलाई स्वीकार गरे पनि, तिनीहरूले अझै पनि सोच्छन्, “म झाराटारुवा भएँ, अनि के भयो त? कसको चाहिँ कहिलेकाहीँ खराब समय चलिरहेको हुँदैन र? कसले सामान्य भावनाहरू अनुभव गर्दैन र? तर म झाराटारुवा भएको छु भनेर स्वीकार गर्न सक्दिनँ; मैले यसलाई ढाकछोप गर्ने बहाना खोज्नुपर्छ। मैले इज्जत गुमाउनु हुँदैन।” यसरी, तिनीहरूले चतुर्याइँसाथ आफ्नो बचाउ गर्न धेरै कारण र बहानाहरू खोज्छन्, तिनीहरू झाराटारुवा भइरहेका थिए भन्ने तथ्य स्वीकार गर्दैनन्, यस विषयमा रहेका आफ्ना समस्याहरू स्वीकार गर्दैनन्, न त अरूबाट आएका सङ्केतहरू नै स्वीकार गर्छन्। यो सत्यतालाई स्वीकार नगर्नुको विशिष्ट प्रकटीकरण हो। वास्तविक परिस्थितिहरूको सामना नगर्दा, तिनीहरू आफूलाई “परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने, असल व्यक्ति” भन्ठान्छन्। परिस्थितिहरूको सामना गर्दा, तिनीहरूले अब यस कुरालाई ढालका रूपमा प्रयोग गर्न नसके पनि, तिनीहरू अझै पनि आफूलाई सही साबित गर्ने र आफ्नो बचाउ गर्ने, समस्यालाई लिपपोत गर्ने, यसलाई अन्त्य गर्ने पर्याप्त कारणहरू भेट्टाउँछन्, त्यसपछि आफूलाई “असल मानवता भएको, परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने, र त्याग्ने क्षमता भएको, र आफ्नो कर्तव्य पूरा गर्न कष्ट भोग्ने र मूल्य चुकाउने क्षमता भएको असल व्यक्ति” का रूपम निरन्तर हेर्छन्। सटीक रूपमा भन्दा, त्यस्ता मानिसहरूको प्रकटीकरण, सार, श्रमिकहरूको जस्तै हुन्छ। मण्डलीमा यो समूहले धेरै भाग ओगटेको हुन्छ। अन्तिममा, यी व्यक्तिहरूले ओगट्ने भाग जति नै ठूलो भए पनि, यदि तिनीहरूले कुनै पनि ठूलो अपराध नगरी, परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन नगरी वा उहाँको स्वभावलाई नचिढ्याई साँच्चै कष्ट भोग्न र मूल्य चुकाउन सक्छन्, र अन्त्यसम्म सहन गर्न र लागिरहन सक्छन् भने, तिनीहरू बफादार र रहन सक्ने श्रमिकहरू हुन्। यो निकै ठूलो आशिष् हो! तिनीहरू सत्यता पछ्याउँदैनन्, न त तिनीहरूले परमेश्वरको इच्छालाई पछ्याउन, परमेश्वरको गवाही दिन, वा परमेश्वरका वचन र कामको गवाहीका रूपमा कार्य गर्न नै सक्छन्—त्यो आशिष् प्राप्त गर्नु नै पनि निकै राम्रो कुरा हो। सत्यता नपछ्याई व्यक्तिले के प्राप्त गर्ने आशा गर्न सक्छ? बफादार सेवक बन्नु पहिल्य त्यति खराब कुरा होइन। कतिपय मानिसहरूले सोध्छन्, “के यी व्यक्तिहरू परमेश्वरका मानिसहरू बन्न सम्भव हुन्छ?” सक्छन्। एक मात्र सम्भावना भनेको, यदि यी व्यक्तिहरूले त्याग्न र कष्ट भोग्न सक्ने आधारमा सत्यतालाई स्वीकार गर्न, आफ्नो भ्रष्टतालाई स्वीकार गर्न र सही रूपमा सामना गर्न सक्छन्, त्यसपछि त्यससलाई समाधान गर्न सत्यताको खोजी गर्न सक्छन्, मानव भलाइ वा मानव संयम, सहनशीलता, र दृढताका आधारमा कार्य गर्दैनन्, तर सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्छन्, जसले गर्दा अन्तमा, तिनीहरूको स्वभाव केही मात्रामा परिवर्तन हुन सक्छ भने, तिनीहरूसँग परमेश्वरका मानिसहरू बन्ने केही मौका हुन्छ। तर, यदि तिनीहरूको कार्य र व्यवहार स्वभाव परिवर्तनसँग सम्बन्धित छैन, सत्यतालाई स्वीकार गर्नु र मुक्ति पाउनुसँग सम्बन्धित छैन भने, परमेश्वरका मानिसहरू बन्ने तिनीहरूको सम्भावना शून्य हुन्छ; यो तथ्य हो। बफादार श्रमिकहरूसँग व्यवहार गर्ने सिद्धान्त के हो? यो त यी मानिसहरूलाई स्पष्ट बन्न सहयोग गर्न सक्दो प्रयास गर्नु हो। तिनीहरूलाई स्पष्ट बनाउनुको उद्देश्य के हो? तिनीहरूलाई अव्यावहारिक सपना देख्नबाट रोक्नु हो। कतिपयले यस्तो सोध्न सक्छन्, “‘अव्यावहारि सपना देख्नु’ को अर्थ के हो?” यसको अर्थ मानिसहरूले आफूलाई “असल मानवता भएको, परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने, र त्याग्ने क्षमता र मूल्य चुकाउने इच्छा भएको” ठान्नु, अनि त्यसपछि परमेश्वरले मुक्ति दिनुहुनेछ भन्ने अपेक्षा गर्नु, तर त्यो असम्भव हुनु ह। “असल मानवता हुनु, परमेश्वरमा साँचो रूपमा विश्वास गर्नु, र त्याग्ने क्षमता र मूल्य चुकाउने इच्छा हुनुले परमेश्वरको मुक्ति प्राप्त गर्नतर्फ डोर्याउन सक्छ” भन्ने दृष्टिकोण राख्नु गलत र मूर्खतापूर्ण कुरा हो भन्ने कुरा तिनीहरूलाई स्पष्ट पार्नेपर्छ। यी गुणहरू हुनुको अर्थ व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव त्यागेको छ भन्ने हुँदैन, न त थोरै असल व्यवहारको अर्थ व्यक्तिले मुक्ति पाउन सक्छ भन्ने नै हुन्छ, व्यक्तिले सत्यता प्राप्त गरेको छ भन्ने अर्थ त झनै हुँदैन कुरा, र तिनीहरूका दृष्टिकोणहरू उदेकलाग्दो, हास्यास्पद, र परमेश्वरले व्यक्त गर्नुहुने सत्यतासँग असङ्गत र पूर्ण रूपमा अमिल्दो छन् भन्ने कुरा तिनीहरूलाई स्पष्ट पार्नैपर्छ। जिद्दी भएर धार्मिक धारणाहरूमा पालन गरिरहने यी मानिसहरूका हकमा भन्दा, तिनीहरूलाई सहयोग गर्नुपर्छ; परमेश्वरका वचनहरू पढेर तिनीहरूलाई सत्यतामा सङ्गति गर। यदि तिनीहरूले अझै पनि सत्यतालाई स्वीकार गर्न सक्दैनन्, र तैँले सत्यतामा जसरी सङ्गति गरे पनि, तिनीहरूले अन्तर्दृष्टि प्राप्त गर्दैनन् र खोजी गर्ने कुनै अभिप्राय देखाउँदैनन् भने, तिनीहरूलाई जबरजस्ती गर्नु पर्दैन। तिनीहरूले अन्तसम्मै श्रमिकका रूपमा मात्रै सेवा गर्न सक्छन्।
आ. परमेश्वरका मानिसहरू
बफादार श्रमिकहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गरिसकेपछि, हामी अर्को प्रकारका मानिसहरूका प्रकटीकरणहरूका बारेमा कुरा गरौँ। सबै प्रकारका मानिसहरूका भ्रष्ट स्वभावबारे परमेश्वरले गर्नुभएका विभिन्न खुलासा र मूल्याङ्कनहरू सुनेपछि, यी व्यक्तिहरूले तुलनात्मक रूपमा आफ्नो भ्रष्ट स्वभावका विगतका प्रकटीकरणहरू र तिनीहरूको भ्रष्ट स्वभावको प्रभुत्वमा पैदा हुने परमेश्वर र सत्यताप्रतिको तिनीहरूका विभिन्न मनोवृत्तिहरूबारे थप सोच्छन्—तिनीहरूले आफ्ना विभिन्न प्रकटीकरणहरूका बारेमा मनन गर्न र तिनलाई चिन्न, आफूलाई परमेश्वरका वचनहरूसँग तुलना गर्न, आफ्नो कर्तव्यप्रतिको आफ्नो मनोवृत्ति जाँच्न, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा र परमेश्वरले प्रबन्ध गर्नुभएका विभिन्न मानिस, घटना, र कामकुराहरूका बीचमा तिनीहरूले प्रकट गर्ने विभिन्न भ्रष्टताहरूका बारेमा जाँच गर्न थाल्छन्। तिनीहरूले परमेश्वरको न्याय, खुलासा, र अनुशासनलाई स्वीकार गर्न प्रयास गर्ने क्रममा आफूलाई हरेक विवरणबाट जाँच्छन् र चिन्छन्। यी व्यक्तिहरू कुन-कुन तरिकाले श्रमिकहरूभन्दा असल हुन्छन्? तिनीहरूले सत्यता, परमेश्वरका वचनहरू, र परमेश्वरले खुलासा गर्नुभएका हरेक भ्रष्ट स्वभावलाई सक्रिय र सकारात्मक रूपमा स्वीकार गर्न सक्छन्। कहिलेकाहीँ तिनीहरू नकारात्मक बन्ने भए पनि, टाढा बस्ने भए पनि, वा हरेस खाने विचारसमेत गर्ने भए पनि, जेसुकै भए पनि, तिनीहरूसँग अझै पनि आफूलाई सत्यता स्वीकार गर्न लगाउने जोस-जाँगर हुन्छ। यो जोस-जाँगर के हो? यो यस्तो हो: “परमेश्वरका वचनहरूले मानिसहरूलाई परिवर्तन गर्न सक्छन्। व्यक्तिले सत्यतालाई स्वीकार गरेसम्म, यी सबै समस्या र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सकिन्छ, अनि त्यसपछि व्यक्तिले मुक्ति पाउन सक्छ। यदि म मुक्ति पाउन चाहन्छु भने, मैले परमेश्वरको कामसँग सहकार्य गर्नुपर्छ र सत्यतालाई स्वीकार गर्नुपर्छ।” उदाहरणका लागि, इमानदार व्यक्ति बन्नेबारेको सत्यता सुनेपछि, कतिपयले आत्मचिन्तन गर्न थाल्छन् र तिनीहरू संलग्न हुने छलीपन र चलाकी, साथै तिनीहरूको कपटी र दुष्ट पक्षहरू अझै स्पष्ट रूपमा देख्न थाल्छन्। तिनीहरू आफ्नो हृदय वा छापमा बाँकी रहेका आफ्ना विगतका झूट र छलका तरिकाहरू सम्झन्छन्, जुन चलचित्रका दृश्यहरू जस्तै तिनीहरूको मनमा बारम्बार चलिरहन्छन्, जसले गर्दा तिनीहरूलाई झन्-झन् लाज, पीडा, र दुःख महसुस हुन्छ। निरन्तर आत्म-परीक्षण र आत्म-चिन्तन गरेपछि, तिनीहरूलाई आफू अपराधीभएजस्तो महसुस हुन्छ, तिनीहरू तुरुन्तै पूर्ण रूपमा लत्रिन्छन् र खडा हुन सक्दैनन्। तिनीहरूलाई आफू असल मानिस नभई दुष्ट मानिस हौँ भन्ने लाग्छ, र तिनीहरू आफूले परमेश्वरलाई प्रत्यक्ष रूपमा विरोध नगर्नु भाग्यमानी कुरा हो भन्ने सोच्छन्, जुन साँच्चै नै धन्नले बाँच्नु हो! त्यसपछि तिनीहरू व्यक्तिका रूपमा यसरी असफल हुन नचाही बिउँझन थाल्छन्, र सङ्कल्प गर्छन्: “मैले नयाँ सुरुवात गर्नैपर्छ र म इमानदार व्यक्ति हुनैपर्छ, नत्र, मैले परमेश्वरको मुक्ति पाउन सक्दिनँ। मुक्ति पाउनका लागि, म इमानदार व्यक्ति हुनैपर्छ। अहिले मैले हरेस खानै मिल्दैन!” यी मानिसहरूले सत्यतालाई ढिलो-चाँडो जहिले स्वीकार गरे पनि, र परमेश्वरका वचनहरूबारे तिनीहरूको बुझाइ गहन भए पनि वा सतही भए पनि, परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति तिरस्कारको मनोवृत्ति हुँदैन, यो वितृष्णा वा प्रतिरोधको मनोवृत्ति हुनु त परको कुरा हो। बरु, तिनीहरू सक्रिय रूपमा परमेश्वरका वचनहरूलाई मान्छन् र स्वीकार गर्छन्, अनि त्यसपछि तिनीहरू ती अभ्यास गर्न सधैँ तयार हुन्छन्। जब तिनीहरूले कार्य गर्छन् वा आफ्नो कर्तव्य पूरा गर्छन्, तब तिनीहरूले परमेश्वरका वचनहरूमा सिद्धान्तहरूको खोजी गर्न सक्दो गर्छन् अनि त्यसपछि यी सिद्धान्तहरू अनुसार सचेत रूपमा कार्य गर्छन्। कहिलेकाहीँ तिनीहरूले निश्चित सिद्धान्तहरू भेट्टाउन वा दिशा बुझ्न नसके पनि, तिनीहरूको अभिप्राय भनेको आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु, परमेश्वरका अभिप्रायहरू अनुसार र सत्यता सिद्धान्तहरू अनुरूप त्यसो गर्नु हो। यी मानिसहरू र श्रमिकहरूको मानवता प्रायजसो उस्तै हुन्छ; उच्च र निम्न, वा आदर्शमय र तुच्छका बीचमा कुनै भिन्नता हुँदैन। अवश्य नै, यस्ता मानिसहरूमध्ये धेरैले आफूलाई “असल मानवता भएको, परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने, र परमेश्वरको विश्वासीका रूपमा त्याग्ने क्षमता भएको, र आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउने र कठिनाइ भोग्ने इच्छा भएको” व्यक्तिका रूपमा हेर्छन्। तर यी मानिसहरू र श्रमिकहरूका बीचमा के भिन्नता छ? तिनीहरूले मानिसहरूलाई न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरू सुनेपछि, तिनीहरूको मनोवृत्ति भनेको बेवास्ता गर्न, तर्किनु नभई सक्रिय रूपमा र इमानदारीसाथ स्वीकार गर्नु हुन्छ। यी वचनहरू सुनेपछि तिनीहरू व्याकुल र हताश भए पनि, तिनीहरूले आफ्नो प्रकट गरिएको भ्रष्टताप्रति रिससमेत व्यक्त गरे पनि, अन्तमा, तिनीहरूले अझै पनि तिनलाई सही ढङ्गले सामना गर्न, सक्रिय रूपमा स्वीकार गर्न, र सक्रिय रूपमा अभ्यास गर्न र तिनमा प्रवेश गर्न सक्छन्। के यो पनि एक प्रकारको व्यक्ति होइन र? (हो।) के यी मानिसहरू निश्चित हदसम्म प्रतिनिधिमूलक होइनन् र? (हुन्।) के यस्ता मानिसहरू धेरै हुन्छन्? (त्यति धेरै हुँदैनन्।) अहिले धेरै नभए पनि, तिनीहरूको सङ्ख्या बढ्ने आशा छ। त्यसोभए, यी मानिसहरूलाई कुन वर्गमा वर्गीकरण गर्नुपर्छ? के यी निश्चित प्रकटीकरणहरूले यी मानिसहरूले सत्यतालाई प्रेम गर्छन् र तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् भन्ने कुराको सङ्केत गर्न सक्छन्? (सक्छन्।) तिनीहरूले सक्छन्। कमजोर बुझाइ क्षमता भएका कतिपय मानिसहरूले सत्यतालाई अलिक ढिलो, तर गहन रूपमा स्वीकार गर्ने भए पनि, तिनीहरूले सत्यतालाई स्वीकार गर्छन् र तिनीहरूसँग त्यसमा सक्रिय रूपमा प्रवेश गर्ने मानसिकता हुन्छ। जब कसैले सत्यता सिद्धान्तहरू अनुरूप रहेका नयाँ ज्योतिमा वा अभ्यासका मार्गहरूमा सङ्गति गर्छ, तब तिनीहरूको आँखा धपक्क बल्छ, तिनीहरूको हृदय छर्लङ्ग हुन्छ, र तिनीहरू यस्तो सोच्दै आनन्दित हुन्छन्, “बल्ल कसैले यो ज्योतिमा सङ्गति गरेको छ। ममा यही कुराको कमी छ।” तिनीहरू सधैँ आफूमा के कुराको कमी छ भन्ने कुरा बुझ्न, आफूलाई झट्टै चाहिने र आफूमा कमी भएको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्न, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको साँचो अनुभवात्मक बुझाइबाट आफूलाई चाहिने सत्यता सिद्धान्तहरू पत्ता लगाउन सक्छन्। यी निश्चित प्रकटीकरणहरूका आधारमा हेर्दा, के तिनीहरूको हृदयले सत्यताको तृष्णा गर्दैन र? (गर्छ।) यदि हामीले यी मानिसहरूले सत्यतालाई प्रेम गर्छन् भनेर भन्यौँ भने, यो अभिव्यक्ति त्यति वस्तुगत वा सटीक हुँदैन। तर, यी मानिसहरूको निश्चित प्रकटीकरणका आधारमा हेर्दा, तिनीहरूले सत्यताको तृष्णा गर्छन्। यो तृष्णा कहाँबाट आउँछ? यो तिनीहरूको भ्रष्ट स्वभावलाई समाधान गर्ने, आफ्नो जीवन प्रवेशमा तिनीहरूले सामना गर्ने विभिन्न समस्या र कठिनाइहरू समाधान गर्ने, र सत्यतामा प्रगति गर्ने, अझै गहिराइमा जाने तिनीहरूको आशा, साथै साँचो रूपमा सिद्धान्तहरू अनुसार काम गर्ने, मार्ग साथ अभ्यास गर्ने, आफ्ना भ्रष्ट स्वभावका प्रकटीकरणबाट आफ्नो भ्रष्ट स्वभावको सार के हो, र तिनलाई कसरी समाधान गर्ने र फाल्ने भन्ने कुरालाई अझै सटीक रूपमा पहिचान गर्ने तिनीहरूको आशाबाट आउँछ। यी मानिसहरू प्रायजसो हैसियतका लागि प्रतिस्पर्धा गर्ने, जिद्दी भएर आफ्नै मार्गमा लागिरहने, र आत्म-धर्मी, अहङ्कारी, छली, वा हठीसमेत हुने जस्ता भ्रष्ट स्वभावहरूभित्र जिउने भए पनि, निरन्तर परमेश्वरका वचनहरू खाएर-पिएर र परमेश्वरको काम अनुभव गरेर, यी स्पष्ट समस्याहरूलाई क्रमिक रूपमा जाँचिनेछ र पहिचान गरिनेछ। त्यसपछि, तिनीहरूले यी कुराहरूलाई समस्याहरू, सत्यता अनुरूप नभएका र परमेश्वरले घृणा गर्नुहुने भ्रष्ट स्वभावका प्रकटीकरणहरूका रूपमा पहिचान गर्न सक्छन्। आफ्नो भ्रष्ट स्वभावबारे थाहा पाएपछि, तिनीहरू तिनलाई समाधान गर्न र फाल्न अझै बढी तृष्णा गर्छन्। यो सत्यताप्रतिको तिनीहरूको तृष्णाको एउटा स्रोत हो। अर्को शब्दमा भन्दा, तिनीहरूमा आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्ने आवश्यकता, र आफ्नो भ्रष्ट स्वभाव फाल्ने आतुर मानसिकता हुन्छ। साथ साथै, आफ्नो भ्रष्ट स्वभावले प्रकट गरेका विभिन्न स्थिति, समस्या, र कठिनाइहरू पत्ता लगाएपछि, तिनीहरू यी समस्याहरूका लागि परमेश्वरका सटीक वचन र मागहरू के-के हुन्, र परमेश्वरका कुन-कुन सत्यता वा वचनहरूले तिनलाई समाधान गर्न सक्छन् भनेर बुझ्न झनै उत्सुक हुन्छन्। सत्यताप्रतिको तिनीहरूको तृष्णाका निश्चित प्रकटीकरण र स्रोतहरू यिनै हुन्। के यो वस्तुगत अभिव्यक्ति हो? (हो।) यी मानिसहरू सत्यतालाई प्रेम गर्छन् भनेर भन्न सकिँदैन। यदि तिनीहरू सत्यतालाई प्रेम गर्थे भने, तिनीहरू अत्यन्तै सक्रिय हुनेथिए, र तिनीहरूका विभिन्न प्रकटीकरणहरू झनै सकारात्मक हुनेथिए। तर, यी मानिसहरूका विभिन्न प्रकटीकरण र तिनीहरूको वास्तविक कदका आधारमा हेर्दा, तिनीहरू सत्यतालाई प्रेम गर्ने बिन्दुमा पुगेका हुँदैनन्, तिनीहरूले यसको तृष्णा मात्रै गर्छन्। यो अभिव्यक्ति पहिले नै निकै वस्तुगत छ। त्यसोभए, यी मानिसहरूका विभिन्न प्रकटीकरणहरूलाई हेर्दा, तिनीहरूलाई कुन वर्गमा वर्गीकरण गर्नुपर्छ? सटीक रूपमा भन्दा, यी मानिसहरू परमेश्वरका मानिसहरूको वर्गमा पर्छन्। यो दाबीको एउटा आधार छ। के-कस्तो आधार? यी मानिसहरूका भ्रष्ट स्वभाव अरूको जस्तै हुन्छ। मानवताको हिसाबमा भन्दा, तिनीहरूको मानवता असल छ भनेर भन्न सकिँदैन, न त परमेश्वरको नजरमा तिनीहरू सिद्ध छन् भनेर नै भन्न सकिन्छ; तिनीहरूमध्ये धेरैजसोमा औसत मानवता हुन्छ। यहाँ “औसत” को अर्थ के हो? यसको अर्थ निश्चित स्तरको विवेक र समझ हुनु हो। तर यो सबैभन्दा महत्त्वपूर्ण पक्ष होइन। सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो? यो के हो भने, परमेश्वरका वचनहरू र परमेश्वरका मागहरू सुनेपछि, परमेश्वरका वचनहरूले खुलासा गरेका सबै प्रकारका मानिसहरूका भ्रष्ट स्वभावबारे सुनेपछि, तिनीहरू उदासीन हुँदैनन्, बरु तिनीहरू उत्तेजित हुन्छन् र तिनीहरूले कुनै कदम चाल्छन्। कदम चाल्नु भनेको के हो? यसको अर्थ परमेश्वरका यी वचनहरू र यी सत्यताहरू सुनेपछि, तिनीहरू त्यस उप्रान्त भ्रष्ट स्वभावभित्र जिउन र आफ्नो पहिलेको जिउने माध्यमलाई जारी राख्न अनिच्छुक हुन्छन्। बरु, तिनीहरू आफू पहिले भर परेका विभिन्न विचार, दृष्टिकोण, र अस्तित्वका तरिका र जीवनशैलीलाई परिवर्तन गर्न लागिपर्छन्। साथ साथै, तिनीहरूले लापरवाह र स्वेच्छाचारी हुनुको सट्टा आफ्नो कर्तव्य पूरा गर्दा र परमेश्वरले प्रबन्ध गर्नुभएका विभिन्न परिस्थितिहरूमा सक्रिय रूपमा सत्यताको खोजी गर्छन्, र परमेश्वरका वचनहरूलाई अभ्यासको आधार र सिद्धान्तहरूका रूपमा प्रयोग गर्छन्। तिनीहरूको मानवता, क्षमता, परमेश्वरका वचनहरू, परमेश्वरको काम, र परमेश्वरका मागहरू, इत्यादिप्रतिको तिनीहरूको मनोवृत्ति र दृष्टिकोणलाई हेर्दा, यी मानिसहरू ठ्याक्कै परमेश्वरले मुक्ति दिने अभिप्राय राख्नुभएका मानिसहरू हुन्। तिनीहरूसँग आफ्नो भ्रष्ट स्वभाव फाल्ने र मुक्ति पाउने आशा श्रमिकहरूको भन्दा बढी हुन्छ। सत्यतालाई स्वीकार गर्ने र मुक्ति पाउनका लागि आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्नेहरूलाई मात्रै परमेश्वरका मानिस मानिन्छ। के यो परिभाषा निकै उपयुक्त छैन र? (छ।) यो सबैभन्दा उपयुक्त छ। मुक्ति पाउनु भनेको थोरै मेहनत गर्नु र रहनका लागि थोरै मूल्य चुकाउनु, अनि त्यसपछि सबै कुरा समाधान हुनु होइन। मुक्ति पाउन सक्नेहरूको स्थिति कस्तो छ? यो यस्तो स्थिति हो, जसद्वारा परमेश्वरका वचनहरू र कामलाई स्वीकार र अनुभव गरेर, तिनीहरूको भ्रष्ट स्वभाव समाधान हुन्छ। यस प्रक्रियामा, तिनीहरूले परमेश्वरलाई चिन्न, आफ्नो भ्रष्ट स्वभाव बुझ्न, र परमेश्वरका वचनहरूसँगको वास्तविक र ठोस सङ्गत र तिनका अनुभवहरू प्राप्त गर्न सक्छन्, यसरी तिनीहरूले परमेश्वरको गवाही दिन सक्छन्—तिनीहरूले परमेश्वरको गवाही दिन सक्छन्। तिनीहरूले परमेश्वरका कुन-कुन पक्षहरूका बारेमा गवाही दिन्छन्? तिनीहरूले परमेश्वरका अभिप्रायहरू, परमेश्वरको स्वभाव, परमेश्वरसँग के छ र उहाँ के हुनुहुन्छ, परमेश्वरको पहिचान, र परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुराको गवाही दिन्छन्। मुक्ति प्राप्त गरेपछि व्यक्तिमा प्रकट हुन सक्ने कुरा यही हो। मानिसहरूले मुक्ति पाएपछि किन यी परिणामहरू हासिल गर्न सक्छन्? तिनीहरूले आफूलाई “असल मानवता भएको, परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने, र परमेश्वरको विश्वसीका रूपमा त्याग्ने क्षमता भएको, र आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउने र कष्ट भोग्ने इच्छा भएको” व्यक्ति ठान्ने हुनाले यो हासिल गर्दैनन्। यसको एउटै मात्र कारण—र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने—तिनीहरूले परमेश्वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा स्वीकार गर्न सक्छन्, आफ्नो भ्रष्ट स्वभाव फाल्न सत्यता अभ्यास गर्न सक्छन्, आफ्नो मूल, र पुरानो जीवन शैली र जीवनसम्बन्धी दृष्टिकोणहरूलाई पन्छाउन सक्छन्, र परमेश्वरका वचनहरूलाई आफ्नो नयाँ जीवनका रूपमा लिन सक्छन्। तिनीहरूले आफूलाई आचरणमा ढाल्न, कामकुरा गर्न, परमेश्वरलाई पछ्याउन, परमेश्वरमा समर्पित हुन, र परमेश्वरलाई सन्तुष्ट पार्नका लागि परमेश्वरका वचनहरूलाई आधारका रूपमा प्रयोग गर्छन्। त्यस्ता मानिसहरूमा हासिल हुन सक्ने परिणाम यही हो। मुक्ति हासिल गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो? (सत्यतालाई स्वीकार गर्न सक्नु।) ठीक भन्यौ। सत्यतालाई स्वीकार गर्न सक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
कतिपय मानिसहरू भन्छन्, “यदि मैले परमेश्वरका लागि आफूलाई अन्त्यसम्म समर्पित गरेँ भने, के परमेश्वरले मलाई धेरै आशिष् दिनुहुनेछ?” यदि तँ सत्यतालाई स्वीकार गर्दैनस्, तर अझै पनि परमेश्वरलाई अन्त्यसम्म पछ्याउन लागिपर्न, आखिरसम्म परिश्रम गर्न सक्छस्, जुन अवधिमा कुनै ठूलो अपराध हुँदैन र तैँले परमेश्वरको स्वभावलाई चिढ्याउँदैनस् भने, त्यस्ता परिस्थितिहरूमा, परमेश्वरले तँलाई रहन पाउने बफादार श्रमिक भन्ने ठान्नुहुनेछ। कतिपय मानिसहरू सोध्छन्, “रहन पाउनु कस्तो आशिष् हो?” यो सानोतिनो आशिष् होइन! यदि मौका र सम्भावना छ भने, तैँले परमेश्वरको वास्तविक व्यक्तिलाई देख्न सक्छस्, र यो कुरा परमेश्वरले अर्को युगमा के गर्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ। यदि अझै धेरै दशकसम्म रहने र जिउने मौका मिल्यो भने, त्यो आशिष् निकै महत्त्वपूर्ण हुन्छ। यो आशिष् कसरी आउँछ? “मसँग असल मानवता छ, म परमेश्वरमा साँचो रूपमा विश्वास गर्छु, म त्याग्न सक्छु, र म आफ्नो कर्तव्य पूरा गर्न मूल्य चुकाउन र कष्ट भोग्न इच्छुक छु” भन्ने दृष्टिकोणलाई कायम राख्दै बफादारी साथ श्रम गरेर यो हासिल हुन्छ। के श्रमिकहरूले सन्तुष्ट हुन जान्नु पर्दैन र? (पर्छ।) तिनीहरू यो आशिष् प्राप्त गर्नमा नै सन्तुष्ट हुनुपर्छ। तिनीहरू परमेश्वरका वचनहरूसमेत स्वीकार गर्दैनन्, तैपनि यस अवधिमा तिनीहरू पछि नहटी, परमेश्वरको स्वभावलाई नचिढ्याई वा उहाँका प्रशासनिक आदेशहरू उल्लङ्घन नगरी, ठूला अपराध नगरी परमेश्वरले तिनीहरूको बफादारी र अन्तसम्मै श्रम गर्ने तिनीहरूको क्षमता देख्नुहुने हुनाले, उहाँ तिनीहरूलाई यो आशिष् र अनुग्रह दिनुहुन्छ—मानवजातिको सृष्टि भएदेखि नै, बफादारीपूर्वक श्रम मात्रै गरेका तर मुक्ति प्राप्त नगरेका भ्रष्ट मानिसहरूलाई परमेश्वरले दिनुहुने सबैभन्दा ठूलो उपहार यही हो। तिनीहरूले थोरै मेहनत मात्रै गरेका हुन्छन्, र तिनीहरू परमेश्वरका वचनहरूसमेत स्वीकार गर्दैनन्—यस्तो ठूलो आशिष् प्राप्त गर्न सक्नु नै निकै राम्रो कुरा हो; यो परमेश्वरको असीम अनुग्रह हो। अर्को वर्ग परमेश्वरका मानिसहरू हुन्, जसका बारेमा हामीले भर्खरै कुरा गरेका थियौँ। परमेश्वरका मानिसहरूले प्राप्त गर्ने आशिष्हरू अवश्य नै श्रमिकहरूले प्राप्त गर्ने आशिष्हरूभन्दा ठूला हुन्छन्। त्यसोभए परमेश्वरका मानिसहरूको आशिष् के हो? अवश्य नै, यो रहन पाउनु वा परमेश्वरको वास्तविक व्यक्तिलाई देख्ने मौका पाउनुजत्तिको सरल कुरा होइन। अरू धेरै आशिष्हरू छन्, तर हामी तिनका बारेमा यहाँ छलफल गर्नेछैनौँ। यसबारे कुरा गर्नु यथार्थपरक हुँदैन, र यसबाहेक, मैले तिमीहरूलाई बताएँ भने पनि, तिमीहरूले अहिले ती कुरा बुझ्नेछैनौ वा प्राप्त गर्नेछैनौ। परमेश्वरका मानिसहरू नै परमेश्वरले मुक्ति दिने अभिप्राय राख्नुहुने मानिसहरू हुन्, र सारा मानवजातिमाझ, तिनीहरूले सबैभन्दा ठूला आशिष्हरू प्राप्त गर्छन्; यो कुनै पनि हालतमा अतिशयोक्ति होइन। किन? किनभने, परमेश्वरको काममा, मानवजातिलाई मुक्ति दिने परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजनाको कामभित्र, परमेश्वरका मानिसहरूले परमेश्वरका वचनहरूलाई स्वीकार गर्न सकेर, परमेश्वरका वचनहरूलाई सत्यता र आफ्नो अस्तित्वका सिद्धान्तहरूका रूपमा लिन सकेर, र परमेश्वरका वचनहरूलाई आफ्नो जीवन बनाएर, शैतानको भ्रष्ट स्वभावलाई फालेका हुन्छन् र परमेश्वरका वचनहरू अनुसार जिएका हुन्छन्, र परमेश्वरका लागि दह्रिलो र जोडदार गवाही दिएका हुन्छन्। तिनीहरूले आफूले जिउने कुरा, अर्थात् आफ्नो जीवनलाई शैतानलाई जवाफी प्रहार गर्न र लज्जित पार्न प्रयोग गर्न, र मानवजातिका बीचमा परमेश्वरको गवाही दिन सक्छन्, यसरी परमेश्वरलाई महिमित पार्न सक्छन्। त्यसकारण, परमेश्वरले मुक्ति दिने अभिप्राय राख्नुहुने मानिसहरू, र मुक्ति प्राप्त गर्नेहरू नै परमेश्वरका मानिसहरू हुन्। कतिपय मानिसहरू भन्छन्, “यी व्यक्तिहरूले परमेश्वरका वचनहरूलाई आफ्नो जीवन बनाउन, परमेश्वरका वचनहरू अनुसार जिउन, र परमेश्वरको गवाही दिन सक्ने हुनाले, के त्यसले तिनीहरूलाई परमेश्वरका प्रिय पुत्रहरू, परमेश्वर प्रसन्न हुनुहुने मानिसहरू बनाउँछ?” तैँले धेरै सोचिरहेको छस्; परमेश्वरका मानिसहरूमध्येको एक हुनु नै पर्याप्त कुरा हो। यदि परमेश्वरले तँलाई आफ्नो पुत्र, आफ्नो सन्तान, वा आफ्नो प्रिय पुत्र भन्नुभयो भने, त्यो परमेश्वरको मामला हो, तर जुनै पनि बेला, तैँले कहिल्यै परमेश्वरको प्रिय पुत्र, परमेश्वरको पुत्र, वा परमेश्वरको प्रिय भनेर दाबी गर्नु हुँदैन। आफ्नो बारेमा त्यस्ता दाबीहरू नगर्, र आफूलाई त्यस्तो नठान्; तँ सृजित प्राणी होस्—यो सही कुरा हो। यदि कुनै दिन तँलाई परमेश्वरका मानिसहरूमध्येको एक भनेर भनियो भने पनि, वा तँ मुक्ति पाउने मार्गमा हिँडिसके छस् भने पनि, तँ अझै पनि सृजित प्राणी मात्रै होस्। यदि तँ यसरी विचार गर्छस् भने, यसले तैँले समातेको मार्ग सही मार्ग हो भन्ने प्रमाणित गर्छ। यदि तँ सधैँ परमेश्वरको प्रिय पुत्र बन्न, परमेश्वरको प्रेम पाउन, परमेश्वर प्रसन्न हुने व्यक्ति बन्न खोज्छस् भने, तैँले समातेको मार्ग गलत हुन्छ; यो मार्गले कहीँ पनि लग्दैन, र तँ त्यस्तो इच्छाकल्पित सोचमा संलग्न हुनु हुँदैन। परमेश्वरले कहिल्यै यस्ता शब्दहरू बोल्नुभएको भए पनि वा नभए पनि, वा मानिसहरूलाई यस्तो प्रतिज्ञा गर्नुभएको भए पनि वा नभए पनि, तैँले आफूलाई यसरी लिनु हुँदैन; यो तैँले हासिल गर्ने प्रयास गर्नुपर्ने कुरा होइन। परमेश्वरका मानिसहरूमध्येको एक बन्नु नै पर्याप्त हुन्छ; परमेश्वरका मानिसहरू सृजित प्राणीहरूका रूपमा मापदण्ड अनुरूपका भइसकेका हुन्छन्—तँ अझै पनि त्यस्तो व्यक्ति नहुनु दुःखको कुरा हो। त्यसकारण, ती अस्पष्ट, भ्रामक, र खोक्रा कुराहरूको पछि नलाग्। मुक्ति पछ्याउन सक्नु भनेको, निश्चित हदसम्म, पहिले नै मुक्ति पाउने मार्गमा हिँड्न थाल्नु हो। परमेश्वरका मानिसहरूका प्राथमिक विशेषताहरू के हुन् भने, तिनीहरू सत्यतालाई स्वीकार गर्न सक्छन् र तिनीहरू सत्यताप्रति प्रेम देखाउँछन्। परमेश्वरको काम अनुभव गर्ने र मुक्ति पछ्याउने प्रक्रियामा, तिनीहरूका भ्रष्ट स्वभाव, पुराना विचारहरू, र तिनीहरूका भ्रष्ट स्वभावसँग सम्बन्धित विभिन्न नकारात्मक स्थिति र प्रकटीकरणहरूलाई फरक-फरक हदसम्म समाधान गर्न, फाल्न, र परिवर्तन गर्न सकिन्छ। त्यसपछि, तिनीहरू इमानदार व्यक्ति, सत्यता सिद्धान्तहरू बुझ्ने व्यक्ति, बफादारी र समर्पणता भएको व्यक्ति, र परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्ने व्यक्ति बन्ने परमेश्वरका मागहरू अनुसार जिउन सक्छन्। जहाँसम्म मानक अनुरूपको र परमेश्वरको नमुना व्यक्ति कसरी बन्ने भन्ने कुरा छ, हामी यहाँ त्यसबारे विस्तृत रूपमा व्याख्या गर्नेछैनौँ; त्यो आजको हाम्रो सङ्गतिको विषय होइन।
३. भाडाका कामदारहरू
श्रमिक र परमेश्वरका मानिसहरूबाहेक, एउटा अर्को वर्गका व्यक्तिहरू पनि छन्, जो परमेश्वरले चुन्नुभएका मानिसहरूमध्ये सबैभन्दा दयनीय हुन्छन्। परमेश्वरले व्यक्त गर्नुभएका विभिन्न सत्यताहरू र उहाँले मानवजातिलाई दिनुभएका खुलासाका विभिन्न वचनहरू सुनेपछि, तिनीहरूको व्यवहार, तिनीहरू जिउने कुरा, र तिनीहरूका पछ्याइहरू पटक्कै परिवर्तन हुँदैनन्। तैँले तिनीहरूसँग सत्यताबारे जसरी सङ्गति गरे पनि, तिनीहरू उदासीन नै रहन्छन्: “म परिवर्तन हुन चाहन्नँ। म आफूले चाहे अनुसार जिउनेछु, र कसैले पनि मलाई नियन्त्रण गर्न सक्दैन। तपाईँ जे गर्न चाहनुहुन्छ, गर्नुहोस्, मलाई वास्ता छैन! अहिले मेरो मुड राम्रो छैन, त्यसकारण तिमीहरू कसैले पनि मलाई चिढ्याउनु हुँदैन। यदि त्यसो गर्यौ भने, म शिष्ट हुनेछैनँ!” तिनीहरू आफूलाई “मसँग असल मानवता छ, म परमेश्वरमा साँचो रूपमा विश्वास गर्छु, म त्याग्न सक्छु, र म कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक छु” भन्ने निश्चित मनोवृत्ति वा दृष्टिकोणले लिँदैनन्, तर तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूका बीचमा झनै निश्चित मनोवृत्ति देखाउँछन्। यो मनोवृत्ति के हो? यो यस्तो हो, “म आफूले चाहे अनुसार काम गर्नेछु, जे मन लाग्यो त्यही गर्नेछु। कसैले पनि मलाई सत्यता स्वीकार गर्न लगाउनु हुँदैन, कसैले पनि मलाई परिवर्तन गर्ने प्रयास गर्नु हुँदैन। मलाई सत्यता स्वीकार गर्न लगाउने जोकोही व्यक्तिले समस्या मात्रै खोजिरहेको हुन्छ, र यदि कसैले मलाई काटछाँट गर्ने प्रयास गर्यो भने, म आफ्नो ज्यान दिएर प्रतिरोध गर्नेछु!” परमेश्वरले बोल्नुभएका कुनै पनि वाक्यप्रति तिनीहरूलाई अलिकति पनि चासो हुँदैन, न त तिनीहरूलाई परमेश्वरले गर्नुहुने कामप्रति नै चासो हुन्छ। अवश्य नै, मानिसहरूका भ्रष्ट स्वभाव र कामकुरा गर्ने सिद्धान्तहरू, साथै परमेश्वरप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र तिनीहरूले अन्तरवैयक्तिक अन्तरक्रियाहरूमा पालना गर्नुपर्ने सिद्धान्तहरू—जसलाई दाजुभाइ-दिदीबहिनीहरूले भेलाहरूमा वा आफ्नो कर्तव्य पूरा गर्दा उल्लेख गर्छन्—तिनीहरू तिनलाई तिरस्कारको मनोवृत्तिले लिन्छन्। कतिपय व्यक्तिहरू कर्तव्य पूरा गर्छन्, तर तिनीहरू परमेश्वरको घरले माग गरेका सिद्धान्तहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्, र आफूले योजना बनाए अनुसार नै कामकुरा गर्छन्। तैँले तिनीहरूसँग सिद्धान्तहरूमा सङ्गति गर्नेबित्तिकै, तिनीहरू तेरो अगाडि सहमत त हुन्छन् तर पछाडि फर्केर लापरवाह र स्वेच्छाचारी व्यवहार गर्न थाल्छन्, र आफ्नो पैशाचिक पक्ष देखाउँछन्। बाहिरी रूपमा ठीकठाक देखिने मानिसहरू पनि हुन्छन्, तर जब तँ तिनीहरूसँग कुराकानी वा गफ गर्छस्, तब तिनीहरूको दृष्टिकोण गलत हुन्छ, तिनीहरूको लबज गलत हुन्छ, र अझै महत्त्वपूर्ण कुरा त के हो भने, तिनीहरूको स्वभाव गलत हुन्छ, जसले गर्दा तिनीहरूसँग कुराकानी गर्नु असम्भव हुन्छ। जब तँ तिनीहरूलाई “के संसारमा परमेश्वर हुनुहुन्छ?” भनेर सोध्छस्, तब तिनीहरू भन्छन्, “मलाई थाहा छैन।” तँ भन्छस्, “यो त यसरी गर्नुपर्छ, यो परमेश्वरको अभिप्राय हो।” तिनीहरूले जवाफ दिन्छन्, “के तपाईँलाई म अप्रिय लाग्छ? के तपाईँ मलाई समस्यामा पार्न खोजिरहनुभएको छ? के तपाईँ मलाई निष्कासित गर्ने प्रयास गरिरहनुभएको छ?” तँ भन्छस्, “यसरी व्यवहार गर्नु धारणाहरू फैलाउनु र नकारात्मकता पोखाउनु हो, जसले गर्दा कतिपय नयाँ विश्वासीहरूलाई ठेस लाग्न सक्छ। हामीले परमेश्वरको घरका नियमहरू पालना गर्नुपर्छ, र हामी मानिसहरूबीचका अन्तरक्रिया र सङ्गतिमा पालना गर्नुपर्ने सिद्धान्तहरूका बारेमा स्पष्ट हुनुपर्छ। यदि भनिएको र गरिएको कुराले अरूलाई सुधार्न वा सहयोग गर्न सक्दैन भने, कम्तीमा पनि, यसले अरूलाई नकारात्मक रूपमा असर गर्नु हुँदैन। सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने समझ यही हो।” तिनीहरू भन्छन्, “मलाई सामान्य मानवताबारे कुरा गर्ने, नियमहरूबारे भाषण दिने, तपाईँ आफूलाई को ठान्नुहुन्छ? मैले नकारात्मकता पोखाउनुमा के गलत छ र? हरेक नयाँ विश्वासीले ठेस खान्छ भने, एक जना नयाँ विश्वासी घट्छ—मैले तिनीहरूलाई भेट्नुपर्ने झन्झट त हुँदैन!” तिनीहरूसँग नियमहरूको कुरा गर्नु व्यर्थ हुन्छ, र मानवताबारे छलफल गर्नु पनि व्यर्थ हुन्छ। सत्यतामा सङ्गति गर्ने, परमेश्वरका वचनहरूमा सङ्गति गर्ने बारेमा नि? तिनीहरूले परमेश्वरका वचनहरूको सङ्गति पनि सुन्दैनन्। कसैले पनि तिनीहरूको आलोचना गर्ने आँट गर्दैन, तिनीहरूलाई झिँज्याउने वा उक्साउने आँट गर्दैन। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? (हुन्छन्।) निकालिएकाहरूमध्ये, पक्कै पनित्यस्ता व्यक्तिहरू हुन्छन्। यी मानिसहरू श्रमिक हुन्, परमेश्वरका मानिसहरू हुन् कि के हुन्? (तिनीहरू निकालिएका मानिसहरू हुन्।) तिनीहरूलाई किन निकालिएको थियो? (सत्यतालाई स्वीकार नगरेकोमा; सत्यताप्रति वितृष्ण भएकोमा।) समस्याको सार यही हो। त्यसोभए तिनीहरू किन सत्यतालाई स्वीकार गर्दैनन्? तिनीहरू किन सत्यताप्रति वितृष्ण हुन्छन्? यसको जड के हो? (यी मानिसहरूको सार अविश्वासीहरूको सार हो।) ठीक भन्यौ, तिनीहरूको सार अविश्वासीहरूको सार हो। मण्डलीमा धेरै अविश्वासीहरू हुन्छन्, तर के सबै अविश्वासीहरू यस्तै हुन्छन्? (हुँदैनन्।) सबैभन्दा आधारभूत मानव नैतिकता र संस्कारको कमी भएका यी मानिसहरू—के तिनीहरू अविश्वासी भएकाले मात्रै हटाइन्छन् त? तिनीहरूलाई किन हटाइन्छ? यसको जडमा, यो मानवताको समस्या हो; यी मानिसहरूमा खराब र दुर्भावनापूर्ण मानवता हुन्छ। यसलाई सटीक रूपमा भन्दा, तिनीहरूमा मानवताको कमी हुन्छ। तिनीहरूमा मानवताको कमी हुने हुनाले, तिनीहरू के हुन्? तिनीहरू दियाबलस प्रकृतिका मानिसहरू हुन्। दियाबलस प्रकृतिका मानिसहरू पशुहरूसँगको तुलनामा कस्ता हुन्छन्? मलाई लाग्छ, तिनीहरू पशुहरूभन्दा पनि खराब हुन्छन्; कतिपय पशुहरू आज्ञाकारी हुन सक्छन् र दुष्कर्म गर्नबाट जोगिन सक्छन्। उदाहरणका लागि, कुकुरहरू निकै राम्रा हुन सक्छन्; कतिपय कुकुरहरू साँच्चै नै उत्कृष्ट घरपालुवा जनावर बन्छन्, र मानिसहरूसँग असाधारण रूपमा राम्ररी मिलेर बस्छन्! तिनीहरू विशेष रूपमा आज्ञाकारी र समझदार हुन्छन्, मानिसहरूले भन्ने सबै कुरा बुझ्छन्, र तिनीहरू घरभित्र राख्न उपयुक्त हुन्छन्। त्यस्ता कुकुरहरू अनाज्ञाकारी मानिसहरूभन्दा निकै असल हुन्छन्। धेरै मानिसहरू असल कुकुरहरूभन्दा पनि खराब हुन्छन्। त्यसोभए, के तिनीहरू अझै पनि मानव हुन् त? अहँ, तिनीहरू मानव होइनन्; तिनीहरू गैर-मानव हुन्। धेरै मानिसहरूले मानव भाषा बुझ्दैनन्; तिनीहरूसँग कुराकानी गर्नु असम्भव हुन्छ। सत्यतामा जसरी सङ्गति गरिए पनि तिनीहरू त्यसलाई स्वीकार गर्दैनन्, काटछाँटमा पर्दा गुनासो गर्छन्, र तिनीहरूलाई हटाइएपछि तिनीहरू रिसाएर अपशब्द बोल्छन्, र तिनीहरूले विश्वास गरेको जति वर्ष भए पनि, तिनीहरू पटक्कै परिवर्तन हुँदैनन्। के त्यस्ता मानिसहरूलाई अझै पनि परमेश्वरको घरमा बस्न दिन सकिन्छ? (सकिँदैन।) तिनीहरूलाई बस्न दिन सकिँदैन। त्यस्ता व्यक्तिहरूलाई कुन वर्गमा वर्गीकरण गर्नुपर्छ? सर्वप्रथम, के यी व्यक्तिहरूलाई परमेश्वरका चुनिएका मानिसहरूका माझमा वर्गीकरण गर्नुपर्छ? (गर्नु हुँदैन।) यदि तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूमध्येका होइनन् भने, तिनीहरूलाई कुन वर्गमा राख्नुपर्छ? परमेश्वरका चुनिएका मानिसहरूमध्येको नहुनु—यसलाई कसरी अर्थ्याउनुपर्छ? यसको अर्थ तिनीहरूले प्रदर्शन गर्ने र जिउने मानवताको दृष्टिकोणबाट हेर्दा, यो अविश्वासी हुनुको सरल मामला मात्रै होइन; तिनीहरूको सार मानव हुँदैन। धेरै मानिसहरू अविश्वासी हुन्छन्—के तिनीहरू सबै यी व्यक्तिहरूजत्तिकै खराब र दुर्भावनापूर्ण हुन्छन्? हुँदैनन्। गैरविश्वासीहरूका बीचमा समेत, सबै जना त्यति खराब हुँदैनन्; कतिपय मानिसहरूसँग सबैभन्दा आधारभूत नैतिक मानकहरू हुन्छन्। त्यसोभए यी व्यक्तिहरूका बारेमा के भन्ने? तिनीहरूमा गैरविश्वासीहरूमा हुने सबैभन्दा आधारभूत नैतिकता र संस्कारको समेत कमी हुन्छ; सटीक रूपमा भन्दा, तिनीहरूको प्रकटीकरण र तिनीहरूले जिउने कुरा मानव नैतिकताका मानकहरू अनुरूप हुँदैन। यी मानिसहरूको सार भनेको दियाबलसपन हो। त्यसोभए तिनीहरूको सारको दृष्टिकोणबाट हेर्दा, के परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुन्छ? (दिनुहुन्न।) परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न। किन? किनभने तिनीहरूको मानवता खराब र दुर्भावनापूर्ण हुन्छ, र त्यो दुष्ट प्रकृतिको हुन्छ, यसरी तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र यसको प्रतिरोध गर्छन्। वास्तवमा, यसलाई यसरी भन्नु भनेको तिनीहरूलाई उचाल्नु हो; सटीक रूपमा भन्दा, यी व्यक्तिहरू सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन् र तिनलाई घृणा गर्छन्, तिनीहरू सत्यताप्रति वितृष्ण हुने र यसलाई स्वीकार नगर्ने स्तरमा पनि पुगेका हुँदैनन्। तिनीहरू सबैभन्दा आधारभूत सकारात्मक कुराहरूप्रति समेत वितृष्ण हुन्छन्, तिनलाई घृणा गर्छन्, र प्रतिरोध गर्छन्; सामान्य मानवता भएको व्यक्तिले पालना गर्नुपर्ने नियमहरू र उसमा हुनुपर्ने संस्कार जस्ता कुराहरू नै तिनीहरूलाई घिन लाग्ने कुराहरू हुन्। के तिनीहरू सत्यतालाई स्वीकार गर्न सक्छन्? (तिनीहरू त्यो स्तरसम्म पुग्दैनन्।) हो, तिनीहरू त्यो स्तरसम्म पुग्दैनन्; तिनीहरू श्रमिक समेत होइनन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरू श्रमिक समेत होइनन् भने, तिनीहरूलाई परमेश्वरको घरभित्र के मानिन्छ? तिनीहरू कसरी परमेश्वरको घरमा प्रवेश गरे?” यदि हामीले तिनीहरूलाई व्याख्या गर्ने हो भने, वर्गीकरण गर्ने हो भने, सटीक रूपमा भन्दा, यी व्यक्तिहरू गैरविश्वासीहरूमाझबाट ल्याइएका भाडाका कामदहरू वा अस्थायी कामदारहरू जस्तै हुन्। के यसको अर्थ स्पष्ट छ? यो तिनीहरूको वर्ग हो, साथै परमेश्वरको घरमा तिनीहरूले खेल्ने भूमिका पनि यही हो। तिनीहरू श्रमिकसमेत होइनन्; म तिनीहरूलाई श्रमिकका रूपमा लिँदिनँ, तिनीहरू त्यस योग्य हुँदैनन्! श्रमिकहरूमा असल मानवता हुनु, परमेश्वरमा साँचो रूपमा विश्वास गर्नु, र मूल्य चुकाउने इच्छा, र कष्ट भोग्ने क्षमता हुनु जस्ता विशेषताहरू हुन्छन्, र तिनीहरू यी कुराहरू अनुसार जिउँछन्। यी व्यक्तिहरूमा यी गुणहरूसमेत हुँदैनन्, त्यसकारण तिनीहरूलाई भाडाका कामदारहरूका रूपमा वर्गीकरण गर्नु भनेको तिनीहरूलाई अत्यधिक दया देखाउनु हो र यो अत्यन्तै शिष्ट कुरा हो। भाडाका कामदार वा अस्थायी कामदार हुनु भनेको के हो? यसको अर्थ के हो भने, निश्चित अवधिहरूमा विशेष आवश्यकताहरूका कारण, परमेश्वरको घरले निश्चित कामहरू पूरा गर्न मुक्ति पाउनुसँग असम्बन्धित केही व्यक्तिहरू भर्ती गर्छ। यी कामहरू पूरा भएपछि, यी व्यक्तिहरूको साँचो रङ्ग प्रकट हुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूसँग अन्तरक्रिया गरेर पर्याप्त रूपमा कष्ट भोगेका हुन्छन्, उनीहरू तिनीहरूप्रति असहनीय हदसम्म दिक्क मान्छन्, र तिनीहरूलाई पर्याप्त रूपमा खुट्ट्याएका पनि हुन्छन्। त्यस्ता परिस्थितिहरूमा, यी व्यक्तिहरूलाई निकाल्नुपर्छ; त्यस्ता कार्यहरूका लागि सबैभन्दा उचित समय यही हो। के यी व्यक्तिहरू कसरी पैदा हुन्छन् भन्ने कुरालाई भर्खरै स्पष्ट रूपमा व्याख्या गरिएको थियो? (थियो।) तिनीहरू मुक्तिसँग सम्बन्धित नभएका, मण्डलीको कामका विशेष अवधिहरूमा ल्याइएका भाडाका कामदारहरू हुन्। केही समयसम्म सानातिना काम गरेपछि र सेवा दिएपछि, यी व्यक्तिहरूले परमेश्वरको घरभित्र लापरवाह दुष्कर्म गर्छन्, जसले गर्दा धेरै बाधा र अवरोधहरू पैदा हुन्छन्। तिनीहरूले खेल्ने भूमिका नकारात्मक चरित्रहरूको भूमिका हो। तिनीहरूले शैतान र दियाबलसहरूको साँचो अनुहारलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्छन्, मण्डलीको काममा बाधा दिन्छन्, र मण्डली जीवनको सुव्यवस्थालाई नष्ट गर्छन्। अझै ठोस रूपमा भन्दा, यी व्यक्तिहरूले परमेश्वरको घरका हितहरूमा ठूलो हानि गर्छन्, जस्तै परमेश्वरको घरका धेरैजसो उपकरण, मेसिन, बहुमूल्य वस्तुहरू, इत्यादि कुराहरूमा क्षति पुर्याउँछन् भनेर भन्न सकिन्छ। यी व्यक्तिहरूका कार्य र व्यवहारले व्यापक रिस पैदा गरेको छ भनेर भन्न सकिन्छ। अवश्य नै, तिनीहरूले अझै धेरै मानिसहरूलाई पाठहरू सिक्न र समझशक्ति प्राप्त गर्न, दियाबलस भनेको के हो र मानवताको कमी हुनु भनेको के हो भनेर जान्न, र अविश्वासीहरूको साँचो अनुहार स्पष्ट रूपमा देख्न सहयोग गरेका छन्; तिनीहरूले मानिसहरूलाई अविश्वासीहरूका विचार र दृष्टिकोणहरू के-के हुन्, तिनीहरूले के कुरा पछ्याउँछन्, तिनीहरूले आफ्नो हृदयभित्र के कुराको आकाङ्क्षा गर्छन्, परमेश्वर र सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, र आफ्नो कर्तव्यप्रति र सकारात्मक कुराहरूप्रतिको तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, र परमेश्वरको घरले तय गरेका निश्चित प्रावधानहरूप्रति यी व्यक्तिहरूले राख्ने मनोवृत्तिहरूसमेत के-के हुन्, इत्यादि जस्ता कुरा स्पष्ट र अझै ठोस तरिकाले हेर्न सहयोग गरेका छन्। जब यो कुरा यति विशिष्ट हुन्छ, तब यी व्यक्तिहरूले आफ्नो मानवता कसरी जिउँछन्, तिनीहरूको मानवताको सार, र तिनीहरूले के पछ्याउँछन् भन्ने कुराहरू पूर्ण रूपमा खुलासा हुन्छन्। त्यसपछि यी व्यक्तिहरूलाई मण्डलीमा राख्नु अनावश्यक देखिन्छ; यसले परमेश्वरका चुनिएका मानिसहरूलाई ठूलो हानि गर्नेछ र तिनीहरूलाई पटक्कै फाइदा हुनेछैन। तिनीहरू जाने समय यही हो। त्यसोभए, यदि हामीले परमेश्वरको घरले तिनीहरूलाई सत्यता स्वीकार गर्न र परमेश्वरको आराधना गर्नका लागि पर्याप्त समय र अवसरहरू दिएको छ भनेर भन्छौँ भने, के यो अभिव्यक्ति सही हुन्छ? (हुँदैन।) त्यसोभए यस कुरा कसरी भन्नुपर्छ? परमेश्वरको घरले तिनीहरूलाई सुध्रिनका लागि प्रशस्त अवसर र पर्याप्त समय दिएको छ, तर अन्तिम परिणामले एउटा तथ्य प्रकट गर्छ: दियाबलस सधैँ कुनै पनि बेला दियाबलस नै हुन्छ र ऊ कहिल्यै परिवर्तन हुन सक्दैन। तथ्य यही हो। के ठूलो रातो अजिङ्गरलाई परमेश्वरको हैसियत र पहिचान स्वीकार गर्न लगाउन सकिन्छ? दुष्ट प्रकृतिका यी मानिसहरूलाई परिवर्तन हुन र केही नियमहरू पालना गर्न लगाउनु—के यो कुरा हासिल गर्न सकिन्छ? (सकिँदैन।) तिनीहरूले यो कुरा हासिल गर्न सक्दैनन्। तिनीहरूलाई अवसरहरू दिनु भनेको तिनीहरूले सत्यतालाई स्वीकार गर्न, परमेश्वरले गर्नुभएको कामलाई पहिचान गर्न, वा सत्यता सिद्धान्तहरू अनुसार काम गर्नका लागि नभई तिनीहरूलाई सुध्रिने मौका दिनका लागि हो। यदि तिनीहरू सुध्रिएका छन् भन्ने अलिकति पनि सङ्केत देखियो भने, तिनीहरूको अन्तिम परिणाम परिवर्तन हुन सक्छ। तर, यी मानिसहरूलाई तिनीहरूका लागि के राम्रो हो भन्ने थाहा हुँदैन; तिनीहरूको पैशाचिक प्रकृति सधैँ त्यही हुनेछ। तिनीहरूलाई जति धेरै समय वा जति धेरै अवसरहरू दिइए पनि, तिनीहरू जिउने कुरा र तिनीहरूको सार परिवर्तन हुँदैन; यो तथ्य हो। त्यसकारण, यी मानिसहरूलाई सम्हाल्ने अन्तिम तरिका भनेको तिनीहरूलाई तिनीहरूको कर्तव्यबाट मुक्त गर्नु, तिनीहरूलाई मण्डली छोड्न लगाउनु, र अब उप्रान्त परमेश्वरको घरसँग तिनीहरूको कुनै नाता वा सम्बन्ध छैन भन्ने कुरा सुनिश्चित गर्नु हो। के तिनीहरू गएको हेर्न नचाहने र यसो भन्दै तिनीहरूप्रति दया देखाउने मानिसहरू छन्, “यी मानिसहरू अझै पनि निकै जवान छन्; समय दिइयो भने तिनीहरू उत्कृष्ट बन्नेथिए। तिनीहरूको क्षमता यति राम्रो छ, तिनीहरू अत्यन्तै वरदानप्राप्त र प्रतिभाशाली छन्—तिनीहरू सत्यतालाई स्वीकार गर्न सक्ने भएका भए कति राम्रो हुनेथियो! यदि परमेश्वरको घर अझै प्रेमिलो र सहनशील हुन सक्यो, र तिनीहरूलाई पश्चात्ताप गर्ने अझै धेरै मौका दिन सक्यो भने, तिनीहरू ठूलो भएपछि, सायद परिस्थिति फरक हुनेछ”? कस्ता मानिसहरूले यसरी सोच्छन्? (भ्रमित मानिसहरू, अन्योलमा परेका मानिसहरू।) ठीक भन्यौ। तिनीहरू सबै भ्रमित, अन्योलमा परेका मानिसहरू हुन्—बदमासहरू! परमेश्वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न, र परमेश्वरको घरले तिनीहरूलाई रहन दिँदैन—तिनीहरूलाई दया गर्नुपर्ने के कुरा छ र? परमेश्वर उहाँले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुनेछैन भनेर भन्नुहुन्छ, तैपनि तँ तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिने सुझाव दिन्छस्। के तँ मानिसहरूलाई मुक्ति दिन सक्छस्? के यो परमेश्वरको विरुद्धमा जानु होइन र? के तैँले अरूलाई तँ परमेश्वरभन्दा प्रेमिलो छस् भनेर सोच्न लगाउने प्रयास गरिरहेको छस्? के तँसँग सत्यता वास्तविकता छ? के तैँले व्यक्तिको सारलाई छर्लङ्ग देख्न सक्छस्? मानिसहरूलाई मुक्ति दिन सक्ने को हो, परमेश्वर कि तँ? परमेश्वरको विरुद्धमा जाने आँट गर्नु—यो अत्यन्तै अहङ्कारी, आत्म-धर्मी, र समझहीन हुनु हो, होइन र? के यो ठूलो विद्रोह होइन र? के यो शैतान र दुष्ट आत्माहरूले पुनर्जन्म लिनु, र परमेश्वरको विरुद्धमा जान पाउँदा सधैँ आनन्द मान्नु होइन र? भर्खरै उल्लेख गरिएका अविश्वासीहरू पशुहरूभन्दा नीच हुन्छन्। तिनीहरूसँग सत्यतामा जसरी सङ्गति गरिए पनि, यसको कुनै काम हुँदैन; तिनीहरूलाई काटछाँट गर्नु समेत व्यर्थ हुन्छ। तिनीहरूमा शैतानको प्रकृति हुन्छ र तिनीहरू कहिल्यै परिवर्तन हुनेछैनन् भनेर भन्न सकिन्छ। यदि कसैले यी शैतानी प्रकारका मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिन चाहन्छ भने, तिनीहरूलाई त्यस्ता मानिसहरूको भरणपोषण गर्न देऊ; तिनीहरूसँग साँच्चै प्रेम छ कि छैन भन्ने कुरा हामी देख्नेछौँ। सत्यतालाई पटक्कै स्वीकार नगर्ने ती अविश्वासीहरू मण्डलीका सबैभन्दा खराब मानिसहरू हुन्; तिनीहरू सबै पशुहरू जस्तै हुन्छन्, जो समझभन्दा बाहिरका र मुक्ति पाउन नसक्ने हुन्छन्। चाहे विगतमा होस् वा वर्तमानमा, मण्डलीले तिनीहरूसँग गरेको व्यवहार सबैभन्दा उचित रहिआएको छ; मण्डलीले तिनीहरूप्रति ठूलो धैर्य र सहनशीलता देखाएको छ, र तिनीहरूलाई पर्याप्त अवसरहरू दिएको छ। तर अहिलेसम्म, तिनीहरू पटक्कै परिवर्तन भएका छैनन्, र तिनीहरूको तौरतरिका झनै तीव्र हुँदै गइरहेको छ। सुरुमा, जब यी मानिसहरूले आफ्ना धारणा, कल्पना, र आशिष्हरू प्राप्त गर्ने इच्छा लिएर परमेश्वरमा विश्वास गर्छन्, तब तिनीहरू अलिक संयमित भएर केही उत्साह र जोशका साथ आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। तर, अन्तमा, जब तिनीहरूले “परमेश्वरमा विश्वास गर्नु भनेको सत्यता पछ्याउनु, परमेश्वरको काम चिन्नु, र परमेश्वरमा समर्पित हुनु हो, र यसमा यति मात्रै हुन्छ” भन्ने देख्छन्, तब परमेश्वर र सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूको साँचो रङ्ग पूर्ण रूपमा खुलासा हुन्छन्। खुलासा हुने कुरा के हो? तिनीहरूमा मानवता, विवेक, र समझको कमी मात्रै नभई तिनीहरू अत्यन्तै क्रूर, दुष्ट, र पाशविक पनि हुन्छन्। तिनीहरू परमेश्वर र सत्यतालाई घृणा गर्छन्, र परमेश्वरको घरका माग र नियमहरू—र परमेश्वरका प्रशासनिक आदेशहरूलाई—शत्रुता र अवज्ञासाथ लिन कामसमेत गर्छन्। तिनीहरूका यी प्रकटीकरणहरूले परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूप्रति महसुस गर्ने घृणा र विकर्षणलाई तीव्र बनाएको छ, र परमेश्वरको घरले तिनीहरूलाई पखाल्ने गतिलाई पनि बढाएको छ, जसले तिनीहरू रहन्छन् कि जान्छन् भनेर तीव्र रूपमा निर्धारित गर्छ, र तिनीहरूको परिणाम र नियतिको निर्णय गर्छ। तिनीहरूको परिणाम र नियति तिनीहरूले नै कमाएका हुन्, ती कसैको उक्साहट वा प्रोत्साहनका कारण, वा कसैले यी मानिसहरूलाई जबरजस्ती गरेको वा परीक्षामा पारेका कारण पैदा भएका होइनन्, र ती निश्चय नै वस्तुगत परिस्थितिहरूका कारण पैदा भएका होइनन्; तिनीहरूका परिणाम र नियतिहरू तिनीहरू आफैले आफैमाथि ल्याएका हुन्, ती तिनीहरूका आफ्नै निर्णयका कारण आएका हुन्, र ती तिनीहरूको प्रकृति सार र तिनीहरूले लिएका मार्गहरूद्वारा निर्धारित भएका हुन्। यी मानिसहरूको परिणाम र नियति तय गरिएको छ; तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नेहरूको सूचीबाट निकालिएपछि, तिनीहरू त्यस उप्रान्त श्रमिकसमेत रहँदैनन्। तिनीहरूले कस्तो नियति पाउनेछन् भन्ने कुरा कल्पना गर्न सकिन्छ—त्यो यहाँ उल्लेख गर्न लायक छैन, किनभने तिनीहरू अयोग्य छन्।
प्रकाश गरिने र हटाइने मानिसहरूको हकमा भन्दा, तिनीहरूका विभिन्न दुष्ट कार्यहरूका प्रकटीकरणहरू, साथै तिनीहरूले आफ्नो दैनिक जीवनमा प्रकट गर्ने दुर्भावनापूर्ण शब्द र वाणीहरू स्पष्ट रूपमा नै देखिन्छन्। तैपनि, कतिपय अगुवा र कामदारहरूले यी दुष्ट मानिसहरूलाई तिनीहरू वास्तवमा के हुन् भनेर खुट्ट्याउन, वा तिनीहरूको प्रकृति सारलाई छर्लङ्ग देख्न सक्दैनन्। यी अगुवा र कामदारहरूलाई तिनीहरू दुष्ट मानिसहरू र अविश्वासीहरू हुन् भन्ने थाहा हुँदैन जस्तो देखिन्छ, त्यसकारण उनीहरूसँग तिनीहरूलाई मण्डलीबाट पखाल्ने, वा तिनीहरूलाई उचित रूपमा निराकरण गर्ने कुनै योजना हुँदैन। यो अगुवा वा कामदारले कर्तव्यलाई गम्भीर रूपमा बेवास्ता गर्नु हो। तिनीहरूले पैशाचिक प्रकृतिका यी मानिसहरूले परमेश्वरको घरका कुनै पनि नियमहरू पालना नगर्ने, तिनीहरू उन्मत्त हुने र जथाभावी मण्डलीको काम र मण्डली जीवनको सुव्यवस्थामा बाधा दिने र त्यसलाई अन्तर्ध्वंस गर्ने कार्यलाई ट्वाल्ल परेर हेर्छन्; तिनीहरू यी मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने नाममा निर्भिक र लापरवाह रूपमा काम गर्दा, स्वच्छन्द व्यवहार गर्दा, र परमेश्वरको घरका हितहरूमा हानि गर्दा समेत उनीहरूलाई आड दिने गर्छन्। परमेश्वरको घरका हितहरूमा हानि गर्नुमा धेरै कुराहरू समावेश हुन्छन्: परमेश्वरको घरका मेसिन र विभिन्न उपकरणहरूमा क्षति पुर्याउनु, यसका विभिन्न कार्यालयका यन्त्र र आपूर्तिहरूमा क्षति पुर्याउनु, परमेश्वरका भेटीहरूलाई आफूले चाहे अनुसार उडाउनु, इत्यादि। अझै गम्भीर कुरा के हो भने, तिनीहरूले जथाभावी विभिन्न विधर्म र भ्रमहरू फैलाउँछन्, यसरी यत्तिको बाधा दिन्छन् कि परमेश्वरका चुनिएका मानिसहरूले शान्तिपूर्वक आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्, र यो बाधा यस्तो हुन्छ कि कमजोर र नकारात्मक मानिसहरू आफ्नो कर्तव्य त्याग्छन् र परमेश्वरलाई पछ्याउने कार्यमाथिको विश्वास गुमाउँछन्। यी दुष्ट मानिसहरूले यी सबै खराब कुराहरू गर्छन्, तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने यी सबै खराब कार्यहरू गर्छन्, तैपनि अगुवा र कामदारहरूले आँखा चिम्लिन्छन्, सुने पनि नसुनेको जस्तो गर्छन्; तिनीहरूमध्ये कतिले यसो समेत भन्छन्, “मलाई थाहा थिएन, कसैले पनि मलाई कहिल्यै बताएन!” त्यो पशु र दियाबलसहरूको समूहले मण्डलीमा विध्वंस मच्चाएको हुन्छ, र अस्तव्यस्तता पैदा गरेको हुन्छ, तैपनि अगुवा र कामदारहरू यसप्रति पूर्ण रूपमा अनभिज्ञ र अनजान रहन्छन्! के तिनीहरू नीच मानिसहरू होइनन् र? तिनीहरूको हृदय कहाँ छ? तिनीहरूले के गरिरहेका छन्? के तिनीहरू व्यर्थको गफमा मात्रै संलग्न छैनन् र? के तिनीहरूले आफ्नो उचित कामलाई बेवास्ता गरिरहेका छैनन् र? त्यस्ता झूटा अगुवाहरू काममा रहेका हरेक दिन सबै किसिमका दुष्ट मानिसहरूले लापरवाह रूपमा मण्डलीमा बाधा दिने र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्ने थप एक दिन हुन्छ। झूटा अगुवाहरूले आफ्नो जिम्मेवारी पूरा नगर्ने हुनाले नै त्यो पशुहरूको समूह दिनभरि केही नगरी समय बिताउँछन्, तिनीहरूले कुनै कर्तव्य पूरा गर्दैनन् वा कुनै नियमहरू पालना गर्दैनन्, परमेश्वरको घरको भरमा पेट पाल्छन्, परमेश्वरको घरका विभिन्न भौतिक लाभ र कल्याणबाट सित्तैमा आनन्द लिन्छन्—तिनीहरूले जानी-जानी मण्डलीको काममा बाधासमेत दिन्छन्, परमेश्वरको घरका मेसिन र उपकरणहरूमा क्षति पुर्याउँछन्। तिनीहरू यस्तै व्यवहार गर्छन्, तैपनि परमेश्वरको घरमा आरामदायी जीवन जिउने र आफूलाई जे मन लाग्यो त्यही गर्ने अपेक्षा गर्छन्, र तिनीहरूलाई कसैले पनि झिज्याउने वा चिढ्याउने अनुमति हुँदैन। यो निकै गम्भीर समस्या हो, तैपनि अगुवा र कामदारहरूले यसलाई पन्छाउँछन्, अरूले रिपोर्ट गरे पनि यसलाई समाधान गर्दैनन्—तिनीहरू वास्तविक काम नगर्ने कसिङ्गर होइनन् र? के यो कर्तव्यलाई गम्भीर बेवास्ता गर्नु होइन र? (हो।) कतिपयले भन्छन्, “म अरू काममा व्यस्त भएकाले मैले समस्या समाधान गरिनँ। मैले यो गर्नैसकिनँ!” के यी शब्दहरू औचित्यपूर्ण छन्? यदि तँ त्यस्तो गम्भीर समस्या समाधान गर्दैनस् भने, तँ केमा यति व्यस्त हुन्छस्? के तँ व्यस्त रहेका कुराहरूको कुनै मूल्य हुन्छ? के तैँले आफ्नो कामलाई प्राथमिकता दिन सक्छस्? तँ काममा जति नै व्यस्त भए पनि, के समस्याहरू समाधान गर्नुलाई प्राथमिकता दिनु पर्दैन र? मण्डलीको काममा बाधा र अवरोध ल्याउने विभिन्न प्रकारका मानिसहरूलाई तुरुन्तै बुझ्नु र निराकरण गर्नु अगुवा र कामदारहरूको जिम्मेवारी हो। यदि तँ वास्तविक समस्याहरूलाई पन्छाएर अरू मामलाहरूमा व्यस्त हुन्छस् भने, के तैँले वास्तविक काम गरिरहेको हुन्छस्? यदि तैँले कुनै समस्या पत्ता लगाइस् वा कसैले तँलाई समस्याबारे रिपोर्ट गर्यो भने, तैँले विद्यमान कामलाई पन्छाएर तुरुन्तै स्थलगत रूपमा समस्याको स्रोत के हो भनेर हेर्नुपर्छ। यदि कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा र अवरोध ल्याएको हो भने, तैँले सुरुमा यो दुष्ट व्यक्तिलाई पखाल्नुपर्छ। त्यसपछि, अरू समस्याहरू समाधान गर्न सजिलो हुनेछ। यदि तैँले कुनै समस्या पत्ता लगाइस् र आफू निकै व्यस्त रहेको दाबी गर्दै त्यसलाई समाधान गरिनस् भने, के तँ वास्तवमा पिँजडामा रहेको लोखर्के जस्तै यता-उता दौडिरहेको मात्रै हुँदैनस् र? आखिर तँ के कुरामा यति व्यस्त हुन्छस्? के यो वास्तविक काम हो? के तँ यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छस्? के तेरा कारण र बहानाहरू औचित्यपूर्ण हुन्छन्? तँ किन समस्याहरू समाधान गर्नुलाई महत्त्वहीन ठान्छस्? तँ किन समयमा नै समस्याहरू समाधान गर्दैनस्? तँ किन आफू व्यस्त भएकाले कामकुरा सम्हाल्न नसक्ने भन्दै बहाना खोज्छस् र तिनलाई पन्छाउँछस्? के यो गैरजिम्मेवार हुनु होइन र? मण्डलीका अगुवाका रूपमा, समस्या समाधानलाई प्राथमिकता नदिने, विभिन्न सानातिना मामलाहरूमा व्यस्त हुने, महत्त्वपूर्ण समस्याहरूको अस्तित्वलाई पहिचान गर्न नसक्ने, कामको महत्त्व र तात्कालिकतालाई छुट्याउन र महत्त्वपूर्ण बुँदाहरू बुझ्न नसक्ने—यी कुराहरू असाधारण रूपमा कमजोर क्षमताका प्रकटीकरणहरू हुन्, र त्यस्तो व्यक्ति दिग्भ्रमित व्यक्ति हो। तिनीहरू जति वर्षदेखि अगुवा भएका भए पनि, तिनीहरूले मण्डलीको काम राम्ररी गर्न सक्दैनन्। तिनीहरूले जिम्मेवारी स्वीकार गर्नुपर्छ र राजीनामा दिनुपर्छ। यदि कुनै अगुवाको क्षमता अत्यन्तै कमजोर छ भने, कुनै पनि तालिम व्यर्थ हुन्छ; उसले निश्चय नै कुनै पनि काम पूरा गर्न सक्दैन—ऊ झूटो अगुवा हो, जसलाई बर्खास्त गर्नुपर्छ र अर्को काममा खटाउनुपर्छ। जब झूटा अगुवाहरू काम गरिरहेका हुन्छन्, तब परिणामहरू के-के हुन्छन्? वस्तुगत रूपमा भन्दा, झूटा अगुवाहरूले गर्ने सबै कुराले मण्डलीलाई बहुपक्षीय घाटा हुन्छ। एक हिसाबमा, मण्डलीको अत्यावश्यक काम राम्ररी पूरा हुँदैन, जसले गर्दा मण्डलीको कामका विभिन्न भागहरूको प्रभावकारितामा प्रत्यक्ष रूपमा बाधा हुन्छ। साथ साथै, यसले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि हानि र असर गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले राज्यको सुसमाचारको फैलावटमा असर गर्छ। यी सबै परिणामहरू झूटा अगुवाहरूले वास्तविक काम नगर्नुसँग सीधै सम्बन्धित हुन्छन्। यसलाई अझै स्पष्ट रूपमा भन्दा, यी सबै झूटा अगुवाहरू वास्तविक काममा संलग्न नहुनुका कारण उत्पन्न हुन्छन्। यदि अरू अगुवा र कामदारहरू सक्रिय रूपमा कुनै वास्तविक काममा संलग्न हुन सक्छन्, जसले गर्दा समस्या समाधानको गति द्रुत हुन्छ र लाग्ने समय छोट्टिन्छ भने, के झूटा अगुवाहरूले परमेश्वरको घरमा पुर्याएका विभिन्न क्षतिहरू केही हदसम्म कम हुनेथिएन र? तिनलाई कम्तीमा पनि घटाउन सकिनेथ्यो। समस्याहरू उत्पन्न हुँदा, परमेश्वरको घरले तँलाई तिनलाई तुरुन्तै सम्हाल्न लगाएन भने पनि, कम्तीमा पनि, समस्याहरू रिपोर्ट भएपछि, तैँले तिनलाई तुरुन्तै समाधान गर्न थाल्नुपर्छ: दाजुभाइ-दिदीबहिनीहरूसँग परिस्थितिबारे सोधपुछ गर्, र समस्याहरू कसरी समाधान गर्ने भन्ने बारेमा अरू अगुवा र कामदारहरूसँग छलफल र सङ्गति गर्। यदि समस्या गम्भीर छ र र तँ यो समाधान गर्न जान्दैनस् भने, तैँले तुरुन्तै यसबारे माथिल्लो तहमा रिपोर्ट गर्नुपर्छ र समाधानहरू खोज्नुपर्छ। सबै अगुवा र कामदारहरूले हासिल गर्नुपर्ने कुरा यही हो। तर वर्तमान समस्या के हो भने, यी अगुवा र कामदारहरूले समस्याहरू समाधान गर्न नसके पनि, माथिल्लो तहमा रिपोर्ट गर्दैनन्। तिनीहरूलाई आफ्नो अयोग्यता, अत्यन्तै कमजोर क्षमता, र वास्तविक काम गर्ने असक्षमताबारे माथिल्लो तहलाई रिपोर्ट गर्न निकै डर लाग्छ; तिनीहरूलाई बर्खास्त गरिनेबारे चिन्ता लाग्छ। तैपनि, तिनीहरूले काम गर्न अग्रसरता लिँदैनन्; तिनीहरू मन्द-बुद्धि भएका र चेतनाशून्य हुन्छन्, र कदम उठाउनमा ढिला हुन्छन्। समस्याहरू समाधान गर्ने बाटोविना, तिनीहरू झारा मात्रै टार्छन्, जसले समाधान नभएका समस्याहरू थुप्रिँदै जान्छन्, र यसरी दुष्ट मानिसहरूलाई अवसरहरू प्रदान गर्छन्। यस बेला, झूटा अगुवाहरू केही कामका छैनन् भन्ने देखेर, ती दुष्ट मानिसहरू र महत्त्वाकाङ्क्षा भएका मानिसहरूले त्यो अवसरलाई जथाभावी दुष्ट कार्यहरू गर्ने मौकाका रूपमा प्रयोग गर्छन्, जसले गर्दा मण्डली अराजकता र अस्तव्यस्ततामा डुब्छ, र कामका सबै पक्षहरू अवरुद्ध हुन्छन्। झूटा अगुवाहरूले प्राथमिक जिम्मेवारी लिनुपर्ने भए पनि, अरू अगुवा र कामदारहरूले पनि आफ्नो जिम्मेवारी पूरा गरेका हुँदैनन्। के यो अगुवा र कामदारहरूले कर्तव्यलाई गम्भीर रूपमा बेवास्ता गर्नु होइन र? वास्तवमा, मण्डलीमा पैदा हुने धेरैजसो समस्याहरू दुष्ट मानिसहरू र अविश्वासीहरूले पैदा गर्ने बाधाहरूसँग सीधै सम्बन्धित हुन्छन्। यदि अगुवा र कामदारहरूले तुरुन्तै समस्याहरूको जड पहिचान गर्न सक्दैनन्, समस्याहरू पैदा गर्ने मुख्य दोषीहरूलाई भेट्टाउन सक्दैनन्, र सधैँ अरू ठाउँमा कारणहरू खोज्छन् भने, तिनीहरूले समस्याहरूलाई आधारभूत रूपमा समाधान गर्न सक्दैनन्, र भविष्यमा पनि समस्याहरू देखा परिरहनेछन्। यदि उपद्रवी वा पर्दा पछाडि समस्याहरू पैदा गर्नेहरूलाई पक्राउ गरियो र सीधै जवाफदेही ठहर्याइयो भने, समस्याहरूलाई सम्हाल्ने यो तरिका सबैभन्दा प्रभावकारी हुन्छ। कम्तीमा पनि, यसले ती अविश्वासी र दुष्ट मानिसहरूले उन्मत्त भइरहने र बाधा र अवरोधहरू पैदा गरिरहने आँट नगर्ने कुरा सुनिश्चित गर्छ। के अगुवा र कामदारहरूले हासिल गर्नुपर्ने कुरा यही होइन र? (हो।) मण्डलीका समस्याहरूको सङ्ख्या बढ्नु र ती समयमा नै समाधान नहुनुको मुख्य कारण अगुवा र कामदारहरूको गैरजिम्मेवारी, वा झूटा अगुवाहरूमा सत्यता वास्तविकताको कमी हुनु र तिनीहरूले वास्तविक काम गर्न नसक्नु हो भनेर निश्चित रूपमा भन्न सकिन्छ। यदि अगुवा र कामदारहरूले मण्डलीमा पैदा हुने विभिन्न समस्याहरूलाई समाधान गर्न सक्दैनन् भने, तिनीहरूले अवश्य नै आफ्नो पदमा निहित रहेको काम गर्न सक्दैनन्। यहाँ स्पष्ट रूपमा बुझ्नुपर्ने विभिन्न परिस्थिति र कारणहरू छन्: यदि अगुवा र सेवकहरू अनुभवहीन सिकारुहरू हुन् भने, तिनीहरूलाई धैर्यता साथ सहयोग गर्नुपर्छ, समस्याहरू समाधान गर्न अगुवाइ गर्नुपर्छ, र तिनीहरूले समस्याहरू समाधान गर्ने क्रममा केही कुराहरू सिक्नुपर्छ र सत्यता सिद्धान्तहरू बुझ्नुपर्छ। यसरी, तिनीहरूले बिस्तारै समस्याहरू समाधान गर्न सिक्नेछन्। यदि अगुवा र कामदारहरू सही मानिसहरू होइनन्, जसले सत्यता स्वीकार गर्न पूर्ण रूपमा इन्कार गर्छन् र त्यसको साटो समस्याहरू समाधान गर्न गैरविश्वासीहरूका दृष्टिकोण र विधिहरू प्रयोग गर्छन् भने, यो सत्यता सिद्धान्तहरू अनुरूप हुँदैन। त्यस्ता मानिसहरू अगुवा र कामदार हुन लायक हुँदैनन् र तिनीहरूलाई समयमा नै बर्खास्त गर्नुपर्छ र हटाउनुपर्छ; त्यसपछि, उपयुक्त अगुवा र कामदारहरू छनौट गर्न अर्को निर्वाचन गर्नुपर्छ। यो शैलीले मात्रै समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्छ। मण्डली अगुवा बन्नु सजिलो काम होइन, र कतिपय समस्याहरू सम्हाल्न नसक्नु अपरिहार्य नै हुन्छ। तर, यदि व्यक्तिमा समझ छ भने, उसले समाधान गर्न नसक्ने समस्याहरूको सामना गर्दा, समस्याहरूलाई लुकाउनु वा दबाउनु हुँदैन र त्यसलाई बेवास्ता गर्नु हुँदैन। बरु, सामूहिक रूपमा समाधान खोज्नका लागि सत्यता बुझेका धेरै मानिसहरूसँग परामर्श गर्नुपर्छ, जसले सत्तरीदेखि अस्सी प्रतिशत समस्याहरू समाधान गर्न सक्छ, र कम्तीमा पनि गम्भीर समस्याहरू पैदा हुनबाट अस्थायी रूपमा रोक्न सक्छ। यो व्यावहारिक मार्ग हो। यदि समस्याहरूलाई साँच्चै समाधान गर्न सकिँदैन भने, व्यक्तिले माथिबाट समाधानहरू खोज्नुपर्छ, जुन बुद्धिमानी निर्णय हो। यदि, तँ इज्जत गुमाउने डरले वा माथिले तेरो अयोग्यताका कारण तँलाई काटछाँट गर्ने डरले समस्याहरू लुकाउँछस् र रिपोर्ट गर्दैनस् भने, यो पूर्ण रूपमा निष्क्रिय हुनु हो। यदि तैँले के गर्ने भन्ने थाहा नभएको चेतनाशून्य र मन्द-बुद्धि भएको व्यक्तिले जस्तो व्यवहार गरिस् भने, यसले मामलाहरूमा ढिलाइ गर्नेछ। त्यस्ता परिस्थितिहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई सजिलै अवसरहरू प्रदान गर्छन्, जसले गर्दा तिनीहरूले अराजकताको फाइदा उठाएर कुनै कदम चाल्न सक्छन्। तिनीहरूले अराजकताको फाइदा उठाएर कुनै कदम चाल्न सक्छन् भनेर किन भन्ने? किनभने तिनीहरूले यही अवसरको प्रतीक्षा गरिरहेका हुन्छन्। जब अगुवा र कामदारहरूले कुनै पनि समस्याहरू सम्हाल्न सक्दैनन्, र परमेश्वरका चुनिएका मानिसहरूलाई चिन्ता र असहज महसुस भइरहेको हुन्छ र तिनीहरूले उनीहरूमाथिको भरोसा गुमाइसकेका हुन्छन्, तब दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले यो अन्तरबाट फाइदा उठाउने प्रयास गरिरहेका हुन्छन्। तिनीहरू मण्डली कुनै नेतृत्व वा व्यवस्थापन नभएको स्थितिमा छ भन्ने सोच्छन्। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूको आदर गर्न लगाउन, तिनीहरूलाई साथ दिन लगाउन, र अगुवा र कामदारहरूको तुलनामा तिनीहरूको क्षमता अझै राम्रो छ, तिनीहरू समस्याहरू समाधान गर्न र बाहिर निस्कन अगुवाइ गर्न अझै सक्षम छन्, र अराजकताबीच तिनीहरूले परिस्थितिलाई उल्टाउन सक्छन् भन्ने विश्वास गराउनका लागि आफ्नो क्षमता प्रदर्शन गर्न यो मौकाको फाइदा उठाउन चाहन्छन्। के दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले सबैभन्दा बढी गर्न चाहने कुरा यही होइन र? यस बेला, जब अगुवा र कामदारहरू शक्तिहीन हुन्छन्, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू खडा भएर समस्याहरू समाधान गर्छन्, यहाँसम्म कि बाहिर निस्कन अगुवाइसमेत गर्छन्, तब परमेश्वरका चुनिएका मानिसहरूले कसलाई विश्वास गर्नेछन्? स्वाभाविक रूपमै, तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूका शक्तिहरूलाई विश्वास गर्नेछन्। यसले के देखाउँछ? यसले के देखाउँछ भने, अगुवा र कामदारहरू केही न कामका हुन्छन् र तिनीहरूले केही पनि हासिल गर्दैनन्, र तिनीहरू महत्त्वपूर्ण क्षणहरूमा असफल हुन्छन्। के त्यस्ता मानिसहरू अझै पनि अगुवा र कामदार बन्न लायक हुन्छन्? ख्रीष्टविरोधीहरूमा सत्यता वास्तविकताको कमी हुने भए पनि र तिनीहरूले वास्तविक काम गर्न नसक्ने भए पनि, तिनीहरू सबैसँग विभिन्न हदसम्म केही वरदानहरू हुन्छन् र तिनीहरू बाहिरी मामलाहरूबारे तुलनात्मक रूपमा अझै चलाख हुन्छन्, त्यो नै तिनीहरूको फाइदाको कुरा हो, र तिनीहरूले यसरी नै मानिसहरूलाई बहकाउन सक्छन्। तर यदि तिनीहरू अगुवा र कामदार बने भने, के तिनीहरूले साँच्चै नै परमेश्वरका चुनिएका मानिसहरूका समस्याहरू समाधान गर्न सत्यताको प्रयोग गर्न सक्नेथिए? के तिनीहरूले साँच्चै नै परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरका वचनहरू खान-पिउन, सत्यता बुझ्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्नेथिए? बिलकुलै सक्नेथिएनन्। तिनीहरूसँग केही वरदान भए पनि र तिनीहरू बोल्न सिपालु भए पनि, तिनीहरूमा अलिकति सत्यता वास्तविकता हुँदैन। के तिनीहरू मण्डलीका अगुवा र कामदार हुन योग्य हुन्छन्? पटक्कै हुँदैनन्! यो कुरा परमेश्वरका चुनिएका मानिसहरूले छर्लङ्गै देख्नुपर्ने कुरा हो; तिनीहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको बहकाउ र फुस्ल्याइमा कहिल्यै पर्नु हुँदैन। अविश्वासीहरू, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूले पटक्कै सत्यता पछ्याउँदैनन् र तिनीहरूमा अलिकति पनि सत्यता वास्तविकता हुँदैन। त्यसोभए मलाई भन, के तिनीहरूले विवेक र समझ साथ यस्तो कुरा भन्न सक्छन्, “अहिले मण्डलीको इन्चार्ज कोही नभए पनि, हामीले आफ्नै पहलमा काम गर्नुपर्छ। परमेश्वरको घरका नियमहरू तोड् मिल्दैन, परमेश्वरको घरले माग गरेकाका सिद्धान्तहरू परिवर्तन गर्न मिल्दैन। हामीले गर्नुपर्ने कुरा गर्नुपर्छ; सबै जना आफूले गर्नुपर्ने कर्तव्यमा लागिरहनुपर्छ, आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र व्यवस्थालाई बिथोल्नु हुँदैन”? के तिनीहरूले यस्तो कुरा भन्न सक्छन्? (सक्दैनन्।) बिलकुलै सक्दैनन्! यी अविश्वासी र दुष्ट मानिसहरूले के-कस्ता कदमहरू चाल्नेछन्? निगरानी र सुपरिवेक्षणविना, तिनीहरूले आफ्नो कर्तव्य समेत पूरा गर्दैनन्, खाने-पिउने, खेल खेल्ने, र रमाइलो गर्ने, व्यर्थको कुराकानी गर्ने, ठट्टा गर्ने, र जिस्किने समेत गर्छन्। कतिपयले रातभरि गैरविश्वासीहरूको संसारका भिडियोहरू हेर्छन्, त्यसपछि ढिलासुस्ती गर्न र धेरै सुत्नका लागि आफ्नो कर्तव्य पूरा गर्न रातीभरि बसेको बहाना प्रयोग गर्छन्। यी दुष्ट मानिसहरूका कार्यहरू हुन्, जो दियाबलसहरूको वर्गमा पर्छन्। जब तिनीहरूले यी खराब कार्यहरू गर्छन्, तब के तिनीहरूलाई कुनै ग्लानि हुन्छ? के तिनीहरूले अचानक विवेक प्राप्त गर्छन् र केही मानव जिम्मेवारीहरू पूरा गर्न र परमेश्वरको घर, मण्डली, र दाजुभाइ-दिदीबहिनीहरूका लागि फाइदाजनक कुरा गर्न अग्रसरता देखाउँछन्? बिलकुलै गर्दैनन्। जब कसैले हेरिरहेको हुन्छ, तब तिनीहरूले खानाको जोहो गर्नका लागि मात्रै भए पनि मन नलागी-नलागी कुनै काम गर्छन्, जसले गर्दा तिनीहरू राम्रा देखिन्छन्। तिनीहरूले गर्न सक्ने एक मात्र कुरा यही हो; यसबाहेक, यी मानिसहरूसँग एउटा पनि छुटकारा दिने विशेषता हुँदैन। त्यसोभए, के यी मानिसहरू परमेश्वरको घरमा बस्नुको कुनै अर्थ हुन्छ? यसको कुनै अर्थ हुँदैन। त्यस्ता मानिसहरू अनावश्यक हुन्छन् र तिनीहरूलाई पखाल्नुपर्छ।
कसैले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भनेर तैँले कसरी मापन गर्छस्? म तिमीहरूलाई एउटा उदाहरण दिन्छु ताकि तिमीहरूले बुझ्न सक। कतिपय मानिसहरू कुनै पेसामा संलग्न हुन्छन्, र तिनीहरूले जति धेरै सिक्छन्, तिनीहरूले आफ्नो अध्ययन जति अघि बढाउँछन्, तिनीहरूले जति नै धेरै बुझ्छन्, तिनीहरू यसमा संलग्न हुन त्यति नै इच्छुक हुन्छन् र तिनीहरू पेसा छोड्न त्यति नै कम इच्छुक हुन्छन्। यो कस्तो प्रकटीकरण हो? के यसको अर्थ तिनीहरूलाई यो पेसा साँच्चै मन पर्छ भन्ने हुन्छ? (हो।) तिनीहरूले जति नै धेरै कठिनाइ भोगे पनि, जति नै मूल्य चुकाए पनि, तिनीहरूले यसमा जति नै धेरै प्रयास लगाए पनि, तिनीहरूले कुनै पछुतो नगरी, र हताश नबनी आफ्नो पेसामा लागिरहन्छन्। यो साँचो स्नेह, गहन रूपमा र मनैदेखि मन पर्नु हो। मानौँ कुनै व्यक्तिले निश्चित काम मन पराउने दाबी गर्छ तर व्यावसायिक सीपहरू सिक्ने प्रक्रियामा कठिनाइ भोग्न वा मूल्य चुकाउन अनिच्छुक हुन्छ, र काममा धेरै समस्याहरू उत्पन्न हुँदा उसले समस्याको डरले समाधानहरू खोज्दैन, र प्रायजसो यो पेसामा संलग्न हुनु झमेला वा बोझ हो भन्ने समेत महसुस गर्छ। तर, पेसा परिवर्तन गर्न सजिलो हुँदैन, र यो पेसाले ल्याउन सक्ने भौतिक फाइदाहरूलाई ध्यानमा राख्दै, यो व्यक्ति मन नलागी-नलागी यसमा संलग्न हुन्छ, तर ऊ यो पेसामा कहिल्यै असाधारण बन्नेछैन। त्यसोभए, के तिनीहरूलाई साँच्चै नै यो पेसा मन पर्छ? (मन पर्दैन।) स्पष्ट रूपमै मन पर्दैन। अर्को प्रकारको व्यक्ति पनि छ, अर्थात् निश्चित पेसाप्रति आफ्नो स्नेह मौखिक रूपमा व्यक्त गर्ने र यसमा संलग्न हुने, तर व्यावसायिक सीप राम्ररी सिक्नका लागि कहिल्यै कठिनाइ नभोग्ने वा मूल्य नचुकाउने व्यक्ति। तिनीहरूले सिकाइको प्रक्रियाको अवधिमा पेसाप्रति घृणा वा तिरस्कारसमेत विकास गर्न सक्छन्, र तिनीहरू सिक्न झन्-झन् अनिच्छुक हुँदै जान सक्छन्। जब तिनीहरूको विकर्षण निश्चित स्तरमा पुग्छ, तब तिनीहरूले करियर परिवर्तन गर्छन्, र पछि त्यो पेसामा संलग्न हुँदाको कुनै पनि प्रक्रिया, कथा, वा अरू कुनै कुरा उल्लेख गर्न अनिच्छुक हुन्छन्। के त्यस्ता मानिसहरूलाई साँच्चै नै पेसा मन पर्छ? (मन पर्दैन।) तिनीहरूलाई यो मन पर्दैन। तिनीहरूले सजिलै पेसा त्याग्न सक्छन्, र तिनीहरूलाई घिन लाग्छ र तिनीहरूले करियरसमेत परिवर्तन गर्न सक्छन्, जसले तिनीहरूलाई त्यो पेसा साँचो रूपमा मन पर्दैन भन्ने प्रमाणित गर्छ। तिनीहरूले त्यो पेसा त्याग्न सक्नुको कारण के हो भने, धेरै समय, ऊर्जा, र मूल्य लगाएपछि, पेसाले तिनीहरूलाई आफूले चाहेको धनी जीवन जिउन वा राम्रो भौतिक व्यवहार प्राप्त गर्न दिँएन। तिनीहरू हृदयमा यस पेसाप्रति वितृष्ण हुन्छन् र यसलाई श्राप दिन्छन्, अरूलाई यसबारे उल्लेख गर्न समेत बन्देज गर्छन्, आफै यसबारे उल्लेख गर्न छोड्छन्, र यसभन्दा पहिले यो पेसामा संलग्न भएकोमा र यसलाई आफ्नो आदर्श र जीवनमा पछ्याउने सबैभन्दा उच्च उद्देश्यका रूपमा लिएकोमा लाजसमेत मान्छन्। तिनीहरू पेसाप्रति वितृष्ण हुन सक्नेहदलाई हेर्दा, के पेसाप्रति तिनीहरूले सुरुमा देखाएको स्नेह साँचो थियो? (थिएन।) एक प्रकारको व्यक्तिले मात्रै साँचो रूपमा पेसालाई मन पराउँछ—पेसाले उसलाई राम्रो भौतिक जीवन वा पर्याप्त फाइदाहरू दिए पनि वा नदिए पनि, र उसले यस पेसामा जति नै कठिनाइहरूको सामना गरे पनि वा जति नै धेरै कष्ट भोगे पनि, ऊ यसमा अन्त्यसम्मै दह्रिलो गरी लागिपर्न सक्छ। साँचो स्नेह यही हो। व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने कुराको हकमा पनि यही कुरा लागू हुन्छ। यदि तँ साँच्चै नै सकारात्मक कुराहरूलाई प्रेम गर्छस्, सकारात्मक कुराहरूलाई प्रेम गर्नुदेखि सत्यतालाई प्रेम गर्नुसम्म प्रगति गरेको छस् भने, तैँले जस्तोसुकै परिस्थितिहरूको सामना गरे पनि, तैँले आफ्नो जीवनको उद्देश्य परिवर्तन नगरी सत्यताको खोजी र पछ्याइमा लागिरहनेछस्। यदि तैँले यत्तिकै परमेश्वरमा विश्वास गर्न छोड्न र मुक्तिको मार्ग त्याग्न सक्छस् भने, यो साँचो रूपमा सत्यतालाई प्रेम गर्नु होइन। सत्यता नपछ्याउने तर नछोड्नेहरूका हकमा भन्दा, तिनीहरूको दृढताको एउटै मात्र कारण हुन्छ: तिनीहरूले के सोच्छन् भने, राम्रो परिणाम र गन्तव्य, राम्रो भविष्यको थोरै पनि आशा हुन्जेल, यसका लागि जोखिम उठाउनु सार्थक हुन्छ, र तिनीहरू अन्त्यसम्मै लागिपर्नुपर्छ। तिनीहरूले यो दृढता अत्यावश्यक छ भन्ने विश्वास गर्छन्; विपत्तिहरू बढिरहेका हुन्छन् र जाने अरू कुनै ठाउँ हुँदैन, त्यसकारण तिनीहरूले यहाँ बसेर आफ्नो भाग्यमा बाजी लगाउनु नै राम्रो हुन्छ। के त्यस्ता मानिसहरूको हृदयमा सत्यताप्रति अलिकति पनि प्रेम हुन्छ? (हुँदैन।) हुँदैन। जब तिनीहरूले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्छन्, तब यी मानिसहरूले संसारलाई घृणा गर्ने, शैतानलाई घृणा गर्ने, नकारात्मक कुराहरूलाई घृणा गर्ने, सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र ज्योतिको तृष्णा गर्ने बारेमा पनि कुरा गर्छन्। तर तिनीहरू परमेश्वरको घरमा, मण्डलीमा प्रवेश गरेपछि तिनीहरूको व्यवहार कस्तो हुन्छ? तिनीहरू श्रमिक हुन् भन्ने पत्ता लगाउँदा, तिनीहरूको कार्य, व्यवहार, र प्रकृति परमेश्वरक लागि अप्रिय छन् भन्ने महसुस गर्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले कस्तो व्यवहार देखाउँछन्? जब तिनीहरूले परमेश्वरको घरमा अबदेखि तिनीहरूलाई निगाह दिइँदैन, तिनीहरूलाई हटाइनेछ भन्ने अनुभूति गर्छन्, महसुस गर्छन्, वा सोच्छन्, तब कतिपयले छोडेर जाने निर्णय गर्छन्। अरू मन नलागी-नलागी मण्डलीमै रहे पनि, तिनीहरू निराश हुन्छन्, र अन्तमा तिनीहरू जान बाध्य हुन्छन्। त्यस्ता मानिसहरूले सत्यतालाई पटक्कै प्रेम गर्दैनन्; जब आशिष्हरू पाउने तिनीहरूको इच्छा चकनाचुर हुन्छ, तब तिनीहरूले परमेश्वरलाई धोका दिन र उहाँबाट मोडिन सक्छन्। यी विभिन्न प्रकटीकरणहरूले सत्यताप्रतिको फरक-फरक मानिसहरूको मनोवृत्तिलाई देखाउँछन्।
४. यी तीन प्रकारका मानिसहरूका फरक-फरक परिणामहरू
भर्खरै, हामीले तीन प्रकारका मानिसहरूका विशेषताहरूका बारेमा सङ्गति गरेका थियौँ: श्रमिकहरू, भाडाका कामदारहरू, र परमेश्वरका मानिसहरू। तिनीहरूका विशेषताहरूबाट, तिनीहरूको अन्तिम परिणाम वस्तुगत वातावरण वा परिस्थितिहरूद्वारा निर्धारित नभई तिनीहरूको आफ्नै पछ्याइ र तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छन् भन्ने कुरा स्पष्ट हुन्छ। अवश्य नै, वस्तुगत रूपमा भन्दा, मानिसहरूको नियति निर्धारित गर्ने परमेश्वर नै हुनुहुन्छ, तर मानिसहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् र तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा परमेश्वरले यी कुराहरू निर्धारित गर्नुहुन्छ। श्रमिकहरूले पनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने दाबी गर्छन्, तर अन्त्यमा, जब परमेश्वरको काम समाप्त हुन्छ, तब परमेश्वरबारेका तिनीहरूका धारणा र कल्पनाहरू, परमेश्वरसँग तिनीहरूले राख्ने अतिशय मागहरू, र परमेश्वरप्रतिको तिनीहरूको धोका अपरिवर्तित नै रहन्छन्। किनभने, परमेश्वरको कामको अवधिमा, परमेश्वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले कहिल्यै आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेका हुँदैनन्। तिनीहरूले आफ्नो भ्रष्ट स्वभावलाई समाधान नगर्नुको मूल कारण के हो भने, तिनीहरूले आधारभूत रूपमा सत्यतालाई स्वीकार गर्दैनन्। तिनीहरूसँग परमेश्वरमा समर्पित हुने चाहना भए पनि, तिनीहरूले साँचो रूपमा त्याग गर्ने क्षमता र मूल्य चुकाउने इच्छा मात्रै प्रकट गर्छन्, र तिनीहरूले सत्यता सिद्धान्तहरू वा परमेश्वरप्रतिको समर्पणताको मार्ग कहिल्यै खोज्दैनन्। अन्तिम परिणाम के हुन्छ भने, धेरै प्रयास गरे पनि, तिनीहरूसँग परमेश्वरबारे अलिकति पनि ज्ञान हुँदैन। तिनीहरूले अझै पनि परमेश्वरलाई धोका दिन र अरू मानिसहरू र शैतानको अगाडि उहाँबारे आफ्ना धारणा र कल्पनाहरू र उहाँप्रतिका आफ्ना अनुचित मागहरू व्यक्त गर्न सक्छन्। जब परमेश्वरको काम समाप्त हुन्छ, तब तिनीहरूले अझै पनि आफूलाई “असल मानवता भएको, परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने, त्याग्न र कष्ट भोग्न सक्ने, र अवश्य नै मुक्ति पाउन सक्ने व्यक्ति” ठान्छन्, र यसले गर्दा, तिनीहरूलाई शान्ति महसुस हुन्छ। वास्तवमा, तिनीहरू सधैँ सत्यता बिलकुलै नपछ्याई श्रमिकको बाटोमा हिँडेका हुन्छन्; त्यसकारण, तिनीहरूले सधैँ श्रमिकको पहिचान कायम राख्छन्। अर्को वर्गका मानिसहरू, अर्थात् भाडाका कामदारहरूका हकमा भन्दा, हामी तिनीहरूबारे छलफल गर्नेछैनौँ। अझै अर्को वर्ग परमेश्वरका मानिसहरू हुन्, जसलाई हामीले भर्खरै उल्लेख गरेका छौँ। परमेश्वरलाई पछ्याउने क्रममा, तिनीहरूले श्रमिकहरूले जस्तै उहाँका लागि आफूलाई समर्पित गर्छन्, आफ्नो समय र ऊर्जा, र आफ्नो जवानी समेत अर्पित गर्छन्, र धेरै कष्ट भोग्छन् र धेरै मूल्य चुकाउँछन्। यो त श्रमिकहरू जस्तै हो। त्यसोभए, फरक के छ त? फरक के हो भने, जब परमेश्वरको काम समाप्त हुन्छ, तब परमेश्वरप्रतिका तिनीहरूका असङ्ख्य धारणा, कल्पना, र अतिशय मागहरू सम्बोधन गरिएको हुनेछ। तिनीहरूको भ्रष्ट स्वभावभित्र रहेका परमेश्वरलाई स्पष्ट रूपमै विरोध गर्ने भ्रष्टताका प्रकटीकरण, स्थिति, र प्रकाशहरूलाई फालिएका हुनेछन्। अझै समाधान नभएका कुराहरू तिनीहरूले अनुभवमार्फत क्रमिक रूपमा सत्यता बुझ्ने क्रममा बिलाएर जानेछन्। तिनीहरूका भ्रष्ट स्वभाव पूर्ण रूपमा फालिएका त हुनेछैनन्, तर तिनीहरूको जीवन स्वभाव केही परिवर्तन भएको हुनेछ। प्रायजसो, तिनीहरूले आफूले बुझेका सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सक्नेछन्, र तिनीहरूको भ्रष्ट स्वभावका प्रकटीकरणहरू निकै घटेका हुनेछन्। तिनीहरूले कुनै पनि वातावरणमा ती कुरा प्रकट गर्दैनन् भन्ने नभए पनि, यी मानिसहरूले एउटा आधारभूत माग पूरा गरेका हुनेछन्: तिनीहरूले इमानदार हुनुपर्ने परमेश्वरको माग पूरा गरेका हुनेछन्; तिनीहरू आधारभूत रूपमा इमानदार मानिसहरू हुनेछन्। यसको साथै, जब यी मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, वा अपराधहरू गर्छन्, वा परमेश्वरविरुद्ध धारणा र विद्रोहहरू पाल्छन्, तब तिनीहरूले जुनसुकै वातावरणमा त्यसो गरे पनि, तिनीहरूमा पश्चात्ताप गर्ने मनोवृत्ति हुनेछ। अनि अर्को कुरा पनि छ, जुन सबैभन्दा महत्त्वपूर्ण छ: परमेश्वरले आखिरी दिनहरूको न्यायको काममा जुनसुकै निश्चित कदमहरू चाल्नुभए पनि र उहाँले जसरी व्यवहार गर्नुभए पनि, उहाँले भविष्यमा जेसुकै गर्ने अभिप्राय राख्नुभए पनि, उहाँले मानवजातिको नियति जसरी प्रबन्ध गर्नुभए पनि, र तिनीहरू उहाँले प्रबन्ध गर्नुभएको वातावरणमा जसरी जिए पनि, तिनीहरू सबैमा समर्पित हृदय र समर्पणताको मनोवृत्ति हुनेछ, तिनीहरू व्यक्तिगत छनौटहरूबाट र व्यक्तिगत योजना र परिकल्पनाहरूबाट मुक्त हुनेछन्। यी विभिन्न सक्रिय र सकारात्मक प्रकटीकरणहरूका कारण, तिनीहरू परमेश्वरलाई चाहिने किसिमका, परमेश्वरको मार्ग पछ्याउने, अर्थात् उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बनिसकेका हुनेछन्। तिनीहरू अझै पनि परमेश्वरको साँचो मापदण्डभन्दा—“परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु, र सिद्ध मानिस बन्नु” भन्दा—टाढा हुने भए पनि, परमेश्वरले भन्नुभए अनुसार, जब परमेश्वरका परीक्षाहरू तिनीहरूमाथि आइपर्छन्, तब तिनीहरूले खोजी गर्न र तिनीहरू समर्पित हुन सक्छन्, जुन पर्याप्त हुन्छ। तिनीहरूले कुनै गुनासो गर्नेछैनन्; तिनीहरूले प्रतीक्षा मात्रै गर्नेछन् र तिनीहरू समर्पित मात्रै हुनेछन्। तिमीहरूको वर्तमान परिस्थिति अझै पनि त्यस्तो परिणामबाट टाढा हुन सक्ने भए पनि, र कतिपयका लागि, यो अत्यन्तै टाढा र पुग्न नसकिने जस्तो देखिए पनि, यदि तिमीहरूले सत्यतालाई स्वीकार गर्न र परमेश्वरका वचनहरूलाई अस्तित्वका लागि आफ्नो सिद्धान्त र जगका रूपमा लिन सक्छौ भने, कुनै दिन, तिमीहरू, वा तिमीहरू सबै परमेश्वरका प्रिय साँचो मानिसहरू बन्ने अवस्थाबाट टाढा हुनेछैनौ—त्यो दिन नजिकै छ भन्ने कुरामा विश्वास गर। अहिले यो अगमवाणी गरिएको भए पनि वा यो अहिले देखिने भए पनि, दुवै अवस्थामा अन्तिम परिणाम कल्पना नभई साकार हुन र पूरा हुन लागेको तथ्य हो। यो तथ्य वास्तवमा कसमा पूरा हुनेछ, कुन-कुन मानिसहरूमा पूरा हुनेछ भन्ने कुरा तिमीहरूले वास्तवमा कसरी सत्यता पछ्याउँछौ भन्ने कुरामा निर्भर हुन्छ। अर्को शब्दमा भन्दा, तैँले सत्यतालाई पछ्याउन र अभ्यास गर्न सक्ने हदसम्म यसलाई साँचो रूपमा प्रेम गरे पनि, वा तँसँग सत्यताप्रति थोरै प्रेम मात्रै छ, तर तैँले यसलाई पूर्ण रूपमा स्वीकार गर्न र अभ्यास गर्न नसक्ने भए पनि, अन्तिम परिणामले तँलाई उत्तर प्रदान गर्नेछ। हुन्छ, हामी यस विषयको हाम्रो सङ्गतिलाई यहीँ समाप्त गर्नेछौँ।
विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई चिन्ने मापदण्ड र आधारहरू
२. व्यक्तिको मानवताको आधारमा
यसपछि, हामी अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीको बारेमा सङ्गतिलाई जारी राख्छौँ: “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, अनि निकाला वा निष्कासित गर्ने” सबै प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मापदण्डहरूलाई तीन मुख्य वर्गमा विभाजित गरिएको छ। हामीले यसभन्दा पहिले व्यक्तिले परमेश्वरमा विश्वास गर्नुको उद्देश्यबारे सङ्गति गरेका छौँ, अनि त्यसपछि उसको मानवताबारे सङ्गति गर्यौँ। व्यक्तिको मानवताको हिसाबमा भन्दा, हामीले धेरै फरक-फरक प्रकटीकरणहरूलाई पनि वर्गीकरण गर्यौँ। हामीले सङ्गति गरिसकेका विभिन्न प्रकटीकरणहरू के-के हुन्? ती पढ। (सबै प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउनेसम्बन्धी दोस्रो बुँदा व्यक्तिको मानवतासँग सम्बन्धित छ।१. तथ्य र झूटहरूलाई गलत रूपमा प्रस्तुत गर्न मन पराउनु; २. फाइदा उठाउन मन पराउनु; ३. लम्पट र असंयमित हुनु; ४. प्रतिशोधप्रति झुकाव राख्नु; ५. आफ्नो जिब्रो काबुमा राख्न नसक्नु।) हामीले तिनीहरूले आफ्नो जिब्रो काबुमा राख्न नसक्ने बारेमा रहेको पाँचौँ बुँदासम्म सङ्गति गरेका छौँ। हामीले मानवताका निश्चित प्रकटीकरणहरूका बारेमा सङ्गति गरिरहेका भए पनि वा अरू कुराहरूका बारेमा सङ्गति गरिरहेका भए पनि, मैले भने जस्तै, यसले फरक-फरक प्रकारका मानिसहरूमा फरक-फरक असर पार्नेछ। सत्यता पछ्याउनेहरूले सुनेपछि, आफूलाई जाँच्नमा केन्द्रित हुनेछन्; तिनीहरूले आफूलाई मेरो सङ्गतिसँग मापन गर्नेछन् र तिनीहरूसँ सक्रिय र सकारात्मक रूपमा हुनेछ। तर, श्रमिकहरू जस्ता सत्यता नपछ्याउनेहरूले केवल सुन्छन्, बस् त्यति हो। तिनीहरूले यसलाई हृदयमा लिँदैनन् वा सुन्नमा आफ्नो हृदय लगाउँदैनन्। कहिलेकाहीँ, तिनीहरू प्रवचन सुन्दा निदाउन समेत सक्छन्। तिनीहरूले यसलाई आत्मसात् गर्न सक्दैनन्, र तिनीहरूले यस्तो समेत सोच्छन्, “यी सानातिना कुराहरू सुन्नुको के फाइदा? यो समयको बरबादी हो—मैले अझै पनि मेरो हातमा भएको काम समेत पूरा गरेको छैनँ!” तिनीहरूलाई सधैँ मेहनत गर्नुपर्ने कामहरूका बारेमा चिन्ता हुन्छ। तिनीहरू मेहनत गर्न, बफादारी देखाउनमा विशेष रूपमा उत्साहित र समर्पित हुन्छन्, तर तिनीहरूले सत्यतासँग सम्बन्धित मामलाहरूका लागि ऊर्जा जुटाउनै सक्दैनन्। यसले त्यस्ता मानिसहरूलाई सत्यताप्रति चासो हुँदैन भन्ने कुरा स्पष्ट रूपमा प्रकट गर्छ; तिनीहरू परिश्रम गर्नमै सन्तुष्ट हुन्छन्। मानिसहरूको अर्को समूह छ, जसले परमेश्वरको घरले सत्यतामा जसरी सङ्गति गरे पनि त्यही मनोवृत्ति कायम राख्छ: “म प्रतिरोधी र विरोधी मात्रै हुँ। तपाईँले मेरा समस्याहरू औँल्याउनुभयो र मेरा प्रकटीकरण, प्रकाश, र स्वभावहरू खुलासा गर्नुभयो भने पनि, म यस कुरालाई ध्यान दिनेछैनँ वा गम्भीरतापूर्वक लिनेछैनँ। अरूलाई मेरो खुलासा भइरहेको छ भन्ने थाहा भयो भने के भयो त?” तिनीहरूले निर्लज्ज रूपमा अवज्ञा र विरोध गरिरहन्छन्, जुन कुरालाई सच्याउन सकिँदैन। जेसुकै भए पनि, फरक-फरक प्रकारका मानिसहरूका प्रकटीकरणहरूलाई छुट्याउन सकिन्छ। सत्यता—यसलाई पछ्याउनेहरूका हकमा होस्, मेहनत गर्न इच्छुक हुने तर यसलाई प्रेम नगर्नेहरूका हकमा होस्, वा सत्यताप्रति विकर्षित र वितृष्ण हुनेहरूका हकमा होस्—यसले दुईधारे तरबार, र कसौटीका रूपमा काम गर्छ। यसले सत्यताप्रतिको मानिसहरूको मनोवृत्तिलाई र तिनीहरू हिँडिरहेको मार्गलाई पनि मापन गर्न सक्छ।
च. अव्यावहारिक र जानी-जानी समस्याग्रस्त हुनु, र तिनीहरूलाई उत्तेजित पार्ने आँट गर्ने कोही नहुनु
यसभन्दा पहिले, हामीले विभिन्न दुष्ट मानिसहरूका पाँच वटा प्रकटीकरणहरूलाई खुट्ट्याउने बारेमा सङ्गति गरेका थियौँ। आज, हामी छैटौँका बारेमा सङ्गतिलाई जारी राख्छौँ। छैटौँ पनि एक प्रकारको दुष्ट व्यक्तिको प्रकटीकरण हो, वा अझै राम्ररी भन्दा, मानिसहरूले यस प्रकारलाई दुष्ट नठाने पनि, सबैले उसलाई मन पराउँदैनन्। किन? किनभने यी मानिसहरूमा विवेक र समझको कमी हुन्छ, सामान्य मानवताको कमी हुन्छ, र तिनीहरूसँगको अन्तरक्रिया निकै समस्याग्रस्त र गाह्रो हुन्छ, जसले गर्दा विकर्षण पैदा हुन्छ। यी मानिसहरूका निश्चित प्रकटीकरणहरू के-के हुन्? अव्यावहारिक र जानीजानी झन्झटिलो हुनु, र तिनीहरूलाई उत्तेजित पार्ने आँट गर्ने कोही नहुनु। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? धेरै नभए पनि, निश्चय नै हुन्छन्। अनि तिनीहरूका निश्चित प्रकटीकरणहरू के-के हुन्? सामान्य परिस्थितिहरूमा, यी मानिसहरूले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न र अरूसँग निकै सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छन्; तैँले तिनीहरूबाट क्रूर स्वभाव देख्नेछैनस्। तर, जब तिनीहरूको कार्य सत्यता सिद्धान्तहरू विपरीत हुन्छ र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू रिसले चूर हुन्छन्, र आफ्ना लागि मिथ्या बहानाहरू बनाउँदै सत्यतालाई पूर्ण रूपमा इन्कार गर्छन्। अचानक, तैँले तिनीहरू काँडाले ढाकिएको दुम्सी, छुन नसकिने बाघ जस्तै हुन् भन्ने महसुस गर्छस्। तैँले सोच्छस्, “मैले यो व्यक्तिसँग यति लामो समयदेखि अन्तरक्रिया गरेको छु, र ऊ असल मानवता भएको, बुझ्ने, र बोल्न सजिलो व्यक्ति हो भन्ने सोचेको थिएँ, उसले सत्यतालाई स्वीकार गर्न सक्छ भन्ने विश्वास गरेको थिएँ। ऊ अव्यावहारिक र जानीजानी झन्झटिलो हुने व्यक्ति हुनेछ भन्ने मैले अपेक्षा गरेको थिइनँ। भविष्यमा ऊसँगको अन्तरक्रियामा म अझै होसियार हुनुपर्छ, आवश्यक नभएसम्म सम्पर्कलाई न्यूनीकरण गर्नुपर्छ, र उसलाई उत्तेजित पार्नबाट जोगिनका लागि आफूलाई टाढा राख्नुपर्छ।” के तिमीहरूले त्यस्तो अव्यावहारिक र जानीजानी झन्झटिलो हुने मानिसहरूलाई देखेका छौ? सामान्यतया, तिनीहरूलाई बुझेका मानिसहरूलाई तिनीहरू कति भयानक छन् भन्ने थाहा हुन्छ र तिनीहरूले विशेष शिष्टता र सतर्कताका साथ तिनीहरूसँग कुरा गर्छन्। विशेष गरी, जब तँ तिनीहरूसँग कुरा गर्छस्, तब तँ तिनीहरूलाई पटक्कै चोट पुर्याउन मिल्दैन, नत्र यसले तिनीहरूसँग अटुट समस्या ल्याउनेछ। कतिपय मानिसहरू भन्छन्, “यी अशिष्ट मानिसहरू वास्तवमा को हुन्? हामीले तिनीहरूलाई अझै भेटेका छैनौँ।” त्यस्तो अवस्थामा, हामीले साँच्चै नै यसबारे कुरा गर्नुपर्छ। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो अनुभवबारे सङ्गति गरिरहेका बेला, जब कतिपयले आफ्नो भ्रष्ट स्थिति वा व्यक्तिगत कठिनाइहरूका बारेमा उल्लेख गर्छन्, तब अरूले पनि यस्तै अनुभव वा भावनाहरू भोगेका हुनाले सहानुभूति दिनु अवश्यम्भावी हुन्छ। यो निकै सामान्य कुरा हो। सुनेपछि, कसैले यस्तो सोच्न सक्छ, “मैले पनि त्यस्ता अनुभवहरू भोगेको छु, त्यसकारण हामी सँगै यो विषयमा सङ्गति गरौँ। तपाईँले यो कुरा कसरी भोग्नुभयो भन्नेबारे सुन्न चाहन्छु। यदि तपाईँको सङ्गतिमा ज्योति छ, र त्यो मेरो समस्यासँग सम्बन्धित छ भने, म यसलाई स्वीकार गर्नेछु र परिणामहरू के हुनेछन् भनेर हेर्नका लागि तपाईँको अनुभव र मार्ग अनुसार अभ्यास गर्नेछु।” अरूले आफूलाई चिन्ने बारेमा सङ्गति गरेको र आफ्नो भ्रष्टता र कुरूपता खुलासा गरेको सुनेपछि, यो अप्रत्यक्ष रूपमा आफूलाई खुलासा र आलोचना गर्नु हो भनेर विश्वास गर्ने एक प्रकारको व्यक्ति मात्रै हुन्छ, र ऊ रिसले चुर भएर टेबुल नठटाई बस्न सक्दैन: “कसमा भ्रष्टता हुँदैन र? को शून्यतामा जिउँछ र? मेरो दृष्टिकोणमा, तिमीहरूको भ्रष्टता त मेरोभन्दा पनि खराब छ! मलाई निसाना बनाउन, खुलासा गर्नका लागि तिमीहरूसँग के-कस्ता योग्यताहरू छन्? मैले देखे अनुसार त, तिमीहरू मलाई कठिनाइमा पार्न, र बहिष्कार गर्न मात्रै चाहन्छौ! म गाउँबाट आएकाले र मैले तिमीहरूको चापलुसी गर्नका लागि मीठा शब्दहरू बोल्न नसक्ने हुनाले मात्रै यसो गर्दैनौ र? मेरो शिक्षा तिमीहरूको जस्तो उच्च नभएकाले होइन र? परमेश्वरले मलाई हेयको नजरले समेत हेर्नुहुन्न, त्यसकारण मलाई हेयको नजरले हेर्ने अधिकार तिमीहरूलाई केले दिन्छ!” अरूले भन्छन्, “यो सामान्य सङ्गति हो, र यो तपाईँप्रति लक्षित छैन। के सबैको भ्रष्ट स्वभाव उस्तै हुँदैन र? जब कसैले कुनै विषयबारे सङ्गति गरिरहेको हुन्छ र आफ्नो भ्रष्ट स्थितिबारे उल्लेख गर्छ, तब अरू पनि यस्तै स्थितिमा पर्नु अवश्यम्भावी हुन्छ। यदि तपाईँलाई आफू पनि उस्तै स्थितिमा छु भन्ने लाग्छ भने, तपाईँले पनि आफ्ना अनुभवहरूका बारेमा सङ्गति गर्न सक्नुहुन्छ।” यसबारे उसले यस्तो जवाफ दिन्छ, “त्यसो हो त? म एउटा व्यक्तिले गर्ने यस्तो सङ्गति सहन सक्छु, तर तिमीहरू किन मलाई हेप्न दुई-तीन जना मिलिरहेका छौ? के मलाई घरी यता घरी उता गर्न सजिलो छ जस्तो लाग्यो?” तिनीहरूले जति बोल्छन्, तिनीहरूको बोलीवचन त्यति नै अपमानजनक हुँदै गइरहेको हुँदैन र? (हो।) के त्यस्ता मानिसहरूसँग यी शब्दहरू बोल्नुका कारणहरू हुन्छन्? (हुँदैनन्।) यदि तँलाई साँच्चै अरूको सङ्गतिको विषय तँप्रति लक्षित छ भन्ने लाग्छ भने, तैँले यस विषयमा छलफल वा सङ्गति गर्न सक्छस्; तेरो किसानको पृष्ठभूमि, तेरो न्यून स्तरको शिक्षा, वा मानिसहरूले तँलाई हेयको नजरले हेर्ने बारेमा कुरा गर्नुको सट्टा, यो तँप्रति लक्षित छ कि छैन भनेर सीधै सोध्। ती कुराहरू भन्नुको के फाइदा? के त्यो सही र गलतबारे बकबक गर्नु होइन र? के यो अव्यावहारिक र जानीजानी झन्झटिलो हुनु होइन र? (हो।) के तिमीहरूलाई त्यस्ता मानिसहरू भयानक हुन्छन् भन्ने लाग्दैन र? (हो।) उसले यस्तो नाटक देखाएपछि, ऊ कस्तो व्यक्ति हो भन्ने कुरा सबैलाई थाहा हुन्छ, र भविष्यका भेलाहरूमा सङ्गति गर्दा, तिनीहरूले सधैँ होसियार भएर बोल्नुपर्छ र उसको हाउभाउलाई ध्यान दिनुपर्छ। यदि उसको हाउभाउ निराशाजनक बन्छ भने, अरू बोल्न हिचकिचाउँछन्, र भेलाहरूमा सङ्गति गर्दा सबैलाई दबिएको महसुस हुन्छ। के यो ऊ अव्यावहारिक र जानीजानी झन्झटिलो हुने कार्यलेले ल्याउने बन्धन र व्यवधान होइन र? (हो।) अव्यावहारिक र जानीजानी झन्झटिलो हुनेहरू सबै तर्क गर्न नसकिने मानिसहरू हुन्; त्यस्ता व्यक्तिहरूले सत्यतालाई स्वीकार गर्दैनन् र तिनीहरूले सम्भवतः मुक्ति पाउन सक्दैनन्।
अव्यावहारिक र जानीजानी झन्झटिलो हुने यस्तो व्यक्तिको अर्को प्रकटीकरण हुन्छ। कतिपय मानिसहरूले भेलाहरूमा सधैँ यसो भन्छन्, “मैले अबदेखि झाराटारुवा व्यवहार गर्नु हुँदैन। मैले सत्यता अभ्यास गर्नुमा ध्यान दिनुपर्छ; मैले सिद्धता पछ्याउनुपर्छ। म स्वाभाविक रूपमा नै उत्कृष्ट हुन लागिपर्छु। मैले जे गरे पनि, त्यो राम्ररी गर्नुपर्छ।” तिनीहरूले कुरा त गर्छन्, तर वास्तवमा, तिनीहरूले अझै पनि आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा व्यवहार गर्छन्, र तिनीहरूले पूरा गर्ने कर्तव्यमा धेरै समस्याहरू हुन्छन्, र तिनीहरू परमेश्वरको गवाही दिने परिणाम हासिल गर्नुभन्दा निकै टाढा हुन्छन्। जब अगुवाहरूले तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा देखा पर्ने समस्याहरूलाई औँल्याउँछन् र तिनीहरूलाई काटछाँट गर्छन्, तब तिनीहरू तुरुन्तै रिसाउँछन्, र भन्छन्, “मलाई थाहा थियो। तिमीहरू सबै मेरो व्यावसायिक सीप कमजोर छ भनेर मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्छौ। के तिमीहरू सबै मलाई हेयको नजरले हेर्दैनौ र? यो त सानो गल्ती मात्रै थियो। के मलाई यसरी काटछाँट गर्नु आवश्यक छ? यसबाहेक, कसले गल्ती गर्दैन र? म झाराटारुवा व्यवहार गर्छु भनेर भन्छौ— के तिमी पनि पहिले आफ्नो काममा झाराटारुवा थिएनौ र? के तिमी मेरो आलोचना गर्न योग्य छौ? मेरो सहकार्यविना, तिमीहरूमध्ये कसले यो कामको बोझ बोक्न सक्छ र?” त्यस्ता मानिसहरूका बारेमा तिमीहरूलाई के लाग्छ? तिनीहरूले गर्ने कुनै पनि कुरामा, तिनीहरू अरूलाई आफ्ना कमीकमजोरीहरू औँल्याउन वा सुझावहरू दिन दिँदैनन्; तिनीहरू उचित काटछाँट समेत स्वीकार गर्दैनन्। जसले बोल्छ, तिनीहरू उनीहरूको विरुद्धमा जान्छन् र विरोध गर्छन्, अनुचित शब्दहरू बोल्छन्, अनि तिनीहरूलाई हेयको नजरले हेरिन्छ, वा तिनीहरू एकला र शक्तिहीन भएकोमा तिनीहरूलाई हेपिन्छ, वा अरू त्यस्तै कुराहरू समेत भन्छन्। के यो अनियन्त्रित, अव्यावहारिक र जानीजानी झन्झटिलो हुनु होइन र? कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जसले काटछाँटमा परेपछि आफ्नो कर्तव्य त्याग्ने गर्छन्: “म अबदेखि यो काम गर्नेछैनँ। यदि तिमीहरू गर्न सक्छौ भने, ठीक छ, गर। त्यसपछि तिमीहरूले अझै पनि मविना काम अघि बढाउन सक्छौ कि सक्दैनौ, हेरौँला!” दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मनाउने प्रयास गर्छन्, तर तिनीहरूले सुन्दैनन्। अगुवा र कामदारहरूले तिनीहरूलाई सत्यतामा सङ्गति गर्दा पनि, तिनीहरू स्वीकार गर्न मान्दैनन्; तिनीहरू आडम्बर देखाउन र आफ्नो कर्तव्य त्याग्न थाल्छन्। भेलाहरूमा, तिनीहरू लुसुक्क पर्छन्, न परमेश्वरका वचनहरू पढ्छन् न त सङ्गति नै गर्छन्, र सधैँ अन्तिममा आउने र सबैभन्दा चाँडो जाने गर्छन्। तिनीहरू जाँदा, खुट्टा बजार्छन् र ढोका ड्याम्म लगाउँछन्, र तिनीहरूलाई कसरी निराकरण गर्ने भन्ने बारेमा धेरैजसो मानिसहरू अन्योलमा पर्छन्। जब त्यस्ता मानिसहरूलाई परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूले उटपटाङ तर्क र बकवासहरू बोल्छन्; तिनीहरू अनियन्त्रित हुन्छन् र सामानहरू फ्याँक्छन् र तिनीहरूमा समझ छिराउनै सकिँदैन। कतिपयमा झनै गम्भीर प्रकटीकरणहरू हुन्छन्: यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अभिवादन गरेनन् भने, तिनीहरू अप्रसन्न हुन्छन् र भेलाहरूमा मौका छोपेर रुन्छन्: “तिमीहरू सबै मलाई हेयको नजरले हेर्छौ भन्ने मलाई थाहा छ। भेलाहरूमा, तिमीहरू सबैले परमेश्वरका वचनहरूमा सङ्गति गर्ने र आफ्ना अनुभवात्मक बुझाइहरूका बारेमा छलफल गर्ने कार्यमा मात्रै ध्यान दिन्छौ। कसैले पनि मेरो वास्ता गर्दैन, कसैले मलाई मुस्कुराएर हेर्दैन, र म जाँदा कसैले पनि मलाई बिदा गर्दैन। तिमीहरू कस्ता विश्वासी हौ? तिमीहरूसँग साँच्चै नै मानवताको कमी छ!” तिनीहरूले मण्डलीमा यसरी हङ्गामा गर्छन्। तिनीहरू सानातिना कुराहरूमा समेत क्रोधित हुन्छन्, र जम्मा भएका आफ्ना सबै गुनासाहरू पोखाउँछन्। स्पष्ट रूपमा नै, तिनीहरूले आफ्नै भ्रष्ट स्वभाव प्रकट गरिरहेका हुन्छन्, तर तिनीहरूले न त आत्मचिन्तन गर्छन्, न त आफूलाई नै चिन्छन्, र तिनीहरूसँग परिवर्तन वा सत्यता पछ्याउने कुनै चाहना हुँदैन। बरु, तिनीहरू अरूमा समस्या खोज्छन्, आफ्नो मानसिकता सन्तुलनमा राख्न विभिन्न बहानाहरू खोज्छन्—अनि तिनीहरूले यसो गर्दा, तिनीहरूले आफ्नो गुनासो पोखाउने अवसरहरू खोज्छन्। अझै महत्त्वपूर्ण कुरा, तिनीहरूको उद्देश्य मानिसहरूका बीचमा केही प्रतिष्ठा र ध्यान प्राप्त गर्नका लागि आफूतिर अझै धेरै मानिसहरूको ध्यान तान्ने र तिनीहरूको डर मान्ने बनाउनु हुन्छ। यस्ता मानिसहरू अति झन्झटिला हुन्छन्! तिनीहरूले जे भने पनि, कसैले पनि “नाइँ” भन्ने आँट गर्दैन; कसैले पनि तिनीहरूलाई हल्का रूपमा मूल्याङ्कन गर्ने आँट गर्दैन; अनि कसैले पनि तिनीहरूसँग खुलस्त कुरा गरेर सङ्गति गर्ने आँट गर्दैन। तिनीहरूमा केही कमीकमजोरी र भ्रष्ट स्वभावहरू देखिए पनि, कसैले पनि तिनलाई औँल्याउने आँट गर्दैन। भेलाहरूमा, जब सबैले आफ्नो व्यक्तिगत अनुभव र परमेश्वरका वचनहरूको बुझाइबारे सङ्गति गर्छन्, तब तिनीहरू त्यस व्यक्तिलाई चिढ्याउने र समस्या खडा गर्ने डरले “अरिङ्गालको गोला”, अर्थात् त्यो व्यक्तिबाट टाढा बस्छन्। कतिपय मानिसहरूलाई घरमा वा काममा आफूमाथि दुर्व्यवहार भएको महसुस गरेपछि वा असन्तुष्टिको सामना गरेपछि भेलाहरू आफ्नो मनको कुरा पोखाउँछन्। स्पष्ट रूपमा नै, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो निकास र असन्तुष्टि पोखाउने निसाना बनाइरहेका हुन्छन्। तिनीहरू उदास हुँदा, उटपटाङ तर्कहरू गर्छन्, रुन्छन्, र हङ्गामा खडा गर्छन्। त्यसपछि तिनीहरूसँग सत्यतामा सङ्गति गर्ने आँट कसले गर्थ्यो र? यदि तिनीहरूसँग सङ्गति गरियो, र कुनै शब्दले तिनीहरूको संवेदनालाई छोयो भने, तिनीहरूले आत्महत्या गर्ने धम्की दिन्छन्। त्यो अझै झन्झटिलो हुनेछ। त्यस्ता मानिसहरूका हकमा, सामान्य सङ्गतिले काम गर्दैन; सामान्य कुराकानीले काम गर्दैन; अत्यन्तै न्यानो वा अत्यन्तै चिसो दुवै हुनुले काम गर्दैन; तिनीहरूबाट टाढा बस्नुले काम गर्दैन; अत्यन्तै नजिक हुनुले काम गर्दैन; अनि यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको खुसीसँग मिल्ने गरी खुसी व्यक्त गर्दैनन् भने, त्यसले पनि काम गर्दैन; अनि जब यी मानिसहरूले कुनै कठिनाइको सामना गर्छन्, तब यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको हैरानी बुझ्न सक्दैनन् भने, त्यसले पनि हुँदैन। तिनीहरूलाई जेसुकै कुरा गरे पनि हुँदैन। जेसुकै गरिँदा पनि तिनीहरूलाई झिजो लाग्न र क्रोधित बनाउन सक्छ। तिनीहरूलाई जस्तो व्यवहार गरिए पनि, तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। निश्चित मानिसहरूको स्थितिबारे मैले दिने प्रवचन र सङ्गतिले समेत तिनीहरूलाई उत्तेजित पार्न सक्छ। यसले तिनीहरूलाई कसरी उत्तेजित पार्छ? तिनीहरूले सोच्छन्, “के यो मेरो खुलासा गरिएको होइन र? तपाईँले मसँग अन्तरक्रियासमेत गर्नुभएको छैन, र मैले निजी रूपमा के गरेको छु भन्ने बारेमा मैले तपाईँलाई केही पनि बताएको छैनँ। तपाईँलाई कसरी थाहा भयो? कसैले पक्कै पनि पोल लगाइरहेको हुनुपर्छ। मैले तपाईँसँग को सम्पर्कमा आएको छ, कसले पोल लगाएको छ, कसले मेरो बारेमा रिपोर्ट गरेको छ भनेर पत्ता लगाउनुपर्छ; म यसलाई त्यतिकै छोड्नेछैनँ!” अव्यावहारिक र जानीजानी झन्झटिलो हुने यस्तो व्यक्तिले कुनै पनि कुराका बारेमा विकृत विचारहरू राख्न सक्छ, र उसले कुनै पनि कुरालाई सही रूपमा लिन सक्दैन। तिनीहरू समझभन्दा बाहिर हुन्छन्! विवेक तिनीहरूको पहुँचभन्दा निकै टाढा हुन्छ, र तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्नु त परको कुरा हो। तिनीहरू मण्डलीमा बस्नु फाइदाजनक नभई हानिकारक हुन्छ। तिनीहरू त बोझ मात्रै हुन्, तुरुन्तै हटाउनुपर्ने बोझ; तिनलाई झट्टै पखाल्नुपर्छ!
चीनमा, परमेश्वरमा विश्वास गर्नुको परिणाम ठूलो रातो अजिङ्गरले गर्ने दमन र सतावट हुन्छ, र धेरै मानिसहरू खेदोमा पर्छन् र तिनीहरू घर जान सक्दैनन्। तर, कतिपय मानिसहरूले सतावट भोगेपछि र घर फर्केर जान नसकेपछि, तिनीहरूले खुबी वा योग्यता प्राप्त गरेका छन् भन्ने विश्वास गर्छन्। तिनीहरू मेजमान परिवारसँग बस्छन्, र तिनीहरूले मानिसहरूलाई तिनीहरूको खातिरदारी गर्न मात्रै लगाउँदैनन्—यदि कुनै कुरा तिनीहरूको इच्छा विपरीत भयो वा तिनीहरूलाई घरको याद आउन थाल्यो भने, तिनीहरूले हङ्गामा मच्चाउन थाल्छन्, र अरूले तिनीहरूलाई फकाउनुपर्छ र सहनुपर्छ। के त्यस्ता मानिसहरू अव्यावहारिक र जानीजानी झन्झटिला हुँदैनन् र? धेरै मानिसहरूलाई सताइएको हुन्छ, र धेरै मेजमान परिवारहरू हुँदैनन्। दाजुभाइ-दिदीबहिनीहरूले प्रेमका कारण घर फर्कन नसक्नेहरूलाई आश्रय दिन्छन्। तिनीहरूले उनीहरूलाई सडकमा पुग्नबाट जोगाउँछन् र आफ्नो घरमा बस्न दिन्छन्। के यो परमेश्वरको अनुग्रह होइन र? तैपनि, कतिपयले परमेश्वरको अनुग्रह बुझ्न नसक्ने मात्र नभई दाजुभाइ-दिदीबहिनीहरूको प्रेमलाई पनि देख्न सक्दैनन्। बरु, तिनीहरूलाई आफू पीडित भएको महसुस हुन्छ, र तिनीहरूले गुनासो समेत गर्छन् र तिनीहरू अनियन्त्रित समेत हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरूको घरको बस्ने अवस्था वास्तवमा तिनीहरूको आफ्नै घरको भन्दा अलिक राम्रो हुन्छ। विशेष गरी परमेश्वरमा विश्वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने हिसाबमा भन्दा, दाजुभाइ-दिदीबहिनीहरूको घरमा बस्नु आफ्नै घरमा बस्नुभन्दा पनि राम्रो हुन्छ, र दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्नु एकलै बस्नुभन्दा सधैँ नै निकै राम्रो हुन्छ। कतिपय क्षेत्रहरूमा जिउने अवस्थाहरू अलिक नराम्रो भए पनि, ती अझै पनि औसत जिउने स्तरका हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसँग बस्न, बारम्बार भेला हुन र परमेश्वरका वचनहरू खान-पिउन, अझै धेरै सत्यताहरू बुझ्न, र आफ्नो पछ्याइका उद्देश्यहरू के-के हुन् भनेर जान्न पाउँछन्। त्यसकारण, सत्यता पछ्याउनेहरूले त्यो मूल्य चुकाउन र त्यो कष्ट भोग्न सक्छन्। यसप्रति धेरैजसो मानिसहरूमा सही मनोवृत्ति हुन्छ; तिनीहरूले यो कष्ट भोग्नु सार्थक छ, र यो कष्ट तिनीहरूले नै भोग्नुपर्ने हो भन्ने थाहा पाएर यसलाई परमेश्वरबाट आएको हो भनेर स्वीकार गर्न सक्छन्। तिनीहरूले यसलाई सही रूपमा लिन सक्छन्। तर कतिपय अव्यावहारिक र जानीजानी झन्झटिला हुने अनियन्त्रित मानिसहरूले यसरी कुराहरू बुझ्न सक्दैनन्। तिनीहरू एक हप्तासम्म घर फर्कन नपाउनुलाई बल्लतल्ल सहन सक्छन् होला, तर दुई हप्तापछि, तिनीहरूको मुड परिवर्तन हुन्छ, र एक-दुई महिनाभित्र, तिनीहरू अनियन्त्रित हुन्छन्, र भन्छन्, “किन तपाईँहरूको परिवार किन खुसीसाथ सँगै रहन पाउँछ, तरम आफ्नो घरफर्कन पाउँदिनँ? किन तपाईँहरू सबै आफूले चाहे अनुसार आउन र जान सक्नुहुन्छ, जबकि मसँग कुनै स्वतन्त्रता छैन?” अरूले यस्तो जवाफ दिन्छन्: “के यो ठूलो रातो अजिङ्गरको सतावटले पैदा भएको होइन र? के हामीले परमेश्वरका अनुयायीहरूका रूपमा यस्तो कष्ट भोग्नु सही मात्रै हुँदैन र? यो थोरै कष्टमा ठूलो कुरा के छ र? परिस्थितिहरूलाई हेर्दा, यो भएन, त्यो भएन भन्ने के कुरा छ? यदि अरूले यो कष्ट भोग्न सक्छन् भने, तिमीले किन सक्दैनौ?” अव्यावहारिक र जानीजानी झन्झटिलो हुने मानिसहरू कष्ट भोग्नै चाहँदैनन्। यदि तिनीहरूलाई पक्राउ गरेर जेल हालियो भने, तिनीहरू अवश्य नै यहूदा बन्नेथिए। मेजमान परिवारसँग बस्दा आखिर कति नै कष्ट हुन्छ र? पहिलो, खानेकुरा मानवले खाने नै हुन्छ; दोस्रो, कसैले पनि तँलाई कठिनाइमा पार्दैन; अनि तेस्रो, कसैले पनि तँलाई हेप्दैन। यति मात्र हो कि, तँ घर फर्केर आफ्नो परिवारसँग भेट्न सक्दैनस्—अनि अव्यावहारिक र जानीजानी झन्झटिलो हुने मानिसहरूका लागि त्यो थोरै कष्ट भोग्नु स्वीकार्य हुँदैन। जब अरूले तिनीहरूलाई सत्यतामा सङ्गति गर्छन्, तब तिनीहरूले त्यसलाई ग्रहण गर्न मान्दैनन्, तर यस्ता कुराहरू भन्छन्, “मलाई ती ठूल्ठूला धर्मसिद्धान्तहरूका बारेमा भाषण नदेऊ। मैले तिमीले भन्दा कम बुझेको छैनँ; मलाई यो सबै थाहा छ! मलाई यति मात्र भन, म कहिले घर जान पाउँछु? ठूलो रातो अजिङ्गरले मेरो घरको निगरानी कहिले रोक्छ? ठूलो रातो अजिङ्गरले मलाई पक्राउ नगरी म कहिले घर जान पाउँछु? म कहिले घर जान पाउँछु भन्ने मलाई थाहा छैन भने, म नबाँच्नु नै राम्रो हुन्छ!” तिनीहरूले फेरि हङ्गामा मच्चाउँछन्, र यसो गर्ने क्रममा, तिनीहरू भुइँमा बसेर खुट्टा बजार्छन्—अनि तिनीहरूले जति खुट्टा बजार्छन्, तिनीहरू त्यति नै रिसाउँछन्, र तिनीहरू चिच्याउँदै र रुँदै अनियन्त्रित रूपमा विस्फोट हुन्छन्। अरूले भन्छन्, “अलिक बिस्तारै बोल न। यदि तिमीले यसो गरिरह्यौ र छिमेकीहरूले यहाँ बाहिरी मानिसहरू बस्छन् भन्ने थाहा पाए भने, त्यसले हामीलाई खुलासा गर्नेछ, होइन र?” तिनीहरूले जवाफ दिन्छन्, “मलाई मतलब छैन, म हङ्गामा मच्चाउन मात्रै चाहन्छु! तिमीहरू सबै घर जान पाउँछौ, तर म जान पाउँदिनँ। यो न्यायोचित भएन! म यस्तो हङ्गामा मच्चाउनेछु कि तिमीहरू पनि म जस्तै घर जान पाउनेछैनौ!” तिनीहरूको अनियन्त्रित प्रस्फुटन घट्दैन, र तिनीहरूको द्वेष देखा पर्छ; कसैले पनि तिनीहरूलाई सम्झाउन सक्दैन, कसैले पनि तिनीहरूलाई मनाउन सक्दैन। जब तिनीहरूको मुड अलिक सुधार हुन्छ, तब तिनीहरू शान्त हुन्छन् र हङ्गामा मच्चाउन छोड्छन्। तर कसलाई थाहा—कुनै पनि दिन, तिनीहरू फेरि अनियन्त्रित हुन र हङ्गामा मच्चाउन सक्छन्: तिनीहरू बाहिर हिँड्डुल गर्न पाउनु र स्वतन्त्र हुन पाउनु मात्रै पर्छ, र घरभित्र ठूलो आवाजमा बोल्नुपर्छ; तिनीहरूले निरन्तर घर जान षड्यन्त्र गर्छन्। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई चेतावनी दिन्छन्: “घर जानु अत्यन्तै जोखिमपूर्ण कुरा हो; पुलिसले ठाउँको चियो र निगरानी गरिरहेको छ।” तिनीहरूले जवाफ दिन्छन्, “मलाई मतलब छैन, म फर्केर जान चाहन्छु! तिनीहरूले मलाई पक्रे भने, पक्रून्! ठूलो कुरा के भो र? बढीमा, म यहूदा त हुनेछु!” के यो पागलपन होइन र? (हो।) तिनीहरू यहूदा बन्न तयार छन् भनेर खुलस्त भन्छन्। तिनीहरूलाई बास दिने आँट कसले गर्थ्यो? के कसैले यहूदालाई बास दिन चाहन्छ? (चाहँदैन।) के त्यस्तो व्यक्ति परमेश्वरको विश्वासी हो? दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई परमेश्वरका विश्वासीका रूपमा मेजमानी गर्छन्। यदि तिनीहरूमा केही हदसम्म मानवताको कमी छ भने, त्यसलाई सहन सकिन्छ; सत्यता नपछ्याउनुलाई पनि सहन सकिन्छ। तर तिनीहरू मण्डलीलाई धोका दिन र यहूदा बनेर दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्न सक्षम हुन्छन्, र यसरी धेरै मानिसहरूलाई आफ्नो घर फर्कन वा आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न नसक्ने अवस्थामा पुर्याउन सक्छन्—यी परिणामहरूका लागि कसले जिम्मेवारी लिन सक्छ? के तैँले यस्तो शत्रुको मेजमानी गर्ने आँट गर्नेथिइस्? के तिनीहरूको मेजमानी गर्नु आफैलाई समस्यामा पार्नु मात्रै होइन र?
समझहीन र जानाजान झमेला गर्ने मानिसहरूले कार्य गर्दा आफ्नै स्वार्थहरूबारे मात्र सोच्छन्, र आफूलाई जे मन लाग्छ त्यही गर्छन्। तिनीहरूका शब्दहरू समझहीन तर्क र विधर्म बाहेक केही होइनन्, र तिनीहरूलाई समझले छुँदैन। तिनीहरूको द्वेषपूर्ण स्वभाव भरिएर पोखिएका हुन्छन्। तिनीहरूसँग उठबस गर्न कसैले आँट गर्दैन, र आफूमाथि विपत्ति आउने डरले तिनीहरूसित सत्यता सङ्गति गर्न कोही इच्छुक हुँदैन। तिनीहरूलाई मन नपर्ने वा तिनीहरूको इच्छासँग नमिल्ने एउटा शब्द बोले पनि तिनीहरूले यसैलाई आधार मानेर उनीहरूमाथि घोर आरोपहरू लगाउनेछन् भन्ने डरले अरू मानिसहरू तिनीहरूलाई मनको कुरा बताउँदा आकुलव्याकुल हुन्छन्। के त्यस्ता मानिसहरू दुष्टहरू होइनन् र? के तिनीहरू जीवित पिशाचहरू होइनन् र? आक्रामक स्वभाव र अनुचित तर्क भएका मानिसहरू सबै जीवित पिशाचहरू हुन्। अनि जब कसैले जीवित पिशाचसँग अन्तरक्रिया गर्छ, उसले क्षणिक लापरवाही गर्दा नै आफूमाथि विपत्ति ल्याउन सक्छ। के त्यस्ता जीवित पिशाचहरू मण्डलीमा भए भने यसले ठूलो समस्या ल्याउँदैन र? (आउँछ।) यी जीवित पिशाचहरूले आवेग र रिस पोखाएपछि, केही समयसम्म मानवजस्तै बोलेर माफी माग्न सक्छन्, तर पछि तिनीहरू परिवर्तन हुनेछैनन्। कुन बेला मुड खराब भएर तिनीहरूले फेरि रिसको झोँक देखाउँदै समझहीन तर्कहरू फलाक्छन्, कसलाई के थाहा। तिनीहरूको रिस र आक्रोशको निसाना हरेकपटक फरक हुन्छ, तिनीहरूको आक्रोशको स्रोत र पृष्ठभूमि पनि फरक नै हुन्छ। भन्नुको मतलब, कुनै पनि कुराले तिनीहरूको रिस भड्काउन सक्छ, कुनै पनि कुराले तिनीहरूलाई असन्तुष्ट तुल्याउन सक्छ, र कुनै पनि कुराले तिनीहरूलाई रिसको झोँक देखाउने र अनियन्त्रित व्यवहार देखाउने तुल्याउन सक्छ। कस्तो डरलाग्दो, कस्तो समस्याग्रस्त कुरो! यी पागल दुष्ट मानिसहरूले कुनै पनि बेला आफ्नो होस गुमाउन सक्छन्, तिनीहरूले के गर्न सक्छन् कसैलाई थाहा हुँदैन। मलाई त्यस्ता मानिसहरूप्रति सबैभन्दा बढी घृणा लाग्छ। तिनीहरू प्रत्येकलाई सफाइ गर्नुपर्छ—तिनीहरू सबैलाई हटाउनुपर्छ। म तिनीहरूसँग उठबस गर्न चाहन्नँ। तिनीहरू सोचमा भ्रमित र स्वभावमा पाश्विक हुन्छन्, तिनीहरू समझहीन तर्क र दुष्ट वचनहरूहरूले भरिएका हुन्छन्, र आफ्नो जीवनमा कुनै परिस्थिति आइपर्दा, तिनीहरूले आवेगपूर्ण व्यवहार गर्छन्। आक्रोश पोख्दा तिनीहरूमध्ये कतिपय रुन्छन्, अरू चिच्याउँछन्, र कसैले खुट्टा बजार्छन्, साथै कतिपयले त टाउको झट्कार्दै हातखुट्टा फर्फराउँछन्। तिनीहरू साँच्चै पशु हुन्, मानव होइनन्। कतिपय भान्सेहरूले रिस उठ्दा भाँडाकुँडा फाल्छन्; अरू, सुँगुर वा कुकुर पाल्नेहरूले, रिस उठ्दा ती जनावरहरूलाई लात हान्छन् र कुट्छन्, आफ्नो सारा रिस तिनीहरूमाथि पोख्छन्। यी व्यक्तिहरू, चाहे जे भए पनि, सधैँ रिसाएर प्रतिक्रिया जनाउँछन्; तिनीहरू न त चिन्तन गर्न आफूलाई शान्त पार्छन् न परमेश्वरबाट आएको भनेर स्वीकार नै गर्छन्। तिनीहरूले प्रार्थना वा सत्यताको खोजी गर्दैनन्, न त अरूसित सङ्गति गर्न खोज्छन्। तिनीहरूसित विकल्प नहुँदा, तिनीहरूले सहन्छन्; तिनीहरू सहन अनिच्छुक हुँदा, बौलाउँछन्, तिनीहरूले समझहीन तर्कहरू ओकल्छन्, अरूलाई दोषारोपण र निन्दा गर्छन्। तिनीहरूले प्राय: यस्ता कुराहरू भन्छन्, “मलाई थाहा छ, तिमीहरू सबै शिक्षित छौ र मलाई हेयका दृष्टिले हेर्छौ”; “मलाई थाहा छ, तिमीहरूका परिवार समृद्ध छन्, र तिमीहरूले मलाई गरिब भएकोमा तिरस्कार गर्छौ”; वा, “मलाई थाहा छ, मेरो आस्थामा जग नभएका कारण तिमीहरूले मलाई तिरस्कार गर्छौ, र मैले सत्यता नपछ्याउने भएकाले तिमीहरूले मलाई तिरस्कार गर्छौ।” प्रस्ट रूपमा आफ्ना अनेकौँ समस्याहरूबारे सचेत हुँदाहुँदै पनि, तिनीहरूले तिनलाई समाधान गर्न कहिल्यै सत्यता खोज्दैनन्, न त अरूसँगको सङ्गतिमा आफूलाई चिन्नेबारे छलफल नै गर्छन्। तिनीहरूका आफ्नै समस्याहरूको उल्लेख हुँदा, तिनीहरू पन्छिन्छन्, र झूटो प्रत्यारोप लगाउँचन्, सारा समस्या र जिम्मेवारीहरूलाई अरूमाथि थोपर्छन्, साथै अरूले तिनीहरूलाई दुर्व्यवहार गरेकाले नै आफ्नो व्यवहार यस्तो भएको भनेर गुनासो समेत गर्छन्। यस्तो लाग्छ, मानौँ तिनीहरूका झर्कोफर्को र झमेला गर्ने उक्साहटहरू अरूका कारण भएका हुन्, मानौँ अरू सबै जना दोषी छन्, तिनीहरूसित यस्तो व्यवहार गर्नुको विकल्प नै छैन—तिनीहरू आफूले वैधानिक रूपमा आफ्नो प्रतिरक्षा गरिरहेका छन्। जबजब तिनीहरू असन्तुष्ट हुन्छन्, तब तिनीहरूले आफ्नो रिसईबी पोख्न र बकवाद ओकल्न थाल्छन्, अरू सबै गलत भएझैँ गरी आफ्ना समझहीन तर्कहरूमा जिद कस्छन्, मानौँ तिनीहरू मात्रै राम्रा छन् अनि अरू सबै खलपात्र हुन्। तिनीहरूले जतिसुकै झर्कोफर्को गरे पनि वा समझहीन तर्कहरू ओकले पनि, आफूबारे राम्रो बोलियोस् भन्ने माग गर्छन्। तिनीहरूले गल्ती गर्दा समेत, अरूलाई तिनीहरूको खुलासा वा आलोचना गर्नबाट निषेध गर्छन्। यदि तैँले तिनीहरूको सानो समस्या औँल्याइस् भने, तिनीहरूले तँलाई अन्त्यहीन विवादहरूमा अल्झाउनेछन्, अनि त्यसपछि तैँले शान्तिपूर्वक जिउने कुरा बिर्से हुन्छ। यो कस्तो प्रकारको व्यक्ति हो? यो समझहीन र जानाजान झमेला गर्ने व्यक्ति हो, र यसो गर्नेहरू दुष्ट मानिस हुन्।
अव्यावहारिक र जानीजानी झन्झटिलो हुने मानिसहरूले सामान्यतया कुनै पनि ठूलो विश्वासघाती वा दुष्ट कार्यहरू नगर्न सक्छन्, तर तिनीहरूको हित, प्रतिष्ठा, वा इज्जत संलग्न हुने बित्तिकै, तिनीहरू तुरुन्तै रिसले चुर हुन्छन्, हङ्गामा मच्चाउँछन्, अनियन्त्रित व्यवहार गर्छन्, र आत्महत्या गर्ने धम्की समेत दिन्छन्। मलाई भन, यदि परिवारमा यस्तो बेतुक र अनुचित रूपमा असभ्य व्यक्ति देखा पर्यो भने, के पूरै परिवारले कष्ट भोग्नेछैन र? त्यसपछि घर अराजकतामा डुब्छ, रुवाबासीले भरिन्छ, जसले गर्दा बाँच्न असहनीय हुन्छ। कतिपय मण्डलीहरूमा त्यस्ता मानिसहरू हुन्छन्; सबै कुरा सामान्य हुँदा यो कुरा स्पष्ट नहुने भए पनि, तिनीहरू कहिले विस्फोट भएर प्रकट हुन सक्छन् भन्ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। त्यस्ता मानिसहरूका प्राथमिक प्रकटीकरणहरूमा हङ्गामा मच्चाउने, उटपटाङ तर्कहरू गर्ने, र सार्वजनिक रूपमा अपशब्द बोल्ने कार्यहरू, र अरू कुराहरू समावेश हुन्छन्। यी व्यवहारहरू महिनामा एक पटक वा हरेक छ महिनामा एक पटक मात्रै देखा परे पनि, तिनले ठूलो हैरानी र कठिनाइ पैदा गर्छन्, र धेरैजसो मानिसहरूको मण्डली जीवनमा विभिन्न हदसम्म बाधा ल्याउँछन्। यदि कुनै व्यक्ति साँच्चै नै यो वर्गमा पर्छ भन्ने कुरा पुष्टि भयो भने, उसलाई तुरुन्तै तह लगाएर मण्डलीबाट निकाल्नुपर्छ। कतिपयले यसो भन्न सक्छन्, “यी मानिसहरूले कुनै दुष्कर्म गर्दैनन्। तिनीहरूलाई दुष्ट मानिस मान्न सकिँदैन; हामी तिनीहरूप्रति सहनशील र धैर्यवान हुनुपर्छ।” मलाई भन, के त्यस्ता मानिसहरूलाई तह नलगाउनु ठीक हुन्छ? (अहँ, ठीक हुँदैन।) किन हुँदैन? (किनभने तिनीहरूका कार्यले धेरैजसो मानिसहरूलाई ठूलो समस्यामा पार्छ र हैरान गर्छ, र मण्डली जीवनमा पनि बाधाहरू ल्याउँछ।) यो परिणामका आधारमा हेर्दा, मण्डली जीवनमा बाधा दिनेहरू दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरू नभए पनि, तिनीहरू मण्डलीमा बस्नु हुँदैन भन्ने कुरा स्पष्ट हुन्छ। किनभने त्यस्ता मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्, बरु यसप्रति वितृष्ण हुन्छन्, र तिनीहरूले परमेश्वरमा विश्वास गरेको जति वर्ष भए पनि वा तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरू सत्यतालाई स्वीकार गर्दैनन्। तिनीहरू कुनै खराब काम गरेर काटछाँटमा परेपछि, तिनीहरूले हङ्गामा मच्चाउँछन् र वाहियात कुराहरू बोल्छन्। कसैले तिनीहरूसँग सत्यतामा सङ्गति गर्दा पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्। तिनीहरूसँग कसैले तर्क गर्न सक्दैन। मैले तिनीहरूसँग सत्यतामा सङ्गति गर्दा पनि तिनीहरू बाहिर चुप लागेर बस्न सक्छन् तर भित्री रूपमा यसलाई स्वीकार गर्दैनन्। वास्तविक परिस्थितिहरूको सामना गर्दा, तिनीहरूले सधैँ जस्तै व्यवहार गर्छन्। तिनीहरूले मेरा वचनहरू सुन्दैनन्, त्यसकारण तिनीहरूले तिमीहरूको सल्लाहलाई अझै कम स्वीकार गर्नेछन्। यी मानिसहरूले ठूलो दुष्कर्म नगर्लान्, तर तिनीहरू सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्। तिनीहरूको प्रकृति सारलाई हेर्दा, तिनीहरूमा विवेक र समझको कमी हुने मात्र नभई तिनीहरू अव्यावहारिक, जानीजानी झन्झटिलो हुने, र समझ ग्रहण गर्न नसक्ने पनि हुन्छन्। के त्यस्ता मानिसहरूले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छन्? बिलकुलै सक्दैनन्! सत्यतालाई पटक्कै स्वीकार नगर्ने मानिसहरू अविश्वासीहरू हुन्, तिनीहरू शैतानका सेवकहरू हुन्। जब कामकुराहरू तिनीहरूको हिसाबले चल्दैन, तब तिनीहरूले हङ्गामा मच्चाउँछन्, निरन्तर उटपटाङ तर्कहरू गर्छन्, र सत्यतामा जसरी सङ्गति गरिए पनि तिनीहरूले सत्यता सुन्दैनन्। त्यस्ता मानिसहरू अव्यावहारिक र जानीजानी झन्झटिलो हुनेहरू, र खाँटी दियाबलसहरू र दुष्ट आत्माहरू हुन्; तिनीहरू पशुहरूभन्दा खराब हुन्छन्! ती खराब समझ भएका मानसिक रोगीहरू हुन्, र तिनीहरूले कहिल्यै साँचो पश्चात्ताप गर्न सक्दैनन्। तिनीहरू मण्डलीमा जति लामो समयसम्म बस्छन्, तिनीहरूसँग परमेश्वरबारे त्यति नै धेरै धारणाहरू हुन्छन्, तिनीहरूले परमेश्वरको घरसँग त्यति नै अनुचित मागहरू गर्छन्, र तिनीहरूले मण्डली जीवनमा त्यति नै ठूलो बाधा र हानि ल्याउँछन्। यसले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको कामको सामान्य प्रगतिमा असर गर्छ। मण्डलीको काममा तिनीहरूले गर्ने हानि दुष्ट मानिसहरूको भन्दा कम हुँदैन; तिनीहरूलाई मण्डलीबाट सुरुमै निकाल्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “के तिनीहरू अलिक अनियन्त्रित मात्रै हुँदैनन् र? तिनीहरू दुष्ट बन्ने हदसम्म पुग्दैनन्, त्यसकारण के तिनीहरूलाई प्रेम साथ व्यवहार गर्नु राम्रो हुँदैन र? यदि हामीले तिनीहरूलाई राख्यौँ भने, सायद तिनीहरूले परिवर्तन भएर मुक्ति पाउन सक्छन्।” म तँलाई भन्छु, यो असम्भव कुरा हो! यसमा कुनै “सायद” छैन—यी मानिसहरूलाई मुक्ति दिन सकिँदै सकिँदैन। किनभने तिनीहरूले सत्यता बुझ्न सक्दैनन्, यसलाई स्वीकार गर्नु त परको कुरा हो; तिनीहरूमा विवेक र समझको कमी हुन्छ, तिनीहरूको सोचाइको प्रक्रिया असामान्य हुन्छ, र तिनीहरूमा मानव हुनका लागि चाहिने सबैभन्दा आधारभूत सामान्य समझको समेत कमी हुन्छ। तिनीहरू कमजोर समझ भएका मानिसहरू हुन्। परमेश्वरले त्यस्ता मानिसहरूलाई बिलकुलै मुक्ति दिनुहुन्न। अलिक सामान्य सोचाइ भएका र अलिक राम्रो क्षमता भएका मानिसहरूले पनि सत्यतालाई पटक्कै स्वीकार गर्दैनन् भने, तिनीहरूले मुक्ति पाउन सक्दैनन्, कमजोर समझ भएका मानिसहरूले मुक्ति पाउनु त परको कुरा हो। त्यस्ता मानिसहरूलाई अझै पनि प्रेम साथ व्यवहार गर्नु र तिनीहरूका लागि आशा राख्नु, के त्यो अत्यन्तै मूर्ख र अज्ञानी कार्य होइन र? अहिले म तिमीहरूलाई यो कुरा भनिरहेको छु: अव्यावहारिक, जानीजानी झन्झटिलो हुने, र समझ ग्रहण गर्न नसक्ने मानिसहरूलाई मण्डलीबाट पखालेर फ्याँक्नु पूर्ण रूपमा सही कुरा हो। यसले मण्डली र परमेश्वरका चुनिएका मानिसहरूप्रतिको तिनीहरूको दुर्व्यवहारलाई आधारभूत रूपमा अलग गर्छ। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। यदि कुनै मण्डलीमा त्यस्ता अनुचित मानिसहरू छन् भने, परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूबारे रिपोर्ट गर्नुपर्छ, र अगुवा र कामदारहरूले त्यस्ता रिपोर्टहरू प्राप्त गरेपछि, तिनीहरूले तुरुन्तै उनीहरूलाई सम्हाल्नुपर्छ। छैटौँ प्रकारका मानिसहरू—अव्यावहारिक र जानीजानी झन्झटिलो हुनेहरूलाई सम्हाल्ने सिद्धान्त यही हो।
ग. निरन्तर लम्पट क्रियाकलापहरूमा संलग्न हुनु
सातौँ प्रकार भनेको लम्पट क्रियाकलापहरूमा संलग्न हुनेहरू हुन्, जुन प्रायजसो उल्लेख गरिने समूह हो। तिनीहरूको मानवताका प्रकटीकरणहरू त्यति दुष्ट नहुने भए पनि—तिनीहरूले कलह पैदा गर्ने, वा दुष्ट कार्यहरू गर्ने र अवरोध ल्याउने जस्ता कुराहरू नगरे पनि—तिनीहरूमा एउटा साझा विशेषता हुन्छ, जुन के हो भने, विपरीत लिङ्गीसँगको तिनीहरूको सम्बन्धमा सधैँ समस्या र घटनाहरू देखा पर्छन्। अवसरहरू उपलब्धभए पनि वा नभए पनि, तिनीहरूका लागि सधैँ त्यस्ता समस्याहरू देखा पर्छन्, र यदि अवसरहरू छैनन् भने, तिनीहरूले ती अवसर पैदा गर्छन्, ताकि त्यस्ता “कथाहरू” जसरी भए पनि देखा पर्न सकून्। परिस्थिति जस्तोसुकै भए पनि, अर्को व्यक्ति जो भए पनि, वा त्यो व्यक्ति तिनीहरूबाट जति टाढा भए पनि, तिनीहरूको जीवनमा बेला बेलामा यस्ता घटनाहरू घटिरहेका हुन्छन्। कस्तो प्रकारका घटनाहरू? तिनीहरूले कसैसँग डेट गर्छन्, वा सधैँ कसैको नजिक हुन चाहन्छन्, वा तिनीहरूमा कसैप्रति भावना पलाउँछ, वा तिनीहरूले कसैलाई आँखा लगाउँछन्, र यस्तै अरू कुराहरू। तिनीहरू सधैँ सामान्य रूपमा जिउन र आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न असफल हुन्छन्, र तिनीहरू निरन्तर कामवासनापूर्ण चाहनाहरूको प्रभावमा हुन्छन्। अर्थात्, सामान्य मानिसहरू त्यस्ता समस्याहरूमा संलग्न नहुने साधारण परिस्थितिहरूमा, तिनीहरू प्रायजसो संलग्न हुन्छन्। तिनीहरूलाई तिनीहरूका लागि अवसरहरू सिर्जना गर्ने कुनै विशेष परिस्थिति वा कसैको आवश्यकता पर्दैन; यी घटनाहरू स्वाभाविक रूपमा नै घट्छन्। त्यस्ता घटनाहरू घटेपछि, परिणामहरू जेसुकै भए पनि, मानिसहरूको एउटा समूह वा निश्चित व्यक्तिलाई सधैँ यसको मूल्य चुकाउन लगाइन्छ। तिनीहरूले के-कस्ता मूल्य चुकाउँछन्? तिनीहरूको कर्तव्य पूरा गर्ने कार्यमा असर पर्छ; मण्डलीको काममा ढिलाइ र व्यवधान हुन्छ; कतिपय जवान मानिसहरू व्याकुल हुन्छन् र परीक्षामा पर्छन्, र तिनीहरूले परमेश्वरमा विश्वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने रुचि गुमाउँछन्; अनि कतिपय मानिसहरूले आफ्नो कर्तव्य समेत गुमाउँछन् वा त्याग्छन्। लम्पट क्रियाकलापहरूमा संलग्न हुने मानिसहरू अत्यन्तै झन्झटिला हुन्छन्। हरेक मोडमा, विपरीत लिङ्गका मानिसहरू तिनीहरूको वरिपरि झुम्मिन्छन्, तिनीहरूसँग नजिक हुन्छन्, तिनीहरूसँग जिस्किन्छन्, र ठट्टा समेत गर्छन्। कुनै पनि अत्यावश्यक प्रकृतिका गम्भीर समस्याहरू देखा पर्न नसक्ने भए पनि, तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा उनीहरूको सामान्य स्थितिमा गम्भीर रूपमा बाधा दिन्छन्। तिनीहरू जहाँ गए पनि, तिनीहरूले अरूको जीवनमा, काममा, र मण्डलीमा समस्या र अवरोध ल्याउँछन्, र अवसर पाउनेबित्तिकै आफूलाई आकर्षक लागेका विपरीत लिङ्गका सदस्यहरूलाई समेत लोभ्याउँछन्, र तिनीहरूसँग सम्बन्धहरू गाँस्छन्। यो ठूलो झन्झट हो। ऊ कसैको प्रेममा परेपछि, त्यो व्यक्ति दुर्भाग्यको सिकार हुनु अपरिहार्य हुन्छ, र उसले त्यस उप्रान्त परमेश्वरमा सामान्य रूपमा विश्वास गर्न वा आफ्नो कर्तव्य पूरा गर्न सक्दैन। परिणामहरू अकल्पनीय हुन्छन्। त्यो व्यक्तिले कामवासनाको प्रलोभनमा पार्ने व्यक्तिलाई सम्पर्क नगरी वा नदेखी हुँदैन, र ऊ आफ्नो कर्तव्य पूरा गर्नमा व्यस्त हुँदा, उसले विवाह गर्न वा घरजम गर्न सक्दैन, र सम्बन्ध अटुट रहन्छ। अन्त्यमा के हुन्छ? तिनीहरूले भयानक रूपमा, र ठूलो पीडा साथ कष्ट भोग्न थाल्छन्! यदि तिनीहरूले विपत्तिहरूमा दण्ड नपाएसम्म सहे भने, तिनीहरूका लागि सब खत्तम हुन्छ, र मुक्ति पाउने तिनीहरूको आशा धराशायी हुन्छ। कतिपयले एक पटक चिढ्याउँछन् र काटछाँटमा परेपछि पश्चात्ताप गर्दैनन्, तर दोस्रो वा तेस्रो पटक चिढ्याउँछन्, दुई-तीन वर्षमा तीन-चार वटा सम्बन्धमा संलग्न हुन्छन्, जसले गर्दा परमेश्वरका चुनिएका मानिसहरू र मण्डली जीवनमा बाधा हुन्छ, र यसले परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूलाई घृणा गर्ने तुल्याउँछ। यसले तिनीहरूमा एउटा कलङ्क लगाइदिन्छ, जसका लागि तिनीहरूले आफ्नो बाँकी जीवनभरि पछुतो गर्छन्।
कतिपय मानिसहरू अलिक सुन्दर देखिने, र तिनीहरूमा निश्चित मात्रामा शालिनता र केही वरदान र प्रतिभा हुने भएकाले, वा तिनीहरूले कुनै महत्त्वपूर्ण काम सम्हालेका हुनाले, विपरीत लिङ्गका सदस्यहरू तिनीहरूसँग सधैँ भुसुना जस्तै टाँसिइरहेका हुन्छन्। कतिले तिनीहरूलाई खाना खुवाउँछन्, कतिले तिनीहरूको ओछ्यान मिलाइदिन्छन्, कतिले लुगा धोइदिन्छन्, कतिले तिनीहरूलाई स्वास्थ्य सामग्री र सौन्दर्य सामग्री किनिदिन्छन् र स-साना उपहार दिन्छन्, इत्यादि। तिनीहरू आउने सबैलाई स्वागत गर्छन्, अरूको यस्तो व्यवहार अनुचित छ भन्ने थाहा पाए पनि त्यसलाई कहिल्यै इन्कार गर्दैनन्, यसरी विपरीत लिङ्गका धेरै सदस्यहरूलाई एकै पटक कामवासनाको प्रलोभनमा पार्छन्। ती मानिसहरू तिनीहरूको सेवा गर्ने मौकाका लागि एक-अर्कासँग होड गर्छन्, यसरी एक-अर्कासँग प्रतिस्पर्धा गर्छन् र एक-अर्काको डाहा गर्छन्, जबकि लम्पट व्यक्तिले आफूलाई अत्यन्तै आकर्षक ठानेर यो अनुभूतिको आनन्द लिन्छ। वास्तवमा, पुरुष र महिलाका मामलाहरू वयस्कहरूले राम्ररी बुझ्छन्, र कतिपय नाबालिगहरूले समेत ती कुरा बुझ्छन्; मूर्ख, बौद्धिक रूपमा अशक्त, वा मानसिक रोगीहरूले मात्रै ती कुरा बुझ्दैनन्। यी मानिसहरूले किन विपरीत लिङ्गको एउटा सदस्यको सेवा गर्न र उसलाई खुसी पार्न यति जोडदार रूपमा प्रतिस्पर्धा गर्छन्? यो सबै कामवासनाको प्रलोभनमा पार्न चाहनुसँग सम्बन्धित हुन्छ, होइन र? यसलाई स्पष्ट पार्नु पर्दैन; के भइरहेको छ भन्ने कुरा सबैलाई थाहा हुन्छ। यो मानिसहरूलाई राम्ररी थाहा हुने, स्पष्ट रूपमा अनुचित कुरा हो, तैपनि त्यो व्यक्तिले यसलाई इन्कार गर्दैन, तर चुपचाप सहमति जनाउँछ—त्यसलाई के भनिन्छ? यसलाई जिस्किनु भनिन्छ। यो पुरुष र महिला बीचमा हुने कामवासनाको प्रलोभन हो भन्ने तिनीहरूलाई थाहा हुन्छ, तर देहका वासनाहरूलाई सन्तुष्ट पार्दा आउने उत्साहका हकमा, तिनीहरू इन्कार गर्न चाहँदैनन्। तिनीहरूलाई यो अनुभूति एक प्रकारको आनन्द हो, संसारको कुनै पनि स्वादिष्ट खानाभन्दा पनि राम्रो हो भन्ने लाग्छ, त्यसकारण तिनीहरू इन्कार गर्दैनन्। जब सम्बन्धित व्यक्तिले इन्कार गर्दैन, तब उसलाई कामवासनाको प्रलोभनमा पार्नेहरू झनै खुसी हुन्छन्, र आफूलाई त्यो व्यक्तिले मन पराएको व्यक्ति ठान्छन्, र आन्तरिक रूपमा परिस्थितिको आनन्द लिन्छन्। अनि त्यो व्यक्तिले के सोच्छ भने, कुनै दह्रिलो सम्बन्ध विकास नभएसम्म, यसलाई कुनै गम्भीर कुरा मानिँदैन, गैरविश्वासीहरूका बीचमा हुने लम्पटता निकै खराब हुन्छ, र यसलाई सामान्य डेटिङ जस्तै बढीमा कामवासनाको प्रलोभनक रूपमा लिइन्छ। तर के डेटिङ यसरी हुनुपर्ने हो? आज एक जनासँग, भोलि अर्को व्यक्तिसँग, जोसुकैसँग डेटिङ र कामवासनाको प्रलोभनमा लापरवाह रूपमा बारम्बार संलग्न हुने। त्यस्ता लम्पट मानिसहरूले जहाँ गए पनि, आफ्ना कामवासनापूर्ण चाहनाहरू उजागर गर्नु, देखावटी गर्नु, र कामवासनाको प्रलोभनमा संलग्न हुनुलाई प्राथमिकता दिन्छन्। तिनीहरूले जति धेरै मानिसहरूलाई प्रलोभनमा पार्छन्, तिनीहरूलाई त्यति नै खुसी लाग्छ। आखिरमा के हुन्छ? तिनीहरूले बारम्बार देखावटी गरेपछि, कतिपय दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको व्यवहारलाई खुट्ट्याउँछन् र सामूहिक रूपमा माथिल्लो स्तरका अगुवाहरूलाई पत्र लेख्छन्। अनुसन्धानले तिनीहरूको दाबीलाई पुष्टि गर्छ, र त्यो लम्पट व्यक्तिलाई मण्डलीबाट पखालिन्छ। देख्यौ त, के हुन्छ? के परमेश्वरमा विश्वास गर्ने तिनीहरूको मार्ग त्यहीँ समाप्त हुँदैन र? तिनीहरूको नतिजा प्रकट हुन्छ। मानिसहरूलाई असहनीय लाग्ने तिनीहरूका कार्य र व्यवहार परमेश्वरका लागि झनै घृणित हुन्छन्। यी मानिसहरूले प्रदर्शन गर्ने व्यवहारले मानिसहरूबीचका उचित सम्बन्धहरूलाई प्रतिनिधित्व गर्दैन, न त यसले सामान्य मानवका आवश्यकताहरूलाई नै प्रतिबिम्बित गर्छ। तिनीहरूका कार्यलाई एउटै शब्दले व्याख्या गर्न सकिन्छ: “लम्पटता।” लम्पटताले केलाई जनाउँछ? यसको अर्थ विपरीत लिङ्गीहरूसँग लापरवाह रूपमा सम्बन्धमा संलग्न हुनु, अरूलाई मनोमानी ढङ्गले गैरजिम्मेवार रूपमा कामवासनाको प्रलोभनमा पार्नु, र विपरीत लिङ्गका मानिसहरूलाई लोभ्याउनु र सताउनु हो। यो त कामवासनासँग खेल्नु हो, र मूल्य वा परिणामहरूबारे नसोची त्यसो गर्नु हो। यदि अन्तमा कुनै व्यक्ति तिनीहरूको पासोमा पर्छ र रोमान्टिक रूपमा जिस्किन्छ भने, तिनीहरूले यसो भन्दै यस कुरालाई स्वीकार गर्न मान्दैनन्, “मैले त ठट्टा मात्रै गरिरहेको थिएँ। के तिमीले यसलाई गम्भीरतापूर्वक लियौ? मैले वास्तवमा यसो भन्न चाहेको थिइनँ; तिमीले त पत्याइहालेछौ।” के यो दियाबलसले मानिसहरूलाई परीक्षामा पार्नु होइन र? एक जना व्यक्तिलाई परीक्षामा पारेपछि, तिनीहरूले अर्को निसाना खोज्छन्, र अरूलाई कामवासनाको प्रलोभनमा पार्छन्। तिनीहरू कति भयानक र दुष्ट हुन्छन्! कसैलाई कामवासनाको प्रलोभनमा पारेपछि, तिनीहरूले त्यसलाई स्वीकार गर्न मान्दैनन्। यदि कुनै व्यक्ति त्यस्तो व्यक्तिको बहकाउमा परेर फस्छ भने, के त्यो घिनलाग्दो कुरा होइन र? (हो।) के लापरवाह ढङ्गले अरूलाई कामवासनाको प्रलोभनमा पार्ने मानिसहरू घृणास्पद हुन्छन्? (हुन्छन्।) यदि कुनै व्यक्ति विवाह गर्ने उमेरमा पुगेको छ र ऊ वयस्क हो भने, परमेश्वरको घरले उसको सामान्य डेटिङ वा उसले विवाह गरेर सामान्य रूपमा दिनहरू सँगै बिताउने कार्यको विरोध गर्दैन, र उसलाई त्यस कार्यमा संलग्न हुन अनुमति र स्वतन्त्रता दिन्छ भनेर परमेश्वरको घरले सुरुदेखि नै भनेको छ। तर, केही सर्तहरू छन्: लम्पट क्रियाकलापहरूमा संलग्न हुन अनुमति हुँदैन; लापरवाह ढङ्गले अर्को लिङ्गको व्यक्तिलाई कामवासनाको प्रलोभनमा पार्ने र जिस्किने, र यत्तिकै उसलाई सताउने अनुमति हुँदैन। परमेश्वरको घरले डेटिङमा रोकटोक गर्दैन, तर यसले लापरवाह कामवासनाको प्रलोभनलाई अनुमति दिँदैन। लापरवाह कामवासनाको प्रलोभन भनेको के हो? यसको अर्थ विपरीत लिङ्गको कुनै पनि सदस्यलाई दुर्व्यवहार गर्नु, र त्यसो गरेपछि, दुर्व्यवहार गरेको छु भनेर स्वीकार नगर्नु हो। तिनीहरूले दुर्व्यवहार गर्ने मानिसहरू तिनीहरूको साँचो प्रेम हुँदैनन्; तिनीहरूले दीर्घकालीन सम्बन्धमा संलग्न हुने वा विवाह गर्ने अभिप्राय राख्दैनन् तर अर्को व्यक्तिलाई कामवासनाको प्रलोभनमा पार्न, खेलौना बनाउन, तिनीहरूबाट उत्साह र जोसको खोजी गर्न, धेरै जनासँग लसपस गर्न, र व्यभिचारीले जस्तो व्यवहार गर्न मात्रै चाहन्छन्—लम्पटता भन्ने कुरा यही हो। मण्डलीमा, लम्पटताको अनुमति छैन, र यदि यस्तो भयो भने, संलग्न व्यक्तिहरूलाई मानिसहरूलाई निकाल्ने सिद्धान्तहरू अनुसार सम्हाल्नुपर्छ। अवश्य नै, सुसमाचार समूहभित्र, सुसमाचार प्रचार गर्ने मानिसहरूका हकमा यस्ता परिस्थितिहरू देखा पर्न अनुमति दिइँदैन, चाहे तिनीहरू पूर्णकालीन कर्तव्य मण्डलीहरूबाट आएका मानिसहरू हुन् वा साधारण मण्डलीहरूबाट आएका मानिसहरू हुन्। यदि कसैले लापरवाह ढङ्गले अरूलाई कामवासनाको प्रलोभनमा पार्न सुसमाचार प्रचारको बहाना प्रयोग गर्छ, सहकार्य गर्न विपरीत लिङ्गका सदस्यहरूलाई मात्रै छनौट गर्छ, वा विपरीत लिङ्गका सदस्यहरूलाई मात्रै सुसमाचार प्रचार गर्छ, यसरी अनुचित सम्बन्धहरूमा संलग्न हुने अवसर लिन्छ भने, यसले परमेश्वरको सुसमाचारको काममा बाधा र अवरोध ल्याउँछ। अगुवा र कामदारहरूले त्यस्ता मानिसहरूलाई तुरुन्तै पखाल्नुपर्छ।
विपरीत लिङ्गका सदस्यहरूलाई भेट्न र लम्पट क्रियाकलापहरूमा संलग्न हुनका लागि, कतिपय मानिसहरूले उमेरलाई ध्यान दिँदैनन् र तिनीहरूका लागि उमेरको कुनै सीमा हुँदैन। तिनीहरूले अलिकति पनि लाज नमानी सके जति धेरैलाई कामवासनाको प्रलोभनमा पार्ने प्रयास गर्छन्। कतिपयले विपरीत लिङ्गका मानिसहरूलाई कामवासनाको प्रलोभनमा पार्दै आफ्नो देहका वासनापूर्ण चाहनाहरूलाई सन्तुष्ट पार्ने मात्र गर्दैनन्—तिनीहरूले अर्को पक्षलाई आफ्नो जीविकोपार्जनको खर्च तिर्न, तिनीहरूलाई सामान किन्न, इत्यादि कुरा गर्न समेत लगाउँछन्। यदि तिमीहरूले त्यस्ता मानिसहरू भेट्टायौ वा कसैले त्यस्ता घटनाहरूका बारेमा रिपोर्ट गर्यो भने, तिनीहरूलाई तुरुन्तै सम्हाल्नुपर्छ। एउटै मात्र समाधान भनेको यी मानिसहरूलाई निक्लानु, तिनीहरूलाई स्थायी रूपमा निकाल्नु हो। किनभने यस्ता समस्या भएका मानिसहरूका हकमा, यो क्षणिक समस्या मात्रै हुँदैन। विवाह भएका मानिसहरूका हकमा यो कुरा विशेष रूपमा लागू हुन्छ—घरमा श्रीमान-श्रीमती भए पनि, तिनीहरूले सुसमाचार प्रचार गर्ने बहानामा विपरीत लिङ्गीहरूलाई विशेष रूपमा निसाना बनाउँछन्। तिनीहरूले धनी होस् वा गरिब होस्, कुनै पनि प्रकारको व्यक्तिको खोजी गर्छन्, र तिनीहरूले मन पर्ने व्यक्ति भेट्टाए भने, तिनीहरू उनीहरूसँग भाग्न समेत सक्छन्, र तिनीहरूले सुसमाचार प्रचार गर्न समेत छोड्छन्—परमेश्वरमा विश्वास नै गर्न छोड्छन्। यदि त्यस्ता मानिसहरूलाई चाँडै पत्ता लगाउन सकियो भने, तिनीहरूलाई अर्को मौका नदिई, र थप निगरानीमा नराखी सुसमाचार प्रचार गर्नेहरूको वर्गबाट तुरुन्तै र स्थायी रूपमा निकाल्नुपर्छ। बुझ्यौ? कतिपयले भन्छन्, “कतिपयका लागि, जीवन कठिन हुन्छ। यदि तिनीहरूले विपरीत लिङ्गको कसैलाई परिवार बनाउन कामवासनाको प्रलोभनमा पारे, र अर्को व्यक्तिले परमेश्वरमा विश्वास गर्न र उसलाई साथ दिन सक्छ भने, के त्यो दुवै जनाका लागि फाइदाजनक हुनेछैन र?” म तँलाई भन्छु, त्यस्ता मानिसहरूलाई जति सक्दो चाँडो निकाल्नैपर्छ; तिनीहरू पारिवारिक जीवनका लागि नभई लम्पट क्रियाकलापहरूमा संलग्न हुनका लागि यसमा संलग्न हुन्छन्। म किन यति निश्चित छु? यदि तिनीहरू लम्पट क्रियाकलापहरूमा संलग्न हुने मानिसहरू नभएका भए, परमेश्वरमा विश्वास गर्न थालेपछि, तिनीहरूले त्यस्तो व्यवहारलाई पटक्कै जारी राख्नेथिएनन् र ती कुरालाई घृणित ठान्नेथिए, विशेष गरी यदि तिनीहरू विवाहित छन् भने। अहिले सम्पूर्ण संसारका प्रचलनहरू लम्पट र दुष्ट छन्; मानिसहरू आफ्नो वासनामा डुब्छन् र कुनै पनि संयमताविना विपरीत लिङ्गका अझै बढी सदस्यहरूलाई कसले कामवासनाको प्रलोभनमा पार्न सक्छ भनेर प्रतिस्पर्धा गर्छन्, किनभने यो समाज र यो मानवजातिले यी कार्यहरूलाई निन्दा वा गिल्ला गर्दैनन्। त्यसकारण, मानिसहरू आफूले लम्पट क्रियाकलापहरूमा संलग्न भएर र आफ्नो देह बेचेर पैसा कमाउन सकेमा, त्यो सीप वा क्षमताको चिन्ह हो भन्ने सोच्छन्। तिनीहरूले यसलाई गर्व गर्नुपर्ने कुराका रूपमा लिन्छन्। तर, परमेश्वरमा विश्वास गर्न थालेपछि, यी कुराहरूप्रतिको मानिसहरूको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन हुन्छ। तिनीहरूले देहका वासनाहरूलाई सम्हाल्ने सही तरिका खोज्छन्, जुन मुख्य रूपमा संयमतासँग सम्बन्धित हुन्छ। व्यक्तिले कसरी संयमताको अभ्यास गर्न सक्छ? मानिसहरूले लाजलाई चिन्नुपर्छ र तिनीहरूमा लाजको बोध हुनुपर्छ। सामान्य मानवता भनेको यही हो। हरेक व्यक्तिमा कामवासना हुन्छ, तर लाजको बोध हुनका लागि मानिसहरूले आफूलाई नियन्त्रण गर्न जान्नुपर्छ। तिनीहरूसँग यस्ता केही विचारहरू भए पनि, तिनीहरूले आफूलाई काबुमा राख्नुपर्छ किनभने तिनीहरू परमेश्वरमा विश्वास गर्छन् र तिनीहरूसँग विवेक र समझ हुन्छ। तिनीहरूले आफ्नो मनका अनुचित विचारहरू पटक्कै पछ्याउनु हुँदैन, तिनमा लिप्त हुनु त परको कुरा हो। तिनीहरूले यी समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। तिनीहरू सत्यता नबुझ्ने नयाँ विश्वासीहरू भए पनि, तिनीहरूले अझै पनि आफूलाई मानव नैतिकताको सबैभन्दा आधारभूत मापदण्डहरूसँग तुलना गर्नुपर्छ। यदि तँमा यो स्तरको संयमता समेत छैन भने, तँमा सामान्य मानवता र सामान्य मानवताको विवेक र समझको कमी छ। सबै प्रकारका पशुहरूले यस विषयमा निश्चित व्यवस्था र नियमहरू पालना गर्छन्, लापरवाह व्यवहार गर्दैनन्; मानवका रूपमा, मानिसहरूमा लापरवाह व्यवहार गर्ने सम्भावना अझै कम हुनुपर्छ, र तिनीहरूसँग अझै बढी संयमता हुनुपर्छ। यदि तँमा यो स्तरको संयमता र आत्म-नियन्त्रण समेत छैन भने, तैँले कसरी सत्यताको खोजी गर्ने र अभ्यास गर्ने आशा गर्न सक्छस्? यदि तैँले आफ्नो दुष्ट वासनाको चाहनालाई समेत समाधान गर्न सक्दैनस् भने, आफ्नो भ्रष्ट स्वभावलाई कसरी समाधान गर्न सक्छस्? परमेश्वरलाई विरोध गर्ने र धोका दिने तेरो प्रकृतिलाई समाधान गर्न झनै असम्भव हुनेछ, होइन र? (हो।) यदि तैँले देहका कामवासनाहरूलाई समेत सम्हाल्न सक्दैनस् भने, तैँले आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्ने आशा कसरी गर्न सक्छस्? यसबारे विचार समेत नगर्। तैँले यसलाई हासिल गर्न सक्नेछैनस्।
कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्दा सधैँ डेटिङ गर्ने अवसरहरू खोज्छन्, र यस्ता घटनाहरू प्रायजसो घट्ने गर्छन्। आफ्नो उचित कामलाई बेवास्ता गर्दै बानी परेरै रोमान्टिक सम्बन्धमा संलग्न हुनेहरूलाई निकालिएको छ र तह लगाएको छ, जबकि कहिलेकहीँ अपराध गर्नेहरूलाई चेतावनी दिइन्छ। दुष्ट स्वभाव भएका यी व्यक्तिहरूले सही परिस्थितिहरू भेट्टाएपछि र आफूले प्रेमी मान्ने व्यक्तिलाई भेटेपछि, तिनीहरू परीक्षामा पर्छन्। यसरी परमेश्वरमा विश्वास गरेर आशिष्हरू प्राप्त गर्ने तिनीहरूको अभिप्राय तिनीहरूको दुष्ट कामवासनाका बीचमा हराउँछ। तिनीहरू रोमान्टिक सम्बन्धमा प्रवेश गर्ने बित्तिकै, तिनीहरूले अरू सबै कुरालाई बेवास्ता गर्छन्, आशिष् पाउने आफ्नो अभिप्रायलाई समेत त्याग्छन्, र देहको खुसीलाई मात्रै पछ्याउँछन्। एक-दुई पटक अपराध गरेपछि, तिनीहरूलाई अलिक आत्म-आरोपी र व्यथित महसुस हुन सक्छ, तर तीन-चार पटक गरेपछि, यो लम्पटता बन्छ। लम्पटता पैदा भएपछि, तिनीहरूलाई आत्म-आरोप वा व्यथा महसुस हुँदैन, किनभने व्यक्तिको मानवताको मूलभूत आधार अर्थात् लाजको तह तोडिसकिएको हुन्छ। तिनीहरूले उप्रान्त लम्पटतालाई लाजमर्दो ठान्दैनन् र यसरी यसमा संलग्न भइरहन्छन्। लम्पटतामा निरन्तर संलग्न हुन सक्नेहरू विशेष रूपमा आफ्नो कामुक इच्छाहरूमा लिप्त हुन्छन्, र कुनै संयम देखाउँदैनन्। त्यस्ता व्यक्तिहरूलाई मण्डलीमा आउन अनुमति हुँदैन, र तिनीहरूलाई पखाल्नुपर्छ; तिनीहरूलाई धेरै लाडप्यार नगर वा तिनीहरूलाई राख्नका लागि कुनै बहाना नबनाओ। परमेश्वरको घरमा सुसमाचार प्रचार गर्ने मानिसहरूको कमी छैन; यसलाई ठाउँ मात्रै ओगट्न यस्ता व्यभिचारीहरूको आवश्यकता छैन, किनभने यसले परमेश्वरको गम्भीर रूपमा बदनाम गर्छ। त्यसकारण, यदि कसैले रिपोर्ट गर्यो वा तैँले सुसमाचार प्रचार गर्ने समूहभित्र त्यस्ता व्यक्तिहरूलाई व्यक्तिगत रूपमा भेट्टाइस् भने, के गर्ने भन्ने कुरा तँलाई थाहा हुनुपर्छ। यदि कतिपय नयाँ विश्वासीहरूमा यो समस्या छ भने, तिमीहरूले सुरुमा यस समस्याबारेको सत्यतामा सङ्गति गर्नुपर्छ, र लम्पट कार्यहरू गर्नेहरूप्रति मण्डलीका सिद्धान्त र मनोवृत्तिहरू के-के हुन् भनेर सबैलाई थाहा दिनुपर्छ। कम्तीमा पनि, तिनीहरूलाई त्यसमा पर्नबाट र सुसमाचारको प्रचारलाई त्यस्ता व्यवहारहरूमा संलग्न हुने अवसरका रूपमा प्रयोग गर्नबाट रोक्नका लागि प्रारम्भिक चेतावनी दिइनुपर्छ, र अन्तिममा अग्रिम रूपमा सान्दर्भिक सत्यता सिद्धान्तहरूमा सङ्गति नगरेकोमा इन्चार्जहरू वा अगुवा र कामदारहरूलाई दोष दिनुपर्छ। त्यसकारण, त्यस्ता घटनाहरू घट्नुभन्दा पहिले, कतिपय मानिसहरूलाई त्यस्ता व्यक्ति र मामलाहरूप्रति परमेश्वरको घरको मनोवृत्तिबारे थाहा हुनुभन्दा पहिले, जब मानिसहरू यी समस्याहरूका बारेमा स्पष्ट हुँदैनन्, तब अगुवा र कामदारहरूले ठोस र स्पष्ट रूपमा यी सिद्धान्तहरूमा सङ्गति गर्नुपर्छ, ताकि तिनीहरूले यी मामलाहरू कस्तो व्यवहार र प्रकृतिमा पर्छन्, र त्यस्ता मामला र व्यक्तिहरूप्रति परमेश्वरको घरको मनोवृत्ति कस्तो छ भन्ने कुरा जानून्। यी सिद्धान्तहरूमा राम्ररी सङ्गति गरिसकेपछि, यदि यी सिद्धान्तहरू थाहा भए पनि तिनीहरू अझै पनि आफ्नै मार्गमा टाँसिइरहन्छन् र आफ्नो मार्गमा लागिरहन्छन् भने, तिनीहरूलाई तह लगाउनुपर्छ र नष्ट गर्नुपर्छ, तिनीहरूलाई हटाइनुपर्छ। यदि त्यस्ता व्यक्तिहरू मण्डलीमा देखा पर्छन्, र अरूलाई कामवासनाको प्रलोभनमा पारेर वा विपरीत लिङ्गका मानिसहरूलाई बारम्बार दुर्व्यवहार गरेर प्रायः फसाद गराउँछन् भने, तिनीहरूसँग अवश्य नै समस्याहरू हुन्छन्। कुनै महत्त्वपूर्ण समस्याहरू देखा परेका छैनन् भने पनि, अगुवा र कामदारहरूले यी व्यक्तिहरूलाई चेतावनी दिनुपर्छ र तह लगाउनुपर्छ, वा मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने ठाउँहरूबाट तिनीहरूलाई हटाउनुपर्छ; गम्भीर अवस्थामा, तिनीहरूलाई सीधै निकाल्नुपर्छ। मानिसहरूको मानवताको प्रकटीकरणहरूको सातौँ पक्षबारेको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।
डिसेम्बर १८, २०२१