परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ
परमेश्वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै खोलिसकिएको छ। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, तिमीहरू के पर्खदैछौ? तिमीहरूले खोजेको के हो? के तिमीहरू परमेश्वर देखा पर्नुहुने पर्खाइमा छौ? के तिमीहरू उहाँका पाइलाहरू खोजिरहेका छौ? परमेश्वरको देखा पराइलाई कस्तो तृष्णा गर्छन्! अनि परमेश्वरका पाइलाहरू भेट्टाउन कति गाह्रो छ! यस्तो युगमा, यस्तो संसारमा, परमेश्वर देखा पर्नुहुने दिनलाई देख्नको लागि हामीले के गर्नुपर्छ? परमेश्वरका पाइलाहरू पछ्याउन हामीले के गर्नुपर्छ? परमेश्वर देखा पर्नुहुने पर्खाइमा रहेका सबै जनाले यस्तो प्रकारको प्रश्नहरूको सामना गरिरहेका हुन्छन्। तिमीहरू सबैले एकभन्दा धेरै समय ती कुराहरूको विचार गरेका छौ—तर परिणाम के भयो त? परमेश्वर कहाँ देखा पर्नुहुन्छ? परमेश्वरका पाइलाहरू कहाँ छन्? के तिमीहरूले यसको जवाफ पाएका छौ? धेरै मानिसहरूले यसरी जवाफ दिन सक्छन्: “उहाँलाई पछ्याउनेहरूका बीचमा परमेश्वर देखा पर्नुहुन्छ र उहाँका पाइलाहरू हामीमाझ छन्; यो त स्पष्ट छ!” जो कसैले पनि सूत्रगत उत्तर दिन सक्छ, तर के तिमीहरू परमेश्वर देखा पर्नु वा उहाँका पाइलाहरूको अर्थ के हो भनी बुझ्छौ? परमेश्वर देखा पर्नुले उहाँ आफै व्यक्तिगत रूपमा उपस्थित भई उहाँको काम गर्नको निम्ति पृथ्वीमा उहाँको आगमनलाई जनाउँछ। उहाँको आफ्नै पहिचान र स्वभावको साथमा, र उहाँको आफ्नै अन्तर्निहित शैलीमा, उहाँ मानिसहरूको बीचमा युगको सुरुवात गर्ने र युगको अन्त गर्ने काम गर्न ओर्ली आउनुहुन्छ। यस्तो देखापराइ चाहिँ एक प्रकारको समारोह भने होइन। यो कुनै चिन्ह, तस्वीर, अचम्मको काम वा कुनै किसिमको ठूलो दर्शन होइन; यो कुनै प्रकारको धार्मिक प्रक्रिया हुने त कुरै छौडौं। यो जो कसैले पनि छुन र हेर्न सक्ने वास्तविक र यथार्थ तथ्य हो। यस्तो देखापराइ चाहिँ झारा टार्नका लागि वा कुनै छोटो समयको कामका निम्ति होइन; बरु, यो त उहाँको व्यवस्थापन योजनाको कामको एउटा चरणको निम्ति हो। परमेश्वरको देखापराइ जहिले पनि अर्थपूर्ण हुन्छ र यसले सँधै उहाँको व्यवस्थापनको योजनासँग केही सम्बन्ध राख्छ। यहाँ भनिएको “देखापराइ” त्यस्तो “देखापराइ” भन्दा पूर्ण रूपले भिन्न छ, जसमा परमेश्वरले मानिसलाई अगुवाइ गर्नुहुन्छ, मार्गदर्शन र अन्तर्दृष्टि दिनुहुन्छ। प्रत्येक चोटि उहाँले आफैलाई प्रकट गर्नुहुँदा परमेश्वरले उहाँको महान कामको चरणलाई अघि बढाउनुहुन्छ। यो कार्य अरू कुनै युगको भन्दा भिन्न हुन्छ। यो मानिसको निम्ति अकल्पनीय छ र मानिसले कहिल्यै अनुभव गरेको छैन। यो काम नयाँ युगलाई सुरुवात गर्ने र पुरानो युगलाई अन्त्य गर्ने काम हो, र यो मानवजातिको मुक्तिको निम्ति कामको नयाँ र उच्च रूप हो; अझ भन्ने हो भने, यो मानवजातिलाई नयाँ युगमा ल्याउने काम हो। परमेश्वरको देखापराइले यही कुरालाई नै जनाउँछ।
तिमीहरूले परमेश्वर देखा पर्नुको अर्थ के हो भन्ने बुझिसकेपछि, कसरी तिमीहरूले परमेश्वरका पाइलाहरूलाई खोज्नुपर्छ? यो प्रश्न व्याख्या गर्न गाह्रो छैन: जहाँ परमेश्वर देखा पर्नुहुन्छ, त्यहाँ तिमीहरूले उहाँका पाइलाहरूलाई भेट्टाउँनेछौ। यस्तो व्याख्या सरल सुनिन्छ, तर अभ्यासमा ल्याउन त्यति सहज छैन, किनकि धेरै मानिसहरूलाई परमेश्वर कहाँ देखा पर्नुहुन्छ भन्ने थाहा छैन, उहाँ कहाँ देखा पर्न चाहनुहुन्छ, कहाँ देखा पर्नुपर्ने हो भन्नेबारेमा थाहा हुने त कुरै छौडौं। केहीले आवेगका साथ विश्वास गर्छन् कि जहाँ पवित्र आत्माको काम हुन्छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ। अर्को रूपमा, तिनीहरू विश्वास गर्छन् कि जहाँ आत्मिक व्यक्तित्वहरू हुन्छन्, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ। या, तिनीहरू विश्वास गर्छन् कि जहाँ उच्च प्रसिद्धिका मानिसहरू हुन्छन्, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ। केही क्षणको लागि, यस्ता विश्वासहरू सही छन् कि गलत छन् भन्ने कुरालाई हामी एकातिर छोडौं। यस्तो प्रश्नको व्याख्या गर्न, हामीसँग पहिला स्पष्ट उद्देश्य हुनुपर्दछ: हामी परमेश्वरका पाइलाहरू खोजिरहेका छौँ। हामी आत्मिक व्यक्तित्वहरूलाई खोजिरहेका छैनौँ, झन् चर्चित व्यक्तित्वहरूलाई पछ्याउनु त परै जाओस्; हामी परमेश्वरका पाइलाहरू पछ्याइरहेका छौँ। यसकारण, हामीले परमेश्वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्वरका अभिप्राय, परमेश्वरका वचन, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्वरको आवाज हुन्छ, र जहाँ परमेश्वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ, र परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्वर सत्य, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता प्राप्त गर्दा पनि, तिनीहरूले परमेश्वरका पदचापहरू भेट्टाएका छन् भनी विश्वास गर्दैनन्, र तिनीहरूले परमेश्वरको देखापराइलाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्वरले आफ्नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्वरको स्वभाव हो, र अझ भन्ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्वरको देखापराइ देख्न, परमेश्वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।
तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्वरको कामलाई सृष्टि गरिएको प्राणीको पहिचानबाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्वरका पाइलाहरूलाई कुनै विशेष क्षेत्रमा सीमित पार्नेछैनौ। यस्तो हुन्छ किनभने आजकल धेरै मानिसहरूले परमेश्वर कुनै विशेष राष्ट्र वा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्वरको कामको महत्त्व कति गहन छ, र परमेश्वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसका धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्वर देखा पर्नुभएको खोजी गर्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताका धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरू आफ्नै धारणाहरूको वशमा हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्वरको देखा पराइलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै पनि परमेश्वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।
परमेश्वर सम्पूर्ण मानवजातिको परमेश्वर हुनुहुन्छ। उहाँ आफूलाई कुनै राष्ट्र वा जातिको व्यक्तिगत सम्पत्ति मान्नुहुन्न, बरु उहाँ त कुनै पनि स्वरूप, राष्ट्र वा जातिमा सीमित नभई, उहाँले योजना गर्नुभएअनुसार आफ्नो काम गर्नुहुन्छ। सायद तैँले यो स्वरूपलाई कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यस प्रकारका स्वरूपप्रति तेरो मनोवृत्ति इन्कारको हुन सक्छ, वा सायद परमेश्वर जुन राष्ट्रमा देखा पर्नुहुन्छ र जुन मानिसहरूमाझ देखा पर्नुहुन्छ तिनीहरू बस सबैद्वारा भेदभाव गरिएकाहरू र पृथ्वीमा सबैभन्दा पछि परेकाहरू हुन्छन्। तैपनि परमश्वरसँग उहाँको बुद्धि छ। उहाँको महान् शक्तिको साथ र उहाँको सत्यता अनि उहाँको स्वभावमार्फत, उहाँले उहाँसँग एउटै मन भएका मानिसहरूको समूहलाई, र उहाँले पूर्ण पार्ने कामना गर्नुभएको मानिसहरूको समूहलाई साँच्चै प्राप्त गर्नुभएको छ—यो उहाँले विजय गर्नुभएको त्यो समूह हो, जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावट सहेर अन्त्यसम्म नै उहाँलाई पछ्याउन सक्छ। कुनै पनि स्वरूप वा देशमा सीमित नरहेको परमेश्वरको देखा पराइको उद्देश्य भनेको, उहाँको काम उहाँले योजना गर्नुभएअनुसार पूरा गर्न उहाँलाई सक्षम तुल्याउनु हो। यो चाहिँ परमेश्वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिलाई छुटकारा दिन क्रूसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्वरका निम्ति यो गर्नु असम्भव छ भनेर विश्वास गर्थे, र तिनीहरूले परमेश्वरलाई देहधारी हुन र प्रभु येशूको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने। तिनीहरूको “असम्भव” नै तिनीहरूले परमेश्वरको निन्दा र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएलको विनाशतर्फ डोऱ्यायो। आज पनि धेरै मानिसहरूले उस्तै गल्ती गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्वरको चाँडै हुने देखा पराइको घोषणा गर्छन्, तैपनि उही बेला परमेश्वरको देखा पराइलाई निन्दा गर्छन्; तिनीहरूको “असम्भव”ले फेरि एकचोटि परमेश्वरको देखा पराइलाई तिनीहरूको कल्पनाका सीमाहरूभित्र सीमित गर्छ। अनि त्यसैले मैले परमेश्वरको वचन पाउँदा धेरै मानिसहरूको उन्मत्त हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको भर्त्सना र ईश्वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौ, तिमीहरूमा तृष्णाको मनोवृत्ति त झनै छैन। तिमीहरू केवल अन्धाधुन्ध अध्ययन गर्छौ, र बेपरवाह भएर पर्खी बस्छौ। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्न सक्छौ? के तिमीहरूले परमेश्वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौ भन्ने तिमीहरूलाई लाग्छ? यदि तँ परमेश्वरका वाणी खुट्ट्याउन सक्दैनस् भने, तँ कसरी परमेश्वरको देखा पराइ देख्न योग्य छस्? परमेश्वर जहाँजहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुनेछ, र त्यहाँ परमेश्वरको आवाज हुनेछ। सत्यता स्वीकार गर्न सक्नेहरूले मात्रै परमेश्वरको आवाज सुन्न सक्नेछन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्वरको देखा पराइ देख्न योग्य हुन्छन्। तेरा धारणा त्यागिदे! आफैलाई शान्त पार् र यी वचनहरूलाई होसियारीसाथ पढ्। तँसँग सत्यताको तृष्णा गर्ने हृदय भएसम्म, परमेश्वरले तैँले उहाँका अभिप्राय र वचन बुझ्नेछस् भनेर तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। तिमीहरूका “असम्भवता”का तर्कलाई त्यागिदेओ! मानिसहरूले कुनै कुरा असम्भव छ भन्ने विश्वास जति धेरै गर्छन्, त्यो हुने सम्भावना त्यति नै धेरै हुन्छ, किनभने परमेश्वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्वरका सोचहरू मानिसका सोचहरूभन्दा उच्च छन्, र परमेश्वरले मानिसका सोच र धारणाका सीमाभन्दा बाहिर आफ्नो काम गर्नुहुन्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसभित्र त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसका धारणाहरूद्वारा जति कल्पना गर्न सकिँदैन, त्यसमा त्यति नै धेरै परमेश्वरका अभिप्रायहरू समावेश हुन्छन्। किनभने, उहाँ जहाँ देखा पर्नुभए पनि, परमेश्वर अझै परमेश्वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने स्थान वा शैलीका कारण उहाँको सार बिलकुलै परिवर्तन हुनेछैन। परमेश्वरका पाइलाहरू चाहे जहाँ भए पनि परमेश्वरको स्वभाव परिवर्तन हुनेछैन, र उहाँका पाइलाहरू चाहे जहाँ भए पनि, उहाँ सबै मानवजातिका परमेश्वर हुनुहुन्छ, जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्वर नभई, एसिया, युरोप र अमेरिकाका सबै मानिसहरूका परमेश्वर हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ सम्पूर्ण ब्रह्माण्डका एक मात्र परमेश्वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्वरका अभिप्रायको खोजी गरौँ र उहाँका वाणी र वचनहरूमा उहाँको देखा पराइ पत्ता लगाऔँ, र उहाँका पाइलाहरूसँग पाइला मिलाऔँ! परमेश्वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँको देखा पराइ एकैसाथ अस्तित्वमा हुन्छन्, र उहाँको स्वभाव अनि उहाँका पाइलाहरू मानवजातिलाई सदैव सार्वजनिक रूपमा देखाइन्छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरू सबैले यी वचनहरूमा परमेश्वरको देखा पराइ देख्न सक्छौ, तिमीहरूले उहाँका पाइलाहरूसँग गति मिलाउन थाल्नेछौ र नयाँ युगतर्फ लम्कनेछौ, र परमेश्वरको देखा पराइ कुर्नेहरूका लागि उहाँले तयार पार्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्नेछौ।