सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू—अध्याय ८
जब मेरा प्रकटीकरणहरू उत्कर्षमा पुग्छन्, र जब मेरो न्याय अन्त्यतिर पुग्छ, तब मेरा मानिसहरू सबै प्रकट गरिने र पूर्ण पारिने समय हुनेछ। मेरा अभिप्रायहरूअनुरूप हुने र मेरो प्रयोग योग्य हुनेहरूको निरन्तर खोजी गर्दै म ब्रह्माण्ड संसारका सबै कुनातिर यात्रा गर्छु। को उठेर मसँग सहकार्य गर्न सक्छ? मप्रतिको मानिसहरूको प्रेम नगण्य छ, र मप्रतिको तिनीहरूको आस्था पनि अत्यन्तै सानो छ। यदि मैले मेरा वचनहरूको प्रहारलाई मानिसहरूका कमजोरीहरूप्रति लक्षित नगरेको भए, तिनीहरूले धाक लगाउने र बढाइचढाइ गर्नेथिए, सांसारिक मामिलाहरूका सम्बन्धमा आफू सर्वज्ञानी र सबथोक जान्ने भएझैँ गरी फाइँफुट्टी लगाउनेथिए र आडम्बरी सिद्धान्तहरू निकाल्नेथिए। विगतमा मप्रति “अर्पित” हुनेहरूमध्ये, र आज मेरो अगाडि “दृढ रहने” हरूमध्ये, कसले अझै पनि धाक लगाएर बोल्ने आँट गर्छ? को आफ्नै भविष्यका लागि मनमनै प्रसन्न छैन? मैले मानिसहरूलाई सिधै खुलासा नगर्दा नै तिनीहरूसँग लुक्ने ठाउँ कतै थिएन र तिनीहरू लाजले पिल्सिएका थिए। यदि मैले फरक तरिकाले बोलेको भए त्यस्तो झन् कति धेरै हुनेथियो होला? मानिसहरूसँग अझै ठूलो ऋणीपनको बोध हुनेथियो, तिनीहरू आफूलाई कुनै कुराले निको पार्न नसक्ने ठान्नेथिए र सबै जना आफ्नै नकारात्मकताद्वारा कसिलो गरी बाँधिनेथिए। जब मानिसहरूले आशा गुमाउँछन्, तब राज्यको सलामी औपचारिक रूपमा बज्छ, जुन, मानिसहरूले भनेजस्तै, “सात गुणा तीव्र पारिएको आत्माले काम गर्न सुरु गर्ने समय” हो। अर्को शब्दमा भन्नुपर्दा, राज्यको जीवन पृथ्वीमा आधिकारिक रूपमा सुरु हुने समय यही हो; मेरो ईश्वरत्व सिधै (कुनै मानसिक “प्रशोधन” विना) काम गर्न प्रकट हुने समय यही हो। सबै मानिस व्यस्तताका साथ यताउति दौडन्छन्, मानौँ तिनीहरू पुनर्जीवित भएका छन् वा सपनाबाट बिउँझिएका छन्, र, बिउँझिएपछि, अप्रत्याशित रूपमा आफूलाई यस्तो परिस्थितिमा पाउँछन्—जसले तिनीहरूलाई साँच्चै चकित पार्छ। विगतमा, मैले मण्डलीको निर्माणका बारेमा धेरै कुरा भनेँ; मैले धेरै वटा रहस्य खुलाएँ, तर जब त्यो काम उत्कर्षमा पुग्यो, तब त्यो अचानक अन्त्य भयो। तर, राज्यको निर्माण फरक कुरा हो। जब आत्मिक क्षेत्रको युद्ध अन्तिम चरणमा पुग्छ, तब मात्र म पृथ्वीमा मेरो काम नयाँ रूपमा सुरु गर्छु। अर्थात्, जब सबै मानिस पछि हट्ने सँघारमा हुन्छन्, तब मात्र म औपचारिक रूपमा मेरो नयाँ काम सुरु र खडा गर्छु। राज्यको निर्माण र मण्डलीको निर्माणबीचको भिन्नता के हो भने, मण्डली निर्माण गर्दा, मैले ईश्वरत्वद्वारा शासित मानवत्वमार्फत काम गरेँ; मैले सिधै मानिसहरूको पुरानो प्रकृतिलाई काटछाँट गरेँ, तिनीहरूको कुरूप स्वरूपलाई सिधै खुलासा गरेँ र तिनीहरूको मूल-तत्त्वलाई उजागर गरेँ, ताकि तिनीहरूले यस आधारमा आफूलाई चिनून्, र यसरी तिनीहरू आफ्नो हृदयमा र आफ्ना शब्दहरूमा विश्वस्त होऊन्। राज्य निर्माण गर्दा, म सिधै मेरो ईश्वरत्वमार्फत काम गर्छु र मेरा वचनहरूबारे मानिसहरूको ज्ञानको जगमा तिनीहरू सबैलाई मसँग जे छ र म जे हुँ त्यो जान्न दिन्छु, अनि अन्ततः तिनीहरूलाई देहमा भएको मबारेको ज्ञान प्राप्त गर्न दिन्छु। यसरी सम्पूर्ण मानवजातिको अस्पष्ट ईश्वरको पछ्याइ अन्त्य हुन्छ र यसरी तिनीहरू “स्वर्गमा हुनुहुने परमेश्वर” का लागि आफ्नो हृदयमा ठाउँ राख्न छोड्छन्; अर्थात्, म देहधारी हुँदा मैले गर्ने कार्यहरू मानवजातिले चिन्ने, र यसरी नै म पृथ्वीमा छँदाको यस युगको अन्त्य गर्ने कुरा म सुनिश्चित गर्नेछु।
राज्यको निर्माण सिधै आत्मिक क्षेत्रतर्फ लक्षित छ। अर्थात्, आत्मिक क्षेत्रको युद्धको स्थिति मेरा सबै मानिसबीच सिधै प्रकट गरिन्छ, र मण्डलीभित्र मात्र होइन, अझ बढी त राज्यको युगमा हरेक व्यक्ति निरन्तर युद्धमा हुन्छ भन्ने देखाउन यो नै पर्याप्त छ। तिनीहरू भौतिक शरीरमा अस्तित्वमा भए पनि, आत्मिक क्षेत्र सिधै प्रकट गरिन्छ, र तिनीहरू आत्मिक क्षेत्रको जीवनसँग सम्पर्कमा आउँछन्। तसर्थ, जब तिमीहरू मप्रति अर्पित हुन थाल्छौ, तब तिमीहरूले मेरो कामको अर्को भागका लागि उचित रूपमा तयारी गर्नैपर्छ। तिमीहरूले आफ्नो सम्पूर्ण हृदय सुम्पनुपर्छ; तब मात्र तिमीहरू मेरो हृदयलाई सन्तुष्ट पार्न सक्छौ। मण्डलीमा पहिले के भयो भन्नेबारे मलाई कुनै चासो छैन; आज, यो राज्यमा छ। मेरो योजनामा, शैतान सधैँ हरेक कदमको चियो गर्दै आइरहेको छ र मेरो बुद्धिको उभारकका रूपमा सधैँ मेरो मूल योजनालाई अवरोध गर्ने तरिका र माध्यमहरू खोज्ने प्रयास गर्दै आइरहेको छ। तैपनि के म यसका षड्यन्त्रहरूमा फस्न मिल्थ्यो र? के स्वर्गमा र पृथ्वीमा मेरो सेवा गर्ने वस्तुका रूपमा काम नगर्ने त्यस्तो कुनै चिज छ? के शैतानका षड्यन्त्रहरू सम्भवतः अपवाद हुन सक्छन् र? मेरो बुद्धिले ठ्याक्कै यहीँ काम गर्छ; मेरा कार्यहरूको अद्भुत कुरा ठ्याक्कै यही हो र यो मेरो सम्पूर्ण व्यवस्थापनको योजनाको सञ्चालनको सिद्धान्त हो। राज्यको निर्माणको समयमा, म अझै पनि शैतानका षड्यन्त्रहरूलाई पन्छाउँदिनँ, बरु आफूले गर्नैपर्ने काम गरिरहन्छु। ब्रह्माण्ड र यावत् थोकबीच, मैले शैतानका कार्यहरूलाई मेरो उभारकका रूपमा रोजेको छु। के यो मेरो बुद्धिको प्रकटीकरण होइन र? के मेरो कामको अद्भुत कुरा ठ्याक्कै यही होइन र? राज्यको युगमा प्रवेश गर्ने अवसरमा, स्वर्गका र स्वर्गमुनिका यावत् थोक पूर्ण रूपमा रूपान्तरित हुन्छन्, साथै तिनीहरू रमाउँछन् र हर्षोल्लास गर्छन्। के तिमीहरू अलिकति पनि फरक छौ र? कसको हृदयमा महको मिठास छैन र? कसको हृदय खुसीले गदगद भइरहेको छैन र? कसको हात र खुट्टा प्रसन्नताले नाच्दैन र? कसको मुखले प्रशंसाका शब्दहरू बोल्दैन र?
के तिमीहरू मैले माथि बोलेका र छलफल गरेका सबै कुराका उद्देश्य र स्रोत बुझ्छौ, कि बुझ्दैनौ? यदि मैले यो नसोधेको भए, धेरैजसो मानिसले म केवल संसारका सबै थोकका बारेमा कुरा गरिरहेको छु भन्ने विश्वास गर्नेथिए, र मेरा वचनहरूको स्रोत बुझ्न सक्नेथिएनन्। यदि तिमीहरूले तिनलाई ध्यानपूर्वक मनन गर्यौ भने, तिमीहरूले तिनको महत्त्व थाहा पाउनेछौ। तैँले तिनलाई ध्यानपूर्वक पढिस् भने राम्रो हुनेछ: मेरा कुन-कुन वचन तेरा लागि लाभदायक छैनन्? कुन-कुन वचनले तेरो जीवन वृद्धि गराउने उद्देश्य राखेका छैनन्? कुन-कुनले आत्मिक क्षेत्रको वास्तविकताका बारेमा बोल्दैनन्? धेरैजसो मानिस मेरा वचनहरूमा कुनै तुक वा कारण छैन, तिनमा स्पष्टीकरण र व्याख्याको कमी छ भन्ने विश्वास गर्छन्। के मेरा वचनहरू साँच्चै त्यति अमूर्त र बुझ्न नसकिने छन् र? के तिमीहरू निष्कपट रूपमा मेरा वचनहरूको अधीनमा रहन्छौ? के तिमीहरू निष्कपट रूपमा मेरा वचनहरू स्वीकार गर्छौ? के तिमीहरू तिनलाई खेलौनाका रूपमा व्यवहार गर्दैनौ र? के तिमीहरू तिनलाई आफ्नो कुरूप रूप छोप्ने कपडाका रूपमा प्रयोग गर्दैनौ र? यस विशाल संसारमा, कसले व्यक्तिगत रूपमा मेरो निरीक्षण स्वीकार गरेको छ? कसले व्यक्तिगत रूपमा मेरो आत्माका वचनहरू सुनेको छ? कति धेरै मानिस अन्धकारमा छामछुम गर्छन् र खोज्छन्; कति धेरैले सङ्कष्टबीच बिन्ती गर्छन्; कति धेरै भोका र कठ्याङ्ग्रिएकाले आड-भरोसा खोज्छन्; र कति धेरै शैतानद्वारा बाँधिएका छन्; तैपनि कति धेरैलाई कहाँ जाने भन्ने थाहा छैन, कति धेरैले आफ्नो खुसीबीच मलाई धोका दिन्छन्, कति धेरै कृतघ्न छन् र कति धेरै शैतानका षड्यन्त्रहरूप्रति अर्पित छन्। तिमीहरूमध्ये अय्यूब को हो? पत्रुस को हो? मैले किन बारम्बार अय्यूबको उल्लेख गरेको छु? मैले किन यति धेरै पटक पत्रुसको सन्दर्भ लिएको छु? के तिमीहरूले कहिल्यै तिमीहरूप्रतिका मेरा आशाहरू के हुन् भन्ने बोध गरेका छौ? तिमीहरूले यस्ता कुराहरूबारे मनन गर्नमा अझ बढी समय बिताउनुपर्छ।
पत्रुस धेरै वर्षसम्म मप्रति अर्पित थिए, तैपनि तिनले कहिल्यै गनगन गरेनन् न त तिनमा गुनासो गर्ने हृदय नै थियो; अय्यूब समेत तिनको बराबरीका थिएनन्, र युगौँयुगभरि, सन्तहरू सबै पत्रुसभन्दा निकै पछाडि परेका छन्। तिनले मलाई चिन्ने प्रयास मात्र गरेनन्, शैतानले त्यसका षड्यन्त्रहरू लागु गरिरहेको बेला तिनले मलाई चिन्न समेत पुगे। त्यसकारण, पत्रुसले मलाई गरेको धेरै वर्षको सेवा मेरा अभिप्रायहरूअनुरूप थियो र यसै कारणले गर्दा, तिनी शैतानद्वारा कहिल्यै शोषित भएनन्। पत्रुसले अय्यूबको आस्थाबाट सिके, तर अय्यूबका कमजोरीहरू पनि प्रस्ट रूपमा देखे। अय्यूबमा ठूलो आस्था भए पनि, तिनमा आत्मिक क्षेत्रका मामिलाहरूको ज्ञानको कमी थियो, त्यसैले तिनी वास्तविकतासँग मेल नखाने वचनहरू धेरै बोल्थे; यसले अय्यूबको ज्ञान सतही र सिद्ध पार्न नसकिने अवस्थामा रह्यो भन्ने देखाउँछ। त्यसकारण, पत्रुसले सधैँ आफ्नो आत्माभित्रका भावनाहरू बोध गर्ने प्रयास गर्नमा ध्यान केन्द्रित गरे र सधैँ आत्मिक क्षेत्रको गतिशीलता “अवलोकन” गर्नमा ध्यान दिए। फलस्वरूप, तिनी मेरा अभिप्रायहरूबारे थोरै सचेतना प्राप्त गर्न सक्षम मात्र थिएनन्, तिनी शैतानका षड्यन्त्रहरूबारे पनि थोरै ज्ञान राख्थे। यसै कारणले, युगौँयुगका कोहीमध्ये तिनीसँग मेरो बारेमा सबैभन्दा ठूलो ज्ञान थियो।
पत्रुसको अनुभवबाट, यदि मानिसहरूलाई मलाई मलाई चिन्ने इच्छा छ भने, तिनीहरूले बाहिरी रूपमा मलाई निश्चित मात्रा “अर्पण” गर्नुभन्दा पनि आत्माभित्र के छ भन्ने कुरा ध्यानपूर्वक बुझ्ने प्रयास गर्नमा ध्यान केन्द्रित गर्नैपर्छ भन्ने कुरा देख्न गाह्रो छैन; यो त गौण महत्त्वको विषय हो। यदि तँ मलाई चिन्दैनस् भने, तैँले कुरा गर्ने सबै आस्था, प्रेम र बफादारी केवल भ्रम र फिँज मात्र हुन्, र तँ मेरो अगाडि ठूला कुरा गर्ने तर आफूलाई नचिन्ने व्यक्ति बन्ने पक्का छ। यस्तो हुँदा, तँ फेरि एक पटक शैतानको पासोमा पर्नेछस् र आफूलाई मुक्त गर्न असमर्थ हुनेछस्; तँ विनाशको पुत्र र नाश हुने व्यक्ति बन्नेछस्। तर, यदि तँ मेरा वचनहरूलाई उदासीनताका साथ व्यवहार गर्छस् भने, तँ निस्सन्देह मेरो प्रतिरोध गर्छस्। यो एउटा तथ्य हो। तैँले आत्मिक क्षेत्रको ढोकाबाट मद्वारा सजाय दिइएका धेरै वटा र विभिन्न आत्मालाई हेर्दा राम्रो हुनेछ—तिनीहरूमध्ये कसका लागि चाहिँ यो तिनीहरूले मेरा वचनहरूलाई नकारात्मकता र उदासीनताका साथ व्यवहार गर्नुको र तिनलाई स्वीकार नगर्नुको नतिजा थिएन र? तिनीहरूमध्ये को चाहिँ मेरा वचनहरूप्रति शङ्कालु थिएन र? तिनीहरूमध्ये कसले मेरा वचनहरूमा खोट निकाल्ने प्रयास गरेन र? तिनीहरूमध्ये कसले मेरा वचनहरूलाई आफ्नो “सुरक्षा” गर्ने “रक्षात्मक हतियारका” रूपमा प्रयोग गरेन र? तिनीहरूले मेरा वचनहरूमार्फत मेरो ज्ञान पछ्याएनन्, बरु केवल तिनलाई प्रयोग गरे र ती खेलौना भएझैँ गरी तीसँग खेले। यसमा, के तिनीहरू सिधै मेरो प्रतिरोध गरिरहेका थिएनन् र? मेरा वचनहरू को हुन्? मेरो आत्मा को हो? मैले तिमीहरूलाई यस्ता प्रश्नहरू धेरै पटक सोधेको छु, तैपनि के तिमीहरूले कहिल्यै तिनका बारेमा कुनै उच्च र स्पष्ट अन्तर्ज्ञान प्राप्त गरेका छौ? के तिमीहरूले कहिल्यै साँच्चै तिनको अनुभव गरेका छौ? म तिमीहरूलाई फेरि एक पटक सम्झाउँछु: यदि तिमीहरू मेरा वचनहरू चिन्दैनौ, न त तिनलाई स्वीकार गर्छौ, न त तिनलाई व्यवहारमा लागु गर्छौ भने, तिमीहरू अपरिहार्य रूपमा मेरो सजायका पात्र बन्नेछौ! तिमीहरू अवश्यै शैतानका सिकार बन्नेछौ!
फेब्रुवरी २९, १९९२