तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ
के तँ येशूलाई देख्न चाहन्छस्? के तँ येशूसँग बस्ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएका वचनहरू सुन्ने इच्छा गर्छस्? यदि त्यसो हो भने, तैँले येशूको पुनरागमनलाई कसरी स्वागत गर्नेछस्? के तँ पूर्ण रूपमा तयार छस्? तैँले येशूको पुनरागमनलाई कुन रीतिले स्वागत गर्नेछस्? मलाई लाग्छ, येशूलाई पछ्याउने हरेक दाजुभाइ तथा दिदीबहिनीले उहाँलाई राम्ररी स्वागत गर्न रुचाउँछन्। तर के तिमीहरूले यो कुरा विचार गरेका छौ: येशूको पुनरागमन हुँदा के तैँले उहाँलाई साँच्चै चिन्नेछस्? के उहाँले भन्नुभएका सबै कुरा तिमीहरूले साँच्चै बुझ्नेछौ? के उहाँले गर्नुभएका सबै कामहरूलाई तिमीहरूले साँच्चै निसर्त स्वीकार गर्नेछौ? बाइबल पढेका सबैले येशूको पुनरागमनबारे जान्दछन् र बाइबल पढ्ने सबैले उहाँको आगमनको दत्तचित्त भएर प्रतीक्षा गर्छन्। तिमीहरू सबै त्यो क्षणको आगमनका निम्ति एकाग्र छौ, र तिमीहरूको निष्ठा सराहनीय छ, तिमीहरूको विश्वास साँच्चै ईर्ष्यालाग्दो छ, तर के तिमीहरूलाई आफूबाट गम्भीर त्रुटि भएको कुरा महसुस हुन्छ? येशूको पुनरागमन कुन रीतिले हुनेछ? येशू सेतो बादलमा आउनुहुनेछ भनी तिमीहरू विश्वास गर्छौ, तर तिमीहरूलाई म सोध्छु: यो सेतो बादलले केलाई जनाउँछ? येशूका यति धेरै अनुयायीहरूले उहाँको पुनरागमनको प्रतीक्षा गरिरहेका छन्, त्यसैले उहाँ कुन मानिसहरूको माझमा चाहिँ ओर्लिआउनुहुनेछ? यदि उहाँ तिमीहरूमाझ पहिले ओर्लिआउनुभयो भने, के अरूहरूले यसलाई अत्यन्त अन्यायपूर्ण कुराको रूपमा हेर्नेछैनन् र? मलाई थाहा छ, तिमीहरू येशूप्रति अत्यन्त निष्ठावान् र बफादार छौ, तर के तिमीहरूले येशूलाई कहिल्यै भेटेका छौ? के तिमीहरूलाई उहाँको स्वभाव थाहा छ? के तिमीहरू कहिल्यै उहाँसँग बसेका छौ? तिमीहरूले उहाँको बारे वास्तवमै कति धेरै बुझेका छौ? यी वचनहरूले आफूलाई फसादमा पारे भनेर केहीले भन्छन्। तिनीहरूले भन्नेछन्, “मैले बाइबल सुरुदेखि अन्त्यसम्म धेरैपटक पढेको छु। मैले येशूलाई कसरी बुझ्न सक्दिनथेँ र? येशूको स्वभावको त कुरै नगरौँ—उहाँले कुन रङको लुगा लगाउन मन पराउनुहुन्थ्यो सो पनि मलाई थाहा छ। मैले उहाँलाई बुझ्दिनँ भन्दा तपाईंले मलाई होच्याइरहनुभएको छैन र?” यी विषयहरूमा विवाद नगर् भनी म तँलाई सुझाव दिन्छु; बरु शान्त भएर तल दिइएका प्रश्नहरूको बारेमा सङ्गति गर्नु उत्तम हुन्छः पहिलो, वास्तविकता के हो र सिद्धान्त के हो, के तँलाई थाहा छ? दोस्रो, के तँलाई धारणाहरू के हुन् र सत्यता के हो भन्ने थाहा छ? तेस्रो, केचाहिँ कल्पना गरिएको के हो र केचाहिँ यथार्थ के हो, के तँलाई थाहा छ?
केही मानिसहरू आफूले येशूलाई बुझ्दिनँ भन्ने तथ्यलाई अस्वीकार गर्छन्। तैपनि म तिमीहरूलाई भन्छु, तिमीहरू येशूलाई अलिकति पनि बुझ्दैनौ र उहाँको एउटै वचन पनि बुझ्दैनौ। त्यो किन हो भने तिमीहरूले बाइबलमा उल्लेखित विवरणको कारण र अरूले भनेका कुराहरूको कारण उहाँलाई पछ्याउछौ। तिमीहरूले उहाँलाई कहिल्यै पनि देखेका छैनौं, उहाँसँग बस्ने कुरा त परै जाओस्, र तिमीहरूले उहाँलाई एक क्षणको निम्ति पनि साथ दिएको छैनौ। यस्तो अवस्थामा, येशूबारे तेरो बुझाइ केवल एक सिद्धान्त होइन र? के यो वास्तविकताविहीन छैन र? सायद, केही मानिसहरूले येशूको तस्वीर देखेका होलान् वा कोही येशूको घरमा स्वयम् गएका होलान्। सायद केहीले येशूका कपडा छोएका होलान्। तँ स्वयम्ले येशूले खानुभएकै खाना खाएको भए पनि, उहाँबारे तेरो बुझाइ अझै पनि सैद्धान्तिक मात्र छ, व्यावहारिक छैन। कुरा जे भए पनि, तैँले येशूलाई कहिल्यै देखेको छैनस् र दैहिकरूपी उहाँसँग कहिले पनि सङ्गत गरेको छैनस्, त्यसैले येशूबारे तेरो बुझाइ सदैव वास्तविकताविहीन खोक्रो सिद्धान्त हुनेछ। सायद मेरा वचनहरू तेरो निम्ति त्यत्ति रुचिकर नहोलान्, तर म तँलाई सोध्छु: आफूले सबैभन्दा प्रशंसा गरेको लेखकका धेरै कृतिहरू तैँले पढेको हुन सक्छस्, तर उनीसँग समय नबिताईकन के तैँले उनलाई पूर्ण रूपमा बुझ्न सक्छस्? उनको व्यक्तित्व कस्तो छ, के तँलाई थाहा छ? उनी कस्तो जीवन जिउँछन्, थाहा छ? के तँ उनको कुनै संवेगात्मक स्थितिको बारेमा जान्दछस्? तँ आफूले प्रशंसा गर्ने मानिसलाई समेत पूर्ण रूपमा बुझ्न सक्दैनस्, त्यसोभए कसरी तँ प्रभु येशूलाई बुझ्न सक्छस् र? तैँले येशूको बारे बुझेका सबै कुराहरू कल्पना र धारणाहरूले भरिएका छन्, जसमा कुनै सत्यता वा यथार्थता छैन। यसबाट दुर्गन्ध निस्कन्छ र यो देहले भरिएको छ। यस्तो बुझाइले येशूको पुनरागमनको स्वागत गर्न तँलाई कसरी योग्य तुल्याउन सक्छ र? येशूले कल्पना र देहका धारणाहरूले भरिएकाहरूलाई ग्रहण गर्नुहुनेछैन। येशूलाई नबुझ्नेहरू कसरी उहाँका विश्वासीहरू हुन योग्य हुन्छन् र?
के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भन्ने लाग्छ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेकाका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव मध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू स्विकार्न हठपूर्वक इन्कार गर्छौ भने, तिमीहरूले सेतो बादलमा येशू देह भई फर्कनुहुँदा उहाँले गर्नुहुने काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिस हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको आनन्दमय क्षेत्रको आनन्द लिन मात्र चाहन्छौ; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा फर्कनुहुँदा उहाँले व्यक्त गर्नुभएको सत्यता कहिल्यै स्विकारेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के दिनेछौ? के तिमीहरूले बारम्बार पाप गर्ने र त्यसपछि घरिघरि स्विकार्ने इमानदारी दिनेछौ? सेतो बादलमा फर्कनुहुने येशूलाई तिमीहरू बलिका रूपमा के चढाउनेछौ? के तिमीहरूले आफूलाई उच्च पार्ने वर्षौँको कार्यको पुँजी चढाउनेछौँ? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के देखाउनेछौ? के कुनै सत्यताप्रति समर्पित नहुने तिमीहरूको त्यही अहङ्कारी प्रकृति देखाउनेछौ?
तिमीहरूको बफादारिता बोलीवचनमा मात्र छ, तिमीहरूको ज्ञान सोचाइ र धारणाबारे मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्हरू प्राप्त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूको विश्वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरू सत्यताको हरेक वचनलाई अनसुनी गर्छौ। तिमीहरूलाई परमेश्वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, कसरी यहोवाको डर मान्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्वर स्वयम्को काम र मानिसको बहकाउलाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो समर्पण कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो मनोवृत्ति कहाँ छ? परमेश्वरको डर मान्ने तेरो हृदय कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्वरमा विश्वास गर्नेहरू निश्चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्नेहरू निश्चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू सदाका लागि नष्ट पारिने श्रेणीमा पर्छन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्यको देखापराइको समय हुनेछ। सायद त्यो क्षण तेरा निम्ति ठूलो उत्साहको समय हुनेछ, तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय तँ दण्ड भोग्नलाई नरक जाने समय पनि हो भनी जान्नुपर्छ। त्यो परमेश्वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणाको समय हुनेछ र त्यो परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नुअघि नै परमेश्वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू र चिन्हहरू नखोज्नेहरू, अनि यसरी शुद्ध पारिएकाहरू परमेश्वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गराइएका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्ने विश्वासमा अड्डी कस्नेहरू मात्र अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग जारी गर्नुहुने येशूलाई मान्दैनन्। यसकारण, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ भनेर भन्न सकिन्छ। तिनीहरू अति जिद्दी, आफैमा अति आत्मविश्वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नुपर्छ र पवित्र आत्माको ईशनिन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्वरप्रतिको विश्वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। स्वेच्छाचारी रूपमा निचोडमा नपुग; त्योभन्दा पनि, परमेश्वरमाथिको विश्वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्नुपर्छ कि परमेश्वरमा विश्वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। सत्यता सुनेका तैपनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्ने वा यसको निन्दा गर्नेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्वास गर्ने कोही पनि अरूलाई सराप्न वा निन्दा गर्न योग्य भएका हुँदैनन्। तिमीहरू सबै नै समझ भएका र सत्यतालाई स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्वासी नहुन र आफैलाई अति उच्च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्न आउने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखापराइको कारण परमेश्वरले व्यक्त गरेका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरू आफू भ्रमित हुने डरले गर्दा पवित्र आत्माविरुद्ध निन्दा गर्ने व्यक्ति हुनै हुँदैन। के त्यो एकदमै दुःखलाग्दो कुरा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्वरको अभिव्यक्ति होइनन् भनी विश्वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्वरको सिंहासनसामु फर्कनलाई पर्याप्त आशिष् नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्वरप्रतिको विश्वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?