परमेश्‍वरलाई चिन्‍नु (४)

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२०

बृहत् र सूक्ष्‍म दृष्टिकोणहरूबाट परमेश्‍वरको अख्तियारलाई बुझ्ने

परमेश्‍वरको अख्तियार अद्वितीय छ। यो परमेश्‍वर स्वयम्‌को चारित्रिक अभिव्यक्ति, विशेष सार, र पहिचान हो, जुन सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीमा छैन; सृष्टिकर्तामा मात्रै यस प्रकारको अख्‍तियार छ। यसो भन्‍नुको अर्थ, सृष्टिकर्ता—अद्वितीय परमेश्‍वरलाई मात्रै यसरी व्यक्त गर्न सकिन्छ र उहाँमा मात्रै यो सार छ। त्यसो भए, हामीले किन परमेश्‍वरको अख्‍तियारको बारेमा कुरा गर्नुपर्छ त? कसरी परमेश्‍वर स्वयम्‌को अख्तियार मानिसले आफ्‍नो मनमा विचार गर्ने “अख्‍तियार” भन्दा फरक छ? यसमा के विशेष छ? यसको बारेमा यहाँ कुरा गर्नु किन विशेष रूपमा महत्त्वपूर्ण छ? तिमीहरू प्रत्येकले यो विषयलाई ध्यानपूर्वक विचार गर्नुपर्छ। धेरैजसो मानिसहरूका लागि, “परमेश्‍वरको अख्‍तियार” भनेको बुझ्‍नको लागि निकै प्रयासको आवश्यकता पर्ने अस्पष्ट विचार हो, अनि यस सम्‍बन्धी जुनसुकै छलफल अमूर्त हुने सम्‍भावना हुन्छ। त्यसकारण, मानिसले प्राप्त गर्न सक्‍ने परमेश्‍वरको अख्‍तियारको ज्ञान र परमेश्‍वरको अख्‍तियारको सारको बीचमा सधैँ नै भिन्नता रहेको हुनेछ। यो भिन्नतालाई मिलान गर्नका लागि, मानिसहरूको पहुँचभित्र रहेका अनि तिनीहरूको वास्तविक जीवनमा तिनीहरूले बुझ्‍ने क्षमताभित्र रहेका मानिसहरू, घटनाहरू, काम-कुरा, र विभिन्‍न प्रक्रियाहरूद्वारा परमेश्‍वरको अख्‍तियारलाई हरेकले क्रमिक रूपमा बुझ्‍नुपर्छ। “परमेश्‍वरको अख्‍तियार” भन्‍ने वाक्यांश बुझ्‍न नसकिने जस्तो देखिए तापनि, परमेश्‍वरको अख्तियार अमूर्त छैन। उहाँ मानिसलाई हरेक दिन डोर्‍याउँदै, उसको जीवनको हरेक क्षणमा उपस्थित हुनुहुन्छ। तसर्थ, वास्तविक जीवनमा, हरेक व्यक्तिले परमेश्‍वरको अख्‍तियारको सबैभन्दा मूर्त पक्षलाई अवश्य देख्‍नेछ र अनुभव गर्नेछ। यो मूर्त पक्ष नै परमेश्‍वरको अख्तियार साँचो अर्थमा अस्तित्वमा छ भन्‍ने कुराको पर्याप्त प्रमाण हो, र यसले व्यक्तिलाई परमेश्‍वरमा त्यस्तो अख्‍तियार रहेछ भन्‍ने तथ्यलाई पहिचान गर्न र बुझ्न सम्पूर्ण अवसर दिन्छ।

परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभयो, र उहाँले नै यसलाई सृष्टि गर्नुभएको हुनाले, यावत् थोकमाथि उहाँकै प्रभुत्व छ। यावत् थोकमाथि उहाँको प्रभुत्व हुने बाहेक, उहाँले सबै थोक नियन्त्रण गर्नुहुन्छ। “परमेश्‍वरमा सबै थोकको नियन्त्रण छ” भन्‍ने यो अवधारणाको अर्थ के हो? यसलाई कसरी व्याख्या गर्न सकिन्छ? वास्तविक जीवनमा यो कसरी लागू हुन्छ? परमेश्‍वरमा सबै थोकको नियन्त्रण छ भन्‍ने तथ्यलाई बुझेमा यसले कसरी उहाँको अख्‍तियारको बुझाइमा डोर्‍याउन सक्छ? “परमेश्‍वरमा सबै थोक नियन्त्रण छ” भन्‍ने यही वाक्यांशबाट नै हामीले के देख्‍नुपर्छ भने परमेश्‍वरले न त ग्रहहरूको एउटा भाग, न त सृष्टिको एउटा भाग, न त मानवजातिको एउटा भागलाई मात्रै नियन्त्रण गर्नुहुन्छ तर उहाँले त सबै कुरालाई नियन्त्रण गर्नुहुन्छ: विशालदेखि सूक्ष्मसम्म, देख्‍न सकिनेदेखि अदृश्यसम्‍म, आकाशमण्डलका ताराहरूदेखि पृथ्वीका जीवित प्राणीहरूसम्‍म, साथै नाङ्गो आँखाले देख्‍न नसकिने र अन्य स्वरूपमा अस्तित्वमा रहने सूक्ष्म जीवहरूसम्‍म। परमेश्‍वरको “नियन्त्रणमा रहेका” “सबै कुराहरू” को सटीक परिभाषा यही नै हो; उहाँको अख्‍तियारको कार्यक्षेत्र, उहाँको सार्वभौमिकता र शासनको प्रसार यही नै हो।

यस मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले नै, आकाशमण्डल—स्वर्गमा भएका सबै ग्रहहरू र ताराहरू—पहिले नै अस्तित्वमा थिए। बृहत् स्तरमा, यी स्वर्गीय पिण्डहरू परमेश्‍वरको नियन्त्रणमा रही आफ्‍ना अस्तित्वको लागि नियमित रूपमा परिक्रमा गरिरहन्छन्, चाहे त्यो जति नै वर्ष भइसकेको होस्। कुनै निश्‍चित समयमा कुन ग्रह कहाँ जान्छ; कुन ग्रहले कुन काम, र कहिले गर्छ; कुन ग्रहले कुन परिक्रमा पथमा चक्‍कर लगाउँछ, र कहिले यो हराउँछ वा प्रतिस्थापित हुन्छ—यी सबै कुराहरू सानोभन्दा सानो गल्तीविना नै अघि बढिरहन्छन्। ग्रहहरूको स्थान र तिनीहरूबीचको दूरीले निश्‍चित ढाँचालाई पछ्याउँछन्, र यी सबैलाई सटीक आँकडाद्वारा व्याख्या गर्न सकिन्छ; तिनीहरूले यात्रा गर्ने मार्ग, परिक्रमा पथको गति र ढाँचा, तिनीहरू विभिन्‍न स्थानमा रहने समय—यी सबैलाई विशेष नियमहरूद्वारा सटीक रूपमा गणना र व्याख्या गर्न सकिन्छ। युगौंदेखि ग्रहहरूले अलिकति दायाँ-बायाँ नगरिकन यी नियमहरू पालना गरेका छन्। तिनीहरूको परिक्रमा पथ वा तिनीहरूले पछ्याउने ढाँचालाई कुनै पनि शक्तिले परिवर्तन गर्न वा भङ्ग गर्न सक्दैन। तिनीहरूको चाल नियन्त्रण गर्ने विशेष नियमहरू र तिनीहरूलाई व्याख्या गर्ने सटीक आँकडा सृष्टिकर्ताको अख्‍तियारद्वारा पूर्वनिर्धारित गरिएका हुनाले, सृष्टिकर्ताको सार्वभौमिकता र नियन्त्रण अन्तर्गत तिनीहरूले आफ्‍नै तरिकाले यी नियमहरूको पालना गर्छन्। बृहत् स्तरमा, मानिसले केही ढाँचा, केही आँकडा, र केही अनौठा र व्याख्या गर्न नसकिने नियम वा प्रक्रियाहरूलाई पत्ता लगाउनु कठिन छैन। परमेश्‍वरको अस्तित्वलाई मानवजातिले मान्दैन न सृष्टिकर्ताले सबथोक बनाउनुभयो र तीमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने नै स्विकार्छ, साथै उसले सृष्टिकर्ताको अख्‍तियारको अस्तित्वलाई पहिचान गर्दैन, तथापि मानव वैज्ञानिक, खगोल र भौतिकशास्‍त्रीहरूले झन् झन् बढी पत्ता लगाइरहेका छन् कि, यावत् थोकको अस्तित्व र चाललाई निर्धारण गर्ने सिद्धान्त र ढाँचाहरूलाई व्यापक र गुप्त अँध्यारो ऊर्जाले शासन र नियन्त्रण गर्छ। यो तथ्यले मानिसलाई यी चालका ढाँचाहरूको बीचमा सबै कुरालाई योजनाबद्ध गर्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने कुराको सामना र स्वीकार गर्न बाध्य गर्छ। उहाँको शक्ति असाधारण छ, अनि उहाँको साँचो मुहारलाई कसैले देख्‍न नसके पनि, उहाँले हरेक क्षणमा हरेक कुरामाथि सार्वभौम शासन र नियन्त्रण गर्नुहुन्छ। उहाँको सार्वभौमिकतापार कुनै पनि मानिस वा शक्ति पुग्न सक्दैन। यो तथ्यलाई सामना गर्दा, यावत् थोकको अस्तित्व निर्देशन गर्ने व्यवस्थाहरूलाई मानिसले नियन्त्रण गर्न सक्दैन, कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन भन्‍ने कुरालाई मानिसले पहिचान गर्नुपर्छ; मानिसले यी नियमहरूलाई पूर्ण रूपमा बुझ्‍न सक्दैन, र ती प्राकृतिक रूपमा नै घटिरहेका हुँदैनन्, तर सार्वभौमबाट नियन्त्रित हुन्छन् भन्‍ने कुरालाई पनि उसले स्वीकार गर्नैपर्छ। यी सबै नै मानवजातिले बृहत् स्तरमा बुझ्‍न सक्‍ने परमेश्‍वरको अख्‍तियारका अभिव्यक्तिहरू हुन्।

सूक्ष्‍म स्तरमा, मानिसले पृथ्वीमा देख्‍न सक्‍ने सारा पहाड-पर्वत, नदी-नाला, ताल-तलैया, समुद्र अनि ठूला भूमिहरू, उसले अनुभव गर्ने सबै ऋतु, वनस्पति, पशु-प्राणी, सूक्ष्‍म जीव, र मानिस लगायत पृथ्वीमा बसोबास गर्ने सबै थोक परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणको अधीनमा छन्। परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणमा, उहाँकै सोचहरू अनुसार सबै थोक अस्तित्वमा आउँछन् वा हराउँछन्; तिनीहरूको अस्तित्वलाई शासन गर्ने नियमहरू उत्पन्‍न हुन्छन्, अनि त्यही नियमहरूलाई पालना गर्दै तिनीहरू बढ्छन् र फैलिन्छन्। कुनै पनि मानवजाति वा थोक यी नियमहरूभन्दा माथि छैन। किन यसो भयो? एउटै मात्र उत्तर यही हो: यो परमेश्‍वरको अख्‍तियारको कारणले गर्दा हो। अथवा, अर्को तरिकाले भन्दा, यो परमेश्‍वरको सोच र परमेश्‍वरका वचनहरूले गर्दा भएको हो; परमेश्‍वर स्वयम्‌को व्यक्तिगत कार्यहरूको कारणले गर्दा हो। यसको अर्थ के हो भने यी नियमहरूलाई उत्पन्‍न गर्ने परमेश्‍वरको अख्‍तियार र परमेश्‍वरको मन हुन्, जुन उहाँका सोचहरू अनुसार स्थानान्तरण र परिवर्तन हुन्छन्, अनि उहाँकै योजनाको खातिर स्थानान्तर र परिवर्तन हुन्छन् वा हराएर जान्छन्। उदाहरणको लागि, महामारीलाई लिऊँ। कुनै पनि चेतावनीविना नै ती फैलिन्छन्। तिनको उत्पत्ति कहाँ भयो वा त्यसो हुनुको कारण के हो सो कसैलाई थाहा हुँदैन, र जब महामारी कुनै निश्‍चित स्थानमा पुग्छ, अभिशप्त भइसकेकाहरू त्यो विपत्तिबाट उम्कन सक्दैनन्। महामारीहरू घातक वा हानिकारक जीवाणुहरूको फैलावटको कारण पैदा हुन्छन् भन्‍ने मानव विज्ञानले बुझ्छ, र तिनीहरूको गति, सर्ने क्षेत्र, र विधिलाई मानव विज्ञानले अनुमान वा नियन्त्रण गर्न सक्दैन। मानिसहरूले सम्‍भव भएको हरेक माध्यमद्वारा महामारीलाई रोक्‍ने भए तापनि, यो फैलिएपछि कुन-कुन मानिसहरू वा पशु-प्राणीलाई निश्चित रूपमा प्रभाव पार्छ भन्‍ने कुरालाई तिनीहरूले नियन्त्रण गर्न सक्दैनन्। मानिसहरूले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको, त्यसको रोकथाम गर्ने, प्रतिरोध गर्ने र त्यसको अनुसन्धान गर्ने मात्रै हो। तर कुनै पनि व्यक्तिगत महामारीको सुरुवात वा अन्त्यको मूल कारण कसैलाई पनि थाहा हुँदैन, र कसैले पनि तिनलाई नियन्त्रण गर्न सक्दैन। महामारीको सुरुवात र फैलावटको सामना गर्न थालेपछि, मानिसहरूले अपनाउने सुरुवाती उपाय खोपको विकास गर्नु हो, तर खोप तयार हुनुभन्दा पहिले नै महामारी प्रायजसो आफै हराएर जान्छ। महामारीहरू किन आफै हराएर जान्छन्? कतिपयले किटाणुहरूलाई नियन्त्रणमा ल्याइयो भनेर भन्छन्, अरूले मौसम परिवर्तनको कारण ती मरेर जान्छन् भनेर भन्छन्…। यी अनेक किसिमका अनुमानहरू न्यायसङ्गत भए पनि नभए पनि, विज्ञानले कुनै व्याख्या दिन सक्दैन र कुनै सटीक उत्तर दिन सक्दैन। मानवजातिले यी अनुमानहरूलाई मात्रै होइन, तर महामारीहरू सम्‍बन्धी मानवजातिको बुझाइको कमी र डरलाई पनि महत्त्वपूर्ण ठान्‍नुपर्छ। अन्तिम विश्‍लेषणमा, किन महामारीहरू सुरु हुन्छन् वा ती किन अन्त्य हुन्छन् भन्‍ने कसैलाई थाहा हुँदैन। मानवजातिले विज्ञानमा मात्रै विश्‍वास गर्ने, यसमा मात्रै पूर्ण रूपमा भरोसा गर्ने, र सृष्टिकर्ताको अख्‍तियारलाई पहिचान नगर्ने वा उहाँको सार्वभौमिकतालाई स्वीकार नगर्ने भएकाले, तिनीहरूले कहिल्यै पनि कुनै उत्तर पाउने छैनन्।

परमेश्‍वरको सार्वभौमिकता अन्तर्गत, उहाँको अख्‍तियारका कारण, र उहाँको व्यवस्थापनका खातिर नै यावत् थोक जन्‍मिन्छन्, जिउँछन्, र नाश हुन्छन्। कतिपय थोकहरू चुपचाप आउँछन् र जान्छन्, अनि मानिसले तिनीहरू कहाँबाट आए भनेर देख्न वा तिनले पछ्याउने ढाँचाहरूलाई बुझ्‍न सक्दैन, ती किन आए र गए त्यसको कारणहरू बुझ्‍न त झनै सक्दैनन्। यावत् थोकमाझ घट्ने सबै कुराहरू मानिसका आफ्‍नै आँखाले देख्‍न सकिने, र आफ्नै कानले सुन्‍न सकिने, अनि मानिसले व्यक्तिगत रूपमा अनुभव गर्न सकिने भए तापनि, यी सबैले मानिसमा प्रभाव पार्ने भए पनि, र विभिन्‍न प्रक्रियाहरूको सापेक्षित असामान्यता, नियमितता वा अनौठोपनलाई समेत मानिसले अवचेतन रूपमा बुझ्‍ने भए तापनि, यावत् थोकमाझ घट्ने सबै कुराहरूका पछाडि सृष्टिकर्ताका अभिप्राय र सोचहरूबारे उसलाई अझै पनि केहि थाहा हुँदैन। त्यसमा धेरै कथाहरू, लुकेका धेरै सत्यताहरू हुन्छन्। मानिस सृष्टिकर्ताबाट बरालिएर धेरै टाढा गएको हुनाले र सृष्टिकर्ताको अख्‍तियारले नै यावत् थोकमाथि शासन गर्छ भन्‍ने तथ्यलाई उसले स्वीकार नगर्ने हुनाले, सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकता अन्तर्गत घट्ने सबै कुरालाई उसले कहिल्यै बुझ्ने र बोध गर्ने छैन। अधिकांश विषयमा, परमेश्‍वरको नियन्त्रण र सार्वभौमिकताले मानिसको कल्‍पना, मानिसको ज्ञान, मानिसको बुझाइ, अनि मानिसको विज्ञानले प्राप्त गर्न सक्‍ने कुराको परिधिहरूलाई नाघ्‍छ; ती सृजित मानवजातिको क्षमताभन्दा बाहिर हुन्छन्। कतिपय मानिसहरू भन्छन्, “तिमी परमेश्‍वरको सार्वभौमिकताको साक्षी बसेको नहुनाले, यो सबै उहाँकै अख्‍तियारको नतिजा हो भनेर तिमी कसरी विश्‍वास गर्न सक्छौ?” देख्‍नु भनेको सधैँ विश्‍वास गर्नु हो भन्‍ने होइन, न त यो सधैँ मान्नु र बुझ्‍नु भन्‍ने नै हो। त्यसो भए, विश्‍वास गर्ने कुरा कहाँबाट आउँछ त? म निश्चित भएर भन्‍न सक्छु कि परिस्थितिको वास्तविकता र मूल कारणहरूसम्‍बन्धी मानिसहरूको बुझाइ, अनि अनुभवको मात्रा र गहिराइबाट नै विश्‍वास आउँछ। यदि तँ परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छस्, तर तँ यावत् थोकमाथिको परमेश्‍वरको नियन्त्रण र परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई देख्नु त के, मान्न समेत सक्दैनस् भने, परमेश्‍वरमा यस प्रकारको अख्तियार छ र परमेश्‍वरको अख्तियार अद्वितीय छ भन्‍ने कुरालाई तेरो हृदयमा तैँले कहिल्यै पनि मान्नेछैनस्। तैँले सृष्टिकर्तालाई कहिल्यै साँचो रूपमा तेरो प्रभु र तेरो परमेश्‍वर भनी स्वीकार गर्नेछैनस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२१

मानवजातिको नियति र ब्रह्माण्डको नियतिलाई सृष्टिकर्ताको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन

तिमीहरू सबै वयस्क हौ। तिमीहरूमध्ये कोही आधा उमेरका छौ; कोही वृद्ध अवस्थामा प्रवेश गरिसकेका छौ। तिमीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेदेखि उहाँमा विश्‍वास गर्ने भएका छौ, अनि परमेश्‍वरमा विश्‍वास गर्नेदेखि उहाँको वचनलाई स्वीकार गर्ने अनि उहाँको काम अनुभव गर्ने भएका छौ। परमेश्‍वरको सार्वभौमिकताको बारेमा तिमीहरूमा कति ज्ञान छ? तिमीहरूले मानव नियति सम्‍बन्धी के अन्तर्ज्ञान प्राप्त गरेका छौ? के कसैले जीवनमा चाहेको सबै कुरा हासिल गर्न सक्छ? तिमीहरूको अस्तित्वका केही दशकहरूको अवधिमा तिमीहरूले कामना गरेजस्तै के-कति कुराहरू हासिल गर्न सक्यौ? तिमीहरूले कहिल्यै अनुमान नगरेका के-कति घटनाहरू घटेका छन्? के-कति कुराहरू मनोहर आश्‍चर्यका रूपमा आउँछन्? मानिसहरूले अवचेतन रूपमा सही क्षणको प्रतीक्षा गर्दै, स्वर्गको इच्‍छाको प्रतीक्षा गर्दै, के-कति कुराहरूलाई अझै तिनले फल फलाउनेछन् भनेर प्रतीक्षा गर्छन्? के-कति कुराहरूले मानिसहरूलाई विवश महसुस गर्ने र केकसो गर्ने केही थाहा नहुने तुल्याउँछन्? तिनीहरूको जीवनमा सबै कुरा तिनीहरूले चाहना गरेझैँ हुनेछ, तिनीहरूले खानेकुरा वा लत्ताकपडाको बारेमा चाहना गर्नु पर्नेछैन, तिनीहरूको सम्‍पत्तिमा शानदार वृद्धि हुनेछ भन्‍ने अपेक्षा गर्दै सबै आफ्‍नो नियतिको बारेमा आशावादी हुन्छन्। दुःखकष्ट र विपत्तिहरूले गाँजेको गरिब र निम्‍न जीवन कसैले पनि चाहँदैन। तर यी कुराहरूलाई मानिसहरूले अगाडि नै देख्‍न वा नियन्त्रण गर्न सक्दैनन्। सायद कतिपयको लागि, विगत भनेको अनुभवहरूको एउटा पोको मात्रै हो; स्वर्गको इच्‍छा के हो भन्‍ने तिनीहरूले कहिल्यै सिक्दैनन्, न त तिनीहरूले यो के हो भन्‍ने कुरालाई नै मतलब गर्छन्। तिनीहरू मानवजातिको नियतिको बारेमा वा मानिसहरू किन जीवित छन् वा तिनीहरू कसरी जिउनुपर्छ भन्‍ने बारेमा वास्तै नगरीकन दिन-प्रतिदिन पशुजस्तै केही नसोची आफ्‍नो जीवन जिउँछन्। त्यस्ता मानिसहरू मानव नियतिको बारेमा केही नबुझीकन नै वृद्ध उमेरमा पुग्छन्, अनि तिनीहरूलाई आफ्नो मृत्युको घडीसम्‍मै जीवन के हो, थाहै हुँदैन। त्यस्ता मानिसहरू मरेतुल्य हुन्; तिनीहरू आत्माविनाका प्राणीहरू हुन्; तिनीहरू पशुहरू हुन्। मानिसहरू सृष्टिभित्रै जिउने भए तापनि र संसारले तिनीहरूका भौतिक आवश्यकताहरूलाई पूरा गर्ने गरी विभिन्‍न तरिकाले तिनीहरूले आनन्द लिने भए तापनि, र यो भौतिक संसार अटुट रूपमा विस्तार हुँदैछ भन्‍ने तिनीहरूले देखे पनि, भौतिक कुराहरूसँग तिनीहरूको आफ्‍नै अनुभवको अर्थात्, तिनीहरूको हृदय र तिनीहरूको आत्माले के आभास र अनुभव गर्छ त्यसको कुनै सम्‍बन्ध छैन, र कुनै पनि भौतिक कुराले अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। अनुभव भनेको व्यक्तिले आफ्‍नो अन्तस्करणमा पहिचान गर्ने, नाङ्गो आँखाले देख्‍न नसक्‍ने कुरा हो। यो पहिचान मानव जीवन र मानव नियति सम्‍बन्धी व्यक्तिको बुझाइ र उसको दृष्टिकोणमा रहेको हुन्छ। अनि यसले व्यक्तिलाई प्रायजसो, एक अदृश्य सार्वभौमले मानिसकै लागि सबै थोकको व्यवस्थापन गरिरहनुभएको छ, सबै कुरा योजनाबद्ध तुल्याइरहनुभएको छ भन्‍ने कुरा बोध गराउँछ। यी सबै कुराहरूका बीचमा, व्यक्तिले नियतिको बन्दोबस्त र योजनाबद्ध कार्यलाई स्वीकार गर्ने बाहेक केही गर्न सक्दैन; सृष्टिकर्ताले तय गर्नुभएको अगाडिको मार्गलाई, व्यक्तिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्ने बाहेक व्यक्तिले केही गर्न सक्दैन। यो निर्विवाद तथ्य हो। नियतिको बारेमा व्यक्तिले जस्तोसुकै अन्तर्दृष्टि र मनोवृत्ति राखे पनि, कसैले पनि यो तथ्यलाई परिवर्तन गर्न सक्दैन।

व्यक्ति कहाँ जान्छ, उसले के गर्नेछ, उसले कसलाई वा केलाई भेट्नेछ, उसले के भन्‍नेछ, र उसलाई हरेक दिन के हुनेछ—के मानिसहरूले यीमध्ये कुनैको पूर्वानुमान गर्न सक्छन् र? मानिसहरूले यी सबै घटनाहरूको पूर्वानुमान गर्न नसक्‍ने मात्र होइन, योभन्दा पनि बढी, यी परिस्थितिहरू कसरी विकासित हुनेछन् भन्‍ने कुरालाई पनि तिनीहरूले नियन्त्रण गर्न सक्दैनन्। मानिसहरूको दैनिक जीवनमा, यस्ता पूर्वानुमान गर्न नसकिने घटनाहरू सधैँ नै घट्ने गर्छन्, ती आम घटनाहरू हुन्। यस्ता “दैनिक जीवनका सानातिना मामलाहरू” घट्नु र ती विकसित हुने माध्यम र ढाँचाहरू, कुनै कुरा पनि संयोगवश हुँदैनन्, र हरेक घटनाको विकास र अपरिहार्यताको प्रक्रिया मानव इच्‍छाद्वारा परिवर्तन गर्न सकिँदैन भनी मानवजातिलाई दिइएका निरन्तर सम्झौटा हुन्। देखा पर्ने हरेक घटनाले मानवजातिलाई सृष्टिकर्ताको चेतावनी दिन्छ र मानवजातिले आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन भन्‍ने सन्देश दिन्छ। यसको साथै, यो आफ्‍नो नियति आफ्‍नै हातमा लिने निरर्थक आशा गर्ने मानवजातिको महत्वाकाङ्क्षा र इच्छाको खण्डन पनि हो। ती प्रत्येक खण्डन मानवजातिको नियतिमाथि ठ्याक्कै को सार्वभौम छ र त्यसलाई कसले नियन्त्रण गर्छ भनी तिनीहरूलाई मनन गर्न बाध्य पार्ने, एकपछि अर्को गर्दै तिनीहरूको अनुहारमा प्रहार गरिएका थप्पडहरू हुन्। अनि मानिसहरूका महत्वाअङ्क्षा र चाहनाहरू बारम्‍बार धराशायी र चकनाचूर पारिएपछि, तिनीहरूसँग अचेतन रूपमै नियतिका प्रबन्धअनुरूप हुनु बाहेक विकल्प नै हुँदैन, र तिनीहरूले वास्तविकता, स्वर्गको इच्छा, र सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकार्छन्। “दैनिक जीवनका सानातिना मामलाहरू” का दोहोरिरहने घटनाहरूदेखि सारा मानिसहरूको सम्पूर्ण जीवनको नियतिसम्‍म यस्तो कुनै कुरा नै छैन जसले सृष्टिकर्ताको सार्वभौमिकता र उहाँका प्रबन्धलाई प्रकट नगरोस्; “सृष्टिकर्ताको अख्तियारलाई उछिन्न सकिँदैन” भन्ने सन्देश नदिने, “सृष्टिकर्ताको अख्तियार सर्वोच्च छ” भन्ने अपरिवर्तनीय सत्य व्यक्त नगर्ने केही पनि छै।

मानवजाति र यावत कुराहरूका भाग्य सृष्टिकर्ताको सार्वभौमिकतासँग घनिष्ट रूपले गाँसिएका र सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूसँग अभिन्न रूपले जोडिएका हुन्छन्; अन्त्यमा, ती सृष्टिकर्ताको अख्तियारसँग अविभाज्य हुन्छन्। सबै कुराहरूका नियमहरूमा, मानिसले सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र उहाँको सार्वभौमिकतालाई बुझ्‍न पुग्छ; यावत् थोकहरूको अस्तित्वका नियमहरूमा, उसले सृष्टिकर्ताको शासनलाई जान्‍न पुग्छ; यावत् थोकहरूका नियतिहरूमा, उसले सृष्टिकर्ताले कसरी तिनीहरूउपर आफ्‍नो सार्वभौमिकता र नियन्त्रण प्रयोग गर्नुहुन्छ सो निष्कर्ष निकाल्न पुग्छ; अनि मानवजाति र यावत् थोकका जीवन चक्रहरूमा मानिसले साँच्‍चै नै यी यावत् थोक र जीवित प्राणीहरूका निम्ति सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूको अनुभव गर्न पुग्छ, कसरी ती योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूले सारा सांसारिक कानुनहरू, नियमहरू, र संस्थाहरू, अन्य सारा शक्तिहरू र सामर्थ्यहरूलाई नाघ्छन् भन्‍ने कुरा देख्‍न पुग्छ। त्यसो हुनाले, सृष्टिकर्ताको सार्वभौमिकतालाई कुनै पनि सृष्टि गरिएको प्राणीले उल्‍लङ्घन गर्न सक्दैन, सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएका घटना र काम-कुराहरूलाई कुनै पनि शक्तिले बाधा दिन वा परिवर्तन गर्न सक्दैन भन्‍ने कुरा स्वीकार गर्न मानवजाति बाध्य छ। यिनै स्वर्गका व्यवस्था र नियमहरूमा नै मानवजाति अनि यावत् थोक जिउँछन् र एक पुस्तादेखि अर्को पुस्तासम्‍म पुनरुत्पादन गर्दै जान्छन्। के सृष्टिकर्ताको अख्तियारको साँचो मूर्त रूप यही होइन र? मानिसले वस्तुगत नियमहरूमा, सृष्टिकर्ताको सार्वभौमिकता र सबै घटना र यावत् थोकमा उहाँको पूर्वनिर्धारणलाई देख्‍ने भए तापनि, यावत् थोकहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकताको सिद्धान्तलाई कति जना मानिसहरूले पूर्ण रूपमा बुझ्‍न सक्छन्? कति मानिसहरूले तिनीहरूको आफ्नै नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तलाई साँचो रूपमा चिन्न, मान्न, स्वीकार गर्न, र तिनमा समर्पित हुन सक्छन्? कसले चाहिँ यावत् थोकमाथि सृष्टिकर्ताको सार्वभौमिकताको तथ्यमा विश्‍वास गरेकोले, मानिसको जीवनको नियतिमाथि पनि सृष्टिकर्ताले सार्वभौमिकता राख्‍नुहुन्छ भन्‍ने कुरालाई साँचो रूपमा विश्‍वास र स्वीकार गर्न सक्छ? कसले मानिसको नियति सृष्टिकर्ताको हतकेलामा छ भन्‍ने तथ्यलाई साँचो रूपमा बुझ्‍न सक्छ? उहाँले मानवजातिको नियतिलाई शासन र नियन्त्रण गर्नुहुन्छ भन्‍ने तथ्यलाई ध्यानमा राख्दै, मानवजातिले सृष्टिकर्ताको सार्वभौमिकतामाथि कस्तो मनोवृत्ति राख्‍नुपर्छ? अहिले यो तथ्यको सामना गर्ने हरेक मानवजातिले आफ्‍नो लागि गर्नैपर्ने निर्णय त्यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२२

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

आफ्‍नो जीवनकालमा, हरेक व्यक्ति नै महत्त्वपूर्ण मोडहरूको श्रृंखलामा पुग्‍छन्। व्यक्तिको जीवनको नियतिलाई निर्धारण गर्ने अत्यन्तै आधारभूत, र अत्यन्तै महत्त्वपूर्ण चरणहरू यिनै हुन्। हरेक व्यक्तिले आफ्‍नो जीवनकालमा पार गर्नैपर्ने यी मार्गचिन्‍हहरूको छोटकरी व्याख्या निम्‍नानुसार दिइएको छ।

पहिलो महत्त्वपूर्ण मोड: जन्‍म

व्यक्तिको जन्‍म कहाँ हुन्छ, तिनीहरू कुन परिवारमा जन्‍मन्छन्, उसको लिङ्ग, रूप, अनि जन्‍मको समय—व्यक्तिको जीवनको पहिलो महत्त्वपूर्ण मोडका विवरणहरू यिनै हुन्।

कसैले पनि यो मोडको निश्चित विवरण छनौट गर्न सक्दैन; ती सबै सृष्टिकर्ताले धेरै पहिले नै अग्रिम रूपमा निर्धारित गर्नुभएको हुन्छ। कुनै पनि हालतमा बाहिरी वातावरणले तिनलाई प्रभावित गर्दैन, अनि कुनै पनि मानव निर्मित तत्वहरूले यी तथ्यहरूलाई परिवर्तन गर्न सक्दैनन्, जसलाई सृष्टिकर्ताले पहिले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। व्यक्तिको जन्‍म हुनु भनेको त्यस व्यक्तिको लागि सृष्टिकर्ताले बन्दोबस्त गर्नुभएको नियतिको पहिलो चरणलाई उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ भन्‍ने हो। यी सबै कुराहरूलाई धेरै पहिले नै अग्रिम रूपमा उहाँले पूर्वनिर्धारित गरिसक्‍नुभएको हुनाले, तीमध्ये कुनै पनि कुरालाई परिवर्तन गर्ने शक्ति कसैसँग हुँदैन। व्यक्तिको पछिको नियति जस्तोसुकै भए तापनि, व्यक्तिको जन्‍मका परिस्थितिहरू पूर्वनिर्धारित हुन्छन्, र ती त्यस्तै रहन्छन्; तिनलाई व्यक्तिको जीवनको नियतिले कुनै पनि हालतमा प्रभावित गर्दैन, न त तिनले व्यक्तिको जीवनको नियतिमाथि रहेको सृष्टिकर्ताको सार्वभौमिकतालाई नै प्रभाव पार्छ।

१) सृष्टिकर्ताका योजनाहरूद्वारा एउटा नयाँ जीवन जन्‍मन्छ

पहिलो महत्त्वपूर्ण मोडको कुन विवरणलाई—जन्‍मने स्थान, उसको परिवार, उसको लिङ्ग, शारीरिक रूप, ऊ जन्‍मने समयमध्ये कुनलाई—व्यक्तिले छनौट गर्न सक्छ? अवश्य नै, व्यक्तिको जन्‍म एउटा निष्क्रिय घटना हो। कुनै व्यक्ति कुनै स्थानमा, कुनै निश्‍चित समयमा, कुनै निश्‍चित परिवारमा, कुनै निश्‍चित शारीरिक रूप लिएर अनायासै जन्‍मन्छ; कुनै व्यक्ति अनायासै कुनै निश्‍चित परिवारको सदस्य, कुनै निश्‍चित पारिवारिक वृक्षको हाँगा बन्छ। जीवनको यो पहिलो महत्त्वपूर्ण मोडमा व्यक्तिसँग कुनै विकल्‍प हुँदैन, बरु ऊ त सृष्टिकर्ताका योजनाहरू अनुसार निश्‍चित गरिएको वातावरणमा, व्यक्तिको जीवनकालसँग घनिष्ट रूपमा सम्‍बन्धित रहेको निश्‍चित परिवार, निश्‍चित लिङ्ग र स्वरूपमा, र निश्‍चित समयमा जन्मन्छ। यो महत्त्वपूर्ण बिन्दुमा व्यक्तिले के गर्न सक्छ? स्पष्टै छ, व्यक्तिको जन्मसम्‍बन्धी यीमध्ये कुनै पनि विवरणलाई व्यक्तिले छनौट गर्न पाउँदैन। सृष्टिकर्ताको पूर्वनिर्धारित योजना र उहाँको मार्गनिर्देशन नभएको भए, यो संसारमा नयाँ जन्‍मने जीवनलाई कहाँ जाने वा कहाँ बस्‍ने सो थाहा हुनेथिएन, उसको कुनै सम्‍बन्ध हुनेथिएन, ऊ कहीँको पनि हुनेथिएन, र उसको वास्तविक घर हुनेथिएन। तर सृष्टिकर्ताको कुशल बन्दोबस्तको कारणले गर्दा, यो नयाँ जीवनले बस्‍ने ठाउँ, आमाबाबु, उसले आफ्‍नो भन्‍न सक्‍ने ठाउँ, र इष्टमित्र पाउँछ, अनि त्यो जीवनले आफ्नो यात्रालाई अघि बढाउँछ। यो प्रक्रियाभरि, यस नयाँ जीवनको मूर्तरूप प्रकटीकरणलाई सृष्टिकर्ताको योजनाले निर्धारित गर्छ, अनि यसले पछि प्राप्त गर्ने सबै कुरा सृष्टिकर्ताले नै यसलाई दिनुहुन्छ। आफ्‍नो नाममा केही पनि नरहेको त्यत्तिकै तैरिरहेको शरीर, क्रमिक रूपमा देह र मासु, देख्‍न सकिने, मूर्त मानव प्राणी, परमेश्‍वरका सृष्टिहरूमध्ये एउटा बन्छ, जसले विचार गर्छ, सास फेर्छ, अनि तातो र चिसोको अनुभव गर्छ; जसले भौतिक संसारमा सृष्टि गरिएको प्राणीका सामान्य क्रियाकलापहरूमा सहभागिता जनाउन सक्छ; अनि जसले सृष्टि गरिएको मानवले जीवनमा अनुभव गर्नुपर्ने सबै कुराहरूलाई अनुभव गर्नेछ। व्यक्तिको जन्‍मलाई सृष्टिकर्ताले पूर्वनिर्धारण गर्नुको अर्थ उहाँले त्यस व्यक्तिलाई बाँच्‍नको लागि चाहिने सबै कुरा दिनुहुन्छ भन्‍ने हो; अनि त्यसरी नै, व्यक्ति जन्‍मिएको छ भन्‍ने तथ्यको अर्थ उसले बाँच्‍नको लागि चाहिने सबै कुरा सृष्टिकर्ताबाट प्राप्त गर्नेछ, अनि यसपछि, तिनीहरू सृष्टिकर्ताले दिनुभएको र सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा रहेको अर्को स्वरूपमा जिउनेछन् भन्‍ने हो।

२) किन फरक-फरक मानवजाति फरक-फरक परिस्‍थितिहरूमा जन्‍मन्छन्

मानिसहरूले प्रायजसो यदि तिनीहरूको पुनर्जन्‍म भयो भने, यो एउटा विशिष्ट परिवारमा हुनेछ भनेर कल्‍पना गर्न मन पराउँछन्; यदि तिनीहरू महिलाको रूपमा जन्‍मेका थिए भने, तिनीहरू हिउँजस्तै सेतो देखिन र तिनीहरूलाई सबैले माया गरुन् भन्‍ने चाहन्छन्, अनि तिनीहरू पुरुष थिए भने कुनै कुराको पनि कमी नभएको सारा संसार आफ्‍नो चुट्कीमा नियन्त्रण गर्ने राजकुमार बन्‍न चाहन्छन्। आफ्‍नो जन्‍मको बारेमा विभिन्‍न भ्रमहरू बोकी कष्ट भोग्‍नेहरू, अनि आफ्‍नो परिवार, आफ्‍नो रूप, आफ्‍नो लिङ्ग, अनि आफू जन्‍मेको समयप्रति अत्यन्तै असन्तुष्ट हुनेहरू पनि छन्। तैपनि मानिसहरूले तिनीहरू किन निश्‍चित परिवारमा जन्‍मे वा किन तिनीहरूको रूप निश्‍चित प्रकारको छ भन्‍ने कहिल्यै बुझ्दैनन्। तिनीहरूलाई तिनीहरू जहाँ जन्‍मे पनि वा तिनीहरूको रूप जस्तो भए पनि, तिनीहरूले विभिन्‍न भूमिका निर्वाह गर्नुपर्छ र सृष्टिकर्ताको व्यवस्थापनका फरक-फरक मिसनहरू पूरा गर्नुपर्छ, र यो उद्देश्य कहिल्यै परिवर्तन हुनेछैन भन्‍ने थाहा हुँदैन। सृष्टिकर्ताको नजरमा, व्यक्ति जन्‍मने स्थान, उसको लिङ्ग, र उसको शारीरिक रूप सबै अस्थायी कुराहरू हुन्। ती सारा मानवजातिप्रतिको उहाँको व्यवस्थापनको हरेक चरणका अत्यन्तै साना कणहरू, सूक्ष्‍म चिन्‍हहरूका श्रृंखला मात्रै हुन्। र व्यक्तिको वास्तविक गन्तव्य र परिणामलाई कुनै पनि निश्‍चित चरणमा भएको तिनीहरूको जन्‍मले होइन, बरु तिनीहरूले आफ्‍नो जीवनमा पूरा गर्ने मिसनले, र उहाँको व्यवस्थापन योजना पूरा भएपछि तिनीहरूमाथि सृष्टिकर्ताले गर्नुहुने न्यायले निर्धारित गर्छ।

हरेक प्रभावको लागि एउटा कारण हुन्छ, र कारणविना कुनै प्रभाव हुँदैन भन्‍ने भनाइ छ। तसर्थ, व्यक्तिको जन्‍म उसको वर्तमान जीवन र उसको पहिलेको जीवन दुवैसँग अत्यावश्यक रूपमा नै जोडिएको हुन्छ। यदि व्यक्तिको मृत्युले उसको हालको जीवन अवधिलाई समाप्त गर्छ भने, व्यक्तिको जन्‍म ताजा चक्रको सुरुवात हो; यदि पुरानो चक्रले व्यक्तिको अघिल्‍लो जीवनलाई प्रतिनिधित्व गर्छ भने, नयाँ चक्र स्वाभाविक रूपमा नै तिनीहरूको वर्तमान जीवन हो। व्यक्तिको जन्‍म उसको विगतको जीवनका साथै उसको वर्तमान जीवनसँग जोडिएको हुने हुनाले, व्यक्तिको जन्‍मसँग सम्‍बन्धित स्थान, परिवार, लिङ्ग, स्वरूप, र अरू त्यस्तै तत्वहरू सबै नै व्यक्तिको विगत र वर्तमान जीवनसँग सम्‍बन्धित हुन्छन्। यसको अर्थ के हो भने व्यक्तिको जन्‍म सम्‍बन्धी तत्वहरूलाई व्यक्तिको अघिल्‍लो जीवनले मात्रै प्रभाव पार्ने होइन, बरु तिनलाई त व्यक्तिको वर्तमान जीवनको नियतिले पनि निर्धारित गर्छ, जसले मानिसहरू किन विभिन्‍न परिस्‍थितिहरूमा जन्‍मन्छन् भन्‍ने कुरालाई स्पष्ट पार्छ: कति जना गरिब परिवारमा जन्‍मन्छन्, अरू धनी परिवारमा। कति जना सर्वसाधारण वर्गका हुन्‍छन्, अरू विशिष्ट घरानाका। कति जना दक्षिणमा जन्‍मन्छन्, अरू उत्तरमा। कति जना मरुभूमिमा जन्‍मन्छन्, अरू हराभरा जमिनमा। कतिपय मानिसहरूको जन्‍म हुँदा हर्ष, खुशी, र धूमधाम हुन्छ; अरूको जन्‍मले आँसु, संकष्ट, र विपत्ति ल्याउँछ। कति जना प्यारो बन्न जन्‍मन्छन्, अरू झारजस्तो पन्छाइनको लागि जन्‍मन्छन्। कति जना उत्कृष्ट विशेषताहरू लिएर जन्‍मन्छन्, अरू कुटिल मतिका भई जन्‍मन्छन्। कति जना हेर्दा सुन्दर देखिन्छन्, अरू कुरूप देखिन्छन्। कति जना आधारातमा जन्‍मन्छन्, अरू मध्य दिनको तातो घाममा जन्‍मन्छन्। … सबै वर्गका मानिसहरूको जन्‍म सृष्टिकर्ताले तिनीहरूका निम्ति साँचिराखिदिनुभएको नियतिद्वारा निर्धारित गरिन्छन्; तिनीहरूको जन्‍मले तिनीहरूको वर्तमान जीवनको नियतिका साथै तिनीहरूले निर्वाह गर्ने भूमिका अनि तिनीहरूले पूरा गर्ने मिसनलाई निर्धारित गर्छ। यो सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा हुन्छ, उहाँले नै यसलाई पूर्वनिर्धारित गर्नुभएको हुन्छ; पहिलेबाटै निर्धारित गरिएको यो नियतिबाट कोही पनि उम्कन सक्दैन, कसैले पनि आफ्‍नो जन्‍मलाई परिवर्तन गर्न सक्दैन, अनि कसैले पनि आफ्‍नो नियतिलाई छनौट गर्न सक्दैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२३

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

दोस्रो महत्त्वपूर्ण मोड: हुर्कनु-बढ्नु

मानिसहरू जुन प्रकारको परिवारमा जन्‍मन्छन् त्यसको आधारमा, तिनीहरू घरको फरक-फरक वातावरणमा हुर्कन्छन् र तिनीहरूले आफ्‍ना आमाबाबुबाट फरक-फरक पाठहरू सिक्‍छन्। व्यक्ति कसरी वयस्क हुँदै जान्छ त्यसका अवस्थाहरूलाई यी तत्वहरूले निर्धारित गर्छन्, र हुर्कनु-बढ्नुले व्यक्तिको जीवनको दोस्रो महत्त्वपूर्ण समयबिन्दुलाई प्रतिनिधित्व गर्छ। अवश्य नै, यो मोडमा पनि मानिसहरूसँग कुनै विकल्‍प हुँदैन। यो पनि निश्‍चित र पूर्वनिर्धारित हुन्छ।

१) सृष्टिकर्ताले हरेक व्यक्ति वयस्क हुनको लागि निश्‍चित अवस्थाहरूको योजना बनाउनुभएको हुन्छ

व्यक्तिले आफू हुर्कने क्रममा उसलाई शिक्षा दिने र प्रभाव पार्ने मानिस, घटना, वा काम-कुराहरूलाई छनौट गर्न सक्दैन। व्यक्तिले कस्तो ज्ञान वा सीपहरू प्राप्त गर्छ, उसले के-कस्ता बानी-व्यहोराको विकास गर्छ त्यसलाई उसले छनौट गर्न सक्दैन। व्यक्तिको आमाबाबु र इष्टमित्र को हुन्छन्, ऊ कस्तो प्रकारको वातावरणमा हुर्कन्छ त्यसको बारेमा व्यक्तिले केही पनि बोल्‍न पाउँदैन; व्यक्तिको वरिपरिका मानिस, घटना, र काम-कुराहरूसँगको उसको सम्‍बन्ध, र तिनले उसको विकासमा कसरी प्रभाव पार्छन्, यी सबै व्यक्तिको नियन्त्रणभन्दा बाहिरका कुराहरू हुन्। त्यसो भए, कसले यी कुराहरूको निर्णय गर्छ? कसले तिनको व्यवस्थापन गर्छ? मानिसहरूसँग यस विषयमा कुनै विकल्‍प नहुने हुनाले, तिनीहरूले यी कुराहरू आफ्‍नो लागि निर्णय गर्न नसक्‍ने हुँदा, र अवश्य पनि तिनले स्वाभाविक रूपमै आकार नलिने हुँदा, भन्नै पर्दैन, यी मानिसहरू, घटनाहरू, र काम-कुराहरूको निर्माण सृष्टिकर्ताकै हातमा छ। अवश्‍य नै, जसरी सृष्टिकर्ताले हरेक व्यक्तिको जन्‍मको खास परिस्‍थितिहरूको बन्दोबस्त गर्नुहुन्छ, त्यसरी नै उहाँले व्यक्ति कस्ता खास परिस्‍थितिहरूमा हुर्कन्छ भन्‍ने कुराको पनि बन्दोबस्त गर्नुहुन्छ। यदि व्यक्तिको जन्‍मले उसको वरिपरिका मानिसहरू, घटना, र काम-कुराहरूलाई परिवर्तन गर्छ भने, त्यस व्यक्तिको वृद्धि र विकासले पनि तिनलाई अवश्य नै प्रभाव पार्नेछ। उदाहरणको लागि, कतिपय मानिसहरू गरिब परिवारमा जन्‍मन्छन्, तर धनसम्पत्तिले घेरिएर हुर्कन्छन्; अरू सम्‍पन्‍न परिवारमा जन्‍मन्छन्, तर तिनीहरूको परिवारको सम्‍पत्तिमा ह्रास आएको कारणले, तिनीहरू गरिब वातावरणमा हुर्कन्छन्। कसैको जन्‍मलाई निश्‍चित नियमले सञ्चालित गर्दैन, र कुनै पनि व्यक्ति अपरिहार्य, निश्‍चित परिस्‍थितिहरूमा हुर्कँदैन। यी कुराहरू व्यक्तिले कल्‍पना वा नियन्त्रण गर्न सक्‍ने कुराहरू होइनन्; ती व्यक्तिको नियतिका उपजहरू हुन्, र व्यक्तिकै नियतिले तिनलाई निर्धारण गरेको हुन्छ। अवश्‍य नै, मूल रूपमा, यी कुराहरू हरेक व्यक्तिको लागि सृष्टिकर्ताले पूर्वनिर्धारित गरिदिनुभएको नियतिद्वारा निर्धारित हुन्छन्; व्यक्तिको नियतिमाथि सृष्टिकर्ताको सार्वभौमिकता अनि यसको निम्ति उहाँको योजनाद्वारा ती कुराहरू निर्धारित हुन्छन्।

२) मानिसहरू हुर्कने विभिन्‍न परिस्‍थितिहरूले फरक-फरक भूमिकाहरू पैदा गर्छन्

व्यक्तिको जन्‍मका परिस्‍थितिहरूले आधारभूत रूपमा तिनीहरू हुर्कने वातावरण र परिस्‍थितिहरूलाई स्थापित गर्छन्, त्यसै गरी, व्यक्ति जुन परिस्‍थितिहरूमा हुर्कन्छ ती उसको जन्‍मका परिस्‍थितिहरूका उपज हुन्। यस अवधिमा, व्यक्तिले भाषा सिक्‍न सुरु गर्छ, र व्यक्तिको मस्तिष्कले विभिन्‍न नयाँ कुराहरू भेट्ने र आत्मसात् गर्ने गर्छ, जुन प्रक्रियाको अवधिमा व्यक्ति निरन्तर वृद्धि भइरहेको हुन्छ। व्यक्तिले आफ्‍नो कानले सुन्‍ने, आफ्‍नो आँखाले देख्‍ने, र आफ्‍नो मस्तिष्कले लिने कुराहरूले बिस्तारै उसको भित्री संसारलाई भर्छ र चलायमान बनाउँछ। व्यक्तिको सम्पर्कमा आउने मानिसहरू, घटना, र विभिन्‍न कुराहरू; उसले सिक्‍ने सामान्य चेतना, ज्ञान, र सीपहरू; अनि व्यक्तिलाई सिकाइने वा उसको मस्तिष्कमा हालिने उसलाई प्रभाव पार्ने विचार-शैलीहरूले व्यक्तिको जीवनको नियतिलाई निर्देशित गर्नेछ र प्रभाव पार्नेछ। व्यक्तिले हुर्कने क्रममा सिक्‍ने भाषा र उसको विचार-शैलीलाई उसले आफ्‍नो जवान अवस्थामा बिताएको वातावरणबाट अलग गर्न सकिँदैन, र त्यो वातावरणमा आमाबाबु र दाजुभाइ वा दिदीबहिनी, अनि तिनीहरूका आसपासका अरू मानिसहरू, घटना, र विभिन्न कुराहरू पर्छन्। त्यसैले, व्यक्तिको विकासको क्रम ऊ हुर्कने वातावरणले निर्धारण गर्छ, र यो अवधिमा उसको सम्पर्कमा आउने मानिसहरू, घटना, र अन्य कुराहरूमा पनि निर्भर हुन्छ। व्यक्ति जुन अवस्थाहरूमा हुर्कन्छ त्यो धेरै पहिले नै अग्रिम रूपमा पूर्वनिर्धारित गरिएको हुने हुनाले, यो प्रक्रियाको अवधिमा ऊ जुन वातावरणमा हुर्कन्छ, त्यो पनि स्वाभाविक रूपमै पूर्वनिर्धारित गरिएको हुन्छ। व्यक्तिका विकल्‍प र रुचिहरूद्वारा यसको निर्णय गरिँदैन, बरु सृष्टिकर्ताका योजनाहरू अनुरूप, सृष्टिकर्ताका सावधानीपूर्ण बन्दोबस्त र व्यक्तिको जीवनको नियतिमाथिको उहाँको सार्वभौमिकताद्वारा निर्धारित गरिन्छ। तसर्थ, वृद्धि हुने क्रममा कुनै पनि व्यक्तिले भेट्ने मानिसहरू, अनि तिनीहरूको सम्पर्कमा आउने अन्य कुराहरू सबै नै सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तसँग स्वाभाविक रूपमै जोडिएका हुन्छन्। मानिसहरूले यस प्रकारका जटिल पारस्परिक सम्‍बन्धहरूलाई पूर्वानुमान गर्न सक्दैनन्, न त तिनीहरूले तिनलाई नियन्त्रण गर्न वा बुझ्‍न नै सक्‍छन्। व्यक्ति हुर्कने वातावरणलाई विभिन्‍न फरक-फरक कुराहरू र मानिसहरूले प्रभाव पार्छन्, र कुनै पनि मानिसले त्यस्ता सम्‍बन्धहरूको विशाल जालोलाई बन्दोबस्त गर्न वा योजनाबद्ध गर्न सक्दैन। सृष्टिकर्ता बाहेक कुनै पनि व्यक्ति वा थोकले सबै मानिसहरू, काम-कुरा अनि घटनाहरूको देखा पराइलाई नियन्त्रण गर्न सक्दैन, न त तिनीहरूले आफूलाई कायम गर्न वा तिनीहरू हराएर जाने प्रक्रियालाई नै नियन्त्रण गर्न सक्छन्, अनि यस्तै सम्‍बन्धहरूको विशाल जालोले नै व्यक्तिको विकासलाई सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएअनुसार आकार दिन्छ र मानिसहरू हुर्कने विभिन्‍न वातावरणहरूको निर्माण गर्छ। मानिसहरूले आफ्‍ना मिसन सफलतापूर्वक पूरा गर्न सकून् भनेर ठोस, बलिया जगहरू बसाल्दै, यसले नै सृष्टिकर्ताको व्यवस्थापन कार्यका लागि आवश्यक विभिन्‍न भूमिकाहरू निर्माण गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२४

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

तेस्रो महत्त्वपूर्ण मोड: स्वतन्त्रता

व्यक्ति बाल्यकाल, किशोरावस्था पार गरेर, क्रमिक रूपमा र अपरिहार्य रूपमा परिपक्‍वतामा पुगेपछि, उसले लिने अर्को चरण भनेको आफ्‍नो जवान अवस्थाबाट अलग भएर, आफ्‍ना बाबुआमालाई बिदा गर्नु अनि अगाडिको बाटोलाई स्वतन्त्र वयस्कको रूपमा सामना गर्नु हो। यस विन्दुमा, वयस्कले सामना गर्नै पर्ने सबै मानिसहरू, घटना, अनि अन्य कुराहरूलाई तिनीहरूले सामना गर्नुपर्छ, तिनीहरूका अघि आफै प्रस्तुत हुँदै आउने तिनीहरूको नियतिका सबै भागहरूलाई सामना गर्नुपर्छ। व्यक्तिले पार गरेर जानैपर्ने तेस्रो समयबिन्दु यही हो।

१) स्वतन्त्र बनिसकेपछि, व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्न थाल्छ

यदि व्यक्तिको जन्‍म र हुर्काइ व्यक्तिको नियतिको लागि जग बसाल्‍ने उसको जीवन यात्राको “तयारी अवधि” हो भने, व्यक्तिको स्वतन्त्रता उसको आफ्‍नो जीवनको नियतिसँगको उसको आत्मलापको सुरुवात हो। यदि व्यक्तिको जन्‍म र हुर्काइ तिनीहरूको जीवनको नियतिको लागि तिनीहरूले साँचेर राख्‍ने सम्पत्ति हो भने, व्यक्तिको स्वतन्त्रता उनीहरूले त्यो धन खर्चन सुरु गर्ने वा धन थप्‍न सुरु गर्ने समय हो। जब व्यक्तिले आफ्‍ना आमाबाबुलाई छोडेर स्वतन्त्र बन्छ, तब उसले सामना गर्ने सामाजिक अवस्थाहरू, र उसको निम्ति उपलब्‍ध हुने कामको प्रकार र जीविका दुवैलाई उसको नियतिले तय गर्छ र उसको आमाबाबुसँग यसको कुनै सम्‍बन्ध हुँदैन। कतिपय मानिसहरूले कलेजमा राम्रो विषय रोज्छन् अनि तिनीहरूले आफ्‍नो जीवन यात्रामा पहिलो विजयी छलाङ्ग मार्दै, दीक्षान्तपछि सन्तोषजनक जागिर पाउँछन्। कतिपय मानिसहरूले विभिन्‍न प्रकारका फरक-फरक सीप सिक्छन् र त्यसमा पोख्त हुन्छन् तैपनि तिनीहरूले आफ्‍नो निम्ति उपयुक्त जागिर कहिल्यै भेट्टाउँदैनन् वा आफूलाई उपयुक्त पद कहिल्यै पाउँदैनन्, जीविका प्राप्त गर्नु त परै जाओस्; तिनीहरूको जीवन यात्राको सुरुमा, तिनीहरू हरेक मोडमा ठक्‍कर खान्छन्, समस्याहरूद्वारा गाँजिएकोले तिनीहरूको भविष्य निराशाजनक बन्छ र तिनीहरूको जीवन अनिश्‍चित हुन्छ। कतिपय मानिसहरू आफ्‍ना अध्ययनमा लगनशील भएर लागिपर्छन्, तैपनि उच्‍च शिक्षा प्राप्त गर्ने हरेक मौकालाई लक्ष्यको नजिक पुगेर पनि गुमाउँछन्; सफलता हासिल गर्ने त तिनीहरूको नियतिमा नै लेखिएको छैन जस्तो देखिन्छ, तिनीहरूको जीवन यात्राको प्रारम्‍भिक आकाङ्क्षा हावामा बिलाएर जान्छ। अगाडिको बाटो सहज छ कि ढुङ्गैढुङ्गाको छ भन्‍ने कुरा थाहा नभएपछि, तिनीहरूले मानव नियति कति परिवर्तनशील हुँदो रहेछ भन्‍ने पहिलो पटक अनुभव गर्छन्, तसर्थ जीवनलाई अपेक्षा र भयको साथ लिन्छन्। कतिपय मानिसहरू त्यति शिक्षित नभए पनि, पुस्तकहरू लेख्छन् अनि निकै ख्याति कमाउँछन्; कतिपय मानिसहरू पूर्ण रूपमा असाक्षर भए पनि, व्यापारमा पैसा कमाउँछन् र आफ्‍नो लागि आफै कमाउन सक्छन्…। व्यक्तिले कुन पेशा अपनाउँछ, उसले कसरी दिनचर्या गर्छ: के यी कुराहरूमा मानिसहरूले असल कि खराब निर्णय गर्छन् भन्‍ने बारेमा तिनीहरूको कुनै नियन्त्रण हुन्छ र? के यी कुराहरू मानिसहरूको इच्‍छा र निर्णयहरू अनुरूप हुन्छन् र? धेरैजसो मानिसहरूका कामनाहरू यस्ता हुन्छन्: थोरै काम गरेर धेरै कमाइ गर्ने, घाम र झरीमा कडा परिश्रम नगर्ने, राम्रो लुगा लगाउने, जहाँसुकै भए पनि हाँसीखुशी बस्‍ने, अरूभन्दा माथि उठ्ने, र आफ्‍ना पुर्खाहरूका निम्ति इज्‍जत कमाउने। मानिसहरूले सिद्धताको आशा गर्छन्, तर जब तिनीहरूले आफ्‍नो जीवन यात्राका प्रथम पाइलाहरू चाल्छन्, तिनीहरूले बिस्तारै मानव नियति कति असिद्ध छ भन्‍ने महसुस गर्छन्, अनि कसैले आफ्‍नो भविष्यको लागि साहसिक योजनाहरू बनाउन सके पनि र उसले आँटिला कल्‍पनाहरू गर्न सके पनि, आफ्‍ना सपनाहरूलाई वास्तविक तुल्याउने क्षमता वा शक्ति कसैसँग छैन, र आफ्‍नो भविष्यलाई नियन्त्रण गर्ने हैसियत कसैसँग छैन भन्‍ने कुरालाई साँचो रूपमा पहिलो पटक बुझ्छन्। व्यक्तिका सपनाहरू अनि उसले सामना गर्नुपर्ने वास्तविकताहरूको बीचमा जहिल्यै पनि केही न केही दूरी हुन्छ; व्यक्तिले जे चाहेको हुन्छ त्यस्तो कहिल्यै हुँदैन, अनि त्यस्ता वास्तविकताहरूको सामना गरिसकेपछि, मानिसहरूले कहिल्यै पनि सन्तुष्टि वा तृप्ति हासिल गर्न सक्दैनन्। कतिपय मानिसहरूले आफ्‍नै नियति परिवर्तन गर्ने प्रयास स्वरूप, आफ्‍नो जीविका र भविष्यको खातिर, कल्‍पना गर्न सकिने कुनै पनि हदसम्‍म लागिपर्छन्, ठूला-ठूला प्रयासहरू गर्छन् र धेरै परित्यागहरू गर्छन्। तर अन्तिममा, तिनीहरूका आफ्‍नै कठिन परिश्रमद्वारा आफ्‍ना सपनाहरू र इच्‍छाहरूलाई पूरा गर्न सके भने पनि, तिनीहरूले आफ्‍नो नियति कहिल्यै परिवर्तन गर्न सक्दैनन्, अनि तिनीहरूले जति धेरै दृढताको साथ प्रयास गरे पनि, नियतिले तिनीहरूका निम्ति जे छुट्याएर राखिदिएको छ त्योभन्दा बढी तिनीहरूले प्राप्त गर्न सक्दैनन्। क्षमता, बौद्धिकता, र इच्‍छाशक्ति जे-जस्तो भए पनि, नियतिको अगाडि मानिसहरू सबै उस्तै हुन्, जसले ठूलो र सानो, उचा र नीच, श्रेष्ठ र तुच्छबीच कुनै भेदभाव गर्दैन। व्यक्तिले कुन पेशा अपनाउँछ, उसले बाँच्‍नको लागि के गर्छ, र उसले जीवनमा कति सम्पत्ति जम्मा गर्छ भन्‍ने कुरालाई उसका बाबुआमा, उसको प्रतिभा, उसका प्रयासहरू वा उसका महत्वाकांक्षाहरूले निर्धारित गर्दैनन्, ती कुरा त सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुहुन्छ।

२) आफ्‍ना बाबुआमालाई छोडेर जीवन-मञ्‍चमा उत्सुकताका साथ आफ्‍नो भूमिका खेल्‍न सुरु गर्नु

जब व्यक्ति परिपक्‍वतामा पुग्छ, ऊ आफ्‍ना बाबुआमालाई छोडेर आफै अघि बढ्न सक्छ, र यही विन्दुमा नै व्यक्तिले साँच्‍चै आफ्‍नो भूमिका निर्वाह गर्न सुरु गर्छ, बादल हट्छ अनि जीवनमा व्यक्तिको उद्देश्य बिस्तारै स्पष्ट हुँदै जान्छ। नाम मात्रको लागि, व्यक्ति आफ्‍नो बाबुआमासँग नजिकको सम्‍बन्धमा नै रहन्छ, तर आमाबाबुसँग व्यक्तिको जीवनको मिसन र उसले खेल्‍ने भूमिकाको कुनै सम्‍बन्ध नहुने भएकोले, सारगत हिसाबमा व्यक्ति क्रमिक रूपमा आत्मनिर्भर बन्दै जाँदा यो घनिष्ठ सम्‍बन्ध तोडिन्छ। जैविक दृष्टिकोणबाट हेर्दा, अवचेतन हिसाबले मानिसहरू आफ्‍ना बाबुआमामा आश्रित नभई बस्‍न सक्दैनन्, तर वस्तुगत रूपमा भन्दा, जब तिनीहरू पूर्ण रूपमा वृद्धि हुन्छन्, तिनीहरूको जीवन तिनीहरूका बाबुआमाको भन्दा पूर्ण रूपमा अलग हुन्छ र आफूले व्यक्तिगत रूपमा लिएका भूमिकाहरूलाई नै तिनीहरू निर्वाह गर्छन्। जन्‍म दिने र हुर्काउनेबाहेक, छोराछोरीको जीवनमा आमाबाबुको जिम्‍मेवारी भनेको तिनीहरूलाई हुर्कनका निम्ति बाहिरी रूपमा औपचारिक वातावरण दिनु मात्रै हो, र कुरा त्यति हो, किनभने सृष्टिकर्ताको पूर्वनिर्धारित योजनाले बाहेक व्यक्तिको नियतिमा अरू केहीले पनि प्रभाव पार्दैन। कुनै व्यक्तिको भविष्य कस्तो हुनेछ भन्ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन; यो धेरै पहिले अग्रिम रूपमा पूर्वनिर्धारण गरिएको हुन्छ, र व्यक्तिको बाबुआमाले समेत उसको नियति परिवर्तन गर्न सक्दैन। नियतिका बारेमा भन्नुपर्दा, हरेक व्यक्ति स्वतन्त्र हुन्छ, र हरेकको आ-आफ्‍नै नियति हुन्छ। त्यसैले, कसैको बाबुआमाले उसको जीवनको नियतिलाई पटक्कै बाधा दिन सक्दैन वा उसले जीवनमा खेल्‍ने भूमिकामा अलिकति पनि प्रभाव पार्न सक्दैन। के भन्‍न सकिन्छ भने, व्यक्तिले जुन परिवारमा जन्‍मिने र जुन वातावरणमा हुर्कने नियति ल्याएर आएको हुन्छ, त्यो जीवनमा व्यक्तिको मिसनलाई पूरा गर्ने पूर्वसर्त बाहेक केही पनि होइन। तिनीहरूले कुनै पनि हालतमा व्यक्तिको जीवनको नियतिलाई निर्धारित गर्दैनन् वा जुन प्रकारको नियतिमा व्यक्तिले आफ्‍नो मिसन पूरा गर्छ त्यसलाई निर्धारित गर्दैनन्। यसरी, जीवनमा व्यक्तिको मिसनलाई हासिल गर्नमा उसलाई उसका बाबुआमाले सहयोग गर्न सक्दैनन्, त्यसै गरी, कसैका आफन्तले व्यक्तिलाई उसको जीवनको भूमिका निर्वाह गर्न सहयोग गर्न सक्दैनन्। व्यक्तिले आफ्‍नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जिउने वातावरणमा आफ्‍नो भूमिका निर्वाह गर्छ त्यसलाई पूर्ण रूपमा व्यक्तिको जीवनको नियतिले नै निर्धारित गर्छ। अर्को शब्‍दमा भन्दा, अरू कुनै पनि वस्तुगत अवस्थाहरूले व्यक्तिको मिसनलाई प्रभाव पार्न सक्दैन, जसलाई सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। सबै मानिसहरू तिनीहरू हुर्केको वातावरणमा नै परिपक्‍व हुन्छन्; त्यसपछि, क्रमिक रूपमा, तिनीहरू जीवनको आफ्‍नै मार्गमा हिँड्न सुरु गर्छन् अनि सृष्टिकर्ताले तिनीहरूका लागि योजना गरिदिनुभएका नियतिहरूलाई पूरा गर्छन्। स्वाभाविक रूपमा, अनायासै, तिनीहरू मानवजातिको विशाल समुद्रमा मिसिन्छन् अनि तिनीहरूको आफ्‍नै जीवनका पदहरू धारण गर्छन्, जहाँ सृष्टिकर्ताको पूर्वनिर्धारित नियतिको खातिर, उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृष्टि गरिएका प्राणीहरूका रूपमा आफ्ना जिम्‍मेवारीहरूलाई पूरा गर्न थाल्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२५

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

चौथो महत्त्वपूर्ण मोड: विवाह

व्यक्तिको उमेर बढ्दै गएपछि र ऊ परिपक्‍व भएपछि, ऊ आफ्‍ना बाबुआमा र ऊ जन्‍मेको र हुर्केको वातावरणबाट अझै टाढा जान्छ, अनि जीवनको दिशा खोज्‍न र आफ्‍नो बाबुआमाको भन्दा फरक शैलीमा जीवनका आफ्‍नै उद्देश्यहरूको खोजी गर्न थाल्छ। यो समयमा, अबउप्रान्त उसलाई उसका बाबुआमाको खाँचो हुँदैन, बरु उसलाई उसले आफ्‍नो जीवन बिताउन सक्‍ने जीवनसाथी, अर्थात् पति वा पत्‍नीको खाँचो हुन्छ, जोसँग उसको नियति घनिष्ठ रूपमा गाँसिएको हुन्छ। त्यसैले, स्वतन्त्रतापछिको जीवनको पहिलो घटना विवाह हो, जुन व्यक्तिले पार गर्नैपर्ने चौथो महत्त्वपूर्ण मोड हो।

१) विवाहमा व्यक्तिगत छनौटको कुनै ठाउँ हुँदैन

विवाह व्यक्तिको जीवनको एउटा मुख्य घटना हो; व्यक्तिले विभिन्‍न प्रकारका जिम्‍मेवारीहरू लिन सुरु गर्ने, अनि विभिन्‍न प्रकारका मिसनहरू क्रमिक रूपमा पूरा गर्दै जाने समय यही नै हो। मानिसहरूले आफैले अनुभव गर्नुभन्दा पहिले विवाहको बारेमा अनेक किसिमका भ्रम बोकेका हुन्छन्, अनि यी भ्रमहरू निकै सुन्दर हुन्छन्। स्‍त्रीहरूले तिनीहरूको हुनेवाला श्रीमान निकै आकर्षक राजकुमार हुनेछ भन्‍ने कल्‍पना गर्छन्, अनि पुरुषहरूले हिउँजस्तै गोरी केटीलाई बिहे गर्नेछु भनेर कल्‍पना गरेका हुन्छन्। यी कल्‍पनाहरूले के देखाउँछ भने विवाहको लागि हरेक व्यक्तिसँग निश्‍चित आवश्यकताहरू, तिनीहरूका आफ्‍नै माग र मापदण्डहरू हुन्छन्। यो दुष्ट युगमा मानिसहरूलाई अटुट रूपमा विवाह सम्‍बन्धी विकृत सन्देश दिइन्छ, जसले थप मागहरू पैदा गर्छ र मानिसहरूलाई अनेक किसिमका बोझ अनि अनौठा मनोवृत्तिहरू प्रदान गर्छ, तैपनि व्यक्तिले यसलाई जसरी बुझे पनि, यसप्रति व्यक्तिको मनोवृत्ति जस्तो भए पनि, विवाह व्यक्तिगत छनौटको विषय होइन भन्‍ने कुरा विवाहको अनुभव गरिसकेको कुनै पनि व्यक्तिलाई थाहा हुन्छ।

व्यक्तिले आफ्‍नो जीवनमा धेरै मानिसहरूलाई भेट्टाउँछ, तर विवाहमा उसको जीवनसाथी को बन्‍नेछ भन्‍ने कसैलाई पनि थाहा हुँदैन। विवाहको विषयमा हरेकसँग तिनीहरूका आ-आफ्‍नै विचार र व्यक्तिगत अवधारणाहरू हुनेभए पनि, साँचो रूपमा अन्त्यमा तिनीहरूको जीवनसाथी को बन्‍नेछ भन्‍ने बारेमा कसैले पनि पूर्वानुमान गर्न सक्दैन, र व्यक्तिका आफ्‍नै विचारहरूको त्यति अर्थ हुँदैन। तैँले मन पराउने कुनै व्यक्तिलाई भेटिसकेपछि, तैँले त्यस व्यक्तिलाई पाउने प्रयास गर्न सक्छस्; तर उक्त व्यक्ति तँप्रति इच्‍छुक हुन्छ कि हुँदैन, तेरो जीवनसाथी बन्‍न सक्छ कि सक्दैन भन्‍ने कुरा तैँले निर्णय गर्ने कुरा होइन। तैँले माया गरेको मान्छे नै तेरो जीवनसाथी बन्‍नेछ भन्‍ने अनिवार्य छैन; अनि यसबीच, तैँले कहिल्यै अपेक्षा नगरेको व्यक्ति तेरो जीवनमा चुपचाप प्रवेश गर्न सक्छ अनि तेरो जीवनसाथी, तेरो नियतिको सबैभन्दा महत्त्वपूर्ण तत्व, तेरो अर्धाङ्ग बन्‍न सक्छ, जोसँग तेरो भाग्य अपरिहार्य रूपमा बाँधिन्छ। त्यसैले, संसारमा करोडौँ विवाहहरू हुनेभए पनि, हरेक विवाह फरक छ: कति विवाहहरूमा असन्तुष्टि छ, कतिमा भने खुशी छ; कति पूर्व र पश्चिम लाग्छन्, कति उत्तर र दक्षिण लाग्छन्; कति उत्तम जोडी बन्छन्, कति उस्तै सामाजिक स्तरका हुन्छन्; कति खुशी र सद्भावपूर्ण हुन्छन्, कति पीडा र शोकमा हुन्छन्; कतिले अरूप्रति डाहा पैदा गर्छन्, कतिलाई गलत रूपमा बुझिन्छ र आँखा तरिन्छ; कति आनन्दित हुन्छन्, कति आँसुमा डुब्छन् र हैरान हुन्छन्…। यी विभिन्‍न प्रकारका विवाहमा, मानिसले विवाहप्रति वफादारीता र जीवनपर्यन्त प्रतिबद्धता गर्छन्; तिनीहरूले प्रेम, घनिष्ठता, र नछुट्ने नाता, वा परित्याग र असमझदारी प्रकट गर्छन्। कतिले आफ्‍नो विवाह-सम्‍बन्धलाई धोका दिन्छन्, वा यसलाई घृणा समेत गर्छन्। विवाहले खुशी ल्याए पनि वा पीडा दिए पनि, विवाह सम्‍बन्धी हरेकको मिसन सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ र यो परिवर्तन हुनेछैन; यो मिसन हरेकले पूरा गर्नैपर्ने कुरा हो। हरेक विवाहको पछाडि रहने हरेक व्यक्तिको नियति अपरिवर्तनीय छ, जसलाई सृष्टिकर्ताले धेरै पहिले नै अग्रिम रूपमा पूर्वनिर्धारित गर्नुभएको हुन्छ।

२) विवाह दुवै पक्षका नियतिबाट पैदा हुन्छ

विवाह व्यक्तिको जीवनको एउटा महत्त्वपूर्ण मोड हो। यो व्यक्तिको नियतिको उपज हो र यो उसको नियतिको एउटा महत्त्वपूर्ण कडी हो; यो कुनै पनि व्यक्तिको व्यक्तिगत इच्‍छा वा रुचिमा स्थापित हुँदैन, र कुनै पनि बाहिरी तत्वहरूद्वारा यो प्रभावित हुँदैन, तर यो पूर्णतया दुवै पक्षहरूको नियतिद्वारा निर्धारित हुन्छ, दम्पतीका दुवै सदस्यहरूका नियति सम्‍बन्धी सृष्टिकर्ताको बन्दोबस्त र पूर्वनिर्धारणद्वारा निर्धारित हुन्छ। झट्ट हेर्दा, मानवजातिको निरन्तरता नै विवाहको उद्देश्य हो भन्‍नेजस्तो देखिन्छ, तर खासमा, विवाह भनेको आफ्‍नो मिसन पूरा गर्नको लागि व्यक्तिले पूरा गर्ने विधि बाहेक केही पनि होइन। विवाहमा, मानिसहरूले अर्को पुस्ता हुर्काउने भूमिका मात्रै निर्वाह गर्दैनन्; तिनीहरूले त विवाहलाई कायम राख्‍नको लागि निर्वाह गर्नुपर्ने विभिन्‍न भूमिकाहरू र ती भूमिकाहरूका लागि आवश्यक मिसनहरू सबैलाई अपनाउँछन्। व्यक्तिको जन्‍मले उसको वरिपरिका मानिसहरू, घटना, र अन्य कुराहरूलाई प्रभाव पार्ने हुँदा, उसको विवाहले पनि यी मानिसहरू, घटना, र अन्य कुराहरूलाई अपरिहार्य रूपमै प्रभाव पार्नुका साथसाथै तिनीहरू सबैलाई विभिन्‍न तरिकाले रूपान्तरण गर्नेछ।

जब कुनै व्यक्ति स्वतन्त्र बन्छ, उसले आफ्‍नै जीवन यात्रा सुरु गर्छ, जसले उसलाई उसको विवाहसँग सम्‍बन्ध राख्‍ने मानिसहरू, घटना, र अन्य कुराहरूतर्फ चरणबद्ध रूपमा डोर्‍याउँछ। त्यही समयमा, त्यस विवाहमा संलग्‍न हुने अर्को व्यक्ति तिनै मानिसहरू, घटनाहरू, र अन्य कुराहरूतर्फ चरणबद्ध रूपमा अघि बढिरहेको हुन्छ। सृष्टिकर्ताको सार्वभौमिकतामा, नियति जोडिएका दुई असम्बन्धित मानिसहरू क्रमिक रूपमा एउटै विवाहमा प्रवेश गर्छन् र आश्‍चर्यजनक रूपमा एउटै परिवारमा प्रवेश गर्छन् अर्थात् “एउटै डोरीमा झुण्डिरहेका दुई फट्याङ्ग्रा” जस्ता बन्छन्। त्यसैले, जब व्यक्ति विवाहमा प्रवेश गर्छ, उसको जीवन यात्राले उसको अर्धाङ्गलाई प्रभावित गर्छ र छुन्छ, अनि त्यसरी नै एउटा जीवनसाथीको जीवन यात्राले उसको आफ्‍नै जीवन नियतिलाई प्रभाव पार्नेछ र छुनेछ। अर्को शब्‍दमा भन्दा, मानिसहरूको नियति परस्पर रूपमा सम्‍बन्धित हुन्छन्, र कसैले पनि अरूबाट पूर्ण रूपमा स्वतन्त्र रहेर जीवनमा आफ्‍नो मिसनलाई पूरा गर्न वा आफ्‍नो भूमिका निर्वाह गर्न सक्दैन। व्यक्तिको जन्‍मले सम्‍बन्धहरूको ठूलो साङ्‍लालाई प्रभाव पार्छ; हुर्कने-बढ्ने क्रममा पनि सम्‍बन्धहरूको जटिल साङ्‍ला संलग्‍न हुन्छ; त्यसरी नै, विवाह पनि मानव सम्‍बन्धहरूको विशाल र जटिल जालोभित्र अस्तित्वमा रहन्छ र त्यसैमा यसलाई कायम राखिन्छ, जसमा त्यो जालोको हरेक सदस्य संलग्‍न हुन्छन् र त्यसले यसमा संलग्‍न हरेक व्यक्तिको नियतिलाई प्रभाव पार्छ। विवाह परिवारका दुवै सदस्यहरू, तिनीहरू हुर्केका परिस्‍थितिहरू, तिनीहरूको रूप, उमेर, क्षमता, प्रतिभा, वा अन्य कुनै पनि तत्वहरूको उपज होइन; बरु, यो त साझा मिसन र सम्‍बन्धित नियतिबाट पैदा हुन्छ। सृष्टिकर्ताले योजनाबद्ध गर्नुभएको र बन्दोबस्त गर्नुभएको मानव नियतिको उपज अर्थात विवाहको उत्पत्ति यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२६

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

पाँचौं महत्त्वपूर्ण मोड: सन्तान

विवाह गरिसकेपछि, व्यक्तिले अर्को पुस्ताको सन्तान हुर्काउन सुरु गर्छ। आफूले कति जना र कस्ता बालबच्‍चा जन्‍माउने भन्‍ने बारेमा व्यक्तिले कुनै निर्णय गर्न सक्दैन; यो पनि सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको व्यक्तिको नियतिद्वारा नै निर्धारित हुन्छ। व्यक्तिले पार गरेर जानैपर्ने पाँचौं महत्त्वपूर्ण मोड यही हो।

यदि कुनै व्यक्ति कसैको सन्तान बन्‍ने भूमिकालाई पूरा गर्नको लागि जन्‍मन्छ भने, उसले कसैको बाबुआमाको भूमिका पूरा गर्न अर्को पुस्ताको सन्तान हुर्काउँछ। भूमिकामा हुने यो परिवर्तनले व्यक्तिलाई फरक-फरक दृष्टिकोणबाट जीवनका फरक-फरक चरणहरूलाई अनुभव गराउँछ। यसले व्यक्तिलाई फरक-फरक जीवन अनुभव पनि प्रदान गर्छ जसद्वारा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍न पुग्छ, जसलाई सधैँ उही किसिमले लागू गरिन्छ, र जसद्वारा व्यक्तिले सृष्टिकर्ताको पूर्वनिर्धारित गन्तव्यलाई कसैले पनि नाघ्‍न सक्दैन वा परिवर्तन गर्न सक्दैन भन्‍ने तथ्यलाई बुझ्‍छ।

१) आफ्‍नो सन्तान के बन्‍छ भन्‍ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन

जन्‍म, हुर्काइ-बढाइ, विवाह सबैले फरक-फरक हदमा विभिन्‍न प्रकारका निराशाहरू ल्याउँछन्। कतिपय मानिसहरू आफ्‍ना परिवार वा आफ्‍नो शारीरिक रूपप्रति असन्तुष्ट हुन्छन्; कतिले आफ्‍ना बाबुआमालाई मन पराउँदैनन्; कति आफू हुर्केको वातावरणको बारेमा बेखुसी हुन्छन् र गुनासो गर्छन्। अनि धेरैजसो मानिसहरूका लागि, यी सबै निराशाहरूमध्ये विवाह सबैभन्दा बढी असन्तुष्टिपूर्ण हुन्छ। आफ्‍नो जन्‍म, हुर्काइ, वा विवाहको बारेमा व्यक्ति जति नै असन्तुष्ट भए पनि, यी कुराहरू पार गर्दै जानेहरू हरेकलाई थाहा हुन्छ कि तिनीहरू कहाँ र कहिले जन्‍मन्छन्, तिनीहरूको रूप कस्तो हुन्छ, तिनीहरूको आमाबाबु को हुनेछन्, र तिनीहरूको पति वा पत्‍नी को हुनेछन् भन्‍ने कुरा कसैले पनि छनौट गर्न सक्दैन, बरु तिनीहरूले त स्वर्गको इच्‍छालाई नै स्वीकार गर्नुपर्छ। तैपनि जब मानिसहरूले अर्को पुस्ताको सन्तान हुर्काउने समय हुन्छ, तब तिनीहरूले तिनीहरूका सन्तानले तिनीहरूको आफ्‍नै जीवनको अघिल्‍लो भागमा तिनीहरूले भोगेका निराशाहरू सबैलाई पूर्ति गर्नेछन् भन्‍ने आशा गर्दै, आफ्‍नो जीवनको पहिलो भागमा तिनीहरूले पूरा गर्न नसकेका सबै इच्‍छाहरू आफ्‍ना सन्तानमा लाद्छन्। त्यसकारण, मानिसहरू आफ्‍ना छोराछोरीका बारेमा अनेक किसिमका कल्‍पनाहरू गर्छन्: तिनीहरूका छोरीहरू अत्यन्तै सुन्दर हुनेछन्, तिनीहरूका छोरा आकर्षक भलाद्मी बन्‍नेछन्; तिनीहरूका छोरीहरू सभ्य र प्रतिभावान् बन्‍नेछन् र तिनीहरूका छोराहरू उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडी बन्‍नेछन्; तिनीहरूका छोरीहरू विनम्र, चरित्रवान्, र समझदार बन्‍नेछन्, अनि तिनीहरूका छोराहरू बुद्धिमानी, सक्षम, र संवेदनशील बन्‍नेछन्। तिनीहरूले आफ्‍ना सन्तान, चाहे तिनीहरू छोरी हुन् वा छोरा, तिनीहरूले आफूभन्दा ठूलालाई आदर गर्नेछन्, आफ्‍ना बाबुआमाको वास्ता गर्नेछन्, हरेकले तिनीहरूलाई माया र तारिफ गर्नेछन् भन्‍ने आशा गरेका हुन्छन्…। यस विन्दुमा, जीवन सम्‍बन्धी तिनीहरूको आशा ताजा बन्छ, अनि मानिसहरूको हृदयमा नयाँ जोसको दियो बल्छ। मानिसहरूलाई थाहा छ, तिनीहरू यो जीवनमा शक्तिहीन र आशाविहीन छन्, भीडभन्दा राम्रो हुनको लागि तिनीहरूसँग अर्को मौका वा अर्को आशा हुनेछैन, र तिनीहरूसँग आफ्‍नो नियति स्वीकार गर्नेबाहेक केही उपाय नै छैन। त्यसैले तिनीहरूले आफ्‍ना सबै आशाहरू, आफ्‍ना पूरा नभएका इच्‍छा र आकांक्षाहरू अर्को पुस्तामा लाद्छन् र आशा गर्छन् कि तिनीहरूका सन्तानले तिनीहरूलाई तिनीहरूका सपनाहरू पूरा गर्न अनि तिनीहरूका इच्‍छाहरू हासिल गर्न सहयोग गर्न सक्छन्; तिनीहरूले आशा गर्छन् कि तिनीहरूका छोराछोरीहरूले परिवारको नाममा वैभव ल्याउनेछन्, तिनीहरू महत्त्वपूर्ण, धनी, अनि चर्चित बन्‍नेछन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूले आफ्‍ना छोराछोरीको ऐश्‍वर्य उचाइमा पुगेको हेर्न चाहन्छन्। मानिसहरूका योजना र कल्‍पनाहरू त पूर्ण छन्; तर के तिनीहरूले जन्माउने सन्तानहरूको संख्या, तिनीहरूका छोराछोरीको रूप, क्षमता आदि इत्यादि तिनीहरूले निर्णय गर्ने कुरा होइन, तिनीहरूको हातमा त आफ्ना सन्तानको नियति समेत छैन भन्‍ने तिनीहरूलाई थाहा छैन र? मानिसहरू आफ्‍नो नियतिका मालिक होइनन्, तैपनि तिनीहरूले नयाँ पुस्ताको नियति परिवर्तन गर्ने आशा गर्छन्; तिनीहरू आफ्‍नै नियतिबाट उम्कन असमर्थ छन्, तैपनि तिनीहरूले आफ्‍ना छोराछोरीहरूको नियति नियन्त्रण गर्ने प्रयास गर्छन्। के तिनीहरू आफैले आफ्नो अधिक-मूल्याङ्कन गरिरहेका छैनन् र? के यो मानवीय मूर्खता र अज्ञानता होइन र? आफ्‍ना सन्तानको लागि मानिसहरू जुनसुकै हदसम्‍म जान्छन्, तर आखिरमा, व्यक्तिको योजना र इच्‍छाहरूले उसले कति जना सन्तान जन्‍माउँछ वा ती छोराछोरी कस्ता हुन्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्दैन। कतिपय मानिसहरूसँग सुक्‍को हुँदैन तैपनि धेरै जना सन्तान जन्‍माउँछन्; कतिपय मानिसहरू धनी हुन्छन् तैपनि एउटै बच्‍चा जन्‍माएका हुँदैनन्। कतिले छोरी चाहन्छन् तर त्यो इच्‍छा पूरा हुँदैन; कति जना छोरा चाहन्छन् तर छोरा जन्‍माउन सक्दैनन्। कतिका लागि छोराछोरी आशीर्वाद हुन्; अरूका लागि, ती श्राप हुन्। कतिपय दम्पतीहरू बुद्धिमान हुन्छन्, तैपनि सुस्त मस्तिष्क भएको बच्‍चा जन्‍माउँछन्; कतिपय आमाबाबु मेहनती र इमानदार हुन्छन्, तैपनि तिनीहरूले हुर्काउने सन्तान अल्छी हुन्छन्। कतिपय बाबुआमा दयालु र सीधा हुन्छन् तर तिनीहरूका छोराछोरी कुटिल र बदमास हुन्छन्। कतिपय बाबुआमाको मस्तिष्क र शरीर तन्दुरुस्त हुन्छ तर तिनीहरूले अपाङ्ग सन्तान जन्‍माउँछन्। कतिपय बाबुआमा साधारण र असफल हुन्छन्, तर तिनीहरूका छोराछोरीले ठूला-ठूला कुराहरू हासिल गर्छन्। कतिपय बाबुआमा न्यून प्रतिष्ठाका हुन्छन् तर तिनीहरूका छोराछोरीले उच्‍च प्रतिष्ठा प्राप्त गर्छन्। …

२) अर्को पुस्ताका सन्तान हुर्काइसकेपछि, मानिसहरूले नियति सम्‍बन्धी नयाँ बुझाइ प्राप्त गर्छन्

विवाह-बन्धनमा प्रवेश गर्ने धेरैजसो मानिसहरूले प्रायजसो तीस वर्षको हाराहारीमा विवाह गर्छन्, जुन जीवनको त्यो समय हो जुन बेला व्यक्तिले मानव नियतिको बारेमा कुनै बुझाइ प्राप्त गरेको हुँदैन। तर जब मानिसहरूले सन्तान हुर्काउन थाल्छन्, र तिनीहरूका सन्तान हुर्कन्छन्, तब तिनीहरूले नयाँ पुस्ताले पनि अघिल्‍लो पुस्ताकै जीवन र सबै अनुभवहरूलाई दोहोर्‍याएको देख्छन्, अनि तिनीहरूले नयाँ पुस्ताको जीवनमा तिनीहरूकै आफ्‍नो विगत प्रतिबिम्‍बित भएको देख्दा, नयाँ पुस्ताले हिँड्ने मार्ग पनि तिनीहरूको आफ्‍नो मार्गजस्तै योजना र छनौट गर्न नसकिने किसिमको रहेछ भन्‍ने महसुस गर्छन्। यो तथ्यलाई सामना गरेपछि, हरेक व्यक्तिको नियति पूर्वनिर्धारित हुन्छ भन्‍ने कुरालाई स्वीकार गर्नुबाहेक तिनीहरूसँग केही विकल्‍प हुँदैन, अनि तिनीहरूले महसुस समेत नगरीकन तिनीहरूका आफ्‍नै इच्‍छाहरूलाई बिस्तारै पन्छ्याउन थाल्छन्, अनि तिनीहरूको हृदयमा भएका लालसाहरू फुट्दै मरेर जान्छन्…। आधारभूत रूपमा जीवनका महत्त्वपूर्ण विन्दुहरूलाई पार गरिसकेपछि, यो अवधिमा मानिसहरूले जीवनको बारेमा नयाँ बुझाइ हासिल गरेका हुन्छन्, नयाँ मनोवृत्ति धारण गरेका हुन्छन्। यस उमेरको व्यक्तिले भविष्यबाट के अपेक्षा गर्न सक्छ र उनीहरूले अपेक्षा गर्नको लागि उनीहरूसँग के नै आशा हुन्छ र? पचास वर्षकी कुन महिलाले अझै आकर्षक राजकुमारको सपना देखिरहेकी हुन्छे र? पचास वर्षको कुन पुरुषले अझै आफ्‍नी हिउँजस्तै गोरीको खोजी गरिरहेको हुन्छ र? आधा उमेरकी कुन महिलाले अझै कुरूप हाँसबाट सुन्दर चखेवीमा परिवर्तन हुने आशा गरिरहेकी हुन्छे र? के धेरैजसो वृद्ध पुरुषहरूमा जवान पुरुषहरूको जस्तै जीवन सम्‍बन्धी जोस हुन्छ र? समग्रमा भन्दा, चाहे पुरुष होस् वा स्‍त्री, यो उमेरको कुनै पनि व्यक्तिमा विवाह, परिवार, र सन्तानप्रति तुलनात्मक रूपमा तर्कसंगत, व्यवहारिक मनोवृत्ति हुने सम्‍भावना बढी हुन्छ। त्यस्तो व्यक्तिसँग आधारभूत रूपमा कुनै विकल्‍प बाँकी हुँदैन, नियतिलाई चुनौती दिने कुनै हठ हुँदैन। मानव अनुभवको हकमा भन्दा, जब व्यक्ति यो उमेरमा पुग्छ, उसले स्वाभाविक रूपमै निश्‍चित मनोवृत्ति विकास गर्छ: “व्यक्तिले नियतिलाई स्वीकार गर्नैपर्छ; आफ्‍ना छोराछोरीको पनि आ-आफ्‍नै नियति हुन्छ; मानव नियति स्वर्गले तोकेको हुन्छ।” यो संसारका सबै घटना, हैरानी, र कठिनाइहरूलाई सामना गरिसकेपछि पनि सत्यतालाई नबुझ्‍ने मानिसहरूले मानव जीवन सम्‍बन्धी तिनीहरूका अन्तर्दृष्टिलाई यी चार शब्‍दमा सारांशित गर्नेछन्: “नियति भनेको यही हो!” यो वाक्यले मानव नियति सम्‍बन्धी सांसारिक मानिसहरूको बुझाइ र तिनीहरूले निकालेको निष्कर्षलाई संक्षिप्त गर्ने भए तापनि, र यसले मानवजातिको विवशतालाई व्यक्त गर्ने र यसलाई वास्तविक र सही भनेर व्याख्या गर्न सकिने भए तापनि, यो सृष्टिकर्ताको सार्वभौमिकताको बुझाइभन्दा निकै टाढाको कुरा हो, र यो सृष्टिकर्ताको अख्‍तियारको ज्ञानको विकल्‍प हुँदै होइन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२७

नियतिमा विश्‍वास गर्नु सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञानको विकल्प होइन

धेरै वर्षसम्‍म परमेश्‍वरलाई पछ्याइसकेपछि, नियतिसम्‍बन्धी तिमीहरूको ज्ञान र सांसारिक मानिसहरूको ज्ञानको बीचमा कुनै आधारभूत भिन्‍नता छ? के तिमीहरूले सृष्टिकर्ताको पूर्वनिर्धारित गन्तव्यलाई साँच्‍चै बुझेका र सृष्टिकर्ताको सार्वभौमिकतालाई साँच्‍चै चिनेका छौ? कतिपय मानिसहरूसँग “नियति भनेकै त्यही हो” भन्‍ने वाक्यको बारेमा उल्‍लेखनीय, गहन बुझाइ हुन्छ, तैपनि तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा अलिकति पनि विश्‍वास गर्दैनन्; परमेश्‍वरले नै मानव नियतिलाई बन्दोबस्त र योजनाबद्ध गर्नुहुन्छ भन्‍नेमा तिनीहरू विश्‍वास गर्दैनन्, र तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुन अनिच्‍छुक हुन्छन्। त्यस्ता मानिसहरूसित छालहरूसँगै यताउता हुत्तिँदै र बहावसँगै बहँदै समुद्रमा तैरिएझैँ, निष्क्रिय रूपले प्रतीक्षा गर्दै आफैलाई नियतिको हातमा समर्पित गर्नेबाहेक अन्य विकल्‍प हुँदैन। तैपनि तिनीहरू मानव नियति परमेश्‍वरको सार्वभौमिकताको अधीनमा छ भनी स्वीकार गर्दैनन्; तिनीहरूले आफै परमेश्‍वरको सार्वभौमिकता जान्‍न पहल गरेर परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्न, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन, नियतिको प्रतिरोध गर्न छोड्न, र परमेश्‍वरको हेरचाह, सुरक्षा र मार्गनिर्देशनमा जिउन सक्दैनन्। अर्को शब्‍दमा भन्दा, नियतिलाई स्वीकार गर्नु र सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनु एउटै कुरा होइन; व्यक्तिले नियतिमा विश्‍वास गर्छ भन्दैमा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार्छ, चिन्छ, र जान्दछ भन्‍ने हुँदैन; नियतिमा विश्‍वास गर्नु भनेको यसको सत्यता र यसको सतही प्रकटीकरणलाई पहिचान गर्नु मात्रै हो। यो कुरा सृष्टिकर्ताले मानवजातिको नियतिमाथि कसरी शासन गर्नुहुन्छ भन्‍ने कुरा जान्‍नुभन्दा फरक छ, सृष्टिकर्ता यावत् थोकको नियतिमाथिको प्रभुत्वको स्रोत हुनुहुन्छ भन्‍ने कुरा पहिचान गर्नुभन्दा फरक छ, र अवश्य नै मानवजातिको नियतिसम्बन्धी सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुभन्दा कोसौँ टाढा छ। मानौँ कुनै व्यक्तिले नियतिमा विश्‍वास मात्रै गर्छ, र त्यसबारे उसको भावना गहन समेत छ, तर ऊ मानिसहरूको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍न र मानिलिन, यसमा समर्पित हुन र यसलाई स्वीकार गर्न सक्दैन भने, त्यस्तो अवस्थामा, उसको जीवन दुःखान्त हुनेछ; त्यो जीवन खेर गएको हुनेछ, त्यो खोक्रो हुनेछ। तिनीहरू अझै पनि सृष्टिकर्ताको प्रभुत्वमा आफूलाई समर्पण गर्न, त्यस शब्दको सच्‍चा अर्थमा सृजित मानव बन्‍न, अनि सृष्टिकर्ताको मान्यता प्राप्त गर्न असमर्थ हुनेछन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा जान्‍ने र अनुभव गर्ने व्यक्ति सकारात्मक स्थितिमा हुनुपर्छ, नकारात्मक वा लत्तो छाड्ने स्थितिमा हुनु हुँदैन। उसले सबै कुरा भाग्यमा लेखिएको हुन्छ भनेर मान्दै गर्दा, ऊसँग हृदयमा जीवन र नियतिको सही परिभाषा हुन्छ, र त्यो के हो भने, मानिसको सम्पूर्ण जीवन सृष्टिकर्ताको सार्वभौमिकता अन्तर्गत हुन्छ। जब उसले आफू हिँडेको बाटोलाई फर्केर हेर्छ, जब उसले आफ्‍नो जीवन यात्राको हरेक चरणलाई सम्‍झन्छ, तब उसले आफ्नो यात्रा कठिन भए पनि वा सुगम भए पनि, हरेक चरणमा परमेश्‍वरले नै उसको मार्गमा मार्गनिर्देशन गरिरहनुभएको उसका निम्ति त्यसको योजना बनाइरहनुभएको देख्छ। उसले आफूलाई थाहै नपाई आजसम्‍म डोर्‍याउने परमेश्‍वरको ध्यानपूर्ण योजना, साथै उहाँको होसियारीपूर्ण बन्दोबस्त नै थियो भन्‍ने कुरा बुझ्छ। तिनीहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता स्वीकार गर्न सक्‍नु, उहाँको मुक्ति स्वीकार गर्न सक्‍नु व्यक्तिको जीवनको सबैभन्दा ठूलो आशिष् हो भन्‍ने थाहा हुन्छ! यदि नियतिप्रति व्यक्तिको मनोवृत्ति नकारात्मक छ भने, ऊ परमेश्‍वरले उसका लागि बन्दोबस्त गर्नुभएका सबै कुराहरूको प्रतिरोध गरिरहेको छ र उसमा समर्पित मनोवृत्ति छैन भन्‍ने प्रमाणित गर्छ। यदि मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकताप्रति कुनै व्यक्तिको मनोवृत्ति सकारात्‍मक छ भने, जब उसले आफ्‍नो यात्रालाई फर्केर हेर्छ, जब उसले परमेश्‍वरको सार्वभौमिकता साँच्चै अनुभव गर्छ, तब उसले परमेश्‍वरले बन्दोबस्त गरेका सबै कुरामा समर्पित हुने झन् सच्चा रूपमा इच्‍छा गर्नेछ, र ऊसँग परमेश्‍वरलाई आफ्‍नो नियति योजनाबद्ध गर्न दिन र परमेश्‍वरविरुद्ध विद्रोह गर्न छाड्न थप सङ्कल्प र आस्था हुनेछ। किनभने उसले के देख्छ भने जब मानिसहरूले नियति के हो भनेर जान्दैनन् वा परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्दैनन्, तिनीहरू जानीजानी कुहिरोभित्र सङ्घर्ष गरिरहेका र ठक्कर खाइरहेका हुन्छन्, र त्यो यात्रा अत्यन्तै कठिन, र यसले हृदयलाई ज्यादै चोट दिन्छ। त्यसकारण, जब मानिसहरूले मानव नियतिमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनेर थाहा पाउँछन्, तब चलाखहरू नियतिविरुद्ध सङ्घर्ष गरिरहनु र आफ्ना तथाकथित जीवन लक्ष्यहरू आफ्‍नै तरिकाले पछ्याइरहनुभन्दा बरु परमेश्वरको सार्वभौमिकतालाई जान्‍ने र स्वीकार गर्ने, अनि आफूले “आफ्‍नै दुई हातद्वारा सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका” पीडादायी दिनहरूलाई बिदा गर्ने निर्णय गर्छन्। जब कुनै व्यक्ति परमेश्‍वरविहीन हुन्छ, जब उसले उहाँलाई देख्‍न सक्दैन, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई साँचो रूपमा र स्पष्ट रूपमा जान्न सक्दैन, तब हरेक दिन अर्थहीन, मूल्यहीन र अवर्णनीय पीडादायी हुन्छ। व्यक्ति जहाँ भए पनि, र उसको जागिर जे भए पनि, उसका बाँच्ने माध्यमहरू र उसले पछ्याउने लक्ष्यहरूले उसलाई अन्तहीन मनोव्यथा र पार गर्न कठिन पीडाबाहेक केही दिँदैनन्, जसलाई उसले फर्केर हेर्नै सक्दैनन्। कुनै व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकारेर, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित भएर, अनि साँचो मानव जीवन प्राप्तिलाई पछ्याएर मात्रै, ऊ क्रमिक रूपमा हृदयको सबै चोट र पीडाबाट स्वतन्त्र हुन सक्छ, र उसले बिस्तारै आफूलाई मानव जीवनका सबै रिक्तताबाट मुक्त गर्न सक्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२८

सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनेहरूले मात्रै साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छन्

मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकतालाई नजान्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति बदल्ने व्यर्थको आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, र सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता, र नियतिमा रहेका कुराहरूबाट उम्किन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरू हर मोडमा पछारिन्छन्। तिनीहरूको प्राणको गहिराइमा हुने यो सङ्घर्षले तिनीहरूलाई पीडा दिन्छ, र यो पीडा तिनीहरूको हड्डीमै खोपिन्छ, र उही बेला तिनीहरूलाई आफ्नो जीवन खेर फाल्ने तुल्याउँछ। यो पीडाको कारण के हो त? के यो परमेश्‍वरको सार्वभौमिकताको कारण हो कि व्यक्ति अभागी भएर जन्‍मेकोले गर्दा हो? अवश्य नै, दुवै सत्य होइन। आधारभूत रूपमा, मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्‍नो जीवन जिउन रोज्ने तरिकाहरूका कारण यस्तो हुन्छ। कतिपय मानिसहरूले यी कुराहरू अनुभव नगरेका हुन सक्छन्। तर जब तैँले मानव नियतिमाथि परमेश्‍वरले सार्वभौमिकता राख्नुहुन्छ भनेर साँच्चै जान्दछस्, साँच्चै मान्न पुग्छस्, जब तैँले परमेश्‍वरले तेरा लागि सार्वभौमिकता राख्नुहुने र प्रबन्ध गर्नुहुने सबै कुराहरू तेरा लागि अत्यन्तै धेरै फाइदाजनक र सुरक्षात्मक हुन्छ भनी साँच्चै बुझ्छस्, तब तैँले आफ्नो पीडा बिस्तारै हल्‍का भएको अनुभव गर्छस्, र तेरो सम्पूर्ण सारत्व बिस्तारै सहज, स्वतन्त्र र रिहा बन्छ। अधिकांश मानिसहरूका स्थितिहरूको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले व्यक्तिपरक हिसाबमा पहिलेजस्तो जिउन र आफ्‍नो पीडाबाट राहत पाउन नचाहने भए पनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको व्यवहारिक मूल्य र अर्थलाई वस्तुपरक रूपमा स्वीकार गर्न सक्‍दैनन्; वस्तुगत हिसाबमा, तिनीहरू सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा पहिचान गर्न र यसमा समर्पित हुन सक्दैनन्, तिनीहरूले सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई कसरी खोजी र स्वीकार गर्ने भन्‍नेबारेमा जान्‍नु त परै जाओस्। त्यसैले, यदि मानिसहरूले मानव नियतिमाथि र सम्पूर्ण मानव मामलाहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई साँचो रूपमा पहिचान गर्न सक्दैनन् भने, यदि तिनीहरू सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा समर्पित हुन सक्दैनन् भने, तिनीहरू “आफ्‍नो नियति आफ्‍नै हातमा हुन्छ” भन्‍ने विचारद्वारा सञ्‍चालित हुन र बन्धनमा पर्न कठिन हुनेछैन। तिनीहरूले नियति र सृष्टिकर्ताको अख्तियारविरुद्धको आफ्नो तीव्र संघर्षको पीडालाई हटाउन कठिन हुनेछ, अनि, अवश्य पनि तिनीहरूले साँचो रूपमा स्वतन्त्र र मुक्त हुन, र परमेश्‍वरको आराधना गर्ने मानिस बन्‍न पनि कठिन नै हुनेछ। यो स्थितिबाट आफूलाई उम्काउने सबैभन्दा सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जिउने तरिका, जीवनसम्‍बन्धी दृष्टिकोण, पछ्याइ, चाहना, र आकाङ्क्षाहरूलाई सारांश र चिरफार गर्नु हो; त्यसपछि तिनलाई परमेश्‍वरका अभिप्राय र उहाँले मानिसबाट गर्नुहुने मागसँग तुलना गरेर तीमध्ये कुनै परमेश्‍वरका अभिप्रायहरूसँग मिल्ने छन् कि छैनन्, र तीमध्ये कुनै परमेश्‍वरका मागहरू अनुरूप छन् कि छैनन्, तीमध्ये कुनैले जीवनको सही मूल्य प्रदान गर्छन् कि गर्दैनन्, व्यक्तिलाई सत्यता झन्झन् बढी बुझ्न अगुवाइ गर्छन् कि गर्दैनन्, र व्यक्तिलाई मानवता र मानवजातिको स्वरूपमा जिउने तुल्याउँछन् कि तुल्याउँदैनन् भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका विभिन्न जिउने तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीसाथ चिरफार गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्‍नुभएको मौलिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई भ्रष्ट तुल्याउने, तिनीहरूलाई नर्कतर्फ डोर्‍याउने पासोहरू हुन्। तैँले यो कुरालाई पहिचान गरिसकेपछि, तैँले के गर्नुपर्छ भने जीवनसम्‍बन्धी तेरो पुरानो दृष्टिकोणलाई छोड्नुपर्छ, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नुपर्छ, र परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरा लागि प्रबन्धहरू गर्न दिनुपर्छ, कुनै पनि व्यक्तिगत रोजाइ नगरी परमेश्‍वरका योजनाबद्ध कार्यहरू र मार्गदर्शनमा मात्रै समर्पित हुने खोजी गर्, र परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्। यो कुरा सुन्दा सहज लाग्छ, तर गर्नचाहिँ कठिन छ। केही मानिसहरूले यसको पीडा सहन सक्छन्, अन्य व्यक्तिहरूले सक्दैनन्। केही व्यक्तिहरू अनुपालन गर्न इच्‍छुक हुन्छन्, अरूहरूचाहिँ अनिच्‍छुक हुन्छन्। जो अनिच्‍छुक छन् तिनीहरूमा त्यसो गर्ने इच्‍छा र सङ्कल्पको कमी हुन्छ; तिनीहरू परमेश्‍वरको सार्वभौमिकताको बारेमा स्पष्ट रूपमै सचेत हुन्छन्, तिनीहरूलाई मानव नियतिको योजना र बन्दोबस्त गर्ने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा पूर्ण रूपमा थाहा हुन्छ, तैपनि तिनीहरूले लात मार्दै संघर्ष गर्छन् र आफ्‍नो नियति परमेश्‍वरको हातमा राख्‍ने र परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुने कुरालाई स्वीकार गर्दैनन्; अझ भन्‍ने हो भने, तिनीहरूले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति खेद प्रकट गर्छन्। त्यसकारण, आफू कति सक्षम छु भनी हेर्न चाहने मानिसहरू सधैँ नै हुनेछन्; तिनीहरू आफ्‍नै दुई हातले आफ्‍नो नियति परिवर्तन गर्न, वा आफ्‍नै शक्तिले खुशी हासिल गर्न, परमेश्‍वरको अख्तियारको सीमाबाहिर गई परमेश्‍वरको सार्वभौमिकताभन्दा माथि उठ्न सकिन्छ कि सकिन्‍न भनी हेर्न चाहन्छन्। मानिसको दुःखान्त भनेको उसले खुसीयालीपूर्ण जीवन पछ्याउँछ भन्ने होइन, उसले ख्याति र लाभ पछ्याउँछ वा कुहिरोभित्र आफ्‍नै नियतिसँग सङ्घर्ष गर्छ भन्ने होइन, बरु उसले सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि, मानव नियतिमाथि सृष्टिकर्ताले नै सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्य जानिसकेपछि, अझै पनि गलत मार्गबाट फर्किन सक्दैन, आफ्‍ना खुट्टाहरूलाई दलदलबाट तान्‍न सक्दैन, बरु आफ्‍नो हृदयलाई कठोर बनाउँछ र आफ्‍ना त्रुटिहरूमै दृढ रहन्छ भन्ने हो। ऊ त बरु हिलोमै लुटपुटिरहन्छ, सृष्टिकर्ताको सार्वभौमिकताविरुद्ध हठी भएर प्रतिस्पर्धा गर्छ, तीतो अन्त्य नआउन्जेल प्रतिरोध गर्छ, अलिकति पछुतोसमेत मान्दैन। जब ऊ टुट्छ र रक्ताम्मे हुन्छ, तब मात्र उसले अन्त्यमा हरेस खाने र पछि फर्कने निर्णय गर्छ। मानिसको साँचो दुःखान्त यही हो। त्यसैले, म भन्छु, समर्पित हुन रोज्नेहरू बुद्धिमान् हुन्, जबकि सङ्घर्ष गर्न र भाग्‍न रोज्नेहरू मूर्ख र जिद्दी हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १२९

मानव जीवनका छ महत्त्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू)

छैटौं महत्त्वपूर्ण मोड: मृत्यु

धेरै दौडधूप, धेरै निराशा र विफलताहरूपछि, धेरै आनन्द र शोक अनि उतारचढावपछि, बिर्सनै नसक्‍ने धेरै वर्षहरूपछि, ऋतुहरू आए-गएको हेरेपछि, पत्तै नपाई व्यक्तिले आफ्‍नो जीवनका महत्त्वपूर्ण मोडहरूलाई पार गरिसकेको हुन्छ, अनि एकै क्षणमा उसले आफैलाई जिन्दगीको गोधूलि वर्षहरूमा पुगिसकेको पाउँछ। व्यक्तिको शरीरभरि समयका छापहरू लागेका हुन्छन्: व्यक्ति त्यसउप्रान्त सीधा उभिन सक्दैन, उसको कालो कपाल सेतो भइसकेको हुन्छ, कुनै बेला चम्‍किलो र स्पष्ट देखिने आँखा अँध्यारो र धमिलो बन्छ, अनि नरम, कोमल छाला चाउरी पर्छ र त्यसमा दाग-धब्बा देखिन्छन्। व्यक्तिको श्रवण शक्ति कमजोर बन्छ, उसका दाँतहरू हल्‍लिन्छन् अनि झर्छन्, उसका प्रतिक्रिया सुस्त बन्छन्, उसका हलचल मन्द हुन्छन्…। यस विन्दुमा, व्यक्तिले आफ्‍नो जवानीका जोशिला वर्षहरूलाई बिदा गरेर आफ्‍नो जीवनको गोधूलि अर्थात वृद्ध अवस्थामा प्रवेश गर्नुपर्छ। यसपछि, हामीले मानव जीवनको अन्तिम विन्दु, मृत्युको सामना गर्नेछौं।

१) मानिसलाई जीवन र मृत्यु दिने शक्ति सृष्टिकर्तासँग मात्रै छ

व्यक्तिको जन्मलाई उसको अघिल्लो जीवनले निर्धारित गरेको हुन्छ भने, उसको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्म यो जीवनमा उसको मिसनको सुरुवात हो भने, उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। प्रत्येक व्यक्तिको जन्मका लागि सृष्टिकर्ताले निश्‍चित परिस्‍थितिहरू तय गर्नुभएको हुँदा, पक्‍कै पनि उहाँले तिनीहरूको मृत्युका लागि पनि निश्‍चित परिस्‍थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्‍दमा भन्दा, कोही पनि संयोगले जन्‍मँदैन, कसैको पनि मृत्यु अचानक आउँदैन, अनि जन्‍म र मृत्यु दुवै व्यक्तिको अघिल्‍लो जीवन र वर्तमान जीवनसँग अपरिहार्य रूपमा जोडिएका हुन्छन्। व्यक्तिको जन्‍मका परिस्थितिहरू कस्ता हुन्छन् र उसको मृत्युका परिस्‍थितिहरू के हुन् भन्ने कुरा सृष्टिकर्ताले गर्नुहुने पूर्वनिर्धारणहरूसँग सम्बन्धित हुन्छन्; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। व्यक्तिको जन्‍मसम्‍बन्धी विभिन्‍न व्याख्याहरू रहेका हुनाले, व्यक्तिको मृत्युका पनि विशेष परिस्थितिहरू अवश्य नै हुन्छन्। यसरी, मानवजातिका बीचमा फरक-फरक आयुहरू अनि तिनीहरूको मृत्युका गरक-फरक तरिका र समयहरू अस्तित्वमा आए। कतिपय मानिसहरू बलिया र स्वस्थ हुन्छन्, तैपनि तिनीहरू जवानीमै मर्छन्; अरू चाहिँ कमजोर र बिरामी भइरहने हुन्छन्, तैपनि तिनीहरू बुढेसकालसम्म बाँच्‍छन् र शान्तिसाथ मरेर जान्छन्। केही मानिसहरू अप्राकृतिक कारणले मर्छन्, अरूहरू प्राकृतिक रूपमा मर्छन्। कतिपय घरबाट टाढा हुँदा मर्छन्, अरूहरूले आफ्‍ना प्रियजन आफ्‍नै छेउ हुँदा आफ्‍ना आँखाहरू अन्तिम पटक चिम्‍लिन्छन्। कतिपय मानिसहरू मध्याकाशमा मर्छन्, अरूहरू पृथ्वीमुनि मर्छन्। कतिपय मानिसहरू पानीमा डुबेर मर्छन्, अरू विपत्तिमा परेर मर्छन्। कोही बिहान मर्छन्, कोही राती। … हरेक व्यक्तिले चहकिलो जन्‍म, शानदार जीवन, अनि गौरवशाली मृत्यु चाहन्छ, तर कसैले पनि आफ्‍नो नियतिलाई उछिन्न सक्दैन, कोही पनि सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्‍कन सक्दैन। मानव नियति यही हो। मानिसहरूले आफ्‍नो भविष्यका लागि अनेक किसिमका योजनाहरू बनाउन सक्छन्, तर कसैले पनि आफू जन्मने तरिका र संसारबाट बिदा हुने तरिका र समयको योजना बनाउन सक्दैन। सबै मानिसहरूले मृत्युको आगमनबाट बच्‍न र त्यसलाई प्रतिरोध गर्न सक्दो कोसिस गरे पनि, तिनीहरूले थाहै नपाई मृत्यु चुपचाप नजिक आइपुग्छ। आफ्नो मृत्यु कहिले वा कसरी हुने हो भन्ने कुरा कसैलाई थाहा हुँदैन, यो कहाँ हुनेछ भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। स्पष्ट रूपमा, जीवन र मृत्युमाथिको सर्वोच्च शक्ति मानिससँग छैन, न त प्राकृतिक संसारको कुनै प्राणीसँग नै छ, तर सृष्टिकर्तासँग छ, जोसँग अद्वितीय अख्तियार छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्तियारको सार्वभौमिकताको नतिजा हो।

२) सृष्टिकर्ताको सार्वभौमिकतालाई नचिन्‍ने व्यक्ति मृत्युको भयले त्रसित हुनेछ

जब व्यक्ति पाको उमेरमा प्रवेश गर्छ, उसले सामना गर्ने चुनौती भनेको परिवारको भरणपोषण गर्नु वा जीवनमा आफ्‍नो ठूलो लक्ष्‍यलाई पूरा गर्नु होइन, बरु आफ्‍नो जीवनलाई कसरी बिदा गर्नु, आफ्‍नो जीवनको अन्त्यलाई कसरी सामना गर्नु, आफ्‍नो जीवनको वाक्यमा कसरी पूर्ण विराम थप्‍नु हो। झट्ट हेर्दा, मृत्युलाई मानिसहरूले त्यति ध्यान दिँदैनन् भन्‍ने जस्तो देखिए तापनि, यो विषयलाई अन्वेषण गर्नबाट कोही पनि अछुतो रहँदैन, किनभने मृत्युपारि मानिसहरूले बुझ्‍न वा अनुभव गर्न नसक्‍ने, तिनीहरूलाई केही पनि थाहा नभएको अर्को संसार छ कि छैन भन्‍ने कसैलाई पनि थाहा हुँदैन। यसले मानिसहरूलाई मृत्युको सामना गर्नको लागि, तिनीहरूले जसरी सामना गर्नुपर्ने हो त्यसरी त्यसको सामना गर्नको लागि डराउने तुल्याउँछ; बरु, तिनीहरूले त यो विषयबाट पन्छिन सक्दो प्रयास गर्छन्। तसर्थ, यसले हरेक व्यक्तिलाई मृत्युको भयले भरिदिन्छ, अनि हरेक व्यक्तिको हृदयमा अटुट छाया हालिदिदै जीवनको यो अपरिहार्य तथ्यमा रहस्यको पर्दा थपिदिन्छ।

जब व्यक्तिले आफ्‍नो शरीर ह्रास हुँदै गइरहेको अनुभव गर्छ, जब उसले आफू मृत्युको नजिक आइरहेको अनुभव गर्छ, तब उसलाई शब्‍दले नै व्याख्या गर्न नसकिने डर, अस्पष्ट भयको आभास हुन्छ। मृत्युको डरले व्यक्तिलाई झन् एकलो र झन् विवश भएको अनुभव गराउँछ, र यस विन्दुमा, व्यक्तिले आफैलाई प्रश्‍न गर्छ: मानिस कहाँबाट आयो? मानिस कहाँ जाँदैछ? के मानिस आफ्‍नो जीवन आफ्‍नै अगाडि झलक्‍क बितेर गएको हेर्दै यसरी नै मर्छ? के मानिसको जीवनको समाप्तिलाई सङ्केत गर्ने अवधि यही हो? आखिरमा, जीवनको अर्थ के हो? आखिर, जीवनको मूल्य के नै छ र? के यो ख्याति र धनसँग सम्‍बन्धित छ? के यो परिवार हुर्काउनुसँग सम्‍बन्धित छ? … व्यक्तिले यी निश्‍चित प्रश्‍नहरूको बारेमा विचार गरे पनि नगरे पनि, व्यक्तिले मृत्युको बारेमा जति गहन रूपमा डर माने पनि, हरेक व्यक्तिको हृदयमा सधैँ नै रहस्यहरूलाई जाँच्‍ने इच्‍छा, जीवनको बोध नभएको भावना हुन्छ, र यी कुराहरूको साथमा, संसारको बारेमा भावुकता, बिदा भएर जाने अनिच्‍छा पनि मिसिएको हुन्छ। मानिसले केको डर मान्छ, मानिसले केको खोजी गर्छ, केको बारेमा ऊ भावुक हुन्छ र उसले के कुरालाई छोड्न अनिच्छुक हुन्छ त्यसलाई सायद कसैले पनि स्पष्ट रूपमा बुझ्‍न सक्दैन …

मानिसहरूले मृत्युको डर मान्‍ने हुनाले, तिनीहरूमा धेरै नै चिन्ता हुन्छ; तिनीहरूले मृत्युको डर मान्‍ने हुनाले, मानिसहरूले छोड्न नसक्‍ने कुराहरू धेरै नै हुन्छन्। जब तिनीहरू मर्न लागेका हुन्छन्, कतिपय मानिसहरू यो वा त्यो कुराको बारेमा फिक्री गर्छन्; चिन्ता गरेर तिनीहरू मृत्युले ल्याउने कष्ट र भयलाई मेट्न सक्छन् झैँ गरी, जीवितहरूसँग घनिष्ठता कायम गरेर, तिनीहरू मृत्युको साथमा आउने विवशता र एकलोपनबाट उम्कन सक्छन् झैँ गरी तिनीहरू आफ्‍ना छोराछोरी, आफ्‍ना प्रियजन, आफ्‍नो सम्पत्तिको बारेमा चिन्ता गर्छन्। मानव हृदयको अन्तस्करणमा अस्पष्ट डर, प्रियजनहरूबाट अलग हुने, आफ्‍नो नजरले नीलो आकाशलाई कहिल्यै देख्‍न नपाउने, भौतिक संसारमा फेरि कहिल्यै हेर्न नपाउने कुराको डर हुन्छ। प्रियजनहरूको साथमा रहने बानी परेको एकलो आत्मा आफ्‍नो पकडलाई छोडेर अज्ञात र अपरिचित संसारको लागि एकलै बिदा हुन अनिच्छुक हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३०

ख्याति र प्राप्तिको खोजीमा बिताएको जीवनले व्यक्तिलाई मृत्युको मुखमा अन्योलमा पार्छ

बिलकुलै शून्यबाट सुरु गरेको एउटा एकलो आत्माले सृष्टिकर्ताको सार्वभौमिकता र पूर्वानिर्धारणका कारण अभिभावक र परिवार पाउँछ, मानवजातिको सदस्य बन्‍ने, र मानव जीवन अनुभव गर्ने र मानव संसारमा यात्रा गर्ने मौका प्राप्त गर्छ; उसले सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने, सृष्टिकर्ताको सृष्टिका अद्भुतता जान्न पुग्ने, अनि, त्योभन्दा पनि बढी, सृष्टिकर्ताको अख्तियारलाई जान्‍ने र त्यसप्रति आफूलाई समर्पण गर्न पुग्ने मौका पनि प्राप्त गर्छ। तैपनि धेरैजसो मानिसहरूले यो दुर्लभ र क्षणिक मौका साँच्चै छोप्दैनन्। मानिसहरूले आफ्‍नो जीवनभरिको ऊर्जा नियतिविरुद्ध लड्दै सक्काउँछन्, र आफ्‍नो सम्पूर्ण जीवन परिवारको आपूर्ति गर्न खोज्दै अनि प्रतिष्ठा र नाफाका खातिर यता र उता दौडधुप गर्दै बिताउँछन्। मानिसहरूले कदर गर्ने कुराहरू परिवारको प्रेम, पैसा, र ख्याति र प्राप्ति हुन्, अनि तिनीहरूले यी कुराहरूलाई जीवनको सबैभन्दा बहुमूल्य कुराहरूका रूपमा हेर्छन्। सबै मानिसहरूले आफ्‍नो भाग्य खोटो भएकोबारे गुनासो गर्छन्, तैपनि मानिसहरूले सबैभन्दा बढी बुझ्नुपर्ने र खोजीनिती गर्नुपर्ने मामलाहरू: मानिस किन जीवित छ, मानिस कसरी जिउनुपर्छ, र मानव जीवनको मूल्य र अर्थ के हो भन्‍नेजस्ता मामलाहरूलाई आफ्‍नो मनको पछाडितिर धकेल्छन्। तिनीहरू चाहे जति धेरै बाँचे पनि, तिनीहरूको जवानी गइञ्‍जेल अनि तिनीहरूको कपाल फुलेर अनुहार चाउरी परुञ्‍जेल, जबसम्म तिनीहरूले ख्याति र प्राप्तिले तिनीहरूलाई बुढो हुनबाट रोक्न सक्दैन, पैसाले तिनीहरूको हृदयको रित्तोपनलाई भर्न सक्दैन भनी महसुस गर्दैनन्, र कोही पनि जन्म, बुढेसकाल, रोग, र मृत्युका नियमबाट उम्कन सक्दैन, र कसैले पनि नियतिका प्रबन्धहरूबाट उम्किन सक्दैन भनी बुझ्दैनन्, तबसम्म तिनीहरू आफ्नो सारा जीवन ख्याति र प्राप्ति खोज्न केवल दौडधुप गरेर बिताउँछन्। जीवनको अन्तिम विन्दुको सामना गर्नु परेपछि मात्रै तिनीहरूले साँचो रूपमा बुझ्‍छन्: व्यक्तिसँग धेरै धन र व्यापक सम्पत्ति भए पनि, व्यक्ति सौभाग्यशाली र उच्‍च ओहोदाको भए पनि ऊ मृत्युबाट उम्‍कन सक्दैन, बरु उसले त उसको पहिलेकै स्थिति अर्थात् आफ्‍नो नाममा केही पनि नभएको एकलो आत्माको स्थितिमा फर्कनुपर्छ। जब मानिसहरूका बाबुआमा हुन्छन्, तब तिनीहरूले तिनीहरूका बाबुआमा सबै थोक हुन् भन्‍ने विश्‍वास गर्छन्; जब मानिसहरूसँग सम्पत्ति हुन्छ, तब तिनीहरू पैसा व्यक्तिको मुख्य आधार हो, व्यक्ति जिउने माध्यम यही हो भन्‍ने ठान्छन्; जब मानिसहरूसँग प्रतिष्ठा हुन्छ, तब तिनीहरूले यसलाई दह्रिलो गरी पक्रिराख्छन् अनि यसको खातिर आफ्‍नो ज्यान जोखिममा पार्छन्। यो संसारलाई छोडेर जान लागेपछि मात्रै मानिसहरूले महसुस गर्छन् कि तिनीहरूले जुन कुराहरूको खोजी गर्दै आफ्‍नो जीवन बिताए ती क्षणिक बादल बाहेक केही पनि होइनन्, तिनीहरूले ती कुनै पनि कुरालाई पक्रिरहन सक्दैनन्, तिनीहरूले ती कुनै पनि कुरालाई आफूसँग लैजान सक्दैनन्, तिनीहरूलाई तीमध्ये कुनै पनि कुराले मृत्युबाट छूट दिलाउन सक्दैन, तीमध्ये कुनै पनि कुराले एकलो आत्मालाई यसको फिर्ती यात्रामा साथ वा प्रेरणा दिन सक्दैन; सबैभन्दा मुख्य कुरा त, यीमध्ये कुनै पनि कुराले व्यक्तिलाई बचाउन र तिनीहरूलाई मृत्यु नाघेर जान सक्‍ने तुल्याउँदैन। व्यक्तिले भौतिक संसारमा हासिल गर्ने ख्याति र प्राप्तिले अस्थायी सन्तुष्टि, क्षणिक सुख, सहजताको झूटो आभास दिन्छ; यस प्रक्रियामा, तिनको कारण व्यक्तिले आफ्‍नो बाटो गुमाउँछ। त्यसकारण, मानवजातिको विशाल समुद्रमा, हृदयको शान्ति, सान्त्वना, र सौहार्दताको तृष्‍णा गर्दै चहलपहल गर्ने क्रममा मानिसहरूलाई एकपछि अर्को छालले पुर्दै जान्छ। जब मानिसहरूले अहिलेसम्‍म आफूले बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍नहरूको उत्तर पत्ता लगाउन बाँकी हुन्छ—तिनीहरू कहाँबाट आए, तिनीहरू किन जीवित छन्, तिनीहरू कहाँ जाँदैछन्, आदि इत्यादि—तब तिनीहरू ख्याति र प्राप्तिको लोभमा पर्छन्, त्यसद्वारा तिनीहरू भ्रममा पर्छन् र त्यसैको नियन्त्रणमा हुन्छन्, अनि अपरिवर्तनीय रूपले हराउँछन्। समय उडेर जान्छ; आँखा झिमिक्‍क गर्दा वर्षौँ बितेर गइसकेको हुन्छ, अनि व्यक्तिले महसुस गर्दासम्म उसले आफ्‍नो जीवनका उत्कृष्ट वर्षहरूलाई बिदा गरिसकेको हुन्छ। जब मानिसहरू चाँडै संसारबाट बिदा हुन लागेका हुन्छन्, तब तिनीहरू संसारका सबै कुरा टाढिँदै गइरहेको, मूल रूपमा आफ्नो रहेका कुनै पनि कुरालाई उप्रान्त पक्रिरहने बल नरहेको क्रमिक अनुभूतिमा पुग्छन्; त्यस बेला, तिनीहरू आखिरकार अझै पनि बिलकुलै केही पनि नभएको, बिलौना गरिरहेका नवजात शिशुजस्तै हुन् भन्ने साँच्चै महसुस गर्छन्। यस विन्दुमा, तिनीहरूले आफ्नो जीवनमा के गरेका छन्, जिउँदो हुनुको मूल्य के हो, जिउँदो हुनुको अर्थ के हो, र मानिसहरू किन संसारमा आउँछन् भन्‍ने कुरालाई मनन गर्न थाल्न बाध्य हुन्छन्। अनि ठ्याक्कै यस विन्दुमा नै तिनीहरूले साँच्‍चै अर्को जुनीमा छ कि छैन, स्वर्ग साँच्‍चै अस्तित्वमा छ कि छैन, वास्तवमा प्रतिशोध हुन्छ कि हुँदैन भन्‍ने कुरालाई बढ्दो रूपमा जान्‍न चाहन्छन्…। व्यक्ति मृत्युको जति नजिक पुग्छ, जीवन वास्तवमा के हो भन्‍ने बारेमा उसले त्यति नै बढी बुझ्न चाहन्छ; व्यक्ति मृत्युको जति नजिक पुग्छ, उसको हृदय त्यति नै रित्तो देखिन्छ; व्यक्ति मृत्युको जति नजिक पुग्छ, उसले त्यति नै बढी विवशताको महसुस गर्छ; अनि त्यसरी नै प्रतिदिन मृत्यु सम्‍बन्धी उसको डर पनि बढ्दै जान्छ। मानिसहरू मृत्युको नजिक जाने क्रममा तिनीहरूमा त्यस्ता भावनाहरू प्रकट हुनुका मुख्य दुई कारण छन्: पहिलो, तिनीहरूले तिनीहरूको जीवन निर्भर रहेको ख्याति र सम्पत्ति गुमाउन लागेका हुन्छन्, तिनीहरूले संसारमा देख्‍न सकिने सबै कुरालाई छोडेर जान लागेका हुन्छन्; अनि दोस्रो, तिनीहरूले अपरिचित, रहस्यमय, अज्ञात संसारलाई एकलै सामना गर्न लागेका हुन्छन्, जहाँ पाइला टेक्‍न तिनीहरू डराउँछन्, जहाँ तिनीहरूको कुनै पनि प्रियजन र सहयोगको आधार छैन। यी दुई कारणले गर्दा, मृत्युको सामना गर्ने हरेकले असहज महसुस गर्छन्, आत्तिन्छन् र विवशताको अनुभूति गर्छन्, जसको अनुभव तिनीहरूले पहिले कहिल्यै गरेका हुँदैनन्। कुनै व्यक्ति वास्तवमा नै यस विन्दुमा आइपुगेपछि मात्रै उसले महसुस गर्छ कि जब कुनै व्यक्ति यस संसारमा प्रवेश गर्छ, उसले सुरुमा बुझ्‍नुपर्ने कुरा भनेको मानवजाति कहाँबाट आउँछ, मानिसहरू किन जीवित छन्, मानव नियतिमाथि को सार्वभौम छ, र मानव अस्तित्वका लागि कसले आपूर्ति गर्छ र यसमाथि कसको सार्वभौमिकता छ भन्‍ने हो—यो बुझाइ नै व्यक्ति जिउने पुँजी, र व्यक्ति बाँच्ने अनिवार्य आधार हो—उसले सुरुमा आफ्‍नो परिवारका लागि आपूर्ति कसरी गर्ने वा ख्याति र प्राप्ति कसरी पछ्याउने, वा समूहमा अरूभन्दा अब्बल कसरी हुने वा अझै बढी सम्‍पन्‍न जीवन कसरी जिउने भनेर सिक्नु हुँदैन, अरूलाई कसरी उछिन्ने वा विभिन्न प्रकारका प्रतियोगिताहरूमा सहज रूपमा कसरी प्रतिस्पर्धा गर्ने भनेर त झनै सिक्नु हुँदैन। मानिसहरूले आफ्‍नो जीवनकाल बिताएर नै निपुणता हासिल गर्ने विभिन्न बाँच्ने सीपहरूले तिनीहरूलाई प्रशस्त भौतिक सुख-सयल पाउने तुल्याए पनि, ती सीपले तिनीहरूको हृदयलाई कहिल्यै पनि साँचो सान्त्वना र स्थिरता दिँदैनन्। बरु तिनले त मानिसहरूलाई निरन्तर आफ्‍नो दिशा गुमाउने, आफैलाई नियन्त्रण गर्न कठिन बनाउने, अनि जीवनको अर्थ सिक्‍ने एक पछि अर्को मौका गुमाउने तुल्याउँछन्, र मानिसहरूमा कसरी सही रूपमा मृत्युलाई सामना गर्ने भन्ने सन्दर्भमा गुप्त समस्याहरू उत्पन्न गराउँछन्—मानिसहरूको जीवन यसरी बरबाद हुन्छ। हरेक व्यक्तिलाई जीवनभरिको लागि उहाँको सार्वभौमिकताको अनुभव गर्न र त्यसलाई जान्‍ने मौका दिएर सृष्टिकर्ताले हरेक व्यक्तिलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ, तैपनि मृत्यु नजिक आएपछि मात्रै, यसको कालो छाया देखिएपछि मात्रै व्यक्तिले ज्योति देख्‍न थाल्छ—अनि त्यो बेलासम्‍म ढिला भइसकेको हुन्छ!

मानिसहरूले पैसा र ख्याति अनि प्राप्तिको पछि दौडेरै आफ्‍नो पूरै जीवन बिताउँछन्; तिनीहरूले यी खोक्रा कुराहरूलाई तिनीहरूको एकमात्र सहाराका रूपमा लिएर तिनलाई यसरी पक्रन्छन् कि मानौँ ती पाएपछि तिनीहरूले मृत्युबाट छूट पाएर बाँचिरहन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै कुराहरू तिनीहरूबाट कति टाढा छन्, र मृत्युको मुखमा तिनीहरू कति कमजोर र शक्तिहीन छन्, तिनीहरू कति नाजुक छन्, र जाने ठाउँ कतै नभएकाले तिनीहरू कति एकलो र विवश छन् भन्‍ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्याति र प्राप्तिले जीवन किन्‍न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको मान-मर्यादा जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्याति र प्राप्तिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्याति र प्राप्तिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्‍ने महसुस गर्छन्। मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू जिउनको लागि त्यति नै तड्पिन्छन्; मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू मृत्युको आगमनप्रति त्यति नै भयभीत हुन्छन्। यस विन्दुमा मात्रै तिनीहरूले महसुस गर्छन् कि तिनीहरूको जीवन तिनीहरूको स्वामित्वमा, तिनीहरूको नियन्त्रणमा छैन, र व्यक्ति जिउँछ कि मर्छ भन्‍ने बारेमा उसले कुनै भनाइ राख्न सक्दैन—योकुनै पनि व्यक्तिको नियन्त्रणभन्दा बाहिर हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३१

सृष्टिकर्ताको प्रभुत्वमा आफूलाई समर्पित गर आऊ अनि चुपचाप मृत्युको सामना गर

व्यक्तिको जन्‍म भएकै क्षणमा, एउटा एकल आत्माले पृथ्वीमा आफ्‍नो अनुभव सुरु गर्छ, सृष्टिकर्ताले यसको लागि बन्दोबस्त गरिदिनुभएको सृष्टिकर्ताको अख्तियार सम्बन्धमा आफ्नो अनुभव सुरु गर्छ। यो अवश्य पनि त्यो व्यक्ति—त्यो आत्मा—को लागि सृष्टिकर्ताको सार्वभौमिकताको बारेमा ज्ञान प्राप्त गर्ने, उहाँको अख्‍तियारलाई जान्‍ने र यसलाई व्यक्तिगत रूपमा अनुभव गर्ने उत्कृष्ट अवसर हो। मानिसहरूले आफ्‍नो जीवन सृष्टिकर्ताले तिनीहरूको लागि सृजित गर्नुभएका नियतिका नियमहरूभित्र रहेर जिउँछन्, अनि विवेक भएको कुनै पनि विवेकशील व्यक्तिको लागि तिनीहरूको जीवनको दशकौं अवधिमा सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्नु अनि उहाँको अख्तियारलाई जान्‍नु त्यति कठिन कुरा होइन। त्यसकारण, हरेक व्यक्तिको लागि आफ्नो दशकौंको जीवन अनुभवहरूमार्फत सबै मानव नियतिहरू पूर्वनिर्धारित हुन्छन् भनी पहिचान गर्न सहज हुनुपर्छ, अनि जिउँदो हुनुको अर्थ के हो सो बुझ्‍न वा सारांशित गर्न सहज हुनुपर्छ। व्यक्तिले जीवन सम्‍बन्धी यी पाठहरूलाई अङ्गाल्‍न थालेपछि, उसले क्रमिक रूपमा जीवन कहाँबाट आउँछ सो बुझ्‍न थाल्नेछ, हृदयलाई वास्तवमा के कुराको खाँचो छ, के कुराले व्यक्तिलाई जीवनको साँचो मार्गमा डोर्‍याउँछ, र मानव-जीवनको मिसन र लक्ष्य के हुनुपर्छ सो जान्‍न थाल्‍नेछ। यदि व्यक्तिले सृष्टिकर्ताको आराधना गर्दैन भने, यदि उसले आफूलाई उहाँको प्रभुत्वमा समर्पित गर्दैन भने, जब मृत्युको सामना गर्ने बेला हुन्छ—जब व्यक्तिको आत्माले फेरि एक पटक सृष्टिकर्ताको सामना गर्न लागेको हुन्छ—तब उसको हृदय असीमित भय र आतङ्कले भरिएको हुनेछ भन्‍ने कुरा व्यक्तिले क्रमिक रूपमा पहिचान गर्न थाल्‍नेछ। यदि व्यक्ति संसारमा आएको धेरै दशक भइसकेको छ तैपनि उसले मानव जीवन कहाँबाट आउँछ भन्‍ने कुरा बुझेको छैन, उसले मानव भाग्य कसको हातमा छ भन्‍ने समेत बुझेको छैन भने, उसले शान्त भएर मृत्युको सामना गर्न सक्‍नेछैन भन्‍नेमा कुनै आश्‍चर्य हुँदैन। मानव जीवन सम्‍बन्धी आफ्‍नो दशकौंको अनुभवहरूमा सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञान प्राप्त गरेको व्यक्ति जीवनको अर्थ र मूल्य सम्‍बन्धी सही बुझाइ भएको व्यक्ति हो। त्यस्तो व्यक्तिसँग सृष्टिकर्ताको सार्वभौमिकता सम्‍बन्धी साँचो अनुभव र बुझाइको साथमा जीवनको उद्देश्य सम्‍बन्धी गहन ज्ञान हुन्छ, अनि यसबाहेक, ऊ सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुन सक्छ। त्यस्तो व्यक्तिले सृष्टिकर्ताले मानवजाति सृष्टि गर्नुको अर्थ बुझ्छ, मानिसले सृष्टिकर्ताको आराधना गर्नुपर्छ भन्‍ने बुझ्छ, मानिससँग भएका सबै कुरा सृष्टिकर्ताबाट नै आउँछ र भविष्यमा चाँडै नै एक दिन ती सबै उहाँकहाँ नै फर्कन्छन् भन्‍ने बुझ्छ। यस प्रकारको व्यक्तिले मानिसको जन्‍मलाई सृष्टिकर्ताले नै बन्दोबस्त गर्नुहुन्छ र मानिसको मृत्युमाथि उहाँकै सार्वभौमिकता छ, अनि जीवन र मृत्यु दुवैलाई सृष्टिकर्ताको अख्तियारले पूर्वनिर्धारित गरेको हुन्छ भन्‍ने बुझ्छ। त्यसकारण, जब व्यक्तिले यी कुराहरूलाई साँचो रूपमा बुझेको हुन्छ, ऊ मृत्युलाई शान्त भएर सामना गर्न, आफ्‍ना सारा बाहिरी कुराहरूलाई चुपचाप पन्छ्याएर त्यसपछि आउने सबै कुराहरूलाई खुसीसाथ स्वीकार गर्न र त्यसमा समर्पित हुन, अनि सृष्टिकर्ताले बन्दोबस्त गर्नुभएको जीवनको अन्तिम घडीसँग अन्धाधुन्ध डराएर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसलाई सोही रूपमा स्वागत गर्न सक्षम हुन्छ। यदि व्यक्तिले जीवनलाई सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने र उहाँको अख्‍तियारलाई चिन्‍ने अवसरको रूपमा लिन्छ भने, यदि व्यक्तिले आफ्‍नो जीवनलाई सृष्टि गरिएको मानवजातिको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने अनि आफ्‍नो मिसन पूरा गर्ने दुर्लभ अवसरको रूपमा लिन्छ भने, ऊसँग अवश्य नै जीवन सम्‍बन्धी सही दृष्टिकोण हुनेछ, अवश्य नै उसले सृष्टिकर्ताले आशिष दिनुभएको र डोर्‍याउनुभएको जीवन जिउनेछ, ऊ अवश्य नै सृष्टिकर्ताको ज्योतिमा हिँड्नेछ, उसले अवश्य नै सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नेछ, उसले आफूलाई अवश्य नै उहाँको प्रभुत्वमा समर्पित गर्नेछ, र ऊ अवश्य नै उहाँका आश्‍चर्यजनक कार्यहरूको साक्षी, उहाँको अख्तियारको साक्षी बन्‍नेछ। भन्नै पर्दैन, त्यस्तो व्यक्तिलाई सृष्टिकर्ताले अवश्य पनि प्रेम र स्वीकार गर्नुहुन्छ, अनि त्यस्तो व्यक्तिले मात्र मृत्युप्रति शान्त मनोवृत्ति देखाउन र जीवनको अन्तिम घडीलाई आनन्दसाथ स्वीकार गर्न सक्छ। मृत्युप्रति यस्तै प्रकारको मनोवृत्ति देखाउने एक जना व्यक्ति अय्यूब हुन्। अय्यूब जीवनको अन्तिम विन्दुलाई खुशीसाथ स्वीकार गर्ने अवस्थामा थिए, अनि आफ्‍नो जीवन यात्रालाई सहज समाप्तिमा ल्याएर आफ्‍नो जीवनको मिसनलाई पूरा गरेपछि, तिनी सृष्टिकर्ताको क्षेत्रमा फर्किए।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३२

जीवनमा अय्यूबले गरेको खोजी र प्राप्तिले तिनलाई शान्त भएर मृत्युको सामना गर्ने तुल्यायो

पवित्रशास्‍त्रमा अय्यूबको बारेमा यस्तो लेखिएको छ: “यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे” (अय्यूब ४२:१७)। यसको अर्थ के हो भने, जब अय्यूबको मृत्यु भयो, तिनीसँग कुनै पछुतो थिएन र तिनले कुनै पीडाको महसुस गरेनन्, बरु यो संसारबाट स्वाभाविक रूपमै तिनी बिदा भए। अय्यूब जीवित हुँदा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिस थिए भन्‍ने सबैलाई थाहा छ। तिनका कार्यहरूलाई परमेश्‍वरले तारिफ गर्नुभयो र अरूले यादगार बनाए, अनि तिनको जीवन सायद अरू सबैको भन्दा बढी बहुमूल्य र महत्त्वपूर्ण थियो भनेर भन्‍न सकिन्छ। पृथ्वीमा अय्यूबले परमेश्‍वरका आशिष्‌हरूको उपभोग गरे र उहाँले तिनलाई धर्मी भनेर भन्‍नुहुन्थ्यो, अनि तिनलाई परमेश्‍वरले पनि परीक्षा गर्नुभयो र शैतानले पनि प्रलोभन गर्यो। तिनी परमेश्‍वरको साक्षीको रूपमा खडा भए र उहाँद्वारा धर्मी व्यक्ति भनिन योग्य बने। परमेश्‍वरले तिनलाई परीक्षा गर्नुभएको दशकौंपछि, तिनले पहिलेको भन्दा अझै बहुमूल्य, अर्थपूर्ण, स्थिर, र शान्तिपूर्ण जीवन जिए। तिनका धर्मी कार्यहरूको कारण, परमेश्‍वरले तिनलाई जाँच्‍नुभयो, र तिनका धर्मी कार्यहरूले गर्दा नै, परमेश्‍वर तिनको सामु आउनुभयो र तिनीसँग प्रत्यक्ष रूपमा कुरा गर्नुभयो। तसर्थ, तिनलाई जाँच गरिएपछिका वर्षहरूमा, अय्यूबले जीवनको मूल्यलाई अझै ठोस रूपमा बुझे र सराहना गरे, सृष्टिकर्ताको सार्वभौमिकताको अझै गहन बुझाइ प्राप्त गरे, अनि सृष्टिकर्ताले कसरी उहाँका आशिष्‌हरू दिनुहुन्छ र फिर्ता लिनुहुन्छ भन्‍नेबारेमा अझै सटीक र ठोस ज्ञान प्राप्त गरे। सृष्टिकर्ताको सार्वभौमिकतालाई बुझ्ने र चुपचाप मृत्युको सामना गर्ने अझै उत्तम स्थानमा अय्यूबलाई राख्दै, यहोवा परमेश्‍वरले अय्यूबलाई पहिलेभन्दा अझै बढी आशिष्‌हरू दिनुभयो भनेर अय्यूबको पुस्तकले उल्‍लेख गरेको छ। त्यसकारण, जब अय्यूबले वृद्ध भएर मृत्युको सामना गर्नुपर्‍यो, तब तिनी आफ्‍नो सम्पत्तिको बारेमा पक्‍कै पनि चिन्तित भएनन्। तिनीसँग कुनै चिन्ता थिएन, पछुताउनुपर्ने केही थिएन, र अवश्य नै तिनले मृत्युको डर मानेनन्, किनभने तिनले आफ्‍नो सारा जीवन परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्दै बिताएका थिए। आफ्‍नै अन्त्यको बारेमा चिन्ता गर्नुपर्ने कुनै कारण तिनीसँग थिएन। आजका कति मानिसहरूले आफ्नो मृत्युको सामना गर्दा पूर्ण रूपमा अय्यूबले गरेजस्तै गर्न सक्छन्? किन त्यस्तो सरल बाह्य सहनशीलता कायम गर्न सक्‍ने कोही पनि छैन? एउटै मात्र कारण छ: अय्यूबले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दै, त्यसको पहिचान गर्दै, अनि त्यसमा समर्पित हुँदै आफ्‍नो जीवन जिए, र यही विश्‍वास, पहिचान, र समर्पणद्वारा नै तिनले जीवनका महत्त्वपूर्ण मोडहरू पार गरे, आफ्‍ना आखिरी वर्षहरू बिताए, र आफ्‍नो जीवनको अन्तिम बिन्दुलाई स्वागत गरे। अय्यूबले जे-जस्तो अनुभव गरे तापनि, तिनको जीवनका खोजी र लक्ष्‍यहरू पीडापूर्ण थिएनन्, बरु सुखद थिए। सृष्टिकर्ताले तिनलाई दिनुभएका आशिष्‌हरू र तारिफको कारण मात्र तिनी खुसी थिएनन्, बरु अझै महत्त्वपूर्ण रूपमा, तिनी त आफ्ना खोजी र जीवनका लक्ष्‍यहरूको कारण खुशी थिए, परमेश्‍वरको डर मानेर अनि दुष्टताबाट अलग बसेर प्राप्त गरेको सृष्टिकर्ताको सार्वभौमिकतासम्‍बन्धी बढ्दो ज्ञान र साँचो बुझाइको कारण खुशी थिए, र यसको साथै सृष्टिकर्ताको सार्वभौमिकताको एक पात्रको रूपमा परमेश्‍वरको आश्‍चर्यजनक कार्यको बारेमा तिनको व्यक्तिगत अनुभव, अनि मानिस र परमेश्‍वरको अन्तरक्रिया, मित्रता र पारस्‍परिक समझदारीसम्‍बन्धी कोमल तर बिर्सनै नसकिने अनुभव र यादहरूको कारण खुशी थिए। सृष्टिकर्ताका अभिप्रायहरू जानेपछि प्राप्त हुने सान्त्वना र आनन्दको कारण, र उहाँ महान्, अद्भुत, प्रेमिलो र विश्‍वासयोग्य हुनुहुन्छ भन्‍ने देखेर उनले विकास गरेको परमेश्वरको डर मान्ने हृदयका कारण अय्यूब खुसी थिए। अय्यूबले कुनै पनि कष्टविनै मृत्युको सामना गर्न सके किनभने मरेपछि तिनी सृष्टिकर्ताकहाँ फर्केर जानेछन् भन्‍ने तिनलाई थाहा थियो। जीवनमा तिनले गरेको खोजी र प्राप्तिले नै तिनलाई शान्तिसाथ मृत्युको सामना गर्ने तुल्यायो, सृष्टिकर्ताले आफ्नो जीवन फिर्ता लिने अपेक्षालाई शान्तिसाथ सामना गर्ने तुल्यायो, साथै सृष्टिकर्ताको अघि विशुद्ध र चिन्तारहित रूपमा खडा हुने तुल्यायो। के आजका मानिसहरूले अय्यूबले पाएजस्तो खुशी हासिल गर्न सक्छन्? के तिमीहरूसँग त्यसो गर्नको लागि आवश्यक अवस्थाहरू छन्? आजभोलिका मानिसहरूसँग यस्ता अवस्थाहरू भए पनि, किन तिनीहरू अय्यूबजस्तो खुशी भएर जिउन सक्दैनन्? किन तिनीहरू मृत्युको डरको कष्टबाट उम्‍कन सक्दैनन्? मृत्युको सामना गर्दा, कतिपय मानिसहरू डरले पिसाब फेर्छन्; अरूहरू काँप्छन्, बेहोस हुन्छन्, स्वर्ग र मानिसविरुद्ध प्रहार गर्छन्; कतिपय त विलाप गर्ने र रुनेसमेत गर्छन्। कुनै पनि हालतमा यी कुराहरू अचानक मृत्यु नजिकिँदा देखिने प्राकृतिक प्रतिक्रिया होइनन्। मानिसहरूले यस्तो लाजमर्दो किसिमले व्यवहार गर्नुको मुख्य कारण के हो भने, मानिसहरूले आफ्‍नो भित्री हृदयमा मृत्युको डर मान्छन्, तिनीहरूसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँको बन्दोबस्तको स्पष्ट ज्ञान र बुझाइ छैन, ती कुराहरूप्रति तिनीहरू साँचो रूपमा समर्पित हुने त कुरै छाडौँ। मानिसहरूले यस्तो प्रतिक्रिया दिन्छन् किनभने तिनीहरू अरू केही चाहँदैनन्, केवल सबै कुरा आफैले बन्दोबस्त र सञ्‍चालन गर्न, आफ्‍नो नियति, आफ्‍नो जीवन र मृत्यु आफै नियन्त्रण गर्न चाहन्छन्। त्यसकारण, मानिसहरू कहिल्यै पनि मृत्युको डरबाट उम्‍कन सक्दैनन् भन्‍नेमा कुनै आश्‍चर्य छैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३३

सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेर मात्रै व्यक्ति उहाँको क्षेत्रमा फर्कन सक्छ

जब व्यक्तिसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँको बन्दोबस्तहरूको स्पष्ट ज्ञान र अनुभव हुँदैन, नियति र मृत्युसम्‍बन्धी उसको ज्ञान अवश्य नै अस्पष्ट हुनेछ। मानिसहरूले सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने स्पष्ट देख्‍न सक्दैनन्, सबै कुरा परमेश्‍वरको नियन्त्रण र सार्वभौमिकताको अधीनमा छ भन्‍ने महसुस गर्दैनन्, र त्यस्तो सार्वभौमिकता त्याग्‍न वा त्यसबाट उम्‍कन मानिस सक्दैन भन्‍ने कुरा स्वीकार गर्दैनन्। यही कारणले गर्दा, तिनीहरूले मृत्युको सामना गर्ने समय आउँदा, तिनीहरूका आखिरी शब्‍द, चिन्ता, र अफसोसहरू कहिल्यै अन्त्य हुँदैनन्। तिनीहरू अत्यन्तै धेरै भार, अत्यन्तै धेरै अनिच्‍छा, र अत्यन्तै धेरै अन्योलले थिचिएका हुन्छन्। यसले तिनीहरूलाई मृत्युको डर मान्‍ने तुल्याउँछ। यस संसारमा जन्‍मने कुनै पनि व्यक्तिको लागि, जन्‍म अत्यावश्यक र मृत्यु अपरिहार्य छ; यी घटनाक्रमहरूभन्दा माथि कोही पनि उठ्न सक्दैन। यदि व्यक्तिले यो संसारबाट पीडारहित रूपमा बिदा हुन चाहन्छ भने, यदि ऊ जीवनको अन्तिम बिन्दुलाई अनिच्‍छा वा चिन्तारहित रूपमै सामना गर्न सक्‍ने हुन चाहन्छ भने, यसको एउटै मात्र तरिका भनेको कुनै पनि अफसोस नराख्‍नु हो। अनि कुनै अफसोसविना बिदा हुने एउटै तरिका भनेको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नु, उहाँको अख्‍तियारलाई जान्‍नु, र तिनमा समर्पित हुनु हो। यसरी मात्रै व्यक्ति मानव कलह, दुष्टता र शैतानको बन्धनबाट टाढा बस्‍न सक्छ, र यसरी मात्रै उसले अय्यूबको जस्तो सृष्टिकर्ताद्वारा मार्गनिर्देशित र आशिषित, मुक्त र स्वतन्त्र जीवन, मूल्यवान् र अर्थपूर्ण जीवन, इमानदार र खुला हृदय भएको जीवन जिउन सक्छ। यसरी मात्रै व्यक्ति सृष्टिकर्ताले दिनुभएको परीक्षा र अभावरूपी कष्टहरू र सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छ। यसरी मात्रै व्यक्तिले आफ्‍नो जीवनभरि अय्यूबले जस्तै सृष्टिकर्ताको आराधना गर्न र उहाँको अनुमोदन हासिल गर्न सक्छ, र उहाँको आवाजलाई सुन्‍न र उहाँ प्रकट हुनुभएको देख्‍न सक्छ। यसरी मात्रै हामी अय्यूबजस्तै कुनै पनि पीडा, चिन्ता, पछुतोविना नै खुशीसाथ जिउन र मर्न सक्छौं। यसरी मात्रै व्यक्ति अय्यूबजस्तै ज्योतिमा जिउन, र ज्योतिमा आफ्‍नो जीवनको हर मोड पार गर्न, ज्योतिमा आफ्‍नो यात्रा सहजसाथ पूरा गर्न, सफलतापूर्वक आफ्‍नो मिसन पूरा गर्न—सृष्टि गरिएको प्राणीको रूपमा सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्न, सिक्‍न, र जान्‍न—अनि ज्योतिमै बितेर जान, र सृष्टि गरिएको मानवजातिको रूपमा, उहाँको अनुमोदन पाएर सदासर्वदाको लागि सृष्टिकर्ताको छेउमा खडा हुन सक्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३४

सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने अवसर नगुमाओ

मानव जीवनका धेरै दशकहरूको अवधि लामो पनि होइन, छोटो पनि होइन। जन्‍मदेखि बीस वर्षसम्मको अवधि झिमिक्क गर्दा बितेर जान्छ, अनि जीवनको यो मोडमा व्यक्तिलाई वयस्क मानिने भए पनि, यस उमेर समूहका मानिसहरूलाई मानव जीवन र मानव नियतिको बारेमा लगभग केही पनि थाहा हुँदैन। तिनीहरूले थप अनुभव प्राप्त गर्दै जाँदा, तिनीहरू क्रमिक रूपमा आधा उमेरमा प्रवेश गर्छन्। तीस र चालीसको दशकमा पुगेका मानिसहरूले जीवन र नियतिसम्‍बन्धी कलिला अनुभव प्राप्त गर्छन्, तर यी कुराहरूसम्बन्धी तिनीहरूको विचार अझै पनि अत्यन्तै अस्पष्ट हुन्छ। कतिपय मानिसहरूले चालीस वर्षको उमेर पुगेपछि मात्रै परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजाति र ब्रह्माण्डलाई बुझ्‍न, र मानव जीवन र मानव नियतिको अर्थ के हो भनी बुझ्‍न सुरु गर्छन्। कतिपय मानिसहरू धेरै पहिलेदेखि परमेश्‍वरलाई पछ्याउँदै आएका र अहिले आधा उमेर पुगिसकेको भए तापनि, तिनीहरूसँग अझै पनि परमेश्‍वरको सार्वभौमिकताको सटीक ज्ञान र परिभाषा हुँदैन, साँचो समर्पणको त कुरै नगरौं। कतिपय मानिसहरूले आशिष्‌ प्राप्त गर्नेबाहेक अरू केही कुराको वास्ता गर्दैनन्, र तिनीहरू धेरै वर्ष बाँचिसकेका भए तापनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको तथ्यलाई अलिकति पनि जानेका वा बुझेका हुँदैनन्, र तिनीहरूले परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनेसम्‍बन्धी व्यवहारिक पाठतर्फ सानो कदमसमेत चालेका हुँदैनन्। त्यस्ता मानिसहरू पूर्ण रूपमा मूर्ख हुन्छन्, र तिनीहरूको जीवन व्यर्थमा जिइएको हुन्छ।

यदि मानव जीवनका अवधिहरूलाई मानिसहरूको जीवन अनुभव र मानव नियतिसम्‍बन्धी ज्ञानको हदअनुसार विभाजित गर्ने हो भने, तिनीहरूलाई समग्रमा तीन चरणमा विभाजित गर्न सकिन्छ। पहिलो चरण जवानीको चरण हो, जसमा जन्‍मेदेखि आधा उमेरसम्‍मका, वा जन्‍मदेखि तीस वर्षको उमेरसम्‍मका वर्षहरू पर्छन्। दोस्रो चरण परिपक्‍वताको चरण हो, जुन आधा उमेरदेखि वृद्ध अवस्थासम्‍म, वा तीसदेखि साठी वर्षसम्‍मको अवधि हो। अनि तेस्रो चरणचाहिँ व्यक्तिको परिपक्‍व अवधि हो, जुन वृद्ध अवस्था, अर्थात् साठी वर्षदेखि सुरु भएर व्यक्ति संसारबाट बिदा भइञ्‍जेलसम्‍म जारी रहन्छ। अर्को शब्‍दमा भन्दा, जन्‍मदेखि आधा उमेरसम्‍म, धेरैजसो मानिसहरूको नियति र जीवनसम्‍बन्धी ज्ञान अरूका विचारहरूको अनुकरण गर्ने कार्यमा नै सीमित हुन्छ, र यसमा लगभग कुनै वास्तविक, व्यवहारिक सार हुँदैन। यो अवधिमा, जीवनसम्‍बन्धी व्यक्तिको दृष्टिकोण र व्यक्तिले अरू मानिसहरूसित अन्तरक्रिया गर्ने तौरतरिकाहरू निकै नै सतही र मूर्खतापूर्ण हुन्छन्। यो व्यक्तिको किशोर अवस्थाको अवधि हो। व्यक्तिले जीवनका सबै आनन्द र शोकहरू चाखिसकेपछि मात्रै उसले नियतिको बारेमा वास्तविक बुझाइ प्राप्त गर्छ, र—अर्धचेतन रूपमा, आफ्‍नो अन्तस्करणमा—नियति उल्ट्याउन नसकिने तथ्यलाई क्रमिक रूपमा बुझ्‍न, र मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकता वास्तवमै अस्तित्वमा छ भनेर बिस्तारै महसुस गर्छ। व्यक्तिको परिपक्‍वताको अवधि यही हो। जब व्यक्तिले नियतिको विरुद्ध संघर्ष गर्न छोडेको हुन्छ, र जब ऊ त्यसउप्रान्त कलहतिर लाग्‍न इच्‍छुक हुनुको सट्टा, आफ्नो जीवनमा कस्तो नियति छ त्यसलाई जान्‍ने, स्वर्गको इच्‍छाप्रति समर्पित हुने, जीवनमा आफूले प्राप्त गरेका उपलब्धि र गल्तीहरूलाई सारांशित गर्ने, र आफ्नो जीवनमाथि सृष्टिकर्ताले गर्नुहुने न्यायको प्रतीक्षा गर्ने गर्छ, तब ऊ आफ्‍नो परिपक्‍व अवधिमा प्रवेश गर्छ। यी अवधिहरूको बेला मानिसहरूले प्राप्त गर्ने फरकफरक अनुभव र उपलब्धिहरूलाई ध्यानमा राख्दा, सामान्य परिस्‍थितिहरूमा, सृष्टिकर्ताको सार्वभौमिकतालाई व्यक्तिले चिन्‍ने मौका त्यति धेरै हुँदैन। यदि व्यक्ति साठी वर्षसम्‍म बाँच्छ भने, परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍नको लागि उसँग लगभग तीस वर्ष जति हुन्छ; यदि व्यक्तिले लामो समय अवधि चाहन्छ भने, उसको आयु लामो भए मात्र, ऊ एक शताब्दी बाँच्‍न सक्छ भने मात्र त्यो कुरा सम्‍भव हुन्छ। त्यसैले म भन्छु, मानव अस्तित्वका सामान्य नियमहरूअनुसार, व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नेसम्‍बन्धी विषयलाई पहिलोपटक सामना गरेपछि त्यो सार्वभौमिकताको तथ्यलाई उसले पूर्ण रूपमा पहिचान गर्न सकुञ्‍जेल, अनि त्यो समयदेखि ऊ यसमा समर्पित हुन सकुञ्‍जेलसम्‍मको प्रक्रिया निकै लामो हुने भए तापनि, यदि व्यक्तिले वास्तवमा वर्षहरूको गन्ती गर्छ भने, उसले यी इनामहरू प्राप्त गर्ने मौकाको रूपमा तीस वा चालीस वर्षभन्दा बढी समय पाउँदैन। प्रायजसो, मानिसहरू आशिष्‌ प्राप्त गर्ने आफ्‍ना इच्‍छा र महत्वाकांक्षाहरूमा बहकिएर जान्छन्, त्यसैले तिनीहरूले मानव जीवनको सार कहाँ छ भनी देख्‍दैनन् र सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नुको महत्त्व बुझ्दैनन्। मानव जीवन र सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्नको लागि मानव संसारमा प्रवेश गर्ने यो बहुमूल्‍य अवसरलाई त्यस्ता मानिसहरूले बहुमूल्य ठान्दैनन्, र सृष्टि गरिएको प्राणीले सृष्टिकर्ताको व्यक्तिगत मार्गनिर्देशन प्राप्त गर्नु कति बहुमूल्‍य छ भनी तिनीहरूले महसुस गर्दैनन्। त्यसैले म भन्छु, परमेश्‍वरको कार्य शीघ्र रूपमा समाप्त होस् भन्‍ने चाहना गर्ने, उहाँको वास्तविक व्यक्तित्वलाई तुरुन्तै देख्‍न सकूँ र सकेसम्म चाँडो आशिष्‌हरू प्राप्त गर्न सकूँ भनेर परमेश्‍वरले जतिसक्दो चाँडो मानिसको अन्त्यको बन्दोबस्त गरून् भन्‍ने इच्‍छा गर्ने मानिसहरू—तिनीहरू सबैभन्दा खराब अवज्ञाको दोषी हुन्छन् र तिनीहरू घोर मूर्ख हुन्छन्। यसबीच, आफ्‍नो सीमित समय अवधिमा सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने यो अद्वितीय अवसरको फाइदा लिनेहरू नै मानिसहरूमाझ रहेका बुद्धिमानहरू, सबैभन्दा बढी मानसिक तीक्ष्णता भएकाहरू हुन्। यी दुई फरक इच्‍छाहरूले दुई अत्यन्तै फरक दृष्टिकोण र खोजीको खुलासा गर्छन्: आशिष्‌ खोज्‍नेहरू स्वार्थी र नीच हुन्छन् र तिनीहरू परमेश्‍वरका अभिप्रायहरूप्रति कुनै ध्यान दिँदैनन्, कहिल्यै पनि परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्‍ने प्रयास गर्दैनन्, यसमा समर्पित हुने इच्‍छा कहिल्यै गर्दैनन्, बरु आफूलाई जस्तो मन लाग्यो त्यस्तै तवरमा जिउन चाहन्छन्। तिनीहरू अनुचित चरित्रहीनहरू हुन्, र मानिसहरूको यही वर्गलाई नै नष्ट गरिनेछ। परमेश्‍वरलाई चिन्‍न खोज्‍नेहरू आफ्‍ना इच्‍छाहरूलाई पन्छाउन सक्छन्, परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरको बन्दोबस्तमा समर्पित हुन इच्‍छुक हुन्छन्, र परमेश्‍वरको अख्तियारको अधीनमा बस्‍ने र परमेश्वरका अभिप्रायहरू पूरा गर्ने प्रकारका मानिस बन्‍ने प्रयास गर्छन्। यस्ता मानिसहरू ज्योति र परमेश्‍वरका आशिष्‌हरूको माझमा जिउँछन्, र तिनीहरूलाई अवश्य नै परमेश्‍वरले स्याबासी दिनुहुनेछ। जेसुकै भए पनि, मानव छनौट व्यर्थ छ, र परमेश्‍वरको कामको लागि कति लामो समय लाग्छ भन्‍नेबारे मानिसहरूले केही पनि भन्‍न पाउँदैनन्। आफैलाई परमेश्‍वरको कृपामा सुम्पेर उहाँको सार्वभौमिकतामा समर्पित हुनु नै मानिसहरूको लागि उचित हुन्छ। यदि तैँले आफैलाई उहाँको कृपामा समर्पित गर्दैनस् भने, तैँले के गर्न सक्छस् र? के यसको परिणामस्वरूप परमेश्‍वरले कुनै घाटा बेहोर्नुहुनेछ र? यदि तैँले आफैलाई उहाँको कृपामा समर्पित गर्दैनस्, बरु आफैलाई मालिक बनाउने प्रयास गर्छस् भने, तैँले मूर्ख निर्णय गरिरहेको छस्, र आखिरमा घाटा बेहोर्ने तँ नै हुनेछस्। मानिसहरूले जतिसक्दो चाँडो परमेश्‍वरसँग सहकार्य गरे भने मात्रै, तिनीहरूले उहाँको योजनाबद्ध कार्यलाई स्वीकार गर्न, उहाँको अख्‍तियारलाई जान्‍न, र तिनीहरूका लागि उहाँले गर्नुभएका सबै कुरा बुझ्‍न हतार गर्छन् भने मात्रै, तिनीहरूसित आशा हुनेछ। यसरी मात्रै तिनीहरूको जीवन व्यर्थमा जिइएको हुनेछैन, र तिनीहरूले मुक्ति प्राप्त गर्नेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३५

मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई कसैले परिवर्तन गर्न सक्दैन

परमेश्‍वरको अख्तियारअन्तर्गत हरेक व्यक्तिले उहाँको सार्वभौमिकता र बन्दोबस्तलाई सक्रिय वा निष्क्रिय रूपमा स्वीकार गर्छ, र जीवन जिउने क्रममा व्यक्तिले जसरी संघर्ष गरे पनि, उसले जति धेरै कुटिल मार्गहरू हिँडे पनि, आखिरमा ऊ सृष्टिकर्ताले तिनीहरूका लागि कोर्नुभएको नियतिको परिक्रमापथमै फर्कनेछ। यो सृष्टिकर्ताको अख्‍तियारको अजेयता र उहाँको अख्तियारले ब्रह्माण्डलाई नियन्त्रण र शासन गर्ने तरिका हो। यही अजेयता, नियन्त्रण र शासनको यही स्वरूप नै ती नियमहरूको लागि जिम्मेवार छ जसले यावत् थोकको जीवन नियन्त्रण गर्छन्, हस्तक्षेपविनै बारम्‍बार मानिसहरूलाई पुनर्जन्‍म लिन दिन्छन्, अनि दिनहुँ र वर्षौंवर्ष संसारलाई नियमित रूपमा घुमाउँछन् र अघि बढाउँछन्। तिमीहरूले यी सबै तथ्यहरूलाई देखेका छौ र सतही रूपमा भए पनि वा गहन रूपमा भए पनि तिमीहरूले तिनलाई बुझेका छौ, र तिमीहरूको बुझाइको गहिराइ सत्यतासम्‍बन्धी तिमीहरूको अनुभव र ज्ञान, र परमेश्‍वरसम्‍बन्धी तिमीहरूको ज्ञानमा निर्भर रहन्छ। तैँले सत्यता वास्तविकतालाई कति राम्ररी जान्दछस्, तैँले परमेश्‍वरका वचनहरूलाई कति धेरै अनुभव गरेको छस्, र तैँले परमेश्‍वरको सार र स्वभावलाई कति राम्ररी जान्दछस्—यी सबैले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तसम्‍बन्धी तेरो बुझाइको गहिराइलाई प्रतिनिधित्व गर्छन्। के परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तको अस्तित्व मानवजाति त्यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ? के परमेश्‍वरमा यो अख्‍तियार छ भन्‍ने तथ्य मानवजाति यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुराद्वारा निर्धारित हुन्छ? परिस्‍थिति जस्तोसुकै भए पनि परमेश्‍वरको अख्तियार अस्तित्वमा रहन्छ। हर परिस्थितिमा, परमेश्‍वरले आफ्‍ना विचार र चाहनाहरूअनुसार मानव नियति र सबै कुराहरू नियन्त्रित र व्यवस्थित गर्नुहुन्छ। मानव परिवर्तनको परिणामस्वरूप यो परिवर्तन हुँदैन; यो मानिसको इच्‍छाबाट स्वतन्त्र हुन्छ, समय, स्थान, र भूगोलमा आएको कुनै परिवर्तनले यसलाई हेरफेर गर्न सक्दैन, किनभने परमेश्‍वरको अख्तियार नै उहाँको सार हो। मानिसले परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍न र स्वीकार गर्न सक्छ कि सक्दैन, र यसमा मानिस समर्पित हुन सक्छ कि सक्दैन—यीमध्ये कुनै पनि विचारले मानव नियतिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई रत्तीभर परिवर्तन गर्न सक्दैन। भन्‍नुको अर्थ, परमेश्‍वरको सार्वभौमिकताप्रति मानिसले जस्तोसुकै मनोवृत्ति लिए तापनि, मानव नियति र यावत् थोकमाथि परमेश्‍वरकै सार्वभौमिकता छ भन्‍ने तथ्यलाई यसले परिवर्तन गर्नै सक्दैन। यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा समर्पित भइनस् भने पनि, तेरो भाग्यमाथि अझै पनि उहाँकै नियन्त्रण रहिरहन्छ; तैँले उहाँको सार्वभौमिकतालाई जान्‍न सकिनस् भने पनि, उहाँको अख्‍तियार अस्तित्वमै रहिरहन्छ। परमेश्‍वरको अख्तियार र मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्य मानव इच्‍छाबाट स्वतन्त्र छन्, र मानिसका रुचि र निर्णयहरूअनुसार ती परिवर्तन हुँदैनन्। परमेश्‍वरको अख्तियार जुनसुकै ठाउँ, जुनसुकै घडी, र जुनसुकै क्षणमा हुन्छ। स्वर्ग र पृथ्वी नासिएर जालान्, तर उहाँको अख्‍तियार कहिल्यै नाश हुनेछैन, किनभने उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँसँग अद्वितीय अख्‍तियार छ, र उहाँको अख्‍तियार मानिसहरू, घटनाहरू, वा वस्तुहरूद्वारा, स्थान वा भूगोलद्वारा नियन्त्रित वा सीमित छैन। हरसमय, परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्नुहुन्छ, आफ्‍नो शक्ति देखाउनुहुन्छ, उहाँले सधैँझैँ आफ्‍नो व्यवस्थापन कार्यलाई जारी राख्‍नुहुन्छ; हरसमय, उहाँले सधैँझैँ यावत् थोकमाथि शासन गर्नुहुन्छ, यावत् थोकको लागि बन्दोबस्त गर्नुहुन्छ, यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। तथ्य यही हो; अनन्त समयदेखि नै यो अपरिवर्तनीय सत्य रहिआएको छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३६

परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहनेहरूको लागि उचित मनोवृत्ति र अभ्यास

परमेश्‍वरको अख्तियार र मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई अब मानिसले कस्तो मनोवृत्तिले जान्‍नु र लिनुपर्छ? हरेक व्यक्तिको अघि खडा हुने वास्तविक समस्या यही हो। वास्तविक जीवनका समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरू सामना गर्छस् र तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब तँसँग परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुने अभिप्राय र चाहना छ भनेर प्रदर्शन गर्न, अनि यस समर्पणको वास्तविकता प्रदर्शन गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ। “प्रतीक्षा गर्नु” भनेको परमेश्‍वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र कामकुराहरू प्रतीक्षा गर्नु हो, उहाँका अभिप्रायहरू तँकहाँ क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। “खोजी गर्नु” भनेको परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिस, घटना, र कामकुराहरूमार्फत तँप्रति उहाँका श्रमसाध्य अभिप्रायहरूलाई जाँच गर्नु र बुझ्‍नु हो, तिनीहरूसित सम्बन्धित सत्यता बुझ्‍नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्‍नु हो, र परमेश्‍वरले मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्‍नु हो। “समर्पित हुनु” ले चाहिँ अवश्य नै परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरू स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नु र यसमार्फत, सृष्टिकर्ताले कसरी मानिसको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ भनेर अनुभव गर्नुलाई जनाउँछ। परमेश्‍वरका बन्दोबस्तहरू र सार्वभौमिकताको अधीनमा रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, र यदि तँ परमेश्‍वरलाई तेरा लागि सबै कुरा बन्दोबस्त गर्न र सबै कुरमाथि सार्वभौमिकता राख्न दिने सङ्कल्प गर्छस् भने, तैँले प्रतीक्षा गर्न सिक्‍नैपर्छ, तैँले खोजी गर्न सिक्‍नैपर्छ, र तैँले समर्पित हुन सिक्‍नैपर्छ। परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहने हरेक व्यक्तिले अपनाउनैपर्ने मनोवृत्ति यही हो, र यो परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई स्वीकार गर्न चाहने हरेक व्यक्तिमा हुनुपर्ने सबैभन्दा आधारभूत गुण पनि हो। त्यस्तो मनोवृत्ति धारण गर्नका लागि, त्यस्तो गुण प्राप्त गर्नका लागि, तिमीहरूले अझै बढी परिश्रम गर्नैपर्छ। अनि मात्र तिमीहरू साँचो वास्तविकतामा प्रवेश गर्न सक्छौ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३७

परमेश्‍वरलाई आफ्नो अद्वितीय सार्वभौमको रूपमा स्वीकार गर्नु नै मुक्ति पाउने पहिलो कदम हो

परमेश्‍वरको अख्तियार सम्‍बन्धी सत्यताहरू हरेक व्यक्तिले गम्‍भीर रूपमा लिनुपर्ने, आफ्‍नो हृदयबाट अनुभव गर्नुपर्ने र बुझ्‍नुपर्ने सत्यताहरू हुन्; किनभने यी सत्यताहरूले हरेक व्यक्तिको जीवनमा प्रभाव पार्दछन्; हरेक व्यक्तिको विगत, वर्तमान, र भविष्यमा प्रभाव पार्दछन्; हरेक व्यक्तिले जीवनमा पार गर्नैपर्ने महत्त्वपूर्ण घडीहरूमा प्रभाव पार्दछन्; परमेश्‍वरको सार्वभौमिकता सम्‍बन्धी मानिसको ज्ञान र परमेश्‍वरको अख्तियारलाई व्यक्तिले सामना गर्नुपर्ने मनोवृत्तिमा प्रभाव पार्दछन्; अनि, स्वाभाविक रूपमै, हरेक व्यक्तिको अन्तिम गन्तव्यलाई प्रभाव पार्दछन्। त्यसकारण, तिनलाई जान्‍न र बुझ्‍नको लागि जीवनभरको मोल आवश्यक पर्छ। जब तैँले परमेश्‍वरको अख्तियारलाई प्रत्यक्ष रूपमा हेर्छस्, जब तैँले उहाँको सार्वभौमिकतालाई स्वीकार गर्छस्, तब तैँले क्रमिक रूपमा परमेश्‍वरको अख्तियारको अस्तित्व सम्‍बन्धी सत्यतालाई महसुस गर्नेछस् र बुझ्‍नेछस्। तर यदि तैँले परमेश्‍वरको अख्तियारलाई कहिल्यै पहिचान गर्दैनस् र उहाँको सार्वभौमिकतालाई कहिल्यै स्वीकार गर्दैनस् भने, तँ जति वर्ष बाँचे पनि, तैँले परमेश्‍वरको सार्वभौमिकताको अलिकति ज्ञान पनि प्राप्त गर्नेछैनस्। यदि तैँले परमेश्‍वरको अख्तियारलाई साँचो रूपमा जान्दैनस् र बुझ्दैनस् भने, तैँले दशकौंसम्‍म परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तँ बाटोको अन्त्यमा पुग्दा तँसँग आफ्‍नो जीवनको लागि देखाउने कुरा केही पनि हुँदैन, अनि स्वाभाविक रूपमै तँसँग मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताको अलिकति ज्ञान समेत हुनेछैन। के यो अत्यन्तै दुःखलाग्दो कुरा होइन र? त्यसैले तँ जीवनमा चाहे जति नै टाढासम्म हिँडिसकेको भए पनि, तँ अहिले जति नै उमेरको भए पनि, तेरो बाँकी यात्रा जति नै लामो भए पनि, तैँले सर्वप्रथम परमेश्‍वरको अख्तियारलाई अनुमोदन गर्नैपर्छ र त्यसलाई गम्‍भीर रूपमा लिनैपर्छ, अनि परमेश्‍वर तेरो अद्वितीय सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यलाई स्वीकार गर्नैपर्छ। मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता सम्‍बन्धी यी सत्यताहरूको स्पष्ट एवम् सही ज्ञान र बुझाइ प्राप्त गर्नु सबैका लागि अनिवार्य पाठ हुन्; यो पाठ मानव जीवनलाई जान्‍ने र सत्यतालाई प्राप्त गर्ने चाबी हो। यो परमेश्‍वरलाई चिन्‍ने जीवन, उहाँलाई चिन्ने अध्ययनको आधारभूत पाठ पनि हो, जसलाई सबैले प्रत्येक दिन सामना गर्नुपर्छ अनि जसबाट कोही पनि उम्‍कन सक्दैन। यदि यो लक्ष्यमा पुग्‍नको लागि कसैले छोटो बाटो लिने इच्छा गर्छ भने, म तँलाई अहिले नै भन्छु, त्यो असम्‍भव हुन्छ! यदि तँ परमेश्‍वरको सार्वभौमिकताबाट उम्‍कन चाहन्छस् भने, त्यसको सम्‍भावना त झनै कम हुन्छ! परमेश्‍वर मानिसको एक मात्र प्रभु हुनुहुन्छ, परमेश्‍वर नै मानव नियतिको एक मात्र सार्वभौम हुनुहुन्छ, त्यसकारण मानिसले आफ्‍नो नियतिमाथि सार्वभौमिकता राख्‍न असम्‍भव छ, उसले नियतिबाहिर पाइला टेक्न असम्‍भव हुन्छ। व्यक्तिका क्षमताहरू जति नै ठूला भए पनि, उसले अरूको नियतिलाई प्रभाव पार्न सक्दैन, त्यसलाई योजनाबद्ध गर्ने, प्रबन्ध गर्ने, नियन्त्रण गर्ने, वा परिवर्तन गर्ने कुरा त परै जाओस्। अद्वितीय परमेश्‍वर स्वयम् मात्रै मानिसका यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ। मानव नियतिमाथि सार्वभौमिकता राख्‍ने अद्वितीय अख्तियार अद्वितीय परमेश्‍वर स्वयम्सँग मात्रै भएकाले, सृष्टिकर्ता मात्रै मानिसको अद्वितीय सार्वभौम हुनुहुन्छ। सृष्टि गरिएका मानवजातिमाथि मात्रै होइन, कुनै पनि मानिसले देख्‍न नसक्‍ने सृष्टि नगरिएका प्राणीहरू, तारामण्डल, आकाशमण्डलमाथि समेत परमेश्‍वरको अख्तियारको सार्वभौमिकता छ। यो निर्विवाद तथ्य हो, साँचो रूपमा अस्तित्वमा रहेको तथ्य हो, जसलाई कुनै पनि व्यक्ति वा वस्तुले परिवर्तन गर्न सक्दैन। यदि तिमीहरूमध्ये कोही अझै पनि आफूसँग केही विशेष सीप वा क्षमता छ भन्‍ने विश्‍वास गर्दै, र सौभाग्यले आफ्नो वर्तमान परिस्‍थितिहरूलाई परिवर्तन गर्न वा ती परिस्थितिहरूबाट उम्‍कन सक्छु भन्‍ने ठान्दै, हाल अवस्था वा काम-कुराहरू जे-जस्तो रूपमा छन् त्यसप्रति असन्तुष्ट छौ भने, यदि तिमीहरूले आफ्‍नो नियतिलाई मानव प्रयासको माध्यमद्वारा परिवर्तन गरेर आफूलाई आफ्ना साथीसंगीहरूभन्दा राम्रो देखाउने र ख्याति र सम्पत्ति कमाउने प्रयास गर्छौ भने, म तँलाई भन्छु, तैँले आफ्‍नै लागि परिस्थिति कठिन तुल्याइरहेको छस्, तैँले दुःख पाउन मात्र खोजिरहेको छस्, तैँले आफ्‍नै चिहान खनिरहेको छस्! ढिलो-चाँडो, एक दिन तैँले आफूले गलत निर्णय गरेछु र आफ्ना प्रयासहरू व्यर्थ भएछन् भन्‍ने पत्ता लगाउनेछस्। नियति विरुद्ध संघर्ष गर्ने तेरो महत्वाकांक्षा, तेरो इच्‍छा, अनि तेरो आफ्‍नै खराब आचरणले तँलाई फर्की आउनै नसकिने ओरालो बाटोतर्फ डोर्‍याउनेछ, अनि यसको लागि तैँले तीतो मूल्य चुकाउनेछस्। हाल तैँले यी परिणामहरूको गम्‍भीरतालाई नदेख्‍ने भए तापनि, परमेश्‍वर नै मानव नियतिका सार्वभौम हुनुहुन्छ भन्‍ने सत्यतालाई अझै गहन रूपमा अनुभव गर्दै र बुझ्दै जाने क्रममा, तैँले बिस्तारै मैले आज बोलेको कुरा र यसको वास्तविक अर्थहरूलाई महसुस गर्दै जानेछस्। तँसँग साँचो रूपमा हृदय र आत्मा छ कि छैन अनि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरा परमेश्‍वरको सार्वभौमिकता र सत्यताप्रति तैँले कस्तो मनोवृत्ति राख्छस् भन्ने कुरामा भर पर्छ। यसले प्राकृतिक रूपमै तैँले परमेश्‍वरको अख्तियारलाई साँच्चै चिन्‍न र बुझ्‍न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा निर्धारित गर्छ। यदि तैँले आफ्नो जीवनकालमा कहिल्यै परमेश्वरको सार्वभौमिकता र उहाँका प्रबन्धहरू महसुस गरेको छैनस्, परमेश्वरको अख्तियार त झनै मानेको र स्विकारेको छैनस् भने, तब तँ पूर्णतः बेकामको हुनेछस्, र निःसन्देह परमेश्वरद्वारा तिरस्कृत हुनेछस्, यसको कारण तैँले लिएको मार्ग र तैँले गरेको छनौट हुनेछ। तर परमेश्‍वरको काममा उहाँको परीक्षा, उहाँको सार्वभौमिकता स्विकार्न सक्ने, उहाँको अख्तियारमा समर्पित हुन सक्‍ने, अनि बिस्तारै उहाँका वचनहरूको वास्तविक अनुभव प्राप्त गर्न सक्नेहरूले परमेश्‍वरको अख्तियारको वास्तविक ज्ञान, उहाँको सार्वभौमिकताको वास्तविक अनुभव प्राप्त गरेका हुनेछन्; तिनीहरूले साँच्चै आफूलाई सृष्टिकर्तासामु समर्पण गरेका हुनेछन्। त्यस्ता मानिसहरू मात्रै साँच्चै मुक्ति दिइएका हुनेछन्। तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता बोध गरेका हुनाले, तिनीहरूले यसलाई स्वीकार गरेका हुनाले, मानव नियतिमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भन्ने तथ्यप्रति तिनीहरूसँग सही, वास्तविक अनुभव र समर्पणता हुन्छ। जब तिनीहरूले मृत्यु सामना गर्छन्, तिनीहरूसँग अय्यूबको जस्तै, मृत्युसँग भयभीत नहुने मन हुनेछ, अनि कुनै पनि व्यक्तिगत छनौट, कुनै पनि व्यक्तिगत चाहनाहरूविना नै तिनीहरू सबै कुरामा परमेश्‍वरको योजनाबद्ध कार्य र उहाँका प्रबन्धहरूमा समर्पित हुनेछन्। त्यस्तो व्यक्ति मात्रै साँचो, सृजित मानवजातिका रूपमा सृष्टिकर्ताको छेउमा फर्केर जान सक्नेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३८

मानिसलाई यहोवा परमेश्‍वरको आज्ञा

उत्पत्ति २:१५-१७  अनि यहोवा परमेश्‍वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र काटछाँट गर्न राख्‍नुभयो। अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।

स्‍त्रीलाई सर्पको प्रलोभन

उत्पत्ति ३:१-५  अब सर्प यहोवा परमेश्‍वरले बनाउनुभएको भूमिको कुनै पनि पशुभन्दा धेरै धूर्त थियो। अनि त्यसले स्‍त्रीलाई भन्यो, हो? के परमेश्‍वरले बगैँचाको हरेक रूखबाट तिमीहरूले खानु हुँदैन भनी भन्‍नुभएको छ? अनि स्‍त्रीले सर्पलाई भनी, हामीले बगैँचाका रूखहरूबाट फल खान सक्छौँ: तर बगैँचाको बीचमा भएको रूखबाट तिमीहरूले खानु हुँदैन, न त तिमीहरूले यसलाई छुनु नै हुन्छ, नत्र तिमीहरू मर्छौ भनेर परमेश्‍वरले भन्‍नुभएको छ। अनि सर्पले स्‍त्रीलाई भन्यो, तिमीहरू निश्‍चय नै मर्नेछैनौ: किनभने परमेश्‍वरलाई थाहा छ, तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ अनि असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।

यी दुई खण्डहरू बाइबलमा भएको उत्पत्तिको पुस्तकबाट लिइएका हुन्। के तिमीहरू सबै यी दुई खण्डहरूसँग परिचित छौ? यिनीहरू सुरुमा भएको घटनासँग सम्बन्धित छन्, जुन बेला मानिसलाई पहिलोपटक सृष्‍टि गरिएको थियो; यी घटनाहरू वास्तविक थिए। यहोवा परमेश्‍वरले आदम र हव्वालाई कस्तो किसिमको आज्ञा दिनुभएको थियो भनी पहिला हेरौँ; यो आज्ञामा भएको विषयवस्तु आजको हाम्रो विषयको निम्ति अत्यन्त महत्वपूर्ण छ। “अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।” यो खण्डमा मानिसलाई दिइएको परमेश्‍वरको आज्ञाको महत्त्व के हो? सर्वप्रथम, मानिसले के खान सक्छ, अर्थात् विभिन्‍न प्रकारका रूखहरूका फलहरू खान सक्छ भनी परमेश्‍वर भन्‍नुहुन्छ। त्यसमा कुनै खतरा वा विष छैन; सबै खान सकिन्छ र मानिसले चाहेजति चिन्ता र शङ्‍का नगरीकन स्वतन्‍त्रतापूर्वक खान सक्छ। परमेश्‍वरको आज्ञाको एउटा भाग यही हो। अर्को भागचाहिँ चेतावनी हो। यो चेतावनीमा, परमेश्‍वरले मानिसलाई असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ उसले खानु हुँदैन भनी आज्ञा दिनुहुन्छ। यदि उसले यो रूखबाट खायो भने के हुनेछ? परमेश्‍वरले मानिसलाई भन्‍नुभयो: यदि तैँले त्यसबाट खाइस् भने तँ निश्‍चय नै मर्नेछस्। के यी वचनहरू स्पष्‍ट छैनन् र? यदि परमेश्‍वरले तँलाई यो कुरा भन्‍नुभयो तर तैँले किन भनेर बुझिनस् भने, के तैँले उहाँको वचनलाई एउटा नियमको रूपमा लिन्छस् कि पालन गर्नैपर्ने आज्ञाको रूपमा लिन्छस्? यस्ता वचनहरूलाई पालन गर्नैपर्छ। तर मानिस आज्ञापालन गर्न सक्षम होस् कि नहोस्, परमेश्‍वरका वचनहरू स्पष्‍ट छन्। परमेश्‍वरले मानिसलाई उसले के खानु हुन्छ र के खानु हुँदैन, र उसले खान नहुने फल खायो भने के हुनेछ भनी स्पष्‍टसँग बताउनुभयो। परमेश्‍वरले बोल्‍नुभएका यी संक्षिप्‍त वचनहरूमा, के तँ परमेश्‍वरको स्वभावको कुनै कुरा देख्‍न सक्छस्? के परमेश्‍वरका यी वचनहरू सत्य छन्? के यिनमा कुनै छल छ? कुनै झूट छ? कुनै धाकधम्की छ? (छैन।) परमेश्‍वरले इमानदारीसाथ, सत्यतापूर्वक र सच्‍चा रूपले मानिसलाई उसले के खानु हुन्छ र के खानु हुँदैन भनी बताउनुभयो। परमेश्‍वरले स्पष्‍ट र सरल रूपमा बोल्‍नुभयो। के यी वचनहरूमा कुनै गुप्‍त अर्थ छन्? के यी वचनहरू सीधा छैनन्? के अनुमान गर्नुपर्ने कुनै आवश्यकता छ? अनुमान गर्नुपर्ने आवश्यकता छैन। तिनीहरूको अर्थ एक झलकमै स्पष्‍ट हुन्छ। ती पढेपछि तिनीहरूको अर्थ पूर्णतया स्पष्‍ट भएको महसुस गर्न सकिन्छ। त्यसैले, परमेश्‍वरले भन्‍न चाहनुभएको र उहाँले व्यक्त गर्न चाहनुभएको कुरा उहाँको हृदयबाट आउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने कुराहरू सफा, सीधा र स्पष्‍ट छन्। तिनमा कुनै गुप्‍त मनसायहरू हुँदैनन्, न त कुनै गुप्त अर्थहरू नै हुन्छन्। उहाँ मानिससँग सीधा रूपमा बोल्‍नुहुन्छ, उसले के खानु हुन्छ र के खानु हुँदैन भनी उसलाई बताउनुहुन्छ। भन्‍नुको अर्थ, परमेश्‍वरका यी वचनहरूमार्फत, परमेश्‍वरको हृदय पारदर्शी र सत्य छ भनी मानिसले देख्‍न सक्छ। यहाँ झूटको कुनै पनि निसान छैन; खानयोग्य खानेकुरा तैँले खानु हुँदैन भनी तँलाई बताउन खोजिएको होइन, वा तैँले खान नहुने खानेकुरा “खा अनि के हुन्छ हेर्” भनी तँलाई बताउन खोजिएको होइन। परमेश्‍वरले यस्तो भन्‍न चाहनुभएको होइन। परमेश्‍वरले आफ्नो हृदयमा जे कुरा सोच्‍नुहुन्छ, उहाँले त्यही कुरा बताउनुहुन्छ। यदि परमेश्‍वर पवित्र हुनुहुन्छ किनकि यी वचनहरूमा उहाँले आफैलाई देखाउनुहुन्छ र प्रकट गर्नुहुन्छ भनी म भन्‍छु भने तँलाई मैले एउटा सानो ढिस्कोलाई पहाड बनाएको वा मैले चाहिनेभन्दा बढी कुरा तन्काएको जस्तो लाग्‍न सक्छ। यदि त्यस्तो लाग्छ भने चिन्‍ता नगर्; हामीले कुराकानीलाई अझै सिध्याइसकेका छैनौं।

अब हामी “सर्पले स्‍त्रीलाई देखाएको प्रलोभन” को विषयमा कुरा गरौँ। सर्प को हो? शैतान। यसले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनामा प्रतिभारको भूमिका निभाउँछ, र हामीले परमेश्‍वरको पवित्रताको विषयमा सङ्‍गति गर्दा यो भूमिकाको बारेमा उल्लेख गर्नैपर्छ। म किन यसो भन्छु त? यदि तँलाई शैतानको दुष्‍टता र भ्रष्‍टता थाहा छैन भने, यदि तँलाई शैतानको प्रकृतिको बारेमा थाहा छैन भने, तैँले कुनै पनि हालतमा पवित्रतालाई स्वीकार गर्न सक्‍नेछैनस्, न त वास्तवमा पवित्रता के हो भनी जान्‍न नै सक्‍नेछस्। द्विविधामा, मानिसहरू शैतानले गरेको कार्य सही हो भनी विश्‍वास गर्छन्, किनकि तिनीहरू यस किसिमको भ्रष्‍ट स्वभावभित्र जिउँछन्। प्रतिभार नहुँदो हो त, अनि तुलना गर्ने कुनै कुरा नहुँदो हो त, तैँले पवित्रता के हो भनी थाहा पाउन सक्दैनस्। त्यस कारणले गर्दा, यहाँ शैतानको बारेमा उल्लेख गरिनु नै पर्छ। यस किसिमले उल्लेख गर्नु व्यर्थ बातचित होइन। शैतानको बोली र कामहरूद्वारा हामी शैतानले कसरी काम गर्छ, शैतानले कसरी मानवजातिलाई भ्रष्‍ट तुल्याउँछ, र शैतानको प्रकृति र मुहार कस्तो छ भनी हामी देख्‍नेछौँ। त्यसो भए, स्‍त्रीले सर्पलाई के भनिन् त? यहोवा परमेश्‍वरले आफूलाई भन्‍नुभएको कुरा स्‍त्रीले सर्पलाई पुनः सुनाइन्। जब उनले यी वचनहरू भनिन्, तब के परमेश्‍वरले उनलाई भन्‍नुभएको कुरा सत्य थियो भन्‍नेबारेमा उनी निश्‍चित थिइन्? उनी निश्‍चित हुन सकेकी थिइनन्। भर्खरै नयाँ सृष्‍टि गरिएको एक व्यक्तिको रूपमा उनीसँग असल र खराबको भेद छुट्याउने क्षमता थिएन, न त उनलाई आफ्नो वरपर भएका कुनै पनि कुराहरूको बारेमा संज्ञानात्मक अनुभूति नै थियो। उनले सर्पलाई भनेका कुराहरूको आधारमा मूल्याङ्कन गर्दा परमेश्‍वरले भन्‍नुभएको वचन सही थियो भनी उनी आफ्नो हृदयमा निश्‍चित थिइनन् भन्‍ने थाहा हुन्छ; उनको मनोवृत्ति नै यस्तो थियो। परमेश्‍वरका वचनहरूप्रति स्‍त्रीको मनोवृत्ति अनिश्‍चित किसिमको छ भनी जब सर्पलाई थाहा भयो, तब त्यसले भन्यो: “तिमीहरू निश्‍चय नै मर्नेछैनौ: किनभने परमेश्‍वरलाई थाहा छ, तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ अनि असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।” के यी वचनहरूभित्र कुनै समस्याग्रस्त कुरा छ? जब तिमीहरू यो वाक्य पढ्छौ तब के तिमीहरूले सर्पका अभिप्रायहरूलाई पत्ता लगाउन सक्छौ? ती अभिप्रायहरू के-के हुन्? त्यसले यस स्‍त्रीलाई प्रलोभनमा पार्न चाहन्थ्यो, परमेश्‍वरका वचनहरूमा ध्यान दिनबाट उनलाई रोक्‍न चाहन्थ्यो। तर त्यसले यी कुराहरू सीधा रूपमा भनेन। त्यसैले, त्यो अति धूर्त हो भनी हामी भन्‍न सक्छौँ। त्यसले आफ्नो भाव धूर्त र छली किसिमले व्यक्त गर्छ ताकि त्यो आफूले चाहेको उद्देश्यसम्म पुग्‍न सकोस्। त्यसले त्यो उद्देश्यलाई मानिसबाट गोप्‍य राख्दै आफ्नो मनभित्र गुनेर राख्छ—सर्पको धूर्तता यस्तो किसिमको छ। शैतानको बोल्‍ने र काम गर्ने तरिका सधैँ यस्तै रहिआएको छ। कुनै एक वा अर्को तरिकालाई सुनिश्‍चित नगरीकन त्यसले “मर्नेछैनौ” भनेर भन्छ। तर यो कुरा सुनेर अज्ञानी स्‍त्रीको हृदय विचलित भयो। त्यो सर्पचाहिँ प्रसन्‍न भयो, किनकि त्यसको वचनले त्यसले चाहेजस्तै प्रभाव पारेको थियो—सर्पको धूर्त अभिप्राय यस्तो थियो। साथै मानवजातिले चाहना गर्ने किसिमको प्रतिफल दिने प्रतिज्ञा गरेर त्यसले स्‍त्रीलाई प्रलोभनमा पारेर भन्यो, “तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ।” त्यसैले उनले विचार गरिन्: “मेरो आँखा खोल्‍नु भनेको राम्रो कुरा हो!” अनि त्यसपछि त्यसले अझ बढी प्रभावकारी कुरा भन्यो, जुन वचन मानिसलाई पहिले कहिल्यै पनि थाहा नभएको र सुन्‍नेहरूलाई ठूलो प्रलोभनमा पार्ने शक्ति चलाउने वचन थियो: “असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।” के यी शब्दहरू मानिसलाई प्रबल रूपमा लोभ्याउने किसिमका छैनन् र? यो कसैले तँलाई यसो भनेको जस्तो हो: “तपाईंको अनुहारको आकार अद्‌भूत छ, तर तपाईंको नाकको डाँडी अलि छोटो छ। यदि तपाईंले त्यसलाई सच्याउनुभयो भने तपाईं विश्‍व-सुन्दरी बन्‍नुहुनेछ!” के यी शब्दहरूले पहिला कहिल्यै कस्‍मेटिक सर्जरी गर्ने विचार नगरेको व्यक्तिको हृदयलाई विचलित बनाउन सक्छ? के यी शब्दहरू लोभ्याउने किसिमका छैनन् र? के यो प्रलोभनले तँलाई लोभ्याउँदैन र? अनि के यो परीक्षा होइन र? (हो।) के परमेश्‍वरले यस्तो कुरा भन्‍नुहुन्छ? हामीले अहिले भर्खरै हेरेका परमेश्‍वरका वचनहरूमा यस किसिमको कुनै सङ्‍केत पाइन्छ? के परमेश्‍वरले आफ्नो हृदयमा विचार गर्नुभएको कुरा भन्‍नुहुन्छ? के मानिसले उहाँका वचनहरूमार्फत परमेश्‍वरको हृदयलाई हेर्न सक्छ? (सक्छ।) तर जब सर्पले यी वचनहरू स्‍त्रीसँग बोल्यो, तब के तैँले त्यसको हृदयलाई देख्‍न सकिस्? सकिनस्। मानिस आफ्नो अज्ञानताको कारण सर्पका वचनहरूद्वारा सजिलैसँग प्रलोभनमा परेको थियो, र उसले सजिलैसँग धोखा खाएको थियो। त्यसो भए, के तँ शैतानका अभिप्रायहरूलाई देख्‍न सक्षम थिइस् त? के तँ शैतानले भनेका कुरापछाडिको उद्देश्यलाई देख्‍न सक्षम थिइस् त? के तँ शैतानको धूर्त योजना र छललाई देख्‍न सक्षम थिइस् त? (थिइनँ।) शैतानको कुरा गर्ने तरिकाले कस्तो किसिमको स्वभावलाई प्रतिनिधित्व गरेको छ? यी शब्दहरूमार्फत तैँले शैतानको कस्तो सारलाई देखेको छस्? के यो कपटी छैन र? सायद तेरो अगाडि बाह्य रूपमा त्यो मुस्कुराउँछ होला, वा सायद त्यसले कुनै पनि भाव प्रकट गर्दैन होला। तर त्यसले आफ्नो हृदयमा आफ्नो उद्देश्य कसरी हासिल गर्ने भनी हिसाबकिताब गरिरहेको हुन्छ, र तैँले त्यसको यो उद्देश्यलाई भने देख्‍न सक्दैनस्। त्यसले तँसँग गर्ने सबै प्रतिज्ञाहरू, त्यसले वर्णन गर्ने सबै फाइदाहरू त्यसको प्रलोभनका बाह्य आवरणहरू हुन्। तँ ती कुराहरूलाई असल देख्छस्, त्यसैले तँ परमेश्‍वरले भन्‍नुभएको भन्दा त्यसले भनेको कुरा अझ बढी उपयोगी, अझ बढी महत्वपूर्ण भएको महसुस गर्छस्। जब यस्तो हुन्छ, तब के मानिस समर्पित कैदी बन्दैन र? के शैतानले प्रयोग गरेको यो रणनीति अत्यन्तै दुष्ट प्रकृतिको छैन र? तैँले आफैलाई पतनमा डुब्‍न दिन्छस्। शैतानले एउटा औँला पनि नहल्लाईकन, केवल यी दुई वाक्यहरू बोलेपछि, तँ खुसीसाथ शैतानको पछि लाग्छस्, शैतानको आज्ञापालन गर्न तयार हुन्छस्। यसरी शैतानको उद्देश्य पूरा भएको हुन्छ। के यो अभिप्राय दुष्‍ट छैन र? के यो शैतानको सबैभन्दा प्राचीन रूप होइन र? शैतानका वचनहरूबाट मानिसले त्यसका दुष्‍ट मनसायहरूलाई देख्‍न सक्छ, त्यसको घृणित रूप र त्यसको सार देख्‍न सक्छ। के यस्तै हुँदैन र? कुनै विश्‍लेषण नै नगरीकन यी वाक्यहरूलाई तुलना गर्दा, सायद तँलाई यहोवा परमेश्‍वरका वचनहरू निरस, साधारण र अल्छीलाग्‍दो लाग्छन् होला, यहाँ ती वचनहरूले परमेश्‍वरको इमानदारिताको प्रशंसामा लयबद्ध कविता प्रवाह गर्नैपर्ने औचित्य प्रदान गर्दैनन् होला। तैपनि, जब हामी शैतानका वचनहरू र शैतानको दुष्‍ट रूपलाई एक प्रतिभारको रूपमा लिन्छौँ, तब के परमेश्‍वरका यी वचनहरूले आजका मानिसहरूका निम्ति महत्वपूर्ण अर्थ बोक्दैनन् र? (बोक्छन्।) यो तुलनाद्वारा मानिसले परमेश्‍वरको विशुद्ध त्रुटिरहितता महसुस गर्न सक्छ। शैतानले भन्‍ने हरेक वचन, साथै शैतानका मनसायहरू, त्यसको उद्देश्य र त्यसले बोल्‍ने तरिका—ती सबै अशुद्ध छन्। शैतानको बोल्ने तरिकाको मुख्य विशेषता के हो? शैतानले तँलाई लोभ्याउनको निम्ति शब्‍द-छलको प्रयोग गर्छ, त्यसले त्यसको कपटीपन तँलाई देखाउँदैन, न त त्यसले तँलाई त्यसको उद्देश्यको भेद थाहा पाउने अवसर नै दिन्छ; शैतानले तँलाई बल्छीमा अल्झाउँछ, तर तैँले भने त्यसको श्रेष्ठताको प्रशंसा र गुणगान गाउनुपर्छ। के यो चाल शैतानको रोजाइको अभ्यस्त तरिका होइन र? (हो।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरका दैनिक वचनहरू  अंश १३९

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू)

अय्यूब १:६-११  अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्।

अय्यूब २:१-५  फेरि परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै यहोवाको सामु आफूलाई प्रस्तुत गर्न आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। अनि, त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्। अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।

यी दुई खण्डहरूमा परमेश्‍वर र शैतानबीचको संवादको पूर्ण अंश पाइन्छ; यी खण्डहरूमा परमेश्‍वरले के भन्‍नुभयो र शैतानले के भन्यो भन्‍ने विवरण रहेको छ। परमेश्‍वरले धेरै बोल्‍नुभएन, र उहाँले अति सरल रूपमा बोल्‍नुभयो। के हामी परमेश्‍वरको सरल वचनमा उहाँको पवित्रतालाई देख्‍न सक्छौँ? कतिपयले यो सजिलोसँग गर्न सकिँदैन भनेर भन्‍नेछन्। त्यसो भए, के हामी शैतानको जवाफमा त्यसको घिनलाग्दोपन देख्‍न सक्छौँ? पहिले हामी यहोवा परमेश्‍वरले शैतानलाई कस्तो किसिमको प्रश्‍न सोध्‍नुभयो सो हेरौँ। “तँ कहाँबाट आइस्?” के यो सीधा प्रश्‍न होइन र? के यसमा कुनै गुप्‍त अर्थ छ त? छैन; यो त एउटा सीधा प्रश्‍न हो। यदि मैले तिमीहरूलाई “तँ कहाँबाट आइस्?” भनेर सोध्‍नुपर्‍यो भने, तिमीहरूले कसरी जवाफ दिनेथियौ? के यो जवाफ दिन गाह्रो प्रश्‍न हो? के तिमीहरूले “यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” भनेर जवाफ दिनेथियौ? (थिएनौ।) तिमीहरूले यस किसिमले जवाफ दिनेथिएनौ। त्यसो भए, शैतानले यसरी जवाफ दिँदा तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? (शैतान हास्यास्पद र छली भएको हामी महसुस गर्छौं।) मैले कस्तो महसुस गरिरहेको छु भनी के तिमीहरू बताउन सक्छौ? हरेकपटक जब म शैतानका यी वचनहरूलाई देख्छु, तब मलाई घृणाको महसुस हुन्छ, किनभने शैतान बोल्छ तर यसका वचनहरूमा कुनै सारतत्व हुँदैन। के शैतानले परमेश्‍वरको प्रश्‍नको जवाफ दियो? दिएन, शैतानले बोलेका शब्दहरू जवाफ थिएनन्, ती शब्दहरूको केही अर्थ थिएन। ती परमेश्‍वरको प्रश्‍नको उत्तर थिएनन्। “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।” तैँले यी शब्‍दहरूबाट के बुझ्छस्? शैतान कहाँबाट आएको हो? के तिमीहरूले यो प्रश्‍नको जवाफ पाएका छौ त? (छैनौँ।) यही नै शैतानको धूर्त योजनाको “विशिष्ट प्रतिभा” हो—त्यसले वास्तवमा आफूले के भन्‍न खोजेको हो भनी कसैलाई पत्ता लगाउन दिँदैन। तैँले यी शब्दहरू सुनिसकेपछि पनि त्यसले के भन्‍न खोजेको हो भनी अझै छुट्याउन सक्दैनस्, यद्यपि त्यसले जवाफ भने दिइसकेको छ। तैपनि आफूले उत्तम रूपमा जवाफ दिएको छु भनी शैतानले विश्‍वास गर्छ। अनि तँचाहिँ कस्तो महसुस गर्छस् त? घिनाउँछस्? (हो।) अब तँ यी शब्दहरूको प्रत्युत्तरमा घिन महसुस गर्न थाल्छस्। शैतानका शब्दहरूमा केही निश्‍चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्‍चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्‍वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्‍नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्‍ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्‍कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्‍ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्‍चित जवाफ दिँदैन।) यस किसिमको बोल्‍ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने र गलत दिशातर्फ डोर्याउने किसिमको छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्‍ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: “मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?” तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: “हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!” के तिनीहरूले तेरो प्रश्‍नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको “विशिष्ट प्रतिभा” हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्‍नै कथा हुन्छ—यो कपटीपन हो। के तिमीहरूको माझमा पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (हो।) त्यसो भए तिमीहरूको उद्देश्य के हो त? के कहिलेकाहीँ तिमीहरूका आफ्नै चाहनाहरूलाई सुरक्षित राख्‍न, कहिलेकाहीँ तिमीहरूको आफ्नै अभिमान, पद र छवि कायम राखिराख्‍न, र तिमीहरूको निजी जीवनका कुराहरू गोप्य राख्‍न हो? उद्देश्य जेसुकै होस्, यो तिमीहरूका रुचिहरूबाट अलग गर्न नसकिने हुन्छ, यो तिमीहरूका रुचिहरूसँग सम्बन्धित हुन्छ। के यो मानिसको प्रकृति होइन र? यस किसिमको प्रकृति भएको व्यक्ति शैतानसँग नजिकको सम्बन्ध भएको व्यक्ति हुन्छ, होइन भने त्यो त्यसको परिवार हुन्छ। हामी यसलाई यसरी भन्‍न सक्छौँ, के हामी त्यस्तै हुँदैनौँ र? सामान्यतया भन्‍नुपर्दा, यस्तो प्रकटीकरण घृणित र तिरस्कारयोग्य हुन्छ। अहिले तिमीहरूले पनि घिन महसुस गर्छौ, गर्दैनौ त? (गर्छौं।)

निम्‍न पदहरूलाई हेरौँ। यसो भन्दै शैतानले यहोवाको प्रश्‍नको जवाफ दिन्छ: “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र?” यहोवाले अय्यूबमाथि गर्नुभएको मूल्याङ्कनलाई शैतानले आक्रमण गर्न सुरु गरिरहेको छ, यो आक्रमण शत्रुताले भरिएको छ। “के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र?” यो अय्यूबमाथि यहोवाले गर्नुभएको कामको बारेमा शैतानको बुझाइ र मूल्याङ्कन हो। शैतानले यसलाई यसरी मूल्याङ्कन गर्छ, र भन्छ: “तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछ।” शैतानले सधैँ अस्पष्ट रूपमा बोल्छ, तर त्यसले यहाँ भने निश्‍चित शब्दहरू प्रयोग गरेको छ। तैपनि, यी शब्दहरू निश्‍चित अर्थमा बोलिएको भए तापनि त्यो यहोवा परमेश्‍वरमाथिको, अर्थात् परमेश्‍वर स्वयम्‌को विरुद्धमा गरिएको आक्रमण, ईश्‍वर निन्दा र अवज्ञा हो। तिमीहरूले यी शब्दहरू सुन्दा कस्तो महसुस गर्छौ? के तिमीहरूले घृणा महसुस गर्छौ? के तिमीहरूले शैतानका अभिप्रायहरूलाई देख्‍न सक्छौ? सबैभन्दा पहिले, यहोवाले अय्यूबलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मान्छे भनी गर्नुभएको मूल्याङ्कनलाई शैतानले खण्डन गर्छ। त्यसपछि शैतानले अय्यूबले भनेका र गरेका सबै कुराहरूको खण्डन गर्छ, अर्थात्, त्यसले यहोवाप्रतिको अय्यूबको भयलाई खण्डन गर्छ। के यो दोष लगाउने किसिमको छैन र? शैतानले यहोवाले गर्नुहुने र भन्‍नुहुने सबै कुरालाई दोष लगाउँदै छ, खण्डन गर्दै छ र शङ्‍का गर्दै छ। त्यसले विश्‍वास गर्दैन, र भन्छ, “यदि तपाईंले स्थिति यस्तो छ भनेर भन्‍नुहुन्छ भने, मैलेचाहिँ कसरी देखिनछु? तपाईंले उसलाई त्यति धेरै आशिष् दिनुभएको छ, त्यसैले उसले कसरी तपाईंको भय नमान्‍न सक्छ र?” के यो परमेश्‍वरले गर्नुभएको सबै कामको खण्डन होइन र? दोषारोपण, खण्डन र ईश्‍वर निन्दा—के शैतानका शब्दहरू हमला होइनन् र? के यी कुराहरू शैतानले आफ्नो हृदयमा जे विचार गर्छ त्यसैको साँचो अभिव्यक्ति होइनन् र? यी शब्दहरू अहिले भर्खरै हामीले पढेका शब्दहरू “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” भन्‍नेजस्ता निश्‍चय नै छैनन्। यी पूर्णतया फरक छन्। यी शब्दहरूद्वारा शैतानले आफ्नो हृदयमा भएका कुराहरूलाई पूर्णतया उदाङ्गो पार्छ—परमेश्‍वरप्रति त्यसको मनोवृत्ति र परमेश्‍वरप्रतिको अय्यूबको भयप्रति त्यसको घृणा। जब यस्तो हुन्छ, त्यसको द्वेष र दुष्‍ट प्रकृति पूर्णतया प्रकट हुन्छ। त्यसले परमेश्‍वरको भय मान्‍ने मानिसहरूलाई घृणा गर्छ, दुष्‍टताबाट अलग बस्‍ने मानिसहरूलाई घृणा गर्छ, र मानिसलाई आशिष् दिनुभएको कारण यहोवालाई झन् धेरै घृणा गर्छ। अय्यूबलाई परमेश्‍वरले आफ्नै हातले माथि उठाउनुभएको थियो, र शैतान अय्यूबलाई विनाश गर्न, उसलाई बरबाद पार्न यो अवसर उपयोग गर्न चाहन्छ, र त्यसले भन्छ: “तपाईं भन्‍नुहुन्छ अय्यूब तपाईंको भय मान्छ र दुष्‍टताबाट अलग बस्‍छ। म यसलाई फरक ढङ्गले हेर्छु।” त्यसले यहोवालाई उक्साउन र परीक्षा गर्न थुप्रै माध्यमहरू प्रयोग गर्छ र थुप्रै चाल चल्छ ताकि यहोवाले अय्यूबलाई शैतानले चाहेजस्तै गरी चालबाजी गर्न, हानि पुर्‍याउन र दुर्व्यवहार गर्न शैतानको हातमा सुम्पिदिऊन्। त्यसले परमेश्‍वरको दृष्‍टिमा धर्मी र सिद्ध ठहरिएको यस मानिसलाई नाश गर्न यो मौकाको फाइदा उठाउन चाहन्छ। के शैतानमा यस्तो किसिमको हृदय हुनुको कारण केवल क्षणिक आवेग मात्रै हो त? होइन, यो त्यस्तो होइन। यो लामो समयदेखिको योजना हो। जब परमेश्‍वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिको हेरचाह गर्नुहुन्छ, र उसको छानबिन गर्नुहुन्छ, र जब उहाँले त्यो व्यक्तिलाई निगाह र अनुमोदन गर्नुहुन्छ, तब शैतान पछिपछि लाग्छ, र उक्त व्यक्तिलाई बहकाउने र गम्भीर रूपमा हानि गर्ने प्रयास गर्छ। परमेश्‍वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्‍वरलाई अवरोध गर्न आफ्नो भएभरको शक्ति लगाउँछ, र प्रलोभनमा पार्न, बाधा दिन र परमेश्‍वरको कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्‍वरको विरोध गरून्। के यो शैतानको दुष्‍ट आशय होइन र? तिमीहरू प्रायजसो भन्छौ, शैतान अत्यन्त दुष्‍ट छ, अत्यन्त खराब छ, तर के तिमीहरूले त्यसलाई देखेका छौ? तिमीहरूले मानवजाति कति खराब छ भनेर देख्‍न सक्छौ; तर वास्तविक शैतान कति खराब छ भनी तिमीहरूले देखेका छैनौ। तर अय्यूबसँग सम्बन्धित मामलामा, तिमीहरूले शैतान कति दुष्‍ट छ भनेर देखेका छौ। यो मामलाले शैतानको घृणित मुहार र यसको सारलाई एकदमै स्पष्‍ट पारेको छ। परमेश्‍वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्‍वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्‍वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्‍जा र नियन्त्रण गर्नु, र परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो। अनि परमेश्‍वरले के गर्नुहुन्छ? परमेश्‍वरले यो खण्डमा एउटा सरल वाक्य मात्र भन्‍नुहुन्छ; परमेश्‍वरले गर्नुहुने कार्यको बारेमा थप कुनै कुराको विवरण उल्लेख गरिएको छैन, तर शैतानले गर्ने र भन्‍ने कुराहरूको विवरण प्रशस्त छन्। पवित्रशास्‍त्रको निम्‍न खण्डमा यहोवाले शैतानलाई सोध्‍नुहुन्छ, “तँ कहाँबाट आइस्?” शैतानको जवाफ के हो? (अझै पनि “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।”) अझै पनि उही वाक्य छ। यो शैतानको नारा, शैतानको परिचय बनेको छ। यो कसरी हुन सक्छ? के शैतान घृणायोग्य छैन र? निश्‍चय नै यो घृणित वाक्य एकपटक उच्‍चारण गर्नु नै पर्याप्‍त छ। किन शैतानले यो बारम्बार दोहोर्‍याइरहन्छ? यसले एउटा कुरालाई प्रमाणित गर्छ: शैतानको प्रकृति अपरिवर्तनीय छ। शैतानले आफ्नो कुरूप अनुहार लुकाउन ढोंगीपनको प्रयोग गर्न सक्दैन। परमेश्‍वरले त्यसलाई प्रश्‍न सोध्‍नुहुन्छ र त्यसले यसरी उत्तर दिन्छ। त्यसैले, कल्पना गर, त्यसले मानिसहरूसँग कसरी व्यवहार गर्छ! शैतान परमेश्‍वरसँग डराउँदैन, परमेश्‍वरको भय मान्दैन, र परमेश्‍वरको आज्ञापालन गर्दैन। त्यसले परमेश्‍वरको सामुन्‍ने अस्वाभाविक रूपमा अहङ्कारी बन्‍ने, परमेश्‍वरको प्रश्‍नलाई पन्साउन उही शब्दहरू प्रयोग गर्ने, परमेश्‍वरको प्रश्‍नको बारम्बार उही जवाफ दिने, यो जवाफ प्रयोग गरी परमेश्‍वरलाई गोलमालमा पार्ने दुष्प्रयास गर्छ—यो शैतानको कुरूप अनुहार हो। त्यसले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र परमेश्‍वरको अख्तियारमा विश्‍वास गर्दैन, र निश्‍चय नै त्यो परमेश्‍वरको प्रभुत्वमा समर्पित हुन इच्छुक छैन। त्यो निरन्तर रूपमा परमेश्‍वरको विरुद्धमा रहन्छ, परमेश्‍वरले गर्नुहुने सबै कामलाई निरन्तर आक्रमण गर्छ, परमेश्‍वरले गर्नुभएको सबै कामलाई विनाश गर्ने प्रयत्‍न गर्छ—यो नै त्यसको दुष्ट उद्देश्य हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरका दैनिक वचनहरू  अंश १४०

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू)

अय्यूब १:६-११  अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्।

अय्यूब २:१-५  फेरि परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै यहोवाको सामु आफूलाई प्रस्तुत गर्न आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। अनि, त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्। अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।

अय्यूबको पुस्तकमा उल्लेख गरिएका, शैतानको बोलीका यी दुई खण्डहरू र शैतानले गरेका कार्यहरूले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाविरुद्ध त्यो खडा भएको कुरालाई प्रतिनिधित्व गर्छन्—यहाँ शैतानको वास्तविक रङ्गलाई प्रकट गरिएको छ। के तैँले वास्तविक जीवनमा शैतानका वचन र कार्यहरूलाई देखेको छस्? जब तैँले ती कुराहरूलाई देख्छस्, ती तँलाई शैतानले बोलेको जस्तो नलाग्‍न सक्छ, बरु ती कुराहरू मानिसले बोलेको हो भनी तैँले सोच्न सक्छस्। जब मानिसले यस्ता कुराहरू बोल्छन्, त्यसबाट के कुराको प्रतिनिधित्व हुन्छ? शैतानको प्रतिनिधित्व हुन्छ। यदि तैँले त्यसलाई पहिचान गरिस् भने पनि, त्यो कुरा शैतानले नै बोल्दै छ भनी तैँले थाहा पाउन सक्दैनस्। तर अहिले यहाँ शैतान आफैले के भनेको छ भन्‍ने कुरा तैँले स्पष्‍टसँग देखेको छस्। अहिले तँसँग शैतानको घृणित अनुहार र दुष्‍टताको स्पष्‍ट र प्रस्ट बुझाइ छ। के शैतानले बोलेका यी दुई खण्डहरू आज मानिसहरूलाई शैतानको प्रकृतिको विषयमा ज्ञान प्राप्‍त गर्नमा मदत गर्नलाई महत्वपूर्ण छन्? के आज मानवजातिले शैतानको घृणित रूप पहिचान गर्न, शैतानको मौलिक, साँचो अनुहार पहिचान गर्न यी दुई खण्डहरू होसियारीसाथ प्रयोगमा राखिराख्‍न लायक छन्? यसो भन्‍नु उपयुक्त नदेखिए तापनि, यसरी व्यक्त गरिएका यी वचनहरूलाई सही ठान्‍न सकिन्छ। वास्तवमा, यो विचारलाई मैले यसरी मात्रै व्यक्त गर्न सक्छु, र यदि तिमीहरूले यसलाई बुझ्‍न सक्छौ भने त्यो पर्याप्‍त छ। यहोवाले गर्नुहुने कुराहरूलाई बारम्बार शैतानले आक्रमण गर्छ, यहोवा परमेश्‍वरप्रतिको अय्यूबको भयको बारेमा त्यसले दोष लगाउँछ। शैतानले यहोवालाई थुप्रै माध्यमहरूबाट उक्साउने प्रयत्‍न गर्छ, त्यसले अय्यूबलाई परीक्षामा पारेको कुरालाई यहोवाले बेवास्ता गरून् भन्‍ने चेष्टा गर्छ। त्यसैले त्यसका वचनहरूमा उच्‍च रूपमा उक्साउने प्रकृति पाइन्छ। त्यसैले मलाई बताओ, शैतानले यी वचनहरू बोलिसकेपछि, शैतानले के गर्न चाहन्छ भनी के परमेश्‍वरले स्पष्‍टसँग देख्‍न सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) परमेश्‍वरको हृदयमा, परमेश्‍वरले हेर्नुभएको यो मानिस अय्यूब—परमेश्‍वरको यस सेवक, जसलाई परमेश्‍वरले धर्मी मानिस, सिद्ध मानिसको रूपमा लिनुहुन्छ—के ऊ यस किसिमको परीक्षामा खडा भइरहन सक्छ? (सक्छ।) किन परमेश्‍वर यस विषयमा त्यति निश्‍चित हुनुहुन्छ? के परमेश्‍वरले सधैँ मानिसको हृदयको जाँच गरिरहनुहुन्छ? (हो।) के शैतानले पनि मानिसको हृदय जाँच गर्न सक्छ? शैतानले सक्दैन। शैतानले तेरो हृदयलाई देख्‍न सके पनि, त्यसको दुष्‍ट प्रकृतिले त्यसलाई पवित्रता, पवित्रता नै हो वा अपवित्रता, अपवित्रता नै हो भनी विश्‍वास गर्न दिँदैन। दुष्‍ट शैतानले पवित्र, धर्मी वा उज्‍ज्‍वल कुरालाई कहिल्यै पनि मूल्यवान् ठान्‍न सक्दैन। शैतानले आफ्नो प्रकृति, आफ्नो दुष्‍टता र आफ्नो आदतबमोजिम काम गर्न कहिल्यै छोड्दैन। परमेश्‍वरद्वारा दण्ड वा विनाश सहनु परे तापनि त्यो जिद्दी बनेर परमेश्‍वरको विरोध गर्न पछि पर्दैन—यो दुष्‍टता हो, यो शैतानको स्वभाव हो। यो खण्डमा शैतान भन्छ: “छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।” शैतानले सोच्छ कि मानिसले परमेश्‍वरबाट थुप्रै फाइदाहरू प्राप्‍त गरेको कारण मानिसले परमेश्‍वरको भय मानेको हो। मानिसले परमेश्‍वरबाट फाइदाहरू प्राप्‍त गर्छ, त्यसैले उसले परमेश्‍वर असल हुनुहुन्छ भनी भन्छ। तर परमेश्‍वर असल हुनुभएको कारणले होइन, बरु मानिसले थुप्रै फाइदाहरू प्राप्‍त गरेको कारणले गर्दा उसले यस किसिमले परमेश्‍वरको भय मान्‍न सक्छ। जब परमेश्‍वरले उसलाई यी सबै फाइदाहरूबाट वञ्‍चित गर्नुहुन्छ, तब उसले परमेश्‍वरलाई त्याग्छ। मानिसको हृदयले साँच्‍चिकै परमेश्‍वरको भय मान्‍न सक्छ भनेर आफ्‍नो दुष्ट प्रकृतिभित्र शैतानले विश्‍वास गर्दैन। त्यसको दुष्‍ट प्रकृतिको कारण त्यसलाई पवित्रता के हो भन्‍ने नै थाहा छैन, त्यसलाई डर के हो भन्‍ने थाहा हुनु त परै जाओस्। परमेश्‍वरप्रति समर्पित हुनु भनेको के हो वा परमेश्‍वरको भय मान्‍नु भनेको के हो भन्‍ने त्यसलाई थाहा छैन। त्यसलाई यी कुराहरू थाहा नभएको कारण, मानिसले पनि परमेश्‍वरको भय मान्‍न सक्दैन भनी त्यसले सोच्छ। मलाई भन त, के शैतान दुष्‍ट छैन र? हाम्रो मण्डलीबाहेक अन्य थुप्रै धर्म र सम्प्रदायहरू, वा धार्मिक र सामाजिक समूहहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, तिनीहरूले परमेश्‍वर देहधारी हुनुभयो र उहाँले न्यायको काम गरिरहनुभएको छ भनी विश्‍वास गर्ने त कुरै नगरौँ, त्यसैले तैँले जसमा विश्‍वास गरेको छस् उहाँ परमेश्‍वर हुनुहुन्‍न भनी तिनीहरू सोच्छन्। व्यभिचारी मानिसले आफ्नो वरपर हेर्छ र सबैलाई आफूजस्तै व्यभिचारी देख्‍छ। झूटो बोल्‍ने मानिसले आफ्‍नो वरपर हेर्छ र बेइमान र झूट मात्र देख्छ। दुष्‍ट मानिसले हरेक व्यक्तिलाई दुष्‍ट नै देख्‍छ र उसले देखेका हरेक व्यक्तिसँग झगडा गर्न चाहन्छ। इमानदार व्यक्तिले हरेक व्यक्तिलाई इमानदार नै देख्छ, त्यसैले तिनीहरूलाई सधैँ धोका दिइन्छ, सधैँ ठगिन्छ, र त्यस विषयमा तिनीहरूले केही पनि गर्न सक्दैनन्। तिमीहरूलाई आफ्‍नो सत्यसङ्कल्प सुदृढ बनाउनको लागि मैले यी केही उदाहरणहरू दिएको छु: शैतानको दुष्‍ट प्रकृति क्षणिक बाध्यता होइन, यो परिस्थितिहरूद्वारा निर्धारित हुँदैन, र यो कुनै कारण वा प्रासङ्गिक तत्वहरूबाट उत्पन्‍न भएको अस्थायी प्रकटीकरण पनि होइन। बिलकुलै होइन! शैतानले यस्तो बन्‍नेबाहेक केही पनि गर्न सक्दैन! त्यसले कुनै पनि असल कार्य गर्न सक्दैन। यसले सुन्दा रमाइलो लाग्‍ने कुरा भन्दासमेत, केवल तँलाई लोभ्याउनको लागि यो कुरा भन्छ। त्यो कुरा जति धेरै रमाइलो हुन्छ, त्यसमा त्यति नै धेरै धूर्तता हुन्छ, त्यसका वचनहरू जति धेरै सुमधुर हुन्छन्, यी वचनहरूको पछाडि त्यति नै धेरै द्वेषपूर्ण र घृणित अभिप्राय लुकेको हुन्छ। शैतानले यी दुई खण्डहरूमा कस्तो किसिमको अनुहार र कस्तो किसिमको प्रकृति देखाउँछ? (ढोंगी, द्वेषपूर्ण र दुष्ट।) शैतानको मूल विशेषता दुष्‍टता हो; सबैभन्दा महत्वपूर्ण कुरा, शैतान दुष्‍ट र द्वेषपूर्ण हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरका दैनिक वचनहरू  अंश १४१

परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुभएदेखि, उहाँले सधैँ मानिसको जीवनलाई निर्देशित गर्दै आउनुभएको छ, चाहे त्यो मानवजातिलाई आशिष् दिएर होस्, चाहे त्यो मानवजातिका निम्ति व्यवस्था र आज्ञाहरू स्थापित गरेर होस्, वा चाहे जीवनका निम्ति विभिन्‍न अध्यादेशहरू बनाएर नै होस्—यी कार्यहरू गर्नुपछाडि परमेश्‍वरको अभिप्राय रलक्ष्य के हो? पहिलो, परमेश्‍वरले गर्ने यी सबै कुरा मानवजातिको भलाइका निम्ति हुन् भनी के तिमीहरू निश्‍चयताका साथ भन्‍न सक्छौ? यो अभिव्यक्ति तिमीहरूका निम्ति भव्य, खोक्रा वचनहरूजस्तो लाग्‍न सक्छ, तर त्यसभित्रको विस्तृत विवरणलाई विशेष गरी हेर्ने हो भने, के परमेश्‍वरले गर्ने यी सबै कुराले मानिसलाई सामान्य जीवन जिउन अगुवाइ र मार्गदर्शन गरिरहेको हुँदैन र? मानिसले प्रावधान वा व्यवस्था पालन गरे पनि वा नगरे पनि, मानिस पतन भएर शैतानको आराधना गर्ने नहोस् र शैतानले उसलाई हानि नगरोस् भन्‍ने नै परमेश्‍वरको लक्ष्य हो—यो उहाँको अत्यन्तै आधारभूत लक्ष्य, र उहाँको सुरुको लक्ष्यथियो। सबैभन्दा सुरुमा, जब मानिसले परमेश्वरका अभिप्रायहरू बुझेको थिएन, त्यो बेला परमेश्‍वरले केही सरल व्यवस्था र नियमहरू बनाउनुभयो र कल्पना गर्न सकिने सबै कुरा समावेश हुने नीतिनियमहरू बनाउनुभयो। यी नीतिनियमहरू सरल छन्, तैपनि तिनीहरूभित्र परमेश्वरका अभिप्रायहरू समावेश छन्। परमेश्‍वरले मानवजातिलाई मूल्यवान् ठान्‍नुहुन्छ, स्‍नेह गर्नुहुन्छ र अत्यन्त धेरै प्रेम गर्नुहुन्छ। त्यसो भए के हामी परमेश्‍वरको हृदय पवित्र छ भनी भन्‍न सक्छौँ? के हामी उहाँको हृदय सफा छ भनी भन्‍न सक्छौँ? (सक्छौं।) के परमेश्‍वरका कुनै थप अभिप्रायहरू छन्? (छैनन्।) के यो उहाँको लक्ष्य सही र सकारात्मक छ? परमेश्‍वरको कामको सिलसिलामा, उहाँले बनाउनुभएका सबै नीतिनियमहरूले मानिसमा सकारात्मक प्रभाव पारेका छन्, मानिसलाई अगुवाइ गरिरहेका छन्। के परमेश्‍वरको मनमस्तिष्कमा कुनै स्वार्थी विचारहरू छन्? मानिसको सन्दर्भमा के परमेश्‍वरका अन्य कुनै थप लक्ष्यहरू छन्? के परमेश्‍वरले मानिसलाई कुनै किसिमले प्रयोग गर्न चाहनुहुन्छ? अलिकति पनि चाहनुहुन्‍न। परमेश्‍वरले जे भन्‍नुहुन्छ, त्यही गर्नुहुन्छ, र उहाँका वचन र कार्यहरू उहाँको हृदयमा भएका उहाँका विचारहरूसँग मिल्छन्। कुनै कलङ्कित उद्देश्य, कुनै स्वार्थी विचारहरू छैनन्। उहाँले गर्नुहुने कुनै कुरा पनि उहाँको आफ्नै निम्ति होइन; उहाँले गर्नुहुने सबै कुरा मानिसकै निम्ति गर्नुहुन्छ, कुनै पनि निजी उद्देश्यहरू छैनन्। उहाँसँग मानिससम्बन्धी योजना र अभिप्रायहरू भए पनि, यो उहाँको आफ्नै निम्ति होइन। उहाँले गर्ने यी सबै कुरा नितान्त रूपमा मानवजातिका निम्ति, मानवजातिको सुरक्षाका निम्ति, मानवजातिलाई गलत बाटोमा लाग्‍नबाट बचाउनका निम्ति हुन्। के उहाँको यो हृदय अनमोल छैन र? के तैँले शैतानमा यस्तो अमूल्य हृदयको सानोभन्दा सानो अंशसमेत देख्‍न सक्छस् र? तैँले शैतानमा यसको सानो अंश पनि देख्‍न सक्दैनस्, तैँले यो विलकुलै देख्‍न सक्दैनस्। परमेश्‍वरले गर्नुहुने सबै कुरा स्वाभाविक रूपमा नै प्रकट हुन्छ। अब हामी परमेश्‍वरले काम गर्नुहुने तरिकालाई हेरौँ; उहाँले आफ्नो काम कसरी गर्नुहुन्छ? के उहाँले यी नीतिनियमहरू र उहाँका वचनहरूलाई पट्टी मन्त्र[क] द्वारा टाउकोको पट्टी कसेझैँ हरेक मानिसको टाउकोमा कसेर हरेक मानवजातिमाथि थोपरिदिनुहुन्छ र? के उहाँले यस किसिमले काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) त्यसो भए उहाँले आफ्नो काम कसरी गर्नुहुन्छ त? के उहाँले धम्की दिनुहुन्छ? उहाँ तिमीहरूसँग बोल्‍नुहुँदा के उहाँले घुमाउरो कुरा गर्नुहुन्छ? (गर्नुहुन्‍न।) जब तँ सत्यता बुझ्दैनस्, तब परमेश्‍वर तँलाई कसरी मार्गदर्शन गर्नुहुन्छ? उहाँ तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, तैँले जे गरिरहेको छस्, त्यो सत्यतासँग मेल खाँदैन, र तैँले के गर्नुपर्छ भनी स्पष्ट रूपमा बताउनुहुन्छ। परमेश्‍वरले काम गर्ने यी तरिकाहरूका आधारमा, परमेश्‍वरसँग तेरो कस्तो किसिमको सम्बन्ध छ भन्‍ने तँलाई लाग्छ? के तिनले तँलाई परमेश्‍वर तेरो पहुँचभन्दा बाहिर हुनुहुन्छ भन्‍ने महसुस गराउँछन्? (गराउँदैनन्।) त्यसोभए तिनले तँलाई कस्तो महसुस गराउँछ? तिनले तँलाई परमेश्‍वरका वचनहरू विशेष रूपमा वास्तविक छन्, मानिससँगको उहाँको सम्बन्ध विशेष रूपमा सामान्य छ, परमेश्‍वर तेरो अत्यन्तै नजिक हुनुहुन्छ, र परमेश्‍वर र तेरो बीचमा कुनै दूरी छैन भन्ने महसुस गराउँछन्। जब परमेश्‍वर तँलाई मार्गदर्शन गर्नुहुन्छ, जब उहाँ तेरो भरणपोषण गर्नुहुन्छ, तँलाई मद्दत र समर्थन गर्नुहुन्छ, तब तैँले परमेश्‍वरको मिलनसारी र सम्माननीयता महसुस गर्छस्, उहाँको प्रेमिलो स्वभाव र न्यानोपन महसुस गर्छस्। तर जब परमेश्‍वर तेरो भ्रष्‍टताका लागि तेरो निन्दा गर्नुहुन्छ, वा तेरो विद्रोहीपनका लागि उहाँ तँलाई न्याय गर्नुहुन्छ र ताडना दिनुहुन्छ, तब उहाँ कुन विधिहरू प्रयोग गर्नुहुन्छ? के उहाँ तँलाई वचनहरूद्वारा निन्दा गर्नुहुन्छ? के उहाँ तँलाई वातावरणद्वारा र मानिस, घटना, र कामकुराहरूद्वारा ताडना दिनुहुन्छ? (हो।) परमेश्‍वर तँलाई कुन हदसम्म ताडना दिनुहुन्छ? के परमेश्‍वरले तँलाई शैतानले मानिसहरूलाई कष्टदा ढङ्गले हानि पुर्‍याउने हदसम्म नै ताडना दिनुहुन्छ? (होइन। परमेश्‍वर मानिसहरूलाई तिनीहरूले सहन सक्‍ने हदसम्म मात्र ताडना दिनुहुन्छ।) परमेश्‍वर भद्र, कोमल, प्रेमिलो र वास्ता गर्ने तरिकाले काम गर्नुहुन्छ, जुन असाधारण रूपमा होसियार र उचित तरिका हो, जसले तँमा तीव्र भावनाहरू उत्पन्‍न गर्दैन, जस्तै: “परमेश्‍वरले मलाई यसो गराइरहनुभएको छ” वा “परमेश्‍वरले मलाई त्यसो गराइरहनुभएको छ।” परमेश्‍वर तँलाई कहिल्यै तेरो हृदयले सहनै नसक्ने त्यस्तो तीव्र अनुभूति वा भावना दिनुहुन्‍न। यस्तै हुन्छ, होइन र? जब तैँले परमेश्‍वरको न्याय र सजायका वचनहरूलाई स्वीकार गर्छस् तब तैँले कस्तो महसुस गर्छस्? जब तैँले परमेश्‍वरको अख्तियार र शक्तिको अनुभूति गर्छस्, तब तैँले कस्तो महसुस गर्छस्? के तैँले परमेश्‍वर ईश्‍वरीय र उल्लङ्‍घन गर्न नसकिने हुनुहुन्छ भन्‍ने महसुस गर्छस्? के यस्ता समयहरूमा तँ र परमेश्‍वरबीचमा दूरी भएको महसुस गर्छस्? के तैँले परमेश्‍वर कति डरलाग्दो हुनुहुन्छ भनेर महसुस गर्छस्? होइन—बरु तैँले परमेश्‍वरप्रति डरचाहिँ महसुस गर्छस्। के परमेश्‍वरको कामको कारण मानिसहरूले यी सबै कुराहरू महसुस गर्दैनन् र? यदि काम गर्ने शैतान भएको भए के तिनीहरूले यी सबै कुराहरू महसुस गर्नेथिए? बिलकुलै गर्नेथिएनन्। परमेश्‍वर मानिसलाई निरन्तर भरणपोषण गर्न, मानिसलाई मद्दत गर्न आफ्ना वचन, सत्यता, र आफ्नो जीवन प्रयोग गर्नुहुन्छ। जब मानिस कमजोर हुन्छ, जब मानिसले नकारात्मक महसुस गरिरहेको हुन्छ, तब परमेश्‍वर सशक्त तरिकाले बोल्‍नुहुन्‍न: “नकारात्मक महसुस नगर्। निराश हुनुपर्ने के कुरा छ र? किन तँ कमजोर छस्? नकारात्मक हुनुपर्ने कारण के छ र? तँ सधैँ यति कमजोर हुन्छस्, र तँ सधैँ नकारात्मक हुन्‍छस्—जीवित हुनुको अर्थ के छ र? त्यसोभए जा गएर मर्!” के परमेश्‍वरले यस किसिमले काम गर्नुहोला? (अहँ।) के परमेश्‍वरसँग यस किसिमले काम गर्ने अख्तियार छ? हो, उहाँसँग छ। तैपनि परमेश्‍वर यस किसिमले काम गर्नुहुन्‍न। परमेश्वर उहाँको सार, उहाँको सार, अर्थात् पवित्रताका कारण यस किसिमले काम गर्नुहुन्‍न। मानिसका निम्ति उहाँको प्रेम, उहाँले मानिसलाई बहुमूल्य ठान्ने, र स्‍नेह गर्ने कुरालाई मानिसले एक वा दुई वाक्यमा स्पष्‍टसँग व्यक्त गर्न सक्दैन। यी मानिसको सेखीले ल्याएका कुरा होइनन्, यी त परमेश्‍वरले वास्तविक कार्यद्वारा ल्याउने कुरा हुन्; यी परमेश्‍वरको सारका प्रकाश हुन्। परमेश्‍वरले काम गर्नुहुने यी सबै तरिकाहरूबाट के मानिसले परमेश्‍वरको पवित्रतालाई देख्‍न सक्छ? परमेश्‍वरका असल अभिप्रायहरूलगायत, परमेश्‍वरले मानिसमाथि ल्याउन चाहनुभएका प्रभावहरूलगायत, मानिसमा काम गर्न परमेश्‍वरले अपनाउनुहुने विभिन्‍न तरिकाहरूलगायत, उहाँले गर्नुहुने प्रकारको कामलगायत, उहाँ मानिसले जे बुझेको चाहनुहुन्छ सोलगायत परमेश्‍वरले काम गर्नुहुने यी सबै तौरतरिकाहरूमा—परमेश्‍वरका यी असल अभिप्रायहरूमा तैँले कुनै दुष्ट वा छली कुरा देखेको छस्? (छैन।) त्यसो भए, परमेश्‍वरले गर्नुहुने सबै कुरामा, परमेश्‍वरले भन्‍नुहुने सबै कुरामा, उहाँले आफ्नो हृदयमा विचार गर्नुहुने सबै कुरामा, साथै उहाँले प्रकट गर्नुहुने उहाँका सबै सारहरूमा—के हामी परमेश्‍वरलाई पवित्र भन्‍न सक्छौं? (सक्छौं।) के कुनै मानिसले संसारमा वा आफैभित्र यो पवित्रतालाई देखेको छ? के परमेश्‍वरबाहेक तैँले यसलाई कुनै मानवजाति वा शैतानमा देखेको छस्? (छैन।) यहाँसम्मको हाम्रो छलफलको आधारमा के हामी परमेश्‍वरलाई अद्वितीय, पवित्र परमेश्‍वर स्‍वयम्‌ भनी भन्‍न सक्छौं? (सक्छौं।) परमेश्‍वरका वचनहरू, मानिसमा परमेश्‍वरले काम गर्ने विभिन्न माध्यम, मानिसलाई परमेश्‍वरले बताउने कुरा, मानिसलाई परमेश्‍वरले स्मरण गराउने र उपदेश दिने कुरालगायत परमेश्‍वरले मानिसलाई दिने सबै कुरा एउटै सारबाट उत्पन्‍न हुन्छ र त्यो हो परमेश्‍वरको पवित्रता। यदि यस किसिमको पवित्र परमेश्‍वर नहुनुभएको भए, कुनै पनि मानिसले उहाँले गर्नुहुने काम गर्न उहाँको स्थान लिन सक्‍नेथिएन। यदि परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण रूपमा शैतानको हातमा सुम्पिदिनुभएको भए, आज तिमीहरू सबै जना कस्तो अवस्थामा हुनेथियौ भनी के तिमीहरूले कहिल्यै विचार गरेका छौ? के तिमीहरू सबै जना यहाँ पूर्ण र सुरक्षित भएर बसिरहेका हुन्थ्यौ? के तिमीहरूले पनि यसो भन्थ्यौ: “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ”? के तिमीहरू दुस्‍साहस, निर्धक्‍क र गर्वसाथ परमेश्‍वरको अगाडि विनालाज यस्ता वचनहरू बोल्‍न सक्थ्यौ? कुनै शङ्का छैन, तिमीहरूले अवश्य नै यसो गर्नेथियौ! मानिसप्रतिको शैतानको मनोवृत्तिले मानिसलाई शैतानको प्रकृति सार परमेश्‍वरको भन्दा पूर्ण रूपमा फरक छ भनी देख्‍न मद्दत गर्छ। शैतानको सारमा त्यस्तो के कुरा छ, जुन परमेश्‍वरको पवित्रताभन्दा विपरीत हुन्छ? (शैतानको दुष्‍टता।) शैतानको दुष्‍ट प्रकृति परमेश्‍वरको पवित्रताको विपरीत छ। अधिकांश मानिसहरूले परमेश्‍वरको प्रकाश र परमेश्‍वरको पवित्रताको यो सारलाई पहिचान गर्न नसक्‍नुको कारण के हो भने, तिनीहरू शैतानको सत्तामा, शैतानको भ्रष्‍टता र शैतानको घेराबन्दीमा जिउँछन्। तिनीहरूलाई पवित्रता भनेको के हो वा पवित्रताको परिभाषा कसरी दिने भन्‍ने थाहा छैन। तैँले परमेश्‍वरको पवित्रतालाई बुझे तापनि, तैँले यो परमेश्‍वरको पवित्रता हो भनी निश्‍चित रूपमा परिभाषित गर्न सक्दैनस्। यो परमेश्‍वरको पवित्रता सम्बन्धमा मानिसको ज्ञानमा निहित रहेको असमानता हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

फूटनोटहरू:

क. “पट्टी मन्त्र” एउटा मन्त्र हो जुन भिक्षु ताङ सन्जाङले “पश्‍चिमतर्फको यात्रा” नामक चिनियाँ उपन्यासमा प्रयोग गरेका छन्। उनले सन वुकोङलाई नियन्त्रण गर्न यो मन्त्रको प्रयोग गर्छन्। यसको लागि उनले तिनको टाउकोवरिपरि एउटा धातुको पट्टी बाँधिदिन्छन्, तिनलाई त्यो पट्टीले गम्‍भीर रूपमा टाउको दुखाउँछ, अनि मन्त्र प्रयोग गरी तिनलाई नियन्त्रणमा ल्याउँछन्। यो कुनै व्यक्तिलाई बाँध्‍ने वस्तुको व्याख्या गर्ने एउटा उपमा बनेको छ।


परमेश्‍वरका दैनिक वचनहरू  अंश १४२

मानिसमा हुने शैतानको कामलाई के कुराले चित्रण गर्छ? तिमीहरूले यो कुरा तिमीहरूका आफ्नै अनुभवहरूमार्फत सिक्‍न सक्‍नुपर्छ—यो शैतानको ठेट विशेषता हो, त्यसले बारम्बार गर्ने काम र त्यसले प्रत्येक मानिसमा गर्न प्रयास गर्ने काम हो। सायद तिमीहरूले यो विशेषता देख्‍न सक्दैनौ, त्यसैले तिमीहरूले शैतान डरलाग्दो र घृणास्पद छ भनी महसुस गर्दैनौ। यो विशेषता के हो भन्‍ने कसैलाई थाहा छ? (त्यसले मानिसलाई लोभ्याउँछ, प्रलोभन देखाउँछ र परीक्षा गर्छ।) त्यो सही कुरा हो; यो विशेषता प्रकट हुने विभिन्‍न तरिकाहरू यिनै हुन्। शैतानले मानिसलाई भ्रममा पार्ने, आक्रमण गर्ने र दोष लगाउने काम पनि गर्छ—यी सबै त्यसका प्रकटीकरणहरू हुन्। के अरू पनि छन्? (त्यसले झूट बोल्छ।) शैतानलाई ठग्‍न र झूट बोल्‍न स्वाभाविक रूपमा नै आउँछ। त्यसले यी कुराहरू निरन्तर गरिरहन्छ। त्यसै गरी, हाकिमी पारा देखाउने, उक्साउने, जबरजस्ती काम गराउने, अह्राउखटाउ गर्ने, जबरजस्ती अरूको मालमत्ता खोस्‍नेजस्ता कुराहरू पनि छन्। अब म तिमीहरूलाई केही कुरा वर्णन गर्नेछु, जसले अन्त्यमा तिमीहरूको रौँ ठाडो बनाइदिनेछ तर तिमीहरूलाई तर्साउनलाई मैले यो गरिरहेको छैन। परमेश्‍वरले मानिसमा काम गर्नुहुन्छ र उहाँले मानिसलाई आफ्नो मनोवृत्ति र आफ्नो हृदयमा प्रिय ठान्‍नुहुन्छ। तर अर्कोतर्फ, शैतानले भने मानिसलाई कति पनि प्रिय ठान्दैन, र त्यसले आफ्नो पूरै समय मानिसलाई कसरी हानि पुर्‍याउने भनेर मात्रै सोचिरहन्छ। के त्यसले यस्तै गर्दैन त? जब त्यसले मानिसलाई हानि पुर्‍याउने विषयमा सोचिरहन्छ, के त्यसको मन आतुरीमा हुन्छ? (हुन्छ।) त्यसैले मानिसमा शैतानले गर्ने कामको बारेमा विचार गरिरहँदा, मसँग शैतानको दुष्‍टता र द्वेषतालाई राम्ररी वर्णन गर्ने दुई वटा वाक्यांशहरू छन्, यसले शैतानको घृणितपनलाई बुझ्‍न तिमीहरूलाई साँच्‍चिकै सहयोग गर्न सक्छ: शैतान मानिसको नजिक आउँदा त्यसले सधैँ हरेक मानिसमा जबरजस्ती बास गर्न र उसलाई वशमा राख्‍न चाहन्छ, यति हदसम्‍म कि त्यसले मानिसलाई पूर्ण नियन्त्रण गर्न र ठूलो हानि पुर्‍याउन सकोस्, ताकि त्यसले आफ्नो लक्ष्य हासिल गर्न र आफ्नो दुष्‍ट अभिलाषा पूरा गर्न सकोस्। “जबरजस्ती बास गर्नु” भनेको के हो? के यो तेरो सहमतिमा हुने कुरा हो कि तेरो सहमतिविना हुने कुरा हो? के यो तँलाई थाहा हुने गरी हुन्छ कि तँलाई थाहा नहुने गरी हुन्छ? जबाफचाहिँ के हो भने यो तँलाई पूर्ण रूपमा थाहै नहुने गरी हुन्छ! यो तँलाई थाहा नभएको परिस्थितिमा हुन्छ, सायद त्यसले तँलाई केही नभनीकन वा केही नगरीकन, कुनै आधारविना, कुनै सन्दर्भविना हुन्छ—शैतान तेरो वरिपरि घुमिरहन्छ, तँलाई घेरिरहन्छ। त्यसले शोषण गर्ने अवसर खोजिरहन्छ र त्यसपछि त्यसले तँमा जबरजस्ती बास गर्छ, तँलाई आफ्नो बनाउँछ, तँलाई पूर्ण रूपमा अधीन गर्ने आफ्नो उद्देश्य हासिल गर्छ र तँमाथि पीडापूर्ण हानि पुर्‍याउँछ। मानिसलाई परमेश्‍वरबाट खोसी टाढा लैजान सङ्घर्ष गर्ने क्रममा शैतानको सबैभन्दा ठेट अभिप्रायहरू र व्यवहारहरूमध्ये यो एक हो। जब तिमीहरूले यो कुरा सुन्छौ तब तिमीहरूलाई कस्तो महसुस हुन्छ? (हामी हृदयमा त्रसित र भयभीत हुन्छौँ।) के तिमीहरू घृणाको महसुस गर्छौ? (गर्छौं।) यो घृणाको महसुस गर्ने क्रममा, के तिमीहरूलाई शैतान लाज नभएको हो भन्‍ने लाग्छ? जब शैतान लाज नभएको हो भनी तिमीहरू सोच्छौ, तब तिमीहरूलाई के आफ्‍ना वरपरका त्यस्ता मानिसहरूप्रति घिन लाग्छ जो सधैँ तिमीहरूलाई नियन्त्रण गर्न चाहन्छन्, जो आफ्नो सामाजिक स्थिति र स्वार्थहरूको दुष्‍ट अभिलाषा बोकिहिँड्छन्? (हो।) त्यसो भए, शैतानले मानिसलाई जबरजस्ती आफ्नो बनाउन र जबरजस्ती मानिसमा बास गर्न कस्ता विधिहरू अपनाउँछ त? के तिमीहरू यस विषयमा स्पष्‍ट छौ त? जब तिमीहरूले “जबरजस्ती बास गर्ने” र “आफ्नो बनाउने” यी दुई पदावलीहरू सुन्छौ, तब तिमीहरूले घृणा महसुस गर्छौ र यी पदावलीहरूको दुष्‍टताको भाव अनुभूति गर्न सक्छौ। शैतानले तेरो सहमति वा तेरो जानकारीविना नै तँलाई आफ्नो बनाउँछ, तँमा जबरजस्ती बास गर्छ, र तँलाई भ्रष्‍ट बनाउँछ। तैँले आफ्नो हृदयमा के कुरा अनुभूति गर्न सक्छस्? के तँ घृणा र तिरस्कारको अनुभूति गर्छस्? (हो।) जब शैतानका यस्ता कार्यहरूप्रति तँलाई घृणा र तिरस्कारको महसुस हुन्छ, तब तँमा परमेश्‍वरप्रति कस्तो अनुभूति हुन्छ? (कृतज्ञता।) तँलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरप्रति कृतज्ञता। त्यसो भए अब, यसै क्षणमा, के तँ आफूसँग भएका सबै थोक र तँ आफू जो होस् त्यो सबैलाई परमेश्‍वरले पूर्ण स्वामित्व र नियन्त्रणमा लिनुभएको चाहन्छस्? (चाहन्छु।) तैँले यस्तो जबाफ कुन सन्दर्भमा दिन्छस्? के शैतानले तँलाई जबरजस्ती अधीनमा पार्छ र आफ्नो बनाउँछ भनी डराएर नै तैँले “हुन्छ” भन्छस्? (हो।) तँसँग यस्तो किसिमको मानसिकता हुनु हुँदैन; यो सही कुरा होइन। तँ नडरा, किनकि परमेश्‍वर यहाँ हुनुहुन्छ। डराउनुपर्ने कुनै कुरा छैन। तैँले शैतानको दुष्‍ट सारलाई बुझिसकेपछि, तँमा परमेश्‍वरको प्रेम, परमेश्‍वरको असल अभिप्राय, परमेश्‍वरको करुणा, मानिसप्रति उहाँको सहिष्णुता, उहाँको धर्मी स्वभावका विषयमा सही बुझाइ वा गहन वास्ता हुनुपर्छ। शैतान अत्यन्त घृणित छ, तैपनि यदि यसले अझै पनि परमेश्‍वरप्रतिको तेरो प्रेमलाई र परमेश्‍वरमाथिको तेरो निर्भरता र भरोसालाई उत्प्रेरित गर्दैन भने तँ कस्तो किसिमको व्यक्ति होस्? के तँ त्यसरी आफूलाई शैतानद्वारा हानि पुर्‍याउन दिन इच्छुक छस्? शैतानको दुष्‍टता र घृणितपनलाई हेरिसकेपछि, हामी फर्केर परमेश्‍वरमा नजर लगाउँछौं। के परमेश्‍वरसम्बन्धी तेरो ज्ञानमा अहिले कुनै परिवर्तन आएको छ? परमेश्‍वर पवित्र हुनुहुन्छ भनी के हामी भन्‍न सक्छौँ? परमेश्‍वरमा कुनै दोष छैन भनी के हामी भन्‍न सक्छौँ? “परमेश्‍वर अद्वितीय पवित्रता हुनुहुन्छ”—के परमेश्‍वर यो पदवीअनुसार जिउन सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) अनि, मानिससँग भएको परमेश्‍वरसम्बन्धी यस बुझाइबमोजिम जिउन सक्‍ने व्यक्ति, के यो संसार र यावत् थोकमाझ केवल परमेश्‍वर मात्र हुनुहुन्‍न र? (हो त।) त्यसो भए, ठ्याक्‍कैसँग भन्दा, परमेश्‍वरले मानिसलाई के कुरा दिनुहुन्छ त? के उहाँले तँलाई थाहा नहुने गरी अलिकति मात्र वास्ता, सरोकार र चासो दिनुहुन्छ? परमेश्‍वरले मानिसलाई के कुरा दिनुभएको छ? परमेश्‍वरले मानिसलाई जीवन दिनुभएको छ, मानिसलाई सबै थोक दिनुभएको छ, र मानिसबाट कुनै कुराको अपेक्षा नगरीकन, कुनै पनि गोप्य मनसाय नराखीकन निसर्त रूपमा यी सबै कुराहरू मानिसलाई दिनुभएको छ। उहाँले मानिसलाई अगुवाइ गर्न र मार्गदर्शन दिन सत्यता, उहाँका वचनहरू र उहाँको जीवन प्रयोग गर्नुहुन्छ, मानिसलाई शैतानको हानिबाट टाढा र शैतानको परीक्षा र बहकाउबाट टाढा लैजानुहुन्छ, र यसरी मानिसलाई शैतानको दुष्‍ट प्रकृति र घृणित मुहार देख्‍ने अवसर दिनुहुन्छ। के मानिसको निम्ति परमेश्‍वरको प्रेम र वास्ता साँचो छ? के यो तिमीहरू प्रत्येकले अनुभव गर्न सक्‍ने कुरा हो? (हो।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरका दैनिक वचनहरू  अंश १४३

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा पैदा गर्ने भावनाहरू गहन भए पनि सतही भए पनि, के यो तेरो निम्ति सबैभन्दा आवश्यक कुरा होइन र? के तैँले प्राप्त गर्नुपर्ने सबैभन्दा आवश्यक कुरा यही थिएन र? (यही थियो।) के यो सत्य होइन र? के यो जीवन होइन र? (हो।) के परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएपछि उहाँले तँलाई दिनुभएका सबै कुराहरूको सट्टामा तँबाट कुनै कुरा माग्‍नुभएको छ? (छैन।) त्यसो भए परमेश्‍वरको उद्देश्य के हो त? परमेश्‍वरले किन यसो गर्नुहुन्छ? के परमेश्‍वरले तँमा जबरजस्ती बास गर्ने उद्देश्य राख्‍नुभएको छ? (छैन।) के परमेश्‍वर मानिसको हृदयभित्र सिंहासन आरोहण गर्न चाहनुहुन्छ? (हो।) त्यसो भए, परमेश्‍वरले आफ्नो सिंहासन आरोहण गर्ने र शैतानले बलपूर्वक तँमा बास गर्ने कुराको बीचमा के भिन्‍नता छ? परमेश्‍वर मानिसको हृदय प्राप्‍त गर्न चाहनुहुन्छ, उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ—यसको अर्थ के हो त? के यसको अर्थ परमेश्‍वरले मानिसलाई आफ्नो कठपुतली, आफ्नो यन्त्र बनाउन चाहनुहुन्छ भन्‍ने हो? (होइन।) त्यसो भए परमेश्‍वरको उद्देश्य के हो त? के परमेश्‍वरले मानिसको हृदयमा बास गर्न चाहनुहुने र शैतानले बलपूर्वक मानिसमा बास गर्ने र उसलाई आफ्नो बनाउने कुराको बीचमा कुनै भिन्‍नता छ? (छ।) के भिन्‍नता छ? के तँ मलाई स्पष्‍टसँग बताउन सक्छस्? (शैतानले जबरजस्ती गर्छ भने परमेश्‍वरले मानिसलाई स्वेच्छामा छोड्नुहुन्छ।) के भिन्‍नता यही हो त? परमेश्‍वरले तेरो हृदयलाई के गर्न प्रयोग गर्नुहुन्छ? परमेश्‍वर तँमा बास गर्नुको प्रयोजन के हो? “परमेश्‍वर मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍ने कुरालाई तिमीहरूले आफ्नो हृदयमा कसरी बुझ्छौ? परमेश्‍वरको विषयमा हामीले जसरी कुराकानी गर्छौँ त्यसमा हामी निष्पक्ष हुनैपर्छ, अन्यथा मानिसहरूले सधैँ गलत रूपमा मात्र बुझ्‍नेछन् र यस्तो विचार गर्नेछन्: “परमेश्‍वर सधैँ ममा बास गर्न चाहनुहुन्छ। उहाँ केको लागि ममा बास गर्न चाहनुहुन्छ? म आफूमा कोही बास गरेको चाहँदिनँ, म आफै मेरो मालिक बन्‍न चाहन्छु। तपाईं भन्‍नुहुन्छ, शैतान मानिसहरूमा बास गर्छ तर परमेश्‍वर पनि मानिसहरूमा बास गर्नुहुन्छ। के यो उस्तै कुरा होइन र? कोही पनि ममा बास गरेको म चाहँदिनँ। म, म आफै रहन चाहन्छु!” यहाँ के कुरा फरक छ? यसको बारेमा केही विचार गर। म तिमीहरूलाई सोध्छु, के “परमेश्‍वर मानिसमा बास गर्नुहुन्छ” भन्‍ने वाक्य खोक्रो वाक्यांश हो? के परमेश्‍वर मानिसमा बास गर्नुहुन्छ भन्‍नुको अर्थ उहाँ तेरो हृदयमा बास गर्नुहुन्छ र तेरो हरेक वचन र चाललाई नियन्त्रण गर्नुहुन्छ भन्‍ने हो? यदि उहाँले तँलाई बस् भन्‍नुहुन्छ भने के तँ खडा हुने आँट गर्दैनस् र? यदि उहाँले तँलाई पूर्वतिर जा भन्‍नुहुन्छ भने के तँ पश्‍चिमतिर जाने आँट गर्दैनस् र? के “बास” ले यस्तै भाव बुझाउँछ त? (होइन, यस्तो बुझाउँदैन। परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यसअनुसार मानिस जिएको उहाँ चाहनुहुन्छ।) परमेश्‍वरले मानिसको व्यवस्थापन गर्नुभएका यी सारा वर्षहरूभरि, अहिलेको यो अन्तिम चरणसम्म मानिसमा उहाँले गर्नुभएका सारा काममा, उहाँले बोल्‍नुभएका सबै वचनहरूले मानिसमा कस्तो प्रभाव हासिल गरून् भन्‍ने अभिप्राय राखिएको छ? के यो मानिस परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसअनुसार जियोस् भन्‍ने हो? “परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍ने वाक्यको शाब्दिक अर्थलाई हेर्दा, परमेश्‍वरले मानिसको हृदय लिनुहुन्छ र त्यसमा बास गर्नुहुन्छ र उहाँ बाहिर निस्कनुहुन्‍न जस्तो देखिन्छ; यस्तो लाग्छ, उहाँ मानिसको मालिक बन्‍नुहुन्छ र उहाँले आफ्‍नो इच्छामा मानिसको हृदयमा प्रभुत्व जमाउन र यसलाई आफू खुशी चलाउन सक्‍नुहुन्छ, ताकि परमेश्‍वरले मानिसलाई जे गर्न भन्‍नुहुन्छ, उसले त्यही गर्नुपर्छ। यस अर्थमा त, प्रत्येक व्यक्ति परमेश्‍वर बन्छ र उहाँको सार र स्वभाव हासिल गर्छ जस्तो देखिन्छ। त्यसैले यस सन्दर्भमा, के मानिसले पनि परमेश्‍वरका कार्यहरू गर्न सक्छ? के “बास गर्नु” लाई यस किसिमले परिभाषित गर्न सकिन्छ? (सकिँदैन।) त्यसो भए यो के हो त? म तिमीहरूलाई सोध्छु: परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै वचनहरू र सत्यता के परमेश्‍वरको सार अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकाश हो? (हो।) यो निश्‍चय नै साँचो हो। तर के परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै वचनहरू उहाँ स्वयम्‌ले अभ्यास गर्नु र उहाँमा निहित हुनु अत्यावश्‍यक छ त? यस विषयमा केही विचार गर। जब परमेश्‍वरले मानिसको न्याय गर्नुहुन्छ, किन उहाँले न्याय गर्नुहुन्छ? यी वचनहरू कसरी अस्तित्वमा हुन आए? उहाँले मानिसको न्याय गर्नुहुँदा बोल्‍नुहुने यी वचनहरूको विषयवस्तु के हुन्? यी के कुरामा आधारित छन्? के यी वचनहरू मानिसको भ्रष्‍ट स्वभावमा आधारित छन्? (हो।) के परमेश्‍वरले मानिसउपर गर्नुहुने न्यायले परमेश्‍वरको सारमा आधारित प्रभाव हासिल गरेको छ? (छ।) के परमेश्‍वरद्वारा “मानिसमा बास” एउटा खोक्रो वाक्यांश हो? निश्‍चय नै होइन। त्यसो भए, किन परमेश्‍वरले मानिसलाई यी वचनहरू भन्‍नुहुन्छ? यी वचनहरू भन्‍नुमा उहाँको उद्देश्य के हो? के उहाँले यी वचनहरूलाई मानिसको जीवनको रूपमा काम गर्ने गरी प्रयोग गर्न चाहनुहुन्छ? (चाहनुहुन्छ।) परमेश्‍वरले यी वचनहरूमा बोल्‍नुभएको यो सत्यतालाई मानिसको जीवनको रूपमा काम गर्ने गरी प्रयोग गर्न चाहनुहुन्छ। जब मानिसले यो सत्यता र परमेश्‍वरको वचनको सबै कुरा ग्रहण गर्छ र तिनीहरूलाई आफ्नो जीवनको रूपमा रूपान्तरित गर्छ, के त्यसपछि मानिस परमेश्वरप्रति समर्पित हुन सक्छ? के त्यसपछि मानिसले परमेश्‍वरको भय मान्‍न सक्छ? के त्यसपछि मानिसले दुष्‍टताबाट अलग बस्‍न सक्छ? जब मानिस यो अवस्थामा पुग्‍छ, के त्यसपछि मानिस परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन सक्छ? के त्यसपछि मानिस आफूलाई परमेश्‍वरको अख्तियारमा समर्पण गर्ने अवस्थामा हुन्छ? जब मानिसहरू अय्यूब वा पत्रुसजस्तै आफ्नो बाटोको अन्तिम बिन्दुमा पुग्छन्, जब तिनीहरूको जीवन परिपक्‍वतामा पुगेको मान्‍न सकिन्छ, जब तिनीहरूसँग परमेश्‍वरको साँचो बुझाइ हुन्छ—के शैतानले अझै पनि तिनीहरूलाई बहकाउन सक्छ? के शैतानले अझै पनि तिनीहरूमा बास गर्न सक्छ? के अझै पनि शैतानले तिनीहरूलाई जबरजस्ती आफ्नो बनाउन सक्छ? (सक्दैन।) त्यसो भए यो कस्तो किसिमको व्यक्ति हो त? के यो परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गरिसक्‍नुभएको व्यक्ति हो? (हो।) यो तहको अर्थमा, परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गरिसक्‍नुभएको व्यक्तिलाई तिमीहरू कसरी हेर्छौ? परमेश्‍वरको दृष्टिकोणबाट, यी परिस्थितिहरूमा, उहाँ यो व्यक्तिको हृदयमा अघिबाटै बास गर्नुभएको हुन्छ। तर यो व्यक्तिले कस्तो महसुस गर्छ? परमेश्‍वरका वचनहरू, परमेश्‍वरको अख्तियार, र परमेश्‍वरको मार्ग के यो मानिसभित्रको जीवन बन्छ? अनि के यो जीवनले मानिसको सम्पूर्ण अस्तित्वमा बास गर्छ? के उसले जिउने कुराहरू र उसको सार परमेश्‍वरलाई सन्‍तुष्‍ट बनाउन पर्याप्‍त बन्छन्? परमेश्‍वरको दृष्टिकोणबाट, के यो क्षणमा उहाँ मानिसको हृदयमा बास गर्नुभएको हुन्छ? (हुन्छ।) तिमीहरूले यो तहको अर्थलाई अहिले कसरी बुझ्छौ? के परमेश्‍वरका आत्मा तँमा बास गर्नुहुन्छ? (होइन। परमेश्‍वरको वचन हामीमा बास गर्नुहुन्छ।) परमेश्‍वरको मार्ग र वचन तेरो जीवन बनेको छ, र सत्यता तेरो जीवन बनेको छ। यो समयमा, मानिसले परमेश्‍वरबाट आएको जीवन प्राप्‍त गरेको हुन्छ, तर हामी यो जीवन परमेश्‍वरको जीवन हो भनी भन्‍न सक्दैनौं। अर्को शब्दमा, मानिसले परमेश्‍वरको वचनबाट प्राप्‍त गर्ने जीवनलाई हामी परमेश्‍वरको जीवन भन्‍न सक्दैनौं। त्यसैले, मानिसले परमेश्‍वरलाई जति लामो समयदेखि पछ्याएको भए तापनि, मानिसले परमेश्‍वरबाट जतिसुकै वचन प्राप्‍त गरेको भए तापनि मानिस कहिल्यै पनि परमेश्‍वर बन्‍न सक्दैन। परमेश्‍वरले एक दिन “म तेरो हृदयमा बास गर्छु, अब तैँले मेरो जीवन प्राप्‍त गर्छस्” भनेर भन्‍नुभए तापनि, के तँ त्यसपछि परमेश्‍वर भएको महसुस गर्छस् त? (गर्दिनँ।) त्यसो भए, तँ के बन्छस् त? के तँमा परमेश्‍वरप्रति पूर्ण समर्पण हुनेछैन र? के तेरो हृदय परमेश्‍वरले तँलाई दिनुभएको जीवनले भरिपूर्ण भएको हुँदैन र? परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुभएपछि के हुनेछ भन्‍ने कुराको यो सामान्य प्रकटीकरण हुनेछ। यथार्थ यही हो। त्यसलाई यो दृष्टिकोणबाट नियाल्दा, के मानिस परमेश्‍वर बन्‍न सक्छ त? जब मानिस परमेश्‍वरका सबै वचनहरूको वास्तविकताअनुसार जिउन सक्षम हुन्छ, र परमेश्‍वरको भय मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने व्यक्ति बन्छ, तब के मानिसमा परमेश्‍वरको जीवन सार र पवित्रता हुन सक्छ? बिलकुलै हुन सक्दैन। जे सुकै भए तापनि, यी सबै कुरा भनिसकेपछि र गरिसकेपछि पनि मानिस, मानिस नै हुन्छ। तँ सिर्जित प्राणी होस्; जब तैँले परमेश्‍वरबाट परमेश्‍वरको वचन र परमेश्‍वरको मार्ग प्राप्‍त गरिसकेको हुन्छस्, तँमा परमेश्‍वरका वचनहरूबाट आउने जीवन मात्र हुन्छ, तँ परमेश्‍वरद्वारा प्रशंसा गरिने व्यक्ति बन्छस्, तर तँमा कहिल्यै परमेश्‍वरको जीवन सार हुँदैन, र तँमा परमेश्‍वरको पवित्रता हुने कुरा त झन् सोच्दै नसोचे हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरका दैनिक वचनहरू  अंश १४४

शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू)

मत्ती ४:१-४  तब उजाड स्थानमा दियाबलसबाट परीक्षा गरिनलाई आत्माले येशूलाई लानुभयो। र उहाँले चालीस दिन र चालीस रात उपवास बसिसक्‍नुभएपछि, उहाँ भोकाउनुभयो। अनि परीक्षा गर्ने उहाँकहाँ आयो र भन्यो, यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्। तर उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, यस्तो लेखिएको छ, मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।

यिनै वचनहरूद्वारा दियाबलसले सुरुमा प्रभु येशूलाई परीक्षा गर्ने प्रयास गर्‍यो। दियाबलसले भनेको कुराको विषयवस्तु के हो? (“यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्।”) दियाबलसले बोलेका यी वचनहरू निकै सरल छन्, तर के तिनको सारमा कुनै समस्या छ? दियाबलसले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने,” तर त्यसको हृदयमा, त्यसलाई येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने थाहा थियो कि थिएन? उहाँ ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने त्यसलाई थाहा थियो कि थिएन? (त्यसलाई थाहा थियो।) त्यसो भए त्यसले किन “यदि तपाई … हुनुहुन्छ भने” भनेर भन्यो? (त्यसले परमेश्‍वरलाई परीक्षा गर्ने प्रयास गरिरहेको थियो।) तर त्यसले त्यसो गर्नुको उद्देश्य के थियो? त्यसले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने।” त्यसको हृदयमा त्यसलाई येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने थाहा थियो, त्यसको हृदयमा त्यो यसबारे अत्यन्तै स्पष्ट थियो, तर यो कुरा जाने तापनि, के त्यो उहाँमा समर्पित भयो र के त्यसले उहाँको आराधना गर्‍यो? (गरेन।) त्यसले के गर्न चाह्यो? प्रभु येशूलाई रिस उठाउन, अनि त्यसका अभिप्रायहरू अनुसार उहाँलाई मूर्ख बनाई काम गर्न लगाउनको लागि त्यसले यो तरिका र यी वचनहरू प्रयोग गर्न चाहन्थ्यो। के दियाबलसका वचनहरूको पछाडि लुकेको अर्थ यही होइन र? शैतानको हृदयमा, त्यसलाई प्रभु येशू ख्रीष्ट उहाँ नै हुनुहुन्छ भन्‍ने स्पष्टै थाहा थियो, तैपनि त्यसले यी वचनहरू बोल्यो। के यो शैतानको प्रकृति होइन र? शैतानको प्रकृति के हो? (धूर्त र दुष्ट बन्‍नु, र परमेश्‍वरप्रति कुनै डर नहुनु।) परमेश्‍वरप्रति कुनै डर नहुनुबाट के-कस्ता परिणामहरू आउँछन्? के त्यसले परमेश्‍वरलाई आक्रमण गर्न चाहँदैन थियो र? यसले परमेश्‍वरलाई आक्रमण गर्न यो तरिकाको प्रयोग गर्न चाहन्थ्यो, त्यसैले त्यसले भन्यो: “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्”; के यो शैतानको दुष्ट अभिप्राय होइन र? त्यसले वास्तवमा के गर्ने प्रयास गरिरहेको थियो? त्यसको उद्देश्य अत्यन्तै स्पष्ट छ: त्यसले प्रभु येशू ख्रीष्टको हैसियत र पहिचानलाई इन्कार गर्नको लागि यो तरिकाको प्रयोग गरिरहेको थियो। शैतानले यी वचनहरूबाट यसो भन्‍न खोजिरहेको थियो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटीमा परिवर्तन गर्नुहोस्। यदि तपाईंले त्यसो गर्न सक्‍नुहुन्‍न भने, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यसकारण तपाईंले अब उप्रान्त आफ्‍नो काम गर्नु हुँदैन।” के यही होइन त? त्यसले परमेश्‍वरलाई आक्रमण गर्नको लागि यो तरिकाको प्रयोग गर्न चाहन्थ्यो, त्यसले परमेश्‍वरको कार्यलाई चकनाचूर पार्न र नष्ट गर्न चाहन्थ्यो; शैतानको दुराशय यही हो। त्यसको दुराशय नै त्यसको प्रकृतिको स्वभाविक अभिव्यक्ति हो। प्रभु येशू ख्रीष्ट परमेश्‍वरका पुत्र हुनुहुन्छ, परमेश्‍वर स्वयम्‌को देहधारण हुनुहुन्छ भन्‍ने त्यसलाई थाहा भएको भए पनि त्यसले यस प्रकारको कार्य नगरी त्यो बस्‍न सकेन र परमेश्‍वरलाई नजिकबाटै पिछा गर्ने, उहाँलाई निरन्तर आक्रमण गर्ने र परमेश्‍वरको कार्यलाई बाधा दिन र तोड्नका लागि धेरै प्रयास गर्ने गरिरह्यो।

अब हामी, शैतानले बोलेको यो वाक्यलाई विश्‍लेषण गरौँ: “यी ढुङ्गाहरूलाई रोटी बन्‍ने आदेश दिनुहोस्।” ढुङ्गाहरूलाई रोटीमा परिवर्तन गर्नु—के यसको कुनै अर्थ छ? यदि खानेकुरा छ भने, त्यसैलाई किन नखाने? किन ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नु आवश्यक छ? के यसको कुनै अर्थ छैन भनेर भन्‍न सकिन्छ? यो बेला प्रभु येशू उपवास बसिरहनुभएको भए तापनि, अवश्य नै उहाँसँग खानको लागि खानेकुरा थियो? (उहाँसँग थियो।) त्यसो भए, यहाँ हामी शैतानका वचनहरूको मूर्खतालाई देख्‍न सक्छौं। शैतानको सबै विश्‍वासघात र बदख्वाइँको बाबजुत पनि, हामी त्यसको मूर्खता र निरर्थकतालाई देख्छौं। शैतानले त्यस्ता विभिन्‍न कुराहरू गर्छ जसद्वारा तैँले त्यसको दुर्भावनापूर्ण प्रकृतिलाई देख्‍न सक्छस्; त्यसले परमेश्‍वरको कार्यलाई तोड्ने विभिन्‍न कुराहरू गरिरहेको देख्‍न सक्छस्, अनि यसलाई देखेर, तैँले त्यो घृणास्पद र रिस उठ्दो छ भन्‍ने अनुभव गर्छस्। तर, अर्कोतर्फ, के त्यसका वचनहरू र कार्यहरूका पछाडि तैँले मूर्खतापूर्ण, हास्यास्पद प्रकृतिलाई देख्दैनस्? शैतानको प्रकृति सम्‍बन्धी प्रकाश यही हो; त्यसको प्रकृति नै यही भएकोले, त्यसले यस्तै प्रकारको काम गर्नेछ। आजका मानिसहरूका लागि, शैतानका यी वचनहरू निरर्थक र हाँसउठ्दो छन्। तर शैतानले त्यस्ता वचनहरू बोल्‍न सक्छ। के त्यो अज्ञानी र विवेकहीन छ भनेर हामी भन्‍न सक्छौँ? शैतानको दुष्टता जताततै छ र यसलाई निरन्तर रूपमा प्रकट गरिँदैछ। अनि प्रभु येशूले त्यसलाई कसरी जवाफ दिनुभयो? (“मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।”) के यी वचनहरूमा कुनै शक्ति छ? (छ।) तिनमा शक्ति छ भनेर हामी किन भन्छौँ? किनभने यी वचनहरू सत्यता हुन्। अब, के मानिस रोटीले मात्रै बाँच्‍न सक्छ? प्रभु येशू चालीस दिन र चालीस रातसम्‍म उपवास बस्‍नुभयो। के उहाँ भोकले मर्नुभयो? उहाँ भोकले मर्नुभएन, त्यसकारण उहाँलाई यस्ता कुराहरू भनेर ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नको लागि उहाँलाई उक्साउन शैतान उहाँकहाँ गयो: “यदि तपाईंले ढुङ्गाहरूलाई खानेकुरामा परिवर्तन गर्नुभयो भने, खानका लागि तपाईंसँग यी कुराहरू हुनेछैनन् र? त्यसपछि तपाईंले उपवास बस्‍नु पर्दैन, भोकै बस्‍नु पर्दैन, होइन र?” तर प्रभु येशूले भन्‍नुभयो, “मानिस रोटीले मात्र बाँच्‍दैन,” जसको अर्थ मानिस भौतिक शरीरमा जिए तापनि, उसको भौतिक शरीरलाई बाँच्‍न र सास फेर्न दिने त खाने कुरा होइन, बरु परमेश्‍वरको मुखबाट उच्चारित हरेक वचनहरू हुन्। एकतर्फ, यी वचनहरू सत्य हुन्; परमेश्‍वरमा तिनीहरूले भरोसा गर्न सक्छन् अनि सत्यता उहाँ नै हुनुहुन्छ भन्‍ने अनुभव गराउँदै यी वचनहरूले मानिसहरूलाई विश्‍वास दिलाउँछ। अर्कोतर्फ, के यी वचनहरूको व्यवहारिक पक्ष छ? चालीस दिन र चालीस रात उपवास बसिसकेपछि, के प्रभु येशू अझै खडा हुनुहुन्नथ्यो र, अझै जीवित हुनुहुन्नथ्यो र? के यो वास्तविक उदाहरण होइन र? उहाँले चालीस दिन र चालीस रातसम्‍म कुनै पनि खानेकुरा खानुभएको थिएन, तर उहाँ अझै पनि जीवितै हुनुहुन्थ्यो। यो उहाँका वचनहरूको सत्यतालाई पुष्टि गर्ने शक्तिशाली प्रमाण हो। यी वचनहरू सरल छन्, तैपनि प्रभु येशूको हकमा भन्दा, शैतानले उहाँको परीक्षा गर्दा मात्रै उहाँले ती बोल्‍नुभयो कि ती पहिले नै प्राकृतिक रूपमै उहाँको भाग बनिसकेका थिए? यसलाई अर्को तरिकाले भन्दा, परमेश्‍वर नै सत्यता हुनुहुन्छ, अनि परमेश्‍वर नै जीवन हुनुहुन्छ, तर के परमेश्‍वरको सत्यता र जीवन त्यसपछि थपिएका कुराहरू थिए? के ती पछिका अनुभवबाट पैदा भएका थिए? होइन—परमेश्‍वरमा ती अन्तर्निहित रूपमै छन्। भन्‍नुको अर्थ, सत्यता र जीवन परमेश्‍वरका सार हुन्। उहाँलाई जेसुकै भए तापनि, उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यता नै हो। यो सत्यता, यी वचनहरूले—उहाँको बोलीको विषयवस्तु लामो भए पनि छोटो भए पनि—मानिसलाई जिउन सक्षम तुल्याउन सक्छन् र तिनले मानिसलाई जीवन दिन्छन्; तिनले मानिसहरूलाई सत्यता अनि मानव जीवनको मार्गको बारेमा स्पष्टता हासिल गर्न, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास राख्‍न सक्षम तुल्याउँछन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले प्रयोग गर्नुभएका यी वचनहरूको स्रोत सकारात्मक छ। त्यसकारण के हामी यो सकारात्मक कुरा पवित्र छ भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) शैतानका ती वचनहरू शैतानको प्रकृतिबाट आउँछन्। शैतानले त्यसको दुष्टता र त्यसको दुर्भावनापूर्ण स्वभाव जताततै, निरन्तर रूपमा प्रकट गर्छ। अब, के शैतानले प्राकृतिक रूपमै यिनलाई प्रकट गर्छ? के कसैले त्यसलाई यसो गर्न निर्देशन दिन्छ? के कसैले त्यसलाई सहायता गर्छ? के कसैले त्यसलाई बाध्य गर्छ? गर्दैन। यी सबै कुराहरू त्यसले आफ्‍नै इच्‍छाले प्रकट गर्छ। यो शैतानको दुष्ट प्रकृति हो। परमेश्‍वरले जे गर्नुभए पनि र उहाँले यो जसरी गर्नुभए पनि, शैतानले उहाँलाई नजिकबाट पछ्याउँछ। शैतानले भन्‍ने र गर्ने यी कुराहरूको सार र साँचो प्रकृति नै शैतानको सार हो—त्यो सार जुन दुष्ट र दुर्भावनापूर्ण छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश १४५

शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू)

मत्ती ४:५-७  त्यसपछि दियाबलसले उहाँलाई पवित्र सहरमा लैजान्छ र उहाँलाई मन्दिरको शिरमा खडा गराउँछ अनि उहाँलाई भन्छ, यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्: किनकि यस्तो लेखिएको छ, उहाँले स्वर्गदूतहरूलाई तेरो लागि अह्राउनुहुनेछ: र तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उठाउनेछन्, नत्रता कुनै पनि बेला तिमीले तिम्रो खुट्टा ढुङ्गामा ठोकाउँछौ। येशूले त्यसलाई भन्‍नुभयो, यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।

सुरुमा हामी शैतानले यहाँ बोलेको वचनहरूलाई नै हेरौं। शैतानले भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने आफैलाई तल फाल्नुहोस्,” अनि यसले पवित्र-शास्‍त्रबाट उद्धृत गर्‍यो: “उहाँले स्वर्गदूतहरूलाई तेरो लागि अह्राउनुहुनेछ: र तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उठाउनेछन्, नत्रता कुनै पनि बेला तिमीले तिम्रो खुट्टा ढुङ्गामा ठोकाउँछौ।” जब तँ शैतानका वचनहरू सुन्छस् तँलाई कस्तो अनुभव हुन्छ? के ती अत्यन्तै मूर्खतापूर्ण छैनन् र? ती मूर्खतापूर्ण, निरर्थक, र घृणास्पद छन्। म किन यसो भन्छु? शैतानले प्रायजसो मूर्ख कुराहरू गर्छ, अनि त्यसले आफैलाई अत्यन्तै चलाख ठान्छ। परमेश्‍वरको कामको योजनालाई तोड्ने आफ्‍नो उद्देश्य हासिल गर्ने प्रयास गर्दै उहाँलाई आक्रमण गर्न र उहाँलाई परीक्षा गर्न यी वचनहरूलाई परमेश्‍वरकै विरुद्ध प्रयोग गर्न त्यसले प्रायजसो धर्मशास्‍त्रका खण्डहरू उद्धृत गर्छ, चाहे त्यो परमेश्‍वर स्वयम्‌ले बोल्‍नुभएको वचन नै किन नहोस्। के शैतानले बोलेका यी वचनहरूमा तैँले कुनै कुरा देख्‍न सक्छस्? (शैतानले दुष्ट अभिप्रायहरू राख्छ।) शैतानले गर्ने सबै कुरामा, त्यसले सधैँ मानवजातिलाई परीक्षा गर्न खोजेको छ। शैतान सोझो रूपमा बोल्दैन, तर परीक्षा, उक्साहट, र प्रलोभनको प्रयोग गरेर घुमाउरो पारामा बोल्छ। परमेश्‍वर पनि अज्ञानी, मूर्ख, अनि मानिसजस्तै काम-कुराहरूको साँचो रूपलाई स्पष्ट रूपमा छुट्याउन नसक्‍ने हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दै, शैतानले उहाँ सामान्य मानवजाति नै हुनुहुन्छ झैँ गरी परमेश्‍वरको परीक्षा गर्छ। शैतानले के ठान्छ भने, परमेश्‍वर र मानिस दुवैले त्यसको सारलाई अनि त्यसको धोका र त्यसको कुटिल अभिप्रायलाई देख्‍न सक्‍दैनन्। के शैतानको मूर्खता यही होइन र? यसको साथै, शैतानले धर्मशास्‍त्रका खण्डहरूबाट उद्धृत गर्दा त्यसले विश्‍वसनीयता दिलाउँछ र तैँले त्यसका वचनहरूमा भएको कुनै पनि त्रुटिलाई भेट्टाउन वा मूर्ख हुनबाट बच्न सक्‍नेछैनस् भन्‍ने विश्‍वास गर्दै, खुलस्त रूपमा धर्मशास्‍त्रका खण्डहरू उद्धृत गर्छ। के शैतानको बेवकुफी र मूर्खता यही होइन र? यो मानिसहरूले सुसमाचार फैलाउँदा अनि परमेश्‍वरको साक्षी दिँदाको जस्तै छ: के कहिलेकहीँ गैर-विश्‍वासीहरूले पनि शैतानले जस्तै कुरा गर्दैनन् र? के मानिसहरूले यस्तै कुरा भनेको तिमीहरूले सुनेका छौ? त्यस्ता कुराहरू सुन्दा तँलाई कस्तो महसुस हुन्छ? के तँलाई वाक्‍क लाग्छ? (हो।) जब तँलाई वाक्‍क लाग्छ, तब के तँलाई द्वेष र घृणाको पनि महसुस हुन्छ? जब तँमा यस्ता भावनाहरू आउँछन् तब के तैँले शैतान र शैतानले मानिसमा हालिदिने भ्रष्ट स्वभाव दुष्ट छन् भन्‍ने पहिचान गर्न सक्छस्? तेरो हृदयमा, तैँले कहिल्यै यस्तो महसुस गर्छस्: “जब शैतान बोल्छ, त्यसले आक्रमण र परीक्षा गर्न त्यसो गर्छ; शैतानका वचनहरू निरर्थक, हाँसउठ्दो, मूर्खतापूर्ण, र घिनलाग्दा छन्; तैपनि, परमेश्‍वरले कहिल्यै पनि त्यसरी बोल्‍ने वा काम गर्ने गर्नुहुन्‍न, अनि वास्तवमा नै उहाँले कहिल्यै पनि त्यसो गर्नुभएको छैन”? अवश्य नै, यस परिस्थितिमा मानिसहरूले यसलाई हल्‍का रूपमा मात्रै अनुभूति गर्न सक्छन्, अनि तिनीहरू परमेश्‍वरको पवित्रतालाई बुझ्‍न नसक्‍ने नै रहन्छन्। तिमीहरूको हालको कदद्वारा, तिमीहरूले यो मात्रै अनुभव गर्छौ: “परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो सबै सत्यता हो, त्यो हाम्रो लागि फाइदाजनक छ, अनि हामीले त्यसलाई स्वीकार गर्नैपर्छ।” तिमीहरूले यसलाई स्वीकार गर्न सके पनि नसके पनि, तैँले परमेश्‍वरको वचन सत्य छ अनि परमेश्‍वर सत्य हुनुहुन्छ भनेर भन्छस् भन्‍नेमा कुनै अपवाद छैन, तर सत्य आफै नै पवित्र छ अनि परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने तँलाई थाहा छैन।

त्यसकारण, शैतानका यी वचनहरूप्रति येशूको प्रतिक्रिया के थियो? येशूले त्यसलाई भन्‍नुभयो: “यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” के येशूले भन्‍नुभएका यी वचनहरूमा सत्यता छ? तिनमा अवश्य नै सत्यता छ। झट्ट हेर्दा, यी वचनहरू मानिसहरूले पछ्याउनुपर्ने आज्ञा, सरल वाक्य मात्रै हुन्, तैपनि, मानिस र शैतान दुवैले प्रायजसो यी वचनहरूलाई उल्‍लङ्घन गरेका छन्। त्यसैले, प्रभु येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू,” किनभने शैतानले ठूलो प्रयत्नका साथ प्रायजसो यसै गर्थ्यो। शैतानले निर्धक्‍कसाथ र कुनै लाज विना यसो गर्यो भनेर भन्‍न सकिन्छ। परमेश्‍वरदेखि नडराउनु अनि परमेश्‍वरको डर मान्‍ने हृदय नहुनु शैतानको प्रकृति सारमै भएको कुरा हो। शैतानले परमेश्‍वरको छेउमा खडा भएर उहाँलाई देख्‍न सक्दा समेत, त्यसले परमेश्‍वरलाई परीक्षा नगरीकन बस्‍न सकेन। त्यसकारण, येशूले शैतानलाई भन्‍नुभयो, “तैँले परमप्रभु तेरा परमेश्‍वरको परीक्षा नगर्नू।” परमेश्‍वरले धेरै पटक शैतानलाई भन्‍नुभएका वचनहरू यिनै हुन्। त्यसकारण, के यो वाक्यलाई वर्तमान दिनमा लागू गर्नु उचित हुन्छ? (हुन्छ, किनभने हामीले पनि बारम्बार परमेश्‍वरको परीक्षा गर्छौं।) किन मानिसहरूले बारम्बार परमेश्‍वरको परीक्षा गर्छन्? के मानिसहरू भ्रष्ट शैतानिक स्वभावले भरिएकाले यस्तो भएको हो? (हो।) के शैतानका वचनहरू मानिसहरूले प्रायजसो भन्‍ने कुराभन्दा माथि छन्? अनि कस्ता परिस्थितिहरूमा मानिसहरूले यी वचनहरू बोल्छन्? मानिसहरूले यस्ता कुराहरू जुनसुकै समय र स्थानमा भन्दै आइरहेका छन् भनेर भन्‍न सकिन्छ। यसले मानिसहरूको स्वभाव शैतानको भ्रष्ट स्वभावभन्दा फरक छैन भन्‍ने कुरा प्रमाणित गर्छ। प्रभु येशूले एक-दुई वटा सरल वचनहरू, अर्थात् सत्यतालाई प्रतिनिधित्व गर्ने वचनहरू, मानिसहरूलाई चाहिने वचनहरू बोल्‍नुभयो। तैपनि, यस परिस्थितिमा, के शैतानसँग तर्क गर्नको लागि प्रभु येशूले त्यसरी बोलिरहनुभएको थियो? उहाँले शैतानलाई जे भन्‍नुभयो के त्यसमा कुनै आक्रामक कुरा थियो? (थिएन।) प्रभु येशूले आफ्‍नो हृदयमा शैतानको परीक्षाको बारेमा कस्तो महसुस गर्नुभयो? के उहाँले एकदमै मन नपर्ने र घृणाको अनुभव गर्नुभयो? प्रभु येशूले एकदमै मन नपर्ने र घृणाको अनुभव गर्नुभयो, तैपनि उहाँले शैतानसँग तर्क गर्नुभएन, उहाँले कुनै पनि ठूलो सिद्धान्तहरूको बारेमा बोल्‍ने कुरा त परै जाओस्। किन त्यसो भयो? (किनभने शैतान सधैँ यस्तै हो; त्यो कहिल्यै परिवर्तन हुन सक्दैन।) के शैतानले तर्क गर्न सक्दैन भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) के परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर शैतानले पहिचान गर्नसक्छ? परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर शैतानले कहिल्यै पहिचान गर्नेछैन अनि परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर त्यसले कहिल्यै स्वीकार गर्नेछैन; यो त्यसको प्रकृति हो। शैतानको प्रकृतिको अझै अर्को पक्ष पनि छ, जुन घृणित छ। यो के हो? प्रभु येशूलाई परीक्षा गर्ने प्रयासको क्रममा, शैतानले आफू सफल नभए पनि, त्यसो गर्ने प्रयास गर्नेछु भनी विचार गर्‍यो। त्यसलाई दण्ड हुने भए पनि, त्यसले परीक्षा गर्ने निर्णय गर्‍यो। त्यसो गरेर त्यसले कुनै पनि फाइदा प्राप्त नगरे पनि आखिरसम्‍मै आफ्‍नो प्रयासमा दृढ रहँदै र परमेश्‍वरको विरुद्धमा खडा हुँदै त्यसले परीक्षा गर्‍यो। यो कस्तो प्रकारको प्रकृति हो? के यो दुष्ट होइन र? मानौँ परमेश्‍वरलाई उल्‍लेख गर्दा मानिस क्रोधित हुन्छ अनि रिसले चूर हुन्छ; के उसले परमेश्‍वरलाई देखेको हुन्छ? के परमेश्‍वर को हुनुहुन्छ भन्‍ने उसलाई थाहा हुन्छ? परमेश्‍वर को हुनुहुन्छ भन्‍ने उसलाई थाहा हुँदैन, उहाँमा विश्‍वास गर्दैन, अनि परमेश्‍वर ऊसँग बोल्‍नुभएको हुँदैन। परमेश्‍वरले उसलाई कहिल्यै कष्ट दिनुभएको छैन, त्यसोभए ऊ किन रिसाउँछ? के हामी यो व्यक्ति दुष्ट छ भनेर भन्‍न सक्छौँ? सांसारिक चलनचल्ती, खुवाइ पियाइ, अनि सुख-चैनको खोजी, अनि सेलिब्रेटीहरूको पछि दगुर्ने—यीमध्ये कुनै पनि कुराले त्यस्तो मानिसलाई झिज्याउँदैन। तैपनि, “परमेश्‍वर” भन्‍ने शब्‍द, वा परमेश्‍वरको वचनको सत्यतालाई उल्‍लेख गर्ने बित्तिकै, ऊ रिसले चूर भइहाल्छ। के यसले दुष्ट प्रकृति हुनुलाई जनाउँदैन र? यो मानिसको दुष्ट प्रकृति हो भनेर प्रमाणित गर्न यो नै पर्याप्त छ। अब तिमीहरूको आफ्‍नै बारेमा भनौँ, सत्यताको बारेमा उल्‍लेख गर्दा वा मानवजातिलाई परमेश्‍वरले गर्नुभएका परीक्षाहरू वा मानिसको विरुद्ध परमेश्‍वरका न्यायका वचनहरूको बारेमा उल्‍लेख गर्दा, तिमीहरूलाई घृणा लागेको छ: तिमीहरूलाई कति पनि मन नपरेको, र तिमीहरूले त्यस्ता कुराहरू सुन्‍न नचाहेको त्यस्तो कुनै समयहरू छन्? तिमीहरूको हृदयले सोच्‍ला: “के सबै मानिसहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर भन्दैनन् र? यीमध्ये कतिपय वचनहरू सत्यता होइनन्! स्पष्ट रूपमा नै ती मानिसप्रति परमेश्‍वरले दिनुभएको चेतावनीका वचनहरू मात्रै हुन्!” कतिपय मानिसहरूले आफ्‍नो हृदयमा अत्यन्तै धेरै घृणाको अनुभव समेत गरेर विचार गर्न सक्छन्: “यसको बारेमा त दिनहुँ बताइन्छ—उहाँका परीक्षाहरू, उहाँको न्याय, यो कहिले सकिन्छ? हामीले कहिले असल गन्तव्य प्राप्त गर्नेछौँ?” यो अनुचित रिस कहाँबाट आउँछ भन्‍ने थाहा छैन। यो कस्तो प्रकारको प्रकृति हो? (दुष्ट प्रकृति।) यसलाई शैतानको दुष्ट प्रकृतिले निर्देशित र अगुवाइ गर्छ। शैतानको दुष्ट प्रकृति र मानिसको भ्रष्ट स्वभावलाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले कहिल्यै पनि मानिसहरूसँग विवाद गर्ने वा तिनीहरूका विरुद्ध ईख राख्‍ने गर्नुहुन्‍न, अनि मानिसहरूले मूर्खतापूर्ण काम गर्दा उहाँले कहिल्यै पनि कोलाहल मच्‍चाउनुहुन्‍न। परमेश्‍वरले वस्तुहरूप्रति र मानवजातिप्रति उस्तै दृष्टिकोणहरू राख्‍नुभएको तैँले कहिल्यै देख्‍नेछैनस्, यसको साथै, समस्याहरूलाई सम्‍हाल्‍नका लागि उहाँले मानवजातिको दृष्टिकोण, ज्ञान, विज्ञान, दर्शनशास्‍त्र वा कल्‍पनाको प्रयोग गरेको तैँले कहिल्यै देख्‍नेछैनस्। बरु, परमेश्‍वरले गर्नुहुने सबै कुरा अनि उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यतासँग गाँसिएको हुन्छ। अर्थात्, उहाँले भन्‍नुभएको हरेक वचन अनि उहाँले गर्नुभएको हरेक कार्य सत्यतासँग बाँधिएको हुन्छ। यो सत्यता कुनै आधारहीन कल्‍पनाको उपज होइन; परमेश्‍वरले उहाँको सार र उहाँको जीवनको सद्गुणद्वारा यो सत्यता र यी वचनहरूलाई व्यक्त गर्नुहुन्छ। यी वचनहरू अनि परमेश्‍वरले गर्नुभएको हरेक कुराको सार सत्यता नै भएकोले, परमेश्‍वरको सार पवित्र छ भनेर हामी भन्‍न सक्छौं। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले भन्‍नुहुने अनि गर्नुहुने सबै कुराले मानिसहरूमा जीवन-शक्ति र ज्योति ल्याउँछ, मानिसहरूलाई सकारात्मक कुराहरू अनि ती सकारात्मक कुराहरूको वास्तविकतालाई देख्‍ने तुल्याउँछ, अनि मानवजातिको लागि मार्ग देखाउँछ ताकि तिनीहरू सही मार्गमा हिँड्न सकून्। यी सबै कुराहरूलाई परमेश्‍वरको सार र उहाँको पवित्रताको सारले निर्धारित गरेका हुन्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश १४६

शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू)

मत्ती ४:८-११  फेरि, दियाबलसले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले लम्‍पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु। तब येशूले त्यसलाई भन्‍नुभयो, यहाँबाट गइहाल्, शैतान: किनकि यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू। तब दुष्टले उहाँलाई छोड्यो र स्वर्गदूतहरू आएर उहाँको सेवा गरे।

अघिल्‍ला दुई षड्यन्त्रमा असफल भइसकेपछि दियाबलस शैतानले फेरि अर्को प्रयास गर्‍यो: त्यसले संसारका सबै राज्यहरू र तिनीहरूको वैभव प्रभु येशूलाई देखायो अनि मलाई आराधना गर्नुहोस् भनी उहाँलाई भन्यो। यो परिस्थितिबाट तिमीहरूले दियाबलसको साँचो विशेषताहरूको बारेमा के देख्‍न सक्छौ? के दियाबलस शैतान पूर्णतया लाज विहीन छैन र? (छ।) यो कसरी लाज विहीन छ? परमेश्‍वरले नै सबै थोक सृष्टि गर्नुभएको थियो, तैपनि शैतानले फर्केर परमेश्‍वरलाई सबै थोक देखायो अनि भन्यो, “यी सबै राज्यहरूका सम्पत्ति र वैभवलाई हेर्नुहोस्। यदि तपाईंले मलाई आराधना गर्नुभयो भने ती सबै म तपाईंलाई दिनेछु।” के यो भूमिकालाई पूर्ण रूपमा उल्ट्याउने कार्य होइन र? के शैतान लाज विहीन छैन र? परमेश्‍वरले नै सबै थोक बनाउनुभयो, तर के उहाँले आफ्‍नै आनन्दको लागि सबै थोक बनाउनुभयो र? परमेश्‍वरले सबै कुरा मानवजातिलाई दिनुभयो, तर शैतानले यी सबै जफत गर्न चाहन्थ्यो अनि यो सबै जफत गरिसकेपछि, त्यसले परमेश्‍वरलाई भन्यो, “मेरो आराधना गर्नुहोस्! मलाई आराधना गर्नुहोस् अनि यो सबै म तपाईंलाई दिनेछु।” यो शैतानको कुरूप अनुहार हो; यो पूर्ण रूपमा लाज विहीन छ! शैतानलाई “लाज” भन्‍ने शब्‍दको अर्थ समेत थाहा छैन। यो त्यसको दुष्टताको अर्को उदाहरण मात्रै हो। त्यसलाई लाज के हो भन्‍ने समेत थाहा छैन। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र उहाँले सबै थोकलाई व्यवस्थापन गर्नुहुन्छ अनि तीमाथि उहाँकै प्रभुत्व छ भन्‍ने शैतानलाई स्पष्टै थाहा छ। सबै थोक मानिसको होइन, अनि शैतानको त झन् हुँदै होइन, तर ती सबै परमेश्‍वरको स्वामित्वमा छन्, तैपनि दियाबलस शैतानले निर्धक्‍कसाथ ती सबै थोक परमेश्‍वरलाई दिनेछु भनी भन्यो। के यो शैतानले फेरि मूर्खतापूर्ण र लाजमर्दो तरिकाले कार्य गरेको अर्को उदाहरण होइन र? यसले परमेश्‍वरलाई शैतानको अझै बढी घृणा गर्ने तुल्याउँछ, तुल्याउँदैन र? तैपनि शैतानले जस्तोसुकै प्रयास गरे पनि, के प्रभु येशू मूर्ख हुनुभयो त? प्रभु येशूले के भन्‍नुभयो? (“तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।”) के यी वचनहरूको व्यवहारिक अर्थ छ? (छ।) कस्तो प्रकारको व्यवहारिक अर्थ? हामीले शैतानको बोलीमा त्यसको दुष्टता र लाज विहीनतालाई देख्छौं। तसर्थ यदि मानिसले शैतानको आराधना गर्‍यो भने, परिणाम के हुनेछ? के तिनीहरूले सबै राज्यहरूको सम्पत्ति र वैभव प्राप्त गर्नेछन्? (गर्नेछैनन्।) तिनीहरूले के प्राप्त गर्नेछन्? के मानवजाति शैतानजस्तै लाज विहीन र हाँसउठ्दो बन्‍नेछ? (हो।) त्यसो भए तिनीहरू शैतानभन्दा फरक हुनेछैनन्। त्यसकारण, प्रभु येशूले यी वचनहरू भन्‍नुभयो, जुन हरेक मानवजातिको लागि महत्त्वपूर्ण छन्: “तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू।” यसको अर्थ के हो भने, यदि तैँले प्रभुलाई बाहेक, परमेश्‍वर स्वयम्‌लाई बाहेक, अर्कोलाई सेवा गरिस् भने, यदि तैँले दियाबलस शैतानको आराधना गरिस् भने, तँ पनि शैतानजस्तै त्यही दुष्कर्ममा डुब्‍नेछस्। त्यसपछि तँ शैतानको लाज विहीनता र त्यसको दुष्टतामा सहभागी हुनेछस्, अनि शैतानले जस्तै तैँले पनि परमेश्‍वरलाई परीक्षा गर्नेछस् र परमेश्‍वरलाई आक्रमण गर्नेछस्। त्यसपछि तेरो लागि परिणाम के हुनेछ? तँलाई परमेश्‍वरले घृणा गर्नुहुनेछ, परमेश्‍वरले प्रहार गर्नुहुनेछ, नास गर्नुहुनेछ। कुनै सफलता विना नै धेरै पटक शैतानले प्रभु येशूलाई परीक्षा गरिसकेपछि, के त्यसले फेरि प्रयास गर्‍यो त? शैतानले फेरि प्रयास गरेन, अनि त्यसपछि त्यो गयो। यसले के प्रमाणित गर्छ? यसले शैतानको दुष्ट प्रकृति, त्यसको बदख्‍वाइँ, अनि त्यसको मूर्खता र निरर्थकता परमेश्‍वरको सामुन्ने उल्‍लेख गर्न समेत योग्य छैनन् भन्‍ने प्रमाणित गर्छ। प्रभु येशूले केवल तीन वाक्यले शैतानलाई हराउनुभयो, त्यसपछि लाजले अनुहार देखाउन नसकी आफ्‍नो पुच्छर लुरुक्‍क पारेर, त्यो दगुरेर गयो, अनि प्रभु येशूलाई फेरि कहिल्यै परीक्षा गरेन। प्रभु येशूले शैतानको यो परीक्षालाई जित्‍नुभएको हुनाले, अब उहाँले आफूले गर्नुपर्ने र वहन गर्नुपर्ने कार्यहरूलाई उहाँले सहजै जारी राख्‍न सक्‍नुभयो। के प्रभु येशूले यो परिस्थितिमा गर्नुभएको र भन्‍नुभएको सबै कुरालाई वर्तमान दिनमा लागू गर्ने हो भने त्यसले हरेक मानवजातिको लागि कुनै व्यवहारिक अर्थ दिन्छ? (दिन्छ।) कस्तो प्रकारको व्यवहारिक अर्थ? के शैतानलाई हराउनु सहज कुरा थियो? के मानिसहरूसँग शैतानको दुष्ट प्रकृतिको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ? के मानिसहरूसँग शैतानका परीक्षाहरूको बारेमा ठीक बुझाइ हुनुपर्छ? (हुनुपर्छ।) जब तैँले आफ्‍नो जीवनमा शैतानका परीक्षाहरूको अनुभव गर्छस्, यदि तैँले शैतानका दुष्ट प्रकृतिलाई देख्‍न सक्थिस् भने, के तँ त्यसलाई हराउन सक्‍नेथिइनस्? यदि तँलाई शैतानको मूर्खता र निरर्थकताको बारेमा थाहा थियो भने, के तँ अझै पनि शैतानको पक्षमा खडा भएर परमेश्‍वरलाई आक्रमण गर्नेथिइस्? शैतानको बदख्‍वाइँ र लाज विहीनता तँ मार्फत कसरी प्रकट हुन्छ भन्‍ने तैँले बुझिस् भने—यदि तैँले यी कुराहरूलाई स्पष्ट रूपमा पहिचान गरिस् र बुझिस् भने—के तँ अझै पनि यसरी परमेश्‍वरलाई आक्रमण र परीक्षा गर्नेथिइस्? (होइन, हामी गर्नेथिएनौँ।) तिमीहरूले के गर्नेथियौ? (हामीले शैतानको विरुद्धमा विद्रोह गरेर त्यसलाई धपाउनेथियौँ।) के यसो गर्नु सजिलो छ? यो सजिलो छैन। यसो गर्नको लागि, मानिसहरूले बारम्‍बार प्रार्थना गर्नैपर्छ, तिनीहरूले आफैलाई बारम्बार परमेश्‍वरको अघि राख्‍नुपर्छ अनि आफैलाई जाँच्‍नुपर्छ। अनि तिनीहरूले परमेश्‍वरको अनुशासन र उहाँको न्याय अनि सजाय तिनीहरूमाथि आउन दिनुपर्छ। यसरी मात्रै मानिसहरूले आफूलाई शैतानद्वारा भ्रममा पारिन र नियन्त्रित हुनबाट बिस्तारै मुक्त गर्न सक्‍नेछन्।

अब, शैतानले बोलेका यी वचनहरूलाई हेरेर, हामी शैतानको सार निर्माण गर्ने कुराहरूलाई सारांशित गर्नेछौँ। पहिलो, सामान्यतया शैतानको सार दुष्ट छ भनेर भन्‍न सकिन्छ, जुन परमेश्‍वरको पवित्रताको विपरीत हो। शैतानको सार दुष्ट छ भनेर म किन भन्छु त? यस प्रश्‍नको उत्तर दिनको लागि, मानिसहरूलाई शैतानले जे गर्छ त्यसका परिणामहरूलाई छानबिन गर्नुपर्छ। शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ र नियन्त्रण गर्छ, अनि मानिसले शैतानको भ्रष्ट स्वभावको अधीनमा काम गर्छ, अनि ऊ शैतानले भ्रष्ट तुल्याएका मानिसहरूको संसारमा जिउँछ। पत्तै नपाई मानवजातिलाई शैतानले नियन्त्रण गर्छ र आफूमा समाहित गराउँछ; त्यसकारण, मानिसमा शैतानको भ्रष्ट स्वभाव हुन्छ, जुन शैतानको प्रकृति हो। शैतानले भनेको र गरेको सबै कुराबाट, के तिमीहरूले त्यसको अहङ्कार देखेका छौ? के तिमीहरूले त्यसको धोका र बदख्‍वाइँ देखेका छौ? शैतानको अहङ्कार प्राथमिक रूपमा कसरी देखिन्छ? के शैतानलाई सधैँ परमेश्‍वरको स्थान लिने इच्‍छा हुन्छ? शैतानले सधैँ परमेश्‍वरको कार्य, र परमेश्‍वरको स्थानलाई ढलाएर आफ्‍नो निम्ति लिन चाहन्छ, ताकि मानिसहरूले शैतानलाई पछ्याऊन्, साथ दिऊन्, र आराधना गरून्; शैतानको अहङ्कारी प्रकृति यही नै हो। जब शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ, तिनीहरूले के गर्नुपर्छ भनेर त्यसले तिनीहरूलाई सीधै भन्छ र? जब शैतानले परमेश्‍वरको परीक्षा गर्छ, तब के त्यसले आएर “मैले तँलाई परीक्षा गर्न लागेको छु, म तँलाई आक्रमण गर्नेछु” भनेर भन्छ र? त्यसले अवश्य नै यसो भन्दैन। त्यसो भए, शैतानले कुन विधिको प्रयोग गर्छ? यसले प्रलोभनमा पार्छ, परीक्षा गर्छ, आक्रमण गर्छ, अनि पासोहरू थाप्छ, र धर्मशास्‍त्रका खण्डहरूलाई समेत उद्धृत गर्छ। शैतानले आफ्ना कुटिल उद्देश्यहरूलाई हासिल गर्न र आफ्ना अभिप्रायहरूलाई पूरा गर्न विभिन्‍न तरिकाले बोल्छ र कार्य गर्छ। शैतानले यसो गरेपछि, मानिसमा प्रकट हुने कुराबाट के देख्‍न सकिन्छ? के मानिसहरू पनि अहङ्कारी बन्दैनन् र? मानिसले हजारौँ वर्षदेखि शैतानको भ्रष्टतालाई भोगेको छ, त्यसकारण मानिस अहङ्कारी, धोकेबाज, दुर्भावनापूर्ण, र तर्क विहीन बनेको छ। यी सबै कुराहरू शैतानको प्रकृतिको कारण आएका हुन्। शैतानको प्रकृति नै दुष्ट भएको हुनाले, त्यसले मानिसलाई यो दुष्ट प्रकृति दिएको छ अनि मानिसमा यस दुष्ट, र भ्रष्ट स्वभाव ल्याएको छ। त्यसकारण, मानिस भ्रष्ट शैतानी स्वभावमा जिउँछ, अनि शैतानले जस्तै, उसले परमेश्‍वरको विरोध गर्छ, परमेश्‍वरलाई आक्रमण गर्छ, अनि उहाँको परीक्षा गर्छ, यहाँसम्‍म कि मानिसले परमेश्‍वरलाई आराधना गर्नै सक्दैन अनि ऊसँग परमेश्‍वरको डर मान्‍ने हृदय नै हुँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश १४७

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ

के ज्ञान भनेको सबैले सकारात्मक ठान्‍ने गरेको कुरा हो? मानिसहरूले कम्तीमा पनि, “ज्ञान” भन्‍ने शब्‍दको अर्थ नकारात्मक होइन, सकारात्मक हो भन्‍ने सोच्छन्। त्यसो भए, शैतानले मानिसलाई भ्रष्ट तुल्याउनको लागि ज्ञानको प्रयोग गर्छ भनेर किन हामी यहाँ उल्‍लेख गरिरहेका छौँ त? के क्रमिक विकासको सिद्धान्त ज्ञानको एउटा पक्ष होइन र? के न्यूटनको वैज्ञानिक नियमहरू ज्ञानकै भाग होइनन् र? पृथ्वीको गुरुत्वाकर्षण बल पनि ज्ञानकै भाग हो, होइन र? (हो।) त्यसो भए, किन मानवजातिलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने कुराहरूमाझ ज्ञानलाई सूचीकृत गरिन्छ? यसमा तिमीहरूको दृष्टिकोण के छ? के ज्ञानमा एक थोपा सत्यता समेत हुन्छ र? (हुँदैन।) त्यसो भए, ज्ञानको सार के हो त? मानिसले प्राप्त गर्ने सबै ज्ञान कुन आधारमा सिकिन्छ? के यो क्रमिक विकासको सिद्धान्तमा आधारित छ? के मानिसले अन्वेषण र सङ्कलन गरेर हासिल गरेको ज्ञान नास्तिकतामा आधारित छैन र? के परमेश्‍वरसँग यीमध्ये कुनै पनि ज्ञानको सम्‍बन्ध छ? के यो परमेश्‍वरलाई आराधना गर्ने कार्यसँग जोडिएको छ? के यो सत्यतासँग जोडिएको छ? (छैन।) त्यसो भए, मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ त? मैले भर्खरै भनेँ, यो कुनै पनि ज्ञान परमेश्‍वरको आराधना गर्ने कार्यसँग वा सत्यतासँग जोडिएको छैन। कतिपय मानिसहरूले यसको बारेमा यस्तो विचार गर्छन्: “सत्यतासँग ज्ञानको कुनै सम्‍बन्ध नहुन सक्छ, तर यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैन।” यसबारे तिमीहरूको दृष्टिकोण के छ? के व्यक्तिले आफ्‍नो खुशी उसको आफ्‍नै हातले निर्माण गर्नुपर्छ भनेर तँलाई ज्ञानले सिकायो? के ज्ञानले तँलाई मानिसको नियति उसको आफ्‍नै हातमा हुन्छ भनेर सिकायो? (सिकायो।) यो कस्तो प्रकारको गफ हो? (यो दुष्ट कुरा हो।) एकदम ठीक! यो दुष्ट कुरा हो! ज्ञान भनेको छलफल गर्नको लागि एउटा जटिल विषय हो। ज्ञानको क्षेत्र ज्ञानभन्दा बढी केही पनि होइन भनेर तिमीहरूले उल्‍लेख गर्न सक्छौ। त्यो त परमेश्‍वरलाई आराधना नगरीकन अनि परमेश्‍वरले सबै थोक बनाउनुभएको हो भन्‍ने नबुझीकन त्यसैको आधारमा सिकिएको ज्ञानको क्षेत्र हो। जब मानिसहरूले यस प्रकारको ज्ञानको अध्ययन गर्छन्, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता सबै थोकमाथि छ भन्‍ने कुरालाई देख्‍दैनन्; तिनीहरूले परमेश्‍वर सबै थोकका मालिक हुनुहुन्छ वा उहाँले सबै थोकको व्यवस्थापन गरिरहनुभएको छ भन्‍ने कुरालाई देख्दैनन्। बरु, तिनीहरूले अटुट रूपमा ज्ञानको क्षेत्रलाई अनुसन्धान र अन्वेषण मात्रै गर्छन्, अनि ज्ञानकै आधारमा उत्तरहरूको खोजी मात्रै गर्छन्। तर, मानिसहरूले परमेश्‍वरमा विश्‍वास नगरी अनुसन्धान मात्रै गर्छन् भने, तिनीहरूले कहिल्यै पनि साँचो उत्तरहरू भेट्टाउनेछैनन् भन्‍ने कुरा साँचो होइन र? ज्ञानले तँलाई दिने भनेको जीविका, जागिर, आम्दानी मात्रै हो, ताकि तँ भोकै बस्‍न नपरोस्; तर यसले तँलाई कहिल्यै पनि परमेश्‍वरलाई आराधना गर्ने तुल्याउनेछैन, अनि यसले तँलाई दुष्टताबाट कहिल्यै अलग राख्‍नेछैन। मानिसहरूले ज्ञानको जति धेरै अध्ययन गर्छन्, त्यति नै बढी परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने, तिनीहरूका अध्ययनहरूमा परमेश्‍वरलाई अध्ययनको विषय बनाउने, परमेश्‍वरको परीक्षा लिने, र परमेश्‍वरको विरोध गर्ने तिनीहरूले इच्‍छा गर्नेछन्। त्यसैले, अहिले हामी ज्ञानले मानिसहरूलाई के सिकाइरहेको छ भन्‍ने देख्छौँ? यो सबै शैतानको सिद्धान्त हो। के भ्रष्ट मानिसहरूका बीचमा शैतानले फैलाएको अस्तित्वका सिद्धान्त र नियमहरूले सत्यतासँग कुनै सम्‍बन्ध राख्छन? सत्यतासँग तिनीहरूको कुनै सम्‍बन्ध छैन, र वास्तवमा, ती सत्यताभन्दा विपरीत छन्। मानिसहरू प्रायजसो भन्‍ने गर्छन्, “जीवन चलायमान छ” र “भात स्टील हो भने मानिस फलाम, एक छाक नखाँदा जान खोज्छ प्राण”; यस्ता भनाइहरू के हुन् त? ती भ्रम हुन्, अनि तिनलाई सुन्दा दिक्‍क लागेर आउँछ। मानिसको तथाकथित ज्ञानमा, शैतानले संसारसँग व्यवहार गर्ने दर्शन र त्यसको सोचाइ धेरै नै हालिदिएको हुन्छ। अनि शैतानले यसो गर्ने क्रममा, मानिसले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्न, सबै थोकमाथि र मानिसको भाग्यमाथिको परमेश्‍वरको प्रभुत्वलाई इन्कार गर्न सकोस् भनेर त्यसले मानिसलाई त्यसको सोचाइ, सिद्धान्त, र दृष्टिकोण अपनाउने तुल्याउँछ। त्यसकारण मानिसले प्रगतिको अध्ययन गर्ने क्रममा र उसले अझै बढी ज्ञान प्राप्त गर्ने क्रममा, उसले परमेश्‍वरको अस्तित्व अस्पष्ट भएको अनुभव गर्छ, र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने समेत उसले अनुभव गर्नछोड्छ। शैतानले मानिसको मनमस्तिष्कमा केही निश्‍चित दृष्टिकोण, धारणा, र विचारहरू हालिदिएको हुनाले, जब शैतानले मानिसभित्र यो विष हालिसकेको हुन्छ, तब के मानिस शैतानद्वारा भ्रममा पारिएको र भ्रष्ट तुल्याइएको हुँदैन र? अब तिमीहरू के भन्छौ, आजका मानिसहरू के कुराको आधारमा जिउँछन्? के तिनीहरू शैतानले तिनीहरूमा हालिदिएको ज्ञान र विचाहरूद्वारा जिउँदैनन् र? अनि, यो ज्ञान र यी विचारहरूभित्र लुकेका कुराहरू—के ती शैतानका दर्शन र विषहरू होइनन् र? मानिस शैतानका दर्शन र विषहरूद्वारा जिउँछ। अनि, शैतानका दर्शन र विषहरूको केन्द्रबिन्दुमा के हुन्छ? शैतानले आफूले जस्तै मानिसलाई पनि परमेश्‍वरलाई इन्कार गर्न, विरोध गर्न र उहाँविरुद्ध उभिन लगाउँछ; मानिसलाई भ्रष्ट तुल्याउनुपछाडि रहेको शैतानको लक्ष्य यही हो, र यही नै शैतानले मानिसलाई भ्रष्ट तुल्याउने माध्यम पनि हो।

हामी ज्ञानको सबैभन्दा सतही पक्षलाई सम्‍बोधन गर्दै सुरु गर्नेछौँ। के भाषाहरूका व्याकरण र शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? के शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैनन्; ती त मानिसहरूले बोल्‍नको लागि प्रयोग गर्ने साधन हुन् र ती मानिसहरूले परमेश्‍वरसँग कुराकानी गर्ने साधन पनि हुन्, वर्तमानमा, परमेश्‍वरले भाषा र शब्‍दहरूद्वारा नै मानिसहरूसँग कुराकानी गर्नुहुन्छ भन्‍ने कुरालाई उल्‍लेख गरिरहनु नपर्ला। ती साधनहरू हुन्, अनि ती अत्यावश्यक कुराहरू हुन्। एक जोड एक दुई हुन्छ, र दुई गुणा दुई चार हुन्छ; के यो ज्ञान होइन र? तर के यसले तँलाई भ्रष्ट तुल्याउन सक्छ? यो आम ज्ञान हो—यो एक निश्‍चित ढाँचा हो—र यसले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्दैन। त्यसो भए कस्तो प्रकारको ज्ञानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ? भ्रष्ट तुल्याउने ज्ञान भनेको शैतानका दृष्टिकोण र विचारहरूसँग मिश्रित भएको ज्ञान हो। शैतानले ज्ञानको माध्यमद्वारा यी दृष्टिकोण र विचारहरूलाई मानवजातिमा हालिदिन खोज्छ। उदाहरणको लागि, कुनै निबन्धमा, लिखित शब्‍दहरू आफै गलत हुँदैनन्। लेखकले लेख लेख्दा जुन दृष्टिकोण र अभिप्रायले लेख्छ त्यसमा, र साथसाथै तिनीहरूको विचारको विषयवस्तुमा समस्या हुन्छ। यी कुराहरू आत्माका कुराहरू हुन्, अनि तिनले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्। उदाहरणको लागि, यदि तैँले टेलिभिजन कार्यक्रम हेरिरहेको थिइस् भने, यसका के-कस्ता कुराहरूले मानिसहरूको दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्? के कलाकारले जे भन्छ त्यसले, शब्‍दहरू स्वयम्‌ले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्? (सक्दैनन्।) के-कस्ता कुराहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँछन्? कार्यक्रमको मूल विचार र विषयवस्तुले यसो गर्ने गर्छ, जसले निर्देशकको दृष्टिकोणहरूलाई प्रतिनिधित्व गर्छ। यी दृष्टिकोणहरूमा रहेको जानकारीले मानिसहरूको हृदय र मनलाई बहकाउन सक्छ। त्यस्तै हो नि होइन र? मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञानको प्रयोग गर्छ भन्‍ने सम्‍बन्धी मेरो छलफलमा मैले केलाई उल्‍लेख गरिरहेको छु सो अब तिमीहरूलाई थाहा भयो। तिमीहरूले गलत रूपमा बुझ्‍नेछैनौ, होइन त? त्यसकारण अर्को पटक तैँले उपन्यास वा निबन्ध पढ्दा, के तैँले लिखित शब्‍दहरूमा व्यक्त गरिएका विचारहरूले मानवजातिलाई भ्रष्ट तुल्याउँछन् कि मानवजातिमा योगदान दिन्छन् भनी मूल्याङ्कन गर्न सक्छस्? (सक्छु, थोरै हदसम्‍म।) यो बिस्तारै अध्ययन र अनुभव गर्नुपर्ने कुरा हो, र यो तुरुन्तै सहज रूपमा बुझिने कुरा होइन। उदाहरणको लागि, ज्ञानको क्षेत्र अनुसन्धान गर्ने वा अध्ययन गर्ने क्रममा, ज्ञानका कतिपय सकारात्मक पक्षहरूले मानिसहरूलाई तिनीहरू के कुराबाट अलग बस्‍नुपर्छ भन्‍ने कुरा जान्‍न सक्षम तुल्याउँदै, त्यस क्षेत्रको आधारभूत ज्ञान बुझ्‍न सहायता गर्न सक्छ। उदाहरणको लागि, “विद्युत्” लाई लिऊँ—यो ज्ञानको एउटा क्षेत्र हो, होइन र? विद्युतले मानिसहरूलाई झट्का लगाउन र चोट पुर्‍याउन सक्छ भन्‍ने तँलाई थाहा थिएन भने, के तँ अज्ञानी हुनेथिइनस् र? तर तैँले ज्ञानको यो क्षेत्रलाई बुझिसकेपछि, विद्युतीय करेन्ट बग्‍ने वस्तुहरूलाई छुने बारेमा तँ लापरवाह हुनेछैनस्, अनि विद्युतको प्रयोग कसरी गर्ने भन्‍ने बारेमा तँलाई थाहा हुनेछ। यी दुवै सकारात्मक कुराहरू हुन्। ज्ञानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्‍ने विषयमा हामीले के छलफल गर्दै आइरहेका थियौँ भन्‍ने बारेमा के तँ अब स्पष्ट छस्? संसारमा विभिन्‍न प्रकारका ज्ञान अध्ययन गरिन्छ, र तिनलाई आफ्‍नो लागि अलग गर्नको लागि तिमीहरूले आफै समय निकाल्नुपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश १४८

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी विज्ञानको प्रयोग गर्छ

विज्ञान के हो? के हरेक व्यक्तिले आफ्‍नो मनमा विज्ञानलाई उच्‍च आदरको साथ हेर्ने र अत्यन्तै गहन ठान्‍ने गर्दैनन् र? विज्ञानलाई उल्‍लेख गर्दा, के मानिसहरूले यस्तो अनुभव गर्दैनन् र: “यो सर्वसाधारण मानिसहरूको पहुँचभन्दा बाहिरको कुरा हो; यो वैज्ञानिक शोधकर्ता वा विशेषज्ञहरूले मात्रै छुन सक्‍ने विषय हो; हामीजस्ता साधारण मानिसहरूसँग यसको कुनै सम्‍बन्ध हुँदैन”? के सर्वसाधारण मानिसहरूसँग यसको कुनै सम्‍बन्ध हुन्छ? (हुन्छ।) मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी विज्ञानको प्रयोग गर्छ? यहाँको हाम्रो छलफलमा, हामी मानिसहरूले आफ्‍नो जीवनमा बारम्‍बार भोग्‍ने कुराहरूका बारेमा मात्रै कुरा गर्नेछौँ, र अरू विषयहरूलाई बेवास्ता गर्नेछौँ। “वंशाणु” भन्‍ने एउटा शब्‍द छ। के तिमीहरूले यसको बारेमा सुनेका छौ? तिमीहरू सबैजना यो शब्‍दप्रति परिचित छौ। के विज्ञानद्वारा नै वंशाणु पत्ता लगाइएको थिएन र? मानिसहरूको लागि वंशाणुले खास के अर्थ दिन्छ? के तिनले मानिसहरूलाई शरीर रहस्यमय कुरा हो भन्‍ने अनुभव गराउँदैन र? जब मानिसहरूलाई यो विषयमा परिचित गराइन्छ, के त्यस्ता मानिसहरू हुनेछैनन् र, जो झन्-झन् बढी जान्‍न र थप विवरण पाउन चाहन्छन्, विशेष गरी, जिज्ञासु मानिसहरू? यी जिज्ञासु मानिसहरूले यस विषयमा आफ्‍नो ऊर्जा केन्द्रित गर्नेछन् र तिनीहरूसँग अरू काम नहुँदा, तिनीहरूले यसकै बारेमा थप जान्‍नका लागि पुस्तक-पुस्तिकामा र इन्टरनेटमा जानकारीको खोजी गर्नेछन्। विज्ञान के हो त? सरल रूपमा भन्दा, विज्ञान भनेको मानिस जिज्ञासु भएका कुराहरू, अज्ञात कुराहरू, अनि परमेश्‍वरले नबताउनुभएका कुराहरू सम्‍बन्धी विचार र सिद्धान्तहरू हुन्; विज्ञान भनेको मानिसले अन्वेषण गर्न चाहने रहस्यहरू सम्‍बन्धी विचार र सिद्धान्तहरू हुन्। विज्ञानको क्षेत्र के हो त? तिमीहरूले यो अलि वृहत् छ भनेर भन्‍न सक्छौ; मानिसको रुचि जुन कुरामा छ उसले ती हरेकलाई अनुसन्धान र अध्ययन गर्छ। विज्ञान भनेको यिनै कुराहरूको बारेमा विवरण र नियमहरू अनुसन्धान गर्नु र स्वीकार्य सिद्धान्तहरूलाई अघि सार्नु हो, जसले सबैलाई “यी वैज्ञानिकहरू वास्तवमै सानदार छन्! तिनीहरूलाई यी कुराहरू बुझ्‍न चाहिने धेरै कुरा थाहा छ!” भनी सोच्‍ने तुल्याउँछ। वैज्ञानिकहरूप्रति तिनीहरूसँग धेरै नै सम्‍मान हुन्छ, हुँदैन त? विज्ञानको अनुसन्धान गर्ने मानिसहरू, तिनीहरूको दृष्टिकोण कस्तो हुन्छ त? के तिनीहरूले ब्रह्माण्डको अनुसन्धान गर्न, तिनीहरूको रुचिको क्षेत्रका रहस्यमय कुराहरूको अनुसन्धान गर्न चाहँदैनन् र? यसको अन्तिम परिणाम के हुन्छ त? कतिपय विज्ञानमा, मानिसहरूले अनुमानको आधारमा निष्कर्ष निकाल्छन्, अनि अरूमा निष्कर्षहरू निकाल्‍नको लागि तिनीहरू मानव अनुभवहरूमा भर पर्छन्। विज्ञानको अझै अरू क्षेत्रहरूमा, ऐतिहासिक र पृष्ठभूमि अवलोकनहरूका आधारमा मानिसहरूले निष्कर्ष निकाल्छन्। के यो यस्तै हो नि, होइन त? त्यसो भए, विज्ञानले मानिसहरूका लागि के गर्छ त? विज्ञानले मानिसहरूलाई भौतिक संसारमा भएका वस्तुहरूलाई देख्‍ने तुल्याउने, र मानिसको जिज्ञासालाई मेटाउने काम मात्रै गर्छ, तर यसले मानिसलाई परमेश्‍वरले कुन नियमहरूद्वारा सबै कुराहरूमा प्रभुत्व राख्‍नुहुन्छ सो देख्न सक्षम तुल्याउँदैन। मानिसले विज्ञानमा उत्तरहरू भेट्टाउँछ भन्‍ने देखिन्छ, तर ती उत्तरहरू बुझ्‍न गाह्रो हुन्छ र त्यसले अस्थाई सन्तुष्टि मात्रै ल्याउँछ, जुन मानिसको हृदयलाई भौतिक संसारमा सीमित गर्ने सन्तुष्टि हो। मानिसले आफूहरूले विज्ञानबाट उत्तरहरू प्राप्त गरेको अनुभव गर्छन्, त्यसकारण जुनसुकै समस्याहरू पैदा भए पनि त्यस समस्यालाई प्रमाणित गर्न र स्वीकार गर्नको लागि तिनीहरूले आफ्ना वैज्ञानिक दृष्टिकोणहरू प्रयोग गर्छन्। मानिसको हृदय विज्ञानको प्रलोभनमा पर्छ र यो यति हदसम्म त्यसको पकडमा पर्छ कि ऊसँग परमेश्‍वरलाई चिन्‍ने, परमेश्‍वरको आराधना गर्ने, अनि सबै कुराहरू उहाँबाट नै आउँछ अनि उत्तरहरूको लागि मानिसले उहाँलाई नै हेर्नुपर्छ भनी विश्‍वास गर्ने मन नै हुँदैन। के यो यस्तै होइन त? व्यक्तिले विज्ञानमा जति धेरै विश्‍वास गर्छ, तिनीहरू त्यति नै धेरै मूर्ख बन्छन् अनि तिनीहरूले हरेक कुराको वैज्ञानिक समाधान हुन्छ, अनुसन्धानले जुनसुकै समस्यालाई पनि समाधान गर्नसक्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरको खोजी गर्दैनन् र तिनीहरूले उहाँ अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्; परमेश्‍वरमा लामो समयदेखि विश्‍वास गर्ने धेरै मानिसहरूले समस्याको सामना गर्दा खोजी गरेर उत्तरहरू पत्ता लगाउन कम्प्युटर प्रयोग गर्छन्; तिनीहरू वैज्ञानिक ज्ञानमा मात्र विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन्, परमेश्‍वरका वचनहरूले मानवजातिका सबै समस्याहरू समाधान गर्न सक्छन् भनेर विश्‍वास गर्दैनन्, तिनीहरूले मानवजातिका हरेक समस्याहरूलाई सत्यताको दृष्टिकोणले हेर्दैनन्। जस्तोसुकै समस्याको सामना गरे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरसँग प्रार्थना गर्दैनन् वा परमेश्‍वरका वचनहरूमा सत्यताको खोजी गरेर समाधान पहिल्याउने प्रयास गर्दैनन्। धेरै मामिलाहरूमा, तिनीहरू ज्ञानले नै समस्या समाधान गर्न सक्छ भन्‍ने विश्‍वास गर्न रुचाउँछन्; तिनीहरूको लागि, विज्ञान नै अन्तिम उत्तर हो। त्यस्ता मानिसहरूको हृदयमा परमेश्‍वर पटक्‍कै रहनुहुन्‍न। तिनीहरू अविश्‍वासीहरू हुन्, र परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तिनीहरूको दृष्टिकोण वैज्ञानिक विधिहरूको प्रयोग गरी परमेश्‍वरलाई जाँच्‍ने प्रयास गरिरहेका धेरै जना विशिष्ट शिक्षाविद र वैज्ञानिकहरूको भन्दा फरक हुँदैन। उदाहरणको लागि, धेरै धार्मिक विशेषज्ञहरू छन्, जसले जहाज अडिएको पर्वतमा गएर जहाजको अस्तित्वलाई प्रमाणित गरेका छन्। तर जहाजको स्वरूपमा तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई देख्दैनन्। तिनीहरूले कथा र इतिहासमा मात्रै विश्‍वास गर्छन्; यो तिनीहरूको वैज्ञानिक अनुसन्धान र भौतिक संसारको अध्ययनको परिणाम हो। चाहे त्यो सूक्ष्‍मजीव विज्ञान होस्, खगोल विज्ञान होस् वा भूगोल होस्, यदि तैँले भौतिक कुराहरूको अनुसन्धान गरिस् भने, तैँले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ वा सबै कुरामाथि उहाँको सार्वभौमिकता छ भन्‍ने कुरालाई निर्धारित गर्ने परिणाम कहिल्यै पनि भेट्टाउनेछैनस्। त्यसो भए विज्ञानले मानिसको लागि के गर्छ त? के यसले मानिसलाई परमेश्‍वरबाट अलग गर्दैन र? के यसले मानिसहरूलाई परमेश्‍वरलाई केवल अध्ययनहरूमा सीमित गर्ने तुल्याउँदैन र? के यसले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व, र सम्प्रभुताको बारेमा अझै बढी शङ्कालु बनाई परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन लगाउँदैन र? परिणाम यही नै हुन्छ। अनि, मानिसलाई भ्रष्ट तुल्याउनको लागि विज्ञानको प्रयोग गर्दा, शैतानले कुन उद्देश्य हासिल गर्न खोजिरहेको हुन्छ? यसले मानिसहरूलाई भ्रममा पार्न र भावशून्य बनाउनका लागि वैज्ञानिक निष्कर्षहरूको प्रयोग गर्न, अनि तिनीहरूले परमेश्‍वरको अस्तित्वको खोजी नगरून् वा त्यसमा विश्‍वास नगरून् भनेर मानिसहरूको हृदयलाई पक्रिराख्‍नको लागि अस्पष्ट उत्तरहरूको प्रयोग गर्न चाहन्छ। यही कारणले गर्दा, शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने मार्गहरूमध्ये एउटा विज्ञान हो भनेर म भन्छु।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश १४९

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी परम्‍परागत संस्कृतिको प्रयोग गर्छ

परम्‍परागत संस्कृतिको भागको रूपमा लिइने कुराहरू धेरै छन् कि छैनन्? (छन्।) यो “परम्‍परागत संस्कृति” को अर्थ के हो? कतिले भन्छन्, यो पुर्खाहरूदेखि चल्दैआएको कुरा हो—यो एउटा पक्ष हो। प्रारम्‍भदेखि नै, जीवनका शैलीहरू, रीतिरिवाज, भनाइ र नियमहरूलाई परिवारहरू, प्रजातीय समूहहरू र सम्पूर्ण मानवजातिमा समेत हस्तान्तरण गरिँदै आएको छ, र ती मानिसहरूको विचारहरूमा बसिसकेका छन्। मानिसहरूले तिनलाई तिनीहरूको जीवनको अभिन्न भाग ठान्छन् र ती जीवनकै भाग हुन् जस्तै गरी पालन गर्दै तिनलाई नियमहरू नै मान्छन्। वास्तवमा, तिनीहरूले यी कुराहरूलाई कहिल्यै परिवर्तन गर्न वा त्याग्‍न चाहँदैनन्, किनभने ती तिनीहरूका पितापुर्खाहरूबाट चल्दैआएका थिए। परम्‍परागत संस्कृतिका अरू पक्षहरू पनि छन् जुन मानिसहरूको मेरुदण्डमै गाडिएर रहेका छन्, जस्तै कन्फ्युसियस र मेन्सियसबाट हस्तान्तरण गरिँदै आएका कुराहरू, र चिनियाँ ताओवाद र कन्फ्युसियसवादले मानिसहरूलाई सिकाउने कुराहरू। के यो यस्तै हो नि, होइन त? परम्‍परागत संस्कृतिमा के-कस्ता कुराहरू समावेश हुन्छन्? के यसमा मानिसहरूले मनाउने चाडपर्वहरू पर्छन्? उदाहरणको लागि: वसन्त पर्व, लालटिन पर्व, चिहान बढार्ने दिवस, ड्र्यागन-डुङ्गा पर्व, साथै भूतप्रेत पर्व र मध्य-शरद पर्व। कतिपय परिवारहरूले घरको वृद्ध-वृद्धा निश्‍चित उमेरमा पुग्दा, वा बच्‍चा एक महिना वा एक सय दिनको उमेरमा पुग्दा समेत उत्सव मनाउँछन्। अनि आदि इत्यादि कुराहरू छन्। यी सबै परम्‍परागत चाडपर्वहरू हुन्। के यी चाडपर्वहरूमा परम्‍परागत संस्कृति अन्तर्निहित छैन र? परम्‍परागत संस्कृतिको मूल-तत्व के हो? के परमेश्‍वरलाई आराधना गर्ने कार्यसँग यसको कुनै सम्‍बन्ध छ? के मानिसहरूलाई सत्यताको अभ्यास गर्न लगाउनुसँग यसको कुनै सम्‍बन्ध छ? के मानिसहरूले परमेश्‍वरलाई बलिदान चढाउनको लागि, परमेश्‍वरको वेदीमा गएर उहाँका शिक्षाहरू प्राप्त गर्नको लागि कुनै चाडपर्वहरू छन्? के यस्ता कुनै चाडपर्व छन्? (छैनन्।) यी सबै चाडपर्वमा मानिसहरूले के गर्छन्? आधुनिक समयमा तिनलाई खाने, पिउने, र रमाइलो गर्ने समयको रूपमा हेरिन्छ। परम्‍परागत संस्कृतिको अन्तर्निहित स्रोत के हो? परम्‍परागत संस्कृति कोबाट आउँछ? यो शैतानबाट आउँछ। यी परम्‍परागत चाडपर्वहरूका पछाडि, शैतानले मानिसको मनमस्तिष्कमा निश्‍चित कुराहरू घुसाइदिन्छ। यी कुराहरू के-के हुन्? मानिसहरूले आफ्‍ना पितापुर्खाको स्मरण गर्ने कुरा निश्‍चित गर्नु—के तीमध्ये एउटा त्यही हो? उदाहरणको लागि, चिहान बढार्ने दिवसमा, मानिसहरूले चिहानहरू सफा गर्छन् र तिनीहरूलाई नबिर्सनको लागि, तिनीहरूका पितापुर्खालाई बलिदान चढाउँछन्। यसको साथै, शैतानले मानिसहरूले देशभक्त बन्‍ने कुरा स्मरण गरून् भन्‍ने सुनिश्‍चित गर्छ, जसको एउटा उदाहरण ड्र्यागन-डुङ्गा पर्व हो। मध्य शरद पर्वचाहिँ केसँग सम्‍बन्धित छ? (परिवारको पुनर्मिलन।) परिवारको पुनर्मिलनको पृष्ठभूमि के हो? यसको कारण के हो? यो भावनात्मक रूपमा संचार गर्न र जोडिनको लागि हो। अवश्य नै, चाहे यो नयाँ वर्षको पूर्णिमाको रातको पर्व होस् वा लालटिन पर्व होस्, यी चाडपर्वहरू मान्‍नुका कारणहरूलाई व्याख्या गर्ने विभिन्‍न तरिका छन्। यी कारणहरूलाई व्यक्तिले जसरी व्याख्या गरे तापनि, ती हरेक नै तिनीहरू परमेश्‍वरबाट टाढा जाऊन् अनि परमेश्‍वर हुनुहुन्छ भन्‍ने नजानून्, र तिनीहरूले कि त आफ्‍ना पितापुर्खालाई कि त शैतानलाई बलिदान चढाऊन्, वा तिनीहरूको देहका इच्‍छाहरूका खातिर खाऊन्, पिऊन्, र रमाइलो गरून् भनेर मानिसहरूको मनमस्तिष्कमा त्यसको दर्शन र त्यसको सोचाइ घुसाउने शैतानको तरिका हो। यी हरेक चाडपर्वहरू मनाउने क्रममा, शैतानका विचार र दृष्टिकोणहरूले मानिसहरूको मनमस्तिष्कमा थाहै नपाई गहिरो जरा गाड्छन्। जब मानिसहरू चालीस, पचासको दशक वा त्योभन्दा बढी उमेरका हुन्छन्, शैतानका यी विचार र दृष्टिकोणहरूले तिनीहरूको हृदयमा पहिले नै गहिरो जरा गाडिसकेको हुन्छ। यसको साथै, यी विचारहरू सही हुन् कि गलत, कुनै भिन्नता नछुट्टयाईकन र कुनै सन्देह नगरीकन, तिनलाई अर्को पुस्तामा हस्तान्तरण गर्नको लागि मानिसहरूले सक्दो प्रयास गर्छन्। यो यस्तै हो नि, होइन र? (हो।) परम्‍परागत संस्कृति र यी चाडपर्वहरूले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ? तिमीहरूलाई थाहा छ? (मानिसहरू यी परम्‍पराहरूका नियमहरूको बन्धन र परिधिमा पर्छन्, त्यसकारण तिनीहरूमा परमेश्‍वरलाई खोज्‍ने समय वा ऊर्जा नै हुँदैन।) यो एउटा पक्ष हो। उदाहरणको लागि, नयाँ वर्षको पूर्णिमा पर्व सबैले मनाउँछन्—यदि तैँले मनाइनस् भने, के तँलाई दुःख लाग्दैन र? के तैँले तेरो हृदयमा राख्‍ने कुनै अन्धविश्‍वासहरू छन्? सायद तँलाई यस्तो लाग्छ होला, “मैले नयाँ वर्ष मनाइनँ, र नयाँ वर्षको पूर्णिमा नै खराब दिन भयो भने, के बाँकी पूरै वर्ष खराब हुँदैन र”? के तँ असहज र अलि डराएको महसुस गर्दैनस् र? त्यस्ता मानिसहरू पनि छन् जसले वर्षौंदेखि आफ्‍ना पितापुर्खालाई बलिदान चढाएका छैनन् र जसले सपनामा अचानक एक जना मृतक मानिसले पैसा मागेको देख्छन्। तिनीहरूलाई कस्तो महसुस हुन्छ? “मरिसकेको यो व्यक्तिलाई पैसा चाहिएको रहेछ, कति दुःखको कुरा! म तिनीहरूका लागि कागजका केही रकम जलाउनेछु। यदि मैले त्यसो गरिन भने, त्यो ठीक हुनेछैन। यसले हामी जिउँदाहरूलाई समस्या दिन सक्छ—दशा कहिले लाग्छ, कसले भन्‍न सक्छ र?” तिनीहरूसँग आफ्नो हृदयमा डर र चिन्ताको यो सानो बादल सधैँ नै हुन्छ। कसले तिनीहरूलाई यसरी चिन्ता गराउँछ? यो चिन्ताको स्रोत शैतान नै हो। के मानिसलाई शैतानले भ्रष्ट तुल्याउने तरिकाहरूमध्ये एउटा यही होइन र? तँ बहकाउमा परेर त्यसप्रति समर्पित र राजी बन् भनेर तँलाई नियन्त्रण गर्न, तँलाई धम्की दिन, र तँलाई बन्धनमा पार्न यसले फरक-फरक माध्यम र बहानाहरूको प्रयोग गर्छ; शैतानले मानिसलाई यसरी नै भ्रष्ट तुल्याउँछ। प्रायजसो जब मानिसहरू कमजोर हुन्छन् वा जब तिनीहरूलाई परिस्थितिको बारेमा स्पष्ट ज्ञान हुँदैन, तब तिनीहरूले लापरवाहीको साथ कुनै बेवकुफी काम गर्छन्; अर्थात्, तिनीहरू अनजानमा शैतानको पकडमा पर्छन् अनि अचेतन रूपमा काम गर्न सक्छन्, तिनीहरूले आफूले के गर्दैछु भन्‍ने समेत थाहै नपाई काम गर्न सक्छन्। शैतानले मानिसलाई यसरी नै भ्रष्ट तुल्याउँछ। अहिले गहिरो गरी जरा गाडेको परम्‍परागत संस्कृतिबाट टाढा हुन अनिच्छुक केही मानिसहरू पनि छन्, जसले यसलाई त्याग्‍नै सक्दैनन्। विशेष गरी, तिनीहरू कमजोर र नकारात्मक हुँदा तिनीहरूले आफ्‍नो हृदयमा सहजता ल्याउनको लागि यस्ता चाडपर्वहरू मनाउने इच्‍छा गर्छन् र तिनीहरूले यसरी शैतानलाई भेट्न र शैतानलाई फेरि सन्तुष्ट तुल्याउन चाहन्छन्। परम्‍परागत संस्कृतिको पृष्ठभूमि के हो? के यी दृश्यहरूको पछाडि शैतानको कालो हातले तारहरू तानिरहेको हुन्छ? के शैतानको दुष्ट प्रकृतिले चालबाजी र नियन्त्रण गरिरहेको हुन्छ? के यी सबै कुरालाई शैतानले प्रभाव पारिरहेको हुन्छ? (हुन्छ।) जब मानिसहरू परम्‍परागत संस्कृतिमा जिउँछन् र यस प्रकारका परम्‍परागत चाडपर्वहरू मान्छन्, तब के यो त्यही वातावरण हो जसमा तिनीहरूलाई शैतानले मूर्ख र भ्रष्ट तुल्याउँछ, र यसको साथै, तिनीहरू शैतानद्वारा मूर्ख बनिन र भ्रष्ट तुल्याइन पाउँदा खुशी हुन्छन् भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) यो तिमीहरू सबैले स्वीकार गर्ने, तिमीहरू सबैले जानेको कुरा हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश १५०

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ? मानिसहरू सबैले आफ्‍नो नियति जान्‍न चाहन्छन्, त्यसकारण शैतानले तिनीहरूलाई प्रलोभनमा पार्न तिनीहरूकै उत्सुकताको प्रयोग गर्छ। मानिसहरू तिनीहरूलाई भविष्यमा के हुनेछ र अगाडि कस्तो बाटो छ भन्‍ने कुरा जान्‍नको लागि जोखना हेर्ने, भविष्य-बताउने, र अनुहार पढ्ने कार्यमा संलग्‍न हुन्छन्। तैपनि, आखिरमा मानिसहरूले त्यति धेरै चिन्ता गर्ने नियति र भविष्य कसको हातमा हुन्छ? (परमेश्‍वरको हातमा।) यी सबै कुरा परमेश्‍वरको हातमा छन्। यी विधिहरूको प्रयोग गर्ने क्रममा, मानिसहरूले के जानून् भन्‍ने शैतान चाहन्छ? शैतानले त्यसलाई उनीहरूको भविष्य थाहा छ, र त्यसलाई ती कुराहरू थाहा मात्रै छैन त्यसले त तिनलाई नियन्त्रण समेत गर्न सक्छ भनेर मानिसहरूलाई बताउनको लागि अनुहार पढ्ने र भविष्य-बताउने कार्यको प्रयोग गर्छ। मानिसहरूले त्यसमाथि अन्धविश्‍वास गर्न सकून् र त्यसका हरेक वचन पालन गरून् भनेर मानिसहरूलाई नियन्त्रण गर्न शैतानले यो मौकाको फाइदा लिन र यी विधिहरूको प्रयोग गर्न चाहन्छ। उदाहरणको लागि, यदि तैँले अनुहार पढ्न लगाइस्, र भविष्य बताउनेले आफ्‍नो आँखा बन्द गरेर तँलाई विगत केही दशकमा के भएको थियो सो स्पष्ट रूपमा बताउँछ भने, तैँले आफूभित्र कस्तो अनुभव गर्छस्? तैँले तत्कालै यस्तो अनुभव गर्नेछस्, “उसले साँच्‍चै ठीक भन्यो! मैले यसभन्दा अघि कहिल्यै कसैलाई पनि मेरो विगतको बारेमा बताएको छैन, उसलाई यो कसरी थाहा भयो? यस भविष्य बताउने व्यक्तिलाई म साँच्‍चै सम्‍मान गर्छु!” के तेरो विगतको बारेमा जान्‍नु शैतानको लागि अत्यन्तै सजिलो हुँदैन र? तँ आज जहाँ छस् परमेश्‍वरले नै तँलाई यहाँसम्‍म डोर्‍याउनुभएको छ, अनि यस अवधिमा शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँदै आएको र तँलाई पछ्याउँदै आएको छ। तेरो जीवनका दशकहरू बितेर जानु शैतानको लागि केही पनि होइन र यी कुराहरू जान्‍नु शैतानको लागि कठिन छैन। शैतानले भन्‍ने सबै कुरा सही छन् भनी जब तैँले जान्दछस्, के तैँले आफ्‍नो हृदय त्यसलाई सुम्पिरहेको हुँदैनस् र? के तेरो भविष्य र तेरो नियति नियन्त्रण गर्नको लागि तँ त्यसैमा भर परिरहेको हुँदैनस् र? एकै क्षणमा, तेरो हृदयले त्यसको लागि केही सम्‍मान वा श्रद्धाको अनुभव गर्नेछ, र कतिपय मानिसहरूको हकमा, यति बेलासम्‍म त्यसले तिनीहरूको आत्मा खोसिसकेको हुन्छ। अनि तैँले भविष्य बताउनेलाई तुरुन्तै सोध्‍नेछस्: “अब मैले के गर्नुपर्छ? आउँदो वर्षमा म केबाट जोगिनुपर्छ? के-कस्ता कुराहरू मैले गर्नु हुँदैन?” त्यसपछि उसले भन्‍नेछ, “तपाईं त्यहाँ जानु हुँदैन, तपाईंले यसो गर्नु हुँदैन, निश्‍चित रङ्गको लुगा नलगाउनुहोस्, निश्‍चित ठाउँहरूमा तपाईं अलि कम जानुपर्छ, निश्‍चित कुराहरू अझै बढी गर्नुपर्छ…।” के त्यसले भन्‍ने सबै कुरालाई तैँले तुरुन्तै हृदयमा राख्दैनस् र? तैँले परमेश्‍वरको वचनहरूलाई भन्दा उसका वचनहरूलाई तुरुन्तै कण्ठ गरिहाल्छस्। किन तैँले तिनलाई त्यति चाँडै कण्ठ गर्छस्? किनकि तँ राम्रो भविष्यको लागि शैतानमा भर पर्न चाहन्छस्। के त्यसले तेरो हृदयलाई यही बेला पकडमा पार्छ होइन र? जब यसका भविष्यवाणीहरू एकपछि अर्को गर्दै पूरा हुन्छन्, के तँलाई अर्को वर्षले कस्तो भविष्य ल्याउनेछ भनेर पत्ता लगाउन त्यसकहाँ नै फर्केर जाने मन हुँदैन र? (हुन्छ।) शैतानले तँलाई जे गर्न भन्छ तैँले त्यो गर्नेछस् अनि जे कुराबाट अलग बस्‍नू भनेर त्यसले भन्छ तँ त्यसबाट अलग बस्‍नेछस्। यसरी, के तैँले त्यसले बताउने सबै कुराको पालना गरिरहेको हुँदैनस् र? तुरुन्तै, तँ त्यसको अङ्गालोमा पर्नेछस्, भ्रममा पर्नेछस्, अनि त्यसको नियन्त्रणमा आउनेछस्। यस्तो हुन्छ किनभने त्यसले जे भन्छ त्यो सत्य हो भनेर तैँले विश्‍वास गर्छस् र त्यसले तेरो विगतको जीवन, तेरो अहिलेको जीवन, र भविष्यले के ल्याउनेछ सो त्यसलाई थाहा छ भनेर तैँले विश्‍वास गर्छस्। मानिसहरूलाई नियन्त्रण गर्नको लागि शैतानले प्रयोग गर्ने विधि यही नै हो। तर वास्तविकतामा, कसले नियन्त्रण गर्नुहुन्छ? परमेश्‍वर स्वयम्‌ले नियन्त्रण गर्नुहुन्छ, शैतानले होइन। यस हकमा शैतानले अनजान मानिसहरूलाई छल गरेर, भौतिक संसारलाई मात्र देख्‍न सक्‍ने मानिसहरूलाई छल गरेर आफूमा विश्‍वास गर्ने र भरोसा गर्ने तुल्याउनको लागि आफ्नो चतुर षड्यन्त्रको प्रयोग गरिरहेको हुन्छ। त्यसपछि, तिनीहरू शैतानको पकडमा पर्छन् र त्यसको हरेक वचन पालन गर्छन्। तर जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई पछ्याउन चाहन्छन् तब के त्यसले त्यसको पकडलाई खुकुलो पार्छ र? शैतानले त्यसो गर्दैन। यस अवस्थामा, के मानिसहरू साँच्‍चै शैतानको पकडमा परिरहेका हुन्छन्? (हुन्छन्।) के यस विषयमा शैतानको बानीबेहोरा लाज विहीन छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) हामी किन त्यसो भन्दैछौँ? किनभने यी कपटपूर्ण र छलपूर्ण रणनीतिहरू हुन्। शैतान लाज विहीन छ र त्यसले मानिसहरूलाई गलत मार्गदर्शन गरेर तिनीहरूलाई तिनीहरूका सबै कुरा त्यसले नियन्त्रण गर्छ र त्यसले तिनीहरूको नियतिसमेत नियन्त्रण गर्छ भनेर विचार गर्ने तुल्याउँछ। यसले अनजान मानिसहरूलाई पूर्ण रूपमा त्यसको पालन गर्ने तुल्याउँछ। तिनीहरू एक-दुई वटा शब्दहरूमै मूर्ख बन्छन्। स्तम्भित भई, मानिसहरू त्यसको अघि घुँडा टेक्छन्। त्यसो भए, तँलाई त्यसमा विश्‍वास गर्ने तुल्याउनको लागि शैतानले कस्तो प्रकारको विधि प्रयोग गर्छ, त्यसले के भन्छ? उदाहरणको लागि, तेरो परिवारमा कति जना मानिसहरू छन् भनेर तैँले शैतानलाई बताएको नहुन सक्छस्, तर पनि कति जना मानिसहरू छन् र तेरो बाबुआमा र छोरा-छोरीको उमेर कति हो भनेर त्यसले तँलाई बताउन सक्छ। यसभन्दा पहिले शैतानको बारेमा तैँले अविश्‍वास र शङ्का गरेको हुनसक्‍ने भए तापनि, त्यसले यी कुराहरू बताएको सुनेपछि, के तँलाई यो अलिक विश्‍वासयोग्य रहेछ भन्‍ने लाग्दैन र? त्यसपछि शैतानले तँलाई हालैको समयमा तेरो काम कति कठिन थियो, तैँले पाउन योग्य पहिचान तेरा हाकिमहरूले तँलाई दिएका छैनन् र सधैँ तेरो विरुद्धमा काम गरिरहेका छन्, र आदि इत्यादि भनेर बताउन सक्छ। त्यो सुनेर, तैँले यस्तो विचार गर्नेछस्, “त्यो एकदम ठीक हो! कामका कुराहरू त्यति सहजरूपमा अघि बढिरहेको छैनन्।” त्यसकारण, तँ शैतानलाई अझै बढी विश्‍वास गर्छस्। त्यसपछि तँलाई भ्रममा पार्न, तँलाई अझै बढी विश्‍वास गर्ने तुल्याउनको लागि त्यसले अर्को केही कुरा भन्‍नेछ। अलि-अलि गर्दै, तैँले आफूलाई त्यसलाई विरोध गर्न वा त्यसको बारेमा शङ्का गर्न नसक्‍ने अवस्थामा पाउनेछस्। शैतानले केही स-साना छलहरू, अत्यन्तै साना छलहरू समेत प्रयोग गर्छ, अनि यसरी त्यसले तँलाई भ्रममा पार्छ। जब तँ भ्रममा पर्छस्, तब तैँले तेरो खास स्थितिलाई पत्ता लगाउन सक्‍नेछैनस्, के गर्ने भन्‍ने तँलाई थाहा हुनेछैन, अनि शैतानले जे भन्छ तैँले त्यसैलाई पछ्याउन थाल्‍नेछस्। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने “सानदार” विधि यही हो, जसले तँलाई अनजानमै त्यसको फन्दामा पर्ने र त्यसको प्रलोभनमा पर्ने तुल्याउँछ। मानिसहरूले असल ठानेका एक-दुई वटा कुराहरू शैतानले तँलाई बताउँछ, त्यसपछि त्यसले तँलाई के गर्ने र केबाट टाढा बस्‍ने भनेर बताउँछ। यसरी, पत्तै नपाई तँ छलमा पर्छस्। जब तँ त्यस्तो छलमा पर्छस्, तेरो लागि सबै कुरा कठिन बन्छ; शैतानले के भन्यो र त्यसले तँलाई के गर्न भन्यो तैँले निरन्तर त्यही मात्रै सोचिरहेको हुनेछस्, र थाहै नपाई तँ यसद्वारा नियन्त्रित भएको हुनेछस्। किन यसो हुन्छ त? किनभने मानवजातिमा सत्यताको कमी छ, त्यसले गर्दा ऊ दह्रिलो गरी खडा भएर शैतानको प्रलोभन र परीक्षालाई इन्कार गर्न सक्दैन। शैतानको दुष्टता र यसको छल, षड्यन्त्र, र बदख्‍वाइँलाई सामना गर्दा, मानवजाति अत्यन्तै अनजान, अपरिपक्‍व र कमजोर हुन्छ, होइन र? के शैतानले मानिसलाई भ्रष्ट तुल्याउने मार्गहरूमध्ये एउटा यही होइन र? (हो।) शैतानका विभिन्‍न विधिहरूले मानिसलाई अलि-अलि गर्दै थाहै नपाई धोका दिन्छ र छल गर्छ, किनभने तिनीहरूमा सकारात्मक र नकारात्मकको बीचमा भिन्‍नता छुट्याउने क्षमताको कमी छ। तिनीहरूमा शैतानमाथि विजय गर्ने यो कद र क्षमताको कमी छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश १५१

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी सामाजिक प्रचलनको प्रयोग गर्छ

कहिले सामाजिक प्रचलन अस्तित्वमा आयो? के ती वर्तमान दिनमा मात्रै अस्तित्वमा आए? शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन थालेपछि सामाजिक प्रचलन अस्तित्वमा आयो भनेर भन्‍न सकिन्छ। सामाजिक प्रचलनमा के समावेश हुन्छ? (वस्‍त्रको स्टाइल र शृङ्गार।) प्रायजसो मानिसहरूको सम्पर्कमा आउने कुराहरू यिनै हुन्। वस्‍त्रको स्टाइल, फेसन, र प्रचलन—यी कुराहरूले एउटा सानो पक्षलाई निर्माण गर्छ। के अरू कुनै कुरा छन्? के मानिसहरूको चलनचल्तीमा आउने प्रचलित वाक्य वा भनाइहरू पनि गनिन्छन्? के मानिसहरूले चाहने जीवनशैली पनि यसमा गनिन्छ? के मानिसहरूले मन पराउने सङ्गीतका उत्कृष्ट कलाकार, सेलिब्रेटी, म्यागजिन, र उपन्यास पनि यसमा पर्छ? (पर्छ।) तिमीहरूको विचारमा, सामाजिक प्रचलनको कुन पक्षले मानिसलाई भ्रष्ट तुल्याउन सक्छ? यीमध्ये कुन प्रचलनले तिमीहरूलाई सबैभन्दा बढी लोभ्याउँछ? कतिपय मानिसहरूले यसो भन्छन्: “हामी सबै निश्‍चित उमेरमा पुगिसकेका छौं, हामी पचास वा साठीको दशकमा, सत्तरी वा असीको दशकमा छौं, र अबउप्रान्त हामी यी प्रचलनहरूमा उपयुक्त हुन सक्दैनौं र तिनले हाम्रो ध्यान त्यति खिच्दैन।” के यो सही हो? अरू भन्छन्: “हामी सेलिब्रेटीको पछि लाग्दैनौं, त्यो त बीस-पच्‍चीस वर्षका जवानहरूले गर्ने कुरा हो; हामी फेसनका कपडाहरू लगाउँदैनौं, त्यो त आफ्‍नो रूपको ख्याल गर्नेहरूले गर्ने कुरा हो।” त्यसो भए, यीमध्ये कुनचाहिँले तिमीहरूलाई भ्रष्ट तुल्याउन सक्छ? (प्रचलित भनाइहरूले।) के यी भनाइहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्? म एउटा उदाहरण दिनेछु, अनि यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ कि तुल्याउँदैन सो तिमीहरूले देख्‍न सक्छौ: “दुनियाँ पैसाको इसारामा चल्छ”; के यो प्रचलन हो? तिमीहरूले उल्‍लेख गरेको फेसन र खानपानसम्‍बन्धी प्रचलनको तुलनामा, के यो अझै खराब छैन र? “दुनियाँ पैसाको इसारामा चल्छ” भन्‍ने भनाइ शैतानको दर्शन हो। यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ; यो प्रचलन नै बनेको छ भनेर भन्‍न सकिन्छ। यस्तो किन हुन्छ भने यो हरेक व्यक्तिको हृदयमा घुसाइएको छ, र तिनीहरूले सुरुमा त यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्‍दहरू वास्तवमा साँचो छन् भन्‍ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? शायद मानिसहरूसँग यो भनाइको एउटै हदको अनुभवात्मक ज्ञान हुँदैन, तर आफ्‍नो वरिपरि घटेका घटनाहरू र आफ्‍ना व्यक्तिगत अनुभवहरूको आधारमा यो भनाइलाई हरेकले फरक-फरक हदमा अर्थ्याएका र स्वीकार गरेका छन्। के त्यो यस्तै होइन र? यो भनाइको बारेमा कसैसँग जतिसुकै अनुभव भए तापनि, निजको हृदयमा यसले पार्न सक्‍ने नकारात्मक प्रभाव के हो त? तिमीहरू प्रत्येक लगायत मानिसहरूको मानव स्वभावबाट यो संसारमा केही न केही कुरा प्रकट हुन्छ। यो के हो त? यो पैसाको आराधना हो। के यसलाई कसैको हृदयबाट हटाउनु कठिन छ त? यो अत्यन्तै कठिन छ! मानिसलाई शैतानले दिएको भ्रष्टता अवश्य नै गहन छ भन्‍ने देखिन्छ! शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न पैसाको प्रयोग गर्छ, र तिनीहरूलाई भ्रष्ट पारी पैसाको पूजा गर्ने र भौतिक कुराहरूको मान गर्ने बनाउँछ। अनि, यस्तो पैसा पूजा कसरी मानिसहरूमा प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्‍न सक्‍दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्‍भव हुन्छ भन्‍ने अनुभव गर्छौ त? मानिसहरूको सम्‍मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्‍नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्‍नो उच्‍च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्‍च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरै मानिसले पैसा पाउन कुनै पनि बलि चढाउँछन् भन्‍ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्‍ने क्रममा आफ्‍नो गौरव र इज्‍जत गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाको लागि आफ्‍नो कर्तव्य निभाउने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता हासिल गर्ने र मुक्ति पाउने मौका गुमाउनु मानिसहरूको लागि नोक्सानीहरूमध्येकै सबैभन्दा ठूलो नोक्‍सानी होइन र? के मानिसहरूलाई त्यस हदसम्‍म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र? तँमा यस प्रसिद्ध भनाइलाई इन्कार गर्नेदेखि लिएर यसलाई सत्यताको रूपमा स्वीकार गर्ने सम्‍मको परिवर्तन हुँदै जाँदा, तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा पर्छ, अनि त्यसकारण, तँ अपरिहार्य रूपमै यो भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्‍म प्रभाव पारेको छ? तैँले साँचो मार्ग चिनेको हुनसक्छस्, र तँलाई सत्यता थाहा हुनसक्छ, तर यसलाई खोजी गर्न तँ शक्तिहीन छस्। परमेश्‍वरका वचनहरू नै सत्यता हो भन्‍ने तँलाई स्पष्ट रूपमा थाहा हुनसक्छ, तर तँ सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउन वा कष्ट भोग्‍न अनिच्‍छुक छस्। बरु, अन्त्यसम्‍मै परमेश्‍वरलाई विरोध गर्नको लागि तैँले तेरो आफ्‍नै भविष्य र गन्तव्यलाई बलिदान दिनेछस्। परमेश्‍वरले जे भन्‍नुभए पनि, परमेश्‍वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्‍वरको प्रेम जति गहन र जति महान् भए पनि, तैँले त्यसलाई बुझ्‍न सक्थिस् भने, तैँले हठी भई तेरो आफ्‍नै मार्गमा हिँड्न र यस भनाइका लागि मूल्य चुकाउन जिद्दी गर्नेथिइस्। भन्‍नुको अर्थ, यो भनाइले तँलाई भ्रममा पारिसकेको र तेरा विचारहरूलाई नियन्त्रण गरिसकेको छ, यसले तेरो व्यवहारमाथि आधिपत्य जमाइसकेको छ र तैँले धनसम्पत्तिको खोजीलाई त्याग्‍नुको सट्टा यसैलाई तेरो नियतिमाथि शासन गर्न दिन्छस्। मानिसहरूले यसरी व्यवहार गर्न सक्‍नु, तिनीहरू शैतानको भनाइको नियन्त्रण र चालबाजीमा पर्न सक्‍नु—के यसको अर्थ तिनीहरू शैतानद्वारा भ्रममा पारिएका र भ्रष्ट तुल्याइएका छन् भन्‍ने हुँदैन र? के शैतानको दर्शन र मानसिकता अनि शैतानको स्वभावले तेरो हृदयमा जरा गाडिसकेको छैन र? जब तैँले अन्धाधुन्ध रूपमा धनसम्पत्तिको खोजी गर्छस्, अनि सत्यताको खोजीलाई त्याग्छस्, तब के शैतानले तँलाई भ्रममा पार्ने उद्देश्य हासिल गरिसकेको हुँदैन र? अवस्था ठ्याक्‍कै यही हो। त्यसो भए, शैतानले तँलाई भ्रममा पार्दा र भ्रष्ट तुल्याउँदा, के तैँले त्यो कुरा महसुस गर्न सक्छस्? के तैँले यसलाई अनुभव गर्न सक्छस् त? तैँले सक्दैनस्। यदि तैँले शैतानलाई आफ्नै अगाडि उभिएको देख्‍न सक्दैनस्, वा अँध्यारोमा काम गर्ने शैतान नै हो भन्‍ने महसुस गर्दैनस् भने, के तँ शैतानको दुष्टतालाई देख्‍न सक्षम हुन्छस् त? के तैँले मानवजातिलाई शैतानले कसरी भ्रष्ट तुल्याउँछ भनेर जान्‍न सक्छस् त? शैतानले मानिसलाई हरेक समय र हरेक स्थानमा भ्रष्ट तुल्याउँछ। शैतानले मानिसको लागि यो भ्रष्टताको विरुद्ध प्रतिरक्षा गर्ने कार्य असम्‍भव तुल्याउँछ र मानिसलाई यसको विरुद्ध विवश तुल्याउँछ। तँ अनजान भएको अवस्थामा र आफूलाई के भइरहेको छ सो तँलाई थाहा नभएको अवस्थामा शैतानले तँलाई त्यसका विचारहरू, त्यसका दृष्टिकोणहरू र त्यसबाट आउने दुष्ट कुराहरू स्वीकार गर्ने तुल्याउँछ। मानिसहरूले यी कुराहरूलाई स्विकार्छन् र यीप्रति कुनै आपत्ति जनाउँदैनन्। तिनीहरूले यी कुराहरूलाई सम्पत्ति जस्तै मनमा सजाएर आफूसँगै राखिरहन्छन् र तिनीहरूले यी कुराहरूलाई आफूमाथि चालबाजी र खेलबाड गर्न दिन्छन्; यसरी मानिसहरू शैतानको शक्तिअन्तर्गत जिउँछन्, र तिनीहरूले अचेतन रूपमै शैतानको आज्ञापलन गर्छन्, र यसरी मानिसलाई भ्रष्ट तुल्याउने शैतानको कार्य झन्‍झन् गहिरो बन्दै जान्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश १५२

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले यी विभिन्‍न विधिहरूको प्रयोग गर्छ। मानिससँग ज्ञान र केही वैज्ञानिक सिद्धान्तहरूको बुझाइ छ, मानिस परम्‍परागत संस्कृतिको प्रभावमा जिउँछ, अनि प्रत्येक मानिस परम्‍परागत संस्कृतिको उत्तराधिकारी र हस्तान्तरणकर्ता हो। मानिस शैतानले उसलाई दिएको परम्‍परागत संस्कृतिलाई जारी राख्‍न बाध्य छ, र शैतानले मानवजातिलाई प्रदान गरेका सामाजिक प्रचलनहरूलाई पनि मानिसले अनुसरण गर्छ। शैतानले गर्ने सबै कुरा सधैँ अनुसरण गर्ने, त्यसको दुष्टता, छलीपन, बदख्‍वाइँ र अहङ्कारलाई स्वीकार गर्ने हुँदा मानिस शैतानबाट अलग गर्न नसकिने छ। शैतानका यी स्वभावहरूको वशमा परिसकेपछि, मानिस यस भ्रष्ट मानवजातिको बीचमा खुशीसाथ कि दुःखद रूपमा जिइरहेको छ? (दुःखद रूपमा।) तिमीहरू किन त्यसो भन्दैछौ? (मानिस यी भ्रष्ट कुराहरूद्वारा बाँधिएको र नियन्त्रित गरिएको हुनाले, ऊ पापमा जिउँछ र कठिन संघर्षले उसलाई पुरेको छ।) कतिपय मानिसहरू अत्यन्तै बुद्धिजीवी देखिन चश्मा लगाउँछन्; तिनीहरू वाक्पटुता र तर्कको साथ अत्यन्तै सम्‍मानले बोल्‍न सक्छन्, र तिनीहरू धेरै कुराहरूबाट गुज्रेर आएका हुनाले, तिनीहरू अत्यन्तै अनुभवी र परिष्कृत हुन सक्छन्। तिनीहरूले ठूला-साना कुराहरूका बारेमा विस्तृत रूपमा बोल्‍न सक्छन्; तिनीहरूले विभिन्न कुराहरूको विशुद्धता र तर्कलाई पनि मूल्याङ्कन गर्न सक्छन्। कतिले यी मानिसहरूको बानीबेहोरा र स्वरूपलाई, साथै तिनीहरूको चरित्र, मानवता, आनीबानी, र आदि इत्यादि कुराहरूलाई हेर्न सक्छन्, र तिनमा कुनै त्रुटि भेट्टाउँदैनन्। त्यस्ता मानिसहरूले विशेष रूपमा हालको सामाजिक प्रचलनहरूलाई अपनाउन सक्छन्। त्यस्ता मानिसहरू वृद्ध भए तापनि, तिनीहरू समयका प्रचलनहरूबाट कहिल्यै पछि पर्दैनन् र ती कुराहरू सिक्‍नको लागि कहिल्यै पनि अत्यन्तै वृद्ध हुँदैनन्। झट्ट हेर्दा, त्यस्तो व्यक्तिमा कसैले पनि गल्ती भेट्टाउन सक्दैन, तैपनि तिनीहरूलाई तिनीहरूको भित्री सारसम्मै शैतानले अत्यन्तै धेरै र पूर्ण रूपमा भ्रष्ट तुल्याएको हुन्छ। यी मानिसहरूमा कुनै बाहिरी त्रुटि भेट्टाउन नसकिए पनि, सतहमा तिनीहरू भलादमी, उत्कृष्ट भए पनि, र तिनीहरूमा ज्ञान र निश्‍चित नैतिकता भए पनि, र तिनीहरूसँग निष्ठा भए पनि, र ज्ञानको हिसाबमा तिनीहरू जवान मानिसहरूभन्दा कुनै पनि हालतमा कमजोर नभए पनि, तिनीहरूको प्रकृति सारको हिसाबमा, यस्ता मानिसहरू शैतानको पूर्ण र जीवित नमुना हुन्छन्; तिनीहरू शैतानको स्वरूपसँग अत्यन्तै मिल्‍ने हुन्छन्। शैतानले मानिसलाई भ्रष्ट तुल्याएर पाउने “फल” यही नै हो। मैले जे भनेँ त्यसले तिमीहरूलाई चोट पुर्‍याउन सक्छ, तर यो सबै साँचो हो। मानिसले अध्ययन गर्ने ज्ञान, उसले बुझ्‍ने विज्ञान, र सामाजिक प्रचलनसँग मिल्‍नको लागि उसले छनौट गर्ने माध्यमहरू सबै नै मानिसलाई भ्रष्ट तुल्याउने शैतानका औजारहरू हुन्, यसमा कुनै अपवाद छैन। यो पूर्णतया सत्य छ। त्यसकारण, मानिस शैतानले पूर्णतया भ्रष्ट तुल्याएको स्वभावभित्र जिउँछ, र मानिससँग परमेश्‍वरको पवित्रता के हो वा परमेश्‍वरको सार के हो सो जान्‍ने कुनै मार्ग छैन। किनभने सतहमा हेर्दा शैतानले मानिसलाई भ्रष्ट तुल्याउने मार्गहरूमा कुनै गल्ती भेट्टाउन सकिँदैन; कसैको बानीबेहोरालाई हेरेर कुनै कुरा गलत छ भनेर भन्‍न सकिँदैन। हरेक व्यक्तिले सामान्य रूपमा नै आफ्‍नो काम गर्छन् र सामान्य जीवन जिउँछन्; तिनीहरूले सामान्य रूपमै पुस्तक-पुस्तिका र अखबार पढ्छन्, तिनीहरूले सामान्य रूपमै अध्ययन गर्छन् र बोल्छन्। कतिपय मानिसहरूले केही नीतिशास्‍त्र सिकेका हुन्छन् अनि बोल्‍नमा सिपालु हुन्छन्, समझदार र मित्रवत् हुन्छन्, सहयोगी र परोपकारी हुन्छन्, र सानातिना कुरामा झैझगडा गर्ने वा मानिसहरूबाट फाइदा लिने गर्दैनन्। तैपनि, तिनीहरूको भ्रष्ट शैतानी स्वभावले तिनीहरूभित्र गहन रूपमा जरा गाडेको हुन्छ र बाहिरी प्रयासमा भर परेर यो सारलाई परिवर्तन गर्न सकिँदैन। यो सारको कारणले गर्दा, मानिसले परमेश्‍वरको पवित्रतालाई जान्‍न सक्दैन, र परमेश्‍वरको पवित्रताको सारलाई मानिसको निम्ति खुलासा गरिएको भए पनि मानिसले यसलाई गम्‍भीर रूपमा लिँदैन। किनभने विभिन्‍न माध्यमहरूद्वारा शैतानले मानिसको भावना, विचार, दृष्टिकोण र सोचाइहरूलाई नियन्त्रण गरिसकेको छ। यो नियन्त्रण र भ्रष्टता अस्थायी वा कहिलेकहीँ हुने कुरा होइन, बरु यो त जहाँसुकै र जुनसुकै समयमा हुने कुरा हो। तसर्थ, तीन वा चार, वा पाँच वा छ वर्षदेखि परमेश्‍वरलाई विश्‍वास गर्दै आएका धेरै मानिसहरूले तिनीहरूमा शैतानले हालिदिएका यी दुष्ट विचार, दृष्टिकोण, तर्क, र सिद्धान्तहरूलाई मूल्यवान् ठान्छन्, र तिनलाई त्याग्‍न सक्दैनन्। शैतानको प्रकृतिबाट आउने दुष्ट, अहङ्कारी र दुर्भावनापूर्ण कुराहरूलाई मानिसले स्वीकार गरेको हुनाले, मानिसको अन्तर्वैयक्तिक सम्‍बन्धहरूमा प्रायजसो द्वन्द्व, तर्कवितर्क र बेमेल हुन्छ, जुन शैतानको अहङ्कारी प्रकृतिको परिणामस्वरूप आउँछ। यदि शैतानले मानवजातिलाई सकारात्मक कुराहरू दिएको भए—उदाहरणको लागि, मानिसले स्वीकार गरेको परम्‍परागत संस्कृतिको कन्फ्युसियसवाद र ताओवाद असल कुराहरू भएका भए—ती कुराहरूलाई स्वीकार गरिसकेपछि उस्तै प्रकारका मानिसहरू एक-अर्कासँग मिलेर बस्‍नु पर्नेथियो। त्यसो भए, किन उही कुराहरूलाई स्वीकार गर्ने मानिसहरूका बीचमा त्यति ठूलो विभाजन छ त? किन त्यसो भयो त? किनभने यी कुराहरू शैतानबाट आउँछन् अनि शैतानले मानिसहरूका बीचमा विभाजन पैदा गर्छ। शैतानबाट आउने कुराहरू सतहमा हेर्दा जत्ति नै गौरवशाली वा महान् देखिए पनि तिनले मानिसमा र मानिसको जीवनमा अहङ्कार मात्र ल्याउँछ, र छली प्रकारको दुष्ट प्रकृति भन्दा बढी केही पनि ल्याउँदैन। कुरा त्यही होइन र? आफैलाई छदमभेषमा लुकाउन सक्‍ने, प्रचुर ज्ञान भएको वा राम्रो बाल्यकाल बिताएको कुनै पनि व्यक्तिलाई समेत उसको भ्रष्ट शैतानी स्वभावलाई लुकाउन कठिन हुन्छ। भन्‍नुको अर्थ, यस्तो मानिसले आफैलाई जस्तोसुकै तरिकाले वस्‍त्र पहिर्‍याए पनि, तैँले तिनीहरूलाई सन्त ठाने पनि, वा तैँले त्यसलाई सिद्ध छ भन्‍ने ठाने पनि, वा तैँले तिनीहरू स्वर्गदूत हुन् भन्‍ने ठाने पनि, तिनीहरू जति शुद्ध छन् भन्‍ने तैँले ठाने पनि, पर्दापछाडिको तिनीहरूको वास्तविक जीवन कस्तो हुन्छ त? तिनीहरूको स्वभावको प्रकाशमा तैँले कस्तो सार देख्छस्? तैँले शैतानको दुष्ट प्रकृति देख्छस् भन्‍नेमा कुनै शङ्का छैन। के त्यसो भन्‍नु स्वीकार्य छ? (छ।) उदाहरणको लागि, मानौँ तिमीहरूले असल व्यक्ति भनी ठानेको तिमीहरूको नजिकको कुनै व्यक्ति होला, सायद तैँले पूजनीय ठान्‍ने कुनै व्यक्ति होला। तेरो वर्तमान कदद्वारा, तैँले तिनीहरूलाई के ठान्छस्? सबभन्दा पहिले, तैँले यस प्रकारको व्यक्तिमा मानवता छ कि छैन, तिनीहरू इमानदार छन् कि छैनन्, मानिसहरूप्रति तिनीहरूको प्रेम साँचो छ कि छैन, तिनीहरूको बोलीवचन र कार्यले अरूलाई फाइदा र सहयोग पुर्‍याउँछ कि पुर्‍याउँदैन भनेर मूल्याङ्कन गर्छस्। (तिनीहरू त्यस्तो छैनन्।) यी मानिसहरूले प्रकट गर्ने तथाकथित दया, प्रेम वा असलपन के हो त? यो सबै झूट, यो सबै देखावटी हो। यो देखावटीपनभित्र एउटा गोप्‍य दुष्ट उद्देश्य हुन्छ: आफूलाई प्रिय र पूजनीय बनाउनु। के तिमीहरू यसलाई स्पष्ट रूपमा देख्छौ? (देख्छौँ।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश १५३

मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने विधिहरूले मानवजातिमा के ल्याउँछ? तिनले कुनै सकारात्मक कुरा ल्याउँछ? पहिलो कुरा, के मानिसले असल र खराबको बीचमा भिन्‍नता छुट्याउन सक्छ? यो संसारमा चाहे कुनै चर्चित वा महान् व्यक्ति होस्, वा कुनै अखबार वा अरू प्रकाशक होस्, के तिनीहरूले कुनै कुरा असल वा खराब, वा सही वा गलत छ भनी मूल्याङ्कन गर्न प्रयोग गर्ने मापदण्डहरू सही छन् भनेर भन्छस्? के घटना र मानिसहरू सम्‍बन्धी तिनीहरूको लेखाजोखा सही छ? तिनमा सत्यता समावेश छ? के यो संसार, यो मानवजातिले सकारात्मक र नकारात्मक कुराहरूलाई सत्यताको मापदण्डको आधारमा मूल्याङ्कन गर्छ? (गर्दैन।) किन मानिसहरूमा त्यो क्षमता छैन? मानिसहरूले धेरै ज्ञान अध्ययन गरेका छन् र तिनीहरूलाई विज्ञानको बारेमा धेरै थाहा छ, त्यसकारण तिनीहरूमा धेरै क्षमताहरू छन्, छैनन् र? त्यसो भए किन तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरूको बीचमा भिन्‍नता छुट्याउन सक्दैनन्? किन यसो हुन्छ? (किनभने मानिसहरूसँग सत्यता छैन; विज्ञान र ज्ञान सत्यता होइनन्।) शैतानले मानवतामा ल्याउने सबै कुरा दुष्ट, भ्रष्ट अनि सत्यता, जीवन र मार्गविनाका कुराहरू हुन्। शैतानले मानिसमा ल्याउने दुष्टता र भ्रष्टताको आधारमा, के शैतानसँग प्रेम छ भनेर तैँले भन्‍न सक्छस्? के मानिसमा प्रेम छ भनेर तैँले भन्‍न सक्छस्? कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्: “तपाईं गलत हुनुहुन्छ; संसारभरि गरिब वा घरबार विहीनलाई सहयोग गर्ने धेरै मानिसहरू छन्। के यिनीहरू असल मानिसहरू होइनन् र? असल कार्य गर्ने परोपकारी संस्थाहरू पनि छन्; के तिनीहरूले गर्ने काम असल होइन र?” त्यसबारेमा तिमीहरू के भन्छौ? मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले विभिन्‍न विधि र सिद्धान्तहरूको प्रयोग गर्छ; के मानिसको यो भ्रष्टता एउटा अस्पष्ट अवधारणा हो त? होइन, यो अस्पष्ट छैन। शैतानले पनि केही व्यवहारिक कुराहरू गर्छ, र यसले पनि यो संसार र समाजमा दृष्टिकोण वा सिद्धान्तलाई प्रवर्धन गर्छ। हरेक राजवंश र हरेक कालखण्डमा, त्यसले सिद्धान्तको प्रवर्धन गर्छ र मानिसको मनमस्तिष्कमा विचारहरू घुसाइदिन्छ। यी विचार र सिद्धान्तहरूले बिस्तारै मानिसको हृदयमा जरा गाड्छन्, त्यसपछि तिनीहरू तिनकै आधारमा जिउन थाल्छन्। तिनीहरूले यी कुराहरू अनुरूप जिउन थालेपछि, के तिनीहरू पत्तै नपाई शैतान बन्दैनन् र? के त्यसपछि मानिसहरू शैतानसँग एक बन्दैनन् र? जब मानिसहरू शैतानसँग एक बन्छन्, आखिरमा परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति के हुन्छ? के यो परमेश्‍वरप्रति शैतानको जे मनोवृत्ति छ त्यही होइन र? यसलाई स्वीकार गर्न कसैले पनि आँट गर्दैन, गर्छ त? कस्तो भयानक कुरो! शैतानको प्रकृति दुष्ट छ भनेर म किन भन्छु त? म विनाआधार यसो भन्दिन; बरु, त्यसले गरेको काम र के प्रकट गरेका कुराहरूका आधारमा शैतानको प्रकृतिलाई निर्धारित र विश्‍लेषण गरिन्छ। यदि मैले शैतान दुष्ट छ भनेर मात्रै भनेको भए, तिमीहरूले के सोच्‍नेथियौ? तिमीहरूले यो सोच्‍नेथियौ: “अवश्य नै शैतान दुष्ट छ।” म तँलाई सोध्छु: “शैतानको कुन-कुन पक्षहरू दुष्ट छन् त?” यदि तैँले यसो भनिस् भने: “परमेश्‍वर विरुद्ध शैतानले गर्ने विरोध दुष्ट छ,” तैँले अझै पनि स्पष्टताको साथ बोलिरहेको हुनेथिइनस्। अब मैले यसरी निश्‍चित विवरणहरूको बारेमा बताइसकेको हुनाले, के तिमीहरूसँग शैतानको दुष्टताको सारको निश्‍चित विषयवस्तुको बारेमा बुझाइ छ? (छ।) यदि शैतानको दुष्ट प्रकृतिलाई तिमीहरू स्पष्ट रूपमा देख्‍न सक्छौ भने, तिमीहरूले तिमीहरूका आफ्‍नै अवस्थाहरूलाई देख्‍नेछौ। यी दुई कुराका बीचमा कुनै सम्‍बन्ध छ? यो तिमीहरूका लागि उपयोगी छ कि छैन? (छ।) जब म परमेश्‍वरको पवित्रताको सारको बारेमा सङ्गति गर्छु, के मैले शैतानको दुष्ट सारको बारेमा सङ्गति गर्न जरूरी छ र? यसको बारेमा तिमीहरूको विचार के छ? (हो, यो जरूरी छ।) किन? (शैतानको दुष्टताले परमेश्‍वरको पवित्रतालाई स्पष्ट देखिने तुल्याउँछ।) के यो त्यस्तै हो त? शैतानको दुष्टताविना मानिसहरूले परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने थाहा पाउनेथिएन भन्‍ने अर्थमा यो आंशिक रूपमा सही छ; यसो भन्‍नु सही छ। तैपनि, यदि तैँले परमेश्‍वरको पवित्रता शैतानको दुष्टताको विपरीत भएको कारण मात्रै अस्तित्वमा छ भनेर भन्छस् भने, के यो सही हुन्छ त? यो विरोधाभासपूर्ण सोचाइ गलत छ। परमेश्‍वरको पवित्रता परमेश्‍वरको अन्तर्निहित सार हो; परमेश्‍वरले यसलाई उहाँका कार्यहरूद्वारा प्रकट गर्नुभए पनि, यो परमेश्‍वरको सारको प्राकृतिक अभिव्यक्ति हो र यो परमेश्‍वरको अन्तर्निहित सार नै हो; मानिसले यसलाई देख्‍न नसके पनि यो सधैँ अस्तित्वमा छ र परमेश्‍वरमा यो अन्तर्निहित र स्वाभाविक रूपमा छ। यस्तो हुन्छ किनभने मानिस शैतानको भ्रष्ट स्वभावको बीचमा र शैतानको प्रभावमा जिउँछ, अनि तिनीहरूलाई पवित्रताको बारेमा थाहा छैन, परमेश्‍वरको पवित्रताको निश्‍चित विषयवस्तुको बारेमा थाहा हुनु त परै जाओस्। त्यसकारण, के हामीले सुरुमा शैतानको दुष्ट सारको बारेमा सङ्गति गर्नु आवश्यक छ त? (हो, छ।) कतिपय मानिसहरूले केही शङ्का व्यक्त गर्न सक्छन्: “तपाईंले परमेश्‍वर स्वयम्‌को बारेमा सङ्गति गर्दै हुनुहुन्छ, त्यसकारण तपाईं किन सधैँ शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ र कसरी शैतानको स्वभाव भ्रष्ट छ भनेर कुरा गरिरहनुहुन्छ?” अब तिमीहरूले यी शङ्काहरूलाई रोकिसकेका छौ, छैनौ त? जब मानिसहरूसँग शैतानको दुष्टताको बारेमा बोध हुन्छ र जब तिनीहरूसँग यसको बारेमा सटीक परिभाषा हुन्छ, जब मानिसहरूले दुष्टताको निश्‍चित विषयवस्तु र प्रकटीकरण, दुष्टताको स्रोत र सारलाई स्पष्ट रूपमा देख्‍न सक्छन्, तब मात्रै परमेश्‍वरको पवित्रतासम्बन्धी छलफलमार्फत मानिसहरूले परमेश्‍वरको पवित्रता के हो, पवित्रता आफै के हो भनेर महसुस गर्न वा पहिचान गर्न सक्छन्। यदि मैले शैतानको दुष्टताको बारेमा छलफल गरिन भने, मानिसहरूले समाजमा र मानिसहरूका बीचमा गर्ने कुराहरूले—वा यो संसारमा अस्तित्वमा रहेका निश्‍चित कुराहरूले—पवित्रतासँग केही सम्‍बन्ध राख्छ भनेर कतिपय मानिसहरूले गलत रूपमा विश्‍वास गर्नेछन्। के यो गलत दृष्टिकोण होइन र? (हो, यो गलत हो।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश १५४

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्छ र उसलाई नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ (छनौट गरिएको खण्ड)

मानिसलाई शैतानले भ्रष्ट तुल्याउने पाँच तरिकाहरूमध्ये, हामीले उल्‍लेख गरेको पहिलो ज्ञान हो, त्यसकारण हाम्रो सङ्गतिको पहिलो विषयको रूपमा ज्ञानलाई लिऔँ। शैतानले ज्ञानलाई चारोको रूपमा प्रयोग गर्छ। ध्यान दिएर सुन्: ज्ञान भनेको एक प्रकारको चारो मात्रै हो। मानिसहरूलाई दिन प्रतिदिन कडा मेहनतसाथ पढ्न र आफूलाई सुधार गर्न, ज्ञानलाई हतियार बनाएर आफैलाई त्यसद्वारा सुसज्‍जित पार्न, र विज्ञानको प्रवेशद्वार खुला गर्न ज्ञानलाई प्रयोग गर्न बहकाइन्छ; अर्को शब्‍दमा भन्दा, तैँले जति धेरै ज्ञान हासिल गर्छस्, तैँले त्यति नै बढी बुझ्‍नेछस्। शैतानले मानिसहरूलाई यी सबै कुराहरू बताउँछ; त्यसले मानिसहरूलाई महत्त्वाकाङ्क्षा र अभिलाषाहरू बढाउँदै लैजान निर्देशन दिँदै तिनीहरूले ज्ञान सिक्‍ने क्रममा उत्कृष्ट आदर्शहरू लिनुपर्छ भनी बताउँछ। मानिसहरूलाई थाहै नभई शैतानले तिनीहरूलाई यस्ता विभिन्‍न सन्देशहरू दिन्छ अनि अचेतन रूपमै यी कुराहरू सही वा लाभदायक छन् भनी महसुस गर्ने तुल्याउँछ। अनजानमै मानिसहरूले यो मार्गमा पाइला चाल्छन्, अनजानमै तिनीहरू आफ्‍नै आदर्शहरू र महत्त्वाकाङ्क्षाहरूद्वारा डोरिँदै जान्छन्। चरणबद्ध रूपमा, अनजानमै तिनीहरूले शैतानद्वारा दिइएको ज्ञानबाट महान् वा चर्चित मानिसहरूको सोच्‍ने शैलीहरू सिक्छन्। तिनीहरूले नायकहरू ठानिने मानिसहरूका कार्यबाट पनि केही कुरा सिक्छन्। यी नायकहरूका कार्यहरूमा शैतानले मानिसको लागि के वकालत गरिरहेको हुन्छ? यसले मानिसको मनमस्तिष्कभित्र के हाल्न चाहन्छ? मानिस देशभक्त हुनैपर्छ, उसमा राष्ट्रिय अखण्डता हुनुपर्छ, र ऊ नायकी उत्साह भएको व्यक्ति हुनुपर्छ। नायकी व्यक्तित्वहरूको ऐतिहासिक कथा वा जीवनीहरूबाट मानिसले के सिक्छ? व्यक्तिगत वफादारीताको भाव धारण गर्न, इष्टमित्र र दाजुभाइको लागि जेसुकै गर्न तयार रहन। शैतानको यो ज्ञानभित्र, मानिसले अनजानमै धेरै कुराहरू सिक्छ, जुन सकारात्मक छँदै-छैनन्। मानिसको अनभिज्ञतामाझ, शैतानद्वारा तयार गरिएका बीउहरू मानिसहरूको अपरिपक्‍व मनमस्तिष्कहरूमा छरिन्छ। यी बीउहरूले तिनीहरूलाई महान् व्यक्ति बन्‍नुपर्छ, चर्चित बन्‍नुपर्छ, नायक बन्‍नुपर्छ, देशभक्त बन्‍नुपर्छ, आफ्‍नो परिवारलाई प्रेम गर्ने व्यक्ति बन्‍नुपर्छ, र साथीको लागि जे पनि गर्ने व्यक्ति बन्‍नुपर्छ र व्यक्तिगत वफादारीताको भाव धारण गर्नुपर्छ भन्‍ने अनुभूति गराउँछ। शैतानको प्रलोभनमा परेर, अनजानमै तिनीहरू त्यसले तिनीहरूका लागि तयार गरेको बाटोमा हिँड्छन्। यो बाटोमा ओरालो लाग्‍ने क्रममा, तिनीहरूले शैतानका जिउने नियमहरू पछ्याउन बाध्य हुन्छन्। पूर्ण रूपमा अनभिज्ञ रहेर, जिउनको लागि तिनीहरूले आफ्‍नै नियमहरू निर्माण गर्छन्, तर ती शैतानका नियमहरू बाहेक केही पनि हुँदैनन् जसलाई त्यसले तिनीहरूको मनमस्तिष्कमा जबरजस्ती हालिदिएको हुन्छ। शैतानले तिनीहरूलाई तिनीहरूको सिकाइ प्रक्रियामा तिनीहरूका आफ्‍नै उद्देश्यहरू हुर्काउन र तिनीहरूका आफ्‍नै जीवन लक्ष्यहरू, जिउने नियमहरू र जीवन दिशा निर्धारित गर्न लगाउँछ र यस क्रममा मानिसहरूलाई तिनीहरू प्रलोभनमा परुन्जेल अलि-अलि गरी कथाहरू, जीवनीहरू र सम्‍भव भएका अरू सबै माध्यमहरूको प्रयोग गरेर तिनीहरूको मनमस्तिष्कमा शैतानका कुराहरू हालिदिन्छ। यसरी, तिनीहरूको सिकाइको अवधिमा, कतिले साहित्य, कतिले अर्थशास्‍त्र, अरूले खगोलविज्ञान वा भूगोल मन पराउँछन्। अनि कतिपयले राजनीतिशास्त्र मन पराउँछन्, कतिले भौतिकविज्ञान मन पराउँछन्, कतिलाई रसायनशास्त्र मन पर्छ, अनि अझै अरूलाई ईश्‍वरशास्‍त्र मन पर्छ। यी सबै वृहत् समग्रता अर्थात् ज्ञानका भागहरू हुन्। तिमीहरूको हृदयमा, यी सबै कुराहरू वास्तवमा केसँग सम्‍बन्धित छन् भन्‍ने तिमीहरू प्रत्येकलाई थाहा छ; तिमीहरू प्रत्येक नै यसभन्दा पहिले तिनको सम्पर्कमा आएका थियौ। तिमीहरू प्रत्येकले नै ज्ञानका एउटा वा अर्को हाँगाहरूका बारेमा अटुट रूपमा कुरा गरिरहन सक्छौ। यसरी मानिसहरूको मनमा यो ज्ञान कति गहिरो गरी प्रवेश गरेको छ भन्‍ने कुरा स्पष्ट हुन्छ; मानिसहरूका हृदयमा यो ज्ञानले लिएको स्थान अनि तिनीहरूमा यसको प्रभाव कति गहन छ भन्‍ने कुरालाई स्पष्टै देख्‍न सकिन्छ। कसैले ज्ञानको एउटा क्षेत्रप्रति आत्मीयता विकास गरिसकेपछि, जब व्यक्तिले यसलाई गहन रूपमा प्रेम गरेको हुन्छ, तब तिनीहरूले अनजानमै महत्त्वाकाङ्क्षाहरूको विकास गर्छन्: कतिपय मानिसहरू लेखक बन्‍न चाहन्छन्, कति जना साहित्यकार बन्‍न चाहन्छन्, कति जना राजनीतिलाई पेसा बनाउन चाहन्छन्, र कति जना अर्थशास्‍त्रमा संलग्‍न भएर व्यापारी बन्‍न चाहन्छन्। त्यसै गरी नायकहरू, महान् वा चर्चित बन्‍न चाहने मानिसहरू पनि छन्। कुनै व्यक्ति जस्तो प्रकारको व्यक्ति बन्‍न चाहे पनि, तिनीहरूको लक्ष्य भनेको ज्ञान सिक्‍ने यो विधिलाई लिएर तिनीहरूका आफ्‍नै फाइदाको लागि, तिनीहरूका आफ्‍नै इच्‍छाहरू, तिनीहरूका आफ्‍नै महत्त्वाकाङ्क्षाहरूको लागि प्रयोग गर्नु हो। यो जति नै राम्रो सुनिए पनि—तिनीहरूले आफ्‍ना सपनाहरू हासिल गर्न, आफ्‍नो जीवन बरबाद नगर्न, वा निश्‍चित पेसा अपनाउन चाहे पनि नचाहे पनि—तिनीहरूले यी उच्च आदर्श र महत्त्वाकाङ्क्षाहरू लिन्छन्, तर वास्तवमा यो सबै केका लागि हो त? के तिमीहरूले यसभन्दा पहिले कहिल्यै यो प्रश्‍नको बारेमा विचार गरेका छौ? शैतानले किन यस्तो कार्य गर्छ? यी कुराहरूलाई मानिसको मनमस्तिष्कमा राखिदिनुमा शैतानको के उद्देश्य छ? यो प्रश्‍नको विषयमा तिमीहरूको हृदय स्पष्ट हुनैपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १५५

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्छ र उसलाई नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ (छनौट गरिएका खण्डहरू)

मानिसले ज्ञान सिक्‍ने प्रक्रियामा, शैतानले सबै किसिमका विधिहरू प्रयोग गर्छ, चाहे यो कथाहरू सुनाउने, उसलाई ज्ञानका केही अलगअलग टुक्राहरू दिने होस्, वा उसलाई आफ्ना चाहना वा महत्त्वाकाङ्क्षाहरू पूरा गर्न दिने होस्। शैतान उसई कुन बाटोमा डोर्‍याउन चाहन्छ? मानिसहरूले ज्ञान सिक्‍नु गलत होइन, यो पूर्ण रूपमा प्राकृतिक कुरा हो भन्‍ने ठान्छन्। यसलाई आकर्षक तरिकाले भन्दा, उच्‍च आकाङ्क्षाहरू पाल्नु वा महत्त्वाकाङ्क्षाहरू राख्‍नु भनेको इच्‍छाशक्ति हुनु हो, र जीवनको सही मार्ग यही नै हुनुपर्छ। यदि मानिसहरूले आफ्‍ना आकाङ्क्षाहरू पूरा गर्न सक्छन्, वा सफलतापूर्वक करियर बनाउन सक्छन् भने, के यो तिनीहरूका लागि वैभवशाली जिउने तरिका होइन र? यी कुराहरू गरेर, व्यक्तिले आफ्‍ना पुर्खाहरूलाई सम्‍मान गर्ने मात्रै होइन, इतिहासमा आफ्‍नो छाप छोडेर जाने मौका पनि पाउँछ—के यो असल कुरा होइन र? सांसारिक मानिसहरूको नजरमा यो असल कुरा हो, र तिनीहरूको लागि यो उचित र सकारात्मक हुनुपर्छ। तैपनि, के शैतानले कुटिल मनसायहरूद्वारा मानिसहरूलाई यस प्रकारको मार्गमा लगेपछि त्यो त्यतिमै सकिन्छ र? अवश्य नै सकिँदैन। वास्तवमा, मानिसका आकाङ्क्षाहरू जति नै भव्य भए पनि, मानिसका चाहनाहरू जति नै वास्तविक वा ती जति नै न्यायसङ्गत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा, अपरिहार्य रूपमा दुईवटा शब्‍दसँग जोडिएको हुन्छ। यी दुई शब्‍द हरेक व्यक्तिका लागि जीवनभर अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्‍द के-के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतानले मानिसहरूलाई अनजानमै त्यसका उपाय र बाँच्ने नियमहरू स्विकार्ने, जीवनका लक्ष्य र जीवनका दिशा विकास गर्ने, र जीवनप्रतिका आकाङ्क्षाहरू विकास गर्ने तुल्याउनका लागि अत्यन्तै सौम्य विधि प्रयोग गर्छ, त्यस्तो विधि जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्छ, जुन त्यति उग्र हुँदैन। मानिसहरूका जीवनका आकाङ्क्षाहरूका बयानहरू जति उच्च सुनिने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्ति को वरिपरि घुमिरहेका। कुनै पनि महान् वा चर्चित व्यक्तिले—वा वास्तवमा कुनै पनि व्यक्तिले—जीवनभर पछि लाग्ने कुराहरू यी दुई शब्‍दहरू “ख्याति” र “प्राप्ति” सँग मात्रै सम्बन्धित हुन्छन्। मानिसहरू ख्याति र प्राप्ति पाएपछि तिनीहरूसँग उच्‍च हैसियत र ठूलो धनको आनन्द लिन, र जीवनको आनन्द लिन पूँजी हुन्छ भन्‍ने सोच्छन्। तिनीहरू ख्याति र प्राप्ति पाएपछि तिनीहरूसँग आनन्द खोज्न र बेकाबु देहसुखमा लाग्‍नका लागि पूँजी हुन्छ भन्‍ने सोच्छन्। मानिसहरूले चाहना गर्ने यो ख्याति र प्राप्तिका खातिर, तिनीहरू खुसीसाथ र अनजानमै आफ्‍नो तन, मन, साथै आफ्ना भविष्य र भाग्यलगायतका आफूसँग भएका सबै कुरासमेत शैतानलाई सुम्पन्छन्। तिनीहरू पूरा निष्कपटताका साथ, एकछिन पनि शङ्का नगरी, र कुनैबेला आफूसँग भएका सबै कुरा फिर्ता ल्याउनुपर्छ भन्ने थाहै नपाई त्यसो गर्छन्। मानिसहरूले आफूलाई यसरी शैतानसामु सुम्पिएर तिनीहरू त्यसप्रति बफादार बनिसकेपछि के तिनीहरूले आफैमाथि कुनै नियन्त्रण राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र न्यायवान् छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने मानिसहरूका लागि ख्याति र प्राप्तिको लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; यी त्यस्ता कुरा हुन् जसलाई मानिसहरूले आफ्‍नो जीवनभरि र अनन्तसम्‍म पनि नपछ्याइ रहन सक्दैनन्। खास अवस्था यही होइन र? कतिपय मानिसहरूले भन्छन् कि ज्ञान सिक्‍नु भनेको पुस्तकहरू पढ्नु वा समयअनुसार पछि नपर्न वा संसारद्वारा पछि नछोडिनको लागि आफूलाई थाहा नभएका एकदुई वटा कुरा सिक्‍नुबाहेक केही पनि होइन। हातमुख जोड्न सकियोस् भनेर, आफ्‍नै भविष्यको खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नको लागि मात्रै, एक दशकसम्‍म कठिन अध्ययन गर्न सक्‍ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्‍म यस्ता कठिनाइहरू सहन्छ? यो ख्याति र प्राप्तिको लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढा बसेर प्रतीक्षा गरिरहेको हुन्छ, तिनीहरूलाई इसारा गरिरहेको हुन्छ र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र संघर्षले मात्र आफूलाई ख्याति र प्राप्ति दिलाउने मार्गमा डोर्‍याउन सक्छ भन्‍ने विश्‍वास गर्छन्। त्यस्तो व्यक्तिले आफ्नो भविष्यको लागि, आफ्नो भविष्यको आनन्दको लागि र उत्तम जीवन प्राप्त गर्नको लागि यस्ता कठिनाइहरू भोग्‍नुपर्छ। आखिर यो ज्ञान के हो—के तिमीहरू मलाई भन्‍न सक्छौ? के यो “आफ्नो देश, पार्टी, र धर्मलाई प्रेम गर” र “बुद्धिमान मान्छे परिस्थितिअनुसार चल्छ” भन्‍नेजस्ता शैतानले मानिसहरूमा हालिदिएका जीवन जिउने नियम र दर्शनहरू होइन र? के यो महान् मानिसहरूका विचारहरू, चर्चित व्यक्तिहरूको निष्ठा वा पराक्रमी व्यक्तित्वहरूको साहसिक स्वभाव, वा मार्सल आर्ट उपन्यासका नायक र तरवारधारीहरूको वीरता र दयालुपनजस्ता शैतानले मानिसमा हालिदिएका जीवनका “उच्‍च आकाङ्क्षाहरू” होइन र? यी विचारहरूले एकपछि अर्को पुस्तालाई प्रभाव पार्छन्, र हरेक पुस्ताका मानिसहरूलाई यी विचारहरू स्वीकार गर्ने बनाउँछन्। तिनीहरूले “उच्‍च आकाङ्क्षाहरू” को खोजीमा निरन्तर सङ्घर्ष गर्छन् र यसैको खातिर आफ्नो जीवन बलिदानसमेत गर्छन्। मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्ने माध्यम र तरिका यही हो। अनि, शैतानले मानिसहरूलाई यो मार्गमा डोर्‍याइसकेपछि, के तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई आराधना गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका वचनहरू स्वीकार गर्न र पछ्याउन सक्छन्? बिलकुलै सक्दैनन्—किनभने तिनीहरू शैतानद्वारा बहकिइसकेका छन्। हामी शैतानले मानिसहरूमा हालिदिने ज्ञान, विचार र रायहरूलाई फेरि हेरौँ: के ती कुरामा परमेश्‍वरप्रतिको समर्पण र आराधनासम्बन्धी सत्यताहरू हुन्छन्? के तिनमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने आचरण छ? के तिनमा परमेश्‍वरका वचनहरूको कुनै कुरा छ? के तिनमा सत्यतासँग सम्बन्धित कुनै कुरा छ? बिलकुलै छैन—यी कुराहरू छँदै छैनन्। के तिमीहरू शैतानले मानिसहरूमा हालिदिने यी कुराहरूमा सत्यता छैन भन्‍ने कुरामा निश्‍चित हुन सक्छौ? तिमीहरू निश्‍चित हुन आँट गर्दैनौ, तर केही छैन। मानिसहरूलाई लोभ्याएर दुष्टताको मार्गमा ल्याउन शैतानले प्रयोग गर्ने दुई मुख्य शब्‍दहरू “ख्याति” र “प्राप्ति” नै हुन् भनी तैँले पहिचान् गर्छस् भने, त्यो नै पर्याप्त हुन्छ।

अहिलेसम्‍म हामीले के-के छलफल गर्‍यौँ, छोटकरीमा पुनरावलोकन गरौँ: शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्‍नको लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) शैतानले मानिसका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, मानिसहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ। तिनीहरू ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कष्ट भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन् र गह्रौँ बोझहरू वहन गर्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र ख्याति र प्राप्तिकै लागि हरेक फैसला वा निर्णय गर्छन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ कदम-कदम गर्दै अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन भन्‍ने लाग्छ, र तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले उप्रान्त अगाडिको बाटो देख्‍न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्‍ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब शैतानले तँमा रोपेका यी सबै कुराहरूबाट तैँले आफूलाई आजाद गर्न चाहने समय आउँछ, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्‍वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १५६

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञान प्रयोग गर्छ

शैतानले मानिसको उत्सुकता, विज्ञानको अन्वेषण गर्ने र रहस्यहरू जाँच्‍ने मानिसको इच्‍छालाई सन्तुष्ट पार्न विज्ञानको नाम प्रयोग गर्छ। विज्ञानको नाममा, शैतानले मानिसका भौतिक खाँचोहरू र जीवनको गुणस्तर निरन्तर सुधार गर्ने मानिसको माग पूरा गर्छ। तसर्थ, यही बहानामा शैतानले मानिसलाई भ्रष्ट तुल्याउन विज्ञानको प्रयोग गर्छ। के शैतानले यसरी विज्ञानको प्रयोग गरी मानिसको विचारलाई मात्र भ्रष्ट तुल्याउँछ कि मानिसको मनमस्तिष्कलाई नै भ्रष्ट तुल्याउँछ? हाम्रो वरिपरिका हामीले देख्‍ने र हाम्रो सम्पर्कमा आउने मानिसहरू, घटनाहरू र विभिन्‍न कुराहरूमध्ये, अरू के-केलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञानको प्रयोग गर्छ? (प्राकृतिक वातावरणलाई।) सही हो। तिमीहरूलाई यसले गहन रूपमा हानि गरेको र गहन रूपमा असर पारेको छ जस्तो देखिन्छ। मानिसलाई भ्रममा पार्नका लागि विज्ञानका विभिन्‍न परिणाम र निष्कर्षहरू प्रयोग गर्नेबाहेक, मानिसलाई परमेश्‍वरले दिनुभएको जिउने वातावरणलाई मनोमानी रूपमा विनाश र शोषण गर्न पनि शैतानले विज्ञानकै प्रयोग गर्छ। मानिसले वैज्ञानिक शोध-अध्ययन गरेमा मानिसको जिउने वातावरण र जीवनको गुणस्तर निरन्तर सुधार हुनेछ, र वैज्ञानिक विकासको उद्देश्य भनेकै मानिसहरूको दैनिक रूपमा बढ्दो भौतिक खाँचोहरू र तिनीहरूको जीवनको गुणस्तरमा निरन्तर सुधार गर्नुपर्ने आवश्यकता पूरा गर्नु हो भन्‍ने बहानामा त्यसले यसो गर्छ। शैतानले विज्ञानको विकास गर्नुको सैद्धान्तिक आधार यही हो। तैपनि, विज्ञानले मानवजातिमा के ल्याएको छ त? के हाम्रो जिउने वातावरण, र सारा मानवजातिको जिउने वातावरण, दूषित पारिएको छैन र? के मानिसले सास फेर्ने हावा दूषित पारिएको छैन र? के हामीले पिउने पानी दूषित पारिएको छैन र? के हामीले खाने खाना प्राङ्गारिक र प्राकृतिक छ र? धेरैजसो अन्‍न र सागसब्जीलाई आनुवांशिक संशोधन गरी, रासायनिक मलको प्रयोग गरेर उमारिन्छ र तीमध्ये केही त विज्ञानको प्रयोग गरी सिर्जना गरिएका फरक प्रजातिहरू पनि छन्। हामीले खाने सागसब्‍जी र फलफूलसमेत अब प्राकृतिक छैनन्। प्राकृतिक अन्डासमेत अब भेट्टाउन सजिलो छैन, र शैतानको तथाकथित विज्ञानले पहिले नै प्रशोधन गरेको कारण अन्डाहरूको स्वाद पहिलेजस्तो छैन। बृहत् चित्रलाई हेर्दा, सम्पूर्ण वायुमण्डललाई नष्ट र प्रदूषित गरिएको छ; हिमाल, तालतलैया, वनजङ्गल, खोलानाला, समुद्र, र जमिनमाथि एवं जमिनमुनिका सबै कुरालाई तथाकथित वैज्ञानिक उपलब्धिले तहसनहस पारेको छ। छोटकरीमा, परमेश्‍वरले मानवजातिलाई दिनुभएको जिउने वातावरण अर्थात प्राकृतिक वातावरणलाई सम्पूर्ण रूपमा तथाकथित विज्ञानले नष्ट र विनाश गरेको छ। जीवनको गुणस्तरको हिसाबमा, आफूले सधैँ आशा गरेका कुराहरू प्राप्त गर्ने र यसरी आफ्ना इच्‍छाहरू र देहलाई सन्तुष्ट पार्ने मानिसहरू धेरै छन्, तैपनि मानिस जिउने वातावरणलाई विज्ञानले ल्याएका विभिन्‍न “उपलब्धिहरू” ले नष्ट र विनाश गरेका छन्। एकपटक चोखो हावाको सास फेर्ने अधिकारसमेत हामीसँग अब रहेन। के यो मानवजातिको लागि शोक होइन र? यस प्रकारको स्थानमा जिउनुपर्दा, के मानिससँग अब कुरा गर्नको लागि कुनै खुशी बाँकी रहेको छ र? मानिस बस्‍ने यो स्थान र जिउने वातावरणलाई सुरुबाटै परमेश्‍वरले मानिसको लागि सृष्टि गर्नुभएको थियो। मानिसहरूले पिउने पानी, मानिसहरूले सास फेर्ने हावा, मानिसहरूले खाने विविध प्रकारका खानेकुरा, साथै बोटबिरुवा, सजीव प्राणीहरू, पहाड, तालतलैया र समुद्रसमेत—यस जीवित वातावरणको हरेक भाग परमेश्‍वरले मानिसलाई दिनुभएको थियो; यो प्राकृतिक छ, परमेश्‍वरले तय गर्नुभएको प्राकृतिक नियमअनुसार चलिरहेको छ। विज्ञान नै नभएको भए पनि, मानिसहरूले परमेश्‍वरप्रदत्त तौरतरिकाहरू अवलम्बन गर्नेथिए, तिनीहरूले मौलिक र प्राकृतिक अवस्थामा रहेका सबै कुराको आनन्द लिन सक्‍नेथिए, र तिनीहरू खुसी नै हुनेथिए। तर, अहिले यो सबैलाई शैतानले नष्ट र विनाश गरेको छ; मानिसहरू जिउने आधारभूत क्षेत्र अब मौलिक रहेन। तर यस्तो अवस्था केले पैदा गर्‍यो वा यो कसरी भयो भनी कसैले पहिचान गर्न सक्दैन, बरु धेरैभन्दा धेरै मानिसहरू विज्ञानको शरण पर्छन् र शैतानले तिनीहरूको मनमस्तिष्कमा घुसाइदिएको विचारहरूद्वारा यसलाई बुझ्छन्। के यो अत्यन्तै घृणास्पद र दयनीय कुरा होइन र? अहिले, शैतानले मानिसहरू अस्तित्वमा रहेको क्षेत्रका साथै तिनीहरू जिउने वातावरणलाई लिइसकेको छ र तिनीहरूलाई भ्रष्ट तुल्याई यो स्थितिमा पुर्‍याएको छ, र मानवजाति अटुट रूपमा यही मार्गमा विकसित भइरह्यो भने, के यी मानिसहरूलाई व्यक्तिगत रूपमा परमेश्‍वरले नष्ट गर्नु आवश्यक छ? यदि मानिसहरूले यहीअनुरूप विकास हुने कार्यलाई जारी राखे भने, तिनीहरूले कुन दिशा लिनेछन्? (तिनीहरू नष्ट पारिनेछन्।) तिनीहरू कसरी नष्ट पारिनेछन्? ख्याति र प्राप्तिसम्‍बन्धी मानिसहरूको लोभी खोजबाहेक, तिनीहरूले अटुट रूपमा वैज्ञानिक अन्वेषणलाई अघि बढाउँछन् र गहन शोध-अध्ययन गर्छन्, र त्यसपछि तिनीहरू आफ्‍नै भौतिक खाँचो र कामनाहरू पूरा गर्न अनवरत रूपमा कार्य गर्छन्; त्यसोभए, मानिसको लागि के-कस्ता परिणामहरू हुन्छन् त? सर्वप्रथम, पर्यावरणीय सन्तुलन बिग्रन्छ, र जब यस्तो हुन्छ, यो असन्तुलित वातावरणद्वारा मानिसहरूका शरीर, तिनीहरूका भित्री अङ्गहरू कलङ्ककित र क्षय हुन्छन्, र संसारभरि विभिन्‍न प्रकारका सङ्क्रामक रोग र महामारीहरू फैलन्छन्। अहिलेको यो अवस्थामा मानिसको कुनै नियन्त्रण छैन भन्‍ने कुरा के साँचो होइन र? अब तिमीहरूले यसलाई बुझिसकेकाले, यदि मानवजातिले परमेश्‍वरलाई पछ्याउँदैन, बरु निरन्तर आफैलाई सम्पन्‍न तुल्याउन ज्ञान प्रयोग गर्दै, मानव जीवनको भविष्यको निरन्तर अन्वेषण गर्न विज्ञान प्रयोग गर्दै, निरन्तर बाँचिरहन यस प्रकारको विधि प्रयोग गर्दै, सधैँ यसरी नै शैतानलाई पछ्याउँछ भने, मानवजातिको अन्त्य के हुनेछ, के तँ पहिचान गर्न सक्छस्? मानवजाति प्राकृतिक रूपमै लोप हुनेछ: एकएक कदम गर्दै मानवजाति विनाशतर्फ—आफ्नै विनाशतर्फ अघि बढ्छ! के यो आफैमाथि विनाश ल्याउनु होइन र? अनि, के यो वैज्ञानिक प्रगतिको परिणाम होइन र? यस्तो लाग्छ, विभिन्‍न कुराहरू पत्ता लगाउने प्रयास गर्दा, तिमीहरूले कुहिरोको धूमिल दृष्टिभित्र बसेर यसो गर्नुपरोस् भनी मान्छेको लागि शैतानले तयार गरेको जादुको ओखती अब विज्ञान नै हो; तैँले जति नै जोड गरी हेरे पनि, स्पष्ट रूपमा देख्‍न सक्दैनस्, अनि तैँले जति नै कठिन प्रयास गरे पनि, तैँले तिनलाई पत्ता लगाउन सक्दैनस्। तर, शैतानले तेरो अभिलाषालाई अझै बढाउन र तँलाई सधाएको जन्तुलाई झैं एकपछि अर्को कदम गर्दै अतलकुण्ड र मृत्युतर्फ डोर्‍याउन विज्ञानको नाम प्रयोग गरिरहन्छ। अवस्था यस्तो भएको हुँदा, मानिसहरूले त्यसलाई स्पष्टसित देख्‍नेछन्, मानिसको विनाश शैतानको हातले गराएको हो, र शैतान नै गिरोहको नाइके हो भनेर स्पष्टसित देख्‍नेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १५७

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले परम्‍परागत संस्कृति प्रयोग गर्छ

शैतानले मानिसलाई भ्रष्ट तुल्याउन परम्‍परागत संस्कृति प्रयोग गर्छ। परम्‍परागत संस्कृति र अन्धविश्‍वासको बीचमा विभिन्‍न समानताहरू छन्, तर भिन्‍नता के हो भने परम्‍परागत संस्कृतिमा निश्‍चित कथा, उपमा, र स्रोतहरू हुन्छन्। शैतानले मानिसहरूमा परम्‍परागत संस्कृति वा अन्धविश्‍वासका व्यक्तित्वहरूको गहन छाप छोड्न विभिन्‍न लोक कथा वा इतिहासका पुस्तकहरूमा देखा पर्ने कथाहरूको कल्‍पना र प्रतिपादन गरेको छ। उदाहरणको लागि, चीनमा “समुद्र तर्ने आठ जना अविनाशीहरू,” “पश्‍चिमतर्फको यात्रा,” सम्राट जेड, “अजिङ्गर राजालाई जित्ने नेझा,” र “देवताहरूको अभिषेक” जस्ता लोक कथाहरू छन्। के यिनले मानिसको मनमा गहिरो जरा गाडेका छैनन् र? तिमीहरूमध्ये कतिलाई यिनको विवरण थाहा नभए पनि, तिमीहरूलाई समग्र कथा थाहा छ, र तेरो हृदय र मनमा टाँस्‍सिने भनेको समग्र विषयवस्तु नै हो, यसरी तैँले तिनलाई बिर्सन सक्दैनस्। शैतानले धेरै पहिले नै मानिसका निम्ति तयार गरेका विभिन्‍न विचार वा दन्त्यकथाहरू यिनै हुन्, र फरक-फरक समयमा यसको प्रचार-प्रसार भएको छ। यी कुराहरूले प्रत्यक्ष रूपमा मानिसहरूको प्राणलाई हानी र नष्ट गर्छन् अनि मानिसहरूलाई एकपछि अर्को गरी मन्त्रमुग्‍ध पार्छ। भन्‍नुको अर्थ, तैँले त्यस्ता परम्‍परागत संस्कृति, कथाहरू, वा अन्धविश्‍वासका कुराहरूलाई स्वीकार गरिसकेपछि, ती तेरो मनमा स्थापित भइसकेपछि, र ती तेरो हृदयमा बसिसकेपछि, तँ मन्त्रको बन्धनमा परेको जस्तै हुनेछस्—तँ यी परम्‍परागत फन्दाहरू, यी विचार र परम्‍परागत कथाहरूको जालमा पर्छस् र त्यसकै प्रभावमा हुन्छस्। तिनले तेरो जीवन, जीवन सम्‍बन्धी तेरो दृष्टिकोण, र कुराहरूप्रतिको तेरो मूल्याङ्कनलाई प्रभाव पार्छन्। त्योभन्दा पनि बढी जीवनको साँचो मार्गको तेरो खोजीलाई तिनले प्रभाव पार्छन्: यो वास्तवमा नै दुष्ट मन्‍त्र हो। तैँले जसरी प्रयास गरे पनि, तैँले तिनलाई हटाउन सक्दैनस्; तैँले तिनलाई काट्छस् तर काटेर ढाल्‍न सक्दैनस्; तैँले तिनलाई प्रहार गर्छस् तर प्रहार गरेर तैँले तिनलाई धपाउन सक्दैनस्। यसको साथै, मानिसहरू अनजानमा यस प्रकारको मन्‍त्रमा परिसकेपछि, तिनीहरूले आफ्‍नो हृदयमा शैतानको स्वरूपलाई जगेर्ना गरेर अनजानमै शैतानको पूजा गर्न थाल्छन्। अर्को शब्‍दमा भन्दा, तिनीहरूले शैतानलाई तिनीहरूको मूर्ति, तिनीहरूले आराधना गर्ने र आदरको साथ हेर्ने वस्तुको रूपमा स्थापना गर्छन्, यहाँसम्‍म कि तिनीहरूले यसलाई परमेश्‍वरकै रूपमा लिन्छन्। अनजानमा, यी कुराहरूले मानिसहरूको बोलीवचन र कार्यहरूलाई नियन्त्रण गर्दै ती तिनीहरूको हृदयमा बस्छन्। यसको साथै, सुरुमा तैँले यी कथा र दन्त्यकथाहरू झूट हुन् भन्‍ने ठान्छस्, तर अनजानमै तिनीहरूलाई वास्तविक व्यक्तिहरू ठान्दै र तिनीहरूलाई वास्तविक, अस्तित्वमा रहेका थोकहरूका रूपमा परिवर्तन गर्दै तँ तिनीहरूका अस्तित्वलाई स्वीकार गर्छस्। तेरो अनभिज्ञतामा, तैँले यी विचारहरूलाई र यी कुराहरूको अस्तित्वलाई अवचेतन रूपमा ग्रहण गर्छस्। तैँले अवचेतन रूपमा दियाबलसहरू, शैतान, र मूर्तिहरूलाई तेरो आफ्‍नै घरमा र तेरो आफ्‍नै हृदयमा ग्रहण गर्छस्—यो वास्तवमा मन्त्र नै हो। के यी शब्‍दहरूले तिमीहरूलाई छोयो? (छोयो।) के तिमीहरूमध्ये कसैले बुद्धको लागि धूप बालेका र त्यसको पूजा गरेका छौ? (छौँ।) त्यसो भए, धूप बाल्‍नु र बुद्धको पूजा गर्नुको उद्देश्‍य के थियो? (शान्तिको लागि प्रार्थना गर्नु।) अहिले विचार गर्दा, शान्तिको लागि शैतानलाई प्रार्थना गर्नु कति मूर्खतापूर्ण थियो होइन र? के शैतानले शान्ति ल्याउँछ? (ल्याउँदैन।) के तिमीहरू त्यो बेला कति अनजान थियौ सो देख्‍छौ? त्यस किसिमको बानीबेहोरा मूर्ख, अज्ञानी र अबुझ हो, होइन र? शैतानले तँलाई कसरी भ्रष्ट तुल्याउने भन्‍ने बारेमा मात्रै चासो राख्छ। शैतानले तँलाई शान्ति दिन सक्दैन, केवल अस्थायी सहजता मात्रै दिन सक्छ। तर यो सहजता प्राप्त गर्नको लागि तैँले भाकल गर्नैपर्छ, र यदि तैँले शैतानलाई गरेको कबुल वा भाकल तोडिस् भने, त्यसले तँलाई कसरी सताउँछ त्यो तैँले देख्‍नेछस्। तँलाई भाकल गर्ने तुल्याउँदा त्यसले वास्तवमा तँलाई नियन्त्रण गर्न चाहन्छ। जब तिमीहरूले शान्तिको लागि प्रार्थना गर्‍यौ, के तिमीहरूले शान्ति प्राप्त गर्‍यौ? (गरेनौँ।) तिमीहरूले शान्ति प्राप्त गरेनौ, तर यसको विपरीत तिमीहरूको प्रयासले दुर्भाग्य र अटुट विपत्ति अर्थात् तिक्तताको साँच्‍चै सीमारहित सागर ल्यायो। शान्ति शैतानको सत्ताभित्र छैन, र सत्य यही हो। सामन्ती अन्धविश्‍वास र परम्‍परागत संस्कृतिले मानवजातिमा ल्याउने परिणाम यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १५८

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले सामाजिक प्रचलन प्रयोग गर्छ

शैतानले मानिसलाई सामाजिक प्रचलनमार्फत् भ्रष्ट पार्छ र नियन्त्रण गर्छ। “सामाजिक प्रचलन” मा चर्चित र महान व्यक्तित्वहरूको आराधनाका साथै चलचित्र र साङ्गीतिक आदर्शहरू, सेलिब्रेटी भक्ति, अनलाइन गेमजस्ता विविध क्षेत्रहरूलगायतका धेरै पक्षहरू हुन्छन्—यी सबै नै सामाजिक प्रचलनका भागहरू हुन्, र यसबारे विस्तृतमा कुरा गर्न आवश्यक छैन। हामी मानिसहरूमा सामाजिक प्रचलनले ल्याउने विचारहरू, तिनले मानिसहरूलाई संसारसँग व्यवहार गर्न लगाउने तरिका, र मानिसहरूमा तिनले ल्याउने जीवनका लक्ष्यहरू र दृष्टिकोणका बारेमा मात्रै कुरा गर्नेछौँ। यी अत्यन्तै महत्त्वपूर्ण छन्; तिनले मानिसहरूका सोच र रायहरूलाई ळनियन्त्रण गर्न र प्रभाव पार्न सक्छन्। यी प्रचलनहरू एकपछि अर्को गर्दै उत्पन्‍न हुन्छन्, र ती सबैले मानिसहरूलाई विवेक, मानवता र समझ गुमाउने तुल्याउँदै, तिनीहरूको नैतिकता र सत्यनिष्ठा झन् कमजोर पार्दै, मानवजातिलाई निरन्तर नीच तुल्याउने दुष्‍प्रभाव ल्याउँछन्, यहाँसम्‍म कि धेरैजसो मानिसमा अब कुनै इज्‍जत, कुनै मानवता छैन, न त तिनीहरूसँग कुनै विवेक न त कुनै नैतिकता नै छ भनेरसमेत भन्‍न सकिने अवस्था छ। त्यसोभए, यी सामाजिक प्रचलनहरू के हुन् त? ती तैँले नाङ्गो आँखाले देख्‍न नसक्‍ने प्रचलनहरू हुन्। जब कुनै नयाँ प्रचलन संसारभरि फैलन्छ, सायद मानिसहरूको सानो सङ्ख्या मात्रै प्रचलन निर्माणकर्ताहरूको रूपमा अग्रणी स्थानमा रहेको हुन्छ। तिनीहरूले कुनै नयाँ कुरा गरेर यसको सुरुवात गर्छन्, त्यसपछि कुनै प्रकारको विचार वा कुनै प्रकारको दृष्टिकोणलाई स्वीकार गर्छन्। तैपनि बहुसंख्यक मानिसहरू अवचेतन अवस्थामै यस प्रकारको प्रचनलद्वारा निरन्तर रूपमा तबसम्‍म सङ्क्रमित, आकर्षित हुनेछन्, र तिनीहरूले यसलाई आत्मसात् गर्नेछन्, जबसम्‍म तिनीहरू सबैले यसलाई अनजान रूपमा र अनायसै स्वीकार गर्दैनन्, यसमा डुब्दैनन् र यसद्वारा नियन्त्रित हुँदैनन्। एकपछि अर्को गर्दै त्यस्ता प्रचलनहरूले तन्दुरुस्त शरीर र मस्तिष्क नभएका, सत्यता के हो भनी थाहा नभएका, र सकारात्मक र नकारात्मक कुराहरूबीचमा भिन्‍नता छुट्याउन सक्‍ने क्षमता नभएका मानिसहरूलाई यी कुराहरूका साथै शैतानबाट आउने जीवनसम्‍बन्धी दृष्टिकोण र मूल्यमान्यताहरू खुशीसाथ स्वीकार गर्ने तुल्याउँछन्। जीवनलाई कसरी लिने भन्‍नेबारेमा शैतानले तिनीहरूलाई बताएका कुराहरू र शैतानले तिनीहरूलाई “दिएका” जिउने शैलीहरू तिनीहरूले स्वीकार गर्छन्, र त्यसलाई विरोध गर्ने तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त क्षमता नै, चेतना हुने कुरा त परै जाओस्। त्यसो भए, यस्ता प्रचलनहरूलाई कसरी पहिचान गर्न सकिन्छ? तिमीहरूले क्रमिक रूपमा बुझ्‍न सक भनेर मैले एउटा सरल उदाहरण छनौट गरेको छु। कसैलाई पनि धोका नदिऊँ भनेर मानिसहरूले विगतमा आफ्‍नो व्यापार सञ्‍चालन गर्थे; जोसुकैले खरिद गरे पनि तिनीहरूले मालसामान उही मूल्यमा बिक्री गर्थे। के यहाँ असल विवेक र मानवताको केही तत्व सम्प्रेषित गरिएको छैन र? जब मानिसहरूले यसरी असल नियतसाथ आफ्‍नो व्यापार सञ्‍चालन गर्थे, त्यस बेला तिनीहरूमा केही विवेक र केही मानवता थियो भनेर देख्‍न सकिन्छ। तर पैसासम्‍बन्धी मानिसको सधैँ बढिरहने मागसँगै, मानिसहरूले पत्तै नपाई पैसा, नाफा, र सुखचैनलाई झन्झन् बढी प्रेम गर्न थाले। के मानिसहरूले पैसालाई पहिलेभन्दा अहिले बढी प्राथमिकता दिँदैनन् र? जब मानिसहरूले पैसालाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेर्न थाल्छन्, तिनीहरूले आफ्‍नो मर्यादा, प्रसिद्धि, छवि र निष्ठालाई कम महत्त्व दिन्छन्, के तिनीहरूले त्यसो गर्दैनन् र? जब तँ व्यापारमा संलग्‍न हुन्छस्, तैँले अरूलाई मान्छे ठगेर धनी बनेको देख्छस्। त्यो पैसा नराम्रो तरिकाले कमाइएको भए पनि, तिनीहरू झन्झन् धनी बन्दै जान्छन्। तिनीहरूको परिवारले सबै कुराको मजा लिएको देख्दा, तँलाई नरमाइलो लाग्छ: “हामी सबै नै व्यापार गर्छौँ तर तिनीहरू धनी बने। मचाहिँ किन धेरै पैसा कमाउन सक्दिनँ? म अब यो सहन सक्दिनँ—मैले अझै धेरै पैसा कमाउन, कुनै न कुनै उपाय सोच्‍नुपर्छ।” त्यसपछि त, तैँले गर्ने सबै कुरा भनेकै कसरी धेरै पैसा कमाउने भनेर चिन्तन गर्नु मात्र हो। जब तैँले “पैसा त विवेकअनुसार, र कसैलाई पनि नठगीकन कमाउनुपर्छ” भन्‍ने विश्‍वासलाई त्यागिसकेको हुन्छस्, तब तेरो सोच तेरा आफ्नै स्वार्थहरूद्वारा सञ्‍चालित हुँदै क्रमिक रूपमा बदलिँदै जान्छ र सोहीअनुरूप तेरो कार्यपछाडिका सिद्धान्तहरू पनि बदलिँदै जान्छन्। जब तैँले कसैलाई पहिलोपटक ठग्छस्, तँलाई आफ्नो विवेकले गाली गरेको अनभूति हुन्छ, र तेरो हृदयले तँलाई भन्‍नेछ, “यो सकिएपछि, मैले कसैलाई ठगेको यो नै अन्तिमपटक हुनेछ। मान्छेहरूलाई सधैँ ठग्यो भने यसले प्रतिशोध ल्याउनेछ!” यो मानिसको विवेकको कार्य हो—यसले तँलाई असहज महसुस गराउने र तँलाई धिक्‍कार्ने गर्छ, ताकि तैँले कसैलाई ठग्दा तँलाई अस्वाभाविक महसुस होस्। तर तैँले कसैलाई सफलतापूर्वक धोका दिएपछि, तैँले आफूसँग अहिले पहिलेभन्दा धेरै पैसा भएको देख्छस्, र तँलाई आफ्नो लागि यो तरिका निकै लाभदायक हुन सक्छ भन्‍ने लाग्छ। तेरो हृदयमा भएको हल्‍का पीडाको बाबजुद पनि, तँलाई आफ्नो सफलतामा आफैलाई बधाई दिने मन हुन्छ, र आफैप्रति खुसी महसुस हुन्छ। पहिलोपटक, तैँले आफ्नो व्यवहार, आफ्नो ठग मार्गलाई स्वीकार गर्छस्। यस्तो ठगीद्वारा मानिस एकपटक दूषित भइसकेपछि, यो कुनै व्यक्ति जुवातासमा संलग्‍न भएपछि ऊ जुवाडे बन्‍नुजस्तै हुन्छ। तैँले अचेतन रूपमै, आफ्नो ठगी व्यवहारलाई अनुमोदन गर्छस् र त्यसलाई स्विकार्छस्। अचेतन रूपमै, तैँले ठगी कार्यलाई उचित व्यावसायिक बानीबेहोरा, र तेरो अस्तित्व र जीविकाको सबैभन्दा उपयोगी माध्यमको रूपमा लिन्छस्; तँलाई लाग्छ, यसो गरेर तैँले चाँडै नै सम्पत्ति कमाउन सक्छस्। यो एक प्रक्रिया हो: सुरुमा, मानिसहरूले यस प्रकारको बानीबेहोरालाई स्वीकार गर्न सक्दैनन्, र तिनीहरूले यस्तो बानीबेहोरा र अभ्यासलाई नीच दृष्टिले हेर्छन्। त्यसपछि तिनीहरूले आफै प्रयोग र परीक्षण गर्दै यो बानीबेहोरालाई आफै अभ्यास गरेर हेर्न थाल्छन्, अनि तिनीहरूको हृदय क्रमिक रूपमा रूपान्तरित हुन थाल्छ। यो कस्तो प्रकारको रूपान्तरण हो? यो प्रचलनको स्वीकृति र अङ्गीकार हो, सामाजिक प्रचलनले तँमा राखिदिएको यो विचारको स्वीकृति र अङ्गीकार हो। महसुसै नगरी, तैँले मानिसहरूसँग व्यापार गर्ने क्रममा नठग्दा खराब अनुभूति गर्न थाल्छस्; तैँले मानिसहरूलाई नठग्दा, तँलाई आफूले कुनै कुरा गुमाइरहेको भान हुन्छ। थाहै नपाई, यो ठगी तेरो प्राण, तेरो मेरुदण्ड, तेरो जीवनको सिद्धान्तरूपी अपरिहार्य व्यवहार बन्छ। मानिसले यो व्यवहार र यो सोचाइलाई स्वीकार गरिसकेपछि, के यसले उसको हृदयमा परिवर्तन ल्याएको हुँदैन र? तेरो हृदय परिवर्तन भएको हुन्छ, त्यसकारण के तेरो सत्यनिष्ठा पनि परिवर्तन भएको हुन्छ? के तेरो मानवता परिवर्तन भएको हुन्छ? के तेरो विवेक परिवर्तन भएको हुन्छ? तेरो सम्पूर्ण अस्तित्व, तेरो हृदयदेखि तेरो विचारसम्‍म, तेरो भित्रदेखि बाहिरसम्म परिवर्तन भएको हुन्छ, र यो एक गुणात्‍मक परिवर्तन हुन्छ। यो परिवर्तनले तँलाई परमेश्‍वरबाट झन्‍झन् टाढा तान्छ, र तँ झन्झन् बढी शैतानसँग नजिकिँदै जान्छस्; तँ झन्झन् बढी शैतानजस्तै बन्छस्, र यसको परिणामस्वरूप, शैतानको भ्रष्टताले तँलाई नरपिशाच बनाउँछ।

यी सामाजिक प्रचलनहरूलाई हेर्दा, के तँ मानिसहरूमा तिनको ठूलो प्रभाव हुन्छ भनेर भन्छस्? के तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्? तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्। यी हरेक सामाजिक प्रचलन प्रयोग गरी शैतानले मानिसको कुन पक्षलाई भ्रष्ट तुल्याउँछ? शैतानले विशेष गरी मानिसको विवेक, समझ, मानवता, नैतिकता र जीवनसम्‍बन्धी दृष्टिकोणलाई भ्रष्ट पार्छ। अनि, के यी सामाजिक प्रचलनहरूले मानिसहरूलाई क्रमिक रूपमा पतित र भ्रष्ट पार्दैन र? मानिसहरूलाई चरणबद्ध रूपमा दियाबलसहरूको गुँडसम्‍म लोभ्याउँदै ल्याउनका लागि शैतानले यी सामाजिक प्रचलनहरूको प्रयोग गर्छ, ताकि मानिसहरूले थाहै नपाई सामाजिक प्रचलनहरूमा पैसा, भौतिक चाहनाहरू, दुष्टता र हिंसालाई श्रद्धा गरून्। यी कुराहरू मानिसको हृदयमा प्रवेश गरिसकेपछि, मानिस के बन्छ? मानिस दियाबलस र शैतान बन्छ! किन? मानिसको हृदयमा कुन मनोवैज्ञानिक झुकाव हुन्छ? मानिसले केलाई आदर गर्छ? मानिसले दुष्टता र हिंसामा आनन्द लिन थाल्छ, अनि सुन्दरता वा भलाइप्रति कुनै प्रेम देखाउँदैन, शान्तिको त कुरै नगरौँ। मानिसहरू सामान्य मानवतामा एउटा सरल जीवन जिउन इच्‍छुक हुँदैनन्, बरु उच्‍च हैसियत र धेरै सम्पत्तिको आनन्द लिन, आफ्‍नो देहलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी नराखी र कुनै रोकावट वा बन्धनविना देहका आनन्दमा मस्त हुन चाहन्छन्; अर्को शब्‍दमा भन्दा, तिनीहरूलाई जे इच्‍छा लाग्छ, तिनीहरू त्यही गर्न चाहन्छन्। त्यसकारण, जब मानिस यस प्रकारका प्रचलनहरूमा डुबेको हुन्छ, के तैँले सिकेको ज्ञानले तँलाई आफैलाई मुक्त गर्न सहयोग गर्छ? के परम्‍परागत संस्कृति र अन्धविश्‍वाससम्‍बन्धी तेरो बुझाइले तँलाई यो भयानक अवस्थाबाट उम्‍कन सहयोग गर्न सक्छ? के मानिसलाई थाहा भएको परम्‍परागत नैतिकता र संस्कारले मानिसहरूलाई संयमता अभ्यास गर्न सहयोग गर्न सक्छ? उदाहरणको लागि, एनालेक्ट्स र ताओ ते चिङलाई लिऊँ। के यिनले मानिसहरूलाई यी दुष्ट प्रचलनहरूको दलदलबाट आफ्‍नो खुट्टा निकाल्‍न सहयोग गर्न सक्छन्? बिलकुलै सक्दैनन्। तसर्थ, मानिस झन्झन् दुष्ट, अहङ्कारी, हेपाहा, स्वार्थी, र दुर्भावनापूर्ण बन्दै जान्छ। मानिसहरूका बीचमा अब कुनै आत्मीयता छैन, परिवारका सदस्यहरूबीच अब कुनै प्रेम छैन, आफन्त र इष्टमित्रबीच अब कुनै समझदारी छैन; मानव सम्‍बन्धहरू हिंसाद्वारा चित्रण भइसकेका छन्। हरेक व्यक्तिले आफ्‍ना सङ्गी मानिसहरूमाझ जिउनको लागि हिंसाको प्रयोग गर्न खोज्छ; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्‍नो दैनिक रोटी खोसेर लिन्छन्; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्‍नो हैसियत र नाफा कमाउँछन्, र आफूले गर्न चाहेको जुनसुकै कुरा गर्न तिनीहरूले हिंसात्मक र दुष्ट मार्गहरूको प्रयोग गर्छन्। के यो मानवजाति अत्यन्तै भयानक छैन र? छ, एकदमै धेरै हदसम्म त्यस्तै छ: तिनीहरूले परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने काम मात्रै गरेका छैनन्, उहाँलाई पछ्याउने सबैको हत्यासमेत गरेका छन्—किनकि मानिस अत्यन्तै दुष्ट छ। मैले भर्खरै भनेका यी सबै कुराहरू सुनिसकेपछि, शैतानले मानिसलाई भ्रष्ट तुल्याउने यो वातावरण, यो संसार, र यस प्रकारका मानिसहरूमाझ जिउन के तिमीहरूलाई अत्यन्तै डरलाग्दो लाग्दैन? (लाग्छ।) त्यसो भए, के तिमीहरूले आफैलाई कहिल्यै बिचरा ठानेका छौ? यो क्षणमा तिमीहरू अलिअलि यस्तो अनुभव गर्छौ, होइन र? (हो।) तिमीहरूको स्वर सुन्दा, तिमीहरूले यस्तो विचार गरिरहेजस्तो लाग्छ, “शैतानसँग मानिसलाई भ्रष्ट तुल्याउने धेरै र विभिन्‍न तरिकाहरू छन्। त्यसले हरेक अवसरको फाइदा उठाउँछ र हामी जता फर्के पनि त्यो त्यतै हुन्छ। के मानिसलाई अझै पनि मुक्ति दिन सकिन्छ?” के मानिसलाई अझै पनि मुक्ति दिन सकिन्छ? के मानिसले आफैलाई मुक्ति दिन सक्छ? (सक्दैन।) के सम्राट जेडले मानिसलाई बचाउन सक्छ? के कन्फ्युसियसले मानिसलाई बचाउन सक्छ? के गुवानिन वोधिसत्वले मानिसलाई बचाउन सक्छ? (सक्दैन।) त्यसो भए, कसले मानिसलाई बचाउन सक्छ? (परमेश्‍वरले।) तैपनि कतिपय मानिसहरूले आफ्‍नो हृदयमा यस्ता प्रश्‍नहरू उठाउनेछन्: “शैतानले हामीलाई यति घोर रूपमा, यति पागलपनको हदसम्म हानि गर्छ कि हामीसँग जीवन जिउने कुनै आशा नै हुँदैन, न त जीवन जिउने कुनै आत्मविश्‍वास नै हुन्छ। हामी सबै भ्रष्टतामाझ जिउँछौँ, र हरेक व्यक्तिले कुनै न कुनै तरिकाले परमेश्‍वरको विरोध गर्छ, र हाम्रो हृदय डुब्‍न सक्‍नेजति गहिराइमा डुबिसकेको छ। यसरी, शैतानले हामीलाई भ्रष्ट तुल्याइरहँदा परमेश्‍वर कहाँ हुनुहुन्छ? परमेश्‍वर के गरिरहनुभएको छ? परमेश्‍वरले हाम्रो लागि जे गरिरहनुभएको छ, त्यो हामीले कहिल्यै महसुस गर्दैनौँ!” कतिपय मानिसहरू अपरिहार्य रूपमै उदास र अलि निरुत्साहित महसुस गर्छन्। तिमीहरूका लागि, यो अनुभव निकै गहिरो हुन्छ किनभने मैले भन्दै आइरहेको यो सबै कुराले मानिसहरूलाई क्रमिक रूपमा यी मामलाहरू बुझ्दै जान मद्त गरेको छ, र यसपछि तिनीहरूले झन्झन् बढी आफू आशाहीन छु र आफूलाई परमेश्‍वरले त्याग्‍नुभएको छ भनी झन्झन् बढी महसुस गर्छन्। तर चिन्ता नगर। “शैतानको दुष्टता” भन्‍ने हाम्रो आजको सङ्गतिको विषय हाम्रो मूल प्रसङ्ग होइन। तैपनि परमेश्‍वरको पवित्रताको सारको बारेमा कुरा गर्नको लागि, मानिस अहिले कस्तो अवस्थामा छ भन्‍नेबारे मानिसहरूलाई स्पष्ट तुल्याउन हामीले सुरुमा शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्‍नेबारेमा र शैतानको दुष्टताको बारेमा छलफल गर्नैपर्छ। यसबारेमा कुरा गर्नुको एउटा उद्देश्य भनेको मानिसहरूलाई शैतानको दुष्टताको बारेमा जान्‍ने मौका दिनु हो, जबकि अर्को उद्देश्यचाहिँ मानिसहरूलाई साँचो पवित्रता के हो सोबारे गहन बुझाइ प्राप्त गर्ने मौका दिनु हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १५९

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड)

जब-जब शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ वा मानिसलाई अनियन्त्रित रूपमा हानि गर्छ, परमेश्‍वर हात बाँधेर बस्‍नुहुन्‍न, न त उहाँले चुन्‍नुभएकाहरूलाई बेवास्ता गर्ने वा आँखा चिम्‍लने नै गर्नुहुन्छ। शैतानले गर्ने सबै कुरालाई परमेश्‍वरले पूर्ण स्पष्टताको साथ बुझ्‍नुहुन्छ। शैतानले जेसुकै गरे तापनि, यसले जस्तोसुकै प्रचलन पैदा गरे पनि, शैतानले जे गर्ने प्रयास गर्दैछ त्यो सबै परमेश्‍वरलाई थाहा हुन्छ, र उहाँले चुन्‍नुभएकाहरूलाई परमेश्‍वरले त्याग्‍नुहुन्‍न। बरु, कुनै पनि ध्यान नखिचीकन—गोप्य रूपमा, चुपचाप—परमेश्‍वरले आवश्यक सबै कुरा गर्नुहुन्छ। जब परमेश्‍वरले कुनै व्यक्तिमा काम गर्न सुरु गर्नुहुन्छ, जब उहाँले कसैलाई चुन्‍नुभएको हुन्छ, उहाँले कसैलाई पनि यो समाचार घोषणा गर्नुहुन्‍न, न त उहाँले यसलाई शैतानको अघि नै घोषणा गर्नुहुन्छ, कुनै भव्य प्रदर्शन गर्ने कुरा त परै जाओस्। उहाँले आवश्यक परेको कुरा अत्यन्तै चुपचाप, अत्यन्तै प्राकृतिक रूपमा गर्नुहुन्छ। पहिले, उहाँले तेरो लागि परिवारको छनौट गर्नुहुन्छ; तेरो पारिवारिक पृष्ठभूमि, तेरा बाबुआमा, तेरा पुर्खाहरू—परमेश्‍वरले यो सबै अग्रिम रूपमा निर्धारित गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले आवेगमा यी निर्णयहरू गर्नुहुन्‍न; बरु, उहाँले धेरै पहिले नै यो कार्य सुरु गर्नुभएको हुन्छ। परमेश्‍वरले तेरो लागि परिवार छनौट गरिसक्‍नुभएपछि, उहाँले तँ जन्‍मने मिति छनौट गर्नुहुन्छ। त्यसपछि, तँ जन्‍मेर संसारमा रुँदै आएको परमेश्‍वरले हेर्नुहुन्छ। उहाँले तँ जन्‍मेको हेर्नुहुन्छ, तैँले प्रथम शब्‍दहरू उच्‍चारण गरेको हेर्नुहुन्छ, तैँले हिँड्न सिक्दै गर्दा तँ लड्खडाउँदै बामे सरेको हेर्नुहुन्छ। सुरुमा तैँले एक कदम बढाउँछस् त्यसपछि अर्को कदम बढाउँछस्—अनि तँ कुद्‍न सक्‍ने, उफ्रन सक्‍ने, कुरा गर्न सक्‍ने, अनि तेरा भावनाहरूलाई व्यक्त गर्न सक्‍ने हुन्छस्…। मानिसहरू हुर्कँदै जाने क्रममा, शैतानले तिनीहरू प्रत्येकलाई बाघले त्यसको सिकारलाई हेरेझैँ घुरेर हेरिरहन्छ। तर आफ्‍नो काम गर्ने क्रममा, परमेश्‍वर कहिल्यै पनि स्थान वा समयका कुनै पनि सीमितताहरूमा बाँधिनुहुन्‍न जुन मानिसहरू, घटना वा अन्य कुराहरूबाट आएका हुन्छन्; उहाँले जे गर्नुपर्छ र उहाँले जे गर्नु अत्यावश्यक छ त्यो उहाँले गर्नुहुन्छ। हुर्कने प्रक्रियामा, तैँले आफूलाई मन नपर्ने धेरै कुरा, साथै बिमार र कुण्ठा सामना गर्न सक्छस्। तर तँ यो मार्गमा हिँड्ने क्रममा, तेरो जीवन र तेरो भविष्य पूर्ण रूपमा परमेश्‍वरकै जिम्मामा हुन्छ। परमेश्‍वरले तँलाई तेरो जीवनभरि पुग्‍ने सच्‍चा प्रत्याभूति दिनुहुन्छ, किनभने उहाँ तेरो रखवारी गर्दै र तेरो हेरचाह गर्दै तेरै छेउमा बसिरहनुभएको हुन्छ। यो थाहै नपाई तँ हुर्कन्छस्। तँ नयाँ कुराहरूको सम्पर्कमा आउन थाल्छस् र यो संसारलाई र यो मानवजातिलाई चिन्‍न थाल्छस्। सबै कुरा तेरो लागि ताजा र नयाँ हुन्छ। तँलाई गर्न मन पर्ने केही कुराहरू हुन्छन्। तँ तेरो आफ्‍नै मानवताभित्र जिउँछस्, तँ तेरो आफ्‍नै क्षेत्रभित्र जिउँछस् र परमेश्‍वरको अस्तित्वको बारेमा तँलाई अलिकति पनि अनुभूति हुँदैन। तर तँ हुर्कने क्रममा परमेश्‍वरले हरेक पाइला हेर्नुहुन्छ, र तैँले हरेक कदम अगाडि बढाउँदा उहाँले तँलाई हेर्नुहुन्छ। तैँले ज्ञान सिकिरहेको बेला वा विज्ञान अध्ययन गरिरहेको बेलासमेत परमेश्‍वरले तँलाई एक पाइलासमेत कहिल्यै छोड्नुभएको हुँदैन। संसारलाई चिन्‍ने र यसमा संलग्‍न हुने क्रममा, तैँले तेरा आफ्‍नै आदर्शहरू स्थापना गरेको हुन्छस्, तेरा आफ्‍नै रुचिहरू हुन्छन्, तिमीहरूका आफ्‍नै चासोहरू हुन्छन् र तँसँग उच्‍च महत्त्वाकाङ्क्षाहरू पनि हुन्छन् भन्‍ने अर्थमा तँ अरू मानिसहरूजस्तै हुन्छस्। तेरो भविष्य कस्तो देखिनुपर्छ भन्‍ने खाका तयार गर्दै तैँले प्रायजसो आफ्‍नै भविष्यको बारेमा विचार गरिरहेको हुन्छस्। तर अघि बढ्ने क्रममा जेसुकै भए तापनि, यी सबै भइरहेको परमेश्‍वरले स्पष्ट रूपमा देख्‍नुहुन्छ। सायद तैँले आफ्‍नो विगतलाई बिर्सेको हुन सक्छस्, तर परमेश्‍वरको लागि, तँलाई राम्ररी बुझ्‍न सक्‍ने उहाँबाहेक कोही पनि छैन। तँ हुर्कँदै-बढ्दै, परिपक्‍व हुँदै परमेश्‍वरकै नजरमा रहेर जिउँछस्। यो अवधिमा, परमेश्‍वरको सबैभन्दा महत्त्वपूर्ण काम भनेको कसैले कहिल्यै पनि अनुभव नगर्ने, कसैले नजान्‍ने कुरा हो। परमेश्‍वरले अवश्य नै यसको बारेमा कसैलाई भन्‍नुहुन्‍न। त्यसो भए, यो सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? यो कुरा परमेश्‍वरले व्यक्तिलाई मुक्ति दिनुहुनेछ भन्‍ने प्रत्याभूति हो भनेर भन्‍न सकिन्छ। यसको अर्थ यदि परमेश्‍वरले उक्त व्यक्तिलाई मुक्ति दिन चाहनुहुन्छ भने, उहाँले त्यसो गर्नु नै हुन्छ। यो कार्य मानिस र परमेश्‍वर दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ। यो के हो, के तँलाई थाहा छ? यस्तो लाग्छ, यसको बारेमा तिमीहरूसँग कुनै अनुभव, वा यसको कुनै अवधारणा छैन, त्यसकारण म आफै तिमीहरूलाई बताइदिनेछु। तँ जन्‍मेको समयदेखि अहिलेसम्‍म, परमेश्‍वरले तँमा धेरै काम गरिसक्‍नुभएको छ, तर उहाँले आफूले गर्नुभएको सबै कुराको विस्तृत विवरण तँलाई दिनुहुन्‍न। परमेश्‍वरले तँलाई सो कुरा जान्‍न दिनुभएन, न त उहाँले तँलाई यसबारे भन्‍नु नै भयो। तैपनि, मानवजातिको लागि, उहाँले गर्नुहुने सबै कुरा महत्त्वपूर्ण छन्। परमेश्‍वरको लागि त, यो उहाँले गर्नैपर्ने कुरा हो। उहाँको हृदयमा उहाँले गर्न आवश्यक रहेको कुनै महत्त्वपूर्ण कुरा छ जुन यी सबै कुराभन्दा अत्यन्तै बढी महत्त्वपूर्ण छ। अर्थात्, व्यक्ति जन्‍मेको समयदेखि वर्तमान दिनसम्‍म, परमेश्‍वरले तिनीहरूको सुरक्षाको प्रत्याभूति दिनु नै हुन्छ। जब तैँले यी वचनहरू सुन्छस्, तँलाई आफूले पूर्ण रूपमा नबुझेजस्तो लाग्‍न सक्छ। तैँले सोध्‍न सक्छस्, “के यो सुरक्षा त्यति महत्त्वपूर्ण छ र?” “सुरक्षा” को शाब्दिक अर्थ के हो? सायद तिमीहरूले यसलाई शान्ति भनेर बुझ्छौ वा सायद तिमीहरूले यसलाई कुनै पनि विपत्ति वा संकष्टको अनुभव कहिल्यै नगर्नु, राम्ररी जिउनु, सामान्य जीवन जिउनु भनेर बुझ्छौ होला। तर तिमीहरूले आफ्नो हृदयमा यो त्यति सरल छैन भन्‍ने जान्‍नैपर्छ। त्यसो भए, परमेश्‍वरले गर्नुपर्ने भनेर मैले भन्दै आइरहेको यो कुरा वास्तवमा के हो त? परमेश्‍वरको लागि सुरक्षाले केलाई जनाउँछ? के “सुरक्षा” को सामान्य अर्थ वास्तवमा नै प्रत्याभूति हो? होइन। त्यसो भए, परमेश्‍वरले गर्नुहुने यो कुरा के हो त? यो “सुरक्षा” को अर्थ तँलाई शैतानले निल्‍नेछैन भन्‍ने हो। के यो महत्त्वपूर्ण छ? शैतानले ननिल्‍नु—के यो तेरो सुरक्षासँग सम्‍बन्धित छ कि छैन? छ, यो तेरो व्यक्तिगत सुरक्षासँग सम्‍बन्धित छ, र त्योभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुन सक्दैन। शैतानले तँलाई निलिसकेपछि, तेरो प्राण र तेरो देह अबउप्रान्त परमेश्‍वरको स्वामित्वमा हुनेछैन। परमेश्‍वरले अबउप्रान्त तँलाई मुक्ति दिनुहुनेछैन। शैतानले निलेका प्राण र मानिसहरूलाई परमेश्‍वरले त्याग्‍नुहुन्छ। त्यसकारण म भन्छु, परमेश्‍वरले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो यस सुरक्षाको प्रत्याभूति दिनु, तँलाई शैतानले निल्‍नेछैन भनेर प्रत्याभूति दिनु हो। यो अत्यन्तै महत्त्वपूर्ण छ, होइन र? त्यसो भए, तिमीहरू किन उत्तर दिन सक्दैनौ? परमेश्‍वरको महान् दयालाई तिमीहरू महसुस गर्न सक्दैनौ भन्‍नेजस्तो देखिन्छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १६०

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड)

मानिसहरूको सुरक्षाको प्रत्याभूति दिने, तिनीहरूलाई शैतानले निल्‍नेछैन भन्‍ने प्रत्याभूति दिनेबाहेक परमेश्‍वरले धेरै कुरा गर्नुहुन्छ। कसैलाई चुनेर मुक्ति दिनुभन्दा पहिले उहाँले प्रशस्त मात्रामा तयारीको काम गर्नुहुन्छ। पहिलो, तँमा कस्तो प्रकारको चरित्र हुनेछ, तँ कस्तो प्रकारको परिवारमा जन्‍मनेछस्, तेरा बाबुआमा को हुनेछन्, तेरा दाजुभाइ-दिदीबहिनीहरू कति जना हुनेछन्, र तँ जन्‍मने परिवारको अवस्था, आर्थिक अवस्था, र परिस्थितिहरू के-कस्ता हुनेछन् त्यस बारेमा परमेश्‍वरले सावधानीपूर्ण तयारीहरू गर्नुहुन्छ। परमेश्‍वरका चुनिएका बहुसंख्यक मानिसहरू कस्तो परिवारमा जन्‍मन्छन् के तिमीहरूलाई थाहा छ? के ती प्रतिष्ठित परिवारहरू हुन्? प्रतिष्ठित परिवारहरूमा जन्‍मने कोही पनि छैनन् भनेर हामी निश्‍चित रूपमा भन्‍न सक्दैनौँ। केही हुन सक्छन्, तर तिनीहरू अत्यन्तै थोरै छन्। के ती असाधारण सम्पत्ति भएका परिवारहरूमा, अरबपति वा करोडपति परिवारमा जन्‍मेका हुन्छन्? हुँदैनन्, तिनीहरू यस प्रकारका परिवारमा लगभग कहिल्यै जन्‍मेका हुँदैनन्। त्यसो भए, यीमध्ये धेरैजसो मानिसहरूका लागि परमेश्‍वरले कस्तो प्रकारको परिवारको बन्दोबस्त गर्नुहुन्छ? (साधारण परिवार।) अनि कस्ता परिवारलाई “साधारण परिवार” ठान्‍न सकिन्छ? तिनमा काम गरेर खाने परिवार—अर्थात्, बाँच्नको लागि ज्याला-मजदुरीमा भर पर्ने, आधारभूत आवश्यकताहरू पूरा गर्न सक्‍ने, र बढी सम्‍पन्‍न नभएकाहरू पर्छन्; तिनमा किसान परिवारहरू पनि पर्छन्। किसानहरू आफ्‍नो खानाको लागि अन्‍नपात रोप्छन्, खानको लागि तिनीहरूसँग अन्‍न अनि लाउनको लागि लुगा हुन्छ, र तिनीहरू भोकै बस्‍नु वा कठ्याङ्ग्रिनु पर्दैन। त्यसपछि स-साना व्यापार-व्यवसाय सञ्‍चालन गर्ने केही परिवारहरू छन्, र बाबुआमा बुद्धिजीवी भएका कतिपय परिवारहरू छन्, र यिनलाई पनि साधारण परिवारको रूपमा गन्ती गर्न सकिन्छ। कार्यालयमा काम गर्ने वा सानातिना पदमा रही सरकारी काम गर्ने केही बाबुआमा पनि छन्, जसलाई पनि प्रतिष्ठित परिवारमा गन्ती गर्न सकिँदैन। धेरैजसो मानिसहरू साधारण परिवारमा जन्‍मन्छन्, र यी सबैको चाँजोपाँजो परमेश्‍वरले नै मिलाउनुभएको हुन्छ। भन्‍नुको अर्थ, सबैभन्दा पहिलो कुरा, तिमीहरू जिउने यो वातावरण मानिसहरूले कल्‍पना गर्नेजस्तो अत्यधिक स्रोत-साधन नभएको परिवार हो, र परमेश्‍वरले तिमीहरूको लागि निर्णय गरिदिनुभएको परिवार यही हो, र बहुसंख्यक मानिसहरू यस प्रकारको पारिवारिक सीमितताहरूमा जिउँछन्। त्यसो भए, सामाजिक हैसियतको बारेमा चाहिँ के भन्‍ने त? बहुसंख्यक बाबुआमाका आर्थिक अवस्था मध्यम स्तरका छन् र तिनीहरूसँग उच्‍च सामाजिक हैसियत छैन—तिनीहरूको लागि एउटा व्यवसाय हुनु नै राम्रो कुरा हो। के तिनमा गभर्नरहरू पर्छन्? वा राष्ट्रका राष्ट्रपतिहरू पर्छन्? पर्दैनन्, हैन त? बढीमा तिनीहरू स-साना व्यापार-व्यवसायका व्यवस्थापकहरू वा स-साना व्यापार-व्यवसायका मालिकहरू हुन्छन्। तिनीहरूको सामाजिक हैसियत मध्यम स्तरको हुन्छ र तिनीहरूको आर्थिक अवस्था औसत हुन्छ। अर्को तत्व भनेको परिवारको जिउने वातावरण हो। सर्वप्रथम, यी परिवारहरूका बीचमा आफ्‍ना छोराछोरीलाई जोखाना हेर्ने र भविष्य बताउने मार्गमा हिँड्नको लागि स्पष्ट रूपमा प्रभाव पार्ने बाबुआमा हुँदैनन्; यस्ता कुराहरूमा संलग्‍न हुनेहरू एकदमै कम हुन्छन्। धेरैजसो बाबुआमा सामान्य नै हुन्छन्। परमेश्‍वरले मानिसहरूलाई चुन्दाचुन्दै उहाँले तिनीहरूका लागि यस प्रकारको वातावरण स्थापित गर्नुहुन्छ, जुन उहाँले मानिसहरूलाई दिने मुक्तिका लागि अत्यन्तै लाभदायक हुन्छ। झट्ट हेर्दा, परमेश्‍वरले मान्छेका लागि पृथ्वी नै हल्‍लाउने किसिमको केही पनि गर्नुभएको छैन जस्तो देखिन्छ; उहाँले बस हरेक कार्य अरूले थाहा नपाउनेगरी, नदेखिनेगरी, र चुपचाप रूपमा गर्नुहुन्छ। तर वास्तवमा, परमेश्‍वरले गर्नुहुने सबै कुराले तेरो मुक्तिका लागि जग बसालिरहेको, तेरो मुक्तिका लागि अगाडिको बाटो र आवश्यक सबै अवस्थाहरू तयार गरिरहेको हुन्छ। त्यसपछि, परमेश्‍वरले हरेक व्यक्तिलाई निश्‍चित समयमा उहाँको अघि ल्याउनुहुन्छ: तैँले परमेश्‍वरको आवाज सुन्‍ने बेला यही हो; तँ उहाँको सामुन्ने आउने बेला यही हो। यस्तो हुँदाको समयसम्‍म, कतिपय मानिसहरू पहिले नै बाबुआमा भइसकेका हुन्छन्, जबकि अरूचाहिँ अझै पनि कसैका बच्चा नै हुन्छन्। अर्को शब्‍दमा भन्दा, कतिपय मानिसहरूले विवाह गरेर छोराछोरी जन्‍माइसकेका हुन्छन्, तर अरूचाहिँ अझै पनि अविवाहित हुन्छन्, तिनीहरूले अझै आफ्‍नो परिवार सुरु गरेका हुँदैनन्। तर परिस्थिति जे-जस्तो भए पनि, जब परमेश्‍वरको सुसमाचार र उहाँका वचनहरू तँकहाँ पुग्छन्, यो परमेश्‍वरले धेरै पहिलेदेखि पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तैँले परमेश्‍वरको आवाज सुन्‍न र कुनै निश्चित वातावरणमा उहाँलाई स्विकार्न सक् भनेर परमेश्‍वरले एउटा वातावरण खडा गर्नुभएको हुन्छ र निश्‍चित प्रसङ्गमा तँलाई सुसमाचार प्रचार गर्नका लागि कुनै निश्‍चित व्यक्ति तय गर्नुभएको हुन्छ। यो सबै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। परमेश्‍वरले तेरो लागि सम्पूर्ण अत्यावश्‍यक अवस्थाहरू पहिले नै तयारी गरिसक्‍नुभएको हुन्छ। यसरी, मानिसहरू अनजानमा उहाँसामु आउँछन् र परमेश्‍वरको घरतर्फ फर्कन्छन्। तिनीहरू अनजानमा परमेश्‍वरको कामको हरेक चरणमा पनि उहाँलाई पछ्याउँछन् र परमेश्‍वरले मानिसका लागि तयार पार्नुभएको उहाँको कार्यशैलीको हरेक चरणमा प्रवेश गर्छन्। यस बेला मानिसको लागि काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरले के-कस्ता तरिकाहरू प्रयोग गर्नुहुन्छ? सबभन्दा पहिले, मानिसले प्राप्त गर्ने वास्ता र सुरक्षा नै न्यूनतम कुरा हो। यसबाहेक, परमेश्‍वरले विभिन्‍न मानिसहरू, घटना, र काम-कुराहरू खडा गर्नुहुन्छ ताकि ती कुराहरूद्वारा मानिसले उहाँको अस्तित्व र उहाँका कार्यहरू देख्‍न सकून्। उदाहरणको लागि, आफ्‍नो परिवारको कुनै व्यक्ति बिरामी भएकोले कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्। जब अरूले तिनीहरूलाई सुसमाचार प्रचार गर्छन्, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गर्छन्, र उक्त परिस्थितिको कारणले गर्दा परमेश्‍वरमाथिको यो विश्‍वास आउँछ। त्यसो भए, कसले यो परिस्थितिको बन्दोबस्त गर्‍यो त? (परमेश्‍वरले।) यस रोग-बिमारको माध्यमद्वारा, कतिपय परिवारमा हरेक व्यक्ति नै विश्‍वासी बन्छन्, अरू कतिमा चाहिँ परिवारका एक-दुई जना मानिसहरूले मात्रै विश्‍वास गर्छन्। झट्ट हेर्दा, तेरो परिवारको कुनै व्यक्ति बिरामी भयो भन्‍नेजस्तो देखिन्छ, तर यो वास्तवमा तँ परमेश्‍वरकहाँ आउन सक् भनेर तँलाई प्रदान गरिएको परिस्थिति हो—यो परमेश्‍वरको दया हो। कतिपय मानिसहरूका लागि परिवार कठिन हुँदा र तिनीहरूले कुनै शान्ति नपाउँदा, अवसर आफै आउँछ—कसैले सुसमाचार सुनाउँछ र भन्छ, “प्रभु येशूमा विश्‍वास गर अनि तिमीले शान्ति पाउनेछौ।” अनभिज्ञ भए पनि, तिनीहरूले अत्यन्तै प्राकृतिक परिस्‍थितिमा परमेश्‍वरलाई विश्‍वास गर्न पुग्छन्, के यो एक प्रकारको परिस्‍थिति होइन र? अनि तिनीहरूको परिवारमा शान्ति छैन भन्‍ने तथ्य परमेश्‍वरले तिनीहरूलाई दिनुभएको अनुग्रह नै होइन र? अन्य कारणहरूले परमेश्‍वरमा विश्‍वास गर्न पुग्‍ने कतिपय मानिसहरू पनि छन्। विश्‍वास गर्ने फरक-फरक कारणहरू र फरक-फरक तरिकाहरू छन्, तर तँलाई जुनसुकै कारणले उहाँमा विश्‍वास गर्ने तुल्याए पनि, यो सबै परमेश्‍वरले नै मिलाउनुभएको र मार्गनिर्देशित गर्नुभएको हो। सबभन्दा पहिले, परमेश्‍वरले तँलाई चुन्‍नको लागि र तँलाई उहाँको परिवारमा ल्याउनको लागि विभिन्‍न तरिकाहरू अपनाउनुहुन्छ। हरेक व्यक्तिलाई परमेश्‍वरले दिनुहुने अनुग्रह यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १६१

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड)

परमेश्‍वरकाआखिरी दिनहरूको कामको वर्तमान चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई उप्रान्त अनुग्रह र आशिष् मात्रै बर्साउनुहुन्‍न, न त उहाँले मानिसलाई अघि बढाउनको लागि मनाउनु नै हुन्छ। कार्यको यो चरणको अवधिमा, मानिसले अनुभव गरेको परमेश्‍वरको कार्यका सबै पक्षहरूबाट उसले के देखेको छ? मानिसले परमेश्‍वरको प्रेम र परमेश्‍वरको न्याय र सजाय देखेको छ। समयको यो अवधिमा, मानिसले क्रमिक रूपमा उहाँका अभिप्रायहरू जानून्, उहाँले बोल्नुहुने वचनहरूलाई र उहाँले मानिसलाई दिनुहुने सत्यतालाई जानून् भनेर परमेश्‍वरले मानिसको लागि प्रदान गर्नुहुन्छ, उसलाई सहायता गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, र अगुवाइ गर्नुहुन्छ। जब मानिस कमजोर हुन्छ, जब ऊ नकारात्मक हुन्छ, जब उसको जाने बाटो कतै हुँदैन, तब मानिसको सानो कद क्रमिक रूपमा सामर्थ्यमा वृद्धि होस्, सकारात्मकतामा वृद्धि होस् र ऊ परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक बनोस् भनेर परमेश्‍वरले मानिसलाई सान्त्वना दिन, सल्लाह दिन, र प्रोत्साहन दिन आफ्ना वचनहरूको प्रयोग गर्नुहुनेछ। तर जब मानिसले परमेश्‍वरविरुद्ध विद्रोह गर्छ वा उहाँको विरोध गर्छ, वा जब मानिसले आफ्नो भ्रष्टतालाई प्रकट गर्छ, परमेश्‍वरले मानिसलाई ताडना दिने र अनुशासनमा राख्ने क्रममा कुनै कृपा देखाउनुहुनेछैन। तैपनि, मानिसको मूर्खता, अज्ञानता, कमजोरी र अपरिपक्वताको लागि परमेश्‍वरले सहनशीलता र धैर्यता देखाउनुहुनेछ। यसरी, परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामद्वारा, मानिस क्रमिक रूपमा परिपक्व हुन्छ, वृद्धि हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूलाई जान्न पुग्छ, निश्चित सत्यताहरूलाई जान्न पुग्छ, के-कस्ता कुराहरू सकारात्मक हुन् र के-कस्ता कुराहरू नकारात्‍मक हुन् सो जान्न पुग्छ, दुष्टता र अन्धकार के हुन् सो जान्न पुग्छ। परमेश्‍वरले मानिसलाई सधैँ ताडना दिने अनि अनुशासनमा राख्ने एउटै तरिका अपनाउनुहुन्न, न त उहाँले सधैँ सहनशीलता र धैर्यता मात्रै पनि देखाउनुहुन्छ। बरु उहाँले हरेक व्यक्तिको लागि तिनीहरूको फरक-फरक चरणमा र तिनीहरूको फरक-फरक कद र क्षमता अनुसार फरक तरिकाले प्रदान गर्नुहुन्छ। उहाँले मानिसको लागि धेरै कुराहरू धेरै मूल्य चुकाएर गर्नुहुन्छ; यी कुनै कुराहरू वा मूल्यको बारेमा मानिसले केही बुझ्दैन, तैपनि उहाँले गर्नुहुने सबै अभ्यास वास्तवमा हरेक व्यक्तिमा नै गरिन्छ। परमेश्‍वरको प्रेम व्यावहारिक छ: परमेश्‍वरको अनुग्रहद्वारा, मानिस एकपछि अर्को विपत्तिबाट बच्छ, र यस क्रममा परमेश्‍वरले मानिसको कमजोरीको लागि बारम्बार सहनशीलता देखाउनुहुन्छ। परमेश्‍वरको न्याय र सजायले मानिसहरूलाई मानवजातिको भ्रष्टता र शैतानी सा क्रमिक रूपमा जान्ने तुल्याउँछ। परमेश्‍वरले मानिसलाई प्रदान गर्ने कुरा, उहाँको अन्तर्दृष्टि र उहाँले मानिसलाई दिने मार्गदर्शन सबैले मानवजातिलाई झन्-झन् बढी सत्यताको सार जान्न, र मानिसहरूलाई के खाँचो छ, तिनीहरूले कुन बाटो हिँड्नुपर्छ, तिनीहरू केका लागि जिउँछन्, तिनीहरूको जीवनको मूल्य र अर्थ, र अगाडिको बाटो कसरी हिँड्ने सो झन्-झन् बढी जान्न मदत गर्छ। परमेश्‍वरले गर्नुहुने यी सबै कुराहरूलाई उहाँको एउटै मूल उद्देश्यबाट अलग गर्न सकिँदैन। त्यसोभए यो उद्देश्य के हो? मानिसमा आफ्नो कार्य गर्नको लागि परमेश्‍वरले किन यी विधिहरूको प्रयोग गर्नुहुन्छ? उहाँले के परिणाम हासिल गर्न चाहनुहुन्छ? अर्को शब्दमा भन्दा, उहाँले मानिसमा के देख्न चाहनुहुन्छ? मानिसबाट उहाँले के प्राप्त गर्न चाहनुहुन्‍छ? मानिसको हृदय पुनर्जीवित हुन सकोस् भन्‍ने नै परमेश्‍वरले हेर्न चाहनुहुन्छ। मानिसमा उहाँले काम गर्नको लागि प्रयोग गर्नुहुने यी विधिहरू मानिसको हृदयलाई बिउँझाउन, मानिसको आत्मालाई बिउँझाउन, ऊ कहाँबाट आएको हो, कसले उसलाई अगुवाइ गरिरहनुभएको छ, सहयोग र भरणपोषण गरिरहनुभएको छ, र कसले मानिसलाई आजको दिनसम्म जिउन दिनुभएको छ सो बुझ्न मानिसलाई सक्षम गराउनको लागि गरिएका अटुट प्रयासहरू हुन्; ती मानिसलाई सृष्टिकर्ता को हुनुहुन्छ, उसले कसलाई आराधना गर्नुपर्छ, ऊ कुन मार्गमा हिँड्नुपर्छ, र मानिस कुन तरिकामा परमेश्‍वरको अघि आउनुपर्छ त्यो बारे मानिसलाई बुझ्ने तुल्याउने माध्यमहरू हुन्; ती मानिसले परमेश्‍वरको हृदयलाई जान्न सकोस्, परमेश्‍वरको हृदयलाई बुझ्न सकोस् र मानिसलाई मुक्ति दिनका लागि उहाँले गर्नुभएको कामको पछाडिको रगत-पसिना बुझ्न सकोस् भनेर मानिसको हृदयलाई क्रमिक रूपमा पुनर्जीवित पार्ने माध्यमहरू हुन्। जब मानिसको हृदय पुनर्जीवित हुन्छ, मानिस उप्रान्त नीच, भ्रष्ट स्वभावमा जिउन चाहँदैन, बरु परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि सत्यताको खोजी गर्न चाहन्छ। जब मानिसको हृदय बिउँझिएको हुन्छ, मानिसले आफैलाई शैतानबाट पूर्ण रूपमा अलग गर्न सक्छ। उप्रान्त उसलाई शैतानले हानी गर्नेछैन, यसले उसलाई उप्रान्त नियन्त्रण गर्ने वा मूर्ख तुल्याउनेछैन। बरु, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा बस्ने क्षमता प्राप्त गर्दै, मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्रिय रूपमा परमेश्‍वरको कार्य र उहाँको वचनमा सहकार्य गर्न सक्छ। परमेश्‍वरको कार्यको मूल उद्देश्य यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १६२

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड)

हामीले शैतानको दुष्टताको बारेमा भर्खरै गरेको छलफलले सबैलाई मानिस अत्यन्तै ठूलो अप्रसन्‍नताको बीचमा जिउँछ र मानिसको जीवनलाई दुर्भाग्यले आक्रान्त पारेको छ भन्‍नेजस्तो अनुभव गराउँछ। तर अहिले मैले परमेश्‍वरको पवित्रता र उहाँले मानिसमा गर्नुहुने कामको बारेमा कुरा गर्दैगर्दा, त्यसले तिमीहरूलाई कस्तो अनुभव गराउँछ? (अत्यन्तै खुशी।) परमेश्‍वरले गर्नुहुने सबै कुरा, उहाँले मानिसको लागि परिश्रमको साथ बन्दोबस्त गर्नुहुने सबै कुरा निष्कलङ्क छन् भन्‍ने हामी देख्छौँ। परमेश्‍वरले गर्नुहुने सबै कुरा त्रुटि विहीन छन्, अर्थात् ती गल्तीरहित छन्, तिनमा कुनै सुधार गर्न, सुझाव दिन वा कुनै पनि परिवर्तन गर्न आवश्यक पर्दैन। हरेक व्यक्तिको लागि परमेश्‍वरले गर्नुहुने सबै कुरा शङ्‍काभन्दा बाहिर हुन्छन्; उहाँले हरेकलाई आफ्‍नै हातले डोर्‍याउनुहुन्छ, बितेर जाने हरेक क्षण उहाँले तेरो हेरचाह गर्नुहुन्छ र तँलाई कहिल्यै पनि छोड्नुभएको छैन। मानिसहरू यस प्रकारको वातावरणमा र यस प्रकारको पृष्ठभूमिमा हुर्कने क्रममा, के मानिसहरू वास्तवमा परमेश्‍वरकै हतकेलामा हुर्कन्छन् भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) त्यसो भए, के तिमीहरू अझै पनि रिक्तताको महसुस गर्छौ? के कसैले अझै पनि नकारात्मक महसुस गर्छ? के परमेश्‍वरले मानवजातिलाई त्याग्‍नुभएको छ भन्‍ने कसैलाई लाग्छ? (लाग्दैन।) त्यसो भए, परमेश्‍वरले वास्तवमा के गर्नुभएको छ त? (उहाँले मानवजातिमाथि नजर राख्‍नुभएको छ।) परमेश्‍वरले आफूले गर्ने हरेक कुरामा लगाउनुहुने श्रमसाध्य विचारबारे कुनै प्रश्‍न छैन। यति मात्र कहाँ हो र, आफ्‍नो कार्यलाई अघि बढाउने क्रममा, उहाँले त्यो सधैँ नै निसर्त गर्नुभएको छ। उहाँप्रति तँलाई अत्यन्तै गहन कृतज्ञताको महसुस गराउनको लागि उहाँले कहिल्यै पनि तिमीहरूमध्ये कसैलाई तेरो लागि उहाँले चुकाउनुभएको मूल्य जान्‍नुपर्छ भन्‍ने मापदण्ड तोक्नुभएको छैन। के परमेश्‍वरले तँलाई कहिल्यै यस्तो गर्न लगाउनुभएको छ? (छैन।) तिमीहरू सबै यत्तिका धेरै वर्ष जिएका छौ, र तिमीहरूमध्ये लगभग हरेक व्यक्तिले धेरै खतरनाक परिस्थितिहरूसँग भिडेका र धेरै परीक्षा सामना गरेका छौ। किनभने शैतान सधैँ तँमाथि लगातार नजर लगाएर तेरै छेउमा खडा भइरहेको हुन्छ। जब विपत्तिले तँलाई प्रहार गर्छ, यसमा शैतान प्रकट हुन्छ; जब तँमाथि आपत्तिहरू आइपर्छन्, जब तेरो लागि कुनै पनि कुरा भनेजस्तो हुँदैन, जब तँ शैतानको जालोमा पर्छस्, यी कुराहरूबाट शैतानले निकै ठूलो आनन्द लिन्छ। परमेश्‍वरले के गरिरहनुभएको छ भन्‍ने विषयमा, बितेर जाने हरेक क्षणमा उहाँले तँलाई सुरक्षा दिइरहनुभएको हुन्छ, एकपछि अर्को दुर्भाग्यबाट र एकपछि अर्को विपत्तिबाट तँलाई तर्काइरहनुभएको हुन्छ। त्यसैकारणले म भन्छु कि मानिससँग भएको सबै कुरा—शान्ति र आनन्द, आशिष्‌ र व्यक्तिगत सुरक्षा—वास्तवमा परमेश्‍वरकै नियन्त्रणमा हुन्छ; उहाँ हरेक व्यक्तिको नियतिलाई मार्गनिर्देशन गर्नुहुन्छ र त्यसमाथि सार्वभौमिकता राख्नुहुन्छ। तर के कतिपय मानिसहरूले भनेजस्तै, परमेश्‍वरसँग आफ्‍नो हैसियतको बारेमा अत्यन्तै उच्‍च धारणा छ र? के परमेश्‍वरले तँलाई यस्तो घोषणा गर्नुहुन्छ, “म सबैभन्दा महान् छु। तिमीहरूमाथि हुकुम चलाउने म नै हुँ। तिमीहरूले मलाई कृपाको लागि बिन्ती गर्नैपर्छ, र अनाज्ञाकारीलाई मृत्युदण्ड दिइनेछ”? के परमेश्‍वरले मानवजातिलाई कहिल्यै यसरी धम्की दिनुभएको छ? (छैन।) के उहाँले कहिल्यै यसो भन्‍नुभएको छ, “मानवजाति भ्रष्ट छ, त्यसकारण तिनीहरूलाई मैले जसरी व्यवहार गरे पनि त्यसको कुनै मतलब हुँदैन, र तिनीहरूलाई जसरी व्यवहार गरे पनि हुन्छ; तिनीहरूको लागि मैले उचित बन्दोबस्त गरिरहनु पर्दैन”? के परमेश्‍वरले यसरी विचार गर्नुहुन्छ? के परमेश्‍वरले यसरी काम गर्नुभएको छ? (छैन।) यसको विपरीत, परमेश्‍वरले हरेक व्यक्तिलाई गर्ने व्यवहार तत्पर र जिम्‍मेवारीपूर्ण छ। उहाँले तँलाई तैँले आफैलाई व्यवहार गर्ने गरेको भन्दा अझै जिम्‍मेवारीपूर्ण व्यवहार गर्नुहुन्छ। के यो यस्तै होइन त? परमेश्‍वर लापरवाही साथ बोल्‍नुहुन्‍न, उहाँले आफ्‍नो उच्‍च पदको सान देखाउनुहुन्न, र उहाँले मानिसहरूलाई क्षुझाराटारुवा व्यवहार गर्नुहुन्न। बरु उहाँ आफैले गर्न आवश्यक रहेका कुराहरूलाई उहाँले इमान्दारीपूर्वक र मौनतामा गर्नुहुन्छ। यी कुराहरूले मानिसमा आशिष्, शान्ति र आनन्द ल्याउँछ। तिनले मानिसलाई शान्तिपूर्ण तरिकाले र खुशीसाथ परमेश्‍वरको नजरमा र उहाँको परिवारमा ल्याउँछ; त्यसपछि तिनीहरू परमेश्‍वरको अघि जिउँछन् र सामान्य तर्क र सोचाइको साथ परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्छन्। त्यसोभए के आफ्‍नो काममा परमेश्‍वर कहिल्यै मानिसप्रति धोकेबाज हुनुभएको छ? के उहाँले कहिल्यै केही मनोहर कुराहरूले झाराटारुवा तरिकाले मानिसलाई निराकरण गरेर आफ्‍नो पिठ्यूँ फर्काई दयाको झूटो प्रदर्शन गर्नुभएको छ? (छैन।) के परमेश्‍वरले कहिल्यै एउटा कुरा भनेर अर्को कुरा गर्नुभएको छ? के परमेश्‍वरले कहिल्यै रित्ता प्रतिज्ञाहरू गरेर उहाँले तिनीहरूका लागि यसो गर्न सक्‍नुहुन्छ वा तिनीहरूलाई यसो गर्न सहायता गर्नुहुन्छ भनी मानिसहरूलाई भन्दै फाइँफुट्टी लगाएर, गायब हुनुभएको छ? (छैन।) परमेश्‍वरमा कुनै छल, कुनै झूट छैन। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै कुरामा उहाँ साँचो हुनुहुन्छ। मानिसहरूले भरोसा गर्ने एक मात्र व्यक्ति उहाँ नै हुनुहुन्छ; मानिसहरूले आफ्‍नो जीवन र आफूसँग भएका सबै कुरा सुम्‍पन सक्‍ने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। परमेश्‍वरमा कुनै छल नभएको हुनाले, के परमेश्‍वर नै सबैभन्दा इमानदार हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ? (सक्छौँ।) अवश्‍य नै हामी भन्‍न सक्छौँ! परमेश्‍वरमा लागू गर्दा “इमानदार” भन्‍ने शब्‍द अत्यन्तै कमजोर, अत्यन्तै मानवीय हुने भएकोले, हामीले प्रयोग गर्नको लागि अर्को कुन शब्‍द छ? मानव भाषाका सीमितताहरू यस्तै छन्। परमेश्‍वरलाई “इमानदार” भनी भन्‍नु अलिक अनुचित भए तापनि, अहिलेको लागि हामी यही शब्‍दको प्रयोग गर्नेछौँ। परमेश्‍वर विश्‍वासयोग्य र इमानदार हुनुहुन्छ। त्यसोभए जब हामी यी पक्षहरूका बारेमा कुरा गर्छौं, हामीले केलाई उल्‍लेख गरिरहेका हुन्छौँ? के हामीले परमेश्‍वर र मानिसको बीचमा भएका भिन्‍नताहरू अनि परमेश्‍वर र शैतानको बीचमा रहेका भिन्‍नताहरूका बारेमा उल्‍लेख गरिरहेका हुन्छौँ? हो, हामी त्यसो भन्‍न सक्छौँ। किनभने मानिसले परमेश्‍वरमा शैतानको भ्रष्ट स्वभावको एउटै छाप समेत देख्‍न सक्दैन। के मैले यसो भन्‍नु सही छ? आमेन? (आमेन!) शैतानको कुनै पनि दुष्ट स्वभाव परमेश्‍वरमा प्रकट भएको छैन। परमेश्‍वरले गर्नुहुने र प्रकट गर्नुहुने सबै कुरा पूर्ण रूपमा लाभदायक छ र त्यसले मानिसलाई सहायता गर्छ, सम्पूर्ण रूपले मानिसलाई भरणपोषण गर्नको लागि ती गरिन्छ, ती जीवनले भरिपूर्ण छ र मानिसलाई पछ्याउने बाटो र लिने दिशा प्रदान गर्छ। परमेश्‍वर भ्रष्ट हुनुहुन्‍न, यसको साथै, परमेश्‍वरले गर्नुहुने सबै कुरालाई अहिले हेर्दा, के परमेश्‍वर पवित्र हुनुहुन्छ भनेर हामी भन्‍न सक्छौँ? परमेश्‍वरमा मानवजातिको कुनै पनि भ्रष्ट स्वभाव छैन, न त भ्रष्ट मानवजातिको शैतानी स्वभावसँग मिल्ने कुनै कुरा नै छ, यस दृष्टिकोणबाट हामी परमेश्‍वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ भनेर भन्‍न सक्छौँ। परमेश्‍वरले कुनै पनि भ्रष्टता प्रदर्शन गर्नुहुन्‍न, र उहाँले कार्य गर्नुहँदा उहाँको सार पनि प्रकट गर्नुहुन्छ जसले सम्पूर्ण रूपमा परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने कुरा पुष्टि गर्छ। के तिमीहरू यसलाई देख्छौ? परमेश्‍वरको पवित्र सारलाई जान्‍नको लागि, अब हामी यी दुई पक्षलाई हेरौँ: पहिलो, परमेश्‍वरमा भ्रष्ट स्वभावको कुनै अंश छैन, र दोस्रो, मानिसमा परमेश्‍वरले गर्नुहुने कार्यको सारले मानिसलाई परमेश्‍वरको आफ्‍नै सार देख्‍ने तुल्याउँछ, र यो सार पूर्ण रूपमा सकारात्मक छ। किनभने परमेश्‍वरको कार्यको हरेक भागले मानिसमा ल्याउने कुराहरू सबै सकारात्मक छन्। सर्वप्रथम, मानिस इमानदार होस् भन्‍ने माग परमेश्‍वर गर्नुहुन्छ—के यो सकारात्मक कुरा होइन र? परमेश्‍वरले मानिसलाई बुद्धि दिनुहुन्छ—के यो सकारात्मक छैन र? परमेश्‍वरले मानिसलाई असल र खराब छुट्याउन सक्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? उहाँले मानिसलाई मानव जीवनको अर्थ र मूल्य बुझ्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? उहाँले मानिसलाई सत्यता अनुसार मानिसहरू, घटना, र कुराहरूको सार देख्‍ने तुल्याउनुहुन्छ—के यो सकारात्मक छैन र? छ। अनि यो सबैको परिणाम के हो भने, मानिस उप्रान्त शैतानको भ्रममा पर्दैन, उप्रान्त शैतानको हानी वा नियन्त्रणमा परिरहने छैन भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, यी कुराहरूले मानिसहरूलाई शैतानको भ्रष्टताबाट आफैलाई पूर्ण रूपमा मुक्त गरेर, क्रमिक रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट टाढा बस्‍ने मार्गमा हिँड्ने तुल्याउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १६३

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने मुख्य चलाखीहरू छ वटा छन्

पहिलो भनेको नियन्त्रण र जबरजस्ती हो। अर्थात्, तेरो हृदयलाई नियन्त्रण गर्नका लागि शैतानले सम्‍भव भएको सबथोक गर्नेछ। “जबरजस्ती” भन्नुको अर्थ के हो? यसको अर्थ धम्कीपूर्ण र जबरजस्ती रणनीति प्रयोग गरेर तँलाई त्यसको आज्ञापालन गराउनु, र यदि तैँले आज्ञापालन गरिनस् भने आउने परिणामहरूका बारेमा तँलाई सोच्न बाध्य पार्नु हो। तँ डराउँछस् र त्यसको अवज्ञा गर्न आँट गर्दैनस्, त्यसैले तैँले हार मान्छस्।

दोस्रो भनेको धोका र छल हो। “धोका र छल” ले के कुरालाई संलग्न गर्दछ? शैतानले तँलाई ती विश्‍वास गर्ने तुल्याउन केही कथा र झूटहरू बनाउँदछ। मानिसलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो भनेर त्यसले तँलाई कहिल्यै भन्दैन, न त त्यसले सीधै तँलाई तँ परमेश्‍वरद्वारा सृष्टि गरिएको होइनस् भनेर नै भन्छ। यसले “परमेश्‍वर” भन्‍ने शब्‍दको प्रयोग गर्दै-गर्दैन, बरु यसको सट्टामा अर्को कुनै कुराको प्रयोग गर्छ, यसरी परमेश्‍वरको अस्तित्वको बारेमा तँलाई आधारभूतरूपमा केही थाहा नै नहोस् भनेर तँलाई भ्रममा पार्नका लागि यो कुराको प्रयोग गर्छ। अवश्य नै, यो “चलाकी” मा यो मात्रै होइन, धेरै पक्षहरू समावेश हुन्छन्।

तेस्रो भनेको जबरजस्ती सैद्धान्तिकरण गर्नु हो। मानिसहरूलाई केद्वारा जबरजस्ती सैद्धान्तिकरण गरिन्छ? के जबरजस्ती सैद्धान्तिकरण मानिसको आफ्‍नै निर्णयद्वारा गरिन्छ? के यो मानिसको सहमतिमा गरिन्छ? त्यसरी अवश्य नै गरिँदैन। तैँले सहमति जनाइनस् भने पनि, तैँले यसको बारेमा गर्न सक्‍ने केही छैन। तेरो अनभिज्ञतामा, शैतानले त्यसका विचारहरू, जीवन सम्‍बन्धी त्यसका नियमहरू र त्यसको सार तँमा हालिदिँदै, त्यसले तँलाई सैद्धान्तिकरण गर्छ।

चौथो भनेको डरधम्की र छलछाम हो। अर्थात्, तँलाई शैतानले त्यसलाई स्वीकार गर्न, त्यसलाई पछ्याउन, र त्यसको सेवामा काम गर्न लगाउनको लागि विभिन्‍न चलाकीहरूको प्रयोग गर्छ। त्यसका लक्ष्यहरू हासिल गर्नको लागि त्यसले जेसुकै गर्नेछ। यसले कहिलेकाहीँ तँलाई सानो निगाह प्रदान गर्छ, यस क्रममा तँलाई लोभ्याएर पाप गर्न लगाउँछ। यदि तैँले त्यसलाई पछ्याएनस् भने, त्यसले तँलाई कष्ट दिन्छ र दण्ड दिन्छ, अनि तँलाई आक्रमण गर्न र तँविरुद्ध षड्यन्त्र गर्नको लागि विभिन्‍न तरिकाहरूको प्रयोग गर्छ।

पाँचौँ भनेको भ्रममा पार्ने काम र पक्षाघात हो। “भ्रममा पार्ने काम र पक्षाघात” भनेको जब शैतानले मानिसहरूको देहगत अवस्था, तिनीहरूको जीवन र भविष्यको बारेमा त्यो चिन्तित छ भन्‍नेजस्तो तुल्याउनको लागि मानिसहरूका धारणासँग मिल्‍ने र विश्‍वासलाग्दो सुनिने मीठा शब्‍द र विचारहरू मानिसहरूमा घुसाउँछ, जब वास्तविकतामा त्यसको एकमात्र लक्ष्य भनेको तँलाई मूर्ख तुल्याउनु भन्‍ने हुन्छ। त्यसपछि तँलाई सही के हो र गलत के हो भन्‍ने थाहा नहोस् भनेर, तँलाई अनजानमा छल गर्न सकियोस् र तँ त्यसको नियन्त्रणमा आउन सक् भनेर, त्यसले तँलाई पक्षाघात तुल्याउँछ।

छैटौं भनेको शरीर र मनको विनाश हो। शैतानले मानिसको कुन भागलाई नष्ट गर्छ? तँलाई विरोध गर्न नसक्‍ने तुल्याउनको लागि शैतानले तेरो मन नष्ट गर्छ, अर्थात् तेरो इच्‍छा विपरीत अलि-अलि गर्दै तेरो हृदय शैतानतर्फ फर्कन्छ। त्यसले तँमा यी कुराहरू हरेक दिन हालिदिन्छ, र हरेक दिन तँलाई प्रभाव पार्न र प्रशिक्षित गर्नका लागि यी विचार र संस्कृतिहरू प्रयोग गर्छ, तेरो इच्छालाई अलि-अलि गर्दै क्षय हुने तुल्याउँछ, ताकि अन्ततः तैँले उप्रान्त असल व्यक्ति बन्‍ने चाहना नगर्, ताकि तँ उप्रान्त तैँले “इन्साफ” भनी भन्‍ने गरेको कुराका लागि खडा नहो। अनजानमै, तँसँग उप्रान्त प्रवाहको विरुद्ध पौडने इच्‍छा शक्ति हुँदैन, बरु तँ यसैसँग बग्छस्। “विनाश” भनेको मानिसहरू उप्रान्त मानव होइन बरु तिनीहरूको आफ्‍नै छाया बनून् भनेर शैतानले तिनीहरूलाई अत्यन्तै कष्ट दिनु भन्‍ने हो। शैतानले तिनीहरूलाई निल्‍ने मौका छोप्ने बेला यही हो।

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने यी हरेक जालझेलहरूले मानिसलाई विरोध गर्नै नसक्‍ने तुल्याउँछ; मानिसको लागि तीमध्ये कुनै पनि घातक हुनसक्छ। अर्को शब्‍दमा भन्दा, शैतानले जे गर्छ र त्यसले जुन जालझेल प्रयोग गर्छ, त्यसले तँलाई पतित तुल्याउन सक्छ, तँलाई शैतानको नियन्त्रणमा ल्याउन सक्छ र तँलाई दुष्टता र पापको दलदलमा फसाउन सक्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने जालझेलहरू यिनै हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १६४

अहिलेको लागि, परमेश्‍वरको सार सम्‍बन्धी बुझाइमा केन्द्रित-तिमीहरूको दृष्टिकोणको लागि सिक्‍न, निश्‍चित गर्न, महसुस गर्न र अनुभव गर्नको लागि धेरै समय अवधि लाग्छ, अनि यो कुरा एक दिन तिमीहरूले तिमीहरूको हृदयको अन्तस्करणबाट “परमेश्‍वरको पवित्रता” भनेको परमेश्‍वरको सार त्रुटिहीन छ, परमेश्‍वरको प्रेम निस्स्वार्थ छ, परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै निस्स्वार्थ छ भन्‍ने नजानुञ्जेल हुनेछ, र परमेश्‍वरको पवित्रता निष्खोट र दोषरहित छ भन्‍ने तिमीहरूले जान्‍न पुग्‍नेछौ। परमेश्‍वरको सारका यी पक्षहरू उहाँको पहिचान प्रदर्शन गर्नको लागि उहाँले प्रयोग गर्नुहुने शब्‍दहरू मात्रै होइनन्, बरु हरेक व्यक्तिलाई व्यवहार गर्नको लागि परमेश्‍वरले आफ्‍नो सारको इमानदारीपूर्वक प्रयोग गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सार रित्तो छैन, न त यो सूत्रात्मक वा सैद्धान्तिक नै छ, र यो ज्ञानको प्रकार पनि अवश्य नै होइन। यो मानिसको लागि शिक्षाको प्रकार होइन; बरु यो परमेश्‍वरका आफ्नै कार्यहरूको साँचो प्रकाश र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकटित सार हो। मानिसले यो सारलाई जान्‍नु र बुझ्‍नुपर्छ, किनभने परमेश्‍वरले गर्नुहुने सबै कुरा र उहाँले भन्‍नुहुने हरेक वचन हरेक व्यक्तिको लागि अत्यन्तै मूल्यवान् र महत्त्वपूर्ण छ। जब तैँले परमेश्‍वरको पवित्रतालाई बुझ्‍न पुग्छस्, तब तैँले परमेश्‍वरमा वास्तवमा नै विश्‍वास गर्न सक्छस्; जब तैँले परमेश्‍वरको पवित्रतालाई बुझ्‍न पुग्छस्, तब “परमेश्‍वर स्वयम् अद्वितीय” भन्‍ने शब्‍दहरूको साँचो अर्थलाई तैँले वास्तवमा नै महसुस गर्न सक्छस्। यस बाहेक तैँले हिँड्न छनौट गर्न सक्‍ने अरू मार्गहरू पनि छन् भनेर सोच्दै, तैँले उप्रान्त कल्‍पना गर्नेछैनस्, र उप्रान्त तँ तेरो लागि परमेश्‍वरले बन्दोबस्त गर्नुभएको सबै कुरालाई धोका दिन इच्‍छुक हुनेछैनस्। किनभने परमेश्‍वरको सार पवित्र छ, जसको अर्थ उहाँद्वारा मात्रै तँ मानव जीवनको सही, उज्ज्यालो मार्गमा हिँड्न सक्‍छस्; परमेश्‍वरद्वारा मात्रै तैँले जीवनको अर्थलाई जान्‍न सक्छस्; परमेश्‍वरद्वारा मात्रै तँ साँचो मानवतामा जिउन र सत्यतालाई प्राप्त गर्ने र जान्‍ने दुवै गर्न सक्छस्। परमेश्‍वरद्वारा मात्रै तैँले सत्यताबाट जीवन प्राप्त गर्न सक्छस्। परमेश्‍वर स्वयम्ले मात्रै तँलाई दुष्टताबाट अलग बस्‍न र शैतानको हानि र नियन्त्रणबाट छुटकारा दिन सहायता गर्न सक्‍नुहुन्छ। तैँले उप्रान्त कष्ट भोग नगरोस् भनेर कष्टको समुद्रबाट तँलाई परमेश्‍वर बाहेक कसैले पनि र कुनै पनि कुराले मुक्ति दिन सक्दैन। यसलाई परमेश्‍वरको सारले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर स्वयम्‌ले मात्रै त्यति निस्स्वार्थ रूपमा तँलाई मुक्ति दिनुहुन्छ; तेरो भविष्यको लागि, तेरो नियतिको लागि र तेरो जीवनको लागि परमेश्‍वर मात्रै आखिरमा जिम्‍मेवार हुनुहुन्छ, र उहाँले सबै कुरा तेरो लागि मिलाउनुहुन्छ। यो सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि कुराले हासिल गर्न नसक्‍ने कुरा हो। सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि कुरामा परमेश्‍वरको सारजस्तो सार नहुने हुँदा, तँलाई मुक्ति दिने वा तँलाई अगुवाइ गर्ने क्षमता कुनै पनि व्यक्ति वा थोकमा हुँदैन। मानिसको लागि परमेश्‍वरको सारको महत्त्व यही नै हो। सायद मैले भनेका यी वचनहरूले सिद्धान्तको हिसाबले अलि-अलि सहयोग गर्न सक्छ भन्‍ने तिमीहरूलाई लाग्‍न सक्छ। तर यदि तँ सत्यताको खोजी गर्छस् भने, यदि तँ सत्यतालाई प्रेम गर्छस् भने, तैँले अनुभव गर्नेछस् कि यी वचनहरूले तेरो गन्तव्य परिवर्तन गर्ने मात्रै होइन बरु त्यसभन्दा पनि बढी तिनले तँकहाँ मानव जीवनको सही मार्ग ल्याइदिनेछन्। तैँले यो कुरा बुझ्छस् नि, होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश १६५

आजको हाम्रो भेलाको सुरुमा तिमीहरूले गरेको कुनै कुराको बारेमा म कुरा गर्न चाहन्छु, जसले मलाई आश्‍चर्यमा पार्‍यो। तिमीहरूमध्ये कतिले सायद कृतज्ञताको अनुभूतिलाई जगेर्ना गरिरहेका थियौ, सायद तिमीहरूले कृतज्ञताको अनुभव गरिरहेका थियौ, र तिमीहरूमा निश्‍चित विचारहरू थिए, जसले तदनुरूप कार्य पैदा गर्‍यो। तिमीहरूले जे गर्‍यौ, त्यो भर्त्सनाको आवश्यकता पर्ने कुरा थिएन; यो सही पनि होइन गलत पनि होइन। तर म तिमीहरूले केही कुरा बुझेको हेर्न चाहन्छु। तिमीहरूले के बुझेको म चाहन्छु त? पहिलो, तिमीहरूले भर्खरै के गर्‍यौ त्यसको बारेमा म तिमीहरूलाई सोध्‍न चाहन्छु। के यो लम्पसार पर्नु वा आराधनाको लागि घुँडा टेक्‍नु थियो? कसैले मलाई बताउन सक्छ? (यो लम्पसार पर्नु नै थियो भन्‍ने हामीलाई विश्‍वास छ।) यो लम्पसार पर्नु नै थियो भन्‍ने तिमीहरू विश्‍वास गर्छौ, त्यसो भए लम्पसार पर्नुको अर्थ के हो? (आराधना गर्नु।) त्यसो भए, आराधना गर्नको लागि घुँडा टेक्‍नु भनेको के हो? मैले यसभन्दा पहिले यसको बारेमा तिमीहरूसँग सङ्गति गरेको छैन, तर आज यसो गर्नु आवश्यक छ भन्‍ने मलाई लाग्छ। के तिमीहरूको सामान्य भेलामा तिमीहरू लम्पसार पर्छौ? (पर्दैनौँ।) जब तिमीहरू प्रार्थना गर्छौ के तिमीहरू लम्पसार पर्छौ? (पर्छौं।) के तिमीहरू हरेक पटक प्रार्थना गर्दा अवस्थाले दिएअनुसार लम्पसार पर्छौ? (पर्छौं।) त्यो राम्रो हो। तर आज म तिमीहरूले के बुझ भन्‍ने चाहन्छु भने परमेश्‍वरले दुई प्रकारका मानिसहरूको घुँडा टेकाइलाई मात्रै स्वीकार गर्नुहुन्छ। हामीले बाइबल वा कुनै पनि आत्मिक व्यक्तित्वको कार्य र आचरणको सहारा लिनु पर्दैन। बरु, यहाँ र अहिले, म तिमीहरूलाई साँचो कुरा बताउनेछु। पहिलो, लम्पसार पर्नु र आराधना गर्नको लागि घुँडा टेक्‍नु एउटै कुरा होइन। लम्पसार पर्नेहरूको घुँडा टेकाइलाई परमेश्‍वरले किन स्वीकार गर्नुहुन्छ? किनभने परमेश्‍वरले कसैलाई उहाँकहाँ बोलाउनुहुन्छ र त्यस व्यक्तिलाई परमेश्‍वरको कार्यभार स्वीकार गर्न लगाउनुहुन्छ, त्यसकारण परमेश्‍वरले उसलाई उहाँको सामुन्ने लम्पसार हुन दिनुहुनेछ। यो पहिलो प्रकारको व्यक्ति हो। दोस्रो प्रकार भनेको आराधना गर्नलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुनै व्यक्तिको घुँडा टेकाइ हो। यी दुई प्रकारका मानिसहरू मात्रै छन्। त्यसकारण तिमीहरू कुन प्रकारमा पर्छौ? के तिमीहरू भन्‍न सक्छौ? सत्यता यही हो, यद्यपि यसले तिमीहरूको भावनामा अलि चोट पुर्‍याउन सक्छ। प्रार्थनाको बेला मानिसहरूको घुँडा टेकाइको बारेमा केही भन्‍नु छैन—यो उचित छ र हुनु नै पर्छ, किनभने जब मानिसहरूले प्रार्थना गर्छन्, यो मुख्यतया कुनै कुराको लागि प्रार्थना गर्ने, तिनीहरूको हृदय परमेश्‍वरको सामुन्ने खोल्‍ने र उहाँको आमने-सामने हुने कार्य हो। यो परमेश्‍वरसँगको हृदयदेखि हृदयसँगको कुराकानी र बातचित हो। तिमीहरूले घुँडा टेकेर आराधना गर्नु भनेको केवल औपचारिकता मात्रै हुनुहुन्न। तिमीहरूले आज जे गरेका छौ त्यसको लागि तिमीहरूलाई मैले धिक्‍कार भन्‍न खोजेको होइन। म तिमीहरूलाई यसको बारेमा स्पष्ट पार्न मात्रै चाहन्छु ताकि तिमीहरूले यो सिद्धान्त बुझ्‍न सक—तिमीहरूलाई यो थाहा छ, होइन र? (हो, हामीलाई थाहा छ।) यो फेरि कहिल्यै नहोस् भनेर म तिमीहरूलाई यो बताइरहेको छु। त्यसो भए, के परमेश्‍वरको अघि लम्पसार पर्ने र घुँडा टेक्‍ने कुनै अवसर मानिसहरूले पाउँछन्? यो अवसर कहिल्यै हुनेछैन भन्‍ने होइन। ढिलो-चाँडो त्यो दिन आउनेछ, तर त्यो समय अहिले होइन। के तिमीहरू देख्छौ? के यसले तिमीहरूलाई रिस उठाउँछ? (उठाउँदैन।) त्यो राम्रो हो। सायद यी शब्‍दहरूले तिमीहरूलाई उत्प्रेरित वा उत्साहित गर्नेछ, ताकि तिमीहरूले तिमीहरूको हृदयमा परमेश्‍वर र मानिसबीचको हालको अवस्था र परमेश्‍वर र मानिसबीचमा कस्तो प्रकारको सम्‍बन्ध छ त्यसलाई जान्‍न सक। हामीले हालै यसको बारेमा कुरा गरेर थप छलफल गरेको भए तापनि, परमेश्‍वरसम्‍बन्धी मानिसको बुझाइ पर्याप्ततामा पुग्‍न निकै बाँकी छ। परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने यो मार्गमा मानिसले अझै धेरै हिँड्न बाँकी नै छ। तिमीहरूलाई आतुरीको रूपमा यसो गर्न लगाउनु, वा यस प्रकारका आकांक्षा वा भावनाहरूलाई हतारमा व्यक्त गर्नु मेरो अभिप्राय होइन। तिमीहरूले आज जे गर्‍यौ त्यसले तिमीहरूको साँचो भावनाहरूलाई प्रकट र व्यक्त गर्न सक्छ, र म त्यसको अनुभूति गर्छु। त्यसकारण जब तिमीहरू यसो गरिरहेका थियौ, म उठेर तिमीहरूलाई शुभकामना दिन चाहन्थेँ, किनभने तिमीहरू सबै ठीक होओ भन्‍ने म चाहन्छु। त्यसकारण, मेरा हरेक वचन र हरेक कार्यमा, म तिमीहरूलाई सहयोग गर्न, तिमीहरूलाई मार्गनिर्देशित गर्न मैले सक्‍नेजति गर्छु, ताकि तिमीहरूले सबै कुराको बारेमा सही बुझाइ र सही दृष्टिकोण प्राप्त गर्न सक। तिमीहरू यसलाई बुझ्‍न सक्छौ, सक्दैनौ त? (सक्छौँ।) त्यो राम्रो हो। मानिसहरूमा परमेश्‍वरका स्वभावहरूको हरेक पक्ष, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको हरेक पक्ष र परमेश्‍वरले गर्नुहुने कामका बारेमा केही बुझाइ भए पनि, यो बुझाइको अधिकांश भाग शब्दको, धर्मसिद्धान्तको र विचारको तहमै सीमित रहन्छ। मानिसहरूमा वास्तविक अनुभवबाट आउने वास्तविक ज्ञान र अन्तर्ज्ञानको सबैभन्दा कमी छ। मानिसहरूको हृदयलाई जगाउनका लागि परमेश्‍वरले विभिन्‍न विधिहरू प्रयोग गर्नुहुने भए तापनि, मानिसहरू कुन हदसम्म साँच्चिकै जाग्न सक्छन् भन्ने कुरा तिनीहरूका पछ्याइहरूमा भर पर्छ—संक्षेपमा भन्नुपर्दा, तिमीहरू सबैले अझै धेरै लामो बाटो हिँड्नु छ। म कसैले पनि परमेश्‍वरले तिनीहरूलाई चिसोमा छोडेर जानुभएको, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएको वा तिरस्कार गर्नुभएको जस्तो महसुस गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने, सबै जना सत्यता पछ्याउने र परमेश्‍वरलाई चिन्न खोज्ने मार्गमा लागून्, नहिचकिचाई वा पछाडि नफर्की, कुनै पनि फिक्री वा भारविना नै दृढतापूर्वक अघि बढून्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए पनि, तैँले जुनसुकै गलत मोड लिएको भए पनि वा तैँले जसरीसुकै अपराध गरेको भए पनि, परमेश्‍वर सम्बन्धी ज्ञानको खोजीमा तिनलाई तैँले बोक्नुपर्ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। हर समयमा, मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य पक्ष यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

अघिल्लो:  परमेश्‍वरलाई चिन्‍नु (३)

अर्को:  परमेश्‍वरलाई चिन्‍नु (५)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger