तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

के तँ येशूलाई देख्‍न चाहन्छस्? के तँ येशूसँग बस्‍ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएका वचनहरू सुन्‍ने इच्छा गर्छस्? यदि त्यसो हो भने, तैँले येशूको पुनरागमनलाई कसरी स्वागत गर्नेछस्? के तँ पूर्ण रूपमा तयार छस्? तैँले येशूको पुनरागमनलाई कुन रीतिले स्वागत गर्नेछस्? मलाई लाग्छ, येशूलाई पछ्याउने हरेक दाजुभाइ तथा दिदीबहिनीले उहाँलाई राम्ररी स्वागत गर्न रुचाउँछन्। तर के तिमीहरूले यो कुरा विचार गरेका छौ: येशूको पुनरागमन हुँदा के तैँले उहाँलाई साँच्‍चै चिन्‍नेछस्? के उहाँले भन्‍नुभएका सबै कुरा तिमीहरूले साँच्‍चै बुझ्नेछौ? के उहाँले गर्नुभएका सबै कामहरूलाई तिमीहरूले साँच्‍चै निसर्त स्वीकार गर्नेछौ? बाइबल पढेका सबैले येशूको पुनरागमनबारे जान्दछन् र बाइबल पढ्ने सबैले उहाँको आगमनको दत्तचित्त भएर प्रतीक्षा गर्छन्। तिमीहरू सबै त्यो क्षणको आगमनका निम्ति एकाग्र छौ, र तिमीहरूको निष्ठा सराहनीय छ, तिमीहरूको विश्‍वास साँच्चै ईर्ष्यालाग्दो छ, तर के तिमीहरूलाई आफूबाट गम्भीर त्रुटि भएको कुरा महसुस हुन्छ? येशूको पुनरागमन कुन रीतिले हुनेछ? येशू सेतो बादलमा आउनुहुनेछ भनी तिमीहरू विश्‍वास गर्छौ, तर तिमीहरूलाई म सोध्छु: यो सेतो बादलले केलाई जनाउँछ? येशूका यति धेरै अनुयायीहरूले उहाँको पुनरागमनको प्रतीक्षा गरिरहेका छन्, त्यसैले उहाँ कुन मानिसहरूको माझमा चाहिँ ओर्लिआउनुहुनेछ? यदि उहाँ तिमीहरूमाझ पहिले ओर्लिआउनुभयो भने, के अरूहरूले यसलाई अत्यन्त अन्यायपूर्ण कुराको रूपमा हेर्नेछैनन् र? मलाई थाहा छ, तिमीहरू येशूप्रति अत्यन्त निष्ठावान् र बफादार छौ, तर के तिमीहरूले येशूलाई कहिल्यै भेटेका छौ? के तिमीहरूलाई उहाँको स्वभाव थाहा छ? के तिमीहरू कहिल्यै उहाँसँग बसेका छौ? तिमीहरूले उहाँको बारे वास्तवमै कति धेरै बुझेका छौ? यी वचनहरूले आफूलाई फसादमा पारे भनेर केहीले भन्छन्। तिनीहरूले भन्‍नेछन्, “मैले बाइबल सुरुदेखि अन्त्यसम्म धेरैपटक पढेको छु। मैले येशूलाई कसरी बुझ्न सक्दिनथेँ र? येशूको स्वभावको त कुरै नगरौँ—उहाँले कुन रङको लुगा लगाउन मन पराउनुहुन्थ्यो सो पनि मलाई थाहा छ। मैले उहाँलाई बुझ्दिनँ भन्दा तपाईंले मलाई होच्याइरहनुभएको छैन र?” यी विषयहरूमा विवाद नगर् भनी म तँलाई सुझाव दिन्छु; बरु शान्त भएर तल दिइएका प्रश्‍नहरूको बारेमा सङ्गति गर्नु उत्तम हुन्छः पहिलो, वास्तविकता के हो र सिद्धान्त के हो, के तँलाई थाहा छ? दोस्रो, के तँलाई धारणाहरू के हुन् र सत्यता के हो भन्‍ने थाहा छ? तेस्रो, केचाहिँ कल्पना गरिएको के हो र केचाहिँ यथार्थ के हो, के तँलाई थाहा छ?

केही मानिसहरू आफूले येशूलाई बुझ्दिनँ भन्‍ने तथ्यलाई अस्वीकार गर्छन्। तैपनि म तिमीहरूलाई भन्छु, तिमीहरू येशूलाई अलिकति पनि बुझ्दैनौ र उहाँको एउटै वचन पनि बुझ्दैनौ। त्यो किन हो भने तिमीहरूले बाइबलमा उल्लेखित विवरणको कारण र अरूले भनेका कुराहरूको कारण उहाँलाई पछ्याउछौ। तिमीहरूले उहाँलाई कहिल्यै पनि देखेका छैनौं, उहाँसँग बस्‍ने कुरा त परै जाओस्, र तिमीहरूले उहाँलाई एक क्षणको निम्ति पनि साथ दिएको छैनौ। यस्तो अवस्थामा, येशूबारे तेरो बुझाइ केवल एक सिद्धान्त होइन र? के यो वास्तविकताविहीन छैन र? सायद, केही मानिसहरूले येशूको तस्वीर देखेका होलान् वा कोही येशूको घरमा स्वयम् गएका होलान्। सायद केहीले येशूका कपडा छोएका होलान्। तँ स्वयम्‌ले येशूले खानुभएकै खाना खाएको भए पनि, उहाँबारे तेरो बुझाइ अझै पनि सैद्धान्तिक मात्र छ, व्यावहारिक छैन। कुरा जे भए पनि, तैँले येशूलाई कहिल्यै देखेको छैनस् र दैहिकरूपी उहाँसँग कहिले पनि सङ्गत गरेको छैनस्, त्यसैले येशूबारे तेरो बुझाइ सदैव वास्तविकताविहीन खोक्रो सिद्धान्त हुनेछ। सायद मेरा वचनहरू तेरो निम्ति त्यत्ति रुचिकर नहोलान्, तर म तँलाई सोध्छु: आफूले सबैभन्दा प्रशंसा गरेको लेखकका धेरै कृतिहरू तैँले पढेको हुन सक्छस्, तर उनीसँग समय नबिताईकन के तैँले उनलाई पूर्ण रूपमा बुझ्न सक्छस्? उनको व्यक्तित्व कस्तो छ, के तँलाई थाहा छ? उनी कस्तो जीवन जिउँछन्, थाहा छ? के तँ उनको कुनै संवेगात्मक स्थितिको बारेमा जान्दछस्? तँ आफूले प्रशंसा गर्ने मानिसलाई समेत पूर्ण रूपमा बुझ्न सक्दैनस्, त्यसोभए कसरी तँ प्रभु येशूलाई बुझ्न सक्छस् र? तैँले येशूको बारे बुझेका सबै कुराहरू कल्पना र धारणाहरूले भरिएका छन्, जसमा कुनै सत्यता वा यथार्थता छैन। यसबाट दुर्गन्ध निस्कन्छ र यो देहले भरिएको छ। यस्तो बुझाइले येशूको पुनरागमनको स्वागत गर्न तँलाई कसरी योग्य तुल्याउन सक्छ र? येशूले कल्पना र देहका धारणाहरूले भरिएकाहरूलाई ग्रहण गर्नुहुनेछैन। येशूलाई नबुझ्नेहरू कसरी उहाँका विश्‍वासीहरू हुन योग्य हुन्छन् र?

के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भन्ने लाग्छ? के तिनीहरूले मसीहलाई देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव माध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्‍चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। जो मसीहलाई चिन्दैनन् तिनीहरू सबैले येशूको विरोध गर्ने, येशूलाई इन्कार गर्ने र उहाँको मानहानि गर्ने कार्यहरू गर्न सक्छन्। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्‍न सक्छन् र बहुसङ्ख्यक मानिसले देहमा फर्कनुभएका येशूलाई दोषी ठहराउनेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको धज्जी उडाएको र येशूद्वारा व्यक्त गरिएका सबै कुरालाई तिरस्कार गरेको हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू होसमा आउन हठपूर्वक इन्कार गर्छौ भने, येशू सेतो बादलमा सवार भएर देहमा फर्कनुहुँदा उहाँले गर्नुहुने कामलाई तिमीहरू कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू निश्‍चय नै नाश हुने वर्ग हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको आनन्दमय क्षेत्रको आनन्द लिन मात्र चाहन्छौ; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा फर्कनुहुँदा उहाँले व्यक्त गर्नुभएको सत्यता कहिल्यै स्विकारेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के दिनेछौ? के तिमीहरूले बारम्बार पाप गर्ने र त्यसपछि घरिघरि स्विकार्ने इमानदारी दिनेछौ? सेतो बादलमा फर्कनुहुने येशूलाई तिमीहरू बलिका रूपमा के चढाउनेछौ? के तिमीहरूले आफूलाई उच्‍च पार्ने वर्षौँको कार्यको पुँजी चढाउनेछौँ? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के देखाउनेछौ? के कुनै सत्यताप्रति समर्पित नहुने तिमीहरूको त्यही अहङ्कारी प्रकृति देखाउनेछौ?

तिमीहरूको बफादारी शब्दमा मात्रै छ, तिमीहरूको ज्ञान सोचाइ र धारणाहरूको ज्ञान हो, तिमीहरूको परिश्रम स्वर्गका आशिष्‌हरू प्राप्त गर्नका खातिर हो, त्यसकारण तिमीहरूको विश्‍वास कस्तो होला? आज पनि, तिमीहरू सत्यताको हरेक वचनलाई सुने पनि नसुनेझैँ गर्छौ। तिमीहरूलाई परमेश्‍वर के हुनुहुन्छ भन्‍ने थाहा छैन, तिमीहरूलाई ख्रीष्ट के हुनुहुन्छ भन्‍ने थाहा छैन, तिमीहरू यहोवाको डर मान्न जान्दैनौ, तिमीहरू पवित्र आत्माको काममा प्रवेश गर्न जान्दैनौ, अनि तिमीहरू परमेश्‍वर स्वयम्‌को काम र मानिसको बहकाउबीच फरक छुट्याउन जान्दैनौ। तँ आफ्ना सोँचहरूसँग नमिल्ने परमेश्‍वरद्वारा व्यक्त गरिएको सत्यताको कुनै पनि वचनलाई दोषी ठहराउन मात्र जान्दछस्। खै त तेरो दीनता? खै त तेरो अधीनता? खै त तेरो बफादारी? खै त सत्यता खोज्ने तेरो मनोवृत्ति? खै त परमेश्‍वरको डर मान्ने तेरो हृदय? म तिमीहरूलाई भन्छु, जो चिन्हहरूका कारण परमेश्‍वरमा विश्‍वास गर्छन् तिनीहरू पक्कै पनि नाश हुने वर्ग हुन्। जो देहमा फर्कनुभएका येशूका वचनहरू स्वीकार गर्न असक्षम छन् तिनीहरू पक्कै पनि नरकका सन्तति, प्रधान स्वर्गदूतका वंशज, र सधैँका लागि नाश हुने वर्ग हुन्। धेरै मानिसहरूले मैले भन्ने कुरालाई वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्य देखा पर्ने समय हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उत्साहको समय हुनेछ। तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍न नरक जाने समय, परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणा भएको समय, र परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुने समय पनि हुनेछ भनी जान्‍नुपर्छ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा, मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्विकार्ने र चिन्हहरू नखोज्ने अनि यसरी शुद्ध गरिएकाहरू परमेश्‍वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झूटो ख्रीष्ट हो” भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरूले मात्र अनन्त दण्ड भोग्नेछन्, किनभने तिनीहरू चिन्ह प्रदर्शन गर्नुहुने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग प्रदान गर्नुहुने येशूलाई मान्दैनन्। अनि यसकारण, के मात्र हुन सक्छ भने, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा उहाँले तिनीहरूलाई ठेगान लगाउनुहुनेछ। तिनीहरू अति जिद्दी, आफैँमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता घटियाहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तिमीहरू अज्ञानी र अहङ्कारी व्यक्ति हुनु हुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनु पर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको मार्ग निकै होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। मनमानी रूपमा निचोडमा नपुग; त्योभन्दा बढी, परमेश्‍वरमाथिको विश्‍वासमा बेफिक्र र लापरवाह नबन। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्‍वरको डर मान्ने हृदय हुनैपर्छ भन्ने कुरा जान्‍नुपर्छ। सत्यता सुनेर पनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानी हुन्। सत्यता सुनेर पनि लापरवाह रूपमा निचोडमा पुग्‍ने वा यसलाइ दोषी ठहराउनेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्‍वास गर्ने कोही पनि अरूलाई सराप्न वा दोषी ठहराउन योग्य हुँदैन। तिमीहरू सबै नै समझ भएका र सत्यता स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी वचनहरूमध्ये १०,००० मा एउटा मात्र तेरो बुझाइ र बाइबलसँग मिल्दो छ भन्‍ने विश्‍वास गर्छस्, र त्यसपछि तैँले यी १०,००० औँ वचनहरूमा खोज्न जारी राख्नुपर्छ। म तँलाई दीन हुन, बढ्ता आत्मविश्‍वासी नहुन, र अति अहम्‌ नहुन पनि सल्लाह दिन्छु। तँसँग भएको परमेश्‍वरको डर मान्ने अलिकति हृदयले, तैँले अझ ठूलो ज्योति प्राप्त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई ध्यानपूर्वक जाँचिस् र बारम्बार मनन गरिस् भने, ती सत्यता हुन् कि होइनन्, र ती जीवन हुन् कि होइनन् भन्‍ने कुरा तैँले बुझ्नेछस्। सायद, केही वाक्य पढ्नेबित्तिकै कतिपय मानिस अन्धाधुन्ध रूपमा यी वचनहरूलाई दोषी ठहराउनेछन् र “यो पवित्र आत्माको केही प्रबोधनभन्दा बढी केही होइन,” वा, “यो मानिसलाई भ्रममा पार्न आएको झूटो ख्रीष्ट हो” भन्नेछन्। जो यस्ता कुराहरू भन्छन् तिनीहरू अत्यन्तै अज्ञानी हुन्छन्! तँ परमेश्‍वरको काम र बुद्धिका बारेमा अत्यन्तै कम बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्नेछन् भनेर तिमीहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरूलाई अन्धाधुन्ध रूपमा दोषी ठहराउनु हुँदैन, र भ्रममा परिने डरले तिमीहरू पवित्र आत्माको ईशनिन्दा गर्ने व्यक्ति बन्नु हुँदैन। के त्यो ठूलो दुःखको कुरा हुनेछैन र? यदि, बारम्बारको जाँचपछि, तँ अझै पनि यी वचनहरू सत्यता होइनन्, मार्ग होइनन्, र परमेश्‍वरको अभिव्यक्ति होइनन् भन्‍ने विश्‍वास गर्छस् भने, अन्ततः तँलाई दण्ड दिइनेछ, र तँ आशिष्‌विहीन हुनेछस्। यदि तँ यति सरल र यति स्पष्ट रूपमा बोलिएको यस्तो सत्यतालाई स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिका लागि अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कने आशिष्‌ नभएको व्यक्ति होइनस् र? यसबारे सोच्! हतार र आवेगपूर्ण व्यवहार नगर्, र परमेश्‍वरमाथिको विश्‍वासलाई खेलको रूपमा नलि। तेरो गन्तव्यका खातिर, तेरो भविष्यका खातिर, तेरो जीवनका खातिर सोच्, र आफूमाथि खेलबाड नगर्। के तँ यी वचनहरू स्वीकार गर्न सक्छस्?

अघिल्लो:  परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

अर्को:  ख्रीष्टसँग नमिल्नेहरू निश्‍चय नै परमेश्‍वरका विरोधी हुन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger