विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दस)
आ. ख्रीष्टविरोधीहरूका हितहरू
घ. तिनीहरूका सम्भावना र नियति
हामीले हाम्रो पछिल्लो भेलामा कुन विषयबारे सङ्गति गर्यौँ? (परमेश्वरले ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदनामलाई लिने तरिकाहरू भन्नेबारे सङ्गति गर्नुभयो। सर्वप्रथम, परमेश्वरले “सेवाकर्ता” भन्ने पदनामको परिभाषा कसरी दिनुहुन्छ भन्नेबारे सङ्गति गर्नुभयो। परमेश्वरले सेवाकर्ताको स्थितिलाई पछि छोडेको व्यक्ति र अझै पनि सेवाकर्ता रहेको व्यक्तिबीच रहेको भिन्नताबारे पनि सङ्गति गर्नुभयो, र अन्तिममा परमेश्वरले “सेवाकर्ता” पदनामबारे ख्रीष्टविरोधीहरूका दृष्टिकोण र पछ्याइहरू चिरफार गर्नुभयो।) त्यसोभए, “सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूको दृष्टिकोण र मनोवृत्ति कस्तो हुन्छ त? तिनीहरूले के भन्छन् र के गर्छन्? (“सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति अस्वीकार र वितृष्णाको हुन्छ। तिनीहरूले यो पदनाम जोसुकैबाट आएको भए पनि यसलाई स्वीकार गर्दैनन्, र तिनीहरूले सेवाकर्ता बन्नु अपमानजनक कुरा हो भन्ने विश्वास गर्छन्। तिनीहरूले सेवाकर्ताहरूलाई परमेश्वरले मानवजातिको सारको आधारमा परिभाषित गर्नुहुन्न, बरु यो त परमेश्वरले मानव पहिचान र मूल्यलाई चुनौती दिनुभएको र तिरस्कार गर्नुभएको हो भन्ने विश्वास गर्छन्।) (ख्रीष्टविरोधीहरूले यो प्रसिद्ध वाक्यांश बोल्छन्: “अरूले लोकप्रियता पाउँदा मचाहिँ पर्दापछाडि मेहनत गरेर बस्दिनँ।” ख्रीष्टविरोधीहरूले अरूलाई तिनीहरूको सेवामा लगाउन मात्रै चाहन्छन् र तिनीहरूले परमेश्वरलाई सेवा दिनु लाजमर्दो कुरा हो भन्ने सोच्छन्, त्यसकारण तिनीहरू आफै सेवाकर्ताहरू हुन् भन्ने महसुस गर्दा तिनीहरूले परमेश्वरको घरमा सेवा गर्न जारी राख्न चाहँदैनन्, बरु उम्कने बाटो खोज्न थाल्छन्, र अवरोध र बाधाहरू ल्याउने, र विनाशकारी कुराहरू गर्ने समेत गर्छन्।) “सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति हेर्दा, हामीले तिनीहरूको सार के हो भन्ने देख्छौँ? (तिनीहरूको सार परमेश्वरप्रति शत्रुवत् र सत्यतालाई घृणा गर्ने सार हो।) अनि तिनीहरूको सार परमेश्वर र सत्यताप्रति शत्रुवत् छ भने यो कस्तो स्वभाव हो? (यो दुष्ट र क्रूर स्वभाव हो।) ठीक भन्यौ, यो दुष्ट र क्रूर स्वभाव हो। परमेश्वरमाथिको विश्वासमा ख्रीष्टविरोधीहरूको पहिलो उत्प्रेरणा र अभिप्राय के हुन्छ? तिनीहरूले के प्राप्त गर्न चाहन्छन्? तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू के-के हुन्? के तिनीहरू सेवाकर्ता बन्न आउँछन्? के तिनीहरू असल व्यक्ति बन्ने र परमेश्वरमा विश्वास गरेर सही मार्ग पछ्याउने मनोवृत्तिको आधारमा आउँछन्? (आउँदैनन्।) त्यसोभए तिनीहरू केको लागि आउँछन्? ठ्याक्कै रूपमा भन्दा, तिनीहरू आशिष् पाउन आउँछन्, र अझै निश्चित रूपमा भन्दा, तिनीहरूले राजाको रूपमा शासन गर्न, परमेश्वरसँग राजाको रूपमा शासन गर्न खोजिरहेका हुन्छन्, र तिनीहरूले उच्च र महान् कुराहरू खोजिरहेका हुन्छन्। त्यसकारण, जब परमेश्वरले मानिसहरूलाई सेवाकर्ताहरू भनेर भन्नुहुन्छ, तब यो आशिष्हरू खोज्ने र राजाको रूपमा शासन गर्ने ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूसँग पूर्ण रूपमा बाझिन्छ र तिनको विरुद्धमा हुन्छ, यो तिनीहरूको अपेक्षाहरूभन्दा बाहिर जान्छ, र परमेश्वरले मानिसहरूलाई यो पदनाम दिनुहुनेछ भनेर तिनीहरूले कहिल्यै सोचेका हुँदैनन्। ख्रीष्टविरोधीहरूले यो तथ्य स्विकार्न सक्दैनन्। अनि तिनीहरूले यो तथ्य स्विकार्न नसक्दा के-कस्ता कुराहरू गर्न सक्छन्? के तिनीहरूले यो तथ्य स्विकार्दै आफूलाई परिवर्तन गर्ने प्रयास गर्छन्? तिनीहरूले यो तथ्य स्विकार्न खोजी गर्दैनन्, न त तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षा र स्वभाव परिवर्तन गर्ने खोजी नै गर्छन्। त्यसकारण, यदि तिनीहरूलाई तिनीहरू सेवाकर्ताहरू हुन् भनेर भनियो भने र आशिष्हरू प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छा खोसियो भने, तिनीहरू उप्रान्त मण्डलीमा दह्रिलो गरी खडा हुन सक्दैनन्। तिनीहरूले वास्तविकता बुझ्नेबित्तिकै र यस्ता प्रकटीकरण भएका तिनीहरू सेवाकर्ताहरू हुन् भनेर थाहा पाउनेबित्तिकै, तिनीहरूले सबै आशा त्यागेर आफ्नो साँचो रङ्ग प्रकट गरिहाल्छन्। तिनीहरूले सेवाकर्ताको रूपमा रहेको आफ्नो परिस्थिति परिवर्तन गर्न खोज्दैनन्, न त तिनीहरूले सेवाकर्ता पदनामप्रतिको आफ्नो गलत मनोवृत्ति र दृष्टिकोण परिवर्तन गरेर सत्यता पछ्याउने मार्गमा हिँड्न नै खोज्छन्। त्यसकारण, परमेश्वरले जेसुकै बन्दोबस्तहरू गर्नुभए पनि, त्यस्ता मानिसहरू तिनमा समर्पित हुँदैनन् वा तिनलाई स्वीकार गर्दैनन्, र तिनीहरूले सत्यताको खोजी गर्दैनन्। बरु, तिनीहरूले यो नामबाट आफूलाई मुक्त गर्ने मानव उपाय सोच्दै आफ्नो दिमाग खियाउँछन्, र तिनीहरूले यो पहिचान मिल्काउन सक्दो गर्छन्। ख्रीष्टविरोधीहरूले देखाउने यो प्रकटीकरणका आधारमा हेर्दा, ख्रीष्टविरोधीहरू भित्रैदेखि नै सत्यताप्रति वितृष्ण हुन्छन्। तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, सत्यता स्वीकार गर्दैनन्, र सत्यताबारे आफ्नै विचार र धारणाहरू राख्छन्, तर त्यो सब सामान्य तरिकामा हुँदैन। तिनीहरूले सकारात्मक कुराहरू र सत्यताप्रति गहन वितृष्णा, घृणा, र शत्रुतासमेत महसुस गर्छन्—ख्रीष्टविरोधीहरूको सार यही हो।
अहिले तिमीहरूले दिएको जबाफबाट, मैले के देखेँ भने, तिमीहरूले हरेक सङ्गतिको विषयवस्तुलाई सारांशित गरेका छैनौ, र पछि तिमीहरूले प्रार्थनार्थ पढ्ने गरेका वा मनन पनि गरेका छैनौ। पछिल्लोपटक हामीले तीन वटा मुख्य पक्षहरूबारे सङ्गति गर्यौँ: पहिलो, सेवाकर्ताहरू के हुन् भनेर परिभाषित गर्नु थियो; दोस्रो, ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदनामलाई लिने तरिकाहरू वा अझ विशिष्ट रूपमा भन्दा, तिनीहरूको सेवाकर्ता बन्ने अनिच्छाका प्रकटीकरण र व्यवहार के-के हुन्, र ती कुरापछाडिका कारणहरू के-के हुन् भन्ने कुरा थियो; अनि तेस्रो, ख्रीष्टविरोधीहरू सेवाकर्ता बन्न अनिच्छुक हुने भएकाले तिनीहरूको अभिप्राय के हो भन्ने थियो, अर्थात्, तिनीहरूले के गर्न चाहन्छन्, तिनीहरूको महत्त्वाकाङ्क्षा के हो, र परमेश्वरमा विश्वास गर्नुको तिनीहरूको उद्देश्य के हो भन्ने कुरा थियो। आधारभूत रूपमा भन्दा, हामीले “‘सेवाकर्ता’ पदनामलाई ख्रीष्टविरोधीहरूले लिने तरिकाहरू” भन्ने उपविषयबारे यी तीन पक्षबाट सङ्गति गर्यौँ, र यी तीन पक्षहरूमार्फत हामीले ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” भन्ने पदनामलाई हेर्ने तिनीहरूको शैलीमा तिनीहरूले प्रयोग गर्ने विभिन्न अभ्यास र व्यवहारहरू, साथै यसबारेमा रहेका तिनीहरूका विचार र दृष्टिकोणहरू चिरफार गर्यौँ। तिमीहरूले सुनेपछि हरेक सङ्गतिको विषयवस्तुबारे मनन गर्दैनौ। तिमीहरूले यी कुराहरू छोटो समयसम्म मात्रै याद गर्छौ, तर लामो समय बित्यो भने, यी कुराहरू समेत याद गर्न सक्दैनौ। यदि तँ सत्यता बुझ्न र प्राप्त गर्न चाहन्छस् भने, तैँले हृदयमा प्रयास गर्नुपर्छ र बारम्बार प्रार्थनार्थ पढ्नुपर्छ र मनन गर्नुपर्छ—तैँले यी कुराहरू हृदयमा राख्नैपर्छ। यदि तैँले त्यसो गरिनस् भने, यदि तैँले यी कुराहरू हृदयमा लिइनस् र कुनै प्रयास गरिनस्, र तैँले यी कुराहरूबारे हृदयमा विचार गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। कति मानिसहरूले भन्छन्, “ख्रीष्टविरोधीहरूको मामिला मबाट धेरै टाढा छ। मैले ख्रीष्टविरोधी बन्ने योजना बनाइरहेको छैनँ र म तिनीहरूजस्तो खराब व्यक्ति होइनँ। म कर्तव्यनिष्ठ रूपमै सबैभन्दा महत्त्वहीन व्यक्ति बन्नेछु, र मेरा लागि त्यही नै पर्याप्त हुन्छ। मलाई जे गर्न भनिन्छ म त्यही गर्नेछु र म ख्रीष्टविरोधीको मार्ग पछ्याउनेछैनँ। अझ भन्ने हो भने, मसँग थोरै ख्रीष्टविरोधी स्वभाव भए पनि, म यसलाई समय बित्दै जाँदा क्रमिक रूपमा परिवर्तन गर्नेछु, र यो साधारण भ्रष्ट स्वभाव मात्रै हो र त्यति गम्भीर होइन। यो कुरा सुन्नुको कुनै अर्थ छैन।” के यो दृष्टिकोण सही छ? (छैन।) किन छैन? यदि कसैले स्वभाव परिवर्तन हासिल गर्न चाहन्छ भने, सबैभन्दा महत्त्वपूर्ण रूपमा उसले हरप्रकारका परिस्थितिहरूमा उसको भ्रष्ट स्वभावबाट के-कस्ता स्थिति, विचार र दृष्टिकोणहरू पैदा हुन सक्छन् भन्ने कुरा बुझ्नुपर्छ। यी कुराहरू बुझेपछि मात्रै तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव के हो, कुन क्षेत्रमा आफूले परमेश्वरको प्रतिरोध गर्छु र सत्यताविरुद्ध जान्छु, र आफूभित्र सत्यतासँग नमिल्ने के-कस्ता कुराहरू छन् भन्ने कुरा जान्न सक्छन्; यी कुराहरू थाहा पाएपछि, तिनीहरूले यी समस्या र भ्रष्ट स्वभावहरू समाधान गर्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। यदि तँसँग खुलासा गरिएका यी विभिन्न भ्रष्ट स्वभावहरूबारे वा विभिन्न परिस्थितिहरूमा देखा पर्ने यी विभिन्न स्थितिहरूबारे कुनै बुझाइ छैन, र यी कुराहरूले कुन तरिकाले सत्यताको विरोध गर्छन् भन्नेबारे वा समस्याहरू कहाँ देखा पर्छन् भन्नेबारे तँसँग कुनै बुझाइ छैन भने, तैँले यी समस्याहरू कसरी समाधान गर्नेछस्? यदि तँ यी समस्याहरू समाधान गर्न चाहन्छस् भने, तैँले सुरुमा यी समस्याहरूको स्रोत कहाँ छ, यिनका स्थितिहरू के-के हुन्, यी निश्चित समस्याहरू कहाँ पैदा हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ, र त्यसपछि तैँले कसरी प्रवेश गर्ने भन्ने कुरा समाधान गर्ने प्रयास गर्नुपर्छ। यो तरिकाले, तेरा भ्रष्ट स्वभावहरू र पैदा हुने विभिन्न स्थितिहरू एकएक गरी समाधान गर्न सकिन्छ। तिमीहरू अझै पनि सत्यता वास्तविकतामा प्रवेश गर्ने वा भ्रष्ट स्वभावहरू समाधान गर्ने र स्वभाव परिवर्तन हासिल गर्नेबारेमा स्पष्ट छैनौ जस्तो देखिन्छ; लाग्छ, तिमीहरू अझै पनि सही मार्गमा पुगेका छैनौ।
५. ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नो हैसियतलाई कसरी लिन्छन्
आज, हामी ख्रीष्टविरोधीहरूका हितहरूसँग सम्बन्धित अन्तिम विषय: ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नो हैसियतलाई कसरी लिन्छन् भन्नेबारे सङ्गति गर्नेछौँ। जब मण्डलीमा ख्रीष्टविरोधीहरूको हैसियत के हो भन्ने कुरा आउँछ, तिनीहरूले के-कस्ता प्रकटीकरणहरू देखाउँछन्, तिनीहरूले के-कस्ता कुराहरू गर्छन्, र ती कुराहरू गर्दा तिनीहरूको दृष्टिकोण र स्वभाव सार के हुन्छ भन्ने कुराको हकमा भन्दा—हामी यी कुरालाई तीनवटा पक्षमा विभाजन गर्नेछौँ र एकएक गरी चिरफार गर्नेछौँ। पहिलो पक्ष “ढोँग गरेर,” दोस्रो पक्ष “नाटक गरेर,” र तेस्रो पक्ष “सबैमाथि हाबी भएर” हो। यी तीनवटा पक्षहरू हरेकलाई केही शब्दहरूमा लेखिएको छ र तिनलाई संक्षेप व्याख्या मान्न सकिन्छ, तर ती हरेकमा ख्रीष्टविरोधीहरूका विभिन्न कार्य, प्रकटीकरण, र भनाइहरू, साथै तिनीहरूको मनोवृत्ति र स्वभावहरू समावेश छन्। आजको विषय सङ्गति गर्न मैले किन यी तीन पक्ष परिभाषित गरेँ भनेर अहिले विचार गर। तिमीहरूले यसलाई पढिसकेपछि ख्रीष्टविरोधीहरू मण्डलीमा आफ्नो हैसियतलाई कसरी लिन्छन् भन्ने विषयलाई मनमा कसरी परिभाषित गर्यौ? तिमीहरूमा के-कस्ता विचारहरू आए? धेरैजसो मानिसहरूले मनमा निस्सन्देह नै मण्डलीमा ख्रीष्टविरोधीहरूको अत्याचार, हैसियतको दाबी, मानिसहरूलाई आफ्नो पक्षमा ल्याउने तिनीहरूको प्रयास, र शक्ति हातमा लिने कार्यबारे, अर्थात् तिनीहरू सधैँ पदाधिकारी बन्न, हैसियत दाबी गर्न, शक्ति हातमा लिन, र मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन् भन्नेबारे विचार गर्छन्—आधारभूत रूपमा, मानिसहरूले यी कुराहरूबारे नै विचार गर्छन्। यी त ख्रीष्टविरोधीहरूले मण्डलीमा प्रायजसो प्रकट गर्ने तुलनात्मक रूपमा अलि स्पष्ट रहेका पक्षहरू हुन्, तर यीबाहेक मानिसहरूले देख्न नसक्ने अरू के-कस्ता प्रकटीकरणहरू हुन्छन्? मण्डलीमा दह्रिलो स्थान बनाउन, हैसियत र उच्च प्रतिष्ठा प्राप्त गर्न, र शक्ति लिन र अझै धेरै मानिसहरूलाई नियन्त्रण गर्न ख्रीष्टविरोधीहरूले अरू के गर्छन्? तिनीहरूमा अरू के-कस्ता प्रकटीकरणहरू हुन्छन्? यी कुराहरू ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने अझै भ्रामक, भित्र-भित्रै अनिष्टकारी, र गुप्त तरिका र माध्यमहरू हुन्, र यी तिनीहरूको हृदयको अन्तस्करणमा रहेका अज्ञात विचार र गुप्त अभिप्राय र उद्देश्यहरू पनि हुन सक्छन्, होइन र? त्यसकारण, हामी यीबारे एकएक गरी सङ्गति गरौँ।
(१) ढोँग बनाएर
पहिलो पक्ष “ढोँग बनाएर” भन्ने हो। “ढोँग” भन्ने शब्दको शाब्दिक अर्थ बुझ्न सजिलो छ र यो स्पष्ट रूपमै तारिफ गर्न लायक कुरा होइन। जब कुनै व्यक्ति ढोँग गर्न सिपालु छ भनेर भनिन्छ, जब उसले गर्ने सबै कुरा ढोँग हो, उसले गर्ने सबै कुरा अरूका लागि अभेद्य छ, र उसले अरूसँग सतही स्तरमा मात्रै व्यवहार र कुराकानी गर्छ भनेर भनिन्छ, तब त्यस्तो काम र व्यवहार गर्ने व्यक्ति अवश्य नै अत्यन्तै छली व्यक्ति हुन्छ। तिनीहरू इमानदार व्यक्ति होइनन्, र तिनीहरू सरल र निष्कपट हुँदैनन्, बरु तिनीहरू त दिमागी खेलहरू खेल्न निकै सिपालु हुन्छन्, तिनीहरू अत्यन्तै सुक्ष्मचालका हुन्छन्, र अरूलाई छल गर्न निकै सिपालु हुन्छन्। “ढोँग” भन्ने शब्दको सबैभन्दा आधारभूत बुझाइ यही हो। त्यसोभए, ख्रीष्टविरोधीहरूको व्यवहार र कार्य र यस्तो व्यवहारबीच के सम्बन्ध छ? तिनीहरूमा बहानाको सार छ भन्ने देखाउने गरी तिनीहरूले के गर्छन्? बहानामा संलग्न हुनुपछाडि वास्तवमा तिनीहरूको उद्देश्य के हुन्छ? तिनीहरूको अभिप्राय ठ्याक्कै के हुन्छ? तिनीहरूले किन ढोँग गर्नुपर्छ? यी कुराहरू आज हामीले सङ्गति गर्ने विषयसँग निकट रूपले सम्बन्धित छन्।
ख्रीष्टविरोधीहरू अरूभन्दा पछि पर्न नचाहने मानिसहरू हुन्। तिनीहरू अरूमा भर पर्न, र अरूका आदेश, निर्देशन, र आज्ञाहरू स्विकार्न अनिच्छुक हुन्छन्, र तिनीहरू साधारण बन्न र अरूको हेला सहन पनि अनिच्छुक हुन्छन्। बरु यसको साटो, तिनीहरू त प्रतिष्ठा प्राप्त गर्न चाहने, अरूले तिनीहरूलाई उच्च आदर गरून्, र अरूले तिनीहरूलाई निकै बहुमूल्य ठानून् भन्ने चाहने मानिसहरू हुन्। यसबाहेक, तिनीहरू मण्डली र अरू मानिसहरूमाझ अरूलाई आफ्नालागि काम गर्न आदेश र निर्देशन दिने मानिसहरू बन्न चाहनेहरू हुन्। तिनीहरू आफ्नो प्रतिष्ठा, प्रभाव, र आफूले चलाउने शक्तिद्वारा आफ्ना इच्छाहरू लागू गर्न चाहन्छन्, र तिनीहरू जोसुकैले आदेश दिने र काम अह्राउने साधारण मानिसहरू बन्न चाहँदैनन्। अरू मानिसहरूका माझमा ख्रीष्टविरोधीहरूसँग हुने पछ्याइ र चाहनाहरू यिनै हुन्। अरू मानिसहरूमाझ रहेको आफ्नो हैसियतबारे ख्रीष्टविरोधीहरू निकै संवेदनशील हुन्छन्। समूहमा हुँदा, तिनीहरूले आफ्नो उमेर र शारीरिक स्वास्थ्यको कुनै महत्त्व हुन्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरूले महत्त्वपूर्ण ठान्ने कुराहरू त के मात्र हुन् भने, बहुसङ्ख्यकले तिनीहरूलाई कसरी हेर्छन्, बहुसङ्ख्यकले तिनीहरूलाई समय दिन्छन् कि दिँदैनन् र आफ्नो बोली र व्यवहारमा तिनीहरूलाई स्थान दिन्छन् कि दिँदैनन्, बहुसङ्ख्यकको हृदयमा रहेको तिनीहरूको हैसियत र पद उच्च छ कि साधारण छ, बहुसङ्ख्यकले तिनीहरूलाई उच्च ठान्छन् कि साधारण वा खासै विशेष नरहेको ठान्छन्, र आदि इत्यादि कुराहरू; बहुसङ्ख्यकले परमेश्वरमाथिको तिनीहरूको आस्थाको योग्यतालाई के ठान्छन्, मानिसहरूमाझ तिनीहरूका शब्दहरू कति वजनदार हुन्छन्, अर्थात् कति मानिसहरूले तिनीहरूलाई अनुमोदन गर्छन्, कतिले तिनीहरूलाई प्रशंसा गर्छन्, स्याबास दिन्छन्, ध्यान दिएर सुन्छन्, र तिनीहरूले केही कुरा भनेपछि त्यसलाई हृदयमा राख्छन्; साथै, बहुसङ्ख्यकले तिनीहरूलाई ठूलो आस्था भएको व्यक्तिको रूपमा हेर्छन् कि थोरै आस्था भएको व्यक्तिको रूपमा हेर्छन्, कष्ट सहने तिनीहरूको सङ्कल्प कस्तो छ, तिनीहरूले कति कुरा त्याग्छन् र समर्पित गर्छन्, परमेश्वरको घरमा तिनीहरूले दिने योगदानहरू के-के हुन्, परमेश्वरको घरमा तिनीहरूले लिने पद उच्च छ कि न्यून छ, तिनीहरूले विगतमा के-कस्ता कष्ट भोगेका छन्, र तिनीहरूले के-कस्ता महत्त्वपूर्ण कुराहरू गरेका छन्—तिनीहरूले सबैभन्दा बढी चासो लिने कुराहरू यिनै हुन्। ख्रीष्टविरोधीहरूले प्रायजसो आफ्नो मनमा पद र क्रमको वर्गीकरण गर्छन्, र प्रायजसो मण्डलीमा सबैभन्दा बढी वरदान प्राप्त गर्ने व्यक्ति को हो, मण्डलीमा सबैभन्दा स्पष्ट बोल्ने र धाराप्रवाह व्यक्ति को हो, व्यावसायिक सीपमा दक्ष को हो र प्रविधिमा सबैभन्दा कुशल को हो भनेर तुलना गर्छन्। यी कुराहरू तुलना गर्ने क्रममा, तिनीहरूले विभिन्न व्यावसायिक सीपहरू अध्ययन गर्न निरन्तर मेहनत गरिरहेका हुन्छन्, ती सीपमा पोख्त हुन र तिनमा विशेषज्ञ हुन सक्दो प्रयास गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूले मुख्य रूपमा प्रवचन दिने कार्यमा र परमेश्वरका वचनहरू यस्तो तरिकाले व्याख्या गर्ने कुरामा ध्यान दिन्छन् जसले उनीहरूलाई प्रदर्शित गरोस् र अरूको नजरमा उच्च बनाओस्। तिनीहरूले यस्तो प्रयास गरिरहेको बेला, सत्यता कसरी बुझ्ने वा सत्यता वास्तविकतामा कसरी प्रवेश गर्ने भनेर खोजी गरिरहेका हुँदैनन्, बरु तिनीहरूले यी वचनहरू कसरी याद गर्ने र कसरी अझै धेरै मानिसहरूलाई आफ्नो सबल पक्ष देखाउन सकिन्छ भनेर मनन गरिरहेका हुन्छन्, ताकि अझै धेरै मानिसहरूले तिनीहरू साँच्चै नै केही न केही त हुन्, तिनीहरू साधारण मानिसहरू मात्र होइनन्, तिनीहरू सक्षम छन्, र तिनीहरू साधारण मानिसहरूभन्दा माथि छन् भनेर जानून्। यस्ता विचार, अभिप्राय, र दृष्टिकोणहरू राखेर, ख्रीष्टविरोधीहरू विभिन्न किसिमका कामकुराहरू गर्दै मानिसहरूमाझ जिउँछन्। तिनीहरूमा यी दृष्टिकोणहरू हुने हुनाले, र तिनीहरूमा यी पछ्याइ र महत्त्वाकाङ्क्षाहरू हुने हुनाले, तिनीहरूले ठूलासाना हरकिसिमका असल व्यवहार, सही भनाइ, र असल कार्यहरू प्रदर्शन नगरी बस्न सक्दैनन्। यी व्यवहार र कार्यहरूले आत्मिक बुझाइ नभएका, आधारभूत रूपमा सत्यता नपछ्याउने र असल व्यवहारमा मात्रै ध्यान दिने मानिसहरूलाई ख्रीष्टविरोधीहरूको डाहा र आदर गर्ने, र तिनीहरूलाई अनुकरण गर्ने र पछ्याउने समेत बनाउँछन्, र यसरी ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। जब ख्रीष्टविरोधीहरूले यस्ता अभिप्राय र महत्त्वाकाङ्क्षाहरू बोकेका हुन्छन्, तब तिनीहरूले कस्तो व्यवहार गर्छन्? आज हामी यही विषयमा सङ्गति गर्नेछौँ। यो सङ्गति गर्न लायक विषय हो, र अझै बढी रूपमा यो तिमीहरू प्रत्येकले ध्यान दिन र जान्न लायक विषय पनि हो।
ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरू सत्यतालाई बिलकुलै स्विकार्दैनन्—यसले प्रस्ट रूपमा एउटा तथ्य देखाउँछ: ख्रीष्टविरोधीहरू कहिल्यै पनि सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैनन्, तिनीहरू सत्यता कहिल्यै अभ्यास गर्दैनन्—जुन ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट प्रकटीकरण हो। प्रतिष्ठा र हैसियत, अनि आशिष् र इनाम पाउन बाहेक, तिनीहरूले खोजी गर्ने अर्को कुरा देहको सहजता र हैसियतका लाभहरूको आनन्द लिने मात्रै हो; यसले गर्दा, तिनीहरूले स्वाभाविक रूपमै अवरोध र बाधा निम्त्याउँछन्। यी तथ्यहरूले के देखाउँछन् भने तिनीहरूले पछ्याउने कुरा, तिनीहरूका व्यवहार र प्रकटीकरणहरूलाई परमेश्वरले प्रिय ठान्नुहुन्न। अनि यी कुरा अवश्य नै सत्यता पछ्याउने मानिसहरूका कार्य र व्यवहार होइनन्। उदाहरणका लागि, पावलजस्ता कतिपय ख्रीष्टविरोधीहरूले कर्तव्य निभाउँदा तिनीहरूमा कष्ट भोग्ने अठोट हुन्छ, काम गर्दा तिनीहरू रातभरि नसुती बस्न र खाना नखाई बस्न सक्छन्, तिनीहरूले आफ्ना शरीरलाई काबुमा राख्न, साथै कुनै पनि रोग र असहजतालाई जित्न सक्छन्। अनि यो सब गर्नुका पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? परमेश्वरको आज्ञा पूरा गर्दा तिनीहरूले आफूलाई पन्छाउन—आत्म-इन्कार गर्न—सक्छन् भनेर सबैलाई देखाउनु हो; तिनीहरूका लागि कर्तव्य मात्र हो भन्ने देखाउनु हो। तिनीहरूले यो सब अरू मानिसका अगाडि प्रदर्शन गर्छन्। वरिपरि मानिसहरू हुँदा, तिनीहरू विश्राम गर्नुपर्ने बेलामा विश्राम गर्दैनन्, जानीजानी काम गर्ने समय बढाउँछन्, सबेरै उठ्छन् र राति ढिलो सुत्छन्। तर ख्रीष्टविरोधीहरूले यसरी बिहानदेखि रातिसम्म परिश्रम गर्दा तिनीहरूको कार्य कुशलता र प्रभावकारिता कस्तो हुन्छ? यी कुरा तिनीहरूको विचारभन्दा बाहिर हुन्छन्। तिनीहरूले यो सब अरूका अगाडि मात्रै गर्ने प्रयास गर्छन्, ताकि तिनीहरूले कष्ट भोगेको अरू मानिसले देख्न सकून्, र तिनीहरूले आफ्नो बारेमा नसोची कसरी परमेश्वरका लागि समर्पण गरिरहेका छन् भन्ने देख्न सकून्। जहाँसम्म तिनीहरूले निर्वाह गरेको कर्तव्य र तिनीहरूले गर्ने काम सत्यता सिद्धान्तहरूअनुसार भएका छन् कि छैनन् भन्ने कुरा छ, तिनीहरू यसबारे सोच्दै सोच्दैनन्। तिनीहरूले आफ्नो बाहिरी असल व्यवहार सबैले देखेका छन् कि छैनन्, सबैलाई यो कुरा थाहा छ कि छैन, तिनीहरूले सबैमा छाप छाडेका छन् कि छैनन्, र यो छापले गर्दा तिनीहरूमा आदर र अनुमोदनको भाव पैदा हुन्छ कि हुँदैन, तिनीहरूको पिठ्यूँपछाडि यी मानिसहरूले तिनीहरूलाई स्याबास भन्छन् कि भन्दैनन् र “उसले साँच्चै कठिनाइ भोग्न सक्छ, उसको सहने क्षमता र असाधारण धैर्य हामी कसैको भन्दा माथि छ। यो त सत्यताको पछ्याउने, कष्ट भोग्न र ठूलो बोझ लिन सक्ने व्यक्ति हो, यो व्यक्ति मण्डलीको खम्बा हो” भनेर प्रशंसा गर्छन् कि गर्दैनन् भन्ने मात्रै विचार गर्छन्। यो सुनेपछि, ख्रीष्टविरोधीहरू सन्तुष्ट हुन्छन्। तिनीहरू हृदयमा यस्तो सोच्छन्, “मैले यसरी बहाना गरेँ, म कति बाठो छु, मैले यस्तो गर्न सकेँ, म कति चलाख छु! सबैले बाहिरी कुरा मात्रै हेर्छन्, र तिनीहरूलाई यी असल व्यवहार मन पर्छ भन्ने मलाई थाहा थियो। मैले यस्तो व्यवहार गरेँ भने, यसबाट मानिसहरूको अनुमोदन प्राप्त हुन्छ, यसले गर्दा तिनीहरूले मलाई स्याबासी दिन्छन्, मलाई हृदयदेखि नै आदर गर्छन्, मलाई पूरै नयाँ दृष्टिकोणले हेर्छन्, र मलाई कसैले पनि फेरि कहिल्यै हेयको दृष्टिले हेर्नेछैनन् भन्ने मलाई थाहा थियो। अनि यदि कुनै दिन मैले वास्तविक काम गरेको छैन भन्ने कुरा माथि थाहा भयो र मलाई बर्खास्त गरियो भने, मेरो पक्षमा खडा हुने, मेरालागि रुने, र मलाई बस भन्ने, अनि मेरो पक्षमा बोल्ने मानिसहरू धेरै हुने कुरामा कुनै शङ्का छैन।” तिनीहरू आफ्नो झूटो व्यवहारप्रति मनमनै रमाउँछन्—अनि यसरी रमाउनाले ख्रीष्टविरोधीको प्रकृति सार पनि प्रकट गर्दैन र? अनि यो कस्तो सार हो? (दुष्टता।) ठीक हो—यो दुष्टताको सार हो। दुष्टताको यो सार हाबी भएका कारण, ख्रीष्टविरोधीहरूले आत्मगौरव र आत्मप्रशंसाको स्थिति पैदा गर्छन् जसले तिनीहरूलाई हृदयमा गुप्त रूपले परमेश्वरविरुद्ध होहल्ला गर्ने र उहाँको विरोध गर्ने तुल्याउँछ। बाहिरी रूपमा हेर्दा तिनीहरूले ठूलो मूल्य चुकाएजस्तो र तिनीहरूको देहले धेरै कष्ट भोगेजस्तो देखिन्छ, तर के तिनीहरूले साँच्चै नै परमेश्वरको बोझलाई ख्याल गर्छन् त? के तिनीहरूले परमेश्वरका लागि साँचो रूपमा आफूलाई समर्पित गर्छन् त? के तिनीहरूले आफ्नो कर्तव्य बफादार रूपमा निर्वाह गर्न सक्छन् त? अहँ, सक्दैनन्। तिनीहरू हृदयमा गुप्त रूपले परमेश्वरसँग प्रतिस्पर्धा गर्छन् र सोच्छन्, “के तिमीले ममा सत्यता छैन भनेर भनेनौ र? के तिमीले ममा भ्रष्ट स्वभावहरू छन् भनेर भनेनौ र? के तिमीले म अहङ्कारी र अभिमानी छु, र म आफ्नै राज्य स्थापना गर्ने प्रयास गर्छु भनेर भनेनौ र? के तिमीले मसँग कुनै आत्मिक बुझाइ छैन, मैले सत्यता बुझेको छैनँ, त्यसैले म सेवाकर्ता हुँ भनेर भनेनौ र? म तिमीलाई म कसरी सेवा दिन्छु, र मैले यसरी सेवा दिँदा र यसरी व्यवहार गर्दा दाजुभाइ-दिदीबहिनीहरूले मलाई के सोच्छन् भन्ने कुरा देखाउनेछु। म तिमीलाई यसरी काम गरेर मैले अझै धेरै मानिसहरूको आदर जित्न सक्छु कि सक्दिनँ भन्ने कुरा देखाउनेछु। अनि एक दिन जब तिमीले मलाई टाढा पठाउन र दोषी ठहर्याउन चाहनेछौ, तब तिमीले त्यो काम कसरी गर्दो रहेछौ, म पनि हेरौँला!” ख्रीष्टविरोधीहरू हृदयमा यसरी परमेश्वरसँग प्रतिस्पर्धा गर्छन् र सत्यता पछ्याउने कार्यलाई यी असल व्यवहारहरूद्वारा प्रतिस्थापन गर्ने प्रयास गर्छन्। त्यसो गर्ने क्रममा, तिनीहरू परमेश्वरले काम गर्नुहुँदै मानिसहरूले स्वभाव परिवर्तन हासिल गरून् भनी सत्यता अभ्यास गर्न तिनीहरूलाई गर्नुभएको अगुवाइको व्यावहारिक प्रभावलाई नकार्ने प्रयास गर्छन्। सारमा, तिनीहरू मानिसलाई न्याय र सजायमार्फत मुक्ति दिने परमेश्वरको कामलाई नकार्न र निन्दा गर्न यो व्याख्या प्रयोग गर्छन्, र तिनीहरू परमेश्वरले मानिसहरूलाई न्याय गर्नु गलत र अप्रभावकारी हुन्छ भन्ने विश्वास गर्छन्। ख्रीष्टविरोधीहरूका यी विचार र दृष्टिकोणहरू दुष्ट, अन्तर्घाती, परमेश्वरको प्रतिरोध गर्ने किसिमका, र परमेश्वरविरोधी हुन्छन्। जब परमेश्वरले तिनीहरूलाई स्पष्ट रूपमा दोषी ठहर्याउनुभएको हुँदैन, तब तिनीहरू हृदयमा परमेश्वरसँग प्रतिस्पर्धा गर्न थाल्छन्; जब परमेश्वरले तिनीहरूलाई खुलासा गर्नुभएको हुँदैन र तिनीहरूको व्यवहारलाई दोषी ठहर्याउनुभएको हुँदैन, तब तिनीहरूले परमेश्वरका वचनहरूलाई इन्कार गर्नका लागि र सत्यता पछ्याएर मात्रै स्वभाव परिवर्तन गर्न र परमेश्वरका अभिप्रायहरू पूरा गर्न सकिन्छ भन्ने तथ्यलाई इन्कार गर्नका लागि बहाना प्रयोग गरेर अरूलाई बहकाउन र मानिसहरूका मन जित्न थाल्छन्। के तिनीहरूको व्याख्याको सार यही होइन र? के ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव हुँदैन र? तिनीहरूको कष्टपछाडि, तिनीहरूसँग यस्ता महत्त्वाकाङ्क्षा र अशुद्धताहरू हुन्छन्, त्यसैले त परमेश्वरले त्यस्ता मानिसहरू र त्यस्तो स्वभावलाई घृणा गर्नुहुन्छ। तर ख्रीष्टविरोधीहरूले यो तथ्यलाई कहिल्यै देख्दैनन् वा स्विकार्दैनन्। परमेश्वरले मानिसको अन्तस्करणलाई नियाल्नुहुन्छ, जबकि मान्छेले मान्छेको बाहिरी रूप मात्रै देख्न सक्छ—ख्रीष्टविरोधीहरूको सबैभन्दा मूर्ख कुरा यही हो कि तिनीहरूले यो तथ्य नै स्विकार्दैनन्, न त तिनीहरूले यसलाई देख्न नै सक्छन्। त्यसकारण तिनीहरूले आफूलाई बाहिरी रूपमा राम्रो र भव्य देखाउनका लागि असल व्यवहार प्रयोग गर्न सक्दो प्रयास गर्छन् ताकि अरूले तिनीहरू कष्ट र कठिनाइ भोग्न सक्छन्, आम मानिसहरूले सहन नसक्ने कष्ट भोग्न, र आम मानिसहरूले गर्न नसक्ने काम गर्न सक्छन् भनी सोचून्, र ताकि अरूले तिनीहरूसँग तागत छ, तिनीहरूले आफ्नो शरीर काबुमा राख्न सक्छन्, र तिनीहरूले आफ्ना देहगत हित वा आनन्दबारे कुनै विचार गर्दैनन् भन्ने सोचून्। कहिलेकहीँ तिनीहरूले जानीजानी आफ्नो लुगा अलिक फोहोर हुन्जेल नधोई लगाउँछन्, दुर्गन्ध आए पनि धुँदैनन्; तिनीहरू अरूले आफूलाई आराधना गर्ने जुनसुकै कामकुरा पनि गर्छन्। तिनीहरू जति बढी अरूका अगाडि रहन्छन्, तिनीहरूले आफूलाई त्यति नै बढी प्रदर्शन गर्न सक्छन् ताकि अरूले तिनीहरू साधारण मानिसहरूभन्दा फरक छन्, परमेश्वरमा समर्पित हुने तिनीहरूको चाहना साधारण मानिसहरूको भन्दा ठूलो छ, कष्ट भोग्ने तिनीहरूको सङ्कल्प आम मानिसहरूको भन्दा ठूलो छ, र कष्ट भोग्ने तिनीहरूको तागत साधारण मानिसहरूको भन्दा ठूलो छ भनेर देखून्। यस्ता परिस्थितिहरूमा ख्रीष्टविरोधीहरूले यस्ता व्यवहारहरू देखाउँछन्, र यी व्यवहारहरूपछाडि ख्रीष्टविरोधीहरूको हृदयको गहिराइभित्र मानिसहरूले आफूलाई आराधना गरून् र उच्च सम्मान गरून् भन्ने चाहना हुन्छ। अनि जब तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्छन्, जब तिनीहरूले मानिसहरूको प्रशंसा सुन्छन्, र जब तिनीहरूले आफूलाई मानिसहरूले डाहा, आदर, र सराहनाको नजरले हेरेको देख्छन्, तब तिनीहरूले हृदयमा खुशी र सन्तुष्टि महसुस गर्छन्।
ख्रीष्टविरोधीहरूले कष्ट भोग्ने र मूल्य चुकाउने सतही असल व्यवहार अनि परमेश्वरका अभिप्रायहरूलाई साँचो रूपमा ख्याल गर्ने, बफादार रहने, र आफूलाई परमेश्वरमा इमानदारीपूर्वक समर्पित गर्ने व्यवहारबीचको भिन्नता के हो? (नियत फरक हुन्छ। परमेश्वरका लागि आफूलाई साँचो रूपमा समर्पित गर्नेहरूले सिद्धान्तहरू खोजी गर्नमा, कामका परिणामहरू, र कार्यको प्रभावकारितामा ध्यान दिनेछन्। ख्रीष्टविरोधीहरूले बाहिरी रूपमा आफूलाई परमेश्वरमा समर्पित गर्छन् जस्तो देखिन्छ, तर त्यो अरूले तिनीहरूलाई आदर गरून् भन्नका लागि मात्रै हो। तिनीहरूले कार्यको प्रभावकारिता वा कामका परिणामहरूबारे पटक्कै विचार गर्दैनन्।) ठीक भन्यौ, तिनीहरूको बोली र व्यवहारको नियत, उत्प्रेरणा, र स्रोतमा भिन्नता हुन्छ—यो पूर्ण रूपमा फरक हुन्छ। तिनीहरू जस्तै कष्ट भोग्ने मानिसहरूमध्ये सत्यता पछ्याउनेहरूले यो कष्ट भोग्ने क्रममा सिद्धान्तहरू खोजी गर्छन्। सिद्धान्तहरू खोजी गर्नुले कम्तीमा पनि तिनीहरूमा समर्पणको मानसिकता छ भन्ने देखाउँछ; तिनीहरू आफ्नै कामकुरा गर्ने वा आफ्नै लागि कामकुरा गर्ने प्रयास गर्दैनन्, तिनीहरूको कार्य-व्यवहारमा समर्पण र परमेश्वरको डर मान्ने हृदय हुन्छ, र तिनीहरूलाई आफू आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु र मानिसको उद्यममा संलग्न भइरहेको छैनँ भन्ने स्पष्ट रूपमा थाहा हुन्छ। ख्रीष्टविरोधीहरूले पनि त्यसरी नै कष्ट भोग्ने गरेजस्तो देखिए पनि, तिनीहरू बस् झारा मात्रै टार्छन् र मानिसहरूलाई देखाउन मात्रै यसलाई प्रदर्शन गर्छन्; तिनीहरूले सत्यता सिद्धान्तहरू खोजी गर्दैनन्, तिनीहरूको कार्य-व्यवहारमा कुनै समर्पण वा परमेश्वरको डर मान्ने हृदय हुँदैन, तिनीहरूको हृदय परमेश्वरसामु जिउँदैन, र तिनीहरू यस्ता व्यवहार र प्रकटीकरणहरू प्रयोग गरेर मानिसहरूलाई आफ्नो पक्षमा ल्याउने र मानिसहरूको समर्थन प्राप्त गर्ने प्रयास गर्छन्। यसमा एउटा भिन्नता छ, होइन र? ख्रीष्टविरोधीहरूको व्यवहारको सारलाई हेर्दा, के हामी तिनीहरूको कष्ट भोगाइ बहाना हो भनेर भन्न सक्छौँ? (सक्छौँ।) तिनीहरूको व्यवहार र कष्ट भोग्ने प्रकटीकरण केवल तिनीहरूको झारा टार्ने र मानिसहरूलाई देखाउने काम मात्रै हो भनेर प्रमाणित गर्न यो नै काफी छ—तिनीहरू परमेश्वरसामु काम गरिरहेका हुँदैनन्। यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, बहाना र छलमा ख्रीष्टविरोधीहरूजत्ति सिपालु अरू कोही हुँदैन—त्यसकारण तिनीहरू अत्यन्तै लचकदार हुन्छन्, र मानिसहरूलाई तिनीहरूको आराधना गर्न लगाउने उद्देश्य हासिल गर्न प्रायः निश्चित किसिमका कुटिल माध्यमहरू प्रयोग गरी मानिसहरूलाई बहकाउँछन् र छल्छन्। तिनीहरू यही कुरामा सबैभन्दा सिपालु हुन्छन्, यो तिनीहरूको नशानशामा हुन्छ, तिनीहरूसँग जन्मजात यो धूर्त र परिवर्तनशील सार हुन्छ। उदाहरणका लागि, कतिपय ख्रीष्टविरोधीहरू यस्ता हुन्छन्, जसका बोलीवचन र व्यवहार अत्यन्तै दयालु र विनम्र देखिन्छन्, जसले अरूका कमजोरीहरू कहिल्यै खुलासा गर्दैनन्, जो मिलनसार हुन्छन्, जो अरूलाई आलोचना गर्न वा दोष दिन हतार गर्दैनन्, र जो मानिसहरू नकारात्मक र कमजोर हुँदा तुरुन्तै सहयोगको हात बढाउँछन्। तिनीहरूले आफूलाई हृदयवान् र दयालु र असल व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। जब मानिसहरू कठिनाइमा हुन्छन्, तब तिनीहरूले कहिलेकहीँ बोलीवचनले, र कहिलेकहीँ व्यवहारले सहयोग गर्छन्; कहिलेकहीँ तिनीहरूले तिनीहरूलाई सहयोग गर्न केही पैसा वा भौतिक कुराहरूसमेत प्रदान गर्छन्। बाहिरी रूपमा हेर्दा, तिनीहरूको व्यवहार राम्रै देखिन्छ। धेरैजसो मानिसहरूको मनमा, तिनीहरूले भेट्न र सङ्गत गर्न चाहने व्यक्ति यस्तै हुन्छ; त्यस्ता मानिसहरूले तिनीहरूलाई धम्की वा बाधा दिँदैनन्, र तिनीहरूले त्यस्ता मानिसहरूबाट धेरै सहयोग प्राप्त गर्न सक्छन्—जस्तै, भौतिक वा मानसिक सहयोग, यहाँसम्म कि उच्च आत्मिक सिद्धान्तहरू, आदि इत्यादिको सहयोग। बाहिरी रूपमा, त्यस्ता मानिसहरूले केही पनि खराब काम गर्दैनन्: तिनीहरूले मण्डलीमा अवरोध वा बाधा ल्याउँदैनन्, र तिनीहरू जुन समूहमा भए पनि तिनीहरूले सद्भाव नै ल्याउँछन् जस्तो देखिन्छ; तिनीहरूको कार्यसञ्चालन र मध्यस्थतामा, सबै जना खुसी देखिन्छन्, मानिसहरू मिलेर बस्छन्, र कुनै झगडा वा विवाद हुँदैन। तिनीहरू त्यहाँ हुँदा, सबैले एकअर्कासँग अति राम्ररी मिलेर बसेको, एकअर्काको अति नजिक रहेको महसुस गर्छन्। तर तिनीहरू गएपछि, कतिपय मानिसहरूले एकअर्कासँग कुरा काट्न, एकअर्कालाई बहिष्कार गर्न, डाहा गर्न र विवाद गर्न थाल्छन्; यी ख्रीष्टविरोधीहरूले तिनीहरूमाझ रहेर शान्ति आह्वान गर्दा मात्रै सबैले भनाभन गर्न छोड्छन्। यी ख्रीष्टविरोधीहरू आफ्नो काममा अत्यन्तै सक्षम देखिन्छन्, तर तिनीहरूले वास्तवमा के योजना बनाएका हुन्छन् भन्ने कुरा एउटा कुराले देखाउँछ: तिनीहरूले सिकाउने र अगुवाइ गर्ने हरेक व्यक्तिले शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन्, तिनीहरू सबैले ठालु पल्टेर अरूलाई भाषण दिने तरिका जानेका हुन्छन्, तिनीहरू सबैले मानिसहरूलाई चापलुसी गर्न र तिनीहरूको निगाह पाउन जानेका हुन्छन्, तिनीहरूलाई कसरी धूर्त र छली बन्ने, र कसलाई के भन्ने भनेर थाहा हुन्छ, तिनीहरू अरूलाई खुसी पारिहिँड्ने व्यक्ति बन्छन्, र बाहिरबाट हेर्दा, तिनीहरू पूर्ण रूपले शान्त स्थितिमा देखिन्छन्। यी ख्रीष्टविरोधीहरूले मण्डलीलाई के बनाएका छन्? धार्मिक संस्था। अनि परिणाम के भएको छ? मानिसहरू आफ्नो शैतानी दर्शनअनुसार जिउँछन्, तिनीहरू सत्यता पछ्याउन इच्छुक हुँदैनन्, तिनीहरूसँग जीवन प्रवेश हुँदैन, र तिनीहरूले पवित्र आत्माको काम पूरै गुमाएका हुन्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुर्याउँछन् बर्बादीतर्फ डोर्याउँछन्—तैपनि तिनीहरूले ठूलो योगदान दिएका छन्, दाजुभाइ-दिदीबहिनीहरूका लागि ठूला कामहरू गरेका छन्, र तिनीहरूको जीवनमा ठूलो आशिष् ल्याएका छन् भन्ने सोच्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई नम्र र धैर्य हुनुपर्छ, कुनै दाजुभाइ वा दिदीबहिनीलाई समस्या छ भन्ने देख्दा सहनशील र विचारशील हुनुपर्छ, कठोर बोल्ने वा अरूलाई चोट दिने गर्नु हुँदैन भनेर बारम्बार सिकाउँछन्, र तिनीहरूले अरूलाई बस्दा वा उठ्दा कस्तो हाउभाउ अपनाउनुपर्छ वा कस्तो कपडा लगाउनुपर्छ भनेर निर्देशन दिन्छन्। तिनीहरूले बारम्बार दाजुभाइ-दिदीबहिनीलाई सिकाउने कुरा भनेको सत्यता कसरी बुझ्ने वा सत्यता वास्तविकतामा कसरी प्रवेश गर्ने भन्ने होइन, बरु प्रावधानहरू कसरी पालना गर्ने र राम्रो व्यवहार कसरी गर्ने भन्ने हो। तिनीहरूको अगुवाइमा, मानिसहरूको अन्तरक्रिया परमेश्वरका वचनहरूमा आधारित हुँदैन, सत्यता सिद्धान्तहरूमा आधारित हुँदैन, बरु मान्छे खुसी पारिहिँड्नुसँग सम्बन्धित संसारसँग व्यवहार गर्ने दर्शनमा आधारित हुन्छ। बाहिरी रूपमा त कसैले पनि एकअर्कालाई चोट पुर्याउँदैन, कसैले पनि अरूका असफलताहरू औँल्याउँदैन, तर कसैले पनि आफूले वास्तवमा के सोचिरहेको छु भनेर कसैलाई बताउँदैन, र तिनीहरू कसैले पनि हृदय खोलेर आफ्नो भ्रष्टता, विद्रोहीपन, कमीकमजोरी, र अपराधहरूबारे सङ्गति गर्दैनन्। बरु त्यसको साटो, तिनीहरूले सतही स्तरमा कसले कष्ट भोगेको र मूल्य चुकाएको छ, को आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार बनेको छ, कसले दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा गरेको छ, कसले परमेश्वरको घरमा ठूलो योगदान दिएको छ, को सुसमाचार प्रचार गरेका कारण पक्राउ र सजायमा परेको छ भन्नेबारे बकबकाउँछन्—तिनीहरूले यस्तै मात्र कुरा गर्छन्। ख्रीष्टविरोधीहरूले आफूलाई राम्रो देखाउन र भेष बदल्न राम्रो व्यवहार मात्र प्रयोग गर्दैनन्, अर्थात् बाहिरी रूपमा नम्र बन्ने, धैर्य बन्ने, सहनशील, र सहयोगी बन्ने नाटक मात्रै गर्दैनन्; तिनीहरूले त अरूलाई यो असल व्यवहारले सङ्क्रमित गर्न व्यक्तिगत उदाहरण देखाउने, र यसलाई अनुकरण गर्न उक्साउने प्रयास पनि गर्छन्। तिनीहरूको असल व्यवहारपछाडिको उद्देश्य आफूलाई मानिसहरूको ध्यानको केन्द्रविन्दु बनाउनु, र आफ्नो बारेमा तिनीहरूलाई उच्च सोच राख्ने तुल्याउनुबाहेक अरू केही हुँदैन। जब परमेश्वरका चुनिएका जनहरूले आफ्नो आत्मज्ञानबारे कुरा गर्छन् र आफ्ना भ्रष्ट स्वभावहरू विश्लेषण गर्छन्, तब तिनीहरू चुप बस्छन्, र आफ्नो भ्रष्टता विश्लेषण गर्ने कुनै प्रयास गर्दैनन्। दाजुभाइ-दिदीबहिनीहरूले एकअर्काको भ्रष्टताका प्रकटीकरणहरू खुलासा र काटछाँट गर्दा, सबैप्रति नम्रता, धैर्य, र सहनशीलता अभ्यास गर्ने ख्रीष्टविरोधीहरू मात्रै हुन्छन्; तिनीहरू कसैले प्रकट गरेको भ्रष्टता पनि खुलासा गर्दैनन्, बरु दाजुभाइ-दिदीबहिनीहरूलाई असल व्यवहार देखाएकोमा, र परिवर्तन भएकोमा तारिफ र प्रशंसासमेत गर्छन्; तिनीहरूले मान्छे खुसी पारिहिँड्नेहरूको भूमिका खेल्छन्, र आफू प्रेमिलो, विचारशील, सहनशील, र सान्त्वनादायी भएको नाटक गर्छन्। ख्रीष्टविरोधीहरू बहाना गर्नमा र मानिसहरूलाई छल्ने र बहकाउने कार्यमा अत्यन्तै सिपालु हुन्छन् भन्ने प्रकटीकरणहरू यिनै हुन्।
सबैले देख्दा, ख्रीष्टविरोधीका वचनहरू अत्यन्तै दयालु, सभ्य र विशिष्ट देखिन्छन्। चाहे जसले सिद्धान्त उल्लङ्घन गर्ने वा मण्डलीको काममा अवरोध गर्ने र बाधा दिने काम गरे ख्रीष्टविरोधीले यी मानिसहरूलाई खुलासा वा आलोचना गर्दैन; उसले आँखा चिम्लिन्छ, र मानिसहरूलाई आफू हर मामिलामा उदार भएको सोच्ने तुल्याउँछ। मानिसहरूले जस्तोसुकै भ्रष्टताहरू प्रकाश गर्ने र दुष्ट कार्यहरू गर्ने भए पनि, ख्रीष्टविरोधी बुझकी र सहनशील हुन्छ। ऊ क्रोधित हुँदैन, वा झनक्कै रिसाउँदैन, उसले केही गलत काम गर्दा र परमेश्वरको घरका हितलाई हानि पुऱ्याउँदा, ऊ झर्कँदैन र मानिसहरूलाई दोष दिँदैन। जोसुकैले दुष्कर्म गरेको र मण्डलीको काममा बाधा दिएको भए पनि, उसले आफूसँग यसको कुनै सरोकार छैनझैँ गरी यसलाई कुनै वास्ता गर्दैन, र यस विषयको खातिर उसले मानिसहरूलाई कहिल्यै चिढ्याउनेछैन। ख्रीष्टविरोधीहरूले सबैभन्दा धेरै केको चिन्ता गर्छन्? कति जना मानिसहरूले तिनीहरूलाई उच्च मान्छन्, र तिनीहरूले कष्ट भोग्दा कति मानिसहरूले देख्छन्, र यसका लागि प्रशंसा गर्छन् भन्ने कुरालाई लिएर तिनीहरू सबैभन्दा धेरै चिन्तित हुन्छन्। ख्रीष्टविरोधीहरू कष्ट व्यर्थमा कहिल्यै भोग्नु हुँदैन भन्ने विश्वास गर्छन्; तिनीहरूले जुनसुकै कठिनाइ सहे पनि, तिनीहरूले जुनसुकै मूल्य चुकाए पनि, तिनीहरूले जुनसुकै असल काम गरे पनि, तिनीहरू अरूप्रति जति नै हेरचाह गर्ने, विचारशील र प्रेमिलो भए पनि, ती सबै व्यवहार अरूको अगाडि नै गरिनुपर्छ, ताकि त्यो कुरा अझ धेरै मानिसहरूले देख्न सकून्। अनि, तिनीहरूले यसरी व्यवहार गर्नुको लक्ष्य के हो? मानिसहरूको निगाह पाउनु, अझ धेरै मानिसहरूलाई हृदयमा तिनीहरूका कार्यहरू, आचरण, र चरित्रको अनुमोदन र स्वीकृति महसुस गराउनु। कतिपय ख्रीष्टविरोधीहरूले यो बाहिरी रूपमा असल देखिने व्यवहारद्वारा आफूलाई “एक असल व्यक्ति” का रूपमा स्थापित गर्ने प्रयाससमेत गर्छन्, ताकि सहयोग माग्दै अझै बढी मानिसहरू तिनीहरूकहाँ आऊन्। उदाहरणका लागि, कुनै व्यक्ति कमजोर बन्छ र उसले धेरैजसो मानिसहरूमा प्रेम छैन, तिनीहरू अत्यन्तै स्वार्थी छन्, र अरूलाई सहयोग गर्न तिनीहरूलाई मन पर्दैन र तिनीहरू न्यानो हृदयका छैनन् भन्ने विश्वास गर्छ, र त्यसपछि उसले त्यो “असल व्यक्ति” बारे सोच्छ, जो वास्तवमा ख्रीष्टविरोधी हुन्छ। अथवा, कसैले आफ्नो काममा कठिनाइ सामना गर्छ र यसलाई कसरी समाधान गर्ने भनी उसलाई थाहा हुँदैन। उसले सहयोग गर्न सक्ने कसैबारे पनि सोच्न सक्दैन, र उसले सोच्ने पहिलो व्यक्ति त्यो “असल व्यक्ति” हुन्छ, जो वास्तवमा ख्रीष्टविरोधी हुन्छ। कसैले अबदेखि आफ्नो कर्तव्य पूरा गर्न चाहँदैन, ऊ संसार पछ्याउन, शक्ति र सम्पत्तिको पछ्याउन, र आफ्नै जीवन जिउन चाहन्छ, र ऊ यति नकारात्मक र कमजोर भए पनि, उसले परमेश्वरसँग प्रार्थना गर्ने वा कसैसँग सङ्गति गर्ने गर्दैन, र यस्तो परिस्थितिमा उसले त्यो “असल व्यक्ति” बारे सोच्छ, जो वास्तवमा ख्रीष्टविरोधी हुन्छ। कामकुरा यसरी अघि बढ्ने क्रममा, यी मानिसहरूले समस्याहरू सामना गर्दा परमेश्वरलाई प्रार्थना गर्ने वा परमेश्वरका वचनहरू पढ्ने गर्दैनन्, बरु तिनीहरू मद्दतका लागि त्यो “असल व्यक्ति” मा भरोसा गर्न चाहन्छन्, जो वास्तवमा ख्रीष्टविरोधी हुन्छ। तिनीहरूले त्यो मान्छे खुसी पारिहिँड्ने व्यक्तिसँग आफ्नो हृदय खोल्छन् र हृदयमा जे छ त्यही भन्छन्, र त्यो मान्छे खुसी पारिहिँड्ने व्यक्तिलाई आफ्ना कठिनाइहरू समाधान गरिदिन अनुरोध गर्छन्; तिनीहरूले त्यो ख्रीष्टविरोधीलाई सही ठान्छन् र पछ्याउँछन्। अनि के यसरी ख्रीष्टविरोधीको उद्देश्य हासिल हुँदैन र? जब ख्रीष्टविरोधीले आफ्नो उद्देश्य हासिल गरेको हुन्छ, तब के मण्डलीमा उसको हैसियत साधारण मानिसहरूको भन्दा उच्च भएको हुँदैन र? अनि जब ऊ मण्डलीको पहिलो स्थानको र ठूलो व्यक्ति बन्न सक्छ, तब के ऊ साँच्चै सन्तुष्ट हुन्छ त? अहँ, हुँदैन। उसले के उद्देश्य हासिल गर्न चाहन्छ? ऊ अझै धेरै मानिसहरूलाई आफ्नो अनुमोदन गर्न, आफूलाई उच्च आदर, र आराधना गर्न लगाउन चाहन्छ, मानिसहरूका हृदयमा स्थान लिन, र विशेषगरी मानिसहरूले परमेश्वरमाथिको आस्थामा कठिनाइहरू सामना गर्दा र जाने कुनै ठाउँ नहुँदा आफूलाई श्रद्धा गर्ने, आफूमाथि भर पर्न, र पछ्याउन लगाउन चाहन्छ। यो कुरा ख्रीष्टविरोधीले मण्डलीको पहिलो स्थानको र ठूलो व्यक्ति हुन चाहनुभन्दा निकै गम्भीर हुन्छ। यसमा त्यस्तो गम्भीर कुरा के छ? (उसले मानिसहरूको हृदयमा स्थान पाउन परमेश्वरसँग प्रतिस्पर्धा गर्छ। उसले सीधै परमेश्वरको स्थान लिन चाहन्छ।) (यस्ता मानिसहरूलाई खुट्टयाउन गाह्रो हुन्छ। तिनीहरूले अरूलाई बहकाउन सतही असल व्यवहार प्रयोग गर्छन्, जसले गर्दा अरूले समस्या हुँदा परमेश्वरका वचनहरूमा सत्यता खोजी गर्न वा सत्यता सङ्गति गर्न छोड्छन्, बरु यसको साटो ती ख्रीष्टविरोधीहरूमा भर पर्छन् र तिनीहरूको श्रद्धा गर्छन्, तिनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न लगाउँछन् र तिनीहरूका शब्दहरूलाई सत्यता मान्छन्, जसले गर्दा यी मानिसहरू परमेश्वरबाट झन्झन् टाढा हुन्छन्। यो अझै धूर्त र दुर्भावनापूर्ण विधि हो।) ठीक भन्यौ, तिमीहरू सबैले महत्त्वपूर्ण कुरा बुझेका र उल्लेख गरेका छौ, जुन के हो भने ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदयमा स्थान लिन्छन् र जरा गाड्छन् र परमेश्वरको स्थान लिन चाहन्छन्। कसैले यसो भन्छ, “यदि म परमेश्वरलाई खोज्न गएँ भने, उहाँलाई भेट्टाउन सक्दिनँ; म उहाँलाई देख्न सक्दिनँ। यदि मैले परमेश्वरका वचनहरू खोजेँ भने, त्यो पुस्तक धेरै मोटो छ, त्यसमा अति वचनहरू छन्, र उत्तरहरू भेट्टाउन गाह्रो छ। तर यदि म यो व्यक्तिकहाँ गएँ भने, तुरुन्तै उत्तरहरू पाउँछु; यो सुविधाजनक र फाइदाजनक दुवै छ।” हेर् त, तिनीहरूका कार्यहरूले मानिसहरूलाई हृदयमा तिनीहरूको आराधना गर्ने तुल्याइसकेका मात्र हुँदैनन्, त्यहाँ तिनीहरूका लागि ठाउँ समेत राख्छन्। तिनीहरू परमेश्वरको स्थान लिन चाहन्छन्—ख्रीष्टविरोधीले यी कामकुरा गर्नुको उद्देश्य यही हो। यी कामकुरा गरेर, ख्रीष्टविरोधीले सुरुवाती सफलता हासिल गरिसकेको छ भन्ने प्रस्टै छ; यी खुट्ट्याउन नसक्ने मानिसहरूका हृदयमा यस ख्रीष्टविरोधीले ठाउँ बनाइसकेको छ, अनि कतिपय मानिसहरूले तिनीहरूलाई आराधना गर्न र उच्च मान्न थालिसकेका छन्। ख्रीष्टविरोधीले हासिल गर्न चाहने उद्देश्य यही हो। यदि कुनै व्यक्तिले समस्या सामना गर्छ र उसले ख्रीष्टविरोधीलाई खोज्नुको सट्टा परमेश्वरलाई प्रार्थना गर्छ भने, ऊ असन्तुष्ट हुन्छ र यस्तो सोच्छ, “तिमी किन सधैँ परमेश्वरकहाँ जान्छौ? तिमी किन सधैँ परमेश्वरबारे सोच्छौ? किन तिमीले मलाई ध्यान दिँदैनौ वा मेरो बारे विचार गर्ने गर्दैनौ? म अत्यन्तै नम्र र धैर्य छु, म कुराहरू त्याग गर्न र आफूलाई अत्यन्तै धेरै समर्पित गर्न सक्छु, र म दान गर्छु, त्यसकारण किन तिमी मकहाँ आउँदैनौ? म तिमीलाई निकै सहयोग गर्छु। तिमीसँग किन कुनै विवेक छैन?” उसलाई दुःख र बेचैनी हुन्छ, र रिस उठ्छ—त्यो व्यक्ति र परमेश्वरप्रति रिस उठ्छ। आफ्नो परम उद्देश्य हासिल गर्न, ऊ ढोँग गर्न जारी राख्छ, दान गर्छ र धैर्य र सहनशील रहन्छ, नम्र देखिन्छ, दयालु तरिकाले बोल्छ, अरूलाई कहिल्यै चोट पुर्याउँदैन, र मानिसहरूले आफूलाई चिन्ने प्रयास गर्दा तिनीहरूलाई प्रायजसो सान्त्वना प्रदान गर्छ। कसैले यसो भन्छ: “म विद्रोही हुँ; म दियाबलस र शैतान हुँ।” उसले यसो भनेर प्रतिक्रिया दिन्छ: “तिमी दियाबलस वा शैतान होइनौ। यो त सानो समस्या मात्रै हो। आफूलाई त्यति नीच नठान र आफूलाई कम नठान। परमेश्वरले हामीलाई माथि उठाउनुभएको छ; हामी साधारण मानिसहरू होइनौँ, र तिमीले आफूलाई तुच्छ तुल्याउनु हुँदैन। तिमी मभन्दा निकै असल छौ; म तिमीभन्दा बढी भ्रष्ट छु। यदि तिमी दियाबलस हौ भने, म दुष्ट दियाबलस हुँ। यदि तिमी दुष्ट दियाबलस हौ भने, मैले त झन् नरक गएर अनन्त विनाश भोग्नैपर्ने हुन्छ।” उसले मानिसहरूलाई यसरी नै सहयोग गर्छ। यदि कसैले परमेश्वरको घरका हितहरू वा मण्डलीको काममा हानि गरेको छु भनेर स्विकार्यो भने, तिनीहरूलाई ख्रीष्टविरोधीले यसो भन्छ: “कर्तव्य पूरा गर्दा मण्डलीको काममा घाटा पुऱ्याउनु र थोरै बाटो बिराउनु ठूलो कुरा होइन। मैले पहिले तिमीले भन्दा धेरै ठूलो घाटा पुऱ्याएको छु र म अझै धेरै गलत मार्ग हिँडेको छु। बस तिमीले भविष्यमा काम गर्ने तरिका मात्र परिवर्तन गर, भइहाल्छ, यो समस्या होइन। यदि तिमीलाई तिम्रो विवेकले सहन सक्दैन भन्ने लाग्छ भने, मसँग केही पैसा छ र म तिम्रो घाटा पूर्ति गर्नेछु, त्यसकारण चिन्ता नगर। यदि भविष्यमा तिमीलाई कुनै समस्या भयो भने, बस मकहाँ आऊ र म तिमीलाई मद्दत गर्न सक्दो गर्नेछु, र मैले जे गर्न सक्छु, म तुरुन्तै गर्नेछु।” उसमा “व्यक्तिगत बफादारी” को यस्तो बोध हुन्छ, तर उसले वास्तवमा केका लागि यसो गरिरहेको हुन्छ? के उसले साँच्चै तँलाई सहयोग गरिरहेको हुन्छ? उसले तँलाई हानि गरिरहेको हुन्छ, तँलाई खाल्डोतिर डोर्याइरहेको हुन्छ—तँ शैतानको परीक्षामा फसेको हुन्छस्। उसले तेरा लागि खाल्डो खन्छ, र तँ त्यसैमा छिर्छस्; तँ फन्दामा पर्छस् र अझै पनि राम्रै हुँदै छ भन्ने सोच्छस्, र तँलाई यो ख्रीष्टविरोधीले थाहै नपाई बरबाद गर्छ—कस्तो मूर्खता! शैतान र ख्रीष्टविरोधीहरूले मानिसहरूलाई यसरी नै व्यवहार गर्छन्, बहकाउँछन्, र हानि गर्छन्। ख्रीष्टविरोधीले यसो भन्छ: “यदि तिमीले परमेश्वरको घरका हितहरूलाई अलिक ध्यान दियौ र भविष्यमा अलिक सावधान भयौ भने ठीकै हुन्छ। यो मामला सुधार्न सकिन्छ, कसैले पनि जानी-जानी त्यसो गर्नेथिएन। हामीमध्ये को सिद्ध व्यक्ति हुन सक्छ र? हामी कोही पनि सिद्ध छैनौँ; हामी सबै भ्रष्ट छौँ। म तिमीभन्दा निकै खराब थिएँ। भविष्यमा एकअर्कालाई प्रोत्साहित गरौँ। यसको साथै, परमेश्वरको घरलाई केही घाटा भए पनि, परमेश्वरले त्यसलाई हिसाब गर्नुहुन्न। परमेश्वर मानिसप्रति अत्यन्तै क्षमाशील र सहनशील छन्। यदि हामीले एकअर्काप्रति सहनशीलता देखाउन सक्छौँ भने, के परमेश्वर सहनशीलता देखाउन अझै सक्षम हुनुपर्दैन र? यदि परमेश्वरले हाम्रा अपराधहरू हिसाब गर्दिनँ भनेर भन्छन् भने, हामीसँग अब कुनै अपराधहरू बाँकी छैनन्।” व्यक्तिले चाहे जति ठूलो गल्ती गरे पनि, ख्रीष्टविरोधीले यसलाई एउटा मजाकको रूपमा दबाइदिन्छ र यसलाई बेवास्ता गर्छ, र उसको हृदय कति ठूलो छ, र ऊ कति दयालु, महान्, र सहनशील छ भनेर देखाउँछ। यसले उल्टो रूपमा, मानिसहरूलाई के गलत विश्वास गराउँछ भने, परमेश्वरले सधैँ आफ्ना वाणीहरूमा मानिसहरूको खुलासा गरिरहनुभएको हुन्छ, सधैँ मानिसहरूको भ्रष्ट स्वभावबारे किचकिच गरिरहनुभएको हुन्छ, र सधैँ मानिसहरूको सानोतिनो गल्ती कोट्याइरहनुभएको हुन्छ। यदि कुनै व्यक्तिले अपराध वा विद्रोह गरेको छ भने, परमेश्वरले उसलाई काटछाँट, न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र यस्तो देखिन्छ मानौँ उहाँ मानिसहरूप्रति बेपर्वाह हुनुहुन्छ। तर ख्रीष्टविरोधीले भने, सबै परिस्थितिमा मानिसहरूलाई सहन र क्षमा दिन सक्छ; ऊ अत्यन्तै महान् र आदरणीय हुन्छ। के यो कुरा यस्तै छैन र? कति ख्रीष्टविरोधीहरूले त यसो पनि भन्छन्, “गैरविश्वासीहरूको भनाइ यस्तो छ: ‘धेरै सम्पत्ति भएको ठूलो परिवारमा, थोरै कुरा खेर जाँदा केही हुँदैन।’ परमेश्वरको घर अत्यन्तै ठूलो छ, र परमेश्वरले प्रशस्त आशिष्हरू दिन्छन्। अलिक खेर फाल्नु ठूलो कुरा होइन; परमेश्वरले हामीलाई अत्यन्तै धेरै दिन्छन्। के हामीले धेरै खेर फालेका छैनौँ र? अनि परमेश्वरले हामीलाई के गरेका छन्? के परमेश्वरले यो सब सहेका छैनन् र? मान्छे कमजोर र भ्रष्ट छ, र परमेश्वरले यो कुरा धेरै पहिले नै देखेका थिए, त्यसकारण यदि उनले यो कुरा देखेका छन् भने, किन उनले हामीलाई दण्ड दिँदैनन्? यसले परमेश्वर धैर्य र कृपालु छन् भन्ने प्रमाणित गर्छ!” यो कस्तो कुरा हो? तिनीहरूले मानिसहरूलाई बहकाउन र परीक्षामा फसाउन, तिनीहरूको दर्शनमा बाधा दिन र तिनीहरूलाई गलत मार्गदर्शन दिन, र परमेश्वरलाई गलत रूपमा बुझ्न लगाउन सही देखिने र मानिसहरूका धारणाहरू अनुरूपका शब्दहरू प्रयोग गर्छन्, ताकि तिनीहरूसँग उहाँमा समर्पित हुने इच्छा वा चाहना अलिकति पनि नहोस्। ख्रीष्टविरोधीहरूको उक्साहट, बहकाउ र गलत मार्गदर्शनमा परेका कारण, मानिसहरूले आफूसँग भएको थोरै विवेक पनि गुमाउँछन्, र सबै जना ख्रीष्टविरोधीहरूलाई पालन गर्न र तिनीहरूमा समर्पित हुन थाल्छन्।
ख्रीष्टविरोधीहरू अरूमाझ हुँदा ढोँग गर्न निकै सिपालु हुन्छन्। फरिसीहरूजस्तै, तिनीहरू बाहिरी रूपमा मानिसहरूप्रति अत्यन्तै सहनशील र धैर्य, नम्र र असल प्रकृतिका देखिन्छन्—तिनीहरू सबैसँग अत्यन्तै उदार र सहनशील देखिन्छन्। समस्याहरू सम्हाल्दा, तिनीहरूले सधैँ आफ्नो हैसियतबाट मानिसहरूप्रति आफू कति सहनशील छन् भन्ने कुरा देखाउँछन्, र हरेक पक्षमा तिनीहरू उदार र फराकिलो सोचका, र अरूको सानोतिनो कुरा किचकिच नगर्ने किसिमका देखिन्छन्, र तिनीहरू मानिसहरूलाई आफू कति महान् र दयालु छन् भन्ने कुरा देखाउँछन्। वास्तवमा, के ख्रीष्टविरोधीहरूसँग साँच्चै यी सारहरू हुन्छन् त? तिनीहरूले अरूलाई दयापूर्वक व्यवहार गर्छन्, तिनीहरू मानिसहरूप्रति सहनशील हुन्छन्, र तिनीहरूले सबै परिस्थितिमा मानिसहरूलाई सहयोग गर्न सक्छन्, तर यी कुराहरू गर्नुपछाडि तिनीहरूको गुप्त मनसाय के हुन्छ? यदि तिनीहरूले मानिसहरूलाई आफ्नो पक्षमा पार्ने र मानिसहरूको निगाह किन्ने प्रयास नगरिरहेका भए के तिनीहरूले अझै पनि यी कुराहरू गर्नेथिए त? के बन्द कोठाभित्र ख्रीष्टविरोधीहरू साँच्चै यस्तै हुन्छन् त? के तिनीहरू अरूमाझ हुँदा जस्तो देखिन्छन् त्यस्तै—नम्र र धैर्य, अरूप्रति सहनशील, र अरूलाई प्रेमले सहयोग गर्ने हुन्छन् त? के तिनीहरूसँग त्यस्तो सार र त्यस्तो स्वभाव हुन्छ त? के तिनीहरूको चरित्र यस्तै हुन्छ त? पटक्कै हुँदैन। तिनीहरूले गर्ने सबै कुरा ढोँग मात्रै हुन्छ र त्यो सब मानिसहरूलाई बहकाउन र मानिसहरूको निगाह किन्नका लागि गरिएको हुन्छ ताकि अझै धेरै मानिसहरूको हृदयमा तिनीहरूले सकारात्मक छाप पार्न सकून्, र आफूलाई समस्या पर्दा मानिसहरूले पहिले तिनीहरूबारे सोचून् र तिनीहरूकै सहयोग खोजून्। यो उद्देश्य हासिल गर्नका लागि, ख्रीष्टविरोधीहरूले जानीजानी अरूको अगाडि देखावटी गर्ने, सही कुराहरू बोल्ने र गर्ने षड्यन्त्र गर्छन्। तिनीहरूले बोल्नुभन्दा पहिले, आफ्नो मनमा कति पटक शब्दहरू छान्ने वा हेरफेर गर्ने गर्छन् कसलाई पो थाहा हुन्छ र। तिनीहरूले जानीजानी आफ्नो शब्दशैली, अभिव्यक्ति, स्वरको भाव, र आवाजबारे, र मानिसहरूप्रति देखाउने आफ्नो हेराइ र बोल्ने शैलीबारे पनि सोचविचार गर्न जानाजान युक्ति रच्छन् र दिमाग खियाउँछन्। तिनीहरूले आफूले कुरा गरिरहेको व्यक्ति को हो, त्यो व्यक्ति वृद्ध छ कि जवान, त्यो व्यक्तिको हैसियत आफ्नो भन्दा उच्च छ कि निचो, त्यो व्यक्तिले तिनीहरूलाई उच्च मान्छ कि मान्दैन, त्यो व्यक्तिले तिनीहरूलाई सुटुक्क घृणा गर्छ कि गर्दैन, त्यो व्यक्तिको व्यक्तित्व तिनीहरूको व्यक्तित्वसँग मिल्छ कि मिल्दैन, त्यो व्यक्तिले के कर्तव्य गर्छ, र मण्डलीमा र दाजुभाइ-दिदीबहिनीहरूका हृदयमा उसको स्थान के छ भन्नेबारे सोचविचार गर्छन्। तिनीहरूले ध्यान दिएर यी कुराहरू अवलोकन र मनन गर्छन्, र यी कुराहरू मनन गरिसकेपछि, तिनीहरूले हरप्रकारका मानिसहरूलाई व्यवहार गर्ने तरिकाहरू निकाल्छन्। ख्रीष्टविरोधीहरूले विभिन्न प्रकारका मानिसहरूलाई जुनसुकै तरिकाले व्यवहार गरे पनि, तिनीहरूको उद्देश्य मानिसहरूलाई तिनीहरूलाई उच्च मान्न लगाउनु, तिनीहरूलाई आफूसरह होइन बरु आफूभन्दा उच्च नजरले हेर्न लगाउनु, तिनीहरूले बोल्दा अझै धेरै मानिसहरूलाई सम्मान गर्न र उच्च नजरले हेर्न लगाउनु, तिनीहरूले कामकुरा गर्दा तिनीहरूलाई समर्थन गर्न र पछ्याउन लगाउनु, तिनीहरूले गल्ती गर्दा तिनीहरूलाई दोषमुक्त गर्न र प्रतिरक्षा गर्न लगाउनु, र तिनीहरूलाई प्रकट र इन्कार गरिँदा अझै धेरै मानिसहरूलाई तिनीहरूको बचाउ गर्न लगाउनु, तिनीहरूको पक्षमा रोइकराइ गर्दै गुनासो गर्न लगाउनु, र परमेश्वरसँग बहस गर्न र उहाँको विरोध गर्न अडान लिन लगाउनु बाहेक अरू केही हुँदैन। जब तिनीहरू शक्तिबाट च्युत हुन्छन्, तब तिनीहरूले धेरै मानिसहरूलाई आफूलाई सहयोग गर्न, समर्थन व्यक्त गर्न, र आफ्नो पक्षमा खडा हुन लगाउन सक्छन्, जसले के देखाउँछ भने, ख्रीष्टविरोधीहरूले उद्देश्यपूर्ण रूपले मण्डलीमा षड्यन्त्र गरेर जगेर्ना गरेको हैसियत र शक्तिले मानिसहरूका हृदयमा गहिरो जरा गाडिसकेको छ, र तिनीहरूको “श्रमसाध्य प्रयास” व्यर्थ भएको छैन।
ख्रीष्टविरोधीहरूले मानिसहरूमाझको आफ्नो हैसियत, प्रतिष्ठा, इज्जत, र अख्तियारलाई आफ्नो क्षमताअनुसार व्यवस्थापन गर्न र हेर्न लागीपर्छन्—तिनीहरू सुस्ताउँदैनन्, नरम हृदयका बन्दैनन्, र लापरवाह त झनै बन्दैनन्। तिनीहरूले अरू सबैको नजरको अभिव्यक्ति, अरूको व्यक्तित्व, अरूको दैनिक दिनचर्या, अरूको पछ्याइ, सकारात्मक र नकारात्मक कुराहरूप्रति अरूको मनोवृत्ति अवलोकन गर्छन्, र योभन्दा पनि बढी तिनीहरूले परमेश्वरमाथिको विश्वासमा रहेको अरू सबैको आस्था र बफादारी, साथै परमेश्वरप्रति आफूलाई समर्पित गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने, आदि इत्यादिप्रति अरूको मनोवृत्ति पनि अवलोकन गर्छन्—तिनीहरूले यी कुराहरूमा धेरै मेहनत लगाउँछन्। त्यसकारण, तिनीहरूमा रहेको यो मनोवृत्तिका आधारमा, तिनीहरूले सत्यता पछ्याउने र तिनीहरूलाई खुट्टयाउन सक्ने मानिसहरूबाट आफूलाई जोगाउँछन् र रक्षा गर्छन्, र त्यस्ता मानिसहरूमाझ हुँदा सतर्कतासाथ बोल्छन् र व्यवहार गर्छन्। तुलनात्मक रूपमा कमजोर व्यक्तित्व भएका, प्रायजसो नकारात्मक हुने र सत्यता नबुझ्ने मानिसहरू, र मूर्ख र सत्यता त्यति बोध नगर्ने निश्चित मानिसहरूसँग हुँदा, तिनीहरूले प्रायजसो आफूलाई सक्दो प्रदर्शन गर्छन्, निरन्तर सर्कसमा जस्तै नाटक गर्छन् र प्रस्तुति देखाउने हरेक अवसर छोप्छन्। उदाहरणका लागि, भेलाहरूमा हुँदा, धेरैजसो मानिसहरूले तिनीहरूलाई अनुमोदन गर्छन्, थोरै मानिसहरू तिनीहरूबाट विकर्षित हुन्छन्, र अझै धेरै मानिसहरूले तिनीहरूको वास्तविकता नै खुट्टयाउँदैनन्, त्यसकारण तिनीहरूले नाटक गर्न र सङ्गति दिने अवसरहरू खोज्न थाल्छन्। तिनीहरूले आफ्नै अनुभवहरूबारे, आफ्नै विगतको “महिमामय इतिहास” बारे, परमेश्वरको घरमा तिनीहरूले हासिल गरेका पुण्यहरूबारे, र माथिले तिनीहरूलाई कसरी कदर गरेका छन् र व्यक्तिगत रूपमा काटछाँट गरेका छन् भन्नेबारे सङ्गति गर्छन्—तिनीहरूले एउटा पनि यस्तो अवसर हातबाट फुत्कन दिनै सक्दैनन्। आफू चाहे जोसँग भए पनि, वा अवसर जेसुकै भए पनि, ख्रीष्टविरोधीहरूले एउटै मात्र कुरा गर्छन्: तिनीहरूले नाटक गर्छन्; अर्थात्, तिनीहरू मानिसहरूको निगाहमा राम्रो देखिनका लागि प्रदर्शन गर्छन्। ख्रीष्टविरोधीहरूको सार यही हो: तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, दुष्ट र लाजपचेका हुन्छन्। तिनीहरू आफ्नो प्रस्तुतिमा कुन हदसम्म जान्छन्? सायद तिमीहरूले आफै पनि यस्ता केही प्रस्तुतिमा देखेका छौ होला। तिनीहरूमध्ये कतिले त प्रस्तुतिमा प्रदर्शन गरिरहेका, धाक लगाइरहेका, मानिसहरूको हृदय जितिरहेका, र अरूलाई तिनीहरूबारे उच्च सोच्न लगाउने अवसरहरू प्रयोग गरिरहेको स्पष्ट रूपमै देख्न सकिन्छ। कतिपय मानिसहरूले तिनीहरूलाई हेला गर्छन्, कतिपयले बेवास्ता गर्छन्, र गिल्लासमेत गर्छन्, तर तिनीहरूले वास्ता गर्दैनन्। तिनीहरूलाई केको चाहिँ वास्ता हुन्छ त? तिनीहरूलाई आफ्नो प्रस्तुतिद्वारा मानिसहरूमा गहन छाप पार्नेबारे मात्रै वास्ता हुन्छ, र तिनीहरूले कसरी यस्ता कुराहरू भन्ने आँट गर्छन्, तिनीहरूमा साहस, नेतृत्व शैली, नेतृत्व प्रतिभा छ, सबैको अगाडि स्टेजमा डर नमानी उभिने साहस छ, र नआत्तिईकन कामकुराहरू सम्हाल्न सक्ने क्षमता छ भनेर मानिसहरूलाई देखाउनेबारे मात्रै वास्ता हुन्छ। मानिसहरूलाई यी कुराहरू बुझाउन र देखाउन पाएपछि तिनीहरूलाई सन्तुष्टि हुन्छ, त्यसकारण त तिनीहरूले यसो गर्ने मौका पाउनेबित्तिकै प्रस्तुति देखाउन सक्दो गरिहाल्छन्, र तिनीहरूले कुनै पनि बन्धनविना, कुनै पनि हिचकिचाहटविना, र कुनै लाजविना प्रस्तुति देखाइहाल्छन्। ख्रीष्टविरोधीहरूले गर्ने यही हो। यदि मैले भेलाहरूमा सधैँ मुख्य विषयबारे सङ्गति गरेँ भने, कति मानिसहरू त मेरो कुरा सुन्दा उम्छन्। अथवा, जब म मुख्य विषय सङ्गति गर्छु, तब मानिसहरूको मन अझै पनि अरू कुरामा केन्द्रित हुन्छ र मैले भनिरहेको कुरामा ध्यान दिन तिनीहरूलाई सजिलो हुँदैन। यस्ता परिस्थितिहरूमा, म हल्का कुराकानी गर्छु, कुनै कथा सुनाउँछु वा चुट्किला भन्छु। यी कुरा र कथाहरू प्रायजसो मानिसहरूले आफ्नो जीवनमा प्रकट गर्ने निश्चित भ्रष्ट स्वभाव र स्थितिहरूसँग सम्बन्धित हुन्छन्। म मानिसहरूलाई अलिक जगाउन र तिनीहरूलाई अलिक राम्ररी बुझाउनका लागि कथाहरू प्रयोग गर्छु वा चुट्किलाहरू बताउँछु। जब ख्रीष्टविरोधीहरूले यो कुरा देख्छन्, तब तिनीहरू यसो सोच्छन्, “तिमीले भेलाहरूमा प्रवचनहरू दिँदा चुट्किला सुनाउँछौ। मैले पनि त्यसो गर्न सक्छु, म पनि तिमीजस्तै उत्कृष्ट छु। म पनि यतिकै फितलो ठट्यौली सुनाउनेछु र सबै हाँसोले फुट्नेछन्, र सबैले आनन्द लिनेछन्—त्यो कति गज्जब होला! म यतिकै एउटा कथा भन्नेछु, र त्यसपछि त कोही पनि भेलाहरूमा सहभागी हुन चाहनेछैन, तिनीहरू बस मेरा कथाहरू मात्रै सुन्न चाहनेछन्।” तिनीहरूले यो कुरामा मसँग प्रतिस्पर्धा गर्छन्। के तिनीहरूले यो कुरामा मसँग प्रतिस्पर्धा गर्नुको कुनै अर्थ छ? म किन कथाहरू सुनाउँछु? म किन गफ गर्छु? मानिसहरूले मेरा गफगाफ र कथाहरूबाट केही कुराहरू बुझ्न सक्छन्, र यसले तिनीहरूलाई सहजै सत्यता बुझ्न सहयोग गर्छ—मेरो उद्देश्य यही हो। तर, ख्रीष्टविरोधीहरूले यसलाई च्यापेर यसो भन्दै यसको फाइदा लिने प्रयास गर्छन्, “भेलाहरूमा, यति निर्णायक र महत्त्वपूर्ण समयको अवधिमा, तपाईँ बस गफ मात्रै गर्नुहुन्छ, त्यसकारण म पनि गफ नै गर्नेछु।” के गफ सधैँ उस्तै किसिमको हुन्छ र? यी रद्दी ख्रीष्टविरोधीहरूले सत्यतासमेत बुझ्दैनन्, त्यसकारण तिनीहरूको गफबाट के निस्किन सक्छ? तिनीहरूको कथा वा चुट्किलाबाट के निस्किन सक्छ? आत्मिक बुझाइ नभएका यी पशुहरूले सत्यता सङ्गति गर्ने र कथाहरू भन्ने गम्भीर कुरालाई अत्यन्तै सतही र हल्का रूपमा लिन्छन्। कस्तो प्रकारका मानिसहरूले यसो गर्छन्? ख्रीष्टविरोधीहरू, आत्मिक बुझाइ नभएका मानिसहरू, र सत्यता नपछ्याउने मानिसहरूले यस्ता कुराहरू गर्न मन पराउँछन्।
दाजुभाइ-दिदीबहिनीहरूको आँखाले, धेरैजसो मानिसहरूको आँखाले, ख्रीष्टविरोधीहरू संलग्न हुने ढोँगहरूमा लगभग कुनै गल्ती पत्ता लगाउन सक्दैनन्। किन यस्तो हुन्छ? किनभने, ख्रीष्टविरोधीहरूले आफ्ना त्रुटिहरू ढाकछोप गर्छन् र लुकाउँछन् र तँलाई ती कुराहरू देख्न दिँदैनन्; तिनीहरूले आफ्नो दुष्ट पक्ष, आफ्नो छाडा पक्ष, र आफ्नो खराब पक्ष बन्द ढोकाभित्र लुकाउँछन्। “बन्द ढोकाभित्र” भनेको कहाँ हो? ती तैँले देख्न नसक्ने ठाउँहरू हुन्, अर्थात् तिनीहरूको घर, समाज, तिनीहरूको जागिर, तिनीहरूका आफन्त र साथीहरूको अगाडिका ठाउँहरू हुन्; यी कुराहरू तैँले देख्न नसक्ने वा सम्पर्क गर्न नसक्ने क्षेत्रहरू हुन्। तैँले देख्न र सम्पर्क गर्न सक्ने तिनीहरूको बोली र व्यवहार, पूर्ण रूपमा ढोँगको पक्ष, अर्थात् तिनीहरूले प्रशोधन गरेको पक्ष हो। तैँले देख्न नसक्ने तिनीहरूको पक्षचाहिँ तिनीहरूको साँचो सार, तिनीहरूको साँचो अनुहार हो। अनि तिनीहरूको त्यो साँचो अनुहार के हो? आफ्ना गैरविश्वासी परिवारसँग हुँदा, तिनीहरूले हरकिसिमका खराब शब्दहरू बोल्छन्—अरूविरुद्धका गुनासाहरू, कटुतापूर्ण शब्दहरू, र शत्रुवत् शब्दहरू, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको निन्दा गर्ने र दोष दिने शब्दहरू, परमेश्वरको घर अधर्मी छ भन्ने गुनासाहरू—तिनीहरूले यी सबै कुराहरू बोल्छन्, केही कुरा छोड्दैनन्, अलिकति पनि संयम राख्दैनन्। आफ्ना आफन्त र साथीहरूसँग हुँदा, तिनीहरूले गैरविश्वासी संसारबारे छलफल गर्छन् र अरूका परिवारहरूबारे कुरा काट्छन्, र गैरविश्वासीहरूको सबै सांसारिक क्रियाकलापहरूमा सहभागी हुन्छन्, र विवाह र अन्त्येष्टिहरूमा समेत सक्रिय रूपमा सहभागी हुन्छन्। तिनीहरूले गैरविश्वासीहरूसँग बसेर अरूको कुरा काट्छन्, अरूलाई आलोचना गर्छन् र सराप्छन्, मानिसहरूबारे आधारहीन अफवाहहरू फैलाउँछन् र पिठ्यूँपछाडि तिनीहरूलाई बदनाम गर्छन्—तिनीहरू यी सबै कुरा भन्छन्। गैरविश्वासीहरूमाझ हुँदा, अरूसँग व्यवहार गर्दा, तिनीहरूले मानिसहरूलाई ठग्छन्, गुटबन्दी गर्छन्, मानिसहरूलाई आक्रमण गर्छन्, र कार्यालयमा अरूलाई फसाउन, अरूको कुरा लगाउन, र उच्च पद प्राप्त गर्न अरूलाई कुल्चन सक्छन्—तिनीहरूले यी सबै कुराहरू पनि गर्न सक्छन्। आफ्नो परिवार वा गैरविश्वासीहरूसँग हुँदा, तिनीहरू धैर्य, सहनशील, वा नम्र हुँदैनन्, बरु तिनीहरूले पूर्ण रूपमा आफ्नो साँचो रङ्ग प्रकाश गर्छन्। परमेश्वरको घरमा, तिनीहरू भेडाको भेषका ब्वाँसाहरू हुन्, र जब तिनीहरू गैरविश्वासीहरू, परमेश्वरमा विश्वास नगर्ने मानिसहरूमाझ हुन्छन्, तब तिनीहरू सबैले देख्ने गरी आफ्नो ब्वाँसो रूप देखाउँछन्; तिनीहरूले आफ्नो हितका लागि, एउटा शब्दका लागि, र एउटा भनाइका लागि गैरविश्वासीहरूसँग झगडा गर्छन्, र सानोतिनो हितका लागि गैरविश्वासीहरूसँग अनुहार रातो हुन्जेलसम्म अन्त्यहीन बहस गर्छन्। यदि तिनीहरूले परमेश्वरको घरमा कुनै फाइदा प्राप्त गरेनन् वा काटछाँट सामना गरे भने, तिनीहरू घर जान्छन् र कोलाहल मच्चाउँछन्, समस्या सृजना गर्छन्, र यस्तो व्यवहार गर्छन् कि तिनीहरूको परिवार तिनीहरूसँग डराउँछन्। गैरविश्वासीहरूमाझ, तिनीहरूसँग कुनै इसाई शिष्टता हुँदैन, न त तिनीहरूले इसाईहरूले जस्तो गवाही नै दिन्छन्—तिनीहरू पूर्ण रूपमा ब्वाँसो हुन्, मानव समेत होइनन्। परमेश्वरको घरमा र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूअघि, तिनीहरूले प्रतिज्ञा गर्छन्, शपथ खान्छन्, आफ्नो सङ्कल्प व्यक्त गर्छन्, र तिनीहरू परमेश्वरप्रति आफूलाई समर्पित गर्न इच्छुक देखिन्छन् र तिनीहरूले परमेश्वरमा आस्था राख्छन् जस्तो देखिन्छ। तर जब तिनीहरू गैरविश्वासीहरूमाझ आउँछन्, तिनीहरूको पछ्याइ र विश्वास गैरविश्वासीहरूको जस्तै हुन्छ। कतिले त गैरविश्वासीहरूले जस्तै सेलिब्रेटीहरूलाई पछ्याउँछन् र सेलिब्रेटीहरूले हरेक दिनको पहिरन अनुकरण गर्दै, शरीरको माथिल्लो भाग देखाउँछन्, कपाल गज्याकगुजुक पार्छन्, र अत्यन्तै धेरै मेकअप लगाउँछन्—तिनीहरू न त मानवजस्ता देखिन्छन् न त भूतजस्ता नै। तिनीहरूले फेशनेबल कपडा लगाउँछन् र हरेक दिन समयको गतिसँगै चल्छन्, जीवन स्वादैस्वादले भरिएको छ भन्ने अनुभूत गर्छन्, र तिनीहरूलाई भित्री हृदयमा गैरविश्वासीहरूको जिउने तरिकाप्रति कुनै घृणा महसुस हुँदैन। ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नो स्थान सुरक्षित गर्न र मानिसहरूको हृदयमा प्रतिष्ठा र हैसियत प्राप्त गर्न धेरै कुराहरू र अत्यन्तै मेहनत गर्छन्। यो मेहनत पूर्ण रूपमा तिनीहरूको उद्देश्य हासिल गर्न र अरूलाई तिनीहरूको आदर र आराधना गराउनका लागि नै हुन्छ। यी व्यवहार, शैली, र बाहिरी प्रकटीकरणहरू, तिनीहरू बन्द ढोकाभित्र कसरी जिउँछन् भन्ने कुरासँग स्पष्ट रूपमा फरक हुन्छन्, र मानिसहरूको पिठ्यूँपछाडि तिनीहरूले गर्ने कार्य र व्यवहार एउटा इसाईले गर्न मिल्ने कुराहरू पटक्कै हुँदैनन्। यस्तो स्पष्ट भिन्नता भएकाले, हामी तिनीहरूले विश्वासी दाजुभाइ-दिदीबहिनीहरूअघि गर्ने र देखाउने सबै कुरा ढोँग हो, वास्तविक कुरा र प्राकृतिक प्रकटीकरण होइन भन्ने कुरा निर्धारित गर्न सक्छौँ। ख्रीष्टविरोधीहरूले आफ्नो उद्देश्य हासिल गर्नलाई मात्र ढोँग गर्छन्, नत्र तिनीहरूले यी कुराहरू गर्न कहिल्यै आफूसँग सम्झौता गर्नेथिएनन्। तिनीहरूले गर्ने कामकुराहरू र बन्द ढोकाभित्र प्रकट गर्ने स्वभावका प्रकटीकरणहरू, साथै तिनीहरूका पछ्याइहरू अनुसार मूल्याङ्कन गर्दा, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, तिनीहरूले शिष्टता र सीधापनलाई प्रेम गर्दैनन्, झन् तिनीहरूले कष्ट सहने र मूल्य चुकाउने वा इसाई मार्ग पछ्याउने कार्यलाई त झनै प्रेम गर्दैनन्। त्यसकारण, तिनीहरूले देखाउने यी असल व्यवहारहरू तिनीहरूको हृदयबाट निस्केका हुँदैनन्, ती स्वेच्छिक, र सच्चा हुँदैनन्, बरु ती त तिनीहरूका आफ्नै इच्छा विपरीत, र अरूलाई देखाउनका लागि गरिएका हुन्छन्, र निगाह प्राप्त गर्न र मानिसहरूको हृदय फुस्ल्याउनका लागि गरिएका हुन्छन्। कतिपय मानिसहरूले सोध्छन्, “मानिसहरूको हृदय फुस्ल्याएर तिनीहरूलाई कसरी फाइदा हुन्छ?” ठ्याक्कै यहीँनेर नै ख्रीष्टविरोधीहरू साधारण मानिसहरूभन्दा फरक हुन्छन्; तिनीहरूका लागि यो फाइदा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। त्यसोभए, त्यो फाइदा के हो त? त्यो के हो भने, तिनीहरू मानिसहरूमाझ उभिँदा, तिनीहरूलाई नचिन्ने, तिनीहरूलाई वाःवाः नगर्ने, तिनीहरूको प्रशंसा नगर्ने, तिनीहरूको आराधना नगर्ने कोही हुँदैन। मानिसहरूले समस्या हुँदा परमेश्वरलाई खोजी र प्रार्थना गर्नुको सट्टा ख्रीष्टविरोधीलाई खोज्छन्। अनि जब सबैले त्यो ख्रीष्टविरोधीको आराधना गर्छन् र सबैजना उसको वरिपरि घुम्छन्, तब त्यो ख्रीष्टविरोधीले कस्तो महसुस गर्छ? उसलाई आफू परमेश्वरजस्तो वा असाधारण व्यक्ति हुँ भन्ने लाग्छ, र उसलाई ऊ बादलमा उडिरहेको छ, सपनाको संसारमा जिइरहेको छ भन्ने लाग्छ, जुन साधारण व्यक्तिले जिउने तरिकाभन्दा फरक कुरा हो। जब ऊ मानिसहरूमाझ हुन्छ, तब सबैले चन्द्रमाको वरिपरि ताराहरू झुम्मिएजस्तै उसको प्रशंसा र आदर गर्छन् र उसको बढाइ गर्छन्—कस्तो राम्रो अनुभव, र उसको हृदयमा कति धेरै आनन्द, सहजता, र खुसी! ख्रीष्टविरोधीहरूले चाहने कुरा ठ्याक्कै यही हो। तर, यदि मानिसहरूका समूहमा कसैले पनि ख्रीष्टविरोधीलाई कुनै ध्यान दिँदैन भने, यदि अत्यन्तै थोरै मानिसहरूलाई मात्र उसको नाम थाहा छ भने, यदि उसको सबल पक्ष कसैलाई थाहा छैन भने, यदि उसलाई धेरैजसो मानिसहरूले आफ्नो मनमा साधारण व्यक्ति, कुनै विशेष विशेषता नभएको, कुनै सामर्थ्य नभएको, कुनै असाधारण कुरा नभएको, अरूले आदर वा सम्मान गर्ने कुरा नभएको, वा कसैले आदरसाथ बताउने केही कुरा नभएको व्यक्तिका रूपमा लिन्छन् भने, यसले ख्रीष्टविरोधीलाई आफ्नो हृदयमा असहज र नराम्रो महसुस हुन्छ; उसलाई आफू देवता हो जस्तो वा बादलमा उडिरहेको हो जस्तो लाग्दैन। उसलाई यसरी जीवन जिउनु अत्यन्तै न्यास्रो, अत्यन्तै असहज, अत्यन्तै दमघुट्ने, अत्यन्तै नालायक, र अत्यन्तै निरर्थक लाग्छ। उसले के सोच्छ भने, यदि जीवनभर साधारण व्यक्ति मात्रै बनेर केही कर्तव्य निर्वाह गर्नुपर्ने र मानकअनुरूपको सृजित प्राणी बन्नुपर्ने हो भने, त्यस्तो जीवनमा के आनन्द हुन्छ र? परमेश्वरमा विश्वास गर्दा त्यति थोरै मात्र आनन्द कसरी हुन सक्छ र? उसका लागि, यो अत्यन्तै न्यून मानक हुन्छ, र यसलाई माथि उठाइनुपर्छ। तर यसलाई कसरी माथि उठाउने? उसले आफ्नो लोकप्रियता बढाउनुपर्छ ताकि मानिसहरूले उसलाई श्रद्धा गरून् र धेरै सम्मान गरून्, र उसले सानदार जीवन जिउन सकोस्। त्यसकारण, जब उसले प्रार्थना गर्छ, तब उसले घरमा आफै प्रार्थना गर्दैन, बरु यसको साटो ऊ प्रार्थना गर्न मण्डली जान्छ, उसलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुँदा नै प्रार्थना गर्नुपर्छ, ठूल्ठूलो सोरमा प्रार्थना गर्नुपर्छ, अनि व्याकरणिक रूपमा, तर्कसङ्गत रूपमा, व्यवस्थित रूपमा, र विचारशील रूपमा प्रार्थना गर्नुपर्छ, र उपस्थित सबै जनाले सुन्न सक्ने गरी, उपस्थित सबै जनाले उसको वाक कौशल र स्पष्ट सोच सुन्न सक्ने गरी, र ऊसँग आफ्नै पछ्याइ छ भनेर थाहा पाउने गरी प्रार्थना गर्नुपर्छ। जब उसले परमेश्वरका वचनहरू पढ्छ, तब त्यो पनि घरमा एकलै पढ्दैन। सुरुमा, उसले घरमा तयारी गर्छ, र त्यसपछि अरूले सुन्ने गरी पढ्छ ताकि अरूले उसले पढ्ने परमेश्वरका वचनहरू सबै महत्त्वपूर्ण, सबै अत्यावश्यक हुन्छन् भनेर देखून्। उसले जे गरे पनि, सधैँ बन्द ढोकाभित्र गृहकार्य गर्छ, अनि तयार भइसकेपछि, र अरूले उसलाई आदरणीय ठान्ने र अनुमोदन गर्ने अवस्थामा मात्रै ऊ अरूको अगाडि आउँछ। कतिपय त यस्ता पनि हुन्छन् जसले अरूको अघि केही कुरा ल्याउनुभन्दा पहिले घरमै ऐनाअगाडि बसेर पूर्वावलोकन र तयारी गर्छन्। जब तिनीहरूले यो कुरा अरू मानिसहरूको अघि ल्याउँछन्, तब यो सबैभन्दा मूल स्थितिमा हुँदैन, यो कुरा त पहिले नै धेरै पटक प्रशोधन भइसकेको हुन्छ, यो कुरा ख्रीष्टविरोधीका सोच, दृष्टिकोण, भ्रष्ट स्वभाव, धूर्त युक्ति र धूर्त माध्यमहरूद्वारा प्रशोधन भइसकेको हुन्छ। मण्डली र मानिसहरूमाझ हैसियत र लोकप्रियता पाउने आफ्नो उद्देश्य हासिल गर्नका लागि, ख्रीष्टविरोधीहरू यी कुराहरू गर्न मूल्य चुकाउन पटक्कै हिचकिचाउनेछेनन्। त्यसकारण, यी सबै कुराहरूलाई के भन्ने हो? के ती साँचो प्रकटीकरणहरू हुन्? के ती स्वभाव परिवर्तन पछ्याउने व्यक्तिले गर्नुपर्ने अभ्यासहरू हुन्? (होइनन्।) ती सबै ढोँगबाट आएका हुन्छन्; ख्रीष्टविरोधीहरूले यति धेरै ढोँग गर्छन् कि यसले मानिसलाई वाकवाकी नै लाग्छ!
कतिपय मानिसहरूले त पहिले खेस्रा तयार गरेका छैनन् भने भेलाहरूमा सङ्गति नै दिँदैनन्। तिनीहरूले पहिले बन्द ढोकाभित्र खेस्रा तयार गर्नुपर्छ, यसलाई धेरै पटक परिमार्जन गर्नुपर्छ, प्रशोधन गर्नुपर्छ, परिष्कृत गर्नुपर्छ, र यो तयार भएपछि मात्रै तिनीहरूले विश्वासी दाजुभाइ-दिदीबहिनीहरूअघि सङ्गति गर्नेछन्। कसैले तिनीहरूलाई यसो भन्छ, “हामी सबै यहाँ दाजुभाइ-दिदीबहिनीहरू हौँ। भेलाहरूमा बस इमानदारिता पूर्वक र साँचो रूपमा बोल, भइहाल्छ। मनमा जे आउँछ त्यही भन। सबैभन्दा राम्रो तरिका त्यही हो।” तिनीहरूले जबाफ दिन्छन्, “अहँ, सक्दिनँ। यदि मैले त्यसो गरेँ भने, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई हेयको दृष्टिले हेर्नेछन्।” देखिस् त, तिनीहरूले अचेतन रूपमै कुनै साँचो कुरा बोलिदिन्छन्। हरेक हिसाबमा, तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको सुरक्षा गर्न काम गर्छन्। समाजका केही उत्कृष्ट प्रतिभा भएका मानिसहरू, प्राध्यापकहरू, विश्वविद्यालयका विद्यार्थीहरू, विद्यावारिधिका विद्यार्थीहरू, वा वैज्ञानिक अनुसन्धानकर्ताहरूले आफूलाई प्रमाणित गर्न र आफ्नो हैसियत र प्रतिष्ठाको सुरक्षा गर्नका लागि मानिसहरूसँग अन्तरक्रिया गर्न निश्चित ढोँग र प्रशोधित व्यवहार प्रयोग गर्छन्। अर्थात्, तिनीहरूले मानिसहरूसँग अन्तरक्रिया गर्नका लागि मकुन्डो लगाउँछन्, र तिनीहरूले वास्तवमा के पछ्याइरहेका छन्, तिनीहरूमा कुनै कमजोरी छ कि छैन, तिनीहरूले बन्द ढोकापछाडि ठ्याक्कै के गर्छन् भन्ने कुरा मानिसहरूलाई कहिल्यै थाहा हुँदैन, र तिनीहरूको व्यक्तिगत जीवन र तिनीहरूले कसरी आफूलाई आचरणमा ढाल्छन् र संसारसँग व्यवहार गर्छन् भन्ने कुरामा सधैँ शङ्काको सुइरो, र सधैँ प्रश्न चिन्ह रहन्छ। के यी मानिसहरू यस्तो गहन ढोँगमा संलग्न भएका हुँदैनन् र? त्यसोभए, तिमीहरूले यी मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? तिनीहरूले तँसँग झूटो व्यवहार गर्ने भएकोले, के तैँले पनि तिनीहरूसँग झूटो व्यवहार गर्नुपर्छ? उदाहरणका लागि, तिनीहरूले तँलाई भेट्दा मुखले मात्रै मिठो बोल्छन्, त्यसकारण तैँले पनि तिनीहरूसँग निरन्तर शिष्ट व्यवहार नै गर्छस्—के यो स्वीकार्य हुन्छ? (हुँदैन।) त्यसोभए, तिनीहरूसँग सङ्गत गर्ने उचित तरिका के हो? (जब तिनीहरूले यी प्रकटीकरणहरू देखाइरहेका छन् भन्ने कुरा कुनै व्यक्तिले पत्ता लगाउँछ, तब उसले सुरुमा तिनीहरूको खुलासा गर्नुपर्छ, यस्तो स्वभावको प्रकृति सार के हो र यसलाई कुन अभिप्रायले सञ्चालित गरेको हुन्छ भन्नेबारे तिनीहरूसँग सङ्गति गर्नुपर्छ। यदि उसले भनेको कुरा तिनीहरूले स्विकार्दैनन् भने, उसले तिनीहरूसँग फेरि सङ्गति गर्नु हुँदैन।) तैँले तिनीहरूको खुलासा गर्नुपर्छ, र तिनीहरूले तैँले भनेको कुरा स्विकारेनन् भने, तिनीहरूबाट तँ अलग बस्नुपर्छ। के तिमीहरूमध्ये कोही अझै पनि तिनीहरूको बहकाउमा पर्न र तिनीहरूको आराधना गर्न सक्छौ? तिमीहरूसँग अहिले भएको कदका आधारमा भन्नुपर्दा, तिमीहरूले यी स्पष्ट फरिसीहरू केही हदसम्म छर्लङ्ग देख्न सक्छौ, तर यदि तिमीहरूले ढोँग गर्न सक्ने, आफूलाई गहन रूपमा लुकाइराख्ने, अलि बढी सक्षम कसैलाई भेट्यौ भने, के तिमीहरूले तिनीहरूको छर्लङ्गै देख्न सक्नेछौ? यदि तिनीहरूले जहिल्यै पनि सही कुराहरू मात्रै बोल्छन् र गर्छन् भने, यदि तिनीहरूसँग कुनै त्रुटि नै नभएजस्तो र तिनीहरूले कहिल्यै गल्ती नै गर्दैनन् जस्तो देखिन्छ भने, यदि तँ कहिलेकहीँ केही मामलाहरूमा नकारात्मक र कमजोर बन्छस् तर तिनीहरू कहिल्यै कमजोर हुँदैनन् भने, र यदि तिनीहरू नकारात्मक बने भने पनि तिनीहरूले यसलाई आफै समाधान गर्न सक्छन् र तिनीहरू तुरुन्तै यसबाट बाहिर निस्कन सक्छन्, तर तँचाहिँ सक्दैनस् भने, जब तैँले त्यस्ता मानिसहरूलाई भेट्छस् तब तैँले तिनीहरूलाई अनुमोदन गर्नेछस् र तिनीहरूको आराधना गर्नेछस्, र तैँले तिनीहरूबाट सिक्नेछस् र तिनीहरूलाई पछ्याउनेछस्; यदि तैँले त्यस्ता मानिसहरूलाई खुट्टयाउन सकिनस् भने, तँ तिनीहरूको बहकाउमा पर्नेछस् कि पर्नेछैनस् भनेर भन्न गाह्रो हुन्छ।
हामीले ढोँग भन्ने यो विषयको कतिवटा पक्षहरूमा सङ्गति गरेका छौँ? एउटा पक्ष के हो भने, तिनीहरूले कष्ट सहनुलाई ढोँगका रूपमा प्रयोग गर्छन्। तिनीहरूले हृदयमा, वास्तवमा कष्ट सहन चाहँदैनन् र तिनीहरूलाई यसप्रति निकै प्रतिरोध अनुभूति हुन्छ, तैपनि तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्नको लागि अत्यन्तै मन नलागी-नलागी कष्ट सहन्छन्, विभिन्न कुराहरू त्याग्छन्, र मूल्य चुकाउँछन्। तिनीहरूले कष्ट भोगेपछि पनि, मन बुझाउँदैनन् र धेरै मानिसहरू यसबारे सचेत नभएकाले यो कष्ट भोग्नु सार्थक भएन भन्ने महसुस गर्छन्। त्यसकारण तिनीहरूले यसबारे थाहा नभएका धेरै मानिसहरूलाई बताउँदै जताततै यसको प्रचार गर्छन्। अन्त्यमा, कतिपय मानिसहरूले के भयो भन्ने थाहा पाउँछन् र तिनीहरूबाट गहन रूपमा प्रभावित हुन्छन्, तिनीहरूलाई उच्च मान्छन् र आराधना गर्छन्, र यसरी तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्छन्। कतिपय मानिसहरू यस्ता पनि छन्, जो आफूलाई असल मानिसहरू, राम्रो व्यवहार गर्ने र कर्तव्यनिष्ठ व्यक्ति भनेर प्रचार गर्छन्, र यस्तो छवि, पहिचान, र व्यक्तित्व प्रयोग गरेर मानिसहरूसँग सङ्गत गर्न चाहन्छन्, ताकि मानिसहरूले तिनीहरू असल मानिसहरू हुन् भन्ने विश्वास गरून् र तिनीहरूसँग नजिक आउन्। तिनीहरूले अझै धेरै मानिसहरूको सराहना पाउनका लागि यस्तो असल व्यक्ति बन्नुलाई आफ्नो उद्देश्यका रूपमा लिन्छन्, ताकि मानिसहरूले तिनीहरूबारे उच्च सोचून् अनि तिनीहरूले आफ्नो लोकप्रियता बढाउन सकून्। यस्तै हुन्छ, होइन र? (हजुर, हो।) ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने निश्चित तरिकाहरू प्रयोग गरेर, हामीले भर्खरै तिनीहरूको ढोँग गर्ने व्यवहार पछाडि लुकेका उद्देश्यहरू र तिनीहरूको ढोँगको सार, तिनीहरूले गर्ने र भन्ने कुराहरू, र तिनीहरूले प्रदर्शन गर्ने प्रकटीकरणहरू के-के हुन् जसले तिनीहरूले ढोँग गरिरहेका छन् भन्ने प्रमाणित गर्छ त्यसबारे खुलासा र चिरफार गर्यौँ। हामी यो पक्षको सङ्गति यहीँ समाप्त गर्नेछौँ।
(२) नक्कल गरेर
अब हामी दोस्रो पक्षबारे सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूले प्रायजसो हैसियत प्राप्त गर्न ढोँग प्रयोग गर्छन्; तिनीहरूले मानिसहरूलाई सुन्न मनपर्ने र मानिसहरूका धारणाहरू अनुरूपका कुराहरू बोल्छन्, र तिनीहरूले सतही रूपमा निश्चित कुराहरू गर्छन् जसले गर्दा मानिसहरूले तिनीहरूलाई अनुमोदन र आदर गर्छन्, र यसरी तिनीहरूको लोकप्रियता बढ्छ—ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने अर्को तरिका यही हो। के नक्कल र नाटकबीच भिन्नता छ? बाहिरी व्यवहारको हकमा भन्दा, नाटक र नक्कल सामान्यतया एउटै स्थिति हुन्; ती एकअर्कासँग सम्बन्धित हुन्छन्। हामी यी कुराहरूबारे अलग-अलग रूपमा सङ्गति गर्नेछौँ ताकि मानिसहरूका लागि ती कुराहरू अझ स्पष्ट सुनिऊन्, र मानिसहरूले तिनलाई अझै स्पष्ट रूपमा जान्न सकून्। “नक्कल” को प्राथमिक अर्थ नक्कली होइन, तर यो अरूको नक्कल गर्नु हो। ख्रीष्टविरोधीहरू किन नक्कल गर्ने कार्यमा संलग्न हुन्छन्? स्वाभाविक रूपमै, तिनीहरूका निश्चित उद्देश्य हुन्छन्: ख्रीष्टविरोधीहरूले हैसियत र प्रतिष्ठा प्राप्त गर्न नक्कल गर्छन्; नत्रभने, तिनीहरूले कहिल्यै पनि नक्कल गर्नेथिएनन्, यस्तो मूर्ख काम कहिल्यै गर्नेथिएनन्। खुट्ट्याउन सक्ने आँखा भएका मानिसहरूले यो कुरा स्पष्ट रूपमा देख्न सक्छन्। यदि मानिसहरू प्रायजसो नक्कलमा संलग्न हुन्छन् भने, तिनीहरूले स्वाभाविक रूपमै अरूको घृणा, तिरस्कार, र अपमान प्राप्त गर्नेछन्—त्यसोभए ख्रीष्टविरोधीहरूले किन अझै पनि आफूले गर्ने यस्तो कुरा गर्छन् त? यो बस तिनीहरूको प्रकृति हो: प्रतिष्ठा र हैसियत प्राप्त गर्नका लागि के चाहिन्छ भन्ने कुरा तिनीहरूले वास्ता गर्दैनन्, तिनीहरूमा पहिले नै लाजको बोधको कमी हुन्छ। मानिसहरूका मनमा हैसियत प्राप्त गर्नका लागि, ख्रीष्टविरोधीहरूले गर्ने पहिलो कुरा भनेको मानिसहरूलाई तिनीहरूप्रति भरोसा, आदर, र आराधना गर्ने तुल्याउनु हो। त्यसोभए तिनीहरूले यो उद्देश्य कसरी हासिल गर्छन् त? मानिसहरूका धारणाहरू अनुरूप हुने केही असल व्यवहार र प्रकटीकरणहरूको नक्कल गर्ने बाहेक, तिनीहरूले ठूला र प्रसिद्ध व्यक्तित्वहरूको जस्तै शैली अपनाउने र उनीहरूले बोल्ने तरिका नक्कल गर्ने गर्छन्, यसरी मानिसहरूलाई तिनीहरूको आदर र सम्मान गर्ने तुल्याउँछन्। यस तरिकाले, मण्डलीका निश्चित मानिसहरूले थाहै नपाई तिनीहरूलाई आराधना गर्न, चापलुसी गर्न, र समर्थन गर्न थाल्छन्, तिनीहरूले ती ख्रीष्टविरोधीहरूलाई कुनै आत्मिक व्यक्तित्व वा प्रसिद्ध मानिसहरूजस्तै गरी हेर्छन्, जसको अर्थ मण्डलीमा र निश्चित मानिसहरूका हृदयमा, ख्रीष्टविरोधीहरूलाई आत्मिक व्यक्तित्वहरूका रूपमा सम्मान र आदर गरिन्छ। किनभने, धेरैजसो मानिसहरूमा समझशक्ति पटक्कै हुँदैन, र तिनीहरूले आफ्नो हृदयले मन पराउने र सम्मान गर्ने जोकोहीलाई आराधना र आदर गर्छन्। मण्डलीमा, ख्रीष्टविरोधीहरूले मुख्य रूपमा कस्तो प्रकारको व्यक्तिको नक्कल गर्छन्? तिनीहरूले आत्मिक व्यक्तित्वहरूको नक्कल गर्छन्, किनभने धेरैजसो मानिसहरूले आत्मिक व्यक्तित्वहरूको आराधना गर्छन्। यहूदी धर्ममा, फरिसीहरू मानिसहरूले आराधना गर्ने आत्मिक व्यक्तित्वहरू थिए, मानिसहरूले तिनीहरूको ज्ञान, झूटो भक्ति, र असल व्यवहारका लागि तिनीहरूलाई आराधना गर्थे; त्यसकारण यहूदी धर्ममा, फरिसीहरू निकै लोकप्रिय थिए, तिनीहरूलाई निकै आदर गरिन्थ्यो। आज, मण्डलीका कतिपय मानिसहरू आत्मिक व्यक्तित्वहरूको आराधना गर्न मन पराउँछन्। सर्वप्रथम, तिनीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका, निश्चित तथाकथित आत्मिक अनुभव र गवाहीहरू भएका, परमेश्वरका अनुग्रह र आशिष्हरू प्राप्त गरेका, महान् दर्शनहरू देखेका, र केही असाधारण अनुभवहरू पाएका मानिसहरूलाई आराधना गर्छन्। यसका साथै, त्यहाँ मानिसहरूमाझ हुँदा आफ्नो ठुल्ठूलो कुरा बखान गर्ने र चिप्लो-मिठो कुरा गर्ने र यसरी अरूमा आराधना र आदरको भावना जगाउने मानिसहरू पनि हुन्छन्। केही अरू यस्ता पनि हुन्छन्, जसका काम गर्ने माध्यमहरू, तौरतरिका, र सिद्धान्तहरू मण्डलीका नियमहरू अनुरूप हुन्छन्, र जसका बाहिरी व्यवहारहरू भक्तिपूर्ण देखिन्छन्। अझै अरू यस्ता पनि हुन्छन् जोसँग परमेश्वरमाथि ठूलो आस्था भएजस्तो देखिन्छ। यी सबैलाई आत्मिक मानिसहरूको संज्ञा दिइएको हुन्छ। त्यसोभए ख्रीष्टविरोधीहरूले कसरी आत्मिक मानिसहरूको नक्कल गर्छन् त? सरल रूपमा भन्दा, मानिसहरूले तिनीहरूलाई आत्मिक व्यक्तिका रूपमा हेरून् भनेर, तिनीहरू आत्मिक मानिसहरूले बोल्ने कुराहरू बोल्ने, र आत्मिक मानिसहरूले गर्ने कुराहरू गर्ने गर्छन्। तर के तिनीहरूले यी कुराहरू हृदयबाट बोल्ने र गर्ने गर्छन् त? गर्दैनन्: यो त अनुकरण, र प्रावधान पालना गर्नु मात्र हो, तिनीहरूले अरूलाई देखाउनका लागि मात्रै यसो गरिरहेका हुन्छन्। उदाहरणका लागि, जब तिनीहरूलाई कुनै कुरा आइपर्छ, तब तिनीहरूले तुरुन्तै प्रार्थना गर्छन्—तर तिनीहरूले साँचो रूपमा खोजी गरिरहेका वा साँचो रूपमा प्रार्थना गरिरहेका हुँदैनन्, केवल झारा टारिरहेका र प्रदर्शन गरिरहेका हुन्छन्, ताकि तिनीहरूले परमेश्वरलाई यति धेरै प्रेम गर्छन् र तिनीहरूसँग परमेश्वरप्रति यति ठूलो डर छ भन्ने कुरा मानिसहरूले देख्न सकून्। यति मात्र होइन, जब तिनीहरूलाई रोग लाग्छ र तिनीहरूलाई उपचार आवश्यक पर्छ, तब तिनीहरू उपचार गर्न जाने वा लिनुपर्ने औषधि लिने गर्दैनन्। मानिसहरूले भन्छन्, “यदि तपाईँले औषधि लिनुभएन भने, तपाईँको रोग अझै खराब हुन सक्छ। औषधि खाने पनि समय हुन्छ, र प्रार्थना गर्ने पनि समय हुन्छ। तपाईँले बस आफ्नो आस्था पछ्याउने र आफ्नो कर्तव्य नत्याग्ने मात्र गर्नुपर्छ।” तिनीहरूले जवाफ दिन्छन्, “ठीकै छ—परमेश्वर मेरो साथमा हुनुहुन्छ, र म डराउँदिनँ।” बाहिरबाट, तिनीहरूले शान्त, निर्भिक, र विश्वासले भरिएको छु भन्ने नाटक गर्छन्, तर भित्र, तिनीहरू भयभीत भएका हुन्छन्, र कुनै असहजता महसुस गर्नेबित्तिकै सुटुक्क डाक्टरकहाँ दौडेर जान्छन्। अनि यदि कसैले तिनीहरूले डाक्टरकहाँ गई औषधि लिएको कुरा पत्ता लगायो भने, तिनीहरूले यसलाई ढाकछोप गर्न कारण खोज्ने वा बहाना बनाउने प्रयास गर्छन्। तिनीहरूले प्रायजसो यसो पनि भन्छन्, “रोगबिमार त परमेश्वरबाट आएको परीक्षा हो। जब तिमी रोगमा जिउँछौ, तब तिमी बिरामी हुन्छौ; जब तिमी परमेश्वरका वचनहरूमा जिउँछौ, तब तिमीमा कुनै रोग हुँदैन। हामी रोगमा जिउनु हुँदैन—हामी परमेश्वरका वचनहरूमा जियौँ भने, यो रोग हराउनेछ।” बाहिरी रूपमा, तिनीहरूले मानिसहरूलाई प्रायजसो यही कुरा सिकाउँछन्, र तिनीहरूले मानिसहरूलाई सहयोग गर्न परमेश्वरका वचनहरू प्रयोग गर्छन्; तर गुप्त रूपमा भने तिनीहरूले मानव माध्यमहरू प्रयोग गरेर आफ्नो रोग निको पार्छन्। अरू मानिसहरूको अगाडि, तिनीहरूले परमेश्वरमा भर पर्छु र सबै कुरा परमेश्वरको हातमा छ भन्छन्, तिनीहरू रोग वा मृत्युको डर मान्दिनँ भन्छन्; तर तिनीहरू हृदयमा अरूभन्दा बढी डराएका हुन्छन्, तिनीहरू बिरामी पर्छु कि र अस्पतालमा भर्ना हुनु पर्छ कि भनेर डराउँछन्, र तिनीहरूलाई मृत्युको अझै बढी डर हुन्छ। तिनीहरूमा बिलकुलै कुनै साँचो आस्था हुँदैन। अरूको अगाडि, तिनीहरू प्रार्थना गर्छन् र भन्छन्: “म खुसीसाथ परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन्छु। सबै कुरा परमेश्वरबाट आउँछ, र मानिसहरूले गुनासो गर्नु हुँदैन।” तर यसबीच, तिनीहरूले हृदयमा यस्तो सोचिरहेका हुन्छन्: “मैले आफ्नो कर्तव्य यति बफादारीका साथ पूरा गरेको छु, यो रोग कसरी ममाथि आइपर्यो? अनि कसरी अरू कसैलाई यो रोग लागेको छैन? के परमेश्वरले मलाई प्रकाश गर्न र यो कर्तव्य पूरा गर्नबाट रोक्न यसो गरिरहनुभएको छ? के परमेश्वरले मलाई घृणा गर्छन्? अनि यदि उनले मलाई घृणा गर्छन् भने, के म सेवाकर्ता हुँ? के परमेश्वरले मलाई सेवा प्रदान गर्नका लागि प्रयोग गर्दै छन्? के भविष्यमा मेरो कुनै परिणाम हुनेछ त?” तिनीहरूले ठूलो आवाजमा गुनासो गर्ने आँट गर्दैनन्, तर तिनीहरूको हृदयमा, परमेश्वरबारे शङ्काहरू देखा परेका हुन्छन्, र तिनीहरूले परमेश्वरले गर्नुहुने सबै कुरा सही नै हुन्छ भन्ने छैन भनी सोच्छन्। तर, बाहिरी रूपमा तिनीहरूले केही समस्या छैन जस्तो ढोँग गर्छन्, र तिनीहरूले बिरामी परे पनि यसले तिनीहरूलाई रोक्न सक्दैन, र तिनीहरूले अझै पनि आफ्नो कर्तव्य पूरा गर्न सक्छन्, र तिनीहरू समर्पित र बफादार हुन सक्छन्, तिनीहरू अझै पनि परमेश्वरप्रति आफूलाई समर्पित गर्न सक्छन् भन्ने देखाउँछन्। के यो नाटक र नक्कल गर्नु होइन र? तिनीहरूको आस्था र समर्पणता नक्कली हुन्छन्; तिनीहरूको बफादारी नक्कली हुन्छ। त्यहाँ कुनै साँचो समर्पणता हुँदैन, कुनै साँचो आस्था हुँदैन, झन् साँचो निर्भरता र आत्मसमर्पण हुनु त धेरै परको कुरा हो। तिनीहरू परमेश्वरका अभिप्रायहरूको खोजी गर्दैनन्, तिनीहरू आफ्नो भ्रष्ट स्वभाव जाँच्दैनन्, न त तिनीहरू आफ्ना समस्याहरू समाधान गर्न सत्यता नै खोज्छन्। तिनीहरूले आफ्नो हृदयमा आफ्ना देहगत हितहरू, परिणाम, र गन्तव्यबारे मात्रै विचार गर्छन्; तिनीहरूको हृदय परमेश्वरप्रतिका गुनासा, गलतफहमी र शङ्काले भरिएको हुन्छ—तैपनि बाहिरबाट, तिनीहरूले आफू कुनै आत्मिक व्यक्ति हुँ नै जस्तो देखाउँछन्, र तिनीहरूलाई चाहे जे आइपरे पनि तिनीहरू यसो भन्छन्, “परमेश्वरको असल अभिप्राय छ, त्यसैले मैले गुनासो गर्नु हुँदैन।” तिनीहरूको मुखले त गुनासो गर्दैन, तर तिनीहरूको हृदय काँपिरहेको हुन्छ: परमेश्वरप्रतिको तिनीहरूका गुनासा, गलतबुझाइ, र शङ्का तिनीहरूको हृदयमा मडारिरहेका हुन्छन्। देख्नेजति सबैका लागि, तिनीहरूले प्रायजसो परमेश्वरका वचनहरू पढ्छन् र आफ्नो कर्तव्य पूरा गर्न ढिलाइ गर्दैनन्, तर हृदयमा भने, तिनीहरूले पहिले नै आफ्नो कर्तव्य त्यागिसकेका हुन्छन्। के नक्कल गर्नु भनेको यही होइन र? नक्कल गर्नु भनेको यही हो।
अवस्था जस्तोसुकै भए पनि, ख्रीष्टविरोधीहरू जहिले पनि नक्कलमा संलग्न हुन्छन्; तिनीहरूले कुनै पनि अवसर छुटाउँदैनन्। उदाहरणका लागि, भेलाहरूमा सहभागी हुँदा, कतिपय दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई अभिवादन गर्छन्। ख्रीष्टविरोधीहरूले यसलाई कसरी लिन्छन्? तिनीहरूले भन्छन्, “गफ नगर्नुहोस्, हामी भेलामा छौँ! यस्ता कुराहरूबारे गफ गर्न तपाईँहरूलाई आफू कहाँ छु जस्तो लाग्छ? तपाईँहरूसँग परमेश्वरको डर मान्ने हृदय छैन। गम्भीर बन्नुहोस्!” कतिपय मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा विश्राम लिन्छन्, र जब ख्रीष्टविरोधीले यो कुरा देख्छ, तब उसले यसो भन्छ, “फेरि झारा टार्न थाल्नुभयो? त्यसोभए तपाईँ तुरुन्तै परमेश्वरका वचनहरू पढेर उनीसामु प्रार्थना गर्न आउनुपर्छ।” जब दाजुभाइ-दिदीबहिनीहरूले एकअर्काबाट पेसागत सीपहरू सिक्न आफ्ना दृष्टिकोणहरू आदानप्रदान गर्छन्, तब उसले यसो भन्छ, “तपाईँहरूले सुरुमा परमेश्वरका वचनहरूबारे सङ्गति गर्नुपर्छ, अनि प्रार्थना गर्नुपर्छ, र त्यसपछि चाहिँ विचार र दृष्टिकोणहरू आदानप्रदान गर्नुपर्छ।” यदि कसैले भेला सुरु हुनुभन्दा पहिले प्रार्थना गरेको छैन भने, ख्रीष्टविरोधीले उसलाई हप्काउनेछ, निश्चित प्रकारको व्यक्ति भनेर परिभाषित गर्नेछ, र उसको बारेमा केही भन्नेछ। हरेक हिसाबमा, उसले अरूलाई ऊ अत्यन्तै आत्मिक र अत्यन्तै गम्भीर छ, सत्यताप्रति अत्यन्तै निष्ठावान् छ र यसलाई पछ्याउन कठिन परिश्रम गर्छ, आफ्नो कर्तव्यमा अत्यन्तै जिम्मेवार छ, हरदिन परमेश्वरका वचनहरू नियमित रूपमा पढ्न सक्छ, उसको आत्मिक जीवन सामान्य छ, ऊ नियमित रूपमा भेलाहरूमा सहभागी हुन्छ, भेलाहरूमा सहभागी हुँदा उसले तोकिएकै तरिकाले प्रार्थना गर्छ, परमेश्वरका वचनहरू पढ्छ, र सङ्गति गर्छ, र ऊ कहिल्यै पनि गफगाफ गर्दैन वा घरका मामलाहरूबारे कुराकानी गर्दैन भन्ने कुरा देखाउँछ। यदि कसैले उसलाई, “तपाईँको कपाल लामो भएछ। तपाईँले कपाल काट्नुपर्छ। अहिले मौसम गर्मी छ, त्यसैले कपाल काट्नुभयो भने तपाईँलाई शीतल हुनेछ” भनेर भन्यो भने, उसले यस्तो जवाफ दिन्छ, “मेरो कपाल अलिक लामो हुँदैमा केही फरक पर्दैन। काम नै महत्त्वपूर्ण छ। मैले अझै केही दिन मेरो कपाल बढ्न दिँदैमा गर्मीले मलाई कुनै समस्या दिइहाल्नेछैन।” कसैले भन्छ, “तपाईँको लुगा फाटेछ। यदि तपाईँले ती लगाइरहनुभयो भने, मानिसहरू तपाईँलाई देखेर हाँस्नेछन्।” ख्रीष्टविरोधीले भन्छ, “केही फरक पर्दैन। के हामी परमेश्वरका विश्वासीहरूले अरूले हाँसोमा उडाउँछन् भनेर डर मान्छौँ र? हामी सबैले धेरै कष्ट भोगेका छौँ, र हामीले यति लामो समयदेखि ठूलो रातो अजिङ्गरको सतावट भोगेका छौँ। हामीले सांसारिक मानिसहरूद्वारा इन्कारिने मार्ग हिँडेका छौँ। त्यसकारण मेरो लुगा फाट्यो भनेर मानिसहरूले मलाई हाँसोमा उडाए भने, के नै हुन्छ र? जबसम्म परमेश्वरले मलाई स्वीकार गर्छन्, तबसम्म त्यो नै महत्त्वपूर्ण हुन्छ।” के यसो भन्नु राम्रो हो? (उसले आत्मिकताको ढोँग गरिरहेको हुन्छ।) कतिपय मानिसहरूले म प्रश्नहरू गर्छु र प्रवचनपछि सबैलाई ती कुराबारे सङ्गति गर्न लगाउँछु भन्ने देख्छन्, तर सङ्गतिमा मानिसहरूले उत्तर दिन सक्दैनन्, त्यसकारण उसले यस्तो सारांश दिन्छ: “मैले यहाँ केही नयाँ ज्योति भेट्टाएको छु। परमेश्वरले कहिल्यै पनि व्यर्थमा केही खाँदैनन्, तर हामीले त बन्दाकोबी पनि व्यर्थमा खाने गर्छौँ।” के तिमीहरूले यसभन्दा पहिले यस्तो कुरा सुनेका छौ? (छैनौँ।) उसले यसो भन्छ, परमेश्वरले कहिल्यै पनि व्यर्थमा केही खानुहुन्न, जसको अर्थ यो हुन्छ कि परमेश्वरले मानिसहरूलाई प्रवचनहरू दिनुहुन्छ, त्यसकारण उहाँले आफ्नो भोजन कमाउनुभएको हुन्छ। हामीले कुनै कुरामा पनि सङ्गति गर्न सक्दैनौँ, त्यसकारण हामीले बन्दाकोबी पनि व्यर्थमा खान्छौँ। कतिपय समझहीन मानिसहरूले यसलाई सत्यताका रूपमा लिन्छन् र जताततै यो कुरा बताउँछन्। तिनीहरूले आत्मज्ञानबारे सङ्गति गर्नु, परमेश्वरमा समर्पित हुन र उहाँलाई प्रेम गर्न खोज्नु, र मानिसहरूले प्रायजसो छलफल गर्ने यस्ता अन्य आम विषयहरूलाई आत्मिक, उच्च, वा नयाँ ज्योतिका रूपमा लिन सकिन्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरूका लागि त त्यो व्यक्तिले भनेको कुरा मात्रै नयाँ ज्योति र उत्कृष्ट कुरा हो! त्यो व्यक्तिले भनेको कुरा सही त सुनिन्छ, तर ध्यान दिएर विचार गर्दा, त्यो कुरा घृणित लाग्छ र त्यो कुरा बोल्दा हास्यास्पद सुनिन्छ। यो आत्मिक बुझाइ नभएका, तर आफू आत्मिक भएका, आफूमा सत्यताको ज्ञान भएका, र आफूले सत्यता बुझेको ढोँग गर्न चाहने मानिसहरूले बनाएको कुरा हो—के यो निरर्थक कुरा होइन र? (हो।) ऊ ठूल्ठूला र खोक्रा शब्दहरू र सिद्धान्तहरू बोल्न सिक्नमा विशेषज्ञ हुन्छ, र उसले सत्यता अभ्यास गर्ने र वास्तविकतामा प्रवेश गर्ने कार्यलाई कुनै महत्त्व दिँदैन। त्यसकारण तिनीहरू आत्मिक धर्मसिद्धान्त बोल्न सिक्नमा विशेषज्ञ हुन्छन् र तिनीहरूसँग सत्यता वास्तविकता छ कि छैन भनेर हेर्न तिनीहरूले कहिल्यै आफूलाई चिरफार गर्दैनन्—के यी मानिसहरू ढोँगीहरू होइनन् र? परमेश्वरले यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ।
जब यी तथाकथित आत्मिक मानिसहरू भेला हुन्छन्, तब तिनीहरूले दर्शनका कुराहरू गर्छन्, रहस्यहरूबारे छलफल गर्छन्, आफूलाई चिन्ने र परमेश्वरलाई चिन्नेबारे कुरा गर्छन्। तिनीहरूले बताउने कुराहरू अत्यन्तै उच्च हुन्छन् र त्यो सांसारिक कुराजस्तो सुनिँदै सुनिँदैन। तिनीहरूले कुरा गरेको गर्यै गर्छन्, कहाँको कुरा कहाँ पुर्याउँछन् र पूर्ण रूपमा अप्रासङ्गिक कुराहरू गर्छन्। “पूर्ण रूपमा अप्रासङ्गिक कुराहरू गर्छन्” भन्नुको अर्थ के हो? तिनीहरूले यति कुरा गर्छन् कि तिनीहरूले निरर्थक कुराहरू बोल्न थाल्छन्, र तिनीहरू परमेश्वरका वचनहरू कसले बढी पढेको छ र परमेश्वरका वचनहरूको कति अध्याय कसले याद गर्न र प्रचार गर्न सक्छ, अरूले भन्दा उच्च र गहन तरिकाले कसले प्रचार गर्न सक्छ, र अरूले भन्दा बढी ज्योति दिने तरिकाले कसले प्रचार गर्न सक्छ भनेर हेर्न एकअर्कासँग प्रतिस्पर्धा गर्छन्। तिनीहरूले यी कुराहरूका निम्ति प्रतिस्पर्धा गर्छन्, र यसलाई “आत्मिकतामा प्रतिस्पर्धा गर्नु” भनिन्छ। कहिलेकहीँ मानिसहरू सँगै कुराकानी गरिरहेका हुन्छन्, हालखबरबारे वा केही बाहिरी मामलाहरूबारे कुरा गरिरहेका हुन्छन्। त्यसपछि एउटा “आत्मिक व्यक्ति” आउँछ र, जब सबैले यी कुराहरूबारे कुरा गरिरहेको उसले सुन्छ, तब ऊ परमेश्वरका वचनहरूको पुस्तक लिएर पढ्नका लागि एउटा कुनामा जान्छ। के त्यस्तो व्यक्ति असामाजिक र अनौठो देखिँदैन र? जब म मुख्य विषयबारे कतिपय मानिसहरूसँग सङ्गति गर्छु, तब हामी बीचमा विश्राम लिन्छौँ र बाहिरी मामलाहरूबारे कुरा गर्छौँ—के त्यो सामान्य कुरा होइन र? त्यो कुराकानीका अवधिमा, कतिपय मानिसहरूले आवाज पनि निकाल्दैनन्। तिनीहरूको तात्पर्य के हुन्छ भने, “तिमीले सत्यता सङ्गति गर्दा म सुन्नेछु, तर गफ गर्न थाल्यौ भने म सुन्न छोड्छु। यदि तिमीले लामो समयसम्म कुरा गरिरह्यौ भने, म गइदिन्छु।” अनि तिनीहरू कहाँ जान्छन्? तिनीहरू प्रार्थना गर्ने ठाउँ खोज्न जान्छन्, र तिनीहरूले आत्मविश्वासको साथ भन्छन्, “हे परमेश्वर, कृपया मेरो हृदय फिर्ता लिइदेऊ। म तिम्रो अघि शान्त हुन्छु, मलाई गैरविश्वासी संसारका मामलाहरूमा आकर्षित हुन र फस्न नदेऊ, र मलाई सांसारिक प्रचलनहरूले बहकाएर लैजान नदेऊ।” के त्यो अत्यन्तै आत्मिक कुरा हो त? तिनीहरूले हो भन्ने विश्वास गर्छन्। जब तैँले घरका मामलाहरूबारे र तेरो स्थिति हालै कस्तो भएको छ भन्नेबारे कुरा गर्छस्, तब तिनीहरूले यो सत्यताबारे सङ्गति गर्नु होइन, र यसमा परमेश्वरका वचनहरू पटक्कै उल्लेख गरिएका छैनन् भन्ने सोच्छन्, त्यसकारण तिनीहरू त्यहाँबाट जान्छन् अनि परमेश्वरको अघि प्रार्थना गर्न जान्छन्। के त्यो अलिक अनौठो कुरा होइन र? यो त आत्मिक हुन खोज्नेहरूको नक्कल मात्र हो—तिनीहरू नक्कल गर्न कति सिपालु हुन्छन्! नक्कलमा संलग्न हुनुपछाडिको तिनीहरूको उद्देश्य भनेको अरूलाई तिनीहरू आत्मिक छन्, तिनीहरू आफ्नो पछ्याइमा गम्भीर छन्, तिनीहरू सधैँ परमेश्वरअघि जिउँछन्, तिनीहरूका शब्दहरूमा ज्योति हुन्छ, तिनीहरू सत्यता पछ्याउँछन्, तिनीहरू बाहिरी विधर्मी संसार वा पारिवारिक स्नेहको बन्धनमा छैनन्, तिनीहरूसँग त्यस्तो कुनै देहगत आवश्यकता छैन, तिनीहरू सामान्य मानिसहरूभन्दा फरक छन्, र तिनीहरूले बाहिरी संसार र त्यस्ता भद्दा हितहरू फालिसकेका छन् भन्ने कुरा देखाउनु हो। जब निश्चित मानिसहरूले गैरविश्वासीहरूसित केही शब्द बोल्छन्, तब तिनीहरूले भन्छन्, “त्यो सही होइन। यी गैरविश्वासीहरू खराब हुन्छन्। तिमीले तिनीहरूसँग कुरा गर्नेबित्तिकै र तिमी तिनीहरूको मामलामा मुछिनेबित्तिकै, तिमीलाई भित्री रूपमा बाधा महसुस हुन्छ र तिमीले पाप-स्वीकार र प्रार्थना गर्न परमेश्वरअघि झट्ट आइहाल्नुपर्छ। तिमीले तुरुन्तै परमेश्वरका वचनहरू पढ्नुपर्छ, र उनका वचनहरूले आफूलाई ओगट्नु र भर्नुपर्छ।” र त्यसैले, जब तिनीहरूले गैरविश्वासीहरू, परमेश्वरमा विश्वास नगर्ने मानिसहरूलाई देख्छन्, तब तिनीहरू उनीहरूबाट टाढा बस्छन् र उनीहरूसँग बोल्दैनन्। तिनीहरू सामान्य अन्तरक्रियामा समेत संलग्न हुँदैनन्, र मानिसहरूले तिनीहरूलाई अनौठो ठान्छन्। यसरी व्यवहार गर्ने तिनीहरूको आधार के हो भने, “गैरविश्वासीहरू सबै दियाबलसहरू हुन् र हामीले तिनीहरूसँग कुरा गर्नु हुँदैन। परमेश्वरले दियाबलसहरूलाई घृणा गर्छन्, त्यसकारण यदि हामीले दियाबलसहरूसँग सङ्गत गर्यौँ र हामी तिनीहरूको नजिक भयौँ भने, परमेश्वरले यो कुरालाई पनि घृणा गर्नेछन्। हामीले परमेश्वरले घृणा गर्ने कुरालाई घृणा गर्नुपर्छ, र परमेश्वरले इन्कार गर्ने कुरालाई इन्कार गर्नुपर्छ।” यदि तिनीहरूले कुनै दाजुभाइ वा दिदीबहिनीले गैरविश्वासी परिवारको सदस्य वा साथीसँग बोलिरहेको, मनको कुरा गरिरहेको वा घरका मामलाहरूबारे कुरा गरिरहेको देखे भने, तिनीहरूले तिनीहरूबारे राय बनाउँछन्, र यस्तो सोच्छन्, “तिनीहरू धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका अनुभवी विश्वासीहरू हुन्। तैपनि तिनीहरू गैरविश्वासीहरूबाट जोगिने प्रयास गर्दैनन्, बरु तिनीहरूसँग नजिक हुन्छन्। यो त तिनीहरूले परमेश्वरलाई विश्वासघात गरेको हो, र कुनै समस्या सामना गर्नुपर्दा त तिनीहरू अवश्यै यहूदा बन्नेछन्।” तिनीहरूले त्यस्ता मानिसहरूलाई लाञ्छना लगाउँछन्। कतिपय मानिसहरूका आमाबुबाले परमेश्वरमा विश्वास गर्दैनन्, तैपनि तिनीहरूले आफ्नो छोराछोरीले परमेश्वरमा विश्वास गरेकोमा विरोध गर्दैनन्। तिनीहरूले कहिलेकहीँ आफ्ना आमाबुबालाई फोन गरेर हालखबर सोध्छन्, वा तिनीहरू बिरामी हुँदा, तिनीहरूको हेरचाह गर्न घर फर्केर जान्छन्—यो पूर्ण रूपमा सामान्य कुरा हो र परमेश्वरले यो कुरालाई निन्दा गर्नुहुन्न। अनि यी आत्मिक मानिसहरू—यी ख्रीष्टविरोधीहरूले—चाहिँ के गर्छन्? के तिनीहरूले कामकुराहरूलाई यसरी नै हेर्छन्? तिनीहरूले यसो भन्दै यसलाई ठूलो बनाउँछन्, “तिमी सामान्यतया यति राम्रो बोल्छौ र अरूलाई आफ्नो स्नेह त्याग्न र त्यसको बन्धनमा नपर्न लगाउँछौ। तर तिम्रो आफ्नो स्नेह अझै दह्रिलो रहेछ भन्ने म देख्छु। तिम्रा आमाबुबाले परमेश्वरमा विश्वास गर्दैनन्, त्यसकारण तिमीले तिनीहरूलाई इन्कार गर्नुपर्छ।” त्यो व्यक्तिले जबाफ दिन्छ, “मेरा आमाबुबाले परमेश्वरमा विश्वास गर्दैनन् तर तिनीहरू मेरो बाटोमा खडा पनि हुँदैनन्। तिनीहरूले मलाई निकै सहयोग गर्छन्।” ख्रीष्टविरोधीले जबाफ दिन्छ, “तिनीहरूले तिमीलाई साथ दिए पनि, त्यो स्वीकार्य हुँदैन र तिनीहरू अझै पनि दियाबलसहरू नै हुन्। तिमीले कसरी अझै पनि तिनीहरूका लागि खाना पकाउन सक्छौ?” त्यो व्यक्तिले भन्छ, “के यो सामान्य मानव स्नेह होइन र? के आफ्ना आमाबुबाका लागि केही पटक खाना पकाउनु र तिनीहरूलाई केही पितृ-मातृ प्रेम देखाउनु सामान्य कुरा होइन र? परमेश्वरले यसलाई दोष दिनुहुन्न, तर पनि तपाईँले यसलाई केका लागि दोष दिइरहनुभएको छ?” ख्रीष्टविरोधीले जवाफ दिन्छ, “परमेश्वरले यस्तो सानो कुराको झमेला लिँदैनन्! परमेश्वर आफैले यो कुरामा झन्झट नलिने हुँदा, यसमा हामीले अडान लिनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ। तिमीले परमेश्वरमा विश्वास गरेको यतिको वर्ष भयो र पनि तिमीसँग कुनै समझशक्ति वा कद छैन, र तिमी दियाबलसहरूसँग यति राम्ररी व्यवहार गर्न सक्छौ—तिम्रो स्नेह अत्यन्तै दह्रिलो रहेछ!” तिनीहरूले यो कुरालाई समेत निन्दा गर्छन्! अरूले जेसुकै गरे पनि, तिनीहरूले आफूमा कद छ, आफ्नो पछ्याइमा आफू गम्भीर छु, आफूमा आस्था छ भन्ने कुरा देखाउनका लागि तिनीहरूलाई दोष दिने र जथाभाबी संज्ञा दिने गर्छन्, तर अन्त्यमा जब तिनीहरूको आफ्नै परिवारको सदस्यको मृत्यु हुन्छ, तब तिनीहरू यति धेरै दिनसम्म रुन्छन् कि, तिनीहरू ओछ्यानबाट उठ्न समेत सक्दैनन् र आफ्नो आस्था समेत त्याग्न चाहन्छन्। कसैले तिनीहरूलाई भन्छ, “के तपाईँ आत्मिक व्यक्ति हुनुहुन्न र?” तिनीहरूले जबाफ दिन्छन्, “के आत्मिक मानिसहरू पनि कमजोर हुन सक्दैनन् र? के म थोरै कमजोर हुन पाउँदिनँ र?” के यो तर्कजाल होइन र? झूटा आत्मिक मानिसहरूले ढोँग गर्न सक्छन्, र यसलाई नक्कल भनिन्छ। तिनीहरूले आफूमा कुनै पनि कमजोरी नभएको, समर्पित, परमेश्वरमा आस्था भएको र परमेश्वरप्रति बफादार, आफ्नो शपथ पूरा गर्न सक्ने, कष्ट सहन र आफैलाई खर्चन सक्ने, र मानिसहरूले अनुचित वा आदर्श नमान्ने कुनै पनि तरिकाले व्यवहार नगर्ने व्यक्ति रहेको ढोँग गर्छन्। तिनीहरूको बाहिरी व्यवहारको आधारमा मूल्याङ्कन गर्दा, मानिसहरूले तिनीहरूलाई अनुमोदन गर्छन् र तिनीहरूमा कुनै गल्ती पत्ता लगाउन सक्दैनन्, र तिनीहरू मूल रूपमा इसाई शिष्टता अनुरूपका देखिन्छन्, र तिनीहरू नकारात्मक वा कमजोर भएको समेत देखिँदैनन्। जब तिनीहरूले कसैले कमजोर र नकारात्मक महसुस गरेको देख्छन्, तब तिनीहरूले प्रायजसो तिनीहरूलाई कडाइसाथ यसो भन्दै हप्काउँछन्, “त्यस्तो सानो कुरामा कमजोर बन्नु हुन्छ—के त्यसले परमेश्वरलाई धेरै चोट पुर्याउँदैन र? के अहिले कस्तो समय हो भन्ने तिमीलाई थाहा छ? परमेश्वरले हाम्रा लागि यति धेरै वचनहरू बोलेका छन् र पनि तिमी कसरी यति कमजोर हुन सक्छौ? तिमीले कसरी परमेश्वरको हृदयलाई अलिकति पनि बुझ्न सकेको छैनौ? तिमीले जस्तोसुकै समस्या सामना गरे पनि, तिमी सधैँ प्रार्थना गर्न परमेश्वरअघि आउनुपर्छ, तिमीले परमेश्वरलाई प्रेम गर्न र उनीप्रति बफादार हुन सिक्नुपर्छ, र तिमी समर्पित हुनुपर्छ र कमजोर बन्नु हुँदैन। यदि तिमीले सधैँ आफ्नो देहलाई ख्याल गर्छौ भने, के तिमीले परमेश्वरविरुद्ध विद्रोह गरिरहेको हुँदैनौ र?” यहाँ तिनीहरूले भनेको कुनै पनि कुरामा कुनै समस्या छ जस्तो त सुनिँदैन, तर यो सबै खोक्रो हुन्छ र यसले मानिसहरूका समस्याहरू समाधान गर्न सक्दैन। तिनीहरूले भन्छन्, “के अहिले कस्तो समय हो भन्ने तिमीलाई थाहा छ?”—के मानिसहरूले कमजोर महसुस गर्नुसँग यसको कुनै सम्बन्ध हुन्छ? के विद्रोहसँग यसको कुनै सम्बन्ध हुन्छ? मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र तिनीहरू आफ्नो देहमा जिउँछन्, र मानिसहरू जहिले पनि कमजोर र विद्रोही बन्न सक्छन्।
ख्रीष्टविरोधीहरूले आत्मिक मानिसहरू, दाजुभाइ-दिदीबहिनीहरूमध्येका सबैभन्दा राम्रा मानिसहरू, र सत्यता बुझ्ने अनि कमजोर र अपरिपक्वहरूलाई सहयोग गर्न सक्ने मानिसहरूको भूमिका खेल्न चाहन्छन्। यो भूमिका निर्वाह गर्नुपछाडि तिनीहरूको उद्देश्य के हुन्छ? पहिलो, तिनीहरूले तिनीहरू देह र बाहिरी संसारपार गइसकेका छन्, र तिनीहरूले सामान्य मानवताको कमजोरीलाई फालेका छन् र आफूलाई सामान्य मानवताको देहगत आवश्यकताहरूबाट मुक्त गरेका छन् भन्ने विश्वास गर्छन्। तिनीहरूले परमेश्वरको घरमा महत्त्वपूर्ण कामहरू वहन गर्न सक्ने, परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्ने, र आफ्नो हृदय परमेश्वरका वचनहरूले भर्ने आफू नै हुँ भन्ने विश्वास गर्छन्। तिनीहरूले परमेश्वरका मागहरू पूरा गरिसकेको र परमेश्वरलाई सन्तुष्ट पारिसकेकोमा, परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न सकेकोमा, र परमेश्वरले प्रतिज्ञा गर्नुभएको सुन्दर गन्तव्य प्राप्त गर्न सकेकोमा आफूलाई तारिफ गर्छन्। त्यसकारण, तिनीहरूलाई प्रायजसो आफैप्रति अत्यन्तै गर्व लाग्छ र आफू अरूभन्दा माथि छु भन्ने लाग्छ। तिनीहरूले आफ्नो मनमा याद गर्न र बुझ्न सक्ने वचनहरू प्रयोग गरेर अरूलाई प्रवचन दिन्छन्, र अरूलाई दोषी ठहर्याउँछन् र अरूबारे फैसला सुनाउँछन्। तिनीहरूले अरूलाई सीमित गर्न र निर्देशन दिन, प्रायजसो आफ्नो धारणामा कल्पना गरेका निश्चित शैली र भनाइहरू पनि प्रयोग गर्छन्, यसरी अरू मानिसहरूलाई प्रावधानहरू कायम राख्न र तिनीहरूको पालना गर्न लगाउँछन्, ताकि तिनीहरूले मण्डलीमा आफ्नो हैसियतको सुरक्षा गर्न सकून्। तिनीहरूले के विश्वास गर्छन् भने, तिनीहरूले आत्मिक सिद्धान्तहरू प्रचार गर्न, प्रचलित नाराहरू फलाक्न, अगुवाइ गर्न, अगाडि आएर काम लिन, र मण्डलीको सामान्य सुव्यवस्था कायम राख्न सकेसम्म, तिनीहरू आत्मिक मानिसहरू हुनेछन्, र तिनीहरूको हैसियत स्थिर हुनेछ। त्यसकारण तिनीहरूले झूटा रूपमा आफूलाई आत्मिक मानिसहरू भनेर प्रस्तुत गर्छन् र आफूलाई त्यसका निम्ति तारिफ गर्छन्, र सँगसँगै तिनीहरूले झूटा रूपमा आफूलाई सर्वशक्तिमान्, पूर्ण रूपमा सक्षम, र सिद्ध मानिसहरूका रूपमा पनि प्रस्तुत गर्छन्। उदाहरणका लागि, यदि तैँले तिनीहरूलाई टाइप गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “सक्छु, टाइप गर्न मलाई गाह्रो छैन।” तैँले तिनीहरूलाई यस्तो सोधिस् भने, “के तपाईँ मेसिनहरू मर्मत गर्न सक्नुहुन्छ?” तिनीहरूले भन्छन्, “सबै मेसिनका सिद्धान्तहरू उस्तै हुन्छन्। हो, म तिनलाई मर्मत गर्न सक्छु।” तैँले सोध्छस्, “के तपाईँ ट्र्याक्टर मर्मत गर्न सक्नुहुन्छ?” तिनीहरूले भन्छन्, “के त्यो कच्चा मेसिन मर्मत गर्दैमा मेसिनहरू मर्मत गर्न सक्ने व्यक्तिका रूपमा गन्ती हुन्छ र?” तैँले तिनीहरूलाई सोध्छस्, “खाना पकाउन आउँछ?” तिनीहरूले भन्छन्, “म खाना खान्छु, त्यसकारण अवश्य नै मलाई खाना पकाउन आउँछ!” तँ सोध्छस्, “के तपाईँ विमान चलाउन सक्नुहुन्छ?” तिनीहरूले भन्छन्, “मैले कहिल्यै सिकेको त छैनँ, तर सिक्न पाएँ भने चलाउन सक्छु। म विमानको कप्तान हुन सक्छु, यसका लागि कुनै समस्या हुँदैन।” तिनीहरूले जे पनि गर्न सक्छु, सबै कुरामा सिपालु छु भन्ने सोच्छन्। अनि कसैको कम्प्युटर बिग्रिन्छ र तिनीहरूलाई बनाइदिन अनुरोध गरिन्छ। तिनीहरूले सजिलै बनाइदिन सक्छु भनेर त भन्छन्, तर वास्तवमा तिनीहरूलाई केही आउँदैन र कसरी बनाउने केही थाहा हुँदैन, र अन्त्यमा बारम्बार यसलाई बनाउने प्रयास गरेपछि, तिनीहरू कम्प्युटरमा भएको सबै कुरा डिलिट गरिदिन पुग्छन्। त्यो कम्प्युटर जसको हो उसले तिनीहरूलाई सोध्छ, “तपाईँले मर्मत गर्न सक्नुहुन्छ कि सक्नुहुन्न?” अनि तिनीहरूले भन्छन्, “मैले पहिले पनि कम्प्युटर मर्मत गरेको छु, तर अहिले मैले कसरी मर्मत गर्ने भन्ने बिर्सेछु। तिमीले यसलाई मर्मत गर्न अरू कसैलाई अनुरोध गर्दा नै राम्रो हुन्छ।” तिनीहरू ढोँग गर्न निकै सिपालु हुन्छन्, होइन र? यस्ता मानिसहरूमा प्रधान स्वर्गदूतको स्वभाव हुन्छ; तिनीहरूले कहिल्यै पनि “मलाई यो कसरी गर्ने थाहा छैन,” वा “म यो गर्न सक्दिनँ,” वा “म यो काम गर्न त्यति दक्ष छैनँ,” वा “मैले यस्तो कुरा पहिले कहिल्यै देखेको छैनँ,” वा “मलाई थाहा छैन” भनेर भन्न सक्दैनन्—तिनीहरूले कहिल्यै पनि यस्ता कुराहरू भन्न सक्दैनन्। मामला जेसुकै भए पनि, यदि तैँले तिनीहरूलाई यसबारे सोधिस् भने, तिनीहरूलाई त्यो कसरी गर्ने भन्ने थाहा नभए पनि र तिनीहरूले पहिले कहिल्यै नदेखेको भए पनि, तिनीहरूलाई अझै पनि कारण र बहानाहरू बनाउनुपर्छ ताकि तँलाई तिनीहरू सबै कुरामा दक्ष, सबै कुरा गर्न आउने, सबै कुरा गर्न जान्ने, र सबै कुरा गर्न सक्ने व्यक्ति हुन् भन्ने गलत विश्वास होस्। तिनीहरू कस्तो व्यक्ति बन्न चाहन्छन्? (महामानव, सम्पूर्ण रूपमा सक्षम मानिसहरू।) तिनीहरू सम्पूर्ण रूपमा सक्षम मानिसहरू हुन, र आफूलाई ज्योतिका स्वर्गदूतहरूका रूपमा प्रस्तुत गर्न चाहन्छन्—के तिनीहरू यस्ता छैनन् र? ख्रीष्टविरोधीहरूले सधैँ आफू सबै कुरामा दक्ष छु भन्ने ढोँग गर्न चाहने हुनाले, जब तैँले तिनीहरूलाई अरूसँग मिलेर सहकार्य गर्न, विचारहरू आदानप्रदान गर्न, छलफल गर्न, सङ्गति गर्न, र समस्याहरूबारे अरूसँग कुराकानी गर्न लगाउँछस्, तब तिनीहरूले त्यसो गर्न सक्दैनन्। तिनीहरूले भन्छन्, “मसँग कसैले सहकार्य गर्नु पर्दैन। मलाई सहयोगीको आवश्यकता छैन। मलाई केही गर्न कसैको सहयोग चाहिँदैन। म आफै गर्न सक्छु, सबै कुरा कसरी गर्ने मलाई थाहा छ, म सम्पूर्ण रूपमा सक्षम छु, र मैले गर्न नसक्ने केही छैन, र मैले हासिल गर्न नसक्ने, र पूरा गर्न नसक्ने केही छैन। म को हुँ? तिमीहरूलाई कुनै कुरा कसरी गर्ने भन्ने थाहै छैन, र त्यो कसरी गर्ने भन्ने थाहा नै भए पनि, तिमीहरू यसमा दक्ष छैनौ। मैले एउटा कुरा मात्रै गर्न सिकेको भए पनि, मलाई हरेक कुरा कसरी गर्ने भन्ने थाहा छ। यदि म एउटा कुरामा दक्ष छु भने, म हरेक कुरामा दक्ष छु। मलाई लेखहरू लेख्न आउँछ र म विदेशी भाषाहरू बोल्न सक्छु। अहिले मैले कुनै पनि विदेशी भाषा बोल्न नसक्ने भए पनि, यदि मैले अध्ययन गरेँ भने, पाँच वटा विदेशी भाषा सिक्न मलाई कुनै समस्या हुनेछैन।” कसैले तिनीहरूलाई चलचित्रमा अभिनय गर्न, गीत गाउन र नाच्न आउँछ कि आउँदैन भनेर सोध्यो भने, तिनीहरूले ती सबै कुरा गर्न सक्छु भनेर भन्छन्। तिनीहरू धाक लगाउन सिपालु हुन्छन्, होइन र? तिनीहरूले जे पनि गर्न सक्छु र हरेक कुरा कसरी गर्ने जानेको छु भन्ने ढोँग गर्छन्—तिनीहरूमा साँच्चै नै प्रधान स्वर्गदूतको प्रकृति हुन्छ! कसैले तिनीहरूलाई परमेश्वरमा विश्वास गरेको वर्षौँका अवधिमा तिनीहरू कहिल्यै कमजोर भएका छन् कि भनेर सोध्यो भने, तिनीहरूले यस्तो जबाफ दिन्छन्, “कमजोरी हुनुपर्ने कुरा के छ र? परमेश्वरका वचनहरू अत्यन्तै स्पष्ट रूपमा बोलिएका छन्। हामी कमजोर हुनु हुँदैन। यदि हामी कमजोर भयौँ भने, हामीले परमेश्वरलाई निराश तुल्याइरहेका हुन्छौँ। हामीले परमेश्वरको प्रेमको ऋण तिर्न १२० प्रतिशत प्रयास गर्नुपर्छ!” अर्को व्यक्तिले सोध्छ, “यति धेरै वर्षअघि घर छोडेर आउनुभयो, तपाईँलाई कहिल्यै घरको याद आउँदैन? घरको याद आउँदा रुनुहुन्छ?” तिनीहरूले जबाफ दिन्छन्, “किन रुने? परमेश्वर मेरो हृदयमा छन्। जब म परमेश्वरबारे सोच्छु, मलाई त्यसपछि घरको यादै आउँदैन। मेरा गैरविश्वासी परिवारका सबै सदस्यहरू दियाबलस र शैतानहरू हुन्। म त तिनीहरू श्रापित होऊन् भनेर प्रार्थना गर्छु।” अर्को व्यक्तिले तिनीहरूलाई सोध्छ, “के तपाईँको आस्थाका वर्षहरूमा कहिल्यै बाटो बिराउनुभएको छ?” तिनीहरूले जबाफ दिन्छन्, “परमेश्वरका वचनहरू निकै स्पष्ट रूपमा बोलिएका छन्, त्यसकारण व्यक्तिले कसरी बाटो बिराउन सक्छ? बाटो बिराउनेहरू त आत्मिक बुझाइ नभएका हास्यास्पद मानिसहरू हुन्। के मेरो जस्तो क्षमता भएको व्यक्तिले बाटो बिराउन सक्छ? के मैले गलत मार्ग लिन सक्छु? त्यस्तो हुनै सक्दैन।” तिनीहरूले आफू सबै कुरामा दक्ष छु, आफू अरू सबैभन्दा असल छु भन्ने विश्वास गर्छन्। नकारात्मक र कमजोर हुने मानिसहरूबारे तिनीहरूले के सोच्छन्? तिनीहरू भन्छन्, “नकारात्मक र कमजोर हुने मानिसहरूसँग गर्नका लागि त्योभन्दा राम्रो अरू केही हुँदैन।” के वास्तवमा कुरा यही हुन्छ त? केही नकारात्मकता र कमजोरीहरू सामान्य हुन्छन्, जबकि केही नकारात्मकता र कमजोरीको पछाडि कुनै कारण हुन्छ, त्यसकारण तिनीहरूले कसरी यी मानिसहरूसँग “गर्नका लागि योभन्दा राम्रो अरू केही हुँदैन” भनेर यो समस्याको व्याख्या गर्न सक्छन्? यस तरिकाले ख्रीष्टविरोधीहरूले आत्मिकताको ढोँग गर्छन्, तिनीहरूले जे पनि गर्न सक्छु भन्ने ढोँग गर्छन्, आफूसँग कुनै त्रुटि वा कमजोरी छैन भन्ने ढोँग गर्छन्, र अझै बढी रूपमा तिनीहरूले आफू विद्रोही होइन र आफूले कहिल्यै कुनै अपराध गरेका छैन भन्ने ढोँग गर्छन्।
सन्दर्भ जेसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य पूरा गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको छाप छोड्ने कोसिस गर्छ, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। वास्तवमा, उसको हृदयको गहिराइमा, के साँच्चै उसले गर्न नसक्ने केही पनि छैन भनी विश्वास गर्छ? के उसले साँच्चै ऊ कमजोरी, नकारात्मकता वा भ्रष्टताको प्रकटीकरणरहित छ भनी विश्वास गर्छ? बिलकुलै गर्दैन। ऊ अभिनय गर्न सिपालु हुन्छ, चीजहरू लुकाउन बाठो हुन्छ। ऊ मानिसहरूलाई आफ्नो सबल र सानदार पक्ष देखाउन मन पराउँछ; ऊ आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैन। सरल शब्दमा भन्नुपर्दा, यो आफ्नो आडम्बर र गौरवलाई बचाइराख्नु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। यदि उसले आफ्नो नकारात्मकता र कमजोरीहरू अरूको अगाडि प्रकट गऱ्यो भने, यदि उसले आफ्नो विद्रोही र भ्रष्ट पक्ष प्रकाश गऱ्यो भने, त्यसले उसको हैसियत र प्रतिष्ठालाई गम्भीर क्षति गर्नेछ—फाइदाभन्दा बेफाइदा बढी हुनेछ भनी सोच्छ। त्यसैले ऊ आफू कमजोर, विद्रोही, र नकारात्मक भएको स्विकार्नुभन्दा मर्न तयार हुन्छ। अनि, यदि कुनै दिन सबैले उसको कमजोर र विद्रोही पक्ष देखे भने, र आफू भ्रष्ट भएको, र अलिकति पनि नबदलिएको देखे भने, उसले अभिनय गर्न जारी राख्नेछ। यदि उसले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण व्यक्ति, जो नगण्य भएको स्वीकार गरे मानिसहरूका हृदयमा आफ्नो स्थान गुमाउनेछ, सबैको आराधना र श्रद्धा गुमाउनेछ, र यसरी पूर्ण रूपमा असफल हुनेछ भनी सोच्छ। त्यसैले, जे भए पनि, ऊ मानिसहरूको सामु खुलस्त हुँदैन; चाहे जे भए पनि, उसले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिँदैन; बरु, प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्छ, र कहिल्यै हार मान्दैन। जबजब उसले समस्या सामना गर्छ, तबतब अग्रसरता लिएर आफूलाई सबैको अघि प्रस्तुत गर्छ र आफूलाई देखाउँछ र प्रदर्शन गर्छ। समस्या आइपर्दा र दुष्परिणामहरू देखा पर्दा, ऊ हतार-हतार लुक्छ वा अरू कसैको काँधमा जिम्मेवारी थोपर्ने प्रयास गर्छ। यदि उसले आफूले बुझेको समस्या सामना गऱ्यो भने, आफूले गर्न सक्ने कुराको धाक देखाउँछ र त्यो अरूलाई थाहा दिने मौका छोपिहाल्छ, ताकि मानिसहरूले ऊसँग वरदान र विशेष सीप छन् भन्ने देखून् र उसलाई आदर र आराधना गर्न सकून्। यदि कुनै ठूलो घटना घट्यो भने, र कसैले उसलाई त्यो घटनाको बुझाइबारे सोध्यो भने, उसले आफ्नो दृष्टिकोण खुलासा गर्न चाहँदैन, बरु अरूलाई नै सुरुमा बोल्न लगाउँछ। उसले बोल्न नचाहनुका कारणहरू हुन्छन्: ऊसँग कुनै दृष्टिकोण नभएर भन्दा पनि, उसलाई आफ्नो दृष्टिकोण गलत होला कि, यो कुरा ठूलो स्वरमा बताए भने, अरूले यसलाई खण्डन गर्लान् कि, जसले गर्दा ऊ लज्जित हुनुपर्ला कि भन्ने ऊ डराएर यो कुरा भन्दैन; कि त ऊसँग कुनै दृष्टिकोण नै हुँदैन, र स्पष्ट रूपमा मामला बुझ्न नसकेको हुनाले, मानिसहरू उसको गल्तीमा हाँस्लान् भन्ने डरले स्वेच्छाले बोल्ने आँट गर्दैन—त्यसकारण चुपचाप बस्नु नै उसको एउटै मात्र विकल्प हुन्छ। छोटकरीमा भन्दा, ऊ आफ्नो दृष्टिकोण खुलेर व्यक्त गर्न तयार हुँदैन, किनभने उसलाई आफ्नो वास्तविकता खुलासा होला, ऊ दरिद्र र दयनीय छ भनेर मानिसहरूले देख्लान्, र यसरी अरूमा भएको उसको छविमा असर पर्ला भन्ने डर हुन्छ। त्यसकारण, अरू सबैले आफ्नो दृष्टिकोण, विचार, र ज्ञानबारे सङ्गति गरिसकेपछि, उसले केही उच्च र बलियो दाबीहरूलाई आफ्नो बनाउँछ, जसलाई उसले आफ्नै दृष्टिकोण र बुझाइको रूपमा प्रस्तुत गर्छ। उसले ती कुरालाई सारांशित गर्छ र सबैलाई तीबारे सङ्गति दिन्छ, र यसरी उसले अरूको हृदयमा उच्च हैसियत प्राप्त गर्छ। ख्रीष्टविरोधीहरू अत्यन्तै धूर्त हुन्छन्: जब दृष्टिकोण व्यक्त गर्ने समय हुन्छ, तब तिनीहरूले हृदय खोलेर अरूसामु आफ्नो साँचो स्थिति खुलस्त पार्ने, वा तिनीहरूले वास्तवमा के सोच्छन्, तिनीहरूको क्षमता कस्तो छ, तिनीहरूको मानवता कस्तो छ, तिनीहरूको बुझ्ने शक्ति कस्तो छ, र तिनीहरूसँग सत्यताको साँचो ज्ञान छ कि छैन भनी मानिसहरूलाई बताउने गर्दैनन्। र त्यसकारण, आत्मिक, र सिद्ध व्यक्ति भएको धाक देखाउने र ढोँग गर्ने क्रममा, तिनीहरूले आफ्नो साँचो अनुहार र साँचो कद लुकाउन सक्दो गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको बीचमा कहिल्यै पनि आफ्ना कमजोरीहरू प्रकाश गर्दैनन्, न त तिनीहरूले आफ्ना कमी र कमजोरीहरू पहिचान गर्ने प्रयास नै गर्छन्; बरु, तिनीहरूले यी कुराहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्छन्। मानिसहरूले तिनीहरूलाई सोध्छन्, “तिमीले परमेश्वरमा यति धेरै वर्ष विश्वास गरेका छौ, के परमेश्वरलाई तिमीले कहिल्यै शङ्का गरेका छौ?” तिनीहरूले उत्तर दिन्छन्, “छैन।” तिनीहरूलाई सोधिन्छ, “परमेश्वरका लागि आफूलाई समर्पित गर्दा सबै कुरा त्यागेकोमा के तिमीलाई कहिल्यै पछुतो लागेको छ?” तिनीहरूले उत्तर दिन्छन्, “छैन।” “तिमी बिरामी हुँदा, के तिमी बेचैन भयौ र तिमीलाई घरको याद आयो?” अनि तिनीहरूले उत्तर दिन्छन्, “कहिल्यै याद आएन।” हेर् त, ख्रीष्टविरोधीहरूले आफूलाई अटल, दृढ इच्छाशक्ति भएको, अनि त्याग गर्न र कष्ट भोग्न सक्ने व्यक्तिका रूपमा, कमजोरी नै नभएको र कुनै दोष वा समस्या नभएको व्यक्तिका रूपमा प्रस्तुत गर्छन्। यदि कसैले तिनीहरूको भ्रष्टता र कमीकमजोरीलाई औँल्याइदियो, तिनीहरूलाई सामान्य दाजुभाइ-दिदीबहिनीहरूका रूपमा, समान व्यवहार गर्यो, र खुलस्त भएर तिनीहरूसँग सङ्गति गर्यो भने, तिनीहरूले यस मामलालाई कसरी लिन्छन्? आफूलाई निर्दोष र जायज तुल्याउन, आफू सही छु भनी प्रमाणित गर्न, र अन्त्यमा मानिसहरूलाई तिनीहरूमा कुनै समस्या छैन, र तिनीहरू सिद्ध, आत्मिक मानिसहरू हुन् भनी देख्ने तुल्याउनका लागि सक्दो गर्छन्। के यो सबै ढोँग मात्रै होइन र? आफूलाई त्रुटिरहित र पवित्र ठान्ने सबै मानिसहरू ढोँगी हुन्। म किन तिनीहरू सबै ढोँगी हुन् भनी भन्छु? मलाई भन्, के भ्रष्ट मानवजातिको बीचमा कुनै त्रुटिरहित मानिस छ? के साँचो रूपमा पवित्र कुनै व्यक्ति छ? (छैन।) पक्कै छैन। जब शैतानद्वारा मानिस यति गहन रूपमा भ्रष्ट तुल्याइएको छ र जन्मजात रूपमै ऊसँग सत्यता छैन भने, उसले कसरी त्रुटिरहितता हासिल गर्न सक्छ? परमेश्वर मात्रै पवित्र हुनुहुन्छ; सारा भ्रष्ट मानवजाति दूषित छ। यदि कुनै व्यक्तिले आफूमा कुनै त्रुटि छैन भन्दै पवित्र व्यक्तिको नक्कल गर्छ भने, त्यो व्यक्ति के हुनेथियो? ऊ दियाबलस, शैतान, र प्रधान स्वर्गदूत हुनेथियो—ऊ खाँटी ख्रीष्टविरोधी हुनेथियो। ख्रीष्टविरोधीले मात्रै त्यसरी त्रुटिरहित र पवित्र व्यक्ति हुँ भनेर दाबी गर्न सक्छ। के ख्रीष्टविरोधीहरूले आफूलाई चिनेका हुन्छन् त? (हुँदैनन्।) अनि तिनीहरूले आफूलाई नचिनेका हुनाले, के तिनीहरूले आफ्नो आत्मज्ञानबारे सङ्गति गर्नेछन्? (गर्नेछैनन्।) के आफ्नो आत्मज्ञानबारे सङ्गति गर्ने ख्रीष्टविरोधीहरू हुन्छन्? (हुन्छन्।) कस्तो प्रकारका मानिसहरूले यसो गर्छन्? (ढोँगीहरूले।) ठीक भन्यौ। यी मानिसहरूले आफूलाई चिनेको ढोँग गर्छन्, र तिललाई पहाड बनाउँछन् र आफूलाई शैतान र पिशाचहरू भनेर धेरै ठूला नाम दिन्छन्, र आफूसँग गहन आत्मज्ञान छ भन्ने ढोँग गर्छन्। तिनीहरू झूटा रूपमा आत्मिक मानिसहरू हुन्, होइन र? के तिनीहरू ढोँगीहरू होइनन् र? जब तिनीहरूले आफ्नो आत्मज्ञानबारे सङ्गति गर्छन्, तब के तिनीहरूले साँच्चै आफूलाई चिन्छन् त? (चिन्दैनन्।) त्यसोभए तिनीहरूले आफ्नो आत्मज्ञानबारे के भन्छन्? (जब ख्रीष्टविरोधीहरूले आफ्नो आत्मज्ञानबारे कुरा गर्छन्, तब तिनीहरूले आफ्नो वास्तविक अवस्थाको कुरा गर्दैनन्, तिनीहरूले खोक्रा शब्दहरू र धर्मसिद्धान्तका शब्दहरू मात्रै बोल्छन्, जुन बिलकुलै व्यावहारिक हुँदैनन्; तिनीहरूसँग अत्यन्तै गहन ज्ञान भएजस्तो देखिन्छ, तर तिनीहरूमा कुनै पछुतोको कुनै लक्षण हुँदैन।) के यो आफ्नो बारेमा रहेको वास्तविक ज्ञान हो त? यसमा कुनै साँचो पछुतो हुँदैन, त्यसकारण के तिनीहरूले आफूलाई घृणा गर्ने प्रभाव हासिल गरेका हुन्छन् त? जब कुनै पछुतो र कुनै आत्मघृणा हुँदैन, तब तिनीहरूले आफूलाई साँचो रूपमा चिनेका हुँदैनन्। ख्रीष्टविरोधीहरूले बोल्ने आत्मज्ञानमा तिनीहरूबारे सबैलाई थाहा भएका, र सबैले देखेका कुराहरू मात्रै हुन्छन्। तिनीहरूले कुनै गलत काम गरेका छैनन्, र पनि आत्मज्ञानबारे कुरा गर्न सक्छन् भन्ने सबैलाई महसुस गराउनका लागि शब्दजाल प्रयोग गर्दै आफूलाई जायज पुष्टि गर्छन्, ताकि मानिसहरूले तिनीहरूलाई अझै बढी उच्च मानून्। तिनीहरूले कुनै गल्ती गरेका छैनन् र पनि आत्मचिन्तन गरिरहेका छन् र आफूलाई चिन्ने प्रयास गरिरहेका छन् भन्ने देखेर, मानिसहरूले यस्तो सोच्छन्, “यदि उसले साँच्चै नै कुनै गल्ती गर्यो भने, उसले आफूलाई चिन्ने सम्भावना अझै बढी हुन्छ। ऊ कति भक्त छ!” ख्रीष्टविरोधीले यसो गर्नुको परिणाम के हुन्छ? उसले मानिसहरूलाई बहकाउँछ। अरूले पाठ सिकून् भनेर तिनीहरूले साँचो रूपमा आफ्नो भ्रष्ट स्वभाव चिरफार गर्ने वा बुझ्ने गर्दैनन्; बरु, तिनीहरूलाई अरूले अझै बढी उच्च मानून् भनेर आफ्नो आत्मज्ञानबारे सङ्गति गर्छन्। यो कार्यको प्रकृति के हो? (मानिसहरूलाई बहकाउन आफ्नै गवाही दिनु।) ठीक भन्यौ। तिनीहरूले मानिसहरूलाई बहकाइरहेका हुन्छन्। यो कसरी आफूलाई चिन्नु भयो र? यो सरासर छल हो। तिनीहरूले आफ्नो आत्मज्ञानबारे बोल्नेकुरालाई मानिसहरूलाई बहकाउन, तिनीहरू आत्मिक छन्, र तिनीहरूले आफूलाई चिनेका छन् भनेर सोच्न लगाउन, मानिसहरूलाई तिनीहरूलाई उच्च मान्न र तिनीहरूलाई आराधना गर्न लगाउनका लागि प्रयोग गरिरहेका हुन्छन्। यो घृणित र घिनलाग्दो अभ्यास हो—र यो ख्रीष्टविरोधीहरूको दुष्टता हो।
मण्डलीमा कर्तव्य निर्वाह गरिरहेका कतिपय मानिसहरू प्राविधिक रूपमा कठिन रहेका काम लिन स्पष्ट रूपमा असक्षम हुन्छन्, तैपनि तिनीहरू त्यही समूहमा रहन जिद्दी गर्छन्। तिनीहरूले यससँग सम्बन्धित पेसागत सीप आफूले पहिले नै सिकेको छु, आफूले यो विशेषज्ञता बुझेको छु, र आफूलाई यो काम गर्न आउँछ भन्ने विश्वास गर्छन्, त्यसकारण तिनीहरू यो काम लिन जिद्दी गर्छन्। तिनीहरूले सत्यता बुझ्दैनन्, र त्यसमाथि, सत्यता नबुझेका कारणले तिनीहरूले अरूसँग सङ्गति वा काम गर्ने गर्दैनन्, झन् तिनीहरूले सत्यता सिद्धान्तहरू खोज्नु त धेरै परको कुरा हो, तिनीहरूले यसबारे बुझेको र जानेको जिद्दी गर्छन्। त्यसोभए, एकातिर पेसागत सीप जान्नु र काम कसरी गर्ने भन्ने थाहा हुनु, र अर्कोतिर सत्यता सिद्धान्तहरू बुझ्नुबीच के भिन्नता छ? पेसागत सीप र काम कसरी गर्ने भन्ने थाहा हुनुको अर्थ, व्यक्तिले सत्यता सिद्धान्तहरू बुझ्छ भन्ने हुन्छ? (हुँदैन।) कुनै आत्मिक बुझाइ नभएका यी मानिसहरूले पेसागत सीप जान्नु भनेको सत्यता सिद्धान्तहरू बुझ्नु हो भन्ने विश्वास गर्छन्, त्यसकारण तिनीहरूले पूर्ण साहसका साथ कार्य गर्न अग्रसरता जनाउने, कसैको कुरा नसुन्ने, र परमेश्वरको घरका नियमहरूअनुसार कार्य नगर्ने दुस्साहस गर्छन्। तिनीहरूले के विश्वास गर्छन् भने, यो तिनीहरूको आफ्नो मामला हो र यसमा अरू कसैले पनि हस्तक्षेप गर्न वा यसबारे कसैले सोध्न पाउँदैन—यो कार्य तिनीहरूले जस्तो गर्यो त्यस्तै हुनेछ, र तिनीहरूले जे गर्छन् त्यसैलाई नै मानकका रूपमा लिइन्छ। के ख्रीष्टविरोधीहरूले यसरी नै व्यवहार गर्दैनन् र? के यो गम्भीर समस्या होइन र? यदि व्यक्तिले पेसागत सीप मात्रै जानेको हुन्छ र सत्यता बुझेको हुँदैन भने, तिनीहरूले कर्तव्य निर्वाह गर्दा के-कस्ता परिणामहरू आउनेछन्? (तिनीहरूले मण्डलीको काममा बाधा ल्याउनेछन्।) बाधा मात्रै? के तिनीहरू अहङ्कारी र अभिमानी बन्नेछैनन् र? के तिनीहरूले परमेश्वरलाई लज्जित पार्ने कुराहरू गर्नेछैनन् र? (गर्नेछन्।) कर्तव्य निर्वाह गरेर, तैँले हासिल गर्नुपर्ने प्रभाव भनेको परमेश्वरको गवाही दिनु हो; तँ विशुद्ध रूपमा कुनै पेसामा मात्रै संलग्न हुँदैनस्, बरु तैँले कर्तव्य निर्वाहमार्फत परमेश्वरको गवाही दिने प्रभाव हासिल गर्छस्, र त्यसकारण त्यो पेसागत सीप तैँले निर्वाह गरिरहेको कर्तव्यको सेवामा मात्रै रहेको हुन्छ। पेसागत सीप सत्यताको प्रतिनिधित्व होइन, र पेसागत सीपमा दक्ष हुनुको अर्थ तैँले सत्यता बुझ्छस् वा तैँले सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्न सक्छस् भन्ने हुँदैन। कतिपय मानिसहरूले यसो भन्दै यसको विरोध गर्छन्, “म परमेश्वरको घरमा आएँ, मलाई यो पेसागत सीप थाहा छ, यसमा कसरी काम गर्ने मलाई थाहा छ, त्यसकारण परमेश्वरको घरले मलाई महत्त्वपूर्ण कार्यहरू दिनुपर्छ र मलाई उच्च मान्नुपर्छ। यसले मलाई लज्जित पार्नु वा मेरो पेसागत सीपको दायराभित्र पर्ने कुनै पनि कुरामा हात लाउनु हुँदैन। अरूलाई सिकाउने व्यक्ति म नै हुनुपर्छ। परमेश्वरको घरले मसँग सहकार्य गर्नको लागि काम गर्न नआउने मानिसहरूलाई काममा लगाउनु हुँदैन। यी मानिसहरू मसँग सहकार्य गर्न लायक छैनन्।” के यो सोच्ने सही तरिका हो त? (होइन।) अरू मानिसहरू तिनीहरूसँग सहकार्य गर्न लायक हुँदैनन्—के ख्रीष्टविरोधीले यसरी नै सोच्दैन र? यदि परमेश्वरको घरमा तँसँग सहकार्य गर्न लायक कोही छैन भने, के तँचाहिँ यो कर्तव्य निर्वाह गर्न लायक छस् त? तैँले आफूलाई को हुँ भन्ठान्छस्? के तँलाई सिद्ध पारिएको छ र? तँ यो कर्तव्य निर्वाह गर्न लायक छैनस्! परमेश्वरले तँलाई उत्थान गर्नुभएकोले मात्रै तैँले यो कर्तव्य निर्वाह गर्ने मौका पाएको होस्। तैँले कर्तव्य निर्वाह गर्ने सिद्धान्तहरू बुझ्नुपर्छ। तैँले अहिले परमेश्वरको गवाही दिइरहेको छस्, तँ कुनै पेसामा संलग्न भइरहेको छैनस्। तैँले जानेको त्यो थोरै पेसागत सीपलाई त सेवा प्रदान गराउनका लागि र यो कर्तव्यको सेवामा लगाउनका लागि मात्रै प्रयोग गरिन्छ। त्यसकारण, तैँले निर्वाह गर्ने कर्तव्य प्राविधिक रूपमा जति नै कठिन भए पनि, तैँले परमेश्वरको गवाही दिने प्रभाव हासिल गर्न सक्ने बन्नका लागि यसको हरेक भागमा सधैँ सत्यता सिद्धान्तहरूमा ध्यान दिनुपर्छ। यदि तैँले यो प्रभाव हासिल गर्न सक्दैनस् र तैँले निर्वाह गर्ने कर्तव्यले परमेश्वरलाई लज्जित पार्छ भने, तेरा प्राविधिक क्षमताको के काम हुनेछ र? के तिनको कुनै मूल्य हुनेछ र? अहँ, हुनेछैन। त्यसकारण, त्यो थोरै पेसागत सीप र प्राविधिक क्षमतालाई सत्यताका रूपमा नलिई—ती सत्यता होइनन् र ती कदर गरिन लायक हुँदैनन्। यदि परमेश्वरको घरले तँलाई प्रयोग नगरेको भए, यदि परमेश्वरले तँलाई नउठाउनुभएको भए, तेरो त्यो थोरै पेसागत सीप र प्राविधिक क्षमता व्यर्थ हुनेथ्यो। सत्यताका तुलनामा, ती कुराहरूको मूल्य एक पैसाको पनि हुँदैन!
ख्रीष्टविरोधीहरूको छलपूर्ण ढोँग मानिसहरूको हृदयमा स्थान पाउनका लागि तिनीहरूले प्रयोग गर्ने माध्यम हो भनेर भन्न सकिन्छ—तिनीहरूले मानिसहरूलाई बहकाउन र गलत मार्गनिर्देशन गर्नका लागि ढोँगका माध्यमहरू प्रयोग गर्छन्। यी मानिसहरूले ढोँग गर्न सक्छन् भन्ने कुराले तिनीहरूले आधारभूत रूपमा सत्यता स्वीकार गर्दैनन् वा मान्दैनन् भन्ने देखाउने मात्र होइन, बरु एउटा अझै वास्तविक व्याख्यासमेत यी मानिसहरूमा लागू गर्न सकिन्छ: तिनीहरूसँग कुनै आत्मिक बुझाइ हुँदैन। “तिनीहरूसँग कुनै आत्मिक बुझाइ हुँदैन” भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले परमेश्वरका वचनहरू वा सत्यता बुझ्दैनन्। अनि तिनीहरूले सत्यता नबुझ्ने हुनाले, परमेश्वरले कस्तो प्रकारका मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने तिनीहरूलाई थाहै हुँदैन, त्यसकारण तिनीहरूले यस्तो आत्मिक व्यक्तिको कल्पना गर्छन्, र त्यसपछि तिनीहरू नक्कल र ढोँगमा संलग्न हुन्छन्। तिनीहरूले यस्तो व्यक्तिले जस्तै व्यवहार गर्छन्, र त्यसो गर्दा मात्र तिनीहरूलाई परमेश्वर र अरूले मन पराउँछन् भन्ने विश्वास गर्छन्। वास्तवमा, यसको विपरीत भइदिन्छ, किनभने परमेश्वरले घृणा र निन्दा गर्नुहुने मानिसहरू ठ्याक्कै यस्तै मानिसहरू हुन्। त्यसकारण यस्तो व्यक्ति नबन्। यदि तँ पनि यस्तै व्यक्ति बन्न चाहन्छस् भने, यदि तँ यसरी प्रायजसो नक्कल र ढोँगमा संलग्न हुन्छस्, र यसरी मानिसहरूलाई बहकाउँछस् भने, तैँले ख्रीष्टविरोधीको मार्ग पछ्याइरहेको हुन्छस्। तैँले यसो भन्न सिक्नुपर्छ, “ममा कमजोरी छ, ममा नकारात्मकता छ, ममा भ्रष्ट स्वभावहरू छन्। म साधारण व्यक्ति हुँ, म कुनै विशेष व्यक्ति होइनँ। मैले नबुझ्ने र गर्न नजान्ने कुराहरू धेरै छन्। म बारम्बार कमजोर हुन्छु र शैतानको बहकाउमा पर्छु जसले गर्दा म शैतानको परीक्षामा पर्छु। प्राविधिक सीपहरू अध्ययन गर्ने विषयमा भन्दा, म बढीमा एक-दुई वटा सीपहरूमा निपुण हुन सक्छु, र मैले ती साधारण स्तरमा मात्र सिक्न सक्छु। मलाई यो थोरै पेसागत सीप थाहा छ, र मसँग यो थोरै विशेष सीप छ। म साधारण व्यक्ति हुँ, म उच्च क्षमता भएको व्यक्ति होइनँ, र मेरो बोधक्षमता पनि ठिकठिकै छ। सत्यताका हिसाबमा भन्दा, म सङ्गतिमा परमेश्वरले दिनुभएका कुराहरूजति मात्रै बुझ्छु। परमेश्वरले उदाङ्गो नपार्नुभएका वा स्पष्ट रूपमा व्याख्या नगर्नुभएका कुनै कुरा म बुझ्न सक्दिनँ, र मेरो क्षमता ठीकठीकै मात्र छ। दाजुभाइ-दिदीबहिनीहरूले मलाई मण्डली अगुवा वा टोली अगुवाका रूपमा छनौट गर्छन्, र यो परमेश्वरले मलाई उत्थान गर्नुभएको हो, र म अरूभन्दा असल भएकोले होइन। मसँग घमन्ड गर्ने केही छैन।” के तिमीहरूले यस्तो कुरा भन्न सक्छौ? के तिमीहरूले कहिल्यै यस्तो कुरा भनेका छौ? के तैँले हृदयमा यस्तो तरिकाले विचार गर्छस्? यदि तँलाई सधैँ हृदयमा तँ महान्, असाधारण, अरूभन्दा माथि रहेको, लाखौँमा एक भएको, जुनसुकै समूहमा भए पनि तँ विशेष, र उत्कृष्ट रहेको महसुस हुन्छ भने, तैँले एक-दुई महिना मानिसहरूको समूहमा बिताएमा, तेरा विशेष सीप, प्रतिभा, क्षमता, र बोधक्षमता सबैले देख्न सक्छन् र ती साधारण मानिसहरूको भन्दा राम्रा छन् भनेर थाहा पाउन सक्छन् भन्ने लाग्छ भने—यदि तैँले सधैँ यसरी आफ्नो हृदयमा आफूलाई मापन गर्छस् र स्थान दिन्छस् भने, तँ ठूलो खतरामा र धेरै समस्यामा हुन्छस्।
सारा मानवजातिमाझ सत्यतालाई साँचो रूपमा बुझ्न सक्ने मानिसहरू अत्यन्तै थोरै हुन्छन्, कुनै पनि सिद्ध मानिसहरू हुनु वा सबै कुरा गर्न सक्ने मानिसहरू हुनु त झन् परको कुरा हो—सबै जना साधारण मानिसहरू नै हुन्छन्। कतिपय मानिसहरूले आफू साधारण व्यक्ति होइनँ भन्ने सोच्छन्, त्यसोभए यो विचार कसरी आउँछ? तिनीहरू कुनै कुरामा दक्ष भएको तथ्यबाट यो कुरा आएको हुन्छ; कति जना गायनमा, कति जना अभिनयमा, कति जना प्राविधिक सीपमा, कति जना शारीरिक श्रममा, कति जना सामाजिक अन्तरक्रियामा, कति जना राजनीतिमा, कति जना व्यापार, र आदि इत्यादि कुरामा दक्ष हुन्छन्। यीमध्ये कुनै पनि कुरासँग सत्यताको कुनै सम्बन्ध हुँदैन, तैपनि तिनले प्रायजसो तँलाई गलत बुझाइ प्रदान गर्छन् र तँ अरूभन्दा माथि छस् भनेर गलत रूपमा सोच्न लगाउँछन्। यी कुराहरूले तँलाई अरूभन्दा माथि छस् भनेर गलत रूपमा सोच्ने बनाउनु किन गलत हो? तँ दक्ष रहेका यी कुराहरू र यो तथाकथित “अरूभन्दा माथि उठ्नु” को अर्थ तैँले सत्यता बुझ्न सक्छस्, सत्यता बुझ्नमा तैँले साधारण मानिसहरूलाई उछिन्न सक्छस्, वा परमेश्वरको मुक्ति र सिद्ध पारिने कार्य पछ्याउने सन्दर्भमा तैँले अनुकूल सर्तहरू पूरा गरेको छस् भन्ने हुँदैन—तिनको अर्थ यी कुराहरू हुँदैनन्। यो मामला तिमीहरूले स्पष्ट रूपमा पहिचान गर्नुपर्छ! परमेश्वरले आफ्ना वचनहरू बोल्न र आफ्नो काम गर्न सुरु गर्नुभएको समयदेखि अहिलेसम्म, उहाँले अनगिन्ती वचनहरू बोल्नुभएको छ र अनगिन्ती कामहरू गर्नुभएको छ, तर पनि के सारा भ्रष्ट मानवजातिमध्येबाट एउटा व्यक्तिले समेत उहाँ सृष्टिकर्ता हुनुहुन्छ र उहाँले बोल्नुहुने वचनहरू सत्यता हुन् भन्ने कुरा परमेश्वरका वाणीहरूबाट देखेको छ र? के एउटा व्यक्तिले समेत परमेश्वरका वचनहरूमा उहाँको पहिचान र हैसियत देख्न र परमेश्वरको पहिचान र हैसियतको गवाही दिन खडा हुन सक्छ र? एक जनाले पनि सक्दैन! यो तथ्यले के प्रमाणित गर्छ भने, सारा मानवजातिको क्षमता, दिमाग, र धारणाका हिसाबमा भन्नुपर्दा, तिनीहरूले सत्यता बुझ्नका लागि आवश्यक पर्ने सर्तहरू पूरा गर्दैनन्, सबै मानवजातिमा शैतानको भ्रष्ट स्वभाव हुन्छ भन्ने तथ्यलाई त उल्लेख नै नगरौँ। कतिपय मानिसहरूले भन्छन्, “यदि हामी सत्यता बुझ्ने आवश्यक सर्तहरू पूरा गर्दैनौँ भने, अहिले हामीले कसरी अलिकति सत्यता बुझेका छौँ त?” के मैले यसबारे अति धेरै कुरा बताएकोले होइन र? मैले यति धेरै कुरा बोलेको छु कि मलाई बोल्नसमेत मन लाग्दैन र म बोल्दा-बोल्दा दिक्क भएको छु। जबजब म तिमीहरूसँग बोल्छु र सङ्गति गर्छु, तबतब मैले विषयहरूलाई मुख्य विषयहरू, मध्य विषयहरू, र उपविषयहरूमा विभाजित गरेर, निरन्तर विस्तृत रूपमा कुराहरूको व्याख्या गर्नुपर्छ, र पनि तिमीहरूले बुझ्दैनौ, त्यसकारण तिमीहरूको क्षमता कस्तो होला त? कतिपय मानिसहरू त अझै पनि अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुन्छन्, तर तँसँग अहङ्कारी हुनका लागि के नै छ र? मलाई थाहा छ, तिमीहरूमध्ये धेरैजसोमा कुनै पनि प्रशंसनीय कुरा छैन। यति धेरै वर्षदेखि प्राविधिक काम गरिसकेपछि, तिमीहरूमध्ये कति जनाले साँचो रूपमा सत्यता सिद्धान्तहरू बुझ्छौ, सत्यता सिद्धान्तहरू पछ्याउन सक्छौ, र सत्यता सिद्धान्तहरू अनुसार आफ्ना कार्य गर्न सक्छौ? तिमीहरूले कुनै पनि कार्य राम्ररी गर्दैनौ, चाहे त्यो काम जेसुकै होस्, र सधैँ कामकुराहरू कसरी गर्ने भनेर माथिले तिमीहरूले व्यक्तिगत रूपमा निर्देशन दिनुपर्छ। यदि दिएनन् भने, केही पनि सही हुँदैन, र यदि माथिले फलोअप नगरी र कसरी गर्ने भनेर निर्देशन नदिई कुनै काम अघि बढ्यो भने, समस्याहरू देखा पर्छन्। मलाई भन् त, के त्यस्ता मानिसहरूमा घमन्ड गर्ने कुनै कुरा हुन्छ? अहँ, हुँदैन, तैपनि तिनीहरूले हरेक हिसाबमा म सिद्ध छु, आत्मिक छु, महान् छु, र सर्वोच्च मानिस हुँ भनेर ढोँग गर्छन्—के तिनीहरू लाज पचेका मानिसहरू होइनन् र? तिमीहरू साँच्चै नै झन्झटिला छौ! मैले जुनसुकै विषय सङ्गति गरे पनि, मैले यसलाई विस्तृत रूपमा सङ्गति गर्नुपर्छ, जति विस्तृत रूपमा सङ्गति गर्यो त्यति राम्रो हुन्छ। कुनै कुरालाई अलिक सरल रूपमा व्याख्या गरेर हुँदैन। मानिसहरूको क्षमता र थोरै बोधक्षमता यस्तै हुन्छ; तिनीहरू चरम रूपमा दयनीय हुन्छन् र पनि तिनीहरूले अझै आफू महान् छु भन्ने विश्वास गर्छन्। म यो पक्षबारे मेरो सङ्गति यहीँ समाप्त गर्छु।
(३) सबैमाथि हाबी भएर
अब हामी तेस्रो पक्ष: सबैमाथि हाबी भएर भन्नेबारे सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूले चाहे जे गरे पनि, तिनीहरू सधैँ सबैमाथि हाबी हुन चाहन्छन्—तिनीहरूको प्रकृतिको सबैभन्दा प्रमुख प्रकटीकरण यही हो। जब कोही सबैमाथि हाबी हुन चाहन्छ, तब यो समस्या अत्यन्तै गम्भीर हुन्छ, र त्यस्ता सबै मानिसहरू वास्तविक ख्रीष्टविरोधीहरू हुन्। “सबैमाथि हाबी हुनु” को अर्थ के हो? ख्रीष्टविरोधीहरूसँग शैतान, अर्थात् प्रधान स्वर्गदूतको सार हुन्छ; तिनीहरू जन्मजात रूपमै सामान्य वा साधारण मानिसहरू बन्न अनिच्छुक हुन्छन्। यदि तिनीहरूलाई साधारण मानिसहरू बन्न, साधारण जीवन जिउन लगाइयो भने, तिनीहरू त्यसो गर्न अनिच्छुक हुनेछन् र त्यसप्रति असन्तुष्ट हुनेछन्, र तिनीहरू निरन्तर सङ्घर्षमा हुनेछन्। तिनीहरू किन निरन्तर सङ्घर्षमा हुनेछन्? किनभने तिनीहरूले अरू मानिसहरूलाई देखाउनका लागि तरङ्ग पैदा गर्न र केही चलाकीहरू प्रयोग गर्न चाहन्छन्, ताकि स्वर्ग र पृथ्वीबीच तिनीहरूजस्तो शीर्षस्तरको व्यक्ति छ भन्ने कुरा अरूलाई थाहा होस्। तिनीहरू नाम कमाउन चाहन्छन्, ताकि गैरविश्वासीहरूले भनेजस्तै, तिनीहरू कुवामा नअटाउने ठूला माछा हुन् भन्ने कुरा अरूलाई थाहा होस्। कुवामा नअटाउने यी माछाहरू कस्ता चीजहरू हुन्? तिनीहरू दुष्ट आत्माहरू, अशुद्ध पिशाचहरू, प्रधान स्वर्गदूतहरू, शैतानहरू, र दियाबलसहरू हुन्। ख्रीष्टविरोधीहरू अन्तर्निहित रूपमै आफ्नो जीवनको नियतिमा सन्तुष्ट भएर, साधारण व्यक्तिको जीवन जिउँदै आफ्ना दिनहरू बिताउन चाहँदैनन्; तिनीहरू चुपचाप आफ्नो कर्तव्य गर्दैनन् वा शिष्ट व्यवहार गर्ने साधारण मानिसहरूजस्तो व्यवहार गर्दैनन्—तिनीहरू त्यस्तो हुनमा सन्तुष्ट हुँदैनन्। त्यसकारण, तिनीहरूले बाहिरी रूपमा, जस्तो व्यवहार गरे पनि, आफ्नो गहनतम हृदयमा तिनीहरू आफूले जीवनमा पाएको भाग्यप्रति सधैँ असन्तुष्ट महसुस गर्छन् र तिनीहरूले केही निश्चित कुराहरू गर्नेछन्। के कुराहरू? तिनीहरूले सामान्य मानिसहरूले कहिल्यै सोच्न नसक्ने निश्चित कुराहरू गर्नेछन्। तिनीहरू चर्चामा हुन मन पराउँछन् र तिनीहरू केही कष्ट सहन र अलिकति मूल्य चुकाउन हिचकिचाउने छैनन्। एउटा भनाइ छ: “नयाँ म्यानेजर आफ्नो प्रभाव छोड्न साह्रै इच्छुक हुन्छ।” ख्रीष्टविरोधीहरू अगुवा बनेपछि, तिनीहरूलाई आफू साधारण व्यक्ति होइन भन्ने प्रमाणित गर्न केही चमत्कार गर्नुपर्छ र “आफ्नो करियरमा केही उपलब्धिहरू” प्राप्त गर्नुपर्छ भन्ने लाग्छ। यहाँ सबैभन्दा गम्भीर समस्या के हो? तिनीहरूले मण्डलीमा काम गरिरहेका भए पनि, र तिनीहरूले कर्तव्य पूरा गरेको नाटक गरे पनि, तिनीहरूले कसरी कर्तव्य कसरी पूरा गर्ने वा मण्डलीको काम कसरी राम्ररी गर्ने भनेर परमेश्वरबाट कहिल्यै पनि खोजी गर्दैनन्, न त तिनीहरूले परमेश्वरको घरका नियमहरू के-के हुन्, सत्यता सिद्धान्तहरू के-के हुन्, वा परमेश्वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्ने, परमेश्वरलाई लज्जित नपार्ने, परमेश्वरको गवाही दिने, मण्डलीको काम सहज रूपमा अघि बढ्ने तुल्याउने, र आफ्नो काममा कुनै लापरवाह गल्तीहरू देखा नपर्ने कुरा सुनिश्चित गर्ने तरिकाले कसरी काम गर्ने भनेर निधो गर्ने प्रयास गम्भीरतापूर्वक नै गर्छन्। तिनीहरूले यी कुराहरूबारे कहिल्यै प्रश्न सोध्दैनन् र यी कुराहरूबारे कहिल्यै सोधपुछ गर्दैनन्—तिनीहरूको हृदयमा यी कुराहरू हुँदैनन्, र तिनीहरूको हृदय यी कुराहरूले भरिएको हुँदैन। त्यसोभए, तिनीहरूले केबारे सोधपुछ गर्छन् त? तिनीहरूको हृदय के कुराले भरिएको हुन्छ? यो तिनीहरूले कसरी आफ्नो प्रतिभा प्रदर्शन गर्न, आफू अरूभन्दा फरक रहेको देखाउन, र मण्डलीमा आफ्नो अगुवाइ शैली प्रदर्शन गर्न सक्छन् भन्ने सोचले भरिएको हुन्छ, ताकि अरू मानिसहरूले तिनीहरू मण्डलीका खम्बा हुन्, र मण्डली तिनीहरूविना रहन सक्दैन, र तिनीहरू भए मात्रै मण्डलीको सबै काम सहज रूपमा अघि बढ्न सक्छन् भन्ने कुरा देख्न सकून्। ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू, र तिनीहरूका कार्यहरूको प्रेरणा र मौलिक आवेगका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले आफूलाई कुन स्थानमा राख्छन्? तिनीहरूले आफूलाई सबै कुरामाथि हाबी हुने स्थानमा राख्छन्। अनि यो कुरा कसरी प्रकट हुन्छ? (तिनीहरू सबैप्रति अवज्ञाकारी हुन्छन् र सधैँ अन्तिम निर्णय आफै गर्न, र अरूलाई आफूले भनेकै कुरा गर्न लगाउँछन्।) तिनीहरू सबैप्रति अवज्ञाकारी हुनुमा एउटा समस्या छ; यसमा एउटा लुकेको अर्थ छ। त्यो के हो भने, जब तिनीहरूले मण्डलीको काम गर्छन्, तब तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गरिरहेका हुन्छन्, त्यसकारण तिनीहरूलाई सत्यता सिद्धान्तहरू खोजी गर्नु, र मण्डलीका नियमहरू के-के हुन् वा परमेश्वरको घरले के-कस्ता सिद्धान्तहरू माग गर्छ भनेर पत्ता लगाउने झमेला लिनु आवश्यक छैन भन्ने लाग्छ—तिनीहरूले मैले भनेको कुनै पनि कुरामा समेत कुनै ध्यान दिँदैनन्। तिनीहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्छन्? तिनीहरूले आफ्नो उद्यम अघि बढाउन मण्डलीको सेवा गर्ने र दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नेजस्ता सिद्धान्त र प्रेरनाहरू पालना गर्छन्। जबसम्म तिनीहरूले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूमाझ स्थान पाउन, र प्रतिष्ठा पाउन अनि निर्णय गर्ने शक्ति हात पार्न सक्छन्, तबसम्म त्यो नै पर्याप्त हुन्छ, र तिनीहरूले कर्तव्य पूरा गर्नुको तथाकथित “नतिजा” हासिल गरेका हुन्छन्। अनि, तिनीहरूको उद्देश्य के हुन्छ? यो सृजित प्राणीको कर्तव्य पूरा गर्नु वा परमेश्वरको बोझलाई ख्याल गर्नु होइन, बरु मण्डलीको सेवा गर्नु र दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नु, र यसो गर्दै गर्दा, यी सबै कामकुराहरू नियन्त्रण गर्नु भन्ने हुन्छ। तिनीहरूले यी सबै कुराहरू नियन्त्रण गर्न चाहन्छन् भनेर म किन भन्छु त? किनभने जब तिनीहरूले कामकुरा गरिरहेका हुन्छन्, तब सुरुमा तिनीहरूले आफ्नै लागि दह्रिलो ठाउँ प्राप्त गर्ने गर्छन्, निश्चित प्रसिद्धि प्राप्त गर्ने गर्छन्, अनि तिनीहरूको प्रतिष्ठा बढ्छ, र तिनीहरूले हुकुम दिने र निर्णय गर्ने शक्ति प्राप्त गर्छन्, र त्यसपछि तिनीहरूले परमेश्वरलाई केवल थपना बनाएर परमेश्वरको स्थान लिन सक्छन्। आफ्नो प्रभावको दायराभित्र, तिनीहरूले देहधारी परमेश्वरलाई एउटा थपना, र कठपुतली मात्रै बनाउँछन्, र यही नै “सबैमाथि हाबी हुनु” को अर्थ हो। के ख्रीष्टविरोधीहरूले यही गर्दैनन् र? ख्रीष्टविरोधीहरूले यसरी नै व्यवहार गर्छन्। मानिसहरूको अनुमोदन पाउन र अझै धेरै मानिसहरूको ध्यान आकर्षित गर्नका लागि, ख्रीष्टविरोधीहरूले कर्तव्य पूरा गर्ने अवसरलाई आफ्नो वरदान र प्रतिभा पूर्ण रूपमा देखाउन, र आफ्नो अद्वितीय सोच र कार्यहरू प्रदर्शन गर्नमा प्रयोग गर्छन्। त्यसपछि तिनीहरूले मण्डलीमा हुकुम दिने, निर्णय गर्ने, र विभिन्न कुरा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्छन्, र यसले धेरै मानिसहरूलाई तिनीहरूलाई पालन गर्ने र तिनीहरूमा समर्पित हुने बनाउँछ, अनि परमेश्वरचाहिँ बाहिरिया व्यक्ति बन्नुहुन्छ—के यसो गरेर तिनीहरूले परमेश्वरलाई थपना बनाइहरेका हुँदैनन् र? ख्रीष्टविरोधीहरूले आफ्नो व्यवहारद्वारा हासिल गर्न चाहने उद्देश्य यही हो, र ख्रीष्टविरोधीहरूले शासन गर्ने कुनै पनि स्थानमा अन्ततः हुने पनि यही हो।
यदि कुनै मण्डलीमा ख्रीष्टविरोधी शक्तिमा छ भने, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरू कस्तो स्थितिमा हुनेछन्? तिनीहरूले ख्रीष्टविरोधीले भनेको कुरा मात्रै गर्नेछन्, तिनीहरू आफूले गर्ने सबै कुरामा प्रावधानहरूमा टाँसिने मात्रै गर्नेछन्, तिनीहरूले सत्यता बुझ्नेछैनन्, र सत्यता खोजी गर्नेछैनन्। तिनीहरूले जति धेरै कष्ट भोगे पनि वा तिनीहरूले जति ठूलो मूल्य चुकाए पनि, तिनीहरूले जीवन प्रवेशमा कुनै प्रगति गर्नेछैनन्। यदि म त्यस्तो मण्डलीमा गएँ भने मलाई पनि इन्कार गरिनेछ। तिनीहरूमाझ, यो ख्रीष्टविरोधी नामको अगुवा त हुन्छ, तर वास्तवमा यो ख्रीष्टविरोधी तिनीहरूको मालिक र तिनीहरूको देवता बनिसकेको हुन्छ। ख्रीष्टविरोधीले नियन्त्रण गरेको कुनै पनि मण्डलीमा, सत्यता र परमेश्वरलाई केवल थपनामा परिणत गरिएको हुन्छ। ख्रीष्टविरोधी सबै कुरामाथि हाबी हुनु भनेको यही हो। के यो गम्भीर कुरा होइन र? जब मण्डलीका मानिसहरूलाई ख्रीष्टविरोधीले नियन्त्रण गर्छ, र जब बाहिरी मानिसहरू त्यहाँ काम गर्न जान्छन्, तब के यी मानिसहरूले बोल्दा र व्यवहार गर्दा आफ्नो मालिकको इशाराअनुसार चल्नुपर्दैन र? तिनीहरू एकीकृत कमानअन्तर्गत हुन्छन्, तिनीहरू एकमत भई काम गर्छन्, र कसैले पनि बढी बोल्ने आँट गर्दैन। तिनीहरूको मालिकले एकपटक मात्रै हेरेपछि नै, यी मानिसहरूलाई त्यसको अर्थ के हो भन्ने थाहा भइहाल्छ, र त्यसपछि तिनीहरूले त्यहीअनुसार काम गर्छन्। यदि मैले तिनीहरूलाई कुनै कुरा सोधेँ भने, तिनीहरूले एकअर्कासँग आफ्नै छुट्टै भाषामा कुराकानी गर्छन्। यसको अर्थ तिनीहरूले के भनिरहेका हुन् भन्ने कुरा मलाई थाहा दिन चाहँदैनन्, तिनीहरू मबाट तर्कन चाहन्छन्, र तिनीहरूले मलाई बाहिरिया व्यक्तिका रूपमा लिन्छन्। के यो समस्या होइन र? तिनीहरू मबाट तर्कन चाहनुको प्रकृति के हो? यो ख्रीष्टविरोधीको स्वभाव र सार हो—तिनीहरू मण्डली र मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले जेसुकै गरे पनि, तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार बिलकुलै काम गर्नेछैनन्, परमेश्वरको घरका हितहरूलाई ख्याल गर्नु त झन् धेरै परको कुरा हो; तिनीहरूले आफ्नै राज्य स्थापना गर्ने र आफ्नै उद्यममा संलग्न हुने प्रयास मात्र गरिरहेका हुन्छन्। यो कसरी आफ्नो कर्तव्य पूरा गर्नु भयो त? यो त तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने बहानामा आफ्नै राज्य स्थापना गर्नु हो। ख्रीष्टविरोधीहरूमा यस्तो प्रकृति हुने भएकोले, तिनीहरूले व्यक्तिपरक रूपमा हैसियतलाई प्रेम गर्छु र हैसियत चाहन्छु भनेर नभने पनि, तिनीहरूले कुनै काम गर्नेबित्तिकै र हात फैलाउनेबित्तिकै, तिनीहरू हतार-हतार ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिहाल्छन्, तिनीहरूको पैशाचिक प्रकृति प्रकाश भइहाल्छ, र तिनीहरूले आफ्नै राज्यहरू स्थापना गर्ने प्रयास गरिहाल्छन्। तिनीहरूले कुनै कुरा गर्नेबित्तिकै, तिनीहरू आफ्नै उद्यममा संलग्न हुन खोजिहाल्छन्; तिनीहरूले कुनै काम गर्नेबित्तिकै, तिनीहरू आफ्नै माध्यम र विधिहरू अनुसार अघि बढ्न खोजिहाल्छन्। जब माथिले कुनै प्रबन्ध मिलाउँछन् र यो कुरा तिनीहरूकहाँ पुग्छ, ख्रीष्टविरोधीहरूले यसलाई लागू गर्दैनन्, बरु यसबारे अध्ययन गर्छन्, विचार-विमर्श गर्छन्, र सङ्गति गर्छन्। यसबारे सङ्गति गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? यसलाई लागू गर्ने कि नगर्ने, र यो गर्न मिल्छ कि मिल्दैन भनेर हेर्न सबैसँग छलफल गर्न लगाउनु—यसलाई लागू गर्न होइन। परमेश्वरले भन्नुहुने र गर्नुहुने सबै कुरा सत्यता हो, तर यो कुरा ख्रीष्टविरोधीकहाँ पुगेपछि बदलिन्छ, र यो उसले अध्ययन गर्ने कुरा बन्छ। उसले यसबारे अध्ययन, विश्लेषण, र छलफल गर्छ, र अन्त्यमा, सबैलाई परमेश्वरले मानिसबाट गर्नुहुने मागहरू अनि परमेश्वरका प्रबन्धहरू नकार्न लगाउँछ। तिनीहरूले हृदयमा सोच्छन्, “तपाईँ सत्यता हुनुहुन्न, साधारण व्यक्ति मात्रै हुनुहुन्छ। तपाईँले भनेको कुराको कुनै महत्त्व हुँदैन, र यदि तपाईँले मेरो अधिकार क्षेत्रमा पर्ने कुराबारे अन्तिम निर्णय गर्न चाहनुहुन्छ भने, यो कुरा बिर्सिनुहोस्! अहिले यहाँको प्रमुख म हुँ, त्यसकारण सबैले मैले भनेको मान्नुपर्छ। हुकुम चलाउने र निर्णय गर्ने पूर्ण शक्ति मसँग छ, र तपाईँ त यहाँ थपना मात्र बन्न सक्नुहुन्छ। मेरो काम र प्रभावको दायराभित्र रहेका सबै कुरामा मैले नै अन्तिम निर्णय गर्नुपर्छ। तपाईँले सत्यता बुझ्नुभए पनि, र तपाईँले भन्नुभएको सबै कुरा सत्यता नै भए पनि, त्यसले ममा काम गर्नेवाला छैन!” यो एउटा ख्रीष्टविरोधी र दियाबलस हो, होइन र? त्यसकारण, जब मण्डलीका कामका प्रबन्धहरू, माथिका मागहरू, र सत्यता सिद्धान्तहरू ख्रीष्टविरोधीको क्षेत्रमा पुग्छन्, तब ती किमार्थ लागू हुँदैनन्। ती कुराहरू लागू नहुने अवस्थाबारे के गर्न सकिन्छ? जब कुनै मण्डलीले तिनलाई लागू गर्दैन, तब यसको अर्थ त्यहाँका अगुवा र कामदारहरूमा केही समस्या छ, र ती ठेस लाग्ने ढुङ्गा र अवरोधहरूलाई तह लगाइनुपर्छ भन्ने हुन्छ। के तँलाई परमेश्वरको घरले तँलाई केही गर्न सक्दैन भन्ने लाग्छ? यदि परमेश्वरको घरले तँलाई प्रयोग गर्न सक्छ भने, यसले तँलाई तह पनि लगाउन सक्छ। के तँलाई यो ठाउँ बाह्य संसार हो जस्तो लाग्छ? तँलाई के लाग्छ, यदि तँसँग प्रभाव छ, तैँले तानाशाहले जस्तो व्यवहार गरिस्, र तँ पर्याप्त रूपमा क्रूर, निरङ्कुश, र द्वेषपूर्ण भइस् भने, के कसैले पनि तँलाई केही गर्न सक्दैन? यदि त्यस्तो लाग्छ भने, तँ गलत छस्! यो परमेश्वरको घर हो, परमेश्वरको घर सत्यताद्वारा शासित हुन्छ, र यसले सिद्धान्तअनुसार मानिसहरूलाई व्यवहार गर्छ। परमेश्वरको घरले तँलाई प्रयोग गर्न सक्छ, र परमेश्वरको घरले तँलाई प्रयोग नगर्न र हटाउन पनि सक्छ—तँलाई प्रयोग गरिन्छ कि गरिँदैन भन्ने कुरा परमेश्वरको एउटा वचनले निर्धारित गर्छ। यदि तैँले यहाँ अनुचित तरिकाले बाधा र अवरोध दिइस् भने, तँलाई अन्ततः हटाइनेछ; यदि तैँले सेवा प्रदान गर्ने प्रयास गरिस् भने, यदि तैँले यहाँ बसेर आफ्नो स्थान चिनिस् र उचित व्यवहार गरिस् भने, परमेश्वरको घरले सेवा प्रदान गर्न लगाउनका लागि तँलाई राख्नेछ र तैँले दिने सेवा कस्तो हुन्छ भनेर हेर्नेछ।
ख्रीष्टविरोधीहरूले आफ्नै राज्य स्थापना गर्नुको सार भनेको सबैमाथि हाबी हुनु, परमेश्वरलाई बेवास्ता गर्नु, सत्यतालाई बेवास्ता गर्नु, र मण्डलीका नियमहरूलाई बेवास्ता गर्नु हो। तिनीहरूले “मण्डली” भन्ने नामलाई मात्रै सेवा गर्छन्, “परमेश्वरको घर” भन्ने पदनामलाई मात्रै सेवा गर्छन्, र तिनीहरूले “दाजुभाइ-दिदीबहिनीहरू” भनिने मानिसहरूको समूहलाई मात्रै सेवा गर्छन्, तर तिनीहरूले सृजित प्राणीको कर्तव्य कहिल्यै पूरा गर्दैनन्, तिनीहरूले परमेश्वरलाई पछ्याउने वा तिनीहरू उहाँका वचनहरूमा समर्पित हुने त कुरै नगरौँ—यो त तिनीहरूले आफ्नै राज्य स्थापना गरिरहेका हुन्। ख्रीष्टविरोधीहरूको सार यही हो, र यो सार सबैमाथि हाबी हुने सार हो। अब, के यो सारलाई निन्दा गरिन्छ कि अनुमोदन गरिन्छ? (निन्दा गरिन्छ।) अनि यसलाई निन्दा गरिने हुनाले, तिमीहरूमाझ ती मानिसहरूलाई इन्कार गरिनुपर्छ। कतिपय अलमल्ल, अज्ञानी, र अन्धा मानिसहरूले त्यस्ता मानिसहरू देख्दा तिनीहरूलाई पछ्याउँछन्, प्रशंसा गर्छन्, आदर गर्छन्, र आराधना गर्छन्, र तिनीहरूअघि झुक्न समेत चाहन्छन्—तिनीहरू कति मूर्ख हुन्छन्! ख्रीष्टविरोधीहरूले तँलाई कहाँ अगुवाइ गर्न सक्छन्? जब तिनीहरूले तँलाई अगुवाइ गर्छन्, तब यो ठूलो रातो अजिङ्गरले तँलाई अगुवाइ गरेजस्तै हुन्छ, र तिनीहरूले तँलाई खाडलमा वा अतल कुण्डमा नहालुन्जेल रोकिनेछैनन्। तिनीहरूले तँलाई पूर्ण रूपमा बरबाद गरेपछि, तिनीहरूले तँलाई लात हान्नेछन्; तैँले केही पनि प्राप्त गर्नेछैनस्, र तैँले परमेश्वरमा विश्वास गरेको व्यर्थ हुनेछ। यदि तिमीहरू अन्धा छौ र यी मानिसहरूलाई छर्लङ्गै देख्न सक्दैनौ, र तिमीहरूले यी मानिसहरूलाई पालन गर्छौ, तिनीहरूमा समर्पित हुन्छौ, र तिनीहरूलाई पछ्याउँछौ भने, तिमीहरू अत्यन्तै अज्ञानी छौ, र तिमीहरू मर्न लायक छौ। त्यसोभए, यदि तिमीहरूले त्यस्तो व्यक्तिलाई सामना गऱ्यौ भने, के गर्नुपर्छ? जब तिमीहरूले मण्डलीमा ढोँग र नक्कल गर्ने, कुनै पनि काम गर्दा सबैमाथि हाबी हुने, सत्यतालाई तिरस्कार गर्ने, परमेश्वरलाई तिरस्कार गर्ने, र मण्डलीका नियमहरूलाई तिरस्कार गर्ने कसैलाई भेट्छौ, तब सबैले त्यसलाई काटछाँट र इन्कार गर्ने अडान लिनुपर्छ। यदि त्यसले परमेश्वरको घरमा शिष्ट रूपमा श्रम गर्न सक्छ भने, त्यसलाई श्रम गराउनका लागि राख; यदि त्यसले शिष्ट व्यवहार गर्दैन र सधैँ अनुचित रूपमा अवरोध दिइरहेको हुन्छ भने, तिमीहरूले परमेश्वरको घरका प्रशासनिक आदेशहरू लागू गरेर त्यसलाई पखाल्नुपर्छ।
मे २३, २०२०