विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग पाँच)
आ. ख्रीष्टविरोधीहरूका हितहरू
ग. आफ्नै फाइदाका लागि षड्यन्त्र रच्नु
आज, हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणको नवौँ विषयवस्तु र यस विषयवस्तुको ख्रीष्टविरोधीहरूका हितहरूसँग सम्बन्धित भागबारे हाम्रो सङ्गति जारी राख्नेछौँ। पछिल्लोपटक, मैले ख्रीष्टविरोधीहरूका हितहरूको तेस्रो बुँदा, अर्थात् फाइदाहरूबारे सङ्गति गरेँ। त्यस बुँदामा, मैले धेरै पक्षका निश्चित प्रकटीकरणहरू सूचीबद्ध गरेँ, र मुख्य रूपमा ख्रीष्टविरोधीहरूको व्यवहार, तिनीहरूका विचार र दृष्टिकोणहरू, अनि यी विचार र दृष्टिकोणहरूको नियन्त्रणमा रहेर तिनीहरूले गर्ने विभिन्न कुराबारे छलफल गरेँ। मैले पछिल्लोपटक दुइटा पक्षबारे सङ्गति गरेँ: पहिलो थियो, परमेश्वरको घरका सम्पत्तिहरू हिनामिना गर्नु, र दोस्रो थियो, तिनीहरूलाई सेवा प्रदान गर्न र तिनीहरूका लागि काम गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्नु। यी दुई बुँदा ख्रीष्टविरोधीहरूले आफ्नै फाइदाका लागि षड्यन्त्र रच्ने कार्यका निश्चित प्रकटीकरण हुन्। अहिले मैले यी कुराहरूबारे सङ्गति गरिसकेपछि, के तिमीहरूले ख्रीष्टविरोधीहरूको प्रकृति सार बुझ्यौ? ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणको हिसाबमा भ्रष्ट मानिसहरूमाझ कुनै ठूलो भिन्नता हुँदैन, चाहे त्यो तिनीहरूको स्वभावको हिसाबमा होस् वा प्रकृति सारको हिसाबमा होस्। तिनीहरूमा भिन्नताभन्दा बढी समानता हुन्छ; तिनीहरूसँग असल मानवता छ कि दुष्ट मानवता छ भन्ने कुरामा मात्रै तिनीहरू भिन्न हुन्छन्, र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको कुरा आउँदा मात्रै तिनीहरूमा स्पष्ट भिन्नता हुन्छ। मानिसहरूको भ्रष्ट स्वभाव सबै उस्तै भए पनि, ख्रीष्टविरोधीहरू सत्यतालाई घृणा गर्न, परमेश्वरको विरोध गर्न, परमेश्वरको आलोचना गर्न, र परमेश्वरविरुद्ध निन्दा गर्न सक्ने हुन्छन्, र तिनीहरू दुष्कर्म गर्न र मण्डलीको काममा बाधा दिन पनि सक्ने हुन्छन्। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानिसहरू निकै भिन्न हुने क्षेत्रहरू यिनै हुन्। हरेक व्यक्तिमा ख्रीष्टविरोधी स्वभाव हुन्छ, तर यदि उसले दुष्कर्म गरेको छैन र मण्डलीको काममा बाधा दिएको छैन र ऊ प्रत्यक्ष रूपमा परमेश्वरसित भिडेको छैन भने, उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्दैन। भ्रष्ट मानिसहरूमा उस्तै वा मिल्दो विचार, दृष्टिकोण, र भ्रष्ट स्वभावहरू भए पनि, यदि कसैको मानवताको सार दुष्ट व्यक्तिको सार होइन भने, ऊ र ख्रीष्टविरोधीहरूबीच रहेको स्पष्ट भिन्नता त्यही हो। धेरैजसो मानिस यो भिन्नता देख्न सक्दैनन्, अनि ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरू र ख्रीष्टविरोधीको मार्ग हिँड्ने मानिसहरूलाई सँगै एउटै समूहमा राखेर ख्रीष्टविरोधीका रूपमा चित्रण गर्छन्—यसो गर्दा असल मानिसहरूलाई सजिलै हानि गर्न सकिन्छ! यदि तिमीहरूले ख्रीष्टविरोधीहरूको सार स्पष्ट रूपमा बुझेका छैनौ भने, यो तिमीहरूका लागि पनि आफूलाई बुझ्नमा आइपर्ने ठूलो बाधा हो। यदि तैँले आफ्नो भ्रष्ट स्वभाव ख्रीष्टविरोधीको जस्तै छ भन्ने देखिस् भने, आफूलाई ख्रीष्टविरोधी हुँ भन्ने ठान्नेछस्, र यदि तैँले आफू ख्रीष्टविरोधीको बाटो हिँडिरहेको छु भन्ने देखिस् भने पनि आफूलाई ख्रीष्टविरोधी ठान्नेछस्। तैँले काम गर्ने तरिका अनि तेरा विचार र दृष्टिकोणहरू ख्रीष्टविरोधीका जस्तै छन् भन्ने देखिस् भने, तैँले अझै पनि आफूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्नेछस्। यदि तैँले यी तीन तरिकाले आफूलाई ख्रीष्टविरोधीका रूपमा देखिस् भने, आफूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्नेछस्। यसले के-कस्ता परिणामहरू ल्याउनेछ? तँ अवश्य नै केही निश्चित हदसम्म नकारात्मक बन्नेछस् र आफूदेखि हरेस खानेछस्। यस्तो तरिकाले आफूलाई बुझ्नु अलिक विकृत बुझाइ हो। त्यसोभए, के तेरो ख्रीष्टविरोधी स्वभावलाई बुझ्नु अनावश्यक कुरा हो त? होइन, अवश्य नै यो आवश्यक कुरा हो। ख्रीष्टविरोधीहरूको स्वभावबारे सङ्गति र चिरफार गर्नुको उद्देश्य तिमीहरूलाई ती कुरासित आफूलाई तुलना गर्ने र साँचो रूपमा आफूलाई बुझ्ने अवस्थामा पुर्याउन मदत गर्नु हो। यदि तैँले आफूमा औसत भ्रष्ट स्वभाव छ भन्ने कुरा बुझेको छस्, तर तँमा ख्रीष्टविरोधी स्वभाव छ भन्ने कुरा पहिचान गरेको छैनस् भने, आफ्ना बारेमा रहेको तेरो बुझाइ अत्यन्तै सतही र एकतर्फी छ; हुनुपर्ने कुरा यस्तो होइन। अहिले तिमीहरूलाई यसबारे अझै थाहा नहुन सक्छ। धेरैजसो मानिस सोच्छन्, “म ख्रीष्टविरोधीको मार्ग हिँडिरहेको छैनँ, न त म ख्रीष्टविरोधी नै हुँ, न त मसँग ख्रीष्टविरोधीको सार नै छ, त्यसकारण मलाई मसँग ख्रीष्टविरोधीको स्वभाव छ, म ख्रीष्टविरोधीको मार्ग हिँड्न सक्छु, र म ख्रीष्टविरोधी बन्न सक्छु भन्ने कुरा बुझ्ने हदसम्म पुग्नु आवश्यक छैन। यदि आफ्ना बारेमा रहेको मेरो बुझाइ यस्तै भएको भए, के मैले आफूले आफैलाई अपमानित गरिरहेको हुनेथिइनँ र?” त्यसकारण, ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने यी विषयहरूमा तिमीहरूलाई त्यति चासो छैन। तर तँलाई चासो भए नि नभए नि, यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, अन्ततः तँ क्रमिक रूपमा बढेर एक दिन सत्यताका यी पक्षहरू र यी भनाइहरू बुझ्ने अवस्थामा पुग्ने नै छस्। मैले त्यस्ता कति मानिसहरूको कुरा सुनेको छु, जसले आफ्नो अनुभवात्मक बुझाइबारे सङ्गति त गर्छन्, तर आफूमा कसरी ख्रीष्टविरोधी स्वभाव छ, वा तिनीहरू कसरी ख्रीष्टविरोधीको मार्गमा हिँड्छन् भन्नेबारे फिटिक्कै केही बोल्दैनन्। तिनीहरूको विचार, दृष्टिकोण, र स्वभाव प्रस्ट रूपमा ख्रीष्टविरोधीको जस्तै हुन्छ—तिनीहरू उस्तै हुन्छन्—तर तिनीहरू यो कुरा बुझ्दैनन्। यो कुरा के प्रमाणित गर्न पर्याप्त छ भने, धेरै मानिसले आफूलाई अत्यन्तै सतही हदमा बुझ्छन्, किनभने तिनीहरू आफूमा भ्रष्ट स्वभाव छ भनेर बुझ्न मात्रै सक्षम हुन्छन्, अनि तिनीहरू परमेश्वरको विरोध र उहाँविरुद्ध विद्रोह गर्छन्, तिनीहरूको मानवता त्यति राम्रो हुँदैन, र तिनीहरू सत्यतालाई त्यति प्रेम गर्दैनन्। वास्तवमा, तिनीहरूले प्रकट र खुलासा गर्ने कुरा भनेको ख्रीष्टविरोधीको स्वभाव हो, र तिनीहरू हिँड्ने मार्ग ख्रीष्टविरोधीको मार्ग हो, तर तिनीहरू यो कुरा बुझ्दैनन्। तिनीहरू किन यो कुरा बुझ्दैनन्? किनभने तिनीहरू ख्रीष्टविरोधीको स्वभावसँग सम्बन्धित विभिन्न प्रकटीकरण बुझ्दैनन्, र धेरै मानिस त आफूसँग ख्रीष्टविरोधीको स्वभाव छ वा आफू ख्रीष्टविरोधीको मार्गमा छु भनेर भन्नसमेत डराउँछन्। तिनीहरूले यो कुरा बुझे पनि, भन्ने आँट गर्दैनन्; यदि तिनीहरूले यो कुरा ठूलो स्वरमा बताए भने, यो त तिनीहरूलाई श्राप दिइएको वा दोषी ठहराइएको जस्तै हुन्छ। वास्तवमा, तैँले बताए नि नबताए नि तेरो अवस्था उही हुँदैन र? के यसले तँमा ख्रीष्टविरोधी स्वभाव छ भन्ने तथ्य परिवर्तन गर्न सक्छ र? अहँ, सक्दैन। तैँले यो कुरा नबुझ्ने तथ्यले सत्यताप्रतिको तेरो बुझाइ अत्यन्तै सतही छ, र तँसँग आफ्ना बारेमा साँचो बुझाइ छैन भन्ने कुरा प्रमाणित गर्छ।
३. आफ्नो पद प्रयोग गरेर छलकपटद्वारा खानेकुरा, पेयपदार्थ र अन्य मनपर्दा वस्तुहरू प्राप्त गर्नु
यसपछि, हामी ख्रीष्टविरोधीहरूले आफ्नै फाइदाका लागि षड्यन्त्र रच्नुको तेस्रो प्रकटीकरणबारे सङ्गति गर्नेछौँ—आफ्नो पद प्रयोग गरेर छलकपटद्वारा खानेकुरा, पेयपदार्थ र अन्य मनपर्दा वस्तुहरू प्राप्त गर्ने कार्यबारे सङ्गति गर्नेछौँ। अवश्य नै “आफ्नो पदको प्रयोग गर्नु” लाई परमेश्वरमा विश्वास गर्ने नाममा आफ्नो पद प्रयोग गरेर छलकपटद्वारा खानेकुरा, पेयपदार्थ, र अन्य मनपर्दा वस्तुहरू प्राप्त गर्नु भनेर पनि भन्न सकिन्छ। के तिमीहरूले यस विषयमा पहिले कहिल्यै मनन गर्ने र यसबारे सोच्ने प्रयास गरेका छौ? (अहँ, छैनौँ।) के तिमीहरूले यस्तो व्यक्ति कहिल्यै देखेका छौ? के यस्तो व्यक्तिबारे तिमीहरूमा कुनै विचारहरू छन्? के तिमीहरूमा तिरस्कार वा घृणाको कुनै भावना छ? के तिमीहरूलाई यस्तो व्यक्तिप्रति हेला लाग्छ? (लाग्छ।) तिनीहरू कस्ता व्यक्ति हुन्? तिनीहरूको मानवता कस्तो हुन्छ? तिनीहरू किन यी कुराहरू गर्छन्? परमेश्वरमा विश्वास गर्नेबारे तिनीहरूको दृष्टिकोण के हुन्छ? के यस्तो व्यक्ति परमेश्वरले मुक्ति दिने व्यक्ति हो? अन्तिम विश्लेषण गर्दा, परमेश्वरमाथि तिनीहरूको विश्वासको उद्देश्य के हुन्छ? तिनीहरूले आफ्नो परिवार र करियर त्यागेका हुन्छन्, अनि कठिनाइ भोग्ने र मूल्य चुकाउने अभिव्यक्तिहरू प्रदर्शन गरेका हुन्छन्, तर अन्तिम विश्लेषण गरेर हेर्दा, तिनीहरूले आफ्नो पद प्रयोग गरेर छलकपटद्वारा खानेकुरा, पेयपदार्थ, र अन्य मनपर्दा वस्तुहरू प्राप्त गर्नुको उद्देश्य के हुन्छ? जब तिनीहरू यसो गर्छन्, के तिनीहरूलाई परमेश्वर यसलाई घृणा गर्नुहुन्छ र उहाँ अप्रसन्न बन्नुहुन्छ भन्ने थाहा हुन्छ? के तिमीहरूले पहिले कहिल्यै यी प्रश्नहरूबारे विचार गरेका छौ? साँच्चै भन्ने हो भने, तिमीहरूमध्ये धेरैले विचार गरेका छैनौ। अनि किन छैनौ? कतिले भन्छन्: “समाजमा यस्ता मानिसहरू एकदमै धेरै छन्, त्यसकारण परमेश्वरको घरमा तिनीहरूमध्ये एक-दुई जना हुनु ठूलो कुरा होइन। यति मात्र होइन, हामी आफै पनि त्यति शुद्ध छैनौँ।” तँ आफूलाई सत्यता पछ्याउने व्यक्ति ठान्छस्, र तैपनि कहिल्यै आफ्ना कार्य, विचार र दृष्टिकोणहरू, साथै अरूका कार्य र व्यवहारहरूलाई हेर्न र परिभाषित गर्न, सत्यताको दृष्टिकोण प्रयोग गरेर, ती र सत्यताबीचको सम्बन्ध स्थापित गर्दैनस्। त्यसैले, के तँ अझै पनि सत्यता पछ्याउने व्यक्ति होस् त? के तैँले परमेश्वरमाथिको आफ्नो विश्वासमा आफूले बुझेका सत्यताहरूले अझै पनि तेरा लागि मूल्य र अर्थ राख्छन्? अहँ, राख्दैनन्। आत्मिक बुझाइ नभए पनि आत्मिक भएझैँ नाटक गर्ने सबैमा नक्कली आत्मिकता हुन्छ, र तिनीहरूले प्रावधानहरू पालना गर्दै वा शब्द र धर्मसिद्धान्तहरू बोल्दै पूरै दिन बिताउने बाहेक अरू केही कुराको वास्ता गर्दैनन्, जुन प्राचीन विद्वानहरूले “आफूलाई सन्तहरूका पुस्तकहरू पढ्नमा पूर्ण समर्पित गर्ने र बाह्य मामलाहरूमा कुनै ध्यान नदिने” गरेजस्तै हो। आत्मिकताको नाटक गर्ने मानिसहरू के सोच्छन् भने, अरूले चाहे जेसुकै गरे पनि, त्यसले तिनीहरूमा कुनै मतलब राख्दैनन्, अरूले चाहे जसरी सोचे पनि त्यो अरूको मामला हो, र तिनीहरू परमेश्वरका वचनहरू अनुसार मानिसहरूलाई कसरी चिन्ने, विभिन्न कुराहरूको वास्तविकता कसरी थाहा पाउने, र परमेश्वरका अभिप्रायहरू कसरी बुझ्ने भनेर सिक्न इन्कार गर्छन्। धेरैजसो मानिस यस्तै हुन्छन्; जब तिनीहरूले कुनै प्रवचन सुनिसक्छन् वा परमेश्वरका वचनहरू पढिसक्छन्, तब तिनीहरू यसलाई कागजमा लेख्छन् र हृदयमा राख्छन्, र यसलाई धर्मसिद्धान्त वा प्रावधानका रूपमा लिन्छन् अनि यसलाई झलक्क हेरिटोपल्छन् र त्यसपछि यसलाई त्यतिमै सीमित राख्छन्। जहाँसम्म तिनीहरूको वरपर घटित हुने कुराहरू वा तिनीहरू वरपरका मानिसहरूमा तिनीहरूले देख्ने विभिन्न व्यवहार र प्रकटीकरण यी सत्यताहरूसँग कसरी सम्बन्धित छन् भन्ने कुरा छ, तिनीहरू कहिल्यै यसबारे आफ्नो हृदयमा विचार वा मनन गर्ने प्रयास गर्दैनन्, न त प्रार्थना वा खोजी नै गर्छन्। धेरैजसो मानिसहरूको आत्मिक जीवन यस्तै स्थितिमा हुन्छ। त्यसकारण, धेरै मानिस सत्यतामा प्रवेश गर्नमा ढिला र सतही हुन्छन्; तिनीहरूको आत्मिक जीवन अत्यन्तै एकोहोरो हुन्छ, तिनीहरू प्रावधानहरू मात्रै पालना गर्छन्, र तिनीहरूको काम गर्ने तरिकामा कुनै सिद्धान्तहरू हुँदैन। धेरै मानिसको हकमा त के भन्न सकिन्छ भने तिनीहरूको आत्मिक जीवन वास्तविक जीवनबाट अलग्गिएको र खोक्रो हुन्छ, र त्यसकारण दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको स्पष्ट व्यवहार र प्रकटीकरणहरूको कुरा आउँदासमेत तिनीहरूसँग कुनै अवधारणा हुँदैन, परिभाषा त झन् हुँदै हुँदैन, र तिनीहरूसँग न त कुनै विचार हुन्छ वा न त तिनीहरू कुनै समझशक्ति नै देखाउँछन्। आफ्नो व्यक्तिगत फाइदाका लागि षड्यन्त्र गर्ने ख्रीष्टविरोधीहरूका व्यवहार, प्रकटीकरण, र भनाइहरूको हकमा भन्दा, तिमीहरूले धेरै कुरा देखेका हुन सक्छौ, तर तिमीहरूले आफ्नो हृदयमा तिनीहरू वास्तवमा कस्ता मानिस हुन्, तिनीहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता प्राप्त गर्न सक्छन् कि सक्दैनन्, तिनीहरू सत्यता पछ्याउने मानिस हुन् कि होइनन्, र यस्तै अरू प्रश्नहरूबारे सोच्ने प्रयास गरेका हुँदैनौ। बरु, तिमीहरू दिनभरि आफ्नो कर्तव्यमा साँचो रूपमा संलग्न नभई आलटाल गर्छौ, आफूले गर्ने सबै कुरामा झारा टार्छौ, र सत्यता प्राप्त गर्न वा सत्यता वास्तविकता बुझ्न र त्यसमा प्रवेश गर्न खोज्दैनौ। ख्रीष्टविरोधीहरू आफ्नो फाइदाका लागि षडयन्त्र रच्न आफ्नो पद प्रयोग गर्छन् र परमेश्वरमा विश्वास गर्नुलाई परमेश्वरको घरमा छलकपटद्वारा हरप्रकारका मनपर्दा वस्तुहरू प्राप्त गर्ने बहानाका रूपमा प्रयोग गर्छन्। यी मनपर्दा वस्तुहरूमा स्वाभाविक रूपमै खाने र पिउने कुराहरू, साथै निश्चित भौतिक सुख र यस्तै अन्य कुराहरू समावेश हुन्छन्। त्यस्ता मानिसहरूको सार हामीले यसअघि कुरा गरेको ख्रीष्टविरोधीहरूको भौतिकतावादी सारजस्तै हुन्छ—यो उस्तै प्रकारको व्यक्तिको चरित्र हो। तिनीहरू हरप्रकारका भौतिक व्यवहारको आनन्द लिन मात्रै खोज्छन्; तिनीहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरूले असल कार्यहरू तयार गर्नु त झन् परको कुरा हो। तिनीहरू सत्यता पछ्याउने बहाना मात्रै गर्छन् र झट्ट हेर्दा सत्यता पछ्याएजस्तो नै देखिन्छ। तिनीहरूले हृदयमा पछ्याउने कुरा त तिनीहरूले निरन्तर सोच्ने गरेका खाने, पिउने, र राम्रो व्यवहार पाउने देह सुखहरू मात्र हुन्छन्। वरपर यस्ता मानिसहरू धेरै हुन्छन्; हरेक मण्डलीमा एक-दुई जना, र सायद योभन्दा धेरै यस्ता मानिसहरू हुने सम्भावना हुन्छ। आज, म यी मानिसहरूको प्रकटीकरण, व्यवहार र सारबारे सैद्धान्तिक अर्थमा कुरा गर्नेछैनँ। म सुरुमा केही निश्चित प्रतिनिधिमूलक मामलाहरूबारे कुरा गर्नेछु र तिमीहरूलाई यसबाट सुन्न र अन्तर्ज्ञान प्राप्त गर्न दिनेछु, र यस्ता मानिसहरू हामीले सङ्गति गरिरहेको यस बुँदासँग कसरी सम्बन्धित छन् र तिनीहरूले खानेकुरा, पेयपदार्थ, पैसा, र भौतिक कुराहरू छलकपटद्वारा प्राप्त गर्न आफ्नो पद प्रयोग गर्ने र परमेश्वरमा विश्वास गरेको देखावटी गर्ने गर्छन् कि गर्दैनन् भनेर देखाउनेछु। यसप्रकारको व्यक्तिलाई चिन्ने प्रयास गर, त्यसपछि तिमीहरूको सम्पर्कमा आउने मानिसहरूमा हामीले कुरा गरिरहेका यी प्रकटीकरणहरू छन् कि छैनन् भनेर सोच। यदि कसैको याद आयो भने, तिमीहरूले केही उदाहरण पनि दिन सक्छौ। मलाई भन त, उदाहरणहरू दिनु राम्रो हो कि यसरी साधारण रूपमा सङ्गति गर्नु राम्रो हो? (उदाहरणहरू दिनु राम्रो हो।) उदाहरणहरू दिनुको फाइदा के हो? सर्वप्रथम, धेरैजसो मानिस यी कथाहरू र वास्तविक जीवनका घटनाहरू सुन्न इच्छुक हुन्छन्। तिनका आफ्नै पात्र र कथावस्तु हुन्छन्, र धेरैजसो मानिस तिनलाई रोचक ठान्छन्। यो तैँले आफ्नो व्यक्तिगत अनुभवबारे कुरा गरेजस्तै हो: यदि तैँले यसबारे लेख लेखिस् भने, मानिसहरूले सामान्यतया एक-दुईपटक पढ्छन् र यो त्यतिमै सीमित हुन्छ, तर यदि तैँले यसबारे चलचित्र बनाइस् वा नाटकका रूपमा प्रस्तुत गरिस् भने, धेरै मानिसले हेर्नेछन्, र एकपटक होइन धेरै पटक हेर्नेछन्। यसरी, मानिसहरूले सत्यताको यो पक्ष वा सम्बन्धित मानिस, घटना र कामकुराहरूलाई अझै राम्ररी र स्पष्टतासाथ हेर्नेछन्, र यसले तिनीहरूमा अझै गहन छाप पार्नेछ। यसअलावा, केही निश्चित उदाहरणहरू दिएमा यसले मानिसहरूलाई सत्यताको हरेक पक्ष र तिनीहरू आफैबीच अझ सटीक रूपमा तुलना गर्न र सम्बन्धहरू स्थापित गर्न मदत गर्छ।
पहिलो घटना: खानेकुरा र पेय पदार्थ प्राप्त गर्न काम गरेको बहाना गर्नु
पहिले, हामी परमेश्वरका चुनिएका मानिसहरूमा आम रहेका केही उदाहरण प्रस्तुत गरौँ। कतिपय अगुवा र कामदारहरू नयाँ ठाउँमा आउँछन्, जहाँ तिनीहरूले फरक-फरक विश्वासी दाजुभाइ-दिदीबहिनीहरू भेट्छन् र केही राम्रा कुराहरू पत्ता लगाउँछन्, र सोच्छन्, “यी राम्रा कुराहरू हुन्। मसँग किन यी कुरा छैनन्?” यहाँ, के तिनीहरूको मनमा अनुचित विचारहरू छैनन् र? तिनीहरूको लोभ देखा परेको छ। लोभ देखा पर्नेबित्तिकै, यी नीच र लाजमर्दा खराब मानिसहरू त्यहीँ रोकिन्छन् र त्यस ठाउँमा काम गर्न र त्यहाँबाट नजान हरेक बहाना बनाउँछन्। त्यहाँबाट नजानुमा तिनीहरूको उद्देश्य के हुन्छ? (ताकि एक दिन फाइदा लिन सकियोस् भन्ने हो।) ठिक भन्यौ, तिनीहरू फाइदा लिन चाहन्छन्। यदि तिनीहरूले यो फाइदा प्राप्त गरेनन् भने, तिनीहरू राती राम्ररी सुत्नेछैनन्। तिनीहरू आफू अन्त कतै गएमा, अरू कसैले यो फाइदा पाउनेछ र आफूलाई फेरि यो मौका मिल्नेछैन भन्ने चिन्ता गर्छन्, त्यसकारण तिनीहरूले त्यसै ठाउँमा नै प्रचार र काम गर्ने बहाना बनाउँछन्। वास्तवमा, तिनीहरूको हृदयले सधैँ यी मनपर्दा वस्तुहरू सोचिरहेको हुन्छ, र तिनीहरूको आँखा सधैँ यी मनपर्दा वस्तुहरूमा केन्द्रित हुन्छ। अन्ततः तिनीहरू त्यसै ठाउँमा आफूलाई स्थापित गर्छन्, र धेरैजसो दाजुभाइ-दिदीबहिनी तिनीहरूलाई मन पराउँछन्, तिनीहरू प्रचारकहरू हुन् भन्ने थाहा पाउँछन्, र तिनीहरूलाई आराधना र आदर गर्छन्। तब ती अगुवा र सेवकहरू आफूले चाहेका केही कुरा छन् भनेर बताउने समय आएको हुन्छ, त्यसैले तिनीहरूले यो विषय छलफल गर्ने विभिन्न तरिका सोच्छन्, तर तिनीहरू जति धेरै बोल्छन्, त्यति नै चिन्तित हुन्छन्। तिनीहरू मनमनै विचार गर्छन्, “मैले यो कुरा कसरी माग्ने? म यो कुरा मन पराउँछु र चाहन्छु भनेर दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा दिनु हुँदैन। मैले तिनीहरूलाई यो कुरा स्वेच्छाले नै दिन लगाउनुपर्छ; तिनीहरूलाई मैले यो कुरा मागिरहेको छु भनेर सोच्ने बनाउनै हुँदैन, बरु यो तिनीहरूले स्वेच्छाले दिइरहेको कुरा हो, र अवश्य नै यो मैले पाउनुपर्ने कुरा हो भनेर सोच्ने बनाउनुपर्छ।” यसपछि, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्छन्, “आजभोलि तपाईँहरूको जीवन प्रवेश कस्तो छ?” दाजुभाइ-दिदीबहिनीहरू भन्छन्, “तपाईँ आउनुभएपछि, हाम्रो मण्डली जीवनमा सुधार आएको छ र सबै जना ऊर्जीशील भएका छन्।” “तपाईँहरू ऊर्जाशील हुनुहुन्छ भन्ने तथ्यले तपाईँहरूको आत्माको अवस्था राम्रो छ भन्ने अर्थ दिन्छ। तपाईँहरूको व्यापार पनि राम्रै भइरहेको छ। परमेश्वरको इच्छा भयो भने, भविष्यमा तपाईँहरूको व्यापार अझै राम्रो हुनेछ।” अनि अगुवा र कामदारहरूका रूपमा बोल्ने क्रममा, तिनीहरू कुराकानीलाई आफूले चाहेको कुरातिर मोड्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवा र सेवकहरू त्यो कुरा चाहन्छन् भन्ने स्पष्ट हुन्छ, तब तिनीहरू अगुवा र कामदारहरू जाँदा त्यस्ता केही कुरा आफूसँग लिएर जानुपर्छ भनेर भन्छन्। अगुवा र कामदारहरू भन्छन्, “अहँ, म कुनै पनि कुरा लिन सक्दिनँ। यो सिद्धान्तहरूअनुरूप हुँदैन। परमेश्वर खुसी हुनुहुनेछैन।” “त्यस्तो समस्या हुँदैन। तपाईँ केही पाउन लायक हुनुहुन्छ।” “म यो पाउन लायक भए पनि, मैले लिन मिल्दैन।” यसो भनेपछि, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूले वास्तवमा यो कुरा दिनेछैनन् भन्ने चिन्ता लाग्छ, त्यसैले तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई तिनीहरूको भलाइप्रति धन्यवाद दिऊन् भनेर घुमाउरो पाराले केही कुरा भन्छन्, र साथमा आफूले चाहेको कुराको प्रसङ्ग पनि सक्रिय रूपमा उठाउँछन्, ताकि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई केही कुरा दिन सम्झून्। त्यसपछि, अगुवा र कामदारहरूले भन्न खोजेको कुरा दाजुभाइ-दिदीबहिनीहरूलाई स्पष्ट हुन्छ, र तिनीहरू भन्छन्, “अहिले यस विषयमा कुरा नगरौँ। तपाईँ गएपछि हामी यसबारे कुरा गर्न सक्छौँ।” जब अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूले यसो भनेको सुन्छन्, तब तिनीहरूको हृदय प्रफुल्लित हुन्छ र तिनीहरू सोच्छन्, “एकदम राम्रो। मैले बल्ल आफूले चाहेको कुरा प्राप्त गर्नेछु!” त्यसपछि तिनीहरू सोच्छन्, “यदि म भोलि नै गएँ भने, मैले त्यो कुरा चाहेको हुँ भनेर मानिसहरूलाई एकदमै स्पष्ट हुनेछ। बरु म दुई-तीन दिनपछि जान्छु।” अन्ततः जब तेस्रो दिन आउँछ, तब तिनीहरू जाँदा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई निकै गह्रौँ पोको दिन्छन्। अगुवा र कामदारहरूले त्यो पोको आफूले चाहेको कुरा हो भन्ने देख्छन्, तर नदेखेको बहाना गर्छन्, र त्यसलाई इन्कार गर्दैनन्। तिनीहरू एक शब्द नबोली त्यो पोको लिन्छन्। तिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू आफ्नो कामलाई मनपर्दा वस्तुहरू षड्यन्त्र गरेर प्राप्त गर्ने माध्यमका रूपमा—र आफ्नो श्रमलाई मुद्राका रूपमा—प्रयोग गर्ने र दाजुभाइ-दिदीबहिनीहरूबाट विभिन्न कुरा धुत्ने मानिस हुन्। के यो एक प्रकारको छलकपट होइन र? तिनीहरूको कामको उद्देश्य के हो? अरूलाई ठगेर मनपर्दा वस्तुहरू प्राप्त गर्नु। तिनीहरूले कुनै मनपर्दा वस्तु रहेको र आफूले चाहेको कुरा भएको ठाउँ पत्ता देख्नेबित्तिकै, तिनीहरू बाटोमै रोकिन्छन् र त्यो ठाउँ छोडेर जान चाहँदैनन्। तिनीहरूले आफ्नो घरका लागि हरेक असल कुरा लिन्छन्। धेरै वर्ष अगुवा वा कामदार बनेपछि, तिनीहरूका घरका धेरै कुराहरू दाजुभाइ-दिदीबहिनीहरूबाट धुतिएका चीज हुन्छन्। तिनीहरूमध्ये कतिले दाजुभाइ-दिदीबहिनीहरूबाट गुप्त पारिवारिक पाककला वा विरासतहरू ठगेर लिएका हुन्छन्, र तिनीहरूमध्ये कतिले स्थानीय विशेष उत्पादनहरू ठगेर लिएका हुन्छन्। परमेश्वरमाथिको यी मानिसहरूको विश्वास तिनीहरूले बद्लामा केही पनि नमागी ठाउँ-ठाउँमा गएको जस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूबाट एकदमै धेरै मनपर्दा वस्तुहरू ठगेका हुन्छन्।
कुनै निश्चित मण्डलीमा अगुवा पुगेपछि, उसले त्यस क्षेत्रका बयर देशभरि प्रसिद्ध छ भन्ने देख्छ, र उसले मनमनै सोच्छ, “मलाई बयर खान मन पर्छ। यदि म यहाँ जन्मेको भए, मैले हरेक दिन बयर खान पाउँथेँ, तर दुःखको कुरा म धेरै दिन बस्न सक्दिनँ र बयर अझै पाकेको छैन। मैले कहिले ती खान पाउँछु होला? मलाई थाहा छ—म बयर नपाकुन्जेल बस्ने कुनै कारण खोज्न सक्छु, र त्यसपछि मैले ती खान पाउँछु, होइन र?” त्यसपछि, उसले यहाँका धेरैजसो दाजुभाइ-दिदीबहिनी खराब स्थितिमा छन् र तिनीहरूले आफ्नो काममा केही हासिल गरिरहेका छैनन्, त्यसैले ऊ त्यहाँ लामो समयसम्म बस्नुपर्छ र जानुभन्दा पहिले हरेक काम अघि बढाउनलाई धेरै प्रयास गर्नुपर्छ भनेर बहाना बनाउँछ। तर, के उसले वास्तवमा आफ्नो हृदयमा त्यही कुरा सोचिरहेको हुन्छ त? (हुँदैन।) उसले हृदयमा यस्तो हिसाब गरिरहेको हुन्छ: “जब बयर पाक्छ र म केही लिएर जान सक्छु, तब म जानेछु।” उसको हृदय यस्तो विचारले भरिएको हुन्छ, र यसले उसलाई रोक्छ र ऊ त्यहीँ बस्छ। त्यहाँ समय बिताउने क्रममा, उसले केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छ र केही सतही काम गर्छ, तर कामको क्षेत्रमा धेरै कुरा हासिल गर्दैन। अन्ततः बयर पाक्छ, र उसको हृदय खुसीले झुम्छ: “मैले बल्ल बयर खान पाउने भएँ। मैले सपना देखेको दिन बल्ल आइपुग्यो!” बयर पाक्नेबित्तिकै, ऊ खान थाल्छ, र सँगसँगै उसले हृदयमा यस्तो सोचिरहेको हुन्छ, “हरदिन यहाँ मैले बयर मात्रै खानु ठिक हुँदैन। म बयर खान मात्रै बस्नु हुँदैन। यदि दाजुभाइ-दिदीबहिनीहरूले थाहा पाए भने के गर्ने? मैले आफूसँग बयर लैजानका लगि तिनीहरूलाई केही बयर मलाई दिने तुल्याउने उपाय सोच्नुपर्छ। यदि तिनीहरूले मलाई ती दिएनन् भने, मैले यस मामलालाई अघि बढाउन धेरै प्रयास गर्नुपर्छ र थप केही भन्नुपर्छ।” त्यहाँ बस्ने दाजुभाइ-दिदीबहिनीहरूले उसलाई बयर खान मन पर्छ भन्ने देख्नेबित्तिकै, ऊ जाँदा आफूसँग लैजान केही दिन्छौँ भनेर भन्छन्। यो सुनेर ऊ खुसी हुन्छ, तर मुखले चाहिँ भन्छ, “म लान सक्दिनँ। यो सिद्धान्तहरूअनुरूप हुँदैन। विश्वासीहरूले यस्तो कुराको लोभ गर्नु हुँदैन। के मैले तपाईँहरूबाट फाइदा लिइरहेको हुँदिनँ र? मैले तपाईँहरूलाई पैसा नदिई त्यो लैजान मिल्दैन। म गएपछि म यसका लागि तपाईँहरूलाई पैसा दिनेछु।” उसले भन्ने यी शब्दहरू केवल शब्द हुन्। जब उसले अघाउन्जेल खाइसकेको हुन्छ र जाने समय हुन्छ, तब उसले अझै पनि हृदयमा यस्तो सोचिरहेको हुन्छ, “के तिनीहरूले मलाई केही दिनेछन्, कि केही बिग्रेका मात्र दिने हुन्? म ठुलठुला र राम्रा-राम्रा खान चाहन्छु।” ऊ आफू जानुभन्दा दुई दिनअघि नै, सधैँ यसो भनिरहेको हुन्छ, “सबै बयर लगभग टिपिसकिएको छ, होइन र? आउँदो वर्ष त्यो कहिले पाक्छ?” त्यो उसले दाजुभाइ-दिदीबहिनीहरूलाई आफूसँग लैजानका लागि केही बयर दिन नबिर्सन सम्झाउनु हो। दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा सुन्नेबित्तिकै बुझिहाल्छन्: “उहाँलाई जानुअघि लैजानलाई हामीले केही दिनैपर्छ जस्तो देखिन्छ, र उहाँलाई दिनका लागि हामीले राम्रो-राम्रो टिप्नुपर्छ; नत्र, उहाँले हाम्रा लागि परिस्थिति कठिन बनाउन सक्नुहुन्छ।” जब उसको जाने समय हुन्छ, तब दाजुभाइ-दिदीबहिनीहरूले उसलाई तीन वटा ठूला बाकस दिन्छन्। ऊ ती एक्लैलै बोक्न सक्दैन, र आफ्नो मातहतका अरूलाई मदत गर्न लगाउँछ। उसले जानुअघि सक्दो खान्छ—यसले उसलाई बिरामी पारे पनि, उसलाई यसो गर्नु सार्थक हुन्छ भन्ने लाग्छ। उसलाई गइएपछि फेरि ती खान पाइँदैन भन्ने डर लाग्छ। जब ऊ जाँदा मन नलागी-नलागी गइरहेको हुन्छ, र सोच्छ, “यसपटक मैले धित मरिन्जेल खाएँ। म अर्को वर्ष यही समयमा फेरि आउनेछु। मैले धेरै चाँडो आउनु पर्दैन, तर म ढिलो पनि आउनु हुँदैन। म बयर पाकेकै बेलामा आउनुपर्छ। त्यसरी म केही ताजा बयर खान पाउँछु, र सुकेपछि केही सुकेका पनि खान सक्छु। म जाँदा पनि केही मात्रामा लिएर जान सक्छु।” के उसले यसबारे विस्तृत रूपमा हिसाबकिताब गर्दैन र? उसको हृदयले यी कुराबारे मात्रै विचार गर्छ। ऊ सधैँ फाइदाहरू लिने र मनपर्दा वस्तुहरू प्राप्त गर्न युक्तिहरू रच्ने, साथै आफ्ना हितहरूका लागि दाजुभाइ-दिदीबहिनीहरूबाट विभिन्न कुरा धुत्नेबारे मात्रै विचार गरिरहेको हुन्छ। उसले आफूले देखेको कुनै पनि मनपर्दा वस्तुलाई बेवास्ता गर्नेछैन। त्यो कुरा उत्कृष्ट नदेखिए पनि, त्यसले उसको नजर तान्यो र त्यो उसको मनमा बस्यो भने, अन्त्यमा त्यो कुरा उसको हातमा पर्ने ग्यारेन्टी हुन्छ। के यो ख्रीष्टविरोधी व्यवहार होइन र? के यस्ता मानिसहरूको मानवता र चरित्र निकै नीच हुँदैन र? यस्ता मानिसहरूले बाहिरी रूपमा जति नै कष्ट भोगे पनि र जति नै मूल्य चुकाए पनि, र जति नै राम्रोसँग आफ्नो परिवार त्याग्न र आफ्नो करियर छोड्न सके पनि, के तिनीहरू सत्यता पछ्याउने मानिस हुन् भनेर भन्न सकिन्छ त? अवश्य नै सकिँदैन। यी मानिसहरू परमेश्वरमा विश्वास गरेको नाममा छलकपटद्वारा खानेकुरा र पेय पदार्थ प्राप्त गर्ने मानिस हुन्।
कतिपय मानिस सुसमाचार प्रचार गर्न र काम गर्न हरकिसिमका ठाउँमा जान्छन्, र तिनीहरू घर आउँदा हरेक ठाउँबाट फरक-फरक स्थानीय विशेष उत्पादनहरू, वा दाजुभाइ-दिदीबहिनीहरूबाट तिनीहरूले जबरजस्ती लिएका कुराहरूसमेत लिएर आउँछन्। चाहे त्यो डिजाइनरले बनाएको लुगा होस् वा इलेक्ट्रोनिक सामग्री, यदि त्यसले तिनीहरूको ध्यान खिच्यो भने, तिनीहरू त्यसलाई बेवास्ता गर्दैनन्, र त्यो प्राप्त गर्न माग गर्छन्। यदि तैँले तिनीहरूलाई दिइनस् भने, तिनीहरूले तँलाई काटछाँट गर्न हरकिसिमका बहानाहरू बनाउनेछन्, र तिनीहरूले तँलाई किन काटछाँट गरिरहेका छन् भनेर बुझाउनेछन्, र तैँले तिनीहरूलाई त्यो दिएपछि मात्रै रोकिनेछन्। यी मानिसहरू आफ्नो कर्तव्य पूरा गर्ने बहानामा हरप्रकारका मनपर्दा वस्तुहरू ठगेर लिन्छन्, र यीमनपर्दा वस्तुहरू प्राप्त गर्ने प्रयासमा तिनीहरू खुरन्धर लागिरहन्छन्। कहिलेकाहीँ दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूलाई थोरै-थोरै कुराहरू दिन्छन्, तर यी मानिसहरू ती कुरा सस्ता छन् भन्ने सोच्छन् र भन्छन्, “पर्दैन, धन्यवाद। परमेश्वरले मलाई प्रचुर आशिष् दिनुभएको छ। म केही लिन चाहन्नँ।” तिनीहरूले यस्ता शब्दहरू प्रयोग गरेर इन्कार गर्छन् र यस्तो छल गरेर दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूप्रति भुतुक्क हुने र तिनीहरूको आदर गर्ने बनाउँछन्। तैपनि, यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दिएको कुरा यी मानिसहरूले सपना देखेको, र तिनीहरूलाई चाहिने र तिनीहरूले निरन्तर सोचेको कुरा हो भने, जब तिनीहरू यी कुराहरू देख्छन्, तब हिनामिना गर्न चाहन्छन्, र तिनीहरू यसमा पटक्कै पछि हट्दैनन्। कतिपय महिलाले दाजुभाइ-दिदीबहिनीहरूको हातबाट सौन्दर्य सामग्री, राम्रा लुगा र राम्रा जुत्ताहरू हिनामिना गर्छन्, र कतिपय पुरुषले दाजुभाइ-दिदीबहिनीहरूका हातबाट विभिन्न उपकरण, मोटरसाइकल वा इलेक्ट्रोनिक सामग्रीहरू हडप्छन्। तिनीहरू हरेक मनपर्दा वस्तु प्राप्त गर्नका लागि पहल गर्छन्। दाजुभाइ-दिदीबहिनीहरूसँग जस्तोसुकै राम्रा कुराहरू भए पनि, यी कुराले यी मानिसहरूको ध्यान तान्यो भने, छलकपटद्वारा यी कुरा प्राप्त गर्न तिनीहरू हरकिसिमका उपायहरू सोच्छन्। यसअलावा, यी मानिसहरू डिनरका लागि जमघट गर्न, र सक्दो खान र पिउन हरकिसिमका आधार निहुँ बनाउँछन् र हरकिसिमका बहानाहरू खोज्छन्। कुन हदसम्म? तिनीहरू जहाँ गए पनि, कसको परिवारमा पैसा छ र कसको परिवारले मिठो खान्छ भनेर हेर्छन्, र त्यसपछि तिनीहरू त्यस परिवारसँग बस्छन् र त्यो परिवार छोडेर जाँदै जाँदैनन्। त्यसपछि, तिनीहरू सहकर्मी भेलाहरू र रात्रिभोज आयोजना गर्ने हरकिसिमका बहानाहरू बनाउँछन्। अनि हरेक रात्रिभोजमा तिनीहरूले दिने प्रारम्भिक मन्तव्य के हुन्छ? “आजको हाम्रो भेला राज्यको भेला हो। खानाको यस टेबलले हामीलाई राज्यभोजको प्रारम्भिक स्वाद दिन्छ।” तिनीहरूको चापलुसी गर्ने मानिसहरू हतार-हतार भन्छन्, “आमेन। परमेश्वरलाई धन्यवाद होस्!” कतिपय यस्ता तथाकथित अगुवा र कामदारहरू छन्, जो जहाँ गए पनि सक्दो खाने र पिउने गर्छन्। तिनीहरूलाई हरेक खानामा पोसिलो तत्त्वहरू हुनैपर्छ, अनि माछा र मासु हुनैपर्छ, र हरेक हप्ता खानासमेत परिवर्तन हुनैपर्छ; ती दोहोरिनु हुँदैन। खानापछि तिनीहरूले उत्कृष्ट चिया पिउनैपर्छ, र तिनीहरू यसो भन्दै बहाना बनाउँछन्, “मलाई त चिया नखाई हुँदैन। हरदिन मेरो कामको बोझ धेरै हुन्छ र मैले राती अबेरसम्म काम गर्नैपर्ने हुन्छ। यदि मैले जागा रहन थोरै चिया पिइनँ भने, राती काम गर्न सक्दिनँ।” तिनीहरू मुखले त यही भन्छन्, तर हृदयमा के सोचिरहेका हुन्छन्? “आज म रहेको पदसम्म आइपुग्नु सजिलो थिएन। के मैले आफ्नो धाक अलिअलि त जमाउनु पर्दैन र? साथै, मैले जीवनमा केही राम्रा कुराहरूको आनन्द लिने सपना देखेको छु, त्यसैले के मैले अहिले यी कुराहरूको आनन्द लिन हरकिसिमका तरिकाहरू सोच्नुपर्दैन र? यदि मैले अहिले मेरो शक्ति प्रयोग गरिनँ भने, यो हातबाट फुत्किएपछि मसँग फेरि त्यस्तो मौका हुनेछैन। मैले जतिसक्दो धेरै खानु र पिउनुपर्छ। कसलाई के थाहा, कुनै दिन मसँग यो पद नहुन पनि सक्छ र मैले यी कुराहरूको आनन्द लिन नपाउन पनि सक्छु। मसँग यो मौका नहुन सक्छ। त्यसपछि त के मेरो सम्पूर्ण जीवन खेर जानेछैन र?” यस्ता मानिसहरू काम गर्ने बहानामा छलकपटद्वारा खानेकुरा र पेयपदार्थ मात्र प्राप्त गर्छन्। तिनीहरू थोरै काम गर्छन् अनि केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र त्यसपछि मनपर्दा वस्तुहरू ठगेर लिन र असल कुराहरू खान चाहन्छन्।
पहिले एक निश्चित ठाउँमा काम गर्ने एक व्यक्ति थियो, र त्यस ठाउँमा बस्ने दाजुभाइ-दिदीबहिनीहरूले हरेक दिन त्यस व्यक्तिका लागि कुखुरा काट्नुपर्थ्यो। उसले दैनिक एउटा कुखुरा खाने बानी बसालेको हो। यो सुनेपछि, तिमीहरूलाई कस्तो लाग्छ? (घिन लाग्छ।) दाजुभाइ-दिदीबहिनीहरू अण्डाका लागि कुखुरा पालन गर्थे, र कुखुरा बूढो भएपछि मात्रै खानलाई काट्थे। त्यो व्यक्ति आइपुगेपछि, अण्डा पार्ने कुखुरासमेत काट्नुपर्यो, र परिणामस्वरूप, कुखुराहरू झन्-झन् घट्दै गए, र दाजुभाइ-दिदीबहिनीहरू थेग्न नसक्ने भइसकेका थिए। पछि, उसलाई बर्खास्त गरियो र ऊ घर गयो, तर अझै पनि उसले यो समस्याजनक कमजोरी बदल्न सकेन। उसले आफ्नी श्रीमतीलाई हरदिन कुखुरा काटेर खुवाउन लगाउँथ्यो; नत्र उसले श्रीमतीसँग वादविवाद गरिहाल्थ्यो। यो कस्तो व्यक्ति हो? कुखुराको मासु खानु उसको अस्तित्वको भाग बनिसकेको थियो। ऊ हरेक दिन, हरेक छाक कुखुराको मासु खान्थ्यो। बर्खास्त भएपछि पनि उसलाई अझै कुखुराको मासु खानैपर्थ्यो—ऊ यसमा आश्रित बनेको थियो। के यस व्यक्तिमा समस्या छैन र? तिमीहरूलाई के लाग्छ, के यस्ता मानिसहरू असल हुन्छन्? (हुँदैनन्।) छोटकरीमा भन्दा, परमेश्वरमा विश्वास गरेको बहाना गर्ने र कर्तव्य पूरा गर्ने क्रममा आएका अवसरहरू प्रयोग गरेर हरेक मोडमा दाजुभाइ-दिदीबहिनीहरूको स्वामित्वमा रहेका कुराहरू जबर्जस्ती हडप्ने, र हरेक मोडमा खानेकुरा र पेयपदार्थ ठगेर लिने मानिसहरू असल मानिस होइनन्। तिनीहरूको सार ख्रीष्टविरोधीको सार हो। तिनीहरू काम गर्न जहाँ गए पनि वा तिनीहरूले जस्तोसुकै काम गरे पनि, तिनीहरू सुरुमा तुलनात्मक रूपमा अलि धनी र सुखी जीवन जिउने अतिथि सत्कारक परिवारलाई छनौट गर्छन्। तिनीहरूले यस्ता परिवारहरू खोज्नुको उद्देश्य के हुन्छ? राम्रो खानु र राम्रो घरमा बस्नु—देहलाई सन्तुष्ट पार्नु। कतिपय ठाउँ प्रतिकूल वातावरणको कारण तिनीहरू बस्न नमिल्ने हुन्छन्, तर के तिनीहरूले आफ्नो लोभ र यी विचारहरू त्याग्नेछन् र? अहँ, त्याग्नेछैनन्। तिनीहरूले अतिथिसत्कार पाइने यस्तै अरू ठाउँहरू खोज्नेछन्। परिणामस्वरूप, यी मानिसहरूले धेरै वर्ष नयाँ ठाउँमा काम गरिसकेपछि, तिनीहरू पूर्ण रूपमा फरक देखिनेछन्, र तिनीहरू घर फर्केपछि, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई चिन्नेछैनन्—तिनीहरूको अनुहार पहिलेभन्दा मोटो हुन्छ, पेट ठूलो हुन्छ; तिनीहरूले पहिलेभन्दा राम्रो लुगा लगाउनेछन्; तिनीहरूमा रोजी-रोजी छान्ने बानी हुन्छ, र तिनीहरूले फुइँ पनि लगाउँछन्। तिनीहरूको जीवन वृद्धि कसरी अघि बढ्छ? तिनीहरूको जीवन कति पनि वृद्धि भएको हुँदैन; तिनीहरूले राम्रो खाने र राम्रो लाउने मात्रै गरिरहेका हुन्छन्, तिनीहरू मोटाएका हुन्छन्, र तिनीहरूले यति धेरै खाएका हुन्छन् कि तिनीहरूको गर्धन भद्दा र पेट घ्याम्पोजस्तो हुन्छ। मुख्यभूमि चीनजस्तो भयानक वातावरणमा, व्यक्तिले जुनसुकै कर्तव्य पूरा गरे पनि, यो एकदमै तनावपूर्ण हुन्छ। तिनीहरूले कहिलेकाहीँ राम्ररी खान पाए पनि र आरामदायी अतिथि सत्कारक निवासमा बस्न पाए पनि, तिनीहरू मोटाउन सक्दैनन्। त्यसैले, गर्धन भद्दा र पेट घ्याम्पोजस्तो हुनेगरी खाने मानिसहरू कस्ता मानिस हुन्? (हैसियतका लाभहरूमा लिप्त हुने मानिसहरू।) के खाने र के पिउने अनि दिनमा तीनपटक खाँदा के-के मोज गर्ने भनेर सधैँ विचार गर्ने मानिस। यदि यस्ता मानिसहरूले राम्रो खान पाएनन् भने, तिनीहरू काम गर्ने वा कर्तव्य निभाउने मुडमा हुँदैनन्। यदि तिनीहरूको पेट सन्तुष्ट छैन भने, तिनीहरूको मन पनि सन्तुलित हुँदैन: “आज मैले निकै नराम्रो खाना खाएँ। मासु थिएन, र खाना खाएपछि तिमीहरूले मलाई चिया दिएनौ। त्यसैले, म तिमीहरूलाई बेवास्ता गर्नेछु। जब तिमीहरूले मण्डलीको कामबारे सङ्गति गर्छौ, तब म बोल्नेछैनँ। म तिमीहरूसँग बदला लिनेछु। तिमीहरूले मलाई राम्रो खाना नदिनु ठिकै हुन्छ भनेर कसले भन्यो? मैले यस्तो खाना खानुपरेको छ, तैपनि तिमीहरू अझै पनि मैले तिमीहरूसँग सङ्गति गर्नुपर्छ भन्ने चाहन्छौ। त्यो कुनै पनि हालतमा हुँदैन!” तिनीहरू भित्री रूपमा यही सोच्छन्, तर तिनीहरू यो कुरा बाहिर भन्न सक्दैनन्। तिनीहरू यसो मात्रै भन्छन्, “म हिजो राती काम गर्न धेरै रातिसम्म बसेँ, त्यसकारण म आज दिउँसो केही बेर सुत्नुपर्छ।” के तिनीहरू ठूलो धोकेबाज होइनन् र? तिनीहरू अपरान्ह चार-पाँच बजेसम्म सुत्छन्, र धेरै मानिसले तिनीहरूको प्रतीक्षा गरिरहेका हुन्छन्, तर पनि तिनीहरू उठ्न चाहँदैनन्। अचानक, तिनीहरूलाई स्याउको बास्ना आउँछ र खान पाउँदिनँ भन्ने चिन्ताले ओछ्यानबाट उफ्रेर उठ्छन्। तिनीहरूले यसरी नै काम गर्छन्, र तिनीहरू यसरी नै आफ्नो कर्तव्य निर्वाह गर्छन्। यी मानिसहरू जहाँ गए पनि, र तिनीहरू परमेश्वरका वचनहरू जसरी खाने-पिउने गरे पनि वा जसरी प्रवचनहरू सुने पनि, तिनीहरूले आफ्ना अभिप्राय र उद्देश्यहरू परिवर्तन गर्नेछैनन्, न त आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू नै त्याग्नेछन्। सबै भौतिक कुराहरू नै यस जीवनमा तिनीहरूले पछ्याउने उद्देश्य हुन्; राम्रो खानु, राम्रो लाउनु र राम्रो व्यवहारमा रमाउनु नै तिनीहरूले यस जीवनमा परमेश्वरमा विश्वास गर्नुको उद्देश्य हुन्छ। तिनीहरू के सोच्छन् भने, यदि यस जीवनमा परमेश्वरमा विश्वास गरेर, तिनीहरू निरन्तर राम्रा कुराहरू खान पाउँछन्, राम्रा लुगाहरू लगाउन पाउँछन्, र राम्रा घरहरूमा बस्न पाउँछन्, साथै दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई साथ दिन्छन् भने—यदि तिनीहरूले यी कुराहरू ठगेर लिन सक्छन् भने—यस जीवनमा तिनीहरू सन्तुष्ट हुनेछन्। यस संसारमा, नियमित जागिरमा मेहनत गरेर कसैले पनि त्यति धेरै पैसा कमाउँदैन, र व्यापार गरेर पनि पैसा कमाउन सजिलो छैन—तिनीहरूले यस्ता कुराहरूको आनन्द लिन पाउँदैनन्। त्यसैले, तिनीहरूले यसबारे मनन गरेपछि अझै पनि परमेश्वरमा विश्वास गर्नु नै सबैभन्दा राम्रो उपाय हो भन्ने सोच्छन्, किनभने तिनीहरूले धेरै मेहनत गर्नुपर्दैन। तिनीहरूले बस केही शब्द बोले पुग्छ, यताउता गरे पुग्छ, र थोरै जोखिम उठाए पनि पुग्छ, र त्यसपछि तिनीहरूले राम्ररी खान र लाउन पाउँछन्, र धेरै मानिसलाई तिनीहरू प्रतीक्षा गर्न लगाउन, र भिआईपीजस्तो व्यवहार गरिएकामा रमाउँछन्। तिनीहरू यसरी जिउनु सुन्दर कुरा हो, र परमेश्वरमा विश्वास गरेको कारण धेरै आशिष् मिलेको छ भन्ने सोच्छन्। त्यसकारण, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको अगाडि प्रायः यस्ता बेइमानी कुराहरू बोल्छन्, “परमेश्वरले हामीलाई अत्यन्तै धेरै, प्रशस्त रूपमा, र मान्छेले कहिल्यै मागेको वा कामना गरेको भन्दा बढी उपहार दिनुभएको छ।” यी शब्दहरू सही छन्, तर यी तिनीहरूको व्यक्तिगत पछ्याइ र चरित्र, र तिनीहरूको विचार, अभिप्राय र उद्देश्यसँग पूर्ण रूपमा अमिल्दा छन्। तिनीहरूले बोल्ने हरेक कुराले मानिसहरूलाई छल गर्छ। यताउता दौडिरहने र आफूलाई समर्पित गर्ने तिनीहरूको बाहिरी रूप पनि मानिसहरूलाई झुक्याउनकै लागि हुन्छ। तिनीहरूको हृदयको हिसाबकिताब, अभिप्राय, र लोभ मात्र साँचो हुन्छ। यी मानिसहरूको चरित्र यस्तै हुन्छ। तिनीहरूले जे गरे पनि वा तिनीहरू जहाँ गए पनि, यी भौतिक सुखहरूले तिनीहरूको हृदयमा सबैभन्दा माथिल्लो स्थान लिएका हुन्छन्, र तिनीहरूले यी कुराहरू कहिल्यै त्याग्ने र कहिल्यै बिर्सनेछैनन्। तैँले सत्यताबारे जसरी सङ्गति गरे पनि, र तैँले परमेश्वरका अभिप्रायहरूबारे जसरी सङ्गति गरे पनि, तिनीहरू जिद्दीपूर्वक यही लोभ र यिनै इच्छाहरूमा टाँसिएर, र यिनै अभिप्राय र उद्देश्यहरू राखेर आफ्नो कर्तव्य निभाउनेछन्, र तिनीहरूसँग हैसियत भए नि वा नभए नि, तिनीहरूको अभिप्राय परिवर्तन हुनेछैन।
दोस्रो घटना: विदेश जान नसकेकामा कटुता
जब म मुख्यभूमि चीनमा काम गरिरहेको थिएँ, तब एक जना अगुवाले हामीसँग विदेश जान पाउँछु भन्ने सोचेको रहेछ, र यस कुरामा ऊ निकै खुसी थियो। उसले सोच्यो, “आखिर मेरो पालो आयो। अब बल्ल म परमेश्वरसँगै धेरै आशिष्हरू उपभोग गर्न सक्छु! परमेश्वरको साथमा पहिले मैले कष्ट भोगेँ। आज अन्ततः मैले इनाम पाउने भएँ। म यो कुरा पाउन योग्य छु। कम्तीमा पनि, म अगुवा हुँ र मैले धेरै सङ्कष्टहरू भोगेको छु, त्यसैले, जब यो असल कुरा मेरो जीवनमा आउँछ, तब म यसमा सहभागी हुन सक्नुपर्छ—मैले यो मनपर्दो कुराको आनन्द लिन सक्नुपर्छ।” उसले यही सोच्यो। तैपनि, उसको नजिक रहेर धेरै समय बिताएपछि मलाई के थाहा भयो भने ऊ त उसले भन्ने र गर्ने कुरामा सिद्धान्तहीन रहेछ, ऊसँग असल मानवता रहेनछ, आशिष् पाउने उसको अभिप्राय र चाहना निकै प्रबल रहेछन्, र उसलाई कहिलेकाहीँ काटछाँट गर्नुपर्ने अवस्था रहेछ। अनि ऊ धेरैपटक काटछाँटमा परेपछि, उसले सोच्यो, “अब त म सिद्धिएँ। माथिले मेरो भित्री वास्तविकता छर्लङ्गै देखेको छ, र तिनीहरूले फेरि विदेश जाने कुरा गरेका छैनन्। म विदेश जान पाउने कुनै आशा छैनजस्तो देखिन्छ।” उसले हृदयमा निरन्तर यी कुराहरू खेलाइरहेको थियो। वास्तवमा, ऊ सत्यता पछ्याउने व्यक्ति थिएन, ऊ विदेश जानु आधारभूत रूपमै अनुपयुक्त थियो, र ऊ विदेश गए पनि उसले कुनै काम गर्न सक्दैन भन्ने कुरा हामी देख्न सक्थ्यौँ, त्यसकारण हामीले ऊसँग यसबारे कुरै गरेनौँ। उसलाई आफूसँग विदेश जाने कुनै आशा छैन भन्ने लाग्यो, त्यसकारण उसले अरू योजनाहरू बनाउन थाल्यो। एक दिन ऊ बाहिर गयो र कहिल्यै फर्केर आएन। उसले एउटा पत्र मात्रै छोडेर गयो, जसमा यस्तो लेखिएको थियो, “मैले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भयो र मैले केही काम गरेँ। अहिले, तिमीहरू विदेश जाँदै छौ, तर म तिमीहरूसँग जान योग्य छैनँ। यसपछिका दिनहरूमा, म यसको परिपूर्ति गर्दै समय बिताउनेछु। परमेश्वर मलाई घृणा गर्नुहुन्छ, त्यसकारण म उहाँलाई छोड्नेछु। म उहाँलाई उहाँले घृणा गर्ने व्यक्तिलाई हेर्न लगाउनेछैनँ। म लुकेर बस्नेछु।” यी शब्दहरू अर्थपूर्ण लाग्थे, र तिनमा कुनै ठूलो समस्या छैन जस्तो देखिन्थ्यो। त्यसपछि, उसले भन्यो, “म जन्मेदेखि नै यस्तो भएको छु। म जोसँग भए पनि मलाई प्रयोग मात्र गरिन्छ। म अरूसँग कष्ट भोग्न सक्छु, तर तिनीहरूसँग आशिष्हरू उपभोग गर्न सक्दिनँ।” उसले यसो भन्नुको अर्थ के थियो? (उसले परमेश्वरले उसलाई प्रयोग गर्नुभयो भन्ने सोच्यो।) उसको तात्पर्य त्यही थियो। विशेषगरी उसले “म जोसँग भए पनि मैले तिनीहरूसँग कष्ट मात्र भोग्नुपर्छ, म तिनीहरूसँग आशिष्हरू उपभोग गर्न सक्दिनँ” भनेर भन्दा, उसको तात्पर्य के थियो भने, “मैले तिमीहरूसँग धेरै कष्ट भोगेँ र धेरै जोखिम मोलेँ, तैपनि जब मैले तिमीहरूसँग आशिष्हरू उपभोग गर्ने समय भयो, तब तिमीहरू इच्छुक छैनौ।” यी शब्दहरू भन्दा, उसले गुनासो गरिरहेको थियो, र यस मामलाको परिणामस्वरूप उसलाई कटुता जागेको थियो। मुखले त उसले “परमेश्वर मलाई घृणा गर्नुहुन्छ। म परमेश्वरलाई छोड्नेछु। म उहाँलाई घृणा अनुभूति गराउनेछैनँ” भनेर भनेको थियो, तर उसको हृदयमा वास्तवमा कटुता थियो: “तिमीहरू आशिष् पाउन विदेश जाँदै छौ र तिमीहरू मलाई त्याग्न चाहन्छौ!” के वास्तवमा यस्तो भएको हो त? (होइन।) त्यसोभए के भएको हो? हामीले उसलाई हटाउन चाहेकाले काटछाँट गरेका हौँ, उसले सत्यता नपछ्याएको कारण वा उसले भन्ने र गर्ने कुरामा ऊ सिद्धान्तहीन भएकाले त्यसो गरेका होइनौँ भन्ने उसले सोच्यो। उसले आफूमा समस्या छ भन्ने कुरा बुझेकै थिएन। बरु ऊ त यस्तो सोच्थ्यो, “मैले तिमीसँग कष्ट भोगेँ, त्यसकारण मैले तिमीसँग आशिष्हरू पनि उपभोग गर्नुपर्छ। तिमीले मलाई राज्यमा प्रवेश गर्न दिनैपर्छ र मलाई राज्यका मानिसहरूमध्ये एक बन्न दिनैपर्छ। मैले जे गरे पनि, तिमीले मलाई कहिल्यै त्याग्नु हुँदैन।” के उसले सोचेको कुरा यही होइन र? (हो।) यस्तो सोचाइको सार के हो? (यो त मुकुटको सट्टा परमेश्वरसँग लेनदेन गर्ने प्रयास गर्दा पावलको सारजस्तै हो।) ठिक भन्यौ, यो पावलको सार हो। ऊ मुकुट प्राप्त गर्न र आशिष् पाउनकै लागि परमेश्वरमा विश्वास गर्थ्यो, परमेश्वरलाई पछ्याउँथ्यो कष्ट भोग्थ्यो र मूल्य चुकाउँथ्यो। ऊसँग साँचो विश्वास थिएन, न त उसले सत्यता नै पछ्याउने गर्थ्यो। ऊ बस परमेश्वरसँग लेनदेन गर्ने प्रयास मात्रै गर्थ्यो। यदि सौदा असफल भयो, र उसले आशिष् पाएन र उसलाई घाटा भएको छ भन्ने लाग्यो भने, ऊ क्रोधित हुन्थ्यो, यो सबै कुरा व्यर्थ हो भन्ने सोच्थ्यो र उसले संयम गुमाउँथ्यो र उसको हृदयमा कटुता पैदा हुन्थ्यो। उसले बोल्दा प्रदर्शित गरेका कुराहरू यिनै हुन्। यसपछि यस व्यक्तिले के गर्यो? त्यसपछि, यो व्यक्ति व्यापार गर्न गयो, र केही युवतीहरू उसको वरिपरि झुम्मिएका थिए। उसले परमेश्वरमा विश्वास गर्दिनँ भनेर नभने पनि, ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैनथ्यो र ऊ परमेश्वरको अनुयायी थिएन। उसलाई अलिकति काटछाँट गरिएकै कारण उसले परमेश्वरलाई पछ्याउने आफ्नो मौका त्याग्नेछ र त्यसपछि ऊ व्यापार गर्न जानेछ भनेर कसैले कहिल्यै सोचेको थिएन। उसको क्रोधित बर्ताव अनि पहिलेको उसको आफूलाई प्रकट गर्ने शैली दुई फरक मानिसका जस्ता थिए। यो उसको प्रकृति आफै खुलासा भएको अवस्था थियो। पहिले, उसले यसो नगर्नुको एक मात्र कारण सही परिस्थिति नआउनु थियो। यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, उसले आफ्नो वास्तविकता लुकाएको थियो, आफू जो होइन त्यही हुँ भनेर ढोँग गरेको, र आफ्नो वास्तविकता देखाउनबाट आफूलाई रोकेको थियो। यदि तँ साँच्चै नै असल व्यक्ति होस् भने, तैँले जस्तोसुकै परिस्थिति सामना गरे पनि, सुरुमा आफ्नो ठाउँमा दह्रिलो भई, आफू को हुँ भन्ने कुरा जान्नैपर्छ। यसबाहेक अर्को कुरा चाहिँ, के साँच्चै मानवता भएका मानिसहरूले मानवताहीन कुरा र दुष्कर्महरू गर्न सक्छन्? (सक्दैनन्।) अवश्य नै सक्दैनन्। यस मामलाबाट के स्पष्ट हुन्छ भने, जब मानिसहरूले सत्यता स्वीकार गर्न सक्दैनन्, तब यो सबैभन्दा विद्रोही कुरा हुन्छ, र तिनीहरू सबैभन्दा बढी खतरामा हुन्छन्। यदि तिनीहरूले कहिल्यै सत्यता स्वीकार गर्न सक्दैनन् भने, तिनीहरू अविश्वासी हुन्। यदि यस्तो व्यक्तिको आशिष् पाउने इच्छा चकनाचुर भयो भने, उसले परमेश्वरलाई छोड्नेछ। किन यस्तो हुन्छ? (किनभने तिनीहरूले पछ्याउने कुरा भनेको आशिष् र अनुग्रह उपभोग गर्न हो।) तिनीहरू परमेश्वरमा विश्वास त गर्छन् तर सत्यता पछ्याउँदैनन्। तिनीहरूका लागि, मुक्ति त आभूषण र राम्रो सुनिने शब्द मात्र हो। तिनीहरूको हृदयले इनाम, मुकुट, र मनपर्दा वस्तुहरू पछ्याउँछ—तिनीहरू यो जुनीमा सयगुणा र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्न चाहन्छन्। यदि तिनीहरूले यी कुराहरू प्राप्त गर्न सकेनन् भने, विश्वास गर्नेछैनन्; तिनीहरूको साँचो अनुहार देखा पर्नेछ, र तिनीहरूले परमेश्वरलाई छोड्नेछन्। तिनीहरूले हृदयमा विश्वास गर्ने कुरा परमेश्वरको काम होइन, न त यो परमेश्वरले व्यक्त गर्ने सत्यता नै हो, र तिनीहरूले पछ्याउने कुरा मुक्ति होइन, झन् सृजित प्राणीका रूपमा राम्रोसित कर्तव्य निभाउने हुनु त परै जाओस्; बरु, यो त पावलको जस्तै कुरा हो—प्रचुर आशिष् पाउनु, ठूलो शक्ति प्राप्त गर्नु, ठूलो मुकुट लगाउनु, र परमेश्वरकै स्तरमा हुनु हो। यी कुराहरू तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहना हुन्। त्यसकारण, परमेश्वरको घरमा कुनै फाइदा वा मनपर्दा वस्तुहुँदैपिच्छे, तिनीहरू त्यो प्राप्त गर्न संघर्ष गर्छन्, योग्यता र वरिष्ठताअनुसार मानिसहरूलाई श्रेणीबद्ध गर्न थाल्छन्, र मनमनै सोच्छन्, “म योग्य छु। मैले पनि यसको हिस्सा पाउनुपर्छ। मैले यो प्राप्त गर्न संघर्ष गर्नैपर्छ।” तिनीहरू आफूलाई परमेश्वरको घरको अग्रणी स्थानमा राख्छन्, र त्यसपछि परमेश्वरको घरका यी फाइदाहरू उपभोग गर्नु मात्रै उचित कुरा हो भन्ने सोच्छन्। उदाहरणका लागि, विदेश जाने विषयमा, त्यस व्यक्तिको पहिलो विचार भनेकै उसले सहभागिता हुन पाउनुपर्छ, धेरैजसो मानिस ऊ जति राम्रा छैनन्, उसले जति धेरै कष्ट भोगेका छैनन्, ऊ जति योग्य छैनन्, उसले जति धेरै वर्ष परमेश्वरमा विश्वास गरेका छैनन्, र ऊ जति लामो समय अगुवा बनेका छैनन् भन्ने थियो। ऊ आफूलाई माथिल्लो स्तरमा राख्न हरेक बहाना र मूल्याङ्कनको विधि प्रयोग गर्थ्यो। उसले मानिसहरूलाई जसरी श्रेणीबद्ध गरे पनि, आफूलाई सधैँ अग्र स्थानमा र योग्य मानिसहरूको स्तरमा राख्थ्यो। अन्त्यमा, उसलाई आफूले यस्तो अनुकूल व्यवहार उपभोग गर्नु मात्र उचित हो भन्ने लाग्यो। उसलाई यो कुरा प्राप्त नहुनेत्तिकै, अनि आशिष् पाउने र आफ्नो हितका कुराहरू प्राप्त गर्ने उसको कल्पना चकनाचूर हुनेबित्तिकै, ऊ यसबारे केही गरिहाल्थ्यो, ऊ क्रोधित हुन्थ्यो, र समर्पित भएर सत्यता खोजी गर्नुको सट्टा परमेश्वरसँग बहस गर्थ्यो। स्पष्टै छ, उसको हृदय पहिले नै उसले पछ्याएका यी कुराहरूले भरिएको थियो, र उसले पछ्याएका कुराहरू सत्यतासँग पूर्ण रूपमा मिल्दैनन् भन्ने कुरा देखाउन यही नै पर्याप्त छ। उसले जति धेरै काम गरे पनि, उसको उद्देश्य र अभिप्राय मुकुट प्राप्त गर्नुबाहेक अरू केही थिएन—त्यो पावलको उद्देश्य र अभिप्रायजस्तै थियो—र ऊ यसैमा चिपिक्क टाँसिरहन्थ्यो र यसलाई कहिल्यै छोड्थेन। उसलाई सत्यता जसरी सङ्गति गरिए पनि, उसलाई जसरी काटछाँट, खुलासा र चिरफार गरिए पनि, ऊ अझै पनि आशिष् पाउने अभिप्रायमै जिद्कसिरहन्थ्यो र त्यसलाई त्याग्दैनथ्यो। उसले परमेश्वरको अनुमोदन प्राप्त नगरेपछि र आशिष् पाउने आफ्नो इच्छा चकनाचुर भएको देखेपछि, ऊ नकारात्मक बन्यो र पछि हट्यो, अनि कर्तव्य त्याग्यो र भाग्यो। उसले साँचो रूपमा कर्तव्य पूरा गरेको वा राज्यको सुसमाचार प्रचारमा राम्रो सेवा गरेको थिएन, र यसले उसमा परमेश्वरप्रति साँचो विश्वास थिएन, ऊ साँचो रूपमा समर्पित भएको थिएन, र ऊसँग साँचो अनुभवात्मक गवाहीको अंश पनि थिएन भन्ने कुरा पूर्ण रूपमा खुलासा गर्छ—ऊ त भेडाको भेसमा भेडाको बगामा घुसेको ब्वाँसो मात्रै थियो। अन्ततः भित्रैदेखि अविश्वासी रहेको यस व्यक्तिलाई पूर्ण रूपमा खुलासा गरियो र हटाइयो, अनि विश्वासीका रूपमा रहेको उसको जीवन समाप्त भयो। यो एउटा मामला हो।
यो एकल मामला थिएन। विदेश जाने मामलामा ठेस खाएको र खुलासा भएको व्यक्ति यो मात्र थिएन। हामीले भर्खरै दिएको उदाहरण एक पुरुषको थियो, तर अर्को व्यक्ति चाहिँ महिला थिई। सुरुमा यस महिलालाई पनि हामीसँगै विदेश आउने योजना थियो। यस्तो योजना भएपछि, ऊ भित्रैदेखि निकै खुसी थिई, र यसका लागि उसले योजना बनाउन र तयारी गर्न थालेकी थिई, तर अन्त्यमा, विभिन्न कारणले गर्दा ऊ जान सकिन। त्यो बेला, परिस्थिति अत्यन्तै खतरनाक भएकाले उसलाई जानकारी दिइएन। एकपटक सहकर्मीहरूको भेलामा, उसले यस निर्णयबारे थाहा पाई। विश्लेषण गर त: यस महिलाले थाहा पाएपछि परिणाम के भयो होला? (यदि कुनै व्यक्तिमा सामान्य व्यक्तिको सोचाइ भएको भए, यो कुरा थाहा पाएपछि, उसले सायद त्यति ठूलो प्रतिक्रिया दिनेथिएन। उसले परिस्थिति खतरनाक भएकाले ऊ विदेश जान पाएन भनेर सोच्नेथियो, र यस कुरालाई सही रूपमा सम्हाल्न सक्नेथियो। तैपनि, यस महिलाले चाहिँ यो कुरा थाहा पाउँदा, क्रोधित भएर परमेश्वरसँग बहस गर्ने प्रयास गर्नेथिई।) ठिक भन्यौ, तिमीहरूले यस्ता मानिसहरूको चरित्र केही हदसम्म बुझेका रहेछौ। यस्ता मानिसहरू यस्तै हुन्छन्—कुरा जेसुकै भए पनि, तिनीहरू घाटा स्विकार्न चाहँदैनन्, बरु फाइदा नै लिन चाहन्छन्। हरेक कुरामा, तिनीहरूले अरू सबैलाई उछिन्नैपर्छ, र तिनीहरू अरू सबैभन्दा असल हुनैपर्छ। हरेक कुरामा, तिनीहरू नै श्रेष्ठ हुनैपर्छ; तिनीहरूले हरेक मनपर्दा वस्तु प्राप्त गर्नैपर्छ, र कुनै कुराको हिस्सा नपाउनु तिनीहरूलाई स्वीकार्य हुँदै हुँदैन। यो कुरा थाहा पाएपछि, त्यो महिला तुरुन्तै रिसले उठी र रमिता देखाउँदै भुइँमा लडीबडी गरी। उसको पैशाचिक पक्ष देखा पर्यो, र उसले आफ्ना सहकर्मीहरूलाई हप्काई र तिनीहरूप्रति आफ्नो रिस पोखाई। उसको रिस कहाँबाट आएको थियो? ऊ दाजुभाइ-दिदीबहिनीहरूप्रति रिसाएकी थिई जस्तो देखिन्थ्यो, तर ऊ वास्तवमा कोसँग रिसाएकी थिई? (ऊ परमेश्वरसँग रिसाएकी थिई।) ठ्याक्कै त्यही भइरहेको थियो। त्यसोभए उसको रिसको कारण चाहिँ के थियो? यसको जड कहाँ थियो? (उसका चाहनाहरू पूरा नभएको कारण यस्तो भएको थियो।) किनभने उसले आफ्नो मनपर्दा कुरा प्राप्त गरिन, र आफ्नो उद्देश्य हासिल भएन। यसपटक ऊ फाइदा प्राप्त गर्न सफल भइन; बरु, अरूले फाइदा पाए र उसले सहभागिता जनाउन पाइन, त्यसकारण ऊ क्रोधित भई; उसले नाटक गरिरहन सकिन; उसले आफ्नो हृदयको सबै असन्तुष्टि र कटुता पोखाई र निकाली। विगतमा, माथिले के गरिरहेको छ भन्ने कुरा जान्ने पहिलो व्यक्ति ऊ नै हुनुपर्थ्यो। ऊ सधैँ माथिलाई सम्पर्क गर्न चाहन्थी, तर ऊ दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दिनथिई। ऊ आफूलाई साधारण सदस्यका रूपमा नभई, सधैँ उच्च स्तरको व्यक्तिका रूपमा प्रस्तुत गर्थी, त्यसकारण यसपटक उसले पनि विदेश जान पाउनुपर्छ—अरू कोही गएन भने पनि ऊ चाहिँ जान पाउनुपर्छ—भन्ने उसले सोचेकी थिई। प्राथमिक उम्मेदवार ऊ नै थिई, र उसले यो व्यवहार पाउने सौभाग्य पाउनुपर्थ्यो। उसको हृदयले साँचो रूपमा चाहेको कुरा यही थियो। अहिले, उसले यस्तो विशेष व्यवहारको आनन्द नपाउने भएपछि, यतिका वर्ष उसले भोगेका सबै कष्ट व्यर्थ भए भन्ने उसलाई लाग्यो; उसले परिश्रमसाथ कायम गरेको हैसियत र चाहेको व्यवहार पाइन। त्यही क्षण ती सबै कुरा व्यर्थ भए। पत्यारै नलाग्ने गरी, उसले त्यस्तो ठूलो मनपर्दा कुरा प्राप्त गर्न सकिन; विश्वासी नहुने गरी उसलाई त्यागियो, त्यसकारण उसलाई आफूले परमेश्वरको हृदयमा उच्च स्थान ओगटेको छैनँ, र आफू साधारण व्यक्ति हुँ भन्ने लाग्यो। उसको हृदयको सुरक्षा पर्खाल गर्ल्यामगुर्लुम ढलेको थियो, र उसले अब नाटक गर्न र कुराहरू लुकाउन सकिन। अरूले के भन्छन् वा तिनीहरूले यसलाई कसरी हेर्छन् भन्ने वास्ता नगरी, ऊ रमिता देखाउन थाली, मानिसहरूप्रति चिच्याउन, आवेग पोखाउन, रिस देखाउन र आफूभित्रको प्राकृतिक कुरा खुलासा गर्न थाली। त्यसपछि, उसलाई कर्तव्य निर्वाह गर्न एउटा समूहमा पठाइयो। अनि, कर्तव्य निर्वाह गर्ने क्रममा उसले धेरै खराब कुरा गरी, र समूहका दाजुभाइ-दिदीबहिनीहरूले मिलेर अन्ततः उसलाई निष्कासन गर्न माग गर्दै पत्र लेखे। उसलाई निष्कासित गर्नुपर्ने कारण के थियो? दाजुभाइ-दिदीबहिनीहरूले उसले गरेको दुष्टतालाई एउटै वाक्यांशमा व्याख्या गर्न सकिन्छ भनेर बताए: यति धेरै कि सबै कुरा लेखेर साध्य नै नहुने! अर्को शब्दमा भन्दा, उसले अति धेरै दुष्कर्म गरी, र उसले गरेको कामको प्रकृति अत्यन्तै गम्भीर थियो—यो कुरालाई एक-दुई वाक्यमा स्पष्ट रूपमा व्यक्त गर्न सकिँदैनथ्यो, न त यसलाई एक-दुईवटा कथामा बताएर नै सकिन्थ्यो। उसले अनगिन्ती दुष्ट कुराहरू गरी र यसले मानिसहरूलाई रिस उठायो, त्यसकारण मण्डलीले उसलाई निष्कासित गर्यो। उसले गरेका यी दुष्ट कुराहरू विदेश जाने कुरा उठ्नुभन्दा पहिले नै गरिएका थिएनन्, त्यसोभए यो कुरा पैदा भएपछि चाहिँ उसले किन यी कुराहरू गर्न सकी त? किनभने विदेश जाने कुरा उसले चाहेको जस्तो भएन। स्पष्ट छ, उसले गरेका दुष्ट कुराहरू र प्रकट गरेका कुरूपताहरू उसले आफ्नो मनपर्दा कुरा प्राप्त नगरेको कारण बदला लिन र रिस पोखाउन गरेका कार्यहरू थिए। मलाई भन त, जब साँचो रूपमा सत्यता पछ्याउने र मानवता भएको व्यक्तिले यस्तो परिस्थिति सामना गर्छ, तब उसले धेरै सत्यता नबुझेको भए पनि, के उसले यी प्रकटीकरणहरू पैदा गर्न सक्छ? के ऊ यी कुराहरू प्रकट गर्न सक्ने हुन्छ? अलिअलि मानवता, अलिअलि विवेक, र अलिअलि लज्जाबोध भएको कसैले पनि यी कुराहरू गर्दैनन्, बरु आफूलाई काबुमा राख्छन्। तिनीहरूको हृदय खुसी नभए पनि, असन्तुष्ट भए पनि, र त्यसमा अलिकति चोट लागेको भए पनि, तिनीहरूले आफू कसरी साधारण व्यक्ति हुँ, र यो कुरा प्राप्त गर्न आफूले संघर्ष गर्नु हुँदैन, परमेश्वरमा विश्वास गर्नेहरूले सत्यता पछ्यानुपर्छ, सबै कुरामा परमेश्वरको योजनाबद्ध कार्यहरूप्रति समर्पित हुनुपर्छ, आफूसँग कुनै छनौट हुनु हुँदैन, र मानिसहरू सृजित प्राणी हुन् र तिनीहरू कुनै रूपमा पनि प्रभावशाली हुँदैनन् भनेर सोच्छन्। तिनीहरू केही दिनसम्म बेखुस हुनेछन्, तर त्यसपछि तिनीहरू यसलाई बिर्सेर सामान्य अवस्थामा फर्कनेछन्। तिनीहरूले अझै पनि आफूले जसरी विश्वास गर्नुपर्ने हो त्यसरी नै विश्वास गर्नेछन्, र यस मामलाको कारण तिनीहरूले दुष्कर्म गर्ने वा बदला लिने गर्नेछैनन्, न त यस मामलाको कारण रिस नै पोखाउनेछन्। तर यसको विपरीत, सत्यता नपछ्याउने र अत्यन्तै खराब चरित्र भएका मानिसहरूले एउटा सानो कुराका लागि मात्रै पनि पहिले कहिल्यै नगरेका यी सबै दुष्कर्म देखाउन सक्छन्। यसले समस्या स्पष्ट पार्छ। यसले यस्ता मानिसहरूको मानवता सार स्पष्ट पार्छ, र यस्ता मानिसहरूको साँचो पछ्याइ स्पष्ट पार्छ, अर्थात् यसले यस मामलाको प्रकटीकरणमार्फत तिनीहरूको साँचो अनुहार पूर्ण रूप उदाङ्गो पारिदिन्छ। पहिलो कुरा त, तिनीहरूको सार पूर्ण रूपमा ख्रीष्टविरोधीकै सार हो। दोस्रो कुरा, तिनीहरूले कहिल्यै सत्यता पछ्याएका हुँदैनन्, न त आफूलाई कहिल्यै मुक्तिको पात्रका रूपमा लिने र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने नै गर्छन्। तिनीहरू परमेश्वरप्रतिको समर्पण पछ्याउँदैनन्; तिनीहरू हैसियत र आनन्द मात्रै पछ्याउँछन्; तिनीहरू अरूबाट प्राप्त हुने असल व्यवहार मात्रै पछ्याउँछन्, र आफूलाई परमेश्वरको बराबर बनाउने स्तर मात्र पछ्याउँछन्। परमेश्वर जे कुराको आनन्द लिनुहुन्छ, तिनीहरू त्यही कुराको आनन्द लिन्छन्। यसरी, तिनीहरूले व्यर्थमा परमेश्वरलाई पछ्याइरहेका हुँदैनन्। तिनीहरूले पछ्याउने कुराहरू यिनै हुन्। यो यस्ता मानिसहरूको प्रकृति सार हो; यो तिनीहरूको साँचो रूप, र तिनीहरूको हृदयको भित्री परिदृश्य हो। यस मामलाले यस महिलाको बीस वर्षको विश्वास समाप्त गरिदियो—त्यो सबै बरबाद भयो।
मलाई भन त, यी दुई मानिस अहिले कहाँ हुनुपर्छ? मण्डलीमा कि अरू कुनै ठाउँमा? (गैरविश्वासी संसारमा।) किन यसो भन्छौ? तिमीहरूले कसरी यो निर्णय गर्यौ? तिमीहरूका शब्दहरू केमा आधारित छन्? (किनभने तिनीहरू अविश्वासी हुन्, र परमेश्वरमाथिको तिनीहरूको विश्वास सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने उद्देश्यका लागि होइन। अन्त्यमा, यस्ता मानिसहरू आफ्नो विश्वासमा दृढ हुन सक्दैनन्, र तिनीहरू संसारमा फर्केर जान मात्र सक्छन्।) अन्त्यमा, तिनीहरू आफ्नो विश्वासमा दृढ हुन सक्दैनन्, तर अझै पनि यो कुरा सकिएको हुँदैन, त्यसैले तिनीहरू कसरी हराएका हुन्छन्? तैँले तिनीहरू भित्री रूपमा के सोच्थे भनेर हेर्नैपर्छ। तिनीहरूको हृदयमा कुनै क्रियाकलाप चलिरहेको बेला मात्रै तिनीहरूले यस्ता कुराहरू गर्न र यस्ता निर्णयहरू लिन सक्छन्। तिनीहरूले कसरी यस मामलाको विश्लेषण र मूल्याङ्कन गरे जसले गर्दा तिनीहरू यस्तो मार्ग रोज्न पुगे? तिनीहरूले हृदयमा यस्तो सोचे, “मैले परमेश्वरमा विश्वास गरेको यति धेरै वर्ष भयो र मैले धेरै कष्ट भोगेको छु। मैले सधैँ आफ्ना लागि नाम कमाउन सक्ने दिनको तृष्णा गर्दै आएको छु। माथिसँग रहेर, मैले आफ्नो नाम कमाउन र आफ्नो अनुहार देखाउन सक्छु। अहिले मैले बल्ल विदेश जाने मौका पाएको छु। यो ठूलो कुरा हो! मैले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले कहिल्यै यस्तो कुरा सोच्ने आँट गरेको थिइनँ। यो त परमेश्वरमा विश्वास गरेर मुकुट प्राप्त गरेजस्तै हो, तर मैले यति ठूलो मनपर्दा कुरामा भागीदार हुन नपाउने रहेछु। मैले यो कुरा प्राप्त गर्न नसक्ने रहेछु। पहिले मलाई परमेश्वरको हृदयमा मेरो निम्ति स्थान निश्चित छ भन्ने लाग्थ्यो, तर अहिले त्यस्तो होइन रहेछ भन्ने देखेको छु। तर लाग्छ मैले परमेश्वरलाई पछ्याएर कुनै पनि मनपर्दा कुरा प्राप्त गर्न नसक्ने नै रहेछु। विदेश जानेजस्तो ठूला कुराको हकमा तिनीहरूले मेरो बारे विचार गरेनन्, त्यसकारण के भविष्यमा मुकुट पाउने मेरो मौका झनै कम छ होइन र? कसले यो कुरा प्राप्त गर्नेछ भन्ने कुरा निश्चित छैन, र मलाई लाग्छ त्यो व्यक्ति म नै हुनेछु भन्ने पनि कुनै आशा छैन।” के आफ्नो कुनै आशा छैन भन्ने सोचेपछि पनि तिनीहरू अझै परमेश्वरलाई पछ्याउन इच्छुक थिए त? पहिले कष्ट भोग्नु र मूल्य चुकाउनुको पछाडि तिनीहरूको उद्देश्य के थियो? तिनीहरूले अलिअलि आशाको कारण र आफ्नो हृदयमा राखिएका ती साना विचारहरूको कारण मात्रै त्यस्तो व्यवहार गरे र आफूलाई त्यसरी प्रकट गरे। अहिले तिनीहरूको आशा चकनाचूर भएको छ र तिनीहरूका विचारहरू व्यर्थ भएका छन्, त्यसकारण के तिनीहरू विश्वास गर्ने कार्यलाई जारी राख्न सक्छन् त? के तिनीहरू परमेश्वरको घरमा बस्न र कर्तव्य निर्वाह गर्नमा सन्तुष्ट हुन सक्छन् त? के तिनीहरू केही प्राप्त नगरी परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक हुन सक्छन् त? ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू यति ठूला हुन्छन् कि तिनीहरू आफूले गरेको प्रयास र चुकाएको मूल्यबाट आउने यस्तो परिणाम स्विकार्न पटक्कै मान्दैनन्। तिनीहरूले सपना देख्ने कुरा भनेको आफूले चुकाएको मूल्य र गरेको प्रयासको बदलामा मुकुट र मनपर्दा कुराहरू पाउनु, परमेश्वरको घरमा जुनसुकै मनपर्दाकुरा भए पनि, त्यसमा आफूले भाग पाउनुपर्छ भन्ने हो—अरूले नपाए पनि केही छैन, तर आफूले चाहिँ पाउनैपर्छ। के त्यस्ता उच्च महत्त्वाकाङ्क्षा र लोभ भएका मानिसहरूले कुनै पनि कुरा प्राप्त नगरी आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् र, के कुनै पनि कुरा नलिई मेहनत गर्न सक्छन् र? तिनीहरू यस्तो गर्न कदापि सक्दैनन्। कति मानिसहरू भन्छन्, “तिनीहरूलाई सत्यता पछ्याउन देऊ। के तिनीहरूले धेरै सत्यता सुनेपछि त्यो हासिल गर्न सक्दैनन् र?” अरू मानिस यसो भन्छन्, “यदि परमेश्वरले तिनीहरूलाई सजाय दिनुभयो र न्याय गर्नुभयो भने, के यसले तिनीहरूलाई परिवर्तन गर्नेछैन र?” के कुरा यही हो त? परमेश्वर यस्ता मानिसहरूलाई सजाय दिनुहुन्न र न्याय गर्नुहुन्न, र यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। उहाँले हटाउने प्रकारका मानिसहरू ठ्याक्कै यिनीहरू नै हुन्। मैले भनेको कुरा र तिमीहरूले भर्खरै भनेको कुराबीच के भिन्नता छ? के तिमीहरूले भनेको कुरा तिनीहरूको हृदयमा हुने साँचो क्रियाकलाप हो? के यो यस्ता मानिसहरूको सारको प्रकटीकरण हो? (होइन।) त्यसोभए तिमीहरूले भनेको कुरा के हो? (भावना र खोक्रा सिद्धान्तहरू।) तिमीहरूले भनेको कुराको प्रकृति विश्लेषण र मूल्याङ्कनतर्फ अलि झुकेको हुन्छ, र यो कुरा सिद्धान्तका आधारमा तिनीहरूलाई मूल्याङ्कन र परिभाषित गर्नु हो। यो तिनीहरूका साँचो सोच र प्रकटीकरण होइन, न त यो तिनीहरूको साँचो दृष्टिकोण नै हो। यो त ख्रीष्टविरोधी सार भएका यस्ता मानिसहरूको प्रकटीकरण हो। यदि तिनीहरूले प्राप्त नगरेको कुनै मनपर्दा कुरा छ भने, र तिनीहरूले उपभोग नगरेको कुनै लाभ, वा कुनै फाइदा छ भने, तिनीहरू क्रोधित हुन्छन्, र परमेश्वरप्रतिको विश्वास र सत्यता पछ्याइमा आस्था गुमाउँछन्, परमेश्वरमा विश्वास गर्न अनिच्छुक हुन्छन्, भाग्न चाहन्छन्, र खराब कुराहरू गर्न चाहन्छन्। तिनीहरू रिस पोखाउन र बदला लिन खराब कुराहरू गर्छन्—परमेश्वरबारे आफ्ना गलतफहमी र परमेश्वरप्रतिका आफ्ना कटुताहरूसमेत पोखाउँछन्। के यी मानिसहरूलाई तह लगाउनुपर्दैन र? के तिनीहरूलाई मण्डलीमा कर्तव्य निर्वाह जारी राख्न दिनुपर्छ र? (पर्दैन।) त्यसोभए यी मानिसहरूलाई कसरी तह लगाउनुपर्छ? (तिनीहरूलाई निष्कासित गर्नुपर्छ।) के विदेश जान नपाएको कारण विश्वास गर्न छोड्ने कुनै व्यक्ति छ? (छ।) यस्ता मानिसहरू के हुन्? (अविश्वासीहरू। तिनीहरू आशिषित् हुन पछि लाग्नका लागि मात्रै परमेश्वरमा विश्वास गर्छन्, र तिनीहरू आफ्ना महत्त्वाकाङ्क्षा र इच्छाहरू पूरा नहुँदा परमेश्वरलाई धोका दिन्छन्।) यस्तो सानो कुराको कारण तिनीहरूले परमेश्वरमा विश्वास गर्न छोड्न सक्छन्। यस्ता मानिसहरूमा साँचो विश्वास वा झूटो विश्वास हुन्छ भनेर भन्न सकिँदैन—तिनीहरूको चरित्र नै अत्यन्तै नीच हुन्छ!
तेस्रो घटना: गाउँघर फर्केपछि जिउन असम्भव लाग्नु
कति मानिसहरू गाउँमा जन्मेका हुन्छन् र जिउनका लागि तिनीहरूको परिवारसँग धेरै पैसा हुँदैन। तिनीहरूले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने वस्तुहरू सरल हुन्छन्, र तिनीहरूको घरमा बिझाउने ओछ्यान, आलमारी र डेस्कबाहेक अरू कुनै फर्निचर हुँदैन। तिनीहरूको भुइँ इँटा वा माटोको हुन्छ—तिनीहरूकहाँ कङक्रिटको भुइँसमेत हुँदैन। तिनीहरूको परिस्थिति अत्यन्तै मामुली हुन्छ। तिनीहरू परमेश्वरमा विश्वास गर्न थालेपछि, सुसमाचार प्रचार गर्ने कर्तव्य निर्वाह गर्छन्, र केही सम्पन्न क्षेत्रमा जान्छन्। यस्तै एउटा महिला थिई, जसले धेरैजसो विश्वासी दाजुभाइ-दिदीबहिनीको घरमा काठको वा टाइल लगाइएको भुइँ हुने गरेको देखी; पर्खालमा वालपेपर लगाइएको थियो; तिनीहरूको घर अत्यन्तै सफा थियो, र तिनीहरूले हरेक दिन नुहाउन पाउँथे। तिनीहरूको घरमा फर्निचर पनि एकदमै धेरै थिए: टेलिभिजन स्ट्यान्ड र ठूला आलमारीहरू, साथै सोफा र एयर कन्डिसन थिए। तिनीहरूको बेडरुममा साइमोन्स कम्पनीका बेडहरू थिए, र तिनीहरूको भान्सामा हरप्रकारका उपकरणहरू थिए: रेफ्रिजरेटर, माइक्रोवेभ, ओभन, स्टोभ, रेन्ज हुड इत्यादि। त्यो चक्कर लाग्ने दृश्य थियो। यसबाहेक, यस्तो ठूलो सहरको कुनैकुनै ठाउँमा उसले माथि र तल गर्न लिफ्ट चढ्न सक्थी। यस ठाउँले उसको आँखा उघ्रियो, र त्यहाँ केही समय काम गर्दै सुसमाचार प्रचार गरेपछि उसलाई फर्केर जान मन लागेन। यस्तो किन भयो? उसले सोची, “मेरो परिवारको माटोको घरलाई कुनै पनि हालतमा यस ठाउँसँग तुलना गर्न सकिँदैन। हामी सबै परमेश्वरमा विश्वास गर्छौं, तर पनि कसरी यी मानिसहरू मेरो परिवारभन्दा अत्यन्तै धेरै सुखमा जिउँछन्? यी मानिसहरूको जीवन स्वर्गको जस्तै छ। मेरो परिवार त सुँगुरको खोरमा बस्छ—त्यो यी मानिसहरूको अवस्थाभन्दा धेरै खराब छ!” यस्तो तुलना गरेपछि, ऊ व्याकुल भई, यस स्थानप्रति उसलाई अझै बढी लगाब भएर आयो र फर्केर जान झनै मन लागेन। उसले सोची, “यदि मैले यहाँ लामो समयसम्म काम गर्न पाएँ भने, म घर जानुपर्दैन, होइन र? त्यो माटोको गुफा मान्छे बस्न लायक छैन।” उसले केही समयसम्म ठूलो सहरमा बसेर सहरका मानिसहरूले जस्तै खान, लाउन, र जीवनको आनन्द लिन, र सहरका मानिसहरूले जस्तै जिउन सिकी। ती दिनहरूमा उसलाई जीवन अत्यन्तै सुखी भएझैँ लाग्यो। पैसा हुनु राम्रो कुरा थियो। गरिब हुँदा त्यसले मानिसहरूलाई कुनै भविष्य दिँदैनथ्यो। गरिब मानिसहरूलाई अरूले हेला गर्थे, र तिनीहरू आफैलाई समेत हेला गर्थे। उसले यसबारे जति धेरै विचार गर्थी, उसलाई त्यहाँ फर्केर जान त्यति नै मन लाग्दैनथ्यो, तर उसले गर्न सक्ने केही थिएन—ऊ घर जानु नै पर्थ्यो। घर पुगेपछि, उसलाई हृदयमा फरक-फरक मिश्रित भावनाहरूको अनुभूति भयो र उसलाई सहन निकै गाह्रो भयो। उसले घरभित्र पस्नेबित्तिकै माटोको भुइँ देखी, र ऊ चुलाछेउको बेडमा बस्दा त्यो उसलाई निकै कडा र असहज लाग्यो। उसले भित्ता छुँदा उसको हातभरि धुलो लाग्यो। जब उसले आफूलाई खान मन लागेको स्वादिलो कुराको नाम लिन्थी, कसैले पनि त्यो नाम जान्दैनथ्यो, र सुत्नुअघि नुहाउन मन लाग्दा नुहाउने प्रबन्ध थिएन। उसलाई यस्तो जीवन जिउनु अत्यन्तै घटिया लाग्थ्यो, र आफ्ना आमाबुबा आफूले चाहेको कुरा किन्नै नसक्ने गरी यति गरिब भएकामा उसलाई तिनीहरूप्रति ईख भयो, र ऊ सधैँ तिनीहरूसँग रिस पोखाउँथी। घर फर्केपछि, ऊ फरक व्यक्ति बनेजस्तो भएको थियो। ऊ आफ्नो परिवारका सदस्यहरूलाई हेयको नजरले हेर्थी, र घरका सबै कुरालाई पनि हेयको नजरले हेर्थी, किनभने उसलाई त्यो गँवार ठाउँमा अबदेखि बस्न सक्दिनँ, र यदि त्यहाँ बसिरहने हो भने यी सब गुनासाले गर्दा मर्नेछु भन्ने लाग्थ्यो। घरबाट निस्केपछि उसको आँखा उघ्रिएको त थियो, तर त्यो खराब कुरा बनेको थियो, जसले गर्दा उसका आमाबुबा ऊप्रति निकै रिसाउन पुगे। त्यो बेला, उसको मनमा एउटा विचार आयो: “यदि मेरा आमाबुबाले ईश्वरमा विश्वास नगरेका भए, र मैले ईश्वरमा विश्वास नगरेको भए, हाम्रो जीवन अहिलेको भन्दा अवश्य नै राम्रो हुनेथियो। हामीले साइमोन्स कम्पनीको बेडमा सुत्न नपाए पनि, कम्तीमा पनि अलिक मिठो खान पाउँथ्यौँ, र भुइँमा टाइल लगाउन सक्थ्यौँ।” उसले यो परमेश्वरमा विश्वास गर्नुको परिणाम हो, परमेश्वरमा विश्वास गर्नुको अर्थ व्यक्ति गरिब हुनैपर्छ, परमेश्वरमा विश्वास गरेमा व्यक्तिले सुखी जीवन पाउन सक्दैन, र उसले मिठो खान वा राम्रो लगाउन पाउँदैन भन्ने सोची। त्यहाँदेखि, धेरै प्रान्तमा केही हासिल गरेकी यो साहसी महिलाको जोसजाँगर मऱ्यो र उसलाई दिनभरि निद्रा लाग्थ्यो। उसलाई बिहान उठ्न गाह्रो हुन्थ्यो, र उसले गर्ने पहिलो कुरा भनेको तयार भएर मेकअप गर्नु, त्यसपछि सहरका मानिसहरूले प्रायः लाइरहने लुगा लाउनु हुन्थ्यो। अनि ऊ यो पाखे जीवनबाट मुक्त भएर कहिले सहरका मानिसहरूले जस्तै जिउन पाउँछु भनेर चिढिन्थी र घोरिन्थी। उसले प्रचार गर्ने गरेका प्रवचनहरू र उसले गरेका सङ्कल्पहरू सबै हराइसकेका थिए—उसले यो सब बिर्सिसकेकी थिई। उसलाई आफू विश्वासी हो कि होइन भन्नेसमेत थाहा थिएन। ऊ यति चाँडै परिवर्तन भएकी थिई। उसका आँखाहरू अलि उघ्रिएका थिए र उसको जिउने वातावरण र जीवनको गुणस्तर परिवर्तन भएको थियो, त्यसकारण उसलाई प्रकट गरियो।
पहिले, यो महिला प्रचार र काम गर्न सबैतिर जान्थी। उसको सङ्कल्प दृढ थियो र सामर्थ्य ठूलो थियो, तर यी बाहिरी कुराहरू मात्रै थिए। ऊ आफैलाई समेत आफूले भित्री रूपमा के कुरा पछ्याउँछु, आफूलाई के मन पर्छ, र आफू कस्तो व्यक्ति हुँ भन्ने कुरा थाहा थिएन। सहरमा गएको एउटा अनुभवले उसको जीवन स्थिति पूर्ण रूपमा परिवर्तन गरिदियो, र धनी जीवन शैली कुनै अवधिमा अनुभव गर्दा यसले उसको जीवनको दिशा पूरै परिवर्तन गरिदियो। यसको कारण वास्तवमा के थियो? कसले उसलाई परिवर्तन गर्यो? यो त परमेश्वर हुन सक्नुहुन्न, होइन र? अवश्य नै सक्नुहुन्न। त्यसोभए यसको कारण के थियो? यो त वातावरणले उसलाई खुलासा गरेकाले, उसको प्रकृति सार प्रकट गरेकाले, र उसको पछ्याइ र ऊ हिँडिरहेको मार्ग प्रकट गरेकाले गर्दा भएको थियो। ऊ कुन मार्गमा थिई? त्यो सत्यता पछ्याउने मार्ग थिएन, न त त्यो पत्रुसको मार्ग थियो, न त त्यो मुक्ति पाउने र सिद्ध हुनेहरूको मार्ग नै थियो, न त त्यो सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने खोज्ने मार्ग नै थियो; बरु, त्यो त ख्रीष्टविरोधीहरूको मार्ग थियो। स्पष्टसित भन्नुपर्दा, ख्रीष्टविरोधीहरूको मार्ग प्रतिष्ठा पछ्याउने, हैसियत पछ्याउने, र भौतिक सुख पछ्याउने मार्ग हो। यस्ता मानिसहरूको सार यही हो। यदि उसले पछ्याउने कुराहरू यी नभएका, र ऊ सत्यता पछ्याउने व्यक्ति नभएकी भए, वातावरणमा आएको यस्तो सानो परिवर्तनले उसलाई कदापि प्रकट गर्नेथिएन। बढीमा, उसको हृदय अलिक कमजोर हुनेथियो, उसलाई अलिक व्याकुल महसुस हुनेथियो, र यो उसका लागि अलिक पीडादायी हुनेथियो, वा उसमा केही मूर्ख प्रकटीकरणहरू हुनेथिए, तर यस्तो पूर्ण प्रकट हुनेथिएन। यस्ता मानिसहरूको पछ्याइको सार के हो? तिनीहरू गैरविश्वासीहरूले पछ्याउने कुराहरू, र ख्याति, प्राप्ति र दुष्ट प्रवृत्तिहरू पछ्याउने यस संसारको जोकसैले पछ्याउने कुराहरू पछ्याउँछन्। तिनीहरू गैरविश्वासीहरूको फेशनेबल पहिरन मन पराउँछन्, जस्तै, गैरविश्वासीहरूले दुष्ट प्रवृत्तिहरू जसरी पछ्याउँछन् त्यो मन पराउँछन्, र तिनीहरू देहगत विलासी जीवनशैलीप्रतिको गैरविश्वासीहरूको आसक्ति झन् मन पराउँछन्। त्यसकारण, वातावरणमा आएको एउटै परिवर्तनले, यस महिलाको जीवन दृष्टिकोण र यो संसार र जीवनप्रतिको उसको मनोवृत्ति पूर्ण रूपमा परिवर्तन गरिदियो। उसलाई परमेश्वरमा विश्वास गर्नु र सत्यता पछ्याउनु सबैभन्दा महत्त्वपूर्ण कुरा होइन, बरु मानिसहरूले यस संसारमा आफू जीवित छँदा, देहमा रमाउँदै जीवनको आनन्द लिनुपर्छ, प्रवृत्तिहरू पछ्याउनुपर्छ, र यताउती हिँड्दा सबैको ध्यान खिच्ने, अरूमा डाहा पैदा गर्ने, र मानिसहरूलाई तिनीहरूलाई आदर्श मान्न लगाउने समाजका आकर्षक र सुन्दर व्यक्तित्वजस्तै बन्नुपर्छ भन्ने लाग्थ्यो। कति मानिसहरू त यस्ता पनि छन्, जसले धेरै वातावरण सामना गरिसकेपछि, र हरप्रकारका मानिसहरू भेटिसकेपछि, अनि आफ्नो आँखा उघ्रिएपछि यी दुष्ट प्रवृत्तिहरू र मानवजातिलाई छर्लङ्ग देख्न सक्छन् किनभने तिनीहरू सत्यता पछ्याउँछन् र परमेश्वरका अभिप्रायहरू बुझ्छन्। परमेश्वरले तिनीहरूलाई अगुवाइ गर्ने मार्ग पछ्याउने क्रममा, तिनीहरूको हृदय सांसारिक मानिसहरू हिँड्ने मार्गलाई घृणा गर्न, साथै यसलाई खुट्ट्याउन र पूर्ण रूपमा त्याग्न अझै सक्षम बन्छ। सत्यता नपछ्याउने र ख्रीष्टविरोधी सार भएका मानिसहरूको हकमा चाहिँ, तिनीहरूको आँखा उघ्रिनेबित्तिकै र तिनीहरूले फरक-फरक वातावरण सामना गर्नेबित्तिकै, तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू नघट्ने मात्र होइन, बरु ती झन्-झन् बढ्दै जान्छन्। आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू झन्-झन् धेरै भएपछि, ती मानिसहरू असल कुराहरूको आनन्द लिने अनि पैसा र प्रभाव हुने संसारका मानिसहरूको जीवनको अझै बढी डाहा गर्छन्, र तिनीहरूको हृदयमा विश्वासीहरूको जीवनप्रति हेला विकास हुन्छ। तिनीहरू के सोच्छन् भने धेरैजसो विश्वासी संसारको पछि लाग्दैनन्, तिनीहरूसँग पैसा, हैसियत, र प्रभाव हुँदैन र तिनीहरूले संसारका धेरै कुरा देखेका हुँदैनन्, तिनीहरू गैरविश्वासीहरू जत्ति आकर्षक हुँदैनन्, तिनीहरूले गैरविश्वासीहरूले जस्तै जीवनको आनन्द कसरी लिने भनी बुझेका हुँदैनन् र तिनीहरू गैरविश्वासीहरूले जत्ति देखावटी गर्दैनन्। परिणामस्वरूप, तिनीहरूको हृदयमा परमेश्वरमाथिको विश्वासप्रति विरोध र शत्रुता बढ्छ। त्यसकारण, ख्रीष्टविरोधीको सार भएका धेरै मानिसको हकमा भन्दा, तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि अहिलेसम्म, वास्तवमा तिनीहरू ख्रीष्टविरोधी सार भएका व्यक्ति हुन् कि होइनन् भनेर भन्न सकिँदैन, तर एक दिन सही वातावरण आएपछि यसले तिनीहरूलाई प्रकट गर्नेछ। पहिले जब प्रकट भएका मानिसहरू प्रकट भएका थिएनन्, त्यति बेला तिनीहरू नियमहरू पनि पालना गर्थे र आफूले गर्नुपर्ने काम पनि गर्थे। परमेश्वरको घरले तिनीहरूलाई जे गर्न लगाउँथ्यो तिनीहरू त्यही गर्थे, र तिनीहरू कष्ट भोग्न र मूल्य चुकाउन सक्थे। तिनीहरू कर्तव्यनिष्ठ, सही मार्गमा रहेका मानिस र परमेश्वरमा विश्वास गर्नेहरूको स्वरूप र व्यवहार भएका मानिसजस्ता देखिन्थे। तर तिनीहरूले बाहिरी रूपमा जे गरे पनि, तिनीहरूको सार र तिनीहरूले हिँडेको मार्ग समयको परीक्षा, वा फरक-फरक वातावरणको परीक्षामा दृढ रहेनन्। व्यक्तिले परमेश्वरमा विश्वास गरेको जति नै वर्ष भए पनि, र उसको विश्वासको जग जति नै दह्रिलो भए पनि, यदि ऊसँग ख्रीष्टविरोधी सार छ र ऊ ख्रीष्टविरोधी बाटोमा छ भने, उसले अवश्य नै भौतिक सुखहरू पछ्याउँछ, विलासी जीवनशैली पछ्याउँछ, प्रचुर भौतिक व्यवहार पछ्याउँछ, र त्यसबाहेक, हरप्रकारका मनपर्दा कुराहरू पछ्याउँछ, र त्यससँगसँगै जीवनप्रति सांसारिक मानिसहरूको मनोवृत्ति र शैलीलाई डाहा गर्छ। यो कुरा निश्चित छ। त्यसकारण, अहिले सबैले प्रवचनहरू सुनिरहेका भए पनि, परमेश्वरका वचनहरू खाने र पिउने अनि कर्तव्य पूरा गरिरहेका भए पनि, यी कुराहरू गर्ने तर सत्यता नपछ्याउने मानिसहरू अवश्य नै भौतिक कुराहरू पछ्याउँछन्। यी कुराहरूले तिनीहरूको हृदयमा प्राथमिकता पाउनेछन्, र सही वातावरण वा परिस्थिति आइपर्नेबित्तिकै, तिनीहरूका चाहनाहरू बढ्नेछन् र सक्रिय हुनेछन्। यी कुराहरू यस बिन्दुमा पुग्नेबित्तिकै, तिनीहरू प्रकट हुनेछन्। यदि मानिसहरू सत्यता पछ्याउँदैनन् भने, तिनीहरूका लागि ढिलोचाँडो त्यो दिन आउनेछ। सत्यता पछ्याउने, सत्यता बुझ्ने, र सत्यतालाई आफ्नो जग बनाएका मानिसहरूको हकमा भन्नुपर्दा, जब यी परीक्षा र परिस्थितिहरू आइपर्छन्, तब तिनीहरू यी कुरालाई सही रूपमा लिन, इन्कार गर्न र परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ रहन सक्षम हुन्छन्। जब यी परीक्षाहरू आउँछन्, तब तिनीहरूले के सकारात्मक र के नकारात्मक भनेर छुट्याउन सक्छन्, र यो आफूले चाहेको कुरा हो कि होइन भनेर थाहा पाउन सक्छन्। यो त कतिपय महिलाले आफ्नो पछि लाग्ने पुरुषहरूसँग जति नै धेरै पैसा भए पनि तिनीहरूप्रति कुनै चासो नदिए जस्तै हो। तिनीहरू किन चासो दिँदैनन्? किनभने ती पुरुषहरूमा असल चरित्र हुँदैन। कतिपय महिला जीवनसाथी खोज्दैनन् किनभने धनी पुरुषहरूले उनीहरूको पछि लाग्दैनन्। यदि पैसा भएको पुरुष उसको पछि लाग्यो र २०,००० युआन पर्ने डिजाइनरको लुगा किनिदिएको भए, ऊ आकर्षित हुनेथिई, र यदि उसले पानी मलसाँप्रोको रौँको १,००,००० युआन पर्ने कोट, वा ठूलो हीरा, सुन्दर ठूलो घर र कार किनेर दिएको भए, ऊ तुरुन्तै ऊसँग विवाह गर्न इच्छुक हुनेथिई। त्यसोभए, जब यी महिलाहरूले विवाह गर्दिनँ भनेर भन्थे, तब त्यो साँचो हुन्थ्यो कि झूटो? त्यो झूट हुन्थ्यो। त्यसकारण, धेरै मानिस संसारको पछि लाग्दिनँ र संसारका सम्भाव्यता र सुखहरू पछ्याउँदिनँ भनेर भन्छन्, तर त्यो तिनीहरूको अगाडि कुनै परीक्षा नभएको बेला हुन्छ; त्यसका लागि वातावरण अनुकूल भएको हुँदैन। त्यस्तो अनुकूल वातावरण पैदा हुनेबित्तिकै, तिनीहरू गहिराइमा डुब्छन् र आफूलाई मुक्त गर्नै सक्दैनन्। यो त ठ्याक्कै हामीले भर्खरै दिएको उदाहरणजस्तै हो। त्यस महिलाले आफूलाई परिस्थितिबाट मुक्त गरिन। केही समयसम्म सहरी जीवनको आनन्द लिइसकेपछि, उसलाई आफू को हुँ भन्ने थाहै भएन र उसले बाटो बिराई। उसलाई यदि दरबारमा राखिएको भए, के उसले आफ्नो नाम कलङ्कित नगराउन आफ्ना आमाबुबालाई सक्दो चाँडो आत्महत्या गर्न लगाउँथी कि? यस्ता मानिसहरू आफ्नो आनन्द, प्रतिष्ठा, विलासी जीवनशैली र उच्च गुणस्तरीय जीवनका लागि कुनै पनि मूर्ख काम गर्न सक्षम हुन्छन्। तिनीहरू व्यर्थका हुन्छन् र तिनीहरूमा नीच चरित्र हुन्छ। के यस्ता मानिसहरूले कहिल्यै सत्यता पछ्याएका छन्? (छैनन्।) त्यसोभए त्यस महिलाले प्रचार गर्ने प्रवचनहरू कहाँबाट आएका थिए? के ऊसँग प्रचार गर्ने प्रवचनहरू थिए? ऊ जे प्रचार गर्थी त्यो प्रवचन थिएन, धर्मसिद्धान्त थियो। उसले फाइँफुट्टी लगाएर मानिसहरूलाई बहकाइरहेकी थिई, प्रवचन प्रचार गरिरहेकी थिइन। उसले धेरै प्रवचन प्रचार गरी, तैपनि कसरी आफ्ना समस्याहरू समाधान गर्नसमेत सकिन? के उसलाई आफू यस अवस्थामा पुग्न सक्छु भन्ने थाहा थियो? के उसले स्पष्ट रूपमा कुराहरू देखी? उसले एकदमै धेरै प्रवचनहरू प्रचार गरी, तैपनि केही समय सहरी जीवनको आनन्द लिइसकेपछि, यस्ता परीक्षाहरू पार गर्न सकिन, र ऊ आफ्नो गवाहीमा दृढ हुन सकिन। त्यसोभए, के उसले प्रचार गरेका कुराहरू प्रवचन थिए त? ती प्रवचन थिएनन् भन्ने स्पष्ट छ। यो तेस्रो घटना हो।
चौथो घटना: छलकपटद्वारा भेटीहरू प्रयोग गरेर ऋण तिर्नु
पहिले, जब म मुख्यभूमि चीनमा थिएँ, तब हामीले सहकर्मीहरू भेला हुने अलिक सुरक्षित स्थान खोज्नुपऱ्यो, त्यसकारण हामीले एउटा आतिथि सत्कारक परिवार खोज्यौँ। त्यो परिवार हामीलाई आतिथ्य गर्न इच्छुक थियो र उनीहरूले त्यो ठाउँ सुरक्षित राख्न मदत गरे। तर केही समय बितेपछि, त्यस परिवारले यस्तो सोच्न थाल्यो, “तिमीहरूले दीर्घकालीन रूपमा यहाँ भेला हुने योजना बनाइरहेका छौ जस्तो छ। तिमीहरू मेरो घरबाहेक अरू कुनै ठाउँमा भेला हुन सक्दैनौ, त्यसकारण मैले यस अवसरको फाइदा लिनुपर्छ। के मैले त्यसो नगर्नु मूर्खता हुँदैन र?” एकपटक हामी सहकर्मी भेलामा हुँदा, सबै सहभागी आइपुगिसकेका थिएनन्, तब कुनै पनि स्पष्ट कारणविना एक व्यक्ति अतिथि सत्कारक घरमा आयो, र बैठक कोठामा बसिरह्यो, जाँदै गएन। अतिथि सत्कारक आए र यो व्यक्ति ऋणको पैसा लिन आएको हो, र तिनीहरूले धेरै वर्ष पहिले ऊबाट पैसा सापट लिएर तिरेका छैनन् भनेर भने। यहाँ के भइरहेको थियो, तिमीहरूलाई के लाग्छ? यो व्यक्ति पहिले पनि आउन सक्थ्यो, वा ऊ पछि पनि आउन सक्थ्यो, तर ऊ ऋण उठाउन ठिक त्यही समयमा आयो। के यो संयोग मात्रै थियो कि कसैले जानाजानी यस्तो योजना बनाएको थियो? त्यसमा शङ्का नगरी बस्न सकिँदैनथ्यो। शङ्कालाग्दो कुरा भइरहेको थियो। त्यो के भइरहेको थियो? के त्यस परिवारका अभिप्रायहरू खराब भएर, तिनीहरूले जानाजानी त्यस व्यक्तिलाई बोलाएका थिए? (हो।) मैले भनेँ, “त्यसलाई तुरुन्तै यहाँबाट निकाल।” त्यो अतिथि सत्कारकले भन्यो, “उसलाई पैसा नदिउन्जेल ऊ जाँदैन।” मैले भनेँ, “तिमीहरू किन त्यसलाई पैसा तिर्दैनौ त?” अतिथि सत्कारकले पैसा भए नि नतिर्ने आशयले अनकनिँदै गुनगुन गर्यो—तिनीहरू सित्तै पैसा लिन चाहन्थे। ऋण उठाउने व्यक्तिले पर्खिरह्यो र अरू केही सहकर्मी आइपुग्न लाग्दा पनि ऊ त्यहाँबाट गएन। त्यो अतिथि सत्कारकले के गर्ने योजना बनाएको थियो? के त्यो पूर्वनियोजित योजना थिएन र? (थियो।) पछि, मैले कसैलाई त्यस अतिथि सत्कारकलाई पैसा दिएर तुरुन्तै त्यो ऋण उठाउने व्यक्तिलाई त्यहाँबाट धपाइहाल्न लगाएँ। अतिथि सत्कारकलाई पैसा दिएपछि, त्यो ऋण उठाउने व्यक्ति आधा घण्टाभित्रै गइहाल्यो। सामान्य सुझबुझ चलाएर सोच्दा, त्यो ऋण उठाउने व्यक्ति फेरि फर्केर आउनुपर्दैनथियो, तर त्यो मामला अझै सकिएको थिएन। एक महिनापछि, सहकर्मी भेला हुनुभन्दा अगाडि त्यो ऋण उठाउने व्यक्ति फेरि आइपुग्यो। पछिल्लोपटक ऋणको एक भाग मात्रै चुकाइएको हो, सबै चुकाइएको थिएन भनेर अतिथि सत्कारकले भन्यो। यसो भन्नुको पछाडि उसको उद्देश्य के थियो? परमेश्वरको घरलाई फेरि पनि उसका लागि ऋण तिर्न लगाउनु। यस पटक पनि पछिल्लोपटक जस्तै भयो, अतिथि सत्कारकलाई पैसा दिएपछि, त्यो ऋण उठाउने व्यक्ति गइहाल्यो। त्यस बेलादेखि, जबजब हामी त्यहाँ भेला हुन जान्थ्यौँ, तब-तब त्यो ऋण उठाउने व्यक्ति फेरि कहिल्यै आएन, किनभने हामीले उसको ऋण दुई किस्तामा चुक्ता गरिसकेका थियौँ। उसलाई अग्रिम रूपमा यति धेरै पैसा मागेमा, हामीले तिर्न मान्दैनौँ भन्ने चिन्ता लागेको थियो, त्यसकारण उसले दुई किस्तामा मागेको थियो। यस पैसालाई कसरी हेर्ने? के परमेश्वरको घरले उसलाई सापटी दिएको थियो, कि उसले परमेश्वरको घरलाई चालबाजी गरेर त्यो आफूलाई दिन लगाएको थियो? (तिनीहरूले परमेश्वरको घरलाई चालबाजी गरेका थिए।) वास्तवमा, उसले परमेश्वरको घरलाई चालबाजी गरेर आफूलाई पैसा दिन लगाएको थियो। त्यसोभए, परमेश्वरको घरले उसलाई किन पैसा दियो? के हामीले उसलाई पैसा नदिएको भए पनि हुँदैनथ्यो र? आखिर, हामीले उसलाई पैसा नदिनु नै उचित र न्यायसङ्गत कुरा हुन्थ्यो, तर त्यसको मतलब सहकर्मीहरू भेला हुन पाउँदैनथे। त्यसोभए उसलाई पैसा दिनुको हाम्रो आधार के थियो? त्यो बेला, त्यस पैसालाई भाडाका रूपमा हेरिनुपर्छ भन्ने मेरो विचार थियो। यदि हामीले होस्टल वा खेलकुद भवन भाडामा लिएका भए, के हाम्रो पैसा खर्च हुनेथिएन र? हामी ती ठाउँमा भेला हुन पाउँदैनथियौँ र यो सुरक्षित पनि हुँदैनथ्यो। यहाँ हेर्दा, त्यस अतिथि सत्कारकले त्यो ठाउँ सुरक्षित राख्न मदत गर्छ, अनि हाम्रो सुरक्षाको पनि ग्यारेन्टी हुन्छ, त्यसकारण के परमेश्वरको घरले उसको ऋण तिर्न केही पैसा खर्च गर्नु उचित हुन्छ? (हुन्छ।) यति मात्र हो, पैसा सही तरिकाले दिइएको थिएन। तैपनि, ठूलो रातो अजिङ्गरको जस्तो देशमा यस्तो काम गर्नु प्रायः आवश्यक हुन्छ।
कति मानिसहरूमा दुष्ट मानवता हुन्छ, र तिनीहरू अतिथि सत्कार गर्ने कर्तव्य निर्वाह गर्न पूर्ण रूपमा इच्छुक हुँदैनन्। हामी हाम्रो ठाउँ सुरक्षित राख्न तिनीहरूलाई प्रयोग गर्छौँ, त्यसकारण हामीले तिनीहरूलाई परिस्थितिबाट केही फाइदा लिन दिनैपर्ने हुन्छ। तैपनि, के तिनीहरूले फाइदा लिइसकेपछि पनि अझै मुक्ति प्राप्त गर्न सक्छन्? अहँ, सक्दैनन्। परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न भन्ने होइन, तर यस्ता व्यक्तिहरू मुक्ति प्राप्त गर्न सक्दैनन्। तिनीहरू जोकोहीलाई छल गर्छन् र जोकोहीबाट फाइदा लिन्छन्। जब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्छन् र केही असल कार्यहरू बटुल्ने प्रयास गर्छन्, तब तिनीहरू सधैँ यसबाट कुनै न कुनै मनपर्दा कुरा ठगेर लिन चाहन्छन्, र तिनीहरू जोसँग अन्तरक्रिया गरे पनि, सधैँ फाइदा मात्रै लिने तर कहिल्यै घाटा नबेहोर्ने सिद्धान्त पालना गर्छन्। परमेश्वरको घरमा कर्तव्य निर्वाह गर्दा तिनीहरूले पालना गर्ने सिद्धान्त यही हो। त्यसोभए, यी “असल कार्यहरू” कहाँबाट आएका हुन्छन्? यी असल कार्यहरू यी मानिसहरू आफैले तयार गरेका हुँदैनन्, बरु परमेश्वरको घरले यी कुराहरू किनेको र यिनका लागि पैसा तिरेको हुन्छ; तिनीहरू असल कार्यहरू तयार गर्दैनन्। तिनीहरू ठाउँ प्रदान गर्छन्, परमेश्वरको घरले पैसा खर्च गर्छ, र यसलाई भाडा मान्छ। असल कार्यहरूसँग यसको कुनै सम्बन्ध हुँदैन, र यो तिनीहरूको असल कार्य होइन। जब परमेश्वरको घरका लागि दाजुभाइ-दिदीबहिनीहरूलाई ठाउँ दिने नाममा व्यक्तिले परमेश्वरको घरबाट पैसा वा सरसामान छलकपटद्वारा प्राप्त गर्छ, तब त्यो कस्तो व्यवहार हुन्छ? यस्तो व्यक्तिको चरित्र कस्तो हुन्छ? के उसको व्यवहार परमेश्वरद्वारा याद गर्न सकिने हुन्छ? मानिसहरूको हृदय र परमेश्वरको हृदयमा उसको चरित्रको स्थान कहाँ हुन्छ? असल कार्यहरू तयार गर्नु भनेको तैँले तयार गर्नुपर्ने कुरा हो—तँ आफ्नो गन्तव्यको खातिर असल कार्यहरू तयार गर्छस्, र तैँले गर्ने सबै कुरा अरूका लागि नभई, तेरो आफ्नै लागि हुन्छ। तैँले आफूले गर्नुपर्ने काम गरेर, पहिले नै इनाम प्राप्त गरिसकेको हुन्छस्, र आफूले पाउने अभिप्राय राखेको मनपर्दा कुरा प्राप्त गरिसकेको हुन्छस्, त्यसैले परमेश्वर आफ्नो हृदयमा तँलाई कसरी हेर्नुहुन्छ? तर तैँले आफ्नो हितका केही कुरा प्राप्त गर्न मात्र असल कुराहरू गर्छस् भने, सत्यता प्राप्त गर्न वा जीवन प्राप्त गर्नका लागि गर्दैनस्, परमेश्वरलाई सन्तुष्ट पार्नका लागि त झनै गर्दैनस् भने, के परमेश्वरले अझै पनि यस्ता मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ र? अहँ, उहाँले त्यसो गर्न सक्नुहुन्न। तिनीहरू थोरै असल कार्यहरू तयार गरेर आफ्नो सानो दायित्व र कर्तव्य निर्वाह गर्छन्, तैपनि हात फैलाएर परमेश्वरको घरबाट पैसा माग्छन्, परमेश्वरको घरबाट एकएक पैसा असुल्छन्, परमेश्वरको घरलाई छल गर्न र मनपर्दा कुराहरू प्राप्त गर्न हरकिसिमका तरिकाहरू सोच्छन्, र आफूलाई कहिल्यै घाटा नहुने सुनिश्चित गर्छन्, यस्तो लाग्छ मानौँ तिनीहरूले व्यापार गरिरहेका छन्। त्यसकारण, यो असल कार्य असल कार्य होइन—यो त दुष्ट कार्यमा परिणत भइसकेको छ, र परमेश्वरले यसलाई नसम्झने मात्र होइन, उहाँले त यी मानिसहरूको मुक्ति पाउने अधिकारसमेत समाप्त गर्नुहुनेछ र खोस्नुहुनेछ। त्यो अतिथि सत्कारकले परमेश्वरको घरलाई उसको ऋण तिर्न लगाउँदा, के यसको प्रकृति अलिक छलकपटपूर्ण थियो? ख्रीष्टविरोधीहरू यही गर्छन्। तिनीहरू आफूलाई पैसा चाहिँदा इमानदारी तरिकाले माग्दैनन्; बरु, तिनीहरू छलकपट प्रकृतिको उपाय अपनाएर विभिन्न कुराहरू धुत्ने मौका छोप्छन्। के परमेश्वरलाई चढाइएका भेटीहरू धुत्ने मानिसहरूलाई परमेश्वरले मुक्ति दिनुहुन्छ? (अहँ, दिनुहुन्न।) यदि यी मानिसहरूले पश्चात्ताप गरे र साँचो विश्वास गरे भने, के तिनीहरूले मुक्ति पाउनुपर्छ? (पाउनु हुँदैन।) किन? (यी मानिसहरूले परमेश्वरको घरप्रति छलकपटको व्यवहार गर्न सक्छन् भन्ने तथ्यको अर्थ तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ छैन भन्ने हो—तिनीहरू खाँटी अविश्वासी हुन्।) के अविश्वासीहरूले पश्चात्ताप गर्नेछन्? ख्रीष्टविरोधीहरू पनि रहेका यी अविश्वासीहरू पश्चात्ताप गर्दैनन्। तिनीहरूले गर्ने सबै कुराको केन्द्रमा तिनीहरूका आफ्नै हितहरू हुन्छन्, र तिनीहरूले मरे पनि कहिल्यै पश्चात्ताप गर्नेछैनन्। तिनीहरू न त आफूले कुनै गल्ती गरेको छु भनेर नै कहिल्यै स्विकार्छन्, न त दुष्कर्म गरेको छु भनेर नै स्विकार्छन्, त्यसैले तिनीहरू केको चाहिँ पश्चात्ताप गर्छन् त? पश्चात्ताप त मानवता भएका, विवेक र समझ भएका, अनि आफ्नो भ्रष्टता स्पष्ट रूपमा देख्न र स्विकार्न सक्ने मानिसहरूका लागि हो। त्यो अतिथि सत्कारक परिवारले सानो कर्तव्य निर्वाह गर्दा त्यसबाट केही मनपर्दा कुरा ठगेर लिनुपर्यो, र यस्तो अवसरसमेत छोडेनन्। तिनीहरू ठूला ठगाहा थिए। चौथो मामला यही हो।
पाँचौ घटना: परमेश्वरको घरका लागि काम गरेकामा तलब माग गर्नु
मुख्यभूमि चीनमा, केही काम तुलनात्मक रूपमा खतरनाक र जोखिमपूर्ण हुन्छन्, र ती काम गर्नका लागि केही दिमाग र निश्चित योग्यता भएका मानिसहरूको आवश्यकता पर्छ। त्यो बेला, यी योग्यताहरू भएको एक व्यक्ति थियो, त्यसकारण माथिबाट उसलाई केही काम गर्न लगाउने बन्दोबस्त भयो। उसले यो काम गरिरहेको बेला, यो काम गर्न थालेपछि, ऊ आफ्नो नियमित काममा हरेक दिन जान पाइरहेको छैन, र उसको परिवारलाई हातमुख जोड्न अलिक गाह्रो भइरहेको छ भन्दै अनुरोध गऱ्यो। परमेश्वरको घरले उसलाई दैनिक आवश्यकता पूरा गर्नका लागि केही पैसा दियो, र ऊ निकै खुसी भयो र उसलाई दिइएको काम उसले लियो; तैपनि, उसको कार्यसम्पादन औसत किसिमको मात्र थियो। केही समयपछि, उसको परिवारलाई जीवन धान्न कुनै समस्या थिएन, तर अर्को कुनै समस्या आयो र उसले यो कुरा परमेश्वरको घरलाई सुनायो, र परमेश्वरको घरले ऊ खाँचोमा नपरोस् भन्ने सुनिश्चित गर्न दैनिक आवश्यकता पूरा गर्नका लागि पैसा दियो। उसले मन नलागी-नलागी आफ्नो काम जारी राख्ने सहमति जनायो, तर उसले यो काम कति राम्ररी गर्यो त? काम पूरै भताभुङ्ग भएको थियो। यदि उसलाई कुनै काम गर्न मन लाग्यो भने, ऊ त्यो थोरै-थोरै गर्थ्यो, र यदि कुनै काम गर्न मन लागेन भने, गर्दै गर्दैनथ्यो। यसले काममा ढिलाइ गरायो र मण्डलीको काममा केही घाटा भयो, र अरू मानिसले यसलाई सुधार्नुपर्यो। पछि, परमेश्वरको घरले उसलाई सम्पर्क गर्यो, र उसलाई आफ्नो काममा मेहनत गर्नुपर्छ, र परमेश्वरको घरले उसलाई उसले सामना गरेका कुनै पनि कठिनाइहरू समाधान गर्न सहयोग गर्नेछ भनेर बतायो। उसले परमेश्वरको घरलाई आमनेसामने त केही भनेन, तर केही दाजुभाइ-दिदीबहिनीलाई एकान्तमा यसो भन्यो, “के मसँग खाने खर्चको कमी छ त? त्यो थोरै पैसाले कुन ठूलो समस्या समाधान गर्न सक्छ र? मैले यो काम गरेर परमेश्वरको घरको यस्तो ठूलो समस्या समाधान गरिरहेको छु। परमेश्वरको घरले मेरा पनि ठूला समस्याहरू समाधान गर्नुपर्छ। अहिले मेरो छोराको पढाइको फिस तिर्ने रकम मसँग छैन, र यो समस्या समाधान भएको छैन। मसँग यो थोरै पैसाको कमी भएको होइन।” उसले साँचो रूपमा सोचेका शब्दहरू यिनै थिए, तर उसले परमेश्वरको घरलाई सिधै भन्न सकेन; यो कुरा त उसले एकान्तमा रिस पोख्दाखेरि खुलासा भयो। यस्तो परिस्थिति कसरी समाधान गर्नुपर्छ? के परमेश्वरको घरले उसलाई प्रयोग गरिरहनुपर्छ कि अरू कसैलाई खोज्नुपर्छ? (अरू कसैलाई खोज्नुपर्छ।) किन? उसको चरित्र र सार पहिले नै खुलासा भइसकेको छ। परमेश्वरको घरले उसको परिवारको खाँचो पूरा गर्न सहयोग गरिदियोस् भन्ने मात्रै उसको चाहना थिएन, उसले त परमेश्वरको घरले उसको छोराको पढाइको फिस पनि तिरिदियोस् भन्ने चाहेको थियो, र पछि उसले श्रीमती बिरामी छे र उपचारको रकम परमेश्वरको घरले तिरिदियोस् भन्ने चाहन्छु भनेर पनि भन्यो। के उसले झन्-झन् बढी माग गरिरहेको थिएन र? उसले परमेश्वरको घरका लागि यो सानो काम गरेर ठूलो योगदान दिएको छु, र परमेश्वरको घरले उसलाई चाहिने सबै कुरा निसर्त दिनुपर्छ भन्ने सोचेको थियो। यदि उसले नियमित जागिर खाएको भए, के उसले छोरालाई विश्वविद्यालय पठाउन सक्थ्यो? के उसले श्रीमतीको उपचार गर्न सक्थ्यो? सक्थ्यो नै भनेर भन्न सकिँदैन। त्यसोभए, उसले परमेश्वरको घरमा यो सानो काम गरेर किन निरन्तर परमेश्वरको घरबाट पैसा माग्यो? उसले के सोचिरहेको थियो? यस मामलामा उसको दृष्टिकोण के थियो? उसले सोचेको थियो, ऊविना परमेश्वरको घरमा काम गर्ने अरू कोही हुनेछैन, त्यसकारण उसले मौका छोपेर परमेश्वरको घरबाट थप पैसा माग्ने कारणहरू खोज्नुपर्छ, यसलाई व्यर्थमा त्याग्नु हुँदैन, र उसले मौका गुमायो भने त्यो खेर जानेछ। के उसको तात्पर्य यही थिएन र? उसलाई लाग्यो, यो काम गर्नु भनेको जागिर खाएर पैसा कमाउनुजस्तै हो, त्यसकारण उसले परमेश्वरको घरबाट एकएक पैसा झार्नुपर्छ। त्यसपछि, जब उसले परमेश्वरको घरबाट एकएक पैसा झार्न सक्दिनँ भन्ने महसुस गर्यो, तब उसले आफ्नो काम गरेन। के यो परमेश्वरमा साँचो विश्वास गर्ने व्यक्ति हो त? (होइन।)
परमेश्वरमा साँचो विश्वास गर्ने मानिसहरूलाई कर्तव्य निर्वाह गर्ने क्रममा कष्ट भोग्न डर लाग्दैन। कति मानिसहरू त कर्तव्य निर्वाह गर्ने क्रममा आफ्नो परिवारमा आइपर्ने कठिनाइहरू बताउँदैनन्। गरिब क्षेत्रका कतिपय मानिस अतिथिसत्कारको कर्तव्य निर्वाह गर्छन्, र जब दाजुभाइ-दिदीबहिनीहरू आउँछन् र जब खानका लागि चामल हुँदैन, तब तिनीहरू बाहिर गएर पैसा सापटी लिन्छन्, तर पनि केही भन्दैनन्। यदि तिनीहरूले केही बताए भने, के परमेश्वरको घरले तिनीहरूलाई पैसा दिन सक्दैन र? (सक्छ।) परमेश्वरको घरले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गर्नका लागि चाहिने कुराहरू खरिद गर्न सक्छ। त्यसोभए, किन तिनीहरू केही भन्दैनन्? तैँले तिनीहरूलाई पैसा दिइस् भने, तिनीहरू इन्कार गर्छन्। तिनीहरू बाहिर गएर पैसा सापट लिएपछि, क्रमिक रूपमा त्यो पैसा आफै तिर्छन्। तिनीहरू परमेश्वरको घरबाट पैसा लिन चाहँदैनन्। ख्रीष्टविरोधीहरू यसको ठिक विपरीत हुन्छन्। तिनीहरूले कुनै पनि काम गर्नुभन्दा पहिले सर्तहरू तय गर्छन् र हात पसारेर मागहरू राख्छन्। तिनीहरूलाई हात पसार्न कसरी यति सजिलो हुन्छ? तिनीहरूले कसरी यस्तो “ढुक्कले” हात पसार्न सक्छन्? त्यस्ता मानिसहरूलाई कुनै लाज लाग्दैन, होइन र? केही पैसा मागेपछि, तिनीहरू अझै थप पैसा चाहन्छन्। तिनीहरूलाई पैसा दिइएन भने, तिनीहरूले कुनै काम गर्नेछैनन्—तिनीहरूले परिणाम नदेखेसम्म सिन्को भाँच्दैनन्: “तिमी मलाई जति पैसा दिन्छौ, म त्यति नै काम गर्नेछु। तिमी मलाई पैसा दिँदैनौ भने, मलाई अरू कुनै काम गर्न लगाउने सोच्दै नसोच। यो मेरो लागि एउटा काम हो, र मेरो लागि कुनै फाइदा छैन भने म यो काम गर्दिनँ। म कर्तव्य निर्वाह गर्न आफूलाई जोखिममा पार्छु, त्यसकारण मेरो लागि केही हुनुपर्छ, र यो मेरो परिश्रमअनुसारको हुनुपर्छ। मैले घाटा बेहोर्नु हुँदैन!” त्यसैले, तिनीहरूलाई आफूले पाउनुपर्ने ठानेका कुराहरू माग्नैपर्छ, र तिनीहरूलाई यसका लागि बहाना बनाउनैपर्छ—तिनीहरूलाई यसका लागि आफ्नो दिमाग खियाउनैपर्छ, र यसका लागि हरेक तरिकाहरू सोच्नैपर्छ। तिनीहरूलाई यो दिन सकिन्छ भने त्यो अझै राम्रो हुन्छ, तर तिनीहरूलाई यो दिइएन भने, तिनीहरू सबै कुरा छोडेर जान्छन्, र तिनीहरूले कुनै घाटा भोगेका हुनेनन्। त्यसबाहेक, तिनीहरू के सोच्छन् भने, परमेश्वरको घरले गर्ने यो सबै काम जोखिमपूर्ण हुन्छ, र यदि परमेश्वरको घरले तिनीहरूलाई मागेको कुरा दिएन भने, तिनीहरूले यसको रिपोर्ट गरिदेलान् भन्ने त्यसलाई डर हुन्छ, र योसँग अरू कोही उपयुक्त व्यक्ति हुँदैन, त्यसकारण यसले तिनीहरूलाई नै प्रयोग गर्नुपर्छ, र यदि यसले तिनीहरूलाई प्रयोग गर्यो भने, यसले तिनीहरूलाई पैसा दिनैपर्छ। के यसको प्रकृति अलिक छलकपटपूर्ण छैन र? के यो शोषण गर्ने किसिमको छैन र? के यस्ता मानिसहरू विश्वासीका रूपमा गनिन्छन्? यी परमेश्वरको घरका सदस्य नरहेका अविश्वासी हुन्—तिनीहरू मण्डलीका साथीसमेत होइनन्। विश्वासीहरू महान् मानिस हुन् भनेर देखेपछि, मण्डलीका साथीहरूले तिनीहरूलाई ढाकछोप गर्न, र केही काम गर्न मदत गर्छन्। यस्ता मानिसहरूले थोरै भए पनि आशिष् पाउन सक्छन्। तर यसविपरीत, ख्रीष्टविरोधीहरू मनपर्दा कुराहरू प्राप्त गर्नका लागि मात्रै परमेश्वरमा विश्वास गर्छन्। यदि तिनीहरूले मनपर्दा कुराहरू प्राप्त गर्न सकेनन् भने, कुनै कर्तव्य निर्वाह गर्दैनन्, कुनै दायित्व पूरा गर्दैनन्, र आफूलाई पटक्कै समर्पित गर्दैनन्। जब परमेश्वरको घरले तिनीहरूलाई कर्तव्य निर्वाह गर्न लगाउँछ, तब तिनीहरू सुरुमा यसले के-कस्ता मनपर्दा कुराहरू प्रदान गर्छ भनेर सोध्छन्, र यसले कुनै मनपर्दा कुरा प्रदान गर्दैन भने, तिनीहरू त्यो काम गर्दैनन्। तिनीहरू र गैरविश्वासी संसारका ठगाहाहरूबीच के भिन्नता छ? यी मानिसहरू अझै पनि मुक्ति पाउन, र परमेश्वरद्वारा आशिषित हुन चाहन्छन्। के तिनीहरूले असम्भव कुराहरू मागिरहेका छैनन् र? यदि यी मानिसहरू नीच चरित्रका र लाजपचेका होइनन् भने, तिनीहरूको हृदयले कसरी यस्तो विकृत कार्यशैलीहरू सोच्न सक्थ्यो र? तिनीहरू कर्तव्य निर्वाहप्रति कसरी यस्तो मनोवृत्ति राख्न सक्छन्? के तिमीहरू यी कुराहरू गर्न सक्छौ? (हो, हामीले पनि सक्छौँ।) कति हदसम्म? के कुनै सीमा छ? कुन बेला तँलाई यो अत्यन्तै गम्भीर छ, र तैँले यी कुराहरू गरिरहनु हुँदैन भन्ने लाग्नेथियो? (कहिलेकाहीँ मलाई हृदयमा धिक्कार महसुस हुन्छ, र मेरो विवेकले दोषी महसुस गर्छ। मैले गरेका कुराहरू अरूले खुलासा गर्लान् कि भन्ने कहिलेकाहीँ डर लाग्छ, त्यसकारण म ती कुरा गर्न छोड्छु।) मानिसहरूले जे गरे पनि, तिनीहरूको चरित्र अत्यन्तै महत्त्वपूर्ण हुन्छ। कुनै लाज नभएको व्यक्तिले कुनै पनि किसिमको खराब काम गर्न सक्छ। तिनीहरू पूर्ण रूपमा दुष्ट व्यक्ति हुन्। तिनीहरूले गर्ने कुनै पनि कुराको कुनै सीमा हुँदैन, र तिनीहरू आफ्नो विवेकअनुसार काम गर्दैनन्। मानवतामा कुनै विवेक नभएका मानिसहरू कस्ता मानिस हुन्? तिनीहरू पशु र पिशाच हुन्, र परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन। परमेश्वरले आफ्नो काम गरिरहनुभएको बेला उहाँको भेटी छलकपट गरेर लिने र परमेश्वरलाई चढाइएका भेटीहरू धुत्न सक्ने, र परमेश्वरको घरबाट पैसा माग्नेहरू असल मानिस होइनन्। तिनीहरू सोच्छन्, परमेश्वरको घरलाई छल गर्न सजिलो छ, र परमेश्वरको घरका कुराहरूको हेरचाह गर्ने जिम्मेवारी कसैको हुँदैन, र परमेश्वरको घरका कुराहरूको स्वामित्व कसैको हुँदैन, त्यसकारण तिनीहरूले ती कुराहरू आफूले चाहेअनुसार प्राप्त गर्न र छलकपट गरेर लिन सक्छन्। तिनीहरू यसो गरेर आफूले फाइदा प्राप्त गरेको छु भन्ने सोच्छन्। के यो फाइदा प्राप्त गर्न साँच्चै त्यति सजिलो छ? तैँले प्राप्त गरेको फाइदा त्यति ठूलो थिएन, तर यो प्राप्त गर्नुको परिणाम के हो? आफ्नो जीवन गुमाउनु हो।
यदि कुनै व्यक्तिमा साँच्चै नै केही मानवता र अलिकति विवेक छ भने के उसले यी कुराहरू गर्न सक्छ? तँ परमेश्वरमा विश्वास त गर्छस्, तैपनि तैँले उहाँलाई ठग्न र उहाँका भेटीहरू धुत्न सक्छस्। तँ कस्तो व्यक्ति होस्? तँ व्यक्तिसमेत हो के त? पिशाचहरू मात्रै यस्ता कुराहरू गर्छन्। पशुहरू यी कुराहरू गर्दैनन्। कुकुरलाई नै हेर् न। कुकुरलाई यसको मालिकले हुर्काएको हुन्छ र यसले मालिकको घर रक्षा गर्छ। जब खराब व्यक्ति आउँछ, तब यसले चेतावनी दिन्छ र त्यसलाई आक्रमण गर्छ। यसले मालिकको सामान लिने जोकोहीलाई लखेट्छ। मालिकको घरका कुखुरा, हाँस र राजहंशहरू भाग्दा, यसले खोज्न सहयोग गर्छ। मालिकको घरका सुँगुरहरू झगडा गर्दा यसले छुट्याउने प्रयास गर्छ। कुकुरलाई मालिकले सुँगुर हेरचाह गराउन चाहन्छ भन्ने थाहा हुन्छ, त्यसैले यसले यो जिम्मेवारी पूरा गर्न सक्छ। कुकुरले आफ्नो मालिकसँग बहस गर्दैन र यसो भन्दैन, “मैले तपाईँका लागि सुँगुर हेरचाह गरेँ, तर पनि किन मलाई कुखुरा वा केही खानेकुरा दिनुहुन्न?” यसले कहिल्यै यसो भन्दैन। कुकुरले समेत मालिकको घरको रक्षा गर्न सक्छ, र मालिकका लागि कुनै इनाम नलिई आफ्नो दायित्व पूरा गर्न सक्छ, तर यी मानिसहरू पशुको स्तरमा समेत पुगेका हुँदैनन्। तिनीहरू एउटा सानो दायित्व पूरा गरेपछि, आफूलाई घाटा भएको छ भन्ने सोच्छन्, र केही जिम्मेवारी पूरा गरेपछि र केही मेहनत गरेपछि, तिनीहरूलाई असहज लाग्छ, र बन्दोबस्त असमान छ, र आफूलाई प्रयोग गरिएको छ भन्ने लाग्छ, त्यसकारण तिनीहरू यसलाई परिपूर्ति गर्न हरेक तरिकाहरू सोच्छन्। जब तँ परमेश्वरमा विश्वास गर्छस्, तब परमेश्वर तँलाई सुरक्षा दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ, र तँलाई धेरै सत्यता प्रदान गर्नुहुन्छ। तँ कसरी उहाँको अनुग्रहको ऋण तिर्ने विचारै गर्दैनस्? तर तैँले उहाँको ऋण तिर्नेबारे विचार नगरे पनि परमेश्वर यस मामलाबारे थप खोजीनिती गर्नुहुन्न। तैपनि, जब तँ एउटा सानो दायित्व पूरा गर्छस्, तब हिसाब बराबर गर्न परमेश्वरकहाँ जान्छस्। जब तँ एउटा सानो दायित्व पूरा गर्छस्, तब विभिन्न कुरा धुत्न र छलकपट गरेर केही लिन चाहन्छस्—तँ यसको परिपूर्ति गर्ने हरेक तरिकाहरू सोच्छस्। के तँ काल खोजिरहेको छैनस् र? के परमेश्वरले तँलाई दिएका कुराहरू धेरै छैनन् र? मानिसहरूका प्रकटीकरणहरूको सन्दर्भमा भन्दा, तिनीहरू के कुरा पाउन योग्य हुन्छन्? के मानिसहरू योग्य भएकै कारण तिनीहरूले आज आनन्द लिँदै आएका र पाएका कुराहरू पाएका हुन्छन् त? होइन। यी कुराहरू त परमेश्वरले तँलाई प्रदान गर्नुभएको र आशिष् दिनुभएको हो। तँलाई पहिले नै धेरै कृपा गरिएको छ। परमेश्वरले तँलाई कुनै पनि कुरा नमागी जीवन, सत्यता, र बाटो दिनुभएको छ। तैँले कसरी उहाँको अनुग्रहको ऋण चुकाएको छस्? जब तँ आफ्नो थोरै दायित्व र कर्तव्य निर्वाह गर्छस्, तब तँलाई भित्री रूपमा यो सहन गाह्रो हुन्छ र तँलाई घाटा भएको छ भन्ने लाग्छ, र यसलाई पूर्ति गर्न हरकिसिमका उपायहरू सोच्छस्। यदि तँ यसलाई पूर्ति गर्न चाहन्छस् भने, परमेश्वरले तँलाई यसको सट्टा केही दिन सक्नुहुन्छ, तर त्यो प्राप्त गरेपछि, के तैँले अझै पनि मुक्ति पाउन सक्छस् त? यस्तो कुनै दिन आउनेछ, जुन दिन यी मानिसहरूलाई सबैभन्दा महत्त्वपूर्ण र बहुमूल्य कुरा के हो भनेर थाहा हुनेछ। ख्रीष्टविरोधी सार भएका मानिसहरूले सत्यताको मूल्य कहिल्यै थाहा पाउनेछैनन्। जब तिनीहरूको परिणाम प्रकट हुने त्यो दिन आउनेछ, र जब सबै कुरा प्रकट र सार्वजनिक हुनेछ, तब तिनीहरूले थाहा पाउनेछन्। के त्यो बेला ढिला भइसकेको हुनेछैन र? सबै थोकको परिणाम नजिकै आइसकेको छ, र सबै थोक बितेर जानेछन्। परमेश्वरका वचनहरू र उहाँको सत्यता मात्रै अनन्तकालसम्म रहनेछन्। सत्यता धारण गरेका र परमेश्वरका वचनहरू अभ्यास गर्नेहरू उहाँका वचन र सत्यतासँगै रहिरहनेछन्। परमेश्वरका वचनहरूको मूल्य र शक्ति यही हो। तैपनि, ख्रीष्टविरोधीहरू यस तथ्यबारे कहिल्यै स्पष्ट हुँदैनन्, त्यसकारण तिनीहरू आफ्नो दिमाग खियाउँछन्, र परमेश्वरमा विश्वास गरेको बहाना बनाएर विभिन्न फाइदाहरूका लागि षड्यन्त्र गर्न हरकिसिमका तरिका र हरेक माध्यमहरू प्रयोग गर्छन्, र परमेश्वरका भेटीहरू लिन, र उहाँका भेटीहरू हिनामिना गर्न र हडप्न अझै भद्दा छलकपटका माध्यमहरू प्रयोग गर्छन्। यी सबै मानिसहरूका कार्य र व्यवहारहरू परमेश्वरको अभिलेखमा एकएक अक्षर गरी हुबहु लेखिएका छन्। जब तिनीहरूको परिणाम प्रकट हुने दिन आउँछ, तब परमेश्वरले यी विवरणहरूका आधारमा हरेक व्यक्तिको परिणाम निर्धारित गर्नुहुनेछ। यी सबै कुरा साँचो हुन्। तैँले विश्वास गरे पनि नगरे पनि, यी सबै कुरा प्रकट हुनेछन्। यो पाँचौँ घटना हो। यो मानिस कस्तो व्यक्ति हो? उसको चरित्र उच्च छ कि नीच छ? (नीच।) परमेश्वरको नजरमा, ऊ आदरणीय व्यक्ति होइन; ऊ नीच व्यक्ति हो। छोटकरीमा उसलाई “घटिया” भनिन्छ।
छैटौँ घटना: खान र लाउनका लागि पद प्राप्त गर्न अथक प्रयास गर्नु
परमेश्वरमा विश्वास गरेपछि, धेरै मानिस सधैँ हैसियत पछ्याउँछन् र अरूले तिनीहरूलाई वरिष्ठ ठानून् भन्ने कुराको पछि लाग्छन्। परमेश्वरको घरमा, तिनीहरू सधैँ भीडभन्दा माथि उठ्न र बगालको अगुवा हुन चाहन्छन्। यी कुराहरूको खातिर, तिनीहरू आफ्नो परिवार त्याग्छन् र आफ्नो करियर छोड्छन्, कठिनाइ भोग्छन् र मूल्य चुकाउँछन्, र त्यसपछि अन्त्यमा तिनीहरू आफ्नो इच्छा प्राप्त गर्छन् र अगुवा बन्छन्। अगुवा बनेपछि, यी मानिसहरूको जीवन साँच्चिकै फरक हुन्छ। तिनीहरू पदमा रहेका मानिसहरू कस्ता हुन्छन् भनेर कल्पना गरेको छवि र शैलीको हरेक पक्ष प्रकट गर्छन्, अर्थात् तिनीहरू कपडा लगाउने र मेकअप गर्ने शैलीदेखि, तिनीहरूले बोल्ने र व्यवहार गर्ने शैलीसम्म सबै प्रकट गर्छन्। तिनीहरूले पदाधिकारीजस्तै गरी कसरी बोल्ने, मानिसहरूलाई कसरी आदेश दिने, र मानिसहरूलाई तिनीहरूको व्यक्तिगत मामलाहरू कसरी सम्हाल्न लगाउने भनेर सिक्छन्। सरल रूपमा भन्नुपर्दा, तिनीहरूले पदाधिकारी कसरी बन्ने भनेर सिक्छन्। जब तिनीहरू अगुवा हुन कुनै ठाउँ जान्छन्, तब यसको अर्थ तिनीहरू त्यहाँ पदाधिकारी बन्न गइरहेका हुन्छन्। पदाधिकारी बन्नु भनेको के हो? तिनीहरू “खान र लाउनका लागि पद प्राप्त गर्न अथक प्रयास गर्छन्।” यो शारीरिक सुखसँग सम्बन्धित कुरा हो। अगुवा बनेपछि, तिनीहरूको जीवनमा पहिलेको भन्दा के कुरा फरक हुन्छ? तिनीहरूले खाने-लाउने कुराहरू र तिनीहरूले प्रयोग गर्ने कुराहरू फरक हुन्छन्। जब तिनीहरू केही खान्छन्, तब यसलाई पोसिलो र स्वादिलो बनाउनेबारे विशेष ध्यान दिन्छन्। तिनीहरू आफूले लगाउने लुगाको ब्रान्ड र शैलीप्रति विशेष ध्यान दिन्छन्। कुनै निश्चित स्थानमा एक वर्ष अगुवा बनेपछि, तिनीहरू फिका बनेका र मोटाएका हुन्छन्; तिनीहरू शिरदेखि पाउसम्म डिजाइनर वस्त्र लगाउँछन्; र तिनीहरूको सेलफोन, कम्प्युटर र तिनीहरूको घरका उपकरणहरू सबै उच्च स्तरीय ब्रान्डका हुन्छन्। के तिनीहरू अगुवा बन्नुभन्दा पहिले तिनीहरूसँग यी अवस्थाहरू थिए त? (थिएनन्।) अगुवा बनेपछि तिनीहरूले पैसा कमाउन मेहनत गरेनन्, र पनि तिनीहरूले यी सबै कुरा किन्ने पैसा कहाँबाट प्राप्त गरे? दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई यी कुराहरू अनुदान दिएका हुन् कि परमेश्वरको घरले तिनीहरूलाई यी कुराहरू विनियोजन गरिदिएको हो? के परमेश्वरको घरले हरेक अगुवा र कामदारलाई यस्ता कुराहरू विनियोजन गरिदिएको छ भनेर तिमीहरूले कहिल्यै सुनेका छौ? (छैनौँ।) त्यसोभए, तिनीहरूले यी कुराहरू कसरी प्राप्त गरे त? चाहे जेसुकै भए पनि, यी तिनीहरूले आफ्नै परिश्रमद्वारा प्राप्त गरेका कुराहरू थिएनन्; बरु, यी त तिनीहरूले हैसियत प्राप्त गरेपछि र “पदाधिकारी” बनेपछि र हैसियतका फाइदाहरूको आनन्द लिन थालेपछि, अरूबाट धुतेर अनि ठगी र हिनामिना गरेर प्राप्त गरेका कुराहरू थिए। जुनसुकै ठाउँका मण्डलीहरू भए पनि, के त्यहाँ तिमीहरू सम्पर्कमा आएका सबै स्तरका अगुवा र कामदारहरूमाझ यस्ता मानिसहरू थिए? तिनीहरू पहिलोपटक अगुवा बन्दा, तिनीहरूसँग केही पनि हुँदैन, तर तीन महिनाभन्दा कम अवधिमा तिनीहरूसँग उच्चस्तरीय ब्रान्डका कम्प्युटर र मोबाइलहरू हुन्छन्। अगुवा बनेपछि, कतिपय मानिस अरूबाट उच्चस्तरीय विशेष व्यवहार पाउनुपर्छ भन्ने सोच्छन्—बाहिर जाँदा तिनीहरूलाई कार चढ्नुपर्छ; तिनीहरूले प्रयोग गर्ने कम्प्युटर र मोबाइलहरू औसत मानिसहरूले प्रयोग गर्नेभन्दा राम्रो, र उच्चस्तरीय ब्रान्डको हुनुपर्छ, र मोडल पुरानो भएपछि तिनीहरूलाई यसको सट्टा नयाँ लिनुपर्छ। के परमेश्वरको घरमा यी नियमहरू छन्? परमेश्वरको घरमा कहिले पनि यी नियमहरू रहेका छैनन्, र यस्तो सोच्ने दाजुभाइ-दिदीबहिनी कोही छैनन्। त्यसोभए यी अगुवाहरूले प्राप्त गर्ने यी कुराहरू कहाँबाट आएका हुन्छन्। एक हिसाबमा, तिनीहरूले परमेश्वरको घरको काम गर्ने बहाना बनाएर दाजुभाइ-दिदीबहिनीहरूलाई धुतेर अनि धनी मानिसहरूलाई यी कुराहरू किन्न लगाएर यी कुराहरू प्राप्त गरेका हुन्छन्। यसबाहेक, तिनीहरूले भेटीहरू दुरुपयोग गरेर अनि चोरेर यी कुराहरू आफै किनेका पनि हुन्छन्। के तिनीहरू ठगेर खाने-पिउने घिचुवाहरू होइनन् र? के यो मैले यसअघि उल्लेख गरेका घटनाका मानिसहरूभन्दा फरक छ? (छैन।) तिनीहरूको के कुरा समान छ? तिनीहरू सबैले भेटीहरू हिनामिना गर्न र भेटीहरू धुतेर लिन आफ्नो पद प्रयोग गरे। कतिपय मानिस भन्छन्, “परमेश्वरको घरमा काम गरेपछि र अगुवा वा कामदार बनेपछि, के तिनीहरू यी कुराहरूको आनन्द लिन योग्य हुँदैनन् र? के तिनीहरू परमेश्वरसँगै उहाँका भेटीहरूमा सहभागी हुन योग्य हुँदैनन् र?” मलाई भन त, हुन्छन् त? (हुँदैनन्।) यदि तिनीहरूले परमेश्वरको घरको काम गर्न केही कुरा किन्नुपर्यो भने, यस्तो अवस्थामा लागू हुने परमेश्वरको घरका नियमहरू छन् जसले तिनीहरूले ती कुरा किन्न सक्छन् भनेर भन्छन्, तर के यी मानिसहरूले ती नियमका सर्तहरूअनुसार यस्ता कुरा किनिरहेका हुन्छन् त? (हुँदैनन्।) तिनीहरूले यसो गरिरहेका हुँदैनन् भन्ने देखाउने के कुरा तिमीहरूले देख्यौ? (यदि तिनीहरूलाई कामका लागि साँच्चै यसको आवश्यकता थियो भने, तिनीहरूले जबसम्म कुनै कुरा प्रयोग गर्न मिल्ने अवस्था हुन्छ, तबसम्म त्यो कुरा ठिकै हुन्छ भनेर सोच्नेथिए, तर ख्रीष्टविरोधीहरू उच्चस्तरीय डिजाइनर कुराहरू पछ्याउँछन्, र तिनीहरू सबैभन्दा उत्कृष्ट कुराहरू मात्रै प्रयोग गर्छन्। यसबाट मूल्याङ्कन गर्दा, तिनीहरूले यी भौतिक कुराहरूको आनन्द लिनलाई आफ्नो हैसियत प्रयोग गरिरहेका छन् भनेर देख्न सकिन्छ।) ठिक भन्यौ। यदि कामका लागि चाहिएको हो भने, कुनै कुरा प्रयोग गर्न मिल्ने अवस्था भए नि भइहाल्थ्यो। तिनीहरूलाई किन त्यस्ता सानदार र महँगा कुराहरू प्रयोग गर्नुपर्यो? साथै, तिनीहरूले यी कुराहरू किन्दा के अरू मानिसले निर्णयमा भाग लिएर यसमा सहमति जनाएका थिए? के यो समस्या होइन र? यदि अरू मानिसले निर्णयमा भाग लिएका भए, के तिनीहरू सबैले यी उच्चस्तरीय सरसामान किन्न सहमति जनाउन सक्थे? अवश्य नै सक्दैनथे। यो कुरा अत्यन्तै स्पष्ट छ, तिनीहरूले भेटीहरू चोरेर यी कुराहरू प्राप्त गरेका हुन्। यो घाम जतिकै छर्लङ्ग छ। यसका साथै, परमेश्वरको घरको एउटा नियम छ—हरेक मण्डलीमा, भेटीको रक्षा गर्नु र काम गर्न सहकार्य गर्नु कहिल्यै एउटै व्यक्तिको मात्र काम हुँदैन। त्यसैले, यी मानिसहरूले व्यक्तिगत रूपमा किन आफूले चाहेअनुसार भेटीहरू प्रयोग र खर्च गर्न सक्छन्? यो सिद्धान्तहरूअनुरूप छैन। के तिनीहरूले गर्ने यी कुराहरू भेटी चोर्ने प्रकृतिको कार्य होइन र? तिनीहरूले अरू अगुवा र कामदारहरूको सहमति र अनुमोदन नलिई, अरूलाई जानकारी नदिई, र तिनीहरूले के गरिरहेका छन् भनेर अरू कसैलाई थाहा नभई यी कुराहरू किने र प्राप्त गरे। के यसको प्रकृति केही हदसम्म चोरी गर्नुको प्रकृतिजस्तै छैन र? भेटी चोर्नु भनेको यही हो। चोर्नु भनेको छल्नु हो। यसलाई किन छल्नु भनिन्छ? किनभने तिनीहरूले परमेश्वरको घरको काम गर्ने बहानामा यी विलासिताका कुराहरू किने र प्राप्त गरे। यस्तो व्यवहारलाई ठगी भनिन्छ, र यसलाई छल भनिन्छ। के मैले यसलाई यसरी चित्रण गरेर म हदभन्दा पर गएको छु? के मैले तीललाई पहाड बनाइरहेको छु? (छैन।) यति मात्र होइन, यी तथाकथित अगुवाहरूले त केही समय एउटै ठाउँमा बसेपछि, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरू बाह्य संसारमा के काम गर्छन्, तिनीहरूसँग के-कस्ता सामाजिक सम्पर्कहरू छन्, र यी मानिसहरूबाट तिनीहरूले के-कस्ता फाइदाहरू धुत्न र प्राप्त गर्न सक्छन्, र तिनीहरूले के-कस्ता सम्पर्कहरू प्रयोग गर्न सक्छन् भन्ने कुराहरू स्पष्टसँग पत्ता लगाउँछन्। उदाहरणका लागि, कसले अस्पताल, सरकारी विभाग, वा बैङ्कमा काम गर्छ, वा को उद्यमी हो, कुन परिवारको पसल, कार, वा ठूलो घर छ, आदि इत्यादि कुराहरू तिनीहरू स्पष्टसँग पत्ता लगाउँछन्। के यी कुराहरू यी अगुवाहरूको कामको दायराभित्र पर्छन् त? तिनीहरूले यी कुराहरू पत्ता लगाएर के गरिरहेका हुन्छन्? तिनीहरू यी सम्पर्कहरू प्रयोग गर्न चाहन्छन्, र आफ्ना लागि सेवा प्रदान गर्न लगाउन, आफ्नो सेवामा लगाउन, र आफूलाई सुविधाहरू प्रदान गर्न लगाउन बाह्य संसारमा विशेष पद भएका यी दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्न चाहन्छन्। के तिनीहरूले मण्डलीको काम गर्न, र परमेश्वरका चुनिएका मानिसहरूका कठिनाइहरू समाधान गर्नका लागि सत्यतामा सङ्गति गर्न यसो गरिरहेका छन् भन्ने तँलाई लाग्छ? के तिनीहरूले त्यही गरिरहेका हुन्छन् त? तिनीहरूले गर्ने यी सबै कुरापछाडि एउटा अभिप्राय र उद्देश्य लुकेको हुन्छ। जब साँचो अगुवा र कामदारहरू काम गर्छन्, तब तिनीहरू समस्याहरू समाधान गर्ने, र मण्डलीको काम राम्ररी गर्ने कार्यमा ध्यान दिन्छन्। तिनीहरू मण्डलीको कामसँग कुनै सम्बन्ध नभएका कुराहरूमा ध्यान दिँदैनन्। तिनीहरू मण्डलीमा कसले इमानदारीसाथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ, आफ्नो कर्तव्यमा को प्रभावकारी छ, कसले सत्यता स्वीकार र अभ्यास गर्न सक्छ, र आफ्नो कर्तव्य निभाउनमा को बफादार छ भनेर सोधखोज गर्नमा मात्रै ध्यान दिन्छन्। त्यसपछि, तिनीहरू ती मानिसहरूलाई बढुवा गर्छन्, अनि अवरोध र बाधाहरू ल्याउने मानिसहरूबारे अनुसन्धान गर्छन् र सिद्धान्तअनुसार तिनीहरूलाई निराकरण गर्छन्। यसरी अभ्यास गर्ने मानिसहरू मात्र साँचो अगुवा र कामदार हुन्। के ख्रीष्टविरोधीहरू यी कुराहरू गर्छन्? (गर्दैनन्।) तिनीहरू के गर्छन्? तिनीहरू आफूले इच्छा गरेका कुराहरू प्राप्त गर्न, र आफ्नै हितहरूका लागि कामकाज र तयारी गर्छन्, तर आफूलाई मण्डलीको काममा समर्पित गर्दैनन्, र यसलाई महत्त्वपूर्ण ठान्दैनन्। त्यसकारण, तिनीहरूले कुनै निश्चित स्थानमा आफ्नो दह्रिलो पकड प्राप्त गरेपछि, कुन-कुन दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई के-कस्ता सेवाहरू प्रदान गर्न सक्छन् भन्ने कुरा लगभग थाहा पाइसकेका हुन्छन्। उदाहरणका लागि, औषधि कारखानामा काम गर्ने व्यक्तिले तिनीहरू बिरामी हुँदा निःशुल्क औषधि दिन सक्छ, र तिनीहरूलाई उच्च गुणस्तरको आयातित औषधि दिन सक्छ; जसले बैङ्कमा काम गर्छ उसले तिनीहरूलाई पैसा जम्मा गर्न वा निकाल्न सहज बनाइदिन सक्छ; र यस्तै आदि इत्यादि। तिनीहरू यी सबै कुरा स्पष्ट रूपमा पत्ता लगाउँछन्। यी मानिसहरूको मानवता असल छ कि छैन भन्ने कुराबारे कुनै विचार नगरी तिनीहरू यी मानिसहरूलाई आफ्नो अघि भेला गर्छन्। जबसम्म यी मानिसहरू तिनीहरूलाई पछ्याउन र तिनीहरूको सहयोगी र दाहिने हात बन्न तयार हुन्छन्, तबसम्म ख्रीष्टविरोधीहरूले यी मानिसहरूलाई इच्छित कुराहरू दिनेछन्, र तिनीहरूलाई नजिक राख्नेछन् अनि पोषण र सुरक्षा प्रदान गर्नेछन्, र यस क्रममा यी मानिसहरूले मण्डलीमा यी ख्रीष्टविरोधीहरूको स्थान दह्रिलो बनाउन, र यी ख्रीष्टविरोधीहरूको शक्ति कायम राख्न काम गर्नेछन्। त्यसैले, जब तँ मण्डली अगुवाले वास्तविक काम गरिरहेको छ कि छैन भनेर हेर्न चाहन्छस्, तब तिनीहरूलाई त्यो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको वास्तविक अवस्था कस्तो छ, र मण्डलीको काम कसरी अघि बढिरहेको छ भनेर सोध्, अनि तैँले तिनीहरू वास्तवमा वास्तविक काम गर्ने मानिस हुन् कि होइनन् भन्ने कुरा स्पष्ट देख्न सक्नेछस्। कतिपय मानिसले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको पारिवारिक मामला र जिउने परिस्थिति स्पष्टसित पत्ता लगाउँछन्। यदि तैँले तिनीहरूलाई औषधी कारखानामा कसले काम गर्छ, कुन परिवारको पसल छ, कुन परिवारको कार छ, कुन परिवारले ठूलो व्यापार गर्छ, वा कसले स्थानीय विभागमा काम गर्छ र दाजुभाइ-दिदीबहिनीहरूको काम गरिदिन सक्छ भनेर सोधिस् भने, तिनीहरूले तँलाई स्पष्टसित बताउन सक्छन्। यदि तैँले तिनीहरूलाई कसले सत्यता पछ्याउँछ, को कर्तव्यमा झाराटारुवा छ, को ख्रीष्टविरोधी हो, कसले मानिसहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्छ, सुसमाचार प्रचार गर्नमा को प्रभावकारी छ, वा स्थानीय स्तरमा सुसमाचार स्विकार्ने सम्भावना भएका मानिसहरू कति छन् भनेर सोधिस् भने, तिनीहरूलाई यी कुराहरू थाहै हुँदैन। तिनीहरू कस्तो प्रकारका मानिस हुन्? तिनीहरू आफू रहेको स्थानका सबै सामाजिक सम्पर्कहरू प्रयोग गर्न, र तिनीहरूलाई एकजुट गरेर एउटा सानो सामाजिक समूह बनाउन चाहन्छन्। त्यसैले, यी अगुवाहरू रहेको स्थानलाई मण्डली भन्न सकिँदैन। तिनीहरूले यो काम पूरा गरेपछि, यो एउटा सामाजिक समूह बनेको हुन्छ। जब यी मानिसहरू भेला हुन्छन्, तब तिनीहरू आफ्नो हृदय खोल्दैनन् र एकअर्काका अनुभवात्मक बुझाइ सङ्गति गर्दैनन्; बरु, तिनीहरू कसको चिनजान राम्रो छ, समाजमा कसको स्थान राम्रो र को धेरै सफल छ, समाजमा को चर्चित छ, समाजमा कसको प्रभाव छ, र कसले अगुवालाई विशेष रूपमा सहज सेवा र इच्छित कुराहरू प्रदान गर्न सक्छ भनेर हेर्छन्। यी मानिसहरू जोसुकै भए पनि, तिनीहरूले अगुवाको हृदयमा स्थान पाउँछन्। के ख्रीष्टविरोधीहरू यही गर्दैनन् र? (गर्छन्।) ख्रीष्टविरोधीहरूले गरिरहेको यो कुरा के हो? के तिनीहरूले मण्डली निर्माण गरिरहेको हो? तिनीहरूले मण्डली भत्काइरहेका र नष्ट गरिरहेका हुन्छन्, र परमेश्वरको घरको काममा बाधा र अवरोध ल्याइरहेका हुन्छन्। तिनीहरूले आफ्नै स्वतन्त्र राज्य, आफ्नै निजी समूह, र गुट निर्माण गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूले गर्ने भनेकै यही हो।
म तिमीहरूको सम्पर्कमा रहेको धेरै वर्ष भएको छ, तर के म तिमीहरूका परिवारले के गर्छ, तिमीहरूको परिवार कति सम्पन्न छ र तिमीहरूको पृष्ठभूमि कस्तो छ भनेर सोध्छु? (सोध्नुहुन्न।) म किन यी कुराहरू सोध्दिनँ? यी कुराहरू सोध्नुको कुनै अर्थ छैन। परमेश्वरको घर समाज होइन। अरूलाई फुर्क्याएर आफ्नो बनाउनु वा सोर्सफोर्स बढाउनु आवश्यक छैन। यी कुराहरू सोध्नुको परमेश्वरमा विश्वास गर्नुसँग कुनै सम्बन्ध छैन। परमेश्वरको घरलाई समाजमा परिवर्तन नगर। तेरो पारिवारिक पृष्ठभूमि जेसुकै भए नि, यो गरिब भए नि वा धनी भए नि, तँ कुन वातावरणमा बस्छस्, यो सहर भए नि गाउँ भए नि, त्यसले केही फरक पार्दैन। यदि तँ सत्यता पछ्याउँदैनस् भने, समाजमा तैँले जति नै उच्च पद पाए नि, त्यसले केही फरक पार्दैन। म त्यो कुरा हेर्नेछैनँ। जब म मानिसहरूसँग कुरा गर्छु, तब मैले कहिले पनि तिनीहरूको पारिवारिक स्थितिबारे सोधेको हुँदिनँ। यदि तिनीहरू यसबारे कुरा गर्न चाहन्छन् भने, म सुन्छु, तर मैले यी कुराहरूलाई कहिल्यै पनि सोध्नुपर्ने महत्त्वपूर्ण जानकारीका रूपमा लिएको छैनँ, झन् मानिसहरूलाई प्रयोग गर्नका लागि कुनै जानकारी सङ्कलन गर्ने प्रयास गर्नु त परको कुरा हो। तैपनि, जब ख्रीष्टविरोधीहरू यी कुराहरूबारे सोध्छन्, तब तिनीहरूले कुरा गर्नकै लागि मात्र सोधिरहेका हुँदैनन्; बरु, तिनीहरूले केही इच्छित कुराहरू खोज्दै यसो गरिरहेका हुन्छन्। उदाहरणका लागि, जसको परिवारसँग स्वास्थ्य सेवाका उत्पादनहरू बेच्ने पसल छ र जसले तिनीहरूलाई थोक मूल्यमा स्वास्थ्य सेवाका उत्पादनहरू बेच्न सक्छन्, त्यस्तो परिवारसित तिनीहरू नजिकिन्छन्; वा, जसको साथीले तिनीहरूलाई राम्रा कुराहरू किन्न सहयोग गर्न सक्छ, तिनीहरू त्यस्तो व्यक्तिलाई याद गर्छन्। तिनीहरू यी “चिनजानका सम्पर्कहरू” र विशेष प्रतिभा भएका मानिसहरूको सूची बनाएर राख्छन्, र महत्त्वपूर्ण समयमा तिनीहरूलाई प्रयोग गर्छन्। तिनीहरू यी सबै मानिस प्रतिभाशाली छन् र तिनीहरूका लागि धेरै उपयोगी छन् भन्ने सोच्छन्। के यो दृष्टिकोण सही छ? (छैन।) सत्यता नपछ्याउने, अनि संसार र शैतानका मानिसहरू यी कुराहरूलाई जीवन र सत्यताभन्दा महत्त्वपूर्ण ठान्छन्। यदि कुनै व्यक्ति समाजको नियमित कामदार थियो, तर अगुवाले त्यो कुरा सुन्नेबित्तिकै त्यो व्यक्ति आफ्नो विश्वासमा जति नै गम्भीरतापूर्वक पछ्याउने व्यक्ति भए पनि ऊ त्यस व्यक्तिलाई कुनै ध्यान दिन चाहँदैन, जबकि त्यस अगुवाले कुनै व्यक्ति पहिले पार्टी कार्यकर्ता थियो र उसको परिवार धनी छ, उसको जीवन शैली उत्कृष्ट छ र उसले उत्कृष्ट जीवन जिउँछ भन्ने देख्नेबित्तिकै, ऊ त्यस व्यक्तिसित खुसामद गर्छ भने, के यो असल अगुवा हो त? (होइन।) के तिमीहरूलाई कहिल्यै यस्तो व्यवहार गरिएको छ? यस्तो व्यवहारमा परेपछि तिमीहरूले मनमा के सोच्यौ? के तिमीहरूलाई परमेश्वरको घरमा कुनै प्रेम वा न्यानोपन छैन भन्ने लाग्यो? के ख्रीष्टविरोधीहरू परमेश्वरको घरलाई प्रतिनिधित्व गर्छन्? तिनीहरू परमेश्वरको घरलाई प्रतिनिधित्व गर्दैनन्। तिनीहरू शैतानलाई प्रतिनिधित्व गर्छन्। तिनीहरूको व्यवहार गर्ने तरिका, र तिनीहरूको सार सबै शैतानका हुन् र सत्यताको त्यससँग कुनै सम्बन्ध हुँदैन। तिनीहरू आफूलाई मात्र प्रतिनिधित्व गर्छन्। कति ख्रीष्टविरोधीहरू त यस्ता पनि छन्, जसले यी “चिनजानका सम्पर्कहरू” हातमा परेपछि र तिनीहरूको सम्पर्कमा आएपछि, यी चिनजानका सम्पर्कहरूलाई आफ्नो व्यक्तिगत मामलाहरू सम्हाल्न, वा आफ्नो परिवारका सदस्यहरूका लागि काम मिलाइदिनसमेत प्रयोग गर्छन्। मलाई भन त, के यस्ता कुराहरू हुन्छन्? (हुन्छन्।) ख्रीष्टविरोधीहरू सबै नै यी कुराहरू गर्न अत्यन्तै सक्षम हुन्छन्। विवेक नभएको, लाज नभएको, र अत्यन्तै स्वार्थी र नीच व्यक्तिले जे पनि गर्न सक्छ—तिनीहरूले सत्यताअनुरूप नरहेको, अनि नैतिकता र विवेकविरुद्ध ठाडै जाने कुनै पनि कुरा गर्न सक्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको नजरमा, आफ्नो व्यक्तिगत मामलाहरू सम्हाल्न, फाइदाहरू प्राप्त गर्न र त्यस्तै खालका कुराहरू गर्न आफ्नो पद प्रयोग गर्नु संसारको सबैभन्दा सामान्य कुरा हो, र यस कुरालाई उठाउनु र छुट्याउनु वा बुझ्नु हुँदैन। यो त गैरविश्वासीहरूले “खान र लाउनका लागि पद प्राप्त गर्न अथक प्रयास गर्नुपर्छ” भनेजस्तै हो। ख्रीष्टविरोधीहरूले अगुवा बनेर पछ्याउने उद्देश्य पनि यही हो। तिनीहरूको पछ्याइजस्तै, तिनीहरूले अलिकति पनि आत्मनिन्दा अनुभव नगरी यही दिशामा परिश्रम गरिरहेका हुन्छन्, र आफ्नो हातको शक्ति र आफ्नो पद प्रयोग गरेर दाजुभाइ-दिदीबहिनीहरूलाई काम गर्न लगाउन धम्की दिइरहेका हुन्छन्, मानौँ यसो गर्नु उचित कुरा हो, र यसरी तिनीहरूले सिद्धान्तहरूअनुरूप नरहेका हरकिसिमका अभ्यास र मागहरू दाजुभाइ-दिदीबहिनीहरूमा लादिरहेका हुन्छन्। यी अगुवाहरूले समझशक्ति नभएका कतिपय अलमल्ल परेका मानिसहरूलाई तिनीहरूका इच्छाविपरीत प्रयोग र अह्राउखटाउ गर्छन्, र कतिपय मानिस त तिनीहरूका लागि काम गर्न आफ्नै पैसासमेत प्रयोग गर्छन् र पनि केही भन्न सक्दैनन्, र यसो गरेर तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका र असल कर्महरू तयार पारिरहेका छन् भन्नेसमेत सोच्छन्। म तँलाई भन्दै छु: तँ वास्तवमा गलत छस्। यसो गरेर, तैँले असल कर्महरू तयार पारिरहेको हुँदैनस्; बरु, तैँले खराब व्यक्तिलाई खराब कुराहरू गर्न मदत गरिरहेको हुन्छस्, र दुष्ट व्यक्तिको शक्ति बढाइरहेको हुन्छस्। मैले किन यसो भनेँ? जब तँ यी कुराहरू गर्छस्, तब यो कार्य सिद्धान्तहरूअनुरूप हुँदैन। तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुँदैनस्। तैँले ख्रीष्टविरोधीलाई व्यक्तिगत फाइदाका लागि षडयन्त्र गर्न मदत गरिरहेको हुन्छस्, र तिनीहरूका व्यक्तिगत मामलाहरू सम्हालिरहेको हुन्छस्। यो तेरो कर्तव्य होइन; यो तेरो जिम्मेवारी होइन। यो परमेश्वरले तँलाई दिनुभएको आज्ञा होइन, न त यो परमेश्वरको घरको काम नै हो। यसो गरेर, तैँले शैतानको सेवा गरिरहेको हुन्छस् र शैतानका लागि काम गरिरहेको हुन्छस्। के शैतानका लागि काम गरेकोमा परमेश्वरले तँलाई सम्झनुहुनेछ? (सम्झनुहुनेछैन।) त्यसोभए परमेश्वरले के कुरा सम्झनुहुनेछ? बाइबलमा एउटा वाक्यांश छ। प्रभु येशूले भन्नुभयो: “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानोलाई जे-जति गरेका हुन्छौ, त्यो तिमीहरूले मलाई नै गरेका हुन्छौ” (मत्ती २५:४०)। परमेश्वरले तोकेको कुरा यही हो। यी वचनहरूको अर्थ के हो? यदि तैँले सानोभन्दा सानो दाजुभाइ-दिदीबहिनीहरूका लागि केही गर्न सक्छस् भने, त्यो कुरा अवश्य नै सिद्धान्तहरू र परमेश्वरका मागहरूअनुसार गरिएको हुन्छ। तँ व्यक्तिको हैसियत कति उच्च छ भन्ने कुरालाई हेर्दैनस्, बरु सिद्धान्तअनुसार काम गर्छस्। कति मानिसहरू त हैसियत भएका मानिसहरूका लागि मात्रै विभिन्न कुरा गर्ने, मेहनत गर्ने र काम गर्ने गर्छन्, र तिनीहरूलाई उत्साहसाथ समर्थन गर्ने गर्छन्, तर कुनै हैसियत नभएको व्यक्तिले तिनीहरूलाई कुनै काम गर्न लगायो भने, त्यो तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्य वा जिम्मेवारी नै भए पनि, तिनीहरू कुनै ध्यान दिँदैनन्। त्यसैले, तिनीहरूले गर्ने कामकुरालाई कसरी चित्रण गरिन्छ? परमेश्वरको दृष्टिकोणबाट, यी कुराहरूलाई शैतानका लागि काम गर्नुका रूपमा चित्रण गरिन्छ, र उहाँले यी कुराहरूलाई पटक्कै सम्झनुहुनेछैन। यो छैटौँ मामला हो। के तिमीहरू कसैले यस्ता घटनाहरू देखेका छौ? (मैले एउटा देखेको छु, परमेश्वर। पहिले, हामी जहाँ थियौँ त्यहाँ एउटी ख्रीष्टविरोधी अगुवा हुँदा, ऊ दाजुभाइ-दिदीबहिनीहरूले दान दिएका मिठा खानेकुरा, उपयोगी सामग्रीहरू, मेकअप र अरू कुराहरू आफ्नै लागि राख्नका लागि आफ्नो पदको प्रयोग गर्थी। कति कुराहरूको म्याद सकिसकेको हुन्थ्यो तर ऊ ती कुरा अझै पनि दाजुभाइ-दिदीबहिनीहरूलाई दिँदिनथी; उसले यी सबै कुरा हिनामिना गरिन्। यसका साथै, उसले एउटा डाउन ज्याकेट किनी, तर पछि एक सिस्टरले कम मूल्यको र राम्रो गुणस्तरको डाउन ज्याकेट किनेको देख्दा, त्यस सिस्टरबाट त्यो ज्याकेट ठगेर लिनलाई अनेक किसिमका कुराहरू सोचविचार गरी, र पछि त्यस सिस्टरलाई उसको आफ्नो ज्याकेट महँगो दाममा किन्न लगाई।) के भन्न सकिन्छ भने हरेक ख्रीष्टविरोधी दुष्ट व्यक्ति हो, र उसमा कुनै मानवता, कुनै विवेक हुँदैन, र उसको चरित्र अत्यन्तै नीच हुन्छ। यी मानिसहरूलाई अन्ततः प्रकाश गरेर हटाइनुपर्छ।
विगतमा, तीन जनाको एउटा परिवार कर्तव्य निर्वाह गर्न विदेश आएको थियो। विदेश आइपुगेपछि, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सरसामान किन्न लगाउन हरेक दिन बाहिर लैजान लगाउँथे—तिनीहरूमध्ये एउटालाई डाउन ज्याकेट, अर्कोलाई पाइन्ट, र अर्कोलाई जुत्ता किन्न मन लाग्थ्यो। तिनीहरू त्यति धेरै पैसा ल्याइएको छैन भनेर बहाना बनाउँथे। यदि तिनीहरूले त्यति धेरै पैसा ल्याएका थिएनन् भने, ती सरसामान नकिन्नुपर्थ्यो, तर तिनीहरू किन्न चाहन्थे, र तिनीहरू साधारण सरसामान होइन, भव्य सरसामान चाहन्थे, र ती सरसामानका लागि दाजुभाइ-दिदीबहिनीहरूले आफ्नै पैसा तिर्नुपर्थ्यो। त्यस परिवारले केही समयसम्म आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, मानिसहरूले तिनीहरूको व्यवहारप्रति असुन्तष्टि जनाए—तिनीहरूले खाने खाना, तिनीहरूको बस्ने ठाउँ, र तिनीहरूले प्रयोग गर्ने कुराहरू अत्यन्तै विलासी किसिमका थिए! त्यस परिवारको बाउ चाहिँले दाजुभाइ-दिदीबहिनीहरूलाई दूध किन्नसमेत लगाउँथ्यो, र तिर्खा लाग्दा, ऊ पानीजस्तै दूध पिउँथ्यो। यस संसारमा कति मानिसहरू होलान् जसले पानीजस्तै दूध पिउन सक्छन्? तिनीहरू कस्तो स्तरका मानिसहरू हुनुपर्छ? पछि, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई जुनार र सुन्तला किन्न लगायो, र तिनीहरूले एउटा ठूलो झोलाले एक झोला किनेर दिए, तर त्यस परिवारले दुई दिनमै त्यो सब सकायो। त्यसपछि, त्यस मान्छेले फेरि केही पूरक भिटामिनहरू चाहियो भनेर भन्यो, र उसले दाजुभाइ-दिदीबहिनीहरूलाई केही चेरी किन्न लगायो, र यसो भन्दै मेरो नामसमेत प्रयोग गर्यो, “तपाईँले परमेश्वरका लागि चेरी किन्नुपर्छ!” मैले भनेँ, “अहिले जाडो याम हो। यो चेरी खाने मौसम होइन। म खान्नँ; मेरो लागि नकिन्।” उसले भन्यो, “तैपनि हामीले ती किन्नुपर्छ!” जब दाजुभाइ-दिदीबहिनीहरूले एक बाकस चेरी किने, तब उसको परिवारले तुरुन्तै त्यो सफाचट पारिदियो। मैले त्यसरी खान सक्ने मानिसहरू पहिले कहिल्यै देखेको थिइनँ—तिनीहरू फलफूल भातजस्तै खान्थे र दूध पानीजस्तै पिउँथे। त्यसपछि, खाना खाने समय आएपछि, तिनीहरूले माछा देख्थे र हतार-हतार खाइहाल्थे। तिनीहरूको खाने तरिका देख्दा तिमीहरूलाई पनि घिन लाग्नेथियो—तिनीहरू पहिले कहिल्यै मिठो खान नपाएका भोका भूतजस्तै थिए। तिनीहरू असल कुराहरू पाउने यस मौकाको फाइदा लिनुपर्छ भन्ने सोच्थे, त्यसैले उत्कटतासाथ बेस्सरी हसुर्थे। अन्ततः त्यस बच्चाले यति धेरै खायो कि उसलाई समस्या भयो। त्यसपछि, त्यस बच्चाले तर्क बङ्ग्याउने कुरा बोल्यो: “मैले परमेश्वरको ठाउँमा त्यो माछा नखाएको भए, म बिरामी हुनेथिइनँ!” त्यसले खाँदा म त त्यहाँ थिइनँ, र मलाई त्यसबारे केही थाहा थिएन। त्यसले आफै खाएको थियो—त्यसले कसरी त्यसको दोष मलाई दिन सक्यो? तर त्यसले मलाई नै दोष दियो। त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? (तिनीहरूलाई निकाल्नुपर्छ।) तिनीहरू के हुन्? (दियाबलस र शैतानहरू।) तिनीहरू दियाबलस हुन्। त्यो बेला, मैले स्थानीय मण्डली अगुवाहरूलाई भनेँ, “तिनीहरूलाई यहाँबाट निकालेर सकेसम्म टाढा पठाओ। म फेरि कहिले पनि तिनीहरूको अनुहार हेर्न चाहन्नँ!”
म केही मण्डलीमा गएको छु र मैले निकै दाजुभाइ-दिदीबहिनीसँग अन्तरक्रिया गरेको छु। मैले सबै किसिमका खराब र दुष्ट मानिसहरू देखेको छु, तर मैले सामान्य रूपमा उठबस गर्न सक्ने मानिसहरूको सङ्ख्या निकै थोरै छ। अधिकांश मानिसहरूसँग अन्तरक्रिया गर्ने कुनै उपाय हुँदैन, र धेरै मानिसलाई तर्कले छुँदैन। तिनीहरूले भन्ने सबै कुराको तर्क विकृत र गलत हुन्छ, र तिनीहरू झूटहरूलाई सत्यताझैँ प्रस्तुत गर्छन्—तिनीहरू पशु, दियाबलस, र शैतान मात्रै हुन्, र तिनीहरूमा अलिकति पनि मानवता वा समझ हुँदैन। हरेक मण्डलीमा यस्ता मानिसहरू कम्तीमा पनि एक तिहाइ जति हुन्छन्। तिनीहरूमध्ये कोही पनि कुनै मूल्यका हुँदैनन्, र तिनीहरूमध्ये कसैलाई पनि मुक्ति दिन सकिँदैन; तिनीहरू सबैलाई जति सक्दो चाँडो हटाउनुपर्छ। मलाई अन्तरक्रिया गर्न मन लाग्ने मानिसहरू सत्यता स्वीकार गर्न सक्ने, तुलनात्मक रूपमा इमानदार, र हृदयबाट बोल्न सक्ने मानिस हुन्। तिनीहरूले जुनसुकै भ्रष्टता प्रकट गरे पनि वा तिनीहरूसँग जुनसुकै विचलन भए पनि, तिनीहरू सत्यतामा सङ्गति गर्न र सत्यता स्वीकार गर्न इच्छुक छन् भने, म तिनीहरूसँग मिलेर बस्न सक्छु। छली मानिसहरू र अरूबाट फाइदा लिन मन पराउनेहरूलाई, म कुनै ध्यान दिँदिनँ। कतिपय मानिस मेरो उपस्थितिमा हुँदा सधैँ धाक देखाउन चाहन्छन् र मलाई तिनीहरूबारे उच्च विचार गर्न लगाउन चाहन्छन्। तिनीहरू मलाई छल गर्न मेरो अगाडि एक तरिकाले र मेरो पिठ्यूँपछाडि अर्को तरिकाले व्यवहार गर्छन्। यस्ता मानिसहरू दियाबलस हुन्, र तिनीहरूलाई सकेसम्म टाढा पठाउनुपर्छ; म तिनीहरूलाई फेरि कहिल्यै हेर्न चाहन्नँ। जब मानिसहरूमा कमजोरी र अपर्याप्तताहरू हुन्छन् तब म तिनीहरूलाई सहयोग र भरणपोषण गर्न सक्छु, र जब तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ तब म तिनीहरूसँग सत्यतामा सङ्गति गर्न सक्छु, तर म दियाबलसहरूसँग संलग्न हुँदिनँ वा दियाबलसहरूले भनेको कुरा सुन्दिनँ। कतिपय मानिस नयाँ विश्वासी हुन्छन् र तिनीहरूले नबुझेका केही सत्यता हुन्छन्, त्यसकारण तिनीहरू अज्ञानी रूपमा बोल्न र व्यवहार गर्न सक्छन्। हामी सत्यतामा सङ्गति गर्न सक्छौँ, तर यदि तैँले केही सत्यता बुझेको छस् र जानाजानी होहल्ला गर्छस्, मसँग अनुचित व्यवहार गर्छस् र मेरो गल्ती खोतल्छस् भने, म तँलाई त्यतिकै छोड्नेछैनँ। म किन तँलाई सहनेछैनँ? तँ मुक्ति पाउन सक्ने व्यक्ति होइनस्, त्यसकारण मैले किन तँलाई सहने? कसैलाई सहनुको अर्थ म ऊप्रति सहनशील र धैर्यवान् हुन सक्छु भन्ने लाग्छ। म अज्ञानी मानिसहरू र साधारण भ्रष्ट व्यक्तिसँग धैर्यवान् हुन्छु, तर शत्रु वा दियाबलसहरूसँग होइन। यदि दियाबलसहरू र शत्रुहरू तँलाई मनमोहक कुराहरू भन्ने नाटक गर्छन् र तँलाई घुस दिन्छन्, छल गर्छन्, वा क्षणिक खुसी दिन्छन् भने, के तँ तिनीहरूले भनेको कुरा विश्वास गर्न सक्छस्? (अहँ, सक्दैनौँ।) किन? तिनीहरूले सत्यता स्वीकार गर्न नसक्ने हुनाले, तैँले यो कुरा पहिले नै स्पष्ट रूपमा देखेको हुन्छस्, र यी मानिसहरू पहिले नै प्रकाश गरिएका हुन्छन्। तिनीहरू आफूले बोल्ने कुरामा इमानदार हुँदैनन्, तिनीहरूले सत्यतामा सङ्गति गर्दा यो सबै ढोँग हुन्छ, र तिनीहरूले भनेको कुरा साँचो हो कि झूटो हो भनेर पत्ता लगाउन गाह्रो हुन्छ। यदि तैँले यी कुराहरू सही रूपमा देख्न सक्छस् भने, तँ तिनीहरू दियाबलस र शैतानहरू हुन् भन्ने कुरामा निश्चित हुन सक्छस्। तिनीहरूलाई निकालेर वा निष्कासित गरेर मात्रै समस्यालाई पूर्ण रूपमा समाधान गर्न सकिन्छ। कतिपय मानिस भन्छन्, “तिनीहरूलाई किन थोरै छुट नदिने?” यी मानिसहरूलाई पश्चात्ताप गर्ने कुनै मौका हुँदैन; तिनीहरूले पश्चात्ताप गर्नु असम्भव हुन्छ। तिनीहरू शैतानजस्तै हुन्—परमेश्वर जति नै सर्वशक्तिमान् र बुद्धिमान् भए पनि, यसको दृष्टिकोणमा यो परमेश्वरमा हुनुपर्ने सार होइन। यसले परमेश्वरलाई परमेश्वरका रूपमा लिँदैन, र यसका धूर्त युक्तिहरू बुद्धि हुन्, यसको प्रकृति सार सत्यता हो, र परमेश्वर सत्यता हुनुहुन्न भन्ने सोच्छ। यो विशुद्ध शैतान हो, र यो परमेश्वरप्रति अन्त्यसम्मै शत्रुवत् हुने निश्चित छ। त्यसकारण, दुष्ट मानिसहरूले सत्यतालाई प्रेम गर्न र सत्यता पछ्याउन सक्दैनन् भन्ने कुरा निश्चित हुन्छ, त्यसकारण, परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न। तिनीहरूलाई मण्डलीबाट निकाल्नु र परमेश्वरको घरबाट निष्कासित गर्नु नै सबैभन्दा सही निर्णय हो र यो अलिकति पनि गलत हुँदैन।
आज मैले जुन ख्रीष्टविरोधीहरूबारे सङ्गति र चिरफार गरेँ, तिनीहरूले आफूले पछ्याउने दिशा र उद्देश्यहरू कहिल्यै परिवर्तन गर्नेछैनन्। तिनीहरू आफूले पछ्याउने सबै कुरामा स्वार्थलाई प्राथमिकता दिन्छन्, र परमेश्वरको घरमा ठगेर खान र पिउन आफ्नो भएभरको शक्ति र दिमाग लगाउँछन्। तिनीहरूले कहिल्यै परमेश्वरका लागि इमानदारीसाथ आफूलाई समर्पित गरेका हुँदैनन्; तिनीहरू छलसाथ खानपान गर्न, हितहरू पूरा गर्न, र अरूबाट विशेष व्यवहार प्राप्त गर्न मात्रै चाहन्छन्। तिनीहरू सोच्छन्, परमेश्वर यो देख्नुहुन्न, यो कुरा थाहा पाउनुहुन्न, र यसबारे छानबीन गर्न सक्नुहुन्न, त्यसकारण तिनीहरू एकोहोरो रूपमा यी कुराहरू पछ्याउँछन्। अवश्य नै, तिनीहरूको प्रकृति सार यस्तै हुन्छ—तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, न त सत्यता पछ्याउने मार्गमा हिँड्न नै सक्छन्, त्यसैले तिनीहरू ख्रीष्टविरोधीका रूपमा चित्रित हुनु निश्चित छ। परमेश्वरले हटाउने मानिसहरू यी नै हुन्, र परमेश्वरको घरले पत्ता लाउनेबित्तिकै निष्कासित गरिहाल्नुपर्ने मानिसहरू यी नै हुन्। कुनै व्यक्ति ख्रीष्टविरोधी बाटोमा छ भन्ने पत्ता लागेदेखि, उसले सत्यताअनुरूप नभएका कुराहरू श्रृङ्खलाबद्ध रूपमा गर्ने अवस्थासम्म, र उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिएको दिनसम्म, यी सबै कुराले ख्रीष्टविरोधीहरू परिवर्तन हुँदैनन् भन्ने देखाउँछन्। तिनीहरूको अन्तिम परिणाम भनेकै परमेश्वरको घरबाट निष्कासित गर्नु र परमेश्वरद्वारा हटाइनु हो—तिनीहरू परिवर्तन हुन सक्दैनन्। त्यसोभए, यी कुराहरू जानेर तिमीहरूलाई के फाइदा हुन्छ? कति मानिसहरू भन्छन्, “हामी ठगेर खाने र पिउने कुरा प्राप्त गर्दैनौँ। हामी सत्यता पछ्याउँछौँ र सृजित प्राणीका रूपमा कर्तव्य निर्वाह गर्न चाहन्छौँ। हामी परमेश्वरलाई पछ्याउँछौँ र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन्छौँ। हामी ख्रीष्टविरोधीहरूले जस्तो व्यवहार गर्दैनौँ, न त हामी ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने योजना नै गर्छौँ। यी घटनाहरूबारे जानेर के फाइदा हुन्छ?” साधारण दाजुभाइ-दिदीबहिनीहरूको हकमा भन्दा, ख्रीष्टविरोधीहरूका यी प्रकटीकरण र खुलासाहरूले हरेक व्यक्तिका लागि चेतावनीका रूपमा काम गर्न सक्छन्, र तिनीहरूलाई कुन मार्ग सही छ अनि कुन व्यवहार र काम गर्ने कुन तरिका परमेश्वरका अभिप्रायहरूअनुरूप छन् भनेर बताउन सक्छन्। सबै स्तरका मण्डली अगुवा र कामदारहरूको हकमा भन्दा, यो ख्रीष्टविरोधीहरू चिन्ने वास्तविक जीवनको प्रमाण हो। ख्रीष्टविरोधीहरू चिनेर मण्डलीको कामका लागि के फाइदा हुन्छ? यसले तिमीहरूलाई सही समयमा र सही रूपमा ख्रीष्टविरोधीहरू पहिचान गर्न र मण्डलीबाट निष्कासित गर्न मदत गर्छ, जसले गर्दा मण्डली अझै शुद्ध हुन्छ र यी ख्रीष्टविरोधीहरूको बाधा, अवरोध र क्षतिबाट मुक्त हुन्छ, ताकि सत्यता पछ्याउने र परमेश्वरप्रति इमानदारीपूर्वक आफूलाई समर्पित गर्न सक्ने मानिसहरूले सफा र शान्त, अनि दियाबलस र शैतानहरूका बाधाबाट मुक्त वातावरण प्राप्त गर्न सकून्। त्यसकारण, जब ख्रीष्टविरोधीहरूलाई चिन्ने सत्यताको कुरा आउँछ, तब तैँले तिनीहरूलाई तथ्य र प्रकटीकरणहरूको दृष्टिकोणबाट चिने पनि, वा सत्यता सिद्धान्तहरूका आधारमा चिने पनि, यी दुवै पक्ष बुझ्नुपर्छ। यो तेरो जीवन प्रवेश र मण्डलीको कामका लागि फाइदाजनक हुन्छ—यो तिमीहरूले बुझ्नुपर्ने कुरा हो।
आज मैले केही मामलाबारे कुरा गरेँ। यी सबै कुरा ख्रीष्टविरोधीहरूको क्रूरता, लज्जाहीनता, र हरेक नैतिक आधारको पूर्ण कमी हुनुका केही व्यवहार, कार्यशैली र प्रकटीकरण हुन्। ती सबै तिमीहरूको वरिपरि घटेका घटनाहरू नै हुनुपर्छ, र के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूको कार्यशैली र तिनीहरूका प्रकटीकरणहरू सबै केही हदसम्म तिमीहरूभित्रै अस्तित्वमा हुन्छन्। अर्को शब्दमा भन्नुपर्दा, तिमीहरू सबैमा ख्रीष्टविरोधीहरूका केही स्वभाव र ख्रीष्टविरोधीहरूका केही अभ्यास हुन्छन्। त्यसकारण, तिमीहरूले ख्रीष्टविरोधीहरूलाई चिन्ने क्रममा, आफ्नो व्यवहारबारे पनि परीक्षण, जाँच र चिन्तन गर्नुपर्छ। कति मानिसहरूले यसो भन्न सक्छन्, “तपाईँ सधैँ त्यस्ता घटनाहरूबारे, त्यस्ता गफहरूबारे कुरा गर्नुहुन्छ, र त्यस्ता विवरणहरू बिस्तारमा बताउनुहुन्छ। यसले हामीलाई सत्यतामा प्रवेश गर्न कसरी फाइदा गर्छ? अहिले, हामी आफ्नो कर्तव्यमा निकै व्यस्त छौँ, र हामी यी कुराहरूबारे नोट बनाउन वा तीबारे सुन्न चाहँदैनौँ। सत्यतामा प्रवेश गर्दा, दुइटा कुरामा लागिरहनु नै पर्याप्त हुन्छ—एउटा परमेश्वरमा समर्पित हुनु हो, र अर्को चाहिँ आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्नु हो। यो अत्यन्तै सरल छ!” सिद्धान्तको हिसाबमा त यो यति सरल हुन सक्छ, तर सटीक र निश्चित रूपमा भन्नुपर्दा, यो त्यति सरल छैन। यदि तैँले थोरै सत्यता बुझेको छस् भने, तेरो प्रवेश भद्दा र सतही हुनेछ, र यदि तैँले बुझेका सत्यताहरू सामान्य खाले हुन् भने, तैँले अनुभव गर्ने विवरण पनि थोरै नै हुनेछन्, र तँ परमेश्वरको उपस्थितिमा कहिल्यै शुद्ध पारिनेछैनस्। परमेश्वर मानिसहरूलाई सत्यता पछ्याउन र सत्यता वास्तविकताहरूमा प्रवेश गर्न लगाउनुहुन्छ, त्यसकारण मानिसहरूले यी विवरणहरू बुझ्नैपर्छ। यसबाट तिमीहरू के देख्न सक्छौ? परमेश्वरले तिमीहरूलाई मुक्ति दिने मन बनाउनुभएको छ, त्यसकारण उहाँ तिमीहरूसँग इमानदार हुनुपर्छ अनि लापरवाह र भ्रमित बनेर, वा लगभग नजिक पुगेर वा झन्डै झन्डै सही बनेर सन्तुष्ट हुनु हुँदैन। परमेश्वरको हकमा भन्दा, “लगभग नजिक पुग्नु,” “पाँचमा चार हुनु,” “सायद” र “हुनसक्छ” भन्ने शब्दहरू अस्तित्वमा हुँदैनन्। यदि तँ मुक्ति पाउन र मुक्तिको मार्गमा हिँड्न चाहन्छस् भने, तैँले सत्यताका यी सबै विवरणहरू बुझ्नुपर्छ। यदि तँ अहिले काम गर्न सक्ने अवस्थामा छैनस् भने, ठिकै छ—अहिले सत्यताका विवरणहरूमा प्रवेश गर्न थाल्न ढिला भइसकेको छैन। यदि तँ गल्ती नगरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने मनोवृत्ति भएकैमा सन्तुष्ट छस् भने, र आफ्नो जीवनमा परिस्थितिहरू आइपर्दा समर्पित हुन सक्ने मनोवृत्ति भएकैमा सन्तुष्ट छस् भने, तँ कहिल्यै सत्यता वास्तविकताहरूमा प्रवेश गर्नेछैनस्। परमेश्वरले मानिसहरूलाई प्रदान गर्ने हरेक सत्यतामा धेरै विशिष्ट विवरणहरू हुन्छन्, र यदि मानिसहरूले यी विवरणहरू बुझेनन् भने, तिनीहरूले कहिल्यै सत्यता वा परमेश्वरका अभिप्रायहरू बुझ्नेछैनन्। के परमेश्वरले मानिसहरूलाई गम्भीर रूपमा लिनु राम्रो कुरा होइन र? (हो।) चाहे यो तिनीहरूको कर्तव्य निर्वाह, तिनीहरूको समर्पण, र तिनीहरूको आपसी सम्बन्धबारे होस्, वा चाहे तिनीहरू आफ्नो सम्भाव्यता र नियतिको मामलालाई कसरी लिन्छन् भन्ने कुराबारे होस्, वा चाहे मैले अहिले बताइरहेका कुरा, अर्थात् ख्रीष्टविरोधीहरूलाई कसरी चिन्ने, ख्रीष्टविरोधीको बाटो कसरी नहिँड्ने, र ख्रीष्टविरोधीको स्वभाव कसरी फाल्ने भन्नेबारे होस्, तिनीहरूले यी सबै कुरा एकएक गरी बुझ्नुपर्छ। जब तिमीहरू थोरै सरल र खोक्रा धर्मसिद्धान्तहरू कसरी प्रचार गर्ने भनेर जान्ने मात्र नभई, यी विवरणहरू साँचो रूपमा पत्ता लगाउनसमेत सक्षम बन्छौ, तब तिमीहरू पहिल्यै सत्यता वास्तविकताहरूमा प्रवेश गरिसकेका हुनेछौ। सत्यता वास्तविकताहरूमा प्रवेश गर्ने मानिसहरूसँग मात्रै मुक्ति पाउने मौका र आशा हुन्छ; शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्नु भनेको केवल श्रम गर्नु हो। यदि मानिसहरू सत्यता वास्तविकताहरूमा प्रवेश गर्न चाहन्छन् भने, तिनीहरूले यी विवरणहरूबाट सुरु गर्नुपर्छ। नत्रभने, तिनीहरूले कहिले पनि स्वभाव परिवर्तन हासिल गर्नेछैनन्।
अप्रिल ४, २०२०