२. पाष्टरहरू र एल्डरहरूले धेरै वर्षदेखि प्रभुमा विश्वास गरेका छन्, तिनीहरूमा बाइबलको धेरै ज्ञान हुन्छ, र तिनीहरूको विश्वास हाम्रो भन्दा श्रेष्ठ हुन्छ, त्यसैले प्रभुमा विश्वास गर्दा हामीले तिनीहरूको कुरा सुन्नुपर्छ। तपाईं प्रभु येशू फर्केर आउनुभएको छ र परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ भनी गवाही दिनुहुन्छ, तर धेरैजसो पाष्टरहरू र एल्डरहरूले यो कुरालाई स्वीकार गर्दैनन्, यहाँसम्म कि यसको विरोध र निन्दा समेत गर्छन्। त्यसैले हामी पनि यसलाई स्वीकार गर्न सक्दैनौं।
सन्दर्भका लागि बाइबलका पदहरू:
“हामीले मानिसको होइन परमेश्वरको आज्ञा मान्नुपर्छ” (प्रेरित ५:२९)।
“तिनीहरू अन्धाहरूका अन्धा अगुवाहरू हुन्। र यदि अन्धोले अन्धोलाई डोर्यायो भने दुवै खाडलमा खस्नेछन्” (मत्ती १५:१४)।
“मानिसमा भरोसा गर्ने, र आफ्नो देहलाई आफ्नो अस्त्र बनाउने अनि जसको हृदय यहोवादेखि टाढा जान्छ त्यो मानिस श्रापित होस्” (यर्मिया १७:५)।
“मानिसहरू तिनीहरूलाई हिर्काउनुहुनेकहाँ फर्कँदैनन्, न त तिनीहरू सेनाहरूका यहोवाको खोजी नै गर्छन्। यसकारण यहोवाले एकै दिनमा इस्राएलबाट शिर र पुच्छर, हाँगा र नर्कट काटिदिनुहुनेछ। प्राचीन र आदरका योग्य, उनी शिर हुन्; र झूट सिकाउने अगमवक्ता पुच्छर हुन्। किनकि यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गल्ती गर्ने तुल्याउँछन्; र तिनीहरूद्वारा अगुवाइ गरिएकाहरू नष्ट हुनेछन्” (यशैया ९:१३-१६)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
हरेक धर्म र सम्प्रदायका अगुवाहरूलाई हेर्—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा मार्गनिर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै सक्थेनन् भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? आखिरमा, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरूले केही धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छल्न र मानिसहरूलाई आफ्नो अगाडि ल्याउनका निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्वरमा नाम मात्रको विश्वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाका मामलामा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्वरमाथि विश्वास गर्ने र सत्यता स्वीकार गर्ने कुरा आउँदा मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो मार्ग स्वीकार गर्ने कार्यमा ठेस लाग्ने बाधाहरू बनेका छैनन् र?
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबैजना “परमेश्वर” लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्वरको ध्वजा बोके तापनि जानाजानी परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्वरमा विश्वास गरेको पर्चा बोक्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरूको सही मार्गमा हिँड्ने थालनीलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्वरको खोजीमा अवरोध दिने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ शारीरिक गठन” भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्
कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। त्यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा शक्ति भएका सम्प्रदायहरूको मात्र खोजी गर्छन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यताको मार्गलाई स्विकारेका भए पनि, तिनीहरू अर्ध-विश्वास गर्नेहरू मात्र हुन्; तिनीहरू आफ्नो सम्पूर्ण हृदय र मन दिन सक्षम छैनन्; तिनीहरू मुखले परमेश्वरप्रति आफूलाई समर्पित गर्ने बारेमा शब्दहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका मन ख्याति, प्राप्ति र महिमाका विचारले भरिएका हुन्छन्। तिनीहरूले त्यस्तो नगण्य व्यक्तिले त्यति धेरै मानिसहरूलाई विजय गर्न सक्छ, त्यति मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्ने कुरा विश्वास नै गर्दैनन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगण्य मानिसहरू परमेश्वरद्वारा चुनिएका मानिसहरू हुन् भन्ने कुरा विश्वास नै गर्दैनन्। यदि यस्ता मानिसहरू परमेश्वरका मुक्तिका पात्रहरू हुन्थे भने, तिनीहरू स्वर्ग र पृथ्वी उलटपुलट हुनेथिए र सम्पूर्ण मानिसहरू पेट मिचीमिची हाँस्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरू परमेश्वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्वर स्वयम् बन्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्वासले दूषित भएका हुन्छन्; विश्वास नगर्ने भन्दा बढी, तिनीहरू पूर्णतः असमझ पशुहरू हुन्। किनकि तिनीहरूले हैसियत, प्रतिष्ठा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र सम्मान गर्छन्, र ख्रीष्टले डोर्याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका पूर्ण रूपमा विश्वासघाती हुन्।
तँ ख्रीष्टको विनम्रतालाई कदर गर्दैनस्, तर विख्यात दर्जाका झूटा गोठालाहरूलाई श्रद्धा गर्छस्। तँ ख्रीष्टको प्रेमिलो स्वभाव वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारका फोहोरसँग सँगै लाग्ने व्यभिचारीहरूलाई मन पराउँछस्। तँ ख्रीष्टले आफ्नो शिर राख्ने ठाउँ नपाएको पीडाको खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरूको सिकार गर्ने र विलासितामा जिउने लासहरूलाई सम्मान गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तँ बेपरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूका हातमा आफूलाई खुसीसाथ सुम्पन्छस्, यद्यपि तिनीहरूले तँलाई केवल देह, शब्दहरू दिन्छन् र नियन्त्रण गर्छन्। अहिले पनि, तेरो हृदय अझै तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। र तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्ने र यसलाई स्विकार्न अनिच्छुक हुने मनोवृत्ति अपनाउन जारी राख्छस्। केवल यसैका कारण म के भन्छु भने, तँ ख्रीष्टलाई मान्ने आस्थारहित छस्। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकाले हो। ठूला व्यक्तित्वहरूको शृङ्खला सधैँ तेरो हृदयमा अग्लो भई दृढ उभिरहेको हुन्छ; तँ तिनीहरूका कुनै पनि शब्द र काम बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टका हकमा लागू हुँदैन। तेरो हृदयमा, उहाँ सधैँभरि नगण्य, सधैँभरि डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै साधारण हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ उच्चताबाट टाढा हुनुहुन्छ।
जे भए पनि, म भन्छु, सत्यतालाई मूल्यवान् नठान्नेहरू सबै अविश्वासी र सत्यताका विश्वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्। के अब तैँले तँभित्र कति धेरै अविश्वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? म तँलाई यो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले अर्पण गर्नुपर्छ; द्विविधापूर्ण वा अर्ध-हृदयको नबन्। तैँले यो बुझ्नुपर्छ कि परमेश्वर संसारको परमेश्वर हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको परमेश्वर नै हुनुहुन्छ, बरु उहाँ त उहाँमा साँच्चै विश्वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँमा अर्पित र बफादार हुनेहरू सबैको परमेश्वर हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ परमेश्वरको साँचो विश्वासी होस्?
सत्यतालाई नबुझ्नेहरूले सदैव अरूहरूलाई पछ्याउँछन्: यदि मानिसहरूले यो पवित्र आत्माको कार्य हो भनी भन्छन् भने, तैँले पनि यो पवित्र आत्माको कार्य हो भनी भन्छस्; यदि मानिसहरूले यो दुष्टात्माको कार्य हो भनी भन्छन् भने, तँ पनि शङ्कालु हुन्छस्, वा यो दुष्टात्माको कार्य हो भनी भन्छस्। तँ सदैव अरूहरूको कुराहरूलाई सुगारटाइ गर्छस्, र आफैँ केही कुरा खुट्ट्याउनसक्दैनस्, न त तँ आफ्नै लागि सोच्न समर्थ हुन्छस्। यो कुनै अडानविनाको व्यक्ति हो, जससँग सुझबुझ छैन—यस्तो व्यक्ति एक निकम्मा नालायक हुन्छ! तँ सदैव अरूहरूको कुराहरू दोहोर्याउँछस्: आज यस्तो भनिन्छ कि यो पवित्र आत्माको कार्य हो, तर यस्तो सम्भावना छ कि कुनै दिन कसैले भन्नेछ कि यो पवित्र आत्माको कार्य होइन, र वास्तवमा यो मानिसको कार्यभन्दा बाहेक अरू केही होइन—तापनि तँ यसलाई छुट्ट्याउन सक्दैनस्, र अरूहरूद्वारा यो कुरा बताइएको तँ प्रत्यक्षदर्शी हुँदा, तैँले पनि त्यही कुरा भन्छस्। यो वास्तवमा पवित्र आत्माको कार्य हो, तर तँ यो मानिसको कार्य हो भनी भन्छस्; के तँ पवित्र आत्माको कार्यको विरुद्धमा निन्दा गर्नेहरूमध्ये एक हुँदैनस् र? यसमा, के तैँले आफूमा सुझबुझ नभएको कारण परमेश्वरलाई विरोध गरेको छैनस् र? सायद कुनै दिन कुनै मूर्ख प्रकट हुनेछ जसले भन्छ “यो दुष्टात्माको कार्य हो,” र जब तँ यी शब्दहरू सुन्छस्, तँ नोकसानीमा हुनेछस्, र फेरि एकपटक तँ अरूहरूको कुराहरूद्वारा बन्धित हुनेछस्। हरेक पटक कसैले खलबल पैदा गर्छ, तँ आफ्नो अडानमा खडा हुन असक्षम हुन्छस्, र यो सबै तँसँग सत्यता नभएकोले गर्दा हो। परमेश्वरमा विश्वास गर्ने र परमेश्वरलाई जान्न खोज्ने कुरा सरल छैन। यी कुराहरू केवल सँगै भेला भएर अनि प्रचार सुनेर हासिल गर्न सकिँदैन, र तँ जोसद्वारा मात्र सिद्ध गरिन सक्दैनस्। तैँले आफ्नो कार्यहरू अनुभव गर्नुपर्छ, र जान्नुपर्छ, र तँ तिनमा सिद्धान्तवान् हुनुपर्छ, र पवित्र आत्माको कार्य हासिल गर्नुपर्छ। जब तँ अनुभवहरूबाट गुज्रेको हुन्छस्, तब तैँले धेरै कुराहरू छुट्ट्याउन समर्थ हुनेछस्—तँ असल र खराबबीचको, न्याय र दुष्टताबीचको, शरीर र रगत को हो र सत्यता के हो सोबीचको भिन्नता छुट्ट्याउन समर्थ हुनेछस्। तैँले यी सबै कुराहरूको बीचको भिन्नतालाई छुट्ट्याउन सक्नुपर्छ, र यसो गर्दा, परिस्थितिहरू जस्तोसुकै भएतापनि, तँ कहिल्यै हराउने छैनस्। यही मात्र तेरो वास्तविक कद हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्
परमेश्वरमा विश्वास गर्ने मानिसहरूले उहाँमा समर्पण र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्च ठान्ने नगर्; परमेश्वरलाई पहिलो स्थानमा, तैँले उच्च ठान्ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्वर समान वा उहाँको बराबर ठान्नु हुँदैन। यो परमेश्वरको निम्ति असहनीय हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले चुन्नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश
केही मानिसहरू बाह्य रूपमा आत्मिक, सज्जन, उच्च र महान देखिने व्यक्तिहरूबाट भ्रममा पारिन्छन्। जहाँसम्म शब्द र धर्मसिद्धान्तहरू धाराप्रवाह रूपमा बोल्न सक्ने अनि बोली र कार्य प्रशंसनीय भएका मानिसहरूको सवाल छ, तिनीहरूको बहकाउमा पर्नेहरूले तिनीहरूको कार्यको सार, तिनीहरूको कार्यपछाडिको सिद्धान्त वा तिनीहरूको उद्देश्यलाई कहिल्यै पनि हेरेका हुँदैनन्। अझ भन्ने हो भने, तिनीहरूले यी मानिसहरू परमेश्वरप्रति साँच्चै नै समर्पित छन् कि छैनन् भन्ने कुरा कहिल्यै हेरेका हुँदैनन्, न त कहिल्यै तिनीहरूले यी मानिसहरूले साँच्चै नै परमेश्वरको डर मान्छन् कि मान्दैनन् अनि यिनीहरू दुष्टताबाट अलग रहन्छन् कि रहँदैनन् भन्ने कुरा नै निर्क्योल गरेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि यी मानिसहरूको मानवता सारलाई देखेका हुँदैनन्। बरु, यिनीहरूसँग चिनजान हुने पहिलो कदमदेखि नै, तिनीहरूले अलिअलि गर्दै यिनीहरूलाई सराहना र आदर गर्न थालेका हुन्छन् र अन्त्यमा यी मानिसहरू तिनीहरूको मूर्ति बन्छन्। यस बाहेक, केही व्यक्तिहरूको विचारमा, तिनीहरूले आराधना गर्ने मूर्तिहरू—अनि तिनीहरूले आफ्ना परिवारहरू, जागिरहरू त्याग गर्न सक्ने भनी विश्वास गरेका व्यक्तिहरू र सतही रूपमा मूल्य चुकाउन सक्षम देखिने व्यक्तिहरू नै ती व्यक्तिहरू हुन् जसले सच्चा रूपमा परमेश्वरलाई सन्तुष्ट पारिरहेका छन् र जसले वास्तविक रूपमा असल प्रतिफलहरू र असल गन्तव्यहरू हासिल गर्न सक्छन्। उनीहरूको मनमा, यी आदर्श पात्रहरू नै ती व्यक्तिहरू हुन् जसलाई परमेश्वरले स्याबासी दिनुहुन्छ। तिनीहरूलाई के कुराले यस्तो विश्वास गर्न लगाउँछ? यो समस्याको सार के हो? यसले निम्त्याउने परिणामहरू के-के हुन्? सर्वप्रथम, यसको सारको विषयमा छलफल गरौं।
तात्त्विक रूपमा, मानिसहरूका दृष्टिकोणहरू, तिनीहरूका अभ्यासका तौरतरिकाहरू, तिनीहरूले अँगाल्न चयन गरेको अभ्यासका सिद्धान्तहरू, अनि तिनीहरू प्रत्येकले प्रायः ध्यान केन्द्रित गर्ने कुराहरू सम्बन्धी यी सवालहरू र मानवजातिले पूरा गर्नुपर्ने परमेश्वरका मागहरूको बीचमा कुनै सम्बन्ध छैन। मानिसहरूले हल्का कुराहरू वा गहन विषयहरू, वा शब्द र धर्मसिद्धान्तहरू वा वास्तविकता जेसुकैमा ध्यान केन्द्रित गरून्, तिनीहरूले सबैभन्दा बढी पालना गर्नुपर्ने कुरा चाहिँ पालना गर्दैनन्, न त तिनीहरूले आफूले सबैभन्दा बढी जान्नुपर्ने कुरा नै जान्दछन्। यसको कारण भनेको मानिसहरूले सत्यतालाई बिलकुलै मन नपराउनु हो; र यसरी तिनीहरू परमेश्वरका वाणीहरूमा पाइने अभ्यासका सिद्धान्तहरूको खोजी गर्न एवम् तिनको अभ्यास गर्नमा समय र प्रयत्न खर्च गर्न इच्छुक हुँदैनन्। बरु, तिनीहरूले असल अभ्यास र असल व्यवहार के हो भन्ने बारेमा जे बुझेका र जानेका छन् त्यसैलाई सारांशित गर्दै छोटो बाटो प्रयोग गर्न रुचाउँछन्; त्यसपछि त्यो सारांश नै तिनीहरूको आफ्नो पछ्याउने लक्ष्य बन्छ जसलाई तिनीहरूले अभ्यास गर्नुपर्ने सत्यताको रूपमा लिन्छन्। यसको प्रत्यक्ष परिणाम यस्तो हुन्छ कि मानिसहरूले मानवीय असल व्यवहारलाई सत्यताको अभ्यास गर्ने कार्यको प्रतिस्थापनको रूपमा प्रयोग गर्छन् र यसले परमेश्वरको चाकरी गर्ने तिनीहरूको इच्छा पनि पूरा हुन्छ। यसले तिनीहरूलाई सत्यता विरुद्ध लड्न पुँजी प्रदान गर्छ जसलाई तिनीहरूले परमेश्वरसँग तर्कवितर्क गर्न र प्रतिस्पर्धा गर्न पनि प्रयोग गर्छन्। यसको साथै, मानिसहरूले विनाडर परमेश्वरलाई एकातिर पन्छाउँछन् र तिनीहरूले उहाँको सट्टामा आफूहरूले प्रशंसा गर्ने मूर्तिहरूलाई राख्छन्। मानिसहरूलाई यस्ता अज्ञानी कार्यहरू र दृष्टिकोणहरू अँगाल्ने वा एकपक्षीय विचारहरू र अभ्यासहरू अपनाउने तुल्याउने मूल कारण एउटा मात्र छ—र आज म तिमीहरूलाई यसको बारेमा बताउनेछु: त्यो कारण भनेको मानिसहरूले परमेश्वरलाई पछ्याए पनि, हरेक दिन उहाँ समक्ष प्रार्थना गरे पनि, र हरेक दिन उहाँका वाणीहरूलाई पढे पनि, तिनीहरूले वास्तविक रूपमा उहाँका अभिप्रायहरू नबुझ्नु नै हो। समस्याको जरा यसैमा हुन्छ। यदि कुनै व्यक्तिले परमेश्वरको हृदयलाई बुझ्थ्यो वा उहाँले के मन पराउनुहुन्छ, उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ, उहाँले के चाहनुहुन्छ, उहाँले कुन कुरालाई अस्वीकार गर्नुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई मन पराउनुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई घृणा गर्नुहुन्छ, मानिसहरूले पूरा गर्नैपर्छ भनी माग गर्दा उहाँले कस्तो प्रकारको मापदण्ड प्रयोग गर्नुहुन्छ अनि तिनीहरूलाई सिद्ध तुल्याउनको लागि उहाँले कस्तो पद्धति प्रयोग गर्नुहुन्छ भन्ने कुरा जान्दथ्यो भने, के त्यस्तो व्यक्तिसँग अझै पनि आफ्नै व्यक्तिगत विचारहरू हुन्थ्यो होला त? के त्यस्तो व्यक्तिले त्यसै गएर अरू कसैको आराधना गर्थ्यो त? के आम मानव तिनको मूर्ति हुन सक्थ्यो त? परमेश्वरका अभिप्रायहरू बुझ्ने व्यक्तिमा त्योभन्दा बढी विवेकपूर्ण दृष्टिकोण हुन्छ। तिनीहरूले मनोमानी ढङ्गले कुनै भ्रष्ट व्यक्तिलाई मूर्ति बनाउनेछैनन्, न त तिनीहरूले सत्यताको अभ्यास गर्ने क्रममा केही सामान्य नियमहरू र सिद्धान्तहरूलाई अन्धाधुन्ध रूपमा पालना गर्दैमा त्यो सत्यताको अभ्यास गर्नु बराबर हुन्छ भनेर नै विश्वास गर्नेछन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने
परमेश्वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैँले विश्वास गरेको साँच्चै परमेश्वर हुनुहुन्छ कि शैतान हो? यदि तैँले विश्वास गरेको व्यक्ति परमेश्वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैँले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैँले कसमाथि विश्वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैँले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्वरमा विश्वास गर्न बाध्य पार्दैन। तिमीहरू ममा विश्वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्नँ, किनकि जुन कुरामा तिमीहरू विश्वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्। सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका सन्तानहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै जनामा समझशक्ति छैन। जब मानिसहरू बहकिन घटनाहरू हुन्छन्, तब तिनीहरू विपरीत रूपमा शैतानको पक्षमा खडा हुन्छन्; तिनीहरूलाई शैतानको नोकर भन्दा तिनीहरूआफूलाई अत्यन्तै अन्याय भएको मसुससमेत गर्छन्। मानिसहरूले आफूसँग समझशक्ति छैन भने पनि, तिनीहरू सधैँ गैर-सत्यताको पक्षमा खडा हुन्छन्, महत्त्वपूर्ण समयमा सत्यताको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यताका निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै समझशक्तिको कमी छ? तिनीहरू किन विपरीत रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले असमझहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैँले सत्यको अभ्यास गर्नेहरूलाई किन कदर गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूले केही प्रतिक्रिया दिने बित्तिकै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैँले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासनको कामको समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी