७. तपाईं प्रभु येशू फर्केर आउनुभएको छ, र उहाँ आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ भनी गवाही दिनुहुन्छ। तर धार्मिक संसारका पाष्टरहरू र एल्डरहरूले तपाईंले जसमा विश्‍वास गर्नुहुन्छ उहाँ प्रभु येशू हुनुहुन्‍न, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली इसाई धर्मसित सम्बन्धित छैन। के यी पाष्टरहरू र एल्डरहरूका वचनहरूको कुनै प्रमाण छ?

परमेश्वरका सान्दर्भिक वचनहरू:

यहोवाको कामपछि, येशू मानिसहरूको माझमा आफ्‍नो काम गर्न देह बन्नुभयो। उहाँको काम एकलै गरिएको थिएन, तर यहोवाको कामको जगमाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगको निम्ति गरिएको काम थियो जुन परमेश्‍वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्‍वर अर्को युगको लागि आफ्नो काम गर्न अघि बढ्नुभयो, किनकि परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्य सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिने नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्‍वरले कामको नयाँ चरण थाल्नुहुन्छ, तब सधैँ नयाँ सुरुवात हुनु पर्दछ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसले जसरी उहाँको विरोध गरे पनि, परमेश्‍वरले सधैँ आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूको दौरान, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ, र यसबाहेक तिनीहरू व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर मानिसलाई उसको शैतानद्वारा भ्रष्ट तुल्याइएको स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्‍ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्‍ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध गर्नु हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनु हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहँदा, मानिसले अझै पनि पाप गर्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव खुलासा गर्न वचन प्रयोग गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्ने तुल्याउनुहुन्छ। कामको यो चरण अघिल्लोभन्दा अझ बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई आपूर्ति गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण हुने तुल्याउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्‍बन्धित नभए पनि, हाम्रा आत्मा एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए पनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरकफरक रूपहरू लिन सक्छन्, तर यो कुरा युगको परिवर्तन र हाम्रो कामका फरकफरक आवश्यकताहरूको कारणले गर्दा भएको हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि बढाउने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले गर्दा, यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूका देहको स्वरूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा न्‍मनुभएको थिएन, उही समयअवधिमा जन्‍मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। उहाँहरूका देहमा न त रगतको नाता छ न त कुनै पनि प्रकारको भौतिक साइनो नै छ, तैपनि उहाँहरू दुई फरक समयअवधिका परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरा अकाट्य सत्य हो। तैपनि, उहाँहरू एउटै रक्तवंशको हुनुहुन्‍न र उहाँहरूले एउटै मानव भाषा बोल्‍नुहुन्‍न (एक जना पुरुष हुनुहुन्थ्यो जसले यहूदीहरूको भाषा बोल्‍नुहुन्थ्यो र अर्काचाहिँ महिला हुनुहुन्छ जसले चिनियाँ भाषा मात्रै बोल्‍नुहुन्छ)। यिनै कारणहरूले गर्दा, आफूले गर्नुपर्ने काम गर्नको लागि उहाँहरू फरकफरक देशमा र फरकफरक समयअवधिमा पनि जिउनु भयो। उहाँहरू एउटै आत्मा हुनुहुन्छ, उहाँहरूमा एउटै सार छ भन्‍ने तथ्यको बाबजुत पनि, उहाँहरूका देहहरूको बाहिरी भेषहरूमा कुनै ठोस समानता छैनन्। उहाँहरू दुवै उही मानवतामा हुनुहुन्छ, तर जहाँसम्म उहाँहरूका देहहरूको बाहिरी रूप र उहाँहरूको जन्‍मका परिस्‍थितिहरूको सवाल छ, उहाँहरू उही हुनुहुन्‍न। उहाँहरूको सम्‍बन्धित काममा वा उहाँहरूबारेको मानिसको ज्ञानमा यी कुराहरूले कुनै प्रभाव पार्दैनन्, किनभने अन्तिम विश्‍लेषणमा उहाँहरू एउटै आत्मा हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। रगतद्वारा उहाँहरू सम्‍बन्धित नभए पनि, उहाँहरूको सम्पूर्ण अस्तित्व उहाँहरूका आत्माहरूको नियन्त्रणमा छ, जसले उहाँहरूलाई फरक समयअवधिमा फरक काम दिनुहुन्छ, र उहाँहरूको देह फरकफरक वंशमा पर्छन्। यहोवाका आत्मा येशूका आत्माका पिता हुनुहुन्‍न र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्‍न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्‍वर र येशूमा रगतको सम्‍बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूका आत्मा एउटै हुनुहुन्छ। परमेश्‍वरले कृपा र प्रेमिलो-दयालुपनको कामका साथै मानिसको धर्मी न्याय र सजाय गर्ने अनि मानिसमा श्राप हालिदिने काम गर्न सक्‍नुहुन्छ; र अन्तिममा, उहाँले संसारलाई नष्ट गर्ने र दियाबलसलाई दण्ड दिने काम गर्न सक्‍नुहुन्छ। के उहाँले यो सबै आफै गर्नुहुन्‍न र? के यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्ने कुरा छैन भन्‍ने देखिन्छ र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्‍ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामका तीन चरणहरूको अवधिमा, परमेश्‍वर दुई पटक देहधारी हुनुभएको छ र दुवै समयमा देहधारी परमेश्‍वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्भ गर्छ; देहधारणहरू एकअर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्नु असम्भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारण एउटै स्रोतबाट आउनुहुन्छ कि आउनुहुन्न भन्‍ने कुरालाई उहाँहरू जन्मनुभएको युग र स्थान वा अन्य त्यस्ता देहगत कारकतत्त्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्‍वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्न, किनभने परमेश्‍वरको कामले चलनलाई पालन गर्दैन तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्‍वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्‍वरको आफ्नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँसम्बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्‍वरले आफ्नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित बुझ्ने क्षमताको कारण, परमेश्‍वरसम्बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्‍वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्‍वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ र उहाँको ईश्‍वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्न कामको माध्यमद्वारा उहाँलाई चिन्न दिनको लागि परमेश्‍वर देहमा आउनुहुन्छ र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्‍वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन। दुई देहधारी शरीरका काम फरक भए तापनि, देहहरूका सार र उहाँहरूका कामको स्रोत उस्तै छन्; के मात्रै हो भने, उहाँहरू कामका फरक-फरक चरणहरूलाई गर्नका निम्ति अस्तित्वमा हुनुहुन्छ र दुई फरक युगहरूमा देखा पर्नुहुन्छ। जेसुकै भए तापनि, परमेश्‍वरका देहधारी शरीरहरूको उही सार र उही व्युत्पत्ति छ—यो कसैले पनि नकार्न नसक्ने सत्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

अघिल्लो:  ६. तपाईं आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर, नै पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले मानव जातिको न्याय, शुद्धीकरण, र मुक्तिका लागि सबै सत्यताका व्यक्त गरिरहनुभएको छ भनी गवाही दिनुहुन्छ। तैपनि चिनियाँ कम्युनिस्ट पार्टीले के दाबी गर्छ भने, तपाईंले विश्‍वास गर्नुभएको “सर्वशक्तिमान् परमेश्‍वर” एक साधारण व्यक्ति मात्र हो। चिनियाँ कम्युनिस्ट पार्टीलाई यस व्यक्तिको पारिवारिक पृष्ठभूमिको बारेमा सबै कुरा थाहा छ, र अनलाइनमा यो व्यक्तिको फोटो, नाउँ, र परिवारको ठेगाना पोस्ट गरेको छ। मैले यो कुरालाई स्पष्ट रूपमा बुझ्न सकेको छैन—चिनियाँ कम्युनिस्ट पार्टीले भनेको कुरा सत्य हो कि झूटो हो?

अर्को:  ८. सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले प्रभु येशू फर्केर आउनुभएको छ भनी गवाही दिन्छ, र तपाईं सबै धर्म र सम्प्रदायका मानिसहरूमा सुसमाचार फैलाउनुहुन्छ। प्रभुमा साँचो विश्‍वास गर्ने धेरै जनाले आफ्ना मण्डलीहरू छोडेर सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्न थालेका छन्—के तपाईंले अरू मण्डलीहरूबाट भेडाहरू चोरिरहनुभएको छैन?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger