२. हामी विश्वास गर्छौं, प्रकाशको पुस्तकमा अगमवाणी गरिएको ठूलो सेतो सिंहासन अविश्वासीहरूलाई लक्षित गरिएको हो जो शैतानको स्वामित्वमा छन्। जब प्रभु आउनुहुन्छ, उहाँमा विश्वास गर्नेहरू स्वर्गमा उठाइ लगिनेछन्, त्यसपछि प्रभुले अविश्वासीहरूलाई नाश पार्नका लागि विपत्तिहरू बर्साउनुहुनेछ। यही नै ठूलो सेतो सिंहासनको न्याय हो, तैपनि तपाईं परमेश्वरको आखिरी दिनहरूको न्याय सुरु भइसकेको छ भनी गवाही दिनुहुन्छ। त्यसोभए परमेश्वरले अविश्वासीहरूलाई नाश पार्नका लागि विपत्तिहरू बर्साउनुभएको हामीले किन देखेका छैनौं? यो कसरी ठूलो सेतो सिंहासनको न्याय हुन सक्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)।
“अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४७-४८)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
आखिरी दिनहरूका काम उनीहरूका किसिमअनुसार सबैलाई छुट्याउनु, र परमेश्वरको व्यवस्थापन योजनालाई निष्कर्षमा पुर्याउनु हो, किनकि समय नजिक छ र परमेश्वरको दिन आएको छ। परमेश्वरले उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई अर्थात् अन्तिमसम्म उहाँप्रति निष्ठावान् हुने सबैलाई परमेश्वर स्वयम्को युगमा ल्याउनुहुन्छ। परमेश्वर स्वयम्को युगमा आइपुग्नुभन्दा पहिले, परमेश्वरको काम मानवका कार्यहरूलाई अवलोकन गर्नु होइन, वा मानवको जीवनको सोधपूछ गर्नु होइन, तर मानिसको विद्रोहीपन न्याय गर्नु हो, किनकि परमेश्वरको सिंहासनको सामुन्ने आउने सबैलाई उहाँले स्वच्छ पार्नुहुन्छ। यस दिनसम्म परमेश्वरका पदचापहरू पछ्याउनेहरू सबै परमेश्वरको सिंहासनका सामुन्ने आउनेहरू हुन्, अनि यो यस्तो हुँदा, अन्तिम चरणको परमेश्वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा, अन्तिम चरणमा भएको परमेश्वरको काम स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको न्यायको पात्र हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव, र इत्यादि जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्ने सन्दर्भमा बोलिएका हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्दहरूले व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्राय, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्ने तुल्याउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै मानवका कुरूपता पत्ता लगाउने पनि तुल्याउँछ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवनलाई खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
कतिपयले यो विश्वास गर्छन् कि कुनै अज्ञात समयमा परमेश्वर पृथ्वीमा आउनुहुन्छ र मानिसकहाँ देखा पर्नुहुन्छ, त्यसपछि उहाँले कसैलाई नछोडीकन तिनीहरू हरेकलाई पालैपालो गरी जाँच्दै, सारा मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ। यस्तो विचार गर्नेहरूलाई देहधारणको कामको यो चरणको बारेमा थाहा छैन। परमेश्वरले मानिसलाई पालैपालो गरी न्याय गर्नुहुन्न, र उहाँले मानिसलाई पालैपालो गरी जाँच्नुहुन्न; त्यसो गर्नु भनेको न्यायको काम होइन। के सारा मानवजातिको भ्रष्टता उस्तै छैन र? के सारा मानवजातिको सार उस्तै छैन र? न्याय गरिने भनेको मानवजातिको भ्रष्ट सार, शैतानले भ्रष्ट तुल्याएको मानिसको सार र मानिसका सारा पापहरूलाई हो। मानिसका तुच्छ र सानातिना गल्तीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक छ र यसलाई कुनै निश्चित व्यक्तिको लागि विशेष रूपमा अघि बढाइँदैन। बरु, यो त्यस्तो काम हो जसमा सारा मानवजातिको न्यायलाई प्रतिनिधित्व गर्नको लागि मानिसहरूको समूहलाई न्याय गरिन्छ। मानिसहरूको समूहमा आफ्नो कार्य व्यक्तिगत रूपमा गर्नुभएर, देहमा हुनुहुने परमेश्वरले सारा मानवजातिको कार्यलाई प्रतिनिधित्व गर्नको लागि आफ्नो कार्यको प्रयोग गर्नुहुन्छ, जसपश्चात यो क्रमिक रूपमा फैलिँदै जान्छ। न्यायको काम पनि यस्तै छ। परमेश्वरले निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, तर सारा मानवजातिको सारा अधार्मिकतालाई न्याय गर्नुहुन्छ—उदाहरणको लागि, परमेश्वरप्रतिको मानिसको विरोध वा मानिसमा उहाँप्रतिको डरको कमी वा परमेश्वरको काममा मानिसको बाधा, इत्यादि। न्याय गरिने भनेको परमेश्वरलाई विरोध गर्ने मानिसको सार हो र यो कार्य नै आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्वरको कार्य र वचन नै आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्यायको काम हो, जुन विगतका समयका मानिसहरूले कल्पना गरेका थिए। देहधारी परमेश्वरले हाल गरिरहनुभएको काम नै वास्तवमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्याय हो। आजका देहधारी परमेश्वर नै आखिरी दिनहरूमा सारा मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यो देह र काम, वचन अनि यस देहको सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। यस देहको कामको क्षेत्र सीमित भए पनि, र सम्पूर्ण ब्रह्माण्डलाई प्रत्यक्ष रूपमा संलग्न नगरे पनि, न्यायको कामको सार भनेको सारा मानवजातिको प्रत्यक्ष न्याय हो—यो चीनका चुनिएका मानिसहरूका खातिर मात्र होइन, न त मानिसहरूको सानो समूहको खातिर नै हो। देहमा परमेश्वरको कार्यको अवधिमा, यो कार्यको क्षेत्रले सम्पूर्ण ब्रह्माण्डलाई संलग्न नगरे तापनि, यसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ र जसरी उहाँको पुनरुत्थान र स्वर्ग आरोहणपछि ब्रह्माण्डभरि येशूको सुसमाचारलाई फैलाइयो त्यसरी नै उहाँले आफ्नो देहको कार्य क्षेत्र भित्रको कामलाई समाप्त गर्नुभएपछि, उहाँले यो कार्यलाई तुरुन्तै सारा ब्रह्माण्डभरि फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् या देहको काम होस्, यो सीमित क्षेत्रभित्र गरिने काम हो तर जसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ। आखिरी दिनहरू दौरान, परमेश्वरले उहाँको देहधारी पहिचानमा देखा परेर उहाँको काम गर्नुहुन्छ, र देहमा हुनुहुने परमेश्वर नै ठूलो सेतो सिंहासनको अगाडि मानिसलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँ आत्मा भए पनि वा देह भए पनि, न्यायको काम गर्नुहुने नै आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यसलाई उहाँको कामको आधारमा परिभाषित गरिन्छ र यसलाई उहाँको बाहिरी रूप वा अन्य विभिन्न कारकतत्वहरूको आधारमा परिभाषित गरिँदैन। यी वचनहरूबारे मानिसले अनेक धारणाहरू राख्ने भए तापनि, देहधारी परमेश्वरको न्याय र सारा मानवजातिलाई गरिने विजयको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसबारे जे विचार गरे पनि, आखिर सत्य भनेको सत्य नै हो। कसैले पनि यसो भन्न सक्दैन, “काम गर्ने परमेश्वर नै हुनुहुन्छ, तर देह परमेश्वर हुनुहुन्न।” यो एउटा भ्रम हो, किनभने देहमा हुनुहुने परमेश्वरले बाहेक यो काम कसैले गर्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। किन आजको सजाय र न्यायलाई आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अघि हुने न्याय हो भनेर भनिन्छ? के तँ यो देख्दैनस्? विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो सजाय र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउन र त्यसपछि आ-आफ्नै प्रकारअनुसार वर्गीकृत हुन दिनका लागि होइन र? यसलाई मानवजातिउपर विजय गर्नु भन्नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्न वर्गका मानिसहरूलाई खुलासा गर्दै, त्यसमार्फत तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा समर्पित हुनेगर्ने मानिसहरूलाई—अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई—सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछ र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट हरूलाई दुष्टहरूको समूहमा, फेरि सूर्यको किरणमा नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन् र तिनीहरूले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला यावत् थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय भनेको आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई प्रकारअनुसार वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै भूमि र सबै जातिकाले पनि विजयको काम स्विकार्नेछन्। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरिनेछ, न्याय गरिनका लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कामकुरा यस सजाय र न्यायको कष्टबाट उम्किन सक्दैन, न त कुनै व्यक्ति न त कुनै कामकुरा नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि यावत् थोकको परिणाम नजिकै आउँदै छ, र सारा स्वर्ग र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानव अस्तित्व अन्त्य हुने दिनबाट उम्कन सक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
म राज्यमा शासन गर्दछु, र यसबाहेक म सम्पूर्ण ब्रह्माण्डमा शासन गर्दछु: म राज्यको राजा र ब्रह्माण्डका प्रमुख, दुवै हुँ। यस समयदेखि उसो म तिनीहरू सबैलाई भेला गर्नेछु जो चुनिएकाहरू होइनन् र अन्यजातिहरूको माझमा काम सुरु गर्नेछु, र म मेरो प्रशासनिक आदेशहरू सम्पूर्ण ब्रह्माण्डमा घोषणा गर्नेछु, यसैले कि मैले आफ्नो कार्यको अर्को चरण सफलतापूर्वक सुरु गर्न सकूँ। अन्यजातिहरूमाझ मेरो कामहरू फैलाउन म सजायको प्रयोग गर्नेछु, भन्नुको अर्थ, म ती सबै अन्यजातिहरूको विरुद्धमा “शक्ति” प्रयोग गर्नेछु। स्वाभाविक रूपमा, यो काम त्यत्ति बेला नै गरिन्छ जब चुनिएकाहरूको बीचमा मेरो काम हुन्छ। जब मेरा मानिसहरूले पृथ्वीमा शासन गर्छन् र शक्ति प्रयोग गर्छन्, त्यो त्यस दिन पनि हुनेछ जब पृथ्वीका सबै मानिसहरू जितिएका हुनेछन्, र यसबाहेक, यो त्यही समय हुनेछ जब म विश्राम गर्छु—र त्यसपछि मात्र म जितिएकाहरू सबैकहाँ देखा पर्नेछु। म पवित्र राज्यमा देखा पर्छु, र म आफैलाई फोहोरको देशबाट लुकाउँछु। जितिएकाहरू र मेरो सामु समर्पित हुनेहरू सबैले आफ्नै आँखाले मेरो मुहार देख्न सक्नेछन्, र तिनीहरूका आफ्नै कानले मेरो स्वर सुन्न सक्नेछन्। आखिरी दिनहरूमा जन्मनेहरूको आशिष् यही नै हो, यो मद्वारा पूर्वनिर्धारित आशिष् हो, र यसलाई कुनै पनि मानिसले परिवर्तन गर्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २९