४. तपाईं भन्नुहुन्छ, यदि हामी परमेश्वरले गर्नुहुने आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्दैनौं भने हामी शुद्ध हुनेछैनौं, र त्यसैले परमेश्वरको राज्यमा प्रवेश गर्ने योग्यका हुनेछैनौं। हामी यो कुरामा विश्वास गर्दैनौं। हामीले अझै पनि पाप गर्न सक्ने भए पनि र देहको बन्धनमा परेका भए पनि, बाइबलमा स्पष्ट भनिएको छ “एकै क्षणमा, आँखाको झिमिकमा, अन्तिम तुरहीमा: किनभने तुरही फुकिनेछ, अनि मृतकहरू अविनाशी भई उठाइनेछन्, अनि हामी परिवर्तित हुनेछौँ” (१ कोरिन्थी १५:५२)। हामी विश्वास गर्छौं, परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ: परमेश्वरको एउटा वाणीले स्वर्ग र पृथ्वी र सबै थोक सृष्टि गर्यो, र परमेश्वरको एउटा वाणीले मृतकहरूलाई जीवित बनाउन सक्छ। जब परमेश्वर आउनुहुन्छ, उहाँले तुरुन्तै हाम्रो रूप परिवर्तन गर्न र हामीलाई स्वर्गको राज्यमा उठाउन सक्नुहुनेछ। त्यसैले आखिरी दिनहरूमा परमेश्वर देह बन्नु र उहाँले सत्यता प्रकट गर्नु र न्याय र शुद्धीकरणको काम गर्नु आवश्यकता छैन।
सन्दर्भका लागि बाइबलका पदहरू:
“किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)।
“अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४७-४८)।
“अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)।
“तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तपाईंले तिनीहरूलाई दुष्टताबाट अलग राख्नुहोस् भनेर म प्रार्थना गर्छु। … तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो। … अनि तिनीहरूका खातिर म आफैलाई पवित्र पार्छु, ताकि तिनीहरू पनि सत्यताद्वारा शुद्ध पारिन सकून्” (यूहन्ना १७:१५, १७, १९)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
तिमीहरूले परमेश्वरका अभिप्रायहरू देख्न सक्नुपर्छ, अनि परमेश्वरको कार्य स्वर्ग र पृथ्वी अनि सारा थोकहरूको सृष्टि जस्तो सरल छैन भन्ने देख्नुपर्छ। किनभने, आजको कार्य भ्रष्ट भएका, चरम रूपमा लट्टिएकाहरूको रूपान्तरण हो, यो तिनीहरूलाई शुद्ध गर्नका लागि हो जो सृजित त गरिए तर शैतानद्वारा प्रशोधित भए। यो आदम अनि हव्वाको सृष्टि होइन, न त ज्योतिको सृष्टि, अथवा हरेक वनस्पति अनि पशुको सृष्टि नै हो। परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका कुराहरूलाई शुद्ध गर्नुहुन्छ अनि तिनीहरूलाई नयाँ गरी प्राप्त गर्नुहुन्छ; तिनीहरू उहाँको आफ्नै स्वामित्वका कुराहरू बन्छन्, अनि तिनीहरू उहाँको महिमा बन्छन्। यो मानिसले कल्पना गरे जस्तो स्वर्ग र पृथ्वी अनि त्यसमा भएका यावत् थोकहरूको सृष्टि जस्तो सरल हुँदैन, र यो मानिसले कल्पना गरे जस्तो शैतानलाई अतल कुण्डमा सराप्ने काम जस्तो सरल पनि हुँदैन; बरु, यो मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक कुराहरूलाई, उहाँसँग नभएका कुराहरूलाई सकारात्मक र उहाँसँग हुने कुराहरू बनाउने काम हो। परमेश्वरको कामको यस चरण पछाडिको सत्यता यही नै हो। तिमीहरूले यस कुरालाई बुझ्नैपर्छ अनि कुराहरूलाई ज्यादै सरल बनाउन छाड्नैपर्छ। परमेश्वरको काम अन्य साधारण कामहरू जस्तो हुँदैन। यसको अद्भुतता अनि बुद्धि मान्छेको समझदेखि बाहिरको कुरा हो। परमेश्वरले यावत् थोकहरूलाई कामको यस चरणको समयमा सृष्टि गर्नुहुन्न, न त उहाँले तिनीहरूलाई नष्ट नै गर्नुहुन्छ। बरु, उहाँले आफैले सृष्टि गर्नुभएका यावत् थोकहरूलाई रूपान्तरण गर्नुहुन्छ, अनि शैतानले दूषित पारेको सबै कुराहरूलाई शुद्ध गर्नुहुन्छ। अनि यस किसिमले परमेश्वर एउटा महान् उद्यममा लाग्नुहुन्छ। परमेश्वरको कामको सम्पूर्ण महत्त्व यही हो। के यी वचनहरूमा तिमीहरूले परमेश्वरको काम साँच्चै नै सरल छ भन्ने देख्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?
प्रारम्भिक मानवजाति परमेश्वरको हातमा थियो तर शैतानको परीक्षा र भ्रष्टताका कारण, मानिस शैतानको बन्धनमा पऱ्यो र दुष्टको हातमा पऱ्यो। तसर्थ, शैतान परमेश्वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकोले र मानिस परमेश्वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ, अर्थात् मानिसलाई शैतानले कैदमा राखेपछि फिर्ता लिनैपर्छ। तसर्थ, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी मानिस, जसलाई कैद गरिएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
परमेश्वरले सारा ब्रह्माण्डभरि उहाँको काम गर्नुहुन्छ। उहाँमा विश्वास गर्नेहरू सबैले उहाँको वचनलाई स्वीकार गर्नुपर्छ, अनि उहाँको वचन खानु र पिउनु पर्छ; परमेश्वरद्वारा प्रकट गरिएका चिह्नहरू र अचम्मका कामहरू हेरेर कोही पनि परमेश्वरद्वारा प्राप्त हुन सक्दैनन्। युगौंयुगभरि परमेश्वरले मानिसलाई सिद्ध बनाउन सधैँ वचन प्रयोग गर्नुभएको छ। यसैकारण तिमीहरूले आफ्नो सम्पूर्ण ध्यान चिह्नहरू र अचम्मका कामहरूमा लगाउनु हुँदैन, तर परमेश्वरद्वारा सिद्ध बनाइने कोसिस गर्नुपर्छ। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्वरले केही वचनहरू बोल्नुभयो अनि अनुग्रहको युगमा येशूले पनि धेरै वटा वचनहरू बोल्नुभयो। येशूले धेरै वचनहरू भनिसक्नुभएपछि, पछिबाट प्रेरितहरू र चेलाहरूले मानिसहरूलाई येशूले दिनुभएका आज्ञाहरू अनुसार अभ्यास गर्न अगुवाइ गरे अनि येशूले बोल्नुभएका वचनहरू र सिद्धान्तहरूको अनुभव गरे। आखिरी दिनहरूमा, परमेश्वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्वस्त तुल्याउन चिह्नहरू र अचम्मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्वरको महान् शक्तिलाई प्रकट गराउन सक्दैन। यदि परमेश्वरले चिह्नहरू र अचम्मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्वरको व्यावहारिकता प्रकट गराउन असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्वरले चिह्नहरू र अचम्मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण समर्पणता र मानिसमा परमेश्वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्वरको काम, बुद्धि र अद्भुतता ज्ञान दिन परमेश्वर विभिन्न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। जब परमेश्वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्नुहुने समयमा मानिसलाई पूर्ण बनाइन्छ, त्यसबेला ऊ चिन्हहरू र अचम्मका कामहरू हेर्न योग्यको हुनेछ। जब तँ परमेश्वरलाई चिन्छस् र परमेश्वरले जे नै गर्नुभए पनि उहाँप्रति समर्पित हुन सक्ने बन्छस्, तब चिह्नहरू र अचम्मका कामहरू देख्दा उहाँको विषयमा तँमा उप्रान्त कुनै धारणाहरू हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्वरप्रति पूर्ण समर्पित हुन असक्षम छस्—के यस्तो अवस्थामा तँ परमेश्वरका चिन्हहरू र अचम्मका कामहरू देख्न योग्य छस् भन्ने ठान्छस्? जब परमेश्वरले चिन्हहरू र अचम्मका कामहरू देखाउनुहुन्छ, त्यही बेला परमेश्वरले मानिसलाई दण्ड दिनुहुन्छ, अनि युग परिवर्तन हुन्छ, त्यसबाहेक युगको अन्त्य पनि हुन्छ। जब परमेश्वरको काम सामान्य रूपमा पूरा भइरहेको हुन्छ, त्यसबेला उहाँले चिन्हहरू र अचम्मका कामहरू देखाउनुहुन्न। चिन्हहरू र अचम्मका कामहरू देखाउनु उहाँको निम्ति अत्यन्तै सजिलो हुन्छ, तर परमेश्वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो मानिसको निम्ति परमेश्वरको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र अचम्मका कामहरू देख्यो, र परमेश्वरको आत्मिक शरीर मानिसकहाँ देखा पनि पर्यो भने, के सबै मानिसहरूले परमेश्वरमा विश्वास गर्नेथिएनन् र? मैले पहिल्यै भनेको छु कि विजेताहरूको एउटा समूह पूर्वबाट प्राप्त गरिन्छन्, विजेताहरू जो महासङ्कष्टबाट निस्केर आउँछन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यो हो कि, न्याय, सजाय, काटछाँट, र हरकिसिमका शोधन भोगेपछि मात्र ती प्राप्त गरिएका मानिसहरू साँचो रूपमा समर्पित हुन्छन्। यी मानिसहरूको विश्वास अस्पष्ट हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र चमत्कारहरू वा कुनै आश्चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै अगाध शब्द र धर्मसिद्धान्तहरू, वा गहन अन्तर्ज्ञानहरूबारे कुरा गर्न सक्दैनन्; त्यसको साटो तिनीहरूसित वास्तविकता र परमेश्वरका वचनहरू छन्, र परमेश्वरको व्यावहारिक र साँचो ज्ञान छ। के यस्तो समूह परमेश्वरको महान् शक्ति प्रकट गराउन अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्वरले गर्नुहुने काम व्यावहारिक काम हो। येशूको युगको अवधिमा, उहाँ मानिसलाई सिद्ध बनाउन आउनुभएन, तर मानिसलाई उद्धार गर्न आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्चर्यकर्महरू गर्नुभयो। किनकि उहाँ मुख्य रूपले क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको हिस्सा थिएन। त्यस्ता चिन्हहरू र अचम्मका कामहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्वरले केही चिन्हहरू र अचम्मका कामहरू पनि देखाउनुभयो—तर परमेश्वरले आज गर्नुहुने काम व्यावहारिक काम हो, र निश्चय पनि उहाँले अहिले चिन्हहरू र अचम्मका कामहरू देखाउनुहुन्न। यदि उहाँले चिन्हहरू र अचम्मका कामहरू देखाउनुभयो भने उहाँको व्यावहारिक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्वरले मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्छु भनी भन्नुभयो, तर उहाँले चिन्हहरू र अचम्मका कामहरू पनि देखाउनुभयो भने, के मानिसले साँच्चै उहाँमा विश्वास गरेको छ कि छैन भनी स्पष्ट पार्न सकिन्थ्यो? यसैले, परमेश्वरले त्यस्ता कार्यहरू गर्नुहुन्न। मानिसभित्र धर्म धेरै छ; परमेश्वर मानिसभित्र भएका सबै धार्मिक धारणाहरू र अलौकिक कुराहरूलाई रद्द गर्न अनि मानिसलाई परमेश्वरको व्यवहारिकता जनाउन आखिरी दिनहरूमा आउनुभएको छ। उहाँ परमेश्वरको त्यो प्रतिरूप हटाउन आउनुभएको छ, जुन अस्पष्ट र काल्पनिक छ, जसको कुनै अस्तित्व छैन भनेर भन्न सकिन्छ। अनि यसैले अहिले तेरो निम्ति एउटै मात्र मूल्यवान् कुरा भनेको व्यावहारिकताको ज्ञान प्राप्त गर्नु हो! सत्य सबै कुराभन्दा माथि हुन्छ। आज तँमा कति धेरै सत्यता छ? के चिन्हहरू र अचम्मका कामहरू देखाउनेहरू सबै परमेश्वर हुन्? दुष्टात्माहरूले पनि चिन्हहरू र अचम्मका कामहरू देखाउन सक्छन्; के ती सबै परमेश्वर हुन्? परमेश्वरमाथिको आफ्नो विश्वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले जीवनमा खोज्ने कुरा जीवन हो, चिन्हहरू र अचम्मका कामहरू होइनन्। परमेश्वरमा विश्वास गर्ने सबैको उद्देश्य यही नै हुनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ
आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव, र इत्यादि जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्ने सन्दर्भमा बोलिएका हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्दहरूले व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्राय, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्ने तुल्याउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै मानवका कुरूपता पत्ता लगाउने पनि तुल्याउँछ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवनलाई खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
यो युगको अवधिमा परमेश्वरले गर्नुहुने काम मुख्य रूपमा मानिसका लागि जीवनका वचनहरू प्रदान गर्नु; मानिसको प्रकृति सार, र उसको भ्रष्ट स्वभाव खुलासा गर्नु; र धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, र मानिसको ज्ञान र संस्कृतिलाई हटाउनु हो। यी सबै कुराहरू परमेश्वरका वचनहरूद्वारा खुलासा गरेर पखालिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्हहरू र चमत्कारहरू प्रयोग गर्नुहुन्न। उहाँले मानिसलाई प्रकाश गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ ताकि परमेश्वरका वचनहरूमा, मानिसले परमेश्वरको बुद्धि र प्रेमिलो स्वभाव देख्न र परमेश्वरको स्वभाव बुझ्न सकोस्, र ताकि परमेश्वरका वचनहरूमार्फत, मानिसले परमेश्वरका कार्यहरू देखोस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान काम जान्नु
आखिरी दिनहरूको काममा, वचनको शक्ति चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ ठूलो हुन्छ, र वचनको अख्तियारले चिह्न र चमत्कारहरूको अख्तियारलाई उछिन्छ। वचनले मानिसको हृदयको गहिराइमा गाडिएका सबै भ्रष्ट स्वभावलाई खुलासा गर्दछ। तँसित तिनलाई आफै पत्ता लगाउने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई खुलासा गरिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै पत्ता लगाउनेछस्; तैँले आफ्नो अनुमोदन दिनुपर्नेछ, र तँ पूर्ण रूपमा विश्वस्त हुनेछस्। के यो वचनको अख्तियार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने नतिजा हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अख्तियारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्ने हो भने, जुन कुरा अझै धोइएको हुँदैन त्यो अझै पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट धोइएपछि मात्र र पवित्र पारिन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्वरमा फर्कियो भन्ने मात्र हुन्थ्यो। तापनि, परमेश्वरद्वारा शुद्ध नपारी वा परिवर्तन नगरी ऊ भ्रष्ट मानिसजस्तो नै रहन्छ। मानिसभित्र अझै पनि फोहोर, विरोध, र विद्रोहीपन हुन्छ; परमेश्वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिए न। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। … आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। यी वचनहरू स्वीकार गर्दा यी मानिसहरूमा ल्याइने परिवर्तनहरू, अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गर्दा मानिसहरूमा ल्याइएका परिवर्तनहरूभन्दा ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभाव अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका भ्रष्ट शैतानी स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसको आस्थाका कारण, उसलाई केवल मुक्ति दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र रूपान्तरित गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानी स्वभावअन्तर्गत जिइरह्यो। यस्तो भएकोले, मानिसलाई उसको भ्रष्ट शैतानी स्वभावबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, ताकि उसको पापी प्रकृति पूर्ण रूपले फालियोस्, र फेरि कहिल्यै विकास नहोस्, यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्वरका अभिप्रायअनुसार होस्, ताकि उसले आफ्नो भ्रष्ट शैतानी स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहँदैन, न त मानिसले परमेश्वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको व्यवस्थापनका खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र जोडदार गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभाव रूपान्तरण परमेश्वरका विभिन्न प्रकारका कामहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरूविना, मानिस परमेश्वरको गवाही दिन र परमेश्वरका अभिप्रायहरू अनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभाव रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्वरको साक्षी भएको छ, र परमेश्वरका अभिप्रायहरू अनुरूप भएको छ भन्ने सङ्केत गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई चिन्नेहरूले मात्र परमेश्वरको गवाही दिन सक्छन्