७. तपाईं वचन देहमा देखा पर्नुहुन्छमा परमेश्वरका नयाँ वचनहरू छन् भनी गवाही दिनुहुन्छ, तर प्रकाशको पुस्तकले स्पष्ट रूपमा बताउँछ, “यस पुस्तकका अगमवाणीका वचनहरू सुन्ने हरेक मानिसलाई म गवाही दिन्छु, यदि कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्वरले यस पुस्तकमा लेखिएका विपत्तिहरू त्यसलाई थपिदिनुहुनेछ” (प्रकाश २२:१८)। के त्यसो गर्नु बाइबलमा थप्नु होइन र?
सन्दर्भका लागि बाइबलका पदहरू:
“अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)।
“आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्। जित्नेलाई म गुप्त मन्न खान दिनेछु” (प्रकाश २:१७)।
“अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातमा बाहिर र भित्र लेखेर सात वटा मोहोरहरू लगाइएको एउटा पुस्तक मैले देखेँ। र एउटा शक्तिशाली स्वर्गदूतले ‘यो पुस्तक खोल्न र यी मोहोरहरू हटाउन को योग्य छ?’ भनेर उच्च सोरमा भनिरहेको मैले देखेँ। र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि कतै पनि त्यो पुस्तक न त खोल्न सक्ने कुनै मानिस थियो न त हेर्न सक्ने नै। अनि म निकै रोएँ, किनभने न त त्यो पुस्तकलाई खोल्न र पढ्न योग्य कुनै मानिस भेटियो न त त्यसलाई हेर्ने। अनि धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, नरोऊ: हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्” (प्रकाश ५:१-५)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
बाइबलमा अभिलेख गरिएका कुराहरू सीमित छन्; तिनले परमेश्वरको कामलाई त्यसको सम्पूर्णतामा प्रतिनिधित्व गर्न सक्दैनन्। चार वटा सुसमाचारमा जम्मा एक सयभन्दा कम अध्याय छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू लेखिएका छन्, जस्तै येशूले अन्जीरको रूखलाई सराप्नुभएको, पत्रुसले प्रभुलाई तीन पटक इन्कार गरेको, येशू आफ्नो क्रूसीकरण र पुनरुत्थानपछि चेलाहरूकहाँ देखा पर्नुभएको, उहाँले उपवासका बारेमा सिकाउनुभएको, प्रार्थनाका बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदका बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरूलाई नियुक्त गर्नुभएको, इत्यादि। तर, मानिसले तिनलाई खजानाझैँ महत्त्व दिन्छ, आजको कामलाई तीसँग तुलना समेत गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएको सबै काम यति मात्रै थियो भन्ने समेत विश्वास गर्छन्, मानौँ परमेश्वर यति मात्रै गर्न सक्षम हुनुहुन्थ्यो र योभन्दा बढी केही गर्न सक्नुहुन्नथ्यो। के यो बेतुके कुरा होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (१)
यदि तँ व्यवस्थाको युगको काम हेर्न, र इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने, तैँले पुरानो करार पढ्नैपर्छ; यदि तँ अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नैपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्छस् त? तैँले आज परमेश्वरको अगुवाइलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्वर देह बन्नुभएको छ र उहाँले चीनमा अरू चुनिएका मानिसहरू छान्नुभएको छ। परमेश्वर यी मानिसहरूमाथि काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामलाई निरन्तरता दिनुहुन्छ, र अनुग्रहको युगमा भएको कामलाई निरन्तरता दिनुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो पृथ्वीमा परमेश्वरको नवीनतम काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्वरले पृथ्वीमा र इस्राएलदेखि बाहिर अझ ठूलो, अझ नयाँ काम गर्नुभएको छ, त्यो इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो भन्ने कुरा मानिसहरूलाई थाहा छैन, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै सक्छन्। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामका बारेमा एउटै कुरा पनि नछुटाई अग्रिम रूपमा कसले लेखेको हुन सक्थ्यो र? परम्परालाई चुनौती दिने यो अझ ठूलो, अझ बुद्धिमानी कामलाई अति पुरानो भएर ढुसी लागेको त्यो पुस्तकमा कसले अभिलेख गर्न सक्थ्यो र? वर्तमान काम इतिहास होइन, र यस्तो भएकाले, यदि तँलाई आजको नयाँ मार्गमा हिँड्ने इच्छा छ भने, तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। यो सबै तिमीहरूले बुझ्नुपर्ने कुरा हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन अझै पनि पुराना ऐतिहासिक अभिलेखहरूमाझ जिउने? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना अभिलेखहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरू पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् र वर्तमान काम होइनन् भनी प्रमाणित गर्छ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको एक पाना समेत अभिलेख नभए पनि, नयाँ मार्ग नै वर्तमान हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)
येशूको काम मानिसको छुटकारा र उहाँको क्रूसीकरणको निम्ति मात्र थियो, यसैले उहाँले कुनै मानिसलाई जित्नका निम्ति धेरै कुराहरू भन्नु आवश्यक थिएन। उहाँले मानिसलाई सिकाउनुभएका धेरै कुरा पवित्रशास्त्रका वचनहरूबाट लिइएका थिए अनि उहाँका कामहरू पवित्रशास्त्रका वचनहरूभन्दा उत्तम नभए पनि उहाँले क्रूसीकरणको कामलाई पूरा गर्न सक्नुभयो। उहाँको काम वचनको थिएन, न त मानवजातिलाई जित्नु नै थियो, तर मानव जातिलाई छुटकारा दिनका निम्ति गरिएको काम थियो। उहाँले मानवजातिका निम्ति पापबलिको रूपमा मात्र काम गर्नुभयो अनि मानव जातिका निम्ति वचनको स्रोतको रूपमा काम गर्नुभएन। उहाँले अन्यजातिहरूको काम गर्नुभएन, जुन मानिसहरूलाई जित्ने काम थियो, तर क्रूसमा टाँगिने काम गर्नुभयो, यो काम तिनीहरूको माझमा गरियो जसले परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गरे। उहाँको काम पवित्रशास्त्रको आधारमा गरिएको भए पनि, अनि फरिसीहरूलाई दोषी ठहऱ्याउन उहाँले प्राचीन अगमवक्ताहरूले भविष्यवाणी गरेका वचनहरू प्रयोग गर्नुभए पनि, क्रूसीकरणको काम पूरा गर्न यो नै पर्याप्त थियो। यदि आजको काम पवित्रशास्त्रमा प्राचीन अगमवक्ताहरूले गरेका भविष्यवाणीहरूको आधारमा गरिन्थ्यो भने, तिमीहरूलाई जित्न असम्भव हुने थियो, किनकि पुरानो करारमा तिमी चिनियाँ मानिसहरूका विद्रोहीपन र पापको बारेमा उल्लेख छैन अनि तिमीहरूका पापको कुनै इतिहास छैन। यसैले, यदि बाइबलमा यो काम अझै रहिरहन्थ्यो भने, तिमीहरूले कहिल्यै पनि समर्पण गर्ने थिएनौ। बाइबलले इस्राएलीहरूको सीमित इतिहास मात्र उल्लेख गर्दछ, जसले तिमीहरू खराब कि असल छौ भनी प्रमाणित गर्न वा तिमीहरूको न्याय गर्न सक्दैन। कल्पना गर, यदि मैले इस्राएलीहरूको इतिहासअनुसार तिमीहरूको न्याय गर्नु पऱ्यो भने, के तिमीहरू आज जस्तै मेरो पछि लाग्नेछौ? तिमीहरू कति कठोर छौ भन्ने कुरा के तिमीहरू जान्दछौ? यदि यो चरणमा कुनै वचन बोलिएन भने, विजयको काम पूरा गर्न असम्भव हुनेछ। म क्रूसमा टाँगिन आएको होइन, त्यसैले मैले ती वचनहरू बोल्नैपर्छ, जुन बाइबलको भन्दा अलग छन्, ताकि तिमीहरूलाई जित्न सकियोस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (१)
यस युगमा परमेश्वरले बोल्नुभएका वचनहरू व्यवस्थाको युगमा बोलिएका वचनहरूभन्दा फरक छन्, साथै ती अनुग्रहको युगमा बोलिएका वचनहरूभन्दा पनि फरक छन्। अनुग्रहको युगमा, परमेश्वरले वचनको काम गर्नुभएन, तर सारा मानव जातिलाई छुटकारा दिनका निम्ति उहाँले क्रूसीकरणको वर्णन मात्र गर्नुभयो। बाइबलले येशू किन क्रूसमा टाँगिनुभएको र क्रूसमा उहाँले भोग्नुभएको दुःखको बारेमा र मानिस कसरी परमेश्वरको निम्ति क्रूसमा टाँगिनुपर्छ भन्ने कुरा मात्र वर्णन गर्दछ। त्यस युगको अवधिमा, परमेश्वरले गर्नुभएका सबै काम क्रूसीकरणबाट केन्द्रित थियो। राज्यको युगमा, देहधारी परमेश्वरले उहाँमा विश्वास गर्ने सबैलाई विजय गर्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्वर आउनुभएको छ, भन्नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छ। वचन देहमा देखा पर्नुको सार यही हो र जब देहधारी परमेश्वरले आफ्ना वचनहरू बोल्नुहुन्छ, त्यो देहमा वचनको देखा पराइ, र देहमा वचनको आगमन हो। “प्रारम्भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो, र वचन देह बन्नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन देहमा देखा पर्नुहुन्छ भन्ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्वरको कामको गति बढिरहेको छ। परमेश्वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ
राज्यको युगमा, परमेश्वर नयाँ युगको सुरुवात गर्न, आफ्नो काम गर्ने माध्यमहरू परिवर्तन गर्न र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्वर यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, जसले गर्दा मानिस देहमा देखा पर्नुहुने वचन, परमेश्वरलाई साँच्चै देख्न अनि उहाँको बुद्धि र विलक्षणता हेर्न सक्षम हुन्छ। परमेश्वर मानिसहरूमाथि विजय हासिल गर्ने, मानिसहरूलाई सिद्ध पार्ने र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझ राम्ररी हासिल गर्नका निम्ति यस तरिकाले काम गर्नुहुन्छ। वचनको युगमा काम गर्नका लागि वचनहरूको प्रयोग गर्नुको साँचो अर्थ यही हो। वचनहरूमार्फत, मानिसहरूले परमेश्वरको काम, परमेश्वरको स्वभाव, मानिसको सार र मानिस केमा प्रवेश गर्नुपर्छ भन्ने कुरा थाहा पाउँछन्। वचनहरूमार्फत, परमेश्वरले वचनको युगमा गर्न चाहेका सबै काम सम्पन्न हुन्छन्। वचनहरूमार्फत, मानिसहरू प्रकट हुन्छन् र हटाइन्छन् अनि तिनीहरूको परीक्षा गरिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन् र यी वचनहरू अस्तित्वमा रहेका बुझेका छन्। फलस्वरूप, तिनीहरूले परमेश्वरको अस्तित्व, परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि अनि मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्वरको हृदयमा विश्वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्वरको मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्; तिनले मानिसहरूको हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्वरले मात्र यसरी काम गर्नुहुन्छ, र उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यसरी मानिसलाई मुक्ति दिनुहुन्छ। यस उप्रान्त, मानिस परमेश्वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको गोठालो र आपूर्तिमाझ जिउँछ; सबै मानिस परमेश्वरका वचनहरूको संसारमा, परमेश्वरका वचनहरूका श्राप र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिस त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी वचन र यो काम सबै मानिसको मुक्तिका खातिर, परमेश्वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। परमेश्वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्नुभयो, उहाँ वचनहरू प्रयोग गरेर नै ब्रह्माण्डका सबै मानिसलाई अगुवाइ गर्नुहुन्छ, उहाँ वचनहरू प्रयोग गरेर नै उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले सम्पूर्ण पुरानो संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, र यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो
यदि मानिसहरू अनुग्रहको युगमै अड्किरहे भने, आफ्ना भ्रष्ट स्वभावहरूबाट कहिल्यै मुक्त हुनेछैनन्, झन् तिनीहरूले परमेश्वरको अन्तर्निहित स्वभावलाई चिन्नु त परको कुरा हो। यदि मानिसहरू सधैँ प्रशस्त अनुग्रहबीच जिउँछन् तर तिनीहरूसँग परमेश्वरलाई चिन्ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको मार्ग छैन भने, तिनीहरूले उहाँमाथि विश्वास गरेर उहाँलाई कहिल्यै साँचो रूपमा प्राप्त गर्नेछैनन्। यस प्रकारको विश्वास वास्तवमै दयनीय हो। जब तैँले यो पुस्तक पढिसकेको हुन्छस्, जब तैँले राज्यको युगमा देहधारी परमेश्वरको कामको हरेक चरण अनुभव गरेको हुन्छस्, तब तँलाई धेरै वर्षदेखिका आफ्ना चाहनाहरू बल्ल साकार भएको महसुस हुनेछ। तँलाई अहिले आएर मात्रै आफूले परमेश्वरलाई साँच्चै आमनेसामने देखेको; अहिले आएर मात्रै आफूले उहाँको मुहार हेरेको, उहाँका व्यक्तिगत वाणीहरू सुनेको, उहाँको कामको बुद्धिको कदर गरेको र उहाँ कति व्यावहारिक र सर्वशक्तिमान् हुनुहुन्छ भनी साँच्चै महसुस गरेको अनुभूति हुनेछ। तँलाई विगतका मानिसहरूले कहिल्यै नदेखेका वा प्राप्त नगरेका धेरै कुरा आफूले प्राप्त गरेको महसुस हुनेछ। यसबेला, परमेश्वरमा विश्वास गर्नु भनेको के हो र परमेश्वरका अभिप्रायहरूअनुरूप हुनु भनेको के हो भन्ने कुरा तैँले स्पष्ट रूपमा जान्नेछस्। अवश्य नै, यदि तँ विगतका दृष्टिकोणहरूमा टाँसिन्छस् र परमेश्वरको दोस्रो देहधारणको तथ्यलाई अस्वीकार गर्छस् र स्विकार्दैनस् भने, तँ रित्तो हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस् र अन्ततः तँलाई परमेश्वरको विरोध गरेकामा दोषी ठहराइनेछ। सत्यताप्रति र परमेश्वरको कामप्रति समर्पित हुन सक्नेहरू दोस्रो देहधारी परमेश्वर—सर्वशक्तिमान्—को नामअन्तर्गत पर्ने स्वीकार गरिनेछन्। तिनीहरूले परमेश्वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न सक्नेछन् अनि अझ बढी र उच्च सत्यता, साथै वास्तविक मानव जीवन प्राप्त गर्नेछन्। तिनीहरूले विगतका मानिसहरूले पहिले कहिल्यै नदेखेको दर्शन देख्नेछन्: “अनि मसँग बोल्ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा परमेश्वरको कामको अभिव्यक्ति पनि हो। सजाय र न्यायका प्रवाहहरूमा, मानिसको पुत्र वाणीहरूमार्फत आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्नुहुन्छ, जसले गर्दा उहाँको सजाय र न्याय स्वीकार गर्ने सबैले मानिसको पुत्रको साँचो मुहार देख्न पाउँछन्, जुन यूहन्नाले देखेको मानिसको पुत्रको मुहारको साँचो चित्रण हो। (अवश्य नै, राज्यको युगमा परमेश्वरको काम स्वीकार नगर्नेहरूका लागि यी सबै कुरा अदृश्य हुनेछन्।) मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा परमेश्वरको साँचो मुहारको स्पष्ट वर्णन गर्न सकिँदैन, त्यसैले परमेश्वर मानिसलाई आफ्नो साँचो मुहार देखाउन आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्ने विधि प्रयोग गर्नुहुन्छ। भन्नुको मतलब मानिसको पुत्रको अन्तर्निहित स्वभावलाई बुझेका सबैले मानिसको पुत्रको साँचो मुहार देखेका छन्, किनभने परमेश्वर अत्यन्तै महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा उहाँको स्पष्ट वर्णन गर्न सकिँदैन। मानिसले राज्यको युगमा परमेश्वरको कामको हरेक चरण अनुभव गरेपछि, यूहन्नाले सामदानहरूमाझ रहनुभएको मानिसको पुत्रका बारेमा बोल्दा भनेका वचनहरूको साँचो अर्थ उसले थाहा पाउनेछ: “उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना