सत्यता कसरी पछ्याउने (२)
हामीले केही समयदेखि सत्यता कसरी पछ्याउने भन्ने अभ्यासको पहिलो प्रमुख बुँदाका बारेमा छलफल गरिरहेका छौँ, जुन “त्याग्नु” भन्ने विषय हो। हामीले पछिल्लो पटक “त्याग्नु” भन्ने विषयको तेस्रो बुँदा—आफू र परमेश्वरबीचका पर्खालहरू र परमेश्वरप्रतिको व्यक्तिको शत्रुतालाई त्याग्नुबारे सङ्गति गरेका थियौँ—जुन पूर्ण रूपमा नयाँ विषयवस्तु थियो। यस विषयवस्तुको एउटा मात्रै पक्ष छैन; यसमा धेरै बुँदाहरू र धेरै विषयवस्तुहरू समावेश छन्। परमेश्वरको कामका क्रममा मानिसहरूले अनुभव गर्ने कुराहरू यिनै विषयवस्तुहरू हुन्, र ती कुराहरू मानिसहरूका जीवन र पछ्याइहरूसँग सीधै सम्बन्धित हुन्छन्, त्यसकारण हामीले साँच्चै नै सङ्गति गर्नैपर्ने पहिलो पक्ष भनेको परमेश्वरबारेका मानिसहरूका धारणा र कल्पनाहरू हुन्। यो विषय मानिसहरू परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्ने क्रममा जोगिनै नसक्ने विषय हो। मैले पछिल्लो पटक यस विषयवस्तुको एउटा भागमा सङ्गति गरेको थिएँ। मैले ठ्याक्कै कुन विषयमा सङ्गति गरेँ भनेर कसैले हामीलाई बताऊ त। (पछिल्लो पटक, परमेश्वरले आफू र परमेश्वरबीचका पर्खालहरू र परमेश्वरप्रतिको व्यक्तिको शत्रुतालाई त्याग्ने बारेमा सङ्गति गर्नुभयो। परमेश्वरले सुरुमा परमेश्वरको कामबारेका हाम्रा धारणा र कल्पनाहरू खुलासा गर्नुभयो। उदाहरणका लागि, हामीसँग परमेश्वरको दिनका बारेमा धारणा र कल्पनाहरू छन्, र हामी परमेश्वरको काम अत्यन्तै अलौकिक छ र पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ र तिनीहरूलाई उत्प्रेरित गर्नुहुन्छ भने, मानिसहरूले कुनै पनि समस्याहरू समाधान गर्न सक्नेछन् र तिनीहरूको भ्रष्ट स्वभाव रूपान्तरित हुनेछ भन्ने पनि विश्वास गर्छौँ। यी धारणा र कल्पनाहरू खुलासा गर्ने क्रममा, परमेश्वरले हामीलाई के भन्नुभयो भने, उहाँले आफ्नो काममा हासिल गर्ने अभिप्राय राख्नुभएको परिणाम भनेको हामीमा आफ्ना वचनहरू छिराउनु हो, ताकि हाम्रो दैनिक जीवनमा परिस्थितिहरू आइपर्दा, हामीले परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सकौँ—यो हामी प्रत्येकबाट परमेश्वरले गर्नुभएको माग हो।) यसमा अरू कसले थप्न सक्छ? (पछिल्लो पटक परमेश्वरले कुन तथ्यमा पनि सङ्गति गर्नुभयो भने, मानिसहरू परमेश्वरले तिनीहरूका अस्थायी प्रकटीकरणका आधारमा तिनीहरूको फैसला गर्नुहुन्छ भन्ने विश्वास गर्छन्, र तिनीहरू बाहिरी प्रावधानहरू र बाहिरी असल व्यवहारहरू पालना गरेर तिनीहरूले परमेश्वरलाई सन्तुष्ट पारिरहेका छन् र मुक्ति प्राप्त गर्न सक्छन् भन्ने पनि सोच्छन्—यी सबै मानिसहरूका धारणा र कल्पनाहरू हुन्। यसको साथै, जब मानिसहरू कमजोर हुन्छन् वा तिनीहरूले विद्रोहीपन र भ्रष्टता प्रकट गर्छन्, तब तिनीहरू परमेश्वरले तिनीहरूलाई ताडना र दण्ड दिनुहुनेछ भन्ने विश्वास गर्छन्—यो पनि धारणा र कल्पना नै हो। मानिसहरूका यी धारणा र कल्पनाहरू परमेश्वरले खुलासा गर्नुभएको कुराबाट हामीले के बुझेका छौँ भने, परमेश्वर हाम्रा बाहिरी असल व्यवहार चाहनुहुन्न, न त हामीले निश्चित बाहिरी अभ्यास र प्रावधानहरू पालना गरेको नै चाहनुहुन्छ। बरु, उहाँ हामीलाई परिस्थितिहरू आइपर्दा, हामीले सत्यता सिद्धान्तहरू खोजी गर्न र हामी सत्यता वास्तविकतामा प्रवेश गर्न सकौँ भन्ने आशा गर्नुहुन्छ।) हरेक व्यक्तिमा फरक-फरक मात्रामा यी धारणा र कल्पनाहरू हुन्छन्, होइन र? (हो।) मानिसहरूले सत्यता पछ्याउन थाल्नुभन्दा पहिले, वा जब तिनीहरूले सत्यता बुझेका हुँदैनन् र सत्यता प्राप्त गरिसकेका हुँदैनन्, तब तिनीहरू परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने बारेमा अनुमान गर्न वा परमेश्वरले कसरी काम गर्नुहुनेछ भन्ने बारेमा निष्कर्ष निकाल्नका लागि यी धारणा र कल्पनाहरू प्रयोग गर्ने गर्छन्। यसको साथै, तिनीहरू आफ्नै बारेमा, आफ्नो नतिजाका बारेमा, र तिनीहरूले भविष्यमा आशिष् पाउनेछन् कि दुर्भाग्य भोग्नेछन् भनेर फैसला गर्नका लागि पनि यी अनुमानहरू प्रयोग गर्ने गर्छन्। त्यसकारण, मानिसहरूले सत्यता पछ्याउने क्रममा, यी धारणा र कल्पनाहरू धेरै हदसम्म मानिसहरूले परमेश्वरको कामलाई स्वीकार गर्ने, सत्यता पछ्याउने, र सत्यता प्राप्त गर्ने कार्यका बाधाहरू बनेका हुन्छन्। भन्नुको अर्थ, यदि मानिसहरूले यी धारणा र कल्पनाहरू त्याग्न सक्दैनन्, र तिनीहरूले सधैँ तिनलाई परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने तिनीहरूको उत्प्रेरणा र मूल कारणका रूपमा लिन्छन् भने, यी धारणा र कल्पनाहरूले तिनीहरूलाई सत्यता पछ्याउने र प्राप्त गर्ने काममा निकै हदसम्म बाधा दिनेछन्। अनि अन्त्यमा तिनीहरूले परमेश्वरसामु आफ्नो मूल्य, पहिचान, र हैसियत निर्धारित गर्न, र तिनीहरूले परमेश्वरको घरमा कस्तो व्यवहार प्राप्त गर्न सक्नेछन्, तिनीहरूको गन्तव्य के हुनेछ र तिनीहरूले भविष्यमा के-कस्ता आशिष्हरू प्राप्त गर्नेछन्, तिनीहरूसँग कति धेरै अख्तियार हुनेछ र तिनीहरूले कति वटा सहरमाथि शासन गर्नेछन्, र तिनीहरू स्वर्गको खम्बा वा आधार स्तम्भ हुनेछन् कि हुनेछैनन्, वा तिनीहरूले यस जीवनमा कति प्राप्त गर्न सक्छन् र तिनीहरूले आउने संसारमा कति प्राप्त गर्न सक्छन् भनेर निर्धारित गर्नका लागि मात्रै आफ्ना धारणा र कल्पनाहरू प्रयोग गर्न सक्छन्। यी धारणा र कल्पनाहरू मानिसहरूका जीवन र पछ्याइहरूसँग सम्बन्धित हुने हुनाले, तिनले मानिसहरूले लिने मार्गहरूमा प्रभाव पार्छन् र अवश्य नै, तिनले मानिसहरूको अन्तिम नतिजा र गन्तव्यमा पनि प्रभाव पार्छन्। मानिसहरू आफ्ना धारणा र कल्पनाहरूमाझ जिउँछन् र तिनीहरूले त्यसैलाई पछ्याउँछन्; त्यसकारण, अपरिहार्य रूपमा नै तिनीहरूले यिनै धारणा र कल्पनाहरूका आधारमा सबै कुरा हेर्छन्, र सबै कुराबारे मूल्याङ्कन र निर्धारण गर्छन्। त्यसैले, परमेश्वरले जसरी सत्यता प्रदान गर्नुभए पनि र मानिसहरूलाई कुन दृष्टिकोण अपनाउनुपर्छ र कुन मार्ग लिनुपर्छ भनेर भन्नुभए पनि, मानिसहरूले आफ्ना धारणा र कल्पनाहरू त्याग्दैनन् भने, तिनीहरू ती अनुसार नै जिइरहनेछन्, र यी धारणा र कल्पनाहरू स्वाभाविक रूपमा नै मानिसहरूको जीवन र तिनीहरू बाँच्ने नियमहरू बन्नेछन्, र ती कुराहरू अपरिहार्य रूपमा नै मानिसहरूले सबै प्रकारका घटना र कामकुराहरूलाई सम्हाल्ने तरिका र विधिहरू बन्नेछन्। मानिसहरूका धारणा र कल्पनाहरू तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने सिद्धान्त र मापदण्ड बनेपछि, तिनीहरूले परमेश्वरमा जसरी विश्वास गरे पनि, वा तिनीहरूले जसरी पछ्याए पनि, र तिनीहरूले जति नै धेरै कठिनाइ भोगे पनि वा जति नै धेरै मूल्य चुकाए पनि, त्यो सबै व्यर्थ हुनेछ। यदि कुनै व्यक्ति आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछ भने, यस व्यक्तिले परमेश्वरको प्रतिरोध गरिरहेको हुन्छ र ऊ उहाँप्रति विरोधी हुन्छ; ऊसँग परमेश्वरले तयार गर्नुभएका वातावरणहरू वा उहाँका मागहरूप्रति साँचो समर्पणता हुँदैन। त्यसपछि अन्तिममा, तिनीहरूको परिणाम अत्यन्तै दुःखदायी हुनेछ। यदि तैँले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको छ, र उहाँका लागि आफूलाई समर्पित गरेको छस्, यत्रतत्र दौडधूप गरेको छस् र ठूलो मूल्य चुकाएको छस्, तर तैँले गर्ने सबै कुराको सुरुवाती बिन्दु र स्रोत तेरा आफ्नै धारणा र कल्पनाहरू हुन् भने, तैँले परमेश्वरलाई साँचो रूपमा स्वीकार गर्दैनस् र तँ उहाँमा समर्पित हुँदैनस्। यी धारणा र कल्पनाहरू पुस्तकहरूबाट, समाजबाट आए पनि, वा तेरा व्यक्तिगत चाहना र रुचिहरूबाट आए पनि, छोटकरीमा भन्दा, ती धारणा र कल्पनाहरू हुन् भने, ती सत्यता होइनन्; अनि ती सत्यता होइनन् भने, ती सत्यताप्रति विरोधी हुन्छन्, मानिसहरूले सत्यतालाई स्वीकार गर्ने कार्यमा ठेस लाग्ने ढुङ्गा, र परमेश्वर र सत्यताको शत्रु हुन्छन्। त्यसकारण, तँ आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछस् भने, तैँले यी धारणा र कल्पनाहरू अनुसार नै सबै कुरालाई मापन गर्नेछस् र हेर्नेछस्, र ती कुराहरूका कारण तैँले अन्तिममा परमेश्वरले तेरा लागि तयार गर्नुभएका वातावरणहरूका विरुद्धमा, र परमेश्वरले तँलाई गर्नुहुने मार्गदर्शन वा तँमाथि राख्नुहुने सार्वभौमिकताका विरुद्धमा विद्रोह गर्नेछस् भन्ने कुरा निश्चित हुन्छ। छोटकरीमा भन्दा, यहाँ कुनै साँचो स्वीकार र समर्पणता हुँदैन। किन? किनभने तैँले जति धेरै कठिनाइ भोगे पनि वा तैँले जति धेरै मूल्य चुकाए पनि, तँ आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछस् भने, तैँले भोग्ने कठिनाइहरू र चुकाउने मूल्य सत्यता सिद्धान्तहरू अनुरूप हुँदैनन्, र सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन; तैँले भोग्ने कठिनाइहरू र चुकाउने मूल्य मानव धारणा र कल्पनाहरू, र तेरा प्राथमिकताहरूमा आधारित हुन्छन्, र ती तेरा देहगत चाहनाहरू सन्तुष्ट पार्न र तेरा निश्चित उद्देश्यहरू पूरा गर्नका लागि हुन् भनेर भन्न सकिन्छ। यो त पावलले प्रकट गरेको कुरा जस्तै हो: उनले धेरै काम गरे र धेरै दौडधूप गरे, युरोपको धेरैजसो ठाउँमा सुसमाचार प्रचार गरे, तर उनले जति कठिनाइ भोगे पनि र जति नै मूल्य चुकाए पनि, वा जति नै दौडधूप गरे पनि, उनीसँग कहिल्यै सत्यता अनुरूपका विचार र दृष्टिकोणहरू थिएनन्, उनले कहिल्यै सत्यतालाई स्वीकार गरेनन्, र उनमा कहिल्यै परमेश्वरमा समर्पित हुने मनोवृत्ति र त्यसको वास्तविक अनुभव थिएन—उनी सधैँ आफ्नै धारणा र कल्पनाहरूभित्रै जिउँथे। उनको विशिष्ट धारणा र कल्पना के थियो? त्यो के थियो भने, उनले दौड र असल लडाइँ लड्न पूरा गरेपछि, उनका लागि धार्मिकताको मुकुट राखिएको छ—पावलको धारणा र कल्पना यही थियो। उनको धारणा र कल्पनाको विशिष्ट सैद्धान्तिक आधार के थियो? त्यो के थियो भने, परमेश्वरले कुनै व्यक्तिको परिणाम उसले गरेको दौडधूप, उसले चुकाएको मूल्य, र उसले भागेको कठिनाइको मात्राका आधारमा निर्धारित गर्नुहुन्छ। पावलले आफ्नो धारणा र कल्पनाको यस्तो सैद्धान्तिक आधारमै अनजानमा ख्रीष्टविरोधीहरूको मार्ग लिएका थिए। परिणाम स्वरूप, जब उनी बाटोको अन्त्यमा पुगे, तब उनले परमेश्वरको प्रतिरोध गर्ने उनाका व्यवहार र प्रकटीकरणहरूका बारेमा वा परमेश्वरको प्रतिरोध गर्ने उनको सारका बारेमा उनमा कुनै बुझाइ थिएन, उनमा कुनै पछुतो हुनु त परको कुरा हो। उनले परमेश्वरमा विश्वास गर्ने क्रममा अझै पनि आफ्नो मूल धारणा र कल्पनालाई कायम राखेका थिए, र उनीसँग परमेश्वरप्रति अलिकति पनि साँचो समर्पणता नभएको मात्र होइन, त्यस विपरीत, उनले आफू त्यसको साटो परमेश्वरबाट असल परिणाम र गन्तव्य प्राप्त गर्नको अझै बढी हकदार भएको विश्वास गरेका थिए। “त्यसको साटो” भनेर भन्नु भनेको त यसलाई राम्रो सुनिने र सभ्य तरिकाले भन्नु हो, तर वास्तवमा यो विनिमय, वा लेनदेन समेत थिएन—उनले सीधै परमेश्वरसँग यी कुराहरू मागिरहेका, परमेश्वरबाट सीधै ती माग गरिरहेका थिए। उनले कसरी परमेश्वरबाट ती कुराहरू माग गरे? यो त ठ्याक्कै उनले भनेजस्तै थियो, “मैले आफ्नो यात्रा पूरा गरेको छु, मैले असल लडाइँ लडेको छु—अब महिमाको मुकुट मेरो भएको छ। यो मैले पाउनुपर्ने कुरा हो र परमेश्वरले न्यायोचित रूपमा मलाई दिनुपर्ने कुरा हो।” पावलले लिएको मार्ग परमेश्वरप्रतिको प्रतिरोधको मार्ग थियो, जसले उनलाई विनाशमा पुर्यायो, र उनले पाएको अन्तिम परिणाम भनेको दण्ड पाउनु थियो। यसलाई परमेश्वरबारेको उनको धारणा र कल्पनाबाट अलग गर्न सकिँदैनथियो। उनी सधैँ आफ्नो धारणा र कल्पनामा दृढतापूर्वक लागिरहन्थे; उनले परमेश्वरले भन्नुभएका कुराहरू, परमेश्वरले मानिसहरूलाई प्रदान गर्नुभएका सत्यताहरू, अर्थात् जीवनको मार्गलाई पन्छाउँथे बेवास्ता गर्थे, र घृणा र तिरस्कारको मनोवृत्ति समेत अपनाउँथे, र उनी येशू ख्रीष्ट परमेश्वरको देहधारण हुनुहुन्छ भन्ने तथ्यलाई समेत मान्दैनथे वा स्वीकार गर्दैनथे। बाटोको अन्त्यमा पुगेपछि, उनी पहिले जस्तै आफ्नो धारणा र कल्पनामा दृढ रूपमा टाँसिइरहे, र उनले परमेश्वरका विरुद्धमा आफूलाई खडा गरिरहे, र उनी अन्तिममा विनाशको अपरिहार्य परिणामतिर लागे। त्यसकारण, यदि परमेश्वरमा विश्वास गर्ने क्रममा, मानिसहरूले आफ्ना सबै नकारात्मक भावनाहरू त्याग्न सक्छन्, र तिनीहरूलाई सत्यता पछ्याउनबाट रोक्ने वास्तविक जीवनका केही कुराहरू त्याग्न सक्छन्, तैपनि आफू र परमेश्वरबीचका पर्खालहरू वा परमेश्वरप्रतिको आफ्नो शत्रुता त्याग्न सक्दैनन् भने, यो अत्यन्तै पछुतोलाग्दो र दुःखदायी कुरा हुनेछ, र अन्त्यमा, मानिसहरूले पावलले जस्तै दण्ड पाउने परिणाम प्राप्त गर्नेछन्। यस कुरामा कुनै शङ्का छैन। त्यसकारण, “त्याग्नु” को अभ्यास गर्ने क्रममा, “आफू र परमेश्वरबीचका पर्खालहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुता त्याग्नु” भन्ने विषयवस्तु सबैभन्दा जरुरी र महत्त्वपूर्ण छ र यसलाई बेवास्ता गर्नु हुँदैन। तैँले प्रायजसो जाँच गर्नुपर्ने कुरा यो हो: परमेश्वरसँगको तेरो सम्बन्धमा र तैँले परमेश्वरको काम अनुभव गर्ने क्रममा, तँसँग अझै पनि सत्यता, परमेश्वरका चाहनाहरू, वा परमेश्वरका माहरू अनुरूप नरहेका र तेरो र परमेश्वरका बीचमा खडा हुने के-कस्ता धारणा र कल्पनाहरू छन्। तैँले यी कुराहरू जाँच्नुपर्छ, परमेश्वरका वचनहरूसँग तुलना गर्नुपर्छ, त्यसपछि तिनलाई त्याग्नुपर्छ। त्याग्नुको उद्देश्य भनेको प्रक्रियाबाट गुज्रनु नभई सत्यतालाई स्वीकार गर्नु, यस विषयमा परमेश्वरले मानिसहरूका अघि सार्नुभएका सत्यता सिद्धान्तहरूलाई स्वीकार गर्नु, र आफ्ना धारणा र कल्पनाहरूलाई प्रतिस्थापन गर्न, र आफ्नो पछ्याइपछाडिको दृष्टिकोण र पछ्याइको दिशा परिवर्तन गर्न यी सत्यता सिद्धान्तहरू प्रयोग गर्नु हो, ताकि तँ आफ्नो धारणा र कल्पनाहरूसँग मिल्दो हुनुको सट्टा आफ्नो जीवनमा र परमेश्वरलाई पछ्याउने क्रममा परमेश्वरसँग मिल्दो हुन सक्। परमेश्वरको काम भनेको मानिसहरूका धारणा र कल्पनाहरूलाई समाधान गर्नु हो, र उहाँले मानिसहरूलाई तिनीहरूका धारणा र कल्पनाहरूलाई समाधान गर्न पनि सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरले मानिसहरूका धारणा र कल्पनाहरूलाई समाधान गरेर, तिनीहरूलाई उहाँले तयार गर्नुहुने हरेक वातावरणलाई लिन, र तिनीहरूले जीवनमा सामना गर्ने हरेक मामलालाई लिनका लागि सही विचार, सोचाइ, अडान, र दृष्टिकोणहरू राख्न सहयोग गर्नुहुन्छ। परमेश्वरले मानिसहरूका धारणा र कल्पनाहरू पूरा गर्नका लागि नभई तिनीहरूका धारणा र कल्पनाहरूलाई प्रतिकार गर्न, र अन्तमा तिनीहरूलाई आफ्ना धारणा र कल्पनाहरू त्याग्न र परमेश्वरबारे ज्ञान प्राप्त गर्न सहयोग गर्नका लागि आफ्नो काम गर्नुहुन्छ र आफ्ना वचनहरूमार्फत सत्यता प्रदान गर्नुहुन्छ।
हामीले यसभन्दा पहिले परमेश्वरको कामबारेका मानिसहरूका केही धारणा र कल्पनाबारे सङ्गति गरेका छौँ। यी धारणा र कल्पनाहरूका साथै, मानिसहरूमा परमेश्वरको कामका बारेमा अरू केही धारणा र कल्पना पनि हुन्छन्, जसलाई सत्यता पछ्याउने क्रममा तिनीहरूले त्याग्नुपर्ने हुन्छ। उदाहरणका लागि, मानिसहरू के विश्वास गर्छन् भने, परमेश्वरको काम स्वीकार गरेपछि, यदि तिनीहरू आफूले सत्यता पछ्याउन सके भने, पूर्ण रूपमा नवीकरण हुनेछन्, र तिनीहरूले आफूसँग आफ्नो जीवनका रूपमा परमेश्वरका वचनहरू भएपछि, पूर्ण रूपमा नयाँ जीवन प्राप्त गर्नेछन्, र तिनीहरू नयाँ व्यक्तिका रूपमा पुनर्जन्म हुनेछ। तिनीहरू आफ्नो क्षमतामा सुधार आएको हुनेछ र तिनीहरूको नैसर्गिक प्रवृत्ति पनि केही हदसम्म परिवर्तन भएको हुनेछ, त्यसकारण तिनीहरूले कहिल्यै अपेक्षा नगरेका कुराहरू प्रायजसो तिनीहरूको जीवनमा आइपर्नेछन् भन्ने विश्वास गर्छन्। अर्थात्, तिनीहरूले आफ्नो क्षमता र नैसर्गिक प्रवृत्तिबाहिरका कुराहरू गर्न सक्ने मात्र होइन, ती अत्यन्तै सजिलै र सहजताका साथ गर्न पनि सक्नेछन्। त्यसबाहेक, कतिपय मानिस परमेश्वरमा विश्वास गर्ने क्रममा, प्रायजसो के समेत महसुस गर्छन् भने, आफूले सत्यता पछ्याउन थालेपछि, आफ्नो व्यक्तित्व र मिजासमा सुधार आएको छ, तिनीहरूको आँखा पहिलेको भन्दा तेजिलो भएको छ, र तिनीहरूको सुन्ने क्षमता पहिलेको भन्दा राम्रो भएको छ। बेला-बेलामा, तिनीहरू ऐनामा हेर्छन् र आफू झन्-झन् स्वर्गदूतजस्तै बनिरहेको महसुस गर्छन्; तिनीहरूलाई आफू झन्-झन् सुन्दर देखिएको, र पहिलेको भन्दा निकै फुर्तिलो भएको लाग्छ। कतिपय मानिसलाई त तिनीहरूको जीवनका केही बानीबेहोरा परिवर्तन भएका छन् र तिनीहरूको जीवनशैली फरक भएको छ भन्नेसमेत लाग्छ—विगतमा, तिनीहरू एकदमै ढिलो सुते भने, तिनीहरू निरन्तर हाइ काढ्थे, तर तिनीहरूले सत्यता पछ्याउन थालेदेखि, यी प्रतिक्रियाहरू हराएका छन्, र तिनीहरूलाई यो कुरा निकै चामत्कारिक लाग्छ। मानिसहरू आफ्ना धारणा र कल्पनाहरूमा के विश्वास गर्छन् भने, सत्यता पछ्याउन थालेपछि, परमेश्वरले तिनीहरूमा केही काम गर्नुहुनेछ ताकि तिनीहरूले अनपेक्षित रूपान्तरणहरू भोगून्। यसमा तिनीहरूको क्षमता रातारात सुध्रिनु समावेश हुन्छ—तिनीहरू औसत क्षमतावान् वा अत्यन्तै कमजोर क्षमतावानबाट अत्यन्तै चलाख, सक्षम, र अनुभवी व्यक्तिमा परिणत हुनेछन्, क्षमता र बुद्धि भएको व्यक्ति बन्नेछन्, र तिनीहरूको सोचाइको क्षेत्र पनि माथि उठ्नेछ। जब मानिसहरू सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्छन् र सत्यता पछ्याउने निर्णय गर्छन्, तब तिनीहरूले सत्यता पछ्याउनेबारे अत्यधिक बढाइचढाइ र अवास्तविक कल्पनाहरू गरेका हुन्छन्, छोटकरीमा भन्दा, तीमध्ये कुनै पनि कुरा साँच्चै वास्तविकताअनुरूप हुँदैनन्। मानिसहरू के विश्वास गर्छन् भने, तिनीहरूले सत्यता पछ्याए भने, तिनीहरूका धेरै पक्ष माथि उठ्नेछन्, र अघि बढ्नेछन्, र कतिपय क्षेत्रमा तिनीहरूले साधारण मानिसहरूलाई समेत उछिन्नेछन्। त्यसकारण, कतिपय मानिस आफ्नो नाम लीयू चाओ, अरूले मा चाओ, र अझै अरूले नुआ चाओ राख्छन्। यी नामहरूको अर्थ क्रमशः गधा, घोडा, र गोरुलाई जित्नु भन्ने हुन्छ—अर्थात्, घोडाभन्दा छिटो दौडन सक्नु र गधा वा गोरुभन्दा बढी बल हुनु। गधाहरू सामान्यतया कुराहरू तान्नमा निकै बलिया हुन्छन्, घोडाका खुट्टा अत्यन्तै दह्रिला हुन्छन्, र गोरुमा धेरै सहनशीलता हुन्छ, त्यसकारण यी मानिसहरू आफूलाई लीयू चाओ, मा चाओ, र नू चाओ भनेर बोलाउँछन्। हेर् त, तिनीहरू आफूले छनौट गर्ने नामहरूलाई विशेष ध्यान दिन्छन्। मानिसहरूले आफ्ना लागि छनौट गर्ने नामहरूबाट के देख्न सकिन्छ भने, मानिसहरूमा परमेश्वरको कामबारे आफ्नै बुझाइ हुन्छ; दुर्भाग्यवश, यो बुझाइ सत्यताअनुरूप हुँदैन र यो सकारात्मक हुँदैन—यो मानिसहरूको धारणा र कल्पना हो। यो धारणा र कल्पना विकृत भए पनि वा चरम भए पनि, छोटकरीमा भन्दा, यो तथ्यहरू र सत्यतासँग मिल्दैन; यो अत्यन्तै खोक्रो छ र अलौकिक कुराहरूसँग सम्बन्धित छ। परमेश्वरले मानिसहरूमा काम गर्ने सिद्धान्त यो हो: मानिसहरूमा जस्तो प्रकारको क्षमता भए पनि, वा तिनीहरूमा जस्तो प्रकारको काम गर्ने योग्यता वा परिस्थितिहरू सम्हाल्ने सक्षमता भए पनि, तिनीहरूको जन्मजात प्राप्त नैसर्गिक प्रवृत्ति जे-जस्तो भए पनि, र तिनीहरूको व्यक्तित्व, बानी, जीवनशैली, रुचि र सोखहरू जे-जस्तो भए पनि, वा यहाँसम्म कि तिनीहरू जुनै लिङ्गकाभए पनि, छोटकरीमा भन्दा, परमेश्वरको काम भनेको मानिसहरूलाई तिनीहरूको अन्तर्निहित क्षमता, नैसर्गिक प्रवृत्ति, व्यक्तित्व, बानी, तिनीहरूको जिउने सही तरिकाहरू, अनि तिनीहरूको वैध रुचि र सोखहरू इत्यादि कुराका आधारमा सत्यता बुझ्न, सत्यतास्विकार्न, सत्यतामा समर्पित हुन, त्यसपछि सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम पार्ने परिणाम हासिल गर्नु हो। त्यसोभए, कुन आधारमा यो परिणाम हासिल हुन्छ? यो मानिसहरूमा सत्यता बुझ्ने र बोध गर्ने क्षमता छ, र तिनीहरूमा सामान्य मानवता छ भन्ने आधारमा हासिल हुन्छ। यो तथाकथित समुन्नत मानवताका आधारमा हासिल हुँदैन, न त यो अलौकिक मानवताका आधारमा नै हासिल हुन्छ। त्यसकारण, हामीले सत्यताका जुनै पक्षहरूमा सङ्गति गरे पनि, यो सबै तँसँग सामान्य मानवता छ र तँसँग सत्यता बुझ्ने क्षमता छ भन्ने आधारमा तँलाई तिनमा प्रवेश गर्न सक्षम पार्नका लागि हो। तर, मानिसहरूका धारणा र कल्पनाहरू यसको ठिक विपरीत हुन्छन्। मानिसहरू के विश्वास गर्छन् भने, परमेश्वरको कामले मानिसहरूमा हासिल गर्ने परिणाम र उहाँले व्यक्त गर्ने सत्यता तिनीहरूको अन्तर्निहित क्षमता र नैसर्गिक प्रवृत्ति विरुद्धमा जान्छन्, र ती तिनीहरूको व्यक्तित्व, बानी, रुचि, र सोखहरूविरुद्ध पनि जान्छन्। मानिसहरू व्यावहारिक रूपमा सत्यता खोजी गर्न प्रयास लगाउनुको सट्टा तिनीहरूमाथि कुनै आश्चर्यकर्म हुनेछ, अलौकिक कुरा वा अनपेक्षित वा तिनीहरूको आफ्नै क्षमता र नैसर्गिक प्रवृत्तिभन्दा बाहिरको कुरा हुनेछ भन्ने प्रायः आशा गर्छन्। यस तथ्यले के प्रमाणित गर्छ? के यसले मानिसहरू सत्यता पछ्याइलाई निकै अलौकिक र खोक्रो कुराका रूपमा लिन्छन् भन्ने प्रमाणित गर्दैन र? के यसले तिनीहरू परमेश्वरले मानिसहरूमा काम गर्ने तरिकालाई निकै अलौकिक र खोक्रो कुरा ठान्छन् भन्ने प्रमाणित गर्दैन र? (हो।) मानिसहरू तिनीहरूले सत्यता जति पछ्याउँछन्, आफ्नो क्षमता त्यति नै उच्च हुनेछ, वा धेरै प्रवचन सुनेपछि र धेरैजसो सत्यता स्वीकार गरेपछि र बुझेपछि, आफ्नो क्षमता पहिलेको भन्दा उच्च हुनेछ भन्ने आशा गर्छन्। यो धारणा र कल्पना हो, होइन र? (हो।) उदाहरणका लागि, कुनै पेसा सिक्नुलाई लिऊँ: तैँले स्कूलमा अध्ययन गरिरहेको बेला, यदि कुनै पेसामा पोख्त हुन चाहन्थिस् भने, यस पेसाको ज्ञानलाई कण्ठस्थ गर्नुपर्थ्यो, अनि, बिहानदेखि बेलुकासम्म अध्ययन गर्नुपर्थ्यो, र आफ्नो खाली समयमा पनि यसलाई सिक्न प्रयास गर्नुपर्थ्यो। तैँले परमेश्वरमा विश्वास गर्न थालेपछि, तँलाई के लाग्छ भने पवित्र आत्माले काम गर्नुभयो भने मानिसहरूको क्षमतामा सुधार हुनेछ, तिनीहरू रूपान्तरित हुनेछन्, र तिनीहरू पहिलेको भन्दा फरक हुनेछन्। त्यसकारण, तँ के निर्धारित गर्छस् भने परमेश्वरले जसरी काम गर्नुभए पनि, व्यक्तिले सहकार्य मात्रै गर्नुपर्छ, र सत्यता पछ्याउन र व्यावसायिक ज्ञान सिक्न प्रयास गर्नु पर्दैन; व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्नु नै पर्याप्त हुन्छ—उसले यसरी परमेश्वरमा विश्वास गरेर पनि प्रगति गरेको हुनेछ। के मानिसहरू यसको कल्पना यसरी नै गर्दैनन् र? (गर्छन्।) मलाई भन, के यो पछ्याउने सही तरिका हो? के यसरी पछ्याउँदा, साँचो रूपान्तरण हुन सक्छ? (अहँ, सक्दैन।) रूपान्तरण हुन नै सक्दैन। उदाहरणका लागि, कतिपय मानिस के सोच्छन् भने राम्ररी गाउनका लागि आफूले अरूको गुणबाट सिक्न बिहानदेखि बेलुकासम्म अभ्यास गर्नुपर्छ, अरूका तौरतरिका चोर्नुपर्छ, र सबै किसिमका गीतहरू सुन्नुपर्छ, र यसरी मात्रै तिनीहरूले उपलब्धिहरू प्राप्त गर्न सक्छन्। त्यसको विपरीत, कतिपय मानिस गायन त प्रतिभामा निर्भर हुन्छ भनेर विश्वास गर्छन्; तिनीहरूले के सोच्छन् भने यदि व्यक्तिमा गाउने प्रतिभा छ र उसलाई गायन मन पर्छ भने, उसले राम्रोसँग गाउन सक्छ, र यदि कसैसँग गाउने प्रतिभा वा गायनको रुचि छैन भने, उसले राम्ररी गाउन, भावनाका साथ गाउन पवित्र आत्माको उत्प्रेरणामा भर पर्नुपर्छ, ताकि उसले गाएको सुन्दा अरूलाई आनन्द आओस्। परिणामस्वरूप, धेरैजसो मानिसले सधैँ यस्तो भ्रम पालेका हुन्छन्; तिनीहरू आफूलाई उत्प्रेरित गर्न पवित्र आत्मामा भर पर्छन्, नत्र भने तिनीहरू गाउनका लागि मुख खोल्दैनन्। यो धारणा र कल्पना हो, होइन र? कतिपय मानिस के सोच्छन् भने व्यावसायिक ज्ञान सिक्न त्यति धेरै प्रयास गर्नु पर्दैन, र मानिसहरूले सत्यता पछ्याए भने, परमेश्वरले काम गर्नुहुनेछ, र मानिसहरूले ती अर्थहीन त्यागहरू गर्नु व्यर्थ र बेकार हुन्छ। तिनीहरूले के सोच्छन् भने परमेश्वरले काम गर्नुभएलगत्तै, मानिसहरूले लगाउने कुनै पनि प्रयासभन्दा यो बढी कामको हुन्छ, त्यसकारण यदि मानिसहरू इमानदारी साथ आफ्नो कर्तव्य गर्छन् र परमेश्वरमा आफ्नो हृदय समर्पित गर्न इच्छुक हुन्छन् भने, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछ, र तिनीहरूका क्षमता र सक्षमताहरू तुरुन्तै सामान्य मानवताको दायराभन्दा माथि उचालिनेछन्—तिनीहरूले यसभन्दा पहिले नबुझेका कुराहरू बुझ्न सक्नेछन्, र तिनीहरूले पहिले एकैपटकमा दुइटा हरफसमेत पढ्न नसके पनि, परमेश्वरमा विश्वास गर्न थालेपछि एकैपटकमा दशवटा हरफ पढ्न र ती सबै याद गर्न सक्नेछन्। तर तिनीहरूले जति नै धेरै तालिम लिए पनि, अझै पनि यो हासिल गर्न सक्दैनन्, त्यसकारण तिनीहरू यस्तो सोच्छन्, “के परमेश्वरले मलाई अनुग्रह दिइरहनुभएको छैन र? के मैले आफ्नो कर्तव्य गर्नमा पर्याप्त परिश्रम गरिरहेको र म प्रशस्त इमानदार भइरहेको छैनँ र?” कुरा यस्तै हो त? (होइन।) तैँले के सोच्छस् भने, तैँले आफ्नो क्षमता र योग्यताहरूको दायरालाई उछिनेर अलौकिक कुरा जति हासिल गर्न सक्छस्, यसले यो परमेश्वरको काम हो भन्ने कुरालाई त्यति नै प्रमाणित गर्छ; यदि तेरो इमानदारी र सहकार्य गर्ने तेरो इच्छा झन्-झन् बढ्यो भयो भने, परमेश्वरले तँमा झन्-झन् बढी काम गर्नुहुनेछ, र तेरा क्षमता र सक्षमताहरू झन्-झन् बढ्दै जानेछन्। के यो मानिसहरूमा हुने धारणा र कल्पना होइन र? (हो।) के तिमीहरूमा विशेष गरी यसरी सोच्ने प्रवृत्ति हुन्छ? (हो।) यसरी सोच्नुको परिणाम के हुन्छ? के त्यसको परिणाम सधैँ असफलता र सकार हुनुको कमी हुनु हुँदैन र? कतिपय मानिसहरू यसो भन्दै नकारात्मक समेत बन्छन्, “मैले परमेश्वरलाई आफ्नो सक्दो इमानदारी दिएको छु—परमेश्वरले मलाई किन राम्रो क्षमता दिनुहुन्न? परमेश्वरले मलाई किन अलौकिक क्षमताहरू दिनुहुन्न? म किन सधैँ कमजोर हुन्छु? मेरो क्षमतामा सुधार आएको छैन, म स्पष्ट रूपमा केही पनि देख्न सक्दिनँ, र जटिल मामलाहरूको सामना गर्दा म अन्योलमा पर्छु। पहिले पनि यस्तै थियो, अहिले पनि किन उस्तै छ? यसको साथै, आफ्नो कर्तव्य निर्वाह गर्ने र समस्याहरू सम्हाल्ने क्रममा, म किन कहिल्यै आफ्नो देहलाई पार गर्न सक्दिनँ? मैले केही धर्मसिद्धान्तहरू बुझेको छु, तैपनि, म परिस्थितिहरूलाई स्पष्ट रूपमा देख्न सक्दिनँ, र मामलाहरू सम्हाल्ने क्रममा, म अनिर्णित हुन्छु, र म अझै पनि राम्रो क्षमता भएका मानिसहरूको तुलनामा पछि पर्छु। मेरो काम गर्ने योग्यता पनि कमजोर छ, र मेरो कर्तव्य निर्वाह प्रभावकारी छैन। मेरो क्षमतामा पटक्कै सुधार आएको छैन! के भइरहेको छ? के परमेश्वरप्रतिको मेरो इमानदारी अपर्याप्त भएको हो? कि परमेश्वरले मलाई मन पराउनुहुन्न? ममा के कुराको कमी छ र?” कतिपय मानिसहरूले यस तथ्यलाई परिवर्तन गर्न विभिन्न कारणहरू खोज्छन् र धेरै तरिकाहरू प्रयोग गरेका छन्, जस्तै अझै धेरै प्रवचनहरू सुन्नु, परमेश्वरका अझै धेरै वचनहरू याद गर्नु, अझै धेरै आत्मिक भक्तिका नोटहरू लेख्नु, साथै मानिसहरूले सत्यतामा सङ्गति गरेको अझै धेरै सुन्नु, र अझै धेरै खोजी गर्नु, तर अन्तिम परिणाम अझै पनि निराशाजनक हुन्छ। परमेश्वरमा विश्वास गरेको तीनदेखि पाँच वर्ष भए पनि, तिनीहरूको क्षमता र काम गर्ने योग्यता पहिलेको जस्तै रहन्छ, र त्यसमा कुनै सुधार हुँदैन। त्यसपछि तिनीहरूले आफ्नै व्यक्तित्वलाई हेर्छन् र आफू अझै पनि पहिलेको जस्तै कायर, बूढो गाई जस्तो सुस्त भएको देख्छन्, वा तिनीहरूमा अझै पनि अधीर व्यक्तित्व हुन्छ, र तिनीहरूले सबै कुरालाई उन्मत्त रूपमा सम्हाल्छन्—कुनै रूपान्तरणभएको छैन हुँदैन! अरूले के देख्छन् भने, हालसालै तिनीहरूका रुचि र सोखहरू परिवर्तन भएका छैनन्, र तिनीहरूका केही खोट, बानीबेहोरा, र त्रुटिहरू पनि परिवर्तन भएका छैनन् जस्तो देखिन्छ। अझै राती ढिलो सुत्न र बिहान ढिलो उठ्न मन पराउने अरूले यी जीवनका बानीबेहोराहरू पनि अपरिवर्तित नै छन् भन्ने पत्ता लगाउँछन्। त्यसकारण तिनीहरू सबैले सोच्छन्, “के भइरहेको छ? के पवित्र आत्माले ममा काम गरिरहनुभएको छैन? के परमेश्वरले मलाई त्याग्नुभएको छ? के परमेश्वर मदेखि खुसी हुनुहुन्न र? के मैले गलत मार्ग लिएको छु? के मैले गलत तरिकाले पछ्याइरहेको छु? के मैले आफ्नो कर्तव्य निर्वाह गर्नमा पर्याप्त रूपमा हृदय लगाएको छैनँ र? के मैले पर्याप्त रूपमा मूल्य चुकाएको छैनँ र?” तिनीहरूले सबै किसिमका कारणहरू खोज्छन्, तैपनि कुनै परिणाम प्राप्त गर्दैनन्। तिनीहरूले परिणामहरू प्राप्त नगर्नुको कारण के हो? (यसको कारण तिनीहरू सधैँ आफ्नै धारणा र कल्पनाहरूभित्रै जिएका छन् भन्ने हो। तिनीहरू के सोच्छन् भने, परमेश्वरमा विश्वास गरेपछि, तिनीहरू उहाँप्रति इमानदार भए भने, परमेश्वरले काम गर्नुभएलगत्तै, तिनीहरूको क्षमता र काम गर्ने योग्यतामा सुधार आउनेछ—तिनीहरूका त्यस्ता विचारहरू तिनीहरूका धारणा र कल्पनाहरूबाट आउँछन्।) मानिसहरूका धारणा र कल्पनाहरूले तिनीहरूको पछ्याइका उद्देश्य र विधिहरू, तिनीहरूले लिने मार्गहरू निर्धारित गर्छन्, र अन्तिममा तिनीहरूका प्राप्ति र परिणामहरू निर्धारित गर्छन्। यदि मानिसहरूमा त्यस्ता धारणा र कल्पनाहरू छन् भने, तिनीहरूले के प्राप्त गर्नेछन्? के तिनीहरूले सत्यता प्राप्त गर्नेछन्? के तिनीहरूले परमेश्वरमाथिको साँचो आस्था र परमेश्वरप्रतिको साँचो प्रेम प्राप्त गर्नेछन्? के तिनीहरूले परमेश्वरप्रति साँचो समर्पणता प्राप्त गर्नेछन्? (गर्नेछैनन्।) तिनीहरूले यीमध्ये कुनै पनि कुरा प्राप्त गर्नेछैनन्।
परमेश्वरमा विश्वास गर्दा, व्यक्तिले परमेश्वरको कामले मानिसहरूमा भएको ठ्याक्कै कुन कुरा परिवर्तन गर्ने अभिप्राय राखेको हो, परमेश्वरले मानिसहरूको भ्रष्टताको समस्यालाई कसरी समाधान गर्नुहुन्छ, र उहाँ मानिसहरूमा के हासिल गर्ने अभिप्राय राख्नुहुन्छ भनी बुझ्नुपर्छ—यी स्पष्टसँग सङ्गति गरिनुपर्ने विषय हुन्, होइनन् र? समग्रमा भन्दा, परमेश्वरले आफ्नो कामद्वारा मानिसहरूमा ठ्याक्कै के-कस्ता प्रभावहरू हासिल गर्ने अभिप्राय राख्नुहुन्छ भन्ने कुरा व्यक्तिले बुझ्नुपर्छ। पहिलो, परमेश्वरको कामको यो चरणमा, उहाँले सत्यता व्यक्त गरिरहनुभएको छ र जीवन आपूर्ति गरिरहनुभएको छ। मानिसहरूलाई सत्यता प्रदान गर्ने काम भनेको मानिसहरूले वास्तविक जीवनमा सबै प्रकारका मानिस, घटना र कामकुराहरूको सामना गर्दा पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरूका बारेमा स्पष्ट रूपमा सङ्गति गर्नु हो, ताकि तिनीहरूले ती कुराहरू बुझेपछि, यी सत्यता सिद्धान्तहरूका आधारमा मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई आचरणमा ढाल्न र कार्य गर्न सकून्, र यस आधारमा तिनीहरूका भ्रष्ट स्वभावहरू समाधान हुन्छन्, र तिनीहरू यी भ्रष्ट स्वभावहरू फाल्न र परमेश्वरमा साँचो र पूर्ण रूपमा समर्पित हुन सक्छन्। अवश्य नै, यो मुक्ति पाउनुको सङ्केत पनि हो, र यो मुक्ति पाउनुको साँचो प्रकटीकरण हो, जसलाई अन्ततः मानिसहरूमा देख्न सकिन्छ। परमेश्वरले मानिसहरूलाई सत्यता प्रदान गर्ने सम्पूर्ण प्रक्रियामा, समाधान गर्नुपर्ने मुख्य समस्याहरू के-के हुन्? समाधान गर्नुपर्ने समस्याहरू मुख्य रूपमा दुई प्रकारका छन्। समाधान गर्नुपर्ने पहिलो प्रकारको समस्या मानिसहरूका धारणाहरू हुन्। शैतानबाट आउने मानिसहरूका विभिन्न प्रकारका भ्रामक, विकृत र तिनीहरूले दह्रिलो गरी पक्रेर राखेका विचार र दृष्टिकोणहरूलाई सामूहिक रूपमा मानिसहरूका धारणाहरू भनिन्छ। यी गलत विचार र दृष्टिकोणहरूले मानिसहरूको विचार र व्यवहारलाई नियन्त्रण गर्छन्, र ती कुराहरू मानिस र कामकुराहरूलाई हेर्ने, र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने तिनीहरूको विचारको आधारभूत सिद्धान्त बनिसकेका छन्, त्यसकारण तिनलाई पूर्ण रूपमा समाधान गर्नुपर्छ। यो मानिसहरूको विचारसँग सम्बन्धित समस्या हो, जसलाई समाधान गर्नुपर्छ। समाधान गर्नुपर्ने अर्को प्रकारको समस्या भनेको मानिसहरूको भ्रष्ट स्वभाव हो। भ्रष्ट स्वभावहरू मण्डली जीवनमा प्रायजसो सङ्गति, छलफल, र चिरफार गरिने विषय हुन्। कतिपय भ्रष्ट स्वभावहरू मानिसहरूका भ्रामक विचार र दृष्टिकोणहरूले पैदा गरेका हुन्छन्, जबकि अरू भ्रष्ट स्वभावहरू विशुद्ध रूपमा शैतानी स्वभावहरू हुन्। परमेश्वरले मानिसहरूमा आफ्नो काम र वचनहरूमार्फत समाधान गर्ने अभिप्राय राख्नुभएका दुई वटा कुराहरू तिनीहरूका धारणा र तिनीहरूका भ्रष्ट स्वभाव हुन्। अघिल्लो कुरा व्यक्तिले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ, जबकि पछिल्लो कुरा व्यक्तिले कसरी आफूलाई आचरणमा ढाल्छ र कार्य गर्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ। जब यी दुई कुराहरू समाधान हुन्छन् र मानिसहरूले सत्यता प्राप्त गरेका हुन्छन् र तिनीहरू परमेश्वरमा समर्पित हुन र उहाँसँग मिल्न सक्छन्, तब परमेश्वरको कामले आफ्नो प्रभाव हासिल गरेको हुनेछ, र परमेश्वरको काम समाप्त भएको हुनेछ। तर, परमेश्वरको कामको सम्पूर्ण प्रक्रियामा—चाहे त्यो परमेश्वरले काम गर्ने तरिका होस्, उहाँको कामका निश्चित चरणहरू होस्, वा उहाँले व्यक्त गर्नुभएका हरेक सत्यता होस्—यीमध्ये कुनै पनि कुरा मानिसहरूको व्यक्तित्व, क्षमता, योग्यता, जन्मजात प्रवृत्ति, जीवनका बानीबेहोरा र जीवनशैली, वा तिनीहरूका हित र रुचिहरू जस्ता पक्षहरूप्रति लक्षित हुँदैन। अर्को शब्दमा भन्दा, परमेश्वरको कामको उद्देश्य, लक्ष्य, र महत्त्व भनेको मानिसहरूका अन्तर्निहित क्षमता र योग्यताहरू, जन्मजात प्रवृत्ति, व्यक्तित्व, र इत्यादि कुरालाई परिवर्तन गर्नु होइन। तँसँग जस्तोसुकै क्षमता र काम गर्ने योग्यता भए पनि, वा तेरो अन्तर्निहित व्यक्तित्व, जीवनका बानीबेहोरा, जन्मजात प्रवृत्ति, र अरू विभिन्न पक्षहरू जस्तो भए पनि, परमेश्वरले यीमध्ये कुनै पनि कुरालाई हेर्नुहुन्न। उहाँले तँ सामान्य मानवता भएको व्यक्ति होस् कि होइनस् भनेर मात्रै हेर्नुहुन्छ, अनि त्यसपछि यस आधारमा उहाँले तँलाई सत्यता प्रदान गर्नुहुन्छ र तँमा काम गर्नुहुन्छ। परमेश्वरले तँलाई सत्यताका जे-जस्ता पक्षहरू प्रदान गर्नुभए पनि, वा उहाँले तँमा जुनसुकै प्रकारको काम गर्नुभए पनि, अन्ततः यो तेरो अन्तर्निहित क्षमता र जन्मजात प्रवृत्तिलाई परिवर्तन गर्नका लागि होइन, यो तेरो क्षमता वा जन्मजात प्रवृत्तिलाई बढाएर त्यसलाई सुधार गर्न, वा त्यसलाई विशेष रूपमा अलौकिक बनाउनका लागि होइन—यीमध्ये कुनै पनि पक्षहरू परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्न चाहनुहुने निसानाहरू होइनन्। त्यसकारण, तैँले परमेश्वरमा विश्वास गरेको जति वर्ष भए पनि, वा तैँले जति धेरै प्रवचन सुनेको भए पनि, वा तैँले परमेश्वरका वचनहरूमा जति धेरै मेहनत लगाएको भए पनि, तेरो अन्तर्निहित प्रवृत्ति उस्तै रहनेछ र परिवर्तन हुनेछैन। तैँले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकाले, धेरै वर्षदेखि प्रवचन सुनेकाले, र धेरै वर्ष दौडधूप र मेहनत गरेकाले यो परिवर्तन हुनेछैन। अवश्य नै, तेरो व्यक्तित्व, जन्मजात प्रवृत्ति, जीवनका बानीबेहोरा, चासो, रुचिहरू, र इत्यादि कुराहरूमा पनि यही कुरा लागू हुन्छ; तैँले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकाले र धेरै वर्षदेखि आफ्नो कर्तव्य निर्वाह गरेकाले ती परिवर्तन हुनेछैनन्। मानिसहरूका धारणाहरूमा, यो परिवर्तनको अर्थ अवश्य नै तल झार्नु नभई माथि उठाउनु हो—यी कुराहरूलाई पहिलेको भन्दा उच्च र असल बनाउनु हो। अर्थात्, परमेश्वरको काम जुनसुकै चरणमा भए पनि, वा उहाँले त्यो गर्न जुनसुकै विधि प्रयोग गर्नुभए पनि, उहाँको कामले मानिसहरूको अन्तर्निहित प्रवृत्ति, काम गर्ने क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, र इत्यादि कुराहरूलाई परिवर्तन गर्दैन। त्यसकारण, यदि तेरो क्षमता कमजोर छ र तँसँग अहिले अगुवा वा कामदार बन्ने, वा निश्चित कामको सुपरिवेक्षक बन्ने क्षमता छैन भने, अबको २०-३० वर्षसम्म पनि तँसँग यो क्षमता पनि हुनेछैन; अनि सत्यता पछ्याएको कारण तैँले अन्तमा मुक्ति पाइस् भने पनि, तँसँग अझै पनि यो क्षमता हुनेछैन। तेरो क्षमता परिवर्तन हुनेछैन। के त्यसपछि तेरो जन्मजात प्रवृत्ति परिवर्तन हुनेछ त? सबैले जन्म, बुढ्यौली, रोग, र मृत्युको अनुभव गर्छन्, र ठूला घटनाहरूको सामना गर्दा, तिनीहरू बेचैन हुन्छन्, डराउँछन्, भयभीत हुन्छन्, र इत्यादि—यी जन्मजात प्रवृत्तिहरू पनि परिवर्तन हुनेछैनन्। उदाहरणका लागि, जब मानिसहरूले निकै ठूलो आवाज सुन्छन्, तब तिनीहरू सबै आफ्नो शिर ढाकेर सुरक्षित ठाउँमा लुक्छन्—जन्मजात प्रवृत्ति हो। जब तेरो हातले आगोको ज्वाला वा अरू कुनै तातो कुरालाई छुन्छ, तब तैँले जन्मजात प्रवृत्तिले नै त्यसलाई तान्छस्, वा जब तैँले कुनै दुःखद खबर सुन्छस्, तब तँ जन्मजात प्रवृत्तिले नै भित्रभित्रै काँप्छस् र भयभीत हुन्छस्। जब तैँले खतराको सामना गर्छस्, तब जन्मजात प्रवृत्तिले नै तेरो पहिलो विचार यस्तो हुनेछ, “के म सुरक्षित छु? के यो खतरा मतर्फ आइरहेको छ?” यो जन्मजात प्रवृत्ति हो। साथै, जब कसैले तँलाई प्रहार गर्न हात उठाउँछ, तब तँ जन्मजात प्रवृत्तिले नै आफूलाई रक्षा गर्न त्यसलाई छल्छस्; जब तेरो आँखामा धूलो वा पानी पस्छ, तब जन्मजात प्रवृत्तिले नै आँखा बन्द गर्छस्; अनि जब तेरो दाँत दुख्छ, तब तँ बारम्बार हातले दाँत छुन्छस्। तँ जन्मजात प्रवृत्तिले नै प्राकृतिक प्रतिक्रिया दिन्छस्, तँसँग निश्चित प्रकटीकरण हुन्छ, वा तैँले जन्मजात प्रवृत्तिले नै कुनै कार्य गर्छस्। मानिसहरू यी जन्मजात प्रवृत्तिगत प्रतिक्रियाहरू लिएर जन्मिन्छन्। कसैले पनि तिनलाई खोस्न सक्दैन, र परमेश्वरले पनि तिनलाई परिवर्तन गर्नुहुनेछैन। परमेश्वरले मानिसहरूलाई सृष्टि गर्नुहुँदा तिनीहरूका लागि यी जन्मजात प्रवृत्तिगत प्रतिक्रियाहरू तय गरिदिनुभएको थियो, र तिनको उद्देश्य मानिसहरूलाई रक्षा गर्नु हो। ती सृजित मानवमा हुनुपर्ने कुरा हुन्। परमेश्वरले यी जन्मजात प्रवृत्तिहरूलाई खोस्नुहुनेछैन, र तैँले सत्यता पछ्याएका कारण पनि तिनलाई गुमाउनेछैनस्। मैले यसो भन्नुको अर्थ के हो? मेरो तात्पर्य के हो भने, तँ सत्यता पछ्याउँछस्, तैँले धेरै सत्यता बुझेको छस्, र तँमा परमेश्वरप्रतिको साँचो समर्पणता छ भन्दैमा तँलाई आगो लागेको बेला डर नलाग्ने वा तैँले तातो तेलको कराहीमा हात हाल्दा पोलेको महसुस नगर्ने भन्ने हुँदैन—यो असम्भव कुरा हो। कसैले यस्तो गवाही दिएको भए तँलाई के लाग्नेथियो? के तैँले तिनीहरूलाई डाहा र प्रशंसा गर्नेथिइस्? तैँले यसलाई कसरी मूल्याङ्कन र चित्रण गर्नेथिइस्? कम्तीमा पनि, यो अलौकिक घटना हो, र परमेश्वरले यस्तो गर्नुहुन्न। परमेश्वरले मानवजातिका लागि सृष्टि गर्नुभएका जन्मजात प्रवृत्तिहरूका हकमा भन्दा, तँ सत्यता पछ्याउँछस् भन्दैमा परमेश्वरले तेरा यी जन्मजात प्रवृत्तिहरू खोस्नुहुनेछैन, न त उहाँले यी जन्मजात प्रवृत्तिहरूलाई अलौकिक शक्तिहरूमा रूपान्तरण नै गर्नुहुनेछ। उदाहरणका लागि, मानौँ तँ अँध्यारो ठाउँमा छस् र तैँले केही पनि देख्न सक्दैनस्; तैँले जन्मजात प्रवृत्तिले आफ्नो वरिपरिको कुरा महसुस गर्न छामछामछुमछुम गर्नेछस्, र तेरो वरिपरिका आवाजहरूलाई छुट्याउन आफ्नो कानले ध्यान दिएर सुन्नेछस्, जन्मजात प्रवृत्तिले नै तँलाई अघि बढ्ने बाटो महसुस हुनेछ। तँ सत्यता पछ्याउँछस् भन्दैमा तैँले देहलाई पार गर्नेछैनस्—जति अँध्यारो हुन्छ, तेरो आँखा त्यति नै प्रखर महसुस हुन्छ, र तैँले त्यति नै स्पष्ट रूपमा देख्न सक्छस् र आफ्नो दिशा पत्ता लगाउन तँलाई त्यति नै सजिलो हुन्छ भन्ने हुँदैन—यो अलौकिक कुरा हो, र यो परमेश्वरले गर्नुहुने कुरा होइन। तैँले धेरै सत्यता बुझेको भए पनि, र तैँले सत्यतामा समर्पित हुन र सत्यता अभ्यास गर्न सके पनि, यदि यस विषयमा तेरो जन्मजात प्रवृत्ति उस्तै रहन सक्छ र घट्दैन भने, त्यो आफैमा नै ठूलो कुरा हो, तैपनि तँ ती कुरा अलौकिक बनून् भन्ने चाहन्छस्—यो असम्भव कुरा हो! यसका साथै, कामकुरालाई हेर्ने र कामकुरालाई सम्हाल्ने व्यक्तिको क्षमता र समस्याहरू समाधान गर्ने उसको क्षमता पनि परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्ने अभिप्राय राख्नुहुने कुरा होइनन्। परिस्थितिहरूलाई सम्हाल्ने व्यक्तिको क्षमता एक हिसाबमा उसको योग्यतामा निर्भर हुन्छ, र अर्को हिसाबमा उसको अन्तर्निहित बुद्धिमत्तामा निर्भर हुन्छ, र उसको बुद्धिमत्तामा उसको वरदान पनि समावेश हुन्छ। कतिपय मानिसहरू विशेष रूपमा बाहिरी मामलाहरू सम्हाल्ने निश्चित क्षमता र वरदान लिएर जन्मिन्छन्, अर्थात्, तिनीहरू सोच्न र सामाजिक रूपमा घुलमेल हुन सिपालु हुन्छन्, तिनीहरू विशेष सामाजिक क्षमता लिएर जन्मिन्छन्, र तिनीहरूलाई मानिसहरूसँग कसरी अन्तरक्रिया गर्ने, परिस्थितिहरूलाई कसरी हेर्ने, र निश्चित मामलाहरूलाई कसरी सम्हाल्ने भन्ने थाहा हुन्छ। तिनीहरूको मनमा, सबै प्रकारका कुराहरूका हकमा निकै स्पष्ट सोच हुन्छ, र त्यो अत्यन्तै तर्कसङ्गत पनि हुन्छ। जब तिनीहरूले कुनै कुरालाई हेर्छन्, तब तिनीहरूले कुनै विचलन वा बेतुकताविना विषयको मर्म बुझ्न, र तुलनात्मक रूपमा सटीक रूपमा समस्याहरू सम्हाल्न सक्छन्। यस्तो व्यक्तिमा मामलाहरू सम्हाल्ने क्षमता हुन्छ। कतिपय मानिसहरू यो क्षमता लिएर जन्मिँदैनन्, र तिनीहरूलाई पुस्तकहरू पढ्न, फूलहरू उमार्न, घाँस रोप्न, चराचुरुङ्गी हुर्काउन, र इत्यादि कुराहरू मन पर्छ। यसलाई के भनिन्छ? यसलाई जीवनको परिष्कृत र आरामदायी शैली हुनु भनिन्छ। यिनीहरूभव्यता र परिष्कृतताको पछि लाग्ने मानिसहरू हुन्। तिनीहरू सामाजिक रूपमा घुलमेल हुन वा बाहिरी मामलाहरू सम्हाल्न सिपालु हुँदैनन्, र तिनीहरूसँग यो क्षमता हुँदैन। जब तिनीहरूले बाहिर गएर मामिलाहरू सम्हाल्नुपर्ने, वकिलसँग परामर्श लिनुपर्ने वा कुनै प्रतिष्ठित व्यक्तिसँग अन्तरक्रिया गर्नुपर्ने हुन्छ, तब तिनीहरू एकदमै डरपोक र भयभीत हुन्छन्, र त्यो व्यक्तिको आँखामा हेर्ने हिम्मत गर्दैनन्, र जब तिनीहरूलाई प्रश्नहरू सोधिन्छ, तब तिनीहरू अकमकाउँछन् र तिनीहरूलाई के भन्ने थाहा हुँदैन। तिनीहरू व्यर्थका हुन्छन्, होइन र? जब यस्तो व्यक्तिले कुनै समस्याको सामना गर्दैन, तब ऊ फुर्ती लगाउन निकै सिपालु हुन्छ, र उसले यसो भन्छ, “मैले यस्तो-त्यस्तो कुरा गरेँ, मेरो विगत यति-उति शानदार थियो, मैले एउटा पटक यस्ता-त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गरेको थिएँ, र मैले यस्ता-त्यस्ता सेलिब्रेटीहरूलाई चिनेको छु...।” तर, जब तिनीहरूलाई वास्तवमा कुनै कुरा सम्हाल्न पठाइन्छ, तब तिनीहरू कुनै नाम-निशाना नदेखिने गरी हराउँछन्। तिनीहरूले गर्न सक्ने एउटै मात्र कुरा भनेको फुर्ती लगाउनु हो भन्ने थाहा हुन जान्छ, र तिनीहरूसँग कुनै वास्तविक प्रतिभा वा ज्ञान हुँदैन, र तिनीहरूसँग मामलाहरू सम्हाल्ने कुनै क्षमता हुँदैन। के कसैले सत्यता पछ्याएर मामलाहरू सम्हाल्नमा रहेको उसको खराबीको तथ्यलाई परिवर्तन गर्न सक्छ? दुर्भाग्यवश, अहँ, सक्दैन। अन्तर्मुखी व्यक्तित्व भएका र बाल्यकालदेखि नै अरू मानिसहरूको सामना गर्न डराउने ती व्यक्तिहरूलाई हेर् त। जब तिनीहरू उमेरमा बीस-तीसको दशकमा हुन्छन्, तब मानिसहरूसँग कुरा गर्दा वा मानिसहरूसँग अन्तरक्रिया गर्ने कार्य समावेश भएका मामलाहरू सम्हाल्दा तिनीहरू अझै पनि निकै बेचैन हुन्छन्। तिनीहरू अधबैँसे हुँदासम्म पनि, भीडको अगाडि बोल्दा तिनीहरूलाई अझै पनि लाज लाग्छ र तिनीहरू रातोपिरो हुन्छन्। त्यस्ता मानिसहरूले बाँचुञ्जेल कहिल्यै व्यापक संसारको सामना गर्न सक्नेछैनन्। अरू मानिसहरू यस हिसाबमा फरक हुन्छन् कि, तिनीहरूलाई किशोरावस्थादेखि नै मानिसहरूसँग कुराकानी र अन्तरक्रिया गर्न मन पर्छ। जोसुकै प्रतिष्ठित व्यक्तिसँग अन्तरक्रिया गरे पनि, तिनीहरू डराउँदैनन्, र तिनीहरूले जेसुकै गरिरहेका भए पनि, तिनीहरू चिन्तित हुँदैनन् वा अत्तालिँदैनन्। तिनीहरूमा चेत हुन्छ, त्यसकारण तिनीहरूलाई मञ्चको डर लाग्दैन। मानिसहरू जति धेरै हुन्छन्, तिनीहरू त्यति नै खुसी र ऊर्जावान् हुन्छन्, र तिनीहरू त्यति नै बढी प्रस्तुति दिन चाहन्छन्। के परमेश्वरको काम अनुभव गरेर व्यक्तिको व्यक्तित्व र मामलाहरू सम्हाल्ने क्षमता परिवर्तन हुन सक्छ? (सक्दैन।) परमेश्वरले मानिसहरूका यी कुराहरूलाई परिवर्तन गर्नुहुन्न। कतिपय मानिसहरूलाई मामलाहरू सम्हाल्ने तिनीहरूको कमजोर क्षमता तिनीहरूको मानवताको कमीकमजोरी हो भन्ने थाहा हुन्छ, त्यसकारण तिनीहरूले यसलाई हटाउन कडा परिश्रम गर्छन्। सायद, जब तिनीहरू अधबैँसे वा वृद्धावस्थाको उमेरमा पुग्छन्, तब दशकौँको तपाइ अनुभव गरेपछि र व्यापक अनुभव जम्मा गरेपछि, तिनीहरूले केही तत्कालीन मामलाहरूलाई मुस्किलले झेल्न सक्लान्; तर तिनीहरूसँग अझै पनि जीवन-मृत्युका गम्भीर मामलाहरू सम्हाल्ने क्षमता हुनेछैन। विशेष गरी कतिपय मानिसहरू वृद्ध अवस्थामा पुगेपछि आफै केही पनि सम्हाल्न सक्दैनन्; तिनीहरूले जेसुकै सम्हाल्ने प्रयास गरे पनि, तिनीहरूले त्यसलाई पूर्ण रूपमा बिगार्छन्—तिनीहरू यो कुरालाई काँधमा बोक्नै सक्दैनन्—अनि तिनीहरू आफ्नो पारिवारिक मामलाहरू सम्हाल्ने बोझ समेत बोक्न सक्दैनन्। अनि तिनीहरू के गर्छन्? कतिपय अवस्थामा, तिनीहरूका छोराछोरीसँग मामलाहरू सम्हाल्ने क्षमता हुन्छ, त्यसकारण यी मानिसहरूले आफ्ना छोराछोरीबाट सहयोग लिन्छन्, अनि यसो गरिरहँदा तिनीहरूले आफ्ना लागि पहिले नै गरिएका कुराहरूको आनन्द लिन्छन्। तिनीहरू सोच्छन्, “मैले योगदान दिएको छु, मसँग मामलाहरू सम्हाल्ने क्षमता छ,” तर वास्तवमा, तिनीहरूसँग यो क्षमता हुँदैन। तिनीहरूका छोराछोरी, जो अहिले वयस्क र जिम्मेवारी लिन सक्ने भएका छन्, तिनीहरूले नै यी मामलाहरू सम्हालेका हुन्छन्। अहिले यी मानिसहरू कामकुरा सम्हाल्नमा जवान हुँदा जत्तिको बेचैन र भयभीत हुँदैनन् होला, तर यसको अर्थ मामलाहरू सम्हाल्ने तिनीहरूको क्षमता परिवर्तन वा सुधार भएको छ भन्ने हुँदैन। यसको अर्थ के हुन्छ? यसको अर्थ तिनीहरू वृद्ध भएका छन्, तिनीहरूले अनुभव प्राप्त गरेका छन्, र तिनीहरूलाई अब कुनै कुराको डर लाग्दैन भन्ने हुन्छ। “अब कुनै कुराको डर लाग्दैन” ले केलाई जनाउँछ? यो कि, तिनीहरूले धेरै कुरा अनुभव गरेका र कामकुराहरूको रूपरेखा पत्ता लगाएका हुनाले तिनीहरूले कुराहरूलाई अझै खुलस्त रूपमा हेर्न सक्छन्, त्यसकारण यदि तिनीहरू साँच्चै नै अलिकति खतरामा परे भने, तिनीहरू डराउनेछैनन्, र तिनीहरूले यस्तो सोच्नेछन्: “म त यहाँ छु। यदि तिमीहरूलाई पैसा चाहिएको हो भने, मसँग पैसा छैन; यदि तिमीहरूलाई मेरो ज्यान चाहिएको हो भने, ज्यान हाजिर छ—तिमीहरूलाई जे मन लाग्छ त्यही गर!” के त्यस्ता मानिसहरूले कुनै प्रगति गरेका हुन्छन्? तिनीहरूले पटक्कै कुनै प्रगति गरेका हुँदैनन्—कुराहरू सम्हाल्ने ममिलामा तिनीहरू अझै पनि निकै लापरवाह र भ्रमित हुन्छन्। तिनीहरू पहिले जत्तिकै हतारिलो र अधीर हुन्छन्। तिनीहरू पहिले कामकुरा पूरा गर्न असफल भएका थिए, र अहिले पनि तिनीहरू अलिकति पनि परिवर्तन भएका छैनन्। तिनीहरू यस्तै हुन्छन्। मलाई भन, वास्तवमा कुरा यस्तै होइन र? (हो।)
तिमीहरूमाझ सबै उमेरका मानिसहरू छन्। अहिलेसम्म, के तिमीहरूले कहिल्यै कुनै विशेष कुरा अनुभव गरेका छौ—सत्यता पछ्याउने क्रममा, के तेरो क्षमता पूर्ण रूपमा परिवर्तन भएको छ र पहिलेको भन्दा निकै राम्रो भएको छ, वा तेरो जन्मजात प्रवृत्ति परिवर्तन भएको छ? के तैँले कहिल्यै यस्तो अनुभव गरेको छस्? (छैनँ।) त्यसोभए, के कसैले कहिल्यै यसो भनेको छ, “म पहिले निकै काम नलाग्ने थिएँ। म बोल्न सिपालु थिइनँ, मसँग कुनै क्षमता वा सीप थिएन, र मसँग सामाजिक रूपमा घुलमेल हुने क्षमता थिएन। अहिले मैले परमेश्वरको काम स्वीकार गरेको हुनाले, म बोल्न सिपालु छु, मसँग सामाजिक क्षमताहरू छन्, र परिस्थितिहरूलाई सम्हाल्दा, म बुद्धिमान हुन्छु र मसँग कौशल हुन्छ, र म परिस्थितिहरू सम्हाल्न जान्दछु”? के कसैसँग यस्तो अनुभव छ? (छैन।) कतिपयले भन्छन्, “मेरो जीवनमा ती कुराहरू नघटेका भए पनि, परमेश्वरमा विश्वास गर्न थालेपछि परमेश्वरको काम अनुभव गर्ने क्रममा, मलाई मेरो व्यक्तित्व परिवर्तन भएको छ जस्तो लाग्छ। म ढिलो बोल्थेँ, र सबैले मलाई “आलसी” भनेर बोलाउने गर्थे। मेरो अर्को उपनाम पनि थियो, “सुस्ते”। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, मेरो प्रतिक्रिया पहिलेको भन्दा तीव्र भएको छ, र म पहिलेभन्दा छिटो बोल्छु र कार्य गर्छु। म कामकुराहरू पनि पहिलेभन्दा छिटो र प्रभावकारी रूपमा सम्हाल्छु।” के त्यस्ता कुराहरू हुन्छन्? (हुँदैनन्।) एउटा अवस्था छ, जसमा यो सम्भव हुन सक्छ। उदाहरणका लागि, जब कतिपय मानिसहरूले विदेशी भाषा सिक्छन् र सुरुमा बोल्ने अभ्यास गर्छन्, तब तिनीहरू निकै सुस्त गतिमा, एक-एक गरी शब्द बोल्छन्। अरूले के सोच्छन् भने, यी मानिसहरू सुस्त स्वभाव बोकेरै जन्मिएकाले यिनीहरूले यति सुस्त गतिमा बोलेको हुन सक्छ। चार-पाँच वर्षपछि, यी मानिसहरू त्यो विदेशी भाषा बोल्ने मानिसहरूसँग बारम्बार सम्पर्कमा रहिआएका हुनाले, तिनीहरूले आफ्नो मातृभाषा जत्तिकै यो भाषा पनि फरर बोल्छन्, र केही थाहा नभएका अरूले यस्तो सोच्छन्, “त्यो व्यक्तिको व्यक्तित्व परिवर्तन भएको छ। पहिले ऊ बिस्तारै बोल्थ्यो र मानिसहरू उसलाई सुन्दा अधीर हुन्थे, तर अहिले ऊ फरर बोल्छ—ऊ तेज व्यक्ति बनेको छ। उसले बोल्ने सीधा र स्पष्ट तरिकाका आधारमा हेर्दा, उसले तत्परता साथ मामलाहरू सम्हाल्छ र ऊसँग राम्रो व्यक्तित्व छ भन्ने कुरा थाहा पाउन सकिन्छ।” यस अवस्थामा, के उसको व्यक्तित्वमा परिवर्तन आएको छ? (छैन।) वास्तवमा, यो सामान्य ढाँचा हो। यो कुनै पनि प्रकारको पेसा सिक्ने क्रममा सामान्य प्रगतिको प्रक्रिया हो—यो व्यक्तित्व परिवर्तनको प्रक्रिया होइन। चाहे त्यो क्षमता, योग्यता र जन्मजात प्रवृत्ति होस्, वा व्यक्तित्व, बानी, चासो, र रुचिहरू होस्, यीमध्ये कुनै पनि पक्षहरू परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्न चाहनुहुने कुराहरू होइनन्। यदि तँ सधैँ मानिसहरूलाई सत्यता आपूर्ति गर्नका लागि परमेश्वरले काम गर्नु र बोल्नुको उद्देश्य भनेको मानिसहरूका यी सबै अन्तर्निहित गुणहरू परिवर्तन गर्नु हो भन्ने विश्वास गर्छस्, र त्यसपछि मात्रै व्यक्तिलाई परमेश्वरले बोल्नुभएअनुसारको पूर्ण रूपमा पुनर्जन्म भएको, र साँचो रूपमा नयाँ व्यक्ति मान्न सकिन्छ भन्ने सोच्छस् भने, तँ गम्भीर रूपमा गलत छस्। यो मानव धारणा र कल्पना हो। यो कुरा बुझेपछि, तैँले त्यस्ता धारणा, कल्पना, अनुमान, वा भावनाहरूलाई त्याग्नुपर्छ। अर्थात्, सत्यता पछ्याउने क्रममा, तँ यी कुराहरूलाई सारांशित गर्न सधैँ भावना वा अनुमानहरूमा भर पर्नु हुँदैन: “के मेरो क्षमतामा सुधार आएको छ? के मेरो जन्मजात प्रवृत्ति परिवर्तन भएको छ? के मेरो व्यक्तित्व पहिलेको जस्तै खराब छ? के मेरो जीवनशैली परिवर्तन भएको छ?” यी कुराहरूका बारेमा मनन नगर्; यस्तो मनन व्यर्थ हुन्छ, किनभने यी परमेश्वरले परिवर्तन गर्ने अभिप्राय राख्नुभएका पक्षहरू होइनन्, र परमेश्वरका वचन र काम कहिल्यै यी कुराहरूप्रति लक्षित भएका छैनन्। परमेश्वरको कामले कहिल्यै मानिसहरूको क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, र इत्यादि कुरालाई परिवर्तन गर्ने उद्देश्य राखेको छैन, न त परमेश्वरले कहिल्यै मानिसहरूका यी पक्षहरूलाई परिवर्तन गर्ने उद्देश्यले नै बोल्नुभएको छ। यसको निहितार्थ के हो भने, परमेश्वरको कामले मानिसहरूलाई तिनीहरूका अन्तर्निहित अवस्थाहरूका आधारमा सत्यता आपूर्ति गर्छ, जसको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्न लगाउनु अनि त्यसपछि सत्यतालाई स्वीकार गर्न र त्यसमा समर्पित हुन लगाउनु हो। अर्को शब्दमा भन्दा, तँसँग जस्तोसुकै क्षमता भए पनि, र तेरो व्यक्तित्व र जन्मजात प्रवृत्ति जस्तो भए पनि, परमेश्वरले तेरो अन्तर्निहित क्षमता, जन्मजात प्रवृत्ति, र व्यक्तित्व परिवर्तन गर्नुको सट्टा तँमा सत्यता भर्न, तेरा पुराना धारणा र भ्रष्ट स्वभावहरूलाई परिवर्तन गर्न चाहनुहुन्छ। अहिले तैँले बुझिस्, होइन त? परमेश्वरको कामले के कुरालाई परिवर्तन गर्ने उद्देश्य राख्छ? (परमेश्वरको कामले मानिसहरूमा रहेका पुराना धारणा र भ्रष्ट स्वभावहरूलाई परिवर्तन गर्ने उद्देश्य राख्छ।) अहिले तैँले यो सत्यता बुझिसकेको हुनाले, तैँले ती अवास्तविक र अलौकिक कुराहरूसँग सम्बन्धित कल्पना र धारणाहरू त्याग्नुपर्छ, र आफूलाई मापन गर्न वा आफूबाट माग गर्नका लागि यी धारणा र कल्पनाहरू प्रयोग गर्नु हुँदैन। बरु, तैँले परमेश्वरले तँलाई दिनुभएका विभिन्न अन्तर्निहित अवस्थाहरूका आधारमा सत्यताको खोजी गर्नुपर्छ र त्यसलाई स्वीकार गर्नुपर्छ। यसको अन्तिम उद्देश्य के हो? त्यो के हो भने, तँ आफ्नो अन्तर्निहित अवस्थाहरूका आधारमा सत्यता सिद्धान्तहरू बुझ्छस्, आफूले सामना गर्ने विभिन्न परिस्थितिहरूको अघि अभ्यास गर्नुपर्ने हरेक सत्यता सिद्धान्त बुझ्छस्, र तँ यी सत्यता सिद्धान्तहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई आचरणमा ढाल्न र कार्य गर्न सक्छस्। यसो गर्दा परमेश्वरका मागहरू पूरा हुन्छन्। किनभने परमेश्वरका वचन र कामको उद्देश्य भनेको मानिसहरूलाई महामानव वा अलौकिक शक्ति भएका मानिसहरूमा रूपान्तरण गर्नुको सट्टा, मानिसहरूमा सत्यताहरू भरिदिनु हो, ताकि ती तिनीहरूको अभ्यासका सिद्धान्त र मापदण्डहरू बनून्, र ती मानिसहरू र कामकुराहरूलाई हेर्ने, र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने आधार बनून्, र ती तिनीहरूको जीवन बनून्। मैले “महामानव” र “अलौकिक शक्ति भएका मानिसहरू” भन्नुको अर्थ के हो? आफ्नो जन्मजात प्रवृत्तिलाई पार गर्न, आफ्नो योग्यताको दायरालाई पार गर्न, आफ्नो क्षमतालाई पार गर्न, र आफ्नो लिङ्गलाई समेत पार गर्न, र आफ्नो लिङ्गभन्दा बाहिर जिउन सक्नु—के यी अलौकिक शक्तिहरू होइनन् र? (हुन्।) उदाहरणका लागि, कतिपय मानिसहरूले विशेष भाषा अध्ययनमा संलग्न नभई अनेकौँ वा दश वटाभन्दा बढी भाषा बोल्न सक्छन्। के यो अलौकिक कुरा हो? (हो।) यो अलौकिकता मानव क्षमता, योग्यता र अन्तर्निहित प्रवृत्तिभन्दा बाहिरको कुरा हो, होइन र? (हो।) यति मात्र होइन, विभिन्न भाषा बोल्दा, तिनीहरूले लचकता साथ फरक-फरक पुरुष र महिलाको आवाज समेत निकाल्न सक्छन्। के यो झनै अलौकिक कुरा होइन र? (हो।) तिनीहरूले जति वटा भाषा बोले पनि, तिनीहरू अलमलिँदैनन्, र तिनीहरूले जति लामो समयसम्म बोले पनि तिनीहरूलाई थकाइ लाग्दैन, र तिनीहरूले अलिकति पानी नपिए पनि, तिनीहरूलाई तिर्खा लाग्दैन। यसका साथै, तिनीहरूले जति बोल्छन्, तिनीहरूको आँखा त्यति नै प्रखर हुन्छ, तिनीहरूको अनुहार त्यति नै धपक्क बल्छ, र तिनीहरूको पूरै शरीर चम्कन्छ। के यो अलौकिक कुरा होइन र? (हो।) बोल्दै गर्दा तिनीहरूलाई गोली लाग्यो भने पनि, तिनीहरू ठीकै हुन्छन् र बोलिरहन्छन्। त्यो त झनै अलौकिक कुरा हो, होइन र? (हो।) जब तिनीहरूले गोली देख्छन्, तब तिनीहरू त्यसलाई छल्ने प्रयास समेत गर्दैनन्, बरु सीधै त्यसको सामना गर्छन्। गोली तिनीहरूको छाती छेडेर जान्छ, तर तिनीहरू दह्रिलो गरी खडा हुन्छन् र डगमगाउँदैनन्। तिनीहरूलाई कुनै पनि हालतमा असर पर्दैन, र तिनीहरूको शिरको एउटा केशमा समेत चोट पुग्दैन। यो त जन्मजात प्रवृत्तिलाई पार गर्नु हो, होइन र? (हो।) यी सबै घटनाहरूले मानवको जन्मजात प्रवृत्तिलाई पार गर्छन्। सबैभन्दा गम्भीर कुरा त के हो भने, तिनीहरू असामान्य व्यक्ति बनेका हुन्छन्, अर्थात्, साधारण मानिसहरूभन्दा फरक, सामान्य मानिसहरूको क्षमता र योग्यताहरूलाई पार गर्ने, र सामान्य मानिसहरूको जन्मजात प्रवृत्तिलाई पनि पार गर्ने व्यक्ति बनेका हुन्छन्। सबै पक्षमा तिनीहरूको प्रकटीकरण साधारण मानिसहरूको भन्दा फरक हुन्छ र ती विशेष रूपमा अलौकिक हुन्छन्। यसको अर्थ समस्या हो। के तिनीहरू अझै पनि सामान्य व्यक्ति हुन्? (होइनन्।) त्यसोभए तिनीहरू के हुन्? (दुष्ट आत्मा।) तिनीहरू दुष्ट आत्मा हुन्। के तिमीहरू यसलाई पछ्याउन चाहन्छौ? (चाहँदैनौँ।) तिमीहरूमध्ये कसैले पनि चाहँदैनौ, त्यसकारण के तिमीहरूलाई परमेश्वरको कामले मानिसहरूलाई त्यो हदसम्म परिवर्तन गर्छ भन्ने लाग्छ? के परमेश्वरको कामको उद्देश्य व्यक्तिहरूलाई असामान्य मानिसहरूमा रूपान्तरण गर्नु हो? (होइन।) यसको उद्देश्य तँलाई सत्यतालाई स्वीकार गर्न र उहाँले तेरा लागि तय गर्नुभएका वातावरणहरूलाई सामान्य मानवताको दायराभित्र अनुभव गर्न लगाउनु हो, ताकि यसबाट तैँले परमेश्वरले आफ्नो काम गर्दा बगाउनुहुने रगत-पसिना, वा तेरा आफ्नै अपर्याप्तता र कमीकमजोरीहरू, वा तेरा आफ्नै भ्रष्ट स्वभावहरू बुझ्न सक्, अनि त्यसपछि, यो बुझाइका आधारमा, सत्यताको खोजी गर्, र त्यसलाई अभ्यास गर्, र क्रमिक रूपमा सत्यतामा प्रवेश गर्—यो प्रक्रिया सुस्त हुन्छ र अलौकिक पटक्कै हुँदैन। जब कतिपय मानिसहरू नकारात्मक भइरहेका हुन्छन्, तब तिनीहरू यसो भन्न मन पराउँछन्: “यतिका वर्ष परमेश्वरमा विश्वास गरेर मैले के पाएँ?” तँ आफूले केही प्राप्त गरेको छैन भनेर भन्छस्, तर तैँले निम्न कुराबारे ध्यान दिएर सोच्नुपर्छ। यतिका वर्ष परमेश्वरमा विश्वास गरेको हुनाले, के अहिले तँसँग धेरै कुराहरूबारे स्पष्ट दृष्टिकोण छ? के तैँले जति लामो समय विश्वास गर्छस्, तँलाई त्यति नै शान्ति र स्थिरता महसुस हुन्छ, र तँलाई यो जीवनको सही मार्ग हो भन्ने त्यति नै लाग्छ र? यदि तँलाई यस्तो लाग्छ भने, यसको अर्थ तैँले साँच्चै नै केही कुरा प्राप्त गरेको छस् भन्ने हुन्छ। तैँले कुनै भौतिक कुराहरू प्राप्त नगरेको भए पनि, तैँले पैसा, हैसियत, ख्याति, लाभ प्राप्त नगरेको भए पनि—तैँले हातले समात्न वा आँखाले देख्न सक्ने कुराहरू नपाएको भए पनि—तैँले हृदयमा केही सत्यता बुझेको छस्। तैँले परमेश्वरको वास्तविक अस्तित्व र यावत् थोकमाथिको उहाँको सार्वभौमिकताका बारेमा केही बुझाइ प्राप्त गरेको छस्। यसका साथै, तैँले मानिसहरूका लागि परमेश्वरका अभिप्रायहरू र उहाँका मागहरू पनि बुझेको छस्, र सृजित प्राणी भनेको के हो र तैँले कुन कर्तव्य पूरा गर्नुपर्छ भन्ने कुरा तँलाई थाहा छ। अनि यदि अहिले, तँलाई कर्तव्य पूरा गर्न दिइएन भने, तँलाई पीडा हुनेछ र तेरो जीवन खोक्रो छ भन्ने महसुस हुनेछ। के यो सबैले तैँले परमेश्वरमा विश्वास गरेर लाभहरू प्राप्त गरिसकेको छस् भन्ने देखाउँदैन र? तैँले प्राप्त गरेको कुरा कुनै पनि भौतिक कुराभन्दा बढी मूल्यवान् छ। परमेश्वरको कामले मानिसहरूमा हासिल गर्ने प्रभावहरू यिनै हुन्। उहाँ मानिसहरूलाई मानवता, मानवको जन्मजात प्रवृत्ति, वा देहका सामान्य आवश्यकता र सामान्य प्रकटीकरणहरूलाई नाघ्ने केही अलौकिक, अनि अवास्तविक परिवर्तनहरूबाट गुज्रन सक्षम बनाउने अभिप्राय राख्नुहुन्न। बरु, उहाँ मानिसहरूलाई सामान्य मानवताको दायराभित्र रहेका सबै किसिमका वातावरणहरू अनुभव गर्न, र यस प्रक्रियामा, क्रमिक रूपमा र बिस्तारै सबै किसिमका बुझाइ र अनुभवहरू प्राप्त गर्न सक्षम बनाउने अभिप्राय राख्नुहुन्छ। छोटकरीमा भन्दा, यो प्रगतिशील र ढिलो प्रक्रियाको क्रममा, मानिसहरूका विचार र धारणाहरू अलिक-अलिक गर्दै परिवर्तन हुन्छन्, मानिसहरू र कामकुराहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण परिवर्तन हुन्छ, सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्ने तिनीहरूको दृष्टिकोण र तरिकाहरू परिवर्तन हुन्छन्, तिनीहरूका केही भ्रष्ट स्वभाव पहिलेको जस्तो स्पष्ट हुँदैनन्, र तिनीहरूको विवेक र समझ केही हदसम्म पुनर्स्थापित हुन्छ। तिनीहरूले ती अवास्तविक, भ्रामक, रित्ता, खोक्रा, वा अलौकिक कुराहरूका सट्टा यी वास्तविक लाभहरू प्राप्त गर्छन्।
परमेश्वरले मानवजातिलाई मुक्ति दिने काम क्रमिक रूपमा गर्नुहुन्छ, र अवश्य नै, अझै अर्को प्राथमिक सिद्धान्त पनि छ, जुन के हो भने, आफ्नो काम गर्दा, परमेश्वरले कामकुराहरूलाई आफ्नै ढङ्गले चल्न दिनुहुन्छ। “कामकुराहरूलाई आफ्नै ढङ्गले चल्न दिनु” भन्ने यो सिद्धान्त बुझ्न मानिसहरूलाई अलिक गाह्रो हुन सक्छ। कामकुराहरूलाई आफ्नै ढङ्गले चल्न दिनु भनेको के हो? यसको अर्थ के हो भने, चाहे परमेश्वरले मानिसहरूमा काम गरिरहनुभएको होस् वा मानिसहरूसँग बोलिरहनुभएको होस्, उहाँले कहिल्यै कसैलाई कामकुरा गर्न जबरजस्ती गर्नुहुन्न। परमेश्वरले अरू मानिसहरूका लागि जस्तै तेरा लागि पनि वातावरणहरू तयार गर्नुहुन्छ, तँलाई पनि सत्यता प्रदान गर्नुहुन्छ। उहाँले तय गर्नुहुने वातावरणहरूलाई तैँले कसरी हेर्नुपर्छ र बुझ्नुपर्छ, र तैँले ती कुरालाई कुन दृष्टिकोण र मनोवृत्तिले लिनुपर्छ भन्ने कुराका हकमा भन्दा, परमेश्वरसँग स्पष्ट वचनहरू छन् र उहाँले तँलाई स्पष्ट सत्यता सिद्धान्तहरू बताउनुभएको छ। तैँले तिनलाई कसरी लिन्छस् भन्ने कुराका हकमा भन्दा, त्यो तेरो आफ्नै स्वतन्त्र छनौट हो। तैँले सत्यतालाई स्वीकार गर्न र आफूलाई चिन्ने कार्य छनौट गर्न सक्छस्, वा तैँले सत्यतालाई इन्कार गर्ने कार्य छनौट गर्न सक्छस्; तैँले परमेश्वरले योजनाबद्ध गर्नुहुने वातावरणहरू अनुसार तेरो प्रकटीकरणलाई स्वीकार गर्ने कुरा छनौट गर्न सक्छस्, वा तैँले परमेश्वरको कामलाई बेवास्ता गर्ने कुरा छनौट गर्न सक्छस्—तँसँग छनौट गर्ने स्वतन्त्रता छ, तँ छनौट गर्न स्वतन्त्र छस्। उदाहरणका लागि, तैँले पूरा गर्नुपर्ने कर्तव्यका हकमा भन्दा, तैँले त्यसलाई आफ्नो सारा हृदय र शक्तिले पूरा गर्ने छनौट गर्न सक्छस्, वा तैँले त्यसलाई झाराटारुवा मनोवृत्तिले पूरा गर्ने छनौट गर्न सक्छस्। यो पूर्ण रूपमा तेरो व्यक्तिगत छनौटमा आधारित हुन्छ, र अवश्य नै, यो तेरो आफ्नै क्षमता, योग्यता, जन्मजात प्रवृत्ति, इत्यादिमा पनि आधारित हुन्छ। परमेश्वरले फाल्टु काम गर्नुहुन्न—अर्थात्, सामान्य परिस्थितिहरूमा, परमेश्वरले उत्प्रेरित गर्ने वा कर गर्ने कुनै अतिरिक्त काम गर्नुहुन्न। यसको अर्थ के हो? यसको अर्थ परमेश्वरले तेरा लागि वातावरणहरू तय गर्नुहुन्छ भन्ने हो—यो त परमेश्वरले तेरा लागि तातो र चिसो खानेकुरा, भात र सूप, फलफूल, पेय पदार्थ, इत्यादि कुराहरूसहितको भोज तयार गर्नुभए जस्तै हो, र तैँले गर्ने छनौटमा परमेश्वरले तँलाई स्वतन्त्रता दिनुहुन्छ—तैँले जेसुकै छनौट गरे पनि, तँसँग त्यसो गर्ने स्वतन्त्रता हुन्छ, र परमेश्वरले हस्तक्षेप गर्नुहुन्न, उहाँमानिसहरूलाई आपूर्ति गर्न सत्यता व्यक्त गर्नमा मात्रै ध्यान दिनुहुन्छ। कतिपय मानिसहरूले भोजको स्वादिष्ट पकवान वास्तवमा कस्तो छ भनेर नचाखी भोजलाई सरसरती हेर्ने मात्र गर्छन्। तिनीहरूले भोजका बारेमा टिप्पणी मात्रै गर्छन्, केही धर्मसिद्धान्तहरू बोल्छन्, र त्यसपछि जान्छन्। अरूले केवल भोज हेर्ने, त्यसको स्वादिष्ट खानालाई बेवास्ता गर्ने, र कुनै मनोवृत्ति वा विचार नराखी जाने छनौट गर्छन्। अरूले व्यक्तिगत रूपमा त्यसको स्वाद चाखेका र त्यसको स्वादिष्ट व्यञ्जन खाएका हुन्छन्, र स्वादिष्ट खानाहरूमध्ये कुनै एउटा कसरी पकाउने भनेर पनि सिकेका हुन्छन्। परमेश्वरले तयार गर्नुभएको वातावरणमा, तेरो मनोवृत्ति जस्तोसुकै भए पनि—तैँले यसलाई स्वागत गर्ने, वा यसलाई इन्कार गर्ने र नकार्ने, वा यसलाई घृणा गर्ने र यसप्रति शत्रुवत् बन्ने, इत्यादि किसिमको भए पनि, परमेश्वरका सन्दर्भमा त यी सबै कुरा मनोवृत्तिहरू नै हुन्। परमेश्वरले मानिसहरूका विभिन्न मनोवृत्तिहरूलाई कसरी लिनुहुन्छ र सम्हाल्नुहुन्छ? मानिसहरूलाई धेरै सत्यता प्रदान गरिसकेपछि, परमेश्वरले तिनीहरूप्रति राख्नुहुने मनोवृत्ति भनेको हेर्नु र अभिलेख राख्नु मात्रै हो। मानिसहरूले के छनौट गर्छन् वा तिनीहरूको मनोवृत्ति के हो भन्ने कुराका हकमा परमेश्वरले हस्तक्षेप गर्नुहुन्न—परमेश्वरसँग यो मामलाको कुनै सम्बन्ध हुँदैन। त्यसोभए, यो मामला के कुरा कुरासँग सम्बन्धित हुन्छ? यो तैँले कुन मार्ग रोज्छस्, तैँले अन्ततः के प्राप्त गर्छस्, र तेरो आफ्नै अन्तिम परिणाम के हो भन्ने कुरासँग सम्बन्धित हुन्छ। यस विषयमा, परमेश्वरले कुनै अतिरिक्त सहजीकरणको काम गर्नुहुन्न, उहाँले आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू मात्रै पूरा गर्नुहुन्छ। उहाँले तँलाई सत्यता प्रदान गरिसक्नुभएपछि र सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्ने सिद्धान्तहरू बताउनुभएपछि, उहाँले तेरा लागि वातावरण पनि तयार गर्न सक्नुहुन्छ। तर, तैँले ठ्याक्कै केकस्तो अन्तिम छनौटगर्छस् वा तैँले कस्तो मार्ग लिन्छस् भन्ने बारेमा परमेश्वरले हस्तक्षेप गर्नुहुन्न—उहाँले तँलाई आफै छनौट गर्न दिनुहुन्छ। उदाहरणका लागि, यदि तँ अगुवा वा कामदारका रूपमा निर्वाचित भइस् भने, तैँले सत्यता सिद्धान्तहरू र परमेश्वरको घरका कामका बन्दोबस्तहरू अनुसार कार्य गर्ने, वा आफ्ना प्राथमिकताहरू अनुसार स्वेच्छाचारी र लापरवाह रूपमा काम गर्ने छनौट गर्न सक्छस्। यदि तैँले सबै कुरा सत्यता सिद्धान्तहरू अनुसार सम्हाल्ने र आफ्नो कर्तव्य कामका बन्दोबस्तहरू अनुसार पूरा गर्ने छनौट गरिस् भने, परमेश्वरले यो अवलोकन गर्नुहुनेछ र यसको अभिलेख राख्नुहुनेछ, र अन्तमा तैँले सत्यता प्राप्त गरेको हुनेछस् र तँ परमेश्वरमा समर्पित भएको हुनेछस्—यो एउटा परिणाम हो। यदि तैँले आफ्नै इच्छा अनुसार काम गर्छस्, र परमेश्वरको घरको कामका बन्दोबस्तहरू र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्दै स्वेच्छाचारी र लापरवाह ढङ्गले काम गर्छस् भने, यो पनि एउटा छनौट हो र यसले तैँले लिइरहेको मार्गलाई प्रतिनिधित्व गर्छ, र त्यसैगरी परमेश्वरले त्यो अवलोकन गर्नुहुनेछ र यसको अभिलेख राख्नुहुनेछ, र अवश्य नै तेरो परिणाम के हुनेछ भन्ने कुरा भनिरिरहनु पर्दैन। यदि तैँले सत्यता र जीवन प्राप्त गरेको छस् भने, यसले तँलाई परमेश्वरको अनुमोदन प्राप्त गर्न र तेरा लागि राम्रो गन्तव्य सुरक्षित गर्न पनि तँलाई सहयोग गर्नेछ।
मानिसहरू परमेश्वरको काममा उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरू समावेश हुन्छन् भन्ने विश्वास गर्छन्। त्यसोभए मानिसहरूका धारणा र कल्पनाहरूमा परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू के-के हुन्? ती एक प्रकारका छलछाम हुन्, अर्थात्, परमेश्वरले गुप्त रूपमा मानिसहरूलाई ठूलो जालमा ढाकिरहनुभएको हुन्छ, तिनीहरूका सबै व्यवहार र तिनीहरू रहेका वातावरणहरूलाई छलछाम गरिरहनुभएको हुन्छ, र तिनीहरूले गर्ने सबै कुराको निगरानी गरिरहनुभएको हुन्छ। यी मानिसहरूमा हुने धारणा र कल्पनाहरू हुन्, होइनन् र? (हुन्।) परिणाम स्वरूप, मानिसहरू हृदयमा परमेश्वरप्रति सतर्क हुन र उहाँदेखि डराउन थाल्छन्, र यो परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूबारेका तिनीहरूका धारणा र कल्पनाहरूले गर्दा पैदा भएको हुन्छ। यसरी तिनीहरू त्रसित र सतर्क हुनु परमेश्वरप्रतिको साँचो समर्पणता र डर होइन, बरु विद्रोहीपन र प्रतिरोधको एउटा रूप हो। मानिसहरूले परमेश्वर सर्वशक्तिमान् र सर्वव्यापी हुनुहुन्छ, र तिनीहरूले जे गरे पनि, “जब मानिसले काम गर्छ, तब स्वर्गले हेरिरहेको हुन्छ” भन्ने कुरा लागू हुन्छ भन्ने सोच्छन्। तिनीहरू परमेश्वरले तिनीहरूको हृदय, हात-खुट्टा बाँधेर राख्ने, तिनीहरूलाई छनौट गर्ने स्वतन्त्रता नदिने, र तिनीहरूलाई सत्यता अभ्यास गर्न, आफ्नो विचार र दृष्टिकोण परिवर्तन गर्न, र परमेश्वरको इच्छा अनुसार काम गर्न जबरजस्ती गर्ने उद्देश्यले निरन्तर तिनीहरूको निगरानी र अनुगमन गरिरहनुभएको हुन्छ भन्ने सोच्छन्। यी सबै मानव धारणाहरू हुन्। कडाइका साथ भन्दा, यो परमेश्वरविरुद्धको एक प्रकारको ईश्वरनिन्दा हो। वास्तवमा, परमेश्वरले कहिल्यै मानिसहरूलाई जबरजस्ती गर्ने, बाँध्ने, वा छलछाम गर्न अभिप्राय राख्नुभएको छैन। परमेश्वरले कहिल्यै मानिसहरूलाई बन्धनमा पार्नुहुन्न वा कर गर्नुहुन्न, र उहाँले मानिसहरूलाई जबरजस्ती गर्नु त परको कुरा हो। परमेश्वरले मानिसहरूलाई प्रशस्त स्वतन्त्रता दिनुहुन्छ—उहाँले मानिसहरूलाई तिनीहरूले हिँड्नुपर्ने मार्ग छनौट गर्न दिनुहुन्छ। तँ परमेश्वरको घरमा भए पनि, र तँलाई परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको र चुन्नुभएको भए पनि, तँ स्वतन्त्र नै छस्। तैँले परमेश्वरका विभिन्न माग र बन्दोबस्तहरूलाई इन्कार गर्ने छनौट गर्न सक्छस्, वा तैँले तिनलाई स्वीकार गर्ने छनौट गर्न सक्छस्; परमेश्वरले तँलाई स्वतन्त्र रूपमा छनौट गर्ने मौका दिनुहुन्छ। तर तैँले जे छनौट गरे पनि, वा तैँले जसरी व्यवहार गरे पनि, वा तैँले सामना गरेको मामलालाई सम्हाल्ने तेरो दृष्टिकोण जे भए पनि, वा तैँले त्यसलाई समाधान गर्न अन्तिममा जे-जस्ता माध्यम र विधिहरू प्रयोग गरे पनि, तैँले आफ्ना कार्यहरूका लागि जिम्मेवारी लिनैपर्छ। तेरो अन्तिम परिणाम तेरो व्यक्तिगत मूल्याङ्कन र परिभाषाहरूमा आधारित हुँदैन, बरु परमेश्वरले तेरो अभिलेख राखिरहनुभएको हुन्छ। परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएपछि, र मानिसहरूले यति धेरै सत्यता सुनेपछि, परमेश्वरले आफूले भन्नुभएको कुरा, उहाँले माग गर्नुहुने कुरा, र मानिसहरूका लागि उहाँले बनाउनुभएका सिद्धान्तहरूका आधारमा हरेक व्यक्तिका सही र गलत कुराहरूलाई कडाइका साथ मापन गर्नुहुनेछ र हरेक व्यक्तिको अन्तिम परिणाम निर्धारित गर्नुहुनेछ। यस मामलामा, परमेश्वरको छानबिन, र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू परमेश्वरले मानिसहरूलाई छलछाम गर्नु, वा बन्धनमा पार्नु होइन—तँ स्वतन्त्र छस्। तँ परमेश्वरका विरुद्धमा सतर्क हुनु पर्दैन, न त तैँले डर वा असहज महसुस नै गर्नुपर्छ। तँ सुरुदेखि अन्त्यसम्मै स्वतन्त्र व्यक्ति होस्। परमेश्वरले तँलाई स्वतन्त्र वातावरण, स्वतन्त्र छनौट गर्ने इच्छा, र स्वतन्त्र रूपमा छनौट गर्ने ठाउँ दिनुहुन्छ, जसले गर्दा तैँले आफै छनौट गर्न सक्छस्, र तैँले जुनसुकै परिणाम प्राप्त गरे पनि त्यो तैँले लिने मार्गद्वारा नै पूर्ण रूपमा निर्धारित हुन्छ। यो उचित कुरा हो, होइन र? (हो।) यदि, अन्तिममा, तैँले मुक्ति पाइस्, र तँ परमेश्वरमा समर्पित हुने र परमेश्वरसँग मिल्ने व्यक्ति होस्, र तँ परमेश्वरले स्वीकार गर्नुहुने व्यक्ति होस् भने, तैँले आफ्ना सही छनौटहरूका कारण प्राप्त गर्ने कुरा यही नै हो; यदि, अन्तिममा, तैँले मुक्ति पाउँदैनस्, र तँ परमेश्वरसँग मिल्ने हुन सक्दैनस्, र तँलाई परमेश्वरले प्राप्त गर्नुहुन्न, र तँ परमेश्वरले स्वीकार गर्नुहुने व्यक्ति होइनस् भने, त्यो पनि तेरो आफ्नै छनौटमा निर्भर हुन्छ। त्यसकारण, आफ्नो काममा, परमेश्वरले मानिसहरूलाई छनौट गर्ने धेरै ठाउँ दिनुहुन्छ, र उहाँले मानिसहरूलाई पूर्ण स्वतन्त्रता पनि दिनुहुन्छ। किनभने परमेश्वरले मानिसहरूको परिणाम र गन्तव्य लगायत सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गर्न सत्यता प्रयोग गर्नुहुन्छ। त्यसैगरी, मानिसहरूको परिणाम र गन्तव्य पनि सत्यताको प्रयोगद्वारा निर्धारित हुन्छन्—परमेश्वरको कामको सिद्धान्त यही हो, जुन कहिल्यै परिवर्तन हुँदैन। तैँले परमेश्वरको डर मान्ने, उहाँका विरुद्धमा सतर्क हुने, र डरपोक र दासवत् भएर बाटोको अन्त्यसम्म हिँड्ने गरेकै भरमा उहाँले तँलाई स्वीकार गर्नुहुनेछैन, अनुग्रह देखाउनुहुनेछैन, र मुक्ति पाउन दिनुहुनेछैन; न त परमेश्वरले तैँले गरेको कुनै पनि योगदानका कारण नै तँलाई मुक्ति पाउन दिनुहुनेछ। अर्को शब्दमा भन्दा, कुनै व्यक्तिले आफू हकदार नभएको नतिजा वा राम्रो गन्तव्य प्राप्त गर्ने कुरामा कुनै अपवाद हुनेछैन—हरेक व्यक्तिले प्राप्त गर्ने जुनसुकै परिणामलाई उसले लिने मार्गले निर्धारित गरेको हुन्छ। म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। मानौँ परमेश्वरले तेरा लागि वातावरण तयार गर्नुभएको छ, र यस वातावरणमा, तैँले गर्नुपर्ने कुरा भनेको आफ्ना अपराधहरूका बारेमा चिन्तन गर्नु र तिनलाई चिन्नु, र आफ्नो भ्रष्ट स्वभाव, भ्रामक विचार र दृष्टिकोण, कमीकमजोरी र अपर्याप्तताहरू, वा परमेश्वरबारेका तेरा केही गलत बुझाइ र गुनासाहरू चिन्नु हो। तैँले आफूलाई रक्षा गर्न बहानाहरू बनाउन र कमजोर तर्कहरू प्रस्तुत गर्न छोड्नुपर्छ र यसको सट्टा समर्पित हुन, आफ्नो वर्तमान परिस्थितिलाई परिवर्तन गर्न सम्बन्धित सत्यताहरूको खोजी गर्न, र आफूभित्र सत्यतालाई स्वीकार गर्न र त्यसपछि सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्नुपर्छ। त्यसो गरेर तैँले चाहेको प्रभाव हासिल गर्नेछस्। जब फेरि तँमाथि यस्तै कुराहरू आइपर्छन्, तब तैँले स्वाभाविक रूपमै सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नेछस्, र तँलाई सहयोग गर्न परमेश्वरले विशेष वातावरणहरू तयार गरिरहनु पर्दैन। यो मानिसहरूले हासिल गर्न सक्ने कुरा हो, र तिनीहरूले यो हासिल गर्न सके भने, परमेश्वरले कुनै अनावश्यक काम गर्नुहुनेछैन। तर सत्यता नपछ्याउनेहरूका हकमा परमेश्वरको मनोवृत्ति फरक हुन्छ। कतिपय मानिसहरूले कामकुराहरू आइपर्दा सत्यताको खोजी गर्दैनन् वा आत्मचिन्तन गर्दैनन्, बरु तिनीहरू नकारात्मक र गनगने भएर परमेश्वर र अरू मानिसहरूका बारेमा गुनासो गरिरहन्छन्। तिनीहरूले परमेश्वरका बारेमा धारणाहरू विकास गर्ने मात्र नभई उहाँको आलोचना पनि गर्छन्। यदि कसैले तिनीहरूलाई काट-छाँट र खुलासा गर्यो भने, तिनीहरूले आफूलाई सही साबित गर्ने बहानाहरू खोज्छन्, र तिनीहरू आफ्नो काममा निष्क्रिय र सुस्त पनि हुन सक्छन्, वा कामकुराहरूलाई कमजोर समेत बनाउन सक्छन्। त्यस्ता मानिसहरू छुटकारा पाउन नसक्ने, र परमेश्वरले तिरस्कार गर्नुहुने मानिसहरू हुन्। यदि तँसँग परमेश्वरमा विश्वास गर्ने क्रममा सत्यतामा केही चासो छ, र तँ प्रवचनहरू सुन्न र सत्यताप्रति लागिपर्न तयार छस्, र तँसँग अलिक सकारात्मक मनोवृत्ति छ भने, परमेश्वरले तेरो हृदयलाई छानबिन गर्नुहुनेछ, र तैँले सत्यताको खोजी गर्दा तँलाई अलिक उत्प्रेरित गर्नुहुनेछ, त्यसपछि तैँले सत्यताको अभ्यास गर्न सक्छस् कि सक्दैनस् भनेर उहाँले छानबिन गर्नुहुनेछ। तर यदि तैँले नकारात्मक बन्ने र आफ्नो काममा सुस्त हुने, बहानाहरू बनाउने र आफूलाई सही साबित गर्ने, र सबै ठाउँमा सानो कुरालाई ठूलो बनाउने छनौट गर्ने गर्छस्, र आफूलाई चिन्ने वा पश्चात्ताप गर्ने छनौट गर्दैनस् भने, परमेश्वरले के गर्नुहुनेछ र उहाँले तँलाई कसरी निराकरण गर्नुहुनेछ? परमेश्वरले के-कस्ता परिवर्तनहरू देखा पर्छन् भनेर चुपचाप अवलोकन गर्नुहुनेछ। परमेश्वरले तँलाई उत्प्रेरित गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँका वचनहरू पढ्न र सत्यताको खोजी गर्न मनाउनु नै हुनेछ। परमेश्वर संलग्न हुनुहुनेछैन वा उहाँले हस्तक्षेप गर्नुहुनेछैन—उहाँले तँलाई आफ्नो हृदय सन्तुष्ट हुने गरी तमासा देखाउन दिनुहुनेछ। जब तेरो विवेक बिउँझन्छ र तैँले “मैले यसो गर्नु हुँदैनथियो” भन्ने सोच्छस्, वा तैँले कहिलेकाहीँ तेरो वर्तमान परिस्थितिसँग मिल्ने अनुभवात्मक गवाही सुन्छस् र त्यो व्यक्तिले कसरी व्यवहार गर्यो भनेर पत्ता लगाउँछस्, त्यसपछि अचानक तैँले गरेको काम अनुचित, तर्कहीन, र अभद्र थियो भन्ने महसुस गर्छस्, र तेरो हृदयमा अलिकति पीडा हुन्छ, तब त्यहाँदेखि तँ नकारात्मक वा कमजोर हुनेछैनस्, र तँलाई आफूलाई सही साबित गर्नका लागि मुख खोल्न लाज लाग्नेछ, र कामकुराहरूलाई बाधा दिने र कमजोर बनाउने तेरा विचार वा कार्यहरू झन्-झन् कम हुनेछन्, र ती झन्-झन् कम गम्भीर हुनेछन्। यो कुरा अन्तिममा जुन हदसम्म विकसित भए पनि, जेसुकै भए पनि, यो सबै तेरो आफ्नै व्यवहार हो। परमेश्वरले अन्ततः तँलाई मूल्याङ्कन गर्ने प्रमाण खोज्ने उद्देश्यले गुप्त रूपमा र चुपचाप हेरिरहनुभएको हुन्छ। यो त निनवे सहर नष्ट गरिन लागेको बेला जस्तै हो, जुन बेला परमेश्वरले निनवेवासीहरूलाई सन्देश दिनका लागि मात्रै योनालाई पठाउनुभयो। परमेश्वरले तिनीहरूलाई आफ्नो पाप स्वीकार गर्न, पश्चात्ताप गर्न, वा आफ्ना समस्याहरू बुझ्न उत्प्रेरित गर्नुभएन—उहाँले यी कुराहरू गर्नुभएन। परमेश्वरले योनालाई सन्देश दिन मात्रै पठाउनुभयो, अनि साथसाथै यो सूचना सुनेपछि तिनीहरूले कस्तो प्रतिक्रिया दिए र कार्यहरू गरे, र माथिदेखि तलसम्मका सबै मानिसहरूको योजना के थियो, र परमेश्वरबाट आएको यो सूचनाप्रति तिनीहरूको मनोवृत्ति के थियो भनेर हेर्न गुप्त रूपमा अवलोकन गर्नुभयो। उहाँले गुप्त रूपमा अवलोकन मात्रै गर्नुभयो। “अवलोकन” को अर्थ के हो? यसको अर्थ परमेश्वरले दर्शकझैँ परिस्थितिहरू कसरी विकसित हुन्छन् भन्ने कुराको प्रक्रियालाई र परिस्थितिहरू परिवर्तन हुने दिशालाई नियाल्नुहुन्छ, र उहाँले कुनै पनि हालतमा हस्तक्षेप गर्नुहुन्न भन्ने हो। परमेश्वरले योनालाई ती केही वाक्यहरू बताउन लगाउने बाहेक कुनै थप काम गर्नुभएन, न त उहाँले मानिसहरूलाई अर्ती दिने कुनै काम नै गर्नुभयो, अनि यति मात्र होइन, बताउनका लागि थप कुनै शब्दहरू थिएनन्, योनाको मुखबाट आएका ती केही वाक्यहरू मात्रै थिए। अवश्य नै, आजका मानिसहरूमाथि परमेश्वरको कामका सिद्धान्तहरू अपरिवर्तित नै छन्—उहाँ अझै पनि यसरी नै काम गर्नुहुन्छ, र मानवजातिप्रतिको परमेश्वरको मनोवृत्ति सुरुदेखि अन्त्यसम्मै यही हो। उहाँले कसैलाई परिवर्तन गर्न चाहनुभए पनि वा व्यक्तिमा कुनै कुरा हासिल गर्न चाहनुभए पनि, आफ्नो कामप्रतिको परमेश्वरका मनोवृत्ति, सिद्धान्त, र विधिहरू परिवर्तन हुँदैनन्। किन? परमेश्वरले मेसिन वा कठपुतलीहरू नभई जीवित मानिसहरू, स्वतन्त्र इच्छा भएका सृजित मानवहरूलाई सृष्टि गर्नुभएको हो। जब परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ वा कुनै कुरा हासिल गर्न चाहनुहुन्छ, तब उहाँले प्रायजसो सुरुमा तिनीहरूलाई उहाँका अभिप्रायहरू बुझ्न लगाउने प्रयास गर्न सहयोग गर्ने वातावरण तयार गर्नुहुन्छ, र कहिलेकाहीँ उहाँले मानिसहरूलाई उहाँका अभिप्राय र मागहरू के-के हुन् भनेर सीधै भन्नुहुन्छ; बाँकी कुरा मानिसहरूले आफ्नो स्वतन्त्र इच्छा र आफूसँग भएका विभिन्न अवस्थाहरूका आधारमा गर्ने निर्णयहरूमा निर्भर हुन्छ। निनवेवासीहरूप्रति परमेश्वरको मनोवृत्ति यही थियो, र उहाँले अहिले मुक्ति दिन चाहनुहुने मानिसहरूप्रति उहाँको मनोवृत्ति अपरिवर्तित नै छ। परमेश्वरको कामका सिद्धान्तहरू परिवर्तन भएका छैनन्; परमेश्वर सधैँ यसरी नै काम गर्नुहुन्छ, र उहाँले सृष्टि गर्नुभएका मानवहरूमा गर्नुहुने कामका सिद्धान्तहरू सधैँ यस्तै हुन्छन्। योनाले निनवेका मानिसहरूलाई सूचना दिएपछि, ऊ शान्त हुने ठाउँ खोज्न गयो र परमेश्वरको सन्देश सहरको माथिबाट तलसम्म फैलाएपछि निनवेवासीहरूका बीचमा कस्तो आघात र गतिविधि पैदा हुन्छ भनेर हेर्नका लागि सहरका मानिसहरूलाई छेउबाट नियालेर हेरिरह्यो, र परमेश्वरले निनवेलाई नष्ट गर्न लाग्नुभएको छ भन्ने खबर सबैले सुनिसकेका थिए—उसले अवलोकन मात्रै गर्यो। अवश्य नै, यो अवलोकनका लागि समय लाग्यो, र यस प्रक्रियाका अवधिमा, परमेश्वरले यी सबै कुराहरूमा आएका परिवर्तनहरूलाई हेरिरहनुभएको थियो। यदि परिस्थितिहरू राम्रो दिशामा अघि बढे भने, अवश्य नै परमेश्वर प्रसन्न हुनुहुनेथियो; यदि परिस्थितिहरू खराब दिशामा अघि बढे भने, उहाँले शोक मनाउनुहुनेथियो, तर त्यो परिस्थितिमा निर्भर हुनेथियो। परमेश्वरले नै मानिसहरूलाई सृष्टि गर्नुभएको हुनाले परमेश्वरले शोक मनाउनुहुनेथियो, र मानिसहरूले विनाशको सामना गर्दा, वा कुनै ज्यान गुम्न लाग्दा परमेश्वरले शोक मनाउनुहुन्छ। तर, भ्रष्ट मानिसहरू यति भावशून्य र मन्द बुद्धिको भएको, र यति विद्रोही भएको देख्दा, परमेश्वरले शोक मनाउनुहुन्न। परमेश्वरले आफ्नो मूल योजना अनुसार, उहाँले काम गर्ने तरिकाहरू अनुसार, र उहाँले सृजित प्राणीहरूलाई निराकरण गर्ने तरिका र सिद्धान्तहरू अनुसार आफूले गर्नुपर्ने कामकुरा गर्नुहुनेछ। यहाँ कुनै मानव अनुभूति वा भावनाहरू हुँदैनन्, सृष्टिकर्ताका कामकुरा गर्ने सिद्धान्त र मापदण्डहरू मात्रै हुन्छन्। त्यसकारण यस सन्दर्भमा, मानिसहरूले परमेश्वरका सोच र विचारहरूका बारेमा अडकल र अनुमानहरू गर्नका लागि सृजित मानवहरूको सङ्कुचित मानसिकता प्रयोग गर्नुको सट्टा, आफ्नै धारणाहरूलाई त्याग्नुपर्छ र मानिसहरूलाई व्यवहार गर्ने परमेश्वरका मनोवृत्ति र विधिहरू सटीक रूपमा बुझ्नुपर्छ। परमेश्वरले तँमा काम गर्नुहुन्छ, तेरा लागि वातावरण तयार गर्नुहुन्छ, र तँलाई तालिम दिन र अभ्यास गर्न सक्षम बनाउनका लागि मानिस, घटना, र कामकुराहरू मिलाउनुहुन्छ, र उहाँले तँमा सत्यता घुसाउन चाहनुहुन्छ—यसरी कामकुराहरू गर्नुको परमेश्वरको मूल अभिप्राय के हो? यो जीवनलाई आदर र कदर गर्ने सिद्धान्तमा आधारित छ। यो सृजित मानवप्रति हुने सृष्टिकर्ताको भावना होइन—परमेश्वरसँग कुनै भावनाहरू हुँदैनन्। यो मूल अभिप्रायको सिद्धान्तले मानवको देहगत सम्बन्धका भावनाहरूलाई पार गर्छ, र अवश्य नै, यो कुनै प्रकारको स्नेह पनि होइन—यो जीवनलाई कदर र आदर गर्ने सिद्धान्तबाट पैदा हुन्छ। कतिपय मानिसहरू भन्छन्: “के यो परमेश्वरको मनको आयाम हो? के यो उहाँको उच्च स्तरको सत्व हो?” के तिमीहरूलाई त्यस्तो लाग्छ? (लाग्दैन।) तैँले मानिसहरूलाई वर्णन गर्न “स्तरको सत्व” र “मनको आयाम” भन्ने शब्दहरू प्रयोग गर्न सक्छस्, तर तिनलाई परमेश्वरमा लागू नगर्। यो न त मनको आयाम हो न त यो स्तरको सत्व नै हो। एक हिसाबमा, यसलाई सृष्टिकर्ताको प्रेमिलो स्वभाव भनेर भन्न सकिन्छ, र अर्को हिसाबमा, यो परमेश्वरको पहिचान र सारको प्रकटीकरण हो भनेर पनि भन्न सकिन्छ। परमेश्वरले कुनै पनि सृजित प्राणीको जीवनलाई कदर र सम्मान गर्नुहुन्छ, तर यो कदर र सम्मानका आधारमा, परमेश्वरले आफ्ना सिद्धान्तहरूमा सम्झौता गर्नुहुन्न, र यी सिद्धान्तहरू भावना वा देहका होइनन्। ती केका हुन्? ती सत्यताका सिद्धान्तहरू हुन्, जुन परमेश्वरको स्वामित्वमा मात्रै हुन्छ। यसबारेमा विचार गर त, यदि मानिसहरूका छोराछोरी छन् भने, तिनीहरूले उनीहरूलाई हदभन्दा बढी माया गर्छन् र उनीहरूप्रति गहन भावनाहरू बोक्छन्। तिनीहरूले आफ्ना छोराछोरीलाई दुई हातमा हल्लाउँदै दिनभरि उनीहरूसँग बस्न सकूँ भन्ने समेत चाहन्छन्। परमेश्वरसँग मानिसहरूप्रति त्यस्तो कुनै भावना वा स्नेह हुँदैन। मानिसहरूको रगतको नाताका कारण, तिनीहरूले आफ्ना छोराछोरीप्रति त्यस्ता भावनाहरू विकास गर्छन्, र त्यस्ता भावनाहरूले मानिसहरूलाई आफ्नो समझ र सिद्धान्तहरू गुमाउने तुल्याउँछन्। ती सामान्य मानवताका प्राकृतिक वा सामान्य प्रकटीकरणहरू होइनन्, न त ती प्रेमको प्रकटीकरण नै हुन्। ती पूर्ण रूपमा भावना र गरममिजासीपन हुन्—ती रगतको नाताबाट पैदा हुने भावनाहरू हुन्। भावनाहरू सत्यता होइनन्, र ती सामान्य मानवतामा हुनुपर्ने कुराहरू होइनन्; ती नकारात्मक कुराहरू हुन्। परमेश्वरले मानवजातिलाई पुलपुल्याउनुहुन्न वा मत्ताउनुहुन्न। मानवजातिप्रतिको परमेश्वरको मनोवृत्ति के हो? परमेश्वरले तँलाई छनौट गर्नुभयो, र उहाँ तेरा लागि जिम्मेवार हुनुहुन्छ, र सृजित मानवको जीवनलाई कदर गर्ने र जीवनलाई सम्मान गर्ने सिद्धान्तका आधारमा तँलाई सत्यता र जीवन आपूर्ति गर्न काम गर्नुहुन्छ र मूल्य चुकाउनुहुन्छ, र वचनहरू बोल्नुहुन्छ। तर परमेश्वरले मानिसहरूले कल्पना गर्ने गरे जस्तो तरिकाले काम गर्नुहुन्न, अर्थात् तँलाई दह्रिलो गरी पक्रेर, वा अझै बोलचालको भाषामा भन्दा, तँलाई झकझकाएर काम गर्नुहुन्न। त्यस्तो हुँदैन। परमेश्वरले मानिसहरूलाई झकझकाउनुहुन्न; उहाँले मानिसहरूलाई कहिल्यै कुनै कुरा गर्न जबरजस्ती गर्नुहुन्न। परमेश्वरमाथिको आफ्नो विश्वासमा आशिष्हरू प्राप्त गर्नका लागि, मानिसहरूले सधैँ परमेश्वरलाई जबरजस्ती गर्न चाहन्छन्, र सधैँ परमेश्वरलाई आशिष्हरू दिन बाध्य पार्न चाहन्छन्, उहाँले तिनीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्न दिनुहोस् भनी परमेश्वरसँग टाँसिन र उहाँलाई जबरजस्ती गर्न पनि चाहन्छन्। के कुरा यही होइन र? (हो।) परमेश्वरले तँलाई जबरजस्ती गर्नुहुन्न। “जबरजस्ती गर्नु” भन्ने बोलचालका शब्द प्रयोग गर्नु राम्रो त होइन, तर यो अलिक स्पष्ट छ र मानिसहरूलाई बुझ्न सजिलो छ। परमेश्वरले तँलाई दह्रो गरी पक्रेर राखिरहनुभएको छैन—तँ स्वतन्त्र छस्। यदि परमेश्वरले तेरो जीवनलाई आदर गर्नुहुने, कदर गर्नुहुने, र बहुमूल्य ठान्नुहुने हुनाले तैँले परमेश्वरले तँमा गर्नुहुने यो सबै कामलाई कदर गर्छस् भने, उहाँले तेरा लागि कुनै पनि वातावरण योजनाबद्ध गर्नुहुँदा र प्रबन्ध गर्नुहुँदा तँ उहाँदेखि सतर्क हुने, उहाँबारे गलतफहमीहरू बोक्ने, उहाँप्रति प्रतिरोधी महसुस गर्ने, वा उहाँलाई इन्कार गर्ने छनौट गर्नु हुँदैन। बरु, तैँले सृजित प्राणीले गर्नुपर्ने कुरा गर्नुपर्छ र सृष्टिकर्ताप्रति सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति—समर्पण र स्वीकार देखाउनुपर्छ। यस्तै होइन र? (हो।) अहिले यो पक्षमा स्पष्ट रूपमा सङ्गति गरिएको छ।
मानिसहरूले परमेश्वरको कामलाई लिने तरिकाले तिनीहरूको एउटा धारणा र कल्पनालाई खुलासा गरिसकेको छ। यो धारणा र कल्पना के हो? मानिसहरूले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई उहाँले तिनीहरूलाई छलछाम र नियन्त्रण गर्नुहुने कार्यका रूपमा अर्थ्याउँछन्। के परमेश्वरले यसरी नै काम गर्नुहुन्छ? (गर्नुहुन्न।) मानिसहरूको हृदयको गहिराइमा, तिनीहरूलाई स्पष्ट रूपमा परमेश्वरको डर लाग्छ। परमेश्वरको बारेमा उल्लेख गर्दा मात्रै पनि, तिनीहरूलाई उहाँ डरलाग्दो हुनुहुन्छ र प्यारो हुनुहुन्न भन्ने लाग्छ। तिनीहरू यदि तैँले परमेश्वरका वचनहरू सुन्दैनस् र तँ उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुँदैनस् भने, तैँले उहाँका वचनहरू सुनेर उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित नभएसम्म उहाँ तँसँग रिसाउनुहुनेछ, र उहाँले तँलाई पूर्ण नबनाएसम्म उहाँले हार मान्नुहुनेछैन भन्ने विश्वास गर्छन्। के यो मानिसहरूमा हुने धारणा होइन र? मानिसहरूले परमेश्वरलाई के भनी कल्पना गर्छन्? के तिनीहरूले उहाँलाई तानाशाहका रूपमा कल्पना गर्दैनन् र? तिनीहरू के सोच्छन् भने, तैँले उहाँको शासन स्वीकार गर्नैपर्छ, उहाँका नीतिहरू स्वीकार गर्नैपर्छ, र उहाँलाई आदर गर्नैपर्छ र उहाँले तँलाई जे गर्न लगाउनुहुन्छ त्यही गर्नैपर्छ, र तैँले उहाँको पिठ्युँ पछाडि उहाँका बारेमा कुरा गर्नु हुँदैन, र उहाँले तेरा लागि तयार गर्नुहुने वातावरणहरू स्वीकार गर्नैपर्छ, र स्वीकार गरिनस् भने, तँलाई दण्डित गरिनेछ र तैँले दण्ड भोग्नेछस्। के परमेश्वरले साँच्चै नै यसरी काम गर्नुहुन्छ त? (गर्नुहुन्न।) परमेश्वरले तँलाई आदर गर्नुहुन्छ र तेरा लागि जिम्मेवारी लिनुहुन्छ। परमेश्वरले सृजित मानवहरूको जीवनलाई कदर गर्नुहुन्छ। मानिसहरू आफ्ना लागि के राम्रो हो भनेर पहिचान गर्नमा असफल हुनु हुँदैन, वा उहाँको दयाप्रति अकृतज्ञ हुनु हुँदैन। यदि तैँले परमेश्वरको दयालाई कदर गर्छस् भने, तैँले उहाँले तयार गर्नुहुने वातावरणहरू स्वीकार गर्नुपर्छ र तिनलाई उहाँबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ। तैँले त्यसमा रहेका सत्यताहरू स्वीकार नगरे पनि, त्यसमा रहेका सत्यता सिद्धान्तहरू नबुझे पनि, र तैँले के अभ्यास गर्नुपर्छ वा के परिवर्तन गर्नुपर्छ भन्ने नबुझे पनि, कम्तीमा पनि तँ परमेश्वरदेखि सतर्क हुनु वा उहाँलाई गलत रूपमा बुझ्नु हुँदैन—तैँले हासिल गर्नुपर्ने कुरा यही हो। तैँले यी वातावरणहरूबाट केही प्राप्त नगरे पनि, परमेश्वरका चाहनाहरूको गलत अर्थ नलगा। परमेश्वरले तँबाट केही कुरा प्राप्त गर्ने प्रयास गरिरहनुभएको छैन। तँ सानो सृजित प्राणी मात्रै होस्, त्यसकारण परमेश्वरले तँबाट के नै प्राप्त गर्न खोज्नुहुन्छ र? तेरो जीवन र आज तैँले आनन्द लिने सबै कुरा परमेश्वरले तँलाई दिनुभएको हो, अनि तैँले बुझेको थोरै धर्मसिद्धान्त पनि तँलाई परमेश्वरले नै दिनुभएको हो। तेरो स्वतन्त्र इच्छा, तेरो क्षमता, तेरा वरदानहरू, र तेरा ठूला-साना दुवै योग्यता र सीपहरू सबै परमेश्वरले नै तँलाई दिनुभएको हो। परमेश्वरले तँबाट प्राप्त गर्न खोज्नुपर्ने के कुरा छ र? यदि उहाँले तँमा सत्यता घुसाएर तँलाई उहाँमा समर्पित हुन र उहाँको डर मान्न लगाउनुभएपछि परमेश्वरले महिमा प्राप्त गर्नुहुन्छ, र तँलाई परमेश्वरले तँबाट यही कुरा प्राप्त गर्न खोजिरहनुभएको छ भन्ने लाग्छ भने, के तैँले उहाँलाई आफ्नै नीच मापदण्डहरू अनुसार आलोचना गरिरहेको हुँदैनस् र? यो परमेश्वरका विरुद्धमा गरिएको ईश्वरनिन्दा हो, होइन र? (हो।) परमेश्वरले मानिसहरूबाट के महिमा प्राप्त गर्न सक्नुहुन्छ? अन्त्यमा, ठोस फाइदाहरू प्राप्त गर्नेहरू त मानिसहरू आफै हुन्छन्। उहाँले आफ्नो काम पूरा गर्नुभन्दा पहिले नै महिमा प्राप्त गरिसक्नुभएको हुन्छ, किनभने परमेश्वर स्वयम् नै महिमित हुनुहुन्छ—उहाँको सत्यता र अख्तियार शैतानको हारको प्रमाण हो, र ती सबै नै सकारात्मक कुराहरूको वास्तविकता हुन्। परमेश्वर स्वयम् नै महिमित हुनुहुन्छ, त्यसोभए के उहाँले अझै पनि तँजस्तो सानो सृजित प्राणीबाट थोरै महिमा प्राप्त गर्नु आवश्यक छ र? परमेश्वरले मानिसहरूबाट केही कुरा प्राप्त गर्न खोज्नुहुन्न। यदि उहाँले कुनै कुरा प्राप्त गर्न खोज्नुहुन्छ भने, यो मानिसहरूलाई अन्ततः उहाँको व्यवस्थापन योजनाअनुसार उहाँका मापदण्डहरू पूरा गर्न सक्षम बनाउनु हो, र मानिसहरूले मुक्ति प्राप्त गरेपछि र तिनीहरू परमेश्वरसँग मिल्ने बन्न सकेपछि, उहाँले विश्राम लिनुहुनेछ—मानवजातिको मुक्तिका कारण, परमेश्वरले त्यसको बदलामा विश्राम लिन पाउनुहुनेछ—परमेश्वरले प्राप्त गर्न खोज्नुहुने कुरा यही हो। त्यसोभए, के अन्तमा ठोस फाइदाहरू प्राप्त गर्ने मानिसहरू नै होइनन् र? मानिसहरूले सत्यता प्राप्त गरेका हुनेछन्, तिनीहरूलाई त्यस उप्रान्त जीवनमा हराएको महसुस हुनेछैन—तिनीहरूसँग दिशा र मार्ग हुनेछ—र तिनीहरू परमेश्वरसँग मिल्ने हुनेछन् र तिनीहरूले त्यस उप्रान्त उहाँका विरुद्धमा विद्रोह गर्नेछैनन्, तिनीहरूलाई उप्रान्त कुनै पनि दुष्ट शक्तिले बन्दी बनाउनेछैन, तिनीहरू साँचो सृजित प्राणी हुनेछन्, र तिनीहरूले त्यस उप्रान्त मृत्युको सामना गर्नेछैनन्—त्यो कति ठूलो सम्मानको कुरा हो! सबैभन्दा बढी ठोस फाइदाहरू प्राप्त गर्नेहरू मानव नै हुन्, अर्थात् परमेश्वरको काम र परमेश्वरको मुक्ति स्वीकार गर्ने मानिसहरू। के यो पक्षमा स्पष्ट रूपमा सङ्गति गरिएको छ? यसमा रहेको मानिसहरूको धारणा र कल्पना के हो? (तिनीहरूले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई उहाँले मानिसहरूलाई छलछाम र नियन्त्रण गर्नुभएको हो भनेर अर्थ्याउँछन्।) यदि हामीले यसबारे सङ्गति नगरेका भए, मानिसहरूको मनमा सधैँ तिनीहरूले व्यक्त गर्न नसक्ने वा व्यवस्थित सिद्धान्त नबनेका केही विचार र दृष्टिकोणहरू हुनेथिए। यी कुराहरूले तिनीहरूलाई आफ्नो कर्तव्य पूर्तिमा रोकावट पैदा नगर्ने भए पनि, वा तिनीहरूको दैनिक जीवनमा स्पष्ट रूपमा असर नगर्ने भए पनि, तिनले तिनीहरूको सत्यता पछ्याइ, परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति, र परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा गम्भीर असर पार्छन्। त्यसकारण, मानिसहरूले त्याग्नुपर्ने कुराहरू यिनै हुन्। यो समस्या समाधान भएपछि, तैँले आफू र परमेश्वरबीचको पर्खाललाई त्यागेको हुनेछस्, र सत्यता पछ्याउने तेरो मार्गको एउटा बाधा हटाइएको हुनेछ, जसले गर्दा तँलाई सत्यता पछ्याउन सजिलो हुनेछ। जब वास्तविक कठिनाइहरू समाधान हुन्छन्, तब तँ र परमेश्वरबीचका पर्खाल र बाधाहरू घट्नेछन्, त्यसैले तैँले झनै सहज रूपमा आफ्नो कर्तव्य पूरा गर्न र सत्यता अभ्यास गर्न सक्न सक्नेछस्। यो त युद्धमैदानमा जानु जस्तै हो—तिमीहरूलाई युद्धमा जाँदा हल्का भारी बोक्नु राम्रो हो जस्तो लाग्छ कि गह्रौँ भारी बोक्नु? कुनचाहिँ अलिक बढी सहज हुन्छ? (हल्का भारी बोकेर युद्धमा जानु।) हल्का भारी बोकेर युद्धमा जानका लागि, पिठ्युँमा हतियार बोकेर जानु नै पर्याप्त हुन्छ—त्यो नै सरल र सजिलो हुन्छ। त्यसबाहेक, यदि तैँले भाँडो र सरसामान, वा प्रसाधन सामग्री र फिट्नेस् उपकरणहरू बोकेको छस् भने, भारी अत्यन्तै गह्रौँ हुनेछ; यति धेरै कुरा लडाइँमा बोकेर जाँदा पीडादायी हुनेछ, र लडाइँ गर्न असहज हुनेछ। यी धारणा र कल्पनाहरू मानिसहरूले बोकेर हिँड्ने फरक-फरक प्रकारका बोझहरू जस्तै हुन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूका लागि हुने समस्या र बोझहरू हुन्। छोटकरीमा भन्दा, बेला-बेलामा यी कुराहरूले तँलाई असर गर्नेछन् र सत्यता पछ्याउन र अभ्यास गर्नमा तँलाई बाधा दिनेछन्। जब कुनै गम्भीर समस्याहरू हुँदैनन्, तब तँसँग कुनै ठूला समस्याहरू छैनन् जस्तो देखिनेछ। तर सिद्धान्तका गम्भीर समस्याहरू उत्पन्न भएपछि, तँसँग तँलाई परमेश्वरबाट अलग गर्ने यी कुराहरूको एउटा पर्खाल हुनेछ। जब यी कुराहरू बाहिर आउँछन्, तब तँलाई परमेश्वरसँगको तेरो सम्बन्धमा समस्या छ, तँ र परमेश्वरका बीचमा द्वन्द्व छ भन्ने महसुस हुनेछ; परमेश्वरमाथिको तेरो विश्वासको हृदय त्यति शुद्ध हुनेछैन, र तँसँग धेरै कठिनाइहरू हुनेछन्। तर जब तैँले यी कुराहरूलाई त्यागिदिन्छस्, तब तँलाई राम्रो लाग्नेछ, तेरो हृदय ढुक्क र मुक्त हुनेछ, र त्यस उप्रान्त रोकावट वा बन्धनमा पर्नेछैन। यी कुराहरू तेरो अवचेतन मन वा विचारहरूमा बेला-बेलामा देखा पर्ने भए पनि, तैँले ती कुराहरूलाई आधारभूत रूपमा समाधान गरिसकेको हुनेछस्, र तैँले फेरि कामकुराहरू गर्दा तँलाई निकै सहज हुनेछ र तैँले ती काम अझै सरल रूपमा गर्नेछस्। यी धारणा र कल्पनाहरूले अझै पनि तेरो मनको गहिराइमा सूक्ष्म प्रभाव पार्न सक्ने भए पनि, कम्तीमा पनि तैँले आफ्नो व्यक्तिपरक इच्छामा ती सकारात्मक कुराहरू होइनन् भनेर स्पष्ट रूपमा खुट्ट्याएको हुनेछस्, त्यसकारण व्यक्तिपरक रूपमा तैँले तिनलाई त्याग्नेछस् र तिनले तँलाई असर गर्नेछैनन्। यसरी, तैँले आफू र परमेश्वरबीचको यो पर्खाललाई लगभग त्यागेको र समाधान गरेको हुनेछस्।
हामी प्रायजसो सत्यता पछ्याउने विषयमा यसरी सङ्गति गर्छौँ। के तिमीहरू सत्यता पछ्याउनुको महत्त्व महसुस गर्न सक्छौ? जब तिमीहरूले आफूले चिनेजानेकाआफू वरिपरिका मानिसहरूलाई मण्डलीले सम्हालेको, कतिलाई त निकालेको वा निष्कासित समेत गरेको देख्यौ, तब के तिमीहरूले यसबारे कुनै विचार गरेका थियौ? के तिमीहरूले त्यसबाट कुनै अनुभव वा पाठहरू प्राप्त गर्यौ? समूह खमा सारिएका अनि निकालिएका मानिसहरूका मुख्य समस्याहरू के-के हुन्? (जब मैले आफूले चिनेजानेका मेरो वरिपरिका कतिपय मानिसहरूलाई समूह खमा स्थानान्तर गरिएको वा निकालिएको देखेँ, तब त्यसले मेरो हृदय र मनमा हलचल मच्चायो। तिनीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरूले वास्तवमा सत्यता पछ्याउँदैनन्, र यदि मैले पनि परिस्थितिहरू आइपर्दा सत्यता पछ्याइनँ र सत्यताको खोजी गरिनँ भने, मलाई पनि अन्तिममा तिनीहरूलाई जस्तै हटाइनेछ।) यी मानिसहरूलाई सम्हाल्ने बारेमा परमेश्वरको घरका सिद्धान्तहरू के-के थिए भन्ने तँलाई थाहा छ? के तिनीहरूमा कमजोर मानवता भएकाले र तिनीहरूले सत्यता नपछ्याएकाले, र तिनीहरू अप्रिय लागेकाले मात्रै परमेश्वरको घरले तिनीहरूलाई निकालेको हो? (होइन।) त्यसोभए, के ठेगान नलगाइएका सबै मानिसहरूको मानवतामा कुनै समस्या हुँदैन, तिनीहरू सबैले सत्यतालाई प्रेम गर्छन्, सत्यता पछ्याउँछन्, र तिनीहरू सत्यतामा समर्पित हुन सक्छन्, र तिनीहरूले परमेश्वरलाई प्रेम गर्न र उहाँको डर मान्न सक्छन् भन्ने हो त? के कुरा त्यही हो? (होइन।) के ती मानिसहरूले सत्यतालाई प्रेम नगर्ने र त्यसप्रति वितृष्ण भएका हुनाले मात्रै परमेश्वरको घरले ती मानिसहरूलाई निकालेको वा समूह खमा सारेको हो? तिनीहरूमा कमजोर मानवता भएकाले र तिनीहरूले सत्यतालाई स्वीकार गर्न पूर्ण रूपमा इन्कार गर्ने हुनाले तिनीहरूलाई ठेगान लगाइएको हो कि तिनीहरूको खराब रूप वा केही अस्थायी अपराधका कारण? के परमेश्वरको घरले मानिसहरूलाई सम्हाल्ने सिद्धान्त यही हो? (होइन।) के कसैले सत्यता नपछ्याएकाले नै परमेश्वरको घरले उसलाई तह लगाउँछ, कर्तव्य पूरा गर्नबाट अयोग्य तुल्याउँछ, र अन्तै पठाउँछ भन्ने हो? (होइन।) त्यसोभए त्यसले किन यी मानिसहरूलाई ठेगान लगाएर धपायो? (किनभने तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार व्यवहार गरेनन् र तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याए, जसले गर्दा परमेश्वरको घरको काममा गम्भीर क्षति भयो।) के मुख्य कारण यही थियो? (हो।) अरू के-कस्ता कारणहरू थिए? के निरन्तर झूट बोलेकोमा कसैलाई कहिल्यै धपाइ छ? (छैन।) के कसैले कहिल्यै सत्यतालाई प्रेम नगरेको र सत्यताप्रति वितृष्ण भएका कारण उसलाई धपाइएको छ? के आफ्नो कर्तव्य पूरा गर्दा बफादार नभएकाले कसैलाई कहिल्यै धपाइएको छ? (छैन।) के तँलाई यी मानिसहरूलाई धपाइएको दुःखको कुरा हो भन्ने लाग्छ? के तिनीहरूमध्ये कसैलाई अन्याय गरिएको थियो? (थिएन।) तिनीहरूमध्ये कसैलाई पनि बिलकुलै अन्याय गरिएको थिएन। यी मानिसहरूले गरेका दुष्ट कार्यहरूका अनुसार त, तिनीहरू आत्मिक क्षेत्रमा जाँदा अठार पटक मर्न लायक हुन्छन्, र तिनीहरू सबैलाई दण्ड दिइनैपर्छ—मर्ने अनि त्यसपछि फेरि जीवित हुने, अनि फेरि दण्डित हुने, अनि फेरि मर्ने, अनि फेरि जीवित हुने, र फेरि दण्डित हुने, अनि फेरि मर्ने—तिनीहरू जम्मा अठार पटक मर्न लायक हुन्छन्। तिनीहरूले धेरै दुष्ट कार्यहरू र जघन्य पाप गरेका हुन्छन्! त्यसोभए यी मानिसहरूलाई किन ठेगान लगाएर निष्कासित गरियो? किनभने तिनीहरूलाई ठेगान लगाउनुको कुनै विकल्प थिएन—तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका थिएनन्, तिनीहरूले बाधा र अवरोधहरू ल्याइरहेका थिए, र तिनीहरूले कामकुरालाई अन्तर्ध्वंस गरिरहेका थिए! कतिपयले त के समेत सोच्छन् भने, यी मानिसहरूले झूट बोल्न मन पराउने भएकाले र तिनीहरूमा कमजोर मानवता भएकाले, वा तिनीहरूले हैसियत र शक्तिका लागि प्रतिस्पर्धा गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार नहुने हुनाले तिनीहरूलाई तह लगाइएको हो भन्ने समेत सोच्छन्; अरू भ्रमित मानिसहरूले तिनीहरूले सत्यतालाई प्रेम नगर्ने र सत्यता नपछ्याउने हुनाले यस्तो भएको हो भनेर भन्छन्। त्यसोभए, के तिमीहरू सत्यतालाई प्रेम गर्छौ? के धपाइएका सबै मानिसहरूले सत्यतालाई प्रेम गर्छन् र सत्यता पछ्याउँछन्? (अहँ।) यीमध्ये कुनै पनि कुरा तथ्यहरू होइनन्। वास्तवमा, यी मानिसहरूलाई किन ठेगान लगाइयो र निष्कासित गरियो भने, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले बाधा र अवरोधहरू ल्याउने र विभिन्न कुरालाई अन्तर्ध्वंस गर्ने भूमिका खेलेका थिए, तिनीहरूले शैतान र दियाबलसहरू र ठूलो रातो अजिङ्गरले गर्न चाहेका तर गर्न नसकेका कुराहरू गरे, र तिनीहरूले परमेश्वरको घरका प्रशासनिक आदेशहरूलाई गम्भीर रूपमा उल्लङ्घन गरे र परमेश्वरलाई गम्भीर रूपमा रिस उठाए। तिनीहरूलाई धपाउनुको कुनै विकल्प नभएकै कारण मात्रै तिनीहरूलाई धपाइएको हो। परमेश्वरको घर मानिसहरूप्रति प्रेमरहित र कठोर छ भन्ने होइन, र परमेश्वरले मानिसहरूलाई मौका दिनुहुन्न भन्ने होइन। बरु कुरा के हो भने, ती मानिसहरूले आफ्नो व्यवहारमा सबै हद पार गरे, बाधा र अवरोधहरू ल्याए, र तिनीहरूले मण्डलीको काममा ल्याएका क्षतिहरू अत्यन्तै ठूला थिए। तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका थिएनन्, र तिनीहरूले श्रमसमेत गरिरहेका थिएनन्; तिनीहरूले बाधा र अवरोधहरू ल्याइरहेका थिए, र तिनीहरूले दुष्टता गरिरहेका थिए। परमेश्वरका चुनिएका कुनै पनि जनलाई मण्डलीमा यस्ता मानिसहरू भएको मन पर्दैन। यदि तैँले मण्डलीमा उपहासपूर्ण कुरा भनिस् वा झूट बोलिस् भने, यो तेरो व्यक्तिगत व्यवहार मात्रै हो, यति मात्रै हो कि तैँले सत्यतालाई प्रेम गर्दैनस् र सत्यता पछ्याउँदैनस्, र यसले बाधा वा अवरोध नल्याएसम्म, कसैले पनि तँलाई तह लगाउनेछैन; यदि कहिलेकाहीँ तँ आफ्नो कर्तव्य पूरा गर्दा अलिक झाराटारुवा हुन्छस्, तर प्रायजसो तँ प्रभावकारी हुन्छस् भने, तैँले बाधा वा अवरोध पैदा नगरेसम्म, परमेश्वरको घरले तँलाई मण्डलीमा बस्ने र कर्तव्य पूरा गर्ने मौका दिनेछ, र सिद्धान्तहरू अनुसार तँसँग व्यवहार गर्नेछ। तर, यी मानिसहरूले बाधा र अवरोधहरू ल्याए। तिनीहरूले लापरवाह रूपमा दुष्कर्म गरे, र तिनीहरूले हरेक हिसाबमा सिद्धान्तहरू उल्लङ्घन गरे, जसले गर्दा ठूलो खलबली मच्चियो; मण्डलीको कामका सबै पक्षहरूलाई अन्तर्ध्वंस गरियो, र धेरै दाजुभाइ-दिदीबहिनीहरूले पूरा गरेका कर्तव्यका फलहरू पूर्ण रूपमा खेर गए। तिनीहरूका बाधा र अवरोधहरूका परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्, र तिनलाई समाधान गर्न अनगिन्ती अन्य मानिसहरूलाई अनगिन्ती घण्टा लाग्छ, त्यसकारण यी मानिसहरूलाई धपाइनै पर्थ्यो! यसरी मात्रै दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न र राम्रा परिणामहरू हासिल गर्न सकून् भनेर तिनीहरूलाई रक्षा गर्न सम्भव थियो। यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई निकालेर मात्रै दाजुभाइ-दिदीबहिनीहरूका लागि काम गर्ने र जिउने उचित वातावरण सिर्जना गर्न सम्भव थियो। यदि यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू मण्डलीमै रहिरहे भने, तिनीहरू एक किसिमको आपत् मात्रै हुनेथिए, र तिनीहरू जहाँ गए पनि गन्हाउने र फोहोर वातावरण र अराजकता हुनेथियो। तिनीहरूले गरेको कुनै पनि कुराले श्रमको मापदण्डसमेत पूरा गर्दैनथियो। तिनीहरूले बाधा दिने, अन्तर्ध्वंस गर्ने, र भत्काउने काम मात्रै गर्थे। तिनीहरूले गर्ने सबै कुरा मण्डलीको काम र मण्डली जीवनमा बाधा र अवरोध ल्याउनका लागि थियो। के तिनीहरू शैतानका सेवकहरू होइनन् र? के त्यस्ता मानिसहरू मण्डलीमा रहिरहन सक्छन्? तिनीहरू साधारण भ्रष्ट मानिसहरू नभई शैतानका सेवकहरू हुन्! यी मानिसहरूले के गरे? तिनीहरूले परमेश्वरका भेटीहरू उडाए र गैरविश्वासीहरूलाई निसर्त दिए—तिनीहरूले गैरविश्वासीहरूलाई अत्यन्तै उदारताका साथ पैसा दिन्थे, र उनीहरूले नमागे पनि जबरजस्ती उनीहरूलाई दिन्थे। जब तिनीहरूले गैरविश्वासीहरूलाई केही काम गर्न लगाउँथे र गैरविश्वासीहरूले सय डलरले पुग्छ भनेर भन्थे, तब तिनीहरूले तीन सय डलर दिन जिद्दी गर्थे, र जब गैरविश्वासीहरूले तीन सय डलर माग्थे, तब पाँच सय डलर तिर्न जिद्दी गर्थे, र गैरविश्वासीहरूलाई ज्याला तिरेपछि पनि थप बोनससमेत दिन्थे। जति भेटी खर्च गर्नुपर्ने भए पनि, तिनीहरूले यसबारे माथिलाई सोध्दैनथिए, बरु आफै निर्णय गर्थे। तिनीहरूले जुनसुकै काम गरे पनि, त्यसलाई परमेश्वरको घरका कामका बन्दोबस्तहरू अनुसार, वा परमेश्वरको घरले दिएका सिद्धान्तहरू अनुसार निर्वाह गर्दैनथिए, र अवश्य नै, तिनीहरूले त्यसलाई सत्यता सिद्धान्तहरू अनुसार पूरा गर्दैनथिए। तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा गर्दै नगरी आफ्नै चाहना हरूलाई पछ्याउँथे र आफूलाई जे मन लाग्यो त्यही गर्थे। तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा गर्नुभन्दा गैरविश्वासीहरूको रक्षा गर्थे, र तिनीहरूले जताततै परमेश्वरका भेटीहरू उडाउँथे। के त्यो तिनीहरूले कमाएको पैसा थियो? गैरविश्वासीहरूलाई बोनस र उपहार दिने कार्यमा तिनीहरूले पटक्कै कन्जुसी गर्थेनन्, र कसैलाई पनि तिनीहरूसँग असहमत हुने अनुमति हुन्थेन, र तिनीहरूसँग असहमत हुने जोकोहीलाई तिनीहरूले हप्काउँथे। के तँलाई यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्ने र परमेश्वरलाई पछ्याउने मानिसहरू हुन् भन्ने लाग्छ? तिनीहरू मैला हुन्, होइनन् र? के यस्ता मानिसहरूलाई निकाल्नुपर्छ? (पर्छ।) यी मानिसहरूले अरू के-कस्ता दुष्टता गरे? सुसमाचार प्रचार गर्दा तिनीहरूले परमेश्वरको घरलाई छल गर्नका लागि झूटा सङ्ख्याहरू रिपोर्ट गर्थे, र झूटा सङ्ख्याहरू रिपोर्ट नगर्ने जोकोहीलाई निर्दयी रूपमा कष्ट दिन्थे र दमन गर्थे। तिनीहरूले अरूलाई झूटा सङ्ख्याहरू रिपोर्ट गर्न बाध्य पार्थे, र तिनीहरूलाई त्यसो गर्ने बाहेक अरू कुनै विकल्प दिँदैनथिए। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? के तिनीहरू मानिसहरू त हुन्? यदि तैँले तिनीहरू कमजोर मानवता भएका मानिसहरू मात्रै हुन्, तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, र सत्यता पछ्याउँदैनन् भनेर भनिस् भने, के यो अभिव्यक्ति सही हुन्छ? के यो बकवास हुँदैन र? (हुन्छ।) तिनीहरूले सत्यतालाई प्रेम नगर्ने र सत्यता नपछ्याउने मात्र होइन, तिनीहरूसँग सामान्य मानवतासमेत हुँदैन, सत्यतालाई प्रेम गर्ने र पछ्याउने कुरा त परै जाओस्—तिनीहरू त दियाबलस हुन्! अहिले तिमीहरूले यो कुरा स्पष्ट रूपमा देख्यौ, होइन र? (हो।) यी मानिसहरूको प्रकृति के हो? (दियाबलसहरूको प्रकृति।) तिनीहरूमा दियाबलसहरूको प्रकृति हुन्छ। निकालिएपछि, यी मानिसहरूले अवज्ञा गरे, र तिनीहरूलाई अन्यायमा परेको महसुस समेत भयो, र तिनीहरूले यसो भने, “म निर्दोष छु, मैले त्यसो गरेको छैनँ!” तथ्यहरू तिनीहरूको आँखाकै अगाडि हुन्थे, तर तिनीहरूले यसलाई स्वीकार गर्न मान्थेनन् र जिद्दी भएर आफ्नो बहानामा टाँसिइरहने कामसमेत गर्थे र तिनीहरू अन्त्यसम्मै अवज्ञाकारी नै रहन्थे; के यसले तिनीहरूलाई निकाल्नु सही थियो भन्ने प्रमाणित गर्दैन र? यदि यस्ता मानिसहरूलाई निकालिएन भने परिणामहरू के हुनेछन्? के तिनीहरूले पश्चात्ताप गर्नेछन्? तैँले तिनीहरूलाई कर्तव्य पूरा गरिरहने मौका दिइस् र तिनीहरूलाई काटछाँट मात्रै गरिस् भने पनि, के तिनीहरूले पश्चात्ताप गर्न र तिनीहरू सुधार हुन सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूले कुनै पनि हालतमा पश्चात्ताप गर्न सक्दैनन्। यो कस्तो प्रकृति सार हो? कस्तो प्रकारका मानिसहरूले पश्चात्ताप गर्न सक्दैनन्, र तथ्यहरूको सामना गर्दा पनि पश्चात्ताप गर्दैनन्? (दियाबलसहरूले।) दियाबलसहरू, शैतानको सार भएका मानिसहरू, दुष्ट आत्माहरू, र फोहोरी पिशाचहरूले पश्चात्ताप गर्नेछैनन्; तैँले सत्यतामा जसरी सङ्गति गरे पनि, तिनीहरूले पश्चात्ताप गर्नेछैनन्। तिनीहरूले आफ्नो दुष्कर्मका तथ्यहरूलाई समेत स्वीकार गर्दैनन्, त्यसकारण के तिनीहरूले सत्यतालाई स्वीकार गर्न र आफूलाई चिन्न सक्छन् त? तिनीहरूले अवश्य नै त्यसो गर्दैनन्! यदि तिनीहरूले आफ्नो दुष्कर्मका तथ्यहरू स्वीकार गर्न सक्थे भने, तिनीहरूले सत्यता स्वीकार गर्ने मौका पाउनेथिए, तर तिनीहरूले तथ्यहरूसमेत स्वीकार गर्दैनन्, र आफ्ना कार्यहरूको प्रकृतिलाई मान्ने वा स्वीकार गर्ने गर्दैनन्—त्यस्ता मानिसहरूले सम्भवतः पश्चात्ताप गर्न सक्दैनन्। तिनीहरू सदोमीहरू जस्तै हुन्—यदि तैँले सदोमीहरूलाई “यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने, परमेश्वरले यो सहरलाई नष्ट गर्नुहुनेछ” भनेर भनेको भए, के तिनीहरूले त्यो कुरा स्वीकार गर्नेथिए? यी शब्दहरू सुनेपछि तिनीहरूको मनोवृत्ति कस्तो हुनेथियो? तिनीहरूले ती शब्द सुन्दै नसुनेको जस्तो व्यवहार गर्नेथिए र कुनै पश्चात्ताप नगरी आफ्नै अभिरुचिअनुसार काम गरिरहनेथिए, आफूलाई जे मन लाग्यो त्यही गर्नेथिए। त्यसकारण, तिनीहरूको अन्तिम परिणामस्वरूप, तिनीहरू नष्ट भए। मण्डलीमा बाधा र अवरोधहरू ल्याउने यी मानिसहरूका हकमा भन्दा, परमेश्वरले तिनीहरूलाई अवसरहरू दिनुभयो, तैपनि तिनीहरूले तिनलाई कदर गरेनन् वा पश्चात्ताप गरेनन्, र तिनीहरूले अन्त्यसम्मै परमेश्वरको विरोध गर्न अड्डी कसे। यी मानिसहरूसँग कुनै विवेक वा समझ हुँदैन—के तिनीहरू दयाको लायक हुन्छन्? (अहँ, हुँदैनन्।) के दया पाउन लायक नभएका यी मानिसहरूको बचाउ गर्ने कोही छ? के तिनीहरूले धेरै वर्ष कष्ट भोगेका र मूल्य चुकाएका छन्, र तिनीहरूले अत्यन्तै परिश्रम र अत्यन्तै लगनशीलताका साथ काम गरेका छन्, र तिनीहरूमध्ये कतिसँग निकै राम्रो क्षमता छ, र तिनीहरूसँग निकै कार्य सक्षमता र नेतृत्वको सीप छ, र तिनीहरूलाई निकालिएकोमा पछुतो लागेको छ भन्ने महसुस गर्दै तिनीहरूको प्रशंसा गर्ने कोही छ? के यो दुःखको कुरा हो? (अहँ, होइन।) यो दुःखको कुरा होइन, जसको अर्थ तिनीहरूलाई धपाउनु सही कुरा थियो। यी मानिसहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू कुन मार्गमा हिँडिरहेका छन् भन्ने कुरा नियालेर हेर्ने काम मात्रै गर। यदि मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा बाधा वा अवरोधहरू समेत ल्याउँछन् भने, तिनीहरू मानवजातिको मैला हुन्! सृजित प्राणीले आफ्नो कर्तव्य पूरा गर्नु सही कुरा हो, र त्यो कर्तव्य जेसुकै भए पनि, तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ। यदि तिनीहरूको कर्तव्य निर्वाहन मानक अनुरूप हुँदैन भने पनि, तिनीहरूले कम्तीमा पनि बाधा र अवरोधहरू पैदा गर्नु हुँदैन! बाधा र अवरोधहरू पैदा गर्नु भनेको शैतानले गर्ने कुरा हो; यो भ्रष्ट मानिसहरूले गर्ने कुरा हुनु हुँदैन। भ्रष्ट मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको छ र तिनीहरू परमेश्वरको विरोध नगरी बस्नै सक्दैनन्; तर, सामान्य मानवता, विवेक, र समझ भएका मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा जानीजानी बाधा र अवरोधहरू पैदा गर्दैनन्। किनभने तिनीहरूको विवेक र समझले तिनीहरूलाई बाँध्छ, त्यसकारण तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा परमेश्वरको घरको काममा बाधा, अवरोध पुर्याउँदैनन्, वा त्यसलाई अन्तर्ध्वंस गर्दैनन्। व्यक्तिले मानक अनुरूप आफ्नो कर्तव्य पूरा गर्न नसके पनि, यसलाई औसत मानक अनुसार पूरा गर्नु स्वीकार्य हुन्छ, र यसले कम्तीमा पनि विवेक र समझको मानक पूरा गर्छ। तर, यी मानिसहरूले यो मानकसमेत पूरा गर्न सक्दैनन्, त्यसकारण अन्तमा तिनीहरू यस विन्दुमा मात्रै पुग्न सक्छन्—तिनीहरूले गरेका धेरै दुष्ट कार्यहरूका कारण तिनीहरूलाई परमेश्वरको घरबाट निकालिन्छ वा निष्कासित गरिन्छ। यी मानवजातिका मैला हुन्!
यसपछि, हामी “आफू र परमेश्वरबीचका पर्खालहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्नु” भन्ने विषयमा रहेका धारणा र कल्पनाहरूका समस्याहरूका बारेमा कुरा गरौँ, जुन सत्यता कसरी पछ्याउने भन्ने अभ्यासभित्र पर्ने “त्याग्नु” को तेस्रो विषयवस्तु हो। हामीले भर्खरै परमेश्वरको कामसम्बन्धी कतिपय मानिसहरूका धारणा र कल्पनाहरूका बारेमा कुरा गर्यौँ। अहिले यसलाई हेर्दा, के मानिसहरूमा परमेश्वरको कामका बारेमा अरू केही धारणा र कल्पनाहरू हुँदैनन् र? के यी धारणा र कल्पनाहरूले मानिसहरूले परमेश्वरको कामलाई कसरी लिन्छन्, तिनीहरूले परमेश्वरको कामलाई कसरी अनुभव गर्छन्, र तिनीहरूले परमेश्वरको कामलाई कसरी बुझ्छन् र चिन्छन् भन्ने कुरामा असर गर्नेछन्? मण्डलीमा देखा पर्ने विभिन्न प्रकारका मानिसहरूका बीचमा, एउटा प्रकार भनेको दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले गरेको जुनसुकै दुष्टताले गर्दा तिनीहरूलाई तह लगाइएको भए पनि, र मण्डलीले तिनीहरूलाई जुनसुकै मामलाका कारण निकालेको वा निष्कासित गरेको भए पनि, परमेश्वरको घरले अविश्वासी, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूलाई पखाल्ने बारेमा निश्चित धारणाहरू राख्ने केही मानिसहरू सधैँ हुन्छन्, र यी धारणा र कल्पनाहरू तिनीहरूसँग परमेश्वरको काम वा परमेश्वरको सार्वभौमिकताबारे कुनै बुझाइ हुँदै नभएकाले उत्पन्न भएका हुन्छन्। मानिसहरूका धारणा र कल्पनाहरूमा, मण्डली भनेको परमेश्वरले पृथ्वीमा काम गर्नुहुने ठाउँ हो, त्यसकारण मण्डली भनेको मानिसहरूले परमेश्वरको सार्वभौमिकता देख्ने सबैभन्दा प्रत्यक्ष ठाउँ हो, र परमेश्वरको सार्वभौमिकता प्रकट हुने सबैभन्दा प्रत्यक्ष र स्पष्ट ठाउँ यही हो भनेर पनि भन्न सकिन्छ। तर, यस ठाउँमा, मानिसहरूले प्रायजसो तिनीहरूका धारणाहरूसँग नमिल्ने कतिपय मानिस, घटना, र कामकुराहरू देखा पर्ने गरेको देख्छन्। मानिसहरूले आफ्ना धारणाहरूमा के सोच्छन् भने, मण्डली परमेश्वरको कामसँग सम्बन्धित ठाउँ भएको हुनाले, यो मित्रता र शान्ति, प्रेम र सहनशीलता, र हर्ष र आरामले भरिएको शान्त र नीरव ठाउँ हुनुपर्छ। तिनीहरू के विश्वास गर्छन् भने, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू जस्ता व्यक्तिहरू कहिल्यै मण्डलीमा देखा पर्नु हुँदैन, र दुष्ट मानिसहरूले दुष्टता गर्ने घटनाहरू हुनु हुँदैन। अनि तिनीहरू के सोच्छन् भने, परमेश्वरको सार्वभौमिकताअन्तर्गत, मण्डलीमा सत्यता सिद्धान्तहरू उल्लङ्घन हुने कुनै घटना अवश्यै हुनु हुँदैन, कुनै पनि प्रकारका विधिहीन मानिस वा विधिहीन कामकुराहरू, वा मानव इच्छा, मानव भावनाहरू, र मानवतासँग नमिल्ने व्यवस्था कामकुराहरू त झनै हुनु हुँदैन। तिनीहरूले के विश्वास गर्छन् भने, मण्डलीमा सबै कुरा शान्तिपूर्ण, नीरव, मनोहर, सकारात्मक, आशावादी, र उत्थानात्मक हुनुपर्छ, र मानवजातिका आवश्यकताहरू अनुरूप नभएका कुनै झगडा, वा कुनै घृणित वा कुरूप कुराहरूसमेत हुनु हुँदैन। यी सबै मानिसहरूका धारणाहरू हुन्। तर, तथ्यहरू मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्दैनन्। अवधि वा कामको चरण जेसुकै भए पनि, मण्डलीमा, कतिपय दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने, परमेश्वरको घरको कामका निश्चित पक्षहरूलाई अन्तर्ध्वंस गर्ने, मण्डलीको कामको सुव्यवस्थामा खलल पुर्याउने र त्यसलाई बिथोल्ने, र अरू त्यस्ता कुराहरूका घटनाहरू सधैँ घट्ने गर्छन्। जब यी कुराहरू घट्छन्, तब मानिसहरूलाई यो असोचनीय छ भन्ने लाग्छ, र तिनीहरूको हृदय विवशता, अबोधता, र अन्यौलताले भरिएको हुन्छ, र तिनीहरूले सोच्छन्, “के परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ? परमेश्वरले मानवजातिमाथि कसरी सार्वभौमिकता राख्नुहुन्छ र आफ्नो मण्डलीलाई कसरी शासन गर्नुहुन्छ, आफ्नो घरलाई कसरी शासन गर्नुहुन्छ? परमेश्वर साँच्चै नै यसप्रति ध्यान दिनुहुन्छ कि दिनुहुन्न? परमेश्वर कहाँ हुनुहुन्छ? जब यी विधिहीन कुराहरू घट्छन् र जब दुष्ट मानिसहरू देखा पर्छन् र तिनीहरूले बाधाहरू उत्पन्न गर्छन्, तब किन तिनीहरूलाई रोक्न कोही पनि अघि सर्दैन, र परमेश्वरले पनि अघि बढेर तिनीहरूलाई रोक्नुहुन्न? वास्तवमा यहाँ के भइरहेको छ? के मण्डली परमेश्वरको घर होइन र? के परमेश्वरलाई पछ्याउनेहरू उहाँका चुनिएका मानिसहरू होइनन् र? परमेश्वरले किन आफ्नो घरको रेखदेख वा रक्षा गर्नुहुन्न? परमेश्वरले किन आफ्ना चुनिएका मानिसहरू सुरक्षित ठाउँमा, आश्रयस्थलमा शान्तिपूर्वक जिउन सकून् भनेर तिनीहरूको संरक्षण गर्नुहुन्न?” मानिसहरूमा हुने यी शङ्का र यो अबोधता मानिसहरूका विभिन्न धारणाहरूले पैदा गरेका हुन्छन्, होइन र? (हो।) त्यसोभए, यी धारणाहरू मुख्य रूपमा केका बारेमा हुन्छन्? के ती परमेश्वरको काम र परमेश्वरको सार्वभौमिकतासँग सम्बन्धित हुँदैनन् र? दुष्ट मानिसहरूले दुष्टता गर्ने र बाधा र अवरोध ल्याउने जस्ता मामिलाहरू मण्डलीमा घट्ने हुनाले, र मानिसहरूले यी कुराहरू नबुझ्ने हुनाले, तिनीहरूलाई यी कुराहरूको स्रोत र तिनको अन्तिम परिणाम के हुनेछ भन्ने कुरा छर्लङ्ग देख्न गाह्रो हुन्छ। मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न नसक्ने हुनाले, तिनीहरूले परमेश्वरबारे सबै किसिमका विचार, र धारणाहरू विकास गर्छन्। कतिपय मानिसहरू सोच्छन्, “परमेश्वरको घरले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई प्रेम देखाउनुपर्छ। यदि परमेश्वरको घरले तिनीहरूलाई प्रेम देखाएन भने, के यो समाज जस्तै हुनेछैन र? समाजमा, मानिसहरूको एउटा समूहले अर्को समूहलाई सधैँ कष्ट दिइरहेको हुन्छ, र यो सबै शक्ति र प्रभावका लागि प्रतिस्पर्धा गर्नका खातिर गरिएको हुन्छ। के दुष्ट मानिसहरूलाई निकालेर अनि निष्कासित गरेर परमेश्वरको घरले पनि मानिसहरूलाई कष्ट दिइरहेको हुँदैन र? परमेश्वरको घरमा बस्नु त्यति सुरक्षित छैन! यदि तिमीले साँच्चै नै कुनै अशान्त परिस्थितिहरूको सामना गर्यौ भने, तिमी अन्यायमा पर्न र निकालिन सक्छौ, र कसैले पनि तिमीलाई निर्दोष साबित गर्नेछैन! परमेश्वर ठ्याक्कै कहाँ हुनुहुन्छ? परमेश्वर किन बाहिर आएर केही भन्नुहुन्न वा केही गर्नुहुन्न? हामीलाई तपाईँको अस्तित्व, तपाईँको सर्वशक्तिमान्ता देखाउनुहोस्, हामीले तपाईँको सार्वभौमिकतालाई आफ्नै आँखाले हेरौँ, त्यसरी हामीलाई सहज महसुस हुनेछ, होइन र?” मण्डलीमा जब-जब मानिसहरूले आफूले बुझ्न नसक्ने केही घटनाहरू अनुभव गर्छन्, तब-तब तीमध्ये कतिमा असहजता र शङ्का जस्ता भावनाहरू पैदा हुन्छन्, र कति यी घटनाहरूबाट जोगिन समेत चाहन्छन्, र अरू नकारात्मकतामा पर्छन्; ख्रीष्ट-विरोधीहरूद्वारा बहकाइएका र ठगिएका हुनाले, खास गरी कतिपयले आफूलाई नै त्याग्छन्, र कतिलाई त ख्रीष्ट-विरोधीहरूद्वारा बहकाइएको र शोषण गरिएको हुनाले र उनीहरू तिनीहरूका सहकर्मी बनेका हुनाले, मण्डलीले आत्मचिन्तन गर्नका लागि अलग राख्ने वा हटाउने कामसमेत गर्छ। मानिसहरूलाई यी सबै कुराहरू अबोध्य लाग्नुका साथसाथै, तिनीहरूले परमेश्वरको अस्तित्वलाई पनि शङ्का गर्छन्। किनभने परमेश्वरमाथिको धेरैजसो मानिसहरूको आस्थाको मुख्य स्रोत भनेको परमेश्वर यावत् थोकमाथि, सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भन्ने तिनीहरूको विश्वास नै हुन्छ। अर्थात्, धेरै मानिसहरूले परमेश्वरले सबै कुरा, यावत् थोक, र मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ भन्ने विश्वास गर्छन्, त्यसकारण तिनीहरूले परमेश्वरको अस्तित्व, र परमेश्वरको पहिचान र सारमा विश्वास गर्छन्। तर, तिनीहरूको वरिपरि घट्ने यी कुराहरूले गर्दा तिनीहरूले परमेश्वरको सार्वभौमिकतामाथिको आफ्नो विश्वासमा शङ्का गर्न र डगमगाउन थाल्छन्, अनि त्यसपछि तिनीहरूले परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्यलाई शङ्का गर्न थाल्छन्, र परमेश्वरमाथिको तिनीहरूको आस्था पनि डगमगाउन थाल्छ, त्यसकारण यो सम्पूर्ण समस्याहरूको शृङ्खला पैदा हुन्छ। मानिसहरूमा परमेश्वरको सार्वभौमिकताबारे सबै किसिमका धारणा र कल्पनाहरू हुन्छन्, र यी धारणा र कल्पनाहरू अवश्य नै सत्यता वा तथ्यहरूसँग मिल्दैनन्, बरु ती मानिसहरूको त्रुटिपूर्ण अर्थ्याइ वा गलतफहमीहरू हुन्। त्यसकारण, यसपछि हामी तैँले देख्न र महसुस गर्न सक्ने तेरो वरिपरिका सबै मानिस, घटना, र कामकुराहरूमाथि परमेश्वरले कसरी सार्वभौमिकता राख्नुहुन्छ, यो सबैमाथि परमेश्वरको सार्वभौमिकताका सिद्धान्तहरू के-के हुन्, र उहाँले हासिल गर्ने अभिप्राय राख्नुभएको उद्देश्य के हो भन्ने बारेमा सङ्गति गर्नेछौँ।
“परमेश्वरको सार्वभौमिकता” भन्ने शब्दमा अत्यन्तै व्यापक विषयवस्तुहरू समावेश हुन्छन्। व्यापक वातावरणलाई पन्छाएर, मण्डलीका हकमा भन्दा, परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य वास्तविक हो। परमेश्वरको सार्वभौमिकता खोक्रो वाक्यांश होइन, न त यो एउटा घटना मात्रै हो, बरु यसका वास्तविक उदाहरणहरू, र वास्तविक परिणामहरू छन्। त्यसोभए मण्डलीमा परमेश्वरको सार्वभौमिकताका सिद्धान्तहरू के-के हुन्? सुरुमा हामी यसबारे विचार गरौँ: के परमेश्वरसँग कुन-कुन मानिसहरूलाई मण्डलीमा स्वीकार गरिन्छ भन्ने कुरामाथिको सार्वभौमिकता हुन्छ र के उहाँले त्यसको बन्दोबस्त गर्नुहुन्छ? (हो, उहाँले गर्नुहुन्छ।) यो खोक्रो कुरा होइन। परमेश्वरको सुसमाचार र परमेश्वरका वचनहरू कुन-कुन मानिसहरूकहाँ आउँछन्, र कुन-कुन मानिसहरूले परमेश्वरको काम स्वीकार गर्न सक्छन्, र कुन-कुन मानिसहरू मण्डलीमा प्रवेश गर्न सक्छन्—यी सबै कुरा परमेश्वरले निर्धारण गर्नुभएको हुन्छ। अहिलेका लागि, हामी यी मानिसहरूको मानवताका बारेमा, र तिनीहरू दुष्ट मानिसहरू हुन् कि होइनन् भन्ने बारेमा कुरा नगरौँ; तिनीहरू मण्डलीमा प्रवेश गर्न सक्नुको अर्थ परमेश्वरले नै यो कुरा निर्धारण गर्नुभएको हो भन्ने हुन्छ। के परमेश्वरको निर्धारण परमेश्वरको सार्वभौमिकताको एउटा पक्ष हो? (हो।) सर्वप्रथम, हामी एउटा कुरामा निश्चित हुन सक्छौँ, जुन के हो भने, हरेक व्यक्तिको मण्डली प्रवेश परमेश्वरले निर्धारण गर्नुभएको हुन्छ। “परमेश्वरको निर्धारण” भन्ने शब्द अलिक अमूर्त सुनिन्छ, त्यसकारण “परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ, परमेश्वरले ढोकामा पहरा दिनुहुन्छ” भनेर मात्रै भनौँ। परमेश्वर नै राज्यको ढोका हुनुहुन्छ र मण्डलीको ढोका पनि उहाँ नै हुनुहुन्छ। कस्तो प्रकारका मानिसहरू आधिकारिक रूपमा मण्डलीका, परमेश्वरको घरका सदस्यहरू बन्न सक्छन् भन्ने कुराको हकमा परमेश्वरले ढोकामा पहरा दिनुहुन्छ। तिनीहरू अविश्वासीहरू भए पनि वा मण्डलीमा घुसपैठ गरेका दुष्ट मानिसहरू भए पनि, वा परमेश्वरमा विश्वास गर्न रुचि राख्ने वा सत्यता स्वीकार गर्न र परमेश्वरलाई पछ्याउन सक्ने असल मानिसहरू भए पनि, यदि तिनीहरू मण्डलीमा आबद्ध भए र मण्डलीका सदस्य बने भने, यो कुनै पनि व्यक्तिले निर्णय गर्न सक्ने कुरा होइन, यो त परमेश्वरको सार्वभौमिकता, बन्दोबस्त, र निर्धारणले गर्दा भएको हुने कुरा हो। तिनीहरूसँग परमेश्वरमा विश्वास गर्ने निश्चित गुप्त मनसाय वा उद्देश्यहरू भए पनि वा नभए पनि, वा तिनीहरूको मानवता जस्तोसुकै भए पनि, वा तिनीहरूको शिक्षाको स्तर र सामाजिक पृष्ठभूमि जेजस्तो भए पनि, तिनीहरू मण्डलीमा आबद्ध हुन र उहाँको अघि आउन सक्छन् भनेर निर्णय गर्ने परमेश्वर नै हुनुहुन्छ—ढोकामा पहरा दिने परमेश्वर नै हुनुहुन्छ। के मानिसहरूले ढोकामा उचित रूपमा पहरा दिन सक्छन्? (अहँ, सक्दैनन्।) मानिसहरूले यस विषयको निर्णय गर्न सक्दैनन्, र यो मानिसहरूको इच्छामा निर्भर हुँदैन। उदाहरणका लागि, जब तैँले कुनै व्यक्ति चलाख छ र समाजमा उसको हैसियत छ भन्ने देख्छस्, तब तैँले सोच्छस्, “यो व्यक्ति मण्डली अगुवा हुनका लागि परमेश्वरको घरमा आउन सक्यो भने राम्रो हुनेथियो। हाम्रो मण्डलीमा त्यस्ता मानिसहरूको कमी छ।” तर परमेश्वरले तिनीहरूलाई चाहनुहुन्न; उहाँले तिनीहरूलाई उत्प्रेरित गर्नुहुन्न। जब अरू मानिसहरूले तिनीहरूलाई सुसमाचार प्रचार गर्छन् र परमेश्वरका वचनहरूमा सङ्गति गर्छन्, तब तिनीहरूले आफूले सुनेको कुरा बुझ्दैनन्। जब तिनीहरूले अरू कुनै कुरा सुन्छन्, तब तिनीहरूले त्यो बुझ्न सक्छन्; तिनीहरूले परमेश्वरका वचनहरू सुन्दा मात्रै बुझ्न सक्दैनन्, र तिनीहरू मूर्खहरू जस्तै हुन्छन्—के त्यस्ता मानिसहरू अझै पनि मण्डलीमा प्रवेश गर्न सक्छन्? तिनीहरूले आशिष्हरू प्राप्त गर्नमा रुचि राख्ने भए पनि, तिनीहरूले आफ्नो हृदय शान्त पार्न सक्दैनन् र परमेश्वरका वचनहरू सुन्दा र सत्यतामा सङ्गति गर्दा तिनीहरू चुपचाप बस्न सक्दैनन्, र दुई-तीन वटा प्रवचन सुनेपछि, तिनीहरू आउन छोड्छन्। त्यस्ता मानिसहरूमा कुनै वास्तविक आस्था हुँदैन, त्यसकारण के तिनीहरूप्रतिको तेरो असल अभिप्रायले कुनै प्रभाव पार्छ? के तैँले तिनीहरूलाई मण्डलीमा ल्याउन सक्नेछस्? सक्नेछैनस्। त्यस विषयमा परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। परमेश्वर उहाँ त्यस्ता मानिसहरूलाई चाहनुहुन्न भनेर भन्नुहुन्छ, र सेवा प्रदान गर्ने कार्यमा होस् वा कुनै भूमिका निर्वाह गर्ने कार्यमा होस्, उहाँ तिनीहरूलाई चाहनुहुन्न। त्यसकारण, यदि तैँले असल अभिप्रायहरू लिएर तिनीहरूलाई आफूसँगै घिसारिस् भने पनि, यो व्यर्थ हुनेछ, र अन्त्यमा, तिनीहरू जानैपर्छ। तिनीहरू मण्डलीका सदस्यहरू बन्नु असम्भव हुन्छ; तिनीहरूलाई जुनसुकै व्यक्तिले घिसारेर ल्याए पनि, यो व्यर्थ हुनेछ। यो मानिसहरूले निर्णय गर्न नसक्ने मामला हो; यो कुरा परमेश्वरले निर्धारण गर्नुभएको कुरा हो, र परमेश्वरले नै ढोकामा पहरा दिनुहुन्छ। कतिपय मानिसहरूसँग सामाजिक हैसियत हुँदैन, तिनीहरू महत्त्वपूर्ण व्यक्तिहरू हुँदैनन्, र तिनीहरू औसत क्षमताका हुन्छन् र तिनीहरू साधारण देखिन्छन्, तर तिनीहरू निकै सरल र सीधा हुन्छन्, र तिनीहरूलाई परमेश्वरमाथिको विश्वासका मामलाहरूमा रुचि हुन्छ। तिनीहरूसँग जेजस्तो कठिनाइ भए पनि, तिनीहरूलाई परमेश्वरबाट अलग गर्न सकिँदैन, र तिनीहरूसँग निकै जोश हुन्छ—यो जोशिलो ऊर्जा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले देख्न पाउँदा खुसी हुने कुरा हो, र परमेश्वरलाई पनि यो देख्दा खुसी लाग्छ—वास्तवमा, तिनीहरू परमेश्वरको आत्माद्वारा उत्प्रेरित भएका हुनाले नै तिनीहरू यति उत्साहित हुन्छन्। तिनीहरू मण्डलीमा प्रवेश गरेपछि र मण्डलीका मानिसहरू सबै असल मानिसहरू हुन्, जसले हरेक दिन परमेश्वरका वचनहरू खाने-पिउने र सत्यतामा सङ्गति गर्ने गर्छन् भन्ने देखेपछि, तिनीहरूलाई यस कुराले अत्यन्तै प्रोत्साहन दिन्छ र यो जीवनको सही मार्ग हो भन्ने महसुस हुन्छ, त्यसकारण तिनीहरूले सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य पूरा गर्न थाल्छन् र तिनीहरू परमेश्वरका अनुयायीहरू बन्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्न सक्छन् भनेर कसले निर्णय गर्छ? (परमेश्वरले नै निर्णय गर्नुहुन्छ।) निर्णय गर्ने परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले तिनीहरूलाई मण्डलीमा प्रवेश गर्न दिनुहुने हुनाले मात्रै तिनीहरूले परमेश्वरमा विश्वास गर्न सक्छन्। यदि परमेश्वरले तिनीहरूमा काम नगर्नुभएको भए र तिनीहरूलाई उत्प्रेरित नगर्नुभएको भए, तिनीहरूले परमेश्वरमा विश्वास गर्न सक्नेथिएनन्, र यदि तिनीहरूलाई जबरजस्ती मण्डलीमा घिसारिएको भए, तिनीहरू ढिलो-चाँडो मण्डली छोडेर जानुपर्थ्यो। मानिसहरूमा तिनीहरूको अन्तर्निहित गुणभित्र सत्यतालाई स्वीकार गर्ने कुनै क्षमता हुँदैन; तिनीहरूले सत्यतालाई प्रेम गर्न र सत्यतालाई स्वीकार गर्न सक्छन् भन्ने तथ्यले परमेश्वरले तिनीहरूमा काम गर्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ। यदि परमेश्वरले तिनीहरूमा काम गर्नुहुन्छ भने, तिनीहरू मण्डलीका सदस्यहरू बन्न सक्छन्—सबै प्रकारका मानिसहरू मण्डलीमा प्रवेश गर्ने पूर्वसर्त यही हो, र यो पूर्वसर्त भनेको परमेश्वरले तिनीहरूलाई चाहनु हो। तिनीहरूले मण्डलीमा जुनसुकै भूमिका खेले पनि, कुनै पनि हालतमा, परमेश्वरले आफ्नो घरको ढोकामा पहरा दिनुहुन्छ। यदि उहाँले तिनीहरूलाई प्रवेश गर्न दिनुहुन्न भने, तिनीहरू ढोकाभन्दा बाहिर हुन्छन्; यदि उहाँले तिनीहरूलाई प्रवेश गर्न दिनुहुन्छ भने, तिनीहरू ढोकाभित्र हुन्छन्। त्यसकारण, मण्डलीको सदस्य बन्नु त्यति सरल कुरा होइन। परमेश्वरले मानिसहरूलाई स्वीकार गर्ने आधारका रूपमा के-कस्ता सिद्धान्तहरूले काम गर्छन् भन्ने कुराका हकमा भन्दा, अवश्य नै, परमेश्वरका आफ्नै सिद्धान्तहरू छन्। हामी परमेश्वरले कस्तो व्यक्ति चाहनुहुन्छ र कस्तो व्यक्ति चाहनुहुन्न भन्ने बारेमा सङ्गति गर्नेछैनौँ—यो अत्यन्तै जटिल कुरा हो। यो जटिल छ भनेर मैले किन भनेँ? मण्डलीमा को-को प्रवेश गर्छन्, कुन अवधिमा तिनीहरूले कस्तो भूमिका खेल्छन्, र तिनीहरूले कुन कर्तव्य पूरा गर्छन् वा कुन अवधिमा तिनीहरूले कुन महत्त्वपूर्ण काम सम्हाल्छन्, र कुन अवधिमा तिनीहरू परमेश्वरको घरका कामका आवश्यकताहरू र यसका कर्मचारीसम्बन्धी आवश्यकताहरू अनुरूप हुन्छन् भन्ने कुराका बारेमा परमेश्वरसँग योजना हुन्छ। परमेश्वरले वर्तमान क्षणमा कार्य गर्नुको सट्टा व्यापक र समग्र स्तरमा नियमन र नियन्त्रण गर्नुहुन्छ—यो अत्यन्तै जटिल मामला हो, र यसलाई केही शब्दमा स्पष्ट रूपमा व्याख्या गर्न सकिँदैन, त्यसकारण हामी विस्तृत विवरणहरूमा प्रवेश गर्नेछैनौँ। छोटकरीमा भन्दा, कुनै व्यक्ति परमेश्वरको घरको ढोकाभित्र प्रवेश गर्न सक्छ कि सक्दैन भन्ने कुरालाई कुनै पनि व्यक्तिले निर्धारित गर्दैन; परमेश्वरले नै यस कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ र यस कुराको बन्दोबस्त गर्नुहुन्छ। परमेश्वरको घरमा प्रवेश गरेपछि, सबै प्रकारका मानिसहरूले सबै प्रकारका कर्तव्यहरू पूरा गर्छन्, सबै प्रकारका भूमिकाहरू खेल्छन्, र सबै प्रकारका मार्गहरू हिँड्छन्। यी सबै विविध प्रकारका मानिसहरूमा सबै किसिमका फरक-फरक प्रकटीकरणहरू हुन्छन्, चाहे ती असल होऊन् वा खराब, सकारात्मक होऊन् वा नकारात्मक, सक्रिय होऊन् वा निष्क्रिय—यी सबै कुरा परमेश्वरको सार्वभौमिकता र शासनअन्तर्गत हुन्छन्।
परमेश्वरको सार्वभौमिकताको अर्थ सबै कुरा उहाँको शासनअन्तर्गत तिनको प्राकृतिक धारअनुसार अघि बढ्छ र घट्छ भन्ने हुन्छ; कुनै पनि घटना संयोगवश हुँदैन, र कुनै पनि घटनामा हुने विकास र परिवर्तनहरू कुनै पनि व्यक्तिले सुरु गरेको वा निर्धारित गरेको हुँदैन—यी सबै कुरामाथि परमेश्वरको सार्वभौमिकता हुन्छ। अवश्य नै, कुनै पनि घटनाको अन्तिम परिणाम र विशेषता पनि त्यस्तो घटनाको सार र यसमा संलग्न हुने प्रकारका मानिसहरूको सारमा आधारित हुन्छ, र घटनालाई चित्रण गर्ने आधार पूर्ण रूपमा परमेश्वरका वचनहरू र परमेश्वरले माग गर्नुभएका सिद्धान्तहरू नै हुन्छन्। कुनै पनि प्रकारको घटना संयोगवश हुँदैन, र कुनै पनि प्रकारको घटनाको अन्तिम परिणाम मानिसहरूले निर्धारित गर्दैनन्। वास्तवमा, कुनै पनि प्रकारको घटनाको सुरुवात परमेश्वरले नै प्रबन्ध गर्नुहुन्छ र पैदा गर्नुहुन्छ। जब परमेश्वरले कुनै प्रकारको घटना पैदा गर्नुहुन्छ, तब उहाँले एक प्रकारको व्यक्तिले यसमा यसमा भूमिका खेल्ने प्रबन्ध गर्नुहुन्छ, र त्यस्तो व्यक्तिले सेवाकर्ता वा प्रतिभारको भूमिका खेल्न सक्छ, उसले नकारात्मक भूमिका खेल्न सक्छ, वा सकारात्मक भूमिका खेल्न सक्छ। तर उसले जुनसुकै भूमिका खेले पनि, यी सबै कुराहरूको सुरुवात परमेश्वरले नै प्रबन्ध गर्नुभएको हुन्छ। यस विषयमा परमेश्वरले प्रबन्ध गर्नुका दुई वटा व्याख्याहरू छन्। एउटा व्याख्या के हो भने, परमेश्वरले व्यक्तिगत रूपमा केही सकारात्मक प्रबन्धहरू गर्नुहुन्छ र केही सकारात्मक दिशा र सुपरिवेक्षण प्रदान गर्नुहुन्छ, र केही सकारात्मक व्यक्तित्वहरूलाई कुनै घटना सुरु गर्न लगाउनुहुन्छ—“परमेश्वरका बन्दोबस्तहरू” को एउटा व्याख्या यही हो। अर्को व्याख्या के हो भने, परमेश्वरले निश्चित कुराहरू गर्न एक प्रकारको आत्मा पठाउनुहुन्छ। मानिसहरूका नजरमा यी कुराहरू नकारात्मक र दुष्ट हुन्छन्, त्यसकारण यी नकारात्मक र दुष्ट पात्रहरू निश्चय नै नकारात्मक व्यक्तित्वहरू, अर्थात्, परमेश्वरले सुरुदेखि नै प्रतिभार र नकारात्मक शिक्षण सामग्रीहरूका रूपमा आफ्नो घरमा प्रवेश गराउनका लागि निर्धारित गर्नुभएका मानिसहरू हुन्। परमेश्वरले तिनीहरूलाई यी भूमिकाहरू खेल्न लगाउनुहुन्छ, किनभने तिनीहरूको प्रकृति सारले गर्दा, तिनीहरूले खेल्न सक्ने भूमिकाहरू यी मात्रै हुन्, र उहाँले तिनीहरूलाई धीत मर्ने गरी प्रदर्शन गर्न र प्रतिभारका रूपमा तिनीहरूले गर्नुपर्ने कुरा धीत मर्ने गरी गर्न दिनुहुन्छ। सम्पूर्ण प्रक्रियाभरि, चाहे त्यो सकारात्मक व्यक्तित्वहरूको प्रकटीकरण होस् वा नकारात्मक व्यक्तित्वहरूको प्रकटीकरण होस्, यी सबै मामलाहरूलाई लिने र सम्हाल्ने कार्यबारे परमेश्वरको सिद्धान्त भनेको तिनीहरूलाई आफ्नै प्राकृतिक धार समात्न दिनु हो। यी कुराहरूलाई हेर्दा र सम्हाल्दा, सकारात्मक व्यक्तित्वहरूमा केही सकारात्मक दृष्टिकोणहरू हुन्छन्, र मानवता र विवेकको मानक अनुरूपका केही दृष्टिकोणहरू हुन्छन्। तिनीहरूमध्ये कतिले केही भ्रष्ट स्वभावहरू प्रकट गरे पनि—तिनीहरूमा मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्ने केही प्रकटीकरणहरू भए पनि, वा तिनीहरूले अरू केही भ्रष्ट स्वभावहरू प्रकट गरे पनि—तिनीहरूले कम्तीमा पनि मानवताको विवेक र समझलाई पक्रिराख्छन्, अर्थात्, तिनीहरूले आफ्नो आचरणको मूलभूत आधारलाई पक्रिराख्छन्। अनि नकारात्मक व्यक्तिहरूका हकमा भन्दा, परमेश्वरले तिनीहरूले गर्ने कुनै पनि कुरामा हस्तक्षेप वा मार्गदर्शन गर्नुहुन्न, बरु तिनीहरूलाई आफै प्राकृतिक धार समात्न दिनुहुन्छ; तिनीहरूले पनि आफ्नो हृदय तृप्त हुनेगरी प्रदर्शन गर्छन्, र आफ्नो घृणितता अवस्था खुलासा गर्छन् र आफ्नो हृदय तृप्त हुनेगरी निश्चित कुराहरू गर्छन्। तिनीहरूले परमेश्वरले खुलासा गर्नुहुने नकारात्मक व्यक्तित्वहरू, अर्थात् दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको भूमिका सफलतापूर्वक खेल्छन्, जसले गर्दा अरूले दियाबलसहरू कस्ता मानिसहरू हुन्, दुष्ट मानिसहरू कस्ता मानिसहरू हुन्, र ख्रीष्टविरोधीहरू कस्ता मानिसहरू हुन्, र परमेश्वरले खुलासा गर्नुहुने ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, शैतानहरू, र दियाबलसहरूको घृणित अनुहार वास्तवमा कस्तो हुन्छ भन्ने कुरा वास्तविक जीवनमा स्पष्ट रूपमा देख्न सक्छन्। यदि यी नकारात्मक व्यक्तित्वहरूलाई वास्तविक जीवनमा जीवित शिक्षण सामग्रीका रूपमा प्रयोग नगरिएको भए, तेरो मनमा दियाबलसहरू र शैतानहरू सधैँ अमूर्त हुनेथिए, र सधैँ अनुमान वा चित्र मात्रै हुनेथिए। तर अहिले यी जीवित उदाहरणहरू तेरो आँखा अगाडि राखिएका छन्, र मानव छाला लगाएका यी दियाबलसहरू तेरो आँखाकै अगाडि स्पष्ट रूपमा जिइरहेका छन्, र तिनीहरूको बोलीवचन र आचरण, तिनीहरूको हरेक शब्द र व्यवहार, तिनीहरूको अनुहारको भाव, र तिनीहरूको आवाजको लबज समेत सबै तेरो जीवनमा, तेरो आँखाकै अगाडि स्पष्ट रूपमा देखा पर्छन्, र ती तेरो मनमा छापिएका हुन्छन्। यो तेरा लागि नराम्रो कुरा होइन। मण्डलीमा यस्ता कुराहरू बारम्बार हुने गर्छन्। पहिलो पटक यस्तो भएको बेला, तँलाई असहज लाग्छ र तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ भन्ने लाग्छ। दोस्रो पटक यस्तो भएको बेला, तैँले सोच्छस्, “मैले आफ्नो सुरक्षा गर्न सत्यताको प्रयोग गर्न सिक्नैपर्छ, र अर्को पटक मैले यस्तो व्यक्तिलाई भेट्दा, म ऊबाट जोगिनुपर्छ,” अनि तैँले आफ्नो सुरक्षा कसरी गर्ने र दुष्ट मानिसहरूबाट कसरी टाढा बस्ने भन्नेबारे सोच्न थाल्छस्। यस्तो व्यक्ति तेस्रो पटक देखा पर्दा, तैँले यस्तो सोच्छस्, “यी मानिसहरू किन ठ्याक्कै ठूलो रातो अजिङ्गरजस्तै, शैतानजस्तै गरी बोल्छन्? के तिनीहरूले बहकाउने कुराहरू गर्दैनन् र? के तिनीहरू दुष्ट मानिसहरू होइनन् र? यी प्रकटीकरणहरू देखाउने मानिसहरू ख्रीष्टविरोधीहरू हुन् भनेर परमेश्वरका वचनहरूले भनेका छन् जस्तो लाग्छ। मैले तिनीहरूलाई खुट्ट्याउनैपर्छ र खुलासा गर्नैपर्छ, म तिनीहरूको बहकाउमा पर्नु हुँदैन, र म तिनीहरूबाट टाढा बस्नुपर्छ।” बारम्बार यस्तो कुरा अनुभव गरेर, तैँले ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, शैतानहरू, र दियाबलसहरूलाई खुट्ट्याउने बारेमा, र बाधा र अवरोधहरू के-के हुन् भन्ने बारेमा अझै स्पष्ट र विस्तृत बुझाइ प्राप्त गर्छस्। तेरो बुझाइ त्यस उप्रान्त शब्द र धर्मसिद्धान्तहरूमा सीमित हुँदैन, र चित्रहरूमा त झनै सीमित हुँदैन। बरु तँ वास्तविक जीवनमा यी कुराहरूलाई झन्-झन् राम्ररी पहिचान गर्न सक्षम हुन्छस्, यसको साथै, तैँले यी मानिसहरूलाई सत्यता प्रयोग गरेर हेर्न, र सत्यता प्रयोग गरेर घटेका यी कुराहरूलाई समाधान गर्न सक्छस्। अवश्य नै, जब यी कुराहरू घट्छन्, तब तैँले यी मानिसहरूप्रति ठ्याक्कै कुन अडान अपनाउनुपर्छ, तिनीहरूलाई कुन दृष्टिकोणबाट हेर्नुपर्छ, र तिनीहरूसँग कस्तो सम्बन्ध कायम राख्नुपर्छ भन्ने बारेमा सोच्दै निरन्तर आफ्ना दृष्टिकोण र अडानहरूलाई सच्याइरहेको पनि हुन्छस्। जब तैँले यी कुराहरूको सामना गर्छस्, तब तैँले अवचेतन रूपमा यी समस्याहरूका बारेमा मनन गर्नेछस्, उत्तरहरू खोज्न र निष्कर्ष निकाल्न निरन्तर सत्यताको खोजी गर्नेछस्, र अन्तिममा केही कुरा प्राप्त गर्नेछस्। यस प्रक्रियाका क्रममा, परमेश्वरले केवल मानिसहरूलाई सत्यता प्रदान गर्नुहुन्छ र तिनीहरूलाई सत्यता बुझ्न सक्षम बनाउनुहुन्छ, चाहे त्यो सत्यतामा सङ्गति गरेर होस् वा मानिसहरूलाई तिनीहरूमाथि आइपर्ने कुराहरूमा सत्यता बुझ्न सक्षम बनाएर होस्—समग्रमा भन्दा, परमेश्वरले यो परिस्थितिलाई कलिलै नष्ट गर्नुहुन्न। यदि यो कुरा घट्नैपर्छ, र यो परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको कामका लागि फाइदाजनक छ भने, परमेश्वरले यसलाई मानिसहरूमाथि आइपर्न दिनुहुनेछ, र उहाँले यसलाई रोक्नुहुनेछैन, बरु यसलाई यसको प्राकृतिक धार समात्न दिनुहुनेछ। यसरी काम गर्नुपछाडिको परमेश्वरको उद्देश्य भनेको एक हिसाबमा मानिसहरूलाई हटाउनु हो, र अर्को हिसाबमा, मानिसहरूलाई सिद्ध पार्नु हो। अवश्य नै, मानिसहरूलाई हटाउँदा उहाँले पक्कै पनि प्रतिभारका रूपमा काम गर्ने र सेवा प्रदान गर्न समेत अयोग्य मानिसहरूलाई निसाना बनाउनुहुन्छ, जबकि मानिसहरूलाई सिद्ध पार्दा, उहाँले आफ्ना चुनिएकाहरूलाई—तीमध्ये सत्यता पछ्याउन इच्छुक हुनेहरूलाई निसाना बनाउनुहुन्छ। यसका दुई वटा महत्त्व छन्। एउटा महत्त्व के हो भने, दुष्ट मानिसहरूले दिने प्रस्तुतिको माध्यमबाट, तिनीहरूलाई खुलासा गरिन्छ, मण्डलीबाट हटाइन्छ, र निकालिन्छ। अर्को के हो भने, यी दुष्ट मानिसहरूले क्रमिक रूपमा प्रस्तुति दिने र प्रतिभारका रूपमा काम गर्ने क्रममा, परमेश्वरका चुनिएका मानिसहरू परमेश्वरका वचनहरूमा सत्यतालाई खुट्ट्याउन, र बुझ्न सिक्न सक्षम बनाइन्छन्; यसरी, परमेश्वरले व्यावहारिक तरिकाले मानिसहरूमा सत्यता मिसाउनुहुन्छ—अर्थात्, परमेश्वरले खुलासा गर्नुहुने सबै प्रकारका दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू, शैतानहरू, र दियाबलसहरूको दुष्ट सारका सबै प्रकटीकरणहरूलाई मानिसहरूको वास्तविक जीवनमा प्रदर्शन हुन दिनुहुन्छ, र यसले मानिसहरूलाई विभिन्न प्रकारका दुष्ट, घृणित, र नकारात्मक व्यक्तित्व, घटना, र कुराहरूका बारेमा स्पष्ट बुझाइ र ज्ञान प्राप्त गर्न सक्षम बनाउँछ। उदाहरणका लागि, मानौँ परमेश्वरले तँलाई यसो भन्नुहुन्छ, “तैँले बलिरहेको कोइला हातले छुनु हुँदैन; तेरा औँलाहरू पोलिनेछन् र तँलाई पीडा हुनेछ।” तँलाई बलिरहेको कोइला कस्तो देखिन्छ भन्ने थाहा हुँदैन, त्यसलाई छुँदा कस्तो महसुस हुन्छ भन्ने तँलाई थाहा हुँदैन, र उहाँले तँलाई यो कुरा बताउनुभएपछि, तैँले एउटा धर्मसिद्धान्त बुझेको हुन्छस्। त्यसपछि कतिपय मानिसहरूले बलिरहेको कोइला भकुण्डो वा लामो पाता जस्तो हुन्छ होला भन्ने कल्पना गर्छन्। अनि बलिरहेको कोइलाको रङ्ग कस्तो हुन्छ? त्यसलाई छुँदा कस्तो महसुस हुन्छ? त्यसलाई छुँदा कस्तो पीडा हुन्छ? तँलाई थाहा हुँदैन। बलिरहेको कोइलाबारे तेरो धारणा तेरो मनले कल्पना गर्न सक्ने कुराको चित्र मात्रै हो, र वास्तविक कुरासँग यसको कहिल्यै कुनै सम्बन्ध हुनेछैन। त्यसकारण, एक दिन, जब परमेश्वरले तगारीमा बलिरहेको कोइला निकाल्नुहुन्छ र तेरो अगाडि राख्नुहुन्छ, तब तैँले त्यसलाई चिन्दैनस्, र तँलाई त्यो निकै तातो देखिन्छ भन्ने मात्रै लाग्छ। तैँले त्यसलाई छुँदा औँलामा तातो हुन्छ कि हुँदैन भनेर हेर्नका लागि तँ होसियारी साथ त्यसतिर हात लम्काउँछस्। परमेश्वरले भन्नुहुन्छ, “तैँले छोएर हेर्न सक्छस्, तर धेरै बेर नछुनू, नत्र तेरो छाला डढ्नेछ।” कतिपय मानिसहरू मूर्ख हुन्छन्—तिनीहरूले पाँचै औँला फैलाएर कोइला समात्छन्, र तिनीहरूको पूरै हात डढ्छ अनि त्यसमा पानी फोका आउँछ। अरू चलाख र सतर्क हुन्छन्—तिनीहरूले एउटा औँला लम्काएर कोइलालाई हल्का मात्रै छुन्छन् र एक सेकेन्डभित्र यसो भन्दै हात हटाउँछन्, “अहो, यो त निकै तातो रहेछ! यो साँच्चै नै बलिरहेको छ!” तैँले त्यसलाई छुन पाँच औँला प्रयोग गरे पनि वा एउटा औँला प्रयोग गरे पनि, तैँले छुने कुरा चित्र वा शब्दहरू नभई वास्तविक कुरा हो, र तेरो बाँकी जीवनभरि, तैँले बलिरहेको कोइला छुनुको अनुभूति र अनुभव, र बलिरहेको कोइलाले तेरा लागि के अर्थ राख्छ भन्ने कुरा कहिल्यै बिर्सिनेछैनस्। जब तैँले फेरि बलिरहेको कोइला देख्छस्, तब तैँले अरूलाई यसो भन्नेछस्: “तपाईँले न्यानो रहन, र लुगा सुकाउन र रोटी तताउन त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ, तर तपाईँले त्यसलाई हातले कहिल्यै छुनु हुँदैन। छुनुभयो भने तपाईँलाई पोल्नेछ र पानी फोका आउनेछ।” मानिसहरूले यसो भन्न सक्छन्: “त्यसोभए मलाई पोल्यो र पानी फोका आयो भने के हुन्छ?” अनि तैँले यस्तो जवाफ दिनेछस्: “कम्तीमा पनि, तपाईँले हातले केही पनि समात्न सक्नुहुनेछैन, र तपाईँलाई हातले खान पनि असहज हुनेछ र शारीरिक काम गर्न त झनै अप्ठ्यारो हुनेछ।” यो अनुभवबाट बोलेको कुरा हो, होइन र? त्यो गहन अनुभवपछि, तातो कोइलाले पोल्नुको अनुभूति तेरो स्मृतिमा गहन रूपमा कुँदिनेछ, त्यसकारण तैँले फेरि कहिल्यै बलिरहेको कोइला छुनेछैनस्। परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ र मानिसहरूले ती कुराहरूबाट पाठहरू सिकून् र फाइदा लिन सकून्, र उहाँले मानिसहरूलाई प्रदान गर्नुहुने सत्यता र वचनहरू तिनीहरूमा साँचो रूपमा मिसिन सकून् भनेर सबै कुराको प्रबन्ध गर्नुहुन्छ र मानिसहरूको जीवनमा सबै किसिमका कुराहरू आइपर्न लगाउनुहुन्छ, यसरी परमेश्वरका वचन र सत्यताहरू मानिसहरूका हृदयमा धर्मसिद्धान्त, नारा, वा प्रावधानहरू रहँदैनन्, बरु तिनीहरू आफ्नो जीवन, र अस्तित्वका लागि भर पर्ने सिद्धान्त र मापदण्डहरू बन्छन्, र ती तिनीहरूको जीवनको भाग बन्छन्—यसरी, परमेश्वरको कामले आफ्नो प्रभाव हासिल गरेको हुनेछ।
जब परमेश्वरको सार्वभौमिकताको कुरा आउँछ, तब मानिसहरूले के कुरा देख्नुपर्छ भने, परमेश्वरले कुनै घटनाको सुरुवातको प्रबन्ध गर्नुहुन्छ, त्यसपछि त्यसको विकासक्रमलाई मार्गनिर्देशन र अगुवाइ गर्नुहुन्छ; घटनाको अन्त्यमा परिणाम के हुन्छ, सत्यता पछ्याउनेहरूले त्यसबाट के प्राप्त गर्छन् र कति प्राप्त गर्छन्, यो घटना र यसमा संलग्न मानिसहरू र कामकुराहरू कहाँ पुग्छन्, र अन्तिममा ती कुराहरूको प्रबन्ध कसरी गरिन्छ भन्ने कुरालाई पनि अवश्य नै परमेश्वरले नै निर्धारित गर्नुहुन्छ—यावत् थोकमाथिको परमेश्वरको सार्वभौमिकताको एउटा सिद्धान्त यही हो। परमेश्वरले हरेक घटनाको सुरुवात, प्रक्रिया, र परिणामलाई मात्रै पूर्वनिर्धारित गर्नुहुन्छ, र उहाँले सम्पूर्ण घटनालाई आफूले तय गरेको दिशामा स्वतन्त्र रूपमा विकास हुन दिनुहुन्छ, जसको उद्देश्य सबै कुरालाई प्राकृतिक ढाँचाहरू अनुरूप बनाउनु, वा परमेश्वरले हासिल गर्ने अभिप्राय राख्नुभएको प्रभाव हासिल गर्नका लागि कुनै विकृति वा प्रशोधनबाट गुज्रन नलगाई सबै कुरालाई आफ्नो काम गर्न दिनु हो। यस्तै होइन र? (हो।) उदाहरणका लागि, जब परमेश्वरले कुनै घटना सुरु गर्ने र घट्ने कुराको प्रबन्ध गर्नुहुन्छ, तब उहाँले यस घटनाको सम्पर्कमा आउने मानिसहरूको मनोवृत्ति, र यसप्रति तिनीहरूको दृष्टिकोण के-के हुन्छन् भनेर नियाल्न थाल्नुहुन्छ—चाहे तिनीहरूले यसलाई ध्यान दिएर हेरून् वा यसलाई ध्यान दिन नचाहून्, र चाहे तिनीहरू हृदयदेखि यसमा संलग्न होऊन् वा तिनीहरूले यसलाई इन्कार गरून्, प्रतिरोध गरून्, र तिनीहरू यसबाट जोगिऊन्—परमेश्वरले विभिन्न प्रकारका मानिसहरूको प्रकटीकरणहरू नियालिरहनुभएको हुन्छ। त्यसोभए, के परमेश्वरले विभिन्न प्रकारका मानिसहरूको प्रकटीकरणमा हस्तक्षेप गर्नुहुन्छ? परमेश्वरले हस्तक्षेप गर्नुहुन्न। परमेश्वरले तँलाई स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार दिनुहुन्छ। तैँले यस घटनालाई ठूलो महत्त्व दिन र यसबारे अत्यन्तै गम्भीर हुन सक्छस्, वा तैँले यसलाई बेवास्ता गर्ने र यसप्रति उदासीन हुने मनोवृत्ति अपनाउन सक्छस्, र अवश्य नै, तैँले यसबाट अलग बस्ने, यसबाट जोगिने, र यसमा सहभागी नहुने मनोवृत्ति पनि अपनाउन सक्छस्—परमेश्वरले चुपचाप नियाल्नुहुन्छ। तर सम्पूर्ण घटनाको उत्पत्ति र आवृत्तिलाई परमेश्वरले नै सुरु गर्नुभएको हुन्छ। कुनै घटनामाथिको परमेश्वरको सार्वभौमिकताको प्रारम्भिक चरण यही हो। जब यो घटना विकास हुन थाल्छ, यसमा कुन-कुन मानिसहरू सहभागी हुन्छन्, कुन-कुन मानिसहरू यसमा संलग्न हुन्छन्, र तिनीहरू यसमा संलग्न भएपछि घटना कुन दिशामा अघि बढ्छ भन्ने कुराका हकमा भन्दा, अवश्य नै यी सबै मानिसहरूलाई मिलाउनुहुने र बन्दोबस्त गर्नुहुने परमेश्वर नै हुनुहुन्छ, ताकि घटना परमेश्वरले चाहनुभएको दिशामा र प्रभावसाथ अघि बढोस्। त्यसरी नै, जब यो घटना बाहिर आउँछ र सम्पूर्ण मामला चरमोत्कर्षमा पुग्छ, तब पनि परमेश्वरले विभिन्न प्रकारका मानिसहरूको मनोवृत्ति, प्रकटीकरण, विचार, र दृष्टिकोणहरूलाई निगरानी गरिरहनुभएको हुन्छ। तैँले यो घटनालाई साँच्चै हृदयमा लिन्छस्, तँ यो घटनाप्रति अत्यन्तै गम्भीर, कठोर, र तत्पर हुन्छस् कि तँ यसप्रति उदासीन हुन्छस्, तँ यसलाई बेवास्ता गर्छस्, र तँ यसप्रति अत्यन्तै भावशून्य हुन्छस्, वा तैँले यसबाट बच्ने र विकर्षित हुने मनोवृत्ति अपनाउँछस् भन्ने कुरालाई उहाँले हेरिरहनुभएको हुन्छ। उहाँले तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् कि होइनस्, र तँ परमेश्वरका वचनहरू, परमेश्वरका मागहरू, र सत्यताका हकमा गम्भीर व्यक्ति होस् कि होइनस् भन्ने कुरा हेरिरहनुभएको हुन्छ। सम्पूर्ण घटनाको विकासको प्रक्रियामा, तेरो मनोवृत्ति झन्-झन् स्पष्ट हुँदै जान्छ, र परमेश्वरले सत्यताप्रतिको तेरो मनोवृत्ति, उहाँले तय गर्नुहुने वातावरणहरूप्रतिको तेरो मनोवृत्तिलाई झन्-झन् स्पष्ट रूपमा देख्नुहुनेछ, र सत्यताको पछ्याउइप्रतिको तेरो मनोवृत्तिलाई पनि स्पष्ट रूपमा देख्नुहुनेछ। जब सम्पूर्ण घटना यसको अन्त्यतर्फ अघि बढ्छ र यसको अपरिहार्य परिणाम देखा पर्छ, तब परमेश्वरले अझै पनि तैँले सम्पूर्ण घटनाबाट के प्राप्त गरेको छस्, तैँले आफ्नो मनमा के सोचिरहेको छस्, र तैँले के-कस्ता हिसाब-किताब गरिरहेको छस् भन्ने कुरालाई हेरिरहनुभएको हुन्छ। उहाँले तैँले आफूलाई रक्षा गर्नका लागि अनुभव प्राप्त गर्न र यस घटनाबाट पाठहरू सिक्नमा मात्रै ध्यान दिइरहेको छस् कि छैनस्, अर्थात् मान्छे खुसी पारिहिँड्ने व्यक्ति भइरहेको छस् कि छैनस्, वा तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गर्छस् कि गर्दैनस् र तँ पहिले जस्तो भ्रमित छस् कि छैनस् भन्ने कुरा हेरिरहनुभएको हुन्छ। परमेश्वरले यो घटनाप्रतिको तेरो मनोवृत्ति के हो, तैँले आफूलाई व्यक्तिगत रूपमा असर नगर्ने कुनै पनि कुराबाट टाढा रही मौन भएर कुनै दृष्टिकोण व्यक्त नगर्ने गर्छस् कि यो घटनाको सामना गर्दा तँमा शुद्ध बुझाइको कमी मात्रै नभई बरु परमेश्वरप्रतिको तेरा गलतफहमी र गुनासाहरू पनि अझै गम्भीर भएका हुन्छन्, र तैँले उहाँका बारेमा अझै धेरै धारणा र कल्पनाहरू विकास गरेको हुन्छस्, यहाँसम्म कि तँ यसबाट जोगिन समेत चाहन्छस् भन्ने कुरालाई पनि हेर्नुहुनेछ। सबै प्रकारका घटनाहरू घट्दा विभिन्न प्रकारका मानिसहरूका विचार र दृष्टिकोण फरक-फरक हुन्छन्, र परमेश्वरले ती सबै कुरालाई नियालिरहनुभएको र अभिलेख राखिरहनुभएको हुन्छ। कुनै पनि वर्ष, कुनै पनि दिन, र कुनै पनि घण्टा, मिनेट, वा सेकेन्डमा, तैँले के सोचिरहेको छस्, के भनिरहेको छस्, के हिसाब-किताब गरिरहेको छस्, के योजना बनाइरहेको छस्, तैँले सत्यताहरूको कुन पक्ष बुझेको छस्, कसैले सत्यताको कुनै पक्षका बारेमा सङ्गति गर्दा तेरो मनोवृत्ति कस्तो हुन्छ, तैँले यसको विरोध गर्छस् कि गर्दैनस् र यसप्रति वितृष्ण हुन्छस् कि हुँदैनस् र तँ त्यो सुन्न चाहन्छस् कि चाहँदैनस्, वा उम्कने योजना बनाउँछस् कि बनाउँदैनस्—परमेश्वरले यी सबै कुराहरूलाई छानबिन गर्नुहुन्छ। मण्डली, परमेश्वरको घर, वा आफ्नो वरिपरि देखा पर्ने मानिस, घटना, र कामकुराहरूप्रति कहिल्यै कुनै मनोवृत्ति नहुने, मूर्खहरू जस्तै भावशून्य र मन्दबुद्धिका मानिसहरू पनि हुन्छन्। तिनीहरूले यस्तो सोच्दै आफ्नो दृष्टिकोणलाई दह्रिलो गरी समातिरहन्छन्: “मैले दुष्टता गरिनँ र बाधा वा अवरोध पैदा गरिनँ, वा अरूको आलोचना गरिनँ, र कुनै पनि मानिस, घटना, वा कामकुराहरूको सामना गर्दा म कुनै टिप्पणी गर्दिनँ वा कुनै मनोवृत्ति वा दृष्टिकोण राख्दिनँ, र म रोबटजस्तै व्यवहार गर्छु र नियम पालना गर्ने तरिकाले आफ्नो कर्तव्य राम्ररी पूरा गर्छु र राम्ररी श्रम गर्छु भने, त्यो नै पर्याप्त हुन्छ।” यो पनि एक प्रकारको सोचाइ र दृष्टिकोण हो। अवश्य नै, परमेश्वरले यस्तो सोचाइ र दृष्टिकोणलाई नियाल्नुहुनेछ र त्यसको अभिलेख राख्नुहुनेछ। यावत् थोक र घटना अनि मानिसहरूको वरिपरि हुने हरेक निश्चित कुरामाथिको परमेश्वरको सार्वभौमिकताको उद्देश्य भनेको मानिसहरूका लागि वातावरण तयार गर्नु र तिनीहरूलाई जीवित शिक्षण सामग्रीहरू प्रदान गर्नु हो, ताकि सबै किसिमका कुराहरूको सामना गर्दा, विभिन्न प्रकारका मानिसहरूले आफ्नो सबैभन्दा साँचो पक्ष देखाऊन्, र परमेश्वर र सत्यताप्रतिको आफ्नो सबैभन्दा साँचो विचार र दृष्टिकोण, र आफ्नो सबैभन्दा साँचो मनोवृत्ति देखाऊन्। मानिसहरूमा रहेका यी मनोवृत्तिहरू पूर्ण रूपमा स्वतन्त्रता र उन्मुक्तिको स्थितिमा प्रकट हुन्छन्। परमेश्वरले कहिल्यै हस्तक्षेप गर्नुहुन्न, हात हाल्नुहुन्न, वा चालबाजी गर्नुहुन्न, उहाँले विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूको हृदय सन्तुष्ट हुने गरी र तिनीहरूको प्राकृतिक धार अनुसार आफ्ना विचार, दृष्टिकोण, र मनोवृत्तिहरू व्यक्त गर्न दिनुहुन्छ, र अन्तिममा विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूको प्रकटीकरण अनुसार प्रकाश गर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ। “विभिन्न प्रकारका मानिसहरू” मा को समावेश हुन्छ? परमेश्वरले विभिन्न प्रकारका मानिसहरूका लागि के-कस्ता बन्दोबस्तहरू गर्नुहुन्छ? परमेश्वरले सत्यतालाई प्रेम गर्नेहरूलाई सत्यता प्राप्त गर्न सक्षम बनाउनुहुन्छ; उहाँले सत्यताप्रति रुचि नभएका तर श्रम गर्न इच्छुक हुनेहरूलाई त्यसो गर्नका लागि बस्न सक्षम बनाउनुहुन्छ; सत्यतादेखि विकर्षित र वितृष्ण हुनेहरूका हकमा भन्दा, उहाँले सत्यताप्रति वितृष्ण हुने तिनीहरूको मनोवृत्ति प्रकाश गर्नुहुन्छ, तर यदि तिनीहरू सेवा दिनका लागि बस्न सक्छन् वा तिनीहरू सेवा दिनका लागि उपयुक्त छन् भने, परमेश्वरले यी अझ राम्रा मानिसहरूलाई छनौट गरेर सेवा दिनका लागि तिनीहरूलाई अधिकार प्रदान गर्नुहुनेछ, जबकि यदि तिनीहरू सेवा दिनका लागि उपयुक्त छैनन्, वा तिनीहरू बाधा र अवरोधहरू उत्पन्न गर्न सक्ने हदसम्म सत्यताप्रति वितृष्ण हुन्छन् भने, परमेश्वरले तिनीहरूलाई ठीक समय र अवसरमा निकाल्नुहुनेछ। परमेश्वरले गर्नुहुने यो सबै काम मानिसहरूका धारणाहरूसँग मिल्दैन, होइन र? (हो।) के मानिसहरूले यसमा परमेश्वरको सहनशीलता र प्रेमिलो स्वभाव देख्न सक्छन्? (यी कुराहरूबाट हामीले के देख्न सक्छौँ भने, यो व्यावहारिक काममार्फत, परमेश्वरले मानिसहरूलाई अनुभव गर्न अगुवाइ गर्नुहुन्छ, र यो सबै कामको पछाडि मानिसप्रतिको परमेश्वरको प्रेम हुन्छ।) यो कामभित्र परमेश्वरका श्रमसाध्य अभिप्रायहरू, उहाँको कामको बुद्धि, र उहाँले मुक्ति दिने अभिप्राय राख्नुभएका मानवहरूप्रतिको उहाँको जिम्मेवार मनोवृत्ति समावेश हुन्छन्। अर्को पक्ष पनि छ, जुन के हो भने, परमेश्वरसँगसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यो मानवसँग हुने कुराहरू होइनन्। परमेश्वर आफूले गर्ने सबै कुरामा अत्यन्तै मेहनती र गम्भीर हुनुहुन्छ, र उहाँले कहिल्यै लापरवाही गर्नुहुन्न। विशेष गरी मानिसहरूले सत्यता प्राप्त गर्ने मामलामा, उहाँ अत्यन्तै मेहनती र गम्भीर हुनुहुन्छ; मानिसहरूको जीवन र मानिसहरूका परिणामहरूको जिम्मेवारी लिनका लागि, परमेश्वरले यसरी काम गर्नैपर्छ। अवश्य नै, परमेश्वरका लागि, उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यो ठीक यस्तै हुन्छन्। आफ्नो जीवन, र नतिजा र गन्तव्यप्रतिको तेरो मनोवृत्ति जस्तोसुकै भए पनि, चाहे त्यो गम्भीर र मेहनती मनोवृत्ति होस् पनि वा झाराटारुवा मनोवृत्ति होस्, जेसुकै भए पनि, परमेश्वरका लागि, उहाँले तँलाई छनौट गर्नुभएको हुनाले र उहाँले तँलाई सत्यता प्रदान गर्नुभएको हुनाले र तँलाई मुक्ति दिन चाहनुभएको हुनाले, उहाँले तेरो हरेक शब्द र व्यवहार, र सबै कुराप्रतिको तेरो मनोवृत्तिलाई पूर्ण रूपमा बुझ्नुहुनेछ, र उहाँले अन्तमा तेरा सबै मनोवृत्तिका आधारमा तेरो नतिजा निर्धारित गर्नुहुनेछ। अनि तेरा सबै मनोवृत्तिका आधारमा, उहाँले तँ अन्ततः सत्यता प्राप्त गर्ने, र परमेश्वरमा समर्पित हुन र उहाँसँग मिल्न सक्ने व्यक्ति बन्नेछस् कि बन्नेछैनस् भन्ने कुरालाई हेर्नुहुनेछ। सायद तँ परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुहुने कुराबारे कहिल्यै गम्भीर भएको छैनस्, यसबारे कहिल्यै ध्यान दिएर मनन गरेको छैनस्, र परमेश्वरले मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ भन्ने तँलाई थाहा छैन होला। तर, सृजित मानवहरूमाथि सार्वभौमिकता राख्नुहुने सृष्टिकर्ताका रूपमा, उहाँ मानिसहरू जस्तै भ्रमित र अन्योलग्रस्त हुनुहुन्न; उहाँले मानवजातिलाई मुक्ति दिने काम गम्भीर रूपमा गर्नुहुन्छ। उहाँले तँलाई सृष्टि गर्नुभयो र छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई पूर्ण रूपमा मुक्ति दिने वाचा गर्नुभयो, त्यसैले उहाँले यो काम पूरा गर्नुहुनेछ र उहाँ अन्त्यसम्मै जिम्मेवार रहनुहुनेछ। त्यसकारण, परमेश्वरले आफ्नो काम पूरा गर्नु र अन्तसम्मै जिम्मेवारी लिनुका वास्तविक प्रकटीकरण र वास्तविक कामका विषयवस्तुहरू हुन्छन्। परमेश्वरले यसरी नै काम गर्नुहुन्छ, र यो उहाँको इमानदार र तत्पर मनोवृत्ति हो। परमेश्वरले तँसँग झाराटारुवा व्यवहार गर्नुहुन्न, वा तँलाई कुनै नारा फलाकेर पन्छाउनुहुन्न, र परमेश्वरको कामले मानिसहरूलाई मुक्ति दिनका लागि उहाँले चुकाउनुहुने वास्तविक मूल्य, र मानिसहरूप्रतिको उहाँको जिम्मेवार मनोवृत्तिलाई अझै राम्ररी प्रतिबिम्बित गर्छ।
मानिसहरूले परमेश्वरले मानिसहरूलाई दिनुहुने मुक्ति र यावत् थोकमाथिको परमेश्वरको सार्वभौमिकताको सिद्धान्त र उद्देश्य बुझेपछि, के यस विषयमा परमेश्वरबारे तिनीहरूका धारणा र कल्पनाहरू केही हदसम्म समाधान हुनेछैनन् र? (हुनेछन्।) यस विषयमा मानिसहरूले के कुरा बुझ्नुपर्छ? तिनीहरूले के बुझ्नुपर्छ भने, परमेश्वरले सार्वभौमिकता राख्नुहुने सबै प्रकारका मामलाहरूमा होस् वा एउटा निश्चित मामलामा होस्, मानिसहरूको सहकार्य ८०-९० प्रतिशत हुन्छ, र सम्बन्धित मामलाप्रतिको तिनीहरूको विचार र दृष्टिकोण, र मनोवृत्ति परमेश्वरको नजरमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यदि तैँले परिस्थितिहरू आइपर्दा केही बोलिनस् र आफ्नो अडान देखाइनस् भने, परमेश्वरले तँलाई ध्यान दिनुहुनेछैन र बेवास्ता गर्नुहुनेछ भन्ने नसोच्। यदि तँलाई परमेश्वरले तँलाई बेवास्ता गर्नुहोस् भन्ने चाहन्छस् भने, तैँले परमेश्वरमा विश्वास नगर्नु नै राम्रो हुन्छ। तँ परमेश्वरको घरमा भएको हुनाले र परमेश्वरले तँलाई छनौट गर्नुभएको हुनाले, परमेश्वरले तँलाई पटक्कै बेवास्ता गर्नुहुनेछैन। परमेश्वरको नजरमा सबै कुराको छानबिन हुन्छ, उहाँले तँजस्तो सानो व्यक्तिलाई त झनै छानबिन गर्नुहुन्छ। तँ कमिला नै भएको भए पनि, यदि तँ परमेश्वरद्वारा छनौट गरिएको हुन्थिस् भने, परमेश्वरले तँलाई निरन्तर छानबिन र अगुवाइ गर्नुहुनेथ्यो। परमेश्वरले तँलाई छानबिन गर्नुहुन्छ, त्यसकारण तैँले आफूमाथि आइपर्ने कुराहरूलाई स्वीकार मात्रै गर्नुपर्छ। ती कुराहरूबाट नतर्की—तर्किनु बुद्धिमानी निर्णय होइन। तैँले तिनको सामना गर्नैपर्छ। तैँले तिनको सामना गरेपछि र तँसँग स्पष्ट मनोवृत्ति भएपछि मात्रै, उहाँले तेरा लागि तयार गर्नुभएका वातावरणहरूमा परमेश्वरले तँलाई बुझ्न दिनुहुने सत्यताहरू तैँले प्राप्त गर्ने अवसर पाउनेछस्, जबकि तीबाट तर्किँदा त्यसले तँलाई मौनतामा सत्यताहरू बुझ्न सक्षम बनाउनेछैन। दर्शनहरूसँग सम्बन्धित सत्यताहरूबाहेक, अरू सत्यताहरू अर्थात्, मानव जीवन र अस्तित्वसँग सम्बन्धित सबै प्रकारका सत्यताहरू वातावरणमार्फत वा कुनै प्रकारको व्यक्तिको व्यवहारको सन्दर्भमार्फत व्यक्त हुन्छन्। मानिसहरूले वास्तविक अनुभव र बुझाइ प्राप्त गरेपछि मात्रै यी सत्यताहरूका वास्तविकताहरूकालाई साँचो रूपमा बुझ्न सक्छन्। धेरैजसो मानिसहरूले यो कुरालाई स्पष्ट रूपमा देख्न सक्दैनन्, र विभिन्न प्रकारका सत्यताहरूप्रतिको तिनीहरूको मनोवृत्ति उदासीन हुन्छ, र तिनीहरू यी वातावरणहरूबाट निरन्तर तर्किन पनि चाहन्छन्, र तिनीहरूले वास्तविक समस्याहरूका बारेमा सत्यताको खोजी गर्न चाहँदैनन्। तिनीहरूले सत्यताका आधारमा फरक-फरक प्रकारका मानिसहरू र घटनाहरूलाई खुट्टयाउन जान्दैनन्, न त तिनीहरूले विभिन्न समस्याहरू समाधान गर्नका निम्ति सत्यता लागू गर्न तालिम नै लिन्छन्। तिनीहरूमाथि जेसुकै आइपरे पनि, तिनीहरूसँग कुनै मनोवृत्ति वा दृष्टिकोण हुँदैन, र तिनीहरू सङ्गति र छलफलहरूमा सहभागी हुँदैनन्। तिनीहरू हरेक दिन परमेश्वरलाई प्रार्थना गर्न, परमेश्वरका वचनहरू पढ्न, भजनहरू सिक्न, र आफ्नो कर्तव्य पूरा गर्नमै सन्तुष्ट हुन्छन्, त्यति हो। म तँलाई एउटा कुरा भन्नेछु, जुन के हो भने, श्रमिकका विशेषताहरू कस्ता हुन्छन् भने, ऊ मेहनत गर्न मात्रै इच्छुक हुन्छ, र उसलाई सत्यताको कुनै पनि पक्षप्रति रुचि हुँदैन वा ऊ सत्यताको कुनै पनि पक्षबारे गम्भीर हुन् इच्छुक हुँदैन, र उसलाई त्यसो गर्नु झन्झटिलो लाग्छ—यो एक श्रमिक हो। यदि तँ शैतानको सेवक, वा कुनै दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी होइनस् भने, बढीमा तँ श्रमिक मात्रै हुन सक्छस्। तर मुक्ति हासिल गर्न सक्ने परमेश्वरका मानिसहरूका हकमा कुरा फरक हुन्छ। तिनीहरू श्रम गर्न र थोरै मेहनत गर्नमै सन्तुष्ट हुँदैनन्, बरु तिनीहरूले सबै प्रकारका मानिस, घटना, र परिस्थितिहरूमा विभिन्न सत्यताहरू सिक्छन् र बुझ्छन्, त्यसपछि यी सत्यताहरूका आधारमा विभिन्न प्रकारका मानिसहरू र घटनाहरूलाई हेर्छन् र सम्हाल्छन्। यसरी, विभिन्न सत्यताहरू क्रमिक रूपमा तिनीहरूमा मिसिन्छन्, र ती क्रमिक रूपमा तिनीहरूको जीवन र तिनीहरूको कार्य र आत्म-आचरणका सिद्धान्तहरू बन्छन्। सत्यता तेरो जीवन बनेपछि मात्रै तँ परमेश्वरमा समर्पित हुन र परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्नेछस्; नत्र भने, यो प्रभाव हासिल गर्न सकिँदैन। कामकुराहरू अनुभव गर्न नडराओ, र मानिसहरूलाई खुट्ट्याउन नडराओ। सबै प्रकारका घटनाहरू घट्नु नराम्रो कुरा होइन, र यसमाथि परमेश्वरले सार्वभौमिकता राख्नुहुन्छ। परमेश्वरले सार्वभौमिकता राख्नुभएपछि र बन्दोबस्तहरू गर्नुभएपछि, तँलाई केको डर? परमेश्वरले सार्वभौमिकता राख्नुभएपछि र बन्दोबस्तहरू गर्नुभएपछि, तेरो हकमा, कुनै घटना घट्नु कम्तीमा पनि दुर्भावनापूर्ण कुरा वा परीक्षाको कुरा हुँदैन। बरु, यो त तँलाई पाठहरू सिक्न, शिक्षा लिन र फाइदा लिन, र तँलाई सिद्ध बनाउनका लागि भएको हुन्छ। यदि तँ परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छस्, तैँले आफूमा आइपर्ने कुरालाई सकारात्मक शिक्षण सामग्रीका रूपमा लिन सक्छस्, र सत्यताको खोजी गर्न र आफूले सिक्नुपर्ने पाठहरू सिक्न सक्छस् भने, स्वाभाविक रूपमा र अपरिहार्य रूपमा नै सत्यता तँमा मिसिनेछ र तेरो जीवन बन्नेछ। त्यसकारण, धेरैजसो मानिसहरूले विभिन्न घटनाहरूको सामना गर्दा उदासीनता, तर्काइ, गैर-सहभागिता, र गैर-संलग्नताको मनोवृत्ति अपनाउनु, र दृष्टिकोणहरू व्यक्त नगर्नु वा सङ्गति नगर्नु गलत हुन्छ—यो अनुचित कुरा हो। यो गलत र अनुचित कुरा हो भनेर मैले किन भनेँ? यो मनोवृत्तिले तँलाई परमेश्वरको मुक्ति वा उहाँका असल अभिप्रायहरूमा रुचि छैन, र तँलाई परमेश्वरद्वारा सिद्ध पारिनमा रुचि छैन, र तैँले यसलाई ध्यान दिँदैनस् र इन्कार गर्छस् भन्ने कुरा परमेश्वरलाई देखाउँछ। जब परमेश्वरले तेरो मनोवृत्ति यही हो भन्ने देख्नुहुन्छ, तब के उहाँले अझै पनि तँलाई मुक्ति दिन चाहनुहुनेछ? अनि यदि परमेश्वरले तँलाई मुक्ति दिन चाहनुभयो भने पनि, तैँले सहकार्य गरिनस् भने उहाँले तँलाई कसरी मुक्ति दिन सक्नुहुन्छ? भनाइ नै छ, “भीरबाट खस्न लागेको गोरुलाई बचाउन सकिँदैन”, र यो भनाइले ठीक यस्तै व्यक्तिलाई जनाउँछ।
परमेश्वरको सम्पूर्ण व्यवस्थापन योजनाभित्र, विशेष गरी उहाँको कामको यो अन्तिम चरणभित्र, उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र तैँले ती सबै सुनेको छस्। तैँले तीमध्ये जतिलाई अनुभव गरेको वा बुझेको भए पनि, कम्तीमा पनि तैँले तिनलाई जानेको छस्, त्यसकारण परमेश्वरले हस्तक्षेप र सहजीकरणको कुनै थप काम गर्नुहुनेछैन। परमेश्वरले तँलाई आइपर्ने सबै कुरामा तैँले देखाउने मनोवृत्ति, साथै तेरो सहकार्यको प्रतीक्षा गर्नुहुन्छ—उहाँ तेरो मनोवृत्ति, तेरो दृष्टिकोण, तेरा पछ्याइहरू, र तैँले लिने मार्ग हेर्न चाहनुहुन्छ। यदि तैँले हरेक पटक मानिस, घटना, र कामकुराहरूको सामना गर्दा, परमेश्वरले तँसँग कुनै मनोवृत्ति र दृष्टिकोणहरू छैनन्, र तँसँग भन्नलाई सधैँ केही कुरा हुँदैन भन्ने कुराको विवरण राख्नुहुन्छ भने, मलाई भन, के तँ मूर्ख होइनस् र? कस्ता मानिसहरूसँग भन्नलाई सधैँ केही हुँदैन? बहिरा, गुँगो, बेवकुफ, वा मूर्खहरूसँग होइन र? परमेश्वरले तँसँग कुनै मनोवृत्ति छैन भन्ने कुराको विवरण राख्नुहुन्छ, त्यसकारण जब उहाँले अन्ततः तँलाई अङ्क दिनुहुन्छ, तब तैँले शून्य अङ्क प्राप्त गर्नेछस्। जब तँमाथि कुनै कुरा आइपर्छ, परमेश्वरले सोध्नुहुन्छ, “के तँ मूल्य चुकाउन इच्छुक छस्?” अनि तैँले “हो, म तयार छु!” भनेर भन्छस्, र उहाँले सोध्नुहुनेछ, “के तँसँग सङ्कल्प छ? के तैँले शपथ खाएको छस्?” अनि तैँले जवाफ दिन्छस्, “छु!” यदि तँसँग यो सङ्कल्प मात्रै छ, तर तँलाई यो वातावरण अनुभव गरेर के प्राप्त गरेको छस् भनेर सोधियो भने, तँसँग भन्नलाई केही हुँदैन, र तैँले अनुभव गरेको हरेक वातावरणबाट केही पनि प्राप्त गरेको छैनस् भने, अन्त्यमा, जब परमेश्वरले तँलाई अङ्क दिनुहुन्छ, तब तैँले दुई अङ्क मात्रै प्राप्त गर्नेछस्। किन दुई अङ्क? तेरो थोरै सङ्कल्पका कारण नै तैँले दुई अङ्क प्राप्त गरेको हुनेछस्। मलाई भन्, के तँ त्यसपछि त खतम हुनेछैनस् र? के तँसँग अझै पनि मुक्ति पाउने आशा हुनेछ? तँ आफै लागिपरेर नै मुक्ति पाउने आशा प्राप्त हुन्छ। यो तैँले सत्यता पछ्याउने मार्गमा हिँड्ने निर्णय गरेको बदलामा प्राप्त गर्ने फल हो। त्यसकारण तँलाई जेसुकै आइपरे पनि, त्यसदेखि नडरा वा त्यसबाट जोगिने प्रयास नगर्, र हातले आफ्नो टाउको छोपेर कछुवा जस्तै आफ्नो खोलमा नलुक्—बरु, त्यसलाई सकारात्मक र सक्रिय रूपमा सामना गर्। यदि तँ डरपोक छस् र कामकुराहरूदेखि डराउँछस्, र तैँले गलत कुरा बोलिस् भने अरूले तँलाई खुलासा गर्नेछन् र छर्लङ्ग देख्नेछन् भन्ने डरले तैँले कुनै पनि कुराको मूल्याङ्कन गर्ने आँट गर्दैनस्—चाहे त्यो कुरा जोसुकैसँग सम्बन्धित होस्—र तँ सधैँ डराउँछस् र कहिल्यै सहभागी हुँदैनस् भने, यसको अर्थ तैँले आफ्नो मौका गुमाइरहेको छस् भन्ने हुन्छ! तैँले आफ्नो कर्तव्य पूरा गर्न धेरै ऊर्जा लगाएको हुन सक्छस्, तर वास्तवमा तैँले आफ्नो परिणाम धेरै पहिले नै निर्धारित गरिसकेको छस्। अन्त्यमा, तैँले दुई अङ्क मात्रै प्राप्त गर्नेछस्, त्यसकारण के तँ बेकामे मूर्ख होइनस् र? के दुई अङ्क प्राप्त गर्नु बेकामे मूर्ख हुनु जस्तै होइन र? अनि तैँले दुई अङ्क मात्रै प्राप्त गर्ने हुनाले, के यो जीवनकालमा परमेश्वरमाथिको तेरो विश्वास व्यर्थ हुनेछैन र? यो परमेश्वरको कामको अन्तिम चरण हो, यदि यस पटक तेरो आस्था व्यर्थ भएको छ भने, तेरो परिणाम निर्धारित हुनेछ। परमेश्वरले फेरि कहिल्यै पनि मानवलाई मुक्ति दिने काम गर्नुहुनेछैन। यो अन्तिम मौका हो—यदि तँ अझै पनि यसका लागि लागिपर्दैनस् र तँ यसलाई फुत्किन दिन्छस्, र तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने, त्यो कति दयनीय कुरा हुनेछ! तैँले जति वर्ष परमेश्वरको कामको अनुभव गरेको भए पनि, तैँले कम्तीमा पनि उत्तीर्णाङ्क प्राप्त गर्नैपर्छ, त्यसपछि तँ अझै बाँच्ने आशा हुनेछ। यदि तेरो श्रम मानक अनुसारको छैन, र तैँले धेरै बाधा र अवरोधहरू पनि उत्पन्न गरेको छस् भने, तैँले कुनै फल पटक्कै प्राप्त गरेको हुनेछैनस्, र मुक्ति प्राप्त गर्ने तेरो आशा शून्य हुनेछ। परमेश्वरले तयार गर्नुहुने हरेक वातावरणमा, दर्शक नबन्; सहभागी बन्, त्यसको भाग बन्। तर तैँले कम्तीमा पनि पालना गर्नैपर्ने एउटा सिद्धान्त छ: बाधाहरू पैदा नगर्। तैँले सहभागी हुन र आफ्ना विचार र मूल्याङ्कनहरू व्यक्त गर्न सक्छस्, र तैँले साधारण मानिसले जस्तै बोले पनि र शब्द र धर्मसिद्धान्तहरू मात्रै बोले पनि, त्यसले केही फरक पार्दैन। तर, तैँले सत्यताको खोजी गर्ने, सत्यता अभ्यास गर्ने, र सत्यतामा समर्पित हुने सिद्धान्त र अभिप्राय लिएर हरेक मामलामा सहभागिता जनाउनुपर्छ—त्यसपछि मात्रै तेरो मुक्तिको आशा हुन्छ। मुक्तिको आशा कुन आधारमा स्थापित हुन्छ? यो तैँले हरेक मामला आइपर्दा सत्यताप्रति लागिपर्न, सत्यताका बारेमा मनन गर्न, र सत्यतामा मेहनत लगाउन सक्नुका आधारमा स्थापित हुन्छ। यस आधारमा मात्रै तैँले सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, र मुक्ति प्राप्त गर्न सक्छस्। तर, यदि तँ मामिलाहरू आइपर्दा सधैँ दर्शक बन्छस्—कुनै मूल्याङ्कन वा चरित्र-चित्रण गर्ने काम गर्दैनस्, र कुनै व्यक्तिगत विचार व्यक्त गर्दैनस्—र तँसँग कुनै कुराका बारेमा कुनै दृष्टिकोण हुँदैन, वा, तँसँग दृष्टिकोण भए पनि, तैँले त्यो व्यक्त गर्दैनस्, र तँलाई ती सही छन् कि गलत छन् भन्ने थाहा हुँदैन, तर तिनलाई मनमा राखेर तिनका बारेमा विचार मात्रै गर्छस् भने, तैँले सत्यता प्राप्त गर्नेछैनस्। यसबारे विचार गर्, यो त ठूलो भोजमा बसेर भोकै बस्नु जस्तै हो। के तँ दयनीय हुँदैनस् र? परमेश्वरको काममा, यदि तैँले विश्वास गरेको दश वर्ष भएको छ र त्यति समयदेखि तँ दर्शक नै भएर बसेको छस्, वा तैँले विश्वास गरेको २०-३० वर्ष भएको छ र त्यति समयदेखि तँ दर्शक नै भएर बसेको छस् भने, अन्त्यमा, जब तेरो परिणाम निर्धारित गर्ने समय आउँछ, तब परमेश्वरले तेरो विवरणमा दिनुहुने अङ्क दुई मात्र हुनेछ, त्यसकारण तँ बेकामे मूर्ख हुनेछस्, र सत्यता प्राप्त गर्ने तेरो मौका र मुक्ति पाउने तेरो आशालाई तँ आफैले पूर्ण रूपमा बरबाद गरेको हुनेछस्। अन्त्यमा, तँलाई बेकामे मूर्खको नाम दिइनेछ, र तँ त्यसैको हकदार हुनेछस्, होइन र? (हो।) बेकामे मूर्ख नबन्नुको रहस्य के हो? (यसको रहस्य दर्शक बनेर बस्नु हो।) दर्शक बनेर नबस्नु। तैँले परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण सत्यता प्राप्त गर्नका लागि तैँले परमेश्वरको काम अनुभव गर्नैपर्छ। कतिपयले सोध्न सक्छन्, “त्यसोभए, के तपाईँले मलाई सबै कुरामा सहभागी हुन लगाइरहनुभएको छ? तर मानिसहरूले भन्छन्, ‘तिम्रो चासो नभएको कुरामा टिप्पणी नगर।’” तँलाई सहभागी हुन लगाउनु भनेको तँलाई सत्यताको खोजी गर्न र तैँले सामना गर्ने कुराहरूबाट पाठहरू सिक्न लगाउनु हो। उदाहरणका लागि, जब तैँले निश्चित प्रकारको व्यक्तिलाई भेट्छस्, तब तैँले उसका प्रकटीकरणहरू र उसले गर्ने कुराहरूबाट उसलाई खुट्ट्याउनैपर्छ। यदि उसले सत्यता उल्लङ्घन गर्यो भने, उसले के गरेर सत्यता उल्लङ्घन गरेको हो भन्ने कुरा तैँले खुट्ट्याउनैपर्छ। यदि अरूले यो व्यक्ति दुष्ट व्यक्ति हो भनेर भन्छन् भने, दुष्ट व्यक्तिका रूपमा चित्रित गरिनका लागि उसले के भनेको र के गरेको हो र उसमा दुष्कर्मका के-कस्ता प्रकटीकरणहरू छन् भनेर तैँले खुट्ट्याउनैपर्छ। यदि अरूले यो व्यक्तिले परमेश्वरको घरका हितहरूको रक्षा गर्दैन र परमेश्वरको घरलाई हानि हुने गरी बाहिरी मानिसहरूलाई सहयोग गर्छ भनेर भन्छन् भने, तैँले यो व्यक्तिले के गरिरहेको छ भन्ने बारेमा सोधपुछ गर्नुपर्छ। अनि सोधपुछ गरेपछि, यी कुराहरू जान्नु मात्रै पर्याप्त हुँदैन। तैँले यस्तो कुरा पनि मनन गर्नुपर्छ: “के मैले त्यस्ता कुराहरू गर्न सक्छु? यदि कसैले मलाई याद दिलाएन भने, मैले पनि त्यस्ता कुराहरू गर्छु होला, अनि त्यसपछि त मैले पनि त्यो व्यक्तिको जस्तै परिणाम प्राप्त गर्दिनँ र? के यो खतरनाक हुँदैन र? भाग्यवश, परमेश्वरले मलाई सचेत गराउनका लागि यो वातावरण तयार गर्नुभयो, जुन मेरा लागि सबैभन्दा ठूलो सुरक्षा हो!” यसबारे मनन गरेपछि, तैँले एउटा कुरा बुझ्छस्: तैँले त्यस्तो व्यक्तिले पछ्याइरहेको मार्गलाई पछ्याउनु हुँदैन, तँ त्यस्तो व्यक्ति बन्नु हुँदैन, र तैँले आफूलाई चेतावनी दिनैपर्छ। तैँले जस्तोसुकै कुराहरूको सामना गरे पनि, तैँले ती कुराहरूबाट पाठहरू सिक्नैपर्छ। यदि तैँले पूर्ण रूपमा नबुझ्ने र तँलाई हृदयमा अनौठा लागेका कुराहरू छन् भने, तैँले ती कुराहरूका बारेमा प्रश्नहरू गर्नुपर्छ र तिनका बारेमा पत्ता लगाउनुपर्छ, र सत्यताको खोजी गरेर वास्तविक स्थितिका बारेमा निश्चित हुनुपर्छ। यो जिज्ञासा होइन; यो इमानदारी हो। इमानदार हुनु भनेको झारा टार्नु वा भिडलाई पछ्याउनु होइन—यो त जिम्मेवारी लिने मनोवृत्ति हो। समस्याहरूका बारेमा स्पष्टता प्राप्त गरेर त्यसपछि तिनलाई समाधान गर्न सत्यताको खोजी गरेर मात्रै, भविष्यमा यस्तै परिस्थितिको सामना गर्दा तँसँग अभ्यासको मार्ग हुनेछ, तैँले सटीक रूपमा अभ्यास गर्न सक्नेछस्, र तँलाई शान्ति र सहजता महसुस हुनेछ। तैँले सबै मामलाहरूमा अरूलाई पछ्याउनु र बतास जता चल्यो त्यतै जानुको सट्टा तथ्यहरूको साँचो स्थितिलाई बुझ्ने प्रयास गर्ने र तीबाट सत्यता प्राप्त गर्ने र मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने भनेर सिक्ने सिद्धान्तका आधारमा इमानदार भइरहेको हुन्छस्। आफ्नो व्यवहारमा इमानदार बनेर मात्रै तैँले सत्यता अभ्यास गर्न र सिद्धान्तहरू अनुसार कार्य गर्न सक्छस्। इमानदार नहुने मानिसहरूले अरूलाई पछ्याउने र जता बतास चल्यो त्यतै जाने सम्भावना हुन्छ, र यसरी, तिनीहरूले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने सम्भावना हुन्छ। उदाहरणका लागि, मानौँ कसैले निरन्तर झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गर्छ र यसरी ऊ आफ्नो कर्तव्य पूरा गर्न अयोग्य हुन्छ। तैँले भन्छस्, “ऊ हेर्दा त ठीकै देखिन्छ। उसले झाराटारुवा व्यवहार गरिरहेको छ भन्ने कुरा मैले कसरी थाहा पाइनँ? के म उसको बहकाउमा परेँ? उसले कुन-कुन तरिकाले आफ्नो कर्तव्यमा अल्याङटल्याङ गरिरहेको थियो? उसले झाराटारुवा तरिकाले के-कस्ता कुराहरू गर्यो?” जब अरू कसैले तँलाई त्यो व्यक्तिले झाराटारुवा व्यवहार गरेको केही तरिका बताउँछ, तब तैँले भन्छस्, “त्यो व्यक्ति नाटक गर्नमा साँच्चै सिपालु रहेछ! झट्ट हेर्दा ऊ ठीकै देखिन्थ्यो, र उसले निकै राम्रा कुराहरू गर्थ्यो। उसले भन्थ्यो, ‘परमेश्वरले हामीलाई यति धेरै अनुग्रह दिनुभएको छ—हामी विवेकहीन हुनु हुँदैन, हामीले आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्नुपर्छ!’ उसले यसो भनेको सुनेपछि, मलाई उसले आफ्नो कर्तव्य बफादारी साथ पूरा गरिरहेको छ भन्ने लाग्यो; ऊ यति झाराटारुवा छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ! के म बहकाउमा परेको छैनँ र? मैले मानिसहरूलाई खुट्ट्याउन सकिनँ, र मैले सत्यता सिद्धान्तहरूका आधारमा मानिसहरू र कामकुराहरूलाई हेर्दिनथिएँ वा मानिसहरूसँग व्यवहार गर्दिनथिएँ। मैले त्यो व्यक्तिले आफ्नो कर्तव्यमा प्राप्त गरेका परिणामहरू, वा उसको निश्चित व्यवहार र प्रकटीकरणहरू, वा उसको सारलाई नहेरी त्यो व्यक्तिले कति राम्रो बोल्छ भन्ने कुरामा मात्रै ध्यान दिएँ—यस विषयमा मैले गल्ती गरेँ। बाहिरबाट असल देखिने मानिसहरू अनिवार्य रूपमा असल नहुन सक्ने रहेछ, र तिनीहरूले राम्रा सुनिने कुराहरू भने पनि, तिनीहरूले आफूले भनेको कुरा साँच्चै नगर्न सक्छन्, र तिनीहरू विवेक र मानवता भएका मानिसहरू नै हुन सक्छन् भन्ने हुँदैन। अबदेखि, मैले मानिसहरूलाई परमेश्वरका वचनहरू अनुसार हेर्नैपर्छ, र मानिसहरूलाई खुट्ट्याउन सिक्नुपर्छ। म फेरि मूर्ख बन्नु हुँदैन!” हेर् त, जेसुकै भए पनि, तँ अलिक इमानदार छस् र तैँले सत्यताको खोजी गर्छस्, त्यसपछि निष्कर्ष निकाल्छस् भने, तैँले केही कुरा प्राप्त गर्नेछस्। यदि तैँले यी लाभहरू प्राप्त गरिस् भने, के त्यो राम्रो कुरा होइन र? (हो।) तैँले मानिसहरूलाई खुट्ट्याउने मामिलामा केही कुरा सिकेको हुनेछस् र केही फाइदा पाएको हुनेछस्—सत्यताप्रति इमानदार भएर र मेहनत गरेर तैँले प्राप्त गर्ने कुरा यही हो। मानौँ तँ यसरी इमानदार छैनस्। जब तैँले कुनै व्यक्ति आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा भएकाले उसलाई धपाइएको छ भन्ने सुन्छस्, तब तैँले यस्तो सोध्दैनस्, “ऊ किन झाराटारुवा भएको? उसलाई किन धपाइयो?” बरु तैँले मनमनै सोच्छस्, “झाराटारुवा हुँदैमा के भयो र? जे भए पनि, मलाई धपाइएको छैन, त्यसकारण सबै कुरा ठीकै छ।” त्यस्तो अवस्थामा, के तैँले यस मामलाबाट अलिकति चेतावनी प्राप्त गरेको हुनेछस्, अलिकति पाठ सिकेको हुनेछस्, वा अलिकति खुट्ट्याउन सकेको हुनेछस्? त्यस्तो हुँदैन। किन हुँदैन? किनभने तँलाई त्यस्ता कुराहरूप्रति चासो छैन वा तँ ती कुराहरूबारे गम्भीर छैनस्, र तैँले आफ्नै जीवन प्रवेश वा सत्यता पछ्याइका लागि कुनै बोझ उठाउँदैनस्, र तँ सत्यता पछ्याउने र जीवन प्रवेशका मामलाहरूका बारे अरूको सङ्गतिमा चासो राख्दैनस् र सहभागी हुँदैनस्, र बढीमा, तैँले झाराटारुवा रूपमा सहमतिका केही शब्दहरू मात्र बोल्छस्, त्यति हो। के यस्ता मानिसहरू धेरै हुन्छन्? जब तिनीहरूमाथि परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूलाई विशेष रूपमा झाराटारुवा हुन र अल्याङटल्याङ गर्न मनपर्छ, र आफ्नै जीवन प्रवेश वा सत्यताको पछ्याइका लागि तिनीहरूले कुनै बोझ उठाउँदैनन्। अरूसँग अन्तरक्रिया गर्दा अलिकति गफ गर्न मन पराउने बाहेक, तिनीहरूलाई जीवन प्रवेशसँग सम्बन्धित कुराहरू वा परमेश्वरले तयार गर्नुहुने वातावरणहरूमा मानिसहरूले सिक्नुपर्ने पाठहरू जस्ता कुराहरूमा पटक्कै चासो हुँदैन। तिनीहरू आफ्नो हातको सानो काम सकेपछि, टोलाएर बस्छन्, केही समय सुत्न वा आराम गर्न मात्रै चाहन्छन्, र तिनीहरूले आफ्नै जीवन प्रवेशका लागि कुनै बोझ उठाउँदै उठाउँदैनन्। यी मानिसहरूमा भएको थोरै सङ्कल्प र थोरै इच्छाहरू बाहेक, तिनीहरूले अन्ततः कुनै सत्यता प्राप्त गर्दैनन्, र अन्त्यमा, तिनीहरूको कुल अङ्क दुई मात्रै हुन सक्छ, तिनीहरूले आफ्नो बेकामे मूर्खतालाई त्याग्न सक्नेछैनन्, त्यसकारण, यस जीवनमा तिनीहरू समाप्त हुनेछन्। यदि तँ यस पटक खतम भइस् भने, तँ साँच्चै नै खतम हुनेछस्, र तैँले मुक्ति पाउने कुनै आशा हुनेछैन, किनभने तेरो नतिजा निर्धारित भइसकेको हुनेछ। सृजित प्राणीले अन्तिममा प्राप्त गर्ने अङ्क उसको परिणामसँग सीधै सम्बन्धित हुन्छ। यदि तैँले उतीर्णाङ्क प्राप्त गरिस् भने, तेरो परिणाम के हुनेछ भने, तैँले मुक्ति पाउँछस्। यदि तैँले उतीर्णाङ्क प्राप्त गरिनस् भने, तेरो परिणाम राम्रो हुनेछैन। यही बेला मानिसहरूका परिणामहरू निर्धारित हुन्छन्, र परिणाम निर्धारित भइसकेपछि, त्यो स्थायी हुन्छ र परिवर्तन हुँदैन। असल परिणामका लागि लागिपर्ने अर्को मौका हुनेछैन र त्यसलाई परिवर्तन गर्ने कुनै मौका हुनेछैन—तेरो नियति सधैँका लागि निर्धारित हुनेछ। बुझिस्? के यो तँलाई डर देखाउनका लागि हो? (होइन।) यसबारे विचार गर्—परमेश्वरले मानवजातिलाई व्यवस्थापन गर्ने र मुक्ति दिने काम गरिरहनुभएको छ, र उहाँले मानिसहरूलाई उनीहरूमा हुनुपर्ने विभिन्न सत्यताहरू प्रदान गरिरहनुभएको छ—परमेश्वरले कति पटक यस्तो काम गर्न सक्नुहुन्छ? (यो एक पटक मात्रै।) यो काम पहिले कहिल्यै भएको छैन, र फेरि कहिल्यै हुनेछैन। एउटै मात्र समय यही हो, र यो पूरा भएपछि, परमेश्वरको महान् काम पूर्ण रूपमा पूरा हुनेछ। “पूर्ण रूपमा पूरा हुनु” को अर्थ के हो? यसको अर्थ उहाँले फेरि यो काम गर्नुहुनेछैन, र उहाँले त्यसो गर्ने कुनै योजना बनाउनुभएको छैन भन्ने हो। त्यसकारण, यस पटक मानिसहरूको अन्तिम परिणाम जेसुकै भए पनि, तिनलाई अन्तिम रूप दिइनेछ र ती परिवर्तन हुनेछैनन्। परमेश्वरले मानिसहरूलाई फेरि प्रस्तुति दिने वा फेरि आफ्नो जीवन जिउने मौका दिनुहुनेछैन। बितेको समय कहिल्यै फर्केर आउनेछैन, र कुनै परिवर्तन हुनेछैन। त्यसकारण यदि तैँले यो अवसरको सदुपयोग गरिनस् भने, मुक्ति पाउने मौका गुमाउनेछस्। यदि तैँले परमेश्वरले तयार गर्नुभएका विभिन्न वातावरण र विभिन्न मानिस, घटना, र परिस्थितिहरूलाई बेवास्ता गरिस्, ती कुराहरूका हकमा तँ अबुझ र मन्दबुद्धिको हुन्छस्, र ती कुराहरूलाई उदासीनता साथ लिन्छस् भने, तँ बेकामे मूर्ख होस्। तँ आफैँले समेत आफ्नो नतिजा र गन्तव्यलाई गम्भीरतापूर्वक लिँदैनस् भने, कसले तँलाई ध्यान दिनेछ? तँलाई यो कुरा धेरै पटक भनिएको छ तर तैँले यसलाई गम्भीरतापूर्वक लिँदैनस्, त्यसकारण तँ बेकामे मूर्ख होइनस् भने के होस् त? मुक्ति पाउने कुरा जत्तिको महत्त्वपूर्ण अरू केही छैन। के कुरा त्यही होइन र? (हो।) अवश्य नै, मैले भर्खरै भने जस्तै, व्यक्तिको अन्तिम परिणाम परमेश्वरले सार्वभौमिकता राख्नुभएका विभिन्न वातावरणहरूमा देखा पर्ने उसका समग्र प्रकटीकरणहरूद्वारा निर्धारित हुन्छ, त्यसकारण मानिसहरूले आफ्नो दैनिक जीवनका समग्र प्रकटीकरणहरूप्रति ध्यान दिनुपर्छ। यहाँ अभिप्राय भनेको तँलाई गफ चुट्न र विवादमा पर्न लगाउनु होइन, बरु तँलाई तेरो विद्यमान वातावरण र अवस्थातिहरूका आधारमा, र हरसम्भव हदसम्म सत्यता बुझ्न र सत्यतामा प्रवेश गर्न, सत्यता पछ्याउने मार्गमा हिँड्न लगाउनु, र हामीले पहिले सङ्गति गरेका “त्याग्नु” का तीन वटा बुँदाहरूमा परमेश्वरको काम पूरा हुनुभन्दा पहिले प्रवेश गर्न लगाउनु हो—त्यसपछि तँ ६० वा त्योभन्दा बढी अङ्क प्राप्त गरेर उत्तीर्ण भएको हुनेछस्, र तँ मुक्ति पाएको व्यक्ति हुनेछस्। तर, यदि तँ यी तीन वटा कुराहरूमध्ये कुनै पनि कुराको नजिक समेत पुग्दैनस्, वा यदि तँ तीमध्ये कुनैमा उत्तीर्ण हुँदैनस्, र यदि तैँले तीमध्ये कुनैमा वास्तविक रूपमा प्रवेश गर्दैनस् भने, तैँले उतीर्णाङ्क प्राप्त गर्नेछैनस्, र तँ मुक्तिको पात्र हुनेछैनस्। बुझिस्? (बुझेँ।)
तिमीहरूले अहिले के कुरा अभ्यास गर्नमा ध्यान दिनुपर्छ? परमेश्वरले तयार गर्नुहुने वातावरणहरूमा सत्यताको खोजी गर्नु र पाठहरू सिक्नु। यदि तँ हरेक दिन सत्यता बिलकुलै नपछ्याई मेहनत गर्न र काम गर्नमा मात्रै सन्तुष्ट हुन्छस् भने, तँ त श्रमिक मात्रै होस्। यदि तैँले मेहनत गरेको छस्, परमेश्वरले तयार गर्नुहुने विभिन्न वातावरणहरू अनुभव गरेको छस्, र केही सत्यताहरू बुझेको छस्; अनि तैँले जति धेरै सत्यता प्राप्त गरेको भए पनि, अन्ततः ठूला भए पनि वा साना भए पनि, धेरै भए पनि वा थोरै भए पनि लाभहरू प्राप्त गरेको छस्; अनि यी कुराहरू प्राप्त गर्न तँलाई निकै लामो समय लागेको भए पनि र तेरो प्रगति सुस्त भएको भए पनि, तँ कम्तीमा पनि परमेश्वरको कामको प्रवाहमा छस्, र तँ लाभहरू प्राप्त गरेको व्यक्ति होस् भने, तँसँग मुक्ति पाउने मौका हुनेछ। अहिले तिमीहरूले गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा के हो? तँ सबै प्रकारका जटिल र अर्थहीन मामलाहरूबाट बाहिर निस्कनुपर्छ र तैँले सत्यता पछ्याउने कार्यमा आफ्नो हृदय लगाउनुपर्छ; तैँले छोटो अवधिमै आफ्ना विभिन्न स्थितिहरूको भेउ पाउन, आफ्नो मुख्य कमजोरी, कमीकमजोरी, र समस्याहरूलाई चिन्न, त्यसपछि तिनलाई समाधान गर्न सत्यताको खोजी गर्न लागिपर्नुपर्छ, ताकि तँसँग पछ्याउने मार्ग र लिने उद्देश्य होस्, र तैँले पूरा गर्ने कर्तव्यमा पालना गर्नुपर्ने स्पष्ट सत्यता सिद्धान्तहरू होऊन्। तैँले शिर नभएको कुखुराले जस्तै दौडधूप गर्नु र खुट्टाले अन्धाधुन्ध जहाँ लैजान्छ त्यतै जानु जस्तो खतरनाक कुरा गर्नुको सट्टा तँसँग आफ्ना कमीकमजोरीहरू, आफ्नो कर्तव्य, र आफ्नो वातावरणका बारेमा पछ्याउनलाई स्पष्ट उद्देश्य र दिशा हुनुपर्छ। तैँले मेहनत मात्रै गर्ने तर सत्यता प्राप्त नगर्ने आफ्नो जीवनको स्थिति र वर्तमान परिस्थितिलाई त्याग्नुपर्छ। दर्शक बनेर नबस्, र सबै किसिमका विवादहरूमा नफस्। यदि तँ ती कुराहरूमा फस्न चाहँदैनस् भने, तैँले सत्यता सिद्धान्तहरूमा मेहनत लगाउन सिक्नैपर्छ। यदि तैँले प्रत्येक सत्यता सिद्धान्तहरू बुझ्छस् भने, तँ यस्ता विवादहरूबाट उम्कन सक्नेछस्। मैले किन यसो भनेँ? तैँले विभिन्न सत्यताहरू बुझेपछि मात्रै तँ तीमा प्रवेश गर्न सक्छस् र तैँले सत्यता वास्तविकतामा प्रवेश गर्ने आशा प्राप्त गर्न सक्छस्। त्यसपछि जब तैँले विभिन्न कुरामा सहभागिता जनाउँछस्, तब तँसँग सिद्धान्तहरू हुनेछन् र तँलाई यी कुराहरूको सामना कसरी गर्ने भन्ने थाहा हुनेछ। यदि तँ दर्शक बनेर बस्न मात्रै छोडिस्, तर हरेक सत्यताबारे पूर्ण रूपमा भ्रमित छस्, र तैँले कुनै सत्यता बुझ्दैनस्, र तैँले धर्मसिद्धान्त र केही शब्दहरू मात्रै बुझ्छस्, र तँलाई फरक-फरक प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउने भन्ने थाहा छैन, र जब तैँले समस्याहरूको सामना गर्छस्, तब तैँले घटनाक्रमका बारेमा मात्रै कुरा गर्छस्, र को सही थियो र को गलत थियो भनेर मूल्याङ्कन गर्ने बाहेक केही गर्दैनस्, र अन्त्यमा तैँले सत्यता प्राप्त गर्दैनस् भने, कुनै पनि मामलामा रहेको तेरो सहभागिता व्यर्थ हुन्छ। यस्तो सहभागिता केमा परिणत हुन्छ? यो विवाद पैदा गर्ने कार्यमा परिणत हुन्छ। त्यसकारण, तैँले सत्यता सिद्धान्तहरूमा मेहनत लगाउन सिक्नुपर्छ, र तँ तिनलाई लागू गर्ने बारेमा झन्-झन् स्पष्ट भएपछि—र तैँले झन्-झन् सटीक रूपमा त्यसो गर्न थालेपछि—तँसँग सत्यतामा प्रवेश गर्ने आशा हुनेछ, त्यसपछि तँसँग मुक्ति पाउने आशा पनि हुनेछ।
परमेश्वरले मानिसहरूका लागि तयार गर्नुभएका वातावरणहरूमा तिनीहरूले कसरी सत्यता प्राप्त गर्न सक्छन् भन्ने कुराका हकमा भन्दा, हामीले भर्खरै अभ्यासका कुल कति वटा सिद्धान्तहरूका बारेमा सङ्गति गर्यौँ? दर्शक बनेर नबस्ने, र अरू के छ? (मेहनत मात्रै नलगा।) मेहनत लगाउनमा मात्रै सन्तुष्ट हुने तर सत्यता पछ्याउन अनिच्छुक हुने स्थितिलाई फाल्। अरू के छ? (सबै प्रकारका विवादहरूमा नफस्) सबै प्रकारका विवादहरूमा नफस्, सबै प्रकारका जटिल मामलाहरूमा नफस्—सत्यता सिद्धान्तहरू पालना गर्नुलाई यी कुराहरूले प्रतिस्थापन नगर्। तिमीहरूले यी सबै सिद्धान्तहरू पालना गर्नुपर्छ। यदि तँ ती कुरालाई दह्रिलो गरी पक्रिरहिस् भने, तँ सत्यता पछ्याउनबाट टाढा हुनेछैनस् र चाँडै सत्यता पछ्याउनुको वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। के यसलाई अभ्यास गर्न सजिलो छ? मैले मण्डलीका मानिसहरूसँग अन्तरक्रिया गरेको धेरै वर्ष भएको छ, तर निकै थोरैले मात्रै मलाई जीवन प्रवेशका बारेमा वा सत्यता सिद्धान्तहरूसँग सम्बन्धित प्रश्नहरू सोध्छन्, र थोरै मानिसहरूले मात्रै आफ्नो व्यक्तिगत स्थितिका बारेमा कुरा गर्छन् अनि त्यसपछि अभ्यासका मार्गहरू खोज्छन्। बरु, कतिपय मानिसहरूले सत्यतासँग कुनै सम्बन्ध नभएका प्रश्नहरू सोध्छन्, र तिनीहरूले “खोजी” जस्ता शब्दहरू समेत प्रयोग गर्छन्। जब म “खोजी” भन्ने शब्द सुन्छु, तब म अत्यन्तै ध्यान दिएर र गम्भीरता साथ सुन्छु, र तिनीहरूप्रति मेरो सम्पूर्ण ध्यान केन्द्रित गर्छु, तर जब तिनीहरूले सानातिना बाहिरी मामलाका बारेमा पो सोधिरहेका हुन्छन्, तब मलाई घिन लाग्छ। म भन्छु, “मण्डलीको काम वा जीवन प्रवेशसँग तैँले सोधिरहेको कुराको कुनै सम्बन्ध छैन। “खोजी” भन्ने शब्द प्रयोग नगर्। तैँले “खोजी” भन्ने शब्दलाई अपमान गरिरहेको छस्। के “खोजी” भन्ने शब्दलाई अनुचित रूपमा प्रयोग गर्न सकिन्छ? (अहँ, सकिँदैन।) कसैले मलाई यसो समेत सोधेको थियो, “मेरो छोराको ढाडमा कोठी छ। कतिपय मानिसहरूले यो कोठीको अर्थ ऊ अभागी छ भनेर भन्छन्, र अरूले कोठी बढिरहेको ठाउँमा रोग लाग्ने सम्भावना हुन सक्छ भनेर भन्छन्। जे भए पनि, ऊ अभागी छ कि छैन भन्ने कुराको मलाई वास्ता छैन, तर यदि यो उसको स्वास्थ्यका लागि साँच्चै नै हानिकारक छ भने, के तपाईँलाई यो कोठी हटाउनुपर्छ भन्ने लाग्छ?” यदि तिमीहरूलाई यो कुरा सोधिएको भए, तिमीहरूले कसरी जवाफ दिनेथियौ? के तिमीहरूलाई यो सत्यतासँग सम्बन्धित छ भन्ने लाग्छ? के यो मण्डलीको कामसँग सम्बन्धित छ? (अहँ, छैन।) यो यीमध्ये कुनै पनि कुरासँग सम्बन्धित छैन, त्यसकारण के म यस विषयमा ध्यान दिन बाध्य छु? (अहँ।) म त्यस्तो कुनै बाध्यतामा छैनँ। त्यसकारण मैले भनेँ, “तेरो छोराको शरीरमा कोठी छ भन्ने तथ्यसँग सत्यताको कुनै सम्बन्ध छैन। यसबारे मलाई नसोध्, बरु गएर डाक्टरलाई सोध्। म तेरो परिवारको डाक्टर होइनँ।” के तिमीहरूलाई मैले यस विषयमा ध्यान दिनुपर्छ भन्ने लाग्छ? (अहँ, तपाईँले ध्यान दिनु पर्दैन।) तैँले जसलाई सोधे पनि, कोही पनि यस विषयमा ध्यान दिन इच्छुक हुनेछैन। तिनीहरूलाई जिम्मेवारी लिन डर लाग्छ भन्ने होइन। बरु, तिनीहरूसँग त्यस्ता कुराहरूप्रति चासो राख्ने कुनै दायित्व हुँदैन। तेरो छोराको कोठी हटाउनु वा नहटाउनुले मण्डलीको काममा असर गर्छ? के यसले तेरो आफ्नै कर्तव्य निर्वाहमा असर गर्छ? यो मामलासँग मेरो कुनै सम्बन्ध छैन। यसबारे मलाई नसोध्, यो व्यर्थको कुरा हो। सत्यतासँग यसको कुनै सम्बन्ध छँदै छैन, तैपनि तैँले अझै पनि “खोजी” भन्ने शब्द प्रयोग गर्छस्। तैँले “खोजी” भन्ने शब्दलाई अपवित्र पार्छस्—यो घिनलाग्दो कुरा हो! कसैले यस्तो पनि सोध्यो: “मेरो आँगनमा एउटा कछुवा आएको छ, म त्यसलाई समातूँ कि नसमातूँ? म तपाईँबाट यो कुराको खोजी गर्न चाहन्छु।” त्यसले मबाट उत्तर खोज्न यो प्रश्न अघि सार्यो—के तँलाई मैले त्यसलाई जवाफ दिनुपर्छ जस्तो लाग्छ? (अहँ।) उसले भन्यो, “मैले त्यसलाई पक्रेर कानुन तोडिरहेको छु भने के गर्ने? यदि मैले कानुन तोडेँ र तपाईँले मलाई रोक्नुभएन भने, तपाईँ जिम्मेवार हुनुहुनेछ!” तैँले के भन्नेथिइस्? (तैँले आफ्नै स्वतन्त्र इच्छाले त्यसलाई पक्रिने निर्णय गरिस्—तैँले कानुन तोड्नुसँग मेरो कुनै सम्बन्ध छैन।) तैँले कानुन तोड्छस् कि तोड्दैनस् भन्ने कुरा तेरो मामला हो, र मसँग यसको कुनै सम्बन्ध छैन। तैँले मलाई मण्डलीको कामका सिद्धान्तहरू र सत्यता सिद्धान्तहरू जस्ता कुराहरूका बारेमा प्रश्नहरू गर्न सक्छस्, तर कानुनी मामलाहरूका हकमा, वकिल खोज्—तँ जुन देशमा बस्छस्, त्यहाँकै वकिलसँग सल्लाह गर्। म वकिल होइनँ, त्यसकारण त्यस्ता कुराहरूका बारेमा मलाई नसोध्। म यहाँ सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न आएको हुँ। म केवल सत्यता प्रदान गर्छु र सिद्धान्तहरूमा सङ्गति गर्छु। तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्ने कुराका हकमा भन्दा, मसँग यसको कुनै सम्बन्ध छैन; त्यो तेरो आफ्नै मामला हो। अनि तेरो आफ्नै जीवनका व्यक्तिगत मामलाहरूका बारेमा त कुरै नगरौँ—तैँले ती कुराहरूका बारेमा मलाई झनै सोध्नु हुँदैन, र तँलाई उत्तर दिने मेरो दायित्व हुँदै होइन। कुरा यही हो, होइन र? (हो।)
परमेश्वरको कामसँग सम्बन्धित यो विषय मानिसहरूका अन्तिम परिणामहरूसँग अभिन्न रूपमा जोडिएको छ, त्यसकारण मानिसहरूले परमेश्वरको काम स्वीकार गर्दा र अनुभव गर्दा आफूसँग धारणा र कल्पनाहरू बोक्नु हुँदैन; तिनीहरूले यी धारणा र कल्पनाहरूलाई जरैदेखि त्याग्नुपर्छ र तिनलाई आफू र परमेश्वरका बीचमा रहन दिनु हुँदैन। सही विचार, दृष्टिकोण, र मनोवृत्तिहरूसाथ परमेश्वरको कामलाई लिएपछि मात्रै मानिसहरूले सत्यता बुझ्ने र प्राप्त गर्ने अवसर पाउन सक्छन्; सही मनोवृत्ति र सही विचार र दृष्टिकोणहरूसाथ परमेश्वरको कामलाई लिएपछि मात्रै मानिसहरूले परमेश्वरको कामलाई साँचो रूपमा बुझ्न र अनुभव गर्न सक्छन्, र अन्ततः, परमेश्वरको कामभित्रबाटै तिनीहरूले प्राप्त गर्नुपर्ने सत्यताहरू प्राप्त गर्न सक्छन्। त्यसकारण, तैँले जेसुकै कुरालाई त्यागे पनि, समग्रमा भन्दा, यो सबै तँलाई सही मार्ग लिन र सत्यता पछ्याउने मार्गमा हिँड्न सक्षम बनाउनका लागि हो, र अन्तिम परिणाम र उद्देश्य भनेको तँलाई सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता प्राप्त गर्न सक्षम बनाउनु बाहेक अरू केही पनि होइन। यो विषयवस्तुका बारेमा हामीले गरेको सङ्गतिको अन्तिम उद्देश्य यही हो। हामीले जुनसुकै विषयमा सङ्गति गरेका भए पनि, यसको अन्तिम उद्देश्य भनेको मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम बनाउनु हो। यदि तैँले सत्यता बुझ्छस्, र तँसँग धेरै मामलाहरूमा सत्यता सिद्धान्तहरूलाई आधार बनाएको छस्, र तँ अब दिशाहीन, उद्देश्यहीन छैनस्, वा काम गर्ने क्रममा अन्योलमा पर्दैनस् भने, यसको अर्थ तेरो क्षमतामा सुधार आएको छ भन्ने हुँदैन, बरु तँसँग तेरो कार्य र आचरणका मापदण्डहरूका रूपमा परमेश्वरको सत्यता, परमेश्वरका वचनहरू छन् भन्ने हुन्छ। अर्थात्, तेरो जन्मजात क्षमता, योग्यता, र प्रतिभाका आधारमा, तैँले सत्यता बुझेको छस् र तँसँग तेरो आचरणका मापदण्डहरू छन्, त्यसकारण तँ यो संसारमा र सबै थोकका बीचमा स्वतन्त्र रूपमा जिउन सक्ने सृजित मानव होस्। त्यस्तो मानवले मात्रै सृजित मानवको मानक पूरा गर्छ—यो मानकअनुसारको सृजित मानव हो। बुझिस्? (बुझेँ।) त्यसोभए आजको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। फेरि भेटौँला!
जुलाई १५, २०२३