२९. म किन सधैँ बहाना बनाइरहेकी हुन्छु?

अगष्ट २०२१ मा मैले नयाँ विश्‍वासीहरूलाई मलजल हाल्‍ने तालिम थालेँ। मेरो अङ्ग्रेजी उच्चारण त्यति राम्रो नभएकोले तिनीहरूसँग सङ्गति गर्दा तिनीहरूले मलाई तुच्छ ठान्‍नेछन् भन्‍ने डर लागेको थियो, त्यसकारण सुरुमा म मेसेज लेखेर नै कुराकानी गर्थेँ। तर, सधैँ त्यसो गर्दा मलजलको काममा राम्रोसँग प्रगति हुन सकेन। एउटा भेलामा एक जना सिस्टरले के कुरा बताइन् भने, उनको अङ्ग्रेजी राम्रो थिएन, तर उनी नयाँ विश्‍वासीहरूसँग बोलेर तिनीहरूका धारणा र कठिनाइहरूलाई समयमा नै सम्बोधन गर्न सक्षम हुन चाहन्थिन्, त्यसैले उनले अनुवाद गर्ने सफ्टवेर प्रयोग गर्थिन् वा अरू ब्रदर-सिस्टरहरूलाई अनुवादमा सहयोग गर्न अनुरोध गर्थिन्। त्यसरी उनले तिनीहरूसँग जतिसक्दो धेरै बोलेर नै सङ्गति गर्न सकिन्। मेरो कर्तव्यप्रति रहेको आफ्नो आचरणसँग यो कुरालाई दाँजेर हेर्दा मलाई लाज लाग्यो। उनले अङ्ग्रेजी राम्ररी बोल्‍न सक्दिनथिइन् तर पनि नयाँ विश्‍वासीहरूसँग बोलेरै कुराकानी गर्ने उपायहरू खोजिन्, जब कि मेरो समस्या भनेको मेरो अङ्ग्रेजी उच्चारणमा मात्रै थियो, दैनिक जीवनमा गरिने कुराकानीमा मलाई कुनै समस्या थिएन। मलाई तिनीहरूले मेरो अङ्ग्रेजी कमजोर छ भन्लान् भन्‍ने मात्रै डर थियो, त्यसकारण मलाई तिनीहरूसँग बोल्‍न मन लाग्दैनथियो। मलजल गर्ने काममा मैले पूरा गर्न सक्‍ने कुरामा त्यसले प्रत्यक्ष रूपमा असर गऱ्यो। परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने नयाँ विश्‍वासीहरूको सङ्ख्या झन्-झन् बढिरहेको थियो, त्यसकारण हामीले हाम्रो मलजलको कामको गतिलाई बढाएर तिनीहरूलाई साँचो मार्गमा जग बसाल्‍न जतिसक्दो चाँडो सहयोग गर्नुपर्थ्यो। तर मैले नयाँ विश्‍वासीहरूलाई तुरुन्तै कसरी मलजल गर्ने भन्‍ने बारेमा नसोचेर आफ्‍नै प्रतिष्ठा र हैसियतबारे मात्रै सोचिरहेकी थिएँ। मैले परमेश्‍वरको इच्छाबारे अलिकति पनि विचार गरेकी थिइनँ! त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँमा भर पर्न र तिनीहरूसँग बोलेर कुराकानी गर्ने प्रयास गर्न तयार भएँ। त्यसपछि मैले अङ्ग्रेजी बोल्‍न अभ्यास गर्न थालेँ, र मैले पहिले नै चिनेका नयाँ विश्‍वासीहरूबाट यो काम सुरु गरेँ, अनि केही समयपछि बोलेर कुराकानी गर्न मलाई त्यति धेरै डर लाग्‍न छोड्यो। मलाई याद छ, एकपटक एक जना नयाँ विश्‍वासीसँग कुराकानी गर्दै थिएँ, त्यहाँ मैले आफ्‍नो कुरा धाराप्रवाह सजिलै व्यक्त गर्न सकेकी थिएँ, साथै ती विश्‍वासीको समस्या पनि समाधान भएको थियो। मलाई विश्‍वास नै गर्न गाह्रो भएको थियो—बोलेर गरेको एउटै कुराकानी धेरै दिनसम्म मेसेजबाट गरेको कुराकानी भन्दा धेरै प्रभावकारी हुन्छ भन्‍ने मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ।

धेरैभन्दा धेरै नयाँ सदस्यहरू मण्डलीमा आबद्ध हुन थालेपछि अगुवाले सिस्टर झेङ र मलाई संयुक्तरूपमा मलजलको कामको जिम्‍मा लिन खटाइन्। त्यो सुन्दा म निकै छक्‍क परेँ। मैले मलजल गर्ने काम भर्खरै मात्र सिक्दैथिएँ, परमेश्‍वरको काम सम्‍बन्धी मैले नबुझेका सत्यताहरू अझै धेरै थिए, र मेरो अङ्ग्रेजीको स्तर निकै सामान्य थियो। मैले यस्तो जिम्‍मेवारी कसरी लिन सक्थेँ र? सिस्टर झेङले मैलेभन्दा धेरै पहिलेदेखि नयाँ विश्‍वासीहरूलाई मलजल गर्दै आएकी थिइन्, त्यसकारण हरेक हिसाबमा उनीसँग धेरै अनुभव थियो। उनले अङ्ग्रेजी पनि निकै राम्ररी बोल्थिन्। यदि मैले उनीसँगै काम गर्नुपर्‍यो भने मेरा वास्तविक क्षमताहरूका आधारमा त, मैले मुख खोल्‍ने बित्तिकै ममा धेरै कुराको कमी छ भनेर के उनले देख्‍नेथिइनन् र? मैले सत्यतामा गरेको सङ्गति स्पष्ट छैन, र म त्यो कर्तव्यको लागि योग्य छैन भनेर उनले भन्‍न सक्थिन्। यस विषयमा मैले चिन्ता गरिरहेकी बेला सिस्टर झेङ मसँग हाम्रो काम बारे छलफल गर्न आइन् र मेरो अङ्ग्रेजी कस्तो छ भनेर सोधिन्। केही नसोची मैले भनेँ, “मेरो अङ्ग्रेजी त्यति राम्रो छैन। म अङ्ग्रेजी बुझ्न सक्छु, तर त्यति राम्ररी बोल्न आउँदैन। म लेखेर कुराकानी गर्न सक्छु।” उनले भनिन्, “त्यसोभए तपाईंले नयाँ विश्‍वासीहरूसँग भेला बस्‍ने समय मिलाउने कामको जिम्‍मा लिनुहोला, र म चाहिँ तिनीहरूसँग सङ्गति गर्ने कामको जिम्‍मा लिनेछु। हामीले सँगै मिलेर काम गर्न सक्छौँ।” मलाई त गोली छलेको जस्तै भयो र अङ्ग्रेजी त्यति राम्ररी बोल्‍न सक्दिनँ भनेर मैले भन्‍नु राम्रो बहाना थियो भन्‍ने लाग्यो; त्यसपछि त मैले भेलाहरूमा बोल्‍न पर्दैनथियो। मैले आफ्नो मुख बन्द राख्‍न सकेँ भने मेरा गल्ती र कमीकमजोरीहरू कहिल्यै देखा पर्नेथिएनन्। त्यसपछि सिस्टर झेङले नयाँ विश्‍वासीहरूलाई मलजल गरिरहेका बेला मैले सुन्दै सिकिरहेकी हुनेथिएँ, र केही समयपछि राम्ररी सिकेपछि म तिनीहरूसँग बोलेर कुराकानी गर्न सक्थेँ। त्यसपछि तिनीहरूले मेरो कमजोरी देख्‍नेथिएनन्।

पहिलोपटक सिस्टर झेङ र मैले नयाँ विश्‍वासीहरूलाई सँगै मिलेर मलजल गरिरहेका बेला उनले तिनीहरूसँग अङ्ग्रेजीमा फर्रर कुराकानी गरिरहेको देखेँ, तर मैले “हेलो!” मात्र भनेँ र अरू केही पनि बोल्‍ने आँट गरिनँ। भेला र सङ्गति समाप्त भएपछि नयाँ विश्‍वासीहरूका समस्या र कठिनाइहरूलाई बुझेर जतिसक्दो चाँडो समाधान गर्न तिनीहरूसँग म कुराकानी गर्नेछु भनेर हामीले सहमति जनाएका थियौँ, तर मलाई त्यसो गर्न मन लागेन। मलाई के लाग्यो भने सुरुमा तिनीहरूले सिस्टर झेङसँग कुराकानी गर्दा उनको अङ्ग्रेजी निकै राम्रो रहेको र उनले सत्यतामा राम्ररी सङ्गति गर्न सक्छिन् भनेर देखेका छन्, त्यसकारण यदि तिनीहरूले त्यसपछि मसँग कुराकानी गर्दा मेरो जिब्रो लरबराएको सुने भने हामीबीच कति धेरै भिन्‍नता रहेछ भन्‍ने कुरा देख्‍नेछन्। त्यसपछि तिनीहरूले मलाई के सोच्‍नेछन्? मैले यसबारे बारम्‍बार सोचिरहेँ, र लिखित मेसेजहरू नै पठाइरहने निर्णय गरेँ। त्यसपछि, मैले अलिक राम्ररी चिनेका नयाँ विश्वासीहरूसँग केही मौखिक कुराकानी गर्नेबाहेक अरू नयाँ विश्वासीहरूसँग लेखेर नै अन्तरक्रिया गरेँ। तर त्यो कुराकानी गर्ने ढिलो तरिका थियो। मैले तिनीहरूलाई मेसेज पठाउँदा प्रायजसो कोही पनि अनलाइन हुँदैनथियो, र तिनीहरूको जवाफ म देख्दिनथिएँ। कतिपय समस्या एक-दुई मिनेट बोलेर नै समाधान गर्न सकिन्थ्यो, तर लेखेर मेसेज पठाउँदा केही दिनसम्‍म पनि कुनै परिणाम प्राप्त हुँदैनथियो। हामीले गरेको कामको समीक्षा गरेपछि मात्रै मेरो जिम्‍मामा रहेका नयाँ विश्‍वासीहरूमध्ये लगभग आधाले सामान्य रूपमा भेलाहरूमा सहभागिता जनाइरहेका रहेनछन् भन्ने मलाई थाहा भयो। म चकित भएँ। त्यो कसरी हुन सक्यो? सिस्टर झेङले मलाई सोधिन्, “तपाईं किन नयाँ विश्‍वासीहरूलाई सधैँ मेसेज नै पठाइरहनुहुन्छ? किन तिनीहरूसँग सीधै बोलेर कुराकानी गर्नुहुन्‍न?” उनलाई बताउन मन नलागेर मैले कुरा यताउता बटारेँ। यदि मैले तिनीहरूका समस्या र कठिनाइहरू समाधान गर्न प्रत्यक्ष रूपमा कुराकानी गरेकी भए तिनीहरूमध्ये केहीले सामान्य रूपमा नै सभामा सहभागिता जनाउन थाल्थे भन्‍ने मलाई थाहा थियो। तर मलाई आफ्नो कमजोरी देखाउन डर लागेको थियो र म मेसेजमा नै भर परिरहेकी थिएँ, जसले गर्दा यो परिणाम आएको थियो।

त्यो रात म सुत्‍नै सकिनँ, बारम्बार कोल्टे फेरिरहें र यसबारे जति विचार गर्थेँ मलाई त्यति नरमाइलो लाग्थ्यो। यदि नयाँ विश्‍वासीहरूको अन्योलता र धारणाहरूलाई समयमा नै समाधान गरिएन भने तिनीहरूले कुनै पनि बेला विश्वास छोड्न सक्थे। त्यो कर्तव्यप्रति गम्भीर लापरवाही हुनेथियो! तीन मिनेट बोलेर समाधान हुन सक्‍ने कुनै विषयमा मैले किन मेसेज गर्न जिद्दी गरेँ? मैले अङ्ग्रेजी बोल्‍न नसक्‍ने भन्‍ने थिएन, र त्योभन्दा केही समय पहिले मैले बोलेरै कुराकानी गरेकी थिएँ। किन मैले त्यसो गर्न छोडेँ? कतिपय नयाँ विश्‍वासीहरूलाई मैले उचित तरिकाले मलजल नगरेको कारण तिनीहरू भेलाहरूमा आउन छोडेको बारेमा सोचेर मैले आफैलाई दोष दिइरहेकी थिएँ। मलाई साह्रै पछुतो भयो। आफूलाई चिन्‍न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गर्दै मैले परमेश्‍वरसँग प्रार्थना गरेँ। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “मानिसहरू आफै सृष्टि गरिएका प्राणीहरू हुन्। के सृष्टि गरिएका प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा देख्‍न, र सबै कुराको लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र भ्रष्ट स्वभावहरू र घातक कमजोरी हुन्छन्। तिनीहरूले कुनै सीप वा पेसा सिक्ने बित्तिकै तिनीहरूले आफू सक्षम छन्, तिनीहरू हैसियत र महत्त्व भएका मानिसहरू हुन्, र तिनीहरू पेसेवारहरू हुन् भन्‍ने विचार गर्छन्। तिनीहरू जति नै ‘साधारण’ भए पनि, तिनीहरू सबै आफूलाई महत्त्वपूर्ण वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, आफूलाई सानोतिनो सेलिब्रेटी नै बनाउन चाहन्छन्, र मानिसहरूको नजरमा एउटै पनि खोट नभएको सिद्ध र दोषरहित देखिन चाहन्छन्; तिनीहरू प्रसिद्ध, शक्तिशाली वा कुनै महान् व्यक्ति, र जुनसुकै कार्य गर्न सक्षम र गर्न नसक्‍ने कुनै कुरा नभएको पराक्रमी व्यक्ति बन्‍न चाहन्छन्। यदि तिनीहरूले अरूको सहायता खोजे भने, तिनीहरू असक्षम, कमजोर, र महत्त्वहीन देखिन्छन्, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्‍ने तिनीहरू विचार गर्छन्। यसकारण, तिनीहरू सधैँ अगाडि रहन चाहन्छन्। कतिपय मानिसहरूलाई जब कुनै काम गर्न लगाइन्छ, तब उनीहरूले त्यो कसरी गर्नुपर्छ सो जान्दछौं भनी भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसको बारेमा खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर धेरै दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। जब तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिन्छ, तिनीहरू भन्छन्, ‘चाँडै भइहाल्छ!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, ‘म अहिलेसम्‍म त्यो स्तरमा पुगेको छैन, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्‍नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्‍न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्‍नो इज्‍जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरूलाई जोकोहीजस्तो बन्‍न मन लाग्दैन, तिनीहरू मामुली, सामान्य मानिसहरू बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा चर्चाको विषय बन्‍न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्, र त्यसपछि आफैलाई लुकाइरहने गर्छन्। … के त्यस्ता मानिसहरू यथार्थबाहिर गएर बाँचिरहेका हुँदैनन् र? के तिनीहरूले दिवासपना देखिरहेका हुँदैनन्? तिनीहरूले आफू को हुन् भनेर आफै चिन्दैनन्, न त तिनीहरूले सामान्य मानवतामा कसरी जिउने भनेर नै जान्दछन्। तिनीहरूले कहिल्यै पनि व्यावहारिक मानिसले जस्तो व्यवहार गरेका हुँदैनन्। यदि तँ सधैँ यथार्थबाहिर गई, लटरपटर गर्दै, कुनै पनि काम व्यावहारिकताअनुसार नगरेर अनि सधैँ कल्पनामा जिएर दिन बिताउँछस् भने, त्यो समस्याजनक कुरा हो। तैँले जीवनमा चुनेको मार्ग सही हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरका वचनहरू मनन गर्दा मैले बहाना गरिरहेकी र आफ्‍नो वास्तविक रूप लुकाइरहेकी रहेछु भनेर मैले बुझ्न सकेँ। मेरो बोलीचालीको अङ्ग्रेजी राम्रो नभएको कारण नयाँ विश्‍वासीहरूले मलाई तुच्छ ठान्छन् भन्‍ने डरले मैले तिनीहरूसँग कुराकानी गर्ने आँट गरिनँ। सिस्टर झेङ र मैले सँगै मिलेर काम गर्न थालेपछि उनको अङ्ग्रेजी निकै राम्रो रहेको र उनले मैलेभन्दा निकै स्पष्ट रूपमा सत्यतामा सङ्गति गर्न सक्‍ने रहेछिन् भन्‍ने देखेँ। तुलना गर्दा म निकै पछि परेको देखिन्छु र उनले मेरो वास्तविकता देख्‍नेछिन् भन्‍ने डर लागेको थियो, त्यसकारण मैले अझै धेरै बहाना बनाएँ। मेरो अङ्ग्रेजी कस्तो छ भनेर सिस्टर झेङले सोध्दा मैले जानीजानी राम्रो छैन भनेँ र बोलेर सङ्गति नगर्ने बहाना खोजेँ। हामी दुईले सँगै मलजलको काम गरिरहेका बेला म उनको कुरामा तालमा ताल मिलाउँदै बोल्‍ने गर्दिनथिएँ। मैले आफ्‍नै कर्तव्य पूरा गरिरहेकी थिइनँ। अनि मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा तिनीहरूसँग बोलेर कुराकानी गर्नुको सट्टा मेसेज मात्रै गर्थेँ, जसले गर्दा धेरैजसो नयाँ विश्‍वासीहरूका समस्या जति चाँडो समाधान हुनुपर्नेथियो त्यो भएन, त्यसकारण तिनीहरू नकारात्मक नै रहे र भेलाहरूमा सहभागी भएनन्। मैले त हाम्रो कामलाई रोकिरहेकी थिएँ। आफ्नो कमजोरी देखा पर्नेछ भन्‍ने डरले मैले कहिल्यै पनि म आफै भएर काम गरिरहेकी थिइनँ। म पर्दा पछाडि गुप्त रूपमा कुरा सिकेर त्यसपछि बाहिर आएर सिपालु देखिन चाहन्थेँ। म कति अहङ्कारी रहेछु! मैले आफ्ना खराबी र कमीकमजोरीहरूलाई उचित रूपमा सामना गर्न सकिनँ, तर मैले आफू अरूभन्दा उत्कृष्ट र फरक भएको बहाना गर्नुपरेको थियो। यो त परमेश्‍वरले खुलासा गर्नुभएको कुराजस्तै हो: “तिनीहरूलाई जोकोहीजस्तो बन्‍न मन लाग्दैन, तिनीहरू मामुली, सामान्य मानिसहरू बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा चर्चाको विषय बन्‍न चाहन्छन्। यो निकै ठूलो समस्या हो!” मेरो अङ्ग्रेजी बोल्‍ने सीप राम्रो थिएन र मैले मलजलको काम गरेको त्यति धेरै भएको थिएन, त्यसकारण मसँग त्यति धेरै अनुभव थिएन। नयाँ विदेशी विश्‍वासीहरूलाई मलजल गर्ने मौका दिएर परमेश्‍वरले मेरो उत्थान गरिरहनुभएको थियो, तर आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नुको सट्टा आफ्‍ना त्रुटिहरू ढाकछोप गर्न चाहन्थेँ अनि अरूले मेरो आदर र सम्मानगरून् भनेर म जे पनि गर्न सक्छु जस्तो व्यवहार गर्न चाहन्थेँ। ममा कुनै समझ वा आत्मचेतना फिटिक्कै थिएन। मैले नाटक गर्ने र देखावटी रूप धारण गर्ने कार्यलाई छोड्नुपर्छ भन्‍ने मलाई थाहा थियो। अरूले जे सोचे पनि मैले आफ्ना कर्तव्य र जिम्‍मेवारीहरू पूरा गर्न आफ्‍नो अभिमानलाई त्याग्‍नुपर्थ्यो। मैले अभ्यास गर्नुपर्ने कुरा त्यही नै थियो।

मैले परमेश्‍वरका वचनहरूका थप खण्डहरू पढेँ जसले मलाई अभ्यासको मार्ग दिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “समस्या जे भए पनि, उत्पन्‍न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्‍ने कुरा पनि देख्न सक्नेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “परमेश्‍वरको उपस्थितिमा तैँले जस्तो देखावटी रूप धारण गरे पनि, आफूलाई जसरी ढाक-छोप गरे पनि, वा आफ्‍नो लागि जति जालसाजी गरे पनि, परमेश्‍वरले तेरा सबै वास्तविक सोचाइ र तैँले आफ्‍नो सबैभन्दा गहिराइमा, र अन्‍तस्‍करणमा लुकाएर राखेका सबै कुरा स्पष्ट रूपमा बुझ्‍न सक्‍नुहुन्छ; कुनै पनि व्यक्तिका गुप्त र भित्री कुराहरू परमेश्‍वरको छानबिनबाट उम्‍कन सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका वचनहरूमा मनन गर्दा मैले के महसुस गरेँ भने मेरो भ्रष्ट स्वभावलाई समाधान गर्ने पहिलो चरण भनेको मन खोलेर बोल्न सिक्नु, नाटक र बहाना गर्न छोड्नु, आफ्नो अपर्याप्तता, कमीकमजोरी र मैले खुलासा गर्ने भ्रष्टताहरूलाई प्रकाश पार्नु थियो। म ब्रदर-सिस्टरहरू र परमेश्‍वरको अगाडि सरल र इमानदार व्यक्ति बन्‍नुपर्थ्यो। त्यसपछि म आफ्‍नो कर्तव्यमा ढुक्‍क र स्वतन्त्र हुन सक्थेँ। यो कुरा बुझेपछि मैले सत्यता अभ्यास गर्ने आत्मविश्‍वास र साहस पाएँ, त्यसकारण म अगुवा र सिस्टर झेङकहाँ गएँ, र मेरो स्थिति र बुझाइबारे तिनीहरूलाई खुलस्त बताएँ। तिनीहरूले मलाई तुच्छ ठानेनन्, तर आफ्ना अनुभवबारे धैर्यताको साथ मसँग सङ्गति गरी मलाई मेरो समस्या बुझ्‍न सहयोग गरे। त्यसपछि जब मैले नयाँ विश्‍वासीहरूलाई मलजल गरेँ, तब मेरो अभिमानले मलाई पछाडि तानेन, बरु तिनीहरूलाई तिनीहरूका अन्योलता तुरुन्तै समाधान गर्नमा मदत गर्न सकूँ भनेर मैले तिनीहरूसँग बोलेर कुराकानी गर्नमा ध्यान दिन थालेँ। व्याख्या गर्न वा उच्‍चारण गर्न कठिन हुने शब्‍दहरू भेट्दा म शब्‍दकोशमा खोज्थेँ वा अनुवाद सफ्टवेर प्रयोग गर्थेँ। समय बित्दै जाँदा मेरो अङ्ग्रेजी बोलाइमा सुधार भयो। ब्रदर-सिस्टरहरूसँग खुलस्त सङ्गति गरेर अनि सच्‍चा व्यक्ति बनेर मैले आफ्नो भ्रष्टता र त्रुटिहरूबारे अनि आफू खराब स्थितिमा हुँदा त्यसलाई तुरुन्तै परिवर्तन गर्न सक्दोरहेछु भनेर मैले सिक्न सकेँ। परमेश्‍वरले भन्‍नुभएको छ, “आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यी सबै कुराबाट गुज्रेपछि म खुलस्त बोल्‍न सक्‍ने भएँ र मैले केही परिवर्तन अनुभव गरेँ भन्‍ने मलाई लागेको थियो। पछि फेरि त्यही समस्या देखा पर्दा म छक्‍कै परेँ।

एकपटक एक-दुई जना नयाँ विश्‍वासीहरूले केही परिवारका सदस्य र इष्टमित्रहरूलाई सुसमाचार सुनाउन चाहन्थे, त्यसकारण टोली अगुवा र मैले त्यसो गर्नुका सिद्धान्तहरू बतायौँ। मैले आफ्‍नो परिचय दिएर सकेकी मात्र के थिएँ, त्यही बेला एक जनाले मैले बोलेको बुझ्‍न सकिनँ भनेर भनिन्, अनि टोली अगुवा आएर मेरो अङ्ग्रेजी उच्‍चारण त्यति राम्रो नरहेको बताउँदै स्पष्ट पारिदिइन् र त्यसपछि नयाँ विश्‍वासीहरूसँग बोल्‍न थालिन्। तिनीहरूले फर्रर बोलेर कुराकानी गरेको सुन्दा मलाई त म बाहिरको मान्छे हुँ जस्तो लाग्यो—मलाई आफ्नो अनुहार रातो भइरहेको महसुस भयो। कस्तो अप्ठ्यारो, र लाजमर्दो अवस्था थियो। म टोली अगुवालाई मबाट सिक्‍ने र केही अभ्यास गर्ने मौका दिन चाहन्थेँ, तर मैले त आफ्‍नो परिचयसमेत राम्ररी दिन सकिनँ—टोली अगुवा र ती नयाँ विश्‍वासीहरूले मलाई के सोचे होलान्? तिनीहरूले मेरो अङ्ग्रेजी निकै खराब रहेछ, र म यो काम गर्न अयोग्य पनि छु भनेर सोचे होलान्। त्यसपछि मैले कामकुराको अनुगमन गर्दा कसले मेरो कुरा सुन्‍नेथिए र? यस्तो कुरा सोच्दा म खिन्‍न र निकै निराश भएँ। मण्डली अगुवा त्यो समूहका सदस्य थिइन्, त्यसैले उनी अनलाइन आएर के भइरहेको छ भन्‍ने देख्नेछिन्, अनि मेरो अङ्ग्रेजी राम्रो छैन र म काम गर्न नसक्‍ने रहेछु भन्‍ने सोचेर उनले बर्खास्त गर्छिन् भन्‍ने मलाई डर लागेको थियो। तिनीहरूले मेरो वास्तविकता पत्ता लगाउन नसकून् भन्‍ने चाहन्थेँ, त्यसकारण मैले मेसेजबाट कुराकानी गर्दै, र समूह छलफललाई व्यक्ति-व्यक्तिसँगको च्याटमा परिणत गर्दै फेरि पनि आफ्ना कमीजोरी लुकाउन थालेँ। केही समय बितेपछि, मलाई निकै थकाइ लाग्‍न थाल्यो। मेरो अङ्ग्रेजी उच्‍चारण साह्रै खराब छ भन्‍ने कुरा सबैले थाहा पाएर मलाई तुच्छ ठान्लान् भन्‍ने मलाई डर थियो। म हरेक दिन त्यही स्थितिमा जिएँ, र आफ्‍नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भन्‍ने बारेमा सोच्‍ने कुनै समय वा शक्ति थिएन। मैले आफ्नो आत्मामा झन्-झन् अन्धकार महसुस गरेँ र परमेश्‍वरको अगुवाइ पटक्कै महसुस गर्न सकिनँ। मसँग आफ्नो कर्तव्यमा कुनै दिशाबोध पनि थिएन। म खतरनाक स्थितिमा छु भन्‍ने मलाई थाहा थियो, तर त्यसबाट पार पाउन सकिनँ। त्यसकारण मलाई अगुवाइ गरेर यस अवस्थाबाट निकाल्‍नुहोस् भनेर अनुरोध गर्दै हृदयदेखि परमेश्‍वरलाई प्रार्थना गरेँ।

एक दिन मैले “बहानाको पछाडि” नामक गवाही भिडियो हेरेँ, र त्यहाँ देखाइएका परमेश्‍वरका केही वचनहरूले मलाई गहन रूपमा प्रभाव पारे। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम पाटो प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। शैतानी शासनका सदस्यहरूलाई नै लिऊँ: तिनीहरूले गोप्यमा जति नै लडाइँ, झगडा, वा हत्या गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न दिँदैन। तिनीहरू मानिसहरूले आफ्नो पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई ढाकछोप गर्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र दोषरहित छन् भनी भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर त्यसको शासनलाई बलियो बनाउने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा यस्तो शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र हृदयमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्‍ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। … गल्ती गर्नु वा देखावटी रूप धारण गर्नु: यीमध्ये कुन चाहिँ स्वभावसँग सम्बन्धित छ? देखावटी रूप धारण गर्नु स्वभावसित सम्बन्धित कुरा हो, यसमा घमण्डी स्वभाव, दुष्टता र छलीपन सामेल छन्; र परमेश्‍वरले यसलाई विशेष रूपमा तुच्छ ठान्‍नुहुन्छ। … यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गर्दैनस् भने, यदि तँ आफ्नो गल्ती स्वीकार्न सक्छस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भनी भन्‍नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा दोष र कमी-कमजोरी हुन्छ। अनि वास्तवमा, सबैसित उही भ्रष्ट स्वभाव हुन्छ। तैँले आफैलाई अरूभन्दा धेरै महान्, सिद्ध, र दयालु नसोच्; त्यसो गर्नु बिलकुलै अनुचित छ। मानिसहरूको भ्रष्ट स्वभाव अनि सार र तिनीहरूको भ्रष्टताको साँचो अनुहारबारे तँलाई स्पष्ट भएपछि, तँ तेरा आफ्नै गल्तीहरूलाई ढाकछोप गर्ने कोसिस गर्नेछैनस्, न त अरू मान्छेले गल्ती गर्दा तँ तिनीहरूप्रति नराम्रो विचार नै पाल्नेछस्, तैँले यी दुवै कुरालाई सही प्रकारले सामना गर्न सक्‍नेछस्। तब मात्र तँ समझदार हुने छस् र मूर्ख कुराहरू गर्ने छैनस्, र यसले तँलाई बुद्धिमान् बनाउने छ। बुद्धि नभएकाहरू मूर्ख मानिसहरू हुन् र तिनीहरू पर्दापछाडि गोप्य कुरा गर्दै, सधैँ आफ्ना ससाना गल्तीहरूमा अल्झिरहन्छन्। यो हेर्दै घिन लाग्छ। वास्तवमा, तैँले जे गरिरहेको हुन्छस् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तँ अझै निर्लज्ज बनी देखावटी गर्छस्। अरूलाई, यो जोकरको काम जस्तो लाग्छ। के यो मूर्खता होइन? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूसँग कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू आफ्नो अहम् कहिल्यै छोड्दैनन्, तिनीहरू अरू सबैभन्दा फरक छन्, र अरूभन्दा बढी इज्‍जतदार छन् भनी सोच्छन्, यो अहङ्कार र आत्मधर्मीपन हो, यो मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक बुझाइ हुँदैन, हुन्छ त? जुन विषयहरूमा तँ मूर्ख र निर्बुद्धि हुन्छस् ती त्यस्ता विषयहरू हुन् जसका बारेमा तँसित कुनै आत्मिक समझ हुँदैन, र तैँले सजिलैसँग सत्यतालाई बुझ्दैनस्। कुराको वास्तविकता यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। मैले परमेश्‍वरका वचनहरूमा केही समय विचार गरेँ—यो मेरो लागि निकै ठूलो झट्का थियो। झूटो भेष धारण गर्नु र गल्ती गर्नु सारगत रूपमा फरक-फरक कुरा हुन्। मेरो अङ्ग्रेजीको स्तर उच्चकोटिको थिएन, त्यसकारण मैले गल्ती गर्दा सिकेर अभ्यास गर्न सक्थेँ। अरूले मेरो वास्तविक क्षमतालाई नदेखून् भनेर सधैँ देखावटी रूप धारण गर्नु र भेष बदल्नु अहङ्कार, धूर्तता, र दुष्टताका भ्रष्ट स्वभावहरू थिए। त्यो परमेश्‍वरको लागि तिरस्कृत र घिनलाग्दो कुरा थियो। मैले अझै पनि त्यो कर्तव्य कसरी पूरा गर्ने भनेर अभ्यास गरिरहेकी थिएँ, त्यसकारण गल्ती, त्रुटि, र भ्रष्टताका अभिव्यक्तिहरू देखा पर्नु अपरिहार्य नै थियो। ती लाज मान्नुपर्ने कुरा थिएनन्, र सत्यताको खोजी गरेर तिनलाई समाधान गर्न सकिन्थ्यो। तर मलजल गर्ने कामको जिम्‍मेवारी लिएदेखि नै मैले आफूलाई सुपरिवेक्षकको स्थानमा राखेकी थिएँ, र म सामान्य व्यक्तिभन्दा राम्रो हुनुपर्छ, नत्र भने नयाँ विश्‍वासीहरूले मलाई होच्याउनेछन् भन्‍ने सोच्थेँ। नयाँ विश्‍वासीले मैले बोलेको कुरा बुझिनँ भनेर भन्दा मलाई मेरा अपर्याप्तहरू खुलासा भएका छन्, मेरो छवि धुमिल भएको छ, त्यसकारण नयाँ विश्‍वासीहरूले मलाई तुच्छ ठान्‍नेछन् र मेरो कुरा सुन्‍नेछैनन् भन्‍ने लाग्यो। मलाई त अगुवाले ममा कमजोरी छ र म असक्षम छु, मैले त्यो काम गर्न सक्दिनँ भनेर सोच्‍नेछन्, र मलाई बर्खास्त गरिदिनेछन् भन्‍ने कुराप्रति झनै चिन्ता लागेको थियो। मैले आफ्‍नो हैसियत र छविलाई रक्षा गर्न मेरा कमीकमजोरीहरू लुकाउने उपाय खोजेँ, यहाँसम्‍म कि मैले परमेश्‍वरको घरको काममा समेत बाधा पुऱ्याएँ। मैले बोलेर गरिने कुराकानीलाई लेखेर गरिने कुराकानीमा परिवर्तन गरेँ, र कामबारे कुराकानी गर्ने समूह छलफललाई व्यक्ति-व्यक्तिसँगको च्याटमा परिवर्तन गरेँ, जसले हाम्रो मलजलको काममा ढिलाइ गर्‍यो। म प्रतिरक्षात्मक स्थितिमा पनि जिइरहेकी थिएँ र परमेश्‍वरबाट झन्-झन् टाढा भइरहेकी थिएँ। त्यो मेरो अत्यन्तै धूर्त कार्य थियो! शैतानी प्रकृतिलाई न्याय गर्ने र खुलासा गर्ने परमेश्‍वरका वचनहरूको भाग पढ्दा म विशेष रूपमा थरथर कामेँ। परमेश्‍वर भन्‍नुहुन्छ, शैतानी प्रकृतिको सबैभन्दा मुख्य पक्ष चलाकी र छल हो, त्यो विशेष रूपमा दुष्टता हो। ठूलो रातो अजिङ्गर झूटो रूप धारण गर्न र छल गर्नमा निकै सिपालु छ, र यसले मानिसहरूलाई यसको आदर गर्न र पछि लगाउनको लागि सधैँ यसको “महान्, वैभवपूर्ण, र सही” छविबारे कुरा गरिरहन्छ, यी सबै यसको तानाशाहीलाई सुरक्षित गर्ने प्रयास मात्रै हुन्। तर यसले पर्दा पछाडि गर्ने सबै दुष्ट कामहरूलाई ढाकछोप गर्न आफूले सक्‍ने सबै गर्छ, यसरी संसारका मानिसहरूलाई बहकाउँछ र छल गर्छ। मैले आत्मसमीक्षा गर्दा अरूले मेरो सकारात्मक छवि देखून्, मेरो असल पक्ष मात्रै देखून् भनेर झूटो भेष धारण गरिरहेकी छु भन्‍ने थाहा पाएँ। यो साँच्‍चै नै चलाकीपन र दुष्ट कार्य थियो, र मैले ठूलो रातो अजिङ्गरकै जस्तो स्वभाव प्रकट गरिरहेकी छु भन्‍ने मलाई थाहा भयो। छल गरेर र झूटो रूप धारण गरेर अरूको आदर र सम्‍मान जित्‍नुको के अर्थ हुन्छ र? आफ्ना कमीकमजोरी र अपर्याप्तताहरू लुकाएर, परमेश्‍वरलाई र अरू मानिसहरूलाई धोका दिन चाल चलेर, म आफै अघि बढ्न नसकेकी मात्र होइन, मैले मण्डलीको काममा पनि गम्‍भीर रूपमा ढिलाइ गरेँ। त्यो अत्यन्तै ठूलो मूर्खता थियो। धेरै जना नयाँ विश्‍वासीहरूले परमेश्‍वरका वचनहरू पढिरहेका र मानवजातिलाई मुक्ति दिने उहाँको इच्छाबारे सिकिरहेका थिए। तिनीहरूले विपत्तिहरू बढिरहेका र महामारी झन्-झन् खराब हुँदै गएका देख्न सके, र परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्नु मात्रै मानिसहरूको बाँच्‍ने एउटै उपाय हो भन्‍ने तिनीहरूलाई थाहा थियो। तिनीहरूले आफ्‍ना साथीभाइ र परिवारलाई सुसमाचार सुनाउन, उनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सकून् भनेर उनीहरूलाई परमेश्‍वरको अघि ल्याउन चाहन्थे। तर म तिनीहरूको जीवनप्रति अलिकति पनि चिन्तित थिइनँ। मैले केवल आफ्‍नै व्यर्थको अभिमानलाई कायम राख्‍न ब्रदर-सिस्टरहरूको सुसमाचार सुनाउने सम्‍बन्धी प्रश्‍नहरूलाई तुरुन्तै सम्बोधन गरिरहेकी थिइनँ। त्यसले गर्दा साँचो मार्गबारे अनुसन्धान गर्न र परमेश्‍वरतर्फ फर्किनबाट धेरै मानिसहरूलाई ढिलाइ भएको थियो। के त्यसले मलाई सुसमाचार कार्यको अवरोध, त्यसमा तगारो बन्ने ढुङ्गा तुल्याएको थिएन र? यसबारे मनन गरेपछि म आफ्नो भ्रष्ट स्वभावमा जिउँदै आइरहेकी रहेछु भन्‍ने थाहा भयो, र मैले आफ्‍नो कर्तव्य पूरा गरिरहेकी छु जस्तो देखिए पनि वास्तवमा परमेश्‍वरको विरोध गरिरहेकी थिएँ र परमेश्‍वरको घरको काममा बाधा पुर्‍याइरहेकी र ब्रदर-सिस्टरहरूलाई हानि गरिरहेकी थिएँ। मलाई आफैप्रति घृणा जाग्यो र भित्रैदेखि आफैप्रति नमिठो अनुभूति भयो। मलाई आफू परमेश्‍वरप्रति अत्यन्तै ऋणी छु र मैले ब्रदर-सिस्टरहरूलाई हानि गरेकी छु भन्‍ने पनि महसुस भयो। मैले पश्‍चात्ताप गर्न तयार हुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, र दृढ भएर सत्यताको पछि लाग्‍न र आफ्‍नो कर्तव्य पूरा गर्नको लागि आफूलाई चेतावनी दिएँ।

एकपटक मैले आफ्नो आत्मिक भक्तिको समयमा परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्‍नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्‍ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्‍वरले मन पराउनुहुन्‍न भनी हेर्नको लागि चिरफार गर्न सिक्‍नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्‍ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्‍वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको निश्‍चित मार्ग दिए। मैले सरल र इमानदार हृदयले आफ्‍नो कर्तव्य पूरा गर्नुपर्थ्यो, अनि मेरो कद जति ठूलो वा सानो भए पनि, वा ममा जे-जस्ता खराबी र कमीकमजोरीहरू भए पनि, मैले बहाना बनाउनु हुँदैनथियो। मैले सबैलाई आफ्नो साँचो रूप देखाउनुपर्थ्यो, र मैले गल्ती नै गरे पनि त्यसबारे खुलस्त बताउनुपर्थ्यो। त्यसरी जिउनु अति थकाइलाग्दो हुँदैन, र परमेश्‍वरले यसलाई स्वीकार गर्नुहुन्छ। वास्तवमा मैले लुकाउने प्रयास गर्दैमा मेरा समस्या र कमीकमजोरी हटेर जाँदैनथियो, त्यसकारण मैले शान्त भएर तिनको सामना गर्नुपर्थ्यो, ममा के कमी छ त्यसलाई स्वीकार गरेर इमानदार व्यक्ति बन्‍नुपर्थ्यो। यदि मैले कुनै कुरा बुझिनँ भने प्रश्‍नहरू सोध्‍नुपर्थ्यो र अझै धेरै सिक्‍नुपर्थ्यो, अनि मात्र म क्रमिक रूपमा सुधार हुँदै जान सक्ने थिएँ। यसको साथै, अगुवाले मलाई सुपरिवेक्षक नियुक्त गर्नु मैले परमेश्‍वरबाट पाएको आज्ञा र जिम्‍मेवारी हुनुपर्थ्यो, हैसियत होइन। मैले इन्‍चार्जमा रहेको व्यक्तिको त्यस पहिचानलाई त्यागेर कर्तव्यलाई प्राथमिकता दिनुपर्थ्यो। अरू मानिसहरूले जे सोचे पनि वा जे भने पनि मैले आफ्ना मनसायहरूलाई ठीक गर्नुपर्थ्यो, आफ्‍नो स्थानलाई चिनेर सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुपर्थ्यो।

त्यहाँदेखि, मैले आफ्नो घमण्ड त्यागेँ र नयाँ विश्‍वासीहरूले कर्तव्यमा भोगिरहेका समस्याहरूको समाधानमा तिनीहरूलाई सहयोग गर्न बोलेर कुराकानी गर्ने प्रयास गरेँ। मैले अङ्ग्रेजीमा कुराकानी गर्न पनि अझै धेरै अभ्यास गरेँ र मेरो उच्‍चारणमा सुधार गरेँ, र मैले नबुझेका कुराहरू सामना गर्दा म अरू ब्रदर-सिस्टरहरूलाई सोध्थेँ र तिनीहरूका सबल पक्षहरूबाट सिक्थेँ। एकपटक म केही नयाँ विश्‍वासीहरूसँग अनलाइन भेलामा हुँदा हामीले एकअर्कालाई अभिवादन गर्न थाल्दा मैले तिनीहरूमध्येको एउटा नाम कसरी उच्‍चारण गर्ने उनले भनेर बारम्‍बार सुधारिदिँदा पनि उच्‍चारण नै गर्न सकिनँ। मलाई अलिक लाज लागिरहेको थियो, र उनले किन यस कुरालाई यत्ति गम्‍भीर रूपमा लिइरहेकी छिन् भन्‍ने सोचिरहेकी थिएँ। ती सबै मानिसहरूले सुनिरहेको बेला एकपटक मात्रै सुधार गर्दा पनि भइहाल्थ्यो नि! त्यसपछि मैले परमेश्‍वरले भनेको एउटा कुरा सम्झेँ: “तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। साँचो हो—म गलत छु भने, गलत नै हुन्छु। म किन सधैँ यसलाई लुकाउन चाहन्छु? मैले आफ्‍नो कर्तव्यमा ध्यान दिनुको सट्टा आफ्नो अभिमानमा ध्यान दिइरहेकी थिएँ, र मनमा त्यस्तो बोझ लिएर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍ने कुनै उपाय थिएन। त्यसकारण, मैले आफैलाई शान्त पारेँ र प्रार्थना गरेँ, अनि मेरो घमण्डलाई त्यागेर आफ्‍नो कर्तव्यमा ध्यान दिन अगुवाइ गर्नुहोस् भनी परमेश्‍वरलाई अनुरोध गरेँ। प्रार्थना गरेपछि मलाई त्यति धेरै लाज लागेन, र मैले गलत उच्‍चारण गर्दा मलाई त्यति धेरै विवश महसुस भएन। त्यसपछि मैले आफ्‍नो घमण्डलाई त्यागेँ र नयाँ विश्‍वासीलाई मेरो उच्‍चारण नमिलेमा सुधार्न सहयोग मागेँ। केही समयपछि, मसँग पहिले साथी भएर काम गर्ने एक जना सिस्टरले भनिन्, “अङ्ग्रेजी अभ्यास गर्न के गर्नुहुन्छ? तपाईं नयाँ विश्‍वासीहरूसँग निकै सहज रूपमा कुराकानी गर्नुहुन्छ। हामीबीच भेट नभएको यी केही महिनाको अवधिमा तपाईंले धेरै प्रगति गर्नुभएछ!” यो कुराले मेरो मन छोयो, र यो पूर्ण रूपमा परमेश्‍वरकै अगुवाइ र आशिष्‌ हो भन्‍ने मलाई थाहा भयो। मैले यस्ता अनुभवहरू जति भोग्दै गएँ, मलाई त्यति नै बहाना गर्नु वा आफूलाई लुकाउनुको सट्टा आफ्‍नो साँचो स्थितिबारे खुलस्त बताउनु, अनि आफ्‍नो कर्तव्य दृढ भई निर्वाह गर्नु मेरो हृदयलाई शान्तिमा राख्‍ने अभ्यास हो भन्‍ने महसुस भयो। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो:  २७. काट-छाँट र निराकरण हुँदा मैले के सिकेँ

अर्को:  ३०. के मिलनसारी असल मानवताको उपयुक्त मापदण्ड हो?

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger