३०. के मिलनसारिता असल मानवताको उचित मापदण्ड हो?
म सानो छँदा, वरपरका मानिसहरूले मलाई सधैँ ज्ञानी र आज्ञाकारी अर्थात् असल बालक भन्थे। म अरूसँग विरलै रिसाउँथेँ र कहिल्यै कुनै समस्या खडा गर्दैनथेँ। आस्थामा प्रवेश गरेपछि पनि, म अरू ब्रदर-सिस्टरहरूसँग निकै मिलनसार थिएँ। म सहनशील, धैर्यवान् र मायालु थिएँ। मलाई याद छ, एक समय मैले केही पाका उमेरका सदस्यहरूलाई कम्प्युटर चलाउन सिकाउँदै थिएँ। मैले उनीहरूलाई धैर्यतासाथ बारम्बार सिकाएँ। कहिलेकाहीँ उनीहरूले सिकाइमा सुस्त हुँदा मलाई छटपटी भए तापनि, अरूले ममा प्रेमपूर्ण दयालुपन छैन भन्लान् कि भन्ने डरले म आफ्नो अधीरता नदेखाउन निकै कोसिस गर्थेँ। परिणामस्वरूप, ब्रदर-सिस्टरहरूले अक्सर मेरो मानवता असल छ भन्थे, र मेरो अगुवाले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्न छान्नुभयो, र यो कर्तव्य दया र धैर्यता भएका मानिसहरूले मात्र राम्ररी पूरा गर्न सक्छन् भन्नुभयो। यो सुनेर म मनमनै मख्ख परेँ, र मिलनसार र दयालु हुनु नै असल मानवताको सङ्केत हो भन्ने कुरामा म अझै पक्का भएँ।
पछि, ब्रदर ली मिङ र मैले मण्डलीको अगुवाका रूपमा सँगै सहकार्य गर्न थाल्यौँ। केही समय सँगै काम गरेपछि, मैले ली मिङ आफ्नै इच्छाअनुसार काम गर्न खोज्ने र अलि रिसाहा स्वभावको देखेँ। यदि कुनै कुरा उनका अनुसार भएन भने, उनी गरम मिजास देखाउँथे। साथै, उनी आफ्नो काममा पारदर्शी थिएनन् र अक्सर छली व्यवहार गर्थे। उनले सिद्धान्तअनुसार काम गर्दैनथे र मण्डलीको कामको रक्षा गर्दैनथे। केही समयसम्म, उनले ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न आफ्नो मोबाइल फोन प्रयोग गरिरहे। मलाई थाहा थियो कि यसो गर्दा पुलिसले निगरानी गर्न सक्थ्यो र मण्डलीका लागि समस्या खडा हुन सक्थ्यो, अनि मैले उनलाई धेरै पटक रोक्ने विचार गरेँ, तर जब मैले भन्नै लागेको हुन्थेँ, तब म रोकिन्थेँ। मलाई लाग्थ्यो, यदि मैले उनको समस्या सीधै औँल्याइदिएँ भने, उनले मलाई बाहिरबाट हेर्दा म निष्कपट देखिए तापनि, बोली र व्यवहारमा निर्दयी छु, र त्यसैले मसँग घुलमिल हुन गाह्रो छ भनी सोच्न सक्छन्। धेरै सोचविचार गरेपछि, मैले सम्झौता गर्ने निधो गरेँ र उनले अरू ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न आफ्नो मोबाइल फोन प्रयोग गरिरहेका छन् कि छैनन् भनेर मात्र सोधेँ। जब उनले गरिरहेको भनेर स्विकारेनन्, उनी झूट बोल्दै छन् भन्ने मलाई थाहा थियो, तर मैले उनको खुलासा गरिनँ र उनलाई रोकिनँ, किनकि यसो गर्दा हाम्रो सम्बन्धमा फाटो आउला र उनले मलाई नराम्रो सोच्नेछन् भन्ने मलाई डर थियो। पछि, मैले ली मिङका समस्याहरू झन्-झन् गम्भीर हुँदै गएको देखेँ। एक पटक, केही ब्रदर-सिस्टरले मलाई उनकी श्रीमतीले भेलाहरूमा आफूलाई देखाउन सधैँ भनाइ र धर्मसिद्धान्तहरू बोल्छिन्, वास्तविक समस्याहरू समाधान गर्दिनन्, र केवल अरूको प्रशंसा बटुल्न आफ्नो कर्तव्यमा कति कष्ट भोगेँ र त्याग गरेँ भनेर बताउँछिन् भन्ने कुरा सुनाए। छानबिनपछि, उनी अगुवा हुन उपयुक्त छैनन् र उनलाई बर्खास्त गरिनुपर्छ भनेर निधो गरियो। जब मैले ली मिङलाई यसबारे बताएँ, उनी निकै चिढिए, र ब्रदर-सिस्टरहरूको मूल्याङ्कन झूटो र आफ्नी श्रीमतीप्रति अन्यायपूर्ण भएको बताए। उनले त हामीले किन समस्या रिपोर्ट गर्नेहरूको छानबिन नगरी आफ्नी श्रीमतीको मात्र छानबिन गर्यौँ भनेर पनि प्रश्न गरे। म छक्क परेँ—मैले ली मिङको यस्तो नराम्रो मनोवृत्ति होला भनेर कहिल्यै सोचेको थिइनँ। वातावरणलाई शान्त पार्न, मैले उनलाई भनेँ, “आफ्नो हृदय शान्त पारेर यस मामिलामा परमेश्वरको अभिप्राय खोज्नुहोस्। आफ्नो भावनालाई आफूमाथि हावी हुन नदिनुहोस्।” तर उनले मेरो कुरा पटक्कै सुनेनन् र मान्दै मानेनन्। ली मिङको जानीजानी गरेको अवरोधको कारणले, उनकी श्रीमतीको समस्या समाधान हुन सकेन। त्यसपछि, ली मिङले एउटा भेलाको समयमा ब्रदर-सिस्टरहरूलाई हप्काए र आफ्नो हप्कीदप्कीले एउटी सिस्टरलाई रुवाए पनि। मलाई ली मिङको समस्या निकै गम्भीर हुँदै गइरहेको छ भन्ने महसुस भयो। अरूले तिनकी श्रीमतीको वस्तुनिष्ठ र निष्पक्ष रूपमा मूल्याङ्कन गरेका थिए, र तथ्यहरू मात्र प्रस्तुत गरेका थिए, तर यसले उनको स्वार्थमा चोट पुगेकोले उनी रिसाए र तिनीहरूमाथि खनिए। उसको मानवता दुष्ट थियो! मैले उनको समस्याबारे हाम्रो माथिल्लो अगुवालाई रिपोर्ट गर्न चाहेँ, तर फेरि सोचेँ: “के यो चुगली गर्नु र पछाडिबाट छुरा घोप्नु जस्तो भएन र? अनि, मैले रिपोर्ट गरेँ भने ती अगुवाले उनलाई सङ्गतिका लागि पक्कै बोलाउनुहुनेछ— यदि उनले मैले नै रिपोर्ट गरेको हो भनेर थाहा पाए भने, उनले मेरा बारेमा के सोच्लान्? के उनले मैले उनलाई उनको पछाडि होच्याइरहेको छु र मेरो मानवता खराब छ भन्दैनन् होला र?” यो कुरा महसुस गरेपछि, मैले उनको रिपोर्ट गरिनँ, तर मैले मनमा दबिएको र पीडा महसुस गरेँ।
पछि, अरू मानिसहरूले ली मिङको समस्या रिपोर्ट गरेकाले, उनलाई अन्ततः बर्खास्त गरियो। त्यसपछि, माथिल्लो अगुवाले मलाई यसरी खुलासा गर्नुभयो: “बाहिरबाट हेर्दा तिमी सबैसँग राम्ररी घुलमिल हुन्छौ जस्तो देखिन्छ, तर तिमीमा परमेश्वरप्रति साँचो बफादारी छैन। ली मिङको समस्या देखेका बेला तिमीले किन उसलाई खुलासा गरेनौ र रोकेनौ? यस्तो महत्त्वपूर्ण विषय पनि रिपोर्ट नगर्ने? तिमी मण्डलीको कामको रक्षा गर्न चाहन्छौ कि चाहँदैनौ?” मेरो अगुवाद्वारा काटछाँट गरिएपछि मात्र म ब्युँझिएँ र परमेश्वरलाई प्रार्थना गर्न अनि चिन्तन गर्न थालेँ। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसमा यसो भनिएको छ: “असल मानवत्व हुनको लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरू नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गर्ने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? त्यो, परमेश्वर र सत्यताप्रति समर्पित हुन सक्नु हो। त्यो, आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। त्यो सबैले स्पष्ट देख्ने कुरा हो; सबै नै त्यो कुराबारे हृदयमा स्पष्ट हुन्छन्। त्यसबाहेक, परमेश्वरले मानिसहरूको हृदयभित्र सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवत्व छ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूका हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। अनि हितहरूको विषयमा विवाद हुँदा पनि, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तैपनि, परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, र सधैँ आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्वरको घरको हितबारे सोच्दैनन्, तिनीहरू परमेश्वरले जरुरी ठान्नुभएको कुरालाई कहिल्यै जरुरी ठान्दैनन्, र परमेश्वरले सोच्नु भएजस्तो प्रकारले कहिल्यै सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्ना रुचिहरूलाई कहिल्यै पन्साउन सक्दैनन्। तिनीहरू आफ्ना रुचिहरू कहिल्यै त्याग्दैनन्। दुष्ट मानिसहरूले दुष्ट्याइँ गरिरहेको देख्दा पनि, तिनीहरूले ती दुष्टहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैनन्। यो कस्तो प्रकारको मानवत्व हो? यो राम्रो मानवत्व होइन। यस्ता व्यक्तिहरूले के भन्छन् त्यसमा ध्यान नदे; तिनीहरूले कसरी जिउँछन्, के प्रकट गर्छन्, र कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, साथसाथै तिनीहरूको आन्तरिक अवस्था कस्तो छ र तिनीहरूले कुन कुरालाई प्रेम गर्छन् त्यो तैँले हेर्नुपर्छ। यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्वरप्रतिको बफादारीभन्दा बढी छ भने, यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्वरको घरको हितप्रति भन्दा बढी छ भने, वा यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम तिनीहरूले परमेश्वप्रति देखाएको ख्यालभन्दा बढी छ भने, के त्यस्ता व्यक्तिहरूमा मानवता हुन्छ? तिनीहरू मानवत्व भएका व्यक्ति होइनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वरका वचनहरूमार्फत, मैले के महसुस गरेँ भने, कुनै व्यक्तिको मानवताको मूल्याङ्कन बाहिरी विशेषताहरू जस्तै उसको स्वभाव नरम छ कि छैन, वा ऊ अरूसँग सौहार्दपूर्ण तरिकाले घुलमिल गर्न सक्छ कि सक्दैन भन्ने आधारमा गर्न सकिँदैन, बरु परमेश्वर र सत्यताप्रतिको उसको मनोवृत्ति, आफ्नो कर्तव्यमा ऊ जिम्मेवार छ कि छैन, र समस्याहरूको सामना गर्दा ऊ परमेश्वरको पक्षमा उभिन्छ कि उभिँदैन र सत्यता सिद्धान्तहरूअनुसार काम गर्छ कि गर्दैन भन्ने आधारमा गरिन्छ। विगतमा, मैले आफ्नो मानवता ठिकैको छ भन्ने सोचेको थिएँ। म बाहिरबाट दयालु थिएँ र मेरो व्यक्तित्व राम्रो थियो, तर जब मैले ली मिङले ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न आफ्नो मोबाइल फोन प्रयोग गरिरहेको देखेँ, जसले मण्डलीको सुरक्षामा सम्झौता गरिरहेको थियो, मलाई यसबारे उसलाई सीधै भन्दा हाम्रो सम्बन्ध बिग्रन्छ कि भन्ने चिन्ता लाग्यो, र त्यसैले मैले उनलाई केवल चतुर्याइँपूर्वक, हल्का तरिकाले सम्झाएँ। उनले आफ्नो व्यवहार स्वीकार नगर्दा, मैले उनलाई खुलासा गरिनँ वा रोकिनँ। मैले मनमनै सोचेँ, “यदि केही गडबड भइहाल्यो भने, उनले मैले सम्झाएको थिइनँ भन्न पाउँदैनन्।” मलाई लाग्यो यसरी अभ्यास गर्दा मेरो छविलाई क्षति पुग्ने छैन र केही गल्ती भएमा मलाई जिम्मेवारीबाट पनि मुक्त गर्छ। मैले केवल आफ्नै स्वार्थ, हैसियत र छविको बारेमा मात्र सोचिरहेको थिएँ, तर मण्डलीको काम वा ब्रदर-सिस्टरहरूको सुरक्षाको कुनै वास्ता गरिरहेको थिइनँ। म कत्ति स्वार्थी र छली रहेछु! जब मैले ली मिङले आफ्नी श्रीमतीप्रतिको स्नेहको कारणले, श्रीमतीको विषयलाई लिएर अरूमाथि खनिएको देखेँ, मैले यो कुरा तुरुन्तै हाम्रो माथिल्लो अगुवालाई रिपोर्ट गर्नुपर्थ्यो, तर मलाई उनले म पछाडिबाट छुरा घोप्दैछु भनी सोच्नेछन् कि भन्ने चिन्ता लाग्यो, त्यसैले म मौन रहेँ। म पछि हटेँ र ली मिङलाई मनमानी गर्न दिएँ, जसले मण्डलीको काममा नकारात्मक असर पाऱ्यो, र ब्रदर-सिस्टरहरूमाथि आक्रमण र हानि ल्यायो। मेरो मानवता कहाँ थियो? परमेश्वरका न्याय र खुलासाका वचनहरूको प्रकाशमा आफ्ना कार्यहरूलाई विचार गर्दा, मैले धेरै दोषी महसुस गरेँ। मैले सधैँ आफ्नो मानवता असल छ भन्ने सोचेको थिएँ, तर परमेश्वरका वचनहरूको खुलासा र तथ्यहरूद्वारा प्रकट भएपछि, आफूप्रतिको मेरो धारणा पूर्ण रूपमा बदलियो। बाहिरबाट, म दयालु थिएँ, तर त्यो दयाको पछाडि एक घृणित अभिप्राय थियो। मैले केवल आफ्नो व्यक्तिगत स्वार्थको वास्ता गरेँ र मण्डलीको कामको पटक्कै रक्षा गरिनँ। मैले झूटो दया देखाएँ र मान्छे खुसी पार्न खोजेँ। म झूटो रूपमा भक्त र छली व्यक्ति थिएँ। मैले उपरान्त आफूलाई असल मानवता भएको व्यक्तिका रूपमा चित्रण गर्ने हिम्मत गरिनँ। पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “व्यवहार गर्न सजिलो र मिलनसारजस्ता असल व्यवहारपछाडि रहेको सारलाई एउटै शब्दमा व्याख्या गर्न सकिन्छ: बहाना। त्यस्तो असल व्यवहार परमेश्वरको वचनबाट उत्पन्न हुँदैन, न त त्यो सत्यता अभ्यास वा सिद्धान्तअनुसार कार्य गर्नुको परिणाम नै हो। यसलाई केले पैदा गर्छ? यो मानिसहरूका मनसाय, षडयन्त्र, तिनीहरूको ढोंग गर्ने, आफूलाई सजाउने, र छली गर्ने व्यवहारबाट आउँछ। जब मानिसहरू यी असल व्यवहारहरूमा टाँसिन्छन्, तब तिनीहरूको अभिप्राय र लक्ष्य के हुन्छ? त्यो भनेको आफ्नो आडम्बर पूरा गर्नु र केही मानिसहरूबाट प्रशंसा पाउनु हो; नत्रभने, तिनीहरू कहिल्यै आफ्नै इच्छाविपरीत जिउनेथिएनन्। आफ्नै इच्छाविपरीत जिउनु भन्नुको अर्थ के हो? यसको अर्थ हो, आफ्नो हृदय र साँचो प्रकृतिमा, मानिसहरू अरूले कल्पना गरेजस्तो नम्र, सरल र निष्कपट, कोमल, दयालु, र सद्गुणी हुँदैनन्, तर तिनीहरू आडम्बरी हुने र अरू मानिसहरूको अनुमोदन र प्रशंसा चाहने हुनाले, तिनीहरूले एउटा मुखौटो लगाउन र मानिसहरूको निगाह जित्न सकियोस् भनेर आफ्नै इच्छाविपरीतका केही झूटा व्यवहारहरू प्रदर्शन गर्न बाध्य महसुस गर्छन्। यो विवेक र समझअनुसार जिउनु होइन, यो त आफ्नै मागहरू पूरा गर्न आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरूअनुसार जिउनु हो। हरेक व्यक्तिको साँचो प्रकृति अन्योलग्रस्त हुन्छ। परमेश्वरले प्रदान गरेको व्यवस्था र आज्ञाविना मानिसहरूलाई पाप के हो भन्ने थाहा हुनेथिएन। के मानवजाति पहिले यस्तै थिएन र? परमेश्वरले व्यवस्था र आज्ञाहरू दिनुभएपछि मात्रै मानिसहरूले पापको धारणा केही मात्रामा पाए। तर अझै तिनीहरूले सही र गलत, वा सकारात्मक र नकारात्मक कुराहरूको अवधारणा पाएका थिएनन्। यस्तो अवस्था हुँदा, के तिनीहरूलाई बोल्ने र व्यवहार गर्नेबारे सही सिद्धान्तहरू थाहा हुन सक्थ्यो र? के तिनीहरूले सामान्य मानवतामा काम गर्ने कुन शैली, कस्तो असल व्यवहार हुनुपर्छ भनेर जान्न सक्थे? के तिनीहरूले साँच्चै असल व्यवहार कुन आधारमा उत्पन्न हुन्छ, र मानव रूपमा जिउनका लागि तिनीहरूले कस्तो प्रकारको मार्ग पछ्याउनुपर्छ भनी जान्न सक्थे र? मानिसहरूलाई यी कुराहरू थाहा थिएन; तिनीहरू आफ्नै प्रकृति र नैसर्गिक प्रवृत्तिअनुसार मात्रै जिउन सक्थे, र तिनीहरूले केवल ढोंगका भरमा आफूलाई सजाउन र आफूले सभ्य तरिकाले र सम्मानका साथ जिएको देखाउन मात्र सक्थे—जसले गर्दा सुशिक्षित र समझदार, भद्र र परिष्कृत, शिष्ट हुने, ठूलोलाई आदर र सानालाई ख्याल गर्ने, अनि मिलनसार र व्यवहार गर्न सजिलो बन्नेजस्ता छलहरू पैदा भए; यसरी छलका यी चाल र तरकिबहरू पैदा भए। अनि यी कुरा पैदा भएपछि, मानिसहरू यी छलहरूमध्ये एउटा वा केही छानेर तिनैमा टाँसिन्छन्। कतिपयले मिलनसार र पहुँचयोग्य हुन रोज्छन्, कतिले सुशिक्षित र समझदार अनि भद्र र परिष्कृत हुन रोज्छन्, कतिले शिष्ट हुन, ठूलालाई आदर र सानालाई ख्याल गर्न रोज्छन्, कतिपयले चाहिँ यी सबै बन्न रोज्छन्। तैपनि म यस्तो असल व्यवहार भएका मानिसहरूलाई एउटै अभिव्यक्तिले परिभाषित गर्छु। त्यो अभिव्यक्ति के हो? ‘चिल्ला ढुङ्गाहरू।’ चिल्ला ढुङ्गाहरू भनेको के हुन्? यी ढुङ्गाहरू धेरै वर्ष पानीको बहावले गर्दा रगडिएर चिल्ला भएका चिल्ला ढुङ्गा हुन्। तिनमा टेक्दा नदुख्ला, तैपनि होसियार भइएन भने मानिसहरू तिनमा चिप्लन सक्छन्। हेर्नमा र आकारमा ती ढुङ्गाहरू एकदमै सुन्दर देखिन्छन्, तर ती कामै लाग्दैनन्—‘चिल्लो ढुङ्गा’ यस्तै हुन्छ। मेरा लागि, यस्ता असल व्यवहार भएको देखिने मानिसहरू तातो न चिसो हुन्छन्। तिनीहरू बाहिर असल भएको बहाना गर्छन्, तर पटक्कै सत्यता स्विकार्दैनन्, तिनीहरू मिठो कुरा गर्छन्, तर कुनै वास्तविक कुरा गर्दैनन्। तिनीहरू केवल चिल्ला ढुङ्गा हुन्। यदि तैँले तिनीहरूलाई सत्यता र सिद्धान्तबारे सङ्गति दिइस् भने, तिनीहरूले तँलाई भद्र र परिष्कृत, अनि शिष्ट बन्नेबारे बताउनेछन्। यदि तैँले तिनीहरूलाई ख्रीष्टविरोधीहरू चिन्नेबारे कुरा गरिस् भने, तिनीहरूले तँलाई ठूलालाई आदर र सानालाई ख्याल गर्ने, अनि सुशिक्षित र समझदार बन्नेबारे बताउनेछन्। यदि तैँले तिनीहरूलाई व्यक्तिको आत्म-आचरणका सिद्धान्तहरू हुनुपर्छ, आफ्नो कर्तव्यमा सिद्धान्तहरू खोजी गर्नुपर्छ र मनमानी ढङ्गले काम गर्नु हुँदैन भनेर भनिस् भने, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले भन्नेछन्, ‘सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु फरक कुरा हो। म सुशिक्षित र समझदार भएँ, र मैले ठूलालाई आदर र सानालाई ख्याल गरेँ, र अरूको अनुमोदन प्राप्त गरेँ भने, त्यो नै पर्याप्त हुन्छ।’ तिनीहरूले असल व्यवहारबारे मात्रै वास्ता गर्छन्, सत्यता अभ्यास गर्नमा ध्यान दिँदैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। परमेश्वरका वचनहरूमार्फत मैले के महसुस गरेँ भने, परम्परागत संस्कृतिमा असल मानिने मिलनसार र सरल व्यवहारहरू सारमा केवल एक देखावाटी हुन्। यस्तो व्यवहार गर्नेहरूले आफूलाई आकर्षक देखाउन झूटो आवरणमा प्रस्तुत गर्छन् यो मानिसहरूको प्रशंसा पाउन र उनीहरूलाई छल गरी आफूलाई आदर र प्रशंसा गराउनका लागि हो। यो सबै षड्यन्त्र, चालबाजी र छल हो। मैले यो पनि महसुस गरेँ कि, यति वर्षसम्म असल व्यवहारको पछि लाग्दा पनि म किन यति स्वार्थी र छली भइरनुको कारण, यी सबैको पछाडि दुष्ट अभिप्रायहरू रहनु थियो। म मानिसहरूले मेरो आदर र प्रशंसा गरून् भनेर उनीहरूमा राम्रो छाप छोड्न चाहन्थेँ। मलाई सानैदेखि परम्परागत संस्कृतिद्वारा असल आचरणलाई महत्त्व दिन सिकाइएको र बानी पारिएको थियो। मलाई असल आचरण राख्दा आफू वरपरका मानिसहरूको प्रशंसा कमाउन सकिन्छ भन्ने लाग्थ्यो। आस्थामा प्रवेश गरेपछि, मैले मिलनसार र सरल व्यक्ति बन्ने र ब्रदर-सिस्टरहरूमाझ असल छवि र हैसियत कायम राख्ने कोसिस गरिरहेँ, विशेष गरी जब म ली मिङको सहकर्मी भएको थिएँ। मैले उनले धेरै पटक सिद्धान्तहरू उल्लङ्घन गर्दै ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न आफ्नो फोन प्रयोग गरेको, ब्रदर-सिस्टरहरूलाई खतरामा पारेको, र मण्डलीको हितलाई बेवास्ता गरेको देखेँ, र मैले उनलाई खुलासा गरेर रोक्नुपर्थ्यो, तर मलाई उनले मेरो नराम्रो छाप बनाउलान् कि भन्ने चिन्ता लाग्यो, त्यसैले मैले त्यसलाई नजरअन्दाज गरिदिएँ। मैले ली मिङले आफ्नी श्रीमतीको रक्षा गरिरहेको र ब्रदर-सिस्टरहरूलाई दमन तथा यातनासमेत दिइरहेको स्पष्ट रूपमा देखेँ, र यो केवल भ्रष्टताको सामान्य प्रकटीकरण मात्र थिएन— उनको मानवता दुष्ट थियो, उनी अगुवाका लागि उपयुक्त थिएनन्, र उनीबारे तुरुन्तै रिपोर्ट गरिनुपर्थ्यो। तर यसको सट्टा मैले आफ्नो हैसियत र छवि बचाउन फेरि एक पटक मौन बस्ने निर्णय गरेँ। आफ्नो छवि बचाउन, मैले जसले खुवायो उसैको हात टोकेँ। मैले मण्डलीको हितको पटक्कै रक्षा गरिनँ। मैले गहिरो रूपमा के अनुभव गरेँ भने, मिलनसार र सरल हुन खोज्दा यसले मेरो भ्रष्ट स्वभाव परिवर्तन गर्न मद्दत नगरेको मात्र होइन, बरु मलाई झन्-झन् स्वार्थी र छली बनायो। मैले सत्यता अभ्यास गर्नुको सट्टा असल व्यवहारलाई लक्ष्य बनाएँ, आफ्नो घृणित अभिप्राय लुकाउन झूटो छवि प्रस्तुत गरेँ र सबैलाई ममा सत्यता वास्तविकता छ, म मायालु र दयालु छु भनी सोच्ने बनाएँ, र उनीहरूलाई मूर्ख बनाउँदै ममाथि भरोसा गर्ने र मलाई आदर एवं अनुमोदन गर्ने तुल्याएँ। म झुटा भक्त फरिसीहरूको मार्गमा थिएँ र परमेश्वरको प्रतिरोध गरिरहेको थिएँ। यदि म यसरी नै लागिरहेको भए, म परमेश्वरद्वारा दोषी ठहराइने र हटाइने थिएँ।
पछि, मैले परमेश्वरका वचनहरूका अरू दुई खण्ड पढेँ जसमा यसो भनिएको थियो: “अनि जब मानिसहरूले सधैँ आफ्नै हितहरूका बारेमा विचार गर्छन्, जब सधैँ आफ्नै गर्व र आडम्बरको रक्षा गर्ने प्रयास गरिरहन्छन्, जब तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन् र पनि त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्, तब परिणाम के हुन्छ? परिणाम यो हुन्छ कि तिनीहरूले कुनै जीवन प्रवेश पाउँदैनन्, तिनीहरूमा साँचो अनुभव गवाहीको कमी हुन्छ। अनि यो खतरनाक हुन्छ, होइन र? यदि तैँले कहिल्यै पनि सत्यताको अभ्यास गर्दैनस् भने, यदि तँसँग कुनै अनुभव गवाही छैन भने, समय आएपछि तँलाई खुलासा गरिनेछ र हटाइनेछ। परमेश्वरको घरमा अनुभव गवाही नभएका मानिसहरूको के काम हुन्छ र? तिनीहरूले अवश्य नै कुनै कर्तव्य पनि राम्ररी पूरा गर्दैनन्, र कुनै काम पनि उचित रूपमा गर्न सक्षम हुँदैनन्। के तिनीहरू फोहोर होइनन् र? परमेश्वरलाई वर्षौँसम्म विश्वास गरेर पनि यदि मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्दैनन् भने, तिनीहरू अविश्वासीहरू हुन्; तिनीहरू दुष्ट मानिसहरू हुन्। यदि तैँले सत्यताको अभ्यास कहिल्यै गर्दैनस् र यदि तेरा अपराधहरू झन्झन् धेरै हुँदै गए भने, तेरो परिणाम निश्चित हुन्छ। यो स्पष्ट छ कि तेरा सबै अपराधहरू, तैँले हिँड्ने गलत मार्ग, र पश्चात्ताप गर्न तैँले गर्ने इन्कार—यी सबै कुरा जोडिएर दुष्ट कार्यहरूको थुप्रो बन्छ; त्यसैले तेरो परिणाम के हुन्छ भने, तँ नरक जानेछस्—तँलाई दण्डित गरिनेछ। के तँलाई यो सानोतिनो कुरा हो भन्ने लाग्छ? यदि तँलाई दण्ड भएको छैन भने, यो कति भयानक हुन्छ भन्ने बोधसमेत तँमा हुनेछैन। जब त्यो दिन आउँछ जहाँ तैँले साँच्चै नै सङ्कटको सामना गर्छस्, र तँ मृत्युको सम्मुख हुन्छस्, तब पछुतो गर्नको लागि धेरै ढिला भइसकेको हुनेछ। यदि तैँले परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता स्वीकार गर्दैनस्, र यदि तैँले परमेश्वरमा विश्वास गरेको वर्षौँ भयो, र पनि तँमा कुनै परिवर्तन आएको छैन भने, अन्तिम परिणाम के हुन्छ भने तँलाई हटाइनेछ र त्यागिनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “परमेश्वरका वचनहरूअनुसार कार्य गर्दा र आफूलाई आचरणमा ढाल्दा मात्रै मानिसहरूमा साँचो जग हुन्छ। यदि तिनीहरूले परमेश्वरका वचनहरू अनुसार आफूलाई आचरणमा ढाल्दैनन्, बरु राम्रो व्यवहार गरेको बहाना गर्नमा मात्रै ध्यान दिन्छन् भने, के तिनीहरू असल मानिस बन्न सक्छन्? अवश्य सक्दैनन्। असल धर्मसिद्धान्त र व्यवहारले मानिसहरूको भ्रष्ट स्वभाव र सारलाई परिवर्तन गर्न सक्दैन। सत्यता र परमेश्वरका वचनहरूले मात्रै मानिसहरूको भ्रष्ट स्वभाव, विचार, र दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्, र ती मात्रै तिनीहरूको जीवन बन्न सक्छन्। … मानिसहरूको बोलीवचन र कार्यहरूको आधार के हुनुपर्छ? परमेश्वरका वचनहरू। त्यसो भए, मानिसहरूका बोलीवचन र कार्यहरूका लागि परमेश्वरले तय गर्नुभएका आवश्यक मानकहरू के-के हुन्? (ती कुराहरू मानिसहरूका लागि शिक्षाप्रद हुनुपर्छ।) ठिक भनिस्। सबैभन्दा आधारभूत कुरा भनेको तैँले सत्य कुरा भन्नैपर्छ, इमानदारीपूर्वक बोल्नैपर्छ, र अरूलाई फाइदा पुर्याउनैपर्छ। कम्तीमा पनि, तेरो बोलीवचनले मानिसहरूलाई सुधार गर्नुपर्छ, अनि छल्ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, घृणा गर्ने, गिल्ला गर्ने, बन्धनमा पार्ने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्याउने गर्नु हुँदैन। यो सामान्य मानवताको अभिव्यक्ति हो। यो मानवजातिको सद्गुण हो। … यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काट-छाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताबारे बुझाइ र पश्चात्ताप गर्ने हृदय प्राप्त गरून्। त्यसपछि मात्रै नतिजाहरू हासिल गर्न सकिन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यसले तिनीहरूलाई वास्तवमै मदत गर्छ, र यो तिनीहरूका लागि शिक्षाप्रद हुन्छ, होइन र?” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। परमेश्वरका वचनहरूले मलाई झस्कायो, र मलाई डर लाग्यो। यदि कसैले परिस्थितिपिच्छे आफ्नै स्वार्थको रक्षा गर्ने छनौट गर्छ र सत्यता अभ्यास कहिल्यै गर्दैन भने, उसले धेरैभन्दा धेरै अपराधहरू जम्मा गर्नेछ, र अन्ततः परमेश्वरद्वारा पूर्ण रूपमा प्रकट गरी हटाइनेछ। मैले आफ्नो बारेमा सोचेँ—जब मैले मेरा ब्रदर-सिस्टरहरूको सुरक्षा खतरामा परेको र मण्डलीको काम प्रभावित भइरहेको देखेँ, मैले सिद्धान्तहरूलाई कायम राखिनँ र मण्डलीको कामको रक्षा गरिनँ, बरु सधैँ एक तथाकथित असल व्यक्ति बन्न खोजेँ। मैले अरूको आदर र अनुमोदन कमाए पनि, परमेश्वरको नजरमा म एक दुष्कर्मी थिएँ र अन्ततः उहाँद्वारा तिरस्कृत भई दण्डित हुने थिएँ। यी परिणामहरू महसुस गर्दा मलाई साह्रै डर लाग्यो र म आफ्नो गलत पछ्याइलाई सुधार्न तयार भएँ। परमेश्वरका वचनहरूले पनि मलाई अभ्यासको सही मार्ग देखाए। परमेश्वरका वचनहरूअनुसार काम गरेर र बोलेर मात्र हामीले अरूलाई फाइदा र उन्नति दिन सक्छौँ। हामी कसरी बोल्छौँ भन्ने कुराले फरक पार्दैन, चाहे कडा वा नरम स्वरमा बोलौँ, वा हाम्रा शब्दहरू जति नै चतुऱ्याइँपूर्ण हुन्। सबैभन्दा महत्त्वपूर्ण कुरा ब्रदर-सिस्टरहरूका लागि उन्नतिदायी हुने तरिकाले बोल्नु हो। जबसम्म तिनीहरू सही व्यक्ति हुन्, अर्थात् सत्यता स्वीकार गर्न सक्ने व्यक्ति हुन्, हामीले उनीहरूलाई प्रेमले मदत गर्नुपर्छ। यदि तिनीहरूले सत्यता बुझ्दैनन् र कामलाई नोक्सान पुऱ्याउँछन् भने, हामी उनीहरूलाई मार्गदर्शन र सहयोग प्रदान गर्न सङ्गति गर्न सक्छौँ। यदि सङ्गतिपछि पनि कुनै वास्तविक सुधार भएन भने, हामी उनीहरूको समस्याको सारलाई खुलासा गर्दै उनीहरूलाई काटछाँट गर्न सक्छौँ। यो कठोर सुनिए तापनि वा उनीहरूको भावनालाई बेवास्ता गरेजस्तो देखिए तापनि, यसरी काम गर्दा उनीहरूलाई साँच्चै फाइदा र सहयोग पुग्न सक्छ। यदि तिनीहरू मण्डलीको काममा अवरोध गरिरहेका ख्रीष्ट विरोधी वा दुष्ट व्यक्ति हुन् भने, हामीले उनीहरूलाई खुलासा गर्न, रोक्न वा हाम्रा माथिल्ला अगुवाहरूसमक्ष रिपोर्ट गर्न खडा भई मण्डलीको कामको रक्षा गर्नुपर्छ र ब्रदर-सिस्टरहरूलाई बाधा र भ्रमबाट जोगाउनुपर्छ। यसो गरेर मात्र हामी साँच्चै सत्यता अभ्यास गरिरहेका हुन्छौँ, र साँचो मानवता र दया प्रदर्शन गरिरहेका हुन्छौँ। परमेश्वरका वचनहरूले मेरो एक भ्रामक दृष्टिकोणलाई पनि सच्याए। म सोच्थेँ सिद्धान्तहरू उल्लङ्घन गरेकोमा कसैलाई रिपोर्ट गर्नु भनेको चुगली गर्नु, पछाडिबाट छुरा घोप्नु वा बेइमान हुनु हो। यो एक गलत दृष्टिकोण थियो। यसो गर्दा वास्तवमा मण्डलीको कामको रक्षा हुन्छ र यो एक असल कार्य हो। ली मिङमा गम्भीर समस्या थियो जसले मण्डलीको कामलाई असर गरिरहेको थियो र ब्रदर-सिस्टरहरूलाई बाँधिरहेको र हानि पुऱ्याइरहेको थियो, र यो मण्डलीको कामसँग सम्बन्धित सिद्धान्तको विषय थियो, मैले तुरुन्तै माथिल्लो अगुवाइसमक्ष यो कुरा बताउनुपर्थ्यो वा उनीबारे रिपोर्टसमेत गर्नुपर्थ्यो। यो पछाडिबाट छुरा घोप्नु हुने थिएन; यो त मण्डलीको कामको रक्षा गर्नु हुने थियो। यो महसुस गरेपछि, मेरा धेरै चिन्ताहरू हटेर गए र मैले निकै हल्का महसुस गरेँ।
एक पटक, कसैले रिपोर्ट गरे कि एक जना ब्रदर आफ्नो कर्तव्य पूरा गर्दा लगातार कामचोर गर्थे र कुनै पनि कठिनाइबाट पन्छिन्थे, र अरूले यो कुरा औँल्याएपछि, र धेरै पटक काटछाँट गरेपछि पनि, उनले पटक्कै स्वीकार गर्न मानेनन्। सिद्धान्तहरूको आधारमा, हामीले उनलाई बर्खास्त गर्नुपर्छ भन्ने निर्णय गर्यौँ, र उनले आत्मचिन्तन गर्न सकून् भनेर हामीले उनका समस्याहरू स्पष्ट रूपमा चिरफार गर्नुपर्छ। त्यसबेला, मैले सोचेँ, “कसैको समस्या चिरफार गर्नु भनेको चित्त दुखाउने कुरा हो। बरु मेरो सहकर्मीलाई सङ्गति गर्न लगाउँछु, म चाहिँ यसबाट अलग बस्छु। नत्र मैले उसलाई नराम्रो छाप छोड्न सक्छु।” तर त्यसपछि, मैले अचानक महसुस गरेँ कि म फेरि आफ्नो हैसियत र छवि बचाउन खोज्दै थिएँ। मैले परमेश्वरका वचनहरू सम्झिएँ, जसमा भनिएको छ: “आफ्नो कर्तव्य निर्वाह गर्नेहरू सबैको हकमा भन्दा, सत्यतासम्बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्नु हो। परमेश्वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको एउटा मार्ग देखाए। समस्याहरूको सामना गर्दा, हामीले आफ्ना इच्छाहरू र प्रतिष्ठालाई पन्छाएर, मण्डलीको हितलाई प्राथमिकता दिनुपर्छ र परमेश्वरका अभिप्रायहरूलाई विचार गर्नुपर्छ। यसरी व्यवहार गर्ने तरिका नै स्पष्ट तरिका हो र यो परमेश्वरद्वारा अनुमोदन गरिनेछ। परमेश्वरका मागहरू बुझेपछि, म उत्प्रेरित भएँ, र त्यसैले मैले परमेश्वरका वचनअनुसार ती ब्रदरको व्यवहारलाई विस्तृत रूपमा चिरफार गरेँ। यसरी अभ्यास गरेपछि मैले मनमा निकै सहजता अनुभूति गरेँ। मलाई सत्यता अभ्यास गरेर मात्र हामी साँचो शान्ति र आनन्द प्राप्त गर्न सक्छौँ भन्ने महसुस भयो।
यो अनुभवपछि, मेरो हृदय परमेश्वरप्रति कृतज्ञताले भरियो। परमेश्वरका वचनले नै मलाई परम्परागत संस्कृतिले वकालत गर्ने मिलनसार र सरल हुनु कति निरर्थक छ र यसले मानिसहरूलाई कस्तो हानि पुऱ्याउँछ भनेर देख्न मद्दत गर्यो। यसले मलाई परम्परागत संस्कृतिका बाधा-बन्धनहरूबाट तोडेर फुक्का हुँदाको स्वतन्त्रता र राहतको अनुभव पनि दिलायो। परमेश्वरलाई उहाँको मुक्तिका लागि धन्यवाद!