२३. मैले आफ्नो कर्तव्यमा किन मूल्य चुकाउन चाहिनँ

सिन्थिया, दक्षिण कोरिया

म मण्डलीमा ग्राफिक डिजाइनको काम गर्दै थिएँ, र एक पटक, टोली अगुवाले मलाई नयाँ प्रकारको चित्र बनाउने काम दिनुभयो। त्यसबेला म त्यति अनुभवी नभएकीले, र मलाई त्यस कामका सिद्धान्त वा मूलभूत कुराहरू थाहा नभएकाले, धेरै मिहिनेत गर्दा पनि मैले बनाएको चित्र त्यति राम्रो हुन सकेन। मैले त्यसलाई केही पटक सम्पादन गरेँ, तर खासै सुधार आएन। त्यसपछि मलाई यो नयाँ शैलीमा डिजाइन गर्न साँच्चै गाह्रो रहेछ भन्‍ने लाग्यो। पछि, टोली अगुवाले मलाई त्यस्तै अर्को चित्र बनाउन भन्‍दा, म निकै प्रतिरोधी बनेँ। मैले त्यो काम अरू कसैको थाप्लोमा हालिदिने उपायहरू सोचिरहेँ, अनि मैले जानाजान टोली अगुवाकै अगाडि आफू त्यस्तो प्रकारका डिजाइनहरू गर्न सिपालु नभएको कुरा बताएँ। उहाँले मेरो मनको कुरा बुझ्नुभयो र मलाई त्यस्ता कामहरू दिन छोड्नुभयो। केही समयपछि, मण्डली अगुवाले अन्तिम घडीमा आएर मलाई एउटा चित्र सम्पादन गर्न लगाउनुभयो र मलाई केही विस्तृत निर्देशनहरू दिन टोली अगुवालाई भन्नुभयो। यो अलि जरुरी थियो, अनि मैले सकेसम्म छिटो त्यसको मूल संरचनाका आधारमा त्यसको रूप सम्पादन गर्नुपर्ने थियो, र स-साना पक्षहरूलाई निखार्नुपर्ने थियो। सुन्दा मलाई यो सरल नै लाग्यो। त्यसको आधारभूत आकार पहिल्यै तयार भइसकेको हुनाले, केही सामान्य थपघट गरे पुग्थ्यो। तर टोली अगुवा मेरो सम्पादनप्रति सन्तुष्ट हुनुभएन र यसलाई कसरी सुधार्ने भन्नेबारे केही सुझाव दिनुभयो। मलाई त्यो झन्झटिलो लाग्यो, र म त्यो गर्न चाहन्‍नथेँ। मलाई लाग्यो, चित्र सामान्यतया ठीकै छ—प्रयोग गर्न मिल्ने छ भने, त्यति नै काफी हुनुपर्ने हो। के यसलाई सुधार्न त्यति धेरै स-साना विवरणमा जानु साँच्चै आवश्यक छ र? त्यसले धेरै समय र ऊर्जा बर्बाद गर्थ्यो। त्यसैले मैले आफ्ना विचारहरू राख्ने निर्णय गरेँ। तर अचम्म, टोली अगुवाले मलाई यस्तो सन्देश पठाउनुभयो, “तपाईँ आफ्नो कर्तव्यमा हृदय लगाउनुहुन्‍न, न त राम्रा नतिजाहरू हासिल गर्ने प्रयास गर्नुहुन्छ। तपाईँ सधैँ आफूलाई झन्झटबाट बचाउन खोज्नुहुन्छ र झाराटारुवा बन्नुहुन्छ। त्यस प्रकारको मनोवृत्ति लिएर तपाईँ कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नुहुन्छ र?” आलोचनाहरूको यो लहर देख्दा ममा ठूलो खलबली मच्चियो, अनि आफूमाथि अन्याय भएजस्तो लाग्यो। के म साँच्चै त्यति खराब थिएँ त? केही दिनपछि, देहको सुख-सुबिस्तामा लिप्त भएको र गाह्रो कुराबाट पन्छिन खोजेको भन्दै मण्डली अगुवाले मलाई काटछाँट गर्नुभयो। उहाँले मलाई गाह्रो डिजाइनहरूको झन्झटबाट बच्न खोज्ने र त्यसमा मिहिनेत नगर्ने, आफ्नो कर्तव्यमा सधैँ झारा टार्ने गरेको कुरा औँल्याउँदै ममाथि भरोसा गर्न नसकिने भन्नुभयो। उहाँको त्यो कुराले मेरो मर्ममै छोयो। मलाई राम्ररी चिन्‍ने एक जना सिस्टरले पनि सिधै भन्‍नुभयो, “डिजाइनर भएर, तपाईँ राम्रा डिजाइनहरू बनाउन ध्यान दिनुहुन्‍न भने, त्यो कसरी आफ्नो कर्तव्य निर्वाह गरेको हुन्छ र?” त्यो सुन्दा ममाथि चिसो पानी खन्याएजस्तै भयो, जसले मलाई भित्रैदेखि कँपायो। मलाई लाग्यो, अब मेरो कर्तव्य निर्वाह गर्ने समय सायद सकियो—म कस्ती मान्छे हुँ भन्‍ने सबैलाई थाहा भइसक्यो, त्यसैले अब उप्रान्त मलाई कसैले भरोसा गर्नेछैन।

त्यो साँझ, मैले हालसालै घटेका सबै घटना र अरूले मेरा बारेमा गरेका मूल्याङ्कनलाई फर्केर हेरेँ। म निकै दुःखी भएँ र सबैलाई निराश बनाएकोमा आफैलाई घृणा गर्न थालेँ। मैले आफ्नो कर्तव्य किन त्यसरी निर्वाह गरेँ? म रोएको रोयै भएँ। आफ्नो पीडाका बिचमा, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकाइलाग्दो नहुने, र घरबाहिर गई नानाथरी कुराको सामना गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्‍नु र गाह्रो कामदेखि भाग्‍नु भनिन्छ, र यो देहसुखप्रतिको लालसाको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटा, अनि देहसुखमा तल्लीन हुनु।) यी सबै देहसुखप्रतिको लालसाका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ आरामदायी काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर भएको, कार्य क्षमता नभएको, र यो काम वहन गर्न नसक्ने भन्दै बहाना बनाउँछ—जबकि वास्तवमा देहसुखको लालसाले गर्दा त्यस्तो भएको हुन्छ। … साथै, कुनै कर्तव्य पूरा गर्दा, उनीहरू कठिनाइहरूबारे सधैँ गुनासो गर्छन् र कुनै प्रयास लगाउन चाहँदैनन्, र अलिकति फुर्सद हुनेबित्तिकै तिनीहरू आराम गर्ने, गफ चुट्ने, वा आराम र मनोरञ्‍जनात्मक क्रियाकलापमा भाग लिने गर्छन्। अनि कामको बोझ बढेर तिनीहरूको जीवनको तालमेल र दिनचर्या बिग्रँदा, तिनीहरू दुःखी र असन्तुष्ट हुन्छन्। तिनीहरू गनगन र गुनासो गर्छन्, अनि तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा बन्छन्। यो देहसुखको लालसा गर्नु हो, होइन र? … के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउने र कठिनाइ भोग्‍नेबारे बोल्‍नेबित्तिकै, तिनीहरूले टाउको हल्लाइरहन्छन्। तिनीहरूमा अति धेरै कठिनाइ हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२))। मैले परमेश्‍वरका वचनहरूबाट के बुझेँ भने कर्तव्यमा सरल र सजिला कार्यहरू मात्रै छान्नु, अनि जटिल र गाह्रा कामहरू सधैँ अरूलाई गर्न लगाउनु भनेको बौद्धिकता वा क्षमताको कुरा होइन। यो त सुख-सुबिस्तामा लिप्त हुनु र मूल्य चुकाउन अनिच्छुक हुनु हो। विगतलाई फर्केर हेर्दा, जब टोली अगुवाले मलाई नयाँ प्रकारको डिजाइनमा काम गर्न लगाउनुभयो, मैले भर्खरै मात्र सिक्न सुरु गरेकीले मलाई त्यो गाह्रो लागेको थियो। काम राम्ररी गर्नका लागि मैले दुःख भोग्नुपर्थ्यो, मूल्य चुकाउनुपर्थ्यो, होसियारीपूर्वक सोच्नुपर्थ्यो र बारम्बार परिमार्जन गर्नुपर्थ्यो। त्यो झन्झट नचाहेर, म त्यसबाट पछाडि हटेकी थिएँ, अनि त्यो काम अरूको थाप्लोमा हालिदिने बहाना खोजेकी थिएँ। मैले त केवल सरल र सजिलो काम मात्र चाहेकी थिएँ। जब मण्डली अगुवाले मलाई चित्र सम्पादन गर्न भन्‍नुभयो, टोली अगुवाले मैले अझ राम्ररी काम गर्न सकूँ भन्‍ने आशाले मलाई विस्तृत निर्देशनहरू दिनुभयो। मैले त्यो स्वीकार गरे पनि, मलाई त्यो झन्झट लाग्यो, त्यसैले मैले त्यसमा कुनै वास्तविक सोचविचार वा मिहिनेत लगाइनँ, आफ्नो लागि सजिलो बनाउन मात्र खोजेँ। मैले के देखेँ भने, कुरा जेसुकै भए पनि, धेरै सोचविचार गर्नुपर्ने वा मिहिनेत चाहिने कुनै पनि काम गर्न म अनिच्छुक थिएँ। म देहको मात्र चिन्ता गर्थेँ। मैले परमेश्‍वरका वचनहरूमा पढेँ: “यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ।” यसले मलाई अलिकति त्रसित बनायो। आफ्नो कर्तव्य निर्वाह गर्दा म सधैँ देहको ख्याल गरिरहन्थेँ र सुख-सुबिस्तामा लिप्त भइरहन्थेँ, अनि दुःख भोग्न र मूल्य चुकाउन कत्ति पनि तत्पर हुन्नथेँ। म आफूलाई झन्झटबाट बचाउने र आफ्नो हृदय वा दिमागलाई दबाब नदिने कुरा मात्र सोच्थेँ। मेरो कर्तव्य निर्वाह गर्ने तरिकामा कुनै निष्कपटता वा बफादारी थिएन। मलाई लाग्थ्यो, झारा टारेरै भए पनि आफ्ना कार्यहरू पूरा गर्न सकेँ भने त्यति नै काफी हुन्छ। मैले कुनै सकारात्मक भूमिका निर्वाह गरिरहेकी थिइनँ। त्यसमाथि, मैले कामको प्रगतिमा समेत असर पुर्‍याएकी थिएँ। यदि म त्यसरी नै नबदलिईकन लागिरहेकी भए, परमेश्‍वरले मलाई ढिलोचाँडो हटाउनुहुनेथियो।

एक दिन, मैले परमेश्‍वरका अझ धेरै वचन पढेँ: “कतिपय मानिस आफ्ना कर्तव्यहरू निरन्तर निर्वाह गर्छन्, र तिनीहरूमा कुनै पनि ठूला समस्या भएजस्तो देखिँदैन—तिनीहरू स्पष्ट रूपमा कुनै दुष्ट कार्य गर्दैनन् वा अवरोध वा बाधा उत्पन्न गर्दैनन्, तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्दैनन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा कुनै ठूला गल्ती वा सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू हुँदैनन्। तैपनि, थाहै नपाई केही वर्षमा नै तिनीहरू प्रकट हुन्छन्: तिनीहरू सत्यता पटक्‍कै स्वीकार गर्दैनन्, र तिनीहरू अविश्‍वासी हुन्। यहाँ के भइरहेको हुन्छ त? मानिसहरूले तिनीहरूमा समस्या देख्दैनन्, तर परमेश्‍वर मानिसहरूको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ, र उहाँ समस्या देख्‍न सक्नुहुन्छ। यी मानिसहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा सधैँ झारा टार्छन् र पश्‍चात्ताप गर्दैनन्। समय बित्दै जाँदा, तिनीहरू प्रकट हुने निश्‍चित छ। सधैँ पश्‍चात्तापहीन हुनु भनेको के हो त? यसको अर्थ के हो भने, तिनीहरूले निरन्तर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने भए पनि, तिनीहरूमा ती कर्तव्यहरूप्रति सधैँ गलत मनोवृत्ति, झाराटारुवा मनोवृत्ति हुन्छ, र तिनीहरू कहिल्यै आफ्ना कर्तव्यहरूमा आफ्नो हृदय लगाउँदैनन्, आफ्नो पूरै हृदय लगाउने कुरा त परै जाओस्। तिनीहरूले थोरै प्रयास गरे पनि, तिनीहरू औपचारिकता मात्रै पूरा गरिरहेका हुन्छन्, र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा आफ्नो सम्पूर्ण शक्ति लगाउनबाट धेरै टाढा हुन्छन्। तिनीहरूका अपराधहरू कहिल्यै अन्त्य हुँदैनन्। परमेश्‍वरको नजरमा, यी मानिसहरू निरन्तर पश्‍चात्तापहीन हुन्छन्, र तिनीहरू सधैँ झाराटारुवा हुन्छन् र कहिल्यै परिवर्तन हुँदैनन्—अर्थात्, तिनीहरू आफ्‍नो हातको दुष्टता त्याग्दैनन् र परमेश्‍वरको सामुन्ने पश्‍चात्ताप गर्दैनन्, र परमेश्‍वर तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति, वा तिनीहरूको मनोवृत्तिमा परिवर्तन देख्‍नुहुन्‍न। तिनीहरू निरन्तर यही मनोवृत्ति र विधिअनुसार आफ्ना कर्तव्यहरू र परमेश्‍वरका आज्ञाहरूलाई लिन्छन्। तिनीहरूको यो जिद्दी, हठी स्वभाव कहिल्यै परिवर्तन हुँदैन। यति मात्र होइन, तिनीहरूले कहिल्यै परमेश्‍वरप्रति ऋणी महसुस गरेका हुँदैनन्, र तिनीहरूले आफ्नो झाराटारुवापन अपराध हो र दुष्ट कार्य हो भनेर कहिल्यै महसुस गरेका हुँदैनन्। तिनीहरूको हृदयमा अलिकति पनि ऋणीपनको बोध, अलिकति पनि ग्लानि, अलिकति पनि आत्म-धिक्कार हुँदैन, अलिकति पनि आत्म-दोषारोपण हुनु त परै जाओस्। यदि परिस्थिति यसरी नै चलिरह्यो भने, परमेश्‍वरले यी मानिसहरूलाई छुटकारा दिन नसकिनेहरूका रूपमा हेर्नुहुनेछ। परमेश्‍वरले जे भन्‍नुभए पनि, यी मानिसहरूले जति धेरै प्रवचन सुने पनि वा तिनीहरूले जति धेरै धर्मसिद्धान्तहरू बोल्न सके पनि, तिनीहरूको हृदयले सत्यता स्वीकार गर्न सक्दैन र त्यो परिवर्तन हुँदैन वा पछाडि फर्किँदैन, त्यसैले परमेश्‍वर भन्‍नुहुन्छ, ‘यस व्यक्तिका निम्ति कुनै आशा छैन। मैले भन्‍ने कुनै कुराले पनि उसको हृदयलाई छुन सक्दैन, र मैले भन्‍ने कुनै कुराले पनि उसलाई पछाडि फर्काउन सक्दैन। मैले अपनाउने कुनै पनि विधिले उसमा परिवर्तन ल्याउन सक्दैन। यो व्यक्ति अबउप्रान्त आफ्‍नो कर्तव्य निर्वाह गर्न योग्य छैन, र ऊ अब उप्रान्त मेरो घरमा सेवा प्रदान गर्न योग्य छैन।’ परमेश्‍वर किन यसो भन्‍नुहुन्छ? किनभने ऊ आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा र आफ्नो काममा निरन्तर झाराटारुवा हुन्छ, र उसलाई जसरी काटछाँट गरिए पनि, र ऊप्रति जति नै सहनशीलता र धैर्य देखाए पनि, त्यो व्यर्थ हुन्छ, र त्यसले उसलाई साँच्चै पश्‍चात्ताप गराउन वा बदल्न सक्दैन, यसले उसलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न लगाउन त झनै सक्दैन, र ऊ सत्यता पछ्याउने मार्गमा पटक्कै लाग्न सक्दैन, त्यसकारण यस व्यक्तिलाई छुटकारा दिन सकिँदैन। जब परमेश्‍वरले कुनै व्यक्तिलाई छुटकारा दिन सकिँदैन भनेर निर्धारित गर्नुहुन्छ, तब के उहाँले यस व्यक्तिलाई अझै पनि दह्रो गरी पक्रिराख्‍नुहुनेछ त? उहाँले त्यसो गर्नुहुनेछैन। परमेश्‍वरले उसलाई छाडिदिनुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता जिउने गवाही छ कि छैन भन्‍ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको गवाही दिँदैनन्, न त ती कुराहरूले शैतानलाई अपमानित र पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँलाई लज्जित पार्छन्, र ती उहाँको बेइज्जतीका दागहरूले नै भरिएका हुन्छन्। तैँले परमेश्‍वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरप्रति समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैँले परमेश्‍वरका खातिर आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्दा, यसको अर्थ हो, शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा, तेरा कार्यहरू असल कार्य हुनेछैनन्, तिनलाई दुष्ट कार्य मानिनेछ। तिनलाई परमेश्‍वरद्वारा अनुमोदन नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। मलाई पहिले के लाग्थ्यो भने मैले गाह्रा र धेरै जटिल परियोजनाहरू अरूको थाप्लोमा हाले पनि, म कहिल्यै खाली बस्दिनँ र कहिलेकाहीँ एउटा डिजाइनका लागि राति अबेरसम्म काम गर्छु। यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु नै काफी छ भन्‍ने मलाई लाग्थ्यो। मैले परमेश्‍वरका वचनहरूबाट के बुझेँ भने परमेश्‍वर हामीले कति काम गरेका छौँ वा कति मिहिनेत लगाएका छौँ भन्‍ने कुरा हेर्नुहुन्‍न, बरु उहाँ हामी आफ्नो कर्तव्यलाई कसरी लिन्छौँ, हामी परमेश्‍वरको अभिप्रायलाई ख्याल गरिरहेका छौँ कि छैनौँ, र हामीसँग सत्यता अभ्यास गरेको गवाही छ कि छैन भन्‍ने कुरा हेर्नुहुन्छ। उहाँ कुनै व्यक्तिको कर्तव्यले उहाँको अनुमोदन प्राप्त गर्नेछ कि छैन भनी यसरी नै निर्णय गर्नुहुन्छ। बाहिरबाट हेर्दा मैले पूरै समय आफ्नो कर्तव्य निर्वाह गरिरहेकी जस्तो देखिए पनि, कर्तव्यप्रति मेरो मनोवृत्ति एकदमै लापरवाह र झाराटारुवा थियो, म केवल देहको ख्याल गरिरहेकी हुन्थेँ र आफैलाई खुसी बनाउन लागिरहन्थेँ। म आफूलाई सजिलो लाग्ने काम मात्र गर्थेँ र गाह्रो लाग्ने काम जति पन्छाउँथेँ, ममा रत्तीभर बफादारी वा समर्पणता थिएन। यसरी आफ्नो कर्तव्य निर्वाह गर्नुले श्रम गर्ने मानक समेत पूरा गर्दैनथ्यो, यो त परमेश्‍वरलाई मूर्ख बनाउने र उहाँलाई छल गर्ने प्रयास गर्नु थियो। मैले भर्खरै सुरु गर्दा टोली अगुवाले मलाई केही महत्त्वपूर्ण कार्य दिनुभएको कुरा सम्झेँ, तर म सधैँ आफ्नो कर्तव्यमा झारा टार्ने, सजिला कुराहरूतिर आकर्षित हुने, र मण्डलीको कामलाई नभई देहलाई मात्र ख्याल गर्ने भएकीले, उहाँले मलाई महत्त्वपूर्ण परियोजनाहरू दिन छोड्नुभयो। म परमेश्‍वर वा अरू मानिस कसैले पनि भरोसा गर्न नसक्ने, र केवल सरल कार्यहरूमा श्रम मात्र गर्न सक्ने व्यक्ति बनेँ। आफ्नो कर्तव्यलाई त्यसरी व्यवहार गरेर, म असल कार्यहरू तयार गरिरहेकी थिइनँ; बरु म अपराधहरू थुपारिरहेकी थिएँ। यदि मैले यो दुष्टता त्यागिनँ र परमेश्‍वरसामु पश्‍चात्ताप गरिनँ भने, मेरा अपराधहरू बढ्दै जाँदा उहाँले मलाई तिरस्कार गर्नुहुनेथ्यो, अनि म उहाँद्वारा पूर्ण रूपमा प्रकट गरिनेथिएँ र हटाइनेथिएँ। त्यतिबेला मात्र मलाई आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति कति खतरनाक रहेछ भन्‍ने बोध भयो र यसले मलाई अलि त्रसित बनायो। मलाई के पनि महसुस भयो भने यस पटक काटछाँट गरिनु भनेको परमेश्‍वरले मलाई सम्झाउनु र चेतावनी दिनु थियो। म कत्ति भावशून्य रहेछु, कुरा बुझ्न कत्ति ढिलो गर्दी रहेछु! यदि अरूले सिधै औँल्याएर मलाई मेरो यथार्थ नदेखाएका भए, मैले कर्तव्यप्रतिको आफ्नो मनोवृत्ति परमेश्‍वरलाई घृणित लाग्छ भन्‍ने कुरा देख्नेथिइनँ। मलाई आफूले आफ्नो यो गलत स्थिति तुरुन्तै बदल्नुपर्छ, परमेश्‍वरसामु पश्‍चात्ताप गर्नुपर्छ, अनि हठी र विद्रोही बन्‍न छोड्नुपर्छ भन्‍ने थाहा थियो।

मैले देहको ख्याल गर्ने र सुख-सुबिस्तामा लिप्त हुने मेरो स्थितिबारे परमेश्‍वरका अझ धेरै वचन पढेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निर्वाह गरे पनि, तिनीहरू त्यसमा अक्षम हुन्छन्, तिनीहरूले यसको जिम्मेवारी थेग्नै सक्दैनन्, र तिनीहरू कुनै व्यक्तिले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्‍मेवारीहरू पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानव भनिन लायक हुन्छन् र? बुद्धु, मानसिक रूपले अक्षम, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्ना कर्तव्य र जिम्‍मेवारीहरू पूरा गर्नु नपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्ति सधैँ छट्टु र कामचोर हुन्छ, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने, तिनीहरू उचित मानव हुने इच्छा गर्दैनन्। परमेश्‍वरले तिनीहरूलाई मानव बन्‍ने मौका दिनुभयो, र उहाँले तिनीहरूलाई क्षमता र वरदान दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्‍नो कर्तव्य पूरा गर्नमा प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, हरेक मोडमा आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण होस्, अथवा कठिन वा सरल होस्, तिनीहरू सधैँ झाराटारुवा र छट्टु अनि कामचोर हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरू आफ्‍नो जिम्‍मेवारी अरू मानिसहरूको काँधमा थोपर्न चाहन्छन्, कुनै जिम्‍मेवारी वहन गर्दैनन्, अनि आफ्ना परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र?” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। “कस्ता मानिसहरू निकम्मा हुन्छन्? अलमल्ल परेका मानिसहरू, जो केही नगरी दिन कटाउँछन्, तिनीहरू निकम्मा हुन्छन्। यस प्रकारका मानिसहरू आफूले गर्ने कुनै कुरामा पनि जिम्मेवार हुँदैनन्, न त त्यसलाई गम्भीरतापूर्वक नै लिन्छन्; तिनीहरूले सबै कुरा लथालिङ्ग पार्छन्। तैँले जसरी सत्यतामा सङ्गति गरे पनि, तिनीहरूले तेरो कुरा सुन्दैनन्। तिनीहरू सोच्छन्, ‘मैले चाहेँ भने म यसरी नै जसोतसो निप्टाउनेछु। जे मन लाग्छ त्यही भन! जे भए पनि, अहिले म आफ्नो कर्तव्य पूरा गर्दैछु र मैले पेट भर्न पाएकै छु, त्यति भए पुगिहाल्यो नि। कम्तीमा म भिखारी त हुनुपरेको छैन। यदि कुनै दिन खान पाइनँ भने, त्यसबारे त्यतिबेलै सोचौँला। स्वर्गले मानिसका लागि सधैँ एउटा बाटो चाहिँ राखिदिनेछ। तपाईँ ममा विवेक वा समझ छैन, र म अलमल्ल परेको छु भनेर भन्‍नुहुन्छ—ल, त्यसोभए के भयो त? मैले कानुन तोडेको छैनँ। बढी भए, ममा चरित्रको अभाव होला, तर त्यो मेरो लागि कुनै खती होइन। पेट भर्न पाएँ भने भइहाल्यो।’ तँ यो दृष्टिकोणबारे के सोच्छस्? म तँलाई भन्छु, केही नगरी दिन कटाउने यस्ता अन्योलमा परेका मानिसहरू सबैलाई हटाइने कुरा निर्धारित छ, र तिनीहरूले कसै गरी पनि मुक्ति पाउन सक्दैनन्। वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका तर कुनै पनि सत्यता नस्विकारेका र अनुभवात्मक गवाही नभएका सबै मानिसहरूलाई हटाइनेछ। कोही पनि बच्नेछैनन्। रद्दी र नालायकहरू सबै सित्तैमा खानेहरू हुन् र तिनीहरूलाई हटाइने कुरा निर्धारित छ। यदि अगुवा र कामदारहरू सित्तैमा खानेहरू मात्र हुन् भने तिनीहरूलाई त झनै बर्खास्त गरेर हटाइनुपर्छ। यस्ता अन्योलमा परेका मानिसहरू अझै पनि अगुवा र कामदार बन्‍न चाहन्छन्; तिनीहरू अयोग्य छन्! तिनीहरू कुनै वास्तविक काम गर्दैनन्, तैपनि अगुवा हुन चाहन्छन्। तिनीहरूमा साँच्‍चै कुनै लाज छैन!” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरको कठोर खुलासाले मलाई के महसुस गरायो भने, यदि कुनै व्यक्ति आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा हुन्छ र कहिल्यै जिम्मेवारी लिँदैन भने, त्यसको अर्थ ऊ फोहोर जस्तै हुन्छ। यदि तिनीहरूले कुनै पनि कुरामा हृदय लगाउँदैनन्, यदि तिनीहरू सधैँ कामचोर बन्छन्, विनाउद्देश्य जीवन बिताउँछन्, आफ्ना उचित कर्तव्यहरू पूरा गर्दैनन्, वा नयाँ सीपहरू सिक्दैनन् भने, तिनीहरू बेकामे हुन्छन्। मैले चिन्तन गरेँ र म पनि आफ्नो कर्तव्यमा त्यस्तै रहेछु भन्‍ने देखेँ। मलाई जुनसुकै काम दिइए पनि, म त्यसमा धेरै सोचविचार गर्न, कष्ट भोग्न, वा आफ्नो कर्तव्यमा प्रभावकारी हुनका लागि कुनै प्रयास गर्न चाहन्‍नथेँ। म केवल खाली नबसीकन व्यस्त देखिएरै सन्तुष्ट हुन्थेँ। त्यसरी आफ्नो कर्तव्य निर्वाह गरेर के म खेलबाड मात्र गरिरहेकी थिइनँ र? मलाई के कुरा पनि याद आयो भने, सानैदेखि म सधैँ हुनेखाने परिवारका मानिसहरूको डाहा गर्थेँ जसलाई कुराको वास्ता थिएन, जो जताततै घुम्न सक्थे, अनि आरामदायी र सजिलो जीवन बिताउन सक्थे। म आफ्ना लागि पनि त्यस्तै जीवन पाउन मरिहत्ते गर्थेँ। मलाई लाग्थ्यो, हामी मानिसहरू केही दशक मात्र बाँच्ने भएकाले, यदि हामीले जीवनको आनन्द लिएनौँ भने, त्यो जीवन खेर गएको हुन्‍न र? हुर्किएपछि, मैले अरू सबैलाई पैसा कमाउन कडा मिहिनेत गरिरहेको देखेँ, त्यसैले मैले एउटा व्यवसाय सुरु गरेँ। तर म अझै पनि धेरै ऊर्जा खर्च गर्न चाहन्‍नथेँ, अनि म सधैँ टिभी कार्यक्रमहरू र उपन्यासहरूमा डुबिरहन्थेँ। मैले आफ्नो व्यवसायमा धेरै ध्यान दिइनँ र मैले पैसा कमाए पनि वा नकमाए पनि मलाई कुनै वास्ता हुँदैनथ्यो। वर्षको अन्त्यसम्ममा, मैले केही पनि कमाउन नसकेकी मात्र होइन, उल्टै मलाई घाटा लाग्यो। तर यसले पनि मलाई त्यति धेरै दुःखी बनाएन। म आफैलाई सान्त्वना दिन्थेँ, खान पुगेसम्म अलिअलि घाटा लागेर केही फरक पर्दैन भनेर सोच्दथेँ। जीवनप्रतिको मेरो दृष्टिकोण “आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ” अनि “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ” भन्‍ने थियो। यी शैतानी विचारहरूबाट प्रभावित भएकी हुनाले, मैले आफ्ना उचित कर्तव्यहरूमा कहिल्यै ध्यान दिइनँ, र प्रगति गर्न प्रयत्न गरिनँ; मेरो जीवनमा कुनै लक्ष्य थिएन। विश्‍वासी बनेपछि पनि म यिनै विचारहरूमै जिइरहेकी थिएँ। कर्तव्यमा सधैँ सजिलो खोज्ने, आफूलाई दबाब नदिने, धेरै नसोच्ने, वा तनाव नलिने कुरा नै जिउने उत्कृष्ट तरिका हो जस्तो मलाई लाग्थ्यो। तर वास्तवमा, म कुनै पनि प्रकारको कामको जिम्मेवारी उठाउन सक्दिनथेँ। म कुनै कामकी थिइनँ, म त केवल फोहोर जस्तै थिएँ। मैले आफ्नो व्यवहारमाथि जति धेरै चिन्तन गरेँ, म त्यति नै धेरै छक्क परेँ। के म ठ्याक्कै परमेश्‍वरले खुलासा गरिरहनुभएको प्रकारको परजीवी थिइनँ र? मानवजातिलाई मुक्ति दिन, परमेश्‍वरले आफ्ना वचनहरू व्यक्त गर्नुभएको र हामीलाई सत्यता र जीवन प्रदान गर्नुभएको मात्र होइन, उहाँले हामीलाई बाँच्नका लागि आवश्यक पर्ने सबै कुराहरू प्रदान गरी त्यसको प्रचुर मात्रामा आनन्द लिन दिनुभएको छ। उहाँले हाम्रो हेरचाह र सुरक्षा गर्नुहुन्छ, अनि हामीलाई शैतानको पासोमा पर्नबाट जोगाउनुहुन्छ। तर म विचारहीन र गैरजिम्मेवार थिएँ। मैले आफ्नो कर्तव्यमा परमेश्‍वरको प्रेमको प्रतिदान गर्न जानिनँ, बरु म एउटी अल्छी परजीवी बनेँ। यो शैतानी विचारद्वारा विषाक्त र प्रभावित भएर, मैले केवल देहगत सुख र लिप्तता मात्र खोजेँ। मैले कहिल्यै पनि उचित कुराहरूका बारेमा वा परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने भन्‍ने बारेमा गम्भीरतापूर्वक ख्याल गरेकी थिइनँ। आफ्नो चिन्तनको त्यस घडीमा, मलाई आफैप्रति घिन र वितृष्णाका साथै तिरस्कारको महसुस भयो। म साँच्चै नै शैतानद्वारा अति गहिरोसँग भ्रष्ट तुल्याइएकी रहेछु भन्‍ने मलाई लाग्यो। मैले सबै विवेक र समझ गुमाएकी थिएँ, अनि म धेरै संवेदनहीन बनेकी थिएँ। शैतानले मानिसहरूलाई सोच्नै नसक्ने बनाउन र हामीलाई झन्-झन् भ्रष्ट बनाउन यी विचारहरू कसरी प्रयोग गर्छ भन्‍ने कुरा पनि मैले देखेँ। अन्ततः, हामी प्राणविहीन जिउँदो लास जस्तै, फोहोर बन्छौँ। मैले आफ्नो कर्तव्य उचित रूपमा निर्वाह नगरेकामा, परमेश्‍वरलाई सान्त्वना दिन एउटा पनि काम नगरेकामा मलाई निकै पश्‍चात्ताप भयो। परमेश्‍वरप्रति साँच्चै ऋणी महसुस गरी मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, म शैतानद्वारा यति गहिरोसँग भ्रष्ट तुल्याइएकी छु। यदि तपाईँले मलाई प्रकट नगर्नुभएको भए, मेरो समस्या कति गम्भीर छ भनेर मैले कहिल्यै देख्नेथिइनँ। म आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएकी छु र ममा मानवताको कमी छ, मैले तपाईँको यति धेरै अनुग्रहको आनन्द लिएकी छु तर तपाईँको प्रेमको प्रतिदान गर्न कहिल्यै जानिनँ। म एउटा परजीवी भएकी छु। म देहविरुद्ध विद्रोह गर्नेछु र तपाईँसामु पश्‍चात्ताप गर्नेछु, सचेत रूपमा सत्यता खोज्नेछु, अनि तपाईँका मागहरूअनुसार मेरो कर्तव्य निर्वाह गर्नेछु।”

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँ व्यक्ति होस्, त्यसैले तैँले व्यक्तिका जिम्मेवारीहरू के-के हुन् भनेर विचार गर्नुपर्छ। गैरविश्‍वासीहरूले सबैभन्दा बढी मूल्यवान् ठान्‍ने जिम्मेवारीहरू, जस्तै कर्तव्यनिष्ठ सन्तान बन्‍नु, आमाबुवाको भरणपोषण गर्नु र आफ्नो परिवारको नाम राख्‍नु आदिबारे त भनिरहनु पर्दैन। यी सबै खोक्रा कुरा हुन् र यिनमा वास्तविक अर्थ छैन। व्यक्तिले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारी के हो? तैँले अब कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्छस्, त्यो नै सबैभन्दा व्यावहारिक कुरा हो। झारा टार्नमा नै सन्तुष्ट हुनु आफ्नो जिम्मेवारी पूरा गर्नु होइन, अनि शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्नु पनि आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। सत्यता अभ्यास गर्नु र सिद्धान्तअनुसार कामकुरा गर्नु मात्र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। जब तेरो सत्यता अभ्यास प्रभावकारी, र मानिसहरूका लागि लाभदायी बनेको हुन्छ, तब मात्र तैँले आफ्नो जिम्मेवारी साँच्‍चै पूरा गरेको हुनेछस्। तैँले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तँ यावत् थोकमा सत्यता सिद्धान्तअनुसार व्यवहार गर्नमा लागिरहिस् भने मात्र तैँले साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। मानव कार्यशैलीअनुसार अल्याङमल्याङ गर्नु भनेको झाराटारुवा हुनु हो; सत्यता सिद्धान्तहरूमा कायम रहनु मात्र सही तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अनि जब तैँले आफ्नो जिम्मेवारी पूरा गर्छस्, के यो बफादारीको प्रकटीकरण हुँदैन र? यो आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गर्नुको प्रकटीकरण हो। तँमा यो जिम्मेवारी बोध, यो सङ्कल्प र चाहना, अनि आफ्नो कर्तव्यका सम्बन्धमा बफादारीको यो प्रकटीकरण छ भने मात्र, परमेश्‍वरले तँलाई कृपा र अनुमोदनको दृष्टिले हेर्नुहुनेछ। यदि तँमा जिम्मेवारीको यो बोधसमेत छैन भने, परमेश्‍वरले तँलाई कामचोर र लन्ठकका रूपमा व्यवहार गर्नुहुनेछ, र तँलाई तुच्छ ठान्नुहुनेछ। … जब परमेश्‍वरले मण्डलीको एउटा काम गर्न कुनै व्यक्तिलाई खटाउनुहुन्छ, तब उहाँ त्यस व्यक्तिबाट के अपेक्षा गर्नुहुन्छ? पहिलो, परमेश्‍वर ऊ लगनशील र जिम्मेवार होस्, उसले त्यस कामलाई ठूलो मामिला ठानेर त्यहीअनुरूप सम्हालोस्, र राम्रोसँग गरोस् भन्‍ने आशा गर्नुहुन्छ। दोस्रो, परमेश्‍वर ऊ भरोसायोग्य व्यक्ति होस्, जति समय बिते पनि, र वातावरण जसरी परिवर्तन भए पनि, उसको जिम्मेवारीबोध नडगमगाओस्, र परीक्षामा उसको निष्ठा खरो उत्रियोस् भन्‍ने आशा गर्नुहुन्छ। यदि ऊ भरोसायोग्य व्यक्ति हो भने, परमेश्‍वर आश्‍वस्त हुनुहुनेछ, र उहाँले उप्रान्त यस मामिलामा सुपरिवेक्षण वा अनुगमन गर्नुहुनेछैन। किनभने उहाँ हृदयदेखि उसलाई भरोसा गर्नुहुन्छ, र उसले आफूलाई दिइएको काम कुनै गल्ती नगरी पूरा गर्ने पक्का हुन्छ। जब परमेश्‍वरले कसैलाई कुनै काम सुम्पनुहुन्छ, तब उहाँले यही आशा गर्नु हुँदैन र? (हुन्छ।) त्यसोभए, तैँले परमेश्‍वरको अभिप्राय बुझेपछि, कसरी परमेश्‍वरका मागहरू पूरा गर्न कार्य गर्ने, परमेश्‍वरका नजरमा निगाह पाउने, र परमेश्‍वरको भरोसा जित्ने भनेर हृदयमा जान्‍नुपर्छ। यदि तैँले आफ्ना प्रकटीकरणहरू र व्यवहार, अनि तैँले आफ्नो कर्तव्यलाई लिने मनोवृत्तिलाई प्रस्ट रूपमा देख्न सक्छस् भने, अनि यदि तँमा आत्म-सचेतना छ, र तँलाई आफू के हुँ भन्‍ने थाहा छ भने, के तैँले परमेश्‍वरले तँलाई निगाह गर्नुहोओस्, अनुग्रह देखाउनुहोओस्, वा विशेष व्यवहार गर्नुहोओस् भनी माग गर्नु बेमनासिब होइन र? (हजुर, हो नि।) तँ आफूलाई एकदमै तुच्छसमेत ठान्छस्, आफूलाई हेयको नजरले हेर्ने समेत गर्छस्, तैपनि परमेश्‍वरले तँलाई निगाह गर्नुहोओस् भनेर माग गर्छस् भने—यसले कुनै अर्थ राख्दैन। यसरी, यदि तँ परमेश्‍वरले तँलाई निगाह देखाउनुहोओस् भन्‍ने चाहन्छस् भने, तैँले कम्तीमा पनि आफूलाई अरू मानिसका दृष्टिमा भरोसायोग्य बनाउनुपर्छ। यदि तँ अरूले तँलाई भरोसा गरून्, निगाह देखाऊन्, आदर गरून् भन्‍ने चाहन्छस् भने, कम्तीमा पनि तँ मर्यादित, जिम्मेवारी बोध भएको, वचनको पक्‍का, र भरोसायोग्य हुनैपर्छ। त्यसबाहेक, तँ परमेश्‍वरसामु लगनशील, जिम्मेवार, र बफादार हुनैपर्छ—त्यसपछि तैँले परमेश्‍वरले तँबाट गर्नुहुने मागहरू लगभग पूरा गरेको हुनेछस्। त्यसपछि, तँलाई परमेश्‍वरको अनुमोदन प्राप्त हुने आशा हुनेछ, हुनेछैन र? (हजुर, हुनेछ।)” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। मैले परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने प्रत्येक व्यक्तिका आ-आफ्नै जिम्मेवारी र दायित्वहरू हुन्छन्, अनि मर्यादा र मूल्यका साथ जिउनका लागि, मुख्य कुरा भनेको हामीले हाम्रा कर्तव्यहरूमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्छौँ कि सक्दैनौँ र परमेश्‍वरले दिनुभएको हरेक कामलाई गम्भीरतापूर्वक र ध्यान दिएर ग्रहण गर्छौँ कि गर्दैनौँ भन्‍ने हो। हामीलाई निरन्तर अर्ती दिन र सम्झना गराउन हामीलाई अरूको आवश्यकता पर्नुहुँदैन बरु हामीमा जिम्मेवारीको बोध हुनुपर्छ। परिणाम जस्तोसुकै भए पनि, कुनै व्यक्तिले आफूले गरिरहेको काममा कसरी आफ्नो हृदय लगाउँछ भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यस्तो किसिमको मनोवृत्ति हुनेहरूसँग मात्र निष्ठा र मर्यादा हुन्छ, अनि तिनीहरूमाथि भर पर्न सकिन्छ, र तिनीहरूका कार्यहरू परमेश्‍वरद्वारा सम्झिइनेछन्। परमेश्‍वरको अभिप्राय बुझ्नु मेरा लागि अन्तर्दृष्टिपूर्ण थियो र यसले मलाई अभ्यासको मार्ग दियो। त्यसपछिको मेरो कर्तव्यमा, मैले आफैलाई बारम्बार अझ धेरै ध्यान दिन, सत्यताका सिद्धान्तहरू खोज्न, र सकेसम्म उत्कृष्ट काम गर्ने प्रयास गर्न सम्झाएँ।

एक पटक म र एक जना सिस्टर एउटा चित्रको योजनाका बारेमा कुरा गरिरहेका बेला, हामीले पश्चिमी शैलीहरूलाई सन्दर्भका रूपमा प्रयोग गर्नुपर्छ र यसलाई प्रभावशाली बनाउनुपर्छ भनेर उहाँले भन्‍नुभयो। जब उहाँले “प्रभावशाली” भन्‍नुभयो, तब मलाई त्यो गाह्रो हुन्छ जस्तो लाग्यो, अनि पश्चिमी शैलीहरू राम्रा देखिन्छन् भन्‍ने कुरा मलाई थाहा भए पनि, सबै प्रकारका सजावटी प्रभावहरू बनाउन जटिल हुनेथियो। अरू सिस्टरहरूले पहिले सधैँ त्यस्ता प्रकारका डिजाइनहरू गरेका थिए, र म त्यसमा त्यति निपुण थिइनँ। यसलाई राम्रो रूप दिनु मेरा लागि साँच्चै गाह्रो हुनेथियो, र यसले धेरै समय र ऊर्जा लिनेथियो। मलाई हिचकिचाहट महसुस भयो र म यसलाई अस्वीकार गर्न, र अर्की सिस्टरलाई गर्न लगाउन चाहन्थेँ, तर त्यति नै बेला मैले पहिले पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “मानिलिऊँ, मण्डलीले तेरो लागि एउटा कार्यको प्रबन्ध गर्छ, र तँ यसो भन्छस्, ‘… मण्डलीले मलाई जुन काम दिए पनि म आफ्‍नो सारा हृदय र शक्तिले त्यो गर्नेछु। यदि मैले कुनै कुरा बुझिनँ वा कुनै समस्या आइपर्‍यो भने, म परमेश्‍वरलाई प्रार्थना गर्नेछु, सत्यताको खोजी गर्नेछु, सत्यता सिद्धान्तहरूअनुसार समस्याहरूलाई हल गर्नेछु, र कार्य राम्ररी गर्नेछु। मेरो कर्तव्य जे भए पनि, म यसलाई राम्ररी पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफूसँग भएको सबै कुरा प्रयोग गर्नेछु। मैले जेसुकै हासिल गर्न सके पनि, म आफूले वहन गर्नुपर्ने जिम्‍मेवारी वहन गर्न सक्दो गर्नेछु, र कम्तीमा पनि, म आफ्‍नो विवेक र समझविरुद्ध जानेछैनँ, वा झारा टार्नेछैनँ, वा कामचोर र छट्टु बन्‍नेछैनँ, वा अरूको मेहनतको फलमा लिप्त हुनेछैनँ। मैले गर्ने कुनै पनि काम विवेकको मानकभन्दा मुनि हुनेछैन।’ यो त आत्म-आचरणको न्यूनतम मानक हो, र यसरी आफ्‍नो कर्तव्य पूरा गर्ने व्यक्ति विवेक र समझ भएको व्यक्ति कहलिन सक्छ। आफ्‍नो कर्तव्य पूरा गर्नमा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनैपर्छ, र कम्तीमा पनि आफ्नो तीन छाक खानाको लायक हुनुपर्छ र ती सित्तैँमा खानु हुँदैन। यसलाई जिम्‍मेवारीको बोध हुनु भनिन्छ। तेरो क्षमता बलियो भए पनि वा कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि वा नबुझे पनि, जे भए पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्‍भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाउनुपर्छ, र यसलाई राम्ररी पूरा गर्न आफ्‍नो सारा हृदय र शक्ति प्रयोग गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे ग्यारेन्टी दिन नसके पनि, मेरो मनोवृत्ति भनेको यसलाई आफूले सकेजति राम्ररी निर्वाह गर्ने हो, र म यसबारे अवश्य नै झाराटारुवा हुनेछैनँ। यदि काममा कुनै समस्या उत्पन्‍न भयो भने, मैले जिम्‍मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्‍चित गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। मैले म पहिले आफ्नो कर्तव्यमा कसरी गैरजिम्मेवार भएकी थिएँ भन्ने कुरा सम्झिएँ। म सधैँ यसमा झारा टार्थेँ र मैले परमेश्‍वरलाई घृणित लाग्ने धेरै कामहरू गरेकी थिएँ। यस पटक म देहको ख्याल गर्न र सुख-सुबिस्तामा लिप्त हुन हुँदैनथ्यो। मैले परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्नुपर्थ्यो र आफ्नो कर्तव्यको जिम्मेवारी लिनुपर्थ्यो। मैले मनमनै के सङ्कल्प गरेँ भने मैले कति उपलब्धि गर्न सक्छु भन्ने कुरा जेसुकै भए पनि, पहिले म समर्पित हुनुपर्छ र कडा मिहिनेत गर्नुपर्छ। आफ्नो तर्फबाट सक्दो प्रयास गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। यी विचारहरूसँगै, मैले एउटा दिशा पाएको महसुस गरेँ। मैले हाम्रो कामको सिद्धान्तहरूका बारेमा सोचेँ र केही सन्दर्भ सामग्रीहरू जम्मा गरेँ, त्यसपछि केही संस्करणहरू बनाएर सुझावहरूका लागि अन्य सिस्टरहरूलाई पठाएँ। केही परिमार्जनहरूपछि यो अन्ततः तयार भयो। त्यसरी अभ्यास गर्दा मलाई हृदयमा शान्तिको अनुभूति भयो र म पहिलेभन्दा बढी व्यावहारिक भएकी छु जस्तो मलाई लाग्यो।

त्यसपछि, मैले आफ्नो कर्तव्यमा आत्मचिन्तन गर्न र देहविरुद्ध विद्रोह गर्नमा ध्यान केन्द्रित गरेँ। मैले आफ्नो दैनिक जीवनका सानातिना कुराहरू र मण्डलीले मलाई सुम्पेका कामहरूमा अझ बढी ध्यान दिने, र आफ्नो कर्तव्य कसरी अझ राम्ररी निर्वाह गर्ने भनी सोच्ने निधो गरेँ। वास्तवमा, यसले मलाई थकाएन, बरु मैले सन्तुष्टि महसुस गरेँ। यसरी आत्मआचरण गर्नु साँच्चिकै अद्भुत कुरा हो! कहिलेकाहीँ म अझै पनि देहको ख्याल गर्न र आफैलाई लिप्ततामा राख्न चाहे पनि, ममा आफ्नो भ्रष्टताप्रति पहिलेभन्दा राम्रो चेतना छ। जब म यो प्रकट भएको महसुस गर्छु, म तुरुन्तै प्रार्थना गर्छु र मलाई देहविरुद्ध विद्रोह गर्न मद्दत गर्नुहोस् भनी परमेश्‍वरसँग बिन्ती गर्छु, अनि यदि म फेरि झाराटारुवा, छली र गैरजिम्मेवार भएँ भने मलाई ताडना दिनुहोस् भनी उहाँलाई बिन्ती गर्छु। समय बित्दै जाँदा, म आफ्नो कर्तव्यमा बोझ बोक्न सक्षम भएकी छु, र आफ्ना जिम्मेवारीहरू उठाउन तथा मेरो कर्तव्य पूरा गर्न तत्पर भएकी छु। निष्ठा, मर्यादा र आन्तरिक शान्तिका साथ जिउने एक मात्र मार्ग यही हो।

अघिल्लो:  २२. एक पाष्टरलाई प्रचार गरेको कथा

अर्को:  २४. एउटा त्यान्द्रोको भरमा झुन्डिएको म

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger