३३. कर्तव्यमा भएको फेरबदलले मेरो प्रकटीकरण भयो

ब्रियाना, अमेरिका

म मण्डलीमा भिडिओ बनाउने काम गर्दै थिएँ, तर केही समयसम्म गर्नुपर्ने काम खासै नभएकाले, अगुवाले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा खटाउनुभयो। पछि, भिडिओको कामका आवश्यकताका कारण मलाई फेरि भिडिओ बनाउन पठाइयो, अनि कामको चाप कम भएपछि, फेरि नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा फिर्ता पठाइयो। यसरी दुई पटकसम्म मलाई घरि यता घरि उता खटाइयो। त्यसपछि एक जना सिस्टरले मलाई भन्नुभयो, “जहाँ आवश्यकता हुन्छ, तपाईँं त्यहीँ जानुहुन्छ!” त्यतिबेला मैले यस कुरामा खासै विचार गरिनँ। तर एक महिना पनि नबित्दै, भिडिओको काम फेरि घट्यो र मलाई के चिन्ता लाग्न थाल्यो भने चाँडै नै हामीलाई धेरै मानिसको आवश्यकता पर्नेछैन र मलाई फेरि नयाँ विश्वासीहरूलाई मलजल गर्न पठाइनेछ। त्यो कुरा सोच्दा मेरो घाँटी अवरुद्ध भयो। म किन यति बेकामे भएँ? काम अलिकति कम हुनेबित्तिकै र थोरै मानिस चाहिनेबित्तिकै, अर्को काममा खटाइने म नै हुन्थेँ। म टोलीका लागि नभए पनि हुने व्यक्ति थिएँ। मलाई फेरि साँच्चै अर्को काममा खटाइयो भने, अरूले मेरा बारेमा के सोच्लान्? किन मलाई मात्र सधैँ अर्को काममा खटाइन्छ, र अरूलाई खटाइँदैन भनेर छक्क पर्लान् कि? तिनीहरूले म दक्ष नभएकीले र टोलीमा मेरो कुनै महत्त्वपूर्ण भूमिका नभएकाले यस्तो भएको हो भनेर सोच्नेछन्। यी विचारहरूले मलाई साँच्चै व्याकुल बनाए। म त्यो परिस्थितिको सामना गर्न चाहन्नथेँ।

एक पटक, हामी एउटा भिडिओमा रहेका केही समस्याका बारेमा छलफल गर्दै थियौँ, र सबैले आआफ्ना दृष्टिकोण राखिरहेका थिए—छलफल निकै जीवन्त थियो। तर धेरै बेरसम्म सोच्दा पनि, मेरो दिमागमा कुनै राम्रो विचारहरू फुरेनन्, वा भनौँ भन्नका लागि केही पनि थिएन। अलमल्लमा परेर, म त्यत्तिकै चुपचाप बसेँ। सबैले आआफ्ना तर्फबाट साथ दिइरहेका थिए, तर मैले भने अलिकति पनि योगदान दिइरहेकी थिइनँ। मलाई त मेरो कुनै अस्तित्व नै नभएजस्तो महसुस भयो। मैले सोचेँ, “यसरी त हुँदैन। मैले केही त भन्नैपर्छ। तिनीहरूले मलाई नजरअन्दाज नगरुन् भन्नका लागि मैले केही सुझबुझपूर्ण कुरा राख्नुपर्छ।” मैले आफ्नो दिमाग धेरै खियाएँ र अन्ततः एउटा विचार व्यक्त गर्न सकेँ, तर मेरो कुरामा कोही पनि सहमत भएनन्। म लाजले भुतुक्क भएँ। मैले सोचेँ, “त्यो साह्रै लाजमर्दो कुरा थियो—तिनीहरूले मेरा बारेमा के सोच्ने होलान्?” मैले भिडिओको काम नगरेको आठ महिना भइसकेको थियो, त्यसैले मेरा पेसागत सीपहरू अनि सिद्धान्तहरूको बुझाइ पहिले टोलीमा छँदाको भन्दा पनि कमजोर भएको थियो। म अरूभन्दा निकै पछि परेकी थिएँ। भिडिओ बनाउने सीपहरू निरन्तरको अध्ययनबाट मात्र सुधार्न सकिन्छ। अरूले भने जतिखेरै भिडिओको काम गरिरहेका थिए, अनि सीप र सिद्धान्तहरूबारे तिनीहरूको बुझाइ निरन्तर सुधार भइरहेको थियो, जबकि मैले चाहिँ अलिकति समय यता र अलिकति समय उता गरेर बिताएकी थिएँ। मैले कुनै एउटै ठाउँमा लामो समयसम्म अभ्यास गरेकी थिइनँ, त्यसैले म कुनै पनि क्षेत्रमा खासै निपुण थिइनँ। काम कम हुनेबित्तिकै, अर्को काममा खटाइने पहिलो व्यक्ति म नै हुन्थेँ। म भए पनि वा नभए पनि तिनीहरूलाई कुनै फरक पर्दैनथ्यो। कामको चाप हेर्दा, मैले सोचेँ सुपरिवेक्षकले मलाई जुनसुकै बेला नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा फिर्ता पठाउन सक्नुहुन्छ। यो विचारले मलाई साँच्चै दुःखी बनायो, अनि म नरोई रहन सकिनँ। मैले सोचेँ, “मलाई नै सधैँ यो किन हुन्छ?” टोलीका केही मानिससँग पेसागत सीपहरू थिए, केहीसँग कार्य सामर्थ्यहरू थिए, अरू अनुभवी थिए र यो कर्तव्य केही समयदेखि निर्वाह गर्दै आएका थिए, केही भने साँच्चै छिटोछरितो काम गर्ने खालका थिए…। तिनीहरू सबै कुनै न कुनै तरिकामा उत्कृष्ट थिए, तर मेरो कुरा गर्दा, मेरो क्षमता तिनीहरूको जत्तिको राम्रो थिएन, म त्यति सिपालु थिइनँ, अनि म सधैँ तिनीहरूभन्दा एक कदम पछि हुन्थेँ। त्यसैले कामको चाप घटेर थोरै मानिस चाहिँदा, स्वाभाविक रूपमा, अर्को काममा खटाइने पहिलो म नै हुन्थेँ। यदि मसँग पनि तिनीहरूको जस्तै राम्रो क्षमता अनि पेसागत सीपहरू भइदिएका भए, मलाई सधैँभरि अर्को-अर्को काममा खटाइनेथिएन, तर दुर्भाग्यवश, मसँग थिएन। म किन अरू जत्तिकै सिपालु भइनँ? मैले जति धेरै यसरी सोचेँ, त्यति नै दुःखी महसुस गरेँ, अनि मैले परमेश्‍वरलाई गलत बुझ्न थालेँ।

त्यसपछि, मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए तापनि, मभित्र कुनै उत्प्रेरणा थिएन। म हरेक कुरामा तोकिएको कार्यतालिका मात्र पछ्याउँथेँ अनि जति काम भ्याउँथेँ त्यसैमा सन्तुष्ट हुन्थेँ। धेरै काम पूरा गर्नका लागि कसरी अझ बढी कुशलतासाथ काम गर्ने भनेर मैले सोचिनँ। आफूले सामना गरेका समस्याहरू समाधान गर्न सक्दो प्रयास गरिनँ। म टोलीमा कति समयसम्म बस्नेछु भन्ने मलाई थाहा थिएन, त्यसैले म कामकुराहरू जस्ताका त्यस्तै छोडिदिन्थेँ। त्यतिबेला, टोली अगुवा मसँग कुरा गर्न आउँदाखेरि मलाई एकदमै छटपटी हुन्थ्यो, मलाई अर्को कर्तव्यमा खटाउने बारेमा कुरा गर्न लाग्दै हुनुहुन्छ कि भन्ने लाग्थ्यो। त्यो सामान्य कामको कुराकानी मात्र रहेछ भन्ने थाहा नहुन्जेल मेरो मुटुको ढुकढुकी बढ्थ्यो। यस्तो बारम्बार भइरह्यो, जसले गर्दा हरेक दिन थकाइलाग्दो बन्यो। मैले पर्याप्त निद्रा त पाइरहेकी थिएँ, तर उपासनाका समयमा म झुलिरहन्थेँ, अनि मैले परमेश्‍वरका वचनहरूबाट अन्तर्दृष्टि प्राप्त गरिरहेकी थिइनँ। मलाई आफ्नो स्थिति गलत छ भन्ने थाहा थियो, त्यसैले प्रार्थना र खोजी गर्न, अनि आफ्नो समस्यामाथि चिन्तन गर्न म हतारहतार परमेश्‍वरसामु आएँ। पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई आफूलाई बुझ्न मद्दत गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीहरूले आफूलाई आचरणमा ढाल्नुका सिद्धान्तहरू के-के हुन्? तिमीहरूले आफ्नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ, आफ्नो उचित स्थान खोज्‍नुपर्छ, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; त्यसपछि मात्र तिमीहरू समझ भएको व्यक्ति हुन्छौ। उदाहरणका रूपमा, यदि तँ निश्‍चित पेसागत सीपहरूमा पोख्त छस् र तँसँग सिद्धान्तहरूको बोध छ भने, तैँले आफ्नो जिम्मेवारी वहन गरी त्यस क्षेत्रमा उचित जाँचपड्ताल गर्नुपर्छ; यदि तँ विचार र अन्तर्दृष्टिहरू प्रदान गर्न सक्छस्, अरूलाई आफ्ना कर्तव्य अझ राम्ररी निर्वाह गर्न तिनीहरूलाई उत्प्रेरित गर्न सक्छस् भने—तैँले विचारहरू प्रदान गर्नुपर्छ। यदि तैँले आफ्नो निम्ति सही स्थान भेट्टाउन र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्न सकिस् भने, आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछस्—तैँले आफ्‍नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्नु भनेको यही हो। सुरुमा तैँले विचार मात्र प्रदान गर्लास्, तर यदि अरू केही दिने प्रयास गरिस् र त्यसो गर्न सक्दो कोसिस गर्न थालिस्, तैपनि सकिनस्; र त्यसपछि अरूले ती कुराद दिँदा, तँलाई अप्ठ्यारो लाग्छ, र तँ सुन्न चाहँदैनस्, र तेरो हृदयमा पीडा हुन्छ र तँ विवश हुन्छस्, र परमेश्‍वरबारे गुनासो गर्छस् र परमेश्‍वर अधर्मी हुनुहुन्छ भनी भन्छस् भने—त्यो महत्त्वाकाङ्क्षा हो। व्यक्तिमा महत्त्वाकाङ्क्षा उत्पन्न गर्ने स्वभाव के हो? अहङ्कारी स्वभावले महत्त्वाकाङ्क्षा उत्पन्न गर्दछ। यी अवस्थाहरू निश्चय नै कुनै पनि समय तिमीहरूमा पैदा हुन सक्छन्, र यदि तिमीहरूले ती समाधान गर्न सत्यता खोजी गर्दैनौ, र तिमीहरूमा जीवन प्रवेश छैन, र यस सन्दर्भमा परिवर्तन हुन सक्दैनौ भने, तिमीहरूले कर्तव्यहरू निर्वाह गर्ने योग्यता र शुद्धताको स्तर झर्ने छ, अनि परिणामहरू पनि त्यति राम्रा हुने छैनन्। यो चित्तबुझ्दो कर्तव्य निर्वाह होइन र यसको अर्थ परमेश्‍वरले तिमीहरूबाट महिमा प्राप्त गर्नुभएको छैन। परमेश्‍वरले हरेक व्यक्तिलाई फरक-फरक सबलता र प्रतिभा दिनुभएको छ। कतिपय मानिससँग दुई वा तीन क्षेत्रमा सबलताहरू हुन्छन्, कति जनासँग एउटा क्षेत्रमा सबलता हुन्छ, र कसैमा एउटै पनि सबलता हुँदैन—यदि तिमीहरूले यी विषयहरूलाई सही तरिकाले लिन सक्यौ भने, तिमीहरूमा सुझबुझ छ। सुझबुझ भएको व्यक्तिले आफ्नो स्थान पत्ता लगाउन सक्छ, र आफ्नो स्थानअनुसार चल्न र राम्रोसँग आफ्नो कर्तव्य निभाउन सक्छ। आफ्‍नो स्थान कहिल्यै पनि पत्ता लगाउन नसक्‍ने व्यक्तिमा सधैँ महत्त्वाकाङ्क्षा हुन्छ। ऊ सधैँ हृदयमा हैसियत र लाभलाई पछ्याउँछ। ऊ आफूसँग भएको कुरामा कहिल्यै सन्तुष्ट हुँदैन। उसले अझै धेरै लाभ प्राप्त गर्न जतिसक्दो धेरै कुरा लिने प्रयास गर्छ; उसले सधैँ आफ्‍ना अत्यधिक इच्छाहरू पूरा गर्ने आशा गर्छ। उसले आफूसँग प्रतिभा र राम्रो क्षमता छ भने, आफूले परमेश्‍वरको अझै धेरै अनुग्रह पाउनुपर्छ, र आफूमा केही मात्रामा अत्यधिक इच्‍छा हुनु गलत होइन भन्‍ने सोच्छ। के यस्तो व्यक्तिमा सुझबुझ हुन्छ? के सधैँ अत्यधिक इच्‍छा राख्नु लाजमर्दो कुरा होइन र? विवेक र समझ भएका मानिसहरूलाई यो लाजमर्दो कुरा हो भन्‍ने लाग्न सक्छ। सत्यता बुझ्‍ने मानिसहरूले कहिल्यै पनि यी मूर्ख कुराहरू गर्ने छैनन्। यदि तँ परमेश्‍वरको प्रेमको ऋण तिर्न इमानदारीपूर्वक आफ्‍नो कर्तव्य निभाउन चाहन्छस् भने, यो अत्यधिक इच्‍छा होइन। यो सामान्य मानवताको विवेक र समझअनुरूप छ। यसले परमेश्‍वरलाई खुसी तुल्याउँछ। यदि तँ साँच्चै आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छस् भने, तँ पहिले आफ्नो उचित स्थानमा खडा हुनैपर्छ, र त्यसपछि आफ्नो सम्पूर्ण हृदय, सम्पूर्ण मन, र सम्पूर्ण शक्तिले आफूले सकेको कुरा गर्नैपर्छ, र आफ्नो सक्दो प्रयास गर्नैपर्छ—यो मानकअनुरूप छ, र यसरी कर्तव्य निर्वाह गर्नुमा अर्पण हुन्छ। एउटा साँचो सृजित प्राणीले गर्नुपर्ने कुरा यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा नभएकाले म दिक्दार भइरहेकी थिएँ भन्ने कुरा परमेश्‍वरका वचनहरूले मलाई देखाए। अरूले मलाई न त प्रशंसा गर्थे, न त महत्त्व नै दिन्थे, अनि म आफ्नो परिस्थिति बदल्न असमर्थ थिएँ, त्यसैले मैले परमेश्‍वरलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ, उहाँले मलाई दिएको कुरा पर्याप्त छैन भन्ने मलाई लाग्यो। काम घटेका कारण मेरो कर्तव्य दुई पटक फेरबदल भइसकेको थियो, र म फर्केर आएको एक महिना पनि नबित्दै सम्भवतः तेस्रो पटक फेरबदल हुने अवस्थाको सामना गर्दै थिएँ। यस्तो परिस्थितिमा, मलाई टोलीमा म नै सबैभन्दा खराब र नभए पनि हुने व्यक्ति हुँ, अनि मेरो अस्तित्वको कुनै मूल्य छैन जस्तो लाग्यो। मैले यो वास्तविकता स्विकार्नै सकिनँ, अनि म दुःखी भएँ। कामको छलफलका बेला, म धेरै कमजोर देखिन चाहन्नथेँ, त्यसैले मैले आफ्नो दिमाग खियाएँ, अनि केही मूल्यवान् र सुझबुझपूर्ण विचारहरू व्यक्त गर्ने प्रयास गरेँ, तर मेरा सुझावहरू अस्वीकार गरिए र मलाई एकदमै अपमानित महसुस भयो। अनि अरूको तुलनामा मेरा सीपहरू धेरै पछाडि रहेको देख्दा म खिन्न र असन्तुष्ट भएँ। मैले सोचेँ, मेरो कर्तव्य निरन्तर फेरबदल भइरहने भएकाले म कुनै पनि कुरामा त्यति सिपालु नभएकी हुँ, अनि जहाँ गए पनि सबैभन्दा तल्लो स्तरमा नै रहन्छु, र मलाई जुनसुकै बेला अर्को काममा खटाइन सक्छ। मैले भित्रभित्रै अरूसँग आफ्नो तुलना गरेँ। मलाई तिनीहरू सबैसँग आआफ्नै सबल पक्षहरू छन् र कुनै न कुनै क्षेत्रमा उत्कृष्ट छन्, तर म भने हरेक कुरामा कमजोर छु अनि ममा हरेक कुरामा सुस्त हुने एउटा मुख्य कमजोरी पनि छ भन्ने लाग्यो। त्यो वास्तविकताको सामना गर्न तत्पर नभएकीले, मैले परमेश्‍वरले मलाई राम्रो क्षमता नदिनुभएको भनी गुनासो गरेँ। मैले दिक्दार र अन्यायमा परेको महसुस गरेँ, अनि मेरो कर्तव्यमा मलाई कुनै उत्साह जागेन। तर वास्तवमा, परमेश्‍वरले सबैलाई फरक-फरक प्रतिभा, सबल पक्ष र क्षमताहरू दिनुहुन्छ। हामीले फरक-फरक कर्तव्य निर्वाह गर्नुपर्ने नियोजन गरिएको हुन्छ—यो परमेश्‍वरको सार्वभौमिकता अनि बन्दोबस्तहरूको अधीनमा हुन्छ। समझ भएको व्यक्तिसँग समर्पणताको हृदय हुन्छ। तिनीहरू आआफ्नो स्थानमा खटिन्छन् र आफूलाई उपयोगी काममा लगाउँछन्। तर म अलिकति पनि समर्पित भइनँ—म सबैभन्दा तुच्छ बन्न इच्छुक थिइनँ। मैले अरूको हृदयमा आफ्नो स्थान, अनि तिनीहरूको सम्मान र प्रशंसा पाउने कुरालाई पछ्याएँ, र त्यो प्राप्त नहुँदा म नकारात्मक र सुस्त बनेँ। म साँच्चै समझविहीन थिएँ! परमेश्‍वरले मलाई राम्रो क्षमता दिनुभएन, तर उहाँले मबाट धेरै माग पनि गर्नुभएन। उहाँ त केवल मैले सही स्थान फेला पारूँ, र मेरो कर्तव्यमा आफ्नो सर्वस्व लगाऊँ भन्ने चाहनुहुन्थ्यो। मैले आफूले गर्न सक्नेजति गर्नु नै पर्याप्त थियो। तर म निकै अहङ्कारी र समझविहीन थिएँ। म कुनै पनि कुरामा पोख्त थिइनँ, र म वास्तविकताको सामना गर्न चाहन्नथेँ। मैले रातारात सफल बन्ने र अरूको सम्मान प्राप्त गर्ने अनुचित महत्त्वाकाङ्क्षाहरू पालेकी थिएँ। फलस्वरूप, मैले धेरै ऊर्जा खर्च गरेँ तर त्यो कहिल्यै प्राप्त गरिनँ, अनि नकारात्मक महसुस गरेँ। मैले आफैलाई सास्ती दिइरहेकी थिएँ।

पछि, मैले सोचेँ, “म किन सधैँ अरूका प्रतिभा र सबल पक्षहरूको डाह गर्छु? म किन सधैँ मानिसहरूको हृदयमा स्थान पाउन खोज्छु, र पछि पर्न चाहन्नँ? यसको मूल कारण के हो?” मैले आफ्नो खोजीमा, परमेश्‍वरका वचनहरूमा यो कुरा भेट्टाएँ: “ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ भन्‍ने कुराको पर्याप्त प्रमाण हो—र यसैकारण तिनीहरू कुराहरूलाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। … यदि तिनीहरूलाई आफूले ख्याति, प्राप्ति वा हैसियत प्राप्त गरेको छैन, कसैले पनि आफूलाई आदरभावले हेर्दैन, उच्च सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू उदास हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै सोच्छन्, ‘के यसरी परमेश्‍वरमाथि विश्‍वास गरेर म असफल भएको हुँ? के मेरो लागि कुनै आशा छैन?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा तिनीहरूको गुणगान गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वर के प्रकट गर्नुहुन्छ भने ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियतको निकै कदर गर्छन्। आफूले गर्ने हरेक कुरामा, तिनीहरू अरूमाझ आफ्ना स्थानका बारेमा सोचिरहेका हुन्छन्। प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवन अनि आफ्नो पछ्याइको लक्ष्य बनाउँछन्। प्रतिष्ठा वा मानिसहरूको प्रशंसा पाएनन् भने, तिनीहरू दिक्दार महसुस गर्छन्, यहाँसम्म कि कामकुराप्रति तिनीहरूको सबै रुचि हराउँछ। के मैले पनि त्यस्तै नै गरिरहेकी थिइनँ र? मेरो कर्तव्य यता र उता फेरबदल गरिँदा, मलाई आफू कुनै हैसियत नभएकी, खासै महत्त्वपूर्ण नदेखिने, नभए पनि हुने एउटा किनाराको व्यक्ति बनेकी छु जस्तो महसुस हुन्थ्यो, अनि म निकै दुःखी हुन्थेँ। समस्याहरूउपर छलफल गर्दा, मसँग योगदान गर्नका लागि कुनै मूल्यवान् विचारहरू हुँदैनथे, अनि मैले व्यक्त गरेका दृष्टिकोणहरू कसैले स्वीकार गर्दैनथे। मलाई टोलीमा म नै सबैभन्दा खराब हुँ, कसैले मलाई महत्त्व दिँदैनन् वा मलाई आदरको नजरले हेर्दैनन् जस्तो मलाई लाग्थ्यो, अनि मेरो उपस्थितिको कुनै मूल्य नै नभए जस्तो देखिन्थ्यो। म कमजोर र नकारात्मक बनेँ, अनि मैले परमेश्‍वरलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ। मैले प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवन बनाएँ, अनि ती कुरा प्राप्त नहुँदा म नकारात्मक बनेँ, सुस्त भएँ र मेरो उत्प्रेरणामा कमी आयो। म यी कुराहरूको असाध्यै ख्याल गर्थेँ। मैले सधैँ तिनलाई पछ्याएँ किनभने म “अरूभन्दा असल बन,” “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “मानिसहरूमाझ नायक भएर जिउनू, र भूतहरूमाझ वीर आत्मा भएर मर्नू” जस्ता शैतानी विषहरूको प्रभावमा परेकी थिएँ। म यी नै जीवनका सबैभन्दा उचित लक्ष्यहरू हुन्, अनि यिनलाई पछ्याउनु भनेको आकाङ्क्षा राख्नु हो भन्ने सोच्थेँ। म स्कुलमा निकै मिहिनेत गर्थेँ। मिडल स्कुल र हाइस्कुलका परीक्षामा म प्रायः कक्षा प्रथम हुन्थेँ। सहपाठी र शिक्षकहरूका बीचमा म निकै लोकप्रिय थिएँ र तिनीहरू प्रायः मेरो प्रशंसा गर्थे। मलाई धेरै सन्तुष्टि मिल्थ्यो। मण्डलीमा आबद्ध भई कर्तव्य सम्हालेपछि पनि, म तिनै शैतानी विषहरूअनुसार जिइरहेँ, अनि अरूको हृदयमा मेरो स्थानको निकै ख्याल गर्थेँ, र सधैँ मानिसहरूको प्रशंसा पाउने प्रयासमा रहन्थेँ। म कुनै टोली अगुवा वा सुपरिवेक्षक नभए तापनि, अरूले अनुमोदन गर्ने महत्त्वपूर्ण व्यक्ति बन्नैपर्थ्यो। जब मैले ख्याति, प्राप्ति र हैसियत पाइनँ र मेरा महत्त्वाकाङ्क्षाहरू अधुरै रहे, तब मैले गुनासो गरेँ र परमेश्‍वरको सार्वभौमिकता अनि बन्दोबस्तहरूप्रति असन्तुष्टि महसुस गरेँ। मैले केही भन्ने आँट त गरिनँ, तर हृदयमा भने परमेश्‍वरको विरोध गरिरहेकी थिएँ, अनि म नकारात्मक बनेँ र आफ्नो कर्तव्यमा सुस्त भएँ। ती शैतानी विषहरूअनुसार जिएर मैले आफूमाथि दुःख र सास्तीबाहेक अरू केही ल्याइनँ, र परमेश्‍वरको विपक्षमा रहेर उहाँसँग तर्क-वितर्क र सौदाबाजी गर्ने प्रयास गर्दै थिएँ, अञ्जानमै उहाँको धार्मिकतामाथि शङ्का गर्दै उहाँको विरोध गरिरहेकी थिएँ। यसरी नै अघि बढ्दा, मैले परमेश्‍वरको स्वभावलाई चिढ्याउनेथिएँ र उहाँद्वारा हटाइने थिएँ। मैले परमेश्‍वरका वचनहरू सम्झिएँ: “मानिसहरूले महत्त्वाकाङ्क्षाहरू वा व्यर्थका सपनाहरू कदापि पाल्नु हुँदैन, तिनीहरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउनु हुँदैन, वा भिडभन्दा माथि उठ्न खोज्नु हुँदैन। त्योभन्दा पनि बढी, तिनीहरूले अतिमानव वा महान् व्यक्तित्व बन्न, अरूभन्दा अब्बल हुन, र अरूलाई तिनीहरूको मूर्तिपूजा गर्न लगाउन खोज्नु हुँदैन। भ्रष्ट मानिसहरूले लालसा गर्ने कुरा यही हो, र यो शैतानको मार्ग हो; परमेश्‍वर त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। यदि मानिसहरूले निरन्तर ख्याति, प्राप्ति, र हैसियत पछ्याउँछन् र हठी भई पश्चात्ताप गर्न इन्कार गर्छन् भने, तिनीहरूले छुटकारा पाउन सक्दैनन्, र तिनीहरूका लागि एउटा मात्र परिणाम हुन्छ: हटाइ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। पहिले, मैले प्रतिष्ठा र हैसियत पछ्याउँदाका परिणामहरू कति गम्भीर हुन्छन् भन्ने कहिल्यै बुझेकी थिइनँ। म सोच्थेँ, मैले कुनै ख्रीष्टविरोधीले जस्तो ठूलो दुष्टता गर्ने वा मण्डलीको काममा अवरोध पुर्‍याउने होइन क्यारे, अनि बढीमा, अरूको प्रशंसा नपाउँदा मलाई नकारात्मक, कमजोर र दुःखी मात्र महसुस हुने हो। तर पछि मैले देखेँ, वास्तविकता त्यस्तो पटक्कै थिएन। बाहिरबाट हेर्दा, मैले कुनै ठूलो दुष्टता गरेजस्तो देखिँदैनथ्यो, तर परमेश्‍वरले खडा गरेको परिस्थितिप्रति म असन्तुष्ट थिएँ, र सधैँ गुनासो गरिरहन्थेँ। म आफ्नो हृदयमा परमेश्‍वरका विरुद्धमा गइरहेकी थिएँ। मैले त परमेश्‍वरलाई प्रतिरोध गरिरहेकी थिएँ! मैले पहिले सँगै काम गरेकी एक जना सिस्टरलाई सम्झिएँ। उनी सुरुमा आफ्नो कर्तव्यमा उत्साहित थिइन्, र अगुवामा निर्वाचित भइन्, तर पछि उनलाई बर्खास्त गरेर अर्कै काममा खटाइयो र उनले आफ्नो हैसियत गुमाइन्। अरूको प्रशंसा पाउन नसकेका कारण उनी निरन्तर नकारात्मक भइन्, अनि अन्ततः उनले परमेश्‍वरलाई धोका दिइन् र मण्डली छोडिन्। स्पष्ट छ, मानिसहरू सधैँ प्रतिष्ठा र हैसियतको पछि लाग्नु निकै खतरनाक कुरा हो, अनि महत्त्वाकाङ्क्षाहरू पूरा नभए, तिनीहरू नकारात्मक बन्छन्, परमेश्‍वरलाई गलत बुझ्छन् र उहाँबारे गुनासो गर्छन्। तिनीहरू परमेश्‍वरलाई प्रतिरोध गर्छन्, र उहाँलाई धोकासमेत दिन्छन्। यस बिन्दुमा आएर, मलाई आफू खतरनाक स्थितिमा रहेको महसुस भयो। म परमेश्‍वरविरुद्ध विद्रोह अनि उहाँलाई प्रतिरोध गरिरहन चाहन्नथेँ, म प्रतिष्ठा र हैसियतको बन्धनलाई फाल्न चाहन्थेँ।

एक दिन आफ्नो उपासनामा, मैले परमेश्‍वरका वचनहरूका दुईवटा खण्ड पढेँ: “जब परमेश्‍वर मानिसहरूले आफ्नो कर्तव्य पूरा गरून् भन्‍ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्‍चित सङ्ख्यामा कार्यहरू सम्‍पन्‍न गर्नू वा कुनै अभूतपूर्व उपलब्धि हासिल गर्नू भनेर भन्‍नुहुन्‍न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्‍नुहुन्छ। परमेश्‍वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्‍वर तँ महान् वा कुलीन बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्‍न, न त उहाँले तँमा कुनै सुखद आश्‍चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्‍वरको आवश्यकता के मात्र हो भने, तैँले व्यावहारिक रूपमा उहाँका वचनअनुसार अभ्यास गर्नुपर्छ। परमेश्‍वरका वचनहरू बुझेपछि, तिनलाई व्यवहारमा लागू गर् र तिनलाई पूरा गर्, वा परमेश्‍वरका वचनहरू सुनेपछि, ती राम्रोसँग याद गर्, अनि, अभ्यास गर्ने समय आएपछि, परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। “यदि परमेश्‍वरले तँलाई मूर्ख बनाउनुभयो भने, तेरो मूर्खतामा अर्थ हुन्छ; यदि उहाँले तँलाई बुद्धिमानी बनाउनुभयो भने, तेरो बुद्धिमत्तामा अर्थ हुन्छ। परमेश्‍वरले तँलाई जस्तोसुकै दक्षता दिनुभए पनि, तँ जेमा सिपालु भए पनि, तेरो आइक्यू जतिसुकै उच्च भए पनि, परमेश्‍वरले त्यसो बनाउनुमा उहाँको उद्देश्य थियो। यी सबै कुरा परमेश्‍वरद्वारा पूर्वनियोजित थिए। तैँले आफ्नो जीवनमा खेल्ने भूमिका र तैँले निर्वाह गर्न सक्ने कर्तव्य पनि परमेश्‍वरद्वारा धेरै अघिदेखि नै पूर्वनियोजित गरिएका थिए। कतिपय मानिसले अरूसँग आफूसँग नभएका सबल पक्षहरू छन् भन्‍ने देख्छन् र आक्रोशित महसुस गर्छन्। तिनीहरू अझ धेरै सिकेर, अझ धेरै देखेर, र अझ धेरै लगनशील भएर कामहरू परिवर्तन गर्न चाहन्छन्। तर तिनीहरू जतिसुकै लगनशील भए पनि, तिनीहरूले हासिल गर्न सक्ने कुराको एउटा सीमा हुन्छ, र तिनीहरू वरदान र दक्षता भएकाहरूलाई उछिन्‍न सक्दैनन्। तैँले जतिसुकै मेहनत लगाए पनि, त्यो व्यर्थ हुन्छ। परमेश्‍वरले तँ जे हुन पूर्वनियोजित गर्नुभयो, तँ त्यही होस्। उहाँ सबैलाई फरक-फरक वरदान र दक्षताहरू दिनुहुन्छ, र यसलाई परिवर्तन गर्न कसैले केही गर्न सक्दैन। तँ जेमा सिपालु छस्, तैँले त्यहीँ नै अझ धेरै मेहनत लगाउनुपर्छ। तँ जुन कर्तव्यका लागि उपयुक्त छस्, तैँले त्यही कर्तव्य निर्वाह गर्नुपर्छ। आफू सिपालु नभएका कुराहरूमा आफूलाई जबरजस्ती लगाउने प्रयास नगर् र अरूको डाहा नगर्। सबैको आ-आफ्नै कार्य हुन्छ। तँ सबै कुरा राम्ररी गर्न सक्छस्, वा तँ सिद्ध र अरूभन्दा असल छस् भन्‍ने नसोच्। सधैँ अरूलाई प्रतिस्थापन गर्ने र आफूलाई प्रदर्शनमा राख्ने चाहना नराख्। यो एक भ्रष्ट स्वभाव हो। यस्ता मानिस हुन्छन्, जो आफूले केही पनि राम्रोसँग गर्न नसक्ने, र आफूसँग कुनै दक्षता नै नभएको सोच्छन्। यदि त्यसो हो भने, तँ केवल व्यावहारिक तरिकाले सुन्‍ने र समर्पित हुने व्यक्ति हुनुपर्छ। आफूले गर्न सक्ने कुराहरू राम्ररी कार्यान्वयन गर्, र त्यसमा आफ्नो सक्दो प्रयास लगा। त्यही नै पर्याप्त छ। परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने हामी महान् व्यक्ति बनौँ भन्ने उहाँको अभिप्राय होइन। उहाँ हामीले आफ्नो स्थानअनुसार र व्यावहारिक रूपमा आफूलाई आचरणमा ढालौँ अनि आफ्ना कर्तव्यहरू निर्वाह गरौँ, उहाँका वचनहरू अभ्यास गर्नमा केन्द्रित हौँ र आज्ञाकारी सृजित प्राणी बनौँ भन्ने आशा गर्नुहुन्छ। हाम्रा क्षमता र कार्य सामर्थ्यहरू सबै परमेश्‍वरको सार्वभौमिकता अनि बन्दोबस्तहरूको अधीनमा छन्। मैले स्वीकार र समर्पण गर्न सिक्नुपर्ने, अनि परमेश्‍वरले मलाई दिएका सबै कुरा आफ्ना सबल पक्षहरूका आधारमा सही उपयोगमा लगाउनुपर्ने, र क्षमताले भ्याएसम्म गर्नुपर्ने थियो। मेरा सीपहरू अरूका जस्ता राम्रा थिएनन्, तर म काम गर्न असक्षम भने थिइनँ। मण्डलीले मलाई त्यो कर्तव्य निर्वाह गर्न बन्दोबस्त गरेकाले, मैले दृढतापूर्वक यसमा आफ्नो सर्वस्व लगाउनुपर्ने थियो, र आफूले जे सक्थेँ त्यो गर्नुपर्ने थियो। कामको छलफल गर्दा, मैले आफूले बुझेका कुराका बारेमा मात्र बोल्नुपर्थ्यो। ममा अन्तर्ज्ञानको कमी भएमा वा मलाई सिद्धान्तहरू थाहा नभएमा, मैले अरूबाट खोज्नुपर्थ्यो र तिनीहरूसँग सङ्गति गर्नुपर्थ्यो, तिनीहरूका विचारहरू सुन्नुपर्थ्यो, अनि आफ्ना कमजोरीहरूलाई पूर्ति गर्न तिनीहरूका सबल पक्षहरूबाट सिक्नुपर्थ्यो। यस्तो सोचाइ आउँदा, मेरो मन उज्यालो भयो, अनि मैले अभ्यासका लागि एउटा मार्ग र दिशा पाएँ। पहिले म अन्यत्र खटाइनुलाई लाजमर्दो कुरा ठान्थेँ। त्यस्तो हुँदा, म नै सबैभन्दा खराब हुँ भनेर यसले प्रमाणित गर्छ भन्ने मलाई लाग्थ्यो, त्यसैले मैले यसलाई सही रूपमा लिन सकिनँ। अहिले सोच्दा, त्यो मेरो दृष्टिकोणको समस्या थियो। परमेश्‍वरले सबैलाई फरक-फरक प्रतिभा, सबल पक्ष र क्षमताहरू दिनुहुन्छ, अनि सबैसँग उहाँका मागहरू फरक-फरक हुन्छन्। मेरा सीपहरू त्यति राम्रा थिएनन् भन्ने कुरा साँचो हो, त्यसैले टोलीसँग त्यति धेरै काम नहुँदा, मेरा सबल पक्षहरूका आधारमा मण्डलीले मेरो कर्तव्य फेरबदल गर्‍यो। त्यो सिद्धान्तअनुरूप थियो अनि त्यसले मण्डलीको कामलाई फाइदा पुर्‍यायो। मैले यसलाई सही रूपमा लिनुपर्थ्यो। यसबाहेक, परमेश्‍वरले कुनै व्यक्तिलाई मापन गर्दा, उसले काम राम्ररी गर्न सक्छ कि सक्दैन भन्ने आधारमा मात्र नभई, ऊ सत्यता पछ्याउँछ कि पछ्याउँदैन, उहाँप्रति साँचो रूपमा समर्पित हुन्छ कि हुँदैन, र आफ्नो कर्तव्यमा बफादार छ कि छैन भन्ने आधारमा पनि मापन गर्नुहुन्छ। यसबारे सोच्दा मेरो हृदय उज्यालो भयो र मलाई बाँधिएको महसुस हुन छोड्यो। मलाई आफूले के पछ्याउनुपर्छ भन्ने पनि ठ्याक्कै थाहा भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई अन्तर्दृष्टि दिएर तपाईँको अभिप्राय बुझ्न मद्दत गर्नुभएकामा धन्यवाद छ। मलाई कतिबेला अर्को काममा खटाइनेछ भन्ने थाहा छैन, तर म तपाईँको सार्वभौमिकता अनि बन्दोबस्तहरूप्रति समर्पित हुन तयार छु। मैले आफ्नो कर्तव्य जहाँ निर्वाह गरे पनि, म त्यसमा आफ्नो सर्वस्व लगाउन र तपाईँलाई सन्तुष्ट पार्न मात्र चाहन्छु!”

मेरो मानसिकता बदलिएपछि, कर्तव्य निर्वाह गर्दा मेरो स्थिति पनि परिवर्तन भयो। म सधैँ आफू अरूजस्तो छैनँ, आफू त कुनै पनि बेला छोडेर जान सक्ने टोलीको अस्थायी सदस्य मात्र हुँ भन्ने सोच्थेँ। मलाई आफू सबैभन्दा तल्लो स्तरमा छु र ममा अपनत्वको भाव छैन भन्ने लाग्थ्यो। मैले परमेश्‍वरलाई गलत बुझेँ र उहाँबाट टाढा भएको महसुस गरेँ, अनि मैले आफ्नो कर्तव्यमा सर्वस्व दिइनँ। तर आजका दिनमा भने मलाई त्यस्तो पटक्कै लाग्दैन। मैले जहाँ वा जति लामो समयसम्म कर्तव्य निर्वाह गरे पनि, त्यसका पछाडि परमेश्‍वरको असल अभिप्राय हुन्छ, त्यसैले मैले समर्पित हुन सिक्नुपर्छ। मैले पछि छोडेर जानु परे तापनि, अहिले म भिडिओहरू बनाइरहेकी छु, र मैले हरेक दिन सकेजति राम्रो गर्नुपर्छ, अनि आफ्नो कर्तव्यका साथै आफूले अनुभव गर्ने हरेक परिस्थितिमा आफ्नो हृदय लगाउनुपर्छ। पुनः आफ्नो कर्तव्य निर्वाह गर्दा, म अक्सर परमेश्‍वरलाई प्रार्थना गर्थेँ, र मलाई अझ बढी प्रभावकारी बन्न मार्गदर्शन गर्नुहोस् भनेर उहाँसँग बिन्ती गर्थेँ। काममा रहेका विचलनहरूको सारांश गरी छिट्टै सच्याउन सकूँ भनेर म मेरो काममा के-कस्ता समस्याहरू छन् भनेर पनि म विचार गर्थेँ। सिद्धान्तहरू नबुझ्दा, म अरूबाट खोज्थेँ र तिनीहरूसँग सङ्गति गर्थेँ। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा मलाई चैन मिल्थ्यो, र आफू परमेश्‍वरको अझ नजिक भएको महसुस हुन्थ्यो।

पछि, एउटा भेलामा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई अत्यन्त प्रभावित गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूको नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धको कुरा आउँदा तिनीहरूले के गर्नुपर्छ? (परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुनुपर्छ।) सुरुमा, तैँले सृष्टिकर्ताले किन तेरा लागि यस्तो नियति र जिउने वातावरण प्रबन्ध गर्नुभयो, किन उहाँले तँलाई निश्‍चित कुराहरू सामना र अनुभव गर्ने तुल्याउनुहुन्छ, र तेरो नियति किन यस्तो छ भनेर खोजी गर्नुपर्छ। यसबाट, तैँले तेरो हृदयले केको तृष्णा गर्छ र यसलाई केको खाँचो छ भन्‍ने कुरा बुझ्‍नुपर्छ, र परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू जान्नुपर्छ। तैँले यी कुराहरू बुझेपछि र जानेपछि, तैँले गर्नुपर्ने भनेको अवज्ञाकारी नहुनु, आफ्नै छनोटहरू नगर्नु, इन्कार नगर्नु, प्रतिरोधी नबन्नु, वा उम्कने प्रयास नगर्नु हो—अवश्य नै, परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास नगर्नु पनि हो। बरु, तँ समर्पित हुनुपर्छ। तँ किन समर्पित हुनुपर्छ? तँ सृजित प्राणी भएकोले, तैँले आफ्‍नो नियति आफै योजनाबद्ध गर्न र यसमाथि सार्वभौमिकता राख्‍न सक्दैनस्। तेरो नियतिमाथि अन्तिम निर्णय परमेश्‍वरकै हुन्छ। तेरो नियतिको अगाडि, तँ निष्क्रिय छस् र तैँले कुनै छनोट गर्न सक्दैनस्। तैँले गर्नुपर्ने एउटै काम भनेको समर्पित हुनु हो। तैँले आफ्‍नो नियतिको बारेमा आफ्‍नै छनौटहरू गर्नु वा यसबाट तर्किनु हुँदैन, तैँले परमेश्‍वरसँग मोलतोल गर्नु हुँदैन, र तैँले प्रतिरोधी महसुस गर्नु वा गुनासो गर्ने गर्नु हुँदैन। विशेष गरी, तैँले अवश्य नै यस्तो कुरा बोल्‍नु हुँदैन, ‘परमेश्‍वरले मेरो लागि तय गर्नुभएको नियति खराब छ। यो दयनीय र अरूको नियतिभन्दा खराब छ,’ वा ‘मेरो नियति खराब छ र म खुसी वा सम्‍पन्‍नतामा रमाउन पाउँदिनँ। परमेश्‍वरले मेरो लागि सबै कुरा नराम्ररी बन्दोबस्त गर्नुभएको छ।’ यी आलोचनाका शब्‍दहरू हुन् र ती बोलेर, तँ आफ्‍नो स्थानभन्दा बाहिर गइरहेको छस्। यी शब्‍दहरू सृष्टि गरिएको प्राणीले बोल्‍नुपर्ने शब्‍दहरू होइनन् र यो सृष्टि गरिएको प्राणीमा हुनुपर्ने दृष्टिकोण वा मनोवृत्ति होइन। बरु, तैँले नियतिसम्‍बन्धी यस्ता विभिन्‍न गलत बुझाइ, परिभाषा, दृष्टिकोण, र ज्ञानहरू त्याग्‍नुपर्छ। यसको साथै, परमेश्‍वरले तय गर्नुभएको तेरो नियतिको रूपमा आइपर्ने सबै कुराहरूमा समर्पित हुन तैँले सही मनोवृत्ति र अडान अपनाउनुपर्छ। तैँले प्रतिरोध गर्नु हुँदैन, र तैँले निराश भएर स्वर्ग निष्पक्ष छैन, परमेश्‍वरले तेरो लागि सबै कुरा नराम्ररी बन्दोबस्त गर्नुभएको छ, र तँलाई सर्वोत्कृष्ट कुरा दिनुभएको छैन भनेर गुनासो गर्नु हुँदैन। नियतिको मामला आउँदा, सृजित प्राणीहरूसँग छनोट गर्ने कुनै अधिकार हुँदैन। परमेश्‍वरले तँलाई यस्तो दायित्व दिनुभएन र यस प्रकारको अधिकार पनि प्रदान गर्नुभएन। त्यसकारण, तैँले छनोट गर्ने, परमेश्‍वरसँग बहस गर्ने, वा उहाँसँग थप माग राख्ने प्रयास गर्नु हुँदैन। परमेश्‍वरका प्रबन्धहरू जेसुकै भए पनि, तैँले सोही अनुरूप आफूलाई समायोजन गर्नुपर्छ र तिनको सामना गर्नुपर्छ। तैँले परमेश्‍वरले जे प्रबन्ध गर्नुभएको छ, त्यसैलाई सामना गर्नुपर्छ र अनुभव गर्ने अनि अनुभूत गर्ने प्रयास गर्नुपर्छ। परमेश्‍वरले तेरा लागि प्रबन्ध गर्नुभएको तैँले अनुभव गर्नुपर्ने सब थोकमा तँ पूर्णतः समर्पित हुनुपर्छ। तँ परमेश्‍वरले तेरा लागि प्रबन्ध गर्नुभएको नियतिअनुसार चल्नुपर्छ। यदि तँलाई कुनै कुरा मन परेन भने पनि, वा त्यसले गर्दा तैँले कष्ट भोग्नुपरे पनि, वा त्यसले तेरो गरिमा र चरित्रलाई चुनौती दिए र दमन गरे पनि, त्यो तैँले अनुभव गर्नुपर्ने कुरा, र परमेश्‍वरले तेरा लागि योजनाबद्ध र प्रबन्ध गर्नुभएको कुरा भएसम्म, तँ त्यसमा समर्पित हुनुपर्छ, र तैँले कुनै छनोट गर्न सक्दैनस्। मानिसहरूको नियति परमेश्‍वरले नै प्रबन्ध गर्नुभएकोले र तीमाथि उहाँकै सार्वभौमिकता हुने भएकाले, उहाँका लागि ती मोलतोल गर्न नसकिने कुरा हुन्। त्यसैले, यदि मानिसहरू समझदार छन् र तिनीहरूसँग सामान्य मानवताको समझ छ भने, तिनीहरूले सधैँ आफ्नो नियति खराब छ भनेर वा आफूबारे यो वा त्यो कुरा असल छैन भनेर गुनासो गर्नु हुँदैन; आफ्‍नो नियति खराब लागेकोले, तिनीहरूले आफ्‍नो कर्तव्य, जीवन, तिनीहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा हिँड्ने मार्ग, परमेश्‍वरले प्रबन्ध गर्नुभएका सबै परिस्थितिहरू, वा मानिसबाट गर्नुभएका मागहरूलाई दिक्दार मनोवृत्तिका साथ व्यवहार गर्नु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्‍वरका वचनहरू मनन गर्दा परमेश्‍वरको सार्वभौमिकता अनि बन्दोबस्तहरूलाई कसरी लिने भन्ने कुरा मैले अझ स्पष्ट रूपमा देख्न सकेँ। हामी सबैको भाग्य परमेश्‍वरका हातमा छन्। मानिस कस्तो परिवारमा जन्मिन्छ, उसले कस्तो शिक्षा पाउँछ, उसका प्रतिभा र सबल पक्षहरू के हुन्, ऊ कहिले मण्डलीमा आउँछ र कर्तव्य सम्हाल्छ, अनि उसले कुन कर्तव्य निर्वाह गर्छ भन्ने कुरा सबै परमेश्‍वरद्वारा शासित र बन्दोबस्त गरिएका हुन्छन्, अनि तिनका पछाडि परमेश्‍वरको असल अभिप्राय हुन्छ। पहिले, मेरो सधैँ किन सरुवा भइरहन्छ भन्ने कुरा मैले बुझेकी नै थिइनँ, तर होसियारीपूर्वक विचार गरेपछि, यो त मलाई चाहिएकै कुरा रहेछ भन्ने मैले देखेँ। यी अनुभवहरूविना, प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना कति खराब रहेछ भन्ने कुरा मैले देख्ने थिइनँ। म अझै पनि आफू अलिकति बदलिएकी छु भनेरै सोच्नेथिएँ, र मभित्र शैतानी दर्शनहरू कति गहिरोसँग जरा गाडेर बसेका रहेछन्, तिनले मलाई कसरी सामान्य मानवताको समझ गुमाउने र परमेश्‍वरसँग तर्क-वितर्क गरेर उहाँलाई विरोध गर्ने बनाएका रहेछन् भन्ने कुरा पत्तै पाउनेथिइनँ, र तिनलाई पछ्याइरहे मलाई हटाइनेछ भन्ने कुरा देख्ने थिइनँ। यसबाट गुज्रिएपछि, मैले प्रतिष्ठा र हैसियत पछ्याउनेबारे ममा रहेका भ्रामक दृष्टिकोणहरूका बारेमा केही स्पष्टता प्राप्त गरेँ, अनि यो सही मार्ग होइन, बरु मानिसहरूलाई भ्रष्ट तुल्याउने र हानि गर्ने शैतानको तरिका हो भन्ने कुरा बुझेँ। मैले आफ्नो क्षमतालाई सही रूपमा लिनुपर्छ, परमेश्‍वरको सार्वभौमिकता अनि बन्दोबस्तहरूलाई स्वीकार गर्दै त्यसमा समर्पित हुनुपर्छ, आफ्नो स्थानमा उभिन सक्षम हुनुपर्छ, र समझ भएको सृजित प्राणी बन्नुपर्छ भन्ने कुरा पनि सिकेँ। भविष्यमा मलाई अर्को काममा खटाइए पनि, मैले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, म परमेश्‍वरको सार्वभौमिकता अनि बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ, मैले उहाँको अभिप्राय खोज्नुपर्छ, उहाँले मेरा लागि बन्दोबस्त गर्ने हरेक परिस्थितिमा आफूलाई ढाल्नुपर्छ, त्यसको अनुभव गर्नुपर्छ र त्यसमा आफूलाई निमग्न बनाउनुपर्छ, अनि तीमार्फत केही प्राप्त गर्ने र आफ्नै बारेमा सिक्ने प्रयास गर्नुपर्छ।

अघिल्लो:  ३२. अरूको असफलताबाट सिक्दा

अर्को:  ३४. परिवार ढल्‍नुको कारण

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger