३९. ७५ दिनको हिरासत
सन् २००९ को सेप्टेम्बर महिनाको एक दिन, म र दुई सिस्टरहरू सुसमाचार प्रचार गर्न एक धार्मिक अगुवाकहाँ गएका थियौँ। तर, ती अगुवाले त्यसलाई अस्वीकार गरे र आफ्नो मण्डलीका दशभन्दा बढी सदस्यलाई बोलाए, जसले हामीलाई पिटे र स्थानीय प्रहरी चौकीमा लगे। त्यस समयमा, म निकै डराएको थिएँ र प्रहरीहरूले हामीलाई यातना दिनेछन् भनेर चिन्तित थिएँ। मलाई चिनियाँ कम्युनिस्ट पार्टीले सबैभन्दा बढी परमेश्वरलाई घृणा र प्रतिरोध गर्छ र पक्राउ परेका विश्वासीहरूलाई दण्डहीनताका साथ मार्न सक्छ भन्ने थाहा थियो। धेरै ब्रदर-सिस्टरहरूलाई पक्राउपछि यातना दिइएको थियो, र केहीलाई त कुटपिट गरी मारिएको वा अपाङ्ग पनि बनाइएको थियो। मलाई मेरो शारीरिक बनोट सानो भएकाले मैले प्रहरीहरूको यातना सहन सक्दिनँ कि भन्ने चिन्ता थियो, त्यसैले मैले लाटो भएको नाटक गरेँ। जब उनीहरूले म कहाँबाट आएको हुँ र मेरो मण्डली अगुवा को हो र मलाई त्यहाँ सुसमाचार प्रचार गर्न कसले पठाएको हो भनेर सोधे, मैले एक शब्द पनि बोलिनँ। त्यसपछि उनीहरूले मलाई कुखुरा बन्न लगाए, तर केही बेर कुखुरा बनेपछि मेरा खुट्टा टिक्न सकेनन् र म भुइँमा पछारिएँ। दुई जना प्रहरीले मलाई अन्धाधुन्ध लात हान्दै कुटे र कुल्चिए र मलाई उठेर फेरि कुखुरा बन्न आदेश दिए। केही बेर अझै कुखुरा बनेपछि, मेरा खुट्टा सुन्नियो र असह्य पीडा भयो, र मेरो पूरा शरीर पसिनाले भिज्यो। एक जना प्रहरीले हाँसो उडाउँदै भन्यो, “कस्तो लाग्यो? मज्जा लागिरहेको छ नि, होइन? तँ बोलिनस् भन, हामी तँलाई कुखुरा बनाइरहनेछौँ।” अर्को प्रहरी रुखो स्वरमा करायो, “तँ निकै जिद्दी छस्, हैन? तँलाई त कठोर तरिका नै अपनाउनुपर्छ होला। तेरो त्यो मुख खोल्न सक्छु, मलाई थाहा छ!” त्यसो भनिसकेपछि, उसले मेरो घुँडाको पछाडि बियरका बोतलहरू अड्कायो र भन्यो, “यदि यी बोतलहरू झरे भने, तैँले कुटाइ खानेछस्।” केही समयपछि, म कुखुरा बनिरहन सकिनँ, र बियरका बोतलहरू भुइँमा खसेर झर्यामझुरुम भए। तिनीहरूले मलाई लात हानेर भुइँमा पछारे र क्रुरतापूर्वक मलाई लात हान्न र किच्न थाले। मेरा खुट्टा, ढाड, काँध र कम्मर असह्य पीडामा थिए, र म पीडामा चिच्याउँदै शरीर सानो पारेर गुजुल्टिएँ। चीनको संविधानले स्पष्ट रूपमा धार्मिक स्वतन्त्रता सुनिश्चित गरेकाले, हामीसँग परमेश्वरमा विश्वास गर्ने र सुसमाचार प्रचार गर्ने कानुनी अधिकार छ, तैपनि चिनियाँ कम्युनिस्ट पार्टीले लगातार हामीलाई सताउँछ र यातना दिन्छ। उनीहरू साँच्चै नै दुष्ट छन्! त्यसैबेला, मैले प्रभु येशूका चेलाहरूले भोगेको सतावट सम्झिएँ: प्रभुको मार्गमा अडिग भएकाले स्टेफनलाई ढुङ्गाले हानेर जिउँदै मारिएको थियो, र सुसमाचार प्रचार र परमेश्वरको गवाही दिने काम गरेकाले पिटरलाई कैद गरिएको थियो, र अन्ततः उल्टो क्रूसमा झुन्ड्याइएको थियो। मैले परमेश्वरले भन्नुभएको कुरा सम्झिएँ: “धार्मिकताको खातिर सताइनेहरू आशिषित् हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो” (मत्ती ५:१०)। यी कथाहरू मेरा लागि निकै हृदयस्पर्शी थिए—प्रभुको सुसमाचार प्रचार गर्दा हरेक युगका सन्तहरूले ठूलो उत्पीडनको सामना गरेका थिए र परमेश्वरका लागि शहीद पनि भएका थिए। उनीहरूले महान् र जोडदार गवाही दिएका थिए, तर थोरै मात्र अत्याचार र यातना भोगेपछि म कमजोर बनेको थिएँ र पीडामा थिएँ। मैले भोगेका कुराहरू अघिल्ला युगका सन्तहरूले भोगेका कष्टहरूसँग तुलना पनि गर्न मिल्दैन। परमेश्वरको राज्यको सुसमाचार प्रचार गरेको कारण मैले भोगेका अत्याचार र यातनामा मूल्य र अर्थ थियो। यो बुझेपछि, मैले त्यसपछि पीडा महसुस गरिनँ र मेरो आस्था पुनः जागृत भयो। मैले मनमनै परमेश्वरसँग प्रार्थना गरेँ, मलाई कष्ट सहने, शैतानको अगाडि नझुक्ने र परमेश्वरलाई महिमित पार्नका लागि मेरो गवाहीमा दृढ रहने इच्छाशक्ति दिन उहाँसँग आग्रह गरेँ।
प्रहरीहरूले म अझै बोल्न नचाहेको देखेपछि, तिनीहरूले मलाई सुत्न निषेध गरे। दुई प्रहरीहरूले पालैपालो गरेर मेरो निगरानी गर्थे र मैले आँखा बन्द गरेको देख्नेबित्तिकै, तिनीहरूले मलाई लात हान्थे। रातको लगभग एक बजे, भर्खरै आफ्नो सिफ्ट सुरु गरेका अन्य दुई प्रहरी अधिकारीहरूले मलाई प्रहरी चौकीको मुख्य हलमा लगे र मलाई भुइँमा बस्न लगाए। एकजना प्रहरी अधिकारी कठोर स्वरमा चिच्यायो, “मैले सुनेको तँ निकै जिद्दी छस् रे, परमेश्वरमाथिको तेरो विश्वासबारे हामीलाई केही पनि भन्न चाहन्नस् रे। तँलाई बोल्ने बनाउन मैले केही पाठ सिकाउनपर्ला जस्तो छ!” त्यसपछि, उसले मलाई क्रूरतापूर्वक लात हानेर भुइँमा ढाल्यो र आफ्नो खुट्टाले मेरो टाउकोमा बेस्सरी थिच्यो। उसको खुट्टाले मेरो टाउको थिच्दा धेरै पीडा भयो र उसले मेरो टाउकोलाई टुक्राटुक्रा पार्नेछ जस्तो लाग्यो। अर्को प्रहरी अधिकारीले आफ्नो खुट्टाले मेरो छाती थिचे र मलाई तुरुन्तै सास फेर्न गाह्रो भयो र असह्य पीडा भयो। त्यसपछि, उसले मेरो तिघ्रा र पिँडौलामा जोडले कुल्चियो। म भित्रभित्रै अत्यन्तै पीडामा थिएँ र मैले सोचेँ, “यस संसारमा म कुनै ठूलो महत्त्व वा उच्च हैसियतको व्यक्ति नभए पनि, मैले पहिले कहिल्यै टेकिएर गरिएको अपमान महसुस गरेको थिइनँ।” मैले निरन्तर परमेश्वरसँग प्रार्थना गरेँ, उहाँलाई मैले यो कष्ट सहन र मेरो गवाहीमा दृढ रहन सकूँ भनेर शक्ति दिन अनुरोध गरेँ। प्रार्थना गरेपछि, मैले प्रभू येशूलाई कसरी क्रूसमा चढाइएको थियो भनेर सम्झेँ: उहाँले काँडाको मुकुट लगाउनुभएको थियो, उहाँ रोमन सैनिकहरूद्वारा अपमानित र उपहास गरिनुभयो, उहाँको शरीर घाउको जाल जस्तो बनिन्जेलसम्म उहाँलाई कोर्रा लगाइयो र अन्ततः उहाँलाई निर्दयतापूर्वक क्रूसमा टाँगियो। मैले परमेश्वरका वचनहरू सम्झेँ, जसले भन्छन्: “यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; सधैँ एउटा प्रबल शक्तिले काम गरिरहेको थियो, र त्यो शक्तिले उहाँलाई क्रूसमा टाँगिने स्थानतर्फ बढ्न बाध्य बनायो। अन्त्यमा, उहाँलाई क्रूसमा टाँगियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिस सरह हुनुभयो। उहाँ मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले आफ्नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तीस वर्ष जिउनुभयो, ती अवधिभरि उहाँले सधैँ त्यस बेलाको परमेश्वरको कामअनुसार परमेश्वरकै अभिप्रायहरूलाई पूरा गर्ने सक्दो कोसिस गर्नुभयो, उहाँले आफ्नो फाइदा वा नोक्सानीको बारेमा कहिल्यै पनि विचार गर्नुभएन, अनि सधैँ परमेश्वर पिताका अभिप्रायहरूका बारेमा सोच्नुहुन्थ्यो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने)। मैले प्रभु येशू सृष्टिका प्रभु र सम्पूर्ण ब्रह्माण्डका राजा हुनुहुन्छ, तर यति भव्य र सम्मानजनक हैसियत भए तापनि, मानवजातिलाई छुटकारा दिन उहाँ त्यस्तो कष्ट र अपमान सहन तयार हुनुहुन्थ्यो भन्ने सोचेँ। त्यसैले, एउटा सामान्य कमिलाको भन्दा बढी मूल्य नभएको मजस्तो फोहोरी र भ्रष्ट मानवका लागि थोरै कष्ट र अपमान के नै हो र? यो कष्ट सहन र परमेश्वरको गवाही दिनका लागि अवसर पाउने एक आशिष् थियो, त्यसैले म खुसी हुनुपर्छ। यो बुझेर, मैले नयाँ प्रेरणा महसुस गरेँ र कष्ट सहनका लागि इच्छाशक्ति पाएँ। त्यसपछि, तिनीहरूले यातनाको अर्को तरिका अपनाए। एउटा प्रहरीले चुरोट सल्कायो र मेरो नाकमा कोच्यो अनि उसले मेरो टाउकोमा पानीको गिलास राख्यो, र भन्यो, “यदि चुरोट वा गिलास भुइँमा खस्यो भने, तँ त गइस्।” जब चुरोट जलेर मेरो नाकको नजिकै आयो, मैले चुरोट फाल्न नाकबाट सास फेरेँ। प्रहरीले चुरोट भुइँमा खसेको देख्नेबित्तिकै मलाई लात्ती हान्यो र कुल्चियो, र त्यसपछि उसले चार पाँच मुठी धान समातेर मेरो घाँटीमा राख्यो, र मेरो कठालो समातेर धान भित्र झर्न दियो। मैले तुरुन्तै सहन गाह्रो हुनेगरी मेरो शरीरभरि च्वास्स घोँचेको र चिलाएको महसुस गरेँ। बिहान पाँच बजेतिर, दुई जना अधिकारी आए। जब उनीहरूलाई मैले कुनै जानकारी नखुलाएको थाहा भयो, तीमध्ये एकजनाले आफ्नो झोलाबाट एउटा पेटी निकाल्यो र पेटीको खीप हुने भागले मेरो हातको पछाडि, पिँडौला, र घुँडामा क्रूर रूपमा हिर्काउन थाल्यो। कुटाइका कारण म असह्य पीडामा थिएँ। पेटीले बीस पटकभन्दा बढी पिटेपछि पनि मैले केही नभनेपछि, तिनीहरू हार खाएर गए।
दोस्रो दिनको अपराह्न, मलाई काउन्टी हिरासत गृहमा पठाइयो। हिरासत गृहका एकजना अधिकृतले कैदीहरूसँग भन्यो, “यो धर्म परिवर्तन गराइरहेको अवस्थामा समातिएको एक विश्वासी हो, र यसले हामीलाई केही पनि बताउँदैन। यसको राम्ररी ख्याल राख्नु!” कैदीहरूले मलाई घेरा हालेर तर्साउने गरी हेरे। तिनीहरू सबै कम्मरसम्म नाङ्गो थिए, र केहीका शरीरमा ट्याटु पनि थियो, जसले मलाई केही हदसम्म तर्सायो। प्रहरी चौकीमा अधिकारीहरूले मलाई यातना दिइसकेका थिए र मेरो शरीर चोटपटकले भरिएको थियो। अब म दुष्ट र क्रुर देखिने कैदीहरूको एक गिरोहको सामना गरिरहेको थिएँ—यदि तिनीहरूले मलाई यातना दिइरहे भने, के मेरो शरीरले त्यो दुर्व्यवहार सहन सक्थ्यो? यदि मैले यातना सहन सकिनँ र यहूदाले जस्तै परमेश्वरलाई धोका दिएँ, अनि म श्रापित र दण्डित भएँ भने, के परमेश्वरप्रतिको मेरो विश्वास पूर्ण रूपमा असफल हुने थिएन? परमेश्वरलाई धोका दिनुभन्दा त भित्तामा टाउको ठोकेर आफ्नो जीवन समाप्त गर्नु उचित हुने थियो। ठिक त्यही समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “केही मानिसहरूको दुःख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! परमेश्वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्सुक हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्दछ, मानिसको दुःख उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ मानिसको परीक्षा उति नै ठूलो हुन्छ। … यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्वरप्रति विश्वासयोग्य हुनैपर्छ र उहाँको योजनाबद्ध कार्यको कृपामा हुनैपर्छ; यो मात्रै परमेश्वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनहरूले मलाई ठूलो कष्ट र दुःखको सामना गर्दा मर्न चाहनेहरू कायर, शैतानको हाँसोका पात्रहरू हुन् र उनीहरूले परमेश्वरको अभिप्राय पूरा गर्न सक्दैनन् भन्ने कुरा बुझ्न मद्दत गरे। म पक्राउ पर्नु अघि, म परमेश्वरलाई प्रेम गर्ने, उहाँलाई सन्तुष्ट पार्ने र उहाँको लागि गवाही दिने बारेमा अरू सबैभन्दा बढी खुलेर बोल्थेँ। तर जब मलाई यातना दिइयो र मैले पीडा सहन थालेँ, म नकारात्मक र कमजोर भएँ र मृत्युको माध्यमबाट यो सबैबाट उम्कन चाहन्थेँ—मेरो कद कहाँ थियो? यो बुझेर, मलाई अत्यन्तै लज्जित र दोषी महसुस भयो। मैले चुपचाप परमेश्वरसँग प्रार्थना गरेँ, “हे परमेश्वर, उनीहरूले मलाई जति नै यातना दिए पनि, म सधैँ तपाईंमा भर पर्नेछु र मेरो गवाहीमा दृढ रहनेछु।”
प्रहरीको आदेश अनुसार, मुख्य कैदीले मेरो नाम र ठेगाना माग्यो। ऊ क्रूर रूपमा चिच्यायो, “तँ एक विश्वासी र राजनीतिक कैदी होस्, त्यसैले तेरो अपराध हत्याराको भन्दा पनि गम्भीर छ। यदि बोलिनस् भने, हेर्, मैले तँलाई के गर्नेछु।” तर मैले अझै पनि केही बोलिनँ। मैले बोल्ने कुनै अभिप्राय नराखेको देखेपछि, ऊ उठेर मेरा हात बटार्यो जबकि अन्य दुई कैदीहरूले मेरा खुट्टाका गोलीगाँठोलाई थिचे। त्यसपछि, अरू चार-पाँच जना कैदीहरूले पालैपालो मेरा पिँडौला र तिघ्रामा मुक्का हाने। प्रत्येक मुक्का सहनै नसकिने पीडादायक थियो र मलाई अब धेरै बेर यो सहन सक्दिन जस्तो लाग्यो। मैले मनमनै सोचेँ, “के मलाई यी कैदीहरूले यातना दिएर मार्लान्?” मैले परमेश्वरसँग सुरक्षाका लागि र यी राक्षसहरूको उत्पातको सामना गर्नका लागि शक्ति दिन निरन्तर प्रार्थना गरेँ। प्रार्थना पछि, मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्नुहुन्छ” (मत्ती १०:२८)। साँच्चै, यी राक्षसहरू वास्तवमै क्रूर थिए, तर तिनीहरूले मेरो शरीरलाई मात्र तहसनहस पार्न र यातना दिन सक्थे, तर मेरो आत्मालाई मार्न सक्दैनथे। त्यसमाथि, शरीरको मृत्यु वास्तविक मृत्यु होइन। परमेश्वरको गवाही दिएको कारणले चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सताइनु र मारिनुको अर्थ म धार्मिकताको कारणले सतावटमा परेको हुन्थ्यो, र परमेश्वरले यस्ता कार्यहरूको सराहना गर्नुहुन्छ। मैले एउटा भजन सम्झिएँ: “परमेश्वरले सुम्पनुभएका कुराहरू मुटुमा हुँदा, म शैतानसामु कहिल्यै घुँडा टेक्नेछैनँ। हाम्रो शिर छिनिएला र हाम्रो रगत बग्ला, तर परमेश्वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन। म परमेश्वरका लागि जोरदार गवाही दिनेछु, र दियाबलसहरू अनि शैतानलाई अपमानित गर्नेछु। पीडा र कठिनाइहरू परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हो, म मृत्युसम्मै उहाँप्रति बफादार र समर्पित हुने छु। म परमेश्वरलाई फेरि कहिल्यै रुवाउने छैन वा कहिल्यै चिन्तित तुल्याउने छैन। म मेरो प्रेम र बफादारी परमेश्वरलाई अर्पण गर्ने छु र उहाँलाई महिमित तुल्याउन आफ्नो मिसन पूरा गर्ने छु” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, म परमेश्वरको महिमाको दिन देख्न चाहन्छु)। जब मैले भजनका गीतहरूलाई मनन गरेँ, सबै प्रकारका दुःखको सामना गर्ने र परमेश्वरप्रतिको मेरो गवाहीमा अडिग रहने मेरो इच्छाशक्ति बलियो हुँदै गयो। तिनीहरूको कुटाइपछि मेरो खुट्टा कालो र हरियो नीलडामले ढाकिएको थियो र निकै सुन्निएको थियो। अलिकति छुँदा पनि पीडा झनै बढ्थ्यो। मेरो खुट्टाका मांसपेशीहरूहरूमा गम्भीर चोट लागेका कारण, म बस्न सक्दिनथेँ, त्यसैले शौचालय जाँदा स्क्वाट ट्वाइलेटको किनारमा बस्न बाध्य भएँ। तिनीहरूको क्रूर कुटाइहरू अब नियमित घटना बन्न थाले। मुक्केबाजको प्रशिक्षण लिएको एक कैदीले आफ्ना मुक्का र पञ्जा प्रहारको अभ्यास गर्न मलाई मुक्का हान्ने झोलाका रूपमा प्रयोग गर्थ्यो र बारम्बार मेरो घाँटीमा आफ्नो हातले हान्थ्यो। हरेक चोटि उसले हात घुमाएर मेरो घाँटीमा प्रहार गर्दा, मलाई चक्कर आउँथ्यो। त्यहाँ एक विशेष रूपमा डर लाग्दो देखिने कैदी पनि थियो, जसले मलाई खाटमा थिचेर आफ्ना दुई हातले मेरो घाँटीलाई कसिलो गरी समात्यो र मलाई जति नै यातना दिइए पनि मैले परमेश्वरप्रतिको मेरो विश्वासबारे केही पनि नबोल्ने देखेपछि, उसले मलाई घाँटी थिचेर झण्डै मार्न खोज्यो। कति पटक, मुख्य कैदी र उसका सहयोगीहरूले सलाईको बारुदको धुलो कपासका बलमा लपेटेर मेरा हात र खुट्टाका औँलाहरूको बीचमा अड्काई आगो लगाउँथे। यसले मेरा हात र खुट्टाका औँलाहरूलाई जलाउँथ्यो र ती भागहरूमा असह्य पीडा पुर्याउँथ्यो। त्यसपछि मुख्य कैदीले घाउबाट रगत ननिस्केसम्म मेरो जलेका औँलालाई जानीजानी कुल्चिन्थ्यो। कैदीहरूले मलाई प्रत्येक पटक यातना र पीडा दिँदा, म परमेश्वरलाई पुकारेर बल माग्दै प्रार्थना गर्थें। परमेश्वरको मार्गदर्शनले मात्र म राक्षसहरूको निरन्तरको यातना सहन गर्न सक्षम भएँ।
नोभेम्बरको अन्त्यतिर एक दिन, ममाथि अभियोजकको कार्यालयले चौथोपटक मुद्दा चलायो तर मैले अझै बोल्न इन्कार गरेँ। एक अधिकारीले मुख्य कैदीसँग भन्यो, “यसले हामीलाई केही बताउने छैन र अभियोजकको कार्यालय दिक्क हुन थालेको छ। यसबाट जसरी भए पनि केही जानकारी निकाल्नु पर्छ।” त्यसपछि, मुख्य कैदीले अन्य चार वा पाँच कैदीलाई मलाई नाङ्गो बनाउने आदेश दियो, अनि उसले प्लास्टिकको कचौरा जलाएर तातो पघ्लिएको प्लास्टिक मेरो छालामा चुहाउन थाल्यो। हरेक थोपाले मलाई पीडामा छट्पटाउने बनायो—यो यति पीडादायक थियो कि मैले सहन गर्न सकिनँ। मैले उनीहरूविरुद्ध प्रचण्ड सङ्घर्ष गर्न थालेँ, तर उनीहरूले मलाई थिचेर राखे, जसले गर्दा म चलमलाउन सकिनँ। मैले बारम्बार हृदयमा परमेश्वरलाई बोलाएर भनेँ “हे परमेश्वर, म अब यो सहन गर्न सक्दिनँ। कृपया मलाई बचाउनुहोस्। मलाई शक्ति दिनुहोस्, र यस पीडालाई सहन गर्ने इच्छाशक्ति दिनुहोस्, ताकि म शैतानसामु नझुकी, तपाईंप्रतिको आफ्नो गवाहीका लागि मृत्युसम्मै दृढ रहन सकूँ।” फेरि एकपटक, मैले कसरी प्रभु येशूलाई रोमी सिपाहीहरूले क्रूसमा जिउँदै टाँगेका थिए, कसरी उहाँको रगत बिस्तारै सुक्दै गयो भन्ने बारेमा सोचेँ। उहाँको महानता र सम्मानका बाबजुद, उच्चमा रहनुभएका परमेश्वरले देहधारण गर्नुभयो र पृथ्वीमा मानवजातिलाई मुक्ति दिन उहाँले असह्य पीडा सहन गर्नुभयो। परमेश्वर निर्दोष हुनुहुन्थ्यो र यस्तो कष्टको योग्य हुनुहुन्थिएन, तर उहाँले मानिसलाई मुक्ति दिन सबै कुरा चुपचाप सहनुभयो। म केवल एक भ्रष्ट मानव भएको कारण, यो थोरै पीडा सहनु कुनै ठूलो कुरा थिएन। चीनमा, जहाँ परमेश्वरलाई शत्रुका रूपमा हेरिन्छ, यदि कोही परमेश्वरलाई पछ्याउन चाहन्छ र सत्यता र जीवन प्राप्त गर्न चाहन्छ भने, सतावटबाट बच्न गाह्रो छ। तर पीडा सहनु सार्थक र अर्थपूर्ण छ, किनकि यो सत्यता प्राप्त गर्न र मुक्ति पाउनका लागि गरिन्छ। यस क्रूर यातनाले मलाई चिनियाँ कम्युनिस्ट पार्टीको सत्यतालाई घृणा गर्ने, परमेश्वरको विरोध गर्ने दुष्ट सारलाई स्पष्ट रूपमा देख्न मद्दत गर्यो। उनीहरू परमेश्वरको विरोध गर्छन्, निर्दयी रूपमा मानिसहरूलाई दुःख दिन्छन् र यी केवल दुष्ट आत्मा र राक्षसहरू मात्र हुन्। यो सबै बुझेपछि, ठूलो रातो अजिङ्गरलाई अझ बढी घृणा गर्न थालेँ—उनीहरूले मलाई जति सताउँथे, उति नै मेरो गवाहीमा दृढ रहन र उनीहरूलाई लज्जित पार्न म परमेश्वरमा बढी निर्भर हुन्थेँ। मैले पीडासँग सङ्घर्ष गरेँ, र जसोतसो यो कष्ट पार गरेँ। त्यो रात, जब कैदीहरू निदाइरहेका थिए, मैले आफ्ना चोटहरूको मुल्याङ्कन गरेँ: मेरा तिघ्रा र पिँडौलाहरूमा गहिरो निलडाम थियो। मेरो छाती जलेको थियो, र त्यसको छाला रगतले लतपतिएको र क्षतविक्षत थियो। मेरो पूरा शरीर जलेका घाउहरूले ढाकिएको थियो। मैले मनमनै सोचेँ, “उनीहरूले मलाई यस स्थितिमा पुर्याइसकेका छन्। उनीहरूले मलाई भोलि फेरि यस्तै यातना दिए भने, के म सहन सकूँला?” कस्तो असह्य पीडाले मलाई पर्खिरहेको छ भनेर सोच्दा म काँप्न थालेँ र मेरो टाउको फुट्ला जस्तो लाग्यो। मलाई परिस्थितिले मेरो शरीरले सहन सक्ने सीमा नाघिसकेको जस्तो लाग्यो र म मानसिक रूपमा टुट्न लागेको अवस्थामा थिएँ। मैले हत्तपत्त परमेश्वरसँग प्रार्थना गर्न थालेँ, “हे परमेश्वर, मेरो हृदय डरले भरिएको छ र मलाई लाग्दैन कि म यसलाई अझ सहन सक्छु। कृपया मलाई दृढ रहनका लागि शक्ति दिनुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका ती शब्दहरू सम्झेँ, जसमा भनिएको छ: “विश्वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्वासको पुल पार गरी परमेश्वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। परमेश्वरका वचनहरूले मलाई अघि बढ्ने बाटो देखाए—आस्थामा भर परेर र जीवन जोखिममा राखेर मात्र म यस कठिनाइबाट दृढतापूर्वक र निश्चिन्त भएर पार गर्न सक्थेँ। के म कायरता र डरमा जिएर र शैतानको षड्यन्त्रमा फसिरहेको थिइनँ र? अबदेखि डरमा जिउन र शैतानद्वारा मूर्ख बनाइन नचाहेर मैले परमेश्वरलाई प्रार्थना गरेँ। म आफूलाई पूर्ण रूपमा उहाँको हातमा सुम्पन तयार थिएँ, र कुटाइ खाएर मरिने भए पनि, मेरो गवाहीमा दृढ रहने र शैतानलाई अपमान गर्ने थिएँ। मैले एक प्रकारको राहत अनुभूति गरेँ, र जेजस्तो चुनौती आए पनि तिनको सामना गर्ने आस्था पाएँ। त्यति नै बेला मैले एउटा भजन सम्झेँ “अन्धकार र दमनबीच खडा हुँदा”: “ठूलो रातो अजिङ्गरको क्रूर सतावटले मलाई शैतानको अनुहार छर्लङ्ग देख्ने तुल्याएको छ। कैयौँ परीक्षा र सङ्कष्ट भोगेर, म परमेश्वरको बुद्धि र सर्वशक्तिमान्ता देख्न पुगेको छु। सत्यता बुझ्न पुग्दा र आस्था प्राप्त गर्दा म परमेश्वरलाई नपछ्याउनुमा कसरी सन्तुष्ट हुन सक्छु र? म शैतानलाई गहन रूपमा घृणा गर्छु, र ठूलो रातो अजिङ्गरलाई झन् बढी घृणा गर्छु। पिशाच राजा शासन गर्ने स्थानमा जिउनु जेलमा जिउनु हो। शैतानले मेरो कुर्कुच्चो चिथोर्छ; सुरक्षित बस्ने ठाउँ कहीँ छैन। परमेश्वरमा विश्वास गर्नु र उहाँको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। परमेश्वरलाई प्रेम गर्ने छनौट गरेर, म अन्तिमसम्मै बफादार हुनेछु। शैतान त्यो पिशाच राजा अत्यन्तै क्रूर छ, साँच्चै निर्लज्ज र घृणास्पद छ। म शैतानको दानवी अनुहार स्पष्ट रूपमा देख्छु, र मेरो हृदयले ख्रीष्टलाई झन् बढी प्रेम गर्छ। म शैतानसामु घुँडा टेकेर नीच जीवन जिउनेछैनँ र परमेश्वरलाई धोका दिनेछैनँ। म सबै कठिनाइ र पीडाको कष्ट भोग्नेछु, अनि सबैभन्दा अँध्यारा रातहरू सहनेछु। परमेश्वरको हृदयलाई सान्त्वना दिन, म विजयी गवाहीहरू दिनेछु” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यस भजनले मेरो मनको गहिराइसम्म छोयो, र मैले जति धेरै गाएँ, म त्यति नै हौसिएँ। चिनियाँ कम्युनिस्ट पार्टीद्वारा निर्दयतापूर्वक सताइएपछि मात्रै मैले उनीहरूको परमेश्वरको विरोध गर्ने, क्रूर, र राक्षसी सारलाई स्पष्ट रूपमा बुझ्न सकेँ। परमेश्वरका विश्वासीहरूका रूपमा, हामी जीवनको सही मार्गमा हिँड्छौँ, सुसमाचार प्रचार गर्छौँ, परमेश्वरको गवाही दिन्छौँ र अरूलाई परमेश्वरको मुक्ति प्राप्त गर्न दिन्छौँ। यो एक न्यायसङ्गत कार्य हो तैपनि चिनियाँ कम्युनिस्ट पार्टीले विश्वासीहरूलाई उन्मत्त रूपमा गिरफ्तार गरी सताउँछ, तिनीहरूलाई परमेश्वरलाई धोका दिन लगाउन र चिनियाँ कम्युनिस्ट पार्टीको शक्ति प्रयोग गर्ने र मानिसहरूमाथि सधैँभरि नियन्त्रण गर्ने लक्ष्य पूरा गर्न तिनीहरूलाई मृत्युको मुखसम्म पुग्ने गरी यातना दिन्छ। चिनियाँ कम्युनिस्ट पार्टी भनेको परमेश्वर र सत्यतालाई घृणा गर्ने राक्षसहरूको एउटा गिरोह मात्र हो! जब मैले चिनियाँ कम्युनिस्ट पार्टी लाई यसको वास्तविक घृणास्पद र दुष्ट रूपमा देखेँ, मैले यसलाई पूरा हृदयले घृणा गरे, यसलाई त्यागेँ र कहिल्यै योसँग हार नमान्ने सङ्कल्प गरेँ!
त्यसैको अर्को दिन, जब प्रमुख कैदीले मेरो छातीमा भएका जलेका घाउहरू क्षतविक्षत भएको देखे, उसलाई अलि चिन्ता लाग्यो र अन्य कैदीहरूलाई भन्यो, “हामी यसलाई थप यातना दिन सक्दैनौँ। यदि हामीले यसलाई मार्यौँ भने, दोष हामीमाथि आउनेछ र हाम्रो सजाय बढाइनेछ।” यो कुरा सुनेपछि, मैले परमेश्वरले मेरा लागि बाटो खोलिदिनुभएको छ भन्ने महसुस गरेँ र मैले उहाँलाई चुपचाप धन्यवाद गरेँ। अन्ततः प्रहरीले मलाई अभियोग लगाउन कुनै प्रमाण भेट्न सकेन। तर, उनीहरूले मलाई “सामाजिक व्यवस्था खलबलाएको” आरोप लगाउन अड्डी कसे जसकारण मलाई ७५ दिनको जेल सजाय सुनाइयो।
मैले चिनियाँ कम्युनिस्ट पार्टीको हातबाट भयानक पीडा र सतावट सहेँ, तर परमेश्वरका वचनहरूले मलाई यस मार्गको हरेक पाइलामा अन्तर्दृष्टि र मार्गदर्शन दिए, मलाई आस्था र शक्तिले भरिदिए र यी सबै सङ्कष्टहरूका बीच म दृढ रहन सकूँ भनेर सुनिश्चित गरे। परमेश्वरको संरक्षण र उहाँका वचनहरूको मार्गदर्शन बिना, उनीहरूले मलाई कुनै पनि समय यातना दिएर मार्न सक्थे। त्यसै समयमा, मैले परमेश्वरले यावत् थोकमाथि कसरी शासन गर्नुहुन्छ र सार्वभौम शासन गर्नुहुन्छ भन्ने देखेँ। शैतान जतिसुकै क्रूर र निर्बाध किन नहोस्, यो परमेश्वरद्वारा पराजित शत्रु मात्र हो। जसरी सर्वशक्तिमान परमेश्वरका वचनहरूमा भनिएको छ: “शैतान जति नै ‘शक्तिशाली’ भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्वरका सबै आदेश र आज्ञाहरूलाई पालना गर्नैपर्छ। परमेश्वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्लाउने स्वतन्त्रता समेत छैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो: परमेश्वरको सेवामा हुनु, र परमेश्वरको लागि भिन्न धार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्तियारसँग जोडिएको छैन; त्यो परमेश्वरको सेवा गर्ने मेसिनजस्तै परमेश्वरको हातमा खेलिरहेको हुन्छ!” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)।