६७. एक पछि अर्को अग्नि परीक्षा
२००९ अप्रिलको एक बिहान, लगभग ९ बजे, सिस्टर डिङ निङ र म भेला समाप्त भएर बाहिर निस्केको केही क्षणमै आठ जना मानिसहरूले हामीलाई एक्कासि घेरे। एक शब्द पनि नबोलीकनै, उनीहरूले तुरुन्तै हाम्रो हात पछाडि बाँधे र हाम्रो झोला र मण्डलीको ४०,००० युआन भन्दा बढी रकम जफत गरे। म एकदमै आश्चर्यचकित भएँ र प्रतिक्रिया दिने अवसर नपाउँदै मलाई उनीहरूको गाडीमा चढाइसकेका थिए। लगत्तै, मैले एक महिलाको आवाज सुनेँ, “संदिग्धहरू हाम्रो हिरासतमा छन्।” त्यसपछि मात्रै बुझेँ हामीलाई प्रहरीले पक्राउ गरेका हुन्। उनीहरूले हाम्रो मण्डलीको यति ठूलो रकम लुटेकोमा म रिसले चुर भएँ र सोचेँ, “यी अधिकारीहरूले हामीलाई मनमानी पक्राउ गरे र दिनदहाडै हाम्रो पैसा लिए—कानूनको शासन कहाँ छ?” म केही डराएकी थिएँ र मेरो धड्कन बढिरहेको थियो, त्यसैले मैले निरन्तर परमेश्वरलाई प्रार्थना गरेँ। मैले परमेश्वरलाई मेरो हृदयलाई सुरक्षित राख्न भनी प्रार्थना गरेँ ताकि अधिकारीहरूले मलाई जति यातना दिए पनि र सोधपुछ गरे पनि, म यहूदाले जस्तो परमेश्वरलाई विश्वासघात नगरूँ म केही डराएकी थिएँ र मेरो धड्कन बढिरहेको थियो, प्रार्थनापछि, मैले आफूमा शान्ति छाएको महसुस गरेँ।
अधिकारीहरूले हामीलाई कुनै दुर्गम ठाउँमा लगे र हामीलाई अलग गरेर सोधपुछ गर्न थाले। सोधपुछ कोठामा अँध्यारो र भयावह वातावरण थियो र भित्रका अधिकारीहरू निर्दयी र भयानक देखिन्थे। एक अधिकारीले सोधपुछ सुरु गर्दै सोधे, “के तँ मण्डलीको अगुवा हो? डिङ निङसँग तेरो के सम्बन्ध छ? तिमीहरूको भेट कसरी भयो? के उनी तिमीहरूको माथिल्लो अगुवा हुन्?” मैले उत्तर दिएँ, “म अगुवा होइन र तपाईँले भनेको यो ‘डिङ निङ’ को हो मलाई थाहा छैन।” यो कुराले ऊ रिसायो र मलाई झापड हान्यो, अनि मलाई दुई लात्ती हान्दै चिच्यायो, “त्यसोभए तिमीहरूलाई अपराध स्वीकार गराउन मैले यो काम कठोर तरिकाले गर्नुपर्ने जस्तो देखिन्छ।” यति भनेपछि, उनले मेरो अनुहारमा बारम्बार मुक्का हान्न थाले। उनले मलाई कति पटक हाने भन्ने कुरा मैले थाहा पाइनँ—मेरो ओठबाट रगत बग्यो, मेरो अनुहार नचिनिने गरी सुन्निएको थियो र म तीव्र पीडाले ग्रसित थिएँ। तर उनले त्यसपछि पनि छाडेनन् र मेरो निधारमा पीडादायी टुटुल्को उठ्ने गरी मेरो टाउकोमा मुक्काको बर्षा गरिरहे। मैले मनमनै सोचेंँ “उनीहरू अति नै निर्दयी भएर कुटपिट छन्। यदि म यी निर्दयी कुटपिटबाट बेहोस भएँ भने म के गर्नेछु? यदि उनीहरूले मलाई गम्भीर रूपमा मस्तिष्क क्षति हुने गरी कुटपिट गरे भने के हुन्छ? त्यसपछि म कसरी परमेश्वरमा विश्वास गर्न जारी राख्न सक्नेछु?” मैले यसको बारेमा जति सोचेँ, म उति नै डराएँ। मैले परमेश्वरलाई मेरो हृदयलाई सुरक्षित राख्न अनुरोध गर्दै चुपचाप प्रार्थना गरेँ। प्रार्थना पछि, मैले परमेश्वरका वचनको यो खण्ड सम्झेँ: “सर्वशक्तिमान्को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ११)। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँले सबै कामकुरामा शासन गर्नुहुन्छ। मेरो जीवन उहाँको हातमा थियो र म अपाङ्ग हुन्छु वा मस्तिष्क क्षति हुने गरी पिटिन्छु या पिटिन्न भन्ने कुरामा शैतानको वशमा थिएन। म आफ्नो जीवन परमेश्वरको हातमा राख्न इच्छुक थिएँ। यो बुझेपछि, मैले केही शान्त महसुस गरेँ, अनि सोचेँ, “यी दियाबलसहरूले मबाट अलिकति पनि जानकारी पाउने सोच त्यागेको राम्रो। म कहिल्यै उनीहरूको अगाडि झुक्दिनँ!”
त्यसपछि, अधिकारीहरूले मलाई होटलमा लगे र सोधपुछ जारी राखे। एक महिला अधिकारीले मलाई तिखो स्वरमा सोधिन्, “तेरो नाम के हो? तँ कति होस्ट परिवारहरूसँग बसेकी छस्? तँ क-कसलाई चिन्छेस्? तेरो मण्डलीले आफ्नो पैसा कहाँ राख्छ?” जब मैले जवाफ दिन चाहिनँ, उनी मेरो अगाडि आइन्, मलाई दुई झापड हानिन् र मलाई मेरो जुत्ता खोल्न लगाइन् र उनको छालाको जुत्ताले मेरा औँलाहरूलाई कुल्चिन्। तत्कालै मेरो शरीरभरि तिखो पीडा फैलियो, अनि दुखाइ सहन नसकेर म चिच्याउन पुगेँ। उनले रगत बगिरहेका मेरा औंलाहरू कुल्चिँदै भनिन्, “यदि तँ पीडा सहन सक्दिनस् भने, हामीले सुन्न चाहेका कुराहरू भन्!” पीडा साँच्चै असह्य थियो र त्यसैले मैले परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर! यदि उनीहरूले आफूले चाहेका कुरा पाएनन् भने, उनीहरूले मलाई छोड्ने छैनन्। मलाई उनीहरूको यातना सहन सक्दिनँ भन्ने डर लागेको छ। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थनापछि, मैले अचानक के सम्झेँ भने परमेश्वर मेरो ढाल हुनुहुन्छ र परमेश्वरले मार्गदर्शन गर्दै गर्दा, डराउनु पर्ने के छ? प्रहरीले मलाई जति यातना दिए पनि, म परमेश्वरलाई विश्वासघात गर्ने छुइनँ न मण्डलीलाई नै बेच्नेछु। मैले अझै पनि मुख नखोलेको देखेर, अर्को अधिकारीले मेरा हातहरू पछाडि लगेर हतकडी लगाए र मलाई सोधपुछ गर्दै मेरा हातहरू जोडले माथितिर झड्कारे। मैले तुरुन्तै पाखुरा नै खुस्केको जस्तो पीडा महसुस गरेँ र, केहीबेरमै, मेरो पाताहरू गम्भीर रूपमा सुन्निन थाल्यो। अर्को अधिकारीले मलाई धम्की दिए, “यदि तैँले बोल्न सुरु गरिनस् भने, हामी तँलाई नाङ्गो पार्नेछौँ, तेरो घाँटीमा बोर्ड झुण्ड्याउनेछौँ र अनि तँलाई प्रहरीको कारमाथि राखेर सहर घुमाउनेछौँ। त्यसपछि तेरो कुनै लज्जा बाँकी रहन्छ-रहँदैन हेर्नेछौँ!” यो सुन्ने बित्तिकै म धेरै चिन्तित भएँ र सोचेँ, “यी दियाबलसहरू साँच्चै दुष्ट छन् र सायद उनीहरूले नगर्ने कुनै कुरा नै छैन। यदि उनीहरूले साँच्चिकै मलाई नाङ्गो पारेर शहरमा घुमाए भने, मैले कसरी अरूका अगाडि मुख देखाउने र कसरी बाँच्ने?” यसरी सबैभन्दा कमजोर र दुःखित महसुस गरिरहेकी बेला, मैले परमेश्वरका वचनहरूको भजन सम्झेँ: “परमेश्वर मानिसको मुक्तिका लागि ठूलो पीडा सहनुहुन्छ।” “मानव जातिको कार्यको खातिर परमेश्वरले धेरै अनिदा रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म, उहाँ मानिससँग पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म जिउन जीवित नरकमा ओर्लनुभएको छ जहाँ मानिस बस्छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको विद्रोहीपनका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानवजातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा ‘नरक’ र ‘पाताल’ मा, बाघको खोरमा पस्नुभएको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (९))। म परमेश्वरका वचनहरूमाथि धोत्लिदै गर्दा, म असाध्यै भक्कानिएँ। परमेश्वर पवित्र हुनुहुन्छ—शैतानद्वारा गहिरो रूपमा भ्रष्ट भएको मानवजातिलाई मुक्ति दिनका लागि उहाँ दुई पटक देहरधारण गरेर आउनुभयो। पहिलो पटक, उहाँ मानवजातिलाई छुटकारा दिन आउनुभयो र उहाँलाई असह्य पीडा दिएर क्रूसमा झुन्ड्याइयो। आखिरी दिनहरूमा, उहाँ फेरि देहधारण गरेर चीनमा आउनुभएको छ र मानवजातिलाई पापमय अवस्थाबाट पूर्ण मुक्ति दिनका लागि चिनियाँ कम्युनिष्ट पार्टीले दिएको यातना र खेदोको साथै धार्मिक जगतबाट गरिने निन्दा, झुटो आरोप, र अस्वीकृतिलाई पनि सहनु भएकोछ। परमेश्वरले यी सबै कुरा चुपचाप सहनुभएको छ र निरन्तर सत्यताहरू व्यक्त गर्नुहुन्छ र हामीलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ—हामीप्रति उहाँको माया साँच्चै असीम छ। मैले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्न र उहाँका वचनहरूको आपूर्तिको आनन्द लिन पाउनु मेरो अहोभाग्य थियो, त्यसैले, मलाई परमेश्वरको प्रेमको मूल्य तिर्नुपर्छ भन्ने थाहा थियो। यी कुरा बुझिसकेपछि, मलाई पीडा र अपमान सबै अर्थपूर्ण र मूल्यवान हुन्छन्—यो धार्मिकताका नाममा सहन गरिएको यातना हो भन्ने कुरा थाहा भयो। मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! अधिकारीहरूले मलाई जति अपमान गरे पनि, तपाईँलाई सन्तुष्ट पार्न म आफ्नो गवाहीमा दृढ रहनेछु!” प्रार्थना गरेपछि, मलाई त्यति डर लागेन। त्यसपछि, अधिकारीहरूले मलाई जति धम्क्याए पनि, मैले एक शब्द बोलिनँ र उनीहरूसँग छोडेर जानुको अरू केही विकल्प थिएन।
धेरै दिनपछि, जब अधिकारीहरूले मेरो मुखबाट कुनै जानकारी निकाल्न नसकिने ठहर गरे, तब उनीहरूले मलाई एक हिरासत केन्द्रमा पठाए। म त्यहाँ पुग्नासाथ, एक महिला अधिकारीले जानिजानी मलाई अपमान गरिन्, उनले मलाई सबै कपडा खोलेर फनफनी घुम्न आदेश दिइन्, भ्यागुताजस्तो बनेर उफ्रन लगाइन्। बयालीस दिनपछि, मलाई “कानून कार्यान्वयनलाई कमजोर पार्ने पन्थ सङ्गठन प्रयोग गरेको” झूटो आरोप लगाइयो र साढे एक वर्ष पुनर्शिक्षा श्रम शिविरमा रहनुपर्ने सजाय सुनाइयो। मैले सोच्न थालेँ, एक वर्षभन्दा धेरै समय परमेश्वरका वचन नपढी, भेलामा नगई, सङ्गति नगरी, र कर्तव्य निर्वाह नगरी बिताउनु अत्यन्त कठिन हुनेछ। मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! अगाडि कस्तो पीडा छ र म यसलाई सहन सक्छु-सक्दिनँ मलाई थाहा छैन। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न मार्गदर्शन गर्नुहोस्, ताकि म यो वातावरणमा बलियो रहन सकूँ।” प्रार्थनापछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड सम्झिएँ: “निराश नबन्, कमजोर नबन्, अनि म तेरा लागि कामकुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरा निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ; यति मात्र हो कि, परीक्षाहरूको चरमता फरक-फरक हुन्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँडा टेकेर प्रार्थना गर्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही शुभ शब्दहरू मेरा आशीर्वादहरू हुन्। तर पनि तिक्तता पनि आशीर्वादहरू हुन् भन्ने तिमीहरू जान्दैनौ। तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४१)। परमेश्वरका वचनले मलाई के कुरा बुझ्न मद्दत गरे भने, यो वातावरणले मेरो आस्थालाई सिद्ध बनाउन र पीडा सहने इच्छाशक्तिलाई मजबुत बनाउन सहयोग गर्नेछ। केवल पीडाबाट गुज्रेर मात्र म प्रार्थना गर्न र परमेश्वरमा अझ निर्भर हुन, र उहाँसँग अझ नजिक हुन सक्छु। म अबको डेढ वर्षसम्म परमेश्वरका वचनहरू पढ्न, वा ब्रदर—सिस्टरहरूसँग भेलामा सामेल हुन र सङ्गति गर्न नसक्ने भए पनि, परमेश्वर सधैँ मेरो साथमा हुनुहुनेछ र त्यसैले, म परमेश्वरमा निर्भर रहनु र मेरो गवाहीमा दृढ रहेर शैतानलाई अपमानित गर्नुपर्छ। परमेश्वरको अभिप्राय बुझिसकेपछि, मैले आस्था र शक्तिको नयाँ अनुभूति गरेँ। श्रम शिविरमा रहँदा, म प्रायः परमेश्वरलाई प्रार्थना गर्थें र उहाँका वचनहरू मनन गर्थेँ। परमेश्वरका वचनहरूको मार्गदर्शनका कारण, म आफ्नो लामो बन्दी जीवन पार गर्न सक्षम भएँ।
रिहा भएपछि, मैले फेरि मेरो कर्तव्य निर्वाह गर्न सुरु गरेँ। तर, २०१३ को अक्टोबरमा, म फेरि पक्राउ परेँ। त्यो दिन, दिउँसोको करिब चार बजेतिर, म सुसमाचार प्रचार गरेर फर्किंदै थिएँ र बसबाट ओर्लंदै गर्दा, तीन जनाको समूहले मलाई अचानक घेरे र दबोचेर राखे। तीमध्ये एक जनाले भने, “केही वर्ष भइसकेछ भेट नभएको, मलाई त चिनिस् नि? हिँड् केही परसम्म घुमेर आऊँ?” मलाई डर लाग्न थाल्यो र सोच्न थालेँ, “अब म फन्दामा परेँ। प्रहरीले मलाई थुनेपछि, पक्कै पनि मलाई सजिलै छोड्ने छैनन्।” उनीहरूले मलाई जबरजस्ती आफ्नो गाडीमा हाले र दुबैपट्टि बसेर मेरो हात समाते र मलाई हलचल गर्न दिएनन्। त्यसपछि, मलाई एउटा दिमाग भुट्ने केन्द्रमा पठाइयो, जहाँ मलाई सधैँ दुई जना “पहरेदार” हरूले निगरानीमा राख्थे। त्यो ठाउँमा, बिहान ७:३० बजेबाट बेलुकी ७:०० बजेसम्म, मलाई परमेश्वरप्रति विश्वासघात गर्न बाध्य बनाउनका लागि, परमेश्वरलाई निन्दा गर्ने र मण्डलीलाई बदनाम गर्ने भिडियोहरू, साथै चिनियाँ कम्युनिष्ट पार्टीको प्रशंसा गर्ने भिडियोहरू हेर्न बाध्य तुल्याइन्थ्यो। पहरेदारहरूले मलाई २४ घण्टा निगरानीमा राख्थे र प्रार्थना गर्न समेत दिँदैनथे यहाँसम्म कि शौचालय जाँदा पनि ढोका बन्द गर्न दिइँदैनथ्यो। लामो समयसम्मको दिमाग भुट्ने कार्य र निरन्तरको निगरानीले मलाई दमित महसुस हुन थाल्यो—म हरेक दिन तनावग्रस्त र बेचैन महसुस गर्थें, र यदि म सावधान भइन भने म शैतानको षड्यन्त्रमा फस्नेछु भन्ने कुराले भयभीत हुन्थेँ। म निरन्तर परमेश्वरलाई प्रार्थना गर्थेँ र उहाँसँग मेरो हृदयको रक्षा गर्न आग्रह गर्थेँ।
एक दिन, दिमाग भुट्ने कार्यको निरीक्षण गर्ने चेनले मलाई वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकको एक प्रतिलिपि ल्याइदिए र भने, “यो तेरो मण्डली पुस्तक हो—के तँ अझै पनि यो परमेश्वरको वचन हो भन्ठान्छेस्? यो त स्पष्ट रूपमा एउटा सामान्य व्यक्तिले लेखेको हो।” मैले परमेश्वरका वचनहरूको त्यो पुस्तक लिएँ र सोचेँ, “परमेश्वरका प्रत्येक वचन सत्यता हुन्; तिमी दियाबलसहरू परमेश्वरमा विश्वास गर्दैनौ, त्यसैले तिमीहरूले उहाँको वचनलाई कसरी बुझ्न सक्छौ?” मैले पुस्तक खोलेँ र यो खण्ड देखेँ: “कामको यस चरणमा हामीबाट निकै ठूलो आस्था र प्रेम आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामी लड्खडाउन खान सक्छौँ, किनकि कामको यो चरण पहिलेका सबै चरणहरू भन्दा फरक छ: जुन कुरा परमेश्वरले सिद्ध पार्दै हुनुहुन्छ त्यो मानिसहरूको आस्था हो, जुन अदृश्य र अमूर्त दुवै छ। परमेश्वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई आस्थामा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (८))। यी वचनहरू पढ्दा, मैले परमेश्वरको प्रोत्साहन र सान्त्वना महसुस गरेँ। परमेश्वरको आखिरी दिनहरूको काम भनेको वचनहरूको काम हो। उहाँले विभिन्न परिस्थिति बन्दोबस्त गर्नुहुन्छ ताकि मानिसहरूले उहाँको वचनहरू अनुभव गर्न सकून्, र ती वचनहरू मानिसहरूको अङ्ग बन्न सकून्, उनीहरूको जीवन बन्न सकून्। यसरी परमेश्वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ र सिद्ध बनाउनुहुन्छ। मैले कसरी परमेश्वरका वचनले मलाई विश्वास र शक्ति दिएर, पहिलो पटक गिरफ्तार हुँदाको यातना र पीडाको घडीमा दियाबलसहरूले गरेको दुर्व्यवहारलाई जित्न सक्षम बनाए भन्ने सोचेँ। अहिलेको यो गिरफ्तारीको समयमा, निरन्तरको निगरानी, झूटो शिक्षा र भ्रमहरूले दिमाग भुट्ने कार्यको कारणले म पीडित, दुःखित, र दमित भएको महसुस गरिरहेकी थिएँ, परमेश्वरले अधिकारीलाई उहाँका वचनहरूको एक प्रति मलाई देखाउने बन्दोबस्त गर्नुभयो, जसले ममा आत्मविश्वास र शक्ति भरिदियो। नरकजस्तो जेलभित्र मेरो सामु खतरनाक अग्निपरीक्षाहरू आए पनि, मैले साँच्चै एक्लो महसुस गरिनँ, किनभने मलाई थाहा थियो परमेश्वर हरदम मेरो रक्षा गर्दै हुनुहुन्छ र उहाँका वचनले मलाई मार्गदर्शन गर्दैछन्। त्यसपछि, अधिकारीहरूले जति शैतानको झूटो शिक्षा र भ्रमहरूले मेरो दिमाग भुट्ने प्रयास गरे पनि, म परमेश्वरको अगाडि मेरो सोचहरूलाई शान्त पार्ने, उहाँलाई प्रार्थना गर्ने र उहाँमा भर पर्ने प्रयास गर्थें ताकि म शैतानको षड्यन्त्रहरूमा नफसूँ। एक अधिकारीले मलाई एक जना सिस्टरको फोटो देखाए, र यसलाई चिन्छेस्-चिन्दिनस् भनेर सोधे। जब मैले जवाफ दिइनँ, उनले मलाई तर्साउने र छल गर्ने प्रयास गर्दै भने, “अरूले तँलाई बेचिसके। तँ अगुवा होस् भनेर हामीलाई भनिसके, तर तँ अझै पनि उनीहरूको रक्षा गर्ने प्रयास गरिरहेकी छस्। उनीहरू सबैले दोष स्विकारिसके र उनीहरूलाई घर पठाइयो। तँ चाहिँ नबोलेरै मूर्ख बनिरहेकी छस् र तँलाई लामो, धेरै लामो जेल सजाय हुनेछ! जति चाँडो बोल्न सुरु गर्छेस, उति नै चाँडो हामी तँलाई घर पठाउन सक्छौँ।” यो सुनेर म छक्क परेँ, र सोच्न थालेँ, “कसैले मलाई बेचिसक्यो? त्यसो भए अधिकारीहरूलाई मेरो बारेमा सबै थाहा भएको हुनुपर्छ! यदि म बोल्न सुरु गरिनँ भने, मलाई वास्तवमा लामो सजाय हुन सक्छ। सम्भवत: म उनीहरूलाई केही महत्त्वहीन विवरणहरू मात्र बताउन सक्छु, ताकि यदि म साँच्चै जेल जानुपरेमा, कमसेकम मैले सजाय कम पाउनेछु र धेरै कष्ट सहनु पर्दैन।” तर फेरि मैले सोचेँ, “यदि मैले उनीहरूलाई विवरणहरू बताएँ भने, के मैले परमेश्वरलाई विश्वासघात गरेको र मेरा ब्रदर-सिस्टरहरूलाई बेचेको हुने छैन? त्यसो गर्नु हुँदैन, मैले उनीहरूलाई केहि पनि भन्न हुँदैन!” त्यसै बेला, मैले परमेश्वरको वचन सम्झेँ जसमा भनिएको छ: “तिमीहरूले गरेको कामअनुसार म भविष्यमा प्रत्येक व्यक्तिसँग बदला लिनेछु। मैले भन्नुपर्ने सबै कुरा भनेको छु, किनकि निश्चित रूपमा मैले गर्ने काम यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुष्टलाई निश्चय नै दण्ड दिइनेछ)। परमेश्वरका वचनले मलाई के कुरा बुझ्न मद्दत गरे भने उहाँले मानिसहरूलाई उनीहरूले गरेका कार्यअनुसार व्यवहार गर्नुहुन्छ। यदि मैले ब्रदर—सिस्टरहरूलाई बेचेँ भने, मैले लज्जास्पद यहूदा जस्तै कार्य गरिरहेकी हुने थिएँ, अनि परमेश्वरले मलाई श्रापित र दण्डित गर्नुहुनेछ। यदि अरूले मलाई बेचे भने, त्यो उनीहरूको दुष्कर्म हो, तर मैले परमेश्वरलाई विश्वासघात गर्न सकिनँ, न त मेरा ब्रदर–सिस्टरहरूलाई बेच्न नै सकेँ। मलाई एक सिस्टरको याद आयो, जसलाई गिरफ्तार गरी क्रूर यातना दिइएको थियो, र नौ वर्षको जेल सजाय सुनाइएको थियो। तर उनले कहिल्यै शैतानको अगाडि हार मानिनन् र रिहा भएपछि आफ्नो कर्तव्य निर्वाहलाई जारी राखिन्। उनले केही कष्ट भोगे पनि, आफ्नो गवाहीमा दृढ रहिन्, र परमेश्वरले उनलाई अनुमोदन गर्नुभयो। अनुग्रहको युगमा पत्रुसलाई पनि गिरफ्तार गरेर उल्टो क्रूसमा झुन्ड्याइएको थियो, तर उनले परमेश्वरप्रति आफ्नो प्रेमको गवाही दिए। यी कथाहरू सम्झँदा, म एकदमै प्रेरित भएँ र मेरो हृदय आत्मविश्वास र शक्तिले भरियो। मैले मनमनै दृढ सङ्कल्प गरेँ: चाहे म जेलमा जतिसुकै लामो समयसम्म रहन किन नपरोस्, म कहिल्यै परमेश्वरलाई विश्वासघात गर्ने छुइनँ, न त मेरा ब्रदर—सिस्टरहरूलाई नै बेच्नेछु!
त्यसपछि, उनीहरूले मलाई सोधपुछ जारी राखे, उनीहरूले सोधे, “तँ कसको सम्पर्कमा छेस्? तेरो माथिल्लो अगुवा को हो? उनीहरू कहाँ बस्छन्?” जब मैले उत्तर दिइनँ, उनीहरूले मलाई भित्तातर्फ फर्केर उभिन लगाए। उनीहरूले २४ घण्टाको अवधिमा, दुई—दुई घण्टाको पालोमा दुई अधिकारीहरूलाई तैनाथ गरेर मलाई निदाउन दिएनन्। यदि उनीहरूले मलाई झकाएको देखे भने, चिच्याएर भन्थे, “तँ आँखा बन्द गर्ने वा तेरो परमेश्वरलाई प्रार्थना गर्ने हिम्मत नगर्!” पूरै दिन उभिएपछि, मेरा खुट्टा यति सुन्निए कि तिनीहरू तन्किएर चम्किला भए। खुट्टा जुत्ता भित्रै छिर्न नसक्ने भयो र म खाली खुट्टा हिँड्नु पर्यो। मेरो ढाड पनि यति दुखिरहेको थियो कि मेरो हड्डी भाँचिएको जस्तो लाग्यो। उनीहरूले मलाई यसरी लगातार सात दिन र सात रातसम्म यातना दिए। म शारीरिक र मानसिक रूपमा पूर्ण थकित थिएँ, र मेरो शरीर पनि सहन टुट्ने सीमामा पुग्दै थियो, त्यसपछि, मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, र यी दियाबलसहरूको बर्बरतालाई जित्ने आत्मविश्वास र शक्ति दिन आग्रह गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्वरप्रति विश्वासयोग्य हुनैपर्छ र उहाँको योजनाबद्ध कार्यको कृपामा हुनैपर्छ; यो मात्रै परमेश्वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनहरूले मेरो हृदयमा आस्था भरिदिए। सोचेँ, चाहे जतिसुकै प्रहरीले मलाई यातना दिउन्, उनीहरूले मेरो हृदयलाई नियन्त्रण गर्न सक्दैनन्। जबसम्म म जीवित रहन्छु र सास फेरिरहन्छु, तबसम्म आफ्नो गवाहीमा दृढ रही शैतानलाई अपमानित गरिरहनेछु। पछि, एक अधिकारीले परमेश्वरको निन्दा गर्ने एउटा बयान पत्र ल्याए र मलाई त्यसमा मेरो नाम हस्ताक्षर गर्न भने। जब मैले हस्ताक्षर गरिनँ, उनीहरूले मलाई धेरै पटक झापड हाने र क्रूरतापूर्वक थर्काए, “तँ त अचानोमा राखिएको मासुको टुक्रा होस्, हामीले चाहेजस्तो तँलाई काट्न सक्छौँ। हरेक दिन तैले हस्ताक्षर नगर्नु वा हामीले चाहेको जानकारी नदिनु भनेको अर्को दिन आउनु हो, त्यस दिन फेरि हामी तँलाई यही कुरा गराउँछौ। यहाँ तँलाई ‘फुर्सदिलो मनोरञ्जन’ दिनका लागि यातनाका अठारवटा विभिन्न तरिकाहरू छन्। हामीले तँलाई मारिदिए पनि कसैले थाहा पाउने छैन!” यसो भनेपछि, उनीहरूले मलाई लात र मुक्का हान्न थाले। उनीहरूले मलाई १० मिनेटभन्दा बढी समयसम्म कुटपिट गरे—मलाई तिरिमिरी भयो, मेरो अनुहार सुन्निएको थियो, मेरो टाउको चर्किएको थियो, मेरा कानहरूमा ठूलो आवाज गुञ्जिइरहेको थियो, र मेरो मुखबाट रगत बगिरहेको थियो। मेरो अनुहार यति धेरै दुखेको थियो कि, मानौँ कसैले आलो घाउमा नुन छर्किए जस्तो भएको थियो। मलाई यदि उनीहरूले यसरी नै निर्घात पिटिरहे भने, म पक्कै मर्नेछु भन्ने चिन्ताले सताएको थियो। त्यही बेला, मैले परमेश्वरका वचनहरूको यो खण्ड सम्झेँ: “जब मानिसहरूले आफ्नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३६)। परमेश्वरका वचनहरूले मलाई आस्था र शक्ति दिए। मैले सोचेँ, मेरो जीवन र मृत्यु परमेश्वरको हातमा छ र उहाँको अनुमति बिना शैतानले मेरो जीवन खोस्न सक्दैन। यदि म यातनाले मरेँ भने पनि, त्यो परमेश्वरको अनुमतिले नै हुनेछ। म परमेश्वरका योजनाबद्व कार्य र बन्दोबस्तहरू समर्पित हुन तयार छु र मर्नुपर्ने भए पनि उहाँलाई सन्तुष्ट पार्न आफ्नो गवाहीमा दृढ रहनेछु।
त्यसपछि, उनीहरूले निरन्तर परमेश्वरको निन्दा गर्ने बयानमा हस्ताक्षर गर्न मलाई धम्क्याइरहे, जबरजस्ती गरिरहे। जब मैले यसमा हस्ताक्षर गरिनँ, उनीहरूले मलाई जबरजस्ती आधा टुक्रुक्क बस्न लगाएर मेरो खुट्टा र ढाडमा फलामको रडले हाने। अर्को पटक, एक जना अधिकारीले मेरो ढाडमा यति जोडसँग हिर्काए कि मलाई केही भाँचिएको जस्तो लाग्यो र म अनायासै चिच्याएँ। त्यसपछि, उनले चुरोट सल्काए र मेरो आँखा च्यातेर चुरोटको धुवाँ मेरो आँखामा फुक्न थाले। मेरा आँखा एकदमै पोल्न थाले, आँखा र नाकबाट आँसु र सिँगान बग्न थाले, धुवाँका कारण खोकी लागिरह्यो। र मैले आफ्नो टाउको हटाउन खोजेँ, तर ती अधिकारीले मेरो कपाल समातेर टाउको हलचल गर्न दिएनन् र धुवाँ फुकिरहे। उनले पागल जसरी हाँस्दै भने, “यो कस्तो लाग्यो तँलाई? तँ सहन सक्दिनस् भने, तुरून्तै कागजमा हस्ताक्षर गर् र तँलाई थाहा भएको कुराहरू हामीलाई भन्। यदि तँ बोलिनस् भने, तँलाई अझ गाह्रो पर्नेछ। भोलि अर्को बट्टा चुरोट किनेर ल्याउँछु र फेरि यसरी नै तेरो अनुहारमा धुवाँ फुक्नेछु।” त्यो चुरोट सकिँदासम्म मेरो लुगा पसिनाले पूरै भिजेको थियो। त्यसपछि, अधिकारीले मलाई फेरि आधा टुक्रुक्क बस्न लगाए, तर म लखतरान थिएँ, मेरो सम्पूर्ण शरीर काँपिरहेको थियो र मैले यति कमजोर महसुस गरिरहेकी थिएँ कि मलाई लाग्यो म जुनसुकै बेला ढल्न सक्छु। उनीहरूले मलाई अर्को दुई घण्टासम्म यसरी नै यातना दिए। पछि, उनीहरूले फेरि दुईवटा चुरोटको धुवाँ मेरो अनुहारमा फुक्न थाले—म अत्यन्तै पीडामा थिएँ, मेरो छाती र पेटमा अत्यन्त असहज भइरहेको थियो र मेरा औँलाहरू अररो भएका र बाँगिएका थिए। उनीहरूले मेरो हात समातेर कागजपत्रमा जबरजस्ती हस्ताक्षर गराउन प्रयास गरे, तर मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ र उनीहरूलाई मेरो हात एक इन्च पनि हल्लाउन दिइनँ। अन्तमा, मैले परमेश्वरको निन्दा गर्ने त्यो कागजमा हस्ताक्षर गरिनँ। तर अधिकारीहरूले मलाई जबरजस्ती हस्ताक्षर गराउने प्नयास अझै छोडेका थिएनन्। एउटा अधिकारीले मेरो कपाल समातेर मेरो टाउको पर्खालमा ठोक्काइदिए, जसले गर्दा मेरो टाउकोमा ठूलो टुटुल्को बन्यो। त्यसपछि, उनले मेरो अनुहारमा जोडले प्रहार गरे, खुट्टा र पेटमा लात हाने, जसले गर्दा मलाई चक्कर र पूरै शरीरमा झनझनाहट महसुस भयो। जब ती अधिकारी मलाई कुटेर थाक्न थाले, उनले बिजुलीको डण्डा उठाए र मेरो अनुहार, छाती, र शरीरका अन्य भागमा करेन्टको झड्का लगाए। यस्तो लाग्यो कि मानौँ मेरा शरीरभरि सियोहरूले रोपिँदै थियो। मैले लगातार परमेश्वरलाई प्रार्थना गरिरहेँ, मलाई दृढ रहन आस्था र शक्ति दिनुहोस् भनेर याचना गरिरहेँ। मलाई करेन्टको झट्का लगाउँदै, ती अधिकारीले क्रूरतापूर्वक धम्की दिँदै भने, “म तँलाई भित्रका अङ्ग क्षति नहुन्जेलसम्म यातना दिन्छु। जब तँ यहाँबाट जान्छेस्, तँ रोगहरूले भरिनेछेस् र बिस्तारै मर्नेछेस्!” यी अधिकारीहरू जति धेरै बोल्थे, म उनीहरूलाई उत्ति नै घृणा गर्थे। मैले परमेश्वरका वचनहरू सम्झेँ, जसमा भनिएको छ: “क्रोधले ग्रसित यो दियाबलसले कसरी पृथ्वीमा रहेको आफ्नो शाही दरबार परमेश्वरलाई नियन्त्रण गर्न दिन सक्छ? कसरी यो स्वेच्छाले उहाँको उच्च पराक्रमको अघि झुक्न सक्छ? यसको घिनलाग्दो अनुहारलाई जस्ताको त्यस्तै प्रकट गरिएको छ, यसैले अब हाँस्ने कि रुने कसैलाई केही थाहा छैन, र यसबारेमा कुरा गर्नु साँच्चै नै गाह्रो छ। के यसको सार यही होइन र? घिनलाग्दो प्राणको साथमा यसले अझै पनि आफू विश्वासै गर्न नसकिने गरी सुन्दर छु भनी विश्वास गर्छ। यो अपराध गर्ने मतियारहरूको गिरोह! तिनीहरू भोगविलासमा लिप्त हुन मरणशील संसारमा ओर्लेर आउँछन् र यतिसम्म अराजकता मच्चाउँछन् र होहल्ला गर्छन् कि यो संसार नै भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेका छन् कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ। यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि हत्याउन चाहन्छन्। तिनीहरूले परमेश्वरको कामलाई यति बाधा दिन्छन् कि त्यो काम एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजायबाहेक अरू केही कुराको आशा गरिरहेका छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७))। चिनियाँ कम्युनिस्ट पार्टी दियाबलस हो जसले परमेश्वरलाई घृणा र प्रतिरोध गर्छ। उनीहरूले मलाई जति यातना दिए, उत्ति नै मैले उनीहरू अति कुरूप र घृणित छन् भनेर बुझ्न थालेँ। मैले उनीहरूलाई आफ्नो अन्तरआत्मादेखि नै घृणा गरेँ, उनीहरू विरुद्ध विद्रोह गरेँ र परमेश्वरलाई पछ्याउन र उहाँलाई सन्तुष्ट पार्न अझ बढी मनोबल वृद्धि भएको महसुस गरेँ। त्यसपछि, ती अधिकारीले फेरि मलाई तर्साउने प्रयास गर्दै भने, “तँ बोलिनस् भने पनि, तँलाई दोषी ठहराइनेछ र दश वर्षभन्दा बढी जेल सजाय गरिनेछ!” म रिसले चुर हुँदै सोचेँ, “यदि म जेल जानुपर्छ भने जान्छु। मलाई जति वर्षको सजाय दिएपनि, म तिमीहरू जस्तो दियाबलसहरूका सामु कहिल्यै झुक्ने छुइनँ!” अन्ततः, उनीहरू मबाट कुनै पनि जानकारी निकाल्न असमर्थ भए र, जुलाई २०१४ मा, उनीहरूले मलाई “कानून कार्यान्वयनलाई कमजोर पार्ने पन्थ सङ्गठन प्रयोग गरेको” झुटो आरोप लगाएर चार वर्षको जेल सजाय दिए।
मैले आफू दुई पटक गिरफ्तार र जेलमा रहेको कुरालाई सम्झिँदा, चिनियाँ कम्युनिष्ट पार्टीले मलाई परमेश्वरलाई विश्वासघात गर्न बाध्य पार्न निर्दयी तरिकाले कुटपिट गर्ने, डर देखाउने, दिमाग भुट्ने र अपमान गर्ने जस्ता विभिन्न तरिकाहरू प्रयोग गरेको थियो। यी प्रत्येक अग्निपरीक्षामा, यदि मसँग परमेश्वरको सुरक्षा र उहाँको वचनहरूबाट प्राप्त आस्था र शक्ति हुन्थेन भने, म धेरै पहिले नै अधिकारीहरूको यातनाले मरिसकेको हुनेथिएँ। यी अग्निपरीक्षाहरूबाट मैले परमेश्वरको प्रेमलाई प्रत्यक्ष अनुभव गरेँ र उहाँका वचनहरूको अख्तियार र शक्ति देख्न पाएँ। मलाई यी सङ्कष्टबाट पार हुन मार्गदर्शन गर्ने परमेश्वरका वचनहरू नै हुन्। चिनियाँ कम्युनिष्ट पार्टीले मलाई जसरी अत्याचार गरेपनि, म परमेश्वरलाई पछ्याइरहनेछु र परमेश्वरको प्रेमको मूल्य तिर्न आफ्नो कर्तव्य निर्वाह गर्दै जानेछु।