७४. के अरूप्रति निष्ठावान् हुनु असल व्यक्ति हुनु हो?
सन् २०१२ मा, म मण्डली अगुवा हुँदा, झेङ्ग सिनले अगुवाको पदका लागि प्रतिस्पर्धा गर्न, केही ब्रदर-सिस्टरहरूलाई आफ्नो पक्षमा ताने र बहकाए, मलाई झूटो अगुवा भनी दोष लगाए र हटाउन माग गरे, जसले मण्डलीभित्र अराजकता निम्त्यायो। त्यस समयमा, के भइरहेको हो भन्ने वाङ्ग चेनलाई थाहा भयो र यसको बारेमा मलाई तुरुन्तै खबर गरे, अनि हामीले सँगै मिलेर झेङ्ग सिनका कार्यहरूको प्रकृति खुट्याउन र चिरफार गर्न ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्यौं। ब्रदर-सिस्टरहरूले झेङ्ग सिनलाई खुट्याए, र मण्डलीभित्रको अराजकता अन्ततः शान्त भयो। त्यो क्षणदेखि, म वाङ्ग चेनप्रति आभारी भएँ। अराजकता अन्त्य गर्न उनको मदत नभएको भए, म साँच्चै नै दबाइएको र सताइएको, आफ्नो भूमिकाबाट हटाइएको र मैले आफ्नो कर्तव्य गुमाएको हुन सक्थेँ। सन् २०१९ मा, मेरी श्रीमती र मलाई प्रहरीले पिछा गरिरहेका थिए र हामीले ब्रदर-सिस्टरहरूसँग सम्पर्क गर्न सकेनौं, मण्डलीसँग सम्पर्क टुट्यो। सन् २०२१ सम्म ब्रदर-सिस्टरहरूले मसँग सम्पर्क गरेनन्, त्यसपछि बल्ल सम्पर्क गरे र मलाई अर्को मण्डलीमा सारिदिए। त्यस समय हामीलाई लिन आउने मण्डली अगुवा अरू कोही नभएर वाङ्ग चेन नै थिए, र उनले हामीलाई भेलामा उपस्थित हुने र हाम्रो कर्तव्य सुरु गर्ने प्रबन्ध मिलाए। उनीप्रतिको मेरो कृतज्ञता झनै गहिरियो, र मलाई उनले मप्रति उपकार देखाएको जस्तो लाग्यो। मैले उनलाई परिवारजस्तै ठानेँ, मनमनै सोचेँ: “म यो उपकारको लागि उनलाई कसरी धन्यवाद दिन सक्छु थाहा छैन। मौका पाउँदा मैले यो ऋण राम्ररी चुकाउनै पर्छ।”
पछि, मलाई मण्डली अगुवा चुनियो र वाङ्ग चेन अनि चेन मोसँग सहकार्य गराइयो। केही समयपछि, मैले देखेँ वाङ्ग चेन सधैँ मानिस र कामकुराहरूको अति विश्लेषण गर्थे र समस्या उब्जाउन मन पराउँथे। उनले चेन मोसँग झगडा गरे र कहिल्यै आत्मचिन्तन गरेनन् वा आफूलाई चिन्ने प्रयास गरेनन्, र उनले भेलाका समयमा समेत चेन मोप्रतिका आफ्ना पूर्वाग्रह र असन्तुष्टि फैलाए, जसले गर्दा ब्रदर-सिस्टरहरू विवादमा फस्न, उनको पक्ष लिन, अनि चेन मोको आलोचना गर्न बाध्य भए। यसबाहेक, उनले कहिल्यै सत्यता अभ्यास गरेनन्, सधैँ संसारसँग व्यवहार गर्ने दर्शनहरूका आधारमा अरूसँग अन्तरक्रिया गरे। जब ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा कठिनाइहरूको सामना गर्थे, उनले ती समाधान गर्न सत्यतामा सङ्गति गरेनन्, बरु सधैँ तिनीहरूको देहको ख्याल गर्दै उनीहरूलाई आफूप्रति धेरै कठोर नहुन भन्थे, जसले गर्दा उनीहरूले आफ्ना कमजोरीहरूमा लिप्त हुँदै ती कमजोरीलाई आफू अनुकूल बनाए। मैले के पनि देखेँ भने वाङ्ग चेन कामबारे विरलै सोध्थे वा जाँच गर्थे, र आफूले समस्या पत्ता लगाउँदा पनि ती समाधान गर्दैनथे। नयाँ विश्वासीहरू भेलामा उपस्थित हुन नसक्दा, उनले तिनीहरूलाई वास्ता गर्दैनथे। उनी सुसमाचार फैलाउने व्यक्तिहरूको राम्रो प्रबन्ध गर्दैनथे, र माथिल्लो तहका अगुवाहरूसँग व्यवहार गर्न, उनले छलकपटको सहारा लिन्थे र आफूभन्दा तलकाहरूबाट कुरा लुकाएर आफ्ना माथिकालाई ढाँट्थे। ब्रदर-सिस्टरहरूले उनका समस्याहरू औँल्याउँदा, उनले तिनलाई स्वीकार गरेनन्, विभिन्न बहाना बनाए र आफूलाई सही ठहराउने प्रयास गरे। उनले ब्रदर-सिस्टरहरूका बीचमा नकारात्मकता फैलाउँदै, आफूले वर्षौंदेखि आफ्नो कर्तव्यमा धेरै कष्ट भोगेको तर केही पनि नपाएको, र बरु परमेश्वरमा विश्वास नगरेर दैहिक संसारिक जीवनको आनन्द लिनु राम्रो होला समेत भने। त्यस समय, केही नयाँ विश्वासीहरूले उनलाई खुट्याउन सकेनन् र बहकिए, त्यस उप्रान्त आफ्नो कर्तव्य पूरा गर्नै चाहेनन्। त्यो अवधिमा, वाङ्ग चेनले लगातार मण्डली जीवनमा बाधा पुर्याए, जसले सबै ब्रदर-सिस्टरहरूको कर्तव्यमा असर पर्यो। त्यस समयमा, माथिल्लो तहका अगुवाहरूले वाङ्ग चेन वास्तविक काम नगर्ने झूटो अगुवा हो भन्ने बुझे र उनलाई बर्खास्त गर्ने तयारी गरे। तर वाङ्ग चेनसँगको मेरा अन्तरक्रियाहरूबाट, मैले बुझेँ उनी त एक झूटो अगुवा मात्र नभएर एक अविश्वासी पनि रहेछन्। उनका समस्याहरू गम्भीर थिए, र उनलाई तुरुन्तै बर्खास्त गर्नु र निकाल्नु आवश्यक थियो, नत्र उनले मण्डली जीवनलाई बाधा पुर्याइरहने थिए। मैले उनका अविश्वासी व्यवहारहरूबारे माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गर्नेबारे सोचेँ। तर त्यसपछि, वाङ्ग चेनले मलाई मण्डलीको अराजकता शान्त पार्न मद्दत गरेका र मेरो कर्तव्यको प्रबन्ध मिलाइदिएका सम्झनाहरू मेरो दिमागमा आए, जसले गर्दा म यस्तो सोच्दै हृदयमा हिचकिचाएँ: “के मैले उनका समस्याहरू रिपोर्ट गरेँ भने, उनले मलाई विवेकहीन र कृतघ्न भएको आरोप लगाउलान्?” यो सोच्दा मेरो मन लामो समयसम्म शान्त हुन सकेन। उनी साँच्चै निकालिनुको मतलब उनको आस्थाको यात्राको अन्त्य हुनु थियो, र उनले पक्कै पनि मप्रति रिस साँच्ने थिए! म साँच्चै द्विविधामा थिएँ, र म रिपोर्ट लेख्न सकिरहेको थिइनँ। मैले सोचेँ “मैले उनलाई फेरि एकपटक मदत गर्नुपर्छ कि? यदि उनी केही परिवर्तन हुन सक्छन् र अवरोध र बाधा पुर्याउन छोड्छन् भने, सायद उनलाई निकाल्न आवश्यक हुँदैन कि?” यी सोचहरूका साथ, मैले वाङ्ग चेनका समस्याहरू रिपोर्ट गर्नबाट आफूलाई रोकेँ। जब मैले वाङ्ग चेनलाई फेरि भेटेँ, मैले उनीसँग परमेश्वरका वचनमा सङ्गति गरेँ, उनलाई आफूमाथि परिस्थिति आइपर्दा अझै आत्मचिन्तन गर्न र आफूलाई चिन्ने प्रयास गर्न आग्रह गरेँ। तर मैले जति नै सङ्गति गरे तापनि, उनले यसलाई गम्भीरतापूर्वक लिएनन् र पहिले जस्तै मण्डलीलाई बाधा पुर्याइरहे, जसले गर्दा ब्रदर-सिस्टरहरूले सामान्य मण्डली जीवन बिताउन पाएनन् र उनीहरूको जीवन प्रवेश प्रभावित भयो। मलाई नराम्रो लाग्यो र आफैँलाई दोष दिएँ, सोचेँ, “म कसरी यति अलमलमा पर्न पुगेँ? म किन परमेश्वरको पक्षमा उभिएर मण्डलीको कामको रक्षा गर्न सक्दिनँ?” त्यसपछि मात्र मैले सत्यता खोज्न र आत्मचिन्तन गर्न थालेँ।
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ: “भावनाहरू विशेषतः कस्ता हुन्छन्? अवश्यै सकारात्मक हुँदैनन्। यो भौतिक सम्बन्ध र देहका रुचिहरू सन्तुष्ट पार्ने कार्यमा केन्द्रित हुनु हो। पक्षपात गर्नु, अरू मानिसका कमीकमजोरी बचाउ गर्नु, आसक्तिपन देखाउनु, पुलपुल्याउनु, र लिप्त हुनु, यी सबै नै भावनाहरूमा पर्छन्। कतिपय मानिसहरूले भावनाहरूलाई धेरै महत्त्व दिन्छन्, तिनीहरू आफूमाथि जेसुकै आइपरे पनि त्यसप्रति आफ्नो भावनाको आधारमा प्रतिक्रिया जनाउँछन्; तिनीहरूलाई हृदयमा यो गलत हो भन्ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू वस्तुनिष्ठ हुन सक्दैनन्, सिद्धान्तअनुसार काम गर्नु त परको कुरा हो। जब मानिसहरू सधैँ भावनाद्वारा बाधित हुन्छन्, के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? त्यो त अत्यन्तै कठिन छ! धेरै मानिसहरूले सत्यता अभ्यास गर्न नसक्नुको कारण भावनाहरू नै हुन्छ; तिनीहरू भावनाहरूलाई विशेष महत्त्व दिन्छन्, र तिनलाई पहिलो स्थानमा राख्छन्। के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् त? अवश्यै होइनन्। सारमा, भावनाहरू के हुन्? ती एकप्रकारका भ्रष्ट स्वभाव हुन्। भावनाहरूको प्रकटीकरणलाई कैयौँ शब्दहरू प्रयोग गरी व्याख्या गर्न सकिन्छ: कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन संरक्षण, भौतिक सम्बन्धहरूको परिपालन, र पक्षपात; भावनाहरू भनेका यिनै हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्वरका वचन पढेपछि, मेरो चेत खुल्यो। यो समयमा, म आफ्ना भावनाहरूमा जिइरहेको थिएँ र सिद्धान्तविना काम गरिरहेको थिएँ। मैले वाङ्ग चेन वास्तविक काम नगर्ने झूटो अगुवा मात्र नभएर, अविश्वासी समेत हुन् भन्ने स्पष्ट रूपमा बुझेको थिएँ। मैले उनका व्यवहारहरू माथिल्लो तहका अगुवाहरूसमक्ष खुलासा गर्नुपर्थ्यो। तर, मैले उनले मप्रति देखाएको उपकारबारे सोचिरहेँ र हाम्रो तथाकथित मित्रताको वास्ता गरिरहेँ, र त्यसैले मैले उनका समस्याहरू रिपोर्ट गरिनँ, उनलाई मण्डलीमा दुष्ट काम गरिरहन र मण्डली जीवनलाई बाधा पुऱ्याउन छोडिदिएँ। म भावनाहरूका आधारमा काम गरिरहेको थिएँ, उनलाई बचाइरहेको र ढाकछोप गरिरहेको थिएँ। मण्डलीमा एक अविश्वासीलाई राख्न चाहेर, म शैतानसँग मिलिरहेको र त्यसको मतियार बनिरहेको थिएँ। म साँच्चै नै दुष्टता गरिरहेको थिएँ! ठूलो रातो अजिङ्गरले पक्राउ गर्छ, सताउँछ, र मण्डलीको काममा बाधा दिन्छ, अनि यहाँ म मण्डलीभित्र एक अविश्वासीलाई बचाइरहेको थिएँ, ठूलो रातो अजिङ्गरले गर्न चाहेको तर गर्न नसकेको काम गरिरहेको थिएँ। के यो परमेश्वर विरुद्ध विद्रोह गर्नु र उहाँको विरुद्धमा जानु थिएन र? म शैतानको ढालका रूपमा काम गरिरहेको थिएँ! तथ्यहरूले खुलासा गरेका कुराहरूद्वारा, मैले अन्तत: म कसरी भावनाहरूका आधारमा जिइरहेको थिएँ, सही र गलत वा असल र खराब छुट्याउन सक्दिनथेँ, ममा न्यायको कुनै बोध थिएन, र एक अविश्वासीलाई मण्डली जीवनमा बाधा पुऱ्याउन दिइरहेको थिएँ भन्ने देखेँ। म परमेश्वर विरुद्ध अति नै विद्रोही भएको रहेछु! मैले परमेश्वरले भन्नुभएको कुरा सम्झेँ: “भावना उहाँको शत्रु हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २८)। मलाई गहिरो पछुतो र आत्मग्लानि भयो, र मैले वाङ्ग चेनका समस्याहरू माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गर्ने निधो गरेँ।
केही दिनपछि, जब माथिल्लो तहका अगुवाहरू वाङ्ग चेनलाई बर्खास्त गर्न आए, मैले उनको स्थितिबारे रिपोर्ट गरेँ। प्रमाणीकरणपछि, उनीहरूले वाङ्ग चेन साँच्चै नै एक अविश्वासी भएको पत्ता लगाए, र उनीहरूले उनलाई हटाउनका लागि आवश्यक सामग्रीहरू सङ्कलनमा मद्दत गर्न उनका व्यवहारहरू लेख्न मलाई आग्रह गरे। जब मैले वाङ्ग चेनलाई निकालिने कुरा सोचेँ, मैले विगतमा उनले मलाई मद्दत गरेका सबै पलहरू याद नगरी रहनै सकिनँ, र मैले सोचेँ, “उनले मप्रति उपकार देखाए, तर अहिले म उनलाई निकाल्नका लागि मूल्याङ्कन लेख्न लाग्दैछु। यदि यसबारे सुने भने, उनले मलाई कृतघ्न र विवेकहीन भएको आरोप लगाउलान् कि? त्यसपछि मैले उनको अगाडि कसरी मुख देखाउने होला?” तर जब मैले उनका अविश्वासी व्यवहारहरूबारे सोचेँ, मेरो विवेकको चेतनाले मलाई भन्यो मैले सिद्धान्तहरूमा अडिग रहेर उनका व्यवहारहरू लेख्नुपर्छ। यद्यपि, मैले यो भित्री बाधा पार गर्न सकिनँ र आफूलाई दुविधामा पाएँ। मैले जति यसबारे सोचेँ, त्यति नै मलाई पीडा भयो, र मैले भित्र अन्धकार र निराशा महसुस गरेँ। अनि, १० दिनभन्दा बढी ढिलाइ गरेपछि पनि, मैले अझै वाङ्ग चेनका व्यवहारहरूबारे लेखेको थिइनँ। यो अवधिमा, मलाई एकदमै दाँत दुख्यो, र कहिलेकाहीँ यति धेरै दुख्थ्यो कि मलाई पसिना आउँथ्यो। मैले खान आँट गरिनँ र सुत्न पनि सकिनँ। मलाई सायद यो परमेश्वरको अनुशासन हो कि भन्ने महसुस भयो, र मैले परमेश्वरलाई प्रार्थना गरेँ: “परमेश्वर, वाङ्ग चेन एक अविश्वासी हुन्, र मैले उनका व्यवहारहरू लेखेर सिद्धान्तअनुसार उनलाई निकाल्नुपर्छ। तर जब म उनले मप्रति देखाएको उपकार सम्झन्छु, म लेख्न चाहन्नँ। मेरो हृदय अत्यन्तै हठी, अत्यन्तै विद्रोही छ! परमेश्वर, म तपाईंमै फर्कन चाहन्छु। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र आफूलाई चिन्न, सिद्धान्तहरूमा अडिग रहन, र मण्डलीको हितको रक्षा गर्न मार्गदर्शन गर्नुहोस्।”
त्यसपछि, म निरन्तर चिन्तन गरिरहेको थिएँ, सोचिरहेको थिएँ, “मलाई सिद्धान्तहरूमा अडिग रहन र मण्डलीको हितको रक्षा गर्नबाट रोक्ने त्यस्तो के रहेछ?” एउटा भेला अवधिमा, मैले परमेश्वरका वचनहरूमा यसको जवाफ पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूको हृदयको गहिराइमा, अझै धेरै धारणा र कल्पना, विभिन्न सोच, दृष्टिकोण, र परम्परागत संस्कृतिका विषहरू र परमेश्वरको प्रतिरोध गर्ने धेरै कुरा हुन्छन्। यी कुराहरू ऊभित्र लुकेका हुन्छन्, उजागर गरिएका हुँदैनन्। यी कुरा उसको भ्रष्ट स्वभाव प्रकटीकरणका स्रोत हुन्, र यी मानिसको प्रकृति सारबाट आउँछन्। त्यही भएर, जब परमेश्वरले तेरा धारणाहरूसँग नमिल्ने कुनै कुरा गर्नुहुन्छ, तैँले उहाँको विरोध गर्छस् र तँ उहाँको विरुद्धमा जान्छस्। परमेश्वरले किन त्यसरी काम गर्नुभयो सो तैँले बुझ्नेछैनस्, र परमेश्वरले गर्नुहुने सबै कुरामा सत्यता हुन्छ भन्ने तँलाई थाहा भए पनि र तँ समर्पित हुन चाहे पनि, तैँले आफूलाई त्यसो गर्न नसक्ने अवस्थामा पाउनेछस्। तँ किन समर्पित हुन असक्षम हुन्छस्? तेरो प्रतिरोध र विरोधको कारण के हो? यो हुन्छ किनकि, मानिसका विचार र दृष्टिकोणहरूभित्र धेरै कुरा हुन्छन् जुन परमेश्वरप्रति शत्रुवत् हुन्छन्, र ती उहाँले जुन सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ तीप्रति र उहाँको सारप्रति शत्रुवत् हुन्छन्। मानिसले यी कुराहरूको ज्ञान पाउन कठिन छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। “म यो सब मानिसहरूलाई तिनीहरूको विद्रोही प्रकृतिको जड र सार मुख्य रूपमा तिनीहरूको विचार र दृष्टिकोणहरूबाट आउँछन् भनेर बुझाउन भनिरहेको छु। ती विचार र दृष्टिकोण तिनीहरूले परिवार र समाज, साथै परम्परागत संस्कृतिबाट पाउने शिक्षाबाट सिर्जित हुन्छन्। ती कुराहरू पारिवारिक रीतिरिवाज, वा समाज र औपचारिक शिक्षाको प्रभावबाट अलिअलि गर्दै मानिसको हृदयमा गडेपछि, मानिसहरू तीअनुसार जिउन थाल्छन्। तिनीहरू अनजानमै यो विश्वास गर्न थाल्छन् कि यो परम्परागत संस्कृति सही, दोषरहित छ, यसको आलोचना गर्न मिल्दैन, र परम्परागत संस्कृतिको मागअनुसार कार्य गरेमा मात्र आफू वास्तविक मानिस बन्न सकिन्छ। तिनीहरूलाई आफूले त्यसो नगरे आफू विवेकहीन, मानवताविपरीत र मानवताविहीन भएको महसुस हुनेछ र तिनीहरू यो कुरा स्विकार्न सक्दैनन्। के यी मानव विचार र दृष्टिकोणहरू सत्यताभन्दा धेरै टाढा छैनन् र? मानव विचार र दृष्टिकोणमा हुने कुरा र मानिसहरूले पछ्याउने लक्ष्यहरू सबै संसारतिर लक्षित हुन्छन्, शैतानतिर लक्षित हुन्छन्। परमेश्वरले मानिसले सत्यता पछ्याऊन् भनेर दिनुहुने मापदण्डहरू परमेश्वरतिर लक्षित हुन्छन्, ज्योतितिर लक्षित हुन्छन्। यी दुई भिन्न दिशा, दुई भिन्न लक्ष्य हुन्। परमेश्वरले मानिसलाई दिनुभएका लक्ष्य, र मानिसप्रतिका उहाँका मापदण्डअनुसार कार्य गर् अनि तेरो मानवता अझ बढी सामान्य हुनेछ, तैँले अझ धेरै मानव स्वरूप प्राप्त गर्नेछस्, र तँ परमेश्वरको अझ बढी निकट हुनेछस्। यदि तँ परम्परागत संस्कृतिको विचार र दृष्टिकोणअनुसार कार्य गर्छस् भने, तैँले झन्-झन् आफ्नो विवेक र समझ गुमाउनेछस्, तँ अझै बढी झुटो र नक्कली बन्नेछस्, अझ बढी संसारका चलन पछ्याउनेछस्, र दुष्ट शक्तिको हिस्सा बन्नेछस्। त्यसपछि, तँ पूर्ण रूपमा अन्धकारमा, शैतानको सत्तामा जिउनेछस्। तैँले पूर्ण रूपमा सत्यता उल्लङ्घन गरेको र परमेश्वरलाई धोका दिएको हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरूले ममा स्पष्टता ल्याइदिए। मैले खासगरी शैतानले ममा बसालेका विचार र दृष्टिकोणहरू जस्तै “मानिस वफादार हुनैपर्छ,” “मानिस निष्ठुर र कृतघ्न हुनुहुँदैन,” “प्राप्त भएको दया कृतज्ञतापूर्वक तिर्नुपर्छ” आदिले मलाई बाँधेका र रोकेका कारणले गर्दा आफूले भावनाहरूका आधारमा काम गरेको र वाङ्ग चेनलाई हटाइनेछ भन्ने डरले उनका व्यवहारहरूबारे लेख्न नचाहेको थाहा पाएँ। यी विचार र दृष्टिकोणहरूद्वारा नियन्त्रित भएर, मैले सधैँ मानिसहरूको उपकारलाई पहिलो स्थानमा राखेँ, यहाँसम्म कि यसलाई सत्यता अभ्यास गर्नु र मण्डलीको हितभन्दा पनि महत्त्वपूर्ण ठानेँ। जब मैले वाङ्ग चेनका अविश्वासी व्यवहारहरूबारे रिपोर्ट गर्ने विचार गरेँ, विगतमा उनले मलाई मदत गरेका कुराहरू नसम्झी रहन सकिनँ, सोचेँ उनका व्यवहारहरू रिपोर्ट गर्नु हृदयहीन र कृतघ्न हुनु हो र अरूले मलाई घृणा गर्नेछन्। यी विचार र दृष्टिकोणहरूद्वारा बाँधिएर, म कहिल्यै सत्यता अभ्यास गर्न वा सिद्धान्तहरूमा अडिग रहन सकिनँ। अगुवाहरूले मलाई वाङ्ग चेनका व्यवहारहरू लेख्न भन्दा पनि, म उनले मप्रति देखाएको उपकारको कारणले हिचकिचाएँ, उनलाई मण्डलीमा दुष्ट काम गरिरहन र ब्रदर-सिस्टरहरूलाई बाधा पुऱ्याउन छोडिदिएँ। मण्डली ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता खोज्ने ठाउँ हो। मण्डलीबाट अविश्वासीहरूलाई तुरुन्तै निकालेर मात्र ब्रदर-सिस्टरहरूको मण्डली जीवन सुरक्षित हुन सक्छ। वाङ्ग चेनका अविश्वासी व्यवहारहरूबारे लेख्नु भनेको सत्यताको अभ्यासका साथै एक सकारात्मक कुरा थियो, तर मैले यसलाई विश्वासघात र विवेकहीनता ठानेँ। मैले साँच्चै असल र खराब छुट्याउन वा केलाई प्रेम गर्ने र केलाई घृणा गर्ने भनी बुझ्न सकिनँ, र ममा अलिकति पनि सिद्धान्त वा अडान थिएन। यदि मैले वाङ्ग चेनका समस्याहरू तुरुन्तै रिपोर्ट गरेको भए, उनी सायद चाँडै मण्डलीबाट निकालिने थिए, तर मैले सत्यता अभ्यास नगरी उनलाई जोगाएकाले, उनले मण्डलीमा बाधा र अवरोध पुऱ्याइरहे, जसले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि पुऱ्यायो र मण्डलीको काममा पनि ढिलाइ गऱ्यो। एक अगुवाका रूपमा, म ब्रदर-सिस्टरहरूको जीवनबारे विचार गर्न वा मण्डलीको हितको रक्षा गर्न असफल भएको मात्र होइन, मैले भावनाहरूका आधारमा वाङ्ग चेनलाई ढाकछोप समेत गरेँ, एक अविश्वासीप्रति निष्ठा र विवेक देखाएँ। म आफूलाई खुवाउने हातलाई टोक्दै थिएँ र एक बाहिरीयालाई मद्दत गरिरहेको थिएँ, शैतानको नोकरको भूमिका खेल्दै थिएँ। पहिले, म शैतानले मामा भरिदिएका विचार र दृष्टिकोणहरू अनुसार जिइरहेको थिएँ, आफूलाई महान् र निष्ठावान् ठान्दै थिएँ। अब मात्र मैले महसुस गरेँ यी विचार र दृष्टिकोणहरू परमेश्वरको विरुद्धमा छन्। तिनले मलाई सत्यता अभ्यास गर्नबाट रोकेका थिए, मेरो विवेक र समझ खोसेका थिए र मेरो मानवता हरण गरेका थिए। यी विचार र दृष्टिकोणहरूअनुसार जिउँदा, मैले केवल दुष्ट काम गर्न, परमेश्वरको प्रतिरोध गर्न, र परमेश्वरमार्फत् तिरस्कृत भई हटाइ माग्न मात्र सक्थें। यदि परमेश्वरले मलाई बिरामी पारेर समयमै अनुशासन नदिनुभएको भए, मैले आफूमाथि चिन्तन गर्ने थिइनँ। म अब विद्रोह गरिरहन सक्दिनथेँ; मैले तुरुन्तै परमेश्वरमै फर्कनुपर्थ्यो।
मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई मेरा भ्रामक दृष्टिकोणहरू केही हदसम्म परिवर्तन गर्न मद्दत गरे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कहिलेकाहीँ, परमेश्वरले मानिसहरूलाई सहयोग गर्न शैतानका सेवाहरू प्रयोग गर्नुहुनेछ, तर हामीले यस्तो अवस्थामा परमेश्वरलाई अवश्यै धन्यवाद दिनुपर्छ र शैतानलाई दयाको ऋण तिर्नु हुँदैन—यो सिद्धान्तको कुरा हो। जब यस्तो प्रलोभन दुष्ट व्यक्तिले दिने दयाको रूपमा आउँछ, तब तँ पहिले तँलाई कसले लाख र सहयोग गरिरहेको छ, तेरो परिस्थिति कस्तो छ, र तैँले लिन सक्ने अरू मार्ग छन् कि छैनन् भनेर स्पष्ट हुनैपर्छ। तैँले यस्ता समस्याहरू लचिलो तरिकाले सम्हाल्नुपर्छ। यदि परमेश्वर तँलाई मुक्ति दिन चाहनुहुन्छ भने, यो पूरा गर्न उहाँले जसका सेवाहरू प्रयोग गर्नुभए पनि, तैँले पहिला परमेश्वरलाई धन्यवाद दिनुपर्छ र परमेश्वरबाट यो स्विकार्नुपर्छ। तैँले मानिसहरूप्रति मात्र कृतज्ञता जाहेर गर्नु हुँदैन, कसैमाथि कृतज्ञ बन्दै आफ्नो जीवन अर्पण गर्न मिल्ने कुरै नगरौँ। यो ठूलो गल्ती हो। महत्त्वपूर्ण कुरा भनेको तेरो हृदय परमेश्वरप्रति कृतज्ञ हुनु र तैँले यो उहाँबाट स्वीकार गर्नु हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरका वचन पढेपछि, मैले अन्ततः बुझेँ मैले सधैँ वाङ्ग चेनको मद्दतलाई मानवीय उपकारको रूपमा हेरेको थिएँ। मैले यसलाई परमेश्वरबाट स्वीकार गरेको थिइनँ, उहाँको सार्वभौमिकतालाई चिनेको थिइनँ, वा परमेश्वरको प्रेम कसरी चुकाउने भनेर सोचेको थिइनँ। म साँच्चै नै कति अलमल्लमा परेको थिएँ! मण्डलीमा अराजकता हुँदा, वाङ्ग चेनले मलाई स्थिति शान्त पार्न मद्दत गरे र पछि मेरो लागि उपयुक्त कर्तव्यको प्रबन्ध मिलाए। यो उनले पूरा गर्नुपर्ने कर्तव्य र जिम्मेवारी थियो; यो उपकार थिएन। यसबाहेक, यो सबै परमेश्वरद्वारा योजनाबद्ध र व्यवस्थित गरिएको थियो। मैले यसलाई परमेश्वरबाट स्वीकार गर्नुपर्थ्यो, उहाँलाई धन्यवाद दिनुपर्थ्यो, र परमेश्वरको प्रेम चुकाउनुपर्थ्यो, तर मैले परमेश्वरको मानिसप्रतिको प्रेम र सुरक्षालाई मानवीय उपकार ठानेँ। म कति अन्धो रहेछु। यो महसुस गरेपछि, मलाई गहिरो पछुतो भयो, र मैले पश्चात्ताप गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सत्यता अभ्यास गर्न राजी हुँदै परमेश्वरलाई प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरका वचनहरूमा अभ्यासका सिद्धान्तहरू भेट्टाएँ र साँच्चै असल मानवता भएको व्यक्ति के हो भन्ने कुरा बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “असल मानवत्व हुनको लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरू नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गर्ने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? त्यो, परमेश्वर र सत्यताप्रति समर्पित हुन सक्नु हो। त्यो, आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। त्यो सबैले स्पष्ट देख्ने कुरा हो; सबै नै त्यो कुराबारे हृदयमा स्पष्ट हुन्छन्। त्यसबाहेक, परमेश्वरले मानिसहरूको हृदयभित्र सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवत्व छ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूका हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। अनि हितहरूको विषयमा विवाद हुँदा पनि, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तैपनि, परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, र सधैँ आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्वरको घरको हितबारे सोच्दैनन्, तिनीहरू परमेश्वरले जरुरी ठान्नुभएको कुरालाई कहिल्यै जरुरी ठान्दैनन्, र परमेश्वरले सोच्नु भएजस्तो प्रकारले कहिल्यै सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्ना रुचिहरूलाई कहिल्यै पन्साउन सक्दैनन्। तिनीहरू आफ्ना रुचिहरू कहिल्यै त्याग्दैनन्। दुष्ट मानिसहरूले दुष्ट्याइँ गरिरहेको देख्दा पनि, तिनीहरूले ती दुष्टहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैनन्। यो कस्तो प्रकारको मानवत्व हो? यो राम्रो मानवत्व होइन। यस्ता व्यक्तिहरूले के भन्छन् त्यसमा ध्यान नदे; तिनीहरूले कसरी जिउँछन्, के प्रकट गर्छन्, र कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, साथसाथै तिनीहरूको आन्तरिक अवस्था कस्तो छ र तिनीहरूले कुन कुरालाई प्रेम गर्छन् त्यो तैँले हेर्नुपर्छ। यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्वरप्रतिको बफादारीभन्दा बढी छ भने, यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्वरको घरको हितप्रति भन्दा बढी छ भने, वा यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम तिनीहरूले परमेश्वप्रति देखाएको ख्यालभन्दा बढी छ भने, के त्यस्ता व्यक्तिहरूमा मानवता हुन्छ? तिनीहरू मानवत्व भएका व्यक्ति होइनन्। तिनीहरूको व्यवहारलाई अरूले पनि देख्छन् र परमेश्वरले पनि देख्न सक्नुहुन्छ। त्यस्ता व्यक्तिहरूलाई सत्यता प्राप्त गर्न धेरै कठिन हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। पहिले म सधैँ सोच्थेँ जसले उपकारको बदला चुकाउँछन् र निष्ठालाई महत्त्व दिन्छन्, तिनीहरू असल मानवता भएका मानिसहरू हुन्। परमेश्वरका वचनहरू पढेपछि मात्र मैले महसुस गरेँ कामकुराप्रतिको मेरो दृष्टिकोण एकदम तर्कहीन थियो। साँच्चै असल मानवता भएको व्यक्ति त्यो हो जो परमेश्वरका विचार र चिन्ताहरूमा भाग लिने, एक इमानदार हृदय भएको, सोझो व्यक्ति, सकारात्मक कुराहरूलाई प्रेम गर्ने, इन्साफको बोध भएको, र सत्यताका सिद्धान्तहरूलाई कायम राख्न सक्ने अनि केलाई प्रेम गर्ने र केलाई घृणा गर्ने भनेर बुझ्न सक्ने हुन्छ। मेरो सन्दर्भमा, अरूको नजरमा एक निष्ठावान व्यक्तिको रूपमा आफ्नो राम्रो छवि जोगाउने प्रयासमा, मैले मण्डलीको हितलाई हानि पुऱ्याउन हिचकिचाइनँ। मैले वाङ्ग चेनलाई हटाउन लगाउनु भन्दा उनले मण्डली जीवनमा बाधा पुऱ्याएको र ब्रदर-सिस्टरहरूको कर्तव्यपालनामा अवरोध खडा गरेको हेर्नु उचित मानेँ। मलाई कसरी असल मानवता भएको व्यक्ति भन्न मिल्छ र? म केवल मानवताविहीन, स्वार्थी र नीच व्यक्ति थिएँ। यो महसुस गरेपछि, मैले आफूलाई असल मानवता भएको व्यक्ति ठान्न छोडेँ। त्यसपछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड भेट्टाएँ र अभ्यासका केही मार्गहरू पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरू पढेर, मैले उहाँको अभिप्रायबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्वर मानिसहरू उहाँले प्रेम गर्नुहुने कुरालाई प्रेम गरून् र उहाँले घृणा गर्नुहुने कुरालाई घृणा गरून्, घटनाहरू हुँदा मानिसहरू उहाँको पक्षमा उभियून् र सत्यताका सिद्धान्तहरूलाई कायम राखून् भन्ने अपेक्षा गर्नुहुन्छ। परमेश्वरमा निष्ठापूर्वक विश्वास गर्ने र सत्यता खोज्ने ब्रदर-सिस्टरहरूको कर्तव्यपालनामा, कसैले समस्याहरू देखेमा, त्यो व्यक्तिले उनीहरूसँग सत्यतामा सङ्गति गर्नुपर्छ र प्रेमले समर्थन गर्नुपर्छ र आवश्यक पर्दा उनीहरूलाई काटछाँट गर्ने अभ्यास गर्नुपर्छ। दुष्ट मानिसहरू, अविश्वासीहरू, र ख्रीष्टविरोधीहरूका हकमा भने, उनीहरूलाई खुलासा गर्ने र रिपोर्ट गर्ने, त्याग्ने र अस्वीकार गर्ने अभ्यास गर्नुपर्छ। यस्ता अभ्यासहरू मात्र परमेश्वरको अभिप्राय अनुरूप हुन्छन्। अब वाङ्ग चेन एक अविश्वासी र शैतानी वर्गको व्यक्ति भनेर प्रकट भइसकेकोले, उनलाई मण्डलीमा राख्दा मण्डलीको काममा बाधा मात्र पुग्थ्यो। मैले अब भने भावनाहरूका आधारमा काम गर्नु हुँदैनथ्यो; मैले जतिसक्दो चाँडो उनका अविश्वासी व्यवहारहरू लेखेर उनलाई मण्डलीबाट हटाउनुपर्थ्यो। त्यसपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ: “परमेश्वर, तपाईंले मप्रति यस्तो उपकार देखाउनुभयो र मलाई अगुवा बन्ने मौका दिनुभयो, तैपनि मैले मण्डलीको हितको अलिकति पनि रक्षा गरेको छैन। म तपाईंसामु पश्चात्ताप गर्न, सत्यता अभ्यास गर्न र मण्डलीको कामको रक्षा गर्न तयार छु।” प्रार्थना गरेपछि, मैले वाङ्ग चेनका व्यवहारहरू लेखेँ। अनुसन्धानपछि, माथिल्लो तहका अगुवाहरूले वाङ्ग चेन साँच्चै नै एक अविश्वासी भएको पत्ता लगाए र उनलाई मण्डलीबाट हटाए। यो परिणाम देखेर, मेरो हृदय शान्त र खुशी थियो, किनकि म अन्ततः सत्यता अभ्यास गर्न र परमेश्वरको अभिप्रायलाई विचार गर्न सक्षम भएको थिएँ।
पछि, जब माथिल्लो तहका अगुवाहरूले हाम्रा कामको कमजोर नतिजाका कारणहरूको विश्लेषण गरे, मैले फेरि आफूले मण्डलीका कामको रक्षा नगरेका ती सबै पलहरू सम्झिएँ। एक मण्डली अगुवाको रूपमा, भावनाहरूका आधारमा काम गरेर र एक अविश्वासीलाई मण्डलीमा रहन दिएर, मण्डली जीवनमा बाधा पुऱ्याउनु, परमेश्वरका सामु एक अपराध र दाग थियो। एक मण्डली अगुवाको रूपमा, मैले आफ्नै कर्तव्य र जिम्मेवारीसमेत पूरा गर्न सकेको थिइनँ। यो सोचेर, मलाई दोषी महसुस भयो र आफैलाई दोष दिएँ, सोचेँ म मण्डली अगुवा हुन अयोग्य छु, त्यसैले मैले माथिल्लो तहका अगुवाहरूलाई आफूले राजीनामा दिन लागेको बताएँ। यो सुनेपछि, माथिल्लो तहका अगुवाले मसँग सङ्गति गरे, भने, “परमेश्वरले मानिसहरूभित्र उहाँको प्रतिरोध गर्ने शैतानी स्वभावलाई शुद्ध पार्न सकियोस्, उनीहरूले साँचो पश्चात्ताप गर्न सकून् भनेर उनीहरूको न्याय र खुलासा गर्नुहुन्छ। यो परमेश्वरको गम्भीर अभिप्राय हो; उहाँलाई गलत नबुझ्नुहोस्।” म परमेश्वरप्रति साँच्चै आभारी भएँ। जब म हठी र विद्रोही थिएँ, परमेश्वरले मलाई आत्मचिन्तन गर्न सकूँ भनेर बिमारीद्वारा अनुशासन दिनुभएको थियो, र अब, जब मैले पश्चात्ताप गर्ने केही इच्छा देखाएँ, परमेश्वरले मप्रति कृपा देखाउनुभयो, मलाई आफ्नो कर्तव्य जारी राख्ने मौका दिनुभयो। यसबाट म गहिरो रूपमा प्रभावित भएँ।
यो अनुभवबाट, मैले कामकुराहरूप्रतिका मेरा कतिपय दृष्टिकोणहरू सत्यता अनुरूप छैनन्, र मलाई परमेश्वरको न्याय र शुद्धीकरणको अत्यन्तै आवश्यकता छ भन्ने देखेको छु। मेरा भविष्यका अनुभवहरूमा, म अझ धेरै सत्यता अभ्यास गर्न, परमेश्वरप्रति समर्पित व्यक्ति बन्ने प्रयास गर्न, र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न चाहन्छु।