७२. झूटो अगुवाबारे रिपोर्ट गर्दाको सिकाइ
जुन २०२१ मा, हाम्रो मण्डलीका दुई जना अगुवाहरू वास्तविक काम नगरेका कारण बर्खास्त भए। जब म उनीहरूको व्यवहारको चिरफार गर्दै सङ्गति गरिरहेकी थिएँ, एउटा सिस्टरले प्रश्न उठाइन्, “यी दुई झूटा अगुवाहरू बर्खास्त हुनुअघि नै हामीलाई उनीहरूको समस्याबारे अलिअलि थाहा थियो। अनि, हालसालै, मण्डलीले झूटा अगुवाहरूलाई छुट्याउने सत्यताबारे सङ्गति गरिरहेको थियो, त्यसैले सबैले उनीहरूको व्यवहारबारे केही बुझे। त्यसो भए किन कसैले पनि यी दुई अगुवालाई बर्खास्त गर्नुअघि उनीहरूका समस्याबारे रिपोर्ट गरेनन्?” उनका कुराले मलाई गहिरो रूपमा छोयो। मैले आत्मचिन्तन गरेँ। झूटा अगुवाहरू खुट्याउने धेरै सत्यता सिद्धान्तहरू सुनेर पनि, मैले वास्तविक जीवनमा आफ्ना वरपरका झूटा अगुवाहरूलाई सचेत भएर खुट्याएकी थिइनँ। कहिलेकाहीँ, मैले अगुवाहरूमा केही समस्या देखेर पनि उपेक्षापूर्ण मनोवृत्ति अपनाएँ। मैले यस्तो मनोवृत्ति परमेश्वरको अभिप्रायसँग मेल खाँदैन भन्ने बुझेँ, त्यसैले म परिवर्तन हुन चाहेँ। म वरपरका मानिस, घटना, र कामकुराहरू खुट्याउन, परमेश्वरका मागअनुसार अगुवाहरूको कामको निरीक्षण गर्न, र अगुवाहरूले सिद्धान्तविपरीत काम गरिरहेको देख्दा तिनीहरूलाई मार्गदर्शन र सहायता दिन सचेत हुनुपर्थ्यो। यदि मैले झूटा अगुवा वा ख्रीष्टविरोधी पहिचान गरेँ भने, मण्डलीको हित जोगाउन यसबारे माथिल्लो अगुवाहरूलाई रिपोर्ट गर्नुपर्थ्यो।
पछि, म अर्को मण्डलीकी अगुवा, सिस्टर वेन्डीसँग बसेँ। सुरुमा त मलाई उनी मिजासिली, अगुवाको जस्तो दम्भ नभएकी, र सजिलै घुलमिल हुने जस्तो लाग्यो। तर केही समयपछि, मैले उनको मानवता राम्रो नभएको देखेँ। उनी खानपानमा धेरै ध्यान दिने देखिन्थिन् र एकदमै अल्छी थिइन्। कुनै कुरा फोहोर देख्दा, उनले आफैँ सफा गर्ने पहल गर्दिनथिन्, केवल फोहोर भयो मात्र भन्थिन्। कहिलेकाहीँ, उनी आफैँले सजिलै गर्न सक्ने काम अरूलाई गर्न लगाउँथिन्। उनका वरपरका सिस्टरहरू उनको व्यवहारबाट अलि असन्तुष्ट थिए। सुरुमा, मैले वेन्डीमा केवल मानवताको समस्या हो, सिद्धान्तको समस्या होइन भन्ने सोचेँ, त्यसैले मैले यसलाई हृदयमा लिइनँ। पछि, मैले के देखेँ भने उनी प्रायः आफ्नै कोठामा अनलाइन सङ्गतिहरूमा सहभागी हुन्थिन्, कहिलेकाहीँ भोजन टेबलमै ल्यापटप ल्याएर खाना खाँदै सङ्गति गर्थिन्, अनि कहिलेकाहीँ त, अबेर रातिसम्म सङ्गति गरिरहन्थिन्, तर ब्रदर-सिस्टरहरूले उनीहरूका कर्तव्यमा आउने समस्या र कठिनाइहरू उनले खासै समाधान नगरेको बताउँथे। सुरुमा, मलाई उनी एक मण्डली अगुवा भएकीले, कामका विभिन्न पक्षमा ध्यान दिनुपर्छ र त्यो सहज छैन भन्ने लाग्यो। मैले उनको काममा केही कमजोरी देखिनुलाई ठूलो कुरा मानिनँ। त्यसैले, मैले ती कुराहरूमा ध्यान दिइनँ। तर पछि, मलाई केही गडबड छ भन्ने महसुस भयो। मण्डली अगुवाको रूपमा, उनको मुख्य कर्तव्य सत्यताको सङ्गति गर्नु र ब्रदर-सिस्टरहरूको समस्या तथा कठिनाइ समाधान गर्नु थियो। उनी प्रायः ब्रदर-सिस्टरहरूसँग अनलाइन भेला गर्थिन्, निकै व्यस्त देखिन्थिन्, तर उनले वास्तविक समस्याहरू समाधान गर्दिनथिन्। के यो वास्तविक काम नगरी केवल खोक्रा धर्मसिद्धान्त प्रचार गर्नु थिएन र? मैले परमेश्वरको सङ्गतिले खुलासा गरेको कुरा सम्झेँ, जसमा कतिपय झूटा अगुवाहरू दिनभरि अनलाइन भेलाहरूमा व्यस्त देखिन्छन्, तर केवल शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, सतही काम गर्छन् भनिएको थियो। काममा सत्यता सिद्धान्तसँग जोडिएका वास्तविक समस्याहरूको हकमा, उनीहरू ती समस्या स्पष्ट रूपमा पत्ता लगाउन वा तिनमा सङ्गति गर्न सक्दैनन्, जसले गर्दा धेरै काममा ढिलाइ हुन्छ। मैले सोचेँ वेन्डी पनि परमेश्वरले खुलासा गरेजस्तै झूटा अगुवा पो होलिन् कि? पछि मैले एक सिस्टरले वेन्डीले सत्यता वास्तविकतामा सङ्गति गर्न वा भेलामा वास्तविक समस्याहरू समाधान गर्न सक्दिनन् भनेकी सुनेँ। एकपटक, ती सिस्टरको स्थिति निकै नकारात्मक भयो र यसले उनका कर्तव्यलाई असर पार्यो। यो थाहा पाएपछि, वेन्डीले सङ्गति नगरी केवल परमेश्वरका वचनका केही खण्डहरू पठाइन्। अन्य कतिपय सिस्टरहरूले पनि मिलेर सहकार्य गरिरहेका थिएनन् र यो कुरा वेन्डीलाई रिपोर्ट गरिएको थियो, तर उनले यी समस्याहरू समाधान गर्न उनीहरूसँग सङ्गति गरिनन्। पछि, मैले वेन्डीमा कामहरू मिलाउने कुरामा विचार र सिद्धान्तहरूको कमी रहेको पाएँ। त्यहाँ एक सिस्टर थिइन् जसको कर्तव्य भिडियो निर्माण गर्नु थियो। वेन्डीले ती सिस्टर पनि नयाँ विश्वासीहरूलाई मलजल गर्नका लागि उपयुक्त छिन् भनेर सोचिन्। सिस्टरको कर्तव्यको अवस्था पहिले नै जाँच नगरी वा सुपरभाइजरसँग यो उपयुक्त छ कि छैन भनेर छलफल नगरी, वेन्डीले सिधै उनलाई नयाँ विश्वासीहरूलाई पार्टटाइम मलजल गर्नका लागि नियुक्त गरिन्। सबैलाई वेन्डीले परिस्थितिलाई धेरै सामान्य रूपमा लिएको जस्तो लाग्यो, किनकि मलजल गर्ने कर्तव्यमा नयाँ विश्वासीहरूको स्थिति र कठिनाइहरूलाई समयमै बुझेर समाधान गर्नुपर्ने हुन्छ। यो कर्तव्य राम्रोसँग निर्वाह गर्नका लागि धेरै समय र ऊर्जा चाहिन्छ। ती सिस्टर भिडियो निर्माणमा दक्ष थिइन्, र यदि राम्ररी समन्वय नगरिएमा, उनलाई नयाँ विश्वासीहरूलाई मलजल गर्न नियुक्त गर्दा उनको मुख्य कर्तव्यमा ढिलाइ हुने थियो। तर पनि वेन्डीले उनलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा लगाइन्। वेन्डीको कामको व्यवस्था देखेर, म अलि अचम्मित भएँ र सोचेँ, “उनी कामकुरा मिलाउनमा निकै लापरवाह छिन्, उनमा सञ्चार र खोजीको कमी छ। अनि, उनले मण्डलीका महत्त्वपूर्ण मामिलाहरू कसरी सम्हाल्नेछिन् होला? के उनमा अगुवा बन्ने क्षमता र कार्य दक्षता छ? के उनी साँच्चै नै वास्तविक काम गर्न सक्छिन्?” मैले मनमनै सोधिरहेकी थिएँ र वेन्डीका केही समस्या छ भनी अस्पष्ट रूपमा महसुस गरेँ। मैले माथिल्ला अगुवाहरूलाई उनको वास्तविक कार्यसम्पादन अनुसन्धान गरी बुझ्नका लागि रिपोर्ट गर्ने विचार गरेँ। तर त्यसपछि सोचेँ, “यदि मेरो रिपोर्टहरू सही छन् र वेन्डी साँच्चिकै झूटो अगुवा हुन् भने, यो मण्डलीको कामको रक्षा गर्ने न्यायिक कार्य हुनेछ। तर यदि मेरो विचार अस्पष्ट छ, अनि उनका समस्याहरू गम्भीर छैनन् र उनी केही वास्तविक काम गर्न सक्छिन् भने, के ब्रदर-सिस्टरहरूले मलाई सत्यताको बुझाइ नभएकी, अन्धाधुन्ध रिपोर्ट गर्ने र अनावश्यक हस्तक्षेप गर्ने भनेर भन्नेछन्? यदि यसले बाधा-अवरोध निम्त्यायो भने, के उनीहरूले ममा खराब मानवता छ र म एउटा अगुवालाई ठीकसँग व्यवहार गर्न सक्दिनँ, र त्यसै आलोचना गर्छु भन्नेछन्? के त्यसपछि उच्च अगुवाहरूले मलाई बर्खास्त गर्नेछन्? यदि वेन्डीले मैले उनका समस्याहरू रिपोर्ट गरेको थाहा पाइन् भने, के उनले मप्रति वैरभाव राखेर मेरा समस्या खोज्नमा लाग्नेछिन्? वेन्डी र म सँगै बस्छौँ र हरेक दिन एकअर्कालाई देख्छौँ। त्यो कति असजिलो हुनेछ!” यी सबै कुराबारे सोचेर, म हिचकिचाएँ र आफैँलाई सान्त्वना दिएँ, “मैले देखेका कुराहरू गम्भीर समस्या होइनन्, मानवतालाई जिउँदा र कार्य दक्षतामा देखिएका साना त्रुटिहरू मात्र हुन्। उनलाई हरेक दिन अनलाइन सङ्गतिमा सहभागी भएको देख्दा, उनमा भारको केही बोध रहेको जस्तो देखिन्छ। भइगो, म उनको रिपोर्ट गर्दिनँ। यदि उनी साँच्चिकै वास्तविक काम गर्दिनन् भने, उनका मण्डलीका ब्रदर-सिस्टरहरूले यसबारे रिपोर्ट गर्नेछन्। अगुवा र कामदारहरूले उनको कामको अनुगमन र निरीक्षण गर्नेछन्, त्यसैले तिनीहरूले उनका समस्याहरू बुझ्नुपर्छ। मैले धेरै चिन्ता र हस्तक्षेप गर्न बन्द गर्नुपर्छ।” धेरै सोचेपछि मैले उनका समस्याहरू रिपोर्ट नगर्ने निर्णय गरेँ। तर जब मैले यो कुरालाई छोड्ने निर्णय गरेँ, मेरो हृदयमा बेचैनी र अन्तरात्मामा छटपटी भयो। मैले उनले वास्तविक काम नगरेको केही प्रकटीकरणहरू स्पष्ट देखेकी थिएँ, र यो समस्या हो भनेर पहिचान गरेकी थिएँ, तर म यसबाट पर रहन र छलिन खोजिरहेँ। यो गैरजिम्मेवार हुनु हो! यदि उनी साँच्चिकै वास्तविक काम नगर्ने झूटो अगुवा थिइन् भने, यसले सिधै ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा असर पुर्याउने र मण्डलीको काममा ढिलाइ ल्याउने थियो। मैले आत्मचिन्तन गरेँ: वेन्डीका समस्याहरू रिपोर्ट गर्न म किन अनिच्छुक भएँ? म के कुराले चिन्तित थिएँ? मलाई कुन भ्रष्ट स्वभावले रोकिरहेको थियो?
पछि, मैले यी परमेश्वरका वचनहरू पढेँ: “मानिसको संसारसँग व्यवहार गर्ने दर्शनको सबैभन्दा प्रमुख पक्ष भनेको धूर्तता हो। मानिसहरूलाई के लाग्छ भने यदि तिनीहरू धूर्त बनेनन् भने, तिनीहरूले अरूलाई रिस उठाउने सम्भावना हुन्छ र तिनीहरूले आफूलाई रक्षा गर्न सक्दैनन्; तिनीहरू अरू कसैलाई चोट पुर्याउने वा चिढ्याउने कार्य नगर्ने हदसम्मको धूर्त हुनुपर्छ, यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्न, आफ्नो रोजी-रोटीलाई सुरक्षा गर्न, र अरू मानिसहरूमाझ दह्रिलो आधार बनाउन सक्छन् भन्ने तिनीहरूलाई लाग्छ। गैरविश्वासीहरू सबै नै शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू सबै अरूलाई रिझाउने र कसैलाई नचिढ्याउने हुन्छन्। तँ परमेश्वरको घरमा आएको छस्, तैँले परमेश्वरको वचन पढेको, र परमेश्वरको घरका प्रवचनहरू सुनेको छस्, तैपनि किन तँ सत्यताको अभ्यास गर्न, हृदयबाट बोल्न, र इमान्दार व्यक्ति बन्न सक्दैनस्? किन तँ सधैँ अरूलाई रिझाउने व्यक्ति भएको छस्? सधैँ अरूलाई रिझाउने व्यक्तिहरूले आफ्नै हित रक्षा गर्छन्, मण्डलीका हित रक्षा गर्दैनन्। कसैले दुष्कर्म गरिरहेको र मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। तिनीहरू सधैँ अरूलाई रिझाउने व्यक्ति बन्न चाहन्छन्, र कसैलाई चिढ्याउन चाहँदैनन्। यो गैरजिम्मेवार कार्य हो, र त्यस्तो व्यक्ति अत्यन्तै छली र विश्वासघाती हुन्छ। कतिपय मानिसहरू आफ्नै अभिमान र गौरवको रक्षा गर्न, र आफ्नो ख्याति र हैसियत कायम राख्न जति नै मूल्य परे पनि खुसीसाथ अरूलाई सहयोग गर्छन् र आफ्ना मित्रहरूका लागि त्याग गर्छन्। तर जब तिनीहरूले परमेश्वरको घरका हित, सत्यता, र न्यायको रक्षा गर्नुपर्ने हुन्छ, तब तिनीहरूका त्यस्ता असल अभिप्रायहरू हराउँछन्, ती पूर्ण रूपमा हराएका हुन्छन्। सत्यता अभ्यास गर्नुपर्ने बेला तिनीहरूले बिलकुलै अभ्यास गर्दैनन्। के भइरहेको छ? तिनीहरूले आफ्नो मर्यादा र गौरवको रक्षा गर्न, कुनै पनि मूल्य चुकाउनेछन् र जुनसुकै कष्ट सहनेछन्। तर जब तिनीहरूले वास्तविक काम गर्नुपर्ने र व्यावहारिक मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ, अनि मण्डलीको काम र सकारात्मक कुराहरूको रक्षा गर्नुपर्छ, अनि परमेश्वरका चुनिएका मानिसहरूको रक्षा र भरणपोषण गर्नुपर्छ, तब किन तिनीहरूसँग मूल्य चुकाउने र कुनै कष्ट सहने सामर्थ्य हुँदैन? यो अकल्पनीय कुरा हो। वास्तवमा, तिनीहरूमा सत्यतादेखि वितृष्ण हुने एक प्रकारको स्वभाव हुन्छ। म किन तिनीहरूको स्वभाव सत्यतादेखि वितृष्ण हुने किसिमको छ भन्छु? किनभने, जब कुनै कुरामा परमेश्वरको गवाही दिने, सत्यता अभ्यास गर्ने, परमेश्वरका चुनिएका मानिसहरूको रक्षा गर्ने, शैतानका षड्यन्त्रहरूविरुद्ध लडाइ गर्ने, वा मण्डलीको कामको रक्षा गर्ने कार्य समावेश हुन्छ, तब तिनीहरू भाग्छन् र लुक्छन्, र उचित उचित मामिलाहरूलाई ध्यान दिँदैनन्। तिनीहरूको कष्ट सहने बहादुरी र भावना खै त? तिनीहरूले यी कुराहरू कहाँ लागू गर्छन्? यो सजिलै देख्न सकिन्छ। कसैले तिनीहरूलाई स्वार्थी र नीच हुनु हुँदैन, आफ्नै बचाउ गर्नु हुँदैन र तिनीहरूले परमेश्वरको घरको कामको सुरक्षा गर्नुपर्छ भनी हप्काए पनि, तिनीहरू मतलबै गर्दैनन्। तिनीहरू मनमनै यसो भन्छन्, ‘म ती कामहरू गर्दिनँ, र तिनको मसँग कुनै सरोकार छैन। मेरो ख्याति, लाभ र हैसियतको खोजीमा त्यस्तो व्यवहारले मलाई के नै राम्रो गर्ला र?’ तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्। तिनीहरू ख्याति, लाभ र हैसियत खोज्न मात्र मन पराउँछन्, र तिनीहरू परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको काम बिलकुलै गर्दैनन्। त्यसैले, जब तिनीहरूले मण्डलीको काम गर्नुपर्ने हुन्छ, तिनीहरू खुरुक्क भाग्ने विकल्प रोज्छन्। यसको मतलब के हो भने, तिनीहरू हृदयदेखि नै सकारात्मक कुराहरू मन पराउँदैनन्, र सत्यताप्रति कुनै रुचि राख्दैनन्। यो सत्यतादेखि वितृष्ण हुने कुराको प्रस्ट प्रकटीकरण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र इच्छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्याइरहेका, र परमेश्वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र नीच स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्वरको घरका हितहरूमा हानि पुग्नुसँग मेरो के सम्बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्बन्ध छैन। यो मेरो जिम्मेवारी होइन।’ त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मेरो भ्रष्ट स्वभावको खुलासा गरिदिए। म साँच्चिकै स्वार्थी र कपटी थिएँ। मैले वेन्डीले धेरै मामिलामा वास्तविक समस्याहरू समाधान नगरेको वा वास्तविक काम नगरेको, र उनका कार्यहरूले मण्डलीको हितलाई पहिल्यै हानि पुर्याइरहेको देखेँ। तैपनि, यदि मैले उनको गलत रिपोर्ट गरेँ भने, ब्रदर-सिस्टरहरूले मेराबारे खराब धारणा बनाउनेछन्, अनि म बर्खास्त हुन सक्छु भनेर चिन्तित भएँ, साथै, वेन्डीलाई ठेस पुर्याएर हाम्रो सम्बन्ध बिग्रने र भविष्यमा एकआपसमा मिल्न गाह्रो हुने कुराले म अझ डराएँ। त्यसैले, मैले उनको रिपोर्ट गर्न चाहिनँ। आफूलाई र आफ्ना स्वार्थलाई जोगाउन, म आफूले देखेका समस्याहरूबारे मौन रहेँ। मैले बिल्कुलै सत्यताको अभ्यास वा मण्डलीको कामको रक्षा गरिनँ, जुन परमेश्वरका लागि साँच्चिकै घृणास्पद र अप्रिय हो। वेन्डीले जसरी आफ्ना कार्यहरूमा सिद्धान्तहरूको अभाव देखाएको र आफ्ना कामका प्राथमिकता छुट्याउन नसकेको, र वास्तविक काम नगरेको बारे सोच्दा, म पूर्ण रूपमा उनी झूटो अगुवा हुन् भनी निश्चय हुन नसके तापनि, मैले उनका समस्याहरूले ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र मण्डलीको काममा पहिले नै असर पारेको देख्न सक्थेँ। मैले यी मुद्दाहरू माथिल्लो तहका अगुवाहरूलाई सकेसम्म चाँडो रिपोर्ट पर्थ्यो, उनीहरूलाई परिस्थिति बुझेर अनुसन्धान र पुष्टि गर्न दिनुपर्थ्यो। यदि उनी झूटो अगुवा हुन् भनेर पुष्टि भए, उनलाई सिद्धान्तअनुसार बर्खास्त गर्नुपर्थ्यो। यदि उनका काममा केही विचलनहरू मात्र थिए भने, अगुवाहरूले ती मुद्दाहरूमा सङ्गति गरेर उनलाई मद्दत गर्न सक्थे। अन्यथा, यदि उनले यसरी नै काम गरिरहन्थिन् भने, मण्डलीको काममा ढिलाइ हुने थियो र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा असर पर्ने थियो। तर पहिले, मैले वेन्डीका समस्याहरू प्रत्यक्ष रूपमा मसँग सम्बन्धित छैनन् भनी सोच्थेँ, र यदि मैले ती समस्याहरूलाई गलत तरिकाले रिपोर्ट गरेमा मेरो आफ्नो अभिमान र भविष्यलाई हानि पुग्न सक्थ्यो। मैले उनका समस्याहरू बुझ्न नसकेकाले, उनलाई माथिल्ला अगुवाहरूलाई रिपोर्ट नगर्न, “मैले ती समस्यालाई स्पष्ट बुझेकी छैन, र गलत रिपोर्ट गरुँला भन्ने डर लाग्छ” भन्ने बहाना मैले प्रयोग गरेँ। मैले यदि उनी साँच्चै वास्तविक काम नगर्ने झूटी अगुवा हुन् भने, अन्य ब्रदर-सिस्टरहरूले उनलाई रिपोर्ट गर्नेछन् भन्ने समेत बहाना बनाएँ। म “अपमानजनक विषय” अरूमाथि थोपर्न र कायर जस्तै लुक्न चाहन्थेँ। वेन्डीसँगको मेरो सम्बन्ध कायम राख्न र मेरो आफ्नै अभिमान, सम्भावना र भाग्यको रक्षा गर्न, मैले बिलकुलै मण्डलीको हितलाई विचार गरिनँ, न मण्डलीको कामलाई रक्षा गरेँ। म अत्यन्तै स्वार्थी र कपटी थिएँ, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्पिस हुन्छन्,” र “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन,” जस्ता शैतानका दर्शनहरू अनुसरण गर्थेँ। यी कुराले मेरो हृदयमा गहिरो जरा गाडेका थिए, मेरा विचारहरूमा प्रभुत्व जमाइरहेका थिए, जसले गर्दा मलाई सधैँ मैले भनेका-गरेका कुरामा व्यक्तिगत फाइदाहरू सोच्ने, अनि अत्यधिक सतर्क र अनिर्णायक हुने बनायो। अगुवामा समस्याहरू देख्दा पनि, म उनको रिपोर्ट गर्न इच्छुक भइनँ, मण्डलीको हितलाई हानि भइरहँदा पनि कुराहरू हेरी मात्र रहेँ। मैले देखेँ शैतानी स्वभाव र दर्शनहरू अनुसार जिउनुले मलाई साँच्चै निकृष्ट र घृणित बनाएको थियो, र ममा पूर्णतया निष्ठा वा मानव रूपको अभाव थियो। यदि मैले यसरी नै जारी राखेँ र पश्चात्ताप गरिनँ भने, म परमेश्वरद्वारा केवल तिरस्कृत हुने र हटाइने थिएँ। यी विचारहरूले मलाई तर्साए, र म शैतानी स्वभावको बन्धनबाट चाँडै मुक्त हुनुपर्छ र अब यसको नियन्त्रणमा रहनु हुँदैन भनेर मैले बुझेँ।
आत्मचिन्तन गर्दा, मैले मेरो दृष्टिकोण गलत थियो भनेर पनि बुझेँ। म कामकुरालाई सही वा बृहत् रूपमा देख्न नसकूँली, र यदि मैले केही कुराको गलत रिपोर्ट गरेँ भने, यसले अवरोध र बाधा निम्त्याउनेछ भनी चिन्तित थिएँ। यस कारणले, मैले वेन्डीको समस्याहरू रिपोर्ट गर्ने आँट गरिनँ। पछि, मैले मेरो हृदयलाई शान्त पारेर सोचेँ, “के यो दृष्टिकोण सही छ? के यो सत्यता सिद्धान्तहरूसँग मेल खान्छ?” मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “के परमेश्वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू प्रवर्द्धन र संवर्धन गरिने अवधिमा वा प्रवर्द्धन र संवर्धनको अगावै राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम हुन्छन् त? अवश्य नै हुँदैनन्। यसैले, संवर्धनको दौरान, यी मानिसहरूले काँटछाँट, न्याय र सजाय, खुलासा र बर्खास्ती समेत भोग्नु अपरिहार्य हुन्छ; यो सामान्य कुरा हो, यो तालिम र संवर्धन हो। मानिसहरूले प्रोत्साहन र संवर्धन गरिएकाहरूबाट कुनै उच्च आशाहरू राख्नु वा उनीहरूमा अवास्तविक मागहरू थोपर्नु हुँदैन; त्यसो गर्नु अनुचित हुनेछ, र तिनीहरूलाई अन्याय हुनेछ। तिमीहरूले तिनीहरूको काम सुपरिवेक्षण गर्न सक्छौ। यदि तिमीहरूले तिनीहरूको कामको दौरान समस्याहरू वा सिद्धान्त उल्लङ्घन गर्ने कुराहरू पत्ता लगायौ भने, तिमीहरूले यी समस्याहरूबारे कुरा उठाउन सक्छौ र यी मामलाहरूलाई सुल्झाउन सत्यता खोजी गर्न सक्छौ। तिमीहरूले तिनीहरूलाई आलोचना, निन्दा, आक्रमण वा बहिष्कारचाहिँ गर्नु हुँदैन, किनकि तिनीहरू केवल संवर्धनका क्रममा हुन्छन्, र तिनीहरूलाई सिद्ध पारिएका मानिसका रूपमा हेरिनु हुँदैन, र निर्दोष वा सत्यता वास्तविकता भएका मानिसका रूपमा त झनै हेरिनु हुँदैन। … त्यसोभए, तिनीहरूसित व्यवहार गर्ने सबैभन्दा मनासिब तरिका के हो? तिनीहरूलाई साधारण मानिसका रूपमा लिनु र कुनै समस्याको सम्बन्धमा कोही व्यक्तिकहाँ जान आवश्यक परेमा तिनीहरूसँग सङ्गति गर्नु र एकअर्काको सबल पक्षबाट सिक्नु र एकअर्काको परिपूरक बन्नु। यसबाहेक, अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, तिनीहरूले समस्या सुल्झाउनहेतु सत्यता प्रयोग गर्न सक्छन् कि सक्दैनन् भनी सुपरिवेक्षण गर्नु सबैको जिम्मेवारी हो; कुनै अगुवा वा कामदार मानकअनुरूप छ कि छैन भनेर मापन गर्ने मानक र सिद्धान्तहरू यिनै हुन्। यदि कुनै अगुवा वा कामदारले साधारण समस्याहरू सम्हाल्न र समाधान गर्न सक्छ भने, ऊ सक्षम छ। तर यदि उसले साधारण समस्याहरू समेत सम्हाल्न र समाधान गर्न सक्दैन भने, ऊ अगुवा वा कामदार हुन लायक छैन, र उसलाई पदबाट तुरुन्तै हटाइनुपर्छ। अरू कसैलाई नै छनोट गर्नुपर्छ, र परमेश्वरको घरका काममा ढिलाइ गर्नु हुँदैन। परमेश्वरको घरका काममा ढिलाइ गर्नु भनेको आफैलाई र अरूलाई चोट पुर्याउनु हो, यो कसैका लागि राम्रो हुँदैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरको वचनबाट, मैले अगुवा र कामदारहरूसँग व्यवहार गर्ने सिद्धान्तहरू बुझेँ। अगुवा र कामदारहरू अझै प्रशिक्षण अवधिमा छन्; उनीहरूले अझै मुक्ति वा सिद्धता प्राप्त गरिसकेका छैनन् र उनीहरू भ्रष्ट मानिसहरू पनि हुन्। हामीले उनीहरूलाई सही रूपमा व्यवहार गर्नुपर्छ: यदि कुनै अगुवाले केवल भ्रष्टता प्रकट गर्छन् वा अभ्यासको छोटो अवधिका कारण केही काममा विचलन देखाउँछन्, अनि गम्भीर समस्या होइनन्, भने, उनीहरूलाई प्रेमपूर्वक मद्दत वा काटछाँट गर्नुपर्छ। तर, यदि कुनै अगुवा वा कामदारको क्षमता कमजोर छ, काम गर्ने दक्षता छैन, र वास्तविक काम गर्न सक्दैनन्, वा उनको मानवता नै समस्याग्रस्त छ, गलत मार्ग पछ्याइरहेको छ, र वास्तविक काम गर्दैन भने, त्यस्ता अगुवालाई निरन्तर प्रयोग गर्दा ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र मण्डलीको कामलाई ढिला गराउनेछ। यस्ता झूटा अगुवाहरू पत्ता लागेपछि, हामीले तिनीहरूको खुलासा गरेर रिपोर्ट गर्नुपर्छ। यदि हामीले कुनै कुरा स्पष्ट देख्न सक्दैनौँ भने, हामी यत्तिकै पछि बसेर त्यसलाई बेवास्ता गर्न सक्छौँ वा हामीले सत्यता अभ्यास गर्नुपर्दैन भनेर परमेश्वरले कहिल्यै भन्नुभएको छैन। बरु, स्पष्ट बुझ्न नसकिने कठिनाइ र समस्याहरूका सम्बन्धमा, हामीले सत्यता बुझ्नेहरूसँग सङ्गति गर्नुपर्छ, सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ, वा यी कुराहरू माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्नुपर्छ। हामीले केही कुरा गलत रिपोर्ट गरे पनि, त्यसले केही फरक पार्दैन; मुख्य कुरा समस्या समाधान हुनु हो। यदि हामी कुनै कुरा स्पष्ट देख्न नसकेर वा गलत रिपोर्ट गर्ने डरले चुपचाप केही नगरी बस्छौँ, अनि परिस्थिति क्रमशः बिग्रिँदै जान्छ, अनि मण्डलीको हितलाई हानि पुर्याउँछ र मण्डलीको काम ढिला गराउँछ भने, तब केही भन्नका लागि ढिलो भइसक्छ र क्षति अपूरणीय हुन्छ। पहिले, म अवरोध र बाधा के हो भन्ने कुरामा स्पष्ट थिइनँ, तर पछि, खोजी र सङ्गति मार्फत, मैले अझ बढी बुझेँ। कसैको कार्य अवरोध र बाधामा पर्छ कि पर्दैन भन्ने कुरा मुख्य रूपमा उसको अभिप्राय ठीक छ कि छैन र उसले रिपोर्ट गरेका समस्याहरू साँचो हुन् कि होइनन् अनि तिनमा मण्डलीको हित वा सिद्धान्त संलग्न छन् कि छैनन् भन्ने कुरामा निर्भर गर्दछ। यदि उसका अभिप्राय सही छन्, रिपोर्ट गरिएका कुरा साँचो छन्, र मण्डलीका हित जोगाउनका लागि हुन् भने, त्यसबेला उसले अगुवा झूटा छन् कि छैनन् भनेर स्पष्ट रूपमा नदेखे पनि, देखेका समस्याहरूलाई तथ्यका आधारमा रिपोर्ट गर्नु मण्डलीको कामको रक्षा गर्नु हो, र यो अवरोध र बाधा होइन। तर, यदि उसका अभिप्राय गलत छन् र उसमा सत्ताको लागि प्रतिस्पर्धा गर्ने, अगुवालाई हटाएर त्यो स्थान लिन अगुवाको काममा भएका विचलनलाई बढाइचढाइ गर्ने, वा अगुवाद्वारा काटछाँट भएको रिस पालिरहने, व्यक्तिगत इवी पोख्न अगुवाका गल्तीहरू खोजी र तथ्यहरू तोडमोड गरी अगुवालाई आक्रमण र आलोचना गर्ने, वा आफ्नै अहङ्कारी स्वभावअनुसार अगुवाको कुरा काट्ने, अगुवाको कर्तव्यहरूमा देखिएका भ्रष्टता, विचलन, समस्या, कमी, वा कमजोरीहरूको फाइदा उठाउने, र जतिखेर पनि आपत्ति जनाउने र गलचेप खोजी समातेर बसिरहने जस्ता गुप्त स्वार्थहरू छन् भने, यसले बाधा र अवरोधलाई जनाउँछ। यो कुरा बुझेर, मैले समस्याहरूको सामान्य खोजी र रिपोर्ट अनि अवरोध र बाधा बीचको भिन्नताबारे राम्रो बुझाइ प्राप्त गरेँ।
सिद्धान्तहरू बुझेपछि, मैले वेन्डीको मुद्दाहरूबारे फेरि सोचेँ, र उनी कमजोर मानवताअनुसार जिउनु कुनै ठूलो समस्या होइन र यसलाई उपयुक्त समयमा सही मार्गदर्शन र मद्दतद्वारा समाधान गर्न सकिन्छ भनेर मैले महसुस गरेँ। तर, उनले हतारमा र सिद्धान्तहीन तरिकाले गरेका प्रबन्धले ब्रदर-सिस्टरहरूको कर्तव्य र मण्डलीको काममा बाधा पुर्याएको थियो। उनी आफ्ना मुख्य जिम्मेवारीहरूप्रति पनि बेवास्ता गर्थिन्, उनमा भारको वास्तविक बोधको कमी थियो, र आफूले जिम्मेवारी लिएको काममा नतिजा प्राप्त गर्न असफल भइन्, साथै ब्रदर-सिटरहरूको स्थिति र समस्याहरू समाधान गरिनन्। यी मामिलाहरू उनले वास्तविक काम गर्न सक्छिन्-सक्दिनन् र गरेकी छिन्-छैनन् भन्ने कुरासँग सम्बन्धित थिए। मैले यी कुराहरू स्पष्ट देख्न र उनलाई झूटा अगुवा भनेर भन्न नसके तापनि, म रिपोर्ट बनाउन र मार्गदर्शन लिन सक्थेँ। मेरो अभिप्राय उनको जीवन कठिन बनाउनु वा उनको विरुद्धमा गलचेप पाउनु नभएकाले, यसरी अभ्यास गर्नु उपयुक्त थियो। यो मामिलामा झारा टार्न मैले “यदि मैले कुनै कुरा स्पष्ट नदेखेर गलत रिपोर्ट गरेमा बाधा र अवरोध निम्त्याउँछ” भन्ने बहाना प्रयोग गर्न सक्दिनथेँ। त्यो मण्डलीको कामप्रति गैरजिम्मेवार हुनु, र मण्डलीको हितको रक्षा वा सत्यताको अभ्यास नगरेको प्रकटीकरण हुने थियो।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्वरको निन्दा गर्ने, परमेश्वरको डर नमान्ने, र आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यता सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्नेछस्। … यदि तँ परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्वरको पक्षमा उभिएर बोल्नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्लन मन लाग्दा, ग्लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्नेछस्, ‘मैले हात बाँधेर बस्नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई पर्दाफास गर्नैपर्छ, मैले यसलाई रोक्नैपर्छ ताकि परमेश्वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।’ यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्न मात्र सक्नेछैनस्, बरु तैँले त परमेश्वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट, मैले सत्यता वास्तविकता भएका व्यक्तिहरूमा परमेश्वरको भय मान्ने हृदय हुन्छ भन्ने बुझेँ। परिस्थितिको सामना गर्दा, उनीहरू सत्यता सिद्धान्तअनुसार काम गर्छन्। जब उनीहरू मण्डलीको हितलाई हानि पुर्याउने वा मण्डलीको काममा बाधा-अवरोध गर्ने समस्याहरू देख्छन्, उनीहरू चुपचाप बस्दैनन्, न तिनलाई बेवास्ता गर्छन्, न त अरूसँगको सम्बन्ध कायम राख्ने वा आफ्नै स्वार्थलाई जोगाउने कुरालाई प्राथमिकता दिन्छन्। त्यसको सट्टा, उनीहरूले मण्डलीको हित र कामको रक्षा गर्नमा ध्यान दिन्छन्। उनीहरूमा नकारात्मक कुराहरू खुलासा गर्ने र सिद्धान्तअनुसार काम गर्ने साहस हुन्छ, भारको बोध हुन्छ, र आफ्ना कर्तव्यमा जिम्मेवार हुन्छन्। अब परमेश्वरले मेरा लागि वेन्डीका समस्याहरू देख्ने व्यवस्था गर्नुभएको छ, त्यसैले तिनको अनुगमन र समाधान गर्ने मेरो जिम्मेवारी थियो। म नदेखेको नाटक गर्न सक्दिनथेँ। मैले यी मुद्दाहरूलाई उजागर गर्नु थियो र माथिल्ला अगुवाहरूहरूबाट मार्गदर्शन लिनु थियो। ब्रदर-सिस्टरहरूले मलाई जसरी हेरे पनि वा मैले दमन वा यातनाको सामना गरे-नगरे पनि, मैले सत्यता सिद्धान्तअनुसार कार्य गर्नैपर्ने थियो। मैले परमेश्वरमा आस्था राखेर उहाँको धार्मिकतामा विश्वास गर्नुपर्थ्यो। यी विचारहरू मनमा राखेर, मैले मेरा चिन्ताहरू त्यागेँ। पछि, समस्याहरू रिपोर्ट गर्न मैले एक जना माथिल्लो अगुवालाई सम्पर्क गरेँ। अगुवाले ध्यानपूर्वक र धैर्यपूर्वक सुनिन्, मैले देखेका सबै कुराबारे खुलेर बोल्न प्रोत्साहित गरिन्। परमेश्वरको घरले विशेष गरी ती व्यक्तिहरूलाई समर्थन गर्दछ जसले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई साँच्चै खुलासा र रिपोर्ट गर्न सक्छन्, र परमेश्वरलाई त्यस्ता मानिसहरूबाट सान्त्वना मिल्छ भनेर उनले भनिन्। त्यसैले, मैले वेन्डीका सबै समस्याहरू विस्तृत रूपमा बताएँ। अगुवाले पनि वेन्डीमा समस्याहरू भएको महसुस गरिन्, उनले हरेक पटक वेन्डीको कामको जाँच गर्दा, वेन्डीले सकारात्मक रिपोर्ट दिने गर्थिन्, तर वास्तविक प्रगति थिएन भनेर भनिन्। अगुवाले पनि वेन्डीको कार्यसम्पादन जाँच गर्ने विचार गरिन्।
भोलिपल्ट, अगुवाले वेन्डीलाई चिन्ने ब्रदर-सिस्टरहरूलाई मूल्याङ्कन लेख्न आग्रह गरिन्। नतिजा निकै चकित पार्ने थिए—वेन्डीका समस्याहरू मैले कल्पना गरेका भन्दा धेरै गम्भीर थिए। ब्रदर-सिस्टरहरूको मूल्याङ्कनबाट मैले के देखेँ भने वेन्डी व्यस्त जस्तो देखिन्थिन्, हरेक दिन अनलाइन भेला उपस्थित हुन्थिन्, सामान्यतया भेलामा समयमा जान्थिन् र धेरै समय बिताउँथिन्, तर उनको सङ्गति केवल शब्द र धर्मसिद्धान्तमा सीमित थियो, र वास्तविक समस्याहरू समाधान गर्न सक्दैनथ्यो। एकपटक, एक सिस्टर, जो नकारात्मक स्थितिमा थिइन्, उनले सक्रिय रूपमा वेन्डीलाई सङ्गतिका लागि खोजिन्, धेरै पटक मेसेजहरू पठाइन्, तर वेन्डी कहिल्यै उनलाई मद्दत गर्न आइनन्। जब उनीहरूले अन्ततः भेट्ने समय मिलाए, तब सङ्गति सुरु गर्नुभन्दा पहिले नै, वेन्डीले सिस्टरलाई एक्लै छोडेर व्यक्तिगत मामिलाहरू सम्हाल्न गइन्, उनले एकदमै रुखो र स्वार्थीपन देखाइन्। उनी ब्रदर-सिस्टरहरूको कर्तव्यबारे विरलै निगरानी वा अनुगमन गर्थिन्, र कहिलेकाहीँ गरे पनि, उनी केवल झाराटारुवा तरिकामा गर्थिन्। उनले विभिन्न समस्या र कठिनाइहरूलाई सक्रिय रूपमा पहिचान वा समाधान गरिनन्, र अगुवाको भूमिका बिल्कुलै निर्वाह गरिरहेकी थिइनन्। जब उनी ब्रदर-सिस्टरहरूको कर्तव्यमा नराम्रो नतिजा देख्थिन्, तब कराउँथिन् वा छिटो-छिटो भन्थिन्, मानौँ उनी कुनै कारखानाको सुपरिवेक्षक हुन्। वास्तविक समस्याहरू, जस्तै तिनीहरूको कर्तव्य कहाँ अड्कियो र समाधान कसरी खोज्ने भन्ने कुरालाई, उनले कहिल्यै वास्ता गरिनन्। साथै, कर्मचारी सरुवाका सम्बन्धमा उनमा सिद्धान्तको अभाव थियो। उनले सुसमाचारसम्बन्धी दुई प्रमुख कामदारलाई प्रशासनिक मामिलासम्बन्धी कर्तव्यमा सरुवा गरिन्, जसले सुसमाचार काममा चाँडै असर पुर्यायो, त्यसैले उनले तिनीहरूलाई फिर्ता सरुवा गरिन्। उनले मलजल गर्नेहरूलाई चयन गर्दा पनि यस्तै गरिन्, ब्रदर-सिस्टरहरूको कर्तव्यको अवस्थाको कुनै विचार गरिनन्, र राम्रोसँग सोचविचार नगरी आफूलाई जो उपयुक्त लाग्यो उसैलाई चयन गरिन्, जसले ब्रदर-सिस्टरहरूको कर्तव्यमा बाधा ल्यायो र र मण्डलीको काममा अवरोध आयो…। ब्रदर-सिस्टरहरूद्वारा उनको प्रत्येक व्यवहारको खुलासा भएबाट, के स्पष्ट भयो भने वेन्डी आफूले जिम्मा लिएका मण्डलीको कामलाई अगाडि बढाउन असफल भएकी मात्र होइन, वास्तवमा त्यसमा बाधा समेत पुर्याएकी थिइन्।
पछि, मैले परमेश्वरका वचनका दुई खण्डहरू पढेँ जसले मलाई वेन्डीका व्यवहारहरूको सार राम्ररी बुझ्न मद्दत गर्यो। परमेश्वरका वचनहरूले भन्छन्: “कुनै कुनै अगुवाले अगुवा र कामदारहरूका जिम्मेवारी पूरा गरिरहेको छ कि छैन, वा ऊ झूटो अगुवा हो कि भनी कसरी मूल्याङ्कन गर्नुपर्छ? सबैभन्दा आधारभूत रूपमा, उसले तिनीहरू वास्तविक काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा यो क्षमता छ कि छैन हेर्नुपर्छ। त्यसपछि, उसले तिनीहरूमा यो काम राम्रोसँग गर्ने बोझ छ कि छैन हेर्नुपर्छ। तिनीहरूले भन्ने कुराहरू कति मिठा सुनिन्छन् र तिनीहरूले धर्मसिद्धान्तहरू कति बुझेजस्तो देखिन्छ भन्ने कुरालाई वास्तै नगर्, अनि तिनीहरूले बाह्य मामलाहरू सम्हाल्दा तिनीहरू कति प्रतिभावान् र वरदानयुक्त छन् भन्ने कुरालाई पनि वास्ता नगर्—यी कुराहरू महत्त्वपूर्ण छैनन्। तिनीहरूले मण्डलीको सबैभन्दा आधारभूत कामहरू राम्ररी गर्न सक्छन् कि सक्दैनन्, सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन् कि सक्दैनन्, र मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्याउन सक्छन् कि सक्दैनन् भन्ने कुराचाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। सबैभन्दा आधारभूत र अत्यावश्यक कुरा यही हो। यदि तिनीहरू यी वास्तविक कामहरू गर्न नसक्ने छन् भने, तिनीहरूको क्षमता जति नै राम्रो भए पनि, तिनीहरूमा जति नै प्रतिभा भए पनि, वा तिनीहरूले जति धेरै कठिनाइ भोग्न र मूल्य चुकाउन सके पनि, तिनीहरू झूटा अगुवाहरू नै हुन्। कतिपय मानिसहरू भन्छन्, ‘तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् भन्ने कुरा अहिले बिर्सिदिऊँ। तिनीहरूको क्षमता राम्रो छ र तिनीहरू सक्षम छन्। तिनीहरूलाई केही समय तालिम दिइयो भने, तिनीहरूले अवश्यै वास्तविक काम गर्न सक्नेछन्। त्यसबाहेक, तिनीहरूले कुनै खराब काम गरेका छैनन् र दुष्टता गरेका छैनन्, अथवा अवरोध वा बाधाहरू पुऱ्याएका छैनन्—तपाईं कसरी तिनीहरू झूटा अगुवा हुन् भनी भन्न सक्नुहुन्छ?’ यसलाई हामीले कसरी व्याख्या गर्ने? तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तँ कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती बन्दोबस्तहरूलाई सही तरिकाले लागु गरिरहेको छस् कि छैनस्; तैँले अगुवाइ गरेको कालमा तँ आफू जिम्मेवार भएको हरेक विशेष काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा साँचो समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशेष काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्ने कुराहरूले पनि महत्त्व राख्छ। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (९))। “झूटा अगुवाहरू मूलतः मण्डलीको सारभूत र महत्त्वपूर्ण काम गर्न असक्षम हुन्छन्। तिनीहरूले केही सरल र सामान्य मामलाहरू मात्र सम्हाल्छन्; समग्रमा तिनीहरूको कामले मण्डलीको काममा महत्त्वपूर्ण वा निर्णायक भूमिका खेल्दैन, र त्यसले वास्तविक नतिजाहरू दिँदैन। तिनीहरूको सङ्गतिले मूलभूत रूपमा केही बासी र सामान्य विषयवस्तुहरू मात्र समेट्छ, यो बारम्बार दोहोर्याइने शब्द र धर्मसिद्धान्तहरूमा मात्र सीमित हुन्छ र यो अत्यन्तै खोक्रो, फराकिलो, र विवरणहीन हुन्छ। तिनीहरूको सङ्गतिमा मानिसहरूले शाब्दिक रूपमा केही कुरा पढेर बुझ्न सक्ने कुराहरू मात्र समावेश हुन्छ। यी झूटा अगुवाहरूले परमेश्वरका चुनिएका मानिसहरूले आफ्नो जीवन प्रवेशमा सामना गर्ने वास्तविक समस्याहरू बिलकुलै समाधान गर्न सक्दैनन्; खास गरी, तिनीहरू मानिसहरूका धारणा, कल्पनाहरू, र भ्रष्ट स्वभावका प्रकाशहरू समाधान गर्न झन् कम सक्षम हुन्छन्। मुख्य कुरा के हो भने, झूटा अगुवाहरू सुसमाचारको काम, चलचित्र निर्माणको काम, वा लेखन-पठनको कामजस्ता परमेश्वरको घरले बन्दोबस्त गरेका महत्त्वपूर्ण कामको जिम्मेवारी लिनै सक्दैनन्। विशेष गरी, जब व्यावसायिक ज्ञानसँग सम्बन्धित कामको कुरा आउँछ, तब झूटा अगुवाहरूलाई आफू यी क्षेत्रहरूमा भुइँमान्छे भएको स्पष्ट रूपमा थाहा भए पनि, तिनीहरू त्यसको अध्ययन गर्दैनन्, न त अनुसन्धान नै गर्छन्, र अरूलाई निर्दिष्ट दिशा प्रदान गर्न वा तीसँग सम्बन्धित कुनै समस्या समाधान गर्न त झनै सक्षम हुँदैनन्। तैपनि तिनीहरू अझै निर्लज्ज रूपमा भेलाहरू आयोजना गर्छन्, खोक्रा सिद्धान्तहरूबारे अनन्त रूपमा कुरा गर्छन्, अनि शब्द र धर्मसिद्धान्तहरू बोल्छन्। झूटा अगुवाहरूलाई आफूले यस्तो काम गर्न नसक्ने राम्रोसँग थाहा हुन्छ, तैपनि तिनीहरू विज्ञ भएको नाटक गर्छन्, अभिमानी व्यवहार गर्छन्, र सधैँ भव्य धर्मसिद्धान्तहरू प्रयोग गरेर अरूलाई गाली गर्छन्। तिनीहरू कसैका प्रश्नहरूको जवाफ दिन सक्दैनन्, तैपनि अरूलाई गाली गर्ने निहुँ र बहाना फेला पार्छन्, उनीहरूले किन त्यो पेशा सिक्दैनन्, किन सत्यता खोज्दैनन्, र किन आफ्नै समस्याहरू समाधान गर्न सक्दैनन् भनेर सोध्छन्। यी झूटा अगुवाहरू, जो यी क्षेत्रका भुइँमान्छे हुन् र कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्, अझै पनि माथिबाट अरूलाई भाषण दिन्छन्। बाहिरबाट हेर्दा, तिनीहरू अरूका नजरमा निकै व्यस्त देखिन्छन्, मानौँ तिनीहरूले धेरै काम गर्न सक्छन् र तिनीहरू निकै सक्षम छन्, तर वास्तवमा, तिनीहरू केही पनि होइनन्। झूटा अगुवाहरू प्रस्ट रूपमा वास्तविक काम गर्न असक्षम हुन्छन्, तैपनि तिनीहरू उत्साहका साथ आफूलाई व्यस्त राख्छन्, र भेलाहरूमा जहिले पनि उही सधैँ भनिरहेकै कुरा भन्छन्, बारम्बार एउटै कुरा दोहोर्याउँछन्, र एउटा पनि वास्तविक समस्या समाधान गर्न सक्दैनन्। मानिसहरू योदेखि निकै वाक्क हुन्छन्, र तिनीहरूले यसबाट शिक्षाप्रद कुरा लिन बिलकुलै सक्दैनन्। यस्तो काम अत्यन्तै अकुशल हुन्छ, र यसले कुनै नतिजाहरू दिँदैन। झूटा अगुवाहरू यसरी नै काम गर्छन्, र यसका कारण मण्डलीको काममा ढिलाइ हुन्छ। तैपनि झूटा अगुवाहरू आफूले निकै ठूलो काम गरिरहेको र आफू निकै सक्षम भएको महसुस गर्छन्, जबकि तथ्य के हो भने, तिनीहरूले मण्डलीको कामको एउटा पक्ष पनि राम्रोसँग गरेका हुँदैनन्। तिनीहरूलाई आफ्नो जिम्मेवारीको दायराअन्तर्गत पर्ने अगुवा र कामदारहरू मानकअनुरूप छन् कि छैनन् भनेर थाहा हुँदैन, न त विभिन्न समूहका अगुवा र सुपरिवेक्षकहरू आफ्ना कामको जिम्मेवारी लिन सक्षम छन् कि छैनन् भनेर थाहा हुन्छ, र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै समस्याहरू आएका छन् कि भनेर न त चासो राख्ने न सोध्ने नै गर्छन्। छोटकरीमा, झूटा अगुवाहरूले आफ्नो काममा कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्, तैपनि तिनीहरू जोशका साथ व्यस्त रहन्छन्। अरू मानिसहरूको दृष्टिकोणबाट हेर्दा, झूटा अगुवाहरू कठिनाइ भोग्न सक्छन्, मूल्य चुकाउन तयार हुन्छन्, र हरेक दिन दौडधुप गर्दै बिताउँछन्। खाना खाने बेला भएपछि तिनीहरूलाई मेचमा बोलाउनुपर्छ, र तिनीहरू निकै अबेला सुत्छन्। तैपनि तिनीहरूको कामका नतिजाहरू राम्रा हुँदैनन्। … कुनै झूटो अगुवा केही समय काममा रहनुको सबैभन्दा प्रस्ट परिणाम के हो भने, धेरैजसो मानिसहरूले सत्यता बुझ्न सक्दैनन्, कसैले भ्रष्टता प्रकाश गर्दा वा धारणाहरू विकास गर्दा कसरी खुट्ट्याउने भनेर जान्दैनन्, र निश्चय नै आफ्ना कर्तव्यहरू निर्वाह गर्दा पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू बुझ्दैनन्। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने र नगर्नेहरू सबै सुस्त, स्वच्छन्द, र अनुशासनहीन, साथै छरिएको बालुवाजस्तै छरपस्ट हुन्छन्। तीमध्ये धेरैजसोले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्लान्, तर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा, तिनीहरूले प्रावधानहरू मात्र पालना गर्छन्; तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न जान्दैनन्। झूटा अगुवाहरूलाई नै समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न नआउने भएपछि, तिनीहरूले त्यो कुरामा अरूलाई कसरी अगुवाइ गर्न सक्छन् त? अरू मानिसहरूलाई जे आइपरे पनि, झूटा अगुवाहरूले तिनीहरूलाई यसो भनेर अर्ती दिन मात्र सक्छन्, ‘हामीले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नैपर्छ!’ ‘हामी आफ्नो कर्तव्य निर्वाहमा बफादार हुनैपर्छ!’ ‘आफूलाई केही आइपर्दा, हामीले प्रार्थना गर्न जान्नैपर्छ, र सत्यता सिद्धान्तहरू खोज्नैपर्छ!’ झूटा अगुवाहरूले प्रायः यी नारा र धर्मसिद्धान्तहरू फलाक्छन्, र यसले कुनै पनि नतिजाहरू दिँदैन। मानिसहरूले तिनीहरूको कुरा सुनेपछि पनि सत्यता सिद्धान्तहरू के हुन् भनेर बुझ्दैनन्, र तिनीहरूसँग अभ्यासको मार्ग हुँदैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (३))। वेन्डीको व्यवहार ठ्याक्कै परमेश्वरका वचनहरूले खुलासा गरेजस्तै थिए। उनले केवल व्यस्त देखिनमा ध्यान दिइन्, झारा टारिन्, औपचारिकता निभाइन्, र कर्तव्य निर्वाह गर्दा नारा, शब्द र धर्मसिद्धान्त फलाक्नमा जोड दिइन्। उनले ब्रदर-सिस्टरहरूमाझ आफूलाई घुलमिल गराइनन्, र तिनीहरूको वास्तविक स्थिति र कठिनाइहरू हेर्न असफल भइन्, यी समस्याहरूलाई समाधान गर्न सत्यता खोज्नु त परको कुरा। उनी जनताको अवस्थालाई साँच्चै नबुझी माथिबाट आदेश जारी गर्ने कम्युनिष्ट पार्टीको अधिकारी जस्तै थिइन्। उनी वास्तविक काम नगर्ने एक झूटो अगुवा थिइन् भन्ने कुरा स्पष्ट थियो। पछि, अगुवाहरूले वेन्डीको व्यवहारलाई परमेश्वरका वचनअनुसार खुट्याउनका लागि एक भेला आयोजना गरे। सबैले झूटा अगुवाहरूलाई खुट्याउने सिद्धान्तबारे स्पष्ट बुझाइ प्राप्त गरे। तिनीहरूले के बुझे भने एक अगुवाले वास्तविक काम गर्छन्-गर्दैनन् भनेर निर्धारण गर्ने मापदण्ड उनी कति व्यस्त देखिन्छन् या कति ठूलो आवाजमा नारा लगाउँछन् भन्ने होइन, बरु वास्तविक समस्याहरू समाधान गर्न र आफ्नो काममा यथार्थ परिणामहरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। अन्ततः, सबैले एकमतले वेन्डीलाई बर्खास्त गर्न सहमत भए। यो परिणाम देखेर, म धेरै उत्साहित भएँ, तर मैले यसअघि उनका समस्याहरू रिपोर्ट नगरेकोमा मलाई पछुतो पनि थियो। यदि मैले ती समस्याहरू छिट्टै रिपोर्ट गरेकी भए, मण्डलीको काममा भएको नोक्सान टर्न सक्थ्यो।
यस अनुभवबाट, मैले झूटा अगुवाहरूलाई राम्ररी खुट्याउन सिकेँ र आफ्नो भ्रष्ट स्वभावबारे केही ज्ञान प्राप्त गरेँ। मैले आफू निकै स्वार्थी र कपटी रहेकी देखेँ, मैले सधैँ आफूलाई जोगाएकी थिएँ अनि महत्त्वपूर्ण क्षणहरूमा आफ्नो स्वार्थको रक्षा गर्न मण्डलीका हितलाई समेत बलि चढाएकी थिएँ। यदि ममा भएका यी शैतानी स्वभावहरू समाधान नगरिएको भए, म निश्चय नै परमेश्वरद्वारा तिरस्कृत हुने र हटाइने थिएँ। मैले एउटा गलत दृष्टिकोण पनि सच्याएँ। विगतमा, मैले स्पष्ट बुझ्न नसकेका कुराहरू रिपोर्ट गर्न म आँट गर्थिनँ, मेरो दृष्टिकोण विस्तृत हुँदैनन् होला, र मैले कुनै कुरा गलत रिपोर्ट गरेमा मलाई जवाफदेही ठहराइन्छ होला भन्ने डर लाग्थ्यो, मानौँ माथिल्लो नेतृत्वलाई केही रिपोर्ट गर्नुअघि म सत प्रतिशत निश्चित र ढुक्क हुनु आवश्यक थियो। तर, यसरी अभ्यास गर्दा, धेरै झूटा अगुवा, ख्रीष्टविरोधी, दुष्ट व्यक्ति र अविश्वासीहरूलाई समयमै पहिचान र कारबाही गर्न सकिँदैन, र जबसम्म तिनीहरूले मण्डलीको काममा ठूलो नोक्सान पुर्याउँछन्, वा सबै प्रकारका दुष्टता गर्दै व्यापक आक्रोश निम्त्याउँछन्, तबसम्म तिनीहरूलाई बर्खास्त गर्न वा निकाल्न धेरै ढिला भइसकेको हुन्छ, र क्षति भइसकेको हुन्छ। मैले मेरो पहिलेको “यदि मैले कुनै कुरा स्पष्ट देख्न नसकेर गलत रिपोर्ट गरेमा बाधा र अवरोध निम्त्याउँछ” भन्ने चिन्ता हास्यास्पद भएको देखेँ। यो सांसारिक व्यवहारका लागि एउटा धूर्त शैतानी दर्शन पनि हो, र सत्यता सिद्धान्तहरूसँग मेल खाँदैन। यस अनुभवबाट, मैले साँच्चिकै के महसुस गरेँ भने परमेश्वरको घरमा सत्यता र धार्मिकताले शासन गर्छ, झूटा अगुवा र ख्रीष्टविरोधीहरू परमेश्वरको घरमा टिक्न सक्दैनन्, र परमेश्वरको घरले विशेष रूपमा झूटा अगुवाहरूको खुलासा र रिपोर्ट गर्ने न्यायपूर्ण कार्यहरूलाई समर्थन र समर्थन गर्दछ। सत्यता अभ्यास गर्ने र मण्डलीका हितको रक्षा गर्ने बनेर मात्र, कुनै व्यक्ति परमेश्वरको अभिप्रायअनुरूप हुन सक्छ।