९८. जाइलाग्दा सिकेका पाठहरू
गत वर्ष, म र सिस्टर लीयू मण्डलीको भिडियो कार्यको इन्चार्ज थियौँ। मसँग भन्दा उनीसित व्यावसायिक सीप र अनुभव धेरै थिए, त्यसैले, मलाई समस्या आइपर्दा म उनलाई मदत माग्थेँ। हामीबीच निकै राम्रो तालमेल मिल्थ्यो। एक पटक हामीले भिडियोको काम गर्दैगर्दा, मैले एउटा साधारण गल्ती गरेँ, अनि त्यो थाहा पाउनासाथ उनी मलाई मदत गर्न आइन्। उनले त्यो गल्तीलाई सम्हाल्दै गर्दा मलाई सोधिन्, “तपाईंले यो काम गर्नुभएको केही समय भइसकेको छ, त्यसैले तपाईंबाट यस्तो सामान्य गल्ती कसरी हुन गयो?” मलाई भित्रभित्रै केही प्रतिरोध महसुस भयो, सोचेँ, उनले मलाई आउनासाथ तुरुन्तै यस्तो प्रकारले कुरा गरिन् कि मानौँ म साँच्चै सिपालु छैनँ। पक्कै पनि उनले मलाई तुच्छ ठानेकी हुनुपर्छ। पछि मैले त्यो समस्या ठीक गरेँ, तर प्रतिरोधी मनोवृत्तिले। केही दिनपछि, केही दाजुभाइ-दिदीबहिनीहरूसित त्यस्तै समस्या भयो, अनि सिस्टर लीयूले भेलामा ती समस्याको सारांश गर्दा, मेरो गल्तीलाई उदाहरणको रूपमा प्रयोग गरिन्। मलाई झन् धेरै प्रतिरोधको महसुस भयो। म सोच्दैथिएँ म एक इन्चार्ज हुँ, त्यसैले, उनले सबैको अगाडि मेरो गल्तीबारे कुरा गर्दा उनीहरूले मलाई के सोच्नेछन्? के उनीहरूले मलाई अझै आदर गर्नेछन्? उनले मलाई नराम्रो देखाउन चाहन्छिन् भन्ने मैले सोचेँ। त्यसपछि मैले उनलाई बेवास्ता गर्न थालेँ र मलाई समाधान गर्न गाह्रो भएका समस्याबारे उनलाई मदत माग्न मन लागेन। हाम्रो कार्य छलफलमा, छलफल सकिनासाथ म हिँडिहाल्थेँ, उनीसित एक शब्द पनि बोल्न मन लाग्थेन। उनले आफ्नो अवस्थाबारे मसँग कुरा गर्दा, म करैले केही कुरा भन्थेँ, र उनले कहिले कुरा टुंग्याउला भन्ने मलाई हुन्थ्यो।
पछि मलाई आफ्नो पदबाट बर्खास्त गरियो, किनभने वास्तविक काम गर्नुको सट्टा म हैसियतको पछि लागिरहेकी थिएँ, अनि मैले टोलीमा अर्को कर्तव्य पाएँ। केही समयपछि सिस्टर लीयूले मलाई मेरो काम कस्तो चल्दैछ भनेर सोधिन् अनि मैले आफ्नो बर्खासीपछिको मेरो आत्मसमीक्षाबारे खुलेर बताएँ। उनले मलाई सान्त्वना र प्रोत्साहन दिनेछिन् भन्ने मैले सोचेँ, तर अचम्म, उनले यसो पो भनिन्, “अहिले तपाईं आफ्नो कर्तव्यमा निकै सक्रिय हुनुभएको छ, तर तपाईंको बुझाइ सतही छ। तपाईंले आफ्ना असफलताको जडबारे साँच्चै आत्मसमीक्षा गर्नुभएको छैन। मैले यसबारे सिस्टर वाङसित कुरा गरेँ, र उनी यसमा सहमत छिन्…।” उनले मेरो समस्यालाई त्यस्तो सीधै खुलासा गरेको सुन्नु अपमानजनक थियो। मलाई लाग्यो, उनले मेरा भावनालाई विचार गरिरहेकी छैनन्, अनि अन्य दाजुभाइ-दिदीबहिनीहरूको अगाडि त्यो कुरा भनेर जानाजानी मेरो छवि खराब गरिरहेकी छिन्। त्यसपछि मैले उनले भनेको कुनै पनि कुरा पटक्कै सुनिनँ। मैले उनलाई छोटो प्रत्युत्तर दिएँ, तर मलाई निकै रिस उठिरहेको थियो। अबदेखि उनलाई म मेरो वास्तविक भावना पोखाउनेछैनँ, र मैले अर्को पटक मौका पाउँदा उनले हानेको झटारो उनैलाई फर्काउनेछु भनेर म सोच्दैथिएँ। त्यसपछि उता, हामीले कामबारे छलफल गर्नुपर्ने कुराबाहेक, उनीसित कुरा नगर्ने सक्दो कोसिस गरेँ। मलाई उप्रान्त उनको आवाज सुन्नसमेत मन लागेन।
एक दिन दिउँसो, हाम्रो टोलीकी एक जना सिस्टरले मसँग झट्टै कुरा गर्नु छ भनेर मेसेज पठाएछिन्। म भिडियोको काम गर्दैथिएँ र मैले समयमै त्यो मेसेज देखिनँ, जसले गर्दा हाम्रो काममा बाधा पुग्यो। सिस्टर लीयूले त्यो थाहा पाइन् र मलाई बोलाएर तुरुन्तै किन प्रत्युत्तर नदिएको भनेर सोधिन्, त्यसपछि भनिन्, “तपाईंमा पहिलाकै समस्या रहेछ। तपाईं तुरुन्तै मेसेजको उत्तर दिनुहुन्न र कहिलेकाहीँ हामी तपाईंलाई भेट्टाउन सक्दैनौँ। तपाईंले सम्हालिरहनुभएको परियोजना निकै महत्त्वपूर्ण छ—यसलाई ढिलो गर्नु हुँदैन।” तर मलाई निकै प्रतिरोध महसुस भयो र उनले भनेका कुरा स्वीकार गर्न पटक्कै मन लागेन। मलाई लाग्यो, पहिला म आफ्नै काममा मात्र ध्यान केन्द्रित गरेर गैर-जिम्मेवार भएकी थिएँ, तर बर्खास्त भएपछि मैले आफूलाई परिवर्तन गर्न थालेकी छु। के उनले त्यो कुरा मलाई भनेर मेरो हालको कडा परिश्रमलाई नकारिरहेकी मात्र थिइनन् र? के उनले मलाई तुच्छ ठानेकी हुन् र मैले सत्यताको खोजी गरिनँ भनेर सोचेकी हुन्? त्यसपछि, सिस्टर लीयूप्रतिको मेरो पूर्वाग्रह झन्-झन् धेरै बढ्दै गयो। कहिलेकाहीँ, उनले मलाई कामबारे मेसेज गर्दा, मलाई उत्तर दिनसमेत मन लाग्दैनथियो। चाँडै नै, अगुवाले मलाई सिस्टर लीयूको मूल्याङ्कन लेख्न लगाइन्। मलाई लाग्यो, मेरो मौका आयो। सधैँ उनले मेरो खुलासा गरिरहेकी थिइन्, तर यस पटक म उनको खुलासा गर्न सक्छु, ताकि उनले त्यसको स्वाद चाख्न सकून्। त्यसैले, मैले उनका समस्याहरूको विस्तृत सूची बनाएँ अनि कसरी उनले मेरा भावनालाई बोली र कामद्वारा बेवास्ता गरेकी थिइन्, साथै उनले कुन तरिकामा व्यावहारिक काम गरेकी थिइनन् भन्ने कुरामा ध्यान केन्द्रित गरेँ। पछि मैले सुनेँ, ती अगुवाले सिस्टर लीयूलाई त्यो सूची पढेर उनका समस्याहरू औँल्याइदिइन् अरे, त्यसपछि, सिस्टर लीयूले परिवर्तन गर्न सचेत प्रयास गरिन् अरे। तर अझै पनि मैले उनीप्रतिको पूर्वाग्रह हटाउन सकिनँ। त्यसैले, उनीविरुद्ध मनमा पालिराखेका सबै कुरा बाहिर निकाल्न एक पटक मैले भेलामा परमेश्वरका वचनबारे सङ्गति गर्ने मौकालाई प्रयोग गरेँ। उनले मेरा भावनालाई कसरी वास्ता गरेकी छैनन्, त्यसैले, उनसँग थुप्रै समस्या छन् र उनी मभन्दा राम्रो छँदैछैन भनेर अरूलाई देखाउन मैले उनको खुलासा गर्नुपर्छ भन्ने सोचेँ। मैले उनलाई यसो भन्दै चलाकीसाथ खुलासा गरेँ, “कुनै व्यक्ति इन्चार्ज होला र उनीसित प्राविधिक सीपहरू होलान्, तर उनी अनादरको साथ बोल्ने र अरूका समस्या औँल्याउने गर्छिन्। कहिलेकाहीँ, उनी एकदमै अख्तियार जमाएर समेत बोल्छिन्, यो गलत छ, त्यो गलत छ भनेर अरू व्यक्तिलाई भन्छिन्, जसले गर्दा अरूले आफूलाई विवश पारिएको महसुस गर्न सक्छन्। त्यसले मानिसहरूलाई अगाडि बढ्न रोक्छ र अप्रत्यक्ष रूपले मण्डली जीवनमा बाधा पुऱ्याउँछ। यस प्रकारको व्यक्तिलाई हामीले चिन्नुपर्छ।” आफ्नो मनको कुरा ओकलेँ जस्तो मलाई लाग्यो, तर केही मिनेटसम्म त्यहाँ चकमन्न भयो—कसैले पनि थप सङ्गति बाँडेनन् त्यति बेला, मलाई अलिक असहज महसुस भयो। मेरो सङ्गति उचित थियो कि थिएन भनेर म निश्चित थिइनँ, तर त्यसपछि मैले सोचेँ, मैले भनेका सबै कुरा साँचो हुन्, त्यसैले त्यसबारे कुनै कुरा अनुचित नहनुपर्ने। मैले त्यसलाई आफ्नो मनबाट निकालेँ।
अचम्मको कुरा, केही दिनपछि अगुवाले मलाई त्यस भेलामा मैले सिस्टर लीयूलाई घुमाउरो पाराले न्याय गरिरहेकी अनि आक्रमण र निन्दा गरिरहेकी थिएँ भनेर बताइन्। त्यसले उनलाई चोट पुऱ्याउन सक्थ्यो र केही दाजुभाइ-दिदीबहिनीहरूले मेरो पक्ष लिन सक्थे, सिस्टर लीयूप्रति पूर्वाग्रह राख्न सक्थे र उनको कामलाई समर्थन नगर्न सक्थे। त्यो कमजोर पार्ने र बाधा पुऱ्याउने कुरा थियो। अगुवाको विश्लेषण सुन्दा म निकै घबराएँ र डराएँ। भेलामा कसैलाई त्यतिकै निन्दा गर्नु मण्डली जीवनको लागि बाधा हो, र त्यो दुष्ट कार्य हो भनेर परमेश्वरका वचनहरूले भनेका मलाई थाहा थियो। त्यसरी काम गर्नुको प्रकृति गम्भीर हुन्छ भन्ने मलाई थाहा थियो। हाम्रो कुराकानी सकिएपछि, मैले तुरुन्तै परमेश्वरका केही सान्दर्भिक वचनहरू भेट्टाएँ। परमेश्वरका वचनहरूले भन्छन्: “कुनै व्यक्तिलाई स्वेच्छाचारी रूपमा दोषी ठहराउने, नाम दिइने, र कष्ट दिने घटना प्रायजसो हरेक मण्डलीमा घट्छ। उदाहरणको लागि, कत्ति मानिसहरूले निश्चित अगुवा वा सेवकप्रति पूर्वाग्रह राख्छन् र बदला लिनको लागि, तिनीहरूको पिठ्यूँपछाडि तिनीहरूको बारेमा टिप्पणी गर्छन्, र सत्यताबारे सङ्गति गर्ने बहानामा तिनीहरूको खुलासा र चिरफार गर्छन्। त्यस्ता कार्यहरूका पछाडिका आशय र लक्ष्यहरू गलत हुन्छन्। यदि कुनै व्यक्तिले साँच्चै नै परमेश्वरको गवाही दिन र अरूलाई फाइदा दिनको लागि सत्यतामा सङ्गति गरिरहेको छ भने, उसले आफ्ना साँचो अनुभवहरूबारे सङ्गति गर्नुपर्छ, र आफूलाई चिरफार गरेर अनि चिनेर अरूलाई फाइदा पुर्याउनुपर्छ। यस्तो अभ्यासले अझै राम्रा नतिजाहरू दिन्छ, र परमेश्वरका चुनिएका मानिसहरूले यसलाई अनुमोदन गर्नेछन्। यदि कसैको सङ्गतिले अर्को व्यक्तिलाई आक्रमण गर्ने वा बदला लिने प्रयासमा उसको खुलासा गर्छ, उसलाई आक्रमण र अपमान गर्छ भने, सङ्गतिको आशय गलत हुन्छ, यो अनुचित हुन्छ, परमेश्वरले यस कुरालाई तिरस्कार गर्नुहुन्छ र यसले दाजुभाइ-दिदीबहिनीहरूलाई सुधार गर्दैन। यदि कसैको आशय अरूलाई दोष दिनु वा कष्ट दिनु हो भने, ऊ दुष्ट व्यक्ति हो र उसले दुष्टता गरिरहेको हुन्छ। परमेश्वरका चुनिएका सबै मानिसहरूले दुष्ट मानिसहरूलाई खुट्ट्याउन सक्नुपर्छ। यदि कसैले जानी-जानी मानिसहरूलाई प्रहार गर्छ, खुलासा गर्छ, वा हेला गर्छ भने, उसलाई प्रेमपूर्ण ढङ्गले सहयोग गर्नुपर्छ, सङ्गति दिनुपर्छ र चिरफार, वा काटछाँट गर्नुपर्छ। यदि तिनीहरूले सत्यतालाई स्विकार्न सक्दैनन्, र जिद्दी भएर आफ्नो मार्ग मर्मत गर्न मान्दैन भने, यो पूर्ण रूपमा फरक कुरा हो। प्रायजसो स्वेच्छाचारी ढङ्गले अरूलाई दोष दिने, नामकरण गर्ने र कष्ट दिने दुष्ट मानिसहरूका हकमा, तिनीहरूको राम्ररी खुलासा गरिनुपर्छ, ताकि सबैले तिनीहरूलाई खुट्ट्याउन सिकून्, त्यसपछि तिनीहरूलाई मण्डलीबाट प्रतिबन्धित वा निष्कासित गर्नुपर्छ। यो अत्यावश्यक कुरा हो, किनभने त्यस्ता मानिसहरूले मण्डली जीवन र मण्डलीको काममा बाधा दिन्छन्, र तिनीहरूले मानिसहरूलाई भ्रममा पार्ने र मण्डलीमा अराजकता ल्याउने सम्भावना हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१५))। “आक्रमण र प्रतिशोध एक खालको व्यवहार र प्रकटीकरण हो जुन दुर्भावपूर्ण शैतानी प्रकृतिबाट उत्पन्न हुन्छ। त्यो एक प्रकारको भ्रष्ट स्वभाव पनि हो। मानिसहरू यस्तो विचार गर्छन्: ‘यदि तँ मलाई राम्रो गर्दैनस् भने, म पनि तँलाई राम्रो गर्दिनँ! यदि तिमीले मसित इज्जतसाथ व्यवहार गर्दैनौ भने, मैले किन तिमीलाई इज्जतसाथ व्यवहार गर्ने?’ यो कस्तो प्रकारको सोच हो? के यो प्रतिशोध लिने किसिमको सोच होइन र? साधारण व्यक्तिको विचारमा, के यो जायज दृष्टिकोण हैन र? के यो उचित लाग्दैन र? ‘आइनलागिञ्जेल जाइलागिँदैन; आइलागे छोडिँदैन,’ र ‘जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै’—गैरविश्वासीहरूले प्राय यस्ता कुराहरू बोलिरहन्छन्; तिनीहरूमाझ यी सबै उचित तर्कहरू हुन् र यी कुराहरू पूर्ण रूपमा मानवीय धारणाहरूसँग मेल खान्छन्। तर परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउनेहरूले यी वचनहरूलाई कसरी हेर्नुपर्छ? के यी विचारहरू सही छन्? (छैनन्।) ती किन सही छैनन्? तिनीहरूलाई कसरी खुट्ट्याउनुपर्छ? यी कुराहरू कहाँ उत्पन्न हुन्छन्? (शैतानबाट।) ती शैतानबाट उत्पन्न हुन्छन्, यसमा कुनै शङ्का छैन। ती शैतानका कुन-कुन स्वभावहरूबाट आउँछन्? ती शैतानको दुर्भावनापूर्ण प्रकृतिबाट आउँछन्; तिनमा विष हुन्छ, र तिनमा शैतानको सारा द्वेष र कुरूपतासहित त्यसको वास्तविक अनुहार हुन्छ। तिनमा यस्तो प्रकृति सार हुन्छ। त्यस्तो प्रकारको प्रकृति सार भएका दृष्टिकोण, विचार, प्रकटीकरण, बोलीवचन, र कार्यहरूसमेतमा कस्तो चरित्र हुन्छ? निस्सन्देह नै, त्यो मान्छेको भ्रष्ट स्वभाव हो—त्यो शैतानको स्वभाव हो। के ती शैतानी कुराहरू परमेश्वरको वचनअनुरूप हुन्छन्? के ती सत्यता अनुरूप हुन्छन्? के ती कुराको आधार परमेश्वरको वचनमा छ? (छैन।) के ती परमेश्वरका अनुयायीहरूले गर्नुपर्ने कामहरू हुन्, र तिनीहरूमा हुनुपर्ने विचार र दृष्टिकोणहरू हुन्? के ती विचार र कार्यशैलीहरू सत्यताअनुरूप छन्? (छैनन्।) यी कुराहरू सत्यताअनुरूप नभएकाले, के यी सामान्य मानवताको विवेक र समझअनुरूप हुन्छन् त? (हुँदैनन्।)” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। मैले व्यवहार गर्ने तरिकालाई परमेश्वरका वचनहरूसित तुलना गर्दा, मलाई निकै डर लाग्यो। सिस्टर लीयूसँगको मेरो अन्तरक्रियामा, उनले अरूमाझ मेरो हैसियत वा छविमा धक्का नपुऱ्याई मसँग मात्र मेरा समस्याबारे बताइदिँदा, मैले त्यो स्वीकार गर्न सकेँ, तर पछि उनले सबैको अघि मेरा गल्तीहरूको विश्लेषण गर्दा, मलाई अपमान गरिएको महसुस भयो। अरूले मलाई कम सम्झनेछन् भन्ने सोचेर मैले उनलाई घृणा गरेँ र उनीसँग कुरा गर्न चाहिनँ। कामबारे छलफल गर्दा मैले उनलाई उपेक्षा मात्र गरेँ। उनले मेरा समस्यालाई देखेर तीबारे एकदमै सीधै बताइदिँदा र मेरो बारेमा त्यसरी अर्की इन्चार्जसित कुरा गर्दा, म अत्यन्तै रिसाएँ। तुरुन्तै मलाई लाग्यो, मैले कडा मेहनत गरेर बनाएको छविलाई उनले बरबाद गरिदिइन्, अनि मनमा यस्तो प्रतिरोध निस्क्यो कि मलाई उनको आवाज सुन्न समेत मन लागेन। उनले मैले मेसेजहरूको जवाफ समयमा दिइनँ भनेर भन्दा र पहिलाको जस्तो काममा रोकावट नल्याउन मलाई चेताउनी दिँदा, उनले मलाई सीमित पार्दैछिन्, म परिवर्तन भएकी छु भनेर इन्कार गर्दैछिन् र मेरो लागि अवस्था कठिन बनाउँदैछिन् भन्ने मलाई लाग्यो। मैले जानाजानी उनलाई प्रत्युत्तर नदिएर आफ्नो कर्तव्यमार्फत आफ्नो खिन्नता बाहिर निकालिरहेकी थिएँ। सिस्टर लीयूप्रतिको मेरो पूर्वाग्रह झन्-झन् तीव्र भयो र म उनीप्रति आक्रोशले भरिएँ। अगुवाका लागि मैले लेखेको मूल्याङ्कनमा, मैले त्यसलाई उनका गल्तीहरू प्रकाश पार्दै व्यक्तिगत गुनासो पोख्न प्रयोग गरेँ, ताकि अगुवाले उनलाई निराकरण वा बर्खास्तसमेत गरून्, र मैले केही सहज अनुभव गर्न सकूँ। उनीसित प्रतिशोध लिने चाहनाले, मैले भेलामा सङ्गति गर्दा उनलाई कमजोर मानवता भएकी व्यक्तिको रूपमा न्याय गरेँ अनि अरूलाई उनीबारे बुझ्न र उनलाई एकल्याउन लगाउने प्रयास गरेँ, ताकि म आफ्नो रिस पोख्न सकूँ। मैले अलिकति पनि मानवता वा तर्कशक्तिबिना नै भयानक स्वभाव प्रकट गरिरहेकी थिएँ। सिस्टर लीयूले यी कुरा उठाउनु र मेरो आलोचना गर्नु भनेको परमेश्वरको घरको कामप्रति उनी जिम्मेवार हुनु र मलाई आफैलाई चिन्न मदत गर्नु थियो, तर मैले त्यसलाई अलिकति पनि स्वीकार गरिरहेकी थिइनँ। म अशिष्ट हुँदैथिएँ र मैले आफ्नो कर्तव्यलाई आफ्नो खिन्नता पोख्न प्रयोग गरिरहेकी थिएँ, उनलाई आक्रमण गर्न र प्रहार गर्न परमेश्वरका वचनहरू समेत प्रयोग गरिरहेकी थिएँ। मैले मण्डली जीवनमा रोकावट ल्याएर अनि परमेश्वरको घरको कामलाई भताभुङ्ग गरेर गुट बनाउने प्रयास गरिरहेकी थिएँ। सिस्टर लीयूका केही शब्दहरूले मेरो हैसियत बोधलाई चोट पुऱ्याए, त्यसैले, मैले प्रहार गरेँ, प्रतिशोध लिन चाहेँ। त्यो मबाट भएको डरलाग्दो काम थियो। उचित मन भएको अविश्वासीले समेत त्यसरी काम गर्दैन। परमेश्वरका वचनहरूले भन्छन्, “यदि विश्वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र गैरविश्वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। म त विश्वासी पो हुँ त। मैले परमेश्वरका निकै धेरै वचनहरू खाएकी र पिएकी थिएँ, तर मैले केही सल्लाहहरू समेत स्वीकार गर्न सकिनँ। म मानव समेत हो र? मैले यी शैतानी दर्शनहरू पछ्याइरहेकी थिएँ: “तिमी दयालु भएनौ भने, म न्यायी हुनेछैनँ!” “आइनलागिञ्जेल जाइलागिँदैन; आइलागे छोडिँदैन” मैले परमेश्वरको कुनै डर नराखी केवल आफ्नो असन्तुष्टि प्रकट गरिरहेकी थिएँ। म मानव स्वभावमा पटक्कै जिइरहेकी थिइनँ। मलाई निकै दोषी र खिन्न महसुस भयो, त्यसैले पश्चात्ताप गर्दै परमेश्वरलाई प्रार्थना गरेँ, सिस्टर लीयूप्रतिको मेरो पूर्वाग्रहलाई हटाउन चाहेँ। केही दिन, आफ्नो कर्तव्यबाट फुर्सद पाउँदा, मैले सोचेँ, सुरुमा हाम्रो कत्ति राम्रो तालमेल मिल्थ्यो, र पनि, म किन उनीसित यत्ति साह्रो रिसाएकी त? उनले आलोचना गर्नु न्यायसङ्गत कुरा हो भन्ने मलाई थाहा थियो, अनि हुन सक्छ उनी कठोर र अलिक ठाडे भइन्, तर त्यो ठूलो कुरा थिएन। किन मैले त्यो स्वीकार गर्न सकिनँ तर उनलाई पछाडिबाट प्रहार गर्नतिर लागेँ?
मैले आफ्नो खोजीमा परमेश्वरको वचनको एउटा खण्ड भेटेँ। “जब ख्रीष्टविरोधीहरूले काटछाँट सामना गर्छन्, तब तिनीहरूले प्राय ठूलो प्रतिरोध देखाउँछन्, त्यसपछि तिनीहरूले आफ्नो पक्षमा तर्क गर्न, र मानिसहरूलाई बहकाउन शब्दजाल र वाक्पटुता प्रयोग गर्न सक्दो प्रयास गर्न थाल्छन्। यो निकै आम कुरा हो। सत्यता स्विकार्न नमान्ने ख्रीष्टविरोधीहरूको प्रकटीकरणले सत्यतालाई घृणा गर्ने र सत्यताप्रति प्रतिकूल रहने तिनीहरूको शैतानी प्रकृति पूर्ण रूपमा खुलासा गर्छ। तिनीहरू विशुद्ध रूपमा शैतानको वर्गमा पर्छन्। ख्रीष्टविरोधीहरूले जे गरे नि, तिनीहरूको स्वभाव र सार उदाङ्गो भइहाल्छ। विशेषगरी परमेश्वरको घरमा, तिनीहरूले गर्ने सबै कुरा सत्यता विरुद्ध जान्छ, ती सबै कुरालाई परमेश्वरले निन्दा गर्नुहुन्छ, र ती सबै परमेश्वरको विरोध गर्ने दुष्कर्महरू हुन्, र तिनीहरूले गर्ने ती सबै कुराहरूले ख्रीष्टविरोधीहरू शैतान र पिशाचहरू हुन् भनेर पूर्ण रूपमा पुष्टि गर्छन्। त्यसकारण, काटछाँट स्विकार्ने कुरामा तिनीहरू पक्कै पनि खुशी हुँदैनन्, बरु निश्चय नै अनिच्छुक हुन्छन्, अनि प्रतिरोध र विरोध बाहेक, तिनीहरू काटछाँटलाई घृणा गर्छन्, आफूलाई काटछाँट गर्नेहरूलाई घृणा गर्छन्, र आफ्नो प्रकृति सार र दुष्कर्म खुलासा गर्नेहरूलाई घृणा गर्छन्। ख्रीष्टविरोधीहरू जसले तिनीहरूलाई खुलासा गर्छ उसले तिनीहरूलाई कठिनाइमा पारिरहेको हुन्छ भन्ने सोच्छन्, त्यसकारण तिनीहरू तिनीहरूलाई खुलासा गर्ने जोकोहीसँग प्रतिस्पर्धा र लडाइँ गर्छन्। ख्रीष्टविरोधीहरूको यस्तो प्रकृतिको कारण, तिनीहरू तिनीहरूलाई काटछाँट गर्ने कसैलाई पनि कहिल्यै दया गर्दैनन्, न त तिनीहरूले त्यसो गर्ने कसैलाई सहने वा धैर्य देखाउने नै गर्नेछन्, त्यसो गर्ने कसैप्रति कृतज्ञता महसुस गर्ने वा उसलाई प्रशंसा गर्नु त परै जाओस्। बरु यसको ठीक उल्टो रूपमा, यदि कसैले तिनीहरूलाई काटछाँट गर्छ र यसले गर्दा तिनीहरूको प्रतिष्ठा र इज्जत गुम्छ भने, तिनीहरूले हृदयमा यो व्यक्तिप्रति घृणा राख्नेछन्, र ऊसँग बदला लिने मौका खोज्नेछन्। अरूप्रति तिनीहरूमा कति घृणा हुन्छ! अरूसामु तिनीहरूले यस्तो सोच्छन्, र खुलेआम यस्तो भन्छन्, ‘आज तैँले मलाई काटछाँट गरिस्, त्यसकारण अब हाम्रो झगडा हुन्छै-हुन्छ। तँ आफ्नो बाटो लाग्, र म आफ्नो बाटो लाग्छु, तर कसम खान्छु, म बदला लिएरै छोड्छु! यदि तैँले मसँग आफ्नो गल्ती स्विकारिस्, मेरो अघि शिर झुकाइस्, वा घुँडा टेकेर बिन्ती गरिस् भने, म तँलाई क्षमा दिनेछु, नत्रभने म यो कुरा कहिल्यै बिर्सनेछैनँ!’ ख्रीष्टविरोधीहरूले जे भने नि वा जे गरे नि, तिनीहरू आफूलाई कसैले दयापूर्वक गरेको काटछाँटलाई वा कसैले इमानदारिताको साथ गरेको सहयोगलाई परमेश्वरको प्रेम र मुक्तिको आगमनको रूपमा कहिल्यै हेर्दैनन्। बरु, तिनीहरू यसलाई अपमानको चिन्हको रूपमा, र आफूलाई सबैभन्दा बढी लज्जित पारिएको क्षणको रूपमा लिन्छन्। यसले ख्रीष्टविरोधीहरूले सत्यता पटक्कै स्विकार्दैनन्, र तिनीहरूको स्वभाव सत्यताप्रति प्रतिकूल रहने र घृणा गर्ने स्वभाव हो भन्ने देखाउँछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने, आलोचनाप्रति ख्रीष्टविरोधहरूको मनोवृत्ति भनेको त्यसलाई इन्कार गर्नु, बहाना बनाउनु र प्रतिरोधी हुनु, अनि आलोचना गर्ने व्यक्तिलाई आफ्नो शत्रुको रूपमा समेत हेर्नु अनि प्रहार गर्ने र प्रतिशोध लिने तरिकाहरू खोज्नु हो। सत्यतालाई घृणा गर्नु उनीहरूको प्रकृति नै हो र उनीहरूले यसलाई कहिल्यै स्वीकार गर्दैनन्। सिस्टर लीयूले मेरा समस्याबारे बताएका सबै कुरा साँचो हुन् भन्ने मलाई थाहा थियो, त्यसैले, उनले जुनसुकै शैलीमा भने पनि, त्यो मलाई आफैलाई चिन्न मदत दिनका लागि थियो, जानाजानी मलाई निशाना बनाउनु थिएन। स्पष्ट छ, म आफ्नो कर्तव्यमा गम्भीर भइरहेकी थिइनँ वा मैले जिम्मेवारी लिइरहेकी थिइनँ, जसले गर्दा हाम्रा भिडियोहरूमा केही समस्याहरू आए। सिस्टर लीयूले यी समस्याहरूलाई विश्लेषण र चिरफार गर्दैथिइन्, अनि त्यो हामीले फेरि त्यही गल्ती नगरौँ र कार्य प्रगतिमा रोकावट नल्याऔँ भनेर गरिएको थियो। म बर्खास्त भएपछि मेरो आत्म-बुझाइ पनि निकै सतही भएको उनले याद गरिन्, त्यसैले, उनले त्यो कुरा दया पूर्वक औँल्याइन्। त्यो मैले आफूलाई अझ राम्ररी चिनूँ र साँचो पश्चात्ताप गरूँ भनी मदत गर्नाका लागि थियो। तर उनले मलाई घरीघरी मदत दिँदा, म कृतज्ञ नभएकी मात्र होइन, तर उनले मलाई लज्जित पार्ने र मेरो मर्यादामा चोट पुऱ्याउने प्रयास गर्दैछिन् भनेर पनि सोचेँ। म उनीसित निकै क्रोधित भएँ र उनलाई शत्रुजस्तो व्यवहार गर्न थालेँ, उनलाई बदला लिने मौका खोजेँ। अरूले उनलाई एकल्याऊन् र इन्कार गरून् भन्नेसमेत चाहेँ। म ख्रीष्टविरोधी जत्तिकै दुष्ट र विषालु थिएँ। ख्रीष्टविरोधीहरूले चापलुसी मन पराउँछन्, अनि उनीहरूको प्रशंसा गर्ने जोकोहीलाई एकदमै प्रेम गर्छन्। तर कुनै व्यक्ति जति धेरै इमानदार हुन्छ, उसलाई उनीहरू त्यति नै धेरै प्रहार गर्छन्। उनीहरूलाई चिढ्याउने वा उनीहरूका हितलाई हानि पुऱ्य़ाउने व्यक्तिले उनीहरूको प्रहार भोग्नेछ, उसलाई नसिद्धाइञ्जेलसम्म उनीहरूले विश्राम लिनेछैनन्। यसले मण्डलीको काम र अरूको जीवन प्रवेशमा विश्वास गर्नै नसकिने हानि र क्षति गर्छ। परमेश्वरले उनीहरूलाई ती सबै दुष्टता गरेकोमा, उहाँको स्वभावलाई चिढ्याएकोमा स्थायी रूपमा हटाउनुहुनेछ। सिस्टर लीयूका केही वचनले मेरो प्रतिष्ठा र हैसियत बोधमा चोट पुऱ्याए, त्यसैले, मैले प्रतिशोध लिन चाहेँ। उनले आफ्नो गल्ती स्वीकार्दा मात्र म सन्तुष्ट हुनेथिएँ, र आफूलाई “उत्तेजित” पार्न छोड्नेथिएँ। म साँच्चै दुष्ट, वास्तवमै दुर्भावनापूर्ण थिएँ। मैले दुष्कर्मी र ख्रीष्टविरोधीहरूले जस्तै सत्यतालाई घृणा गरेँ, र म ख्रीष्टविरोधीको मार्गमा हिँडेँ। यदि मैले आफ्नो ख्रीष्टविरोधी स्वभाव परिवर्तन गरिनँ भने, पद पाउँदा, म जाइलाग्नेछु र झन् धेरै दुष्ट काम गर्नेछु र परमेश्वरद्वारा निन्दित र दण्डित हुनेछु भन्ने मलाई थाहा भयो। परिणाम निकै डरलाग्दो हुन्छन् भनेर मैले बुझ्न सकेँ। मैले अभ्यास गर्ने र प्रवेश गर्ने मार्ग खोज्दै परमेश्वरलाई प्रार्थना गरेँ।
म ती वचन तपाईंहरूका लागि पढिदिन्छु। “यदि तँ परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् भने, तँलाई परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षण आवश्यक छ भन्ने महसुस हुनेछ, र त्यो भन्दा पनि बढी, तँलाई तिनीहरूको सहायता आवश्यक छ भन्ने महसुस हुनेछ। यदि तँ दुष्ट व्यक्ति होस्, र तँमा दोषी विवेक छ भने, तँलाई सुपरिवेक्षण गरिन डर लाग्नेछ र तँ त्यसबाट जोगिने प्रयास गर्नेछस्; यो अपरिहार्य हुन्छ। त्यसकारण, परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षणलाई प्रतिरोध गर्ने र त्यसप्रति वितृष्णा महसुस गर्ने सबै जनाले केही लुकाइरहेका हुन्छन्, र तिनीहरू निश्चित रूपमा नै इमानदार मानिसहरू होइनन् भन्ने कुरामा कुनै शङ्का नै हुँदैन; सुपरिवेक्षणको डर छली मानिसहरूले भन्दा बढी अरू कसैले मान्दैन। त्यसोभए अगुवा र अगुवाहरूले परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षणप्रति कस्तो प्रतिक्रिया जनाउनुपर्छ त? के त्यो नकारात्मकता, सावधानी, प्रतिरोध, र रुष्टता हुनुपर्छ कि परमेश्वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूप्रतिको आज्ञापालन, अनि विनम्र स्वीकार हुनुपर्छ? (विनम्र स्वीकार हुनुपर्छ।) विनम्र स्वीकारले के जनाउँछ? त्यसको अर्थ परमेश्वरबाट आउने सबथोक स्विकार्नु, सत्यता खोज्नु, सही मनोवृत्ति अपनाउनु, र आवेगी नहुनु हुन्छ। यदि कसैले साँच्चै तँमा भएको समस्या पत्ता लगाउँछ र तँलाई त्यो औँल्याइदिन्छ, तँलाई त्यो खुट्टयाउन अनि बुझ्न मदत गर्छ, यो समस्या समाधान गर्न तँलाई सहयोग गर्छ भने, ऊ तँप्रति, परमेश्वरको घरको कामप्रति अनि परमेश्वरका चुनिएका जनहरूको जीवन प्रवेशप्रति जिम्मेवार भइरहेको हुन्छ; यो गरिनुपर्ने सही कुरा हो, र यो पूर्ण रूपमा प्राकृतिक र जायज हुन्छ। यदि मण्डलीको सुपरिवेक्षणलाई शैतानबाट, अनि दुराचारी अभिप्रायहरूबाट उत्पन्न भएको कुरा मान्ने मानिसहरू छन् भने, तिनीहरू दियाबलसहरू र शैतानहरू हुन्। त्यस्तो दुष्ट प्रकृतिका साथ, तिनीहरूले निश्चित रूपमा नै परमेश्वरको छानबिन स्विकार्ने थिएनन्। यदि कसैले सत्यतालाई साँच्चै प्रेम गर्छ भने, ऊसँग परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षणको सही बुझाइ हुनेछ, उसले त्यसलाई प्रेमका कारण गरिएको, परमेश्वरबाट आएको मान्न सक्नेछन्, र तिनीहरूले त्यसलाई परमेश्वरबाट स्विकार्न सक्नेछन्। तिनीहरू निश्चित रूपमा नै आवेगी हुनेछैनन् वा उत्तेजनामा आएर कार्य गर्नेछैनन्, तिनीहरूको हृदयमा प्रतिरोध, सावधानी, वा सन्देह त झनै देखा पर्नेछैन। परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षणलाई व्यवहार गर्ने सबैभन्दा सही मनोवृत्ति यस प्रकार छ: तेरा लागि सहयोगी हुने कुनै पनि शब्द, कार्य, सुपरिवेक्षण, अवलोकन, वा सच्च्याइ—काँटछाँट समेतलाई, तैँले परमेश्वरबाट स्विकार्नुपर्छ; आवेगी नहो। आवेगी हुनु दुष्टबाट, शैतानबाट आउँछ, त्यो परमेश्वरबाट आउँदैन, र मानिसहरूमा सत्यताप्रति हुनुपर्ने मनोवृत्ति त्यो होइन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७))। मैले परमेश्वरका वचनहरूबाट के सिकेँ भने, मेरा समस्या औँल्याइदिने दाजुभाइ-दिदीबहिनीहरूमा कुनै द्वेष छैन। उनीहरूले मेरो खिल्ली उडाइरहेका छैनन्, बरु उनीहरू परमेश्वरको घरको काम र मेरो जीवन प्रवेशको लागि जिम्मेवार छन्। उनीहरूले उल्लेख गरेका समस्याबारे मैले जतिसुकै बुझ्न सकेको होस्, मैले त्यसलाई परमेश्वरबाट स्वीकार गर्न र मानिलिन, सही र गलतमा तल्लीन नभइरहन वा मन बद्लिने र प्रतिशोध लिने नहुन प्रयास गर्नुपर्छ। मैले कामकुरालाई पूर्ण रूपले बुझ्न नसक्दा पनि, प्रार्थना र चिन्तन गरिरहनुपर्छ, वा खोजी र सङ्गतिका लागि अनुभवी दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्टाउनुपर्छ। सत्यता स्वीकार गर्ने मनोवृत्ति त्यही हो। मैले भेलामा सिस्टर लीयूलाई कुरा घुमाएर आलोचना गरेको कुरा सम्झेँ, अनि वास्तविकता थाहा नभएका केही दाजुभाइ-दिदीबहिनीहरू धोकामा पर्न सक्थे, जसले उनीहरूका कर्तव्यमा उनीहरूले गर्ने सहकार्यलाई असर गर्न सक्थ्यो। त्यसैले, मैले भेलामा परमेश्वरका वचनहरूमा सङ्गति गर्ने मौकालाई आफ्नो कुरा खुलेर बताउन प्रयोग गरेँ, ताकि मैले गरेका त्यस कामबारे अरूले बुझून्। पछि सिस्टर लीयू कामबारे कुरा गर्न मकहाँ आइन्, अनि उनले मलाई सल्लाह दिँदा कसरी मैले सत्यतालाई घृणा गर्ने स्वभाव र दुष्ट मनसायहरू प्रकट गरेँ भनेर उनलाई इमानदारीपूर्वक बताएँ। उनले मलाई दोष लगाउँने वा घृणा गर्ने गर्दा रहेनछिन्। मलाई असाध्यै लाज लाग्यो। त्यसपछि, सिस्टर लीयू र मेरो झनै राम्रो तालमेल मिल्यो। उनले मेरा समस्याहरू बताइदिँदा, मैले उनको बोल्ने शैलीलाई ज्यादै ध्यान दिन छोडेँ, तर यदि त्यो मेरो भलाइको लागि हो भने, मैले त्यो स्विकार्नुपर्छ भन्ने मलाई थाहा हुन्थ्यो। कहिलेकहीँ, ममा चेतनाको कमी हुन्थ्यो, तर म परमेश्वरलाई प्रार्थना गर्थें र आफूलाई त्याग्थेँ, आफ्नो इज्जतलाई वास्ता गर्दिनथिएँ वा आफ्नै समस्याबारे बहस गर्दिनथिएँ, त्यसपछि, त्यसबारे पछि विचार गर्थें। उनीसित यसरी काम गर्दा, समयको दौडान मलाई अझ धेरै ढुक्क महसुस भयो।
पछि, मैले एउटा भिडियो बनाउँदा हतारमा काम गरेँ, सिद्धान्त खोजी गरिनँ, त्यसको अर्थ, फेरि दोहोर्याउनुपर्ने समस्याहरू आए। अर्की इन्चार्ज सिस्टर चेनले मलाई निजी मेसेज पठाएर ती समस्या ठीक गर्न अह्राइन्, अनि त्यसपछि यो कुरा सिद्धियो भन्ने सोचेँ। तर कामको बैठकमा मेरा गल्तीहरूलाई विश्लेषणको लागि फेरि उठाइएको देख्दा म छक्क परेँ। मैले सोचेँ, उनले त्यसरी सबैको अघि मेरो बारेमा बताइन्—त्यो अपमानजनक थियो! मैले सिस्टर चेनप्रति पूर्वाग्रह राख्न थालेँ, जस्तो कि, उनले बिनसित्ति कुरालाई ठूलो बनाइरहेकी छिन् र मेरो मर्यादालाई ध्यानै दिइरहेकी छैनन्। मैले आफ्नो बचाउ गर्न, सबैको अघि इज्जत बचाउन कारण खोज्न चाहेँ, तर त्यसपछि मलाई के महसुस भयो भने, मैले त्यो एकदमै हतारमा गरेकी हुनाले त्यो कामलाई फेरि गर्नुपरेको हो। सिस्टर चेनले मलाई चेतावनी दिन यसबारे सङ्गति गरिरहेकी थिइन्, ताकि मैले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिबारे आत्मसमीक्षा गर्न सकूँ, अनि दाजुभाइ-दिदीबहिनीहरूले पनि यसलाई चेतावनीको रूपमा प्रयोग गर्न सकून् ताकि उनीहरूले त्यही गल्ती नगरून्। उनले मण्डलीको कामको रक्षा गरिरहेकी थिइन्। यदि मैले आफ्नो इज्जत बचाउन बहाना बनाएँ र सिस्टर चेनप्रति पूर्वाग्रह राखेँ भने, के त्यो सत्यतालाई घृणा गरेको र सत्यता स्विकार्न नमानेको हुनेथिएन र? मैले भ्रष्टतामा काम गरिरहनु हुँदैन भन्ने मलाई थाहा थियो, त्यसैले, मैले गरेका सबै गल्तीहरूबारे सबैलाई खुलेर बताएँ। मैले ती बताइसकेपछि, उनीहरूले त्यस्ता समस्याहरूलाई समाधान गर्ने केही उपयोगी तरिकाहरू बताए, अनि मैले पछि भिडियो निर्माण गर्दा, उनीहरूका सल्लाहहरू पालन गरेँ र त्यही गल्ती फेरि गरिनँ। मैले साँच्चै के अनुभव गरेँ भने, दाजुभाइ-दिदीबहिनीहरूका सल्लाह स्वीकार गर्दा, कठिनाइहरूबाट बच्न सकिन्छ र कार्यकुशलतामा सुधार आउन सक्छ। साथै, यसले मलाई आफूलाई चिन्न मदत गर्न सक्छ र यो मेरो जीवन प्रवेशको लागि राम्रो हुन सक्छ।
यसबाट मैले साँच्चै के अनुभव गरेँ भने, आलोचना गरिँदा त्यसलाई स्वीकार गर्ने मनोवृत्ति राख्नु महत्त्वपूर्ण हुन्छ। यदि अरूले भनेको कुरा सही र सत्यता अनुरूप छ भने, मैले आफ्नो घमण्डलाई पर पन्छ्याउनुपर्छ र त्यसलाई विनासर्त स्वीकार गर्नुपर्छ। तर, यदि मैले काटछाँट र निराकरण गरिनुलाई केवल एकतर्फी रूपमा इन्कार र विरोध गर्छु, अनि अरू विरुद्ध पूर्वाग्रह राख्छु र प्रहार गर्छु भने, त्यो ख्रीष्टविरोधी हुनुको अभिव्यक्ति हो, अनि यदि मैले पश्चात्ताप गरिनँ भने, परमेश्वरले मलाई दोषी ठहराउनुहुनेछ र हटाउनुहुनेछ। पहिला, कसैले पनि मलाई त्यसरी सीधै निराकरण गरेका थिएनन्, र मैले आफूलाई चिनेकी थिइनँ। मसँग असल मानवता छ र म सत्यता स्वीकार गर्न सक्छु भन्ने मेरो सोचाइ थियो। मैले अहिले म सत्यतालाई घृणा गर्छु र मसँग असल मानवता छैन भन्ने देखेँ। आज मैले प्राप्त गरेका र सिकेका सबै कुरा, परमेश्वरका वचनहरूको न्याय र सजायकै प्रतिफल हुन्। म यसबारे अझ अनुभव गर्न र आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न पनि तयार छु। परमेश्वरलाई धन्यवाद!