१४. कर्तव्यमा चिप्ले हुनुको परिणाम
सन् २०२३ को जुलाईमा, म मण्डलीका लागि भिडियोहरू बनाउँदै थिएँ। मैले धेरै समय अभ्यास नगरेकीले, र मेरा प्राविधिक सीपहरू सामान्य भएकाले, कतिपय कठिन भिडियोहरू मेरी सहकर्मी, सिस्टर च्याङ्ग सिनले सम्हालेकी थिइन्, भने मचाहिँ केवल सरल र बनाउन सजिलो भिडियोमा काम गर्थेँ। मैले मनमनै सोचेँ, “म भर्खरै आएकी छु, मैले धेरै सिद्धान्तहरू जानेकी छैन, र मेरा सीपहरू पनि त्यति राम्रा छैनन्, तर च्याङ्ग सिन यहीँ छिन्, म बिस्तारै सिक्दै गरौँला नि।” केही अध्ययनपछि, मैले केही प्रगति त गरेँ, तर जब-जब मैले बनाउन गाह्रो हुने भिडियो देख्थेँ, त्यो नबनाउनलाई म कुनै बहाना बनाउँथेँ, सोच्थेँ, “यस्तो खालको भिडियो बनाउन साह्रै गाह्रो हुनेछ, यसका लागि धेरै मेहनत चाहिन्छ र मैले ठूलो मूल्य चुकाउनुपर्छ!” मैले बनाउन सजिलो भिडियोहरू मात्र छानेकीले, काम आरामदायी थियो र मैले कुनै दबाब महसुस गरिनँ। मैले च्याङ्ग सिनलाई निरन्तर अनुसन्धान, खोजी र मनन गरिरहने पाएँ, र मैले सोचेँ, “च्याङ्ग सिन मभन्दा सिपालु छिन् र कहिलेकाहीँ त उनले पनि अनुसन्धान गर्नुपर्छ, यदि मैले ती भिडियोहरू बनाएको भए, मैले त झन् ठूलो मूल्य चुकाउनुपर्थ्यो। त्यो त साह्रै गाह्रो र थकाइलाग्दो हुनेथियो! म त सरल भिडियोहरू बनाउने काम नै गरिरहन्छु।” यसरी, मैले केही समय कुनै दबाब महसुस नगरी आफ्नो कर्तव्य निर्वाह गरेँ। पछि, जब च्याङ्ग सिनले भिडियो बनाउँदा कठिनाइको सामना गर्थिन्, उनी मलाई उनीसँगै समस्याबारे अनुसन्धान र छलफल गर्न आग्रह गर्थिन्। मैले यो साह्रै गाह्रो र दिक्कलाग्दो पाएँ, त्यसैले मैले यसमा मद्दत नै गरिनँ। मैले ती सबै गाह्रा भिडियोहरू सदा झैँ च्याङ्ग सिनतिरै पन्छाइरहेँ, र आफूलाई चुनौती दिने कत्तिपनि कोसिस गरिनँ। सिस्टर च्याङ्ग सिनमाथि धेरै काम थुप्रिएको र उनी निकै दबाबमा परेको देख्दा पनि, मैले उनलाई मद्दत गर्न चाहिनँ। समय बित्दै जाँदा, मलाई आफ्नो कर्तव्यमा निद्रा लाग्न थाल्यो र लामो समयसम्म कुनै प्रगति गरिनँ। मलाई आफ्नो स्थिति ठीक नभएको महसुस भयो, र आफैलाई सोधेँ, “म आफू नयाँ भएकी र यो कामबारे अझै स्पष्ट नभएको बहाना बनाएर सधैँ सबै गाह्रा भिडियोहरू सिस्टर च्याङ्ग सिनतिर पन्छाउँदै, आफूलाई जोगाइरहन्छु, मूल्य चुकाउन वा प्रयास गर्न चाहन्नँ। के म कठिनाइहरूबाट भाग्ने र विपत्तिको सामु घुँडा टेक्ने गरिरहेकी छैन र?”
पछि, मैले परमेश्वरका सान्दर्भिक वचनहरू खोजेँ। परमेश्वर भन्नुहुन्छ: “कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकाइलाग्दो नहुने, र घरबाहिर गई नानाथरी कुराको सामना गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्नु र गाह्रो कामदेखि भाग्नु भनिन्छ, र यो देहसुखप्रतिको लालसाको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटा, अनि देहसुखमा तल्लीन हुनु।) यी सबै देहसुखप्रतिको लालसाका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ आरामदायी काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर भएको, कार्य क्षमता नभएको, र यो काम वहन गर्न नसक्ने भन्दै बहाना बनाउँछन्—जबकि वास्वतमा देहसुखको लालसाले गर्दा त्यस्तो भएको हुन्छ। … के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउने र कठिनाइ भोग्नेबारे बोल्नेबित्तिकै, तिनीहरूले टाउको हल्लाइरहन्छन्। तिनीहरूमा समस्यै समस्या हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्नो कर्तव्य निर्वाह योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२))। परमेश्वरले के खुलासा गर्नुहुन्छ भने कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ सजिलो काम रोज्छन् र गाह्रो कामबाट पन्छिन्छन्, र जब-जब उनीहरू गाह्रो काम देख्छन्, उनीहरू त्यसलाई अरूतिरै पन्छाउँछन्, र आफ्नो लागि सजिलो र सरल काम मात्र रोज्छन्। यस्ता मानिसहरू भौतिक सुखभोगमा लिप्त हुन्छन् र कर्तव्य निर्वाह गर्न अयोग्य हुन्छन्। आत्मचिन्तन गर्दा, मैले आफूले पनि त्यस्तै व्यवहार देखाएको महसुस गरेँ। च्याङ्ग सिनसँग सहकार्य गर्दा, मैले ती जटिल भिडियोहरू बनाउन खोजी, मनन र अनुसन्धान गर्नु, अनि मूल्य चुकाउनु आवश्यक हुन्छ भन्ने बुझेँ, तर मलाई यो दिक्कलाग्दो र साँच्चै टाउको दुखाइको विषय लाग्यो, त्यसैले मैले अनुभवहीन भएको बहाना बनाएर यी कुराहरू च्याङ्ग सिनतिर पन्छाएँ। मैले सरल र बनाउन सजिला भिडियोहरू मात्र रोजेँ, त्यसैले मैले कुनै दबाब महसुस गरिनँ र म तनावमुक्त थिएँ। पछि, जब च्याङ्ग सिनले भिडियो बनाउँदा कठिनाइहरूको सामना गर्थिन् अनि अनुसन्धान र छलफलका लागि मेरो मद्दत आवश्यक हुन्थ्यो, मलाई त्यो दिक्कलाग्दो लाग्थ्यो र मेहनत लगाउने झन्झट नै गर्न चाहन्नथेँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्दा, मेहनत र त्याग आवश्यक पर्ने कामहरू अरूतिर पन्छाउँदै, सुखभोगमा लिप्त भएँ, अनि चिप्ले र कामचोर बनेँ। यस्तो व्यवहारले गर्दा मैले आफ्नो निष्ठा र स्वाभिमान सबै गुमाएँ। यसरी नै आफ्नो कर्तव्य निर्वाह गरेमा म निश्चय नै परमेश्वरद्वारा तिरस्कृत हुने र हटाइने थिएँ। यस बिन्दुमा आएर मात्र मलाई अलिकति डर लाग्यो। म उत्प्रेरणाविहीन, झाराटारुवा, र देहमा मग्न हुन सक्दिनथेँ।
पछि, एउटा अनुभवात्मक गवाहीको भिडियो हेर्दा, मैले परमेश्वरका वचनको एउटा खण्ड देखेँ जुन मेरो अवस्थासँग राम्ररी मिल्थ्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “प्रभु येशूले एकपटक भन्नुभयो, ‘किनभने जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ’ (मत्ती १३:१२)। यी वचनहरूको अर्थ के हो? यिनीहरूको अर्थ हो—यदि तैँले आफ्नो कर्तव्य वा कार्य गरिनस् वा त्यसमा आफूलाई समर्पित गरिनस् भने, परमेश्वरले तँसित भएका कुरा ‘खोस्नुहुनेछ’। ‘खोस्नुहुनेछ’ भन्नुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो अनुभूति गराउँछ? हुन सक्छ, तैँले आफ्नो क्षमता र वरदानद्वारा प्राप्त गर्न सक्ने कुरा प्राप्त गर्न सक्दैनस्, र तँलाई केही महसुस हुँदैन अनि तँ ठ्याक्कै गैरविश्वासीजस्तै छस्। परमेश्वरले सबै कुरा खोस्नु भनेको त्यही हो। यदि तँ आफ्नो कर्तव्यमा लापरवाह छस्, मूल्य चुकाउँदैनस्, र तँ निष्कपट छैनस् भने, परमेश्वरले तँसित भएका कुरा खोस्नुहुनेछ, उहाँले तेरो कर्तव्य निर्वाह गर्ने अधिकार फिर्ता लिनुहुनेछ, उहाँले तँलाई यो अधिकार दिनुहुनेछैन। परमेश्वरले तँलाई वरदान र क्षमता दिनुभयो, तर तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनस्, परमेश्वरप्रति आफूलाई समर्पित गरिनस्, वा मूल्य चुकाइनस् र तैँले त्यसमा मन लगाइनस्, त्यसकारण परमेश्वरले तँलाई आशिष् नदिनुहुने मात्र होइन, तँसित भएका कुरा पनि खोस्नुहुनेछ। परमेश्वरले मानिसहरूलाई विशेष सीपका साथै ज्ञान र बुद्धि दिएर वरदान प्रदान गर्नुहुन्छ। मानिसहरूले यी कुरा कसरी प्रयोग गर्नुपर्छ? तैँले आफ्नो विशेष सीप, वरदान, ज्ञान र बुद्धिलाई आफ्नो कर्तव्यमा समर्पित गर्नैपर्छ। तैँले आफ्नो हृदय प्रयोग गर्नुपर्छ अनि आफूलाई थाहा भएका, आफूले बुझेका, र आफूले प्राप्त गर्न सक्ने सबै कुरा आफ्नो कर्तव्यमा लगाउनैपर्छ। यसो गर्दा तँ आशिषित हुनेछस्। परमेश्वरद्वारा आशिषित् हुनुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो महसुस गराउँछ? तिनीहरूले परमेश्वरबाट अन्तर्दृष्टि र मार्गदर्शन पाएका छन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूसित मार्ग हुन्छ। अरू मानिसहरूलाई तेरो क्षमता र तैँले सिकेका कुराहरूले तँलाई काम पूरा गर्न सक्षम पार्न नसकेकोजस्तो लाग्न सक्छ—तर यदि परमेश्वरले काम गर्नुहुन्छ र तँलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ भने, तँ ती कुरा बुझ्न र ती काम गर्न मात्र होइन, ती काम राम्रैसित गर्नसमेत सक्षम हुनेछस्। अनि अन्त्यमा, तैँले अलमल्ल हुँदै मनमनै यस्तो सोच्नेछस्, ‘म त यति दक्ष थिइनँ, तर अहिले मभित्र कति धेरै असल कुराहरू छन्—र यी सबै सकारात्मक छन्। मैले यी कुराहरू कहिल्यै अध्ययन गरिनँ, तर म अहिले अचानक यी सबै कुराहरू बुझ्ने भएको छु। म अचानक कसरी यति तीक्ष्ण भएँ? अहिले म कसरी यति धेरै कुराहरू गर्न सक्ने भएँ?’ तैँले यो कुरा व्याख्या गर्न सक्नेछैनस्। यी त परमेश्वरबाटको अन्तर्दृष्टि र आशिष् हुन्; यसरी नै परमेश्वरले मानिसहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूले आफ्नो कर्तव्य निभाउँदा वा काम गर्दा यदि यस्तो महसुस गर्दैनौ भने, तिमीहरू परमेश्वरद्वारा आशिषित् भएका छैनौ। यदि तँलाई आफ्नो कर्तव्य निभाउनु सधैँ निरर्थक लाग्छ भने, यदि तँलाई गर्नुपर्ने कुनै कुरा नै छैन जस्तो लाग्छ र तैँले आफूलाई योगदान दिन सक्ने अवस्थामा पुर्याउन सक्दैनस् भने, यदि तैँले कहिल्यै अन्तर्दृष्टि पाउँदैनस् र आफूसित प्रयोग गर्न सकिने कुनै चातुर्य वा बुद्धि आफूमा नभएको महसुस गर्छस् भने, यो समस्या हो। यसले तँसँग आफ्नो कर्तव्य पूरा गर्ने सही अभिप्राय वा सही मार्ग छैन, र परमेश्वरले अनुमोदन गर्नुहुन्न, र तेरो स्थिति अस्वाभाविक छ भन्ने देखाउँछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले हालसालै भिडियो बनाउने काममा मेरो प्रगति नहुनुको मुख्य कारण मेरो कर्तव्यप्रतिको गलत मनोवृत्ति नै रहेछ भनेर बुझेँ। मलाई चिन्ता गर्नुपर्ने र आफैलाई थकाउनुपर्ने कुराको डर लाग्थ्यो, र म सजिला कामहरू मात्र रोज्दै आफ्नो कर्तव्यमा मेहनत लगाउन अनिच्छुक थिएँ। मैले आफ्नो मन र ऊर्जा आफ्नो कर्तव्यमा लगाइनँ, र म सधैँ चिप्ले र कामचोर बनेँ। परमेश्वरले मेरो कर्तव्यप्रतिको मनोवृत्तिलाई घृणा गर्दै मसँग सुरुमा भएको कुरा पनि खोस्नुभएको थियो। मैले आफ्नो कर्तव्यमा कुनै प्रगति गरेकी थिइनँ, र सरल भिडियोहरू पनि राम्ररी बनाउन सक्दिनथेँ। यदि मैले पश्चात्ताप नगरेकी भए, मैले आफ्नो कर्तव्य पूर्ण रूपमा गुमाउन सक्थेँ। नयाँ विश्वासीहरूलाई मलजल गर्ने अभ्यास गर्दाको समयबारे चिन्तन गर्दा, सुरुमा, मैले नबुझेका पनि धेरै सिद्धान्तहरू थिए, तर मेरी सहकर्मी सिस्टरले मसँग सङ्गति गरेर मलाई मद्दत गरिन्। जब-जब मैले कठिनाइहरूको सामना गर्थेँ, म उनलाई सोध्ने गर्थेँ, र म कामकुरालाई सारांशित, अध्ययन, र अक्सर परमेश्वरलाई प्रार्थना गर्ने गर्थेँ। त्यस बेला, मैले छिटो प्रगति गरेँ र आफ्नो कर्तव्यमा प्रभावकारी थिएँ। अहिलेको तुलनामा, मैले धेरै समय भिडियो उत्पादनको अभ्यास नगरेकी भए पनि, त्यस्ता केही सीपहरू थिए जुन मैले ध्यान लगाएर अध्ययन गरेमा निपुणता हासिल गर्न सक्थेँ। तर म शारीरिक सुखभोगमा लिप्त भएँ, प्रगति गर्ने इच्छाको कमी भयो, र मूल्य चुकाउन अनिच्छुक भएँ, त्यसैले मेरो पेसागत सीपमा सुधार भएको थिएन र मैले आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरको मार्गदर्शन देख्न सकेकी थिइनँ। परमेश्वर मानिसहरूप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ। यदि हामीले मूल्य चुकायौँ र आफ्नो कर्तव्यमा हृदय लगायौँ भने, हामीले परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउनेछौँ, र हामीले आफ्नो जीवन प्रवेश र पेसागत सीप दुवैमा प्रगति गर्नेछौँ। तर यदि हामीले आफ्नो कर्तव्यमा हृदय लगाएनौँ र चिप्ले अनि कामचोर बन्यौँ भने, हामी अन्ततः प्रकटित हुनेछौँ, र समय बित्दै जाँदा, हामीले अन्यथा हासिल गर्न सक्ने कुरा पनि हासिल गर्नेछैनौँ। यसबारे चिन्तन गर्दा, मलाई धेरै दोषी र पश्चात्ताप महसुस भयो। परमेश्वरको अभिप्राय म मूल्य चुकाऊँ र आफ्नो कर्तव्यमा हृदय लगाऊँ, आफ्नो कर्तव्यमा आफ्नो कार्यको अभ्यास गरूँ, र सुसमाचार फैलाउन र परमेश्वरको गवाही दिन अझ राम्रा भिडियोहरू बनाऊँ भन्ने हो। तर म अल्छी र सुखभोगमा लिप्त भएकी थिएँ, मैले आफ्नो कर्तव्यमा साँच्चै मूल्य चुकाएकी र आफूले गर्नुपर्ने काम गरेकी थिइनँ। मैले परमेश्वरका आशालाई निराश पारेकी थिएँ। ममा साँच्चै मानवताको कमी थियो र आफ्ना लागि के राम्रो हो भन्नेबारे म अनभिज्ञ थिएँ! यो कुरा बुझेपछि, म रोएँ र परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले त्यस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नुहुँदैनथ्यो। म साँच्चै यति विश्वास गर्न नसकिने रहेछु! परमेश्वर, म तपाईँसामु पश्चात्ताप गर्न तत्पर छु। कृपया मेरो हृदयको छानबिन गर्नुहोस्, र मलाई मार्गदर्शन र मद्दत गर्नुहोस्।”
त्यसपछि, मैले म कठिनाइहरूको सामना गर्दा किन सधैँ पछि हट्थेँ भन्ने बुझ्न फेरि खोजी गरेँ। मैले परमेश्वरका यी वचनहरू पढेँ: “आज, परमेश्वरको कार्यको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट अपेक्षा गरिएका मापदण्डहरू र तँलाई जिउन आग्रह गरिएका कुराहरू अतिरिक्त होइनन्। काम धेरै छन्, र सत्यता पनि धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के परमेश्वरको सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के परमेश्वरको सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो विश्वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? … सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्वरमा विश्वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्वरको सामना गर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। जब मैले “कायर” र “वनपशु” जस्ता शब्दहरू पढेँ, तब मेरो हृदयमा पीडा भयो। म ठ्याक्कै परमेश्वरले खुलासा गर्नुहुने त्यही प्रकारकी व्यक्ति थिएँ, जसले देहलाई माया गर्छ र सत्यता पछ्याउँदैन। आफ्नो कर्तव्य निर्वाह गर्दा, म भौतिक सुखभोगमा लिप्त भएकी थिएँ, कुनै पनि कुराको लागि मूल्य चुकाउन चाहन्नथेँ, म सधैँ सजिलो र सरल कामहरू गर्न चाहन्थेँ, र हरेक दिन झारा टारेर बिताउँथेँ। म दिनभरि खाने, पिउने, र सुत्ने मात्र गर्ने, पछ्याउने कुनै विचार वा लक्ष्य नभएको सुँगुरजस्तै भएकी थिएँ। मलाई आफ्नो कर्तव्यमा कुनै बोझ वा प्रगति गर्ने चाहना थिएन, र म सधैँ आफ्नो देहसामु झुक्थेँ। यस्तो हुनुको कारण के थियो भने मैले सधैँ “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” र “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनु पर्छ,” जस्ता शैतानी विषहरूलाई जिउने नियमका रूपमा प्रयोग गरेकी थिएँ। परमेश्वरमा विश्वास गर्नुअघि, म यथास्थितिमा सन्तुष्ट रहेकी थिएँ, सुख खोज्थेँ, र ममा कुनै महत्त्वाकाङ्क्षा थिएन। जीवन यति छोटो भएकाले, मैले आफूलाई थकाउनु वा कठिन बनाउनुको सट्टा यस संसारमा हरेक दिनको आनन्द लिनुपर्छ भन्ने सोचेकी थिएँ। परमेश्वरमा विश्वास गर्न थालेपछि पनि, मैले आफ्नो कर्तव्य निर्वाह गर्दा यो दृष्टिकोणलाई बदलिनँ। म गाह्रा भिडियोहरू फेला पर्दा, तिनलाई च्याङ्ग सिनतिर पन्छाउँथेँ र आफ्ना लागि सजिला काम खोज्थेँ। पछि, जब सिस्टरको काम थुप्रिन्थ्यो र उनी आफ्नो कर्तव्यमा निकै दबाबमा पर्थिन्, म कामको बोझमा सामेल हुन अनिच्छुक बन्दै तिनबाट टाढै बस्थेँ र कामकुरालाई सहज रूपमा लिइदिन्थेँ। मैले सिस्टरको कठिनाइ वा मण्डलीको कामबारे नसोची केवल आफ्नै देहबारे सोचेँ। म एकदमै स्वार्थी र घृणित भएकी थिएँ! यसबारे चिन्तन गर्दा, मैले शैतानद्वारा भरिएका यी विषहरूले मलाई पतित र विलासी बनाएको, र प्रगति गर्ने कुनै इच्छाविना, म त बेकामको जीवन पो बिताइरहेकी रहेछु भन्ने महसुस गरेँ। यस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्दा म पक्कै पनि लामो समय टिक्ने थिइनँ, र अन्तमा, म परमेश्वरद्वारा प्रकटित भई हटाइने थिएँ।
पछि, मैले परमेश्वरका वचनहरूबाट मानिसहरूसँग उहाँले माग गर्नुभएका कुराहरू बुझेँ। मैले परमेश्वरका यी वचनहरू पढेँ: “मानिलिऊँ, मण्डलीले तेरो लागि एउटा कार्यको प्रबन्ध गर्छ, र तँ यसो भन्छस्, ‘… मण्डलीले मलाई जुन काम दिए पनि म आफ्नो सारा हृदय र शक्तिले त्यो गर्नेछु। यदि मैले कुनै कुरा बुझिनँ वा कुनै समस्या आइपर्यो भने, म परमेश्वरलाई प्रार्थना गर्नेछु, सत्यताको खोजी गर्नेछु, सत्यता सिद्धान्तहरूअनुसार समस्याहरूलाई हल गर्नेछु, र कार्य राम्ररी गर्नेछु। मेरो कर्तव्य जे भए पनि, म यसलाई राम्ररी पूरा गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न आफूसँग भएको सबै कुरा प्रयोग गर्नेछु। मैले जेसुकै हासिल गर्न सके पनि, म आफूले वहन गर्नुपर्ने जिम्मेवारी वहन गर्न सक्दो गर्नेछु, र कम्तीमा पनि, म आफ्नो विवेक र समझविरुद्ध जानेछैनँ, वा झारा टार्नेछैनँ, वा कपटी र अल्छे बन्नेछैनँ, वा अरूको मेहनतको फलमा लिप्त हुनेछैनँ। मैले गर्ने कुनै पनि काम विवेकको मानकभन्दा मुनि हुनेछैन।’ यो त आत्म-आचरणको न्यूनतम मानक हो, र यसरी आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति विवेक र समझ भएको व्यक्ति कहलिन सक्छ। आफ्नो कर्तव्य पूरा गर्नमा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनैपर्छ, र कम्तीमा पनि आफ्नो तीन छाक खानाको लायक हुनुपर्छ र ती सित्तैँमा खानु हुँदैन। यसलाई जिम्मेवारीको बोध हुनु भनिन्छ। तेरो क्षमता बलियो भए पनि वा कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि वा नबुझे पनि, जे भए पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाउनुपर्छ, र यसलाई राम्ररी पूरा गर्न आफ्नो सारा हृदय र शक्ति प्रयोग गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्नेबारे ग्यारेन्टी दिन नसके पनि, मेरो मनोवृत्ति भनेको यसलाई आफूले सकेजति राम्ररी निर्वाह गर्ने हो, र म यसबारे अवश्य नै झाराटारुवा हुनेछैनँ। यदि काममा कुनै समस्या उत्पन्न भयो भने, मैले जिम्मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्चित गरेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका वचनहरू पढेपछि, मैले अभ्यासको मार्ग पाएँ। परमेश्वरले मलाई यो कर्तव्य निर्वाह गर्न उचाल्नुभएको थियो, त्यसैले मैले यसलाई राम्ररी निर्वाह गर्न आफ्नो हृदय लगाउनुपर्थ्यो। कठिनाइहरूको सामना गर्दा, म चिप्ले वा कामचोर बन्नु हुँदैनथ्यो। मैले साँच्चै मूल्य चुकाउन र आफ्नो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नुपर्थ्यो। मैले भर्खरै भिडियो बनाउने अभ्यास गर्न थालेकी थिएँ र त्यसमा निपुण थिइनँ, त्यसैले अगाडि बढ्दै जाँदा, मैले आफ्नो पेसागत सीप सुधार्न कडा मेहनत गर्नुपर्थ्यो। मैले गाह्रा भिडियोहरू भेट्दा, म त्यो काम गर्न सक्ने अवस्थामा हुँदासम्म मैले तिनको जिम्मा लिनुपर्थ्यो, वा मैले तिनीहरूबारे च्याङ्ग सिनसँग सहकार्य गर्नुपर्थ्यो, साँच्चै मूल्य चुकाउनुपर्थ्यो, आफूले नबुझेका कुराहरू उनलाई सोध्नुपर्थ्यो, र अलि-अलि गर्दै सिक्नुपर्थ्यो। यसरी, मैले सिकेका सीपहरू आफ्नो कर्तव्यमा लागू गर्न सक्नेथिएँ।
एक पटक, मैले आफूले बनाइरहेको एउटा गाह्रो भिडियो फेरि च्याङ्ग सिनलाई सुम्पिन चाहेँ, तर मैले पश्चात्ताप गर्न परमेश्वरलाई गरेको मेरो अघिल्लो प्रार्थना सम्झेँ, र मैले यस भिडियोमा कठिनाइ सामना गर्दा, म फेरि जिम्मेवारी पन्छाउन चाहिरहेकी छु भन्ने महसुस गरेँ। के म अझै पनि मूल्य चुकाउन डराइरहेकी र प्रगति नखोजिरहेकी थिइनँ र? त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, उहाँलाई मेरो देहविरुद्ध विद्रोह गर्न र साँच्चै मूल्य चुकाउन अगुवाइ गर्न बिन्ती गरेँ। मैले यो कुरामा पनि विचार गरेँ परमेश्वरले मैले यो कठिनाइको सामना गर्दा, म आफ्नो देहसँग विद्रोह गर्न र सत्यता अभ्यास गर्न, अनि भिडियोहरू बनाएर आफ्ना सीपहरू सुधार्न सकूँ भन्ने आशा गर्नुभएको थियो। परमेश्वरको अभिप्राय बुझेर, मैले लगनशीलताका साथ जानकारी खोजेँ र केही सीपहरू सिकेँ, र अन्तमा, मैले सफलतापूर्वक त्यो भिडियो पूरा गरेँ। भिडियो बनाउन केही समय र प्रयास लागे तापनि, मेरा सीपहरूमा सुधार भयो। परमेश्वरको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद!