२३. सुपरिवेक्षण अस्वीकार गरिएकोबारे आत्मचिन्तन
म विगत केही वर्षदेखि, मण्डलीमा शुद्धीकरण कामको जिम्मेवार रहेकी छु। मैले लामो समयदेखि यो कर्तव्य निर्वाह गर्दै आएकीले र केही सिद्धान्तहरू पनि बुझेकीले, प्राय: आफ्नो कर्तव्यमा खासै दबाब महसुस नगरी सजिलै काम पूरा गर्न सक्थेँ। थाहै नपाई, म आफ्नै तालमा कर्तव्य निर्वाह गर्न र फुर्सद लिएर काम गर्न थालेँ। लगत्तै, अगुवाहरूले निकाल्नुपर्ने व्यक्तिहरूको पहिचानका लागि विस्तृत अनुसन्धान गर्न अनुरोध गर्नुभयो। मैले अनुसन्धानबाट पहिचान भएका व्यक्तिहरूको नामसूची अगुवाहरूलाई हस्तान्तरण गरेँ। पछि, उहाँहरूले मलाई नामसूचीमा भएका हरेक व्यक्तिको विशेषताबारे र मैले निकाल्ने कामका लागि सामग्रीहरू कहिले मिलाइसक्ने हो, आदि कुराहरू बारम्बार सोध्नुहुन्थ्यो। अगुवाहरूको सुपरिवेक्षण र अनुगमनको सामना गर्दा, मैले मनमनै सोचेँ, “के म पहिल्यैदेखि यही काम गरिरहेकी छैन र? म यहाँ केही नगरी बसेकी त छैन नि। के तपाईंहरू मलाई विश्वास गर्नुहुन्न? जानकारी थप र प्रमाणीकरण त्यति छिटो कसरी गर्न सकिन्छ र? तपाईंहरू किन यति नजिकबाट अनुगमन गर्दै हुनुहुन्छ? केही स्वतन्त्रता पनि नदिने हो?” तर मैले फेरि, यदि हतार गरेर यो काम सिध्याइएन भने, अगुवाहरूले ममा बोझको कमी छ भन्नुहोला भन्ने महसुस गरेँ, त्यसैले मसँग जतिसक्दो चाँडो जानकारी प्रमाणित गर्ने र थप्नेबाहेक अरू विकल्प थिएन। त्यसपछि त, मैले हरेक दिन आफ्नो तालिका पूरै भर्थेँ। यसो गर्दा मलाई आफ्नो कर्तव्य निर्वाहमा बाँधिएको र दबिएको महसुस भयो। पछि, जब मैले आफ्नो कामबारे रिपोर्ट गरेँ, मैले आफ्नो अनुसन्धानमा परेका केही व्यक्तिहरूको नामसूची दिइनँ। अगुवाहरूले मैले काम लगभग सिध्याएँ होला भन्ने सोचेर पहिले जस्तो बारम्बार मेरो कामको अनुगमन र सुपरिवेक्षण गर्न छोड्नुभयो। यसरी, मैले आफ्नो अत्यावश्यकताको भाव नै गुमाएँ। कहिलेकाहीँ, सामग्री थप्नका लागि मण्डली जाने काम बिहान प्रस्टै गर्न सक्ने भए तापनि, म मध्यान्नसम्म ढिला गर्थेँ। मसँग कुनै स्पष्ट योजना पनि हुँदैनथ्यो, आफ्नै इच्छाअनुसार काम गर्थेँ। पछि, अगुवाहरूले मैले निकाल्नुपर्ने केही व्यक्तिहरूको नामसूची रिपोर्ट गरेकी रहेनछु भन्ने थाहा पाउनुभयो। उहाँहरूले मलाई आफ्नो कर्तव्यमा मनमानी गरेको, सुपरिवेक्षण स्वीकार नगरेको, र मण्डलीको कामलाई पटक्कै वास्ता नगरेको भनेर काटछाँट गर्नुभयो। त्यतिबेला, मैले धेरै प्रतिरोध महसुस गरेँ, सोचेँ मैले उहाँहरूलाई पूर्ण नामसूची मात्र पो रिपोर्ट नगरेकी हुँ त, तर त्यसको मतलब मैले त्यसमा काम नै नगरेकी भन्ने त होइन नि। यसबाहेक, मैले आफ्नो कर्तव्यमा ढिलाइ पनि त गरेकी थिइनँ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले अरूलाई आफ्नो कुनै पनि काममा हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा रेखदेख गर्न दिँदैनन्। परमेश्वरको घरले तिनीहरूको काम फलोअप गर्न, वा यसबारेमा थप जान्न, वा यसको सुपरिवेक्षण गर्न जुनसुकै बन्दोबस्तहरू गरे पनि, तिनीहरूले त्यसलाई रोक्न र इन्कार्न हरकिसिमका विधिहरू प्रयोग गर्नेछन्। उदाहरणको लागि, जब माथिले कतिपय मानिसहरूलाई कुनै परियोजना दिन्छ, तब केही समय बित्छ र पनि कुनै प्रगति हुँदैन। तिनीहरूले यसमा काम गरिरहेका छन् कि छैनन्, वा यो कसरी अघि बढिरहेको छ, वा हस्तक्षेप गर्नुपर्ने कुनै कठिनाइ वा समस्याहरू छन् कि छैनन् भनेर माथिलाई बताउँदैनन्। तिनीहरूले कुनै प्रतिक्रिया दिँदैनन्। कतिपय कामहरू आतुर हुन्छन् र त्यसमा ढिलाइ गर्न सकिँदैन, तैपनि तिनीहरूले लामो समयसम्म काम नसकी ढिलासुस्ती गरिरहन्छन्। त्यसपछि माथिले सोधपुछ गर्नैपर्छ। जब माथिले सोधपुछ गर्छ, तब ती मानिसहरूलाई सोधपुछ असहनीय रूपमा लाजमर्दो लाग्छ, र तिनीहरूले हृदयदेखि प्रतिरोध गर्छन्: ‘मलाई यो काम दिइएको दश दिन मात्रै भएको छ। मैले यसमा राम्रोसित हातसमेत हालेको छैन र पनि माथिले सोधपुछ गर्न थालिसक्यो। मानिसहरूप्रति तिनीहरूका मापदण्डहरू अत्यन्तै उच्च छन्!’ तिनीहरू सोधपुछमा गल्तीहरू खोजिरहेका हुन्छन्। यसमा के समस्या छ? मलाई भन त, के माथिबाट सोधपुछ हुनु सामान्य कुरा होइन र? यसको एउटा भाग भनेको कामको प्रगतिको अवस्था, साथै समाधान गरिनुपर्ने कठिनाइहरू के-के हुन् भन्नेबारे थप जान्ने इच्छा हो; यसको साथै, यो तिनीहरूले काम सुम्पेका मानिसहरूको क्षमता कस्तो छ, र तिनीहरूले वास्तवमा समस्याहरू समाधान गर्न र काम राम्ररी गर्न सक्छन् कि सक्दैनन् भन्नेबारे थप जान्ने इच्छा पनि हो। माथिले वास्तविक तथ्यहरू जान्न चाहन्छन्, र प्रायजसो त्यस्ता परिस्थितिहरूमा सोधपुछ गरिरहन्छन्। के त्यो तिनीहरूले गर्नुपर्ने कुरा होइन र? तँलाई समस्याहरू कसरी समाधान गर्ने थाहा छैन र तैँले काम सम्हाल्न सक्दैनस् कि भन्ने चिन्ता माथिलाई हुन्छ। त्यसकारण तिनीहरूले सोधपुछ गर्छन्। कति मानिसहरू त्यस्ता सोधपुछप्रति निकै प्रतिरोधी हुन्छन् र तिनीहरूलाई यसप्रति घृणा लाग्छ। तिनीहरू मानिसहरूलाई सोधपुछ गर्न दिन अनिच्छुक हुन्छन्, र मानिसहरूले सोधपुछ गरे भने, तिनीहरू प्रतिरोधी हुन्छन् र तिनीहरूमा शङ्का हुन्छ, र सधैँ मनमनै विचार गर्छन्, ‘तिनीहरूले किन सधैँ सोधपुछ गरिरहेका र थप जान्न खोजिरहेका हुन्छन्? के तिनीहरूले मलाई भरोसा नगरेकोले र मलाई नीच ठानेकोले हो? यदि तिनीहरूले मलाई भरोसा गर्दैनन् भने, तिनीहरूले मलाई प्रयोग गर्नु हुँदैन!’ तिनीहरूले कहिल्यै पनि माथिका सोधपुछ र सुपरिवेक्षणलाई बुझ्दैनन्, बरु तिनलाई प्रतिरोध गर्छन्। के यस्ता मानिसहरूमा समझ हुन्छ? तिनीहरूले किन माथिलाई आफूसित सोधपुछ गर्न र सुपरिवेक्षण गर्न दिँदैनन्? यसको साथै, तिनीहरू किन प्रतिरोधी र अवज्ञाकारी हुन्छन्? यहाँ समस्या के हो? तिनीहरूले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्छन् कि गर्दैनन् वा यसले कामको प्रगतिमा बाधा दिन्छ कि दिँदैन भन्ने कुरालाई वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू खोजी गर्दैनन्, बरु आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरूले कामका परिणामहरू वा प्रभावकारिताबारे कुनै विचार गर्दैनन्, र परमेश्वरको घरका हितहरूबारे पटक्कै विचार गर्दैनन्, परमेश्वरले के अभिप्राय राख्नुहुन्छ र के मापदण्ड दिनुहुन्छ भन्ने कुरा विचार गर्नु त परै जाओस्। तिनीहरूको सोचाइ यस्तो हुन्छ, ‘आफ्नो कर्तव्य निर्वाह गर्ने मेरा आफ्नै तरिका र तालिकाहरू छन्। मबाट धेरै माग गर्ने वा कामकुराहरू विस्तृत रूपमा गर्नुपर्ने मापदण्डहरू दिने नगर। मैले आफ्नो कर्तव्य निर्वाह गर्नु नै पर्याप्त कुरा हो। मैले अत्यन्तै थकित हुनु वा अत्यन्तै धेरै कष्ट भोग्नु हुँदैन।’ तिनीहरूले तिनीहरूका कामबारे थप जान्नको लागि माथिले गरेका सोधपुछ र प्रयासहरू बुझ्दैनन्। तिनीहरूको यो बुझाइको अभावमा के कुराको कमी छ? के यो समर्पणको कमी होइन र? के यो जिम्मेवारीबोधको कमी हुनु होइन र? बफादारिताको कमी? यदि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा साँच्चै नै जिम्मेवार र बफादार थिए भने, के तिनीहरूले आफ्नो कामबारे माथिले गरेका सोधपुछहरू इन्कार्नेथिए र? (थिएनन्।) तिनीहरूले यो कुरा बुझ्न सक्थे। यदि तिनीहरूले साँच्चै नै यो कुरा बुझ्न सक्दैनन् भने, एउटा मात्र सम्भावना हुन्छ: तिनीहरूले आफ्नो कर्तव्यलाई आफ्नो पेशा र जीविकोपार्जनको रूपमा हेर्छन्, र यसबाट फाइदा लिन्छन्, र तिनीहरूले आफूले निर्वाह गर्ने कर्तव्यलाई सधैँ इनाम प्राप्त गर्ने सर्त र सौदाबाजीको रूपमा लिन्छन्। तिनीहरूले माथिलाई टार्नको लागि प्रतिष्ठाको काम मात्रै अलिअलि गर्छन्, र परमेश्वरको आज्ञालाई आफ्नो कर्तव्य र दायित्वको रूपमा लिने कुनै प्रयास गर्दैनन्। त्यसकारण, जब माथिले तिनीहरूको कामबारे सोधपुछ गर्छ वा यसको सुपरिवेक्षण गर्छ, तब तिनीहरू घृणा गर्ने प्रतिरोधी मानसिकतामा जान्छन्। के यस्तै हुँदैन र? (यस्तै हुन्छ।) यो समस्या कहाँबाट आएको हो? यसको सार के हो? त्यो के हो भने, कार्य परियोजनाप्रतिको तिनीहरूको मनोवृत्ति नै गलत हुन्छ। तिनीहरूले कामको प्रभावकारिता र परमेश्वरको घरका हितहरूबारे सोच्नुको सट्टा देहगत सहजता र आराम, र आफ्नै हैसियत र अभिमानबारे मात्रै विचार गर्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्ने प्रयास पटक्कै गर्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्वरले ख्रीष्टविरोधीहरू आफ्नो कामको सुपरिवेक्षण अरूले नगरून् भन्ने चाहन्छन् भनी खुलासा गर्नुहुन्छ। जब अगुवाहरूले उनीहरूको काम जाँच्छन् र सोधपुछ गर्छन्, उनीहरू प्रतिरोध महसुस गर्छन् र आफ्नो कामको प्रभावकारिताको वास्ता नगरी आफूले चाहेका कुराहरू गर्छन्। आफूमाथि चिन्तन गर्दा, मैले पनि त्यस्तै व्यवहार देखाएकी रहेछु। जब अगुवाहरूले मेरो कामको प्रगतिबारे सोध्नुभयो, मैले धेरै प्रतिरोध महसुस गरेँ, सोचेँ म फुर्सदमा बसेकी थिइनँ, र उहाँहरूले धेरै नै दबाब दिइरहनुभएको थियो। मैले काम त जारी राखेँ तर, यसलाई अनिच्छापूर्वक गरेँ। मैले अगुवाहरूले मेरो कामको सुपरिवेक्षण गर्न असम्भव हुने गरी, छानबिनमा पहिचान भएका व्यक्तिहरूको विवरण, इमानदारीपूर्वक रिपोर्ट नगरेर उहाँहरूलाई छल समेत गरेकी थिएँ, ताकि मैले आफ्नै योजनाअनुसार आफ्नो इच्छाले कर्तव्य पूरा गर्न सकूँ। बाहिरबाट हेर्दा त, म फुर्सदमा बसेकी थिइनँ, तर मेरो आरामसँग समय तालिका अनुसार काम गर्ने मनोवृत्तिले कामको प्रगतिमा प्रत्यक्ष असर पारेको थियो। मैले आफूमा कर्तव्यप्रतिको जिम्मेवारी बोधको अभाव रहेको र म विश्वास गर्न लायक नभएकी महसुस गरेँ।
पछि, मैले यी परमेश्वरका वचनहरू पढेँ: “अगुवाले तेरो काम सुपरिवेक्षण गर्नु असल कुरा हो। किन? किनकि त्यसको अर्थ उसले मण्डलीको कामको जिम्मेवारी लिइरहेको छ भन्ने हुन्छ; यो उसको कर्तव्य, उसको जिम्मेवारी हो। उसले यो जिम्मेवारी पूरा गर्न सक्नुले ऊ एउटा योग्य अगुवा, एउटा असल अगुवा हो भन्ने प्रमाणित गर्छ। यदि तँलाई पूर्ण रूपमा स्वतन्त्रता र मानवअधिकारहरू दिइयो भने, र तैँले जे मन लाग्यो त्यही गर्न, आफ्नै इच्छाहरू पछ्याउन, र पूर्ण स्वतन्त्रता र लोकतन्त्रको आनन्द उठाउन पाउँथिस् भने, र तैँले चाहे जे गरे नि वा त्यो जसरी गरे नि, अगुवाले वास्ता वा सुपरिवेक्षण गरेन भने, तँलाई कहिल्यै प्रश्न गरेन भने, तेरो काम जाँचेन भने, समस्याहरू पत्ता लाग्दा बोलेन भने, र तँलाई कि त फुस्ल्याउने कि त तँसँग सम्झौता गर्ने मात्र गऱ्यो भने, के ऊ असल अगुवा हुन्थ्यो र? स्पष्ट रूपमै हुन्थेन। त्यस्तो अगुवाले तँलाई हानि गरिरहेको हुन्छ। उसले तेरो दुष्कर्ममा आड दिन्छ, र तँलाई सिद्धान्तहरूविरुद्ध जान र मनपरी गर्न अनुमति दिन्छ—उसले तँलाई आगोको कुण्डतर्फ धकेलिरहेको हुन्छ। यो एउटा जिम्मेवार, अनि मानक पूरा गर्ने अगुवा होइन। अर्कोतर्फ, यदि अगुवाले नियमित रूपमा तेरो सुपरिवेक्षण गर्न, तेरो कामका समस्याहरू पहिचान गर्न र तँलाई तुरुन्तै सम्झाउन वा आलोचना अनि खुलासा गर्न, र कर्तव्य पुरा गर्ने क्रममा हुने तेरा गलत पछ्याइ र विचलनहरू सामयिक रूपमा सच्याउन र तिनमा तँलाई मद्दत गर्न सक्छ भने, अनि उसको सुपरिवेक्षण, फटकार, आपूर्ति, र सहयोगले कर्तव्यप्रतिको तेरो गलत मनोवृत्ति परिवर्तन हुन्छ, र तैँले तेरा केही निरर्थक विचारहरू फाल्न सक्छस्, र तेरो आवेगबाट उत्पन्न हुने तेरा आफ्नै अवधारणा र कुराहरू बिस्तारै कम हुन्छन्, र तैँले सही अनि सिद्धान्तअनुरूप हुने भनाइ र विचारहरू शान्त रूपमा स्विकार्न सक्छस् भने, के यो तेरो लागि फाइदाजनक हुँदैन र? यी फाइदाहरू वास्तवमै अत्यन्तै धेरै हुन्छन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७))। परमेश्वरका वचनहरूले मलाई बुझाए कामको सुपरिवेक्षण र अनुगमन गर्नु अगुवाहरूको जिम्मेवारी हो। यसले उनीहरू आफ्नो कर्तव्यप्रति जिम्मेवार छन् र मण्डलीको काम राम्ररी गर्ने लक्ष्य राख्छन् भन्ने पनि देखाउँछ। साँच्चै विवेक र समझ भएका मानिसहरूले अगुवाहरूको सुपरिवेक्षणको सामना गर्दा बारम्बार आत्मचिन्तन गर्छन्, आफ्नो कर्तव्यमा भएका विचलन र समस्याहरूलाई सङ्क्षेपीकरण गरी समयमै सुधार्छन् ताकि आफ्नो कर्तव्यमा राम्रो नतिजा हासिल गर्न सकियोस्। मैले सम्झेँ, जब मैले पहिलो पटक शुद्धीकरणको काम सुरु गरेकी थिएँ, त्यतिबेला मैले सिद्धान्तहरू केही पनि बुझेकी थिइनँ। ब्रदर-सिस्टरहरूले धेरै पटक सङ्गति र मद्दत गरेपछि मात्र मैले केही सिद्धान्तहरू बुझ्न सकेँ र विभिन्न मानिसहरूको व्यवहारबारे केही खुट्याउने क्षमता पाएँ। यो कर्तव्य निर्वाह गर्न पाउनु मेरा लागि विशेष निगाह थियो, र यो परमेश्वरको अनुग्रह थियो। मण्डलीले मलाई यो कामको जिम्मेवारी दिएको थियो, त्यसैले मैले यो कर्तव्य आफ्नो काँधमा लिनुपर्थ्यो र काममा सहज प्रगति सुनिश्चित गर्न पूरा हृदय र शक्तिले सक्दो गर्नुपर्थ्यो। यसो गर्नुले विवेक र समझ भएको देखाउँछ। तर, म त केवल आरामले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, र कामको प्रगतिबारे पटक्कै विचार नगरी काम गर्न पाएकैमा सन्तुष्ट थिएँ, मैले अगुवाहरूलाई मेरो कामको जाँच र सुपरिवेक्षण गर्नबाट रोक्नका लागि विशेष विवरणहरू रिपोर्ट नगरेर उहाँहरूलाई छल समेत गरेकी थिएँ। यस्तो प्रकारले कर्तव्य निर्वाह गरेर मैले विवेक वा मानवता देखाएँ भनेर कसरी भन्न सक्छु र? म निरन्तर सुपरिवेक्षणबाट भागिरहेकी थिएँ र नियन्त्रित हुन चाहन्नथेँ। त्यसले मेरो देहलाई त आराम दियो तर काममा ढिलाइ भयो, र मलाई अपराधहरू गर्न बाध्य बनायो। म त अत्यन्तै मूर्ख भएकी रहेछु!
पछि, मैले फेरि परमेश्वरका वचनहरू पढेँ: “आखिर कर्तव्य के हो? यो परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो, यो परमेश्वरको घरको कामको भाग हो, र परमेश्वरका चुनिएका हरेक मानिसहरूले वहन गर्नुपर्ने जिम्मेवारी र दायित्व हो। के कर्तव्य भनेको तेरो करियर हो र? के यो निजी पारिवारिक मामला हो? तँलाई कुनै कर्तव्य दिइएपछि, के त्यो कर्तव्य तेरो व्यक्तिगत व्यवसाय बन्छ भनेर भन्नु उचित हुन्छ? यस्तो त अवश्य नै भन्न मिल्दैन। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्वरका आवश्यक सर्तहरू, वचनहरू र मापदण्डहरूअनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्यता सिद्धान्तहरूमा आधारित गरेर। केही मानिसहरू भन्छन्, ‘मलाई एक पटक कर्तव्य दिएपछि के त्यो मेरो आफ्नै काम हुँदैन र? मेरो कर्तव्य मेरो जिम्मेवारी हो, र मलाई जुन जिम्मेवारी दिइन्छ के त्यो मेरो आफ्नै काम हुँदैन र? यदि मैले आफ्नो कर्तव्यलाई आफ्नै कामको रूपमा सम्हाल्छु भने, के त्यसको अर्थ म त्यो ठिकसँग गर्छु भन्ने हुँदैन र? यदि मैले त्यसलाई मेरो आफ्नै कामको रूपमा व्यवहार गरिनँ भने के म त्यो राम्रोसँग गर्नेछु र?’ यी कुराहरू सही छन् कि गलत? ती गलत छन्; ती सत्यसँग अमिल्दा छन्। कर्तव्य तेरो व्यक्तिगत कामकाज होइन, यो परमेश्वरको कामकाज हो, यो परमेश्वरको कामको एउटा हिस्सा हो, र तैँले त्यही गर्नुपर्छ जे परमेश्वरले अह्राउनुहुन्छ; परमेश्वरमा समर्पित हुने हृदयको साथ कर्तव्य निर्वाह गर्दा मात्र तँ मापदण्डअनुरूपको हुनेछस्। यदि तँ सधैँ तेरा आफ्नै धारणा र कल्पनाहरूअनुसार, र तेरो आफ्नै झुकावअनुसार, आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तैँले कहिल्यै पनि मापदण्ड पूरा गर्नेछैनस्; आफूले चाहेजसरी मात्रै कर्तव्य निर्वाह गर्नु भनेको कर्तव्य निर्वाह गर्नु होइन, किनकि तैँले जे गरिरहेको छस् त्यो परमेश्वरको व्यवस्थापनको दायराभित्रको काम होइन, यो परमेश्वरको घरको काम होइन; यो त तैँले आफ्नै कामकारबाही सञ्चालन गरिरहेको र आफ्नै कार्य अघि बढाइरहेको अवस्था हो, र त्यसैले यसलाई परमेश्वरले सम्झनुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। परमेश्वरका वचनहरूबाट, मैले बुझेँ कर्तव्यहरू परमेश्वरबाटै आउँछन्; ती हरेक परमेश्वरका अनुयायीका जिम्मेवारी र दायित्वहरू हुन्। यो घरायसी मामिला सम्हाल्नु जस्तो होइन, जहाँ मानिसहरूले आफ्नो इच्छाअनुसार काम गर्न सक्छन्। बरु, उनीहरूले सत्यता खोजेर सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। म मण्डलीमा शुद्धीकरणको कामका लागि जिम्मेवार थिएँ। यो कर्तव्यमा परमेश्वरको माग के हो भने ख्रीष्टविरोधी, दुष्ट व्यक्ति, र अविश्वासीहरूलाई जतिसक्दो चाँडो मण्डलीबाट निकाल्नुपर्छ, ताकि ब्रदर-सिस्टरहरूका लागि राम्रो मण्डली जीवन प्रदान गर्न सकियोस्। तर, म परमेश्वरका अभिप्रायहरूप्रति अविवेकी भएकी थिएँ। मैले सिद्धान्तअनुसार यो काम कसरी छिटो सम्पन्न गर्ने भनेर विचार गरेकी थिइनँ। बरु, हरेक दिन, मैले आफ्नो देहलाई कसरी आराम दिने अनि कष्ट र थकानबाट कसरी बच्ने भनेर सोचेकी थिएँ। मैले आफ्नो इच्छाअनुसार, फुर्सदले र हतार नगरी कर्तव्य निर्वाह गरेकी थिएँ। मैले छिट्टै पूरा गर्न सकिने कामहरूलाई पनि अगाडि बढाएकी थिइनँ, र आफूले सक्ने भए पनि थप काम गर्न अनिच्छुक भएकी थिएँ, र मैले जानाजानी निकाल्नुपर्ने मापदण्ड पूरा गर्ने व्यक्तिहरूको नाम सूची लुकाएकी थिएँ। मैले अगुवाहरूलाई कामको खास प्रगतिबारे थाहा हुन दिएकी थिइनँ, ताकि उनीहरूले मलाई सुपरिवेक्षण गर्न नसकून्, र म धेरै व्यस्त वा थकित हुन नपरोस्। देहिक आरामका खातिर, मैले झूट बोलेकी र छल गरेकी थिएँ। म साँच्चै यो कर्तव्यको लागि अयोग्य रहेछु!
पछि मैले आफैँमा मनन गरेँ। म किन सुपरिवेक्षण स्वीकार गर्न अनिच्छुक थिएँ र सधैँ आफ्नै तरिकाले काम गर्न चाहन्थेँ? पछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “के तिनीहरू आफूले गर्नुपर्ने उचित काम गर्ने मानिसहरू हुन् त? तिनीहरू गाँस, बास, कपास, र यातायातजस्ता आधारभूत आवश्यकताहरूलाई सरल तरिकाले लिने मानिसहरू हुन्। यी कुराहरू सामान्य मापदण्डअनुरूप छन् भने, तिनीहरूलाई त्यति नै पर्याप्त हुन्छ। तिनीहरूले आफ्नो जीवनको मार्ग, मानवको रूपमा आफ्नो मिसन, जीवनप्रतिको आफ्नो दृष्टिकोण र मूल्य-मान्यताहरूलाई नै बढी ध्यान दिन्छन्। आशाजनक नरहेका यस्ता मानिसहरूले सारा दिन केबारे सोचविचार गर्छन्? तिनीहरूले जिम्मेवारीबाट पन्छिन सधैँ कसरी काममा ठग्ने, कसरी चलाकी गर्ने, कसरी मीठो खाएर रमाइलो गर्ने, उचित मामलाहरूबारे विचार नगरी शारीरिक सहजता र आराममा कसरी जिउने भनेर सोचविचार गरिरहेका हुन्छन्। त्यसकारण, परमेश्वरको घरमा कर्तव्य पूरा गर्ने परिस्थिति र वातावरणमा तिनीहरूलाई दबाब महसुस हुन्छ। … आफूले गर्नुपर्ने उचित काम नगर्ने र आफ्नो इच्छाअनुसार हिँड्ने यी मानिसहरूले यी उचित कुराहरू गर्न चाहँदैनन्। आफूलाई जे मन लाग्यो त्यही गरेर तिनीहरूले हासिल गर्न चाहने अन्तिम उद्देश्य भनेको भौतिक आराम, सुख, र सहजता प्राप्त गर्नु, र कुनै पनि हालतमा बन्धन वा दोषमा नपर्नु हो। अनि, तिनीहरूले जे चाह्यो त्यो पर्याप्त रूपमा खान पाउनु, र आफूले चाहेको कुरा गर्न पाउनु हो। तिनीहरूको मानवताको गुणस्तर र तिनीहरूको भित्री खोजको कारण तिनीहरूले प्रायजसो दबाब महसुस गर्छन्। तिनीहरूसँग तैँले जेजसरी सत्यता सङ्गति गरे पनि, तिनीहरू परिवर्तन हुनेछैनन्, र तिनीहरूले महसुस गर्ने दबाब समाधान हुनेछैन। तिनीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्; तिनीहरू आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू हुन्। झट्ट हेर्दा तिनीहरूले त्यति ठूलो दुष्कर्म गरेजस्तो वा तिनीहरू खराब मानिसहरू भएजस्तो नदेखिए पनि, र तिनीहरूले सिद्धान्त र नियमहरू मात्रै पालना गर्न असफल भएजस्तो देखिए पनि, वास्तवमा तिनीहरूको प्रकृति सार नै यो हो कि तिनीहरूले आफूले गर्नुपर्ने उचित कार्य गर्दैनन् वा सही मार्ग पछ्याउँदैनन्। यस्ता मानिसहरूमा, सामान्य मानवताको विवेक र समझको कमी हुन्छ, र तिनीहरूले सामान्य मानवताको बौद्धिकता हासिल गर्न सक्दैनन्। तिनीहरूले सामान्य मानवता भएका मानिसहरूले पछ्याउनुपर्ने उद्देश्यबारे, वा सामान्य मानवता भएका मानिसहरूले अपनाउनुपर्ने जीवन मनोवृत्ति र विधिहरूबारे सोच्ने, विचार गर्ने, वा पछ्याउने गर्दैनन्। हरेक दिन तिनीहरूको मन कसरी भौतिक सहजता र सुख पाउने भन्ने विचारहरूले नै भरिएको हुन्छ। तैपनि, मण्डलीको जिउने वातावरणमा, तिनीहरूले आफ्ना शारीरिक रुचिहरू सन्तुष्ट पार्न सक्दैनन् त्यसकारण तिनीहरूलाई असहज र दबाब महसुस हुन्छ। यसरी तिनीहरूका यी संवेगहरू पैदा हुन्छन्। मलाई भन् त, के यस्ता मानिसहरूको जीवन थकाइलाग्दो हुँदैन र? (हुन्छ।) के तिनीहरूको जीवन दयालायक हुन्छन्? (अहँ, ती दयालायक हुँदैनन्।) ठीक भन्यौ, तिनीहरूको जीवन दयालायक हुँदैनन्। यसलाई हल्का रूपमा बताउँदा, तिनीहरू आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू हुन्। समाजमा, आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू को हुन्? तिनीहरू कामचोर, मूर्ख, अल्छी, बदमास, फटाहा, र लफङ्गाहरू र त्यस्तै खाले मानिसहरू हुन्। तिनीहरू कुनै नयाँ सीप वा क्षमता सिक्न चाहँदैनन्, र तिनीहरू कुनै गम्भीर करियर निर्माण गर्ने वा हातमुख जोड्न काम खोज्ने चाहना गर्दैनन्। तिनीहरू समाजका कामचोर र लफङ्गाहरू हुन्। तिनीहरू मण्डलीमा घुस्छन्, र त्यसपछि केही नगरी केही पाउन, र आफ्नो भागको आशिष् पाउन चाहन्छन्। तिनीहरू अवसरवादीहरू हुन्। यी अवसरवादीहरूले कहिल्यै पनि कर्तव्य पूरा गर्ने इच्छा गर्दैनन्। यदि तिनीहरूले भनेजस्तो अलिकति पनि भएन भने, तिनीहरूलाई दबाब महसुस हुन्छ। तिनीहरू सधैँ स्वतन्त्र भएर जिउन चाहन्छन्, तिनीहरूले कुनै काम गर्न चाहँदैनन्, तैपनि तिनीहरू मीठो खान र राम्रो लाउन, अनि जे मन लाग्यो त्यही खान र जहिले मन लाग्यो त्यही बेला सुत्न मन पराउँछन्। यस्तो दिन आयो भने एकदम राम्रो हुनेछ भन्ने तिनीहरू सोच्छन्। तिनीहरू थोरै पनि कठिनाइ भोग्न चाहँदैनन् र तिनीहरू मोजमस्तीको जीवन जिउन चाहन्छन्। यस्ता मानिसहरूलाई जिउनसमेत थकाइलाग्दो हुन्छ; तिनीहरू नकारात्मक संवेगहरूको बन्धनमा हुन्छन्। तिनीहरूले आफूले चाहेअनुसार गर्न नपाएर प्रायजसो थकित र अन्योल महसुस गर्छन्। तिनीहरू आफूले गर्नुपर्ने उचित कार्य गर्न वा आफूले सम्हाल्नुपर्ने उचित मामलाहरू सम्हाल्न चाहँदैनन्। तिनीहरू काममा निरन्तर लागेर सुरुदेखि अन्तिमसम्म गरिरहन, यसलाई आफ्नै पेसा र कर्तव्यको रूपमा लिन, र आफ्नो दायित्व र जिम्मेवारीको रूपमा लिन चाहँदैनन्; तिनीहरू काम पूरा गरेर परिणामहरू हासिल गर्न, वा सम्भव भएको उत्कृष्ट मापदण्डअनुसार पूरा गर्न चाहँदैनन्। तिनीहरूले कहिल्यै यसरी सोचेका हुँदैनन्। तिनीहरूले झाराटारुवा शैलीमा काम गर्न र कर्तव्यलाई हातमुख जोड्ने माध्यमको रूपमा लिन मात्रै चाहन्छन्। जब तिनीहरूले थोरै तनाव वा कुनै नियन्त्रण सामना गर्छन्, वा जब तिनीहरूलाई अलिक उच्च मापदण्ड, वा अलिक बढी जिम्मेवारी बोक्न दिइन्छ, तब तिनीहरूलाई असहज र दबाब महसुस हुन्छ। तिनीहरूमा यी नकारात्मक संवेगहरू पैदा हुन्छन्, तिनीहरूलाई जिउन गाह्रो लाग्छ, र तिनीहरू हैरान हुन्छन्। तिनीहरूलाई जिउन गाह्रो लाग्नुको एउटा कारण के हो भने, यस्ता मानिसहरूमा समझको कमी हुन्छ। तिनीहरूको बिग्रेको समझ हुन्छ, तिनीहरू सारा दिन कल्पनामा डुब्दै, सपनामा भुल्दै, अवास्तविक कुरा सम्झँदै सधैँ अनेक कल्पना गरेर बिताउँछन्। त्यसकारण तिनीहरूको दबाब हल गर्न निकै गाह्रो हुन्छ। तिनीहरूलाई सत्यताप्रति चासो लाग्दैन, तिनीहरू अविश्वासीहरू हुन्। हामीले गर्न सक्ने एउटै कुरा भनेको तिनीहरूलाई परमेश्वरको घर छोड्न, संसारमा फर्केर जान, र सहजता र आरामको आफ्नो स्थान खोज्न लगाउनु मात्र हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनहरूबाट, मैले देखेँ जसले आफ्नो इच्छाअनुसार कर्तव्य निर्वाह गर्छन् र उचित काममा ध्यान दिँदैनन्, तिनीहरूले कहिल्यै उचित कुराहरू सोच्दैनन्। हरेक दिन, तिनीहरू आफ्नो देहलाई कसरी आराम दिने भनेर मात्र सोच्छन्। जतिसुकै वर्ष कर्तव्य निर्वाह गरेका भएपनि, तिनीहरू सधैँ दिन काट्ने मनोवृत्ति राख्छन्, गैर विश्वासी संसारका अल्छी र फटाहाहरूभन्दा फरक हुँदैनन्। त्यस्ता मानिसहरू सत्यताप्रति वितृष्णा राख्छन् र सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, जसले गर्दा तिनीहरू पक्का अविश्वासी बन्छन्। यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने, तिनीहरू प्रकटित भई हटाइने निश्चित छ। पहिले म अल्छी र फटाहाहरूलाई तुच्छ ठान्थेँ, सोच्थेँ ती मानिसहरू उचित काममा ध्यान दिँदैनन्, बरु बेकम्मा भएर घुम्छन्। परमेश्वरका वचनहरूसँग आफूलाई तुलना गर्दा, अब मैले देखेँ म पनि त्यस्तै मानिस थिएँ। म आफ्नो कर्तव्यमा सुपरिवेक्षण वा करकाप चाहन्नथेँ; म त आफ्नो मूल कामप्रति कुनै जिम्मेवारी नदेखाई, केवल स्वतन्त्रता र कुनै रोकटोक नहोस् भन्ने चाहन्थेँ। मैले उचित काममा ध्यान दिइनँ र आराममा लिप्त भएँ। के ममा अलिकति पनि निष्ठा र सम्मानको भावना थियो र? मैले केही काम गरेजस्तो देखिए तापनि, म कुटिल तरिकाले काम चोर बन्दै र आफ्नो कर्तव्यबाट पन्छिन खोज्दै परमेश्वरप्रति निष्ठाहीन भएकी थिएँ, परमेश्वरलाई धोका दिएर उहाँको आशिष् पाउन सफल हुन्छु भन्ने सोच्थेँ। मैले आफ्नो भविष्य र गन्तव्यका लागि मात्र केही कर्तव्य निर्वाह गरेकी थिएँ। के म पक्का अवसरवादी थिइनँ र? परमेश्वरले सबै कुरा जाँच्नुहुन्छ, र जो आफ्नो कर्तव्यमा निष्ठाहीन हुन्छ, ऊ प्रकटित भई हटाइनेछ। मैले छलपूर्ण उपायहरूमार्फत् परमेश्वरको आशिष् पाउन सक्छु भनेर आफूलाई भ्रममा पारेकी थिएँ। के त्यो अत्यन्तै मूर्खतापूर्ण थिएन र? मेरा सबै अभिव्यक्तिहरू निकालिएका अविश्वासीहरूको भन्दा कसरी फरक थिए र? यदि मैले यही क्रम जारी राखेँ भने, आफ्नै परिणाम र गन्तव्यलाई बर्बाद पार्नेछु। मैले जति बढी यसबारे सोचेँ, त्यति बढी म डराएँ। त्यसैले मैले पश्चात्ताप गर्न परमेश्वरलाई प्रार्थना गरेँ, र आफ्ना समस्याहरू समाधानका लागि सत्यता खोज्न तयार भएँ।
पछि, मैले फेरि परमेश्वरका वचनहरू पढेँ: “परमेश्वरमा साँचो विश्वास गर्नेहरू सबै नै आफूले गर्नुपर्ने उचित काम पूरा गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक रहने, र कामको बोझ लिने अनि आफ्नो क्षमता र परमेश्वरको घरका नियमहरूअनुसार त्यो काम राम्ररी गर्न सक्ने मानिसहरू हुन्। अवश्य नै, सुरुमा यस्तो जीवन अपनाउन गाह्रो हुनसक्छ। तँलाई शारीरिक र मानसिक रूपमा थकान महसुस हुनसक्छ। तैपनि, यदि तँसँग साँच्चै सहकार्य गर्ने सङ्कल्प र सामान्य र असल व्यक्ति बन्ने, र मुक्ति हासिल गर्ने इच्छा छ भने, तैँले थोरै भए पनि मूल्य चुकाएर परमेश्वरको अनुशासन स्विकार्नुपर्ने हुन्छ। जब तँसँग स्वेच्छाचारी हुने इच्छा हुन्छ, तब तैँले त्यसविरुद्ध विद्रोह गर्नुपर्छ, र तैँले आफ्ना स्वेच्छाचारी सोच र स्वार्थी इच्छाहरू क्रमिक रूपमा घटाउँदै जानुपर्छ। महत्त्वपूर्ण मामला, महत्त्वपूर्ण समय, र महत्त्वपूर्ण काममा, तैँले परमेश्वरको सहयोग लिनुपर्छ। यदि तँमा सङ्कल्प छ भने, तैँले सत्यता बुझ्न सकूँ भनेर परमेश्वरबाट ताडना र अनुशासन, र अन्तर्दृष्टि माग्नुपर्छ, र त्यस तरिकाले तैँले अझै राम्रा परिणामहरू प्राप्त गर्नेछस्। यदि तँमा साँच्चै सङ्कल्प छ, र तैँले परमेश्वरको उपस्थितिमा प्रार्थना गरेर उहाँलाई अन्तर्बिन्ती गर्छस् भने, परमेश्वरले काम गर्नुहुनेछ। उहाँले तेरो स्थिति र तेरा विचारहरू परिवर्तन गर्नुहुनेछ। यदि पवित्र आत्माले अलिअलि काम गरेर तँलाई थोरै भए नि स्पर्शित गर्नुभयो, र अन्तर्दृष्टि दिनुभयो भने, तेरो हृदय परिवर्तन हुनेछ, र तेरो स्थिति रूपान्तरित हुनेछ। यो रूपान्तरण आएपछि, यसरी जिउनु दबाबपूर्ण छैन भन्ने कुरा तँलाई महसुस हुनेछ। तेरा दबाबपूर्ण स्थिति र संवेगहरू रूपान्तरित भई कम हुनेछन्, र त्यो पहिलेको भन्दा फरक हुनेछ। यसरी जिउनु थकाइलाग्दो छैन भन्ने तँलाई महसुस हुनेछ। परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा तँलाई आनन्द हुनेछ। यस्तो व्यवहारमा आफूलाई ढाल्नु, अनि कर्तव्य निर्वाह गर्नु, कठिनाइ भोग्नु र मूल्य चुकाउनु, नियमहरू पालना गर्नु, र सिद्धान्तहरूअनुसार काम गर्नु भनेको जिउने असल तरिका हो भन्ने तँलाई महसुस हुनेछ। सामान्य मानिसहरूको जीवन यस्तै हुनुपर्छ भन्ने तँलाई महसुस हुनेछ। जब तँ सत्यताअनुसार जिउँछस् र आफ्नो कर्तव्य राम्ररी पूरा गर्छस्, तब तेरो हृदय स्थिर र शान्तिमा रहेको, र तेरो जीवन अर्थपूर्ण बनेको तँलाई महसुस हुनेछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनहरूबाट, मैले बुझेँ परमेश्वरका साँचो विश्वासीहरू उचित काममा ध्यान दिन्छन्, निरन्तर आफ्नो कर्तव्य कसरी राम्रोसँग पूरा गर्ने र कसरी उत्तम नतिजा हासिल गर्ने भनेर सोच्छन्। उनीहरू कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक हुन्छन्, र उनीहरूले अरूको सुपरिवेक्षण पनि स्वीकार गर्न सक्छन्। उनीहरू बारम्बार आफ्नो काममा भएका विचलनहरूमाथि चिन्तन गर्छन् र कुनै पनि समस्या पत्ता लाग्नेबित्तिकै तुरुन्तै सुधार्छन्। मैले यो पनि बुझेँ परमेश्वरका घरको कामलाई धेरै विचार गर्दा र उचित कुराहरूलाई मनमा राख्दा, थोरै कष्ट हुँदैमा निराश वा बाँधिएको महसुस हुँदैन। केही समयपछि, मैले एक दुष्ट व्यक्तिको बारेमा जानकारी सङ्कलन गरेँ। अगुवाहरूले थाहा पाएपछि, उनीहरूले मलाई त्यो कुरा कहिलेसम्ममा व्यवस्थित गर्न सक्ने हो भनेर सोधे। मैले सोचेँ, “यो व्यक्ति भर्खरै अर्को मण्डलीबाट हाम्रो मण्डलीमा सारिएको छ। मैले उसका केही दुष्कर्महरू उसको अघिल्लो मण्डलीसँग सोधपुछ गरेर प्रमाणित गर्नुपर्छ, त्यसैले यो सङ्कलन गर्न सजिलो हुनेछैन। यसबाहेक, मसँग अन्य सामग्रीहरू पनि छन् जसमा मैले जतिसक्दो चाँडो जानकारी थप्नुपर्छ। मेरो देहले फेरि केही कष्ट भोग्नुपर्नेछ भन्ने लाग्दैछ।” त्यतिबेला, मैले महसुस गरेँ म फेरि आफ्नो देहलाई विचार गरिरहेकी थिएँ। मैले पहिले कसरी कामको प्रगति ढिलो गराएकी थिएँ भन्ने कुरामा चिन्तन गर्दा, अब मलाई मैले फेरि ढिलाइ गर्नु हुँदैन भन्ने थाहा भयो। यसबाहेक, यो व्यक्तिले मण्डलीमा अशान्ति फैलाउँदै र ब्रदर-सिस्टरहरूलाई दबाइरहेको थियो। यो व्यक्तिलाई जतिसक्दो चाँडो पखाल्नुपर्थ्यो। मैले तुरुन्तै मलाई जानकारी बुझ्न र प्रमाणित गर्न मद्दत गर्ने सम्बन्धित व्यक्तिहरूको प्रबन्ध गरेँ। मैले चाँडै सबै आवश्यक विवरणहरू सङ्कलन गरिसकेँ। मण्डलीका ८०% ब्रदर-सिस्टरहरूको सहमतिमा, त्यो दुष्ट व्यक्तिलाई मण्डलीबाट निष्कासित गरियो। जब मैले आफ्नो देहलाई विचार नगरी आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गरेँ, मैले आफ्नो हृदयमा धेरै दृढ महसुस गरेँ। त्यसबेलादेखि, मैले आफ्नो कर्तव्य निर्वाह गर्दा, आफ्नो कामबारे समयमै रिपोर्ट गरेँ। जब अगुवाहरूले मेरो कामको सुपरिवेक्षण र अनुगमन गर्नुभयो, मैले अब उप्रान्त प्रतिरोध महसुस गरिनँ। बरु, मैले उहाँहरूको सुपरिवेक्षणबाट आफ्नो काममा भएका विचलनहरू पत्ता लगाएँ, र तिनलाई तुरुन्तै सुधारेँ। उदाहरणका लागि, कामको ढिलो प्रगतिबारे सोध्दा, मैले हाम्रो सारांशमार्फत् चिन्तन गरेँ र यो मुख्यतया मेरो महत्त्वपूर्ण कामहरूलाई प्राथमिकता दिन नसक्ने क्षमताका कारणले भएको महसुस गरेँ। त्यसैले, मैले तुरुन्तै सुधार गरेँ। जब मैले यसरी अभ्यास गरेँ, मैले अब उप्रान्त दबिएको वा प्रतिरोध महसुस गरिनँ। यसबाहेक, मेरो कर्तव्यको प्रभावकारितामा उल्लेखनीय सुधार भयो, एक महिनामा मिलाइएका सामग्रीहरूको मात्रा पहिलेको भन्दा दोब्बर थियो। मलाई थाहा छ यो सबै परमेश्वरका वचनहरूको परिणाम हो, र म परमेश्वरप्रति भित्रैदेखि आभारी छु!