२९. पाकाहरूले समेत सत्यता पछ्याउन प्रयत्न गर्नुपर्छ
मैले आफू ४६ वर्ष पुगेको साल सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेँ। परमेश्वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, यही नै मानिसलाई मुक्ति दिने परमेश्वरको कामको अन्तिम चरण हो, र अन्त्यमा, परमेश्वरले आफूले मुक्ति दिएकाहरूलाई नयाँ युगमा लैजानुहुनेछ। म विशेष रूपमा उत्साहित भएँ, र मैले आफूलाई त्यागेँ र समर्पित गरेँ अनि सयगुणा बढी आस्थाका साथ आफ्नो कर्तव्य पूरा गरेँ। त्यो बेला, म निकै जवान थिएँ, ममा धेरै ऊर्जा थियो, र जवान ब्रदर-सिस्टरहरूसँग कर्तव्य पूरा गर्दा, म आफूलाई बुढी मान्दिनथेँ। म गाउँथेँ र नाच्थेँ, जीवन्त थिएँ, र कहिलेकाहीँ सुसमाचार प्रचार गर्न नथाकी लगभग साठी माइल साइकल चढ्थेँ। मलाई लाग्यो, आफूलाई परमेश्वरमा समर्पित गर्दा र यसरी कर्तव्य पूरा गर्दा, परमेश्वरको काम सकिँदा मैले पक्कै पनि मुक्ति पाउनेछु। जब म ६५ वर्षकी भएँ, तब मेरो एउटा कानमा टिनिटस भयो, र त्यस कानमा प्रायः गुनगुन आवाज आउँथ्यो। सुरुमा, मैले त्यसलाई खासै वास्ता गरिनँ, र केही समयपछि ठिक हुन्छ भन्ने सोचेँ। तर पछि, यो झन् झन् गम्भीर हुँदै गयो, कहिलेकाहीँ अरूले भनिरहेको कुरा स्पष्टसित सुन्न सक्दिनथेँ, र यो गम्भीर भएपछि मलाई चक्कर लाग्न थाल्यो। त्यो जँचाउन अस्पताल जाँदा, डाक्टरले मेरो कान काम नलाग्ने भइसक्यो, र यसको उपचार गर्ने कुनै उपाय छैन भनेर भने। त्यो बेला, मलाई विशेष गरी नकरात्मक महसुस भयो, सोचेँ, “म त सकिएँ। यस कानले सुन्दैन र म अरूको कुरा प्रस्टसित सुन्न सक्दिनँ, यसले मेरो कर्तव्य निर्वाहलाई असर गर्नेछ। त्यसपछि परमेश्वरको घरमा मेरो के काम होला र? यदि मैले आफ्नो कर्तव्य पूरा गर्न सकिनँ भने, के मैले मुक्ति पाउने आशा हुनेछ र? मजस्तो बहिरो र नजिकको राम्ररी नदेख्ने व्यक्ति राज्यमा अझै चाहिनेछ र?” यसबारे जति सोचेँ, त्यति नै म दिक्दार भएँ। मैले परमेश्वरलाई प्रार्थना गरेर मलाई आफ्नो नकारात्मक स्थितिबाट निकाल्न अनुरोध गरेँ।
एक दिन, मैले परमेश्वरका वचनहरूमा यो पढेँ: “सिद्ध हुन इच्छुक सबैसित सिद्ध बनाइने मौका हुन्छ, त्यसैले सबै जना ढुक्क हुनुपर्छ: भविष्यमा तिमीहरू सबै गन्तव्यमा प्रवेश गर्नेछौ। तर यदि तँ सिद्ध हुन इच्छुक छैनस् र त्यो सुन्दर क्षेत्रमा प्रवेश गर्न इच्छुक छैनस् भने, त्यो तेरो आफ्नै समस्या हो। … प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँसित मेरा मागहरू तेरो असाक्षरताअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथि-सत्कार प्रदान गर्न सक्छस् भने, तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथि-सत्कार गर्न सक्दिनँ, निश्चित कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको रेखदेख गर्ने वा अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यो तैँले पूरा गर्नैपर्ने कुरा हो र यी तीन कुराभन्दा अझ राम्रा अभ्यासहरू छैनन्। अन्त्यमा, मानिसले यी तीन कुराहरू हासिल गर्नु आवश्यक हुन्छ र यदि उसले ती प्राप्त गर्न सक्छ भने, उसलाई सिद्ध बनाइनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले साँच्चै खोजी गर्नुपर्दछ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र त्यस विषयमा निष्क्रिय हुनुहुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरका वचनभित्रबाट मैले परमेश्वरको धार्मिकता देखेँ। परमेश्वर हरेकलाई मुक्ति पाउने र सिद्ध बनाइने मौका दिनुहुन्छ। उहाँ मानिसहरूलाई उमेर हेरेर मुक्ति दिनुहुन्न, न त कतिवटा कर्तव्य पूरा गरे भन्ने आधारमा सिद्ध नै बनाउनुहुन्छ; बरु, उहाँ मानिसहरूले आफ्नो क्षमताअनुसार कर्तव्य गरून्, सत्यता पछ्याऊन्, उहाँप्रति वफादार र समर्पित होऊन्, र परमेश्वरलाई प्रेम गर्ने हृदय राखून् भन्ने माग गर्नुहुन्छ—यो नै परमेश्वरको अनुमोदन पाउनु हो। व्यक्तिको उमेर जतिसुकै भए पनि वा उसले जुनै कर्तव्य पूरा गरे पनि, परमेश्वर उसको बफादारी र समर्पण चाहनुहुन्छ। मैले परमेश्वरको अभिप्राय बुझिनँ, र के विश्वास गरेँ भने आफू बुढी र आधा बहिरो भएकीले, र कुनै कर्तव्य पूरा गर्न नसक्ने भएकीले, मुक्ति पाउने आशा गुमाउनेछु—यी मेरा धारणा र कल्पना थिए। परमेश्वर भन्नुहुन्छ, पाकाहरूले पाकाहरूका लागि राखिएका मागहरू पालना गर्नुपर्छ। म बुढी र आधा बहिरो भए पनि, मसँग परमेश्वरका वचन सुन्न सक्ने अझै एउटा कान थियो; यदि मैले कुनै महत्त्वपूर्ण कर्तव्य पूरा गर्न सकिनँ भने, आफूले सक्ने अरू कुनै कर्तव्य गर्न सक्थेँ। पछि, मैले मण्डलीका ब्रदर-सिस्टरहरूसँग मिलेर सुसमाचार प्रचार गरेँ, र मलाई निकै खुसी लाग्यो।
सन् २०२३ को मार्चमा, म कार दुर्घटनामा परेँ र मेरो बायाँ खुट्टा भाँचियो। घरमा निको हुँदै गर्दा, म निरन्तर चिन्ताको स्थितिमा जिएँ: अब म ७० वर्ष लागिसकेँ, मेरो स्वास्थ्य पहिल्यै कमजोर थियो, सुन्ने शक्ति हराएको थियो, आँखा कमजोर हुँदै गइरहेको थियो। अब भाँचिएको खुट्टा लिएर, भविष्यमा के नै गर्न सक्छु र? मैले सुरुमा सुसमाचार प्रचार गर्न र आफ्नो वफादारी देखाउन चाहेँ, र केही राम्रा कार्य गर्ने तयारी गर्दै थिएँ। मैले मेरो खुट्टा भाँचिन्छ भनेर कहिल्यै सोचेकी थिइनँ, र कहिले निको हुने हो कसले जान्दछ र। यदि मैले भविष्यमा कर्तव्य निर्वाह गर्न सकिनँ भने, के मसँग मुक्ति पाउने कुनै आशा हुनेछ? यसबारे जति सोचेँ, त्यति नै म दुःखी भएँ, र मैले नचाहेर पनि गुनासो गर्न थालेँ, “मैले प्रभुमा आस्था राखेदेखि नै, व्यग्रसाथ आफूलाई समर्पित गरेँ। परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेपछि, कर्तव्य पूरा गर्न सकूँ भनेर आफ्नो रेस्टुरेन्टसमेत बन्द गरेँ। केहीपटक झन्डै पक्राउ परेँ र घर फर्कन सकिनँ। म २० वर्षभन्दा बढी समयदेखि दौडधुप गरिरहेकी छु, यति धेरै मेहनत गरिरहेकी छु। यस्तै गरिरहेँ भने मुक्ति पाउनेछु भनेर मैले सोचेकी थिएँ, तर मैले परमेश्वरको काम समाप्त हुनै लाग्दा कर्तव्य पूरा गर्नसमेत सक्नेछैनँ भनेर अपेक्षा गरेकी थिइनँ। के मेरो अझै मुक्ति पाउने आशा थियो? यदि म दश वा बीस वर्ष कम उमेरकी भएकी भए, अझ लामो समयसम्म कर्तव्य पूरा गर्न सक्थेँ, र मसँग मुक्ति पाउने केही आशा हुनेथ्यो। म किन त्यस समयमा जन्मेँ? अब म बर्सेनि झन्-झन् बुढी हुँदै छु, र मेरो शरीर अब चलहल गर्न मान्दैन। भविष्यमा मसँग कस्तो आशा हुनेछ?” जवान ब्रदर-सिस्टरहरूलाई भिडियोमा गाइरहेका र नाचिररहेका देख्दा, मलाई एकदमै ईर्ष्या लाग्थ्यो, “यी ब्रदर-सिस्टरहरू साँच्चै राम्रो दशकमा जन्मे, उनीहरू जवान छन्, उनीहरूको सामर्थ्य बढ्दो छ, उनीहरूको स्मरण शक्ति राम्रो छ, उनीहरू चाँडै कामकुरा सिक्छन्, र धेरै कर्तव्य पूरा गर्न सक्छन्। अहिले परमेश्वरले मानिसहरूलाई सिद्ध पार्ने महत्त्वपूर्ण समय हो, र परमेश्वरको काम सकिँदा यी जवानहरूले मुक्ति पाउने र बाँच्ने सम्भावना अझ धेरै हुनेछ। यदि म ८० वा ९० को दशकमा जन्मेकी भए, समयमै पर्नेथिएँ। म किन ५० को दशकमा जन्मनुपर्यो? परमेश्वरको काम सकिन लागेको छ तर म बुढी छु र कर्तव्य पूरा गर्न सक्दिनँ। म सम्भवतः अब कुनै पनि दिन मर्नेछु। मसित मुक्तिको के आशा छ?” त्यस दौरान मलाई एकदमै दिक्दार लाग्यो, र त्यसबारे सोच्दा मेरो मन विशेष रूपमा भक्कानियो र आँसु झऱ्यो। मैले मेरा परिवारका गैरविश्वासीहरूलाई खाने, पिउने र रमाइलो गर्नेमा व्यस्त देखेँ; उनीहरूले मलाई खुसी बनाउन खोजे, तर मैले आफूलाई पटक्कै खुसी पार्न सकिनँ। मलाई मेरो जीवनमा कुनै आशा छैन भन्ने लाग्यो। मैले हरेक दिन परमेश्वरका वचन पढे पनि, झारा टार्ने मात्र गरिरहेकी थिएँ, र मेरो प्रार्थना पनि औपचारिक थियो, त्यसैले मलाई आफ्नो हृदय परमेश्वरबाट धेरै टाढा भएको छ भन्ने लाग्यो। मैले मेरो स्थिति ठिक छैन भन्ने थाहा पाएँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँलाई यो नकारात्मक स्थितिबाट मलाई निकाल्न अनुरोध गरेँ।
एक दिन, मैले परमेश्वरका वचनहरूमा एउटा खण्ड पढेँ जसले मलाई अत्यन्तै प्रभावित गऱ्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘मेरो स्वास्थ्य स्थिति त्यति राम्रो छैन र मैले कुन कर्तव्य निभाउन सक्छु भन्नेबारेमा पनि सीमितता आएको छ। यदि मैले यो सानो कर्तव्य मात्रै पूरा गरेँ भने, के परमेश्वरले मलाई सम्झनुहोला त? कहिलेकहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। मलाई हेरचाह गर्ने कोही नहुँदा, मैले आफ्नो कर्तव्य पूरा गर्न सक्दिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र मसँग अरूलाई बताउनलायक कुनै अनुभव छैन। म वृद्ध भइसकेँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र म पहिलेजस्तो दह्रिलो पनि छैनँ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। म मुक्ति प्राप्त गर्न र सत्यता पछ्याउन चाहन्छु तर साह्रै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ तिनीहरूले यी कुराहरू सोच्दा, तिनीहरू फिक्री गर्न थाल्छन् र यस्तो सोच्छन्, ‘मैले कसरी यो उमेरमा मात्रै परमेश्वरमा विश्वास गर्न थालेँ? म किन २० र ३० वर्षतिरका मानिसहरूजस्तो, वा ४० वा ५० वर्षतिरका मानिसहरूजस्तो समेत छैनँ? मैले कसरी बुढो भएपछि मात्रै परमेश्वरको कामबारे थाहा पाएँ? मेरो भाग्य खराब पनि होइन; कम्तीमा पनि अहिले मैले परमेश्वरको कामबारे थाहा पाएँ। मेरो भाग्य राम्रो छ, र परमेश्वर मसँग दयालु हुनुभएको छ! मलाई एउटै कुरामा मात्रै खुसी लागेको छैन, र त्यो के हो भने म साह्रै बुढो भइसकेको छु। मेरो स्मरण शक्ति राम्रो छैन, र मेरो स्वास्थ्य स्थिति पनि राम्रो छैन, तर मेरो हृदय दह्रिलो छ। यति मात्र हो मेरो शरीरले मैले भनेको मान्दैन, र भेलाहरूमा केही समय सुनेपछि मलाई निद्रा लाग्छ। कहिलेकहीँ म प्रार्थना गर्न आँखा बन्द गर्छु र निदाउन पुग्छु, र परमेश्वरका वचनहरू पढ्दा मेरो मन घुम्छ। थोरै पढेपछि पनि, मलाई निद्रा लाग्छ र म झुल्छु, र उहाँका वचनहरू बुझ्दिनँ। मैले के गर्न सक्छु? यस्ता व्यावहारिक कठिनाइहरू भए पनि, के मैले अझै सत्यता पछ्याउन र बुझ्न सक्छु? यदि मैले सकिनँ भने, र यदि म सत्यता सिद्धान्तहरू अभ्यास गर्न असक्षम भएँ भने, के मेरो सबै विश्वास व्यर्थ हुँदैन र? के म मुक्ति प्राप्त गर्न असफल हुँदिनँ र? मैले के गर्न सक्छु? मलाई साह्रै चिन्ता लाग्छ! …’ … तिनीहरूले भक्खरकाहरूले खान-पिउन, दौडन र उफ्रन सकेको देख्छन् र तिनीहरूलाई डाहा लाग्छ। तिनीहरूले भक्खरकाहरूले यस्ता कुराहरू गरेको जति देख्छन्, त्यति नै तिनीहरूलाई हैरानी हुन्छ, र तिनीहरूले सोच्छन्, ‘म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र सत्यता पछ्याउन र बुझ्न चाहन्छु, र म सत्यता अभ्यास गर्न पनि चाहन्छु, तैपनि किन गाह्रो हुन्छ? म अत्यन्तै वृद्ध र काम नलाग्ने भएको छु! के परमेश्वर पाका मानिसहरूलाई चाहनुहुन्न? के पाकाहरू साँच्चै काम नलाग्ने हुन्छन्? के हामीले मुक्ति प्राप्त गर्न सक्दैनौँ?’ यसबारे जसरी विचार गरे पनि तिनीहरू दुःखित हुन्छन् र खुसी हुन सक्दैनन्। तिनीहरू त्यस्तो सुन्दर समय र त्यस्तो ठूलो अवसर गुमाउन चाहँदैनन्, तर तिनीहरू भक्खरकाहरूले जसरी आफूलाई काममा अर्पित गर्न र आफ्नो सारा हृदय र प्राणले कर्तव्य पूरा गर्न सक्दैनन्। यी पाका मानिसहरू आफ्नो उमेरको कारण हैरानी, बेचैनी र चिन्ताको गहिराइमा डुब्छन्। कुनै मुस्किल, बाधा, कठिनाइ, वा अवरोध सामना गर्दा, हरेक-पटक नै तिनीहरूले आफ्नो उमेरलाई दोष दिन्छन्, र आफूलाई घृणासमेत गर्छन् र आफूलाई मन पराउँदैनन्। तर जे भए पनि, यसको कुनै सीप लाग्दैन, कुनै हल हुँदैन, र तिनीहरूसँग अघि बढ्ने कुनै बाटो हुँदैन। के साँच्चै तिनीहरूसँग अघि बढ्ने कुनै बाटो नहुने हो त? के यसको कुनै हल छ? (पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ।) पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ, त्यो स्वीकार्य छ, होइन र? के पाकाहरू तिनीहरूको उमेरको कारण सत्यता पछ्याउन नसक्ने हुन्छ र? के तिनीहरू सत्यता बुझ्न सक्ने हुँदैनन् र? (बुझ्न सक्ने हुन्छन्।) के पाकाहरूले सत्यता बुझ्न सक्छन्? तिनीहरूले केही सत्यता बुझ्न सक्छन्, र भक्खरकाहरूले पनि सबै त बुझ्न सक्दैनन्। पाकाहरूमा सधैँ भ्रम हुन्छ, र तिनीहरूलाई आफू अन्योलमा परेको छु, आफ्नो स्मरण शक्ति खराब छ, त्यसकारण आफूले सत्यता बुझ्न सक्दिनँ भन्ने लाग्छ। के तिनीहरूको यो कुरा सही हो त? (होइन।) भक्खरकाहरूसँग पाकाहरूमा भन्दा निकै बढी ऊर्जा हुने, र तिनीहरू शारीरिक रूपमा दह्रिला हुने भए पनि, तिनीहरूको बुझ्ने, जान्ने, र चिन्ने क्षमता पाकाहरूको जति नै हुन्छ। के पाकाहरू पनि कुनै बेला जवान नै थिएनन् र? तिनीहरू बुढो भएर जन्मेका थिएनन्, र भक्खरकाहरू पनि एक दिन वृद्ध हुनेछन्। पाकाहरूले सधैँ आफू वृद्ध, शारीरिक रूपमा कमजोर, बिसन्चो, र स्मरण शक्ति कमजोर भएको कारण, भक्खरकाहरूभन्दा फरक छु भनेर सोच्नु हुँदैन। वास्तवमा, यहाँ कुनै भिन्नता हुँदैन। कुनै भिन्नता हुँदैन भनेर मैले भन्नुको अर्थ के हो? कुनै व्यक्ति वृद्ध भए पनि जवान भए पनि, उसको भ्रष्ट स्वभाव उस्तै हुन्छ, सबै कुराहरूबारे उसको मनोवृत्ति र दृष्टिकोण उस्तै हुन्छ, र सबै किसिमका कुराहरूबारे उसको दृष्टिकोण र विचार उस्तै हुन्छ। … त्यसकारण, पाकाहरूले गर्ने कुरा केही नहुने, वा तिनीहरूले कर्तव्य पूरा गर्न वा सत्यता पछ्याउन नसक्ने भन्ने होइन—तिनीहरूले धेरै कुरा गर्न सक्छन्। तैँले आफ्नो जीवनकालमा बटुलेका धेरै विधर्म र भ्रमहरू, साथै विभिन्न परम्परागत विचार र धारणा, अज्ञानी र जिद्दी कुराहरू, परम्परागत कुराहरू, तर्कहीन कुराहरू, र विकृत कुराहरू तेरो हृदयमा थुप्रिएका छन्, र यी कुराहरू खनेर निकाल्न, चिरफार गर्न, र पहिचान गर्नको लागि तैँले भक्खरकाहरूले भन्दा बढी समय बिताउनुपर्छ। तँसँग गर्ने काम केही नभएको, वा तँ कमजोर अवस्थामा भएर तैँले हैरानी, बेचैनी र चिन्ता महसुस गर्नुपर्ने हो भन्ने होइन—यो तेरो काम पनि होइन र तेरो जिम्मेवारी पनि होइन। सर्वप्रथम, पाका मानिसहरूमा सही मानसिकता हुनुपर्छ। तेरो उमेर ढल्किरहेको भए पनि र शारीरिक रूपमा तँ अरूभन्दा पाको भए पनि, तँमा अझै पनि युवा मानसिकता हुनुपर्छ। तँ वृद्ध हुँदै गइरहेको, तेरो सोच धीमा भइरहेको र तेरो स्मरण शक्ति कमजोर भइरहेको भए पनि, यदि तैँले अझै पनि आफूलाई चिन्न, मैले बोलेका वचनहरू बुझ्न, र सत्यता बुझ्न सक्छस् भने, त्यसले तँ वृद्ध भएको छैनस् र तेरो क्षमता कमजोर भएको छैन भन्ने प्रमाणित गर्छ। यदि कुनै व्यक्ति ७० को दशकमा छ र उसले सत्यता बुझ्न सक्दैन भने, उसको कद सानो छ र ऊ काम गर्ने अवस्थामा छैन भन्ने देखाउँछ। त्यसकारण, सत्यताको कुरा गर्दा उमेरको कुनै सम्बन्ध हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरलाई थाहा छ, हामी पाका मानिसहरूले आफूलाई यस स्थितिमा पाउनेछौँ, त्यसैले उहाँ हामीलाई अभ्यासको मार्ग देखाउन यी वचनहरू व्यक्त गर्नुहुन्छ। यसले परमेश्वर हामीलाई धेरै प्रेम गर्नुहुन्छ भन्ने देखाउँछ। परमेश्वर मान्छेको हृदय छानबिन गर्नुहुन्छ, र परमेश्वरका यी वचनहरूले मेरो साँचो स्थितिबारे कुरा गर्छन्। जब मैले जवान ब्रदर-सिस्टरहरूको दिमाग एकदमै फुर्तिलो र उनीहरूको सामर्थ्य एकदमै बढ्दो छ, उनीहरू परमेश्वरको घरमा हरेक कर्तव्य पूरा गर्न सक्छन् भन्ने देखेँ, तब मलाई भित्रैदेखि ईर्ष्या लाग्यो, र मैले सोचेँ, उनीहरू परमेश्वरले मानिसलाई सिद्ध बनाउने ठिक समयमा छन्, जबकि मेरो उमेरमा, कमजोर आँखा, सुन्न नसक्ने र कमजोर स्मरणशक्तिका साथ, म आफूले परमेश्वरका वचनमा पढेको कुरा सम्झन सक्दिनँ। खास गरेर अहिले मेरो खुट्टा भाँचिएको थियो र मैले आफ्नो कर्तव्य पूरा गर्न सकिनँ, त्यसैले, मलाई आफ्नो जीवनमा कुनै आशा रहेन र मुक्ति पाउने मेरो मौका कम हुँदै छ भन्ने लाग्यो। त्यसैले, म प्रायः नकारात्मक स्थितिमा जिउँथेँ अनि निराश र आशाहीन महसुस गर्थेँ। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए: मानिसहरू बूढो भएर कर्तव्य पूरा गर्न नसकेपछि तबउसो उनीहरूसँग हिँड्ने मार्ग हुँदैन भन्ने होइन। यदि उनीहरू वृद्ध छन् र बाहिर गएर कर्तव्य पूरा गर्न सक्दैनन् भने, उनीहरूले अझै सत्यता पछ्याउन र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सक्छन्। यो त त्यस्तो हो जतिबेला मैले बुढेसकाललाई स्विकारिनँ, तर आफूलाई जवानहरूसँगै तालमेल मिलाउन बाध्य पारेँ—यो मेरो अहङ्कारी स्वभाव थियो। मलाई सधैँ लाग्थ्यो, बूढो भएपछि मैले महत्त्वपूर्ण कर्तव्य पूरा गर्न सक्नेछैनँ, त्यसैले म मुक्ति पाउँदिनँ कि भनेर चिन्ता गर्थेँ। म सधैँ परमेश्वरसँग माग गरिरहेकी हुन्थेँ, र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन सक्दिनथेँ—यो पनि मेरो भ्रष्ट स्वभाव थियो। साथै, आफ्नो कर्तव्य पूरा गर्दा, म सधैँ प्रतिष्ठा र हैसियत पछ्याइरहेकी हुन्थे, र मानिसहरूले मेरो प्रशंसा गरेको चाहन्थेँ। यी सबै मेरा भ्रष्ट स्वभाव थिए, र मैले तीबारे चिन्तन गरेर तिनलाई चिन्नुपर्थ्यो, ती समाधान गर्न सत्यता खोज्नुपर्थ्यो। यसबाहेक, यत्तिका वर्ष परमेश्वरमा विश्वास गरेपछि, मसँग परमेश्वरका वचनको केही अनुभवजन्य ज्ञान थियो। मैले बाहिर गएर कर्तव्य पूरा गर्न नसके पनि, घरमै बसेर अनुभवात्मक लेखहरू लेखेर परमेश्वरको गवाही दिन सक्थेँ। के यो पनि कुनै कर्तव्य पूरा गर्नु हुनेथिएन र? त्यसबाहेक, जवानहरूको स्मरण शक्ति राम्रो, अनि उनीहरूको दिमाग, प्रतिक्रिया र कार्य छिटो हुने भए पनि, तर यसको अर्थ उनीहरूमा कुनै भ्रष्ट स्वभाव छैन भन्ने होइन। पाका मानिसहरूले जस्तै, उनीहरूले परमेश्वरका वचनको न्याय र सजाय अनुभव गर्नुपर्छ। म अहिले बुढी भए पनि, ममा अझै धेरै भ्रष्ट स्वभाव छन्, जसलाई मैले सत्यता खोजेर समाधान गर्नुपर्छ। यो सब मैले गर्नुपर्ने कुरा थियो।
मैले परमेश्वरका थप वचनहरू पढेँ: “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, कष्टको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूको कारुणिक अवस्थाका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। “अहिलेका प्रवाहमा, परमेश्वरलाई वास्तवमै प्रेम गर्ने सबैले उहाँबाट सिद्ध हुने अवसर पाएका छन्। चाहे उनीहरू जवान हुन् वा वृद्ध, उनीहरूमा परमेश्वरप्रति समर्पित हुने र उहाँको डर मान्ने हृदय भइरहेमा उनीहरू उहाँबाट सिद्ध हुन सक्छन्। परमेश्वरले मानिसहरूलाई उनीहरूको विभिन्न कामअनुसार सिद्ध पार्नुहुन्छ। जबसम्म तैँले आफ्ना सबै शक्ति खर्च गर्छस्, र परमेश्वरको काममा समर्पित हुन्छस्, तँ उहाँबाट सिद्ध पारिन सक्नेछस्। अहिले, तिमीहरूमध्ये कोही पनि सिद्ध छैनौ। कहिलेकाहीँ तिमीहरू एक प्रकारको काम गर्न सक्षम हुन्छौ, र अरू समयमा तिमीहरूले दुई प्रकारको काम गर्न सक्षम हुन्छौ। जबसम्म तँ आफूलाई परमेश्वरको लागि समर्पित गर्न सक्दो प्रयास गर्छस्, तँ अन्ततः उहाँबाट सिद्ध हुनेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। हरेकले आफ्नो काम पूरा गर्ने विषयमा)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, परमेश्वर मानिसहरूको उमेर वा उनीहरूले कति कष्ट भोगेका छन् भन्ने आधारमा उनीहरूको परिणाम र गन्तव्य निर्धारण गर्नुहुन्न, बरु उनीहरूसँग सत्यता छ कि छैन, र उनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ कि छैन भन्ने आधारमा गर्नुहुन्छ। विगतमा, म सधैँ के विश्वास गर्थेँ भने जवान मानिसहरूको सामर्थ्य बढ्दो छ, उनीहरूको दिमाग छिटो चल्छ, उनीहरू नयाँ कुराहरू चाँडै स्वीकार गर्छन्, र परमेश्वरको घरमा धेरै कर्तव्य पूरा गर्न सक्छन्—यस्तो व्यक्तिले मुक्ति पाउने आशा हुन सक्छ। खास गरेर जब मैले धेरै जवान मानिसहरू बढुवा भइरहेको देखेँ, तब मैले पाका मानिसहरू परमेश्वरको घरमा उपयोगी छैनन्, परमेश्वर उनीहरूलाई चाहनुहुन्न, र उनीहरूको मुक्ति पाउने आशा छैन भन्ने सोचेँ। मैले परमेश्वरको घरलाई गैरविश्वासीहरूको संसारको कारखानाका रूपमा हेरेँ, र जवान मानिसहरू बस्नेछन्, तर वृद्ध र अनुपयोगी मानिसहरू चाहिछैन भन्ने ठानेँ—यो मेरो परमेश्वरबारे गलत बुझाइ थियो, र यो उहाँविरुद्ध निन्दा थियो। वास्तवमा, परमेश्वरको घरले सुसमाचार कामको आवश्यकताका कारण मानिसहरूलाई बढुवा गर्छ, र कामको हरपक्ष गर्न सबै प्रकारका विशेषज्ञ मानिसहरू चाहिन्छ। पाका मानिसहरूले कतिपय कर्तव्य पूरा गर्न नसक्नुको अर्थ परमेश्वर मानिसहरूलाई बूढो भएपछि चाहनुहुन्न भन्ने होइन, र उनीहरूको मुक्ति पाउने कुनै आशा छैन भन्ने त निश्चय नै होइन। परमेश्वरको नजरमा, जवान होस् वा वृद्ध फरक पर्दैन, सबै बराबर छन्—यति मात्र हो, मानिसहरूको उमेर फरक हुन्छ, र उनीहरूको शारीरिक अवस्था उस्तै हुँदैन, तर परमेश्वर सबै मानिस एउटै सत्यतमा प्रवेश गरुन् भन्ने माग गर्नुहुन्छ। मैले परमेश्वर धार्मिक हुनुहुन्छ भन्ने देखेँ, उहाँ मानिसहरूलाई उनीहरूको उमेरका आधारमा मूल्याङ्कन गर्नुहुन्न, बरु उनीहरूले सत्यता पछ्याउन र सत्यता प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा गर्नुहुन्छ। यदि कसैले सत्यता पछ्याउँदैन र ऊसँग मामिलाहरू कसरी सम्हाल्ने भन्ने सिद्धान्त छैन भने, उनीहरू जवान भए पनि, उनीहरूमा क्षमता भए पनि, र उनीहरूले महत्त्वपूर्ण कर्तव्य गरे पनि, त्यो सब व्यर्थ हुन्छ, र उनीहरूले अझै परमेश्वरको प्रतिरोध गरिरहेका हुन्छन्। म बुढी छु र महत्त्वपूर्ण कर्तव्य पूरा गर्न सक्दिनँ, तैपनि म अझै परमेश्वरका वचन बुझ्न सक्छु, मेरो दिमाग र समझ अझै सामान्य छ, त्यसैले मैले सत्यता पछ्याउनुपर्छ र आफू जीवित रहेको हरेक दिनको कदर गर्नुपर्छ, ताकि मैले फल फलाउन सकूँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड भेटेँ: “तिमीहरूमध्ये कसले अहिले परमेश्वरको घरमा संयोगवश कर्तव्य निर्वाह गरिरहेका छौ र? तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्न जुनसुकै पृष्ठभूमिबाट आए पनि, त्यो संयोगवश भएको होइन। यो कर्तव्य जथाभावी केही नयाँ विश्वासीहरू खोजेर मात्र निर्वाह गर्न सकिँदैन; यो युगहरूभन्दा अगाडि नै परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा हो। कुनै कुरा पूर्वनिर्धारित हुनु भनेको के हो? किटान नै गरेर भन्नुपर्दा के हो त? यो के हो भने, उहाँको सम्पूर्ण व्यवस्थापन योजनामा परमेश्वरले धेरै लामो समयअघि नै तँ कति चोटि पृथ्वीमा आउनेछस्, आखिरी दिनहरूको समयमा तँ कुन वंश र कुन परिवारमा जन्मनेछस्, यो परिवारका परिस्थितिहरू कस्ता हुनेछन्, तँ पुरुष हुनेछस् कि महिला, तेरा के सबलताहरू हुनेछन्, तँसित कुन तहको योग्यता हुनेछ, तँ कतिको स्पष्टवादी हुनेछस्, तेरो के क्षमता हुनेछ र तँ कस्तो रूपरङ्गको हुनेछस् भनेर योजना बनाइसक्नुभएको छ। उहाँले तँ परमेश्वरको घरमा आएर आफ्नो कर्तव्य निर्वाह गर्न थाल्ने उमेर र तैँले कुन समयमा के-कस्तो कर्तव्य निर्वाह गर्नेछस् भनेर योजना बनाइसक्नुभएको छ—परमेश्वरले सुरुमै तेरो लागि हरकदम पूर्वनिर्धारित गरिसक्नुभएको छ। तँ जन्मनुअघि र तँ पछिल्ला धेरै वटा जीवनमा पृथ्वीमा आउँदा, परमेश्वरले तैँले, कामको यो अन्तिम चरणमा के-कस्तो कर्तव्य निर्वाह गर्नेछस् भनी परमेश्वरले प्रबन्ध गरिसक्नुभएको थियो। यो निश्चय नै ठट्टा होइन! तिमीहरूले यहाँ प्रवचन सुन्न सकिरहेका छौ, यो पनि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको थियो। यसलाई हल्का रूपमा लिन मिल्दैन!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने परमेश्वरले नै मेरो जन्म कुन सालमा हुन्छ र कहिले उहाँमा विश्वास गर्छु भनेर निर्धारण गर्नुभएको थियो। पछि मैले आफ्नो कर्तव्य पूरा गर्न सक्नेछु कि सक्नेछैनँ, र मेरो गन्तव्य र भाग्य कस्तो हुनेछ, यो सब परमेश्वरको हातमा छ। म सधैँ राम्रो दशकमा जन्मिनँ भनेर गुनासो गर्थेँ—म पटक्कै समर्पित भइरहेकी थिइनँ, र धेरै अहङ्कारी र असमझदार भइरहेकी थिएँ। म ५० को दशकमा जन्मेँ, तर पनि तथ्य कुरा के हो भने परमेश्वरले अन्त्यका दिनहरूमा देखा परेर कार्य गर्नुहुँदा म ठिक समयमै थिएँ, परमेश्वरको वचन सुन्ने, उहाँको देखापराइ हेर्ने, उहाँको मलजल र हेरचाह स्विकार्ने ठूलो सौभाग्य पाएँ, र धेरै वर्षदेखि आजसम्म परमेश्वरलाई पछ्याइरहेकी छु—यसले पहिल्यै मप्रति परमेश्वरको ठूलो अनुग्रह र उत्थानलाई देखाउँछ। मेरो उमेरका गैरविश्वासीहरूको कुरा गर्दा: उनीहरूले आफ्नो पूरा जीवन आफू यस पृथ्वीमा किन आएँ, वा मानिस किन जिउनैपर्छ भन्ने नजानी जिए। उनीहरूले आफ्नो पूरा जीवनमा पैसा कमाउन, अरू मानिससँग प्रतिस्पर्धा गर्न र देहसुख भोग्न मात्रै जाने—उनीहरूले आफ्नो पापमा सङ्घर्ष गरे। तर मैले परमेश्वरसामु आउन र केही सत्यता बुझ्न सकेँ, मैले मानिसहरू किन जिउँछन् र कस्तो जीवन मूल्यवान् हुन्छ, र मानिसहरूको भाग्य परमेश्वरको नियन्त्रणमा छ भन्ने कुरा, अनि मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य, र मानवजातिको गन्तव्य आदि जान्न सकेँ। मैले परमेश्वरबाट यति ठुलो अनुग्रह र आशिष् पाएँ, तर पनि म सन्तुष्ट थिइनँ, र परमेश्वरले मलाई ८० वा ९० को दशकमा किन जन्मिन दिनुभएन भनेर गुनासोसमेत गरेँ। मैले परमेश्वरसँग तर्क र बहस गरेँ। ममा साँच्चै कुनै मानवता थिएन! परमेश्वरले ममा धेरै काम गर्नुभयो, उहाँले मेरा लागि अनुभव गर्न मानिस, घटना र कामकुरालाई योजनाबद्ध गर्नुभयो, र मैले नकारात्मक महसुस गर्दा, परमेश्वरले ब्रदर-सिस्टरहरूलाई मसँग सङ्गति गर्न लगाउनुभयो, र उहाँले बारम्बार आफ्ना वचनहरूद्वारा मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुभयो, र मलाई उहाँको अभिप्राय बुझ्न र नकारात्मकताबाट निस्कन लगाउनुभयो—के यो सब परमेश्वरको प्रेम थिएन र? यी कुराहरू सोच्दा, मलाई दोषी महसुस भयो, र मलाई आफूमा साँच्चै विवेक छैन रहेछ भन्ने विश्वास भयो। त्यसैले मैले परमेश्वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्वर, म तपाईँको दयाको कदर गर्न असफल भएकी छु। तपाईँले मप्रति अनुग्रहपूर्वक व्यवहार गर्नुभयो, तर मैले सधैँ तपाईँलाई गलत बुझेँ। अहिले मेरो खुट्टा भाँचिएपछि, बल्ल मैले चिन्तन गरेँ; अन्यथा, म अझै पनि दौडधुप गरेर र सुसमाचार प्रचार गरेर आशिष् पाउन सक्छु भन्ने सोच्नेथिएँ, थाहै नपाई आफ्नै धारणामा जिउनेथिएँ र तपाईँको प्रतिरोध गर्नेथिएँ। तपाईँले भविष्यमा तपाईँले जेसकै गर्नुभए पनि, मेरो परिणाम जस्तोसुकै भए पनि, त्यो तपाईँको धार्मिकता हो—म तपाईँको सार्वभौमिकतामा समर्पित हुन्छु।” जब मैले परमेश्वरको अभिप्राय बुझेँ, तब मेरो स्थिति अलि राम्रो भयो। पछि, मैले घरमा लेख लेख्ने अभ्यास गरेँ, र आत्मचिन्तन अभ्यास गरेर परमेश्वरसामु मन शान्त पारेँ। केही महिनापछि, मेरो खुट्टा बिस्तारै ठिक हुँदै गयो, म फेरि हिँड्न र कर्तव्य थाल्न सक्ने भएँ। आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, मैले सत्यताको खोजी र आफ्ना भ्रष्ट स्वभाव समाधान गर्नमा पनि जोड दिएँ, र आफ्नो उमेरले सीमित पारेको वा बाँधेको महसुस गर्न छोडेँ। मैले यी कुरालाई ठिक तरिकाले सम्हाल्न सकेँ।
यी केही वर्ष, मैले सधैँ आफ्नो उमेरले बाँधिएको महसुस गरेँ। यदि परमेश्वरका वचनको मार्गदर्शन नभएको भए, म त्यसबाट निस्कनेथिइनँ। परमेश्वरका वचनहरूले नै मेरो मनको भारी ढुङ्गा हटाइदिए, जसले गर्दा म अब वृद्धाकालले गर्दा मुक्ति पाउँदिनँ कि वा राम्रो परिणाम प्राप्त गर्दिनँ कि भनेर चिन्तित वा बेचैन महसुस गर्न छोडेँ। मेरो हृदयले स्वतन्त्रता र राहत पायो।