५३. खतरनाक वातावरणमा विकल्पहरू
२०२२ अप्रिल १५ को साँझ, राति १० बजेपछि, मैले अगुवाबाट मेरो गाउँको मण्डलीका चार जना ब्रदर-सिस्टर पक्राउ परेको भन्ने पत्र पाएँ। ती परिचित नामहरू देख्दा, मेरो हृदय निकै भारी भयो। तीमध्ये एक सिस्टरले एकपटक मसँग मिलेर कर्तव्य निर्वाह गरेकी थिइन्, र हामी दुवैलाई प्रहरीले फोनमार्फत सोधपुछ गरेको थियो। के उनको गिरफ्तारीले म पनि फस्ने पो हो कि? मलाई केही डर लाग्यो। त्यसपछि, मैले थप पाँच जना ब्रदर-सिस्टर पक्राउ परेको सुनेँ, जसमध्ये दुई जना मण्डली अगुवा थिए। २१ तारिख दिउँसो, मैले अगुवाबाट अर्को पत्र पाएँ जसमा, मेरो गाउँको मण्डलीसँग उनीहरूको सम्पर्क टुटेको छ र मलाई त्यहाँ गएर अवस्था बुझ्न, त्यहाँ राखिएका परमेश्वरका वचनका पुस्तकहरू खतरामा छन्-छैनन्, र तिनीहरूलाई सार्न सकिन्छ-सकिँदैन हेर्न भनेर अनुरोध गरिएको थियो। पत्र पढेपछि, म धेरै चिन्तित भएँ। यदि प्रहरीहरूले परमेश्वरका वचनका पुस्तकहरू जफत गरे भने, धेरै ठूलो क्षति हुने थियो। तर मैले त्यो स्थानीय मण्डली दस वर्षअघि नै छोडेकी थिएँ र मलाई ती पुस्तकहरू कहाँ राखिएका छन् भनेर थाहा थिएन। अचानक, मैले मेरी आमालाई सम्झिएँ, जो सधैँ त्यस मण्डलीमा रहनुभएको थियो र सम्भवतः त्यस परिस्थितिबारे जान्नुहुन्थ्यो। तर त्यही बेला, मेरो हृदयमा एउटा स्वार्थी सोच आयोः “यदि मैले मेरी आमाले ती किताबहरू राखिएको घर फेला पार्न सक्नुहुन्छ भने भनेँ, अगुवाले पक्कै पनि मलाई त्यहाँ जान भन्नेछन्। अहिले कम्युनिस्ट पार्टीको कारबाही अत्यन्तै कडा छ; यदि म अहिले त्यहाँ गएँ भने, के म सिधै खतरातर्फ गइरहेको हुनेछैन र? यदि मलाई पक्राउ गरी जेल हालियो भने, के म यातना सहन सकूँली? पक्राउ परेपछि प्रहरीले ब्रदर-सिस्टरहरूलाई यातना दिएको दृश्यहरू सम्झँदा नै मलाई डर लाग्छ। म यहीँ नै बस्नु राम्रो होला; फर्कनु अत्यन्तै खतरनाक छ!” यो सोचेर, मैले अगुवालाई फर्कने सहमति जनाउने गरी तुरुन्तै जवाफ दिइनँ। तर त्यसपछि, मैले मनमनै विचार गरेँ—यत्तिका वर्षसम्म मैले परमेश्वरका लागि खासै केही नगरीकनै परमेश्वरका धेरै अनुग्रह र सत्यताको आपूर्तिको आनन्द उठाएकी थिएँ। विशेषगरी अहिले, मैले कर्तव्य निर्वाहमा गरेका मेहनतहरूले धेरै फल दिइरहेको थिएन, र म प्रायः आफ्नै भ्रष्ट स्वभावअनुसार जिउँथेँ। म पहिले नै परमेश्वरप्रति धेरै ऋणी भइसकेकी थिएँ। अहिले, मेरो गाउँको मण्डलीका धेरै ब्रदर-सिस्टर पक्राउ परेर सम्पर्कविहीन भइरहेका बेला, म यत्तिकै हेरेर बस्न मिल्दैनथ्यो, न त परमेश्वरका वचनहरूको किताबहरूलाई ठूलो रातो अजिङ्गरको हातमा पर्न दिन हुन्थ्यो। यसै क्षणमा, एउटा भजनको पङ्क्ति मेरो दिमागमा आयो: “अब परमेश्वरप्रति हाम्रो बफादारी देखाउने बेला आएको छ; उहाँको गवाही दिन हामी कष्ट उठाउनेछौँ।” परमेश्वरको चाहना खतरा र कठिनाइका बेलामा म उहाँको परिवारको हितलाई प्राथमिकता दिऊँ भन्ने थियो। तर फर्किएँ भने पक्राउ पर्छु कि भनेर डराएकी थिएँ, र मैले केवल आफ्नै स्वार्थबारे सोचेँ। ममा परमेश्वरप्रति कत्ति पनि बफादारी थिएन, म एकदमै स्वार्थी थिएँ! मण्डलीले सतावट र कठिनाइहरूको सामना गरेको बेला, म भने केवल आफूलाई जोगाउन खोजिरहेकी थिएँ। म वास्तवमै विवेकहीन थिएँ! मण्डलीको कामलाई मेरो आवश्यकता पर्दा, यदि म अघि सरिनँ भने, पछि निश्चय नै दोषी महसुस गर्नेथेँ र गहिरो रूपमा पछुताउनेथेँ। अब म डरपोक हुन सक्दिनथेँ; परमेश्वरका वचनका किताबहरू जोगाउन मैले सक्दो प्रयास गर्नैपर्थ्यो। यो बुझेपछि, मैले तुरुन्तै अगुवालाई पत्र लेखेँ र फर्किएर आमालाई भेटेर परिस्थिति बुझ्न सक्छु भनेर उनलाई बताएँ।
पछि, अगुवा मलाई भेट्न आइन् र म गाउँ फर्किएपछि के गर्नुपर्छ भनेर विस्तारमा मसँग सङ्गति गरिन्। म फर्किएपछि मण्डलीका ब्रदर-सिस्टरहरू वा मेरी आमालाई सिधै सम्पर्क नगर्न उनले मलाई बारम्बार आग्रह गरिन्, किनकि उनीहरू प्रहरी निगरानीमा छन् कि छैनन् भन्ने कुरा अनिश्चित थियो। उनले मलाई पहिले आमा सुरक्षित हुनुहुन्छ-हुनुहुँदैन भन्ने पत्ता लगाउन, अनि मात्र परमेश्वरका वचनका किताबहरूबारे छलफल गर्न भनिन्। त्यसबेला, म आत्तिएकी र डराएकी थिएँ। म प्रहरीद्वारा पक्राउ पर्ने डरले त्रसित थिएँ, साथै, यस्ता परिस्थितिहरू पहिले कहिल्यै सामना नगरेको हुँदा म त्यसलाई कसरी सम्हाल्ने भनेर चिन्तित थिएँ। अगुवा निस्किएपछि, म तुरुन्तै परमेश्वरका वचनहरू पढ्न लागेँ। परमेश्वर भन्नुहुन्छ: “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। तैँले सबै भोग्नैपर्छ; तँसँग भएका सबै कुरा मेरो लागि त्याग्न र मलाई पछ्याउनका लागि तैँले गर्न सक्ने सबै कुरा गर्न, र कुनै पनि मूल्य चुकाउन तँ तयार हुनैपर्छ। मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई निष्ठापूर्वक पछ्याउन सक्छस्? नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र? यो कुरा याद राख्! यसलाई नबिर्सी! जे घट्छ त्यो सबै मेरो सदिच्छाबाट हुन्छ, र सबै कुरा मेरो निगरानीमा छ। तैँले बोल्ने र गर्ने सबैमा तैँले मेरो वचनलाई पछ्याउन सक्छस्? जब तँमाथि आगोको परीक्षा आउनेछ, के तैँले घुँडा टेकेर पुकार्नेछस्? कि तँ अगाडि बढ्न नसकेर, पछि हट्नेछस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। जब मैले परमेश्वरका यी वचनहरू पढेँ, जसले भन्छ: “मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्?” “जब तँमाथि आगोको परीक्षा आउनेछ, के तैँले घुँडा टेकेर पुकार्नेछस्? कि तँ अगाडि बढ्न नसकेर, पछि हट्नेछस्?” तब यस्तो लाग्यो, वर्तमान परिस्थितिहरू उहाँले नै निर्धारण गर्नुभएको हो भनेर मलाई स्पष्ट रूपमा भनिरहनुभएको छ, र यो मेरो लागि एउटा परीक्षा हो। मलाई लाग्यो, मानौँ परमेश्वरले सतावट र कठिनाइको समयमा म आफ्नो हितलाई प्राथमिकता दिई डराएर पछि हट्छु, वा परमेश्वरको घरको हितलाई प्राथमिकता दिएर उहाँका वचनका किताबहरू सुरक्षित रूपमा स्थानान्तरण गर्छु भनी हेर्न मेरो हृदयको छानबिन गर्दै हुनुहुन्छ। परमेश्वरले मैले राम्रो गरूँ भन्ने चाहनुहुन्छ जस्तो पनि महसुस भयो। म परमेश्वरको अभिप्रायलाई निराश पार्न चाहन्नथेँ, न त म जोगिन मात्र खोज्ने डरपोक बन्न चाहन्थेँ, त्यसैले मैले तुरुन्तै घुँडा टेकी परमेश्वरसँग प्रार्थना गरेँ, “परमेश्वर, मेरो कद धेरै सानो छ; मैले यसअघि कहिल्यै यस्तो परिस्थिति सामना गरेकी छैन, र म साह्रै चिन्तित छु, मैले यो कर्तव्य राम्रोसँग पूरा गर्न सक्दिनँ कि भनेर डराएकी छु। हे परमेश्वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् र मेरो हृदयलाई शान्त पार्न मद्दत गर्नुहोस्।” प्रार्थनापछि, मैले धेरै शान्त महसुस गरेँ।
म आफ्नो गाउँ पुग्दा रातको आठ बजिसकेको थियो। बाटोमा हिँड्दा, ब्रदर-सिस्टरहरू कस्तो अवस्थामा होलान्, परमेश्वरका वचनका पुस्तकहरू सुरक्षित होलान् कि नहोलान्, र म कुनै खतरामा पर्छु-पर्दिनँ भनेर थाहा नभएकाले मलाई असहज महसुस भयो। मेरो हृदयभित्र, मैले निरन्तर परमेश्वरसँग मेरो मनलाई शान्त राख्न मद्दत गर्नुहोस् भन्दै प्रार्थना गरेँ। जब म मेरो भाइको घरको ढोकासम्म पुगेँ, म हिचकिचाएँ, किनभने मेरो भाइ परमेश्वरमाथिको मेरो आस्थाको विरुद्ध छ भनेर मलाई थाहा थियो। बाबा बिरामी भएर बित्दा, म फर्किनँ, त्यसपछि, मेरो भाइले मलाई “आजदेखि तिमी मेरी दिदी रहिनौ भनेको थियो।” उसले मलाई मद्दत गर्ला कि नगर्ला, मलाई थाहा थिएन। मेरो हृदय फेरि तनावग्रस्त भयो, र म दलानमा केही मिनेटसम्म उभिएँ, भित्र जाने आँट गर्न सकिनँ। मैले मनमनै शान्त भएर प्रार्थना गरेँ, र विस्तारै मलाई शान्त महसुस भयो, अनि ढोका ढकढक्याउने हिम्मत आयो। आश्चर्यको कुरा, मेरो भाइले कुनै कठोर व्यवहार देखाएन। मैले ऊबाट मेरी आमा अहिलेका लागि सुरक्षित हुनुहुन्छ भनेर पनि थाहा पाएँ। ब्रदर-सिस्टरहरू पक्राउ परेको दिन, संयोगवश मेरी आमा नयाँ ठाउँमा सर्नुभएको रहेछ, र अहिले मण्डलीमा कसैलाई पनि उहाँ कहाँ बस्नुहुन्छ भन्ने थाहा रहेनछ। म तुरुन्तै आमालाई भेट्न गएँ। मैले सोचेँ, “मेरी आमा आफ्नो अघिल्लो घरमा सात वर्ष बस्नुभएको थियो, र मण्डलीका हरेक ब्रदर-सिस्टरहरूलाई उहाँको ठेगाना थाहा थियो। प्रहरीले उहाँलाई सजिलै फेला पार्न सक्थ्यो, त्यसैले उहाँ सर्नुभएको राम्रो भयो—नत्र म उहाँसँग सम्पर्क गर्न सक्ने थिइनँ। के मेरी आमा पहिले नै सर्नु परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्त होइन र?” यस क्षणमा, मलाई मेरो कद निकै सानो छ, र ममा परमेश्वरप्रति कुनै आस्था छैन जस्तो लाग्यो। पहिले त, म पक्राउ पर्ने र किताबहरू सुरक्षित राखिएको घर भेट्टाउन नसक्ने डरले, मैले फर्कने आँट नै गर्न सकेकी थिइनँ। तर अहिले मैले परमेश्वरले नै सबै कुरा मिलाउनुभएको रहेछ भन्ने देखेँ। परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकता देखेर, मेरो आस्था जागृत भयो। आमाले उहाँलाई दुई वर्षअघि परमेश्वरका वचनहरूको किताब राखिएका चार घरहरूबारे थाहा छ, तर अहिले केही परिवर्तन भएको छ कि छैन भनेर थाहा नभएको भन्नुभयो। ली हान नाम गरेकी सिस्टर यो मामिलाको जिम्मेवार थिइन्, त्यसैले उनीबाट जानकारी लिनु नै बढी सटिक हुने थियो। साथै, ली हानले चिनाएको खण्डमा, किताबहरूको सुरक्षा गरिरहेका ब्रदर-सिस्टरहरूले हामीलाई सहजै विश्वास गर्ने थिए। मैले सोचेँ, “ली हानको घर एउटा पसल हो, र पक्राउ परेका धेरैजसो मानिसहरूले त्यो ठाउँलाई चिन्छन्। यदि उनी प्रहरीको निगरानीमा छिन् भने, के आमा र मलाई पनि पक्राउ गरिने छैन र?” ती प्रहरीहरू त मानिसहरूलाई हानि पुर्याउने दियाबलसहरू हुन्। पक्राउ परेका केही ब्रदर-सिस्टरहरूलाई उम्लिरहेको पानीले पोलिएको थियो, केहीलाई नाङ्गो बनाएर विद्युतीय छडीले शरीरभरि झट्का दिइएको थियो, र अरूलाई हतकडी लगाएर उँधोमुन्टो पारेर झुन्ड्याइएको थियो। यी निर्दयी दृश्यहरूबारे सोच्दा मात्र नै मेरो शरीर काँप्न थाल्यो। “यदि म पक्राउ परेँ भने, के मैले पनि यस्तै यातना सहनु पर्दैन र? यदि तिनीहरूले मलाई गोली हानेर तुरुन्तै मारे भने, त्यो चाँहि ठीकै हुन्थ्यो, र म धेरै कष्ट बिना नै मर्ने थिएँ। सायद म एक शहीद हुने थिएँ र मेरो आत्माले मुक्ति पाउने थियो। तर यी दियाबलसहरू कपटी र क्रूर छन्। तिनीहरूले पक्राउ परेका ब्रदर-सिस्टरहरूलाई परमेश्वरलाई अस्वीकार गर्न र मण्डली अगुवाहरू र मण्डलीको कोषका बारेमा भेद खोल्न बाध्य बनाउँछन्। यदि ब्रदर- सिस्टरहरूले बोल्न अस्वीकार गरे भने, उनीहरूले अनेक यातना पाउँछन्, र यदि उनीहरू अझै पनि बोलेनन् भने, उनलाई जेल हालेर अन्य कैदीहरूद्वारा यातना दिइन्छ। प्रहरीले हरेक किसिमका क्रूर उपायहरू प्रयोग गरेर यसलाई पृथ्वीमै रहेको नर्कजस्तो बनाउँछन्, जहाँ मानिस न त जिउन सक्छ न त मर्न र असहनीय यातना सहन्छ! मैले आफ्नो जीवनभर धेरै कष्ट भोग्नुपरेको छैन, त्यसैले, साधारण टाउको दुख्दा वा ज्वरो आउँदा पनि म असहज महसुस गर्छु। यस्तो अमानवीय यातना म कसरी सहन सक्छु? मेरी आमा पनि वृद्ध भइसक्नुभएको छ, र यदि उहाँ पक्राउ पर्नुभयो भने, मर्नुभएन भने पनि उहाँले धेरै कष्ट भोग्नुहुनेछ।” यो बारेमा सोचेर, मैले आमालाई भनेँ, “यदि ली हानलाई प्रहरीले निगरानी गरिरहेको छ भने, हामी पनि पक्राउ पर्न सक्छौँ। मलाई हामीले ली हानलाई सम्पर्क गर्न हुन्छ जस्तो लाग्दैन।” यो सुनेपछि, आमाले यस विषयलाई अगाडि बढाउनुभएन।
हाम्रो कुराकानी सकिँदा रात ढल्किसकेको थियो, अनि ओछ्यानमा पल्टेँ, तर म निदाउन सकिनँ, सोचेँ, “आमालाई किताबहरू ठ्याक्कै कहाँ राखिएको छ भन्ने थाहा छैन, र यदि हामी हतारमा त्यहाँ गयौँ भने, ती किताबहरूको सुरक्षा गरिरहेका परिवारहरूले हामीलाई सजिलै किताब हस्तान्तरण गर्लान् त? ली हानसँग सम्पर्क गर्नु अझै भरपर्दो हुने थियो।” मैले बुझेँ कि ली हानलाई सम्पर्क गर्न मेरो अनिच्छाको कारण म फस्न सक्ने डर थियो र म अझै पनि मेरो आफ्नै हितको रक्षा गरिरहेकी थिएँ, त्यसैले मैले तुरुन्तै आफ्नो स्थिति सुधार्न परमेश्वरका वचन खोज्न लागेँ। मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “ख्रीष्ट विरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्वरमाथि तिनीहरूसँग साँचो विश्वास हुँदैन, परमेश्वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र पक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। जब परमेश्वरप्रति बफादार र परमेश्वरमा साँचो विश्वास गर्नेहरूलाई यस्ता कुराहरू आइपर्छन्, उनीहरूले ती कुराको सामना कसरी गर्छन्? तिनीहरूले गर्ने कार्य ख्रीष्टविरोधीहरूले गर्ने कार्यभन्दा कसरी फरक हुन्छ? (परमेश्वरप्रति बफादार मानिसहरूको जीवनमा यस्ता कुराहरू आइपर्दा, तिनीहरूले परमेश्वरको घरको हित रक्षा गर्न, परमेश्वरको घरको भेटीमा घाटा हुनबाट जोगाउने उपायहरू सोच्छन् अनि तिनीहरूले नोक्सानी कम गराउन अगुवा र सेवकहरू, दाजुभाइ-दिदीबहिनीहरूको लागि आवश्यक व्यवस्था गर्छन्। ठीक यसै बेला, ख्रीष्टविरोधीहरूले चाहिँ सुरुमा आफूलाई रक्षा गर्ने कुरा सुनिश्चित गर्छन्। तिनीहरूलाई मण्डलीको काम वा परमेश्वरका चुनिएका मानिसहरूको सुरक्षाको चिन्ता हुँदैन, र जब मण्डलीले पक्राउहरू सामना गर्छ, तब यसले मण्डलीको काममा घाटा निम्त्याउँछ।) ख्रीष्टविरोधीहरू मण्डलीको काम र परमेश्वरको भेटी छोडेर हिँड्छन्, र तिनीहरू घटनाका असरहरू समाधान गर्न मानिसहरू खटाउँदैनन्। यो त ठूलो रातो अजिङ्गरलाई परमेश्वरको भेटी र उहाँका चुनिएका मानिसहरू हत्याउन अनुमति दिनुजस्तै हो। के यो परमेश्वरका भेटीहरू र उहाँका चुनिएका मानिसहरूप्रति गुप्त रूपमा धोका दिनु होइन र? परमेश्वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको असर सम्हाल्ने खतरा मोल्छन्, अनि आफू पछि हट्नुअघि परमेश्वरको घरमा हुने नोक्सान कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्वरमा विश्वास गर्दा र आफ्नो कर्तव्य निभाउँदा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य निभाउनु परमेश्वरको आज्ञा हो, र परमेश्वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्नो कर्तव्य निभाउने खतरा मोल्नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्नो सुरक्षा सुनिश्चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्वरका अभिप्रायहरूलाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्नुपर्छ। परमेश्वरले तिनीहरूलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ। ख्रीष्ट विरोधीहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन्छन्; तिनीहरू अरू कुनै कुरासित तिनीहरूको सम्बन्ध छैन भनी विश्वास गर्छन्। अरू कसैलाई केही भयो भने तिनीहरू वास्ता गर्दैनन्, चाहे त्यो व्यक्ति जोसुकै होस्। जबसम्म ख्रीष्ट विरोधीहरू आफैलाई केही नराम्रो हुँदैन, तबसम्म तिनीहरू ढुक्क नै हुन्छन्। तिनीहरूमा कुनै बफादारीता हुँदैन, जुन कुरा ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरका वचनहरू पढेपछि, उहाँका वचनहरूले मलाई न्याय गरिरहेका छन् भन्ने सोचेर म अत्यन्त दुखित र व्याकुल भएँ। मैले प्रकट गरेको स्वभाव ठ्याक्कै ख्रीष्टविरोधीहरूको जस्तै थियो। ख्रीष्टविरोधीहरू जब खतरा र कठिनाइको सामना गर्छन्, केवल आफ्नो सुरक्षा र आफूलाई कसरी जोगाउनेबारे मात्र सोच्दछन्, परमेश्वरप्रति कुनै बफादारी देखाउँदैनन्, साथै परमेश्वरको घरको हित र ब्रदर-सिस्टरहरूको सुरक्षालाई बेवास्ता गर्छन्। उनीहरू अत्यन्तै स्वार्थी र नीच हुन्छन्। अहिले मण्डलीले पक्राउको सामना गरिरहेको बेला, खतराको यस समयमा परमेश्वरका वचनहरूको किताबहरू जोगाउनु सबैभन्दा महत्त्वपूर्ण कार्य थियो, र यो विवेक र मानवता भएका जोकोहीले पनि गर्नुपर्ने कुरा थियो। यो महत्त्वपूर्ण मोडमा, म केवल आफूलाई जोगाउने सोचिरहेकी थिएँ, किताबहरू कसरी सुरक्षित रूपमा स्थानान्तरण गर्नेबारे सोचिरहेकी थिइनँ। मेरो परमेश्वरप्रति बफादारी कहाँ थियो? यदि मैले हतार गरेँ, सुरक्षण घरहरू फेला पार्न सकिनँ, वा उनीहरूले हामीलाई किताबहरू दिएनन् भने, यसले किताबहरूको स्थानान्तरणमा ढिलाइ गराउँनेथ्यो। यदि यी किताबहरू समयमै सार्न नसक्दा प्रहरीले जफत गरे भने, म नै यसको जिम्मेवार ठहरिन्थेँ! परमेश्वरका वचनहरू मानव जीवनका भरणपोषण हुन्। सत्यता बुझ्न, आफूलाई चिन्न, र भ्रष्ट स्वभावलाई फाल्न, र मुक्ति प्राप्त गर्न, परमेश्वरका वचन अपरिहार्य छन्। परमेश्वरका वचनहरू मानव जीवनभन्दा पनि बढी महत्वपूर्ण छन्। ब्रदर-सिस्टरहरूले परमेश्वरका वचन मण्डलीसम्म पुर्याउन आफ्नै जीवन जोखिममा राख्छन्, ताकि धेरै मानिसहरूले तिनलाई पढ्न, सत्यता बुझ्न र परमेश्वरको मुक्ति प्राप्त गर्न सकून्। परमेश्वरका साँचो विश्वासीहरूले परमेश्वरका वचनका किताबहरू जोगाउन आफ्नो ज्यानको बाजी पक्कै लगाउँथे, तर यस्तो महत्त्वपूर्ण समयमा म भने केवल आफूलाई जोगाउने सोच्दै थिएँ। मैले यसबारे जति धेरै सोचेँ, त्यति नै मलाई ममा कुनै मानवता नै छैन जस्तो लाग्यो। मैले पत्रुसलाई पनि सम्झेँ, जसले प्रभुका लागि मण्डलीको काम र गोठालो गर्दा धेरै कष्ट सहे र जेलमा समेत परे। रोमी सम्राटद्वारा ईसाईहरूलाई दिइएको अन्तिम सतावटको समयमा, पत्रुस पहिले नै शहरबाट भागिसकेका थिए। जब प्रभु येशूले पत्रुससामु आफूलाई प्रकट गर्नुभयो, उनले यसलाई प्रभु येशूले उनी कृसीकरण भएको चाहनुहुन्छ भन्ने अर्थमा बुझे, त्यसैले उनी समर्पित भई रोम फर्किए, जहाँ उनलाई अन्ततः उँधोमुन्टो पारेर क्रूसमा टाँगियो, र उनले परमेश्वरप्रति उच्चतम प्रेमको गवाही दिए। म पत्रुससँग तुलना गर्न त सक्दिनँ, तर मण्डलीले यो जिम्मेवारी मलाई दिएको थियो, र यो मेरो जिम्मेवारी र कर्तव्य थियो। म परमेश्वरप्रति बफादार हुनुपर्थ्यो, उहाँको घरको हितलाई प्राथमिकता दिनुपर्थ्यो, र जुनसुकै तरिकाले भए पनि यो कार्य गर्नुपर्थ्यो र सक्दो मेहनत लगाउनुपर्थ्यो। यो बुझेपछि, मैले परमेश्वरसामु पश्चात्तापपूर्वक प्रार्थना गरेँ।
अर्को दिन बिहानै, मैले ली हानसँग भेटका लागि एक सिस्टरलाई सम्पर्क गरेँ, र उनले भेटघाटको बन्दोबस्त गरिन्। जब ली हानले हामीलाई देखिन्, उनले चिन्तित हुँदै भनिन्, “पक्राउ परेका मध्ये एक जना यहूदा बनेका छन्। अहिले, किताब सुरक्षण गर्ने परिवारकी एक सिस्टरलाई पक्राउ गरिसकिएको छ, र अन्य परिवारहरू पनि खतरामा छन्। हामी आशा गर्छौं तपाईं छिट्टै आउनुहुनेछ र किताबहरू सार्नुहुनेछ।” ली हानका कुरा सुनेपछि, मैले परिस्थितिको गम्भीरता बुझेँ र झनै चिन्तित भएँ। म तुरुन्तै ली हानसँगै अन्य सुरक्षण घरहरू पहिचान गर्न निस्किएँ। हामी बाटोभरि निकै सतर्क थियौँ, निरन्तर वरपरको वातावरणलाई नियालिरहेका थियौँ, र मैले मनमनै प्रार्थना गरिरहेँ। परिवारहरू पहिचान गरेपछि, मैले पुस्तकहरू स्थानान्तरण गर्न गाडीको बन्दोबस्त गरेँ। आश्चर्यको कुरा, हामी राजमार्गमा पुग्नसाथ प्रहरी जाँच धेरै कडा भएको पायौँ। प्रत्येक गाडीलाई जान दिनुअघि धेरै मिनेटसम्म जाँच गरिन्थ्यो, र नजिकै धेरै ट्राफिक प्रहरीहरूले गाडीलाई लामबद्ध गरिरहेका थिए। यो अवस्था देखेर, म फेरि चिन्तित भएँ। यदि हामी पक्राउ पर्यौँ भने, किताबहरू स्थानान्तरण गर्न सक्दैनथ्यौँ। मैले लगातार हृदयमा परमेश्वरलाई प्रार्थना गरिरहेँ। मैले परमेश्वरका ती वचनहरू सम्झिएँ, जसले भन्छन्: “कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। वास्तवमा, जीवित र निर्जीव दुवै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तको अधीनमा छन्, र परमेश्वरमा विश्वास नगर्नेहरूका सोच र विचारहरू समेत उहाँकै नियन्त्रणमा छन्। आज हामी सहज रूपमा अगाडि बढ्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा परमेश्वरको हातमा थियो, र ममा आस्था हुनु आवश्यक थियो। त्यसै बेला, हाम्रो गाडी निरीक्षणका लागि रोकियो। अचम्मको कुरा त के भयो भने, निरीक्षकले गाडी चलाउने ब्रदरलाई चिनेका रहेछन् र जाँच नगरी हामीलाई जान दिए। मैले परमेश्वरको रक्षा देखेँ।
त्यसपछि, मैले आफैँलाई चिन्तन गरेँ, सोचेँ, “म पक्राउ पर्ने कुरामा किन यति डराउँदै छु? यदि मैले यो समस्या समाधान गरिनँ भने, म कतिबेला लड्छु भन्न सकिँदैन।” मैले परमेश्वरका वचनहरूको एउटा खण्ड देखेँ: “तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। पारिवारिक सौहार्दको आनन्द उठाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अल्पकालिन आनन्दका खातिर तैँले जीवनभरको इज्जत र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले सुन्दर र असल सबै कुरा पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस् र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्यहरू छैनन् भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा गरिमा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरू पढेपछि, मैले सत्यताका लागि कष्ट सहनु नै सबैभन्दा मूल्यवान कुरा हो भन्ने बुझेँ। कष्ट सहेर मात्रै सत्यता प्राप्त गर्न सकिन्छ। उदाहरणका लागि, यातना सहेका ब्रदर-सिस्टरहरूलाई लिन सकिन्छ। उनीहरूले यातना र अमानवीय दुर्व्यवहार भोग्नुपर्यो, तर उनीहरूले कम्युनिस्ट पार्टीको कुरूप अनुहार र दुष्ट सारलाई साँचो अर्थमा बुझेर घृणा गर्न थाले, र परमेश्वरलाई पछ्याउने उनीहरूको हृदय अझ दृढ बन्यो। मृत्युको सङ्घारमा हुँदा केही ब्रदर-सिस्टरहरूले परमेश्वरलाई पुकारे र उहाँको अद्भुत सुरक्षा देखे, परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकताको वास्तविक बुझाइ पाए र साँचो आस्था विकास गरे। उनीहरूले धेरै कष्ट भोगे तापनि, उनीहरूले शैतानमाथि विजयी हुने गवाही दिए। यी सबै कुरा आरामदायी वातावरणमा प्राप्त गर्न सकिँदैन; उनीहरूको कष्ट साह्रै अर्थपूर्ण थियो! मैले सत्यता बुझेकी थिइनँ, न त कष्टको मूल्य र अर्थलाई जानेकी थिएँ, म सधैँ शारीरिक कष्टबाट डराउँथेँ र परमेश्वरले तयार पार्नुभएको वातावरणबाट उम्कन खोज्थेँ। के यो मेरो दृष्टिहीनता रअज्ञानता थिएन र? मैले परमेश्वरका वचनहरूको यो खण्ड पनि सम्झिएँ: “मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्वरबाट आएको हो, र परमेश्वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्वरको आदेश र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्वरको आदेशका निम्ति शहीद भएकाहरूसामु हाम्रा आत्मालाई लाज लाग्नेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्वरसामु झन् धेरै लाज लाग्नेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ)। मेरो जीवन परमेश्वरको देन हो। परमेश्वर नै हुनुहुन्छ जसले मलाई आफू समक्ष ल्याएर सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने अवसर दिनुभयो। विवेक र समझ भएको व्यक्तिको रूपमा, म परमेश्वरका लागि जिउनु थियो। आज परमेश्वरका वचनहरूको किताबहरू स्थानान्तरण गर्नु मेरो जिम्मेवारी थियो। यदि म साँच्चै पक्राउ परेँ र शारीरिक कष्ट भोगेँ भने पनि, मैले मेरो कर्तव्य पूरा गर्नु थियो। मैले इतिहासभरि परमेश्वरका गवाहीका लागि उत्पीडित र शहीद भएका सन्तहरूका बारेमा सोचेँ। पत्रुसलाई परमेश्वरका लागि उँधोमुन्टो पारेर क्रूसमा चढाइयो, र स्तेफनलाई पथ्थर हानेर मारियो, कसैलाई तरवारले, बीचबाट टुक्र्याएर, वा तेलमा उमालेर मारियो, र अरूलाई पाँच घोडाहरूद्वारा क्षतविक्षत बनाइयो। उनीहरू सबैले मानवताको न्यायपूर्ण उद्देश्यमा आफूलाई समर्पित गरे, यसलाई परमेश्वरले सम्झनुहुन्छ र एक गौरवमय कार्य हो। यदि आज परमेश्वरका किताबहरू स्थानान्तरण गरेकोमा मलाई पक्राउ गरी जेल राखियो भने, त्यो पनि धार्मिकताका लागि कष्ट सहनु हुने थियो। यो बुझेर, मैले मेरो देहविरुद्ध विद्रोह गर्ने प्रण गरेँ, र यो कर्तव्यमा आफूले सक्दो गर्न इच्छुक भएँ।
पछि, मैले ती पक्राउ परेकामध्ये एक जनाले यहूदा बनेर ब्रदर-सिस्टरहरूलाई पक्राउ गर्न प्रहरीलाई डोहोर्याएको थाहा पाएँ। पक्राउ पर्नेहरूको सङ्ख्या बढेर उन्नाइस पुगेको थियो र प्रहरीसँग एउटा सूची थियो र उनीहरूले फोटोहरू बोकेर यहूदालाई मानिसहरूलाई पहिचान गर्न लगाउँदै थिए। यी ब्रदर-सिस्टरहरू तुरुन्तै लुक्न आवश्यक थियो। यस्तो खबर सुनेर, मैले सोचेँ, “परिस्थिति अति गम्भीर बनिसकेको छ, मैले कल्पना गरेको भन्दा पनि खराब। यदि म अहिले किताबहरू स्थानान्तरण गर्न गएँ भने, म पक्राउ पर्ने सम्भावना धेरै छ। के मैले प्रहरीको यातना सहन सक्छु?” म फेरि डरपोक र भयभीत भएकी मलाई थाहा थियो, त्यसैले मैले तुरुन्तै घुँडा टेकेर प्रार्थना गर्न थालेँ, “हे परमेश्वर, मण्डलीको अवस्थाबारे सुनेर म फेरि डराउन पुगेकी छु। म पक्राउ भएर शारीरिक कष्ट सहनु पर्ने डरमा छु। परमेश्वर, कृपया मलाई मेरो स्वार्थी र घृणित भ्रष्ट स्वभावअनुसार नजिउन र यो कर्तव्य निर्वाह गर्न मार्गदर्शन गर्नुहोस् र डोहोर्याउनुहोस्।” त्यस क्षणमा, मैले परमेश्वरका यी वचनहरू सम्झिएँ: “यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; सधैँ एउटा प्रबल शक्तिले काम गरिरहेको थियो, र त्यो शक्तिले उहाँलाई क्रूसमा टाँगिने स्थानतर्फ बढ्न बाध्य बनायो। अन्त्यमा, उहाँलाई क्रूसमा टाँगियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिस सरह हुनुभयो। उहाँ मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले आफ्नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने)। जब प्रभु येशूले क्रूस गोल्गोथासम्म लैजानुभयो, उहाँलाई नराम्रोसँग कुटियो, उहाँको शरीरमा घाउचोट थियो, र उहाँको अनुहार रगतले लतपतिएको थियो, उहाँ अत्यन्तै कष्टमा हुनुहुन्थ्यो। तैपनि, उहाँले पश्चात्तापको कुनै सङ्केत देखाउनुभएन। सम्पूर्ण मानवतालाई छुटकारा दिन, उहाँले इच्छापूर्वक यी कष्टहरू सहनुभयो र क्रूसीकरण हुनुभयो। अन्त्यमा, उहाँले शैतानलाई पराजित गर्नुभयो र सम्पूर्ण मानवजातिको छुटकाराको काम सम्पन्न गर्नुभयो। क्रूसीकरण हुँदा भोग्नुपर्ने विशाल कष्टका बारेमा पूर्ण रूपमा सचेत हुँदाहुँदै, प्रभु येशू पछि हट्नुभएन। यसको मतलब उहाँ आफैँले कष्ट भोग्नुपर्ने भए पनि, उहाँले मानवजातिलाई पापबाट मुक्ति दिलाउनुहुन्थ्यो। यसबारेमा सोच्दा, मैले गहिरो प्रेरणा महसुस गरेँ। त्यसपछि, आत्मचिन्तन गर्दा, खतरा र सङ्कष्टको सामना गर्दा म जहिले पछि हट्थेँ, र मेरो व्यवहार कति तुच्छ र नीच थियो भनेर मैले बुझेँ! आज मैले सामना गरेको परिस्थिति पनि एउटा परीक्षा थियो, जसले यो महत्वपूर्ण घडीमा मैले परमेश्वर वा आफैँमा म कोप्रति बफादार हुन रोज्छु भनेर जाँच्दै थियो। म अब स्वार्थी भई आफ्नो देहलाई मात्र ख्याल गर्न सक्दिनँ; मैले प्रभु येशूको उदाहरण अनुसरण गर्नुपर्थ्यो, यसको मतलब मलाई पक्राउ गरे, बन्दी बनाए, वा यातना दिएर मारे भने पनि, मैले परमेश्वरका वचनहरूका किताबहरू स्थानान्तरण गर्नुपर्थ्यो। परमेश्वरलाई एकपटक भए पनि सन्तुष्ट पार्नु सार्थक हुनेथ्यो। यो सोचेपछि, मैले मेरो शरीरभरि शक्तिको सञ्चार महसुस गरेँ, र यो कार्य गर्न म उर्जावान् भएँ। मलाई यो सबै परमेश्वरले दिनुभएको भन्ने थाहा थियो, र म अत्यन्तै कृतज्ञ थिएँ।
त्यसपछि, हामीले तीन घरबाट सुरक्षित रूपमा किताबहरू स्थानान्तरण गर्यौँ। जब हामी चौथो घरबाट किताबहरू स्थानान्तरण गर्दै थियौँ, त्यतिबेला मध्यरात भइसकेको थियो। छिमेकीको घरमा दुईवटा कुकुर थिए जो कुनै पनि आवाज सुन्दा निरन्तर भुक्ने गर्थे। म यति आत्तिएकी थिएँ कि मेरो मुटु घाँटीमा आएजस्तो हुन्थ्यो, छिमेकीहरूले हामीलाई देखेर प्रहरीलाई बोलाउँछन् कि भन्ने डर थियो। मैले लगातार मेरो हृदयमा परमेश्वरलाई पुकारिरहेँ। हामीले गाडीमा राखिसकेपछि पनि छिमेकीहरू बाहिर नआएपछि मलाई राहत भयो। परमेश्वरको सुरक्षा देखेर, मैले उहाँलाई हार्दिक धन्यवाद दिएँ। यसरी, हामीले कुनै पनि घटना बिना चारवटा सुरक्षित घरहरूबाट किताबहरू सफलतापूर्वक र सुरक्षित रूपमा स्थानान्तरण गर्यौँ। फर्किने क्रममा, हामीले आफ्ना अनुभवहरू बतायौँ, र हामीले महसुस गरेको खुसी शब्दहरूमा वर्णन गर्न नसकिने थियो।
यो अनुभवबाट, मैले परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकताबारे केही बुझाइ प्राप्त गरेँ। ब्रदर-सिस्टरहरू पक्राउ परेको दिन मेरी आमाको घर सरेदेखि, मेरो भाइले मलाई परिस्थिति बुझ्न मद्दत गरेको र प्रहरी जाँचबाट सहज निस्कनुसम्म—यी सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तअनुसार थिए। यस पटकको किताबहरूको सुरक्षित स्थानान्तरण केवल परमेश्वरको मार्गदर्शनका कारण सम्भव भयो। परमेश्वरको वचनहरूको अन्तर्दृष्टि र उहाँले प्रदान गर्नुभएको शक्ति बिना, म मेरो देहको विरुद्धमा विरोध गर्न असमर्थ हुने थिएँ र ममा यस कार्यलाई पूरा गर्ने आस्थाको कमी हुने थियो। यो सबै परमेश्वरका वचनहरूको परिणाम थियो।