५९. सङ्कटका बीच अघि बढ्दा

मी सुए, चीन

सन् २०१३ मार्चको एक दिन, दुई जना सिस्टर र म भेलापछि घर फर्क्यौं, अनि हामी घरभित्र छिर्दा त, अवस्था भताभुङ्ग भएको देखियो। सायद पुलिसले यो ठाउँ खोजतलास गरेको होला भन्‍ने हामीलाई लाग्यो, त्यसकारण हामी तुरुन्तै सर्‍यौँ। सरेपछि तुरुन्तै, त्यो समुदायका केही मानिसहरू पुलिससँग ओइरिएर आए। पुलिसले हामीलाई बैठक कोठामा थुनेर राखेपछि त्यो ठाउँ पूरै खानतलास गरे। तिनीहरू कसैले पनि नहेरेका बेला म आफ्नो खल्तीमा भएको सिम कार्ड भाँच्‍न सफल भएँ। एक जना पुलिसले थाहा पाएर मेरो हात जबरजस्ती खोल्यो, र भाँचिएको कार्ड देख्दा, ऊ रिसाउँदै चिच्यायो, “यो केटी जवान देखिए पनि यसलाई केही न केही कुरा थाहा छ। यसलाई सोधपुछ गर्न पछाडि लैजानुस्।” उसले एक जना महिला पुलिसलाई मेरो खानतलासी गर्न लगायो, त्यसपछि तिनीहरूले हामीलाई पुलिसको कारमा हाले। मलाई निकै डर लागिरहेको थियो, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तिनीहरूले मलाई कहाँ लैजाँदैछन् वा कसरी यातना दिनेहुन् मलाई थाहा छैन। बिन्ती छ मलाई मार्गदर्शन गर्नुहोस् र विश्‍वास दिनुहोस्। मैले जति नै धेरै कष्ट भोगे पनि, म यहूदा बन्नेछैनँ। म तपाईंलाई धोका दिनेछैनँ।” प्रार्थना गरेपछि म बिस्तारै शान्त भएँ।

पुलिसले मलाई स्टेसनको सोधपुछ कक्षमा लग्यो अनि हात उठाई कुप्रिएर उभिन आदेश दियो। केही मिनेटपछि मेरा हात गलेर झर्न थाले, मेरा खुट्टा काँपिरहेका थिए र मेरो छाती कस्सिएको थियो अनि त म भुइँमा लडेँ। त्यसपछि पुलिसले मलाई बाघे कुर्सीमा राख्यो र मेरा खुट्टालाई कुर्सीको खुट्टामा निकै कसिलो गरी बाँध्यो। केही समयपछि एक जना मोटी अपराध-प्रहरीले कोठामा केही कागजातहरू ल्याएर मलाई भनिन्, “हामीले देशव्यापी रूपमा ठूलो पक्राउ अभियान चलाइरहेका छौँ, सर्वशक्तिमान् परमेश्‍वरका विश्‍वासी तिमीहरूलाई सफाइ गरिरहेका छौँ। हामीले तिमीहरूका सबै अगुवाहरू पक्रिसकेका छौँ र तिमीहरूको मण्डलीलाई तहसनहस पारेका छौँ। हामीलाई कुरा लुकाउनुको के फाइदा? बोल् अनि तँ जान पाउँछेस्।” यो सुनेपछि मलाई, यो शैतानको एउटा चाल हो भन्‍ने प्रष्ट भयो, र उसले मलाई खालि यहूदा बन्न लगाउने प्रयास गरिरहेकी थिइ। म यसमा फस्‍नु हुँदैनथ्यो। धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेका भए पनि, तिनीहरूले परमेश्‍वरको कामलाई त्यति सहजै तोड्न सक्दैनन्। मैले जवाफ दिएँ, “सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: ‘हामी सबैले विश्वास गर्छौँ कि परमेश्‍वरले हासिल गर्न चाहनुभएको कुरालाई कुनै देश वा शक्तिले रोक्‍न सक्दैन, र जसले उहाँको काममा अवरोध पुऱ्याउन खोज्छन्, उहाँको वचनको प्रतिरोध गर्छन्, र जसले उहाँको योजनामा बाधा दिन्छन् र त्यसलाई बिगार्ने कोसिस गर्छन् तिनीहरू अन्त्यमा परमेश्‍वरद्वारा दण्डित हुनेछन्’” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ)। यो सुनेपछि, उसले खोके जस्तो गरी, अनि टाउको हल्‍लाउँदै गई। त्यसपछि अर्को अफिसरले मलाई प्रश्न गर्न थाल्यो, “तैँले कहिले धर्म मान्‍न थालेको? तँ यो क्षेत्रमा बसेको कति भयो? तँ क-कसको सम्पर्कमा छेस्? कहाँ बसिरहेकी छेस्?” मैले एक शब्द पनि नबोलेपछि, उसले मलाई धम्क्यायो, “बोलिनस् भने, हामी तँलाई कुटेर मार्नेछौं अनि तेरो लास पहाडमाथि लगेर गाड्नेछौँ।” मलाई के लाग्यो भने यिनीहरूले मानिसलाई कुखुरालाई झैँ नरसंहार गर्छन्, यिनीहरूले मानव जीवनबारे पटक्कै वास्ता गर्दैनन्। तिनीहरूले मलाई साँच्चै पो कुटेर मार्ने हुन् कि भन्‍ने मैले सोचेँ। साँच्चै डर लागेकोले, मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ त्यसपछि उहाँका यी वचनहरू सम्झेँ: “यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। परमेश्‍वर मेरो ढाल हुनुहुन्छ र उहाँले सबैमाथि शासन गर्नुहुन्छ भन्‍ने कुरा साँचो हो भन्‍ने मलाई थाहा थियो। मेरो शरीर र प्राण उहाँको हातमा थियो, त्यसकारण मलाई कुटेरै मारिन्छ कि मारिँदैन भन्‍ने कुरा पुलिसको हातमा थिएन। यो विचारले मलाई विश्‍वास र शक्ति दियो। त्यसपछि, पुलिसले मलाई निरन्तर सोधपुछ गरिरहे, तर मैले तिनीहरूलाई केही पनि भनिनँ।

तेस्रो दिन बिहानै, तिनीहरूमध्ये एक जनाले भन्यो, “अब बोल्न तयार छेस्?” मैले एक शब्द पनि बोलिनँ। रिसले चूर भएर, उसले मलाई कलरमा समातेर अनुहारमा थप्पड हान्यो, जसले गर्दा कान झनन भयो र अनुहार पोलिरहेको महसुस भयो। त्यसपछि मैले ध्यान नदिएको बेला, उसले केही कागज बटारेर मेरो आँखामा हान्‍यो, यो यति पीडादायी थियो कि मलाई आँखै झर्न लागे जस्तो भयो। मैले अनायसै आँखा बन्द गरेँ। एक जना पुलिसले रिसाउँदै भन्यो, “आँखा खोल्!” मैले बिस्तारै आँखा खोलेँ तर केही पनि देख्न सकिनँ। मैले १० मिनेटपछि मात्रै अलिअलि देख्न थालेँ। मेरो आँखामा धेरै पीडा भयो र मैले आँखा बन्दै मात्र गर्न चाहेँ, त्यसकारण म निदाएँ भन्‍ने सोचेर, पुलिसले मेरो टाउकोमा पानीको बोतलले हिर्कायो अनि कुनै कुनै बेला मेरो टाउको र पाखुरामा लात्तीले हान्यो। अनि मलाई निदाउन नदिन, तिनीहरूले मेरो कपाल र हात बाघे कुर्सीको पछाडि लगेर भेल्क्रोले बाँधे। मैले आफ्नो शिर ठाडै राखिरहनुपर्थ्यो। पीडा काम गर्ने प्रयासमा, म बाघे कुर्सीमा अडेस लाग्ने प्रयत्न गर्थेँ। मलाई चक्कर लाग्यो, शरीर दुख्यो, अनि मेरो मुटुको धडकन बढ्यो र म निराश थिएँ। मलाई यो सहिरहन सक्दिनँ भन्‍ने डर लाग्यो, त्यसकारण मैले परमेश्‍वरलाई पुकारिरहेँ, “हे परमेश्‍वर, बिन्ती छ मलाई कष्ट भोग्ने सङ्कल्प दिनुहोस्, बिन्ती छ मलाई विश्‍वास दिनुहोस्। म कहिल्यै शैतानसामु झुक्नेछैनँ!” पीडामा, मलाई परमेश्‍वरका केही वचनहरू याद आए: “त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरूतुरुन्तै पूरा हुन सक्दैनन्; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरका वचनहरूबाट, मैले के देखेँ भने, कम्युनिस्ट पार्टी परमेश्‍वरको शत्रु हो, तिनीहरूले परमेश्‍वर र सत्यतालाई घृणा गर्छन्। तिनीहरूले हामीमार्फत् परमेश्‍वरलाई धोका दिलाउन विभिन्न क्रूर यातनाका विधिहरू प्रयोग गर्दै हामीलाई उहाँमा विश्‍वास गर्नबाट रोक्न सबथोक गर्न खोज्छन्। म ठूलो रातो अजिङ्गरको देशमा जन्मेको हुँ, त्यसकारण मैले यो कुरा भोग्नु नै पर्छ। तर कम्युनिस्ट पार्टीको दमनद्वारा, यो कति दुष्ट छ, यो सारगत रूपमा परमेश्‍वरको विरोधमा छ भन्‍ने मैले देखेँ। मलाई शैतानलाई इन्कारेर परमेश्‍वरतिरै फर्कने, विश्‍वासद्वारा आफ्नो गवाहीमा दृढ़तापूर्वक खडा हुने, शैतानलाई लज्जित पार्ने र यो पराजित भएको हेर्ने झन् बढी चाहना भयो। परमेश्‍वरको गवाहीका रूपमा खडा हुने मौका पाउनु उहाँको आशिष्, र विशेष निगाह थियो। यस कुराको बुझाइले मलाई विश्‍वास प्राप्त भयो र मलाई त्यति गाह्रो भएन।

त्यसपछि तिनीहरूले मलाई फेरि प्रश्न गर्न थाले, र म चुप लागेकोले, तिनीहरूले मलाई धम्क्याए, “तँ जति चाँडै बोल्छस्, तँलाई त्यति सजिलो हुनेछ। हामी तँलाई पाँच मिनेट दिन्छौं।” त्यसपछि तिनीहरूले मेरो अगाडि टाइमर राखे, र हरेक मिनेट, हरेक सेकेन्ड समय बित्दै जाँदा, मैले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरेँ, “हे परमेश्‍वर, यी पिशाचहरूले मलाई के गर्नेछन् मलाई थाहा छैन। बिन्ती छ मलाई रक्षा गर्नुहोस्। म मेरा ब्रदर-सिस्टरहरूलाई जेसुकै भए पनि धोका दिनेछैनँ।” पाँच मिनेट बित्यो र म बोल्दिनँ भन्‍ने देखेर, तिनीहरूमध्ये एक जनाले मेरो हात पछाडि लगेर हतकडी लगायो, मलाई कलरमा पक्र्यो र मेरो अनुहारको नजिक आयो, त्यसपछि मलाई मण्डली अगुवा को हो र म कसको सम्पर्कमा रहेकी थिएँ भनेर झर्केर सोध्यो। म अझै पनि चुपचाप बसेँ, त्यसकारण उसले चुरोट सल्काएर बारम्बार मेरो अनुहारमा धुवाँ फुक्यो। धुवाँले मलाई बान्ता आउला जस्तो भयो, र मेरो अनुहारबाट आँसु बगिरहेको थियो। त्यसपछि उसले मलाई अनुहारमा निकै बेस्करी हान्यो र, कानै बन्द हुने गरी दाहिने कानमा हिर्कायो। म अझै पनि बोल्दिनँ भन्‍ने देखेर, उसका आँखा रिसले ठुल्ठुला भए र उसले मेरो घाँटी दुवै हातले निचोर्दै भन्यो, “बोल्छेस् कि बोल्दिनस्? बोल्दिनस् भने, म तँलाई घाँटी निचोरेर मार्छु। तैँले मलाई कहिल्यै बिर्सने छैनस्, र हररात तैँले मैले तँलाई कुटेको सपना देख्‍नेछेस्।” उसले मलाई यति साह्रो घाँटी निचोर्‍यो कि मैले राम्ररी सास फेर्न सकिनँ, र मलाई मर्न लागेको छु जस्तो लाग्यो। मैले उसलाई मलाई घाँटी नै निचोरेर मारे पनि मलाई केही थाहा छैन भनेँ। त्यसपछि एक जना अग्लो अफिसर आएर मलाई घाँटी निचोर्ने व्यक्तिलाई त्यहाँ सेक्युरिटी क्यामेराहरू भएकाले मलाई कुट्न कुनामा लग्‍नुपर्छ भन्‍ने इसारा गर्‍यो। मैले बल्ल सास फेर्न सकेँ। उसले मलाई बाघे कुर्सीबाट तानेर निकाल्यो, र मलाई हतकडीमा समाएर घिसार्दै हुत्याएर कुनामा लग्यो, त्यसपछि मेरो टाउको पर्खालमा बजार्‍यो। उसले यति धेरै पटक यसो गरिरह्यो कि, मैले गन्ती भुलेँ, र पछिल्लो पटक उसले मेरो टाउको पर्खालमा झुण्ड्याइएको ताम्रपत्रमा बजार्‍यो। मलाई कुटिएकोले मेरो टाउकोमा खाल्डो नै परेजस्तो लाग्यो, र म भुइँमा डङ्रङ्ग लडेँ। संसारै घुमिरहे जस्तो, मेरो टाउको पड्किन लागे जस्तो, र मेरो मुटु टुक्रा-टुक्रा भए जस्तो लाग्यो। मैले आँखै खोल्न सकिनँ र मलाई सासै रोकिए जस्तो भयो। यो अत्यन्तै पीडादायी थियो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, बिन्ती छ, मबाट मेरो सासै हटाइदिनुहोस् ताकि मैले यो कष्ट भोग्नु नपरोस्।” केही समय बितिसकेपछि मैले मुस्किलले आँखा खोल्‍न सकेँ, र “म किन मरेकी छैनँ?” भनेर छक्क परेँ। त्यसपछि पो, मैले परमेश्‍वरलाई मेरो सास हटाइदिन अनुरोध गर्नु नहुने रहेछ, यो त अनुचित अनुरोध रहेछ भन्‍ने महसुस गरेँ। उहाँ म बाँचिरहेर, आफ्‍नो गवाहीमा दृढ़ रहँदै शैतानलाई लज्जित पारूँ भन्‍ने चाहनुहुन्थ्यो। तर म भने त्यो कष्टबाट उम्कन मर्न चाहिरहेकी थिएँ। त्यो गवाही दिने कार्य थिएन। यस्तो महसुस गरेपछि मलाई अलिक ग्लानि भयो। त्यत्ति नै बेला मैले एक जना पुलिसले चिच्याएको सुनेँ, “उठ्! उठ्!” मैले प्रतिक्रिया नदिएपछि उसले मलाई लात हान्दै भन्यो, “मरेको नाटक गर्छेस्?” मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर, म तपाईंलाई धोका दिऊँ भनेर यी पिशाचहरूले मलाई यातना दिइरहेका छन्। बिन्ती छ मलाई विश्‍वास दिनुहोस्। मेरो ज्यानै गए पनि म आफ्नो गवाहीमा दृढ़ रहनेछु।” तिनीहरूमध्ये एक जनाले मेरो काँधको लुगामा समातेर मलाई अलि माथि उठायो, त्यसपछि मलाई भुइँमा ड्याङ्ग झर्न छोडिदियो। त्यो अवधिभर हतकडी लगाइराखेकोले मेरा हात र पिठ्युँ साह्रै दुखिरहेका थिए, त्यसकारण म पीडा थोरै भए पनि कम गर्ने प्रयासमा भुइँमा गुँडुल्किएर बसेँ। एक जना पुलिसले मलाई उठाएर पर्खालमा टाँस्यो र मलाई सीधा उभायो, र मैले प्रतिक्रिया दिनै नपाई मलाई बाँया फिलामा लातले हान्यो। म पीडाले कुप्रिएँ र उसले मलाई जङ्गिदै, “उठ्!” भन्यो। तर सबैतिर यति पीडा भइरहेको थियो कि म उभिनै नसक्ने थिएँ। त्यसपछि उसले मलाई कम्मरमा लात हान्यो, एक छिन त मैले सासै फेर्न सकिनँ। मलाई छुरा रोपिए जस्तो महसुस भयो। अर्को व्यक्तिले मलाई कुनामा घिसार्दै लग्यो र मेरो अनुहारमा थप्पड हान्यो, र मुखको कुनाबाट रगत बग्यो। त्यसपछि उसले चुरोट सल्काउँदै भन्यो, “चुप बसिस् भने म यो चुरोटले तेरो अनुहार जलाउनेछु, र तेरो अनुहार बिग्रिनेछ।” त्यसपछि उसले चुरोट मेरो अनुहारको नजिक ल्यायो। चुरोटको तातो महसुस गरेपछि, मलाई निकै डर लाग्यो र मैले सोचेँ, “यदि उसले मलाई जलायो भने, यसले भयानक दाग छोड्नेछ र म जहाँ गए पनि मेरा बारेमा कुरा गरिनेछ अनि मेरो खिल्ली उडाइनेछ।” मानिसहरूले मलाई औँल्याउँदै मेरा बारेमा कुरा गरेको सोच्दा नै नराम्रो लाग्यो। त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “राज्यका असल सिपाहीहरूलाई केवल वास्तविकताको बारेमा कुरा गर्न वा घमण्ड गर्न सक्ने मानिसहरूको समूह हुनका निम्ति मात्र तालिम दिइँदैन; बरु, हरसमय परमेश्‍वरको वचन अनुसार जिउन, जस्तोसुकै अवरोधहरूको सामना गर्नु परे पनि अटल रहन, र निरन्तर परमेश्‍वरको वचनअनुसार जिउन र संसारमा नफर्कनको लागि तिनीहरूलाई तालिम दिइन्छ। परमेश्‍वरले बताउनुभएको वास्तविकता यही हो; परमेश्‍वरले मानिससँग गर्नुभएको माग यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने साँचो विश्‍वासीको हकमा, जेसुकै भए पनि, तिनीहरू अन्धकारका शक्तिहरूको अगाडि नझुकी, परमेश्‍वरलाई धोका नदिई, परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा दृढ़ रहन सक्छन्। पुलिसले मेरो अनुहार बिगारिदिने धम्की दिन खोज्थ्यो ताकि म परमेश्‍वरलाई धोका दिऊँ, तर म यसमा फस्नु हुँदैनथ्यो। त्यसमाथि, मेरो अनुहार बिग्रिए पनि, म यहूदा बनिनँ बरू आफ्नो गवाहीमा दृढ़ रहेँ भने, मैले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न र हृदयमा शान्ति पाउन सक्थेँ। मैले आफूलाई जोगाउन परमेश्‍वरलाई धोका दिएँ भने, मैले तुच्छ जीवन जिइरहेकी हुनेथिएँ र मेरो अन्तरात्मामा कहिल्यै शान्ति हुने थिएन। त्यो त असहनीय कुरा हुने थियो। मलाई मण्डली भजनको एउटा भाग याद आयो: “मेरो शिर छिनिएला र मेरो रगत बग्‍ला, तर परमेश्‍वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन। म परमेश्वरका लागि जोरदार गवाही दिनेछु, र दियाबलसहरू अनि शैतानलाई अपमानित गर्नेछु(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, म परमेश्‍वरको महिमाको दिन देख्‍न चाहन्छु)। मलाई पुलिसहरूको यातनाको सामना गर्ने विश्‍वास र साहस बढेको महसुस भयो। मैले आँखा चिम्लिएँ र मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर! तिनीहरूले मलाई जसरी यातना दिए पनि, तिनीहरूले मेरो अनुहार जलाए पनि, म आफ्नो गवाहीमा दृढ़ रहनेछु। बिन्ती छ मलाई कष्ट भोग्ने विश्‍वास र सङ्कल्प दिनुहोस्।” त्यसपछि मैले दाह्रा किटेँ र मुठ्ठी बनाएँ। यसलाई डराएको ठानेर, पुलिस पागल जस्तै हाँस्‍न थाले। मैले आँखा खोलेँ र उसलाई घुरेर हेरेँ, अनि उसले रूखो मुस्कान देखाउँदै भन्यो, “मैले आफ्नो विचार परिवर्तन गरेको छु। म तेरो जिब्रो जलाउनेछु, र बोल्न समेत नसक्ने गरी जलाउनेछु।” यसो भन्दै गर्दा उसले मेरो मुख खोल्‍ने प्रयास गर्‍यो, तर उसले जति नै धेरै प्रयास गरे पनि त्यसो गर्न सकेन। रिसले चूर भएर, उसले मेरो काँधमा पक्र्यो र मेरो खुट्टामा कुल्ची दियो, त्यसपछि उफ्रिँदै मेरा खुट्टामा दुबै खुट्टाले पालैपालो कुल्चिरह्यो। त्यसपछि उसले हतकडीहरू पक्रेर अगाडिपछाडि झट्काइरह्यो, जसले गर्दा म औँलाको भरमा उभिनु पर्‍यो। मेरो नाडीमा असाध्यै पीडा भयो र मेरा हातहरू चुडिन लागेका झैँ गरी दुखे। उसले गिल्ला गर्दै भन्यो, “तेरो परमेश्‍वर सर्वशक्तिमान् होइन र? तँलाई बँचाउन त्यसलाई बोला न!” मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँलाई निरन्तर पुकारेँ, र म ती पिशाचहरूप्रति घृणाले भरिएँ।

ऊ थकित भएपछि, चुरोट तान्दै टेबलमा अडेस लाग्यो। मैले तिनीहरूले ममाथि अरू के-कस्ता यातनाका विधिहरू प्रयोग गर्नेहुन् अनि न म मर्छु कि भन्‍ने सोचेँ। मैले त्यस्तो भयो भने, तुरुन्तै मरियोस् भन्‍ने आशा गरेँ, किनभने तिनीहरूले मलाई त्यो बेला जुन नरकमा राखिरहेका थिए त्यो असहनीय थियो। यो सब कहिले समाप्त हुने हो मलाई थाहा थिएन। मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै डर लाग्यो, र मैले सोचेँ, “मैले कहिल्यै पनि मण्डली अगुवा वा ब्रदर-सिस्टरहरूलाई धोका दिनु हुँदैन, त्यसकारण सायद मैले म कसरी विश्‍वासी बनेँ भनेर बताउँदा हुन्छ र यो कुरा यतिमै समाप्त गर्न सकिएला, ताकि तिनीहरूले मलाई कुटपिट गर्न छोडून्।” त्यसपछि मैले सोचेँ, “मेरा आमाबुबा विश्‍वासीहरू हुन्। यदि मैले उनीहरूबारे बताएँ भने, उनीहरूका सँगसँगै कतिपय ब्रदर-सिस्टरहरू पनि पनि मुछिन्छन्। त्यसले गर्दा म यहूदा बन्नेछु र परमेश्‍वरले मलाई दण्ड दिनुहुनेछ।” त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको यो भजन याद आयो: “विश्‍वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्‍वासको पुल पार गरी परमेश्‍वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ। शैतानले हामीकहाँ त्यसका विचारहरू पठाउने हरसम्भव कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरले हामीलाई ज्योति र अन्तर्दृष्टि दिऊन् भनी हरक्षण उहाँसँग प्रार्थना गर्नुपर्छ, हामीभित्रबाट शैतानको विष पखाल्नका लागि हामी हरक्षण परमेश्‍वरमा निर्भर हुनुपर्छ, हाम्रो आत्माभित्र हामीले परमेश्‍वरको नजिक कसरी आउने भनी हामीले हरपल अभ्यास गर्नुपर्छ, र हामीले परमेश्‍वरलाई हाम्रो सम्पूर्ण अस्तित्वमाथि प्रभुत्व कायम गर्न दिनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। परमेश्‍वरका वचनहरूबाट, मैले के महसुस गरेँ भने, कायरताका कारण तिनीहरूलाई मैले कसरी परमेश्‍वरमा विश्‍वास गरेँ भनेर बताउने विचार गर्नु भनेको शैतानका चालमा हार मान्नु हो। मैले परमेश्‍वरमाथिको मेरो विश्‍वास साँच्चै कम रहेको र, ममा कष्ट भोग्ने सङ्कल्पको अभाव भएको देखेँ। मैले आफ्नो कदका कारण नभएर, बरू परमेश्‍वरका वचनहरूले मलाई चरणबद्ध रूपमा अगुवाइ गरिरहेका हुनाले म यो विन्दुसम्‍म आइपुगेकी थिएँ। त्यो बेला मैले साँच्चै नै परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो र ममा विश्‍वास हुनुपर्थ्यो, र तिनीहरूले मलाई जसरी यातना दिए पनि, मैले कहिल्यै पनि परमेश्‍वरलाई धोका दिनु हुँदैनथ्यो। मैले हृदयमा प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्नो जीवन तपाईंको हातमा सुम्पन तयार छु र म तपाईंका प्रबन्धहरूलाई स्वीकार गर्नेछु। तिनीहरूले मलाई यातना दिएर मारे पनि म यहूदा बन्नेछैनँ।” त्यसपछि अचम्मको कुरा, पुलिसको हाकिमले तिनीहरूलाई बोलाए। मैले मनमनै परमेश्‍वरलाई धन्यवाद दिएँ।

केही समयपछि एक जना पुलिस ढोकामा आएर मेरो फोटो खिच्यो, र भन्यो, “म तेरो फोटो अनलाइन राख्‍नेछु र तँलाई ‘सेलिब्रेटी’ बनाउनेछु, ताकि तेरा सबै साथी, आफन्त, र हरेकले अहिले तँ कस्ती देखिन्छेस् भन्‍ने देखून्, र तिमी विश्‍वासीहरू पागल हौ भन्‍ने कुरा देखून्।” मलाई यस कुराको पटक्कै डर लागेन, अनि मैले उत्तर दिएँ, “के मलाई यस्तो बनाउने तपाईंहरू नै होइन र? त्यो फोटो अनलाइन राख्दा तपाईंहरूले इसाईहरूलाई कसरी सताउनुहुन्छ भन्‍ने बारेमा सबैले सत्यता मात्रै देख्न पाउनेछन्।” एक जना महिला पुलिसले भनिन्, “अँ, मैले पत्याएँ। तिमीहरूको त्यो परमेश्‍वर कस्तो छ वा तिमीहरूको सारा शक्ति कहाँबाट आउँछ मलाई वास्तवमा थाहा छैन। यतिका कुरा भइसकेपछि पनि तँ अझै आफ्नो विश्‍वास कायम राख्न जिद्दी गर्छेस्। यति जवान व्यक्ति यति सहनशील हुन सक्छ भन्‍ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ।” उसले यसो भनेको सुन्दा मैले हृदयदेखि परमेश्‍वरलाई धन्यवाद दिएँ। त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “परमेश्‍वरको जीवनशक्तिले कुनै पनि शक्तिलाई विजय गर्न सक्छ; त्यसभन्दा पनि बढी, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त छ, उहाँको शक्ति असाधारण छ, र उहाँको जीवन शक्ति कुनै पनि सृजित प्राणी वा शत्रु शक्तिद्वारा पराजित हुन सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ)। त्यो अवधिभर तिनीहरूले मलाई नराम्रोसँग कुटपिट गरिरहेका, यातना दिइरहेका थिए, मलाई कायरता र कमजोरी महसुस भएको थियो, र म यसबाट मृत्युको सहारामा उम्कन समेत चाहेकी थिएँ, तर परमेश्‍वर मेरो रक्षा गर्दै मैसँग हुनुहुन्थ्यो, र परमेश्‍वरका वचनहरूले नै मलाई विश्‍वास र शक्ति दिइरहेका थिए, जसले गर्दा मैले त्यो सबै निर्दयी यातनालाई जित्न सकेँ। मैले परमेश्‍वरलाई हृदयदेखि धन्यवाद दिएँ।

केही समयपछि जब एउटी पुलिसले मलाई बाथरूममा लगी, तब उसले मलाई भनी, “तिनीहरूले चाँडै नै तँलाई फेरि सोधपुछ गर्नेछन्, र तैँले बोल्नुपर्छ। नत्र भने तँलाई वर्षौँ जेल हालिनेछ, र त्यहाँ बसेपछि तँ अशक्त भएर बाहिर निस्कनेछेस्। कैदीहरूलाई कसरी व्यवहार गरिन्छ तँलाई थाहा छ? महिलाहरूले नै महिलाहरूलाई कुटपिट गर्छन्, र तिनीहरूले काठको डन्ठाले तेरा खुट्टाबीच हान्‍नेछन्। यदि तिनीहरूको फेला परिस् भने तेरो जीवन बरबाद हुनेछ।” उसले यसो भनेको सुन्दा म घृणा र डर दुबैले भरिएँ, अनि २० वर्षकै उमेरमा अपाङ्ग हुने सम्भावना देख्दा, त्यसपछि कसरी गुजारा चलाउने भन्‍ने मलाई साँच्चै थाहा थिएन। एक मात्र सन्तानको रूपमा, यदि म अशक्त भएँ भने मेरा आमाबुबासँग भरोसा गर्ने कोही हुनेथिएन। त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? सत्य बाटो खोज्नका निम्ति एकदमै धेरै मानिसले आफूलाई बलिदान गरेका छन्, आफ्नो जीवन दिएका छन् र रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व)। अब्राहमले आफ्नो एउटै पनि पुत्र चढाउन सक्यो, अनि अय्यूबको परीक्षा लिँदा, उसले आफ्नो सबै कुरा गुमायो र शरीरभरि खटिरा आए, उसका साथीहरूले उसलाई हाँसोमा उडाए र उसकी श्रीमतीले उसलाई खिसी गरिन्, तर उसले कहिल्यै पनि परमेश्‍वरका बारेमा गुनासो गरेन। ऊ आफ्नो गवाहीमा दृढ़ रह्यो। अय्यूब र अब्राहमलाई परमेश्‍वरमाथि साँचो विश्‍वास थियो र तिनीहरूले परीक्षाहरूद्वारा उत्कृष्ट गवाही दिए। मैले जति नै कष्ट भोगे पनि तिनीहरूकै उदाहरण पछ्याउँदै गवाहीका रूपमा खडा भएर शैतानलाई लज्जित पार्नु जरूरी थियो। मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर, म सबै थोक तपाईंकै सार्वभौमिकतामा छन् भन्‍ने विश्‍वास गर्छु, तसर्थ म अशक्त बन्ने नबन्ने कुरा तपाईंकै हातमा छ। मलाई जे भए पनि वा मैले जति नै कष्ट भोगे पनि, म आफ्नो गवाहीमा दृढ़ रहेर तपाईंलाई सन्तुष्ट पार्न तयार छु।” त्यसकारण मैले त्यो अफिसरलाई भनेँ, “त्यो अनुचित कुरा हुनेछ। यदि मैले मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिएँ भने मेरो अन्तरात्माले कहिल्यै शान्ति पाउने छैन। मलाई सजाय दिइयो भने पनि, म आफ्नो विवेक विपरीत कहिल्यै केही गर्नेछैनँ।” यो सुनेपछि, उसले एक शब्द पनि नबोली मलाई सोधपुछ कक्षमा फर्काएर ल्याई।

अप्रिल १ को बिहानै पुलिस मलाई फेरि सोधपुछ गर्न आयो, तर मैले अझै पनि केही भनिनँ। त्यस दिन दिउँसो २ बजेतिर, तिनीहरूले मलाई मस्तिष्क सफाइ गर्ने शिविरमा लैजानका लागि गाडीमा राखे। मैले त्यहाँसम्म बाटाभरि मनमनै परमेश्‍वरका वचनहरूको यो भजन गाएँ “परमेश्‍वरप्रतिको आफ्‍नो इमानदारीमा हामी दृढ़तापूर्वक अडिग रहनुपर्छ”: “यदि मानिसहरूमा अलिकति पनि आत्मविश्‍वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्‍वरको काम मानिसहरूका धारणा र कल्‍पनाहरूसँग अलिकति पनि मिल्दैन भनेर अहिले सबै जनाले देख्न सक्छन्। परमेश्‍वरले धेरै काम गर्नुभएको छ र धेरै वचनहरू बोल्नुभएको छ, अनि मानिसहरूले ती सत्यता हुन् भनेर स्वीकार गर्न सके पनि, तिनीहरूमा परमेश्‍वर सम्‍बन्धी धारणाहरू फैदा हुने सम्‍भावना अझै हुन्छन्। यदि मानिसहरूले सत्यता बुझेर यसलाई प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले पहिले नै जे देखेका छन् र तिनीहरूका अनुभवबाट जे प्राप्त गरेका छन् त्यसमा खडा हुन तिनीहरूमा आत्मविश्‍वास र इच्छाशक्ति हुनुपर्दछ। परमेश्‍वरले मानिसहरूमा जे गर्नुभए पनि, तिनीहरूमा जे छ त्यसलाई तिनीहरूले थामेर राख्नुपर्छ अनि परमेश्‍वरसामु इमानदार हुनुपर्छ र अन्त्यसम्मै उहाँप्रति समर्पित रहनुपर्छ। यही नै मानवजातिको कर्तव्य हो। मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्‍नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ)। विश्‍वास गर्नु भनेको दमनमा पर्नु र कष्ट भोग्नु हो भन्‍ने मलाई पहिले नै थाहा थियो, र मैले जस्तोसुकै दमन वा कष्टको सामना गरे पनि आफू गवाहीमा दृढ़ रहने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने सङ्कल्प गरेकी थिएँ, तर मैले वास्तवमै यसको सामना गरेपछि भने आफ्नो गवाहीमा दृढ़ रहनु मैले सोचे जस्तो सजिलो होइन रहेछ भन्‍ने महसुस गरेँ। यो त जोश देखाउने कुरा मात्रै थिएन, बरू आफूमा विश्‍वास तथा कष्ट भोग्ने सङ्कल्प हुनु आवश्यक थियो। परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध पार्न, मलाई सफा गर्न र मुक्ति दिनका लागि, मलाई परीक्षाको रूपमा यो निर्दयी वातावरणबाट गुज्रन दिइरहनुभएको थियो। जेसुकै भए पनि परमेश्‍वरले मलाई मार्गदर्शन गर्नुहुनेछ भन्‍ने मलाई विश्‍वास थियो। मैले भजन गाएपछि मेरो विश्‍वास बढ्यो, र तिनीहरूले मलाई जसरी यातना दिए पनि, मैले यसबाट गुज्रन र परमेश्‍वरलाई अन्त्यसम्मै पछ्याउनका लागि उहाँमै भरोसा गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो।

हामी मस्तिष्क सफाइ गर्ने शिविरमा पुगेपछि, पुलिसले मलाई २४ घण्टा निगरानी गर्न, मलाई मण्डलीको बारेमा प्रश्नहरू गर्न र मेरो मस्तिष्क सफाइ गर्न लगाउन, अनि मलाई आफ्नो विश्‍वास त्याग्दै केहीकुरा लेखाउन भनेर दुई जना प्रहरी खटायो। तेस्रो बिहान तिनीहरूले मलाई मेरो गृहनगरमा खिचिएको एउटा भिडियो देखाउन लागेको कुरा गरे। यो सुनेपछि मेरो हंसले ठाउँ छोड्यो र मैले तिनीहरूले मेरो घरमा खानतलासी गरे कि, मेरा आमाबुबा समस्यामा परेका छन् कि भन्‍ने सोचेँ। मलाई त्यहाँको मण्डलीका कोही ब्रदर-सिस्टरहरूलाई असर परेको होला कि भन्‍ने चिन्ता लाग्यो। मलाई झन्-झन् डर लाग्यो। म कुर्सीमा नछट्पटाई बस्‍नै सकिनँ र मलाई मेरो हातखुट्टा अचेत भएका छन् जस्तो लाग्यो। मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ। भिडियोमा, मेरो बुबा अलिक पहेँलो तथा सुन्निए जस्तो देखिनुहुन्थ्यो र उहाँले मलाई केही कुरा भन्‍नुभयो, मलाई परमेश्‍वरमा भरोसा गर्न र आफ्नो गवाहीमा दृढ़ रहन घुमाएर प्रोत्साहित गर्नुभयो। यो सुनेपछि, मेरा आँखाबाट आँसु बरर झरे र मलाई साह्रै नराम्रो लाग्यो। मलाई परमेश्‍वरलाई धोका दिने बनाउन पुलिसले मेरो भावनात्मक सम्बन्धमाथि खेल खेल्ने प्रयास गरिरहेको पनि मलाई महसुस भयो र मैले मनैदेखि कम्युनिस्ट पार्टीलाई घृणा गरेँ। मलाई परमेश्‍वरले भन्नुभएको एउटा कुरा याद आयो: “धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई छाकछोप गर्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। कम्युनिस्ट पार्टीले मुखले त धार्मिक स्वतन्त्रताको कुरा गर्छ, तर वास्तवमा, यसले इसाईहरूलाई उन्मत्त रूपमा पक्राउ गर्छ र सताउँछ, र तिनीहरूलाई निर्दयी रूपमा यातना दिन्छ, आधारहीन आरोपमा तिनीहरूलाई दण्ड दिन्छ। अनगिन्ती इसाईहरू भाग्न बाध्य हुन्छन्, तिनीहरू आफ्ना आमाबुबालाई भेट्न वा आफ्ना छोराछोरी हुर्काउन नसक्ने अवस्थामा पुगेका हुन्छन्। त्यो सबै कम्युनिस्ट पार्टीले गरेको अपराध हो। इसाई परिवारहरू तोड्ने कार्यको मुख्य दोषी पार्टी नै हो। म रोएको देखेर पुलिसहरू एकातिर उभिए र दुष्ट पाराले मुस्कुराए, र त्यसपछि म अवश्य नै बोल्‍नेछु भन्‍ने सोचे। तर मैले अझै पनि मुख नखोलेपछि, तिनीहरूले टेबल ठटाउँदै मलाई सरापे, र त्यसपछि रिसाउँदै गए।

एक महिनापछि दुई जना पुलिसहरू मलाई फेरि सोधपुछ गर्न आए र मलाई फोटोहरू देखाउँदै, ब्रदर-सिस्टरहरूलाई पहिचान गर्न भने। एक जनाले मलाई भन्यो, “यदि तैँले कुनै पनि कुरा स्वीकारिनस् भने, तँलाई अरूका अपराधहरूका लागि दण्ड दिइनेछ, र तँलाई हामी कति सजायँ दिन सक्दा रहेछौँ हेरौँला। तँलाई ८-१० वर्ष जेल हुनेछ, त्यसपछि हामी तँ कति सहनशील रहिछस् हेर्नेछौँ!” अर्कोले मलाई परीक्षामा पार्ने प्रयास गर्दै भन्यो, “खालि हामीले भनेको मान् अनि तैँले आफ्नो धर्म त्यागेकी भन्‍ने अभिव्यक्ति लेख् त्यसपछि हामी तैँले जे चाहन्छेस् त्यही गरिदिउँला।” म पटक्‍कै बोलिनँ, त्यसकारण उसले मलाई फेरि लोभ्याउने प्रयास गर्‍यो, “तेरा आमाबुबाका अरू कोही छोराछोरी छैनन्, र तिनीहरूले तँलाई हुर्काउन धेरै परिश्रम गरेका छन् भन्‍ने मलाई थाहा छ। अहिले तँ लामो सजायँ पाउने बारे केही सोच्दिनस् होला, तर त्यो दिन वास्तवमै आएपछि तँ एकदम दु:खी हुनेछेस् अनि प्रायश्चित्त गर्नका लागि ढिला भइसकेको हुनेछ। तँसँग दुई वटा विकल्प छन्: १. तेरो धर्म छोड् र सर्वशक्तिमान् परमेश्‍वरलाई इन्कार गर् अनि हामी तँलाई सीधै घर लैजान्छौँ। २. आफ्नो विश्‍वास कायमै राख्ने जिद्दी गर् र जेल जा। के रोज्ने हो सबै तेरै हातमा छ। तैँले यसको बारेमा होशियार भएर विचार गर्नु नै राम्रो हुन्छ।” मलाई अलिक दोधार भयो। मैले आफ्नो विश्‍वास त्यागेको त्यस्तो अभिव्यक्ति लेखेँ भने, त्यो परमेश्‍वरमाथिको धोका हुनेछ, तर यदि मैले आफ्नो विश्‍वास रोजेँ भने, म जेल जानेथिएँ। के मैले आफ्ना आमाबुबालाई फेरि कहिल्यै देख्‍न पाउँला? म जेल गएँ भने, मानिसहरूले अवश्य नै मेरा आमाबुबालाई आलोचना गर्नेछन्, र उनीहरूका गैर-विश्‍वासी आफन्त र साथीहरूले उनीहरूमाथि आक्रमण गर्नेछन्। उनीहरूलाई निकै गाह्रो हुनेछ। भिडियोमा मेरो बुबाको अनुहार पहेँलो र फुलेको देखिन्थ्यो। उहाँको स्वास्थ्यमा समस्याहरू छन् कि? यो विचारले मलाई झन्-झन् व्याकुल तुल्यायो र म यसबाट पार पाउन एकदम सङ्घर्षरत थिएँ त्यसकारण मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, म तपाईंलाई धोका दिन सक्दिनँ तर मैले मेरा आमाबुबालाई पनि त त्याग्नु हुँदैन। हे परमेश्‍वर, म के गरूँ?” ठीक त्यही बेला मलाई परमेश्‍वरका यी वचनहरूको याद आयो: “जोसुकै भागे तापनि, तँ भाग्‍न सक्दैनस्। अरू मानिसहरूले विश्‍वास गर्दैनन्, तर तैँले विश्‍वास गर्नैपर्छ। अरू मानिसहरूले परमेश्‍वरलाई त्याग्छन्, तर तैँले उहाँलाई विश्‍वास गरिरहनुपर्छ र तँ उहाँको गवाही बन्नुपर्छ। अरूले परमेश्‍वरको निन्दा गर्छन्, तर तैँले त्यसो गर्न सक्दैनस्। … तैँले उहाँको प्रेमको ऋण चुकाउनैपर्छ, अनि तँसित विवेक हुनैपर्छ किनकि परमेश्‍वर निर्दोष हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व)। “तँमा विवेक हुनैपर्छ” मेरा कानमा यी वचनहरू गुञ्जिरहे। आफ्नो वर्षौँको विश्‍वास अवधिभर, मैले परमेश्‍वरका धेरै अनुग्रह प्राप्त गरेकी थिएँ। मैले केही सत्यताहरू पनि सिकेकी थिएँ, र म कस्तो व्यक्ति हुनुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले परमेश्‍वरबाट धेरै कुरा पाएकी थिएँ। उहाँलाई धोका दिनु अनुचित कुरा हुनेथियो। तर एकातिर परमेश्‍वर र अर्कोतिर मेरा आमाबुबाको बीचमा छनौट गर्नु पीडादायी कुरा थियो। यो मेरो हृदयभित्रको निकै भीषण युद्ध थियो। मैले मनमनै प्रार्थना गरेँ, र मलाई मार्गदर्शन गर्नुहोस् अनि मलाई विश्‍वास दिनुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गरेँ। प्रार्थनापछि मेरो मनमा परमेश्‍वरका यी वचनहरू आए: “के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो, परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, मिलाप र फाटो, धन र गरिबी, हैसियत र साधारणता, समर्थन पाउनु र इन्कार गरिनु इत्यादि बीचको सबै सङ्घर्षमा—अवश्य नै तिमीहरू आफूले गरेको छनौटबारे अनभिज्ञ छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै रोज्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यबीच, तिमीहरूले फेरि पहिलोलाई रोज्यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ; विलासिता र गरिबीबीच, तिमीहरूले पहिलोलाई रोज्यौ; आफ्ना छोरा, छोरी, श्रीमती, श्रीमान् अनि मबीच रोज्दा, तिमीहरूले पहिलोलाई रोज्यौ; र धारणा र सत्यताबीच, तिमीहरूले अझै पहिलोलाई नै रोज्यौ। तिमीहरूका सबै दुष्कर्महरूको सबै तरिकालाई सामना गरेको कारण, मैले तिमीहरूमाथि विश्‍वास गुमाएको छु। तिमीहरूको हृदयलाई कोमल बनाउन नसकिने कुराले मलाई साँच्‍चै अचम्‍मित पार्छ। … यदि तिमीहरूलाई फेरि छनौट गर्न लगाइएको थियो भने, तिमीहरूको छनौट के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र दुर्भाग्यपूर्ण शोक ल्याइदिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको सानो टुक्रा बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो मुटुलाई सान्त्वना दिन के गर्नुपर्छ सोबारे अनभिज्ञ हुनेथियौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?)। मलाई परमेश्‍वर मेरो जवाफको प्रतीक्षा गर्दै मेरै छेउमा हुनुहुन्छ जस्तो लाग्यो। मैले मेरा मानव स्नेहहरूलाई सन्तुष्ट पार्न र पारिवारिक सद्भाव कायम राख्‍नका लागि मात्रै परमेश्‍वरलाई धोका दिन सक्दिनँ भन्‍ने मलाई थाहा थियो। परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र मेरा आमाबुबाको स्वास्थ्य र तिनीहरूको जीवन परमेश्‍वरको हातमा थियो। तिनीहरूका बारे निरन्तर चिन्ता गर्नुले खालि ममा परमेश्‍वरमाथिको विश्‍वासको कमी रहेको देखाउँथ्यो। हामीले एक-अर्कालाई भेट्न नपाउँला, तर हामीले परमेश्‍वरमा भरोसा गरेमा, उहाँले हामीलाई मार्गदर्शन गर्नुहुनेछ भन्‍ने मलाई थाहा थियो। यस्तो विचारले मेरो विश्‍वास पुनर्स्थापित गर्‍यो र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो देहको विरुद्धमा विद्रोह गर्न आफू तयार रहेको महसुस भयो। मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्ना आमाबुबालाई तपाईंकै हातमा सुम्पन र तपाईंकै योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन तयार छु।” त्यसकारण मैले मुट्ठी बाँधे र खडा भएर भनेँ, “मैले निर्णय गरेकी छु, र म सर्वशक्तिमान् परमेश्‍वरकै पछि लाग्नेछु। उहाँ स्वर्ग, पृथ्वी, र यावत् थोक सृष्टि गर्नुहुने एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ, र उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। म कहिल्यै पनि परमेश्‍वरलाई इन्कार गर्नेछैनँ।” यति कुरा भनेपछि मलाई पूर्ण रूपमा शान्ति महसुस भयो। परमेश्‍वरका वचनहरूको मार्गदर्शन नभएको भए, मैले शैतानको परीक्षामा विजय पाउन साँच्चै नै सङ्घर्ष गर्नुपर्थ्यो। म कति दृढ छु भन्‍ने देख्ने बित्तिकै त्यो पुलिसले आफ्नो क्रूरता देखायो। उसले टेबलमा कागजको ठूलो मुठो पछाऱ्याे अनि मेरो अनुहारमा बेस्करी थप्पड हान्यो, त्यसपछि मलाई चिच्याउँदै भन्यो, “तेरो केही काम छैन! तैँले नभन्दैमा हामीलाई केही थाहा हुनेछैन भन्‍ने तँलाई लाग्छ? म तँलाई यो कुरा स्पष्ट पार्छु—हामीले तिमीहरूलाई तीन महिनादेखि पछ्याइरहेका थियौँ, त्यसकारण हामीलाई तिमीहरूका बारेमा सबै कुरा थाहा छैन भन्‍ने तँलाई लाग्छ? हामी त खालि तँमा राम्रो मनोवृत्ति छ कि भनेर हेर्न चाहन्छौँ, त्यसैले तँ यसका बारेमा विचार गर्।” मैले भनेँ, “म परमेश्‍वरलाई इन्कार गर्नेछैनँ, जेल नै परे पनि म उहाँलाई धोका दिनेछैनँ।” त्यसपछि तिनीहरूले मलाई नगर हिरासत गृहमा लगे।

त्यहाँ, मलाई प्रायजसो ज्वरो आउँथ्यो र मेरा खुट्टा र हातहरू सुन्निन्थे, अनि तिनीहरूले मलाई हरेक दिन दुई घण्टासम्म पलेँटी कसेर बस्‍न लगाउँथे। सोधपुछका बेला मलाई कम्मरमा लात हानिन्थ्यो, जसले गर्दा मेरो मृगौलामा क्षति पुग्यो, त्यसकारण मेरो कम्मर यति दुख्थ्यो कि म सीधा बस्न सक्दिनँथेँ। हरेक दिन सुत्‍ने बेलासम्‍म समय बिताउन निकै गाह्रो हुन्थ्यो, त्यसमाथि मलाई प्रायजसो रातिको काम गराउन उठाइन्थ्यो। केही हप्तापछि, मलाई पिसाब फेर्न गाह्रो हुन थाल्यो, मेरो पेट फुलेको थियो अनि दुख्थ्यो, साथै मेरो कम्मर पनि दुख्थ्यो। त्यसपछि हरेक दिन साँझ ६-७ बजेतिर मेरो ज्वरो बढ्थ्यो र मेरो अनुहार रातो हुन्थ्यो। डाक्टरले मलाई जाँच गर्‍यो, र मेरो देब्रे मृगौलामा लगभग एक इन्च चौडा सिस्ट रहेको र यसैले गर्दा पोलेको बतायो। मलाई असाध्यै पीडा हुँदा, म परमेश्‍वरलाई प्रार्थना गर्दै उहाँको नजिक जान्थेँ, र उहाँको प्रशंसामा भजनहरू गाउँथेँ, अनि त थाहै नपाई म पीडाको बारेमा बिर्सिदिन्थेँ। म थुनामा २७ दिन बसेपछि, तिनीहरूले मलाई पछि सुनुवाइ हुने गरी जमानतमा रिहा गरे, र मैले त सोझो रूपले साँच्चै नै घर जान पाइएला भन्‍ने सोचेँ। तर अचम्मको कुरा, मेरो गाउँका पुलिस र स्थानीय सरकारी अधिकारीहरूले मलाई धर्म परिवर्तन र मस्तिष्क सफाइका लागि सिधै अर्को मस्तिष्क सफाइ गर्ने शिविरमा लगेर ४८ दिनसम्म राखे, त्यसपछि तिनीहरूले मलाई दर्ताका लागि स्थानीय पुलिस चौकीमा लगे। पुलिस प्रमुखले मलाई आफ्नो अफिसमा बोलाएर भन्यो, “अहिले तँ पछि सुनुवाई हुने गरी जमानतमा छेस्, त्यसकारण तेरो मुद्दा विचाराधिन छ। एक वर्षसम्म, तँलाई सहरको सीमाबाट बाहिर जाने अनुमति छैन, अनि तैँले नजिकैको क्षेत्रमा काम गर्नुछ भने पनि, तँ पहिले यहाँ आएर हामीलाई रिपोर्ट गर्ने र अनुमति माग्ने गर्नुपर्छ, र तँ कुनै पनि बेला हामीलाई रिपोर्ट गर्न तयार हुनुपर्छ।” म घर पुगे पनि, मसँग कुनै स्वतन्त्रता थिएन, र म सहरमा जाँदा कसैले मलाई पछ्याइरहेको हुन्थ्यो। केही महिनापछि त, मसँग आफ्नो कर्तव्य पूरा गर्न घर छोड्नु बाहेक अरू कुनै विकल्प रहेन। पुलिसले मेरो गाउँको पार्टी सचिवलाई मलाई घरमा खोज्न र मेरो धार्मिक स्थितिको बारेमा सोधपुछ गर्न पठायो, र मैले आफ्नो विश्‍वासको अभ्यास गरिरहेमा तिनीहरूले मलाई फेरि पक्राउ गर्ने, र मैले पुलिस चौकीमा रिपोर्ट गर्नुपर्ने कुरा मेरो परिवारलाई बताए। यसको बारेमा सुन्दा मलाई साह्रै रिस उठ्यो। अनि मैले सोचेँ, “जेसुकै भए पनि म परमेश्‍वरमा विश्‍वास गर्नेछु, यति मात्र होइन, बरू म सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिनका लागि सबै कुरा त्याग्नेछु! म अवश्य नै परमेश्‍वरमा भरोसा गरेर अघि बढिरहनेछु।” परमेश्‍वरलाई धन्यवाद छ!

अघिल्लो:  ५८. मैले मानिससँग सही व्यवहार गर्न सिकेकी छु

अर्को:  ६०. कर्तव्यहरूमाझ कुनै दर्जा वा भेद हुँदैन

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger