७३. मैले आदर गरेका एक जना अगुवा बर्खास्तमा परेपछि
ली चेङ मण्डली अगुवा थिए जो मुख्य गरी मानिसहरूको सफाइ र निष्कासित गर्ने कामका लागि जिम्मेवार थिए साथै तिनले मेरा कामहरूको पनि सुपरिवेक्षण गर्थे। तिनीसँग एक वर्षभन्दा बढी अन्तरक्रिया गरेपछि, मैले तिनीसँग राम्रो क्षमता रहेको, तिनले आफ्नो कर्तव्यमा बोझको बोध देखाउने, र कामका समस्याहरूलाई पहिचान गर्न तथा मानिसहरूको स्थितिलाई खुट्याउन सक्ने थाहा पाएँ। विशेष गरी सफाइ र निष्कासनका सामग्रीहरू मिलाउने क्रममा, तिनले मुख्य घटनाहरू बुझ्न सक्थे र सफाइ गरिएका र निष्कासित गरिएकाहरूलाई तिनीहरूको व्यवहारको आधारमा परिभाषित गर्नका लागि परमेश्वरका उपयुक्त वचनहरू खोज्न सक्थे, जुन कुराहरू म आफूले सम्हाल्न सक्दिनथेँ। हामी भेला हुँदा र विभिन्न प्रकारका मानिसहरूलाई खुट्याउने बारेमा सङ्गति गर्दा, म सधैँ ली चेङ्ग पनि त्यहाँ होउन् भन्ने आशा गर्थेँ। तिनी नआउँदा, मलाई आफ्नो आधार स्तम्भ हराए झैँ खिन्न लाग्थ्यो। पछिल्लाे एक वर्षजति यता, ली चेङ्ग इन्चार्ज रहेका सबै मण्डलीहरूले केही दुष्ट मानिसहरू र अविश्वासीहरूलाई सफाइ गरे, यसरी मण्डलीहरूलाई निकै शुद्ध पारे। म ली चेङ्ग सत्यता पछ्याउने र बुझ्ने व्यक्ति हुन् भन्ने कुरामा दृढतापूर्वक विश्वास गर्थेँ, र तिनी जस्ता व्यक्ति मात्रै अगुवा हुन सक्छ भन्ने समेत सोच्थेँ। म तिनलाई गहन रूपमा आदर गर्थेँ र तिनलाई मेरो विश्वास-यात्राको आदर्श पात्रको रूपमा हेर्थेँ।
सन् २०२३ मे महिनाको एक दिन, मैले माथिल्लो स्तरका अगुवाबाट ली चेङ्गलाई बर्खास्त गरिएको भनेर लेखिएको पत्र प्राप्त गरेँ। म छक्क परेँ अनि मैले त विश्वासै गर्न सकिनँ, सोचेँ, “ली चेङ्ग राम्रो क्षमता भएका, प्रतिभाशाली छन्, र तिनी आफ्नो कर्तव्यमा अपेक्षित परिणामहरू हासिल गर्छन्। तिनी जस्तो व्यक्ति कसरी बर्खास्तमा पर्न सक्छन्? के अगुवाहरू हदभन्दा बढी अपेक्षा राख्छन्? मैले तिनीहरूलाई भेट्दा ली चेङ्गलाई किन बर्खास्त गरियो भनेर सोध्नै पर्छ।” त्यसपछि मैले आफूलाई ली चेङ्गसँग तुलना नगरी रहन सकिनँ। तिनले मानिसहरूको स्थितिलाई स्पष्ट बुझ्न र तिनीहरूका कठिनाइहरू समाधानका लागि परमेश्वरका उपयुक्त वचनहरू भेट्टाउन सक्ने मात्र नभएर, तिनले आफ्नो काममा पनि परिणामहरू प्राप्त गर्थे। जहाँसम्म मेरो कुरा छ, ममा उनमा भएका प्रतिभाहरूको कमी थियो, मैले उनले जस्तो कष्ट भोग्न र मूल्य चुकाउन सकिनँ, र म मानिसहरूको स्थिति समाधान गर्न प्रायजसो सङ्घर्षरत रहन्थेँ र बारम्बार उनीसँग सहयोग माग्थेँ। अहिले ली चेङ्ग जस्ताे व्यक्तिलाई समेत बर्खास्त गरिएको हुनाले, मलाई म पनि बर्खास्त हुने अवस्थाबाट टाढा छैन जस्तो लाग्यो। यो विचारले मेरो आत्मा गल्यो, अनि त त्यसपछिका केही दिनसम्म, मलाई आफ्नो कर्तव्यप्रति कुनै ऊर्जा नै भएन र आफ्नो अगाडि अन्धकार मात्रै देखेँ। मलाई मेरो स्थिति गलत छ भन्ने महसुस भयो, र मैले आफ्ना समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न चाहेँ। मानिसहरूलाई बर्खास्त गर्ने मण्डलीका निर्णयहरू सिद्धान्तहरूमा आधारित हुन्छन्, र ली चेङ्गको बर्खास्ती अवश्य पनि उनले आफ्नो कर्तव्यमा सिद्धान्तहरू उल्लङ्घन गरेका कारण भएको हो भन्ने मलाई थाहा थियो। मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो र यो खण्ड पल्टाएर पढेँ। परमेश्वर भन्नुहुन्छ: “हरेक अवधि र हरेक चरणमा, मानिसहरूको धारणाविपरीत मण्डलीमा केही विशेष घटनाहरू घट्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू बिमार पर्छन्, अगुवा र सेवकहरू प्रतिस्थापित हुन्छन्, कतिपय मानिसहरूलाई खुलासा गरेर हटाइन्छ, केहीले जीवन र मृत्युको परीक्षा भोग्छन्, अनि कतिपय मण्डलीमा विघ्नवाधा ल्याउने दुष्ट मानिस र ख्रीष्टविरोधीहरूसमेत हुन्छन्, र यस्तै अन्य कुराहरू हुन्छन्। यी कुराहरू समयसमयमा हुने गर्छन्, तर ती दुर्घटनावश हुने पक्कै होइनन्। यी सबै कुरा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तका परिणाम हुन्। एकदमै शान्तिमय अवधि केही घटना वा असामान्य घटनाले अचानक अशान्त बन्छ, जुन घटना तिमीहरूको वरपर वा तिमीहरूमै घट्छन्, र यस्ता घटना घट्दा मानिसहरूको जीवनको सामान्य क्रम र सामान्य अवस्था भताभुङ्ग हुन्छ। यसो हेर्दा, यी कुराहरू मानिसको धारणा र कल्पनाअनुरूप होइनन् भन्ने लाग्छ, मानिसहरू यी कुराहरू देख्न वा आफूलाई आइपरेको चाहँदैनन्। अनि, के यी कुराहरू घटित हुँदा मानिसहरूलाई फाइदा पुग्छ? मानिसहरूले यी कुरालाई कसरी लिनुपर्छ, कसरी अनुभव गर्नु र बुझ्नुपर्छ? के तिमीहरू कसैले यो कुराबारे सोचेका छौँ? (हामीले यो परमेश्वरको सार्वभौमिकताको परिणाम हो भनेर बुझ्नुपर्छ।) के यो परमेश्वरको सार्वभौमिकताको परिणाम हो भनेर बुझ्ने कुरा मात्र हो? के तिमीहरूले यसबाट कुनै पाठ सिकेका छौ? … सुरुमा त मानिसहरूले परमेश्वरलाई बुझेकै छैनन्, र तिनीहरू आफूमाथि आफ्नो धारणाविपरीत केही कुरा आइपर्दा, सत्यता खोज्ने वा सङ्गति गर्नलाई मानिसहरू भेट्ने गर्दैनन्, बरु ती कुरालाई आफ्नो धारणा र कल्पनाको आधारमा हेर्छन् र आखिरमा ‘यी कुराहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भन्ने अझै अनिश्चित छ’ भनेर निष्कर्ष निकाल्छन्, अनि परमेश्वरबारे सन्देह गर्दै उहाँका वचनहरूप्रति शङ्कासमेत गर्न थाल्छन्। परिणामस्वरूप, परमेश्वरप्रतिको तिनीहरूको शङ्का, अनुमान र सावधानी झन्झन् गम्भीर बन्छन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने उत्प्रेरणा गुमाउँछन्। तिनीहरू कष्ट भोग्न र त्याग गर्न अनिच्छुक हुन्छन्, अनि सुस्ताउँछन्, र हरेक दिन अल्याङ्टल्याङ् मात्रै टार्छन्। केही खास घटनाहरू अनुभव गरेपछि, तिनीहरूसँग पहिलेदेखि भएको अलिकति जोस, सङ्कल्प र चाहना तिनीहरूबाट हटेर र हराएर जान्छन्, अनि तिनीहरूमा कसरी भावी योजना बनाउने र उम्कने बाटो खोज्ने भन्ने सोच मात्र बाँकी रहन्छ। यस्ता मानिसहरूको संख्या कम छैन। मानिसहरू सत्यतालाई प्रेम नगर्ने र सत्यता नखोज्ने भएकाले, तिनीहरू आफूलाई कुनै कुरा आइपर्दा, त्यो आफ्नै आँखाले देख्छन्, तर त्यो परमेश्वरबाट स्विकार्न कहिल्यै सिक्दैनन्। तिनीहरू उत्तर भेट्टाउन परमेश्वरका वचनहरूमा सत्यता खोज्दैनन्, अनि सङ्गति गर्न र यी कुरा समाधान गर्न सत्यता बुझ्ने मानिसहरू खोज्दैनन्। बरु, तिनीहरू आफूमाथि आइपर्ने कुरालाई विश्लेषण गर्न र केलाउन संसारसँगको व्यवहारमा आफूले प्रयोग गर्दै आएको आफ्नो ज्ञान र अनुभव नै प्रयोग गर्छन्। अनि, आखिर परिणाम के हुन्छ? तिनीहरू उम्कनै नसक्ने अप्ठ्यारो स्थितिमा आफै फस्छन्—सत्यता खोजी नगर्नुको परिणाम यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने जब मण्डलीमा मानिसहरूका धारणाहरू अनुरूप नरहेका कुराहरू देखा पर्छन्, तब सत्यता नपछ्याउनेहरूले परमेश्वरबाट आएका कुराहरूलाई स्वीकार गर्दैनन्। बरु, तिनीहरूले आफ्नै धारणा र कल्पनाहरूका आधारमा परमेश्वरसँग गुनासो गर्नेछन् र उहाँलाई गलत रूपमा बुझ्नेछन्, र तिनीहरूको स्थिति बिग्रिनेछ, जसले तिनीहरूको कर्तव्यमा असर गर्नेछ। मैले ठीक यस्तै व्यवहार गरेकी थिएँ। म सधैँ ली चेङ्गलाई आदर गर्थेँ र उच्च ठान्थेँ। तिनको क्षमता राम्रो छ, तिनी प्रतिभाशाली व्यक्ति हुन्, हरेक दिन आफ्नो कर्तव्यमा व्यस्त हुन्छन्, र तिनले ब्रदर-सिस्टरहरूको स्थिति समाधान गर्न सधैँ परमेश्वरका सही वचनहरू भेट्टाउन सक्छन् भन्ने देखेर, तिनी सत्यता पछ्याउने व्यक्ति हुन् भन्ने मलाई लाग्थ्यो। अहिले, तिनलाई बर्खास्त गरिएको थियो, जुन मेरा धारणाहरूसँग पटक्कै मेल खाएको थिएन। मैले यस विषयमा सत्यताको खोजी गरिनँ, बरु ली चेङ्गको पक्षमा अन्याय भएको छ भन्ने महसुस गरेँ र अगुवाहरू उनीप्रति पक्षपातपूर्ण भएका थिए भन्ने समेत सोचेँ। के मैले यस विषयमा सतही व्यवहार गरिरहेकी थिइनँ र? परमेश्वरको अभिप्राय भनेको मैले मानव धारणाहरू अनुरूप नरहेका त्यस्ता परिस्थितिहरूबाट पाठहरू सिकूँ र सत्यताका पक्षहरू बुझूँ भन्ने थियो तर ली चेङ्गलाई बर्खास्त गरिएको भन्ने सुनेपछि, अगुवाहरूको मापदण्ड अति नै बढी भयो भन्ने सोच्दै उनीहरूले यो मामिलामा अन्यायपूर्ण कदम चालेका थिए भनेर गुनासो गर्नु नै मेरो पहिलो प्रतिक्रिया थियो, र मैले अगुवाहरूले ली चेङ्गसँग किन यस्तो व्यवहार गरे भनेर उनीहरूसँग जवाफ माग्न समेत चाहेँ। मलाई म ली चेङ्गभन्दा कम क्षमतावान् छु र म पनि बर्खास्तीमा पर्न सक्छु भन्ने पनि लाग्यो, जसले गर्दा म आफ्नो कर्तव्यमै असर पर्ने गरी नकारात्मकता र गलतफहमीमा जिउन थालेँ। परमेश्वरका वचनहरूबाट, मैले आफूलाई परिस्थितिहरू आइपर्दा सत्यताको खोजी नगर्नुका खतरा देखेँ। यो कुरा पहिचान गरेपछि, मेरो प्रतिरोधको भावना घट्यो, र म यस विषयमा सत्यताको खोजी गर्न तयार भएँ।
पछि, जब अगुवाले सङ्गति गर्दै ली चेङ्गको व्यवहारको खुलासा गरे, मैले ली चेङ्ग साँच्चै नै अहङ्कारी र आत्मधर्मी थिए र तिनले आफ्नो कर्तव्यमा स्वेच्छाचारी ढङ्गले काम गर्थे, आफ्ना सहकर्मीहरूसँग छलफल नगरी सबै कुराको निर्णय गर्थे भन्ने थाहा पाएँ। बारम्बार सङ्गति गर्दा पनि, तिनले आफ्नो मार्ग परिवर्तन गरेनन्, जसले गर्दा मण्डलीको काममा बाधा भयो। त्यसपछि मात्रै उनलाई बर्खास्त गर्दै चिन्तन गर्न लगाइयो। अगुवाले ली चेङ्गका खास-खास व्यवहारका उदाहरणहरू पनि दिए। हालै, एक जना मण्डली अगुवाले पारिवारिक झमेलाका कारण आफ्नो कर्तव्यमा ढिलाइ गरेका थिए, र सिद्धान्तहरू नै नखोजी, प्रसङ्गै जाँचपडताल नगरी, वा सहकर्मीहरूसँग सल्लाहै नलिई, ली चेङ्गले ती व्यक्तिलाई मण्डलीबाट हटाउनका लागि सामग्रीहरू तयार गरे। भाग्यवस, त्यसलाई रोक्न माथिल्लो स्तरका अगुवाले हस्तक्षेप गरे। अर्को पटक, ली चेङ्गले कसैसँग सल्लाहै नगरी व्यक्तिगत रूपमा सुपरभाइजर नियुक्त गरे। यी सुपरभाइजरको क्षमता कमजोर भएकाले कामको व्यवस्थापन गर्न सकेनन्, जसले मण्डलीको काममा असर गर्यो। अगुवाले स्वेच्छाचारी रूपमा काम गरेकोमा ली चेङ्गलाई काट-छाँट गर्दा, तिनले यस कुरालाई स्वीकार गर्न मानेनन्। पछि, अरू सिस्टरहरूले पनि ली चेङ्गले आफ्नो कर्तव्यमा स्वेच्छाचारी रूपमा काम गरेका केही प्रकटीकरणहरू बारे कुरा गरे। यी तथ्यहरू सुनेपछि त, म स्तब्ध भएँ, र ली चेङ्ग त्यस्ता अहङ्कारी व्यक्ति हुन् भन्ने कुरामा मैले विश्वासै गर्न चाहिनँ। त्यसपछि अगुवाले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड देखाए: “ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्; तिनीहरू सधैँ एकलौटी शासन स्थापित गर्न चाहन्छन्। यो प्रकटीकरणको विशेषता ‘एकलो’ हो। यसलाई व्याख्या गर्न किन ‘एकलो’ भन्ने शब्द प्रयोग गर्ने? किनभने तिनीहरूले कुनै काम गर्नुभन्दा पहिले परमेश्वरसामु आएर प्रार्थना गर्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरू खोज्छन्, तिनीहरूले सङ्गति गर्न कसैलाई खोजेर ‘के यो उचित मार्ग हो? कामका बन्दोबस्तहरूमा के तोकिएका छन्? यस्तो कुरालाई कसरी सम्हाल्नुपर्छ?’ भनी सोध्ने काम त झनै गर्दैनन्। तिनीहरूले कहिल्यै पनि आफ्ना सहकर्मी र साझेदारहरूसँग कामकुराबारे छलफल गर्दैनन् वा सहमतिमा पुग्न खोज्दैनन्—तिनीहरूले आफ्नै योजना र बन्दोबस्तहरू बनाउँदै, आफ्नै कुराहरू र युक्तिहरूका बारेमा सोचिरहेका हुन्छन्। परमेश्वरको घरका कामका बन्दोबस्तहरूको बारेमा सरसर्ती पढेरै तिनीहरूले ती कुरा बुझेको छु भन्ने सोच्छन्, त्यसपछि तिनीहरूले अन्धाधुन्ध कामको बन्दोबस्त गर्छन्—अनि अरूले यो कुरा थाहा पाउञ्जेल, कामको बन्दोबस्त भइसकेको हुन्छ। कसैले पनि तिनीहरूकै मुखबाट पहिले नै तिनीहरूका विचार वा भावनाहरू सुन्नु असम्भव हुन्छ, किनभने तिनीहरूले आफ्ना सोचविचारहरू कसैलाई कहिल्यै पनि बताउँदैनन्। कसैले सोध्न सक्छ, ‘के सबै अगुवा र कामदारहरूका साझेदारहरू हुँदैनन् र?’ तिनीहरूको नामको मात्र कुनै साझेदार हुन सक्छ, तर काम गर्ने बेलामा, तिनीहरूसँग कुनै साझेदार हुँदैन—तिनीहरू एकलै काम गर्छन्। अगुवा र कामदारहरू, अनि कुनै पनि कर्तव्य गर्ने सबै व्यक्तिको सहकर्मी हुने भए पनि, ख्रीष्टविरोधीहरूले आफूमा राम्रो क्षमता छ र आफू साधारण मानिसहरूभन्दा असल छु, त्यसकारण साधारण मानिसहरू आफ्नो सहकर्मी हुन योग्य हुँदैनन्, र तिनीहरू सबै आफूभन्दा तल्लो स्तरका हुन्छन् भन्ने विश्वास गर्छन्। त्यसैले ख्रीष्टविरोधीहरू अन्तिम निर्णय आफै गर्न मन पराउँछन् र अरू कसैसँग पनि छलफल गर्न चाहँदैनन्। त्यसो गर्दा आफू केही नकामको अयोग्य देखिनेछु भन्ने तिनीहरूलाई लाग्छ। यो कस्तो प्रकारको दृष्टिकोण हो? यो कस्तो प्रकारको स्वभाव हो? के यो अहङ्कारी स्वभाव हो? तिनीहरूले अरूसँग सहकार्य गर्नु र विभिन्न विषयमा छलफल गर्नु, तिनीहरूलाई सोधपुछ गर्नु र तिनीहरूबाट खोजी गर्नु अशोभनीय र अपमानजनक, र आत्मसम्मानमा ठेस लगाउने कुरा हो भन्ने ठान्छन्। त्यसकारण, आफ्नो आत्मसम्मानको रक्षा गर्न, तिनीहरूले आफूले गर्ने कुनै कुरामा पारदर्शिता देखाउँदैनन्, न त तिनीहरूले यसबारेमा अरूलाई नै बताउँछन्, अरूसँग यसबारेमा छलफल गर्नु त परै जाओस्। तिनीहरूलाई के लाग्छ भने, अरूसँग छलफल गर्नु भनेको आफू असक्षम छु भन्ने देखाउनु हो; सधैँ अरूका विचार माग्नु भनेको आफू मूर्ख र आफै विचार गर्न नसक्ने छु भनी देखाउनु हो; कुनै काम पूरा गर्न वा केही समस्या समाधान गर्न अरूसँग काम गर्दा त्यसले आफूलाई निकम्मा देखाउँछ। के यो तिनीहरूको अहङ्कारी र मूर्ख मानसिकता होइन र? के यो तिनीहरूको भ्रष्ट स्वभाव होइन र? तिनीहरूभित्रको अहङ्कार र आत्मधार्मिकता एकदमै प्रस्ट देखिन्छ; तिनीहरूले सामान्य मानव समझ पूरै गुमाएका हुन्छन्, र तिनीहरूको दिमाग ठेगानमा हुँदैन। तिनीहरूले सधैँ आफूसित क्षमता छ, आफै कामकुरा फत्ते गर्न सक्छन् र अरूसित सहकार्य गर्नु आवश्यक छैन भन्ने सोच्छन्। तिनीहरूसँग यस्ता भ्रष्ट स्वभाव भएका हुनाले, तिनीहरूले सौहार्दपूर्ण सहकार्य हासिल गर्न सक्दैनन्। तिनीहरूले अरूसँग सहकार्य गर्नु भनेको आफ्नो शक्तिलाई फितलो बनाउनु र टुक्र्याउनु हो, अरूसँग काम बाँड्दा, आफ्नै शक्ति कम हुन्छ भन्ने विश्वास गर्छन् र तिनीहरूले आफ्नो लागि सबै कुराको निर्णय गर्न सक्दैनन्, अर्थात् तिनीहरूमा साँचो शक्तिको कमी हुन्छ, जुन तिनीहरूको लागि ठूलो घाटा हो। त्यसकारण, तिनीहरूलाई जेसुकै आइलागे पनि, यदि तिनीहरूलाई यो कुरा बुझेको छु त्यसलाई सम्हाल्ने उचित तरिका जानेको छु भन्ने लाग्छ भने, तिनीहरूले यसबारेमा अरू कसैसँग छलफल गर्नेछैनन्, र तिनीहरूले सारा आदेशहरू दिनेछन्। अरूलाई थाहा दिनुभन्दा गल्ती गर्न रुचाउँछन्, अरूसँग शक्ति बाँड्नुभन्दा गलत नै हुन रुचाउँछन्, र आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न दिनुभन्दा निष्कासित हुन रुचाउँछन्। यस्तो व्यक्ति ख्रीष्टविरोधी हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरूले ख्रीष्ट-विरोधीहरू स्वेच्छाचारी ढङ्गले काम गर्छन्, आफ्नो शक्ति कायम राख्नका लागि सबै निर्णय आफैँ गर्छन् भन्ने खुलासा गर्छन्। तिनीहरू समस्याहरू आइपर्दा न सत्यता सिद्धान्तहरू खोजी गर्छन्, न त अरूसँग छलफल नै गर्छन्, अनि तिनीहरूको प्रकृति अहङ्कारी र विवेकहीन हुन्छ। यसलाई ली चेङ्गको व्यवहारसँग तुलना गर्दा, मण्डली अगुवाका रूपमा, तिनले स्वेच्छाचारी ढङ्गले काम गरे र आफ्नो कर्तव्यमा शक्ति आफ्नै हातमा राखे, र ब्रदर-सिस्टरहरूले तिनका समस्याहरू औँल्याउँदा, तिनले आफैँमा मनन नगर्ने मात्र होइन, उनी आफूले परिस्थिति बुझेको र आफैँले निर्णय गर्दा हुन्छ भन्ने विश्वास समेत गर्थे। तिनी सिद्धान्तहरू खोज्दैनथे, आफ्ना सहकर्मीहरूलाई पन्छाउँथे, र मानिसहरूलाई निकाल्नका लागि गोप्यरूपमा सामग्रीहरू तयार पार्थे, साथै अयोग्य सुपरभाइजर पनि नियुक्त गर्थे, यसरी मण्डलीको काममा बाधा र अवरोध ल्याउँथे, र अरूले भनेको कुरालाई बेवास्ता गर्थेँ। के ली चेङ्गका यी व्यवहारहरू ख्रीष्ट-विरोधीहरूले कसरी सबै कुरा “एक्लै” गर्छन् भन्ने बारे परमेश्वरले गर्नुभएको खुलासासँग मिल्दैनथे र? तिनले मण्डली नियन्त्रण गर्न र मण्डलीको काममा बाधा दिन शक्ति एकाधिकार गरे, जुन ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभएका ख्रीष्ट-विरोधीहरूको व्यवहार हो। तिनी पहिल्यै ख्रीष्ट-विरोधीको बाटोमा हिँड्न थालिसकेका थिए। अगुवा र सेवकहरूले तिनका समस्याहरूलाई धेरै पटक औँल्याए, तर तिनले ती कुराहरूलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिएनन्। माथिल्लो स्तरका अगुवाले तिनलाई सिद्धान्तहरूका आधारमा बर्खास्त गर्नु पूर्ण रूपमा उचित थियो!
मैले मनन नगरी बस्न सकिनँ, र सोचेँ, “ली चेङ्गसँग यति लामो समयसम्म अन्तरक्रिया गरेर पनि, मैले कसरी तिनलाई खुट्टयाउन सकिनँ र तिनीसँग सत्यता वास्तविकता छ भन्ने सोचेर तिनलाई आदर समेत गरेँ?” खोजी गर्ने क्रममा, मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “केही मानिसहरू बाह्य रूपमा आत्मिक, सज्जन, उच्च र महान देखिने व्यक्तिहरूबाट भ्रममा पारिन्छन्। जहाँसम्म शब्द र धर्मसिद्धान्तहरू धाराप्रवाह रूपमा बोल्न सक्ने अनि बोली र कार्य प्रशंसनीय भएका मानिसहरूको सवाल छ, तिनीहरूको बहकाउमा पर्नेहरूले तिनीहरूको कार्यको सार, तिनीहरूको कार्यपछाडिको सिद्धान्त वा तिनीहरूको उद्देश्यलाई कहिल्यै पनि हेरेका हुँदैनन्। अझ भन्ने हो भने, तिनीहरूले यी मानिसहरू परमेश्वरप्रति साँच्चै नै समर्पित छन् कि छैनन् भन्ने कुरा कहिल्यै हेरेका हुँदैनन्, न त कहिल्यै तिनीहरूले यी मानिसहरूले साँच्चै नै परमेश्वरको डर मान्छन् कि मान्दैनन् अनि यिनीहरू दुष्टताबाट अलग रहन्छन् कि रहँदैनन् भन्ने कुरा नै निर्क्योल गरेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि यी मानिसहरूको मानवता सारलाई देखेका हुँदैनन्। बरु, यिनीहरूसँग चिनजान हुने पहिलो कदमदेखि नै, तिनीहरूले अलिअलि गर्दै यिनीहरूलाई सराहना र आदर गर्न थालेका हुन्छन् र अन्त्यमा यी मानिसहरू तिनीहरूको मूर्ति बन्छन्। यस बाहेक, केही व्यक्तिहरूको विचारमा, तिनीहरूले आराधना गर्ने मूर्तिहरू—अनि तिनीहरूले आफ्ना परिवारहरू, जागिरहरू त्याग गर्न सक्ने भनी विश्वास गरेका व्यक्तिहरू र सतही रूपमा मूल्य चुकाउन सक्षम देखिने व्यक्तिहरू नै ती व्यक्तिहरू हुन् जसले सच्चा रूपमा परमेश्वरलाई सन्तुष्ट पारिरहेका छन् र जसले वास्तविक रूपमा असल प्रतिफलहरू र असल गन्तव्यहरू हासिल गर्न सक्छन्। उनीहरूको मनमा, यी आदर्श पात्रहरू नै ती व्यक्तिहरू हुन् जसलाई परमेश्वरले स्याबासी दिनुहुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। परमेश्वरका वचनहरूबाट, मैले के महसुस गरेँ भने मैले ली चेङ्गलाई आराधना गर्नुको मुख्य कारण तिनले सफाइका कामको सुपरिवेक्षण गर्दा ल्याएका परिणामहरू र तिनको काम गर्ने क्षमता नै थियो। तिनीसँग केही बुद्धि र प्रतिभाहरू पनि थिए र तिनले मानिसहरूको स्थितिलक्षित सङ्गतिका लागि परमेश्वरका उपयुक्त वचनहरू भेट्टाउँथे, त्यसकारण तिनले सत्यता बुझेका छन् र तिनीसँग सत्यता वास्तविकता छ भन्ने मलाई लाग्थ्यो। तर, तथ्यहरूले के देखाए भने ली चेङ्ग आफूले प्रकट गरेका गंभीर ख्रीष्ट-विरोधी स्वभाव बारे पूर्ण रूपमा अनभिज्ञ थिए। तिनी अगुवाहरूद्वारा काँटछाँट हुने कुरा स्वीकार्न तयार हुँदैनथे, र तिनी सत्यता स्वीकार गर्दैनथे र प्राय: आफूलाई धर्मसिद्धान्तहरूद्वारा मात्रै सुसज्जित गर्थे भन्ने प्रष्ट थियो। उनी परिणामहरू प्राप्त गर्न र मानिसहरूले उनलाई सम्मान गरून् भनेर आफूलाई कर्तव्यमा व्यस्त राख्थे, तर आफ्नो भ्रष्ट स्वभाव समाधानका लागि सत्यता पटक्कै पछ्याउँदैनथे, तैपनि मैले तिनलाई पूज्य व्यक्तिका रूपमा आराधना गर्थेँ र तिनकै आदर्श समेत पछ्याउँथेँ; म कति अबुझ रहिछु! मैले पत्रुसले आफ्नो दैनिक जीवन र कर्तव्य दुवैमा सत्यताको खोजी गर्ने र परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्ने कार्यमा ध्यान दिएका हुनाले तिनलाई परमेश्वरले कसरी अनुमोदन गर्नुभएको थियो भन्ने बारेमा सोचेँ। हरेक स-साना कुराहरूमार्फत्, तिनी आफ्नो पुरानो स्वभाव परिवर्तन गर्ने कार्यमा ध्यान दिन्थे। यसको विपरीत, म मानिसहरूको मूल्याङ्कन तिनीहरूको बुद्धि र प्रतिभा, तिनीहरूले गरेको काम र तिनीहरूले बाहिरी रूपमा भोगेका कष्टहरूका आधारमा गर्थेँ। मानिसहरूको मूल्याङ्कन गर्ने मेरो दृष्टिकोण परमेश्वरका मापदण्डहरू विपरीत छ भन्ने मैले देखेँ। ली चेङ्गलाई बर्खास्त नगरिएको भए, मैले यी समस्याहरूका बारेमा मनन नै गर्ने थिइनँ र मैले तिनकै आदर्श पछ्याइरहने थिएँ। त्यतिखेर, मैले त्यस्ता मानिस, घटना, र परिस्थितिहरूलाई योजनाबद्ध गर्नुभएकोमा परमेश्वरलाई इमानदारीपूर्वक धन्यवाद दिएँ। यो त परमेश्वरले मलाई मुक्ति दिइरहनुभएको थियो। मण्डलीका केही ब्रदर-सिस्टरहरूले अझै पनि ली चेङ्गलाई चिनेका छैनन् भन्ने देखेर, मैले तिनीहरूसँग स्वेच्छाचारी रूपमा काम गर्नु भनेको के हो, र मानिसहरूलाई तिनीहरूको बाहिरी रूपका आधारमा मात्रै मूल्याङ्कन गर्नु हुँदैन, बरू तिनीहरूले परमेश्वरका वचनहरू अनुसार काम गर्छन् कि गर्दैनन् र मण्डलीको काम कायम राख्न सत्यताको अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्छ भनेर सङ्गति गरेँ। कुरा सुनेपछि, ब्रदर-सिस्टरहरूले ली चेङ्गलाई अलिक राम्ररी खुट्याउन सके।
पछि, मैले चिन्तन जारी राखेँ: ली चेङ्गको बर्खास्तीप्रति मैले किन यस्तो कडा प्रतिक्रिया दिएँ र म किन तुरुन्तै निराश भएँ? मैले आफूलाई जाँचेँ र मैले हरेक हिसाबमा मभन्दा अब्बल रहेका ली चेङ्ग जस्ता व्यक्ति त बर्खास्त हुन सक्छन् भने म पनि बर्खास्त हुने अवस्थामा पुगेकी छु भन्ने सोच राखेको पत्ता लगाएँ। त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, निरन्तर आफ्ना सम्भाव्यताहरू र नियतिबारे हिसाबकिताब गरिरहेका हुन्छन्: तिनीहरूले कर्तव्य निर्वाह गरेको अहिले कति वर्ष भयो, तिनीहरूले कति धेरै कठिनाइ भोगेका छन्, तिनीहरूले परमेश्वरको लागि कति धेरै त्याग गरेका छन्, तिनीहरूले कति मूल्य चुकाएका छन्, तिनीहरूले कति ऊर्जा खर्चेका छन्, तिनीहरूले आफ्नो जवानीको कति वर्ष त्यागेका छन्, र अहिले तिनीहरूले इनाम र मुकुट प्राप्त गर्ने अधिकार पाएका छन् कि छैनन्; तिनीहरूले यी केही वर्ष आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा पर्याप्त पुँजी बटुलेका छन् कि छैनन्, तिनीहरू परमेश्वरको नजरमा कृपाप्राप्त व्यक्ति हुन् कि होइनन्, र तिनीहरू परमेश्वरको नजरमा इनाम र मुकुट प्राप्त गर्न सक्ने व्यक्ति हुन् कि होइनन्। … तिनीहरू आफ्नै महत्त्वाकाङ्क्षा र इच्छाहरूलाई सत्यता, जीवनको एउटै मात्र उद्देश्य, र सबैभन्दा उचित उद्यम मान्दै दह्रिलो गरी पक्रेर बस्छन्। तिनीहरूलाई, यदि व्यक्तिको स्वभाव परिवर्तन भएन भने ऊ सधैँ परमेश्वरको शत्रु हुनेछ भन्ने सत्यता थाहा हुँदैन, र परमेश्वरले व्यक्तिलाई कुन आशिष् दिनुहुन्छ र परमेश्वरले व्यक्तिलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उसको क्षमता, वरदान, प्रतिभा वा पुँजीमा आधारित हुँदैन, बरु उसले कति धेरै सत्यता अभ्यास गर्छ र उसले कति धेरै सत्यता प्राप्त गर्छ, र ऊ परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हो होइन भन्ने कुरामा आधारित हुन्छ भन्ने कुरा पनि थाहा हुँदैन। यी भनेका ख्रीष्टविरोधीहरूले कहिल्यै नबुझ्ने सत्यताहरू हुन्। ख्रीष्टविरोधीहरूले यस्तो कुरा कहिल्यै देख्दैनन्, र तिनीहरू सबैभन्दा बढी मूर्ख यहीँनेर हुन्छन्। सुरुदेखि अन्त्यसम्म, ख्रीष्टविरोधीहरूमा आफ्नो कर्तव्यप्रति मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू के विश्वास गर्छन् भने, कर्तव्य निर्वाह गर्नु भनेको एउटा लेनदेन हो, र जसले आफूलाई कर्तव्यमा सबैभन्दा बढी समर्पित गर्छ, जसले परमेश्वरको घरमा सबैभन्दा बढी योगदान दिन्छ र जसले परमेश्वरको घरमा सबैभन्दा धेरै वर्षसम्म सहेर बस्छ, ऊसँग नै अन्त्यमा आशिष् र मुकुट पाउने बढी मौका हुन्छ। ख्रीष्टविरोधीहरूको तर्क यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरका वचनहरूबाट, मैले के देखेँ भने ख्रीष्ट-विरोधीहरूले आफ्नो कर्तव्यलाई लेनदेनको रूपमा लिन्छन्, धेरै काम गर्ने र आफ्नो कर्तव्यका परिणामहरू प्राप्त गर्ने कार्यलाई परमेश्वरका आशिष्हरू साट्न उहाँसँग मोलतोल गर्नका लागि प्रयोग गर्छन्। यो त ख्रीष्ट-विरोधीहरूको तर्क हो। म पनि यही दृष्टिकोण राख्थेँ। हरेक हिसाबमा मभन्दा उत्कृष्ट रहेका व्यक्तिलाई बर्खास्त गरिएको देखेर, ढिलो-चाँडो, मलाई पनि बर्खास्त गरिनेछ भन्ने लाग्यो। मलाई मेरो भविष्यका सम्भाव्यताहरू अनिश्चित छन् भन्ने लाग्यो, जसले गर्दा ममा नकारात्मकता पैदा भयो। वास्तवमा, मानिसहरूलाई मूल्याङ्कन गर्ने परमेश्वरका मापदण्डहरू तिनीहरू कति प्रतिभाशाली छन् वा तिनीहरूले कति कष्ट भोगेको वा काम गरेको देखिन्छ भन्ने कुरामा आधारित हुँदैनन्, बरू तिनीहरूले आफ्नो कर्तव्यमा कति धेरै सत्यता अभ्यास गर्छन् र सत्यता प्राप्त गर्छन् भन्ने कुरामा आधारित हुन्छन्। यस बीच, मैले मानिसहरूलाई परमेश्वरका वचनहरू अनुसार होइन तर मेरा आफ्नै धारणा र कल्पनाहरूका आधारमा मूल्याङ्कन गर्थेँ, र सोच्थेँ, प्रतिभा भएका र मेहनत गर्ने मानिसहरू पक्कै परमेश्वरका अभिप्राय अनुरूप हुन्छन् र तिनीहरूले उहाँको अनुमोदन प्राप्त गर्छन्। त्यसकारण, ली चेङ्गलाई बर्खास्त गरिएको भन्ने सुनेपछि, मैले यो कुरालाई स्वीकार गर्न सकिनँ र म उनलाई किन बर्खास्त गरिएको भनेर अगुवाहरूलाई प्रश्न गर्न र उनका लागि न्याय माग्न समेत चाहन्थेँ। वास्तवमा, मैले ली चेङ्गको सहयोग गर्नु त खासमा प्रतिवाद गर्ने मेरो बहाना मात्रै थियो। मलाई त बर्खास्त गरिने अर्को व्यक्ति म नै हुनेछु भन्ने चिन्ता थियो र मेरो भविष्य राम्रो हुनेछैन भन्ने डर थियो। अगुवाहरूलाई प्रश्न गर्ने मेरो इच्छाको पछाडि आधारभूत रूपमा परमेश्वरलाई प्रश्न गर्ने, परमेश्वर अन्यायी हुनुहुन्छ र उहाँले मानिसहरूबाट धेरै अपेक्षा गर्नुहुन्छ भनेर गुनासो गर्ने मेरो इच्छा लुकेको थियो। म सृजित प्राणीको स्थानमा उभिएर परमेश्वरको काममा समर्पित भएकी थिइनँ; बरु, मैले परमेश्वरसँग तर्क गरेँ र उहाँको विरोध गरेँ। त्यसपछि मात्रै मैले आफूले प्रकट गरेको कुराको प्रकृति कति गम्भीर रहेछ भन्ने महसुस गरेँ। मलाई पावलको बारेमा याद आयो, जसले आफूले गरेको कामलाई परमेश्वरको विरोध गर्ने र उहाँबाट धार्मिकताको मुकुट माग गर्ने पूँजीको रूपमा प्रयोग गरे। अन्त्यमा, परमेश्वरले उनलाई दण्ड र श्राप दिनुभयो। मैले अझै पनि पश्चात्ताप नगर्ने हो भने, आफ्नो कर्तव्यमा जति नै धेरै कष्ट भोगे पनि, परमेश्वरले मलाई अनुमोदन गर्नुहुने थिएन, र अन्त्यमा म पनि पावल जस्तै दण्डित हुने थिएँ! ली चेङ्गको बर्खास्तले मेरा लागि चेतावनीका रूपमा काम गऱ्याे, जसले गर्दा मैले परमेश्वरमा विश्वास गरे पनि, आफूले मानिसहरूको पूजा गरिरहेको र गलत मार्गमा हिँडिरहेको कुरा पहिचान गर्न सकेँ। मलाई यो परमेश्वरले मलाई प्रेम गरिरहनु भएको र मुक्ति दिइरहनुभएको भन्ने कुरा हृदयको गहिराइबाट महसुस भयो।
ली चेङ्गलाई बर्खास्त गरिएपछि, तिनले केही समयसम्म मनन गरे, आफ्नो भ्रष्ट स्वभावको बारेमा केही बुझाइ प्राप्त गरे, र मण्डलीले उनलाई अर्को कर्तव्यमा खटायो। अहिले म फेरि पनि ली चेङ्गसँग आफ्नो कर्तव्य पूरा गर्छु, तर मैले पहिलेको जस्तो तिनको आराधना गर्न छोडेकी छु। बरु, म तिनले भनेको कुरा परमेश्वरका वचनहरूमा आधारित छ कि छैन भनेर खुट्याउने कार्यमा ध्यान दिन्छु। यदि मसँग फरक विचारहरू छन् भने, म ती कुरा अघि सार्छु, मैले नबुझेका कुराहरूका लागि म सत्यता सिद्धान्तहरू खोज्छु, र मैले राम्ररी बुझ्न नसक्ने समस्याहरूका बारेमा अगुवाहरूलाई रिपोर्ट गर्छु। यसरी अभ्यास गरेर, मैले केही सिद्धान्तहरू बुझ्न र अघि बढ्ने मार्ग भेट्टाउन सकेकी छु। यो अनुभवबाट, मैले सत्यताको खोजी गर्नुको महत्त्वलाई महसुस गरेकी छु, र मैले आफ्नो कर्तव्य पूरा गर्दा सिद्धान्तहरू उल्लङ्घन गर्ने गरी आफूले गर्ने कुराहरूका बारेमा मनन गर्न थालेकी छु। म ब्रदर-सिस्टरहरूलाई आफ्नो कर्तव्यमा सत्यता सिद्धान्तहरू खोजी गर्न अगुवाइ पनि गर्छु ताकि सबैले बाहिरी कार्यहरूमा ध्यान दिन छोडून् र सत्यता पछ्याउने र सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा ध्यान दिऊन्। यो अनुभवले कामकुराहरूप्रतिको मेरो गलत दृष्टिकोणलाई सुधारिदिएकोछ, र म परमेश्वरको मुक्तिप्रति कृतज्ञ छु!