७२. के हैसियत हुनुले मुक्ति सुनिश्चित गर्छ?
सन् २०१८ को मे महिनामा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। एक वर्षपछि, म मण्डली अगुवाको रूपमा चुनिएँ, र चार वर्षपछि, म क्यामरुनमा मण्डली सुपरिवेक्षकको रूपमा चुनिएँ। मलाई लाग्यो म उत्कृष्ट छु, मानौँ म अरू मानिसहरूभन्दा माथि छु। मेरा धारणाहरूमा, मैले सोचेँ परमेश्वरले हैसियत हुनेहरूलाई बढी महत्त्व दिनुहुन्छ, र यी मानिसहरू अरूभन्दा बढी मूल्यवान् छन्, र उनीहरूको मुक्ति पाउने सम्भावना बढी छ। पछिल्ला केही वर्ष अगुवाको रूपमा रहँदा, मैले धेरै कुरा पाएको थिएँ, त्यसैले मैले आफ्नो मुक्ति सुनिश्चित भएको महसुस गरेँ। यसकारण, म आफ्नो कर्तव्यमा अझ बढी उत्प्रेरित भएँ। राती अरूहरू सुतिसकेका बेला पनि, म आफ्नो कर्तव्य गरिरहेको हुन्थेँ। मलाई लाग्थ्यो मैले अरूभन्दा बढी मोल चुकाइरहेको छु र बढी जिम्मेवारी वहन गरिरहेको छु, त्यसैले परमेश्वरले मलाई अझ बढी आशिष् दिनुहुनेछ। अगुवाको रूपमा, म सधैँ शिर ठाडो पारेर हिँड्थेँ, श्रेष्ठताको भावना लिएर। म सोच्थेँ जबसम्म म अगुवा रहन्छु, मेरो मुक्ति सुनिश्चित हुनेछ। तर मैले आशा गरेजस्तो कुराहरू भएनन्।
सुसमाचारको कामका लागि तुरुन्तै मानिसहरूको आवश्यकता परेकोले, मलाई सुसमाचार फैलाउन पठाइयो। त्यहाँ सबै कुरा सहज रूपमा अघि बढ्यो, र मैले आफ्नो कर्तव्यमा निकै राम्रो नतिजा प्राप्त गरेँ। चाँडै नै, मलाई समूह अगुवामा पदोन्नति गरियो। पदोन्नति हुन पाएकोमा म धेरै खुसी थिएँ। म समूह अगुवा र मण्डली सुपरिवेक्षक दुवै थिएँ। मैले आफूलाई मुक्तिको अझ नजिक महसुस गरेँ, र मेरो गन्तव्य अझ सुरक्षित छ भन्ने लाग्यो। सन् २०२२ को सेप्टेम्बरको सुरुमा, मलाई आफ्नो कर्तव्य गर्न नयाँ ज्योति मण्डलीमा सरुवा गरियो। त्यहाँ, उनीहरूसँग पहिले नै सुसमाचार समूह अगुवाहरू र मण्डली सुपरिवेक्षकहरू थिए। त्यसैले, म केवल एक साधारण सुसमाचार प्रचारक मात्र थिएँ, र मैले सुसमाचार समूह अगुवा र मण्डली सुपरिवेक्षकको पदवी गुमाएँ। यस्ता परिवर्तनहरूको सामना गर्दा, मैले आफ्नो हैसियत घटेको महसुस गरेँ। मैले आफ्नो श्रेष्ठताको भावना गुमाएँ र मैले मुक्तिको मौका पनि गुमाएँ कि जस्तो लाग्यो। त्यसपछि, मैले आफ्नो कर्तव्यमा उत्प्रेरणा गुमाएँ र केवल चुपचाप बस्न चाहेँ। जब मसँग हैसियत थियो, म शिर ठाडो पारेर हिँड्थेँ, धेरै गर्व महसुस गर्थें, तर हैसियतविना, मेरो उत्साह हरायो। तर मैले अझै आशा राखिरहेँ, सोचेँ, “म भर्खरै आएको छु, त्यसैले नयाँ ज्योति मण्डलीका ब्रदर-सिस्टरहरूले मलाई चिन्दैनन्। जबसम्म म आफ्नो कर्तव्यमा परिश्रम गरिरहन्छु, मेरो क्षमता र कार्यदक्षताले, म पक्कै पनि वरपरका मानिसहरूको ध्यान आकर्षित गर्नेछु, र ढिलो चाँडो, म फेरि अगुवाको रूपमा चुनिनेछु। मेरो मुक्ति पाउने आशा अझै छ!” यो सोचेर, म धेरै नकारात्मक भइनँ र आफ्नो कर्तव्य गरिरहेँ।
सन् २०२२ को डिसेम्बरको अन्त्यमा, नयाँ ज्योति मण्डलीले मण्डली सुपरिवेक्षकहरू पुनः छान्नुपर्ने भयो। चुनावअघि, म धेरै आत्मविश्वासी थिएँ र मैले सोचेँ म पक्कै चुनिनेछु, किनकि सबैलाई थाहा थियो म धेरै वर्षदेखि अगुवा थिएँ र यसमा मेरो योग्यता थियो। तर अप्रत्याशित रूपमा, जब मतहरू प्रकट गरियो, मैले केवल दुई मत मात्र पाएको देखियो। मैले चुनाव हारेँ। यो सहन साँच्चै गाह्रो थियो। मलाई पूर्ण रूपमा बेकम्मा महसुस भयो, प्वाँख उखेलिएको चराजस्तै, र अरूले मलाई हेरेको सहन मुस्किलले सक्थेँ। त्यस समयमा, म धेरै नकारात्मक भएँ र परमेश्वरप्रति गलत धारणाहरू राखेँ। मलाई लाग्थ्यो हैसियत हुनुले मलाई आफ्नो कर्तव्य अझ राम्रोसँग गर्न र परमेश्वरद्वारा मान्यता पाउन मद्दत गर्नेछ। अहिले मैले आफ्नो हैसियत गुमाएकाले मलाई लाग्यो यसको मतलब परमेश्वरले अब मलाई मुक्ति दिनुहुन्न र मैले आफ्नो असल गन्तव्य गुमाएको छु। म समूह भेलाहरूमा उपस्थित हुन वा मेरा ब्रदर-सिस्टरहरूका सन्देशहरूको जवाफ दिन चाहन्नथेँ। म केवल लुक्न र आफूलाई टाढा राख्न चाहन्थेँ। म अनिच्छापूर्वक भेलाहरूमा उपस्थित हुन्थेँ र यी भेलाका दौडान, म सङ्गतिमा सक्रिय रूपमा भाग लिन्नथेँ। म मानिसहरूले मेरो उपस्थिति याद गरून् भन्ने चाहन्नथेँ किनकि मसँग अब कुनै हैसियत रहेको थिएन। ब्रदर-सिस्टरहरूले मलाई पन्छाइएको एक भूतपूर्व अगुवाको रूपमा मात्र सम्झनेछन् कि भन्ने मलाई डर थियो। मलाई त परमेश्वरका वचनहरू पढ्न वा प्रार्थना गर्न पनि मन लाग्दैनथ्यो, र प्रार्थना गर्दा पनि, म केवल गरेजस्तो मात्र गर्थें र परमेश्वरलाई के भन्ने थाहा थिएन। म आफ्नो कर्तव्यमा सक्रिय थिइनँ, र कहिलेकाहीँ, म आफ्नो हृदय शान्त पार्न सक्दिनथेँ अनि समाचार वेबसाइटहरू, राजनीतिक वेबसाइटहरू र जनावरका भिडियोहरू हेर्थें। यी कुराहरू हेरिसकेपछि, मैले केही पनि प्राप्त नगरेको जस्तो लाग्यो र भित्रैदेखि खाली महसुस गरेँ। मलाई लाग्यो मेरो यस्तो स्थिति ठीक छैन र चुनावमा मेरो असफलता पछाडि परमेश्वरको अभिप्राय हुन सक्छ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म अहिले म शान्त भएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ, र म तपाईंबाट टाढा हुन समेत चाहन्छु। म किन यस्तो भएँ भनेर बुझ्दिनँ। कृपया मलाई मेरो अवस्था बुझ्न अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”
त्यसपछि मैले ब्रदर मत्तीलाई मेरो स्थितिबारे बताएँ, र उहाँले मलाई परमेश्वरका वचनका दुई खण्डहरू पढ्न लगाउनुभयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तिमीहरूको पछ्याइमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको काटछाँट गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: ‘हामी परमेश्वरमा विश्वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्वरमा विश्वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्वरमा विश्वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्वरमाथि गरिने विश्वास भनिने थिएन।’ … के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? ‘मैले परमेश्वरमाथि विश्वास गर्ने हुनाले ममाथि आशिष्हरूको वर्षा हुनुपर्छ र मेरो हैसियत कहिले पनि फुत्केर नगएको होस् र त्यो गैरविश्वासीहरूको भन्दा उच्च रहनुपर्छ भन्ने कुरालाई सुनिश्चित गरिनुपर्छ।’ तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण केवल एक वा दुई वर्षदेखि मात्र होइन तर धेरै वर्षदेखि राखेका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेको भए तापनि तिमीहरूले हैसियतलाई अझ पनि छाडेका छैनौ तर एक दिन तिमीहरूको हैसियत गुम्नेछ र तिमीहरूको नाम नष्ट हुनेछ भन्ने गहिरो डरको साथ यसको बारेमा निरन्तर सोधपुछ गर्नमा सङ्घर्ष गर्छौ र दिनहुँ यसको अवलोकन गर्छौ। मानिसहरूले सहजता प्रतिको आफ्नो चाहनालाई कहिल्यै पन्छाएका छैनन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। “तिमीहरू अब अनुयायी हौ र तिमीहरूले यस चरणको कामको बारेमा केही समझ प्राप्त गरेका छौ। यद्यपि, तिमीहरूले अझ पनि आफ्नो हैसियतको इच्छालाई पन्छाएका छैनौ। तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू असल तवरलेपछ्याउँछौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू पछ्याउन छोड्छौ। हैसियतका लाभहरू सधैँ तिमीहरूको मनमा हुन्छन्। किन अधिकांश मानिसहरूले आफूलाई नकारात्मकताबाट हटाउन सक्दैनन्? के उत्तर सधैँ ‘आशाहीन सम्भावनाहरूको कारणले’ भन्ने हुँदैन र? … तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर काटछाँट गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट काटछाँट र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ। जीवनको पछि नलाग्नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्वरमाथिको तेरो विश्वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले आत्मचिन्तन गरेँ। मण्डलीमा सामेल भएदेखि, म सधैँ अगुवा नै थिएँ, र मैले मेरो हैसियत हुनुले मेरो मुक्ति सुनिश्चित गर्दछ भन्ने विश्वास गरेको थिएँ। जसो-जसो वर्षहरू बित्दै गए, म हैसियतमा झन्-झन् केन्द्रित भएँ। जति धेरै मेरो पदोन्नति भयो, त्यति नै मैले परमेश्वरले मलाई महत्त्व र मान्यता दिनुभएको महसुस गरेँ, जसले मलाई आफ्नो कर्तव्यमा कष्ट भोग्न र मोल चुकाउन सक्षम बनायो। मैले के पनि सोचेँ भने यदि परमेश्वरले आज आफ्नो काम समाप्त गर्नुभयो भने, म मुक्ति पाउन सक्षम हुनेछु। चुनावको दौडान, मैले चुनिने आशा गरेको थिएँ, र मलाई पहिले अगुवा भइसकेकाले म अरूभन्दा बढी योग्य छु भन्ने लाग्थ्यो। तर मैले चुनाव हारेँ र हैसियत प्राप्त गरिनँ। मैले आफू असफल भएजस्तो महसुस गरेँ र मैले मुक्ति पाउने आशा गुमाएँ भन्ने लाग्यो, त्यसैले मैले आफ्नो कर्तव्य गर्ने उत्प्रेरणा गुमाएँ। मैले परमेश्वरका वचनहरू पढ्न छाडेँ, ब्रदर-सिस्टरहरूका सन्देशहरूलाई बेवास्ता गरेँ, मनमौजी ढङ्गले भेलाहरूमा उपस्थित हुन्थेँ, र मैले समयमै सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूको अनुगमन गरिनँ। म ब्रदर-सिस्टरहरूसँग कुरा गर्न वा सम्पर्क गर्न चाहन्नथेँ। म केवल एक्लै बस्न चाहन्थेँ। म परमेश्वरको सामु आफ्नो हृदय शान्त पार्न सकिनँ र मैले सत्यता पछ्याउने इच्छा गुमाएँ। मैले अधार्मिक चलचित्रहरू समेत हेरेँ। मेरो हृदय झन्-झन् अँध्यारो हुँदै गयो, र मैले पवित्र आत्माको काम गुमाएँ जस्तो लाग्यो। परमेश्वर भन्नुहुन्छ: “तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्वरमाथिको तेरो विश्वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्?” हैसियत पछ्याइले मलाई सत्यता वा असल गन्तव्य दिन सक्दैन, र हैसियत पाउनुले मलाई परमेश्वरको राज्यमा प्रवेश दिन सक्दैन। हैसियतको पछ्याइ भ्रष्ट स्वभाव भएकाले र यो शैतानबाट आउने भएकाले, यसले मेरो सत्यता पछ्याइमा रोकावट ल्याउँछ, र मलाई परमेश्वरबाट टाढा हुन र उहाँको विरोध गर्नसमेत लगाउँछ। अन्तमा, यसले मलाई विनाशमा मात्र पुर्याउन सक्छ। परमेश्वरका वचनले मलाई के देखाए भने यो चुनावी हारको पछि परमेश्वरको अभिप्राय थियो। परमेश्वरले मेरो हैसियतको चाहनालाई काटछाँट गर्न र मलाई हैसियतप्रतिको मेरो आत्मलिप्त चाहना त्याग्न र आत्मचिन्तन गर्न लगाउन यस हारलाई प्रयोग गरिरहनुभएको थियो। परमेश्वरको हार्दिक अभिप्राय बुझेर, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई आफैलाई चिन्न सक्ने हुन मार्गदर्शन गर्नुहोस्।”
त्यसपछि, मैले परमेश्वरका केही वचन र केही अनुभवात्मक गवाही लेखहरू पढेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “कतिपय मानिसहरू यदि तिनीहरूले परमेश्वरमा लामो समयसम्म विश्वास गरेका छन् भने, तिनीहरूले मुक्ति पाउने सम्भावना हुन्छ भन्ने विश्वास गर्छन्। कतिपयचाहिँ यदि तिनीहरूले धेरै आत्मिक सिद्धान्त बुझ्छन् भने, तिनीहरूले मुक्ति पाउने सम्भावना हुन्छ भन्ने सोच्छन्, वा कतिले चाहिँ अगुवा र सेवकहरूले अवश्यै मुक्ति पाउनेछन् भन्ने ठान्छन्। यी सबै मानव धारणा र कल्पनाहरू हुन्। मुख्य कुरा त मानिसहरूले मुक्तिको अर्थ बुझ्नुपर्छ। मुक्ति पाउनु भनेको मुख्य रूपमा पापबाट मुक्त हुनु, शैतानको प्रभावबाट मुक्त हुनु, र साँचो रूपमा परमेश्वरतर्फ फर्कनु र उहाँमा समर्पित हुनु हो। पाप र शैतानको प्रभावबाट मुक्त हुन तिमीहरूमा के हुनुपर्छ? सत्यता। यदि मानिसहरूले सत्यता प्राप्त गर्ने आशा गर्छन् भने, तिनीहरू परमेश्वरका धेरै वचनहरूले सुसज्जित हुनैपर्छ, तिनीहरूले ती वचन अनुभव र अभ्यास गर्न सक्नैपर्छ, ताकि तिनीहरूले सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सकून्। त्यसपछि मात्रै तिनीहरूले मुक्ति पाउन सक्छन्। कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले परमेश्वरमा कहिलेदेखि विश्वास गरेको छ, ऊसँग कति ज्ञान छ, ऊसँग वरदान वा सबल पक्षहरू छन् कि छैनन्, वा उसले कति कष्ट भोग्छ भन्ने कुरासँग सम्बन्धित हुँदैन। मुक्तिसँग प्रत्यक्ष सम्बन्ध भएको एकमात्र कुरा भनेको व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने हो। त्यसो भए, आज तैँले कति वटा सत्यता साँचो रूपमा बुझेको छस्? अनि परमेश्वरका कति वटा वचनहरू तेरो जीवन बनेका छन्? परमेश्वरका सबै मापदण्डहरूमध्ये, तैँले कुन-कुनमा प्रवेश हासिल गरेको छस्? परमेश्वरमाथि विश्वास गरेका वर्षहरूमा, तैँले परमेश्वरको वचनको सत्यतामा कति प्रवेश गरेको छस्? यदि तँलाई थाहा छैन भने, वा तैँले परमेश्वरको कुनै पनि वचनको वास्तविकतामा प्रवेश हासिल गरेको छैनस् भने, खुलस्त रूपमा भन्दा, तँसँग मुक्ति पाउने कुनै आशा छैन। तैँले सम्भवतः मुक्ति पाउनेछैनस्। तँसँग उच्चस्तरीय ज्ञान भए पनि, वा तैँले परमेश्वरमा लामो समय विश्वास गरेको भए पनि, तेरो स्वरूप राम्रो भए पनि, तैँले राम्रो बोल्न सके पनि, र तैँले धेरै वर्षदेखि अगुवा वा सेवकको काम गरेको भए पनि, त्यसले केही फरक पार्दैन। यदि तैँले सत्यता पछ्याउँदैनस् भने, र परमेश्वरका वचनहरू राम्रोसँग अभ्यास र अनुभव गर्ने गर्दैनस् भने, र तँमा वास्तविक अनुभवात्मक गवाहीको कमी छ भने, तैँले मुक्ति पाउने कुनै आशा हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, कष्टको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूको कारुणिक अवस्थाका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिशोध लिइएको हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने परमेश्वर सबैलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ, र मानिसहरूसँग सत्यता छ कि छैन भन्ने आधारमा तिनीहरूको परिणाम निर्धारण गर्नुहुन्छ। मानिसहरूले परमेश्वरको स्वीकृति प्राप्त गर्छन् र मुक्ति पाउँछन्, यो तिनीहरू अगुवा भएकाले वा कुनै निश्चित पदमा रहेकाले नभई, बरु तिनीहरूले सत्यता पछ्याउने र अन्ततः सत्यता प्राप्त गर्ने भएकाले हो। मलाई म धेरै वर्षदेखि अगुवा रहेको र हैसियत पाएकाले परमेश्वरद्वारा अनुमोदित हुनेछु, मैले परमेश्वरद्वारा कृपादृष्टि र विशेषाधिकार पाएको छु, मैले परमेश्वरको राज्यमा स्थान पाइसकेको छु, र म मुक्ति पाएर उहाँको राज्यमा प्रवेश गर्न सक्छु भन्ने लाग्थ्यो। यो मेरो गलत दृष्टिकोण थियो। वास्तवमा, मण्डलीमा पदमा रहनु मुक्तिको सर्त होइन, न त ओहदा हुनुले कोही अरूभन्दा बढी मूल्यवान् छ, वा परमेश्वरको मान्यता प्राप्त गर्ने सम्भावना बढी छ भन्ने सङ्केत नै गर्छ। परमेश्वरको घरमा, हैसियतका आधारमा भिन्नता छैन। परमेश्वरसामु सबै समान छन्। जुनै कर्तव्य गरे पनि, व्यक्तिले इमानदारीपूर्वक सत्यता पछ्याउँछ, आफ्नो भ्रष्ट स्वभाव फाल्छ, र परमेश्वरप्रति समर्पित बन्छ भने, उसले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छ। चाहे व्यक्ति समूह अगुवा होस् वा मण्डली अगुवा, यो केवल सत्यता प्राप्त गर्न परमेश्वरले प्रदान गरेको अवसर हो। यसले हामीलाई हाम्रो कर्तव्य निर्वाहमार्फत परमेश्वरको काम अनुभव गर्न, थप सत्यताहरू बुझ्न, र छिटो वृद्धि हुन मद्दत दिन्छ। तर, यसको मतलब समूह अगुवा वा मण्डली अगुवा हुनुले मुक्तिको ग्यारेन्टी दिन्छ भन्ने होइन। मैले कठिनाइ सहँदै र मूल्य चुकाउँदै अगुवाका रूपमा बिताएका वर्षहरूबारे चिन्तन गर्दा, म समयको वास्ता नगरी हरेक भेलामा उपस्थित हुन्थेँ, कहिलेकाहीँ अरू सुतिरहेका बेला राती अबेरसम्म काम गर्थेँ, जतिसक्दो चाँडो काम पूरा गर्न लागिरहन्थेँ, र त्यसैले म आफ्नो कर्तव्य राम्ररी गरिरहेको छु र परमेश्वरलाई प्रेम गर्छु भनेर सोच्थेँ। तर जब मैले चुनाव हारेँ र मेरो ओहदा गुमाएँ, तब मेरो विद्रोहीपन र परमेश्वरबारे गलतफहमीहरू प्रकट भए। मलाई लाग्यो मैले मुक्ति नपाउने भएँ, र त्यसैले मैले सत्यता पछ्याउन छोडेँ, म आफ्नो कर्तव्यमा नकारात्मक बनेँ र ढिलासुस्ती गरेँ, परमेश्वरका वचनहरू पढ्न चाहिनँ, र संसारिक चलचित्रहरूसमेत हेरेँ। मैले देखेँ कि म सत्यतालाई प्रेम गर्दिनथें, र मेरो कर्तव्यमा मेरो सक्रियता असल गन्तव्य प्राप्त गर्नका लागि थियो, सत्यता प्राप्त गर्न होइन, त्यसैले मैले परमेश्वरमा विश्वास गरेको पाँच वर्षमा धेरै सत्यता प्राप्त गरेकी थिइनँ। यो चुनावको हारले मेरो भ्रष्टता प्रकट गर्यो, मलाई यो महसुस गरायो कि मैले पहिले गरेका सबै कुरा ओहदा र असल गन्तव्यका खातिर थिए, र म परमेश्वरसँग फाइदाका लागि सौदाबाजी गर्न खोजिरहेकी थिएँ। सत्य कुरा त, मैले सोचेजस्तो परमेश्वरलाई प्रेम गरेकी रहेनछु, म परमेश्वरको विरुद्ध विद्रोह गरिरहेकी थिएँ, उहाँका वचनहरू सुनिरहेकी थिइनँ, र मेरो ओहदा गुमेको कारणले, म परमेश्वरबाट टाढा समेत भएकी थिएँ, आफ्नो कर्तव्य गर्न चाहन्नथें। मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ७:२१)। परमेश्वर सत्यता पछ्याउने र उहाँको मार्ग अनुसरण गर्नेहरूलाई चाहनुहुन्छ। त्यस्ता मानिसहरू मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न योग्य छन्। विगतमा, म सधैँ व्यस्त हुन्थेँ, हरेक भेलामा उपस्थित हुन्थेँ, सबैलाई म आफ्नो कर्तव्यमा लगनशील र इमानदार छु भन्ने भान पार्थें, तर यो सब छल थियो। म आशिष् पाउने मनसायले आफ्नो कर्तव्य गरिरहेको थिएँ, जुन परमेश्वरको इच्छा पालन गर्नु थिएन, र त्यसले उहाँलाई सन्तुष्ट पार्ने वा उहाँको अनुमोदन प्राप्त गर्ने थिएन। आँखामा आँसु लिएर, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म परिवर्तन हुन र तपाईंतिर फर्कन चाहन्छु, कृपया मलाई काटछाँट गर्नुहोस् र मेरो न्याय गर्नुहोस्, ताकि म मेरा आत्मलिप्तका सोच र मागहरू छोड्न सकूँ, तपाईंले मलाई जुनसुकै स्थानमा राख्नुभए तापनि, मानिसहरूको नजरमा यो सबैभन्दा निम्न स्थान नै किन नहोस्, म स्वीकार गर्नेछु, म तपाईंका सबै प्रबन्धहरूप्रति समर्पित हुन इच्छुक छु।”
एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ: “सृष्टि गरिएको प्राणीको रूपमा, मानिसले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरीकन परमेश्वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्वरलाई प्रेम गर्न खोज्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा आफूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नु हुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही हो। यदि तैँले सत्यताको खोजी गर्छस् भने, यदि तैँले सत्यता अभ्यास गर्छस् भने, र यदि तैँले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ। यदि तैँले देहका आशिष्हरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा कुनै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्वरप्रति तँ पटक्कै समर्पित छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्ने कुरा तेरो आफ्नै खोजीमा निर्भर हुन्छ, भन्नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमै निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। एक सृजित प्राणीको रूपमा, मैले कुनै इनामको खोजी नगरी परमेश्वरको अभिप्राय अनुसार सत्यता पछ्याउनु गर्नुपर्छ, र आफ्नो कर्तव्य राम्ररी गर्नुपर्छ। विगतमा, मैले सोचेको थिएँ हैसियत हुनुले मलाई मुक्ति प्राप्त गर्न मद्दत गर्नेछ, र अगुवाको हैसियत कमाउनु र त्यसलाई समातिराख्नुले मेरा लागि असल परिणाम सुनिश्चित गर्नेछ, त्यसैले मैले सत्यताको खोजी गर्नुको सट्टा पूरै हृदयले हैसियत र प्रतिष्ठाको पछि लागेँ, जसको परिणाम स्वरूप परमेश्वरमा धेरै वर्ष विश्वास गरे तापनि मेरो भ्रष्ट स्वभाव अपरिवर्तित रह्यो। यदि मैले मेरो पछ्याइलाई नसच्याएमा, म परमेश्वरद्वारा अवश्य हटाइने थिएँ। मैले के पनि बुझेँ भने, मण्डलीमा, विभिन्न कर्तव्यहरू हुन्छन्, र सबैले आफ्नो परिस्थिति र कामको आवश्यकता अनुसार आफ्नो कर्तव्य पूरा गर्छन्, र जुनसुकै प्रकारको कर्तव्य भए तापनि, यो हामीले गर्नुपर्ने कुरा हो, यो सबै मानिसहरूलाई सत्यता अभ्यास गर्न र स्वभावमा परिवर्तन प्राप्त गर्न सक्षम पार्ने उद्देश्यका लागि हो। यो हाम्रो शरीर जस्तै हो, जुन धेरै अङ्गहरू मिलेर बनेको हुन्छ। प्रत्येक अङ्गको आफ्नै कार्य हुन्छ, र कुनै अङ्ग अरूभन्दा बढी उपयोगी भन्ने हुँदैन। शरीरको अस्तित्वका लागि सबै कार्यहरू आवश्यक छन्, र कुनै एउटा अङ्ग पनि हराउन सक्दैन। कर्तव्यहरू उच्च र निम्न स्तरमा विभाजित हुँदैनन्। विशेष काम गर्नु वा अगुवा हुनुले व्यक्तिलाई अरूभन्दा उच्च, अरूभन्दा श्रेष्ठ, वा मुक्ति पाउने सम्भावना बढी भएको बनाउँदैन, र यसरी सोच्नु गलत हो। अगुवा भए तापनि, सत्यता अभ्यास नगरीकन, म सत्यता प्राप्त गर्न वा मुक्ति पाउन सक्दिनँ। यो बुझिसकेपछि, मैले सधैँ हैसियतका लागि प्रयास गरेकोमा पछुताएँ, र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गरेँ। मैले म नकारात्मक हुन र संसारिक चलचित्रहरू हेर्न छोडेँ, म नियमित रूपमा भेलाहरूमा उपस्थित भएँ र अक्सर आफ्नो आत्म-ज्ञानमा सङ्गति गर्थेँ, र मैले आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति परिवर्तन गरेँ, सुसमाचार फैलाउन सक्रिय भएँ। मैले ब्रदर-सिस्टरहरूसँग परमेश्वरका वचनहरू बाँड्न थालेँ, उनीहरूको असामान्य अवस्थाहरू समाधान गर्न मद्दत गरेँ, र मेरो कर्तव्यको प्रभावकारितामा सुधार भयो।
सन् २०२३, जुन महिनाको अन्त्यमा, अर्को मण्डली स्थापना भयो र अगुवाहरू र डिकनहरू छान्नुपर्ने भयो। मैले सोचेँ, “मैले लामो समयदेखि परमेश्वरमा विश्वास गरेको छु र पहिले मण्डली अगुवा पनि भइसकेको छु, त्यसैले म नै चुनिने सम्भावना बढी छ।” तर अन्तमा, म केवल सुसमाचार डिकनको रूपमा मात्र चुनिएँ। ममा पहिलो सोचाइ मेरो मुक्ति पाउने आशा घटेको छ भन्ने आयो, विशेष गरी जब मैले मभन्दा केही वर्षपछि परमेश्वरमा विश्वास गरेकी एक सिस्टर मण्डली अगुवाको रूपमा चुनिएको देखेँ, म धेरै दुःखी भएँ। मैले यो पनि सोचेँ कि भविष्यमा, धेरै नयाँ आगमनकर्ताहरू मण्डलीमा सामेल हुनेछन्, तिनीहरू मभन्दा उत्कृष्ट हुनेछन्, र समय बित्दै जाँदा मेरो कुनै स्थान हुनेछैन। यी कुराहरू सोच्दा, म धेरै दुःखी भएँ र फेरि आफ्नो कर्तव्य गर्ने उत्प्रेरणा गुमाएँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, कृपया मेरो हृदयलाई यी स्थितिहरूबाट विचलित हुनबाट जोगाउनुहोस्। म मेरो सम्भावना र हैसियतको पछ्याइलाई छाड्न, तपाईंका सबै प्रबन्धहरूप्रति समर्पित हुन, र केवल तपाईंलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छु। यदि म अझै पनि हैसियतको पछ्याइमा टाँसिइरहेँ, मलाई आशा छ तपाईंले मलाई ताडना दिनुहुनेछ।” मैले परमेश्वरका वचनहरू पढेँ: “अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा तिनीहरूले निर्वाह गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू अन्त्यमा परमेश्वरमा पूर्ण रूपमा समर्पित हुन, आफैलाई उहाँका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न, भविष्य र नियतिको बारेमा केही नसोच्न र योग्य सिर्जित प्राणी बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर रहन्छ। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मानकहरू यिनै हुन्। यी मानकहरू अपरिवर्तनीय छन् र तैँले यो सम्झनैपर्छ। यी मानकहरूलाई दिमागमा खोपेर राख्, र कुनै अवास्तविक कुरालाई पछ्याउन अर्को बाटो पत्ता लगाउनेबारेमा जुनसुकै बेलामा नसोच्। मुक्ति प्राप्त गर्न चाहने सबैलाई परमेश्वरले दिनुभएका सर्त र मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्। तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ, र हरेक व्यक्तिले सत्यता प्राप्त गरेको छ कि छैन भन्ने आधारमा परमेश्वरले उसको गन्तव्य निर्धारण गर्नुहुन्छ। मैले पनि परमेश्वरका आवश्यकताहरू अनुसार पछ्याउनुपर्छ, हैसियत र गन्तव्यको पछि लाग्ने मेरो इच्छा त्याग्नुपर्छ, र पूरै हृदयले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र सत्यता पछ्याउनु गर्नुपर्छ। यो परमेश्वरको अभिप्राय अनुरूप छ। मेरो कार्य दक्षतामा केही कमी छ, र अहिले सुसमाचार डिकनको रूपमा चुनिनु परमेश्वरले मलाई अभ्यासका लागि दिनुभएको अर्को अवसर हो। मैले यो अवसरलाई कदर गर्नुपर्छ र पूर्ण हृदयले आफूलाई कर्तव्यहरूमा समर्पित गर्नुपर्छ, सत्यता पछ्याउनु र प्राप्त गर्नुपर्छ, मेरो भ्रष्ट स्वभाव समाधान गर्नुपर्छ, र परमेश्वरको हृदयलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यही सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसपछि, मैले आफूलाई कर्तव्यहरूमा समर्पित गरेँ, र मैले अनुभव गरेका परिवर्तनहरू सबै परमेश्वरका वचनहरूको मार्गदर्शनका कारणले थिए। परमेश्वरको मुक्तिका लागि धन्यवाद होस्!