७७. के कुराहरू सोचेजस्तो नहुनु भनेको भाग्य खराब हुनु हो?
अप्रिल २०२३ मा, म मण्डलीमा सुसमाचारको कामका लागि जिम्मेवार थिएँ। केही समयपछि, अगुवाले हामीसँग भेला राख्नुभयो र सुसमाचार प्रचार गर्ने विषयमा केही सत्यताहरूमा सङ्गति गर्नुभयो। मलाई ती उत्कृष्ट लागे। यदि मैले ती सत्यताहरू सुसमाचार फैलाउने व्यक्तिहरूसँग राम्ररी सङ्गति गरेंँ भने, धार्मिक मानिसहरूका धारणाहरू समाधान गर्न सजिलो हुनेछ, जुन सुसमाचारको कामका लागि धेरै लाभदायक हुनेछ। त्यसपछि, मैले तुरुन्तै सुसमाचार फैलाउने व्यक्तिहरूसँग सङ्गति गर्न भेलाहरूको योजना बनाएँ। तर, त्यही बेला, मैले जिम्मेवारी लिएको एउटा मण्डलीका धेरै ब्रदर-सिस्टरहरू गिरफ्तार भए। मैले भेट्नुपर्ने ब्रदर-सिस्टरहरूमध्ये कोही सम्पर्कविहीन भए, जबकि कोही सुरक्षाको कारणले आउन सकेनन्। इच्छा नहुँदानहुँदै, मैले अरू मण्डलीका ब्रदर-सिस्टरहरूसँग भेलाको प्रबन्ध गर्नुपर्यो। मैले एक जना ब्रदरसँग प्रबन्ध गर्न खोजेंँ, उनले आफ्नो एउटा जरुरी काम परेकोले आउँदो दुई दिन भेलामा उपस्थित हुन नसक्ने जवाफ दिए। मैले सोचेंँ, “म किन यति अभागी छु? भेलामा उपस्थित हुने मानिसहरूको प्रबन्ध गर्न पनि यति गाह्रो हुन्छ। हरेक पटक महत्वपूर्ण क्षणमा, विभिन्न समस्याहरू आइपर्छन्। किन कामकुरा सहज रूपमा अघि बढ्न सक्दैनन्?” त्यसको लगत्तैपछि, मैले अगुवाबाट एउटा चिठी पाएँ, जसमा अरू ठाउँका मण्डलीहरूले पहिल्यै सङ्गति सकेर कार्यान्वयन सुरु गरिसकेको कुरा लेखिएको थियो। उहाँहरूले मेरोतर्फको प्रगतिबारे सोध्नुभयो। मलाई डाह र चिन्ता दुवै लाग्यो, सोचेँ, “उनीहरू किन त्यति भाग्यमानी? उनीहरूको काम कति सहज रूपमा अघि बढिरहेको छ, जबकि मेरो क्षेत्रका मण्डलीहरूले अहिलेसम्म कुनै प्रगति गरेका छैनन्। कतै अगुवाले मलाई अयोग्य र काममा ढिलासुस्ती गर्ने पो ठान्नुहुन्छ कि?” यी विचारहरूले गर्दा, म निकै क्रोधित भएँ, सोचेँ, “म पनि आफ्नो काम राम्रोसँग गर्न चाहन्छु। परमेश्वरले मलाई किन सहज रूपमा काम गर्न दिनुहुन्न? कि त यो व्यक्ति सुरक्षाको कारणले आउन सक्दैन, कि त अर्को व्यक्ति समय नभएर व्यस्त छ। सबै कुरा एकैचोटि थुप्रिएजस्तो छ!” यो अवस्थाको सामना गर्दा, मैले आफ्नो कर्तव्यप्रति असहाय र प्रेरणाहीन महसुस गरेँ। त्यसपछि, मैले अर्को मण्डलीकी एउटी सिस्टरलाई चिठी लेख्दै, उनलाई भेलाको प्रबन्ध गरेर मलाई समयको जानकारी दिन अनुरोध गरेँ। तर अप्रत्याशित रूपमा, सन्देशवाहकको बाटोमा अलमल भयो। मैले उनको जवाफ पाउँदा, मैले निर्धारित भेटघाटको समय गुमाइसकेकी थिएँ। मैले सोचेंँ, “म किन यस्ती अभागी छु? मानिसहरूलाई भेलामा उपस्थित गराउने प्रबन्ध मिलाएकी मात्र के थिएँ, भेलाको समय नै बितिसकेछ। भेला अरू केही दिन स्थगित हुनेभयो।” ती दुई दिन, म अति चिन्तित भएँ, सोचेँ, “मैले कार्ययोजनाप्रति दृढ प्रतिबद्धता जनाएको छु। तर अहिले, यति लामो समय बितिसक्दा, मैले कसैसँग भेट्न समेत पाएकी छैन। अगुवाले मेरो कामको प्रगतिबारे सोध्दा म के जवाफ दिउँला? यदि उहाँहरूले मैले कार्यान्वयन सुरु गरेकी छैन भन्ने थाहा पाउनुभयो भने के उहाँहरूले मलाई काममा ढिलासुस्ती गरिरहेकी भन्ने ठान्नुहोला?” अप्रत्याशित रूपमा, दुई दिनपछि, अगुवाले मलाई एउटा चिठी पठाउनुभयो जसमा लेखिएको थियो चिनियाँ कम्युनिष्ट पार्टीले देशभरि नयाँ चरणको धरपकड सुरु गरेको छ, जसले गर्दा धेरै मण्डली अगुवाहरू र कामदारहरू गिरफ्तार भएका छन्। मलाई तत्कालका लागि कसैसँग भेलाको व्यवस्था नगर्न भनियो। मैले मनमनै गुनासो गरेंँ, “मैले भर्खरै केही मानिसहरूलाई आउन प्रबन्ध मिलाएकी छु, र अब म भेला गर्न सक्दिनँ। यसले गर्दा काम गर्न झन् गाह्रो पो हुन्छ!” यो सबैकुराको सामना गर्दा, मेरो मन खिन्न भयो, सोचेँ, “म पनि राम्रो काम गर्न चाहन्छु, तर काम कार्यान्वयन गर्दा किन सबै कुरा बिग्रियो? परमेश्वरले किन सुरक्षा प्रदान गर्नुभएन? यस्तो लाग्छ मेरो भाग्य नै राम्रो छैन।” जति मैले यस बारेमा सोचेंँ, उति नै मलाई आफू अभागी भएको र सबै कुरा गलत भइरहेको महसुस भयो। त्यो रात, म ओछ्यानमा कोल्टे फेर्दै रहेँ र निदाउन सकिनँ। मैले परमेश्वरलाई प्रार्थना गरेंँ र उहाँको अभिप्राय खोजेंँ। मैले मानिसहरूको सौभाग्य पछ्याइलाई प्रकाश गर्नेबारेका परमेश्वरका वचनहरू सम्झेंँ, त्यसैले मैले परमेश्वरका वचनहरूको त्यो अध्याय फेला पारेंँ र पढेंँ।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “आफूलाई सधैँ अभागी ठान्ने मानिसहरूको समस्या के हो? तिनीहरूले आफ्नो व्यवहार सही छ कि गलत छ भनेर मापन गर्न, र तिनीहरूले लिनुपर्ने मार्ग, तिनीहरूले अनुभव गर्नुपर्ने कुराहरू, र तिनीहरूले सामना गर्ने कुनै पनि समस्याहरू तौलनको लागि भाग्यको मापदण्ड प्रयोग गर्छन्। यो सही हो कि गलत हो? (गलत हो।) तिनीहरूले खराब कुराहरूलाई अभागी भन्ने शब्दले र असल कुराहरूलाई भाग्यमानी वा फाइदाजनक भन्ने शब्दले व्याख्या गर्छन्। यो दृष्टिकोण सही छ कि गलत छ? (गलत छ।) यस्तो दृष्टिकोणले मापन गर्नु गलत हुन्छ। विभिन्न कुराहरू मापन गर्ने यो विधि र मापदण्ड चरम र गलत छ। यस्तो तरिकाले मानिसहरूलाई प्राय निराशामा डुबाउँछ, र प्राय असहज महसुस गराउँछ, र यसले तिनीहरूलाई तिनीहरूले भनेजस्तो कहिल्यै हुँदैन, र तिनीहरूले चाहेको कहिल्यै मिल्दैन भन्ने महसुस गराउँछ, जसले गर्दा तिनीहरूलाई निरन्तर चिन्ता, झन्झट, र असहज महसुस हुन्छ। जब यी नकारात्मक संवेगहरूलाई समाधान नगरी त्यतिकै छोडिन्छ, तब यी मानिसहरू निरन्तर निराशामा डुब्छन् र आफूलाई परमेश्वरले निगाह गर्नुहुन्न भन्ने महसुस गर्छन्। तिनीहरू परमेश्वरले अरूलाई अनुग्रहसाथ व्यवहार गर्नुहुन्छ तर आफूलाई गर्नुहुन्न, र परमेश्वरले अरूको हेरचाह गर्नुहुन्छ तर आफूलाई गर्नुहुन्न भन्ने सोच्छन्। ‘मलाई किन सधैँ असहजता र चिन्ता हुन्छ? किन मेरो जीवनमा सधैँ खराब कुराहरू आइपर्छन्? किन असल कुराहरू मेरो बाटोमा कहिल्यै आउँदैनन्? एकपटक मात्रै भए पनि त आए हुन्थ्यो!’ जब तैँले यस्तो गलत सोच र दृष्टिकोणले विभिन्न कुराहरू हेर्छस्, तब तँ असल र खराब भाग्यको फन्दामा पर्नेछस्। जब तँ निरन्तर यो पासोमा परिरहन्छस्, तँलाई निरन्तर निराशा महसुस हुन्छ। यो निराशामाझ, तँ तेरो जीवनमा आइपर्ने कुराहरू भाग्यशाली हुन् कि दुर्भाग्यशाली हुन् भन्ने कुराप्रति अत्यन्तै संवेदनशील हुन्छस्। जब यस्तो हुन्छ, यसले तँ असल भाग्य र खराब भाग्यसम्बन्धी यो दृष्टिकोण र विचारद्वारा नियन्त्रित भएको छस् भन्ने प्रमाणित गर्छ। जब तँ यस्तो दृष्टिकोणद्वारा नियन्त्रित भएको हुन्छस्, तब मानिसहरू, घटना, र परिस्थितिहरू हेर्ने तेरो दृष्टिकोण र मनोवृत्ति सामान्य मानवताको विवेक र समझको दायराभित्र रहेको हुँदैन, बरु चरम अवस्थामा पुगेको हुन्छ। जब तँ यो चरम अवस्थामा पुग्छस्, तँ आफ्नो निराशाबाट मुक्त हुन सक्दैनस्। तँ बारम्बार निराशामा परिरहन्छस्, र तैँले सामान्यतया निराशा महसुस नगरे पनि, कुनै गलत कुरा आइपर्ने बित्तिकै, र तँलाई कुनै अभागी घटना घटेको छ भन्ने महसुस हुनेबित्तिकै, तँ तुरुन्तै निराशामा डुब्छस्। यो निराशाले तेरो सामान्य मूल्याङ्कन र निर्णय प्रक्रियामा असर पार्छ, र तेरो खुसी, रिस, शोक, र आनन्दमा पनि असर पार्छ। जब यसले तेरो खुसी, रिस, शोक, र आनन्दमा असर पार्छ, तब यसले तेरो कर्तव्यपालन, र परमेश्वरलाई पछ्याउने तेरो इच्छा र चाहना बिथोल्छ र नष्ट पार्छ। जब यी सकारात्मक कुराहरू नष्ट हुन्छन्, तब तैँले बुझेका थोरै सत्यताहरू पनि हावामा बिलाएर जानेछन् र ती कुरा तेरो लागि कुनै फाइदाका हुँदैनन्। त्यसकारण, जब तँ यो दुष्चक्रमा पर्छस्, तँलाई आफूले बुझेका थोरै सत्यता सिद्धान्तहरू अभ्यास गर्न पनि निकै गाह्रो हुनेछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरू पढेपछि, मैले मेरो हालैको व्याकुलता र खिन्नताको भावना कामकुराहरूप्रतिको मेरो गलत दृष्टिकोणका कारण थियो भन्ने महसुस गरेंँ। मैले आफ्नो भाग्य असल छ वा खराब भन्ने कुरा ध्यानमा राख्दै ममाथि आइपरेका सबै कुराहरूको मापन र निराकरण गरिरहेकी थिएँ। काम कार्यान्वयन अवधिमा निरन्तर विभिन्न अवरोधहरू आइपर्दा, र मानिसहरूसँगको भेलाको प्रबन्ध सहज रूपमा अघि नबढ्दा अनि बाधा आइपर्दा, मलाई आफू अत्यन्तै अभागी भएको र मेरो भाग्य खराब भएको महसुस हुन्थ्यो। विशेष गरी मैले अरू मण्डलीहरूमा काम सामान्य रूपमा अघि बढिरहेको देखेकी थिएँ, जबकि मैले मानिसहरूलाई भेलामा उपस्थित गराउने प्रबन्ध गर्दा केही कुरा पनि ठीक हुँदैनथ्यो—कि त ब्रदर-सिस्टरहरूलाई सुरक्षाको चिन्ता हुन्थ्यो, वा समय नभएर उनीहरू धेरै व्यस्त हुन्थे, र मैले अन्ततः भेलाको प्रबन्ध मिलाइसकेपछि पनि भेला छुटाएकी थिएँ—यी सबै घटनाहरूले मलाई आफू अभागी भएकी र मेरो भाग्य खराब भएको भनेर झन् धेरै महसुस गराएको थियो, र त्यसैले म खिन्न र कुण्ठित भएकी थिएँ। मैले परमेश्वरले मलाई सुरक्षा प्रदान गरिरहनुभएको छैन भनेर गुनासो समेत गरेकी थिएँ, जसले गर्दा मैले आफ्नो कर्तव्य पूरा गर्ने उत्प्रेरणा गुमाएकी थिएँ। अब मैले परमेश्वरले विभिन्न प्रतिकूल परिस्थितिहरू घटित हुन दिनुभएको थियो ताकि मैले सत्यता पछ्याउन र पाठ सिक्न सकुँ, जुन मेरो जीवनका लागि लाभदायक थियो भन्ने बुझेंँ। म नकारात्मक भावनाहरूमा जिउन सक्दिनथेंँ। यो महसुस गरेपछि, मेरो हृदय शान्त भयो। म आफ्ना समस्याहरू समाधानका साथै परमेश्वरले प्रबन्ध गर्नुभएका परिस्थितिहरूलाई सही रूपले लिनका लागि सत्यता पछ्याउन चाहन्थेंँ।
आफ्नो भक्तिको समयमा, मैले परमेश्वरका यी वचनहरू पढेंँ: “साँचो कुरा के हो भने व्यक्तिले राम्रो महसुस गर्छ कि गर्दैन भन्ने कुरा उसको आफ्नै स्वार्थी मनसाय, इच्छा, र आत्मचासोमा आधारित हुन्छ, त्यो कुराको सारमा आधारित हुँदैन। त्यसकारण, मानिसहरूले कुनै कुरालाई असल वा खराब भनी मूल्याङ्कन गर्ने आधार नै गलत हुन्छ। अनि, आधार नै गलत भएको हुनाले, तिनीहरूले निकाल्ने अन्तिम निष्कर्ष पनि गलत नै हुन्छ। अब, असल भाग्य र खराब भाग्यको विषयमा फर्केर हेर्दा, सबैलाई भाग्यसम्बन्धी यो भनाइ निराधार छ, र यो असल पनि हुँदैन र खराब पनि हुँदैन भन्ने कुरा थाहा भएको छ। तैँले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरू असल भए पनि खराब भए पनि, ती सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तले नै तय गरेका हुन्छन्, र त्यसकारण तैँले तिनलाई उचित रूपमा सामना गर्नुपर्छ। तैँले असल कुरा पनि परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ, र खराब कुरा पनि परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ। असल कुराहरू हुँदा आफू भाग्यमानी छु, र खराब कुराहरू हुँदा आफू अभागी छु भनेर नभन्। यो मात्र भन्न सकिन्छ कि यी सबै कुराहरूमा मानिसहरूले सिक्नुपर्ने पाठहरू हुन्छन्, र तिनीहरूले ती कुराहरू इन्कार गर्ने वा ती कुराहरूबाट तर्किने गर्नु हुँदैन। तिमीहरू असल कुराहरूको लागि पनि परमेश्वरलाई धन्यवाद देओ, र खराब कुराहरूको लागि पनि परमेश्वरलाई नै धन्यवाद देओ, किनभने ती सबै कुराको बन्दोबस्त उहाँले नै मिलाउनुभएको हुन्छ। असल मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूले मानिसहरूलाई तिनीहरूले सिक्नुपर्ने पाठहरू प्रदान गर्छन्, तर खराब मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूबाट सिक्नुपर्ने कुराहरू अझै धेरै हुन्छन्। यी सबै कुरा अनुभव र घटनाक्रमहरू हुन्, जुन व्यक्तिको जीवनको भाग बन्नुपर्छ। मानिसहरूले यी कुराहरू मापन गर्न भाग्यसम्बन्धी विचारहरू प्रयोग गर्नु हुँदैन। त्यसोभए, कुनै कुरा असल हो कि खराब हो भनेर मापन गर्न भाग्य प्रयोग गर्ने मानिसहरूको विचार र दृष्टिकोणहरू के-के हुन्? त्यस्ता मानिसहरूको सार के हो? किन तिनीहरूले असल भाग्य र खराब भाग्यप्रति यति धेरै ध्यान दिन्छन्? भाग्यमा धेरै ध्यान दिने मानिसहरूले आफ्नो भाग्य असल होस् भन्ने चाहन्छन् कि खराब होस् भन्ने चाहन्छन्? (तिनीहरू आफ्नो भाग्य राम्रो होस् नै भन्ने चाहन्छन्।) ठीक भन्यौ। वास्तवमा, तिनीहरूले आफ्नो असल भाग्य होस् र आफ्नो जीवनमा राम्रा घटनाहरू घटून् भन्ने चाहन्छन्, र तिनीहरूले यी कुराहरूबाट फाइदा र नाफा कमाउँछन्। अरूले कति धेरै कष्ट, वा कति धेरै कठिनाइ वा अप्ठ्याराहरू भोग्छन् भन्ने कुरा तिनीहरू वास्ता गर्दैनन्। तिनीहरूले दुर्भाग्य ठान्ने कुनै पनि कुरा आफ्नो जीवनमा आओस् भन्ने चाहँदैनन्। अर्को शब्दमा भन्दा, तिनीहरू आफ्नो जीवनमा कुनै खराब घटना घटेको चाहँदैनन्: कुनै बाधा, कुनै असफलता वा बेइज्जती, कुनै काटछाँट, वा कुनै कुरा हराउने, छुटाउने, र कुनै छलमा पर्ने अवस्था आएको चाहँदैनन्। यदि यस्ता कुनै कुरा भयो भने, तिनीहरूले यसलाई खराब भाग्य ठान्छन्। यदि खराब कुराहरू आइपर्यो भने, ती कुराहरू जोसुकैद्वारा तय गरिएको भए पनि, ती अभागीकै कुरा हुन्छन्। तिनीहरू आफ्नो जीवनमा—बढुवा हुने, भीडबाट माथि उठ्ने, अरूको अप्ठ्यारोको फाइदा उठाउने, कुनै कुराबाट फाइदा लुट्ने, धेरै पैसा कमाउने, वा उच्च ओहोदाको अधिकारी बन्ने—सबै कुरा होऊन् भन्ने आशा गर्छन् र तिनीहरू यसलाई राम्रो भाग्य ठान्छन्। तिनीहरू आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरूलाई सधैँ भाग्यको आधारमा मापन गर्छन्। तिनीहरू खराब भाग्य होइन, असल भाग्य पछ्याइरहेका हुन्छन्। कुनै कुरा अलिकति गलत हुनेबित्तिकै, तिनीहरू रिसाउँछन्, झर्किन्छन्, र असन्तुष्ट हुन्छन्। सीधै भन्दा, यस्ता मानिसहरू स्वार्थी हुन्छन्। तिनीहरू अरूको बेफाइदाबाट फाइदा लिने, आफ्नै लागि नाफा कमाउने, सर्वश्रेष्ठ हुने, र भीडभन्दा माथि उठ्ने प्रयास गर्छन्। तिनीहरू हरेक असल कुरा आफ्नो जीवनमा मात्रै भयो भने मात्रै सन्तुष्ट हुन्छन्। यो तिनीहरूको प्रकृति र सार हो; यो तिनीहरूको साँचो रूप हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरू पढेपछि, मैले कामकुराहरू सहज रूपमा अघि बढ्छन् वा बढ्दैनन् भन्ने आधारमा तिनलाई राम्रो वा नराम्रो भन्न सकिँदैन भन्ने बुझेंँ। यसको भाग्यसँग कुनै सरोकार छैन। हामीले हरेक दिन सामना गर्ने परिस्थितिहरू परमेश्वरको सार्वभौमिकता र प्रबन्ध अन्तर्गत नै हुन्छन्। ती सबै हाम्रो जीवनका लागि लाभदायक हुन्छन्। परमेश्वरमा विश्वास नगर्ने गैरविश्वासीहरूका बारेमा सोच्दा, उनीहरूमाथि जेसुकै आइ परेपनि, उनीहरूले त्यसलाई परमेश्वरबाट स्वीकार गर्दैनन्, केवल आफ्नै हित र हानिहरू विचार गर्छन्। विपत्ति आइपर्दा, उनीहरू स्वर्गबारे गुनासो गर्छन् र अरूलाई दोष दिन्छन्, आफूलाई अभागी र आफ्नो भाग्य खराब भएको ठान्छन्। के म पनि त्यस्तै थिइनँ र? विगतमा, जब मैले कसैको काममा उनीहरूका लागि सबै कुरा सहज रूपमा अघि बढेको—निरन्तर पदोन्नति पाइरहेको, हाकिमको कृपा पाइरहेको, वा अरूद्वारा उच्च सम्मान पाएको—देखेकी थिएँ म उसको भाग्य असाधारण रूपमा राम्रो भएको र उसले सधैँ अनुकूल परिस्थितिहरूको सामना गरेजस्तो लाग्ने, जबकि आफूले उति नै मिहिनेत गरे पनि त्यति भाग्यमानी नभएको र निरन्तर विभिन्न कठिनाइहरूको सामना गरेको महसुस नगरी बस्न सक्दिनथेँ, साथै विशिष्ट देखिन वा कसैको नजरमा पर्न सक्दिनथेँ, अनि अक्सर हाकिमबाट आलोचित हुन्थेँ। त्यसैले म सबै दुर्भाग्यपूर्ण कुराहरू मैमाथि भइरहेका छन् भन्ने विश्वास गर्थेंँ र स्वर्गबारे गुनासो गर्थेंँ अनि अरूलाई दोष दिन्थेंँ। परमेश्वरमा विश्वास गर्न थालेपछि पनि, म उस्तै थिएँ। जब मैले असल क्षमता भएका तथा आफ्नो कर्तव्यमा प्रभावकारी भएका, र अगुवाहरूले महत्व दिने अनि अरूले उच्च सम्मान गर्ने ब्रदर-सिस्टरहरूलाई देखेकी थिएँ, मेरो हृदयमा डाह जागेको थियो, उनीहरू कति भाग्यमानी छन् जबकि म कति अभागी छु, आफ्नो कर्तव्यमा बारम्बार बाधा-अड्चन र विपत्तिहरूको सामना गर्छु भन्ने महसुस गर्थेंँ। मैले यो मेरो खराब भाग्यका कारणले गर्दा हो भन्ने विश्वास गरेकी थिएँ। मैले अब आफ्नो दृष्टिकोण बेतुके रहेको देखेंँ। जसलाई मैले आपत् र खराब भाग्य ठानेकी थिएँ, त्यसलाई मैले आफ्नै हितका आधारमा निर्धारण गरेकी थिएँ। मैले यदि मेरो कामको कार्यान्वयन सुरुदेखि नै सहज भएको भए, र नतिजाहरू सुधारिएका भए, अनि मैले आफूलाई कसैको नजरमा पार्न सकेकी भए, म पक्कै पनि खुसी हुनेथिएँ भनी मनन गरेंँ। मैले ओठले त परमेश्वरको अभिप्रायलाई ख्याल गर्छु, र आफ्नो कामको प्रभावकारिता सुधार्न आफ्नो कर्तव्यमा कडा कोशिस गर्नेछु भनेर दाबी गरेकी थिएँ। तर, वास्तवमा, म केवल आफ्नै प्रतिष्ठा र हैसियत, अनि अगुवाले मलाई कसरी हेर्नुहुन्छ भन्ने कुरामा मात्र ध्यान दिएकी थिएँ। मेरो हृदयमा साँच्चै परमेश्वरका लागि कुनै स्थान थिएन। म साँच्चै नै धेरै स्वार्थी भएकी रहेछु! जब मेरा व्यक्तिगत स्वार्थहरू खतरामा पर्थे, मैले स्वर्गबारे गुनासो गरेकी र अरूलाई दोष दिएकी थिएँ, र त्यसलाई परमेश्वरबाट पटक्कै स्वीकार गरेकी थिइनँ। के यो गैरविश्वासीहरूको जस्तै दृष्टिकोण थिएन र?
पछि, मैले परमेश्वरका अरू वचनहरू पढेंँ: “जीवनमा हरेक व्यक्ति कैयौँ बाधा र असफलताहरूबाट गुज्रनुपर्छ। कसको जीवन सन्तुष्टिले मात्रै भरिएको हुन्छ र? कसले पो कहिल्यै असफलता वा बाधा सामना नगर्ने हुन्छ र? जब कहिलेकहीँ तेरो जीवनमा परिस्थिति सही रूपले अघि बढ्दैन, वा जब तैँले बाधा र असफलता सामना गर्छस्, त्यो खराब भाग्य होइन, बरु तैँले अनुभव गर्नुपर्ने कुरा हो। त्यो खाना खाएजस्तै कुरा हो—तैँले अमिलो, गुलियो, तीतो, र पिरो सबै खानुपर्छ। मानिसहरू नुनविना बाँच्न सक्दैनन्, त्यसैले तिनीहरूले केही मात्रामा नुनिलो कुरा खानुपर्छ, तर तैँले धेरै नुन खाइस् भने, यसले तेरो मिर्गौलामा हानि गर्नेछ। कुनै याममा तैँले केही अमिलो खाने कुरा खानुपर्छ, तर धेरै खाइस् भने राम्रो हुँदैन, किनभने यो तेरो दाँत वा पेटको लागि राम्रो होइन। सबै कुरा ठिक्क खानुपर्छ। तैँले अमिलो, नुनिलो र गुलियो कुरा खान्छस्, तर तैँले केही तीतो कुरा पनि खानुपर्छ। तीतो कुरा केही भित्री अङ्गको लागि राम्रो हुन्छ, त्यसकारण तैँले थोरै मात्रामा भए पनि तीतो खानुपर्छ। व्यक्तिको जीवन पनि त्यस्तै हो। तेरो जीवनको हरेक चरणमा तैँले भेट्ने मानिसहरू, घटना, र परिस्थितिहरू तँलाई मन पर्छ नै भन्ने हुँदैन। यस्तो किन हुन्छ? किनभने मानिसहरूले फरक-फरक कुराहरू पछ्याउँछन्। यदि तँ ख्याति, लाभ, हैसियत, र धनको पछि लाग्छस्, र अरूभन्दा माथि उठ्न र ठूलो सफलता पाउन खोज्छस्, र यस्तै इत्यादि कुराहरू हासिल गर्न चाहन्छस् भने, ९९ प्रतिशत कुराहरू तँलाई मन पर्नेछैनन्। यो त मानिसहरूले भनेजस्तै कुरा हो: यो सबै खोटो भाग्य र दुर्भाग्यको कुरा हो। तर यदि तैँले आफू कति भाग्यमानी वा अभागी छु भन्ने सोच त्यागेर, यी कुराहरूलाई शान्त र सही रूपमा लिन्छस् भने, तैँले धेरैजसो कुराहरू त्यति नकारात्मक वा सम्हाल्न गाह्रो पाउनेछैनस्। जब तँ आफ्ना महत्त्वाकाङ्क्षा र इच्छाहरू त्याग्छस्, जब तँ आफ्नो जीवनमा आइपर्ने दुर्भाग्य इन्कार्न वा त्यसबाट तर्किन छोड्छस्, र त्यस्ता कुराहरूलाई तँ कति भाग्यमानी वा अभागी छस् भन्ने हिसाबबाट मापन गर्न छोड्छस्, तब तैँले दुर्भाग्य र खराब भनी ठान्ने गरेका धेरै कुराहरू तँलाई असल लाग्न थाल्नेछन्—ती खराब कुराहरू असल कुरामा परिणत हुनेछन्। तेरो मानसिकता र तेरो दृष्टिकोण परिवर्तन हुनेछ, जसले गर्दा तैँले आफ्नो जीवन अनुभवलाई फरक तरिकाले महसुस गर्नेछस्, र यस क्रममा फरक फलहरू प्राप्त गर्नेछस्। यो एउटा असाधारण अनुभव हो, जसले तँलाई तैँले कल्पनै नगरेका फलहरू दिलाउनेछ। यो राम्रो कुरा हो, खराब कुरा होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरू पढेपछि, मैले बुझेंँ हरेक व्यक्तिले जीवनमा धेरै कुराहरू भोग्नुपर्छ, धेरै बाधा-अड्चन र असफलताहरू, साथै खुशी र दुःखका क्षणहरू अनुभव गर्नुपर्छ। यसरी, हाम्रो जीवनका अनुभवहरू समृद्ध हुन्छन्। प्रायः हामीले, आफूलाई पीडा र दुःख दिने भएपनि, आफ्नो इच्छाअनुसार नहुने कुराहरूको अनुभव गर्छौँ केवल यही प्रक्रियाबाट मात्र हामी मजबुत बन्न सक्छौँ र हाम्रो मानवता बिस्तारै अझ परिपक्व र गम्भीर हुन्छ। यो भनेको हामीले आफ्नो कर्तव्यमा केही असफलताहरू अनुभव गरेपछि प्रकट हुने, पछि आफूलाई मनन गरेर र सत्यता खोजेर, आफ्नै भ्रष्टता र कमजोरीहरू बुझ्न थाले जस्तै हो। यसले हाम्रो जीवन प्रवेशलाई फाइदा पुर्याउँछ। यी अनुभवहरूविना, हामी अलिकति पनि आँधीबेहरी सहन नसक्ने, अति कमजोर हरितगृहका फूलहरूजस्तै हुन्छौँ। मैले आफूले विगतमा अन्तरक्रिया गरेका केही ब्रदर-सिस्टरहरूका बारेमा मनन गरेंँ, कतिपयको क्षमता राम्रो थियो र उनीहरू आफ्नो कर्तव्यमा प्रभावकारी थिए, र अरूले उनीहरूलाई उच्च सम्मान गर्थे। बाहिरबाट हेर्दा, उनीहरूका लागि सबै कुरा सहज रूपमा चलिरहेको, र उनीहरूले कुनै बाधा-अड्चन वा असफलताहरू नै अनुभव नगरेको जस्तो देखिएको थियो। तर, उनीहरूले सत्यता पछ्याएनन्। उनीहरूको काम केही प्रभावकारी हुँदा उनीहरूले आफ्नो बारेमा घमण्ड गरेका थिए र आफ्नो वरिष्ठताको धाक लगाएका थिए। उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा आफ्नै इच्छाअनुसार काम गरेका थिए, जसले गर्दा मण्डलीको काममा गम्भीर बाधा र अवरोधहरू उत्पन्न भएका थिए। अन्ततः, उनीहरू ख्रीष्ट विरोधीहरूको मार्गमा हिँडेका र पश्चात्ताप नगरेकाले निकालिएका थिए। यसबाट मैले महसुस गरेंँ कर्तव्यहरू सहज रूपमा पूरा गर्नु र अरूबाट उच्च सम्मान पाउनु अनिवार्य रूपमा राम्रा कुरा वा भाग्यका सङ्केत होइनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्ति सत्यता पछ्याउने मार्गमा हिँडिरहेको छ कि छैन र विविध कुराहरूका बाबजुद आफ्नो भ्रष्ट स्वभाव समाधानका लागि सत्यता खोज्नमा ध्यान केन्द्रित गर्छ कि गर्दैन भन्ने हो। मैले के पनि बुझेंँ भने मानवीय धारणाहरूसँग बाझिने हरेक परिस्थिति, मानिसहरूले सत्यता खोजुन्जेल र त्यसबाट पाठ सिकुन्जेल, तिनीहरूको जीवनका लागि लाभदायक हुन्छ। मलाई नै उदाहरणका रूपमा लिँदा, यदि मैले हालै आफ्नो कर्तव्यमा अवरोधको सामना नगरेकी भए, म आफ्नो कर्तव्य केवल अरूको अगाडि देखाउनका लागि मात्र गरिरहेकी थिएँ, प्रतिष्ठा र हैसियतको लागि काम गरिरहेकी थिएँ, र म गलत मार्गमा थिएँ भन्ने मैले महसुसै गर्ने थिइनँ यदि मैले अन्ततः यसरी आफ्नो कर्तव्य पूरा गरे तापनि, म सत्यता अभ्यास गरिरहेकी वा सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेकी हुने थिइनँ। अन्तोगत्वा, मेरो भ्रष्ट स्वभावमा परिवर्तन नआएका कारणले म परमेश्वरद्वारा तिरस्कृत हुने र हटाइने थिएँ। मैले महसुस गरेंँ यी प्रतिकूल परिस्थितिहरूका पछाडि परमेश्वरको असल अभिप्राय थियो, जुन म आफैँलाई चिन्न सक्षम बनाउनका लागि थियो, र यो परमेश्वरको प्रेम थियो।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेंँ र आफ्नो बारेमा केही थप बुझाइ प्राप्त गरेंँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरू आफ्ना धारणा र कल्पनाहरूमाझ जिउँछन् र तिनीहरूले त्यसैलाई पछ्याउँछन्; त्यसकारण, अपरिहार्य रूपमा नै तिनीहरूले यिनै धारणा र कल्पनाहरूका आधारमा सबै कुरा हेर्छन्, र सबै कुराबारे मूल्याङ्कन र निर्धारण गर्छन्। त्यसैले, परमेश्वरले जसरी सत्यता प्रदान गर्नुभए पनि र मानिसहरूलाई कुन दृष्टिकोण अपनाउनुपर्छ र कुन मार्ग लिनुपर्छ भनेर भन्नुभए पनि, मानिसहरूले आफ्ना धारणा र कल्पनाहरू त्याग्दैनन् भने, तिनीहरू ती अनुसार नै जिइरहनेछन्, र यी धारणा र कल्पनाहरू स्वाभाविक रूपमा नै मानिसहरूको जीवन र तिनीहरू बाँच्ने नियमहरू बन्नेछन्, र ती कुराहरू अपरिहार्य रूपमा नै मानिसहरूले सबै प्रकारका घटना र कामकुराहरूलाई सम्हाल्ने तरिका र विधिहरू बन्नेछन्। मानिसहरूका धारणा र कल्पनाहरू तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने सिद्धान्त र मापदण्ड बनेपछि, तिनीहरूले परमेश्वरमा जसरी विश्वास गरे पनि, वा तिनीहरूले जसरी पछ्याए पनि, र तिनीहरूले जति नै धेरै कठिनाइ भोगे पनि वा जति नै धेरै मूल्य चुकाए पनि, त्यो सबै व्यर्थ हुनेछ। यदि कुनै व्यक्ति आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछ भने, यस व्यक्तिले परमेश्वरको प्रतिरोध गरिरहेको हुन्छ र ऊ उहाँप्रति विरोधी हुन्छ; ऊसँग परमेश्वरले तयार गर्नुभएका वातावरणहरू वा उहाँका मागहरूप्रति साँचो समर्पणता हुँदैन। त्यसपछि अन्तिममा, तिनीहरूको परिणाम अत्यन्तै दुःखदायी हुनेछ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरू पढेपछि, मैले बुझेंँ मानवीय धारणाहरू र कल्पनाहरू मानिसहरूलाई सत्यता अभ्यास गर्न र प्राप्त गर्नबाट रोक्ने बाधा तथा कठिनाइहरू हुन्। जब हामी कामकुराहरूको सामना गर्छौँ, यदि हामीले तिनीहरूलाई आफ्नै धारणा र कल्पनाहरूका आधारमा मूल्याङ्कन गर्यौँ भने समर्पित हुन सजिलो हुँदैन। यो अवधिमा, म आफ्नै धारणा र कल्पनाहरूमा जिएँ। मैले सोचेंँ काम कार्यान्वयन गर्दा, म पनि प्रभावकारिता सुधार्न र कामलाई ध्यानमा राख्न चाहन्थेंँ। त्यसकारण मैले परमेश्वरले मलाई सुरक्षा दिनुपर्थ्यो र सबै कुरा सहज रूपमा अघि बढ्ने सुनिश्चित गर्नुपर्थ्यो भन्ने ठानेँ। अब मैले मेरा विचारहरू धेरै अव्यावहारिक रहेछन् भन्ने देखेँ। परमेश्वरले व्यवस्था गर्नुभएका परिस्थितिहरूका पछाडि परमेश्वरका सूक्ष्म प्रबन्ध र असल अभिप्रायहरू हुन्छन्। ती मानवीय आवश्यकताहरू अनुरूप पनि बनाइएका हुन्छन्। केही परिस्थितिहरू मानवीय धारणाहरूको विपरीत देखिन सक्छन्, तर ती सबैमा परमेश्वरको सु-इच्छा समावेश हुन्छ। हामीले कामकुराहरूलाई बाहिरीरूपबाट मात्र मूल्याङ्कन गर्नुहुँदैन। मैले सृजित प्राणीको स्थानमा उभिएर परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुपर्छ। मैले मनन गरेंँ यस पटक, भेलाको व्यवस्था गर्न र काम कार्यान्वयन गर्न मेरो असफलतामा वास्तवमा परमेश्वरको सुरक्षा थियो। किनकि मैले पछि थाहा पाएँँ मैले भेला स्थलका रूपमा प्रयोग गर्ने योजना बनाएको घर पुलिसको निगरानीमा रहेछ। भाग्यवश, हामी त्यहाँ गएनौँ। अन्यथा, हामी गिरफ्तारी वा निगरानीमा पर्न सक्थ्यौँ, जसले गर्दा धेरै मानिसहरू फस्न सक्थे र झन् गम्भीर परिणामहरू आउन सक्थे। पछि यसमा ध्यानपूर्वक मनन गर्दा, मैले देखेंँ यो अवस्थाले मलाई परमेश्वरको सार्वभौमिकता र बन्दोबस्त देख्न मात्र होइन, मलाई आफ्नो बारेमा केही बुझाइ प्राप्त गर्न समेत मद्दत गर्यो। मैले देखेंँ आफ्नो कर्तव्य पूरा गर्ने मेरो प्रेरणा आफ्नै फाइदाको लागि थियो, परमेश्वरलाई सन्तुष्ट पार्न सत्यता अभ्यास गर्नका लागि थिएन। जब परमेश्वरले मेरा धारणाहरूसँग मेल नखाने परिस्थितिहरूको व्यवस्था गर्नुभयो, मैले परमेश्वरप्रतिको आफ्नो विद्रोह र प्रतिरोध प्रकट गर्दै, बिना कारण परमेश्वरसँग माग र गुनासो गरेंँ। यदि यस्ता परिस्थितिहरू नआएका भए, मलाई आफ्नो बारेमा कुनै बुझाइ हुने थिएन, पश्चात्ताप र परिवर्तनको त कुरै छोडौँ। मैले यो सबै मेरा लागि परमेश्वरको मुक्ति हो भन्ने महसुस गरेंँ। धेरै ठाउँहरूमा मण्डलीहरूले अहिले प्रहरी धरपकडको सामना गरिरहेको कुरा विचार गर्दा, यस्तो परिस्थितिमा, म केवल पर्दा पछाडिबाट कामको फलो-अप गर्न सक्थेंँ। यस परिस्थितिमा मैले गर्न सक्ने काम सीमित भएपनि, मैले आफ्नो सम्पूर्ण शक्तिले सक्दो प्रयास गर्नुपर्थ्यो, कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर धेरै खोजी गर्नुपर्थ्यो, र आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो। जसरी परमेश्वरले भन्नुहुन्छ: “कतिपयले भन्छन्, ‘कठोर वातावरण भएका निश्चित स्थानहरूमा, हामीले आमनेसामने भई मानिसहरूसँग अन्तरक्रिया गर्न सक्दैनौं। हामीले कसरी तिनीहरूको जाँच गर्न सक्छौं र?’ परिस्थिति जति नै कठोर भए पनि, यी कुराहरू सम्हाल्ने विधि र शैलीहरू हुन्छन्। यो तँ जिम्मेवार अनि साँचो रूपमा समर्पित छस् छैनस् भन्ने कुरामा निर्भर हुन्छ। के यस्तै हुन्छ होइन र? (हो।) यदि तैँले आफ्नो बफादारी र जिम्मेवारी अर्पित गर्छस् भने, परिणाम उचित नभए पनि, परमेश्वरले यसलाई सुक्ष्म रूपमा जाँच्नुहुन्छ र चिन्नुहुन्छ, र यसको जिम्मेवारी तँमाथि आइपर्नेछैन। तर तैँले आफ्नो बफादारी र जिम्मेवारी अर्पित गर्दैनस् भने, केही पनि कुरा गलत भएन र यसले अन्त्यमा कुनै दुष्परिणाम ल्याएन भने पनि, परमेश्वरले यसलाई सुक्ष्म रूपमा जाँच्नुहुनेछ। यी दुई शैलीको प्रकृति फरक छ, र परमेश्वरले यी दुई कुरालाई फरकफरक तरिकाले लिनुहुनेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। हाल, ब्रदर-सिस्टरहरूले मुख्यगरी केही धार्मिक धारणाहरूका बारेमा स्पष्ट जवाफ दिन नसकेको कुरा विचार गर्दै, मैले केही मुख्य धारणाहरूमा ध्यान केन्द्रित गरेंँ र परमेश्वरका सान्दर्भिक वचनहरू खोजेंँ, त्यसपछि मेरो आफ्नै बुझाइका आधारमा उनीहरूलाई विस्तृत रूपमा बताउँदै पत्र लेखेंँ। जब ब्रदर-सिस्टरहरूले सुसमाचार प्रचार गर्दा समस्या र कठिनाइहरूको सामना गरे, मैले तुरुन्तै उनीहरूसँग सङ्गति गर्न पत्राचार गरेंँ। केही समय यो काम गरेपछि, हाम्रो सुसमाचार प्रचारको प्रभावकारिता पहिलेको तुलनामा केही सुधारिएको थियो। काममा अझै धेरै समस्याहरू भएपनि, मसँग यो काम गर्ने विश्वास छ। उहाँको मार्गदर्शनका लागि परमेश्वरलाई धन्यवाद!