७५. म अब मेरो गन्तव्यको बन्धनमा छैनँ
सुरुमा परमेश्वरलाई पाउँदा, म एकदमै उत्साही थिएँ, र दुई महिनापछि, मैले सामान्य मामिलाको कर्तव्य निर्वाह गर्न थालेँ। पछि, मैले अतिथिसेवाको कर्तव्य लिएँ, र सबै किसिमका कामहरूमा व्यस्त भए पनि, कठिनाइ वा थकानबारे कहिल्यै गुनासो गरिनँ। मैले मुक्ति पाउन अझ धेरै असल कार्यहरू तयार गर्नुपर्छ, र आफ्ना कर्तव्यमा अझ धेरै दुःख सहनुपर्छ र मूल्य चुकाउनुपर्छ भन्ने विश्वास गरेँ। दुई वर्षपछि, सन् २००७ मा, मलाई मण्डलीको अगुवाका रूपमा छानियो, र मैले अझ धेरै मेहनत गरेँ र अझ धेरै आफूलाई समर्पित गरेँ। म साइकल चलाउन सक्दिनथेँ, त्यसैले यातायात असुविधा भएका ठाउँका भेलाहरूमा हिँडेरै जान्थेँ। मलाई थकाइ लाग्दैनथ्यो, मानौं मसँग अनन्त शक्ति थियो, अनि परमेश्वरले मेरा प्रयासहरू हेरिरहनुभएको छ र भविष्यमा परमेश्वरले मेरा त्यागहरूमा राम्रो गन्तव्यको इनाम दिनुहुनेछ भन्ने मलाई लाग्थ्यो। पछि, म मण्डलीले बन्दोबस्त गरेको जे-जस्तो कर्तव्यमा पनि सक्रिय रूपमा सहकार्य गर्थेँ, र मेरो बुढेसकालले केही वास्तविक कठिनाइहरू खडा गरे पनि, म यी कुराहरूको बन्धनमा कहिल्यै परिनँ।
सन् २०१७ मा, जब म ७६ वर्ष पुगेँ, तब अगुवाहरूले मेरा मण्डलीमा धुने कामको बन्दोबस्त मिलाउनुभयो। म एकदमै खुसी भएँ, र मलाई आफ्नो यस उमेरमा समेत, मैले अझै आफ्नो कर्तव्य पूरा गर्ने मौका पाएकी छु, यो साँच्चै परमेश्वरले मलाई अनुग्रह गरिरहनुभएको र उचालिरहनुभएको हो भन्ने लाग्यो! मैले आफूलाई आफ्नो कर्तव्य पूरा गर्ने यस मौकाको कदर गर्नुपर्छ भनेर भनेँ। त्यस समय कर्तव्यले मलाई निकै व्यस्त राख्थ्यो, र प्रायजसो म अबेर सुत्थेँ, तर मलाई थकाइ लाग्दैनथ्यो। सन् २०१९ को एक दिन, मलाई अचानक रिङ्गटा लाग्यो र हिँड्दा सास फेर्न केही गाह्रो भयो। अस्पतालमा जाँच गराएपछि, मलाई उच्च रक्तचाप र मुटुको रोग भएको पत्ता लाग्यो, र डाक्टरले मलाई उपचारका लागि अस्पताल भर्ना हुन सल्लाह दिए। मलाई असहज महसुस भयो, र सोचेँ, “अस्पतालमा भर्ना हुनु भनेको एक-दुई दिनको कुरा होइन; यदि म अस्पताल भर्ना भएँ भने, अगुवाहरूले पक्कै पनि मेरो कर्तव्य सम्हाल्न अरू कसैलाई खोज्नुपर्छ, त्यसपछि, के मैले यो कर्तव्य पूरा गर्ने मौका गुमाउनेछैनँ र? मैले आफ्नो यस उमेरमा, स्वास्थ्य समस्याका कारण अरू कर्तव्यहरू गर्न सक्नेछैनँ। यदि म अस्पतालबाट डिस्चार्ज भएँ र साना समूह भेलाहरूका लागि अतिथिसत्कार मात्रै गर्न सक्ने भएँ भने, त्यस्तो मामुली कर्तव्यमा मैले के असल कार्यहरू गर्न सक्नेछु र? असल कार्यविना, मैले कसरी मुक्ति पाउनेछु? अहँ, म उपचारका लागि अस्पताल भर्ना हुन आफ्नो कर्तव्य बिलकुलै छोड्न सक्दिनँ। यसबाहेक, यदि परमेश्वरले मलाई बिमार हुँदा पनि आफ्नो कर्तव्यमा लागिरहेको देख्नुभयो भने, पक्कै पनि मेरो सुरक्षा गर्नुहुनेछ।” मैले तुरुन्तै भनेँ, “म अस्पतालमा बस्ने छैन; बरु घरमै बसेर औषधि खानेछु।” त्यसपछि, मैले हरेक दिन सदाझैँ आफ्ना कर्तव्य निर्वाह गरिरहेँ।
दुई वर्षपछि एक रात, मलाई अचानक कम्मरदेखि नितम्बसम्म सुइरोले घोचेको जस्तो दुःखाइ महसुस भयो। भोलिपल्ट, मेरी छोरीले मलाई जँचाउन अस्पताल लगिन्, र अस्टियोपोरोसिसको कारण मेरो मेरुदण्ड भाँचिएको पत्ता लाग्यो। मेरो टाउको रन्कियो, र मलाई आफूमाथि आकासै खसिजस्तो लाग्यो। मलाई मेरो हृदयको गति बढेको र शरीरबाट शक्ति रित्तिएको महसुस भयो। म कुर्सीमा बसेँ, हृदयमा वर्णन गर्न नसकिने पीडा महसुस गरेँ, र यस वास्तविकताको कसरी सामना गर्ने भन्ने थाहा थिएन। मैले मनमनै सोचेँ, “मैले परमेश्वरमा यत्तिका वर्षदेखि विश्वास गर्दै आएकी छु, र मैले आफ्ना कर्तव्यमा ठूला कठिनाइहरू नभोगे पनि, धेरै साना कठिनाइहरू सहेकी छु। त्यसमाथि, मैले अहिले आफ्ना कर्तव्य पूरा गरिरहेकी हुनाले, यो रोग मलाई कसरी अचानक लाग्यो? के परमेश्वरले मलाई मेरो कर्तव्य गर्नबाट रोक्न यो प्रयोग गरिरहनुभएको हो?” मलाई एकदमै उदास महसुस भयो। त्यसपछि मैले सोचेँ, “म भविष्यमा यस रोगबाट निको भए पनि, मेरो उमेरमा, म कुनै पनि महत्त्वपूर्ण कर्तव्यहरू पूरा गर्न सक्नेछैनँ। बढीमा, म भेलाहरूका लागि अतिथिसत्कार गर्न मात्र सक्नेछु। म कष्ट भोग्न वा आफूलाई समर्पित गर्न सक्नेछैनँ, त्यसरी कर्तव्य पूरा गर्दा कस्ता असल कार्यहरू हुन सक्छन् र? सबै किसिमका कर्तव्यहरू पूरा गर्न सक्ने जवान ब्रदर-सिस्टरहरूप्रति मलाई साँच्चै डाहा हुन्छ। समयलाई केही दशक पछाडि फर्काउन सके कति राम्रो हुनेथ्यो! परमेश्वरले किन मलाई केही दशकपछि जन्मने अनुमति दिनुभएन?” घर फर्केपछि, म सुत्न मात्र सक्थेँ, र अलि-अलि गरेर घिस्रिँदै हिड्नुपर्थ्यो। म कुनै कर्तव्य गर्न सक्दिनथेँ। सिस्टरहरू आउँदा, ढोका खोल्नसमेत मलाई गाह्रो हुन्थ्यो। मलाई एकदमै नकारात्मक महसुस भयो, र सोचेँ, “के म निकम्म भएकी छु? मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी छु, सधैँ आफ्ना कर्तव्यहरू निर्वाह गरेकी छु, धेरै कष्ट भोगेकी छु र आफूलाई समर्पित गरेकी छु। एकताका म आफूले मुक्ति पाउन सक्छु भनी विश्वास गर्थेँ, तर मैले आफू निक्कमा भएकी छु र कुनै कर्तव्य निर्वाह गर्न सक्दिनँ भनेर कहिल्यै सोचेकी थिइनँ।” यी सोचहरूले मलाई हतोत्साहित बनाए। म नकारात्मकताको स्थितिमा जिएँ, र मेरो हृदयले परमेश्वरसामु शान्ति पाउन सकेन। मेरो आत्मा एकदमै अन्ध्यारो भयो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, जबदेखि म बिरामी भएँ र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सकिनँ, तबदेखि मलाई निकै दिक्दारी महसुस भएको छ। म सधैँ मुक्ति पाउन सक्दिनँ कि भनेर चिन्तित हुन्छु, र यो समाधान गर्न सत्यताको कुन पक्ष खोज्नुपर्छ भन्ने मलाई थाह छैन। कृपया, मलाई मेरा समस्याहरू चिन्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”
पछि, मैले परमेश्वरका केही वचन पढेँ: “विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘मेरो स्वास्थ्य स्थिति त्यति राम्रो छैन र मैले कुन कर्तव्य निभाउन सक्छु भन्नेबारेमा पनि सीमितता आएको छ। यदि मैले यो सानो कर्तव्य मात्रै पूरा गरेँ भने, के परमेश्वरले मलाई सम्झनुहोला त? कहिलेकहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। मलाई हेरचाह गर्ने कोही नहुँदा, मैले आफ्नो कर्तव्य पूरा गर्न सक्दिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र मसँग अरूलाई बताउनलायक कुनै अनुभव छैन। म वृद्ध भइसकेँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र म पहिलेजस्तो दह्रिलो पनि छैनँ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। म मुक्ति प्राप्त गर्न र सत्यता पछ्याउन चाहन्छु तर साह्रै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ तिनीहरूले यी कुराहरू सोच्दा, तिनीहरू फिक्री गर्न थाल्छन् र यस्तो सोच्छन्, ‘मैले कसरी यो उमेरमा मात्रै परमेश्वरमा विश्वास गर्न थालेँ? म किन २० र ३० वर्षतिरका मानिसहरूजस्तो, वा ४० वा ५० वर्षतिरका मानिसहरूजस्तो समेत छैनँ? मैले कसरी बुढो भएपछि मात्रै परमेश्वरको कामबारे थाहा पाएँ? मेरो भाग्य खराब पनि होइन; कम्तीमा पनि अहिले मैले परमेश्वरको कामबारे थाहा पाएँ। मेरो भाग्य राम्रो छ, र परमेश्वर मसँग दयालु हुनुभएको छ! मलाई एउटै कुरामा मात्रै खुसी लागेको छैन, र त्यो के हो भने म साह्रै बुढो भइसकेको छु। मेरो स्मरण शक्ति राम्रो छैन, र मेरो स्वास्थ्य स्थिति पनि राम्रो छैन, तर मेरो हृदय दह्रिलो छ। यति मात्र हो मेरो शरीरले मैले भनेको मान्दैन, र भेलाहरूमा केही समय सुनेपछि मलाई निद्रा लाग्छ। कहिलेकहीँ म प्रार्थना गर्न आँखा बन्द गर्छु र निदाउन पुग्छु, र परमेश्वरका वचनहरू पढ्दा मेरो मन घुम्छ। थोरै पढेपछि पनि, मलाई निद्रा लाग्छ र म झुल्छु, र उहाँका वचनहरू बुझ्दिनँ। मैले के गर्न सक्छु? यस्ता व्यावहारिक कठिनाइहरू भए पनि, के मैले अझै सत्यता पछ्याउन र बुझ्न सक्छु? यदि मैले सकिनँ भने, र यदि म सत्यता सिद्धान्तहरू अभ्यास गर्न असक्षम भएँ भने, के मेरो सबै विश्वास व्यर्थ हुँदैन र? के म मुक्ति प्राप्त गर्न असफल हुँदिनँ र? मैले के गर्न सक्छु? मलाई साह्रै चिन्ता लाग्छ! …’ … पाकाहरूले गर्ने कुरा केही नहुने, वा तिनीहरूले कर्तव्य पूरा गर्न वा सत्यता पछ्याउन नसक्ने भन्ने होइन—तिनीहरूले धेरै कुरा गर्न सक्छन्। तैँले आफ्नो जीवनकालमा बटुलेका धेरै विधर्म र भ्रमहरू, साथै विभिन्न परम्परागत विचार र धारणा, अज्ञानी र जिद्दी कुराहरू, परम्परागत कुराहरू, तर्कहीन कुराहरू, र विकृत कुराहरू तेरो हृदयमा थुप्रिएका छन्, र यी कुराहरू खनेर निकाल्न, चिरफार गर्न, र पहिचान गर्नको लागि तैँले भक्खरकाहरूले भन्दा बढी समय बिताउनुपर्छ। तँसँग गर्ने काम केही नभएको, वा तँ कमजोर अवस्थामा भएर तैँले हैरानी, बेचैनी र चिन्ता महसुस गर्नुपर्ने हो भन्ने होइन—यो तेरो काम पनि होइन र तेरो जिम्मेवारी पनि होइन। सर्वप्रथम, पाका मानिसहरूमा सही मानसिकता हुनुपर्छ। तेरो उमेर ढल्किरहेको भए पनि र शारीरिक रूपमा तँ अरूभन्दा पाको भए पनि, तँमा अझै पनि युवा मानसिकता हुनुपर्छ। तँ वृद्ध हुँदै गइरहेको, तेरो सोच धीमा भइरहेको र तेरो स्मरण शक्ति कमजोर भइरहेको भए पनि, यदि तैँले अझै पनि आफूलाई चिन्न, मैले बोलेका वचनहरू बुझ्न, र सत्यता बुझ्न सक्छस् भने, त्यसले तँ वृद्ध भएको छैनस् र तेरो क्षमता कमजोर भएको छैन भन्ने प्रमाणित गर्छ। यदि कुनै व्यक्ति ७० को दशकमा छ र उसले सत्यता बुझ्न सक्दैन भने, उसको कद सानो छ र ऊ काम गर्ने अवस्थामा छैन भन्ने देखाउँछ। त्यसकारण, सत्यताको कुरा गर्दा उमेरको कुनै सम्बन्ध हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरू पढेर आफ्नो स्थितिबारे चिन्तन गरेपछि, मैले आफ्नो स्थिति परमेश्वरले खुलासा गर्नुभएजस्तै रहेछ भन्ने बुझेँ, र मलाई लाज र अप्ठ्यारो लाग्यो। धेरै वर्षदेखि, मैले परमेश्वरमा विश्वास गरेकी थिएँ र सत्यतामा मेहनत गर्नाको सट्टा बाहिरी काममा ध्यान केन्द्रित गरेकी थिएँ, अनि ममा मानिसहरूलाई मुक्ति दिन परमेश्वर कसरी काम गर्नुहुन्छ भन्नेसम्बन्धी सत्यताहरूको स्पष्ट बुझाइ थिएन। म बिरामी परेपछि, मेरो भ्रष्ट स्वभाव र भ्रामक, पक्षपातपूर्ण सोच र विचारहरू सबै खुलासा भए। जब म स्वस्थ थिएँ, मलाई बिमार वा प्रकोप आइपरेको थिएन, तब तब हरेक दिन कुनै जवान व्यक्तिले जस्तै आफ्नो कर्तव्य निर्वाह गर्थेँ, र मलाई एकदमै खुसी लाग्थ्यो। मेरो उमेर बढ्दै जाँदा, एकपछि अर्को गर्दै विभिन्न रोग आए, र म कहिले बिरामी परेर आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने पो हुन्छु कि भनी निरन्तर चिन्तित हुन्थेँ। म अक्सर चिन्तित हुन्थेँ र दिक्क मान्थेँ अनि नकारात्मक संवेगहरूमा डुब्थेँ। पछि, म बिरामी परेर आफ्नो कर्तव्य पूरा गर्न नसक्दा, पूरै टुटेँ र परमेश्वरलाई गलतसमेत बुझेँ, परमेश्वर मलाई हटाउन चाहनुहुन्छ र उहाँले अब मलाई मुक्ति दिनुहुन्न भन्ने सोचेँ, त्यसैले म उठ्न सकिनँ र नकारात्मक स्थितिमा जिएँ। अब मैले के बुझेँ भने म बूढी र बिरामी भए पनि र आफ्नो कर्तव्य गर्न बाहिर जान नसके पनि, मेरो दिमाग अझै स्पष्ट थियो, म अझै परमेश्वरका वचनहरू बुझ्न सक्थेँ, र अझै पनि आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोज्न सक्थेँ। परमेश्वरका वचनहरूको मार्गदर्शनमा, मैले आस्था प्राप्त गरेँ। मैले मनमनै भनेँ, जीवित छँदै मैले सत्यताका लागि प्रयास गर्न र आफूभित्रका पक्षपातपूर्ण अनि भ्रामक सोच र विचारहरूको समाधानमा सत्यता प्रयोग गर्न यो सीमित मौका छोप्नुपर्छ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, पहिले मैले आफ्नो कर्तव्यमा आफूलाई समर्पित गर्न सक्दा, मलाई आफूले साँच्चै सत्यता पछ्याएकी छु भन्ने लाग्थ्यो, तर अहिले म बिरामी परेकी छु, मैले गलतफहमीहरू विकास गरेकी छु र म नकारात्मकताले असाध्यै थिचिएकी छु। यो वास्तवमा के कारणले भएको हो? कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् ताकि मैले पाठ सिक्न सकूँ।”
मैले परमेश्वरका वचनका दुइटा खण्ड पढेँ: “परमेश्वरमा विश्वास गर्ने सबै मानिसहरू उहाँको अनुग्रह, आशिष् र प्रतिज्ञाहरू लिन मात्र तयार हुन्छन्, तिनीहरू उहाँको दया र करुणा स्विकार्न मात्र इच्छुक हुन्छन्। तर कसैले पनि परमेश्वरको सजाय र न्याय, उहाँको परीक्षा र शोधन वा उहाँको वञ्चितीकरण स्विकार्न प्रतीक्षा वा तयारी गरिरहेको हुँदैन, अनि एक जनाले पनि परमेश्वरको न्याय र सजाय, अनि उहाँको वञ्चितीकरण वा श्राप स्विकार्न तयारी गर्दैन। के मानिस र परमेश्वरबीचको यो सम्बन्ध सामान्य हो कि असामान्य हो? (असामान्य।) किन तँ यो सम्बन्ध आसामन्य हो भन्छस्? यसमा के कमी छ? त्यो कमी भनेको मानिसहरूमा सत्यता नहुनु हो। यस्तो किन हुन्छ भने, मानिसहरूमा एकदमै धेरै धारणा र कल्पना हुन्छन्, तिनीहरू निरन्तर परमेश्वरलाई गलत बुझ्छन् र सत्यता खोजेर यी कुरा सच्याउँदैनन्—यसले गर्दा समस्याहरू आउने सम्भावना सबैभन्दा बढी हुन्छ। खास गरी, मानिसहरू आशिष् पाउन मात्र परमेश्वरमा विश्वास गर्छन्। तिनीहरू परमेश्वरसँग सौदा गर्न र उहाँबाट विभिन्न कुरा माग्न मात्र चाहन्छन्, तर सत्यता पछ्याउँदैनन्। यो एकदमै खतरनाक कुरा हो। तिनीहरू आफ्नो धारणाविपरीत कुनै कुरा आइपर्नासाथ, तुरुन्तै परमेश्वरबारे गुनासो गर्न र गलत बुझ्न थाल्छन्, र उहाँलाई धोका दिने हदसम्म जानसमेत सक्छन्। के यसका परिणामहरू गम्भीर हुँदैनन् र? धेरैजसो मानिसहरू परमेश्वरप्रतिको आफ्नो विश्वासमा कुन मार्ग हिँड्छन्? तिमीहरूले एकदमै धेरै प्रवचन सुनेका छौ होला र तिमीहरूलाई आफूले निकै सत्यता बुझेका छौँ भन्ने लाग्छ होला, तर तथ्य के हो भने, तिमीहरू अझै पनि आफ्नो पेट भर्न मात्र परमेश्वरमा विश्वास गर्ने मार्ग हिँडिरहेका छौ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))। “मानिसहरूले आशिष्, इनाम, र मुकुट पाउन परमेश्वरमा विश्वास गर्छन्। के हरेकको हृदयमा यही कुरा हुँदैन र? हुन्छ, र यही तथ्य हो। मानिसहरूले यसबारेमा त्यति कुरा नगरे पनि, र तिनीहरूले आशिष्हरू पाउने आफ्नो मनसाय र इच्छालाई प्रायजसो लुकाउने भए पनि, मानिसहरूको हृदयभित्र हुने यो इच्छा र मनसाय सधैँ नै अटल रूपमा रही आएको छ। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य पूरा गरे पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आफ्नो हृदयमा लुकेको आशिष् पाउने मनसाय कहिल्यै त्याग्न सक्दैनन्, र सधैँ चुपचाप यसको सेवामा दुःख गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो प्रेरणाविना, तिमीहरू कस्तो महसुस गर्नेथियौ? तिमीहरू कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ? यदि यो आशिष् प्राप्त गर्ने प्रेरणालाई मनबाट निकालेर फाल्न सके मानिसहरू कस्ता हुनेथिए? सायद धेरै मानिसहरू नकारात्मक हुनेथिए, र उनीहरूमध्ये धेरै जना आफ्नो कर्तव्यमा प्रेरणारहित बन्नेथिए। उनीहरूले आफ्नो हंस हराएझैँ परमेश्वरमाथिको विश्वासमा आफ्नो रुचि गुमाउने थिए। उनीहरू हृदय थुतिएका प्राणीजस्तै देखिने थिए। त्यसैले त म भन्छु, आशिष् पाउने मनसाय भनेको मानिसहरूको हृदयको गहिराइभित्र लुकेको कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरले जे खुलासा गर्नुभयो त्यो मेरो वास्तविक स्थिति थियो। परमेश्वरमा विश्वास गरेका धेरै वर्षसम्म, मेरा सबै समर्पण र कष्ट आशिष् पाउने मेरो चाहनाद्वारा प्रेरित थिए। मैले आफ्नो त्याग र समर्पणलाई राज्यमा प्रवेश गर्नका लागि साटासाट गर्ने मोलतोलको माध्यम ठानेँ। म के विश्वास गर्थेँ भने मैले जति धेरै कष्ट सहेँ, जति ठूलो मूल्य चुकाएँ, र जति धेरै असल कार्यहरू तयार पारेँ, त्यति नै धेरै मुक्ति पाउन योग्य हुन्छु। त्यसैले मैले आफ्ना कर्तव्यमा कष्ट र समर्पणलाई ध्यान दिएँ, तर जब म बिरामी परेँ र उप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ, तब अचानक म टुटेँ। यसले ठ्याक्कै म के हुँ भनेर साँचो रूपमा प्रकट गर्यो। जब केही पाउनु थियो, तब मैले आफूलाई सबै कुरा त्याग्न, कठिनाइहरू सहन, मूल्य चुकाउन र आफूलाई समर्पित गर्न समर्थ पाएँ, तर मैले आशिष् पाउने आफ्नो आशा गएको देखेपछि, हार मानेँ, र एकै क्षणमा, मेरा सबै गलतफहमी र गुनासाहरू बाहिर आए। मैले बुझेँ, म आशिष् पाउन मात्रै आफ्नो कर्तव्य पूरा गरिरहेकी छु, र आफ्नो मेहनत, कष्ट र समर्पणलाई परमेश्वरसँग मोलतोल गर्ने माध्यमका रूपमा लिइरहेकी छु। म साँच्चै घृणित थिएँ! मैले गरेको कुराले परमेश्वरमा मप्रति तिरस्कार र घृणा मात्र जगाएन, मलाई आफैदेखि घृणा लाग्ने पनि बनायो। मजस्तो व्यक्ति परमेश्वरको मुक्ति पाउन योग्य थिएन! परमेश्वरका वचनहरूको खुलासाद्वारा मैले आफू आफ्नो आस्थामा गलत मार्गमा छु, र मैले पश्चात्ताप गरिनँ भने, मेरो असफलता निश्चित छ भन्ने बुझेँ।
एक दिन, मैले परमेश्वरका थप वचनहरू पढेँ: “परमेश्वरमा विश्वास गर्नु भनेको अनुग्रह वा परमेश्वरको सहन र निगाह प्राप्त गर्नु होइन। त्यसो भए, यो के हो त? यो मुक्ति पाउने कुरा हो। अनि मुक्तिको निसान के हो? परमेश्वरले तोक्नुभएका मापदण्डहरू के-के हुन्? मुक्ति पाउन के चाहिन्छ? आफ्नो भ्रष्ट स्वभाव हटाउनुपर्छ। यो मामिलाको मुख्य कुरा यही हो। त्यसैले, अन्त्यमा सबै कुरा भनिएपछि र गरिएपछि, तैँले जति नै कष्ट भोगेको भए पनि वा जति नै ठूलो मूल्य चुकाएको भए पनि, वा आफूलाई जति नै साँचो विश्वासी भएको घोषणा गरे पनि—यदि अन्त्यमा तेरो भ्रष्ट स्वभाव हटाइएकै छैन भने, यसको अर्थ तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। यो पनि भन्न सकिन्छ कि तैँले सत्यता नपछ्याउने भएकोले तेरो भ्रष्ट स्वभाव नहटेको हो। यसको अर्थ तँ मुक्तिको मार्गमा हिँडेकै छैनस्; यसको अर्थ परमेश्वरले मानिसलाई मुक्ति दिन भन्नुहुने र गर्नुहुने सबै कुराले तँमा केही पनि हासिल गरेको छैन, यसले तँलाई गवाही दिन डोऱ्याएकै छैन, र यसले तँमा फल फलाएकै छैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (२))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, मुक्तिको मापन व्यक्तिले कति वटा बाटो हिँडेको छ वा कति ठूलो मूल्य चुकाएको छ भन्ने कुराद्वारा गरिँदैन। कुनै व्यक्तिले जतिवटै बाटो हिँडेको होस् वा जतिसुकै कष्ट भोगेको होस्, यदि उसको स्वभाव परिवर्तन भएको छैन भने, उसले मुक्ति पाउन सक्दैन र अन्ततः हटाइनेछ। सत्यता पछ्याएर र आफ्नो स्वभाव परिवर्तन गरेर मात्रै व्यक्तिले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छ। विगतमा, म आफूले जति धेरै कर्तव्य गरेँ र जति धेरै कष्ट भोगेँ, मेरो मुक्तिको मौका त्यति नै बढी हुन्छ भन्ने विश्वास गर्थेँ। त्यसैले मैले केवल बाहिरी काम गर्न, आफूलाई समर्पित गर्न र कष्ट भोग्नमा मात्रै ध्यान केन्द्रित गरेँ, र मैले यी कामकुरा गरेँ भने, मसँग मुक्ति पाउने मौका हुनेछ भन्ने सोचेँ, र मेरो पछ्याइ न्यायोचित छ भन्नेसमेत सोचेँ। मैले आफ्ना विचारहरू साँच्चै विकृत छन् भन्ने बुझेँ। जब म बिरामी परेँ, मैले आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोजिनँ, बरु परमेश्वरप्रति गलतफहमी र गुनासाहरू विकास गरेँ, र म नकारात्मकताको स्थितिमा जिएँ। सत्यताका लागि मेरो पछ्याइको कमी भएकाले, मैले जतिवटै बाटो हिँडे पनि वा जतिसुकै कष्ट भोगे पनि, यदि मेरो जीवन स्वभाव परिवर्तन भएन भने, मैले परमेश्वरको अनुमोदन पाउनेथिइनँ। परमेश्वरले मानिसहरूलाई कर्तव्य पूरा गर्ने मौका दिनुको अर्थ उनीहरूलाई आफ्ना कर्तव्यका क्रममा जीवन प्रवेशमा ध्यान केन्द्रित गर्न समर्थ बनाउनु, र उनीहरूलाई सत्यता सिद्धान्तहरूअनुसार काम गर्न, निरन्तर आत्मचिन्तन गर्न र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोज्न सक्षम पार्नु हो। यी कामकुरा गरेर मात्रै मानिसहरूले परमेश्वरबाट मुक्ति प्राप्त गर्न सक्छन्। मैले परमेश्वरका वचनहरूको “परमेश्वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोसे भन्ने चाहनुहुन्छ” शीर्षकको भजन सुनेँ:
…………
३ हरेक व्यक्तिको हकमा कुरा गर्दा, तेरो क्षमता, तेरो उमेर, वा तैँले परमेश्वरमा विश्वास गरेको वर्ष सङ्ख्या जे-जति भए पनि, तैँले सत्यता पछ्याउने मार्गतर्फ प्रयास लगाउनुपर्छ। तैँले कुनै पनि वस्तुगत कारणलाई जोड दिनु हुँदैन; तैँले निःसर्त सत्यता पछ्याउनुपर्छ। झारा टार्दै नबस्। मानौँ तैँले सत्यता पछ्याइलाई आफ्नो जीवनमा ठूलो मामलाका रूपमा लिन्छस्, र यसतर्फ लागिपर्छस् र मेहनत गर्छस्, र सायद अन्त्यमा तैँले तेरो पछ्याइमा प्राप्त गरेका र हासिल गर्न सकेका सत्यता तैँले चाहना गरेको जस्तो नहुन सक्छ, तर परमेश्वरले सत्यताको तेरो पछ्याइमा तैँले राख्ने मनोवृत्ति र तेरो निष्कपटताका आधारमा तँलाई उचित गन्तव्य दिनेछु भनी भन्नुहुन्छ—त्यो कति अद्भुत हुनेछ!
४ अहिलेको लागि तेरो गन्तव्य वा परिणाम कस्तो हुनेछ, के हुनेछ र भविष्यले के साँचेर राखेको छ, तँ विपत्तिबाट जोगिन सक्नेछस् र मर्नेछैनस् कि भनी ध्यान नदे—यी कुराहरू माग्ने वा तीबारे सोच्ने नगर्। परमेश्वरका वचन र उहाँका मागहरूमा सत्यता पछ्याउन, आफ्नो कर्तव्य राम्ररी निभाउन, परमेश्वरका अभिप्राय सन्तुष्ट गर्नमा मात्र ध्यान दे, र परमेश्वरको छ हजार वर्षको प्रतीक्षा, उहाँको छ हजार वर्षको अपेक्षालाई निराश नतुल्या। उहाँलाई सान्त्वना दे, तँमा केही आशा देख्ने तुल्या, तँमा उहाँका कामना साकार हुन दे। यदि तैँले त्यसो गरिस् भने, के परमेश्वरले तँलाई जथाभाबी व्यवहार गर्नुहुनेथियो? अनि यदि अन्तिम परिणाम आफूले कामना गरेजस्तो नभएमा, सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिगत योजना नराखी सबथोकमा परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुपर्छ। त्यो सही मानसिकता हो।
—वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ
यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “सत्यता पछ्याउनु मानव जीवनको ठूलो मामला हो। सत्यता पछ्याउनुजत्तिको महत्त्वपूर्ण अरू कुनै कुरा छैन, र महत्तवको हिसाबमा सत्यता प्राप्त गर्ने कार्यलाई अरू कुनै मामलाले उछिन्दैन। के आजको दिनसम्म परमेश्वर पछ्याउनु सजिलो भयो र? छिटो गर्, र सत्यता पछ्याउने कार्यलाई महत्त्वको विषय बना! आखिरी दिनहरूमा गरिने कामको यो चरण परमेश्वरले आफ्नो छ हजार वर्षे व्यवस्थापन योजनाअन्तर्गत मानिसहरूमा गर्नुहुने कामको सबैभन्दा महत्त्वपूर्ण चरण हो। सत्यता पछ्याउने कार्य परमेश्वरले आफ्ना चुनिएका मानिसहरूबाट गर्ने सबैभन्दा ठूलो अपेक्षा हो। उहाँले के आशा गर्नुहुन्छ भने, मानिसहरू सही मार्गमा हिँड्न सकून्, अर्थात् सत्यता पछ्याउन सकून्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। परमेश्वरका वचनहरूबाट, मैले परमेश्वरका श्रमसाध्य अभिप्रायहरू महसुस गरेँ, र त्यसले मेरो हृदय साँच्चै छोयो। मैले पछुतो र दोषको आँसु नझारी सक्दै सकिनँ। परमेश्वरमा मेरो आस्थाका वर्षहरूलाई फर्केर हेर्दा, मैले परमेश्वरका वचनहरूमा सत्यता खोज्नमा ध्यान केन्द्रित गरेकी थिइनँ, तर केवल बाहिरी काममा ध्यान केन्द्रित गरेकी थिएँ, र मेरो जीवन स्वभाव खासै परिवर्तन भएको थिएन भन्ने देखेँ। परमेश्वरले मलाई आफ्नो कर्तव्य पूरा गर्ने मौका दिएर अनुग्रह गर्नुभयो, मैले आफ्नो कर्तव्यको क्रममा सत्यता र जीवन प्रवेश पछ्याऊँ भन्ने अभिप्राय राख्नुभयो, तर म पथभ्रष्ट भएँ, र मैले आफ्नो कर्तव्य प्रयोग गरेर परमेश्वरसँग मोलतोल गर्न खोजेँ। मसँग कुन हिसाबले कुनै विवेक वा समझ थियो र? मैले उप्रान्त आफ्नो परिणाम र गन्तव्यमा ध्यान केन्द्रित गर्न हुँदैनथ्यो। परमेश्वरले मलाई भविष्यमा जस्तो व्यवहार गर्नुहुने भए पनि, वा मेरो परिणाम राम्रो हुने भए पनि नभए पनि, मैले गम्भीरतापूर्वक सत्यता पछ्याउनुपर्थ्यो र परमेश्वरको हृदयलाई सान्त्वना दिन क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो। पछि, जब मेरो स्वास्थ्यमा अलि सुधार आयो, तब मैले अतिथिसत्कारको कर्तव्य निर्वाह गर्न थालेँ।
त्यसपछि, सीसीपीले गरेको चरम सतावट र गिरफ्तारीको कारण, मैले उप्रान्त अतिथिसत्कारको कर्तव्य पूरा गर्न सकिनँ। म अलि अलमल्ल भएँ। तर त्यसपछि मैले सोचेँ, आफ्नो कर्तव्य गर्न नसके पनि, म अझै पनि घरमा आफै परमेश्वरका वचनहरू खाने र पिउने अभ्यास गर्न र तिनमा मनन गर्न थप मेहनत गर्न सक्छु, र म अनुभवात्मक गवाही लेखहरू लेख्न, सत्यता खोज्न र आत्मचिन्तन गर्न पनि सक्छु। त्यसबाहेक, मैले घरमा सिक्न सक्ने पाठहरू थिए। विगतमा, म सधैँ हैकम चलाउन, हैसियतको स्थानबाट बोल्न, र परिस्थितिहरू आइपर्दा बहस गर्न चाहन्थेँ, जसमा मैले समाधान गर्नुपर्ने मेरो अहङ्कारी स्वभाव समावेश थियो। त्यसैले मैले परमेश्वरका वचनहरू पढेँ र आत्मचिन्तन गरेँ, र आफूलाई परिस्थितिहरू आइपर्दा, म सचेत रूपमा समर्पित भएँ र मैले पाठहरू सिकेँ, र आफूलाई पन्छाउन र अरूको मार्गदर्शन स्विकार्न सिकेँ। अब, म बूढी भएकी छु र कुनै महत्त्वपूर्ण कर्तव्यहरू पूरा गर्न सक्दिनँ। तर परमेश्वर भन्नुहुन्छ: “के आजको दिनसम्म परमेश्वर पछ्याउनु सजिलो भयो र? छिटो गर्, र सत्यता पछ्याउने कार्यलाई महत्त्वको विषय बना! आखिरी दिनहरूमा गरिने कामको यो चरण परमेश्वरले आफ्नो छ हजार वर्षे व्यवस्थापन योजनाअन्तर्गत मानिसहरूमा गर्नुहुने कामको सबैभन्दा महत्त्वपूर्ण चरण हो। सत्यता पछ्याउने कार्य परमेश्वरले आफ्ना चुनिएका मानिसहरूबाट गर्ने सबैभन्दा ठूलो अपेक्षा हो। उहाँले के आशा गर्नुहुन्छ भने, मानिसहरू सही मार्गमा हिँड्न सकून्, अर्थात् सत्यता पछ्याउन सकून्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। परमेश्वरका वचनहरूले मलाई प्रेरित गर्छन्, र म सत्यता पछ्याउने प्रयास गर्न इच्छुक छु। जबसम्म म जिउँछु, तबसम्म म सत्यता पछ्याउनेछु र लगनशील भई परमेश्वरको पछि लाग्नेछु!