९. निष्कासित भएपछिको चिन्तन
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, म मण्डलीमा सधैँ सुसमाचार फैलाउँदै आएको थिएँ। पछि, म सुसमाचार प्रचार गर्न अर्को ठाउँमा गएँ र चार-पाँचवटा मण्डलीको सुसमाचारको कामको जिम्मा पनि लिएँ। केही समय कडा परिश्रम गरेपछि, सुसमाचारको कामले केही नतिजाहरू दियो, र म मनमनै मख्ख थिएँ। विशेष गरी, सुसमाचारको काममा कठिनाइको सामना गरेका केही मण्डली अगुवाहरू मसँग सङ्गति गर्न खोज्थे, अनि ब्रदर-सिस्टरहरूले पनि मलाई सम्मान गर्थे। त्यसैले, म धेरै खुसी थिएँ; सोचेँ “मैले निकै सत्यता बुझेको र ममा अलिकति सत्यता वास्तविकता पनि रहेको जस्तो लाग्छ।”
२०१३ मा, म स्थानीय मण्डलीमा सुसमाचार प्रचार गर्न फर्किएँ। मैले मनमनै सोचेँ, “विगत एक वर्षजति बाहिर सुसमाचार प्रचार गरेर बिताउँदा, मैले धेरै अभ्यास गर्न पाएँ र केही सत्यताहरू बुझेँ। अब म स्थानीय मण्डलीमा फर्किएको छु, म पक्कै पनि संवर्धनका लागि एक मुख्य उमेदवार हुँ, र जब ब्रदर-सिस्टरहरूले मेरो सङ्गति सुन्छन्, त्यो निश्चय नै विगतको भन्दा फरक हुनेछ। सायद चुनावमा म मण्डली अगुवा बन्नका लागि छानिन पनि सक्छु।” केही दिनपछि, जिया सिन नाउँकी एउटी मण्डली अगुवा मेरो घरमा आइन्। उनले आफूलाई कर्तव्यले निकै थकित बनाइरहेको, अनि केही सहकर्मीहरूले उनी समस्याहरू समाधान गर्न नसक्ने भनेका, उनी भेलाहरूमा सधैँ निदाउने गरेकी, साथै उनमा पवित्र आत्माले काम नगर्नुभएको हुनाले उनी आफैँले जवाफदेही भएर राजीनामा दिनुपर्ने बताइन्। उनले प्रचारकहरूले पनि उनलाई त्यसै गर्न आग्रह गरेका बताइन्। उनले ती दुई प्रचारकहरू कुनै समय उनीद्वारा नै बर्खास्त गरिएका, तर उनीहरूले कहिल्यै आत्मचिन्तन नगरेका र बरू जिया सिनले उनीहरूलाई दबाइरहेकी भनेका भन्ने कुरामा जोड दिन पनि भुलिनन्। जिया सिनले मेरी श्रीमती र मलाई यस्तो परिस्थितिको अनुभव कसरी गर्नुपर्ला भनेर सोधिन्। उनले यो सब भनेको सुनेर, मलाई असाध्यै रिस उठ्यो, सोचेँ “यो त प्रतिशोध भएन र? मैले पहिले जिया सिनसँग सहकार्य गरेको छु, र सुसमाचार प्रचार गर्दा उनी साँच्चै दुःख भोग्न र मूल्य चुकाउन सक्थिन्। कहिलेकाहीँ, नयाँ विश्वासीहरू अबेरसम्म काम गर्थे, तर पनि उनी सधैँ आफ्नो देहविरुद्ध विद्रोह गरेर उनीहरूसँग भेला हुन जान्थिन्। उनी निकै जिम्मेवार छिन्; उनमा पवित्र आत्माले काम गर्नुभएको छैन भनेर उनीहरूले कसरी भन्न सके? के उनीहरूले उनलाई दबाइरहेका छैनन् र? झूटा अगुवा र कामदारहरूले यस्तै गर्छन्। होइन, मैले यो कुरालाई यतिकै छोड्नु हुँदैन। अब म फर्किसकेकाले मैले उनलाई मदत गर्नैपर्छ।” त्यसको लगत्तै पछि, म यो मामिलाबारे बुझ्न र यसबारे अनुसन्धान गर्न मेरी श्रीमतीसँग गएँ। हामीले अनुसन्धान गर्दा, म मनमनै मख्ख परिरहेको थिएँ; सोचेँ “म त खुट्याउन निकै सिपालु रहेछु; मण्डलीमा फर्केको केही समयमै मैले झूटा अगुवाहरूलाई खुट्याएको छु। यदि यी झूटा अगुवा र कामदारहरूलाई रिपोर्ट गरेर बर्खास्त गर्न सकियो भने, मैले निकै ठूलो काम गरेको हुनेछु। उनीहरूलाई बर्खास्त गरेपछि, सायद मैले अगुवाका रूपमा छानिने मौका पाउनेछु। यो त एउटै ढुङ्गाले दुइटा चरा मार्नुजस्तै हुनेछ।” यस्तो सोचेपछि, मेरो “इन्साफको बोध” झनै बलियो भयो। केही दिनपछि, मैले थाहा पाएँ जिया सिनलाई धेरै सहकर्मीहरूले उनको पदबाट हटाएका रहेछन्। सहकर्मीहरूले मण्डलीमा जिया सिनको व्यवहारको चिरफार गरी ब्रदर-सिस्टरहरूलाई उनलाई खुट्याउनमा मदत गरे। यो खबर सुनेर, म रिसले चूर भएँ; सोचेँ “जिया सिनले तिमीहरू कसैले भन्दा बढी त्याग गर्न र दुःख भोग्न सक्छिन्। उनी पवित्र आत्माको काम नभएकी झूटा अगुवा कसरी हुन सक्छिन् र? तिमीहरू सबैलाई हटाउन सकिन्छ, तर उनलाई सकिँदैन।” यो बदलाको कार्य हो भनेर मैले विश्वास गरेँ, त्यसैले मैले भेला हुने ठाउँहरूमा यी अगुवा र कामदारहरू झूटा हुन्, र जिया सिनलाई हटाउनु कामको प्रबन्धअनुसार थिएन भनी आरोप फैलाएँ। यसले गर्दा ब्रदर-सिस्टरहरूले सामान्य मण्डली जीवन जिउन सकेनन्, र मण्डली अलि अस्तव्यस्त भयो।
केही समयपछि, मण्डलीको अस्तव्यस्तताको निराकरण गर्न एउटी सिस्टर आइन्। उनले के भनिन् भने उनको अनुसन्धानले जिया सिनलाई सत्यतामा सङ्गति गर्न नआउने र ब्रदर-सिस्टरहरूका वास्तविक समस्याहरू समाधान गर्न नसक्ने देखाएको थियो। उनले जिया सिन साँच्चै नै वास्तविक काम गर्न नसक्ने झूटा अगुवा रहेकी, र सिद्धान्तअनुसार, उनलाई बर्खास्त गर्नुपर्ने बताइन्। तर ती सिस्टरले यसो भनेको सुनेर, मलाई अलि शङ्का लाग्यो; सोचेँ, “के हामी साँच्चै नै यस विषयमा गलत थियौँ? त्यसो हुन सक्दैन! ममा पनि मानिसहरूको मूल्याङ्कन गर्ने कुराको एउटा आधार छ; म तिमीहरू सबैबाट भ्रमित हुनेछैन। तिमीहरूले ती अगुवा र कामदारहरूको पक्ष लिइरहेका छौ।” त्यसपछि, मैले ती सिस्टरले भनेका अरू कुराहरू केही पनि सुनिनँ, उनले कामकुराहरूलाई निष्पक्ष भएर सम्हालेकी छैनन् भन्ने मात्र सोचेँ। त्यसपछि, मैले अरू तीन जनासँग मिलेर एउटा रिपोर्ट पत्र लेखेँ, जसमा यी अगुवा र कामदारहरूले जिया सिनलाई हटाउनु सिद्धान्तअनुसार छैन र उनीहरूले उनीसँग बदला लिँदै छन् भनी उल्लेख गरेँ। तर, यो रिपोर्ट पत्र लेख्ने प्रक्रिया अलिकति पनि सहज थिएन। हामीले लेख्दै गर्दा, हामीबीच सधैँ मतभेद हुन्थ्यो, सबैले आ-आफ्नै धारणामा जिद्दी गर्थे। हामीले यसलाई पटक-पटक लेख्यौँ, र प्रत्येक चोटि नयाँ-नयाँ गल्तीहरू हुन्थे। मेरो मनमा शङ्का थियो; सोचेँ: “हामीले उनीहरूको रिपोर्ट गर्नु परमेश्वरको अभिप्रायअनुसार छैन कि? यदि छैन भने, हामीले यो गर्नु हुँदैन।” तर फेरि मैले सोचेँ, “यदि म यसबाट पछि हटेँ र अरूले साँच्चै झूटा अगुवाहरूबारे रिपोर्ट गरे र बर्खास्त भए भने, त्यसको जस उनीहरूले पाउनेछन्। त्यसोभए के मेरो पहिलेको सबै प्रयास व्यर्थमा जाने थिएन र? ब्रदर-सिस्टरहरूले पक्कै पनि उनीहरू नै सत्यता बुझ्ने, खुट्याउन सक्ने र इन्साफको बोध भएका व्यक्ति हुन् भन्ने सोच्नेछन्। कसैले पनि मलाई सम्मान गर्नेछैन।” त्यसैले, रिपोर्ट पत्र तयार भएपछि, मैले आफ्नो नाममा हस्ताक्षर गरेँ, र हामीले मण्डलीको अस्तव्यस्ततालाई सम्हाल्न आएकी सिस्टरको पनि रिपोर्ट गर्यौँ। पत्र बुझाएपछि, म मनमनै मख्ख थिएँ। मैले सोचेँ, “यस पटक, जब झूटा अगुवा र कामदारहरूलाई बर्खास्त गरिन्छ, र माथिल्लो तहका अगुवाहरूले म सत्यता बुझ्ने र मानिसहरूलाई खुट्याउन सक्ने देख्नुहुनेछ, उहाँहरूले मलाई नियम तोडेर पदोन्नति समेत गर्न सक्नुहुन्छ। ब्रदर-सिस्टरहरू सबैले मेरो क्षमताको प्रशंसा गर्नेछन्; त्यो कति गौरवपूर्ण होला!” धेरै दिनपछि, मैले माथिल्लो तहका अगुवाहरूबाट एउटा पत्र पाएँ, जसमा अहिले कम्युनिस्ट पार्टीको पक्राउ निकै गम्भीर रहेको, र यो रिपोर्ट पत्रलाई छानबिन गरी टुङ्गो लगाउन उहाँहरूलाई केही समय लाग्ने भनेर भनिएको थियो। एउटी सिस्टरले भनिन्, “भविष्यमा गिरफ्तारीहरू अझै बढ्न सक्छन्। यदि हामीले माथिल्लो तहका अगुवाहरूले यसको निराकरण गरुन् भनेर पर्ख्यौँ भने, धेरै ढिलो हुनेछ। हामी अगुवा वा कामदार नभएपनि, हामीले ब्रदर-सिस्टरहरूलाई अझ बढी खुट्याउन सक्ने बन्न मदत गर्नुपर्छ।” मैले सुनेँ; अनि सोचेँ, “हो त। ब्रदर-सिस्टरहरूलाई अझ बढी खुट्याउन सक्ने बन्न मदत गर्नु पनि आफ्नो कर्तव्य पूरा गर्ने एउटा तरिका होइन र? जब यी झूटा अगुवाहरूलाई बर्खास्त गरिन्छ, सबैले पक्कै पनि यो उपलब्धिको जस मलाई दिनेछन्, र सायद म अगुवाको रूपमा छानिन सक्नेछु।” त्यसैले, म भेला हुने ठाउँहरूमा गएँ अनि अगुवा र कामदारहरूले जिया सिनलाई हटाउनु सिद्धान्तअनुसार नभएको बताएँ। मैले जिया सिन झूटाे अगुवा नभएकी, र उनी बिहानदेखि साँझसम्म आफ्नो कर्तव्य निर्वाह गर्ने अनि केही वास्तविक काम गर्न सक्ने कुरा पनि बताएँ। त्यो अवधिमा, ब्रदर-सिस्टरहरू भेला हुँदा, उनीहरू परमेश्वरका वचनहरूमा सङ्गति नगरेर केवल यिनै मामिलाहरूमा टिप्पणी गर्थे। केही ब्रदर-सिस्टरहरू हामीबाट भ्रमित भए र हाम्रो पक्ष लिए, उनीहरूले अगुवा र कामदारहरूप्रति पूर्वाग्रह विकास गर्दै तिनीहरू झूटा भएको बताउन थाले। कतिपयले त उनीहरूलाई आफ्नो घरमा स्वागतसमेत गरेनन्, जसको परिणामस्वरूप अगुवा र कामदारहरूले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सकेनन्। खुट्याउन सक्षम केही मानिसहरूले अगुवा र कामदारहरूको पक्ष लिए, र हामीले मण्डलीको जीवनमा बाधा दिइरहेका छौँ भने। यसरी, मण्डलीमा दुईवटा गुट बन्यो; हामी एक-अर्काविरुद्ध खडा भएका दुई सेनाजस्तै थियौँ। जब-जब हामी भेला हुन्थ्यौँ, हामी यिनै विषयहरूमा छलफल गर्थ्यौँ, र ब्रदर-सिस्टरहरूले आफ्नो सामान्य मण्डली जीवन गुमाए। मण्डलीमा यो अस्तव्यस्तता यसरी नै महिनौँसम्म चल्यो।
एक दिन, माथिल्लो तहका अगुवाहरू हाम्रो रिपोर्ट पत्रको विषयवस्तुबारे अनुसन्धान गर्न र बुझ्न आए। मैले मनमनै सोचेँ, “ती झूटा अगुवा र कामदारहरूलाई पक्कै बर्खास्त गरिनेछ।” म यस कुरामा खुसी भइरहेको बेला नै, एक जना अगुवाले परमेश्वरका वचनहरू प्रयोग गरिन् र हाम्रो आचरणको प्रकृतिलाई चिरफार गरिन्। उनले हामीले गुट बनाइरहेका, मण्डलीलाई विभाजित गरिरहेका, र मण्डलीको जीवनमा बाधा पुऱ्याइरहेका, जसको परिणामस्वरूप अगुवा र कामदारहरूले सामान्य रूपमा काम गर्न नसकेका र मण्डलीको काम ठप्प भएको बताइन्। उनले हामीले दुष्ट काम गरिरहेकाे कुरा व्यक्त गरिन्। उनले के पनि भनिन् भने, एक अगुवाका रूपमा, जिया सिनले ब्रदर-सिस्टरहरूलाई परमेश्वरको काम अनुभव गर्न कसरी मार्गदर्शन गर्ने भन्ने जानेकी छैनन्, बरु, उनी सधैँ मानिसहरूलाई आफ्नो पक्षमा पार्न खोज्छिन् र सहकर्मीहरूप्रति आफ्नो असन्तुष्टि फैलाउँछिन्। उनमा पवित्र आत्माले कसरी काम गर्नुभएको होला र? उनले जिया सिनले वास्तविक काम गर्न वा ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सक्दिनन्, र उनले जतिसुकै आफूलाई त्यागेको र समर्पित गरेको देखाए तापनि, उनी झूटा अगुवा हुन् र उनलाई बर्खास्त गर्नु नै पर्छ भनिन्; यो सिद्धान्तअनुरूप कै कुरा थियो। ती सिस्टरले जिया सिन झूटा अगुवा हुन् भनेर सङ्गति र चिरफार गरेको सुनेर, मेरो मुटु ढुकढुक भयो, र मैले सोचेँ, “उनीहरूले भनेको कुरामा दम छ। जिया सिनलाई ती सहकर्मीहरूले खुलासा गरी हटाएका थिए, र उनले चिन्तन गर्दै आफैँलाई बुझ्ने कोसिस गर्नुपर्थ्यो। त्यसको सट्टा, उनी आफूमाथि अन्याय भएको भन्दै आफ्ना गुनासाहरू पोख्न पटक-पटक हामीकहाँ आइन्। उनले वास्तवमै सत्यता स्वीकार गर्ने वा परमेश्वरको कामको अनुभव गर्ने काम गरिनन्। मैले जिया सिनको पक्ष लिदै अरू अगुवा र कामदारहरूलाई आलोचना समेत गरेँ, र मण्डली जीवनमा बाधा पुर्याएँ। यसको प्रकृति गम्भीर छ!” तर, ममा आफ्नो आचरणबारे कुनै बुझाइ नभएकाले, त्यतिबेला मैले केवल आफूले गल्ती गरेको थिएँ भन्ने मात्र स्वीकार गरेँ। अन्तमा, माथिल्लो तहका अगुवाहरूले हामीले मण्डलीको जीवनमा चरम रूपमा बाधा पुर्याएका र यसको प्रकृति गम्भीर रहेको कुरा व्यक्त गरे। उनीहरूले हामीलाई घरमा एक्लै बसेर चिन्तन गर्ने प्रबन्ध मिलाइदिए।
एक दिन, म मेरी आमाको घर गएँ, र उहाँले मलाई निष्कासनका तीनवटा सूचना दिनुभयो। तिनलाई हेर्दा, मैले देखेँ, जिया सिन बाहेक, अचम्मैलाग्ने गरी, मेरी श्रीमती र मेरा लागि पनि निष्कासनका सूचनाहरू थिए। सूचनाहरूमा जिया सिन कुटिल र धूर्त रहेकी, मण्डलीमा कलहको बीउ रोप्ने र गुट बनाउने गरेकी, त्यसैले अन्ततः उनलाई ख्रीष्टविरोधी भनेर ठहर गर्दै निष्कासित गरिएको भन्ने लेखिएको थियो। मेरो सन्दर्भमा, मैले दुष्ट काम गर्न र मण्डलीको जीवनमा बाधा-अवरोध पुर्याउन यस ख्रीष्टविरोधीलाई पछ्याएँ। म यस ख्रीष्टविरोधीको मतियार थिएँ, र त्यसैले मलाई पनि निष्कासित गरियो। मैले यी निष्कासनका सूचनाहरू पढिसकेपछि, मैले आफ्ना आँखालाई विश्वास नै गर्न सकिनँ। यो त कुनै कैदीले आफ्नो मृत्युदण्डको लिखित फैसला देखेजस्तै थियो। म यति डराएँ कि खुट्टाहरू लल्याकलुलुक भए र म थरथरि काम्न थालेँ; अनि मैले सोचेँ, “म निष्कासित भएँ? हामीले त घरमा बसेर चिन्तन मात्र गर्नुपर्ने होइन र? हामी कसरी निष्कासित हुन सक्छौँ? मैले यस पटक साँच्चै ठूलो दुष्टता गरेको छु।” त्यसबेला, मेरो दिमाग शून्य भयो, र म हतार-हतार घर गएर मेरी श्रीमतीलाई हामी निष्कासित भएको कुरा बताएँ। उनलाई बताइसकेपछि, मैले आफूलाई थाम्न सकिनँ, र भुइँमा बसेर धुरुधुरु रोएँ। मैले मनमनै सोचेँ, “म त सकिएँ, अब म साँच्चै नै सकिएँ। परमेश्वरमा विश्वास गर्ने मेरो यात्राको अन्त्य भएको छ, र म फेरि कहिल्यै मण्डलीमा फर्कन सक्दिनँ। यस पटक, मैले साँच्चै परमेश्वरको स्वभावलाई चिढ्याएँ, र सायद कुनै दिन मैले दण्ड भोग्नुपर्नेछ।” यो सोच्दा, मेरो हृदयमा छुरा रोपेजस्तै भयो; म चरम निराशा र पीडामा थिएँ। यस्तो काम गर्न सकेकोमा मैले आफैलाई घृणा गरेँ। मैले कसरी जिया सिनका शब्दहरूमा अन्धो विश्वास गर्न सकेँ? मैले मण्डलीको जीवनमा पुर्याएको ठूलो बाधालाई पूर्ति गर्ने कुनै उपाय थिएन, र मैले जति धेरै यसबारे सोचेँ, मेरो मन उति नै धेरै दुख्यो। हरेक दिन, मलाई केही पनि गर्न मन लाग्दैनथ्यो। म खान सक्दिनथेँ वा राम्रोसँग सुत्न सक्दिनथेँ, र केही समयपछि, मेरो तौल १० पाउन्डभन्दा बढी घटेको थियो। हरेक दिन, म मर्नका लागि मात्रै पर्खिरहेको जस्तो हुन्थ्यो। मैले सोचेँ, अब मसँग मुक्ति पाउने कुनै मौका छैन, मेरो नियति नै दण्डित हुनु र नरकमा जानु हो। म अन्तिम चरणको क्यान्सरको बिरामीजस्तै अत्यन्तै नकारात्मक र निराश थिएँ। मैले सोचेँ, म ढिलो-चाँडो मर्नैपर्छ, त्यसैले यसलाई पहिले नै सिध्याइदिए पनि भयो। जब म सबैभन्दा पीडादायी र असहाय अवस्थामा थिएँ, मैले परमेश्वरका वचनहरूको एउटा भजनको बोल सम्झेँ “जतिसुकै ठूलो कष्ट भए पनि परमेश्वरलाई प्रेम गर्न खोज”: “आज, धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू कष्टको कुनै मूल्य हुँदैन भन्ने विश्वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको घरेलु जीवन समस्याग्रस्त छ, परमेश्वरलाई तिनीहरू मनोहर लाग्दैनन्, र तिनीहरूको भविष्य धूमिल छ। कतिपय मानिसहरूले एउटा हदसम्म कष्ट भोग्छन्, तिनीहरू मर्नसमेत चाहन्छन्। यो परमेश्वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायर हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र अयोग्य छन्!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। मैले यो भजन पटक-पटक सुनेँ। यस्तो लाग्यो परमेश्वरले मलाई के भन्न यो भजन प्रयोग गर्दै हुनुहुन्थ्यो भने उहाँ म यति कमजोर र शक्तिहीन नहोऊँ, मैले उहाँमाथिको विश्वास नगुमाऊँ भन्ने चाहनुहुन्छ। मैले यति धेरै दुष्ट काम गरेको थिएँ र म पहिल्यै निष्कासित भइसकेको व्यक्ति थिएँ, र भविष्यमा मेरो नियति नै दण्डित हुनु थियो, तर परमेश्वरले अझै पनि मलाई अन्तर्दृष्टि दिनुभयो र यो भजनका बारेमा सोच्न मलाई मार्गदर्शन गर्नुभयो, मलाई नकारात्मकतामा थप डुब्न दिनुभएन। म यसबाट अत्यन्तै प्रभावित भएँ, र मेरो हृदयमा अलिकति शक्तिसँगै एउटा आशाको त्यान्द्रो देखा पर्यो। पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ जसमा भनिएको थियो: “व्यावहारिक परमेश्वरलाई पछ्याउन हामीमा यो सङ्कल्प हुनैपर्छ: हामीलाई जति नै ठूलो परिस्थिति आइपरे पनि, जस्तो प्रकारका कठिनाइहरू आए पनि, र हामी जति नै कमजोर र नकारात्मक भए पनि, हामीले आफ्नो स्वभाव परिवर्तनप्रति वा परमेश्वरले बोल्ने कुराप्रतिको आस्था गुमाउनु हुँदैन। परमेश्वरले मानवजातिलाई एउटा प्रतिज्ञा गर्नुभएको छ, र यसलाई वहन गर्न मानिसहरूमा सङ्कल्प, आस्था, र दृढता हुनुपर्छ। परमेश्वर कायरहरूलाई मन पराउनुहुन्न; उहाँ सङ्कल्प भएका मानिसहरूलाई मन पराउनुहुन्छ। तैँले थुप्रै भ्रष्टता प्रकट गर्ने, निकैपटक गलत मार्गमा हिँड्ने, वा धेरै अपराध गर्ने, परमेश्वरबारे गुनासो गर्ने, वा धर्मभित्र परमेश्वरको प्रतिरोध गर्ने वा हृदयमा उहाँविरुद्ध निन्दा पाल्ने आदि काम गरेको भए पनि—परमेश्वर ती सबै कुरा हेर्नुहुन्न। परमेश्वर त कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र कुनै दिन ऊ परिवर्तन हुन सक्छ वा सक्दैन भनेर मात्र हेर्नुहुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग)। मैले परमेश्वरलाई कायरहरू मन पर्दैन; उहाँलाई दृढ सङ्कल्प भएका मानिसहरू मन पर्छ भन्ने देखेँ। मैले यस्तो ठूलो दुष्टता गरेकाले मलाई निष्कासित गरिएको भए तापनि, परमेश्वरले महत्त्व दिनुभएको कुरा त म परिवर्तन हुन सक्छु कि सक्दिनँ भन्ने थियो। यदि म परिवर्तन भएँ भने, अन्तमा म मरेँ र दण्डित भएँ भने पनि, त्यो सार्थक हुने थियो। त्यो समयमा, भजनका हरफहरू र परमेश्वरका वचनहरू बेलाबेलामा मेरो मनमा आउँथे। म धेरै प्रभावित भएँ, र परमेश्वरले मलाई छोड्नुभएको छैन भन्ने सोचेँ। मेरो सबैभन्दा दिक्दारीपूर्ण र अन्धकारमय समयमा, उहाँले मलाई मार्गदर्शन गर्न, प्रोत्साहन र सान्त्वना दिन आफ्ना वचनहरू प्रयोग गर्नुभएको थियो। मैले सोचेँ परमेश्वरले मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, र म नकारात्मक नै बनिरहन मिल्दैन। त्यो समयपछि, म हरेक दिन बिहान सबेरै उठ्ने र आफूले परमेश्वरलाई चिढ्याएका तरिकाहरू बारेमा चिन्तन गर्दै, परमेश्वरका वचनहरू खाने-पिउने काममा लागिरहेँ।
एक दिन, मैले परमेश्वरका यी वचनहरू पढेँ: “मण्डलीका धेरै जनामा समझशक्ति छैन। जब मानिसहरू बहकिन घटनाहरू हुन्छन्, तब तिनीहरू विपरीत रूपमा शैतानको पक्षमा खडा हुन्छन्; तिनीहरूलाई शैतानको नोकर भन्दा तिनीहरूआफूलाई अत्यन्तै अन्याय भएको मसुससमेत गर्छन्। मानिसहरूले आफूसँग समझशक्ति छैन भने पनि, तिनीहरू सधैँ गैर-सत्यताको पक्षमा खडा हुन्छन्, महत्त्वपूर्ण समयमा सत्यताको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यताका निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै समझशक्तिको कमी छ? तिनीहरू किन विपरीत रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले असमझहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। “समझ नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग षड्यन्त्र गर्छन् र परमेश्वरको प्रतिरोध गर्छन्। ती दुष्ट मानिसहरूले जे कुरा विकिरण गर्छन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन्, तैपनि, के परमेश्वरको प्रतिरोध गर्ने तिनीहरूको प्रकृति त्यस्तै छैन र? परमेश्वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरका वचनहरू पढेर, मैले लाज र पीडा महसुस गरेँ। मैले त्यस्तो ठूलो दुष्टता गर्न सक्नुको कारण खालि म खुट्याउन नसक्ने भएकाले होइन; यो त खासगरी मैले ख्याति र हैसियतलाई धेरै महत्त्व दिएका कारणले थियो। जिया सिनले अगुवाको रूपमा आफ्नो हैसियत जोगाउन हामीलाई आफ्नो पक्षमा पारिन्। मैले उनका कार्यहरू पछाडिको अभिप्राय खुट्याइनँ, न त उनका कुराहरू तथ्यसँग मिल्छन् कि मिल्दैनन् भनेर नै हेरेँ। मैले आफू “इन्साफको लागि लड्ने योद्धा” बन्न र आफूलाई प्रदर्शन गर्न चाहँदै खालि आँखा चिम्लिएर उनको पक्षमा उभिदिएँ। मैले अगुवाको हैसियत हासिल गर्ने मौका पनि छोप्न चाहेँ। हामीले रिपोर्ट पत्र लेखिरहँदा, हामीसँग परमेश्वरको मार्गदर्शन छैन भन्ने कुरा मैले स्पष्ट रूपमा महसुस गरेँ। हामी हाम्रा धारणाहरूमा एकमतमा पुग्न सकेनौँ, र मेरो मनमा शान्ति थिएन। तैपनि, मैले हठी बन्दै दुष्ट काम गर्नमा यस ख्रीष्टविरोधीलाई पछ्याउँदै पत्र लेख्ने काम जारी राखेँ। मण्डलीमा आएकी माथिल्लो तहकी सिस्टरले मलाई मदत गर्न र खुलासा गर्न सङ्गति गरिन्, तर मैले आफ्नो गल्ती स्वीकारेँ भने अरूले मलाई हेलाँ गर्नेछन् भन्ने डरले, म पछाडि फर्किनँ। म भेला हुने ठाउँहरूमा गएँ, मनपरी ढङ्गले अगुवा र कामदारहरूको आलोचना गरेँ, र उनीहरू झूटा हुन् भन्ने सूचना फैलाएँ। मेरो लक्ष्य ब्रदर-सिस्टरहरूद्वारा अगुवा र कामदारहरूलाई इन्कार गराउने र आफूलाई सम्मान गर्न लगाउने थियो, ताकि भविष्यको चुनावमा म छानिने सम्भावना रहोस्। मेरा बाधाहरूका कारण, ब्रदर-सिस्टरहरूले सामान्य रूपमा भेला हुन र परमेश्वरका वचनहरू खान-पिउन पाएनन्। मण्डलीका आधा ब्रदर-सिस्टरहरू हामीबाट भ्रमित भए, र हामी मिलेर अगुवा र कामदारहरूका विरुद्धमा खडा भयौँ। परमेश्वर ब्रदर-सिस्टरहरूले सामान्य रूपमा भेला भएर उहाँका वचनहरूमा सङ्गति गर्न सकून् र एक भएर आफ्नो कर्तव्य राम्ररी पूरा गरून् भनी चाहनुहुन्थ्यो। परमेश्वरले मण्डली निर्माण गरिरहँदा शैतान भने उहाँको काम भत्काउन चाहन्थ्यो। त्यसैबीच, म मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउँदै, शैतानको नोकर र मतियारको भूमिका खेलिरहेको थिएँ। यी व्यवहारहरू प्रदर्शन गरेर, म क्षणिक विवेकहीनताका कारण मात्र गलत पक्षमा उभिएको थिइनँ। मेरो प्रकृति नै जिया सिनको जस्तो थियो; हामी दुवै ख्याति र हैसियतका अत्यन्तै सौखिन थियौँ। हैसियत प्राप्त गर्न, हामीले मण्डलीमा अव्यवस्था सिर्जना गर्यौँ, र मलाई निष्कासित गरियो किनकि मैले सत्यता पछ्याउनुको सट्टा हैसियत पछ्याएँ। यो सोचेर, म अत्यन्तै पश्चात्ताप र आत्म-निन्दाले भरिएँ। म भुइँमा घुँडा टेकेर बसेँ र आफ्नै गालामा १०० भन्दा बढी कडा थप्पड लगाएँ। मैले यो पाठ आफ्नो सम्झनामा राख्नका लागि आफैँलाई निर्दयतापूर्वक दण्ड दिन चाहेँ। मैले परमेश्वरलाई प्रार्थना पनि गरेँ, “परमेश्वर, मैले दुष्ट काम गरेको छु। मैले हैसियत पछ्याएँ र मण्डलीको काममा बाधा पुऱ्याएँ। म पश्चात्ताप गर्न, राम्ररी आत्मचिन्तन गर्न र आफ्ना दुष्ट कार्यहरू बुझ्ने कोसिस गर्न तत्पर छु।”
त्यसपछि, मैले यस्तो सोच्दै आत्मचिन्तन जारी राखेँ, “म किन हैसियतलाई यति धेरै माया गर्छु र सधैँ यसलाई पछ्याउन र प्राप्त गर्न चाहन्छु? म किन यस्ता दुष्ट कामहरू गरिहाल्ने स्वभावको छु?” मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, तँलाई परमेश्वरको प्रतिरोध नगर् भनेर भनियो भने त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्वरको स्थानमा बस्न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचनहरूद्वारा, मैले बुझेँ यी दुष्ट कामहरू गर्न सक्नुको मूल कारण म धेरै अहङ्कारी हुनु, आफैमा धेरै विश्वास गर्नु, र आफैलाई धेरै उच्च ठान्नु थियो। मैले के विश्वास गरेँ भने आफूले सुसमाचार प्रचार गर्न र केही समस्याहरू समाधान गर्न सक्नुको मतलब, मैले सत्यता बुझेको छु र ममा वास्तविकता छ भन्ने हो। यसरी, म आफैँमा आँखा चिम्लेर विश्वास गर्न र लापरवाहीपूर्ण ढङ्गले काम गर्न सक्षम भएँ, र परिणाम स्वरूप, मैले ती सबै दुष्ट कामहरू गरेँ। जिया सिनलाई हटाउने कुरा आउँदा, मैले कहिल्यै राम्ररी सत्यता सिद्धान्तहरू खोजिनँ। मैले जिया सिन आफ्नो कर्तव्यमा त्याग गर्न, आफूलाई समर्पित गर्न, दुःख भोग्न, र मूल्य चुकाउन सक्ने देखेँ, त्यसैले मैले उनी सत्यता अभ्यास गरिरहेकी र उनमा पवित्र आत्माले काम गर्नुभएको छ भन्ने सोचेँ। मैले सोचेँ, सत्यता नपछ्याईकन, कसले पो ती सबै कामकुराहरू यो हदसम्म गर्न सक्थ्यो र? वास्तवमा, कसैमा पवित्र आत्माले काम गर्नुभएको छ कि छैन भनेर खुट्याउँदा, उनीहरूले दुःख भोग्ने, मूल्य चुकाउने, त्याग गर्ने, र आफूलाई समर्पित गर्ने जस्तो देखिएकै आधारमा उनीहरूको मूल्याङ्कन गर्न मिल्दैन। यी त कुनै पनि उत्साही व्यक्तिले गर्न सक्ने कुराहरू हुन्। मुख्यगरी आफूमा कुनै मामिला आइपर्दा, त्यो व्यक्तिले परमेश्वरलाई प्रार्थना गर्न सक्छ कि सक्दैन, र यदि, त्यो कुरा आफ्नो धारणाअनुसार नहुँदा पनि, उसले आफूलाई त्याग्न, सत्यता खोज्न सक्छ कि सक्दैन, र उसमा परमेश्वरको डर मान्ने र उहाँमा समर्पित हुने हृदय छ कि छैन भन्ने कुरा हेर्नुपर्छ। यसका साथै, उनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरका वचनहरूको अनुभव गर्न र आफैलाई बुझ्न मार्गदर्शन गर्न सक्नुपर्छ, र उनीहरूले ब्रदर-सिस्टरहरूका आफ्ना कर्तव्यमा भएका समस्याहरू पनि समाधान गर्नुपर्छ। अगुवा र कामदारले गर्नुपर्ने काम यही हो। जिया सिन अगुवाइको काम गर्न असक्षम थिइन्, पवित्र आत्माको काम हुनु त परै जाओस्। मानिसहरूले उनका समस्याहरू खुलासा गर्दा, उनले त्यसलाई स्वीकार गरिनन्, उल्टै आफूमाथि अन्याय भएको गुनासो गरिन् र हामीलाई भ्रमित पारिन्। उनले जानाजानी हाम्रा बीचमा उनीविरुद्ध दायर गरिएका रिपोर्टहरू असत्य रहेको सूचना फैलाइन्, हामीले उनको समर्थन गरौँ भनेर हामीलाई संलग्न गराइन्। हामी उनीबाट भ्रमित भयौँ र मण्डलीका मानिसहरूलाई अगुवा र कामदारहरूले उनलाई दबाइरहेका छन् भन्यौँ, जसले गर्दा मण्डली गुटहरूमा विभाजित भयो र अराजकतामा डुब्यो। जिया सिनले केही मात्रामा त्याग र समर्पण त गरिन्, तर आफूमाथि मामिलाहरू आइपर्दा, उनले सत्यता बिलकुलै खोजिनन्, न त आत्मचिन्तन गर्ने वा आफूलाई बुझ्ने कोसिस गरिन्। आफ्नो हैसियत जोगाउन, उनले बाधा-अवरोधहरू उत्पन्न गरिन् र मण्डलीको कामलाई कमजोर पारिन्। उनले आफैँलाई समर्पण गरेको र दुःख भोगेको त सबै आफ्नो हैसियत जोगाउन र हैसियतका लागि आफ्नो व्यक्तिगत इच्छा पूरा गर्नका लागि रहेछ। कसैले उनको हैसियतलाई खतरामा पार्ने बित्तिकै, उनी गुट बनाउने र कलहको बीउ रोप्ने जस्ता दुष्ट कामहरू गर्थिन्। उनको प्रकृति सत्यतालाई घृणा गर्ने रहेछ; उनी एक धूर्त, छली, कपटी र क्रूर ख्रीष्टविरोधी रहिछन्। ममा अलिकति पनि खुट्याउने क्षमता रहेनछ। मैले जिया सिनलाई पछ्याएर दुष्ट काम गरेँ, भेलाको समयमा अगुवा र कामदारहरूको आलोचना गरेँ, र परिणामस्वरूप, ब्रदर-सिस्टरहरू भ्रमित भए र अगुवा र कामदारहरूलाई वेवास्ता गर्दै मेरो पक्ष लिए। यसले मण्डली जीवनमा गम्भीर बाधाहरू उत्पन्न गरायो। मैले यति ठूलो दुष्टता गरेको थिएँ, तैपनि मैले अझै पनि ममा इन्साफको बोध छ भन्ने सोचेँ; म वास्तवमा यति अलमल्ल र यति अहङ्कारी थिएँ कि मैले सबै समझ गुमाइसकेको थिएँ। यदि मैले अलिकति मात्र सत्यता बुझेको र ममा परमेश्वरको डर मान्ने हृदय भएको भए, मैले यति ठूलो दुष्टता गर्ने थिइनँ। मैले आफूमा धेरै कमी रहेको, र मेरो स्वभाव धेरै अहङ्कारी भएको थाहा पाएँ। मलाई पखालिन र परिवर्तित हुन परमेश्वरको ताडना र अनुशासनको अत्यन्तै जरूरत थियो!
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “परमेश्वरले आफ्नो क्रोध बर्साउनुभन्दा पहिले, उहाँले हरेक मामलाको सारलाई निकै स्पष्ट र पूर्ण रूपमा बुझिसक्नुभएको हुन्छ, र उहाँले सही, स्पष्ट परिभाषा र निष्कर्षहरू तयार गरिसक्नुभएको छ। यसैले, परमेश्वरले गर्नुहुने सबै कुरामा उहाँको उद्देश्य र उहाँको मनोवृत्ति स्पष्ट हुन्छ। उहाँ अलमल्ल, अन्धो, आवेगशील, वा लापरवाह हुनुहुन्न, र उहाँ अवश्य नै सिद्धान्तहीन हुनुहुन्न। परमेश्वरको क्रोधको व्यावहारिक पक्ष यही हो, र परमेश्वरको क्रोधको यही व्यावहारिक पक्षकै कारण मानवजातिले आफ्नो सामान्य अस्तित्व प्राप्त गरेको छ। परमेश्वरको क्रोधविना, मानवजाति अस्वाभाविक जीवन अवस्थाहरूमा झर्नेथियो र न्यायसङ्गत, सुन्दर र असल सबै कुराहरू नष्ट हुनेथिए र अस्तित्वमा हुन छोड्नेथिए। परमेश्वरको क्रोधविना, सृजित प्राणीका अस्तित्वका व्यवस्थाहरू र नियमहरू तोडिनेथिए वा पूर्ण रूपमा उल्ट्याइने थिए। मानिसको सृष्टि भएदेखि नै, परमेश्वरले मानवजातिको सामान्य अस्तित्वलाई रक्षा गर्न र कायम राख्नको लागि निरन्तर रूपमा आफ्नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। उहाँको धर्मी स्वभावमा क्रोध र प्रताप हुने भएकोले, सारा दुष्ट मानिस, घटना, र कामकुराहरू अनि मानवजातिको सामान्य अस्तित्वलाई बाधा र क्षय गर्ने सबै कुराहरूलाई, उहाँको क्रोधको परिणामस्वरूप दण्डित, नियन्त्रित र नष्ट गरिन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। “उहाँले दुष्ट्याइँ, अन्धकार, विद्रोहीपन र शैतानका दुष्ट कार्यहरूलाई, अर्थात् मानवजातिलाई भ्रष्ट बनाउने र भस्म गर्ने कार्यहरूलाई तिरस्कार गर्नुहुने भएकोले, उहाँको विरुद्धमा रहेका सबै पापकर्महरूलाई उहाँले तिरस्कार गर्नुहुने भएकोले अनि उहाँको पवित्र र निष्कलङ्क सारको कारण परमेश्वरमा यस प्रकारको धर्मी स्वभाव हुन्छ। यही कारणले गर्दा उहाँले सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीले खुलेआम उहाँको विरोध गरेको वा उहाँसँग होडबाजी गरेको पीडा सहनुहुनेछैन। उहाँले कुनै बेला कृपा देखाउनुभएको वा उहाँले चुन्नुभएको व्यक्तिले समेत उहाँको स्वभावलाई एक पटक चिढ्याउनु र उहाँका धैर्यता र सहनशीलताका सिद्धान्तहरूलाई भङ्ग मात्रै गर्नुपर्छ, अनि अलिकति कृपा वा हिचकिचाहटविना नै उहाँले कुनै पनि उल्लङ्घन सहन नगर्ने आफ्नो धर्मी स्वभावलाई खुला छाडी प्रकट गर्नुहुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। परमेश्वरका वचनहरूद्वारा, मैले बुझेँ परमेश्वरको धर्मी स्वभावलाई मानिसले चिढ्याउनु हुँदैन। कसैलाई दोषी ठहराउने र हटाउने विषयमा परमेश्वरका सिद्धान्तहरू छन्। यो कुनै क्षणिक आवेग वा लापरवाहीले गरिने काम होइन; बरु, यो त्यतिखेर गरिन्छ जतिखेर उहाँले कसैको सारलाई छर्लङ्ग देख्नुहुन्छ। मैले दुष्ट काम गरिरहेको समयमा, ब्रदर-सिस्टरहरूले मलाई बारम्बार सल्लाह दिए र मलाई आत्मचिन्तन गर्न अनि बाधा-अवरोधहरू उत्पन्न नगर्न आग्रह गरे। तर, मैले यो स्वीकार गरिनँ, र कसैको सङ्गति मेरो विचारसँग नमिल्दा, म उनीहरूको विरोध गर्थेँ, जसले गर्दा मेरो दुष्ट काम झन्-झनै गम्भीर हुँदै गयो। मेरो प्रारम्भिक अनाज्ञाकारितादेखि पछि गएर बाधा उत्पन्न गर्ने, र अन्तमा मण्डलीलाई विभाजित गर्नेसम्म, यी प्रत्येक दुष्ट कार्यहरू मेरो अहङ्कार र अभिमान, सत्यताप्रतिको वितृष्णा र घृणाको प्रमाण थिए। म यति अहङ्कारी र हठी थिएँ कि, मैले आफ्नै चिहान नदेखेसम्म आँसु झारिनँ। परमेश्वरले मलाई पश्चात्ताप गर्ने धेरै मौकाहरू दिइसक्नुभएको थियो, तर मैले ती सबैलाई अस्वीकार गरेँ। यदि मण्डलीले मलाई निष्कासित नगरेको भए, न त परमेश्वरको क्रोध शान्त हुन्थ्यो न त मण्डलीको अराजकता नै। मैले सोचेँ, परमेश्वरले सदोमलाई नष्ट गर्नुभन्दा पहिले, उहाँले त्यस सहरका मानिसहरूलाई पश्चात्ताप गर्नुपर्छ भनेर धेरै पटक चेतावनी दिनुभयो, तर उनीहरूले अटेरी गर्दै उहाँको विरोध गरे र अलिकति पनि पश्चात्ताप देखाएनन्। अन्तमा, परमेश्वरले सदोममाथि आफ्नो क्रोध देखाउनुभयो र सहरलाई नष्ट गर्नुभयो। अब, मैले व्यक्तिगत रूपमा परमेश्वरको धर्मी स्वभावको अनुभव गरेको थिएँ, र मेरो हृदय अत्यन्तै प्रताडित र पीडामा भए तापनि, यसले मलाई दुष्ट काम गर्नबाट रोकेको अनि परमेश्वरको स्वभावलाई चिढ्याउनु हुँदैन, र मण्डलीमा सत्यता र धार्मिकताकै सत्ता रहन्छ भन्ने देखाएको थियो। अब, परमेश्वरले मलाई सास फेर्न दिनुभएको र मेरो ज्यान नलिनुभएको तथ्य नै उहाँको कृपाको सङ्केत थियो। यदि मैले आत्मचिन्तन नगर्ने वा आफैँलाई बुझ्ने कोसिस नगर्ने काम जारी राख्ने हो भने, म अन्ततः परमेश्वरद्वारा नष्ट हुने थिएँ। म परमेश्वरको सामु गएँ र उहाँलाई प्रार्थना गरेँ, “परमेश्वर, मैले दुष्ट काम गरी तपाईंको स्वभावलाई चिढ्याएको छु। मलाई निष्कासित गरिनु तपाईंको धार्मिकता हो। मेरा विगतका अपराधहरू पूर्ति गर्न सकिँदैन, र अब म आफैँलाई बुझ्न र तपाईंसँग पश्चात्ताप गर्नका लागि जिइरहेको छु।” मैले भविष्यमा मेरो परिणाम जेसुकै भए पनि, म अब उप्रान्त ख्याति र हैसियत नपछ्याएर सत्यता पछ्याउनेछु र आफ्नो भ्रष्ट स्वभावलाई फाल्नेछु भन्ने निर्णय गरेँ। यदि परमेश्वरले साँच्चै नै कुनै दिन मलाई नष्ट गर्नुभयो भने, त्यो पनि उहाँको धार्मिकता नै हुनेछ। मैले राज्यमा प्रवेश गर्ने ठूलो आशा राखेको थिइनँ; म केवल नयाँ सुरुवात गर्न, एक साँचो सृजित प्राणी बन्न चाहन्थेँ। मैले परमेश्वरलाई आफ्नो हृदयमा प्रार्थना गरेँ र के भनेँ भने, यदि उहाँले मलाई अर्को एउटा मौका दिनुभयो भने, म मण्डलीमा सबैभन्दा साना अनुयायीहरूमध्ये एक बन्न तयार छु। मलाई जुनसुकै कर्तव्य सुम्पिए पनि म त्यो पूरा गर्न तत्पर थिएँ; मेरा निम्ति परमेश्वरको घरका लागि केही गर्न पाउनु नै पर्याप्त थियो। पछि, मण्डलीले मलाई भेट्टायो, र उनीहरूले मलाई ब्रदर-सिस्टरहरूलाई सामानहरू किन्नमा मदत गर्न लगाए। मैले धेरै सम्मानित महसुस गरेँ।
२०१६ को अप्रिल महिनाको एक दिन, एक जना अगुवा मेरो घरमा आए र मलाई भने, “तिमीलाई मण्डलीमा पुन: स्वीकार गरिएको छ, र बहुसङ्ख्यक ब्रदर-सिस्टरहरू यो निर्णयमा सहमत भए।” त्यसबेला, म यति भावुक भएँ कि के भन्ने नै थाहा पाइनँ। अगुवा गइसकेपछि, मैले आँसु थाम्न सकिनँ। आफ्नो हृदयमा, म लगातार परमेश्वरलाई धन्यवाद र प्रशंसा गरिरहेको थिएँ! मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर! मैले सोचेको थिइनँ तपाईँले मलाई मण्डलीमा फर्कने मौका दिनुहोला भनेर। मेरो साथमा रहिदिनुभएकोमा, मलाई अन्तर्दृष्टि दिनुभएकोमा र आफैलाई बुझ्न मार्गदर्शन गर्नुभएकोमा तपाईंलाई धन्यवाद। परमेश्वर! म यो अवसरको कदर गर्न तयार छु, र म अब उप्रान्त दुष्ट काम गर्ने वा बाधा उत्पन्न गर्नेछैन भन्ने कबुल गर्छु। यदि म मेरो पुरानो स्वभावमा फर्किएँ र मण्डलीमा बाधा पुऱ्याएँ भने, म तपाईंको दण्ड स्वीकार्न तयार छु।”
मण्डलीमा फर्किएपछि, मैले चाँडै नै आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। एक पटक, मण्डली अगुवा मकहाँ आए र मलाई अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाए। मैले मनमनै सोचेँ, “उनीहरूले मलाई कसरी यो कर्तव्य निर्वाह गर्न लगाउन सक्छन्? यो त उमेर ढल्किँदै गरेका मानिसहरूले निर्वाह गर्ने कर्तव्य होइन र? यदि ब्रदर-सिस्टरहरूले यसबारे सुने भने, उनीहरूले मेरो बारेमा के सोच्लान्?” मेरो मनमा अगुवाबारे केही विचारहरू आए र उनीहरूले मेरो प्रतिभालाई एउटा तुच्छ काममा बर्बाद गरिरहेका छन् भन्ने महसुस गरेँ। तर, पछि, मैले परमेश्वरका वचनहरू पढेँ जसमा भनिएको थियो: “जब परमेश्वर मानिसहरूले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गरून् भन्ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै ठूलो काम पूरा गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्वर तँ महान् वा आदर्श बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता के हो भने, तैँले उहाँका वचनअनुसार दृढ भई अभ्यास गर्नुपर्छ। जब तैँले परमेश्वरका वचनहरू सुन्छस्, तब आफूले बुझेको कुरा गर्, आफूले बुझेको कुरा अघि बढा, आफूले सुनेको कुरा राम्ररी याद गर्, त्यसपछि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका वचनहरूद्वारा, मैले बुझेँ परमेश्वरका लागि मैले धेरै महत्त्वपूर्ण काम गर्नु जरूरी छैन। उहाँले चाहेको कुरा त मैले आफ्नो कर्तव्यलाई व्यावहारिक तरिकाले निर्वाह गरुँ भन्ने थियो। यो एक साधारण कर्तव्य भए तापनि, जबसम्म म परमेश्वरका वचनहरू सुन्छु र उहाँको मागअनुसार गर्छु, त्यति नै पर्याप्त हुनेछ। मैले आफ्नो रुचिअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न मिल्दैनथ्यो; मैले मण्डलीको कामको आवश्यकतालाई यसको आधार बनाउनुपर्थ्यो। मैले मण्डलीको प्रबन्धमा समर्पित हुनुपर्थ्यो र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चुपचाप काम गर्नुपर्थ्यो। कुनै विवेक र समझ भएको व्यक्तिले यही गर्ने थियो। अब, यो कर्तव्यको सामना गर्दा यसले मेरो खुलासा र जाँच गरेको थियो। यस्ता परिस्थितिहरूविना, मैले आफू परमेश्वरप्रति निकै समर्पित रहेको र आफ्नो अहङ्कारी स्वभाव र ख्याति तथा हैसियत पछ्याउने इच्छा पहिल्यै परिवर्तन भइसकेको भन्ने सोच्ने थिएँ। वास्तविकतामा, म अझै पनि निकै अहङ्कारी र अभिमानी थिएँ; ममा अनियन्त्रित महत्त्वाकाङ्क्षाहरू र इच्छाहरू थिए र भीडमा सबैभन्दा सानो हुन अनिच्छुक थिएँ। यो मेरो वास्तविक कद थियो। शुद्ध र परिवर्तन हुन, मैले परमेश्वरका वचनहरूको न्याय र सजायका साथै परीक्षाहरू र शोधनको अनुभव गर्नु आवश्यक थियो। यो कुरा बुझेर, मैले यो कर्तव्य स्वीकार गरेँ। मलाई खाना बनाउन नआए तापनि, मैले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा लगनका साथ सिक्न सकेँ र सिद्धान्तअनुसार ब्रदर-सिस्टरहरूलाई अतिथिसत्कार गर्न सकेँ। यसो गर्दा मेरो मनमा शान्ति महसुस भयो। मलाई मुक्ति दिनुभएकोमा परमेश्वरलाई धन्यवाद!