१४. सतावट र सङ्कष्टको माझमा एउटा छनौट

तियान सिन, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले बोल्‍नुभएका वचनहरू बाहिरी रूपमा सरल हुन् वा गहन हुन्, ती वचनहरू मानिसको जीवन प्रवेशको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता हुन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। ती वचनहरूले मानिसलाई जीवित रहन चाहिने खाँचोहरू आपूर्ति गर्छन्; उसको दैनिक जीवनको आत्म-आचरणका सिद्धान्तहरू र मान्यताहरू आपूर्ति गर्छन्; मुक्तिसम्म उसले लिनुपर्ने मार्ग, साथै मुक्ति प्राप्त गर्नका लागि चाहिने लक्ष्य र निर्देशन आपूर्ति गर्छन्; परमेश्‍वरसामु सृजित प्राणीका रूपमा उसमा हुनुपर्ने हरेक सत्यता आपूर्ति गर्छन्; र मानिस कसरी परमेश्‍वरप्रति समर्पित हुन्छ र उहाँको आराधना गर्छ भन्नेबारे हरेक सत्यता आपूर्ति गर्छन्। यी वचनहरू मानिसको अस्तित्व सुनिश्‍चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो टेवा पनि हुन् जसले मानिसलाई बलियो हुन र खडा हुन सक्षम तुल्याउँछन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना)। विगतमा, जब म परमेश्‍वरका वचनहरूको यो खण्ड पढ्थेँ, तब ममा यसबारे कुनै व्यावहारिक बुझाइ थिएन, न त मैले परमेश्‍वरका वचनहरूको अर्थ नै साँच्चै बोध गरेकी थिएँ। पछि, जब मण्डलीले ठूलो दमनको सामना गर्नुपर्‍यो, तब म कायरता र डरमा जिएँ अनि ममा आफ्नो कर्तव्य पूरा गर्ने साहस थिएन, अनि मलाई विश्‍वास दिने र नकारात्मकता र कमजोरीबाट माथि उठ्न डोर्‍याउने परमेश्‍वरकै वचनहरू थिए। म शैतानका दुष्ट शक्तिहरूसँग डराउन छोडेँ, र परमेश्‍वरमा भर परेर, मैले त्यसपछिका कामहरू राम्ररी सम्हालेँ। यस अनुभवमार्फत, मैले परमेश्‍वरको अख्तियारबारे केही व्यावहारिक बुझाइ प्राप्त गरेँ।

यो २०१९ को अगस्टको सुरुतिरको कुरा हो। सामान्य मामिला डिकनलाई पिछा गरिएको थियो र उहाँले आफ्नो कर्तव्यलाई निरन्तरता दिन सक्नुभएन, त्यसैले जिल्ला अगुवाहरूले मलाई सामान्य मामिलाका काम सम्हाल्न भन्नुभयो। १९ तारिखका दिन, मैले जिल्ला अगुवाहरूले दुई दिनदेखि मण्डलीहरूलाई सम्पर्क गर्नुभएको रहेनछ भन्‍ने थाहा पाएँ, र विगत केही दिनमा, दस जनाभन्दा बढी ब्रदर-सिस्टर पक्राउ परेका छन् भन्‍ने मैले एकपछि अर्को खबर सुनेँ। यी मानिसहरू पक्राउ पर्नुभन्दा पहिले तिनीहरू जिल्ला अगुवाहरूसँग निरन्तर सम्पर्कमा थिए। प्रहरीले प्रायजसो सुनियोजित दमन अघि बढाउनुअघि विश्‍वासीहरूको विवरण प्राप्त गर्न लामो समयसम्म कसरी ट्र्याक र निगरानी गर्छ भन्‍ने सोचेर, मलाई नराम्रो महसुस भयो र मैले मनमनै सोचेँ, “के जिल्ला अगुवाहरू पनि पक्राउ परेका हुन सक्छन्?” म हतारिएर सिस्टर युआन लिङको घर गएँ। उहाँलाई देख्नेबित्तिकै, उहाँले आत्तिएर मलाई भन्नुभयो, “एउटा घटना घटेको छ! तीन जना जिल्ला अगुवा र सामान्य मामिलाका कामदारहरू पक्राउ परेका छन्।” मेरो मुटु ढुकढुक भयो, “साँच्चै यस्तै भएछ! उनीहरूलाई धेरै मानिसहरूका बारेमा र तिनीहरूका घरबारे थाहा छ। हामीले तुरुन्तै ब्रदर-सिस्टरहरूलाई लुक्न र ठाउँ सर्न लगाउनुपर्छ।” मैले उहाँहरूलाई खबर गरिसकेपछि, घर फर्किँदै गर्दा, म आत्तिएकी र डराएकी थिएँ, अनि मैले के सोचेँ भने, “यस पटक यति धेरै ब्रदर-सिस्टरहरू लगातार पक्राउ परेका छन्, प्रहरीले पक्राउ गर्नुअघि पक्कै पनि उनीहरूलाई लामो समयदेखि निगरानी गरिरहेको हुनुपर्छ। यो घटनाभन्दा अघि, म हरेक दिन जिल्ला अगुवाहरूलाई भेट्थेँ। जताततै निगरानी क्यामेराहरू छन्, र म सधैँ यताउता दौडिरहेकी हुन्छु, त्यसैले प्रहरीले मलाई भी निगरानी गरिरहेको हुन सक्‍ने धेरै सम्भावना छ। सायद अब पक्राउ पर्ने पालो मेरो हो।” मैले पक्राउ परेपछि यातना दिइएका ब्रदर-सिस्टरहरूका बारेमा सोचेँ, जसमा कतिपय त ठूलो रातो अजिङ्गरको पञ्जाबाट दर्दनाक रूपमा मारिएका समेत थिए, र मैले जति धेरै सोचेँ, म त्यति नै डराएँ, अनि मनमनै सोचेँ, “यदि म पक्राउ परेँ, र प्रहरीले मलाई मेरा ब्रदर-सिस्टरहरूलाई घात गर्न बाध्य पार्यो भने के गर्ने? यदि मैले यातना सहन सकिनँ र म यहूदा बनेँ भने के गर्ने? के त्यो मेरो विश्‍वासको यात्राको अन्त्य हुनेछैन र? होइन, मैले मेरो कर्तव्य गर्न छोड्नुपर्छ र म केही समयका लागि लुक्नुपर्छ।” यस्तो सोच्दा मलाई दोषी महसुस भयो। अहिले जिल्ला अगुवाहरू र सामान्य मामिलाका कामदारहरू पक्राउ परेकाले, केही मण्डलीहरू सम्पर्कविहीन भएका थिए, ब्रदर-सिस्टरहरूले परमेश्‍वरका नयाँ वचनहरू खान वा पिउन पाएका थिएनन्, र जोखिममा रहेका ब्रदर-सिस्टरहरू तुरुन्तै ठाउँ सर्नुपर्ने थियो। म अहिले रोकिनु हुँदैनथियो। तर म पनि निगरानीमा हुन सक्छु भन्‍ने सोच्दा, म द्विविधामा परेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई यस परिस्थितिमा डर लागिरहेको छ, तर म पछि हट्नु हुँदैन भन्‍ने मलाई थाहा छ। कृपया मेरो हृदयको डर हटाउन मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका केही वचनहरू सम्झेँ: “ब्रह्माण्डका सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन? जे म भन्छु त्यो गरिन्छ, र मानिसहरूमध्ये कसले मेरो सङ्कल्प परिवर्तन गर्न सक्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १)। विगतमा, म प्रायः ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्थेँ, र परमेश्‍वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ, र जेसुकै भए पनि, हामी परमेश्‍वरमा भर पर्नुपर्छ भनेर भन्थेँ। तर अहिले ममाथि खतरा आइलाग्दा, म भयभीत भएँ र पछि हट्न चाहेँ। मैले के महसुस गरेँ भने मैले पहिले भनेका सबै कुरा शब्द र धर्मसिद्धान्तहरूबाहेक केही थिएनन्। कुन अर्थमा ममा साँचो विश्‍वास थियो र? परमेश्‍वरका वचनहरू निकै स्पष्ट छन्। सबथोक परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत छ, र सबै कुरामा अन्तिम निर्णय परमेश्‍वरकै हुन्छ। म अगुवाहरूसँग दैनिक सम्पर्कमा भए पनि, म पक्राउ पर्ने वा नपर्ने कुरा प्रहरीको हातमा थिएन। यदि म पक्राउ परिहालेँ भने पनि, यो परमेश्‍वरको अनुमतिले मात्र हुनेथियो। यो कुरा मनमा लिँदा, मलाई अब त्यस्तो कायरता र डरको महसुस भएन।

त्यसपछि, मसँग सहकार्य गर्ने सिस्टर र म परमेश्‍वरका वचनका पुस्तकहरू सार्न परमेश्‍वरमा भर पर्यौँ। यस समयमा, हामी सधैँ सतर्क रहन्थ्यौँ र एकअर्कालाई निरन्तर सचेत गराइरहन्थ्यौँ। हामी हरेक दिन लुगा र कपालको शैली बदल्थ्यौँ, र बाहिर निस्कँदा निगरानी क्यामेराहरूबाट जोगिन सक्दो प्रयास गर्थ्यौँ। धेरै समय नबित्दै, ब्रदर-सिस्टरहरू पक्राउ परेका खबरहरू मैले लगातार पाउन थालेँ, र मलाई साँच्चै तनाव र डर लाग्यो, मानौँ कुनै पनि ठाउँ सुरक्षित छैन। दुई दिनपछि, सिस्टर सङ याङ, जो कामको लागि जिम्मेवार थिइन्, उनले मसँग भेट्ने प्रबन्ध गरिन्। उनले के भनिन् भने उनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य जारी राख्न तुरुन्तै सुरक्षित घर खोज्नुपर्ने भएको छ। म धेरै चिन्तित भएँ, र मैले के सोचेँ भने, “जिल्ला अगुवाहरू पक्राउ परिसकेकाले, धेरै ब्रदर-सिस्टरहरू ठाउँ सर्नुपर्ने छ। मैले यति धेरै सुरक्षित घरहरू कहाँबाट पाउने?” मैले जताततै निगरानी क्यामेराहरू छन् र धेरैभन्दा धेरै ब्रदर-सिस्टरहरू पक्राउ परिरहेका छन् भन्‍ने कुरा पनि सोचेँ। प्रहरीले कहाँ-कहाँ लुकेर निगरानी गरिरहेको हुन सक्छ भन्‍ने मलाई कुनै पत्तो थिएन। यदि म मानिसहरू र घरहरू खोज्न बाहिर निस्किरहने हो भने, एकपटक तारो बनेपछि म कुनै पनि क्षण पक्राउ पर्न सक्थेँ। यी सबै कुरा सोच्दा, म धेरै द्विविधामा परेँ, त्यसैले मैले सङ याङसँग मेरा चिन्ताहरू साटेँ। सङ याङ र मैले सँगै परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढ्यौँ: “परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्‍वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्‍नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नुपर्छ: परमेश्‍वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र यो उहाँले मानिसलाई देखाउने एक प्रकारको विशेष अनुग्रह हो, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्‍वरका आज्ञाहरू पूरा गरिनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्‍वरका वचनहरू पढेपछि, म निकै ओतप्रोत भएँ। मण्डलीहरूले यस्तो खतरनाक स्थितिको सामना गरिरहेको र जिल्ला अगुवाहरू सबै पक्राउ परिसकेको अवस्थामा, मण्डलीहरूको अवस्थाबारे मलाई भन्दा राम्रोसँग अरू कसैलाई थाहा थिएन। यदि म यो महत्त्वपूर्ण घडीमा, मेरा ब्रदर-सिस्टरहरूको सुरक्षाबारे नसोची र परिणामस्वरूप गरिने कामहरू छिटो नसम्हाली, भगौडा बनेकी भए, यो परमेश्‍वरप्रति एउटा गम्भीर विश्‍वासघात हुनेथियो! मेरा ब्रदर-सिस्टरहरूको रक्षा गर्नु र मण्डलीको काममा बाधा नपुगोस् भन्‍ने कुरा सुनिश्चित गर्नु मेरो जिम्मेवारी थियो। तर चिनियाँ कम्युनिस्ट पार्टीको गिरफ्तारीको सामना गर्दा, मण्डलीको कामको सुरक्षा गर्नुको सट्टा, म आफैँ पक्राउ पर्ने कुरामा बढी चिन्तित थिएँ। यस महत्त्वपूर्ण क्षणमा, म कछुवा आफ्नो खपटाभित्र लुकेजस्तै पछि हट्न चाहन्थेँ। म कति स्वार्थी र घृणास्पद बनिरहेकी थिएँ! मैले मेरा घृणास्पद मनसायका विरुद्ध विद्रोह गर्नुपर्थ्यो र तुरुन्तै बाँकी कामहरू सम्हाल्नुपर्थ्यो। त्यसको लगत्तै, मसँग सहकार्य गर्ने सिस्टर लिउ ना र मैले सहकार्य गर्न परमेश्‍वरमा भर पर्यौँ। भोलिपल्ट साँझसम्ममा, हामीले सङ याङ र अरूहरूलाई सुरक्षित घरमा सारिसकेका थियौँ, र मलाई धेरै हल्का महसुस भयो।

केही दिनपछि, पक्राउ परेकी जिल्ला अगुवा वाङ जुआन आएको मण्डलीबाट एउटा पत्र आयो, जसमा प्रहरीले लामो समयदेखि वाङ जुआनको निगरानी गरिरहेका थिए, र वाङ जुआन गएका सबै घरहरूबारे प्रहरीलाई थाहा थियो भन्‍ने कुरा वाङ जुआनकी आमाले प्रहरीबाट थाहा पाउनुभएको कुरा बताइएको थियो। प्रहरीले पक्राउ गरेका विश्‍वासीहरूलाई सजिलै छोड्ने छैनन्, र यदि उनीहरूले बयान दिएनन् भने, उनीहरूलाई जेल सजाय दिइनेछ भनेर पनि प्रहरीले भनेका रहेछन्। मेरो मुटु ढुकढुक भयो, र मैले सोचेँ, “यी सबै ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ पर्नुको कारण प्रहरीले वाङ जुआनको पिछा गरिरहेकोले हुन सक्छ। जबदेखि मैले सामान्य मामिलाहरू सम्हाल्ने कर्तव्य पूरा गर्न थालेँ, तबदेखि कामबारे छलफल गर्न म उनीसँग दिनहुँ भेट्थेँ। उनी पक्राउ परेको अघिल्लो दिन पनि, हामी एउटा चोकबाट छुट्टिएका थियौँ। म अहिले नै प्रहरीको निगरानीमा रहेको मुख्य निशाना भइसकेकी छु होला, र म कुनै पनि क्षण पक्राउ पर्न सक्छु। यदि म पक्राउ परेँ र प्रहरीले मलाई मेरा ब्रदर-सिस्टरहरूलाई घात गर्न बाध्य पार्यो भने के गर्ने? चिनियाँ कम्युनिस्ट पार्टीका जेलहरू धर्तीका नरकजस्तै छन् र ठूलो रातो अजिङ्गर साह्रै कुटिल र दुर्भावपूर्ण छ। यदि म चुप लागेँ भने, मलाई कुटेर मारिएन भने पनि, म अपाङ्ग बन्नेछु …” मैले यसबारे थप सोच्ने आँट गरिनँ, र मभित्र अवर्णनीय डरको लहर चल्यो। के म केही समयका लागि रोकिनुपर्छ र अस्थायी रूपमा लुक्नुपर्छ, र अहिलेका लागि अरू सिस्टरहरूलाई कामको जिम्मा दिनुपर्छ? तर फेरि मैले अरू सिस्टरहरू मण्डलीहरूको अवस्थासँग परिचित छैनन् भन्‍ने बारेमा सोचेँ, र यदि म रोकिएँ भने, मण्डलीका कामहरू सामान्य रूपमा अघि बढ्ने छैनन्, र यसले काममा ढिलाइ हुनेछ भन्‍ने मलाई थाहा थियो। तर म रोकिइनँ भने म पक्राउ पर्नेछु भन्‍ने चिन्ता मलाई थियो। म डर र आतङ्कको स्थितिमा जिइरहेकी थिएँ। त्यस दिनदेखि, आफ्नो कर्तव्य पूरा गर्न जाँदा, म थाहै नपाई पछाडि फर्केर हेर्थेँ, र आफ्नो वरपरको वातावरण जाँच्थेँ, अनि बाटोमा भएका निगरानी क्यामेराहरू देख्दा म आत्तिन्थेँ। कहिलेकाहीँ जब म घरमा परमेश्‍वरका वचनहरू पढिरहेकी हुन्थेँ र आँगनका कुकुरहरू बारम्बार भुकिरहेको सुन्थेँ, तब मेरो मुटुको धड्कन बढ्न थाल्थ्यो, र सोच्थेँ, “कतै प्रहरी त होइन?” अनि म हतारहतार परमेश्‍वरका वचनका पुस्तकहरू लुकाउँथेँ। केही दिनपछि, मैले मेरो स्थितिमा केही गलत भएको महसुस गरेँ, त्यसैले मैले तुरुन्तै घुँडा टेकेर परमेश्‍वरलाई प्रार्थना गरेँ, र यो स्थितिलाई बदल्न मलाई मार्गदर्शन गर्नुहोस् भनी परमेश्‍वरसँग बिन्ती गरेँ।

पछि, मैले परमेश्‍वरका केही वचनहरू सम्भेँ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्‍वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्‍वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिलीहरू, हावामा उड्ने चराहरू, समुद्रका माछाहरू, र पृथ्वीका कीराहरूभन्दा तुच्छ छ। यावत् थोकहरूमाझ यसको भूमिका भनेको यावत् थोकहरूको सेवा गर्नु, मानवजातिको सेवा गर्नु, र परमेश्‍वरको काम र उहाँको व्यवस्थापनको योजनाको सेवा गर्नु हो। यसको प्रकृति जतिसुकै दुर्भावपूर्ण भए पनि, र यसको सार जतिसुकै दुष्ट भए पनि, यसले गर्न सक्ने एउटै कुरा भनेको आज्ञाकारी भई आफ्नो कार्य पूरा गर्नु हो: परमेश्‍वरलाई सेवा प्रदान गर्नु—एक प्रतिभारका रूपमा राम्ररी सेवा गर्नु। शैतानको सार र मौलिक स्थान यही हो। जीवन, शक्ति, वा अख्तियारसँग यसको सारको कुनै सम्बन्ध छैन; यो परमेश्‍वरको हातमा भएको एउटा खेलौना मात्रै हो, परमेश्‍वरले सेवाका लागि प्रयोग गर्नुहुने एउटा यन्त्र मात्रै हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने सबै घटना र सबै कुरा परमेश्‍वरको नियन्त्रणमा हुन्छन्, र ठूलो रातो अजिङ्गर जति नै अनियन्त्रित र क्रूर भए पनि, परमेश्‍वरको अनुमतिविना त्यसले परमेश्‍वरले तोकिदिनुभएको सीमा नाघ्न सक्दैन। मेरो जीवन परमेश्‍वरको हातमा छ, र परमेश्‍वरको अनुमतिविना, प्रहरीले मलाई केही गर्न सक्दैन। जब परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्न दिनुभयो, तब ठीक त्यस्तै भयो, शैतानले अय्यूबको शरीरलाई कष्ट दिए पनि, परमेश्‍वरले शैतानलाई अय्यूबको ज्यान लिन दिनुभएन, त्यसैले शैतानले त्यो सीमा नाघ्ने आँट गरेन। परीक्षाहरूमार्फत, अय्यूबको विश्‍वास सिद्ध पारियो। अहिले, ठूलो रातो अजिङ्गरले इसाईहरूलाई गरेको अन्धाधुन्ध सतावट र गिरफ्तारी पनि परमेश्‍वरको अनुमतिमा भइरहेको छ। सत्यता पछ्याउनेहरूले यो वातावरणको अनुभव गरेर आफ्‍नो विश्‍वास सिद्ध पारेका छन्, र उनीहरूले परमेश्‍वरका लागि गवाही दिएका छन्। सत्यता नपछ्याउनेहरू, डर र कायरताका कारण पछि हटेका छन्, अनि यसरी प्रकट भएका र हटाइएका छन्। मण्डलीमा कसले साँचो रूपमा विश्‍वास गर्छ र कसले गर्दैन भनी खुलासा गर्न परमेश्‍वरले ठूलो रातो अजिङ्गरलाई सेवा गर्ने औजारको रूपमा प्रयोग गर्नुहुन्छ। थाहा नपाइकनै, मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिएको छ। जब मैले वाङ जुआन लामो समयदेखि निगरानीमा थिइन् भन्‍ने सुनेँ, तब म कसरी कायर र भयभीत भएँ भन्‍नेबारे मैले सोचेँ, र आफ्नो सुरक्षाका लागि म कसरी चाँडै लुक्न चाहन्थेँ भन्‍ने सोचेँ। ममा थोरै मात्र विश्‍वास थियो र मैले परमेश्‍वरको सार्वभौमिकतालाई साँचो रूपमा बुझेकी थिइनँ भन्‍ने मैले महसुस गरेँ। वास्तवमा, मैले वाङ जुआनलाई हरेक दिन भेटेको भए पनि, परमेश्‍वरको अनुमतिविना, प्रहरीले मलाई पक्राउ गर्न सक्नेथिएन, तर यदि परमेश्‍वरले मलाई पक्राउ पर्न अनुमति दिनुभयो भने, त्यसबाट उम्कने कुनै उपाय हुनेथिएन। कति धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेका थिए र उनीहरूलाई यातना दिइएको थियो त्यसको बारेमा पनि मैले सोचेँ। उनीहरूले प्रहरीको धम्की र कुटपिटमा नकारात्मकता र कमजोरी अनुभव गरेका भए पनि, प्रार्थना गरेर अनि परमेश्‍वरमा भर परेर, अनि परमेश्‍वरका वचनहरूको मार्गदर्शनद्वारा, उनीहरूले ठूलो रातो अजिङ्गरसँग सम्झौता गरेनन् र उनीहरू अन्ततः आफ्नो गवाहीमा दृढ रहे। उनीहरूले साँचो रूपमा परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकता अनि चमत्कारपूर्ण सुरक्षाको अनुभव गरे। उनीहरूले शैतानको दुष्ट र कुरूप अनुहार पनि स्पष्ट रूपमा देखे। यी बहुमूल्य प्राप्तिहरू थिए। मैले के देखेँ भने परमेश्‍वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ, र ठूलो रातो अजिङ्गर जति नै अनियन्त्रित भए पनि, यो त परमेश्‍वरको कामका लागि सेवा प्रदान गर्ने एउटा औजार मात्र हो। परमेश्‍वरले हाम्रो विश्‍वास र समर्पणलाई सिद्ध पार्नका लागि यसको प्रयोग गर्नुहुन्छ। यसबारे सोच्दै, मैले यस्तो निर्णय गरेँ, “यदि परमेश्‍वरले मलाई पक्राउ पर्न अनुमति दिनुभयो भने, म उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन र मेरो गवाहीमा दृढ रहन इच्छुक हुनेछु।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, र मैले परमेश्‍वरका अभिप्रायहरूबारे थप बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरलाई साँच्चिकै प्रेम गर्नेहरू, र सत्यता पछ्याउनेहरू सबैलाई, उहाँले विभिन्न प्रकारका परिवेशहरूमा सिद्ध पार्नुहुन्छ। उहाँले मानिसहरूलाई फरक फरक परिवेश वा परीक्षाहरूमार्फत उहाँका वचनहरू अनुभव गर्ने, र त्यसरी सत्यता बुझ्ने, र उहाँबारे साँचो ज्ञान प्राप्त गर्ने, र अन्ततः सत्यता प्राप्त गर्ने तुल्याउनुहुन्छ। यदि तँ परमेश्‍वरको काम यस तरिकाले अनुभव गर्छस् भने, तेरो जीवन स्वभाव परिवर्तन हुनेछ, र तैँले सत्यता र जीवन प्राप्त गर्न सक्नेछस्। तिमीहरूले यी वर्षहरूको अनुभवमार्फत के-कति कुरा हासिल गरेका छौ? (एकदमै धेरै।) त्यसोभए, के आफ्नो कर्तव्य निर्वाह गर्दा अलिअलि कष्ट सहनु र अलिअलि मूल्य चुकाउनु सार्थक हुँदैन र? त्यसको बदलामा तैँले के प्राप्त गरेको छस्? तैँले कति धेरै सत्यता बुझेको छस्! यो एक अमूल्य खजाना हो! मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेर के प्राप्त गर्न चाहन्छन्? के त्यो सत्यता र जीवन प्राप्त गर्नु होइन र? के तँलाई यी परिवेशहरू अनुभव नगरीकन सत्यता प्राप्त गर्न सक्छु जस्तो लाग्छ? तैँले कदापि सक्दैनस्। तँमाथि केही विशेष कठिनाइहरू आइपर्दा वा तैँले केही विशेष परिवेशहरू सामना गर्दा, यदि तेरो मनोवृत्ति सधैँ तीबाट जोगिने वा तीबाट भाग्ने, र तिनलाई सक्दो नकार्ने र मिल्काउने कोसिस गर्ने हुन्छ भने—यदि तँ आफूलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न चाहँदैनस्, उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुन अनिच्छुक छस्, र सत्यतालाई तेरो कमान सम्हाल्न दिन चाहँदैनस् भने—यदि तँ सधैँ हैकम जमाउन र तेरो शैतानी स्वभावअनुसार आफ्नो हरेक कुरा नियन्त्रण गर्न चाहन्छस् भने, परिणामस्वरूप, परमेश्‍वरले तँलाई निश्चय नै पन्छाउनुहुनेछ वा शैतानको जिम्मा लगाउनुहुनेछ, अनि यो ढिलो-चाँडो हुने नै छ। यदि मानिसहरूले यो मामिला बुझ्छन् भने, तिनीहरूले तुरुन्तै पछाडि फर्केर परमेश्‍वरले माग गर्नुहुने सही मार्गअनुसार आफ्नो जीवनको बाटो पछ्याउनैपर्छ—यो नै सही बाटो हो, र जब बाटो सही हुन्छ, त्यसको मतलब दिशा पनि सही हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई के महसुस गराए भने परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्न र प्राप्त गर्नका लागि, मानिसहरूलाई जाँच्न विभिन्न सतावट, सङ्कष्ट, परीक्षा, र शोधनहरूको प्रबन्ध गर्नुहुन्छ। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउनेहरूले उहाँका अभिप्रायहरूलाई ख्याल गर्न सक्छन्, र परिस्थिति जतिसुकै खतरनाक भए पनि, मण्डलीको काम सुचारु रूपमा अघि बढाउन उनीहरूले परमेश्‍वरमा भर परेर ती अनुभव गर्न सक्छन्। तर मैले, स्थितिको खतरा देख्दा, पक्राउ पर्ने, यातना पाउने, र ज्यान गुमाउने कुराको डर मानेँ, वा म मेरो गवाहीमा दृढ रहन असफल हुन्छु, मैले परमेश्‍वरको घरका हितहरूलाई विश्वासघात गर्छु, र यसरी मुक्तिको मौका गुमाउँछु भन्‍ने डर मानेँ, त्यसैले म मण्डलीका हितहरूबारे रत्तिभर नसोची लुक्न र मेरो कर्तव्य पूरा गर्न छोड्न चाहन्थेँ। म साँच्चै स्वार्थी र घृणास्पद थिएँ, ममा कुनै विवेक वा समझ थिएन! मैले वर्तमान स्थितिबारे सोचेँ। चिनियाँ कम्युनिस्ट पार्टीको गिरफ्तारीका कारण, ब्रदर-सिस्टरहरू सम्पर्कविहीन भएका थिए र तिनीहरूले मण्डली जीवन जिउन सकेका थिएनन्, अनि मण्डलीका कामहरू ठप्प भएका थिए। परमेश्‍वरको हृदय कति दुखी र चिन्तित भएको हुनुपर्छ! यस्तो महत्त्वपूर्ण समयमा, कोही न कोही उठ्नुपर्छ र यो जिम्मेवारी काँधमा लिनुपर्छ ताकि मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सकोस्। तर आफ्नो सुरक्षाका लागि, मण्डलीको काम वा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशबारे विचार नगरी, म कछुवा आफ्नो खपटाभित्र लुकेजस्तै पछि हट्न चाहन्थेँ। म कति स्वार्थी र घृणास्पद थिएँ! मैले प्रभु येशूका वचनहरू पनि सम्झेँ: “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरा खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ(मत्ती १६:२५)। मैले परमेश्‍वरका वचनहरू मनन गरेँ र आफैँमाथि चिन्तन गरेँ। चिनियाँ कम्युनिस्ट पार्टीको सतावट र गिरफ्तारीको सामना गर्दा, म किन सधैँ लुक्न र आफूलाई जोगाउन चाहन्थेँ? किनभने म मेरो जीवनलाई धेरै महत्त्व दिन्थेँ। म मेरो शारीरिक जीवनलाई धेरै महत्त्व दिन्थेँ र मैले जीवन र मृत्युको अर्थ पूर्ण रूपमा बुझेको थिइनँ। यदि कुनै व्यक्ति परमेश्‍वरको मार्ग पछ्याउन आफ्नो जीवन त्याग्न इच्छुक हुन्छ भने, त्यस्तो व्यक्तिलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। यो ठीक त्यस्तै हो जसरी इतिहासभरिका सन्तहरूले, परमेश्‍वरको सुसमाचार फैलाउनका लागि, सत्तामा रहेकाहरूबाट सतावट भोगे, र कतिपयलाई त यातना दिएर मारियो पनि। बाहिरी रूपमा उनीहरूको शरीर मरेको देखिए पनि, उनीहरू धार्मिकताको खातिर शहीद भए र आफ्नो गवाहीमा दृढ रहे, अनि परमेश्‍वरसँग उनीहरूको आत्माका लागि अर्को योजना थियो। उनीहरूको मृत्यु बहुमूल्य थियो र परमेश्‍वरले याद गर्नुभएको छ। तर यदि मैले स्वार्थी भएर मेरो शारीरिक जीवन जोगाउन र नीच अस्तित्व लम्ब्याउन आफ्‍नो कर्तव्य छोडेँ भने, मैले आफूलाई अस्थायी रूपमा सुरक्षित राखेको जस्तो देखिए पनि, मैले सत्यता अभ्यास नगरेको वा मण्डलीको कामको रक्षा नगरेको कारण, परमेश्‍वरले मलाई तिरस्कार गर्नुहुनेछ, र म केवल जिउँदो लासझैँ जिउनेछु। यो कुरा बुझेपछि, मैले घुँडा टेकेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर! सबै कुरा तपाईँद्वारा नियोजित छ। म पक्राउ पर्छु कि पर्दिनँ भन्‍ने कुरा पनि तपाईँको सार्वभौमिकता र योजनाबद्ध कार्यहरूअन्तर्गत छ। सायद भोलि पक्राउ पर्ने पालो मेरो होला, तर त्यो पनि तपाईँकै अनुमतिमा हुनेछ। भोलि जेसुकै भए पनि, म आज पक्राउ परेकी छैनँ भने, म आज मण्डलीको काम राम्ररी गर्न इच्छुक छु। मेरो विश्‍वास बलियो बनाउनुहोस् भनी म तपाईँसँग बिन्ती गर्दछु।” त्यसपछि, ब्रदर-सिस्टरहरू र मैले एकमन भएर काम गर्‍यौँ, र हामीले जोखिममा रहेका सबै ब्रदर-सिस्टरहरूलाई सुरक्षित स्थानहरूमा स्थानान्तरण गर्‍यौँ। ब्रदर-सिस्टरहरूले आफ्नो मण्डली जीवन पुनः सुरु गर्न सक्नुभयो, र मैले मेरो हृदयमा अवर्णनीय आनन्द र छुटकारा महसुस गरेँ।

यो स्थितिबाट गुज्रिएपछि, मैले केही विश्‍वास प्राप्त गरेँ। जब म मेरो कर्तव्य पूरा गरेर घर फर्किन्थेँ, तब म अनायासै भजन गुनगुनाइरहेकी हुन्थेँ “म परमेश्‍वरको महिमाको दिन देख्‍न चाहन्छु”:

…………

२  हृदयमा परमेश्‍वरको आज्ञा लिएर, म शैतानको अगाडि कहिल्यै घुँडा टेक्नेछैनँ। मेरो शिर छिनालिए पनि वा मेरो रगत बगिगए पनि, परमेश्‍वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन। म परमेश्‍वरका लागि जोडदार गवाही दिनेछु, अनि दियाबलसहरू र शैतानलाई लज्जित पार्नेछु। पीडा र कष्ट परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छन्, अनि म मृत्युसम्मै उहाँप्रति बफादार र समर्पित हुनेछु। म परमेश्‍वरलाई फेरि कहिल्यै रुवाउने वा चिन्तित तुल्याउनेछैनँ। म परमेश्‍वरलाई आफ्नो प्रेम र बफादारी अर्पण गर्नेछु र उहाँलाई महिमित पार्न आफ्नो मिसन पूरा गर्नेछु।

३  परमेश्‍वरका वचनहरूले मलाई आस्था दिन्छन्, र म फलामे इच्छाशक्तिका साथ अन्तसम्मै परमेश्‍वरलाई पछ्याउनेछु। जबसम्म मेरो सास रहन्छ, म अटल अठोटका साथ सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन जारी राख्नेछु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

नोभेम्बर २०२० को एक रात, मैले एउटा पत्र प्राप्त गरेँ, जसमा के भनिएको थियो भने अर्को मण्डलीले गिरफ्तारीको सामना गरेको छ, र परमेश्‍वरका वचनका पुस्तकहरू सुरक्षित राख्ने जिम्मेवारी पाएकी एउटी सिस्टर पक्राउ परेकी छिन्। मण्डलीका अगुवाहरूले, आफ्नो ज्यान जोखिममा राखेर, पुस्तकहरू अर्को ठाउँमा सारिसक्नुभएको थियो, तर त्यो क्षेत्रमा धेरै पटक ठूलो स्तरमा गिरफ्तारी भएका कारण, पुस्तकहरू भण्डारण गर्न त्यहाँ कुनै सुरक्षित घर थिएन, र उहाँहरूले हामीलाई ती पुस्तकहरू तुरुन्तै अझ सुरक्षित स्थानमा सार्न आग्रह गर्नुभयो। पत्र पढेपछि, म आतङ्क र डरले भरिएँ, र सोचेँ, “पुस्तकहरू सुरक्षित राख्ने सिस्टर भर्खरै पक्राउ परिन्, मण्डलीका अगुवाहरूले आफ्नो ज्यान जोखिममा राखेर पुस्तकहरू सारे पनि, के प्रहरीले उनीहरूलाई निगरानी गरिरहेको हुन सक्छ? यदि उनीहरूलाई ट्र्याक गरिँदै छ भने, के मेरा ब्रदर-सिस्टरहरू र म पुस्तकहरू सार्न जाँदा हामीलाई पछ्याइनेछ र पक्राउ गरिनेछ? सायद म जानु हुँदैन।” मैले फेरि आफूलाई जोगाउन खोजिरहेकी छु भन्‍ने महसुस गरेँ, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई मौन प्रार्थना गरेँ, र उहाँलाई मेरो हृदयको रक्षा गर्नुहोस् र मलाई शान्त हुन अनि डरमा नजिउन मदत गर्नुहोस् भनी बिन्ती गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “मानिसहरू प्रायः यसो भन्छन्, ‘परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ’ र ‘सबै कुरा परमेश्‍वरकै हातमा छन्,’ तर कुनै परिस्थिति सामना गर्दा, तिनीहरू यसो सोच्छन्, ‘के परमेश्‍वरले साँच्चै यो कुरामाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ र? के उहाँ साँच्चै भरपर्दो हुनुहुन्छ र? मैले अरू मानिसहरूमै भर परेको राम्रो हुन्छ, र यदि त्यो काम लागेन भने, म आफै केही उपाय निकाल्नेछु।’ त्यसपछि, तिनीहरू आफू कति अपरिपक्व, हास्यास्पद र कदमा कति सानो छन् भनी बुझ्छन्। तिनीहरू फेरि पछाडि फर्किन्छन्, परमेश्‍वरमा भर पर्न खोज्छन्, तर अझै पनि मार्ग भेट्टाउँदैनन्। यद्यपि, तिनीहरूलाई हृदयको गहिराइमा परमेश्‍वर विश्‍वासयोग्य र भरपर्दो हुनुहुन्छ भनेर थाहा हुन्छ; तिनीहरूको आस्था निकै कम रहेको र तिनीहरू सधैँ शङ्कालु भएका मात्रै हुन्। तँ यो समस्यालाई कसरी समाधान गर्छस् त? तँ आफ्नो अनुभव अनि सत्यताको पछ्याइ र बुझाइमा भर पर्नुपर्छ—तब मात्र तैँले साँचो आस्था उत्पन्‍न गर्न सक्छस्। तैँले जति धेरै अनुभव गर्छस् र तँ जति धेरै परमेश्‍वरमा भर पर्छस्, तैँले उहाँ त्यति धेरै भरपर्दो हुनुहुन्छ भनेर महसुस गर्नेछस्। जब तैँले अझ बढी मामलाहरू अनुभव गर्दै जान्छस्, तब परमेश्‍वरले कसरी तेरो बारम्बार सुरक्षा गर्नुहुन्छ, कठिनाइहरू पार गर्न र खतराबाट टाढा रहन कसरी मद्दत गर्नुहुन्छ भन्‍ने देख्दा, तैँले थाहै नपाई परमेश्‍वरप्रतिको साँचो आस्था र भरोसा विकास गर्नेछस्। तँलाई परमेश्‍वर विश्‍वासयोग्य र भरपर्दो हुनुहुन्छ भन्‍ने अनुभूति हुनेछ। सर्वप्रथम तेरो हृदयमा यो आस्था हुनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरमा साँचो विश्‍वास राख्न, हामीले कुराहरूलाई वास्तविक रूपमा अनुभव गर्नुपर्छ, र त्यस्ता अनुभवहरूबाट गुज्रिएपछि मात्र हामीले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताको कदर गर्न सक्छौँ। मैले अघिल्लो वर्ष भएको सामूहिक गिरफ्तारीबारे सोचेँ। हामीले त्यस्तो खतरनाक स्थितिको सामना गर्‍यौँ, तर परमेश्‍वरमा, उहाँका वचनको मार्गदर्शनमा, र प्रार्थनामा भर परेर, हामी त्यसबाट पार पायौँ, र हामीले परमेश्‍वरको सुरक्षा, सर्वशक्तिमान्‌ता, र सार्वभौमिकता देख्यौँ। अहिले, मैले परमेश्‍वरमा विश्‍वास राख्नुपर्थ्यो र परमेश्‍वरका वचनका पुस्तकहरू छिटो सार्नुपर्थ्यो। भोलिपल्ट, मेरा ब्रदर-सिस्टरहरू र म भेट्ने ठाउँमा पुग्यौँ। जब हामीले पुस्तकहरू सारिरहेका थियौँ, तब हामीले प्रहरीलाई गाडी जाँच गरिरहेका देख्यौँ, त्यसैले हामीले परमेश्‍वरलाई प्रार्थना गर्‍यौँ र केही बेर एउटा सानो बाटोमा लुक्यौँ, र अन्तमा, हामीले सफलतापूर्वक पुस्तकहरू सुरक्षित घरमा सार्यौँ।

सतावट र सङ्कष्टहरू अनुभव गरेर, मैले मेरो स्वार्थी र घृणास्पद प्रकृतिको बारेमा बुझाइ प्राप्त गरेँ। मैले ठूलो रातो अजिङ्गरलाई सेवा प्रदान गर्न प्रयोग गर्ने परमेश्‍वरको बुद्धि पनि देखेँ, र परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताको बारेमा अझ वास्तविक बुझाइ प्राप्त गरेँ। परमेश्‍वरलाई पछ्याउने मेरो विश्‍वास अझ बलियो भयो।

अघिल्लो:  १३. जीवन प्रवेशलाई नपछ्याउनुका परिणाम

अर्को:  १५. आफ्नो कर्तव्य पूरा गर्नु मेरो पन्छाउन नसकिने जिम्मेवारी हो

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger