८५. पैसाको बन्धनबाट कसरी मुक्त हुने

मेङ फान, चीन

म सानै छँदा मेरा आमाबुबा बित्नुभयो। घरमा हामी धेरै दाजुभाइ-दिदीबहिनी थियौँ, हामी धेरै गरिब थियौँ, अनि छिमेकीहरू सबैले हामीलाई हेप्थे। कहिलेकाहीँ, म छिमेकीका छोराछोरीसँग खेल्न जाँदा, छिमेकीहरूले कुनै बहाना बनाएर मलाई त्यहाँबाट निकालिदिन्थे। मलाई धेरै दुःख लाग्थ्यो, अनि हामी गरिब भएकाले मानिसहरूले हामीलाई हेपेका हुन् भन्ने मलाई लाग्थ्यो। एक वसन्तमा, मौसम न्यानो हुँदै जाँदा, मसँग फेर्नका लागि मौसमअनुसारका कुनै लुगा थिएनन्, त्यसैले मैले भित्रको भुवा निस्किरहेको बाक्लो ज्याकेट र पाइन्ट नै लगाइराखेँ। म मानिसहरूको बीचमा हिँड्दा, तिनीहरूले मतिर औँला देखाउँदै यसो भन्थे, “यो गरिब टुहुरी बच्चीलाई हेर त!” अरूले राम्रो खाएको र राम्रो लगाएको देख्दा मलाई धेरै डाहा लाग्थ्यो, अनि म सोच्थेँ, “म ठूली भएपछि, म धेरै पैसा कमाउनेछु, ताकि मैले आफूले चाहेको खान र लगाउन सकूँ र कसैले पनि मलाई फेरि कहिल्यै नहेपोस्।” पछि, मेरो विवाह भयो, तर मेरो श्रीमान्‌को परिवार पनि गरिब नै थियो। आफन्त र छिमेकीहरूले हामीलाई हेप्थे, तर म सोच्थेँ, “हामीले कडा परिश्रम गर्‍यौँ भने, हामीले पक्कै पनि हाम्रो अवस्था बदल्न र हामी धनी बन्न सक्छौँ।” मेरो श्रीमान् र म ज्याला-मजदुरी गर्थ्यौँ, साना-तिना व्यापार गर्थ्यौँ, र कृषि उपजको कारोबार गर्थ्यौँ। काम जस्तोसुकै भए पनि, पैसा कमाउने कुनै बाटो छ भन्ने थाहा पायौँ भने, हामी त्यो काम गरेर हेरिहाल्थ्यौँ। तर केही वर्षपछि पनि, हामीलाई हातमुख जोड्न धौ-धौ नै थियो र हामीसँग खासै बचत थिएन। एक पटक, साथीहरूसँग खाना खाँदै गर्दा, तिनीहरूमध्ये एक जनाले हामीलाई यसो भन्दै गिज्याए, “मैले तिमीहरूलाई हेपेको त होइन, तर तिमीहरूले अर्को दश वर्ष काम गर्यौ भने पनि, अहिले मैले जसरी जीवन जिएको छु त्यसरी जिउन सक्नेछैनौ!” तिनको कुराले मलाई निकै रिस उठ्यो। मलाई कसैले गालामा थप्पड हानेजस्तो महसुस भयो र मेरो अनुहार रन्कियो। मैले सोचेँ, “तँ यस्तो बकवास कुरा नगर्। एउटा भनाइ छ नि, ‘गरिबीको जरा हुँदैन, न त धनको बीउ नै हुन्छ।’ सम्पत्ति र गरिबी सधैँ उही रहन्छ भन्‍ने हुँदैन, र हामीले कडा परिश्रम गर्‍यौँ भने हामी सधैँभरि गरिब रहनेछैनौँ!” मैले मेरो श्रीमान्‌लाई भनेँ, “हामीले यसलाई मनमा लिनु हुँदैन, हामीले उसलाई जितेर देखाउनुपर्छ र ऊ गलत थियो भनेर स्वीकार गर्न लगाउनुपर्छ।”

पछि, हामीले ऋण काढेर थोक व्यापार सुरु गर्यौँ। हाम्रा ग्राहकहरूलाई खुसी पार्न, हामी तिनीहरूको घरदैलोमै सामान पुर्‍याउँथ्यौँ, अनि मेरो श्रीमान् र म सामान ओसार्थ्यौँ र घरघरमा बेच्न जान्थ्यौँ। ग्राहकहरू बनाउनका लागि, हामी तिनीहरूलाई सस्तोमा वा उधारोमा बेच्थ्यौँ। केही ग्राहकहरूले नमिठा कुराहरू गर्थे, तर पैसा कमाउनका लागि, हामी जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराइराख्नु पर्थ्यो। म दिनको कम्तीमा पनि दश घण्टा काम गर्थेँ, र दिउँसो, झपझप निद्रा लाग्ने गरी म थकित हुन्थेँ, तैपनि म आफूलाई आराम गर्न दिँदिनथेँ। व्यापार राम्रो हुँदै गएपछि, हामीले हाम्रो कामलाई बढाउँदै लग्यौँ। खर्च बचाउनका लागि, हामीले कुनै कामदार राखेनौँ, र हामी आफैले लोड-अनलोड गर्ने सबै काम गर्थ्यौँ। हरेक दिनको अन्त्यमा, हामी यति लखतरान हुन्थ्यौँ कि, हामीसँग बोल्ने ऊर्जा पनि बाँकी हुँदैनथ्यो। यसरी धेरै वर्ष काम गरेपछि, अन्ततः हामीले केही पैसा कमायौँ, हाम्रो ऋण तिर्यौँ, र डेलिभरी गर्ने गाडी किन्यौँ। हामीले एउटा घर पनि बनायौँ र हाम्रो क्षेत्रमा हामी केही हदसम्म नाम चलेका भयौँ। आफन्त र साथीभाइले हाम्रो प्रशंसा गर्थे र हामीलाई कति सक्षम र सिपालु भनेर तारिफ गर्थे। साथीभाइ र आफन्तहरूबाट पाएको यो सबै प्रशंसाले मलाई गर्व महसुस गराउँथ्यो, र म सोच्थेँ, “मानिसहरूले मलाई हेप्ने दिनहरू बल्ल सकिए, र अब म अरूका अगाडि शिर ठाडो पारेर हिँड्न सक्छु। पैसा हुनु कति राम्रो कुरा रहेछ! म अझै जवान र काम गर्न सक्ने छँदै, म अझै धेरै पैसा कमाउन, अझ राम्रो घर र गाडी किन्न, र अझ उत्कृष्ट जीवन जिउन चाहन्छु जसले गर्दा मानिसहरूले मलाई अझ बढी प्रशंसा गरून्!” त्यसपछि, म अझ धेरै कडा परिश्रम गर्न थालेँ, र म यति व्यस्त हुन्थेँ कि, मलाई समयमा खाना खाने फुर्सद पनि हुँदैनथियो। राति ओछ्यानमा पल्टिँदा पनि, मेरो दिमागमा व्यापारकै कुराहरू खेलिरहन्थे, र कहिलेकाहीँ त म रातभरि निदाउन सक्दिनथेँ, निद्राको औषधीले पनि काम गर्दैनथियो। घाम नझुल्किँदै, मलाई सामान डेलिभरी गर्न फोन आउँथ्यो, र म हतारहतार निस्किहाल्थेँ। म हरेक दिन तनावमा हुन्थेँ। केही सामानहरू ज्वलनशील भएकाले, कहिलेकाहीँ राति सुतिरहेको बेला घरभित्र गाडीको हेडलाइट पर्दा, मलाई आगो लागेको छ जस्तो लाग्थ्यो, र म जुरुक्क उठेर आगो लागेको हो कि भनेर हेर्न बाहिर दगुर्थेँ। म सधैँ तनावमा रहन्थेँ, र यसरी जिउनु साह्रै थकाइलाग्दो थियो। तर आफूले कमाएको पैसा हेर्दा, मलाई खुसी लाग्थ्यो, र मलाई हेप्नेहरूलाई लज्जित पार्न अझै धेरै पैसा कमाउने बारेमा सोच्थेँ।

एक दिन, मेरो श्रीमान् घरमा नभएको बेला, मैले एक्लै ठूलो ट्रकभरिको सामान अनलोड गरेँ, र त्यो रात, सुत्दा मेरो ढाड असाध्यै दुख्यो। भोलिपल्ट बिहान, मेरो ढाड असाध्यै दुखेकाले म निहुरिन पनि सकिनँ, र मलाई हिँड्न पनि गाह्रो भयो। म अस्पताल गएँ, र डाक्टरले चेकजाँच अर्ड मेरो ढाडको नसा च्यापिएको देखियो। उनले मलाई आराम गर्नुपर्ने र अबदेखि भारी काम गर्न नहुने सल्लाह दिए, र यदि फेरि बल गर्‍यो भने, यसको अवस्था बिग्रिएर पक्षाघात पनि हुन सक्छ भनेर बताए। डाक्टरको कुराले मलाई अलि डर लाग्यो। मैले व्यापार मेरो श्रीमान्‌लाई सुम्पिएर केही समय आराम गर्ने सोच बनाएँ, तर फेरि मेरो श्रीमान् कति लापरवाह हुनुहुन्छ भन्ने कुरा सम्झेँ। उहाँले पसलको सामानको खरिद मूल्य वा खुद्रा मूल्यको वास्तै गर्नुहुन्नथियो, र मविना पसल चल्नै सक्दैनथियो। व्यापार यति राम्रो भइरहेको थियो कि, एक दिन मात्रै पसल बन्द गर्दा पनि धेरै पैसा घाटा हुन्थ्यो। मलाई लाग्यो जबसम्म सक्छु म काम गरिरहनेछु, र जब म ढल्छु तब मात्र रोकिनेछु। त्यसैले, मैले समय मिल्दा उपचार गर्दै काम जारी राखेँ। पछि, मलाई मुटुको रोग, पाठेघरमा मासु पलाउने समस्या, नाकको एलर्जी र नसाको कमजोरी भयो। कहिलेकाहीँ म रातभरि सुत्न सक्दिनथेँ, म धेरै झर्कोफर्को गर्ने भएकी थिएँ, मलाई वरिपरिका सबै मानिस र सबै कुरा देख्दा झर्को लाग्थ्यो, र म प्रायः कराउने गर्थेँ। मसँग पैसा भए पनि, रोगको पीडाले मलाई बाँच्नुको कुनै अर्थ छैन जस्तो महसुस गरायो। मलाई एउटा कुरा अझै पनि झलझली याद आउँछ, त्यो वसन्तोत्सवको पूर्वसन्ध्या थियो, र धेरै रात परिसकेको थियो। गल्लीका पसलहरू सबै बन्द भइसकेका थिए, र पूरै गल्लीमा म एक्लै थिएँ। मैले पसलको अगाडि सामानको ठूलो थुप्रो देखेँ जसलाई भित्र सार्नुपर्ने थियो, तर म यति लखतरान थिएँ, मसँग हिँड्ने तागत पनि थिएन। मलाई एक्लोपन र शून्यताको महसुस भयो, र यो जीवन कति कठिन र थकाइलाग्दो छ भन्ने भावनाले मलाई थिच्यो। आँखाभरि आँसु लिएर, मैले आकाशतिर हेरेँ र विलाप गरेँ, “हे दैव! म यसरी जिउँदाजिउँदा थाकिसकेँ। के जीवन भनेको साँच्चै पैसा कमाउनु मात्रै हो त? जीवनको वास्तविक उद्देश्य के हो?”

मैले यो पीडा र अन्योलमा सङ्घर्ष गरिरहेको बेला, २०१४ को वसन्तमा, भर्खरै परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेकी मेरी छोरीले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गरिन्। त्यो बेला, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मेरो हृदयलाई गहिरो गरी छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सर्वशक्तिमान्‌ले यी गहन कष्ट भोगेका मानिसहरूमाथि कृपा गर्नुहुन्छ; साथसाथै, बिलकुलै चेतना नभएका यी मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्नुअघि उहाँले निकै लामो समय पर्खनुपर्छ। उहाँ खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्युँझेस् र तैँले उप्रान्त तिर्खाउने र भोकाउने नगरेस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको केही उजाडता महसुस गर्छस्, तब हराएको महसुस नगर्, नरो। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ। उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, उहाँ तँ पछाडि फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ, तैँले तेरो स्मृति अचानक पुनः प्राप्त गर्ने दिन कुर्दै हुनुहुन्छ: जब तैँले तँ परमेश्‍वरबाट आइस्, अनि तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा तैँले एक ‘पिता’ पाइस् भन्‍ने कुरा थाहा पाउँछस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्‌ले सदा तेरो रखवाली गर्दै, अत्यन्तै लामो समयदेखि त्यहाँ तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्‍ने कुरा थाहा पाउँछस्। उहाँले व्यग्र रूपमा तृष्णा गर्दै, र उत्तररहित प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँले बाटो हेर्दै बस्नु अमूल्य कुरा हो, र त्यो मानव हृदय र मानव आत्माका खातिर हो। सायद उहाँ अनिश्चित कालसम्म बाटो हेर्नुहुन्छ, वा सायद त्यो समाप्त भएको छ। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्‍ने कुरा तैँले जान्नुपर्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, म निकै भावविह्वल भएँ, र म नरोई बस्‍न सकिनँ। खासमा त परमेश्‍वर सधैँ मेरो साथमा हुनुहुँदो रहेछ, र उहाँले म फर्किने बाटो हेरिरहनुभएको रहेछ। पैसाको पछ्याइमा मैले आफैलाई रित्याइसकेकी थिएँ र म बिरामी परेकी थिएँ। मेरा दिनहरू तनावमा बित्थे, र मेरो जीवन धेरै पीडादायी र खाली थियो। परमेश्‍वरले मलाई सुसमाचार प्रचार गर्न मेरी छोरीको प्रयोग गर्नुभयो, जसले गर्दा मैले परमेश्‍वरको आवाज सुन्न पाएँ र म परमेश्‍वरको घरमा फर्कन पाएँ। त्यतिबेला, मलाई आफ्ना आमाबुबाको काखमा फर्किएजस्तै महसुस भयो र मेरो हृदय शान्ति, आराम, र भरोसाको व्यक्ति पाएको अनुभूतिले भरियो।

परमेश्‍वरलाई भेट्टाएपछि, मेरो मानसिक स्थितिमा झन्-झन् सुधार हुँदै गयो, र बिस्तारै, मेरो मुटुको धड्कन सामान्य अवस्थामा फर्कियो। मेरो नाकको एलर्जीमा पनि सुधार आयो, र म राति राम्ररी सुत्न सक्ने भएँ। मलाई परमेश्‍वरले मेरो रोग हटाइदिनुभएको छ भन्ने थाहा थियो, र मेरो हृदय परमेश्‍वरप्रति कृतज्ञताले भरियो। पछि, मैले मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कर्तव्य पाएँ। यसरी, मैले मेरो व्यापार सम्हाल्दै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेकी थिएँ, तर धेरैजसो समय, मेरो हृदय अझै पनि व्यापारमै केन्द्रित हुन्थ्यो, र जबसम्म यसले नयाँ विश्‍वासीहरूसँगको भेलामा बाधा पुर्‍याउँदैन, तबसम्म यो ठीकै हुन्छ भन्ने म ठान्थेँ। कहिलेकाहीँ, भेला हुनुभन्दा अघिल्लो रात, ग्राहकहरू सामान लिन आउँथे, र धेरै बेच्नका लागि, म तिनीहरूलाई अझै धेरै सामान देखाउँथेँ। घर पुग्दा धेरै रात परिसकेको हुन्थ्यो, म यति थकित हुन्थेँ कि मेरो पूरै शरीर दुख्थ्यो, र म घुँडा टेकेर प्रार्थना गर्दागर्दै निदाउँथेँ। राम्ररी आराम नपाएकाले, भोलिपल्ट नयाँ विश्‍वासीहरूसँगको भेलामा मलाई निद्रा लाग्थ्यो। त्यो बेला, मैले मलजल गरिरहेकी एक जना सिस्टर पनि आफ्नो व्यापारमा व्यस्त थिइन्। उनी सधैँ भेलामा ढिलो आउँथिन्, तर म उनीसँग शब्द र धर्मसिद्धान्तहरूको कुरा मात्र गर्थेँ र उनको स्थितिको समाधान गर्दिनथेँ। कहिलेकाहीँ, भेलाको समयमा, म ग्राहकहरूलाई सामान पुर्‍याउन छिटो घर जाने बारेमा सोच्थेँ, र यदि मैले ढिलो सामान पुर्‍याएँ भने, ग्राहकहरूले त्यो लिन नमान्लान् कि भनेर चिन्ता लाग्थ्यो। मेरो मन स्थिर हुन सक्दैनथ्यो, र म भेला चाँडै सकियोस् भन्ने मात्र चाहन्थेँ। अर्को एक पटकको कुरा हो, मेरो श्रीमान् सामान किन्न सहरबाहिर जानुभयो, र उहाँ केही दिनका लागि उतै हुनुहुन्थ्यो। ती दिनहरूमा, मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्नुपर्ने थियो, र यदि म कर्तव्य निर्वाह गर्न बाहिर गएँ भने, मैले पसल बन्द गर्नुपर्थ्यो। म सोच्थेँ, “मैले दिनको एक हजार युआनभन्दा बढी कमाउन सक्छु। यदि मैले केही दिन पसल बन्द गरेँ भने मलाई कति पैसा घाटा हुन्छ?” त्यसैले, मैले छल गर्दै अगुवालाई यस्तो बहाना बनाएँ, “यदि मैले पसल बन्द गरिराखेँ भने, छिमेकीहरूले म परमेश्‍वरमा विश्‍वास गर्छु भनेर शङ्का गर्न थाल्नेछन्, अनि त्यसले सुरक्षाको जोखिम निम्त्याउन सक्छ।” त्यसैले मैले मेरो सट्टामा अगुवालाई नै नयाँ विश्‍वासीहरूको भेला सञ्चालन गर्न लगाएँ। एक साँझ, खाना खाएपछि, मलाई अचानक रिंगटा लाग्यो र पेटमा असजिलो महसुस भयो, जसले गर्दा मैले भर्खरै खाएको सबै खाना बान्ता गरेँ। सुरुमा, मलाई मैले खाएको कुनै कुराले गर्दा यस्तो भयो होला भन्ने लाग्यो, तर बान्ता गरेपछि, रिंगटा झन् बढ्यो। मेरो श्रीमान्‌ले मलाई अस्पताल लैजानुभयो, र मैले हृदयमा परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहेँ, “हे परमेश्‍वर, आज तपाईंले ममाथि यो रोग आउन दिनुभएको छ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले तपाईंको अभिप्राय बुझ्न सकूँ र मैले कहाँ गल्ती गरेँ भनेर देख्न सकूँ। म पश्चात्ताप गर्न चाहन्छु।”

मेरो खोजीको क्रममा, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्नेथ्यौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रनेथिए र अर्को हातले सत्यता समात्नेथिए। के तिमीहरूको साँचो रूप त्यसपछि आफै स्पष्ट हुनेथिएनन् र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक ख्याल गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक तिर्नेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेथियौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। परमेश्‍वरका वचनहरूमा चिन्तन गर्दा र आफ्नै व्यवहारको बारेमा सोचेर हेर्दा, के म ठ्याक्कै परमेश्‍वरले भन्नुभएको जस्तै एक हातले पैसा र अर्को हातले सत्यता समात्न खोज्ने व्यक्ति थिइनँ र? मैले परमेश्‍वरमा विश्‍वास गरेर कर्तव्य निर्वाह गरे पनि, मेरो दिमागमा हरेक दिन व्यापारकै कुरा रहन्थ्यो, र म सधैँ कसरी धेरै पैसा कमाउने भनेर सोचिरहन्थेँ। म आफ्नो सारा समय पैसा पछ्याएरै बिताउँथेँ र विरलै मात्र परमेश्‍वरका वचनहरू खाने-पिउने गर्थेँ। मैले आफ्नो कर्तव्यलाई फुर्सदको समयमा गर्ने काम जस्तो ठानेकी थिएँ, र जब म कर्तव्य निर्वाह गर्थेँ, तब म झारा टार्ने हिसाबले मात्र गर्थेँ। नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कर्तव्यमा प्रशिक्षित हुने मौका पाउनु नै परमेश्‍वरले मलाई गर्नुभएको उत्थान हो, र मैले आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने, र मेरा ब्रदर-सिस्टरहरूको स्थिति र कठिनाइहरू कसरी समाधान गर्ने भनेर गम्भीरतापूर्वक विचार गर्नुपर्थ्यो। तैपनि, मैले मेरो कर्तव्यलाई आफ्नो जिम्मेवारी ठानेकी थिइनँ, र मेरो मन केवल कसरी धेरै पैसा कमाउने भन्नेमा मात्र केन्द्रित थियो। म व्यापारका लागि हरेक दिन अबेरसम्म बस्ने गर्थेँ, जसले गर्दा भोलिपल्ट नयाँ विश्‍वासीहरूसँगको भेलामा मलाई निद्रा लाग्थ्यो, र म केवल शब्द र धर्मसिद्धान्तहरू सङ्गति गर्थेँ। भेलाको समयमा ब्रदर-सिस्टरहरूसँग अझ बढी सङ्गति गर्ने समय भए पनि, भेला ढिलो सकियो भने सामान बेच्न ढिला हुनेछ भन्ने डरले, म हतारहतार भेला सकाउँथेँ। धेरै पैसा कमाउनका लागि, मैले अगुवासँग झूट समेत बोलेँ, र नयाँ विश्‍वासीहरूसँगको भेला सञ्चालन गर्ने मेरो काम गर्न उहाँलाई नै अनुरोध गरेँ। परमेश्‍वरलाई भेट्टाउनुअघि, म हरेक दिन पैसाका लागि आफूलाई व्यस्त राख्थेँ, जसले मलाई थकाउँथ्यो र बिरामी पार्थ्यो। म यति सास्ती र असह्य पीडामा थिएँ कि, मैले बाँच्ने साहस समेत गुमाइसकेकी थिएँ। परमेश्‍वर नै हुनुहुन्थ्यो जसले मलाई मुक्ति अनि उहाँको आवाज सुन्ने मौका दिनुभयो, र म परमेश्‍वरको मुक्तिप्रति कृतज्ञ हुनुपर्थ्यो र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि यो जीवनमा एक पटक आउने अवसरलाई सदुपयोग गर्नुपर्थ्यो। तर मेरो दिमाग अझै पनि कसरी धेरै पैसा कमाउने भन्ने विचारले भरिएका थिए, र जब मेरो कर्तव्य मेरो व्यक्तिगत स्वार्थसँग बाझिन्थ्यो, तब म सधैँ मेरो कर्तव्यलाई पन्छाउँथेँ। म साँच्चै स्वार्थी र घृणास्पद थिएँ, र ममा मानवताको कमी थियो! परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो?” म पहिले पैसा पछ्याउनमा मात्र केन्द्रित थिएँ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दिनथेँ, तर परमेश्‍वरले मलाई छनौटको अर्को मौका दिनुभयो। म परमेश्‍वरमा भर पर्न, पैसाको पछ्याइलाई पन्छाउन, परमेश्‍वरका वचनहरू अझ बढी खाने-पिउने गर्न, सत्यता पछ्याउन, र आफ्नो कर्तव्यमा हृदय लगाउन इच्छुक भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “मानिसहरू पैसा र ख्याति अनि प्राप्तिको पछि दौडेरै आफ्‍नो पूरै जीवन बिताउँछन्; तिनीहरू यी कुराहरूलाई जीवन रेखा, आफ्नो एक मात्र सहाराका रूपमा लिन्छन्—मानौँ ती हुनुको मतलब तिनीहरूले बाँचिरहन र मृत्युबाट उम्कन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै पैसा, ख्याति, र प्राप्ति आफूबाट कति टाढा छन्, र मृत्युको मुखमा तिनीहरू कति कमजोर र शक्तिहीन छन्, तिनीहरू कति नाजुक छन्, र तिनीहरू कति एक्लो र विवश छन्, र जाने कुनै ठाउँ छैन भन्‍ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्याति र प्राप्ति जीवनसँग साट्न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको हैसियत जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्याति र प्राप्तिले कुनै व्यक्तिलाई मृत्युबाट उम्कन सक्षम बनाउन सक्दैन, न त पैसाले न त ख्याति र प्राप्तिले व्यक्तिको आयु एक मिनेट वा एक सेकेन्ड मात्रै पनि बढाउन सक्छ भन्‍ने महसुस गर्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनले मेरो हृदय छोए। म अरूले प्रशंसा गरून् भनेर मात्र पैसा कमाउन अन्धाधुन्ध काम गर्थेँ, र पैसा कमाउँदा मलाई सबै थोक मिल्नेछ भन्ने ठान्थेँ। तर जब रोगको कष्ट आयो, तब पैसाले मेरो पीडा कम गर्न केही पनि गरेन। तब मात्र मैले यस्तो महसुस गरेँ, “यदि मैले आफ्नो ज्यान गुमाएँ भने, धेरै पैसा कमाउनुको फाइदा के हुनेछ र? यदि म मरेँ भने, मानिसहरूको त्यो क्षणिक प्रशंसा र तारिफको के काम?” मैले मेरा दुई जना धनी छिमेकीहरूको बारेमा सोचेँ। एक जनालाई तीस वर्षको उमेरमै रगतको क्यान्सर भयो, र धेरै पैसा खर्च गर्दा पनि, उनी निको हुन सकिनन्। अन्त्यमा, दुई साना छोराछोरीलाई छोडेर उनी बितिन्। अर्का छिमेकी, जो चालीस वर्षका थिए, उनलाई मस्तिष्कघात भयो, उनी कोमामा पुगे, र त्यसको केही समयपछि मरे। यो देखेर, जतिसुकै पैसाले पनि मानिसको आयु बढाउन सक्दैन भन्ने मैले महसुस गरेँ, र मैले पैसा कमाउनका लागि मात्र आफ्नो ज्यान जोखिममा पार्नु हुँदैन भन्ने मलाई थाहा भयो। त्यसपछि, मैले आफ्नो कर्तव्यमा ध्यान केन्द्रित गर्न थालेँ। कर्तव्यबाहेक, मैले परमेश्‍वरको अगाडि आफूलाई शान्त राख्ने, उहाँका वचनहरू खाने-पिउने, र आफूलाई सत्यताले सुसज्जित गर्ने अभ्यास गरेँ। बिस्तारै, मेरो कर्तव्यको नतिजामा सुधार आयो, र मैले सबैसँग मण्डली जीवन जिउँदा ठूलो आनन्द पनि पाएँ।

एक दिन, कर्तव्य सकेर म पसलमा फर्किएँ, मेरो श्रीमान्‌ले मलाई बिक्रीको रसिद दिनुभयो, र केही सामानहरूको हिसाब मिलेको रहेनछ भन्‍ने देखेँ। ग्राहकसँग बुझ्दा, मेरो श्रीमान्‌ले धेरै सामानहरूको हिसाब कम लेख्नुभएको रहेछ भन्ने मलाई थाहा भयो। एउटा बिलमा त उहाँले ५०० युआन लिनुपर्नेमा ५० युआन मात्र लेख्नुभएको थियो। मैले सोचेँ, “मलाई पहिलेदेखि नै थाहा थियो, मेरो श्रीमान् लापरवाह हुनुहुन्छ, उहाँले प्रायः कम पैसा लिनुहुन्छ र बढी सामान दिनुहुन्छ, र हरेक दिन ग्राहकहरू सामान किन्न आउँदा, यही तालले हिसाब गर्ने हो भने त, जतिसुकै पैसाले पनि हाम्रो घाटा पूर्ति गर्न सक्दैन। मविना त पसल चल्नै नसक्ने रहेछ।” मलाई यो कुरालाई बेवास्ता गर्न गाह्रो भयो। त्यो क्षण, मलाई म फेरि एक पटक पैसामा केन्द्रित भइरहेकी छु भन्ने महसुस भयो, त्यसैले मैले विचार गरेँ, “मलाई थाहा छ, मानिससँग कति पैसा हुन्छ भन्ने कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुहुन्छ, र पनि मलाई पैसाको पछ्याइलाई पन्छाउन किन सधैँ यस्तो गाह्रो हुन्छ?” मैले परमेश्‍वरका वचनमा यस्तो लेखिएको पढेँ: “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्‍ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानिसहरूमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेनन्, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, तिनीहरूले यसलाई मौन स्वीकृति दिए, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाले। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? सायद मानिसहरूलाई यो भनाइबारे समान स्तरको अनुभवात्मक ज्ञान छैन, तर सबैमा आफू वरपर घटेका घटनाहरू र आफ्नै व्यक्तिगत अनुभवहरूका आधारमा यो भनाइबारे फरक-फरक स्तरको व्याख्या र स्वीकारोक्ति हुन्छन्। त्यसो होइन र? कुनै व्यक्तिसँग यो भनाइबारे जतिसुकै गहन अनुभव भए पनि, यसले उसको हृदयमा कस्तो नकारात्मक असर पारेको छ? त्यो के हो भने, यस संसारका मानिसहरूले—र यसमा तिमीहरूमध्ये प्रत्येक पर्छौ भनेर भन्न सकिन्छ—आफ्नो स्वभावबाट केही कुरा प्रकट गर्छन्। त्यो के हो? त्यो पैसाको आराधना हो। के यो मानिसहरूको हृदयबाट हटाउन सजिलो छ? अहँ, यो सजिलो छैन! यसले शैतानले मानिसलाई साँच्चै गहन रूपमा भ्रष्ट तुल्याएको छ भन्ने देखाउँछ! शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्‍ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्‍ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्‍ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सक्छु भन्‍ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५)। परमेश्‍वरका वचन पढिसकेपछि, मैले के महसुस गरेँ भने, अरूको प्रशंसा पाउनका लागि सम्पत्तिको खोजी गर्नु सकारात्मक कुरा होइन, र यो मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने एउटा तरिका हो। मानिसहरू पैसाका लागि बाँच्छन्, र तिनीहरूसँग केही पैसा भएपछि, तिनीहरूले अझ धेरै चाहन्छन्। सम्पत्तिका लागि तिनीहरूको चाहना बढ्दै मात्र जान्छ, र अन्त्यमा, तिनीहरू पैसाका लागि नै मर्छन्, र सत्यता पछ्याउने र मुक्ति पाउने आफ्नो अवसर गुमाउँछन्। म सानो छँदा, हाम्रो परिवार गरिब थियो, र हाम्रा वरिपरिका मानिसहरूले हामीलाई गिज्याउँथे, त्यसैले म आफूलाई अरूभन्दा कमसल ठान्थेँ। म हुर्किएपछि पनि जब मैले पैसा कमाउन सकिनँ, तब साथीसङ्गी र आफन्तहरूले मलाई हेपे, र मलाई पैसाविना जीवन असह्य हुन्छ भन्‍ने कुराको अझ बलियो अनुभूति भयो। त्यसैले मैले पैसा कमाउनुलाई आफ्नो जीवनको लक्ष्य बनाएँ। म “पैसा सबथोक होइन, तर पैसाविना केही पनि गर्न सकिँदैन,” “दुनियाँ पैसाको इसारामा चल्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो,” र शैतानले मानिसहरूको दिमागमा हालिदिएका यस्तै अन्य विषहरूद्वारा जिउँथेँ। पैसा कमाउन सकिन्छ भने, म जस्तोसुकै दुःख भोग्न तयार हुन्थेँ, र मलाई ढाडको नसा च्यापिएर पक्षाघात हुने अवस्था आउँदा पनि मैले आराम गरिनँ। मलाई काम नगर्नु भनेको पैसा कम कमाउनु हो भन्ने चिन्ता लाग्थ्यो, त्यसैले म आफूलाई घचेटिरहन्थेँ, मानौँ मैले साइकल चलाइरहेकी छु र म नलडुन्जेलसम्म रोकिने छैन। अन्त्यमा, मेरो रोगले मलाई यति धेरै पीडा दियो कि, मलाई बाँच्नै मन भएन। परमेश्‍वरलाई भेट्टाएपछि पनि, म यिनै शैतानी विषहरूद्वारा जिइरहेँ। मैले आफ्नो कर्तव्य निर्वाह गरे पनि, मेरो हृदय अझै पनि कसरी धेरै पैसा कमाउने भन्नेमा केन्द्रित थियो, र मैले झारा मात्रै टारिरहेकी र भेलाहरूमा समय मात्रै काटिरहेकी थिएँ। यसले गर्दा मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा नोक्सान पुग्यो, र मैले कुनै प्रगति गर्न सकिनँ। शैतानका विषहरूद्वारा जिउँदा मलाई पीडा मात्र भयो र मैले कर्तव्य निर्वाह गर्दा अपराधहरू गरेँ। प्रशंसा कमाउनका लागि सम्पत्ति पछ्याउनु नै शैतानले मानिसहरूलाई नियन्त्रण गर्ने र विनाशतिर डोर्‍याउने माध्यम हो। म अब उप्रान्त शैतानको प्रलोभनमा पर्न र सम्पत्तिको पछि लागेर आफ्नो समय खेर फाल्न चाहन्नथेँ। मैले आफ्नो ऊर्जा परमेश्‍वरका वचनहरू खाने-पिउने र आफ्नो कर्तव्य निर्वाह गर्ने कुरामा केन्द्रित गर्नुपर्थ्यो। त्यसपछि, मैले व्यापारमा कम ध्यान दिएँ, पसलमा कम जान थालेँ, र मलाई शारीरिक र मानसिक दुवै रूपमा धेरै हल्का महसुस भयो। पछि, मैले परमेश्‍वरका अझै धेरै वचन पढेँ: “सामान्य मानिस, र परमेश्‍वरलाई प्रेम गर्न खोज्ने मानिसहरूका रूपमा, राज्यमा प्रवेश गर्नु र परमेश्‍वरका मानिसहरू बन्‍नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वपूर्ण जीवन हो; तिमीहरूजत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरका लागि जिउँछौ, र परमेश्‍वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ)। पहिले, म देह र पैसाका लागि जिइरहेकी, अरूबाट प्रशंसा पाउने कुरा पछ्याइरहेकी, र विनाशको बाटो हिँडिरहेकी थिएँ। अहिले म परमेश्‍वरको पछि लाग्न, सत्यता पछ्याउन, र एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएकी छु। यो नै सबैभन्दा बहुमूल्य र अर्थपूर्ण जीवन हो। मैले आफ्ना विचारहरू सत्यताको पछ्याइ र आफ्ना कर्तव्यहरूमा केन्द्रित गर्नुपर्छ, र परमेश्‍वरको प्रेमको प्रतिदान गर्न मैले आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ।

एक दिन, मेरो श्रीमान् घर आउनुभयो र उहाँले हाम्रो क्षेत्रमा एउटा ठूलो सुपरमार्केट खुलेको छ, र मार्केटिङ विभागले व्यापार बढाउन सुरुमा ठूला व्यापारीहरूलाई आकर्षित गर्न चाहेको छ भनेर मलाई भन्नुभयो। तिनीहरूले हामीजस्ता ठूला व्यापारीहरूलाई धेरै राम्रो सर्तहरू दिइरहेका थिए, जस्तै तीन वर्षका लागि भाडा र गोदाम निःशुल्क दिने। मेरो श्रीमान्‌ले यस विषयमा मसँग छलफल गर्नुभयो, उहाँ त्यहाँ सामान स्टक गरेर मैले समान बेचूँ भन्ने चाहनुहुन्थ्यो, र यो नाफाको ग्यारेन्टी भएको व्यापार हो भनेर भन्नुभयो। म अलि लोभिएँ, र सोचेँ, “के यो हाम्रो हातमा आएको सुनौलो मौका होइन र? हामीले अहिले हरेक वर्ष भाडामा दशौँ हजार युआन तिरिरहेका छौँ। यदि हामीले यो नयाँ बजारमा थोक र खुद्रा व्यापार गर्यौँ भने, हाम्रो व्यापार पक्कै फस्टाउनेछ, र हामीले धेरै कमाएपछि, हामीले अझ राम्रो घर र गाडी किन्न सक्छौँ। यसले हाम्रा आफन्त र साथीभाइलाई हाम्रो अझ बढी प्रशंसा र डाहा गर्ने तुल्याउनेछ!” तर यदि म सहमत भएँ भने, मेरो श्रीमान् र मैले छुट्टाछुट्टै पसलहरू सम्हाल्नुपर्ने हुन्छ, र हामीले धेरै पैसा कमाए पनि, हामी पक्कै पनि पहिलेभन्दा धेरै व्यस्त र लखतरान हुनेछौँ। मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरूमा चिन्तन गर्दा, मैले यो महसुस गरेँ, “के यो ठ्याक्कै शैतानको परीक्षा होइन र? यदि हामीले अर्को पसल खोल्यौँ भने, हामीले धेरै पैसा कमाउन र आफ्नो प्रतिष्ठा बढाउन त सकौँला, तर त्यसपछि मसँग परमेश्‍वरका वचनहरू खाने-पिउने वा आफ्नो कर्तव्य निर्वाह गर्ने समय हुनेछैन। के यसले मेरो मुक्ति पाउने मौकालाई बर्बाद पार्ने छैन र?” मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झिएँ: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। यो एकदमै सही थियो। मैले जतिसुकै पैसा कमाए पनि, यदि अन्त्यमा मेरो ज्यानै गुम्यो भने त्यसको के काम? परमेश्‍वरले मलाई प्रशस्त आशिष्‌ दिनुभएको थियो, त्यसैले मैले आफ्नो सबै समय र ऊर्जा पैसा कमाउनमा मात्र लगाइराख्नु हुँदैनथियो। परमेश्‍वरको अभिप्राय बुझेर, मैले मेरो श्रीमान्‌लाई नयाँ बजारमा पसल खोल्ने विचार त्याग्न मनाएँ। मलाई अचम्म लाग्यो, उहाँ सहमत हुनुभयो, र मलाई हृदयमा धेरै ढुक्क महसुस भयो। म पैसाको बन्धनबाट मुक्त हुनु भनेको ममाथि परमेश्‍वरका वचनहरूले काम गरेको नतिजा हो!

अघिल्लो:  ८४. निराकरणपछि गरिएको चिन्तन-मनन

अर्को:  ८६. मूल्याङ्कन लेख्दा सिकेको पाठ

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger