३. विश्वासमा तातो न चिसो भएर तपाईंले आफैलाई बर्बाद पार्नुहुनेछ
सन् २०२४ को फेब्रुअरीको सुरुतिर, म मण्डलीमा लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेकी थिएँ। सुरुमा, म निकै उत्साहित थिएँ; मलाई मेरो जीवन प्रवेश एकदमै सतही छ र म सबै क्षेत्रमा कमजोर छु जस्तो लाग्थ्यो, त्यसैले लेखन-पठनको कर्तव्यमा तालिम लिएर अनि सत्यता र सिद्धान्तहरूलाई अझ बढी बुझेर, मैले छिट्टै जीवन वृद्धि हासिल गर्न सक्छु भन्ने मलाई लागेको थियो। पछि, सुपरिवेक्षकले मलाई चिन लान नाम गरेकी सिस्टरसँग काममा खटाउनुभयो ताकि एउटा टोलीको प्रवचन समीक्षाको काम व्यवस्थापन गर्न सकियोस्। चिन लानले मभन्दा लामो समयदेखि लेखन-पठनको कर्तव्य निर्वाह गर्दै आउनुभएको थियो र उहाँले सिद्धान्तहरू र पेशागत सीपहरू केही हदसम्म बोध गर्नुभएको थियो। म धेरै खुसी थिएँ, किनभने उहाँसँग सहकार्य गर्दा मैले धेरै कुराहरू सिक्न सक्छु र आफ्नो कर्तव्यमा अझ वृद्धि हुन सक्छु भन्ने सोचेको थिएँ। म यो कर्तव्यमा भर्खरै आएकी हुँ भन्ने थाहा पाएर, चिन लानले मलाई निकै विस्तृत निर्देशन दिनुहुन्थ्यो। प्रवचनहरू हेर्दा, उहाँले सुरुमा तीबारे मेरो दृष्टिकोण माग्नुहुन्थ्यो, र यदि मैले केही कुरा बुझिनँ भने, उहाँले मसित बुँदागत रूपमा सङ्गति गर्नुहुन्थ्यो। म लगनशीलताका साथ अध्ययन गर्थेँ र टिपोटहरू बनाउँथेँ, अनि यसरी कर्तव्य निर्वाह गर्दा निकै सहज महसुस गर्थेँ। पछि, कामको समीक्षा गर्दा, वास्तवमै गर्नुपर्ने धेरै कामहरू रहेछन् भन्ने मैले महसुस गरेँ। प्रवचनहरू छान्नेबाहेक, हामीले टोलीका सदस्यहरूको वर्तमान स्थिति र कार्यप्रगतिबारे जानकारी राख्नुपर्थ्यो, र कामको नतिजा खस्कँदा, हामीले सबै विचलन र समस्याहरूको समीक्षा गर्नुपर्थ्यो। हामीले पेशागत सीपहरूको अध्ययन व्यवस्थित गर्नुपर्थ्यो, मानिसहरूको संवर्धन गर्नुपर्थ्यो, इत्यादि। मैले मनमनै सोचेँ, “यी सबै विभिन्न परियोजनाहरू व्यवस्थापन गर्ने काम एकदमै जटिल छ; यी सबै काम राम्ररी गर्न मैले कति धेरै सोचविचार र ऊर्जा लगाउनुपर्छ होला अनि कति धेरै मूल्य चुकाउनुपर्छ होला?” यस्तो सोच आउनेबित्तिकै, मलाई यो काम निकै झन्झटिलो र मेरो शरीरको लागि अति नै थकाइलाग्दो रहेछ भन्ने महसुस भयो। ती सिस्टरहरू र मैले काममा भएका विचलनहरूको समीक्षा गर्दा, म सहभागी हुन र संलग्न हुन चाहन्थेँ, तर जब मैले म यो कर्तव्यमा नयाँ छु र मैले कुराहरू बुझेको छैन, अनि चिन लान कामका सबै पक्षहरूसँग परिचित हुनुहुन्छ भन्ने सोच्दा, उहाँमै बढी भर पर्नु उचित लाग्यो, त्यसैले म केवल श्रोताको भूमिका निर्वाह गर्नमै ठीक थिएँ। विचलनहरू सच्याउने सम्बन्धी पत्रहरू लेख्दा, म केवल चिन लान र अरूले छलफल गरेका मुख्य बुँदाहरूलाई व्यवस्थित गर्थेँ, जसले गर्दा मैले धेरै झन्झट लिनु पर्दैनथियो। जब कामको नतिजा बिग्रिन्थ्यो, तब सिस्टरहरू सबै धेरै चिन्तित बन्नुहुन्थ्यो र आत्म-चिन्तन गर्दै उहाँहरूको काममा भएका विचलनहरूको सारांश निकाल्नुहुन्थ्यो, तर हाम्रो कामको नतिजासँग मेरो कुनै सरोकार छैन भन्ने ठान्दै म बेफिक्री नै रहन्थेँ। म कर्तव्यमा नयाँ छु, कि त बुझ्दिनँ कि त गर्न सक्दिनँ, र म समस्याहरूलाई सतही रूपमा हेर्छु भन्ने सोच्थेँ, त्यसैले म एक सामान्य पछौटे बन्नमै चित्त बुझाएर बसेँ। हरेक दिन, म नियमित तवरले कामको जाँचबुझ मात्र गर्थेँ, र यसमा धेरै दिमाग खियाउन चाहन्नथेँ। कहिलेकाहीँ त बेलुका ९ नबज्दै मलाई निद्रा लाग्न थाल्थ्यो।
मार्चको सुरुतिर, मलाई लगातार धेरै दिनसम्म छाती दुख्नुका साथै घुँडामा नराम्रो पीडा भयो। एउटी सिस्टरले मलाई सम्झाउँदै भन्नुभयो, “तपाईंले हालसालै आफ्नो कर्तव्यमा खासै बोझको बोध देखाउनुभएको छैन। अब तपाईं बिरामी पर्नुभएको छ, तपाईंले केही आत्म-जाँच गर्न सक्नुहुन्छ।” उहाँले मलाई सङ्गति गर्न अर्की सिस्टरको अनुभव पनि प्रयोग गर्नुभयो, र ती सिस्टरले कसरी आफ्नो कर्तव्यमा सधैँ अरूको कुरा सुन्ने र अरूमा भर पर्ने गर्नुहुन्थ्यो, उहाँको आफ्नै दृष्टिकोण हुन्थेन, र पछि कर्तव्यमा प्रभावकारी नभएको कारण उहाँलाई कसरी बर्खास्त गरियो भन्ने कुरा बताउनुभयो। बर्खास्त भएपछि मात्र उहाँले पछुतो मान्नुभयो र आफ्नो कर्तव्यको महत्त्व महसुस गर्नुभयो। ती सिस्टरको सङ्गति सुनेपछि मलाई निकै नराम्रो लाग्यो, र मैले सोचेँ, “के हालसालै मेरो स्थिति पनि यस्तै भएको छैन र? म कुनै पनि कुराको झमेला लिन चाहन्नथेँ र मैले केवल एक पछौटे जस्तै व्यवहार गरिरहेकी थिएँ।” मैले केही दिनअघि पढेको परमेश्वरको वचनको एउटा खण्ड सम्झेँ, जुन मेरो स्थितिसँग निकै सम्बन्धित थियो, त्यसैले मैले त्यो खोजेर पढेँ। परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसमा आफ्नो कर्तव्य पूरा गर्दा समर्पणता भएजस्तो देखिन्छ, र माथिले जे प्रबन्ध गर्नुहुन्छ त्यही गर्छन्। तर ‘के तिमी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले निर्वाह गर्छौ? के तिमी यो सिद्धान्तहरूअनुसार गर्छौ?’ भनेर सोधिँदा, तिनीहरू कुनै निश्चित जवाफ दिन सक्दैनन्, र यति मात्रै भन्छन्, ‘म माथिले निर्देशन दिएअनुसार गर्छु र कुकर्म गर्दै जथाभाबी हिँड्ने आँट गर्दिनँ।’ जब तिनीहरूलाई आफ्नो जिम्मेवारी पूरा गरेको कि नगरेको भनी सोधिन्छ, तब तिनीहरू भन्छन्, ‘अँ, म आफूले गर्नुपर्ने काम गरिरहेको छु।’ देखिस्? तिनीहरूमा आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ यस्तो मनोवृत्ति हुन्छ—तिनीहरू हतार गर्दैनन्, बिस्तारै काम गर्छन्, र आधा मन लगाउँछन्। तँ तिनीहरूमा साँच्चै गल्ती भेट्टाउन सक्दैनस्, तर यदि तैँले तिनीहरूको कर्तव्यको निर्वाहलाई सत्यता सिद्धान्तहरूअनुसार मापन गरिस् भने, यो अकुशल हुन्छ र मानकअनुरूप हुँदैन। तैपनि, तिनीहरू वास्ता गर्दैनन्, तिनीहरू पहिले गरेजस्तै कार्य गरिरहन्छन्, र तिनीहरू अग्रसरता लिएर गर्नुपर्ने कामहरू अझै पनि गर्दैनन्—तिनीहरू पटक्कै परिवर्तन हुँदैनन्। के तिनीहरू निर्लज्ज रूपमा हठी छैनन् र? तिनीहरू सधैँ यो मनोवृत्ति कायम राख्छन्: ‘तेरा हजारौँ उत्कृष्ट योजनाहरू हुन सक्छन्, तर मेरा आफ्नै नियमहरू छन्। म यस्तै छु। हेरौँ, तँ मलाई के गर्न सक्छस्। मेरो मनोवृत्ति यही हो!’ तिनीहरूले कुनै अत्यन्तै विश्वासघाती वा दुष्ट काम गरेका हुँदैनन्, तर तिनीहरूले केही मात्र असल कार्य गरेका हुन्छन्। तँ तिनीहरू कुन मार्गमा हिँडिरहेका छन् भनी भन्छस्? के परमेश्वरमा विश्वास र आफ्नो कर्तव्यप्रतिको यस्तो मनोवृत्ति असल हो? (होइन।) बाइबलमा, परमेश्वर यसो भन्नुहुन्छ: ‘त्यसैले तँ, न त चिसो न त तातो, बरु मनतातो भएको हुनाले, म तँलाई मेरो मुखबाट ओकलिदिनेछु’ (प्रकाश ३:१६)। न चिसो न तातो, मनतातो हुनु—के यो मनोवृत्ति असल हो? (होइन।) कतिपय मानिस सोच्छन्, ‘यदि मैले दुष्टता गरेँ र अवरोधहरू उत्पन्न गरेँ भने, मलाई तुरुन्तै दोषी ठहराइनेछ। तर यदि मैले सकारात्मक र सक्रिय रूपमा कामकुरा गरेँ भने, म थाक्नेछु, र यदि मैले केही गर्दा गल्ती गरेँ भने, मलाई काटछाँट गरिन सक्छ, वा सायद मलाई बर्खास्त समेत गरिनेछ, जुन धेरै लाजमर्दो हुनेछ! त्यसैले म मनतातो रहन्छु, न चिसो न तातो। तिमी मलाई जे गर्न भन्छौ, म त्यही गर्नेछु। तर यदि तिमी मलाई केही गर्न भन्दैनौ भने, म हस्तक्षेप गर्नेछैनँ। यसरी, म थाक्नेछैनँ, र त्यसमाथि मानिसहरूले ममा गल्ती भेट्टाउन सक्नेछैनन्। यो तरिका उत्कृष्ट छ!’ के आफूलाई आचरणमा ढाल्ने यो तरिका असल हो? (होइन।)” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्वरका वचनहरूले ममा गहिरो प्रभाव पारे। उहाँले कर्तव्यमा रहेको मेरो अवस्थालाई नै खुलासा गर्नुभएको थियो। बाहिरी रूपमा हेर्दा, म सुपरिवेक्षकले जे भन्नुहुन्थ्यो त्यही गर्थेँ; म कामको जाँचबुझ गर्थेँ र प्रवचनहरू छान्थेँ, यी सबै कामहरू गर्थेँ, र मैले कुनै दुष्ट काम गरिनँ वा बाधाहरू खडा गरिनँ। तर, कर्तव्यमा मेरो मनोवृत्ति निष्क्रिय थियो। मैले एक महिनाभन्दा बढी समयदेखि लेखन-पठनको काम गर्दै आएकी थिएँ, र म हरेक दिन अलमल्ल परेर अनि कुनै आतुरी बोधविना बिताउँथेँ। म कर्तव्यमा केवल एक नोकरले जस्तै व्यवहार गर्थेँ, पत्रहरूको जवाफ दिँदा चिन लानको दृष्टिकोणमा सहमत हुन्थेँ, र कामको समीक्षामा संलग्न हुँदिनथेँ। काममा कुनै प्रगति नहुँदा, म चिन्तित वा व्याकुल हुँदिनथेँ र केवल “म यो काममा नयाँ छु,” “म गर्न सक्दिनँ,” वा “म बुझ्दिनँ” भन्ने बहानाहरू बनाउँथेँ। हरेक कुराप्रति ममा बेवास्ता गर्ने मनोवृत्ति हुन्थ्यो र ममा कर्तव्यमाप्रति अलिकति पनि बोझको बोध थिएन। कर्तव्यमा बोझ बोक्नेहरूले परमेश्वरका अभिप्रायहरू ख्याल गर्न सक्छन् र कसरी काम छिटो अघि बढाउने भनेर सोच्न सक्छन्, र तिनीहरूले काममा आउने समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छन्, उचित कुराहरूबारे सोच्न सक्छन्, र तिनीहरूसँग सक्रिय मनोवृत्ति हुन्छ। तर मेरो हकमा भने, म केवल आफ्नो शरीरलाई कष्ट हुन नदिने बारेमा मात्र सोच्थेँ। म आफ्ना सबै काममा मसँगै सहकार्य गर्ने सिस्टरमा भर पर्थेँ र एउटा पनि जिम्मेवारी पूरा गर्दिनथेँ। त्यतिबेला मैले ती सिस्टरले मलाई सम्झाउनुभएको कुरामा परमेश्वरको अभिप्राय लुकेको रहेछ भन्ने महसुस गरेँ। यदि मैले कर्तव्यप्रति यस्तै मनोवृत्ति राखिरहेँ भने, यो धेरै खतरनाक हुनेथियो, र मैले आफैलाई बर्बाद पार्नेथिएँ। यो कुरा बुझेपछि, मलाई आफू सङ्कटमा परेको महसुस भयो र मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म अरूमा धेरै निर्भर छु र केवल एक नोकर बन्न चाहन्छु। म कहिल्यै कुनै कुराको चिन्ता लिन वा कष्ट भोग्न चाहन्नँ र ममा कर्तव्यप्रति अलिकति पनि बोझको बोध छैन। हे परमेश्वर, म यो ‘तातो न चिसो’ स्थितिमा रहिरहन र तपाईंद्वारा घृणित हुन चाहन्नँ। म परिवर्तन हुन चाहन्छु—कृपया मलाई अगुवाइ दिनुहोस्।” त्यसपछि, मैले सचेत भई कर्तव्यप्रतिको आफ्नो मनोवृत्ति बदलेँ, गम्भीर कुराहरूलाई मनमा राख्थेँ र बेलुकातिर झुल्न छोडेँ।
मैले पहिले उचित काममा ध्यान नदिएको वा कर्तव्यमा बोझ नबोकेको कारण, चाँडै नै मैले यसको परिणाम भोग्नुपर्यो। मैले सुपरिवेक्षण गरेको कामले कुनै नतिजा ल्याएन, र केही ब्रदर-सिस्टरहरू आ-आफ्नो कर्तव्यमा नकारात्मक र निष्क्रिय बन्नुभएको थियो। भनाइ छ नि, “जस्तो कमान्डर, उस्तै पल्टन।” केही दिनपछि, मैले टोलीको सिद्धान्त अध्ययनको व्यवस्था मिलाउनमा कुनै प्रगति नगरेको हुनाले, सुपरिवेक्षकले चिन लानलाई यो कामको जिम्मा दिनुभयो। यो सुन्दा मलाई धेरै नराम्रो लाग्यो, र मैले अध्ययनका लागि निश्चित समय तोकेकी थिइनँ र हरेक पटक चिन लानले नै व्यवस्था मिलाउनुहुन्छ भनेर निष्क्रिय भई पर्खिरहेकी हुन्थेँ भन्ने महसुस गरेँ। यदि म अलिकति बढी सचेत भएको भए, मैले अलिकति बढी बोझ बोकेको भए, र समयमै सबैको सिद्धान्त अध्ययनलाई व्यवस्थित र सुपरिवेक्षण गरेको भए, मलाई नयाँ काममा खटाइने थिएन। परमेश्वरले यो घटनामार्फत मेरो वास्तविकता खुलासा गरिरहनुभएको थियो, र म विचलित र आत्म-ग्लानीले भरिएँ, अनि सोचेँ, “मैले कसरी यसरी कर्तव्य निर्वाह गर्न सकेँ? के म भरोसा गर्न नहुने व्यक्ति बनिरहेकी छैन र? मेरो निष्ठा र मर्यादा कहाँ छ?” पछि, मैले परमेश्वरका वचनहरूका यी दुई खण्डहरू देखेँ: “मानिसहरूले कसरी न्यायोचित कार्यहरू गर्नुपर्छ, र त्यो असल कार्यहरू तयार गर्नु भनेर मानिनका लागि तिनीहरूले यो कस्तो स्थिति र अवस्थामा गर्नुपर्छ? कम्तीमा पनि, तिनीहरूमा सकारात्मक र सक्रिय मनोवृत्ति हुनैपर्छ, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार हुनैपर्छ, सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्नैपर्छ, र परमेश्वरको घरका हितहरूको रक्षा गर्नैपर्छ। सकारात्मक र सक्रिय हुनु नै मुख्य कुरा हो; यदि तँ सधैँ निष्क्रिय हुन्छस् भने, यो समस्याजनक कुरा हो। यो त तँ परमेश्वरको घरको सदस्य नभएजस्तो र तैँले आफ्नो कर्तव्य निर्वाह नगरे जस्तो, बरु रोजगारदाताले तँलाई यो गर्न माग गर्ने हुनाले तलब कमाउनका लागि यो गर्नुबाहेक तँसँग अरू कुनै विकल्प नभएजस्तो हो—तँ यो स्वेच्छाले गरिरहेको छैनस्, बरु धेरै निष्क्रिय रूपमा गरिरहेको छस्। यदि यसमा तेरा हितहरू संलग्न नभएका भए, तैँले यो पटक्कै गर्ने थिइनस्। अथवा यदि कसैले तँलाई यो गर्न नभनेको भए, तैँले यो पटक्कै गर्ने थिइनस्। त्यसोभए, यस तरिकाले कामकुरा गर्नु भनेको असल कार्यहरू गर्नु होइन। त्यसैले, यस्ता मानिसहरू अत्यन्तै मूर्ख हुन्छन्; तिनीहरू आफूले गर्ने हरेक कुरामा निष्क्रिय हुन्छन्। तिनीहरू गर्छु भनेर सोच्न सक्ने काम गर्दैनन्, न त तिनीहरू समय र ऊर्जा लगाएर पूरा गर्न सक्ने काम नै गर्छन्। तिनीहरू केवल पर्खन्छन् र नियालेर हेर्छन्। यो समस्याजनक र निकै दयनीय कुरा हो। … परमेश्वरले तँलाई पर्याप्त क्षमता र श्रेष्ठतर अवस्थाहरू दिनुभएको छ, जसले तँलाई केही कुरा स्पष्ट रूपमा देख्न र यस कामका लागि सक्षम बनाउँछ। तर, तँसँग सही मनोवृत्ति छैन, तँसँग अर्पण वा निष्कपटता छैन, र तँ यो राम्ररी गर्नका लागि आफ्नो सक्दो प्रयास गर्न चाहँदैनस्। यसले परमेश्वरलाई निकै निराश तुल्याउँछ। त्यसैले, यदि तँ अल्छी छस् र तँलाई दिइएको काम सधैँ झन्झटिलो लाग्छ र तँ त्यो गर्न चाहँदैनस्, र तँ भित्रभित्रै ‘अरू कसैलाई नभई मलाई नै किन यो गर्न लगाइँदै छ?’ भन्दै गनगन गर्छस् भने, यो एक मूर्ख विचार हो। आफूलाई कुनै कर्तव्य आइपर्दा, त्यो दुर्भाग्यपूर्ण घटना होइन, यो एक सम्मान हो, र तैँले यो खुसीसाथ स्वीकार गर्नुपर्छ; तँ आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गरेर लखतरान पर्नेछैनस्। यसको विपरीत, यदि तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस्, सत्यता बुझ्छस् र समस्याहरू समाधान गर्छस् भने, तैँले आफ्नो हृदयमा शान्ति र स्थिरता महसुस गर्नेछस्, र तैँले परमेश्वरलाई निराश तुल्याएको हुनेछैनस्। तँसँग परमेश्वरसामु आस्था हुनेछ र तँ शिर ठाडो पारेर आफूलाई आचरणमा ढाल्न सक्षम हुनेछस्। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गरेको छैनस् र तँ सधैँ झाराटारुवा हुन्छस् भने, तैँले कुनै क्षति नगरेको भए पनि, यो अपराधले तेरो हृदयमा आजीवन पछुतो छोड्नेछ। यो अपराध अतल कालो खाडलजस्तो हुनेछ; जब-जब तँ यसबारे सोच्छस्, तब-तब तैँले पीडा र असहजता, हृदय छेड्ने पीडा महसुस गर्नेछस्। तँसँग शान्ति वा आनन्द नहुने मात्रै होइन, बरु, पछुतो र सास्तीको पीडा तेरो पूरै जीवनभरि तँभित्रै रहनेछ र त्यो कहिल्यै मेटिनेछैन। के यो अनन्त पछुतो होइन र? अनि परमेश्वरको दृष्टिकोणबाट नि? परमेश्वर यो मामिला निर्धारण गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्नुहुन्छ, त्यसैले यसको प्रकृति तैँले महसुस गर्नेभन्दा अत्यन्तै गम्भीर हुन्छ। के तैँले बुझिस्? त्यसैले, परमेश्वरले तँ हिँडिरहेको मार्ग हेर्नका लागि तेरो सामान्य कार्यसम्पादनलाई, र सत्यता र आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्तिलाई विस्तृत रूपमा विचार गर्नुहुनेछ। मानौँ सत्यता र आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्ति सधैँ झाराटारुवा छ, र तैँले बाहिरी रूपमा प्रतिज्ञाहरू गर्छस् तर पर्दापछाडि तिनलाई व्यवहारमा लागू गर्दैनस्, र तँ ढिलासुस्ती गर्छस् र तँमा तात्कालिकताको भावनाको कमी हुन्छ, र तँमा परमेश्वरको अभिप्रायलाई ख्याल गर्ने सकारात्मक मनोवृत्ति छैन। बाहिरी रूपमा तैँले अवरोध र बाधाहरू नगर्ने, दुष्टता नगर्ने, मनमानी र बेपरवाह तरिकाले कार्य नगर्ने वा कुकर्म गर्दै जथाभाबी नदौडने, र तँ नियम-पालन गर्ने र निकै शिष्ट भएको व्यक्ति देखिने भए पनि, तँ परमेश्वरले तँलाई गर्न लगाउनुभएका कुराहरू सकारात्मक र सक्रिय रूपमा गर्दैनस्, बरु तँ धूर्त हुन्छस् र ढिलासुस्ती गर्छस्, र वास्तविक काम गर्नबाट पन्छिन्छस्। त्यस्तो अवस्थामा, तँ कुनचाहिँ मार्गमा हिँडिरहेको छस् त? यो ख्रीष्टविरोधीको मार्ग नभए पनि, कम्तीमा पनि यो झूटा अगुवाको मार्ग हो” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। “सबै जना आशिष् प्राप्त गर्न चाहन्छन्। कोही पनि नष्ट हुन र नरक जान चाहँदैन, तर आफूले नचाहेर पनि, धेरै मानिस बारम्बार दुष्टता गर्छन्, र नरकतर्फ लैजाने मार्गमा तीव्र गतिमा हिँड्छन्। कतिपय मानिस परमेश्वरको घरले कर्तव्य निर्वाह गर्न दिएका अवसरहरूलाई बारम्बार बेवास्ता गर्छन्, पवित्र आत्माको प्रेरणा र पवित्र आत्माको हप्कीलाई बेवास्ता गर्छन्, र परमेश्वरका अपेक्षाहरूलाई बेवास्ता गर्छन्। तिनीहरू झाराटारुवा हुन, जथाभावी कुकर्महरू गर्न, स्वेच्छाचारी र बेपरवाह रूपमा काम गर्न, अवरोध र बाधा पुर्याउन, निर्लज्ज रूपमा असुधार्य हुन, र दुष्टता गर्न जिद्दी गर्छन्। कसैले पनि तँलाई यी कुराहरू गर्न बाध्य पारिरहेको छैन, र परमेश्वरको घरमा कसैले पनि तैँले यी कुराहरू गर्नुपर्छ भनी माग गरिरहेको छैन। स्पष्ट रूपमा, यो तेरो व्यक्तिगत छनौट हो; यो तँ गर्न इच्छुक भएको, तँलाई गर्न मन पर्ने, र तँ गर्न उत्साहित हुने कुरा हो। जब तैँले हिँडिरहेको मार्गले नरक र विनाशतिर लैजान्छ भनी भनिन्छ, तब तँ दुःखी हुन्छस् र तँ नकारात्मक बन्छस्। नकारात्मक बन्नुपर्ने कुरा के छ र? के यो तेरो आफ्नै गल्ती होइन र? के यो तँ आफैले निम्त्याएको होइन र? के तँ यसकै लायक छैनस् र? कतिपय मानिस यसो भन्छन्, “जब म दुष्टता गर्छु, तब म आफूलाई रोक्न नसकेर त्यसो गर्छु। हरेक पटक, म कामकुराहरू राम्ररी गर्न चाहन्छु, तर पछि मलाई आफूले गरेको काम राम्रो थिएन भन्ने महसुस हुन्छ।” तैँले दुष्टता गरिस् र अवरोध र बाधाहरू पुर्याइस्, र तैँले मण्डलीको काममा नोक्सानी पुर्याइस्। तँलाई तेरा अपराधहरूका लागि जवाफदेही नठहराइएला, तर तेरा अपराधहरूले गुप्त जोखिमहरू खडा गर्छन्, र तैँले भविष्यमा आफ्ना अपराधहरू दोहोर्याउन सक्छस्; यो निकै खतरनाक छ। यो त कोही बाटोमा हिँडेजस्तै हो—हरेक पाइलाले डोब छोड्छ। के तैँले आफूले गरेका अपराधहरू पहिचान गरेको छस्? के तँलाई तिनका लागि पछुतो लाग्छ? के तँलाई ऋणी र दुःखी महसुस हुन्छ? के तँ तिनको कारण धुरुधुरु रुन्छस्? के तैँले आफूमा परिवर्तन ल्याएको छस्? के तँ आफ्ना दुष्ट कार्यहरूलाई साँच्चै घृणा गर्छस्? के तैँले आफ्नो हातमा भएको दुष्टता त्यागेर परमेश्वरसामु साँचो रूपमा पश्चात्ताप गरेको छस्? ... यदि तँ साँचो रूपमा पश्चात्ताप गर्न सक्दैनस् र त्यसको साटो आफ्ना कसमहरूद्वारा परमेश्वरलाई छल गर्छस् भने, तँ हिँडिरहेको मार्ग विनाशतिर लैजाने मार्ग हो। तेरा हरेक दुष्ट कार्यहरू नरकको ढोकामाथिका प्रहार हुन्; सायद यी प्रहारहरूमध्ये एउटाले अन्ततः तिनलाई खोल्नेछ, र त्यसपछि तेरो मृत्युको समय आउनेछ। कतिपय मानिसहरूका हकमा के भन्न सकिन्छ भने, तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेदेखि अहिलेसम्म, तिनीहरूका सबै कार्य र व्यवहार निरन्तर दुष्ट कार्यहरू थुपार्ने र नरकको ढोकामा प्रहार गर्ने खालका, र साथसाथै, परमेश्वरको क्रोध थुपार्ने खालका रहिआएका छन्; तिनीहरू आफूमाथि परमेश्वरको दण्ड आइपर्ने प्रतीक्षा गरिरहेका छन्” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्वरका वचनहरू पढेपछि, मलाई निकै बेचैन महसुस भयो। जो आफ्नो कर्तव्यमा निष्क्रिय हुन्छन्, आफूले गर्न सक्ने काम गर्न चुक्छन्, र कर्तव्यमा झाराटारुवा र गैरजिम्मेवार भई व्यवहार गर्छन् तिनीहरू वास्तविक काम नगर्ने मानिसहरू हुन्, झूटा अगुवाहरूको बाटोमा हिँड्नेहरू हुन्, र परमेश्वरद्वारा दोषी ठहर्याइनेहरू हुन् भनेर परमेश्वरले भन्नुभएको छ। मैले आत्मचिन्तन गरेँ: कर्तव्य निर्वाह गरिरहेको भए पनि, मैले आफूलाई परमेश्वरको घरको सदस्य ठानेकी थिइनँ। म कर्तव्यमा अबफादार मात्र थिइनँ, मैले त सबैभन्दा आधारभूत जिम्मेवारीहरू पनि पूरा गरेकी थिइनँ। मसँगै सहकार्य गर्ने सिस्टरहरूले विचलनहरू सच्याउन र हाम्रो कर्तव्य अझ राम्ररी गर्न कामको सारांश निकाल्नुहुन्थ्यो, तर मेरो हकमा भने, म सहभागी हुँदिनथेँ वा सोधपुछ गर्दिनथेँ। विचलनहरू सच्याउन पत्रहरू लेख्दा, म आफ्नो हृदय लगाउँदिनथेँ र केवल ती सिस्टरले भनेका कुराहरू एउटा दिमाग नभएको रोबोटले जस्तै लेख्थेँ। मैले सबैको पेशागत सीपको अध्ययनलाई पनि गम्भीरतापूर्वक लिइनँ र उहाँहरूको प्रगतिमा ढिलाइ गराएँ। यो सबै मेरो कर्तव्यप्रति चासो नदिने अनिच्छुकता र बोझ नबोक्ने प्रवृत्तिको कारण भएको थियो। कर्तव्य निर्वाह गर्ने यो तरिका परमेश्वरले घृणा गर्नुहुने कुरा र मानिसहरूले तिरस्कार गर्ने कुरा थियो, र म पक्कै पनि उहाँहरूको भरोसाको योग्य थिइनँ। म आफूले गर्ने हरेक काममा केवल आफ्नो शरीरलाई मात्र ख्याल गर्थेँ, कर्तव्यमा दिमाग खियाउन वा मूल्य चुकाउन चाहन्नथेँ, केवल एक पछौटे जस्तो व्यवहार गर्थेँ र मेरो लागि सबै कुराको व्यवस्था गरिदिऊन् भनेर पर्खिरहन्थेँ, मण्डलीको कामबारे रत्तिभर सोच्दिनथेँ र परमेश्वरको अभिप्रायलाई विचार गर्दिनथेँ। कर्तव्यप्रतिको मेरो यो मनोवृत्तिले परमेश्वरलाई धेरै निराश तुल्यायो। म हरेक कुरामा मसँगै सहकार्य गर्ने सिस्टरमा भर पर्थेँ। मेरो शरीरले आराम महसुस गरेको भए पनि, असल कार्यहरू तयार गर्न परमेश्वरले मलाई दिनुभएको मौका मैले गुमाएकी थिएँ, र पोखिएको पानीझैँ, त्यो कहिल्यै फिर्ता हुने थिएन। मलाई आफू ऋणी भएको र पछुतो लागेको महसुस भयो! परमेश्वरको वचनको यो हरफले, “तेरा हरेक दुष्ट कार्यहरू नरकको ढोकामाथिका प्रहार हुन्” मलाई साँच्चै नै झस्कायो। मलाई के लाग्थ्यो भने, यहूदा र अरू दुष्ट काम गर्नेहरूले मात्रै नरकको ढोका खोल्न सक्छन्, तर वास्तवमा त, म जतिपटक सुखसयलमा लिप्त भएँ, कर्तव्यमा बोझ बोक्न असफल भएँ, र मैले पश्चात्ताप गर्न अस्वीकार गरेँ, ती हरेक पटकको हिसाब परमेश्वरले राखिरहनुभएको रहेछ, र परमेश्वरले राख्नुभएको हरेक हिसाबले नरकको ढोका अलि-अलि गर्दै फराकिलो बनाइरहेको रहेछ। सत्यताको अभ्यास गर्न बारम्बार असफल हुँदा नरकको ढोका खुल्दो रहेछ। यो परिणाम साँच्चै नै डरलाग्दो छ! यसबारे चिन्तन गर्दा, म साँच्चै नै खतरामा छु भन्ने मैले अन्ततः महसुस गरेँ, र मलाई अलिकति आत्म-ग्लानी भयो, र सोचेँ, “परमेश्वरले अझै पनि मलाई पश्चात्ताप गर्ने मौका दिनुभएको छ। मैले कर्तव्य निर्वाह गर्ने र आफ्ना अपराधहरूको क्षतिपूर्ति गर्ने यो अवसरको कदर गर्नुपर्छ।” मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, ममा अलिकति पनि मानवता वा समझ छैन। म केवल आफ्नो शरीरको सुखसयलमा लिप्त हुन मात्र चाहन्छु र मैले राम्ररी निर्वाह गर्नुपर्ने कर्तव्यहरूमध्ये एउटा पनि निर्वाह गरेको छैन। मैले तपाईंलाई धेरै दुखी बनाएको छु! हे परमेश्वर, यसरी कर्तव्य निर्वाह गर्दा म बर्बाद हुनेछु र मण्डलीको काममा हानि पुग्नेछ भन्ने मलाई थाहा छ। म पश्चात्ताप गर्न र तपाईंको छानबिन स्वीकार गर्न तयार छु। कृपया मलाई ताडना दिनुहोस् र मलाई आफैलाई बुझ्न अनि आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्षम बनाउनुहोस्।”
पछि, मैले सोचेँ, “म किन सधैँ कामकुरामा चासो दिन र दिमाग खियाउन अनिच्छुक हुन्छु? यसको मूल कारण के हो?” मैले परमेश्वरका वचनहरूका दुई खण्डहरू पढेँ: “अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश निकाल्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूमा दोस्रो दर्जाको असक्षमता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुखसयलमा लिप्त हुन, हर्ष र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। “कस्ता मानिसहरू निकम्मा हुन्छन्? अलमल्ल परेका मानिसहरू, जो केही नगरी दिन कटाउँछन्, तिनीहरू निकम्मा हुन्छन्। यस प्रकारका मानिसहरू आफूले गर्ने कुनै कुरामा पनि जिम्मेवार हुँदैनन्, न त त्यसलाई गम्भीरतापूर्वक नै लिन्छन्; तिनीहरूले सबै कुरा लथालिङ्ग पार्छन्। तैँले जसरी सत्यतामा सङ्गति गरे पनि, तिनीहरूले तेरो कुरा सुन्दैनन्। तिनीहरू सोच्छन्, ‘मैले चाहेँ भने म यसरी नै जसोतसो निप्टाउनेछु। जे मन लाग्छ त्यही भन! जे भए पनि, अहिले म आफ्नो कर्तव्य पूरा गर्दैछु र मैले पेट भर्न पाएकै छु, त्यति भए पुगिहाल्यो नि। कम्तीमा म भिखारी त हुनुपरेको छैन। यदि कुनै दिन खान पाइनँ भने, त्यसबारे त्यतिबेलै सोचौँला। स्वर्गले मानिसका लागि सधैँ एउटा बाटो चाहिँ राखिदिनेछ। तपाईँ ममा विवेक वा समझ छैन, र म अलमल्ल परेको छु भनेर भन्नुहुन्छ—ल, त्यसोभए के भयो त? मैले कानुन तोडेको छैनँ। बढी भए, ममा चरित्रको अभाव होला, तर त्यो मेरो लागि कुनै खती होइन। पेट भर्न पाएँ भने भइहाल्यो।’ तँ यो दृष्टिकोणबारे के सोच्छस्? म तँलाई भन्छु, केही नगरी दिन कटाउने यस्ता अन्योलमा परेका मानिसहरू सबैलाई हटाइने कुरा निर्धारित छ, र तिनीहरूले कसै गरी पनि मुक्ति पाउन सक्दैनन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका कठोर वचनहरूले मेरो लाटो भएको हृदयलाई हल्लाइदियो र अल्छी मानिसहरूको सारलाई खुलासा गर्यो। अल्छी मानिसहरू कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक हुन्छन्, र सधैँ बेफिक्री जीवनशैली जिउन चाहन्छन्। यस्ता मानिसहरू केही पनि हासिल गर्न सक्षम हुँदैनन्, त्यसैले सत्यता र मुक्ति प्राप्त गर्नु त तिनीहरूका लागि झन् असम्भव हुन्छ। परमेश्वर भन्नुहुन्छ, अल्छी मानिसहरू काम नलाग्ने हुन्छन्, पशु हुन्, र तिनीहरूलाई हटाइनुपर्छ, र मैले ठ्याक्कै त्यस्तै काम नलाग्ने व्यक्ति जस्तै व्यवहार गरिरहेकी थिएँ। म कर्तव्यमा दिमाग खियाउन र मूल्य चुकाउन चाहन्नथेँ र एउटा परजीवी जस्तै बाँचिरहेकी थिएँ, म हरेक कुरामा अरूमा भर परिरहेकी र यत्तिकै समय बिताइरहेकी थिएँ। जब मैले सुरुमा लेखन-पठनको कर्तव्य थालेकी थिएँ, तब मसँग भर पर्नलाई कोही थिएन र म परमेश्वरमा भर पर्न, लगनशीलताका साथ अध्ययन गर्न र केही प्राप्ति गर्न सक्षम भएकी थिएँ। जब मैले ती सिस्टरसँग सहकार्य गर्न थालेको थिएँ, तब म उति लगनशील भइनँ, मैले कर्तव्यमा मनतातो बनेँ र काममा दिमाग खियाउन वा मूल्य चुकाउन चाहिनँ, केवल आराम र फुर्सदमा दिनहरू झारा टार्दै बिताउन खोजेँ। मैले कर्तव्यमा बोझ नबोक्ने भएकोले, मलाई सुम्पिएको कुनै पनि कामको जिम्मेवारी मैले लिइनँ। अरू सिस्टरहरू मेरो बारेमा चिन्तित बन्नुहुन्थ्यो र मेरो काम उहाँहरूले लिनुपर्थ्यो। तैपनि, ममा कुनै चेतना थिएन। म स्वभाविक रूपमै मेरा सिस्टरहरूमा निर्भर थिएँ। एक महिनाभन्दा बढी समय लेखन-पठनको कर्तव्य निर्वाह गरेपछि पनि, मैले अझै “म यो काममा नयाँ छु,” “म गर्न सक्दिनँ,” वा “म बुझ्दिनँ” भन्ने बहानाहरू बनाइरहेकी थिएँ, र म कामको जाँचबुझ गर्दिनथेँ। म कति लाज नभएको मान्छे! म “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनु पर्छ,” र “आजको हाला आजै खाला भोलि जे होला देखा जाला” भन्ने शैतानी दर्शनअनुसार जिउँथेँ। यिनै पतित र भ्रष्ट दृष्टिकोण तथा विचारहरूले मलाई पतित बनाए। म आफ्नो शरीरलाई कष्ट र चिन्ताबाट कसरी जोगाउने भन्ने मात्र सोच्थेँ, र आफ्नो कर्तव्य कसरी राम्ररी गर्ने भन्नेबारे अलिकति पनि विचार गर्दिनथेँ। मैले एउटा अत्यन्तै महत्त्वपूर्ण काममा ढिलाइ गराएँ। मैले वास्तवमा मण्डलीको काममा अवरोध पुर्याइरहेकी थिएँ र शैतानको नोकरको रूपमा काम गरिरहेकी थिएँ! परमेश्वर भन्नुहुन्छ: “यदि तैँले परमेश्वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। यी सब कुराको परिणामबारे सोच्दा मलाई निकै डर लाग्यो। मजस्तो व्यक्ति भरोसायोग्य हुँदैन र यदि म यसरी नै अलमल्ल परेर बसिरहेँ भने, म साँच्चै नै हटाइनेथिएँ। मैले कसरी सुँगुरहरू आफ्नो खोरमा हरेक दिन मालिकले आहारा दिउन् भन्ने पर्खिरहन्छन्, र खाएपछि अलिकति पनि चिन्ता नगरी मस्तले सुत्छन् त्यसबारे सोचेँ। यदि म यसरी नै आफ्नो शरीरको सुखसयलमा रमाइरहेँ भने, म सुँगुरभन्दा फरक हुनेछैन र ढिलो-चाँडो म परमेश्वरद्वारा हटाइनेथिएँ। म अल्छी र काम नलाग्ने भएर बसिरहन चाहन्नथेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म यसरी नै अलमल्ल परेर बसिरहन चाहन्नँ। यो जिउने भ्रष्ट तरिका हो र यसको कुनै मूल्य छैन। कृपया मलाई अझ लगनशील बन्न र आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्न अगुवाइ गर्नुहोस्।”
पछि, मैले परमेश्वरको वचनको एउटा खण्डमार्फत अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “दुष्टता नगरी आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको तैँले सामान्य व्यक्तिका रूपमा हासिल गर्नुपर्ने कुरा हो। तर असल कार्यहरू तयार गर्नुको अर्थ तैँले परमेश्वरका मागहरू र सत्यता सिद्धान्तहरूअनुसार सक्रिय र सकारात्मक रूपमा सत्यता अभ्यास गर्नैपर्छ र आफ्नो कर्तव्य पूरा गर्नैपर्छ भन्ने हो। तँमा बफादारी हुनैपर्छ, तँ कष्ट सहन र मूल्य चुकाउन इच्छुक हुनैपर्छ, जिम्मेवारी लिन इच्छुक हुनैपर्छ, र सकारात्मक र सक्रिय रूपमा काम गर्न सक्षम हुनैपर्छ। यी सिद्धान्तहरूअनुसार गरिएका कार्यहरू आधारभूत रूपमा सबै असल कार्य हुन्। ती साना मामिला होऊन् वा ठूला, ती मानिसहरूद्वारा याद गर्न लायक होऊन् वा नहोऊऊन्, मानिसहरूले तिनलाई उच्च रूपमा हेरे पनि वा नगण्य माने पनि, अथवा मानिसहरूले ती ध्यान दिन लायक छन् भनी सोचे पनि वा नसोचे पनि, परमेश्वरको नजरमा, ती सबै असल कार्य हुन्। यदि तैँले असल कार्यहरू तयार गरेको छस् भने, यसले अन्ततः तँलाई विपत्हरू नभई आशिष्हरू ल्याउनेछ। मानौँ तँ कुनै पनि असल कार्यहरू तयार गर्दैनस् र यति कुरामा मात्रै सन्तुष्ट हुन्छस्: ‘म आफूलाई गर्न भनिएको कुरा नै गर्छु र जान भनिएको ठाउँमा नै जान्छु। म कहिल्यै स्वेच्छाचारी रूपमा बोल्दिनँ वा काम गर्दिनँ, र म कहिल्यै दुष्टतापूर्वक समस्या खडा गर्दिनँ वा अवरोध र बाधाहरू पुर्याउँदिनँ। म साँच्चै आज्ञाकारी छु र असल व्यवहार गर्छु।’ यदि तँ सधैँ यो मनोवृत्ति राख्छस् र आफ्नो कर्तव्य निर्वाह गर्दा सक्रिय रूपमा सत्यताको खोजी गर्दैनस् र सिद्धान्तहरू कायम राख्दैनस्, र आफ्ना विचलन र गल्तीहरू पत्ता लगाउँदा तिनलाई तुरुन्तै सच्याउँदैनस् वा परिवर्तन गर्दैनस्, र आफू विद्रोही भइरहेको पत्ता लगाउँदा वा आफूले भ्रष्ट स्वभावहरू प्रकट गरेको याद गर्दा समस्याहरू समाधान गर्न कहिल्यै सकारात्मक र सक्रिय रूपमा सत्यताको खोजी गर्दैनस्, बरु आफूलाई जे मन लाग्यो कुरा मात्रै गर्छस् भने, तैँले परमेश्वरको घरका हितहरूमा कुनै नोक्सानी नपुर्याएको वा मण्डलीको कामलाई असर नगरेको भए पनि, तैँले गरिरहेको कुरा बढीमा श्रम मात्रै हो। श्रम, आफ्नो प्रकृतिअनुसार नै, असल कार्यहरूका रूपमा मानिँदैन। त्यसोभए अन्ततः असल कार्यहरूलाई कसरी परिभाषित गरिन्छ? यो भनेको, तैँले गर्ने कुरा कम्तीमा पनि तेरो आफ्नै र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका लागि सहयोगी हुनु, र परमेश्वरको घरको कामका लागि लाभदायक हुनु हो। यदि यो तेरो लागि, अरूका लागि, र परमेश्वरको घरका लागि लाभदायक छ भने, तेरो प्रदर्शन परमेश्वरसामु प्रभावकारी हुन्छ र परमेश्वरद्वारा अनुमोदन गरिन्छ। परमेश्वरले तँलाई अङ्क दिनुहुनेछ। त्यसैले, यी कुराहरूको मूल्याङ्कन गर्: तैँले यतिका वर्षहरूमा कतिवटा असल कार्यहरू तयार गरेको छस्? के यी असल कार्यहरूले तेरा अपराधहरूको भर्पाइ गर्न सक्छन्? तिनको भर्पाइ गरेपछि, कतिवटा असल कार्यहरू बाँकी रहन्छन्? तैँले आफैलाई अङ्क दिनुपर्छ र यसबारे स्पष्ट बुझाइ राख्नुपर्छ; तँ यस मामिलामा अन्योलमा पर्नु हुँदैन” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्वरका वचनहरूमा उहाँका अभिप्राय र मागहरू समावेश छन् र उहाँले हामीलाई अभ्यासको मार्ग पनि बताउनुहुन्छ। सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नु महत्त्वपूर्ण कुरा हो। सिद्धान्तअनुसार कर्तव्य निर्वाह गर्नु, लगनशील हुनु, मूल्य चुकाउनु र बोझ बोक्नु—यसरी सक्रिय भई आफ्नो कर्तव्य निर्वाह गरेर मात्र व्यक्तिले असल कार्यहरू तयार गर्न सक्छ र ऊ परमेश्वरको अभिप्रायअनुरूप हुन सक्छ। यदि तपाईं कर्तव्यमा केवल झारा टार्नुहुन्छ र अह्राएको कुरा मात्र गर्नुहुन्छ भने, यो बाधा वा अवरोध जस्तो नदेखिन सक्छ, तर तपाईंले आफ्नो कर्तव्यमा हृदय लगाउनुहुन्न, त्यसैले परमेश्वरले तपाईंलाई अनुमोदन गर्नुहुन्न। मैले आफ्नो कर्तव्यमा कसरी तातो न चिसो भएकी थिएँ, जसले गर्दा म आफूलाई सुम्पिएको काम गर्न असफल भएकी थिएँ र आफ्नो कर्तव्यमा अवरोध र बाधा पुर्याएकी थिएँ भन्ने कुरा चिन्तन गरेँ। मैले असल कार्यहरू तयार नगरेको मात्र होइन, मैले अपराधहरू पनि गरेकी थिएँ। मेरो कर्तव्य सुसमाचारका असल प्रवचनहरू छान्नु, सुसमाचार प्रचारमा सघाउनु, परमेश्वरको गवाही दिनु र मुक्ति प्राप्तिका लागि अझ धेरै मानिसहरूलाई परमेश्वरको अगाडि ल्याउनु थियो। यो धेरै महत्त्वपूर्ण जिम्मेवारी थियो र थोरै मात्र सुस्त हुने कुरा पनि अस्वीकार्य थियो। मैले भर्खरै तालिम सुरु गरेकी थिएँ र ममा अझै धेरै कमीकमजोरीहरू थिए। मैले अध्ययन र मनन गर्न समय र प्रयास लगाउनुपर्थ्यो, र परमेश्वरका माग र सिद्धान्तहरूअनुसार कर्तव्य निर्वाह गर्नुपर्थ्यो। मैले काममा चासो देखाउन र सोधपुछ गर्न, जिम्मेवारी र लगनशीलताका साथ कर्तव्यलाई लिन अनि आफ्नो कामको बोझ उठाउन पनि सिक्नुपर्थ्यो। यसो गर्दा मात्र यो काम परमेश्वरको अभिप्रायअनुसार हुने थियो।
त्यसपछि, मैले बारम्बार परमेश्वरलाई प्रार्थना गरेँ, आफ्नो शरीरको विरुद्ध विद्रोह गरेँ, म तातो न चिसो र विचारहीन हुन छोडेँ, र सक्रिय भई आफ्ना जिम्मेवारीहरू उठाउन सक्षम भएँ। मैले के पनि महसुस गरेँ भने, मण्डलीले मलाई शरीरको सुखसयलमा रमाउनका लागि ती सिस्टरसँग जोडी बनाएको होइन, बरु हामीले एक-अर्काका कमजोरीहरू पूर्ति गर्न र हाम्रा उपयोगी विचारहरू सङ्गाल्न सकौँ भनेर हो। यसरी कर्तव्य निर्वाह गर्दा हाम्रा विचलनहरू कम हुनेछन्, यो हाम्रो कर्तव्यका लागि फाइदाजनक हुनेछ, र हाम्रो जीवन प्रवेशको लागि पनि उपयोगी हुनेछ। म सचेत भई हाम्रो टोलीको काममा भाग लिन थालेँ, मैले कामको समीक्षा गर्न र निश्चित विचारहरू व्यक्त गर्न दिमाग खियाउन थालेँ, र मेरा सिस्टरहरूले मेरा कमीकमजोरीहरू पूर्ति गर्नुहुन्थ्यो। यसरी सँगै मिलेर सहकार्य गर्दा, हाम्रो सङ्गति अझ परिष्कृत र निर्देशित भयो र मैले यो प्रक्रियामा धेरै कुराहरू प्राप्त गरेँ। त्यसपछि म त्यति विचारहीन हुन छोडेँ र कर्तव्यमा दिमाग खियाउन अनि आफूले जानेका कुराहरू व्यवहारमा उतार्न सक्षम भएँ। यसरी अभ्यास गर्दा, मैले अझ ढुक्क महसुस गरेँ केही समयपछि, मलाई पहिले जस्तो अलमल्ल परेको महसुस भएन, मैले सत्यता र पेशागत सीपहरूमा प्राप्ति गरेँ, र परमेश्वरको अन्तर्दृष्टि र निर्देशन महसुस गर्न सकेँ। परमेश्वरलाई धन्यवाद!