१४. गल्ती लुकाएपछि चिन्तन

थिओडोर, इटाली

मैले मण्डलीमा सधैँ भिडियो सम्पादनको कर्तव्य निर्वाह गर्दै आएको छु। मे २०२२ मा, एउटा चलचित्रको छायाङ्कनपछि, त्यो व्यस्त पोस्ट-प्रोडक्सन चरणमा प्रवेश गर्‍यो, र समीक्षाका लागि अगुवालाई बुझाउन सम्पादन तत्कालै सकाउनुपर्थ्यो। हरेक दृश्य सम्पादन गर्न धेरै समय लगाएपछि, मैले गल्तीले डिलिट की थिचेँ, र सम्पादन गरिएका पहिलो पाँचवटा दृश्यको फुटेज तुरुन्तै मेटियो। मैले सोचविचारै नगरी अन्तिम कार्यलाई पूर्ववत् गर्न खोजेँ, तर सफ्टवेयरले त्यो पुनर्स्थापित गर्न सकेन मात्र होइन—त्यो पूर्ण रूपमा अड्कियो। खाली टाइमलाइन देखेर, मेरो दिमाग पूरै खाली भयो। होसमा आएपछि, मैले हतारहतार प्रोजेक्टलाई पुनःठिक गर्न हरथोक प्रयास गरेँ, र मैले खोजी गर्दा, मनमनै सोचिरहेँ, “सब खतम भयो; अब मैले के गर्नुपर्ने? मैले गएका केही दिनदेखि ब्याकअप पनि गरेको छैनँ—प्रोजेक्ट पक्कै हराएको हुनुपर्छ। मैले पहिले आफ्नो कर्तव्यमा विरलै गल्ती गरेको छु, र सुपरिवेक्षकले मलाई भरोसा गर्छन्। अगुवालाई समीक्षाका लागि बुझाउनुअघि यस महत्त्वपूर्ण क्षणमा कसरी यस्तो हुन सक्यो? यति लामो समयदेखि सम्पादक रहेर पनि मैले नयाँ व्यक्तिले गर्ने यस्तो गल्ती गरेको कुरा सबैले थाहा पाए भने, तिनीहरूले मलाई के सोच्नेछन्? आकास्मिक रूपमा डाटा हराउनबाट जोगिन दैनिक ब्याकअप गर्नुपर्छ भन्‍ने त नयाँ व्यक्तिलाई समेत थाहा हुन्छ, तर मैले वर्षौँदेखि त्यो यसरी गर्दा कहिल्यै प्रोजेक्ट नहराएकाले दैनिक ब्याकअप आवश्यक छैन भन्ने सोचेँ। मैले किन आफूमाथि यति धेरै भरोसा गरेँ?” पहिले, अरू ब्रदर-सिस्टरले सञ्चालनमा हुने भुलचुकका कारण गल्तीहरू गर्दा, म पूर्ण आत्मविश्वासका साथ भन्थेँ, “अलिकति बढी सावधानी अपनाएमा यस्तो समस्याबाट बच्न सकिन्छ।” यो सोच्दा मेरो अनुहार लाजले पाक्यो। मैले महत्त्वपूर्ण क्षणमा काम बिगारेँ र एकदमै गैरजिम्मेवार कुरा गरेँ। यदि उनीहरूले थाहा पाएका भए, निश्चय नै सबैले मलाई पक्कै तुच्छ ठान्नेथिए। के मेरो राम्रो प्रतिष्ठा र छवि पूर्ण रूपमा बर्बाद हुनेथिएन र? अहँ, अति आवश्यक नभएसम्म, मैले मेरा ब्रदर-सिस्टरलाई यो कुरा थाहा दिनु हुँदैन। मैले केही दिनअघिको ब्याकअप हेरेँ, र हालै खिचिएका दुईवटा दृश्य मात्र बदल्नुपर्ने रहेछ भन्‍ने थाहा पाएँ। म रातभरि काम गरेर यो लगभग ठिक गर्न सक्थेँ, र यो सब ठिक गरिसकेपछि, मैले प्रोजेक्ट हराएको कुरा ब्रदर-सिस्टरले कहिल्यै थाहा पाउनेथिएनन्, र म आफ्नो राम्रो छवि कायम राख्न सक्थेँ। त्यो सोचेर, म प्रोजेक्ट पुनर्स्थापित गर्न हतारिएँ। तर पुनर्स्थापित गर्ने क्रममा, मैले चलचित्रको कलर ग्रेडिङ र अडियो सबै फेरि गर्नुपर्ने देखेँ। आफू अगाडिको कामको बोझ हेरेर, यो एक दिन एक रातमा पुनर्स्थापित गर्न सकिँदैन भन्ने मलाई थाहा भयो। म अत्यन्तै निराश भएँ। मलाई के स्पष्ट भयो भने म यो प्रोजेक्ट आफ्नै बलबुताले सकाउन सक्दिनँ, र म अरूलाई मद्दत माग्न मात्र सक्छु। मैले मनमनै सोचेँ, “यदि मैले अहिले कसैलाई सोधेँ भने, के तिनीहरूले मैले प्रोजेक्ट हराएको कुरा थाहा पाउनेछैनन् र! तिनीहरूले थाहा पाए भने सबैले मलाई तुच्छ ठान्नेछन्। तर यदि मैले केही भनिनँ भने, काममा अझै ढिलाइ हुनेछ। त्यसबाहेक, सत्य कुरा कहिल्यै लुक्दैन।” मैले बुझेँ, यो संयोगवश भएको थिएन, र त्यसमा मैले सिक्नुपर्ने पाठ थियो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले प्रोजेक्टको ब्याकअप गरिनँ, र म यो आधारभूत गल्ती सामना गर्न डराएको छु। अरूले थाहा पाउलान् भनेर म भयभित भएको छु र त्यसैले म यसलाई लुकाउन खोजिरहेको छु। म इमानदार व्यक्ति होइन। हे परमेश्‍वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस्, र मलाई सरल हुन र यस समस्याबारे ब्रदर-सिस्टरहरूलाई खुलस्त बताउन अनि मद्दत खोज्न सक्षम बनाउनुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “मेरो राज्यलाई त्यस्ता मानिसहरू चाहिन्छ, जो इमानदार छन्, र जो पाखण्डी वा छली छैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३३)। परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ। मैले स्पष्ट रूपमा गल्ती गरेको थिएँ, र म सरल र खुलस्त हुनुपर्थ्यो, आफ्नो गल्ती स्विकार्नुपर्थ्यो, र मद्दत माग्नुपर्थ्यो। तर मैले कसैले थाहा नपाओस् भनेर यसलाई कसरी लुकाउने भनी सोचिरहेँ। मेरो हृदय एकदमै अन्धकार र छली रहेछ! साँच्चै, गल्ती भइसकेपछि मैले पहिले त्यो स्विकार्नुपर्छ, र ब्रदर-सिस्टरले मलाई जसरी हेरे पनि वा मलाई आलोचना वा काटछाँट गरिए पनि, म त्यसैको लायक छु। इमानदार मानिसहरूले आफ्ना गल्तीहरूको सामना गर्दा, त्यो स्विकार्ने आँट र जिम्मेवारी लिने साहस गर्न सक्छन्। मैले किन यसरी अभ्यास गर्न सकिनँ? त्यसपछि मात्र मैले सबैबाट मद्दत माग्न थालेँ। मैले यो समस्या समाधान गर्न सक्ने ब्रदरहरूलाई एक-एक गरी मेसेज गरेँ। मैले आफूले लगभग सबैलाई सोधिसकेको छु, र त्यो पुनः प्राप्त गर्ने कुनै उपाय छैन भन्ने बुझेँ। ठिक त्यही बेला, अडियो रेकर्डिङको जिम्मेवार ब्रदर भित्र आए र सोधे, “त्यो भेट्टायौ?” मैले निराश हुँदै जवाफ दिएँ, “छैन।” त्यसपछि उनले भने, “मैले हिजो मात्रै सम्पादन प्रोजेक्टको ब्याकअप गरेको थिएँ।” त्यो सुनेपछि, झन्डै रोएँ। कुरा के रहेछ भने, अघिल्लो रात मैले काम सकेपछि, अडियो रेकर्डिङ गर्ने ब्रदर भोलिपल्ट बिहान स्टुडियोमा आएर ब्याकअप बनाएका रहेछन्। त्यो नै मैले गुमाएको प्रोजेक्ट थियो। मैले आफूअगाडि रहेको ब्याकअप प्रोजेक्टलाई हेरेँ। सम्पादन, कलर ग्रेडिङ र अडियो सबै दुरुस्त थिए। मैले मनमनै परमेश्‍वरलाई धन्यवाद र प्रशंसा नचढाइ सक्दै सकिनँ। प्रोजेक्ट हराएको समस्या समाप्त भयो। यस राहतपछि, मैले आत्मचिन्तन गर्न थालेँ, “जब म आफ्नो कर्तव्यमा कुनै गल्ती गर्छु, तब किन सधैँ त्यसलाई लुकाउन खोज्छु र अरूले थाहा नपाओस् भन्ने चाहन्छु?”

मैले आफ्नो चिन्तनका क्रममा, परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “भ्रष्ट मानवजाति आफ्‍नो वास्तविकता लुकाउन सिपालु हुन्छन्। तिनीहरूले जे काम गरे पनि वा जस्तो भ्रष्टता प्रकट गरे पनि, तिनीहरू सधैँ आफ्‍नो भेष बदल्न खोज्छन्। यदि कुनै गलत कुरा हुन्छ वा तिनीहरूले गलत काम गरे भने, तिनीहरू अरूलाई दोष लगाउन चाहन्छन्। तिनीहरू असल कुराहरूको श्रेय आफै लिन चाहन्छन्, र खराब कुराको दोष अरूलाई दिन चाहन्छन्। के वास्तविक जीवनमा यस्ता धेरै देखावटीपन हुँदैनन् र? एकदमै धेरै हुन्छन्। गल्ती गर्नु वा भेष बदल्नु: यीमध्ये कुन चाहिँ भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ? भेष बदल्नु भनेको भ्रष्ट स्वभावहरूसित सम्बन्धित कुरा हो, यसमा अहङ्कारी स्वभाव, दुष्टता र छलीपन सामेल छन्; र परमेश्‍वरले यसलाई अत्यन्तै तुच्छ ठान्‍नुहुन्छ। वास्तवमा, जब तैँले आफ्‍नो भेष बदल्छस्, तब के भइरहेको छ भनेर सबैले बुझ्छन्, तर तँ अरूले देख्दैनन् भन्‍ने सोच्छस्, र इज्‍जत बचाउन र तैँले केही पनि गलत गरेको छैनस् भनेर सबैलाई सोच्‍ने बनाउन तैँले तर्क गर्ने र आफूलाई सही साबित गर्ने सक्दो प्रयास गर्छस्। के यो मूर्खता होइन र? अरूले यसलाई कसरी मूल्याङ्कन गर्छन्? तिनीहरूले के अनुभूति गर्छन्? घिन र घृणा। यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही तरिकाले लिन सक्छस्, र अरू सबैलाई यसबारे कुराकानी र टीकाटिप्पणी गर्न, यसलाई खुट्ट्याउन दिन सक्छस्, र तैँले यसलाई चिरफार गर्न र अरूले देख्नेगरी उदाङ्गो पार्न सक्छस् भने, तेरो बारेमा सबैको राय के हुनेछ? तिनीहरूले पक्कै पनि तँ इमानदार व्यक्ति होस् भन्‍नेछन्, किनकि तेरो हृदय परमेश्‍वरका लागि खुला छ, साथै तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय छर्लङ्ग देख्न सक्छन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गरिस् भने, तिनीहरूले तँलाई कम आँक्नेछन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनेर भन्‍नेछन्। यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गरिनस् भने, यदि तैँले आफ्नो गल्ती स्विकार्न सकिस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भन्‍नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा कमीकमजोरी र खोटहरू हुन्छन्। अनि सबैमा उस्तै भ्रष्ट स्वभावहरू हुन्छन्। आफूलाई अरूभन्दा कुलीन, सिद्ध, र दयालु नठान्; त्यसरी सोच्नु अत्यन्तै समझविहीन हुनु हो! जब तैँले मानिसहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूको भ्रष्ट सारको साँचो मुहार स्पष्ट रूपमा देख्न सक्छस्, र तैँले आफ्नै गल्तीहरू ढाकछोप गर्न खोज्दैनस्, अरू मानिसहरूका गल्तीहरूलाई तिनीहरूको विरुद्धमा प्रयोग गर्दैनस्, र दुवैलाई सही तरिकाले लिन सक्छस्, तब मात्रै तैँले कामकुरालाई गहिराइमा देख्नेछस् र मूर्खतापूर्ण कामहरू गर्नेछैनस्, र तँ एक बुद्धिमान् व्यक्ति बन्नेछस्। जो समझविहीन छन् ती सबै बुद्धिमान् मानिस होइनन्, तिनीहरू मूर्ख मानिस हुन्। जब-जब तिनीहरूले गल्ती गर्छन् वा केही असङ्गत काम गर्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू त्यसमा अल्झिन्छन्, र सधैँ आफूलाई सही साबित गर्न र आफ्नो बचाउ गर्न खोज्छन्, र पर्दापछाडि लुकिछिपी हिँड्छन्। यो देख्दा पनि घिन लाग्छ। वास्तवमा, तिनीहरूले जे गरिरहेका हुन्छन् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तिनीहरू अझै खुलेआम नाटक देखाउँछन्। अरूका नजरमा, यो जोकरको काम जस्तो देखिन्छ। के यो मूर्खता होइन र? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूको कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू आफ्नो अहम् कहिल्यै छोड्दैनन्, आफू अरू कोहीभन्दा फरक र कुलीन छु भन्ने सोच्छन्; यो अहङ्कार र आत्मधर्मीपन हो, यो मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक बुझाइ हुँदैन, हुन्छ त? तँ जुन मामलाहरूमा मूर्ख र निर्बुद्धि छस् तँसित तिनै मामलाहरूको आत्मिक बुझाइ हुँदैन, र तैँले सजिलैसँग सत्यतालाई बुझ्न सक्दैनस्। कुराको वास्तविकता यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरूमार्फत्, मैले के बुझेँ भने हाम्रा कर्तव्यहरूमा केही त्रुटि वा विचलनहरू हुनु अपरिहार्य छ, तर परमेश्‍वर मानिसहरूले आफ्ना गल्तीहरू सही तरिकाले सामना गरून्, र ती लुकाउन र भेष बदल्न नखोजून् भन्ने चाहनुहुन्छ। लुकाउनु र भेष बदल्नु दुष्टता र छलीपनको शैतानी स्वभाव—परमेश्‍वरले घृणा र घिन गर्ने कुरा हो। परमेश्‍वरका वचनहरूको खुलासामार्फत्, मैले के बुझेँ भने जब मैले आफ्नो कर्तव्यमा गल्ती गरेँ, तब मेरो पहिलो सोच त्यो ढाकछोप गर्ने थियो—यो दुष्ट र छली शैतानी स्वभावद्वारा प्रेरित थियो। मैले केही समयदेखि भिडियो सम्पादनको कर्तव्य निर्वाह गरिरहेको, ममा केही अनुभव भएको, र सबैले मलाई अलिक राम्रो ठानेको सोच्दा, मलाई आफूले, विशेष गरी महत्त्वपूर्ण क्षणहरूमा गल्ती गर्नु हुँदैन भन्ने लाग्यो। मैले आफू अरूभन्दा बढी भरपर्दो र भरोसायोग्य हुनुपर्छ भन्‍ने महसुस गरेँ। त्यसैले गल्तीहरू हुँदा, मैले आफ्नो इज्जत र हैसियत गुमाउनेछु भनी चिन्ता गरेँ, र मैले ती लुकाउन र कसैलाई थाहा नदिन सक्दो प्रयास गरेँ। विशेष गरी यस्तो आधारभूत गल्ती हुँदा, अरूले थाहा पाए भने मलाई तुच्छ ठान्नेछन्, र तिनीहरूको नजरमा मेरो हैसियत एकाएक झर्नेछ भन्‍ने मलाई अझ बढी डर भयो। जति मैले यसरी सोचेँ, त्यति नै म आफ्नो गल्ती सही तरिकाले सामना गर्न असक्षम बनेँ। म आफूलाई दोषरहित व्यक्तिको भेषमा लुकाउन चाहन्थेँ, र मैले आफ्नो गल्ती स्विकार्ने वा मद्दत माग्ने आँट गरिनँ। मैले कसैले थाहा नपाउने गरी चुपचाप त्यसलाई ठिक गर्नसमेत चाहेँ, जसले गर्दा म आफ्नो इज्जत जोगाउन सक्थेँ। सत्य कुरा के थियो भने गल्ती भइसकेको थियो, र मैले केवल आफूलाई खुलस्त पार्नुपर्थ्यो, त्यो स्विकार्नुपर्थ्यो, र त्यसबाट सिक्नुपर्थ्यो। तर मैले त्यसलाई ढाकछोप गर्न र छलको सहारा लिन सक्ने जति सबै गरेँ। परमेश्‍वर सबथोक छानबिन गर्नुहुन्छ—मैले मानिसहरूलाई मूर्ख बनाउन सके पनि, के साँच्चै परमेश्‍वरलाई मूर्ख बनाउन सक्थेँ र? के म वास्तविकताबाट भागिरहेको थिइनँ र? म साँच्चै मूर्ख भएको थिएँ! सबैले गल्ती गर्छन्—यो लाज मान्नुपर्ने कुरा होइन, र त्यसबाहेक, यो त मेरा लागि चेतावनी थियो, जसले गर्दा म फेरि आफ्नो कर्तव्य निर्वाह गर्दा अझ होसियार हुन सक्थेँ। तर जब मैले गल्ती गरेँ, तब त्यसलाई लुकाउने उपायहरूबारे सोच्न आफ्नो दिमाग खियाएँ। परमेश्‍वरको नजरमा, यो छली ढाकछोप गल्तीभन्दा कता हो कता गम्भीर थियो। जति मैले आफ्ना गल्तीहरू ढाकछोप गरेँ, त्यति नै मेरो स्वभाव कति दुष्ट र छली छ भन्‍ने प्रमाणित भयो। मैले जति धेरै यसबारे सोचेँ, त्यति नै मलाई आफू पाखण्डी हुँ अनि परमेश्‍वर मलाई साँच्चै घृणा र घिन गर्नुहुन्छ भन्ने महसुस गरेँ। मैले के पनि सोचेँ भने यदि यसपटक मैले आफै प्रोजेक्ट पुनः प्राप्त गर्न सकेको भए, मैले पक्कै पनि कसैलाई भन्ने वा अरूलाई मद्दत माग्नेथिइनँ, र मैले त्यो ठिक गर्ने कुनै उपाय नभएकाले मात्र ब्रदर-सिस्टरलाई सत्य कुरा बताएको थिएँ। त्यसोभए, के मैले आफूले सामान्यतया ढाकछोप गर्न सक्ने गल्तीहरूलाई अझ बढी ढाकछोप गरिरहेको हुनेथिइनँ र? मैले आफूले विगतमा कर्तव्य निर्वाह गर्दाका दृश्यहरू याद नगरी सक्दै सकिनँ। कहिलेकाहीँ जब म छोटा भिडियोहरू सम्पादन गर्थेँ, तब म प्रशंसा पाउन गति र नतिजालाई प्राथमिकता दिन्थेँ, र परिणामस्वरूप, सानातिना विवरणहरूको समस्याले गर्दा प्रायः फेरि काम गर्नुपर्ने र संशोधन गर्नुपर्ने हुन्थ्यो। अरूले मलाई यी समस्याहरू किन भए भनेर सोध्दा, अरूले मलाई लापरवाह र असावधान भन्लान् भने म डराउँथेँ। त्यसैले म वस्तुगत कारणहरू बनाउँथेँ, यो त छायाङ्कन चरणको कारणले हो भन्थेँ, वा मेरो सफ्टवेयरमा गडबडी भएको थियो भनेर भन्थेँ, यो सब केवल आफ्नो बचाउ गर्न सक्नका लागि थियो। यी कुराहरू ममा सधैँ प्रकट हुन्थे। यो सोच्दा, मैले आफूलाई कति धेरै लुकाएको र अरूलाई धोका दिएको रहेछु भनेर बुझेँ। म यो छली स्वभावद्वारा जिइरहन सक्दिनथेँ, र मैले इमानदार व्यक्तिको मानक अभ्यास र त्यसमा प्रवेश गर्न थाल्नुपर्थ्यो। त्यसपछि जे भयो, त्यसले मलाई अझ गहन रूपमा चिन्तन गर्न र आफूबारे केही ज्ञान हासिल गर्न लगायो।

केही समयपछि नै, समीक्षाका लागि चलचित्र अगुवालाई हस्तान्तरण गरियो। तर त्यसपछि एक जना ब्रदरले एउटा दृश्यमा अडियो तेह्र फ्रेमले नमिलेको देखे, र उनलाई त्यो फेरि बनाउनुपर्छ कि पर्दैन भन्‍ने निश्चित थिएन। मेरो मुटु ढुकढुक हुन थाल्यो, “मैले त्यो किन पत्ता लगाइनँ? ध्यान दिएर हेर्दा, त्यो वास्तवमा निकै स्पष्ट थियो। भिडियो र अडियो आधा सेकेन्डले मिलेको छैन। मैले एउटी सिस्टरलाई त्यो भाग जाँच्न भनेको समेत थिएँ। उनले पनि त्यो कसरी पत्ता लगाइनन्? फेरि बनाउन धेरै घण्टा लाग्छ—यसले त काममा निकै ढिलाइ गराउँछ! सायद मैले कसैलाई नबताउनु पर्ला। जे भए पनि यो ठूलो समस्या होइन—धेरैजसो मानिसले याद पनि गर्दैनन्। साथै, यदि सबैले भिडियोमा यस्तो समस्या छ भनी थाहा पाए भने, तिनीहरूले मलाई के सोच्नेछन्? के तिनीहरूले मलाई अभरपर्दो वा गैरजिम्मेवार भन्‍नेछन्? मैले हालै बारम्बार यस्ता आधारभूत गल्तीहरू गरिरहेको छु; यदि मैले यस्तै गरिरहेँ भने, कसले मलाई भरोसा गर्छ र?” मलाई शान्ति भएन, र मैले भित्र दोषी महसुस गरेँ। तर त्यसबारे बारम्बार सोचेपछि, मैले अझै केही नभन्‍ने निर्णय गरेँ। त्यो निर्णय गरेपछि, मलाई कम्प्युटरअगाडि बस्दा बेचैनजस्तो महसुस भयो, मेरो हृदय निकै व्याकुल भयो, र मलाई भित्र एकदमै अँध्यारो महसुस भयो। मैले आफूले फेरि गल्ती लुकाइरहेको छु भन्‍ने थाहा पाएँ, त्यसैले मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, सत्य बोल्नु र इमानदार व्यक्ति हुनु कति गाह्रो रहेछ भन्‍ने म अहिले मात्र साँच्चै महसुस गर्दै छु। जब-जब मेरो अभिमान वा घमण्ड दाउमा हुन्छ, तब-तब म आफ्नो सुरक्षा नगरी सक्दै सक्दिनँ, झुट बोल्न र धोका दिन चाहन्छु। म यसरी जिउन चाहन्नँ। कृपया मलाई तपाईँका वचनहरूअनुसार इमानदार हुने अभ्यास गर्न साहस र आँट दिनुहोस्।” प्रार्थना गरेपछि, मैले आफ्नो हृदयमा केही बल पाएँ, र मैले त्यस समस्याबारे आफ्ना ब्रदर-सिस्टरहरूलाई खुलस्त बताएँ। पछि, भिडियोमा अझै अरू समस्याहरू थिए, त्यसैले मैले ती सबै एकैचोटि ठिक गरेँ, सबै कुरा जाँचेँ, र त्यसपछि अगुवालाई फेरि पठाएँ।

त्यस अनुभवले मलाई चिन्तन गर्न सुरु गर्न लगायो, “म किन सधैँ गल्तीहरू लुकाउन चाहन्छु? यस समस्याको जड के हो?” मैले परमेश्‍वरका वचनहरूका दुईवटा खण्ड पढेँ: “मानौँ परमेश्‍वरले तँलाई अहिले इमानदार व्यक्ति बन्न र कुनै कुराबारे साँचो बोल्न भन्नुहुन्छ, जसमा तथ्यहरू, वा तेरो भविष्य र तेरो नियति समावेश छन्। तैँले त्यसो गर्नुका परिणामहरू तेरो फाइदामा नहुन सक्छन्: यस्तो हुन सक्छ कि अरूले उप्रान्त्त तँलाई उच्च नठान्लान्, र तँलाई तेरो ख्याति नष्ट भएको महसुस होला। यस्ता परिस्थितिहरूमा, के तँ स्पष्ट हुन र साँचो बोल्न सक्थिस्? के तँ इमानदार हुन सक्थिस्? यो गर्न सबैभन्दा कठिन कुरा हो, आफ्नो जीवन त्याग्नुभन्दा धेरै कठिन। तैँले यसो भन्लास्, ‘म परमेश्‍वरका लागि मर्न सक्छु, तर यदि परमेश्‍वरले मलाई साँचो बोल्न लगाउनुहुन्थ्यो भने, म त्यो गर्न सक्नेथिइनँ। म इमानदार व्यक्ति बन्न पटक्कै चाहन्नँ। सबैले मलाई हेयको नजरले हेर्न दिनुभन्दा, सबैले म एक साधारण व्यक्ति मात्रै हुँ भनी देख्न दिनुभन्दा म बरु मर्न रुचाउँछु।’ यसबाट के देख्न सकिन्छ भने, मानिसहरूले सबैभन्दा धेरै मूल्यवान् ठान्ने कुरा अझै पनि हैसियत र ख्याति हो—तिनीहरू यी कुराहरूलाई आफ्नो जीवनभन्दा पनि धेरै मूल्यवान् ठान्छन्। तिनीहरू अझै पनि शैतानी स्वभावहरूमाझ जिउँछन्, र तिनीहरूको हृदय अझै पनि शैतानद्वारा नियन्त्रित छ भन्ने कुरा स्पष्ट छ। यदि तिनीहरूले ठूलो खतरा सामना गरे भने, तिनीहरूले एकै पटकको प्रयासमा आफ्नो ज्यान जोखिममा पार्न सक्लान्, तर तिनीहरूका लागि हैसियत र ख्याति त्याग्न सजिलो छैन। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको हकमा चाहिँ जीवन दिनु नै सबैभन्दा महत्त्वको कुरा हुँदैन। परमेश्‍वर मानिसहरूले सत्यता स्विकारून् र उनीहरू आफ्नो हृदयमा जे छ त्यही कुरा भन्ने साँच्चै इमानदार व्यक्ति बनून्, सबैसामु खुलस्त होऊन् र आफूलाई उदाङ्गो पारून् भन्ने माग गर्नुहुन्छ। के त्यो गर्न सजिलो छ र? (छैन।) परमेश्‍वरले वास्तवमा तँलाई तेरो जीवन बलिदान गर्न भन्‍नुहुन्‍न। के तेरो जीवन परमेश्‍वरले दिनुभएको होइन र? तेरो जीवन परमेश्‍वरका लागि के कामको हुनेछ? परमेश्‍वरले यो चाहनुहुन्‍न। उहाँले तैँले साँचो बोलेको, तँ कस्तो व्यक्ति होस् अनि तँ तेरो हृदयमा के सोच्छस् भनी भनेको चाहनुहुन्छ। के तँ यी कुराहरू भन्‍न सक्छस्? यहाँ, कुराहरू अझै कठिन हुन्छन्, अनि तैँले यसो भन्छस् होला, ‘मलाई केही गाह्रो काम गर्न लगाउनुहोस्, अनि त्यो गर्न मसित शक्ति हुनेछ। मलाई आफ्ना सबै सम्पत्ति बलिदान गर्न लगाउनुहोस्, म त्यो गर्न सक्छु। म आफ्ना आमाबुबा र छोराछोरी, मेरो विवाह र करियर सबै सजिलै त्याग्न सक्छु। तर मलाई हृदयबाट एउटा कुरा भन्न लगाउनु वा एउटा इमानदार वाक्य बोल्नु—त्यो एउटै कुरा म गर्न सक्दिनँ।’ तैँले त्यो गर्न नसक्‍नुको कारण के हो? कारण हो, तैँले त्यो गरिसकेपछि, तँलाई चिन्‍ने वा तँसित परिचित हुने सबैले तँलाई भिन्‍नै प्रकारले हेर्नेछन्। तिनीहरूले तँलाई मान गर्नेछैनन्। तैँले आफ्नो इज्जत गुमाएको हुनेछस् र तँ पूरै अपमानित भएको हुनेछस्, अनि तेरो निष्ठा र मर्यादा अबउसो हुनेछैन। अरूको हृदयमा रहेको तेरो उच्च हैसियत र प्रतिष्ठा पनि रहनेछैनन्। त्यसकारण, त्यस्ता परिस्थितिहरूमा, जेसुकै भए पनि, तैँले सत्य बोल्नेछैनस्। जब मानिसहरूले यो कुरा सामना गर्छन्, तब तिनीहरूको हृदयमा एउटा लडाइँ चल्छ। जब त्यो लडाइँ समाप्त हुन्छ, तब कतिपयले आफ्ना कठिनाइहरूदेखि अन्ततः पार गर्छन्, जबकि अरू आजको दिनसम्म पनि आफ्ना शैतानी स्वभावहरूको बन्धन र नियन्त्रणबाट मुक्त भएका छैनन्, अनि तिनीहरू अझै आफ्नो हैसियत, अभिमान, आडम्बर, र कथित मर्यादाद्वारा नियन्त्रित नै हुन्छन्। यो कठिनाइ हो, होइन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। “तँ इमानदार व्यक्ति बन्न चाहन्छस्, तर तँ आफ्नो घमण्ड, आडम्बर र व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनस्। तँ यी कुराहरू जोगाइराख्न झुटहरू प्रयोग गरेर झुट बोल्न सहारा लिन मात्र सक्छस्। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्नका निम्ति विभिन्‍न कष्ट सहन सक्नेछस्। त्यसको अर्थ आफ्नो प्रतिष्ठा र हैसियत गुमाउनुपर्‍यो अनि अरूबाट अपमान र गिल्ला सहनुपर्‍यो भने पनि, तैँले नराम्रो मान्‍नेछैनस्, अनि तैँले के सोच्नेछस् भने जबसम्म तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस्, तबसम्म त्यो काफी छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यता अभ्यास गर्न र इमानदार मानिस हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्‍वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? तिनीहरूले आफ्नो प्रतिष्ठा, हैसियत, मर्यादा र निष्ठाको खोल कायम राख्‍न झुटहरू प्रयोग गर्न रोज्छन्। यसका लागि बरु तिनीहरू सत्यता अभ्यास गर्नुभन्दा छली मानिस हुन्छन् अनि परमेश्‍वरद्वारा घृणा र इन्कार गरिन्छन्। त्यस्ता मानिसहरू सत्यताप्रति वितृष्णा राख्ने र परमेश्‍वरलाई इन्कार गर्नेहरू हुन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली मानिस बन्‍न चाहन्छन्। तिनीहरू परमेश्‍वर खुसी बन्‍नुहुन्छ कि हुन्‍न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्‍न भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्‍चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि छल गरेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो सफाइ दिन दिमाग खियाउने पीडादायी दिनहरू मात्र बिताउन सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राख्‍न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो मर्यादा र निष्ठा कायम राख्‍न नसक्‍ने मात्र होइन, त्योभन्‍दा पनि खराब कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाउँछस्। तैँले त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राख्न सके पनि, तैँले सत्यता त्यागेको र परमेश्‍वरलाई धोका दिएको हुन्छस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुन्छस्, जुन सबैभन्दा ठूलो क्षति र अनन्त पछुतो हो। छलीहरूले यो कहिल्यै छर्लङ्ग देख्नेछैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति भएर मात्र वास्तविक मानव रूपमा जिउन सकिन्छ)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छेडे। मैले मानिसहरूको हृदयमा रहेको आफ्नो हैसियतलाई अरू कुनै पनि कुरालाई भन्दा महत्त्वपूर्ण ठानेको थिएँ, र यी कुराहरूको सुरक्षा गर्न, मैले एउटा पनि साँचो शब्द बोल्न सकिनँ। मैले सरल र खुलस्त हुने अनि सत्यता अभ्यास गर्ने इमानदार व्यक्ति हुनुभन्दा बरु छली हुन र आफ्ना गल्तीहरू ढाकछोप गर्न रुचाएँ। यसले ममा सत्यताप्रति पटक्कै प्रेम छैन भन्ने देखायो। इमानदार मानिसहरूले आफ्ना कमी र समस्याहरू सिधै सामना गर्न सक्छन्, र सत्यता अभ्यास गर्न, तिनीहरू सबै प्रकारका अपमान र पीडा सहन इच्छुक हुन्छन्। तर मैले गर्नुपर्ने भनेकै सरल हुनु अनि आफ्ना गल्ती र समस्याहरूबारे खुलस्त हुनु थियो, र कुनै अपमान वा गिल्ला सामना नगरीकन पनि, मैले त्यो गर्नै सकिनँ। समस्याहरू आउँदा, म सधैँ आफूलाई सही ठहराउन र आफ्नो बचाउ गर्न बहाना बनाउँथेँ, आफ्ना समस्याहरू लुकाउने प्रयास गर्थेँ। म कि त छायाङ्कनका सुरुवाती चरणमा देखिएका समस्यालाई, कि त उपकरण वा सफ्टवेयरलाई दोष दिन्थेँ। यसपटक चलचित्रमा समस्या आउँदा, मैले दोष अरूमा पन्छाउनसमेत चाहेँ, र गल्ती नपक्रेकामा ती सिस्टरबारे मनमनै गुनासो गरेँ। म साँच्चै समझहीन र छली थिएँ! म आफ्नो अभिमान र हैसियतको सुरक्षा गर्न कुनै पनि बहाना बनाउन सक्छु भन्ने मैले बुझेँ। मैले बुझेँ, म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” र “इज्जत अमूल्य हुन्छ” भन्नेजस्ता शैतानी विषहरूद्वारा भ्रष्ट र प्रभावित भएको थिएँ। म सधैँ के विश्वास गर्थेँ भने अरूले मलाई मान र अनुमोदन गरेमा मात्र मेरो जीवनको कुनै मूल्य हुन्छ, र अरूको प्रशंसाविना, जीवन अर्थहीन हुन्छ। पूरै समय, मैले आफ्नो कर्तव्यमा आफ्नो अभिमान र हैसियतबारे निरन्तर सोचेँ, र गल्ती देखा पर्नेबित्तिकै, म अरूले थाहा पाउँछन् कि भनेर डराएँ। मेरो सतर्क र सचेत व्यवहारले मैले हैसियत र प्रतिष्ठालाई अरू सबै कुरालाई भन्दा महत्त्व दिएको देखायो। मैले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियर छोडेको थिएँ, र मैले ओभरटाइम काम गरेको र मूल्य चुकाएको थिएँ, तर आफ्ना दोषहरू स्विकार्ने, सत्य बोल्ने र खुलस्त हुने अनि आफ्नो भ्रष्टता र कमीकमजोरीहरूलाई उदाङ्गो पार्ने समय आउँदा, मैले त्यो गर्नै सकिनँ। आफ्नो अभिमान र हैसियत जोगाउने वा इमानदार व्यक्ति बन्नेबीच, मैले बारम्बार पहिलोलाई नै रोजेँ। स्वाभिमान र हैसियतले मलाई कति कसेर जकडेको रहेछ भनी मैले बुझेँ। मैले आफ्ना गल्तीहरू ढाकछोप गरेको हुन सक्छु, तर मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई धोका दिएको थिएँ र निष्ठा वा मर्यादाविना जिएको थिएँ, र म अझै शैतानको सत्ताअन्तर्गत जिरहेको थिएँ। म स्पष्ट रूपमा शैतानद्वारा भ्रष्ट पारिएको थिएँ, शैतानी स्वभावहरू र सबै प्रकारका शैतानी विषहरूले भरिएको थिएँ, र पनि मैले आफूलाई गल्ती नगर्ने, दोषरहित सन्तका रूपमा प्रस्तुत गर्ने प्रयास गरेँ। म एकदमै नक्कली र पाखण्डी थिएँ! मैले आफ्ना दोषहरू लुकाउन सके पनि, त्यसले साँच्चै हासिल गर्नेथ्यो र? बारम्बार, मैले आफ्नो इज्जत जोगाउन जालझेल र छलको सहारा लिएँ, सत्यता अभ्यास गर्ने र एक इमानदार व्यक्ति बन्ने मौका गुमाएँ। परमेश्‍वरको नजरमा, यस्तो व्यवहार छल र पाखण्ड हो, र यदि म छलीपन र आफ्नो भेष बदल्ने यो भ्रष्ट स्वभाव नफाली अघि बढेँ भने, म निश्चय नै परमेश्‍वरद्वारा तिरस्कृत हुनेछु र हटाइनेछु, र यो ठूलो हानि हुनेछ! यसबारे सोच्दा, मैले अबउसो अभिमानका खातिर जिउन चाहिनँ, र म आफ्नो भेष बदल्ने र छल गर्ने समस्या समाधान गर्नका लागि सत्यता खोज्न इच्छुक बनेँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्‍वरले देख्‍ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्‍वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्‍वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्‍वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने इमानदार व्यक्ति बन्ने पहिलो कदम भनेको सरल र खुलस्त हुनु हो। व्यक्तिले आफ्ना कमीकमजोरी र भ्रष्टताबारे खुलस्त बताउने आँट गर्नैपर्छ। विशेष गरी जब तिमीले गल्ती गरेका हुन्छौ र तिमी अरूले थाहा नपाओस् भन्ने चाहन्छौ, त्यतिबेला नै तिमीले आफूलाई उदाङ्गो पार्नुपर्छ र तिमी यसबारे इमानदार हुनैपर्छ। परमेश्‍वर आफ्नो इज्जत गुमाउनुपरे पनि सत्यतालाई प्रेम गर्ने हृदय र इमानदार हुन प्रयास गर्ने मनोवृत्तिलाई मूल्यवान्‌ ठान्नुहुन्छ। मैले आफू अझै इमानदार व्यक्ति हुनबाट धेरै टाढा रहेछु भन्ने बुझेँ, तर म यस क्षेत्रमा तालिम लिन र अभ्यास गर्न इच्छुक थिएँ। अगाडि बढ्दै जाँदा, यदि मैले आफ्नो कर्तव्यमा कुनै गल्ती वा त्रुटि गरेको भए, म त्यसबारे सचेत रूपमा अरूलाई खुलस्त बताउनेथिएँ, र मैले यसो गर्दा, मलाई मेरा ब्रदर-सिस्टरहरूले तुच्छ ठान्ने थिएनन्। बरु, म तिनीहरूको सच्चा मद्दत पाउँथेँ। बिस्तारै, मलाई पहिलेजस्तो आफूले गल्ती गर्दा बेचैन महसुस हुन, डर लाग्न छोड्यो, वा मैले ढाकछोप गर्ने प्रयास गर्न छोडेँ। गल्तीहरू गरेपछि खुलस्त बताउने आँट नगरेको क्षणलाई फर्केर हेर्दा, म उज्यालोमा आउन डराउने अँध्यारो कुनामा लुकेको मुसाजस्तै थिएँ। अब, आफ्ना ब्रदर-सिस्टरहरूलाई खुलस्त बताएपछि, मलाई स्वतन्त्र महसुस भयो, मानौँ बोझ हटाइएको छ। पछि, मैले हराएको प्रोजेक्ट फाइल र अडियो-भिडियो बेमेलजस्ता समस्याहरूबारे चिन्तन गरेँ। यो मुख्यतया म आफ्नो कर्तव्यमा लापरवाह भएकाले, अनुभवमा भर परेकाले, र आफूमा धेरै विश्वस्त भएकाले गर्दा थियो। अघि बढ्दै जाँदा यी समस्याहरूबाट जोगिन, म नियमित रूपमा प्रोजेक्टहरूको ब्याकअप गर्नेछु र आफूमा अति धेरै भरोसा गर्न छोड्नेछु, र बरु, आफ्नो कर्तव्यलाई सावधानीपूर्वक लिनेछु।

एकपटक, अनुचित रूपमा सम्हालेको कारण, मैले अपलोड भइसकेका केही भिडियो प्रोजेक्टहरू डिलिट गरेँ। ब्रदर-सिस्टरहरूले यो गम्भीर मामिला हो र अगुवालाई रिपोर्ट गर्नुपर्छ भनेर भने। तर म अगुवाले थाहा पाएपछि मलाई नराम्रो सोच्नेछन् भनेर एकदमै चिन्तित भएँ, त्यसैले मैले समस्या सानो पार्न चाहेँ। मैले प्रोजेक्टहरू पुनर्स्थापना गर्नमा केही समय बिताएँ, समस्या ठिक गरे पुग्छ भन्ने सोचेँ, त्यसैले, मैले अगुवालाई तुरुन्तै बताइनँ। तर पछि, मलाई निकै दोषी महसुस भयो। एउटा भेलाको दौरान, मैले अगुवालाई आफूले गरेको गल्तीबारे खुलस्त बताउन चाहेँ, तर म अझै पनि आफ्नो अभिमानबारे बताउन एकदमै चिन्तित थिएँ। ठिक त्यही बेला, हामीले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढ्यौँ जसले मलाई गहन रूपमा प्रभावित गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “भ्रष्ट मानवजातिको अर्को एउटा कमजोरी हुन्छ: तिनीहरू आफूलाई अत्यन्तै प्रतिष्ठित र महान्, अत्यन्तै अन्तर्दृष्टिपूर्ण र सम्पन्न, र अत्यन्तै उच्चतम हैसियत र पृष्ठभूमिको भएको भनेर वर्णन गर्न मन पराउँछन्। तिनीहरू आफूले गोप्य रूपमा गरेका घिनलाग्दा वा मूर्खतापूर्ण कुराहरू, आफूले गरेका गल्तीहरू, वा तिनीहरूमा भएका कमजोरी र अवगुणहरू कहिल्यै उल्लेख गर्दैनन्—तिनीहरू अरूले त्यस्ता कुराहरू थाहा पाउलान्, अरूले आफ्नो वास्तविक रूप देख्लान् भन्ने डरले एक शब्द पनि बोल्दैनन् वा सानोभन्दा सानो विवरण पनि फुस्काउँदैनन्। के यो देखावटी गर्नु होइन र? के यो झूट र छल होइन र? (हो।)” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२५))। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले आफू फेरि एकपटक आफ्नो अभिमान र हैसियतको सुरक्षा गर्न आफ्नो गल्ती लुकाउन खोजिरहेको छु भन्ने बुझेँ। मैले सबै प्रोजेक्ट पुनर्स्थापित गरे पनि, र मण्डलीको काममा कुनै हानि पुगेको छैनजस्तो देखिए पनि, मैले अझै यस मामिलामा आफ्ना गल्तीहरू लुकाउने प्रवृत्ति देखाइरहेको थिएँ, र म अरूले मेरा कमीकमजोरीहरू देखून् भन्ने चाहन्नथेँ। यो भ्रष्ट स्वभाव थियो, र यो मामिला मेरो कर्तव्यका क्रममा उठेको समस्या थियो, त्यसैले मैले अगुवालाई सबै विवरण स्पष्ट रूपमा र इमानदारीपूर्वक बताउनु आवश्यक थियो। त्यसैले मैले मनमनै चुपचाप प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्नो छली भ्रष्ट स्वभावद्वारा जिउन चाहन्नँ। कृपया मेरो हृदय छानबिन गर्नुहोस्। म सरल हुन, खुलस्त हुन, र इमानदार व्यक्ति बन्न इच्छुक छु।” प्रार्थना गरेपछि, मैले यसमा आफूले प्रकट गरेको भ्रष्टता र ममा आफूबारे भएको बुझाइबारे सङ्गति गरेँ। मैले कुरा गर्न सिध्याएपछि, मलाई बोझ हटाइएको जस्तो महसुस भयो। त्यतिबेला मलाई अलि लाज लागे पनि, मैले खुलस्त भएर सङ्गति गर्दा, मेरो हृदय निकै चिन्तामुक्त भयो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  १३. विभिन्न कर्तव्यहरूबीच हैसियतको कुनै भिन्नता हुँदैन

अर्को:  १५. एक जना बिक्री प्रबन्धकले गरेको छनौट

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger