१९. म पैसा, ख्याति र प्राप्तिको पछि लाग्न छाडेँ

एमिली, फिलिपिन्स

म एघार जना छोराछोरी भएको एउटा गरिब परिवारमा हुर्किएँ। सानैदेखि, म आफ्नो परिवारलाई गरिबीबाट बाहिर निकाल्न धेरै पैसा कमाउन चाहन्थेँ। कलेज पढ्दा एक जना सहपाठीले मलाई एउटा व्यवसाय गोष्ठीमा सहभागी हुन बोलाइन्, जसमा वक्ताहरूले गरिबीबाट धनी बनेका आफ्नो अनुभवहरू सुनाए, त्यसले मलाई निकै प्रेरित गर्‍यो। म पनि एउटी सफल व्यवसायी बन्न चाहन्थेँ, र धेरै पैसा कमाउने, घर र गाडीको मालिक बन्ने, अनि संसार घुम्ने जस्ता कामहरू गर्न चाहन्थेँ। त्यसो हुँदा, मलाई चिन्नेहरूले मलाई गरिबीबाट मुक्त भएकी एउटी गरिब केटीको उदाहरणका रूपमा हेर्नेछन्, र मेरो प्रशंसा गर्नेछन् भन्ने लाग्थ्यो। स्नातक सकेपछि, म युएई गएँ र एउटा कम्पनीमा रिसेप्सनिस्टको काम गर्न थालेँ। मेरो कमाइ थोरै भएकाले, म निरन्तर पार्ट-टाइम जागिरको खोजीमा हुन्थेँ। म अक्सर दिउँसोको जागिर गर्थेँ र राती सानो व्यवसाय चलाउँथेँ। मैले विभिन्न लगानीहरू गर्ने प्रयास पनि गरेँ, तर ती सबै असफल हुन पुगे, र मेरो जीवन झनै कठिन भयो। त्यतिबेला म निकै हतोत्साहित भएँ, र मैले बुझ्नै सकेकी थिइनँ: पैसा कमाउन मैले यति धेरै मेहनत गर्दा पनि किन सबै कुरा यस्तै भइरहेको छ? जतिसुकै मेहनत वा लगानी गरे पनि म किन असफल भइरहेकी छु? म पूर्ण रूपमा लखतरान भएकी थिएँ।

सन् २०२० को फेब्रुअरीमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। परमेश्‍वरको वचनको एउटा खण्डले मेरो मन छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानवजातिका सदस्यहरू र निष्ठावान इसाईहरूका रूपमा, परमेश्‍वरको आज्ञा पूरा गर्नका निम्ति हाम्रो मन र शरीर चढाउनु हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताकै कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आज्ञा र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्‍वरको आज्ञाका निम्ति शहीद भएकाहरूसामु हाम्रो आत्मा लज्जित हुनेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्‍वरसामु झन् धेरै लज्जित हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने, सृजित प्राणीका रूपमा, हामीले सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ किनभने यो हाम्रो जिम्मेवारी र दायित्व हो। किनभने परमेश्‍वरले हाम्रा लागि सबै कुराको बन्दोबस्त गर्नुभएको छ, हाम्रो परिवार, आमाबुबा, र हामी हुर्कने वातावरणलगायत—यी सबै परमेश्‍वरले धेरै पहिले नै पूर्वनियोजन गर्नुभएको हो, र सृजित प्राणीका रूपमा, हामीले उहाँको प्रेमको प्रतिदान गर्नुपर्छ। म परमेश्‍वरका वचनहरूबाट गहिरो रूपमा प्रभावित भएँ र आफ्नो कर्तव्य पूरा गरी परमेश्‍वरको प्रेमको प्रतिदान गर्न चाहन्थेँ। तर मैले एकदमै थोरै सत्यता बुझेकी थिएँ, त्यसैले म पैसाको प्रलोभनलाई प्रतिरोध गर्न सकिनँ, र मेरो मन निरन्तर पैसा कमाउनमा नै केन्द्रित थियो।

पछि, म रिसेप्सनिस्टबाट मानव संसाधन सहायक भएँ, र मेरो तलब पनि बढ्यो। तर म धेरै खुसी थिइनँ किनभने यो जागिरले मलाई धनी बनाउन वा अरूको प्रशंसा दिलाउन सक्दैनथ्यो। यसरी नै चलिरहने हो भने, मैले कहिले आफ्नो गाउँमा घर बनाउन, परिवारको जीवनस्तर सुधार्न, र उनीहरूलाई घुमाउन लैजान सक्नेथिएँ होला? त्यसैले मैले अझ बढी तलब हुने जागिर खोज्नु वा अतिरिक्त काम गर्नु आवश्यक थियो। त्यसैले, मैले धेरै ठाउँमा बायोडाटा पठाएँ। त्यसको केही समयपछि, मैले अर्को कम्पनीको बिक्री विभागमा प्रशासनिक सहायकको नयाँ जागिर सुरु गरेँ। म एकदमै खुसी थिएँ, किनभने मैले नियमित तलबका साथै कमिसन पनि पाउँथेँ, र राम्रो प्रदर्शन गरेमा बोनस पनि पाउने थिएँ। मैले सोचेँ, “बल्ल धेरै पैसा कमाउने मौका आएको छ, र अब मैले गाउँमा घर बनाएपछि, त्यहाँका मानिसहरूले पक्कै पनि मलाई उच्च नजरले हेर्नेछन् र मेरो प्रशंसा गर्नेछन्।” यो नयाँ काम भएको र मसँग कुनै अनुभव नभएकाले, मैले चाहेको उच्च कमाइका लागि धेरै समय सिक्नमा बिताउनुपर्थ्यो। धेरै पैसा कमाउन, म अक्सर ओभरटाइम काम गर्थेँ। त्यो समयमा, मैले आफ्नो सबै समय र ऊर्जा काममा लगाएँ। काममा, मेरो खाना खाने समय प्रायः नियमित हुँदैनथ्यो वा कहिलेकाहीँ त खानै बिर्सन्थेँ। विशेष गरी जब मेरो म्यानेजर वा सहकर्मीहरूलाई केही जरुरी काम सम्हाल्न म चाहिँदा, मैले बिरामी हुँदा समेत काम गरिरहनुपर्थ्यो। त्यतिबेला, म एक सुसमाचारसम्बन्धी कामदार थिएँ, तर काममा यति व्यस्त हुन्थेँ कि सुसमाचार प्रचार गर्न मसँग धेरै समय नै हुँदैनथ्यो। घर फर्केपछि पनि, म काम नै गरिरहेकी हुन्थेँ। जब अगुवाले मलाई भेला सञ्चालन गर्न भन्नुहुन्थ्यो, म धेरैजसो अस्वीकार गर्थेँ किनभने मसँग परमेश्‍वरका वचनहरूमा मनन गर्ने समय हुँदैनथ्यो। त्यसमाथि, दिनभरि काम गरेर म थाकिसकेकी हुन्थेँ र भेला सञ्चालन गर्ने कुनै ऊर्जा नै हुँदैनथ्यो; म केवल आराम गर्न चाहन्थेँ। त्यो समयमा, भेलाहरूमा मेरो त्यति ध्यान हुँदैनथ्यो, र म प्रायः काम गर्दै अनलाइन भेलामा सहभागी हुन्थेँ। कहिलेकाहीँ त म भेलाकै बीचमा निदाउँथेँ। म केवल पैसा कमाउनमा केन्द्रित भएकाले, सुसमाचार प्रचारमा मेरो नतिजा राम्रो थिएन। मलाई धेरै दोषी महसुस हुन्थ्यो, र म सोच्थेँ, “म थकित वा बिरामी हुँदा पनि आफ्नो काममा लागिरहन तयार हुन्छु, तर म आफ्नो कर्तव्यलाई झाराटारुवा रूपमा लिन्छु र बिना जाँगर निर्वाह गर्छु।” मलाई केही आत्मग्लानि भए तापनि, म आफूलाई यसो सोच्दै माफी दिन सिपालु थिएँ: “म बिक्रीमा अहिले नयाँ छु, तर जब म यसमा पोख्त हुन्छु, तब मेरो कर्तव्यका लागि धेरै समय हुनेछ।” तर, मैले सोचेजस्तो भएन। म काममा जति अभ्यस्त हुँदै गएँ, मैले त्यति नै लामो समय काम गर्नुपर्‍यो। मसँग खाली समय हुनुको सट्टा, म झनै व्यस्त भएँ। मेरो मन बेचैन हुन थाल्यो, किनभने मलाई थाहा थियो एक सृजित प्राणीका रूपमा, मेरो कर्तव्य मेरो दायित्व र जिम्मेवारी थियो, र मैले परमेश्‍वरको प्रेमको प्रतिदान गर्न आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो। तर, मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनँ। साथै, म धेरै डराएकी पनि थिएँ, किनभने म सधैँ सांसारिक कुराहरूको पछि लागिरहेकी थिएँ—मेरो मन परमेश्‍वरबाट झन्-झन् टाढा जाँदै थियो। मैले आफ्नो कर्तव्यमा पवित्र आत्माको मार्गदर्शन महसुस गर्न सकिनँ, र मेरो सुसमाचार प्रचार फलदायी भइरहेको थिएन। मैले आफ्नो हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर, मैले आफ्नो दिशा हराएकी छु जस्तो लाग्छ। मैले पवित्र आत्माको काम वा तपाईंको मार्गदर्शन महसुस गर्न सकेकी छैन। कृपया मलाई मदत गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्नो समस्याबारे केही ज्ञान प्राप्त गरेँ: सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक दिनेछौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेछ? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेछौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। परमेश्‍वरले खुलासा गर्नुभएको कुरा मेरो वास्तविक स्थिति हो। धेरै पटक, हामीलाई के सही हो र के गलत हो, कुन सकारात्मक र कुन नकारात्मक कुरा हो भन्ने थाहा हुन्छ, तर पनि हामी यी गलत र नकारात्मक कुराहरू नै रोज्छौँ। सर्वशक्तिमान्‌ परमेश्‍‍वरको काम स्वीकार गरेदेखि नै, मलाई एक सृजित प्राणीका रूपमा मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने थाहा थियो, तर अरूले मेरो प्रशंसा गरून्, मप्रति डाह गरून्, र धेरै पैसा कमाएर राम्रो भौतिक जीवनको आनन्द लिन सकूँ भनेर, म दिनभर कडा मेहनत गर्थेँ, धेरै समय र ऊर्जा खर्चन्थेँ। मैले आफ्नो कर्तव्य हृदयदेखि पूरा गरेकी थिइनँ। काम सकेपछि, साँझमा, मैले आफ्नो कर्तव्यमा समय बिताउनुपर्नेमा, मेरो मनमा केवल कसरी धेरै पैसा कमाउने भन्ने मात्र सोच आउँथ्यो; मसँग सुसमाचार प्रचार गर्ने वा आफ्नो कर्तव्य पूरा गर्ने मन नै थिएन। म सोच्थेँ जबसम्म म आफ्नो कर्तव्य गरिरहन्छु, त्यति नै पर्याप्त हुन्छ, र मेरो कर्तव्यले कुनै नतिजा दिइरहेको छ कि छैन भन्ने कुराको मलाई पटक्कै वास्ता थिएन। मैले म आफ्नो कर्तव्यप्रति साँच्चै श्रद्धाहीन रहेको देखेँ। मैले परमेश्‍वरमा विश्वास त गरेकी थिएँ तर म उहाँलाई साँचो रूपमा पछ्याउन सकेकी थिइनँ, सांसारिक कुराहरू रोज्दै र एक गैरविश्‍वासीको बाटोमा नै हिँड्दै थिएँ। परमेश्‍वरले अझै पनि मलाई मेरो कर्तव्य गर्ने मौका दिइरहनुभएकाले, मैले यस मौकालाई अँगालेर कदर गर्नुपर्छ, र आफ्नो समय र ऊर्जा सत्यता पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्नमा केन्द्रित गर्नुपर्छ। यही नै सबैभन्दा मूल्यवान र अर्थपूर्ण कुरा हो। त्यसबेलादेखि, म सक्रिय रूपमा भेलाहरूमा सहभागी हुन थालेँ, र उप्रान्त कामको व्यस्ततालाई मेरो कर्तव्यको बाधक बन्न दिइनँ। पहिले, म घर फर्केपछि ओभरटाइम काम गर्थेँ, राती ११ बजे पनि कामको फोन उठाउँथेँ, तर अब, मैले राती ८ बजेपछि कामको कुनै पनि फोन उठाउन वा मेसेज हेर्न छाडेकी थिएँ। साथै, म पहिले कहिलेकाहीँ मात्र प्रार्थना गर्थेँ र नियमित रूपमा आत्मिक भक्ति गर्दिनथेँ, तर अब म बिहान सबेरै उठेर परमेश्‍वरका वचनहरू पढ्ने, भजनहरू सुन्ने, र अनुभवात्मक गवाहीका भिडियोहरू हेर्ने गर्दछु। मेरो छुट्टीको दिन बिहान, म सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई भेलामा बोलाउँथेँ, र दिउँसो, म उनीहरूसँगै भेलामा बस्थेँ। मैले आफ्नो कामको विश्राम समय पनि हतार-हतार आफ्नो कर्तव्य पूरा गर्न प्रयोग गर्थेँ। यसरी अभ्यास गर्दा, मेरो मनमा शान्ति र आनन्द महसुस भयो।

केही समयपछि, एक जना साथीले मलाई एउटा लगानीमा सामेल हुन बोलाइन्, र त्यो लगानीमा सामेल हुँदा मैले धेरै पैसा कमाउनेछु, र मैले गाडी किन्न मात्र होइन, घर पनि बनाउन सक्छु, र विदेश यात्रामा समेत जान सक्छु भनेर मलाई आश्वासन दिइन्। यी सबै मेरा सपनाहरू थिए! मैले मनमनै सोचेँ, “लगानी भनेको पैसा हाल्ने मात्र त हो र हरेक महिना नाफा आउँछ, त्यसैले यसले मेरो कर्तव्यमा असर गर्दैन।” त्यसैले, मेरी दिदी र मैले पाँच लाख पेसो लगानी गर्‍यौँ। लगानी गरेको पहिलो दुई महिना हामीले नाफा पायौँ, तर तेस्रो महिनामा उनीहरूले नाफा दिन बन्द गरे, त्यसैले हामीले आफ्नो पैसा फिर्ता माग्यौँ, तर उनीहरूले विभिन्न बहाना बनाएर फिर्ता दिन इन्कार गरे। मलाई असाध्यै रिस उठ्यो। मैले आफ्नो पुँजी फिर्ता लिन चाहन्थेँ, तर मैले जतिसुकै प्रयास गरे पनि फिर्ता पाउन सकिनँ। म धेरै दुःखी थिएँ, किनभने यो पैसा मैले घर बनाउनका लागि गाउँ पठाउन छुट्याएकी थिएँ। म केवल लगानीमा गुमाएको पैसा छिट्टै कमाउने उपाय खोज्न चाहन्थेँ। त्यसैले, मैले अझै मेहनत गरेँ, र अक्सर ओभरटाइम काम गर्न थालेँ। तर कम्पनीको पुनर्संरचनाका कारण मेरो तलब आउन ढिलो भयो। त्यतिबेला, मसँग धेरै पैसा थिएन, र घरभाडा तिर्न वा खाना किन्न पनि समस्या हुन थाल्यो। यी कुराहरूले मेरो मनलाई घेर्‍यो, र फेरि एक पटक, म आफ्नो कर्तव्यमा निष्क्रिय भएँ र झारा टार्न थालेँ। मैले केवल सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई भेलामा बोलाएँ, तर मैले वास्तवमा तिनीहरूका समस्याहरू बुझिनँ वा समाधान गरिनँ। मलाई के महसुस भयो भने यदि म यसरी नै चलिरहेँ भने, मेरो स्थिति झनै खराब हुँदै जानेछ, र मैले अन्ततः पवित्र आत्माको काम गुमाउन सक्छु र परमेश्‍वरद्वारा त्यागिन सक्छु। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, गएको तीन महिनादेखि, मैले आफ्नो कर्तव्यभन्दा कामलाई प्राथमिकता दिइरहेकी छु। मेरो मन धेरै पैसा कमाउने र मेरो लगानी उठाउने कुराले पूरै भरिएको छ। हे परमेश्‍वर, कृपया मलाई नछोड्नुहोस्। कृपया मलाई ज्योति दिनुहोस् र तपाईँतिर, सही मार्गमा फर्काउन मार्गदर्शन गर्नुहोस्। म ती कुराहरू छाड्न चाहन्छु जसले मेरो मनलाई अशान्त पार्छ र मलाई तपाईंबाट टाढा लैजान्छ।”

त्यसपछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जुन मेरा लागि धेरै सहयोगी थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै नियति नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र? सङ्क्षेपमा, परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, उहाँको सबै काम मानिसका खातिर हो। यो त स्वर्ग र पृथ्वी अनि यावत् थोकलाई परमेश्‍वरले मानिसको सेवा गर्नकै निम्ति सृष्टि गर्नुभए जस्तै हो: परमेश्वरले मानिसका लागि चन्द्र, सूर्य अनि ताराहरू बनाउनुभयो, उहाँले मानिसका लागि जनावरहरू र वनस्पतिहरू बनाउनुभयो, उहाँले मानिसका लागि वसन्त, ग्रीष्म, शरद तथा शिशिर ऋतु इत्यादि बनाउनुभयो—यी सबै मानिसको अस्तित्वका खातिर नै बनाइएका थिए। त्यसैले परमेश्‍वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसका दैहिक आशाहरूबाट वञ्चित गर्नुभयो भने पनि, यो अझैँ पनि मानिसलाई शुद्धीकरण गर्नका निम्ति हो, र मानिसको शुद्धीकरण मानिसको अस्तित्वका खातिर गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझ्न पाएँ भने कुनै पनि व्यक्तिको भाग्य परमेश्‍वरको हातमा हुन्छ, र मानिसहरूले आफ्नो भाग्य बदल्न सक्दैनन्। मानिसहरूले आफ्नो लक्ष्य हासिल गर्न जतिसुकै कडा मेहनत गरे पनि, वा उनीहरूले आरामदायक र सुन्दर जीवनको जतिसुकै तिर्सना गरे पनि, उनीहरूले त्यो हासिल गर्छन् कि गर्दैनन् भन्ने कुरा उनीहरूको हातमा छैन। मेरो हकमा जस्तै—मैले जागिर बदलेर र लगानी गरेर धेरै पैसा कमाउन र आफ्नो सपना पूरा गर्न, अनि उज्ज्वल भविष्य पाउन चाहेँ। तर मैले धेरै पैसा कमाउनुको सट्टा, मेरो लगानी असफल भयो र मैले धेरै गुमाएँ, मेरो धेरै समय र ऊर्जा पनि खेर गयो। मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकिनँ, र मेरो जीवन झनै खराब भयो। यसले मलाई के बुझायो भने कोही व्यक्ति धनी होस् वा गरिब, यो ऊ जन्मिनुभन्दा निकै अघिदेखि नै पूर्वनियोजन गरिएको हुन्छ। यदि परमेश्‍वरले मेरो भाग्यमा धन र सम्पत्ति छैन भनेर पूर्वनियोजन गर्नुभएको छ भने, मैले पैसा कमाउन जतिसुकै मेहनत गरे पनि, म अन्ततः असफल मात्र हुनेछु।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ र आफ्ना समस्याहरूबारे अझ स्पष्ट भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्‍ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानिसहरूमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेनन्, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, तिनीहरूले यसलाई मौन स्वीकृति दिए, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाले। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? सायद मानिसहरूलाई यो भनाइबारे समान स्तरको अनुभवात्मक ज्ञान छैन, तर सबैमा आफू वरपर घटेका घटनाहरू र आफ्नै व्यक्तिगत अनुभवहरूका आधारमा यो भनाइबारे फरक-फरक स्तरको व्याख्या र स्वीकारोक्ति हुन्छन्। त्यसो होइन र? कुनै व्यक्तिसँग यो भनाइबारे जतिसुकै गहन अनुभव भए पनि, यसले उसको हृदयमा कस्तो नकारात्मक असर पार्न सक्छ? त्यो के हो भने, यस संसारका मानिसहरूले—र यसमा तिमीहरूमध्ये प्रत्येक पर्छौ—मानवीय स्वभावबाट केही कुरा प्रकट गर्छन्। त्यो के हो? त्यो पैसाको आराधना हो। के यो मानिसहरूको हृदयबाट हटाउन सजिलो छ? अहँ, यो सजिलो छैन! यसले शैतानले मानिसलाई साँच्चै गहन रूपमा भ्रष्ट तुल्याएको छ भन्ने देखाउँछ! शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्‍ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्‍ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्‍ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सक्छु भन्‍ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५)। परमेश्‍वरका वचनहरूबाट मैले “दुनियाँ पैसाको इसारामा चल्छ” भन्ने भनाइ शैतानी दर्शन हो भन्ने थाहा पाएँ। सुरुमा, ममा यो भनाइबारे कुनै सुझबुझ थिएन, र मलाई यति मात्र थाहा थियो कि पैसा बिना मानिसहरूले राम्रो जीवन जिउन सक्दैनन् वा आफूले चाहेको कुरा पाउन सक्दैनन्। अहिले सोच्दा, यो साँच्चै नै शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने एउटा तरिका रहेछ। शैतानले पैसाद्वारा मानिसहरूलाई भ्रष्ट तुल्याउँछ र लोभ्याउँछ, र पैसा भएपछि मात्र उनीहरूले आदर पाउनेछन्, समाजमा आफ्नो स्थान बनाउन सक्नेछन्, र उनीहरूलाई उच्च नजरले हेरिनेछ भन्ने विश्वास दिलाउँछ। म यी शैतानी दर्शनहरूअनुसार जिएँ, र म पैसा कमाउने तिर्सनाले भरिएकी थिएँ। म नियमित मासिक आम्दानीमा सन्तुष्ट थिइनँ, त्यसैले मैले लगानी गर्न सुरु गरेँ। मैले सोचेकी थिएँ यसरी म धेरै पैसा कमाउन सक्छु र आफ्ना सपनाहरू—घर बनाउने, परिवारसँग घुम्ने, र अरूले उच्च नजरले हेर्ने र प्रशंसा गर्ने जीवन जिउने—पूरा गर्न सक्छु। पैसा र भौतिक सुखको पछि लाग्न, मैले आफ्नो कर्तव्यलाई पन्छाइरहेँ, र मेरो मन परमेश्‍वरबाट झन्-झन् टाढा गयो। म अन्धकारमा जिएँ, र मैले पवित्र आत्माको काम महसुस गर्न सकिनँ। अब मैले शैतानका छल र षड्यन्त्रहरू स्पष्टसँग देखेँ, अर्थात्, मानिसहरूलाई पैसाको पासोमा पार्ने, तिनीहरूका हृदयलाई परमेश्‍वरबाट भड्काउने र उहाँलाई धोका दिन लगाउने, तिनीहरूलाई अन्ततः त्यससँगै नरकमा नफालिएसम्म। मैले के पनि देखेँ भने धेरै धनी मानिसहरू—विलासी जीवन बिताए पनि र आफूले चाहेको सुन्दर घर, महँगा गाडीहरू, आदि जे पनि किन्न सके पनि, र हेर्दा चिन्तामुक्त जीवन बिताए जस्तो देखिए पनि—वास्तवमा खुसी छैनन्। कोही लामो समयसम्म रक्सी र लागूऔषधको दुर्व्यसनका कारण गम्भीर बिरामी परेर मर्छन्, र जतिसुकै धन वा प्रतिष्ठाले पनि उनीहरूको जीवन बचाउन सक्दैन। अरूहरूले वर्षौँ मेहनत गरेर आफ्नो व्यवसाय खडा गर्छन्, तर अन्ततः टाट पल्टिन्छन्, र गहिरो ऋणमा डुब्छन्। केही मानिसहरूले दबाब सहन सक्दैनन्, लामो समयसम्मको डिप्रेसनमा फस्छन्, र अन्ततः आत्महत्या गर्छन्। यस्ता धेरै उदाहरणहरू छन्। शैतानले मानिसहरूलाई लोभ्याउन पैसा र विलासी जीवनको प्रयोग गर्छ, जसले गर्दा मानिसहरू झन्-झन् खोक्रो, दुष्ट, र पतित जीवन जिउँछन्। यो कुरा छर्लङ्ग बुझेपछि, मैले आफ्नो लगानी कसरी उठाउने भनेर सोच्न छोडिदिएँ, र म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित भई आफ्नो कर्तव्यमा हृदय लगाउन तयार भएँ।

सन् २०२४, जनवरी २ मा, हाम्रो कम्पनीमा नयाँ म्यानेजर आए, र मेरो कामको बोझ बढ्यो। मेरो मूल कामको अतिरिक्त, म उनको व्यक्तिगत सहायक पनि भएँ। यसले मलाई झनै व्यस्त बनायो, र म लगभग चौबीसै घण्टा कामका लागि तैनाथ रहन्थेँ। तर यस पटक, मैले आफूलाई भनेँ—जेसुकै होस्, मैले यसलाई मेरो कर्तव्यमा असर गर्न दिनुहुँदैन। पछि, मण्डलीका एक जना सुपरिवेक्षकले के म सुसमाचार प्रचार र गवाहीको प्रशिक्षण लिन इच्छुक छु भनेर सोध्नुभयो, र मैले हुन्छ भनेँ। म एकदमै आनन्दित थिएँ र मलाई यो परमेश्‍वरले दिनुभएको एउटा अवसर हो भन्ने लाग्यो। मैले यति लामो समयदेखि परमेश्‍वरमा विश्वास गरेकी थिएँ, तर म सधैँ पैसाको पछि लागेकी थिएँ र मैले आफ्नो कर्तव्य राम्ररी गरेकी थिइनँ, यस पटक, यो मौकालाई मैले कदर गर्नैपर्ने थियो। त्यसबेलादेखि, मैले सुसमाचार प्रचारमा धेरै समय समर्पित गरेँ। तर मेरो काम झन्-झन् व्यस्त हुँदै गयो, र राती कामबाट घर फर्केपछि पनि म रोकिन सक्दिनथेँ। मेरो म्यानेजरले मलाई अक्सर फोन वा मेसेज गरिरहन्थे। कहिलेकाहीँ सुसमाचार स्विकार्ने सम्भावना भएका व्यक्तिसँग सङ्गति गर्दै रहेको बेला, मेरो म्यानेजर वा सहकर्मीहरूले मलाई फोन गर्थे, जसले गर्दा म आफ्नो मन शान्त राख्न सक्दिनथेँ। तर म फेरि आफ्नो कर्तव्य पूरा गर्ने मौका गुमाउन चाहन्नथेँ, त्यसैले मैले मलाई मार्गदर्शन गर्नुहोस् र शैतानको बन्धनबाट मुक्त हुन शक्ति दिनुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले प्रभु येशूका वचनहरू सम्झिएँ: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। प्रभुका वचनहरूबाट, मैले के बुझेँ भने मैले धेरै धन कमाए पनि, र ख्याति र प्रतिष्ठा समेत पाए पनि, मसँग परमेश्‍वरको सुरक्षा छैन र मैले सत्यता र जीवन पाएकी छैन भने, अन्तमा, मेरो परिणाम विनाश नै हुनेछ। यस संसारमा, धेरै धनी मानिसहरूसँग प्रचुर भौतिक सम्पत्ति छ, तर जब महाविपत्ति आइलाग्छ, तिनीहरूको पैसाले उनीहरूलाई पटक्कै बचाउन सक्नेछैन, र यदि उनीहरूको भाग्यमा छ भने उनीहरू नाश हुनेछन्। विपत्तिको अगाडि पैसा र हैसियत व्यर्थ छन्। त्यसपछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र गहिरोसित प्रभावित भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यो स्थितिबाट आफूलाई उम्काउने सबैभन्दा सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जिउने तरिका, जीवनसम्‍बन्धी दृष्टिकोण, पछ्याइ, चाहना, र आकाङ्क्षाहरूलाई सारांशीकृत र चिरफार गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रति परमेश्‍वरका अभिप्राय र मागहरूसँग तुलना गरेर तीमध्ये कुनै परमेश्‍वरका अभिप्रायहरूसँग मिल्दो छन् कि छैनन्, तीमध्ये कुनै परमेश्‍वरका मागहरू अनुरूप छन् कि छैनन्, तीमध्ये कुनैले जीवनको सही मूल्य प्रदान गर्छन् कि गर्दैनन्, व्यक्तिलाई सत्यता झन्-झन् बढी बुझ्न अगुवाइ गर्छन् कि गर्दैनन्, र व्यक्तिलाई मानवतासहित र मानवजातिको स्वरूपमा जिउन मद्दत गर्छन् कि गर्दैनन् भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका विभिन्न जिउने तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीपूर्वक चिरफार गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्‍नुभएको प्रारम्भिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई चरित्रभ्रष्ट तुल्याउने र नरकतर्फ डोर्‍याउने पासो हुन्। यो कुरा बुझेपछि, तैँले जीवनसम्‍बन्धी आफ्नो पुरानो दृष्टिकोणलाई छोड्नुपर्छ, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नुपर्छ, र परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरा लागि प्रबन्धहरू गर्न दिनुपर्छ, कुनै पनि व्यक्तिगत छनौट नगरी परमेश्‍वरका योजनाबद्ध कार्यहरू र मार्गदर्शनमा मात्रै समर्पित हुन खोज्नुपर्छ, र परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्नुपर्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने म आफ्नो पुरानो जीवनशैलीबाट अलग हुनुपर्छ, र परमेश्‍वरका अभिप्राय र मागहरूअनुसार जिउनुपर्छ। आत्मचिन्तन गर्दा, मैले के देखेँ भने मैले केही वर्षदेखि परमेश्‍वरमा विश्वास गरेको भए तापनि, कामकुराप्रतिको मेरो दृष्टिकोण नबदलिएकाले, मैले सधैँ धेरै पैसा कमाउन चाहेँ, र मैले हैसियत र ख्याति पछ्याएँ ताकि अरूले मलाई उच्च दृष्टिले हेरून्। म सधैँ काममा व्यस्त रहन्थेँ, झाराटारुवा तरिकाले बोझको कुनै बोध नगरी कर्तव्य निर्वाह गरिरहेकी थिएँ, र फलस्वरूप, मैले पवित्र आत्माको काम गुमाएँ, खोक्रोपन र अन्धकारमा जिएँ, अनि सत्यता अभ्यास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने धेरै अवसरहरू गुमाएँ। पैसा, ख्याति र प्राप्तिले मलाई दिएको आनन्द केवल अस्थायी थियो, र यसले मेरो जीवन बचाउन सक्दैनथ्यो। सत्यता पछ्याएर मात्र म आफ्नो भ्रष्ट स्वभाव फाल्न र मुक्ति प्राप्त गर्न सक्थेँ। यस समयमा, म अक्सर प्रार्थना गर्थेँ, र सही निर्णय गर्न मलाई मार्गदर्शन गर्नुहोस् भनी परमेश्‍वरसँग माग्थेँ।

सन् २०२४, फेब्रुअरी ६ मा, मैले मेरो म्यानेजरलाई राजीनामा पत्र बुझाएँ। उनले एकदमै छक्क पर्दै मैले किन छाड्न लागेको भनेर सोधे, र राजीनामा स्वीकृत नगर्ने पनि भने। तर मैले दृढतापूर्वक भनेँ, “मैले साँझमा र मेरो छुट्टीका दिनहरूमा अझ महत्त्वपूर्ण कामहरू गर्नु छ, त्यसैले म अब यो काम जारी राख्न सक्दिनँ।” अन्तमा, उनी स्वीकृत गरेर हस्ताक्षर गर्न बाध्य भए। फेब्रुअरी १२ मा, मैले त्यो कम्पनी छोडें। छोडेपछि मैले ठूलो राहत महसुस गरेँ, मानौँ मेरो हृदयबाट ठूलो बोझ हटेको थियो। मैले वास्तवमै भित्री आनन्द र खुसी महसुस गरेँ। सन् २०२४, फेब्रुअरी २८ मा, मैले आवेदन दिएको एउटा नयाँ जागिरमा म स्वीकृत भएँ, र सुविधाहरू राम्रै थिए, अनि म्यानेजरले छ महिनापछि तलब बढाइदिने वाचा गरेका थिए। यो जागिर साँच्चै लोभलाग्दो थियो। तर मैले सोचेँ यो जागिर पनि मेरो पहिलेको जस्तै व्यस्त हुनेछ, र मैले आफ्नो कर्तव्य पूरा गर्न सक्ने छैन। मैले सही छनौट गर्न मलाई मार्गदर्शन गर्नुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरका वचनहरू सम्झिएँ: “सामान्य मानिस, र परमेश्‍वरलाई प्रेम गर्न खोज्ने मानिसहरूका रूपमा, राज्यमा प्रवेश गर्नु र परमेश्‍वरका मानिसहरू बन्‍नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वपूर्ण जीवन हो; तिमीहरूजत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरका लागि जिउँछौ, र परमेश्‍वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छ: पृथ्वीमा अरू कोही पनि तिमीहरूको जस्तो त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने सत्यता पछ्याउनु र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुले नै जीवनलाई साँचो मूल्य र अर्थ दिन्छ, र एक सृजित प्राणीका रूपमा मैले यही कुरा पछ्याउनुपर्छ। केवल सत्यताको खोजी गर्ने र सत्यता प्राप्त गर्नेहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुन्छन्, र उनीहरू नै साँच्चै आशिषित व्यक्ति हुन्। तर जो निरन्तर पैसा, धन, ख्याति र प्राप्तिको पछि लाग्छन्, उनीहरू शैतानको प्रभावमा बाँचिरहेका हुन्छन्, र उनीहरू अन्ततः परमेश्‍वरद्वारा त्यागिनेछन्। यदि मैले फेरि कामका लागि आफ्नो कर्तव्य छाडेँ भने, म पक्कै पनि फेरि अन्धकार र खोक्रोपनमा जिउन पुग्नेथिएँ, र मैले अन्ततः मुक्तिको मौकालाई बर्बाद गर्नेथिएँ। त्यसैले, मैले त्यो जागिर अस्वीकार गरेँ। त्यसरी, मैले आफ्नो कर्तव्य गर्नका लागि धेरै समय पाउन सक्थेँ। छ महिनापछि, मैले एउटा उपयुक्त जागिर भेट्टाएँ। कामको समयले मेरो कर्तव्यमा बाधा पुऱ्याउँदैनथ्यो, र ओभरटाइम पनि थिएन। तलब अलि कम भए तापनि, मनमा शान्ति थियो, किनभने अब मसँग आफ्नो कर्तव्य गर्ने समय थियो। अहिले, म मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्दैछु, र मसँग सुसमाचार प्रचार गर्ने र परमेश्‍वरका आखिरी दिनहरूको कामको गवाही दिने मौका छ। यो साँच्चै आशिषित कुरा हो! मैले हामीलाई हाम्रो आधारभूत आवश्यकताहरू पूरा भए पुग्छ, र आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सत्यता पछ्याउनु नै सबैभन्दा महत्त्वपूर्ण र मूल्यवान कुराहरू हुन् भन्ने बुझ्न पाएकी छु। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  १८. के ज्ञानले साँच्चै मानिसको भाग्य बदल्न सक्छ?

अर्को:  २०. इमानदार बनेर मैले शान्ति र आनन्द प्राप्त गरेको छु

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger