४२. म आफ्नो कर्तव्यलाई सही रूपमा लिन सक्ने भएँ

टेरी, इटाली

सन् २०२४ मा, अगुवाले मलाई अनुभवात्मक गवाही भिडियोहरूमा अभिनय गर्ने व्यवस्था मिलाउनुभयो। परमेश्‍वरको कामको अन्तिम चरणमा यति महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न पाउँदा म निकै खुसी थिएँ, र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेर परमेश्‍वरको प्रेमको ऋण तिर्ने सङ्कल्प गरेँ। सुरुमा म अतिरिक्त भूमिकामा मात्र थिएँ, तर पछि मैले मुख्य पात्रको भूमिका पनि खेल्न पाएँ, र अनुभवात्मक गवाहीहरू बाँडेँ। समूहमा मेरोभन्दा बढी लाभ भएका कलाकारहरू जोडिएपछि, मैले मुख्य भूमिका कम कम खेल्दै गएँ। एउटा अनुभवात्मक गवाही भिडियोमा सुरुमा मलाई मुख्य पात्रको भूमिका खेलाउने तय भएको थियो, तर पछि त्यो भूमिका ब्रदर अल्बर्टलाई दिइयो। त्यतिबेला, मलाई सङ्कटको अनुभूति भयो। मलाई मेरो अभिनय क्षमता अरू सबैको भन्दा कमजोर छ भन्ने थाहा थियो, र कतै अगुवाले मलाई बिस्तारै कलाकारको रूपमा प्रयोग गर्नै छोड्ने हुन् कि भनेर मलाई चिन्ता लाग्यो। त्यसपछि मैले के गर्ने होला? सबैले मेरा बारेमा के सोच्छन् होला? त्यसपछि, मैले सुटिङ तालिका केही पटक जाँच गरेँ र त्यो पटकथाको पछाडि अझै पनि ब्रदर अल्बर्टकै नाम लेखिएको देखेँ। म अलिक निराश भएँ, तर यो निराशा चाँडै हट्यो। अक्टोबरमा, अगुवाले मलाई अभिनयको कर्तव्यबाहेक भान्सामा खाना पकाउन सघाउने व्यवस्था पनि मिलाउनुभयो। त्यतिबेला, मलाई यो निकै राम्रो व्यवस्था हो भन्ने लाग्यो, किनकि यो मेरा लागि थप कर्तव्य गर्ने एउटा माध्यम थियो। तर जब म साँच्चै भान्सामा पुगेँ, एप्रन बाँधेँ र खाना पकाउन थालेँ, मेरो मन अलिक अमिलो भयो। मैले मनमनै सोचेँ, “यतिका वर्ष मैले प्रायः सधैँ अभिनयको कर्तव्य नै निर्वाह गर्दै आएको छु। मैले कहिल्यै मुख्य भूमिका नखेलेको भए पनि धेरै चलचित्रहरूमा काम गरिसकेको थिएँ, र मलाई एक अनुभवी कलाकार मान्न सकिन्थ्यो। म जहाँ गए पनि ब्रदर-सिस्टरहरूले मलाई चिन्थे। तर अहिले, मलाई हेर त। म त भान्से पो भएको छु। खाना पकाउनु पनि एउटा कर्तव्य त हो, तर यो एकदमै मामूली लाग्छ। यो काम गरेर कसैको आदर वा सम्मान पाइँदैन।” पछि, समूहका केही कामदारहरू प्रायजसो कामविशेषले बाहिर गइरहनुपर्थ्यो। सेटको जिम्मा लिएका ब्रदर नहुँदा, अगुवाले मलाई सेट सजाउन लगाउनुहुन्थ्यो। प्रप्सको जिम्मा लिएका सिस्टर नहुँदा, अगुवाले मलाई प्रप्स मिलाउन लगाउनुहुन्थ्यो। म झन् बढी दिक्दार भएँ। “जहाँ कसैको खाँचो पर्छ मलाई त्यहीँ पठाइन्छ,” मैले सोचेँ। “त्यसो भए म के भएँ त? के सबैले मलाई जगेडा मात्र ठान्न थाल्नेछन्?”

एकपटक, हामी कलाकारहरू सँगै पेसागत सीपहरू सिक्दै थियौँ, र पालैपालो एउटा संवादको पूर्वाभ्यास गर्दै थियौँ। म निकै आत्तिएको थिएँ, कतै मेरो प्रस्तुति खराब हुने र मेरो बेइज्जत हुने हो कि भनेर चिन्तित थिएँ। अन्त्यमा, मलाई जे कुराको डर थियो त्यही भइदियो, सबैभन्दा खराब प्रस्तुति मेरै भयो। मैले मनमनै गुनासो गरेँ, “सुरुदेखि नै मेरो सीप कमजोर थियो, अनि अहिले मेरो दिन खाना पकाउँदै वा सेट मिलाउँदैमा बित्छ र मैले अभ्यास गर्ने समय नै पाउँदिनँ। के मेरो अभिनय सीप झन् खस्किँदै जाने होइन र?” थाहै नपाई, म अलि दिक्दार भएँ। हरेक दिउँसो, अरू कलाकारहरू सँगै नृत्य अभ्यास गर्थे। म भान्सामा खाना पकाउनमा अल्झिरहेको बेला तिनीहरू सबै अत्यन्तै खुसीका साथ नाचिरहेको देख्दा मलाई झन् बढी उकुसमुकुस हुन्थ्यो। म लज्जित नहुनका लागि तिनीहरूबाट पन्छिन मात्र चाहन्थेँ। नोभेम्बरमा, हामी नयाँ छायाङ्कन स्थलमा सर्‍यौँ, र अगुवाले मलाई पहिले सेट तयार गर्न लगाउनुभयो, अनि अबदेखि समूहको सामान्य मामिलाको काममा पनि म नै जिम्मेवार हुनुपर्ने बताउनुभयो। म सधैँ यी झिनामसिना काममा अल्झिरहेको बेला हरेक दिन सबैजना अनुभवात्मक गवाही भिडियोहरूको छायाङ्कनमा तल्लीन भएर काम गरिरहेको देख्दा, मैले सोचेँ, “सबैले मेरो क्षमता कमजोर छ र म कलाकार बन्न सक्दिनँ, म संवर्धनको लायक छैनँ भनी सोचेको हुनुपर्छ। त्यसैले त अगुवाले मलाई यी सामान्य मामिलाका कामहरू गर्न लगाइरहनुभएको छ।” यसबारे जति धेरै सोचेँ, मलाई त्यति नै लाज लाग्यो। एउटा भेलाको दौरान, म आफ्नो ल्यापटप बोकेर कलाकारहरूको कार्यालयमा पसेँ र सबैजना पहिल्यै बसिसकेको देखेँ। मैले सानो स्वरमा सोधेँ, “कुनै ठाउँ खाली छ?” एउटी सिस्टरले तुरुन्तै जवाफ दिइन्, “ओहो, ब्रदर टेरी पनि हुनुहुन्छ! हामीले त तपाईँलाई बिर्सेछौँ!” उनको कुनै नराम्रो मनसाय थिएन भन्ने मलाई थाहा थियो, तर मलाई साह्रै नराम्रो लाग्यो। मैले सोचेँ, “म दिनभरि झिनामसिना कामहरू गरिरहेको हुन्छु। म ओझेलमा पर्नु कुनै आश्चर्य होइन।” मलाई त्यतिखेर अत्यन्तै गाह्रो भयो जब मैले समूहका अन्य दुई जना ब्रदरहरूलाई निर्देशक र टोली अगुवा बनाइएको देखेँ, जबकि म चाहिँ दिनभरि खाना पकाउने, सरसफाइ गर्ने र प्रप्सहरू सार्ने काममा अल्झिरहेको थिएँ। त्यसमा अति नै स्पष्ट भिन्नता थियो। मैले अगुवाप्रति पूर्वाग्रह समेत राख्न थालेँ। मैले सोचेँ, “यदि तपाईँलाई ममा कलाकार बन्ने गुण छैन जस्तो लाग्छ भने, सिधै भन्नुहोस् न। म गएर नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सक्छु नि! कम्तीमा त्यो अलिक राम्रो त सुनिन्छ, र मलाई यहाँ यस्तो अपहेलित त महसुस हुँदैनथ्यो।” त्यसपछि, मैले बिहानको स्वर अभ्यास गर्न छोडेँ र अभिनय सीप सिक्ने मेरो सबै रुचि हरायो। म आफ्नो स्वर जोगाउन पिरो खानेकुरा खाँदिनथेँ, तर अब मैले लापरवाहीपूर्वक खान थालेँ। फलस्वरूप, भित्री तापका कारण मेरो ओठमा घाउ आयो, जसले फुटेजको गुणस्तरमा असर पार्‍यो। छायाङ्कनअघि, म पात्रका भावनाहरू मनन गर्नमा कुनै ध्यान दिँदिनथेँ; म यान्त्रिक तवरले आफ्ना संवादहरू मात्र कण्ठ पार्थेँ। फलतः, धेरै पटक मेरो नैराश्यले हाम्रो काममा ढिलाइ गरायो र छायाङ्कनको नतिजामा असर पार्‍यो। त्यो समयमा, म दिनभरि रनभुल्ल हुन्थेँ। कहिलेकाहीँ मलाई आफ्नो कर्तव्य पूरा गर्नुको कुनै अर्थ छैन जस्तो लाग्थ्यो, र म यस्तो समेत सोच्थेँ, “आखिर यो समूहमा म नभए पनि हुन्छ। हरेक दिन यी झिनामसिना कामहरू गर्नुको सट्टा, म पूर्णकालीन कर्तव्य गर्न छोडेर बरु जागिर खान्छु र सँगसँगै अलिअलि कर्तव्य निर्वाह गर्छु।”

एक दिन, प्रप्सहरू मिलाउँदै गर्दा, मलाई अचानक मुटुमा अत्यन्तै असहज महसुस भयो। त्यसपछि मात्र मैले त्यो समयको आफ्नो स्थितिबारे चिन्तन गर्न थालेँ। त्यही बेला मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ जसले सिधै मेरो स्थितिलाई सम्बोधन गरिरहेको थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अधिकांश मानिसहरू सत्यता खोज्नुको सट्टा सानातिना चालहरूको सहारा लिन्छन्। तिनीहरू आफ्नै हित, अभिमान, र अरू मानिसहरूको मनमा आफ्नो स्थान वा हैसियतलाई ठूलो महत्त्व दिन्छन्। तिनीहरूले कदर गर्ने कुराहरू यिनै मात्र हुन्। तिनीहरू यी कुराहरूमा दह्रोसँग टाँसिन्छन् र तिनलाई आफ्नो जीवन नै ठान्छन्—तिनीहरू परमेश्‍वर यी कुराहरूलाई कसरी हेर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ भन्‍ने कुरासँग कुनै सरोकार राख्दैनन्; तिनीहरू पहिले आफू समूहको मालिक हुँ कि होइन, आफूले अरूले उच्च सम्मान गर्ने पद सुरक्षित गर्न सक्छु कि सक्दिनँ, र कसैले आफूले भनेको कुरा सुन्छ कि सुन्दैन भन्ने कुरासँग सरोकार राख्छन्। तिनीहरू पहिले त्यो पद ओगट्नतिर लाग्छन्। समूहमा हुँदा, लगभग सबै मानिस यस प्रकारको पद, यस प्रकारको अवसर खोज्छन्। यदि तिनीहरू अत्यधिक सक्षम छन् भने, तिनीहरूले अवश्यै शीर्ष स्थान ओगट्ने प्रयास गर्छन्। यदि तिनीहरू औसत मात्रै छन् भने, तिनीहरूले अझै पनि समूहमा एक प्रमुख पद धारण गर्ने प्रयास गर्छन्। अनि यदि तिनीहरू समूहको तल्लो तहमा छन्, औसत क्षमता र सक्षमताका छन् भने, तिनीहरूले अरूलाई आफूलाई उच्च सम्मान गर्न लगाउने प्रयास पनि गर्छन्; तिनीहरूले अरूलाई आफूलाई हेयको नजरले हेर्न दिन सक्दैनन्। यी मानिसहरूले आफ्नो अभिमान र इज्जतमा नै सीमा कोर्छन्; तिनीहरूले यी कुराहरूलाई समातिराख्नैपर्छ भनी सोच्छन्। तिनीहरूले आफ्नो निष्ठा गुमाए पनि, वा परमेश्‍वर तिनीहरूसँग अप्रसन्‍न हुनुभए पनि र तिनीहरूलाई मान्यता दिनुहुन्न भने पनि, तिनीहरू अझै आफ्नो अभिमान र हैसियतका लागि लागिपर्नुपर्छ; तिनीहरू हर हालतमा अपमानबाट जोगिनैपर्छ। यो एक शैतानी स्वभाव हो। तैपनि तिनीहरू यो महसुस गर्दैनन्। तिनीहरूले आफूसँग बाँकी रहेको थोरै अभिमान गुमाउन सकिन्न भनी सोच्छन्। तिनीहरूलाई के थाहा छैन भने, जब यी सतही कुराहरू पूर्ण रूपमा त्यागिन्छन् र छोडिन्छन्, तब मात्रै तिनीहरू वास्तविक मानिस बन्नेछन्, र यदि तिनीहरूले त्यागिनुपर्ने यी कुराहरूलाई आफ्नो जीवनझैँ गरी जोगाए भने, तिनीहरूको जीवन गुम्नेछ। तिनीहरूलाई के दाउमा छ भन्‍ने कुरा थाहै छैन। त्यसकारण, आफूले गर्ने जुनै कुरामा पनि, तिनीहरू सधैँ केही कुरा लुकाएर राख्छन्, तिनीहरू सधैँ आफ्नै अभिमान र हैसियतको रक्षा गर्नको खातिर काम गर्छन्, र तिनीहरूले यी कुराहरूलाई प्राथमिकता दिन्छन्। तिनीहरू आफ्नै खातिर मात्रै बोल्छन् र भ्रामक तर्कहरू गर्छन्—तिनीहरूले आफ्नै लागि जे पनि गर्नेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले भन्छन् कि हामीमा जतिसुकै क्षमता र प्रतिभाहरू भए पनि, हामी सबै मानिसहरूको एउटा समूहमा एउटा निश्चित स्थान सुरक्षित गर्न र अरूबाट सम्मानित हुन चाहन्छौँ। ठूलो क्षमता भएकाहरू सबैभन्दा माथिल्लो स्थान ओगट्न चाहन्छन्, जबकि कुनै विशेष प्रतिभा नभएका र औसत क्षमता भएकाहरू समेत आफूलाई महत्त्व दिइयोस् र आदरभावले हेरियोस् भन्ने चाहन्छन्। यो सबै शैतानी स्वभावहरूद्वारा निर्देशित हुन्छ। जब अगुवाले मलाई कलाकार बन्ने व्यवस्था मिलाउनुभयो, म यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न सकेकोमा निकै सन्तुष्ट थिएँ, साथै म धेरै सक्रिय थिएँ र मैले बोझ लिएको थिएँ। तर जब अगुवाले मलाई खाना पकाउन, वा कामको आवश्यकता अनुसार अस्थायी रूपमा सेट मिलाउन वा प्रप्सहरू सार्न लगाउनुभयो, मलाई यी केवल झिनामसिना काम हुन्, र अरू कलाकारहरूको तुलनामा म अब समूहमा हटाउन मिल्ने सदस्य भएँ जस्तो लाग्यो। त्यसैले, म दिक्दारीको भावना बोकेर जिएँ र मैले औपचारिकता मात्र पूरा गर्दै आफ्नो कर्तव्यमा झारा टार्न थालेँ। म पहिले नै पात्रका भावनाहरू मनन गर्ने कोसिस गर्दिनथेँ, बरु संवादहरू मात्र कण्ठ पार्थेँ। छायाङ्कनको नतिजा कसरी राम्रो ल्याउने भनेर विचार गर्ने मेरो मनै थिएन। परमेश्‍वरले गर्नुभएको कुराप्रति मैले पटक्कै समर्पण देखाइनँ। म समूहको सबैभन्दा कम महत्त्वको व्यक्ति बन्न अनिच्छुक थिएँ, र सधैँ सम्मान र महत्त्व पछ्याउँथेँ। म पूर्णतया समझहीन थिएँ! मेरो अभिनय सीप कमजोर छ र मैले अझ बढी अभ्यास गर्नुपर्छ भनेर मलाई थाहा थियो, तर मैले अभ्यास मात्र नगरेको मात्र होइन, मैले प्रयास गर्नै छोडिदिएँ। मैले त पूर्णकालीन कर्तव्य निर्वाह गर्न समेत छोड्ने विचार गरेँ। ख्याति र हैसियतप्रतिको मेरो चाहना साँच्चै प्रबल थियो!

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ, र आफ्नै प्रकृति सारबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले ख्याति र हैसियतको पछ्याइलाई छोड्न सक्दैनन्। तैँले तिनीहरूलाई जुनसुकै समूहका मानिसमाझ राखे पनि तिनीहरूले ख्याति र हैसियतबारे मात्रै सोच्न सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो ख्याति र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुइटा कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथि विश्‍वास गर्दा सत्यताको पछ्याइ भनेको ख्याति र हैसियतको पछ्याइ हो, अनि ख्याति र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो—ख्याति र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफूले ख्याति, प्राप्ति वा हैसियत प्राप्त गरेको छैन, कसैले पनि आफूलाई आदरभावले हेर्दैन, उच्च सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू उदास हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै सोच्छन्, ‘के यसरी परमेश्‍वरमाथि विश्‍वास गरेर म असफल भएको हुँ? के मेरो लागि कुनै आशा छैन?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा तिनीहरूको गुणगान गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरले खुलासा गर्नुहुन्छ कि ख्रीष्टविरोधीहरूले ख्याति र हैसियतलाई आफ्नै जीवन जस्तै प्रिय ठान्छन्। तिनीहरू मानिसहरूको जुनसुकै समूहमा भए पनि, तिनीहरू सधैँ एउटा पद सुनिश्चित गर्न र सम्मानित हुन चाहन्छन्। जब तिनीहरूले आफ्नो ख्याति र हैसियत गुमाउँछन्, यस्तो लाग्छ मानौँ तिनीहरूको जीवन नै खोसिएको छ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ नभएको समेत महसुस गर्न सक्छन्, र जुनसुकै बेला परमेश्‍वरलाई धोका दिन र छोडेर जान सक्छन्। के म ठ्याक्कै त्यस्तै प्रकारको व्यक्ति थिइनँ र? विगतमा, मैले सधैँ अभिनयको कर्तव्य निर्वाह गर्दा, सबैले मलाई आदरभावले हेर्थे, र अरूका छेउमा हुँदा मलाई श्रेष्ठताको अनुभूति हुन्थ्यो। जब अगुवाले मलाई अनुभवात्मक गवाही भिडियोहरूमा राख्ने व्यवस्था गर्नुभयो, म धेरै खुसी थिएँ, मलाई उच्च महत्त्व दिइएको महसुस भयो, र म आफ्नो कर्तव्यमा ऊर्जाले भरिपूर्ण थिएँ। तर जब मलाई खाना पकाउन वा सेट मिलाउन खटाइयो, तब मैले अब आफूलाई महत्त्व नदिइएको महसुस गरेँ। म दिनभरि दुःखित थिएँ र मलाई केही गर्नुको कुनै अर्थ छैन भन्ने लाग्यो। परमेश्‍वर भन्‍नुहुन्छ: “तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले ख्याति र हैसियतको पछ्याइलाई छोड्न सक्दैनन्। तैँले तिनीहरूलाई जुनसुकै समूहका मानिसमाझ राखे पनि तिनीहरूले ख्याति र हैसियतबारे मात्रै सोच्न सक्छन्।” यी वचनहरू अत्यन्तै व्यावहारिक छन्! मैले ख्याति र हैसियतलाई प्रिय ठान्नु क्षणिक कुरा थिएन; यो त मेरो हाड-हाडमा थियो। म जुनसुकै मानिसहरूको समूहमा भए पनि वा जे गरिरहेको भए पनि, म सधैँ पहिले आफ्नै ख्याति र हैसियतलाई ख्याल गर्थेँ। म सर्वश्रेष्ठ हुन नसके पनि, कम्तीमा मेरो महत्त्व छ भन्ने मलाई महसुस हुनुपर्थ्यो। नत्रभने, मलाई बाँच्नुको कुनै अर्थ नभएझैँ असाध्यै पीडा महसुस हुन्थ्यो। मैले सोच्न थालेँ, मैले ख्याति र हैसियतलाई किन यति धेरै वास्ता गरेँ? किनकि म “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” र “मानिसहरूमाझ नायक भएर जिउनू, र भूतहरूमाझ वीर आत्मा भएर मर्नू” जस्ता शैतानी विषहरूद्वारा गहिरो रूपमा दीक्षित र प्रभावित भएको थिएँ। मलाई लाग्थ्यो कि म जुनसुकै मानिसहरूको समूहमा भए पनि, मैले महत्त्व र सम्मान पाउनैपर्छ; मेरो जीवनलाई खेर नफाल्ने त्यो एउटै उपाय थियो। मलाई याद छ, सानो हुँदादेखि नै म अत्यन्तै प्रतिस्पर्धी थिएँ र इज्जत जोगाउने कुरामा गहिरो चासो राख्थेँ, मैले जे गरे पनि कसैले मलाई कहिल्यै हेपेर नहेरोस् भन्ने चाहन्थेँ। म सानो छँदा मेरो परिवार गरिब थियो, त्यसैले मैले कडा मिहिनेत गरेर पढेँ। प्राथमिक विद्यालयदेखि उच्च माविसम्म, म दस वर्षसम्म कक्षा मनिटर थिएँ। घरका भित्ताहरू मेरा विभिन्न पुरस्कारका प्रमाणपत्रहरूले भरिएका हुन्थे। मेरा शिक्षक, आफन्त र साथीहरू सबैले मेरो प्रशंसा गर्थे, र मेरा सहपाठीहरूले मलाई आदरभावले हेर्थे। म त्यो आभामण्डलमा जिउँथेँ र धेरै गर्व गर्थेँ, सधैँ शिर ठाडो पारेर हिँड्थेँ। तर मेरो कलेज प्रवेश परीक्षाको ठिक अघि, बिमारका कारण म पढाइ छोड्न बाध्य भएँ। त्यतिबेला, मैले यो क्रूर यथार्थलाई स्विकार्न सकिनँ। त्यो समयदेखि, मैले फेरि आफूलाई सम्हाल्न सकिनँ र म गहिरो रूपमा दिक्दार भएँ। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि, म अझै अरूद्वारा सम्मानित हुन खोज्थेँ। मेरा क्षमता र सीपहरू औसत थिए र म महत्त्वपूर्ण काम सम्हाल्न सक्दिनथेँ, तैपनि म अर्थ राख्ने व्यक्ति बन्न र नहेपिन चाहन्थेँ। जब अगुवाले मलाई सामान्य मामिलाका काम दिइरहनुभयो, मेरो आडम्बर पूरा हुन सकेन, र म नकारात्मक स्थितिमा जिएँ। म असन्तुष्ट थिएँ र यसलाई स्वीकार गर्न अनिच्छुक थिएँ, यहाँसम्म कि अगुवाप्रति पूर्वाग्रह समेत राख्थेँ। मैले आफ्नो कर्तव्यमा झारा टारेँ र पार्ट-टाइम जागिर खाने समेत सोचेँ। यो परमेश्‍वरले खडा गर्नुभएको वातावरणबाट म भाग्नु थियो, र सारमा, यो परमेश्‍वरलाई धोका दिनु थियो। मैले देखेँ कि म सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्नका लागि नभएर ख्याति र हैसियत पछ्याउनका लागि आफ्नो कर्तव्य पूरा गरिरहेको थिएँ। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको थिएँ। यदि मैले पश्चात्ताप गरिनँ र म परिवर्तन भइनँ भने, ढिलो-चाँडो म परमेश्‍वरद्वारा प्रकट गरिनेछु र हटाइनेछु। त्यसपछि, म प्रायः परमेश्‍वरलाई प्रार्थना गर्थेँ, र मेरो गलत स्थितिलाई बदल्न मलाई मार्गदर्शन गर्नुहोस् भनी उहाँलाई आग्रह गर्थेँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरू देखेँ, र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुनका लागि मैले परमेश्‍वरमा विश्‍वास गर्दा कस्तो मार्ग लिनुपर्छ भन्ने कुरा बुझेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरू गौरवशाली र प्रभावशाली कर्तव्यहरू निर्वाह गर्नमा, अरूले तिनीहरूलाई आदरभावले हेरेको र तिनीहरूको ईर्ष्या गरेकोमा नै सन्तुष्ट हुन्छन्। के यी कुराहरूको कुनै काम लाग्छ? यी कुराहरू परमेश्‍वरको अनुमोदनको बराबर होइनन्, न त ती उहाँले दिनुभएका इनाम नै हुन्। त्यसैले, तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो केवल अस्थायी हो; त्यो अनन्त हुँदैन। कुनै व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसले कुन कर्तव्य निर्वाह गर्छ भन्नेमा निर्भर हुँदैन, बरु उसले सत्यता बुझ्न र प्राप्त गर्न सक्छ कि सक्दैन, र अन्ततः परमेश्‍वरप्रति पूर्ण समर्पण हासिल गर्न र आफूलाई उहाँको योजनाबद्ध कार्यको कृपामा राख्न, अब उप्रान्त आफ्नो भविष्य र नियतिलाई ख्याल नगर्न, र मानकअनुरूपको सृजित प्राणी बन्न सक्छ कि सक्दैन भन्नेमा निर्भर हुन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, उहाँले सबै मानवजातिलाई मापन गर्न यही मानक प्रयोग गर्नुहुन्छ, र यो मानक कहिल्यै परिवर्तन हुनेछैन—तैँले यो कुरा याद गर्नुपर्छ। यो मानकलाई आफ्नो मनमा दृढतापूर्वक राख्, र ती अवास्तविक कुराहरू पछ्याउनका लागि सत्यता पछ्याउने मार्ग छोड्नेबारे कहिल्यै नसोच्। मुक्ति पाउनुपर्ने सबैका लागि परमेश्‍वरले माग गर्नुभएको मानक सधैँ अपरिवर्तनीय छ। तँ जोसुकै भए पनि यो उस्तै रहन्छ। तैँले परमेश्‍वरले माग गर्नुभएको मानकअनुसार परमेश्‍वरमा विश्‍वास गरेर मात्रै मुक्ति प्राप्त गर्न सक्छस्। यदि तैँले अर्को बाटो भेट्टाउँछस् र अस्पष्ट कुराहरू पछ्याउँछस्, र तैँले भाग्यले सफल हुन्छु भनेर स्वैरकल्पना गर्छस् भने, तँ परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँलाई धोका दिने व्यक्ति होस्, र तँलाई पक्कै पनि परमेश्‍वरद्वारा श्राप दिइनेछ र दण्डित तुल्याइनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तैँले परमेश्‍वरसामु के भन्छस् वा के प्रतिज्ञा गर्छस्, परमेश्‍वर त्यो हेर्नुहुन्‍न। उहाँ त तैँले गर्ने कार्यमा सत्यता वास्तविकता छ कि छैन भनेर हेर्नुहुन्छ। परमेश्‍वर तेरा शब्दहरू कति उच्च, गहन, वा भव्य छन् भनी हेर्नुहुन्न। तैँले कुनै सानो काम गरे पनि, यदि परमेश्‍वरले तेरो हरेक कदममा तेरो निष्कपटता देख्नुभयो भने, उहाँले भन्नुहुनेछ, ‘यो व्यक्ति ममा निष्कपट रूपमा विश्वास गर्छ। उसले कहिल्यै ठूला-ठूला दाबीहरू गरेको छैन। ऊ आफ्नो उचित स्थानमा रहन्छ। उसले परमेश्‍वरको घरमा ठूलो योगदान नगरेको र ऊ कमजोर क्षमताको भए पनि, ऊ आफूले गर्ने हरेक कुरामा धेरै भरपर्दो हुन्छ र उसमा निष्कपटता हुन्छ।’ यो ‘निष्कपटता’ मा के समावेश हुन्छ? यसमा परमेश्‍वरप्रतिको डर र समर्पणता, साथै साँचो आस्था र प्रेम समावेश हुन्छ—यसभित्र परमेश्‍वरले देख्न चाहने सबै कुरा हुन्छ। यस्तो प्रकारको व्यक्तिलाई अरूले उच्च सम्मान गर्छन् नै भन्‍ने हुँदैन; ऊ अतिथिसत्कार गर्ने वा सामान्य कर्तव्य निर्वाह गर्ने व्यक्ति हुन सक्छ। ऊ अरूका लागि साधारण हुन सक्छ, उसले ठूल्ठूला उपलब्धिहरू हासिल नगरेको हुन सक्छ, र ऊसँग अरूलाई आफ्नो आदर, प्रशंसा, वा ईर्ष्या गर्न लगाउने केही पनि नहुन सक्छ—ऊ एक साधारण व्यक्ति मात्र हुन सक्छ। तैपनि ऊसँग परमेश्‍वरले माग गर्ने सबै कुरा हुन्छ, ऊ त्यसअनुसार जिउन सक्छ, र उसले त्यो कुरा परमेश्‍वरलाई अर्पण गर्न सक्छ। यसले परमेश्‍वरलाई सन्तुष्ट पार्छ, र उहाँ अरू केही चाहनुहुन्न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यी दुई खण्डहरू पढेपछि, मेरो हृदय अझ धेरै उज्यालो भयो। तिमीले आफ्नो कर्तव्यमा अरूको सम्मान पाउँछौ कि पाउँदैनौ भन्ने कुरा महत्त्वपूर्ण होइन; यसले तिम्रो अन्तिम परिणाम र गन्तव्य निर्धारण गर्दैन। आफ्नो कर्तव्य पूरा गर्नु भनेको हामीले सत्यता पछ्याउने र प्राप्त गर्ने मार्ग मात्र हो। हामीले ठूला-ठूला कुराहरू हासिल गर्नुपर्छ भनेर परमेश्‍वरले आवश्यक गराउनुहुन्न, न त उहाँले हामीलाई उच्च हैसियत प्राप्त गर्न नै माग गर्नुहुन्छ। परमेश्‍वरले आशा गर्नुहुन्छ कि हामीले आफ्नो उचित स्थानअनुसार आफूलाई आचरणमा ढाल्न, व्यावहारिक तवरले आफ्ना कर्तव्यहरू पूरा गर्न, उहाँका वचनहरू अभ्यास गर्न, र उहाँप्रति साँचो समर्पण देखाउन सकौँ। मैले यो पनि महसुस गरेँ कि मेरो अभिनय सीप औसत मात्र भएकोले, राम्रो सीप भएका ब्रदर-सिस्टरहरूलाई अनुभवात्मक गवाही भिडियोहरूमा अभिनय गर्न दिँदा राम्रो नतिजा आउँछ, जुन सुसमाचारको कामका लागि फाइदाजनक हुन्छ। यसबाहेक, मैले पहिले नवीकरणको काम गरेको थिएँ, त्यसैले अगुवाले मलाई सेट सजावटमा मद्दत गर्न लगाउनु मेरो सीपमा आधारित थियो र वास्तवमै निकै उपयुक्त थियो। हरेक व्यक्तिको कर्तव्य कसरी मिलाउने भन्ने बारेमा मण्डलीका सिद्धान्तहरू छन्, तर म ख्याति र हैसियत पछ्याउन, र मानिसहरूलाई मेरो सम्मान गर्न लगाउनमै तल्लीन थिएँ, र सधैँ आफ्नै अनुचित मागहरू बोकिरहन्थेँ। म पूर्णतया समझहीन थिएँ! वास्तवमा, अगुवाले मलाई अह्राउनुभएका सबै कामहरू अरूका नजरमा नपर्ने झिनामसिना काम भए पनि, ती मैले पूरा गर्नुपर्ने कर्तव्य नै थिए, र मैले ती कामहरू ध्यान दिएर गर्नुपर्थ्यो। यसबाहेक, तिमीले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यसमा अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता सिद्धान्तहरू हुन्छन्। यदि मैले आफ्नो क्षमताले भ्याएसम्म समर्पण र सहकार्य गरेको भए, मैले मण्डलीको काममा योगदान दिन त सक्थेँ नै, तर मैले सत्यता खोज्ने र बुझ्ने अझ धेरै अवसरहरू पनि पाउनेथिएँ। उदाहरणका लागि, सेट सजाउँदा, तिमीले सामग्रीहरूलाई कसरी बचाउने र दृश्यहरूलाई अझ आकर्षक बनाउन क्यामेरा र लाइटिङ विभागहरूसँग कसरी सौहार्दपूर्ण सहकार्य गर्ने भनेर ख्याल गर्नुपर्छ। सामान्य मामिलाको कर्तव्यमा सबै प्रकारका सरसामानको उचित व्यवस्थापन र व्यावहारिक प्रयोग समावेश हुन्छ; खाना पकाउँदा, खानालाई कसरी पोसिलो, स्वच्छ र स्वस्थकर बनाउने भनेर विचार गर्नुपर्छ। हरेक कर्तव्यमा फरक-फरक पक्षका धेरैवटा सिद्धान्तहरू समावेश हुन्छन्, र यसलाई मानकअनुरूप पूरा गर्न सजिलो हुँदैन। पहिले, ख्याति र हैसियत पछ्याएर, म गलत मार्गमा हिँडिरहेको थिएँ। मेरो आफ्नै जीवन प्रवेशमा घाटा भएको मात्र होइन, यसले मेरो कर्तव्यमा पनि केही नकारात्मक प्रभाव पारेको थियो। अब, मैले आफ्नो कर्तव्य पूरा गर्ने अवसरलाई कदर गर्नुपर्छ, अनि कर्तव्य निर्वाह गर्दा, आफ्नो जीवन प्रवेशमा, सत्यताको खोजी गर्नमा र सिद्धान्तअनुसार काम गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। पछि, एउटा घटना घट्यो जसले मलाई गहिरो रूपमा छोयो। गम्भीर भ्रष्ट स्वभावका कारण एक जना कलाकारलाई बर्खास्त गरियो: उसले अरूका सुझावहरू स्विकार्दैनथ्यो, ब्रदर-सिस्टरहरूसँग सौहार्दपूर्ण सहकार्य गर्न सक्दैनथ्यो, र बारम्बार सङ्गति गर्दा पनि कामकुरालाई सुधार्न मान्दैनथ्यो, जसले उसको कर्तव्यको नतिजामा असर गर्‍यो। यसले मलाई गहिरो सोचमा पुर्‍यायो। ती कलाकारको सीप एकदम राम्रो थियो, तर उसमा गम्भीर भ्रष्ट स्वभाव थियो र त्यो समाधान गर्न उसले कहिल्यै सत्यताको खोजी गरेन; अन्त्यमा, उसलाई बर्खास्त गरियो। मैले आफ्नो कर्तव्यमा आफूले हिँड्ने मार्ग एकदमै महत्त्वपूर्ण हुन्छ भन्ने देखेँ। यदि तिमीले सत्यता पछ्याएनौ भने, तिम्रो हैसियत जतिसुकै उच्च भए पनि वा तिमीले जतिसुकै सम्मान पाए पनि, अन्त्यमा तिमी असफल हुनेछौ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! म पश्चात्ताप गर्न तयार छु। म अब ख्याति र हैसियत पछ्याउन चाहन्नँ। म तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार छु।”

त्यसको केही समयपछि, अगुवाले मलाई भान्सामा पूर्णकालीन रूपमा खाना पकाउने काम गर्न इच्छुक छौ कि भनेर सोध्नुभयो। मैले मनमनै सोचेँ, “पहिले, म अस्थायी रूपमा मात्र सघाउँदै थिएँ। यदि मैले हुन्छ भनेँ भने, मैले लामो समयसम्म खाना पकाउनुपर्नेछ। के यसको अर्थ मैले फेरि कलाकार बन्ने मौका कहिल्यै पाउनेछैन भन्ने होइन र? सबैले मेरो बारेमा के सोच्नेछन्? के तिनीहरूले मेरो सीप राम्रो नभएकोले मलाई हटाइयो भन्ने सोच्नेछन्?” म दोधारमा परेँ, तर त्यसपछि मैले यो त म समर्पित हुन सक्छु कि सक्दिनँ भनेर हेर्न परमेश्‍वरले मलाई जाँच्नुभएको हो भन्ने बुझेँ। त्यसैले, मैले त्यो कर्तव्य स्वीकार गरेँ। पछि, अगुवाले मलाई अभिनय, खाना पकाउने र सामान्य मामिला तीनवटै कर्तव्य एकै पटक सम्हाल्न लगाउनुभयो—र तिनको जरुरीपन र महत्त्वअनुसार लचिलो भएर समन्वय गर्न भन्नुभयो। ती दिनहरूमा, म प्रायः परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झन्थेँ: “सृजित प्राणीका रूपमा तिमीहरूको भूमिका के हो? यो तिमीहरूको अभ्यास र कर्तव्यसँग सम्बन्धित छ। तँ एक सृजित प्राणी होस्, र यदि परमेश्‍वरले तँलाई गायनको वरदान दिनुभयो, अनि परमेश्‍वरको घरले तँलाई गाउने व्यवस्था मिलायो भने, तैँले राम्ररी गाउनुपर्छ। यदि तँसँग सुसमाचार प्रचार गर्ने प्रतिभा छ, र परमेश्‍वरको घरले तँलाई सुसमाचार प्रचार गर्ने व्यवस्था मिलायो भने, तैँले त्यो राम्ररी गर्नुपर्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले तँलाई अगुवा चुन्छन् भने, तैँले अगुवाइको कार्यभार काँधमा लिनुपर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन, सत्यता सङ्गति गर्न, र वास्तविकतामा प्रवेश गर्न डोर्‍याउनुपर्छ। त्यसो गर्दा, तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको हुनेछस्। परमेश्‍वरले मान्छेलाई दिनुहुने आज्ञा अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण हुन्छ! अनि, तैँले यो आज्ञा कसरी पालना गर्नुपर्छ र आफ्नो भूमिका कसरी निभाउनुपर्छ? यो भन्न सकिन्छ कि, यो तैँले सामना गर्ने सबैभन्दा ठूला समस्याहरूमध्ये एक हो, जुन तैँले सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र तँलाई परमेश्‍वरद्वारा सिद्ध पार्न सकिन्छ कि सकिँदैन भनी तय गर्ने निर्णायक क्षण हो। तैँले एउटा कुरा रोज्नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले बुझेँ कि परमेश्‍वरको घरमा हामीले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, कार्य र पदनाममा मात्र भिन्नताहरू हुन्छन्। कर्तव्य जेसुकै भए पनि, सृजित प्राणीका रूपमा हाम्रो पहिचान र सार परिवर्तन हुँदैन। जब नयाँ विश्‍वासीहरूलाई मलजल गर्न मेरो खाँचो पर्छ, म मलजल गर्ने व्यक्ति बन्नेछु। जब अभिनय गर्न मेरो खाँचो पर्छ, म कलाकार बन्नेछु। जब सेट सजाउन मेरो खाँचो पर्छ, म सेट सजाउने व्यक्ति बन्नेछु। जब खाना पकाउन मेरो खाँचो पर्छ, म सहयोगी कामदार बन्नेछु। मेरो कर्तव्य जति परिवर्तन भए पनि, म एउटा सृजित प्राणी मात्र हुन्छु। मैले गर्नुपर्ने भनेको स्वीकार गर्ने र समर्पित हुने, अनि सारा हृदय र शक्ति लगाएर आफ्नो कर्तव्य पूरा गर्ने हो। यसबाहेक, मैले यी झिनामसिना कामहरू सम्हाल्दा, मेरा ब्रदर-सिस्टरहरूले आफ्ना कर्तव्यका लागि अझ बढी ऊर्जा र समय पाउनेछन्। के त्यो पनि मैले आफ्नो भूमिका पूरा गर्नु होइन र? त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! म मेरो ख्याति र हैसियत त्याग्न र अरूको सम्मान खोज्न छोड्न तयार छु। म जुनसुकै कर्तव्य निर्वाह गरे पनि, म समर्पित हुन तयार छु।” त्यस बेलादेखि, आफ्नो कर्तव्य निभाउँदा, मैले अरूले मेरो बारेमा के सोच्छन् भन्ने कुराको वास्ता गर्न छोडेँ। बरु, मैले हरेक दिन परमेश्‍वरले मेरा लागि खडा गर्नुभएका वातावरणहरू अनुभव गर्नमा आफ्नो हृदय लगाएँ, पाठ सिक्नमा ध्यान केन्द्रित गरेँ, र मैले आफ्नो कर्तव्यमा कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेँ भनेर चिन्तन गरेँ। कहिलेकाहीँ आफूले अनैच्छिक रूपमा झुट बोलिरहेको पाउँदा, म परमेश्‍वरका मागअनुसार इमानदार मानिस बन्न आफैँ अभ्यास गर्थेँ। कहिलेकाहीँ, मैले सधैँ अरूले मेरो कुरा सुनून् भन्ने चाहेको र उनीहरूका सुझावहरू स्वीकार गर्न नसकेको देख्दा, म आफ्नो अहङ्कारी स्वभावबारे चिन्तन गर्थेँ र त्यो थाहा पाउँथेँ। सामान्य मामिलाको कर्तव्यमा धेरैवटा झिनामसिना कामहरू समावेश हुन्छन्, त्यसैले मैले ती सबै सम्हाल्न सक्नका लागि कसरी समयको उचित व्यवस्थापन गर्ने भनेर विचार गरेँ। केही समय खाना पकाउने अभ्यास गरेपछि, मैले खाना पकाउने केही आधारभूत सीपहरू जानेको महसुस गरेँ। जब मैले भान्साका केही भाँडाकुँडाहरू राम्ररी काम गरिरहेका छैनन् भन्ने देखेँ, तिनलाई सुधार गर्न मैले केही सानातिना हेरफेर गर्ने जुक्ति निकालेँ, र तिनले पहिलेभन्दा राम्रो काम गर्न थालेको भनेर सबैले भने। पछि, मेरो लागि उपयुक्त पटकथा हुँदा, निर्देशकले मलाई मुख्य पात्रको भूमिका पनि खेल्न लगाउनुहुन्थ्यो, र मलाई अभ्यास गर्ने अवसरहरू दिनुहुन्थ्यो। म हृदयमा परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ थिएँ। जब मैले आफ्नो मानसिकता बदलेँ र हरेक कुरालाई यो नयाँ मनोवृत्तिका साथ सामना गरेँ, मैले अब अरूले मेरो बारेमा के भन्छन् भनेर ख्याल गरिनँ। बरु, मैले हरेक कामलाई हृदयदेखि नै एउटा जिम्मेवारीको रूपमा स्वीकार गरेँ। यसरी अभ्यास गर्दा, मैले मेरो हृदय परमेश्‍वरको झनै नजिक पुगेको महसुस गरेँ। मैले मेरो जीवन प्रवेश र पेसागत सीप दुवैमा केही लाभहरू प्राप्त गरेँ, र मैले हृदयमा विशेष शान्ति र आनन्द महसुस गरेँ। परमेश्‍वरलाई धन्यवाद! यो सबै परमेश्‍वरको अनुग्रह र आशिष्‌ हो!

अघिल्लो:  ४१. आफ्नो बच्चाको रुचि र सोखप्रति कस्तो व्यवहार गर्ने

अर्को:  ४३. अरूलाई संवर्धन गर्दा मैले प्राप्त गरेको कुरा

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger