७७. मेरो बच्चाप्रतिको मेरा माग र अपेक्षाहरू स्वार्थी रहेछन्

झाङ हुइसिन, चीन

म सानो छँदा, मेरा हजुरबुबालाई ओपेरा सुन्न असाध्यै मन पर्थ्यो र उहाँले मलाई प्रायः प्रस्तुतिहरू हेर्न लानुहुन्थ्यो। मैले कलाकारहरू मञ्चमा कति मनमोहक देखिन्छन्, उनीहरूका गीतहरूले कसरी हृदय छुन्छन्, अनि दर्शकहरूले उनीहरूमाथि कसरी ताली र जयजयकारको वर्षा गर्छन् भनी देखेँ। म उनीहरूको साँच्चै सराहना गर्थेँ, र मनमनै नसोची रहन सकिनँ, “कुनै दिन, मैले मञ्चमा उभिएर ताली र प्रशंसा पाउन सकेँ भने, तब म ख्याति र चमकले भरिएको जीवन जिइरहेकी हुनेछु!” म साँच्चै एउटा नाटक समूहमा सामेल भएर ओपेरा कलाकार बन्न चाहन्थेँ। तर मेरो परिवार गरिब थियो, र हाम्रो आर्थिक अवस्थाले अनुमति दिएन, त्यसैले मञ्चमा जाने मेरो सपना मृगतृष्णामा बिलाएर गयो।

विवाहपछि मेरो एउटी छोरी भई। छोरी किन्डरगार्टेन जान थालेपछि, मैले उसको उमेरका अरू केटाकेटीहरू कोही नृत्य कक्षा त कोही सङ्गीत कक्षा गइरहेको देखेँ। विशेष गरी बाल दिवसका प्रस्तुतिहरूमा उनीहरूले धेरै शिक्षक र अभिभावकहरूको ध्यान खिचेर तालीको वर्षा पाउँथे। मैले पनि छोरीलाई नृत्य सिकाउने निधो गरेँ, किनभने यसले उसलाई सुगठित शरीर र शालीनता दिने मात्र नभई, मञ्चमा प्रस्तुति दिने मौका पनि दिलाउने थियो। तर ऊ खुट्टा तन्काउन र ढाड मोड्न डराउँथी र मैले जे भने पनि सिक्न मानिन। मैले सोचेँ, “म तेरो इच्छामै चल्न सक्दिनँ। तैँले एउटा सीप सिक्नैपर्छ ताकि भविष्यमा तैँले मञ्चमा मानिसहरूको ध्यान खिच्न सकेस्।” सन् २०१२ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ र हरेकको भाग्य परमेश्‍वरको हातमा हुन्छ, अनि मानिसले आफ्नो जीवनभरि गर्ने सबै कुरामा परमेश्‍वरको पूर्वनिर्धारण र बन्दोबस्त हुन्छ भन्ने थाहा पाएँ। तथापि, मैले मेरी छोरीलाई मञ्चमा प्रस्तुति दिएको हेर्ने आफ्नो अपेक्षा त्यागेकी थिइनँ। पछि, बाजा बजाउन सिक्दा पनि मञ्चमा जान सकिन्छ भन्ने सोचेर, म उसलाई बाजा पसलमा बाजा छनोट गर्न लिएर गएँ। तर उसलाई रुचि थिएन। मैले रिसाउँदै छोरीलाई भनेँ, “तैँले एउटा छान्नैपर्छ। एउटा सीप सिकेर मात्र तैँले मञ्चमा प्रस्तुति दिने मौका पाउँछेस्, र त्यसपछि मात्र तैँले चमकधमकपूर्ण जीवन जिउन सक्छेस्। सोच त, त्यसबेला कति धेरै मानिसहरूले तेरो प्रशंसा गर्नेछन्!” म धेरै रिसाएको देखेर, मेरी छोरीले अनिच्छापूर्वक गुझङ रोजी। सुरुमा, मेरी छोरीले यो बाजा सिक्न चाहेकी थिइन, त्यसैले मैले एक अनुभवी गुझङ शिक्षक खोजेँ र उसलाई सिक्न कर गरेँ। गुझङमा उसको रुचि जगाउन, मैले उसलाई प्रायः प्रोत्साहित गर्थेँ, र शिक्षकले पनि उसमा स्वाभाविक प्रतिभा भएको भन्दै प्रशंसा गर्थे। बिस्तारै, मेरी छोरीलाई गुझङमा रुचि लाग्न थाल्यो र उसले चाँडै केही धुनहरू सिकिहाली। एक दिन, मेरी छोरीले खुसी हुँदै मलाई भनी, “आमा, भविष्यमा म परमेश्‍वरको प्रशंसा गर्न गुझङ बजाउन सक्छु!” मेरी छोरी यस्तो समझदार देखेर, मलाई अत्यन्त सन्तुष्टि मिल्यो।

पछि, छोरीलाई मञ्चको थप अनुभव दिलाउन, जबजब मैले कुनै प्रस्तुतिका बारेमा सुन्थेँ, तब म उसको नाम दर्ता गराइदिहाल्थेँ। कम्मरको डिस्क उठेका कारण म लामो समयसम्म उभिन सक्दिनथेँ, तैपनि छोरीलाई अभ्यासहरूमा साथ दिने जिद्दी गर्थेँ। उसले राम्रो प्रगति गर्दै गई र उत्कृष्ट प्रस्तुतिहरू दिन्थी, र उ सधैँ मञ्चको केन्द्रमा हुन्थी। उसले शिक्षक र निर्णायकहरूबाट प्रशंसा पनि पाई, र म अत्यन्तै खुसी थिएँ। उसको प्रस्तुतिमा सँगै जान, मैले बिहान ३ बजेतिरै उठेर तयारी गर्नुपर्थ्यो। म उसको वरिपरि यति व्यस्त हुन्थेँ कि खाना खाने समय पनि पाउँदिनथेँ। र दिनभरिको दौडधूपपछि, मलाई रिङ्गटा लाग्थ्यो र मानसिक तथा शारीरिक रूपमा लखतरान हुन्थेँ। तर जब म मेरी छोरीलाई मञ्चमा चम्किएको देख्थेँ, तब म मनमनै सोच्थेँ, “मैले आफ्नो मञ्चको सपना पूरा गर्न नसके पनि, मेरी छोरीलाई मञ्चको केन्द्रमा पुऱ्याउन सकेको छु, यसले मेरो सबै पीडा र थकान सार्थक भएको छ!” प्रस्तुतिहरूका कारण हुने थकान, र पढाइको दबाबले गर्दा, मेरी छोरीको शरीरले धान्न सकेन, र ऊ उप्रान्त गुझङको अभ्यास गर्न चाहन्नथी। मैले उसलाई निरन्तरता दिन फकाउने र मनाउने प्रयास गरेँ, र अन्ततः ऊ अनिच्छापूर्वक राजी भई। हरेक दिन स्कुलबाट घर फर्केपछि, म मेरी छोरीलाई तुरुन्तै गुझङको अभ्यास गर्न लगाउँथेँ। छोरीले सप्ताहन्तमा बाहिर जाने चाहना देखाउँदा, म उसलाई बाहिर जानुअघि गुझङको अभ्यास सक्नैपर्छ भन्थेँ। उसले नमान्दा, म उसलाई गाली गर्थेँ, “तँलाई के लाग्छ, तेरो बुबा र मैले किन यति दुःख गरेर पैसा बचाएर तेरो कक्षाको शुल्क तिरेर तँलाई अभ्यास गराउँदै छौँ? के यो तँलाई भविष्यमा मञ्चमा उभिएर सफल हुने बनाउनका लागि होइन र? के तँ हाम्रो इज्जत बढाउन सक्दिनस्?” मलाई निकै अधीर र रिसाएकी देखेर, मेरी छोरीसँग रुँदै गुझङको अभ्यास गर्न जानुबाहेक अरू कुनै विकल्प थिएन। मिडिल स्कुल पुग्दासम्म, उसमाथि पढाइको ठूलो दबाब थियो, र उसले विभिन्न प्रस्तुतिका लागि बारम्बार अभ्यास पनि गर्नुपर्थ्यो, त्यसैले उसले फेरि गुझङ अभ्यास गर्ने इच्छा नै छोडी। मैले छोरीलाई गाली गरेँ, “तँ जतिसुकै व्यस्त भए पनि गुझङको अभ्यास गरिरहनै पर्छ। यदि तैँले राम्ररी अभ्यास गरिस् भने, तँ मञ्चमा पुगेर जीवनभरको ख्याति कमाउन सक्छेस्!” तर उसले अझै पनि अभ्यास गरिन। मैले रिसाएर उसको किताब र पिक होल्डर भुइँमा फालिदिएँ, र भनेँ, “ठीक छ। अभ्यास नगर्। ठूली भएपछि फोहोर टिपेर बस्नुपर्ला!” म निकै रिसाएकी देखेर, मेरी छोरी हतारहतार अभ्यास गर्न गई। कहिलेकाहीँ, मेरी छोरी मन दुखाएर रुँदै भन्थी, “तपाईँ किन मेरो भाग्य नियन्त्रण गर्न खोजिरहनुहुन्छ?” म रिसाउँदै उसलाई भन्थेँ, “के मैले गर्ने सबै कुरा तेरै लागि होइन र? तँ किन आफ्नो भलाइको कुरा बुझ्दिनस्?” मेरी छोरी पनि रिसाउँदै भन्थी, “मलाई गुझङ बजाउन मन नै पर्दैन! तपाईँले नै मलाई सिक्न बाध्य पारिरहनुभएको हो!” हाम्रो बहस सधैँ नमिठो भएर टुङ्गिन्थ्यो। जब प्रस्तुति र भेलाको समय जुध्थ्यो, म छोरीलाई पहिले प्रस्तुतिमा जान लगाउँथेँ। छोरी भेलामा जान चाहँदा, म तुरुन्तै भन्थेँ, “भेलाका लागि प्रशस्त समय छ, तर प्रस्तुतिको अवसर गुमाउनु हुँदैन। यदि तैँले यी अवसरहरू गुमाइस् भने, तैँले मञ्चमा चम्कने मौका गुमाउनेछेस्।” यसले गर्दा, मेरी छोरीले धेरै भेलाहरू गुमाई।

पछि, मेरी छोरी सफलतापूर्वक एउटा कलासम्बन्धी हाई स्कुलमा भर्ना भई। जबजब म छोरीका बारेमा कुरा गर्थेँ, तब सहकर्मी र साथीहरूले मलाई ईर्ष्या र प्रशंसाले हेर्थे। मेरो अभिमानलाई ठूलो सन्तुष्टि मिल्यो। बिस्तारै, मेरी छोरीले पनि आफ्नो पूरै ध्यान पढाइ र गुझङ बजाउनमा केन्द्रित गर्न थाली। आफ्नो आदर्श सङ्गीत एकेडेमीमा भर्ना हुन र आफ्ना साथीहरूलाई उछिन्न, उसले गुझङको अभ्यासमा थप समय दिन थाली। मैले पनि छोरीलाई छुट्टै सिकाउने गरी धेरै पैसा खर्चेर एउटा शिक्षक राखेँ। मेरी छोरीको गुझङ बजाउने सीपमा सुधार भएको देखेर, म धेरै खुसी भएँ। मेरी छोरी छुट्टीमा घर आउँदा, मैले उसलाई भेलामा सहभागी गराउन चाहन्थेँ, तर उसले “मैले गृहकार्य सकेकी छैन” वा “मैले अझै गुझङ अभ्यास गरेकी छैन” जस्ता बहाना बनाउँथी। छोरी लगभग एक वर्षसम्म भेलामा सहभागी नभएको देखेर, म अलिक चिन्तित भएँ। तर उसलाई गृहकार्य र गुझङ अभ्यासमा असाध्यै व्यस्त देखेर, मैले मनमनै सोचेँ, “के मैले छोरीलाई भेलामा सहभागी हुनका लागि सप्ताहन्तको गुझङ कक्षा छोड्न दिनुपर्छ?” तर फेरि सोचेँ, “उसले गुझङमा आफ्नो सीप सुधार्न यति धेरै मेहनत गरेकी छे; यदि उसले सप्ताहन्तमा अभ्यास गरिन भने, के ऊ अरूभन्दा पछि पर्दिन र? उसले अभ्यास छाड्न मिल्दैन। तर यदि ऊ लामो समयसम्म भेलामा सहभागी भइन भने, उसको आत्मिक जीवनमा पनि हानि हुनेछ।” केही बेर सोचेपछि, मैले उसँग भेला गर्न समय निकाल्ने निर्णय गरेँ। एक दिन, मेरी छोरीले मलाई अबदेखि स्कुल जान नचाहेको बताई। उसले स्कुलको वातावरण खराब छ, र त्यहाँ चुरोट खाने, डेटिङ गर्ने र गुण्डागर्दी गर्ने मानिसहरू हुन्छन् भनेर सुनाई। उसले आफूलाई पढाइमा केन्द्रित हुन गाह्रो भएको र एकदमै दमित महसुस हुने गरेको बताई। जब मैले मेरी छोरीले स्कुल जान नचाहेको भनेको सुनेँ, मैले सोचेँ, “तैँले कलासम्बन्धी स्कुलमा भर्ना हुन कति मेहनत गरिस्, र अब दुई वर्ष मात्रै मेहनत गरिस् भने, तैँले एक प्रतिष्ठित कला प्रतिष्ठानको प्रवेश परीक्षा दिन सक्नेछेस्। एकचोटि भर्ना भएपछि, अझ ठूलो मञ्चमा जाने तेरो सपना साकार हुनेछ, र त्यसपछि तेरा आफन्त, साथी, शिक्षक र सहपाठीहरूले तेरो प्रशंसा र ईर्ष्या गर्नेछन्, र तैँले मेरो नाक पनि राख्न सक्नेछेस्।” त्यसैले मैले रिसाउँदै भनेँ, “तैँले बल्लतल्ल एउटा कलासम्बन्धी हाई स्कुलमा भर्ना पाएकी छेस्। यदि तँ गइनस् भने, के तैँले एउटा उज्ज्वल भविष्य गुमाउनेछैनस् र?” मलाई निकै अधीर र रिसाएकी देखेर, मेरी छोरी रुँदै स्कुल गई। मेरी छोरीले आफूमाथि अन्याय भएको महसुस गरेको देखेर, मेरो मन दुख्यो, तर उसलाई मञ्चमा पुऱ्याउन र अरूभन्दा उत्कृष्ट बनाउनका लागि, मसँग यसो गर्नुबाहेक अरू कुनै विकल्प छैन जस्तो लाग्यो।

एउटा भेलाको दौरान, मैले सिस्टर ली लिङलाई आफ्नो स्थितिबारे बताएँ, र उनले मेरा लागि पढ्न भनेर परमेश्‍वरका वचनहरूको एउटा खण्ड खोजिदिइन्। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तिनीहरूका छोराछोरीहरू कलिलो उमेरमा नै दुष्ट प्रवृत्तिका केही घटनाहरूको सम्पर्कमा आए वा तिनीहरूले केही गलत तर्क वा सोच र दृष्टिकोणहरू सुने भने, तिनीहरूले तिनलाई नखुट्ट्याई पछ्याउन वा अनुकरण गर्न सक्छन्। आमाबुबाले यी समस्याहरू सुरुमै पत्ता लगाएर तुरुन्तै सच्याइदिनुपर्छ र सही मार्गदर्शन प्रदान गर्नुपर्छ। यो पनि तिनीहरूको जिम्मेवारी हो। छोटकरीमा, लक्ष्य भनेको छोराछोरीहरूमा तिनीहरूको आत्मआचरण कस्तो छ, तिनीहरूले मानिसहरूलाई कसरी व्यवहार गर्छन्, र तिनीहरूले विभिन्‍न मानिस, घटना र कामकुराहरूलाई कसरी हेर्छन् भन्‍नेबारेमा सकारात्मक र सही सोच र दृष्टिकोणहरू छन् भनी सुनिश्चित गर्नु हो, ताकि तिनीहरू खराब दिशामा भन्दा राम्रो दिशामा विकास हुन सकून्। उदाहरणका लागि, तिनीहरूले आफ्ना छोराछोरीलाई जीवनभरिको व्यक्तिको नियति परमेश्‍वरको हातमा हुन्छ भनेर सिकाउनुपर्छ। गैरविश्‍वासीहरूले अक्सर भन्छन्, ‘जीवन र मृत्यु पूर्वनिर्धारित हुन्छन्; धन र इज्जत स्वर्गले निर्धारण गर्छ।’ व्यक्तिले जीवनमा अनुभव गर्नुपर्ने दुःख र आनन्दको मात्रा परमेश्‍वरद्वारा पूर्वनियोजन गरिएको हुन्छ र त्यसलाई मानवद्वारा परिवर्तन गर्न सकिँदैन। एकातिर, आमाबुबाहरूले आफ्ना छोराछोरीलाई यी वस्तुगत तथ्यहरूको जानकारी दिनुपर्छ, र अर्कोतिर, तिनीहरूलाई जीवन भनेको शारीरिक आवश्यकताहरू पूरा गर्नका लागि होइन, आनन्द लिनका लागि त झनै होइन भनेर सिकाउनुपर्छ। यस जीवनमा मानिसहरूका लागि खानु, पिउनु, र मनोरञ्जन खोज्नुभन्दा महत्त्वपूर्ण कामहरू छन्; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, सत्यता पछ्याउनुपर्छ, र परमेश्‍वरद्वारा मुक्ति पाउने पछ्याइमा लाग्नुपर्छ। यदि मानिसहरू आनन्दका लागि, खान, पिउन र देहमा मनोरञ्जन खोज्नका लागि मात्रै जिउँछन् भने, तिनीहरू हिँड्ने लाशजस्तै हुन्, र तिनीहरूको जीवनको कुनै मूल्य नै हुँदैन। तिनीहरूले कुनै पनि सकारात्मक वा अर्थपूर्ण मूल्य सिर्जना गर्दैनन्, र तिनीहरू जिउन वा मानव हुन योग्य हुँदैनन्। कुनै बच्चाले परमेश्‍वरमा विश्‍वास नगरे पनि, तिनका आमाबुबाले कम्तीमा पनि तिनलाई एक असल व्यक्ति र आफ्नो उचित काममा ध्यान दिने व्यक्ति बन्न डोऱ्याउनुपर्छ। अवश्य पनि, यदि तिनीहरू परमेश्‍वरद्वारा चुनिएकामध्ये पर्छन् र ठूलो भएपछि मण्डली जीवनमा भाग लिन र आफ्नै कर्तव्य निर्वाह गर्न इच्छुक हुन्छन् भने, त्यो झनै राम्रो हो। यदि तिनीहरूका छोराछोरी यस्ता छन् भने, आमाबुबाहरूले परमेश्‍वरले मानिसहरूलाई पछ्याउन अर्ती दिनुभएका सिद्धान्तहरूका आधारमा आफ्ना छोराछोरीप्रति आफ्ना जिम्मेवारीहरू अझ बढी पूरा गर्नुपर्छ। यदि तँलाई तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेछन् कि गर्नेछैनन् वा तिनीहरू परमेश्‍वरद्वारा चुनिएकामध्ये पर्छन् कि पर्दैनन् भन्ने थाहा छैन भने पनि, तैँले आमाबुबाको रूपमा आफूले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीहरू सक्दो मात्रामा पूरा गर्नुपर्छ, र तैँले पहिले नै जानेका सकारात्मक सोच र कुराहरू आफ्ना छोराछोरीसँग बाँड्नुपर्छ। कम्तीमा पनि, तिनीहरूको मानसिक वृद्धि राम्रो दिशामा विकास हुने, र तिनीहरूको दिमाग स्वच्छ र स्वस्थ भएको सुनिश्चित गर्। तिनीहरूलाई सांसारिक प्रवृत्तिहरूका पछाडि दौडन वा ख्याति, प्राप्ति र हैसियत पछ्याउन नदे। कतिपय आमाबुबाले आफ्ना छोराछोरीहरू अरूभन्दा असल बन्नेछन् भन्‍ने अपेक्षाहरू राख्छन्, त्यसैले तिनीहरूलाई सानैदेखि सबै प्रकारका सीप र ज्ञान अध्ययन गर्न बाध्य पार्छन्। अझ गम्भीर कुरा त, कतिपय आमाबुबाले आफ्ना छोराछोरीलाई विभिन्‍न प्रतिभा प्रदर्शन, शैक्षिक प्रतियोगिता, वा प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा भाग लिन लगाउँछन्, वा तिनीहरूलाई पत्रकार सम्मेलन, हस्ताक्षर कार्यक्रम, आदि कुरामा उपस्थित गराएर विभिन्न सामाजिक प्रवृत्तिहरूका पछाडि लाग्न लगाउँछन्। आमाबुबाका रूपमा, कम्तीमा पनि तिनीहरूले आफ्ना छोराछोरीलाई सामाजिक प्रवृत्तिहरूका पछाडि लाग्न डोऱ्याउनु हुँदैन। यदि आमाबुबाले आफ्ना छोराछोरीलाई सांसारिक प्रवृत्तिहरूका पछाडि लाग्न डोऱ्याउँछन् भने, एकातिर, यो स्पष्ट छ कि तिनीहरूले आमाबुबाका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गरेका छैनन्, र आफ्ना छोराछोरीको जीवन सही दिशामा अघि बढोस् भन्नका लागि तिनीहरूलाई जीवनमा सही लक्ष्यहरू निर्धारण गर्न मार्गदर्शन गरेका छैनन्। अर्कोतिर, तिनीहरूले स्पष्ट रूपमा आफ्ना छोराछोरीलाई कहिल्यै नफर्किने मार्गमा डोऱ्याइरहेका छन्, र तिनीहरूलाई ख्याति, प्राप्ति र हैसियत पछ्याउने दुष्ट प्रवृत्तिमा तानिरहेका छन्। आफ्ना छोराछोरीले भविष्यमा लिने मार्गहरू वा तिनीहरूले पछ्याउने करियरहरूका सम्बन्धमा, आमाबुबाहरूले आफ्ना छोराछोरीको दिमागमा यस्ता कुराहरू भर्नु हुँदैन, जस्तै, ‘त्यो फलानो पियानोवादकलाई हेर्। उसले चार-पाँच वर्षको उमेरमा पियानो बजाउन थालेको हो। ऊ कहिल्यै खेलमा लिप्त हुँदैनथ्यो, उसले कुनै साथी बनाउँदैनथ्यो, र केवल पियानो अभ्यास गर्थ्यो र हरेक दिन पियानो कक्षा लिन जान्थ्यो। उसले विभिन्‍न शिक्षकहरूसँग पनि परामर्श लिन्थ्यो र विभिन्‍न पियानो प्रतियोगिताहरूमा भाग लिन्थ्यो। हेर त ऊ अहिले कस्तो प्रसिद्ध व्यक्ति भएको छ, कति राम्रो खान्छ, कति राम्रो लुगा लगाउँछ, विशिष्टताको आभाले घेरिएको हुन्छ र जहाँ गए पनि सम्मान पाउँछ।’ के बच्चाको दिमागको स्वस्थ विकास प्रवर्धन गर्ने शिक्षा यस्तै हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए, यो कस्तो खालको शिक्षा हो? यो दुष्ट शिक्षा हो। यस्तो शिक्षा कुनै पनि बच्चाको दिमागका लागि घातक हुन्छ। यसले उनीहरूलाई प्रसिद्धिको आकाङ्क्षा गर्न, विशिष्टताका विविध आभाहरू, प्रतिष्ठा, हैसियत र आनन्दको लालसा गर्न हौसला दिन्छ। यसले उनीहरूलाई सानै उमेरदेखि यी कुराहरूको तृष्णा र खोजी गर्ने तुल्याउँछ, र उनीहरूलाई व्यग्रता, चरम डर र चिन्तामा धकेल्छ, र यहाँसम्म कि उनीहरूलाई ती कुरा पाउन जस्तोसुकै मूल्य तिर्न लगाउँछ, आफ्नो गृहकार्य गर्न र विभिन्न सीपहरू सिक्न चाँडै उठ्न र राति अबेरसम्म बस्न लगाउँछ, अनि उनीहरूले आफ्नो बालापन गुमाउँछन्, ती अमूल्य वर्षहरू यी कुराहरूसित साट्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले बल्ल के बुझेँ भने आमाबुबाको साँचो जिम्मेवारी आफ्ना छोराछोरी सानो हुँदा तन र मन दुवै रूपमा स्वस्थ र खुसीसाथ हुर्कने सुनिश्चित गर्नु, उनीहरूको सोचलाई सकारात्मक मार्गदर्शन दिनु, र उनीहरूलाई आफ्नो बाल्यकाल रमाउन दिनु हो। आमाबुबाले आफ्ना अपेक्षाहरू छोराछोरीमाथि लाद्नु, उनीहरूलाई ख्याति, प्रतिष्ठा, मान, हैसियत र सुखभोगहरू पछ्याउन लगाउनु साँचो जिम्मेवारी होइन। मैले चिन्तन नगरी रहन सकिनँ: मेरी छोरीलाई सानैदेखि बाजा सिक्न मन पर्दैनथ्यो, तर उसलाई प्रसिद्ध र सबैतिर सम्मानित बनाउन, मैले उसलाई गुझङ सिक्न कर गरेँ, र जब उसले निर्णायक र शिक्षकहरूबाट प्रशंसा पाई, मलाई आफूले हासिल गर्न नसकेका सपनाहरू बल्ल मेरी छोरीमार्फत साकार हुँदै गरेको महसुस भयो, र त्यसैले उसलाई संवर्धन गर्ने मेरो सङ्कल्प अझ बलियो भयो। जबजब मैले कुनै प्रस्तुतिका बारेमा सुन्थेँ, तब म उसले मञ्चमा चम्कने मौका गुमाउली कि भन्ने डरले उसको सहमतिविना नै उसको नाम दर्ता गराइदिन्थेँ। जबजब मेरी छोरी खेल्न चाहन्थी, तब म उसले आफ्नो अभ्यासमा ढिलाइ गर्छे कि भन्ने डरले उसलाई गाली गर्थेँ। छोरीको साङ्गीतिक सीप सुधार्न, मैले उसलाई मार्गदर्शन गर्ने व्यावसायिक शिक्षक राख्न खर्चको कुनै पर्वाह गरिनँ, यो सबै उसलाई प्रसिद्ध बनाउन र मलाई गौरव दिलाउनका लागि थियो। मैले छोरीको कलिलो हृदयले कति दबाब र पीडा सहिरहेको छ भनेर कहिल्यै विचार गरिनँ, र मैले सधैँ आफ्ना इच्छाहरू पूरा गर्नेबारे मात्र सोचेँ। मेरो शिक्षामा परेर, मेरी छोरी आफ्नो प्रतिष्ठा र हैसियतका बारेमा धेरै चिन्तित हुन थाली, र उसले आफ्ना सहपाठीहरूलाई उछिन्न अभ्यासमा अतिरिक्त समय लगाई, र आफ्नो चञ्चलता र निर्दोषिता गुमाउन पुगी। हामी बिच एउटा दूरी बन्न थाल्यो, र मेरी छोरीले परमेश्‍वरका वचनहरू खाने-पिउने र भेलाहरूमा सहभागी हुने रुचि पनि गुमाई, र ऊ परमेश्‍वरबाट झन्-झन् टाढा हुन थाली। यी सब परिणामहरू मेरै कारणले भएका थिए। मेरी छोरी पहिले भेला हुन र परमेश्‍वरका वचनहरू खान-पिउन इच्छुक हुने गर्दथी, तर मैले उसलाई परमेश्‍वरको विश्वासतर्फ र सही मार्ग हिँड्न मार्गदर्शन गरिनँ, बरु, मैले उसलाई दुष्ट प्रवृत्तिहरूभित्र, लगातार प्रतिष्ठा र हैसियत पछ्याउन डोर्‍याएँ। मैले कुन तरिकाले एउटी आमाको साँचो जिम्मेवारी पूरा गरिरहेकी थिएँ र? यो सोचेर, मेरो दबाबमूलक शिक्षा शैलीले मेरी छोरीमा यति ठूलो हानि र आघात पुऱ्याएकोमा मलाई एकदमै पछुतो भयो।

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ र मैले आफ्नी छोरीलाई यस्तो व्यवहार गर्नुको कारण बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँ कतिपय मानिसहरू आफ्ना छोराछोरीहरूका लागि जिएको देख्छस्—तँलाई जिउने यो तरिका सही होइन भन्‍ने थाहा हुन्छ, तर के तँ आफ्ना छोराछोरीहरूका लागि जिउनबाट जोगिन सक्छस्? वा तँ कतिपय मानिस पैसा, ख्याति र प्राप्तिको खोजीमा दौडधुप गरेको र व्यस्त भएको देख्छस्—तेरो हृदयमा तँलाई यो मार्ग गलत हो भन्‍ने थाहा हुन्छ, तर के तँ तिनै कुराहरूका लागि दौडधुप गर्न र व्यस्त हुनबाट जोगिन सक्छस्? यदि तँ हिँडिरहेको मार्ग ख्याति र प्राप्ति पछ्याउने मार्ग नै हो, र तँलाई यो गलत मार्ग हो भन्‍ने थाहा छ, तैपनि तँ चाहेर पनि सत्यता पछ्याउने मार्गमा हिँड्न सक्दैनस् भने, यसको अर्थ तँ यस संसारमा कसरी जिउँछस् भन्‍ने कुरा तेरो नियन्त्रणमा छैन भन्‍ने हुन्छ! यसको जड के हो? त्यो के हो भने, मानिसहरूले परमेश्‍वरको काम स्वीकार गरेका छैनन् वा सत्यता प्राप्त गरेका छैनन्। मानिसहरूको आत्मिक सहारा के हो? तिनीहरू आत्मिक सहाराको खोजी कहाँ गर्छन्? आत्मिक सहाराका लागि, मानिसहरू परिवारको घनिष्ठता; विवाहको परमानन्द; भौतिक कुराहरूको मजा; धन, ख्याति, प्राप्ति, हैसियत, भावना र करियर; र अर्को पुस्ताको खुसीतर्फ हेर्छन्। के कसैले यी कुराहरूमा आत्मिक सहारा खोज्दैन र? छोराछोरी हुनेहरूले आफ्ना छोराछोरीहरूमा यो भेट्टाउँछन्; छोराछोरी नहुनेहरूले आफ्नो करियर, विवाह, सामाजिक हैसियत, र ख्याति र प्राप्तिमा यो भेट्टाउँछन्। त्यसकारण, यसरी उत्पन्न भएका जीवनका तरिकाहरू पनि सबै उस्तै हुन्छन्; शैतानको नियन्त्रण र शक्तिको अधीनमा रहेका, र आफ्नै इच्छाविपरीत, सबै मानिस हैसियत, ख्याति, प्राप्ति, आफ्नो करियर र भविष्य, आफ्नो विवाह, आफ्नो परिवार र आफ्ना छोराछोरीहरूको भविष्य, र दैहिक सुखका खातिर दौडधुप गर्छन् र व्यस्त हुन्छन्। के यो सही मार्ग हो? मानिसहरूले यस संसारमा जतिसुकै दौडधुप गरे पनि, तिनीहरू आफ्नो करियरमा जतिसुकै सफल भए पनि, तिनीहरूको परिवार जतिसुकै सुखी भए पनि, तिनीहरूको परिवार जतिसुकै ठूलो भए पनि, तिनीहरूको हैसियत जतिसुकै प्रतिष्ठित भए पनि—के तिनीहरू जीवनको सही मार्गमा लाग्न सक्षम हुन्छन्? ख्याति, र प्राप्ति अनि संसारको पछि लागेर, वा आफ्नो करियर पछ्याएर, के तिनीहरू परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो र उहाँ मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्य देख्न सक्छन्? यो सम्भव छैन। मानिसहरूले जे पछ्याए पनि वा तिनीहरू जुन मार्गमा हिँडिरहेका भए पनि, यदि तिनीहरूले परमेश्‍वर मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्य स्विकार्दैनन् भने, तिनीहरू हिँड्ने मार्ग गलत हुन्छ। त्यो सही मार्ग होइन, बरु टेढो, दुष्टताको मार्ग हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरूको खुलासाद्वारा मैले के बुझेँ भने शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन र हानि पुऱ्याउन ख्याति र प्राप्तिको प्रयोग गर्छ, र “अरूभन्दा असल बन,” “अरूभन्दा माथिल्लो पदमा बस,” र “पुर्खाको नाम राख” जस्ता विचार र दृष्टिकोणहरू मानिसहरूमा भर्छ, जसले मानिसहरूलाई अथक रूपमा ख्याति र प्राप्ति पछ्याउन लगाउँछ। ख्याति र प्राप्तिका लागि तिनीहरू झन्-झन् दुष्ट बन्छन् र झन्-झन् धेरै कष्ट भोग्छन्। सानैदेखि, मैले सधैँ मञ्चको कलाकार बन्ने, सबैको प्रशंसा र ईर्ष्या पाउन मञ्चमा जाने, र हैसियत र प्रसिद्धि प्राप्त गर्ने सपना देखेकी थिएँ। तर जब मेरा सपनाहरू साकार हुन सकेनन्, म निराशा र पीडामा डुबेँ। पछि, मैले मेरा सपनाहरू छोरीमाथि लादेँ, उसलाई गुझङ सिक्न जोड गरेँ। ऊ एक दिन मञ्चमा पुगेर चम्किनेछे भनी आशा गरेँ। जब मैले छोरीले गुझङ सिक्न नचाहेको देखेँ, म अधीर हुँदै रिसाएँ, र ऊसँग जङ्गिएँ। मेरी छोरी भेलामा सहभागी हुन चाहँदा, म उसलाई रोक्थेँ, किनकि यसले उसको अभ्यासमा ढिलाइ हुन्छ भन्ने मलाई डर थियो। मैले कुन तरिकाले एउटी आमाको रूपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिएँ र? मैले जे गरिरहेकी थिएँ त्यो त दुष्टता मात्र थियो! मैले वर्षौँदेखि परमेश्‍वरमा विश्वास गरेकी थिएँ, तर मेरा पछ्याइपछाडिका दृष्टिकोणहरू पटक्कै बदलिएका थिएनन्, र म अझै पनि गैरविश्वासीहरूजस्तै ख्याति र प्राप्ति पछ्याउँदै शैतानको विचार र दृष्टिकोणअनुसार जिइरहेकी थिएँ। आफ्नो अभिमानको तुष्टिका लागि, ख्याति र प्राप्ति पछ्याउन छाड्नुको सट्टा ऊ परमेश्‍वरबाट टाढा होस् र उहाँलाई धोका देओस् भन्ने कुरा मेरा लागि स्विकार्य थियो। म साँच्चै ख्याति र प्राप्तिले दृष्टिहीन भएकी थिएँ, र तिनले मेरा विचारहरू धुम्याएका थिए, र मैले आफूमाथि कष्ट र छोरीमाथि हानि ल्याएँ। मैले के बुझेँ भने ख्याति र प्राप्ति शैतानले ममाथि राखेको अदृश्य जन्जिरहरू हुन्, र तिनले हामीमाथि अनन्त दुःख र पीडा मात्र ल्याउँछन्! मैले कसरी केही कलाकारहरूले मनोरञ्जन उद्योगमा ख्याति र प्राप्ति हासिल गरे, तर पनि अन्ततः आत्मिक शून्यता र पीडाका कारण अवसादमा पुगी हाम्फालेर मरे भन्ने कुरा सम्झेँ। मैले के देखेँ भने जब कुनै व्यक्तिले हैसियत र ख्याति प्राप्त गर्छ, त्यसले उसको अभिमानलाई अस्थायी रूपमा मात्र सन्तुष्ट पार्न सक्छ, तर उसको भित्री शून्यता र पीडालाई समाधान गर्न सक्दैन। बरु, यी कुराले बिस्तारै उनीहरूलाई परमेश्‍वरबाट टाढा लैजान्छन्, र उहाँलाई इन्कार गर्ने बनाउँछन्, र यसको परिणाम उनीहरू शैतानद्वारा निलिनु हो। यो कुरा बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरी अबउप्रान्त ख्याति र प्राप्ति पछ्याउने छैन, र उहाँको सार्वभौमिकता एवं बन्दोबस्तमा समर्पित हुन तयार छु भनेँ।

पछि, मैले परमेश्‍वरका अरू वचनहरू पढेँ र आफैबारे अझ केही ज्ञान पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “छोराछोरीप्रतिका आफ्ना अपेक्षाहरू पूरा गर्न, छोराछोरी वयस्क नहुँदै, आमाबुबाले गर्ने सबथोक विवेक, समझ र प्राकृतिक नियमविपरीत हुन्छ। अनि त्योभन्दा पनि बढी, त्यो परमेश्‍वरको पूर्वनिर्धारण र सार्वभौमिकताविपरीत हुन्छ। वयस्क नभइसकेकाहरूमा सही र गलत छुट्याउने, वा स्वतन्त्र रूपमा सोच्ने क्षमता नभए पनि, तिनीहरूको नियति अझै पनि परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत हुन्छ; तिनीहरूको नियति तिनीहरूका आमाबुबाको हातमा हुँदैन। ती मूर्ख आमाबुबाहरूले यो कुरा छर्लङ्गै देख्न सक्दैनन्। आफ्ना छोराछोरीप्रति आफ्नो मनमा अपेक्षाहरू राख्नुबाहेक, तिनीहरू आफ्नो व्यवहारमा अझ बढी मूल्य चुकाउँछन्, आफ्ना छोराछोरीका लागि आफूले चाहेका र गर्न इच्छुक भएका सबै कुरा गर्छन्, र चाहे यो पैसा, समय, ऊर्जा, वा अन्य कुराहरू खर्च गर्नु नै भए पनि, तिनीहरू खुसीसाथ र स्वेच्छाले त्यसो गर्छन्। आमाबुबाहरूले ती कुराहरू स्वेच्छाले गरे पनि, त्यसले कस्ता परिणामहरू ल्याउँछ? यदि तिनीहरूले अन्ततः आफ्ना छोराछोरीलाई हानि पुऱ्याउँछन् भने, त्यो अमानवीय कुरा हो, र यस प्रकारको व्यवहार आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी पटक्कै होइन; तिनीहरूले आमाबुबाका रूपमा पूरा गर्नुपर्ने कर्तव्यहरूको दायरा नाघिसकेका हुन्छन्। म किन यसो भन्‍ने गर्छु? किनकि आमाबुबाले छोराछोरी वयस्क हुनुअगावै उनीहरूको भविष्यप्रति योजना र नियन्त्रण गर्ने प्रयास गर्न थाल्छन्, र उनीहरूको भविष्य निर्धारण गर्नसमेत खोज्छन्। के यो मूर्खता होइन र? (हो।) उदाहरणका लागि, मानौँ परमेश्‍वरले कुनै व्यक्ति साधारण कामदार हुनेछ, र ऊ यो जुनीमा खान र लाउन केही आधारभूत ज्याला मात्र कमाउन सक्षम हुनेछ भनी पूर्वनियोजन गर्नुभएको छ, तर उसका आमाबुबाहरू भने, ऊ एक सेलिब्रिटी, सम्पन्न व्यक्ति, र उच्च-पदस्थ अधिकारी बन्‍नुपर्छ भनेर जिद्दी गर्छन्, र ऊ वयस्क हुनुअगावै उसको भविष्यको योजना र बन्दोबस्त गर्छन्, विविध तथाकथित मूल्यहरू चुकाउँछन्, र उसको जीवन र भविष्य पकडमा राख्ने प्रयास गर्छन्। के त्यो मूर्खता होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पटक-पटक पढेँ, र म एकदमै आहत र हैरान भएँ। मलाई के महसुस भयो भने मेरी छोरीप्रतिका मेरा अपेक्षा, प्रयास र त्यागहरू मानवताविपरीत र परमेश्‍वरको नियोजन र सार्वभौमिकताविरुद्ध थिए। कुनै बच्चाको भाग्य आमाबुबाले सार्वभौमिकता राख्न सक्ने कुरा होइन, र मेरो बच्चाको छनोटलाई मैले सम्मान गर्नुपर्थ्यो, म परमेश्‍वरको नियोजनमा समर्पित हुनुपर्थ्यो, र मेरी छोरीलाई मन नपर्ने कुराहरू गर्न कर गर्नुहुँदैनथ्यो। कुनै व्यक्तिले जीवनमा के गर्छ र उसले कसरी जीविकोपार्जन गर्छ भन्ने कुरा परमेश्‍वरले पहिल्यै नियोजन गरिसक्नुभएको हुन्छ। जस्तै, म ओपेरा कलाकार बन्न एकदमै चाहन्थेँ, तर मैले चाहेजस्तो भएन। मैले आफ्नै भाग्य त बदल्न सकिनँ, तर पनि म मेरी छोरीको भाग्य बदल्न चाहन्थेँ। म पूरै मूर्ख थिएँ!

त्यसपछि मैले मनन गरेँ: आमाबुबाका रूपमा आफ्ना जिम्मेवारीहरू साँच्चै पूरा गर्नुको अर्थ के हो? मैले परमेश्‍वरका वचनहरू पढेँ: “छोराछोरीप्रतिका आमाबुबाका अपेक्षाहरूको सार विश्‍लेषण गरेर, हामीले यी अपेक्षाहरू स्वार्थी खालका हुन्छन्, यी अपेक्षाहरू मानवताविरुद्ध जान्छन्, र अपेक्षाहरूको आमाबुबाका जिम्मेवारीहरूसँग कुनै सम्बन्ध हुँदैन भनेर बुझ्न सक्छौँ। आमाबुबाहरूले आफ्ना छोराछोरीमाथि सबै किसिमका अपेक्षा र मागहरू लाद्दा, तिनीहरूले उनीहरूमाथि ठूलो थप दबाब दिन्छन्—यो तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। त्यसोभए, आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्? कम्तीमा पनि, तिनीहरूले आफ्ना छोराछोरीलाई सत्य बोल्ने र इमानदार ढङ्गले काम गर्ने इमानदार मानिस बन्‍न सिकाउनुपर्छ, र तिनीहरूलाई दयालु हुन र खराब कामहरू नगर्न सिकाउनुपर्छ, र तिनीहरूलाई सकारात्मक दिशामा डोऱ्याउनुपर्छ। यी तिनीहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू हुन्। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको क्षमता र अवस्थाहरूका आधारमा व्यावहारिक ज्ञान र सीपहरू आदि अध्ययन गर्न मार्गदर्शन गर्नुपर्छ। यदि आमाबुबाहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यता बुझ्छन् भने, आफ्ना छोराछोरीलाई परमेश्‍वरका वचनहरू पढ्न र सत्यता स्वीकार गर्न लगाउनुपर्छ, ताकि तिनीहरूले सृष्टिकर्तालाई चिनून्, र मानिसहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् र यस ब्रह्माण्डमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा बुझून्। तिनीहरूले आफ्ना छोराछोरीलाई परमेश्‍वरलाई प्रार्थना गर्न र परमेश्‍वरका वचनहरू खान र पिउन अगुवाइ गर्नुपर्छ ताकि तिनीहरूले केही सत्यता बुझ्न सकून्, र तिनीहरू हुर्किएपछि सांसारिक प्रवृत्तिहरूलाई पछ्याउने, विभिन्‍न जटिल पारस्परिक सम्बन्धहरूमा फस्‍ने, र यस संसारका विभिन्‍न दुष्ट प्रवृत्तिहरूद्वारा लोभ्याइने, भ्रष्ट तुल्याइने, र विनाश हुनुको सट्टा परमेश्‍वरमा विश्‍वास गर्न, परमेश्‍वरलाई पछ्याउन, र सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्षम होऊन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू वास्तवमा यिनै हुन्। तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू भनेका, आमाबुबाको भूमिकामा रहेर, आफ्ना छोराछोरी वयस्क नहुञ्जेलसम्म तिनीहरूलाई सकारात्मक मार्गदर्शन र उपयुक्त सहयोग प्रदान गर्नु, साथै तिनीहरूको भौतिक जीवनमा दैनिक आवश्यकताहरूका सन्दर्भमा तुरुन्तै हेरचाह गर्नु हो। यदि तिनीहरूका छोराछोरी बिरामी भए भने, आमाबुबाहरूले आवश्यक पर्दा तिनीहरूको उपचार गराउनुपर्छ; तिनीहरूले आफ्ना छोराछोरीको पढाइमा ढिलाइ हुने डरले, उनीहरूलाई उपचार त्यागेर स्कुल जान लगाइरहनु हुँदैन। जब तिनीहरूका छोराछोरीलाई स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई स्वास्थ्यलाभ गर्न दिनुपर्छ, र जब तिनीहरूलाई आराम गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई आराम गर्न दिनुपर्छ। तिनीहरूका छोराछोरीको स्वास्थ्य सुनिश्चित गर्नु अनिवार्य कुरा हो; यदि छोराछोरी पढाइमा पछि परे भने, आमाबुबाहरूले पछि त्यसलाई पूर्ति गर्ने उपाय खोज्न सक्छन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू यिनै हुन्। एकातिर, तिनीहरूले आफ्ना छोराछोरीलाई ठोस ज्ञान प्राप्त गर्न मद्दत गर्नुपर्छ; अर्कोतिर, तिनीहरूले आफ्ना छोराछोरीलाई सही मार्गमा हिँड्नका लागि मार्गदर्शन र शिक्षा दिनुपर्छ, र तिनीहरू समाजका अस्वस्थ प्रवृत्ति र दुष्ट अभ्यासहरूबाट प्रभावित नहोऊन् भनेर तिनीहरूको मानसिक स्वास्थ्य सुनिश्चित गर्नुपर्छ। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई शारीरिक स्वास्थ्य सुनिश्चित गर्नका लागि उपयुक्त व्यायाम गर्नमा ध्यान दिन लगाउनुपर्छ। आमाबुबाले आफ्ना छोराछोरीहरूमाथि कुनै पनि अवास्तविक अपेक्षा वा मागहरू जबरजस्ती लाद्नुको सट्टा गर्नुपर्ने कुराहरू यिनै हुन्। आमाबुबाहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको आत्माका लागि चाहिने कुराहरू र तिनीहरूको भौतिक जीवनमा चाहिने कुराहरू दुवैका सन्दर्भमा आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले वर्णन गर्न नसकिने हैरानी महसुस गरेँ। पहिले, मैले सोचेकी थिएँ मेरी छोरीलाई विभिन्न सीपहरू सिक्न लगाएर, र सबैले उसको प्रशंसा र सराहना गर्ने गरी नाम कमाउन उसलाई प्रसिद्ध मञ्चमा पुऱ्याएर, मैले एउटी आमाको नाताले आफ्नो जिम्मेवारी पूरा गरिरहेकी छु। तर आमाबुबाको साँचो जिम्मेवारी आफ्ना छोराछोरीको मानसिक सुस्वास्थ्य र खुसी सुनिश्चित गर्नु हो, साथै उनीहरूलाई सकारात्मक सोच र दृष्टिकोण स्थापित गर्न मद्दत गर्नु, उनीहरूलाई सही जीवन लक्ष्यहरू राख्न मार्गदर्शन गर्नु, उनीहरूको रुचि र सोखअनुसार उनीहरूलाई संवर्धन गर्नु, र उनीहरूलाई परमेश्‍वरको नियोजन र सार्वभौमिकतामा समर्पित हुन मार्गदर्शन गर्नु हो। र दैनिक जीवनमा, आमाबुबाले आफ्ना छोराछोरीलाई खाना, कपडा, आवास र यातायातजस्ता अत्यावश्यक कुराहरूमा हेरचाह प्रदान गर्नुपर्छ। उदाहरणका लागि: छोराछोरीलाई कुन खानेकुरा खानु स्वस्थकर हुन्छ र कुनले शरीरलाई हानि पुऱ्याउँछ भनी बताउनुपर्छ, बिरामी हुँदा उनीहरूको हेरचाह गर्नुपर्छ, आवश्यक पर्दा औषधि दिनुपर्छ, आवश्यक पर्दा सुई लगाइदिनुपर्छ, र उनीहरूका दैनिक आवश्यकताहरूको ध्यानपूर्वक ख्याल गर्नुपर्छ। यी कुराहरू आमाबुबाले गर्नुपर्छ। बाहिरबाट हेर्दा मेरो दौडधूप मेरी छोरीको फाइदाका लागि भए जस्तो देखिए तापनि, वास्तवमा, म केवल उसले मलाई गौरव र अभिमान दिलाओस् भन्ने चाहन्थेँ, चाहे यसका लागि उसको बाल्यकालको आनन्द खोस्नु र उसलाई भेलाहरूमा सहभागी हुन र परमेश्‍वरका वचनहरू खान-पिउनबाट रोक्नु नै परोस्। म साँच्चै स्वार्थी थिएँ! मैले उसलाई जबरजस्ती दबाउनु र शिक्षा लाद्नुको सट्टा उसको क्षमता, रुचि र सोखअनुसार मार्गदर्शन गर्नुपर्थ्यो। यसबाहेक, मैले मेरो बच्चालाई परमेश्‍वरसामु आउन, उसलाई प्रार्थना गर्न, परमेश्‍वरका वचनहरू खान-पिउन, उहाँको आराधना गर्न, र संसारका दुष्ट प्रवृत्तिहरूबाट टाढा रहन मार्गदर्शन गर्नुपर्छ। परमेश्‍वरको अभिप्राय बुझेपछि, मैले उप्रान्त मेरी छोरीलाई विभिन्न प्रस्तुतिहरूमा सहभागी गराइनँ, बरु, मैले उसलाई परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन मार्गदर्शन गरेँ, र मैले उसँग परमेश्‍वरका वचनहरू खान-पिउन र भेलाहरूमा सहभागी हुन धेरै समय बिताएँ।

पछि, मेरी छोरी र मैले एउटा भेला गर्दा, हामीले एउटा रङ्गमञ्च नाटक हेर्‍यौँ, नाटकको शीर्षक “बिदाई, मेरो निर्दोष क्याम्पस” थियो। त्यो हेरेपछि, मेरी छोरी गहिरोसँग प्रभावित भई र शैतानले मानिसहरूलाई हानि पुऱ्याउन ख्याति र प्राप्तिको प्रयोग गर्छ भनी बुझी, र परमेश्‍वरका वचनहरू खाएर-पिएर, मेरी छोरीले आफ्नो कर्तव्य पूरा गरेमात्र जीवनमा सही मार्गमा हिँड्न सकिन्छ भनी बुझी। एक दिन, मेरी छोरी स्कुलबाट फर्केर आएपछि, उसले दृढतापूर्वक मलाई भनी, “आमा, मलाई स्कुलमा साँच्चै दमित महसुस हुन्छ, र म ब्रदर-सिस्टरहरूजस्तै फुक्का र स्वतन्त्र जीवन जिउन चाहन्छु। म आफ्नो पढाइ छोडेर मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु।” म धेरै छक्क परेँ, र सोचेँ, “तँ अहिले जहाँ छेस् त्यहाँ पुग्न सजिलो थिएन। यदि तैँले आफ्नो पढाइ छोडिस् भने, तैँले मञ्चमा जाने आफ्नो सपना सधैँका लागि त्यागिदिनेछेस्। यसको अर्थ तेरा सबै अघिल्ला प्रयासहरू व्यर्थ गए भन्ने होइन र?” त्यसै क्षण, मलाई म अझै पनि ख्याति र प्राप्ति पछ्याउन चाहन्छु भन्ने महसुस भयो, र मैले आफ्नो हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, मेरी छोरी आफ्नो पढाइ छोड्न इच्छुक छे, तर म अझै पनि यो सहन सक्दिनँ। परमेश्‍वर, कृपया मेरो सङ्कल्पलाई बलियो बनाउनुहोस् र मलाई ख्याति र प्राप्तिको जन्जिरबाट मुक्त हुन मद्दत गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “छोराछोरीप्रतिका आमाबुबाका अपेक्षाहरूको सार विश्‍लेषण गरेर, हामीले यी अपेक्षाहरू स्वार्थी खालका हुन्छन्, यी अपेक्षाहरू मानवताविरुद्ध जान्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। “तिमीहरूमध्ये कोही पनि अहिले परमेश्‍वरको घरमा संयोगले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छैनौ—तिमीहरूमध्ये जोसुकै जुनसुकै पृष्ठभूमिबाट आफ्नो कर्तव्य निर्वाह गर्न आएको भए पनि, त्यो संयोगले भएको थिएन। परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्ने कुनै पनि मानिसलाई कुनै व्यक्तिले जथाभावी छानेको थिएन; कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो युगहरूभन्दा अघि नै परमेश्‍वरद्वारा पूर्वनियोजित गरिएको थियो। यो पूर्वनियोजित थियो भन्नुको अर्थ के हो? किटान नै गरेर भन्‍नुपर्दा के हो त? यो के हो भने, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनामा उहाँले धेरै लामो समयअघि नै तँ कति चोटि संसारमा आउनेछस्, आखिरी दिनहरूको समयमा तँ कुन वंश र कुन परिवारमा जन्मनेछस्, यो परिवारका परिस्थितिहरू कस्ता हुनेछन्, तँ पुरुष हुनेछस् कि महिला, तेरा के सबलताहरू हुनेछन्, तँसित कुन तहको शिक्षा हुनेछ, तँ कतिको वाक्पटु हुनेछस्, तेरो के क्षमता हुनेछ, तँ कस्तो देखिनेछस्, तँ कुन उमेरमा परमेश्‍वरको घरमा आएर आफ्नो कर्तव्य निर्वाह गर्न थाल्नेछस्, र तैँले कुन समयमा के-कस्तो कर्तव्य निर्वाह गर्नेछस् भनेर योजना बनाइसक्‍नुभएको छ। परमेश्‍वरले सुरुमै तेरो लागि हरकदम पूर्वनियोजित गरिसक्‍नुभएको छ। तँ जन्मनुअघि र पछिल्ला केही जीवनमा संसारमा आउँदा, परमेश्‍वरले तैँले कामको यो अन्तिम चरणमा के-कस्तो कर्तव्य निर्वाह गर्नेछस् भनी प्रबन्ध गरिसक्नुभएको थियो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने कुनै व्यक्ति परमेश्‍वरको घरमा आएर आफ्नो कर्तव्य पूरा गर्ने समय परमेश्‍वरले धेरै अघिदेखि नै बन्दोबस्त गर्नुभएको कुरा हो। परमेश्‍वरले मेरी छोरी आएर आफ्नो कर्तव्य पूरा गर्ने समय धेरैअघि नै नियोजन गरिसक्नुभएको थियो, र म पहिलेको जस्तो, आफ्नै प्रतिष्ठा र हैसियतका लागि उसको जीवनका हरेक कुरा नियन्त्रण गर्न खोज्ने बन्न हुँदैनथ्यो। मेरी छोरीले परमेश्‍वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने छनोट गर्नु परमेश्‍वरका नियोजन र बन्दोबस्तहरू थिए, र मैले उसलाई सकारात्मक मार्गदर्शन दिएर उसलाई सही मार्गमा हिँड्न दिनुपर्थ्यो। यो मेरो पूरा गर्नुपर्ने जिम्मेवारी थियो। यो कुरा मनमा राखेर, मैले खुसीसाथ मेरी छोरीको अनुरोध स्वीकार गरेँ। केही समयपछि, मेरी छोरीले आफ्नो पढाइ छोडी र परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्न आई। मेरी छोरीलाई उसको सामान्य उज्यालो र हँसिलो रूपमा फर्केको देखेर, म धेरै खुसी भएँ, र मैले के महसुस गरेँ भने सृष्टिकर्ताका नियोजन र बन्दोबस्तहरूमा समर्पित भएर मात्र व्यक्तिले सहज, स्वतन्त्र र खुसी भई जिउन सक्छ। यो जतिसुकै पैसा वा ख्यातिले पनि साट्न नसकिने कुरा हो!

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूका दुई खण्ड पढेँ, र मैले मानव जीवनको मूल्य र अर्थबारे अझ धेरै बुझ्न पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरमा विश्‍वास गर्नु र सत्यता पछ्याउनु, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुबाहेक, व्यक्तिले जीवनमा गर्ने अरू सबै कुरा खोक्रो हुन्छ र सम्झन लायक हुँदैन। यदि तैँले पृथ्वी हल्लाउने आँटी कार्य पूरा गरेको भए पनि, अन्तरिक्ष र चन्द्रमाको यात्रा गरेको भए पनि, त्यो व्यर्थ हो; यदि तैँले मानवजातिलाई केही फाइदा वा मद्दत पुऱ्याउने वैज्ञानिक प्रगतिहरू गरेको भए पनि, त्यो व्यर्थ हो। यो सब बितेर जानेछ। बितेर नजाने एउटै कुरा के हो? (परमेश्‍वरको वचन।) केवल परमेश्‍वरको वचन, केवल परमेश्‍वरका गवाहीहरू, सृष्टिकर्ताको गवाही दिने सबै गवाही र काम, र मानिसहरूका असल कार्यहरू मात्रै बितेर जानेछैनन्। यी कुराहरू सदासर्वदा रहनेछन्, र ती एकदमै मूल्यवान् छन्। त्यसैले, आफूले सक्दो प्रयास गर र आफ्ना क्षमताहरूको पूर्ण उपयोग गर। कुनै पनि मानिस, घटना, वा कामकुराहरूद्वारा नबाँधिओ; इमानदारीपूर्वक परमेश्‍वरका लागि आफूलाई समर्पित गर, र आफ्नो कर्तव्य निर्वाहमा आफ्नो सम्पूर्ण ऊर्जा लगाओ र रगत-पसिना बगाओ। परमेश्‍वरले सबभन्दा धेरै आशिष् दिनुहुने कुरा नै यही हो र यसको लागि त जुनसुकै मात्राको कष्ट पनि सार्थक नै हुन्छ!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सृजित प्राणीको कर्तव्य राम्रोसित निर्वाह गर्दा मात्र जिउनुको मूल्य हुन्छ)। “तँ अहिले परमेश्‍वरलाई पछ्याउँछस्, परमेश्‍वरको वचन सुन्छस् र सृष्टिकर्ताको आज्ञा स्विकार्छस्। कहिलेकाहीँ तँ यो केही कठिन र थकाइलाग्दो पाउँछस्, र कहिलेकाहीँ तैँले केही अपमान र शोधन अनुभव गर्छस्; तर यी राम्रा कुराहरू हुन्, खराब कुराहरू होइनन्। आखिरमा, तैँले के प्राप्त गर्नेछस्? तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्, र अन्त्यमा सृष्टिकर्ताले तँलाई दिने मान्यता र पुष्टि प्राप्त गर्नेछस्। परमेश्‍वरले भन्‍नुहुनेछ, ‘तँ मलाई पछ्याउँछस् र म तँमाथि कृपा दृष्टि राख्छु, म तँसँग खुसी हुन्छु।’ यदि परमेश्‍वरले उहाँको नजरमा तँ सृजित प्राणी मात्र होस् भनेर भन्‍नुभयो भने, तँ व्यर्थमा जिइरहेको छैनस्, तँ उपयोगी छस्। परमेश्‍वरद्वारा मौखिक रूपमा स्विकारिनु असाधारण कुरा हो र यो सानो कुरा होइन। यदि मानिसहरूले शैतानलाई पछ्याउँछन् भने, तिनीहरूले के प्राप्त गर्नेछन्? (विनाश।) विनाश गरिनुअघि तिनीहरू के बन्‍नेछन्? (तिनीहरू पिशाच बन्‍नेछन्।) तिनीहरू पिशाच बन्‍नेछन्। मानिसहरूले जतिसुकै धेरै सीप हासिल गरून्, जतिसुकै धेरै पैसा कमाऊन्, जतिसुकै धेरै ख्याति र प्राप्ति पाऊन्, जतिसुकै धेरै सांसारिक सुविधा भोगून्, र सांसारिक क्षेत्रमा जतिसुकै उच्च हैसियत बनाऊन्, तिनीहरू भित्री रूपमा झन्-झन् धेरै भ्रष्ट, झन्-झन् धेरै दुष्ट र फोहोरी, झन्-झन् धेरै विद्रोही र पाखण्डी बन्‍नेछन्, र अन्त्यमा तिनीहरू जीवित पिशाच बन्‍नेछन्—तिनीहरू गैरमानव बन्‍नेछन्। यस्ता मानिसहरू सृष्टिकर्ताको नजरमा कस्ता देखिन्छन्? केवल ‘गैरमानव,’ र बस् त्यति नै? त्यस्ता मानिसहरूप्रति सृष्टिकर्ताको दृष्टिकोण र मनोवृत्ति के हो? उहाँ तिनीहरूदेखि विकर्षित हुनुहुन्छ, तिनीहरूलाई घिनाउनुहुन्छ, तिनीहरूलाई घृणा गर्नुहुन्छ, र तिनीहरूप्रतिको आशा मार्नुहुन्छ, र अन्ततः उहाँ तिनीहरूलाई श्राप दिनुहुन्छ, दण्ड दिनुहुन्छ, र नष्ट गर्नुहुन्छ। मानिसहरू फरक-फरक मार्गमा हिँड्छन् र अन्ततः तिनीहरूले फरक-फरक परिणामहरू भोग्नेछन्। तिमीहरू कुन मार्ग रोज्छौ? (परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने।) परमेश्‍वरलाई पछ्याउने निर्णय गर्नु सही मार्ग रोज्नु हो: यो प्रकाशको मार्गमा हिँड्नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सृजित प्राणीको कर्तव्य राम्रोसित निर्वाह गर्दा मात्र जिउनुको मूल्य हुन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्‍वरमा विश्वास गरेर, सत्यता पछ्याएर, र सृजित प्राणीको कर्तव्य पूरा गरेर मात्र व्यक्तिले सत्यता प्राप्त गर्न र मानव रूपमा जिउन सक्छ। प्रतिष्ठा र हैसियत पछ्याउनु शैतानलाई पछ्याउनु हो, र व्यक्तिले अरूबाट उच्च सम्मान पाए पनि, त्यो अस्थायी हुन्छ, र ऊ अझै पनि विनाशको मार्गमा हुन्छ। अहिले, मेरी छोरी र म दुवै आफ्नो कर्तव्य पूरा गरिरहेका छौँ, र हामी समाजका विभिन्न परीक्षा र दुष्ट प्रवृत्तिको अतिक्रमणबाट टाढा भएका छौँ। मेरी छोरीले दमित वा पीडा महसुस गर्न छाडेकी छे, र मैले पनि आफ्नो हृदयमा सहजता र स्वतन्त्र महसुस गरेकी छु। जब मेरी छोरीले आफ्नो कर्तव्यमा कठिनाइहरूको सामना गर्छे, तब ब्रदर-सिस्टरहरूले उसलाई प्रेमले मद्दत गर्छन्, र सबैले उसलाई इमानदारीपूर्वक व्यवहार गर्छन्। मेरी छोरीका खराब बानीहरू थिए, र सिस्टरहरूले धैर्यपूर्वक बताइदिएर उसलाई मद्दत गरे, र आधा वर्षभन्दा कम समयमा, मेरी छोरीले आफ्ना धेरै खराब बानीहरू सुधार्न सकी। कहिलेकाहीँ, मेरी छोरीले मेरा समस्याहरू देख्छे र मसँग सत्यतामा सङ्गति गर्न अग्रसर हुन्छे। मेरी छोरीलाई सही मार्गमा हिँडेको र प्रगति र परिवर्तनहरू गरेको देख्दा, म मेरो हृदयको गहिराइबाट परमेश्‍वरलाई धन्यवाद दिन्छु! यदि परमेश्‍वरका वचनहरूले हामीलाई मार्गदर्शन नगरेका भए, मेरी छोरी र म अझै पनि शैतानले निम्त्याएको कष्टमा जिइरहेका हुन्थ्यौँ, र हामी परमेश्‍वरविरुद्ध विद्रोह गरिरहन्थ्यौँ र उहाँबाट झन्-झन् टाढा भइरहन्थ्यौँ, र अन्तमा, हामी शैतानसँगै नष्ट हुनेथियौँ। हामीलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ७६. म बल्ल हीनताको छायाबाट बाहिर निस्किएँ

अर्को:  ७८. मेरो छनोटप्रति मलाई कुनै पछुतो छैन

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger